`

‘रमानन्द सिंह अध्ययन केन्द्र तथा थारु सङ्ग्रहालय’लाई प्रतिष्ठानमा रूपान्तरण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

Nepal One HD २२ असार २०८२ २१:४८
राजनीति

सिरहा, २२ असारः थारू समुदायका अगुवा तथा थारू कल्याणकारीसभाका संस्थापक सदस्य रमानन्द सिंह थारूको सम्मानमा स्थापना गर्न लागिएको ‘रमानन्द सिंह अध्ययन केन्द्र तथा थारू सङ्ग्रहालय’लाई प्रतिष्ठानमा रूपान्तरण गरिने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंहले यसबारे प्रतिबद्धता जनाउनुभएको हो । आज लहानमा थारू कल्याणकारिणीसभा जिल्ला कार्य समिति, सिराहाद्वारा आयोजित ‘रमानन्द प्रसाद सिंह थारू भाषा–संस्कृति प्रतिष्ठान’ स्थापनार्थ सम्मान तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले भन्नुभयो, “थारू समुदायका नेताहरूको आग्रहअनुसार अब सङ्ग्रहालय मात्र होइन, प्रतिष्ठानकै रूपमा विस्तार गर्ने निर्णय भएको छ । थारू भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि प्रदेश सरकार दृढ छ ।”

यसअघि मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा सप्तरीमा ‘रमानन्द सिंह अध्ययन केन्द्र तथा थारू सङ्ग्रहालय’ स्थापना गर्ने उल्लेख गरिएको थियो । तर थारू समुदायका अगुवाले केवल सङ्ग्रहालय नभई दीर्घकालीन अध्ययन, अनुसन्धान, संरक्षण र विस्तारको कार्य गर्न सक्ने प्रतिष्ठान स्थापनाको माग गरेपछि प्रदेश सरकारले त्यसलाई स्वीकार गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आउँदो प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकमै ‘रामानन्द सिंह थारू भाषा–संस्कृति प्रतिष्ठान’ स्थापनाको निर्णय गर्न मुख्यमन्त्री शतिसकुमार सिंहलाई आग्रह गर्नुभएको थियो ।

उहाँले आफ्नो पार्टी सबै जाति, वर्ग र समुदायलाई समेटेर अघि बढ्ने नीति अवलम्बन गरिरहेको स्पष्ट पार्दै थारू समुदायको भाषा, लिपि, संस्कृति, कला र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवद्र्धन अझ व्यवस्थित रूपमा गर्न प्रतिष्ठानको भूमिका अत्यन्त महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।

प्रतिष्ठान स्थापना गर्नका लागि मधेश प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले चालु आर्थिक वर्ष २०८२÷८३ का लागि कुल रु २५ लाख बजेट विनियोजन गरिसकेको छ ।

यद्यपि थारू समुदायका अगुवाहरूले यो रकम परियोजनाका लागि अपुग भएको भन्दै बजेट थप गर्न माग गरेका छन् । थारू कल्याणकारिणी सभा, जिल्ला कार्य समिति, सिरहाका सभापति सत्यनारायण चौधरीले थारू समुदायको पहिचान, भाषा, लिपि, संस्कृति र ऐतिहासिक सम्पदाको दिगो संरक्षणका लागि प्रतिष्ठान स्थापना अत्यन्त आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “थारू समुदायको योगदानलाई राष्ट्रियस्तरमा स्थापित गर्न र भविष्यका पुस्तालाई आफ्नो मौलिकता, इतिहास र संस्कृति बुझाउन प्रतिष्ठान स्थापना अनिवार्य छ । सङ्ग्रहालयले वस्तुहरू देखाउन सक्छ, तर प्रतिष्ठानले त्यसको अध्ययन, अनुसन्धान र दस्तावेजीकरण गर्छ । त्यसैले हामीले सङ्ग्रहालयभन्दा बढी प्रतिष्ठानको आवश्यकता महसुस गरेका हौँ ।”

चौधरीका अनुसार, प्रतिष्ठानमार्फत थारू भाषाको संरक्षण, लिपिको पुनःस्थापना, मौखिक इतिहासको दस्तावेजीकरण, थारू साहित्य, गीत–सङ्गीत र कलासंस्कृतिको प्रचारप्रसार गर्न सकिनेछ । उहाँले थप्नुभयो, “२५ लाख रुपैयाँ बजेट सुरुआतका लागि राम्रो हो, तर प्रतिष्ठान स्थापनाको उद्देश्य पूरा गर्न त्यो पर्याप्त छैन । दीर्घकालीन योजना, पूर्वाधार, स्रोतसाधन र दक्ष जनशक्ति व्यवस्थापनका लागि थप बजेट अपरिहार्य छ ।”

कार्यक्रममा थारू समुदायका विभिन्न अगुवा, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो ।

को हुन् रमानन्द सिंह थारू ?

रामानन्द सिंह थारू थारु समुदायभित्र पूर्वदेखि पश्चिमसम्म गहिरो प्रभाव राख्ने, बहुआयामिक व्यक्तित्व भएका एक प्रतिष्ठित समाजसेवी, मानवअधिकारकर्मी र कानुनविद् हुन् । सप्तरी स्थायी घर भएका सिंहले थारू, मधेशी र आदिवासी जनजातिको हकअधिकारका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा महत्वपूर्ण योगदान दिनुभएको छ ।

उहाँ थारू कल्याणकारीसभाका संस्थापक सदस्य हुनाका साथै, मधेशी तथा थारू समुदायबाट नेपालको महान्यायाधिवक्ताको पदमा पुग्ने पहिलो व्यक्ति पनि हुनुहुन्छ । साथै, संयुक्त राष्ट्रसङ्घमा नेपालको प्रतिनिधित्व गर्दै अन्तरराष्ट्रिय फोरममा थारू र आदिवासी मुद्दाहरू उठाउनुभएको थियो ।

विसं २०४७ को संविधान निर्माणमा मस्यौदाकारको भूमिका खेल्नुभएको सिंहले थारू समुदायको सामाजिक सुधारका लागि पनि अनेकौँ अभियान चलाउनुभएको छ । उहाँले २० बिगाहा निजी जग्गा दान गरी विद्यालय स्थापना, कन्यायौति प्रथा र मृत्युपछिको मासिक कर्म प्रथा अन्त्य जस्ता पहलमार्फत समाज परिवर्तनको नेतृत्व गर्नुभएको थियो ।

साहित्य र अनुसन्धानमा पनि उहाँको योगदान उल्लेखनीय छ । सिंहले थारू भाषामा गीता र बौद्ध धर्मसम्बन्धी दर्जनौँ पुस्तक अनुवाद गर्नाका साथै, थारू भाषाको पहिचानसम्बन्धी अनुसन्धानात्मक कृति लेखनसमेत गर्नुभएको छ । उहाँद्वारा स्थापना गरिएको ‘थारू संस्कृति’ संस्थाले नियमित रूपमा पत्रिका प्रकाशन गर्दै आएको छ ।

आज, उहाँकै नाममा स्थापना गर्न लागिएको ‘रामानन्द सिंह थारू भाषा–संस्कृति विकास तथा संरक्षण प्रतिष्ठान’ थारू समुदायको इतिहास, भाषा र पहिचानको संरक्षणतर्फ उठाइएको ऐतिहासिक कदमका रूपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *