`

खानेपानी तथा सरसफाइको क्षेत्रमा सहयोग गर्न युनिसेफलाई खानेपानीमन्त्री यादवको आग्रह

काठमाडौँ-खानेपानीमन्त्री प्रदीप यादवले युनिसेफ नेपाललाई खानेपानी तथा सरसफाइको क्षेत्रमा आवश्यक सहयोगको आग्रह गर्नुभएको छ ।

मन्त्रालयमा मन्त्री यादव तथा नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस् अकुङ्गाबीच भएको भेटघाटमा उहाँले सो आग्रह गर्नुभएको हो । मन्त्री यादवले विसं २०७६ असोज १३ गते नेपाल एसियाकै प्रथम खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सहयोग गर्ने विकास साझेदार संस्थामध्ये युनिसेफ भएको बताउँदै उहाँले प्रशंसा गर्नुभयो ।

सोही क्रममा मन्त्री यादवले दिगो विकास लक्ष्य अन्तर्गत खानेपानी सरसफाइ तथा स्वच्छता (वास)सम्बन्धी लक्ष्य पूरा गर्न दीर्घकालीन रणनीतिक योजना बनाउन युनिसेफसँगको सहजीकरण आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “खानेपानी, सरसफाइलगायतको क्षेत्रमा युनिसेफले राम्रा काम गर्दै आइरहेको छ, आगामी दिनमा पनि यहाँका दुर्गम क्षेत्रका नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाइको पहुँचमा पु¥याउन युनिसेफको सहयोग आवश्यक छ ।”

पानीको गुणस्तर जाँच, शुद्धीकरण र गुणस्तरीयता मापन, दातृ निकायसँग एकद्वार प्रणालीमार्फत परियोजना सञ्चालनलगायतका विषयमा विषयमा छलफल भएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिनुभयो ।

उक्त छलफलमा नेपालका लागि युनिसेफका प्रतिनिधि अकुङ्गाले खानेपानी, तथा स्वास्थ्य सरसफाइको क्षेत्रमा विगतदेखि काम गर्दै आइरहेको र आगामी दिनमा अझै वृहत सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा खानेपानी, सरसरफाइको क्षेत्रमा पाँच वर्षे रणनीति अनुसार कार्ययोजना बनाएर काम गर्दैछौँ । यसपछिको योजनामा अझै वृहत काम गर्ने योजनामा छौँ ।”

उक्त कार्यक्रममा मन्त्रालयका तर्फबाट सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, ई रमाकान्त दुवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ तथा युनिसेफका तर्फबाट दण्डिराम विश्वकर्मा, अरनिता मास्के श्रेष्ठ, मोहमद् इफरानलगायतको सहभागिता रहेको थियो

क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो,माघ २२ बाट देशभरि सञ्चालन गरिने

काठमाडौंँ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप सातवटै प्रदेशमा पठाएको छ ।

‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा सबै खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी  दिनुभयो । उहाँले सबै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताउनुभयो । उहाँका अनुसार गाभीले पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि उक्त एचपिभी खोप निःशुल्क उपलब्ध गराएको हो । 

सरकारले यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय बालिका र किशोरीलाई खोप लगाउँदै छ ।

महाशाखाका निर्देशक डा रायमाझीका अनुसार कोशी प्रदेशमा दुई लाख ७५ हजार एक सय ८० मात्रा, मधेशमा तीन लाख ८० हजार चार सय ६० मात्रा, बागमतीको हेटाँैडाका लागि एक लाख २५ हजार आठ सय मात्रा, बागमतीको भक्तपुरका लागि दुई लाख १८ हजार दुई सय ८० खोपको मात्रा पठाइसकेको छ । 

यस्तै गण्डकी प्रदेशमा एक लाख ३० हजार आठ सय ७० मात्रा, लुम्बिनीमा दुई लाख ९८ हजार नौ सय १०, कर्णालीमा एक लाख २४ हजार चार सय र सुदूरपश्चिममा एक लाख ८७ हजार एक सय २० खोपको मात्रा पठाएको छ । प्रदेशले खोपलाई सुरक्षित भण्डारण गर्ने र आ–आफ्नो जिल्लामा पठाइने उहाँले बताउनुभयो । 

उक्त खोप एक मात्रा लगाएपछि पुग्ने महाशाखाका निर्देशक डा रायमाझीले जानकारी दिनुभयो । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ । 

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयासको कांग्रेसद्वारा निन्दा

काठमाडौँ-नेपाली कांग्रेसले सहकारी रकम अपचलन तथा ठगी प्रकरण सम्बन्धमा काठमाडौँ जिल्ला अदालतमा भएको थुनछेक बहस सकिएपछि अदालत परिसरभित्रै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई गरिएको दुव्र्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेसले विज्ञप्तिमार्फत विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जोसुकैलाई पनि अधिकार रहेको उल्लेख गर्दै यो घटना दुःखदायी भएको जनाएको हो । विधिको शासन, कानुनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवाञ्छित गतिविधि कदापि स्वीकार्य हुन नसक्ने कांग्रेसको भनाइ छ ।

उक्त घटनाको कांग्रेसले निन्दा र भत्सर्ना गर्दै यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

कवाड व्यवसाय सहज सञ्चालन गर्ने वातावरण बनाइदिन मधेश प्रदेशको आग्रह

काठमाडौं-मधेश प्रदेश सरकारले कवाड व्यवसायीको सम्मान, मर्यादा र जीविकोपार्जनप्रति सदाशयता प्रकट गर्दै सरल तथा सहज ढङ्गले व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकासँग आग्रह गरेको छ ।

कवाड व्यवसायी समाज नेपालले मुख्यमन्त्री सतिशकुमार सिँहलाई ज्ञापनपत्र बुझाएपछि उहाँका प्रेस सल्लाहकार अनिलकुमार कर्णले विज्ञप्तिमार्फत यस्तो आग्रह गर्नुभएको हो ।

विधि तथा प्रक्रियाअनुसार सम्बन्धित सरकारी निकायमा दर्ता गरी करसमेत तिर्ने दायित्व निर्वाह गर्दै आएका कवाड व्यवसायी र यस व्यवसायमा आश्रित श्रमिकलाई रोजगारविहीन बनाउने गरी महानगरपालिकाले गरेको भनिएको व्यवहार चिन्ताजनक रहेको विज्ञप्तिमा उल्लेख छ ।

व्यवसायलाई सुरक्षित, जोखिमरहित तथा मर्यादित बनाउन मापदण्ड निर्धारण गरेर कडाइका साथ पालना गराउने विकल्प रहँदा पनि घरघर पुगेर पुनः प्रयोगयोग्य फोहोर सङ्कलन, निर्यात र प्रशोधन गर्ने कवाड व्यवसायीलाई विस्थापित गराउने प्रयास उचित नभएको विज्ञप्ति जनाइएको छ ।

निकुञ्ज क्षेत्रमा विकास आयोजना निर्माण गर्ने कानुन सर्वोच्चद्वारा बदर

काठमाडौँ-सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षलगायतका संरक्षित क्षेत्रमा विकास निर्माणका आयोजना सञ्चालन गर्न सकिने गरी गरिएको कानुन संशोधनलाई बदर गरेको छ ।

 प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फँुयाल र डा मनोजकुमार शर्माले उक्त ऐनको संशोधन संविधानसँग बाझिएको उल्लेख गर्दै बदर हुने ठहर गरेको हो ।  आदेशमा भनिएको छ, “संवैधानिक प्रावधानसँग बाँझिएको हुँदा निवेदन माग बमोजिम उक्त लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ को दफा ३ अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा थप गरिएका दफा ५ ‘क’ र दफा ६ (१ क) नेपालको संविधानको धारा १३३ (१) बमोजिम प्रारम्भदेखि नै अमान्य र बदर गरिदिएको छ ।”

 संवैधानिक इजलासका प्रधानन्यायाधीश राउत, न्यायाधीशहरु मल्ल, रेग्मी र डा शर्माले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा भएको संशोधन बदर हुने ठहर गर्नुभएको छ भने न्यायाधीश हरि फँुयालले फरक मत राख्दै राष्ट्रिय निकुञ्जसम्बन्धी कानुनको संशोधन खारेज आवश्यक नभएको दृष्टिकोण राख्नुभएको छ ।

लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने क्रममा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षलगायतमा पनि विकास निर्माणका आयोजना सञ्चालन गर्ने व्यवस्था थपिएको थियो । त्यसविरुद्ध अधिवक्ता दिलराज खनालले सर्वाच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि

भक्तपुर-यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नियमित तथा ग्रेडवृद्धि परीक्षा आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन चैत ७ गते बिहीबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने र सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र अनिवार्य अङ्ग्रेजीको परीक्षा हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयोे । सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुने उहाँले बताउनुभयो ।

दोस्रो दिन चैत ८ गते शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । सोही दिन गैर नेपाली विद्यार्थीका लागि अङ्ग्रेजी (इलेक्टिभ इङ्लिस) को परीक्षा हुने जनाइएको छ । चैत १० गते आइतबार अनिवार्य गणित, चैत १२ गते मङ्गलबार अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षा र सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ र मदरसातर्फका ऐच्छिक विषयका परीक्षा सञ्चालन हुनेछ । 

चैत १३ गते बुधबार अनिवार्य सामाजिक अध्ययन, प्राविधिक धारतर्फका ऐच्छिक विषय, संस्कृत वेदविद्याश्रमतर्फका विषयको परीक्षा हुने भएको छ । चैत १४ गते बिहीबार संस्कृत तथा वेदविद्याश्रमतर्फका ऐच्छिक विषयहरु, प्राविधिक धारतर्फका विभिन्न ऐच्छिक विषयको परीक्षा हुनेछ ।

चैत १५ गते शुक्रबार साधारण तथा संस्कृततर्फ वेदविद्याश्रमतर्फका सबै ऐच्छिक विषयहरु र प्राविधिक धारतर्फका कृषि र पशुपालनसम्बन्धी ऐच्छिक विषयको परीक्षा सञ्चालन हुने भएको छ । चैत १६ गते शनिबार प्राविधिक धारतर्फका विभिन्न विषयको परीक्षा सञ्चालन हुनेछ । 

चैत १७ गते आइतबार प्राविधिक धारतर्फका विभिन्न विषय, चैत १८ गते सोमबार अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषाको परीक्षा सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ । परीक्षाको अन्तिम दिन चैत १९ गते मङ्गलबार प्राविधिकधारतर्फका विभिन्न विषयको परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो ।

गाउँले सुविधा खोज्दै शहरमा, बस्तीमा वन्यजन्तुको रजाइँ’

ढोरपाटन (बागलुङ), ३ माघः बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहरबजार झर्नेको सङ्ख्या ठूलो छ । सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् । वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन् । वरपरका रूखबिरुवा बढेर गाउँ नै छेकिन थालेको छ । युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक मात्रै बाँकी छन् ।

दशक अगाडिसम्म रमाइला गाउँबस्ती अचेल रित्तिएर उराठलाग्दा छन् । झाडी पलाएर बाटो ढाकिएका छन् । घरसम्म झाडी पलाएपछि अहिले गाउँमा वन्यजन्तुको आतङ्क बढ्दै गएको छ । घरमै बाँदर, ब्वाँसो र स्याल आएर दुःख दिन थालेपछि स्थानीय त्रसित छन् । जिल्लाको गलकोट, जैमिनी, काठेखोला र बरेङका अधिकांश गाउँमा बाँदर आतङ्क बढी छ ।  

बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बारदलीमा झुन्ड्याएर राखिएका सामान नष्ट गरिदिने गरेको जैमिनी नगरपालिका–५ का कुलबहादुर थापाले बताउनुभयो । गाउँमा जनसङ्ख्या कम हुँदै जाँदा बाँदर आतङ्क भने बढ्दै गएको उहाँको भनाइ छ । पहिले जङ्गलमा मात्रै भेटिने बाँदर, स्याल र अन्य हिंस्रक जन्तु हिजोआज घरमै आएर सास्ती दिने गरेको थापाले दुःखेसो पोख्नुभयो । “गाउँमा वन्यजन्तुले धेरै दुःख दिन थाले, बारीमा लगाएको तरकारीदेखि खाद्यबाली बाँदरले सखाप पारिदिन्छ, गोठमा पालेको गाई, बाख्रा र पाठापाठी ब्वाँसोले खाइदिन्छ,” उहाँले भन्नुभयो, “कुन बेला मान्छेलाई नै आक्रमण गर्छ भन्ने चिन्ता बढेको छ । यो समस्या बढ्दै गएको छ, बसाइँसराइ गरेर जाने त गइहाल्छन्, गाउँमा बस्नेलाई त सरकारले जोगाइदिनु दिनुप¥यो ।”

काठेखोला गाउँपालिका–५ का नन्दराम कँडेलले वन्यजन्तुले बालीनाली खाई दिने र पशुचौपाया मारी दिँदा बर्सेनि लाखौँको नोक्सानी बेहोर्नुपरेको गुनासो गर्नुभयो । हरेक वर्ष गाउँबाट बागलुङ बजार, पोखरा, काठमाडौँ र चितवन बसाइँसराइ हुने र वन्यजन्तु भने गाउँ पस्ने समस्यालाई रोक्न सरकारले ध्यान दिनुपर्ने र बसाइँसराइ गरेर जानेले घरबारीलाई बाँझो राख्न नपाइने नीति ल्याउनुपर्ने उहाँको भनाइ छ । गाउँमा विकास हुँदै गए पनि धेरैले सहर रोज्दा गाउँमा वन्यजन्तुको आतङ्क बढ्न थालेको कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीहरू धेरै पीडित बन्यौँ, न गाउँ छोडेर बजार जान सक्छौँ, न गाउँमा ढुक्कले बस्न सकेका छौँ । यसतर्फ राज्यले ध्यान दिनुप¥यो, गाउँमा सबै ठीक छ, वन्यजन्तु व्यवस्थापन रोक्न सके हामी यहीँ खुसी छौँ ।”

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ३ माघः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ १४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा कायम भएको छ । 

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ पैसा, साउथ कोरियनवन एक सयको खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ पाँच पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १७ रुपैयाँ ७८ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४६ रुपैयाँ ७७ पैसा र बिक्रीदर चार सय ४८ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५८ रुपैयाँ १६ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ७१ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने

काठमाडौँ, २ माघः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ह्युमन मेटाप्न्यूमो भाइरस (एचएमपिभी) बारे अध्ययन गर्ने भएको छ ।

इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले भाइरसबारे नेपालका बिरामीमा पहिलो पटक अध्ययन गर्न लागेको जनाएको छ । महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरले त्रिवि शिक्षण अस्पताल र कान्तिबाल अस्पतालमा आउने बिरामीको नमुना सङ्कलन गरेर अध्ययन गरिने बताउनुभयो ।

“राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र महाशाखा मिलेर एचएमपिभीको अध्ययन गर्न थालेको छौँ”, उहाँले भन्नुभयो, “एचएमपिभी इन्फ्लुयन्जासँग मिल्ने भएकाले इन्फ्लुयन्जा नेगेटिभ भएका बिरामीको नमुना सङ्कलन गरेर अध्ययन गरिने छ ।”

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण गराएको छ । उक्त हल्लाको पछि नलाग्न मन्त्रालयले आग्रह गरेको छ ।

ह्युमन मेटाप्न्यूमो भाइरस नेपालमा नयाँ भाइरस नभइ विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो । यस भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र यसको सङ्क्रमण सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्ति, साना बालबालिका र वृद्ध व्यक्तिमा मात्र हुने सम्भावना रहने महाशाखाका निर्देशक डा घिमिरेले ब

खानेपानी अभावमा काकाकुल छन् नौ सय बढी घर परिवार

बरहथवा (सर्लाही), २ माघः यहाँको हरिवन नगरपालिका–५ का स्थानीय खानेपानीको चरम अभाव भोग्न बाध्य छन् । छ वर्षदेखि खानेपानी आयोजना निर्माण सम्पन्न नहुँदा स्थानीयवासी काकाकुल बनेका हुन् ।

वर्षौँदेखि पानीको समस्या समाधान नभएको सिद्धार्थ टोल निवासी सरिता लामाले गुनासो पोख्नुभयो । लामाको आँगनमा गाडेको ट्युबेलबाट आर्सेनिकयुक्त पानी आउन थालेपछि उहाँले ट्युबेलको पानी प्रयोग बन्द गर्नुभएको छ ।

हरिवन नगरपालिका–५, निवासी प्रेमशीला कुमारी साहको पनि समस्या उस्तै छ । खानेपानी किनेर खानुपरेको उहाँले बताउनुभयो । पानीको अभावमा पशुपालन गर्न समेत नसेकेको उहाँको गुनासो छ ।

हाल उपभोक्ता समितिले डिप बोरिङबाट पानी वितरण सुरु गरेको छ । बोरिङबाट पानी वितरण गर्दा विद्युत्मा खर्च धेरै हुने गरेको सिद्धार्थ टोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मनोज लामाले गुनासो पोख्नुभयो ।

नगर, जिल्ला खानेपानी, प्रदेश तथा सङ्घीय सरकारसम्म पुग्दा पनि आश्वासन बाहेक केही नपाएको उक्त वडाका वडाध्यक्ष नागेन्द्र साह बताउनुहुन्छ । ‘‘वडाको अगुवाइमा हरेक कार्यालयको ढोका ढोकामा पुगेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘हुँदैन कसैले भन्नुहुन्न । तर, कहिले हुन्छ ? कसैले जवाफ दिँदैनन ।’’

पानीको पाइप लाइन र धारासमेत जडान भइसक्दा पनि ‘ओभरहेड ट्याङ्की’ निर्माण नभएको उहाँको भनाइ छ । सो वडाका नौ सय ९३ घर परिवार पिउने पानीको अभावमा रहेको उहाँले बताउनुभयो ।

यस वडामा क्यान्सरको सङ्क्रमण देखिन थालेपछि अधिकांशले ट्युबेलको पानी प्रयोग बन्द गरेका छन् । यस क्षेत्रका ट्युबेलको पानी परीक्षणमा अत्यधिक मात्रामा आर्सेनिक फेला परेको थियो । अत्यधिक आर्सेनिकयुक्त पानी फेला परेको र क्यान्सरको जोखिम रहेको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन, प्रसारण भएपछि प्रदेश सरकारले उक्त खानेपानी तथा सरसफाइ आयोजना सुरु गरेको थियो ।

