`

रवि लामिछाने र चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदुत झाङ माओमिङबीच सभापतिको बुढानिलण्ठस्थित निवासमा आज दिउँसो भेटवार्ता भएको छ । भेटमा राजदुत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतीबारे दुस्ख ब्यक्त गरे ।

खोज, उद्दारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउदै उनले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए । विपद्लगत्तै उद्दारकर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चिनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी उहाले दिए ।

भेटमा सभापति लामिछानेले विपद्का समयमा चिनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । नेपालको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनमा चिनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण हेने बताउदै आगामी दिनमा थप सहकार्यको आग्रह समेत गरे ।

चीनबाट आपत्कालीन राहत सामग्रीको दोस्रो खेप काठमाडौं आइपुग्यो

काठमाडौं – बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप मंगलबार साँझ काठमाडौं आइपुगेको छ।

चिनियाँ जनमुक्ति सेना (पीएलए) वायुसेनाको वाई–२० ठूलो क्षमताको सैन्य परिवहन विमानमार्फत साँझ करिब ५ः३० बजे राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

सोही विमानबाट नेपालका लागि चिनियाँ सहयोगी विशेषज्ञको तेस्रो टोलीअन्तर्गत पाँच जना डीएनए पहिचान विशेषज्ञसमेत नेपाल आएका छन्। उनीहरूले विपद्का कारण बेपत्ता तथा मृतकको पहिचानसम्बन्धी कार्यमा नेपाली पक्षलाई सहयोग गर्ने जनाइएको छ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थिति थियो। सो अवसरमा चिनियाँ विशेषज्ञ टोलीलाई स्वागतसमेत गरिएको थियो।

प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ, १६ भदौ : बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आज साँझसम्म प्रधानमन्त्री राहत कोषमा ९ वटा वाणिज्य बैंकका खाताहरूमा छ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रूपैयाँ जम्मा भएको छ ।

जसमध्ये १ अर्ब रूपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासका भएपछि अहिले कोषमा ५ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रूपैयाँ मौज्दात छ । यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ६१ लाख ११ हजार १४८ अमेरिकी डलर जम्मा भएको छ । आर्थिक सहयोगका लागि कतिपय देश तथा सङ्घसंस्थाहरूले प्रतिवद्धता समेत जनाएका छन् ।

कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दै रहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ ।

त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

काठमाडौँ, १६ भदौः सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गर्नुभएको हो ।

जसअनुसार त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्राडा अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्रा रवीन्द्र शिवाकोटी नियुक्त हुनुभएको छ । शिवाकोटी त्रिविको शिक्षा शास्त्र सङ्कायका प्राध्यापक हुनुहुन्छ भने सिंह विज्ञान सङ्कायकी प्राध्यापक हुनुहुन्छ ।

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा पन्ना थापा, पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा निर्मला जमरकट्टेल र सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा तारादत्त भट्ट नियुक्त हुनुभएको छ ।

मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डा सुदिप ठकुरी तथा राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा जीवन काफ्ले नियुक्त हुनुभएको छ । नवनियुक्त शिक्षाध्यक्ष तथा रजिस्ट्रारले आजै शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधार तथा सर्वाङ्गीण विकासका लागि टिमवर्क र प्रभावकारी समन्वयका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिनुभयो । उहाँले उच्च शिक्षा सुधारका लागि उपकुलपति, रजिस्ट्रारलगायत विश्वविद्यालयका पदाधिकारीबीच बलियो सहकार्य आवश्यक रहेको बताउनुभयो ।

मन्त्री पोखरेलले विश्वविद्यालयलाई उत्कृष्ट र अनुसन्धानमुखी संस्थाका रूपमा विकास गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्रालयबाट आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वविद्यालयको रूपान्तरण र कामलाई परिणाममुखी बनाउन नवनियुक्त पदाधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शैक्षिक गुणस्तर, परीक्षा प्रणाली सुधार तथा विश्वविद्यालयको क्षमता अभिवृद्धिमा सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयबीच प्रभावकारी समन्वय गर्दै गुणस्तरीय जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

पोखरा विश्वविद्यालयकी नवनियुक्त रजिस्ट्रार प्राडा निर्मला जमरकट्टेलले आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपति, मन्त्रालयका उच्च अधिकारीलगायतको उपस्थिति थियो ।रासस

सुरुङमा फसेकाको उद्धारमा हरसम्भव प्रयास भइरहेको छ – गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुदन गुरुङले रसुवा बाढीका कारण हाइड्रो सुरुङमा फसेकाको उद्धारका लागि ड्रिलिङदेखि सबै विकल्प खोजिरहेको बताएका छन् ।

उनले सुरुङमा फसेकाको उद्धारका लागि माथिबाट ड्रिल गर्ने तयारीमा रहेको बताए । उनले सुरुङमा फसेकाको उद्धारमा हरसम्भव प्रयास भइरहेको बताए ।

‘अझै पनि हामीले होप लुज (आशा मारेको) गरेका छैनौं । माथिबाट पनि छिर्न सकिन्छ कि, उहाँहरू त्यहाँको नै पानी खाएर बस्नुभएको छ कि भन्ने पनि लाएको छ । हाम्रो सुरक्षा संयन्त्र अझै पनि त्यहाँ काम गर्नुभएको छ’ उनले भने – ‘हाम्रो नयाँ विचार के आएको छ भने माथिको ठाउँबाट पनि खनेर बरु त्यसलाई ड्रिल गरेर केही गर्न सक्यौं भने पनि केही सम्भावना छ कि भनेर राज्यले प्रयास गरिरहेको छ’

गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रमा राहत पुर्‍याउन राज्यका सबै हेलिकप्टर तथा उपलब्ध संयन्त्र परिचालन गरिएको बताए । उनले राज्य आफ्नो कर्तव्यबाट पछि नहट्ने स्पष्ट पार्दै कुनै स्थानमा राहत नपुगेको भए सरकारलाई जानकारी गराउन आग्रह गरे ।

‘उहाँहरू सुरक्षाकर्मी भए पनि देशका नागरिक हुन् । कसैले उहाँहरूको अवस्था के छ, परिवारको अवस्था कस्तो छ भनेर सोधेको छैन । उहाँहरू पनि नेपाली नागरिक नै हुन् । त्यैपनि राज्यको ब्याकबोनको हिसाबले आफ्नो जिम्मेवारी पूर्णरूपमा पालना गरिरहनुभएको छ,’ उनले भने ।

जुनियर सुपरमोडेल र सम्मान कार्यक्रम एक साथ सम्पन्न

काठमाडौं १४ भाद्र । सामरी इन्टरनेशनलद्वारा आयोजित जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६ को भव्य ग्रान्ड फिनाले तथा सम्मान एवं अवार्ड कार्यक्रम काठमाडौंस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा सहभागी २३ जना प्रतिभाशाली बालबालिकाले आफ्नो आत्मविश्वास, प्रतिभा, सिर्जनशीलता तथा आकर्षक स्टेज प्रस्तुतिमार्फत दर्शक र निर्णायकहरूको मन जितेका थिए ।

प्रतियोगिताको मुख्य उपाधि आयना राईले जितिन् । एन्जेलिना राई प्रथम रनरअप, अनन्या पुरी द्वितीय रनरअप, अनमोल परियार तृतीय रनरअप, युबिया महर्जन चौथो रनरअप तथा बिद्या खत्री पाँचौँ रनरअप घोषित भए ।
विशेष उपाधितर्फ एन्जेलिना राईले पब्लिक च्वाइस विनर, अंशु भण्डारीले भ्यूअर्स च्वाइस विनर तथा जिनियस प्रसाईंले म्यानेजमेन्ट च्वाइस विनरको उपाधि जितेका छन् ।

श्रदेय गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता, सामरी इन्टरनेशनल इभेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत भरत सामरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालको पहिलो सेफ गोविन्द नरसिंह केसी, विशिष्ट गायक तथा रेडियो नेपालका पुर्व निर्देशक सिताराम पोखरेलको विशेष आतिथ्य रहेको थियो भने विभिन्न क्षेत्रका व्यक्तित्वहरु तथा मिडियाको बाक्लो उपस्थिति रहेको थियो । जुनियर सुपर मोडेलको निर्णायक मण्डलमा रोजी श्रेष्ठ (सुमित्रा), बिपिशा भट्टराई, नीलम पौडेल र विजय शाहीको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा सहभागी २३ जना प्रतियोगीलाई उनीहरूको व्यक्तित्व, प्रतिभा र प्रस्तुतिका आधारमा विभिन्न विशेष उपाधि पनि प्रदान गरिएको थियो । कार्यक्रममा सांस्कृतिक प्रस्तुति, परिचय राउन्ड, डिजाइनर वेयर, प्रश्नोत्तर, प्रतिभा प्रदर्शन तथा विजेता घोषणा मुख्य आकर्षणका रूपमा रहेका थिए ।यसै अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व तथा संस्थालाई नेपाल एक्सेलेन्सी अवार्डबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकी विशिष्ठ तथा चर्चित गायिका ज्ञानु राणालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।
त्यस्तै कृष्णप्रसाद पाण्डे, रीना श्रेष्ठ, नीलम पौडेल, विजय शाही, अर्जुन कार्की, अनमोल भगत, अर्शु महर्जन, रोजिन शाक्य, राज कार्की, शेखर वाग्ले, आगन पार्टी भेन्यु एण्ड रेस्टुरेन्ट तथा फेसन डिजाइनर दिलमाया मगरलाई नेपाल एक्सेलेन्सी अवार्डबाट सम्मान गरिएको थियो ।

कार्यक्रमले बालबालिका तथा युवा प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा भविष्यका लागि नयाँ अवसर सिर्जना गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजक समारी इभेन्टसका प्रमुख भरत सामरीले जानकारी गराउनुभयो ।

“जहाँ आत्मविश्वासले प्रतिभालाई भेट्छ, र सपनाले मञ्च पाउँछ” भन्ने मूल भावनासहित सम्पन्न प्रतियोगिताले प्रतिभा, फेसन, सिर्जनशीलता र आत्मविश्वासको सुन्दर उत्सव प्रस्तुत गरेको थियो ।सम्पूर्ण विजेता, उपाधि विजेता, प्रतियोगी, सम्मानित व्यक्तित्व, निर्णायक मण्डल, अभिभावक, सञ्चारकर्मी, सहयोगी तथा शुभेच्छुकहरूलाई आयोजकले हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेको छ ।

बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने

तनहुँ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि भानु नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले नगरपालिकाका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले भानु नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट समेत बाढीपीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । विभिन्न श्रेणीका शिक्षक तथा कर्मचारीको तलबबाट रु ३६ लाख ५२ हजार सङ्कलन गरी कोषमा जम्मा गरिने उहाँले बताउनुभयो ।

नगरपालिकाले शिक्षक तथा विद्यालय कर्मचारीको तलबबाट प्राप्त हुने रु ३६ लाख ५२ हजार बराबर जम्मा हुने रकम व्यवस्थित रूपमा सङ्कलन गरी कोषमा जम्मा गर्ने जनाएको छ । नगरपालिकाका जनप्रतिनिधिले कम्तीमा १० दिनको सेवा-सुविधा बराबरको रकम सहयोग गर्ने निर्णय गरेको त्रिपाठीले जानकारी दिनुभयो ।

उक्त रकम बाढीमा परी हालसम्म सम्पर्क स्थापित हुन नसकेका नगरवासीको खोज तथा उद्धार कार्यमा सहयोग गर्न प्रयोग गरिने उहाँले बताउनुभयो । रसुवामा आएको बाढीका कारण विभिन्न स्थानमा पुगेका तथा हालसम्म परिवारको सम्पर्कमा नआएका भानु नगरवासीको खोजीलाई समेत नगरपालिकाले प्राथमिकतामा राखेको छ ।

सम्पर्कविहीन नागरिकको अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय गरी खोज तथा उद्धार कार्यमा आवश्यक सहयोग गर्ने नगरपालिकाले जनाएको छ ।

बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधिले विपद्को यस कठिन घडीमा रसुवावासी तथा प्रभावित नागरिकप्रति उच्च मानवीय संवेदना, ऐक्यबद्धता र सहयोग आवश्यक रहेको धारणा राखेका छन् ।

रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा

भक्तपुर। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भक्तपुरका हराइरहेकामध्ये छ जना सम्पर्कमा आएका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार भक्तपुर ठेगाना भएका १९ जना बाढीपछि सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ । सम्पर्कविहीनमध्ये छ जना सम्पर्कमा आएका छन् भने भक्तपुरका इञ्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु भएको पुष्टि भइसकेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयमा बाहिरी जिल्ला ठेगाना भएका ५६ जना व्यक्तिसमेत सम्पर्कविहीन भएका विवरण प्राप्त भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । तीमध्ये दुई जना सम्पर्कमा आएका र एक जना काठमाडौँस्थित वीर अस्पतालमा उपचाररत रहेका उहाँले बताउनुभयो ।

यसैबीच, वातावरण संरक्षण समितिका अध्यक्ष सत्यसुन्दर प्रजापतिका मामा न्हुछेबहादुर प्रजापतिले भन्जाको शव यही भदौ १२ गते फेला परेको जानकारी दिनुभयो ।

“बाढी गएको आज सात दिन भइसकेको छ, सरोकार भएका निकायले खोज तथा उद्धारलाई तीव्रता दिई नागरिकको सकुशल उद्धारमा जुट्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो । भदौँ १० गतेदेखि आजसम्म सेना, हवाई माध्यम, ड्रोनको सहायताले निरन्तर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ

सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले रसुवा बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउन एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गर्नुभएको छ ।

सङ्घीय संसद् सचिवालयका कर्मचारीको पनि सरकारको निर्णय बमोजिम श्रेणीगत रुपमा पारिश्रमिकवापतको रकम कट्टा गरी उक्त उद्धार कोषमा जम्मा गरिनेछ ।

सभामुख सचिवालयले विपद्को कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउनु सबैको दायित्व भएको स्पष्ट गरेको छ ।

राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक

काठमाडौँ। राष्ट्रमा दिगो शान्ति, समृद्धि तथा लोककल्याणको कामनासहित आज बिहान श्रीपशुपतिनाथ मन्दिरमा विशेष महारुद्रीसहितको क्षमापूजा गरिएको छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेश) ले मूल मन्दिर परिसरमा देशमा शान्तिको सङ्कल्पसहित महारुद्राभिषेक शुभारम्भ गर्नुभएको हो ।

रसुवा बाढीमा परी जीवन गुमाएका, हराइरहेका र घाइते भएकाको कल्याणको कामनाले महारुद्राभिषेक गरिएको हो ।

राष्ट्रमा आइपरेको विकराल प्राकृतिक विपत्तिको सामना गर्दै सम्पूर्ण नेपाली जनताको सुख, दिगो शान्ति, समृद्धि तथा सामाजिक सद्भाव कायम होस् भन्ने पवित्र सङ्कल्पका साथ आराध्यदेव भगवान् श्री पशुपतिनाथको पावन सान्निध्यमा महारुद्राभिषेक महायज्ञ गरिएको हो ।

पशुपतिनाथ मन्दिरमा १२१ जना ब्राह्मणद्वारा महारुद्री पूजा, हवन तथा शान्तिपाठसमेत गरियो । साथै, श्री गुह्येश्वरी मन्दिरमा नौ जना ब्राह्मणले चण्डी पाठ पारायणसहित क्षमापूजा तथा वैदिक विधि–विधानअनुसार शान्ति अनुष्ठान सम्पन्न गरिएको छ ।

यसैगरी माता गुह्येश्वरी, नवशक्तिपीठ, भैरव, ११ महारुद्र, आगम घरका भगवान् तथा पशुपति क्षेत्रका अन्य देवी–देवताहरूमा पनि विशेष क्षमापूजा गरिएको कोषले जनाएको छ ।

प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन्।

मंगलबार अस्पतालको अनुगमन गर्दै उनले उपलब्ध स्रोतसाधन र जनशक्तिको अधिकतम उपयोग गर्दै प्रभावकारी सेवा प्रवाहका लागि निर्देशन दिएका हुन्।मुख्यमन्त्री भट्टले स्वास्थ्य सेवा सुधार प्रदेश सरकारको प्रथमिकतामा रहेकाले अस्पतालमा आवश्यक सेवा र पूर्वाधार विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत जनाए।

“सेती प्रादेशिक अस्पताल यहाँका धेरै नागरिकको भरोसा पनि हो, त्यसैले अस्पतालको सेवा प्रवाहसँगै भौतिक तथा संरचनागत सुधारमा प्रदेश सरकारले ध्यान दिन्छ”, मुख्यमन्त्री भट्टले भने, “अस्पताल प्रशासन र यहाँ कार्यरत सबैले अस्पतालको समग्र व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक छ । त्यसमा सुधारका लागि प्राथमिकताका साथ काम गर्नुहोला ।”

मुख्यमन्त्री भट्टलेसेती मात्र नभई सुदूरपश्चिमका सबै अस्पतालको सेवा सुधार गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताए।

भोटेकोशी बाढीः ३२४ विदेशी नागरिकको उद्धार, ५९० सम्पर्कविहीन

काठमाडौँ – गत बुधबार गएको भोटेकोशी बाढीमा परेकामध्ये विभिन्न मुलुकका ३२४ जना नागरिकको उद्धार गरिएको छ भने अझै ३९ देशका ५९० जना सम्पर्कविहीन छन् । पछिल्लो जानकारीअनुसार एक हजारभन्दा बढीको शव फेला परेको सरकारले जनाएको छ ।

यसैगरी हालसम्म ११ हजार ८०० भन्दा बढी मानिसको उद्धार गरिएको भोटेकोशी बाढीसम्बन्धी आज परराष्ट्र मन्त्रालयद्वारा नियमित आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्षले सम्बन्धित निकाय, नेपाली कूटनीतिक नियोगहरू तथा सम्पर्कविहीन विदेशी नागरिकका परिवारसँग निकट समन्वय गरिरहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।

यसैगरी विदेशस्थित नेपाली नियोगहरूले पनि प्रमाणित सूचना आदानप्रदान, परिवारसँग सम्पर्क तथा आवश्यकताअनुसार पहिचान, शव स्वदेश फिर्ता गर्ने प्रक्रियालगायतमा सहजीकरण गरिरहेका छन् । “हामी सम्बन्धित देशहरूसँग निकट सम्पर्कमा छौँ र आवश्यक सबै कन्सुलर सहायता उपलब्ध गराउन प्रतिबद्ध छौँ”, प्रवक्ता क्षेत्रीले भने ।

उहाँका अनुसार नेपाल सरकारले विशिष्ट क्षेत्रमा अन्तरराष्ट्रिय सहयोगसहित सरकारका सम्बन्धित निकाय तथा सुरक्षा बलहरूले खोजी तथा उद्धार कार्य जारी राखेका छन् । “भारतबाट २४ जना जनशक्ति सम्मिलित दुई वटा तथा चीनबाट नौ जना जनशक्ति सम्मिलित विशेष सुरुङ उद्धार टोली प्रभावित जलविद्युत् आयोजनाहरूमा परिचालित छन्”, उनले भने, “गणतन्त्र कोरियाको एउटा टोली पनि यहाँ आएको छ ।”

भारतीय सुरुङ उद्धार टोलीहरूले चिलिमे तथा लाङटाङ जलविद्युत् आयोजनास्थलमा नेपाली सेनासँग निकट समन्वयमा काम गरिरहेका छन् । चिनियाँ टोलीले माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनास्थलमा नेपाली सेनासँग समन्वय गरी काम गरिरहेको छ । मृतकका शवको व्यवस्थापन तथा संरक्षणका लागि आवश्यक विशेष उपकरण नेपाललाई प्राप्त भइसकेको छ ।

प्रवक्ता क्षेत्रीले भने, “डिएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको भारतको १९ सदस्यीय फरेन्सिक टोलीले २९ अगस्टदेखि सम्बन्धित नेपाली अधिकारीसँग सहकार्य गर्दै निरन्तर काम गरिरहेको छ । चीनबाट चार सदस्यीय फरेन्सिक टोली आज साँझ आइपुग्दैछ ।” सिङ्गापुरबाट ‘डिजाष्टर भिक्टिम आइडेन्टिफिकेसन’ टोली परिचालन गर्ने सम्बन्धमा पनि समन्वय भइरहेको उहाँले जानकारी दिए ।

मध्यपूर्वको बढ्दो तनावले तेल बजार र सेयर बजार प्रभावित

इरानसँगको द्वन्द्वमा एक महिनाभन्दा बढी समयसम्म उल्लेखनीय भीडन्त नभए पनि पुनः हिंसा भड्किएपछि भविष्यलाई लिएर अनिश्चितता बढेको छ । यसको प्रभाव विश्व बजारमा परेको छ । मङ्गलबार तेलको मूल्य करिब दुई प्रतिशतले बढ्दा विश्वभरका सेयर बजारमा गिरावट आएको छ ।

अनलाइन ‘फास्ट फेसन’ खुद्रा विक्रेता ‘शिन’को सेयर मङ्गलबार हङकङमा कारोबार सुरु भएलगत्तै १० प्रतिशतसम्म घटेको थियो । कारोबार बन्द हुँदा यसको मूल्य चार प्रतिशतले घटेको थियो ।

ब्रेन्ट कच्चा तेलको मूल्य दुई प्रतिशतले बढेर प्रतिब्यारेल ९२ दशमलव ३५ अमेरिकी डलर पुगेको छ । आइतबार अमेरिकाले इरानी टापुमा रहेका रकेट प्रक्षेपण केन्द्रमा आक्रमण गरेपछि सोमबार पनि तेलको मूल्य दुई दशमलव सात प्रतिशतले बढेको थियो । अमेरिकाले ती प्रक्षेपण केन्द्रबाट ‘स्ट्रेट अफ हर्मुज’मा समुद्री सुरुङ बम (माइन) बिछ्याउने तयारी भइरहेको दाबी गरेको थियो ।

त्यसको जवाफमा इरानले जोर्डनस्थित अमेरिकी अखडामा क्षेप्यास्त्र प्रहार गरेको थियो । ती क्षेप्यास्त्रलाई बीचमै रोकिएको जनाइएको छ ।

द्वन्द्वका कारण ‘स्ट्रेट अफ हर्मुज’ हुँदै हुने आवागमन सीमित भएको छ । विश्वको कुल तेल ढुवानीको करिब २० प्रतिशत यही मार्ग हुँदै हुने गरेको छ । द्वन्द्व सुरु भएयता तेलको मूल्य उच्च रहँदा पेट्रोलियम पदार्थदेखि ढुवानी गरिने सामानसम्मको मूल्य बढेको छ । अमेरिकी बेन्चमार्क कच्चा तेलको मूल्य दुई दशमलव पाँच प्रतिशतले बढेर प्रतिब्यारेल ८७ दशमलव ८४ डलर पुगेको छ ।

युरोपेली बजारको प्रारम्भिक कारोबारमा जर्मनीको ड्याक्स सूचकाङ्क एक दशमलव एक प्रतिशतले घटेर २५,९८२ दशमलव २८ मा झरेको छ । पेरिसको क्याक ४० सूचकाङ्क शून्य दशमलव चार प्रतिशतले घटेर ८,३०३ दशमलव ६५ मा सीमित भएको छ । बेलायतको एफटीएसई १०० सूचकाङ्क पनि एक दशमलव एक प्रतिशतले घटेर १०,७०२ दशमलव २५ मा आएको छ ।

एसियाली सेयर बजारमा हङकङको हाङ सेङ सूचकाङ्क शून्य दशमलव नौ प्रतिशतले घटेर २५,३२९ दशमलव ७३ मा झरेको छ भने सांघाई कम्पोजिट सूचकाङ्क शून्य दशमलव दुई प्रतिशतले घटेर ३,९७९ दशमलव ८९ मा सीमित भएको छ ।

टोकियोको निक्केई २२५ सूचकाङ्कले सुरुवाती वृद्धि गुमाउँदै शून्य दशमलव प्रतिशतको गिरावटसहित ६६,२१५ दशमलव ३४ मा झरेको छ । दक्षिण कोरियाको कोस्पी सूचकाङ्क भने शून्य दशमलव दुई प्रतिशतले बढेर ६,८३५ दशमलव ८० पुगेको छ । अस्ट्रेलियाको एसएन्डपी÷एएसएक्स २०० सूचकाङ्क शून्य दशमलव एक प्रतिशतले घटेर ९,०६६ दशमलव ७० मा आएको छ ।

यसबीच ऊर्जा क्षेत्रका कम्पनीको सेयर मूल्य भने बढेको थियो । एक्सन मोबिलको सेयर दुई दशमलव सात प्रतिशत र सेभ्रोनको दुई दशमलव एक प्रतिशतले बढेको थियो ।

ऊर्जाको मूल्यवृद्धिले यसअघि नै उच्च रहेको मुद्रास्फीतिमा थप दबाब सिर्जना गरेको छ । मुद्रास्फीति अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भको दुई प्रतिशतको लक्ष्यभन्दा अझै माथि छ । ऊर्जाको मूल्यवृद्धिले घरायसी खर्च र उपभोक्ता विश्वासमा दबाब बढाउनुका साथै फेडरल रिजर्भको ब्याजदर नीतिसम्बन्धी निर्णयलाई थप जटिल बनाएको छ ।

फेडरल रिजर्भको आगामी कदमबारे लगानीकर्ताको अपेक्षालाई नजिकबाट प्रतिबिम्बित गर्ने दुई वर्षे ट्रेजरी बन्डको प्रतिफल सोमबार चार दशमलव ३४ प्रतिशतमा स्थिर रह्यो । यो शुक्रबारको अन्त्यमा पनि सोही स्तरमा थियो । सन् २०२६ को सुरुवातमा भने उक्त प्रतिफल करिब तीन दशमलव ५० प्रतिशत थियो ।

अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन

काठमाडौँ। सन् २०२६ को अगस्ट महिनामा विभिन्न मुलुकबाट ८५ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार नेपालमा गत वर्षको अगस्ट महिनाको तुलनामा तीनहजार कम पर्यटक नेपाल आएका हुन् । सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल आएका थिए ।

अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार ३७३ जना आएका छन् । यो कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत हो । भारतपछि चीनबाट १० हजार ३०४ जना पर्यटक नेपाल छन् । यस्तै, श्रीलङ्काबाट आठ हजार ७१०, अमेरिकाबाट छ हजार २९३, बङ्गलादेशबाट चार हजार ४८७, बेलायतबाट तीन हजार ४७६ जना पर्यटक आएका छन् ।

क्षेत्रगत रूपमा हेर्दा अगस्टमा सबैभन्दा बढी पर्यटक दक्षिण एसियाबाट ४१ हजार ४२२ जना आएका छन् । अन्य एसियाली मुलुकबाट १८ हजार २७५ जना आएका छन् ।

युरोपबाट १० हजार ८७५ जना पर्यटक आएका छन् भने ओसियाना क्षेत्रबाट दुई हजार ५२९ जना आएका छन् । यसैगरी, अमेरिकी क्षेत्रबाट सात हजार ४७३, मध्यपूर्वबाट एक हजार १०, अफ्रिकाबाट ३३८ जना पर्यटक आएका छन् ।

राष्ट्रियसभाको बैठक आज बस्ने

माडौं । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

धादिङ सदरमुकामबाट विभिन्न गन्तव्य जाेड्न चार अस्थायी रुट कायम

धादिङ । यही भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट सडक तथा पुलमा क्षति पुगेपछि धादिङ जिल्ला सदरमुकामबाट विभिन्न गन्तव्यतर्फ यातायात सञ्चालन सहज बनाउन चारवटा वैकल्पिक सडकलाई अस्थायी यातायात रुट कायम गरिएको छ ।

ती मध्ये धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार प्रभावकारी रहेको जनाइएको छ । कूल ३६ किलोमिटर सो सडकका केही स्थानमा पिच रहेको छ , केही स्थानमा स्तरोन्नतिका क्रममा छ भने केही स्थानमा तत्काल स्तरोन्नति र कोशीखोलमा ‘बेलिब्रिज’ राख्न जरुरी रहेको देखिन्छ ।

प्रमुख जिल्ला अधिकारी एवं यातायात व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी पाण्डेय (गौतम)को अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले विपद्का कारण अवरुद्ध तथा प्रभावित यातायात सेवा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

समितिले धादिङवेशी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोशीखोला–फोर्सेटार,परेवाटार–आदमटार–बेलिनटार–मासटार, तथा धादिङबेँशी–टारीबेँशी–सल्यानटार–आरुघाट–गोरखाबजार–आँबुखैरेनी हुँदै चितवन र पोखरा जाने सडकलाई अस्थायी यातायात रुट कायम गरेको छ ।

बैठकले ती सडक तत्काल सञ्चालन योग्य बनाउन सम्बन्धित सरकारी कार्यालयलाई स्तरोन्नति तथा आकस्मिक मर्मतको जिम्मेवारीसमेत तोकेको छ । धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सडकको जिम्मेवारी पूर्वाधार विकास कार्यालय धादिङलाई दिइएको छ । परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मासटार सडकको स्तरोन्नति तथा आकस्मिक मर्मत सडक डिभिजन नुवाकोटले गर्नेछ ।

त्यस्तै धादिङबेँशी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोसीखोला–फोर्सेटार सडकको स्तरोन्नति तथा आकस्मिक मर्मत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले यथाशीघ्र गर्ने निर्णय गरिएको छ । बाढीबाट धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने सडक तथा पुलमा क्षति पुगेपछि यातायात सेवा नियमित र सहज बनाउन वैकल्पिक सडकलाई अस्थायी रुटका रूपमा प्रयोग गर्ने निर्णय गरिएको जनाइएको छ ।

समितिले प्रचलित सवारी तथा यातायातसम्बन्धी कानुनी व्यवस्थाअनुसार ती सडकलाई अस्थायी रुट कायम गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए ।

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

नारायणगढ (चितवन) । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डिएनए’ नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।

भरतपुर अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ १० गते रातिदेखिनै सुरक्षाकर्मीले त्रिशूली नदीबाट सङ्कलन गरेका शव अस्पतालमा ल्याई संरक्षण गरेका थिए । यही भदौ ११ गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक परीक्षण, डिएनएलगायत जैविक नमूना सङ्कलन तथा अभिलेखीकरणको काम सुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशूली र नारायणी नदीबाट ३२१ शव सङ्कलन गरिएको छ । तीमध्ये १२ शवको सनाखत भई आफन्तले बुझिसकेका छन् । सङ्कलित शवमध्ये ६६ महिला, ११६ पुरुष, सात बालक, छ बालिका र १२६ पहिचान खुल्न नसकेका वा अवस्था नखुलेका शव रहेका छन् ।

उनले भविष्यमा पहिचान गर्न सकिने गरी अन्तरराष्ट्रिय मान्यताअनुसार देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा ती शवको व्यवस्थापन गरिएको बताए । भदौ १३ गते ९६ शव, भदौ १४ गते १०३ शव र भदौ १५ गते ८१ शव व्यवस्थापन गरिएको हो ।

प्रहरी उपरीक्षक पौडेलले नदी किनारमा शव खोज्ने कार्य अझै दैनिक रूपमा जारी रहेको बताए । नदीबाट फेला परेका शव भरतपुर अस्पताल ल्याई फरेन्सिक परीक्षण र डिएनए नमूना सङ्कलन गरेपछि देवघाटस्थित व्यवस्थापनस्थलमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य निरन्तर भइरहेको उनले जानकारी दिए ।

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ – विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याला राख्दै उनीहरुलाई आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी कीट’, मनोसामाजिक परामर्श लगायत सेवा प्रभावित क्षेत्रमा प्रदान गर्न थालिएको छ ।

यही भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीमा बच्न सफल भएका उनीहरुलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) को सहकार्यमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकले आवश्यक पर्ने सामग्री वितरण जारी राखेका छन् ।

आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य परियोजनामार्फत घरबारसहित आफन्तजन गुमाएर पीडामा रहेका महिलाहरुलाई मर्यादा सामग्री (डिग्निटी कीट), किशोरीहरुलाई ‘किशोरी कीट’ सहित तालपोलियन वितरण जारी रहेको छ । साथै प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सेवा (हेल्थ क्याप) सञ्चालन गरेर उनीहरुको स्वास्थ्य रक्षा गर्न लागिएको छ ।

हालसम्म दुईहजार ‘डिग्निटी कीट’, चारसय ‘किशोरी कीट’ र तीनहजार तारपोलियन वितरण भैसकेको यहाँस्थित ‘युएनएफपिए’ ले जनाएको छ । स्वास्थ्य शिविर सेवा अत्यावश्यक स्वास्थ्य सेवासहित मनोसामाजिक परामर्श, यौन तथा प्रजनन स्वास्थ्य सेवा जारी छ ।

नुवाकोटका विभिन्न अस्थायी आश्रयस्थलमा आश्रित भएका महिला तथा किशोरीका दैनिक आवश्यकतालाई ध्यानमा राख्दै ती सेवा जारी रहेको ‘युएनएफपिए’ उल्लेख गरेको छ । अस्थायी आश्रयस्थल–ककनी÷किस्पाङ क्षेत्र, त्रिभुवन मावि, विदुर, बट्टार तामाङ प्लाजा र सामुदायिक बहुउद्देश्यीय भवन विदुरलगायतका स्थानमा रहेका प्रभावित महिला तथा किशोरीहरूलाई ‘डिग्निटी कीट’ उपलब्ध गराइएको र धादिङ र रसुवाका प्रभावित महिला तथा किशोरीहरूका लागि समेत ‘डिग्निटी कीट’ वितरण गर्ने तयारी भइरहेको छ नेपाल रेडक्रसले जनाएको छ ।

रसुवाका बाढीपीडितका लागि एकै दिन राहत कोषमा ६० करोड २ लाख जम्मा

काठमाडौँ ।प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराउनु भएको हो । रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो।

प्रधानमन्त्री राहत तथा उद्धार कोषका लागि अर्थ मन्त्रालयमार्फत भौतिक रूपमा सहयोग रकम सङ्कलन गर्न सरकारले भदौ ११ गतेदेखि सुरु गरेको थियो। त्यसयताकै सबैभन्दा धेरै रकम आज अर्थ मन्त्रालयमार्फत प्राप्त भएको हो। आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र निमित्त अर्थसचिव उत्तर खत्रीमार्फत दाताहरूले हस्तान्तरण गरेको चेकको कुल रकम ६० करोड २ लाख २० हजार १०६ रुपैयाँ ६२ पैसा रहेको छ।

भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र २ लाख अमेरिकी डलर दाताहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत चेक हस्तान्तरण गरेर उपलब्ध गराउनु भएको थियो ।

मन्त्रालयको तथ्याङ्कअनुसार चार दिनमा अर्थमन्त्रीमार्फत कुल १ अर्ब ३० करोड ७५ लाख ८ हजार ६६१ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ। त्यसमध्ये ८० हजार रुपैयाँ नगद थियो भने बाँकी सबै ‘एकाउन्ट पेयी’ चेक रहेका छन्। यस्तै, दुई लाख अमेरिकी डलरकाे चेक पनि मन्त्रालयमा प्राप्त भएकाे छ।

भोटेकोशी बाढी: ३१५ पर्यटकको उद्धार, ५८३ सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी हराएका विभिन्न देशका पर्यटकमध्ये ३१५ जनाको उद्धार गरिएको छ ।पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले गोसाइँकुण्ड र कैलाश मानसरोवर यात्राका क्रममा हराएकामध्ये १२ देशका ३१५ विदेशी पर्यटकको उद्धार गरिएको जानकारी दिए ।

उद्धार गरिएकामध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । हालसम्म भारतका १८७, चीनका १०८, माल्टाका चार, जर्मनीका चार, रुस, टर्की र अमेरिका र इटालीका दुई/दुई स्वीट्जरल्यान्ड, बुल्गेरियाका, ओमान, पोर्चुगलका एक/एक जनाको उद्धार गरिएको छ ।

यस्तै, विभिन्न देशका ५८३ पर्यटक अझै सम्पर्कविहीन छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा अन्य पर्यटन क्षेत्रका सरोकारवालाले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन् ।

घाइते तथा अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन आवश्यक सबै प्रयास भइरहेको बोर्डले जनाएको छ । बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आग्रह गरेको छ । बोर्डले जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ तथा पर्यटन प्रहरीको ९८५१२८९४५५ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

बाढीपछि नुवाकोटको बेत्रावतीमा एउटा घरबाट २४ शव निकालियो, थप खोजी हुँदै

काठमाडौं – नुवाकोटको बेत्रावतीमा एउटा घरभित्रै २४ शव फेला परेको छ । सोमबार विदुर नगरपालिका९१० स्थित बेत्रावतीमा रहेको एउटा घरमा २४ वटा शव फेला परेको प्रहरीले जनाएको छ ।

अरु कति वटा छन् भन्ने यकिन विवरण आउँन बाकीँ रहेको जनाइएको छ । एकै घरमा ठूलो संख्यामा शव फेला पर्नुको कारण बुझ्न नसकिएको तर सो घर होटल वा गेस्टहाउस हुन सक्ने प्रहरीको आशंका गरिएको छ ।

भदौ १० गतेको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९७४ जनाको शव फेला परेको छ भने ४ हजार ५९९ जना अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।

भोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमाभोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीनकाठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९७४ जनाको शव फेला परेको छ भने ४ हजार ५९९ जना अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५ जना रहेका छन् । हालसम्म ५१ जनाको शव हस्तानतरण प्रहरीले जनाएको छ ।प्रहरीले शव व्यवस्थापनामा महिला ८८ , पुरुष १०९ र पहिचान नखुलेको २१६ जना रहेको छ ।

 

भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौँ। रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको मजदुर र विदेशी पर्यटक गरी अझै तीन हजार ९०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन छन् ।

यही भदौ १० गतेको उक्त बाढीमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सारका कर्मचारी १५, अध्यागमनका कर्मचारी तीन, जलविद्युत् आयोजनाका कर्मचारी ६३९, विदेशी नागरिक ५९२, पर्यटकसँग घुम्न गएका १६४ नेपाली, रसुवाका ८६५, नुवाकोटका एक हजार ५५८, लाङटाङ राष्ट्रिय निकुञ्ज र क्वारेन्टाइन कार्यालयका तीन/तीन जना कर्मचारी अझै सम्पर्कविहीन छन् ।

सरकारले सम्पर्कविहीन नागरिकको खोज तथा उद्धार तीव्र पारेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको जीवन रक्षा गर्न हरसम्भव प्रयास जारी राखिएको स्पष्ट पार्नुभएको छ । नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विशेषज्ञ टोलीले जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारको प्रयासलाई निरन्तरता दिएको छ ।

त्रिशूली-३ ‘ए’ मा ‘टनेल हेड’ फेला परेको र ‘कम्प्रेसर’बाट हावा भित्र पठाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ । टनेलभित्रको पानी निकाल्नाका साथै तीन वटा एक्साभेटर प्रयोग गरी पछाडि रहेको वैकल्पिक मार्ग १५ मिटर खोलिएको सेनाले जनाएको छ ।

यस्तै त्रिशूली-३ ‘बी’ मा पनि विज्ञसहितको फौज खटिएर खोज तथा उद्धारको काम भइरहेको छ । विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रो टनेलको ३५ मिटर भित्रसम्म खोजी जारी राखेको छ ।

माथिल्लो त्रिशूली-१ मा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले मैलुङमा २०० मिटर र हाँकुमा ३०० मिटरसम्म पुगेर खोजी गरेको छ । खोज तथा उद्धार कार्यका लागि संयुक्त उद्धार टोली रसुवागढी हाइड्रोको टनेलमा करिब २५० मिटरसम्म पुगी टनेलको बन्द भाग फेला पारेको छ । सो सुरुङमा कोही पनि फेला नपरेको सेनाले स्पष्ट पारेको छ । लाङटाङ हाइड्रोको टनेलबाट एउटा शव सङ्कलन गरिएको छ ।

नौ सय ३९ शव फेला

बाढीमा परी मृत्यु भएका ९३९ जनाको शव फेला परेको छ । रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६८, तनहुँमा ३८, चितवनमा २७९ वटा शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । पहिचान नखुलेका शवलाई सुरक्षितसाथ जमिनमा व्यवस्थापन गर्ने काम भइरहेको छ ।

बाढीबाट प्रभावित भएका ११ हजार ३७९ जनाको उद्धार भएको छ । बाढीमा परी घाइते भएकामध्ये १६८ जना ‘डिस्चार्ज’ भइसकेका छन् । प्रभावित क्षेत्रमा आठ हजार ७९१ नेपाली सेना, चार हजार २०३ सशस्त्र प्रहरी र सात हजार ९०९ नेपाल प्रहरी परिचालित गरिएको छ ।

देशभर मनसुन सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको छ।

हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती प्रदेशका केही स्थानमा, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश प्रदेश साथै कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश प्रदेश प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ २९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ र बिक्रीदर १८८ रुपैयाँ ७४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४० पैसा र बिक्रीदर ११९ रुपैयाँ ८७ पैसा तोकिएको छ।जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ

रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६२ पैसा र बिक्रीदर २२ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४० रुपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ११ पैसा र बिक्रीदर ११ रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५८ पैसा र बिक्रीदर २३ रुपैयाँ ६८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९ रुपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ०८ पैसा बिक्रीदर ४०४ रुपैयाँ ६७ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ३० पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

हेटौँडा । हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ ।

स्थानीय प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानेछन् । काठमाडौँबाट हेटौँडा आउने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्ने छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार, मालवाहक तथा ठुला यात्रुवाहक सवारीसाधनले काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीको चाप बढेको छ । नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समय सवारी रोक्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

भाद्र कृष्ण पञ्चमी: कोलमती घाटस्नान गरिँदै

काठमाडौँ । भाद्र कृष्ण पञ्चमीका दिन गरिने कोलमती घाट स्नान आज गरिँदै छ । यस दिन कागेश्वरी नगरपालिका वडा नं ४ अन्तर्गत डाँछीमा कोलमती घाटस्नान गरे पाप पखालिएर पुण्य प्राप्त हुने स्कन्द पुराणअन्तर्गतको हिमवतखण्ड (नेपाल माहात्म्य) लगायत पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

वाग्मती नदीको तीर वर्णन क्रममा नेपाल माहात्म्यको १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ । कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरे बराबरको फल मिल्ने वर्णन गरिएको छ ।

कोललाई बराह भनिने भएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको पण्डित बालमुकुन्द देवकोटा बताउँछन् । कोलमती वाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ ।

कोलमती र वाग्मती मिसिने स्थानमा चैलमती मिसिएर त्रिवेणीघाट बनेकाले यो स्थलको महत्त्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । वामन अवतार लिनुभएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहन गएको हो ।

चैलमती अपभ्रंश भई ‘चौलमती’ भएको मानिन्छ । यहाँ ब्रह्माले वामनरुपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई अहिले पनि चौलनारायणका रूपमा पूजा आराधना गरिन्छ ।

कोलमती घाटभन्दा केही माथि कोलमतेश्वर महादेव मन्दिर छ । हाल त्यहाँ नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर निर्माण गरिएको छ । पीठाधीश स्वामी जगदीश प्रपन्नाचार्यको सक्रियतामा हयग्रीव मन्दिर निर्माण भएपछि आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको आकर्षण बढ्न थालेको छ ।

पटकपटक म्याद थप: खत्रीठाँटी–कुन्छा–सोतीपसल सडक अधुरै

लमजुङ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लमजुङको खत्रीठाँटी–कुन्छा–सोतीपसल सडक स्तरोन्नतिको काम अधुरै रहेको छ । सडक निर्माण सम्पन्न नहुँदा स्थानीयले वर्षायाममा हिलो र हिउँदमा धुलोको सास्ती खेप्नुपरेको छ ।

सुन्दरबजार नगरपालिका–२ हाँडेटारदेखि मध्यनेपाल नगरपालिका–१ निबुवाटारीसम्मको १० दशमलव आठ किलोमिटर सडकको हालसम्म ४७ दशमलव १७ प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।

वर्षायाममा सडक हिलाम्मे हुँदा कतिपय स्थानमा सवारीसाधन सञ्चालन गर्न कठिन भएको छ । सडकको दूरावस्थाका कारण बिरामीलाई अस्पताल लैजान पनि समस्या हुने गरेको सुन्दरबजार नगरपालिका–२ का वडाध्यक्ष नवीन श्रेष्ठले बताए ।

“सडकमा हिँडडुल गर्नसमेत कठिन छ । बिरामी पर्दा एम्बुलेन्स लैजान नसक्ने अवस्था छ”, उनले भने, “पटकपटक सम्बन्धित निकायमा दबाब दिँदा पनि कामले गति लिन सकेको छैन ।”

निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले गत असारमा सडकमा धान रोपेर विरोधसमेत गरेका थिए । उनीहरूले सडक सुधार गरी निर्माणमा तीव्रता दिन माग गरेका थिए ।

पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख शोभियत खड्काले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने तयारी गरिएको बताए ।

ठेक्का तोड्ने पत्र तयार हुने अवस्थामा पुगेपछि निर्माण कम्पनीले सम्झौता तोडिए आफूलाई गम्भीर असर पर्ने जनाउँदै काम अघि बढाउने प्रतिबद्धता जनाएको उनले बताए । “निर्माण व्यवसायीसँग छलफल गरेर समस्या समाधान गरी निर्माण कार्यलाई अगाडि बढाउने प्रयासमा छौँ”, उनले भने ।

उनका अनुसार सडक स्तरोन्नतिका लागि काठमाडौँस्थित महावीर प्रधान जेभीसँग विसं २०७८ असोज २२ गते २८ करोडमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०८० असार २१ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो । काम पूरा नभएपछि पहिलोपटक म्याद थप गरी विसं २०८१ असार २१ गतेसम्म समय दिइएको थियो । सो अवधिमा पनि काम नसकिएपछि पुनः म्याद थप गरी विसं २०८३ असार २० गतेसम्म निर्माण सम्पन्न गर्ने गरी समय निर्धारण गरियो ।

पछिल्लो पटक निर्धारित म्याद समेत सकिइसकेको छ । पूर्वाधार विकास कार्यालयका अनुसार सडकको हालसम्म ४३ दशमलव आठ प्रतिशत वित्तीय प्रगति भएको छ । सडक कटिङ तथा चौडा गर्ने, पाइप राख्ने, ग्याभिन जाली तथा नाला निर्माणलगायत काम भए पनि कालोपत्रका लागि आवश्यक बेस तयार भएको छैन ।

निर्माण कार्यका परामर्शदाता राजेश अधिकारीका अनुसार गत असारयता निर्माणको गति अघि बढेको छैन । निर्माण प्रक्रिया अघि बढाउन दुई पटक बैठक बसेर माइन्युट गरिएको र एकपटक मौखिक रूपमा आग्रह गरिएको उनले बताए ।

“सहमति गर्ने तर त्यसअनुसार काम अघि नबढाउने अवस्था पटकपटक दोहोरिएको छ”, उनले भने, “काम गरे पनि सुस्त गतिका कारण ढिलाइ भएको छ । ”

निर्माण कम्पनीले पुनः म्याद थपका लागि निवेदन दिएको अधिकारीले बताउनुभयो । कम्पनीले विसं २०८४ असारसम्म काम सम्पन्न गर्ने गरी म्याद थप माग गरेको छ । नयाँ म्याद भने स्वीकृत भइसकेको छैन । निर्माण कम्पनीले पर्याप्त लगानी गर्न नसक्दा कामदार तथा निर्माण सामग्री व्यवस्थापनमा समस्या भएको जनाएको छ ।

कार्यालयका अनुसार हालसम्म निर्माण कम्पनीलाई रु ११ करोड ८७ लाख २२ हजार ५६४ भुक्तानी भइसकेको छ । परामर्शदाता अधिकारीका अनुसार गत आर्थिक वर्षमा करिब रु ८६ लाख ७३ हजार र त्यसअघि रु एक करोड छ लाख बराबरको काम भएको थियो । सडकको करिब तीन किलोमिटर खण्डमा आरसिसी ढलान गर्ने योजना छ ।

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन् ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ । उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका उद्योगसँग समन्वय गरी ग्यास भर्ने भएका छन् । उपत्यका र छिमेकी जिल्लामा मात्रै कुल खपतको ४० प्रतिशत बढी ग्यास आवश्यक रहेको उनी बताउँछन् ।

सङ्घका सदस्यसमेत रहेका बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको बाटो नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक बाटोबाट काठमाडौँ लगिने जानकारी दिए । यी जिल्लाका उद्योगमा भरेका ग्यास त्रिभुवन राजपथसहितका सडकबाट काठमाडौँ लगिने उनले बताए । बाहिरका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यका र छिमेकी जिल्लामा अभाव नहुने भन्दै उनले जगेडा नराख्न सुझाव दिए ।

श्री ग्यासले बाबा, श्रीकृष्णले साइबाबा, श्रीरामले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी, एभरेष्ट र सुगमले साहारा उद्योगमा ग्यास भर्न सुरु गरिसकेको कालाखेतीले जानकारी दिए । अन्य उद्योगले पनि राजधानी बाहिरका उद्योग वा अन्य उद्योगसँग समन्वय गरेर भर्न सुरु गरेको उनको भनाइ छ ।

बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा १५ लाख सहयोग

पर्सा – रसुवाको भोटेकोसीमा आएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले रु १५ लाख एक हजार १०१ आर्थिक सहयोग गरेको छ । उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज जम्मा गरिएको सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले जानकारी दिए ।

विगतदेखि प्राकृतिक विपद् तथा सङ्कटका समयमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको सङ्घले बाढीबाट जनधनको क्षति व्यहोरेका परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित सरकारी निकाय, विभिन्न सङ्घसंस्था तथा आमनागरिकलाई समेत आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ ।

राज्यको सम्पूर्ण शक्ति नागरिकको जीवन रक्षा गर्न प्रभावित क्षेत्रमा खटिएको छः प्रवक्ता पोखरेल

काठमाडौँ – नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न विपद्मा नागरिकको जीवनरक्षा गर्न राज्यको सिङ्गो शक्ति प्रभावित क्षेत्रमा खटिएको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले विगत छ दिनदेखि राज्यको सिङ्गो शक्ति प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिरहेको बताउँदै उनले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा गर्नु रहेको उल्लेख गरे ।

प्रवक्ता पोखरेलका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरू रातदिन नभनी स्थलगत रूपमा खटिएका छन् । नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरू परिचालित हुनुका साथै आवश्यकतालाई मध्यनजर गरी तयारी अवस्थामा पनि राखिएको उनले जानकारी दिए । “जहाँ(जहाँ नागरिक फसेका छन् त्यहाँ र जहाँ हेलिकप्टर अवतरण गर्न सक्ने भौगोलिक अवस्था छ, त्यहाँ टोली तुरुन्तै पुगेर उद्धार कार्य गरिरहेको छ”, उनले भने।

सरकारका प्रवक्ता पोखरेलका अनुसार केहीबेर अघिसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ । खोज तथा उद्धारमा २१ हजार ८०० सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिए । “बाढीमा परी घाइते भएका सम्पूर्ण नागरिकको काठमाडौँ र देशका अन्य अस्पताल तथा स्वास्थ्य संस्थामा निःशुल्क उपचार भइरहेको छ । उपचारपश्चात् केहीबेर अघिसम्म १६८ जना डिस्चार्ज भइसकेको छ । प्रभावित क्षेत्रमा महामारी फैलन नदिन विशेष मेडिकल टोली र औषधि परिचालन गरिएको छ । नागरिकको स्वास्थ्य र जीवन रक्षामा हामी निरन्तर लागिरहेका छौँ”, उनले भने ।

मन्त्री पोखरेलले बाढी गएको खबर पाउनसाथ प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रीसँगको समन्वयमा तत्कालै जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सबै किमिसका सुरक्षाकर्मी परिचालन गरी उद्धार कार्य सुरु गरिएको उल्लेख गरे । विकट ठाउँ, प्रतिकूल मौसम र बाढीका कारण हेलीकप्टर राख्ने ठाउँ खोज्न कठिन हुँदा पनि कुनै कसर बाँकी नराखी निरन्तर उद्धार कार्यलाई अघि बढाइएको उनको भनाइ छ ।

एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै राहतसँगै पुनःस्थापना र पुनःनिर्माणका सबै चरणमा एनआरएनए तथा अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयमा आज एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा हेमराज शर्मासहित प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले एनआरएनएले विदेशमा रहेका नेपाली समुदायलाई एकीकृत गरी विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा परिचालन गर्ने पहल स्वागतयोग्य रहेको बताए । उनले यसका लागि परराष्ट्र मन्त्रालयले एनआरएनएसँग निरन्तर समन्वय, सहकार्य र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री खनालले हालको विपद् सामान्य बाढीभन्दा फरक र अत्यन्त ठूलो प्रकृतिको रहेको उल्लेख गर्दै रसुवा र नुवाकोटका धेरै बस्तीमा ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षति भएको बताए । यति ठूलो विपद्को पुनःस्थापना तथा पुनःनिर्माण नेपाल सरकारले मात्र गर्न नसक्ने भन्दै उनले राहतसँगै पुनःस्थापना र पुनर्निर्माणका सबै चरणमा एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य आवश्यक रहेको बताए ।

मन्त्री खनालले एनआरएनएले स्थानीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी राहत वितरण गर्न सक्ने र राहत वितरणअघि तथा पछि आवश्यक विवरण सरकारलाई उपलब्ध गराउनुपर्ने बताए ।

उक्त अवसरमा एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड हस्तान्तरण गरेको थियो । एनआरएनएका अध्यक्ष डा शर्मासहितको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री खनाललाई उक्त रकम हस्तान्तरण गरेको हो ।

परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र कतारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी राज्यमन्त्री डा मरियम बिन्त अली बिन नासेर अल(मिसनदबीच आज टेलिफोन वार्ता भएको छ ।

परराष्ट्रमन्त्री खनाललाई राज्यमन्त्री डा अल-मिसनदले नेपालमा बाढीका कारण भएको ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

वार्ताका क्रममा राज्यमन्त्री अल-मिसनदले विपद्बाट ठूलो सङ्ख्यामा भएको जनधनको क्षति तथा भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन् ।

वार्तामा परराष्ट्रमन्त्री खनालले विपद्को कठिन समयमा राज्यमन्त्री अल(मिसनदले व्यक्त गर्नुभएको समवेदना, सहानुभूति र ऐक्यबद्धताप्रति गहिरो आभार व्यक्त गरे । उनले कतार सरकारले नेपाललाई उपलब्ध गराएको सहयोग तथा समर्थनप्रति धन्यवाद व्यक्त गरे ।

रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट गत बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतकार्य जारी रहेका बेला उक्त टेलिफोन वार्ता भएको हो

‘खोज, उद्धार, राहत र पुनर्निर्माणमा सरकार दृढताका साथ लागिरहेको छ’ – प्रधानमन्त्री बालेन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिनसम्म पनि सरकार खोजी तथा उद्धारसँगै राहत, उपचार र प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनमा केन्द्रित रहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले विपद्को समयमा प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, स्वयंसेवक तथा आम नागरिकले गरेको सहयोग र समन्वयप्रति आभार व्यक्त गरेका छन्।

उनका अनुसार रसुवा, नुवाकोट र धादिङमा रहेका चारवटा राहत संकलन केन्द्र हुँदै रसुवा र नुवाकोटका २७ वटा वितरण केन्द्रबाट ३ हजार ६९६ जना प्रभावित नागरिकसम्म राहत पुर्‍याइएको छ। प्रदेश तथा स्थानीय सरकार पनि संघीय सरकारसँगको समन्वयमा आश्रय तथा राहत व्यवस्थापनमा सक्रिय रहेको उनले बताएका छन्।

भारत, चीन, अमेरिका, यूएई, कतार, जापान, स्विट्जरल्यान्ड र अष्ट्रेलियालगायत मित्रराष्ट्रबाट राहत तथा सहयोग प्राप्त भइरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन् –
हार्दिक धन्यवाद
रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिनसम्म आइपुग्दा नेपाल सरकार खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता र सक्रियताका साथ लागिरहेको यहाँहरु सबैलाई जानकारी नै छ। यस कार्यको अग्रपंक्तिमा रहेर आफ्नो ज्यानको समेत वास्ता नगरी प्रभावित क्षेत्रमा परिचालित सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी,मिडिया , विभिन्न निकायका पदाधिकारीहरुसँगै स्वयमसेवक संस्था तथा आम मानिसहरुको भूमिका कदरयोग्य र प्रशंसनीय छ। यस अवधिमा यहाँहरुले देखाउनुभएको धैर्य, साथ, सहयोग र समन्वयप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । विपद् व्यवस्थापनमा संघीय सरकारलाई प्रदेश र स्थानीय सरकारले दिएको साथ र सहयोग निकै महत्वपूर्ण छ। साथै, हाम्रा मित्रराष्ट्रहरु, स्वदेशी र विदेशी संघसंस्था, सञ्चारमाध्यमलगायतका सबै सरोकारवालाहरुले देखाउनुभएको सदासयता र सहयोग अनुकरणीय छ।
राहत व्यवस्थापन
सरकार अहिले प्रभावित क्षेत्रमा अझैं पनि खोज र उद्धारमा केन्द्रित छ। सँगसँगै प्रभावित क्षेत्रका नागरिकका लागि राहत संकलन तथा वितरण पनि सरकारको प्राथमिकतामै छ। काठमाडौँ लगायत देशका विभिन्न स्थानमा संघसंस्था र आम नागरिकहरुबाट प्राप्त राहत सामग्री संकलन गरी प्रभावित नागरिक समक्ष पुर्‍याइरहेका छौँ। यस कार्यमा अन्तर्राष्ट्रिय जगतले पनि सघाइरहेका छन्। हालसम्म भारत, चीन, अमेरिका, युएई, कतार, जापान, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया लगायत मित्र राष्ट्रहरुबाट सहयोग प्राप्त भइसकेको छ।
हाम्रा सुरक्षाकर्मीले हवाई र सडकमार्गमार्फत प्रभावित क्षेत्र (रसुवा, नुवाकोट र धादिङ) का ४ वटा संकलन केन्द्र हुँदै रसुवा र नुवाकोट जिल्लाका २७ वटा वितरण केन्द्रमार्फत ३६९६ जना प्रभावित नागरिकसम्म पुर्‍याइएको छ। साथै प्रदेश र स्थानीय सरकार पनि संघीय सरकारसँगको समन्वयमा ती केन्द्रहरुमा आश्रय तथा राहत व्यवस्थापनमा सक्रियताका साथ जुटिरहेका छन्। सरकारले राहत संकलन र वितरणबारे राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकारणले निरन्तर जानकारी समेत गराइरहेका छ। राहत संकलन तथा वितरण कति प्रभावकारी भइरहेको छ भनेर हामीले हाम्रा सचिवालयका सदस्यहरु र कर्मचारीहरुलाई समेत प्रभावित क्षेत्रमै परिचालन गरिरहेका छौं।
आर्थिक सहयोग
नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गरेको छ। प्रधानमन्त्री राहत कोषमा आज मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको छ। आर्थिक सहयोगका लागि कतिपय देश तथा संघसंस्थाहरुले प्रतिवद्धता समेत जनाएका छन्।
सडक सञ्जाल
बाढीका कारण प्रभावित बनेको नुवाकोटको त्रिशूलीपारिको भू–भाग पुनः सडक सञ्जालमा जोडिएको छ। गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी भएर त्रिशूली बजारसम्म पुग्ने सडक सञ्चालनमा ल्याइएको छ। नुवाकोटका ठूलो संख्याका रहनुभएका नागरिकको सदरमुकामसँग पुनः सीधा सडक पहुँच स्थापित भएको छ। यसबाट प्रभावित क्षेत्रहरूमा उद्धार, राहत सामग्री वितरण तथा अत्यावश्यक वस्तुको आपूर्तिमा थप सहज हुने भएको छ। रसुवा, नुवाकोटदेखि धादिङका अधिकांश स्थानका पुल भत्किएका छन्। यसले आवातजावतमा असर परेको छ। सरकारले ती क्षेत्रमा अस्थायी पुल निर्माणलाई पनि प्राथमिकता दिएको छ। हामीसँग ४८ मिटर लम्बाइका ६ र ७० मिटरको १ थान बेलिब्रिज छन्। अहिले ३ ठाउँ (देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावती बजार) मा बेलिब्रिज राख्ने विषयमा अध्ययन भइसकेको छ। साथै, भारत सरकारबाट २३० फिट सिंगल लेन मोडुलर स्टिल ब्रिज प्राप्त भएको छ। साथै, भारतले थप ७ वटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको छ। त्यति मात्रै होइन, चीन सरकारबाट पनि ३० वटा बेलिब्रिज चाँडै प्राप्त हुँदैछ।
उद्धार तथा उपचार
बाढी प्रभावित क्षेत्रबाट हामीले उद्धार कार्यलाई तीव्र पारेका थियौं। केहीबेर अघि ११,३७९ जना मानिसहरुको उद्धार भइसकेको छ र ३९२५ जना सम्पर्कविहिन हुनुहुन्छ। सम्पर्कबिहिनीको संख्या घटबढ भइरहेको छ। प्रभावित क्षेत्रबाट हामीले उद्धार गरेर विभिन्न अस्पतालमा भर्ना गरेका २७९ जना घाइते नागरिकहरुमध्ये केहीबेरअघिसम्म १६८ जना डिस्चार्ज भइसक्नुभएको छ।
निरन्तर ब्रिफिङ
बाढी प्रभावित क्षेत्रमा भइरहेको काम र वर्तमान अवस्थाबारे सुरक्षा निकायकासँग नियमतिरुपमा जानकारी लिइरहेका छौँ। आज पनि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका प्रमुखहरुसँग खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाबारे विस्तृत ब्रिफिङ लिएका छौं। उहाँहरुले हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका सम्बन्धमा जानकारी गराउनुभएको छ। हामीले प्रभावित क्षेत्रमा खटिरहनु भएका मन्त्रिपरिषद्का सदस्यहरु, संघीय सांसदहरु लगायत अन्य साथीहरुबाट पनि निरन्तर जानकारी लिइरहेको छौं। र, यो क्रम निरन्तर जारी रहने छ।
विद्युत् र सञ्चार सेवा
प्रभावित क्षेत्रमा अवरुद्ध भएको विद्युत् पुनःस्थापनाको क्रम जारी छ । रसुवा जिल्लाको कालिकास्थान, नौकुण्डको केही भाग, गोसाइँकुण्ड गाउँपालिकाको वडा ५ र ६ का केही भाग र सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत घरधुरीमा विद्युत् पुगिसकेको छ । साथै, आमाछोदिङ गाउँपालिकाका केही भागमा सान्जेन जलविद्युत् आयोजनाबाट छुट्टै प्रणालीमार्फत विद्युत् सञ्चालनको तयारी भइरहेको छ । जिल्लाका बाँकी भागमा घरायसी सोलारमार्फत विद्युत् सेवाका लागि ५०० थान पोर्टेबल सोलार पठाइएको छ।
बाढीका कारण नुवाकोट जिल्लाभर विद्युत् सेवा प्रभावित भएकोमा हाल ८५ प्रतिशत क्षेत्रमा विद्युत् पुनःस्थापना भइसकेको छ । बाँकी १५ प्रतिशत क्षेत्रमा आगामी ५ दिनभित्र विद्युत् सेवा उपलब्ध गराउने गरी काम भइरहेको छ। विदुर नगरपालिकाको १, ३, ५, ६, १० र ११ का केही भाग स्थानहरु, तारकेश्वर गाउँपालिकाको १, २, ३, ४, ५ र ६ का केही भागहरु बेलकोटगढी नगरपालिकाको ७ र ८ र किस्पाङ गाउँपालिका भर विद्युत् पुर्‍याउने काम भइरहेको छ।
साथै, धादिङका पृथ्वीराजमार्गको दायाँबायाँको क्षेत्र (गजुरी, आदमघाट, मलेखु, जहरे, मौवाखोलासम्म) प्रभावित भएकोमा आदमघाटको केही क्षेत्रबाहेक धादिङको सम्पूर्ण क्षेत्रमा (९८ प्रतिशत) विद्युत् सेवा पुनःस्थापना भइसकेको छ । अबको दुई दिनमा सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना हुने गरी काम भइरहेको छ ।
त्यसैगरी सञ्चार सेवा पनि अधिकांश स्थानमा पुनःस्थापना भइसकेको छ । नेपाल टेलिकमका १२० बिटिएसमध्ये ११० वटा र एनसेलका ७८ मध्ये ७५ वटा टावरले सेवा प्रवाह सुरु गरिसकेका छन् ।
प्रभावित विद्युत आयोजनाबाट उद्धार
बाढीका कारण विभिन्न विद्युत् आयोजना प्रभावित भएका छन्। केही आयोजनामा कार्यरत जनशक्ति सम्पर्कबिहीन भएको आशंका छ। नेपाली सेनाले विभिन्न जलविद्युत् परियोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरिसकेको छ। साथै आयोजनाको सुरुङमा पनि खोज तथा उद्धार जारी राखेको छ।
नेपाली सेनाको टोलीले रसुवागढी जलविद्युत् आयोजनाबाट २ जनाको उद्धार गरेको छ। उक्त आयोजनामा चिनियाँ र नेपाली सेनाको संयुक्त टोलीबाट सुरुङको भित्री भागसम्म खोजी भएको थियो। उक्त सुरुङमा मानिस नभेटाएपछि उद्धार टोली फर्किएको छ।
रसुवाको लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनाका लागि नेपाली सेनासँगै भारतीय उद्धार टोली र केही नेपाली सहयोगीहरुले आज बिहानदेखि सुरुङको मुख खोल्ने काम गरिरहेका छन्। नेपाली सेनाले मैलुङ खोला जलविद्युत् आयोजनाबाट ९ जनाको उद्धार भइसकेको छ। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट २५४ जनाको उद्धार भइसकेको छ। उक्त आयोजनाको सुरुङमा खोज तथा उद्धारको प्रयास भइरहेको छ। उक्त आयोजनामा नेपाली सेनासँगै कोरियन, र चिनियाँ टोलीले काम गरिरहेको छ।
नुवाकोट माथिल्लो त्रिशूली–थ्री ए को सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गरी ९० जनाको टोलीले खोज तथा उद्धारको प्रयास गरिरहेको छ। उक्त स्थानमा नेपाल विद्युत् प्राधिकरणको टोलीले पनि सहयोग गरिहरेको छ। माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाले २ जनाको उद्धार गरिसकेको छ। हाल उक्त आयोजनामा नेपाली सेनाका थप ९ जना परिचालन गरी कूल ३१ जनाले खोज तथा उद्धारको काम गरिरहेका छन्। यहाँ चिनियाँ उद्धार टोलीले रेकी गरेपछि नेपाली सेनाले खोज तथा उद्धारको प्रयास सुरु गरेको हो।
नुवाकोटको त्रिशूली जलविद्युत् आयोजनाबाट ३ जनाको उद्धार भइसकेको छ। सौर्य आयोजनाबाट ४ जनाको र देवीघाट जलविद्युत् आयोजनाबाट ४ जनाको उद्धार भइसकेको छ।
शव व्यवस्थापन
बाढीका कारण ज्यान गुमाएका र पहिचान हुन नसकेकाहरुको शव कानून बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको छ। ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिँदैछ। पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवहरूलाई मात्रै डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखी सरकारले आफैं व्यवस्थापन गरिरहेको छ। हालसम्म ९३९ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा यी शव व्यवस्थापन भइरहेको छ। पहिचान भएका शवहरू आफन्तको जिम्मा लगाउने काम भइरहेको छ।
हिमालय क्षेत्रको ठूलो विपद्
रसुवाको भोटेकोशी नदीमा आएको बाढी सामान्य बाढी थिएन। हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो । यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको संकेत गरेको छ। त्यसैले यो क्षेत्र सर्तक त हुनैपर्छ, सँगसँगै हामीले अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु परिवर्तनका कारण भोग्नु परेको विपद्को विषयबारे बलियो गरी उठान गर्नुपर्ने पनि समय आएको छ।
पुनःस्थापनामा
प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनःस्थापना कसरी गर्ने भन्नेबारे छलफल समेत अघि बढाएको छ। त्यसका लागि स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण समेत संकलन सुरु भइसकेको छ। हजारौँ नागरिकले घर, परिवार, प्रियजन र जायजेथा गुमाउनुभएको छ। उहाँहरुले भोग्नुभएको यो पीडा सरकारले बुझेको छ। उहाँहरुको पीडामा मलहम लगाउँदै पुनःस्थापनामार्फत सामान्य जनजीवनमा पुर्‍याउनु अबको बाटो हो। उहाँहरुलाई मानसिक र शारीरिक रुपमा सशक्त बनाउँदै पुनःस्थापना गर्न सरकार लाग्नेछ। पुनःस्थापनाका आवश्यक आर्थिक स्रोत जुटाउने क्रम जारी छ।

