`

थाइल्याण्ड र म्यानमार यात्रासम्बन्धी सूचना जारी

काठमाडौँ, ८ पुस : नेपाल सरकारले म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायतका मुलुकमा जान चाहने वा जाने तयारीमा रहनुभएका नेपाली नागरिकलाई उचित ध्यान दिन र सावधानी अपनाउन अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज सूचना जारी गरी ती देशमा वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न अनुरोध गर्नाका साथै रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म/कम्पनी/रोजगारदाताको बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्म/कम्पनी/रोजगारदाताको वेबसाइट चेकजाँच गर्न आग्रह गरिएको छ ।

हालका दिनमा मानव बेचविखन एवं अन्य आपराधिक गतिविधिमा सङ्लग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यानमारमा लगेर जबरजस्ती अवैध कार्यमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२–१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायत समस्या बढेका छन् । यस विषयमा जानकारी गराउँदै नेपाली दूतावास याङ्गुन र बैंककमा उद्धारका लागि आवेदन गर्ने नेपालीको सङ्ख्या उल्लेखनीय रूपमा बढोत्तरी भइरहेको घटनाप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पु¥याई अलपत्र पार्ने एवं निषेध गरिएका कार्यमा सङ्लग्न नहुन वा त्यस्ता गैरकानुनी कार्य नगर्न÷नगराउन र यसतर्फ सचेत रहन सबैमा अनुरोध गरेको छ ।

साथै मन्त्रालयले अनलाइन जुवा, कल सेन्टर–फ्रड, क्रिप्टो–करेन्सी ठगी आदिमा सङ्लग्न शंकास्पद आइटी फर्मले बैंककमा रोजगारीका अवसरको प्रलोभन देखाई युवालाई ठगी गरिरहेको र पीडितलाई गैरकानुनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यानमार लगी बन्दी बनाएर काम गर्न लगाइएको पाइएकाले त्यस्ता प्रलोभनमा नपर्न आग्रह गरेको छ ।

उल्लिखित विषयलगायत सम्बन्धमा कुनै जानकारी लिनुपरेमा नेपाली दूतावास, याहुनका द्वितीय सचिव गंगा सुन्दासको टेलिफोन नम्बर +९५–०१–९५४५८८०/०१– ९५५७१६८ र हटलाइन/भाइबर/वाट्सएप नं +९५ ९२५१२४२०५१ तथा नेपाली दूतावास, बैंककका प्रथम सचिव खगराज पाण्डेको टेलिफोन नम्बर +६६८६९९१५५५४ (वाट्सएप)लाई सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।

यसअघि थाइल्याण्ड र म्यानमारमा प्रलोभन देखाई नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएईलगायतका मुलुकमा रहेका नेपालीलाई थाइल्याण्डको बैंकक र याङ्गुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्मारको कायिन प्रान्तको म्यावडीमा लगी जबरजस्ती अवैध कार्यमा लगाइएको घट्ना सार्वजनिक भएको थियो ।

उक्त विषयका सन्दर्भमा मन्त्रालयबाट विसं २०७९ पुसमा यात्रासम्बन्धी सूचना जारी गरेपछि प्रलोभनमा परी उक्त क्षेत्रमा जाने नेपाली नागरिकको सङ्ख्यामा कमी आएको थियो ।

महाकुम्भमा दक्ष कामदारहरूको लागि रोजगारीका अवसर

प्रयागराजमा उत्तर प्रदेश सरकारद्वारा आयोजित महा कुम्भ मेलाले विशेष गरी कारीगरहरू र दक्ष कामदारहरूको लागि धेरै रोजगारीका अवसरहरू ल्याएको छ ।कुम्भको समयमा ‘त्रिवेणी सङ्गम’ को किनाराहरू केही समयको लागि अस्थायी सहरमा परिणत हुन्छन् । यसले स्थानीय मानिसहरूलाई रोजगारीका अवसरहरू खोल्छ । यस वर्ष सन् २०२५ महाकुम्भ १३ जनवरीदेखि २६ फेब्रुअरी सन् २०२५ सम्म आयोजना हुँदैछ ।

महाकुम्भ क्षेत्रमा ठूलो सङ्ख्यामा दक्ष कारीगर विभिन्न प्रकारका काममा सहभागी हुन आएका छन् ।

“हामीले यो काम (परालको झुपडी बनाउने) गर्दै आएका छौं । सबै कलाकार र कामदारहरू स्थानीय र केवट समुदायका हुन् । हाम्रो काम पुरातन जीवन शैलीबाट प्रेरित छ, जहाँ ऋषिहरू त्यस्ता झुपडीहरूमा बस्ने गर्थे । यसका लागि हामीसँग १५० जना कामदार भर्ना भएका छन् । हामीले दुईदेखि तीन महिनाको लागि रोजगारी पाउँछौं,”गीता प्रेसका उमाशंकर पाण्डेले एएनआईलाई बताउनुभयो ।

“हामी पूरै परालको झुपडीबाट बनेको बङ्गला बनाउँदैछौं । हामी प्रत्येक वर्ष माघ र कुम्भ मेलामा यो काम गर्छौं । यो हाम्रो लागि रोजगारीको अवसर हो । यसपछि कुनै रोजगारी छैन,” एक मजदुरले बताउनुभयो ।

“यी झुपडीहरू मेलाको समयमा मात्र बनाइन्छ । अहिले हामीसँग यो मात्र रोजगारी छ,” मोहनलाल निषादले भन्नुभएको छ ।

गङ्गा र यमुनाको ‘त्रिवेणी सङ्गम’ को किनारबाट ड्रोन दृश्यहरूले सन् २०२५ महाकुम्भ मेलाको लागि राज्य सरकारले गरेको व्यवस्था, भक्तहरूलाई स्वागत गर्न तयार पालहरू र पवित्र स्थलमा अस्थायी पुलहरू बनाएको देखाउँदछ ।

यसका साथै आगामी ‘महा कुम्भ मेला’ अगाडि अवधको पेशवाई जुलुस प्रयागराज पुगेको छ । पेशवाई एक औपचारिक जुलूस हो, जुन कुम्भ मेलामा साधुहरू र आखाडा वा सम्प्रदायका अन्य सदस्यहरूको आगमनलाई चिन्ह लगाउँछ । यो एक भव्य परम्परा हो ।

यसैबीच, अयोध्या नगर निगमले कुम्भ भक्तजनका लागि बासस्थानको व्यवस्था र खानेपानीको व्यवस्था गरेका छन् ।

अयोध्या नगर निगमद्वारा स्थापित आश्रय स्थानहरूले भक्तहरूलाई चिसो मौसमबाट बच्न मद्दत गर्नेछ । स्थानीय प्रशासनले गरिरहेको प्रयासले भक्तजनहरूलाई विशेष गरी कुम्भ पछि अयोध्या भ्रमण गर्नेहरूलाई कुनै समस्या नहोस् भनेर सुनिश्चित गर्नेछ ।

अयोध्याका मेयर गिरीशपति त्रिपाठीले कुम्भको रमाइलोपछि सरयू नदी र रामलालाको दर्शन गर्न भक्तजनले अयोध्या आउने अपेक्षा गरिएको बताउनुभयो ।

महाकुम्भको बारेमा पौराणिक मान्यता अनुसार प्रयागमा नुहाउनेहरू प्रायः सरयूमा स्नान गरी रामलल्लाको दर्शन गर्न जाने प्रयास गर्छन् ।

“यहाँ (अयोध्यामा) ठूलो सङ्ख्यामा भक्तजन आउने अपेक्षा गरिएको छ । हामीले दिनहुँ करिब एक लाख भक्तजनको सेवा गरिरहेका छौं । भक्तजनको सुरक्षाका लागि आश्रयस्थलको व्यवस्था गर्ने प्रयास गरिरहेका छौँ । प्रयागराज पुगेपछि सहज अनुभव होस् भन्नका लागि नगर निगमले धेरै ठाउँमा सुरक्षित खानेपानी, शौचालय र बोनफायरको व्यवस्था पनि गरिरहेको छ,”त्रिपाठीले बताउनुभयो ।

यसअघि, उत्तर प्रदेश सरकारले भक्तहरूका लागि विशेष सुरक्षा व्यवस्था गर्यो । भीड नियन्त्रण सुनिश्चित गर्न घोडाहरूसहित प्रहरी तैनाथ गरेको छ ।

बङ्गलादेशमा हसिनाको परिवारमाथि पाँच अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु

बङ्गलादेशले पदच्यूत नेता शेख हसिना र उहाँको परिवारले रुस समर्थित आणविक उर्जा संयन्त्रमा कथित पाँच अर्ब डलरको घोटालाको अनुसन्धान सुरु गरेको भ्रष्टाचार विरोधी आयोगले सोमबार जनाएको छ ।

अगस्टमा क्रान्तिद्वारा पदच्युत भई भारत भाग्नुभएकी पूर्व प्रधानमन्त्री हसिनाका साथै उहाँका छोरा सजीब वाजेद जोय र भतिजी टुलिप सिद्दिक अनुन्धानको दायरामा पर्नुभएको छ । सिद्दिक बेलायती सांसद र सरकारी मन्त्री हुनुहुन्छ ।

हसिनाका राजनीतिक प्रतिद्वन्द्वी नेसनल डेमोक्रेटिक मुभमेन्ट पार्टीका अध्यक्ष बबी हजाजले उच्च अदालतमा अनुसन्धान गर्न माग गर्दै दायर गरेको रिटमा आरोप लगाइएको थियो । “हामी हाम्रो अदालतमार्फत न्याय खोज्छौँ”, हजाजले सोमबार एएफपीलाई भन्नुभयो ।

दक्षिण एसियाली यस देशको पहिलो प्रमुख आरोपहरू १२ अर्ब ६५ करोड डलरको रूपपुर आणविक संयन्त्रको वित्तीयकरणसँग जोडिएको छ । यसमा मस्कोले ९० प्रतिशत ऋण लगानी गरेको छ ।

हसिना र परिवारका सदस्यहरूले ‘मलेसियाका विभिन्न अपतटीय बैंक खाता’ मार्फत रूपपुर संयन्त्रबाट ‘पाँच अर्ब डलर’ दुरुपयोग गरेको आरोपबारे अनुसन्धान सुरु गरेको आयोगको सोमबारको विज्ञप्तिमा उल्लेख छ । 

आयोगले आफ्नो अनुसन्धानमा संयन्त्रको ‘अत्यधिक मूल्यको निर्माणसँग सम्बन्धित शङ्कास्पद खरिद अभ्यासहरू’ को अनुसन्धान गरिरहेको जनाएको छ ।

“किकब्याक (कसैलाई उनीहरूको मद्दतका लागि पुरस्कारका रूपमा दिइने घुस वा भुक्तानी), कुव्यवस्थापन, मनी लन्ड्रिङ र शक्तिको सम्भावित दुरुपयोगको दाबीले परियोजनाको अखण्डता र सार्वजनिक कोषको प्रयोगको बारेमा महत्त्वपूर्ण चिन्ताहरू खडा गर्दछ”, आयोगले भन्यो । 

भ्रष्टाचारका आरोपहरूमा घरविहीनहरूका लागि सरकारी भवन योजनाबाट चोरी पनि समावेश छ ।

सतहत्तर वर्षीया हसिना अगस्ट ५ मा हेलिकप्टरबाट भागेर भारत निर्वासनमा जानुभयो । यसले कथित ‘सामूहिक हत्या’ को मुद्दामा उहाँलाई परीक्षणको सामना गराउन दृढ धेरै बङ्गलादेशीलाई क्रोधित बनायो ।

हसिनासँग टिप्पणीका लागि सम्पर्क गर्न सम्भव भएन ।
बेलायती प्रधानमन्त्री कार्यालयबाट आएको विज्ञप्तिअनुसार सिद्दीकले उहाँलाई घोटालामा संलग्न भएको आरोप लगाइएको ‘दावीमा कुनै संलग्नता अस्वीकार’ गर्नुभएको छ ।    अमेरिकामा रहनुभएको बुझिएका जोय पनि टिप्पणीका लागि उपलब्ध हुनुहभएन ।

सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन स्वास्थ्य मन्त्री पौडेलको पहल

काठमाडौँ, ८ पुस : नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारी गर्न कार्यदल गठन गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अतिरिक्त सचिव डा टङ्क बराकोटीको नेतृत्वमा सेना तथा प्रहरीका अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने गरी व्यवस्था गर्न कार्यदल बनाउनुभएको हो । कार्यदललाई सर्वसाधारणलाई समेत सेवा दिनका लागि आवश्यक कार्यविधि तयार गर्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन दिन भनिएको छ ।्

गत जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र नेपाली सेना मातहतका संस्थाबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा खुला गर्ने र स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने सहकार्यको ढाँचा एवं कार्यविधि बनाउने निर्णय गरेको थियो । मन्त्री पौडेलले गत साता कार्यदललाई सशस्त्र प्रहरी बलद्वारा सञ्चालित अस्पतालका हकमा समेत अध्ययन गर्न निर्देशन दिनुभएको थियो । कार्यदलले विज्ञ तथा सरोकारवालासँग छलफल गरेर कार्यविधि तयार पार्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

कार्यदलमा गृह तथा रक्षा मन्त्रालयका प्रतिनिधिका साथै सेना, प्रहरी र सशस्त्रका अस्पतालका प्रतिनिधिसँगै मन्त्रालयका अधिकारीहरुसमेत रहेका छन् । सर्वसाधारणलाई समेत सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालको सेवा उपलब्ध गराउन मन्त्री पौडेलले विगतको निर्णय कार्यान्वयन गराउन प्रक्रिया अघि बढाउनुभएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

पर्यटकलाई कुनै पनि समस्या आउन दिनुहुँदैनः मन्त्री पाण्डे

काठमाडौँ, ८ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकलाई कुनै पनि समस्या नहुने गरी सहजीकरणको व्यवस्था मिलाउन विमानस्थलसम्बद्ध निकायका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्बद्ध निकायको बैठकमा उहाँले विदेशी नागरिक पहिलोपटक प्रवेश गर्ने अन्तर्राष्ट्रिय विमानस्थल संवेदनशील क्षेत्र भएकाले सकारात्मक सन्देश दिने गरी सबै जिम्मेवार भएर लाग्न निर्देशन दिनुभएको हो । “यो विमानस्थल संवेदनशील क्षेत्र हो । त्यसैले सुरक्षा निकायको भूमिका अझै प्रभावकारी बनाउनुपर्ने देखिन्छ । हाम्रा सेवा यात्रुमैत्री हुन जरुरी छ । एकपटक आउने विदेशी पर्यटकलाई पटक–पटक यहाँ आउने वातावरण बनाउनुपर्छ”, मन्त्री पाण्डेले भन्नुभयो ।

उहाँले ४६ लाख क्षमता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हाल ९० लाख यात्रुलाई सेवा दिनुपर्ने बाध्यता रहेकाले प्रविधिमैत्री सेवा प्रवाह गरी सेवा चुस्तदुरुस्त बनाउनसमेत आग्रह गर्नुभयो । मन्त्री पाण्डेले विमानस्थलमा देखिएका समस्याहरूको पहिचान गरी १५ दिनभित्र कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,“भन्सार, अध्यागमन, एयरलाइन्स, क्यान कसले के–के काम गर्ने र कति सयमभित्र गर्ने भनि कार्यायाजनासहित अगाडि बढ्न आवश्यक छ । त्यसका लागि १५ दिनभित्र योजना बनाउनुहोस् । अन्तरमन्त्रालयमार्फत हुने समन्वयात्मक कार्यका लागि हामी सधैँ अग्रसर रहनेछौँ ।”

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच समस्या समाधान गर्न सहजीकरण समिति गठन

काठमाडौँ, ८ पुस : काठमाडौँ विश्वविद्यालयको ९८ औँ सभाको आजको बैठकले सो विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको आपसी समस्या समाधानसहितको प्रस्ताव तयार गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समिति गठन गरिएको छ ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले थप गृहकार्य र सम्बन्धित पक्षसँग संवाद गरी आगामी माघ ४ गते बस्ने सिनेट बैठकमा विधिवत् प्रतिवेदन पेस गर्न समितिलाई अख्तियारी दिएको हो । समितिमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा भोला थापा, स्कुल अफ मेडिकल साइन्सका डीन प्रा डा मनोज हुमागाईँ, स्कुल अफ लका डीन डा ऋषिकेश वाग्ले तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा रामकण्ठ माकजु श्रेष्ठ, प्रशासकीय निर्देशक डा विराजमान कर्माचार्य र अनुसन्धान निर्देशक प्रा डा राजीब श्रेष्ठ रहनुभएको छ ।

विसं. २०५९ चैत १९ गतेको आपसी सम्झौताका आधारमा सहकार्यमा रहेका ती संस्थाबीच बेमेल देखिएपछि गत साउन ३० गतेको ९७ औँ सभामा कुलपति एवं प्रधानमन्त्री ओलीले आपसी संवादबाट समाधान खोज्न प्रस्ताव गर्नुभएको थियो । यसबीचमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईको संयोजनमा दुवै पक्षलाई संवाद र सहमतिको विन्दुमा ल्याउन भएका पहल र समाधानका विविध पक्षबारे आजको बैठकमा छलफल भएको थियो । आर्थिक र कर्मचारी नियमावलीसँग बाझिने गरी विश्वविद्यालयले एकपक्षीयरुपमा निर्णय गरेको भन्दै अस्पतालले असन्तुष्टि जनाएपछि विवाद उत्पन्न भएको थियो ।  

यसैबीच, विश्वविद्यालयको पछिल्लो दीक्षान्तको ‘ग्रेस लिष्ट’मा अनुत्तिर्ण सात विद्यार्थीको नाम समावेश भएकाले आजको बैठकले ग्रेस लिष्ट सच्याउने निर्णय गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार डा अच्युतप्रसाद वाग्लेले ती विद्यार्थीको नाम कसरी सूचीमा पर्न गयो भन्नेबारेमा छानबिन सुरु भएको र ती विद्यार्थीले प्रमाणपत्र नलिएको बैठकलाई जानकारी गराउनुभयो ।

छ वर्षपनि बनेन पर्वतको भँगरा स्वास्थ्यचौकी भवन

पर्वत, ८ पुसः घर नजिकै स्वास्थ्यचौकीको भवन निर्माण हुने भएपछि स्थानीय ९१ वर्षीय पदमबहादुर परियार निकै हर्षित हुनुहुन्थ्यो । उमेरसँगै रोगले थलिएर विस्तारामा पर्नुभएका उहाँलाई स्वास्थ्यचौकी भवन निर्माण हुने कुराले रोग निकोे भएको महसुस हुन्थ्यो ।

हिँडेर टाढाको अस्पतालसम्म पुग्न सक्ने अवस्था नभएका उहाँको घरमा श्रीमती, बुहारी र साना नातिनातिना छन् । रोगले च्यापेको बेला नजिकैको स्वास्थ्यचौकीमै उपचार पाउने उहाँको आशा अझै पूरा हुन सकेको छैन । यो अवस्था हो जिल्लाको फलेवास नगरपालिका वडा नं ९ भँगरामा निर्माणाधीन स्वास्थ्यचौकी भवनको ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नका लागि जनाउँदै १८ महिनामा सम्पन्न हुने गरी विसं २०७५ माघदेखि निर्माण सुरु भएको स्वास्थ्यचौकीको सुविधा भवन छ वर्षसम्म पूरा हुन नसकेर अलपत्र बनेको हो । “स्वास्थ्यचौकीमा उपचार गराएर केही वर्ष अझै बाँच्छु भन्ने सोच्नुभएका परियारजस्ता थुप्रै नागरिक भवन सम्पन्न नहुँदै जीर्ण र अलपत्र बनेको देखेर निरास हुने गरेका छन् ।

समयमै भवन निर्माण सम्पन्न नहुँदा स्थानीयवासी स्वास्थ्य सुविधाबाट वञ्चित भएका छन् । निर्माण व्यवसायीले काम छोडेरबीचमा भागेपछि भवन अलपत्र परेको हो । रु दुई करोड ४४ लाखमा भवन निर्माणका विसं २०७५ माघमा निर्माण कम्पनी काठमाडौँले जिम्मा लिएको थियो ।

लामो समयसम्म भवनले पूर्णता पाउन नसक्दा निर्माण भएको पूर्वाधार जीर्ण बन्दै गएको छ । दुई तले १२ कोठे भवनमा बिरामीको उपचारका लागि औषधि भण्डारण, बिरामी चाँज कक्ष, गर्भवती जाँच कक्ष कर्मचारी आवास, प्रशासन, बर्थिक सेन्टर लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङमार्फत निर्माण भएको भवन सम्पन्न गर्नका लागि चार पटक म्याद थप गरिसकिएको छ । ठेकेदारले बीचमै काम छोडेर बेपत्ता भएपछि आयोजनाले पटकपटक म्याद थप गर्दै निर्माण कम्पनीलाई तोकता गदै काममा लगाएको सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर शङ्करराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार भवनको ९० प्रतिशत काम सम्पन्न भएको र बाँकी १० प्रतिशत नगरी निर्माण व्यवसायी बेपत्ता भएको हो ।

भवन निर्माण अन्तिम चरणमा पुगेको भए पनि निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किएर नआएको वडाध्यक्ष हितमान गुरुङले बताउनुभयो । मौखिकरुपमा पटक–पटक ताकेता गरिएको भए पनि निर्माण कम्पनीले बेवास्ता गर्दा भवनको संरचनासमेत जीर्ण र पुरानो हुँदै गएको उहाँको भनाइ छ । “वर्ष दिनभन्दा बढी भयो निर्माण कम्पनी फर्केर आएको छैन, बनेका संरचना पनि जीर्ण बन्ने जोखिम बढेको छ”, उहाँले भन्नुभयो ।

गाउँमा गुणस्तरीय स्वास्थ्य संस्था नहुँदा सानोतिनो रोग र चोटपटक लागेमा अन्यत्र जानुपर्ने बाध्यता स्थानीयको छ । “सामान्य समस्या भयो भने कुश्मा वा पोखरा पुग्नुपर्ने बाध्यता छ”, स्थानीय सुमिना गुरुङले भन्नुभयो, “सुविधा सम्पन्न भवन अलपत्र परेर सेवा विस्तारमा सहज नहुँदा यहाँका महिला र ज्येष्ठ नागरिकले बढी सास्ती व्यहोर्नुपरेको छ ।”

साविक गाउँ विकास समितिको पुरानो र साँघुरो भवनबाट सेवा प्रवाह गर्दा निकै समस्या भएको स्वास्थ्यचौकी प्रमुख वीरबल विकले बताउनुभयो । बर्सातमा भवन चुहिएर समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँले भवन निर्माण भएर सञ्चालनमा आए यहाँ नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाको लागि अन्यत्र जानुपर्ने अवस्था अन्त्य हुने बताउनुभयो ।

स्थानीयवासी तथा गण्डकी प्रदेशसभा सदस्य रेखा गुरुङले लामो समयदेखि स्वास्थ्यचौकीको भवन अलपत्र परेको देखेर चिन्तित बनेको बताउनुभयो । सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन बनाउन आफ्नै पहलमा बजेट विनियोजन गर्नेदेखि आफ्नो परिवारले निःशुल्क जग्गा समेत उपलव्ध गराएको जनाउँदै ठेकेदारले काम नगर्दा समस्यामा परेको बताउनुभयो । भवन तत्काल सम्पन्न गरेर सञ्चालनमा ल्याउन उहाँले माग गर्नुभएको छ ।

रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु

रसुवा । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको छ ।

उक्त विद्युत् गृहमा जडित ३३/३३ मेगावाट क्षमताको तीनवटा मेसिन विद्युत् उत्पादन हुने जनाइएको छ । हाल चिसोयामका कारण खोलाको पानी बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिए । तीनवटै युनिट चालु गराई सकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत् उत्पादन हुने उनले बताए ।

सो आयोजना कूल लागत १८ अर्ब ६९ करोड २० लाखको रहेको बताइएको छ । सन् २०१४ देखि पूर्णरूपमा निर्माण सुरु भए पनि विगतमा भएको पेट्रोलियम पर्दाथको अभाव, विसं २०७२ को विनाशकारी भूकम्प, भोटेकोशीमा बर्सातको समयमा आइरहने बाढी, वर्षायाममा राजमार्ग अवरुद्ध हुँदा सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न गर्न केही समय ढिलाइ भएको बताइएको छ ।

रसुवागढी जलविद्युत्ले वार्षिक रूपमा  ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर  तीन अर्ब २५ करोड आय गर्ने आयोजनाले गर्ने छ ।

रसुवागढीमुनि भोटेकोशीमा बाँध बानेर चार हजार एक सय ८५ मिटर सुरुङको सहायताले टिमुरे गाउँको दुहार तातोपानीपारिको पहराभित्र निर्माण गरिएको विद्युत् गृहमा तीनवटा टर्वाइन जडान भएको र जडित सबै उपकरण चालु भइसकेको प्राविधिकले बताएका छन् ।

चिलिमे जलविद्युत् कम्पनीको भगेनी संस्था रसुवागढी जलविद्युत् कम्पनीमार्फत सो आयोजना निर्माण भएको हो । यहाँको चिलिमे जलविद्युत् केन्द्रलाई धितो बन्धक राखी कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकाय समेतको शेयर लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको हो ।

टरीगाउँ विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता र पर्यटनमन्त्रीको भेट

दाङ, ७ पुसः तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारको प्रयास प्रारम्भ भएको छ । सत्ता साझेदार दलका नेताहरुले विमानस्थल विस्तारको प्रयास थालेका हुन् ।

आइतबार लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल र नेपाली कांग्रेसका नेता पूर्वसिँचाईमन्त्री एवं दाङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य दीपक गिरीले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर टरीगाउँ विमानस्थल धावन मार्गको स्तरोन्नतिका लागि छलफल गर्नुभएको हो ।

उहाँहरूले धावनमार्ग विस्तारका लागि बजेटका साथै जग्गा व्यवस्था गर्न अनुरोध गर्दै विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) पनि प्रस्तुत गर्नुभएको थियो ।

पूर्वमन्त्री गिरीका अनुसार विमानस्थल विस्तारका लागि रु तीन अर्ब, ४२ करोड २८ लाख लाग्ने अनुमानसहित मन्त्री पाण्डेयसमक्ष डिपीआर प्रस्तुत गरिएको हो । सात सय ५० मिटर लामो धावनमार्गलाई एक हजार पाँच सय मिटरमा विस्तार गर्ने प्रस्ताव डिपीआरमा भएको छ

नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण

काठमाडौँ, ८ पुसः नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ ।

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीलाई आज यहाँ आयोजित एक कार्यक्रममा अस्थायी आवास निर्माण सम्पन्न भएको जानकारी दिँदै त्यससम्बन्धी कागतपत्र उहाँहरूलाई हस्तान्तरण गर्नुभएको हो ।

बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका– १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका– १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो ।

बैंकले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार आवास हस्तान्तरण कार्यक्रममा अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैं प्रतिबद्ध रहेको बताउँदै प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग पु¥याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले अस्थायी आवास निर्माण परियोजना कार्यान्वयन गरेको जानकारी दिनुभयो ।

नलगाड नगरपालिकाका प्रमुख रावत र चौरजहारी नगरपालिकाका प्रमुख वादीले भूकम्प प्रभावितलाई ओत लाग्ने ठाउँ उपलब्ध गराएकामा बैंकप्रति आभार व्यक्त गर्नुभएको थियो ।

आवास हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, बैंकका सञ्चालक निर्वाण चौधरीलगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।

अघिल्लो वर्षको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रिक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा व्यापक क्षति भएको थियो ।

गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा

गोरखा, ८ पुसः गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ ।

सो सेवा अन्तर्गत गर्भवतीलाई सुत्केरी हुन अस्पताल ल्याउनेदेखि अत्येष्टिका लागि आवश्यक सहयोग रहेका छन् । “गर्भवतीलाई नवजात शिशु जन्माउन निःशुल्क अस्पताल पु¥याइदिने र सुत्केरी भएपछि घरसम्म ल्याइदिने काम नगरपालिकाले गर्दै आएको छ”, नगरप्रमुख कृष्णबहादुर रानामगरले भन्नुभयो, “नगरवासीको निधन भएमा अन्त्येष्टिका लागि घाटमा आवश्यक पर्ने दाउरासम्म पनि नगरपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।”

नगरपालिकाले गोरखा अस्पतालको विभिन्न सेवा सहित आयुर्वेदिक तथा आँखाको उपचार निःशुल्करुपमा गर्नसक्ने व्यवस्था मिलाएको छ ।

चीनद्वारा ‘सञ्चार प्रविधि’ उपग्रह प्रक्षेपण

चीनले शुक्रबार दक्षिणपश्चिम सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा ‘सञ्चार प्रविधि’ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

स्याटेलाइटलाई लङ मार्च–३बी क्यारियर रकेटद्वारा राति ११ः१२ बजे प्रक्षेपण गरिएको थियो ।

यो स्याटेलाइट सञ्चार, रेडियो र टेलिभिजन, डाटा ट्रान्समिसन तथा अन्य सेवाहरूमा प्रयोग हुनेछ । यसले सम्बन्धित प्रविधिहरूको परीक्षण र प्रमाणीकरण पनि गर्नेछ ।यो प्रक्षेपणले क्यारियर रकेटहरूको लङ मार्च शृङ्खलाको ५५४ औं मिशनलाई चिन्ह लगाउँछ ।

ब्राजिलमा भएको विमान दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु

दक्षिणी ब्राजिलको ग्रामाडोमा आइतबार बिहान एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

“विमान एउटा भवनको चिम्नीमा ठोक्कियो र त्यसपछि फर्निचर स्टोरमा खस्यो,” रियो ग्रान्डे डो सुल राज्यको सुरक्षा सचिवालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

“नागरिक सुरक्षाले नौ जनाको मृत्यु भएको पुष्टि गरेको छ र विमानमा कोही पनि जीवित छैनन्,” राज्य सिभिल पुलिसको आन्तरिक पुलिस विभागका निर्देशक क्लेबर डोस सान्तोस लिमाले एएफपीलाई बताउनुभयो ।

कम्तिमा १५ जनालाई अस्पताल लगिएको थियो, जसमध्ये अधिकांश घाइते भएका थिए ।विमान रियो ग्रान्डे डो सुलको अर्को पर्यटकीय सहर क्यानेला नगरपालिकाबाट उडेको थियो ।ग्रामाडो ब्राजिलको एक लोकप्रिय पर्यटक सहर हो, जहाँ क्रिसमसको मौसममा पर्यटकहरूको उल्लेखनीय आगमन हुन्छ ।

बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो

गलकोट (बागलुङ), ८ पुसः समुद्री सहतदेखि दुई हजार पाँच सय मिटरको उचाइमा निर्माणाधीन साइक लेन बजेट अभावले अधुरै रहेको छ । जङ्गलको बीचबाट निर्माण थालिएको साइकल लेनले साहसिक पर्यटक भित्र्याउने उद्देश्य राखिएको थियो । बागलुङको पर्यटकीय क्षेत्र बेलढुङ्गालाई पञ्चकोटसँग जोड्नका लागि २०७७ सालमा साइकल लेनको अवधारणा ल्याइएको थियो । सुरुको दुई वर्ष साइकल लेन बनाउन बजेट समेत गण्डकी प्रदेशले विनियोजन गरेको थियो । अहिलेसम्म कच्ची र पक्की गरेर जम्मा दुई किलोमिटर साइकल लेन निर्माण भइसके पनि बजेट अभावले काम रोकिएको छ ।

कुनै दिन गुमनाम अवस्थामा रहेको पर्यटकीयस्थल बेलढुङ्गा एकाएक चर्चामा आएको छ । उक्त गन्तव्यलाई नेपालको एक सय पर्यटकीय गन्तव्यको सूचीमा रहेको पञ्चकोटसँग जोड्नका लागि नौ किमि साइकल लेन बनाउने र साहसिक पर्यटकलाई जङ्गलको बाटो पञ्चकोट हुँदै बेलढुङ्गा पु¥याउने लक्ष्यका साथ निर्माण थालिएको साइकल लेन तीन वर्षयता अघि बढ्न नसकेको काठेखोला गाउँपालिका–३ स्थित बेलढुङ्गा सामुदायिक घरबासका अध्यक्ष गोपाल श्रीसले जानकारी दिनुभयो ।

“दुई चर्चित पर्यटकीय गन्तव्य बेलढुङ्गा र पञ्चकोट जोड्नका लागि समुद्री सतहदेखि झण्डै दुई हजार पाँच सय मिटरको उचाइमा साइकल लेन निर्माण गर्न गण्डकी प्रदेश सरकारले २०७७ साल र २०७८ सालमा रु ४० लाख बजेट विनियोजन गरेको थियो, उक्त बजेटबाट बेलढुङ्गामा पर्यटकीय पूर्वाधारसहित दुई किमि साइकल लेन निर्माण गरिएको थियो”, श्रीसले भन्नुभयो, “दुई किमि साइकल लेनमध्ये चार सय मिटर साइकल लेन पक्की बनाइएको छ भने दुई सय मिटरमा स्लेट ढुङ्गा छापेर चिटिक्क बनाइएको छ, तीन वर्षयता साइकल लेन बनाउन कसैको नजर परेको छैन ।”

बागलुङ–६ पञ्चकोट र काठेखोला –३ धम्जाको बेलढुङ्गा जोड्नका लागि पर्यटकीय पदमार्गसँगै साइकल लेन निर्माण सुरु गरे पनि दुई किमिमै रोकिएको हो । बागलुङ र म्याग्दीको शिरबाट साइकलमार्फत बेलढुङ्गा हुँदै पञ्चकोट र पञ्चकोट हुँदै बेलढुङ्गा पुग्नका लागि साइकल लेन निर्माण थालिएको थियो ।

बागलुङ नगरपालिका–६ स्थित पाँच कोटको सङ्गम पञ्चकोटबाट थाप्लेको धुरी, कान्छो धौलागिरि हुँदै बेलढुङ्गासम्मको पदमार्ग पहिचान गरी साइकल लेन बनाउने अवधारणा ल्याइएको थियो । साइकल गुड्न सक्ने पदमार्ग निर्माण गरेपछि पैदल हिँड्ने पर्यटक र साहसिक यात्रा गर्न रुचाउने पर्यटक साइकलमार्फत पुग्न सक्ने गरी पञ्चकोटलाई बेलढुङ्गा जोड्ने अभियानमा ठेस पुगेको श्रीसको भनाइ छ ।

बेलढुङ्गाबाट पञ्चकोटसम्मको झण्डै नौ किलोमिटरमध्ये बेलढुङ्गाबाट पञ्चकोटतर्फ साइकल लेन निर्माण थालिएको थियो । साइकल लेन पूरा गर्न रु दुई करोड बजेट लाग्ने अनुमान गरिएको छ । सडक सञ्जालले पर्यटकीय पदमार्ग मासेको समयमा पैदलयात्री र साइकल चलाउन मिल्ने गरी निर्माण थालिएको पदमार्गले गति लिन नसकेको हो ।

बेलढुङ्गा अलि दुर्गममा भए पनि पञ्चकोट सुगममा भएका कारण साइकल लेन निर्माणपछि सदरमुकामबाट पाँच किलोमिटरमै पञ्चकोट पुगेका पर्यटक साइकल र पर्यटक पदमार्गमार्फत चार घण्टामै बेलढुङ्गा आउने गरी चार फिट चौडा साइकल लेन निर्माण थालिएको थियो ।

ढुङ्गामाथि बेल आकारको ढुङ्गाबाट देखिने मनोरम हिमशृङ्खला र सुन्दर पहाड देखिने बलढुङ्गा पछिल्लो समय चर्चित पर्यटकीय गन्तव्य बनेपछि पाँच वर्षअघि धम्जाको ओख्लेमा सामुदायिक घरबास सञ्चालनमा आएको छ । साउनयता दुई सय ५० जना पर्यटक घरबासमा आइसकेका छन् । बेलढुङ्गामा आउने पर्यटकलाई लक्षित यही वर्षबाट देउरालीमा घरबास सञ्चालनमा ल्याइएको स्थानीय हिमाल सागर श्रेष्ठले बताउनुभयो । पूर्वाधार निर्माणमा सहयोग आए बलेढुङ्गामा आन्तरिक पर्यटक उल्लेख्य भित्रन सक्ने उहाँको भनाइ छ । बेलढुङ्गाको पर्यटकीय पूर्वाधार निर्माणमा पालिकाले सहयोग गर्दै आएको काठेखोला गाउँपालिकाका प्रवक्ता टीकास¬ङ्गम विकले जानकारी दिनुभयो । उहाँले साइकल लेन बनाउने बजेट प्रदेश र सङ्घीय सरकारबाट ल्याउन पालिकाले पहल गरिरहेको बताउनुभयो ।

व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

इनरुवा (सुनसरी), ८ पुसः सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गर्नुभयो ।जग्गा भाडामा लिएर उहाँले आफू सहित दुईजनाको साझेदारीमा रु ३१ लाख लगानी छ बिघा क्षेत्रफलमा पोखरी बनाउनुभएको हो ।

पोखरीमा बिगेट, रेहु, नैनी, कोमन , पंगास(बैखी) जातको माछा पालिएका छन् । उहाँले भन्नुभयो,“ वार्षिकरुपमा रु ११ लाखसम्म आम्दानी भएको छ ।” पोखरीबाट वार्षिकरुपमा बिगेट, रेहु, नैनी, कोमन प्रजातिको ५० क्विन्टल माछा उत्पादन भएको छ भने पंगास(बैखी) जातको एक सय क्विन्टल उत्पादन भएको उहाँले बताउनुभयो । पछिल्लो समय व्यवसायी कटुवालले परम्परागतसँगै नयाँ प्रजातिका माछा उत्पादन गर्दै आउनुभएको छ ।

जिल्लाका विभिन्न स्थानमा पंगासअर्थात् बैखी माछापालनमा आकर्षण देखिएको छ । किसानले यसको व्यावसायिक उत्पादन सुरु गरेको उहाँको भनाइ छ । कम क्षेत्रफलमा थोरै लगानीले यो जातको माछा बढी उत्पादन हुने भएकाले यो माछापालनतर्फ स्थानीय किसानको आकर्षण बढी रहेको उहाँको भनाइ छ ।

सबै उमेर समूहका मानिसले यसको स्वाद मन पराउन थालेपछि पंगास माछापालनलाई व्यावसायिक रूपमा गर्दै आएको उहाँले जानकारी दिनुभयो । परम्परागत माछाभन्दा पंगासको उत्पादन र उत्पादकत्व क्षमता बढी रहेको उहाँले जानकारी दिनुभयो । पंगास माछापालनको क्षेत्रफल वार्षिकरुपमा बढ्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाले जनाएको छ । सुनसरीमा पाँच सय ८२ हेक्टर क्षेत्रफलमा व्यावसायिक माछापालन हुँदै आएको केन्द्रका निमित्त कार्यालय प्रमुख डा मनोजकुमार महतोले जानकारी दिनुभयो ।

राप्रपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य सचिवमा आचार्यसहित तीन जना मनोनीत

काठमाडौँ -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य–सचिवमा पार्टीका केन्द्रीय सदस्य सुरेश आचार्य (सुनसरी) र सदस्यमा पार्टीका केन्द्रीय सदस्यद्वय हिक्मतजङ्ग कार्की (स्याङ्जा) र सुश्री स्वाती थापा (रूपन्देही) लाई मनोनयन गर्नुभएको छ ।

पार्टीले यही पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन पार्टी अध्यक्ष लिङ्देनको संयोजकत्वमा मूल समारोह समिति गठन पनि गरेको छ ।

यसैबीच, पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी माघ ११ र १२ गते काठमाडौँ केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । बैठकमा पार्टी सङ्गठन तथा भावी योजनाबारे छलफल हुने पार्टीका नेता राजाराम श्रेष्ठले बताउनुभयो ।

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा दैनिक चार घण्टा विद्युत् कटौती

वीरगञ्ज (पर्सा- नेपाल विद्युत् प्राधिकरणले साँझको समयमा वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा दैनिक चार घण्टा विद्युत् कटौती गरेपछि उद्योगी व्यवसायी समस्यामा परेका छन् । प्राधिकरणले मागअनुसारको विद्युत् आपूर्ति गर्न नसकेपछि औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’ भएको हो । प्राधिकरणले अहिले साँझको ५ देखि ९ बजेसम्मको ‘पिकआवर’मा औद्योगिक कोरिडोर क्षेत्रमा विद्युत् कटौती गर्दै आइरहेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले प्राधिकरणले विद्युत् कटौती गरेसँगै कोरिडोरका उद्योगले आफ्नो क्षमताअनुसार उत्पादन गर्न नसकेको बताउनुभयो । “पछिल्लो एक महिनादेखि नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित उद्योग प्रतिष्ठानमा विनासूचना विद्युत् कटौती गर्दै आएको छ,” उहाँले भन्नुभयो, “पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगहरुले विभिन्न समस्या खेपिरहेकै बखत विद्युत् कटौतीको समस्या झेल्नु पर्दा उद्योगीहरु मर्कामा परेका छन् ।”

यसैबीच, सङ्घले प्रेस विज्ञप्ति जारी गरेर अघोषित लोडसेडिङका कारणले उद्योगधन्दा सञ्चालनमा अप्ठेरो परेको जनाएको छ । “विद्युत् कटौतीको बेला डिजेल प्लान्टबाट उद्योग सञ्चालन गर्नुपर्दा उत्पादन लागत बढ्न गई उद्योगहरुले आफ्नो प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै गएका छन् । त्यस्तै साना उद्योगहरुले विद्युत् कटौतीको बेला डिजी सञ्चालन गर्न सक्ने अवस्था नभएकाले उद्योग नै बन्द राख्नुपर्ने अवस्था रहेको छ”, विज्ञप्तिमा उल्लेख छ ।

सङ्घले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित औद्योगिक फिडरमा २४ घण्टामा १४÷१५ पटकसम्म ट्रिपिङ भइरहेको कारण औद्योगिक उपकरण बिग्रनाका साथै कच्चापदार्थ नोक्सान भएको जनाएको छ । अध्यक्ष अग्रवालले विद्युत्को समस्यालाई तत्कालै सम्बोधन गर्न प्राधिकरणसँग माग गर्नुभयो ।

“हिउँदे याममा प्रत्येक वर्ष विद्युत् आपूर्तिमा समस्या आएकाले यसको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ,” अध्यक्ष अग्रवालले भन्नुभयो, “अहिले औद्योगिक कोरिडोरमा भएको लोडसेडिङको समस्यालाई तत्कालै समाधान गर्न वैकल्पिक व्यवस्था गर्न माग गर्दछौँ ।”

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले साँझको पिकआवरको समयमा केही समय विद्युत् कटौती हुँदै आएको जानकारी दिनुभयो । “साँझको पिकआवरको समयमा दुई÷चार घण्टा विद्युत् कटौती हुँदै आएको छ,” उहाँले भन्नुभयो, “हामीले सकेसम्म विद्युत् कटौतीको समस्यालाई सम्बोधन गर्ने प्रयास गरिरहेका छौँ ।”

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा गर्मीयाममा दैनिक तीन सय मेगावाट विद्युत्को माग हुने गर्छ । तर अहिले घरासयी ग्राहकको विद्युत्को माग घटे पनि औद्योगिक क्षेत्रमा केही समयका लागि कटौती गर्नुपर्ने बाध्यता छ । अहिले यो कोरिडोरमा दैनिक दुई सय मेगावाट विद्युत्को माग छ ।

भारतीय गायक सोनु निगम नेपाल आउँदै

काठमाडौँ- भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताउनुभएको छ । यही पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रमका लागि भिडियो सन्देश पठाउँदै उहाँले नेपालीसँग पहिलोपटक साक्षात्कार हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले नेपाली गीत धेरै गए पनि नेपालमा कन्सर्ट भने गरेको छैन । अहिले नेपालीसँग साक्षात्कार गर्ने अवसर जुटेकोछ, म उक्त दिनको प्रतीक्षामा छु । नेपाली र भारतीय गीतमार्फत उपस्थित दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी राख्ने छैन ।”

आयोजक संस्था नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकसँगै नेपाली गीतसङ्गीत पनि प्रस्तुत गर्न सक्ने भएकाले नेपाल ल्याउन लागिएको बताउनुभयो । 

“उहाँले धेरै नेपाली गीत गाउनुभएको छ । यसअघि नेपालमा उहाँलाई लिएर कन्सर्ट आयोजना भएको छैन । सोही कारण हामीले उहाँलाई नेपालीमाझ प्रस्तुत गर्न लागेका हौँ । उहाँले साङ्गीतिक समूहसँग आफ्नो प्रस्तुति दिनु हुनेछ । उहाँ नेपाल आउने सन्दर्भमा निकै उत्साहित र प्रतीक्षारत हुनुहुन्छ”, निर्देशक घिमिरेले भन्नुभयो । उहाँले लाइट र साउण्डको सामान मिलाएर स्टेज तयारी गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । 

बाह्र हजार दर्शक क्षमता रहेको ह्यात चौरमा छ हजार दर्शकले टिकेट खरिद गरिसक्नुभएको निर्देशक घिमिरेले जानकारी दिनुभयो । “हामीले कार्यक्रमलाई सभ्य र भव्य बनाउने प्रयासमा तयारी गरेका छौँ । सोहीअनुसार अस्ट्रेलिया र हङकङपश्चात् नेपालमा पनि कार्यक्रम गर्न सुरु गरेका हौँ । आगामी दिनमा स्वदेशी तथा विदेशी कलाकारलाई नेपाली दर्शकमाझ व्यवस्थित रूपमा प्रस्तुत गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो । 

गायक निगमले स्वर दिनुभएको ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन् । यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय छन् ।  उक्त कार्यक्रमका लागि न्यूनतम रु दुई हजारदेखि अधिकतम रु ५० हजारसम्मको टिकेट राखिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार गायक निगम पुस १० गते बिहान नेपाल आउनुहुनेछ । 

आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती

काठमाडौँ, ८ पुस: नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती हो । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै छन् । विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बन्नुभएका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्कनुभएको थियो ।

विश्वका कुनै पनि देशका राजनीतिज्ञले प्रधानमन्त्री हुँदा मेरो लक्ष्य मुक्ति (निर्वाण) भनेनन् तर नेता भट्टराईले खुलेर आफ्नो लक्ष्य निर्वाण भन्नुभएको स्वामी आनन्द अरुण स्मरण गर्नुहुन्छ । प्रधानमन्त्री भएका बेला काठमाडौँमा ओशो तपोवनको उद्घाटन किसुनजीले नै गर्नुभएको थियो । जीवनकालमा किसुनजी पटकपटक ध्यान गर्न त्यहाँ पुग्नुहुन्थ्यो ।

उहाँ किसुनजीलाई आफ्नो अडानमा टसमस नहुने नेताका रुपमा सम्झनुहुन्छ । तत्कालीन सरकारले तयार पारेको कागजातमा हस्ताक्षर गरेर बिपी कोइराला र गणेशमान सिंह सुन्दरीजल बन्दीगृहबाट बाहिरिँदा नेता भट्टराई जेलमा नै बस्नुभएको उहाँको स्मृतिमा ताजै छ । सन्तनेताको निष्ठाको राजनीति र चट्टानी अडान उहाँ सधैँ सम्झनुहुन्छ र त्यसको मुक्तकण्ठले प्रशंसा गर्नुहुन्छ ।

“किसुनजी राजनीतिमा रहेर आफ्ना कमी कमजोरी नलुकाई सत्य बोल्नुहुन्थ्यो, विवाह नगरे पनि म कुमार होइन जस्ता विषयले उहाँ सत्य र स्पष्ट बोल्ने राजनीतिज्ञका रुपमा समेत स्थापित हुनुभएको छ, अडानमै रहेर उहाँ भारत प्रवासमा पनि जानुभएन, नेपालमै बसेर नेपाल विद्यार्थी सङ्घको स्थापना गर्नुभयो, त्यसबापत थप तीन वर्ष जेलमा बस्नुभयो”, आनन्द अरुणले भन्नुभयो । अहिंसावादी नेताका रुपमा चिनिने महात्मा गान्धीभन्दा पनि किसुनजी आध्यात्मिक नेताका रुपमा परिचित हुनुभएको उहाँको बुझाइ छ ।

किसुनजीको जन्म शताब्दी वर्षका अवसरमा गतवर्ष ‘सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र’ स्थापना गरेर त्यसका अध्यक्ष लोकेश ढकालले निष्ठाको राजनीति र देशको विकासमा उहाँले गर्नुभएको योगदानको प्रचार थाल्नुभएको छ ।

“किसुनजी आफैँले स्थापना गर्नुभएको पार्टी आफैँ आँसु झारेर किन छोडेर हिँड्नुभयो ? यसको खोजी गरेपछि नै उहाँप्रति सच्चा सम्मान हुनेछ, उहाँले पार्टी छोड्नुभयो, आदर्श छोड्नुभएन, उहाँप्रतिको सम्मानका लागि केन्द्र स्थापना गरिएको हो”, अध्यक्ष ढकालले भन्नुभयो ।प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा किसुनजीसँगसँगै भई सक्रिय रहँदै आउभएका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल पद र पैसाका लागि लोभ नभएको राजनीतिज्ञका रुपमा आफूले चिनेको उहाँ बताउनुहुन्छ ।

झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै

झापा, ८ पुसः झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबबीच स्थानीय डोमालाल रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ ।

गत शनिबार एनआरटीले राष्ट्रिय जागृति क्लबलाई ३–० ले टाइब्रेकरमा हराउँदै चर्च ब्वाइजसँगको उपाधि भिडन्त पक्का पारेको हो । यो स्पर्धाका विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख नगद पुरस्कार पाउने छन् ।

गोर्खा ब्वाइज स्पोर्ट्स क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइजले फाइनल प्रवेशका लागि सिराहाको सहलेश फुटबल क्लबलाई पराजित गरेको थियो ।

यसैबीच, चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठ र एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले आ–आफ्ना टोलीले उपाधि जित्ने बताउनुभएको छ । आइतबार भएको ‘प्रि–म्याच कन्फ्रेन्स’मा उहाँहरूले जित आफ्नो पक्षमा पर्ने बताउनुभएको हो ।

प्रतियोगितामा झापा–११ फुटबल क्लबसहित भारतको जिटिए दार्जिलिङ, गोर्खा ब्वाइज रुपन्देही, एलएक्स सिटी मोरङ, राष्ट्रिय जागृति क्लब इटहरी, सहलेश युथ क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब काठमाडौँ र चित्लाङ एफसी काठमाडौँ सहभागी भएका थिए ।

लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता

काठमाडौँ, ८ पुसः नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

म्याग्दी हाइड्रोले प्रतिसेयर रु एक सयका दरले ४७ लाख ४५ हजार कित्ता बापत रु ४७ करोड ४५ लाख बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि छ महिनाको हुने कोषले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

भ्रष्टाचार अभियोगमा प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षसहित आठ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, ८ पुसः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर नेगी, वडाध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्षसमेत आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शाखा सडक निर्माण कार्यमा अनियमितता गरेको पाइएकाले उनीहरुविरुद्ध आइतबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेगी, इञ्जिनियर सुदीप रेग्मी, लेखापाल बाबुलाल नेगी र असिष्टेन्ट सवइञ्जिनियर लालमान तामाङ विरुद्ध रु १० लाख ८९ हजार नौ सय ८९ बराबरको बिगो दाबी गरेको छ ।

यसैगरी, रुबीभ्याली गाउँपालिकाका–४ का तत्कालीन वडाध्यक्ष प्रशान्त तामाङ विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना माग गरिएको छ । स्थानीय पागोदेखि स्कूलसम्म शाखा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सन्जिव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङविरुद्ध पनि रु १० लाख ८९ हजार नौ सय ८९ बराबर बिगो माग गर्दै मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि

काठमाडौँ, ८ पुस: नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ ।
युरो, पाउण्ड स्टर्लिङ, स्वस फ्र्याङ्क, अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलर जापानी येन, साउदी रियाल, थाई भाट साउथ कोरियन वन, स्विडिस र डेनिस क्रोनर, कुवेती र बहराइन दिनार तथा ओमनी रियालको भाउ बढेको छ ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८५ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६८ पैसा र बिक्रीदर आठ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ०३ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ६२ पैसा, ओमानी रियाल एकको खरिदर तीन सय ५२ रुयैयाँ ५३ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ०९ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

प्रस्तुत विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने केन्द्रीय बैंक जनाएको छ ।

सात जना प्रहरी अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित

काठमाडौँ, ८ पुसःमन्त्रिपरिषद्को यही पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा दुई जना र गृहसचिवस्तरको सोही दिनको निर्णयबाट प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पाँच जना गरी पदोन्नति भएका सात जना प्रहरी अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित समारोहमा उहाँरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गर्नुभएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय दुर्गा सिंह र भरतबहादुर बोहरा तथा प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका प्राविधिक प्रहरी उपरीक्षकहरू डा.राम प्रसाद शर्मा, डा.नविन लागेजु, डा.समृद्धि कार्की, डा.अन्जली तण्डुकार र प्रदिन ताम्राकार हुनुहुन्छ ।

दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त

काठमाडौँ, ७ पुसः नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ ।

चालू आर्थिक वर्ष २०८१/८२ को पुस पहिलो सातासम्ममा रु दुई खर्ब दुई अर्ब ४० करोड बराबरको वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा प्राप्त प्रतिबद्धता रु ५९ अर्ब ९८ करोडको तुलनामा चालु आवमा दुई सय ३७ प्रतिशतले प्रतिबद्धता बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिबद्धता एक सय ५३ प्रतिशतले र वैदेशिक ऋणको प्रतिबद्धता दुई सय ८० प्रतिशतले बढेको हो । 

त्यसैगरी चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्त वैदेशिक सहायता पनि गत वर्षको समान अवधिको तुलनामा ३० दशमलव तीन प्रतिशतले वृद्धि भएको प्रवक्ता भट्टराईले बताउनुभयो । उहाँका अनुसार यस अवधिमा वैदेशिक अनुदान रु छ अर्ब ७५ करोड, वैदेशिक ऋण ३७ अर्ब ३३ करोड गरी कुल रु ४४ अर्ब आठ करोड वैदेशिक सहायता प्राप्त भई विभिन्न विकास निर्माणका क्षेत्रमा प्रयोग भएको छ ।

‘दोस्रो एनपिएल अहिलेको भन्दा थप व्यवस्थित र उत्कृष्ट बनाइने’

काठमाडौँ, ७ पुस : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अहिलेको भन्दा थप व्यवस्थित र उत्कृष्ट बनाइने बताउनुभएको छ । यसका लागि सरकारका तर्फबाट लागिपर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा मन्त्री चौधरीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान भइसकेको जानकारी दिनुभयो । रङ्गशाला अत्याधुनिक बनाउन स्रोत सुनिश्चित भएको उहाँले बताउनुभयो । खेल क्षेत्रको विकासका लागि सबैभन्दा ठूलो चुनौती भौतिक पूर्वाधार रहेको उल्लेख गर्दै मन्त्री चौधरीले आफ्नो मन्त्रालयको कुल बजेट रु तीन अर्ब ५० करोड रहेकाले खेलकुद र खेलाडीको वृत्तिविकासका लागि अपेक्षाकृत काम गर्न नसकिएको बताउनुभयो ।

मन्त्री चौधरीले मूलपानी, विराटनगर क्रिकेट रङ्गशाला र कीर्तिपुर रङ्गशालामा गरी कुल रु १२ अर्बभन्दा बढीको लागत लाग्ने जानकारी दिनुभयो । सातै प्रदेशमा तत्काल क्रिकेट रङ्गशालाको खाँचो औँल्याउँदै उहाँले भन्नुभयो, “क्रिकेटका तीनवटा रङ्गशाला राष्ट्रिय गौरवको योजनामा छन् । तीनवटै रङ्गशालाको बजेट करिब रु १२ अर्ब पेस भएको छ ।”

सरकारले खेलाडीको वृत्तिविकास, मनोबल उच्च बनाउन र खेलाडीको आर्थिक अवस्था बलियो बनाउन नीतिगत निर्णय गर्ने मन्त्री चौधरीको भनाइ थियो । बैङ्कर्स सङ्घ, आयल निगम, विद्युत् प्राधिकरणलगायत संस्थाहरुसँग खेलाडीको वृत्तिविकास र रोजगारीका लागि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

खेलकुद क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार निर्माणको आवश्यकता रहेको बताउँदै मन्त्री चौधरीले काठमाडौँ उपत्यकाभित्रै फुटबलका लागि नयाँ रङ्गशाला निर्माण गर्न उपयुक्त स्थानको खोजी भइरहेको बताउनुभयो । 

प्रधानमन्त्रीले नियुक्त गरे दुई विश्वविद्यालयमा नयाँ उपकुलपति

काठमाडौँ, ७ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा धनेश्वर नेपाल र पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा वेदराज केसीलाई नियुक्त गर्नुभएको छ ।

दुवै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज रिक्त उपकुलपतिमा नेपाल र केसीलाई नियुक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ ज्योतिष विभागका अध्यक्ष रहनुभएका प्राडा नेपालले यसअघि विश्वविद्यालयका परीक्षा नियन्त्रक भएरसमेत काम गरिसक्नुभएको छ ।

उहाँले नेपाल प्राध्यापक सङ्घ, नेपाल संस्कृत विश्वविद्यालयको महासचिव रहेर पनि काम गरिसक्नुभएको छ । प्रजातन्त्रवादी प्राध्यापकका रूपमा सक्रिय नेपालले १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपकुलपतिमा नियुक्त हुनुभएको हो ।

यसैगरी पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त केसीले १२ जना प्रतिस्पर्धीलाई पछि पार्दैै उपकुलपति नियुक्त हुनुभएको हो । केसी नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष हुनुहुन्छ ।

सीता चर्चाबिना राम अधुरो र रामायण अपूर्ण हुन्छ : मुख्यमन्त्री सिंह

जनकपुर, ७ पुस : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीताबिना राममात्र अधुरो नभएर रामायण नै अपूर्ण हुने बताउनुभएको छ । रामायणमा वर्णित कथाक्रमलाई रामसीता दुवैसँग जोडेर प्रसार गरिनुपर्ने उहाँले बताउनुभयो ।


भारतको उत्तरप्रदेश राज्यको पर्यटन विभागको आयोजना र जानकी मन्दिर जनकपुरधाम तथा जनकपुरधाम उपमहानगरपालिका कार्यालयको सहआयोजनामा जनकपुरधाममा भइरहेको दुईदिने अन्तर्राष्ट्रिय रामायण कन्क्लेभमा मुख्यमन्त्री सिंहले मिथिलामा अवध राजकुमार रामको आगमन र धनुषयज्ञबाट सुरु भएको रामकथा सीताको चर्चाबिना पूरा नहुने उल्लेख गर्दै सीतारामसँग जोडिएका ठाउँको विकास तथा प्रवद्र्धन गर्न भारत सरकारले ल्याएको रामायण सर्किट र मधेश प्रदेशले बजेटसमेत विनियोजन गरिसकेको सीता सर्किटलाई जोड्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री सिंहले त्रेतायुगबाट सुरुआत भएको सम्बन्धलाई अहिले निरन्तरता मात्र दिनुपर्ने भन्दै राम मन्दिर निर्माणपछि अयोध्यामा दर्शन गर्न पुग्ने श्रद्धालु भक्तजनहरूलाई जानकी दर्शनका लागि जनकपुरधाम पठाउने वातावरण निर्माण गर्न भारतको केन्द्रीय तथा उत्तरप्रदेश सरकारसँग आग्रह गर्नुभयो ।

सीताको दर्शनबिना रामको दर्शन अधुरो भएको रामायणकै चर्चा प्रसार हुनुपर्ने र दुवैसँग जोडिएका ठाउँका बारेमा ‘डिजिटल’ जानकारी प्रवाह हुँदा दर्शनार्थीले सबै ठाउँका बारेमा जानकारी प्राप्त गर्ने तथा रामायणकालीन विचारधाराबाट अवगत हुनेमा मुख्यमन्त्री सिंहले जोड दिनुभयो । उहाँले भन्नुभयो, “सीता जन्मस्थल, धनुषयज्ञ स्थल र विवाहमण्डपलगायत ठाउँबारे जानकारी सङ्ग्रहित श्रव्यदृश्य र लेख्य सामग्री डिजिटल पोर्टलमार्फत रामायण सर्किटसँगै साझा गरिँदा धार्मिक तथा पर्यटन विकासले तीव्रता लिनेछ ।”

मुख्यमन्त्री सिंहले नयाँ पुस्तासँग रामायणको आद्योपान्त अध्ययन गर्ने धैर्य नभएको भन्दै रामायणकथालाई साना श्रव्यदृश्य तथा दृश्यमार्फत प्रसार गरिनुपर्ने बताउनुभयो । उहाँले  जनकपुरधामको धार्मिक पर्यटनमा टेवा पुग्नेगरी आफूले एउटा धार्मिक समारोहमा सहभागी हुन अयोध्या भ्रमण गरेको बताउनुभयो । उहाँले सीतारामको पदगमन र गाथासँग जोडिएका नेपाल, भारत र श्रीलङ्काका विभिन्न स्थानमा रामायण चर्चासँगै पौराणिक कथाका बारेमा जागरण तथा खोजअनुसन्धान हुने दृष्टिले रामायण कन्क्लेभ महत्वपूर्ण भएको औँल्याउँदै ती कुरालाई लिपिबद्ध गर्दै ठाउँठाउँमा प्रस्तुत गर्ने उत्तर प्रदेश सरकारको काम सराहनीय भएको प्रस्ट पर्नुभएको छ ।

प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माले सीता शक्ति र भक्तिको प्रतीक भएको जिकिर गर्दै सीता जन्मभूमिमा महिलाको स्थिति कमजोर हुँदा आफूलाई दुःख लाग्ने गरेको बताउनुभयो । उहाँले जानकी भूमिमा महिला हिंसाका घटना अक्षम्य हुने भन्दै नारी सशक्तीकरणका पक्षमा काम हुनुपर्ने उल्लेख गर्नुभयो ।     जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अध्यक्षतामा भएको कार्यक्रममा भारत तथा नेपालका विद्वान तथा विदुषीहरूले रामायण चर्चा गरेका थिए ।

फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित

पाँचथर, ७ पुस : पाँचथरको फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले झापा–११ फुटबल क्लबमाथि फराकिलो जित निकालेको छ ।

फिदिम माविको खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मच्छिन्द्रले झापा–११ माथि ५–० गोलअन्तरको जित निकालेको हो । खेलमा हाबी देखिएको मच्छिन्द्रले झापा–११ माथि गोल फर्काउने कुनै मौका दिएन । मच्छिन्द्रका लागि खेलको ११औँ मिनेटमा देवेन्द्र तामाङ, ३०औँ मिनेटमा उत्सव राई, पहिलो हाफको अतिरिक्त समयमा बिजु भुजेल, खेलको ७९औँ मिनेटमा सौरभ सुब्बा र ९०औँ मिनेटमा पुनः बिजु भुजेलले गोल गरेका थिए । जितसँगै मच्छिन्द्र प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आजको खेलको ‘म्यान अफ दी म्याच’ मच्छिन्द्रका बिजु भुजेल घोषित हुँदै रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगिताअन्तर्गत सोमबार हुने क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटवल क्लब, काठमाडौँ र आयोजक फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिनुभयो । शनिबारदेखि सुरु भएको प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले रु १० लाख पाँच सय ५५ तथा उपविजेताले रु पाँच लाख पाँच सय ५५ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुले समेत पुरस्कार प्राप्त गर्नेछन् ।

कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार मध्य रूसी सहर कजानमा एक दिनअघि भएको ड्रोन हमलाको बदलामा युक्रेनमा थप ‘विनाश’ ल्याउने प्रतिज्ञा गर्नुभएको छ ।

रुसले युक्रेनमाथि सीमाबाट करिब एक हजार किलोमिटर टाढाको सहरको एक विलासी अपार्टमेन्ट ब्लकमा भएको ‘विशाल’ ड्रोन हमलाको आरोप लगाएको छ ।

रूसी सामाजिक सञ्जाल नेटवर्कहरूमा भएका भिडियोहरूमा ड्रोनहरूले अग्लो काँचको भवनमा प्रहार गरेको र आगोको गोला प्रहार गरेको देखाइएको छ । यद्यपि आक्रमणबाट कुनै हताहत भएको रिपोर्ट गरिएको छैन ।

“जसले पनि र जति धेरै नष्ट गर्न खोज्छन्, उनीहरूले धेरै गुणा बढी विनाशको सामना गर्नेछन् र उनीहरूले हाम्रो देशमा के गर्न खोजिरहेका छन् त्यसको पछुतो गर्नेछन्”, पुटिनले आइतबार टेलिभिजनमा भएको सरकारी बैठकमा भन्नुभयो ।

उहाँले कजान अवस्थित क्षेत्र तातारस्तानका स्थानीय नेतालाई भिडियो लिङ्कमार्फत सडक उद्घाटन समारोहमा सम्बोधन गर्दै हुनुहुन्थ्यो ।

लगभग तीन वर्षको द्वन्द्वमा बढ्दो हवाई आक्रमणको श्रृङ्खलामा कजानमा भएको आक्रमण पछिल्लो थियो । युक्रेनले आक्रमणबारे कुनै टिप्पणी गरेको छैन ।

पुटिनले यसअघि रुसी भूभागमा युक्रेनी आक्रमणको जवाफमा किएभको केन्द्रमा हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिनुभएको थियो ।

साथै रक्षा मन्त्रालयले हालैका हप्ताहरूमा युक्रेनी ऊर्जा सुविधाहरूमा गरिएका रुसी आक्रमणहरूलाई किएभले पश्चिमी–आपूर्ति गरिएका मिसाइलहरू प्रयोग गरेर रुसी वायु अड्डाहरू र हतियार कारखानाहरूमा हानेको बदला भनेको छ ।

रुसले पूर्वी युक्रेनको युद्धभूमिमा नयाँ प्रगति गरेको दाबी गरेपछि पछिल्लो धम्की आएको हो । रक्षा मन्त्रालयले टेलिग्राममा सेनाले उत्तरपूर्वी खार्किव क्षेत्रको लोजोभा र युक्रेनको सोन्टसिभ्का भनिने क्रास्नोय गाउँहरूलाई ‘मुक्त’ गरेको बताएको छ ।

पछिल्लो कुरा कुराखोभको स्रोत केन्द्रको नजिक छ, जसलाई रुसले लगभग घेरेको छ र सम्पूर्ण डोनेट्स्क क्षेत्र कब्जा गर्ने मस्कोको प्रयासमा महत्त्वपूर्ण पुरस्कार हुनेछ ।

रुसले जनवरीमा अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प सत्तामा आउनुअघि सकेसम्म धेरै क्षेत्र सुरक्षित गर्न हालैका महिनाहरूमा पूर्वी युक्रेनमा आफ्नो अग्रगति तीव्र पारेको छ ।रिपब्लिकन राष्ट्रपति ट्रम्पले करिब तीन वर्ष लामो द्वन्द्वलाई छिट्टै अन्त्य गर्ने प्रतिज्ञा गर्नुभएको छ तर युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै ठोस सर्तहरू प्रस्ताव गर्नुभएको छैन ।

मस्कोको सेनाले यस वर्ष एकसय ९० भन्दा बढी युक्रेनी बस्तीहरू कब्जा गरेको दाबी गरेको छ भने जनशक्ति र गोलाबारुदको अभावको सामना गरिरहेको किएभलाई मोर्चा कायम राख्न सङ्घर्ष भइरहेको छ ।

‘कृषि क्षेत्रको विकास गर्न सामूहिक प्रयास आवश्यक’ – मन्त्री अधिकारी

काठमाडौँ, ७ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रयास आवश्यक रहेकामा जोड दिनुभएको छ ।

सातवटै प्रदेशका कृषिमन्त्रीको उपस्थितिमा आज मन्त्रालयमा आयोजित विषयगत समितिको १०आँै बैठकलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले राज्यको क्षमताअनुसार योजना बनाउनुपर्ने भन्दै बनेका योजनाको प्रभावकारी कार्यान्वयन गर्न सबैको सहयोग र समन्वय आवश्यक पर्ने बताउनुभयो ।

“बाँझो जग्गामा खेती गर्ने व्यवस्था गर्नेगरी स्थानीय तहमार्फत कानुन तथा कार्यविधि बनाई लागू गर्न आवश्यक छ, यसका लागि प्रदेश र सङ्घीय सरकारले सशर्त र विशेष अनुदान उपलब्ध गराउनुपर्छ”, उहाँले भन्नुभयो ।

मध्यपहाडी क्षेत्रमा फलफूलको सम्भावना रहेको भन्दै तीनै तहका सरकार सम्भाव्यता अध्ययन गरी प्रभावकारी योजनामार्फत कार्यान्वयन गर्दै जानुपर्ने मन्त्री अधिकारीले बताउनुभयो । विदेशबाट फर्किएकालाई कृषि क्षेत्रमा लगाउने आधार बनाउने गरी काम गर्न उहाँले सरोकार भएका सबैलाई आग्रह गर्नुभयो ।

बैठकमा सातै प्रदेशका कृषि क्षेत्रसँग सम्बन्धित सचिवले प्रदेशमा कृषि क्षेत्रको वर्तमान अवस्थाबारे प्रस्तुति गर्नुभएको थियो । बैठकमा प्रदेशमन्त्रीले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । बैठकमा यसअघि बसेको नवौँ बैठकले गरेका निर्णय कार्यान्वयनको समीक्षा पनि भएको थियो ।

सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक

काठमाडौँ, ७ पुस : सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शीर्ष राजनीतिक नेतृत्व, उच्च प्रशासनिक नेतृत्व र सम्बन्धित निकायका प्रतिनिधिबीच आज उच्चस्तरीय छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको छलफलमा नेपाली कांग्रेससका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्रीगण, राजनीतिक संयन्त्रमा रहेका नेता नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस महामन्त्री गगनकुमार थापालगायत सहभागी बैठकमा सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे प्रस्तुतिकरण गरिएको थियो ।

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य तथा आम विनाशका हातहतियार निर्माण र विस्तारमा  वित्तीय लगानीजस्ता गैह्रकानुनी क्रियाकलाप निवारण गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गरेको छ । सदस्य राष्ट्रले एफएटिएफका मापदण्ड पालना गर्नुपर्नेछ । नेपाल २०५९ सालमा  एफएटिएफको सदस्य भएको थियो । तत्पश्चात यस क्षेत्रमा कानुनी, नीतिगत र संरचनागतरुपमा काम हुँदै आएका छन् । एसिया प्रशान्त क्षेत्रमा एसिया प्यासिफिक ग्रुप अन मनी लाउण्डरिङ (एपिजी)ले यहाँका मुलुकबीच यस विषयमा साझा काम गर्दै आएको छ ।

एपिजीले गरेको मूल्याङ्कनमा नेपालसहित विश्वका २५ मुलुक ‘जुरिस्डिक्सन अण्डर इन्क्रिइज्ड मनिटरी’ (ग्रे लिस्ट)मा पर्र्ने अवस्थामा रहेकाले यसमा सुधारका लागि बैठकमा सघन छलफल भएको थियो । आगामी जनवरीमा फिलिपिन्समा हुने एपिजीको ‘फेस टु फेस’ बैठकमा नेपालको राजनीतिक प्रतिबद्धता र सुधारका पहलससिहत प्रस्तुति राखेर नेपाललाई ‘ग्रे लिस्ट’मा पर्न नदिन पहल गर्न छलफलका क्रममा सुझाव दिइएको छ ।

छलफलमा प्रधानमन्त्री ओलीले यसलाई सबैले गम्भीरतापूर्वक लिएर स्थितिमा सकारात्मक परिवर्तन ल्याउन भोलिदेखि नै प्रभावकारीरुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक क्रियाकलापमा कतै बढी कडाइ र कतै बढी नरम हुँदा असन्तुलन देखिएको तथा अनेक कार्यविधि र संयन्त्रका कारण उद्योगी, व्यवसायी निरुत्साहित पनि भएकामा यस अवस्थामा सुधार ल्याउनुपर्ने बताउनुभयो । उहाँले भर्खरै स्थिरताको लक्ष्यका साथ नयाँ सरकार बनेको र स्थितिमा सुधार गर्न पहल गरिरहेकाले भरपर्दाे राजनीतिक प्रतिबद्धताका साथ अन्तर्राष्ट्रिय मञ्चलाई त्यही आधारमा रिपोर्टिङ गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति देउवाले कसले कहाँ के सामान किन्छ भन्ने हिसाब किताब नै नहुने भएकाले सम्पत्ति शुद्धीकरणलाई कार्यान्वयन गर्नु गाह्रो कुरा हो भन्नुभयो । उहाँले आर्र्थिक कारोबारका विविध पक्षबारे जनतालाई सिकाउनुपर्ने र स्थितिमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सम्पति शुद्धीकरणको अवस्थामा सुधार ल्याउन सरकारले गत असार १७ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति स्वीकृत गरेको छ । यही पुस ५ गतेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारणका लागि तीन नियमनकारी निकाय तोक्ने निर्णय गरेको थियो । सो बैठकले सवारीसाधन खरीद कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषका लागि नेपाल राष्ट्र बैंक, सवारीसाधन बिक्री गर्ने व्यवसायीका लागि यातायात व्यवस्था विभाग र इन्भेस्टमेन्ट कम्पनीका लागि नेपाल धितोपत्र बोर्डलाई नियमनकारी निकाय तोकेको थियो ।

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), ७ पुस : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनाको अवधिमा रु ६४ अर्ब ५९ करोड ५१ लाख २५ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले कुल वार्षिक लक्ष्यको पाँच महिनाको अवधिमा २९ दशमलव ५० प्रतिशत राजस्व सङ्कलन गरेको हो । कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको साउन महिनामा रु १२ अर्ब १६ करोड ३२ लाख राजस्व सङ्कलन गरेको छ । 

भदौ महिनामा १३ अर्ब ४३ करोड १० लाख, असोज महिनामा १३ अर्ब ४३ करोड र कात्तिक महिनामा ११ अर्ब १० करोड ५२ लाख राजस्व सङ्कलन गरेको थियो । तर मङ्सिर महिनामा भने रु १४ अर्ब ४१ करोड ५९ लाख राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने राजस्व सङ्कलन दुई अर्ब ५९ करोड १६ लाख ३० हजार बढेको छ । कार्यालयका अनुसार गत आवको पाँच महिनाको अवधिमा भने ६२ अर्ब ३४ लाख ९५ हजार राजस्व सङ्कलन गरेको थियो ।

नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई

अर्घाखाँची, ७ पुस : अन्तरपाटी महिला सञ्जाल अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा आयोजना गरिएको उपप्रमुख कप नगरस्तरीय महिला भलिबल खेल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि जनज्योति माविले जितेको छ ।

सन्धिखर्क नगरपालिकाका ११ माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगिताको  आज भएको फाइनल खेलमा अर्घाखाँची आवासीय माविलाई सोझो सेटमा हराउँदै जनज्योति मावि विजेता बनेको हो । आयोजक अन्तरपाटी महिला सञ्जालका अध्यक्ष चन्द्रा गैरेका अनुसार प्रतियोगितामा अर्घाखाँची आवासीय मावि द्वितीय, गौरीशङ्कर इङलिस बोर्डिङ स्कुल तृतीय र भगवती मावि शङ्खेटारीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।  प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टोलीले ट्रफी, मेडल, प्रमाणपत्रसहित क्रमशः रु २० हजार, रु १५ हजार, रु आठ हजार र रु पाँच हजार प्राप्त गरेका छन् । 

सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त प्रतियोगिता शुक्रबारदेखि सन्धिखर्कको टुँडिखेलमा सुरु भएको थियो । छात्राहरु खेलमा पनि अब्बल छन् भन्ने सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सन्धिखर्क नगरका उपप्रमुख मिश्रा आचार्यले बताउनुभयो ।  

एनपीएलमा जनकपुरका समर्थकमाथि आक्रमण गर्नेलाई कारवाही गर्न जनमत पार्टीको माग

काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुर बोल्टस्का समर्थकमाथि भएको आक्रमण र अपमानप्रति विरोध जनाउँदै दोषीमाथि कारबाहीको माग गरेको छ ।शनिबार सम्पन्न एनपीएलको फाइनल खेलपछि काठमाडौंमा विजय उत्सव मनाइरहेका समर्थकलाई लक्षित गर्दै नश्लीय सोचबाट प्रेरित केही व्यक्तिहरूले अपमानजनक शब्द प्रयोग गर्नुका साथै कुटपिट गरेको घटनाले मधेसी समुदायलाई चोट पु¥याएको जनमत पार्टीको भनाइ छ ।

पार्टीका प्रवक्ता शरदसिंह यादवले जारी गरेको विज्ञप्तिमा यस्तो घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै दोषीहरूमाथि तत्काल कारवाहीको माग गरिएको छ ।‘नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा जनकपुर बोल्ट्सले उपाधि हासिल गरेकोमा जनकपुर बोल्ट्सका खेलाडी, प्रशिक्षक, व्यवस्थापक लगायत सम्पूर्णमा जनमत पार्टी हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ । तथा सहभागी सबै टिमले उत्कृष्टताका साथ प्रर्दशन गर्दै खेल सम्पन्न गरेकोमा सबैलाई हार्दिक धन्यवाद छ ।

एनपीएलको फाइनल खेलपछि काठमाडौंमा विजय उत्सव मनाइरहेका जनकपुर बोल्ट्स समर्थक मधेसी समुदायका मान्छेहरुलाई लक्षित गरेर नश्लीय सोच बोकेका केही युवाहरुद्वारा विभिन्न अपमानजनक शब्द प्रयोग गर्दै गरिएको आक्रमण तथा कुटपिट प्रति जनमत पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता रंगभेदी क्रियाकलाप गर्ने व्यक्तिहरुको पहिचान गरी गृह प्रशासनले कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्नको लागि जनमत पार्टी जोरदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।साथै जनमत पार्टीले घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिलाउन सरकारसँग आग्रह गरेको छ ।

स्वदेश आइपुग्यो यू–१९ महिला क्रिकेट टोली

काठमाडौं । एसिसी महिला यु–१९ एसिया कपअन्तर्गत सुपर फोरबाटै बाहरिएको नेपाली टोली आइतबार स्वदेश फर्किएको छ ।शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग नौ विकेटले पराजित भएसँगै यू–१९ महिला क्रिकेट टोली स्वदेश फर्किएको हो ।स्वदेश फर्किएको नेपाली टोली आइतबार अपरान्ह्र काठमाडौं आइपुगेको हो ।

काठमाडौं आइपुगेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रशिक्षक महेशप्रसाद रिजालले महिला यु–१९ क्रिकेट टोलीले राम्रो प्रदर्शन गरेको बताए । उनले आगामी दिनमा यो टोलीले अहिलेको भन्दा राम्रो प्रदर्शन गरेर नेपाललाई चिनाउने आशा व्यक्त गरे ।उनले भने, ‘जति राम्रो गर्नुपथ्र्यो त्यो गर्न सकिएन । तर पाकिस्तान जस्तो बलियो टिमसँग जित्नु नै हाम्रो लागि राम्रो प्लस पोइन्ट हो ।

अपेक्षा गरे अनुसार राम्रो नतिजा ल्याएको छ । तर आगामी दिनमा यो टोलीले अहिलेको भन्दा राम्रो प्रदर्शन गरेर क्रिकेटमा नेपाललाई चिनाउने छ ।’एसिया कपमा नेपाल समूह ‘बी’ को उपविजेता तथा बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरको यात्रा तय गरेको थियो ।

नेपालले समूह ‘बी’ को उपविजेता र बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा स्थान बनाएका थिए ।समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग वर्षाका कारण अंक बाँडेको थियो ।सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालले श्रीलंकासँग अंक बाँड्नुपरेको थियो ।

सुधारोन्मुख अवस्थामा वैदेशिक व्यापार, आयात र निर्यात बढ्यो

काठमाडौँ, ७ पुसः लामो समयसम्म नकारात्मक अवस्थामा देखिएको वैदेशिक व्यापार विस्तारै सुधारोन्मुख हुन थालेको छ । भन्सार विभागद्वारा आज सार्वजनिक चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कमा वैदेशिक व्यापारमा सुधार देखिएको हो ।

उक्त तथ्याङ्कअनुसार यो अवधिमा आयात तीन प्रतिशत र निर्यात १६ दशमलव पाँच प्रतिशतले बढेको छ । विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा रु छ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार बराबरको वस्तु आयात भएको छ । गत आवको सुरुआती पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन प्रतिशतले बढेको हो ।

गत आवको पहिलो पाँच महिनामा नेपालले रु ६३ अर्ब २० करोड ७४ लाख बराबरको वस्तु निर्यात गरेकामा चालु आवको सोही अवधिमा निर्यात १६ दशमलव ५४ प्रतिशतले बढेर रु ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार पुगेको छ । आयात, निर्यात बढेसँगै मुलुकको व्यापार घाटा पनि बढेको छ ।

मङ्सिर मसान्तसम्ममा कुल रु सात खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजार बराबरको वैदेशिक व्यापार हुँदा नेपालले रु पाँच खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख घाटा व्यहोरेको छ । गत आवको पहिलो पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा व्यापार घाटा चार दशमलव २१ प्रतिशतले बढेको हो ।

मङ्सिर मसान्तसम्ममा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । यो अवधिमा रु ४२ अर्ब १७ करोड २८ लाख ६२ हजार बराबरको डिजेल, रु २६ अर्ब ४५ करोड ४३ लाख बराबरको पेट्रोल र रु २४ अर्ब २२ करोड ९१ लाख बराबरको एलपी ग्यास आयात भएको छ । त्यस्तै, रु २० अर्ब ९६ करोड बराबरको फलामजन्य वस्तु र रु १० अर्ब ३५ करोड ६१ लाख बराबरको स्मार्टफोन आयात भएको छ ।

सबैभन्दा बढी निर्यात भएका वस्तुमा भटमास तेल, कार्पेट, अलैँची, सूर्यमुखी तेल, चियालगायत वस्तु छन् । पाँच महिनामा रु आठ अर्ब ३६ करोड ८५ लाख बराबरको भटमास तेल, रु चार अर्ब ९६ करोड ३३ लाख बराबरको कार्पेट, रु तीन अर्ब ४५ करोड ७२ लाख बराबरको अलैँची, रु दुई अर्ब ९७ करोड ६१ लाख बराबरको सूर्यमुखी तेल र रु दुई अर्ब ७१ करोड २६ लाख बराबरको चिया निर्यात भएको भन्सार विभागद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

नेपथ्यबाट चलाइएको हल्लामा सत्यता छैन : मन्त्री गुरुङ

काठमाडौँ, ७ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको स्थिरता र स्थायित्वबारे नेपथ्यबाट चलाइएको हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको सहमतिमा गठन भएको वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म तलमाथि नभई निर्बाध रुपमा सञ्चालन हुने बताउनुभयो ।

“नेपाली कांग्रेस र एमालेको सदनमा एक सय ६७ सिट सङ्ख्या छ । बहुमतका लागि अरू दल खोज्न परेन । राष्ट्रिय सङ्कट समाधानका लगि मिल्नुपर्छ भन्ने प्रमुख दुई दलबीचमा समान बुझाइ रहुन्जेल सरकार कसैले चाहँदैमा फेरबदल हुँदैन”, मन्त्री गुरुङले भन्नुभयो । विभिन्न क्षेत्रमा बिगँ्रदै र भत्कँदै गएको अवस्थालाई सरकारले नियन्त्रणमा लिई मुलुकलाई असफल हुनबाट बचाएको अवस्था रहेको उल्लेख गर्दै उहाँले सामाजिक क्षेत्रमा देखिएको असहिष्णुताको वातावरण हटाउनसमेत सफल भएको स्पष्ट पार्नुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “कांग्रेस र एमालेबीच बनेको सहमतिअनुसार २०४८ साल, २०५६ र २०६४ सालमा जस्तै दुई दलबीच सरकार चलाउने तथा आपसमा चुनावी प्रतिस्पर्धा गर्दै २०८४ सालको चुनाव सम्पन्न गरिनेछ ।”

मुलुकमा राजनीतिक अस्थिरताका कारण नीतिगत अस्पष्टता, लक्ष्यअनुरुप बजेट कार्यान्वयन र राजस्व सङ्कलन नहुँदा राष्ट्रिय गौरवको आयोजना समयमा पूरा हुन नसकेको मात्र नभई व्यापार घाटा बढ्नाका साथै निर्माण सामग्री आयात ठप्प हुन गई सङ्कटपूर्ण परिस्थितिमा वर्तमान सरकार गठन गरिएको मन्त्री गुरुङले प्रसङ्ग उल्लेख गर्नुभयो ।

राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान गरेका कांग्रेस र एमालेले मिलेर सरकार गठन गर्नुको कारण र औचित्य प्रष्ट पार्दै उहाँले राजनीतिक स्थिरता र सुशासन कायम गरी शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार लागि परेको बताउनुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने विषय संसदीय प्रणालीमा विरलै हुने घटना भए पनि सरकारले विकास, समृद्धि र स्थिरताको मूलभूत दायित्व पूरा गर्ने विश्वास दिलाउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “देशको राजनीतिक परिघटनामा प्रमुख राजनीतिक दल मिलेर सङ्कटको समाधान गर्दै आएको इतिहास छ । अहिले पनि विभिन्न क्षेत्रमा देखिएका समस्या र राजनीतिक अस्थिरता अन्त्य गर्न वर्तमान सरकार गठन भएको हो । उद्देश्य र लक्ष्य पूरा गर्नेछ ।”

दक्षिण नाइजेरियाको भिडमा भागदौड हुँदा २२ को मृत्यु

दक्षिणी नाइजेरियामा नागरिकहरूलाई चामल वितरण गर्ने केन्द्र बाहिर भएको भागदौडमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । यो अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा यस्ता घटनाहरूको शृङ्खलामा पछिल्लो घटना हो ।

सोही दिन राजधानी अबुजामा ‘असहाय र वृद्ध’ लाई खाना दिँदै गर्दा चर्च बाहिर भएको छुट्टै भागदौड हुँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो । यी दुई दुर्घटनाका कारण नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले आफ्नो कार्यतालिका खाली गर्नुभयो ।

अनाम्ब्रा राज्य प्रहरीका प्रवक्ताले ओकिजामा मृत्यु भएका परिवार र साथीहरूप्रति समवेदना व्यक्त गर्नुभयो । “दुर्भाग्यपूर्ण घटनाको अनुसन्धान अझै जारी छ”, अनाम्ब्रा प्रहरी प्रवक्ता तोचुक्वु इकेङ्गाले २२ जनाको मृत्यु भएको पुष्टि गर्दै विज्ञप्तिमा भन्नुभयो । 

प्रहरीले पहिले घटनामा ‘धेरै’ को मृत्यु भएको बताएको थियो । 

मैतामा जिल्लाको होली ट्रिनिटी क्याथोलिक चर्च बाहिर अबुजामा भएको भागदौडमा मारिएका १० जनामध्ये चार जना बालबालिका रहेको प्रहरीले जनाएको छ । एक प्रहरी प्रवक्ताका अनुसार भागदौडमा अन्य आठ जना घाइते भएका छन् ।

“आनन्द र उत्सवको मौसममा हामी हाम्रा नागरिकहरूसँग आफ्ना प्रियजनहरूको पीडादायी क्षतिमा शोक व्यक्त गर्दछौँ, ईश्वरीय सान्त्वना र स्वास्थ्य लाभका लागि हाम्रो प्रार्थना उनीहरूसँग छ”, राष्ट्रपति टिनुबुले भन्नुभयो । 

दक्षिणपश्चिमी सहर इबाडनको एक विद्यालय मेलामा बिहीबार भागदौड भएपछि शनिबारका घटनाहरू भएका हुन् । त्यो भागदौडमा ३५ जना बालबालिकाको मृत्यु भएको थियो भने अन्य छ जना गम्भीर घाइते भए । 

पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको रूसको दाबी

रूसले आइतबार पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको जनाएको छ ।रक्षा मन्त्रालयले टेलिग्राममार्फत् जारी एक विज्ञप्तिमा भनिएको छ, “रूसी सेनाले उत्तरपूर्वी खार्किभ क्षेत्रको लोजोभा र युक्रेनको सोन्त्सिभका भनिने क्रास्नोय गाउँलाई ‘मुक्त’ गरेको छ ।

क्रास्नोय कुराखोभको संसाधन क्षेत्रको नजिकमा रहेको छ । रूसले लगभग खार्किभको सवै भागलाई घेरेको छ र यो सम्पूर्ण डोनेट्स्क क्षेत्र कब्जा गर्ने मस्कोको प्रयासको लागि प्रमुख उपलब्धी हुनेछ ।

आगामी जनवरीमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आउनुअघि नै रुसले पूर्वी युक्रेनमा आफ्नो प्रगति तीव्र बनाएको छ ।
रिपब्लिकन पार्टीले युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै ठोस शर्त प्रस्ताव नगरी करिब तीन वर्षदेखि जारी द्वन्द्वको शीघ्र अन्त्य गर्ने वाचा गरेको छ ।

मस्कोको सेनाले यस वर्ष १९० भन्दा बढी युक्रेनी बस्तीहरू कब्जा गरेको दाबी गरेको छ । किएभले जनशक्ति र गोलाबारुदको अभावबीच आफ्नो गुमेको भूभाग फिर्ता लिने कठिन यात्राको सामना गरिरहेको छ ।