`

स्मार्ट सीमा प्रणालीः युरोपमा डिजिटल सुरक्षाको नयाँ युग सुरु हुँदै

Nepal One HD १४ साउन २०८२ २०:१३
विश्व

युरोपेली सङ्घ (ईयू) ले गैर–ईयू देशका नागरिकहरूको सीमाना जाँचका लागि ‘नयाँ प्रवेस र निस्कने प्रणाली’ (इन्ट्री/एक्जिट प्रणाली) यही अक्टोबर १२ गतेदेखि लागू गर्ने घोषणा गरेको छ । यो प्रणाली लागू भएपछि यात्रुहरूका पासपोर्टमा छाप (स्ट्याम्प) लगाइने पुरानो तरिका हटाइनेछ ।

यस नयाँ विधिबाट युरोप आउन र फर्कन चाहने व्यक्तिको विवरण — आउँदाको मिति, फर्किने मिति, सीमा नाघ्ने प्रयास वा तोकिएको समयभन्दा बढी बस्ने अवस्था — सबै कम्प्युटर प्रणालीमा सुरक्षित गरिनेछ ।

सीमा पार गर्दा यात्रुको अनुहारको फोटो र औँलाको छाप पनि लिइनेछ । यसले यात्रुको वास्तविकता पुष्टि गर्न सहयोग गर्नेछ ।

युरोपेली आयोगका आप्रवासन आयुक्त म्याग्नस ब्रुनरले भन्नुभयो,“यस प्रणालीले हाम्रो सुरक्षा बलियो बनाउनेछ । यसले अवैध रूपमा लुकिछिपी बस्नेहरू पहिचान गर्न, नक्कली कागजात प्रयोग रोक्न र सीमामा हुने अनियमित गतिविधि घटाउन मद्दत पु¥याउनेछ ।”

यो प्रणाली सन् २०१७ मै तयारी गरिएको भए पनि केही देशहरू समयमै तयार नभएकाले कार्यान्वयन ढिला भएको थियो । अहिले भने सबै देश तयार भएकाले यसलाई चरणबद्ध रूपमा लागू गरिने भएको हो ।

युरोपका २७ सदस्य देशहरूमा यो नयाँ व्यवस्था लागु हुनेछ । तर आयरल्याण्ड र साइप्रसमा भने हाललाई प्रयोग गरिने छैन । यस्तै, युरोपेली सङ्घमा नपरेका तर शेंगेन क्षेत्रका सदस्य नर्वे, स्वीट्जरल्याण्ड, आइसल्याण्ड र लिचटेन्स्टाइनले पनि यस प्रणालीलाई प्रयोग गर्नेछन् ।

यात्रुहरूलाई सजग बनाउनका लागि विमानस्थल, जलमार्ग, रेल मार्ग तथा अन्य नाका क्षेत्रमा सूचना दिने अभियानहरू सञ्चालन गरिने छन् । यात्रु, व्यवसाय र कर्मचारीहरूलाई प्रणालीअनुसार ढालिनका लागि छ महिना समय दिइनेछ ।

ब्रिटेनको परराष्ट्र मन्त्रालयले यात्रुहरूलाई सचेत बनाउँदै भनेको छ,“यो प्रक्रिया सुरु भएपछि प्रत्येक यात्रुबाट केही समय बढी लाग्नेछ । त्यसैले सीमा पार गर्दा केही समय कुर्नुपर्ने हुन सक्छ ।”

प्रारम्भमा सबै नाकामा एकैपटक लागू नगरी, पहिलो तीन महिनाभित्र आधा नाकाहरूमा प्रयोग गरिनेछ । त्यसपछि छ महिनाभित्र सबै सीमाना नाकाहरूमा पूर्ण रूपमा यो नयाँ प्रक्रिया लागू गरिने योजना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *