`

गुल्मीका २२ हजार बढी नागरिक बाढीपहिरोको उच्च जोखिममा

Nepal One HD १४ साउन २०८२ १८:२०
समाज

तम्घास (गुल्मी), १४ साउन : वर्षायाम सुरू भएसँगै पहाडी जिल्लामा बाढीपहिरोको जोखिम बढेको छ । त्यसैअन्तर्गत गुल्मी पनि पहिरोको उच्च जोखिममा छ । जिल्लामा गतवर्ष मात्रै मालिका गाउँपालिका–६ अर्जैमा एकैपरिवारका पाँच, मुसिकोटमा पनि एकै परिवारका चार जनाको पहिरोबाट मृत्यु भयो ।

त्यसैगरी विसं २०७६ मा पहिरोबाटै सत्यवतीमा १३ जनाको मृत्यु भयो भने सयौँ नागरिक विस्थापित भए । उनीहरूको पुनःस्थापनाको काम अझै सकिएको छैन् । २०६४ सालमै मुसिकोटमा छ जनाको पहिरोमा परी मृत्यु भयो । यसवर्ष पनि यहाँका नागरिक बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको तथ्याकङ्अनुसार जिल्लामा यसवर्ष २२ हजार ४०० नागरिक बाढीपहिरोको जोखिममा छन् । सबैभन्दा धेरै मुसिकोट नगरपालिकाका १० स्थानमा बाढी र १६ स्थानमा पहिरो गरी कूल २६ स्थानका नागरिक जोखिममा छन् । मुसिकोटको समुद्र, कालीरहलगायतका स्थान बडिगाढ नदीको बाढीको जोखिम छ ।

त्यसैगरी सिम्ले, तोलादी, दजाकोटलगायतका स्थान पहिरोको उच्च जोखिममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । रेसङ्गा नगरपालिका–३, ६, १० र १४, सत्यवतीको ठूलोलुम्पेक, चेहेमी, लिम्घा, हँसरा, अश्लेवा, मदानेको अग्लुङ, निपाने, रघवाफेदी, पैयापाटा, बाँझकटेरी, म्यालपोखरी, पुर्कोटदह, धुर्कोटको नयाँगाउँ, गोपे, रातामाटा, अजिमिरकोट लगायतका स्थान पहिरोको उच्च जोखिममा छन् ।

त्यसैगरी छत्रकोटको कोटाग्दी, टुनिखर्क, चुरचुरे, बुटिल, मथुरे, हर्दिनेटा, रुरुक्षेत्रको रिमुवा, रिडी बजार, कालीगण्डकीको पूर्तिघाट, इस्माको अगारे, कँडेनी, हस्तिचौरलगायतका स्थान पहिरोको उच्च जोखिममा छन् ।

विपद्को पूर्वतयारीका लागि जिल्लामा सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । पहिरो गइसकेपछि प्रभावित नागरिकलाई नजिकैको विद्यालय वा खाली चउरमा सार्ने गायतका तयारी गरिएको गैरेले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *