`

बाढीपीडितका लागि गोरेटो कन्सल्टेन्सी परिवारले गर्यो १० लाख ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै गोरेटो कन्सल्टेन्सी परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। बाढीका कारण आफन्त गुमाएका परिवार तथा घाइते र घरबारविहीन बनेका नागरिकको पीडामा सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको गोरेटो कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धिरज कँडेलले जानकारी दिए।

कँडेलले विपत्तिको यो दुःखद् घडीमा ठूलो सहयोग गर्न नसके पनि पीडामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीको दुःखमा साथ दिन उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डिपोजिट गरिएको बताए । सिइओ कँडेलले भने ‘हामीले ठूलो सहयोग गर्न नसके पनि आफन्त गुमाएका, घाइते भएका र घरबारविहीन बनेका नेपालीको दुःखमा सानो भए पनि राहत होस् भन्ने उद्देश्यले यो रकम हस्तान्तरण गरेका हौँ । उनले भने गोरेटोले एकैछिनमा प्रियजन गुमाउनुपरेका परिवार, उजाडिएका घर–आँगन तथा विपत्तिका कारण पीडामा रहेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको हो ।

त्यस्तै, गोरेटो कन्सल्टेन्सीका बजार प्रबन्धक तथा सिनियर काउन्सेलर प्रकाश रेग्मीले प्राकृतिक विपत्तिमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरे। रेग्मीले गोरेटो कन्सल्टेन्सी परिवारको तर्फबाट विपत्तिमा परेका नागरिकको पीडामा साथ दिन आफूहरू पनि सहयोग अभियानमा जोडिएको बताए। उनले घाइते तथा विपत्तिबाट प्रभावित सबै नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामनासमेत गरे।

गोरेटोले उक्त सहयोगलाई आर्थिक सहयोगमा मात्रै सीमित नभई विपत्तिमा परेका नागरिकसँग आफूहरू साथमा रहेको मानवीय सन्देशका रूपमा लिएको जनाएको छ। देश प्राकृतिक विपत्तिका कारण पीडामा रहेका बेला सबैको संवेदना, सहयोग र एकताले प्रभावित परिवारमा आशाको किरण ल्याउन सक्ने भन्दै गोरेटो कन्सल्टेन्सी परिवारले सहयोगका लागि सबैमा आह्वानसमेत गरेको छ। गोरेटोले स्थापनाकालदेखि नै आपत विपत र सामाजिक काममा विभिन्न किसिमका सामाजिक कदम चाल्दै आएको छ ।

बुधबार तिब्बत हुँदै नेपाल प्रवेश गरेको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढी र पहिरोका कारण कैयौँ परिवार प्रभावित भएका छन् भने कतिपयले आफन्त गुमाएका छन्। प्राकृतिक विपत्तिबाट ठूलो क्षति भएपछि यतिबेला सिंगो देश नै शोकमा डुबेको छ।

रसुवाका बाढीपीडितका लागि कर्मचारीको तलबबाट रकम कट्टा गर्ने प्रस्ताव

रकारले रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कर्मचारीको तलबबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रस्ताव गरेको छ।

बिहीबार बसेको सचिवस्तरीय बैठकका लागि प्रस्तावित निर्णयअनुसार श्रेणीविहीन कर्मचारीको मासिक सुरु तलब स्केलबाट दुई दिन बराबर, राजपत्र अनंकित वा सोसरहका कर्मचारीबाट पाँच दिन बराबर, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सोसरहका कर्मचारीबाट सात दिन बराबर तथा राजपत्रांकित प्रथम र विशिष्ट श्रेणीका कर्मचारीबाट १० दिन बराबरको तलब कट्टा गरिनेछ।

उक्त रकम २०८३ भदौ महिनाको तलब भुक्तानी गर्दा कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयले मिलाउने प्रस्ताव गरिएको छ। यसबाट संघीय सरकारका कर्मचारीबाट मात्रै करिब ३६ करोड रुपैयाँ कोषमा योगदान पुग्ने अनुमान गरिएको छ।

आवश्यक समन्वय र सहयोगका लागि मानव अधिकार आयोगको आग्रह

काठमाडौँ, ११ भदौः राष्ट्रिय मानव अधिकार आयोगले रसुवाको भोटेकोशीमा गएको बाढीको विपद्को अवस्थामा सहयोग, समन्वय र मानवीय सेवा प्रदान गर्न आयोग सबैमा आग्रह गरेको छ ।

आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सबैलाई उद्धारका लागि आग्रह गरेको गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “विपद्पश्चात् प्रभावितहरूको सुरक्षा, बसोबास, खाद्यान्न, खानेपानी, स्वास्थ्य तथा सरसफाइलगायतका विषयहरू अझै जटिल हुनेतर्फ आयोग सबैको ध्यानाकर्षण समेत गराउँदछ ।”

यही भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँलगायत जिल्लाका १५ स्थानीय तहमा जनधनको ठूलो क्षति पुग्न गएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ ।

आयोगले प्रभावित क्षेत्रहरूमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकार, राजनीतिक दल, सङ्घसंस्था, नागरिक, प्रदेश तथा स्थानीय तहबाट आवश्यक कार्यहरु भइरहेको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

भोटेकोशी बाढीः काभ्रेका ५२ जना सम्पर्कविहीन

काभ्रेपलाञ्चोक – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण त्यस क्षेत्रमा विभिन्न कामका सिलसिलामा रहेका काभे्रपलाञ्चोकका ५२ जना नागरिक सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले हालसम्म जिल्लाका ५२ जना सम्पर्कविहीन अवस्थामा रहेका व्यक्तिको नामावलीको सूची सार्वजनिक गरेको हो ।

बुधबार नै एक सूचना जारी गर्दै कार्यालले बाढी प्रभावित क्षेत्रमा विभिन्न कामका सिलसिलामा रहेका जिल्लाका नागरिकको अवस्था बुझ्न सम्बन्धित परिवारसँग जानकारी गराउन सार्वजनिक अपिल गरेको थियो ।

त्यसक्रममा हालसम्म सम्पर्कमा नआएका व्यक्तिका परिवार तथा आफन्तले आफ्ना मानिस सम्पर्कविहीन भएको जानकारी गराएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार ५२ जना बाहेकका सम्पर्कविहीन अवस्थामा रहेको चार जना सम्पर्कमा आइसकेका छन् । प्रजिअ अधिकारीले भन्नुभयो, “हामी थप ‘भेरीफिकेशन’ गर्दैछौँ, थप कसैको परिवारका सदस्य सम्पर्कविहीन अवस्थामा हुनुुहन्छ भने छिट्टै जानकारी गराउन अनुरोधसमेत गरिरहेका छौँ ।”

उक्त बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा भ्रमणलगायत अन्य कामका सिलसिलामा पुगेका काभे्रपलाञ्चोकका नागरिकको अवस्था बुझ्न कार्यालयले बुधबार सूचना जारी गर्दै सुरक्षित भए–नभएको तथा आफन्तसँग सम्पर्कमा रहे–नरहेको जानकारी गराउन कार्यालयले अनुरोध गरेको हो ।

यस्तै सूचनामा बाढी प्रभावित क्षेत्रमा गएका नागरिकलाई पनि तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरुको अवस्था बुझी जिल्ला प्रशासन कार्यालय काभे्रपलाञ्चोक, नजिकको प्रहरी कार्यालय तथा स्थानीय तहमासमेत जानकारी गराउन आग्रह गरिएको छ ।

कार्यालयद्वारा जारी सूचनामा जिल्लास्थित आपत्कालीन केन्द्रको फोन नं १२३४ मा जानकारी गराउन वा ९७४३९६८८३६ र ९८५१२३७७७ मा ह्वाट्सएप गर्नसमेत आग्रह गरेको छ ।

बाढीपीडितका लागि प्रदेशसभा सदस्य थापाबाट पाँच लाख सहयोग

कास्की, ११ भदौः गण्डकी प्रदेशका पूर्वसामाजिक विकास, युवा तथा खेलकुदमन्त्री एवं प्रदेशसभा सदस्य विन्दुकुमार थापाले भोटेकोशीलगायत बाढीपहिरो प्रभावित नागरिकको लागि रु पाँच लाख सहयोग गर्नुभएको छ ।

थापाले उद्धार तथा राहतका लागि आफ्नो छ महिनाको पारिश्रमिक बराबर रु पाँच लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो ।

देशका विभिन्न जिल्लामा प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति भइरहेका बेला प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले आफूले पाउने पारिश्रमिक सरकारी राहत कोषमा प्रदान गरेको थापाले बताउनुभयो ।

यस्तो कठिन परिस्थितिमा तत्काल उद्धार, राहत र प्रभावित परिवारको पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको दुःखमा साथ दिनु मेरो कर्तव्य हो । राहत साँच्चिकै आवश्यकता भएका नागरिकसम्म पुगोस् भन्ने उद्देश्यले आफ्नो पारिश्रमिक सहयोग गरेको हुँ”, थापाले भन्नुभयो ।

प्राकृतिक विपद्का समयमा राज्यका संयन्त्रसँगै जनप्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्र, सामाजिक सङ्घसंस्था तथा आमनागरिकले पनि आफ्नो क्षमताअनुसार सहयोग र सहकार्य गर्नुपर्ने थापाको भनाइ छ । उहाँले यसअघि पनि प्रदेश सरकारबाट पारिश्रमिक तथा अन्य सेवासुविधाबापत पाउने रकम सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ ।

भोटेकोशी बाढीः गोरखाबाट ५५ जना सम्पर्कविहीन

गोरखा – भोटेकोशी बाढीमा परी गोरखाका जिल्लाका ५५ व्यक्ति सम्पर्कविहीन भएका छन् ।

पालुङटार नगरपालिकाका ३१, सहिदलखनका सात, धार्चेका चार, भीमसेन थापाका तीन, बारपाक सुलिकोटका ६ र सिरानचोकका दुई र आरुघाट गाउँपालिकाका तीनजना बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।

बाढीमा परेर पालुङ्टार नगरपालिका–५ ठाँटीपोखरीबाट गोसाइँकुण्ड यात्रामा गएका ३१ यात्रुहरु बुधबार बिहानदेखि सम्पर्कविहीन भएको पालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताउनुभयो । ग २ ख ११५२ नम्बरको बसमा सवार ३७ यात्रुमध्ये ६ जना झ्यालबाट हामफालेर सुरक्षित रहेको र बाँकीको अवस्था भने अज्ञात रहेको उहाँले जानकारी दिनुभयो ।

रसुवाको बाढीमा परेर सहिदलखन गाउँपालिकाका सात जना सम्पर्कविहीन बनेको पालिका अध्यक्ष रमेश थापा मगरले बताउनुभयो । “बाढी प्रभावित क्षेत्रमा डोजर अपरेटरका रुपमा कार्यरत पालिकाको वडा नं १ का एक, वडा नं ३ का एकजना ट्रक डाइभर, विद्युत्को काम गर्ने वडा नं ६ का एक, वडा नं ७ घर भएका एकजना होटल व्यवसायी र अर्को एकजना ट्रेकिङ व्यवसायी र वडा नं ८ घर भएका दुईजना ट्रेकिङ व्यवसायीहरु सम्पर्कविहीन छन्”, थापाले भन्नुभयो ।

धार्चे गाउँपालिका–४ लाप्राकका चारजना पनि रसुवा बाढीमा परेर बेपत्ता भएका पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभएको छ । लाप्राक घरभई रसुवामा सशस्त्र प्रहरीमा कार्यरत एकजना र अलपाइन इको ट्रेकिङ कम्पनीमा कार्यरत तीनजना पर्यटक सहयोगी बेपत्ता भएका गुरुङले जानकारी दिनुभयो ।

भीमसेन थापा गाउँपालिकाका तीनजना नागरिक रसुवा बाढीमा परेर सम्पर्कविहीन बनेको अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।

भीमसेन थापा वडा नं ३ घर भई रसुवामा सरकारी कर्मचारीका रुपमा कार्यरत एक र वडा नं ६ र १ का एक÷एक जना ट्रेकिङ व्यवसायीको अवस्था अज्ञात रहेको उहाँको भनाइ छ ।

बारपाकसुलिकोट गाउँपालिकाका ६ जना बाढीमा बेपत्ता भएका पालिका अध्यक्ष विष्णु भट्टले बताउनुभयो । बारपाकसुलिकोट–४ का तीनजना रसुवा बाढीमा बेपत्ता भएका छन् । उनीहरुमध्ये एकजना नेपाली सेना र अन्य दुईजना पर्यटन मजदुर रहेका अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं ३ र ६ का एक÷एक जना पर्यटन मजदुर बेपत्ता भएका छन् । “वडा नं ५ को पनि एकजना बेपत्ता छ भन्ने खबर आएको छ । उहाँ अपर त्रिशूली हाइड्रोपावरमा काम कार्यरत्त थिए”, उहाँले भन्नुभयो ।

यस्तै, सिरानचोक र आरुघाट गाउँपालिकाका दुई–दुई जना नागरिकहरु रसुवा बाढीपछि सम्पर्कबिहीन बनेका पालिकाका प्रमुखहरुले जानकारी दिनुभयो ।

सिरानचोकको वडा नं ८ र वडा नं ५ का १/१ जना सम्पर्कविहीन छन् । उनीहरु रसुवागढी हाइड्रोपावरमा कार्यरत रहेका पालिकाको प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले बताउनुभयो । “आरुघाटको वडा नं ९ का एकजना ड्राइभरका रुपमा पर्यटक लिन स्याफ्रुबेँसी पुगेका एकजना सम्पर्कविहीन छन्”, पालिका अध्यक्ष राजु गुरुङले भन्नुभयो, “अर्को वडा नं ३ का एकजना रसुवामा मजदुर काम गर्ने पनि बेपत्ता छ भन्ने खबर आएको छ । हामीले उनीहरुको अवस्थाबारे बुझ्न खोजिरहेका छौँ ।”

बुधबार बिहान ९ः०० बजे तिब्बती क्षेत्रबाट भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन आसपासको क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच टेलिफोन वार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच बिहीबार टेलिफोन वार्ता भएको छ ।

वार्ताका क्रममा दुई विदेशमन्त्री बीच नेपालमा पछिल्लो समय उत्पन्न विपद्को अवस्था तथा त्यसबाट प्रभावित नागरिकको खोज, उद्धार र राहतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो विपद्का कारण जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको अवस्थामा दुई देशका विदेश मन्त्रीबीच उक्त टेलिफोन वार्ता भएको हो ।

सो अवसरमा दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले विपद्का कारण ज्यान गुमाएका तथा प्रभावित नेपाली नागरिकप्रति गहिरो समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा नेपाल र नेपाली जनताप्रति दक्षिण कोरियाको ऐक्यबद्धता रहेको बताउनुभयो ।

परराष्ट्रमन्त्री खनालले विपद्बबाट प्रभावित सबैको खोज, उद्धार तथा राहतका लागि नेपाल सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराउनुभयो । उहाँले प्रभावित नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार र राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर आवश्यक सबै प्रयास गरिरहेको बताउनुभयो ।

सेन्ट पिटर्सबर्गमा कार बम बिषफोट, रूसी सैनिकको मृत्यु

रूसको सेन्ट पिटर्सबर्गमा बिहीबार कार विस्फोटमा एक सैनिक अधिकारीको मृत्यु भएको रूसी अनुसन्धानकर्ताहरूले जनाएका छन् ।

मस्कोको आक्रमण सुरु भएको चार वर्षभन्दा बढी समयदेखि किएभले रूसी सैन्य अधिकारीहरूमाथिको आक्रमणलाई बढाएको छ ।

रूसी अनुसन्धानकर्ताहरूले भनेका छन्, “शहरको दक्षिणी पुश्किन्स्की जिल्लामा कार विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ भने घाइत एक सैनिकलाई अस्पताल भर्ना गरिएको छ।”

सेन्ट पिटर्सबर्गबाट प्रकाशन हुने समाचार च्यानल फोन्ताङ्काले एक रूसी सैनिकको मृत्यु भएको र उहाँकी पत्नी घाइते भएको रिपोर्ट गरेको छ ।

फोन्ताङ्काका अनुसार उक्त पुरुष रूसी वायुसेना र वायु रक्षा बलमा सेवा गर्दै थिए।

फोन्ताङ्काले भनेको छ, “दम्पतिलाई उनीहरूको घरबाट निस्कँदा निशाना बनाइएको थियो।”

घटनाबारे युक्रेनबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

किएभले युद्धका समय भएका केही हत्याहरूको जिम्मेवारी दाबी गरेको छ भने अन्यमा मौनसमेत रहने गरेको छ ।

यी हत्याहरू कार बम, स्कुटरमा लुकाइएका विस्फोटक पदार्थ र गोलीकाण्डबाट गरिएका पाइन्छ ।

युद्धका क्रममा निशाना बनाइएका सबैभन्दा उच्च पदस्थ रूसी सैन्य अधिकारी लेफ्टिनेन्ट जनरल इगोर किरिलोभलाई सन् २०२४ डिसेम्बरमा मस्कोको आफ्नो अपार्टमेन्ट बाहिर हत्या गरिएको थियो ।

यी हत्याहरूले रूसी सेनाको मनोबल गिराउने गरेको छ ।

६ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ ।

नेपाली सेनाको करिब चार हजार फौजको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।

आज बिहानदेखि रसुवाको टिमुरे, धुञ्चे र मैलुङ इलाकाबाट छ देशका ४५ विदेशीसहित उनीहरुलाई उद्धार गरिएको हो ।

नागढुङ्गा–मुग्लिङसहित देशभरका मुख्य राजमार्ग ठप्प, जोखिम कायमै

काठमाडौं । अविरल वर्षा र बाढीपहिरोको उच्च जोखिमका कारण काठमाडौं उपत्यका जोड्ने मुख्य सडक खण्डसहित देशभरका प्रमुख राजमार्गहरू प्रभावित भएका छन् । प्रहरी प्रधान कार्यालय तथा ट्राफिक प्रहरीले बिहीबार बिहान अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा बन्द गरिएको जनाएको छ ।

विशेषगरी काठमाडौँलाई तराई र पश्चिम नेपालसँग जोड्ने लाइफलाइन मानिने नागढुङ्गा–मुग्लिङ सडक खण्डमा बाढीको उच्च जोखिम रहेकाले सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ ।

यस्तै, बाढीपहिरो जोखिमयुक्त पहाडी सडकहरूमा दुर्घटना हुन नदिन प्रशासनले बीपी राजमार्ग, कान्तिलोकपथ र टोखा–छहरे खण्डमा रातको समयमा सवारी सञ्चालन गर्न रोक लगाएको छ ।

नागढुङ्गा–मुग्लिङ सडक खण्ड बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नागढुङ्गादेखि मुग्लिङसम्मको सडकमा दुवैतर्फबाट सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ । बीपी राजमार्ग पनि सवारी सञ्चालनमा रोक लगाइएको छ । सम्भावित बाढी र जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा अर्को सूचना नआएसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो । उक्त सडक खण्ड मौसम र सडकको अवस्था हेरेर मात्र सवारी चल्न दिइने बताइएको छ ।

हेटौँडा–ठिङ्गन–बागमती हुँदै ललितपुर जोड्ने कान्तिलोकपथमा पहिरोको जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म (रातको समयमा) सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ ।

रसुवा (त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी खण्ड) अन्तर्गतको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ । यो सडक खण्ड लामो समय अवरुद्ध रहने जनाइएको छ । साथै जिल्लाका अन्य मुख्य राजमार्गहरू पनि पूर्ण बन्द छन् ।

शिवपुरी गाउँपालिका–८ घट्टेखोला क्षेत्रमा जोखिम रहेकाले राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ । नुवाकोटका मुख्य राजमार्गहरूमा पनि अवरोध कायमै छ ।

भोटेकोशीको भीषण बाढीमा ५०० भन्दा बढी कन्टेनर बगे

काठमाडौं । भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका कारण रसुवागढी नाका समेत अनिश्चितकालका लागि ठप्प भएको छ। बाढीका कारण चीनबाट नेपाल भित्रिने सयौं कन्टेनर सामान बगेका छन्।

नाका अवरुद्ध हुँदा दशैं–तिहार लक्षित वस्तुको आपूर्तिमा दबाब पर्न सक्ने नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। संघका महासचिव रामचन्द्र पराजुलीले बाढीबाट भएको मानवीय क्षति सबैभन्दा ठूलो विषय भए पनि व्यापारिक हिसाबले समेत ठूलो क्षति पुगेको बताए।

उनका अनुसार नाकामा सामान बोकेका ५०० भन्दा बढी कन्टेनर बगेका छन्।

‘दैनिक उपभोग्य वस्तुदेखि इलेक्ट्रोनिक्स, विद्युतीय सवारी (ईभी) लगायतका विभिन्न सामान कन्टेनरमा थिए,’ उनले भने, ‘यसबाट अर्बौं रुपैयाँ बराबरको क्षति हुन सक्छ।’

पराजुलीका अनुसार बाढीले सीमाक्षेत्रको अवस्था अत्यन्त जटिल बनाएको छ। नेपालमा चीनबाट लत्ताकपडा, फलफूल, विद्युतीय सामानलगायत विभिन्न वस्तु आयात हुने गरेका छन्।

चीनबाट सामान भित्रिने प्रमुख नाकामध्ये रसुवागढी सबैभन्दा ठूलो नाका हो।

बाढीको कारण हिउँ–चट्टानको हिम पहिरो, तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

काठमाडौँ । रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठुला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा थप असर पर्न सक्ने भन्दै विज्ञहरूले सजगता अपनाउन आग्रह गरेका छन् ।

बुधबार बिहान करिब ९ः०० बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ्न थालेको थियो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठुलो क्षति पुर्‍याएको छ ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकले यो बाढी उच्च हिमाली क्षेत्रमा उत्पन्न हिउँ–चट्टानको हिम पहिरो (आइस–रक एभालान्च) का कारण आएको हुन सक्ने विषयमा अनुसन्धान गरिरहेका छन् ।

भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्याङ्कनअनुसार ठुलो परिमाणमा हिउँ र चट्टानको गेग्रान भोटेकोशी नदीको सहायक नदी ल्हेन्दे खोलामा खसेको हुन सक्छ । अनुसन्धानकर्ताका अनुसार उक्त घटनाले अचानक ठुलो बहाव सिर्जना गरेको हुन सक्छ, जसले पानी, गेग्रान र ठुला ढुङ्गाहरूलाई तल्लो तटतर्फ बगाएको थियो ।

जलविज्ञानसम्बन्धी अवलोकनले बाढीको बहावको गति र परिमाण असाधारण रहेको देखाएको छ । गल्छीमा त्रिशूली नदीको पानीको सतह ३० मिनेटमा नौ मिटरसम्म बढेको तथा मलेखुमा सोही अवधिमा सात मिटरले बढेको बताइएको छ ।

त्रिशूली नदीको किनारमा रहेका धेरै पानी मापन केन्द्र बाढीका क्रममा क्षतिग्रस्त वा बगाएको बताइएको छ । यद्यपि, गल्छीको पानी मापन केन्द्र भने सञ्चालनमै रहेको इसिमोडले जनाएको छ ।

विशेषज्ञले गेग्रानले नदीको साँघुरो भागमा अस्थायी रूपमा नदी थुनेर पहिरो बाँध (ल्यान्डस्लाइड ड्याम) बनाएको थियो कि थिएन भन्ने विषयमा पनि मूल्याङ्कन गरिरहेका छन् । यस्तो अवरोधका कारण जम्मा भएको पानी अचानक बाहिर निस्किएमा दोस्रो चरणको जोखिम उत्पन्न हुन सक्छ । सम्भावित अवरोधको आकार, स्थान र स्थायित्वबारे अधिकारी तथा वैज्ञानिकहरूले निरन्तर मूल्याङ्कन गरिरहेका छन् ।

विपद्को समयमा ‘रेकर्ड’ गरिएका भूकम्पीय तथ्याङ्कको प्रारम्भिक विश्लेषणले असामान्य सङ्केत पहिचान गरेको छ । प्रभावित क्षेत्रबाट उत्तरतर्फ करिब १२ किलोमिटर टाढा जिलुङमा रहेको भूकम्पमापन केन्द्रले असामान्य सङ्केत रेकर्ड गरेको थियो भने झाङ्मुस्थित अर्को केन्द्रले पनि असमान्य गतिविधि रेकर्ड गरेको थियो ।

वैज्ञानिकहरूले ती सङ्केत सम्भावित हिमपहिरोसँग सम्बन्धित छन् कि छैनन् भन्ने अध्ययन गरिरहेका छन् । हालसम्म भूकम्पीय गतिविधि र बाढीबीच कुनै कारणात्मक सम्बन्ध स्थापित भएको छैन ।

इसिमोडका जलवायु तथा वातावरणीय जोखिम प्रमुख स्याङ्गोङ झाङले गत वर्षको रसुवा बाढीबाट ध्वस्त भएको यही क्षेत्र फेरि एकपटक जोखिममा परेको बताउँदै ल्हेन्दे खोलामा आएको बाढीको सम्भावित कारण हिम पहिरो भएको उल्लेख गरे ।

“नेपाल–चीन सीमास्थित नदीको माथिल्लो क्षेत्रमा अझै अवरोध कायम रहेकाले अधिकारीहरुले दोस्रो बाढी आउन सक्ने चेतावनी दिएका छन् र जिलुङ बन्दरगाह सुरक्षित स्थानमा सार्ने आदेश अहिले नै जारी गरिएको छ,” उनले भने ।

बाढीका कारण प्रभावित क्षेत्रमा जल विज्ञान मापन केन्द्रलगायतका पूर्वाधारमा ठुलो क्षति पुगेको बताइएको छ । भोटेकोशी नदी तथा यससँग जोडिएका नदी प्रणालीका किनारमा धेरै जलविद्युत् आयोजना छन् ।

सीमापार विपद् जोखिमको सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक

इसिमोडका वरिष्ठ ‘क्रायोस्फियर विशेषज्ञ’ (हिमनदी, हिउँको अवस्था, जलवायु परिवर्तनको प्रभाव र हिमताल फुट्ने जस्ता जोखिमको अध्ययन गर्ने वैज्ञानिक) मोहम्मद फारुक आजमले क्रायोस्फियरसँग सम्बन्धित जोखिमको बढ्दो आवृत्ति पहिलेभन्दा स्पष्ट रूपमा देखिन थालेको बताए ।

“परिवर्तनको गति यति तीव्र छ कि विद्यमान प्रयासहरू त्यससँग जुध्न कठिनाइमा परिरहेका छन् । आज ल्हेन्दे खोलामा भएको विपद्ले सीमापार जोखिमको सामना गर्न अझ बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको देखाएको छ । सीमापार जोखिमको प्रतिकार्यका लागि सरकारले समन्वयात्मक रूपमा काम गर्नुपर्छ,” उनले भने ।

इसिमोडका विज्ञले घटनाको कारण र तल्लो तटीय समुदायमा जारी जोखिमलाई अझ राम्रोसँग बुझ्न जल विज्ञान, भूकम्पीय, रिमोट सेन्सिङ तथा स्थलगत तथ्याङ्कको विश्लेषण जारी राखेको जनाएका छन् । इसिमोडले नेपाल सरकार, वैज्ञानिक संस्थाहरू तथा चीनका साझेदारसँग मूल्याङ्कनको काम जारी रहँदा नजिकबाट सम्पर्क र समन्वय गरिरहेको जनाएको छ ।

इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले अचानक र अप्रत्याशित रूपमा आएको दुःखद विपद्बाट मर्माहत भएको उल्लेख गर्दै यो कठिन समयमा नेपालका जनता र सरकारप्रति ऐक्यबद्धता व्यक्त गर्नुभयो । साथै उनले पीडित तथा उनीहरूका परिवार र प्रभावित सबैप्रति समवेदना प्रकट गर्दै सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र पार्न २० हेलिकप्टर स्ट्यान्डबाइमा, थप १० परिचालन

काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यलाई तीव्रता दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी) मार्फत २० वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।

बिहीबार बिहान साढे ६ बजेदेखि ती हेलिकप्टरलाई ‘स्ट्यान्डबाइ’ राखिएको हो। बाढी प्रभावित क्षेत्र आसपास थप १० वटा हेलिकप्टर यसअघि नै उद्धार तथा राहत कार्यमा परिचालन भइसकेका छन्।

उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय तथा विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानको प्राथमिकता निर्धारण गरिने जनाइएको छ।

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

गण्डकी। नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको छ ।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रालयको कार्यविभाजन गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिनुभयो ।

बुधबार एमाले मन्त्रीहरूले राजीनामा दिएपछि मन्त्री पद रिक्त रहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाण्डेले आफैँ सम्हाल्नुभएको हो ।

यसअघि भौतिक पूर्वाधारमन्त्रीमा गोविन्दबहादुर नेपाली, कृषिमन्त्रीमा भीम कार्की, उद्योग तथा पर्यटनमन्त्रीमा यशोदा रिमाल र स्वास्थ्यमन्त्रीमा लक्ष्मण पाण्डे रहनुभएको थियो । उहाँहरूले बुधबार मुख्यमन्त्रीसमक्ष राजीनामा दिनुभएको थियो ।

ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नन्दप्रसाद न्यौपाने, आर्थिक मामिलामन्त्रीमा जितबहादुर शेरचन, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्रीमा रेखा गुरुङ र वन तथा वातावरणमन्त्रीमा नम्डु गुरुङ रहनुभएको छ ।

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

भीषण बाढीका कारण धेरै जनाको ज्यान गएको, मानिसहरू बेपत्ता भएको र व्यापक क्षति भएकोप्रति महासचिव गुटेरेसले दुःख व्यक्त गर्नुभएको उहाँका प्रवक्ताले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

उहाँले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । साथै महासचिव गुटेरेसले बाढीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता व्यक्त गर्नुभएको छ ।

नेपालमा संयुक्त राष्ट्रसंघले विपद्को प्रभावको स्तर मूल्याङ्कन गर्ने तथा तत्काल आवश्यक सहायता उपलब्ध गराउनेलगायत सरकारको नेतृत्वमा भइरहेको प्रतिकार्यलाई सहयोग गरिरहेको वक्तव्यमा उल्लेख छ ।

बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघका टोली तथा मानवीय सहायता साझेदारहरूले आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेका उहाँले जानकारी गराउनुभएको छ ।

महासचिव गुटेरेसले जीवन बचाउन खटिएका आपतकालीन उद्धारकर्मीहरूको प्रशंसा गर्दै थप सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ तयार रहेको दोहो¥याउनुभएको छ ।

रसुवा बाढी अपडेट : हालसम्म १६२ जनाको शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १६२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार आज बिहान करिब ५ बजेसम्म बाढी प्रभावित तथा नदी तटीय क्षेत्रबाट ती शव फेला परेका हुन्।

फेला परेका शवमध्ये चितवनमा ६४, धादिङमा २७, नवलपरासी (पूर्व)मा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवामा २ र नवलपरासी (पश्चिम)मा २ जनाको शव रहेका छन्।

बाढीमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये त्रिवि शिक्षण अस्पतालमा २०, त्रिशूली अस्पतालमा ९, राष्ट्रिय ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा ३, नर्भिक अस्पतालमा ३, वीरेन्द्र सैनिक अस्पतालमा १ र ग्रिन सिटी अस्पतालमा १ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

उद्धार तथा खोजी कार्यका लागि ३ हजार ३१८ जना प्रहरी कर्मचारी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।

यसैबीच, बाढी प्रभावित रसुवा जिल्लाका विभिन्न प्रहरी चौकी तथा इकाइमा कार्यरत ६४ प्रहरीमध्ये ३६ जना सम्पर्कमा आएका छन् भने २८ जना अझै सम्पर्कविहीन छन्।

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

रामेछाप । रसुवागढी र आसपासको क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी रामेछाप जिल्लाका २६ जना नागरिक बेपत्ता भएको विवरण सार्वजनिक भएको छ । हालसम्म प्राप्त विवरणअनुसार उनीहरू बाढीपछि सम्पर्कविहीन भएका रामेछापबाट निर्वाचित वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले जानकारी दिएका छन् ।

बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा स्थानीयवासीलाई आवश्यक पहल गरिदिन परिवारले आग्रह गरेका छन् । बेपत्ता व्यक्तिका परिवारजनलाई भरपर्दो सूचना नआएसम्म नआत्तिई धैर्य गर्न अनुरोध गरिएको छ ।

प्राप्त विवरणअनुसार बेपत्ता हुनेहरूमा रामेछाप नगरपालिका, मन्थली नगरपालिका, खाँडादेवी, दोरम्बा शैलुङ, गोकुलगंगा, उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकाका नागरिक रहेका छन् ।

बेपत्ता भएका भनिएका व्यक्तिहरूको नामावली ः

१.दिलबहादुर प्रधान—रामेछाप—३ साँघुटार

२. उत्तम प्रसाईं—खाँडादेवी—४ पकरबास

३.डम्बरबहादुर मगर—दोरम्बा शैलुङ –२ दोरम्बा

४.सूर्यबहादुर मगर—दोरम्बा शैलुङ –२ दोरम्बा

५. वमबहादुर मगर—दोरम्बा शैलुङ–२ दोरम्बा

६.तारानाथ चौलागाईं (नवराज)—दोरम्बा शैलुङ–६, माथिल्लो ढाडे

७.सुन्दर श्रेष्ठ—मन्थली–१ मन्थली

८.मीन आले मगर—रामेछाप–४ हिमगंगा

९.नवराज आले मगर—रामेछाप–४ हिमगंगा

१०.राजु गजमेर (बिजुल)—गोकुलगंगा–४ बेताली

११.ईश्वरीबहादुर खड्का (कुमार)—गोकुलगंगा–४ बेताली

१२. टलकबहादुर भण्डारी—खाँडादेवी–८ गागल

१३.सुमनविक्रम कार्की—रामेछाप–७ हिलेपानी

१४.गुन्ज श्रेष्ठ—रामेछाप.१ गोठपानी

१५.नवराज श्रेष्ठ—रामेछाप—१ गोठपानी

१६.राजन श्रेष्ठ—रामेछाप—१ गोठपानी

१७.पेन्जु लामा (विशाल)—दोरम्बा शैलुङ–१ डडुवा

१८.लाक्पा दोर्जे शेर्पा—दोरम्बा शैलुङ–१ डडुवा

१९.निरा थापा—दोरम्बा शैलुङ–४ गौश्वारा

२०.ङिमा शेर्पा—उमाकुण्ड–१, तेछिम

२१.बुद्धिमान तामाङ—लिखु तामाकोशी–५ नागदह

२२.कुशल बुढाथोकी—लिखु तामाकोशी–५ नागदह, भालुखोप

२३.प्रकाश मंग्राती—खाँडादेवी–४ पकरबास

२४.मधुकुमार कार्की—उमाकुण्ड

२५. हेमलाल श्रेष्ठ

२६. दीपक भुजेल—मन्थली–१ मन्थली

उक्त विवरण प्रारम्भिक भएकाले खोजी तथा उद्धारको क्रममा बेपत्ता व्यक्तिको संख्या वा विवरणमा थपघट हुन सक्ने जनाइएको छ । सम्बन्धित निकायबाट प्राप्त आधिकारिक तथा पछिल्लो विवरणलाई आधार मानी थप सूचना सार्वजनिक गरिने बताइएको छ ।

भोटेकोसी बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका केही परीक्षाहरू प्राकृतिक विपत्तिका कारण स्थगित भएका छन् ।

त्रिवि व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले बुधबार जारी गरेको सूचनाअनुसार भोटेकोसी नदीमा आएको बाढीका कारण सिर्जना भएको असहज परिस्थितिलाई ध्यानमा राख्दै भोलि भदौ ११ गतेका लागि तोकिएका विषयहरूको परीक्षा स्थगित गरिएको हो ।

स्नातकोत्तर तहअन्तर्गत एमबिएस, एमपिए,एमबिए–एफ, एमबिए–सिएल, एमबिए–एम, एमबिएम, एमएचएम, एमटिटिएम र म्याट्स कार्यक्रमको तेस्रो सत्रको नियमित परीक्षा–२०२६ अन्तर्गतका तोकिएका परीक्षा मात्र स्थगित भएको डीनको कार्यालयले जनाएको छ । संकायले स्थगित परीक्षाको नयाँ मिति यथाशीघ्र प्रकाशित गरिने जनाएको हो ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाद्वारा यहाँ जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिमा उल्लेख छ ।

मौसम बुलेटिनका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले महाशाखाका सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ ।

रसुवा–नुवाकोटमा थप ठूलो बाढी आउने हल्लामा नआत्तिन आग्रह

काठमाडौं । रसुवा–नुवाकोट क्षेत्रमा थप ठूलो बाढी आउन लागेको भन्दै विभिन्न फोन तथा सूचना प्राप्त भइरहेका बेला नेपाल बाढी सूचनाले त्यस्ता अपुष्ट सूचनाको पछि नलाग्न आग्रह गरेको छ।नेपाल बाढी सूचनाका अनुसार उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने देखिए पनि हालसम्म थप ठूलो बाढी आउने कुनै विश्वसनीय सूचना प्राप्त भएको छैन।

आज बिहानको बाढीबाट प्रभावित स्थानभन्दा बाहिर सुरक्षित स्थानमा रहेका नागरिकलाई हाललाई थप ठूलो बाढी आउने सम्भावना नरहेको भन्दै अनावश्यक रूपमा नआत्तिन र संयमित रहन आग्रह गरिएको छ।आगामी समयमा नेपालतर्फ कुनै ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी उपलब्ध सञ्चार माध्यममार्फत यथाशीघ्र आधिकारिक सूचना तथा पूर्वसूचना जारी गरिने नेपाल बाढी सूचनाले जनाएको छ।

उसले नागरिकलाई सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिने अपुष्ट सूचना र हल्लाको पछि नलागी आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार मान्न आग्रह गरेको छ।साथै, सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउनसमेत नागरिकलाई अनुरोध गरिएको छ।

 

रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । सभापति लामिछानेले आज (बिहीबार) बिहन ९ बजे रास्वपा संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा भोटेकोसी बाढी क्षति, खोजी, उद्वार, राहत र पुनस्र्थापनाबारे छलफल हुनेछ ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आठ ट्रक राहत सामग्री पठाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ।गृह मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री बोकेका सेनाका आठ वटा सवारीसाधन बिहीबार राति प्रभावित क्षेत्रतर्फ पठाइएको हो।

प्रभावित नागरिकका लागि पठाइएका राहत सामग्रीमा ५०० थान मच्छरदानी, १ हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट तथा ३० केभीए क्षमताको एक थान जेनेरेटर रहेका छन्।

बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक सामग्री पुर्‍याउन तथा पीडित नागरिकलाई राहत उपलब्ध गराउन ती सामग्री पठाइएको गृह मन्त्रालयले जनाएको छ।बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेकाले आवश्यकताअनुसार थप राहत सामग्री पठाउने तयारीसमेत भइरहेको छ।

त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

चितवन। चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा त्रिशूली र नारायणी नदीमा ६४ शव भेटिएका छन्।भेटिएका शव सग्लो र शरीरका अङ्गहरु मात्रै पनि छन्। भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

उनका अनुसार अनुसार तनहुँमा भेटिएका नौ शव चितवन पठाइएको भए पनि यहाँ राख्ने ठाउँ नभएर पुनःतनहुँ नै फिर्ता गरिएको छ।

जिल्लास्थित तीनवटै सुरक्षा निकायले नदी किनारमा शव खोज्ने काम सुरु गरेका छन्। भरतपुर अस्पतालको शवगृहमा शव नअटाए पछि अब भेटिएका शवहरुलाई औद्योगिक प्रतिष्ठानको कार्यालयमा व्यवस्थापन गर्नेगरी तयारी गरिएको उनले जानकारी दिए।

भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, ६ जना बालिका, ७ जना बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन।

प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव भेटिएको छ। साथै, नुवाकोटमा ६ महिला र ७ पुरुष, धादिङमा १० महिला, १० पुरुष, १ बालिका तथा ६ जना (पहिचान नखुलेको) को शव भेटिएको छ। गोरखामा २ महिला, ८ पुरुष, १ बालक र पहिचान नखुलेका ८ जनाको शव भेटिएको छ।

प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, १ बालिका, ४ बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ। त्यसैगरी, तनहुँमा १ महिला, ५ पुरुष, १ बालिका, १ बालक र पहिचान नखुलेका १ जनाको शव भेटिएको छ।

यस्तै, नवलपरासी पूर्वमा २ महिला, १२ पुरुष, ३ बालिका, १ बालक र पहिचान नखुलेका ४ जनाको शव भेटिएको छ।

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

उहाँका अनुसार गम्भीर घाइतेलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ । घाइतेको अवस्था अनुसार प्राथमिकीकरण (वर्गीकरण) गरी उद्धार तथा उपचारलाई अघि बढाइनेछ । यसैगरी, प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ६० पैसा र बिक्रीदर २०८ रुपैयाँ ४१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९० रुपैयाँ २७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२० रुपैयाँ ४५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६७ पैसा र बिक्रीदर २२ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५८ पैसा र बिक्रीदर ४० रुपैयाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१ रुपैयाँ ९६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ र बिक्रीदर ११ रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७८ पैसा र बिक्रीदर २३ रुपैयाँ ८७ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ १६ पैसा बिक्रीदर ४०५ रुपैयाँ ७५ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ३४ पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

बाढीको कारण हिउँ–चट्टानको हिमपहिरो, तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

काठमाडौँ, ११ भदौः रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठूला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा थप असर पर्न सक्ने भन्दै विज्ञहरुले सजगता अपनाउन आग्रह गरेका छन् ।

बुधबार बिहान करिब ९ः०० बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ्न थालेको थियो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्याएको छ ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकले यो बाढी उच्च हिमाली क्षेत्रमा उत्पन्न हिउँ–चट्टानको हिमपहिरो (आइस–रक एभालान्च) का कारण आएको हुन सक्ने विषयमा अनुसन्धान गरिरहेका छन् ।

भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्याङ्कनअनुसार ठूलो परिमाणमा हिउँ र चट्टानको गेग्रान भोटेकोशी नदीको सहायक नदी ल्हेन्दे खोलामा खसेको हुन सक्छ । अनुसन्धानकर्ताका अनुसार उक्त घटनाले अचानक ठूलो बहाव सिर्जना गरेको हुन सक्छ, जसले पानी, गेग्रान र ठूला ढुङ्गाहरूलाई तल्लो तटतर्फ बगाएको थियो ।

जलविज्ञानसम्बन्धी अवलोकनले बाढीको बहावको गति र परिमाण असाधारण रहेको देखाएको छ । गल्छीमा त्रिशूली नदीको पानीको सतह ३० मिनेटमा नौ मिटरसम्म बढेको तथा मलेखुमा सोही अवधिमा सात मिटरले बढेको बताइएको छ ।

त्रिशूली नदीको किनारमा रहेका धेरै पानी मापन केन्द्र बाढीका क्रममा क्षतिग्रस्त वा बगाएको बताइएको छ । यद्यपि, गल्छीको पानी मापन केन्द्र भने सञ्चालनमै रहेको इसिमोडले जनाएको छ ।

विशेषज्ञले गेग्रानले नदीको साँघुरो भागमा अस्थायी रूपमा नदी थुनेर पहिरो बाँध (ल्यान्डस्लाइड ड्याम) बनाएको थियो कि थिएन भन्ने विषयमा पनि मूल्याङ्कन गरिरहेका छन् । यस्तो अवरोधका कारण जम्मा भएको पानी अचानक बाहिर निस्किएमा दोस्रो चरणको जोखिम उत्पन्न हुन सक्छ । सम्भावित अवरोधको आकार, स्थान र स्थायित्वबारे अधिकारी तथा वैज्ञानिकहरूले निरन्तर मूल्याङ्कन गरिरहेका छन् ।

विपद्को समयमा ‘रेकर्ड’ गरिएका भूकम्पीय तथ्याङ्कको प्रारम्भिक विश्लेषणले असामान्य सङ्केत पहिचान गरेको छ । प्रभावित क्षेत्रबाट उत्तरतर्फ करिब १२ किलोमिटर टाढा जिलुङमा रहेको भूकम्पमापन केन्द्रले असामान्य सङ्केत रेकर्ड गरेको थियो भने झाङ्मुस्थित अर्को केन्द्रले पनि असमान्य गतिविधि रेकर्ड गरेको थियो ।

वैज्ञानिकहरूले ती सङ्केत सम्भावित हिमपहिरोसँग सम्बन्धित छन् कि छैनन् भन्ने अध्ययन गरिरहेका छन् । हालसम्म भूकम्पीय गतिविधि र बाढीबीच कुनै कारणात्मक सम्बन्ध स्थापित भएको छैन ।

इसिमोडका जलवायु तथा वातावरणीय जोखिम प्रमुख स्याङ्गोङ झाङले गत वर्षको रसुवा बाढीबाट ध्वस्त भएको यही क्षेत्र फेरि एकपटक जोखिममा परेको बताउँदै ल्हेन्दे खोलामा आएको बाढीको सम्भावित कारण हिमपहिरो भएको उल्लेख गर्नुभयो ।

“नेपाल–चीन सीमास्थित नदीको माथिल्लो क्षेत्रमा अझै अवरोध कायम रहेकाले अधिकारीहरुले दोस्रो बाढी आउन सक्ने चेतावनी दिएका छन् र जिलुङ बन्दरगाह सुरक्षित स्थानमा सार्ने आदेश अहिले नै जारी गरिएको छ,” उहाँले भन्नुभयो ।

बाढीका कारण प्रभावित क्षेत्रमा जलविज्ञान मापन केन्द्रलगायतका पूर्वाधारमा ठूलो क्षति पुगेको बताइएको छ । भोटेकोशी नदी तथा यससँग जोडिएका नदी प्रणालीका किनारमा धेरै जलविद्युत् आयोजना छन् ।

सीमापार विपद् जोखिमको सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक

इसिमोडका वरिष्ठ ‘क्रायोस्फियर विशेषज्ञ’ ( हिमनदी, हिउँको अवस्था, जलवायु परिवर्तनको प्रभाव र हिमताल फुट्ने जस्ता जोखिमको अध्ययन गर्ने वैज्ञानिक) मोहम्मद फारुक आजमले क्रायोस्फियरसँग सम्बन्धित जोखिमको बढ्दो आवृत्ति पहिलेभन्दा स्पष्ट रूपमा देखिन थालेको बताउनुभयो ।

“परिवर्तनको गति यति तीव्र छ कि विद्यमान प्रयासहरु त्यससँग जुध्न कठिनाइमा परिरहेका छन् । आज ल्हेन्दे खोलामा भएको विपद्ले सीमापार जोखिमको सामना गर्न अझ बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको देखाएको छ । सीमापार जोखिमको प्रतिकार्यका लागि सरकारले समन्वयात्मक रूपमा काम गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

इसिमोडका विज्ञले घटनाको कारण र तल्लो तटीय समुदायमा जारी जोखिमलाई अझ राम्रोसँग बुझ्न जलविज्ञान, भूकम्पीय, रिमोट सेन्सिङ तथा स्थलगत तथ्याङ्कको विश्लेषण जारी राखेको जनाएका छन् । इसिमोडले नेपाल सरकार, वैज्ञानिक संस्थाहरू तथा चीनका साझेदारसँग मूल्याङ्कनको काम जारी रहँदा नजिकबाट सम्पर्क र समन्वय गरिरहेको जनाएको छ ।

इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले अचानक र अप्रत्याशित रूपमा आएको दुःखद विपद्बाट मर्माहत भएको उल्लेख गर्दै यो कठिन समयमा नेपालका जनता र सरकारप्रति ऐक्यबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले पीडित तथा उनीहरूका परिवार र प्रभावित सबैप्रति समवेदना प्रकट गर्दै सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वैज्ञानिकहरूले हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमनदी, हिउँको अवस्था, पर्माफ्रस्ट (स्थायी रूपमा जमेको भू–सतह) तथा हिमाली भिरालो भूभागमा परिवर्तन भइरहेको भए पनि यस विशेष घटनामा जलवायु परिवर्तनको भूमिका के थियो भन्ने निर्धारण गर्न अहिले नै हतार हुने बताएका छन् ।

रसुवा बाढीबाट ६ प्रसारण लाइन अवरुद्ध, त्रिशुलीको २२० केभी सवस्टेशन पूर्णरुपमा क्षति

काठमाडौँ । रसुवा भीषण बाढीबाट ६ वटा प्रसारणलाइन अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार त्रिशुलीको २२० केभी सवस्टेशन पूर्णरुपमा क्षति भएको छ भने अन्य प्रसारण लाइनमा क्षति हुँदा विद्युत प्रवाह अवरुद्ध बनेको हो ।

प्राधिकरणकाअनुसार त्रिशुली स्थित २२० के।भी। ३ बि हब सवस्टेशनव पूर्णरुपमा क्षति पुगेको छ ।चिलिमे २२० के।भी हव टावर अवरुद्ध भएका कारण बन्द भएको छ । समुद्रटार ( त्रिशुली १३२ के।भी। प्रसारण लाइन अवरुद्ध भएको छ । चिलिमे ( त्रिशुली ६६ के।भी। प्रसारण लाइन अवरुद्ध छ ।

चिलिमे हव ( त्रिशुली ३ बि हब ( मातातिर्थ २२० के।भी। प्रसारण लाइन अवरुद्ध छ । त्रिशुली(बालाजु ६६ के।भी। प्रसारण लाइन अवरुद्ध छ । अन्य केही प्रसारण लाइनको टावरमा समस्या रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले वैकल्पिक उपायबाट सञ्चालन हुन सक्ने स्थानबाट आंशिक क्षेत्रमा विद्युत प्रणाली सञ्चालनको प्रयास भैरहेको जनाएको छ । यसै क्रममा सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रमा प्रणाली चालु भै चौघोडा सवस्टेशन सञ्चालनको प्रयास जारी गरिएको छ ।गुजुरीदेख गल्छीसम्मका क्षेत्रहरुमा धादिङ्गबेसी सवस्टेशनमार्फत विद्युत आपूर्ति सुचारु गर्ने प्रयास भैरहेको प्राधिकरणले जनाएको छ ।

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ। भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता तथा विपद् राहत पठाएको जनाएको छ ।

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताएका छन् ।

“हामी शोकसन्तप्त परिवारजन तथा यस घटनाबाट प्रभावित सबैप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ”, उनले भनेका छन्, “यस चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा उभिएको छ ।”

विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने

काठमाडौँ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्पछिको उद्धार तथा राहतका लागि आवश्यक सामग्री तथा सहयोगको माग दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

प्राधिकरणका अनुसार विपद्का कारण प्रभावित व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक सामग्री र सहयोगको माग सेतु प्रणालीमार्फत दर्ता गर्न सकिन्छ ।

सम्बन्धित विवरण https://setu.ndrrma.gov.np/. मा गई भर्नुहुन प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणका अनुसार हालसम्म १७४ जनाले यस्तो अग्रह गरिसकेका छन् ।

सेतु प्रणालीमार्फत प्राप्त मागका आधारमा विपद् प्रभावित क्षेत्रमा आवश्यक सहयोग तथा राहत व्यवस्थापनमा सहजीकरण हुने अपेक्षा गरिएको छ ।

अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी

काठमाडौँ। अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी २० सिरिजअन्तर्गत अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्धको खेलमा नेपाल ‘ए’ विजयी भएको छ ।

अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले एसीटीलाई ४ विकेटले पराजित गरेको हो ।

एसिटीले दिएको १४१ रनको लक्ष्य नेपाल ‘ए’ले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ६१ रन बनाए । उनले ४७ बलमा ५ चौका र एक छक्का प्रहार गरे । त्यस्तै पवन सर्राफ २९ रनमा अविजित रहे । मयन यादवले २१ तथा लोकेश बमले १२ रन बनाए । बलिङतर्फ एसिटीका ज्याक कहले ३ तथा जित मेहताले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एसीटीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । एसीटीका डिलन हन्टरले सर्वाधिक ४४ रन बनाए । एन्स टिवारी र निक ब्रोसले समान १९-१९ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले तीन विकेट लिए भने युवराज खत्रीले दुई विकेट लिए । त्यस्तै पवन सर्राफ, बिपिन खत्री र शाहब आलमले समान एक एक विकेट लिए ।

प्रतियोगितामा नेपाल ‘ए’ को लगातार यो दोस्रो जित हो । यसअघि सोमबार भएको खेलमा नेपाल ‘ए’ले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो । त्यसअघि नेपाल ‘ए’ पहिलो खेलमा एनटी स्ट्राइकसँग ८ विकेट तथा बङ्गलादेशको ए टोलिसङ ९ विकेटले पराजित भएको थियो ।

त्यस्तै एसिटी भने प्रतियोगितामा जितविहीन रहेको छ । यस अघि तीन खेल खेलेको एसिटी किङ्समेनसँग ६ विकेट, भिक्टोरिया सिए-११ सँग ८ विकेट तथा एनटी स्ट्राइकसँग ६ विकेटले पराजित भएको थियो ।

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ -रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन भएका छन् ।

नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर ६२ नेपाली र ३४१ विदेशी पर्यटक सम्पर्कविहीन भएका हुन् ।

पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ४०३ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभयो ।

सम्पर्कविहीन हुनेमा २०३ पुरुष र २०० महिला रहेका छन् । बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । हालसम्म भारतका १३३, अमेरिकाका ४७, अष्ट्रेलियाका ३४ जना, संयुक्त अधिराज्य बेलायतका ३३ जना, क्यानडाका २४ जना, मलेसियाका १९ जना, युक्रेनका सात जना, सिङ्गापुर र दक्षिण अफ्रिकाका छ/छ जना, न्युजिल्याण्ड र जापानका पाँच/पाँच जना रहेका छन् ।

यसबाहेक जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्याण्ड, नेदरल्याण्ड लगायतका २५ भन्दा बढी देशका नागरिक बाढीमा परेर सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बाढीले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरीचौकी र भन्सार कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण रसुवागढी नाका जोड्ने सडक र पुलहरू समेत क्षतिग्रस्त भएको छ ।

नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ ।

छिमेकीसँगको कूटनीतिक संवादलाई तीव्रता दिँदै इरान

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले छिमेकी मुलुकसँगको ‘दृढ’ कूटनीतिले शान्ति र स्थिरताप्रतिको इरानको प्रतिबद्धता पुष्टि गर्ने बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल सैयद आसिम मुनिर र ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद अल बुसाइदीसँग क्रमशः सोमबार र मङ्गलबार भएका वार्तामा क्षेत्रीय समाधानमा जोड दिइएको बताउनुभयो ।

“नयाँ करिडोरका लागि प्रस्तावित रूपरेखा, संयुक्त रूपमा बारुदी सुरुङ हटाउनेकार्य र होर्मुजको भविष्यको व्यवस्थापन यसका उदाहरण हुन्,” अराघचीले लेख्नुभएको छ ।

इरान र ओमानले होर्मुज जलसन्धिमा अस्थायी संयुक्त जलमार्ग (सिपिङ करिडोर) स्थापना गर्ने तथा उक्त जलमार्गबाट बारुदी सुरुङ हटाउने संयुक्त परियोजना सञ्चालन गर्ने प्रस्ताव सार्वजनिक गरेपछि उहाँको यस्तो भनाइ आएको हो ।

यसैबीच, अराघचीले मङ्गलबार कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ । इरानी विदेश मन्त्रालयका अनुसार वार्तामा क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन तथा क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न कूटनीति र समन्वयमा जोड दिइएको थियो ।

इरानी भू–भागमा इजरायल र संयुक्त राज्य अमेरिकाको संयुक्त आक्रमणपछि इरानले फेब्रुअरी २८ देखि होर्मुज जलसन्धिमा आफ्नो नियन्त्रण कडा बनाउँदै इजरायल र अमेरिकासँग सम्बन्धित वा उनीहरूको स्वामित्वमा रहेका जहाजको आवतजावतमा रोक लगाएको थियो ।

गत महिना दुई देशबीच तनाव बढेसँगै, जुन १८ मा भएको अमेरिका–इरान समझदारीपत्र (एमओयू) अन्तर्गतको ६० दिने वार्ताको समयसीमा अगस्ट १७ मा समाप्त भएको थियो । यससँगै अन्तिम शान्ति सम्झौताको सम्भावना अनिश्चित बनेको छ ।

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, ६३ जना घाइते

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार मृतकमध्ये २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक र पहिचान नखुलेका २० जना छन्।

प्रहरीका अनुसार रसुवामा एक पुरुषको शव फेला परेको छ। नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जनाको मृत्यु भएको छ।

त्यस्तै, धादिङमा ११ महिला, ५ पुरुष र पहिचान नखुलेका २ जनासहित १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। गोरखामा एक महिला, ४ पुरुष, एक बालक र पहिचान नखुलेका १० जनाको शव भेटिएको छ।

चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र पहिचान नखुलेका ८ जनाको शव फेला परेको छ। तनहुँमा ३ पुरुष, एक बालिका र एक बालक तथा नवलपरासी पूर्वमा ८ पुरुष र ३ बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका अनुसार बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

भोटेकोशी बाढीपीडितका लागि सरकारको सहयोग अपिल, उद्धार कोषमा रकम जम्मा गर्न आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र गोरखालगायत तटीय जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बिहान ८:४० बजे नदीमा आएको बाढीले विभिन्न क्षेत्र प्रभावित भएका छन्।

विपद्बाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी खाना, बसोबास तथा आवश्यक स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्ने भन्दै सरकारले दीर्घकालीन पुनःस्थापनाका लागि समेत सहयोग जुटाउन थालेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देश तथा विदेशमा रहेका नेपाली नागरिक, संघसंस्था, व्यवसायी तथा दातृ निकायलाई आर्थिक सहयोग गर्न अपिल गरेको छ।

सरकारले सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेका ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’ मा रकम जम्मा गर्न आग्रह गरेको छ। त्यसका लागि सरकारले सम्बन्धित बैंक खाता विवरणसमेत सार्वजनिक गरेको जनाएको छ।

रास्वपाले बाढीपीडितका लागि ५० लाख सहयोग गर्ने

काठमाडौं – चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुःख व्यक्त गरेको छ।

रास्वपा सचिवालयको बुधबार बसेको बैठकले विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि पार्टीका तर्फबाट ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै रास्वपाले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी नागरिकको तत्काल उद्धार, सुरक्षित बासस्थान, शुद्ध खानेपानी, औषधि र खाद्यान्नको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

रास्वपाले आफ्ना केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका समिति, सदस्य र शुभेच्छुकलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिएको छ। उद्धार तथा राहतमा पार्टीको र्‍याट परिचालनको संयोजन पूर्वर्‍याट संयोजक आशिष थापालाई दिइएको छ।

विपद्का बेला भ्रामक सूचना तथा अफवाह फैलिन सक्ने भन्दै रास्वपाले सरकारी निकायबाट जारी आधिकारिक सूचनालाई मात्र आधार मान्न र सामाजिक सञ्जालमा तथ्यपरक सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ। नदी तटीय तथा पहिरोको उच्च जोखिममा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउनसमेत अपिल गरेको छ।

‘तपाईंहरू एक्लो हुनुहुन्न, राज्य सम्पूर्ण साधनस्रोतसहित साथमा छ’ – प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ५० भन्दा बढी नागरिकको मृत्यु भएको जानकारी दिएका छन्। उनले बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई तीव्र पारिएको बताएका छन्।

प्रधानमन्त्री शाहका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली उद्धारमा परिचालन भएका छन्। सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र घाइतेहरूलाई काठमाडौं ल्याएर उपचार भइरहेको उनले बताएका छन्।

घाइतेको निःशुल्क उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको तथा अन्य अस्पताललाई पनि तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।

प्रधानमन्त्री शाहले बाढी प्रभावित नुवाकोट, रसुवा, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा तत्काल खाद्यान्न, खानेपानी, औषधि र अस्थायी बसोबासको व्यवस्था गरिने बताएका छन्। बेपत्ताको खोजी तथा उद्धार कार्य रातभर जारी रहने उनको भनाइ छ।

उनले विपद्को यो कठिन घडीमा सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारी राहत तथा उद्धार अभियानमा सहयोग गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन् –
आदरणीय आमाबाबु, दिदीबहिनी तथा दाजुभाइहरू,
आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु। आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्महत बनाएको छ। प्राकृतिक विपद्को यो अप्रत्याशित बज्रपातले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी र साना–साना बालबालिकाहरूलाई गहिरो पीडामा धकेलेको छ।
बाढीका कारण हालसम्म ५० भन्दा बढी हाम्रा प्रिय नागरिकहरूले ज्यान गुमाइसकेको दुःखद खबर प्राप्त भएको छ। म नेपाल सरकार र व्यक्तिगत तर्फबाट ज्यान गुमाउनुहुने ती सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। आफ्नो मान्छे, आफ्नो परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका ती दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु। तपाईंहरूको यो असैह्य पीडामा सिङ्गो नेपाल सरकार र सम्पूर्ण देशबासी साथमा छौँ। बाढीमा परी घाइते हुनुभएका र अस्पतालमा उपचार गराइरहनुभएका सबै नागरिकहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना गर्दछु।
यो दुःखद खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौंको संख्यामा उद्धार कार्यमा परिचालन गरेको छ।
बाढी गएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बस्यो। त्यसलगत्तै राष्ट्रिय परिषद्को बैठक र मन्त्रिपरिषद्को बैठक समेत बसेर उद्धार, खोज र राहत कार्यलाई कसरी तीव्र बनाउने भन्नेबारे महत्वपूर्ण निर्णयहरू गरियो।
बाढी प्रभावित क्षेत्रमा नागरिकहरूको ज्यान जोगाउन र खोजतलास गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरूलाई तत्कालै मैदानमा उतारिएको छ।
हाम्रा सुरक्षाकर्मीहरूले नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५०+ नागरिकको उद्धार गरिसकेका छन्। उद्धार गरिएकामध्ये घाइतेहरूलाई तत्काल काठमाडौँ ल्याएर उपचार सुरु गरिएको छ।
अहिलेको यो समय निकै संवेदनशील छ। घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु नै हाम्रो पहिलो प्राथमिकता हो।
घाइते नागरिकहरूको सहज र निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या छुट्याइएको छ। उपत्यकाका अन्य सबै ठूला अस्पतालहरूलाई पनि जुनसुकै बेला घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ। सरकारले प्रभावित क्षेत्रमै मेडिकल टिम खटाएर घाइतेहरूको उद्धार र प्राथमिक उपचार गरिरहेको छ। काठमाडौंको राष्ट्रय ट्रमा सेन्टर, विभिन्न सुरक्षा निकायहरुबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुको टोली तत्कालै पठाइएको छ। यस्तै, नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत निकायबाट पनि चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री बाढीप्रभावित क्षेत्रमा पठाइसकिएको छ।
आपत्कालीन स्वास्थ्य सेवा, औषधी र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटजस्ता संघसंस्थाहरूसँग निरन्तर समन्वय भइरहेको छ।
बाढीग्रस्त क्षेत्रका संघीय सांसदहरूसँग हामीले परामर्श गरी स्थानीय तहमा कहाँ के सहयोग आवश्यक छ, सोही अनुसार सहजिकरण गरिरहेका छौं। घाइतेहरूको थप विवरण संकलन गर्ने काम अझै निरन्तर जारी छ।
यो विपद्बाट नागरिकलाई बचाउन र उहाँहरूको जनजीवन सामान्य बनाउन सरकार लागिरहनेछ। बाढीमा हराइरहेका नागरिकहरूको खोजतलासलाई अझ तीव्र पारिनेछ। घाइतेहरूको पूर्ण विवरण र बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण संकलन गरिनेछ। आज रात भर पनि उद्धार कार्य जारी नै रहने छ ।
नुवाकोटको विदुर; रसुवाको उत्तरगया र गोसाइँकुण्ड; धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन्। यी सबै क्षेत्रका पीडित परिवारहरूसम्म खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पुर्याइने छ ।
बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइनेछ। विस्थापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिनेछ
बाढी प्रभावित क्षेत्रका आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
तपाईंहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन। तर म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु—यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ। कृपया धैर्य धारण गर्नुहोला। तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ।
यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुनुपर्छ। म सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध गर्दछु।
हाम्रा पीडित दाजुभाइ–दिदीबहिनीहरूलाई पुनः सामान्य जीवनमा फर्काऔँ।

रसुवा, नुवाकोटसहितका जिल्लामा आज राति वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोकलगायत जिल्लामा मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

महाशाखाले ती जिल्लाका एक–दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरेको छ । सम्भावित वर्षाका कारण खोज तथा उद्धारका कार्यमा आवश्यक सावधानी अपनाउन महाशाखाले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार चार जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनका अनुसार ट्रमा सेन्टरमा नुवाकोट विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछानेको उपचार भइरहेको छ ।

त्यसैगरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा नुवाकोट विदुर नपा–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्वा तामाङ, ठेगाना नखुलेका कुशल मगर, कार्की थपका एक पुरुष, नाम थर बताउन नसक्ने एक पुरुष, सिन्धुपालचोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ, जाजरकोटका बलबहादुर घर्ती मगरको उपचार भइरहेको छ । साथै गोरखा टिमुरे गोसाइकुण्ड– ७ का कामु नगरकोटीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । नगरकोटीको साथमा तीन महिनाको नाबालक शिशु समेत साथमा रहेको जनाइएको छ ।

प्रहरीका अनुसार टिमुरे गोसाइकुण्ड–७ का प्रेमदोर्जे घले, नेमा दोर्जे घले, फुर्प लामा (ठेगाना नखुलेको), बर्दिया जीतपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती गाउँपालिका–५ का सुराची राना मगर र भक्तपुर चांगुनारायण नगरपालिका–१ का रिता दोचाको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी

काठमाडौँ, भदौ १०-रसुवाको सीमा क्षेत्र रसुवागढी, भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा आज आएको भीषण बाढी हिमपहिरोका कारण नदी थुनिएर अचानक पानीको ठूलो बहाव तलतिर आएको हुनसक्ने बताइएको छ ।

अन्तरराष्ट्रिय एकीकृत विकास केन्द्र ९इसिमोड०का विपद् जोखिम न्यूनीकरण विज्ञ शास्वत सन्यालले सो क्षेत्रको लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी आएको बताउनुभयो । “यस पटक सम्भवतः हिमपहिरोका कारण नदी थुनिएर अचानक पानीको ठूलो बहाव तलतिर आएको हुन सक्छ । थप जानकारी प्राप्त हुँदै जाँदा यसको पुष्टि हुन बाँकी छ”, रासससँग कुरा गर्दै उहाँले भन्नुभयो ।

यसैगरी इसिमोडका जलवायु तथा वातावरणीय जोखिम प्रमुख स्याङ्गोङ झाङले गत वर्षको रसुवा बाढीबाट तहसनहस भएको त्यही क्षेत्र फेरि जोखिममा परेको बताउनुभयो । “लेन्दे खोलामा आज आएको बाढी हिमपहिरो कारणले भए पनि यसको अझै पुष्टि हुन बाँकी छ । नेपाल–चीन सीमास्थित नदीको माथिल्लो भागमा अझै अवरोध कायम रहेकाले दोस्रो पटक बाढी आउन सक्छ”, उहाँले भन्नुभयो । बाढीबाट सो क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको बताइएको छ ।