`

यु–१९ एकदिवसीय क्रिकेटः हङकङविरुद्धको शृङ्खलामा नेपालको ‘क्लिनस्विप’

काठमाडौँ, ५ पुसः हङकङविरुद्धको यु–१९ एकदिवसीय क्रिकेट शृङ्खलामा नेपालले ‘क्लिनस्विप’ गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको अन्तिम एकदिवसीय खेलमा हङकङलाई एक सय ३० रनले पराजित गर्दै नेपालले शृङ्खलामा क्लिनस्विप गरेको हो । आज नेपालले दिएको दुई सय ६६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ३५ रन जोड्न सक्यो ।

हङकङका लागि प्रित माङ्गुकियाले अविजित रहँदै अर्धशतकीय पारि खेले । उनले ८७ बलमा सात चौकाको मद्दतले ५५ रन बनाए । अब्दुल समदले २३ र कप्तान शिव माथुरले १९ रन जोडे । उनीहरूबाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । 

हङकङका लागि आरेज दारले सात, शायन पुरीले अविजित रहँदै पाँच, डेनियल मापले चार, विल वाल्शले तीन, तरण लौङ्गानीले दुई र म्याथ्यू जेम्स क्लेटनले एक रन बनाए । यो खेलमा हङकङले अतिरिक्त पाँच रन पाएको छ ।

बलिङतर्फ नेपालका कप्तान अभिषेक तिवारी र अफरुद्दिन रेनले समान दुई÷दुई विकेट लिए । राजेश बोहरा, दीपक सेराला र सन्तोष यादवले समान एक÷एक विकेट हात पारे । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई ५५ रन बनाएको थियो । नेपालले पहिलो खेलमा हङकङलाई तीन विकेटले र दोस्रो खेलमा दुई सय २६ रनले पराजित गरेको थियो ।

सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए

म्याग्दी, ५ पुस : वैदेशिक रोजगारीमा चार वर्ष काम गरेर घर फर्कदा म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरव्यवहार कसरी चलाउने भन्ने चिन्ता थियो ।

विदेशमा सोचेजस्तो कमाइ नभएपछि घर फर्केका उहाँको अन्य आम्दानीको स्रोत थिएन् । “विसं २०५८ मा केन्जन बहुउद्देश्यीय कृषि फार्म खोलेर कुखुरा र गाईभँैसी पाल्नुका साथै खेतबारीमा सुन्तलाका बिरुवा लगाए”, उहाँले भन्नुभयो, “कुखुरा, अण्डा र गाईभँैसीको दूध बेचेर घरव्यवहार चलाउने र छोराछोरीलाई इन्जिनियर, नर्स र कानुन व्यवसाय पढाए ।”

तिलककी जेठी छोरी यास्ना गुरुङ मेडिकल इन्जिनियर, माइली दिव्या नर्स, साइली सोनिया अधिवक्ता हुनुहुन्छ । तीनै बहिनी हाल अस्टे«लियामा छन् । काइली साकिरा आर्किटेक्ट इन्जिनियर, कान्छी निलिमया स्टाफ नर्स र छोरा केन्जनले नेपालमै एरोनिकल इन्जिनियरको स्नातक तहको पढाइलाई अन्तिम चरणमा पु¥याएका छन् ।

तीन सय ५० बोटमा फलेका सुन्तलालाई यसपालि रु १४ लाखमा बोटबाट नटिप्दै व्यापारीलाई ठेक्कामा बेचेका गुरुङ कृषि पेसाबाट आर्थिक र सामाजिक पहिचान बनाउन सफल हुनुभएको छ । उहाँले जिल्ला र केन्द्रीयस्तरको कृषि उद्यमी पुरस्कार पनि पाउनुभएको छ ।

हाल १२ वटा गाईभैँसी पालेका गुरुङले दैनिक ९० लिटर दूध बिक्री गर्नुहुन्छ । तिलक, श्रीमती तिलकुमारी र अन्य दुई जना कामदार कृषि फार्मको काममा व्यस्त हुन्छन् । बास्कुना कृषि सहकारी संस्थाका सञ्चालक समेत रहेका तिलकले बास्कुनालाई ‘एफएम भिलेज’ (फ्रुट र मिल्क गाउँ) बनाउने अभियानको अगुवाइ गर्नुभएको थियो ।

“बास्कुनाका १६ घर सबैले सुन्तला लगाएका र गाईभैँसी पालेका छन्, यसपालि रु एक करोड ५० लाख बराबरको सुन्तला बिक्री हुने अनुमान गरेका छौँ”, गुरुङले भन्नुभयो, “दैनिक तीन सय लिटरभन्दा बढी दूध बेनीमा बिक्री हुन्छ । दुई दशकअघि गरेको एफएम भिलेज बनाउने परिकल्पना पूरा भएको छ ।”

बास्कुना, सुर्केमेला र थामडाडाका चालीस घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेका छन् । करिब ५० हजार उत्पादन दिने सुन्तलाका बोट छन् । पूर्व फर्किएको बास्कुना गाउँभरि सुन्तलाखेती छ । लटरम्म फलेका सुन्तलाले गाउँ रंगिएको छ । सुन्तला बगँैचा अवलोकनका लागि कृषक समूह र पाहुना बास्कुना पुग्छन् ।

खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेर सुन्तलाखेती गरेका कृषकको जीवनस्तरमा परिवर्तन आएको छ । कृषक भीम गुरुङले गत वर्ष रु पाँच लाखको सुन्तला बेचेका कृषकले यसपालि रु दश लाख बराबरको फलाएका बताउनुभयो । नयाँ बिरुवा थपिएका र फल राम्रो लागेकाले उत्पादन बढेको गुरुङले बताउनुभयो ।

सुन्तला बिक्री गरेर एक जना कृषकले रु एक लाखदेखि १४ लाखसम्म आम्दानी गर्छन् । बास्कुनाको सुन्तला अन्य ठाउँको भन्दा रसिलो, गुलियो र स्वादीलो हुने सुन्तला व्यापारी सुदर्शन गौतमले बताउनुभयो । नारायणघाट, काठमाडौँ र नुवाकोटमा सुन्तला लैजाने गरेको उहाँले बताउनुभयो ।

मूल्यमा एकरुपता कायम गर्न, कृषकको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि र कृषक समूहले सुन्तलाको प्रतिकिलो न्यूनतम रु ८५ मूल्य कायम गरिएको बेनी नगरपालिका–४ का वडासदस्य सन्दीप खत्रीले बताउनुभयो । गत वर्ष रु ८० प्रतिकिलो सुन्तलाको मूल्य कायम भएको थियो ।

“यसअघि मङ्सिरमा रङ र गुलियो नपस्दै सुन्तला बजार पठाउँदा नराम्रो सन्देश गएको थियो । कृषकले व्यापारीले जति भने त्यति मूल्यमा सुन्तला बेच्ने गरेका थिए”, उहाँले भन्नुभयो, “गत वर्षदेखि कृषकले समान र उचित मूल्य पाउने, पाकेको गुणस्तरीय र स्वादिलो सुन्तला बजारमा जाने वातावरण बनाएका छौँ ।”

कृषि ज्ञान केन्द्रले बास्कुनालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बल्क कार्यक्रममा समेटेको छ । सुन्तला बगैँचा व्यवस्थापन गर्ने औजारका साथै झ¥याङ, क्रेट, झरेका सुन्तलाको दाना व्यवस्थापन गर्ने प्लास्टिकको थैलोलगायतका सामग्री सहयोग गरिएको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो ।

प्रदेश सरकारमार्फत तीन वर्षअघि बास्कुना, सुर्केमेला र थामडाँडाका लागि बालमखोला सिँचाइ आयोजना निर्माण भएको थियो । सिँचाइ सुविधा भएपछि सुन्तलाखेती गरेका कृषकलाई सहज भएको छ । बेनी–थामडाँडा–बरङ्जा सडक स्तरोन्नति नहुनु, बाँदर आतङ्क र सुन्तलाको दाना झर्ने समस्या मुख्य चुनौतीका रुपमा देखिएको कृषकले बताएका छन् ।

कृषकसमेत रहेका वडासदस्य खत्रीले बेनी–थामडाँडा सडक स्तरोन्नतिका लागि यसपालि प्रदेश सरकारबाट बजेट विनियोजन भएको, सिँचाइ आयोजनाको क्षमता विस्तार गर्न पहल गरेको र दाना झर्ने समस्या समाधानका लागि कृषि निर्देशनालयसँग समन्वय गरेको बताउनुभयो ।

मुग्लिन –पोखरा सडक : पश्चिम खण्डको दोस्रो पटक म्याद थप

दमौली  ।  मुग्लिन–पोखरा सडक  योजना (पश्चिम खण्ड)  को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्गलाई विस्तार गर्ने काम जारी भइरहेकामा जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रो पटक म्याद थप गरिएको हो ।

पश्चिम खण्डको म्याद आगामी विसं २०८२ पुस १६ गतेसम्मका लागि थप भएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर सौजन्य नेपालले जानकारी दिए ।

पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । विसं २०८१ भदौ १२ गतेसम्म म्याद रहेकामा त्यसअवधिमा उल्लेख्य प्रगति नभएपछि पहिलोपटक एक सय एक दिनका लागि म्याद थप भएको थियो ।

दोस्रो पटक थपिएको म्यादभित्र निर्माण कम्पनीले काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । हालसम्म यो खण्डमा ३४ दशमलव ९४ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।

हालसम्म २३ दशमलव ९१ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये ५ दशमलव ४५ किलोमिटर दुईतर्फी र १८ दशमलव ४६ किलोमिटर एकतर्फी कालोपत्र भएको छ ।

पश्चिम खण्डअन्तर्गत म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र पोखरा महानगरपालिका पर्दछन् । यो खण्डमा ११ पुल निर्माण गर्ने लक्ष्य रहेकामा पाँच वटा पुल सम्पन्न भएका छन् । सडकको स्तरोन्नति हुने क्षेत्रभित्र रहेका २४ खानेपानी संस्थासँग सम्बन्धित पाइप लाइन तथा संरचना स्थानान्तरण कार्यका लागि सम्झौता भई सम्बन्धित उपभोक्ताबाट स्थानान्तरणको काम भइरहेको जनाइएको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

सिरियामा ‘आशाको ज्योति’ देखेको महासचिव गुटेरेसको भनाइ

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार सिरियामा राष्ट्रपति बशर अल–असदको शासनको पतनपछि ‘आशाको ज्योति’ रहेको तर अगाडि महत्त्वपूर्ण चुनौतीहरू रहेको चेतावनी दिनुभएको छ ।

उहाँले सिरियाको सैन्य पूर्वाधारमा इजरायलले गरेको व्यापक आक्रमण देशको सार्वभौमसत्ताको ‘उल्लङ्घन’ भएको पनि उल्लेख गर्दै तिनीहरूलाई रोक्न आह्वान गर्नुभयो ।

“मध्यपूर्व धेरै आगोले भष्म भइरहेको छ तर आज सिरियामा आशाको ज्योति छ र त्यो ज्योति निभ्न दिनुहुँदैन”, उहाँले भन्नुभयो । 

असदको सरकार पतन भएपछि इजरायलले देशको वायु सेना, नौसेना र हतियार भण्डारसहित सैन्य स्थलहरूमा हवाई आक्रमण गर्यो । 

“व्यापक इजरायली हवाई आक्रमण जारी छ । यी सिरियाको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको उल्लङ्घन हुन् र यसलाई रोक्नुपर्छ”, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको अध्यक्षतामा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकअघि गुटेरेसले भन्नुभयो । 

महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय समुदायले सिरियामा लागु भएका प्रतिबन्धहरू खुकुलो पार्ने दिशामा पहिलो कदम चाल्ने सम्भावना पनि उठाउनुभयो । 

“त्यहाँ कम्तिमा पहिलो इशारा हुनुपर्छ – सबै प्रतिबन्धहरू हटाउनका लागि सर्तहरू पूरा नभएसम्म सिरियाली जनतासँग एकता देखाउने पहिलो इशारा”, उहाँले भन्नुभयो । 

अल–कायदामा निहित र टर्कीद्वारा समर्थित इस्लामवादी एचटिएस आन्दोलनले दमास्कसलाई तीव्र गतिमा आक्रमण गरी कब्जा गर्यो । एचटिएसले वर्षौंको गतिरोधपछि यस महिना शक्तिशाली असदलाई अपदस्थ गरेपछि अल्पसङ्ख्यकहरूको रक्षा गर्ने वाचा गरेको छ । 

तर अन्तर्राष्ट्रिय समुदायहरू सिरिया वा एचटिएसका सदस्यहरूमाथि लगाइएको प्रतिबन्धहरू हटाउन कुनै हतारमा छैनन् । समुदायले नयाँ अधिकारीहरूले कसरी आफ्नो शक्ति प्रयोग गर्छन् भनेर पर्खिरहेका छन् । 

चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा मकाउको ‘स्वस्थ’ जुवा उद्योगको प्रशंसा

चिनियाँ राष्ट्रपति सी जिनपिङले मकाउले निवर्तमान नेता हो इट–सेङको नेतृत्वमा आर्थिक विविधीकरण र क्यासिनो उद्योगको स्वस्थ विकासमा ‘नयाँ उपलब्धिहरू’ हासिल गरेको बताउनुभएको छ ।

पूर्व पोर्चुगाली उपनिवेश मकाउले ‘एक देश, दुई प्रणाली’ को ढाँचाअन्तर्गत चीनलाई हस्तान्तरण गरेको २५औँ वार्षिकोत्सव मनाउनु एक दिनअघि उहाँको यो टिप्पणी आएको हो ।

चिनियाँ शासनको २५ वर्षमा मकाउले लास भेगासलाई उछिन्दै जुवा राजस्वको हिसाबले विश्वको क्यासिनो राजधानी बनेको छ । यसको जनसङ्ख्या चिनियाँ पर्यटक खर्चले धनी बनाएको छ । 

तर बेइजिङले वर्षौँदेखि मकाउको अर्थतन्त्रलाई विविधीकरण गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएको छ । 

एक भव्य भोजमा बोल्दै सीले होको प्रशासनले ‘व्यावहारिकतासँग चुनौतीहरूको सामना गर्न मकाउका विभिन्न क्षेत्रहरूलाई एकजुट र नेतृत्व गरेको’ बताउनुभयो । 

उहाँले सहरले ‘उपयुक्त आर्थिक विविधीकरणमा नयाँ उपलब्धिहरू हासिल गरेको’ र ‘जुवा उद्योग कानूनअनुसार स्वस्थ र व्यवस्थित रूपमा विकास भएको’ बताउनुभयो । 

होले सन् २०१९ मा कार्यभार सम्हाल्नुभएको थियो र उहाँको कार्यकालको धेरैजसो समय कोरोना भाइरस महामारीप्रति मकाउको प्रतिक्रियाद्वारा परिभाषित गरिएको थियो । यसले पर्यटक–निर्भर सहरलाई ठूलो झट्का दिएको थियो । 

नेतृत्वका लागि एकमात्र उम्मेद्वार र चार सय सदस्यीय समितिले छनोट गरेका पूर्व शीर्ष न्यायाधीश साम हौ–फाईले शुक्रबार शहर नेताको रूपमा पदभार ग्रहण गर्नुहुनेछ । 

तीन दिने भ्रमणका लागि बुधबार मकाउ आइपुग्नुभएका राष्ट्रपति सीले मकाउको भविष्यका लागि ‘तीनवटा अपेक्षा’ पनि उल्लेख गर्नुभयो । 

“मकाउले सही रूपमा आफ्नै स्थिति पत्ता लगाउनुपर्छ र वैज्ञानिक तरिकामा यसको भविष्यको विकासको योजना बनाउनुपर्छ तथा ग्रेटर बे एरिया जस्ता राष्ट्रिय विकास रणनीतिहरूसँग थप सक्रिय रूपमा जोड्नुपर्छ”, उहाँले भन्नुभयो । 

ग्रेटर बे एरिया सिलिकन भ्यालीलाई उछिन्ने लक्ष्यका साथ हङकङ, मकाउ र चीनको दक्षिणी तटका नौ सहरलाई एकीकृत गर्ने महत्त्वाकांक्षी आर्थिक खाका हो । 

सीले मकाउ प्रतिभा आकर्षित गर्न र ‘सुधार र नवप्रवर्तन गर्ने साहस’ गर्न ‘खुला र समावेशी’ हुने आशा व्यक्त गर्नुभयो । 

उहाँले बिहीबार मकाउ विज्ञान र प्रविधि विश्वविद्यालयका साथै हेङ्किन टापुको भ्रमण गर्नुभयो । यो टापु बेइजिङले मकाउलाई आफ्नो गैर–खेल विकासका लागि जग्गा आपूर्ति बढाउन आंशिक रूपमा भाडामा दिएको थियो । 

मकाउ वरपर सुरक्षा बढाइएको छ र बिहीबार सीको भाषणको स्थल मकाउ पूर्वी एसियाली खेलकुद गुम्बज बाहिर सडक अवरोध गरिएको छ ।     छिमेकी हङकङको विपरीत मकाउमा चिनियाँ शासनमा फर्किएपछि ठूलो मात्रामा राजनीतिक अशान्ति देखिएको छैन । 

कोशी टप्पु वन्यजन्तु आरक्षमा खरखडाइबाट दुई लाखभन्दा बढी राजस्व सङ्कलन

इनरुवा (सुनसरी), ५ पुसः सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्षमा खरखडाइबाट रु दुई लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । आरक्षका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले आरक्षले गत मङ्सिर २४ गतेदेखि २६ गतेसम्म खरखडाइका लागि अनुमति (पुर्जी) दिएको थियो । तीन दिनका अवधिमा चार हजार चार सय १९ जनाबाट पुर्जीबापत रु दुई लाख २० हजार नौ सय ५० राजस्व सङ्कलन भएको जनाइएको छ ।

प्रतिपुर्जीबापत रु ५० शुल्क लिएको र एउटा पुर्जीमा एक जना खरखडाइका लागि जान पाउने अनुमति दिएको थियो । घर र गाईगोठमा छानो छाउनका लागि आरक्षमा खरखडाइ गर्नका लागि जाने गरेको कोशी–२ का देवराज उराँवले बताउनुभयो । उहाँको परिवार हरेक वर्ष खरखडाइकै पर्खाइमा बस्ने गरेको र खरखडाइ पुर्जी खुला भएपछि परिवारका सबै खर काट्न र भित्र्याउने काममा जुट्ने गरेको छ । आरक्षबाट काटेर ल्याएको खर आफू प्रयोग गरेर बढी भएको बिक्री समेत गर्ने गरेको छ ।

खरखडाइ खुलेका बेला आरक्ष आसपासका बस्तीमा खर बोक्नेको भीड लाग्ने गरेको छ । आरक्षको कार्यालयले आसपासका बासिन्दालाई लक्षित गरेर खरखडाइ खोल्दै आएको छ  । आरक्षका अनुसार गत वर्ष आठ हजारले खर काट्ने पुर्जी लिएकोमा यस पटक चार हजार चार सय १९ जनाले खरखडाइका लागि पुर्जी लिएका थिए । सुरुमा आरक्षमा डेढ महिनासम्म खरखडाई हुँदै आएकोमा विस्तारै घट्दै गएको छ । खरखडाइबाट आरक्षभित्रका विभिन्न घाँसेमैदानको व्यवस्थापनमा सहजता भएको र सरसफाइ भएको बताइएको छ ।

हिउँदमा पनि कर्णाली नदीबाट रोकिएन कटान ,स्थानीयले गुहार्न थाले जनप्रतिनीधि

टीकापुर, ५ पुसः बर्सातको समयमा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । कणाली नदीले टीकापुर नगरपालिका वडा नं ९ फाँटामा कटानी गरिरहेको छ । एक हप्तामा दुई मिटर कटान भएको छ । यसरी कटान हुन थालेपछि स्थानीयले जनप्रतिनीधि गुहार्न थालेका छन् ।

कटानकै कारण कर्णाली नदीले सत्ती कर्णाली सामुदायिक वन र टीकापुर उद्यानको मन्दिर नजिक कटान हुँदा बाढी पस्ने खतरा बढ्दै गएको छ ।

यसैगरी मोहना नदीले खक्रौलामा कटान गरिरहेको छ । नदी कटान हुन थालेपछि स्थानीयले स्थानीय स्रोत साधन प्रयोग गरेर कटान नियन्त्रणमा लागेका छन् । साथै पथरैया नदीले डिबीपुर नजिक कटान गरिरहेको छ । टीकापुर उद्यान नजिक करिब पाँच सय मिटर, सत्ती कर्णाली वन नजिक पाँच सय मिटर, फाँटामा तीन सय मिटर, खक्रौलामा एक किलोमिटर र डिवीपुरमा सात सय मिटर नदी किनारा खतरामा रहेको पाइन्छ ।

यी स्थानमा हिउँदमै नदी नियन्त्रणको काम नभएमा बर्सातमा नदी पस्ने निश्चित छ । कटान भइरहेका कतिपय स्थानमा बोल्डर हालेर पनि केही हदसम्म कटान रोकिने स्थानीयको भनाइ छ । “नदी कटानले सयौँ बिघा जग्गा बगरमा परिणत हुने अवस्था छ”, स्थानीय शेरबहादुर साउँदले भन्नुभयो, “पहिले बोल्डर हाल्दा पनि धेरै कटान रोक्न सक्ने अवस्था हुँदाहुँदै कुनै निकायले काम गरेन ।”

साउँदले वडा नम्बर ६, ७, ८ र ९ त्यसै पनि बाढी प्रभावित क्षेत्र भएकाले यहाँ हजारौँ बिघा जग्गा डुबानमा पर्दा पनि रोकथामका लागि काम नभएको गुनासो गर्नुभयो । “तत्कालका लागि खक्रौलामा सात ठाउँमा बोल्डर र ठोकर हाल्ने, फाँटामा बोल्डर र बिडिपुरमा बोल्डर हालेको भए धेरै राहत हुने थियो”, स्थानीय समाजसेवी खडक धामीले भन्नुभयो, “मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रणबहादुर रावललाई केही दिन पहिले कटान क्षेत्रमा बोलाएर समस्या देखायौँ,बिहीबार सङ्घीय सांसद ईश्वरीदेवी न्यौपानेलाई समस्या देखायौँ ।”

“हामीले बोलाएका जनप्रतिनिधिले आश्वासन दिनुभएको छ हेरौँ”, समाजसेवी धामीले भन्नुभयो, “बास नै नरहने अवस्था हिउँदमा छ भने बर्सातमा कस्तो होला ?” बिहीबार मात्र सङ्घीय सांसद न्यौपानेले कटान क्षेत्रको अनुगमन गर्नुभएको हो । अनुगमन गर्ने क्रममा सांसद न्यौपानेले भयावह अवस्था रहेको बताउँदै सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । उहाँले तत्काल गर्नुपर्ने काम काठमाडौँ जाने बित्तिकै पहल गर्ने बताउनुभयो । “बोल्डर धेरै ठूलो लागत होइन, स्थानीय पालिकाले पहल गरेको भए पनि हुने थियो”, सांसद न्यौपानेले भन्नुभयो, “हिउँदमै कटान हुन्छ भने नागरिकमा त्रास हुनु स्वभाविकै हो ।”

“पहिलो चरणमा बोल्डर हाल्ने र क्रमशः तटबन्धनका लागि पहल गर्छु”, उहाँले भन्नुभयो, “यत्रो विकराल समस्या आफ्नो पालिकामा भए पनि स्थानीय जनप्रतिनिधिले चासो नदिँदा नागरिकको चिन्ता बढेको छ ।” विकासका सवालमा सबै तिनै तहका जनप्रतिनिधि एक भएर लाग्नुपर्ने जनाउँदै उहाँले जनताले निर्वाचित गरेर पठाएका जनप्रतिनिधि हामी बसेर समस्या समाधान गर्न लाग्नुपर्छ भन्नुभयो ।

बत्तीस दिनपछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

जुम्ला, ५ पुस : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि स्थायी रूपमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको स्तरवृद्धि र नियमावलीअनुसारको तलबभत्ता नपाएको विषयलाई लिएर सुरू भएको आन्दोलन स्थगन भएको छ । आन्दोलनरत शिक्षक तथा कर्मचारीका अनुसार उपकुलपतिबाट माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता प्राप्त भएपछि बिहीबारदेखि आन्दोलनका सबै कार्यक्रम स्थगन गरिएको हो ।

प्रतिष्ठानका शिक्षक र कर्मचारीले आफूहरूको स्तरवृद्धि र तलबभत्ताको विषयमा न्यायका लागि २०८१ साल भदौ २६ गते उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट कर्मचारीको पक्षमा फैसला भएको थियोे । उक्त फैसला कार्यान्वयन नभएको भन्दै २०८१ साल कात्तिक २६ गतेदेखि विभिन्न दबाबमूलक कार्यक्रम कर्मचारीले सुरू गरेका थिए ।

आन्दोलनका क्रममा रजिष्ट्रारबाट गठित वार्ता समितिसँग पटकपटक छलफल भएपछि २०८१ साल पुस ४ गते उपकुलपतिबाट छुट पदसमेत सम्बोधन गरिने लिखित प्रतिबद्धता प्राप्त भएको साथै, गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना र त्यस सूचनामा छुट भएका पदका सम्बन्धमा थप स्पष्टता आउने वचन दिइएको आन्दोलित कर्मचारीले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् । सो प्रतिबद्धताका आधारमा आन्दोलनरत शिक्षक तथा कर्मचारीले आजबाट आन्दोलनका सबै कार्यक्रम स्थगन गरी नियमित कार्यालय कामकाजमा फर्किने जानकारी गराएका छन् ।

महिला यू–१९ एसिया कप : बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं । महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपाल आज ‘सुपर चार’मा बंगलादेशसँग भिड्दै छ ।खेल नेपाली समय अनुसार शुक्रबार बिहान ११ः४५ बजे सुरु हुने छ।

मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ६ विकेटको जित निकालेको थियो । भारतसँग अंक बाँडेको थियो। समूह चरणमा उपविजेता बन्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँगसमेत अंक बाँडेपछि चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

शुक्रबारको खेलमा बंगलादेशलाई नेपालले हराए फाइनल पुग्नेछ। फाइनल खेल आइतबार बिहान हुँदैछ।

म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार

म्याग्दी (बेनी), ५ पुसः म्याग्दीमा आठ सय रोपनी बढी जमिनमा हिउँदे आलुखेती विस्तार गरिएको छ । नगदे बालीका रुपमा जिल्लामा रहेका एक नगरपालिका र पाँचवटै गाउँपालिकामा व्यावसायिक रुपमा आलुखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा खायन आलु प्रवद्र्धन कार्यक्रममार्फत किसानलाई अनुदान उपलब्ध गराएपछि जिल्लामा हिउँदे आलुखेती विस्तार भएको हो ।

खायन आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत विभिन्न २१ वटा कृषक समूह तथा सहकारीहरुले आठ सय ५० रोपनीमा व्यावसायिक रुपमा आलुखेती लगाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, यस कार्यक्रममार्फत करिब तीन सय रोपनीमा बर्खे आलुखेती गर्ने तयारी गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले म्याग्दी जिल्लामा आलुको संरक्षण तथा विस्तार र व्यावसायिकताका लागि चालु आर्थिक वर्षमा रु एक करोड २० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट कार्यालयले कार्यक्रममा समावेश हुनआएका किसान समूह र सहकारीलाई आलुको बीउ, यान्त्रिक उपकरण खरिद, सिँचाइ सुविधा विस्तार र बजारीकरणमा अनुदान दिएको कार्यालयले जनाएको छ ।

खायन आलु प्रवद्र्धन कार्यक्रमको लागि छनोटमा परेका कृषक समूह र सहकारीमा आबद्ध किसानले आलुको बीउ र सिँचाइतर्फ ७५ प्रतिशत तथा या(न्त्रिकीकरण र बजारीकरणतर्फ ५० प्रतिशत अनुदान पाएका छन् । यस वर्ष जिल्लामा एक हजार दुई सय रोपनी जमिनमा आलुखेती विस्तार गर्ने लक्ष्य लिइएको छ ।

मन्त्रालयबाट प्राप्त बजेटमध्ये रु एक करोड रकम किसानलाई अनुदान वितरणमा खर्च हुने र २० लाख रकम किसानलाई तालिम, अभिमुखीकरण, निरीक्षण, पुस्तक प्रकाशन, प्राविधिक सहयोगको क्षेत्रमा परिचालन हुने कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गङ्गा लामिछानेले जानकारी दिनुभयो ।

जिल्लामा खेती गरिने प्रमुख बालीमध्येमा पर्ने आलुखेतीबाट जिल्लालाई आत्मनिर्भर बनाउँदै स्थानीयको आयआर्जनमा सुधार ल्याउन आलुखेतीले सहयोग पुग्ने किसानको भनाइ छ । जिल्लामा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ जातका आलु उत्पादन हुने गरेको छ ।

रसुवागढी नाकाबाट मामालसामान बोक्ने मालवाहक कन्टेनरको चाप बढ्दो

रसुवा, ५ पुसः केरूङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप दिनानुदिन बढ्न थालेको छ । चिनियाँ सामग्री आयातका लागि दैनिक रूपमा दुई दर्जनभन्दा बढी कन्टेनर केरुङ जाने गरेको सीमासुरक्षाकर्मीले जनाएका छन् ।

स्याउ, लसुन, अदुवा, स्याउपाति, ओखर तथा चप्पल, तयारी पोशाक तथा विद्युतीय सामान, नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाका उपकरण, खेलौना गरी विविध प्रकारका मालसामान आयात हुने गरेको र त्यस्ता वस्तु बोकी आएका दुई सयभन्दा बढी कन्टेनर भन्सार प्रकृयामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार सवारीसाधनका हकमा रसुवागढी नाकाबाट सबैभन्दा बढी ईभी आयात हुने गरेको छ । चालु आर्थिक वर्षको गत साउनदेखि मङ्सिर मसान्तसम्म सानाठूला गरी तीन हजार सवारीसाधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको छ । वर्तमान अवस्थामा राजस्व आर्जनको प्रमुख स्रोत सवारी साधनकै बढी हिस्सा भएको प्रमुख भट्टराईले जानकारी दिनुभयो । चालु आव २०८१÷८२ को प्रथम चौमासिकअन्तर्गत करिब एक सय २४ अर्बको सामग्री आयात भई १२ अर्बभन्दा बढी राजस्व आर्जन भएको भन्सार कार्यालयले जनाएको छ ।

रसुवागढी नाकाबाट अन्यन्तै न्यून माल सामग्री निर्यात हुने गरेको बताइन्छ । प्राप्त विवरणानुसार ऊनीगलैँचा, बक्रम कपडा, तयारी कपडा, चाउचाउ, नुडल्स, जडीबुटी, अगरबत्ती, भाँडामा झ्ने स्टिलउड र काठका सामग्री छन् । आयाततर्फ भने जुत्ताचप्पल, तयारी पोशाक, विद्युतीय सामग्री छन् । आयातका साथसाथै गैरकानुनी तवरका व्यक्तिसमेत सल्बलाउन थालेका कारण राजस्व चुहावत नियन्त्रण र सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीले मितेरी पुलमा २४सै घण्टा पालो पहरा दिइरहेका कारण सीमाक्षेत्र शान्त रहेको भन्सार अधिकारी बताउछन् ।

विसं २०७२ देखि पूर्ण रूपमा चालु भएको रसुवागढी नाकामा सडकमार्ग मर्मत हुन नसक्दा मालवाहक सवारीसाधन सञ्चालनमा निकै असहज बन्दै गएको सवारी चालकले बताएका छन् । सडक सुधारका लागि थोरै खर्चले धेरै काम हुने चालकहरूले सुझाव पनि दिएका छन् । स्याफ्रुबेँसी– रसुवागढी खण्डका वर्षायाममा होचो अग्लो भएको स्थानलाई सम्म बनाइ रोलारले पेलिदिने व्यवस्था भएमा हिउद यामलाई सवारीसाधन गुढाउन सहज हुने डिब्बा चालक जङ्गबहादुर तामाङले सुझाव दिनुभयो । सडक अधिकारीको भने न्यून उपस्थिति हुने गरेको स्थानीयले जानकारी दिएका छन् ।

उद्योग वाणिज्य महासङ्घ र कोरिया इम्पोटर्स एशोसिएसनबीच नेपाली उत्पादन प्रवर्द्धन गर्ने समझदारी

काठमाडौँ, ५ पुस : नेपाल उद्योग वाणिज्य महासङ्घ र कोरिया इम्पोटर्स एशोसिएसन (कोइमा)बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्ने विषयक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवाङ्ग कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरी त्यहाँ उत्पादन नहुने सामान आयात गरी औद्योगिक वातावरण प्रवर्द्धन र सर्वसाधारणलाई सुलभ रूपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्थाका रूपमा स्थापित छ ।

आयातलाई नै केन्द्रित गरी स्थापना भएको संस्थासँगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासङ्घको विश्वास छ । यसबाट नेपाल र दक्षिण कोरियाबीचको व्यापार घाटा कम हुने विश्वास छ । हाल दुइ देशबीचको व्यापार घाटा करिब रू सात अर्ब बराबर छ ।

नेपालबाट हाल फेल्ट, गलैँचा, धागोलगायत परम्परागत सामान बढी गइरहेको सन्दर्भमा कोइमासँगको सहकार्यबाट औद्योगिक कच्चा पदार्थ एवं अन्य सामानका लागि पनि बजार खोज्न सकिने महासङ्घको विश्वास छ ।

नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष र समझदारीपत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा महासङ्घ अध्यक्ष ढकालले नेपाल र कोरियाबीच आर्थिक सम्बन्ध सुदृढ गर्न सकिने अपार सम्भावना रहेको वताउनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सोलस्थित नेपाली दूतावासद्वारा आयोजित ‘नेपालमा व्यापार र लगानीका अवसरहरू’ शीर्षकको सोे कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालको ऊर्जाशील एवं युवा जनशक्ति, प्राकृतिक स्रोत, ठूला बजारसँगको समिप्यता कोरियाली लगानीकर्ताका लागि महत्त्वपूर्ण रहने बताउनुभयो ।

ढकालले नेपालको लगानी वातावरणमा भएका प्रगतिको जानकारी गराउँदै महासङ्घको सक्रिय संलग्नतामा हालै गरिएका सुधारहरूको चर्चा पनि गर्नुभयो । उहाँले सरकारको लगानीसम्बन्धी आठ कानुन संशोधन गरेर लगानीमैत्री वातावरण सिर्जना गर्न चालिएका कदमको जानकारी गराउनुभयो । साथै, द्विपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन गर्नु विदेशी लगानीलाई सहज बनाउने महत्त्वपूर्ण कदम भएको बताउनुभयो ।

ढकालले नेपालको अनुकूल आर्थिक सूचकाङ्कहरूबारे पनि प्रकाश पार्नुभयो । विदेशी मुद्रा सञ्चिति करिब १७ अर्ब डलर पुगेको र नेपालको पहिलोपटक क्रेडिट रेटिङ भएको जानकारी लगानीकर्तालाई दिनुभयो । नेपालको रेटिङ दक्षिण एसियामा सन्तोषजनक रहेको पनि उहाँको धारणा थियो । अध्यक्ष ढकालले कोरियाली व्यवसायिक समुदायलाई नेपालमा व्यापार र लगानीका अवसरको खोजी गर्न निमन्त्रणा दिँदै महासङ्घको विदेशी लगानी सहायता डेस्कमार्फत पूर्ण सहयोगको आश्वासन दिनुभयो ।

१५ वर्षमा रोजगारी खाेज्दै विदेश गएका १४ हजार बढीको मृत्यु

काठमाडौँ, ५ पुस : पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार दुई सय १३ जनाको मृत्यु भएको हो ।

नेपालमा साताव्यापी रूपमा मनाइँदै गरिएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त विवरण सार्वजनिक गरेको हो । बुधबार परेको उक्त दिवसका अवसरमा मन्त्रालयले यही डिसेम्बर १६ देखि २२ तारिखसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त दिवस मनाउन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा दिवस मूल समारोह समिति नै गठन गरेर साताव्यापी कार्यक्रम आयोजना गरेको हो । समितिले सार्वजनिक गरेको विवरणानुसार बोर्ड स्थापनापछिको उक्त अवधिमा गम्भीर बिरामी तथा अङ्गभङ्ग भएर फर्किएका मात्रै तीन हजार चार सय ४० जना श्रमिक छन् । उनीहरूलाई वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता प्रदान गरिएको सचिव निरौलाले जानकारी दिनुभयो । नेपालबाट विभिन्न एक सय ११ मुलुकमा नागरिक आप्रवासीका रूपमा गएका उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको आप्रवासन प्रतिवेदन, २०२४ अनुसार विश्वभरि अनुमानित २८ दशमलव एक करोड मानिस आप्रवासीका रूपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकको सङ्ख्या १६ दशमलव नौ करोड रहेको छ । आप्रवासीमाथि हुनसक्ने विभेदलाई ध्यानमा राखी संयुक्त राष्ट्रसङ्घले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरी सन् २००३ जुलाई १ देखि लागू भएको छ ।

त्यसैले अन्तर्राष्ट्रिय आप्रवासी दिवस हरेक वर्ष डिसेम्बर १८ मा मनाइन्छ । संयुक्त राष्ट्रसङ्घले आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीहरूको योगदानलाई मान्यता दिनका लागि विश्वव्यापी रूपमा यो दिवस मनाउन आह्वान गरेको छ । त्यसैले नेपालमा पनि यो दिवस सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज, आप्रवासी श्रमिक तथा उनीहरूका परिवार, सञ्चÞार जगत्लगायत विभिन्न पक्षहरूको संयुक्त पहलमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आइएको छ ।

नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीले महत्त्वपूर्ण योगदान गरेको छ । अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रूपमा परिचालन गर्ने सरकारको नीति रहेको श्रम मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगारसम्बद्ध कानुनमा परिमार्जन, सीपसहितको रोजगारीको सुनिश्चितता, निःशुल्क अभिमुखीकरण तालिम, श्रम सम्झौता पुनरावलोकनका साथै थप गन्तव्य मुलुकसँग श्रम सम्झौता तथा समझदारी, वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई निःशुल्क बैंक खाता खोल्न र सोही खातामार्फत स्वदेशमा विप्रेषण ल्याउन प्रोत्साहन गर्ने, रिटनी उद्यमशीलता कार्यक्रम कार्यान्वयन गरिने आदि समावेश छ ।

आव २०८०/८१ मा गत आर्थिक वर्षको तुलनामा विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु १४ खर्ब ४५ अर्ब ३२ करोड जतिको रकम नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । आव २०८०/८१ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति (पुनः थम स्वीकृतिसमेत) लिई वैदेशिक रोजगारीमा गएका ८० हजार एक सय ७२ महिलासहित कुल सात लाख ४१ हजार दुई सय ९७ जना श्रमिकले पठाएको विप्रेषणले आप्रवासी श्रमिकहरूको घरपरिवार सञ्चालन, मानवीय सम्पत्ति सूचकाङ्कमा सुधार र गरिबीमा रहेका परिवारहरूको आर्थिक जोखिम कम गर्न तथा नेपालको अर्थतन्त्रमा ठूलो सहयोग पुगेको समितिले जनाएको छ । विश्व बैंकको अक्टोबर, २०२४ को प्रतिवेदनअनुसार नेपालमा कुल गार्हस्थ उत्पादनमा विप्रेषणको हिस्सा एक चौथाइभन्दा बढी यसको रहेको छ ।

त्यसैले सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरूमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि आप्रवासी दिवस सप्ताहव्यापी रूपमा मनाउने निर्णय भएअनुसार विविध कार्यक्रम भइरहेको मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने राहदानी, सीप तालिम तथा अभिमुखीकरणलगायत कागजात तयार पार्न स्थानीय तह तथा जिल्लास्तरका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नगरपालिका तथा गाउँपालिकालगायत निकायको महत्त्वपूर्ण भूमिका छ । यसर्थ सबैको सरोकारको विषय भएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसले स्थानीयस्तरमा समेत विशेष महत्व राख्ने सचिव निरौला बताउनुहुन्छ ।

श्रम मन्त्रालयका उपसचिव वसन्त बोहरा आप्रवासी नीति नै परिमार्जन गरेर वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन लागिएको बताउनुहुन्छ । अहिले उक्त नीति सुझावको चरणमा रहेको उहाँले बताउनुभयो ।

मन्त्रालयका अर्का उपसचिव महेश पराजुली ९८ दशमलव नौ प्रतिशतले रेमिट्यान्स औपचारिक च्यानलबाट पठाएको अध्ययनमा पाइएको र समस्यामा परेका मानिसहरूको सङ्ख्या न्यून रहेको जानकारी दिनुभएको छ । उहाँले कमाएको रकम घरपरिवार व्यवस्थापनमा बढी खर्च भएको देखिएकाले त्यसलाई आयआर्जनमा लगाउनका लागि प्रोत्साहन र सचेतना जरूरी रहेको र यस्ता कार्यक्रमले सहयोग गर्ने बताउनुभयो ।

दूतावासको टोलीले दिन थाल्यो पोर्चुगलमा कन्सुलर सेवा

लिस्बन (पोर्चुगल), ५ पुसः पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्न आएको फ्रान्सस्थित नेपाली दूतावासको टोलीले कन्सुलर सेवा पनि दिन सुरु गरेको छ ।

टोलीले बुधबारदेखि लिस्बनस्थित ओलाइसमा सञ्चालित घुम्ती शिविरबाट कागजात प्रमाणीकरणलगायत कन्सुलर सेवा दिन सुरु गरेको हो । बुधबार पहिलो दिन एक सय पाँचवटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) र ३९ वटा अन्य कागजात प्रमाणीकरण गरिएको टोलीले जनाएको छभने थप ३७ वटा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि सङ्कलन गरिएको छ ।

प्रहरी रिपोर्टलगायत कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीको सहजताका लागि शिविर अवधि थप गरेर कन्सुलर सेवा दिन सुरु गरिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले राससलाई जानकारी दिनुभयो । टोलीले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेकका अन्य प्रहरी चारित्रिक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्तालगायत सम्पूर्ण कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा प्रदान गर्ने राजदूत भट्टराईले बताउनुभयो । बाह्र डिसेम्बरदेखि सञ्चालन भएको राहदानी वितरण शिविरबाट बुधबारसम्म दुई हजार चार सय १० वटा विद्युतीय राहदानी वितरण गरिएको र बाँकी रहेका राहदानी वितरणको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।

टोलीले डिसेम्बर २१ तारिखसम्म राजधानी लिस्बनमा रहेर कन्सुलर सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । घुम्ती शिविरमार्फत राहदानीसँगै कन्सुलर सेवा पाउँदा विशेषतः यहाँको आवास अनुमतिपत्र (रेसिडेन्सी कार्ड)का लागि बायोमेट्रिकको प्रक्रियामा रहेका नेपालीहरू बढी लाभान्वित भएका छन् ।

आज काठमाडौँका यी स्थानमा काटिदैछ बिजुली

काठमाडौँ, ५ पुस : नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौँका विभिन्न स्थानमा आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने भएको छ ।

प्राधिकरणले सो फिडरअन्तर्गत उक्त स्थानलगायत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा तोकिएको अवधिभन्दा पहिल्यै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।

भ्यु टावर हेर्न गएका नेपाल बैंकका कर्मचारी ५४ दिनदेखि सम्पर्कविहीन

कञ्चनपुर, ५ पुसः मनाङको चामेबाट हराएका बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् । मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन हुनुभएको हो ।

भ्युटावर हेर्नका लागि तारणी सहकर्मी अर्जुन खड्कासँग गएका थिए । खड्काले भ्युटावर चढ्न नसक्ने भनेपछि बीच बाटोबाट फर्केका उनी त्यसपछि पन्त एक्लै भ्युटावरको उकालो चढेका हुन् । भ्युटावरको उकालो चढेका पन्त साँझ ४ः४५ मिनेटमा खड्कासँग कुराकानी भएको पन्तका परिवारका सदस्य बताउनुहुन्छ । राति अबेरसम्म नआएपछि खड्कालगायत बैंकका कर्मचारीले कुरा गर्न खोजे, तर राति १०ः४५ बजेसम्म मोबाइल फोनमा घण्टी बजे पनि फोन उठाइएन, त्यसपछि ‘स्वीचअफ’ भयो ।

सम्पर्कविहीन भएको खबर कात्तिक १० गते राति ११ः०० बजे बैंकमा कार्यरत अर्चना बुढाथोकीले फोन गरेर जानकारी दिएको तारणीका भाइ विष्णुदत्त पन्तले बताउनुभयो । भ्युटावर हेर्न गएका तारणी सम्पर्कविहीन हुनुभएको छ, फोन गर्न खोज्दै छौँ, स्वीचअफ आइरहेको छ बुढाथोकीलाई उद्यृत गर्दै बताएको पन्तले भन्नुभयो ।

“दाजु सम्पर्कविहीन भएको खबर पाइएपछि घरका चार जना सदस्य मनाङको चामे पुग्यौँ”, विष्णुले भन्नुभयो, “नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बैंकका कर्मचारी र स्थानीय व्यापारी मिलेर सम्पर्कविहीन भएको क्षेत्र वरपर खोजतलास गर्यौँ, फेला परेनन्, निराश भएर घर फक्र्यौँ ।”

अहिले पन्त परिवारमा तनावको स्थिति छ । “दाजु फर्केर आउने विश्वासमा छौँ,” विष्णुले भन्नुभयो, “दाजु सम्पर्कविहीन भएको ५४ दिन बितिसक्यो, अत्तोपत्तो छैन, फर्केर आउने आश छ, हरेश खाएका छैनौँ ।” केही दिनअघि मात्र मनाङमा दाजु भेटिन्छन् कि भनेर पुनः गएको उल्लेख गर्दै उहाँले नभेटेपछि निराश हुँदै फर्कनुपरेको बताउनुभयो ।

उहाँका अनुसार प्रहरीले अन्य सुरक्षा निकायको सहयोगमा तारणी हराएको दिनदेखि नै १२ दिनसम्म खोजतलास गरे पनि भेट्टाउन सकेको छैन । तारणीको मोबाइलको अन्तिम लोकेसन मनाङको चामेमै देखिएको छ । बैंकका तर्फबाट ड्रोन क्यामेरा र हेलिकप्टरको सहायताले खोजतलास गरे पनि तारणीको अत्तोपत्तो छैन ।

यस्तो छ शुक्रबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ५ पुस : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन, स्वीडिस क्रोनरको मूल्य घटेको छ ।

अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ४१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४० पैसा र बिक्रीदर ९४ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ०१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९४ पैसा र बिक्रीदर तीन रुपैयाँ ९५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ०७ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ६६ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुयैयाँ ७८ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ३४ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

अर्जुनधारा र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापना

बनियानी (झापा), ५ पुस : अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार नगरपालिकामा आयोजित एक कार्यक्रममा अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन र जापानको टोनो सिटीका मेयर काजुहिको ताडाले दुवै भगिनी सम्बन्ध स्थापित गरेर अगाडि बढ्ने प्रतिबद्धतासहित समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

कृषि र स्वास्थ्य क्षेत्र साथै विभिन्न क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको नगरप्रमुख गोम्देनले बताउनुभयो । मैत्रीपूर्ण निमन्त्रणामा जापानको तोनो सिटीका मेयर ताडासहितको ११ जनाको टोली दुईदिने भ्रमणका लागि अर्जुनधारा नगरपालिका आएको उहाँले बताउनुभयो । मेयर ताडासहितको टोलीले अर्जुनधारमा स्थापना भएको विपद् केन्द्र र कृषि बजारको स्थलगत अवलोकन पनि गरेको छ ।

जापानको टोलीमा मेयर काजुहिको ताडासहित ‘डाइरेक्टर अफ इण्डष्ट्री डिपार्टमेन्ट मानमी सासाकी, इण्डष्ट्री प्लानिङ डिभिजन चिफ इग्जानमिनर यासुहिको कुराउची, चेरमेन अफ सिटी काउन्सिल तसुतोमु ताडा, भाइस चेयरमेन अफ द स्टाण्डिङ कमिटी अन इन्डस्ट्री एण्ड कन्ट्रक्सन हिरोसी किकोची, स्टाण्डिङ कमिटी मेम्बर फर इण्डष्ट्री एण्ड कन्ट्रक्सन योसियुकी किकुची, प्रेसिडेन्ट एण्ड सिइओ अफ सुकुभा प्रिसिजन यासुसी किकुचीलगायत सहभागी छन् । उनीहरूलाई नगर परिसरमा नौमती बाजासहित स्वागत गरिएको थियो ।

क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान

काठमाडौँ, ४ पुसः नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा आजको बैठकले उक्त आह्वान गरेको हो ।

 पार्टीको कुन–कुन तहमा सदस्यता रोकिएको छ भन्ने विषयमा अर्को बैठकमा छलफल हुने भएको छ । जिल्ला सभापतिले क्रियाशील सदस्यता फारम रोकेको भेटिए केन्द्रीय समितिले हस्तक्षेप गरेरअघि बढ्ने समिति सदस्यसमेत रहनुभएका कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले राससलाई जानकारी दिनुभयो ।

कांग्रेसको विधानमा महाधिवेशन भएको वर्ष क्रियाशील सदस्यता वितरण नगरिने व्यवस्था छ । अरु वर्ष भने नियमित रुपमा क्रियाशील सदस्यता वितरण गरिने व्यवस्थाअनुसार नै काम हुनुपर्नेमा समितिले जोड दिएको छ । समितिको अर्को बैठक यही पुस १८ गते बस्ने जनाइएको छ ।

युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न पुटिन तयार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफू अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँग ‘कुनै पनि समय’ वार्ताका लागि तयार रहेको बताउनुभएको छ । ट्रम्पले कार्यालयमा आएको केही घन्टामै युक्रेनसँग शान्ति सम्झौता गर्नसक्ने क्षमता भएको दाबी गर्नुभएको छ ।

जनवरीमा ह्वाइट हाउसमा फर्कने ट्रम्पले मस्कोका लागि अनुकूल सर्तहरूमा युक्रेनलाई शान्ति स्वीकार गर्न बाध्य पार्न सक्ने डर किएभमा खडा गर्नुभएको छ । 

वर्षको अन्त्यमा आफ्नो वार्षिक पत्रकार सम्मेलन गर्दै पुटिनले रुसी सेनाले युद्धभूमिमा उच्च स्थान कायम राखेको बताउनुभयो । यद्यपि उहाँ रुसले पश्चिमी कुर्स्क क्षेत्रलाई कहिले फिर्ता फिर्ता लिने भन्ने थाहा नभएको स्वीकार गर्न बाध्य हुनुभयो । कुर्स्कमा अगस्टमा युक्रेनी सेनाले आक्रमण गरेको थियो । 

प्रायः लामो समयसम्म चल्ने परम्परागत वार्षिक प्रश्न र उत्तर सत्रहरू धेरै हदसम्म टेलिभिजन कार्यक्रम हुन् । यो एक दुर्लभ सेटिङ पनि हो जसमा उहाँलाई घटनास्थलमा राखिन्छ र केही असहज प्रश्नहरूको जवाफ दिन बाध्य पारिन्छ । 

सम्भावित शान्ति सम्झौताका सन्दर्भमा ट्रम्पको प्रस्तावको बारेमा सोधिएको प्रश्नमा ७२ वर्षीय पुटिनले आगामी रिपब्लिकनसँगको बैठकलाई स्वागत गर्ने बताउनुभयो । 

“म उहाँलाई कहिले भेट्न जाँदैछु मलाई थाहा छैन । उहाँले यसबारे केही भन्नुभएको छैन । मैले उहाँसँग चार वर्षभन्दा बढी समयदेखि कुरा गरेको छैन । निस्सन्देह, म यसका लागि तयार छु । कुनै पनि समय”, पुटिनले भन्नुभयो, “यदि हामीले कहिल्यै राष्ट्रपति–निर्वाचित ट्रम्पसँग भेट गर्यौँ भने म पक्का छु कि हामीसँग कुरा गर्न धेरै विषय हुनेछन् ।”
उहाँले रुस ‘वार्ता र सम्झौता’ का लागि तयार रहेको बताउनुभयो ।

श्रीलङ्काली नौसेनाले १०० रोहिङ्ग्या शरणार्थीको नौकालाई सहयोग गर्ने

श्रीलङ्काको नौसेनाले बिहीबार हिन्द महासागरको टापुमा माछा मार्ने ट्रलरमा फसेका युद्धग्रस्त म्यानमाबाट आएका करिब एक सय रोहिङ्ग्या शरणार्थीको समूहलाई सहयोग गर्न गइरहेको बताएको छ ।

धेरैजसो मुस्लिम जातीय रोहिङ्ग्याहरूलाई म्यानमामा व्यापक रूपमा दमन गरिन्छ र हजारौँले प्रत्येक वर्ष लामो समुद्री यात्रामा आफ्नो ज्यान जोखिममा पार्छन् । अधिकांश दक्षिणपूर्व मलेसिया वा इन्डोनेसियातर्फ जान्छन् । 

तर बिहीबार बिहान श्रीलङ्काको उत्तरी तटमा मुल्लिभाइक्कलमा माछा मार्नेहरूले बगिरहेको ट्रलर देखेको नौसेनाले जनाएको छ । 

असामान्य भए पनि म्यानमाको दक्षिणपश्चिममा करिब एक हजार सात सय ५० किलोमिटर खुला समुद्र पार गरेर श्रीलङ्कामा जाने यो पहिलो डुङ्गा होइन । 

श्रीलङ्काली नौसेनाले डिसेम्बर सन् २०२२ मा आफ्नो किनारमा डुङ्गामा सङ्कटमा परेका एक सयभन्दा बढी रोहिङ्ग्या शरणार्थीलाई उद्धार गरेको थियो । 

सन् २०१७ मा सेनाले गरेको दमनका क्रममा लाखौँ रोहिङ्ग्या म्यानमाबाट छिमेकी बङ्गलादेशमा भागेका थिए । यो अहिले संयुक्त राष्ट्रसङ्घको नरसंहार अदालतको मुद्दाको विषय बनेको छ । 

म्यानमाको सेनाले सन् २०२१ को विद्रोहमा सत्ता कब्जा गरेको थियो र त्यसबेलादेखि चलिरहेको युद्धले लाखौँलाई भाग्न बाध्य पारेको छ । 

गत महिना संयुक्त राष्ट्रसङ्घले धेरै रोहिङ्ग्याको ऐतिहासिक मातृभूमि म्यानमाको राखाइन राज्य अनिकालतिर गइरहेको चेतावनी दिएको थियो । त्यहाँ हिंसात्मक झडपहरूले व्यापार र कृषि उत्पादनलाई कम गरिरहेका छन् ।

स्वदेशी ज्ञानको आधुनिकीकरणमा ध्यान केन्द्रित गर्दै जानुपर्नेमा मन्त्री भट्टराईको जोड

गोदामचौर (ललितपुर), ४ पुसः शिक्षा, विज्ञान तथा प्राविधिमन्त्री विद्या भट्टराईले मुलुकको समृद्धिका लागि अत्याधुनिक प्रयोगशालामा लगानी बढाउनुपर्ने धारणा राख्नुभएको छ ।

नेपाल विज्ञान तथा प्राविधि प्रज्ञा प्रतिष्ठानको ४२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजिज समारोहमा प्रतिष्ठानका सहकुलपतिसमेत रहनुभएका मन्त्री भट्टराईले स्वदेशी ज्ञानको आधुनिकीकरणमा ध्यान केन्द्रित गर्दैै जानुपर्नेमा जोड दिनुभयो । 

“राष्ट्रको भविष्य युवा पुस्ता र उनीहरुले गर्ने नविनतम आविष्कारमा निर्भर रहन्छ, यसका लागि नेटवर्कको संयन्त्रलाई संस्थागत गर्दै शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टलिजेन्स (एआई)को प्रयोग बढाउँदै जानुपर्छ”,

उहाँले भन्नुभयो ।

मन्त्री भट्टराईले विगत चार दशकदेखि मुलुकको विज्ञान र प्रविधिको क्षेत्रमा  प्रतिष्ठानको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो । उहाँले विभिन्न रोग निवारण, फोहर व्यवस्थापन, वनस्पति अनुसन्धान, जलवायु परिवर्तनलगायत विषयमा प्रतिष्ठानले हासिल गरेको उपलब्धिले मुलुकको दिगो विकासमा टेवा पु¥याएको बताउनुभयो ।

उहाँले प्रतिष्ठानको उद्देश्य प्राप्त गर्नका लागि समन्वय र सहयोगका लागि मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रतिष्ठानले विज्ञान र प्रविधिमार्फत मुलुकलाई उज्यालो भविष्य तिर डोहो¥याउनेमा विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले विज्ञान र खोजको क्षेत्रमा प्रतिष्ठान र राष्ट्रिय योजना आयोगले सहकार्य गर्नुपर्नेमा जोड दिँदै  यसका लागि नीतिगत तहमा विशेष व्यवस्था गर्न आवश्यक छलफल गर्नुपर्ने बताउनुभयो ।

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा दिलीप सुब्बाले मन्त्रालयबाट प्राप्त सहयोग र समन्वयको निमित्त मन्त्रालय र मन्त्रीप्रति कृतज्ञता व्यक्त गर्नुभयो । साथै आगामी दिनमा साथ र सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

समारोहमा विज्ञान र प्रविधिको क्षेत्रमा विशेष खोज तथा अनुसन्धानमा उत्कृष्ट शिक्षक, विद्यार्थी तथा कर्मचारी गरी ५५ जनालाई पुरस्कृत गरिएको थियो ।

समारोहमा प्रकृति संरक्षण पुरस्कारबाट वन तथा वातावरण मन्त्रालयका कर्मचारी रमेशबहादुर बस्नेतलाई रु दुई लाखसहित पुरस्कृत गरिएको थियो । त्यस्तै रु एक लाख राशिको विज्ञान पुरस्कार डा देवराज जोशी र प्रविधि क्षेत्रको पुरस्कार डा दीपेन्द्र पराजुलीलाई प्रदान गरिएको छ । 

त्यस्तै विज्ञान तथा प्राविधि युवा पुरस्कार डा सुनिल श्रेष्ठ, डा राजकुमार थापा र डा बालकुमार ओलियालाई प्रदान गरिएको छ । विज्ञान तथा प्रविधि पुरस्कार त्रिचन्द्र क्याम्पसका डा ज्योति गिरीले प्राप्त गर्नुभएको छ । विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार र प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार क्रमशः सौगात बोलखे र डा हरि पौडेलले प्राप्त गर्नुभयो ।

विज्ञान शिक्षक पुरस्कार क्रमशः गलैनाथ माध्यमिक विद्यालय दार्चुलाका जयधन जोशी, गोकुण्डेश्वर माध्यमिक विद्यालय धनकुटाका लक्ष्मीप्रसाद सापकोटा, श्री राष्ट्रिय माध्यमिक विद्यालय रुपैठा वेल्हीका धनेन्द्र चौधरी, श्री शिव नमूना माध्यमिक विद्यालय कावासोती, नवलपरासीका दीपक विष्ट र शारदा माध्यमिक विद्यालय भेरी गङ्गा, सुर्खेतका जितेन्द्र वलीले प्राप्त गर्नुभएको छ । यी पुरस्कारको राशि रु ७५ हजार रहेको छ । त्यस्तै विभिन्न विधामा देशभरिबाट ४० जना व्यक्तित्वहरु पुरस्कृत हुनुभएको छ ।

देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ

लमजुङ, ४ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय देशभर इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा रहेको बताउनुभएको छ ।

लमजुङको मालिङमा आज क्व्होलासोथार गाउँपालिको प्रशासकीय भवन र मालिङ प्राथमिक अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री गुरुङले नेपाल सरकारको डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्ने सुरुआती थलोको रुपमा  लमजुङलाई लिएकाले यहाँका घर घरमा इन्टरनेट र टेलिफोन सेवा पु¥याइने बताउनुभयो । जिल्लालाई यस वर्ष पूरै सूचना प्रविधिमैत्री बनाइने उहाँको भनाइ थियो ।  

इन्टरनेट र टेलिफोन सेवा विस्तारपछि यहाँका सरकारी कार्यालयमा सूचना प्रविधिमार्फत सेवा प्रदान गरेर आधुनिक प्रशासन प्रणालीमा जोड दिइने मन्त्री गुरुङले बताउनुभयो । अहिलेको समय सूचना प्रविधिको भएकाले विद्यालय शिक्षा प्रविधियुक्त बनाउन लमजुङका सबै समुदायिक विद्यालयमा कम्युटर ल्याब उपलब्ध गराइने उहाँले उल्लेख गर्नुभयो । हालसम्म १० सामुदायिक विद्यालयमा १०÷१० थान कम्पुटर उपलब्ध गराइसकेको उहाँले जानकारी दिनुभयो । 

धापासीस्थित एक घरमा भीषण आगलागी,घर पूर्णरुपमा जलेर नष्ट

काठमाडौँ, ४ पुसः टोखा नगरपालिका वडा नं. ६ धापासीको शिव मन्दिर हाईटस्थित एक घरमा भीषण आगलागी भएको छ । त्यहाँस्थित भाईकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आज साँझ ५ बजेतिर आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको टोखा–६ का वडाअध्यक्ष शान्ता पौडेलले जानकारी दिनुभयो ।

साँझ ५ बजेको समयमा ग्यास लिक हुँदा आगलागी भएको थियो । ठूलो कम्पाउण्डमा घर भएको कारण अन्य घरमा भने क्षति नपुगेको वडाध्यक्ष पौडेलले बताउनुभयो । आगलागी भए लगत्तै खबर गरेपछि प्रहरी परिचालन गरिएको थियो । काठमाडौँ, भक्तपुर र ललितपुरको दमकल र नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने काम भइरहेको छ ।

आगो पूर्णरुपमा नियन्त्रणमा आउन केही समय लाग्ने वडाध्यक्ष पौडेलले बताउनुभयो । आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । 

मुद्रास्फीति ‘चिन्ताजनक’ भए पनि रुसी अर्थतन्त्र ‘स्थिर’– पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार उच्च मुद्रास्फीतिको चिन्ता व्यक्त गरे पनि बाह्य खतराहरूको सामना गर्न अर्थतन्त्र ‘स्थिर’ रहेको बताउनुभएको छ ।

रुसको केन्द्रीय बैंकले युक्रेनमा सैन्य आक्रमणका बीच मूल्य वृद्धिको गतिलाई सम्बोधन गर्ने आफ्नो पछिल्लो प्रयासमा शुक्रबार ब्याज दर बढाउने तयारी गरेको छ । 

“समग्र अर्थतन्त्रको कुरा गर्दा बाह्य खतराहरू हुँदाहुँदै पनि रुसको स्थिति स्थिर छ, मुद्रास्फीति चिन्ताजनक सङ्केत हो”, टेलिभिजनमा प्रसारित वर्षको अन्त्यको पत्रकार सम्मेलनमा पुटिनले भन्नुभयो, “अप्रिय र नराम्रो कुरा भनेको मूल्यवृद्धि हो । तर मलाई आशा छ कि यदि समष्टि आर्थिक सूचकहरू कायम राखियो भने हामी यसलाई सामना गर्न सक्षम हुनेछौँ ।” 

रुसले आधिकारिक रूपमा चार प्रतिशतको मुद्रास्फीतिलाई लक्षित गरेको छ । यद्यपि सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमा सेना पठाएयता मूल्यहरू उल्लेखनीय रूपमा तीव्र गतिमा बढेका छन् ।

मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयासमा केन्द्रीय बैंकले ब्याजदर दुई दशककै उच्च २१ प्रतिशतसम्म बढाएको छ । बैंकले शुक्रबार वर्षको अन्तिम बैठकमा फेरि ब्याजदर बढाउने तयारी गरेको छ ।

रुसले सैन्य आक्रमणमा व्यापक रूपमा खर्च बढाएको छ । लाखौँ मानिस सेनामा भर्ती भएका छन्, हतियार उत्पादकहरूले काममा लगाएका छन् वा देश छोडेर भागेका छन् । 

यसले गहिरो श्रम अभाव निम्त्याएको छ भने उच्च उधारो लागतले राज्यद्वारा सञ्चालित व्यवसाय र पुटिनको नजिकका व्यापारी नेताहरूलाई निराश पारेको छ ।     पछिल्लो दुई वर्षमा रुसले युरो क्षेत्रभन्दा तीव्र गतिमा विकास गरेको पुटिनले बताउनुभयो ।

फिल्म ‘देव वाणी’ यही पुस १० गते देखि प्रदर्शनमा आउने, निर्माण यूनिटले गर्यो काल भैरव मन्दीरमा पूजा

काठमाडौँ । प्रतिक्षित फिल्म ‘देव वाणी’ यही पुस १० गते देखि प्रदर्शनमा आउन लागेको छ । फिल्मको रिलिजको मिति नजिकिइरहेका बेला सफलताको कामना गर्दै निर्माण पक्षले काल भैरवमा पूजा गरेका छन् । निर्देशक बाबु साहेव बलामी, नायिका अनुजा लेप्चा, कार्यकारी निर्माता मन कुमार लेप्चा, रमेश ढुंगेल झापाली लगायतको उपस्थितिमा गरिएको पूजामा काल र्भरवलाई कालो धजा चढाइएको छ भने १०८ वटा दीप प्रज्वलन गरिएको छ । पूजाआजा पछि पत्रकारसँग कुरा गर्दै निर्देशक बलामीले फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । प्रचारको लागि फिल्मका नायक कुन्दन भारद्धाज केही दिनमै नेपाल आउने उनले बताए । नायिका लेप्चाले फिल्मलाई लिएर आफू उत्साहित रहेको प्रतिक्रिया दिइन् ।

फिल्ममा अभिनेता कुन्दन भारद्धाज र अभिनेत्री अनुजा लेप्चालाई डेब्यू गराइएको छ । बाबु साहेव बलामीको निर्देशनमा निर्माण भएको फिल्ममा कुन्दन र अनुजाका अलवा सुनिल थापा, ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय रहेको छ । एक्सन प्रधान फिल्ममा कुन्दन र अनुजाको स्कृन रोमान्स हेर्न पाइने निर्माण पक्षले बताएको छ । फिल्मलाई सिमरा, वीरगन्ज, र काठमाडौंमा छायांकन गरिएको हो। फिल्म नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ। मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन्।

हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको प्रस्तुतकर्तामा मौसम पौडेल छन्। मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता मन कुमार लेप्चा र रमेश ढुंगेल झापाली हुन्। फिल्ममा तेञ्जु योञ्जन र रामजी लामिछानेको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ।

भि पोइन्टमा प्रोष्ट प्रोडक्सन गरेको फिल्ममा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, प्रबिन ढकालको कलर ग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहेको छ । सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले फिल्मलाई वितरण गर्दैछ। अभिनेता कुन्दन भारद्धाज टेलिशृंखला ‘महाराणा प्रताप’, ‘सिंहासन र महावली हनुमान’ मा अभिनय गरेका छन्। साथै उनले बलिउड फिल्म ‘श्रीदेवी बंगलो’ र ‘मिशन चाइना’मा अभिनय गरेका छन्। उनी भोजपुरी फिल्ममा परिचित अभिनेता हुन्।

वीरगञ्ज नाका हुँदै भारततर्फ जान लागेका एक सय ३२ जनाको उद्धार

वीरगञ्ज (पर्सा), ४ पुसः माइती नेपाल शाखा कार्यालय वीरगञ्जले सन् २०२४ वीरगञ्ज नाका हुँदै भारततर्फ जान लागेका एक सय ३२ जना बालबालिका तथा महिलाको उद्धार गरेको छ ।

कार्यालयले विभिन्न बाहना देखाएर भारत लैजान लागेका एक सय ३२ जनालाई नेपाल–भारत सीमावर्ती क्षेत्र शङ्कराचार्य गेटबाट उद्धार गरिएको  छ । माइती नेपाल शाखा कार्यालय वीरगञ्जका सुपरभाइजर गोमा पौडेलले एक वर्षको अवधिमा भारत लैजान लागिएका एक सय ३२ बालबालिका तथा महिलालाई उद्धार गरिएको जानकारी दिनुभयो । 

“माइती नेपालले नेपाल–भारतको सीमावर्ती क्षेत्र नजिक पर्ने शङ्कराचार्य गेटमा कर्मचारी खटाएर भारत लैजान लागेका बालबालिका तथा महिलाको विषयमा नियमित रुपमा निरीक्षण गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो, “सो क्रममा शङ्कास्पद गतिविधि देखिएकालाई उद्धार गरेर आवश्यक परामर्श दिँदै आइएको छ ।”

माइती नेपालले भारतको पटनास्थित ‘उई विनर’ नेटवर्किङमा काम गर्न जान लागेका ३५ जनालाई सीमा क्षेत्रबाटै उद्धार गरेको छ । सानै उमेरमा प्रेममा परेर भारतीय प्रेमीलाई भेट्ने निहुँमा हिँडेका २९ जना किशोरीलाई उद्धार गरेको छ । कार्यालयले विहारका विभिन्न जिल्ला घुम्न जाने बाहना गर्ने २७ जना, काम गर्न जान लागेको बाहना देखाउने १७ जना र समान किन्न जान लागेको बाहना देखाउने १४ जनालाई उद्धार गरेर फिर्ता ल्याएको छ । उद्धार गरिएकामध्ये १८ वर्षसम्मका उमेर समूहका ५४ जना र १९ वर्षमाथिका उमेर समूहका ७८ जना रहेका छन् ।

कार्यालयले सन् २०२३ मा भने सीमा क्षेत्रबाट एक सय ९२ जना बालबालिका तथा महिलाको उद्धार गरेको थियो । माइती नेपालका वीरगञ्ज कार्यालयका सुपरभाइजर पौडेलले भारतमा जनचेतनाका कारण मानवबेचविखनका लागि लैजाने प्रवृत्तिमा भने केही कमी आएको बताउनुभयो । 

माइती नेपालले एक वर्षमा सीमा क्षेत्रमा २१ हजार तीन सय ७२ स्थानीय सवारीसाधनमा जाँच गरेको थियो । जाँचका क्रममा २५ हजार छ सय १५ जनालाई सीमा क्षेत्रमा मानवबेचविखनसम्बन्धी परामर्श गरेको थियो । कार्यालयले सन् २०२३ मा भारतका विभिन्न राज्यबाट १८ जना बालबालिका तथा महिलाको उद्धार गरेको जनाएको छ ।

एनआरटी क्लब झापा कपको सेमिफाइनलमा

झापा, ४ पुस : कप्तान अञ्जन विष्टको ह्याट्रिक गोलको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले आज सम्पन्न खेलमा चित्लाङ एफसी क्लबलाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलको १३औँ मिनेटमा एनआरटीका लागि कप्तान अञ्जन विष्टले पहिलो गोल गरे । यस्तै खेलको ३६औँ मिनेटमा उनले नै पेनाल्टीमार्फत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई २–० को अवस्थामा पु¥याए । चित्लाङ एफसीका गौरव श्रेष्ठले अञ्जनलाई लडाएपछि एनआरटीले पेनाल्टी पाएको हो ।

यसैगरी खेलको ४२औँ मिनेटमा चित्लाङ एफसीले गोल फर्कायो । उसका लागि जनक कोइरालाले गोल गरेका थिए । खेलको ६५औँ मिनेटमा नेमारले एनआरटीका लागि तेस्रो गोल गरे । खेलको ६८औँ मिनेटमा शिशिर लेखीले एनआरटीका लागि चौथो गोल गरे । खेलको ८८औँ मिनेटमा पेनाल्टीमार्फत एनआरटीका लागि अञ्जनले ह्याट्रिक गोल गरेका थिए । जारी प्रतियोगितामा उनी ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।  

शुक्रबार पहिलो सेमिफाइनल खेल सिरहाको सलहेश फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच तथा अर्को सेमिफाइनल एनआरटी र इटहरीको राष्ट्रिय जागृति क्लबबीच हुनेछ । प्रतियोगिताको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । फाइनल खेल यही पुस ८ गते हुनेछ । 

चिनियाँ तीन पाङ्ग्रे सवारी साधनको माग विश्वभर

एजेन्सी । चीनमा निर्माण भएका तीन पाङ्ग्रे सवारीसाधनको माग विश्वभर बढेको पाइएको छ । ‘मेड इन चाइना’ लेखिएका त्यस्ता साधन निर्यातले चीनको अर्थतन्त्रमा समेत ठूलो प्रभाव पारेको चिनियाँ समाचार एजेन्सी सीसीटिभीप्लसले जनाएको छ ।

मध्य चीनको हेनान प्रान्तको लुओयाङ सहरमा १५ वटा तीन पाङ्ग्रे र दुई सयभन्दा बढी तीन पाङ्ग्रे सवारीका पार्टपुर्जा उत्पादकहरू छन् । उत्पादक कम्पनीहरु बढ्नु भनेको निर्यातमा बृद्धि भएको अनुमान पनि गरिएको छ ।

उत्पादक कम्पनीहरुका अनुसार तीन पाङ्ग्रेले दक्षिणपूर्व एसियामा स्थानीय पर्यटनको विकासमा सहयोग पुर्याउन दर्शनीय स्थलहरूका लागि प्रयोग गरिन्छ, अफ्रिकामा कार्गो ढुवानीका लागि प्रयोग गरिन्छ भने युरोपेली र अमेरिकी देशहरूमा खेत र तुलनात्मक रूपमा साँघुरो सडकहरूमा प्रयोग गरिने गरेको छ ।

तीन पाङ्ग्रे सवारी साधनबारे भन्सारको तथ्याङ्क अनुसार गत वर्षको पहिलो ११ महिनामा मेकानिकल तथा विद्युतीय वस्तुको निर्यात १.८ ट्रिलियन अमेरिकी डलर पुगेको छ । यो अघिल्लो बर्षको तुलनामा ८ प्रतिशतले बढेको हो । तीन पाङ्ग्रे सवारी चीनको कुल निर्यातको झण्डै ६० प्रतिशत हिस्सा ओगटेको छ।

वैदेशिक रोजगारीबाट फर्किएका युवा राष्ट्र निर्माणमा सहभागी हुनुपर्नेमा श्रममन्त्रीको जोड

पाटन (ललितपुर), ४ पुसः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएका युवा राष्ट्र निर्माणमा सहभागी हुनुपर्नेमा जोड दिनुभएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस–२०२४ का अवसरमा पौरखी नेपाल र राष्ट्रिय महिला आयोगको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री भण्डारीले विदेशबाट फर्केका श्रमिकले त्यहाँ आर्जेको सीप र पुँजी उपयोग गर्नुपर्ने धारणा राख्नुभयो । 

“वैदेशिक रोजगारमा काम गरेर फर्कँदा उहाँहरुले केही न केही ज्ञान, सीप, संस्कार र लगनशीलता सिक्नुभएको हुन्छ, श्रम र समयको मूल्य बुझ्नु भएको हुन्छ, उहाँहरुमा भएको सीप, क्षमता र दक्षतालाई प्रयोगमा ल्याउनु आवश्यक छ, मुलुकको विकासमा उपयोग गर्नुपर्छ ।”

उहाँले आगामी दिनमा वैदेशिक रोजगारीमा जानेलाई भाषा, सीप र ज्ञान सिकेर जाने वातावरण बनाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले रोजगारदाता, तालिम केन्द्र र वित्तीय क्षेत्रलाई एकै ठाउँमा जोड्ने आफूहरुले प्रयन्त गरेको उल्लेख गर्नुभयो । 

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले वैदेशिक रोजगारी बाध्यता र परिस्थितिजन्य अवस्था भएको बताउनुभयो । उहाँले वैदेशिक रोजगारमा जाने घरेलुु श्रमिक महिलालाई सहज बाटोबाट जाने व्यवस्था नगर्दा समस्या आएको बताउनुभयो । उहाँले कामलाई घृणा गर्नेभन्दा सम्मान गर्नुपर्ने उल्लेख गर्दै गृह श्रमिकलाई सामाजिक सुरक्षा जोड्न आवश्यक रहेको बताउनुभयो । 
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चीरञ्जीवी बरालले वैदेशिक रोजगारीबाट फर्किएकालाई नेपालमा काम गर्न समस्या भएको बताउनुभयो । उहाँले व्यवसाय दर्ता गरेर नियमसङ्गत काम गर्दा प्राविधिक सहयोग, बजार व्यवस्थापन, उत्पादनको उचित मूल्य पाउन सक्ने अवस्था नहुँदा निरुत्साहित हुनु परिरहेको गुनासो गर्नुभयो । 

सरोकारवालाहरुले वैदेशिक रोजगारबाट फर्किएकालाई रोजगारी सृजना गर्दा कर छुट दिनुपर्ने, उद्यम सञ्चालनका विनाधितो ऋण प्रवाहको व्यवस्थापन गरिनुपर्ने, अनुदान दिने प्रणालीलाई निरुत्साहित गरिनुपर्नेमा जोड दिनुभएको थियो । 

आप्रवासी श्रमिकहरुको अधिकारलाई कानुनी तथा व्यावहारिक रुपमा सुनिश्चित गर्न हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदै आएको छ ।

प्रकाश सपुतको फिल्म ‘वसन्त’ को सम्पुर्ण छायांकन सकियो

गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘बसन्त’को सम्पुर्ण छायांकन सकिएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार ३८ दिनमा सिनेमाको सम्पुर्ण छायांकन प्याकअप गरिएको हो । बुधबार सिनेमाको अन्तिम सट खिच्दै काठमाडौंमा इन्डक्ल्याप गरिएको हो ।

आगामी चैत्र २२ गते चैते दशैंको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको सिनेमा निर्माणमा आफु र आफ्नो टिमले निकै मेहनत गरेकाले आफुले सोचेको र खोजेकै जस्तो रिजल्ट निस्कनेमा गायक, अभिनेता तथा निर्देशक सपुतको विश्वास छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको छ ।

सिनेमामा प्रकाश सपुतसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहनेछ । यो सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सिनेमाको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् । सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् ।

निजामती कर्मचारीको मनपरि रुपमा हुने सरुवा र बढुवा रोक्ने बनाऔँ

काठमाडौँ । सांसदहरुले निजामती कर्मचारीको मनपरि रुपमा हुने सरुवा र बढुवा रोक्ने स्पष्ट रुपमा ऐनमा व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसदहरुले सिंहदरबारमा ‘अत्तिरिक्त समूह’ र कायम मुकायम ‘कामु’ मा कर्मचारी राख्नेलाई कारबाही गर्नुपर्ने सुझाव दिए ।

सङ्घीय निजामती सेवाको गठन, सञ्चान र सेवा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ता सांसदहरुले कर्मचारीको सङ्घीय राजधानी, सिंहदरबारभित्रै एक मन्त्रालयबाट अर्को मन्त्रालय र आसपासकै कार्यालयमा सरुवा हुने तर दुर्गममा जान नमान्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने सुझाव दिए ।

कतिपय निजामती कर्मचारीको एक वर्षको अवधि पूरा नहुँदै सरुवा भइरहने र त्यसको असर कार्यसम्पादनमा पर्ने गरेको उनीहरुको भनाइ छ ।

संशोधनकर्ता सांसद मीना तामाङले निजामती कर्मचारी व्यवस्थापनबारे भनिन्, “तीन तीन महिनाभित्र सरुवा भइरहेको छ । कुन मन्त्रालयमा कुन सचिव कार्यरत हुनुहुन्छ, चिन्न गाह्रो छ । सबै तहका कर्मचारी कम्तीमा एक ठाउँमा एक वर्ष बस्नैपर्ने व्यवस्था गरौँ ।”

सांसद रामकुमार राईले दुर्गम क्षेत्रमा जाँदै नजाने कर्मचारीलाई बाध्यात्मक टिप्पणी खुलाई अनिवार्य जानुपर्ने व्यवस्थाको माग गरे । अर्का संशोधनकर्ता सुशीला श्रेष्ठले निजामती कर्मचारीको सबै तहमा महिलाको सहभागिताका लागि संशोधन प्रस्तुत गर्दै सरुवा र बढुवा व्यवस्थित बनाउन माग गरिन् ।

“मन्त्री परिवर्तन हुने वित्तिकै कर्मचारी सरुवा र बढुवाको चलखेल सुरु हुनु भएन । काम गर्ने वातावरण दिने ऐन बन्नुपर्छ”, उनले भनिन् ।

छलफलमा संशोधनकर्ता अमरेशकुमार सिंहले काजमा काम गर्ने व्यवस्था हटाउन सुझाव दिए । “सरकार ‘इ गर्भनेन्स’ को अभ्यासमा छ । काठमाडौँ कर्मचारी आइरहनुपर्दैन । काजमा काम गर्ने व्यवस्था बन्द गरौँ”, उनले भने, “काम गर्ने दिनको ९० दिन नबस्नेलाई कारबाही गरौँ ।” उनले कर्मचारीको सेवा निवृत्तिको एक वर्षअघिसम्म बढुवा नगर्न सुझाव दिए ।

समितिले विधेयकलाई सङ्घीय संसद्को आगामी अधिवेशनबाट पारित गर्ने अठोटका साथ संशोधनकर्ता सदस्यहरुसँग दफावार छलफल अघि बढाएको छ । समितिको अर्को बैठक आइतबार बस्ने तय भएको छ ।

नागरिकताबारे संविधानका धारा नै विभेदपूर्ण लाग्छन् : रेखा शर्मा

काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानूनका कुराहरु उठाउँदा धेरैबाट अपमानित हुनु परेको बताएकी छन् ।

बिहीबार ‘संविधान संशोधनमा नागरिकताको मुद्दा’ विषयक कार्यक्रममा बोल्दै उनले समानताका दृष्टिकोणले सबैभन्दा विभेदपूर्ण धारा भनेको नै नागरिकताको प्रवाधान भएको बताएकी हुन् ।

उनले भन्नि, ‘नेताहरुको पितृसतात्मक दृष्टि कस्तो छ भनेर नजिकबाट बुझेको छु । नागरिकताको विषयमा कुरा गर्दा नै रक्त अशुद्घता हुन्छ भन्छन् । रक्त अशुद्घताका र शुद्घताका कुरा धेरै सुन्यौं । विदेशीसँग विवाह गरेकी महिलाबाट जन्मेको सन्तानको रगत शुद्घ हुँदैन भन्ने भाष्य धेरै सुनेको छु । समानताका दृष्टिकोणले हेर्दा सबैभन्दा विभेदपूर्ण धारा भनेको नै नागरिकताको प्रवाधान छ । तर यसको विषयमा कुरा गर्दा धेरैचोटी अपमानित भएका समेत छौं ।’

साथै उनले हरेक कुरामा महिला पुरुषबीच समानता हुनुपर्ने बताइन् । उनले विगतको भन्दा अहिलेको संविधान उत्कृष्ट भएको बताइन् । यसैगरी शर्माले संविधानमा नागरिकताको विषयमा समस्या छ भन्ने कुरामा हामी कोही पनि असहमत नभएको जिकिर गरिन् ।

भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने

भारतले आगामी वर्षको च्याम्पियन्स ट्रफीका खेलहरू प्रतियोगिताको आयोजक र चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान जान अस्वीकार गरेपछि तटस्थ मैदानमा खेल्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले हप्तौँको झगडापछि बिहीबार जानकारी दिएको छ ।

बदलामा पाकिस्तानले पनि भारतमा आयोजना हुने आगामी आइसिसी प्रतियोगिताहरू अन्य देशहरूमा खेल्नेछ । यसको बारेमा अझै निर्णय हुन बाँकी छ ।

आइसिसी बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सन् २०२४–२०२७ को अधिकार चक्रमा आइसिसी प्रतियोगिताहरूमा दुवै देशले आयोजना गर्ने भारत र पाकिस्तानका खेल तटस्थ स्थानमा खेलिनेछ । यो आगामी आइसिसी पुरुष च्याम्पियन्स ट्रफी २०२५ (पाकिस्तानद्वारा आयोजना गरिएको) मा लागु हुनेछ ।” 

यो सम्झौता भारतले आयोजना गर्ने आइसिसी महिला क्रिकेट विश्वकप २०२५ र भारत र श्रीलङ्काले आयोजना गर्ने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ सम्म विस्तार हुने विज्ञप्तिमा उल्लेख छ । 

सुरक्षा चिन्ता र राजनीतिक तनावका कारण पाकिस्तानमा आफ्नो टोली पठाउने छैन भनी भारतले आइसिसीलाई बताएपछि यो घोषणाले च्याम्पियन्स ट्रफीलाई लिएर एक महिना लामो गतिरोध समाप्त भएको छ ।     तर पाकिस्तानले भने २०२३ को आइसिसी विश्वकपमा भारतमा खेलेको थियो ।

असदको पतन रुसका लागि ‘पराजय’ होइन– पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार सिरियाका पूर्व नेता बशर अल–असदको पतन रुसका लागि ‘पराजय’ नभएको भन्दै मस्कोले त्यस देशमा आफ्नो लक्ष्य हासिल गरेको दाबी गर्नुभएको छ ।

दमन र व्यापक मानव अधिकार उल्लङ्घन तथा गृहयुद्धका आरोपहरूले चिनिएको असद परिवारको आधा शताब्दी लामो शासनको अन्त्य गर्दै विद्रोहीहरूको आकस्मिक अग्रगति गरेपछि असद यस महिनाको सुरुमा मस्को भाग्नुभएको थियो ।

लोकतन्त्रको विरोधमा उहाँको दमनले गृहयुद्ध निम्त्याएको १३ वर्षभन्दा बढी समयपछि उहाँको प्रस्थान भएको हो । रुस असदको प्रमुख समर्थक थियो र २०१५ मा उहाँको मद्दतमा आएर द्वन्द्वको दिशा नै परिवर्तन गरिदिएको थियो ।

“सिरियामा जे भइरहेको छ त्यसलाई तपाईँ रुसको पराजयका रूपमा प्रस्तुत गर्न चाहनुहुन्छ”, पुटिनले वर्षको अन्त्यमा आफ्नो वार्षिक पत्रकार सम्मेलनमा एक अमेरिकी पत्रकारको प्रश्नको जवाफमा भन्नुभयो, “म तपाईंलाई आश्वस्त पार्छु यो त्यस्तो होइन, हामी १० वर्षअघि सिरियामा आएका थियौँ ताकि त्यहाँ अफगानिस्तान जस्तै आतङ्कवादी गढ बन्न नपाओस् । समग्रमा, हामीले आफ्नो लक्ष्य हासिल गरेका छौँ ।”

उहाँले मस्कोमा असदसँग भेट्न बाँकी रहेको तर चाँडै भेट्ने योजना बनाएको बताउनुभयो । “मस्को आइपुगेपछि मैले राष्ट्रपति असदलाई देखेको छैन तर म निश्चित रूपमा उहाँसँग कुरा गर्नेछु”, उहाँले भन्नुभयो । 

असदको पतनपछि पुटिनले पहिलो पटक सार्वजनिक रूपमा सिरियाको स्थितिबारे बोल्नुभएको हो ।

मस्को सिरियामा दुईवटा सैन्य आधारको भविष्य सुरक्षित गर्न उत्सुक छ । टार्टस नेभल बेस र हेमिमिम एयर बेस पूर्व सोभियत सङ्घबाहिर रुसको एक मात्र सैन्य चौकीहरू हुन् र ती अफ्रिका र मध्यपूर्वमा क्रेमलिनका गतिविधिहरूका लागि महत्त्वपूर्ण रहेका छन् । 

पुटिनले ती अड्डाहरू रुसको नियन्त्रणमा राख्न समर्थन रहेको बताउनुभयो । “हामी त्यहाँ स्थिति नियन्त्रण गर्ने सबैसँग, क्षेत्रका सबै देशहरूसँग सम्पर्कमा छौँ । तिनीहरूको ठूलो बहुमत हाम्रा सैन्य अड्डाहरू त्यहाँ रहिरहनुमा चासो राख्छन् भन्छन्”, उहाँले भन्नुभयो ।    उहाँले तेहरानको अनुरोधमा रुसले चार हजार इरानी सैनिकलाई त्यस देशबाट निकालेको पनि बताउनुभयो ।

‘छुवाछूतबारे बनेका कानुन कडाइका साथ लागू हुनुपर्ने’ : मन्त्री गुप्ता

काठमाडौँ, ४ पुस : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकार सुनिश्चित गर्न र छुवाछूत तथा विभेद अन्त्य गर्न यससम्बन्धी बनेका कानुन कडाइका साथ लागू गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा ‘दलित समुदायको अधिकार तथा विकास र कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धमा’ भएको छलफलमा मन्त्री गुप्ताले समाजमा छुवाछूतका घटनामा कुनै कमी नदेखिएकाले कानुन कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “समाजमा अझै छुवाछूतका घटना छन् । यसको अन्त्य गर्न कानुन कार्यान्वयन हुनुपर्छ । सचेतनामूलक कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्छ । यो मस्यौदा अघि बढोस्, मन्त्रालयले सहजीकरण गर्छ ।”

समितिकी सभापति कमलादेवी पन्तले दलितका सवालमा राज्य संवेदनशील बन्नुपर्ने बताउनुभयो । “सामाजिक न्याय दिगो विकासको एक लक्ष्य हो । त्यो पूरा गर्न यसमा वकालत जरुरी छ । यो विधेयक हिउँदे अधिवेशनमा पेस गर्ने हाम्रो लक्ष्य छ”, उहाँले भन्नुभयो ।

समितिकी सदस्य सांसद उर्मिला अर्यालले व्यवहारमा परिवर्तन नै आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशभरिको दलित समुदाय सङ्गठित हुुनुपर्छ । छुवाछूत गर्नेलाई जरिवाना तथा कारबाही गनैपर्छ ।”

सांसद तुलप्रसाद विश्वकर्माले सामाजिक रुपान्तरण भयो भने विभेद आफैँ हटेर जाने बताउनुभयो । “सामाजिक रुपान्तरणका लागि के गर्न सकिन्छ भनेर सबैले सोच्नुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद नारायणदत्त भट्टले विभेद अन्त्य गर्ने भनिए पनि भनाइ र गराइमा तालमेल छ वा छैन भनेर आफैँलाई प्रश्न गर्नुपर्ने बताउनुभयो । बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा संकल्प प्रस्ताव कार्यान्वयन अनुगमन उपसमितिबाट समिति समक्ष पेश भएको प्रतिवेदन सुझावसहित राष्ट्रियसभामा छलफलका लागि पेस गर्ने र सङ्घीय मामिला तथा प्रशासन मन्त्रालयलाई दलितका अधिकार तथा विकासका सम्बन्धमा विधेयक संसद्मा पेस गर्न आवश्यक गृहकार्य अघि बढाउन निर्देशन दिने सभापति पन्तले जानकारी दिनुभयो ।

प्रतिवेदनले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्न विधेयक मस्यौदा गरी सरकारले यथासिघ्र संसद्मा पेस गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ

काठमाडौं, ४ पुस – रूपन्देही,शुद्धोधन गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय ९० मिलिग्राम सहित सोही गाउँपालिका-१ किसुली बस्ने ३१ वर्षीय मोहन लोनियालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-४ हरकपुराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १० ग्राम र भारतीय २७ हजार रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत महाराजगंज ठुठिबारी थाना कदौरा जमुरकला बस्ने २६ वर्षीय सन्तोष लोनिया र महाराजगंज ठुठिबारी थाना जमुरकला बस्ने २६ वर्षीय हरिन्द्र कनौजिया रहेका छन् । इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी पाँचपेडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ जे ९८०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै

काठमाडौँ, ४ पुसः मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले श्रीलङ्काको सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।

गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित ६ टोली सम्मिलित छन् । जसमा समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् । पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन् । नेपाली टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन् ।

यसमा टोलीको उप–कप्तानमा सोनी पाख्रिन उपकप्तान छिन् । त्यस्तै, टोलीमा साना प्रवीण, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृष्मा गुरुङ छन् ।

त्यस्तै, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत समेत टोलीमा रहेका छन् । प्रतियोगिता यही पुस ७ गतेसम्म चल्नेछ ।

सुखीपुरमा चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता

सिरहा, ४ पुसः सिरहाको सुखीपुर नगरस्तरीय चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता हुनेभएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद’ भन्ने नाराका साथ यही पुस ७ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।

नगर सुधार समिति सुखीपुरको आयोजना र स्थानीय क्रिकेट क्लबको व्यवस्थापनमा प्रतियोगिता हुने समितिका संयोजक भुवन यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सुखीपुर नगरका दश वटै वडाले आफ्नो खेलाडी समूह सहभागी गराउने छन् । प्रतियोगिताको लागि अहिले खेल अभ्यास गराउँदै आएको संयोजक यादवले जानकारी दिनुभयो । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको पहिचान गरिने र उनीहरुको विकासमा नगरले ध्यान दिने नगरप्रमुख रामऔतार यादवले बताउनुभयो ।

त्यसैगरी उहाँले खेलको व्यवसायीकरणबाट नगरको प्रतिष्ठा र गौरव बढाउन सकिने भएकाले प्रत्येक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको पनि जानकारी दिनुभयो ।

शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरीचौकी स्थापना गर्न माग

कञ्चनपुर, ४ पुसः शुक्लाफाँटा नगरपालिकाका दुर्गम क्षेत्रका वडामा प्रहरीचौकी स्थापनाको माग गरिएको छ । वडा नं ७, ८ र ६ लाई समेटने गरी प्रहरीचौकी स्थापना गर्न स्थानीय बासिन्दाले माग गरेका हुन् ।

“चोरी एवं आपराधिक घटना बढ्दै गएकाले प्रहरी पोष्टको स्थापना हुन जरुरी छ”, शुक्लाफाँटा –७ का वडा सदस्य केशव ठगुन्नाले भन्नुभयो, “चार बढी घरमा एकै पटक चोरी भएको छ, प्रहरीचौकी भएको भए त्यो रोकिन्थ्यो ।” पायक पर्ने ठाउमा प्रहरीचौकी स्थापना हुनुपर्ने उहाँको भनाइ रहेको छ ।

शुक्लाफाँटा –१२ का वडाध्यक्ष नवलसिंह रानाले वडा नं १ मा स्थापना गरिएको प्रहरीको अस्थायी पोष्टलाई स्थानान्तरण गरी वडा नं १ र १२ को बीचमा पर्ने गरी राख्नुपर्ने सुझाव दिनुभयो । स्थानीय बासिन्दाको मागलाई मध्यनजर गर्दै वडा नं ७ र ८ का बीचमा प्रहरीचौकी राख्ने बारे नगरकार्यपालिकाबाट निर्णय गरी जिल्ला सुरक्षा समितिमा पठाइएको नगर प्रमुख रणबहादुर महराले बताउनुभयो ।

“प्रहरीचौकीको त्यस ठाउँमा निकै आवश्यक छ”, उहाँले भन्नुभयो, टाढाको क्षेत्र भएकाले प्रहरी पुग्न निकै समय लाग्छ, त्यस बेलासम्म अपराध गर्नेहरु फरार हुन्छन, शान्ति सुरक्षा कायम राख्नका लागि प्रहरीचौकीको अत्यन्त खाँचो छ ।” जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीचौकी राख्नेबारे जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरेर गृह मन्त्रालयमा पठाइएको बताउनुभयो । उहाँले वडा नं १ र १२ मा प्रहरी पोष्टलाई स्थानान्तरण गरेर राख्नुपर्नेबारे बुझेर कार्य अगाडि बढाइने बताउनुभयो ।