तेहरानमा पानी सङ्कटः खानेपानीको खपत कम गर्न राष्ट्रपतिको आग्रह


इरानका राष्ट्रपति मसूद पेजेस्कियानले पानीको खपत नरोकिए केही महिनाभित्रै राजधानी तेहरानमा रहेका बाँधहरू सुक्न सक्ने चेतावनी दिनुभएको छ ।
“यदि तेहरानमा हामीले स्थितिलाई व्यवस्थापन गर्न सकेनौँ, तेहरानबासीले हामीलाई सहयोग गरेनन् र हामी उपभोग नियन्त्रण गर्न असफल भयौं भने हाम्रो बाँधमा कुनै पानी बाँकी रहनेछैन,“ पेजेस्कियानले उत्तर–पश्चिमी शहर जान्जानको भ्रमणको क्रममा भन्नुभयो ।
राष्ट्रपतिले फारसी क्यालेन्डर अनुसार शरद ऋतुको पहिलो महिना अक्टुबरसम्ममा विद्यालयहरू खुल्ने र वर्षायाम सुरु हुनुअगावै पानीको माग बढ्ने भएकाले बाँधमा रहेको पानीको भण्डारण घट्न सक्ने बताउनुभएको छ ।
इरानको सरकारी समाचार संस्था इर्नाले सार्वजनिक गरेको इन्फोग्राफिकका अनुसार तेहरानलाई खानेपानी सेवा दिने जलाशयको क्षमताको २० प्रतिशत मात्र भण्डारण बाँकी छ ।
राष्ट्रिय स्तरमा औसत जलाशयको सतह ४४ प्रतिशत मात्र छ ।
तेहरान प्रान्तीय जल आपूर्ति कम्पनीका अनुसार शहरलाई आपूर्ति गर्ने जलाशयहरूको स्तर ‘एक शताब्दीको सबैभन्दा कम’ अवस्थामा झरेको छ ।
अधिकारीहरूले आपूर्तिमा हुने अवरोधको सामना गर्न स्थानीय बासिन्दालाई पानीको ट्याङ्की र पम्पहरू जडान गर्न र पानीको संरषण गर्न आग्रह गरेका छन्।
धेरै घरधुरीले हालैका हप्ताहरूमा बारम्बार खानेपानीको आपूर्तिमा समस्या भएको जनाएका छन् ।इरानी सञ्चारमाध्यमले भने घरायसी पानीको प्रयोगमा सरकारको ध्यान केन्द्रित भएकोमा प्रश्न उठाएका छन् ।
सुधारवादी दैनिक शार्गले आइतबार लेखेको छ, “देशको लगभग ८६.५ प्रतिशत जलस्रोत कृषिमा खपत हुन्छ । अधिकारीहरूले पानीको अभावको कारण देखाउँदै गलत तरिकाले घरेलु उपभोक्ताहरूमाथि आँैंला उठाएका छन्।”
पानीको स्रोतको अभावको औपचारिक घोषणा नगरिए पनि देशभर दैनिक कम्तीमा दुई घण्टा विद्युत् कटौती भइरहेको छ ।
ग्रिडमाथिको दबाब कम गर्न केही क्षेत्रमा दिनमा एक पटकभन्दा बढी विद्युत् अवरुद्ध हुने गरेको अधिकारीहरूले स्वीकारेका छन् ।
गत हप्ता तेहरानलाई आपूर्ति गर्ने प्रमुख पानीका स्रोतमध्ये एक करज बाँधका निर्देशक मोहम्मद अली मोलेमले मेहर न्यूज एजेन्सीसँग भन्नुभयो, “हाइड्रोइलेक्ट्रिक प्लान्ट हाल सञ्चालनमा छ । अर्को दुई हप्ताभित्र पानीको स्तर यस्तो बिन्दुमा झर्नेछ कि यसबाट बिजुली उत्पादन सम्भव हुनेछैन।”
गत महिना इजरायलसँगको १२ दिने युद्धको प्रभाव इरानले अझै पनि सामना गरिरहेको अवस्थाले यो अभावमा भूमिका खेलेको अधिकारीहरूले बताएका छन् ।