`

नेपाली चलचित्र ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । यहि माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार एक विशेष समारोहकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मको ट्रेलरमा अभिनेत्री विपना थापालाई अभिनेता पल शाहको आमाको भूमिकामा देख्न सकिन्छ भने बुबाको भूमिका भारतीय वरिष्ठ कलाकार प्रदीप रावतले निर्वाह गरेका छन् ।
ग्रामीण परिवेशका आमा–बाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर फिल्मका निर्देशक चन्द्र पन्तले कथा बुनेका छन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्रको मुख्य भूमिकामा रहेकी अभिनेत्री विपना थापाले यो चलचित्रबाट अझ धेरै कुरा सिक्ने मौका पाएको बताएकी छन् । उनले भनिन्, ‘चलचित्र आ बाट आमा माघ १६ मा प्रदर्शन हुँदै छ । आएर प्रतिक्रिया दिनुहोस् । कस्तो चलचित्र बनेको छ म भन्दिन आज । यो जिम्मेवारी मेरो दर्शकको हो । यो चलचित्रबाट मैले अझ धेरै कुरा सिक्ने मौका पाएको छु ।’

उक्त फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता पल शाहले यो फिल्म दर्शकहरुलाई मन पर्नेमा आफू विश्वसत रहेको बताए । उनले यो फिल्ममा राम्रो भूमिका दिएकोमा निर्माण टिमलाई समेत धन्यवाद दिएका छन् ।

उनले भने, ‘ट्रेलरबाट म अहिले पनि बाहिर निस्कन सकेको छैन । एकदमै भावुक भइरहेको छु । दर्शकहरुलाई पनि मन पर्छ भन्ने विश्वास छ त्यही भन्न चाहान्छु । कस्तो लाग्छ । प्रतिक्रिया दिनुहोला । यति राम्रो भूमिकाको लागि मलाई विश्वास गर्नुभएकोमा धन्यवाद दिन चाहान्छु ।’

यसैगरी साइग्रेस पोखरेलले पहिलोपटक यस चलचित्रमा अभिनयमा उत्रिन पाउनु नै भाग्यको कुरा भएको बताएका छन् । उनले घर नभएको आमा होस् तर आमा नभएको घर नहोस् भन्ने भनाई नै यस चलचित्रमा देखाउन खोजेको भन्दै आमा शब्द धेरै नै भारी भएको बताए ।

उनले भने, ‘एउटा भनाई छ । बरु घर नभएको आमा होस् तर आमा नभएको घर नहोस् भन्ने । त्यसैले आमा शब्द कति भारी छ । म पहिलोपटक यस चलचित्रमा अभिनयमा उत्रिन पाउनु भाग्यको कुरा हो । आमा, भगवान श्रिकृष्ण र भगवान श्रिराम यो तिनवटा कुराले यो अभिनयमा मैले आफूलाई स्वीकार गरे ।’

चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ मा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपाली लगायतको मुख्य भूमिका रहेको छ ।आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन् । फिल्मको संगीतकारमा कोशिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतम रहेका छन् । फिल्मको प्रदर्शन अधिकार भने आरआर फिल्म्सले लिएको छ भने फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमल जनकपुर जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह जनकपुर जाने भएका छन् । संम्बाद सचिवालयका फणिराज पाठकले बुधबार (आज) जारी गरेको सूचनामा पूर्वराजा र पूर्वरानी जनकपुरधाम जाने जानकारी गराइएको छ ।

‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह यही माघ १२ गते जनकपुरधाम सवारी होईबक्सी जानकी मन्दिर दर्शन गरिबक्सने कार्यक्रम रहेको छ’, सचिवालयले जारी गरेको सन्देशमा भनिएको छ ।

यसअघि गत आईतबार सम्पन्न राप्रपा धनुषाको पार्टी कार्यसमितिको बैठकले पूर्व राजा शाहको स्वागत तथा व्यवस्थापनका लागि विभिन्न निर्णयहरु गरेको थियो ।

बैठकको निर्णयअनुसार पार्टीको सुशासन विभागका केन्द्रीय सदस्य श्रवण कुमार झाको अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह स्वागत समिति गठन गरिएको छ ।राप्रपा धनुषाका जिल्ला अध्यक्ष रामचन्द्र यादवका अनुसार पूर्व राजाको आगमनलाई व्यवस्थित र भव्य बनाउन पार्टीले विभिन्न उपसमिति गठन गरी तयारी तीव्र बनाएको छ ।

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर। माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू यो वर्ष काम नपाउँदा चिन्तित भएका हुन् ।

स्थानीय जनपथटोलमा अस्थायी बसोबास गर्दै आएका महमद इस्लाम विगत २३ वर्षदेखि धुनियाको काम गर्दै आउनुभएका छ । यही पेसाबाट उहाँले पाँच जनाको परिवारको पालनपोषण गर्दै आउनुभएको थियो । गत वर्षदेखि सिरक–डस्ना बनाउन आउने ग्राहक घट्दै गएपछि अहिले बिहान–बेलुकाको छाक टार्नसमेत गाह्रो हुन थालेको उहाँ बताउनुहुन्छ ।

चौवन्न वर्षीय इस्लामका अनुसार अन्य मौसममा खासै काम नहुने भए पनि जाडो सुरु भएसँगै दैनिक चार सयदेखि एक हजार ५०० रुपैयाँसम्म कमाइ हुने गरेको थियो । पहिलेपहिले एकै दिनमा आठ–दशवटा सिरक–डस्ना बनाउने गरेको अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ, “बाबुबाजेको पालादेखि यही काम गर्दै आएको हुँ । तर यो वर्ष त पुस आधा बितिसक्दा पनि एउटा पनि माग आएन । यसरी त यो पेसाले अब खानै धान्न गाह्रो हुने देखियो ।”

इस्लामजस्तै पीडा विराटनगर–तीनटोलियाका रफिक सेखको पनि उस्तै छ । धुनियाको कामबाट परिवार पाल्दै आएका सेख यस वर्ष बजारको अवस्थाले वैकल्पिक पेसा खोज्न बाध्य भएको बताउनुहुन्छ । बाबुको पेसागत बिँडो आफैँले सम्हाले पनि नौवर्षे छोरालाई भने यहीँ पेसामा नलगाउने निर्णय गरेको उहाँले बताउनुभयो ।

“यो मसँगै काम गर्दै आएको थियो”, छेउमै खेलिरहेको छोरातर्फ देखाउँदै सेखले भन्नुभयो, “तर अब यसलाई धुनियाको काममा राख्दिनँ । यो काम मेरो हातमै आउन छाड्यो भने यसले के गर्छ ? त्यसैले अब अरु नै काम सिकाइदिन्छु, जसले सधैँ धेरथोर कमाइ गरिरहोस् ।”

जनपथटोलका महमद इस्लाम र तिनटोलियाका रफिक सेखमात्र होइन, जाडो महिना सुरु भइसक्दा पनि सिरक–डस्नाको माग नदेखिएपछि विराटनगरका धुनियाहरू मात्र होइन, यससँग जोडिएका व्यापारी पनि चिन्तित बनेका छन् ।

विगतका वर्षहरूमा मङ्सिरको दोस्रो सातादेखि नै सिरक–डस्नाको कारोबार बढ्ने गरेको भए पनि यस वर्ष माघ लागिसक्दा पनि माग शून्यजस्तै रहेको व्यवसायी बताउँछन् । बाटारोडस्थित जगदम्बा वस्त्रालयका व्यवसायी दुर्गादत्त अग्रवालका अनुसार पहिले जाडो सुरु हुनासाथ रेडिमेड सिरकसमेत ‘स्टक’ गरेर राखिन्थ्यो । तर अहिले ग्राहक देखाउनका लागि मात्र केही सिरक राख्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

“पहिले जाडोमा सय प्रतिशत कपास प्रयोग हुन्थ्यो”, अग्रवाल भन्नुहुन्छ, “अहिले त्यसको तुलनामा १० प्रतिशत पनि प्रयोग हुँदैन । गत वर्ष मङ्सिरको दोस्रो हप्तादेखि नै माग आउँथ्यो, यसपालि त माघ लागिसक्यो, एउटा पनि माग आएको छैन ।”

उहाँका अनुसार विगतका वर्षहरूमा सिरक–डस्ना बनाउन नेपाली कपासको माग उच्च हुने गरेको थियो, तर यस वर्ष पुरानो मौज्दात कपाससमेत प्रयोग हुन नसकेको अवस्था छ ।

महावीररोडस्थित शिवम् इम्पोरियरका व्यवसायी विशाल शाहले पनि यस वर्ष सिरक–डस्नाको माग शून्य बराबर रहेको बताउनुभयो । “पहिले ग्राहक ‘अर्डर’ दिएर मात्र बनाउँथे”, उहाँले भन्नुभयो, “अहिले त्यसको तुलनामा १० प्रतिशत पनि व्यापार छैन । केही वर्षअघिसम्म बजारमा सधैँ भीडभाड हुन्थ्यो ।”

शाहका अनुसार पछिल्लो समय धुनियाहरू घरघरमै पुगेर सिरक–डस्ना बनाइदिने भएकाले पनि पसलमा आउने माग घटेको छ । यद्यपि, पसलमा बनाइने सिरक–डस्नामा प्रयोग हुने कपास प्रायः स्थानीय र गुणस्तरीय हुने भएकाले घरमै बनाइने भन्दा राम्रो हुने दाबी उहाँको छ ।

“हामी गार्मेन्टका कतरनलाई पेलेर बनाइएको फ्रेस कपास प्रयोग गर्छौँ, त्यसैले हाम्रो सामानको गुणस्तर राम्रो हुन्छ”, शाहले भन्नुभयो । “सिरक–डस्ना कपडाजस्तो बर्सेनि फेर्ने सामान होइन । त्यसैले बनाउँदा प्रयोग हुने कपासको गुणस्तरमा ग्राहकले ध्यान दिनुपर्छ ।”

उहाँका अनुसार एउटा सिरक बनाउन चारपाँच केजीसम्म कपास लाग्ने गर्छ भने ग्राहकको चाहनाअनुसार कम–बढी गरेर पनि बनाइन्छ । व्यापारीका अनुसार बजारमा एक जोर सिरकको मूल्य रु एक हजारदेखि आठ हजारसम्म पर्छ भने डस्नाको मूल्य रु छ सयदेखि चारपाँच हजारसम्म पर्छ ।

माग घट्दै जाँदा धुनियाको परम्परागत पेसामात्र होइन, यससँग जोडिएको स्थानीय कपास, साना व्यवसाय र श्रमिकको जीविकोपार्जनमा समस्या भएको छ ।

प्रतिनिधिसभा निर्वाचनः मतदातामा छायो उत्साह

महोत्तरी। प्रतिनिधिसभा निर्वाचनलाई लिएर यहाँका मतदातामा उत्साह छाएको छ । राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्तामात्र होइन, मताधिकार नपाएकाहरू पनि चुनावको चर्चामा लागेका छन् । यो चर्चा चिया पसलदेखि हाटबजारसम्म फैलिएको छ ।

मङ्गलबार उम्मेदवारको मनोनयनपत्र दर्तासँगै आम जनमानसमा चुनावी चर्चा चलेको हो । महोत्तरीका चार प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १४३ जनाले मनोनयनपत्र दर्ता गराएपछि जिल्लामा चुनावको वातावरण बनेको छ ।

मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार क्षेत्र नं १ मा २७, महोत्तरी–२ मा ३७, महोत्तरी–३ मा ४२ र महोत्तरी–४ मा ३७ जनाले उम्मेदवारी दर्ता गराएका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाभरिमा १३ जना महिला उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । जसमा क्षेत्र नं १ मा चार, २ मा पाँच, ३ मा दुई र ४ मा दुई जना छन् ।

चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्वक उत्साहजनक मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न भएको जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

यसअघि मनोनयनपत्र दर्ता कार्यक्रमअघि गत सोमबार चारवटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले निर्वाचन आचारसंहिताको सबै पक्षबाट पूर्ण परिपालनाको प्रतिबद्धता जनाएको थियो, निर्वाचनका लागि उच्चतम सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ ।

महोत्तरीमा यसपालिको निर्वाचनका लागि चार लाख ३१ हजार २५२ मतदाता छन् । जसमा दुई लाख ३५ हजार १८३ पुरुष, एक लाख ९६ हजार ९७ महिला र अन्य दुई रहेका जिल्ला निर्वाचन कार्यालयले यसअघि नै जनाइ सकेको छ ।

किमद्वारा उपप्रधानमन्त्री बर्खास्त

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले उपप्रधानमन्त्री याङ सुङ होलाई बर्खास्त गर्नुभएको छ । राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार उहाँले एक महत्वपूर्ण औद्योगिक मेसिनरी कम्प्लेक्सको उद्घाटनका क्रममा उच्च अधिकारीमा देखिएको ‘अक्षमता, गैरजिम्मेवारी र निष्क्रियता’ विरुद्ध असाधारण रूपमा कडा र सार्वजनिक आलोचना गर्नुभएको हो ।

सरकारी कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)का अनुसार किमले याङलाई ‘घटना स्थलमै’ पदमुक्त गर्न आदेश दिनु हुँदै ‘गैरजिम्मेवार, अशिष्ट र अयोग्य’ अधिकारीलाई तीव्र रूपमा हप्काउनु भयो । ‘कृपया, कमरेड भाइस प्रिमियर, धेरै ढिलो हुनुअघि नै आफैँ राजीनामा दिनुहोस्”, उहाँले भनाइलाई केसिएनएले उद्धृत गरेको छ ।

आणविक हतियार सम्पन्न उत्तर कोरिया अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण गम्भीर आर्थिक चुनौती र दीर्घकालीन खाद्यान्न अभावसँग जुध्दै आएको छ । यद्यपि किमले विगतमा पनि आर्थिक नीतिको कथित खराब व्यवस्थापनका लागि अधिकारीलाई आलोचना गर्दै आउनुभएको भए पनि यसरी खुला रूपमा बर्खास्त गर्नु दुर्लभ मानिन्छ ।

सोमबार हामग्योङ प्रान्तमा रहेको औद्योगिक कम्प्लेक्सको अवलोकनका क्रममा किमले ‘लामो समयदेखि पराजयवाद र निष्क्रियतामा फसेका’ कार्यकर्ताले राज्यको विकासमा अवरोध पुर्‍याएको बताउनुभयो । याङ ‘भारी जिम्मेवारी वहन गर्न अयोग्य’ रहेको टिप्पणी गर्दै उहाँले क्याडर नियुक्तिमा भएको ‘आकस्मिक गल्ती’ स्वीकार गर्नुभयो । “गाडी तान्ने गोरु हो, बाख्रा होइन”, भन्दै किमले प्रभावकारी र सक्षम नेतृत्वको आवश्यकता औँल्याउनुभयो ।

राज्य मिडियाले सार्वजनिक गरेका तस्बिरमा किम चिसो उत्तरपूर्वी क्षेत्रमा कामदार माझ कठोर भावमा सम्बोधन गरिरहनुभएको देखिन्छ । उत्तर कोरियाले लामो समयदेखि सेनालाई प्राथमिकता दिँदै आएको छ भने कमजोर पूर्वाधार, वन विनाश र दशकौँको खराब व्यवस्थापनका कारण बाढी र खडेरी जस्ता प्राकृतिक विपद्को जोखिममा छ ।

युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिजका विज्ञ याङ मू-जिनका अनुसार नयाँ मेसिनरी कम्प्लेक्स उत्तरपूर्वलाई दक्षिणतर्फ वोनसनसँग जोड्ने औद्योगिक बेल्टको हिस्सा हो, जसले देशको कुल मेसिनरी उत्पादनको करिब १६ प्रतिशत योगदान दिन्छ । उहाँका अनुसार याङको सार्वजनिक बर्खास्ती सत्तारूढ पार्टीभित्र अनुशासन कडा बनाउने र अधिकारीलाई चेतावनी दिने रणनीतिसँग जोडिएको छ ।

प्योङयाङ आगामी पाँच वर्षमा पहिलो पटक हुने पार्टी सम्मेलनको तयारीमा छ । विश्लेषकका अनुसार सम्मेलनमा आर्थिक नीति, रक्षा र सैन्य योजना मुख्य एजेन्डा बन्ने सम्भावना छ । गत महिना किमले शीर्ष नेताको बैठकमा पार्टीभित्र देखिएका भ्रष्टाचारजन्य प्रवृत्ति र अनुशासनहीनतालाई पूर्णरूपमा समाप्त गर्ने प्रतिबद्धता जनाउनुभएको थियो, जसलाई राज्य मिडियाले ‘दुष्टता’ र हाल देखिएको ‘विचलन’ भनेर उल्लेख गरेको छ ।

४७ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान

काठमाडौँ ।रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा सो कार्यालयमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १५५औँ समूहअन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मङ्गलबार आयोजित तालिम समापन कार्यक्रममा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

त्यस अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमका दौरानमा हासिल गरेका ज्ञान, सीपलाई कार्यक्षेत्रमा इमान्दारिताका साथ कार्यान्वयन गर्दै प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढङ्गबाट निर्वाह गरी नागरिकलाई सहज र सुरक्षित ट्राफिक व्यवस्थापनको महसुस गराउनुपर्नेमा जोड दिनुभयो ।

तालिम संयोजक प्रहरी नायब उपरीक्षक शैलेश न्यौपानेले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत मङ्सिर ७ गतेदेखि सञ्चालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार तीन जना र प्रहरी जवान ४४ जना गरी ४७ जना प्रशिक्षार्थीले तालिम लिएका बताउनुभयो ।

ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति

नुक (ग्रिनल्यान्ड)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डप्रति आफ्नो आक्रामक धारणा गत वर्ष आफूलाई नोबेल शान्ति पुरस्कार नदिइएको निर्णयसँग जोड्नुभएको छ । नर्वेका प्रधानमन्त्री जोनस गहर स्टोरलाई पठाइएको एक पाठ सन्देशमा उहाँले अब आफू ‘विशुद्ध शान्तिको बारेमा सोच्न बाध्य’ नरहेको बताउनुभएको हो ।

उक्त सन्देश सार्वजनिक भएपछि नाटो सदस्य डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको चेतावनीका कारण वासिङ्टन र युरोपका नजिकका सहयोगीबिचको तनाव थप बढेको देखिएको छ । यसअघि ट्रम्पले नर्वे, डेनमार्क र ग्रिनल्यान्डसहित आठ युरोपेली देशका सामानमा फेब्रुअरीदेखि १० प्रतिशत आयात कर लगाउने घोषणा गर्नुभएको थियो, जसको ती देशले कडा विरोध गरेका छन् ।

अमेरिकाका परम्परागत सहयोगी राष्ट्रले ग्रिनल्यान्ड बिक्रीका लागि नभएको स्पष्ट पार्दै संवादबाट समाधान खोज्न आग्रह गरेका छन् । युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख काजा कल्लासले युरोपले द्वन्द्व नचाहेको तर आफ्ना आधारभूत मूल्य र हितको रक्षा गर्ने अडानमा रहने बताउनुभएको छ ।

ह्वाइट हाउसले बल प्रयोग गरेर ग्रिनल्यान्ड नियन्त्रण लिने कुनै निर्णय नभएको जनाएको छ । डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले राष्ट्रपतिले केही छोड्ने निर्णय नगरेसम्म अडान नबदलिने टिप्पणी गर्नुभयो । बेलायती प्रधानमन्त्री किर स्टार्मरले पनि शान्त वार्ताबाट समाधान सम्भव रहेको बताउँदै सैन्य कारबाही हुने विश्वास नगरेको जनाउनुभयो ।

यसबिच, हजारौँ ग्रिनल्यान्डवासीले सप्ताहन्तमा टापु कब्जा गर्ने कुनै पनि प्रयास विरुद्ध प्रदर्शन गरे । ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले करको धम्कीले आफ्नो धारणा नबद्लिने स्पष्ट पार्दै ‘हामीमाथि दबाब दिइने छैन’ भन्नुभयो । त्यहाँकी मन्त्री नाजा नथानियलसेनले सहयोगी राष्ट्रको द्रुत प्रतिक्रियाले यो विषय ग्रिनल्यान्ड मात्र नभई अन्तर्राष्ट्रिय सरोकारको विषय भएको देखाएको बताउनुभयो ।

नर्वे सरकारले सार्वजनिक गरेको ट्रम्पको सन्देशमा ‘आठ युद्ध रोकेको बाबजुद नोबेल शान्ति पुरस्कार नदिइएकाले अब शुद्ध शान्तिको दायित्व महसुस नगरेको’ उल्लेख छ । सन्देशमा ‘ग्रिनल्यान्डको पूर्ण नियन्त्रण नभएसम्म विश्व सुरक्षित हुँदैन’ भनिएको छ । ह्वाइट हाउसले सन्देशको प्रामाणिकता पुष्टि गर्दै ट्रम्पले अमेरिकी नियन्त्रणले ग्रिनल्यान्डबासीलाई सुरक्षा दिने विश्वास राख्नुभएको जनाएको छ ।

नर्वेका प्रधानमन्त्री स्टोरले ग्रिनल्यान्ड डेनमार्कको हिस्सा भएको र नर्वेले डेनमार्कको पूर्ण समर्थन गर्ने स्पष्ट पार्नुभयो । साथै नोबेल शान्ति पुरस्कार नर्वे सरकारले नभई स्वतन्त्र नोबेल समितिले प्रदान गर्ने कुरा ट्रम्पलाई स्पष्ट गरिएको उहाँले बताउनुभयो । गत वर्ष भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कारप्रति ट्रम्पले चासो देखाउनुभएको थियो ।

यद्यपि सोमबार पत्रकारसँग कुरा गर्दै उहाँले नोबेल पुरस्कारको परवाह नगरेको र आफूलाई ‘जीवन बचाउने’ कुरामा मात्र चासो रहेको बताउनुभयो । ट्रम्पले करलाई कूटनीतिक मोलतोलको माध्यमका रूपमा प्रयोग गर्ने सङ्केत पनि गर्नुभएको छ । युरोपेली देशले भने ग्रिनल्यान्डमा सीमित सैन्य उपस्थिति आर्कटिक सुरक्षाको मूल्याङ्कन र रूस तथा चीनसम्बन्धी चिन्ताको प्रतिक्रिया मात्र भएको बताएका छन् ।

नाटोका महासचिव मार्क रुटेले ग्रिनल्यान्ड क्षेत्र सामूहिक सुरक्षाका लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले युरोपेली सङ्घ (इयु) कुनै पनि प्रकारको जबरजस्तीको सामना गर्न तयार रहेको बताउँदै आगामी शिखर सम्मेलनको घोषणा गर्नुभएको छ ।

चीनको घट्दो जन्मदरको चुनौती

बेइजिङ । प्राचीन कालदेखि आजसम्म ठूलो जनसङ्ख्या चीनका लागि राष्ट्रिय शक्ति प्रदर्शन गर्ने प्रमुख आधार मानिँदै आएको छ । तर यति ठूलो जनसङ्ख्याको व्यवस्थापन सधैँ चिन्ताको विषय रहँदै आएको छ । “चीनको जनसङ्ख्या ६० करोड छ र यो तथ्य हामीले कहिल्यै बिर्सनु हुँदैन”, अध्यक्ष माओत्सेतुङले सन् १९५७ मा विनाशकारी अनिकाल सुरु हुनुअघि भन्नुभएको थियो ।

तर आज चीनको जनसङ्ख्या क्रमशः घट्दै गएको छ, र यही अवस्था नयाँ समस्याको रूपमा उभिएको छ । सोमबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार चीनको जन्मदर सन् १९४९ मा जन गणतन्त्र स्थापना भएयताकै सबैभन्दा न्यून स्तरमा पुगेको छ । हाल चीनको कुल जनसङ्ख्या करिब एक अर्ब ४० करोड ४० लाख रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३० लाख कम हो ।

विश्लेषकका अनुसार, जनसङ्ख्या व्यवस्थापन चीनका लागि सहस्राब्दी लामो चुनौती रहँदै आएको छ । देशको शक्ति बढाउने र विशाल स्रोतमा निर्भर जनतालाई सन्तुलनमा राख्ने जिम्मेवारी केन्द्र सरकारका लागि अझै जटिल बनेको छ । नीति परिवर्तन, पुस्तागत सोचको फेरबदल र आधुनिक जीवनशैलीका कारण पर्याप्त युवा जनसङ्ख्या तयार नहुने चिन्ता अधिकारीमा बढ्दो छ ।

