`

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६४ पैसा र बिक्रीदर २१ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ५८ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ २९ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५ रुपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १३ पैसा र बिक्रीदर २३ रुपैयाँ २२ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४८२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३९२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ८० पैसा, ओमनी रियाल एकको खरिददर ३८४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ८७ पैसा रहेको छ।यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी। चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

यहाँको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जारस्थित जडेज खेलमैदानमा जारी गोल्डकपको आजको खेलमा आयोजक टिम न्यू स्टार फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै चित्लाङ सेमिफाइनलमा पुगेको हो।

यही चैत २३ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत २९ गते हुनेछ । प्रतियोगिताको विजेताले चार लाख नगदसहित ट्रफी तथा उपविजेताले दुई लाख नगदसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

पटक–पटक आएको हावाहुरी र असिनाले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा। फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र असिनासहितको वर्षाले खेतबारी उजाड बनाएको छ ।

मुख्य खाद्यान्न र नगदेबालीका रूपमा रहेको मकैदेखि तरकारी, फलफूल र माहुरीपालनसम्ममा यसको असर परेको छ । जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार कृषि क्षेत्रमा फागुन अन्तिम सातादेखि चैत दोस्रो सातासम्मको अवधिमा मात्रै रु ३ अर्ब १९ करोड २९ लाख ८२ हजार बराबरको क्षति भएको छ ।

यसबाहेक १ अर्ब ७२ करोड ७३ लाख ७४ हजार ६ सय रुपैयाँ बराबरको बाली पूर्ण रूपमा नष्ट भएको छ । झापाका १५ वटै पालिकामा क्षति देखिए पनि सबैभन्दा ठूलो मार मकैबालीले बेहोरेको छ । हावाहुरीसँगै परेको असिनाले बालीनाली थिचिएपछि उत्पादन नै नउठ्ने अवस्थामा पुगेको किसानहरू बताउँछन् ।

सबैभन्दा प्रभावित क्षेत्रमध्ये बाह्रदशी गाउँपालिका रहेको छ । यहाँ लगाइएको मकैबालीमध्ये झण्डै ७५ प्रतिशत नष्ट भएको छ । सात वडा रहेको पालिकामा ८४० हेक्टर क्षेत्रफलमा लगाइएको मकैबालीमा क्षति पुगेको प्रमुख विष्टले बताउनुभयो ।

मकैमा मात्रै रु २७ करोड २७ लाखभन्दा बढीको क्षति भएको छ भने आंशिक क्षति रु ७५ करोड ५७ लाख नाघेको छ । वडागत विवरणले क्षतिको गम्भीरता थप स्पष्ट पार्छ । बाह्रदशी–२ र ३ मा ठूलो क्षेत्रफलमा लगाइएको मकै पूर्ण रूपमा नष्ट भएको छ । अन्य वडामा क्षति भएको छ ।

बाह्रदशी गाउँपालिका–१ मा ४३९ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकामा २५ हेक्टर क्षेत्रफलमा पूर्ण र ३३ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ । त्यस्तै बाह्रदशी–२ मा ७८० हेक्टर क्षेत्रफलमा मकैखेती लगाइएकामा ५९६ हेक्टरमा पूर्ण र ५७ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको े प्रमुख विष्टले बताउनुभयो ।

बाह्रदशी ३ मा ६९३ हेक्टर क्षेत्रफलमा मकैखेती लगाइएकामा ५१९ हेक्टर क्षेत्रफलमा पूर्ण र ५० आंशिक क्षति भएको छ । बाह्रदी ४ मा ५४७ हेक्टर क्षेत्रफलमा मकै खेती लगाइएकोमा २६९ हेक्टर क्षेत्रफलमा पूर्ण र १३३ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ । बाह्रदशी ५ मा ९५७ हेक्टर क्षेत्रफलमा मकैखेती लगाइएकामा १६७ हेक्टर क्षेत्रफलमा पूर्ण र ४०० हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ । बाह्रदशी ६ मा ६५३ हेक्टर क्षत्रेफलमा मकै खेती लगाइएकोमा २० हेक्टर पूर्ण र ६७ हेक्टर क्षेत्रफलमा आंशिक क्षति पुगेको प्रमुख विष्टले बताउनुभयो ।

बाह्रदशी–७ मा ५३० हेक्टर क्षेत्रफलमध्ये ३३ मा पूर्ण र १०० हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ । मकैपछि तरकारी बालीमा उल्लेख्य असर परेको छ । विभिन्न वडामा साना क्षेत्रफल भए पनि तरकारी बाली नष्ट हुँदा दैनिक आम्दानीमा निर्भर किसान प्रत्यक्ष मारमा परेका छन् । तरकारी बालीतर्फ बाह्रदशी–१ मा १, बाह्रदशी–२ मा २, बाह्रदशी–३ मा ५, बाह्रदशी ४ मा ३, बाह्रदशी ५ मा २ बाह्रदशी ६ मा १ र बाह्रदशी ७ मा २ हेक्टरमा क्षति पुगेको हो । प्रमुख विष्टका अनुसार असिनासहितको वर्षा र हावाहुरीको दोहोरो प्रभावले किसान मारमा परेका छन् ।

“फूल लागेको र गोडाइको अवस्थामा रहेका बालीमा असिनाबाट अत्यधिक क्षति भयो”, उहाँले भन्नुभयो । स्थानीय तहहरूले प्रारम्भिक तथ्याङ्क सङ्कलन गरिरहेका छन् भने राहत तथा पुनःस्थापनाका उपायबारे छलफल थालेको उहाँको भनाइ छ ।

कञ्चनपुर कारागारबाट १६ केदीबन्दी नौबस्ता कारागार स्थानान्तरण

महेन्द्रनगर। महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण गरिएको छ ।बुधबार कञ्चनपुर कारागारभित्र दुई समूहबीच झडप हुँदा पाँच कैदीबन्दी घाइते भएका थिए । त्यसपछि कारागार प्रशासनले कैदीबन्दीलाई नौबस्ता कारागार स्थानान्तरण गरेको हो ।

केही समयअघि कैदीबन्दीबीच झडप हुँदा जिल्ला प्रशासन कार्यालयले यहाँबाट २० कैदीबन्दी स्थानान्तरण गर्न खोजेको थियो ।स्थान्तरणको तयारी गर्दा कारागारको परिस्थिति असहज बनेपछि तत्काल स्थान्तरण टरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरेन्द्र सिंह थापाले कैदीबन्दी स्थानान्तरण गर्न आवश्यक भएको जानकारी दिनुभयो ।

आपसी मनमुुटावको विषयमा दुई पक्षबीच झडप हुँदा घाइते भएका र अन्यलाई स्थानान्तरण गरिएको हो । गत पुसमा पनि कारागारमा झडप हुँदा नौ कैदीबन्दीलाई स्थानान्तरण गरिएको थियो ।

चितवनको माडीमा बसको ठक्करबाट १८ वर्षीया प्रितिको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ ।मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छिन् । भरतपुरबाट माडी–ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०२०४ नम्बरको बसले पैदलयात्री परियारलाई घर नजिकै ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार ठक्करबाट परियारको घटनास्थलमै ज्यान गएको हो ।परियारलाई ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला । जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको चामल जिल्ला बाहिर बिक्रीका लागि पठाइएको छ । बाहिरिएको परिमाणलाई आधार मान्दा अनुमानित तीन करोड ५० लाख रुपैयाँ मूल्य बराबर बिक्री भएको जनाइएको छ ।कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लाको दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

जसमध्ये एक हजार ६८ हेक्टर अर्थात् ३७ प्रतिशत क्षेत्रफलमा रैथाने जुम्ली मार्सी धान उत्पादन हुन्छ । गत कात्तिकदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणमा मार्सी धानको चामल बिक्रीका लागि जिल्लाबाट बाहिरिएको हो ।

जुम्ली मार्सी धान खेतीमा केही रोग कीराको प्रकोप बढेपछि कृषि अनुसन्धान केन्द्रले चन्दननाथ १ र ३ जातको धान यहाँका विभिन्न क्षेत्रमा लगाउन सिफारिस गरेको छ ।मार्सीधान जेठ मसान्तसम्ममा रोपिन्छ । यो धान करिब १८० दिनभित्र पाक्ने गर्छ । यो चामल प्रतिकेजी २०० रुपैयाँमा बिक्री हुने गरेको सदरमुकाम खलङ्गाका व्यापारी बताउँछन् ।

सभामुख अर्याल र स्विस राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत महामहिम डा. डानियल मेउल्लीले शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा दुई देशबिचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, नेपालको शान्ति प्रक्रिया र आर्थिक सहयोगका विविध आयामबारे विस्तृत छलफल भएको छ ।

भेटमा सभामुख अर्यालले राजदूत मेउल्लीलाई स्वागत गर्दै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र स्विट्जरल्याण्डबिच प्रगाढ र उत्कृष्ट सम्बन्ध कायम रहेको बताए । उनले नेपालले स्विट्जरल्याण्डसँगको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै यो मित्रता पारस्परिक सम्मान र सहयोगमा आधारित रहेको धारणा व्यक्त गरे ।
सभामुख अर्यालले स्विट्जरल्याण्ड सहभागितामूलक लोकतन्त्रको सफल अभ्यासका लागि विश्वमै उदाहरण रहेको चर्चा गर्दै नेपालले पनि स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउन निरन्तर प्रयत्न गरिरहेको जानकारी गराए ।

सो अवसरमा सभामुखले नेपालको सामाजिक–आर्थिक विकासमा स्विस विकास तथा सहयोग निकाय मार्फत पुर्याइएको योगदानको उच्च प्रशंसा गरे । ‘नेपाल अझै पनि स्विट्जरल्याण्डको प्राथमिकता प्राप्त देशको सूचीमा रहेकोमा हामी खुसी छौं, सभामुखले भने, ‘आगामी दिनमा यो विकास सहकार्यको दायरा थप विस्तार हुनेमा म विश्वस्त छु ।’

संसदीय सहकार्यका सम्बन्धमा चर्चा गर्दै सभामुख अर्यालले उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशका संसद्बिचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । उनले सन् २०२४ मा भएका उच्चस्तरीय जेनेभा भ्रमणहरूको स्मरण गर्दै स्विट्जरल्याण्डका राष्ट्रिय परिषद्का अध्यक्षलाई उपयुक्त समयमा नेपाल भ्रमणका लागि पुनः निमन्त्रणा समेत गरे । सभामुखले संघीय संसदमा नेपाल–स्विट्जरल्याण्ड संसदीय मैत्री समूह गठन गर्ने परम्परालाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाए ।

भेटमा राजदूत मेउल्लीले जलवायु परिवर्तन र सामाजिक–आर्थिक विकासका साझा चुनौतीहरूमा नेपालसँग निकट रहेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् । राजदूत मेउल्लीले नेपालको लोकतान्त्रिक सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न स्विट्जरल्याण्डको सदैव सहयोग रहने आश्वासन दिइन् ।

इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोलाई कडा चेतावनी दिनुभएको छ । साथै उहाँले ग्रिनल्यान्डको विषयमा आफ्नो धम्की दोहो¥याउनुभएको छ ।ट्रम्पको उक्त चेतावनीले अमेरिका भविष्यमा सात दशक पुरानो सुरक्षा सङ्गठनबाट बाहिर जान सक्ने डर नाटो गठबन्धनका केही सदस्यहरूमा उत्पन्न गराएको छ ।

बैठकपछि नाटो महासचिव मार्क रुटसँगको छलफलमा ट्रम्पले इरानसँगको युद्धमा नाटोले आवश्यक सहयोग नदिएको अवस्थामा गठबन्धनमा भरोसा गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले ट्रुथ सोशलमा पोस्ट गर्दै भन्नुभयो, “नाटो त्यहाँ थिएन जब हामीलाई उनीहरूको आवश्यकता थियो, र यदि हामीलाई तिनीहरूलाई फेरि आवश्यक पर्छ भने तिनीहरू त्यहाँ हुने छैनन् ।”

उहाँले ग्रिनल्यान्डको बारेमा ‘ठूलो, खराब दौड, आइसको पिस’ भनेर टिप्पणी गर्नुभयो, तर यसले के अर्थ राख्छ भन्ने स्पष्ट पार्नुभएन ।पूर्व डच प्रधानमन्त्री रुटले बैठकको वातावरणलाई खुला र स्पष्ट छलफल भएको बताउनुभयो, तर ट्रम्पले नाटो छोड्ने योजना स्पष्ट भने गर्न सक्नुभएन । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति र महासचिवबीच छलफल जारी रहेको र आवश्यक निर्णय केही घण्टाभित्रै सार्वजनिक हुन सक्ने बताउनुभयो ।

वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले केही नाटो सदस्यहरूलाई असहयोगी ठानेर अमेरिकी सेनालाई तिनीहरूको देशबाट बाहिर सार्ने योजना पनि छलफल गर्न खोज्नुभएको थियो । उहाँले यस अघिका र हालका कदमहरूद्वारा नाटो गठबन्धनमा अस्थिरता सिर्जना गर्दै आएका छन् र यो अझ संवेदनशील बनेको छ किनभने अमेरिकाले इरानसँग हालै दुई हप्ताको युद्धविराम हासिल गरेको छ ।

ट्रम्पले नाटो सदस्यहरूको क्षमतामा प्रश्न उठाउँदै बेलायतका प्रधानमन्त्री किर स्टार्मरलाई ‘विन्स्टन चर्चिल जस्तो साहसी नेता होइन’ भनेर आलोचना गर्नुभयो र बेलायतको विमानवाहक जहाजलाई सानो र प्रभावहीन, अर्थात् ‘खेलौना’ जस्तो भन्दै उपहास गर्नुभयो । यस प्रकारका धम्कीहरूले संयुक्त राज्य अमेरिकाको परम्परागत मित्र राष्ट्रहरूमाथि असन्तोष सिर्जना गरेको छ ।

रुट अमेरिकी राष्ट्रपति ट्रम्पलाई शान्त र सहज महसुस गराउने र उहाँसँग मित्रतापूर्ण व्यवहार कायम राख्ने मुख्य व्यक्ति बन्नुभएको छ । उहाँले पेन्टागन प्रमुखसँग पनि भेट्ने अपेक्षा राख्नुभएको छ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग इरान, युक्रेन र नाटो जिम्मेवारीबारे छलफल गरिसक्नुभएको छ ।

ट्रम्प पुनः सत्ता फर्किएपछि, उनका कदमहरूले नेटोमा तनाव बढाएको छ । विशेष गरी ग्रिनल्यान्ड कब्जा गर्ने धम्की, युक्रेन–रूस युद्धमा सदस्य राष्ट्रहरूको सक्रियता नदिने निर्णय र मित्र राष्ट्रहरूले पर्याप्त रक्षा खर्च नगरेको खण्डमा सहयोग रोक्ने चेतावनीले गठबन्धनलाई चुनौती दिइरहेको छ । ट्रम्पको रणनीति र व्यक्तिगत शैलीले अमेरिका र अन्य शक्ति राष्ट्रहरूबीच अस्थिरता सिर्जना गर्ने अवस्था बढाएको छ

विपक्षी गढमा आफ्नो पहुँच परीक्षण गर्दै प्रधानमन्त्री मोदीको पार्टी

नयाँदिल्ली। असम, केरला र पुडुचेरीमा बिहीबार स्थानीय चुनाव सुरु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको भारतीय जनता पार्टी (भाजपा) का लागि महत्त्वपूर्ण परीक्षण शुरु भएको छ ।
मतदाताहरूको फैसला मोदीको पार्टीले विपक्षीहरूको गढमा आफ्नो प्रभाव विस्तार गर्न सक्ने क्षमता मापन गर्ने सङ्केतका रूपमा हेरिएको छ ।

असम र पुडुचेरीमा भाजपाले नेतृत्व गरेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को शासन छ भने केरला राज्यमा विपक्षी दलको नेतृत्व रहेको छ । यसैगरी, पश्चिम बङ्गाल र तमिलनाडुमा पनि यसै महिनाको अन्त्यतिर मतदान हुने भएकाले पाँच क्षेत्रको नतिजा मे ४ मा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

मध्यपूर्वमा जारी युद्धका कारण बढेको ऊर्जा मूल्य र खाना पकाउने ग्यासको मूल्यवृद्धिले जनतामा चिन्ता बढाएको छ । यसले चुनावमा नागरिकको प्राथमिकतामा प्रत्यक्ष प्रभाव पार्ने सम्भावना छ । नतिजा मोदीको पार्टीले विपक्षी गढमा प्रवेश गरेर आफ्नो प्रभुत्व विस्तार गर्न सक्ने सङ्केत दिनेछ भने बलियो प्रदर्शनले सङ्घीय सरकारलाई पनि मजबुत बनाउनेछ । सन् २०२४ को राष्ट्रिय चुनावपछि भाजपा क्षेत्रीय सहयोगीहरूमा भर पर्न बाध्य भएको थियो ।

उत्तरपूर्वी असममा भाजपाले लामो समयदेखि विवादास्पद आप्रवासन मुद्दामा कडा नीति अपनाउँदै सत्ता कायम गर्न खोजिरहेको छ । राज्यको अभियानले बङ्गाली भाषी मुस्लिमहरूको अवैध आप्रवासनको दाबीलाई चुनावी मुद्दाको रूपमा प्रस्तुत गरेको छ ।

दक्षिणी केरला राज्यमा भने भारतीय राष्ट्रिय कांग्रेस र कम्युनिस्ट पार्टीको नेतृत्वमा गठबन्धनहरूले परम्परागत रूपमा शासन गर्दै आएका छन् । मोदीको पार्टीले यहाँ आधार निर्माण गर्न कठिनाइ भोग्दै आएको छ र ठूलो लगानीमार्फत आफ्नो उपस्थितिलाई विस्तार गर्न खोजिरहेको छ ।

सङ्घीय क्षेत्र पुडुचेरीमा भाजपा आफ्नो स्थिति बलियो बनाउन क्षेत्रीय दलसँगको गठबन्धनमा भर परेको छ । पश्चिम बङ्गालको चुनाव सबैभन्दा विवादास्पद मानिन्छ । यहाँ तृणमूल कांग्रेस लगातार तीन कार्यकालदेखि सत्तामा छ । मोदीको पार्टीले यस राज्यमा अहिलेसम्म शासन गरेको छैन र मतदाता सूची संशोधनको विवादले राजनीतिक तनाव बढाएको छ ।

विपक्षी दलहरूले ‘विशेष सघन संशोधन’ अभ्यासले लाखौँ नागरिक, विशेष गरी अल्पसङ्ख्यक मुस्लिमहरूलाई मतदानबाट वञ्चित गरेको आरोप लगाएका छन् । भारतीय निर्वाचन आयोगले मतदाता सूचीबाट मृत, डुप्लिकेट र नक्कली मतदाताहरू हटाएको भन्दै आरोप अस्वीकार गरेको छ ।

बागमती प्रदेशसभा बैठकः विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव पेस

मकवानपुर। बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश लोक सेवा आयोगको छैटौँ वार्षिक प्रतिवेदन २०८१÷०८२ पेस गर्नुभएको छ ।
त्यसैगरी आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तर दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२, माथि विचार गरियोस भन्ने प्रस्ताव पेस गर्नुभयो ।

उक्त बैठकमा खानेपानी, ऊर्जा र सिँचाइमन्त्री कृष्णकुमार तामाङले प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२, माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभाको अर्को बैठक आगामी वैशाख ६ गते बस्ने गरी आजको बैठक स्थगित गर्नुभएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई आगामी बजेट तर्जुमाको सहमति, ३ अर्ब ६० करोडको परियोजना प्रस्ताव पेश गर्ने निर्णय

काठमाडौं । वैकल्पिक ऊर्जा विकास समितिको १११औँ बोर्ड बैठक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार सम्पन्न भएको छ ।
बैठकले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट तर्जुमा गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई सहमति प्रदान गर्ने निर्णय गरेको छ । केन्द्रले प्राप्त बजेट सिलिङभित्र रही आगामी वर्षका कार्यक्रमहरू तय गर्नेछ ।

बैठकमा मन्त्री श्रेष्ठले बजेट तर्जुमा गर्दा सामाजिक न्यायलाई प्राथमिकतामा राख्न निर्देशन दिए । उनले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकले प्रत्यक्ष रूपमा अनुभव गर्ने र लाभ लिने खालका कार्यक्रमहरू समावेश गर्न तथा नवप्रवर्तनमा आधारित योजनाहरू ल्याउन सुझाव दिएको केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए ।

यसैगरी, बैठकले संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धी अन्तर्गतको ‘हानि नोक्सानी कोष’ (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) मा नेपालको तर्फबाट परियोजना प्रस्ताव पेश गर्ने निर्णय पनि गरेको छ । वन तथा वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त पहलमा तयार गरिएको १९.८७ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब ६० करोड रुपैयाँ) बराबरको उक्त प्रस्ताव पेश गर्न हरित जलवायु कोषको प्रत्यक्ष पहुँच निकायका रूपमा केन्द्रलाई सहमति दिइएको ढकालले जानकारी दिए ।

सभामुखद्वारा बुढीगण्डकी आयोजनाबारे चासो

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो देखाएका छन् । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र सो आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग आज आफ्नै कार्यकक्षमा छलफल गर्दै उहाँले आयोजनाको निर्माणकार्य निश्चित समयसीमा तोकेर अगाडि बढाउनुपर्ने बताए।

सभामुख अर्यालले भने, “यो राष्ट्रिय गौरवको परियोजना हो । यो केवल विद्युत् उत्पादनसँग मात्र सम्बन्धित छैन, पर्यटन, कृषि उत्पादनको बजारीकरण र रोजगारी प्रवद्र्धनसँग पनि प्रत्यक्ष जोडिएको समग्र राष्ट्रिय महत्वको विषय हो । त्यसैले जति ढिलाइ हुनु थियो, भयो, अब यसको निर्माण कार्यलाई गति दिन थप ढिलाइ गर्नु हुँदैन ।”

सभामुख अर्यालले आयोजनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आयोजना प्रमुखको ध्यानाकर्षण गराए। “स्पष्ट कार्यतालिका बनाउने, कुन मितिमा काम सुरु गर्ने र कहिले सम्पन्न गर्ने भन्ने निर्धारण गरेर अघि बढ्नुस्,” उनले भने।

छलफलमा ऊर्जामन्त्री श्रेष्ठले आयोजना निर्माणलाई तीव्रता दिन सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । “सरकारी समस्या कहाँ छ भन्ने स्पष्ट पार्नुहोस्, हामी आवश्यक समन्वय गर्नेछौँ,” आयोजना प्रमुखसँग उनले भने।

त्यस्तै मन्त्रालयका सहसचिव रुद्रसिङ तमाङले आयोजना अघि बढाउन मन्त्रालयबाट सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए। सांसद बोधनारायण श्रेष्ठले ठुला आयोजना निर्माणलाई विशेष प्राथमिकता दिनुले देशको समृद्धिका विषयमा सरकार कति गम्भीर छ भन्ने स्पष्ट भएको धारणा राखे । बुढीगण्डकी जलविद्युत् आयोजना एक हजार २०० मेगावाट क्षमताको जलायशयुक्त आयोजना हो । राष्ट्रिय गौरवको यो आयोजना गोरखा र धादिङको सिमानामा पर्छ।

पूर्वकेन्द्रित बदलीः चार जिल्लामा भारी वर्षा

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण विकास भएको वर्षा गराउने प्रणाली अहिले पूर्वी नेपाल केन्द्रित भएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान पश्चिमबाट सक्रिय भएको प्रणाली बुधबार साँझ पूर्व पुगेको अहिले उक्त प्रणाली बाहिरिनेक्रममा रहेको छ। तर पूर्वका विभिन्न ठाउँमा अहिले पनि वर्षा भइरहेको छ । उक्त प्रणाली आज रातिदेखि बाहिरिने र प्रिमनसुनका गतिविधि भने कायम रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पछिल्लो २४ घण्टामा उक्त प्रणालीका कारण विभिन्न चार जिल्लामा भारी वर्षा गराएको तर वर्षा भने सातै प्रदेशमा भएको छ । सबैभन्दा बढी वर्षा सिन्धुलीमा भएको छ । अहिले साँझ ५ बजेको अभिलेख अनुसार २४ घण्टामा इलाममा ५३.२, झापामा ५४.८, सुनसरीमा झण्डै ४९ र सिन्धुलीमा ५९.४ मिलिमिटर वर्षा भएको छ।

अहिले पनि पश्चिम क्षेत्रको रुकुममा र कास्कीमा हल्का वर्षा भइरहेको छ भने बागमतीका केही क्षेत्र तथा कोशी प्रदेशमा बढी वर्षा भइरहेको छ । पश्चिमबाट मध्यसम्म मौसम खुलिसकेको र रातिबाटै विस्तारै मौसम थप खुल्दै जाने तथा केही उच्च पहाडी र हिमाली भेगमा बदली रहने छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले शुक्रबार कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराईका भू–भागमा मौसम मूख्यतया सफा रहने बताए ।

उनका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भाग तथा बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ७ सय रुपैयामा कारोबार भएको छ । बुधबार सुनको मूल्या २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको बढेको छ । आज चाँदीको मूल्य ४ हजार ८ सय ७५ रुपैयामा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य ४ हजार ८ सय २० रुपैयाँ पुगेको थियो ।

चापिनी खोलाको डाइभर्सन बगाउँदा अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग पुनः सञ्चालनमा

गए रातिको भारी वर्षासँगै आएको बाढीले सर्लाहीको हरिजनस्थित चापिनी खोलाको डाइभर्सन बगाउँदा अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग पुनः सञ्चालनमा आएको छ । बिहीबार बिहान साढे ३ बजेदेखि रोकिएको यातायात बिहान साढे ८ बजेपछि सुचारु भएको हो ।

पूर्व-पश्चिम राजमार्गलाई ६ लेनमा विस्तार गर्ने क्रममा हरिवनको तीन घरे र बासा टोलको बिचमा पर्ने चापिनी खोलामा नयाँ पुल निर्माण भइरहेको छ ।

पूरानो पुल मर्मत र नयाँ पुल निर्माणका लागि सवारी साधन आवतजावत गर्न वैकल्पिक बाटोका रूपमा डाइभर्सन बनाइएको थियो ।

तर, राति परेको मुसलधारे वर्षाका कारण खोलामा बहाव बढ्दा उक्त अस्थायी डाइभर्सन पूर्ण रूपमा बगाएपछि राजमार्ग ठप्प भएको थियो ।

डाइभर्सन बगेपछि सयौँको सङ्ख्यामा सवारी साधन र यात्रुहरू बिच बाटोमै अलपत्र परेका थिए । तत्कालको समस्या समाधानका लागि इलाका प्रहरी कार्यालय हरि वन र सडक विभागको समन्वयमा पुरानै पुलको बाँकी रहेको भागमा माटो भरेर गाडी गुड्न मिल्ने बनाइएको छ ।

इलाका प्रहरी कार्यालय हरि वनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीका अनुसार, अहिले सोही पुरानो पुलबाट एकतर्फी रूपमा सवारी साधनहरू सञ्चालनमा ल्याइएको छ । ‘लामो समय जाममा परेका गाडीलाई प्राथमिकताका साथ गन्तव्यतर्फ पठाउने काम भइरहेको छ,’ निरीक्षक अधिकारीले जानकारी दिए ।

पुलको अवस्था र सडक विस्तारको काम जारी रहेकाले उक्त खण्डमा सवारी चलाउँदा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
बाढीले सडक संरचनामा क्षति पु¥याइरहने जोखिम कायमै रहेकाले मौसमको अवस्था हेरेर यात्रा गर्न र सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन पालना गर्न यात्रु तथा चालकलाई सूचित गरिएको छ ।

एपोलो हाईड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । एपोलो हाईड्रो पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले कुल ७ लाख ८० हजार २०० कित्ता शेयर बिक्रीमा ल्याएको जनाएको छ ।

निष्कासन गरिएको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदन सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ प्रयोग गरी दिन सकिनेछ ।

कम्पनीका अनुसार आईपीओ छिटोमा चैत ३० गतेसम्म र ढिलोमा वैशाख १० गतेसम्म खुला रहनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ ।

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

काठमाडौँ। सरकारले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ ।परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर दुई साताका लागि युद्धविराम गर्ने सहमति हुनु पश्चिम एसियाको तनाव घटाउने सकारात्मक कदम भएको बताएको छ । यसले संवाद, कूटनीति र मतभेदको शान्तिपूर्ण समाधानका लागि अवसर सृजना गरेको जनाइएको छ ।

सरकारले युद्धविरामलाई क्षेत्रीय शान्ति र स्थायित्व प्रवद्र्धनतर्फ सकारात्मक पहलका रूपमा लिएको बताउँदै विवादको शान्तिपूर्ण समाधानका हुनुपर्नेमा जोड दिएको छ । विज्ञप्तिमा द्वन्द्वका कारण उत्पन्न मानवीय प्रभावप्रति चिन्ता व्यक्त गर्दै सर्वसाधारण नागरिकको सुरक्षा र हित सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।सरकारले क्षेत्रीय तथा विश्वव्यापी रूपमा दिगो शान्ति र स्थायित्व प्रवद्र्धन गर्ने उद्देश्यले अन्तरराष्ट्रिय समुदायबाट भइरहेका सबै प्रयासप्रति समर्थन जनाएको छ ।

उपसभामुखको निर्वाचन शुक्रबार, आज मनोनयन

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।आजै २:३० बजे उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यक्रम तोकिएको प्रतिनिधिसभाका सचिव हर्क राईले जारी गरेको सूचनामा उल्लेख छ।

उपसभामुखको निर्वाचन चैत २७ गते शुक्रबार हुदैछ । शुक्रबार ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचन गर्ने गरी सभामुखले मिति र समय निर्धारण गर्नुभएको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्र्तगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक मध्यान्ह १२ः१५ बजे सिंहदरबारस्थित संघीय संसद भवनमा बस्ने भएको हो ।बैठकमा समितिको आगामी कार्ययोजना लगायतका विविध विषयमा छलफल हुने बतचाइएको छ ।

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्डमा हिलो र चिप्लो हुँदा दाउन्ने खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो ।

दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई सवारी साधान सडक ‘फसे’काले आवतजावत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । बुधबार दिउँसोदेखि परेको वर्षाले सडक हिलो र चिप्लो हुँदा सवारीको जाम लागेको छ।

“हिजो दिउँसोदेखि लगातार सिम–सिम पानी परिरहेकाले दाउन्ने उकालोमा गाडी चिप्लिएर गुड्न समस्या भइरहेको छ, हिलो बाटोमा सवारीसाधन फसेर समस्या भएको छ”, उहाँले भन्नुभयो, “मालवाहक सवारीसाधनलाई अहिले अरुणखोला क्षेत्रमा नै रोकिएको छ ।”

दाउन्ने खण्डमा वर्षाले सवारी आवागमनमा समस्या भए पछि अहिले ‘ग्राभेल’ हालेर मर्मतको प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।

बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डमा निर्माणको काम नसकिँदा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ ।

सर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु

सर्लाही । सर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको ईश्वरपुर नगरपालिका–१२ घारीबथान निवासी राम बैलकोटी ५ बर्षिय छोरा वियान्श बैलकोटी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार बिहान उनका बुवाले आफ्नै खेतमा सिँचाइका लागि जडान गरिएको विद्युत् मोटर नजिकै खेल्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई उपचारका लागि तत्काल ईश्वरपुर नगर अस्पताल बयलबासमा लगिएकामा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईँले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो समस्यामा पर्नुभएको छ भने अब त्यस्ता समस्या बेहोरिरहनु पर्ने छैन । अब त्यो जानकारी तपाईँको मोबाइलमै आइपुग्ने छ ।

नेपाल प्रहरीले अब मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा तथा जाहेरीको प्रगतिबारे ‘फोन वा एसएमएस’बाटै जानकारी दिने भएको छ ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले अब नागरिकका सेवा प्रभावकारी बनाउन फोन वा एसएमएसबाटै जानकारी दिने व्यवस्था सुरु गरिएको बताएका छ ।

प्रहरी प्रधान कार्यालयले एक सूचनामार्फत भनेको छ, “मुद्दा दर्ता हुने प्रहरी एकाइहरूसम्म सेवाग्राहीबाट प्राप्त हुन आएका उजुरी, निवेदन, गुनासो, जाहेरी दरखास्त आदि दर्ता भएपश्चात् त्यसको प्रगति के भयो र के–कसरी कार्यान्वयन भइरहेको छ भनेर सम्बन्धित सेवाग्राहीहरूले दिनुभएको सम्पर्क नम्बरमा फोन गरेर वा एसएमएसमार्फत सूचना दिने व्यवस्था लागू गरिएको ब्यहोरा जानकारी गराउँदछौँ ।” यसरी जानकारी दिँदा सेवाग्राहीहरू प्रहरी कार्यालयमा आउनु नपर्ने भएकाले समयको बचत हुने प्रहरीको निष्कर्ष छ ।

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले थप आठ सहिद परिवारलाई रोजगार दिने निर्णय गरेको हो ।

जेनजी आन्दोलनका घाइते व्यक्तिलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२ को बुँदा नम्बर ११ र नेपाल राजपत्र (खण्ड ७५, अतिरिक्ताङ ३२, कात्तिक १७ गते, २०८२ साल) मा भएको व्यवस्थाअनुसार छुट भएका आठ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

प्राधिकरणले यसअघि २७ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको छ । आज थप भएका आठ सहिद परिवारमध्ये रोजित श्रेष्ठ (काठमाडौँ), अम्बिका विश्वकर्मा (उदयपुर), सुमित्रा महत (सिन्धुपाल्चोक), शीतल पौडेल (काठमाडौँ), मौसम कुलुङ (सङ्खुवासभा), पार्वती अधिकारी (सर्लाही), हेमन्ती विष्ट (बझाङ) र मञ्जु पौडेल (लमजुङ) छन् ।

जुम्लामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला। जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार राति ८ बजेतिर दुर्घटना हुँदा एम्बुलेन्स चालक हिमा गाउँपालिका–७ मर्चीगाउँका २६ वर्षीय शक्ति शाही र सोही गाउँपालिका–६ पाथरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गणेश ज्ञवालीले जानकारी दिए ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सोही गाउँपालिकाका लोकेन्द्र शाही र अक्कल अधिकारी रहेका र दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी ज्ञवालीले बताए ।

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।

हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेशका पहाडी भूभागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राती कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरुमा तथा बाँकी हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा बुधबार साँझ बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा १५ जना भारतीय तीर्थयात्री घाइते भएका छन् । मुस्ताङबाट पोखरा जाँदै गरेको ग२ख १४५७ नम्बरको बस र भैरहवाबाट दानाको रुप्सेतर्फ जाँदै गरेको ग प्र.०१००१ख ००१२ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार बस र ट्रकको अगाडिको भाग पूर्ण क्षति भएको छ । बसमा सवारी २४ जनामध्ये चालक र सहचालकसहित नौ जना सकुसल छन् । घाइते मुस्ताङको मुक्तिनाथ तीर्थयात्रा गरेर फर्कंदै गरेको भारतीय तीर्थयात्री रहेका प्रहरी निरीक्षक तिमिल्सिनाले बताए।

भारतको उत्तरप्रदेशका ६२ वर्षीय दीपकराज मित्तल, ६३ वर्षीय शङ्कर लाल केशवानी, ४२ वर्षीया कृति शर्मा, ३८ वर्षीय गौरव सेनी, गुजरातका ७२ वर्षीय राज अडोलिया, २० वर्षीया सिम्रन साहाय, हरियानाका ६७ का प्रेमा शर्मा, उत्तर प्रदेशका ५३ का अल्का गुप्ता, जयपुर राजस्थानका ५८ वर्षीय अरविन्द भट्ट, दिल्लीका ६९ वर्षीय रामगोपाल शर्मा र ४८ वर्षीया बन्धना शर्मा, मध्यप्रदेशका ३७ वर्षीया ऋचा कौशिक र ३९ वर्षीय गौरव कौशिक, गुजरातका ४८ वर्षीय विनित गोयल र ४२ वर्षीय निरु चौधरी घाइते भएका प्रहरीले जनाएको छ।

अस्पतालका अनुसार घाइतेहरूमध्ये अधिकांशको अनुहार, हात र खुट्टामा चोट लागेको छ । बस चालक कास्कीको माछापुच्छ्रे« गाउँपालिका–४ का लाहाचोकका ३१ वर्षीय विकास जिसी घाइतेको उपचारमा संलग्न र ट्रक चालक पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २८ वर्षीय नारायणप्रसाद शर्मा प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ।

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक : सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी संविधान संशोधन गर्न सकिन्न

काठमाडौँ, २५ चैतः संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको राजनीतिक सल्लाहकार एवं कार्यदलको संयोजक प्रमुख असिम साहको अध्यक्षतामा बसेको बैठकले संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गरेकामा नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ ।

बैठकमा उठेका विषयहरू र राजनीतिक दलहरूको लिखित धारणा सङ्कलन गरी संविधान संशोधनका मुद्दा पहिचान गर्ने र कार्यदलको आगामी कार्ययोजना तयार गरी प्रस्तुत गर्ने जिम्मा सदस्य सचिव सुवेदीलाई दिइएको छ ।

कार्यदलले संविधान संशोधनसम्बन्धी विषयलाई बृहत् रूपमा अघि बढाउने लक्ष्य राखेको संयोजक साहले जानकारी दिनुभयो । उहाँले संविधान संशोधन प्रक्रिया राष्ट्रिय सहमति, सहभागिता र तथ्यमा आधारित हुने बताउनुभयो ।

संयोजक साहले नेपालको संविधानको धारा २७४ ले संशोधनसम्बन्धी स्पष्ट प्रावधान गरेको उल्लेख गर्दै सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा जनतामा नीहित सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी संविधान संशोधन गर्न नसकिने संवैधानिक व्यवस्था रहेको स्पष्ट पार्नुभयो ।

साहले मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति निर्माण गर्न बहसपत्र तयार गर्ने निर्णय भएको स्मरणसमेत गराउनुभयो । सोही निर्णयअनुसार चैत १६ गते उहाँको नेतृत्वमा कार्यदल गठन गरिएको थियो ।

संयोजक साहका अनुसार संविधान संशोधनलाई सैद्धान्तिक र व्यावहारिक रूपमा अघि बढाउन सबै राजनीतिक दलको सहभागिता सुनिश्चित गरिएको छ । निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक प्रतिनिधित्व, सांसद मन्त्री नहुने व्यवस्था, गैरदलीय स्थानीय सरकार तथा प्रदेश संरचनाको सुधारजस्ता विषयमा व्यापक छलफल गरी अघि बढ्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्रीका तर्फबाट सबै राजनीतिक दल तथा नागरिकलाई विश्वास दिलाउँदै सरकार सबै पक्षसँग संवाद गरेर सहमतिका आधारमा अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । बैठकमा सहभागी सबैपक्षले खुला रूपमा बहस गर्दै जिम्मेवारीलाई तार्किक निष्कर्षमा पुर्‍याउने विश्वास आफूले लिएको साहले बताउनुभयो ।

सो बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य मोहन आचार्य, नेकपा (एमाले) बाट डा भीष्मनाथ अधिकारी, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पूर्वकानुनमन्त्री देवप्रसाद गुरुङ, श्रम संस्कृति पार्टीबाट ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र शाही, जनता समाजवादी पार्टी नेपालबाट डा सुरेन्द्रकुमार झा, लोकतान्त्रिक समाजवादी पार्टीबाट डा आभास लाभ र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल बैठकमा सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगका सचिव इन्दिरा दाहालको पनि उपस्थिति थियो । रास्वपाका आचार्यले संविधानका दोहोरिएका बाझिएका विषय हटाउनुपर्ने राय व्यक्त गर्नुभयो । उहाँले संविधानलाई लचक बनाएर सुधार गर्नुपर्ने, प्रत्यक्ष कार्यकारी, पूर्ण समानुपातिक प्रणालीजस्ता एजेन्डामा छलफल गर्न तयार गर्ने विचार व्यक्त गर्नुभयो ।

एमाललेका डा अधिकारीले पार्टीभित्र पर्याप्त छलफल नभएकाले हतार नगर्न आग्रह गर्नुभयो । उहाँले अन्तरराष्ट्रिय अभ्यास अध्ययन आवश्यकता र विज्ञ एवं सरोकारवालासँग व्यापक छलफल गर्नुपर्ने बताउनुभयो ।

नेकपा नेता गुरुङले सहमति भएका वा नभएका दुवै विषय बहसमा ल्याउनुपर्ने र संवैधानिक प्रक्रिया पूरा गरेर मात्र संशोधन अघि बढाउन सुझाव प्रस्तुत गर्नुभयो । उहाँले विज्ञ, न्यायाधीश, कानुनविद् समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

श्रम संस्कृति पार्टीका राईले संशोधनलाई अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने र जनतासँग प्रत्यक्ष सम्बन्धित विषय प्राथमिकता दिनुभयोे । राप्रपाका शाहीले हिन्दू राज्य, राजतन्त्र, प्रदेश संरचनाजस्ता विषय छलफलमा ल्याउनुपर्ने र राष्ट्रियताका विषयमा गम्भीर बहस आवश्यकता औँल्याउनुभयो । जसपा नेपालका डा झाले हतार नगरी गम्भीर रूपमा अघि बढ्नुपर्ने राय राख्दै विज्ञ, नागरिक समाज, विभिन्न समूहसँग छलफल आवश्यकता औँल्याउनुभयो ।

लोसपाका डा लाभले संशोधनले मौलिक हक कार्यान्वयनयोग्य बनाउनुपर्ने र मधेस आन्दोलनका मुद्दा समेट्नुपर्ने धारणा राख्नुभयो । त्यसका लागि निष्पक्ष विज्ञ टोली बनाएर समस्या पहिचान गर्नुपर्ने उहाँको भनाइ थियो । राष्ट्रिय जनमोर्चाका पौडेलले दीर्घकालीन प्रभाव हेरेर संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश खारेज गरी दुई तहको सङ्घीयता प्रस्तावका विषयमा राय व्यक्त गर्नुभयो ।रासस

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा १२ पुल निर्माण सम्पन्न

उक्त पुलको भौतिक प्रगति ५८.३७ प्रतिशत पुगेको आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए। आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुल रसुवा कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा जग र टावर निर्माण पूरा भइसकेको प्रमुख कुँवरले बताए ।गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएपछि पुल निर्माणका लागि आगामी वैशाखसम्म म्याद थप भएको छ ।

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला, कास्कीको कोत्रेखोला र विजयपुर खोलामा पुल निर्माण सकिएको हो ।

५० वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक विसं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नति सुरु गरिएको थियो । गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम सकिएको छ । कास्कीको सेती पुलदेखि तनहुँको जामुने जोड्ने पश्चिम खण्डमा पनि सडक विस्तार तथा स्तरोन्नति अन्तिम चरणमा पुगेको छ ।

पश्चिम खण्डका प्रमुख कुँवरका अनुसार सडकतर्फको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तिय प्रगति ६२.२० प्रतिशत पुगेको छ । कुल ३८.७१ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.२८ किमीमा दोस्रो चरणको कालोपत्र भइसकेको छ । कुल ३६.३२ किमिको सर्भिस लेनमा हालसम्म १७.६६ किमी कालोपत्र भइसकेको छ।

भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह

काठमाडाैँ । इरान स्थित भारतीय दूतावासले दूतावाससँगको समन्वयमा भारतीय नागरिकहरूलाई इरानबाट तुरुन्त बाहिरन आवाह्न गरेको छ। दूतावाससँग पूर्व परामर्श र समन्वयबिना अन्तर्राष्ट्रिय सीमामा पुग्ने प्रयास नगर्न सुझाव दिदै दूतावासका आपतकालीन नम्बरहरू समेत सार्वजनिक गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताको युद्धविरामको घोषणा गर्दै र इरानको १० बुधे प्रस्ताव वमोजिम इरानमाथि बम विस्फोट र आक्रमण अभियान स्थगित गर्ने घोषणा गरे पछि यो आवाह्न आएको हो।

इरानले विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिकाको आक्रामकता बिना हर्मुजमा इरानको नियन्त्रणको निरन्तरताका साथै महत्त्वपूर्ण विश्वव्यापी तेल निर्यात विन्दु सहित प्रमुख सिद्धान्तहरूमा प्रतिबद्ध हुने अपेक्षा गरिएको छ ।
सबैभन्दा महत्त्वपूर्ण बुधा भने इरानको आणविक कार्यक्रमको विषय हो जुन लामो समय देखि दुई राष्ट्र र अन्तर्राष्ट्रिय समुदाय बीच विवादको केन्द्रबिन्दु बनेको छ । तेहरानले यस कार्यक्रमका सबै प्रतिबन्धहरू हटाउने लगायत आर्थिक राहतको आह्वान गरेको छ, जसले वर्षौंदेखि इरानको अर्थतन्त्रलाई गम्भीर असर पारेको छ।

यसै गरी तेहरानले द्वन्द्व अवधिमा भएको क्षतिको लागि इरानलाई क्षतिपूर्तिको भुक्तानी गर्न आह्वान गर्दै वित्तीय क्षतिपूर्तिका लागि जोड दिएको छ । इरानले आफ्नो क्षेत्रबाट अमेरिकी लडाकू सेना फिर्ता लिन र लेबनानसहितका क्षेत्रमा युद्धको अन्त्य गर्न माग गरेको जनाइएको छ।

सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने

काठमाडौँ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका सातै प्रदेशमा बदली भई ती प्रदेशका विभिन्न जिल्लामा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम नेपालबाट सुरु भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ । वर्षाका कारण चिसो बढेको छ भने कतैकतै जनजीवन प्रभावित भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ।

विभागमा आज साँझ प्राप्त अभिलेखअनुसार केही जिल्लामा भारीउन्मुख वर्षा भएको छ । साँझ पौने ७ बजेको मापनअनुसार आज पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा डडेलधुरामा ४६.६ मिलिमिटर र डोटीमा ४२.२ मिलिमिटर वर्षा भएको छ । यो भारीउन्मुख वर्षा हो । यस्तै काठमाडौँमा १३, ललितपुरमा १२ र भक्तपुरमा ८ मिलिमिटर वर्षा भएको छ।

पछिल्लो ३ घण्टामै डडेलधुरामा ३० मिलिमिटर वर्षा भइसकेको छ । यस्तै धनकुटामा १५ मिलिमिटर, सुर्खेतमा १९, डोटीमा १३, गोरखामा ११ं, मिलिमिटर वर्षा भएको छ । अहिले पनि धेरै जिल्लामा वर्षा जारी छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार बदली भोलि पनि कायम रहने र ठाउँठाउँमा वर्षा हुने जनाइएको छ । बिहीबार रातिदेखि भने बदली कमजोर हुँदै जाने विभागले जनाएको छ।

बिहीबार कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने र कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमवर्षा/हिमपातको सम्भावना रहेको जनाइएको छ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक शत्रदेखि पढाई हुन्छ : शिक्षामन्त्री पोखरेल

कैलाली । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक शत्रदेखि पढाई सुरु गर्ने तयारी गरिएको बताएका छन् ।
विश्वविद्यालयका सहकुलपतिसमेत रहेका मन्त्री पोखरेलको अध्यक्षतामा आज बसेको विश्वविद्यालय सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले आगामी शैक्षिक शत्रदेखि पढाई सुरु गरिनुपर्छ भन्नेमा सरकार लागेको स्पष्ट पारे।

उनले भने, “शिक्षा, स्वास्थ्यको विषय सरकारको प्राथमिकतामा छ, यो विश्वविद्यालयमा आगामी शैक्षिक शत्रदेखि पढाई सुरु गर्नुपर्छ भन्नेमा सरकारले प्राथमिकता दिएको छ, आर्थिक हिसाबले कुनै पनि कमीकमजोरी नहोस् भन्नेमा प्रधानमन्त्रीको निर्देशन पनि छ,।” राज्यको आर्थिक स्रोतमा केही कठिनाई देखिए पनि यो विश्वविद्यालयमा आगामी शैक्षिक शत्रदेखि पठनपाठन सुरु गर्ने तयारी गरिएको उनले बताए।

विश्वविद्यालयका उपकुलपति प्राडा सुनिलकुमार जोशीले विश्वविद्यालय चौथो सभामा आगामी शैक्षिक शत्रदेखि चिकित्सा शिक्षालगायतका विधा कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरिएको बताए । उनले भने, “चिकित्सा सेवा, शिक्षा र अनुशन्धान गरी तीन विषयलाई कसरी अगाडि लैजाने भन्ने विषयमा सभामा छलफल भयो ।”

कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयको प्रशासनिक भवनमा आज पहिलो पटक चौथो सभा भएको हो । यसअघिका तीन सभा काठमाडौँमा भएका थिए । यो विश्व विद्यालय नेपालको पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय हो।

एमबिबिएस, बिएस्सी नर्सिङ, बिएस्सी, एमएलटीलगायतका विषयमा अध्ययनअध्यापन गर्ने विश्वविद्यालयका प्रस्तावित कार्यक्रम छन् । कैलालीको गोदावरी नगरपालिका–५ गेटामा विश्वविद्यालयका अत्याधुनिक भवन संरचनाको निर्माण कार्य एकडेढ वर्षअघि नै पूरा भएको थियो।

सरकारको झण्डै रु छ अर्बभन्दा बढी लागतमा निर्माण भएका संरचनामा विश्वविद्यालय सञ्चालनका लागि नागरिक समाज, राजनैतिक दल, स्थानीयवासी लगायतले दवाबमुलक कार्यक्रम गर्दै आएका थिए । भवन संरचनाहरूको निर्माण पूरा भइसके पनि यसको सञ्चालनको प्रारूपको टुङ्गो लाग्न लामो समय लागेको थियो ।

यो विश्वविद्यालय सरकारको प्राथमिकता प्राप्त योजना हो । वि.सं. २०६६ मा गेटा मेडिकल कलेजको नाममा भवन संरचनाको निर्माण कार्य सुरु भएको थियो । विश्वविद्यालय सञ्चालन भएपछि खासगरी सुदूरपश्चिम प्रदेशको चिकित्सा शिक्षा र गुणस्तरी स्वास्थ्यमा फड्को मार्ने विश्वास गरिएको छ।

निर्वाचनको नतिजा जस्तोसुकै भए पनि पार्टी नयाँ ऊर्जा र रणनीतिका साथ फर्किने छ : गगन थापा

जनकपुर । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी पुनः सशक्त रूपमा ‘रिभाइभ’ हुने विश्वास व्यक्त गरेका छन्।बुधबार जनकपुरधाममा आयोजित नेपाली कांग्रेस मधेश प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनको नतिजा जस्तोसुकै भए पनि पार्टी नयाँ ऊर्जा र रणनीतिका साथ फर्किने बताए।

उनले चुनावमा कमजोर नतिजा आउनुमा कुनै एक मात्र कारण नभएको स्पष्ट पार्दै नेपाली कांग्रेसको इतिहासमै नदेखिएको परिणाम आएकोले गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरे।सभापति थापाले वर्तमान परिस्थिति र नतिजाबाट प्रेरणा लिएर पार्टीलाई पुनर्गठन गरिने र पुनः मजबुत बनाइनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको धारणा राखे।

उनले छिट्टै पार्टीका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा एक समिति जनकपुरधाम आउने जानकारी दिए। उक्त समितिले प्रदेश तथा स्थानीय तहसँग सम्बन्धित महत्वपूर्ण विषयमा नीति निर्माणका लागि सरोकारवालासँग छलफल गर्ने उनले बताए।

थापाले शासकीय सुधारका लागि नेपाली कांग्रेसले निर्वाचनका क्रममा गरेका प्रतिबद्धताहरू प्रतिपक्षमा रहेर पनि पूरा गर्ने बताए। मधेश प्रदेशले विगतमा पार्टीप्रति देखाएको विश्वासको सम्मान गर्दै अब मधेशका लागि ठोस काम गर्ने उनको प्रतिबद्धता थियो।

साथै, उनले आफू सर्लाहीबाट चुनाव लड्दा मधेशको यथार्थ नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै अब आफू पूर्ण रूपमा ‘समग्र नेपाली’ भएको अनुभूति गरेको बताए।

उनले आगामी वैशाख १ गतेदेखि क्रियाशील सदस्यताको आवेदन खुला गरिने जानकारी दिँदै प्रत्येक वडाबाट सदस्यहरूको अद्यावधिक गरिने बताए। थोरै भए पनि गुणस्तरीय सदस्य बनाउने लक्ष्यसहित सदस्यता व्यवस्थापन गरिने र क्रमशः भ्रातृ संगठनहरूलाई पनि अद्यावधिक गरिने उनले बताए।

नेपालगञ्जमा सडक क्षेत्रका अवैध संरचना हटाइँदै

नेपालगञ्ज। नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन थालिएको छ ।

सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी वृक्षरोपणसमेत गर्ने योजनाअनुरूप सो काम अघि बढाइएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन नेपालगञ्ज उपमहानगरपालिकाले त्यस क्षेत्रमा डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।

नगरस्तरीय तथा प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म र आयलनिगम चोकदेखि सरोजनी अस्पताल हुँदै राँझा चोक जाने बाटोमा दुई मिटर चौडा फुटपाथ निर्माण तथा वृक्षरोपण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

रु दुई करोड १५ लाखमा ठेक्का खोलेकामा गाउँले कन्स्ट्रक्सन र पञ्चदेवी निर्माण सेवा र ए एण्ड ए कन्स्ट्रक्सन जेभीले रु दुई करोड सात लाख ९९ हजार २११ मा भएको ठेक्का सम्झौता गरी फुटपाथ निर्माण थालेको उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर भूपेन्द्र बोहराले जानकारी दिनुभयो ।

सम्झौता अवधि असार २० गतेसम्म छ । तीन सय ९० मिटर विमानस्थल आयल निगमदेखि दक्षिण र २२०० मिटर धम्बोझीदेखि कारकाँदोसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरिने उहाँले बताउनुभयो ।

इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण

काठमाडाैँ । इरानले आफ्नो लावान टापुस्थित तेल संरचनामाथि भएको हवाई आक्रमणपछि कुवेत र संयुक्त अरब इमिरेट्समाथि मिसाइल तथा ड्रोन आक्रमण गरेको सरकारी टेलिभिजनले जनाएको छ।

सरकारी प्रसारण माध्यमका अनुसार लावान टापुको तेल संरचनामा आक्रमण भएको केही घण्टापछि कुवेत र इमिरेट्सतर्फ मिसाइल र ड्रोन प्रहार गरिएको हो।

इरानी राष्ट्रिय तेल प्रशोधन तथा वितरण कम्पनीका अनुसार, मङ्गलबार राति सङ्घर्षविराम घोषणा भए पनि बुधबार बिहान करिब १० बजे लावान टापुको तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको थियो । उक्त आक्रमणलाई कम्पनीले ‘कायरतापूर्ण’ भन्दै आलोचना गरेको छ।

हाल आगलागी नियन्त्रणका लागि सुरक्षा तथा दमकल टोली सक्रिय रूपमा खटिएको र संरचना सुरक्षित बनाउने प्रयास भइरहेको जनाइएको छ । कर्मचारीहरूलाई समयमै सुरक्षित स्थानमा सारिएको कारण मानवीय क्षति नभएको पनि पुष्टि गरिएको छ।

लावान टापुस्थित तेल प्रशोधन केन्द्र नजिकैको तेल क्षेत्रबाट निकालिएको कच्चा तेल प्रशोधन गर्ने महत्वपूर्ण केन्द्र हो, जसबाट इरानको उच्च गुणस्तरको तेल निर्यात गरिन्छ।

उपलब्ध तथ्याङ्कअनुसार, यो प्रशोधन केन्द्र इरानका प्रमुखमध्ये एक हो र दैनिक करिब ६० हजार ब्यारेल कच्चा तेल प्रशोधन गर्ने क्षमता राख्छ।

यसअघि पनि खाडी क्षेत्रमा रहेका इरानी टापुहरू द्वन्द्वका क्रममा आक्रमणको निशानामा परेका थिए । विशेषगरी तेल निर्यातका लागि महत्वपूर्ण खार्ग टापुमा रहेका सैन्य संरचनाहरूमा दुई पटक हवाई आक्रमण गरिएको थियो ।

गृहमन्त्री गुरुङ र स्वीस राजदूत डेनिएल मैवलीबीचको भेटवार्तामा के भयो ?

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्वीस राजदूत महामहिम डेनिएल मैवलीबीच गृहमन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । उक्त भेटघाटमा राजदूतले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे ।

भेटघाटको क्रममा महामहिम राजदूतले दुई सरकारबीच आप्रवासन मामिलाहरूमा सहकार्य गर्ने विषय उठाए । गृहमन्त्रीले उक्त विषय हाल छलफलमा रहेको बताए ।

साथै नेपाली उच्च पदस्थ व्यक्तिहरुले भष्ट्राचार लगायतका कसूरबाट अवैध रुपमा आर्जन गरेको रकम स्वीस बैङ्कमा जम्मा गरे नगरेको विषयमा अनुसन्धानका लागि दुई देशबीच सहकार्य गर्न तथा रकम जम्मा गरेको देखिएमा नेपाल सरकारको अनुरोधमा उक्त रकम फिर्ता ल्याउने व्यवस्था गर्न आवश्यक पहल गरिदिन गृहमन्त्रीले राजदूतसमक्ष अनुरोध गरे ।

विपद् व्यवस्थापनको क्षेत्रमा गृहमन्त्रीको एक दशक भन्दा लामो अनुभव र उल्लेखनीय योगदान रहेको प्रति सम्मान प्रकट गर्दै राजदूतले नेपालमा जलवायु परिवर्तन एवम् विपद जोखिम न्यूनीकरणका लागि पूर्व चेतावनी प्रणालीलाई थप सुदृढ बनाउन स्वीस सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गृहमन्त्री र नेपालका लागि स्वीस राजदूतले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुमधुर तथा सुदृढ गर्दै परस्पर सहकार्य गर्न तत्पर रहेको धारणा व्यक्त गरे ।

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

काठमाडौँ। पशुपतिनाथ क्षेत्रमा भेटिएका एक फ्रान्सेली नागिरकलाई प्रहरीले अध्यागमन विभागमा बुझाएको छ ।

सो फ्रान्सेली नागरिक पशुपतिमा अलपत्र अवस्थामा बसेको भिडियो सार्वजनिक भएपछि प्रहरी टोलीले निजको खोजी गरी अध्यागमन विभागमा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा रहेको भिडियो सार्वजनिक भएपछि हामीले निजसँग सोधपुछ गर्दा निजको सामान चोरी वा लुटपाट नभएको खुल्न आएकाले अध्यागमन विभाग बुझाएका छौँ ।”

यसैगरी, निज फ्रान्सेली नागिरक विगत छ वर्षदेखि आफ्नो नेपाली श्रीमतीसहित नेपालमा बस्दै आएका, आर्थिक कारणले गर्दा निजहरुले आफ्नो पासपोर्ट, मोबाइल, ल्यापटपलगायत अन्य सामानहरु आफू बसेको होटलमा छोडी हिँडेका खुल्न आएको प्रहरीले जनाएको छ ।

खेतमा पाकेर तयार भएको गहुँ वर्षाले भिजाउँदा किसान चिन्तित

कञ्चनपुर। आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन् । खेतमा पाकेर तयार भएको गहुँ काट्ने र भित्र्याउने समयमा वर्षा हुँदा किसान मर्कामा परेका छन् ।

कतिपय किसानको गहुँ काटिसके पनि थ्रेसिङ गर्न नपाउँदै पानीले भिजाउँदा उत्पादनमा क्षति पुगेको छ भने केही किसानले वर्षाको सम्भावनाका कारण गहुँ काट्नै नपाएको अवस्था छ ।

कृष्णपुर नगरपालिका राजघाटका मोहनसिंह चौधरीले मौसमबारे पूर्वानुमान गर्न नसक्दा मेसिन लगाएर काटेको गहुँ भित्र्याउन नपाउँदै भिजेको बताउनुभयो ।

“मेसिनले गहुँ काट्यौँ, तर पानी पर्ने थाहा भएन”, उहाँले भन्नुभयो, “थ्रेसिङ गर्न नपाउँदै पानी परेपछि सबै गहुँ भिज्यो, अब वर्षा नरोकिए खेतमै उम्रिने चिन्ता छ ।”

यस्तै शुक्लाफाँटा नगरपालिका–२ का भरतबहादुर चौधरीले वर्षाको जानकारी पाएपछि गहुँ काट्ने योजना नै स्थगित गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “गहुँ पाकेर खेतमै झर्ने अवस्था छ, वर्षा लम्बिए ठूलो नोक्सानी हुन्छ ।”

शुक्लाफाँटा नगरपालिका–पीपलाडीका प्रकाश चौधरीले हतारहतारमा पानी पर्ने क्रम सँगै गहुँ भित्र्याउन सफल भए पनि भुसा भने पानीले बिग्रिएको बताउनुभयोे । “जोडबल गरी गहुँ थ्रेसिङ गरेर भ्यिायौँ”, उहाँले भन्नुभयो, “भुसा पानीले भिजेर काम नलाग्ने भयो ।”

चैत महिनाको अन्त्यको समय गहुँ भित्र्याउने हो । यस समयमा परेको वर्षाले उत्पादन र आम्दानी दुवैमा असर पार्छ । खेतमै भिजेको गहुँमा गुणस्तर घट्ने, ढुसी लाग्ने र अङ्कुर उम्रिने जोखिम बढ्छ । मौसमको अनिश्चितताले पछिल्ला वर्षमा खेतीपातीमा जोखिम बढ्दै गएको छ ।

शुक्लाफाँटा कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरका अनुसार काटिसकेको गहुँ पानीमा भिज्दा दानाको गुणस्तर घट्ने, भण्डारण गर्न समस्या हुने र बजार मूल्यसमेत कम हुने सम्भावना रहन्छ ।

त्यसैले किसानलाई मौसमको पूर्वानुमानअनुसार काम गर्न र सम्भव भएसम्म छिटो बाली भित्र्याउन सुझाव दिइएको उहाँले बताउनुभयो ।

नगरपालिका क्षेत्रका ८५ प्रतिशत किसानले गहुँबाली भित्र्याइसकेका भए पनि १५ प्रतिशत जति किसानको बाली वर्षाका कारण प्रभावित भएको हुनसक्ने उहाँको भनाइ छ ।

मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय भलिबल सुरु

दाङ। प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको आयोजनामा दाङको घोराहीमा मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेलले मानिसलाई अनुशासित बनाउने बताउनुभयो । खेलाडीको योगदानले देशको शिर उँचो बनाउनुका साथै खेलकुदले व्यक्तिलाई आत्मअनुशासित बनाउने उहाँले उल्लेख गर्नुभयो ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका महिला तथा पुरुष खेलाडी सहभागी छन् । प्रतियोगिताको विजेताले रु एक लाख, द्वितीय हुनेले रु ६५ हजार, तृतीयले रु ३५ हजार र सान्त्वना हुने टोलीले रु १५ हजारसहित प्रमाणपत्र पाउनेछन् ।

उत्कृष्ट खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु पाँच हजार नगदसहित पुरस्कृत गरिनेछ ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसी, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणदास गौतम, प्रदेश खेलकुद परिषद्का कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेलगायत सहभागी हुनुहुन्थ्यो

राष्ट्रियसभाको पौने २ घण्टा : सरकारका कामको प्रशंसादेखि खबरदारीसम्म

काठमाडौँ – सङ्घीय संसद् राष्ट्रियसभा अन्तर्गतका चारवटै विषयगत समितिले आ–आफ्नो नेतृत्व पाएको छ । उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहमतिमा मङ्गलबार चारवटै संसदीय समितिका सभापति निर्विरोध हुनुभएको थियो ।

निर्विरोध निर्वाचित हुनेमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विकास, आर्थिक मालिमा तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाया हुनुहुन्छ ।

सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उहाँहरूलाई शपथ गराउनुभयो । शपथलगत्तै उहाँहरूले आ–आफ्नो समितिमा पुगेर पदबहाली गर्नुभयो । पदबहाली गर्ने क्रममा समिति कार्य क्षेत्रभित्र रही देश र जनताकाहितका लागि कानून निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँहरूले प्रतिबद्धता जनाउनुभयो ।

समाजका विभिन्न क्षेत्र र समुदायबाट प्रतिनिधित्व रहने ५९ सदस्यीय उक्त सभामा हाल पुरुष ३५ र महिला २२ जना सदस्य रहनुभएको छ । राष्ट्रियसभामा हाल नेपाली कांग्रेसका २४, नेपाली कम्युनिष्ट पार्टीका १७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का १०, जनता समाजवादी पार्टी नेपालका दुई, मनोनित दुई, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीका एक÷एक सदस्य हुनुहुन्छ ।

समाजका विभिन्न क्षेत्रका विज्ञ, अनुभवी र परिपक्व व्यक्तिहरूको सहभागिता रहने यस सभालाई संविधानले राष्ट्रियसभालाई स्थायी व्यवस्थापकीय अङ्गका रूपमा परिकल्पना गरेको छ । सीमान्तकृत, लोपन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रको सुदृढीकरणका लागि यो सभाले विशिष्ट योगदान दिँदै आएको छ ।

यसैबीच, राष्ट्रियसभाको आजको बैठकमा भाग लिने सदस्यहरूले राष्ट्रिय हितका लागि दलबीच मेलमिलाप, सहमति र सहकार्यको आवश्यकता औँल्याउनुभयो । बैठकको विशेष समयमा सदस्यहरूले सबै राजनीतिक दल र नेताले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

सदस्यहरूले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र दिने निर्णय सच्याउन, जेनजी आन्दोलनको घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन, एसियामा भएको द्वन्द्वले मुलुकमा महँगी बढेको र जनजीवन प्रभावित भएकाले त्यसतर्फ ध्यान पुर्‍याउन, भ्रष्टचार नियन्त्रण, बढ्दो आयात र महँगी नियन्त्रण गर्न माग गर्नुभयो ।

उहाँहरूले रुग्ण तथा बन्द उद्योगको सञ्चालन, सन्तुलित पराष्ट्र नीति, सामाजिक न्याय कायम, जनताको हितअनुसार संविधान संशोधनका लागि आवश्यक पहल सरकारलाई सुझाव दिनुभयो ।

राष्ट्रियसभामा प्रतिपक्षी दलहरूको मात्रै उपस्थित भए पनि मन्त्रिमण्डलको समावेशी चरित्र, सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीलगायत वर्तमान सरकारका कतिपय सुरुआती प्रयासबारे प्रशंसा भएको थियो । उहाँहरूले जनतासामु गरिएको प्रतिबद्धता अनुरूप लोकतन्त्र र सुशासन प्रवर्द्धनको अभियानलाई ठिक ढङ्ग नबढाएमा आफूहरूले त्यसको खबरदारी गर्ने बताउनुभयो ।

विशेष समयमा नेपाली कांग्रेसका सुनिलबहादुर थापा, नारायणदत्त भट्ट, विष्णुकुमारी सापकोटा र खम्बहादुर खाती, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का जयन्तीदेवी राई, सुरेश आले मगर, भुवनबहादुर सुनार, नेकपा (एमाले)का सांसद सम्झना देवकोटा, मीनासिंह रखाल र रोश्नी मेचे, जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद, राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले वक्ताका रूपमा भाग लिनुभयो ।

यसअघि बैठकको शून्य समयमा भाग लिने सदस्यहरूले मध्यपूर्व एशियाको द्वन्द्वकाकारण पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनताको दैनिकीमा परेका मूल्यवृद्धिको चपेटा र प्रभावबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराउँदै खाद्यान्नमा आत्मनिर्भर र कृषि क्षेत्रमा लगानी अभिवृद्धिका लागि सुझाव दिनुभयो । उहाँहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, बलात्कार र हिंसाका घटनामा दोषी देखिएमाथि कडा कारबाही गर्न तथा पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्नुभयो ।

बैठकमा भाग लिने सदस्यहरूले खेतीबालीका लागि समयमै मल, बीउ र अन्य आवश्यक सामग्रीको व्यवस्था गर्न र कृषि बालीमा हानी पुर्‍याउने वन्यजन्तुको व्यवस्थापन गर्न, कर्णालीका विषय अब बजेट र भाषणमा होइन योजना कार्यान्वयन ल्याउन तथा संविधानको प्रभावकारी कार्यान्वयन गरी विशेष कार्यक्रम घोषणा गर्न माग गर्नुभयो ।

वर्डफ्लुका कारण कुखुरापालक किसान मर्कामा परेको जनाउँदै सांसदहरूले किसानलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो । शून्य समयमा सदस्यहरू धर्मेन्द्र पासवान, गीता देवकोटा, मिनासिंह रखाल, रेखाकुमारी झा, ललितजङ्ग शाही, सोमनाथ पोर्तेलले भाग लिनुभयो ।

सभाको कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।

अध्यक्ष दाहालको अध्यक्षतामा करिब एक घण्टा ४५ मिनेट सञ्चालन भएको राष्ट्रियसभा बैठकमा सरकारका प्रतिनिधिकारूपमा मन्त्री रावल र महिला, बालिबालिका तथा जेष्ठ नागरिकमन्त्री सीता बादी उपस्थित हुनुहुन्थ्यो । करिब एक घण्टा नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारीले बैठक सञ्चालन गर्नुभएको थियो ।

त्यसअघि बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट मन्त्रिपरिषद्को मर्यादामा हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही चैत २७ गते शुक्रबार अपराह्न ४ः१५ बस्नेछ ।

नेप्से परिसूचकमा ४५ अङ्कको सुधार, आठ अर्ब ३२ करोडकाे काराेवार

काठमाडौँ, २५ चैत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५ दशमलव १२ अङ्कले बढेर दुई हजार ८०२ दशमलव ५२ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६३ प्रतिशतको वृद्धि हो ।

आज ३४६ कम्पनीको एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर ९८ हजार १६२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३१ करोड ८९ लाख आठ हजार ४४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ८७, होटल तथा पर्यटन दुई दशमलव ५६ र जलविद्युत् समूह दुई दशमलव ६१ प्रतिशतले बढेको छ ।

त्यस्तै, बैंकिङ एक दशमलव १६, विकास बैंक एक दशमलव ९८, वित्त एक दशमलव ४५, लगानी एक दशमलव ३५, जीवन बीमा एक दशमलव ३१, लघुवित्त एक दशमलव २८, जीवन बीमा एक दशमलव ०१, म्युचुअल फण्ड शून्य दशमलव ९९, व्यापार शून्य दशमलव ६१ र अन्य समूह एक दशमल १५ प्रतिशतले बढेको छ ।