चुरे विनाशका कारण मधेसमा जलसङ्कट आयो : अध्यक्ष यादव


राजविराज (सप्तरी- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे विनाशका कारण अहिले मधेसमा जलसङ्कट देखिएको बताउनुभएको छ ।
राजविराजमा जसपा नेपाल सप्तरी जिल्ला अधिवेशनको उद्घाटनमा उहाँले सरकारको गलत नीतिका कारण मधेस जलसङ्कटको समस्या भोगिरहेको आरोप लगाउनुभयो । “चुरे विनाशका कारण मधेसका अन्नदाता किसान अहिले आफैँ त्राहिमाम अवस्थामा छन्”, उहाँले भन्नुभयो, “चुरे विनाशले गर्दा उत्पन्न जलसङ्कट नै त्यसको प्रमुख कारण हो ।”
अन्तरराष्ट्रिय संस्थाहरूले धेरै वर्ष पहिले नै चुरे संरक्षण नगरे पानीको सङ्कट आउने भनी सचेत गराएको सुनाउँदै नेता यादवले त्यसविपरीत सरकारले गलत नीति अख्तियार गरी चुरेको दोहन जारी राख्दा अहिलेको तराई–मधेसमा समयमा वर्षा नहुँदा खेतीको समयमा पानीको अभावमा जमिन सुक्खा भएर सङ्कट उत्पन भएको आरोपसमेत लगाउनुभयो ।
चुरे क्षेत्रको विनाश र त्यसकै नजिकबाट राजमार्ग निर्माण गरी बसोबासका नाममा चुरे क्षेत्रको अतिक्रमण गरेका कारणले भूमिगत जलस्रोतको मुख्य आधारका रूपमा रहेको चुरेको विनाश हुँदै गएको उहाँको भनाइ थियो ।
“पहिले १०÷१५ फिट खन्दा भेटिने जमिनमुनिको पानी अहिले ४०० फिट मुनि पनि भेट्न कठिन भइसकेको छ”, उहाँले प्रश्न गर्दै भन्नुभयो, “यस्तै अवस्था रहने हो भने केही वर्षपछि समस्या कति विकराल बन्ला भन्ने कुरा सरकारले सोचनुपर्छ ?” जसपा अध्यक्ष यादवले अर्बौंको विदेशी सहायता आउँदासमेत सरकारले चुरेको संरक्षण नभएर मधेसमा मरभूमिकरणको खतरा बढेको उहाँले टिप्पणी गर्नुभयो ।
मधेस मरूभूमिकरणतर्फउन्मुख भएको आरोप लगाउँदै अध्यक्ष यादवले मधेसमा पानीको हाहाकार रहेको तथा अन्नदाता नै सङ्कटमा परेकाले बजेट संशोधन गरी वर्तमान समस्या समाधान गर्न आग्रह गर्नुभयो ।
“जनसङ्ख्याका आधारमा बजेट ल्याउन माग गर्दै ४० प्रतिशत जनसङ्ख्यालाई ८९ प्रतिशत र मधेसको ६० प्रतिशत जनतालाई मात्र ११ प्रतिशत बजेट विनियोजन गरिन्छ, योभन्दा ठूलो विभेद के हुनसक्छ”, अध्यक्ष यादवले भन्नुभयो ।
जसपा नेपाल सप्तरीका अध्यक्ष केदारप्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो । तीन दिनसम्म चल्ने अधिवेशनले जिल्ला कार्यसमितिका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने तय भएको जसपा नेपालले जनाएको छ ।