`

हरित अर्थतन्त्रमा दलहरूको दृष्टिकोण : वन संरक्षणदेखि उपभोगका प्रतिस्पर्धी ‘एजेन्डा’

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलहरूले हरित अर्थतन्त्रलाई चुनावी ‘एजेन्डा’को केन्द्रमा राखेर निर्वाचनको प्रचारप्रसारमा व्यस्त छन् । वन संरक्षण, दिगो उपयोग, रोजगारी सिर्जना, कार्बन व्यापार र जलवायु अनुकूलनका कार्यक्रममार्फत मतदातालाई आकर्षित गर्ने प्रयास भइरहेको छ ।

मुख्य दलले घोषणापत्रमार्फत वन संरक्षण र वनको दिगो उपयोगबाट मुलुकको आर्थिक समृद्धि गर्ने वाचा दोहोर्‍याएका छन् । नेपाली कांग्रेसले वनमा आधारित जैविक अर्थतन्त्र, जडीबुटीको मूल्य अभिवृद्धि र स्वदेशी काठको अनिवार्य प्रयोगमार्फत आयात प्रतिस्थापन गर्ने योजना अघि सारेको छ । कांग्रेसले वनलाई संरक्षणसँगै आर्थिक समृद्धिको आधारका रूपमा प्रस्तुत गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले न्यूनतम ४५ प्रतिशत वन क्षेत्र सुरक्षित गर्ने, सघन वन विस्तार गर्ने र नेपाललाई कार्बन न्यूट्रल देश बनाउने दीर्घकालीन लक्ष्य सार्वजनिक गरेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जमिन, जल, जङ्गल र खनिजको विवेकसम्मत प्रयोग गर्दै उत्पादन र रोजगारी वृद्धि गर्ने नीति अघि सारेको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले वैज्ञानिक वन उपयोग योजना र कार्बन व्यापारलाई प्राथमिक आर्थिक गतिविधिका रूपमा विकास गर्ने घोषणा गरेको छ ।

यस्ता छन् मुख्य दलका घोषणा

हरित अर्थतन्त्रमार्फत रोजगारी र दिगो वन व्यवस्थापन गर्ने कांग्रेसको प्रतिज्ञा

नेपाली कांग्रेसले ल्याएको एजेन्डाका सङ्गाललोलाई प्रतिज्ञा नाम दिइएको छ । उक्त प्रतिज्ञामा वनमा आधारित जैविक र वृत्ताकार अर्थतन्त्रलाई बढावा दिँदै जडीबुटीको मूल्य अभिवृद्धि र ‘फोहर शून्य’ सहरको अवधारणा कार्यान्वयन गर्ने विषयलाई जोड दिइएको छ ।

“आगामी पाँच वर्षमा नेपाली कांग्रेसले निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्दै प्राकृतिक स्रोतको दिगो विकासमार्फत राष्ट्रिय वृद्धि, ग्रामीण सशक्तीकरण र पर्यटन तथा आर्थिक अवसरका समान पहुँच सुनिश्चित गर्दै यस क्षेत्रबाट वार्षिक एक लाखभन्दा बढी रोजगारी सिर्जना गर्न प्रतिबद्धता व्यक्त गर्दछ,” प्रतिज्ञामा उल्लेख छ, “वन तथा वन्यजन्तु व्यवस्थापन र संरक्षणः वन हाम्रो सम्पत्ति, भविष्य हाम्रो दायित्व । दिगो वन व्यवस्थापन र वन्यजन्तु संरक्षणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अगाडि बढाउँदै वन व्यवस्थापन, वनजन्तु पालनमा आदिवासी, स्थानीय समुदाय, वातावरण र अर्थतन्त्र सन्तुलनमा जोड दिने नीति अपनाउने छौँ । यसले प्राकृतिक स्रोतको संरक्षण, आय वृद्धि र पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याउने छ ।”

दिगो वन व्यवस्थापनलाई बजारसँग जोड्दै वन उत्पादनको माग र आपूर्ति बढाइ सार्वजनिक पूर्वाधार निर्माणमा स्वदेशी काठ र बाँसजन्य सामग्रीको प्रयोग अनिवार्य गर्ने नेपलााी कांग्रेसले घोषणा गरेको छ । त्यसैगरी स्थानीय स्रोत र परम्परागत सीपबाट निर्मित वस्तुलाई आधुनिक प्रविधि र डिजाइनमार्फत बजारयोग्य बनाउने र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमुखी उद्योगलाई कर छुट तथा सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने समेत उल्लेख छ ।

कांग्रेसको घोषण अनुसार वन डढेलो घटाउन पात–पतिङ्गर र सुकेका काठ सङ्कलन गरी प्राङ्गारिक मल, कागज, बायोचार वा ब्रिकेट उत्पादन गर्ने उद्यमलाई प्रोत्साहन गर्ने तथा स्वदेशी काठ जङ्गलमै हुँदा विदेशबाट काठ र आल्मुनियम आयात हुने विुङ्गतिलाई रोक्दै सुपथ मूल्यमा काठ उपलब्ध गराई आयात प्रतिस्थापन गरिने छ ।

“निजी वन तथा जडीबुटीको खेती विस्तारका लागि गुणस्तरीय नर्सरी र बिरुवा आपूर्ति गर्छौंँ । वन क्षेत्रले कृषि, पर्यटन, ऊर्जा र जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र स्थानीय जीविकोपार्जनमा पार्ने सकारात्मक प्रभावलाई राष्ट्रिय लेखामा समावेश गर्ने छाैँ,” प्रतिज्ञामा भनिएको छ ।

एक सामुदायिक वन–एक वन उद्यमको अवधारणा कार्यान्वयन गर्ने एमालेको घोषणा

एमाले आगामी निर्वाचनका लागि अगाडि सारेको आफ्ना एजेन्डाका सङ्गालोलाई घोषणापत्र नाम दिइएको छ । उक्त घोषणापत्रमा न्यूनतम ४५ प्रतिशत हरियाली वन क्षेत्र सुरक्षित गर्ने र वन क्षेत्रलाई सघन वन क्षेत्रमा रूपान्तरण गर्ने, जैविक विविधता तथा पर्यावरण प्रणालीको दिगो संरक्षण गर्ने र जलवायु परिवर्तनका असर कम गर्ने गरी रणनीति तर्जुमा गरिने उल्लेख छ । काठ उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ वनको संरक्षण, विकास र उपयोग गरिने र काष्ठ, गैरकाष्ठ र फलफूलका बिरूवा देशव्यापीरूपमा रोप्ने र संरक्षण गर्ने अभियान सञ्चालन गरिने छ ।

यसका लागि योजनाबद्ध ढङ्गले नर्सरीको विकास गरिने घोषणा गरिएको छ । “वन जङ्गलको संरक्षण, प्रवर्द्धन र सही उपयोग गर्दै वातावरणीय सन्तुलन कायम गरिने छ । जैविक विविधताको संरक्षण र विकास गरिने छ । नेपाललाई कार्बन न्यूट्रल देशमा रूपान्तरण गर्ने अभियानलाई अघि बढाइने छ,”घोषाणापत्रमा भनिएको छ, “नेपालमा मात्र पाइने दुर्लभ वन्यजन्तु तथा हुर्कन सयौँ वर्ष लाग्ने जातिका रूख भएको वन संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिने छ । वन, फलफूल, जडीबुटी तथा कृषिजन्य वनपैदावारको खेती विस्तार र बजार प्रवद्र्धन गरिने छ ।”

घोषणाअनुसार जडीबुटी तथा वनजन्य उद्योग विकास गर्न पूर्वाधार निर्माण गरी तिनमा निजीक्षेत्रको लगानी आकर्षित गरिने र एक सामुदायिक वन–एक वन उद्यमको अवधारणा कार्यान्वयन गरिने छ । सार्वजनिक निकायमा स्वदेशी काठ एवं फर्निचर प्रयोग गर्ने नीति लिइएको छ । जमिनको उपलब्धताको आधारमा प्रत्येक जिल्लामा नमूना कृषि वन तथा निजी वनको विकास र संरक्षणको व्यवस्था गरिने एमालेको नीति छ ।

वनलाई रोजगारी जोडिने नेकपाको घोषणा

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) घोषणापत्रमा जमिन, जल, जङ्गल र खनिजको विवेकसम्मत प्रयोग गरिने उल्लेख छ । वनको पूर्ण उपयोग गरी गुणस्तर अभिवृद्धि गर्दै पुनर्विकास गरिने नेकपाको योजना छ । स्रोत–साधनलाई उत्पादन, रोजगारी र गरिबी निवारणसँग जोडिनेछ ।

वन व्यवस्थापन र उपयोगसम्बन्धी स्पष्ट कानुन तथा नीतिगत पुनरावलोकन गर्ने रास्वपाको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वन क्षेत्र र त्यसबाट प्राप्त हुने उत्पादनले अर्थतन्त्रमा वृहत्तर योगदान पुर्‍याउने गरी वन व्यवस्थापन र उपयोगसम्बन्धी स्पष्ट कानुन तथा नीतिगत पुनरावलोकन गर्ने घोषणा गरेको छ ।

“चरन क्षेत्रको विकास, मासुजन्य पशुपक्षीपालन, आवश्यक पूर्वाधार विकास, आवास तथा घर–भवन निर्माणमा काठको व्यवस्थित उपयोग, आयत प्रतिस्थापन, उद्योगका लागि कच्चा पदार्थको आपूर्ति, जडीबुटी तथा आयुर्वेदिक औषधि उत्पादन, पर्यटन, काठ उत्पादन तथा बिक्री र कार्बन व्यापारलाई प्रमुख आर्थिक गतिविधिका रूपमा लिई आर्थिक र रोजगारीमा योगदान पुराउने गरी क्षेत्रगत तहमा वैज्ञानिक वन तथा चरन क्षेत्र उपयोग योजना बनाउनेछौँ,” रास्वपाको बाचापत्रमा भनिएको छ ।

सामुदायिक तथा राष्ट्रिय वनको सुरक्षाका लागि ‘वन डढेलो उच्च–सतर्कता केन्द्र’ स्थापना गरी ड्रोन र स्याटेलाइट प्रविधिमार्फत् डढेलोको वास्तविक समय (रियल टाइम) मा निगरानी र नियन्त्रण गर्ने आधुनिक संयन्त्र परिचालन गर्ने पनि उक्त पार्टीले उल्लेख गरेको छ । साथै पोर्टेबल पम्प र सुरक्षा उपकरणलाई वन क्षेत्र भएका प्रत्येक वडामा वितरण गरी व्यापक अग्नि नियन्त्रण प्रशिक्षण दिने र अग्नि नियन्त्रणमा ड्रोनको परीक्षण तथा अनुसन्धान गराउने रास्वपाको घोषणा रहेको छ ।

वनलाई समृद्धिको आधार बनाउने एजेन्डा कार्यान्वयनयोग्य छ : वनविद्

वन क्षेत्रलाई स्रोतका रूपमा उपयोग गरेर राष्ट्रिय समृद्धिको आधार बनाउन सकिने बताउँदै वनविद् डा राजेश राईले यसको कार्यान्वयन असम्भव नभएको स्पष्ट पारे । उनका अनुसार विगतमा वन व्यवस्थापनको संरचना तयार भए पनि प्रभावकारी कार्यान्वयनमा कमजोरी देखिएको थियो ।

डा. राईले यसपटक अझै राजनीतिक दलले वन क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यसलाई सकारात्मक सङ्केतका रूपमा व्याख्या गरे । “वनलाई स्रोत मानेर समृद्धिको आधार बनाउन सकिन्छ । कार्यान्वयन गर्न असम्भव छैन,” उनले भने, “कम खर्चमा परिणाम दिनसक्ने क्षेत्र भएकाले बजेटका हिसाबले पनि यो उपयुक्त क्षेत्र हो ।”

उनका अनुसार वन क्षेत्रलाई बजारसँग प्रभावकारी रूपमा जोड्न सकेमा ठूलो आर्थिक सम्भावना खुल्नेछ । तर रोयल्टी, राजस्व दर र मूल्य निर्धारणका विषयमा भने चुनौती रहेको राईको भनाइ छ । “हामी वन जङ्गलको धनिमूलुक भए पनि विदेशबाट काठ आयात भइरहेको अवस्था छ,” राईले भने, “आल्मुनियम र फलामे पाताजस्ता प्रतिस्थापन सामग्रीसँग काठलाई प्रतिस्पर्धी बनाउन राजस्व प्रणालीमा पुनरावलोकन आवश्यक छ ।”

उहाँका अनुसार वनको व्यवस्थापन मात्र पर्याप्त हुँदैन, व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्छ । डा. राईले वन क्षेत्रलाई दीर्घकालीन आर्थिक रूपान्तरणको आधार बनाउन सकिने उल्लेख गर्दै नीति र व्यवहारबीचको खाडल अन्त्य गर्न राजनीतिक दल गम्भीर हुनुपर्ने बताए।

विगतको तुलनामा सुधार आएको छ: फेकोफन

सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफोन) का अध्यक्ष ठाकुर भण्डारीले विगतका तुलनामा यसपटक विभिन्न राजनीतिक दलले ल्याएका घोषणात्रमा सामुदायिक वनलाई प्रथामिकता दिएको बताए । भण्डारीले सामुदायिक वनलाई बाइपास गरेर कोही अगाडि बढ्न नसक्ने र सामुदायिक वनको संरक्षण र व्यवस्थापनमा राजनीतिक दलहरूको सक्रिय प्रतिबद्धता र कार्यान्वयन दुवै आवश्यक रहेको बताए।

‘मौद्रिक नीतिले आर्थिक गतिविधिमा तीव्रता र वित्तीय स्थिरतामा जोड दिन्छ’

काठमाडौँ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आर्थिक गतिविधिमा तीव्रता ल्याउने र वित्तीय स्थिरता सुदृढ गर्ने दिशामा केन्द्रित रहेको जनाएको छ ।

परिसंघले सावधानीपूर्ण, मापनयोग्य तथा स्थिरतामुखी दृष्टिकोणसहित अवलम्बन गरिएका नीतिगत कदमहरू स्वागतयोग्य भएको उल्लेख गरेको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै सिबिफिनले विश्वका अधिकांश उदीयमान अर्थतन्त्रमा देखिएको क्रमिक सुधारसँग मेल खाने गरी मूल नीतिगत मापदण्डहरू यथावत राख्दै पछिल्लो आर्थिक परिवेशअनुसार लक्षित संरचनात्मक सुधारका कदम अघि बढाइनु सकारात्मक भएको जनाएको छ । यस्ता कदमले वित्तीय स्थिरता थप सुदृढ बनाउने विश्वास परिसङ्घले व्यक्त गरेको छ ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत क्षेत्रगत कर्जाको दायरा विस्तार, लघु, घरेलु तथा साना उद्यम कर्जा विस्तारमा प्रोत्साहन, कार्यशील पुँजी कर्जाको नगद प्रवाहमा आधारित मूल्याङ्कन, लक्षित पुनर्संरचना सुविधा, विदेशी विनिमय जोखिम सीमामा वृद्धि तथा कालोसूची व्यवस्थामा लचकताजस्ता व्यवस्थाले कर्जा तथा लगानी विस्तारलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

परिसंघका अनुसार यस्ता व्यवस्थाले उत्पादनमूलक, निर्यातमूलक तथा रोजगारमूलक क्षेत्रमा लगानी वृद्धि गर्दै आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्नेछ ।

साथै डिजिटल पूर्वाधारमा लगानी प्रोत्साहन तथा विद्युतीय भुक्तानी प्रणाली विस्तारका लागि लिइएका रणनीतिक पहलले नेपालको वित्तीय प्रणालीलाई विश्वव्यापी आधुनिकीकरणसँग समायोजन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सिबिफिनले अल्पकालीन तरलता व्यवस्थापन र दीर्घकालीन संरचनात्मक सुधारबीच सन्तुलन कायम गर्ने उद्देश्यले गरिएका सुधारात्मक पहल प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके वित्तीय स्थिरतासहित बैंकिङ क्षेत्रको आधुनिकीकरण, दिगो विकास तथा अर्थतन्त्र सुदृढीकरणमा योगदान पुग्ने जनाएको छ ।

बैंक तथा वित्तीय संस्थामा बढ्दो निष्क्रिय कर्जा, गैरबैंकिङ सम्पत्ति तथा तरलता व्यवस्थापनसम्बन्धी चुनौती समाधानका लागि सरोकारवाला पक्षसँगको छलफलका आधारमा नेपाल राष्ट्र बैंकले थप नीतिगत कदम चाल्ने विश्वास परिसङ्घले व्यक्त गरेको छ ।

गुगललाई नक्सा डाटा निर्यात अनुमति

काठमाडौँ । वर्षौंदेखि विदेशी पर्यटक र प्रयोगकर्ताले भोग्दै आएको असुविधापछि दक्षिण कोरियाले गुगललाई देशको अत्यन्तै सटीक नक्सा डाटा विदेशी सर्भरमा निर्यात गर्न सशर्त अनुमति दिएको छ । सरकारले शुक्रबार गरेको निर्णयसँगै कोरियामा गुगल नक्सा पूर्ण रूपमा सञ्चालन हुने बाटो खुलेको मानिएको छ ।

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सरकारी अधिकारी र निजी विज्ञहरूको समीक्षा पश्चात् गुगलको १ः५,००० स्केलको विस्तृत म्यापिङ डाटा निर्यात गर्ने अनुरोध स्वीकृत गरिएको हो । तर उक्त अनुमति नेभिगेसन सेवाका लागि आवश्यक सीमित डाटामात्र स्थानान्तरण गर्न पाइने, उचाइ रेखाजस्ता संवेदनशील विवरण समावेश नगर्ने र थप सुरक्षा उपाय अपनाउने सर्तमा दिइएको मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयका अनुसार गुगलले पहिलो चरणमा डाटा दक्षिण कोरियाभित्रैका सर्भरमा प्रशोधन गर्नुपर्नेछ र त्यसपछि मात्र सरकारी स्वीकृति लिएर निर्यात गर्न पाउनेछ । साथै, दक्षिण कोरियाली भूभागसँग सम्बन्धित सटीक निर्देशाङ्क हटाउन र गुगल अर्थ तथा स्ट्रिट भ्यूजस्ता समय–शृङ्खला सेवामा सैन्य तथा अन्य संवेदनशील स्थलका स्याटेलाइट र हवाई तस्वीरहरू धमिलो (ब्लर) बनाउनुपर्ने माग पनि सरकारले राखेको छ ।

सरकारले गुगललाई नक्सा डाटा निर्यातसम्बन्धी विषय व्यवस्थापन गर्न दक्षिण कोरियामा एक अनुपालन अधिकारी नियुक्त गर्न निर्देशन दिएको छ । तोकिएका सर्तहरू पालना नभए स्वीकृति निलम्बन वा रद्द गर्न सकिने मन्त्रालयले जनाएको छ ।

गुगलका सरकारी मामिला तथा सार्वजनिक नीतिका उपाध्यक्ष क्रिस टर्नरले इमेलमार्फत जारी वक्तव्यमा कम्पनीले ‘आजको निर्णयलाई स्वागत गरेको’ र ‘कोरियामा पूर्ण रूपमा कार्यशील गुगल नक्सा उपलब्ध गराउन स्थानीय अधिकारीहरूसँग निरन्तर सहकार्य गर्ने अपेक्षा’ राखेको बताए ।

यसअघि दक्षिण कोरियाले राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता र संवेदनशील भौगोलिक जानकारी घरेलु सर्भरमै राख्नुपर्ने नीतिका कारण गुगलको विस्तृत डाटा निर्यात अनुरोध वर्षौंसम्म अस्वीकार गर्दै आएको थियो । ती प्रतिबन्धका कारण दक्षिण कोरिया त्यस्ता थोरै देशमध्ये पर्दै आएको थियो जहाँ विश्वव्यापी रूपमा लोकप्रिय गुगल नक्साको प्रयोग सीमित थियो । फलस्वरूप, स्थानीय प्रयोगकर्ताहरू प्रायः नाभर र काकाओजस्ता स्वदेशी इन्टरनेट कम्पनीका सेवामा निर्भर रहँदै आएका थिए ।

आलोचकहरूले भने ती प्रतिबन्धका कारण विदेशी आगन्तुकहरूमा असन्तुष्टि बढेको र पर्यटन क्षेत्रमा नकारात्मक असर परेको तर्क गर्दै आएका थिए । दक्षिण कोरिया आफूलाई प्रमुख अन्तर्राष्ट्रिय यात्रा गन्तव्यका रूपमा स्थापित गर्न खोजिरहेका बेला गुगल नक्साको सीमित प्रयोगले प्रत्यक्ष असर पारेको हुनसक्ने उनीहरूको भनाइ थियो ।

सामाजिक सञ्जालमा मात्रै हैन जनताको घर–घरमा पुगेर आफ्ना कुरा राख्न गगन थापाको आह्वान

गलकोट (बागलुङ)। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा ठूलो तागत सङ्गठन भएकाले त्यसैको सहारामा घर–घर पुग्नुपर्ने बताएका छन् ।

आज यहाँ बागलुङ बजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालको तागतमा नभएर पार्टी आफ्नै सङ्गठनको तागतमा उभिएकाले जनताको घर–घरमा पुगेर आफ्ना कुरा राख्न र भोट माग्न आह्वान गरे ।

सभापति थापाले सामाजिक सञ्जालमार्फत अरूलाई टीकाटिप्पणी र आक्षेप नलगाई कार्यकर्ताको घरमा पुग्न र अबको पाँच वर्ष खेर नफाल्नेमा आश्वस्त पार्न आग्रह गरे ।

“कांग्रेस एउटा सङ्कल्प र प्रतिज्ञा गरेर आएको छ, त्यसका लागि पाँच वर्ष जनताले मौका दिन आवश्यक छ । त्यसको आधार र कारणबारे बताउनुस् । यो पाँच वर्ष जोखिमपूर्ण ढङ्गले बनाइएको संविधान बचाउने र सहर तथा गाउँलाई जोड्नुपर्नेछ”, उनले भने, “सम्हाल्दै, सुधार्दै र अघि बढ्दै जाने तागत कांग्रेससँग मात्रै छ । मतदाताको बीचमा गएर यो कुरा भन्नुस् । खुलेर पार्टीको ‘भिजन १०’ का बारेमा बुझाउनुहोस् ।”

कांग्रेस युवाहरूको मागअनुसार रूपान्तरण भएको बताउँदै सभापित थापाले अनुभवी र बदलिएको यही कांग्रेसले अब युवाहरूको भावनालाई सम्बोधन गर्ने बताए ।

आजपाका उम्मेदवार पौडेलद्वारा एमाले उम्मेदवार पोखरेललाई समर्थनको घोषणा

काठमाडौँ । आम जनता पार्टीबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार रहेका कोमल पौडेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ईश्वर पोखरेललाई समर्थनको घोषणा गरेका छन् ।

समाजशास्त्री रहेका पौडेलले धापासीमा नेता पोखरेलको उपस्थितिमा आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वाधिनताको रक्षा, जन समस्याको समाधान र उन्नत राष्ट्र बनाउने तीव्र आकाङ्क्षा लिएर घरदैलोमा पुग्दा जनताको मत, आफ्नो भावनासँग मेल खाने उम्मेदवार पोखरेल पाइएकाले उहाँका लागि समर्थन र ऐक्यबद्धता रहने घोषणा गरेका थिए ।

उम्मेदवार पौडेलले देश र जनताको पक्षमा देशभरका एमालेका उम्मेदवारसँग सहकार्य गरेर सुरक्षित समृद्ध र बलियो राष्ट्र निर्माणमा योगदान गर्न आग्रह पनि गरे ।

जिल्ला आचारसंहिता अनुमगन समितिमा एक हजार ७६ उजुरी, लुम्बिनी प्रदेशमा परे सबैभन्दा धेरै उजुरी

काठमाडौँ। निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन भन्दै जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कुल एक हजार ७६ वटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसमध्ये एक हजार ६१ वटा (९९ प्रतिशत) फर्छ्यौट भएको आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलना आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ वटा उजुरी परेका छन् । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् । प्राप्त उजुरीमध्ये ९७ वटा (९ प्रतिशत) लिखित र ९७९ वटा (९१ प्रतिशत) टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका थिए ।

प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठूला तुल, ब्यानर र झण्डा प्रयोग गरेको, सामाजिक सञ्जालको दुरूपयोग गरेको, डिजे माइक बजाएर ध्वनि प्रदूषण गरेको, शिक्षक तथा कर्मचारीहरू र स्थानीय जनप्रतिनिधिहरू प्रचारप्रसारमा हिँडेको, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँगेको, अनुमति नलिएका सवारीसाधन प्रयोग गरेकोलगायत विषयमा रहेको उहाँले बताउनुभयो ।

निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाही गर्ने प्रक्रिया जारी राखेको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन अधिकृत, सुरक्षा निकाय तथा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयहरू क्रियाशील छन् । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा इमेल, व्यक्तिगत दर्ता तथा सञ्चारमाध्यमबाट जानकारी लिइएका समेत २५४ उजुरीमध्ये ८८ वटा उजुरीमा स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ ।

चार राजनीतिक दललाई सोधियो स्पष्टीकरण

आयोगबाट सोधिएका स्पष्टीकरणमध्ये राजनीतिक दलहरूलाई सोधिएका स्पष्टीकरणको सङ्ख्या चार र उम्मेदवारलाई सोधिएको स्पष्टीकरणको सङ्ख्या ३३ रहेको छ । त्यसबाहेक सरकारी÷शैक्षिक संस्था÷कर्मचारी तथा अन्य व्यक्तिलाई ५१ वटा स्पष्टीकरण सोधिएको छ । प्रदेशगत रूपमा कोशी प्रदेशमा आठ, मधेस प्रदेशमा १३, बागमती प्रदेशमा ४०, गण्डकी प्रदेशमा छ, लुम्बिनी प्रदेशमा सात, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चारवटा रहेका छन् ।

शक्तिबहादुर बस्नेत, निकोलस भुसाल र श्रम संस्कृति पार्टीलाई २५–२५ हजार जरिवाना

आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीका प्रक्रियाअन्तर्गत आयोगबाट सम्बन्धित राजनीतिक दल, उम्मेदवार तथा निकायबाट स्पष्टीकरणसमेत लिई सोउपर जाँचबुझपछि निर्णय भएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (झ) र (ण) विपरीत कार्य गरेकोमा नेपाली कम्युनिस्ट पार्टीका जाजरकोट निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) तथा आचारसंहिताको दफा ४८ को उपदफा (१) बमोजिम रु २५ हजार जरिवाना गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ठ), (ण) र (प) प्रतिकूल कार्य गरेकामा आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा रूपन्देही निर्वाचन क्षेत्र नं २ मा नेपाल जनसेवा पार्टीका उम्मेदवार डा कमल भुसाल (निकोलस भुसाल)लाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) तथा आचारसंहिताको दफा ४८ को उपदफा (१) बमोजिम रु २५ हजार जरिवाना गर्ने निर्णय भएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (छ) र ऐ, आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) को उल्लङ्घन गरेकामा श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) तथा आचारसंहिताको दफा ४८ को उपदफा (१) बमोजिम रु २५ हजार जरिवाना गर्ने निर्णय भएको छ ।

खगेन्द्र सुनार र शोभा पाठकलाई आयोगले गरायो सचेत

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट बाँके निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार खगेन्द्र सुनारलाई निर्वाचन आचारसंहिता प्रतिकूल हुनेगरी अभिव्यक्ति नदिन सचेत गराउने निर्णय भएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहनुभएकी जानुका पाठक (शोभा)ले जेनजी आन्दोलनमा रगतले लतपतिएको आइकोनिक जुत्ता दुरूपयोग नगर्न सचेत गराउँदै अब उप्रान्त यस्तो कार्य गरेमा प्रचलित निर्वाचन कानुनबमोजिम कारबाही गरिने निर्णय भएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

गोरखापत्र संस्थानका दुई प्रदेश संयोजक पदमा बहाल

गोरखापत्र संस्थानले निर्वाचन आचारसंहिता, २०८२ को दफा ७ को खण्ड (च) र (छ) विपरीत कार्य गरेकामा मधेस प्रदेशस्तरीय कार्यालयका संयोजक धर्मेन्द्रकुमार झा र बागमती प्रदेशस्तरीय कार्यालयका संयोजक शालिग्राम नेपाललाई साविककै पदमा कार्य गर्न दिनेगरी निर्णय भएको पनि आयोगले जनाएको छ ।

ढोरपाटन सिकार आरक्ष प्रमुख चौधरी र श्री माध्यमिक विद्यालयका शिक्षक ठाकुरलाई विभागीय कारबाही सिफारिस

वन तथा वातावरण मन्त्रालयअन्तर्गत ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख रामदेव चौधरीले निर्वाचन आचारसंहिता प्रतिकूल हुनेगरी सामाजिक सञ्जालमा द्वेषपूर्ण तथा अपमानजनक अभिव्यक्ति दिई निर्वाचन आचारसंहिता, २०८२ को दफा ७ को खण्ड (क) र (झ) विपरीतको कार्य गरेकामा निजामती सेवा ऐन, २०४९ को दफा ४२ को उपदफा (१), सोही ऐनको दफा ४४ बमोजिम विभागीय कारबाही गरी सोको जानकारी आयोगमा गराउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको पनि आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो ।

धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नं ५ मा रहेको श्री माध्यमिक विद्यालयका शिक्षक दीपनारायण ठाकुर राजनीतिक गतिविधिमा संलग्न भई निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (क) प्रतिकूल कार्य गरेकामा शिक्षा ऐन, २०२८ बमोजिम विभागीय कारबाही गरी आयोगमा जानकारी गराउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको पनि उहाँले बताउनुभयो ।

नेपाल आँखा अस्पताललाई ‘डोको एक्सिलेन्स अवार्ड’

काठमाडौँ। नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई ‘डोको एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित गरिएको छ।

‘डोको रिसाइक्लर्सले ‘इमर्जिङ इम्प्याक्ट पार्टनर’का रूपमा अस्पताललाई सम्मान गरेको हो । आज एक कार्यक्रमका बीच डोको रिसाइक्लर्सका प्रमुख कार्यकारी अधिकृत पञ्कज पञ्जियारले नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँ र कोषाध्यक्ष अनिल गोर्खालीलाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।

नेपाल आँखा अस्पतालले विगतका वर्षहरूमा डोको रिसाइक्लर्ससँगको सहकार्यमा फोहर छुट्याउने प्रणालीलाई सुदृढ बनाई, सुरक्षित विसर्जन अभ्यासहरूलाई सुधार गर्नुका साथै कर्मचारीहरूमा वातावरणीय सचेतना वृद्धि गर्दै आएको छ । जसको फलस्वरुप अस्पतालले समग्र वातावरणीय प्रभावमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

डोको रिसाइक्लर्सको तथ्याङ्कअनुसार, यस अवधिमा नेपाल आँखा अस्पतालबाट विसर्जन भएको कुल २.६६ टन फोहर पुनः प्रयोग हुँदा करिब २८ वटा बराबर रुख संरक्षण भएको छ । साथै, ल्यान्डफिल साइटमा एक हजार १३ घनफिट स्थान बचत भएको र २.२ टन बराबर कार्बन उत्सर्जन कम भएको देखिएको छ ।

आँखा अस्पतालबाट पुनः प्रयोग गर्न सकिने फोहर डोको रिसाइक्लर्सले सङ्कलन गर्दै आएको छ । संस्थाका अनुसार अस्पतालमा फोहर उत्पादन, सङ्कलन र विसर्जन प्रक्रिया वैज्ञानिक तथा निर्धारित मापदण्डअनुसार सञ्चालन हुँदै आएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोसार्इँले अस्पतालजन्य फोहर व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन संलग्न सम्पूर्ण चिकित्सक तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो र यो सम्मान सम्बन्धित सबैको सहकार्यबाट मात्र सम्भव भएको बताउनुभयो ।

अस्पतालको आव २०८१÷८२ को तथ्याङ्कअनुसार अस्पतालमा वार्षिक तीन हजार २७६ ले आकस्मिक सेवा र एक लाख ६४ हजार २९४ जनाले बहिरङ्ग सेवा लिएका छन् ।

टिपरको हाइड्रोलिक उठाउँदा करेन्ट लागेर चालकको मृत्यु

सिरहा। सिरहाको गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोलबजार नगरपालिका–३ घर भई वडा नं २ मा बस्दै आएका करिब ४३ वर्षीय सन्तोष साह रहेका छन् ।

आज बिहान करिब ९ः०० बजे प्रदेश२–०–००१क ००४५ नम्बरको टिपरको पछिल्लो भाग सफा गर्ने क्रममा हाइड्रोलिक उठाउँदा माथिबाट गएको विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर टिपरमा आगलागी भएको थियो ।

गम्भीर घाइते भएका साहलाई तत्काल उद्धार गरी उपचारका लागि स्थानीय हेल्थ केयर अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो ।

उनको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी अन्तिम चरणमा

काठमाडौँ, १५ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज यहाँ आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्‍याइसकिएको सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

मतदाता शिक्षा कार्यक्रम ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा जारी छ । स्वयम्सेवक परिचालन गरी फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम फागुन १७ गतेसम्म जारी रहनेछ । मतदान केन्द्रका लागि खटिएका कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन् ।

मतदान केन्द्र रहेका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायतका भौतिक संरचना मतदान कार्यमा उपयोग गर्नका लागि उपलब्ध गराइदिन नेपाल सरकार र सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिसकिएको पनि उनले बताए । निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको सञ्चालन र सहजीकरण, निर्वाचन र मतदान प्रक्रियामा समन्वय र व्यवस्थापनका क्षेत्रमा आवश्यक निर्णय आयोगबाट भइसकेको छ ।

नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास बढ्दै गएको छ : संयोजक दाहाल

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति जनताको विश्वास र भरोसा बढ्दै गएको बताउनुभएको छ ।

नेकपा नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पछिल्लो समय नेकपा आक्रामक रूपमा अगाडि बढिरहेकाले यस पार्टीप्रति जनताको विश्वास र भरोसा बढ्दै गएको बताउनुभएको हो । “पुरानो दुई दल कांग्रेस र एमाले रक्षात्मक अवस्थामा पुग्दा नेकपाप्रति जनताको विश्वास बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले मात्र मुलुकको स्वाधिनताको रक्षा र जनहितको पक्षमा काम गर्नसक्ने बताउनुभयो । उहाँले अबको पाँच दिन जनताको घरघरमा पुगेर सम्झाउन सके नेकपा मुलुककै पहिलो राजनीतिक दल बन्ने दाबी गर्नुभयो ।

“नेपाली कम्युनिष्ट पार्टीमात्रै त्यस्तो पार्टी बनेको छ, जुन महाअभियानका रूपमा निर्वाचनमा अगाडि बढेको छ र उभारका रूपमा देखापरेको छ, अन्य पुराना पार्टीहरू रक्षात्मक छन् । हामीमात्रै आक्रामक ढङ्गले अगाडि बढेका छौँ”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट नुवाकोट क्षेत्र नं १ मा पूर्वमन्त्री हितबहादुर तामाङ र क्षेत्र नं २ मा हिरानाथ खतिवडा उम्मेदवार छन् ।

सीमा क्षेत्रमा मध्यमा परिक्रमाका सहभागीलाई घर फर्कन व्यवस्थापन गरिने

महोत्तरी, फागुन १५-निर्वाचन सुरक्षा प्रयोजनले नेपाल–भारत सीमा क्षेत्रको आवागमन बन्द गरिँदा मिथिला माध्यमिकी परिक्रमाका भारतीय यात्रीलाई घर फर्कन सहज व्यवस्थापन गरिने भएको छ ।

यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा प्रयोजनले सीमानाकाको आवागमन यही आउने सोमबार (फागुन १८ गते) मध्यरातदेखि बिहीबार ९फागुन २१ गते०सम्म बन्द गरिने भए पनि परिक्रमाका भारतीय यात्रीलाई घर फर्कन सहजिकरण गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।

परिक्रमामा सहभागी भारतीय यात्रीलाई आउने मङ्गलबार ९फागुन १९ गते० मध्याह्नदेखि बुधबार मध्याह्नसम्म घर फर्कन सीमानाकामा खटिएका सुरक्षाकर्मीले सहजीकरण गर्ने व्यवस्था मिलाइएको जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । सीमानाका बन्द गरिने सो अवधिमा यात्रीलाई फर्कन ९भारततिर जान० मात्र सहजीकरण गरिने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । यसअघि निर्वाचनमा सुरक्षा प्रयोजनले सीमा नाका बन्द गरिएपछि भारतीय यात्री कसरी घर फर्कने भन्ने आम चिन्ता व्यक्त गरिएको थियो ।

“भारतीय यात्रीलाई घर फर्कन धनुषाका जयनगर र जटही तथा महोत्तरीका मटिहानी र भिठ्ठामोर मुख्य नाका हुन्, यी नाका भएर फर्कन सुरक्षाकर्मीले सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ”, प्रजिअ यादवले भन्नुभयो, “यसका लागि महोत्तरी र धनुषा दुवै जिल्लाका जिल्ला प्रशासन कार्यालयको समन्वयमा व्यवस्था गरिएको छ ।”

यो १५ दिने परिक्रमाका यात्री अन्तिम दिनको रात्रिबासका लागि सोमबार जनकपुर पुग्नेछन् । मङ्गलबार बिहान जनकपुरधामको अन्तर्गृह (पञ्चकोसी) परिक्रमा गरेपछि यात्रा सम्पन्न हुनेछ । यसरी मङ्गलबार मध्याह्नसम्म परिक्रमा सम्पन्न भएपछि बुधबार मध्याह्नसम्म भारतीय यात्रीलाई घर फर्कन सहजीकरणको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । परिक्रमा यात्रामा उल्लेख्य सङ्ख्यामा भारतीय साधुसन्त र सर्वसाधारण सहभागी छन् ।

टी–२० विश्वकप : इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर–८ को आजको खेलमा इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दैछन ।श्रीलंकाको आर प्रेमादासा स्टेडियम कोलम्बोमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुँदैछ । न्युजिल्याण्डका लागि भने यो खेल सेमिफाइनलको महत्वपूर्ण खेल हो ।

जितले न्युजिल्याण्डलाई समूह २ को विजेता बनाउने छ । तर इङ्ल्याण्डसँग हार बहोरेमा भने अर्को खेलमा श्रीलंकाविरुद्ध पाकिस्तानको हारले मात्र न्युजिल्याण्डलाई अन्तिम ४ को ढोका खुल्नेछ ।सुपर–८ को पहिलो खेलमा श्रीलंकालाई ५१ रन र दोस्रो खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै इङ्ल्याण्ड अन्तिम खेल अगाडिनै सेमिफाइनल पुगिसकेको छ । २ पटकको विजेता इङ्ल्याण्ड अपराजित रहँदै नकआउट पुग्ने लक्ष्यमा छ ।

यो खेलले समूह विजेताको टुङ्गो लगाउनेछ । इङ्ल्याण्ड र न्युजिल्याण्डबीच अहिलेसम्म ट्वेन्टी ट्वेन्टी ढाँचामा ३० खेल भएका छन् । इङ्ल्याण्डले १६ खेल जित्दा १० खेल न्युजिल्याण्डले जितेको छ । १ खेल बराबरी हुँदा ३ खेल नतिजाविहीन छ ।

आज पोखरामा कांग्रेसको आमसभा, सभापति थापा र विश्वप्रकाश शर्माले सम्बोधन गर्ने

पोखरा, फागुन १५-आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज पोखरामा नेपाली कांग्रेसले आमसभाको आयोजना गरेको छ ।

पोखराको अमरसिंहचौरमा हुने आमसभालाई पार्टीका सभापति गगनकुमार थापा तथा उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्नुहुने नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नविन सिग्देलले जानकारी दिनुभयो । आमसभामा प्रदेशभित्रका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित नेता तथा कार्यकर्ता सहभागी हुने उहाँले बताउनुुभयो ।

आमसभामार्फत बदलिएको कांग्रेसको स्पष्ट विचार, नीति, कार्यशैली तथा आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश दिइने प्रवक्ता सिग्देलले बताउनुभयो । निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।

आज नुवाकोटका उम्मेदवारसँग भेटघाट कार्यक्रममा सहभागी हुँदै ‘प्रचण्ड’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोटका उम्मेदवारद्वारा आयोजना गरिने मतदाता भेटघाट कार्यक्रममा सहभागी हुने भएका छन् ।

नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रम शुक्रबार बालाजुस्थित अनुपमद्वार पार्टी भेन्यूमा दिउँसो १२ः३० बजे सुरु हुने जनाइएको छ ।

समितिका अनुसार नुवाकोटका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थितिमा मतदाता भेटघाट तथा काठमाडौं केन्द्रित वृहत् चुनावी कार्यक्रम आयोजना गर्न लागिएको हो ।

 

बिबिसी लक्षित शंकरको टिप्पणी : डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण

काठमाडौं । नेकपा एमलेका महासचिव तथा पुर्वमन्त्री सङ्कर पोखरेलले बिबिसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको बताए ।पोखरेलले सामाजिक सञ्जालमार्फत सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने अडान गरेका छन् ।

चुनावको महत्त्वपूर्ण तथा संवेदनशील घडीमा यस्ता सामाग्री सार्वजनिक हुनु संयोग या नियोजित हस्तक्षेप भएको भन्दै प्रश्न खडा गरेका छन् ।पोखरेलले लेखेका छन्, ‘चुनावको मुखमा सार्वजनिक गरिएको बिबिसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन, यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो ।’ पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैँले गर्नुपर्ने भन्दै नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी रहेको बताए ।

गुर्जावासीको दिनभरको यात्राअवधि साढे दुई घण्टामा छोटियो

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ ।
लुलाङ–गुर्जा सडक योजनामार्फत चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्रयाक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जोड्न लागिएको हो । यसअघिका तीन वर्षमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको लगानीमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडकको मार्ग खुलेको थियो ।

भैसीमानेदेखि पाल्टनसम्म थप करिब तीन किलोमिटर सडकको मार्ग खुलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो । “थप करिब दुई किलोमिटर मार्ग खुलेपछि गुर्जा सडक सञ्जालमा जोडिने भएको छ”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीको उपकरण (डोजर) बिग्रिएकाले केही ढिलाइ भएको छ । सरासर काम हुने हो भने अब हप्ता दश दिनमा गुर्जामा बाटो पुग्छ । गाडी चढेर जान सकिन्छ ।”

चालु आवमा रु एक करोड ७० लाख बजेट विनियोजन गरेको योजनामार्फत छनोट भएको ठेकेदार कम्पनी लुलु कन्ट्रक्सनले गत पुसमा रु ८८ लाख ८५ हजारमा ठेक्का सम्झौता गरेको थियो । आव २०७९÷८० देखि सुरु भएको लुलाङ–गुर्जा धवलागिरि गाउँपालिकाको गौरवको प्राथमिकताप्राप्त योजना भएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

दुई वर्षअघिसम्म गुर्जादेखि लुलाङ पुग्न पूरै दिन भिर, जङ्गल र खोल्साको उकालो, ओरालो पैदलयात्रा गर्नुपर्ने अवस्था थियो । हाल गाडी पुग्ने पाल्टनदेखि २० मिनेट पैदलयात्रा गरेर गुर्जा पुगिने धवलागिरि–१ का वडाध्यक्ष झक छन्त्यालले बताउनुभयो ।

“गाउँ नजिकैसम्म बाटो र गाडी आउँदा गुर्जावासी खुसी र उत्साही भएका छौँ”, उहाँले भन्नुभयो, “गुर्जावासीले सडक ल्याउन योजना बनाउँदा पत्याएका थिएनन् । गाउँ नजिकै गाडी आउन थालेपछि गुर्जावासीमा उत्साह छाएको हो ।”

गाडी चल्न थालेपछि गुर्जाबाट दुई घण्टा ३० मिनेटमा गाउँपालिकाको केन्द्र मुना, पाँच घण्टामा बेनी र सात घण्टामा पोखरा पुग्न सकिने भएको छ । यसअघि गुर्जादेखि मुना पुग्न पूरै दिन पैदलयात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीय गोर्खा छन्त्यालले बताउनुभयो । गाडी चल्न थालेपछि बिरामीलाई अस्पताल पुर्याउन, कृषि, पशुजन्य र जडीबुटी बजारीकरणमा सहज भएको छ । गुर्जामा पर्यटकको चहलपहल बढ्न थालेको छ ।

मार्ग खुलेको सडकको ग्रेड, घुम्ती मिलाउन, साँघुरो ठाउँमा फाराकिलो पार्न, पक्की नाला बनाउन चालु आर्थिक वर्षमा सङ्घीय सरकारको सहरी विकास मन्त्रालयबाट रु तीन करोड र गण्डकी प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको छ ।

गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माण थालेको छ । काम्जाखोलामा बेलिब्रिज निर्माणका लागि गुर्जावासीले चन्दा सङ्कलन अभियान सञ्चालन गरेका छन् । दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पुर्याउन सहज भएको छ ।

अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो । एउटै बस्ती एकै वडामा समेटिएको दुई ६५ घर रहेको गुर्जाको जनसङ्ख्या एक हजार ५०५ जना छ ।

मेयरको चुनावमा तहल्का मच्चाएकी रञ्जु दर्शना काठमाडौं १ बाट सर्वाधिक चर्चित उम्मेदवार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–१ मा चुनावी माहोल तातेको छ। यस क्षेत्रबाट रञ्जु दर्शना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवारका रूपमा मैदानमा उत्रिएपछि निर्वाचन थप रोचक बनेको छ।

काठमाडौं महानगरपालिकाको मेयर पदमा २०७४ सालमा उम्मेदवारी दिएर एकाएक राष्ट्रिय चर्चामा आएकी रञ्जुले त्यतिबेला २३ हजार ४३९ मत प्राप्त गर्दै आफूलाई बलियो वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित गरेकी थिइन्। युवा पुस्ताको प्रतिनिधित्व र वैकल्पिक राजनीतिप्रति जनआकर्षण बढाएको उनको त्यही अभियानले उनलाई राष्ट्रिय स्तरमा परिचित बनाएको थियो।

मेयर चुनावपछि विवेकशील र साझा पार्टीबीचको एकता–टुटफुटको शृङ्खलापछि केही समय स्वतन्त्र राजनीतिक यात्रामा रहेकी रञ्जु अहिले रास्वपाको निलो झण्डामुनि प्रतिनिधिसभा निर्वाचनमा होमिएकी छन्। हालै पहिलो सन्तानलाई जन्म दिएकी उनी पारिवारिक जिम्मेवारीसँगै सक्रिय राजनीतिक भूमिकामा फर्किएकी हुन्।

काठमाडौं–१ परम्परागत रूपमा नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिँदै आएको छ। यस्तो क्षेत्रमा रञ्जुको उम्मेदवारीले पुराना दल र नयाँ शक्तिबीचको प्रतिस्पर्धालाई थप चासोको विषय बनाएको छ। युवा, महिला र परिवर्तनको एजेण्डा उठाउँदै आएकी रञ्जुलाई यसपटकको निर्वाचन उनको संसदीय यात्राको पहिलो खुड्किलोका रूपमा हेरिएको छ।

चुनावी मैदानमा पुराना राजनीतिक विरासत र नयाँ पुस्ताको आकांक्षाबीचको प्रतिस्पर्धा कसरी परिणाममा रूपान्तरण हुन्छ भन्ने विषयमा मतदाताहरूको चासो केन्द्रित रहेको छ। काठमाडौं–१ को नतिजाले राष्ट्रिय राजनीतिक समीकरणमा समेत सन्देश दिने विश्लेषकहरूको बुझाइ छ।

बिहानै गयो संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्प

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प संखुवासभाको टोप्के गोला आसपास केन्द्रविन्दु भएर गएको थियो ।

भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो । प्रारम्भिक सूचना अनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै जानकारी नभएको ती जिल्लाका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ । विशेष गरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाब्ले महत्त्वपूर्ण मानिएको छ ।

यस चरालाई पहिलोपटक निकुञ्जमा नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) का वरिष्ठ चराविज्ञ हिरूलाल डगौरा, दिलीप चन्द ठकुरी, सुमन चौधरी, डा विकल्प पाण्डेलगायत टोलीले निकुञ्जमा चरा अवलोकनका क्रममा अभिलेख गरेका हुन् । ‘मदना चाँचर’को वैज्ञानिक नाम टर्डस बुबुल रहेको छ । यो थ्रस (चाँचर) परिवारमा पर्ने चरा हो ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आयुसिएन)ले यसलाई विश्वस्तरमा ‘कम चिन्ताजनक’ अर्थात् सामान्य श्रेणीमा राखेको भए पनि शुक्लाफाँटाका लागि भने यो नितान्त नयाँ र दुलर्भ प्रजातिका रूपमा रहेको चराविज्ञ डगौराले बताए ।

उनका अनुसार यो चरा मुख्यतः मध्यपहाडी र हिमाली क्षेत्रका आर्द्र वनमा बस्ने गर्छ । सामान्यतया १८०० देखि २७०० मिटर उचाइमा पाइने यो प्रजाति जाडो याममा केही तल झर्न सक्छ । तर तराईको समथर भूभागमा देखिनुलाई असामान्य मान्न सकिने चराविज्ञ डगौराले बताए ।

“विश्वस्तरमा सामान्य भए पनि शुक्लाफाँटामा देखिनु स्थानीय रूपमा दुर्लभ घटना हो”, उनले भने, “यसले वातावरणीय अवस्था वा बसाइसराइको ढाँचामा आएको परिवर्तनलाई देखाउँछ ।” मदना चाँचर करिब २८–२९ सेन्टिमिटर लामो हुन्छ । भाले चरा कालो रङको र पखेटामा खैरो दाग भएको देखिन्छ भने पोथी चरा खैरो रङको हुन्छ । भालेको चुच्चो पहेँलो र पोथीको हल्का पहेँलो वा खैरो हुन्छ ।

“नेपालदेखि उत्तरी भियतनामसम्मका पहाडी क्षेत्रमा सीमित मानिने यो प्रजातिको चरा तराईमा देखिनुले जलवायु परिवर्तनको असर वा पारिस्थितिक प्रणालीमा भइरहेको फेरबदलको सङ्केत हो”, चराविज्ञ डगौराले भने, “पहाडी क्षेत्रमा सीमित मानिने चरा तराईमा भेटिनुले शुक्लाफाँटाको जैविक विविधताको दायरा अझ फराकिलो बन्दै गएको छ ।” शुक्लाफाँटामा यो नयाँ पाहुनाको आगमनसँगै निकुञ्जमा पाइने चराहरूको सङ्ख्यामा थप वृद्धि भएको छ ।

पहाडी क्षेत्रको यो चरा शुक्लाफाँटामा अभिलेख भएसँगै यस निकुञ्जलाई चरा अवलोकन र वैज्ञानिक अनुसन्धानको दृष्टिले अझ महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

आसन्न निर्वाचनप्रति मधेस प्रदेशका मतदातामा बढी उत्साह

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा बढी उत्साह देखिएको पाइएको छ ।

आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) ले गरेको निर्वाचन सर्वेक्षणमा विगतको तुलनामा मधेस प्रदेशका करिब ५५ प्रतिशत मतदातामा आगामी चुनावप्रति उत्साह देखिएको उल्लेख छ । जेनजी आन्दोलनका जगमा हुन लागेको यस निर्वाचनलाई विगतका निर्वाचनभन्दा भिन्न र विशिष्ट मानिएको जियोकका महासचिव कृष्णमान प्रधानले बताए ।

भदौ २३ गते भएको जेनजी आन्दोलनपछिको पहिलो निर्वाचन भएकाले पनि आममतदातामा ठुलो उत्साह रहेको महासचिव प्रधानले बर्ता । सोही प्रदेशमा निर्वाचनप्रति सबैभन्दा बढी ७९.२ प्रतिशत विश्वास रहेको सर्वेक्षण तथ्याङ्कले देखाएको छ ।

जियोकको सर्वेक्षणमा भनिएको छ, “नवयुवा पुस्ताले यस निर्वाचनलाई विगतको भन्दा फरक मानेका छन्, आममतदाता भने तोकिएको समयमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनेमा ढुक्क छन् ।” जियोकले करिब १०० जना मतदातामा गरेको सर्वेक्षणमा सहभागीमध्ये अधिकांश यही फागुन २१ गते हुने निर्वाचनबारे सचेत रहेको उल्लेख छ ।

सर्वेक्षणमा सहभागी मतदातामध्ये ३४ प्रतिशत राजनीतिक शक्तिबाट उच्च प्रभावित रहेको तथा ५० प्रतिशतमा मध्यम प्रभाव देखिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा जेनजी आन्दोलनको प्रभावले विगतको तुलनामा चुनावी नतिजालाई केही फेरबदल गर्ने अनुमान गरिएको छ ।

निर्वाचनको सफलतामा शान्ति, सुरक्षाको पाटोलाई चुनौतीका रूपमा पहिचान गरिए तापनि पछिल्लो समय बन्दै गएको चुनावी वातावरणले अन्य कुरालाई पन्छाउँदै लगेको संस्थाले जनाएको छ । तथापि राजनीतिक दलका कार्यकर्ताबिच हुनसक्ने विवादले केही स्थान विशेषमा भने छिटफुट रूपमा सुरक्षा चुनौती निम्तन सक्ने विषयलाई नकार्न नमिल्ने औँल्याइएको छ ।

सर्वेक्षणमा सहभागी २१ प्रतिशत मतदाताले आफ्नो मतको निर्णयमा सामाजिक सञ्जालको प्रभाव रहेको स्वीकार गरेको तथा लैङ्गिक रूपमा २४ प्रतिशत पुरुष र २१ प्रतिशत महिला प्रभावित देखिएको उल्लेख छ ।

प्रविधि प्रयोगमा मात्र होइन, नवयुवा पुस्ता सामाजिक सञ्जालबाट त्यति नै प्रभावित देखिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी तुल्याउन पैसा र पहुँचको दुरुपयोगलाई सबैभन्दा ठुलो चुनौतीका रूपमा औँल्याइएको छ ।

निर्वाचन सुरक्षामा भ्रामक सूचनाले पनि नकारात्मक असर पर्ने सक्ने भएकाले त्यसको समयमै रोकथाम गर्नेतर्फ ध्यान पुराउनुपर्नेमा जोड दिइएको छ । चुनावको मिति नजिकिँदै गर्दा निर्वाचनका लागि आवश्यक वातावरण बनेको, मतदातामा उत्साह बढेको, नयाँ राजनीतिक शक्तिको उदय सङ्केत देखिएको तथा निर्वाचनपछिको परिदृश्य र सुधारको सम्भावना प्रशस्त रहेको जियोकको प्रतिवेदनमा उल्लेख छ ।

बागलुङ : निर्वाचन प्रयोजनका लागि २२ उम्मेदवारले खोले बैंक खाता

ढोरपाटन (बागलुङ), १५ फागुन निर्वाचन खर्च प्रयोजनका लागि बागलुङका २२ उम्मेदवारले बैंक खाता खोलेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बागलुङ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा उम्मेदवार भएका २३ जनामध्ये अहिलेसम्म २२ जनाले बैंक खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।

उम्मेदवारको खर्च र आम्दानी सोही खाताबाट गर्नुपर्ने कोष तथा लेखा नियन्त्रणको कार्यालय बागलुङका कोष नियन्त्रक किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्र नम्बर १ का एक जना उम्मेदवारले खाता खोलेका छैनन् ।

बागलुङमा उम्मेदवारले बढीमा २९ लाखसम्म खर्च पाउने निर्वाचन आयोगले मापदण्ड बनाएको छ । निर्वाचनमा हुने आर्थिक चलखेल रोक्नका र खर्च मितव्ययीता गर्नका लागि उम्मेदवारको खर्चसम्बन्धी अनुगमन गरिने उहाँ बताउनुहुन्छ ।

श्रेष्ठले भन्नुभयो, “निर्वाचन आयोगले यसपालि बढी खर्च गर्नबाट रोक्नका उम्मेदवारले निर्वाचन प्रयोजनका लागि मात्रै प्रयोग हुने खाता खोल्ने व्यवस्था गरेको छ, यहाँका धेरैले खाता खोल्नुभएको छ, एक जान खोल्ने प्रक्रियामा हुनुहुन्छ ।”

कामपाको दशवटा वडाभित्रका पाँच सय नौ स्थानमा प्राचीन नाम पहिचान

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले १० वटा वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम निश्चित भएको जनाएको छ ।
सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा यसअघि दुई चरणमा गरेको अध्ययनबाट ४३० वटा मूल नाम र ७९ वटा सहायक नाम यकिन गरेको कामपा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिनुभयो ।

त्यसैगरी, तेस्रो चरणमा थप आठवटा वडाको मौलिक र प्राचीन नाम अध्ययन गर्ने सम्झौता अवसरमा यससम्बन्धी जानकारी दिइएको हो । तेस्रो चरणको अध्ययनका लागि कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतको रोहबरमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशन रिजा जोशीले हस्ताक्षर गर्नुभएको हो । यस चरणमा वडा नं १२, १३, १५, २१, २२, २३, २७ र २८ का बस्ती तथा स्थानको मौलिक नामको अध्ययन गरिने राईले जानकारी दिनुभयो ।

सम्झौता अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले, नाम केवल बोलाउनका लागि प्रयोग गरिने शब्दमात्र नभएको उल्लेख गर्नुभयो । “हरेक नामको पछाडि केही न केही तथ्य हुन्छ । इतिहास, संस्कृति, सभ्यता तथा समाजको कथा हुन्छ । यसकारण नाम राख्ने र प्रचलनमा ल्याउने कामलाई हलुका रूपमा लिन हुँदैन,” नामसम्बन्धी परिचय पाटी राख्ने विषय उठाउँदै उहाँले भन्नुभयो, “परिचय पाटी राख्दा दृश्य प्रदूषण हुनेगरी नराख्नुहोला । सकेसम्म पहिलेकै ठाउँमा राख्नुहोला । नत्र भए हेर्दा आँखा नबिझाउने, अरुलाई असर नपार्ने ठाउँमा राख्नुहोला ।”

विभागका प्रमुख राईका अनुसार यसअघि पहिलो चरणमा वडा नं ५, ६, ७, १८, २४ को र दोस्रो चरणमा वडा नं ८, १७, १९, २०, र २५ मा अध्ययन भइसकेको छ । अध्ययनका क्रममा वडाभित्र भएका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वमा आधारित स्थान तथा बस्तीको मौलिक एवं प्राचीन नामकरणसम्बन्धी अध्ययन तथा अभिलेखीकरण भएको उहाँले जानकारी दिनुभयो ।

अध्ययनका क्रममा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठमन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरूको अध्ययनबाट प्राचीन नाम पत्ता लगाइन्छ ।

यसरी पहिचान गरिएको नामलाई स्थानीयवासी, समुदाय, संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग नाम पुष्टि गराइन्छ । रासस

मतदाता आकर्षित गर्न दलहरूका आ–आफ्नै ‘एजेन्डा’

काठमाडौं, फागुन १५ । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका र यसपटकदेखि चुनावी मैदानमा होमिएका राजनीतिक दलहरूले मतदातालाई आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’ अघि सारेका छन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फ उम्मेदवारी मनोनयन गरी निर्वाचन चिह्न प्राप्त गरेका राजनीतिक दलहरूले निर्वाचन घोषणापत्र जारी गरी प्रचारप्रसार अघि बढाएका छन् ।

कुल १२० राजनीतिक दलले निर्वाचनमा भाग लिने आवेदन दिएकामा प्रत्यक्षतर्फ ६५ राजनीतिक दलले ६१ राजनीतिक चिह्न तथा समानुपातिकतर्फ ६३ राजनीतिक दलले ५७ राजनीतिक चिह्नमा प्रतिस्पर्धा गर्दैछन् ।
निर्वाचन घोषणापश्चात कतिपय राजनीतिक दलमा विभाजन आएको छ भने कतिपय दल एकापसमा एकीकृत भएर मैदानमा देखिएका छन् । कतिपय दलले चुनावी गठबन्धन गरी संयुक्त निर्वाचन चिह्नबाट प्रचार गरेका छन् ।

संसदीय राजनीतिमा अनुभवी पूर्वमन्त्री अशोककुमार राईको संयोजकत्वमा नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टीले साझा/एकल जाँतो चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका छन् । तीनवटा पार्टीको तर्फबाट प्रत्यक्षतर्फ एक सय हाराहारीमा उम्मेदवारी दर्ता भएको राईले जानकारी दिए ।

जसपाका अध्यक्ष राईका अनुसार मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, अखडण्ता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्ने विषयलाई घोषणापत्रमा पहिलो प्राथमिकतामा राखिएको छ । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरण गर्ने, पहिचान र सामथ्र्यका आधारमा वर्तनमा सङ्घीय संरचनालाई वैज्ञानिक ढङ्गले पुनःसंरचना गर्ने, संविधानमा भएको संरक्षित क्षेत्र र विशेष क्षेत्रलाई ऐन बनाएर लागू गर्ने तथा स्थानीय तहलाई गैरदलीय बनाइ सामुदायिक विकास इकाइका रूपमा स्थापित गर्ने विषयलाई घोषणापत्रमा राखिएको छ”, उनले भने ।

नयाँ पुस्ताको मागअनुसार मुलुकको अग्रगामी निकासका लागि राजनीतिक, आर्थिक, सामाजिक एवं प्रशासनिक सुधार गर्ने, राज्यको सामाजिक दायित्व राज्य, निजी क्षेत्र र समुदायमा आधारित सामाजिक सुधार अर्थतन्त्रको नीति अवलम्बन गर्ने, स्वदेशी तथा विदेशी पुँजी र प्रविधि परिचालनका लागि लगानीमैत्री वातावरण निर्माण गर्ने, जलसम्पदाको सदुपयोगका लागि बहुउद्देश्यीय जनसहभागितामूलक र एकीकृत विकासको नीति लागू गर्ने, वैदेशक रोजगारमा भएका नागरिकको कमाइलाई जलविद्युत् र उद्यमशील क्षेत्रमा परिचालन गर्ने नीति घोषणापत्रमा उल्लेख छ ।

जनादेश पार्टी नेपालका सहमहामन्त्री जस्मिन ओझाका अनुसार अहिले जनादेश पार्टी र आम जनता पार्टीबीच संयुक्त चिह्न (मोबाइल) मा चुनावी सहकार्य भएको र ८० भन्दाबढी निर्वाचन क्षेत्रमा उम्मेदवारी रहेको छ । भर्खर स्थापना भएका कारण धेरै क्षेत्रमा उम्मेदवारी दिन नसकिएको उनले जानकारी दिए । जनादेश पार्टीले अहिले देशव्यापी रूपमा सङ्गठन विस्तारको अभियान अघि बढाइरहेको उनको भनाइ छ । जनादेश पार्टीले १३ बुँदे प्रतिबद्धतासमेत जारी गरेको छ । राजनीतिक पविर्तनका लागि बलिदानी दिएका सहिद तथा घाइते परिवारलाई विशेष कोष खडा गरेर सहयोग गर्ने र जलवायु परिवर्तनको विषयमा नेपालले आर्थिक नीतिका लागि विशेष बजेट विनियोजन गर्ने योजना छ ।

“हामीले ६.५–७.५ प्रतिशत कुल गार्हस्थ्य उत्पादन वृद्धिको लक्ष्य राखेका छौँ, सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कृषि र पर्यटन क्षेत्रबाट पाँच लाख रोजगारी सृजना गर्ने, मिटरब्याज, लघुवित्त र सहकारीपीडितलाई न्याय दिन विशेष आर्थिक अदालत गठन गर्ने विषयलाई प्राथमिकताका साथ घोषणापत्रमा समावेश गरिएको छ”, घोषणपत्र मस्यौदा समितिको संयोजकसमेत रहेकी ओझाले भनिन् ।

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले समानुपातिकतर्फ १०९ जना तथा प्रत्यक्षतर्फ ३५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भुसालको समूह नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) मा समाहित भएको छ । पार्टीको निर्वाचन चिह्न हसियाँ रहेको छ । मुख्यगरी तीनवटा राजनीतिक दलले जनताको पक्षमा काम गर्न नसकेकाले आफूहरूको उपस्थिति भएको महासचिव केदारचन्द्र शर्माले जानकारी दिए ।

“भ्रष्टाचारप्रति शून्यसहनशीलता, सांसदलाई मन्त्री बनाउन नहुने, सांसदलाई विधायकी काममा मात्रै सीमित गर्नुपर्ने, प्रधानमन्त्री दुई कार्यकाल मात्रै हुने, मन्त्री सांसदलाई चारपटकभन्दा बढी पदमा जान नदिने, उद्यमशीलता प्रवर्द्धन, रोजगारी सृजना, शिक्षामा आमूल परिवर्तन, ७० प्रतिशत तालिम तथा व्यावसायिक शिक्षा दिने नीति रहेको छ”, उनले भने । सो पार्टीले तीनखम्बे आर्थिक नीतिलाई उच्च प्राथमिकता दिएको छ ।

आज कुन देशको मुद्राको विनिमयदर कति?

काठमाडौँ, १५ फागुन : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार )का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६ रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९३ पैसा र बिक्रीदर २३ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८ रुपैयाँ ६३ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ १६ पैसा र बिक्रीदर ४७७ रुपैयाँ १२ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ र बिक्रीदर ३८६ रुपैयाँ ५९ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ६१ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइट https://www.nrb.org.np/forex मा उपलब्ध हुने जनाइएको छ ।

आजको मौसम : आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात भइरहेको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभामामा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राती तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ । देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

चुनावको अन्तिम परिणाम नआएसम्मक मादक पदार्थ बिक्रीवितरणमा रोक, यी कागजात देखाएर गर्न पाइन्छ मतदान

काठमाडौँ, १५ फागुन : निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ ।आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको हो ।

सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिससमेतका आधारमा आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।

जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम निषेध गरिएका कार्य हुन नदिने र कहीँकतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन निर्देश गरिएको छ ।

मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मतका सवारीसाधन निर्वाध चल्न सक्नेछन् ।

यस्तै, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारीसाधन पनि सहज सञ्चालन हुनेछ । सार्वजनिक तथा निजी सवारीसाधन भने यही फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय भएको आयोगले जनाएको छ ।

यस्तै, मतदानको दिनमा अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत सञ्चालनको व्यवस्था मिलाइनेछ । अन्तरराष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर र बसोबास गर्ने होटलसम्म ल्याउन सहज व्यवस्था गरिएको छ ।

यस्तै, घर बसोबास गर्ने होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिनेगरी आवश्यक व्यवस्था मिलाइने आयोगले उल्लेख गरेको छ ।

यी कागजात देखाएर मतदान गर्न पाइन्छ

प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशका, २०८२ अनुसार मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सक्नेछन् ।

यस्तै, राष्ट्रिय/परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्र लिएर मतदान केन्द्रमा जान सक्नेछन् । सोबमोजिम कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न जान सक्नेछन् ।

यस्तै, मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउने कुरा मतदानमा खटिने सुरक्षाकर्मी कर्मचारी र सरोकारवालालाई सूचना सम्प्रेषण गर्ने निर्णय भएको आयोगले उल्लेख गरेको छ ।

मतदानको दिनमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा पास वितरण एकाइ खडा गर्ने र सो एकाइमा निर्वाचन आयोगको तर्फबाट दुई जना र जिल्ला प्रशासन कार्यालय काठमाडौँको तर्फबाट दुई जना कर्मचारीलाई तोकिनेछ ।

नेताहरूसँग पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

सिरहा, १५ फागुन : आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक त बढेको छ, तर उम्मेदवारहरूका लागि यसपटकको घरदैलो विगतको जस्तो सहज छैन । हिजोका दिनमा आश्वासनका पोका सुन्ने र ताली बजाउने मतदाता अहिले ‘अडिटर’का रूपमा उम्मेदवारको प्रतीक्षा गरिरहेका छन् ।

पुराना दलका नेताहरूलाई विगतको ‘रिपोर्ट कार्ड’ देखाउन मुस्किल परिरहेको छ भने नयाँलाई पुरानाजस्तै नहुने आधार पेस गर्न धौधौ छ । यहाँका मतदाताले अहिले मुख्य रूपमा चारवटा मुद्दालाई आफ्नो ‘बार्गेनिङ प्वाइन्ट’ बनाएका छन्, कमला पुलको अलपत्र अवस्था, भूमिहीनको लालपुर्जा, किसानको मलखाद र गाउँगाउँमा पक्की सडक ।

हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल १४ वर्ष बित्दा पनि निर्माण सम्पन्न नभएकामा स्थानीयको ठूलो आक्रोश छ । सिरहा नगरपालिका–६ बसबिट्टाका स्थानीय युवा प्रवीण यादव भन्नुहुन्छ, “हरेक चुनावमा यही पुलको मुद्दा बेचेर नेताहरूले भोट लान्छन् । पुल बनिसक्नुअघि नै भासियो, तर कसैलाई कारबाही भएन । अब हामी पुलको शिलान्यास होइन, त्यसमा गाडी गुडेको देख्न चाहन्छौँ । जसले ठोस कार्यतालिका दिन्छ, उसैलाई भोट जान्छ ।”

भगवानपुर, लहान, धनगढीमाई, गोलबजार र नवराजपुर क्षेत्रका मुसहर तथा दलित बस्तीमा पुग्ने उम्मेदवारलाई लालपुर्जाको प्रश्नले घेर्ने गरिएको छ । मुसहर समुदायका अगुवा रामसुफल सदाय भन्नुहुन्छ, “हाम्रा पुस्ता यही माटोमा बिते, तर हाम्रो नाममा एक धुर जमिनको लालपुर्जा छैन । हरेकपटक लालपुर्जा बाँड्छौँ भनेर फारम भराउँछन्, तर चुनावपछि ती फारम कहाँ हराउँछन् कसैलाई थाहा हुन्न । यसपालि हामी कागज होइन, अधिकार खोज्दैछौँ ।”

राजनीतिक विश्लेषक तथा दलित अभियन्ता राजेश विद्रोही यसपटकको चुनावी माहोललाई ‘उपेक्षित वर्गको विद्रोह’ का रूपमा चित्रण गर्नुहुन्छ । उहाँका अनुसार सिरहाका दलित, भूमिहीन र सीमान्तकृत समुदाय अब केवल मतदान गर्ने मेसिनमात्र रहन तयार छैनन् । विद्रोही भन्नुहुन्छ, “दशकौँदेखि दलित र भूमिहीनका नाममा राजनीति गरियो, तर उनीहरूको जीवनस्तर जहाँको तहीँ छ । लालपुर्जाको आश्वासन दिएर भोट बटुल्ने तर सत्तामा पुगेपछि बिर्सिने परम्पराले यसपटक ठूलो धक्का खाँदैछ ।

मतदाताले अब उम्मेदवारको अनुहार होइन, उनीहरूको इमानदारिता र विगतको कार्यशैलीको लेखाजोखा गरिरहेका छन् । यो कुनै एक दलको विरोधमात्र होइन, बरु वर्षौँदेखिको राजनीतिक ठगीविरुद्ध सचेत नागरिकले गरेको खबरदारी हो ।” उहाँका अनुसार मुसहर र अन्य दलित समुदायमा आएको यो राजनीतिक जागरणले परम्परागत शक्ति सन्तुलनलाई भत्काउन सक्ने देखिन्छ ।

अन्नको भण्डार मानिने तराईमा खेतीको समयमा रासायनिक मल नपाउनु यहाँका किसानको स्थायी पीडा हो । सुखीपुरका किसान रामवृक्ष यादव आक्रोश व्यक्त गर्दै भन्नुहुन्छ, “बाली लगाउने बेला मल पाइँदैन, धान बेच्ने बेला उचित मूल्य पाइँदैन । नेताहरू ठूला भाषण गर्छन्, तर एउटा मल डिपोको व्यवस्था गर्न सक्दैनन् । अब हामीलाई उम्मेदवारको अनुहार होइन, हाम्रो खेतमा पानी र बोरामा मल पुर्याउने प्रतिबद्धता चाहिन्छ ।”

ग्रामीण भेगका सडकहरूको बेहाल अवस्थाले यसपटक मतदातालाई निकै चिढ्याएको छ । विशेषगरी बजार क्षेत्रसँग भित्री गाउँहरू जोड्ने सडकहरू दशकौँदेखि मर्मतको नाममा कार्यकर्ता पाल्ने माध्यममात्र बनेको स्थानीयको आरोप छ । बर्खामा हिलो र हिउँदमा धुलोले गर्दा स्वास्थ्यमा समस्या परेको भन्दै स्थानीयले उम्मेदवारलाई सचेत गराएका छन् ।

स्थानीय बासिन्दाहरू भन्छन्, “हाम्रो गाउँको सडकमा वर्षैपिच्छे ग्राभेल त खन्याइन्छ, तर एक झरी पर्नेबित्तिकै त्यो बगेर जान्छ । यो सडक बनाउन आएको हो कि बजेट सिध्याउन ?” उनीहरूले अब उम्मेदवारहरूसँग सामान्य मर्मतको आश्वासन होइन, दीर्घकालीन र गुणस्तरीय पक्की सडकको ग्यारेन्टी मागेका छन् ।

यस विषयमा लहानका स्थानीयसमेत रहनुभएका मानवअधिकारकर्मी राजकुमार राउत विश्लेषण गर्नुहुन्छ, “गाउँमा निर्वाचनको मुखमा मात्र टालटुले काम गरेर मतदातालाई अल्मल्याउने र ग्राभेल हालेर बजेट सकाउने खेल अब चल्दैन । सडक निर्माणमा हुने चरम भ्रष्टाचार र कमिशनतन्त्रले गर्दा नै विकासले गति लिन नसकेको हो ।

मतदाताले अब पक्की सडकमात्र होइन, त्यो निर्माण प्रक्रियामा पारदर्शिता र भ्रष्टाचारमुक्त स्थानीय प्रशासनको ठोस खाका खोजिरहेका छन् ।” राउतका अनुसार सडक निर्माणको गुणस्तरमाथि प्रश्न उठाउनु र प्राविधिक विवरण माग्नुले स्थानीयस्तरमा सुशासनप्रतिको चेतना निकै बढेको छ ।

मतदाताको यो रूप देखेपछि पुराना दलका उम्मेदवारहरूले आफूले विगतमा गरेका केही कामको सूची बोकेर हिँड्न थालेका छन् । उनीहरू ‘समय अभाव’ वा ‘प्राविधिक समस्या’का कारण केही काम रोकिएको स्पष्टीकरण दिइरहेका छन् । अर्कातर्फ, नयाँ दलका उम्मेदवारहरूले यी सबै बेथितिको कारक पुराना दल भएको आरोप लगाउँदै आफूलाई विकल्पका रूपमा प्रस्तुत गरिरहेका छन् ।

नागरिक अगुवा अर्जुन थपलिया भन्नुहुन्छ, “मतदाता अब ‘रैती’ बाट ‘सचेत नागरिक’ मा रूपान्तरण भएका छन् । उनीहरूले जात, धर्म र दलभन्दा माथि उठेर विकास र सुशासनका लागि मतदान गर्ने मनस्थिति बनाएका छन् ।

यो लोकतन्त्रका लागि सुखद् पक्ष हो ।” यसपटकको चुनावमा मतदाताले नेतालाई होइन, नेताले मतदातालाई रिझाउनुपर्ने र हरेक प्रश्नको तर्कपूर्ण उत्तर दिनुपर्ने अवस्थाले चुनावी परिणामलाई थप रोचक र अनुमान गर्न कठिन बनाइदिएको छ ।

मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गरेर लोकतान्त्रिक आचरण कायम राख्नुपर्छः प्रवक्ता चालिसे

ललितपुर। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गरेर लोकतान्त्रिक आचरण कायम राख्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा निर्वाचन २०८२ का सन्दर्भमा जानकारी दिन नेपाली कांग्रेसले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता चालिसेले आचारसंहिता कसैबाट पनि उल्लङ्घन हुनुहुँदैन भन्दै जनताले भयरहित वातावरणमा मतदान गर्न पाउने वातावरण तयार गर्न सरकारसँग आग्रह गर्नुभयो ।

“चुनाव प्रचारका क्रममा आ–आफ्ना दलका नीति र मान्यता जनतासमक्ष राख्नु स्वाभाविक मानिन्छ, तर नेपालको बहुलता र एकतालाई कमजोर पार्ने विभाजनकारी अभिव्यक्ति, सामाजिक सद्भावमाथि गहिरो प्रहार तथा व्यक्तिगत रुपमा घृणा र द्वेष फैलाउन कार्य सर्वथा अनुचित हो, लोकतन्त्र हाम्रा आफ्नै वाणी, कर्म र आचरणले सुसंस्कृत हुँदै जाने हो, यसतर्फ सबै दल र नागरिक समाज प्रेरित हुनुपर्दछ”, उहाँले भन्नुभयो ।

प्रवक्ता चालिसेले नेपाली कांग्रेसले सदा झैँ निर्वाचनमा आचारसंहिताको पालनालाई प्रमुख प्राथमिकता दिएको जानकारी दिँदै पनि आचारसंहितालाई अवमूल्यन एवं उल्लङ्घन गर्नु आधारभूत लोकतान्त्रिक मूल्यमान्यताविपरीत हो भन्नुभयो ।

“निर्वाचन प्रचारप्रसारका क्रममा दलका नीति र मान्यता जनतासामु राख्नु उचित हो, बालक र नागरिकलाई राजनीतिक दलहरूले प्रयोग गर्नु अनुचित कार्य हो, कांग्रेस बालबालिकाको अधिकारलाई सम्मान गर्दै उनीहरुले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको रक्षा गर्न आग्रह गर्दछ, आचारसंहिताविपरीतका घटनाबारे छानबिन गर्दै तत्काल कडाभन्दा कडा कारबाही गर्ने सवालमा कुनै विलम्ब नगर्न हामी निर्वाचन आयोगसमक्ष जोडदार माग गर्दछौँ”, उहाँले भन्नुभयो ।

प्रवक्ता चालिसेले लोकतन्त्रमा शासनको वैधताको स्रोत जनताको मत हो भन्दै जनताले भयरहित वातावरणमा आफ्नो मतदान गर्न पाउने अधिकारको पूर्ण सम्मान गर्न सरकार र सम्बन्धित पक्षसँग आग्रह गर्दछौँ भन्नुभयो ।

“अतिलोकप्रियता र प्रतिगमनका पक्षमा गैरजिम्मेवारी ढङ्गले आममनोविज्ञानलाई प्रभावित पार्ने तत्व शिथिल बन्दै गएका छन् नेपाली कांग्रेसप्रति चौतर्फी आकर्षण बढेको छ, विभिन्न दलमा उच्चस्तरको भूमिकामा रहेका राजनीतिक व्यक्तित्व, जनप्रतिनिधिसहित स्वतन्त्र उम्मेदवारको नेपाल कांग्रेसमा प्रवेश गर्ने लहर बढेको छ”, प्रवक्ता चालिसेले भन्नुभयो ।

“हामी सम्पूर्ण नागरिक, मतदाता, सञ्चार क्षेत्र, बुद्धिजीवि र न्यायप्रेमी समुदायसमक्ष निर्वाचनअघिको संवदेनशील परिस्थितिमा लोकतन्त्रको रक्षा र सम्वद्र्धनका पक्षमा तपाईहरुले देखाउनु भएको समर्थनका लागि कांग्रेस आभार प्रकट गर्दछौँ”, उहाँले भन्नुभयो । नागरिकको सुरक्षा गर्नु राज्यको दायित्व हो भन्दै नागरिक अधिकारको संरक्षण गर्न सम्पूर्ण संयन्त्र प्रयोग गर्न र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न आचारसंहिता पालनालाई प्राथमिकतामा राख्न निर्वाचन आयोग र सरकारलाई प्रवक्ता चालिसेले आग्रह गर्नुभयो ।

भन्सार छली गरी ल्याउँदै गरिएका सवारीसाधनसहित छलीका सामान बरामद

झापा। स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा सवारीसाधनसहित रु १० लाख ६८ हजार ५० बराबरको मालसामान बरामद गरेको छ ।झापा प्रहरीले आज बिहान बिर्तामोड नगरपालिका–८ गरामनीस्थित मदनपुर–विर्तामोड सडकखण्डमा जाँचका क्रममा भन्सार छलीका सामग्रीसहित सवारीसाधन नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुरबाट विर्तामोडतर्फ जाँदै गरेको डब्लु बी ७४ डब्लु १२९६ नम्बरको सुजुकी मारुती भ्यानलाई प्रहरी टोलीले जाँच गर्दा भन्सार छली गरी ल्याइएका विभिन्न मालसामान फेला परेका हुन् । उहाँका अनुसार उक्त सवारीसाधनमा अटो पार्टस्, हार्डवेयर सामग्री, इलेक्ट्रोनिक सामान तथा विभिन्न उपभोग्य वस्तु लोड गरी ल्याइएको अवस्थामा भेटिएको छ ।

बरामद गरिएका सामग्रीमध्ये हाइड्रोलिक जग सेट, डोर मेसिन, एक्सल मल्टिलक, पाइडल प्लेट, डिजेल पाइप, एलइडी लाइट, फ्लोर्न ग्यास, साइलेन्सर बुस, फ्युल गेजलगायत ५२ प्रकारका सामान रहेका छन् ।

बरामद गरिएको सवारीसाधन र मालसामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मेची भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

उम्मेदवारका प्रतिबद्धतापत्रमा वातावरणका मुद्दा

गण्डकी। आसन्न प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दल र उम्मेदवारले वातावरणका मुद्दा समेटेर आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।विगतका चुनावमा वातावरण संरक्षणबारे मूर्त र कार्यान्वयनमुखी दृष्टिकोण ल्याउन नसकेका उम्मेदवार यसपटक भने वातावरणीय मुद्दाको उठानमा संवेदनशील देखिएका हुन् ।

बढ्दो वातावरणीय सङ्कट न्यूनीकरणको विषय राजनीतिक दल र उम्मेदवारका प्रतिबद्धतापत्रमा प्राथमिकताका साथ समेटिनुपर्ने आवाज विगतदेखि उठ्दै आएको छ । संरक्षण अभियन्ताले यस विषयमा रचनात्मक ढङ्गले दबाब दिँदै आएका छन् । गण्डकी प्रदेशका अधिकांश उम्मेदवारले पर्यावरणीय सन्तुलन, स्वच्छ ऊर्जा प्रवर्द्धन, नदीनालालगायत प्राकृतिक सम्पदाको संरक्षण, प्रदूषण नियन्त्रणजस्ता विषयलाई प्रतिबद्धता पत्रमा समेटेका छन् ।

नेकपा (एमाले)बाट कास्की–२ का उम्मेदवार रश्मी आचार्यले सेती, सुरौदी, फिर्केलगायत नदीनालाको किनारमा जैविक विविधता, जलाधार एवं सिमसार क्षेत्र संरक्षण योजना लागू गर्ने विषयलाई आफ्नो चुनावी प्रतिबद्धता पत्रमा समेट्नुभएको छ । पोखराका विभिन्न ठाउँमा सहरी वन कार्यक्रममार्फत जैविक विविधता र वानस्पतिक उद्यानका रूपमा विकास उहाँको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

पोखरामा लामो समयदेखि रहँदै आएको फोहर व्यवस्थापनको समस्या समाधान गर्न फोहरबाट ऊर्जा तथा कम्पोष्ट मल बनाउने प्रविधियुक्त उद्योग स्थापनाका लागि स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्यमा जोड दिइएको छ । यस क्षेत्रमा नियमित रूपमा फोहर उठ्न सकेको छैन । फोहर व्यवस्थापन पोखरा महानगरपालिकाका लागि ठूलो चुनौतीको विषय बनेको छ ।

बागलुङ–१ मा नेपाली कांग्रेसबाट उम्मेदवार रहनुभएका भीम श्रीसले आफ्नो ३७ बुँदे प्रतिज्ञापत्रमा वातावरण संरक्षणको मुद्दालाई समेट्नुभएको छ । जसमा कालीगण्डकीलगायत नदीको अव्यवस्थित दोहनलाई नियन्त्रण गर्ने उल्लेख छ । प्राकृतिक स्रोत तथा वातावरण संरक्षणसँगै खानी तथा खनिज उत्खननलाई व्यवस्थित गरी जलवायु परिवर्तन अनुकूलनका लागि अन्तर सरकार र समुदाय सहकार्यमा जोड दिइने जनाइएको छ ।

नेपाली कम्युनिष्ट पार्टीबाट पर्वतमा उम्मेदवार रहनुभएका मनहरि तिमिल्सिनाले पर्यावरण संरक्षण र प्रकृतिमैत्री विकासमा जोड दिँदै कालीगण्डकी सभ्यता संरक्षण अभियान सञ्चालन गर्ने आफ्नो चुनावी वाचा पत्रमा उल्लेख गर्नुभएको छ ।

विसं २०८५ भित्र पर्वतका सबै घरमा राष्ट्रिय प्रसारणको गुणस्तरीय बिजुली पुर्‍याउने र स्वच्छ ऊर्जा उत्पादनका लागि सामुदायिक सौर्य ऊर्जा केन्द्र स्थापना गर्ने उहाँको योजनामा समेटिएको छ ।

कालीगण्डकीसहितका नदीनालाबाट वैज्ञानिक विधिबाट नदीजन्य सामग्रीको उत्पादन र व्यवस्थापन गर्ने उहाँको वाचा पत्रमा उल्लेख छ । खनिजजन्य उद्योगलाई वातावरणमैत्री बनाउँदै उत्पादित सामग्रीको मूल्य अभिवृद्धि पछि मात्र निकासी गर्ने नीति लागू गर्ने उहाँको प्रतिबद्धता छ । कालीगण्डकीलाई धार्मिक ‘सर्किट’का रूपमा विकास गरी शालग्राम संरक्षणलाई राष्ट्रिय गौरवको विषय बनाउनुपर्नेमा जोड दिइएको छ ।

कास्की–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहनुभएका गनेश पौडेलले नदीनाला, तालतलैया, वन आदिको संरक्षणमा स्थानीयवासीको अभिमत र सहभागिता सुनिश्चित गर्ने विषय आफ्नो चुनावी वाचा पत्रमा समेट्नुभएको छ । फोहर व्यवस्थापनमा चक्रीय अर्थतन्त्रको ढाँचा अवलम्बन गरी फोहरलाई आर्थिक स्रोतमा रूपान्तरण गर्ने उहाँको वाचा पत्रमा उल्लेख छ । हरियाली र खुला स्थानसहित योजनाबद्ध सहरी विकासमा जोड दिइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागलुङ–१ मा उम्मेदवार रहनुभएका कल्याण विक्रम आचार्यले आफू निर्वाचित भएर संसद् पुगेमा कालीगण्डकी दोहन नियन्त्रणका लागि सशक्त आवाज उठाउने प्रतिबद्धता जनाउनुभएको छ । धार्मिक आस्था र सभ्यतासँग जोडिएको कालीगण्डकी नदी किनारका क्षेत्रलाई शालिग्राम करिडोरका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । बागलुङलाई धार्मिक पर्यटनको केन्द्र बनाइ दामोदर कुण्डदेखि त्रिवेणीधाम जोड्ने धार्मिक रूटको विकास गरिने उहाँको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

यस क्षेत्रका अन्य उम्मेदवारले पनि पर्यावरणीय मुद्दालाई झिनो रूपमा भए पनि समेट्ने प्रयास गरेको देखिन्छ । तीव्र सहरीकरण, अव्यवस्थित विकास, प्राकृतिक स्रोतको मनपरी दोहन, बढ्दो प्रदूषण नियन्त्रण, नेपालले भोगिरहेको जलवायु सङ्कट आदि विषयमा अझै पनि स्पष्ट नीति र योजना राजनीतिक दल र उम्मेदवारका प्रतिबद्धता पत्रमा आउन सकेको छैन । विगतमा यस्ता विषयमा गरेका कतिपय प्रतिबद्धता कार्यान्वयनमा स्वयं दलहरूकै उदासिनता देखिन्छ ।

अनियन्त्रित दोहन र अतिक्रमणको चपेटमा परेका नदीनाला संरक्षणको मुद्दालाई राजनीतिक दलका चुनावी घोषणापत्रमा प्राथमिकता दिन माग गर्दै नदी संरक्षण अभियन्ता मेघ आले केही समयअघि अनशन बस्नुभएको थियो ।

नदीलाई मानवीय अतिक्रमण र प्राकृतिक प्रकोपबाट जोगाउन नसके ठूलो पर्यावरणीय सङ्कट निम्तन संरक्षणकर्मीको चिन्ता छ। नीतिनिर्माणसँगै त्यसलाई कार्यान्वयन गर्ने जवाफदेही नेतृत्व नभएसम्म वातावरणीय न्यायको मुद्दा कमजोर बनिरहने उनीहरूको भनाइ छ ।

लुम्बिनी प्रदेशमा नेकपा एमाले नै बहुमत सहितको पहिलो शक्ति बन्ने उपाध्यक्ष पौडेलको दाबी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशमा नेकपा एमाले नै बहुमत सहितको पहिलो शक्ति बन्ने दाबी गरेका छन्।फागुन २१ गतेको निर्वाचन पछि एमाले राष्ट्रिय राजनीतिको मियो बन्ने र मुलुक सञ्चालनको ड्राइभिङ सिटमा बस्ने विश्वासका साथ चुनावी अभियानमा होमिएको पौडेलले बताएका हुन् ।

रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार पौडेलले बिहीबार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै एमालेले विगतमा र वर्तमानमा जनपक्षीय काम गरेको दाबी गर्दै भोली पनि जनताको पक्षमा काम गर्ने विश्वास सहित जनताले मत दिने बताए ।

पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले रुपन्देही क्षेत्र नं. २ का मतदाताहरू एमालेलाई नै जिताउनुपर्छ भन्ने माइन्ड सेट गरेर बसेको उल्लेख गर्दै जतिसुकै षडयन्त्र गरे पनि जनताको माइन्ड सेट परिवर्तन गर्न कठिन हुने बताए ।

‘रुपन्देही क्षेत्र नं. २ मा विभिन्न प्रकारका प्रक्षेपण गरिएका छन्। ती प्रक्षेपणहरू अहिले फेल खाने छन्, यहाँका मतदाताले एमालेलाई नै जिताउनु पर्ने छ भन्ने माइन्ड सेट गरेर बसेका छन् जनताको त्यो माइन्ड सेटलाई परिवर्तन गर्न निकै कठिन छ,’ पौडेलले भने।

पौडेलले रुपन्देही क्षेत्र नं. २ मात्र होइन पाँच वटै क्षेत्रमा एमाले पहिलो बन्ने दाबी गरे । ‘विगतमा अरू क्षेत्रको तुलनामा क्षेत्र नं. ४ केही कमजोर देखिन्थ्यो तर, अहिले त्यो क्षेत्र पनि निकै सुधारिएकोले एमाले रुपन्देहीको सर्वाधिक बलियो र ठुलो शक्तिको रूपमा पुनर् उदय हुँदै छ,’ उनले भने।

उनले रुपन्देहीमा संचालित पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न र सम्पन्न भएका आयोजनाहरूको प्रभावकारी व्यवस्थापन सहित सञ्चालनका लागि पनि एमालेको जित अपरिहार्य हुने बताए ।

 

जापानमा जन्मदर दशकदेखि ओरालो

टोकियो, १४ फागुन । जापानमा सन् २०२५ मा जन्मेको शिशुको सङ्ख्या लगातार दशौँ वर्ष घटेको तथ्याङ्क सार्वजनिक भएको छ, जसले देशको घट्दो जनसङ्ख्या र श्रम सङ्कटलाई थप गम्भीर बनाएको छ । प्रारम्भिक स्वास्थ्य मन्त्रालयको विवरणअनुसार गत वर्ष सात लाख पाँच हजार ८०९ शिशु जन्मिएका छन् । यो सन् २०२४ को तुलनामा २.१ प्रतिशत कम हो ।

यस तथ्याङ्कमा जापानभित्र जापानी नागरिकबाट जन्मिएका शिशु, विदेशी नागरिकका सन्तान र विदेशमा जन्मिएका जापानी शिशुहरू सबै समेटिएका छन् । विश्वको चौथो ठूलो अर्थतन्त्र मानिने जापानमा विश्वकै न्यूनतम जन्मदरमध्ये एक रहेको छ र कुल जनसङ्ख्या निरन्तर घटिरहेको छ ।

घट्दो जन्मदरका कारण श्रम अभाव, सामाजिक सुरक्षा खर्चमा वृद्धि र कर तिर्ने कामदारको सङ्ख्या घट्ने समस्या तीव्र बन्दै गएको छ । यसले जापानको सार्वजनिक ऋणलाई थप दबाब दिएको छ, जुन प्रमुख अर्थतन्त्रहरूमध्ये सबैभन्दा उच्च अनुपातमा रहेको बताइन्छ ।

देशकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइचीसहित अघिल्ला नेताहरूले जन्मदर बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्, तर ठोस उपलब्धि सीमित रहेको देखिएको छ । गत हप्ता संसद्मा बोल्दै ताकाइचीले घट्दो जन्मदर र सङ्कुचित जनसङ्ख्यालाई ‘शान्त आपतकाल’ को संज्ञा दिँदै यसले देशको जीवनशक्तिलाई बिस्तारै कमजोर पार्ने बताएको थियो ।

फेब्रुअरी ८ मा सम्पन्न चुनावमा ताकाइची नेतृत्वको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले दुई तिहाइ बहुमत हासिल गरेको छ । यद्यपि जनसङ्ख्या सङ्कट समाधानका लागि आप्रवासन विस्तार उपयोगी हुन सक्ने विश्लेषण भइरहे पनि ‘जापानी पहिलो’ नारा अघि सारेको सान्सितो पार्टीको दबाबका कारण सरकारले आप्रवासनमा कडा नीति अपनाउने सङ्केत दिएको छ ।

युक्रेन युद्ध अन्त्यका लागि ‘कुनै समयसीमा नहुने’ रुसको घोषणा

मस्को। मस्कोलाई युक्रेनमा युद्ध अन्त्य गर्न कुनै सम्झौता गर्न हतार नभएको विदेशमन्त्री सर्गेई लाभरोभले बिहीबार रूसी सरकारी सञ्चारमाध्यमसँग बताउनुभएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी द्वन्द्व अन्त्य गर्ने प्रयासमा अघि सारेको वार्ता प्रक्रियाको एक हिस्सा जारी रहेका बेला दुवै देशका वार्ताकारहरु बिहीबार जेनेभामा पुगेका थिए ।

अमेरिकी मध्यस्थतामा युद्धरत मुलुकका प्रतिनिधिबीच धेरै चरणका छलफलहरू भएपनि सम्झौता गर्न असफल भएका छन्, मस्कोले कट्टरपन्थी क्षेत्रीय र राजनीतिक मागहरूमा जोड दिएको छ जसलाई किएभले आत्मसमर्पण हसने भन्दै अस्वीकार गरेको छ ।

रुसका उच्च अधिकारीहरूले बिहीबार फेरि सम्झौता नजिकिँदै गरेको भन्ने भनाइलाई खण्डन गरेका छन् ।

“के तपाईंले हामीबाट समयसीमाको बारेमा केही सुन्नुभएको छ? हामीसँग कुनै समय सीमा छैन, हामीसँग प्रक्रियागत कार्यहरू छन् र तिनीहरूलाई पूरा गर्ने काम भइरहेको छ,” राष्ट्रिय समाचार संस्थाहरूले लाभरोभलाई उद्धृत गर्दै भन्नुभयो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि शान्ति प्रक्रिया कुन चरणमा छ भनेर पूर्वानुमान गर्न हतार नभएको बताउनुभएको छ ।

उहाँले सञ्चारमाध्यमसँगको कुराकानीमा भन्नुभयो, “कुनै प्रकारको चरण परिभाषित गर्न वा पूर्वानुमान गर्न अहिले नै प्रयास गर्नु ठूलो गल्ती हुनेछ। म ती गल्तीहरू गर्न चाहन्न।“

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी नेता भ्लादिमिर पुटिनसँग प्रत्यक्ष बैठक आवश्यक भएको बारम्बार बताउँदै आउनुभएको छ । रूसले कब्जामा लिएको पूर्वी युक्रेनको क्षेत्र रूसमा गाभिनुपर्ने रूसको अडान जारी रहेको छ भने युक्रेनले आफ्नो भूमि रूसलाई दिनु उसलाई भविष्यमा थप आक्रमण गर्न हौसला दिनु भएको भन्दै यस बिषयमा अस्विकृति जनाउँदै आएको छ।

पेस्कोभले बिहीबार पनि भन्नुभयो, “रुस वाता निष्कर्षमा पुग्ने सुनिश्चितता नहुँदासम्म शिखर वार्ताका लागि सहमत हुनेछैन र वार्ता टोलीहरू बीच भएको सम्झौतामा हस्ताक्षर मात्र हुनेछ।”

जेनजी आन्दोलनमा क्षतिग्रस्त पोखरा एनसेल सेन्टर पुनःसञ्चालनमा

गण्डकी। जेनजी आन्दोलनका क्रममा तोडफोडपछि क्षतिग्रस्त बनेको पोखरास्थित एनसेल सेन्टर आजदेखि पुनः सञ्चालनमा आएको छ ।पोखराको सिर्जना चोकस्थित सेन्टर जेनजी आन्दोलनका बेलामा तोडफोड पश्चात क्षतिग्रस्त बनेपछि बन्द रहेकामा आजदेखि पुनःसञ्चालनमा ल्याइएको हो ।

मर्मत सम्भार पश्चात पुनःसञ्चालनमा ल्याइएको सेन्टरको आज एक समारोहका बीच एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्स प्रालिका अधिकृत एमप्रसाद गौतमले उद्घाटन गर्नुुभयो ।

सेन्टरमा क्षति पुगेर बन्द भएपछि कम्पनीले अस्थायी रुपमा ग्राहक सेवा एक तलामाथि रहेको कार्यालयबाट प्रदान गर्दै आएको थियो ।ग्राहक सेवालाई अझ सहज र गुणस्तरीय बनाउन एनसेलले देशका विभिन्न भागमा ३१ एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ ।

ट्राफिक प्रहरीद्वारा फुटबल खेलाडी सावित्रा भण्डारीलाई आर्थिक सहयोग

सुर्खेत । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्रा भण्डारी (साम्बा) को स्वास्थ्य उपचारका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा कार्यरत प्रहरी कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन् ।

उक्त कार्यालयका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालसहित ११७ इच्छुक प्रहरी कर्मचारीहरुले आज संयुक्तरुपमा कप्तान साम्बालाई रु ५० हजार सहयोग गरेका हुन् । राष्ट्रका नाम उच्च बनाउन निर्वाध सङ्घर्षको मैदानमा पसिना बगाउँदै आउनुभएका कप्तान साम्बाको स्वास्थ्य उपचारमा सानो भए पनि सहयोग पुगोस् भन्ने ध्येयले सहयोग गरिएको प्रहरी उपरीक्षक रिजालले बताए ।

स्वैच्छिक रुपले प्रहरी कर्मचारीबाट सङ्कलित रकम भण्डारीको व्यक्तिगत खाता रहेको कृषि विकास बैंकको खाता नम्बर ०२१०६०५४१२३०७०१३ मा जम्मा गरिएको उनले बताए । व्यक्तिको सङ्कटमा मानवीय संवेदना र सहकार्य आवश्यक रहेको बताउँदै प्रहरी प्रमुख रिजालले सामाजिक सद्भाव र सहयोगले समाजमा सकरात्मक प्रभाव पार्ने बताए ।

अझै प्रश्न आउन छाडेको छैन – मतदाता सूचीमा नाम कसरी हेर्ने ?

काठमाडौँ । “मतदाता सूचीमा नाम कहाँ हेर्ने होला ?’’ निर्वाचन आयोगको कार्यालय, कान्तिपथको मूल ढोकाबाट सुरक्षा जाँच गरेर भित्र छिरेपछि क्यान्टिनमा चिया खाइरहेका कर्मचारीलाई एक मतदाताले सोधे । अन्दाजी ५० वर्षीय ती पुरुषले आफ्नो परिचय नदिई जिज्ञासा राखेपछि त्यहाँका कर्मचारीहरूले ‘आफ्नै मोबाइलमा हेर्न सकिन्छ नि’ भन्ने जवाफ दिए । ती मतदाताले मोबाइलमा हेर्न अप्ठ्यारो भएको र यहीँ आएर हेर्न चाहेको बताएपछि उनलाई आयोगको सूचना प्रविधि प्रणाली सञ्चालन गर्ने शाखामा पठाइयो ।

मतदाता सूचीमा आफ्नो नाम र मतदान स्थलसहितको ठेगाना आफ्नै आँखाले कम्प्युटरमा हेरेपछि उनी ढुक्कले ‘अब मत हाल्न पाइने भइयो’ भन्दै बहादुर भवन परिसरबाट फर्किए । उनको घरपरिवारमा नयाँ पुस्ताका सदस्यहरू नभएकाले पनि सूचना प्रविधिमा मोबाइलबाट अभ्यस्त हुन नसकेका रहेछन् । उनलाई आयोगका कर्मचारीले ‘निर्वाचनसम्बन्धी यस्ता विषयमा जिज्ञासा भएमा कार्यालयमा धाइरहनु पर्दैन, पैसा नलाग्ने ‘कल सेन्टर’ मा सिधै फोन गरेर पनि जवाफ वा समाधान पाउन सकिन्छ’ भनेर सम्झाएका थिए ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले विगतमा झैँ ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । आयोगले पैसा नलाग्ने टोल फ्रि नम्बर ११०२ मा कल गरेर पनि मतदाता परिचयपत्र, मतदाता शिक्षा, निर्वाचन आचारसंहिता र अन्य विषयमा सोधपुछ गर्न सकिने प्रबन्ध गरेको छ । आयोगका कल सेन्टरका संयोजक एवं उपसचिव सपना भट्टराईका अनुसार उक्त सेन्टरमा कम्प्युटर अधिकृत, नेपाल टेलिकमका दुई प्राविधिकसहित हाल नौ जना कार्यरत छन् । हरेक दिन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म यस सेन्टरमा आउने फोनहरू उठाएर समस्याको समाधान र आवश्यक जवाफ दिइने उनले बताइन् ।

उनका अनुसार दैनिक ७० देखि २०० सम्म कल आउने गरेका छन् । “धेरै प्रश्नको समाधान त हामीले नै गर्छाैँ । नसक्ने खालका भएमा सम्बन्धित शाखा वा व्यक्तिमा फरवार्ड गर्छौँ ।”, संयोजक भट्टराईले भनिन् । आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार ‘कल सेन्टर’ मा ‘मतदाता परिचयपत्र बनाउन के गर्नुपर्छ ? यस निर्वाचनअघि मतदाता नामावलीमा नाम समावेश गराई मतदानमा सहभागी हुन सकिन्छ कि सकिँदैन ?’ भन्ने जिज्ञासा पनि आउने गर्छ । यस्तो जिज्ञासामा ‘‘नागरिकता समावेश गरी सम्बन्धित निर्वाचन कार्यालयमा मतदाता नामावली नाम दर्ता गराएपछि मतदाता परिचयपत्र बन्ने गरेको छ । आवेदकको फोटो, औँठा छाप जस्ता जैविक विवरण सङ्कलन गरी मतदाता नामावलीमा नाम दर्ता हुन्छ । निर्वाचन नजिक आइसकेकाले हाललाई मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिकको कार्य कानुनमा भएको व्यवस्था अनुसार निर्वाचन अवधिभर स्थगित गरिएको छ’’ भन्ने जवाफ दिने गरिएको छ ।

यस्तै ‘आफ्नो स्थायी ठेगानाको जिल्लाभन्दा बाहिरको जिल्लाबाट मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्छ कि मिल्दैन ?’, ‘निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा के कस्तो सजाय हुने व्यवस्था गरिएको छ ?’ निर्वाचनपछि नामावली दर्ता र अध्यावधिकको कार्य खुला हुन्छ भने निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा कारबाहीका व्यवस्था निर्वाचन आचारसंहिता, २०८२मा गरिएको छ । आचारसंहिताको दफा ४८ बमोजिम आचारसंहिता उल्लङ्घन भएमा रु एक लाखसम्म जरिवाना हुने, उम्मेदवारी रद्द गर्न सकिने, आचारसंहिता विपरीत कुनै प्रकारले आर्थिक सहयोग लिएमा त्यस्तो सहयोग लिने राजनीतिक दल वा उम्मेदवारलाई त्यसरी गरेको आम्दानी वा खर्च बराबरको रकम जरिवाना गर्ने र त्यसरी भएको जरिवाना छ महिनासम्म नबुझाउने उम्मेदवारलाई आयोगले तत्काल लागू हुने गरी बढीमा छ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने भनिएको छ ।

प्रचलित कानुन बमोजिम निर्वाचन कसुर मानिने कार्य भएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुनेछ । ‘निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा कहाँ उजुरी दिने भन्ने प्रश्न पनि आयोगमा आउने गर्छ ।’ त्यस्तो पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय, जिल्ला आचारसंहिता अनुगमन समिति, अनुगमन टोली वा अनुगमन अधिकृतसमक्ष तोकिएको ढाँचामा उजुरी दिन सक्ने व्यवस्था गरिएको छ । यसरी उजुरी दिँदा आधार, कारण र सोसम्बन्धी कुनै प्रमाण भए सोसमेत संलग्न गर्नुपर्ने छ ।

‘निर्वाचनको दिन विदेशी पर्यटकको आवागमनलाई आयोगले के व्यवस्था गरेको ? अन्तर्राष्ट्रिय उडान र स्थल मार्गमा आवागमनमा रोकावट हुन्छ कि हुँदैन ?’ भन्ने प्रश्न पनि आयोगको ‘कल सेन्टर’ ले सुनेको प्रश्न हो । यसको जवाफमा ‘‘निर्वाचनको दिन कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय हवाई उडान नरोकिने र राजमार्गमा चल्नुपर्ने सवारी साधनको आवागमनलाई व्यवस्थित तुल्याउन सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट र काठमाडौँमा निर्वाचन आयोगबाट कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका लागि सवारीसाधन सञ्चालन गर्न सकिने तथा अत्यावश्यक सेवा, कूटनीतिक नियोग, मानव अधिकार आयोगबाहेक अन्य कुनै प्रकारका सवारीसाधन अनुमति नलिई प्रयोग गर्न पाइँदैन ।’’ भन्ने जवाफ दिइने गरिएको छ ।

यसैगरी निर्वाचनमा भाग लिएका उम्मेदवार÷दलले स्वच्छता र खर्चको पारदर्शिताका लागि बेग्लै बैँक खाता सञ्चालन गर्नुपर्ने, मतदान केन्द्रमा काम गर्ने कर्मचारीको खटनपटन, मत बदरको अवस्था, सामाजिक सञ्जालको सामग्रीको व्यवस्थापन आदिबारे पनि कल सेन्टरमा जिज्ञासा आउने गरेको छ ।

कानुनी व्यवस्थाअनुसार मत बदर हुने अवस्थाहरू स्पष्ट गरिएका छन् । सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्रबाट मतदान गरेमा, निर्वाचन आयोगले राखेको मसी र स्वस्तिक चिन्हबाहेक अन्य चिन्ह वा छाप लगाई मत सङ्केत गरेमा वा औँठा छापबाट मत सङ्केत गरेमा, मतपत्रमा सङ्केत चिन्ह नबुझिने गरी लत्पतिएको वा मतपत्र च्यातिएमा, उम्मेदवारको निर्वाचन चिन्ह रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरेमा, निर्वाचित गर्नुपर्ने सिट सङ्ख्याभन्दा बढी उम्मेदवारलाई मत सङ्केत गरेमा, एकभन्दा बढी निर्वाचन चिन्हमा मत सङ्केत गरेमा, मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको मतपत्र, कुनै पनि उम्मेदवारको निर्वाचन चिन्हमा मत सङ्केत नगरेमा, आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्यद्वारा मतदान गरेको पाइएमा, मतपेटिकाभन्दा बाहिर राखिएको मतपत्रको मत, जाली मतपत्र वा आयोगले बदर हुने भनी तोकेको मतपत्र पाइएमा मत बदर हुन्छ ।

आयोगले ट्रेड युनियनका पदाधिकारी भन्नाले कार्यसमितिको अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष सम्झनुपर्छ र सो शब्दले कार्यसमितिको सदस्यलाई समेत जनाउँछ र ट्रेड युनियन यही ऐनबाट वैधानिक अस्तित्व प्राप्त गरी क्रियाशील हुने हुँदा यही परिभाषाअनुसारको अर्थलाई मनन गर्नुपर्ने हुन्छ भन्ने जवाफ दिने गरेको छ ।

‘सामाजिक सञ्जालमा बग्रेल्ती रूपमा आउने नकारात्मक भिडियो सामग्रीहरूको नियन्त्रण गर्न र सोको बारेमा यथार्थपरक जानकारी प्रदान गर्न आयोगले के कस्ता उपाय अपनाएको छ ?’ भन्ने जिज्ञासामा आयोगले भनेको छ, “सामाजिक सञ्जाल र आमसञ्चारका साधनमा प्रकाशित हानिकारक सामग्रीको निगरानी तथा विश्लेषण गर्न आयोगमा विज्ञ जनशक्तिसहित सूचना सदाचार प्रवर्द्धन गठित इकाईले आमसञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशन–प्रसारण हुने विभिन्न सामग्रीको विश्लेषण गरी नियन्त्रणको प्रस्ताव गर्छ । यही तथ्यगत विश्लेषणको आधारमा आयोगले आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायलाई निर्देशन दिइरहेको छ ।”

आयोगका सहप्रवक्ता जिसीका अनुसार निर्वाचनको सम्बन्धमा यथार्थपरक जानकारी दिन र सामाजिक सञ्जालमा प्रवाह हुने तथ्यहीन एवं भ्रामक सूचनाबाट मतदातामा भ्रम सिर्जना हुन नदिन आयोगले सामाजिक सञ्जाल र अन्य सञ्चार माध्यमबाट मतदाता शिक्षासम्बन्धी सामग्री निरन्तर प्रकाशन–प्रसारण गरिरहेको छ । यसका साथै नियमित रूपमा प्रत्येक हप्ता पत्रकार सम्मेलन आयोजना गर्ने, समय–समयमा विज्ञप्ति जारी गर्ने, आयोगका पदाधिकारी तथा कर्मचारीका अन्तर्वार्ता र मन्तव्य प्रकाशन–प्रसारण गर्ने जस्ता कार्यबाट सामयिक सवालमा स्पष्टता कायम गर्ने कार्य गरिँदै आएको छ । नियमित गतिविधि तथा जानकारीका लागि नियमित ई–बुलेटिन पनि सम्प्रेषण गर्दै आएको छ ।

अबको पाँच वर्ष मुलुकलाई स्वर्णिम बनाउने गरी काम गर्ने छौँ : गगन थापा

कर्णाली । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष मुलुकलाई स्वर्णिम बनाउने गरी काम गर्ने बताएका छन् । सुर्खेतमा बिहीबार भएको कांग्रेसको कर्णाली प्रदेश स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई जिताएर मुलुकलाई ऐतिहासिक स्वर्णिम पाँच वर्ष बनाउन सबैलाई आग्रह गरे।

उनले भने, “विगत ५/६ वर्ष केवल सरकार बनाउने र फेर्ने कामका लागिमात्र खर्च भयो । यसले तन्नेरीलाई रुष्ट बनायो । देशले गति समात्नु पर्नेमा गठबन्धनको राजनीतिले कहीँ न कहीँ दूषित बनायो । अब २०८२ देखि २०८७ सम्मको पाँच वर्ष हामी आग्रह गरिरहेका छौँ । यो एउटा मौकालाई नेपालको इतिहासलाई स्वर्णिम बनाउने छौँ भनेर सपना बोकेर आएका छौँ । हामीलाई नेपालको सीमितता थाहा छ । हामी यसलाई सुधार्छौँ । प्रतिज्ञापत्र सार्वजनिक गरेका छौँ । पाँच वर्ष भनेर कुरेर बस्दैनौँ । वैशाख १ गते आउँछ र एक महिनामा यो काम गर्यौैँ भन्छ कांग्रेसले । जेठ १ गते आउँछ र एक महिनामा यी काम गर्‍याैँ भन्छौँ ।”

सभापति थापाले पाँच वर्षका योजनाबारे सबै दलसँग सामूहिक टेबलमा बस्न तयार रहेको बताए । तर कोही पनि यसका लागि तयार नभएको भन्दै उनले कोही कसैले कुनै नाटक गर्‍याे भने कर्णालीले त्यसलाई पत्याउन नहुने उल्लेख गरे ।

उनले भने, ‘आओस् एमाले, आओस् नेपाली कम्युनिष्ट पार्टी र आओस् रास्वपा । एउटै मञ्चमा बसेर योजना बनाउँभन्दा कोही नआउने ।”

सभापति थापाले अब कुनै पनि निहत्था नेपालीको ज्यान जान नहुने र कुनै मुकुन्डोधारीले सिंहदरबार जलाउन पनि नहुने बताए । उनले भने, “सरकारको गोलीबाट कुनै पनि निहत्थाको ज्यान जानुहुँदैन । कुनै पनि मुकुन्डोधारीले सिंहदरबार अब जलाउनु पनि हुँदैन ।”
सभापति थापाले गत भदौ २३ गतेको आन्दोलनको जिम्मा लिने तर भदौ २४ गतेको विध्वंशको जिम्मा नलिने सोचले भोलि पनि मुलुकलाई दुर्घटना गराउन सक्ने बताए।

निर्वाचन देश बनाउने सङ्कल्पको जनमत होः नेता पोखरेल

काठमाडौँ। काठमाडौँ निर्वाचन–५ का उम्मेदवार रहेका एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ईश्वर पोखरेलले आगामी निर्वाचनलाई आफूहरुले देश बनाउने सङ्कल्पको जनमतका रुपमा लिएको बताउनुभएको छ ।

सो क्षेत्रअन्तर्गत काठमाडौँ महानगरपालिका–३ स्थित चुनावी कार्यक्रममा नेता पोखरेलले राष्ट्रिय स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र अखण्डताको पक्षमा उभिने शक्तिहरू एकजुट हुनुपर्ने धारणा राख्दै आफूहरु देश बनाउने शक्ति विजयी हुनुपर्छ भन्नेमा रहेको स्पष्ट गर्नुभयो ।

उहाँले विकास र राजनीतिक स्थायित्वको प्रमुख एजेण्डा एमालेसँग रहेको तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरु भएका पूर्वाधार र विकासका योजनालाई पूर्णता दिन आवश्यक रहेको बताउनुभयो ।नेता पोखरेलले आफू झण्डै तीन दशकदेखि काठमाडौँ–५ मा सक्रिय रहेको र यहाँका जनताको सेवाका लागि कटिबद्ध रहेको उल्लेख गर्नुभयो ।

निर्वाचनमा कुनै पनि राजीतिक दलसँग समीकरण हुँदैनः संयोजक दाहाल

काठमाडौँ, फागुन १४ –नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजीतिक दलसँग समीकरण नहुने स्पष्ट पार्नुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेकपा आफ्नो चुनावी एजेण्डसहित एक सातापछि हुने निर्वाचनमा सहभागी हुने बताउनुभयो ।

“यो निर्वाचनमा नेकपाले कुनै पनि राजनीतिक दलसँग समीकरण गर्दैन, आफ्नै ‘एजेण्डा’, पार्टी सङ्गठन र जनताको साथ र सहयोगमा निर्वाचनमा जाँदैछौँ”, संयोजक दाहालले भन्नुभयो । एक सय ६५ निर्वाचन क्षेत्रमध्ये बागलुङको क्षेत्र नं १ मा बाहेक अन्यत्र तालमेल नभएको जानकारी दिँदै उहाँले अयन्त्र चुनावी तालमेल गर्ने पार्टीको नीति नरहेको स्पष्ट पार्नुभयो ।

नेकपाले विगतको कमीकमजोरी सच्याएर जनताको चाहना र भावनाअनुसार सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने उल्लेख गर्दै संयोजक दाहालले राष्ट्रिय स्वाधिनता र सामाजिक न्यायको पक्षमा तथा भ्रष्टाचारको विरुद्धमा नेकपा लाग्ने भएकाले जनताले मत दिने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारी संयन्त्र र आमजनताको भूमिका महत्वपूर्ण हुने बताउँदै उहाँले आसन्न निर्वाचनले मुलुकलाई निकास दिने विश्वास व्यक्त गर्नुभयो ।

संयोजक दाहालले जेनजी युवाको भावनाअनुसार संविधान संशोधन गर्दै मुलुकलाई राजनीतिक स्थिरता दिन सबै राजनीतिक दल, युवापुस्तालगायत सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्नेका जोड दिनुभयो ।

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैनः सभापति लामिछाने

गोरखा, फागुन १४ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा_ का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण सकिने तर आमाको गुमेको कोख कहिल्यै नभरिने बताउनुभएको छ ।

आज रास्वपा गोरखाद्वारा सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जेनजी आन्दोलनका क्रममा पहिले गोली चलेका कारण मात्र पछि सिंहदरबार जलेको दाबी गर्नुभयो । “यहाँ कसैले भ्रम फैलाएका छन्, सिंहदरबार जलायो, विध्वंस ग¥यो भनेर । तर २३ गते गोली नचलेको भए केही पनि जल्ने थिएन”, उहाँले भन्नुभयो, “जो ढल्यो, त्यो फेरि कहिल्यै उठ्दैन । रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन । सिंहदरबार हामी पुनः निर्माण गर्छौँ । सरकारी संरचना जलेकामा हामीले गौरव गरेका छैनौँ ।”

आफू वा कोही पनि प्रश्न भन्दामाथि नरहेको उहाँले बताउनुभयो । लामिछानेले आजै सदरमुकाम र पालुङटार नगरपालिकामा आयोजित चुनावी सभामा समेत सम्बोधन गर्नुभएको थियो ।