`

‘हिमाल मानव अस्तित्वसँग जोडिएकाले सबै एकजुट भएर संरक्षण गर्नुपर्छ’ :मन्त्री पाण्डे

Nepal One HD २१ असार २०८२ २१:३५
राजनीति

काठमाडौँ, असार २१ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हिमाल पृथ्वीको हृदयका साथै मानव अस्तित्वसँग जोडिएकाले सबै एकजुट भएर यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज यहाँ आयोजित ‘हिमालयन क्लाइमेट चार्टर’ सम्मेलनमा उहाँले हिमालको संरक्षण गर्नु भनेको मानव अस्तित्वको रक्षा गर्नु भएकाले यसको राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा सबै एकजुट भएर हिमालय संरक्षण अभियानमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

हिमालय क्षेत्रलाई नेपालको मात्र नभई सम्पूर्ण पृथ्वीको साझा धरोहर र जलवायु सन्तुलन कायम गर्ने प्रणालीका रूपमा वर्णन गर्नुपर्ने मन्त्री पाण्डेले बताउनुभयो । “हिमाल पृथ्वीको हृदय हो । यसको रक्षा गर्नु केवल कर्तव्य होइन, मानव अस्तित्वको संरक्षण पनि हो”, उहाँले भन्नुभयो ।

उहाँले हिमालय क्षेत्रमा बढ्दै गएको जलवायु सङ्कटप्रति गहिरो चिन्ता व्यक्त गर्दै हिमनदी तीव्र गतिमा पग्लिनु, हिमताल फुट्नु, बाढी र पहिरोको जोखिम बढ्दै जानुलगायत घटनाले नेपालको जलस्रोत, जैविक विविधता, पर्यटन उद्योग र स्थानीय जनजीवनमा गम्भीर असर पारिरहेको बताउनुभयो ।

मन्त्री पाण्डेले हिमाल जोगाउनु कुनै क्षेत्रीय एजेण्डा नभई हाम्रो पृथ्वी र भावी सन्ततिको अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय रहेको बताउँदै सरकारले तयार पारेको ‘सफा हिमाल रणनीति–२०८२’को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले यो पाँच वर्षे कार्ययोजनाले फोहर व्यवस्थापन, वातावरण संरक्षण, पुनःस्थापना, उत्तरदायी पर्यटन र युवामार्फत नेतृत्व हस्तान्तरणलाई लक्षित गरेको बताउनुभयो ।

मन्त्री पाण्डेले अन्तरराष्ट्रिय वित्तीय संस्थालाई पर्वतीय राष्ट्रमा जलवायु सङ्कटको समाधानमा लगानी गर्न आह्वान गर्नुभयो । साथै, पर्यटन क्षेत्रका साझेदारलाई उत्तरदायी पर्यटन प्रवर्द्धनतर्फ उन्मुख हुन उहाँले प्रेरित गर्नुभयो ।

‘बिवाइएन ब्ल्याक्याक’गु्रपले नेपाल पर्वतारोहण सङ्घ, खुम्बु पासाङ ल्हामु गाउँपालिका र सगरमाथा प्रदूषण नियन्त्रण समितिसँगको सहकार्यमा गरेको सम्मेलनले हिमालय क्षेत्रको वातावरणीय भविष्यप्रति विश्वव्यापी ध्यानाकर्षणसहित ऐक्यबद्धताको आह्वान गरेको छ ।

यी संस्थाले हिमालय क्षेत्रमा बढ्दो जलवायु सङ्कटप्रति चिन्ता सार्वजनिक गर्दै संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । घोषणापत्रले कार्बन उत्सर्जन घटाउनेजस्ता विश्वव्यापी प्रयास मात्र होइन, हिमालयसँग पुस्तौँदेखि सहअस्तित्वमा रहेका समुदायको स्थानीय ज्ञानलाई महत्त्व दिएको छ ।

ब्ल्याक्याक ग्रुपका सिइओ काङ ते सूनले भन्नुभयो, “हिमालयबाट आएको यो मौन चेतावनीले देखाउँछ कि उच्चतम स्थानमा सुरु भएको परिवर्तन शीघ्र सबैभन्दा तल पुग्नेछ । जलवायु सङ्कट अब सम्पूर्ण मानव जातिको साझा मुद्दा हो । यो घोषणापत्र केवल वाचा होइन, जलवायु न्यायका लागि एकजुट आह्वान हो ।” उहाँले यो सन्देश विश्वभर फैलिने र सार्थक परिवर्तन ल्याउने विश्वास व्यत्तल गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *