नेपाली फिल्म किन अन्तर्राष्ट्रिय बजारमा पुग्न सक्दैनन् ?


काठमाडौं । कलाकार एवम चलचित्र क्षेत्रका सरोकारवालाहरुले नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा लैजान नसक्नुको कारणबारे समीक्षा गरेका छन् ।काठमाडौं विश्व विद्यालय र समीक्षक समाजले आइतबार काठमाडौंमा आयोजना गरेको ‘चलचित्र कन्फ्रेन्स’मा बोल्ने वक्ताहरुले विश्व हुने फेस्टिभलहरुमा नेपाली फिल्महरुको सहभागिता बढाउनुपर्ने औंल्याए ।
फिल्म निर्देशक सुबर्ण थापाले अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्म लान नसकिएको स्वीकार्दै यस विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए । उनले पछिल्लो समय धेरै कमाइ गर्न सफल २५ वटा नेपाली चलचित्र पनि अन्तर्राष्ट्रिय बजारका फेस्टिवलमा जान नसक्नु कमजोरी रहेको बताए ।
उनले भने, ‘सफल भएका २५ वटा फिल्ममध्ये एउटा पनि अन्तर्राष्ट्रिय बजारमा देखाउन सकिएन् । आफ्नो ठाउँमा पैसा कमाउनु ठिकै होला तर २५ वटामध्ये एउटा पनि फिल्म फेस्टिवलमा किन पुग्दैनन् ?’‘सामाजिक विषयवस्तुमा बनेका फिल्मका कथाबस्तु, अन्तर्राष्ट्रिय सिनारियो र दर्शक नमिलेर हो कि जस्तो लाग्छ । निर्माणमा पनि कमजोरी होला । अन्तर्राष्ट्रिय सिनारियोमा कथा लेखन अनुरुप नभएर पनि हो कि,’ उनले भने ।
यसैगरी नायिका केकी अधिकारीले फिल्म व्यापारिक रुपमा चलाउन चुनौति रहेको औंल्याइन् । उनले आफूले अभिनय गरेको फिल्म ‘बोक्सीको घर’का बारे चर्चा गर्दै कथावस्तु, गीत र प्रचारका विभिन्न नीतिले ‘बोक्सीको घर’ले घरेलु बजारमा राम्रो व्यापार गरेको सुनाइन् ।
‘महोत्सव फिल्म भर्सेस घरेलु बजार’शीर्षकमा भएको अन्तरक्रियात्मक कार्यक्रममा ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले पनि फिल्मले व्यावसायिक तहल्का मच्चाउनुको खास कारण खुलाए ।
निर्देशक दीपेन्द्र लामाले हल मालिकले फिल्म बुझ्न नसक्दा समस्या हुने गरेको औंल्याए । ‘खासमा हलमा नातावाद कृपावाद चल्ने होइन । उनले फिल्मको व्यापार राम्रो हुनु एउटा पाटो हो, फिल्म महोत्सवमा पुग्नु अर्को पाटो भएको पनि बताए ।
अर्का निर्देशक सुवर्ण थापाले महोत्सव जाने फिल्मले अन्तर्राष्ट्रिय बजारमा देशकै प्रतिनिधित्व गर्ने हुँदा यसको योगदानको सम्मान गर्नुपर्ने धारणा राखे । उनले चलचित्र विकास बोर्डले सर्वाधिक कमाउने फिल्मलाई मात्रै नभई महोत्सव पुगेका फिल्मलाई पनि सम्मान गर्नुपर्ने बताएका हुन् ।