मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित


सिरहा, २१ असार : असार २० सकिँदासम्म पनि सिरहाका अधिकांश खेतहरू अझै सुक्खै छन् । समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ ।
खेत जोतिए पनि पानीको अभावले रोपाइँ थाल्न नसकेका किसानहरू आकाशतिर हेर्दै पानीको प्रतीक्षामा छन् । देशका अधिकांश स्थानमा असार लागेसँगै मनसुन सक्रिय भए पनि मधेसमा भने अझै पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ ।
सिरहाका लहान नगरपालिका–२३ का किसान रामकुमार यादव भन्नुहुन्छ, “समयमै बर्खा नहुँदा रोपाइँ नै गर्न पाइएन । खेत जोतेर बीउ तयार पारेको धेरै भइसक्यो, तर न पानी प¥यो, न मल पाइयो । अब पानी परेपछि मात्रै खेतमा काम अघि बढ्छ ।”
उहाँका अनुसार, यसपटक असार सुरू भएदेखि नै वर्षा कमजोर रहेकाले खेत सुकेका छन् । बोरिङ गर्ने सुविधा नभएकाले आकाशेपानीकै भर पर्नुपरेको छ । “अहिले रोपाइँको सबैभन्दा संवेदनशील समय हो, तर बजारमा डिएपी मल पाइँदैन । मल नहुँदा बीउ छर्ने समयमा धानलाई बढ्न आवश्यक पोषण दिन सकिन्न । यसले उत्पादनमा ठूलो असर गर्छ ,” उहाँले दुःखेसो गर्नुभयो ।
आकाशेपानीकै भरमा किसान
तराईका धेरैजसो जिल्लाजस्तै सिरहाका किसान पनि आजसम्म सिँचाइको भरपर्दो व्यवस्था नहुँदा आकाशेपानीमा भर पर्न विवश छन् । “पहिला–पहिला असारको सुरूमा नै पानी पथ्र्यो, तर अब त कहिले पानी पर्छ, कुनै ठेगान छैन,” लहान–१९ का किसान प्रदीप यादवले गुनासो गर्नुभयो ।
कृषि ज्ञान केन्द्र, सिरहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार, जिल्लामा कूल ५४ हजार हेक्टर धान खेतीयोग्य जमिन रहेकामा हालसम्म मात्र १८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । उहाँले भन्नुभया, “अहिलेसम्म भएको रोपाइँ पनि अधिकांश किसानले बोरिङमार्फत गरेका हुन् ।”
यदि चाँडै पर्याप्त पानी नपरे बाँकी रोपाइँ ढिलो हुने र यसको प्रत्यक्ष असर उत्पादनमा पर्ने कृषि विज्ञहरूको भनाइ छ । तर, मौसमविद्हरूका अनुसार मधेसका सबै स्थानमा मनसुन पूर्ण रूपमा सक्रिय हुन अझै केही दिन लाग्नेछ ।
डिएपी मलको अभाव
पानी मात्र होइन, रोपाइँको अर्को बाधक बनेको छ, रासायनिक मल अभाव । कृषि सामग्री कम्पनी लिमिटेड, लहानका प्रबन्धक दीपक पौडेलका अनुसार, रोपाइँका लागि आवश्यक पर्ने पाँच हजार मेट्रिक टन डिएपी मलमध्ये हालसम्म मात्र आठ सय २५ मेट्रिक टन मात्र आपूर्ति भएको छ ।
“दक्षिणी भेगका किसानहरू सिँचाइका लागि मोटरको भरमा छन्, तर मल छैन”, प्रबन्धक पौडेलले भन्नुभयो, “गत वर्ष तीनपटक मल वितरण गरिएको थियो, तर यस वर्ष अहिलेसम्म एकपटक मात्र गरिएको छ । साउनको पहिलो हप्तामा मल आएन भने कार्यालयमै किसानको चाप बढ्ने देखिन्छ ।”
डिएपी मलको अन्तरराष्ट्रिय मूल्य वृद्धि र टेन्डर घाटाको डरका कारण मल आपूर्तिमा ढिलाइ भएको प्रबन्धक पौडेलको भनाइ छ । “अब कृषि मन्त्रालयले वैकल्पिक उपायबाट मल ल्याउने पहल गर्न आवश्यक छ”, उहाँले सुझाव दिनुभयो । युरिया र पोटास भने कार्यालयमा पर्याप्त रहेको उहाँले जानकारी दिनुभयो ।
समयमै रोपाइँ सम्पन्न भए आगामी बाली गहुँ, तोरी, सागसब्जीलगायतमा पनि राम्रो प्रभाव पर्ने नेपाल राष्ट्रिय कृषक समूह सिरहाका अध्यक्ष प्रदीप सिंह दनुवारको भनाइ छ । सरकारले समयमै मल आपूर्ति र दीर्घकालीन सिँचाइ समाधानमा ध्यान नदिए किसानको वर्षभरको मेहनत खेर जाने खतरा बढ्दै गएको उहाँले बताउनुभयो ।