रुस र सिरियाले असदकालीन सम्झौता पुनरावलोकन गर्ने सङ्केत


रूस र सिरियाले बशर अल असदको अघिल्लो मस्को समर्थक सरकारका पालामा भएका सम्झौताको पुनरावलोकन गर्दै सम्बन्धलाई मजबुत बनाउने सङ्केत दिएका छन् ।
सिरियाली विदेशमन्त्री असद अल–शैबानीले मस्कोमा भएको वार्तामा सम्बन्धलाई नयाँ शिराबाट सुरू गर्न रुसबाट सहयोगका लागि अपिल गर्नुभएको छ । गत वर्ष विद्रोहीको अनपेक्षित आक्रमणबाट राष्ट्रपति असदलाई सत्ताच्युत गरिएको थियो ।
असदलाई सत्ताच्यूत गरिएपछि सिरियाका उच्च पदस्थ अधिकारीले रुस भ्रमण गरेको यो पहिलो अवसर हो ।
“निस्सन्देह, हामी रुसलाई आफ्नो पक्षमा राख्न चाहन्छौँ”, शाबानीले आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँग भन्नुभयो, “तर सम्बन्धलाई जटिल बनाउने केही कारणहरू छन्।”
सिरियाको भूमध्यसागरीय तटमा रहेको टार्टसमा रहेको रुसको नौसैनिक अड्डा र हमेइमिममा रहेको रुसको हवाई अड्डा पूर्व सोभियत सङ्घ बाहिर मस्कोको एक मात्र आधिकारिक सैन्य अखडा हो ।
मस्कोले सन् २०१५ मा असद पक्षको गृहयुद्धमा हस्तक्षेप गर्ने क्रममा विद्रोहीको कब्जामा रहेको क्षेत्रमा हवाई बमबारी गर्न ती आधारको व्यापक प्रयोग गरेको थियो ।
सिरियाको नयाँ इस्लामी सरकारले मस्कोलाई देशमा आफ्ना चौकीहरू राख्न अनुमति दिन्छ कि दिँदैन भन्ने स्पष्ट भएको छैन।
एक दशकभन्दा लामो विनाशकारी द्वन्द्वपछि सिरियाको पुनर्निर्माणमा सहयोग गर्न र विभिन्न परिस्थितिमा भएका सहमति र सम्झौताको पुनरावलोकन गर्न मस्को तयार रहेको लाभरोभले बताउनुभएको छ ।
सिरियाली विदेशमन्त्रीले लाभरोभसँगको भेटमा ती सम्झौताले ‘सिरियाली जनताको आवश्यकता पूरा गरिरहेका छन् कि छैनन्’ भनेर बुझ्न पुनरावलोकन आवश्यक रहेको बताउनुभएको थियो ।
सन् २०६६ सालसम्मका लागिसैन्य अखडा राख्न दिन सिरियाले रुससँग उक्त जमिन भाडामा दिने विषयमा छलफल नभएको सिरियाली अधिकारीले बताएका छन् ।
वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अल–शैबानीले सिरियालाई सङ्क्रमणकालमा ’मित्र र साझेदार’को खाँचो रहेको बताए ।
लाभरोभले सिरियाका लागि रुसको ऐतिहासिक समर्थन ‘राजनीतिक अवस्था वा सरकार परिवर्तनमा निर्भर नरहेको’ बताउनुभएको छ ।