`

‘जलविद्युत् आयोजनाले बरुण नदीको अस्तित्व खतरामा पर्छ’

Nepal One HD १५ साउन २०८२ १९:३५
अर्थ समाचार

किमाथाङ्का (सङ्खुवासभा), १५ साउनः सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको धार्मिक एंव ऐतिहासिक महत्व बोकेको बरुण नदीबाट विद्युत् उत्पादन गर्न अनुमति दिइएकामा जिल्ला समन्वय समितिले आपत्ति जनाएको छ ।

भोटखोला–४ मा निर्माण हुन लागेको १३२ मेगावाट क्षमताको जलविद्युत् आयोजनाले बरुण नदीको अस्तित्व खतरामा पर्ने भएका कारण विद्युत् प्रक्रिया अगाडि नबढाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनुभयो । मकालु बरुण राष्ट्रिय निकुञ्जको आरक्ष र संरक्षण क्षेत्र भएर बग्ने बरुण नदीमा विद्युत् उत्पादक कम्पनीलाई विद्युत् उत्पादन कार्य अघि नबढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र विभागको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।

धार्मिक एंव ऐतिहासिक महत्व र मौलिक पहिचान तथा अलौकिक शक्ति रहेको भनिएको उक्त नदी संरक्षण हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेपछि विद्युत् उत्पादन रोक लगाउन माग गरिएको प्रमुख शाक्यले बताउनुभयो । राष्ट्रिय निकुञ्ज र आरक्ष क्षेत्रमा विद्युत्लगायत संरचना बनाउन नपाइने उहाँको भनाइ छ ।

भोटखोला गाउँपालिकाको १३औँ बैठकबाट धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रअन्तर्गत पर्ने बरुण नदीबाट विद्युत् उत्पादन रोक लगाउने निर्णय गरिएको थियो । सो नदीबाट बिजुली निकाल्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत कात्तिक २३ गते निर्माण कम्पनीलाई अनुमति दिएको थियो । यहाँबाट बिजुली उत्पादन गर्न नदिने भन्दै स्थानीयवासीले विरोध गरेका छन् । बरुण नदी किनारमा माघ १ गते लाग्ने मकर मेला, भोट क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाबीचमा भेटघाट गर्ने मुख्य थलोका रूपमा लिइने गरिन्छ । बरुण नदीलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीले महत्वका साथ लिने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *