`

सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्

महोत्तरी । बर्दिबास–३ गौरीडाँडाकी सरिता विष्टका हातमा मोबाइल छुटेको छैन । छिनछिनमा उनी मोबाइलमा आँखा डुलाइ रहन्छिन् । एक साता बित्यो घरमा चुल्हो बलेको छैन । न घरमा कसैका आँखा ओभाएका छन् ।

अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत छोरा सौभाग्य बिष्ट भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका छन् । “बाबुले मामु ठिकै छु भनेर फोन गरी हाल्छ कि भन्ने लाग्छ, एक छिन यो मोबाइल छाडेकी छैन,” सरिता भन्छिन्, “अहिले सौभाग्यबाहेक कुनै कुरा सम्झन सक्दिनँ ।”

यही भदौ १० गते नै पनि बिहान छोरासँग कुरा भएको सम्झँदै सरिता भन्छिन्, “बाढीको खबर आउन थालेपछि सम्पर्क गर्न चाह्यौँ । त्यो दिन बिहान ९ः०० बजेपछि बाबुसँग सम्पर्क हुन सकेको छैन ।” सौभाग्यको खोजीमा बुबा ध्रुव बिष्ट र मावलीघरका आफन्त यति बेला रसुवा पुगेको सरिताले बताइन् ।

“एकचोटि त भन्दियोस्, मामु म फसेको थिएँ, अब निस्केँ,” उनी भन्छिन्, “सौभाग्यको यति वचन सुन्ने अभिलाषाले एक छिन मोबाइल छाडेकी छैन ।” सामान्य आर्थिक अवस्थाको बिष्ट परिवार मेकानिकल इञ्जिनियर रहेका छोरा सौभाग्यकै आर्जनको भरमा चलेको थियो ।

यसैगरी, बर्दिबास–९ पशुपतिनगरको गोमस्ता टोलका खिलबहादुर राना मगरको परिवारमा पनि अहिले घरको चुल्हो नबलेको एक साता नाघ्यो ।

अपर त्रिशुली–१ जलविद्युत् आयोजनामै कार्यरत छोरी जोया रानासँग भदौ १० बिहान ९ः०० बजेयता सम्पर्क हुन नसकेपछि यो परिवारमा सन्नाटा छाएको छ । “सन्तानका नाउँमा तीन वटी छोरी छन्, अलि लेखपढ भएकी हुँदा जोयाकै भरमा परिवार चलेको छ,” पिता खिलबहादुर राना भन्छन्, “जो माथि जिन्दगी सुम्पन्न खोज्थे, उही सम्पर्कविहीन भएकी छ । आफैँले हेलिकप्टर भाडामा लिएर कैयन फेरा रसुवा र नुवाकोटका त्रिशूली किनामा चक्कर लगाए पनि छोरीको अहिलेसम्म अत्तोपत्तो नपाएको खिलबहादुर बलिन्द्र आँसु काढ्दै बताउँछन् ।

यसैगरी, मटिहानी–७ का ४० वर्षीय गङ्गाराम मण्डलको घरमा आमा, पत्नी र चार छोराछोरी उहाँको एक वचनको पर्खाइमा छन् । “भदौ ९ गते ‘म गोसाइँकुण्ड जाँदैछु’ भनेर फोन गर्नुभएको थियो,” पत्नी गुञ्जा मण्डल भक्कानिँदै भन्छिन्, “त्यसपछि उहाँसँग सम्पर्क भएको छैन ।”

आमा र चार छोराछोरी निरन्तर उनलाई सम्झिरहेका बेला आफू आँसु झार्न पनि नसकेको गुञ्जाको बिलौना छ । काठमाडौँस्थित रिचा टुर्स कम्पनीमा भान्सेको काममा रहेका मण्डल यही भदौ ९ गते कम्पनीका पाहुनासँगै रसुवा गएका थिए । परिवारको एउटै सहारा गङ्गाराम सम्पर्कविहीन भएपछि निकै छटपटी बढेको छ ।

यस्तै, जलेश्वर–७ का हशन अन्सारी पनि भदौ १० गते बिहान ९ः०० बजेपछि सम्पर्कविहीन छन् । केही दिन पहिलेमात्र रसुवाको एक जलविद्युत् आयोजनामा मेकानिकको काम गर्ने अन्सारीले अन्तिमपटक यही भदौ ९ गते आमा मुलिमा खातुनलाइ फोन गरेका थिए

केही दिनभित्रै एक साताको बिदामा घर आउने बताउनुभएको पिता माजिद अन्सारी सम्झन्छन् । “दिनदिनै घरमा फोन गथ्र्यो, भदौ १० पछि पनि फोन आउने प्रतीक्षामा छौँ,” पिता माजिद भन्छन्, “यही भदौ १० यता घरमा चुल्हो बलेको छैन, आफन्त जो आउँछन् घरमा सबै आँखा टिलपिलाएका छन् ।” कसैले हशनबारे राम्रो समाचार सुनाउला कि पर्खाइ मात्रै बाँकी रहेको माजिद बताउँछन् ।

भोटेकोशी बाढीयता रसुवा र नुवाकोटमा सम्पर्कमा आएका १८ जनालाई जिल्ला प्रशासन कार्यालयले सुरक्षित तवरले पारिवारिक सम्पर्कमा पठाइसकेको छ । त्यसबाहेक सम्पर्कविहीन भएका १९ जनामध्ये छ जना पारिवारिक सम्पर्कमा आइसक्नु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । “अब महोत्तरीका १३ जना सम्पर्कविहीन हुनुहुन्छ, उहाँहरूको खोजी र सम्पर्कको प्रयास निरन्तर भइरहेको छ,” प्रजिअ यादवले भने, “विश्वास गरौँ, सबै सकुशल भेटिनुहोस् ।”

बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता

काठमाडौँ। रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार २०४ जनाको शव विभिन्न जिल्लामा फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा २०२ शव फेला परेको छ ।

फेला परेकामध्ये ९५ शव सनाखत भई परिवारजनले बुझेका छन् । यही भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीका कारण चार हजार २१६ जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ ।

बाढीमा परी ३०१ जना घाइते भएका छन् । हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाढीका कारण घरबारविहीन भएका तीन हजार ४५३ नागरिक नुवाकोट, धादिङ, रसुवा र काठमाडौँका ‘होल्डिङ सेन्टर’मा रहेको प्राधिकरणले जनाएको छ ।

शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा ऐन तर्जुमासहित शिक्षक महासङ्घले उठाउँदै आएका विभिन्न सवालबारे नेपाल शिक्षक महासङ्घका अध्यक्ष र प्रतिनिधिसँग छलफल गर्नुभएको छ ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आज भएको छलफलमा शिक्षा ऐनलाई शीघ्र टुङ्गोमा पु¥याउने तथा महासङ्घले विगतमा उठाउँदै आएका विषयलाई दुईपक्षीय संवादमार्फत समाधान गर्ने विषयमा कुराकानी भएको थियो ।

त्यसैगरी, हालैको रसुवाको भोटेकोशी नदीमा गएको बाढीको विपद् र प्रभावित विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन गर्नुपर्ने उपायकाबारेमा पनि छलफल भएको थियो ।

छलफलमा शिक्षामन्त्री पोखरेलसहित मन्त्रालयका उच्च अधिकारी, नेपाल शिक्षक महासङ्घका अध्यक्ष र प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

सो अवसरमा मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै छुटेका विषय तथा प्राप्त रायसुझावलाई ऐनमा समेट्ने बताउनुभयो । उहाँले नयाँ शिक्षा ऐनले गुणस्तरीय शिक्षाको सुनिश्चिततासँगै विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा हासिल गर्ने वातावरण निर्माणमा जोड दिने उल्लेख गर्नुभयो ।

विद्यालय शिक्षा तथा उच्च शिक्षा सुधारका लागि सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले विद्यार्थीलाई स्वदेशमै रोक्न गुणस्तरीय शिक्षा र अवसरको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले विपद्का समयमा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न विद्यालयमा समयसमयमा विपद् व्यवस्थापनसम्बन्धी अभ्यास गराउनुपर्ने बताउनुभयो ।

शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले विद्यालय शिक्षा सुधारका लागि शिक्षा ऐनलाई थप समृद्ध बनाएर अघि बढाउनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रका समस्या समाधानका लागि मन्त्रालय र महासङ्घबीचको सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले शिक्षक महासङ्घले उठाएका विषयलाई प्रक्रियागत रूपमा संवाद र सहमतिका माध्यमबाट अघि बढाउनुपर्ने बताउनुभयो ।

महासङ्घका अध्यक्ष सुवेदीले आफूहरूले उठाएका सवाल संवादमार्फत समाधान गर्न सकिने धारणा राख्नुभयो । शिक्षा ऐन शीघ्र जारी भए शिक्षक महासङ्घ सबैभन्दा खुसी हुने बताउँदै उहाँले मन्त्रालयसँगको संवाद र सहकार्यबाट शिक्षा क्षेत्रका समस्याको समाधान खोज्न सकिने उल्लेख गर्नुभयो ।

छलफलमा सहभागी अन्य शिक्षक सङ्गठनका पदाधिकारीले पनि मन्त्रालयसँगको संवाद र सहमतिका आधारमा शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए ।

भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौँ । यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी बेपत्ता भएका व्यक्ति जीवित भेटिने आशा टरेपछि उनीहरूका आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् । बेपत्ता भएका व्यक्तिका परिवारजनले हिन्दू परम्पराअनुसार कुशको शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गरेका हुन्।

बाढी गएको लामो समय बितिसक्दा पनि आफन्तको अवस्था पत्ता लाग्न नसकेपछि परिवारजनले अन्तिम संस्कारका लागि कुशबाट शवको प्रतीक बनाएका हुन् । आज पशुपतिस्थित आर्यघाटमा दर्जनौँ कुशका शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गरिएको हाे।

आर्यघाटमा एकैपटक दर्जनौँ सङ्ख्यामा बेपत्ताका परिवारजन भेला भएपछि दिनभरजसो बाक्लो भीड लागेको थियो । बाढीमा आफन्त गुमाएका परिवारजनका लागि पछिल्ला दिनहरू पीडादायी भएका छन् । पशुपतिस्थित शव दर्ता कार्यालयका कर्मचारी अनिश सङ्गतका अनुसार आज मात्रै आर्यघाटमा कम्तीमा एक सयभन्दा बढी कुशबाट बनाइएका शवका प्रतीकको सामूहिक अन्त्येष्टि गरिएको छ।

“कुशका शवको हामीले छुट्टै रेकर्ड राख्ने गरेका छैनौँ, तर आज कम्तीमा पनि एक सयभन्दा बढी प्रतीकको शव जलाइएको थियो”, उहाँले भन्नुभयो । बाढीमा परी आफन्त बेपत्ता भएको लामो समय बितिसक्दा पनि खोजीका क्रममा कुनै जानकारी प्राप्त नभएपछि परिवारजनले अन्तिम संस्कार गर्न बाध्य भएको बताएका छन्। आफन्त फर्केर आउने आशामा दिनरात पर्खिरहेका परिवारले अन्ततः धार्मिक संस्कार पूरा गरेर मनलाई केही शान्त पार्ने प्रयास गरेका हुन्।

नुवाकोटका बबिन रिजालका अनुसार भोटेकोशी बाढीमा उनका आमा र बुवा नाथ रिजाल र विनिता रिजाल बेपत्ता छन्। बाढीमा बगेको लामो समय बितिसक्दा पनि बुवा, आमाको अवस्था पत्ता लाग्न नसकेपछि आज पशुपति आर्यघाटमा कुशबाट शवको प्रतीक बनाएर अन्त्येष्टि गरिएको उनले बताए।

“बाढीमा परी मेरा आमा र बुवा बेपत्ता हुनुभएको छ । अब जीवितै भेटिने आशा मरिसकेकाले आज कुशका शव बनाएर पशुपतिमा अन्त्येष्टि गरेका छौँ”, उनले भने। बेपत्ताको शव फेला नपरेपछि परिवारजनले धार्मिक संस्कारअनुसार अन्तिम कर्म गर्नुलाई पीडाका बीचमा आफन्तप्रतिको अन्तिम श्रद्धाञ्जलीका रूपमा लिएका छन्। आर्यघाटमा कुशबाट तयार पारिएका प्रतीकात्मक शव जलाउँदा आफन्तजन भावविह्वल बनेका थिए ।

भोटेकोशी नदीमा यही भदौ १० गते गएको अचानकको ठूलो बाढीका कारण रसुवा, नुवाकोटलगायत आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । बाढीपछि ठूलो सङ्यामा मानिस बेपत्ता भएका छन् भने विभिन्न स्थानमा खोजी तथा उद्धार कार्य जारी रहेको छ।

बेपत्ताको खोजी भइरहे पनि लामो समयसम्म कुनै सम्पर्क वा अवस्था पत्ता नलागेपछि केही परिवारले आफन्तको जीवित उद्धार हुने आशा त्याग्न थालेका छन् । त्यसपछि उनीहरूले हिन्दू परम्पराअनुसार कुशबाट प्रतीकात्मक शव बनाएर अन्तिम संस्कारमा सामेल हुन थालेका हुन्।

आर्यघाटमा आज भएको सामूहिक अन्त्येष्टिले भोटेकोशी बाढीले निम्त्याएको मानवीय पीडाको गहिराइसमेत झल्काएको छ। आफ्ना आफन्तको वास्तविक शवसमेत देख्न नपाएका परिवारजनले प्रतीकात्मक शवलाई अन्तिम श्रद्धाञ्जली दिँदै धार्मिक संस्कार पूरा गरेका छन्।

बेपत्ता आफन्तको सम्झनामा गरिएको यस अन्तिम संस्कारका क्रममा आर्यघाटमा उपस्थित परिवारजन र आफन्तहरू भावुक देखिन्थे । कसैले कुशबाट तयार गरिएको प्रतीकात्मक शव बोकेर घाटसम्म ल्याएका थिए भने कसैले धार्मिक विधिअनुसार कर्मकाण्ड पूरा गरेका थिए।

बाढीले आफन्त गुमाएका परिवारका लागि शव नपाउनुको पीडा अझ गहिरो छ । मृत्यु पुष्टि गर्न शवसमेत प्राप्त नभएका अवस्थामा लामो समयसम्म अनिश्चिततामा बस्नुपरेका परिवारजनले आज प्रतीकात्मक अन्त्येष्टिमार्फत आफन्तप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन्। यसरी कुशबाट शवको प्रतीक बनाएर गरिएको सामूहिक अन्त्येष्टि भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकका परिवारले भोगिरहेको पीडा, अनिश्चितता र भावनात्मक सङ्घर्षको मार्मिक चित्र देखिएको छ।

न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत

काठमाडाैँ । न्युजिल्यान्डको केन्द्रीय बैंकले बुधबार आफ्नो आधिकारिक नगद दर २५ आधार अंकले बढाएर २.७५ प्रतिशत पुर्‍याएको छ। जुन त्रैमासिकमा वार्षिक मुद्रास्फीति बढेर ४.१ प्रतिशत पुगेपछि बैंकले यस्तो निर्णय गरेको हो। मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धनको मूल्य बढ्नु मुद्रास्फीति वृद्धिको प्रमुख कारण बनेको छ।

न्युजिल्यान्डको रिजर्भ बैंकको मौद्रिक नीति समितिले मुद्रास्फीतिलाई २ प्रतिशतको लक्ष्यको मध्यबिन्दुतर्फ फर्काउन तथा आर्थिक वृद्धि र रोजगारीलाई समर्थन गर्न मौद्रिक प्रोत्साहन क्रमशः हटाउनु उपयुक्त हुने जनाएको छ ।

समितिका अनुसार, जुन त्रैमासिकमा कमजोर आर्थिक वृद्धि भए पनि न्युजिल्यान्डको आर्थिक पुनरुत्थान सम्भवतः पुनः सुरु भएको छ । व्यापारिक साझेदार मुलुकहरूबाट आएको बलियो माग र उच्च निर्यात मूल्यले निर्यातमा निर्भर क्षेत्र तथा प्रदेशमा आम्दानी वृद्धि र लगानीलाई सहयोग गरिरहेका छन् ।

तर कमजोर आम्दानी वृद्धि, रोजगारीको असुरक्षा र घरको मूल्यमा आएको स्थिरताले घरपरिवारको खर्च तथा आवासीय लगानीमा दबाब कायम राखेको छ । यसको प्रभाव विशेषगरी देशको सबैभन्दा ठूलो सहर अकल्यान्ड र राजधानी वेलिङ्टनमा देखिएको समितिले जनाएको छ।

समितिले आगामी दिनमा आर्थिक पुनरुत्थान थप बलियो र व्यापक हुने अपेक्षा गरेको छ । निर्यात क्षेत्र लचिलो रहने तथा घरपरिवारको खर्च क्रमशः बढ्दै जाने उसको अनुमान छ।

आर्थिक पुनरुत्थानले गति लिएसँगै श्रम बजारको अवस्था पनि सुधार हुने र मुद्रास्फीति २ प्रतिशतको लक्ष्यको मध्यबिन्दुमा फर्किएपछि जनताको क्रयशक्ति बढ्ने समितिले जनाएको छ । साथै, आगामी मौद्रिक नीतिका निर्णयहरू मध्यम अवधिको मुद्रास्फीतिमा रहेका जोखिमहरूबीचको सन्तुलनबारे समितिको मूल्याङ्कनमा निर्भर रहने बताइएको छ।

न्युजिल्यान्डकी अर्थमन्त्री निकोल विलिसले एक वक्तव्यमा भने, “अघिल्ला केही आर्थिक सुधारका चरणभन्दा फरक, यसपटकको पुनरुत्थान घरको मूल्य बढ्नुको सट्टा निर्यात क्षेत्रबाट अघि बढिरहेको छ । यो भविष्यका लागि सकारात्मक सङ्केत हो।”

भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड

काठमाडौँ। भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट पर्यटन क्षेत्रमा गम्भीर असर परेपछि अन्तरराष्ट्रिय बजारमा नेपालको पर्यटनप्रतिको विश्वास पुनःस्थापित गर्न विशेष रणनीतिका साथ अभियान सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा सहभागी सांसद, सरकारी निकाय तथा पर्यटन व्यवसायीले पर्यटकको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकता दिँदै विपद्पछि अन्तरराष्ट्रिय समुदायमा नेपाल सुरक्षित र पर्यटकका लागि तयार रहेको विश्वसनीय सन्देश प्रवाह गर्नुपर्ने बताएका हुन् ।

समितिकी सभापति सुम्निमा उदासले ‘नेपाल सुरक्षित छ’ भनेर मात्र पुग्ने अवस्था नरहेको बताउँदै पर्यटक तथा अन्तरराष्ट्रिय समुदायमा विश्वास पैदा हुनेगरी सरकार र निजी पर्यटन क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले विपद्पछि नेपालको पर्यटनबारे सकारात्मक र विश्वसनीय सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले विपद्पछिको उद्धार तथा राहतप्रति सरकार संवेदनशील र जिम्मेवार रहेको बताउनुभयो । उहाँले हेलिकप्टर परिचालनलाई एकद्वार प्रणालीमा ल्याएर उद्धार कार्यलाई व्यवस्थित गरिएको जानकारी दिनुभयो ।

मन्त्री पौडेलले भोटेकोशी क्षेत्रबाहेक दैनिक पाँच वटा उडान सार्वजनिक सेवाका रूपमा निःशुल्क सञ्चालन भइरहेको बताउनुभयो । अन्तरराष्ट्रिय समुदायको विश्वास कायम गर्दै नेपालमा पर्यटक आगमन बढाउने रणनीतिमा सरकारले काम गरिरहेको उहाँको भनाइ थियो ।

मन्त्री पौडेलले भोटेकोशी विपद्लाई जलवायु परिवर्तनसँग जोडेर दीर्घकालीन रूपमा रसुवालाई ‘क्लाइमेट हेरिटेज’का रूपमा विकास गर्ने अवधारणा अघि सार्नुपर्ने बताउनुभयो ।

समिति सदस्य अनुष्का श्रेष्ठले सङ्कटका बेला इन्फोग्राफिक्स तथा डिजिटल माध्यमबाट तीव्र र प्रभावकारी सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले सम्बन्धित निकायमा नेतृत्व तथा पद रिक्त हुँदा निर्णय प्रक्रिया प्रभावित हुनसक्ने भएकाले आवश्यक पदपूर्ति तत्काल गर्नुपर्ने धारणा राख्नुभयो ।

समिति सदस्य जगदीश खरेलले प्रभावित क्षेत्रमा उद्धारको प्रतीक्षामा रहेका नागरिकसम्म राज्य तत्काल पुग्नुपर्ने बताउनुभयो । उहाँले रसुवामा हराइरहेका विदेशी पर्यटकका परिवार तथा आफन्तलाई भिसामा सहजीकरण र होटलमा छुट दिनुपर्ने तथा प्रधानमन्त्री राहत कोषबाट पर्यटन पुनःस्थापनाका लागि कम्तीमा १५ प्रतिशत रकम छुट्याउनुपर्ने प्रस्ताव राख्नुभयो ।

समिति सदस्य प्रेमकुमार हमालले जलवायु परिवर्तन र जलवायु न्यायलाई अब पर्यटन नीतिको केन्द्रमा राख्नुपर्ने बताउनुभयो । हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमलाई अन्तरराष्ट्रिय मञ्चमा उठाउँदै नेपालले क्षति तथा नोक्सानीको मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

समिति सदस्य सन्दीप रानाले तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिँदै विदेशी पर्यटकका परिवारलाई सूचना तथा समन्वयका लागि छुट्टै सहायता कक्ष स्थापना गर्नुपर्ने बताउनुभयो । हराइरहेका आफन्तबारे सूचना नपाउँदा परिवारमा बढेको त्रास कम गर्न एकीकृत सूचना प्रणाली आवश्यक रहेको उहाँको भनाइ थियो ।

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले पर्यटन पुनरुत्थानका लागि ‘कलिङ नेपाल’ अभियानलाई थप प्रभावकारी बनाउने तथा आवश्यक परे हवाई भाडा र होटलमा छुट वा निःशुल्क सुविधा उपलब्ध गराउने प्रस्ताव अघि बढाइएको जानकारी दिनुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले भारतीय नागरिकसहित करिब ९९५ विदेशी पर्यटक प्रभावित क्षेत्रमा हराइरहेको जानकारी दिनुभयो । उहाँले उद्धार तथा पुनःस्थापनासँगै नेपाल पर्यटकका लागि तयार रहेको स्पष्ट सन्देश अन्तरराष्ट्रिय सञ्चारमाध्यममार्फत प्रवाह गर्नुपर्ने बताउनुभयो ।

बैठकमा पर्यटन क्षेत्रका सरोकारवालाले खोज तथा उद्धार, पर्यटकको यथार्थ तथ्याङ्क व्यवस्थापन, प्रभावित पर्यटन श्रमिकको सामाजिक सुरक्षा तथा अन्तरराष्ट्रिय बजारमा नेपालको विश्वसनीयता पुनःस्थापित गर्ने अभियानलाई एकसाथ अघि बढाउनुपर्नेमा जोड दिएको थियो ।

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा

काठमाडौँ। नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट सञ्चालन गरी प्रभावित सबै स्थानमा पूर्ण रूपमा नेटवर्क पहुँच कायम गरेको छ ।

यही गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा नेपाल टेलिकमका टावरबाट प्रदान गरिएको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो । नेपाल टेलिकमका प्राविधिकहरू निरन्तर रूपमा वाढी प्रभावित क्षेत्र तथा विपद् प्रतिकार्य कक्षमार्फत सेवा पुनःसञ्चालन कार्यमा खटिएपश्चात् साइटहरू पुनःसञ्चालनमा आएको प्रवक्ता डा कमल लामिछानेले जानकारी दिनुभयो ।

सो कार्यका लागि बाढीले सडक तथा विद्युत् अवरुद्ध भएका स्थानमा सुरक्षा निकायको समन्वयमा हेलिकप्टरमार्फत प्राविधकसहित सामान, उपकरण, जेनेरेटर तथा इन्धन ढुवानी गराइ सेवा पुनःसञ्चालन गरिएको थियो । यही भदौ १७ गते नेपाल–चीन सिमाना नजिक रहेको कम्पनीको रसुवा बोर्डर मोबाइल साइट सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा सञ्चालित राहत र उद्धार कार्य सञ्चालन भएका सबै स्थानमा सञ्चार सेवाको पहुँच पुगेको थियो ।

बाढीका कारण नेपाल टेलिकमका रसुवा, नुवाकोट र धादिङ जिल्लाका १२० साइटमार्फत सञ्चालित सेवामध्ये ८३ साइटमार्फत सञ्चालित सेवा अवरुद्ध भएका थिए भने तीन वटा साइटहरू टिमुरे, चिलिमे खोला र त्रिशूली ३‘बी’ साइट पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।

नेपाल टेलिकमले यही भदौ १६ मा बाढीबाट प्रभावित धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थाप्रेक, पुसनटार, तारुका, किस्पाङ (भाल्चे) र बुधसिंह साइट सञ्चालन गरेसँगै नेपाल टेलिकमका सबै साइटहरू सञ्चालन भएका छन् तथा पूर्ण रूपमा क्षतिग्रस्त भएका साइटबाट उपलब्ध सेवा हाल अन्य साइटबाट उपलब्ध गराइएका छन् । मोबाइल सेवाको थप प्रभावकारिताका लागि उक्त क्षतिग्रस्त साइटलाई प्राथमिकतामा राखी पुनःनिर्माण गरी सञ्चालनमा ल्याइनेछ ।

भदौ १० गते बाढी आएको जानकारी प्राप्त भएलगत्तै नेपाल टेलिकमका प्राविधिक साइट सञ्चालनका लागि निरन्तर रूपमा खटिएका छन् । भदौ ११ गते रसुवा जिल्लाका न्यौपानेचौर तथा राम्चे रिपिटर साइटमा हेलिकप्टरबाट जेनेरेटर, इन्धन तथा ब्याट्रीलगायत उपकरण पठाइ सेवा सञ्चालन गरिएको थियो । रसुवा जिल्ला सदरमुकाम धुन्चेमा सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको थियो ।

यसैगरी, भदौ १२ गते रसुवाको गोलजुङ टावर (बाहुनडाँडा), नुवाकोटको गेर्खु, तुप्चे तथा टिमुरे माथिको डाँडामा अवस्थित टावरमा हेलिकप्टरबाट जेनेरेटर, पेट्रोल तथा प्राविधिक खटाई सेवा सञ्चालन गरिएको थियो । नुवाकोट जिल्लाअन्तर्गतको मदनपुर, बट्टार, विदुर बसपार्क तथा धादिङ जिल्लाअन्तर्गत बैरेनी ठमेल डाँडामा जेनेरेटर, इन्धनसहित कर्मचारी परिचालन गरी सेवा सञ्चालन गरिएको थियो ।

भदौ १३ गते रसुवाको त्रिशूली ३‘ए’ सँगै रहेको टावर, रसुवाकै उत्तरगया गाउँपालिकाको कालिकास्थानमा रहेको टावर तथा नुवाकोट जिल्लाको बुङ्ताङमा रहेको टावरसमेत सञ्चालनमा ल्याइएको थियो । यीबाहेक कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरसमेत सञ्चालन भएका थिए । यससँगै प्रभावित १२० साइटमध्ये ९३ साइट सञ्चालनमा आएका थिए ।

भदौ १४ गते थप सात स्थानमा सेवा सञ्चालन गरियो, जसमा रसुवा जिल्लाअन्तर्गत नेपाल–चीन सिमानामा रहेको रसुवा बोर्डर साइटलगायत अपर सेन्जेन, छापथोके, जिबजिबे माइक्रो र गत्लाङ साइटहरू रहेका थिए । त्यसैगरी, नुवाकोटको चारघरे तथा चारघरे मूलाबारी साइट रहेका थिए । रसुवा बोर्डर बिटिएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबँेसीदेखि भोटेकोशी करिडोरसम्म सेवा पुनःसञ्चालनमा आएका थिए । यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बिटिएस साइटहरू सञ्चालनमा ल्याइएका थिए ।

भदौ १५ गते रसुवाको जिबजिबे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइट सञ्चालन गरिएको थियो ।

प्रभावित क्षेत्रका मुख्य प्राथमिकता प्राप्त साइटहरू अनवरत रूपमा सञ्चालनमा ल्याउनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको थियो तथा हालसम्म पनि विद्युत् आपूर्ति नियमित नभएका साइटहरू जेनेरेटरमार्फत सञ्चालनमा रहेका छन् ।

कतिपय स्थानका साइटहरू विद्युत सेवा आपूर्तिको सहजतासँगै स्वतः सञ्चालनमा आएका छन् र फोरजी सेवाको प्रभावकारितासमेत वृद्धि हुँदै गएको छ ।

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौँ। भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका सुरुङमा फसेका मानिसको खोज तथा उद्धार प्रयास जारी छ ।

भारतीय सुरुङ उद्धार टोलीले नेपाली उद्धार टोलीसँग समन्वय गरी हाल लाङ्टाङ र चिलिमेमा काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सुरुङ खोल्ने दिशामा केही काम भएको तर सुरुङको भित्री भाग हिलो र ठूला ढुङ्गाले भरिएकाले अझै थप काम गर्नुपर्ने अवस्था रहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

“चिनियाँ सुरुङ उद्धार टोलीलाई अपर त्रिशूली ३ ‘ए’ मा परिचालन गरिएको छ र उहाँहरूले नेपाली उद्धार टोलीसँग मिलेर काम गरिरहनुभएको छ । उहाँहरूले सुरुङको केही भाग खोलिसक्नुभएको छ”, भोटेकोशी बाढीसम्बन्धी आज मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा उहाँले भन्नुभयो ।

कोरियाली सुरुङ उद्धार टोलीले पनि नेपाली टोलीसँग मिलेर अपर त्रिशूली १ को सुरुङ खोल्ने कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो । खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन गणतन्त्र कोरियाबाट थप सहयोग तथा ‘लजिस्टिक्स’ आउने अपेक्षा गरिएको मन्त्रालयको भनाइ छ ।

यसैगरी, सरकारले १९ सदस्यीय भारतीय फरेन्सिक टोलीले नेपाल प्रहरीसँगको सहकार्यमा डिएनए नमुना विश्लेषणको कार्य जारी राखेको छ । प्रवक्ता क्षेत्रीले भन्नुभयो, “चीनको पाँच सदस्यीय विशेष फरेन्सिक टोली हिजो आइपुगेको छ । त्यसयता नेपाल प्रहरीले गरिरहेको कार्यमा सहभागी भई डिएनए नमुनाको प्रशोधन तथा विश्लेषणलाई तीव्र बनाउन काम गरिरहेको छ ।”

यस प्रक्रियालाई तीव्र बनाउन सिङ्गापुरबाट छ सदस्यीय ‘डिजाष्टर भिक्टिम आइडेन्टिफिकेसन टिम’ पनि आइपुगेको भने थप १३ सदस्य डिएनए परीक्षण उपकरणसहित आज आइरहेको मन्त्रालयले जनाएको छ । उच्च क्षमताका ड्रोन तथा अन्य लजिस्टिक्ससहित थप सदस्यहरू भोलि त्यस टोलीमा सहभागी हुनेछन् ।

आवश्यक उपकरण तथा साधनसहितको थप कोरियाली फरेन्सिक टोली पनि हालै यस कार्यमा सहभागी भएको छ ।

त्यस्तै, सुरक्षा निकाय, सरकारी निकाय, चिकित्सा तथा आपतकालीन प्रतिक्रिया टोली र अन्य सम्बन्धित निकाय प्रभावित क्षेत्रमा एकसाथ काम गरिरहेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एकीकृत टोलीले प्रभावित क्षेत्र तथा आसपासमा खोज, उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत कार्यलाई निरन्तरता दिइरहेको छ ।

पछिल्लो जानकारीअनुसार एक हजार ११४ वटा शव फेला पारिएको छ, करिब तीन हजार ९०० जना अझै बेपत्ता छन् । हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । जसमा ३०० भन्दाबढी विदेशी नागरिक रहेका र तीमध्ये पाँच जना सम्पर्कमा रहेका तथा सुरक्षित अवस्थामा रहेका प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । यसैगरी ३४ देशका करिब ५९० जना विदेशी नागरिक अझै बेपत्ता छन् ।

दुई हजार ५०० जना तीर्थयात्री फर्किए

“विपद्को समयमा कैलाश पर्वततर्फ जाने तथा त्यहाँबाट फर्कने क्रममा रहेका अनुमानित तीन हजार जनामध्ये करिब दुई हजार ५०० जना अधिकांश तीर्थयात्री हिल्सा र तातोपानी हुँदै फर्किसकेका छन् । बाँकी मानिसलाई पनि फर्कन सहजीकरण गरिएको छ र केही जना ल्हासाबाट हवाईमार्ग हुँदै फर्किरहेका छन्”, उहाँले भन्नुभयो ।

मन्त्रालयले करिब एक हजार ५०० नेपाली नागरिक हाल केरुङमा रहेका जनाउँदै चाँडै फर्कन चाहनेका लागि चिनियाँ पक्षसँग समन्वय गरिरहेको उल्लेख गरेको छ ।

केरुङमा रहेका १७६ नेपाली ट्रक तथा कन्टेनरका सम्बन्धमा उपयुक्त सीमा नाकामार्फत उनीहरूको पुनःरुट निर्धारण गरी आवागमन सहज बनाउन चिनियाँ अधिकारीसँग समन्वय भइरहेको मन्त्रालयको भनाइ छ । त्यस दिन चिनियाँ सीमातर्फ करिब १०० नेपाली नागरिक बेपत्ता छन् ।

विपद्मा मानवीय सहयोगको निरन्तरता, केडिया अर्गनाइजेशनबाट राहत कोषमा १ करोड

रसुवाको भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि केडिया अर्गनाइजेशनले १ करोड रुपैयाँ सहयोग गरेको छ।

अर्गनाइजेशनका प्रबन्ध निर्देशक एवं संविधानसभा सदस्य विमल केडियाले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

केडिया परिवारले यसअघि पनि विभिन्न विपद्का बेला राहत तथा मानवीय सहयोग गर्दै आएको जनाइएको छ।

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगले मालपोत कार्यालय, भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत आचार्यसमेत पाँच जनाउपर गैरकानुनी लाभ वा हानि, गलत लिखत एवं सरकारी कागजात सच्च्याइ भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन मालपोत अधिकृत आचार्य, तत्कालीन नायब सुब्बाद्वय लक्ष्मणप्रसाद न्यौपाने, अजितकुमार साहनी (चाई), तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराजकान्त मिश्र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१)को बमोजिमको कसुरमा बिगो रु चार करोड ५३ लाख ४१ हजार ८०० रकम कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद तथा बिगोबमोजिम जरिवाना कायम गरी आरोपपत्र दायर गरिएको हो ।

बालेनको ‘प्रविधि छैन’ भनाइमा हर्कको व्यंग्य- ‘मान्छे मंगलग्रह पुगिसक्यो, हिलो निकाल्न सकेनौँ ?’

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले हिलोले पूर्णरूपमा थुनिएको टनेलबाट तत्काल उद्धार गर्न सक्ने प्रविधि विश्वमै नभएको बताएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कटाक्ष गरेका छन्।

साम्पाङले मानिस मंगलग्रहसम्म पुगिसकेको अवस्थामा हिलो निकाल्ने प्रविधि नभएको भन्नु आश्चर्यजनक भएको टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘हिलो निकाल्ने प्रविधि छैन भनेर भन्ने प्रधानमन्त्रीले मान्छे मंगलग्रह पुग्यो भनेर थाहा नपाएकै हो। टेक्नोलोजीको कुरा गर्नेहरूको एआई प्रधानमन्त्रीले यो खाले अभिव्यक्ति दिँदा बेल्चाको याद आयो नि नाइँ ?’

नेपाल प्रहरीले प्रधानमन्त्री राहत कोषमा ४० करोड जम्मा गर्ने

काठमाडौं । नेपाल प्रहरीले प्रधानमन्त्री राहत कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार बसेको नीति निर्माण समितिको बैठकले बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई तत्काल प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

बाढीमा २८ प्रहरी सम्पर्कविहीन भएकोमा हालसम्म तीन जनाको शव फेला परेको छ। बेपत्ता प्रहरीको खोजीका लागि विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय पनि गरिएको छ।दिवंगत प्रहरीका परिवारले लिएको विशेष सापटी मिनाहा गर्ने, परिवारका एक सदस्यलाई सीपमूलक तालिम तथा रोजगारीमा पहल गर्ने र सन्ततिलाई शैक्षिक शुल्क मिनाहासहित अध्ययनको व्यवस्था मिलाउने निर्णयसमेत भएको छ।

शंकर ग्रुपको विपद् प्रभावितलाई साथ, प्रधानमन्त्री राहत कोषमा ४ करोड सहयोग

काठमाडौं । विनाशकारी प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ। सोमबार ग्रुपकी निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

यसअघि ग्रुपले गृह मन्त्रालयको समन्वयमा विस्थापित नागरिकका लागि २५ लाख रुपैयाँ बराबरका २ हजार ५ सय थान टार्पोलिन टेन्टसमेत उपलब्ध गराएको जनाएको छ। ग्रुपले बाढीपीडितको उद्धार तथा राहतमा खटिएका सुरक्षा निकाय, स्वयंसेवक र सरकारी अधिकारीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

काठमाडौँ–हेटौँडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौँ, भदौ १७ –त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित भएपछि काठमाडौँ–हेटौँडा जोड्ने वैकल्पिक मार्गको नयाँ रुट तथा कार्यतालिका सार्वजनिक गरिएको छ ।वर्षाद्को समय र सडकको अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा वैकल्पिक रुट निर्धारण गरिएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौँबाट हेटौँडाका लागि छुट्ने साना सवारीका लागि फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदीको रुट कायम गरिएको छ ।

त्यस्तै, हेटौँडाबाट काठमाडौँ छुट्ने साना सवारी भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौँ प्रवेश गर्नेछन् ।
यसैगरी, ठूला तथा मालवाहक सवारी काठमाडौँबाट चापागाउँ–भट्टेडाँडा–ठिङ्गन हुँदै हेटौँडा पुग्नेछन् । उक्त रुट प्रयोग गर्ने सवारीले साँझ ६ः०० बजेभित्र ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।हेटौँडाबाट छुट्ने ठूला तथा मालवाहक सवारीका लागि भैँसे–पालुङ–टिस्टुङ–नौबिसे हुँदै काठमाडौँ आउने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

मकवानपुरको त्रिखण्डी नजिकको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका ट्याङ्कर तथा भारी मालवाहक सवारीलाई उक्त पुल प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।भारी मालवाहक सवारीका लागि बेलिब्रिजको छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिइएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

विनयी त्रिवेणी गाउँपालिकाले गर्‍यो प्रधानमन्त्री राहत कोषमा ३२ लाख सहयोग

नवलपुर (नवलपरासी), भदौ १७-रसुवा बाढीपीडितलाई विनयी त्रिवेणी गाउँपालिकाले रु ३२ लाख सहयोग प्रदान गर्ने भएको छ ।बाढीपीडितको राहत उद्धार तथा पुनःस्थापनाका उक्त रकम प्रदान गरिने भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो ।

राहतका लागि पालिकाले पालिकाका जनप्रतिनिधि, कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको तर्फबाट जम्मा गरी एकमुष्ट ३२ लाख ३० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिने भएको छ ।

राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा विधायन समितिमा छलफल

काठमाडौं । कानुनमन्त्री सोविता गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्ने भन्ने विषयमा मात्रै हालको विधेयकले निर्णय गर्न सक्ने बताएकी छन् ।

बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई कसको मातहत राख्ने छलफल गरेर टुङ्ग्याउनुपर्ने बताएकी हुन् ।

आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गरिएको थियो ।

छलफलमा उनले भनिन्, ‘आजको हाम्रो छलफल यो हाम्रो नेपाल विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयकको विषयवस्तु एकदमै छोटो गरी छ । विशेष गरी राष्ट्रिय अनुसन्धानलाई कता लैजाने, जम्माजम्मी एउटा मात्रै विषय आज हामीले छलफल गरेर टुङ्ग्याउनुपर्ने हो। गृह मन्त्रालय मातहत राख्ने हो कि अथवा प्रधानमन्त्री कार्यालय मातहत राख्ने हो भन्ने कुरामा मात्रै राय राख्न मिल्ने छ खास भन्ने हो भने।’

मन्त्री गौत्तमले विधेयक संशोधन गर्दा तोकिएको दफाको सीमाभित्र रहेर मात्रै छलफल र निर्णय गर्नुपर्ने बताइन् । उनका अनुसार हाल ल्याइएको विधेयकमा विगतमा प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको व्यवस्था पुनः जगाउन खोजिएको हो ।

उनले भनिन्, ‘किनभन्दा खेरी हामी सबैलाई थाहा छ, विधेयकहरू संशोधन हुँदै गर्दा विधेयकको संशोधनको सीमा हामीलाई थाहा छ, जो दफा खुलाएर लिएर आयौँ त्यसैमा मात्रै हामी केन्द्रित हुन्छौँ। अहिले फेरि यो जगाउने जुन दफा जगाइएको छ, त्यो दफा जागेको चाहिँ पहिला साविकको व्यवस्थामा प्रधानमन्त्री कार्यालय अन्तर्गत थियो।’

यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका बेला अध्यादेशमार्फत राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्ने व्यवस्था गरिएको उनले बताइन् ।

‘बिचमा जतिबेलामा जेन्जी सरकार भनौँ त, जेन्जी आन्दोलन पछि सुशीला कार्की चाहिँ तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले अध्यादेश लिएर आएर फेरि यसलाई गृह मन्त्रालय मातहत नै हुने गरेर उहाँले ल्याउनुभएको थियो,’ उनले भनिन् ।

तर उक्त अध्यादेशलाई प्रतिस्थापन नगरेपछि त्यसबाट कायम भएको व्यवस्था रिक्त अवस्थामा पुगेको मन्त्री गौत्तमको भनाइ छ ।

उनले भनिन्, ‘अनि पछि फेरि त्यसलाई अब प्रतिस्थापन गर्नुपर्ने, तर प्रतिस्थापन गरिएन हामीले। किनभने प्रधानमन्त्री मातहत पुरानो जे व्यवस्था थियो, त्यही नै हुँदा ठिक हुन्छ भन्ने हामीलाई लागेर हामीले प्रतिस्थापन गरिएन। प्रतिस्थापन नगरिसकेपछि त्यो जुन अध्यादेशले दफा चलायो, त्यो त रिक्त भयो, एक हिसाबले भ्याक्युममा गयो। अब त्यसलाई जगाउनुपर्ने परिस्थितिमा हामीले यो विधेयकलाई जगाउनको लागि लिएर आएका छौँ।’

बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि रू १३ करोड ५० लाख निकासा गरेको छ । सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी गएलगत्तै रसुवा र नुवाकोटका लागि रू एक÷एक करोड र धादिङका लागि रू ५० लाख दिने निर्णय सरकारले गरेको थियो । त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत यही भदौ १२ गते रु छ करोड ५० लाख र १६ गते रु छ करोड ५० लाख गरी रु १३ करोड ५० लाख निकासा गरेको हो ।

प्राधिकरणका अनुसार रसुवाको उत्तरगया गाउँपालिकाका लागि रु एक करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकाका लागि रु दुई करोड, कालिका गाउँपालिकाका लागि रू ६० लाख र आमा छोदिङ्मो गाउँपालिकाका लागि रू ४० लाख निकासा गरिसकेको छ ।

त्यसैगरी, नुवाकोटको विदुर नगरपालिकाका लागि रू तीन करोड, बेलकोटगढी नगरपालिकाका लागि रू एक करोड ५० लाख, किस्पाङ गाउँपालिकाका लागि रू ५० लाख र तारकेश्वर गाउँपालिकाका लागि रू एक करोड निकासा गरिएको छ ।

त्यस्तै, धादिङका गल्छी गाउँपालिकाका लागि रू ६० लाख, सिद्धलेक गाउँपालिकाका लागि रू ४० लाख, गजुरी गाउँपालिकाका लागि रू ४० लाख र बेनिघाट रोराङ गाउँपालिकाका लागि रू ४० लाख निकासा गरिएको प्राधिकरणले जनाएको छ ।

साथै गोरखाको गण्डकी गाउँपालिकाका लागि रू ४० लाख तथा तनहुँको देवघाट गाउँपालिकाका लागि रू ४० लाख र आँबुखैरनी गाउँपालिकाका लागि रू ४० लाख निकासा भइसकेको पनि प्राधिकरणले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म रू सात अर्ब ८८ लाख ५७ हजार २१७ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते रू एक करोड निकासा दिएपछि अब सो कोषमा रू छ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ । साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ ।

भोटेकोशी बाढी : रसुवामा १३३ शव सङ्कलन

रसुवा । भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएका १३३ जनाको शव रसुवाको विभिन्न क्षेत्रबाट सङ्कलन गरिएको छ ।

रसुवाका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट १०४, स्याफ्रुबेँसी र रोङ्गा क्षेत्रबाट १८ तथा बेत्रावती क्षेत्रबाट ११ जनाको शव सङ्कलन गरिएको हो । गन्हाउन थालेपछि ती सबै शव हेलिकप्टरमा नुवाकोटको विदुर लग्ने कार्य जारी रहेको उनले बताए ।

यसैबीच, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् गृहमा फसेका व्यक्तिको उद्धारमा कठिनाइ भएको छ । नेपाली सेनाको ६ नं बाहिनीका बाहिनीपति सहायक रथी प्रज्ज्वल राणाका अनुसार हिलो जमेका कारण सुरुङ खोल्ने अवस्था छैन ।

स्याफ्रुबेँसीस्थित २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा फसेकाहरुको उद्धार कार्य भने जारी रहेको नेपाली सेनाले जनाएको छ ।

अस्ट्रेलियाको आर्थिक वृद्धिदर बढ्यो, दोस्रो त्रैमासिकमा शून्य दशमलव ४ प्रतिशत

काठमाडाैँ। अस्ट्रेलियाको आर्थिक वृद्धिदर सन् २०२६ को दोस्रो त्रैमासिकमा शून्य दशमलव ४ प्रतिशत पुगेको छ। मंगलबार सार्वजनिक गरिएको सरकारी तथ्यांकअनुसार आर्थिक वृद्धिदर अघिल्लो त्रैमासिकको तुलनामा बढेको हो।

अस्ट्रेलियाको तथ्यांक विभागका अनुसार जुन महिनाको अन्त्यसम्मका तीन महिनामा देशको कुल गार्हस्थ्य उत्पादन शून्य दशमलव ४ प्रतिशतले बढेको हो । मार्चमा समाप्त भएको अघिल्लो त्रैमासिकमा आर्थिक वृद्धिदर शून्य दशमलव ३ प्रतिशत थियो।

वार्षिक आधारमा भने जुनसम्मको १२ महिनामा अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन २ दशमलव १ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।

अस्ट्रेलियाको केन्द्रीय बैंकले गत अगस्टमा सार्वजनिक गरेको पछिल्लो प्रक्षेपणमा वार्षिक आर्थिक वृद्धिदर १ दशमलव ९ प्रतिशत रहने अनुमान गरेको थियो । त्यस्तै, देशको सबैभन्दा ठूलो उपभोक्ता बैंकले सोमबार त्रैमासिक आर्थिक वृद्धिको अनुमान शून्य दशमलव १ प्रतिशत र वार्षिक वृद्धिको अनुमान १ दशमलव ६ प्रतिशतमा झारेको थियो।

कोषाध्यक्ष जिम चाल्मर्सले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा पछिल्लो तथ्यांकले अस्ट्रेलियाको अर्थतन्त्र अझै पनि लचिलो र मजबुत रहेको देखाएको बताए। तथ्यांक विभागका अनुसार दोस्रो त्रैमासिकको आर्थिक वृद्धि निजी क्षेत्रको मागमा देखिएको सुधार र त्यसलाई पूरा गर्न बढेको आयातका कारण भएको हो।

तथ्यांक विभागकी राष्ट्रिय लेखा प्रमुख ग्रेस किमले बढ्दो उपभोग र व्यवसायिक लगानी अर्थतन्त्रका केही क्षेत्रमा केन्द्रित रहे पनि समग्र आर्थिक वृद्धिमा आयातले ठूलो भूमिका खेलेको बताए। त्रैमासिक अवधिमा वस्तुको आयात २ दशमलव ४ प्रतिशतले बढेको छ । अस्ट्रेलियाली नागरिकहरू विद्युतीय सवारीसाधनतर्फ आकर्षित भइरहेका बेला सवारीसाधनको आयात १० दशमलव ३ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ।

यद्यपि, मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय यात्रामा असर परेपछि सेवाको आयात ४ दशमलव ९ प्रतिशतले घटेको छ। मार्च त्रैमासिकमा खराब मौसमका कारण प्रभावित भएको कोइला उत्पादनमा सुधार आएपछि अस्ट्रेलियाको निर्यात भने शून्य दशमलव ८ प्रतिशतले बढेको छ ।

केन्द्रीय बैंकले अगस्टमा गरेको प्रक्षेपणअनुसार डिसेम्बरसम्म वार्षिक आर्थिक वृद्धिदर १ दशमलव ४ प्रतिशतमा झर्ने र सन् २०२८ सम्म पनि २ प्रतिशतभन्दा कम रहने अनुमान गरिएको छ।

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

स्याङ्जा। भोटेकोशी बाढीमा परी घाइते भएकाहरुका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको छ। जिल्ला रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा बुधबार भीरकोट बयरघारीमा रक्तदान शिविर सञ्चालन गरी १११ पिन्ट रगत सङ्कलन गरिएको हो ।

घाइतेको सङ्ख्या धेरै भएकाले रगतको अभाव हुनसक्ने भएकाले रगत अभाव हुन नदिन रक्तदान शिविरमार्फत स्वतःफूर्त रुपमा रगत सङ्कलन गरिएको नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष भागवत प्रकाश मल्लले बताए।

देशमा सङ्कट आएका बेला मानवीय सहयोगमा जुट्नुपर्छ भन्ने भावनाबाट अभिप्रेरित भई रक्तदान शिविरको आयोजना गरिएको उनले बताए। शिविरमा रक्तदाताहरु स्वतःफूर्त रुपमा सहभागी भएका थिए।

यहाँ सङ्कलन भएको रगत नेपाल रेडक्रस सोसाइटीको स्याङ्जास्थित ‘ब्लड बैंक’ मा राखिने र आवश्यकताका आधारमा पठाउने व्यवस्था मिलाइने नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका अध्यक्ष दिनेश अर्यालले जानकारी दिए।

सुरुङमा फसेकाको उद्धारमा सरकार असफल भएको गोकुल बास्कोटाको आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सुरुङमा फसेका नागरिकको उद्धारमा सरकार असफल हुँदै स्थानीय तहलाई दोषी देखाउन थालेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै बास्कोटाले उद्धारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने सरकार स्थानीय तहलाई दोषी करार गर्न र कानुन अभावको विषय उठाएर ‘स्टन्ट’ गर्न थालेको बताएका हुन्।

उनले लेखेका छन्,- सुरङमा फसेका नगरिकको उद्दारमा हात उठाएको सरकार स्थाननीय तहलाई दोषी करार गर्न र कानुन अभावको स्टन्ट गर्न थाल्नु दुर्भाग्य हो।रंग पोतेर शेर देखिएकाहरुको रंग संकटमा खुईलियो।ठाडो घाँटी लगाएर जे जति मन लाग्छ,सराप।आखिर मष्तिष्क भएको मान्छे बोल्ने हैन,सत्रसय धेरै मसिन मानव बोल्ने हो।

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन – रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये ३३५ वटा शवको व्यवस्थापन गरिएको छ । तीमध्ये १२९ वटा लिङ¬्ग पहिचान नभएको जनाइएको छ । सनाखत हुन नसकेका ती शवलाई भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा मङ्गलबार रातिसम्म व्यवस्थापन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका ३४८ शवमध्ये ३३५ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ । एउटाको व्यवस्थापन गर्न बाँकी छ । जिल्लामा शव व्यवस्थापन गर्न कठिन भएपछि डिएनए सङ्कलन गरेर शनिबारदेखि जङ्गलमा लगेर खाडलमुनि शव राख्न थालिएको हो ।

प्रहरीले शनिबार ९६ शवको व्यवस्थापन गरेको थियो । आइतबार १०३, सोमबार ८१ र मङ्गलबार ५५ शव व्यवस्थापन गरेको हो । जमिनमुनि व्यवस्थापन गरिएकामध्ये सबैभन्दा बढी लिङ्ग पहिचान नभएका १२९ वटा शव छन् । त्यस्तै पुरुष १०७, महिला ७३, बालिका १५ र बालक ११ जना रहेको प्रहरीले जानकारी दिएको छ ।

शवहरूको डिएनए नमूना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गरिएको प्रमुख प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन् । नदी किनारमा शव फेला पर्ने क्रम जारी छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ ।

शव पहिचानका लागि डिएनए नमूना सङ्कलन सुरु

भोटेकोशी नदीमा आएको बाढीपछि फेला परेका शवको पहिचानका लागि चितवनमा डिएनए परीक्षणका लागि आफन्तको नमूना सङ्कलन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालयले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुर सेवा इकाइ र जनस्वास्थ्य कार्यालयको सहयोगमा भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मङ्गलबारदेखि डिएनए नमूना सङ्कलन सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म नमूना सङ्कलन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार शवसँग पहिलो तहको नाता पर्ने आफन्त अर्थात् बुबा, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको रगतको नमूना डिएनए परीक्षणका लागि सङ्कलन गरिनेछ । उहाँले डिएनए नमूना दिन आउने व्यक्तिलाई आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात र दुईप्रति पासपोर्ट आकारका फोटो साथमा ल्याउन अनुरोध गर्नुभयो ।

डिएनए नमूना सङ्कलन र परीक्षणको प्राविधिक प्रक्रियाबारे जानकारी दिँदै नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलले हराइरहेका व्यक्तिको पहिचानका लागि शवबाट मुख्य रूपमा दाँत र हड्डीका नमूना सङ्कलन गरिएको बताउनुभयो । ती नमूनाबाट डिएनए प्रोफाइल तयार गरिन्छ र त्यसलाई आफन्तबाट सङ्कलन गरिएको डिएनएसँग म्याचिङ गरी पहिचान गरिन्छ ।

उहाँले भन्नुभयो, “पहिलो प्राथमिकतामा बुबाआमा वा छोराछोरीको डिएनए नमूना आवश्यक पर्छ । यदि पहिलो तहका आफन्त उपलब्ध नभए दाजुभाइ वा दिदीबहिनीको नमूना प्रयोग गरेर पनि परीक्षण गर्न सकिन्छ।”

वर्षा र पहिरोका कारण देशका यी राजमार्ग अवरुद्ध

काठमाडौँ। नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग अवरुद्ध भएको जनाएको छ ।

प्रहरीद्वारा आज बिहान जारी बुलेटिनमा कतिपय सडकखण्डमा पहिरो र बाढीका कारण यातायात पूर्ण रूपमा रोकिएको छ भने केही मार्गमा वैकल्पिक सडक प्रयोगको व्यवस्था गरिएको उल्लेख छ ।

बुलेटिनका अनुसार धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गर्दा सडक भासिएर यातायात पूर्ण रोकिएको छ ।

सोही राजमार्गको गजुरी गाउँपालिका–२ परेवाभिरमा बाढीका कारण सडकको तल्लो भाग करिब २० देखि २५ मिटर भासिएपछि यातायात सेवा अवरुद्ध छ ।

साथै रसुवामा यही भदौ १० गते आएको विनासकारी बाढीका कारण पासाङल्हामु राजमार्गको त्रिशूली नदी किनारको अधिकांश भाग कटान भई राजमार्गमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध छ ।

स्याफ्रुबेँसीसम्म पुग्न काठमाडौँ–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पाच्र्याङ–भोर्ले–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सिङ्गल लेन कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ ।

“यस्तै, नुवाकोटको विदुर–लाच्याङ सडकखण्डमा सूर्यगढी गाउँपालिका–१ लाच्याङ डाँडामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

नुवाकोटकै टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधनलाई राति १०ः०० देखि बिहान ५ः०० बजेसम्म आवतजावतमा रोक लगाइएको छ”, भनिएको छ, “लमजुङको बेँसीसहर–मनाङ सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरेभिरमा अविरल वर्षाका कारण पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । मुगुको नाग्म–गमगढी सडकखण्डमा पनि वर्षाका कारण ढुङ्गा, माटोसहितको लेदो आएपछि यातायात रोकिएको छ ।”

बुलेटिनका अनुसार बैतडीको दशरथचन्द नगरपालिका–८ झुलाघाटस्थित गोठालापानी–झुलाघाट सडकखण्डमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ । इलामको मेची राजमार्गअन्तर्गत राजदुवालीमा वर्षाका कारण सडकमा हिलो भएपछि अवरुद्ध भएको सडक हाल साना सवारीसाधनका लागि सञ्चालनमा आएको जनाइएको छ ।

प्रहरीले मकवानपुरमा भने विभिन्न राजमार्गमा सवारी सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको र १० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

त्यसैगरी, प्रहरीका अनुसार १४ सिटभन्दा कम क्षमताका यात्रुवाहक सवारीसाधन हेटौँडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी तथा काठमाडौँ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।

विपद्को समयमा अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, सवारीसाधन तोकिएको पालोमा सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक प्रहरी र सुरक्षाकर्मीको निर्देशन पूर्ण रूपमा पालना गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ ६ः०० देखि बिहान ४ः०० बजेसम्म सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ । बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म भने यातायात सञ्चालन हुने व्यवस्था गरिएको छ ।

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त भएका छन् ।

प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. शिवेन्द्र झा, रजिस्ट्रारमा धरणीधर बराल र अस्पताल निर्देशकमा डा. इन्द्र कुमार लिम्बु नियुक्त भएका हुन् । नवनियुक्त पदाधिकारीहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

नवनियुक्त पदाधिकारीहरूले प्रतिष्ठानको शैक्षिक, प्रशासनिक तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै संस्थागत सुधार र गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित भएर काम गर्ने बताए ।

बाढी प्रभावित क्षेत्रको बीमा दाबी भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ -अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बीमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका छन् ।

भदौ १० गते गएको रसुवा बाढीका कारण भएको क्षतिपछिको बीमा दाबीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रियाको सन्दर्भमा सोमबार बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा बोल्दै उहाँले यस्तो बताएका हुन् ।

“बाढीका कारण देश शोकमा छ। यो कठिन अवस्थामा सबैजना हातेमालो गरौँ। पीडितको क्षतिमा बीमा कम्पनीहरूले मल्हम लगाऔँ। दाबी भुक्तानीलाई सहज र सरल बनाऔँ,” अर्थमन्त्री डा। वाग्ले भने, “बरु बीमा कम्पनीहरूलाई कुनै समस्या भयो र सरकारले केही गर्नुपर्ने अवस्था आयो भने भन्नुहोला। हामी सहयोग गर्न तयार छौँ।”

मुलुकको कठिन परिस्थितिमा सबै मिलेर जानुको विकल्प नभएको पनि उनले बताए। भोटेकोशी नदीमा आएको अकल्पनीय र दुःखद् बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै जलविद्युत् आयोजना, सार्वजनिक पूर्वाधार र निजी सम्पत्तिमा ठूलो असर परेको पनि उनले उल्लेख गरे।

नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार बाढीका कारण कुल ५८३ वटा बीमा दाबी परेका छन्। यी प्रारम्भिक दाबीहरूको कुल अनुमानित रकम रु। २५ अर्ब ८७ करोड रहेको छ। आजको बैठकले यी ठूला तथा प्रारम्भिक क्षतिको दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न सहजतातर्फ कदम चाल्ने निर्णय पनि गरेको छ।

साथै, द्रुत दाबी भुक्तानीका लागि कागजी प्रक्रियामा अल्झिएर भुक्तानीमा ढिलाइ हुन नदिन कार्यविधिमा व्यापक सहजीकरण गर्दै साना दाबीहरूका लागि द्रुत भुक्तानी प्रणाली अपनाइने निर्णय पनि भएको छ।

बैठकले जलविद्युत् आयोजना र ठूला पूर्वाधारजस्ता ठूला क्षतिको पूर्ण मूल्याङ्कन गर्न समय लाग्ने भएकाले बीमितको नगद प्रवाह सहज बनाउन तत्काल उचित रकम पेस्कीस्वरूप भुक्तानी दिइने पनि निर्णय गरेको छ।

आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षा र चट्याङको जोखिम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको छ ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ भने देशको अन्य भूभागमा साधारणतया बादल लागेको छ । लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम सम्मको वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कोशी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

दुइ संसदीय समितिको बैठक आज बस्दै, यी बिषयमा छलफल हुने

काठमाडौं । दुइ वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधायन व्यवस्थापन समितिक बस्ने भएको हो ।

बिहान ९ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’का बारेमा छलफल हुने कार्यक्रम छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १२ः१५ बजे बस्ने भएको छ । बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

थाइल्याण्डले १५ सेप्टेम्बरदेखि ६० भन्दाबढी देशका नागरिकको भिसाबिनाको बसाइ अवधि घटाउँदै

थाइल्याण्डले ६० भन्दाबढी देशका नागरिकलाई दिँदै आएको भिसाबिनाको बसाइको अवधि आधा घटाएर ३० दिनमा सीमित गर्ने भएको छ । उक्त व्यवस्था आगामी १५ सेप्टेम्बरदेखि लागू हुनेछ ।

पर्यटन दक्षिणपूर्वी एसियाली मुलुक थाइल्याण्डको अर्थतन्त्रको महत्वपूर्ण आधार भए पनि विदेशी नागरिकबाट हुने अपराध नियन्त्रण गर्ने प्रयासस्वरूप यो कदम चालिएको अधिकारीले बताएका छन् ।

पछिल्ला दिनमा भएको पक्राउमा लागुऔषधसम्बन्धी कसुर, यौन बेचबिखन तथा आवश्यक अनुमतिबिना होटल र विद्यालयजस्ता व्यवसाय सञ्चालन गरेको आरोप लागेका विदेशी नागरिकसमेत छन् ।

