महिला उद्यमशिलताको प्रवर्द्धन गरिनुपर्छः मुख्यमन्त्री सिंह


सिरहा, १५ साउनः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महिलाको आर्थिक र सामाजिक सशक्तिकरणका लागि महिला उद्यमशीलताको प्रवर्द्धन अनिवार्य रहेको बताउनुभएको छ ।
लहानमा आज आयोजित महिला उद्यमी सङ्घ नेपाल, सिरहाको नवगठित कार्यसमिति घोषणा कार्यक्रममा मुख्यमन्त्री सिंहले महिलालाई उद्यमशील बनाइ आर्थिक रूपमा सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री सिंहले महिला–पुरुषबीच समानता कायम गर्न महिला आत्मनिर्भरता आवश्यक भएको उल्लेख गर्दै सक्षम महिलालाई उद्यमशील क्षेत्रमा जोड्नु जरुरी भएको बताउनुभयो ।
“महिलाले उत्पादन गरेका सामग्री गुणस्तरीय बनाएर बजारीकरण र अन्तरराष्ट्रियकरण गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “फर्सीको बीउ उत्पादन, गुन्द्रुक र आँपको अचारजस्ता परम्परागत तर गुणस्तरीय वस्तु विदेश निर्यात गर्न सकिने सम्भावना छ ।”
मुख्यमन्त्री सिंहले साना–साना सामग्री आयात गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न स्वदेशी उत्पादन र उपभोगमा जोड दिनुपर्ने बताउनुभयो । साथै, महिला उद्यमीलाई आवश्यक तालिम दिएर सीप अभिवृद्धि गरिनुपर्ने र आधुनिक प्रविधिको ज्ञानमार्फत थप लाभ लिन सकिने सम्भावना रहेको उल्लेख गर्नुभयो ।
महिला उद्यमी महासङ्घकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले ‘स्वदेशी खाउँ, स्वदेशी लाउँ, स्वदेशी उद्यमीलाई प्रोत्साहन गरौँ’ नारासहित देशका ७७ वटै जिल्लामा महिला उद्यमी सङ्घ गठन भइसकेको जानकारी दिनुभयो । उहाँले महिला उद्यमशिलताको विकासले केवल महिलाको जीवनस्तरमा मात्रै सुधार ल्याउने नभएर परिवार र समाजलाई सकारात्मक दिशामा अघि बढाउने बताउनुभयो ।
लहान नगरप्रमुख महेशप्रसाद चौधरीले महिलाले अब उद्यमबाटै विदेश जाने पुरुषको भन्दा बढी आम्दानी गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले रोजगारी, तालिम र उद्यममा अवसर दिँदै आएको उल्लेख गर्दै अब प्रत्येक वडामा महिला समिति गठन गरी कार्यक्रमलाई अझ प्रभावकारी बनाइने जानकारी दिनुभयो ।
मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले महिलाको आर्थिक सबलीकरणले महिला हिंसा न्यूनीकरणमा भूमिका खेल्ने धारणा राख्नुभयो । मधेसमा महिला प्रहरीको सङ्ख्या अपुग रहेको उल्लेख गर्दै उहाँले सबै क्षेत्रले मिलेर महिला सशक्तिकरणमा हातेमालो गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा खुश्बु जैसवालको अध्यक्षतामा ११ सदस्यीय महिला उद्यमी सङ्घ नेपाल, सिरहा गठन गरिएको छ ।