प्रदेशको भएको योजना भएकाले ताकेता गर्दा पनि अटेर गरेको नगरपालिका प्रमुख रमेश बुढाथोकीको भनाइ छ । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय मलङ्गवाका निमित्त प्रमुख रामनाथ साहले प्राप्त बजेट अभावमा काम सम्पन्न हुन नसकेको बताउनुभयो ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट ४० लाख बजेट विनियोजन गरेकाले छिट्टै काम सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । प्रमुख साहका अनुसार दुई लाख २५ हजार घनमिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण गर्न सङ्घ सरकारले गत वर्षसम्म ८० लाख खर्च गरिसकेको छ । यस वर्ष सङ्घ सरकारबाट थप बजेट नआएपछि प्रदेशबाट रु ४० लाख विनियोजन गरेको हो ।

एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७७ साल साउन २० गते कमलेश निर्माण सेवा लक्ष्मीपुर–५, सर्लाहीले ओभरहेड निर्माणको ठेक्का लिएको थियो । कम्पनीले ७४ लाख ९९ हजार तीन सय ४२ रुपैयाँ २७ पैसामा ठेक्का लिएको थियो ।

उक्त निर्माण सेवाका कार्यकारी निर्देशक रञ्जन सिंहले बजेट सुनिश्चितता नभएका कारण काम समयमै सम्पन्न गर्न नसकिएको बताउनुभयो ।

‘ऐन, कानुनमा भएका कमजोरी सच्याइने’ – कानुनमन्त्री चौरसिया

काठमाडौँ, २ माघ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ऐन, कानुनमा भएका कमजोरी सच्याइने बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री चौरसियाले कतिपय कुरामा कानुन संशोधनको आवश्यकता महसुस भएको र ती विषय सच्याउँदै जानुपर्नेमा जोड दिनुभयो । समिति अन्तर्गतका उपसमितिले कानुन कार्यान्वयनको अवस्थाका विषयमा गरिएको अध्ययन प्रतिवेदनले औँल्याएका कुरामा आफू गम्भीर रहेको र प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।

मन्त्री चौरसियाले भन्नुभयो, “विवाहको उमेर २० वर्ष रहेको अहिलेको कानुन संशोधन गर्नुपर्ने कुरा धेरै क्षेत्रबाट उठेको छ, मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी समस्या छ, शिक्षाको पहुँच कम भएको क्षेत्रमा समस्या रहेको देखिन्छ, यसमा आवश्यक सुधार गर्न जरुरी छ ।”

संसदीय उपसमितिले विवाहको उमेर २० वर्षबाट १८ वर्षमा झार्नुपर्ने माग आएको तथा यसतर्फ समिति र सरकार गम्भीर हुन जरुरी रहेको निष्कर्षसहितको प्रतिवेदन आज समितिलाई बुझाएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिले सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र सङ्घीय संसद्ले बनाएका ऐन, कानुन कार्यान्वयनका चुनौतीबारे अन्तरक्रिया कार्यक्रम गर्न उपसमिति गठन गरेको थियो ।

समितिका सभापति विमला सुवेदी समक्ष समितिका सदस्य पुष्पबहादुर शाहले संसद्ले बनाएका ऐन÷कानुन कार्यान्वयनका चुनौतीका विषयमा कैलालीको धनगढीमा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो ।

यस्तै सभापति सुवेदी समक्ष समितिका सदस्य रञ्जुकुमारी झाले सङ्घीय संसद्ले बनाएको ऐन÷कानुन कार्यान्वयनका चुनौतीका विषयमा धनुषाको जनकपुरधाममा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१ हस्तान्तरण गर्नुभयो ।

यसैगरी समितिका सदस्य पूर्णबहादुर घर्तीले सङ्घीय संसद्ले बनाएको ऐन÷कानुन कार्यान्वयनका चुनौतीका विषयमा दाङको देउखुरीमा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१ सभापति सुवेदी समक्ष हस्तान्तरण गर्नुभएको थियो ।

स्पेसएक्सद्वारा चन्द्रमामा दुई ल्यान्डर प्रक्षेपण

स्पेसएक्सले बुधबार बिहान एउटै रकेटमा दुई रोबोटिक चन्द्र ल्यान्डरहरू प्रक्षेपण गरेको छ ।

दुईवटा ल्यान्डरहरू अमेरिकी निजी एयरोस्पेस कम्पनी फायरफ्लाइ एयरोस्पेसको ब्लू घोस्ट ल्यान्डर र जापानी कम्पनी इसस्पेसको ल्यान्डर हुन् ।

फ्लोरिडाको नासाको केनेडी स्पेस सेन्टरमा स्पेसएक्स फाल्कन ९ रकेटमा बुधबार पूर्वी समय करिब १ः१३ बजे ल्यान्डरहरू प्रक्षेपण गरिएको थियो ।

स्पेसएक्सले रकेटको मुख्य इन्जिन कटअफ भएको पुष्टि गर्यो । फाल्कन ९ को पहिलो चरण एट्लान्टिक महासागरमा तैनाथ गरिएको ड्रोनशिपमा सफलतापूर्वक अवतरण भयो ।

फायरफ्लाइको ब्लू घोस्ट ल्यान्डरले मार्चको शुरुमा चन्द्रमाको सतहमा अवतरण गर्ने लक्ष्यका साथ चन्द्रमाको यात्रामा करिब ४५ दिन बिताउनेछ । यो लगभग चन्द्रमाको नजिक अवतरण गर्ने लक्ष्य राखिएको छ ।

नासाका अनुसार प्रयोगहरूमा चन्द्र उपसतह ड्रिलिङ्ग प्रविधि, रेगोलिथ नमूना सङ्कलन, ग्लोबल नेभिगेसन स्याटेलाइट प्रणाली, विकिरण–सहनशील विधिहरू समावेश छन् ।

नासाले यस मिसनको खोजले पृथ्वीलाई पनि फाइदा पुग्ने बताएको छ । यसले अन्तरिक्ष मौसम र ब्रह्माण्डीय शक्तिहरूले हाम्रो ग्रहलाई कसरी असर गर्छ भन्ने कुरामा प्रकाश पार्नेछ ।

यसैबीच, स्पेसबाट लचिलो ल्यान्डरले चन्द्रमाको चारदेखि पाँच महिनाको यात्रा सुरु गरेको छ । यसले सफ्ट ल्यान्डिङ हासिल गर्ने,चन्द्रमाको सतहको अन्वेषण गर्ने र रेगोलिथ नमूनाहरू सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास

जलेश्वर (महोत्तरी), २ माघः २७औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आज जिल्ला सदरमुकाम जलेश्वरमा सुरक्षाकर्मीले खोजी, उद्धार र उपचारसम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा जलेश्वर नगरपालिका– २ स्थित दुर्गा चोकमा सुरक्षाकर्मीले उक्त कृत्रिम अभ्यास प्रदर्शन गरेका हुन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस शाखा कार्यालयको संयुक्त टोलीले भूकम्पका बेला हुनसक्ने भौतिक तथा मानवीय हानीनोक्सानीका बेला गरिने खोजी, उद्धार र उपचार प्रक्रियाबारे कृत्रिम अभ्यास प्रस्तुत गरेका थिए । उक्त प्रदर्शनी पश्चात प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले नगरवासीलाई भूकम्पबाट बच्न, बचाउन अपनाउनुपर्ने सावधानीका बारेमा बताउनुभएको थियो । कृत्रिम अभ्यास हेर्न सयौँको सङ्ख्यामा सर्वसाधारण जम्मा भएका थिए ।

सभापति देउवाद्वारा बस्नेतको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २ माघ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी देवीध्वज बस्नेतको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै गत पुस २४ गते ९८ वर्षको उमेरमा निधन हुनुभएका बस्नेतको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।

सोलुखुम्बूको चौलाखर्क लिखुखोलामा जन्मनुभएका बस्नेतले २००७ सालको क्रान्तिमा सक्रिय सहभागिता जनाउनुभएको थियो । उहाँले मुक्ति सेनामा रहेर प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

विस २०१५ को आम निर्वाचन पश्चात पार्टी निकट वृद्धिजीवी परिषद्को राष्ट्रिय सम्मेलन हुँदा पूर्व ३ नं बाट प्रतिनिधि चुनिएर केन्द्रीय वुद्धिजीवी परिषद्को सदस्यमा बस्नेत निर्वाचित हुनुभएको थियो ।

बस्नेत नेपाली कांग्रेसको इतिहासका लेखक, संविधानसभा सदस्य एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य स्वर्गीय पुरुषोत्तम बस्नेतको दाजु तथा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अम्बिका बस्नेतको काका हुनुहुन्छ । स्वर्गीय बस्नेतका एक छोरा केशवध्वज बस्नेत तथा दुई छोरी अनारदेवी बस्नेत र अङ्गुर बस्नेत हुनुहुन्छ । उहाँको निधनबाट नेपाली कांग्रेसले प्रजातान्त्रिक आन्दोलनका योद्धा, एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

सभापति देउवाले बस्नेतको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

पुराना भन्सार एजेन्टलाई काम गर्न दिनुपर्ने माग

काठमाडौँ, २ माघः भन्सार विभागले साढे दुई वर्षअघि लोक सेवा आयोगमार्फत् परीक्षा गराएर नयाँ भन्सार एजेन्ट नियुक्त गरेपछि लाइसेन्स गुमाएका पुराना भन्सार एजेन्ट तथा तिनका प्रतिनिधिले पुनः लाइसेन्स पाउनुपर्ने र प्रतिनिधिका रुपमा काम गर्न पाउनुपर्ने माग राखेका छन् ।

सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ बारे भन्सार एजेन्ट प्रतिनिधि सङ्घसँग छलफल भएको थियो । उक्त छलफलका क्रममा २०७९ जेठ १५ गतेभन्दा अघि काम गरिरहेकालाई पुनः काममा फर्काउने व्यवस्था विधेयकमा समेट्न सुझाव आएको हो ।

पूर्व भन्सार एजेन्ट प्रतिनिधि जयबहादुर बस्नेतले एक सय ५० हाराहारी भन्सार एजेन्टले काम गुमाएको र त्यसले भन्सार जाँचपास प्रक्रियामा पनि समस्या सिर्जना गरेको जिकिर गर्नुभयो । “एकातर्फ लामो समयसम्म काम गरेकाहरुको रोजीरोटी गुमेको छ,भने लोकसेवाबाट परीक्षा पास गरेर आएका नयाँ भन्सार एजेन्टहरुले चुस्त रुपमा काम गर्न नसक्दा र व्यापारीले पनि उनीहरुलाई काम लगाउन नखोज्दा समस्या भएको छ”, बस्नेतले भने, “नयाँसँग व्यापारी जान खोज्दैनन् । पुरानासँग त्यो काम गर्ने अनुमति छैन ।”

पूर्व भन्सार एजेन्ट प्रतिनिधि कुमार खरेल, खड्गबहादुर कार्की, रामकुमार पौडेलले पनि कानुनमार्फत् नयाँ व्यवस्था ल्याएर यो समस्या समाधान हुनेमा आफूहरु आशावादी रहेको धारणा समितिमा राख्नुभयो । भन्सार एजेन्ट प्रतिनिधि सङ्घले प्रस्तावित भन्सार विधेयक २०८० को परिच्छेद १७ मा संशोधन गर्दा ‘२०७९ जेठ १५ गतेसम्म तीन वर्ष कार्य गरेका भन्सार एजेन्ट प्रतिनिधिको तोकिएबमोजिम व्यवस्था गरिनेछ’ भन्ने वाक्याङ्श थपिनुपर्ने सुझाव दिएको छ ।

भन्सार विभागले करिब २३ वर्षपछि २०७९ सालमा लोकसेवा आयोगमार्फत् परीक्षा गराएर प्रतिस्पर्धामार्फत् नयाँ भन्सार एजेन्टको प्रमाणपत्र दिएको थियो । तर उक्त प्रतिस्पर्धामा त्यसबेला काम गरिरहेका अधिकांश भन्सार एनेन्ट तथा तिनका प्रतिनिधि अनुर्तीण भएका थिए ।

अर्थ समिति सभापति सन्तोष चालिसेले भन्सार एजेन्टहरुले समितिका सदस्यलाई तारन्तार म्यासेज गरेर आफ्नो गुनासो सुनाउने गरेको बताउनुभयो । उनीहरुका माग जायज भएमा अहिले भन्सार ऐन संशोधनको क्रममा रहेकाले त्यसमार्फत् सम्बोधन गर्न सकिने उहाँको भनाइ छ । समितिका सदस्य वर्षमान पुन, सूर्यबहादुर थापा क्षेत्री, जुलीकुमारी महतो, डा स्वर्णिम वाग्लेलगायतले भन्सार एजेन्टका समस्याबारे समितिले विस्तृत छलफल र अध्ययन गरेर उचित निर्णय लिनुपर्ने धारणा राख्नुभएको थियो ।

पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी

ललितपुर, २ माघः विसं २०७२ को भूकम्पले क्षति पु-याएको विश्व सम्पदा सूचीमा रहेको यहाँको पाटन दरबार क्षेत्रका २४ ऐतिहासिक सम्पदा मध्ये २२ सम्पदाको पुनःनिर्माण भइसकेको छ भने दुई संरचना पुनः निर्माण हुन बाँकी छ । उक्त सम्पदा पुनःनिर्माण प्रक्रिया अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।

राणकालीन अदालत भवन र ऐतिहासिक नरसिंह मन्दिर पुनःनिर्माण भइरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख मन्जु थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भारत सरकारको सहयोगमा पुनःनिर्माण हुन लागेको अदालत भवनको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । ऐतिहासिक नरसिंह मन्दिरको पनि ललितपुर महानगरपालिकाको सहयोगमा पुनःनिर्माण अघि बढेको छ ।”

करिब चार सय वर्ष पुरानो नरसिंह मन्दिरमा एक सय ५३ थरिका इँटा प्रयोग गरिएकाले हाल इँटा तयारी भएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मन्दिरको पुनःनिर्माण आगामी आठ महिनाभित्र सम्पन्न हुनेछ ।

भूकम्पले क्षति पु-याएका केही संरचना पुनःनिर्माण भइ उद्घाटन भइसकेका छन् । कम क्षति पुगेका सम्पदाहरुको सामान्य मर्मत गरिएको पाटन दरबार संग्रहालयका प्रमुख सुरेशमान लाखेले बताउनुभयो । उहाँका अनुसार पाटनदरबारको सबैभन्दा ठूलो मन्दिरको रुपमा चिनिने देगुतलेजु मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ ।

विसं १९९० को भूकम्पले भत्काएको भाइदेव मन्दिर संरक्षणको काम अघि बढेको भएपनि आर्थिक अभावका कारण पुनः निर्माण सम्पन्न हुनसकेको छैन । विभिन्न दाताहरुको सहयोगबाट पुनःनिर्माण सुरु भएको उक्त मन्दिरको काम हाल स्थगित छ ।

नासाले सर्वाधिक तातो वर्षको पुष्टि गर्यो

नासाका वैज्ञानिकहरूको नेतृत्वमा गरिएको विश्लेषणले सन् २०२४ मा पृथ्वीको सतहको औसत तापक्रम रेकर्ड सबैभन्दा तातो रहेको देखाएको छ ।

सन् २०२४ मा विश्वव्यापी तापमान २० औं शताब्दीको आधारभूत रेखा (सन् १९५१–१९८०) भन्दा १.२८ डिग्री सेल्सियस भन्दा माथि रहेको थियो ।

नासाका प्रशासक बिल नेल्सनले भन्नुभयो,“फेरि पनि तापक्रमको रेकर्ड तोडिएको छ । सन् १८८० मा रेकर्ड राख्ने काम सुरु भएदेखि सन् २०२४ सबैभन्दा तातो वर्ष रहेको देखिएको छ ।”

वैज्ञानिकहरूले हालैका दशकहरूमा तापक्रम वृद्धिको लागि कार्बन डाइअक्साइड, मिथेन र अन्य हरितगृह ग्यासहरूलाई दोष दिन्छन् ।

हालैको अन्तर्राष्ट्रिय विश्लेषणका अनुसार सन् २०२२ र सन् २०२३ मा पृथ्वीले जीवाश्म इन्धनबाट कार्बन डाइअक्साइड उत्सर्जनमा कीर्तिमानी वृद्धि देख्न सकिन्छ ।

वायुमण्डलमा कार्बन डाइअक्साइडको एकाग्रता बढेर आज लगभग ४२० भाग प्रति मिलियनमा पुगेको छ ।

म्यानमामा खानी भत्किँदा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

उत्तरी म्यानमाको काचिन राज्यमा एक जेड खानी भत्किँदा मङ्गलबारसम्म जम्मा २२ शवहरू फेला परेको छ ।

गत जनवरी १३ र १४ गते थप नौ शव फेला परेको प्रहरी अधिकारीले जानकारी दिए । बुधबार पनि उद्धार कार्य जारी रहेको छ ।

हपाकान्त नगरपालिकाको खानी क्षेत्रमा रहेको माटोको पोखरी भत्किँदा सोमबार भीषण दुर्घटना भएको हो ।दुर्घटनाका कारण ५७ घर पनि माटोमुनि पुरिएको अधिकारीले बताए ।भत्किएको माटोको मात्रा धेरै भएकाले तल गाडिएका मानिस निकाल्न कठिन भएको छ ।

समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने

काठमाडौँ, २ माघ : समाजवादी मोर्चा नेपालले मोर्चा गठनको आश्यकता र औँचित्यता प्रष्ट्याउन यही माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको बैठकले सो निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादृर विश्वकर्माले जानकारी दिनुभयो । बैठकले समाजवादी मोर्चाको गतिविधि, सीमा र आगामी कार्यक्रमसम्बन्धी प्रतिवेदनलाई पूर्णता दिने निर्णय गरेको छ । यही माघ १० देखि १२ गतेसम्म उक्त प्रतिवेदनलाई अन्तिमरुप दिएर शीर्ष नेतासमक्ष हस्तान्तरण गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

समाजवादी मोर्चा गठनदेखि अहिलेसम्मको वैचारिक र राजनीतिक कार्यक्रममाथि समीक्षा भएको प्रवक्ता विश्वकर्माले बताउनुभयो । संसद्को हिउँदे अधिवेशन आह्वान नगरी अध्यादेश ल्याएर सरकारले संसद्को महत्वलाई वेवास्ता गरेको उहाँको भनाइ थियो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा पोखरेल नियुक्त

काठमाडौँ, २ माघ : नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा जगदीशचन्द्र पोखरेल नियुक्त हुनुभएको छ ।

कांग्रेस उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहनुभएका पूर्णबहादुर खड्काले आज डा पोखरेललाई प्रतिष्ठानको निर्देशकमा नियुक्त गर्नुभएको हो ।

उपसभापति खड्काले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ३६ (घ) बमोजिम नियुक्त गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा

काठमाडौँ, २ माघः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातमा आफ्ना पार्टी सदस्यको संलग्नता भएमा कारबाही गर्ने बताएको छ ।

आज काठमाडौँ जिल्ला अदालत परिसरभित्र सहकारी बचत अपचलन विषयको बहस भएपश्चात अदातलबाट निस्किने क्रममा त्रिपाठीमाथि हातपात भएको थियो । उक्त घटनाप्रति ध्यानार्कषण जनाउँदै रास्वपाले प्रेस विज्ञप्ति जारी गरेको छ ।

रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले राजनीतिक दलको लागि यस किसिमको व्यवहार स्वीकार्य नभएको भन्दै यस विषयमा पार्टीको अनुशासन विभागको ध्यानार्कषण भएको बताउनुभएको छ ।

“यस विषयमा पार्टीको अनुशासन विभागको ध्यानार्कषण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएका आवश्यक कारबाही हुने छ”, उहाँले भन्नुभयो । ,

सभापोखरीमा आगलागीबाट पाँच घर जले

खाँदबारी (सङ्खुवासभा), २ माघः यहाँको सभापोखरी गाउँपालिका– ६ बाह्रबिसे बजारमा आगलागी हुँदा पाँच वटा घर जलेर नष्ट भएको छ । आज भएको आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बूको एकएक वटा र सुरेश तामाङको दुई वटा घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार आज दिउँसो २ बजेदेखि रामबहादुर राईको घरबाट आगलागी सुरु भएको थियो । नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।

सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक

काठमाडौँ, २ माघ : गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा आफ्नो क्षमता विकासमा प्रगति गरिरहेको बताउनुभएको छ ।

कीर्तिपुरमा आज आयोजित २७औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले खोज, उद्धार तथा राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्धारकर्मी तयार भएको जानकारी दिँदै सुरक्षा निकाय र प्रतिकार्यमा क्रियाशील संस्थाको व्यवस्थित परिचालन गर्न आवश्यक व्यवस्था गरिएको बताउनुभयो । उहाँले विपद्को समयमा अत्यावश्यक सामग्रीको भण्डारणलाई प्रभावकारी बनाउन आपतकालीन गोदामघर सञ्चालनसम्बन्धी कार्यविधि निर्माण गरी सबै प्रदेशमा आपतकालीन गोदामघर हस्तान्तरण गर्ने तयारी भइरहेको बताउनुभयो ।

“आगामी दिनमा भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियालाई थप प्रभावकारी बनाएर लगिनेछ”, गृहमन्त्री लेखकले भन्नुभयो, “सरकारी निकाय, निजी क्षेत्र र गैरसरकारी संस्थालगायत समुदायस्तरमा पूर्वतयारी, प्रतिकार्य र पुनःनिर्माण क्षमता अभिवृद्धि गर्ने कार्य गरिनेछ ।” सचेतना बढाउन परम्परागतसँगै नयाँ प्रविधिलाई अधिकतम प्रयोग गरिने उहाँको भनाइ थियो ।

जाजरकोटलगायत भूकम्पबाट प्रभावित नागरिकका लागि अस्थायी आवास बनाउन रु ५० हजार सहयोग गर्ने अस्थायी निर्माणसम्वन्धी मापदण्ड मन्त्रीपरिषद्बाट स्वीकृत भई लागू भइसककेको गृहमन्त्री लेखकले जानकारी दिनुभयो । “स्थायी आवास निर्माणसम्बन्धी कार्यविधि कार्य समितिको बैठकबाट पारित भइसकेको छ”, उहाँले भन्नुभयो, “जाजरकोट भूकम्पबाट भएको क्षतिको आँकलन यसै महिनादेखि प्रारम्भ गरिनेछ ।”

लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छ : अध्यक्ष दाहाल

काठमाडौँ, २ माघ : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले दिगो विकासको राष्ट्रिय लक्ष्यको अठोटलाई पूरा गर्न संसदीय समितिले क्षमताले भ्याएसम्म काम गरिरहेको बताउनुभएको छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा अध्यक्ष दाहालले दिगो विकासको लक्ष्यलाई पूरा गर्ने सन्दर्भमा समितिले तदारुकता र सक्रियताकासाथ काम गरेको घटना स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, “दिगो विकासको लक्ष्य प्राप्त गर्न सरकार र संसद्का अतिरिक्त सरोकारवाला सवै निकायको तदारुकता र समन्वयको खाँचो छ, सहयोग र समन्वयको अभावमा एउटा योजनामा तीन तहकै सरकार तथा बेग्लाबेग्लै मन्त्रालयको बजेट परेको छ ।”

दिगो विकासका लागि अत्यावश्यकीय शर्त शिक्षा, स्वास्थ्य, खानेपानी, गरिबी निवारण, सूचना तथा सञ्चारलगायत क्षेत्रमा केही प्रगति भएजस्तो देखिए पनि गुणस्तरको प्रश्न गम्भीर रुपमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले तथ्याङ्कमा अब्बल देखाउने होडबाजीले वास्तविकता ओझेलमा परिरहेको धारणा राख्नुभयो ।

समितिका सभापति कमलादेवी पन्तले दिगो विकासको लक्ष्य प्राप्तिलाई प्रचारप्रसार मात्र सीमित नतुल्याइ परिणाममुखी बनाउन सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभयो ।

सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले केन्द्रमा मात्र नभई कतिपय प्रदेश र स्थानीय तहमा आर्थिक अनुशासन उलङ्घन हुनेगरी विनियोजित शीर्षकभन्दा बाहिर गएर खर्च गर्ने प्रवृत्ति बढेको उदाहरण प्रस्तुत गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले दिगो विकासको लक्ष्य प्राप्तिको स्रोत अनुमान र मध्यकालीन खर्च व्यवस्थानका विषयमा विभिन्न कोणबाट गृह कार्य गरिरहेको बताउनुभयो । उहाँले परम्परागत र सरकारी राजस्वले मात्र लक्ष्यप्राप्ति गर्न नसक्ने भएकाले सरकारले निजी क्षेत्रका लागि लगानीको वातावरण बनाइदिन जरुरी रहेको धारणा राख्नुभयो ।

दिगो विकासको लक्ष्यसम्बन्धी विषयविज्ञ राकेश कर्णले राज्यले प्रत्येक वर्ष राजस्वको लक्ष्य बढाउँदा सेवाको गुणस्तर बढाउने कार्यक्रम तर्जूमा गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । यसअघि बैठकमा समितिका सदस्यहरुले दिगो विकासको लक्ष्य प्राप्तिका लागि सरकार र संसद्बीच साझा धारणा तथा समन्वयको खाँचो औँल्याउनुभयो ।

समितिले गरेको नेपालमा दिगो विकासको लक्ष्य कार्यान्वयनको स्थिति अध्ययन तथा मूल्याङ्कनसम्बन्धी प्रतिवेदनमा बजेट अनुशासन पालना एवं सङ्केतीकरण प्रभावकारी बनाउन सुझाव दिइएको छ । प्रतिवेदनमा लक्ष्यसँग सम्बन्धित सूचकको प्रगति प्रतिवेदनका लागि प्रणालीको विकास गर्न तथा राजनीतिक अपनत्व विकास गर्नुपर्ने सुझाव दिइएको छ ।

बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग

काठमाडौँ, २ माघ : सङ्घीय गणतन्त्र जर्मनीले सर्लाही, रौतहट र काभ्रेपलाञ्चोकमा केही महिनाअघिको बाढी तथा आगलागीबाट प्रभावित भएकाहरुको सहयोगार्थ रु एक करोड ४१ लाख प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यहाँस्थित जर्मनीको राजदूतावासमा आज नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्ज र हार्ट वल्र्डवाइड नामक स्वास्थ्य सेवा प्रदायक संस्थाका सह प्रमुख सूर्य भट्टले अनुदान सहायता रकम प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

अनुदान सहायता रकमबाट हार्ट वल्र्डवाइडले जिल्लाका बाढी तथा अग्नि पीढितका साथै महिला, सुत्केरी तथा गर्भवतीलाइृ स्वास्थ्य तथा सरसफाइ सामाग्री, भाँडावर्तन न्याना सामान प्रदान गर्ने उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

मापसेले लिँदै छ ज्यान, सतर्कता अपनाउन

काठमाडौँ- पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) सवारी दुर्घटनाको कारण बन्दै गएको छ । तीव्र गति लापर्बाही, लेन मिच्नेलगायत कारणले सवारी दुर्घटना हुँदा मानिसको बढी मृत्यु हुने गरेकामा पछिल्लो समय चालकले मदिरा पिएर सवारीसाधन चलाउने कारण दुर्घटना बढिरहेको प्रहरीले जनाएको छ । यसबाट स्वयं चालक तथा यात्रुको ज्यान जाने गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मापसे र लापसे (लागुपदार्थ सेवन) सवारी दुर्घटनाको कारण बनिरहेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो पाँच महिनाको तथ्याङ्कमा मापसे गरेर सवारीसाधन चलाएका चालकका कारण छ सय २१ वटा दुर्घटना भएका छन् । ती दुर्घटनाबाट ४७ जनाको ज्यान गएको छ भने आठ सय सात जना घाइते भएका छन् । 

यसरी हुने दुर्घटना सङ्घीय राजधानी काठमाडौँ उपत्यकामै सबैभन्दा बढी हुने गरेको पाइएको छ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा उपत्यकामा चालकले मापसे गरेर सवारीसाधन चलाएका तीन सय ७७ वटा गाडी दुर्घटना हुँदा १६ जनाको मृत्यु र तीन सय ८९ जना घाइते भएका छन् । 

यस्तै, कोशी प्रदेशमा यस्ता २८ वटा दुर्घटनामा सातको मृत्यु र ५० जना घाइते भएका छन् । मधेश प्रदेशमा ८२ दुर्घटना हुँदा एकको मृत्यु, एक सय ५४ जना घाइते, बागमती प्रदेशमा २८ दुर्घटनामा तीनको मृत्यु ४४ घाइते, गण्डकी प्रदेशमा २३ दुर्घटना हुँदा तीनको मृत्यु र ३६ जना घाइते भएका छन् । 

यस्तै, लुम्बिनी प्रदेशमा ४३ दुर्घटना हुँदा १० को मृत्यु र ७० जना घाइते भएका छन् । कर्णालीमा १२ दुर्घटना हुँदा १४ जना घाइते र सुदूरपश्चिम प्रदेशमा २८ दुर्घटना हुँदा सातको मृत्यु र ५० जना घाइते भएका प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलगायत देशभर नै मापसेविरुद्ध जाँच र कारबाही अभियान जारी रहेको छ तर कतिपय अवस्थामा सार्वजनिक सवारीसाधनका साथै एम्बुलेन्स र स्कूल बसका चालकले समेत मापसे तथा लापसे गरेर सवारी चलाएका भेटिएका प्रवक्ता अधिकारीले जनाकारी दिनुभयो । 

यस्ता चालकका कारण धेरै यात्रुको ज्यान जोखिममा पर्ने भएकाले त्यस्तो सूचना पाए प्रहरीलाई जानकारी गराउन सार्वजनिक अनुरोध गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले बताउनुभयो । यसरी अनुरोध तथा प्रचारप्रसार गर्दा पनि मापसे गरेर सवारी चलाउने क्रम रोकिएको छैन । चालकको लापर्बाहीले स्वयं आफैँ र यात्रुहरूको समेत ज्यान जोखिममा गर्ने भएकाले सतर्कता अपनाउन प्रहरीको आग्रह गरेको छ । 

यस्तो छ तरकारी र फलफूलको आजको मूल्य

काठमाडौँ, २ माघः कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३५, आलु रातो प्रतिकेजी रु ४७, आलु रातो (भारतीय) प्रतिकेजी रु ४४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६८, गाजर (लोकल) प्रतिकेजी रु ८५, गाजर (तराई) प्रतिकेजी रु ८०, बन्दा (लोकल) प्रतिकेजी रु ३०, बन्दा (तराई) प्रतिकेजी रु २५, बन्दा (नरिवल) प्रतिकेजी रु २५, काउली स्थानीय प्रतिकेजी रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ३५, काउली (तराई) प्रतिकेजी रु २०, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ४०, भन्टा लाम्चो प्रतिकेजी रु ५०, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु ९०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ७०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ५०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ९०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु १००, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु २०, पालुङ्गो साग प्रतिकेजी ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकेजी रु ४०, मेथीको साग प्रतिकेजी रु ८०, प्याज हरियो प्रतिकेजी रु ६०, बकुला प्रतिकेजी रु ६०, तरुल प्रतिकेजी रु १००, च्याउ (कन्य) प्रतिकेजी रु १२०, च्याउ (डल्ले) प्रतिकेजी रु ३५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ८०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १४०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १३०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु १३०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु ११०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु १३०, हरियो धनिया प्रतिकेजी रु ६०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १६०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौँ, २ माघः निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गर्नुभएको छ । आफ्नो लेखन तथा निदेशनमा चलचित्र निर्माण हुने उहाँले बताउनुभयो ।

चलचित्रमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको बताइएको छ । निर्देशक घिमिरेले अहिलेको समाजको तीतो यथार्थलाई चलचित्रमार्फत दशक समक्ष पुर्याउन लगिएको बताउनुभयो । 
उहाँले भन्नुभयो, “मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, चलचित्रले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । माघमै हामी छायाङ्कन गर्दैछौँ ।”

ओजस्वी केसी निर्माता रहनुभएको चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गर्नुहुनेछ । चलचित्रमा विपीन कार्की, अरुण क्षेत्री, पञ्चमी घिमिरे, मदनकृष्ण श्रेष्ठ, सुनिल थापालगायतका कलाकारले अभिनय गर्नुहुनेछ । 

माघे सङ्क्रान्तिमा गढीमाइ मेलाः एकैदिन १० लाखले गरे अवलोकन

बारा – माघे सङ्क्रान्तिको विशेष अवसरमा आज बारामा ठूलो मेला लागेको छ । मेलामा १० लाखभन्दा बढी सहभागी भएको गढीमाई सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले जानकारी दिनुभयो ।

यस वर्ष गत मङ्सिर २४ गते बली चढाउने साइत जुटेपनि आर्थिक अभावले बली चढाउन नसक्नेले आज बलि चढाएको मन्दिरका मुख्य पुजारी मङ्गल चौधरीले जानकारी दिनुभयो । “आज पनि श्रद्धालुले बोकाको बली दिनुभएको छ भने केहीले परेवा उडाएर भाखल पूरा गर्नुभएको छ”, उहाँले भन्नुभयो । 

मेला मूल व्यवस्थापन समितिका महासचिव वीरेन्द्र यादवले नेपाललगायत भारतको विभिन्न ठाउँबाट आएका भक्तजन मेलामा सहभागी भएको बताउनुभयो । भारतबाट आउने भतmजनका लागि गढीमाई मन्दिरसम्म आउने नाका रक्सौल, मटियर्वा सिम्रौनगढ, गौरबाट हलुका सवारीसाधनलाई बिना शुल्क इन्ट्री गरेर मात्र सहज रुपमा मन्दिरसम्म आउने वतावरण मिलाएको थियो । 

क्रोएसिया पठाइदिने भन्दै रु १५ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारमा क्रोएसिया पठाइदिने भन्दै रु १५ लाख ठगी गरेको अभियोगमा एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका–५ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–२ बस्ने २९ वर्षीय निम पासी शेर्पा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “शेर्पाले क्रोएसिया पठाइदिने भन्दै दुई जनाबाट रु १५ लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।” निजलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । 

लमजुङमा यसवर्ष धान उत्पादन बढ्यो

लमजुङ, २ माघः लमजुङमा यसवर्ष धान उत्पादन बढेको छ । अनुकुल मौसम, उन्नत जातको धानको विउ प्रयोगलगायतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।

केन्द्रका कृषि प्रसार अधिकृत सरोज थापाका अनुसार चालु आर्थिक वर्षमा  नौ हजार तीन सय एक हेक्टरमा धानखेती गरिएकामा ३१ हजार एक सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ । जबकी गत आवमा सोही क्षेत्रफलमा २८ हजार छ सय ४७ मेट्रिटन धान उत्पादन भएको थियो । गत आवको तुलनामा चालु आवमा दुई हजार पाँचसय ११ मेट्रिकटन धान बढी उत्पादन भएको हो ।

केन्द्रका अनुसार आव २०७९/८० मा ३० हजार नौसय ८६ मेट्रिकटन, आव २०७८/७९ मा ३० हजार छसय ९८ मेट्रिकटन, आव २०७७/७८ मा ४४ हजार चारसय २५ मेट्रिकटन, आव २०७६/७७ मा ४४ हजार एकसय ५५ मेट्रिकटन, आव २०७५/७६ मा ४४ हजार पाँचसय ४५ मेट्रिकटन आव २०७४/७५ मा ४३ हजार आठसय ३० मेट्रिकटन धान उत्पादन भएको थियो । जिल्लामा साबित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, लोकतन्त्र, सुनौलो सुगन्ध जस्ता जातका धानखेती हुँदै आएको छ । 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २ माघः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा कायम भएको छ । तोकिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ४५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

जापानी येन १० को खरिदर आठ रुपैयाँ ७६ पैसा र बिक्रीदर आठ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ १२ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ७० पैसा र बिक्रीदर ३० रुपैयाँ ८४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०२ पैसा र बिक्री दर १९ रुपैयाँ १० तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७ रुपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४८ रुपैयाँ ०४ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ५० पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५९ रुपैयाँ २९ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ८५ पैसा तय भएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।  राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन 

विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग फोनवार्ता

काठमाडौँ, १ माघः हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले आज साँझ इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गर्नुभएको छ ।

हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई मुक्त गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री डा राणाले विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री सारमार्फत् इजरायल सरकारसँग आग्रह गर्नुभएको हो ।

फोनवार्तामा मन्त्री डा राणाले इजरायल सरकारले विपिनसहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिँदै नेपाली युवा विपिनलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्नका लागि विशेष आग्रह गर्नुभएको थियो ।

त्यस अवसरमा मन्त्री सारले विपिनको सकुशल रिहाइका लागि इजरायल सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी मन्त्री डा राणालाई गराउनुभएको थियो । साथै विदेशमन्त्री सारले आज बिहान परराष्ट्रमन्त्री डा राणाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग कुराकानी गरेकामा खुसी व्यक्त गर्नुभएको थियो । मन्त्री अल–खुलाइफी हमाससँगको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता भएकाले उहाँको भूमिका महत्वपूर्ण रहेको इजरायली विदेशमन्त्रीको भनाइ थियो ।

आज बिहान मन्त्री डा राणाले कतारका विदेश राज्यमन्त्रीसँग फोनवार्ता गरी सोही आग्रह गर्नुभएको थियो । हमास समूहले केही बन्दी रिहा गर्न लागेको समाचारपछि मन्त्री डा राणाले इजरायल सरकार र हमाससँग सम्पर्कमा रहेर युद्धविरामका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग सम्पर्क गरी विपिनको रिहाइका लागि अपिल गरिरहनुभएको छ ।

गत हप्तामात्र उहाँले इजिप्ट सरकारसँग पनि सो आग्रह गर्नुभएको थियो ।

विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्नो कूटनीतिक प्रयासलाई जारी राखेको छ । मन्त्री डा राणाले संयुक्त राष्ट्रसङघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरूमार्फत विपिनको रिहाइका लागि आग्रह गर्दै आउनुभएको छ ।

म्यानमाका अपाङ्गता बालबालिकालाई युनिसेफको मासिक सहायता

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) म्यानमाले देशभरका दुई देखि १८ वर्ष उमेरका प्रत्येक अपाङ्गता भएका बालबालिकालाई प्रति महिना ४२ हजार क्याट (लगभग २० अमेरिकी डलर) उपलब्ध गराउनेछ ।

कोषले पोषण, स्वास्थ्य हेरचाह, व्यक्तिगत सरसफाइ, सहायक उपकरण, प्रविधि, पहुँच, पुनस्र्थापना र शिक्षा लगायतका आवश्यक आवश्यकताहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको युनिसेफले जनाएको छ ।

यो कोष हालसँगै बस्ने प्रति परिवार बढीमा तीन अपाङ्गता भएका बालबालिकालाई उपलब्ध गराउने बताएको छ ।

गम्भीर अपाङ्गता भएका बालबालिकाहरू मात्र नगद सहायताका लागि योग्य रहेका प्रतिवेदनमा उल्लेख भएको छ ।

उत्तरायणको पहिलो दिन: मनाइयो माघेसङ्क्रान्ति

काठमाडौँ, १ माघः माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघेसङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा वैदिक सनातन हिन्दू धर्मावलम्बीले कूल परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।

माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिन भन्दा क्रमशः रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मान्ने गरिएको छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको थियो ।

तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर ननुहाउनेले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताउनुभयो । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ ।

शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेलले मालिस गर्दा सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । जाडो महिनामा घ्यू, चाकु, तरुल, लड्डु, तिलौरी जस्ता परिकार खाँदा न्यानो हुनाका साथै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यस पर्वलाई मानव स्वास्थ्यसँगसमेत जोडेर हेर्ने गरिन्छ । घ्यू, चाकु, तरुल, लड्डु, तिलौरी जस्ता परिकारले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन पनि सहयोग गर्ने आयुर्वेद डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ ।

विश्व सडक उत्सर्जनमा वृद्धि : थिङ्क ट्याङ्क

विद्युतीय सवारी साधनको तीव्र वृद्धि कारण सडक यातायातबाट सिओ–२ उत्सर्जन यो वर्ष विश्वव्यापी शिखरमा पुग्न सक्ने एक जर्मन थिङ्क ट्याङ्कले जनाएको छ ।

इन्टरनेशनल काउन्सिल अन क्लिन ट्रान्सपोर्टेसन (आइसिसिटी) ले अनुमान गरेको अनुसार सन् २०२५ मा सवारी साधनको उत्सर्जन करिब नौ गिगाटन पुग्ने छ, जुन पहिले अनुमान गरिएको भन्दा एक चौथाई बढी छ ।

उत्सर्जनको मात्रा सन् २०५० मा ७.१ गिगाटनमा झर्नेछ । आइसिसिटीले अगस्ट सन् २०२४ सम्म विस्तार भएको वातावरणीय नियमहरूमा आधारित परिदृश्यमा गणना गरेको हो ।

आइसिसिटीले नयाँ बिक्रीमा ब्याट्रीबाट चल्ने कारहरू लगायत शून्य उत्सर्जन सवारीसाधन (जेडइभी) को ठूलो हिस्सा आवश्यक पर्ने प्रमुख बजारहरूमा परिवर्तन भएका नियमहरूका कारण तीव्र परिवर्तन भएको बताएको छ ।

युरोपेली सङ्घले सन् २०३५ देखि नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा प्रतिबन्ध लगाउन सहमत भएको छ । हाल उक्त योजनाको आलोचना बढेको छ ।

यो युरोपको सङ्घर्षरत अटोमोटिभ उद्योगबाट बढ्दो आलोचनामा आएको छ । हाल धेरै दक्षिणपन्थी राजनीतिक दलहरूको लागि मुद्दा बनेको छ ।

थिङ्क ट्याङ्कले बनाएका दुई परिदृश्यहरू बीचको भिन्नता पहिले नै महत्त्वपूर्ण थियो । पेरिस जलवायु सम्झौता अनुरूप हुनको लागि सन् २०५० सम्ममा वार्षिक उत्सर्जन २.३ गिगाटनले घटाउनुपर्नेछ ।

जलवायु सम्झौताले ग्लोबल वार्मिङलाई पूर्व–औद्योगिक स्तरभन्दा दुई डिग्री सेल्सियसभन्दा कम र सम्भव भएमा १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य राखेको छ ।

आइसिसिटीले आफ्नो मोडलिङमा सवारी साधन उत्पादन र इन्धन प्रयोग सहित सडक यातायातसँग सम्बन्धित सबै उत्सर्जनहरू समावेश गरेको छ ।

‘जलवायुमैत्री खेती प्रणाली अवलम्बन गर्न जरूरी छ’ : मुख्यमन्त्री सिंह

महेन्द्रनगर (धनुषा), १ माघः मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जलवायुमैत्री खेती प्रणाली अवलम्बन गर्न जरूरी रहेको बताउनुभएको छ । नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलन धानखेतीसँग सम्बन्धित प्रविधिका बारेमा आज जनकपुरधाममा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री सिंहले खेती प्रणाली र जीवनका हरेक पक्षमा जलवायुको बदलिँदो स्वभाव र वातावरणमैत्री व्यवहार आवश्यक रहेकामा जोड दिनुभयो ।
खेती गर्दा रासायनिक मलको अत्यधिक प्रयोग हुँदा माटोको उर्बरा शक्ति घटेको भन्दै मुख्यमन्त्री सिंहले वातावरणमैत्री खेतीका लागि प्रदेश सरकारले प्राङ्गारिक मलको प्रयोग गर्न किसानलाई प्रोत्साहित गर्ने नीति लिएको उल्लेख गर्नुभयो ।

प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साहले चुरे तथा वन विनाशका कारण वातावरणमा नकारात्मक असर पारेकाले चुरेको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनुभयो ।

श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, नेपालमा जलवायु अनुकूल धानको खेतीविज्ञ निलम शर्मा रिजाल र मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव विनय कर्ण, मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साहले जलवायुमैत्री खेती प्रणालीका बारेमा आफ्नो धारणा र प्रस्तुति गर्नुभएको थियो ।

‘जब कृषिमन्त्रीलाई नौ किलोको काउली दिइयो’

ढोरपाटन (बागलुङ), १ माघः बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरामा आज माघेसङ्क्रान्ति मेला तथा जैमिनी कप चलिरहेको थियो । मेलामा स्थानीय कला, संस्कृति र विभिन्न प्रकारका झाँकी प्रदर्शनले दर्शकलाई लोभ्यायो । साँझ पर्दै थियो । आयोजकले प्रमुख अतिथिका रूपमा आउनुभएका कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीलाई बिदाई गर्नुपर्ने भयो । धेरै ठाउँमा आयोजकले अतिथिलाई मायाको चिनो भनेर विभिन्न प्रकार समान दिने गरेका छन् तर यहाँ भने फरक शैलीमा मन्त्री अधिकरीलाई बिदाइ गरियो ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा मन्त्री अधिकारीलाई उपहार दिन मञ्चमा उक्लिुनसभयो  । उहाँको हालमा नौ किलोको काउली थियो । शर्माले मन्त्री अधिकारीलाई मायाको चिनो स्वरूप त्यही काउली थमाउनुभयो । उक्त दृश्यले मेला हेर्न आएका हजारौँ दर्शकको ध्यान मञ्चतिर खिच्यो । धेरै चकित भए । नगर उपप्रमुख शर्माले कृषिमन्त्रीलाई मायाको चिनोका रूपमा काउली हस्तान्तरण गरेको उद्घोष गर्दा चारैतिर हाँसो चलेको थियो । स्थानीय किसानले उत्पादन गरेको काउली मन्त्री अधिकारीले मुस्कुराउँदै ग्रहण गर्नुभयो ।

यस नगरपालिकाले विगत केही वर्षदेखि यस्ता कार्यक्रममा अतिथिलाई स्थानीय उत्पादनलाई प्रयोग गर्दै आएको छ । यस वर्ष पनि सोही नीतिअनुसार कृषिमन्त्री अधिकारीलाई नौ किलोको काउली उपहार दिइएको उपप्रमुख शर्माले बताउनुभयो । 

उहाँले उक्त काउली जैमिनी नगरपालिका–२ का किसान गङ्गाधर सापकोटाले उत्पादन गरेको बताउनुभयो । स्थानीय उत्पादनलाई मायाको चिनो तथा सार्वजनिक कार्यक्रममा प्रदर्शन गर्दा बजारीकरणमा टेवा पुग्ने अपेक्षासहित नगरपालिकाले यस्तो कार्य गर्दै आएको उपप्रमुख शर्माले बताउनुभयो ।

“जैमिनी नगरपालिकामा व्यावसायिक तरकारीखेती गर्ने किसानको सङ्ख्या धेरै छ, उहाँहरूले बर्सेनि तरकारी बेचेर लाखौँ आम्दानी गर्नुहुन्छ । त्यस्ता किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले मायाको चिनाका रूपमा प्रयोग गर्ने र अन्य बेला पनि खरिद गर्ने गरेको छ”, उपप्रमुख शर्माले भन्नुभयो, “किसानलाई थप हौसला मिल्ने हुँदा उहाँहरूको उत्पादनलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।”

नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरण गर्नका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको त्यस अवसरमा जानकारी दिइयो । यसै वर्षदेखि सञ्चालन गर्ने गरी कृषि एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढिसकेको नगरपालिकाले जनाएको छ ।

स्थानीय किसान प्रेमप्रसाद सापकोटाले नगरपालिकाले किसानलाई प्रोत्साहनका लागि गरेको यो कार्य सराहनीय रहेको बताउनुभयो । मेला महोत्सवमा प्रदर्शन र मन्त्री तथा अन्य पाहुनालाई स्थानीय उत्पादनलाई मायाको चिनोका रुपमा दिँदा किसानको पहिचान बढ्ने र बजारीकरणमा सहज हुने उहाँको विश्वास छ ।

नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति

त्रिशूली (नुवाकोट), १ माघः माघेसङ्क्रान्ति पर्वको अवसरमा आज नुवाकोटको तारुका, बेत्रावतीलगायतका स्थानमा गोरु जुधाई प्रदर्शनी आयोजना गरिएको छ ।

माघेसङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाई प्रदर्शनीको क्रममा यस वर्ष नुवाकोटको तारुकामा १३ हल, बेत्रावतीमा ११ हलसहित जिल्लाका विभिन्न स्थानमा यस्तो कार्यक्रम आयोजना गरिएको हो । 

तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा आयोजित गोरु जुधाईमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतसहितले अवलोकन गर्नुभयो । यसअघि दर्ता भएर जुधाउन १४ हल तयारी अवस्थामा राखेको भए पनि एउटा गोरुको स्वास्थ्यमा समस्या देखिएसँगै १३ हल गोरु जुधाइएको हो ।

गोरु जुधाईको अवलोकनपश्चात् मुख्यमन्त्री तामाङले पशु अधिकारको रक्षा गर्दै संस्कृतिको जगेर्ना, पर्यटन प्रवर्द्धन र खेलकुदको एक विधाको रूपमा गोरु जुधाईलाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो । त्यसका लागि विषयगत मन्त्रालयसँगको सहकार्यमा आवश्यक कार्य अगाडि बढाइने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

गोरु जुधाई प्रदर्शनीमा विजेता र उपविजेता भएका गोरुका धनी (किसान)लाई प्रोत्साहनस्वरुप नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । जुधाईमा संलग्न भएका गोरुको प्रस्तुति, जुधाईको कलाकौशल गराएका र विजेता भएका सबै गोरुका धनीलाई भिन्नभिन्न विधामा सम्मान गरिएको माघे सङ्क्रान्ति गोरु जुधाई महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिनुभयो ।

यसै अवसरमा आज नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीमा ११ हल गोरु जुधाइएको छ । गोरु जुधाई प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटले किसानले पालेका मध्येबाट छनोट गरेर जुधाई प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा विदुरका नगरप्रमुख राजन श्रेष्ठले कला, संस्कृति र इतिहाससँग जोडिएको गोरु जुधाई संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पछिल्ला वर्षमा नगरपालिकाको आर्थिक सहयोगसहित सहआयोजकको रुपमा भूमिका निर्वाह गर्दै आएकामा आगामी दिनमा वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेर थप सहयोग गरिने बताउनुभयो ।

माघेसङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपल, लिखु गाउँपालिका–३ सूर्यमती, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा र नुवाकोटसँग सीमा जोडिएका धादिङका विभिन्न स्थानमा समेत गोरु जुधाई प्रदर्शनी गरेर किसानले माघेसङ्क्रान्ति पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

गोरु जुधाई प्रदर्शनीको सुरुआत विभिन्न इतिहाससँग जोडेर उल्लेख गरे पनि त्यसको कहीँकतै यकिन तथ्य भने नभएकाले धेरै वर्ष पहिलादेखि नुवाकोटका विभिन्न गाउँठाउँमा यस परम्पराको थालनी भएको पाइन्छ । 

मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक

काठमाडौँ, १ माघ : वरिष्ठ मुटुरोग विशेषज्ञ डा राजेन्द्र कोजुको ‘मुटुको कथा’ शीर्षकको कृति सार्वजनिक भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा आज आयोजित समारोहमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत, वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, धुलिखेल अस्पतालका संस्थापक डा रामकण्ठ मकाजु, मुटुरोग विशेषज्ञ डा स्मृति शाक्य, हास्यकलाकार हरिबंश आचार्य र लेखक कोजुले लोकार्पण गर्नुभयो ।

बुक हिलले प्रकाशन गरेको उक्त कृतिमा मुटुको कथा, बा छाति त दुखेको छैन नि ? हत्तेरिक्ता औषधि नै छुट्यो, नूनको आत्मकथा, रक्सी समातेपछि र छाडेपछि, फेरिएको जीवन शैली, स्वस्थ जीवन र प्रार्थनासहित ४१ शीर्षकमा अनुभव, अनुभूति र घटनासम्बन्धी विषयबस्तु समेटिएका छन् ।

कार्यक्रममा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रुइतले तुलनात्मकरुपमा नेपालको स्वास्थ्य क्षेत्र राम्रो रहेको र त्यसमा चिकित्सकहरुले व्यावसायिक धर्म तथा बिरामीप्रति करुणा व्यक्त गर्न सकेमा अझ प्रभावकारी हुने धारणा राख्नुभयो ।

 मुटुरोग विशेषज्ञ डा कोइरालाले समाज रुपान्तरणका लागि किताब लेखन र अध्ययनको प्रभाव लामोसमयसम्म रहने उल्लेख गर्दै हामीले व्यतित गरेको जीवनशैली र खानपिनमा सामान्य सुधार गर्न सके राम्रो स्वास्थ्यलाभ लिन सकिने अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “मैले बिरामीलाई सधैँ भन्दै आएको छु, गर्न नहुने भनेको चुरोट नखाने, गर्नैपर्ने भनेको व्यायाम रहेको छ ।”

  डा मकाजुले पुस्तक अध्ययनबाट धेरै ज्ञान प्राप्त हुने भएकाले मुटुको कथासम्बन्धी पुस्तकले अध्ययनका लागि थप प्रेरणा प्रदान गर्ने धारणा राख्नुभयो ।

हास्यकलाकार आचार्यले पुस्तकलाई आफूले सबैभन्दा नजिक सिरानीमा राख्ने साथीका रुपमा लिने गरेको हुँदा जन्मोत्सवलगायतका अवसरमा उपहारका रुपमा पुस्तक दिँदा उपयुक्त हुने धारणा राख्नुभयो । डा शाक्यले मुटुको कथासम्बन्धी कृतिमा स्रष्टाले स्वास्थ क्षेत्रमा काम गर्दाको आफ्नो कथा, व्यथा, वास्तविकता, भावनालगायतका विषयबस्तु केही कविता र केही निबन्ध शैलीमा प्रस्तुत गरेको धारणा राख्नुभयो ।

लेखक कोजुले आफूले विभिन्न पत्रपत्रिकामा विभिन्न समय कालखण्डमा लेखिएका लेखहरुबारे उपचार गर्न आउने बिरामी र चिनेका व्यक्तिबाट पाएको प्रतिक्रियाबाट प्रेरित भएर पुस्तक लेख्ने जमर्काे गरेको बताउनुभयो । उहाँले जीवनको ४० वर्ष चिकित्सासम्बन्धी ज्ञान हासिल गर्ने सिलसिलामा २३ वर्ष मुटु स्वास्थ्यमै केन्द्रित भएर उपचारमा संलग्न हुँदा देखेका, भोगेका विषयबस्तुलाई सरल तरिकाले सर्वसाधारणसम्म पु¥याउन कथा, निबन्ध र स्मरण समेटेर पुस्तक प्रकाशन गरेको जानकारी दिनुभयो ।