`

एनपिएल विजेतालाई राष्ट्रपतिको बधाई

काठमाडौँ, ६ पुसः राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ ।

साथै उहाँले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आगामी संस्करणहरूमा अझ राम्रो गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

झापा कप: राष्ट्रिय जागृति क्लव फाइनलमा

झापा, ६ पुसः विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी झापा कपको आजको खेलमा न्युरोड टिम (एनआरटी) क्लबले इटहरीको राष्ट्रिय जागृति क्लबलाई ‘टाइब्रेकर’मा ३–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको छ ।

आजको यो जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ । खेलको निर्धारित समयसम्म कुनै पक्षले गोल नगरेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।

टाइब्रेकरमा एनआरटीका एञ्जल महर्जन, कृतिश छुञ्जु र अभिषेक लिम्बूले गोल गरेका हुन् । जागृतिका कप्तान प्रवेश दनुवार र सविन घिमिरेको प्रहार गोलरक्षक विशाल सुनारले विफल बनाएका थिए । 

खेलको ‘प्लेयर अफ दी म्याच’ विजेता टिम एनआरटीका गोलरक्षक सुनार भएका थिए । उनले नगद रु १० हजार पुरस्कार प्राप्त गरेका छन् ।  प्रतियोगितामा नेपाल र भारतका १० टोलीको सहभागिता रहेको थियो । आयोजक झापा–११ सहित भारतको जिटिए दार्जिलिङ, गोर्खा ब्वाइज रुपन्देही, एलएक्स सिटी मोरङ, राष्ट्रिय जागृति क्लब इटहरी, सलहेश युथ क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब काठमाडौँ र चित्लाङ एफसी काठमाडौँ सहभागी भएका थिए ।

भूकम्पबाट क्षतिको विवरण सङ्कलन सुरु, भत्किएको घरबाट तीन बालबालिकाको सकुशल उद्धार

बाजुरा, ६ पुसः बिहान गएको भूकम्पबाट भएको क्षतिको विरण सङ्कलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान आएको ५ दशमलव २ रेक्टरको भूकम्पका कारण मानवीय क्षति नभए पनि सामान्यरूपमा स्थानीयहरूको घर चर्किएको निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले जानकारी दिनुभयो ।

विकट हिमाली जिल्लामा रूपमा रहेको यहाँका स्थानीय पालिकामा आवतजावतमा समय लाग्ने भएकाले प्रहरीको प्रारम्भिक विवरणअनुसार मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण सङ्कलन जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी मण्डलले बताउनुभयो ।

भूकम्पका कारण बूढीनन्दा नगरपालिका–४ मा एक घर भत्किएको मण्डलले बताउनुभयो । घरभित्र तीन बालबालिका बसेको अवस्थामा घर भत्किएको र बालबालिकालाई सकुशल उद्धार गरिएको उहाँको भनाइ छ ।

जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र प्रहरीसँग समन्वय गरी क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केर होहल्ला मच्चिएको थियो ।

जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ, ६ पुुस : सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत डा शैल रूपाखेतीले जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टेनमायरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

राष्ट्रपति भवनमा गत बुधबार आयोजित समारोहमा उहाँले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रमाणपत्र पेस गरेपश्चात राष्ट्रपतिसँग भएको छोटो भेटघाट र कुराकानीकाक्रममा राजदूत डा रूपाखेतीले नेपालको वर्तमान राजनीतिक घटनाक्रम, भूराजनीति र नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउनुभएको थियो ।

त्यस अवसरमा जर्मनीका राष्ट्रपति स्टेनमायरले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको जर्मनीमा यसैवर्ष भएको भेटको सन्दर्भ र दुई देशबीचको वर्तमान सम्बन्धबारे चर्चा गर्नुभएको थियो ।

सो समारोहमा जर्मनीका उच्च पदस्थ अधिकारीहरू र नेपाली राजदूतावास बर्लिनका अधिकारीको पनि उपस्थिति रहेको थियो ।

सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकैखेती

इनरूवा (सुनसरी), ६ पुसः सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ का नगेन्द्रकुमार साह पहिले एक बिघा १० कट्ठामा गहुँखेती गर्नुहुन्थ्यो । उहाँले रू एक लाखदेखि एक लाख ५० हजारको लागतमा एक बिघा १० कट्ठामा गहुँखेती गर्दै आउनुभएको थियो । उहाँले गहुँखतीबाट वार्षिकरूपमा १० क्विन्टलदेखि १५ क्विन्टलसम्म उत्पादन हुँदै आएको थियो । उहाँलाई गहुँबाट वार्षिकरूपमा रू ७२ हजार आम्दानी हुँदै आएको थियो ।

पछिल्लो समय साह गहुँखेती छोडेर मकैखेती गर्नका लागि सुरू गर्नुभएको छ । उहाँले अहिले एक बिघा १० कट्ठा खेतमा मकैखेती गरेको जानकारी दिनुभयो । रू एक लाखदेखि एक लाख ५० हजारको लगानीमा गरेको मकैखेतीबाट रू चार लाखसम्म आम्दानी गर्ने लक्ष्यका साथ एक बिघा १० कट्ठामा मकैखेती गरेको उहाँले जानकारी दिनुभयो ।

मकैखेतीबाट वार्षिकरूपमा एक सयदेखि एक सय २० क्विन्टलसम्म उत्पादन गरेर वार्षिकरूपमा रू चार लाख आम्दानी हुने गरेका कारणले पछिल्लो समय मकैखेतीतर्फ आकर्षित भएको साहले बताउनुभयो ।

गहुँखेतीमा कम उत्पादन हुने र कम आम्दानी हुने गरेका कारणले पछिल्लो समय मकैखेतीतर्फ आकर्षित भएको साहको भनाइ रहेको छ । साह सुनसरीका लागि उदाहरणका पात्र मात्र हुनुहुन्छ । पछिल्लो समय सुनसरी सदरमुकाम इनरूवासहित भोक्राहा, हरिनगर, बर्जु, गढी र देवानगञ्ज गाउँपालिकाका कृषक मकैखेतीतर्फ बढी आकर्षित भएका छन् ।

जिल्लामा पछिल्लो समय वार्षिकरूपमा गहुँखेती गर्ने कृषकको सङ्ख्या क्रमिकरूपमा घट्दै गएको छ भने मकैखेती गर्ने कृषकको सङ्ख्या बढ्दै गएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८०/०८१ मा सुनसरीमा १२ हजार २ सय ४८ हेक्टर क्षेत्रफलमा गहुँखेती भएकोमा आव २०८१/०८२ मा १२ हजार एक सय २५ हेक्टर क्षेत्रफलमा किसानले गहुँखेती गरेको कार्यालय प्रमुख सिंहले जानकारी दिनुभयो ।

त्यसैगरी आव २०८०/०८१ मा सुनसरीमा १० हजार छ सय ४१ हेक्टर क्षेत्रफलमा मकैखती गरेका र यस आवमा लगाउने क्रम जारी रहेका कारणले यसमा वृद्धि हुने उहाँले जानकारी दिनुभयो । आव २०८०/०८१ मा ३ दशमलव ३७ मेट्रिक टन गहुँको उत्पादकत्व रहेकोमा सोही आर्थिक वर्षमा ७ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर मकैको उत्पादकत्व रहेको सिंहले जानकारी दिनुभयो ।

मकैखेतीमा उत्पादकत्व बढी हुनु, बजार भाउ बढी पाउनु र कुखुराको दाना बनाउनका लागि प्रयोग गर्नुलगायतका कारणले बढी मात्रमा जिल्लाका किसान मकैखेती गर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सिंहले जानकारी दिनुभयो । सुनसरीमा हाइब्रिड ३३, ५५, ७७, रामपुरकम्पोजीट, कारगील, अल्राउण्डरलगायतका जातका मकैखेती हुने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख सिंहले जानकारी दिनुभयो ।

इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली सङ्घ (इयु) लाई तेल र ग्यास खरिदमार्फत वासिङ्टनसँगको ‘विशाल’ व्यापार घाटा नघटाए भन्सार महसुल लगाउने धम्की दिनुभएको छ ।

“मैले इयुलाई उनीहरूले हाम्रो तेल र ग्यासको ठूलो मात्रामा खरिद गरेर संयुक्त राज्य अमेरिकासँगको आफ्नो विशाल घाटालाई पूरा गर्नुपर्दछ भनेको छु”, ट्रम्पले शुक्रबार बिहान आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा भन्नुभयो, “अन्यथा पूरै भन्सार महसुल लगाइनेछ ।” 

अमेरिकी तथ्याङ्कअनुसार सन् २०२२ मा इयुबाट पाँच खर्ब ५३ अर्ब ३० करोड डलरको सामान आयात भएको थियो भने युरोपेली सङ्घमा यसको निर्यात तीन खर्ब ५० अर्ब ८० करोड डलर थियो । यसले त्यस वर्ष इयुसँग अमेरिकाको वस्तु व्यापार घाटा दुई खर्ब दुई अर्ब ५० करोड डलर पु¥याएको छ ।

इयु प्रमुख उर्सुला भोन डेर लेयनले नोभेम्बरमा ट्रम्पलाई रुसी ऊर्जाको विकल्पका रूपमा अमेरिकाले थप तरलीकृत प्राकृतिक ग्यास आपूर्ति गर्नसक्ने सुझाव दिनुभएको थियो । 

शुक्रबार ट्रम्पको धम्कीबारे प्रश्नको जवाफ दिँदै इयुका प्रवक्ताले अमेरिकाले पनि ‘इयुसँग पर्याप्त सेवा व्यापार बचत’ गरेको उल्लेख गर्दै २७ राष्ट्रको समूह वार्ताका लागि खुला रहेको बताउनुभयो । 

“ऊर्जा क्षेत्रमा हाम्रो साझा चासोका बारेमा छलफल गरी पहिले नै बलियो सम्बन्धलाई कसरी अझ सुदृढ पार्न सकिन्छ भनेर राष्ट्रपतिमा निर्वाचित ट्रम्पसँग छलफल गर्न हामी तयार छौँ”, इयुका प्रवक्ता ओलोफ गिलले पत्रकार सम्मेलनमा भन्नुभयो । 

जनवरीमा पदभार ग्रहण गर्नुहुने ट्रम्पले क्यानाडा, मेक्सिको र चीनलगायत अमेरिकी व्यापारिक साझेदारहरूमाथि भन्सार महसुल लगाउने धम्की दिनुभएको छ । यसले विश्वव्यापी अर्थतन्त्रमा तरङ्ग ल्याउन सक्छ । 

क्यानाडा र मेक्सिकोलाई संयुक्त राज्य अमेरिकामा अवैध लागुपदार्थ र कागजातविहीन आप्रवासीहरूको बाढी ल्याउन दिएको आरोप लगाउँदै उहाँले २५ प्रतिशत आयात शुल्क लगाउने धम्की दिनुभएको थियो । उहाँले वासिङ्टनको एशिया–प्रशान्त प्रतिद्वन्द्वी चीन विरुद्ध कम्तीमा १० प्रतिशत लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

यस महिनाको सुरुमा इयुले चार दक्षिण अमेरिकी देशहरू अर्जेन्टिना, ब्राजिल, पाराग्वे र उरुग्वेसँग एक विशाल व्यापार सम्झौता सम्पन्न गर्यो । सम्झौताले ७० करोड ग्राहक भएको मुक्त व्यापार क्षेत्र सिर्जना गर्ने लक्ष्य राखेको छ । 

भोन डेर लेयनले सम्झौताले व्यापार पुलहरू निर्माण गर्ने बताउनुभएको थियो । उहाँका अनुसार ‘विपरीत दिशामा एकान्तता र विखण्डनतर्फ बलियो हावाहरू बगिरहेका छन् ।’ यी टिप्पणीलाई मुख्यतया ट्रम्पको भन्सार महसुल बढाउने धम्कीतर्फको सङ्केतका रूपमा हेरिएको छ ।

केही विश्लेषकले ट्रम्पको भन्सार महसुलको धम्की मात्र हुनसक्ने वा उहाँ ह्वाइट हाउसमा आएपछि भविष्यको व्यापार वार्तामा लाभ लिने प्रारम्भिक चाल हुनसक्ने बताएका छन् ।

तथापि ट्रम्पले ‘उचित रूपमा प्रयोग गरिएको’ भन्सार महसुल अमेरिकी अर्थतन्त्रका लागि सकारात्मक हुने कुरामा निरन्तर जोड दिनुभएको छ । 

“हाम्रो देश अहिले सबैसँग हारिरहेको छ”, उहाँले यस हप्ताको सुरुमा आफ्नो फ्लोरिडास्थित निवासमा पत्रकारहरूलाई भन्नुभयो, “भन्सार महसुलले हाम्रो देशलाई धनी बनाउनेछ ।”

राहदानी बनाउन माल्टाबाट छ सय बढी नेपालीको आवेदन, एक करोड बढी राजस्व सङ्कलन

लिस्बन (पोर्चुगल), ६ पुस : विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि माल्टाबाट छ सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो ।

शिविरबाट राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र माल्टामा जन्मेका नेपाली बालबालिकाको नयाँ राहदानी गरी कूल छ सय ५० जनाको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको स्पेनका लागि कार्यवाहक राजदूत यज्ञराज पौड्यालले राससलाई जानकारी दिनुभयो । पाँच दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट झण्डै सात सय नेपालीले सेवा लिएको कार्यवाहक राजदूत पौड्यालले बताउनुभयो ।

शिविरबाट करिब ७८ हजार युरो अर्थात् रु एक करोड १० लाख राजस्व सङ्कलन भएको पौड्यालले बताउनुभयो । “राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन विशेष प्राथमिकता दिएर माल्टामा घुम्ती शिविर सञ्चालन गरेका हौँ”, पौड्यालले राससँग भन्नुभयो, “शिविर अवधिभर हामीले सक्दो सेवा दिने प्रयास गर्यौं, माल्टाबाटै सेवा पाउँदा सहज भएको भन्दै सेवाग्राहीले खुसी व्यक्त गर्नुभयो ।”

शिविरबाट राहदानी नवीकरण, राहदानी वितरण र कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा प्रवाह गरिएको दूतावासले जनाएको छ । घुम्ती सेवामा दूतावासका सहचारी विपिन चन्द, राहदानी विभागका नायब सुब्बा विदुर खतिवडा र दूतावासका स्थानीय कर्मचारी खटिनुभएको थियो । टोलीले डिसेम्बर १४ तारिखदेखि गैरआवासीय नेपाली सङ्घ माल्टाको कार्यालयबाट कन्सुलर सेवा प्रदान गरेको थियो । घुम्ती सेवालाई गैरआवासीय नेपाली सङ्घ माल्टासहित त्यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाले समन्वय र सहजीकरण गरेका थिए ।

माल्टामा नेपाली दूतावास नभएका कारण राहदानी विभाग र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले त्यहाँ घुम्ती शिविर सञ्चालन गरेको हो । यसअघि दूतावासले गत महिना स्पेनको बार्सिलोनामा घुम्ती सेवा सञ्चालन गरेको थियोे ।

बागलुङमा बने १४ हजार आठ सय ‘एक घर, एक धारा’

ढोरपाटन (बागलुङ), ६ पुसः गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’को नीति लिएको छ । प्रदेश सरकारले लिएको नीति कार्यान्वयन हुँदै गएपछि बागलुङमा त्यसले सार्थकता पाउन थालेको छ । बागलुङमामा ९५ प्रतिशत नागरिकसम्म आधारभूत खानेपानीको पहुँच पुगेको छ । एउटा धाराबाट करिब दश परिवारले पानी उपभोग गर्नुपरे पनि कुवा र पोखरीको पानी पिउनु परेको छैन । आधा दशक अगाडिसम्म दुर्गम गाउँका नागरिकले कुवाकै पानी पिउने गर्थे ।

पछिल्लो समय सरकारले खानेपानीको क्षेत्रमा लगानी बढाउँदै गएपछि अहिले कुवा र पोखरीको पानी खानुपर्ने बाध्यता हटेको हो । प्रदेश सरकारले बर्सेनि खानेपानीका लागि बागलुङमा करोडौँ लगानी गर्दै आएको छ । गण्डकी प्रदेशबाट चालु आर्थिक वर्षमा जिल्लाभरका आयोजनाका लागि रू १८ करोड ७७ लाख बजेट विनियोजन गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले जानकारी दिनुभयो । यस वर्ष जिल्लाका १० पालिकामा एक सय ३४ योजना परेका छन् ।

प्रमुख पौडेलका अनुसार बागलुङ नगरपालिकामा २७, गलकोट नगरपालिकामा १४, जैमिनी नगरपालिकामा १०, ढोरपाटन नगरपालिकामा २०, निसीखोला गाउँपालिकामा आठ, तमानखोलामा छ, काठेखोलामा १४, ताराखोलामा १०, बडिगाड १६ र बरेङ गाउँपालिकामा नौ वटा योजना परेका छन् । जिल्ला भर १४ हजार आठ सय वटा ‘एक घर एक धारा’ निर्माण भइसकेको उहाँको भनाइ छ । उक्त धाराबाट ६४ हजार चार सय १० जना नागरिक लाभान्वित भएको प्रमुख पौडेल बताउनुहुन्छ ।

पौडेलले भन्नुभयो, “हरेक वर्ष नयाँ धारा थपिँदै गएका छन्, केही ठाउँमा अझै पनि खानेपानीको सहज पहुँच पुगेको छैन, प्रदेशबाट आएका आयोजनालाई हामीहरूले मेसिनो गरी कार्यान्वयन गरिरहेका छौँ, सीमित बजेटका कारण कयौँ आयोजना समयममा सम्पन्न हुन सकेका छैनन्, विगतको तुलनामा पछिल्लो समय खानेपानीको पहुँच धेरै ठाउँमा पुग्दै गएको छ ।”

निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय कली विकले भने लामो समयदेखि खानेपानीको समस्या हुँदा राज्यको ध्यान पुग्न नसकेको गुनासो गर्नुभयो । गाउँ नजिकका मुहान नहुँदा खानेपानी समस्या पर्दै गएको उहाँको भनाइ छ । टाढाबाट ल्याउनका लागि ठूलो बजेट लाग्ने भन्दै त्यसका लागि तीनै तहका सरकारले चासो नदिएको विकले बताउनुभयो ।

“अरू ठाउँमा खानेपानीको समस्या समाधान भइसकेका छन्, यो अर्नाकोट क्षेत्रमा धेरै वर्ष भयो पानीको हाहाकार हुन थालेको तर अहिलेसम्म समाधान हुन सकेन,” विकले भन्नुभयो, “हाम्रो ठूलो नेतासम्म पहुँच नपुगेर होकी, राज्यले हामीहरूलाई उपेक्षामा पारेर हो, यस क्षेत्रका जनतालाई सधैँ पानीकै पिरलो छ, सुगम ठाउँहरूमा एक घर एक धारा बनिसकेका छन् ।”

एनपिएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर

काठमाडौँ, ६ पुसः पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।

दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

नेपाललाई आइटी हब बनाउन सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई ‘आइटी हब’ बनाउन तीव्रताका साथ काम गरिरहेको बताउनुभएको छ ।

शुक्रबार आयोजित ‘आइसिटी अवार्ड–२०२४’ वितरण तथा सम्मान कार्यक्रममा सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा योगदान पु-याउने विभिन्न व्यक्ति र संस्थालाई अवार्ड प्रदान गर्दै उहाँले सञ्चार मन्त्रालयले प्रत्येक वडा र टोलमा इन्टरनेट पु-याउने कामलाई तीव्रता दिइरहेको बताउनुभएको हो । 

“देशको सबै क्षेत्रमा विकास गर्न सबैभन्दा पहिला सूचना, सञ्चार र प्रविधिको क्षेत्रमा विकास जरुरी हुन्छ, त्यसैले जतिसक्दो चाँडो आइसिटी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो । नेपाललाई आइटी हबको रुपमा विकास गर्न भएका ऐन/कानुनको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यक ऐन /कानुन निर्माणको तयारीमा सञ्चार मन्त्रालय रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले पछिल्लो समयमा सामाजिक सञ्जाल (फेसबुक, युटयुब, एक्स (ट्वीटर, टिकटक) को सदुपयोगभन्दा दुरुपयोग भएकाले त्यसलाई नियमन गर्न सरकारले ऐन ल्याउने तयारीमा रहेको बताउनुभयो । कार्यक्रममा एलआरहाई स्कूल (काठमाडौँ), सकुना सेकेन्डरी स्कूल (मोरङ), आइएमई बैँक, फुडमाण्डुका सञ्चालक मनोहर अधिकारी र डा विशेष खनाललगायत आइटी क्षेत्रमा योगदान पु-याउने १४ वटा सङ्घ/संस्था र व्यक्तिलाई ‘आइसिटी अवार्ड–२०२४’ प्रदान गरिएको थियो ।

काठमाडौँ महानगरले तिरायो भाटभटेनीलाई दुई लाख जरिवाना

काठमाडौँ-काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई रु दुई लाख जरिवाना तिराएको छ ।

कामपाको कृषि तथा पशुपंक्षी विभागका निरीक्षक डा अवधेश झाका अनुसार कामपाको ‘कल सेन्टर’मा आएको गुनोसोको आधारमा बिक्रीका लागि राखिएको खाद्य सामग्रीमा अनुगमन टोलीले अनुगमन गर्दा सुकेको नरिवलमा किरा लाग्नुको साथै ढुसीसमेत परेको फेला परेपछि जरिवाना रकम तिराइएको हो । अनुगमनको क्रममा खान नमिल्ने अवस्थाका ४४ प्याकेट नरिवल व्यवस्थापककै रोहवरमा नष्ट गरी जरीवाना गराइएको हो ।

कामपाको बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ दफा २९ को खण्ड घ र ङ बमोजिम कारबाही गरिएको हो । जरिवाना रकम कामपाको राजस्व खातामा जम्मा गरी अब उप्रान्त खाद्य सामग्री बिक्री वितरण गर्दा उच्च गुणस्तर र खान योग्य वस्तु निश्चित गरेर मात्र बिक्री गर्न निर्देशन दिइएको महानगरले जनाएको छ ।

कामपाले खाद्य स्वच्छता प्रवर्द्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छताः प्रवर्द्धन शिविर (फुड सेफ्टी, बुट क्याम्प) कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ ।

प्रधानमन्त्री ओलीद्धारा विश्व ध्यान दिवसको शुभकामना

काठमाडौँ, ६ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मावन जातिको कल्याणका निम्ति भएको बताउनुभएको छ । विश्व ध्यान दिवसको अवसरमा आज श्रव्यदृश्य माध्यमबाट शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले यसबाट लाभ लिन सबैलाई आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्र सङ्घले २१ डिसेम्बरलाई ध्यान दिवसका रुपमा मान्यता दिएकामा उहाँले खुसी व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले शुभकामना सन्देशमा भन्नुभएको छ,  “यस अवसरमा म खुसी व्यक्त गर्न चाहन्छु । सबैमा बधाई भन्न चाहन्छु । शुभकामना भन्न चाहन्छु । यस ध्यान दिवसको हामी सबैले सदुपयोग गरौँ । यसबाट लाभ लिऔँ ।”

ध्यान मावन जातिको कल्याणका निम्ति भएको बताउनुहुँदै प्रधानमन्त्रीले वर्सेनी यस दिवसलाई मनाउँदै जान अनुरोधसमेत गर्नुभएको छ । “वर्षमा एक पल्ट २१ डिसेम्बरमा मात्रै होइन, ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अङ्गका रुपमा अपनाऔँ”, उहाँले भन्नुभएको छ । 

मानव जाति शारीरिक र मानसिक हिसाबले सधैँ स्वस्थ रहनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले अरुलाई पनि स्वस्थ रहन सहयोग पु-याउनुपर्ने बताउनुभएको छ ।  

डिसेम्बर २१ : आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौँ, ६ पुसः संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् ।

डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ ।  

राष्ट्रसङ्घले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् ।  

नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ । यस अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसन अन्तर्गतका ध्यान केन्द्र, ग्लोवल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलमा आज बिहानको रुद्राभिषेक पछि ८ः४५ बजे सामूहिक ध्यानको आयोजना हुने फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले जानकारी दिनुभयो ।

यसैगरी जीवन विज्ञान, पतञ्जली संस्था, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी विश्व ध्यान दिवस मनाउने जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ६ पुस : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दर अनुसार, स्वीस फ्र्याङ्कको मात्रै मूल्य बढेको छ ।

लगातार उकालो लागेको अमेरिकी डलर, युरोपियन युरोलगायतको मूल्य आज भने घटेको छ । यस्तै, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ । 

त्यसैगरी युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर,  क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउ पनि घटेको छ । 

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३  पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३  पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ र बिक्रीदर एक सय ४१ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय रुपैयाँ ३४  पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४०  पैसा कायम भएको छ । 

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९४ पैसा र बिक्रीदर तीन रुपैयाँ ९६ पैसा युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ७४ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ३३ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५२ रुयैयाँ ५३ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ०९ पैसा तोकिएको छ । त्यसैगरी  भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । 

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ । 

बाजुरामा ५.२ रेक्टरको भूकम्प, त्रासमा स्थानीय

बाजुरा,६ पुस : जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् ।

पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन ।

कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ६ पुस : कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । सो प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

यद्यपी बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै केही स्थानमा कुहिरोको समेत सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

विश्व ध्यान दिवसः लगातार ३२ घण्टा भावातीत ध्यान गरिने

काठमाडौँ, ५ पुसः संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवसका अवसरमा शनिबार विश्वव्यापी रूपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ ।

विश्व ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घको विशेष कार्यक्रम आज (२० डिसेम्बर २०२४) मा न्युयोर्क सिटीमा आयोजना हुँदैछ । कार्यक्रमको प्रमुख वक्ता डा टोनी नादर हुनुहुन्छ । उहाँ हार्वर्ड–प्रशिक्षित स्नायुविज्ञानी र भावातीत ध्यानको संस्थाका विश्वव्यापी प्रमुख हुनुहुन्छ । 

डा नादरले २१ डिसेम्बरमा एक अद्वितीय, निरन्तर चल्ने वैश्विक सामूहिक ध्यानको कार्यक्रम पनि सञ्चालन गर्नुहुने नेपाल महर्षि वैदिक फाउन्डेसनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । कार्यक्रममा विश्वभरिका ध्यानीहरू बिहान ८ बजे र साँझ ५ बजे (म्यानमारदेखि नेपाललगायत अफगानिस्तानसम्मका देशमा बिहान ८ः४५ बजे र साँझ ५ः४५ बजे) स्थानीय समयमा ध्यान गर्नेछन् । यसबाट शान्तिको निरन्तर लहर पृथ्वीभर फैलने विश्वास गरिएको फाउन्डेसनका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश बास्कोटाले बताउनुभयो । 

विश्वव्यापी सामूहिक ध्यान न्युजिल्यान्डबाट सुरु भएर पश्चिमतर्फ बढ्दै ३२ घण्टासम्म चल्नेछ र हवाईमा पुगेर समाप्त हुनेछ । डा नादरले विश्वभरका जुनसुकै विधिका सबै ध्यानीलाई सामूहिक प्रयासमा भाग लिन आग्रह गर्नुभएको छ । ध्यानका माध्यमबाट विश्व शान्ति स्थापनामा सहयोग पुग्ने उहाँको विश्वास छ ।

ध्यानको गहन प्रभावलाई मनुष्य एवं समाजको भलाइमा उपयोग गर्न सकिन्छ ।  विश्वव्यापी शान्ति स्थापनाका लागि ध्यानको प्रभाव उपयोगी हुने तथ्य विश्वका दुई सयभन्दा बढी विश्वविद्यालयमा गरिएको करिब सात सय ५० भन्दा धेरै वैज्ञानिक अनुसन्धानले प्रमाणित गरेको अध्यक्ष बास्कोटाले बताउनुभयो । यो वैश्विक कार्यक्रमले ध्यानमार्फत शान्ति स्थापना गर्ने उद्देश्य राख्दछ ।

डिसेम्बर  ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा घोषणा गरेको थियो । नेपाल, भारत, श्रीलङ्का, लिचटेनस्टाइन, एन्डोरा र मेक्सिको गरी छ देशको समूहले विश्व ध्यान दिवसको प्रस्ताव गरेका थिए । प्रस्तावलाई एक सय ९३ सदस्य राष्ट्रले सर्वसम्मत समर्थन गरेका हुन् । 

विश्व ध्यान दिवसको महत्वलाई भावातीत ध्यानमा गरिएको वैज्ञानिक अनुसन्धानले बल प्रदान गरेको छ । यसले हिंसा र सङ्घर्षजस्ता नकारात्मक समाजिक प्रवृत्तिलाई घटाउन, शान्ति र भलाइको प्रवर्द्धन गर्न मद्दत गर्ने तथ्य  प्रमाणित गरेको छ । दुई सयभन्दा बढी विश्वविद्यालयमा गरिएको सात सय ५० बढी अध्ययनले भावातीत ध्यानको प्रभावकारिता प्रमाणित गरेको फाउन्डेसनले जनाएको छ ।

विशेष गरी सामूहिक रूपमा ध्यानको अभ्यास गर्दा यसको प्रभाव गुणात्मक हुने गर्दछ । डा नादरका अनुसार सामूहिक भावातीत ध्यानले समाज र विश्वमा दीर्घकालीन शान्ति ल्याउँछ । संयुक्त राष्ट्रसङ्घको यो पहलले मनको शक्तिमा विश्वास राख्दै शान्ति स्थापनाका लागि काम गर्न चाहेको उहाँले बताउनुभयो । युनेस्कोले यसलाई भनेको छ, “युद्ध मानिसको मनमा सुरु हुन्छ र शान्तिको रक्षा पनि त्यही मनमा स्थापना गर्नुपर्छ ।”

भविष्यमा संसारभर ठूला, स्थायी ध्यानी समूह स्थापना गरी सामूहिक चेतनामा पर्याप्त सहसम्बद्धता स्थापित गरेर विश्वमा दीर्घकालीन शान्ति ल्याउनु डा नादरको लक्ष्य रहेको फाउन्डेसनका अध्यक्ष बास्कोटाले बताउनुभयो । विद्यालय, कार्यालय र सैन्य समूहजस्ता विभिन्न स्थानमा हरेक दिन ध्यान अभ्यास गराएर शान्तिपूर्ण संसारको निर्माण गर्ने उहाँको लक्ष्य रहेको पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो । 

वैदिक सनातनी परम्परामा रहेको दैनिक जीवनको अभिन्न अङ्ग ध्यानलाई विश्वले आत्मसात् गरेकामा गौरवको विषय बनेको छ । फाउन्डेसनले डिसेम्बर २१ अर्थात् पुस ६ गते शनिबार बिहान ८ः४५ बजेदेखि महर्षि वैदिक इन्स्टिच्युट, ब्रह्मानन्द सरस्वती ग्राम चम्पादेवीमा सामूहिक भावातीत ध्यानसहितको कार्यक्रम आयोजना गरिएको अध्यक्ष बास्कोटाले जानकारी दिनुभयो । 

महर्षि अभियानको विश्वव्यापी संस्था विश्व शान्ति राष्ट्रम्ले पनि प्रत्येक देशको समयका आधारमा लगातार ३२ घण्टासम्म सामूहिक भावातीत ध्यान तथा सिद्धिको अभ्यासको कार्यक्रम तय गरेका छन् । सबै ध्यानी तथा सिद्धलाई भावातीत ध्यान केन्द्रले आयोजना गरेको सामूहिक ध्यानमा सहभागी हुन फाउन्डेसनले सार्वजनिक आह्वान गरेको छ । 

सामूहिक ध्यानमा सहभागी हुन अनुकूल नभएमा ‘जुम’ प्रविधिमार्फत् अनलाइनबाट अन्तर्राष्ट्रिय सामूहिक ध्यानमा सहभागी हुन सकिने जनाइएको छ । नेपाल महर्षि वैदिक फाउण्डेसनले सबै ध्यानीलाई यस ऐतिहासिक कार्यक्रममा पायक पर्ने स्थानमा सामेल भई सहभागी हुन आह्वान गरेको छ  ।

प्राचीनतम् सदा स्वतन्त्र गोरक्षक भूमि नेपालबाटै योग तथा ध्यानको आविर्भाव भएको गौरवमय सनातनी परम्परा छ । राष्ट्रसङ्घले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको फाउन्डेसनले स्वागत गरेको छ । नेपालमा नेपाल महर्षि वैदिक फाउण्डेशनको अगुवाइमा सन् २००० देखि अविच्छिन्न भावातीत ध्यान अभ्यास भइरहेको छ । यो विधि महर्षि महेश योगीको विश्व शान्ति अभियानको प्रमुख विधा हो ।

सङ्घीय सरकारले पनि डिसेम्वर २१ मा ध्यान दिवस मनाउने जनाएको छ ।  यस अवसरमा देशभरका भावातीत ध्यान केन्द्र, ग्लोवल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलमा शनिबार बिहानको रुद्राभिषेक पछि ८ः४५ बजे सामूहिक ध्यानको आयोजना हुने जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो ।

एनपिएलः फाइनलमा सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौँ, ५ पुसः पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा मध्याह्न साढे १२ बजे सुरु हुनेछ । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छन् । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन्भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् । 

शत्प्रतिशत दिन्छौँ: दीपेन्द्रसिंह ऐरी, कप्तान सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी मैदानमा शत्प्रतिशत योगदान दिने बताउनुभएको छ । फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान ऐरीले फाइनल खेलका लागि कुनै विशेष योजना नभएको उल्लेख गर्नुभयो । “त्यस्तो कुनै विशेष योजना छैन् । दुई टिममध्ये एउटाले जित्ने हो । हामी मैदानमा शत्प्रतिशत दिन्छौँ”, पत्रकार सम्मेलनमा दीपेन्द्रले भन्नुभयो ।  

कप्तान ऐरीले अघिल्ला खेलहरु राम्रो भइरहेको बताउँदै फाइनल खेलमा पनि राम्रो गर्ने धारणा राख्नुभयो । “सबै राम्रो भइरहेको छ । पहिले खेलेका खेलहरू पनि राम्रै भएका छन् । पहिले हरायो भनेर सजिलो रूपले लिनुभएन । प्रतिस्पर्धा एकदम रोमाञ्चक र उत्कृष्ट हुनेछ”, उहाँले भननुभयो, “हामीले योजना बनाएर खेलिरहेका छौँ । फाइनल खेल पनि लिगहरूका खेलमा खेले जस्तै खेल्नेछौँ । फाइनल शत्प्रतिशत दिनेछौँ ।” 

राम्रो प्रदर्शन गर्छौंः आशिफ शेख, कप्तान, जनकपुर बोल्ट्स

जनकपुर बोल्ट्सका कप्तान आशिफ शेख फाइनल खेलमा राम्रो प्रदर्शन गर्ने बताउनुभएको छ । उहाँले भननुभयो, “आफूसँग जे जति छ, त्यो मैदानमा दिने छौँ । फाइनल खेलको नतिजाका बारेमा अहिले नै सोचेका छैनौँ तर उत्कृष्ट प्रदर्शन गर्नेछौँ ।”

कप्तान शेखले भन्नुभयो, “भोलि एउटा क्वालिटी क्रिकेट खेल्छौँ । हामीसँग जे जति छ, त्यो भोलि मैदानमा दिन्छौँ । रिजल्टका बारेमा त्यस्तो केही सोचेका छैनौँ । मैदानमाबाट निस्कने बेलामा यति मात्र महसुस हुनुपर्‍यो कि, आफूसँग जे जति थियो सबैलाई दियौँ ।”

पूर्वराष्ट्रपति भण्डारीद्वारा आलमदेवी मन्दिरमा पूजाआजा, गाउँपालिकाबाट सम्मान

वालिङ (स्याङ्जा), ५ पुस : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल आलमदेवी मन्दिरमा पूजाआजा गर्नुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ लसर्घामा अवस्थित मन्दिरमा उहाँले आज वैद्धिक विधिपूर्वक पूजाआजा गर्नुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले मन्दिरमा पूजाआजाका साथै यहाँको वस्तुस्थिति अवलोकन गर्नुभएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पृथ थापाले जानकारी दिनुभयो । उहाँलाई कालीगण्डकी गाउँपालिकाले मन्दिर परिसरमै स्वागत तथा सम्मान गरेको थियो । गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले पूर्वराष्ट्रपतिलाई स्वागत गर्न पाउँदा गौरवबोध भएको बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले आलमदेवी आउने आफ्नो इच्छा पूरा भएको बताउनुभयो । यहाँका नागरिकले गरेको माया र स्नेहलाई कहिल्यै नभुल्ने उहाँको भनाइ छ ।

जैविक विविधता संरक्षणमा अनुसन्धानको भूमिका महत्वपूर्ण : वनमन्त्री ठकुरी

काठमाडौँ, ५ पुस : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन, वन्यजन्तु र जैविक विविधता संरक्षण तथा व्यवस्थापनका लागि अनुसन्धानको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

मन्त्रालयको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले पहिलो वन अनुसन्धान दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले वन अनुसन्धान केवल जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षणका लागि मात्र नभई अर्थतन्त्र, जीविका र सामाजिक संरचनामा पनि महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

मन्त्री शाहीले वन क्षेत्रले पु¥याएका पारिस्थितिकीय सेवाहरू अतुलनीय रहेका उल्लेख गर्दै वन अनुसन्धानकर्मीहरूले यस्ता क्षेत्रमा गरेका अनुसन्धानका काम सरारानीय रहेका बताउनुभयो । “वन अनुसन्धान र प्रशिक्षण केन्द्रको मुख्य उद्देश्य भनेको वन क्षेत्रको अनुसन्धान, वन्यजन्तु संरक्षण र जलवायु परिवर्तनसँग जुझ्ने उपायको अध्ययन गर्नु रहेको छ ।

यस केन्द्रले समसामयिक विषयमा अध्ययन र अनुसन्धान मात्र नगरी वन क्षेत्रको व्यवस्थापन, जलवायु परिवर्तन, जलाधार संरक्षण र जैविक विविधिताको क्षेत्रमा गरिरहेको कार्य प्रशंसनीय छ”, उहाँले भन्नुभयो, “नेपाल जलवायु परिवर्तनका असरको चपेटामा छ । हरित गृह ग्यास उत्सर्जनमा हाम्रो योगदान न्यून भए पनि जलवायु परिवर्तनको असर हामीले बढी भोग्नुपरेको छ । यस क्षेत्रमा वन अनुसन्धान केन्द्रलाई अनुसन्धान गर्न विशेष अनुरोध गर्दछु । वन अनुसन्धानका माध्यमबाट हामीले पाउने नयाँ सूचना र ज्ञानले प्राकृतिक संसाधनहरूको व्यवस्थापनमा सुधार ल्याउन सक्छ ।”

कार्यक्रममा वन राज्यमन्त्री रुपा विकले तीव्र सहरीकरण, जनसङ्ख्या वृद्धि र अव्यवस्थित विकास गतिविधिका कारण जलवायु परिवर्तन, वन्यजन्तु तथा जैविक विविधतामा नकारात्मक प्रभाव परिरहेकाले यसको सामनाका लागि सबैको सकारात्मक भूमिका अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले वन अनुसन्धानका माध्यमबाट यी चुनौतीहरूको समाधान खोज्नु हाम्रो अनुसन्धानको प्रमुख उद्देश्य हुनुपर्ने बताउनुभयो । “वन अनुसन्धानलाई प्रभावकारी बनाउन हामीले आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्छ । अब ड्रोन टेक्नोलोजीको माध्यमबाट वनको नक्साङ्कन, भू–उपग्रहबाट प्राप्त डाटाको विश्लेषण र जैविक विविधताको अध्ययनका लागि आधुनिक प्रविधि अपनाउनुपर्दछ । यी प्रविधिहरूले अनुसन्धानलाई द्रूत, सहज र व्यावहारिक बनाउने छन्”, उहाँले भन्नुभयो, “वन अनुसन्धानका मुख्य क्षेत्रहरूमध्ये जैविक विविधताको संरक्षण, वन क्षेत्रको नवीकरणीय स्रोतहरूको उपयोग र वन पैदावारको दिगो व्यवस्थापन महत्वपूर्ण छन् । साथै, जलवायु परिवर्तनको असरलाई ध्यानमा राख्दै वन क्षेत्रको अनुकूलन क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता छ ।”

वन सचिव डा दीपककुमार खरालले जलवायुजन्य सङ्कटका कारण जैविक विवधतामा असर पुगिरहेको भन्दै यससम्बन्धी थप अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । “वन अनुसन्धान अझै कमजोर छ । अनुसन्धानलाई अगाडि बढाउन क्षमता अभिवृद्धि र लगानी आवश्यक छ”, उहाँले भन्नुभयो ।

प्रशिक्षण केन्द्रका महानिर्देशक डा राजेन्द्र केसीले पछिल्लो समय वन क्षेत्र बढिरहेको भन्दै वन अनुसन्धानका गतिविधिलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो ।

अन्नपूर्ण हिमाल आरोहण गर्न शिशिर ऋतुमा पनि पर्वतारोही आए

ग्दी, ५ पुस: जिल्लामा रहेको अन्नपूर्ण हिमाल आरोहण गर्न शिशिर ऋतुमा पनि पर्वतारोही आएका छन् । मङ्सिर–पुसको शिशिर ऋतुलाई हिमाल आरोहण र उच्च हिमाली क्षेत्रको पदयात्राका लागि प्रतिकुल मानिन्छ । वसन्त र शरद ऋतु आरोहण र पदयात्राका लागि उपयुक्त याम हुन् ।

अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले सेभेन समिटि 'ट्रेकिङ'  कम्पनीबाट आएका चार आरोहीहरू आज नारच्याङबाट आधार शिविरतर्फ प्रस्थान गरेका बताउनुभयो । 

“नारच्याङबाट गाडीमा हुमखोला पुगेका स्पेन, इटली र इराकका चार जना पर्वतारोही त्यहाँबाट पैदलयात्रामार्फत आधार शिविरतर्फ गएका जानकारी आएको छ”, उहाँले भन्नुभयो, “शिशिर ऋतुमा अन्नपूर्ण आरोहणका लागि आरोही आएको यसअघि थाहा पाएका छैन ।”

नेपाली सहयोगी र शेर्पासहित आएका पर्वतारोही केहीदिन आधार शिविरमा बस्ने र अन्नपूर्ण आरोहण गरेर फर्कने गुरुङले जानकारी दिनुभयो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण गर्न जाने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ ।

समुन्द्री सतहबाट चार हजार एक सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको पदमार्गका अभियन्ता गुरुङले बताउनुभयो । दसैँ, तिहारको समयमा करिब पाँच हजार पर्यटकले आधार शिविर क्षेत्रको भ्रमण गरेका उल्लेख गर्दै उहाँले चिसो बढेसँगै आधार शिविर र पदमार्गका खोला, तालमा हिउँ जम्न थालेपछि पर्यटकको आगमन घट्ने जानकारी दिनुभयो । 

रुसबाट ५०३ जनाको शव फिर्ता भएको किएभको दाबी

किएभले शुक्रबार रुसबाट मारिएका ५०३ जना युक्रेनी सैनिक सदस्यको शव प्राप्त गरेको बताएको छ । यो लडाइँको उच्च मूल्य औँल्याउने पछिल्लो शव फिर्तीको घटना हो ।

सन् २०२२ मा रुसले आक्रमण गरेदेखि मस्को र किएभबीचको सहकार्यका केही क्षेत्रमध्ये कैदी र मारिएका सैन्य कर्मचारीहरूको शवको आदानप्रदान रहेको छ । 

“पाँच सय तीन जना युक्रेनी रक्षकको शव युक्रेन सरकारको नियन्त्रणमा रहेको इलाकामा फिर्ता गरिएको छ”, युद्धका कैदीहरूको उपचारका लागि समन्वय मुख्यालयले सामाजिक सञ्जालमा एक विज्ञप्तिमा भनेको छ ।

शुक्रबार जनाइएको यो शव फिर्ती अक्टोबरयता ५०० वा बढी शव समावेश भएको कम्तीमा चौथो घटना हो र यसले रुसी आक्रमणको लगभग तीन पूर्ण वर्षमा लडिएका महँगा युद्धहरूको क्षतिलाई चित्रण गर्दछ ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले यस महिना सन् २०२२ फेब्रुअरीमा क्रेमलिनले युक्रेनमा आफ्नो सेना पठाएयता ४३ हजार सैनिक मारिएको र तीन लाख ७० हजार घाइते भएको बताउनुभएको थियो । 

समन्वय मुख्यालयले शुक्रबार डोनेट्स्क क्षेत्रबाट चार सय तीन शव फिर्ता गरिएको बताएको छ । डोनेट्स्क क्षेत्रमा लडाइँको सबैभन्दा खराब स्थिति छ ।

बाँकी शव लुगान्स्क र जापोरिजिया क्षेत्रहरू र रुसया भित्रका शवगृहहरूबाट फिर्ता गरिएको छ । 

क्रेमलिनले २०२२ को अन्त्यतिर दक्षिणी खेर्सन क्षेत्रसँगै यी तीन क्षेत्र आफूमा गाभेको दाबी गरेको थियो तर कुनै पनि क्षेत्रमाथि पूर्ण नियन्त्रण छैन ।

रुसले आफ्ना शवहरूको फिर्तीको घोषणा गर्दैन वा युक्रेनमा लड्दा मारिएका आफ्ना सैनिकहरूको अद्यावधिक सङ्ख्या दिँदैन ।

सप्तरीमा अनुगमनका क्रममा चार सयभन्दा बढी बोरा रासायनिक मल जफत

तिलाठी (सप्तरी), ५ पुसः सप्तरीमा चार सयभन्दा बढी बोरा रासायनिक मल जफत गरिएको छ ।
बजार अनुगमन टोलीले मङ्सिर १९ देखि पुस ३ गतेसम्ममा चार सय पन्ध्र बोरा मल जफत गरेको हो । यही पुस ३ गते बुधबार टोलीले बोदेबरसाइन नगरपालिका–५ मा माँ डाक्नेश्वरी टे«डर्समा छापमारी ५६ बोरा रासायनिक मल जफत गरेको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले बताउनुभयो ।

उहाँका अनुसार डाक्नेश्वरी नगरपालिका–५ मा दर्ता रहेको उक्त टेड्रर्सले कालोबजारी गरी मल बिक्री गर्दै आएको थियो । मङ्सिर १९ गते डाक्नेश्वरी नगरपालिका–९ को आदर्श ट्रेडर्स एन्ड सप्लायर्सबाट दुई सय बीस बोरा र हनुमाननगर कङ्कालिनी नगरपालिका–७ का सत्यनारायण यादवको घरबाट मङ्सिर २६ गते एक सय ३९ बोरा मल जफत गरिएको थियो । जफत गरिएको मल साल्ट ट्रेडिङको अनुदान प्राप्तमध्यकै रहेको सहायक प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । सो मल जफत गर्ने बेला सम्बन्धित व्यक्ति नभेटिएकाले कोही पनि पक्राउ नपरेको उहाँले जानकारी दिनुभयो । 

अनुगमनका क्रममा बिल बीजकबिना कारोबार गर्दैआएका चारवटा संस्थालाई जरिवानासमेत गरिएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–९ को नर्सिङ कृषि संस्था लिमिटेड, जयबाबा गणिनाथ उपभोक्ता संस्था लिमिटेड, हंस उपभोक्ता संस्था लिमिटेडलाई रु पाँच हजार र कृति टेड्रर्स राजविराजलाई रु बीस हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । “जरिवाना गरिएकाहरूले जरिवाना बुझाइसकेका छन् । मल जफत गरिएका संस्थाका व्यक्तिहरू तत्काल नभेटिएकाले त्यसमा कानुनबमोजिम कारबाही अगाडि बढाइएको छ ।”

झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा

झापा, ५ पुस ः चर्च ब्वाइज युनाइटेड क्लब बिर्तामोडमा जारी झापा कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाइनलमा सिरहाको सहलेश युवा क्लबमाथि १–० को कठिन जित निकाल्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिता प्रारम्भ भएको ८१ औँ मिनेटमा विदेशी खेलाडी अर्मन्डको गोलले चर्च ब्वाइजका लागि गोल गरेका हुन् । चर्च ब्वाइजले खेल अवधिभर सहलेशको कडा दबाब झेलेको थियो । विपक्षी पोस्टमा आक्रमण गर्न नसके पनि खेलको अन्तिमतिर चर्च गोल गर्न सफल भएको हो ।

प्रतियोगितामा ‘प्लेयर अफ दी म्याच’ चर्च ब्वाइजका गोलकर्ता अर्मन्ड घोषित भएर नगद रु १० हजार पुरस्कार प्राप्त गरेका छन् । शनिबार सेमिफाइनल खेल सुनसरीको राष्ट्रिय जागृति क्लब र काठमाडौँको एनआरटी क्लबबीच हुनेछ ।

डा.शेखर कोइरालालाई धनगढीमा १५ किलोको मालासहित भव्य स्वागत

सुदूरपश्चिम, ५ पुसः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस—एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताउनुभएको छ ।

आज धनगढी विमानस्थलमा पत्रकारसँग उहाँले संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि दुई ठूला दल मिलेर सरकार गठन भएकाले सोही अनुसार जनपक्षी काम गर्नुपर्नेमा जोड दिनुभयो । “यो सरकार संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि बनेको हो । संसद्का ठूला दुई दलबीचको सातबुँदे सहमति भएबमोजिम सरकार चल्नुपर्र्छ । अहिले सहमतिअनुसार काम नभएको हो कि भन्ने ढङ्गले कुरा भइरहेको छ । यस्तो हुनुहुँदैन”, नेता डा कोइरालाले भन्नुभयो । 

उहाँले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नरहेको पनि स्पष्ट पार्नुभयो । नेता कोइराला पार्टीका शुभेच्छुक सङ्गठनद्वारा आयोजना हुने कार्यक्रममा सहभागी हुन आज धनगढी पुग्नुभएको हो । उहाँलाई नेता कार्यकर्ताले १५ किलोग्राम फूलको मालासहित भव्य स्वागत गरेका थिए ।

नेपाली चलचित्र ‘बम बहादुर’ नेपालभर रिलिज

काठमाडौं । नेपाली चलचित्र ‘बम बहादुर’ आजबाट नेपालभर प्रदर्शनमा आएको छ । चलचित्रले विशेष गरी भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्ष र जीवनका पलहरूलाई पर्दामा उतारेको छ ।१९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमा आधारित यो चलचित्रले त्यति बेलाको सामाजिक र राजनीतिक पृष्ठभूमिलाई चित्रण गर्दै भारतीय नेपाली समुदायले भोगेको सङ्घर्षलाई सजीव रूपमा प्रस्तुत गरेको छ । निर्देशक जोन राईका अनुसार, यो चलचित्र भारतका नेपाली समुदायको इतिहासलाई डिजिटल दस्ताबेजको रूपमा संरक्षित गर्ने उद्देश्यले निर्माण गरिएको हो ।

बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको ‘बम बहादुर’का निर्माता सञ्जीव सार्कीले आजका र भोलिका पुस्ताले आफ्नो इतिहास बिर्सिन नहुने उद्देश्यले यो चलचित्र निर्माण गरेको बताए । चलचित्रमा सौगात मल्लको प्रमुख भूमिका रहेको छ । साथै, प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिष्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, र धीरज चाम्लिङलगायतको अभिनय रहेको छ ।

चलचित्रको कथा र पटकथा जोन राई र रुपेश तामाङले लेखेका हुन् । छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन् । दीपङ्कर सिंह मुखियाको सङ्गीत र गीत रहेको यो चलचित्रको म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले तयार पारेका छन् ।

चलचित्रका लाइन प्रोड्युसर प्रकाश हमाल, कलरिस्ट कुनाल कुँवर, साउन्ड मिक्सर मुकेश शाह हुन् । वितरणको जिम्मा रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन् । पोस्ट प्रोडक्शन नेपालमा क्लासिक सिने युनिभर्स र भारतमा हिलिङ अक्टेभ्ज स्टुडियोमा गरिएको हो ।

निर्देशक राईका अनुसार, यो चलचित्र नेपाली समुदायको ऐतिहासिक र सांस्कृतिक महत्वलाई बुझेका दर्शकहरूको लागि मात्र होइन, भारत र नेपालका युवा पुस्तालाई आफ्नो पहिचान र इतिहासबारे जानकारी दिन पनि महत्त्वपूर्ण छ । चलचित्रले नेपाली समुदायको संघर्ष र पहिचानको कथा सम्झनामा सुरक्षित राख्ने उद्देश्य बोकेको छ ।

प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा

दाङ, ५ पुस : लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आवश्यक भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यहाँ मुख्यमन्त्री कार्यालयसहित अन्य नौ वटा मन्त्रालयका कार्यालय भवन निर्माण भइरहेका छन् ।

प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन एकाइ कार्यालय दाङका सूचना अधिकारी इञ्जिनियर प्रदीप भट्टराईले भौतिक संरचना निर्माण गरी रङ्गरोगनसहित पहिलो चरणका काम सम्पन्न भएका बताउनुभयो । “पहिलो चरणमा भौतिक संरचना निर्माण तथा रङ्गरोगनका काम सकिएका छन् । अब अन्तिम चरणका काम बाँकी छन्”, उहाँले भन्नुभयो, “त्यसबाहेक भवन आसपासमा सडक विस्तार, ढल निकास, नाली, फुटपाथ, सडकबत्ती जडानका काम भइरहेका छन् ।”

यहाँ विसं २०७९ फागुन ३ गते भवन निर्माणका लागि सिलान्यास गरिएको थियो । आगामी वर्षको पुसमा निर्माण सक्ने सम्झौता भए पनि त्यसअघि नै सक्ने गरी काम भइरहेको भट्टराईले बताउनुभयो । उहाँका अनुसार भ्याटबाहेक रु तीन अर्ब नौ करोड एक लाख २९ हजारमा शर्मा सगुन जेभी काठमाडौँले यहाँ निर्माणको काम गरिरहेको छ ।

विसं २०७७ असोज २० गते बुटवलमा बसेको प्रदेशसभा बैठकले यहाँ स्थायी राजधानी तोकेको थियो । दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३ तथा अर्घाखाँचीको सितगङ्गा नगरपालिका वडा नं ८ र ९ लाई केन्द्र मानेर स्थायी राजधानी तोकिएको थियो ।

तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलको पालामा स्थायी राजधानी यहाँ तोकिए पनि लामो समयसम्म बुटवलबाटै कामकाज भयो । मुख्यमन्त्रीमा कुलप्रसाद केसी आएपछि भने विसं २०७९ मङ्सिर १९ मा राप्ती गाउँपालिका–३ लालमटियामा रहेको राप्ती प्राविधिक शिक्षालयको भवनमा मुख्यमन्त्री कार्यालय सारेर कार्यसञ्चालन गरिएको थियो ।

त्यसपछि यहाँ प्रदेशसभा भवन निर्माण कार्यले तीव्रता पायो भने मन्त्रालयका संरचनाका काम अघि बढे । “सुरुआतमा हामीले केही मन्त्रालय भाडाका भवनमा र केही वडा कार्यालयबाट सञ्चालन ग¥यौँ । त्यसपछि लगतै मन्त्रालय निर्माणको काम अघि बढायौँ”, पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले भन्नुभयोे ।

राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थान्तरण गरिएपछि मात्रै यहाँ नयाँ संरचना निर्माणको काम अघि बढेको हो ।

हाल शिक्षालयका भवनलाई व्यवस्थापन गरी मुख्यमन्त्री कार्यालयसहित मन्त्रालयको व्यवस्थापन गरिएको छ । ११ मध्ये केही मन्त्रालय कार्यालय परिसरभन्दा बाहिर छन् । उद्योग, पर्यटन तथा यातायात मन्त्रालय राप्ती गाउँपालिकाको कार्यालय भवनमा छ भने कृषि, भूमि तथा सहकारी मन्त्रालय राप्ती गाउँपालिका–१ को कार्यालय भालुवाङमा छ । यस्तै स्वास्थ्य मन्त्रालय सिसहनियास्थित वडा कार्यालय भवनबाट सञ्चालन भइरहेको छ ।

क्रोएसियाको विद्यालयमा भएको चक्कु आक्रमणमा ७ वर्षीया बालिकाको मृत्यु, ६ जना घाइते

क्रोएसियाको राजधानी जाग्रेबस्थित एक विद्यालयमा शुक्रबार भएको चक्कु आक्रमणमा सात वर्षीया बालिकाको मृत्यु भएको र एक शिक्षक तथा अन्य पाँच विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमण स्थानीय समयानुसार बिहान ९ः५० बजे प्रेच्को एलिमेन्टरी स्कूलमा भएको हो । उनीहरूले आक्रमणकारीलाई ‘युवा पुरुष’ भनी वर्णन गरे र उनलाई पक्राउ गरिएको बताए ।

स्वास्थ्यमन्त्री इरेना ह्रिस्टिकले आक्रमणकारी १८ वर्षभन्दा माथिको भएको बताउनुभयो । यद्यपि मिडियाले उनी १९ वर्षका भएको बताएको छ । 

क्रोएसियाली मिडियाले प्रकाशित गरेको भिडियो फुटेजमा बालबालिकाहरू स्कुलको भवनबाट भागेको र मेडिकल हेलिकप्टर स्कुलको आँगनमा अवतरण गरेको देखाइएको छ । 

प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकले सरकारी बैठकको सुरुआतमा आक्रमणबाट ‘स्तब्ध’ भएको बताउँदै अधिकारीहरूले अझै के भयो भनेर पत्ता लगाउन काम गरिरहेको जानकारी दिनुभयो । उहाँले धेरै बालबालिकालाई जाग्रेबको विभिन्न अस्पतालमा लगिएको बताउनुभये । 

राज्यको एचआरटी टेलिभिजनले आक्रमणकारी स्कुलमा प्रवेश गरेको र आफूले फेला पारेको पहिलो कक्षाकोठामा गएर बालबालिकामाथि आक्रमण गरेको बताएको छ । 

क्रोएसियामा विद्यालय आक्रमणहरू दुर्लभ छन् । गत मे महिनामा छिमेकी सर्बियामा एक किशोरले राजधानी बेलग्रेडको एक विद्यालयमा गोली चलाउँदा नौ सहपाठी र एक विद्यालय गार्डको मृत्यु भएको थियो ।

एनपीएलको फाइनल शनिबार, उपाधि जित्नेमा कप्तानद्वय ढुक्क

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुँदैछ ।शुक्रबार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगका फाइनलमा पुगेका टिमका कप्तानसँगको पत्रकार भेटघाटमा दुबै टोलीका कप्तानले फाइनलको लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

सोही क्रममा जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले भोलीको खेलमा सय प्रतिशतका साथ बराबरीको टक्कर दिने बताए । उनले भने, ‘हाम्रो सबै खेल राम्रो नै भएको छ । अब एउटा अन्तिम खेल बाँकी छ । त्यसामा पनि राम्रो प्रस्तुती दिने योजनामा छौ । क्षमता र कुशलताका साथ मैदानमा उत्रिने तयारीमा छौं । परिणामको बारेमा सोचेका छैनौ । खेलमा हामी सय प्रतिशत योगदान दिने छौ, बराबरीको टक्कर दिने छौ । खेल हारेर डिमोटिभेट हुनेभन्ने हुदैँन् । जसले जिताए पनि नेपाली लोकल खेलाडीले नै जिताउने छ भन्ने आशा छ ।’

यस्तै, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफ्नो तर्फबाट पूरा प्रयास गर्ने बताए । उनले भने, ‘फाइनल खेलपनि पहिला जसरी खेलेका थियौं त्यसरी नै खेल्ने छौ । फाइनल खेलको लागि विशेष योजना केही छैन । आफ्नो तर्फबाट पूरा प्रयास गर्ने हो ।’ नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको यो प्रतियोगिता नेपाली खेलकुदमै सबैभन्दा ठूलो आर्थिक लगानी भएको प्रतियोगिता हो ।

विजेता टोलीले १ करोड १० लाख रुपैयाँ र उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ जित्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीलाई करिब ६२ लाख रुपैयाँको ‘आमोडा एन्ड जेईको’ कार प्रदान गरिनेछ ।

पानी चुहावट नियन्त्रण गर्न मन्त्री यादवद्वारा निर्देशन

काठमाडौँ, ५ पुसः खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ ।

काठमाडौँका विभिन्न स्थानमा पछिल्लो समय पानी चुहावट भएर खेर गइरहेको जानकारी प्राप्त भएपछि मन्त्री यादवले आज पानी चुहावट भइरहेका ठाउँमा तत्काल पाइप मर्मत गरी नियमित सेवा सञ्चालन गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “काठमाडौँका कतिपय ठाउँमा पानी चुहावट भएर खेर गइरहेको जानकारी प्राप्त भएको छ, कतिपय ठाउँमा खानेपानीका पाइप फुटेर पनि पानी चुहावट भइरहेको जनगुनासो छ । पाइप फुटेर पानी खेर गइरहेकाले तत्काल समस्या समाधान गरी नागरिकलाई नियमित र स्वच्छ पानी वितरण गर्नुहोला ।”

मन्त्री यादवले खानेपानीका पाइप फुट्दा दिसापिसाब तथा किटाणुसहित फोहर मिसिएर अस्वस्थकर पानी आपूर्ति हुनसक्ने भएकाले त्यसतर्फ सचेत रही शुद्ध खानेपानी आपूर्ति गराउन निर्देशन दिनुभयो । उहाँले मेलम्चीको पानीलाई शुद्धीकरण गरेर काठमाडौँका नागरिकलाई स्वच्छ खानेपानी वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ उपत्यकामा पानी चुहावट भएको जनगुनासो आएपछि मन्त्री यादवले आजै काठमाडौँ उपत्यकाको ईन्द्रचौक, जनबहाल न्युरोड, अशनलगायत क्षेत्रमा स्थलगत अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा उहाँले पानी वितरणका लागि बिछ्याइएका पाइप लाइनको काम यथाशीघ्र सम्पन्न गरी नागरिकलाई शुद्ध पानी वितरण गर्न पनि निर्देशन दिनुभएको थियो ।

काठमाडौँ उपत्यकामा सहज रूपमा मेलम्चीको पानी वितरण गर्न अधिकांश स्थानमा खानेपानीका नयाँ पाइप बिछ्याउने काम भइरहेको छ ।

उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता

काठमाडौँ, ५ पुसः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किनुभएको छ ।

नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा आफ्ना कोरियाली समकक्षी इन्क्यो च्योङको निमन्त्रणामा उहाँ कोरिया भ्रमणमा हुनुहुन्थ्यो । भ्रमणका क्रममा नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन ‘फ्रेमवर्क’ (टिआइपिएफ) सम्झौतामा हस्ताक्षर भएको थियो । 

मन्त्री भण्डारीले त्यहाँ रहँदा कोरियाका लगानीकर्ताहरुसँग छलफल गर्नाका साथै नेपालमा लगानी गर्न आग्रह गर्नुभएको थियो । साथै उहाँले कोरियामा नेपाली वस्तुको प्रवद्र्धनका लागि त्यहाँका चेम्बर पदाधिकारीसँग पनि विचारविमर्श गर्नुभएको थियो । 

यसैबीच, नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न बिहीबार नै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल र कोरिया इम्पोटर्स एसोसिएशनका अध्यक्ष बुवाङ कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।  

 

मङ्कीपक्स सङ्क्रमण पुनः देखियो

काठमाडौँ, ५ पुसः मुलुकमा पुनः मङ्कीपक्स सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्याका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । “साउदी अरबबाट बिहीबार स्वदेश आएका निजको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो”, उहाँले भन्नुभयो, “अहिले उनको अवस्था सामान्य छ ।”

निजको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ । दुई वर्षअगाडि पनि नेपाल आएका एकजना विदेशीमा मङ्कीपक्स सङ्क्रमणको देखिएको थियो । उहाँले मङ्कीपक्स सङ्क्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताउनुभयो ।

कीर्तिपुर क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ बनाइने : प्रधानमन्त्री ओली

काठमाडौँ, ५ पुस- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताउनुभएको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले उक्त रङ्गशालामा प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले तीन ‘सिफ्ट’मा काम गरेर  निर्धारित समयमा नै रङ्गशालालाई सुविधासम्पन्न बनाइने बताउनुभएको छ । 

“क्रिकेट हाम्रो युवा समाजको प्राण हो । क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रङ्गशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौँ,” प्रधानमन्त्री ओलीले सञ्जालमा लेख्नुभएको छ, “आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ । अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्ने छ ।”

प्रधानमन्त्रीले क्रिकेट रङ्गशाला निर्माणका क्रममा पारस खड्कासहितका राष्ट्रिय खेलाडीहरुसँग छलफल गरेको बताउँदै रङ्गशालालाई विश्वस्तरको बनाइने उल्लेख गर्नुभयो । साथै उहाँले रङ्गशाला निर्माणको काम शीघ्र पूरा गर्न तथा सुझावसँगै खबरदारी गर्न सबैलाई अनुरोध गर्नुभएको छ । 

“नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरुले पनि बरु अलि समय दिएरै विश्वस्तरको रङ्गशालाको राम्रो ‘डिजाइन’ गरौँ, हतार नगरौँ भन्ने सल्लाह दिनुभएको थियो,” प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “जग्गा प्राप्तिलगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचेभन्दा बढी समय लाग्यो । त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो ।”

यु–१६ मैत्रीपूर्ण खेलमा भूटानसँग नेपाल पराजित

काठमाडौँ, ५ पुसः यु–१६ टोलीसँगको मैत्रीपूर्ण खेलमा भूटानसँग नेपाल पराजित भएको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा भूटानले नेपालमाथि ५–१ को जित निकालेको हो । भूटानले खेलको पहिलो ‘हाफ’ मा नै ३–० गोलको अग्रता लियो । यस्तै, खेलको दोस्रो ‘हाफ’मा भूटानले फेरि दुई गोल थप्यो ।

नेपालले भने खेलको अन्तिमतिर एक सान्त्वना गोल फर्कायो । खेलको २५औँ मिनेटमा भूटानकी सोनाम छोगेलले गोल गरिन् । त्यसपछि भूटानका लागि कप्तान छिरिङ ल्हामोले खेलको ३५ र ४०औँ मिनेटमा दुई गोल गरिन् । खेलको ६६औँ मिनेटमा छोगेलले दोस्रो गोल गरिन् । खेलको ८४औँ मिनेटमा उगेन सोमोले पेनाल्टीमा गोल गरिन् ।

नेपालका लागि सविना तामाङले खेलको ८७औँ मिनेटमा सान्त्वना गोल फर्काइन् । अब नेपाली यु–१९ टोलीले यही पुस ७ गते आइतबार भूटानी यु–१९ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

यु–१९ एकदिवसीय क्रिकेटः हङकङविरुद्धको शृङ्खलामा नेपालको ‘क्लिनस्विप’

काठमाडौँ, ५ पुसः हङकङविरुद्धको यु–१९ एकदिवसीय क्रिकेट शृङ्खलामा नेपालले ‘क्लिनस्विप’ गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको अन्तिम एकदिवसीय खेलमा हङकङलाई एक सय ३० रनले पराजित गर्दै नेपालले शृङ्खलामा क्लिनस्विप गरेको हो । आज नेपालले दिएको दुई सय ६६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ३५ रन जोड्न सक्यो ।

हङकङका लागि प्रित माङ्गुकियाले अविजित रहँदै अर्धशतकीय पारि खेले । उनले ८७ बलमा सात चौकाको मद्दतले ५५ रन बनाए । अब्दुल समदले २३ र कप्तान शिव माथुरले १९ रन जोडे । उनीहरूबाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । 

हङकङका लागि आरेज दारले सात, शायन पुरीले अविजित रहँदै पाँच, डेनियल मापले चार, विल वाल्शले तीन, तरण लौङ्गानीले दुई र म्याथ्यू जेम्स क्लेटनले एक रन बनाए । यो खेलमा हङकङले अतिरिक्त पाँच रन पाएको छ ।

बलिङतर्फ नेपालका कप्तान अभिषेक तिवारी र अफरुद्दिन रेनले समान दुई÷दुई विकेट लिए । राजेश बोहरा, दीपक सेराला र सन्तोष यादवले समान एक÷एक विकेट हात पारे । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई ५५ रन बनाएको थियो । नेपालले पहिलो खेलमा हङकङलाई तीन विकेटले र दोस्रो खेलमा दुई सय २६ रनले पराजित गरेको थियो ।

सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए

म्याग्दी, ५ पुस : वैदेशिक रोजगारीमा चार वर्ष काम गरेर घर फर्कदा म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरव्यवहार कसरी चलाउने भन्ने चिन्ता थियो ।

विदेशमा सोचेजस्तो कमाइ नभएपछि घर फर्केका उहाँको अन्य आम्दानीको स्रोत थिएन् । “विसं २०५८ मा केन्जन बहुउद्देश्यीय कृषि फार्म खोलेर कुखुरा र गाईभँैसी पाल्नुका साथै खेतबारीमा सुन्तलाका बिरुवा लगाए”, उहाँले भन्नुभयो, “कुखुरा, अण्डा र गाईभँैसीको दूध बेचेर घरव्यवहार चलाउने र छोराछोरीलाई इन्जिनियर, नर्स र कानुन व्यवसाय पढाए ।”

तिलककी जेठी छोरी यास्ना गुरुङ मेडिकल इन्जिनियर, माइली दिव्या नर्स, साइली सोनिया अधिवक्ता हुनुहुन्छ । तीनै बहिनी हाल अस्टे«लियामा छन् । काइली साकिरा आर्किटेक्ट इन्जिनियर, कान्छी निलिमया स्टाफ नर्स र छोरा केन्जनले नेपालमै एरोनिकल इन्जिनियरको स्नातक तहको पढाइलाई अन्तिम चरणमा पु¥याएका छन् ।

तीन सय ५० बोटमा फलेका सुन्तलालाई यसपालि रु १४ लाखमा बोटबाट नटिप्दै व्यापारीलाई ठेक्कामा बेचेका गुरुङ कृषि पेसाबाट आर्थिक र सामाजिक पहिचान बनाउन सफल हुनुभएको छ । उहाँले जिल्ला र केन्द्रीयस्तरको कृषि उद्यमी पुरस्कार पनि पाउनुभएको छ ।

हाल १२ वटा गाईभैँसी पालेका गुरुङले दैनिक ९० लिटर दूध बिक्री गर्नुहुन्छ । तिलक, श्रीमती तिलकुमारी र अन्य दुई जना कामदार कृषि फार्मको काममा व्यस्त हुन्छन् । बास्कुना कृषि सहकारी संस्थाका सञ्चालक समेत रहेका तिलकले बास्कुनालाई ‘एफएम भिलेज’ (फ्रुट र मिल्क गाउँ) बनाउने अभियानको अगुवाइ गर्नुभएको थियो ।

“बास्कुनाका १६ घर सबैले सुन्तला लगाएका र गाईभैँसी पालेका छन्, यसपालि रु एक करोड ५० लाख बराबरको सुन्तला बिक्री हुने अनुमान गरेका छौँ”, गुरुङले भन्नुभयो, “दैनिक तीन सय लिटरभन्दा बढी दूध बेनीमा बिक्री हुन्छ । दुई दशकअघि गरेको एफएम भिलेज बनाउने परिकल्पना पूरा भएको छ ।”

बास्कुना, सुर्केमेला र थामडाडाका चालीस घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेका छन् । करिब ५० हजार उत्पादन दिने सुन्तलाका बोट छन् । पूर्व फर्किएको बास्कुना गाउँभरि सुन्तलाखेती छ । लटरम्म फलेका सुन्तलाले गाउँ रंगिएको छ । सुन्तला बगँैचा अवलोकनका लागि कृषक समूह र पाहुना बास्कुना पुग्छन् ।

खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेर सुन्तलाखेती गरेका कृषकको जीवनस्तरमा परिवर्तन आएको छ । कृषक भीम गुरुङले गत वर्ष रु पाँच लाखको सुन्तला बेचेका कृषकले यसपालि रु दश लाख बराबरको फलाएका बताउनुभयो । नयाँ बिरुवा थपिएका र फल राम्रो लागेकाले उत्पादन बढेको गुरुङले बताउनुभयो ।

सुन्तला बिक्री गरेर एक जना कृषकले रु एक लाखदेखि १४ लाखसम्म आम्दानी गर्छन् । बास्कुनाको सुन्तला अन्य ठाउँको भन्दा रसिलो, गुलियो र स्वादीलो हुने सुन्तला व्यापारी सुदर्शन गौतमले बताउनुभयो । नारायणघाट, काठमाडौँ र नुवाकोटमा सुन्तला लैजाने गरेको उहाँले बताउनुभयो ।

मूल्यमा एकरुपता कायम गर्न, कृषकको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि र कृषक समूहले सुन्तलाको प्रतिकिलो न्यूनतम रु ८५ मूल्य कायम गरिएको बेनी नगरपालिका–४ का वडासदस्य सन्दीप खत्रीले बताउनुभयो । गत वर्ष रु ८० प्रतिकिलो सुन्तलाको मूल्य कायम भएको थियो ।

“यसअघि मङ्सिरमा रङ र गुलियो नपस्दै सुन्तला बजार पठाउँदा नराम्रो सन्देश गएको थियो । कृषकले व्यापारीले जति भने त्यति मूल्यमा सुन्तला बेच्ने गरेका थिए”, उहाँले भन्नुभयो, “गत वर्षदेखि कृषकले समान र उचित मूल्य पाउने, पाकेको गुणस्तरीय र स्वादिलो सुन्तला बजारमा जाने वातावरण बनाएका छौँ ।”

कृषि ज्ञान केन्द्रले बास्कुनालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बल्क कार्यक्रममा समेटेको छ । सुन्तला बगैँचा व्यवस्थापन गर्ने औजारका साथै झ¥याङ, क्रेट, झरेका सुन्तलाको दाना व्यवस्थापन गर्ने प्लास्टिकको थैलोलगायतका सामग्री सहयोग गरिएको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो ।

प्रदेश सरकारमार्फत तीन वर्षअघि बास्कुना, सुर्केमेला र थामडाँडाका लागि बालमखोला सिँचाइ आयोजना निर्माण भएको थियो । सिँचाइ सुविधा भएपछि सुन्तलाखेती गरेका कृषकलाई सहज भएको छ । बेनी–थामडाँडा–बरङ्जा सडक स्तरोन्नति नहुनु, बाँदर आतङ्क र सुन्तलाको दाना झर्ने समस्या मुख्य चुनौतीका रुपमा देखिएको कृषकले बताएका छन् ।

कृषकसमेत रहेका वडासदस्य खत्रीले बेनी–थामडाँडा सडक स्तरोन्नतिका लागि यसपालि प्रदेश सरकारबाट बजेट विनियोजन भएको, सिँचाइ आयोजनाको क्षमता विस्तार गर्न पहल गरेको र दाना झर्ने समस्या समाधानका लागि कृषि निर्देशनालयसँग समन्वय गरेको बताउनुभयो ।

मुग्लिन –पोखरा सडक : पश्चिम खण्डको दोस्रो पटक म्याद थप

दमौली  ।  मुग्लिन–पोखरा सडक  योजना (पश्चिम खण्ड)  को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्गलाई विस्तार गर्ने काम जारी भइरहेकामा जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रो पटक म्याद थप गरिएको हो ।

पश्चिम खण्डको म्याद आगामी विसं २०८२ पुस १६ गतेसम्मका लागि थप भएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर सौजन्य नेपालले जानकारी दिए ।

पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । विसं २०८१ भदौ १२ गतेसम्म म्याद रहेकामा त्यसअवधिमा उल्लेख्य प्रगति नभएपछि पहिलोपटक एक सय एक दिनका लागि म्याद थप भएको थियो ।

दोस्रो पटक थपिएको म्यादभित्र निर्माण कम्पनीले काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । हालसम्म यो खण्डमा ३४ दशमलव ९४ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।

हालसम्म २३ दशमलव ९१ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये ५ दशमलव ४५ किलोमिटर दुईतर्फी र १८ दशमलव ४६ किलोमिटर एकतर्फी कालोपत्र भएको छ ।

पश्चिम खण्डअन्तर्गत म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र पोखरा महानगरपालिका पर्दछन् । यो खण्डमा ११ पुल निर्माण गर्ने लक्ष्य रहेकामा पाँच वटा पुल सम्पन्न भएका छन् । सडकको स्तरोन्नति हुने क्षेत्रभित्र रहेका २४ खानेपानी संस्थासँग सम्बन्धित पाइप लाइन तथा संरचना स्थानान्तरण कार्यका लागि सम्झौता भई सम्बन्धित उपभोक्ताबाट स्थानान्तरणको काम भइरहेको जनाइएको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

सिरियामा ‘आशाको ज्योति’ देखेको महासचिव गुटेरेसको भनाइ

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार सिरियामा राष्ट्रपति बशर अल–असदको शासनको पतनपछि ‘आशाको ज्योति’ रहेको तर अगाडि महत्त्वपूर्ण चुनौतीहरू रहेको चेतावनी दिनुभएको छ ।

उहाँले सिरियाको सैन्य पूर्वाधारमा इजरायलले गरेको व्यापक आक्रमण देशको सार्वभौमसत्ताको ‘उल्लङ्घन’ भएको पनि उल्लेख गर्दै तिनीहरूलाई रोक्न आह्वान गर्नुभयो ।

“मध्यपूर्व धेरै आगोले भष्म भइरहेको छ तर आज सिरियामा आशाको ज्योति छ र त्यो ज्योति निभ्न दिनुहुँदैन”, उहाँले भन्नुभयो । 

असदको सरकार पतन भएपछि इजरायलले देशको वायु सेना, नौसेना र हतियार भण्डारसहित सैन्य स्थलहरूमा हवाई आक्रमण गर्यो । 

“व्यापक इजरायली हवाई आक्रमण जारी छ । यी सिरियाको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको उल्लङ्घन हुन् र यसलाई रोक्नुपर्छ”, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको अध्यक्षतामा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकअघि गुटेरेसले भन्नुभयो । 

महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय समुदायले सिरियामा लागु भएका प्रतिबन्धहरू खुकुलो पार्ने दिशामा पहिलो कदम चाल्ने सम्भावना पनि उठाउनुभयो । 

“त्यहाँ कम्तिमा पहिलो इशारा हुनुपर्छ – सबै प्रतिबन्धहरू हटाउनका लागि सर्तहरू पूरा नभएसम्म सिरियाली जनतासँग एकता देखाउने पहिलो इशारा”, उहाँले भन्नुभयो । 

अल–कायदामा निहित र टर्कीद्वारा समर्थित इस्लामवादी एचटिएस आन्दोलनले दमास्कसलाई तीव्र गतिमा आक्रमण गरी कब्जा गर्यो । एचटिएसले वर्षौंको गतिरोधपछि यस महिना शक्तिशाली असदलाई अपदस्थ गरेपछि अल्पसङ्ख्यकहरूको रक्षा गर्ने वाचा गरेको छ । 

तर अन्तर्राष्ट्रिय समुदायहरू सिरिया वा एचटिएसका सदस्यहरूमाथि लगाइएको प्रतिबन्धहरू हटाउन कुनै हतारमा छैनन् । समुदायले नयाँ अधिकारीहरूले कसरी आफ्नो शक्ति प्रयोग गर्छन् भनेर पर्खिरहेका छन् । 

चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा मकाउको ‘स्वस्थ’ जुवा उद्योगको प्रशंसा

चिनियाँ राष्ट्रपति सी जिनपिङले मकाउले निवर्तमान नेता हो इट–सेङको नेतृत्वमा आर्थिक विविधीकरण र क्यासिनो उद्योगको स्वस्थ विकासमा ‘नयाँ उपलब्धिहरू’ हासिल गरेको बताउनुभएको छ ।

पूर्व पोर्चुगाली उपनिवेश मकाउले ‘एक देश, दुई प्रणाली’ को ढाँचाअन्तर्गत चीनलाई हस्तान्तरण गरेको २५औँ वार्षिकोत्सव मनाउनु एक दिनअघि उहाँको यो टिप्पणी आएको हो ।

चिनियाँ शासनको २५ वर्षमा मकाउले लास भेगासलाई उछिन्दै जुवा राजस्वको हिसाबले विश्वको क्यासिनो राजधानी बनेको छ । यसको जनसङ्ख्या चिनियाँ पर्यटक खर्चले धनी बनाएको छ । 

तर बेइजिङले वर्षौँदेखि मकाउको अर्थतन्त्रलाई विविधीकरण गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएको छ । 

एक भव्य भोजमा बोल्दै सीले होको प्रशासनले ‘व्यावहारिकतासँग चुनौतीहरूको सामना गर्न मकाउका विभिन्न क्षेत्रहरूलाई एकजुट र नेतृत्व गरेको’ बताउनुभयो । 

उहाँले सहरले ‘उपयुक्त आर्थिक विविधीकरणमा नयाँ उपलब्धिहरू हासिल गरेको’ र ‘जुवा उद्योग कानूनअनुसार स्वस्थ र व्यवस्थित रूपमा विकास भएको’ बताउनुभयो । 

होले सन् २०१९ मा कार्यभार सम्हाल्नुभएको थियो र उहाँको कार्यकालको धेरैजसो समय कोरोना भाइरस महामारीप्रति मकाउको प्रतिक्रियाद्वारा परिभाषित गरिएको थियो । यसले पर्यटक–निर्भर सहरलाई ठूलो झट्का दिएको थियो । 

नेतृत्वका लागि एकमात्र उम्मेद्वार र चार सय सदस्यीय समितिले छनोट गरेका पूर्व शीर्ष न्यायाधीश साम हौ–फाईले शुक्रबार शहर नेताको रूपमा पदभार ग्रहण गर्नुहुनेछ । 

तीन दिने भ्रमणका लागि बुधबार मकाउ आइपुग्नुभएका राष्ट्रपति सीले मकाउको भविष्यका लागि ‘तीनवटा अपेक्षा’ पनि उल्लेख गर्नुभयो । 

“मकाउले सही रूपमा आफ्नै स्थिति पत्ता लगाउनुपर्छ र वैज्ञानिक तरिकामा यसको भविष्यको विकासको योजना बनाउनुपर्छ तथा ग्रेटर बे एरिया जस्ता राष्ट्रिय विकास रणनीतिहरूसँग थप सक्रिय रूपमा जोड्नुपर्छ”, उहाँले भन्नुभयो । 

ग्रेटर बे एरिया सिलिकन भ्यालीलाई उछिन्ने लक्ष्यका साथ हङकङ, मकाउ र चीनको दक्षिणी तटका नौ सहरलाई एकीकृत गर्ने महत्त्वाकांक्षी आर्थिक खाका हो । 

सीले मकाउ प्रतिभा आकर्षित गर्न र ‘सुधार र नवप्रवर्तन गर्ने साहस’ गर्न ‘खुला र समावेशी’ हुने आशा व्यक्त गर्नुभयो । 

उहाँले बिहीबार मकाउ विज्ञान र प्रविधि विश्वविद्यालयका साथै हेङ्किन टापुको भ्रमण गर्नुभयो । यो टापु बेइजिङले मकाउलाई आफ्नो गैर–खेल विकासका लागि जग्गा आपूर्ति बढाउन आंशिक रूपमा भाडामा दिएको थियो । 

मकाउ वरपर सुरक्षा बढाइएको छ र बिहीबार सीको भाषणको स्थल मकाउ पूर्वी एसियाली खेलकुद गुम्बज बाहिर सडक अवरोध गरिएको छ ।     छिमेकी हङकङको विपरीत मकाउमा चिनियाँ शासनमा फर्किएपछि ठूलो मात्रामा राजनीतिक अशान्ति देखिएको छैन । 

कोशी टप्पु वन्यजन्तु आरक्षमा खरखडाइबाट दुई लाखभन्दा बढी राजस्व सङ्कलन

इनरुवा (सुनसरी), ५ पुसः सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्षमा खरखडाइबाट रु दुई लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । आरक्षका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले आरक्षले गत मङ्सिर २४ गतेदेखि २६ गतेसम्म खरखडाइका लागि अनुमति (पुर्जी) दिएको थियो । तीन दिनका अवधिमा चार हजार चार सय १९ जनाबाट पुर्जीबापत रु दुई लाख २० हजार नौ सय ५० राजस्व सङ्कलन भएको जनाइएको छ ।

प्रतिपुर्जीबापत रु ५० शुल्क लिएको र एउटा पुर्जीमा एक जना खरखडाइका लागि जान पाउने अनुमति दिएको थियो । घर र गाईगोठमा छानो छाउनका लागि आरक्षमा खरखडाइ गर्नका लागि जाने गरेको कोशी–२ का देवराज उराँवले बताउनुभयो । उहाँको परिवार हरेक वर्ष खरखडाइकै पर्खाइमा बस्ने गरेको र खरखडाइ पुर्जी खुला भएपछि परिवारका सबै खर काट्न र भित्र्याउने काममा जुट्ने गरेको छ । आरक्षबाट काटेर ल्याएको खर आफू प्रयोग गरेर बढी भएको बिक्री समेत गर्ने गरेको छ ।

खरखडाइ खुलेका बेला आरक्ष आसपासका बस्तीमा खर बोक्नेको भीड लाग्ने गरेको छ । आरक्षको कार्यालयले आसपासका बासिन्दालाई लक्षित गरेर खरखडाइ खोल्दै आएको छ  । आरक्षका अनुसार गत वर्ष आठ हजारले खर काट्ने पुर्जी लिएकोमा यस पटक चार हजार चार सय १९ जनाले खरखडाइका लागि पुर्जी लिएका थिए । सुरुमा आरक्षमा डेढ महिनासम्म खरखडाई हुँदै आएकोमा विस्तारै घट्दै गएको छ । खरखडाइबाट आरक्षभित्रका विभिन्न घाँसेमैदानको व्यवस्थापनमा सहजता भएको र सरसफाइ भएको बताइएको छ ।