`

दक्षिण नाइजेरियाको भिडमा भागदौड हुँदा २२ को मृत्यु

दक्षिणी नाइजेरियामा नागरिकहरूलाई चामल वितरण गर्ने केन्द्र बाहिर भएको भागदौडमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । यो अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा यस्ता घटनाहरूको शृङ्खलामा पछिल्लो घटना हो ।

सोही दिन राजधानी अबुजामा ‘असहाय र वृद्ध’ लाई खाना दिँदै गर्दा चर्च बाहिर भएको छुट्टै भागदौड हुँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो । यी दुई दुर्घटनाका कारण नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले आफ्नो कार्यतालिका खाली गर्नुभयो ।

अनाम्ब्रा राज्य प्रहरीका प्रवक्ताले ओकिजामा मृत्यु भएका परिवार र साथीहरूप्रति समवेदना व्यक्त गर्नुभयो । “दुर्भाग्यपूर्ण घटनाको अनुसन्धान अझै जारी छ”, अनाम्ब्रा प्रहरी प्रवक्ता तोचुक्वु इकेङ्गाले २२ जनाको मृत्यु भएको पुष्टि गर्दै विज्ञप्तिमा भन्नुभयो । 

प्रहरीले पहिले घटनामा ‘धेरै’ को मृत्यु भएको बताएको थियो । 

मैतामा जिल्लाको होली ट्रिनिटी क्याथोलिक चर्च बाहिर अबुजामा भएको भागदौडमा मारिएका १० जनामध्ये चार जना बालबालिका रहेको प्रहरीले जनाएको छ । एक प्रहरी प्रवक्ताका अनुसार भागदौडमा अन्य आठ जना घाइते भएका छन् ।

“आनन्द र उत्सवको मौसममा हामी हाम्रा नागरिकहरूसँग आफ्ना प्रियजनहरूको पीडादायी क्षतिमा शोक व्यक्त गर्दछौँ, ईश्वरीय सान्त्वना र स्वास्थ्य लाभका लागि हाम्रो प्रार्थना उनीहरूसँग छ”, राष्ट्रपति टिनुबुले भन्नुभयो । 

दक्षिणपश्चिमी सहर इबाडनको एक विद्यालय मेलामा बिहीबार भागदौड भएपछि शनिबारका घटनाहरू भएका हुन् । त्यो भागदौडमा ३५ जना बालबालिकाको मृत्यु भएको थियो भने अन्य छ जना गम्भीर घाइते भए । 

पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको रूसको दाबी

रूसले आइतबार पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको जनाएको छ ।रक्षा मन्त्रालयले टेलिग्राममार्फत् जारी एक विज्ञप्तिमा भनिएको छ, “रूसी सेनाले उत्तरपूर्वी खार्किभ क्षेत्रको लोजोभा र युक्रेनको सोन्त्सिभका भनिने क्रास्नोय गाउँलाई ‘मुक्त’ गरेको छ ।

क्रास्नोय कुराखोभको संसाधन क्षेत्रको नजिकमा रहेको छ । रूसले लगभग खार्किभको सवै भागलाई घेरेको छ र यो सम्पूर्ण डोनेट्स्क क्षेत्र कब्जा गर्ने मस्कोको प्रयासको लागि प्रमुख उपलब्धी हुनेछ ।

आगामी जनवरीमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आउनुअघि नै रुसले पूर्वी युक्रेनमा आफ्नो प्रगति तीव्र बनाएको छ ।
रिपब्लिकन पार्टीले युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै ठोस शर्त प्रस्ताव नगरी करिब तीन वर्षदेखि जारी द्वन्द्वको शीघ्र अन्त्य गर्ने वाचा गरेको छ ।

मस्कोको सेनाले यस वर्ष १९० भन्दा बढी युक्रेनी बस्तीहरू कब्जा गरेको दाबी गरेको छ । किएभले जनशक्ति र गोलाबारुदको अभावबीच आफ्नो गुमेको भूभाग फिर्ता लिने कठिन यात्राको सामना गरिरहेको छ ।

मन्त्रिपरिषद् निर्णय : प्रहरी नायब महानिरीक्षकद्वय सिंह र बोहराको बढुवा

काठमाडौँ, ७ पुस : सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गरी क्रमशः प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग र प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

यस्तै सरकारले दैलेख–कालीकोट–जुम्ला १३२ केभी प्रसारण लाइनको टावर निर्माणका लागि दैलेख, कालीकोट र जुम्ला जिल्लामा करिब १२ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को यही पुस ५ गतेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको परिमार्जित कार्यविवरण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री सुथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । 

सरकार प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषका लागि नेपाल राष्ट्र बैङ्क, सवारी साधन बिक्री गर्ने व्यवसायीका लागि यातायात व्यवस्था विभाग र इन्भेष्टमेन्ट कम्पनीका लागि नेपाल धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोक्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।” 

मन्त्रिपरिषद्ले खज्र्याङ प्रहरी चौकी, गुल्मीलाई नेपाल सरकारका नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको पाँच रोपनी जग्गा प्रयोग गर्न स्वीकृति दिने र तुम्लिङ्गटार शीतलपाटी दुई सय २० केभी विद्युत् प्रसारणलाइन आयोजना निर्माणका लागि सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिकामा रहेको राष्ट्रिय वनको २८.४८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ । 

सरकारले एग्रिमेन्ट बिटविन गभर्मेन्ट अफ नेपाल एन्ड गभर्मेन्ट अफ इन्डिया फर दी रेगुलेसन अफ प्यासेन्जर ट्राफिक बिटविन दी टू कन्ट्रीको अवधि सन् २०२५ नोभेम्बर २४ सम्मका लागि नवीकरण गर्ने र सम्झौताको ‘प्रोटोकल’को अवधि सम्झौताको अवधिसँग बराबर हुनेगरी नवीकरण गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्ले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेका सुविधा प्राप्त बाटोको सूचीमा महाँकाल–मूलखर्क ओखेनी गाउँ (३.५ किमी) थप गर्ने र सवारी साधन तथा पैदल यात्रुका लागि बाटोको सूचीमा मूलखर्क–झुले–चिसापानी कायम गर्नेगरी नियमावलीको अनुसूची संशोधन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।  

भ्याकुरे जलविद्युत् आयोजना निर्माणका लागि दोलखा जिल्लाको कालीचोक गाउँपालिकामा रहेको राष्ट्रिय वनको ०.९८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, गोदावरी बहुउद्देश्यीय रङ्गशाला निर्माण गर्न ललितपुर जिल्लामा रहेको राष्ट्रिय वनको ३.४५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना तथा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । 

यस्तै अरुण–३ जलविद्युत् परियोजनाको चार सय केभी प्रसारण लाइन आयोजना निर्माणका लागि सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिका, उदयपुर जिल्लाको सुनकोशी गाउँपालिका, तपली गाउँपालिका, उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिका, सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको कुल जम्मा २१३.६७ हेक्टर जग्गा प्रयोग स्वीकृति दिने सरकारले निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो । 

सरकारले कलैया उपमहानगरपालिका बारालाई चार धुर, बूढानीलकण्ठ नगरपालिका काठमाडौँलाई चार रोपनी १२ आना तीन पैसा, बारपाक सुलिकोट गाउँपालिका, गोरखालाई चार रोपनी पाँच आना दुई पैसा तीन दाम, पुनर्वास नगरपालिका कञ्चनपुरलाई १५ कट्ठा र एकडारा गाउँपालिका महोत्तरीलाई ११ कट्ठा पाँच धुर स्थानीय तहलाई जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

त्यसैगरी, पोखरिया अस्पताल पर्सालाई ५० शय्याको अस्पतालमा स्तरोन्नति गरी मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने, साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको छ । चिकित्सा शिक्षा आयोगको छैटौँ वार्षिक प्रतिवेदन सङ्घीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसमक्ष पेस गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने र धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिको प्राप्त प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने मन्त्रिपरिषद्को निर्णय छ । 

डेनमार्कको राजदूतमा तुलाधर नियुक्त

काठमाडौँ, ७ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम  मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई आज राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

रमेश विकल वाङ्मय पुरस्कार थापालाई

काठमाडौँ, ७ पुस : नृत्यशास्त्री भैरवबहादुर थापालाई यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्रदान गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले शनिबार आरुबारीमा आयोजना गरेको कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।

यसैगरी मासिक एकसय अभियानलाई रमेश विकल–सुशीला समाजसेवा पुरस्कार, साहित्यकार युवराज मैनालीलाई रमेश विकल सिर्जना पुरस्कार तथा अमरकुमार प्रधानलाई रमेश विकल बालसाहित्य पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा रमेश विकल–सुशीला सङ्घर्षशील नारी पुरस्कार चिनीमाया माझीलाई प्रदान गरियो ।

रमेश विकल कला–ंसङ्गीत पुरस्कार रामकृष्ण दुवाल तथा दर्शनाचार्य शोधसम्मान कमला रेग्मीलाई प्रदान गरिएको छ । पुरस्कृत व्यक्तित्वहरुलाई कार्यक्रमका सभापति, प्रमुख अतिथि तथा विशिष्ठ अतिथिहरुले दोसल्ला, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

समारोहमा स्व विकलको बहुचर्चित कृति ‘अविरल बग्दछ इन्द्रावती’ उपन्याससहित संयुक्त विद्यावारिधि शोध ग्रन्थका लागि डा बिदुला घिमिरेलाई प्रोत्सहन पुरस्कार प्रदान गरिएको थियो । बालसाहित्यको क्षेत्रमा उल्लेखनीय काम गरेबापत ‘सुनौलो पाइला नेपाल’लाई सम्मान गरिएको थियो । त्यस्तै बिन्धबासिनी विद्यालय मन्डनकी दीलाशा तामाङलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा अर्थ समितिका सभापति सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामा, संविधानसभा सदस्य रामेश्वर फुयाँल, प्रतिष्ठानका महासचिव विजय चालिसेलगायतले नेपाली साहित्य, कला, सङ्गीत, शिक्षा र समाजसेवाको क्षेत्रमा रमेश विकलको योगदानको स्मरण गर्नुभएको थियो ।

सिरहामा एकवर्षमा मानवअधिकार उल्लङ्घनका अठासी घटना

सिरहा, ७ पुसः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जिल्लामा सन् २०२४ मा ८८ वटा मानवअधिकार उल्लङ्घनका घटना घटेको जनाएको छ । ‘मानवअधिकार वर्ष पुस्तक सन्–२०२५’को समीक्षा कार्यक्रममा शनिबार इन्सेकले गैरराज्य पक्षबाट ८७ र राज्यपक्षबाट एउटा मानवअधिकार उल्लङ्घनको घटना घटेको जानकारी दिएको हो ।

इन्सेकका जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्लामा बलात्कार, हत्या, बहुविवाह, घरेलु हिंसाजस्ता घटना घटेका छन् । उहाँका अनुसार यस अवधिमा १३ बालिका बलात्कार घटनाबाट पीडित भएका छन्भने छ बालिका यौन दुव्र्यवहारको घटनामा पीडित भएका छन् ।

त्यसैगरी, ११ वटा बलात्कारका घटना घटेको र सातवटा बलात्कार प्रयासका घटना भएका छन् । पाँच पुरुष र पाँच महिलाको परिवारजनबाटै हत्या भएको छ । बहुविवाहका सातवटा घटना घटेका छन् ।

गाउँनिकाला, झडप, ढुङ्गामुढा, नाकाबन्दी, आत्महत्या दुरुत्साहन, घरेलु हिंसालगायतका मानवअधिकार उल्लङ्घनका घटना घटेका छन् । स्थानीय तहहरूका न्यायिक समितिमा पीडितहरूले विश्वास नगरेको देखिएको छ ।

वर्ष पुस्तक समीक्षा कार्यक्रममा इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक शिव कट्टेलले प्रहरी जनशक्ति पर्याप्त नभएकाले अपराध नियन्त्रण र लागुपदार्थ दुर्व्यसनी न्यूनीकरणमा चुनौती देखिएको बताउनुभयो ।

त्यसैगरी, मधेस प्रदेशसभाका सदस्य राजेन्द्रप्रसाद चौधरीले समाजमा हिंसा न्यूनीकरणका लागि कानुन कार्यान्वयनको पक्ष फितलो रहेको बताउँदै आम नागरिक सचेत हुनुपर्ने बताउनुभयो ।

चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ

झापा, ७ पुसः यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् ।

बुधबारे इलाका प्रहरी कार्यालयका प्रहरीले गए राति ११ः३० बजे धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट चार केजी गाँजा, नगद रु तीन लाख छ हजार आठ सय ७० र भारु दुई हजार तीन सय बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

लागुऔषध कारोबार भइरहेको सूचना प्राप्त गरी प्रहरी टोली धिमालको घरमा पुगेको थियो । पक्राउ परेकी धिमाललाई धुलावारी इलाका प्रहरी कार्यालयमा राखिएको छ । घटनास्थलबाट गाँजा जोख्ने तराजु, ढक, लाइटर, प्याकेजिङ प्लास्टिक, चक्कु, कैची, अचानो र हथौडा बरामद भएको प्रहरीले जनाएको छ ।

झापामा लागुऔषध कारोबार गरेको अभियोगमा शनिबार एकैदिन पाँच जना विभिन्न स्थानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–६ का ४१ वर्षीय रुपेश पाख्रिन र ३२ वर्षीय डिकबहादुर मगर, इलामको माङसेबुङ–४ का २४ वर्षीय रोदन लिम्बू र दमक–६ का २० वर्षीय नवीन ठटाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरोपी नवीन र रोदनलाई प्रतिबन्धित लागुऔषध खैरो हेरोइन र ट्रामाडोल क्याप्सुलसहित प्रहरीले दमकबाट नियन्त्रणमा लिएको थियो भने रुपेश र डिकबहादुरलाई मेचीनगरको काँकडभिट्टाबाट पक्राउ गरेको सूचना अधिकारी चन्दले बताउनुभयो ।

बाढीपहिरोले क्षति पु-याउँदा यस वर्ष बागमती प्रदेशमा धान उत्पादन घट्यो

बागमती, ७ पुसः बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पु-याउँदा धान एक दशमलव ३७ प्रतिशतले उत्पादनमा ह्रास आएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा बागमती प्रदेशमा कुल एक लाख पाँच हजार चार सय १५ हेक्टरमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ८७ मेट्रिक टनका दरले चार लाख आठ हजार तीन सय १६ मेट्रिक टन धान उत्पादन भएको निर्देशानलयका कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिनुभयो ।

अघिल्लो आव २०८०/८१ मा एक लाख नौ हजार एक सय ५१ हेक्टरमा धानबाली लगाइएकामा चार लाख १३ हजार नौ सय ८८ मेट्रिक टन उत्पादन भएको थियो । कुँवरका अनुसार गत वर्षको तुलनामा यस वर्ष चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर र नुवाकोटमा धान उत्पादन बढे पनि अन्य जिल्लामा घटेको हो ।

बागमती प्रदेशको सबैभन्दा बढी धानखेती हुने चितवनमा यस वर्ष २३ हजार सात सय हेक्टरमा प्रतिहेक्टर चार दशमलव १५ मेट्रिक टनका दरले ९८ हजार तीन सय ५५ मेट्रिक टन धान उत्पादन भएको छ । नुवाकोटमा ११ हजार छ सय १५ हेक्टरमा प्रतिहेक्टर चार दशमलव १७ प्रतिशतका दरले ४८ हजार तीन सय ९० मेट्रिक टन, धादिङमा ११ हजार तीन सय १२ हेक्टरमा प्रतिहेक्टर तीन दशमलव ८९ प्रतिशतका दरले ४४ हजार चार मेट्रिक टन उत्पादन भएको छ ।

काठमाडौँमा यस वर्ष चार हजार नौ सय २४ हेक्टरमा प्रतिहेक्टर चार दशमलव ७१ प्रतिशतका दरले २३ हजार एक सय ९२ मेट्रिक टन, ललितपुरमा चार हजार एक सय ७८ हेक्टरमा प्रतिहेक्टर चार दशमलव ५३ प्रतिशतका दरले १८ हजार नौ सय २६ मेट्रिक टन र भक्तपुरमा तीन हजार पाँच सय ९९ हेक्टरमा प्रतिहेक्टर पाँच दशमलव ५१ प्रतिशतका दरले १९ हजार आठ सय २३ मेट्रिक टन धान उत्पादन भएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

बाढीपहिरोबाट बढी प्रभावित मकवानपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोकलगायत जिल्लामा यस वर्ष धान कम उत्पादन भएको छ । मकवानपुरमा सात हजार १७ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव नौ प्रतिशतका दरले २७ हजार तीन सय ६६ मेट्रिक टन, काभ्रेमा आठ हजार १९ हेक्टरमा प्रतिहेक्टर तीन दशमलव ९१ प्रतिशतका दरले ३१ हजार तीन सय ५४ मेट्रिक टन, रामेछापमा सात हजार आठ सय ८० हेक्टरमा प्रतिहेक्टर दुई दशमलव ५४ प्रतिशतका दरले २० हजार १५ मेट्रिक टन र सिन्धुपाल्चोकमा सात हजार नौ सय हेक्टरमा प्रतिहेक्टर दुई दशमलव ९२ प्रतिशतका दरले २३ हजार ६८ मेट्रिक टन धान उत्पादन भएको हो ।

दोलखामा दुई हजार आठ सय ७२ हेक्टरमा प्रतिहेक्टर दुई दशमलव ५० प्रतिशतका दरले सात हजार ६८ मेट्रिक टन र रसुवामा एक हजार ९९ हेक्टरमा प्रतिहेक्टर दुई दशमलव २३ प्रतिशतका दरले दुई हजार चार सय ५१ मेट्रिक टन धान उत्पादन भएको कृषि विज्ञ कुँवरले जानकारी दिनुभयो ।

बाढीपहिरोले ३७ हजार हेक्टरमा लगाइएको पाँच हजार छ सय मेट्रिक टन धानबालीमा क्षति पुगेको जनाइएको छ । समयमा वर्षा र रोग कीराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिए पनि बाढीपहिरोले क्षति पुर्याएपछि उत्पादनमा घटेको हो ।

दुई जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा एकमात्र कर्मचारी

अमरगढी (डडेल्धुरा), ७ पुसः यहाँको अमरगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारी अभाव भएको छ ।

डडेल्धुरा र बझाङ कार्यक्षेत्र रहने गरी २०७५ सालमा स्थापना भएको यस कार्यालयमा एक कर्मचारी र एक कार्यालय सहयोगी मात्र छन् । दुई प्राविधिक सहायक र एक खाद्य अनुसन्धान अधिकृत गरी तीन कर्मचारी दरबन्दी भएपनि खाद्य अनुसन्धान अधिकृत अध्ययन बिदामा र एक प्राविधिक सहायक काजमा दाङ गएपछि हाल एक प्राविधिक सहायक अभिलाषा अर्यालले सबै जिम्मेवारी बहन गर्दै आउनुभएको छ । दरबन्दीमा कर्मचारी पूर्णता देखिए पनि कार्यालयमा एक जनाले मात्रै काम गर्दै आएको प्राविधिक सहायक अर्यालले बताउनुभयो ।

“दुई जिल्लाका होटल र उद्योग निरीक्षण एवं अनुगमन तथा खाद्य नमूना सङ्कलन गर्ने जिम्मेवारी कार्यालयलाई भए पनि कर्मचारी अभावमा समस्या छ”, उहाँले भन्नुभयो, “डडेल्धुराको सातै पालिकामा अनुमगन गरिए पनि अरु काम गर्न सकिएको छैन ।” अनुगमनमा फिल्डमा जाँदा कार्यालय बन्द गर्नुपर्ने बाध्यता छ ।

आजदेखि मुग्लिन–काठमाडौँ सडक दैनिक तीन घण्टा बन्द हुने

भरतपुर (चितवन), ७ पुसः मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा पहाड कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौँ जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ ।

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ ।

यसैगरी चितवनतर्फबाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेँसीमा रोकिनेछ । विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिनेछ ।

श्रीलङ्काका राष्ट्रपति दिसानायकेले जनवरीमा चीन भ्रमण गर्ने

श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायके दुई पक्षीय सम्बन्ध बिस्तारका लागि आगामी जनवरीमा चीनको भ्रमण गर्नुहुने भएको छ ।

कोलम्बोमा खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक आयातका लागि विदेशी मुद्रा समाप्त भएको सन् २०२२ को आर्थिक मन्दीको समयमा श्रीलङ्काको द्विपक्षीय ऋणको आधाभन्दा बढी हिस्सा चीनले ओगटेको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको उद्धार प्याकेज प्राप्त गरेपछि र सरकारको बिग्रिएको वित्तीय अवस्थालाई सुधार गर्ने उद्देश्यले मितव्ययिता सुधार लागू गरेपछि यहाँको अर्थतन्त्रमा बिस्तारै सुधारको सङ्केत आउन थालेका छन् ।

वामपन्थी नेता दिसानायके भ्रष्टाचारविरुद्ध लड्ने प्रतिबद्धताका साथ गत सेप्टेम्बरमा सत्तामा आउनुभएको थियो । मध्यावधि संसदीय चुनावमा आफ्नो पार्टीले भारी मतान्तरले विजय हासिल गरेपछि उहाँले नागरिकसामु निर्वाचनका समय गरेका आफ्ना प्रतिवद्धता पुरा गर्न छिमेकी मुलुकहरूको भ्रमण गर्दै कुटनीतिक सम्बन्धलाई थप कसिलो बनाउने अभियान शुरू गर्नुभएको छ । उहाँले यसै महिना भारतको भ्रमण गरिसक्नुभएको छ ।

“म अर्को महिनाको मध्यतिर चीन जाँदैछु,” उहाँले पत्रकारसँग भन्नुभयो ।

राष्ट्रप्रमुखको रूपमा दिसानायकेको पहिलो विदेश भ्रमण छिमेकी देश भारतमा भएको थियो । उहाँलाई डिसेम्बर १६ मा भारतीय राष्ट्रपति द्रोपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्नुभएको थियो ।

क्षेत्रीय पावरहाउस भारत हिन्द महासागर क्षेत्रमा प्रभाव जमाउन चीनसँग कडा प्रतिस्पर्धा गरिरहेको छ ।

श्रीलङ्का विश्वको सबैभन्दा व्यस्त समुद्री ढुवानी मार्गका लागि महत्वपूर्ण मानिन्छ । यो मार्गले मध्य पूर्व र पूर्वी एशियालाई जोड्छ, यसको समुद्री सम्पत्तिलाई रणनीतिक महत्वका साथ हेरिन्छ ।

नयाँ दिल्लीले श्रीलङ्कामा बेइजिङको बढ्दो पकडलाई लिएर चिन्ता व्यक्त गर्दै आएको छ, जसलाई उसले आफ्नो भूराजनीतिक प्रभावको क्षेत्रभित्र रहेको देख्छ ।

फिच रेटिङ्सले शुक्रबार श्रीलङ्काको दीर्घकालीन विदेशी मुद्रा जारी गर्ने ‘डिफल्ट रेटिङ’लाई सीसीसी प्लसमा अपग्रेड गरेको छ ।

फिचले भनेको छ, “ऋण पुनर्संरचनाले सरकारको ऋण सेवाको बोझ र तरलता जोखिमलाई कम गरेको छ, तर सामान्य सरकारी ऋण ÷ कूल गार्हस्थ्य उत्पादन र ब्याजका साथै राजस्व अनुपात मध्यम अवधिमा उच्च रहने सम्भावना रहेको यसले उल्लेख गरेको छ ।”

थोरै सङ्ख्यामा पशुपालेरै मासिक एक लाख बढी आम्दानी गर्दै बागलुङका ढकाल

गलकोट (बागलुङ), ७ पुसः यहाँको बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको हुनुभयो । मलेसियामा १२ वर्ष बिताउनुभएका ढकालले गाउँमै पशुपालन सुरु गर्नुभएको चार वर्ष भएको छ ।

सुरुमा चारवटा गाई र दुईवटा भैँसी किनेर बलेवा एकीकृत पशुपालन फार्म दर्ता गर्नुभएका उहाँले सुरुका दुई वर्षसम्म पशुलाई दाना, चापट र घाँससमेत ऋण खोजेर किन्नुभयो । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घसँग जोडिएपछि भने उहाँले व्यावसायिक अप्ठ्यारोको समाधानसँगै आम्दानी गर्न थाल्नुभएको छ ।

उहाँको फार्ममा हाल पाँचवटा भैँसी र चारवटा गाई छन् । दैनिक ६० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध गाउँको सहकारीमार्फत बागलुङ दुग्ध उत्पादक सहकारीलाई बेच्ने गर्नुभएको छ । ढकालको फार्ममा हुर्कँदै गरेका चारवटा पाडी छन् ।

दूध बेचेर मासिक रु एक लाख ३० हजार बढी आम्दानी गर्न थालेको उहाँले बताउनुभयो । गत वर्ष मात्र रु १७ लाख बढी आम्दानी भएको उहाँले जानकारी दिनुभयो । दूधमात्र नभएर ढकालको फार्मबाट मलमूत्र पनि बिक्री हुने गरेको छ । प्रतिट्याक्टर पाँच हजारका दरले मल बिक्री गर्ने गर्नुभएको छ । राम्रो स्याहारसुसार गरेमा थोरै पशुपालनबाट पनि मनग्गे आम्दानी लिन सकिने उहाँको अनुभव छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा घाँस लगाउने, पशु स्याहार गर्ने तालिम लिएर उहाँले दुई रोपनीमा घाँस लगाउनुभएको छ । प्राक्टिकल एक्सन नेपालको सहयोगमा सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी) ले अनुदानमा दिएको पाँच सय लिटरको तीन सोलर वाटर हिटरले समय र पैसाको बचत भएको उहाँको भनाइ छ ।

पशुपालनमा श्रीमती दुर्गादेवीले मुकुन्दलाई सहयोग गर्दै आउनुभएको छ । परिवारको साथसँगै उत्पादनले उचित मूल्य प्राप्त गर्न थालेपछि व्यावसायिक पशुपालन सम्भव भएको उहाँ बताउनुहुन्छ ।

पाँच महिनामा १३ अर्ब चार करोडको विद्युत् निर्यात

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८÷८२ को पहिलो पाँच महिनामा रु १३ अर्ब चार करोड बराबरको विद्युत् भारत निर्यात गरेको छ । प्राधिकरणले चालु आवको साउन, भदौ, असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएकोे एक अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ३९ पैसा छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को ‘डे अहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी भारु आठ अर्ब १५ करोड आम्दानी गरेको छ ।

साउनमा सबैभन्दा बढी रु चार अर्ब १५ करोडको विद्युत् निर्यात भएको थियो भने मङ्सिरमा सबैभन्दा कम रु २८ करोड १४ लाखको मात्र निर्यात भएको छ । भदौमा रु तीन अर्ब ६८ करोड, असोजमा रु तीन अर्ब सात करोड र कात्तिकमा रु एक अर्ब ८७ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोजमा आएको बाढीपहिराका कारण मुख्य रूपमा चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको जानकारी दिनुभयो । माथिल्लो तामाकोशी बन्द भएका कारण त्यसपछिका महिनाहरूमा विद्युत् निर्यात घटेको र सुक्खायाम सुरु भएसँगै जलविद्युत् आयोजनाको उत्पादन घटेकाले पोहोरभन्दा यस वर्ष चाँडै आयात गर्नुपरेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गर्नुभयो ।

अहिले विद्युत् निर्यात बन्द भएको छ भने आयात सुरु गरिएको छ । नदी तथा खेलानालामा पानीको बहाव बढ्न सुरु भएपछि उत्पादन बढ्ने हुँदा त्यसपछि विद्युत् निर्यात पुनः सुरु हुनेछ । यस वर्षदेखि ४० मेगावाट विद्युत् भारत हुँदै बङ्गलादेश निर्यात पनि सुरु भइसकेको छ ।

चालु आवमा करिब रु ३० अर्बको विद्युत् निर्यातको लक्ष्य राखिएको छ । बाढीपहिरोका कारण जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा निर्यात लक्ष्य प्रभावित हुने देखिएको छ । बाढीपहिरोले माथिल्लो तामाकोशीसहित अन्य साना जलविद्युत् आयोजना र काबेली करिडोर प्रसारण लाइनमा क्षति पुर्याएको थियो । माईखोलामा आएको बाढीले काबेली करिडोरमा क्षति पुर्याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाका करिब दुई सय मेगावाट विद्युत् उत्पादन बन्द भएको थियो । यसका कारण कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित भएको थियो ।

माथिल्लो तामाकोशी यही पुस १० गतेभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार धमाधम भइरहेको छ भने काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । हिउँद सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन कम हुनेछ । उत्पादनले आन्तरिक मागलाई मात्र धान्ने भएकाले अब विद्युत् निर्यात क्रमशः घट्दै जाने छ । प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा विभिन्न २८ आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।

गत आवमा भारतबाट रु १६ अर्ब ९३ करोडको विद्युत् आयात गरिएको थियो । सो अवधिमा रु १७ अर्ब ६ करोडको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा रु १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

भूमिकाको ‘आँख मार्यो’ गीतमा मन्जु थापाको नृत्य

काठमाडौं । गायिका भूमिका शाहले नयाँ गीत। ‘आँख मार्यो’ सार्वजनिक गरिएको छ । गीतमा शब्द र संगीत पनि भूमिकाकै रहेको छ । शुक्रबार भूमिकाकै युट्युव च्यानलमा सार्वजनिक गीतको भिडिओले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

गीतको भिडिओमा मोडल मन्जु थापाको नृत्य देख्न सकिन्छ । उनी ग्लामर अवतारमा देखिन्छिन् । उनीसँगै रेशम नेप्किङको अभिनय रहेको छ । भिडिओ मुकेश हुमागाईंले खिचेका हुनु भने उत्तम श्रेष्ठ (शिशिर)ले निर्देशन गरेका हुन् ।
आफ्नो नयाँ गीतलाई लिएर मोडल मन्जु उत्साहित देखिन्छिन् ।

अबको केही दिन पश्चिम नेपालमा बदली, चिसो बढ्ने

काठमाडौँ-नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्र्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका आइतबारदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ । सोमबार भने अझै बढ्ने देखिएको उहाँले बताउनुभयो । त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही असर काठमाडौँसम्म आइपुग्ने उहाँले बताउनुभयो ।

मौसमविद् कँडेलले भन्नुभयो, “पश्चिमबाट पूर्वतर्फ आउँदा प्रणाली कमजोर हुँदै आउने र काठमाडौँमा पनि थोरै बदली भई छिटफुटसम्म वर्षा हुनसक्ने छ, चिसो पनि केही बढ्ने छ ।” प्रणाली लुम्बिनीमा आइपुग्दा भने कमजोर हुने र त्यसको सामान्य असरमात्रै पूर्व तथा मध्यतिर पर्ने जनाइएको छ । यसले पश्चिम नेपालका हिमाली क्षेत्रमा बढी हिउँ पर्ने र पश्चिम नेपालका तराईका क्षेत्रमा चिसो बढ्ने देखिन्छ ।

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । आगामी २४ घण्टामा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ । यसअघि यही मङ्सिर २९ गते यो वर्षकै अत्यधिक चिसो भएको थियो । त्यस दिन काठमाडौँको तापक्रम दुई डिग्रीमा झरेको थियो भने जुम्लाको तापक्रम माइनस ७ दशमलव दुईमा झरेको थियो ।

गुल्मीमा भलिबल प्रतियोगिता हुँदै,एक दर्जनभन्दा बढी टोली सहभागी

गुल्मी, ७ पुस : गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार बजारमा यही पुस १२ देखि २१ गतेसम्म पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । दोस्रो मुसिकोट महोत्सवका अवसरमा मुसिकोट नगरपालीकामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

गुल्मी मुसिकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिताको विजेताले रु दुई लाख एक हजार, दोस्रो हुनेले रु एक लाख एक हजार र तृतीय हुने टोलीलाई रु ५१ हजार पुस्कार प्रदान गरिने महोत्सवका खेल संयोजक लक्ष्मण फुल्लेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा एक दर्जनभन्दा बढी टोली सहभागी हुने बताइएको छ । महोत्सवमा भलिबलका साथै स्थानीय कृषि उपज, स्थानीय घरेलु वस्तु, शैक्षिक सामग्री, स्थानीयस्तरमा रहेका पम्परागत झाँकीको प्रदर्शनी, नृत्य प्रतियोगीतालगायत कार्यक्रम गर्न लागिएको गुल्मी मुसिकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपीकृष्ण खरेलले जानकारी दिनुभयो ।

पुसको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै

काठमाडौँ, ७ पुस : पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ ।

आजलाई पौषकृष्णपक्ष सप्तमी तिथि अर्थात् रविसप्तमी पनि भनिन्छ । यस महिनामा सूर्यको दर्शन एवं पूजन गरेर मात्र खाने र प्रत्येक रविवार पवित्र भई व्रत बसी मध्याह्नमा सूर्यदेवको विशेष पूजा गरी करवीरको पातमा जल, पञ्चामृत राखी सूर्यलाई अर्घ्य दिइन्छ । सूर्य भगवान्लाई मन पर्ने प्रसादको रूपमा घिउ खट्टे, चिनी आदि चढाइन्छ । पुस महिनाका सूर्यको नाम विष्णु हो । विष्णुले सबैसँग कुरा गर्दा एक पक्षलाई एक दिन मान्नुपर्ने एक पक्षको पक्षधरता छ । आजको दिन बर्तालुले घरमा ब्राह्मण बोलाएर पूजा आराधनासहित अन्न दान निदुपर्ने व्यवस्था रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाड्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

सर्वप्रथम भगवान् नारायणबाट ब्रह्माजी आविर्भाव हुनुभयो । ब्रह्माजीको मनबाट मरिचिऋषि, मरिचिको पुत्र कश्यपऋषि कश्यपको धर्मपत्नी अदितिबाट विवस्वान् सूर्यको जन्म भएको भन्ने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । सूर्य सर्वप्रथम मृत अचेतन अण्डमा बस्नुभएकाले उहाँलाई मार्तण्ड भनिन्छ । नारायण भगवान् मृत अण्डमा प्रवेश गरी हिरण्यमय ज्योतिर्मय ब्रह्माण्डबाट प्रकट हुनुभएकाले उहाँलाई सूर्यनारायण हिरण्यगर्भ भनिएको पण्डित बालमुकुन्द देवकोटाका बताउनुहुन्छ ।

नौ ग्रहमध्ये सूर्य माझमा निवास गर्ने भएकाले उहाँलाई अधिपतिप्रमुख मालिक मानिन्छ । भगवान् सूर्यले आफ्नो ताप र प्रकाशले अन्धकारलाई स्वतस्फूर्त नाश गरी तीनैलोक स्वर्ग, मत्र्य, पाताल तताएर प्रकाशित गर्नुहुन्छ । ज्योतिर्मय रथले सबै ठाउँमा घुम्नुहुन्छ । बस्ने ठाउँ छत्तीस लाख योजन लामो र नौ लाख योजन चौडाइ छ । यसको जुवा छत्तीस लाख योजन लामो छ । कालरूपधारी भगवान् सूर्य लोकको व्यवहार ठिक– ठिक चलाउनका लागि चैत्रादि बाह्र महिनामा क्रमशः १२ वटा नाम धाता, अर्यमा, मित्र, वरुण, इन्द्र, विवस्वान्, त्वष्टा, विष्णु, अंशु, भग, पूषा, पर्जन्य नामले प्रवेशगर्दा ऋषिहरुले सूर्यसम्बन्धी ऋग्वेद, यजुर्वेद र सामवेदको मन्त्रद्वारा उहाँको स्तुति गर्नुहुन्छ । त्यहीबेला गन्धर्व उहाँको सुयशको गान गर्दैगर्दा अगाडि– अगाडि अप्सरा नृत्य गर्दै हिँड्नुहुन्छ । उहाँको पूजा षोडोशोपचारले आँक, कुश, शमी ,करवीर, रातो कमलको फूलले गर्दछ भने उसलाई धर्म, अर्थ, काम र मोक्ष मिल्ने गर्दछ । यो पृथ्वीमा जो पतित र जुठोखाने मानिस समेत सूर्यको किरणको स्पर्शले पवित्र हुन्छ ।

आइतबार सूर्यको सङ्क्रान्ति तथा शुक्लपक्षको सप्तमी पर्यो भने त्यो दिन गरेको पूजा, व्रत, जप अक्षय हुनेछ । जसले ‘आदित्याय बिध्महे भास्कराय धिमहि तन्नो भानु ःप्रचोदयात्’ भनी सूर्यको गायत्री जपी पूजा, जप, स्तुति, मुद्रा, अञ्जलीले नमस्कार र धेनु मुद्राद्वारा ॐ इन्द्राय नमः स्वाहा, ॐ विष्णवे नमः भनी हवन र जप गर्दछ भने उसले सायुज्य मुक्ति प्राप्त गर्दछ ।

जसले उदाउँदा ब्रह्मा, मध्याह्नमा महेश्वर, अस्ताउँदा विष्णु भनी पूजा र नमस्कार गर्दछ भने उसले चाहेको फल प्राप्त गर्दछ । रोग निको हुने गर्दछ । जो चाण्डाल, पतित, कोढी, महापातकी, दुःखी, दरिद्र, शोकग्रस्त छ । पुस महिनामा सूर्यको दर्शन र पूजा गर्नाले सवै रोग हटेर आफ्नु पापबाट मुक्त हुनेछ । ब्रह्माजीले पनि सूर्यभगवानको स्तुति गाउनु भएको थियो । त्यसैले गोकर्ण, वालखिल्य ऋषि, शत्राजित आदिले पनि सूर्यको उपासना र स्तुति गाउनु भएको थियो । जसले गाउँदछ उसले भुक्ति र मुक्ति प्राप्त गर्दछ ।

कर्मपात्र (तामाको थाली) मा पानी राखेर पानीमा सूर्यको दर्शन गरिन्छ भने धेरै भक्तजनहरूले हातका औँलाबाट विशेष आकार बनाई सूर्य दर्शन गर्दछन् । पौष महिनाभरि सूर्यको स्तोत्र, महिमा, प्रवचन आदि श्रवण एवं पाठ गर्नु उत्तम मानिन्छ । धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नगर्दा राम्रो हुन्छ । यो दिन मासु, रक्सी जस्ता भोजन खानु हुँदैन । दक्ष प्रजापतिकी छोरी रूपा सर्वकी पत्नी हुन् । यम र यमुना यिनैका सन्तान हुन् रक्त चन्दन र करवीरको पुष्पले सूर्यको पूजा गर्नुपर्दछ । यी दुवै वस्तु सूर्यका प्रिय छन् । सूर्यको तेज सहन नसकी पलायन भएकी आफ्नी पत्नी रूपालाई प्राप्त गर्न सूर्यदेव उनको तपस्या स्थल उत्तर कुरु देश गए । त्यहीं सप्तमी तिथिमा दुवैको मिलन भएको हुँदा पनि सप्तमी सूर्यको प्रिय तिथि हो । जो व्यक्ति पञ्चमी तिथिमा एक छाक शुद्ध भोजन गरी षष्ठीको दिनमा उपवास गर्दछ र सप्तमीको दिनमा उपवास गरी विविध शाक पदार्थ भगवान् सूर्यलाई अर्पण गरेर ब्राह्मणलाई दान गर्दछ र रात्रिमा मौन रही भोजन गर्दछ उसलाई असीम पुण्य प्राप्त हुन्छ ।

आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ । आजको दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान् सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमाइन्छ । आइतबारको दिनमा सूर्यको अघ्र्य दिन निम्न मन्त्रलाई उच्चारण गरिन्छ–
ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते ।
अनुकम्पय मां भक्त्या गृहणाघ्र्य दिवाकरः।।

इलाममा एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

मङ्गलबारे (इलाम), ७ पुस : नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको सङ्ख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ । पछिल्लो समय कृषि पेशा छाड्नेको सङ्ख्या त बढ्दै गएको छ । तर कृषि पेशा गरेर मनग्य कमाउने किसान गाउँमा नै रमाइरहेका छन् ।

कृषि पेशाबाट नै गर्न सके स्वदेशमै बसेर विदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ भन्ने उदारहणको पात्र बन्नुभएको छ इलामको सन्दकपुर गाउँपालिका–२ का गिरीराज खनाल । उहाँले यसै वर्ष रु ३४ लाखभन्दा बढीको अलैँची उत्पादन गर्नुभएको छ । उहाँ पूर्व वडाध्यक्षसमेत हुनुहुन्छ ।

सन्दकपुर–२ माइमझुवाका किसान खनालले मकैबारी मासेर लगाएको खेतीबाट ३० मन अलैँची उत्पादन गरेको बताउनुभयो । अलैँचीको मूल्य हाल १२ वर्षयताकै उच्च अर्थात् प्रतिमन रु एक लाख १५ हजार छ । तीस मन अलैँचीको प्रतिमन रु एक लाख १५ हजारको मूल्यले पनि रु ३४ लाख ५० हजार पर्न जान्छ । यो उहाँको एकै वर्षको आम्दानी हो ।

गाउँगाउँमा पुगेका व्यापारीले महँगो मूल्य लगाउने गरेका छन् । बजारमा व्यापारीले अलैँची प्रतिमन रु एक लाख १० हजारमा खरिद गर्ने गरेका छन् । खनालले लामो समयदेखि अलैँचीखेती गर्दै आउनुभएको छ । बीचमा किसानले लगाएको अलैँची मासिँदा पनि आफूले सो खेती नछाडेको उहाँले बताउनुभयो । बीचमा दानाबाट समेत अलैँची उत्पादन गरेर जिल्ला तथा जिल्ला बाहिरका किसानसमक्ष बिरुवा पुर्याएको खनालले बताउनुभयो ।

धेरै मेहनत नलाग्ने अलैँचीखेतीबाट मनग्य आम्दानी लिन सकिन्छ । सुरुमा बिरुवा रोप्दा बारी फडानी गर्न र बिरुवा लगाउन धेरै खर्च हुने भए पनि त्यपछि अलैँची उत्पादन भएपछि टिप्न र छोडाउन बढी खर्च हुने गरेको किसान खनालको भनाइ छ । बीचमा गोडमेल, मलजल र पानी लगाउनुपर्ने हुन्छ । सो कार्यमा खास खर्च नलाग्ने उहाँले बताउनुभयो ।

हाल खनालले ३३ रोपनी र २४ रोपनीका दुई प्लटमा अलैँची खेती गर्नुभएको छ । हिउँदको समयमा तुसारो पर्ने भएकाले यसबाट जोगाउन ‘ग्रीन नेट’ लगाउने गरिन्छ । आगामी वर्षदेखि उत्पादन बढ्ने उहाँले बताउनुभयो । अलैँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । गएको वर्ष लगाएको नयाँ बिरुवाबाट पनि उत्पादन बढ्ने उहाँले बताउनुभयो ।

राजनीति गर्ने मान्छेले केही न केही काम गर्नुपर्ने खनाल बताउनुहुन्छ । राजनीति गर्न खर्च आवश्यक पर्ने भएकाले पनि केही काम गर्नुपर्ने भएकाले आफूले कृषि पेशा गर्ने गरेको उहाँ बताउनुहुन्छ । खनाल जस्तै जिल्लाका अन्य किसानले समेत यस वर्ष अलैँचीबाट मनग्य आम्दानी गरेका छन् ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार बर्सेनि रु चार अर्ब १५ करोड बराबरको अलैँची निकासी भइरहेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो तीन महिनामा सात सय ८३ दशमलव ७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कम हो । आव २०८०÷८१ मा एक हजार पाँच सय २५ दशमलव ९६ मेट्रिक टन अलैँची निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।

अलैँची औषधीय गुण भएको नगदेबाली हो । यसबाट विशेषगरेर औषधिजन्य वस्तु निर्माण हुने गरेका छन् । गर्मीमा अलैँचीलाई शीतलता प्रदानका लागि प्रयोग गर्ने गरिन्छ । मसलाका रूपमा पनि अलैँचीलाई प्रयोग गर्ने गरिन्छ । गाउँघरमा विशेष गरेर मासु पकाउँदा अलैँचीलाई जिरासँग मिसाएर पकाइने गरिन्छ । सर्वत पानीमा समेत यसलाई प्रयोग गरिन्छ । तर नेपालबाट विदेश निर्यात हुने अलँैचीबाट अत्तर (पर्फ्युम)समेत निर्माण हुने गरेको छ ।

भारतको बाटो भएर विदेश निर्यात हुने अलैँची धेरै मात्रामा चाहिँ औषधिका रूपमा प्रयोग हुने गरेको छ । नेपालमा अलैँची प्रशोधन नहुँदा पनि समस्या भइरहेको छ । झापामा एउटा प्रशोधन केन्द्र भए पनि यो पर्यात नभएको व्यवसायीको भनाइ छ ।

एनपिएलले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको छ : मुख्यमन्त्री सिंह

जनकपुर, ७ पुस : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल प्रिमियर लिग (एनपिएल)ले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको बताउनुभएको छ । उहाँले यस्ता प्रतियोगिताबाट खेल पर्यटनलाई बढावा दिने आधार तयार भएको उल्लेख गर्नुभएको छ ।

एनपिएलमा जनकपुर वोल्टस्ले जित हासिल गरेपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री सिंहले एनपिएलले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपालका खेलाडी थप तयार छन् भन्ने सन्देश संसारसामु पुगेको बताउनुभयो । खेलले एकता, सद्भाव र सहिष्णुताको भावना विकसित गर्ने गरेको उल्लेख गर्दै उहाँले एनपिएल र यस्ता प्रतियोगिताले नेपाली क्रिकेटको अब्बल स्तरलाई दर्शाएको उल्लेख गर्नुभयो ।

एनपिएलको अन्तिम तथा निर्णायक खेलमा जनकपुर बोल्ट्सको जितले प्रदेशका खेलाडीहरूको आत्मबल, प्रतिष्ठा तथा उत्साहमा वृद्धि भएको मुख्यमन्त्री सिंहको भनाइ थियो । उहाँले प्रदेशको धार्मिक तथा सांस्कृतिक सहर जनकपुरधामसँग जोडिएको नाम र प्रदेशवासीकै भाव बनेको जनकपुर बोल्ट्स विजयी हुँदा मधेश प्रदेशका बासिन्दामा रहेको खेलप्रतिको निष्ठा अभिव्यक्त भएको बताउनुभयो ।

मुख्यमन्त्री सिंहले प्रतियोगिता अवधिभर जनकपुर बोल्ट्सले गरेको उत्कृष्ट र आनन्दायक प्रदर्शनबाट प्रदेशवासीमा अन्तिम खेलसमेत जित्ने विश्वास पलाएको र टोली आफ्नो कुशल रणनीति, उच्च मनोबल र धीरतापूर्ण खेलबाट प्रदेशवासीको भरोसामा खरो उत्रेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री सिंह जनकपुर बोल्ट्सको हौसला बढाउन आज काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमै पुग्नुभएको थियो । मधेश प्रदेशको खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री सिंहले बताउनुभयो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ७ पुस : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ र बिक्रीदर एक सय ४१ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय रुपैयाँ ३४  पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४०  पैसा कायम भएको छ । 

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९४ पैसा र बिक्रीदर तीन रुपैयाँ ९६ पैसा युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ७४ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ३३ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५२ रुयैयाँ ५३ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ०९ पैसा तोकिएको छ । त्यसैगरी  भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । 

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ । 

प्रदेश राज्यमन्त्रीको गाडी भारतमा दुर्घटनाः तीन जना घाइते

सुदूरपश्चिम,६ पुसः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा घाइते हुनुभएको छ ।राज्यमन्त्री बम सवार प्रदेश ३—०१—०२४ च नम्बको मोटर आज साँझ भारतको पलिया बजार नजिक दुर्घटनामा परेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा राज्यमन्त्रीकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा घाइते हुनुभएको छ । सबै घाइतेको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार जारी छ । राज्यमन्त्रीको अवस्था सामान्य छ । भारतको खिरी जिल्लास्थित पलिया बजारमा किनमेल गरेर फर्किने क्रममा दुर्घटना भएको हो ।

राजनीतिक अस्थिरताबाट मुलुकलाई जोगाउन वर्तमान सरकार गठन भएको होः सञ्चारमन्त्री

गण्डकी, ६ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक अस्थिरताबाट मुलुकलाई जोगाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को साझेदारीमा वर्तमान सरकार गठन स्पष्ट गर्नुभएको छ ।

कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका–६ स्थित बराह माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सव एवं प्राविधिक शिक्षा रजत वर्ष समारोहको आज उद्घाटन गर्दै उहाँले बारम्बार सरकार परिवर्तन हुन थालेपछि त्यसप्रति जनतामा नैराश्यता बढेको बताउनुभयो । उहाँले देशमा व्यवस्था परिवर्तन भए पनि जनताका विकासका चाहना पूरा नभएकाले वर्तमान सरकार जनअपेक्षा पूरा गर्ने दृढताका साथ कार्यक्षेत्रमा क्रियाशील छ भन्नुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले विकास–निर्माणमा बाधक बनेका नीति, ऐन कानुन परिमार्जन गरेर सरकार अघि बढ्ने बताउनुभयो ।  सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न नसक्दा विद्यार्थी र अभिभावकको आकर्षण संस्थागत विद्यालयतर्पm बढेको बताउँदै मन्त्री गुरुङले भन्नुभयो, “सरकारले एउटा हातमा शैक्षिक प्रमाणपत्र र अर्को हातमा सीप प्रदान गरी व्यावसायिक बनाउने नयाँ शिक्षा नीति ल्याउने सोच बनाएको छ ।”

सरकारी खर्चअनुसार शैक्षिक गुणस्तर कायम नहुने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि शिक्षक, अभिभावक र विद्यार्थी लाग्नुपर्ने बताउनुभयो । मन्त्री गुरुङले विद्यालय परिसरमा निर्मित जग्गादाताको स्तम्भ र प्राविधिक (भेटेरिनरी) सञ्चालनको रजत वर्ष शिलालेखको अनावरण पनि गर्नुभएको थियो ।

साथै उहाँले विद्यालयका सहयोगदाता, पूर्वविद्यार्थी, उत्कृष्ट कर्मचारीलाई सम्मान गर्नुभयो । माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीनराज गुरुङले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन स्तरीय शिक्षामा जोड दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशमान रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षाप्रेमी टङ्कनाथ शर्मा, विद्यालयका प्रधानाध्यापक सुरेन्द्र गुरुङलगायत वक्ताले गण्डकी क्षेत्रको शैक्षिक उन्नयनमा बराह माविले निर्वाह गरेको योगदानको सराहना गर्नुभयो ।    त्यस अवसरमा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 

भारतीय दूतावासमा ध्यान कार्यक्रम

काठमाडौँ, ६ पुसः विश्व ध्यान दिवसको अवसरमा यहाँस्थित भारतीय दूतावासले ध्यान कार्यक्रम आयोजना गरेको छ । चिन्मय केन्द्रसँगको सहकार्यमा आज दूतावास परिसरमा ध्यान कार्यक्रम उद्घाटन समारोह आयोजना गरिएको हो ।

वैश्विक सद्भाव प्रवर्द्धन, मानसिक स्वास्थ्यलाई महत्व दिँदै ध्यान कार्यक्रम आयोजना गरिएको चिन्मय केन्द्रले जनाएको छ । ध्यान अभ्यास गर्न केन्द्रका सदस्य, दूतावासका अधिकारीलगायतको सहभागिता थियो ।

जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई

काठमाडौँ, ६ पुसः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता टिम जनकपुर बोल्ट्सलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत एनपिएलमा फाइनल खेलको उपाधि विजेता टिमलाई पार्टीको तर्फबाट बधाई दिनुभएको हो । उहाँले उपविजेता सुदूरपश्चिम् रोयल्स र लिगमा सहभागी अन्य सम्पूर्ण टिमलाई पनि बधाई ज्ञापन गर्नुभएको छ ।

अध्यक्ष यादवले आगामी दिनमा क्रिकेट लिगमार्फत् नेपालको पहिचान, सामाजिक सद्भाव र एकता, विविधतासँगै भाषा, भेष र संस्कृतिको सम्वर्द्धन एवं प्रवर्द्धन हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्पूर्ण देश र समुदायको खेल भावनालाई एकसुत्रमा बाँध्न एनपिएल लिग सफल भएको भन्दै सहभागी खेलाडी, समर्थक र शुभचिन्तकलाई पनि बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ ।

पार्टी सङ्गठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी

काठमाडौँ, ६ पुसः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी सङ्गठन र फाँटभित्रका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यलाई जिम्मेवारी दिइएको बताउनुभएको छ ।

अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै प्रदेशस्तरमा किसान, मजदुर, महिला, युवा, विद्यार्थी, पेसागत बुद्धिजीवी र उद्योगी, व्यवसायीलाई व्यवस्थित गर्न नेताहरूलाई पठाइएको कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्यूरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाइएको बताउनुभयो ।

प्रदेश इञ्चार्जको संयोजनमा प्रदेशअन्तर्गत जिम्मेवारीमा रहेका पोलिटब्यूरो सदस्यको परामर्शबाट केही फाँटको इञ्चार्जको जिम्मेवारी विभाजन गर्न जोड दिँदै उहाँले प्रदेशका कतिपय फाँटमा केन्द्रीय कमिटीका सदस्यलाई जिम्मेवारी तोकेकाले जनसङ्गठनका अध्यक्षलाई सम्बन्धित जनसङ्गठनको जिम्मेवारी यथाशीघ्र छोड्न निर्देशन दिनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले एउटा मात्र सङ्घीय निर्वाचन क्षेत्र भएको जिल्लामा एकभन्दा बढी सहइञ्चार्ज भएमा जिल्ला इञ्चार्जको संयोजनमा प्रदेश निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकेर काम गर्नसक्ने उल्लेख गर्नुभयो ।

केन्द्रीय कमिटी सदस्यलाई तोकिएको निर्वाचन क्षेत्रको जिम्मेवारी हेरफेर गर्नुपर्ने भएमा इञ्चार्जले सम्बन्धित नेतासँग छलफल गरी निर्णय गर्नसक्ने अधिकार दिइएको बताउँदै अध्यक्ष नेपाल सोको जानकारी तुरुन्तै केन्द्रीय कार्यालयमा गराउनुपर्ने उल्लेख गर्नुभयो ।

केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन गरेको पार्टीले कामको आवश्यकता हनुसार केही स्थानमा केन्द्रीय आयोगका सदस्यलाई पनि जिम्मेवारी दिएको पार्टी कार्यालयले जनाएको छ ।

दमास्कसस्थित कतारी दूतावासबाट सेवा पुनः शुरू गरियो

सिरियाको गृहयुद्धको सुरुमा बन्द भएको दमास्कसस्थित आफ्नो दूतावासबाट कतारले शनिबारदेखि पुनः सेवा शुरू गरेको छ ।

कतारले आफ्नो दताबासको कार्यालयमा झण्डोत्तलन गर्दै सेवालाई पुनः शुरू गरेको हो । इस्लामिक नेतृत्वको विद्रोहीहरूले राष्ट्रपति बशर अल असदलाई यसै महिनाको सुरुमा सत्ताबाट हटाएपछि औपचारिक रूपमा आफ्नो दूतावास खोल्ने कतार दोस्रो राष्ट्र बनेको छ । टर्कीएले आफ्नो दूताबासलाई यसअघि नै पुनः सञ्चालनमा ल्याएको थियो ।

सिरियाको गृहयुद्धका बेला विपक्षी समूहलाई समर्थन गरेको कतारले अन्य अरब सरकारहरू जस्तै असदलाई सत्ताच्युत गर्नुअघि दूताबास पुनः स्थापना गर्ने प्रयास गरेको थिएन ।

दोहाले सङ्क्रमणकालीन सरकारसँग भेट गर्न केही दिनअघि कूटनीतिक प्रतिनिधिमण्डल दमास्कस पठाएको थियो । उक्त अभियानले सिरियाली जनतालाई सहयोग गर्न दोहाको पूर्ण प्रतिबद्धता व्यक्त गरेको कतारका एक कूटनीतिज्ञले एएफपीलाई बताउनुभयो ।

गत मङ्गलबार युरोपेली सङ्घले दमास्कसमा रहेको आफ्नो कुटनीतिक नियोग पुनः खोल्न तयार रहेको बताएको थियो भने बेलायत, फ्रान्स र संयुक्त राज्य अमेरिकाले असदलाई सत्ताच्युत गरेपछि सिरियाली राजधानीमा प्रतिनिधिमण्डल पठाएका छन्।

सिरियाका लागि फ्रान्सका विशेष दूतले ‘सुरक्षा मापदण्ड पूरा नगरेसम्म’ मिसन बन्द रहने बताउनुभए पनि मङ्गलबार दमास्कसस्थित पेरिसको दूतावासमा फ्रान्सको झण्डा फहराइएको थियो ।

यसैबीच, संयुक्त राज्य अमेरिकाले लामो समयदेखि सिरियामा शासन गर्दै आएका असदलाई सत्ताच्युत गर्ने नेतृत्व गर्ने हयात तहरीर अल–शाम इस्लामिक विद्रोही समूहका प्रमुख अहमद अल–शरालाई जीवित वा मृत् अवस्थामा ल्याउने जोकोहीलाई दिने वर्षौंअघि जारी गरेको एक करोड अमेरिकी डलरको इनाम शुक्रबार फिर्ता लिएको छ ।

एचटीएसको उत्पत्ति अल–कायदाबाट भएको भएपनि हालैका वर्षहरूमा यसले आफ्नो छविलाई नरम बनाउने प्रयास गरेको छ ।

हामी उन्नत लोकतान्त्रिक अभ्यासमा छौँ: मुख्यमन्त्री कार्की

धरान (सुनसरी), ६ पुसः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा उन्नत लोकतन्त्रको अभ्यास भइरहेको बताउनुभएको छ । आजदेखि इटहरीमा सुरु भएको नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनमा उहाँले सो कुरा बताउनुभएको हो ।

लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउन समाजका हरेक वर्गले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल जेसिजले देशभर विधिको शासनका पक्षमा अभियान चलाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“जेसिजले प्रदेश सरकारसँग सहकार्य गर्ने क्षेत्र धेरै छन् त्यसनिम्ति प्रदेश सरकार तत्पर छ ।”

एनपिएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?

