`

इरानको आक्रमणमा परी युएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

यूएईमा इरानी मिसाइल आक्रमणका क्रममा एक नेपालीसहित तीन जनाको ज्यान गएको छ । यस्तै सोहप् आक्रमणमा परेर ५८ जना घाइते भएका छन् ।

शनिबारदेखि सुरु भएको आक्रमणयता वायुसेना र हवाई प्रतिरक्षा प्रणालीले १६५ ब्यालिस्टिक मिसाइल, दुई क्रुज मिसाइल र ५४१ ड्रोन सामना गरिसकेका यूएईको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्यूजले उल्लेख गरेको छ ।

यस्तै मन्त्रालयले आक्रमणको दोस्रो बिहान आइतबार २० ब्यालिस्टिक मिसाइल नष्ट गरिएको जनाएको छ।

अमेरिका–इरान द्वन्द्वमा मध्यस्थता गर्न इन्डोनेसियाको प्रस्तावको इरानद्वारा स्वागत

जकार्ता। इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि वासिङ्टन र तेहरानबीच मध्यस्थता गर्न इन्डोनेसियाको प्रस्तावको तेहरानले स्वागत गरेको जकार्तास्थित इरानी दूतावासले आइतबार जनाएको छ।

इन्डोनेसियाको विदेश मन्त्रालयले शनिबार राष्ट्रपति प्रबोवो सुविआन्तो दुवै पक्षको सहमतिमा मध्यस्थता गर्न तेहरान जान इच्छुक रहेको बताएको छ ।

इरानी दूतावासले ‘यस द्वन्द्वमा मध्यस्थता गर्न गणतन्त्र इन्डोनेसियाका राष्ट्रपतिको तत्परता’ को स्वागत गर्दछ, इन्डोनेसियास्थित इरानी नियोगले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ।

दूतावासले ‘संयुक्त राज्य अमेरिका र इजरायलको यहुदी शासनको आक्रामकता र अपराधको निन्दा गर्न इन्डोनेसियाली अधिकारीहरूको कडा अडान लिनुपर्ने महत्त्वमा पनि जोड दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या भएको यसअघि नै पुष्टि गर्नुभएको थियो ।

संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानी लक्ष्यहरूमा हवाई आक्रमणको श्रृङ्खला सुरु गरेपछि इरानले पनि मध्यपूर्वमा रहेका उसका ‘विरोधी’को सैन्य शिविर र अन्य भौतिक संरचनामा आक्रमण गरिरहेको छ।

इरानले अमेरिका र इजरायली आक्रमणको बदला लियो भने वासिङ्टनले इरानमाथि यसअघि कहिल्यै नदेखिएको शक्तिशाली प्रहार गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनुभएको छ।

नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित

काठमाडौँ, फागुन १७-नेपाली कांग्रेसमा नेपाली कांग्रेस (बिपी) पार्टी औपचारिक रूपमा समाहित भएको छ । आइतबार काठमाडौँमा आयोजना गरिएको चुनावी सभामा दुई पार्टीबीच सहमति गरी कांग्रेसमा कांग्रेस (बिपी) समाहित भएको घोषणा गरिएको हो ।

कांग्रेस सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बिपी) का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गर्नुभएको सहमतिपत्रमा कांग्रेस ९बिपी०को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा सङ्गठनिक निकाय मूलपार्टी नेपाली कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको छ । परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै जारी वक्तव्यमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उक्त निर्णय गरिएको जनाइएको छ ।

कांग्रेसले विशेष महाधिवेशनमार्फत ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने सङ्कल्प अघि सारेको सन्दर्भमा एकीकरणको निर्णय गरिएको सहमतिपत्रमा उल्लेख छ । कांग्रेस (बिपी) ले नेपाली कांग्रेसको आदर्श, मूल्यमान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ । समाहित प्रक्रियासम्बन्धी अन्य आवश्यक व्यवस्था कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम सङ्गठनात्मक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन गरिने जनाइएको छ ।

मनाङमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी अति संवेदनशील मतदान केन्द्रतर्फ प्रस्थान

मनाङ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी अति संवेदनशील मतदान केन्द्रतर्फ प्रस्थान गरेका छन् । उनीहरु निर्वाचन सामग्रीसहित आ–आफ्नो क्षेत्रमा गएका हुन् ।

हालसम्म सडक सञ्जालको पहुँचमा नपुगेको नार्पाभूमि क्षेत्रका मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी निर्वाचनका सामग्रीसहित त्यसतर्फ निस्किएका मुख्य निर्वाचन अधिृकत रामप्रसाद पौडेलले जानकारी दिनुभयो । नार्पाभूमि क्षेत्रमा जाने बाटोको हिउँ पन्छाएपछि मात्र सामग्रीसहित त्यसतर्फ पठाइएको उहाँले बताउनुभयो ।

“नार्पाभूमि क्षेत्र अति जोखिम र संवेदनशील छ । उक्त क्षेत्र चीनको सिमानासँग जोडिएको छ । त्यसमाथि मौसम प्रतिकूल रहने गर्छ”, मुख्य निर्वाचन अधिृकत पौडेलले भन्नुभयो । उक्त क्षेत्रमा पाँच अति संवेदनशील मतदान केन्द्र रहेका छन् । सदरमुकाम चामेबाट नार्पाभूमिका मतदान केन्द्रमा पुग्न तीन दिन लाग्छ । सो क्षेत्रमा सडक सञ्जालको पहुँच नहुँदा पैदल नै सामाग्रीसहित पुग्नुपर्ने बाध्यता छ ।

यहाँ प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी १८ हजार मतपत्र जिल्ला पुगिसकेको प्रमुख निर्वाचन अधिकारी जीवन कुँवरले बताउनुभयो । मनाङमा एक अस्थायीसहित २८ मतदान केन्द्र रहेका छन् ।

निर्वाचनमा नेपाली कांग्रेसबाट टेकबहादुर गुरुङ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बाट यशोदा सुवेदी गुरुङ र मङ्गोल नेशनल अर्गनाइजेसनबाट रामबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यहाँ महिला तीन हजार ६२३ र पुरुष तीन हजार ३७७ मतदाताले २९ मतदान केन्द्रमार्फत मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

नेप्सेको वेबसाइटमा देखिएको समस्या समाधान

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेबसाइटमा देखिएको प्राविधिक समस्या करिब डेढ घण्टापछि समाधान भएको छ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार आजको कारोबार बन्द भएको केही समयपछि केही कम्पनीको शेयर मूल्य शून्य देखिएको थियो ।

“केही कम्पनीको क्लोजिङ प्राइस शून्य देखाउँदा समग्र परिसूचकमा ठूलो अङ्कको गिरावट देखिएको थियो । यो प्राविधिक त्रुटि हो, त्यो समस्या समाधान भइसकेको छ”, उहाँले रासससँग भन्नुभयो ।

आज नेप्से परिसूचक १९ दशमलव २७ अङ्कले बढेर दुई हजार ६७४ दशमलव २० को बिन्दुमा कायम भएको थियो, तर बजार बन्द भएको करिब आधा घण्टापछि परिसूचक ८८५ दशमलव ३२ अङ्कले घटेर एक हजार ७६९ मा पुगेको देखिएको थियो । जुन ३३ दशमलव ३४ प्रतिशतको गिरावट हो । नेप्से परिसूचकमा एकाएक ठूलो अङ्कको गिरावट देखिएपछि लगानीकर्तामा अन्यौलता देखिएको थियो भने केही लगानीकर्ताले बारम्बार यस्ता समस्या दोहोरिन थालेको भन्दै सामाजिक सन्जालमा गुनासो पोखेका थिए ।

नेप्सेको प्राविधिक टोलीले समस्या समाधान गरिसकेको र परिसूचक पहिलेकै अवस्थामा देखिएको प्रवक्ता पराजुलीले बताउनुभयो ।

निर्वाचन प्रयोजनाका लागि ११ दल र एक हजार ८६५ उम्मेदवारले मात्र खोले बैङ्क खाता

काठमाडौँ। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ८६५ जना उम्मेद्वारले मात्र बैङ्क खाता खोलेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, निर्वाचनमा भाग लिएका ६५ दलमध्ये ११ दलले मात्र खाता खोलेका छन् । आजसम्म खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिनुभयो ।

निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्च सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि बैङ्क खाता खोल्ने व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार निर्वाचनमा भाग लिने प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले कार्यविधिअनुसार खाता खोल्न भनिएको छ ।

निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिने र खर्च कारोबार सोही खातामार्फत हुने व्यवस्था गरिएको छ । यही व्यवस्थाअनुसार दल र उम्मेदवारले खाता खोलेका हुन् ।

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ। नेपाल पत्रकार महासङ्घले निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरेको छ ।

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा आज अपिल जारी गर्दै महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकार र सञ्चारमाध्यमका सवारीसाधनलाई प्रेस पासका आधारमा निर्वाध रूपमा आवाज–जावत गर्ने व्यवस्था मिलाउन पनि आग्रह गर्नुभएको छ । सङ्कलनमा खटिएका पत्रकारलाई कुनै पनि किसिमका अवरोध नगर्न सबै सरोकार भएकाहरूलाई महासङ्घले आग्रह गरेको छ ।

पछिल्लो समयमा ‘सेल्फ सेन्सरपिस’को पीडा भोग्नुपरेको स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ,“पत्रकार तथा सञ्चारगृहले नियामक निकाय प्रेस काउन्सिल र महासङ्घको प्रतिबद्धता एवं निर्वाचन आयोगद्वारा जारी आचारसंहिता पालनामा इमान्दारिताका साथ समाजप्रति उत्तरदायी भई समाचार प्रकाशन र प्रसारण गर्न उत्तिकै जरूरी छ । भ्रमपूर्ण सूचनाका आधारमा नभई सत्य, तथ्य सूचनालाई सम्प्रेषण गर्न आग्रह छ ।”

पत्रकारलाई सुरक्षित रहेर कार्यस्थलमा जुट्न आग्रह गर्दै अध्यक्ष शर्माले लोकतन्त्रको सुन्दर पक्ष दलीय प्रतिस्पर्धाबाट जनमत प्राप्त गरी अनुमोदित हुनुभएकाले निर्वाचनका सन्दर्भमा संविधानले व्यवस्था गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई भरपुर निर्वाध रूपमा उपयोग गर्न पाउनुपर्ने माग गर्नुभयो ।

समाजले नेपाली सञ्चारजगत्लाई कसरी हेरिरहेको छ भन्ने गम्भीर प्रश्न उब्जिए पनि संविधानले व्यवस्था गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई निर्वाध रूपमा उपयोग गर्न पाउनुपर्छ भन्नेमा महासङ्घ प्रष्ट रहेको विज्ञप्तिमा जनाइएको छ ।

मुलुकलाई समृद्ध बनाउन सबै दलसँग सहकार्य आवश्यक छः सभापति थापा

नुवाकोट। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्पूर्ण राजनीतिक दलहरुसँगको सहकार्यले पाँच वर्षमा मुलुकलाई समृद्ध बनाउन सकिन बताउनुभएको छ ।

नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा आज आयोजित ‘चुनावी सभा’लाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसले मुलुकमा भइरहेका बेथिती अन्त्य गर्न सम्पूर्ण पक्षलाई साथमा लिन आवश्यक भएको बताउनुभयो ।

“पाँच वर्षमा देशमा व्यापक सुधार गर्न सकिन्छ । यसलाई कांग्रेसले मूख्य सङ्कल्प लिएर अघि बढेको छ”, सभापति थापाले भन्नुभयो, “अहिलेको तुलनामा पाँच गुणा बढी काम गर्छौँ । सजग र सचेत भएर मुलुकमा कुनै अप्रिय घट्ना हुन दिन्नौँ ।”

चुनावमा स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ भन्ने अठोटले दलहरुबीच गठबन्धनको अभ्यासलाई अस्वीकार गर्दै अघि बढेको उल्लेख गर्दै सभापति थापाले कांग्रेस देश सञ्चालन गर्न सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

देश विकासका लागी पूर्वाधार निर्माणका क्षेत्रमा देखिएको समस्यादेखि किसानले समयमा नै मल पाउन नसकेका विषयसम्म कानूनी अवरोधको चुनौती रहेकाले अब बन्ने सरकारले त्यसलाई सुधार गर्दै जनताका स–साना समस्यालाई पनि महत्वका रुपमा लिने उहाँले विश्वास दिलाउनुभयो ।

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ ।
निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले पछिल्लो दुई दिनमा उपत्यकाबाट ८० हजार यात्रु बाहिरिएका बताए ।

इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित

क्वालालम्पुर। इरानमा अमेरिका र इजरायलको आक्रमणपछि एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले मध्यपूर्वका क्लबहरूले खेल्ने आइतबारको पहिलो लेग नकआउट खेलहरू स्थगित गरेको छ ।यस निर्णयले च्याम्पियन्स लिग एलिटसहित एएफसीका तीनवटै मुख्य क्लब प्रतियोगिताका खेलहरू पुनः तालिका बनाउने वातावरण सिर्जना गरेको छ ।

मलेसियामा मुख्यालय रहेको एएफसीले जारी विज्ञप्तिमा भन्यो, “मध्यपूर्वको बढ्दो तनावलाई ध्यानमा राख्दै मार्च २–३, २०२६ का लागि तय पश्चिम क्षेत्रका खेलहरू अब पुनः निर्धारण गरिनेछ ।” बोर्डले खेलाडी, टोली, अधिकारी र दर्शकहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता कायम रहेको बताएको छ ।

स्थगित खेलहरूमा कतारको अल–दुहैल र साउदी पावरहाउस अल–अहलीबीचको नकआउट खेल समावेश छ । दुबईमा आधारित शबाब अल–अहली र इरानको ट्र्याक्टर क्लबबीचको खेल तथा अबु धाबी क्लब अल वाहदा बनाम अल–इत्तिहादको खेल पनि प्रभावित भएका छन् ।

एएफसीले भने कि एसियाली क्षेत्रका अन्य स्थानमा हुने खेलहरू पूर्वनिर्धारित रूपमा जारी रहने तर मध्यपूर्वको सुरक्षा चुनौतीका कारण तालिका फेरबदल अपरिहार्य भएको जनाएको छ ।

यस कदमले खेलकुदमा पनि अन्तर्राष्ट्रिय द्वन्द्वको प्रभाव देखाएको छ र क्षेत्रीय अस्थिरताका बीच फुटबल खेलाडी, क्लब र प्रशंसकको सुरक्षामा थप प्राथमिकता दिएको छ ।

रुपन्देही क्षेत्र नम्बर २ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसलाई समर्थन गर्ने भएको छ ।आइतबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले कांग्रेसका उम्मेदवार समाजसेवी एंव उद्योगी चुन्नप्रसाद शर्मा (पौडेल) लाई समर्थन गर्ने निर्णय भएको बताएको हो ।

आफ्नो सिद्वान्त र बिचार फरक भएपनि देशको आर्थिक, सामाजिक तथा समृद्विको क्षेत्रमा कांग्रेस संग ऐजेण्डा नजिक रहेका रुपन्देही क्षेत्र नं २का क्षेत्रीय अध्यक्ष राम वहादुर थापाले जानकारी दिएका हुन् ।

‘अहिले पनि यस निर्वाचनमा हाम्रा सिद्वान्त र बैचारिक भिन्नता भएपनि देशको आर्थिक, सामाजिक तथा समृद्विको क्षेत्रमा नकांग्रेससंग एजेण्डा नजिक रहेको हुनाले वर्तमान समयमा राप्रपा रुपन्देही क्षेत्र २ को संगठनलाई एकत्रित गरी राख्न र मुद्दामा वहस र छलफलको सन्दर्भलाई समेत ध्यानमा राखेर राजनीतिक सहमतिको निरन्तरता समेत रहने गरी यस क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार समाजसेवी एंवम उद्योगी चुन्नप्रसाद शर्मा (पौडेल) लाई समर्थन गर्ने निर्णय भएको पार्टी पंक्ती र आम जनसमुदायमा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

 

निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री रूपमा सम्पन्न गर्नका लागि निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ ।

निर्वाचन सफल पार्न सबैको भूमिका महत्वपूर्ण हुने भएकाले सबै पक्षले धैर्यता र संयमता अपनाउन, सामाजिक सञ्जालको दुरुपयोग नगर्न, गालीगलौज गर्ने प्रकारका सामग्री उत्पादन र प्रकाशन÷प्रसारण नगर्न, शान्ति सुरक्षालाई थप मजबुत बनाउन, संभावित अवाञ्छित गतिविधि हुन नदिन तथा निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गर्न आयोगले आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा निर्वाचनलाई मानवअधिकारमैत्री बनाई नागरिकको मानवअधिकारको सम्मान गर्न नेपाल सरकारलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको उल्लेख छ ।

“आयोगले गरेको निर्वाचनपूर्वको अनुगमनको क्रममा उम्मेदवारबाट निर्वाचन आचारसंहिताको पूर्ण परिपालना हुन नसकेको पाइएको छ, देशका विभिन्न भागमा ¥याली तथा सभामा बालबालिका सहभागी हुनु, पत्रकारमाथि धम्की तथा कुटपीट हुनु आचारसंहिता विपरीत हो”, विज्ञप्तिमा भनिएको छ, “भौतिकरूपमा चुनाव चिह्नको प्रयोग हुुनु, बिना अनुमति व्यक्तिका घरमा प्रचार सामग्री र झण्डा टाँगिनु, स्थानीय निकाय तथा प्रदेश सरकारका पदाधिकारी निर्वाचनको प्रचारप्रसारमा सहभागी हुने गरेको पाइएको छ ।”

अनुगमनका क्रममा उम्मेदवारले अनुमति बिना बढी सवारीसाधन प्रयोग गर्नु, मतदातालाई अनुचित प्रभाव पार्ने प्रयास गरिनु, दलका कार्यकर्ता र समर्थकले सामाजिक सञ्जालको दुरुपयोग गरी एकापसमा गालीगलौज गर्ने गरेको पाइएको आयोगले जनाएको छ । साथै, सीमान्तकृत समुदायमा पर्याप्त मतदाता शिक्षा पुग्न नसक्नुजस्ता तथ्य पाइएको भएपनि दलका नेता र उम्मेदवारबीचको आपसी सौहार्दता, सुरक्षा निकायको सुरक्षा सतर्कता तथा निर्वाचन अधिकारी र स्थानीय प्रशासनबाट भएको निर्वाचनको तयारीजस्ता विषयलाई आयोगले सकारात्मक रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा आयोगले अनुगमन टोली बनाई ४२ जिल्लामा निर्वाचनपूर्वको अनुगमन गरेको छ । आयोगको केन्द्रीय तथा प्रदेश कार्यालयबाट खटिएको अनुगमन टोलीले निर्वाचन अधिकृतको कार्यालयबाट भएको निर्वाचन तयारी, आचारसंहिताको पालनाको स्थिति, शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग छलफल गरेको थियो ।

अनुगमनका क्रममा राजनीतिक दल, उम्मेदवार तथा मतदातासँग आयोगले जानकारी लिएको र आयोगले विगतका निर्वाचनदेखि नै निर्वाचन अनुगमन गरी प्राप्त तथ्यका आधारमा सम्बन्धित निकायलाई आवश्यक सिफारिस गरी निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन आग्रह गर्दै आएको छ । आयोगले निर्वाचनको दिन पनि विभिन्न अनुगमन टोली बनार्ई देशैभर अनुगमन गर्नेछ ।

मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली, सुरक्षाका निर्देशन पालना गर्न सरकारको आग्रह

काठमाडौँ, १६ फागुन । नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा पछिल्लो विकसित घटनाक्रमपछि त्यहाँ रहेका १७ लाख बढी नेपालीलाई सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयमार्फत सरकारले त्यस क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाउँदै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि शनिबार संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि र इरानले त्यसको प्रत्याक्रमण गरेपछि मध्यपूर्वको स्थिति तनावपूर्ण बनेको छ ।

सो सम्बन्धमा जानकारी दिन मन्त्रालयले आज यहाँ आयोजना पत्रकार सम्मेलनमा सहसचिव कृष्णप्रसाद ढकालले भने, “हालसम्म त्यस क्षेत्रमा नेपाली नागरिक सुरक्षित छन् । नेपाल सरकारले घटनाक्रम नजिकबाट हेरिरहेको छ । सम्बन्धित मुलुकले जारी गरेको सुरक्षासम्बन्धी सूचना जानकारी लिई त्यसको पालना गर्न आग्रह गर्दछौं ।”

यस्ता घट्नाक्रमलाई सम्बोधन गर्न मन्त्रालयले ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न लागेको सहसचिव ढाललले जानकारी दिए ।

मध्यपूर्व र आसपासका इरानमा छ जना, इजरायलमा छ हजार ५००, इजिप्टमा ५००, ओमानमा २५ हजार, कतारमा तीन लाख ५७ हजार, कुवेतमा एक लाख ७५ हजार, जोर्डनमा तीन हजार, बहराइन २८ हजार, साउदी अरबमा तीन लाख ८४ हजार ८६५, संयुक्त अरब इमिरेट्समा चार लाख ७८ हजार १४४, लेबनानमा एक हजार ५००, इराकमा ३० हजार र साइप्रसमा १७ हजार गरी हाल कुल १७ लाख २९ हजार २८८ जना नेपाली नागरिक रहेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यस क्षेत्रका नेपालीको सुरक्षाका लागि सरकारले आवश्यक काम र पहल गरिरहेको बताए । उनले त्यहाँ नेपाली नागरिकलाई घरभित्रै सुरक्षित रहन, सूचना पालना गर्न, अफ्ठ्यारो परेमा दूतावास र मन्त्रालयसँग सम्पर्कमा रहन आग्रह गरे।

मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी श्रेष्ठले नेपाली नागरिकको सरक्षाका लागि त्यस क्षेत्रका आठ दूतावास र दुई कन्सुलर सेवाबाट सूचना जारी गरी समन्वय भइरहेको प्रवक्ता क्षेत्रीले बताउ । यसैगरी मन्त्रालयले ‘एडभाइजरी’ जारी गर्दै सुरक्षासम्बन्धी निर्देशन तथा सूचना कडाइका साथ पालना गर्न आग्रह गरेको हो ।

“सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस् र आफू रहेको स्थानका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् । सम्बन्धित निकायको पूर्वस्वीकृतिबिना अनावश्यक यात्रा नगर्नुहोस् । काठमाडौंस्थित परराष्ट्र मन्त्रालय, तेल अविवस्थित नेपाली दूतावास तथा दोहास्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस्”, मन्त्रालयले जारी गरेको एडभाइजरीमा उल्लेख छ ।

मध्यपूर्वको घट्नाक्रमपछि हाल भिसा र टिकट लिई गन्तव्य मुलुक जाने तयारीमा रहेका, गन्तव्य मुलुक जानका लागि विमानस्थल पुगेका र युरोप तथा अमेरिका जानका लागि ट्रान्जिट विमानस्थलमा अलपत्र परेका नेपाली नागरिकले सास्ती भोग्नुपरेको पनि जनाइएको छ ।

नेपाली कांग्रेसले काठमाडौं उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्ने, सभापति थापा र विश्वप्रकाश शर्माले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रसले आज काठमाडौं उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्ने भएको छ ।आज हुने चुनावी सभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन् ।चुनावी सभा दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुर, दिउँसो २ बजे भक्तपुरको ठिमी र दिउँसो ३ बजे बालाजुमा हुनेछ ।

यसैगरी, दिउँसो ३ः३० बजे काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा हुनेछ । यस्तै, दिउँसो ४ बजे काठमाडौं क्षेत्र नम्बर ४ को बालुवाखानीमा चुनावी सभा हुनेछ ।

दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुरमा हुने चुनावी सभामा सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन् ।दिउँसो २ बजे भक्तपुरको ठिमीमा हुने कांग्रेसको चुनावी सभामा पार्टी उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने छन् ।

काठमाडौं ९२ को पेप्सीकोला टाउनप्लानिङमा हुने चुनावी सभामा पनि उपसभापति शर्माले सम्बोधन गर्ने भएका छन् ।काठमाडौं ९७ को बालाजुमा दिउँसो ३ बजे हुने चुनावी सभामा सभापति गगन थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन् ।

सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार साताको कारोबारको पहिलो दिन सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ हजार ६०० रुपैयाँले बढेर ३ लाख २० हजार ५०० रुंपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य ३ लाख १४ हजार ९ सय रुंपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।आज चाँदी मूल्य तोलामा ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलामा ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

रुपन्देहीमा यस्तो छ निर्वाचनको तयारी, छ हजार जनशक्ति परिचालन

रुपन्देही । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी रुपन्देहीमा पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित चारवटै सुरक्षा निकायले आ–आफ्नो जिम्मेवारी अन्तिम चरणमा पुर्याएका छन् ।

निर्वाचनमा खटिने कर्मचारीले निर्वाचन अधिकृतको कार्यालयबाट यसअघि नै नियुक्तिपत्र बुझेको र आजबाट निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा पुग्ने मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।

जिल्लाका निर्वाचन क्षेत्रका मतदान केन्द्रमा पुग्न सहज यातायातको सुविधा भएकाले आज सामग्रीसहित कर्मचारी केन्द्रमा पुग्नेगरी व्यवस्था मिलाइएको उनले बताए। “अब सामान्य छिटफुट कामबाहेक निर्वाचनका सबै तयारी पूरा भयो”, उनले भने, “अहिलेसम्मको अवस्थामा निर्वाचनका लागि सुरक्षालगायत सबै व्यवस्थापन राम्रो भएको छ ।”

यस्तै राजनीतिक दल तथा उम्मेदवारहरूले पनि निर्वाचनलक्षित प्रचारप्रसार कार्यक्रम अब अन्तिम चरणमा पुर्याएका छन् । निर्वाचनको मतदानभन्दा तीन दिनअघि फागुन १८ गते राति १२ः०० बजेदेखि मौन अवधि लागू हुने भएकाले राजनीतिक दल र स्वतन्त्रतर्फका उम्मेदवारहरू यतिबेला मतदाताका घरदैलो पुगेर भेटघाट र आफ्ना एजेन्डा प्रस्तुत गर्दै मत माग्ने अभियानमा सक्रिय छन् । हालसम्म जिल्लामा चुनावी गतिविधि शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ ।

दलहरूबीच आवेश, उत्तेजना वा आचारसंहिताविरुद्धको अवस्था नदेखिएको प्रशासनले जनाएको छ । सामान्य मौखिक उजुरीबाहेक आचारसंहिताको पूर्ण रूपमा पालना गरेको बताइएको छ । मुख्य निर्वाचन अधिकृत बस्नेतले भने“आचारसंहिता पालनामा जिल्लाका प्रायः सबै निर्वाचन क्षेत्रमा ७० प्रतिशत कायम भएको छ ।”

निर्वाचनलाई शान्तिपूर्ण बनाउन तीन तहको सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितको तीन तहको सुरक्षा घेरा बनाइ परिचालन गरिने छ । सुरक्षाका हिसाबले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका मतदान केन्द्रको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

प्रदेश निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार रुपन्देहीमा लुम्बिनीका १२ जिल्लामध्ये सबैभन्दा धेरै मतदाता छन् । रुपन्देहीमा कुल छ लाख ७२ हजार ५२३ जना मतदाता कायम भएका छन् । जसमध्ये तीन लाख ४६ हजार २०३ पुरूष र तीन लाख २६ हजार ३११ जना महिला मतदाता छन् ।

प्रतिनिधिसभातर्फ रुपन्देहीमा पाँचवटा निर्वाचन क्षेत्र छन् । रुपन्देही क्षेत्र नं १ मा एक लाख ४६ हजार ८२४, २ मा एक लाख ३५ हजार ५०, ३ मा एक लाख ४० हजार ३५, ४ मा एक लाख १६ हजार १७२ र क्षेत्र नं ५ मा एक लाख ३४ हजार ४४२ जना मतदाता छन् । रुपन्देहीमा २०९ मतदानस्थल र ७३२ वटा मतदान केन्द्र छन् । फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने निर्वाचन आयोगले व्यवस्था गरेको छ ।

सीमानाका तीन दिन बन्द हुने

निर्वाचनलाई लक्षित रुपन्देहीका नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने भएका छन् । रुपन्देही जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका जिल्लाका सम्पूर्ण सीमानाका तीन दिन बन्द रहने जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ पाध्याले जारी गरेकाे सूचनामा यही फागुन १८ गते सोमबार राति १२ः०० देखि फागुन २१ गते बिहीबार राति १२ः०० बजेसम्म बन्द रहने जनाइएको छ ।

यसका साथै फागुन २० गते बुधबार राति १२ः०० देखि २१ गते बिहीबार मतदानकार्य सम्पन्न नहुन्जेलसम्म एम्बुलेन्स, दुग्धका ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शववहान, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवा र अनुमतिप्राप्त सवारीसाधनबाहेक अन्य सवारीसाधन समेत सञ्चालनमा निषेध गरिएको सूचनामा जनाइएको छ ।

यस्तै प्रशासनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिरा बिक्रीवितरण तथा सेवन निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।

होलीलाई मर्यादित बनाउन आग्रह

रुपन्देही जिल्ला प्रशासन कार्यालयले होली÷फागु पर्व अनुशासित र मर्यादिन ढङ्गले मनाउन अपिल गरेको छ । प्रशासनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तथा मौन अवधिभित्र होली÷फागु पर्व परेकाले निर्वाचनको सुरक्षा संवेदनशीलता तथा निर्वाचन आचारसंहिता परिपालनलाई ध्यानमा राखी होली पर्व मनाउँदा आपसी सद्भाव, शान्ति र सौहार्दपूर्ण वातावरण कायम राख्न आग्रह गरेको छ ।

होली÷फागु पर्वलाई धार्मिक एवं सांस्कृतिक दृष्टिले मर्यादित, सभ्य र अनुशासित ढङ्गले मनाउनुका साथै निर्वाचनको सुरक्षा र निर्वाचन आचारसंहिता पालना गर्न-गराउन जिल्ला सुरक्षा समिति, सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, धार्मिक सङ्घसंस्था, नागरिक तथा सरोकारवाला सबैलाई आग्रह गरिएको छ ।

होली पर्व मनाउने क्रममा कसैले पनि कानुनविपरीतका कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडाभन्दा कडा कारबाही हुने जनाइएको छ । प्रमुख निर्वाचन अधिकृत बस्नेतले यसपटकको होली पर्व सामान्य रूपमा घरमै बसेर मनाउन, कुनै पनि किसिमको साङ्गीतिक कार्यक्रम नगर्नेगरी पर्व मनाउने व्यवस्था मिलाउन सुरक्षा निकायलाई अनुरोध गरिएको बताए ।

छ हजार जनशक्ति परिचालन

जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा चार हजार ३९२ वटा स्थायी र चारवटा अस्थायी मतदान केन्द्र कायम गरेर कर्मचारी जनशक्ति खटाइसकिएको प्रमुख निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए । यसका लागि जिल्लामा चार हजार ४१६ कर्मचारी र झन्डै एक हजार ६०० स्वयंसेवक गरी छ हजार बढी जनशक्ति परिचालन भएको जानकारी दिए।

मतदानको बदर सङ्ख्या घटाउनका लागि जिल्लामा मतदाता शिक्षालाई प्रभावकारी बनाइएको छ । निर्वाचन कार्यालयका कर्मचारीहरू नमूना मतपत्र लिएर वृद्धवृद्धा र शिक्षाको पहुँच कम भएका मतदाताका घरदैलोमा पुगी मतपत्र पट्याउने र मतदान गर्ने तरिका सिकाइरहेका छन् । रूपन्देहीका पाँच निर्वाचन क्षेत्रमा राजनीतिक दलका ६३, स्वतन्त्र ९२ गरी जम्मा १५५ उम्मेदवार अहिले चुनावी मैदानमा छन् ।

नयाँ पुस्ताका मतदाता भन्दछन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’

नवलपरासी । आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा युवा मतदातामा उत्साह र जिज्ञासा एकैसाथ देखिएको छ । नयाँ पुस्ता यसपटक आफ्नो मताधिकार प्रयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष सहभागी हुने तयारीमा जुटेका हुन् ।

यसअघि निर्वाचनलाई परिवारका अग्रजले गर्ने कार्यका रूपमा हेर्दै आएका यी युवाहरू अहिले भने स्वयं निर्णयकर्ता बन्ने चरणमा पुगेका छन् । सामाजिक सञ्जाल, बहस, छलफल र विद्यालय–क्याम्पसस्तरीय संवादमार्फत उनीहरू निर्वाचन, संविधान, शासन प्रणाली र नागरिक दायित्वबारे बुझ्न खोजिरहेका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)का नयाँ मतदाताहरूले आफ्नो पहिलो मत ‘व्यक्तिगत स्वार्थ’भन्दा पनि ‘भविष्य निर्माण’का आधारमा प्रयोग गर्ने बताएका छन् । उनीहरूका प्राथमिकतामा गुणस्तरीय शिक्षा, रोजगारी सृजना, पारदर्शी शासन व्यवस्था र जनताको समस्या बुझ्ने नेतृत्व छन् ।

विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनका पवन ढेगामगर पहिलोपटक मतदान गर्न पाउँदा उत्साहित भएको बताउनुभयो । दुर्गम गाउँमा पर्ने बगुवन गाउँको समस्या समाधानका लागि ठोस पहल गर्ने उम्मेदवारलाई चयन गर्ने सोचमा रहेको उनले बताए ।

“अहिलेसम्म मतदान गरिएको थिएन, त्यसैले पहिलाको निर्वाचनमा खास चासो पनि राखिँदैन थियो”, उनले भने, “यसपालि आफैँले मतदान गर्न पाउने भएकाले धेरै कुराहरूमा चासो हुने र विषयहरू बुझ्न मन लाग्ने भएको छ ।”

जिल्लामा विभिन्न नागरिक संस्थाहरूले पनि पहिलो मतदातालाई लक्ष्य गरी मतदाता शिक्षा, सचेतना कार्यक्रम र संवाद आयोजना गरिरहेका छन् । यस्ता कार्यक्रमले युवामा मतदानप्रति आत्मविश्वास बढाएको सहभागीहरूको भनाइ छ ।

पहिलोपटक मतदान गर्न लागेकी कावासोती नगरपालिका–२ की १९ वर्षीया एञ्जल भुसालले भने, “हामी अब दर्शकमात्र होइनौँ, निर्णय प्रक्रियाका सहभागी हौँ । हाम्रो मतले हाम्रो भविष्य निर्धारण गर्छ भन्ने चेतना आएको छ ।”

बुलिङटार गाउँपालिका–३ का अर्का युवा सुमन थापाले भने, “हामीलाई भाषणभन्दा काम चाहिएको छ । युवालाई स्वदेशमै अवसर दिने नीति ल्याउने उम्मेदवारलाई रोज्ने सोचमा छौँ ।”

पहिलो मतदानलाई जीवनको महत्त्वपूर्ण अनुभवका रूपमा लिँदै युवाहरू मतदान दिनलाई ‘उत्सव’जस्तै मानिरहेको देखिन्छ । कतिपय युवाहरूले सामाजिक सञ्जालमा पनि जिम्मेवार मतदानको सन्देश फैलाइरहेका छन्, ‘सोचेर मत हालौँ, भविष्य बनाऔँ’ भन्ने नारासहित । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिलोपटक मतदान गर्न लागेका युवाहरू फागुन २१ गतेको निर्वाचनलाई लिएर उत्साहित भएको देखिन्छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नौ हजार २३७ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालले बताए । उनका अनुसार जिल्ला निर्वाचन कार्यालयबाट सिधैँ नाम दर्ता गराउने मतदाता तीन हजार १५३ र राष्ट्रिय परिचयपत्र प्रयोग गरी नाम दर्ता गराउनेको सङ्ख्या छ हजार ८४ छन् । दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कुल दुई लाख ६८ हजार ५२६ मतदाता छन् ।

चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए , २१ जनाले खोले

चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारी दर्ता गराएका मध्ये २१ जनाले मात्र बैंक खाता खोलेका छन् । बैंक खाता खोल्नका लागि ३९ले सिफारिस लिएका थिए ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार जिल्लामा ६४ जना उम्मेदवार छन् । सबै उम्मेदवारलाई टेलिफोन गरी खाता खोल्न आग्रह गरिएको उनले जानकारी दिए । उनले भने, “कतिपय उम्मेदवारले त हामी खर्च नै गर्दैनौँ, किन खाता खोल्ने भन्नुहुन्छ ।” कतिपयले भने खाता खोल्ने प्रक्रियामा नै रहेको जवाफ दिएको उनले जानकारी दिए ।

उनका अनुसार आसन्न निर्वाचनका लागि बैंकिङ खाता अनिवार्य गरिएसँगै यसका बारेमा बुझ्न र सिफारिसका लागि आवश्यक प्रक्रियाबारे जानकारी लिन उम्मेदवार र उम्मेदवारका प्रतिनिधिहरू कार्यालय भने आएका छन् । उनले भने, “बैंकिङ खाता खोल्ने विषयमा जानकारी लिन आउनुभएको छ, तर खाता खोल्न अझै धेरैको बाँकी छ ।”

निर्वाचन आयोगले राजनीतिक दल एवं उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसारका लागि प्राप्त हुने स्वेच्छिक आर्थिक सहयोगको रकम र त्यसको प्रचारप्रसारका लागि गर्ने खर्चलाई मितव्ययी, पारदर्शी बनाइ निर्वाचनमा सुशासन कायम गर्न बैंकिङ खाता खोल्नुपर्ने प्रावधान ल्याएको हो ।

यस्तै जिल्लामा रहेका १२ उम्मेदवारले आफ्नो घोषणापत्र आयोगमा बुझाएका छन् । कार्कीका अनुसार तीन जना स्वतन्त्र उम्मेदवार र नौ जना राजनीतिक दलका उम्मेदवारले आफ्नो घोषणापत्र बुझाएका हुन् । आयोगले फागुन ३ गतेसम्म उम्मेदवारले आफ्नो घोषणापत्र आयोगमा बुझाउन आग्रह गरेको थियो ।

हिमपातले यातायात बन्द, हुम्लाका चार मतदान केन्द्रमा हेलिकप्टरबाट कर्मचारी र निर्वाचन समाग्री ओसारिँदै

हुम्ला, १७ फागुन । हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र निर्वाचन सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको छ ।नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको भृकुटी आधारभूत विद्यालय जाङ, सुनखानी आधारभूत विद्यालय हल्जी, हिमशिखर आधारभूत विद्यालय तील सोही गाउँपालिका–४ को हिमालय आधारभूत विद्यालय चाला मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिए ।

उनका अनुसार यी चारवटै मतदान केन्द्रमा हिमपातले यातायात सेवा अवरुद्ध भएका कारण चारवटा मतदान केन्द्र गरी २० कर्मचारी, नेपाली सेना, निर्वाचन प्रहरी, नेपाल प्रहरीसहितका सुरक्षाकर्मी ८० जना गरी १०२ कर्मचारी र मतपत्रलगायतका निर्वाचन सामग्री आज र भोलि गरी दुई दिनमा हेलिकप्टरबाटै ओसार्ने बताए ।

निर्वाचनका लागि ती मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, मतपत्रलगायत अन्य मतदान सामग्री हेलिकप्टरबाट ढुवानी गर्न निर्वाचन आयोगलाई गरिएको अनुरोध आयोगले सदर गरेको बताए ।

उनका अनुसार लिमी जाने दुई नाका नारा र न्यालु लेकको सडकमा हिउँ जमेका कारण बन्द भएकाले आयोगले हेलिकप्टर प्रयोग गर्न लागेको हो । त्यसैगरी, चाला जाने बाटोमा पनि हिउँ जमेर घोडेटो बाटो अवरुद्ध भएकाले सो मतदान केन्द्रमा हेलिकप्टरको व्यवस्था गर्न लागिएको हो । ती मतदान केन्द्रहरू भौगोलिक कारणले जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील स्थलका रूपमा रहेको औँल्याएको थियो ।

लिमीको सुनखानी प्रावि मतदान केन्द्र हल्जीमा २९३, भृकुटी प्रावि मतदान केन्द्र जाङमा २४७, हिमशिखर प्रावि तीलमा १३२ र हिमालय प्रावि चालामा १५९ मतदाता छन् । हाल यीमध्ये अधिकांश मतदाता जिल्ला बाहिर र चीनको ताग्लाकोटमा रहेकाले उनीहरूलाई लिमी लैजान सडक खुलाउने प्रयास सुरु गरिएको छ ।

खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु पछि इरान सरकारले ४० दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएअनुसार शिया इस्लाम परम्परामा मृत्युको ४०औँ दिनलाई अत्यन्त पवित्र मानिने भएकाले सो अवधिसम्म शोक मनाउने निर्णय गरिएको हो ।

खामेनीको मृत्यु अमेरिका र इजरायलको संयुक्त आक्रमणका क्रममा भएको बताइएको छ । सर्वोच्च नेताको कार्यालयले देशभर राष्ट्रिय शोक अवधि लागू गरिएको, सरकारी भवनहरूमा झण्डा आधा झुकाइने तथा विभिन्न स्थानमा श्रद्धाञ्जली सभाहरू आयोजना गरिने जनाएको छ । यस घटनासँगै इस्लामिक गणतन्त्रको ३७ वर्ष लामो नेतृत्वकालको एउटा अध्याय समाप्त भएको टिप्पणी गरिएको छ ।

खामेनी सन् १९८९ देखि इरानका सर्वोच्च नेता थिए । उनी इस्लामिक क्रान्तिका संस्थापक अयातोल्लाह रुहोल्लाह खोमेनीका उत्तराधिकारीका रूपमा सत्तामा आएका थिए । उनको नेतृत्वकाल पश्चिमी शक्तिविरुद्धको कडा अडानका लागि परिचित थियो । इरानको सरकारी समाचार संस्थाका अनुसार खामेनी आइतबार बिहान आफ्नै कार्यकक्षमा रहँदा आक्रमणमा मारिएका थिए ।

आधिकारिक फारसी सामाजिक सञ्जाल खातामा पवित्र कुरआनको एउटा आयत उल्लेख गर्दै उनको निधनलाई राष्ट्रको सार्वभौमिकताका लागि अन्तिम बलिदानका रूपमा चित्रण गरिएको छ ।

दुर्गा प्रसाईं फेरी पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईंलाई आईतबार बिहान उनको आफ्नै निवासबाट पक्राउ गरेको हो । प्रसाईंलाई जिल्ला प्रहरी भक्तपुरको हिरासतमा राखिएको छ ।

प्रसाईंको नेतृत्वमा आज नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियोे । उनले पूर्वराजपरिवार नै सडकमा आउने भनेर उत्तेजक अभिव्यक्ति दिएका थिए । यद्यपि पूर्वराजपरिवारको सडकमा आउने कुनै कार्यक्रम नभएको बताइएको छ ।

म्याग्दीको भिरकाटे–दोवा सडक स्तरोन्नति : लक्ष्यअघि नै सम्पन्न

म्याग्दी। अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ ।गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको भिरकाटे–दोवा सडक स्तरोन्नति योजनाका लागि गत पुस महिनामा भण्डारी निर्माण सेवाले रु ६५ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

आगामी चैतसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्यभन्दा एक महिनाअघि नै सम्पन्न भएको हो । सम्झौतालगत्तै पुसदेखि काम थालेको निर्माण कम्पनीले दुई महिनामै योजना सम्पन्न गरेको वडासदस्य बिर्खबहादुर गर्बुजाले बताउनुभयो ।

बगरदेखि सुनारीटोल खण्डको अप्ठ्यारो ठाउँमा सडक स्तरोन्नति भएको हो । योजनामार्फत हाल तीनदेखि चार मिटर फराकिलो सडकलाई छ मिटरका दरले फराकिलो बनाएर, नाली, पर्खाल निर्माण, ३४० मिटरमा ढलान र ६० मिटर ग्राभेल गरिएको अन्नपूर्ण गाउँपालिकाका प्राविधिक गौरव भट्टले बताउनुभयो ।

निर्माण कम्पनीका प्रतिनिधि मनोज भण्डारीले पर्याप्त उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना सम्पन्न गरेको बताउनुभयो । यो सडक मार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति थालिएको हो ।

विसं २०६६ मा स्थानीयवासीले करिब रु एक करोड चन्दा स¬ङ्कलन गरेर भिरकाटेदेखि दोवा जोड्ने आठ दशमलव दुई किलोमिटर दूरीको सडकको मार्ग खोलेका थिए । मार्ग खुलेदेखि हालसम्म सामान्य मर्मतका भरमा जिप, ट्रयाक्टर र मोटरसाइकलमात्र सञ्चालन हुँदै आएको साँघुरो, ग्रेड र घुम्ती नमिलेको सडकलाई अन्नपूर्ण गाउँपालिकाले स्तरोन्नति थालेको हो ।

भिरकाटेस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल बन्नुअघि नै ट्रयाक खुलेको भिरकाटे–दोवा सडकमा यसपालि हालसम्मकै धेरै बजेट विनियोजन भएको हो । वडासदस्य गर्बुजाका अनुसार तत्कालीन जिविसको रु १० लाख अनुदानका साथै गाउँले, पोखरा, काठमाडौँ र विदेशमा बस्ने दोबावासीले रु ९१ लाख चन्दा सहयोग जुटाएर सडक निर्माण गरिएको थियो ।

गत वर्ष रु ३० लाखबाट मारका क्षेत्रमा सडक स्तरोन्नति गरेको गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २५ लाख विनियोजन गरेर योजनालाई निरन्तरता दिएको छ । सडक स्तरोन्नति भएपछि दोवाका तीन सय घरपरिवार लाभान्वित हुनेछन् ।

भिरकाटे–दोवा सडकलाई प्राथमिकताप्राप्त आयोजनामा समेटेर गाउँपालिकाले आगामी वर्षको बजेटमा निरन्तरता दिनुका साथै सङ्घीय र प्रदेश सरकारसँग पनि थप बजेट माग गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

अन्तर्राष्ट्रिय उडान बारे जानकारी लिएर मात्र विमानस्थल आउन आग्रह

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मध्यपूर्वमा क्षेत्रको हवाई मार्गमा लगाइएको प्रतिबन्धले केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुने बताएको छ ।

इरानमाथि अमेरिका र इजरायलले सैन्य आक्रमण गरेपछि कतार, दुबई र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएकाले काठमाडौंस्थित विमानस्थलले शनिबार साँझ एक सूचना जारी गर्दै मध्यपूर्वी क्षेत्रका हवाई क्षेत्र बन्द गरिएका कारण केही उडान रद्द वा ढिला हुने जनाएको हो । विमानस्थल अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ हुने, पुनः तालिकामा पर्ने वा रद्दसमेत हुन सक्ने सम्भावना रहेको बताएको हो ।

विमानस्थले यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे सम्बन्धित वायुसेवा कम्पनीसँग बुझेर मात्र विमानस्थल आउन आग्रह समेत गरेको छ । विमानस्थलले सम्बन्धित वायुसेवा कम्पनीमा सिधा सम्पर्क गरेर उडानको अवस्था यकिन गर्न अनुरोध गरेको छ ।

अब बन्ने सरकारले पार्टीका नेताबाट सम्पत्ति शुद्धीकरण सुरु गर्छः सभापति थापा

बरहथवा (सर्लाही) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा पार्टी नेताबाट सम्पत्ति शुद्धीकरण सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिका–६ स्थित बयलबास बजारमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले २०४६ सालपछि नेता बनेका सबैको सम्पत्ति शुद्धीकरण गर्ने बताए । निर्वाचनपछि सुरुमा एउटा अधिकार सम्पन्न र सशक्त आयोग तयार गरेर सबैको सम्पत्ति शुद्धीकरण गर्ने उनको भनाइ छ ।

सम्पत्ति शुद्धीकरणको रोलक्रममा आफू आग्रस्थानमा रहेकाले आफ्नो पनि सम्पत्ति शुद्धीकरण गर्ने जनाउँदै सभापति थापाले भष्टाचार निवारण गर्छु भनेर मात्र नहुने धारणा राखे । ‘म प्रधानमन्त्री भएपछि मेरो पहिलो एजेन्डा भनेको देशमा विद्यमान भ्रष्टाचार अन्त्य गर्ने हो । त्यसका लागि पार्टीका पूर्व तथा वर्तमान नेताहरूको सम्पत्ति शुद्धीकरणबाट सुरु हुन्छ । सुरुमा शक्तिशाली आयोग बन्छ, पार्टीका पूर्वसभापति, पार्टीबाट मन्त्री तथा प्रधानमन्त्री भएका सबैको सम्पत्ति शुद्धीकरण गरिने छ,’ उनले भने ।

सभापति थापाले देश बनाउने ‘एजेण्डा’ बोकेर हिँडेका दल कुनै नयाँ र पुरानो नहुने धारणा राख्दै यसतर्फ आममतदान सचेत भएर मताधिकार प्रयोग गर्न आग्रह गरे । उनले मतदातालाई संयमित भएर मुलुक, जनता र समाजको हितमा काम गर्नेलाई मत दिने निर्णय गर्न सबैलाई आग्रह गरे ।

चुनावको समयमा विभिन्न भ्रामक सूचना र अफवाह फैलिएकाले मतदाताको घरघरमा पुगेर सत्य, तथ्य उजागर गरेर सहयोग गर्न पार्टी नेता, शुभेच्छुलाई चिर्न सभापति थापाले निर्देशन दिए । उनले मधेसको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्थाप्रति समेत चिन्ता व्यक्त गरे । मधेस प्रदेशमा सर्लाही र रौतहटको शिक्षा र स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको भन्दै आफूले यसलाई गम्भीर रूपमा लिएको उनको भनाइ थियो ।

आफू सर्लाहीको निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार भएकाले यहाँको मात्र विकास हुने हो कि भनेर चिन्ता गर्न नपर्ने भन्दै मुलुक विकास र सुशासन आफ्नो पहिलो प्राथमिकतामा पर्ने सभापति थापाले प्रतिबद्धता जनाए ।

चुनावैपिच्छे वाचा, शुक्लाफाँटा आरक्ष विस्थापित २४ वर्षदेखि पुनः स्थापनाको पर्खाइमा

कञ्चनपुर । हरेक निर्वाचनमा दलहरूको चुनावी एजेन्डा बन्ने गरेको शुक्लाफाँटा आरक्ष विस्थापितको विषय यस पटकको निर्वाचनमा पनि सबै दलका उम्मेदवारको चुनावी एजेन्डामा छ । स्थानीय तह निर्वाचनदेखि सङ्घीय निर्वाचनमा आरक्ष विस्थापितको पुनः स्थापनाको एजेन्डा बन्दै आएको दुई दशक भइसकेको छ ।

तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा २०५८ सालमा विस्थापित भएका आरक्ष विस्थापित अहिले पनि कञ्चनपुरका विभिन्न स्थानमा शिविरमा बस्दै आएका छन् । एक सय ५० वर्ग किलोमिटर क्षेत्रमा रहेको शुक्लाफाँटाको पूर्वी क्षेत्र विस्तार गरेर ३०५ वर्ग किलोमिटर पुर्‍याइएको थियो । उक्त क्षेत्र विस्तारका क्रममा विस्थापित भएका दुई हजार ४७३ परिवार विस्थापित जङ्गल छेउमा कष्टकर जीवन जिउन बाध्य छन् ।

“अहिले पनि नेताहरू आएर तपाईँहरूको पुनः स्थापना गर्छौँ हामीलाई भोट दिनुस् भन्छन्”, ढक्का शिविरका आरक्ष विस्थापित वीरसिंह धामीले भने, “आश्वासन धेरै पायौँ चुनावमा मात्रै हुन्छ भन्छन्, त्यसपछि हाम्रो सुनुवाइ हुँदैन ।” उनले यसअघि पुनः स्थापनाको आश्वासनमा चार पटक मतदान गरिसके ।

“हाम्रो पुनः स्थापना होला भन्ने विश्वास त छैन यस पटक पनि सबै पार्टीका उम्मेदवारले पुनः स्थापना गर्ने प्रतिबद्धता गरेका छन्”, धामीले भने, “राज्यले हाम्रो समस्यालाई गम्भीर रूपमा लिएन ।” आरक्ष विस्थापितका लागि सरकारले पटकपटक गरेर ३३ आयोग बनाए पनि पीडितको समस्या समाधान हुन नसक्दा उनीहरू राजनीतिक दलहरूले आफूहरूलाई भोट बैंकमात्र बनाएको दुःखेसो गर्दै आएका छन् ।

“आरक्ष विस्थापितका नाममा आयोग बनायो, कार्यकर्ता भर्ती गर्‍यो त्यतिमात्रै हुन्छ”, पीडित रामलाल डगौंराले भने, “३३ आयोग बन्दा पनि हाम्रो समस्या समाधान भएन ।” उनले आफूहरूको माग सरकारले सुरक्षित स्थानमा बसोबासको व्यवस्थापन गर्नुपर्ने रहेको बताए । “हामीलाई राज्यले घरवारविहीन बनाएको हो, राज्यले नै हाम्रो व्यवस्थापन गर्नुपर्छ”, डगौंराले भने, “हामी सरकार र राजनीतिक दलहरूबाट पटकपटक ठगिएका छौँ ।”

आरक्ष विस्थापितको व्यवस्थापनका लागि सरकारले पटकपटक आयोग गठन गरे पनि उक्त आयोगले समस्या समाधान गर्नुको साटो सङ्ख्यामात्रै थपघट हुने गरेको आरक्ष विस्थापितहरु बताउँछन । विस्थापित भएपछि पाँच वर्ष सडकमा बिताएका विस्थापितहरू २०६४ सालमा जङ्गलको छेउको खाली जग्गामा अतिक्रमण गरेर बस्दै आएका छन् ।

“हामी जहिल्यै पनि भोटका लागि मात्रै प्रयोग भयौँ”, स्थानीय नरेश रानाले भने, “सरकारले पुनः स्थापना नगर्दा अन्धकारमा बस्नुपरेको छ ।” विस्थापितहरू अतिक्रमण गरेर जङ्गल छेउको खाली जग्गामा बसेका कारण राज्यबाट पाउने आधारभूत सेवा सुविधाबाट समेत वञ्चित भएको उनी बताउँछन् ।

आरक्ष विस्थापितको पुनः स्थापना हुने आसमा २४ वर्षदेखि कष्टकर जीवनमा बाँचिरहेको रामदास चौधरी बताउँछन् । “जङ्गली हात्ती आउँछ घर भत्काउँछ, पुनः झुपडी बनाउन निकुञ्जले बनाउन दिँदैन”, चौधरीले भने, “यहाँ बिजुली बत्ती, खानेपानी केही सुविधा छैन ।” विस्थापितको समस्या समाधानका लागि सरकारले राज्य कोषबाट करोडौँ रुपैयाँ खर्च गरे पनि अवस्थामा सुधार आउन नसकेको उनको भनाइ छ ।

आरक्ष विस्तारका क्रममा विस्थापित भएकालाई व्यवस्थापन गर्न सरकारले २०३७ सालमा अमृतमान श्रेष्ठको अध्यक्षतामा आयोग गठन गरेको थियो । उक्त आयोगले जग्गाको लालपुर्जा भएका ६२ परिवारलाई ४४४ बिघा जग्गा सट्टाभर्ना दियो । पछि २०३८ सालमा सर्वज्ञराज पण्डितको अध्यक्षता र २०४२ सालमा युगनाथ शर्माको अध्यक्षतामा बनेका आयोगले दुई हजार १७५ परिवारलाई दुई हजार २३० बिघा जग्गा सट्टाभर्ना दिएको देखिन्छ । विसं २०४४ पछिका आयोगहरूले ऐलानी जग्गामा बसोबास गरेका आरक्ष विस्थापितको लगत सङ्कलन गर्ने र थपघट गर्नेबाहेक कुनै काम गरेको देखिँदैन । सरकारले २०७१ सालमा पुनरावेदन अदालतका पूर्वन्यायाधीश ठाकुरप्रसाद शर्माको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

उक्त आयोगले विगतका आयोगले प्रमाणीकरण गरेकामध्ये ‘क’ वर्गमा एक हजार ४८०, ‘ख’ मा २५६ र ‘ग’ मा २४४ परिवारको व्यवस्थापन गर्न सरकारलाई सिफारिस गरे पनि विस्थापितहरूको व्यवस्थापन हुन सकेन । त्यसपछि क्षेत्रीय वन निर्देशक सुधीर कोइरालाको अध्यक्षतामा बनेको आयोगले कुनै काम गरेन । उक्त आयोगपछि सुरेन्द्र बमको अध्यक्षतामा गठन गरिएको छ । उक्त आयोगले एक हजार ४८० परिवारभित्र पनि छानबिन गरेर वास्तविक विस्थापितलाई १० कट्ठासम्म जमिन वा रु ६० लाख नगद दिनुपर्ने सुझाव सरकारलाई दिएको छ ।

सुझाव पेस गरेको केही समयमै सरकारले २०७८ सालमा पुनः दलबहादुर बोहरा नेतृत्वको ३२औँ आयोग गठन गरेको थियो । उक्त आयोगले पनि आरक्ष विस्थापितको समस्या समाधान गर्न सकेन । सरकारले २०८१ सालमा उच्च अदालतका पूर्वन्यायाधीश जयानन्द पनेरुको अध्यक्षतामा ३३औँ आयोग गठन गर्‍यो । उक्त आयोगले ठाकुरप्रसाद शर्मा आयोगले सिफारिस गरेका आधारमा छुटफुट रहेका पीडितको लगत सङ्कलन गरेर दुई हजार २७ परिवारको व्यवस्थापन गर्न सरकारलाई सिफारिस गरेको छ । विस्थापितहरू जिल्लाका विभिन्न स्थानका १७ शिविरमा बसोबास गरिरहेका छन् ।

उत्तरगङ्गा नदीमा छानो सहितको साँघु निर्माण

बागलुङ, १७ फागुन । ढोरपाटन नगरपालिकाले उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण गरेको छ । पर्यटक र स्थानीयलाई वारपार गर्न सहज होस् भन्दै नगरपालिकाले साँघु निर्माण गरेको हो ।

हरेक वर्षात्को समयमा उत्तरगङ्गामा पानीको बहाव बढ्ने हुँदा ढोरपाटन बराह मन्दिर क्षेत्रदेखि पारिपट्टिको सेलपाखे, सिकार आरक्ष कार्यालय क्षेत्र लगायत ठाउँमा पुग्न पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो । चालु आर्थिक वर्षमा विनियोजन गरेको रु नौ लाख ५० हजारको लागतमा मौलिकता सहितको साँघु निर्माण गरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिएका छन। साँघुको सहतमा सिमेन्टको ढलान सहित काठ र ढुङ्गाको छानो हालेर निर्माण गरिएको छ ।

उनले भनेका छन।, “पछिल्लो समय ढोरपाटनमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ, तर उत्तरगङ्गामा पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो, अब त्यो समस्या समाधन भएको छ, यसले स्थानीय र पर्यटकलाई सहज बनाउनेछ ।”
ढोरबहार मन्दिरदेखि स्यालपाखे जोड्नेगरी उक्त साँघु निर्माण भएको छ । पुल नहुँदा हरेक वर्षात्मा उत्तरगङ्गाको बाढीले मानवीय क्षति हुने गरेको थियो । साँघु नबन्दा ढोरबहार मन्दिरदेखि स्यालपाखे, पाखाथर, छेन्तुङ, ढोरपाटन सिकार आरक्ष, बुकीपाटन र जलजला जाने पर्यटकले घण्टौँ लगाएर नवी र मोराङ दोगाडी घाटमा रहेको झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता थियो ।

आज हिमाली भूभागका एकदुई स्थानमा हिमपातको पूर्वानुमान

काठमाडौँ। हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ । तराई भागका केही स्थानमा तुँवालो लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ भने देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम सफा रहनेछ ।

तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका केही स्थान तथा अन्य प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका समेत एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

त्यसैगरी आज राति तराई भूभागका केही स्थानमा तुँवालो रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागसहित अन्य हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

राजनीतिक दलद्वारा मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह

काठमाडौँ। विभिन्न राजनीतिक दल र दलका नेताहरूले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका छन् ।नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत राजनीतिक दलले मध्यपूर्वमा उत्पन्न भएको तनावपूर्ण स्थितिप्रति चिन्ता व्यक्त गर्दै नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका हुन् ।

कांग्रेस सभापति गगन थापाले सामाजिक सञ्जालमा भन्नुभएको छ, “मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिले हामीलाई चिन्तित बनाएको छ । रोजगारीलगायत सिलसिलामा विभिन्न देशमा रहनुभएका सम्पूर्ण हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुरक्षा संवेदनशील बनेको छ । यो परिस्थितिबारे सुसूचित रही सुरक्षा सतर्कता अपनाउनुहुन सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा अनुरोध गर्दछु । सुरक्षा नियमहरूको पूर्णपालना गर्नुहोला र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमा रहनुहोला ।”

उहाँले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासलाई त्यहाँ रहेका नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिई, उहाँहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न पनि आग्रह गर्नुभएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “युएई, इजरायल, इरानलगायत मध्यपूर्वी देशहरूमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु ।”

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण र त्यसपछिको घटनाक्रमबाट नेपालीलाई हुनसक्ने सम्भावित जोखिमबाट सुरक्षित राख्न उच्च पहलकदमी लिन सरकारसँग अनुरोध गर्नुभएको छ । उहाँले त्यस परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस स्थितिमा मध्यपूर्वमा कार्यरत लाखौँ नेपालीको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता भएको उल्लेख गर्नुभयो ।

रास्वपाका सभापति रवि लामिछानेले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमका बीच खाडी मुलुकमा कार्यरत नेपाली नागरिकको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले संयुक्त अरब इमिरेट्स, कतार र बहराइनलगायत खाडी मुलुकहरूमा सुरक्षा अवस्था जटिल बन्ने जोखिम औँल्याउँदै त्यहाँ कार्यरत लाखौँ नेपालीको जीवन, रोजगारी र सुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले सम्बन्धित देशमा नेपालीको अवस्थाबारे नियमित र तथ्यगत जानकारी सार्वजनिक गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

साथै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, निवर्तमान सभामुख देवराज घिमिरेलगायतले पनि उक्त घटनाबारे चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपालीलाई पर्नसक्ने जोखिमप्रति सचेत रहन र सुरक्षाका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गर्नुभएको छ । अमेरिका र इजरायले इरानमाथि सैन्य आक्रमण गरेका छन् । त्यसको जवाफमा इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण गरेको छ ।

तेहरान आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति म्यलबमि ले इरानका सर्वोच्च नेता अली खामेनी तेहरानमा भएको आक्रमणमा मारिएको दाबी गरेका छन् ।ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्ममार्फत उक्त जानकारी सार्वजनिक गर्दै अमेरिका र इजराईलले संयुक्त रूपमा गरेको आक्रमणमा खामेनी मारिएको उल्लेख गरेका हुन् । उनले लेखेका छन् कि यस घटनाले इरानका नागरिक, अमेरिकी जनतालाई तथा विश्वका धेरै देशका मानिसहरूलाई “न्याय” मिलेको छ ।

यसअघि अन्तर्राष्ट्रिय समाचार संस्था Reuters तथा इजरायली सञ्चारमाध्यमहरूले पनि ८६ वर्षीय खामेनी मारिएको दाबी गरेका थिए । अमेरिकी टेलिभिजन च्यानल यह ल्भधक ले समेत इजरायली एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै खामेनीको मृत्यु भएको जनाएको छ ।

संयुक्त आक्रमणपछि इरानको राजधानी Tehran स्थित खामेनीको निवास पूर्ण रूपमा ध्वस्त भएको स्याटेलाइट तस्बिरमा देखिएको बताइएको छ । यद्यपि, उक्त दाबीबारे इरान सरकार वा स्वतन्त्र स्रोतबाट आधिकारिक पुष्टि भने सार्वजनिक भइसकेको छैन ।

मुस्ताङका ३९ मतदान केन्द्रमध्ये दश मतदान केन्द्र संवेदनशील

मुस्ताङ, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङका ३९ मतदान केन्द्रमध्ये १० मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको छ । भौगोलिक विकटता तथा मतदाता सङ्ख्याका आधारमा यहाँका १० मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको हो ।

यहाँका १० मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको भए पनि संवेदनशील सूचीमा राखिएका मतदान केन्द्रको नामावली सुरक्षा दृष्टिकोणका कारण सार्वजनिक गर्न अप्ठ्यारो हुने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताइन् । “जिल्ला सुरक्षा समितिले यहाँका केही मतदान केन्द्रलाई विविध कारणले पहिचान गरी संवेदनशील सूचीमा राखेका छौँ, ती संवेदनशील मतदान केन्द्र गोप्य नै राखेका छौँ, हामीले ती मतदान केन्द्रलाई विशेष प्राथमिकतामा राखेर सबै खाले सुरक्षा प्रबन्ध मिलाइरहेका छौँ”, प्रजिअ शर्माले भनिन् । अन्य सबै मतदान केन्द्रको अवस्था सामान्य रहेको जनाइएको छ ।

निर्वाचन सुरक्षाका लागि मुस्ताङका सबै मतदान केन्द्रको सुरक्षा प्रबन्धका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै ३१२ जना निर्वाचन प्रहरीलाई कार्यस्थलमा खटाइसकिएको छ । त्यसैगरी, निर्वाचनमा खटिने २१६ जना कर्मचारी जनशक्तिलाई पनि फागुन १८ गतेसम्म मतदान सामग्रीसहित कार्यस्थलमा खटाइने कार्यतालिका रहेको जनाइएको छ ।

उच्च उचाइको मतदान केन्द्रहरूमा खटाइने सुरक्षा र कर्मचारी जनशक्तिको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सुरक्षा सतर्र्कता अपनाइएको छ । नेपाल प्रहरीबाट माथिल्लो मुस्ताङका मतदान केन्द्रमा खटिने सुरक्षा र निर्वाचन गराउने जनशक्तिको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै लोमान्थाङमा विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ भने लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकालगायत सबै वडाका स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीलाई तयारी अवस्थामा राखिएको छ ।

मुस्ताङमा उच्च उचाइका २१ मतदान केन्द्रमा लेक लाग्ने समस्यासँग सम्बन्धित पाँच प्रकारका औषधि पनि पठाइसकिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए । उनका अनुसार माथिल्लो मुस्ताङका छ मतदान केन्द्र, लोघेकर दामोदरकुण्डका १० मतदान केन्द्र र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका छ मतदान केन्द्रमा लेक लाग्ने सम्भावना रहेकाले त्यहाँका मतदान केन्द्रमा पोर्टेबल अक्सिजन क्यानसहित पाँच प्रकारका प्राथमिक उपचारका औषधिको व्यवस्थापन गरिएको जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले बताए ।

त्यसैगरी, निर्वाचन सुरक्षाका लागि फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म नेपाल–चीन सीमानाका पूर्ण रूपमा बन्द गरिने भएको छ । निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न शुक्रबार रातिदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नहुँदासम्म जिल्लामा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । यस्तै, फागुन २० गते बुधबार रातिदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नहुँदासम्म अतिआश्यक सवारीसाधनबाहेक सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्नमा रोक लगाएको छ ।

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ २७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १८ पैसा र बिक्रीदर २१ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ०२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९५ पैसा र बिक्रीदर २३ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ९० पैसा रहेको छ।यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

निर्वाचन ४ दिन बाँकी, निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था

काठमाडौं, फागु्न १७ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।

आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरुप पास आवश्यक नपर्ने उल्लेख गरेको छ । आयोगबाट नेपाल सरकारलाई देहायबमोजिमका सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सिफारिस गरिएको उल्लेख गरिएको छ ।

आयोगले दमकल, एम्बुलेन्स, शववाहन खानेपानीका, दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक पर्नेछैन । दूूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन, अस्पताल सेवाका सवारीसाधन (अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न) पास आवश्यक नपर्ने आयोगले उल्लेख गरेको छ ।

अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म)लाई पनि कुनै पास जरुरी नपर्ने स्पष्ट पारिएको छ । त्यस्तै, हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, कीरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजका एक जना सहयोगी बोकेका सवारीसाधनले पनि निर्वाध सञ्चालन हुन सक्नेछन् ।

नम्बर प्लेटमा ‘सिडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट जारी भएका पर्यवेक्षक परिचयपत्रवाहक पर्यवेक्षणकर्ताले प्रयोग गर्ने सवारीसाधन (परिचयपत्रमा उल्लिखित स्थानमा मात्र), राष्ट्रिय मानवअधिकार आयोगबाट अनुगमन र पर्यवेक्षणका लागि प्रयोग गर्ने सवारीसाधन र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुन सक्नेछन् ।

यस्तै, निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रतिनिधि रहेको एकीकृत सवारीसाधन आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना भई जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरबाट जारी हुनुपर्ने सवारी पाससमेत सोही डेस्कबाट जारी भइरहेको स्पष्ट पारिएको छ ।

राजनीतिक ज्ञान र अनुभवले मात्रै निकास र विकास सम्भव : मुख्यमन्त्री पाण्डे

म्याग्दी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकको नेतृत्व गर्ने नेताहरूमा राजनीतिक ज्ञान र अनुभव आवश्यक हुनुपर्नेमा जोड दिनुभएको छ ।नेपाली कांग्रेस म्याग्दीले आज रघुगङ्गा गाउँपालिका–२ भगवतीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले राजनीतिक नेतृत्वमा ज्ञान र अनुभव भएमा मात्रै मुलुकको निकास र विकास सम्भव हुने धारणा राख्नुभयो ।

सामाजिक सञ्जालमा पुराना र नयाँको नाममा भ्रामक सामग्री राखेर विभाजन ल्याउने र जनतालाई झुक्याउने प्रयास भएको बताउँदै उहाँले अनुभवले पुराना र विचार तथा योजनाले नयाँ नेतृत्वले मात्रै मुलुकलाई सही बाटोमा लैजाने बताउनुभयो ।

“उत्तेजनाको राजनीतिले मुलुकलाई अस्थिरतातर्फ लैजान्छ, मुलुक चलाउने कुरा क्षणिक लहडको कुरा होइन, मतदाताहरूले विवेक प्रयोग गरेर मतदान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।सङ्घीयता कार्यान्वयनपछि मुलुकमा पूर्वाधार निर्माणले फड्को मारेको बताउँदै मुख्यमन्त्री पाण्डेले सङ्घ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा विकास निर्माणमा नेपालमा ठूलो परिवर्तन हासिल भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्बुजा र प्रतिनिधिसभा सदस्यका उम्मेदवार केवी भण्डारीले जिल्लाको विकास र संसद्मा कानुन निर्माणमा सक्रिय सहभागिताका लागि कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।

निर्वाचन विशेष मौसम बुलेटिन : फागुन २० देखि २२ गतेसम्म उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही फागुन २० देखि २२ गतेसम्म उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने देखिएको जनाएको छ ।आज साँझ निर्वाचन विशेष मौसम बुलेटिन जारी गर्दै विभागको मौसम पूर्वानुमान महाशाखाले हालसम्मको मौसम ढाँचाबाट प्राप्त मौसमी तथ्याङ्कहरुको विश्लेषणका आधारमा आसन्न निर्वाचनको समयमा खास उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिने स्पष्ट पारेको हो ।

यद्यपि हिमाली र पहाडी क्षेत्रमा भने आंशिक बदली रहने र एक दुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात हुने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली भई हिमाली क्षेत्रमा एक दुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात हुने तथा मधेस प्रदेशमा मुख्यतया सफा रहने जनाइएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली भएर बादल लागे खास वर्षा र हिमपात हुने सम्भावना नदेखिएको विशेष मौसम बुलेटिनमा उल्लेख छ ।

सबै प्रदेशका तराई क्षेत्रमा भने सफा रहने जनाइएको छ । तर पनि नियमित अनुगमन र अद्यावधिक गर्दै जाने भएकाले दैनिक अद्यावधिक सूचनाबारे जानकारी लिन विभागले सबैमा अनुरोध गरेको छ ।

सैनिक कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित ३२औँ समूहको तालिममा सर्वाेत्कृष्ट शिक्षार्थीलाई पुरस्कार प्रदान गर्नुभएको छ ।

कलेजमा आज आयोजित दीक्षान्त समारोहमा उहाँले प्रथम हुने सेनानी दीपेन्द्रविक्रम केसी सर्वाेत्कृष्ट तथा भारतीय सेनाका मेजर अनमोल चौधरीलाई सर्वोत्कृष्ट अन्तरराष्ट्रिय शिक्षार्थी अधिकृतको पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा प्रधानसेनापति सिग्देलले कलेजको वार्षिक प्रकाशन शिवपुरी जर्नलको २७औँ संस्करण विमोचन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सोही कार्यक्रममा ‘मास्टर इन स्टाटेजिक स्टडिज’मा कार्यक्रमतर्फ प्रथम भएका भारतीय सेनाका मेजर चौधरीलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा दीपक आचार्यले पुरस्कार प्रदान गर्नुभयो ।

‘कमाण्डान्ट पेपर’तर्फ प्रथम भएका सेनानी सञ्जय सिलवाल र सहसेनानी विनोदकुमार गुरागाईंलाई शिक्षाधिकृत उपरथी भुवन खत्रीले पुरस्कार प्रदान गर्नुभयो । उक्त तालिम नेपाली सेनाका ८१, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका एक/एक तथा मित्रराष्ट्र बङ्गलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तानका गरी सात विदेशीसहित ९१ जना अधिकृतले पूरा गरेका सेनाले जनाएको छ ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजबाट हालसम्म नेपाली सेनाका एक हजार ३०८, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरी बल नेपालका २९, राष्ट्रिय अनुसन्धान विभागका २०, रक्षा मन्त्रालयका एक र विभिन्न राष्ट्रहरूका १३२ शिक्षार्थी अधिकृत प्रशिक्षित भएका छन् ।

सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेले नै जलाएः सभापति लामिछाने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा भएका आगजनीको आरोप पुराना दलहरूलाई लगाउनुभएको छ ।

उहाँले आज यहाँ आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै भन्नुभयो, “सिंहदरबार त्यसैले जलाए, जसले त्यसलाई भ्रष्टाचारको अखडा बनाए ।”

आफूहरू जनतालाई सुशासनको प्रत्याभूति गराउन आएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीलाई यसपटक हेर्नुस् परिवर्तन नभए तपाईँहरूको पार्टीमा समाहित हुन्छौँ ।” पाँच वर्ष रास्वपालाई काम गर्ने अवसर दिनसमेत उहाँले मतदातालाई आग्रह गर्नुभयो । जेनजीको भावनालाई आत्मसात् गर्दै परिवर्तनको पक्षमा मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।

त्यसैगरी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले नेपालको उत्पादनलाई प्रयोग गर्ने प्रचलन बढाउन आवश्यक रहेको बताउनुभयो । अहिले कृषि र पर्यटन क्षेत्रमा समस्या रहेकाले उहाँले आगामी दिनमा यी समस्याहरूको समाधान गर्न आफूहरूलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।

चितवनले सिङ्गो देशलाई पर्यटन व्यवसाय कसरी गर्ने भनेर सिकाइ रहेको बताउँदै उहाँले चितवनले बदलेको देशलाई सबैले मिलेर सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो घरमा खाने गरेको खानेकुरा पर्यटकलाई बेचेर पर्यटन व्यवसायमात्रै गरेका छैनन्, नेपाललाई विश्वमा चिनाएका छन् । चितवनवासीबाट सिङ्गो देशले सिक्नुपर्छ ।”

किसानले उत्पादन गरेको दूध, तरकारी सडकमा बगाउनुको एउटै कारण तिनै नेताको सिन्डिकेटका कारण भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले रास्वपा जनतालाई भयबाट मुक्त गर्दै आशाको राजनीतिबाट माथि उठाउन आएको बताउनुभयो ।

कार्यक्रममा रास्वपाका नेताहरू सोविता गौतम, हरि ढकाल, गण्डकी प्रदेश अध्यक्ष राजन गौतम, केन्द्रीय समस्य राजन गौतमलगायतले सम्बोधन गरेका थिए ।

निर्वाचनमैत्री होली मनाऔँः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

पर्सा। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समग्र मुलुकभरिमा निर्वाचनको तयारी सौहार्दपूर्ण वातावरणमा अघि बढिरहेको बताउनुभएको छ ।

पर्सा र बारा जिल्लाको ‘निर्वाचन सुरक्षाको वर्तमान अवस्था, चुनौती र समाधान’ विषयक छलफल कार्यक्रममा अहिले मुलुकभरि निर्वाचनमैत्री वातावरण बन्दै गइरहेको उहाँले उल्लेख गर्नुभयो ।

“अहिले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना न्यून रहेका छन् । निर्वाचन प्रचारप्रसारमा मितव्ययीता कायम भएको छ । एकले अर्काेलाई निषेधको राजनीति गर्न खोजे पनि सोको बेलैमा पहिचान भएर कम गर्न सकिएको छ”, उहाँले भन्नुभयो, “त्यो निषेधको राजनीति अहिले निषेध भएको छ ।”

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले विगतको तुलनामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कमी आएको दाबी गर्नुभयो । “होली, निर्वाचन आचारसंहिता र निर्वाचनलाई सँगसँगै लैजादैँछौँ”, उहाँले भन्नुभयो, “निर्वाचनमैत्री होली मनाउन आयोग सम्पूर्णलाई अनुरोध गर्दछ ।”

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले होलीलाई तड्कभड्कयुक्त नभएर निर्वाचनमैत्री, शान्तिपूर्ण र सौहार्दपूर्ण ढङ्गले मनाइदिनका लागि आह्वान गर्नुभएको छ ।

“होली र निर्वाचन सँगसँगै अघि बढाउने छौँ । यसको सबैको साथ र सहयोग अनिवार्य छ”, उहाँले भन्नुभयो, “केही सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् । सोबारे अध्ययन गरी थप आवश्यक कारबाही प्रक्रिया अघि बढाएका छौँ ।”

निर्वाचनमा शान्तिसुरक्षाको प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्नुहोस्ः मन्त्री अर्याल

पर्सा। गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।

पर्सा र बारा जिल्लामा ‘निर्वाचनको सुरक्षाको वर्तमान अवस्था, चुनौती र समाधान’ विषयक छलफल कार्यक्रममा गृहमन्त्री अर्यालले ढुक्क भएर मतदान गर्ने वातावरण तयार पारिएको बताउनुभयो ।

“प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका विषयमा आवश्यक छलफल गरेका छौँ । निर्वाचनमा सुरक्षाको प्रत्याभूति दिनेगरी हामीले सम्पूर्ण तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “यहाँका स्थानीय प्रशासन तथा सुरक्षा निकायले निर्वाचनको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउनुभएको छ ।”

गृहमन्त्री अर्यालले बारा र पर्सा जिल्लामा निर्वाचन लक्षित सुरक्षाका विषयमा चुनौती नभएको दाबी गर्दै भएका चुनौती विस्तारै कम हुँदै गइरहेका उल्लेख गर्नुभयो । “यहाँ देखिएका कतिपय सुरक्षा चुनौतीलाई जिल्ला सुरक्षा समितिले रोकथाम गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री अर्यालले कानुन उल्लङ्घन गर्नेलाई अहिलेको अन्तरिम (नागरिक) सरकारले कानुनको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो । “कानुन उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याउनेमा कुनै शङ्का छैन ।

यसबारे यसअघि रौतहटको स्थानीय प्रशासनले देखाइसकेको छ”, उहाँले भन्नुभयो, “निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी पारिएकाले पनि जनताले ढुक्क भएर मतदान गर्ने अवस्था तयार भइसकेको छ ।”

गृहमन्त्री अर्यालले निर्वाचनको मतदान गर्ने केही दिन मात्र बाँकी रहेकाले सो अवधिसम्म शान्तिसुरक्षा चुस्तदुरुस्त गराउन थप पहल भइरहेको जानकारी दिनुभयो ।

“निर्वाचनको दिन पनि प्रभावकारी हामीले शान्तिसुरक्षाको प्रत्याभूति गराउन र भयरहित मतदानको वातावरणमा तयार गर्न सरोकार भएका निकाय प्रतिबद्धताका साथ लागिरहनुभएको छ”, उहाँले भन्नुभयो, “वर्तमान सरकारले प्रशासनिक सुशासन कायम गर्नुका साथै अब निर्वाचनमार्फत राजनीतिक सुशासन कायम गर्नेतर्फ अग्रसर छ । अब राजनीतिक सुशासनको जग बसाल्ने छौँ ।”

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राले दुवै जिल्लामा निर्वाचनको शान्तिसुरक्षाको अवस्था र चुनौतीका विषयमा जानकारी गराउनुभएको थियो ।

त्यसैगरी पर्साका प्रहरी प्रमुख नरेशराज सुवेदी र बाराका प्रहरी प्रमुख नरेन्द्र कुँवरले जिल्लामा निर्वाचनको तयारी र शान्तिसुरक्षाको विषयमा गृहमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो

काठमाडौँ । तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत माघ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब चार करोड रहेकामा माघ मसान्तसम्ममा रु एक खर्ब ८४ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व रु २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ८१ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

हालसम्म तिर्न बाँकी ऋणमध्ये आन्तरिक ऋण दायित्व रु १३ खर्ब ४९ अर्ब १३ करोड र बाह्य ऋण दायित्व रु १५ खर्ब नौ अर्ब ८४ करोड रहेको छ । कुल सार्वजनिक ऋणमा माघ मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ८१ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७ दशमलव १९ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षमा सरकारले रु पाँच खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा माघ मसान्तसम्ममा रु दुई खर्ब ५५ अर्ब ४८ करोड प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति ४२ दशमलव ८९ प्रतिशत हो ।

यस वर्ष आन्तरिकतर्फ रु तीन खर्ब ६२ अर्ब ऋण उठाउने सरकारी लक्ष्य रहेकामा ६० दशमलव १३ प्रतिशत अर्थात् रु दुई खर्ब १७ अर्ब ६६ करोड उठिसकेको छ भने रु एक खर्ब ४४ अर्ब ३३ करोड प्राप्ति हुन बाँकी छ ।

त्यस्तै, बाह्य ऋणतर्फ रु दुई खर्ब ३३ अर्ब ६६ करोड उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको १६ दशमलव १८ प्रतिशत अर्थात् रू ३७ अर्ब ८१ करोड प्राप्त भइसकेको छ भने रु एक खर्ब ९५ अर्ब ८४ करोड प्राप्त हुन बाँकी रहेको छ ।

त्यस्तै, सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि सरकारले यस वर्ष रु चार खर्ब ११ अर्ब एक करोड विनियोजन गरेकामा माघ मसान्तसम्ममा रु दुई खर्ब तीन अर्ब ६५ करोड भुक्तानी भइसकेको छ ।

यो वार्षिक बजेट विनियोजनको आधारमा ४९ दशमलव ५५ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादनका आधारमा माघ मसान्तसम्ममा कुल ऋण सेवा खर्च तीन दशमलव ३३ प्रतिशत रहेको छ ।

बाँकेमा दुई हजार ९३० अस्थायी मतदाता कायम

नेपालगन्ज । बाँकेमा दुई हजार ९३० अस्थायी मतदाता कायम गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयले आज यहाँ आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो ।

िकार्यालयका प्रमुख टेकबहादुर शाहीले अस्थायी मतदाताका निम्ति जिल्लामा तीन अस्थायी मतदान केन्द्रसमेत निर्धारण गरिएको जानकारी दिए । निर्वाचन क्षेत्र नं १ को बैजापुरस्थित नौवस्ता कारागार, निर्वाचन क्षेत्र नं २ को बाँके कारागार र कर्मचारीका लागि रामलिला मैदानमा अस्थायी मतदान केन्द्र निर्धारण भएको उनले बताए ।

अस्थायी मतदाताले तोकिएका अस्थायी मतदान केन्द्रबाट समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न पाउँछन् । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार तथा प्रदेश सरकारको स्वामित्व र नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा वा कैदी, वृद्धाआश्रममा बसेका व्यक्तिलाई अस्थायी मतदाताका रूपमा मानिएको छ ।

कार्यालय प्रमुख शाहीले निर्वाचनको करिब सबै तयारी पूरा गरिएको र शनिबारदेखि सबै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पठाउने कार्य सुरु हुने जानकारी दिए । “अब करिब १० प्रतिशत काम बाँकी छ । जिल्लाका तीनै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पठाउने काम १७ गतेसम्म जारी रहन्छ । जिल्लामा परिचालन हुने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको तालिमसमेत सम्पन्न भइसकेको छ”, उनले भने ।

जिल्लामा १३९ मतदानस्थल, ४०० मतदान केन्द्र र तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन् ।