हालको पर्यटन योजनाअनुसार युरोपको २९ सदस्यीय सेन्जेन क्षेत्र, चीन, भारत, संयुक्त राज्य अमेरिका तथा दक्षिण अमेरिकाका केही मुलुकसहित ९० भन्दाबढी देशका नागरिकले थाइल्याण्डमा भिसाबिना ६० दिनसम्म बस्न पाउने व्यवस्था छ ।

थाइ विदेश मन्त्रालयको कन्सुलर मामिला विभागले मङ्गलबार जनाएअनुसार चीन, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घका २७ सदस्य राष्ट्रसहित ६० भन्दाबढी देश तथा क्षेत्रका नागरिकका लागि भिसाबिनाको बसाइ अवधि ३० दिनमा सीमित गरिनेछ ।

करिब २० अन्य देशका लागि भिसाबिनाको सुविधाको अवस्था भने अझै स्पष्ट छैन । यसबारे विदेश मन्त्रालयका एक अधिकारीले टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

पेरु, ब्राजिल र दक्षिण कोरियाका नागरिकले भने अब ९० दिनसम्म बिना भिसा थाइल्याण्डमा बस्न पाउनेछन् । यसअघि उनीहरूलाई ६० दिनसम्म बस्न पाउने व्यवस्था थियो ।

पर्यटकले अध्यागमन अधिकारीको स्वीकृतिमा आफ्नो बसाइको अवधि एकपटक थप गर्न सक्नेछन् । मन्त्रिपरिषद्ले उक्त व्यवस्था स्वीकृत गरेपछि मे महिनामा सरकारी प्रवक्ताले एएफपीलाई यसबारे जानकारी दिनुभएको थियो ।

विदेशमन्त्री सिहासाक फुवाङकेटकेओले मे महिनामै भिसाबिना बसाइको अवधि घटाउने योजना भिसा प्रणालीको दुरुपयोग गरी थाइल्याण्डमा अपराध गर्ने व्यक्तिविरुद्धको कारबाहीको एक हिस्सा भएको बताउनुभएको थियो ।

पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार यस वर्षको सुरुदेखि हालसम्म थाइल्याण्डमा दुई करोड नौ लाख विदेशी पर्यटक पुगेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन प्रतिशत कम हो ।

अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख ७५ हजार सहयोग

भैरहवा । अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि रु छ लाख ७५ हजार सहयोग गर्ने भएका छन् ।

कर्मचारीले स्वतःस्फूर्त रूपमा सङ्कलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उद्योगका महाप्रबन्धक उद्धव कार्कीले जानकारी दिए । उनका अनुसार विपद्को समयमा पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीले स्वेच्छिक रूपमा रकम सङ्कलन गरेका हुन् ।

“समस्या परेका बेला हामीले पनि केही सहयोग गर्नुपर्छ भन्ने भावनाले कर्मचारीले आपसमा सल्लाह गरी रकम सङ्कलन गरेका हुन्”, उनले भने । उनले उद्योगमा कार्यरत कर्मचारीले पहिलोपटक यसरी स्वतःस्फूर्त रूपमा ठूलो रकम सङ्कलन गरी विपद्बाट प्रभावित परिवारका लागि सहयोग गर्न लागेको बताए। उद्योगका सहायक महाप्रबन्धक कृष्ण पाण्डेसहित कर्मचारीको सहभागितामा उक्त रकम सङ्कलन गरिएको जनाइएको छ ।

फोहर बेचेर व्यास नगरपालिकाले कमायो २७ लाख

दमौली (तनहुँ) – तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा रु २७ लाख आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा पुनः प्रयोगयोग्य बनाइएका फोहर बिक्री गरी उक्त आम्दानी गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले उक्त आम्दानी गरेको हो ।

आवश्यक प्रक्रिया पूरा गरी बोलपत्रमार्फत चालु आर्थिक वर्षमा साबिकको मूल्यमा दश प्रतिशत थप गरी तनहुँ स्क्रेप सेन्टर व्यास–१ लाई फोहर बिक्रीको जिम्मा दिइएको थियो ।

फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेपछि सहज भएको लम्सालले बताए । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गरिएको छ ।

एकै ठाउँमा सबै फोहर सङ्कलन गर्दा समस्या हुने भएकाले कुहिनेलाई छुट्टै गाडीमा र नकुहिनेलाई छुट्टै गाडीमा सङ्कलन भइरहेको छ । फोहर बिक्री गरी आम्दानी हुन थालेपछि नगरपालिकाको आन्तरिक स्रोत वृद्धिमा सहयोग भएको छ ।

फोहोरमैला व्यवस्थापनका लागि जग्गा खरिदका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिए पनि हालसम्म निर्णय हुन नसकेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

नगरपालिकाले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाउँदै आएको छ । नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लाष्टिकजन्य फोहरहरु छुट्याएर बिक्री गरिरहेको छ ।

नगरपालिकाले कुहिने फोहरलाई भने दुम्सीस्थित गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गरिरहेको छ । नगरपालिकाको बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ ।

भोटेकोशी बाढीः पोखरा ल्याइएका १०२ शवमध्ये २१ को सनाखत

कास्की – रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये मङ्गलबार २१ शवको सनाखत गरी परिवारलाई बुझाइएको छ ।

पहिचान हुन नसकेका ७६ शवलाई पोखरा–१६ माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा अझै पाँच शव रहेका छन् । ती शवमध्ये एकभन्दा बढी परिवारले तस्बिर हेरेर दाबी गरेकाले थप परीक्षण गर्न बाँकी छ । “लामो समय शवगृहमा राख्दा दुर्गन्ध फैलनाका साथै महामारीको जोखिम हुने भएकाले सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको हो । सबै शवको डिएनए लिएका छौँ । परिवारको डिएनए मिलेको अवस्थामा सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सकिन्छ,” बरालले भने ।

धादिङबाट २२, गोरखाबाट सात, नवलपरासीबाट २५ र तनहुँबाट प्राप्त २२ शव व्यवस्थापन गरिएको हो । शवलाई गहिरो खाडलमा हावा नछिर्ने प्लास्टिकको झोलामा राखेर सङ्केत नम्बर दिई माटोले पुरिएको छ । शव पुरिसकेपछि गमला राखेर शवको सङ्केत नम्बरको ‘स्ट्यान्ड’ बनाइएको छ ।

भोटेकोशी बाढीः काभ्रेबाट एक करोड १० लाख सहयोग

काभ्रे। प्राकृतिक विपद् व्यहोरेका काभ्रेपलाञ्चोकका सात वटा स्थानीय तहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्।

जिल्लाका विभिन्न वडा तथा सामाजिक, सहकारी तथा निजी संस्थाले बाढी प्रभावितका लागि राहत रकम उपलब्ध गराउने घोषणा गरेका छन्। धुलिखेल नगरपालिकाले बाढी प्रभावितको उद्धार तथा राहतका लागि रु १० लाख सहयोग गर्ने निर्णय गरेको छ।

नगरपालिकाका कार्यवहाक नगर प्रमुख निराजन जङ्गमले नगर कार्यपालिकाको बैठकले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।

उनले भोटेकोशी बाढीपछि धुलिखेलका चार जना अझै सम्पर्कविहीन रहेको बताए। उनीहरूको खोजतलासका लागि राज्यका सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहयोग गरिनेछ।

यसैगरी, बेथानचोक गाउँपालिकाले बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु ३५ लाख सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँ कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गाउँपालिकाको विपद् कोषबाट रु १५ लाख तथा जनप्रतिनिधि, शिक्षक र कर्मचारीले पाउने सेवा–सुविधा तथा पारिश्रमिकबाट रु २० लाख गरी कुल रु ३५ लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।

बेथानचोक गाउँपालिकाले २०८१ साल असोज दोस्रो साता विपद्को सामना गरेको स्मरण गर्दै पीडित नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको दायित्व भएको जनाएको छ। पनौती नगरपालिकाले बाढी प्रभावितको उद्धार तथा राहतका लागि रु ३० लाख सहयोग गर्ने निर्णय गरिसकेको छ।

पाँचखाल नगरपालिकाले रु १० लाख, बनेपा नगरपालिकाले रु १५ लाख, रोशी गाउँपालिकाले रु १० लाख र चौरीदेउराली गाउँपालिकाले रु १० लाख सहयोग गर्ने निर्णय गरेका छन्।

यस्तै, नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले केन्द्रीय समितिमार्फत रु १७ लाख ६६ हजार उपलब्ध गराएको छ। सामुदायिक साकोस पनौतीले रु पाँच लाख, मनकामना साकोसले रु एक लाख ५० हजार, अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालयले रु पाँच लाख र चित्रन्य हार्डवेयरले रु तीन लाख ३३ हजार सहयोग गर्ने निर्णय गरेका छन्।

त्यस्तै, पनौती नगरपालिका–२ ले रु एक लाख ५० हजार, धुलिखेल नगरपालिका–८ ले रु एक लाख, चौरीदेउराली गाउँपालिका–७ ले रु एक लाख र पनौती नगरपालिका–८ ले रु ८० हजार सहयोग गरेका छन्।

यस्तै, बुडोल सामुदायिक साकोसले रु दुई लाख ५१ हजार, नमोबुद्ध नगरपालिका–६ स्थित चरङ्गे साकोसले रु एक लाख ११ हजार र धुलिखेलको अटल पाँचकुण्ड साकोसले रु एक लाख पाँच हजार सहयोग गर्ने भएका छन्।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा जिल्लाभरबाट ५२ जना सम्पर्कविहीन रहेको विवरण दर्ता भएको थियो। तीमध्ये केही सम्पर्कमा आएका तथा केहीको मृत्यु भई शव फेला परेसँगै हाल सम्पर्कविहीनको सङ्ख्या ४१ रहेको छ।

आज बस्दै प्रतिनिधिसभा बैठक, भोटेकोशी बाढीबारे सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौँ। सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ।

सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्नुहुने सम्भावित कार्यसूची छ।

बैठकमा सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नुहुनेछ।

“प्रतिनिधिसभाको यो बैठक, मिति २०८३ साल भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रका धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनाका साथै ठूलो सङ्ख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ,” सङ्घीय संसद् सचिवालयले उपलब्ध गराएको विशेष प्रस्तावमा भनिएको छ, “उक्त घटनाबाट घरबारविहीन भएकाहरूको व्यवस्थापन एवम् घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवङ्गतको आत्माको चिरशान्तिको कामना गर्दछ र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।”

यसैगरी, आजै अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।

बिहान ९ः३० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेका प्रभाव’का बारेमा छलफल गर्ने कार्यक्रम छ।

यस्तै, अपराह्न १२ः१५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची छ।

काभ्रेका सात स्थानीय तहद्वारा बाढीपीडितका लागि एक करोड बढी सहयोग

काभ्रेपलाञ्चोक। गत बुधबार विहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि काभे्रका सात स्थानीय तहले रु एक करोडभन्दा बढी सहयोग गरेका छन् । जिल्लास्थित राजनीतिक दल, सङ्घसंस्था तथा व्यक्तिले पनि राहतका लागि सहयोग गरेका हुन् ।

बेथानचोक गाउँपालिकाको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३५ लाख सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको विपद् कोषबाट रु १५ लाख र जनप्रतिनिधि, शिक्षक, कर्मचारीले प्राप्त गर्ने सेवा सुविधा तथा पारिश्रमिकबाट रु २० लाख उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । रसुवा बाढीमा यस गाउँपालिकाका तीन जना सम्पर्कविहीन भएका छन् ।

यसैगरी पनौती नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीबाट सङ्कलन भएको रकममा थप गरी रु ३० लाख प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको नगरप्रमुख रामशरण भण्डारीले बताउनुभयो । बनेपा नगरले रु १५ लाख, पाँचखाल र धुलिखेल नगरपालिका, रोशी र चौँरीदेउराली गाउँपालिकाले रु १०/१० लाख रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो ।

यसैबीच नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला समितिले केन्द्रीय समितिमार्फत सरकारलाई सहयोग गर्ने उद्देश्यले रु १७ लाख ६६ हजार बुझाएको छ । यस्तै सामुदायिक सहकारी पनौतीले रु पाँच लाख, बनेपास्थित अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालय बनेपाले रु पाँच लाख तथा चित्रन्य हार्डवेयरले रु तीन लाख ३३ हजार, मनकामना सहकारीले रु एक लाख ५० हजार दिने निर्णय गरेका छन् ।

भोटेकोशी बाढीमा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका ३९ जना काभे्रपलाञ्चोकका नागरिक अझै सम्पर्कविहीन भएका जानकारी आएको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लाका सम्पर्कविहीनमध्ये आठ जना परिवारको सम्पर्कमा आइसकेका छन् ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर २०६ रुपैयाँ ११ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५६ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४१ रुपैयाँ ७६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११ रुपैयाँ ०८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५ रुपैयाँ ८७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ १७ पैसा बिक्रीदर ४०३ रुपैयाँ ७७ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४० पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राहत कोषमा कुम्मायकको २१ लाख सहयोग

पाँचथर। भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितको सहयोगका लागि पाँचथरको कुम्मायक गाउँपालिकाले रु २१ लाख ६५ हजार रकम सहयोग गरेको छ ।

कुम्मायक गाउँपालिकाको सम्पन्न कार्यपालिका बैठकले बाढीबाट प्रभावितका लागि उद्धार, राहत, पुनर्लाभ र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रु २१ लाख ६५ हजार ५५० रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको राहत व्यवस्थापन कोषबाट रु एक लाख, जनप्रतिनिधिहरुले प्राप्त गर्ने सुविधाबाट एकामुष्ठ रु ८७ हजार, गाउँपालिकामा कार्यरत कर्मचारीको तलबबाट रु पाँच लाख ४६ हजार ५०० र गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीबाट रु १४ लाख ३२ हजार ५० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

गाउँपालिकाले मानवीय कर्तव्य र सामाजिक उत्तरदायित्वलाई ख्याल गर्दै पीडामा परेका बाढी प्रभावितका लागि सहयोग गर्न अपिलसमेत गरेको छ ।

रसुवा बाढीपछि पुनःस्थापनामा जुट्यो सरकार, १ अर्ब रुपैयाँ निकासा

काठमाडौं । प्रधानमन्त्री वालेन शाहले सरकारले बाढी प्रभावित क्षेत्रका लागि आज १ अर्ब रुपैयाँ निकासा गरेको बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो कुरा बताएका हुन् । उनले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार र राहत वितरणसँगै पुनःस्थापनातर्फ अघि बढेको बताए ।

उनले बाढी प्रभावित नागरिकको जीवनरक्षा, स्वास्थ्य उपचार र मनोपरामर्शलाई प्राथमिकता दिँदै पुनःस्थापनाको काम अघि बढाइएको जानकारी दिए। प्रभावित क्षेत्रमा आवश्यकता अनुसार खोज, उद्धार र राहतका लागि जनशक्ति परिचालन गरिरहने उनले बताए।

‘प्रभावित क्षेत्रका नागरिकको जीवनरक्षा गर्दै उहाँहरूको स्वास्थ्य बचाउन आवश्यक उपचार र मनोपरामर्श प्रदान गर्दै सरकार पुनःस्थापनातर्फ लागेको जानकारी गराउँछौँ। तथापि, प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतमा पनि आवश्यकताअनुसार जनशक्ति खटाइरहने छौँ,’ उनले भने।

प्रधानमन्त्री शाहका अनुसार नुवाकोटका १९ वटा अस्थायी आश्रयस्थलमा २ हजार ६५३ जनाले आश्रय तथा राहत प्राप्त गरिरहेका छन्। रसुवाका बाढी प्रभावितलाई समेत नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको छ।

सरकारले बाढी प्रभावित क्षेत्रका लागि मंगलबार १ अर्ब रुपैयाँ निकासा गरेको छ। उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रभावित स्थानीय तहलाई आवश्यकताअनुसार उपलब्ध गराउन निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताए।

उनका अनुसार मंगलबार मात्रै तीन जिल्लाका १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ। यसअघि सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो।

‘नेपाल सरकारले बाढी प्रभावित क्षेत्रका लागि आज १ अर्ब रुपैयाँ निकासा गरेको छ। यो रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रभावित स्थानीय तहमा आवश्यकताअनुसार उपलब्ध गराउन निर्देशन दिइसकेका छौँ। जसमध्ये आजै तीन जिल्लाका १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको छ,’ प्रधानमन्त्री शाहले भने।

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन

गुल्मी। अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ ।

आज बिहान आएको पहिरोका कारण कालीगण्डकी करिडोर खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ राक्सेमा सडकमाथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

सडक निर्माण कम्पनी, स्थानीय पालिका र सुरक्षाकर्मीको समन्वयमा आज दिनभर डोजर प्रयोग गरी पहिरो पन्छाएसँगै उक्त सडकखण्डमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।

कालीगण्डकी करिडोर सडक अवरुद्ध भएपछि प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा उक्त क्षेत्रमा आज बिहानैदेखि प्रहरी टोली परिचालन गरिएको थियो ।

सडक सञ्चालनमा आएसँगै बिहानदेखि पूर्तिघाट र रुद्रवेणी क्षेत्रमा रोकिएका सम्पूर्ण सवारीसाधन आआफ्नो गन्तव्यतिर लागिसकेका प्रहरीले जनाएको छ । उक्त कालीगण्डकी करिडोर सडक जिल्लाको प्रमुख सडक सञ्जालअन्तर्गत पर्दछ ।

भोटेकोशी बाढीबाट मृत्युु भएका परिवारलाई मधेस प्रदेशको एक लाख राहत

जनकपुरधाम। मधेस प्रदेश सरकारले भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी मृत्यु भएका मधेस प्रदेशका नागरिकका परिवारलाई प्रतिमृतक रु एक लाख पारिवारिक राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस भवनमा आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा गएको बाढी तथा विपद्बाट मृत्यु भएका मधेस प्रदेशका नागरिकका परिवार वा प्रचलित कानुनबमोजिमका नजिकका हकवालालाई तत्काल आवश्यक पर्ने खर्च व्यवस्थापनका लागि प्रतिमृतक रु एक लाखका दरले पारिवारिक राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले बाढी तथा विपद्का कारण घाइते भएका मधेस प्रदेशका नागरिकलाई प्रदेश सरकार मातहत सञ्चालित प्रादेशिक अस्पतालमा आवश्यक स्वास्थ्य सेवा तथा उपचार निःशुल्क उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थामा उपलब्ध हुन नसक्ने विशेषज्ञ सेवा वा अत्यावश्यक उपचारका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी उपचारको व्यवस्था मिलाउन मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहजीकरण गर्ने निर्णय गरेको छ ।

बैठकले बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीसमेत परिचालन गर्ने निर्णय गरेको छ । आवश्यकताका आधारमा तत्काल सात हजार थान कम्मल तथा ७०० सेट टेन्ट उपलब्ध गराइने निर्णय गरेको छ । जम्मा रु एक करोड ९६ लाख बराबरको उक्त राहत सामग्री मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोमार्फत नुवाकोट तथा रसुवा जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने भएको छ ।

यसैगरी मन्त्रिपरिषद् बैठकले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ मा आवश्यक संशोधन गर्न तयार गरिएको संशोधन मस्यौदाउपर राय तथा परामर्श प्राप्त गर्न प्रदेश लोकसेवा आयोगमा लेखी पठाउने निर्णय गरेको छ । प्रदेश सरकारका अनुसार स्थानीय सेवासम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई समयानुकूल र प्रभावकारी बनाउन आवश्यक संशोधनको प्रक्रिया अघि बढाइएको निर्णय गरेको छ ।

बैठकले स्थानीय तहमा कार्यरत कर्मचारीको सरुवा प्रक्रियालाई व्यवस्थित, पारदर्शी, अनुमानयोग्य तथा न्यायोचित बनाउन तयार गरिएको ‘स्थानीय तहका कर्मचारीहरूको सरुवा मापदण्ड, २०८३’ समेत स्वीकृत गरेको मन्त्री भट्टराईले बताउनुभयो ।

बाढीपीडितलाई बागमती कांग्रेसबाट १० लाख सहयोग

मकवानपुर। नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र बागमती प्रदेश संसदीय दलले बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रु १० लाख ६६ हजार ६६६ सहयोग गरेको छ ।

कांग्रेस बागमती प्रदेश कार्यसमितिले रु पाँच लाख ५५ हजार ५५५ र प्रदेश संसदीय दलले रु पाँच लाख ११ हजार १११ सहयोग गरेको हो । दुवै रकम कांग्रेस विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उपलब्ध गराइएको कांग्रेस बागमती प्रदेश कार्यसमितिका सहमहामन्त्री हरिशरण श्रेष्ठले जानकारी दिनुभयो ।

सहमहामन्त्री श्रेष्ठले मङ्गलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सहयोग रकमको चेक पार्टी केन्द्रीय उपसभापति पुष्पा भुसाललाई चेक हस्तान्तरण गर्नुभएको हो ।

बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले कांग्रेस प्रदेश कार्यसमिति र संसदीय दलले संयुक्त रूपमा सहयोग गरेको श्रेष्ठको भनाइ छ ।