काठमाडौँ, ६ पुसः पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आर्कषक पुरस्कारको रूपमा रहेकोे कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् ।नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन् ।

एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्नुभएका ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब रु ६२ लाख मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका हुन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्त रूपमा एपिएलमा उत्कृष्ट प्रदर्शन खेलाडीलाई कार प्रदान गर्ने निर्णय गरेका थिए । ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स एनपिएलकोे पहिलो संस्करणमा उपविजेता बनेको छ । कप्तान ऐरीले एनपिएलका नौ खेलबाट दुई सय २७ रन जोड्दै नौ विकेट बनाएका छन् ।

एनपिएलको विजेता टोली जनकपुर बोेल्ट्सका खेलाडी ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन् । उनले एनपिएलमा सानदार प्रदर्शन गर्दै मोटरसाइकल जितेका हुन् । ललितले एनपिएलमा १७ विकेट आफ्नो नाममा दर्ता गर्दै चार रन समेत जोड्न सफल भए ।

‘सिद्धार्थ बैंक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड सुदूरपश्चिम रोयल्सका खेलाडी सैफ जैबले पाएका छन् । उनले रु पाँच लाखको चेक प्राप्त गरे । जैबले एनपिएलमा सुदूरपश्चिमको लागि दुई सय ७५ रन जोड्दै १२ विकेट लिएका थिए ।

जनकपुरबाट एनपिएल खेलेका अमेरिकाका क्रिकेटर लाहिरु मिलान्थाले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरेका छन् । एनपिएलमा ३५ चौका प्रहार गरेका उनले दुई लाखको चेकसहित ‘म्याक्सिमम फोर अफ टुर्नामेन्ट’ अवार्ड पाएका हुन्् । मिलान्थाले एनपिएलमा कूल दुई सय ९३ रन बनाएका छन् ।

यस्तै, जनकपुर बोल्ट्सका खेलाडी जिम्मी निशमले ‘इन्र्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरेका छन् । उनले रु दुई लाखकोे चेक समेत प्राप्त गरेका छन् । निशमले जनकपुरको लागि दुई ४७ रन जोड्दै ७ विकेट आफ्नोे नाममा दर्ता गरेका छन् ।

कर्णाली याक्सका आइकोनिक खेलाडी विपीन शर्माले ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्डसहित रु ५० हजारको चेक प्राप्त गरेका छन् । साथै, उनले प्रेसिडेन्टल ग्राजुऐट स्कुलबाट रु दश लाख बराबरकोे छात्रवृृत्तिसमेत प्राप्त गरेका छन् । विपीनल एनपिएलमा १३ विकेट आफ्नो नाममा दर्ता गरेका छन् । एनपिएलमा लुम्बिनी लायन्सले ‘फेयर प्ले’ को अवार्ड जितेको छ ।

फ्रान्सको सबैभन्दा शक्तिशाली आणविक उर्जा भट्टी सञ्चालनमा

फ्रान्सले शनिबार आफ्नो सबैभन्दा शक्तिशाली आणविक ऊर्जा भट्टीलाई राष्ट्रिय विद्युत् ग्रिडमा जोडेको छ । वर्षौंको ढिलाइ र प्राविधिक असफलताका बावजुद सञ्चालनमा आएको यो विद्युत उत्पादन गृहलाई ऐतिहासिक क्षणको रूपमा प्रशंसा गरिएको छ ।

नोर्मान्डीस्थित ‘फ्लाम्यानभिल थ्री युरोपियन प्रेसराइज्ड रिएक्टर’ले स्थानीय समय अनुसार शनिबार बिहान ११ः४८ बजे फ्रान्सेली घरहरूमा बिजुली उपलब्ध गराउन सुरु गरेको इडिएफ पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत लुक रेमोन्टले बताउनुभएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोँले एक्समा जारी गरेको वक्तव्यमा भन्नुभएको छ, “यो परियोजनाको सञ्चालन देशका लागि ऐतिहासिक क्षण’ हो । यो विश्वको सबैभन्दा शक्तिशाली आणविक रिएक्टरमध्ये एक हो ।”

“कम कार्बन ऊर्जा उत्पादन गर्न पुनः औद्योगीकरण वातावरणका लागि फ्रान्सेली शैली हो,” उहाँले थप्नुभयो । नयाँ पुस्ताको प्रेसराइज्ड वाटर रिएक्टर (ईपीआर) विश्वको कुनै पनि स्थानमा सम्पन्न भई सञ्चालनमा आएको चौथो परियोजना हो ।

ईडीएफका प्रमुख रेमोन्टले यसलाई ‘ऐतिहासिक’ बताउनुभएको छ । “फ्रान्सले २५ वर्षअघि सिभाक्स २ मा रिएक्टर निर्माण सुरु गरेको थियो,” दक्षिणपश्चिमी फ्रान्सको सिभाक्स पावर प्लान्टलाई सङ्केत गर्दै उहाँले भन्नुभयो । यो एक हजार ६०० मेगावाटको देशकै सबैभन्दा शक्तिशाली रिएक्टर हो र यसले २० लाखभन्दा बढी घरहरूमा बिजुली आपूर्ति गर्नेछ ।

यो परियोजना सञ्चालन प्राविधिक असफलताहरूको अधिकता पछि निर्धारित समय भन्दा १२ वर्ष पछि आएको छ र यसले परियोजनाको लागत प्रारम्भिक ३.३ अर्ब यूरोकोे अनुमानभन्दा चार गुणा बढी अर्थात् १३.२ अर्ब यूरोमा पुगेको छ ।

सेप्टेम्बर ३ मा सञ्चालन गरिएपनि एक दिनपछि ‘स्वतः आफै बन्द’ भएका कारण परियोजना थप समय अवरुद्ध हुनपुगेको थियो तर थप केही हप्ताको प्रविधिक कामपछि यसलाई शनिबारदेखि सञ्चालनमा ल्याइएको हो ।

रिएक्टरलाई विद्युत् सञ्जालमा जोड्नका लागि क्रमशः उत्पादन वृद्धि गरिएको छ ।आणविक ऊर्जाले फ्रान्सको ऊर्जा उत्पादनको पाँचभागको करिब तीन भाग ओगटेको छ र यो फ्रान्समा निर्मित विश्वको सबैभन्दा ठूलो आणविक ऊर्जा कार्यक्रमहरू मध्ये एक हो ।

म्याक्रोँले फ्रान्सको ऊर्जा स्थायित्व बढाउन छ वटा इपिआर र दुई रिएक्टरको माग गरेर आणविक शक्ति बढाउने र थप आठ वटा विकल्पहरू बिछ्याउने निर्णय गर्नुभएको छ । यसको लागि अर्बौं यूरो लागत लाग्न सक्छ ।

प्रधानमन्त्री ओलीद्वारा क्रिकेट विजेतालाई बधाई

काठमाडौँ, ६ पुस: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ । “आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो । यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ । एनपिएलमा सहभागी सबै टिम र आयोजक तथा व्यवस्थापक सबैलाई धन्यवाद !!” प्रधानमन्त्रीले सामाजिक सञ्जालमा भन्नुभएको छ ।

आज यहाँ भएकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणकोे एनपिएलको उपाधि जितेको हो ।

पार्टीमा सबैलाई समान व्यवहार हुनुपर्नेमा शेखर कोइरालाको जोड

धनगढी, ६ पुसः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई समान व्यवहार हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको आज यहाँ आयोजित प्रथम अधिवेशनमा उहाँले पार्टीमा कसैलाई काखा र कसैलाई पाखा नगरी सबैलाई न्यायपूर्ण व्यवहार गर्नुपर्छ भन्नुभयो । पार्टीका धेरै नेता कार्यकर्ताले आफूहरुले न्याय नपाएको गुनासो गरेका बताउनुभयो । नेता कोइरालाले भन्नुभयो,“पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्छ ।”

त्यस अवसरमा कांग्रेसका नेता डा सुनिल शर्मा, सञ्जयकुमार गौतम, हृदयराम थानी, डा गोविन्द पोखरेल, नेपाल प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहाललगायत वक्ताले पार्टी सङ्गठन विस्तार एवं एकतामा जोड दिनुभएको थियो ।

आँधीका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु

फ्रान्सेली द्वीपसमूह मायोटेमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु भएको फ्रान्सको ‘नेशनल इन्स्टिच्युट अफ रिस्क एण्ड डिजास्टर म्यानेजमेन्ट’ले शनिबार जनाएको छ ।

हिन्द महासागरको मायोटे टापुलाई चिरेर आइतबार मोजाम्बिकमा आएको चिडो आँधीका कारण सयौँको मृत्यु भएको आशङ्का गरिएको छ ।मोजाम्बिकको उत्तरी काबो डेलगाडो प्रान्तमा आएको आँधीका कारण करिब ६२ हजार घरमा क्षति भएको अधिकारीहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आश्रय, खाद्य र हाइजिन किट, डिग्निटी किट, साबुन र लामखुट्टेको जालीजस्ता गैरखाद्य वस्तु प्रभावित जनसङ्ख्याका लागि अति आवश्यक वस्तुका रूपमा पहिचान गरिएको छ ।

एनपिएल विजेतालाई अध्यक्ष दाहालको बधाई

काठमाडौँ, ६ पुसः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ ।

अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत विजेता जनकपुर बोल्ट्सका साथै उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गर्नुभएको हो । उहँँले उक्त खेलले नेपाली खेलाडीको क्षमता विकासमा सहयोग पुगेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभएको छ, “एनपिएल पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई हार्दिक बधाई । प्रतियोगिताको उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गर्दछु । नेपाली क्रिकेटको महापर्व एनपिएल भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । यसले नेपाली खेलाडीको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गरेको छ । प्रतियोगितामा सहभागी सबै समूह, आयोजक, व्यवस्थापक, खेलप्रेमी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”

कांग्रेस नेतृत्वको एकल सरकारले सङ्घीयतालाई अझ सुदृढ बनाउनसक्छ – प्रकाशमान सिंह

मकवानपुर, ६ पुसः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस नेतृत्वको एकल सरकारले सङ्घीयतालाई अझ सुदृढ बनाउनसक्ने बताउनुभएको छ ।

निर्माणाधीन गणेशमान सिंह राजमार्गको आज निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहले वर्तमान सरकार सङ्घीयतालाई सबल बनाउन क्रियाशील रहेको बताउनुभयो । उहाँले गुणस्तरीय निर्माण विशेष ध्यान दिन सम्बन्धित निकायका अधिकारीहरुलाई निर्देशन पनि दिनुभयो । काठमाडौँको थानकोटदेखि मकवानपुरको थाहा नगरपालिका–९ सम्म उक्त मार्ग निर्माणाधीन छ ।

यसैबीच, थाहा नगरपालिका–९ का नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई भेटेर नेता सिंहले नेपाली कांग्रेसको नेतृत्वमा संसदीय प्रजातान्त्रिक व्यवस्था संस्थागत भएको बताउँदै पार्टी कार्यकर्ताहरुले जनताका घरदैलोमा पुगेर सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसको नेतृत्वमा मुलुकमा राजनीतिक परिवर्तन भएको भए पनि जनताको आर्थिक स्थिति उकास्न कांग्रेसले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्न आवश्यक छ भन्नुभयो । उहाँले जनताका विकासका चाहना पूरा गर्न पार्टी नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गुट उपगुटमा पार्टी कार्यकर्ता विभक्त हुनुहुँदैन भन्नुभयो ।

जर्मनीमा क्रिसमसमा भएको आक्रमणमा परी पाँच जनाको मृत्यु, २०० भन्दा बढी घाइते

जर्मनीको एक क्रिसमस बजारमा भएको कार दुर्घटनामा परी पाँच जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको स्याक्सोनी–अनहाल्ट राज्यका प्रमुख रेनर हसेलोफले शनिबार जानकारी दिनुभएको छ ।

पूर्वी सहर म्याग्डेबर्गमा आएका जर्मन चान्सलर ओलाफ स्कोल्जले मृतकका आफन्तजनप्रति समवेदना प्रकट गर्नुभएको छ । घटनामा करिब ४० जना गम्भीर घाइते भएका र सरकारले उनीहरूको उपचारको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । साथै, उहाँले ‘भयानक आक्रमण’को निन्दा गर्नुभएको छ ।

सन् २०१६ मा पनि बर्लिनको क्रिसमस बजारमा जिहादी समूहले आक्रमण गरेको थियो ।

चान्सलर स्कोल्जले ‘यति धेरै मानिस हताहत भएको ‘भयानक आक्रमण’बारे जर्मनीले ‘उचित कानुनी दण्डद्वारा’ जवाफ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जर्मनीमा आप्रवासन र सुरक्षाको विषयमा चर्को बहस भइरहेका बेला स्कोल्जले राष्ट्रिय एकताका लागि आह्वान गर्नुभएको छ ।

चान्सलरले भन्नुभयो, “हामी एक देशका नागरिकका रूपमा सँगै बस्छौँ, एकसाथ रहन्छौँ तर आफ्नै समुदायविरूद्ध हतियारहरूको पयोग गर्छौँं, के यो घृणा होइन ?

उहाँले भन्नुभयो, “विश्वका धेरै मुलुकबाट ऐक्यबद्धता आएको छ । हामी जर्मनहरू यस भयानक विपत्तिको सामना गर्न एक्लो छैनौँ ।”

एनपिएलः विजेतालाई एक करोड दश लाख, उपविजेतालाई ५१ लाख प्रदान

काठमाडौँ, ६ पुसः पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जित्ने जनकपुर बोल्ट्सले ट्रफिसहित रु एक करोड दश लाख प्राप्त गरेको छ ।

आज यहाँ भएकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणकोे एनपिएलको उपाधि जितेको हो । फाइनल खेलपछि आयोेजित पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रुपमा रु एक करोड दश लाखको चेक जनकपुरका कप्तान तथा खेलाडी आशिफ शेख र अनिल शाहलाई प्रदान गर्नुभएको हो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई रु ५१ लाख प्रदान गर्नुभयो । तेस्रो हुने कर्णाली याक्स र चौथो हुने टोली चितवन राइनोजले क्रमशः रु २५ लाख र १५ लाख प्राप्त गरेका छन् । तेस्रो र चौथो हुने टोलीलाई गृहमन्त्री रमेश लेखक र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चेक हस्तारण गर्नुुभएको हो ।

एनपिएल विजेतालाई राष्ट्रपतिको बधाई

काठमाडौँ, ६ पुसः राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ ।

साथै उहाँले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आगामी संस्करणहरूमा अझ राम्रो गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

झापा कप: राष्ट्रिय जागृति क्लव फाइनलमा

झापा, ६ पुसः विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी झापा कपको आजको खेलमा न्युरोड टिम (एनआरटी) क्लबले इटहरीको राष्ट्रिय जागृति क्लबलाई ‘टाइब्रेकर’मा ३–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको छ ।

आजको यो जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ । खेलको निर्धारित समयसम्म कुनै पक्षले गोल नगरेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।

टाइब्रेकरमा एनआरटीका एञ्जल महर्जन, कृतिश छुञ्जु र अभिषेक लिम्बूले गोल गरेका हुन् । जागृतिका कप्तान प्रवेश दनुवार र सविन घिमिरेको प्रहार गोलरक्षक विशाल सुनारले विफल बनाएका थिए । 

खेलको ‘प्लेयर अफ दी म्याच’ विजेता टिम एनआरटीका गोलरक्षक सुनार भएका थिए । उनले नगद रु १० हजार पुरस्कार प्राप्त गरेका छन् ।  प्रतियोगितामा नेपाल र भारतका १० टोलीको सहभागिता रहेको थियो । आयोजक झापा–११ सहित भारतको जिटिए दार्जिलिङ, गोर्खा ब्वाइज रुपन्देही, एलएक्स सिटी मोरङ, राष्ट्रिय जागृति क्लब इटहरी, सलहेश युथ क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब काठमाडौँ र चित्लाङ एफसी काठमाडौँ सहभागी भएका थिए ।

भूकम्पबाट क्षतिको विवरण सङ्कलन सुरु, भत्किएको घरबाट तीन बालबालिकाको सकुशल उद्धार

बाजुरा, ६ पुसः बिहान गएको भूकम्पबाट भएको क्षतिको विरण सङ्कलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान आएको ५ दशमलव २ रेक्टरको भूकम्पका कारण मानवीय क्षति नभए पनि सामान्यरूपमा स्थानीयहरूको घर चर्किएको निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले जानकारी दिनुभयो ।

विकट हिमाली जिल्लामा रूपमा रहेको यहाँका स्थानीय पालिकामा आवतजावतमा समय लाग्ने भएकाले प्रहरीको प्रारम्भिक विवरणअनुसार मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण सङ्कलन जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी मण्डलले बताउनुभयो ।

भूकम्पका कारण बूढीनन्दा नगरपालिका–४ मा एक घर भत्किएको मण्डलले बताउनुभयो । घरभित्र तीन बालबालिका बसेको अवस्थामा घर भत्किएको र बालबालिकालाई सकुशल उद्धार गरिएको उहाँको भनाइ छ ।

जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र प्रहरीसँग समन्वय गरी क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केर होहल्ला मच्चिएको थियो ।

जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ, ६ पुुस : सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत डा शैल रूपाखेतीले जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टेनमायरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

राष्ट्रपति भवनमा गत बुधबार आयोजित समारोहमा उहाँले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रमाणपत्र पेस गरेपश्चात राष्ट्रपतिसँग भएको छोटो भेटघाट र कुराकानीकाक्रममा राजदूत डा रूपाखेतीले नेपालको वर्तमान राजनीतिक घटनाक्रम, भूराजनीति र नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउनुभएको थियो ।

त्यस अवसरमा जर्मनीका राष्ट्रपति स्टेनमायरले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको जर्मनीमा यसैवर्ष भएको भेटको सन्दर्भ र दुई देशबीचको वर्तमान सम्बन्धबारे चर्चा गर्नुभएको थियो ।

सो समारोहमा जर्मनीका उच्च पदस्थ अधिकारीहरू र नेपाली राजदूतावास बर्लिनका अधिकारीको पनि उपस्थिति रहेको थियो ।