सन् १९८० को दशकमा औपचारिक रूपमा लागु गरिएको एक सन्तान नीतिको प्रभाव आज पनि स्पष्ट देखिन्छ । बढ्दो जनसङ्ख्या नियन्त्रण गर्न लागु गरिएको उक्त नीतिले धेरै वर्षसम्म चिनियाँ दम्पतीलाई एक मात्र सन्तानमा सीमित गर्‍याे । यसले तत्कालीन आर्थिक दबाब घटाए पनि दीर्घकालमा वृद्ध जनसङ्ख्या बढ्ने, लिङ्ग असन्तुलन सिर्जना हुने र सामाजिक समस्या थपिने जस्ता अनपेक्षित परिणाम निम्त्यायो ।

समयक्रममा चीन ‘धनी हुनुअघि नै बुढो हुँदै जाने’ अवस्थातर्फ उन्मुख भएको सरकारी सञ्चारमाध्यमले समेत स्वीकार गरेका छन् । सन् २०१६ मा ब्रुकिङ्स इन्स्टिच्युसनले एक सन्तान नीतिलाई गलत सार्वजनिक नीतिको महँगो पाठका रूपमा व्याख्या गर्दै यसले सामाजिक र आर्थिक समस्यालाई अझ गहिरो बनाएको उल्लेख गरेको थियो ।

एक सन्तान नीति क्रमशः खारेज भएसँगै राष्ट्रपति सी जिनपिङले जनसङ्ख्यालाई पुनः राष्ट्रिय शक्तिसँग जोडेर व्याख्या गर्न थाल्नुभएको छ । उहाँले ‘एक खर्ब ४० करोड चिनियाँ जनताले बनाएको स्टिलको पर्खाल’ भन्ने अभिव्यक्ति प्रयोग गर्दै ठूलो जनसङ्ख्यालाई देशको सामथ्र्यको प्रतीकका रूपमा प्रस्तुत गर्नुभएको छ ।

भारतले सन् २०२३ मा जनसङ्ख्यामा चीनलाई उछिनेपछि यो विषय चीनका लागि अन्तर्राष्ट्रिय प्रतिष्ठासँग समेत जोडिएको छ । यही कारण जन्मदर बढाउन चीनले विभिन्न प्रोत्साहनका उपाय अघि सारेको छ । बाल स्याहार केन्द्र, परिवार नियोजन सामग्री र विवाह सम्बन्धी सेवामा कर छुटदेखि लिएर बच्चा जन्माउने र हुर्काउने खर्च घटाउने नीति अपनाइँदै छ । आगामी पञ्चवर्षीय योजनामा विवाह र सन्तानप्रति सकारात्मक सोच प्रवर्धन गर्ने र प्रसूति सेवा झन्डै निःशुल्क बनाउने लक्ष्य समेटिएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ३१, आलु रातो (भारतीय) प्रतिकिलो रु २६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४४ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिबल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु १००, काउली तराई प्रतिकिलो रु ६५, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु १८, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ७०, भन्टा डल्लो प्रतिकिलो रु ८०, मकै बोडी प्रतिकिलो रु ५० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ११०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु १००, तिते करेला प्रतिकिलो रु १७०, लौका प्रतिकिलो रु ८५, परबर (तराई) प्रतिकिलो रु २४०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४५, सलगम प्रतिकिलो ८०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ८० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ५०, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु १००, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १००० र कुरिलो प्रतिकिलो रु १,८५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ८०, सजीवन प्रतिकेजी रु ४२०, रातो बन्दा प्रतिकिलो रु १२०, जिरीको साग प्रतिकिलो रु १३०, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु २२०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ४०० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २८०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १८०, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १४०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १२०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १२०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ८०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, किनु प्रतिकिलो रु ११०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २८० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ६५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ७०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २५०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता

पाल्पा। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता भएको छ ।उनीहरुले जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराएका हुन् ।

जिल्लामा राष्ट्रिय जनमोर्चाले मात्र एक मात्र महिला उम्मेदवार अघि सारेको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा १४ राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

पाल्पा क्षेत्र नं १ बाट ९ दल र ४ स्वतन्त्रले उम्मेदवारी दिएका छन् । यहाँ नेकपा (एमाले) बाट नारायणप्रसाद आर्चाय, नेपाली कांग्रेसबाट सन्दिप राना, नेपाली कम्युनिष्ट पार्टीबाट हुमबहादुर सुनारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिमल पन्त र राष्ट्रिय जनमोर्चाबाट नरमती सिञ्जालीले उम्मेदवारी दर्ता गर्नुभएको निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिनुभयो ।

यस्तै मङ्गोल नेशनल अर्गनाइजेसनबाट सलन चिदी, नेशनल रिपब्लिक नेपालबाट थमनसिंह रेग्मी मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बृहस्पति अर्याल, नेपाल कम्युनिष्ट पार्टी ( माओवादी) बाट पुरन गैरे शर्मा तथा स्वतन्त्रबाट कौशल अर्याल, डिल्लीराज काफ्ले, जुद्धबहादुर विरकट्टा र वाछावली मियाले मनोनयन दर्ता गर्नुभएको छ ।

यस्तै क्षेत्र नं २ बाट १४ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेवारले मनोनयन दर्ता गरेका छन् । यहाँ नेकपा (एमाले) बाट ठाकुर गैरे, नेपाली कांग्रेसबाट हिमालदत्त श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीबाट सोमप्रसाद पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधवबहादुर थापाले उम्मेदवारी दिनुभएको छ ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट बालबहादुर दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डुलबहादुर कुँवर, नेशनल रिपब्लिक नेपालबाट देवप्रसाद श्रेष्ठ, सार्वभौम नागरिक पार्टीबाट रामबहादुर अस्लामी, जनता समाजवादीबाट खिकबहादुर रेश्मी, राष्ट्रिय जनमुक्तिबाट टोपबहादुर अस्लामी, मङ्गोल नेसनल अर्गनाइजेसनबाट मानबहादुर दर्लामी, नेपाल कम्युनिष्ट पार्टी(माओवादी)बाट विष्णु ठडराई, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट बोधराज जैसी, नेपाल मजदुर किसान पार्टीबाट कृष्णशोभा मुस्याख्वले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी स्वतन्त्रबाट मोहनकुमार थापा, देवीप्रसाद भण्डारी र केशवप्रसाद बस्यालले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता सहायक निर्वाचन अधिकृत केवश पराजुलीले जानकारी दिनुभयो ।

बेनिशा हमालको फिल्म ‘बिगुल’ ले तोक्यो नयाँ प्रदर्शन मिति

काठमाडौं । पूर्वनिर्धारित प्रदर्शन मितिबाट पछि हटेको फिल्म ‘बिगुल’ ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । माघ ९ गतेको प्रदर्शन स्थगित गरेको फिल्म तीन सातापछि रिलिज हुने भएको हो ।

फिल्म फागुन १ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ । रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ मा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, बिनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी,रबिन्द्र खड्का, मीरा पण्डितलगायत कलाकारहरू मुख्य भूमिकामा छन् ।

राजनीतिक खेलवाड, सामाजिक न्याय, पारिवारिक उल्झन, पुस्ताबीच विचारमा मतभेदलगायतको कुरा फिल्मले समेटेको छ । राजनीतिक विकृति र अन्यायविरूद्ध उठ्ने जनआवाजलाई फिल्मको कथा बनाइएको ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको १६० औँ बैठक आज बस्ने भएको छ ।बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संसद भवनको समिति बैठक कक्षमा बस्ने भएको हो ।

बैठकमा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।बैठकमा पर्यटन विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनका विषयमा विस्तृत छलफल गरिनुका साथै विविध विषयमा समेत विचार–विमर्श हुने जनाइएको छ ।

समितिले बैठकमा माननीय सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ।

सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी

महेन्द्रनगर। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २१० जनाले मङ्गलबार मनोनयन दर्ता गराएका छन् ।

सोह्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१० जनाले मनोनयन दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटले जानकारी दिनुभयो ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ ।

कैलाली निर्वाचन क्षेत्र नं १ मा १९ जना, कैलाली–२ मा १६, कैलाली–३ मा ११, कैलाली–४ मा १६ र कैलाली–५ मा १६ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयका प्रवक्ता भाटले जानकारी दिनुभयो ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नंं १ मा १९ जना, कञ्चनपुर–२ मा १९ र कञ्चनपुर–३ मा १७ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । अछाम क्षेत्र नं. १ मा ८ र अछाम २ मा ९ जनाले मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन कार्यालयका अनुसार डोटीमा नौ, बाजुरामा आठ, बझाङमा सात, बैतडीमा १२, दार्चुलामा ११ र डडेल्धुरामा १३ जनाले मनोनयन दर्ता गराएका छन् ।

कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मले मनोनयन दर्ता गराएका हुन् ।

सुनसरीमा ११० उम्मेदवारद्वारा मनोनयन दर्ता, श्रम संस्कृति पार्टीका हर्क साम्पाङसँग को-को भीड्दैछन् ?

सुनसरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीको चारवटै निर्वाचन क्षेत्रमा ११० उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सदरमुकाम इनरुवास्थित शिक्षा तामिल केन्द्रमा क्षेत्र नं–२ र ४ को मनोनयन दर्ता सम्पन्न भएको हो क्षेत्र नं १ को धरान तथा क्षेत्र नं ३ को दुहबीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता सम्पन्न भएको हो । क्षेत्र नम्बर १ मा २६ जना, क्षेत्र नम्बर २ मा २८, क्षेत्र नम्बर ३ मा २२ तथा क्षेत्र नम्बर ४ मा ३४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीबाट हर्कराज राई (हर्क साम्पाङ), नेपाली कांग्रेसबाट सुजेन्द्र तामाङ, नेकपा (एमाले)बाट टीका माङ्लेन, नेपाली कम्युनिष्ट पार्टीबाट सूर्यबहादुर भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोमा तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उद्धव श्रेष्ठलगायतले उम्मेदवारी दर्ता गरेका छन् । यस क्षेत्रमा २६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

क्षेत्र नं २ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सहायक निर्वाचन अधिकृत अरुण मेहताका अनुसार यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट राजीव कोइराला, एमालेबाट सुजन लामा, रास्वपाबाट लालविक्रम थापा, नेकपाबाट रामकुमारी चौधरी र इकवाल अहमदले स्वतन्त्रका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सुनसरी क्षेत्र नं ३ बाट २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट विजयकुमार गच्छदार, नेकपा (एमाले) बाट भगवती चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अशोककुमार चौधरीलगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

क्षेत्र नम्बर ४ मा विभिन्न राजनीतिक दलबाट ३४ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (एमाले) बाट जगदीश कुशियत, नेकपाबाट मोहमद महफुज अन्सारी, रास्वपाबाट दिपककुमार साह, जनता समाजवादी पार्टी नेपालबाट सविता यादवलगायतले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो ।

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता कायम भएको मुख्य निर्वाचन अधिकृत राउतले जानकारी दिनुभयो । जिल्लामा दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई तेस्रोलिङ्गी मतदाता कायम छन् ।

इलाममा तीन महिलासहित २७ जनाको उम्मेदवारी, एमालेका सुहाङसँग को को भीड्दैछन् ?

इलाम। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि इलामका दुईवटा क्षेत्रमा तीन महिलासहित २७ जनाले उम्मेदवारी दर्ता भएको छ ।

मङ्गलबार सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नं २ को तथा सूर्योदय नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नं १ को उम्मेदवारी दर्ता भएको हो ।

इलाम क्षेत्र नं १ मा दुई महिलासहित १३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिनुभयो । क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का काजीमान कागते, नेपाली कांग्रेसका निश्कल राई र नेपाली कम्युनिष्ट पार्टीका रणबहादुर राईको उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बू, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्वाला नेपाल, नेपाल मजदुर किसान पार्टीका तुल्सी केशरी प्रजापति, मङ्गोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचे, नेपाल जनमुक्ति पार्टीका डम्बरसिंह लिम्बू, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नारदमणी साङपाङ, जनता समाजवादी पार्टीका लिलाबहादुर सुनुवार र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामप्रसाद लिम्बूको पनि उम्मेदवारी दर्ता भएको छ । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले महिलालाई उम्मेदवार बनाएको छ ।

यस्तै क्षेत्र नं २ मा एक स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका भेषराज आचार्य र नेपाली कम्युनिष्ट पार्टीका ओमबहादुर गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

त्यसैगरी श्रम संस्कृति पार्टीका सुदिप राई, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राई, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, मङ्गोल नेशनल अर्गनाइजेशनका श्याबहादुर लिम्बू, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा लिम्बू तुम्बाहाम्फे, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का होमप्रसाद खतिवडा, जनता समाजवादी पार्टीका बलबहादुर आङदेम्बे, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिंह मादेन (लिम्बू) र डाकप्रसाद गौतमको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।

यहाँ राष्ट्रिय जनमुक्ति पार्टीले मात्र महिलालाई उम्मेदवार बनाएको छ । जिल्लामा सबैभन्दा कान्छो उम्मेदवार क्षेत्र नं २ मा रास्वपाका गोकुलबहादुर राई (३२ वर्ष) हुनुहुन्छ भने जेठो उम्मेदवार नेकपा (माओवादी) का होमप्रसाद खतिवडा (६८ वर्ष) हुनुहुन्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाममा ६ हजार ९ सय ३२ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका २ लाख ३१ हजार ८ सय ९ मतदाता कायम भएका छन् । एक लाख १९ हजार ६ सय ४८ पुरुष, एक लाख १२ हजार १ सय ५८ महिला र ३ तेस्रोलिङ्गी मतदाता रहेका छन् ।

विसं २०७९ को निर्वाचनमा इलाममा २ लाख २४ हजार ८ सय ७७ मतदाता थिए । आउँदो निर्वाचनका लागि क्षेत्र नम्बर–१ मा एक लाख १२ हजार ३ सय २० तथा क्षेत्र नम्बर–२ मा एक लाख १९ हजार ४ सय ८९ मतदाता रहेका निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णबहादुर लिम्बूले जानकारी दिनुभयो । निर्वाचनका लागि इलाममा एक सय ९० मतदानस्थालमा २ सय ५० मतदान केन्द्र कायम भएको उहाँले बताउनुभयो ।

मुस्ताङमा आठ राजनीतिक पार्टीको उम्मेदवारी, को को भीड्दैछन् ?

मुस्ताङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङमा आठ राजनीतिक पार्टीले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् ।

जिल्ला अदालतस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मङ्गलबार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टी, आमजनता पार्टी र मङ्गोलियन नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले जानकारी दिनुभयो ।

एमालेबाट ईन्द्रधारा ढाडु विष्ट, नेपाली कांग्रेसबाट योगेश गौचन थकाली, नेपाल कम्युनिष्ट पार्टीबाट ङुटुक गुरुङ (टाईगर), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितीय चन्द्र थकाली, उज्यालो नेपाल पार्टीबाट डा सुरेन्द्र शेरचन, आम जनता पार्टीबाटबाट अजय विक र मङ्गोल नेशनल अर्गनाईजेशन पार्टीबाट यमबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा मुख्य निर्वाचन अधिकृतसहित नौ कर्मचारीको व्यवस्था गरिएको छ ।

आफू म्याग्दीतिर दगुर्नुको कारण खुलाए पूर्वमन्त्री महावीरले

काठमाडौं। पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा आम सुधार ल्याएर देशलाई समृद्ध बनाउन नगरि नहुने बताएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले ३ वटा अध्यादेश र ४ वटा नियमावली राष्ट्रपति र विधान समितिले स्वीकार नगरेका कारण आफु निर्वाचनमा उम्मेदवार बन्न गएको बताएका छन् ।

पुनले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट मनोनयन गराएका छन् । उनले एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नव प्रवर्तन मन्त्रालय बनाउन मुख्य सचिवले अल्झ्याएका कारण आफुलाई रीस उठेको र म्याग्दी तिर दगुरेको बताएका छन् ।

उनले लेखेका छन् –
अव उकालो लागियो मुना गाउँ तिर चुनाव प्रचार प्रसार गर्न । शिक्षा क्षेत्रमा आम सुधार ल्याएर देशलाई समृद्ध बनाउन नगरि नहुने र मैले ल्याउन खोजेको ३ वटा अध्यादेश र ४ वटा नियमावली राष्ट्रपति र विधान समितिले स्वीकार गरेको भए म यो चुनावमा लड़ने थिएन । एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नव प्रवर्तन मन्त्रालय बनाउन मुख्य सचिवले अल्झ्याए। अनि त रीस उठ्यो र म्याग्दी तिर दगुरें ।

विभागले एउटा फर्मलाई ५० हजार जरिवाना

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५० हजार जरिवाना गरेको छ । विभागले गरेको अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले खिलुङ्गा कालिका मार्केटिङ प्रालि सूर्यविनायक–२ बालकोटलाई जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ । विभागले थप १२ फर्मको स्थलगत अनुमगन गरेको थियो । विभिन्न फर्ममा अनुमगन तथा निरीक्षण गरी विभागले सुधारात्मक निर्देशन दिएको छ ।

विभागले नियमित रुपमा बजार अनुमगन गर्दै कानुन कार्यान्वयन गर्दै आएको छ । विभागले स्थानीय प्रशासन तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा अनुमगन गरिएको प्रष्ट पारेको छ ।

रुपन्देहीलाई देशकै आर्थिक केन्द्र र विकासको रोल मोडल बनाउन साथ दिनुहोस् – विष्णुप्रसाद पौडेलले

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले आफ्नो लागि रुपन्देही जिल्ला एउटा भूगोल मात्र नभइ, आफ्नो कर्म र सङ्कल्पको केन्द्र बनिसकेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले रुपन्देहीलाई देशकै आर्थिक केन्द्र र विकासको रोल मोडललाई निरन्तरता दिन आग्रह पनि गरेका छन् ।

पौडेलले सामाजिक संञ्जालमा लेखेका छन्

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गराउँदै गर्दा तपाईंहरूले देखाउनुभएको माया र विश्वासप्रति म नतमस्तक छु। यहाँहरूको अमूल्य मत प्राप्त गरी विगतमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा भूकम्प, नाकाबन्दी, कोभिड–१९ जस्ता संकटहरूले शिथिल बनाएको अर्थतन्त्र उकास्न र ओरालो लागेको सेयर बजार लगायत अर्थतन्त्रका समग्र सुचकहरुलाई उचाइमा पुर्‍याउन हामीले खेलेको भूमिकाबारे यहाँहरू अवश्य जानकार नै हुनुहुन्छ ।

मेरो लागि रुपन्देही जिल्ला एउटा भूगोल मात्र होइन, मेरो कर्म र सङ्कल्पको केन्द्र बनिसकेको छ । हिजो तपाईंहरूसँगै मैले देखेका थुप्रै सपनाहरू आज एक्सप्रेस हाइवे, आधुनिक फराकिला सडक, पुल र सुरुङ मार्ग जस्ता आधुनिक पूर्वाधारका रूपमा उभिँदै छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, बुटवल–बेलहिया ६ लेन व्यापारिक मार्ग र बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रजस्ता गौरवका आयोजनाहरूले रुपन्देहीलाई विशिष्ट पहिचान दिएका छन् । बृहत् लुम्बिनी गुरुयोजना, लुम्बिनी बौद्ध विश्वविद्यालय, बुटवल मेडिकल कलेज, लुम्बिनी प्रादेशिक अस्पताल, सेमलार कृषि बजार, सिद्धबाबा सुरुङ मार्ग, कालीगण्डकी–तिनाऊ डाइभर्सन, सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड, बुटवल–नारायणगढ र बुटवल–चन्द्रौटा सडक जस्ता मेघा परियोजनाका साथै थुप्रै ठुला/साना आयोजनाहरूको प्रभावकारी तथा पूर्ण कार्यान्वयनपछि यो क्षेत्र समृद्धिको नयाँ उचाइतर्फ अघि बढ्दै छ ।

रुपन्देहीलाई देशकै आर्थिक केन्द्र र विकासको रोल मोडल बनाउन सुरु गरिएको विकासको यो महाअभियानलाई निष्कर्षमा पुर्‍याउन मलाई फेरि पनि तपाईंहरूको साथ र आशीर्वाद आवश्यक छ। हामीलाई थाहा छ— हामीले आरम्भ गरेका पूर्वाधारहरू सम्पन्न गर्न, विकासको गतिसँगै रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्न, त्यसलाई सामाजिक न्यायसँग जोड्न र आत्मसम्मानसहितको सभ्य समाज निर्माण गर्न अझै धेरै काम गर्न बाँकी छ ।

हामीले सुरु गरेको समृद्धिको यो यात्रालाई अझ उचाँई बाट अघि बढाउन, रुपन्देहीलाई नेपालकै सबल आर्थिक केन्द्र र विकासको रोलमोडलका रुपमा स्थापित गर्न रुपन्देही क्षेत्र नं. २ का आदरणिय मतदाताहरु समक्ष सुर्य चिन्हमा आफ्नो अमुल्य मतको अपेक्षा गर्दछु ।

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८३ रुपैयाँ ९० पैसा र बिक्रीदर १८४ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ २७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८७ पैसा र बिक्रीदर २० रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ०२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८० पैसा र बिक्रीदर २२ रुपैयाँ ९० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ २० पैसा र बिक्रीदर ४७७ रुपैयाँ १७ पैसा , बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा , ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा : कुनैपनि पूर्वअर्थमन्त्रीले ल्याउन पाएनन् लगातार दुई आर्थिक वर्षको बजेट

काठमाडौँ – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन् ।

विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने र लामो राजनीतिक पृष्ठभूमि तथा संसदीय अभ्यासमा घुलेकादेखि पहिलोपटक आकांक्षी देखिएकासम्मबाट मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिदा ६ पूर्वअर्थमन्त्री र एक पूर्वअर्थराज्यमन्त्री सङ्घीय सांसद बन्ने प्रतिस्पर्धामा होमिएका छन् ।

पूर्व अर्थमन्त्रीसमेत रहनुभएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पाँच पटकसम्म अर्थमन्त्री बन्नुभएका निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेल, समान दुईपटक अर्थमन्त्री भएका वर्षमान पुन र जनार्दन शर्मा, अर्थमन्त्रीको जिम्मेवारी सम्हाले पनि वार्षिक बजेट ल्याउन नपाएका ज्ञानेन्द्रबहादुर कार्की र अघिल्लोपटक समानुपातिक सांसद रहेर अर्थमन्त्री बन्नुभएका डा प्रकाशशरण महत आसन्न निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार हुनुहुन्छ । पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर जबरा पनि प्रत्यक्षतर्फका उम्मेदवार हुनुहुन्छ ।

शीर्षस्थ दलसँगको आबद्धता, प्रभावशाली राजनीतिज्ञका रुपमा पहिचान र दरिलो विषयगत ज्ञान भए पनि यी कुनैपनि पूर्वअर्थमन्त्रीले लगातार दुई आर्थिक वर्षको बजेट ल्याउन पाएनन् । पटक–पटक फेरिने राजनीतिक गठबन्धन र सरकार बन्ने–भत्किने श्रृङ्खला चलिरहँदा यी कुनै पनि अर्थमन्त्रीले अघिल्लो वर्षका योजना र कार्यक्रम पछिल्लो वर्ष आफै निरन्तरता दिने अवसर पाएनन् । बजेट निर्माण गर्दा एउटा र कार्यान्वयन गर्दा अर्कै व्यक्ति अर्थ मन्त्रालयको नेतृत्वमा रहने क्रम पटक–पटक दोहोरियो ।

विसं २०६५ यताको बजेट इतिहास हेर्दा राष्ट्रियसभा सदस्यका रुपमा संसद् छिरेका डा युवराज खतिवडाले तीन वटा, संविधानसभा सदस्य डा रामशरण महतले दुई वटा र तत्कालीन अन्तरिम चुनावी मन्त्रिपरिषद्का अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले दुई वटा बजेट लगातार ल्याएको देखिन्छ । अध्यादेशमार्फत ल्याइका पेस्की बजेट र पुरक बजेटलाई छोडेर हेर्ने हो भने प्रतिनिधिसभा सदस्यका रुपमा माथि उल्लिखित कुनै पनि पूर्वअर्थमन्त्रीले लगालग दुई आर्थिक वर्षको बजेट ल्याउन पाएका थिएनन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर दुईबाट उम्मेदवारी दर्ता गर्नुभएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लड्न लाग्नुभएका भट्टराईले अर्थमन्त्रीका रुपमा आर्थिक वर्ष २०६५/६६ को बजेट ल्याउनुभएको थियोे । त्यो वर्ष असार र असोज गरी दुई वटा बजेट ल्याइएको थियो । डा भट्टराईको राजनीतिक जीवन २०२७ सालमा तत्कालीन नेकपा (चौथो महाधिवेशन) बाट सुरु भई २०३४ मा अखिल भारत नेपाली एकता समाजको संस्थापक अध्यक्ष, २०४७ मा संयुक्त जनमोर्चाको अध्यक्ष, २०५१ सालमा तत्कालीन नेकपा (माओवादी) मा आबद्ध भएपछि २०६२ सम्म भूमिगत जीवन र त्यसपछि मूलधारको सक्रिय राजनीतिसम्म पुगेको देखिन्छ ।

पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाली कम्युनिष्ट पार्टीबाट रोल्पा क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँ प्रतिनिधिसभा निर्वाचन २०७९ मा रोल्पा क्षेत्र १ बाट निर्वाचित हुनुभएको थियो । सांसदका रुपमा पहिलोपटक २०६४ सालमा संविधानसभा सदस्य बन्नुभएका पुन २०६७ सालमा शान्ति तथा पुनर्निमाण मन्त्री, २०६८ सालमा अर्थमन्त्री, २०७४ सालमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र २०८० फागुनमा पुनःअर्थमन्त्री बन्नुभएको थियो । उहाँले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट र आर्थिक वर्ष २०६९/७० का लागि अध्यादेशमार्फत् बजेट ल्याउनुभएको थियो ।

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि रुपन्देही २ मा नेकपा (एमाले) बाट उम्मेदवारी दर्ता गर्नुभएका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रतिनिधिसभा निर्वाचन २०७९ मा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । हालसम्म पाँच पटकसम्म अर्थमन्त्री बन्नुभएका र तीन आर्थिक वर्षको बजेट ल्याउनुभएका पौडेल २०६४ र २०७० मा संविधानसभा सदस्य र २०७४ सालमा प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । हाल कार्यान्वयनमा रहेको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट पौडेलले ल्याउनुभएको थियो । आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदा पौडेल अर्थमन्त्री हुनुहुन्थ्यो । विसं २०५१ मा पहिलोपटक सांसद बन्नुभएका पौडेल २०५३ सालमा युवा, खेलकुद तथा संस्कृतिमन्त्री, २०६५ सालमा जलस्रोत मन्त्री, २०६७ सालमा रक्षामन्त्री र २०७२ सालमा पहिलोपटक अर्थमन्त्री बन्नुभएको थियो ।

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सुनसरी ४ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएका पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा निर्वाचन २०७९ र २०७४ सालमा सोही क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको थियो । उहाँले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, कानुन न्याय तथा संसदीय मामिलामन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रुपमा जिम्मेवारी निभाइसक्नुभएको छ ।

पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गृह जिल्ला रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गर्नुभएको छ । विसं २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्, २०६४ र २०७० सालमा संविधानसभा सदस्य तथा प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ सालमा रुकुम पश्चिमबाट निर्वाचित हुनुभएको थियो । विसं २०६५ मा शान्ति तथा पुनःनिर्माणमन्त्री, २०७३ सालमा ऊर्जामन्त्री, २०७४ सालमा गृहमन्त्री र २०७८ सालमा अर्थमन्त्री बन्नुभएको थियो । उहाँले आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउनुभएको थियो ।

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा प्रकाशशरण महत नुवाकोट १ बाट उम्मेदवारी दिनुभएको छ । उहाँले नेपाल विद्यार्थी सङ्घको महामन्त्री, राष्ट्रिय योजना आयोगको सदस्य, प्रधानमन्त्रीको सल्लाहकार, परराष्ट्रमन्त्री, ऊर्जामन्त्रीको जिम्मेवारी निभाइसक्नुभएको छ । प्रतिनिधिसभा निर्वाचन २०७९ मा उहाँ नेपाली कांग्रेसबाट समानुपातिक सांसदका रुपमा निर्वाचित हुनुभएको थियो । डा महतले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउनुभएको थियो ।

पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर जबराले ललितपुर १ बाट उम्मेदवारी दिनुभएको छ । उहाँले नेपाल तरुण दलको केन्द्रीय अध्यक्षका रुपमा २०६८ देखि २०७२ सालसम्म भूमिका निर्वाह गर्नुभएको थियो । संविधानसभा सदस्य २०७० सालमा रहनुभएका राणा २०७४ सालमा अर्थ राज्यमन्त्री बन्नुभएको थियो ।

निर्वाचनमा होमिएका उल्लिखित पूर्वअर्थमन्त्रीहरुले मात्र नभई अपवादबाहेक कसैले पनि आफूले ल्याएका बजेटको आफैँ कार्यान्वयन गर्न सकेनन् । आर्थिक वर्ष २०७४/७५ को बजेट तत्कालिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले ल्याउनुभएको थियो भने आर्थिक वर्ष २०७५/७६, आव २०७६/७७, आव २०७७/७८ मा डा युवराज खतिवडा, आर्थिक वर्ष २०७१/७२ र आव २०७२/७३ मा डा रामशरण महत र आर्थिक वर्ष २०६९/७० र २०७०/७१ आवमा शङ्करप्रसाद कोइरालाले वार्षिक बजेट ल्याउनुभएको थियो ।

त्यस्तै, आव २०६८/६९ का लागि तत्कालिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले बजेट ल्याउनुभएको थियो भने आर्थिक वर्ष २०६७/६८ का लागि सुरेन्द्र पाण्डे र आर्थिक वर्ष २०६५/६६ का लागि डा बाबुराम भट्टराईले बजेट पेस गर्नुभएको थियो ।

आज दिनभरको मौसम कस्तो रहला ? हेर्नुहोस् मासम पूर्वानु्मान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसका कारण कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ ।कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै, आज राती तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ ।कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन: उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आयोगका अनुसार हालसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी परेको छ ।

उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएकामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गर्नुभएको छ । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उहाँले अपेक्षा व्यक्त गर्नुभएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले दुई हजार ९२५ उम्मेदवारी परेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यसमा महिला उम्मेदवार तीन सय ३६ र पुरुष दुई हजार पाँच सय ८९ जना रहेका छन् । यस्तै अपाङ्गता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका एक सय ३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

मानव सेवा आश्रममा जन्मदिन मनाए गायक भीम बिसीले

चर्चित गायक तथा संगीतकार भीम बिसीले आफ्नो जन्मदिनको अवसरमा धनगढीस्थित मानव सेवा आश्रममा मानवीय सेवा गर्दै मनाएका छन् । जन्मदिनलाई अर्थपूर्ण बनाउन र समाजमा योगदान पुर्‍याउने उद्देश्यसहित उहाँ आश्रम पुग्नुभएको हो । काठमाडौंमा बस्दा पनि समाजसेवामार्फत जन्मदिन मनाउँदै आउनुभएका भीमले यसपटक आफ्नो जन्मभूमि धनगढीमा रहेका असहाय, बेसहारा र मानसिक रूपमा अशक्त व्यक्तिहरूसँग भेटघाट गर्दै बिहानको खाना खुवाउनुभएको थियो ।

उक्त अवसरमा उहाँले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै समाजका हरेक व्यक्तिले आफ्नो स्थानबाट सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले जन्मदिनमा मात्र नभई अन्य आवश्यक समयमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा भीमका आमा, दाजु, भाउजू, भतिजा र विवेक नागरीलगायतको उपस्थित थियो । मानव सेवा आश्रमका प्रतिनिधिहरूले भीमको यस सेवामूलक कार्यको उच्च प्रशंसा गर्दै कलाकारहरूले समाजका लागि प्रेरणाको स्रोत बन्न सक्ने बताएका थिए ।

सुर्खेतका दुई निर्वाचन क्षेत्रमा ३० जनाको मनोनयन

कर्णाली। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुर्खेतका दुई निर्वाचन क्षेत्रमा ३० जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।सुर्खेत निर्वाचन क्षेत्र नं १ बाट १३ जना उम्मेदवारले मनोनयन दर्ता गर्दा क्षेत्र नं २ मा १७ उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।

क्षेत्र नं १ म नेपाली कांग्रेसका विष्णुबहादुर खड्का, नेकपा (एमाले)का ध्रुवकुमार शाही, नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर राना, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह ठकुरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि हमाल ठकुरीले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

त्यसैगरी, नेकपा (माओवादी)का हिरू शाही, नेपाल मजदुर किसान पार्टीका गजबहादुर खप्तडी मगर, उज्यालो नेपाल पार्टीका ठम्मरबहादुर विष्ट, जनता समाजवादी पार्टी नेपालका धनसिंह सार्की, राष्ट्रिय जनमोर्चाबाट मोहन थापा, श्रम संस्कृति पार्टीका बीरबहादुर राना, आम जनता पार्टीका रमेश सेन्चुरी र मितेरी पार्टी नेपालका प्रकाश बुढामगरले मनोनयन दर्ता गरेको उहाँले बताउनुभयो ।

क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणकुमार कोइराला, नेकपा (एमाले)का कुलमणि देवकोटा, नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका कविराम पुरी, नेपाल मजदुर किसान पार्टीका तुलसी खड्काले मनोननय दर्ता गर्नुभएको निर्वाचन कार्यालय कर्णाली प्रदेश सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईले जानकारी दिनुभयो ।

त्यस्तै, नेकपा (माओवादी)का धर्मराज देवकोटा, जनता समाजवादी पार्टी नेपालका दीपबहादुर नेपाली, राष्ट्रिय जनमोर्चाका पूर्णबहादुर शाही, नेकपा संयुक्तका प्रेम तारामी, श्रम संस्कृति पार्टीका राजेन्द्र राम्जाली, उज्यालो नेपाल पार्टीका गम्भीरसिंह भूल, गतिशील लोकतान्त्रिक पार्टीका पवनकुमार थापा र नेपाल जनसेवा पार्टीका हृदयचन्द्र अधिकारीले मनोनयन दर्ता गरेको उहाँले बताउनुभयो ।

सूचना अधिकारी चौलागाईका अनुसार क्षेत्र नं.२ मा उदिराम चुनारा, कृष्ण खत्री र रमेश परियारले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् ।

धनुषा- ३ मा कांग्रेस नेता निधिको उम्मेदवारी दर्ता

जनकपुर। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले धनुषाको निर्वाचन क्षेत्र नंं ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।आज जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँको प्रस्तावकमा मधेस प्रदेशका प्रदेशसभा सदस्य रामसरोज यादव र समर्थकमा जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह रहनुभएको छ ।

नेता निधिले सङ्घीयताको संस्थागत विकास तथा विकासका थप काम गर्नका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । सोही क्षेत्रबाट नेकपा (एमाले) नेतृ जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता

सिउल । गैर आवासीय नेपाली संघ दक्षिण कोरियामा विगत केही समयदेखि देखिएको सांगठनिक अन्योल र विभाजन अन्ततः समाप्त भएको छ । एनआरएनए आइसीसी अध्यक्ष महेश कुमार श्रेष्ठको कोरिया भ्रमणका क्रममा दुवै पक्षाबीच एकता भएको हो । कोरियाको विवाद मिलाउने उद्देश्यका साथ जापानबाट गएका अध्यक्ष श्रेष्ठले दुवै पक्षबीच लगातार वार्ता गरेका थिए ।

अन्ततः ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै कोरियामा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउन दुई समानान्तर समितिबीच मंगलबार ‘बृहत् एकता सहमति पत्र’मा हस्ताक्षर भएको अध्यक्ष श्रेष्ठले कोरियाबाट जानकारी दिए ।

१० औं महाधिवेशनबाट निर्वाचित पार्वती लामा नेतृत्वको कार्यसमिति र बृहत एकता महाधिवेशनबाट निर्वाचित विपिन कुमार गुरुङ नेतृत्वको कार्यसमितिबीच एक–अर्काको अस्तित्व स्वीकार गर्दै अगाडि बढ्ने सहमति भएको जनाइएको छ । दक्षिण कोरियामा रहेका नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई नेपालको आर्थिक तथा सामाजिक विकासमा लगाउने साझा उद्देश्यका साथ एकता प्रक्रिया अघि बढाइएको एनआरएनए दक्षिण कोरियाले जनाएको छ । सहमति अनुसार दुवै पक्षले एक–अर्काको नेतृत्व र अस्तित्वलाई स्वीकार गर्दै संस्थालाई एकढिक्का बनाएर लैजाने छन् भने सांगठनिक एकताका कामहरू अगाडि बढाउन दुवै पक्षबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवसहित ४–४ जना गरी कुल ८ सदस्यीय स्टेरिङ कमिटी गठन गरिनेछ ।

त्यसैगरी स्टेरिङ कमिटीको बैठकको अध्यक्षता दुवै पक्षका अध्यक्षले आलोपालो गर्ने सहमति पनि भएको छ । एकताको बाँकी प्रक्रिया र अन्य प्राविधिक कार्यविधिका लागि स्टेरिङ कमिटीले एनआरएनए केन्द्रिय सहजिकरण समितिसँग समन्वय गरी कार्यविधि तयार पार्ने सहमति भएको छ ।

एकता सहमति पत्र हस्ताक्षर कार्यक्रममा एनआरएनए आइसीसी अध्यक्ष महेश कुमार श्रेष्ठ, क्षेत्रीय उपाध्यक्ष जुनु गुरुङ, एनसीसी सहजीकरण एवं समन्वय समितिका सदस्य प्रकाश धमला र एनसीसी कोरियाका संरक्षक भीम गुरुङको उपस्थिति रहेको थियो । एकतासँगै दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीहरूमा देखिएको अन्योल चिर्दै संस्थालाई परोपकारी र सिर्जनशील बनाउने बाटो खुलेको विश्वास लिइएको छ । केन्द्रमा रहेका दुई समानान्तर समितिहरुका बीचमा एकता भएपछि मार्च १३–१५ मा केन्द्रीय महाधिवेशन आयोजना गरिएको छ भने त्यसअघि एनसीसीहरुको एकता प्रक्रिया पूरा गर्ने लक्ष्य लिइएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

भक्तपुर २ मा कांग्रेसको विरासत जोगाउन कबिर राणा मैदानमा

भक्तपुर । आगामी फागुन २१ गते हुने ‘जेन्जी आन्दोलन’ पछिको अर्ली इलेक्सनका लागि नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नम्बर २ मा वरिष्ठ पत्रकार एवं राजनीतिज्ञ कबिर राणालाई उम्मेदवार बनाएको छ। झण्डै पाँच दशकदेखि राजनीति र चार दशकदेखि लोकतन्त्रका लागि ‘मिसन पत्रकारिता’ मा सक्रिय राणाले आफ्नो उम्मेदवारीलाई पार्टीप्रतिको निष्ठा र त्यागको सम्मानका रूपमा लिएका छन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राणाले नेपाली कांग्रेसको परम्परागत आदर्श (लोकतन्त्र, समाजवाद र राष्ट्रियता) सँगै अब बदलिएको परिस्थिति अनुसारका एजेन्डाहरूलाई अगाडि बढाउने बताएका छन्। उनले भदौ २३ र २४ गतेको ‘जैन्दव आन्दोलन’ पछि राजनीतिमा नयाँ आयाम थपिएको उल्लेख गर्दै भने, “अबको राजनीति सत्ता लुलुपताका लागि होइन, विकास र सुशासनका लागि हुनुपर्छ। भ्रष्टाचारमुक्त समाज र युवा पलायन रोक्ने ठोस योजना मेरो प्राथमिकता हो।”

राणाले पुरानो सैद्धान्तिक शिक्षाको सट्टा अब रोजगारी सिर्जना गर्ने प्राविधिक र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताएका छन्।

भक्तपुर क्षेत्र नम्बर २ लाई नेपाली कांग्रेसको ऐतिहासिक गढ मान्दै राणाले आफूलाई यस क्षेत्रको सबैभन्दा बलियो उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन्। “२०४८ सालदेखिको इतिहास हेर्ने हो भने हामीले यहाँ बहुमत पटक जितेका छौं। पार्टीभित्रको केही आन्तरिक असमझदारीले कहिलेकाहीँ नतिजा उल्टिए पनि अहिले कांग्रेस एक ढिक्का छ,” उनले प्रष्ट पारे ।

पार्टीको विशेष महाधिवेशनले नीति, नेतृत्व र विधानमा ल्याएको परिवर्तनले देशभरका कार्यकर्तामा नयाँ उत्साह थपेको र यसले चुनावमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ।

आफ्नो चुनावी प्रतिबद्धताका बारेमा बोल्दै राणाले भक्तपुरमा अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गरे। उनले आफ्ना मुख्य योजनाहरू यसरी प्रस्तुत गरेका छन् ।

काकाकुलको अवस्थामा रहेका क्षेत्रहरूमा खानेपानी पुर्याउने। मेलम्चीको विकल्पमा आशापुरी खानेपानी आयोजनाको डिपिआर सम्पन्न गरी आफ्नै कार्यकालमा निर्माण पूरा गर्ने।

पहिरो नियन्त्रण र सडक सञ्जालको स्तरोन्नति। परम्परागत स्वास्थ्य चौकीको सट्टा अत्याधुनिक उपकरणसहितका अस्पताल निर्माण गर्ने र शिक्षालाई प्रविधिमैत्री बनाउने।

बिपी कोइरालाले अघि सारेका शिक्षा, स्वास्थ्य र आवासको अवधारणालाई भक्तपुर २ का प्रत्येक घरधुरीसम्म पुर्‍याउने ।

अन्तमा, उम्मेदवार राणाले भक्तपुरका मतदातालाई फागुन २१ गते रुख चिह्नमा मतदान गरी आफूलाई विजयी गराउन अपिल गरेका छन् । उनले जनताको मतलाई खेलबाड नगर्ने र आफ्ना प्रतिबद्धताहरू अक्षरस: पालना गर्ने प्रण समेत गरेका छन् ।

झापामा उत्साहजनक मनोनयनः ५ निर्वाचन क्षेत्रमा ९० उम्मेदवार मैदानमा

झापा। आगामी निर्वाचनका लागि झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले आज उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी डिल्लीराम प्रसाईका अनुसार पाँचवटा निर्वाचन क्षेत्रमा कूल ९० जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचनमा २१ वटा राजनीतिक दलका ७३ जना र १६ जना स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन् । क्षेत्र नं १ बाट क्षेत्रमा दुई जना स्वतन्त्रसहित १५ जनाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं २ मा तीन जना स्वतन्त्रसहित १८ जनाको उम्मेदवारी परेको छ ।

क्षेत्र नम्बर ३ मा दुई जना स्वतन्त्रसहित १७ जना, क्षेत्र नं ४ मा एक जना स्वतन्त्रसहित १६ जना र क्षेत्र नं ५ मा नौ जना स्वतन्त्रसहित २४ जनाको उम्मेदवारी परेको छ उहाँले जानकारी दिनुभयो ।

ठूला दलका शीर्ष नेतादेखि स्वतन्त्र उम्मेदवारसम्मको सक्रियताले झापाको चुनावी माहोल निकै रोचक बन्ने देखिएको छ ।

एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार, १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता

काठमाडौँ। नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ।

आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीे प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत उम्मेदवारले नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा आ–आफ्नो उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यसपटकको निर्वाचनमा एमालेले अगाडि सारेको उम्मेदवारमध्ये ५४ दशमलव ५४ प्रतिशत नयाँ छन् । तीमध्ये मधेस र सुदूरपश्चिम प्रदेशमा ५०÷५० प्रतिशत र कोशीमा ५३ दशमलव ५७ प्रतिशत उम्मेद्वार नयाँ छन् ।

यस्तै, सबैभन्दा धेरै नयाँ उम्मेदवार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२ दशमलव ३० प्रतिशत रहेका प्रचार विभाग प्रमुख शाहीले बताउनुभयो ।

यस्तै, बागमती ६० दशमलव ६० र गण्डकीमा ६१ दशमलव ११ प्रतिशत रहेको नयाँ उम्मेदवार रहेका छन् ।

सुडानमा मानवीय सङ्कट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

नैरोबी। सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय सङ्कट आउन सक्ने मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले चेतावनी दिनु भएको छ । उहाँले मानव अधिकारको “विश्वास निर्माण गर्न र युद्धको अन्त्य गर्न, दिगो शान्ति निर्माणको सुरु गर्न” केन्द्रीत हुनुपर्नेमा जोड दिनु भएको छ ।

सुडानको पाँच दिने भ्रमणपछि केन्याको राजधानीमा पत्रकारसँगको साक्षातकारमा तुर्काले महत्त्वपूर्ण नागरिक पूर्वाधारमा आक्रमण भई गम्भीर क्षति भएको बताउनु भएको उल्लेख गर्दै उस्तो चेतावनी दिनु भएको छ । राष्ट्रव्यापी रूपमा बिजुलीको ७०% आपूर्ति गर्ने हाइड्रोइलेक्ट्रिक पावर स्टेशन र एउटा प्रमुख मेरोवे बाँधमा द्रुत समर्थन बल (आरएसएफ)द्वारा प्रक्षेपण गरिएको ड्रोनले प्रहार गरेर क्षतिग्रस्त बनाएको जनाएको छ ।

निरन्तरका आक्रमणले अस्पतालमा आवश्यक बिजुली प्रवाहमा बाधा पुर्‍याएको छ भने बालीका लागि सिँचाइमा बाधा पुर्‍याएको छ । नागरिकलाई सफा पानीको पहुँचमा वञ्चित गरी रोग फैलाउन सजिलो बनाएको जनाइएको छ । यस्ता महत्त्वपूर्ण नागरिक पूर्वाधारमा भएका आक्रमण गम्भीर उल्लङ्घन भएको भन्दै उहाँले जसलाई युद्ध अपराध मान्न सकिने बताउनु भएको छ ।

सन् २०२३ अप्रिल-१५ मा सुडानी सेना र र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बिच लडाइँ सुरु भए पछिको द्वन्द्वले हजारौँ नागरिकको ज्यान लिएको छ भने लाखौँलाई हिंसाका कारण आफ्नो घर छोड्न बाध्य पारेको जनाइएको छ ।

कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचीसहित)

काठमाडौँ – नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज मुलुकभर १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज माघ ६ गते कांग्रेसका उम्मेदवारले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसको पदाधिकारी सम्मिलित संसदीय बोर्डले आजैमात्र सबै निर्वाचन क्षेत्रका लागि पार्टीको आधिकारिक उम्मेदवारको टुङ्गो लगाएको थियो । कांग्रेसले सुदूरपश्चिमका १६, कर्णालीका १२, लुम्बिनीका २६, गण्डकीका १८, बागमतीका ३३, मधेसका ३२ र कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको हो ।

कांग्रेस पदाधिकारीमध्ये सभापति गगनकुमार थापाले सर्लाही–४, महामन्त्री प्रदीप पौडेल काठमाडौँ–४, गुरुराज घिमिरे मोरङ–४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले भने यो निर्वाचनमा उम्मेदवारी दिनुभएको छैन । अन्य सबै उम्मेदवारको नाम यसप्रकार रहेको छ :

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार (प्रत्यक्षतर्फ)

कोशी प्रदेश

ताप्लेजुङ – गजेन्द्रप्रसाद तुम्याङ लिम्बू
पाँचथर – नरेन्द्रकुमार केरूङ
इलाम– १ निस्कल राई
इलाम– २ भेषराज आचार्य
झापा– १ केशवराज पाण्डे
झापा– २ सरिता प्रसाईं
झापा– ३ राजेन्द्र घिमिरे
झापा– ४ देउमान थेबे
झापा– ५ मन्धरा चिमरिया
मोरङ– १ खड्गबहादुर फागो
मोरङ– २ डा. मीनेन्द्र रिजाल
मोरङ– ३ डा. सुनिल शर्मा
मोरङ– ४ गुरूराज घिमिरे
मोरङ– ५ फूलकुमार लालबानी
मोरङ– ६ डा. शेखर कोइराला
सुनसरी– १ सुजेन्द्र तामाङ
सुनसरी– २ राजिब कोइराला
सुनसरी– ३ विजयकुमार गच्छदार
सुनसरी– ३ ज्ञानेन्द्रबहादुर कार्की
धनकुटा– दिनेश राई
तेह्रथुम– सन्तोष सुब्बा
संखुवासभा– प्रकाशसिंह कार्की
ओखलढुंगा– कुमार लुइँटेल
खोटाङ – वीरकाजी राई
उदयपुर– १ विदुर बस्नेत
उदयपुर– २ रामकुमार राई

मधेश प्रदेश

सप्तरी– १ रामदेव साह
सप्तरी– २ रामकुमार यादव
सप्तरी– ३ दिनेशकुमार यादव
सप्तरी– ४ तेजुलाल चौधरी
सिराह– १ रामसुन्दर चौधरी
सिराह– २ रामचन्द्र यादव
सिराह– ३ सुभाषचन्द्र यादव
सिराह– ४ चन्द्रकलाकुमारी यादव
धनुषा– १ रामपल्टन यादव
धनुषा– २ दिनेश पर्सेला
धनुषा– ३ विमलेन्द्र निधि
धनुषा– ४ महेन्द्र यादव
महोत्तरी– १ मुकेशराज काफ्ले
महोत्तरी– २ किरण यादव
महोत्तरी– ३ बजरंग नेपाली
महोत्तरी– ४ महेन्द्रकुमार राय
सर्लाही– १ शम्भुलाल श्रेष्ठ
सर्लाही– २ डा. सरोज यादव
सर्लाही– ३ विनोद खनाल
सर्लाही– ४ गगनकुमार थापा
रौतहट– १ अनिलकुमार झा
रौतहट– २ फिर्दोश आलम
रौतहट– ३ रामकृपाल यादव
रौतहट– ४ देवप्रसाद तिमिल्सिना
बारा– १ शम्भु बुढाथोकी
बारा– २ भैयाराम चौधरी
बारा– ३ फरमुल्लाह मन्सुर
बारा–४ श्यामबाबु गुप्ता
पर्सा– १ अनिलकुमार रूंगटा
पर्सा– २ अजय चौरसिया
पर्सा– ३ सुरेन्द्रप्रसाद चौधरी
पर्सा– ४ श्यामबाबु गुप्ता

बागमती प्रदेश

दोलखा– अजयबाबु शिवाकोटी
रामेछाप– रामचन्द्र खड्का
सिन्धुली– १ उज्जवल बराल
सिन्धुली– २ सुशीला थिङ
रसुवा– मोहन आचार्य
काभ्रे– १ गुणराज मोक्तान
काभ्रे– २ मधु आचार्य
सिन्धुपाल्चोक– १ जंगबहादुर लामा
सिन्धुपाल्चोक– २ वंशलाल तामाङ
धादिङ– १ कृष्ण रिजाल
धादिङ– २ रमेशप्रसाद धमला
नुवाकोट– १ डा. प्रकाशशरण महत
नुवाकोट–२ जगदिश्वरनरसिंह केसी
मकवानपुर– १ महालक्ष्मी ( डिना )उपाध्याय
मकवानपुर–२ वुद्ध लामा
भक्तपुर– १ किरण न्यौपाने
भक्तपुर– २ कबिर राणा
काठमाडौं– १ प्रबल थापा
काठमाडौं– २ कबिर शर्मा
काठमाडौं– ३ रमेश अर्याल
काठमाडौं– ४ सचिन तिमल्सिना
काठमाडौं– ५ प्रदीप पौडेल
काठमाडौं– ६ कृष्ण सबुज बानियाँ
काठमाडौं– ७ प्रमोद हरि गुरागाइ
काठमाडौं– ८ सपना राजभण्डारी
काठमाडौं– ९ नानु बस्तोला
काठमाडौं– १० हिमाल कार्की
चितवन– १ राजन वुर्लाकोटी/ वासु ढुंगाना
चितवन– २ मीनाकुमारी खरेल
चितवन– ३ टेकप्रसाद गुरूङ
ललितपुर– १ उदयशम्शेर राणा
ललितपुर– २ प्रेमकृष्ण महर्जन
ललितपुर– ३ जितेन्द्रकुमार श्रेष्ठ

गण्डकी प्रदेश

गोरखा–१ प्रेमप्रकाश खत्री
गोरखा–२ प्रकाशचन्द्र दवाडी
लमजुङ– गमप्रसाद गुरूङ
तनहुँ– १ गोविन्द भट्टराई
तनहुँ– २ शंकर भण्डारी
कास्की– १ तिलकबहादुर रानाभाट
कास्की–२ माधवप्रसाद बास्तोला
कास्की–३ मनोज गुरूङ
मनाङ– टेकबहादुर गुरूङ
मुस्ताङ– योगेन्द्र गौचन
पर्वत– अर्जुनप्रसाद जोशी
स्याङ्जा– १ भरतराज ढकाल
स्याङ्जा–२ भागवतप्रकाश मल्ल
म्याग्दी– कर्णबहादुर भण्डारी
बाग्लुङ– १ भीमबहादुर श्रीस
बाग्लुङ– २ टेकराज पौडेल
नवलपुर–१ बालकृष्ण घिमिरे/ गजेन्द्र आले
नवलपुर–२ ओमबहादुर घर्ती

लुम्बिनी प्रदेश

परासी– १ विनोदकुमार चौधरी
परासी–२ देवेन्द्रराज कँडेल
रुपन्देही– १ हिराबहादुर खत्री
रुपन्देही– २ चुन्नप्रसाद शर्मा
रुपन्देही– ३ सुशील गुरूङ
रुपन्देही– ४ आशुतोष मिश्र
रुपन्देही– ५ भरतकुमार शाह
पाल्पा– १ सन्दीप राना
पाल्पा–२ हिमालदत्त श्रेष्ठ
गुल्मी– १ चन्द्रकान्त भण्डारी
गुल्मी– २ भुवनप्रसाद श्रेष्ठ
अर्घाखाँची– विष्णुप्रसाद खनाल
प्यूठान– डा. गोविन्दराज पोखरेल
रोल्पा– डा. सुदनकुमार वली
रूकुम पूर्व– कुशुमदेवी थापामगर
कपिलवस्तु– १ अहतर कमाल
कपिलवस्तु– २ सुरेन्द्रराज आचार्य
कपिलवस्तु– ३ अभिषेकप्रताप शाह
दाङ– १ योगेन्द्र चौधरी
दाङ– २ किरणकिशोर घिमिरे
दाङ– ३ दिपक गिरी
बाँके– १ नारायणप्रसाद गौडेल
बाँके– २ सुधान्सु कोइराला
बाँके– ३ अमरसिंह पुन
बर्दिया– १ सञ्जयकुमार गौतम
बर्दिया–२ किशोरसिंह राठोर

कर्णाली प्रदेश

सुर्खेत– १ विष्णुबहादुर खड्का
सुर्खेत– २ नारायण कोइराला
दैलेख– १ बास्ना थापा
दैलेख–२ दिक्पालकुमार शाही
जाजरकोट– खड्कबहादुर बुढा
सल्यान– केशबहादुर विष्ट
डोल्पा– कर्णबहादुर बुढा
जुम्ला– दिपबहादुर शाही
रूकुम पश्चिम– राजु केसी
हुम्ला– जयपति रोकाया
मुगु– खड्ग शाही
कालिकोटा– हर्षबहादुर बम

सुदूरपश्चिम प्रदेश

बाजुरा– जनकराज गिरी
अछाम–१ भरतकुमार स्वार
अछाम–२ पुष्पबहादुर शाह
डोटी– भरतबहादुर खड्का
बैतडी– चतुरबहादुर चन्द
दार्चुला– धर्मानन्द जोशी
बझाङ– प्रकाश रसाइली ‘स्नेही’
डडेल्धुरा– नैनसिंह महर
कैलाली– १ जनकराज चौधरी
कैलाली– २ विजयबहादुर स्वार
कैलाली–३ भीम बडुवाल
कैलाली–४ गोरख बहादुर विष्ट
कैलाली– ५ नरनारायण शाह
कञ्चनपुर– १ गोपीप्रसाद उपाध्याय
कञ्चनपुर– २ एनपी साउद
कञ्चनपुर–३ हरिप्रसाद बोहरा

कैलालीका पाँच निर्वाचन क्षेत्रमा ७९ जनाको उम्मेदवारी

सुदूरपश्चिम। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली जिल्लाका पाँच निर्वाचन क्षेत्रमा ७९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आज यहाँ मनोनयन दर्ता गराउनेमा १३ स्वतन्त्र र ६६ जना विभिन्न राजनीतिक दलका उम्मेदवार छन् । उम्मेदवारहरूले आफ्ना समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारीको मनोनयनपत्र दर्ता गराउनुभएको हो ।

निर्वाचन क्षेत्र नं १ मा छ स्वतन्त्रसहित १९, क्षेत्र नं २ मा तीन स्वतन्त्रसहित १६, क्षेत्र नं ३ मा ११, क्षेत्र नं ४ मा एक स्वतन्त्रसहित १६ र क्षेत्र नं ५ मा तीन स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिनुभएको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।

सबै निर्वाचन क्षेत्रमा आज उम्मेदवारीको मनोनयन दर्ताको काम शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । कैलाली निर्वाचन क्षेत्र–४ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सुदूरपश्चिममा राष्ट्रिय रूपमा चर्चित नेताहरूमध्ये अछाम क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावल, कञ्चनपुर–२ मा नेपाली कांग्रेसका नेता नरायणप्रसाद (एनपी) साउद र बैतडीमा कांग्रेससका चतुरबहादुर चन्द, नेकपा (एमाले) बाट दामोदर भण्डारीले उम्मेदवारी दिनुभएको छ ।

एक निर्वाचन क्षेत्र रहेको बाजुरा जिल्लामा एक स्वतन्त्रसहित सात, बैतडीमा दुई स्वतन्त्रसहित १२ र बझाङमा सात र दार्चुलामा आठ जनाले उम्मेदवारी दिनुभएको सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

पार्टीबाट टिकट नपाएर असन्तुष्ट भएका कतिपय आकांक्षीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । भदौ २३ र २४ गतेको जेनजी घटनापछिको परिवर्तित अवस्थामा भइरहेको निर्वाचनमा मनोनयन दर्तासँगै यसअघिका चुनावको तुलनामा यसपटक भिन्न र रोचक प्रतिस्पर्धा हुने नेता कार्यकर्ताको भनाइ छ ।

टिकट वितरणमा देखिएको असन्तुष्टि र आन्तरिक किचलोका कारणले पनि यसपालिको चुनाव रोचक बन्ने देखिएको स्थानीय भोजराज पाण्डेयले बताउनुभयो ।

सुदूरपश्चिमका सबै नौ जिल्लामा प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्र छन् । पछिल्लो निर्वाचनमा नेपाली कांग्रेस आठ, नागरिक उन्मुक्ति पार्टी तीन, तत्कालीन नेकपा (एकीकृत समाजवादी) तीन, नेकपा (एमाले) दुई क्षेत्रमा विजयी भएको थियो ।

सात पूर्वस्वास्थ्यमन्त्री चुनावी दौडमा, कसले कहाँबाट उम्मेदवारी दर्ता गराए ?

काठमाडौँ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सात जना पूर्वस्वास्थ्यमन्त्रीले देशका विभिन्न स्थानमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आज पूर्वस्वास्थ्यमन्त्री गगन थापा, प्रदीप पौडेल, पदम गिरी, शेरबहादुर तामाङ, प्रदीप यादव, उपेन्द्र यादव र भानुभक्त ढकालले आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो ।

निर्वाचन आयोगको विवरणअनुसार कांग्रेस सभापति थापा सर्लाही क्षेत्र नं ४, कांग्रेसकै पौडेल काठमाडौँ क्षेत्र नं ५, एमालेका गिरी पर्वतबाट उम्मेदवार बन्नुभएको छ ।

यस्तै, सिन्धुपाल्चोक क्षेत्र नं २ बाट एमालेका तामाङ, पर्सा १ बाट एमालेकै प्रदिप यादव, सप्तरी क्षेत्र नं ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष यादव र तेह्रथुमबाट एमालेका ढकालले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ ।

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता, कसले कहाँ ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ ।

रास्वपाका तर्फबाट मनाङका अनिल गुरुङको उम्मेदवारी अहिलेसम्म दर्ता भएको छैन । पार्टीका नेता एवं रास्वपाका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र ८ मा उम्मेदवार विराजभक्त श्रेष्ठले मनाङबाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो ।

रास्वपाका मनाङका उम्मेदवारको बाटोमा अलमलका कारण दर्ता छुटेको हुनसक्ने उहाँले बताउनुभयो । पार्टीका सहमहामन्त्री एवं दाङ २ बाट उम्मेदवारी दिनुभएका विपिनकुमार आचार्यले कूल उम्मेदवार दर्तामध्ये रास्वपाका तर्फबाट करिब आठ प्रतिशत उम्मेदवार महिला रहेको जानकारी दिनुभयो ।

झापा निर्वाचन क्षेत्र १ मा निशा डाँगी, झापा २ मा इन्दिरा राना, मोरङ ५ आशा झा, मोरङ ६ मा रुबिना आचार्य, सुनसरी १ मा सरिन (गोमा) तामाङ, कास्की ३ मा बिना गुरुङ, जुम्ला १ मा बिनिता कठायत, हुम्ला १ मा टासी लामा, कैलाली १ मा कोमल ज्ञवाली, धादिङ १ मा आशिका तामाङ, काठमाडौँ १ मा रञ्जु दर्शना, ललितपुर ३ मा तोसिमा कार्की र चितवन ३ मा सोविता गौतमले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

त्यसैगरी सप्तरी १ पुष्पा चौधरी, महोत्तरी ४ बाट गौरीकुमारी यादव र सर्लाही १ बाट नितिमा कार्कीले मनोनयन दर्ता गराउनुभएको छ ।

पूर्व पर्यटनमन्त्री आलेद्वारा कैलाली ५ बाट उम्मेदवारी दर्ता

कैलाली : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उहाँले कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि पूर्वमन्त्री आलेले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कैलाली जिल्लाको समग्र विकास आफ्नो प्रमुख प्राथमिकता हुने बताउनुभयो ।

उहाँले विशेष गरी गेटामा रहेको धनगढी विमानस्थल, सेती प्रादेशिक अस्पताल लगायतका महत्वपूर्ण पूर्वाधार परियोजनाको विकास र स्तरोन्नतिमा आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्वमन्त्री आलेले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेको समयमा गेटा विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको स्मरण गराउँदै, मन्त्री पदबाट हटेपछि उक्त बजेट अन्यत्र रकमान्तर गरिँदा विमानस्थलको काम अघि बढ्न नसकेको बताउनुभयो ।
“म मन्त्री हुँदा गेटा विमानस्थलको स्तरोन्नतिका लागि बजेट छुट्याएको थिएँ, तर पछि त्यो बजेट अन्यत्रै लगियो । त्यसका कारण काम रोकियो,” उहाँले भन्नुभयो, “अब म निर्वाचित भएपछि उक्त विमानस्थलको काम पूर्ण गराउने प्रतिबद्धता गर्दछु ।”

यसैगरी उहाँले धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, स्वास्थ्य सेवाको पहुँच र गुणस्तर वृद्धि आफ्नो अर्को महत्वपूर्ण एजेन्डा रहेको उल्लेख गर्नुभयो । साथै खटिया, विपीनगर, दिपायल, बझाङ हुँदै उरै–ताक्लाकोटसम्मको सडक सञ्जाल निर्माण तथा सुधार कार्यलाई समेत प्राथमिकतामा राखेर सम्पन्न गराउने लक्ष्य लिएको जानकारी दिनुभयो ।
आफ्नो राजनीतिक अनुभवबारे बोल्दै पूर्वमन्त्री आलेले विगतमा डोटी जिल्लाबाट तीन पटक निर्वाचित भएर मन्त्रीको जिम्मेवारी सम्हालेको स्मरण गराउनुभयो ।

“मैले डोटीमा रहँदा थुप्रै विकासका काम अघि बढाएको छु । अहिले पार्टीको निर्णयअनुसार म कैलालीबाट निर्वाचनमा सहभागी हुँदैछु,” उहाँले भन्नुभयो, “कैलाली मात्र होइन, समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि म इमानदारीपूर्वक खटिने छु ।”

उम्मेदवार आलेले यस पटकको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ का मतदाताले आफूलाई अत्यधिक मत दिएर विजयी गराउने विश्वास व्यक्त गर्नुभयो । स्थानीय जनताको समर्थन, विकासप्रतिको प्रतिबद्धता र विगतको अनुभवले आफूलाई सफल बनाउने उहाँको भनाइ थियो ।

आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारी दर्ता गरेका आलेले चुनावी अभियानका क्रममा जनताको घरदैलोमा पुगेर आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गर्ने बताउँदै, विकास, सुशासन र समृद्ध सुदूरपश्चिम आफ्नो मुख्य लक्ष्य हुने दोहोर्‍याउनुभयो ।

एन्फा राष्ट्रिय लिग फुटबल : चित्लाङ एफसी र नेपाल पुलिस क्लब बराबरी खेले

काठमाडौँ – राजधानीमा जारी एन्फा राष्ट्रिय पुरुष लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा चित्लाङ एफसीले विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरी खेलेको छ ।

सातदाबोटोस्थित एन्फा मुख्यालय मैदानमा भएको खेलमा दुवै टोलीले एक एक गोलको बराबरी खेले । म्याथिउ बाबाटुण्डेको गोलमा चित्लाङले खेलको ४१औँ मिनेटमा पुलिसविरुद्ध सुरुआती अग्रता लिएको थियो ।

त्यसपछि खेलको ८८ औँ मिनेटमा चित्लाङका लछुमान रानामगरले आत्मघाती गोल गरेपछि खेल एक÷एक गोलको बराबरीमा सकियो ।यसैगरी आजै भएको अर्को खेलमा प्लानिङ ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई गोलरहित बराबरीमा रोक्न सफल भयो ।

जनभावनालाई प्राथमिकता दिएर काम गर्न कार्यवाहक महानगर प्रमुख डङ्गोलको निर्देशन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले असल अभ्यासलाई निरन्तरता दिन र जनभावनालाई प्राथमिकता दिएर काम गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

कार्यवाहक प्रमुखको जिम्मेवारी पाएपछि आज पहिलो पटक विभागीय प्रमुखसँगको बैठकमा उहाँले सुशासन, नागरिक अपेक्षा, असल तथा सफल अभ्यासको निरन्तरताका लागि सबैको एकैठाउँमा उभिनुपर्ने बताउनुभएको हो ।

कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो,“यसका लागि आन्तरिक तथा बाह्य सम्बन्ध समुधर बनाउँदै, पारदर्शिता, इमान्दारिता र जनभावनाप्रति उत्तरदायी भएर फराकिलो दृष्टिकोण राखेर काम गर्नुहोला । नागरिकले महसुस गरेका सुविधा र सहजतामा ध्यान दिनुहोला ।”

उहाँले समन्वय, सहकार्य र साझेदारीतालाई सुदृढ बनाउँदै पुँजीगत खर्च गर्ने क्षमता बढाउन लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यवाहक प्रमुख डङ्गोलले चालु आर्थिक वर्षका लागि योजनाअनुरुप काम सम्पन्न गर्न निरन्तर विभागीय तथा क्षेत्रगत उपलब्धिका विषयमा जानकारी लिने र नतिजा वृद्धि गर्ने एजेन्डामा छलफल गरिने जानकारी गराउनुभयो ।

आजको बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलगायत विभागीय प्रमुखहरूको उपस्थित रहेको थियो ।

जनयुद्धको आधार इलाकाको विकासमा केन्द्रित हुने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको विकासमा गति दिनु आफ्नो मुख्य लक्ष्य हुने बताउनुभएको छ ।रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ मा आज आफ्नो उम्मेदवारी दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै उहाँले जनअपेक्षा पूरा गर्न आफू दृढतापूर्वक लागिपर्ने विश्वास दिलाउनुभयो ।

सहिद परिवारको आर्शीवाद लिएर उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएका संयोजक दाहालले आफूले सरकारको नेतृत्वमा रहँदा सहिद परिवारका समस्या समाधानमा केन्द्रित भएको र आगामी दिनमा सहिदका भावनालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसअघि जनयुद्धको आधारइलाका रोल्पाबाट चुनाव लडेको स्मरण गर्दै संयोजक दाहालले अहिले पुनः आधारइलाकाको अर्को जिल्ला रुकुमपूर्वका जनतासँग साक्षात्कार गर्ने अवसर पाएकामा खुसी व्यक्त गर्नुभयो । “अबको समयमा रुकुम, रोल्पाकै जनतासँगको साक्षात्कारमा भ्रष्टाचार अन्त्य र सामाजिक न्यायसहित विकास निर्माणको काम गर्नेछु”, उहाँले भन्नुभयो ।

संयोजक दाहालले रुकुमपूर्वका सडक सञ्जालमा नजोडिएका गाउँलाई सडक सञ्जालमा जोड्ने प्रतिबद्धता जनाउनुभयो । “काँक्री–तकसेरा–हुकाम–मैकोट–शहरतारा हुँदै चीनको सीमाना छार्का जोड्ने सडकलाई कालोपत्रे गर्ने र सिस्ने गाउँपालिकाको १ र २ वडालाई सडक सञ्जालमा जोडिने छ”, रुकुमेली जनतासँग प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “विद्युत् उत्पादन, जडिबुटी प्रशोधन र भण्डारण, कृषिमा आधुनिकीकरण गर्नेजस्ता योजनालाई प्राथमिकतका साथ अगाडि सार्नेछु ।”

रुकुम पूर्वलाई कान्छो जिल्लाका रूपमा स्थापित गराउन आफ्नो प्रमुख भूमिका रहेको उल्लेख गर्दै संयोजक दाहालले यहाँको विकासको जिम्मेवारी आफूले नै लिनुपर्छ भन्ने स्पष्ट दृष्टिकोणसहित रुकुम पूर्वमा निर्वाचन लड्न आएको बताउनुभयो ।

सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वजिल्ला अध्यक्ष टोपबहादुर ओलीसहित एक दर्जन नेताहरू नेकपामा प्रवेश गर्नुभएको छ । यसअघि निर्वाचनमा प्रदेशसभा (२) मा स्वतन्त्र उम्मेदवारी दिनुभएका नरहरि खड्का, एमालेका जिल्ला उपसचिव केशकुमारी तुलाचन पनि नेकपामा समाहित हुनुभएको छ ।

नवप्रवेशी ओलीले रुकुम पूर्वको विकास र समृद्धिका लागि संयोजक दाहाललाई अत्याधिक मत दिएर विजयी गराउन आफूहरु आतुर रहेको बताउनुभयो ।

रौतहट क्षेत्र नं १ मा कांग्रेसका अनिल झाको उम्मेदवारी

रौतहट। पूर्वमन्त्री अनिल झाले नेपाली कांग्रेसको तर्फबाट रौतहट क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । झाले आज रौतहट क्षेत्र नंं १ को निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

झा विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । विसं २०७९ को निर्वाचनमा भने उहाँ धनुषाको क्षेत्र नंं ३ बाट उम्मेदवार बन्नुभयो ।

विभिन्न मधेसवादी पार्टी हुँदै केही महिनाअघि मात्रै नेपाल सद्भावना पार्टी ब्यूँताएका झा उक्त पार्टी कांग्रेसमा समाहित गरेर उम्मेदवार बन्नुभएको जनाइएको छ ।

उम्मेदवारी दर्तापछि उहाँले आममतदाताको भावना र मागअनुसार पुनः रौतहट क्षेत्र नं १ बाट उम्मेदवारी दिएको प्रतिक्रिया दिनुभएको छ ।