गोकर्णेश्वरको नयाँ बस्ती युवा क्लब राहत अभियानमा, विपद् कोषमा १ लाख बढी सहयोग

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ मा रहेको नयाँ बस्ती युवा क्लबले रसुवा बाढी प्रभावितका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।क्लबले गोकर्णेश्वर नगरपालिकाले स्थापना गरेको विपद् राहत कोषमा उक्त रकम जम्मा गरेको हो। सोमबार क्लबका अध्यक्ष चन्द्रमणि गौतमसहित पदाधिकारीहरूले नगर प्रमुख दीपककुमार रिसाललाई १ लाख ११ हजार १११ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरण कार्यक्रममा क्लबका वर्तमान तथा पूर्वपदाधिकारीहरूको समेत उपस्थिति थियो।विपद्को कठिन घडीमा प्रभावित नागरिकको राहत तथा उद्धारमा आफ्नो तर्फबाट सहयोग पुगोस् भन्ने उद्देश्यले क्लबले सहयोग गरेको अध्यक्ष गौतमले बताए।

‘विपद्को बेलामा क्लबले सहयोगको हातेमालो गर्दै सानै भए पनि यसरी जोडिन चाहेको हो,’ उनले भने।रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि गोकर्णेश्वर नगरपालिकाले स्थापना गरेको राहत कोषमार्फत सहयोग परिचालन भइरहेको छ।

भोटेकोशी नदीको पानी तथा माछा प्रयोग नगर्न प्रहरीको अपिल

काठमाडौँ। नेपाल प्रहरीले भोटेकोशी बेसिन नदीका माछा एवं नदीजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ ।भोटेकोशीमा बाढीसँगै बगेर आएका शव, मृत जीवजन्तु तथा अन्य फोहोरजन्य र प्रदूषित पदार्थका कारण पानीमा हानिकारक कीटाणु मिसिएकाले नदीबाट निकालिएका माछा तथा अन्य खाद्यपदार्थ नखान, नदीको पानी नपिउन प्रहरीले आग्रह गरेको हो ।

भोटेकोशी तथा आसपासका नदी किनारबाट माछा एवं अन्य नदीजन्य खाद्यपदार्थ निकाल्ने, घरमा लैजाने वा खाने जस्ता कार्य नगर्न प्रहरीले सबैलाई सूचित गरेको छ । दूषित पानी तथा खाद्यपदार्थको प्रयोगले हैजा, झाडापखाला, छालामा संक्रमणलगायत रोग फैलिन्छ ।

ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ। ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ ।ताप्लेजुङमा जारी अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको क्वार्टरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै झापा-११ सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको पाँचौँ मिनेटमा झापा-११ का आयुष घलानले गोल गरे । नेपाल पुलिस क्लबले गोलका लागि उत्कृष्ट प्रयास गरे पनि गोल गर्न नसक्दा क्वार्टरफाइनलबाट बाहिरिएको छ ।

नेपाल पुलिस क्लबलाई पराजित गरेसँगै झापा-११ ले सेमिफाइनलमा फिदिम स्पोर्टिङ क्लबसँगको भेट पक्का गरेको छ । फिदिमले चित्लाङ एफसीलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । यी दुई टोलीबीचको खेल भदौ १७ गते हुनेछ ।

यस्तै, मङ्गलबार सेमिफाइनलको पहिलो खेलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लब र सिराहाको सलहेश युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । भारतको जर्जियन युनाइटेडले आयोजक ताप्लेजुङ-११ लाई २-१ तथा सलहेशले सातदोबाटो एफसीलाई टाइब्रेकरमा ४-३ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगिता भदौ १९ गतेसम्म सञ्चालन हुनेछ । आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८३ तथा उपविजेताले रु तीन लाख ५२ हजार ८३ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिनेछ ।

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट, डोर सेल्सको रकम बाढीपीडितलाई

काठमाडौंको जडीबुटीस्थित ‘क्लब १८’मा आगामी भदौ १७ गते (सेप्टेम्बर २) र्यापर ‘डिके सागर (यादव सरकार) लाइभ विथ सेलो नाइट’ आयोजना हुने भएको छ। आयोजकका अनुसार कन्सर्टमा हुने डोर सेल्सबाट संकलित रकम बाढीपीडितको सहयोगमा खर्च गरिनेछ।

कार्यक्रममा ‘जनचेतना’ बाेलकाे मैथिली र्याप गाएर चर्चामा आएका र्यापर ‘यादव सरकार’को मुख्य प्रस्तुति रहनेछ। कार्यक्रममा गायक आश्रम थिङ र गायिका अनिशा तामाङले पनि प्रस्तुति दिनेछन्।

मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई जोडेर कार्यक्रम आयोजना गर्न लागिएको क्लब १८का सञ्चालक सुजन श्रेष्ठले बताए। उनका अनुसार कार्यक्रमको डोर सेल्सबाट उठेको रकम बाढी प्रभावित परिवारको राहत तथा सहयोगमा प्रयोग गरिनेछ।

`देशका विभिन्न ठाउँमा बाढी र प्राकृतिक विपत्तिका कारण धेरै नागरिक प्रभावित भएका छन्। यस्तो अवस्थामा कलाकार र संगीतप्रेमीलाई एउटै ठाउँमा जोडेर कार्यक्रमबाट उठेको रकम पीडितको सहयोगमा प्रयोग गर्ने उद्देश्य हो। संगीतमार्फत सामाजिक सहयोग गर्ने हाम्रो सानो प्रयास हो,´ सञ्चालक श्रेष्ठले भने।

कन्सर्ट राति ८ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा सहभागी हुन अनलाइन टिकट बुकिङको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।आयोजकले संगीतप्रेमीलाई कार्यक्रममा सहभागी हुँदै बाढीपीडितको सहयोगमा योगदान गर्न आग्रह गरेका छन्।

भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौँ। भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले डिएनए परीक्षणपश्चात् फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न सक्ने प्रक्रिया अघि बढेको छ ।

नेपाल प्रहरीले बाढीपछि फेला परेका शव तथा शरीरका अङ्गको डिएनए परीक्षणमार्फत पहिचान गर्ने व्यवस्था मिलाएको जनाएको छ । पहिचान हुन नसकेका व्यक्तिका आफन्तलाई आवश्यक नमुना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ ।

नेपालमा रहेका, सम्पर्कविहीन व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना पहिलो तहका नातेदारले ताजा रगतको नमुना उपलब्ध गराउनुपर्नेछ । त्यसका लागि महाराजगन्जस्थित प्रहरी अस्पतालको प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

विदेशमा रहेका पहिलो तहका नातेदारले आफ्नो बसोबास रहेको मुलुकको आधिकारिक प्रयोगशालामा डिएनए प्रोफाइलिङ (डिएनए प्रतिरूपण) गराई त्यसको डिजिटल प्रतिलिपि प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्नेछन् ।

प्रहरीका अनुसार ‘डिएनए प्रोफाइल’को तुलना गरी शव तथा शरीरका अङ्गको पहिचान गर्न सम्बन्धित व्यक्तिको पूरा नाम, पहिचानसम्बन्धी विवरण, सम्भव भएमा सम्पर्कविहीन भएको मिति र स्थान, अधिकृत फरेन्सिक प्रयोगशालाबाट प्राप्त डिएनए परीक्षण प्रतिवेदन तथा डिएनए नमुना दिने व्यक्ति र सम्पर्कविहीन व्यक्तिबीचको नाता विवरण आवश्यक पर्नेछ ।

चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले भोटेकोशी नदीमा बाढी गएपछि आपूर्ति श्रृङ्खलामा असर पारेकाले यस्तो कठिन परिस्थितिलाई मध्यनजर गर्दै संयमित र जिम्मेवार भई व्यापार, व्यावसाय गर्न उद्योगी व्यवसायीलाई अपिल गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आज सार्वजनिक अपिल जारी गर्दै प्राकृतिक विपद्का कारणले आपूर्ति प्रणालीमा असर पारेकाले पनि संयमित र जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न आह्वान गर्नुभएको हो । उहाँले विशेष गरी उत्तरी रसुवागढी नाका प्रभावित भई आयात-निर्यात तथा आपूर्ति व्यवस्थामा अवरोध हुन गएकाले आगामी चाडपर्वलाई लक्षित गरेर बजारलाई सहज र व्यवस्थित गर्न अनुरोध गर्नुभयो ।

विपद्को कठिन परिस्थितिमा व्यवसायीले नाफाभन्दा माथि उठेर सामाजिक जिम्मेवारी निर्वाह गर्नुपर्ने, सरकारले नियन्त्रणभन्दा माथि उठेर सहजीकरण गर्नुपर्ने र उपभोक्ताले अनावश्यक सञ्चय तथा त्रासबाट मुक्त भएर संयमता अपनाउनुपर्ने चेम्बरद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आगामी तीज, दसैँ, तिहार, छठ, नेपाल संवत्, रमजानलगायत प्रमुख चाडपर्व नजिकिँदै गर्दा बजारमा माग बढ्ने भएकाले आवश्यक वस्तुको नियमित आपूर्ति कायम राख्न, कृत्रिम अभाव तथा मूल्यवृद्धि नगर्न र उपभोक्ताको हितलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

उद्योगी, व्यवसायी, आयातकर्ता, वितरक, थोक तथा खुद्रा व्यवसायीलाई आफ्नो व्यावसायिक गतिविधि जिम्मेवारीपूर्वक सञ्चालन गर्न आग्रह गर्दै चेम्बरले अवरुद्ध राजमार्गका विकल्पमा वैकल्पिक आपूर्ति मार्गको प्रयोग, पर्याप्त भण्डारण तथा प्रभावकारी वितरण प्रणालीको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ ।