`

हेजबुल्लाहको सैन्य गतिविधिमा प्रतिबन्धको लेबनानी प्रधानमन्त्रीद्वारा घोषणा

लेबनान। लेबनान सरकारले हेजबुल्लाहको सैन्य र सुरक्षा गतिविधिमा ‘तत्काल प्रतिबन्ध’ लगाउने बताएको छ ।

“हेजबुल्लाह समूहलाई उसका सैन्य र सुरक्षा गतिविधिमा ‘तत्काल प्रतिबन्ध’ लगाउने र हतियारहरू राज्यलाई बुझाउन ‘दवाव’ दिर्ने निर्णय गरिएको छ,” प्रधानमन्त्री नवाफ सलामले सोमबार बताउनुभएको छ।

“सरकार र संसद् दुवैमा प्रतिनिधित्व गर्ने हेजबुल्लाहलाई लक्षित गर्दै सरकारले यो अभूतपूर्व कदम चालेको हो । इरान समर्थित समूहले शनिबार अमेरिका–इजरायली संयुक्त आक्रमणमा इरानी सर्वोच्च नेता अली खामेनीको हत्याको बदला लिन सोमबार बिहानै इजरायलतर्फ रकेट र ड्रोन प्रक्षेपण गरेको घोषणा गरेको केही घण्टापछि सरकारको यो भनाइ आएको हो ।

हेजबुल्लाहको चेतावनीपछि सोमबार इजरायलले बेरुत र दक्षिण लेबनानका दर्जनौँ गाउँहरूमा तीव्र जवाफी आक्रमण गरेको छ । आक्रमणमा कम्तिमा ३१ जनाको मृत्यु भएको थियो र १४९ जना घाइते भएका थिए।

मन्त्रिपरिषद्को आपतकालीन बैठकपछि सलामले भन्नुभयो, “लेबनानी राज्यले आफ्नो वैध संस्थाहरूको ढाँचाभन्दा बाहिर लेबनानी क्षेत्रबाट सुरु गरिएको कुनै पनि सैन्य वा सुरक्षा कारवाहीलाई पूर्ण र स्पष्ट रूपमा अस्वीकार गरेको घोषणा गर्दछ।”

मन्त्रीपरिषद्को बैठकपछि उहाँले भन्नुभयो, “घोषणासँगै हेजबुल्लाह समूहले कुनै सैन्य गतिविधि चलाएमा कानूनविरोधी गतिविधि हुनेछ र यसलाई आफ्नो हतियार हस्तान्तरण गर्न बाध्य पार्नेछ । हिजबुल्लाहको सबै सुरक्षा र सैन्य गतिविधिहरू तत्काल निषेध गर्न आवश्यक छ ।”

सोमबार सलामले सेना र सुरक्षा निकायलाई मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न र ‘कुनै पनि सैन्य कारबाही वा लेबनानी भूमिबाट क्षेप्यास्त्र वा ड्रोन प्रक्षेपण’ रोक्न ‘तत्काल उपायहरू’ सोच्न आदेश दिनुभयो ।

लेबनानी सरकारले गत अगस्टमा इजरायलसँग लडेको एक वर्ष लामो युद्धपछि पार्टीलाई बिस्तारै निशस्त्र गर्ने निर्णय गरेको थियो जुन सन् २०२४ नोभेम्बरमा युद्धविराममा परिणत भएको थियो ।

तर पुनः शस्त्रीकरण गर्न खोजेको आरोप लगाउँदै इजरायलले हेजबुल्लाहसँग सम्बन्धित लक्ष्यमा आक्रमण जारी राख्दै आएको छ। युद्धविराम सम्झौताले इजरायललाई युद्ध जारी राख्न रोकेको देखिएको छैन ।

लेबनान, इजरायल, अमेरिका, फ्रान्स र संयुक्त राष्ट्रसङ्घको शान्ति सैनिकलाई समेटेर बनेको एक शान्ति समितिले युद्धविरामको अनुगमन गरिरहेको छ ।

सलामले सोमबार युद्धविरामको प्रत्याभूति गर्ने देश अमेरिका र फ्रान्सलाई ‘लेबनानको सम्पूर्ण भूभागमा हुने सबै आक्रमण रोक्न इजरायली पक्षबाट स्पष्ट र अन्तिम प्रतिबद्धता लिन’ आग्रह गरेका थिए ।

उहाँले इजरायलसँग नागरिक सहभागिता र अन्तर्राष्ट्रिय तत्वावधानमा वार्ता पुनः सुरु गर्न सरकार पूर्ण रूपमा तयार रहेको घोषणा गर्नुभयो ।

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना : मृतकको संख्या दुई पुग्यो

रामेछाप । रामेछापको रामेछाप नगरपालिका २ देउरालीमा सोमबार कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा नेपाल प्रहरीका असई परशुराम यादव र वडा कार्यालय भवन रामेछाप नगरपालिका ३ साँघुटार मदतान केन्द्र ख का मतदान अधिकृत डोरप्रसाद घिमिरे रहेका छन् । घिमिरे मन्थली नगरपालिका ६ रुद्राक्षेश्वर मावि मुगिटारका निमावि द्वितिय शिक्षक हुन् ।

रामेछाप नगरपालिका २ देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघुटारको वडाकार्यालय मतदान केन्द्रका कर्माचारी र निर्वाचन सामाग्री लिएर गएको निसान कम्पनीको ना ४ ख ६७६८ नम्बर मिनिट्रक देउरालीके सिरुवारीमा ब्याक गर्ने क्रममा दुर्घटनामा परको स्थानीयले जानकारी दिएका छन् ।

दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् । घाइतेलाई उद्धार नेपाली सेनको हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रही कार्यालय रामेछापका इन्सपेक्टर राजनप्रसाद तिमल्सिनाले जानकारी दिए । घाइते हुनेमा २ पुरुष र ३ महिला छन् ।

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौँ। विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारसम्बन्धी सामग्री आज मध्यरातिदेखि हटाउन सञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।

बोर्डले आज सूचना जारी गर्दै अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा राखिएका मतदाता शिक्षासम्बन्धी निर्वाचन आयोग नेपाल र विज्ञापन बोर्डले प्रदान गरेका विज्ञापनबाहेकका अन्य विज्ञापन राति १२ः०० बजेदेखि हटाउन आग्रह गरेको हो ।

बोर्डले पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम, तथा सामाजिक सञ्जालमा दल तथा उम्मेदवारको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न पनि अनुरोध गरेको छ । निर्वाचन आचारसंहिताविपरीत दल तथा उम्मेदवारको प्रचारप्रसार गरिएको पाइएमा कानुनबमोजिम कारबाही हुने बोर्डले जनाएको छ ।

बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डेद्वारा जारी सूचनामा भनिएको छ, “मौनअवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन नहुने भएकाले त्यस्ता सामग्री प्रकाशन तथा प्रसारण नगर्न नगराउन अनुरोध गरिन्छ ।”

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

बागलुङ। बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८ अस्थायी मतदाता रहेका छन् ।
निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी, कैदीबन्दीसहित उक्त सङ्ख्यामा अस्थायी मतदाता रहेका हुन् । जिल्ला निर्वाचन कार्यालय प्रमुख यज्ञप्रसाद रिजालका अनुसार जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

कैदीबन्दी मतदाताका लागि जिल्ला कारागार र सुरक्षाकर्मी तथा ड्युटीमा रहेका कर्मचारीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा मतादन केन्द्र तोकिएको प्रमुख रिजालको भनाइ छ । रिजालका अनुसार ५३ जना कैदीबन्दी र दुई हजार ३१५ जना सुरक्षाकर्मी र कर्मचारी रहेका छन् ।

दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा २३ उम्मेदवार छन् । कूल एक लाख ९३ हजार ३८१ मतदाता रहेको बागलुङमा ९८ हजार ५७४ महिला, ९८ हजार ५०६ पुरुष र एक जना अन्य मतदाता रहेका छन् ।जिल्लामा कायम रहेको १०७ मतदानस्थल र २३० मतदान केन्द्रमा कूल दुई हजार ६० कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’ :अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम मतदातालाई सार्वजनिक अपिल गर्दै केही तत्वबाट सुनियोजित ढङ्गले फैलाइएको भ्रम, हल्ला र अफवाहको षड्यन्त्रपूर्ण जालदेखि सचेत रहन आग्रह गरेका छन्।

सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका अध्यक्ष यादवले चुनाव प्रचारको अन्तिम दिन आज अपिल जारी गर्दै निर्णायक क्षणमा जनताको मत कमजोर पार्न अनेक शक्ति सक्रिय रहेकाले सचेत मतदातालाई भ्रमित नहुन आग्रह गरे।

अध्यक्ष यादवले भने, “क्षणिक प्रलोभन र अफवाहको लहरमा नबग्नुहोस् । आफ्नो त्याग, आफ्नो इतिहास र आफ्नो स्वाभिमान सम्झनुहोस् । अधिकारको रक्षा गर्ने निर्णय लिनुहोस् । सचेत मत, बलियो मधेस, सुरक्षित भविष्य, यही हाम्रो साझा सङ्कल्प हो ।”

मधेसको अधिकार, पहिचान र स्वाभिमान कुनै दान नभई बलिदानको उपलब्धि भएको अध्यक्ष यादवको भनाइ थियो । “यो अधिकार कसैले उपहार दिएको होइन, मधेसले सडकमा र संसद्मा लडेर हासिल गरेको हो,” उनले भने।

सङ्घीयता, स्वायत्तता र लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहन आग्रह गर्दै अध्यक्ष यादवले मतदान केवल प्रतिनिधि चयन मात्र नभई मधेसको भविष्यको दिशानिर्देश भएको उल्लेख गरे।

इरानमा फसेका भारतीयसहितका विद्यार्थीहरूलाई बाहिरिन अनुमति

काठमाडाैँ । पश्चिम एसिया क्षेत्रमा तनाव बढ्दै जाँदा इरानमा फसेका भारतीयसहितका विद्यार्थीहरूलाई राहत दिँदै तेहरानले देशको शैक्षिक संस्थानहरूमा अध्ययनरत विदेशी नागरिकहरूलाई आफ्नो भूमि बाहिर निस्कन अनुमति दिने घोषणा गरेको तसनीम न्यूजले जनाएको छ ।

यस बाहेक विद्यार्थीहरूलाई उनीहरूको अन्तिम परीक्षाहरूमा उपस्थित हुन र उनीहरूको सोध पत्रको लागि पछि अनुमति दिइने र जसको मितिहरू पछि घोषणा गरिने देशको शिक्षा मन्त्रालयललाई उदृत गर्दै तस्नीम न्यूजले उद्धृत गरेको छ ।हाल इरानमा विश्वविद्यालय र सार्वजनिक संस्थाहरू अस्थायी रूपमा बन्द भएका छन् भने अन्तर्राष्ट्रिय उडानहरू ठप्प गरिएको छ ।

भारतीय अधिकारीहरूले आफ्ना विद्यार्थीहरूलाई इरान छोड्न आग्रह गर्दै बारम्बार सुचना जारी गरेका छन्, तर हवाई क्षेत्र बन्द भएकाले निकासी प्रयासहरू जटिल भएको जनाएको छ । तेहरान, उर्मिया र अन्य क्षेत्रका विद्यार्थीहरूले अस्पताल र शैक्षिक संस्थाहरू लगायत आवश्यक सेवाहरूमा सीमित पहुँचको सामना गरिरहेका छन् भने आगामी १५ दिनका लागि सञ्चालन स्थगित गरेको छ ।

तसनीम न्यूजले इरानबाट विदेशी विद्यार्थीहरुलाई बाहिरिन अनुमती दिएको जनाउदै मन्त्रालयले सबै विश्वविद्यालयहरू देशबाट बाहिर निस्कन चाहाने विदेशी विद्यार्थीहरूलाई आवश्यक सहयोग प्रदान गर्ने र अन्तिम अवधिको परीक्षा सञ्चालनका लागि वैकल्पिक समय घोषणा गर्ने जनाएको छ ।

आर्मेनिया र अजर–बैजान जस्ता छिमेकी देशहरूमा निकासी मार्गहरूमा मार्ग दर्शन प्रदान गर्दै भारतीय दूतावास विद्यार्थीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाइएको छ । यद्यपि, अन्तर्राष्ट्रिय हवाई क्षेत्र प्रतिबन्ध र निरन्तरको मिसाइल आक्रमणका कारण अधिकारीहरूले तत्काल निकासी एक जटिल चुनौती बनेको स्वीकार गरेका छन् ।

विद्यार्थी र परिवारहरूले सुरक्षा, सञ्चार ढिलाइ र सहायतामा चिन्ता व्यक्त गरेका छन् भने सङकटको बीचमा उनीहरूको सुरक्षित फिर्ती सुरक्षित गर्न समन्वित अन्तर्राष्ट्रिय प्रयासहरूको आवश्यकतालाई जोड दिइएको छ ।

निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसका लागि सार्वजनिक बिदाका दिनमा समेत आयात–निर्यातसम्बन्धी कार्य सञ्चालन गर्ने निर्णय गरेको हो ।

नियमित अनुगमन प्रक्रियालाई प्रभावकारी तुल्याई अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना हुन नदिने व्यवस्था मिलाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि नेपाल आयल निगमले सार्वजनिक बिदाका दिनमा समेत बिक्री डिपोहरू खोल्ने व्यवस्था मिलाउने र सोको अग्रिम जानकारी सम्बन्धित सबैलाई दिने, इण्डियन आयल कर्पोरेशनसँग समन्वय गरी हाल भइरहेको आयात र वितरणलाई थप व्यवस्थित तुल्याउने जनाएको छ ।

पेट्रोलियम पदार्थका बिक्रेताहरूबाट सवारीसाधनमा भर्नेबाहेक भण्डारण गर्ने प्रयोजनका लागि इन्धन उपलब्ध नगराउने, डिलर तथा बिक्रेताहरूको नियमित अनुगमन गरी मौज्दात विवरण सङ्कलन तथा अद्यावधिक गर्ने र पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति निरन्तर भइरहेको हुँदा अनावश्यक भण्डारण गरेर नराख्न सर्वसाधारण सबैलाई अनुरोध गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले खाद्यान्न तथा नुनको सहज आपूर्तिका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनलाई निर्देशन दिने निर्णय गरेको छ । अत्यावश्यक खाद्यान्न तथा नुनको सहज आपूर्ति व्यवस्थालाई निरन्तरता दिने र आफू मातहतका गोदामहरूमा भएको मौज्दातको विवरण सङ्कलन तथा अद्यावधिक गर्ने निर्णय मन्त्रालयले गरेको छ ।

रुकुमपूर्वको विकासका लागि प्रचण्ड र अन्य उम्मेदवारहरूका के-के छन् सङ्कल्प ?

रुकुमपूर्व, फागुन १८ गते । रुकुमपूर्वका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेपाली कम्युनिस्ट पार्टीका (नेकपा)का संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको विकासदेखि लिएर अहिलेको परिस्थितिमा देशलाई निकास दिनेसम्मको सङ्कल्प गर्नुभएको छ ।

देशलाई अप्ठ्यारो परिस्थितिमा पुर्‍याउने र देशलाई जलाउनेहरू चुनावी मैदानमा दौडिरहँदा नेपाली कम्युनिस्ट पार्टी देशलाई सही दिशा दिने सङ्कल्पका साथमा चुनावी मैदानमा रहेको उहाँको भनाइ छ ।

नेकपाका संयोजक दाहालले रुकुमपूर्वबाट चुनाव लड्दै गर्दा विकासका हिसाबले तुलनात्मक रूपमा पछि परेको यस जिल्लालाई अग्रणी बनाउनका लागि विशेष आर्थिक तथा पूर्वाधार प्याकेज लागु गर्ने सङ्कल्प गर्नुभएको छ । जनयुद्धकालमा जसरी यस जिल्लाको चुनवाङ बैठकले देशलाई शान्तिको मार्ग देखाएको थियो, त्यसरी नै अब रुकुमपूर्वले देशलाई समृद्धिको मार्ग देखाउनुपर्ने भनाइ उहाँको छ । त्यसै कारण देशलाई समृद्धिको मार्गमा अगाडि बढाउन मुख्य भूमिका खेल्ने यस जिल्लाको विकासका लागि प्याकेज बनाएर काम गर्ने कुरालाई संयोजक दाहालले चुनावी घोषणापत्रमा उल्लेख गर्नुभएको छ ।

रुकुमपूर्वलाई सुगम बनाएको मध्यपहाडी लोकमार्गको पूर्णता तथा सहिदमार्ग (थवाङ, महत, काँक्री, तक, हुकाम, मैकोट, दुले हुँदै शहरतारा–डोल्पाै) सडकलाई सम्पन्न गर्न पहल गर्ने, सङ्घीय सरकार र प्रदेश सरकारबाट टेन्डर आह्वान भएका मोटरेबल पुल, झुलुङ्गे पुललगायत पूर्वाधार योजना निर्धारित समयमै सम्पन्न गर्न पहल गर्ने कुरा घोषणापत्रमा उल्लेख गरिएको छ ।

यस्तै सानीभेरी, उत्तरगङ्गा, ढोरपाटन काेरिडोर र दुईखोली (रोल्पा), चुनवाङ, रुकुमकोट, सिस्ने, डोल्पा जोड्ने सडकलाई पूर्णता दिने, जिल्लाको तीनवटै पालिका केन्द्रसहित वडा र वडा जोड्ने पक्की सडकमार्फत यातायात क्रान्ती गर्ने बताइएको छ । योजना प्रोजेक्ट बैँकमा रहेका जिल्लाका योजनाको प्राथमिकीकरण र कार्यान्वयमा जोड दिनुका साथै स्थानीय नदीनालाबाट लघु तथा मेघा जलविद्युत् उत्पादन, प्रत्येक वडासम्म केन्द्रीय प्रसारण लाइन विस्तार, जिल्लामा ग्रिड स्थापना, सिँचाइ पूर्वाधारको विस्तार तथा आधुनिक र व्यावसायिक कृषि प्रणाली लागु गर्ने कुरा घोषणापत्रमा उल्लेख गरिएको छ ।

यस्तै पुथा–सिस्ने हिमशृङ्खला, तालतलैया, ढोरपाटन सिकार आरक्ष, मगर सांस्कृतिक बस्ती र जनयुद्धका ऐतिहासिक स्मृतिसहितका सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने, यार्सागुम्बा, पाँचऔँलेलगायत बहुमुल्य जडीबुटीको उत्पादन, संरक्षण, प्रशोधन केन्द्र स्थापना र बजार सुनिश्चित गर्ने योजना प्रचण्डको छ । जिल्ला अस्पतालमा २४सै घण्टा विशेषज्ञ चिकित्सक, आवश्यक उपकरण र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्ने, सामुदायिक शिक्षाको गुणस्तर सुधार, थोरै विद्यार्थी धेरै विद्यालयको समस्यालाई समाधान गर्न विद्यालय केन्द्रिकरण, विषयगत शिक्षकको व्यवस्था, आवासीय सुविधा र गुणस्तर अभिवृद्धिको लागि आवश्यक नीति निर्माण तथा कार्यान्वयन गर्ने साथै सङ्घ, प्रदेश र स्थानीय तहबाट सुरु भएका अधुरा र क्रमागत योजनालाई पूर्णता दिने कुरालाई संयोजक दाहालले आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गर्नुभएको छ ।

जनयुद्धको उद्गमथलोसमेत रहेको रुकुमपूर्वका जनतासँग संयोजक दाहालले यो जिल्ला आफ्नो लागि केवल एउटा निर्वाचन क्षेत्र मात्र नभएर राजनीतिक पुनर्जन्मको थलो र परिवर्तनको उद्गमस्थल रहेको बताउनुभएको छ । विस्तृत शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ता हुनुको नाताले जनयुद्धका सहिद, बेपत्ता तथा घाइते योद्धाहरूको सम्मान, तिनका परिवारका लागि राहत र परिपूरणका कार्यलाई निष्कर्षमा पुर्‍याउनेसँगै द्वन्द्वकालीन मुद्दाको रानीतिक तथा कानुनी निरूपण गरी शान्तिलाई दिगो बनाउन आफू प्रतिबद्ध रहेको कुरा संयोजक दाहालले बताउनुभएको छ ।

लुम्बिनी प्रदेशद्वारा घोषित अर्गानिक जिल्ला रुकुमपूर्वलाई चाहिने आवश्यक नीति र नियम निर्माण गर्दै प्रमाणीकरण तथा बजार सुनिश्चत गरी यहाँको उत्पादनलाई ‘प्रिमियम ब्रान्ड’ का रूपमा सहरका डिपार्टमेन्टल स्टोरसम्म पुर्‍याउने र देशकै गुणस्तरीय टिम्मुरलाई ब्रान्डिङ, स्याउ, सुन्तला, कागतीलगायत फलफूलहरू, अर्गानिक तरकारी, अन्नबालीलाई बजारीकरण गर्ने कुरालाई संयोजक दाहालले प्रतिबद्धतापत्रमा उल्लेख गर्नुभएको छ ।

मगर समुदायको बाहुल्यता रहेको यस जिल्लामा संविधानको मर्मअनुसार मगर क्लस्टरलाई स्वायत्त क्षेत्र घोषणा गरी ‘खाम मगर’ सभ्याताको विश्वव्यापी ब्रान्डिङ गर्ने प्रयास गर्ने, यहाँको फलाम खानी उत्खनन तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरी जिल्लालाई ‘नमुना औद्योगिक जिल्ला’ बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ । यसबाट प्राप्त रोयल्टीले रुकुमपूर्वलाई नेपालकै धनी जिल्लाहरूको सूचीमा पुर्‍याउन सकिने उहाँको भनाइ छ ।

रगतले लेखिएको संविधानको रक्षा गर्दै सङ्घीयतालाई अझ मजबुत बनाउने र मधेसी, जनजाति, दलित तथा मगर समुदायको स्वायत्तताका लागि आवश्यक संविधान संशोधन प्राथमिकतामा रहने उहाँले उल्लेख गर्नुभएको छ ।

नेपाली कांग्रेबाट उम्मेदवार बन्नुभएका कुसुमदेवी थापाले रुकुमपूर्व बनाउने १० भिजन तयार पारेर चुनावी प्रचारप्रसारमा हुनुहुन्छ । उहाँले आफ्नो प्रतिबद्धतापत्रमा क्रमशः सडक तथा पूर्वाधार विकास, मिसन रोजगारी, शिक्षा र स्वास्थ्य, कृषि र प्राकृतिक स्रोत, पर्यटन र संस्कृति, खानेपानी र सिँचाइमा उल्लेख्य रूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यस्तै, विद्युतीकरण र दूरसञ्चार, सुशासन र संविधान, कानुन निर्माणमा भूमिका र बजेटमा समन्वय गरी रुकुमपूर्वको विकासमा योगदान दिने प्रतिबद्धता थापाले व्यक्त गर्नुभएको छ ।

यस्तै नेकपा एमालेले जिल्लाको समग्र विकासलाई केन्द्रमा राख्दै सडक यातायात, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ तथा जलस्रोत, सूचना–सञ्चार तथा विद्युतीकरण, उद्यम विकास तथा रोजगारी सिर्जना, कृषि–वन पैदावार तथा पशुपालन, मौलिक कलासंस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्धन, प्राकृतिक स्रोत व्यवस्थापन, विपद् व्यवस्थापन, युवा तथा खेलकुद, सहरी विकास, सुशासन प्रवर्धन, द्वन्द्वकालीन यौनजन्य हिंसा पीडितका सवाल, महिला सशक्तीकरण तथा समानताका लागि विशेष कार्यक्रमलगायत कुरालाई लिएर जनताको माझमा पुगेको छ ।

नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका लीलामणि गौतमले जिल्लाको विकासको मेरुदण्डका रूपमा रहेको मध्यपहाडी राजमार्गको निर्माण सम्पन्न गर्ने, सहिद मार्गको यथाशीघ्र निर्माण पूरा गर्ने, देउखोला–कुमा नायगाड–सिस्ने हुँदै डोल्पा सडक सञ्जाल विस्तार गर्ने, देउखोला–जामा–त्रिवेणी–तकसेरा सडक निर्माण गर्ने, चुन्बाङ–रुकुमकोट सडक स्तरोन्नति तथा कालोपत्र गर्ने, भुमे र सिस्ने रिङ रोड स्तरोन्नति गर्ने, सेरा–दमचन–ढोरपाटन सडक विस्तारलगायत जिल्लाका अन्य सडक सञ्जालले नछुने वडा तथा बस्तीमा पाँच महिनाभित्र सडक पहुँच पुर्‍याई बाह्रै महिना सुरक्षित र भरपर्दो यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको बताउनुभएको छ ।

शिक्षण पेसालाई मर्यादित बनाउँदै शिक्षकहरूको वृत्तिविकास गरिने, भुमे गाउँपालिका लुगुममा बहुप्राविधिक शिक्षालय सञ्चालन गरिने तथा पुथा उत्तरगङ्गा गाउँपालिकामा स्थापना हुने क्याम्पसलाई स्रोतसाधन सम्पन्न बनाउने, सडक दुर्घटना तथा आकस्मिक बिरामीलाई लक्षित गर्दै भुमे गाउँपालिका काक्री स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी ट्रमासेन्टरका रूपमा विकास गर्ने, खानेपानी तथा सिँचाइतर्फ ‘एक घर, एक धारा’ अवधारणा अनुसार प्रत्येक घरमा स्वच्छ खानेपानी सुविधा पुर्‍याइने, सिँचाइ प्रणाली स्तरोन्नति गरिने तथा जिल्लामा सञ्चालित खानेपानी योजना समयमै सम्पन्न गर्न पहल गर्ने जनाइएको छ ।

सूचना–सञ्चार तथा विद्युत्तर्फ जिल्लाका ३१ वटै वडामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गरिने र उद्यम विकासतर्फ युवा उद्यमशीलता प्रवर्धन गर्दै रोजगारीको ग्यारेन्टी गरिने तथा कृषि उद्यममार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको कुरा एमालेको प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

यस्तै प्रजातन्त्र लोकतान्त्रिक पार्टी प्रलोपाका उम्मेदवार सन्दीप पुनले पनि रुकुमपूर्वको दुर्गममा सडक, यातायातको पहुँच, जनताको स्वामित्वमा ऊर्जा विकास, कृषि र वनमा प्रकृतिसँग मेल खाने विकास, खानी र उद्योगमा स्रोतको सही उपयोग, पलायन होइन उत्पादनमा आधारित युवा नीतिलगायत कुरालाई घोषणापत्रमा उल्लेख गर्नुभएको छ ।

यस्तै शिक्षामा समान अवसरको आधार तयार पार्ने, सहिद परिवारको जीवनयापनको ग्यारेन्टी गर्ने, ऐतिहासिक युद्धस्थल र स्मारकको संरक्षण, जिल्लाको गौरवशाली इतिहासमा सबैको पहुँच, सिकार पर्यटनलाई व्यवस्थित गर्ने, होमस्टे, स्थानीय गाइड, सांस्कृतिक कार्यक्रम, गाउँमै पर्यटन आम्दानी सुनिश्चित, युवालाई रोजगारी, युद्ध पर्यटन प्रवर्धन गर्ने कुराहरूलाई घोषणापत्रमा उल्लेख गर्नुभएको छ ।

फागुन २१ मा हुने निर्वाचनका लागि रुकुमपूर्वमा पुष्पकमल दाहाल प्रचण्डसहित ११ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । यतीबेला सबैले आआफ्ना चुनावी प्रतिबद्धतापत्रसहित जनता रिझाउने काममा व्यस्त छन् ।

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

काठमाडौँ । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचार प्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचार प्रसारको समय प्रदान गरेको छ ।

मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुल लगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ ।

मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजी मात्रै नभई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

निर्वाचनलाई प्रभाव पार्ने गतिविधि माथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने आयोगले स्पष्ट पारेको छ । मौन अवधिले स्वच्छ र स्वतन्त्र वातावरणमा विवकेपूर्ण ढङ्गले मतदान गर्न मतदातालाई अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । निर्वाचन व्यवस्थापन गर्ने निकायलाई सबै किसिमको बन्दोबस्त गरेर शान्ति, सुरक्षा र सुव्यवस्थासहित भयसहित वातावरणमा निर्वाचन गर्न मौन अवधि महत्वपूर्ण रहन्छ ।

निर्वाचन प्रचार प्रसार अभियान क्रममा मतदातालाई विभिन्न किसिमका तनाव, दबाब र आश्वासन निरन्तर प्राप्त भइरहने अवस्थामा सबैको कुरालाई मन्थन गरेर उपयुक्त व्यक्तिलाई मतदान गर्नका निम्ति ‘फ्रेस’ भएर जानसक्ने अवस्था सिर्जना गर्न मौन अवधिको परिकल्पना गरिएको हो ।

आ–आफ्नो दृष्टिकोण, योजना र कार्यक्रम लिएर मतदातासम्म पुगेका उम्मेदवार र राजनीतिक दललाई आफ्नो प्रचार प्रसारको ठण्डा दिमागले समीक्षा गरेर आनन्दले मतदान गर्न जाने र मतपरिणाम कुर्ने समयका रूपमा लिइने गरिएको छ ।

मौन अवधिको समय निर्वाचन व्यवस्थापकीय हिसाबले पनि अत्यन्त महत्वपूर्ण हुनेछ । मौन अवधिले निर्वाचन गराउने जनशक्ति र सुरक्षा फौजलाई सबैखाले कामबाट मुक्त गरेर शान्तपूर्ण वातावरणमा निर्वाचनको व्यवस्थापन गर्ने अवसर प्रदान गर्छ ।

यस अवधिमा मतदान केन्द्र बनाउने, मतदाता लाइनको व्यवस्थापन गर्ने, शान्तिसुरक्षाको अवस्था मूल्याङ्कन गर्ने गरिन्छ । विश्वका कतिपय मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्न चलन छ ।

भयरहित वातावरणमा प्रभावकारी ढङ्गले निर्वाचन सम्पन्न गर्ने र मतदातालाई सुसूचित भई सचेततापूर्वक खुला दिमागले ‘योग्य र रोजेको’ उम्मेदवारलाई मतदान गर्नका निम्ति निर्णयमा पुग्न प्रदान गरिएको समयका रूपमा मौन अवधिलाई लिइने पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बताउँछन् ।

उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले मौन अवधिमा विशेष आचारण पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

सो अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।

आउँदो बिहीबार हुने निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।

यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजचार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यस्तै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । १४३ अस्थायी मतदानस्थल तय गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन् ।

निर्वाचन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कूल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरिसकेको छ । यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन् ।

यस्ता छन् वैकल्पिक शक्ति दाबी गर्दै चुनावमा होमिएका जनमोर्चा, आजपा र प्रलोपाका ‘एजेन्डा’

काठमाडौँ । नेपालको कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएका पाका र अनुभवी राजीतिज्ञ सम्मिलित दलले यस निर्वाचनमा आफूलाई वैकल्पिक शक्तिका रुपमा प्रस्तुत गरेका छन्।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीले मुलुकका विद्यमान समस्या समाधान तथा आर्थिक समृद्धिको नारासहित मतदातालाई आफ्नो पक्षमा ल्याउन आकर्षक कार्यक्रम अघि सारेका छन्।

राष्ट्रिय जननमोर्चाका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ चित्रबहादुर केसी रुपन्देही र नवलपरासीलगायत जिल्लामा मत माग्दै हिँड्नुभएको छ । “मैले भोगेको राजनीतिक जीवनमा मुलुक अहिले इतिहासकै ठूलो सङ्कटमा रहेको महसुस गरेको छु”, कुराकानीमा उनले भने।

खर्चिलो सङ्घीय प्रणालीका कारण मुलुकको आर्थिक अवस्था कमजोर बनेकाले त्यसमा सुधारको खाँचो रहेको सो पार्टीको घोषणापत्रमा उल्लेख छ । स्वतन्त्र अर्थनीति र विनासर्त वैदेशक सहायता लिन सकिने जनमोर्चाको दृष्टिकोण छ । राष्ट्रिय जनमोर्चा गिलास चुनाव चिह्न लिएर प्रतिस्पर्धामा छ।

सो पार्टीबाट ४२ जिल्लामा ७० जना प्रत्यक्ष उम्मेदवार र १०७ जना समानुपातिक बन्दसूचीमा छन् । यसअघिको निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित हुनुभएका केसी यसपटक भने समानुपातिक बन्दसूचीमा पहिलो नम्बरमा छन्।

सो पार्टीले बागलुङ निर्वाचन क्षेत्र नं १ मा बाहेक अन्य क्षेत्रमा चुनावी गठबन्धन गरेको छैन । नेता तथा कार्यकर्ता उत्साहका साथ जनताका बीचमा मत माग्न पुगिरहेका अध्यक्ष केसीले जानकारी दिए।

पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीले राष्ट्रिय स्वाधीनता, स्थिरता र प्रणालीगत सुधारमा जोड दिँदै निर्वाचनमा होमिएको जनाएको छ । अध्यक्ष साहका अनुसार सो पार्टीले प्रत्यक्षतर्फ एक सयभन्दा बढी उम्मेदवारी दर्ता र समानुपातितर्फ ११० जनाको बन्दसूची पेस गरेको छ।

निर्वाचन प्रचारप्रसार उत्साहजनक ढङ्गबाट अघि बढिहरेको जानकारी दिँदै अध्यक्ष साहले देशको अवस्था बदल्न आफूहरु लडिरहेको स्पष्ट पारे । “जे बोल्छौँ त्यही गर्छौ, अहिलेसम्म गरेर देखाएका छौँ । अहिले प्रणालीको सुधार गर्नुपर्ने आवश्यकता छ, राष्ट्रियतालाई पहिलो एजेन्डा बनाएरका छौँ”, उनले भने, “वैदेशिक हस्तक्षेप अन्त्य, स्थिर सरकार, सुशासन कायम, अनावश्यक करको भार र भ्रष्टाचार हटाउने, अर्थतन्त्र बलियो बनाउने योजना अघि सारिएको छ ।”

प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबका अनुसार सो पार्टीले प्रत्यक्षतर्फ ८७ जनालाई चुनावी प्रतिस्पर्धामा अगाडि सारेका छ । उक्त पार्टीले ९७ जना समानुपातिक बन्दसूची बुझाएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीले कार्यान्वयन योजनासहित घोषणापत्र ल्याएको दाबी गरेको छ ।

राजनीतिक स्थायित्व, राष्ट्रिय स्वाधीनता, भूराजनीतिक जटिलता, समावेशिता, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेलगायत विषय घोषणापत्रमा समेटिएको छ।

२५ वर्षभित्र देशलाई विकसितस्तरमा लैजाने, पाँच वर्षमा दोहोरो अङ्कको आर्थिक वृद्धिलगायतको एजेन्डा रहेको छ । मुलुकको विद्यमान समस्याबाट निकास दिने नीति, नेतृत्व र कार्यक्रम प्रगतिशील पार्टीसँग मात्रै रहेको उनको भनाइ छ । “मतदाता विकल्पका खोजीमा छन्, विकल्प दिने प्रलोपा नै हो”, अध्यक्ष सोबले भनिन्।

निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

त्यस्तै, सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।

यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजचार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । १४३ अस्थायी मतदानस्थल तय गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन्।

निर्वाचन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरिसकेको छ । यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन्।

रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैनः राप्रपा

काठमाडौँ, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही क्षेत्र नं २ मा आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति नलिएको जनाएको छ ।

सो पार्टीका केन्द्रीय प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै रुपन्देही–२ मा राप्रपाले नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारमा कुनै सत्यता नभएको जानकारी दिए ।

उनले भने, “राप्रपाले रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन । प्राविधिक रुपमा राप्रपाको उमेदवारी खाली हुन गएको त्यस क्षेत्रमा समानुपातिक तर्फको मत जुटाउन पार्टी पङ्क्ति र मतदातालाई राप्रपा अनुरोध गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन धाँधलीरहित र निष्पक्ष रुपमा हुनुपर्छः नेता गुरुङ

लमजुङ, १८ फागुन । नेकपाका नेता देवप्रसाद गुरुङले आसन्न निर्वाचन धाँधलीरहित र निष्पक्ष रुपमा सम्पन्न हुनुपर्नेमा जोड भएको छ ।

जिल्ला निर्वाचन परिचालन समिति नेकपा लमजुङद्वारा आज लमजुङको बेंसीसहर नगरपालिका–७ मा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चुनावमा धाँधली हुन नदिनतर्फ सबै सचेत हुनुपर्ने बताए ।

नेकपाकोतर्फबाट लमजुङमा उम्मेदवार हरिजङ्ग तामाङले अहिलेको परिस्थितिमा युवालाई खोजिरहेको र आफू पनि युवा रहेकाले जिल्लाको समग्र विकासदेखि युवाको सपना साकार बनाउन आफूलाई मत दिएर जिताउन आग्रह गरे ।

रौतहटको राजपुरमा बमजस्तो शंकास्पद वस्तु फेला, सेनाको टोली घटनास्थलमा

रौतहट । रौतहटको राजपुर नगरपालिका–५ स्थित पानी ट्याङ्की नजिकैको भित्री सडकमा आज बिहान बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।
सोमबार बिहान स्थानीय बासिन्दाले सडकको बीचमा कालो ड्रमले छोपिएको र त्यसमाथि ‘बम’ लेखिएको शंकास्पद वस्तु देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरीको टोली घटनास्थल पुगेर क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रदीप बस्यालका अनुसार घटनास्थलमा शंकास्पद वस्तु भेटिएको पुष्टि भएको छ । उक्त वस्तुलाई सुरक्षित तवरले निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा खटिएको छ ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले आसपासको क्षेत्र खाली गराएको छ र सर्वसाधारणलाई उक्त स्थान नजिक नजान आग्रह गरेको छ । उक्त वस्तु वास्तवमै बम हो वा भ्रम फैलाउन राखिएको हो भन्नेबारे सेनाको टोलीले अनुसन्धान गरिरहेको छ ।

निकुञ्जबाट बस्तीमा हात्ती : मरघटिया र वैशाखा शिविरमा जनधनको क्षति

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्ती पसेर घर भत्काउनुका साथै अन्नपात र गहुँबाली नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।

शुक्लाफाँटा नगरपालिका–१२ मरघटिया शिविर र वैशाखा शिविरमा पछिल्ला दिनयता हात्तीको बथानले क्षति पु¥याउँदै आएको छ । मरघटिया शिविरकी देवकी राना र उनका श्रीमान् दानसिंह रानाले रातिको समयमा हात्ती घरमै पसेपछि भागेर ज्यान जोगाए । दुई दिनअघि राति खाना खाएर सुतिरहेका बेला कच्ची घरको भित्तामा ठूलो आवाज आएपछि झस्किएका उनीहरूले बाहिर निस्केर ज्यान जोगाएका थिए ।

“घाँसको बार भत्काएर हात्तीले सुड घरभित्र छिरायो,” देवकीले भनिन्, “नभागेको भए के हुन्थ्यो भन्न सकिँदैन ।” उहाँका अनुसार घरमा भर्खरै भित्राएको दुई बोरा चामल, दश किलो मसुरको दाल र पाँच किलो हल्दी हात्तीले खाएर नष्ट पारेको छ ।

स्थानीयका अनुसार छावा सहितको हात्तीको ठूलो बथान बस्तीमा पसेको थियो । केही हात्ती बस्ती हुँदै निकुञ्ज फर्किए पनि दुई वटा हात्तीले घर भत्काएर अन्नपात सखाप पारेका थिए ।

वैशाखा शिविरमा पनि हात्तीले खेतबालीमा क्षति पुर्याएको छ । किसान विखलु चौधरीका अनुसार चार दिनदेखि निरन्तर साँझ पर्नासाथ हात्ती खेतमा पस्ने गरेका छन् । “गहुँमा बाला लाग्न थालेको छ,” उनले भने, “तर हात्तीले पाक्न नदिई खाइरहेका छन् ।”

उनका अनुसार आफ्नो दश कठ्ठा जमिनको गहुँबाली नष्ट भएको छ, भने आठजना किसानको झण्डै दुई बिघा क्षेत्रफलमा लगाइएको गहुँ चार दिनमै सखाप भएको छ । हात्ती साँझ नपर्दै खेतमा पसी बिहानपख मात्रै निकुञ्ज फर्किने गरेको स्थानीयले बताएका छन् ।स्थानीय अवज सिंह धामीले हात्ती नियन्त्रणका लागि वडा कार्यालय र निकुञ्ज प्रशासनमा जानकारी गराइएको भए पनि प्रभावकारी पहल नभएको गुनासो गरे । “रातभरि त्रासमै बस्नुपरेको छ,” उनले भने, “कहिले घरमै छिर्छन् भन्ने डर छ ।”

निकुञ्जसँग सटिएका मरघटिया र वैशाखा शिविरमा हरेक वर्ष हात्तीले बालीनाली तथा भौतिक संरचनामा क्षति पुर्याउने समस्या दोहोरिने गरेको छ । बाली पाक्ने समयमा हात्तीको आवतजावत झन् बढ्ने गरेको स्थानीयको अनुभव छ ।

बस्तीका अगुवा सुम्ला रानाले वन्यजन्तु संरक्षण आवश्यक भए पनि मानव सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिए । “संरक्षणसँगै सुरक्षाको भरपर्दो व्यवस्था हुनुपर्छ,” उनले भने ।

स्थानीयले हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार, सोलार बत्ती, सायरन जडान लगायतको माग गरेका छन् । मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको उनीहरुको भनाइ रहेको छ ।

स्थानीयका अनुसार समयमै प्रभावकारी कदम नचालिए दोहोरिँदै आएका यस्ता घटनाले कुनै पनि बेला ठूलो मानवीय क्षति निम्त्याउन सक्ने जोखिम बढ्दै गएको छ ।

होलीले सांस्कृतिक विविधताका साथै राष्ट्रिय एकताको सन्देश पनि दिन्छ: सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा मनाइने फागुपूर्णिमा (होली) ले हाम्रो समाजको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई उजागर मात्र नगरेर राष्ट्रिय एकताको सन्देश पनि दिने उल्लेख गरेका छन्।

होलीको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उनले नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वमध्ये फागुपूर्णिमा आपसी प्रेम र एकताको एक विशिष्ट पर्व भएको बताए ।

नेपालका सबै भूगोल, जातजाति, भाषा, धर्म, चाड, पर्व, कला, संस्कृति, परम्परा र रीतिरिवाजको विविधता नै नेपालको सुन्दर र विशिष्ट पहिचान हो । नेपालको हिमाली र पहाडी क्षेत्रमा फागुन १८ गते तथा तराईमा फागुन १९ गते अत्यन्त उत्साहका साथ एक–अर्कालाई रङ लगाई खुसी साटासाट गर्दै यो पर्व मनाइन्छ ।

सभापति थापाले विविध रङहरूजस्तै हाम्रो समाज पनि विविधतापूर्ण रहेको र यही विविधताबीचको एकता नै नेपालीको विशिष्ट पहिचान भएको उल्लेख गरे । उनले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिने यो पर्वले पारिवारिक स्नेह, आपसी मेलमिलाप, सहिष्णुता र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन सबैलाई प्रेरणा प्रदान गर्ने बताए।

“यसपटक फागुपूर्णिमासँगै हामी प्रतिनिधिसभा सदस्य निर्वाचन लोकतान्त्रिक अभ्यासको एक महत्वपूर्ण उत्सवको सम्मुखमा छौँ । निर्वाचन सफल, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न हुनेछ भन्ने विश्वास लिएको छु । लोकतन्त्रलाई संस्थागत गर्न र समुन्नत राष्ट्र निर्माणका लागि फागुन २१ को निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो मत प्रकट गर्न सम्पूर्ण नेपालीमा अपिल गर्दछु”, सभापति थापाले उल्लेख गरेका छन् ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको फागुपूर्णिमा (होली) ले सबैको घर–परिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भनी उहाँले शुभकामना व्यक्त गरे ।

होलीले समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्छः मुख्यमन्त्री पाण्डे

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली(फागुपूर्णिमा) पर्वले हाम्रो समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
फागुपूर्णिमाका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले गर्दै यस पर्वले हामी सबैमा प्रेम, सद्भाव, आपसी एकता र लोकतान्त्रिक मूल्य–मान्यताप्रति सम्मानको सन्देश प्रवाह गर्ने कामना गर्नुभयो ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजयको खुसियालीमा हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा रङ्गहरूको उत्सवका रूपमा फागुपूर्णिमा (होली) हर्षोल्लासपूर्वक मनाइने सन्देशमा भनिएको छ ।

प्रेमभाव र आत्मियताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने हाम्रो परम्पराले सामाजिक एकता र सद्भावलाई अझ मजबुत बनाउँदै आएको मुख्यमन्त्रीले भन्नुुभएको छ ।

“होलीमा प्रयोग हुने थरिथरिका रङ्ग जस्तै हाम्रो नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण छ । यही विविधताबीचको एकताले नै हाम्रो राष्ट्रिय पहिचानलाई बलियो बनाएको छ”, उहाँले भन्नुुभयो, “यस पर्वले हामीबीचको भाइचारा, सहिष्णुता, एकता र सद्भावलाई अभिवृद्धि गर्दै बन्धुत्वको भावनालाई थप सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

गण्डकी प्रदेश र हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सुन्दर रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले सबै जाति, भाषा, पेसा, धर्म, समुदाय र संस्कृतिको पहिचान, अपनत्व र अधिकारलाई स्थापित गर्दै गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’को सङ्कल्पलाई साकार पार्न सबैको साझा प्रतिबद्धता, एकता र सहभागिता आवश्यक रहेको बताउनुुभयो ।

यस वर्षको होलीको सङ्घारमा प्रतिनिधिसभा निर्वाचन हुँदै गरेको र निर्र्वाचन लोकतान्त्रिक अभ्यासलाई थप परिपक्व बनाउने महत्वपूर्ण अवसर भएको भन्दै सन्देशमा निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभइ लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धताको पुनः पुष्टि गर्ने पर्व पनि रहेको उल्लेख गरिएको छ ।

सम्पूर्ण मतदाताहरूलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न हार्दिक अपिल गर्दै उहाँले हाम्रो एक मतले स्थिरता, विकास र समृद्धिको मार्ग तय गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल वायुसेवाद्वारा दुबई र दोहाका हवाई उडान पूर्ण रूपमा रद्द

काठमाडौँ । नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलमा तय गरिएका साेमाबारसम्मका आफ्ना उडानहरू पूर्ण रूपमा रद्द गरेको छ । मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थितिपछि निगमका दुबई र दोहा विमानस्थलमा १७ गते र १८ गतेका लागि तय गरिएका सबै उडान पूर्ण रूपमा रद्द गरिएको नेपाल वायुसेवा निगमका जुनियर सहायक अङ्कित ढुङ्गानाले राससलाई जानकारी दिए ।

उनले भने, “मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थिति तथा हवाई क्षेत्र बन्दका कारण नेपाल वायुसेवा निगम (आरए २२९/२३०) का दुबई र दोहाका सबै उडान अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्ण रूपमा रद्द गरिएको हो ।”

यसैगरी, नेपाल वायुसेवा निगमका मध्यपूर्व दुबई, दोहा र दमाममा हुने आगामी दिनका उडान सम्बन्धमा नेपाल वायुसेवा निगमको सूचनाअनुसार वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल प्रस्थान गर्न निगमले अनुरोध गरेको छ ।

थप जानकारीको लागि नेपाल वायुसेवा निगमको आधिकारिक वेबसाइट तथा निगमको आधिकारिक सामाजिक सञ्जाल नियमित रूपमा अवलोकन गर्न तथा अत्यावश्यक सोधपुछका लागि ९८५१२७३४५९/९८५१४२२१५६ मा सम्पर्क गर्न निगमका जुनियर सहायक ढुङ्गानाले बताए।

नारा लेकको हिउँ पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा

हुम्ला । माघ दोस्रो हप्ता परेको हिमपातले अवरुद्ध नारा सडक खण्ड सोमबारदेखि सञ्चालनमा ल्याइएको छ । उत्तरी नाम्खा गाउँपालिका–५ स्थित नारा लेकको हिउँ पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको हो ।

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी चार हजार ९४९ मिटरको उचाइमा रहेको नारा लेकको हिउँ पन्छाइएको हो । कर्णाली करिडोर हिल्सा सिमकोट सडक योजना कार्यालयले नारा लेकको हिउँ पन्छाएपछि हिमपातले अवरुद्ध सडक खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हिउँ पन्छाएपछि हिल्सा नाका हुँदै लिमी आउजाउ गर्न सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताए । यसैगरी, नाम्खा गाउँपालिका–६ को पाँच हजार दुई मिटर उचाइको न्यालु लेकको हिउँ पन्छाउन नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङ नेतृत्वको टोली त्यसतर्फ गएको छ । न्यालु सडक खुलाउन अझै केही दिन लाग्ने जनाइएको छ ।

उम्मेदवारसँग माग राख्न नपाउँदा निराश छन् बादी समुदाय

कञ्चनपुर । मुलुकभर चुनावी रौनक छाइरहेका बेला कञ्चनपुरको दोधारा चाँदनी–३ स्थित बादी बस्ती सुनसान छ ।निर्वाचनको मिति नजिकिँदा दल तथा उम्मेदवार मतदाता रिझाउन व्यस्त छन् । तर गरिबी, अशिक्षा, बेरोजगारी जस्ता समस्याले आक्रान्त बडुवाल टोलस्थित सीमान्तकृत समुदायमा न राज्यको प्राथमिकतामा पर्‍यो, न त दल र उम्मेदवारका ।

झन्डै तीन दशकदेखि बसोबास गर्दै आएको यो बस्तीमा बादी समुदायसहित अन्य समुदायका एक सय बढी घर परिवारको बसोबास छ । भारतमुखी रोजगारी र दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका यहाँका मतदाताको आशा थियो, निर्वाचनमा दल तथा उम्मेदवारहरूले आफ्ना प्रतिबद्धतामा बादी समुदायलाई छुने खास योजना तथा कार्यक्रम ल्याउनेछन् । तर त्यो आस निराशामा परिणत मात्रै भएन, भोट माग्नसमेत उम्मेदवारहरू बस्तीमा नपुगेपछि बादी समुदाय निराश छन् । “अहिलेसम्म हाम्रो बस्ती कोही नेता भोट माग्न आएनन्”, यहाँका स्थानीय बिरभाने वादीले भने, “यहाँ जङ्गली जनावरको डरले राति भाग्नुपर्ने अवस्था छ नेता नआउँदा हाम्रो माग राख्न पाएनौँ ।”

उम्मेदवाहरु बस्तीमा नपुग्दा यहाँका स्थानीयलाई चुनावले छोएको छैन । भारतसँग सीमा जोडिएको यो बस्तीमा गरिबी, अशिक्षा, बेरोजगारी, हात्ती आतङ्क, बाढी तथा कटान, सुकुम्वासी समस्या, अवैध तस्करी र सीमा विवाद प्रमुख समस्याका रूपमा रहेको यहाँका स्थानीय सीता बादीले बताइन् । “हाम्रो समस्या धेरै छन् उम्मेदवारहरू भोट माग्न आएनन् हामीले पनि हाम्रो पीडा सुनाउँथ्यौँ,” उनले भने, “सीमानामा हामी धेरै समस्या सहेर बसेका छौँ ।” हरेक चुनावमा भोट माग्न पुग्ने दल तथा उम्मेदवारहरू यसपटक घरदैलोमा नआएपछि बादी समुदाय माग राख्न नपाएकामा दुःखी छन् ।

सीमानाकाको बस्तीमा अनेक दुःख सहेर पनि सीमाको रक्षाका लागि यहाँ बसोबास गरिरहेको उनको भनाइ छ । “आर्थिक अवस्था कमजोर हुँदा यहाँका बालबालिका पढाइ छोडेर रोजगारीका लागि भारत जान बाध्य छन्,” यहाँका स्थानीय रेशम बादीले भने, “चुनावमा नेताहरू आउलान् र हाम्रो माग राखौँला भन्ने थियो भोट माग्न नेता नै आएनन् ।”

राष्ट्रिय जनगणना २०७८ अनुसार सुदूरपश्चिममा बादी समुदायको जनसङ्ख्या दुई हजार ५८० जना छ भने कञ्चनपुरमा मात्रै ४५८ जना छन् । गरिबी, भूमिहीन र अशिक्षाका कारण यो समुदायको अवस्था दयनीय छ ।

बालेन शाहले दिए फागु पूर्णिमाको अवसरमा शुभकामना

काठमाडौं – रास्वपाका बरिष्ठ नेता बालेन शाहले फागु पूर्णिमा अर्थात् होलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत झापा ५ का उम्मेदवार समेत रहेका शाहले होलीको अवसरमा शुभकामना दिदै रंगहरुको यो पर्वले सबैको जीवनमा बहार लिएर आओस् भनेका छन्

उनले लेखेका छन् – आज काठमाडौं उपत्यका सहित पहाडी भेगमा फागु पूर्णिमा , भोलि तराईमा होली। सबैको जीवनमा बहार लिएर आओस् रंगहरूको यो पर्व सम्पूर्ण नेपालीलाई हेप्पी होली।

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सम्मान गर्दै मुलुकलाई शान्ति र समृद्धितर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

फागुपूर्णिमा (होली) पर्व, २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, “होली पर्वले हाम्रो राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सामाजिक बन्धनलाई अझ सबल बनाओस्, प्रेम, मैत्रीभाव र सहकार्यको वातावरण सृजना गर्दै देशलाई प्रगति र समृद्धिको मार्गमा अघि बढाउने प्रेरणा प्रदान गरोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

रङ्ग र उमङ्गको प्रतीक यो पर्व हिमाल, पहाड र तराई–मधेसमा विभिन्न नामले मनाइए पनि यसको मूल भावनाले आपसी सद्भाव, भाइचारा र मेलमिलापलाई बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले सत्यको विजय र असत्यको पराजयको सन्देश बोकेको होलीले समाजलाई प्रेम, सौहाद्र्र र सहयोगी भावनाले रङ्गीन बनाउने उल्लेख गरेका छन् ।

परम्परागत होरी (फागु) गीत, जोगिरा, डम्फा र ढोलकको तालमा गाइने लोकभाकाका साथै मालपुवा, दालपुरी, खिर जस्ता विशेष परिकारले हाम्रो संस्कृतिलाई जीवन्त राख्दै पुस्तान्तरणमा योगदान पुर्‍याउने उपराष्ट्रपति यादवको भनाइ छ ।

उनले भनेका छन्, “प्राकृतिक र वातावरणमैत्री रङ्ग प्रयोग गर्दै संस्कृतिलाई सुरक्षित राख्नु हाम्रो सामूहिक जिम्मेवारी हो, होलीले परिवार, मित्रता र समुदायबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पुराना मनमुटाबलाई बिर्सेर नयाँ उमङ्ग र ऊर्जासहित सम्बन्धलाई पुनः सुदृढ गर्ने अवसर प्रदान गर्दछ ।”

नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम

नवलपरासी। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् ।

जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार जिल्लामा एउटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लाको कावासोती नगरपालिका–२, मा रहेको शिव नमूना माविमा एउटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा खटिएका कर्मचारीको हकमा सम्बन्धित केन्द्रबाटै मतदान गर्नेछन् ।

मतदाता सूचीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा जान नसक्नेहरुलाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था छ ।

सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारका थुनुवा र कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्र्मी संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम अस्थायी मतदाता नामावलीमा समावेश हुने गर्दछ । आसन्न निर्वाचनका लागि दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कूल दुई लाख ६८ हजार ५२६ मतदाता रहेका छन् । जस अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदाता ६५ हजार ९८२, महिला मतदाता ७१ हजार ९८ र अन्य एक गरी कूल एक लाख ३७ हजार ८१ मतदाता रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तर्फ पुरुष मतदाता ६३ हजार ७२ ,महिला मतदाता ६८ हजार ३७० र अन्य मतदाता तीन जना गरी कूल एक लाख ३१ हजार ४४५ मतदाता रहेका छन् । नवलपुरमा ११४ वटा मतदानस्थल र ३११ मतदान केन्द्र रहेका छन् । एउटा अस्थायी मतदान केन्द्र रहेको छ । सबै मतदान स्थलमा गरी कूल एक हजार ८७९ कर्मचारी परिचालन गरिएको छ ।

आजको मौसम : यी स्थानहरुमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भाग सहित बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी र हिमाली भू–भाग सहित बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज राती भने तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू–भाग सहित गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारत सरकारद्वारा ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

पर्सा । भारत सरकारद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी ३० थान वान टन सवारी हस्तान्तरण गरेको छ ।
वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा आइतबार यहाँ आयोजित कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मिनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० थान वान टन क्षमताका ट्रक तथा अन्य निर्वाचन सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकारको आग्रहअनुसार आगामी निर्वाचनको तयारीलाई सघाउन उक्त सहयोग उपलब्ध गराइएको दूतावासले जनाएको छ । पर्साका प्रजिअ दाहालले समयमै निर्वाचनसम्बन्धी सामग्री हस्तान्तरण गरेकामा भारत सरकारप्रति आभार व्यक्त गरे ।

यसअघि, भारत सरकारले निर्वाचन सहयोगअन्तर्गत ५८० थान भन्दा बढी सवारीसाधन तथा अन्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ, १८ फागुनः निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

आयोगले देशभरका ६ हजार ७४३ वटै वडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । आयोगको स्वीकृत कार्यक्रमअनुसार २०८२ फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा देशभरका ७५३ स्थानीय तहका सबै वडामा आइतबार सम्पन्न भएको हो । हरेक वडामा मतदाता शिक्षा कार्यक्रमका लागि मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको थियो ।

निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले मतदाताको घरदैलोमा पुग्न सक्ने र आमनागरिकबीच भिजेका इमान्दार स्वयम्सेवकका कारण यो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताउनुभयो । उहाँले महिला स्वास्थ्य स्वयम्सेविकाको योगदानको प्रशंसा गर्दै लक्षित कार्यक्रम सफल भएको उल्लेख गर्नुभयो ।

मतदाता शिक्षा प्रदान गर्न स्वास्थ्य स्वयम्सेविकालाई २०७९ को आम निर्वाचनदेखि जिम्मा दिन थालिएको थियो । यस पटक पनि यस प्रयोजनका लागि उनीहरुहरुलाई नै जिम्मेवारी दिइएको थियो ।

आममतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रका माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे जानकारी दिइएको आयोगले जनाएको छ । मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरणसमेत गरेको थियो । मतदाता शिक्षा सम्पन्न गरी स्वयंसेवकले आयोगमा प्रतिवेदन बुझाउने जनाइएको छ ।

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार, यही फागुन १६ गते बिहान १० देखि १७ गते बिहानसम्म देशभर कुल २३ वटा विपद्का घटना घटेका छन् । त्यसमध्ये २२ वटा घटना आगलागीसँग सम्बन्धित थिए । एउटा मात्रै पहिरोको घटना थियो ।

सामान्य सावधानी अपनाउँदासमेत जोगिन सकिने आगलागीका कारण धनमालको क्षति भएको प्राधिकरणले जनाएको छ । विपद्मा परेर एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । विपद्का कारण रु ५२ लाख ४५ लाख बराबरको क्षति भएको छ ।

प्राधिकरणका अनुसार, पाँचथर, झापा, मोरङ, सुनसरी र धनकुटामा आगलागी भएका छन् । यस्तै, सप्तरी, धनुषा, पर्सा र कैलालीका दुई स्थानमा आगलागीका घटना हुँदा सर्लाही, धनुषा, मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौँ, गोरखा, लम्जुङ, पाल्पा र प्यूठानका एक–एक स्थानमा आगलागी भएका छन् ।

बिजुलीको तार सर्ट भएको तथा दियो बालेर त्यत्तिकै छाडेका कारण आगलागी भएको जनाइएको छ । हिउँदमा सुक्खा बढी हुनाले आगलागीका घटनामा वृद्धि हुने हुँदा विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार यही फागुन १६ गते कुल आठवटा विपद्का घटनामध्ये सातवटा आगलागीका मात्रै थिए । फागुन १५ गते प्राधिकरणमा दर्ता भएका कुल १९ वटा घटनामध्ये १७ वटा घटना आगलागीका थिए । यस आधारमा देशभर आगलागीका घटनामा वृद्धि भएको पाइएको छ ।

फागुपूर्णिमा पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस्: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, “होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा वैरभाव परित्याग गरी प्रेम भाव र आत्मीयताका साथ आफन्तजन एवम् साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ्ग दलेर सद्भाव प्रकट गर्ने तथा रमाइलो गर्ने परम्परा रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।

रङ्गहरूको पर्वका रूपमा प्रत्येक वर्ष फागुपूर्णिमा (होली) पर्व देशभर वसन्त ऋतुका अनेक रङ्गहरूलाई प्रतिबिम्बित गर्ने पर्वका रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चिर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चिर दाह गरेपछि समापन हुन्छ ।

राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको र त्यही विविधताबिचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता भएको पनि उल्लेख गरेका छन् ।

विदेशी मुद्राको विनिमयदर, कुन देशको कति?

काठमाडौं, फागुन १८ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ९० पैसा र बिक्रीदर १९६ रुपैयाँ ७१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १८ पैसा र बिक्रीदर २१ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४० रुपैयाँ ०२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६ रुपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९७ पैसा र बिक्रीदर २३ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ३८ पैसा रहेको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

वार्ताबाट समस्या समाधान खोज्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा र सशस्त्र मुठभेडको सट्टा अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै वार्ता, संवाद र कूटनीतिक उपायमार्फत समस्याको समाधान खोज्न विश्व समुदायलाई आग्रह गरेकी छन् ।

उनले भनिन्, “युद्धग्रस्त क्षेत्रमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सतर्कता अपनाउन अनुरोध गर्दछु । साथै, नेपाल सरकारलाई आफ्ना नागरिकको सुरक्षाको लागि आवश्यक पहल तथा तयारी गर्न म ध्यानाकर्षण गराउँदछु ।”

उनले फागुपूर्णिमा (होली) पर्वको पावन अवसरमा आज शुभकामना व्यक्त गर्दै यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखी सम्पूर्ण मतदाताले आफ्नो विवेक प्रयोग गर्दै मतदान प्रक्रियामा सक्रिय सहभागिता हुने विश्वास पनि व्यक्त गरेकी छन् ।

नेपालमा राजनीतिक स्थिरता, दिगो शान्ति र लोकतान्त्रिक प्रणालीको रक्षा र सुदृढीकरणका लागि आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन एउटा महत्त्वपूर्ण अवसर हुने पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ । रङ्ग, उत्साह र उल्लासले भरिएको यस पर्वले सम्पूर्ण नेपालीहरूबिच आपसी प्रेम, सद्भाव र सहिष्णुताको भावनालाई सशक्त बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उनको विश्वास छ ।

भण्डारीले सत्य, न्याय र सदाचारको विजयको सन्देश बोकेको फागुपूर्णिमा पर्वले समाजमा विद्यमान विकृति, विसङ्गति तथा नकारात्मक प्रवृत्तिहरूको अन्त्य गर्दै सभ्य, शान्त र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरित गरोस् भन्ने कामना पनि गरेकी छन् ।

संस्कृतिको संरक्षण गर्दै समृद्धितर्फ वर्तमान पुस्ता क्रियाशील रहनुपर्छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशमा मनाइने विविध चाडपर्व, भाषा, वेशभूषा, संस्कृतिको संरक्षण गर्दै समृद्धितर्फको यात्रालाई अघि बढाउनु वर्तमान पुस्ताको दायित्व भएको बताएका छन् ।

उनले फागुपूर्णिमा (होली) पर्वका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम सङ्गमका रूपमा रहेको हाम्रो मुलुकमा पर्वले सबै नेपालीलाई खुसी साटासाट गर्न तथा सामाजिक सम्बन्ध अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै नेता खनालले हर्षोल्लासपूर्वक रङ्गहरूमा रमाएर मनाइने नेपालीहरूको महान् पर्व फागुपूर्णिमाले आपसी सद्भाव, बन्धुत्व र राष्ट्रिय एकताको भावना सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

नेपालमा १२३ भाषाभाषी समुदाय र १० वटा धार्मिक आस्था तथा विश्वासका मानिसहरू बसोबास गर्ने उल्लेख गर्दै उहाँले यति धेरै विविधताबीच सामाजिक सहिष्णुता, पारस्परिक सम्मान र सहअस्तित्व कायम राख्नु हाम्रो साझा जिम्मेवारी भएको बताए ।

पूर्वप्रधानमन्त्री खनालले बहुविविध समाजमा फागुपूर्णिमाजस्ता चाडपर्वले सबैलाई एकै सूत्रमा बाँध्दै राष्ट्रिय एकता सुदृढ गर्ने अवसर प्रदान गर्ने उल्लेख गरे

सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

एक निर्देशनमार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते बिहीबारका दिन बैङ्क तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

राष्ट्र बैङ्कले सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैङ्कहरूद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

निर्वाचन प्रचारप्रसारका लागि बैङ्क खाता सञ्चालन गर्ने बैङ्क तथा वित्तीय संस्थाहरूद्वारा राजनीतिक दल तथा उम्मेदवारको नगद वा चेक वा अन्य विनिमय साधनहरूको दाखिला, भुक्तानीलगायतका बैङ्किङ सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै

काठमाडौँ । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुँछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चिरको खरानीको टीका लगाइन्छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन रहेको छ ।

त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा तोयराज नेपालले राससलाई जानकारी दिए ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चिरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, आयुर्वेद प्रवर्द्धन शाखाका प्रमुख डा वंशदीप शर्मा खरेल बताउँछन् ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा मङ्गलबार होली मनाइँदै छ । तराइका जिल्लामा मङ्गलबार नै सरकारले सार्वजनिक बिदा दिएको छ ।

यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति नशालु पदार्थ सेवन गरी झैझगडा गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएका छन् ।

यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा सजिएर स–परिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ ।

रङको पर्व कुन देशमा कसरी मनाइन्छ ?

फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।

अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिसहरू विभिन्न प्रकारका हास्यात्मक वेशभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ ।

यसैगरी, श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यान्मार र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुहरूलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ ।

फरक फरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा भएको पाइन्छ । सबैतिर आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिएको पाइन्छ ।

मुलुकलाई समृद्ध बनाउन सबै दलसँग सहकार्य आवश्यक छ : गगन थापा

नुवाकोट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्पूर्ण राजनीतिक दलहरुसँगको सहकार्यले पाँच वर्षमा मुलुकलाई समृद्ध बनाउन सकिन बताएका छन्।

नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा आज आयोजित ‘चुनावी सभा’लाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसले मुलुकमा भइरहेका बेथिती अन्त्य गर्न सम्पूर्ण पक्षलाई साथमा लिन आवश्यक भएको बताए।

“पाँच वर्षमा देशमा व्यापक सुधार गर्न सकिन्छ । यसलाई कांग्रेसले मूख्य सङ्कल्प लिएर अघि बढेको छ”, सभापति थापाले भने, “अहिलेको तुलनामा पाँच गुणा बढी काम गर्छौँ । सजग र सचेत भएर मुलुकमा कुनै अप्रिय घट्ना हुन दिन्नौँ ।”

चुनावमा स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ भन्ने अठोटले दलहरुबीच गठबन्धनको अभ्यासलाई अस्वीकार गर्दै अघि बढेको उल्लेख गर्दै सभापति थापाले कांग्रेस देश सञ्चालन गर्न सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताए।

देश विकासका लागी पूर्वाधार निर्माणका क्षेत्रमा देखिएको समस्यादेखि किसानले समयमा नै मल पाउन नसकेका विषयसम्म कानूनी अवरोधको चुनौती रहेकाले अब बन्ने सरकारले त्यसलाई सुधार गर्दै जनताका स–साना समस्यालाई पनि महत्वका रुपमा लिने उनले विश्वास दिलाए।

निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आग्रह गरेका छन् ।

मजनसमुदायलाई सम्बोधन गर्दै आइतबार भिडियो सन्देश जारी गरी उनले जेनजी आन्दोलनपछिको अनिश्चित राजनीतिक अवस्थाको स्मरण गर्दै अन्तरिम सरकार गठनका लागि गरिएको सहजीकरण र ताजा जनादेशका लागि लिएको अडान उल्लेख गरे।

देशलाई निर्वाचनसम्म ल्याउन आफ्नो दलले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै संयोजक दाहालले त्यसको मूल्याङ्कन इतिहासले गर्ने बताए। उनले आफू सरकारको नेतृत्वमा रहँदा सुशासन, विधिको शासन स्थापित गर्ने प्रयास गरिएको र ठूला भ्रष्टाचार काण्ड उजागर गरिएको भन्दै फेरि पनि पार्टीले सो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

“हामी सरकारमा हुँदा सुशासन र विधिको शासन कार्यान्वयनको प्रयास गरेका थियौँ, तर त्यही बेला सरकार परिवर्तन भयो । त्यसपछि प्रतिपक्षमा रहँदा पनि कुशासनविरुद्ध निरन्तर सङ्घर्ष गरेका थियौँ”, उनले उल्लेख गरे,“यस निर्वाचनमा जनताले सबै दलको भूमिकाको निष्पक्ष मूल्याङ्कन गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मत दिने विश्वास छ ।”

निर्वाचनमा सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी तथा मतदातालाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गर्दै संयोजक दाहालले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन निर्वाचन सफल बनाउनु सबैको साझा दायित्व भएको उल्लेख गरे।

निर्वाचन प्रयोजनाका लागि ११ दल र एक हजार ८६५ उम्मेदवारले मात्र खोले बैङ्क खाता

काठमाडौँ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ८६५ जना उम्मेद्वारले मात्र बैङ्क खाता खोलेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, निर्वाचनमा भाग लिएका ६५ दलमध्ये ११ दलले मात्र खाता खोलेका छन् । आजसम्म खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिए।

निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्च सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि बैङ्क खाता खोल्ने व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार निर्वाचनमा भाग लिने प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले कार्यविधिअनुसार खाता खोल्न भनिएको छ । निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिने र खर्च कारोबार सोही खातामार्फत हुने व्यवस्था गरिएको छ । यही व्यवस्थाअनुसार दल र उम्मेदवारले खाता खोलेका हुन् ।

खामेनीको हत्यापछि इरानी अधिकारीद्वारा सङ्क्रमणकालीन योजना सार्वजनिक, अन्तरिम नेतृत्वमा तीन नेता

तेहरान। इरानले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहितका केही अधिकारी र दर्जनौँ उच्च सैन्य अधिकारीको संयुक्त आक्रमणमा मृत्यु भएपछि तेहरानले सङ्क्रमणकालीन योजनाको घोषणा गरेको छ ।

सरकारले राष्ट्रपति, न्यायपालिकाका प्रमुख र ‘गार्जियन काउन्सिल’ का एक न्यायविद्सहित अन्तरिम नेतृत्व परिषद्को गठन गरेको छ । यो अन्तरिम परिषद्ले इरानी कानूनको निरीक्षण र चुनावी उम्मेदवारहरूको जाँच गर्दछ ।

इरानका उच्च सुरक्षा प्रमुख अली लारीजानीले पनि केन्द्रीय भूमिका निर्वाह गरिरहनुभएको छ । इरानी संस्थापन नेता तथा राष्ट्रपति रहनुभएका ७१ वर्षीय मसुद पेजेश्कियान नयाँ सर्वोच्च नेता निर्वाचित नभएसम्म देशको नेतृत्व गर्ने अन्तरिम परिषदका तीन सदस्यमध्ये एकको भूमिकामा रहनुहुनेछ ।

मुटु सर्जनबाट सुधारवादी राजनीतिज्ञ बनेका उहाँले सन् २०२४ जूनमा आफ्नो पूर्ववर्तीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि पदभार ग्रहण गर्नुभएको थियो ।

पेजेस्कियनको जन्म सन् १९५४ मा टर्की मूलका इरानी पिता र कुर्द आमाबाट पश्चिम अजरबैजानको उत्तरपश्चिमी प्रान्त महाबाद शहरमा भएको थियो।

आफ्नो शान्त व्यवहारका लागि चिनिने प्राविधिज्ञ पेजेस्कियनले अशान्त समयमा सरकारको नेतृत्व गर्नुभएको छ, उहाँको कार्यकालसँगै गत वर्ष इजरायलसँग १२ दिने युद्ध र जनवरीमा बढ्दो जीवन लागतको बारेमा ठूलो विरोध प्रदर्शन भएको छ।

आइतबार उहाँले खामेनीको हत्यालाई ‘मुस्लिमविरुद्धको युद्धको घोषणा’ को संज्ञा दिँदै इरानको प्रतिक्रिया ‘वैधानिक कर्तव्य र अधिकार’ का लागि हुने बताउनुभएको थियो ।
अर्का नेता ६८ वर्षीय शिया धर्मगुरु घोलमहुसेन मोहसेनी इजेईलाई पनि नेतृत्व परिषद्को सदस्य बनाइएको छ। उनको जन्म मध्य इरानको इस्फाहान प्रान्तको एजेह गाउँमा भएको थियो ।इस्लामिक गणतन्त्रको न्यायपालिका र सुरक्षा संयन्त्रमा लामो समयदेखि अनुभव रहेका यी व्यक्तित्वलाई खामेनीले सन् २०२१ मा न्यायपालिकाको प्रमुख नियुक्त गर्नुभएको थियो ।

न्यायपालिकाको वेबसाइटका अनुसार इजेईले शिया धर्मको पवित्र शहर कोमबाट इस्लामिक अध्ययन पूरा गर्नुभएको छ र अन्तर्राष्ट्रिय कानूनमा स्नातकोत्तर गर्नुभएको छ।

उहाँले होजातोलेस्लामको लिपिकीय पद पनि पाउनुभएको छ । यो पद अयातोल्लाहभन्दा एक पद तल मानिन्छ ।सन् २००९ मा तत्कालीन राष्ट्रपति महमुद अहमदिनेजादले गुप्तचर मन्त्रीको रूपमा काम गरिरहेका बेला भएको प्रदर्शनमा भएको दमनको कारण उहाँलाई ‘गम्भीर मानवअधिकार उल्लङ्घन’ गरेको आरोपमा अमेरिकी प्रतिबन्धमा राखिएको थियो।

खामेनीको हत्यापछि उहाँले भन्नुभयो, “अमेरिकाको दुष्ट शासन र अपमानित र निन्दक सियोनलाई थाहा हुनुपर्छ कि महान राष्ट्र इरानले आफ्नो वीर नेताको हत्यारालाई कहिल्यै माफ गर्नेछैन ।”

अन्तरिम नेतृत्व परिषदमा रहनुभएका तेस्रो अधिकारी ६५ वर्षीय धर्मगुरु अलिरेजा अराफी इरानको शिया मदमिनहरूको व्यवस्थापन केन्द्रका प्रमुख हनुहुन्छ । उहाँ ‘एसेम्ब्ली अफ एक्सपर्ट’हरूको दोस्रो उपाध्यक्षको रूपमा काम गर्नुहुन्छ र यो सर्वोच्च नेताको नियुक्ति र निरीक्षण गर्ने निकाय हो । उहाँ गार्जियन काउन्सिलका सदस्य पनि हुनुहुन्छ ।

अराफी सन् १९७१ मा इस्लामिक विज्ञानको अध्ययन गर्न पवित्र शहर कोममा सर्नुभएको थियो । उहाँको आधिकारिक वेबसाइटका अनुसार शाह मोहम्मद रेजा पहलवीको विरोध गरेको आरोपमा १६ वर्षको उमेरमा जेल सजाय सुनाइएको थियो।

तीन काउन्सिल सदस्यहरू मध्ये सबैभन्दा कान्छो र कम चिनिने उहाँले सामान्यतया शान्त तथा सावधानीपूर्वक आफ्ना धारणालाई नागरिक र विश्व समुदायबीच पुर्याउने गर्नुभएको छ ।

तथापि, आइतबार उहाँले एक विद्रोही टिप्पणी राख्दै भन्नुभयो, “राष्ट्र क्रान्तिको बाटोमा अघि बढ्नेछ । मानिसहरूको, प्रिय युवाहरू र प्रिय विद्यार्थीहरूको रगतको बदला लिनेछु।”

वर्तमान् सरकारको नेतृत्वमा रहनुभएका ६८ वर्षीय अली लारीजानी हाल इरानको सर्वोच्च सुरक्षा निकाय, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख हुनुहुन्छ ।

इस्लामिक गणतन्त्रको सेना, मिडिया र विधायिकामा लामो सेवापछि उहाँले खामेनीको विश्वास प्राप्त गरेको विश्वास गरिन्छ।

उनको जन्म सन् १९५७ मा इराकको नजाफमा एक प्रमुख शिया धर्मगुरुको घरमा भएको थियो जो इस्लामिक गणतन्त्रका संस्थापक अयातोल्लाह रुहोल्लाह दिवंगत खोमेनीका निकट मानिनुहुन्छ ।

उहाँको परिवार दशकौँदेखि इरानको राजनीतिक प्रणालीमा प्रभावशाली रहँदै आएको छ । आइतबार लारीजानीले खामेनीपछि इरानको सङ्क्रमणकालीन योजनाको रूपरेखा प्रस्तुत गर्नुभएको थियो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तै भाषा प्रयोग गर्दै इजरायल र अमेरिकामाथि ‘उनीहरूले पहिले कहिल्यै अनुभव नगरेको शक्ति’ ले आक्रमण गर्ने वाचा गर्नुभएको थियो ।

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ। अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको मृत्यु भएको घटनाको कडा शब्दमा विरोध गर्दै इरानमा सैन्य कारबाही रोक्न आग्रह गरेको छ ।

चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो हत्या इरानको सम्प्रभुता र सुरक्षाको गम्भीर उल्लङ्घन हो, संयुक्त राष्ट्रसङ्घको बडापत्रको उद्देश्य र सिद्धान्त तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यतामाथि अतिक्रमण हो।”

“चीनले यसको कडा विरोध र निन्दा गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “चीनले इरानमाथिको सैन्य कारबाही तत्काल रोकिनुपर्छ ।”

चिनियाँ सरकारी सञ्चारमाध्यमले बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यी र रुसी समकक्षी सर्गेइ लाभरोभबीच टेलिफोन वार्ता भएपछि चिनियाँ सरकारी सञ्चारमाध्यमले चीनले इरानमा उच्च अधिकारीलाई लक्षित गरी भएको आक्रमणको विरोध गरेको हो ।

अमेरिका र इजरायलले ’सार्वभौम नेताको खुलेआम हत्या र सत्ता परिवर्तनका लागि उक्साएको’ कुरा चीनका लागि ‘अस्वीकार्य’ भएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले रूसी नेता लाभरोभको पहलमा भएको संवादका क्रममा वाङले बताएको जनाएको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार वाङले लाभरोभसँग ‘मध्यपूर्वको अवस्थाले यस षेत्रको सुरक्षालाई खतरनाक मोडमा धकेल्न सक्ने भन्दै यसप्रति चीन निकै चिन्तित भएको बताउनुभएको थियो ।

वाङले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायले ‘अराजक गतिविधि’ र विश्व प्रतिगमनको विरोध गर्दै स्पष्ट सन्देश पठाउनुपर्छ ।”रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार उनको हत्याले ’मानव नैतिकता र अन्तर्राष्ट्रिय कानुनको सबै मान्यताको उल्लङ्घन’ भएको बताएका छन् ।

आक्रमणमा परी कम्तीमा एक जना चिनियाँ नागरिक घाइते भएको र केही अस्थायी यात्रु अलपत्र परेको बेइजिङको विदेश मन्त्रालयले आइतबार राति जनाएको छ ।विज्ञप्तिमा यस क्षेत्रमा प्रभावित चिनियाँ नागरिकहरूको सङ्ख्या, भौतिक अवस्था र स्थानको बारेमा विस्तृत विवरण दिइएको छैन।

बेइजिङले केही दिन अघि नै इरानमा रहेका आफ्ना नागरिकहरूलाई ‘जतिसक्दो चाँडो’ त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको छ।चिनियाँ राहदानी धारकहरूले इरानबाट अजरबैजान, अर्मेनिया र टर्कीए जाने भिसामुक्त स्थलमार्गमा जान सक्ने विदेश मन्त्रालयले आइतबार उक्त आह्वान दोहोर्याउँदै जानकारी गराएको हो ।

ढुक्क भएर मतदान गर्न मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आव्हान गर्नुभएको छ ।

गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उच्च अधिकारीको टोलीलिई निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमनका लागि बाँकेको नेपालगञ्ज हुँदै अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुग्नुभएका मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदातालाई ढुक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गर्नुभएको हो ।

मन्त्री अर्यालले निर्वाचनमा कुनै पनि किसिमको गैह्रकानुनी कृयाकलाप भएमा वा गराइएमा दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिने बताउनुभयो । साथै धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न र उम्मेदवारको सुरक्षालाई प्राथमिकतामा राख्न सम्बद्द अधिकारीलाई निर्देशन दिनुभयो ।

अनुगमन तथा निरीक्षणको क्रममा मन्त्री अर्याललाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लाको समग्र सुरक्षा अवस्थाबारे प्रस्तुति गर्नुभयो । जिल्लाको वस्तुस्थितिबारे जानकारी लिइसकेपश्चात मन्त्री अर्यालले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आफूले नेतृत्व गरीरहेको जिल्लाको सुरक्षा अवस्था विश्लेषण गरी सुरक्षा योजना प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

स्थलगत अनुगमन तथा निरीक्षण पश्चात् संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री अर्यालले देशव्यापी रूपमा निर्वाचनको माहोल उत्साहजनक देखिएको बताउँदै निर्वाचनको लागि सुरक्षा तयारी सुदृढ बनाइएको जानकारी गराउनुभयो ।

अनुगमनको क्रममा बाँकेको नेपालगन्जमा भएको कार्यक्रममा जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकायका लुम्बिनी प्रदेश ईन्चार्ज, जिल्ला सुरक्षा समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताउनुभयो ।

‘विभेद हटाउँछु भनेर कोही उम्मेदवार आएनन्’

काठमाडौँ। बाग्लुङ नगरपालिका–७ की सीता किसानको घरमा अनेक थरी वाचा गर्दै मत माग्ने धेरै उम्मेदवार आए । हातमा पर्चा थमाउँदै, नमस्कार गर्दै थुप्रै पार्टीका उम्मेदवारमध्ये कसैले रोजगारी दिन्छु भने, कसैले विकासका वाचा पनि गरे । सीताको समस्या भने अर्कै छ, जातीय पहिचनकै कारण उहाँको घरमा भएको दुहुनु भैँसीको दुध बिक्दैन ।

त्यसैले उहाँ आफूले पालेको भैँसीको दुध मात्रै बेच्न पाएँ घरमै बसेर दुई चार रुपैया आम्दानी हुने चाहना राख्नुहुन्छ, तर कसैले पनि सीताको यो चाहना बुझ्ने प्रयास गरेका छैनन् ।

उहाँ भन्नुहुन्छ,“यसो गर्छु उसो गर्छु भन्दै भोट माग्न आउछन्, तर हामीले पालेको भैँसीको दुध बिक्री गर्ने वातावरण बनाउँछौँ भनेर कोही उम्मेदवार आएका छैनन् । गाउँघरमै बसेर दुध मात्रै बिक्री गर्न पाए, रोजगार यसै हुने थियो । अरु ठूलाठूला कुरा गर्छन् विभेद हटाउने र दलितलाई सम्मानपूर्वक स्वरोजगार बनाउन कसैले ध्यान दिँदैनन, यो दुःखद् कुरा छ !”

दलित समुदाय भएकै कारण आफूले पालेको भैसीको दुध नजिकैको सहकारी डेरीले समेत लिन नमानेको बागलुङग गाउपालिकाका दलित समुदायको गुनासो छ । वर्षौदेखिको यो समस्या अझै सुल्झिएको छैन । सीताको एउटा भँैसी जेठमा दुहुनो हुँदैछ । “त्यो भैँसीले दैनिक करिब सातदेखि आठ लिटर दुध दिन्छ, तर दुध बिक्दैन । गाउँमै रहेको सहकारी डेरीले पनि सङ्कलन गर्न मान्दैन । त्यो दुध बिक्री नहुँदा घरमै मोइही पारेरै खेर जाने गरेको छ”, उहाँले भन्नुभयो,“बेलाबखत सहकारीमा दुध सङ्कलन गर्नुपर्ने आवाज उठाउँछौँ, तर सुनुवाइ हुँदैन ।”

बागलुङ नगरपालिका–७ का जनप्रतिनिधि पुतली किसान दलित समुदायले गाउँमै आत्मसम्मानका साथ दुध बिक्री गर्न पाउने अवस्था अझै पनि सिर्जना हुन नसकेको स्वीकार्नुहुन्छ । जतिसुकै राजनीतिक परिवर्तन आए पनि बागलुङ नगरपालिकाका दलित समुदायले रूपान्तरणको आभास गर्न नपाएको उहाँको गुनासो छ । “लामो समयदेखि दलितले दुध बेच्न पाउनुपर्ने आवाज उठाउदै आएका छौँ, तर गणतन्त्र आएको लामो समय भइसक्दा पनि विभेद हटेको छैन”,पुतलीले भन्नुभयो,“सहकारीले पनि विभिन्न बाहाना देखाएर दुध सङ्कलन गर्न मानेको छैन ।”

उहाँका अनुसार नगरपालिकामा करिब पाँच सय दलित परिवारले गाईभैँसी पालन गरेर जीविकोपार्जन गर्नुपर्ने स्थिति छ, तर व्यक्तिले मात्रै होइन यहाँस्थित सहकारीले नै दुध लिन नमानेपछि समस्या भइरहेको छ ।

प्रत्येक निर्वाचनमा मतमाग्न आउने उम्मेदवारले ठूला सपना देखाउँछन् । दलित समुदायलाई सजिलै आत्मनिर्भर बनाउने दुधको बजार सुनिश्चितताबारे भने कसैले चासो नदिएको धेरैको गुनासो छ । “यहाँ कालिमाटी दुग्ध सहकारी संस्थाले दुध सङ्कलन गर्दै आएको छ । दलित समुदायबाट पनि दुध सङ्ककलनका लागि लामो समयदेखि माग राख्दै आएका छौँ, तर सुनुवाई हुँदैन”, वडा सदस्य पुतलीले भन्नुभयो,“यसले दलित समुदायको आयआर्जनको बाटो नै अवरुद्ध छ । त्योभन्दा बढी हाम्रो स्वाभिमानमाथि प्रहार भएको छ । दलहरूले हरेक व्यक्तिलाई सम्झाउन नसके पनि सरकारको नीति नियमअनुसार स्थापित संस्थालाई त मनाउन सक्छन् नि ! तर ध्यान गएको छैन ।”

बागलुङमा जस्तै पाल्पाका दलित समुदायले पनि दुध उत्पादन बिक्री गर्न विभेद खेप्दै आएका छन् । तानसने नगरपालिका–१४ स्थित अर्गलीका दलित समुदाय विभेदकै कारण जीवीकोपार्जन गर्ने अधिकार कार्यान्वयन नभएको गुनासो गर्छन् । स्थानीय श्यामबहादुर कामीले उमेरको अधिकांश समय भारतमा मजदुरी गरेर फर्किएपछि तीन वर्षयता स्वदेशमै आयआर्जनको बाटो खोज्ने मनसायसाथ भैँसीपालन सुरु गरे पनि दुध नबिक्दा समस्या भोगेको गुनासो गर्नुभयो ।

गाँउमा अरु समुदायले पालन गरेको गाईभैँसीको दुध सहजै बिक्री हुने गरे पनि आफूले उत्पादन गरेको दुध भने दलित भएकै कारण बिक्रीवितरणमा समस्या रहेको उहाँको भनाइ छ । कामीले भन्नुभयो, “यो कुरा स्वरोजगार वा आत्मनिर्भर हुने विषयसँग मात्रै जोडिएको छैन, हाम्रो आत्मसम्मानको विषय पनि हो । स्थानीयस्तरमा सहकारीमार्फत सञ्चालन भएका डेरीले हाकाहाकी छुट्टै कन्टेनरमा दुध सङ्कलन गछौँ भनेर टार्छन् । दुध दिने भए छुट्टै भाँडामा राख भन्छन्, यो पनि अर्को प्रकारको विभेद नै त हो नि !”,

सोही गाउँकी गीता बर्मेल यहाँका दलित समुदायले वर्षौदेखि भोग्दै आएको यो विभेद अन्त्यका लागि कसैले ध्यान नदिएको गुनासो गर्नुहुन्छ । “यो समस्या स्थानीय नेताहरूलाई थाहा नभएको पनि होइन, तर समाधानका लागि कसैले पहल गर्दैनन् । निर्वाचनमा पनि यस्ता विषयलाई मुद्दा नबनाउँदा थप निरास बनाएको छ”, उहाँले भन्नुभयो,“हामीमाथि अनेक तरिकाले विभेद गरिन्छ, अनि फेरि भोट माग्न आउछन् नेताहरू । के आधारमा भोट दिने ?”

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दलितमैत्री बनाउने उद्देश्यले यसपटक ‘दलितमैत्री निर्वाचन राष्ट्रिय अभियान’ पनि सञ्चालन गरिएको छ । अभियानका अभियन्ता सुशील विक पाल्पा र बागलुङमा मात्र नभई देशका अधिकांश स्थानमा यस्तै समस्या रहेको बताउनुहुन्छ । “संविधानमा विभेदविरुद्ध गरिएका व्यवस्था कार्यान्वयन भएका छैनन् । यसमा मुख्य भूमिका खेल्नुपर्ने दलहरू नै गम्भीर छैनन्”, उहाँले भन्नुभयो,“त्यसैले यसपटक विभेद गर्ने उम्मेदवार र पार्टीलाई ‘नो भोट’ अभियान नै सञ्चालन गरेका छौँ ।”

अभियन्ता विकले अब सबै राजनीतिक दल तथा सरोकार भएकाहरू जुनसुकै नाममा हुने विभेदविरुद्ध निर्मम हुनुपर्ने बताउनुभयो । “जहाँ, जुनसुकै नाममा विभेद भए पनि त्यहाँका राजनीतिक पार्टी र उम्मेदवार जवाफदेही र संवेदशील हुनुपर्छ । घोषणापत्रमा मात्रै विभेद हटेर हुँदैन, व्यवहारमा नै हटाउन लाग्नुपर्छ ।

सुनकोशी तेस्रो जलविद्युत् आयोजनालाई तिव्रता दिन ‘कोशीपारी’का मतदाताको आग्रह

काभ्रेपलाञ्चोक। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा काभ्रेपलाञ्चोकको कोशीपूर्वका बासिन्दाले बहुप्रतिक्षीत सुनकोशी–तेस्रो जलविद्युत् आयोजनालाई तिव्रता दिन आग्रह गरेका छन् ।

स्थानीयले निर्वाचन प्रचारप्रसारका क्रममा घरदैलोमा आउने उम्मेदवारहरूसँग यथाशक्य छिटो सो जलविद्युत् आयोजना सम्पन्न गर्न आग्रह गरेका हुन् ।

यसैगरी भ्रष्टाचार अन्त्य, सुशासनको प्रत्याभूति, पारदर्शी र जवाफदेही कामकाज, नातावाद–कृपावादको अन्त्य, गुणस्तरीय एवम् सर्वशुलभ शिक्षा र स्वास्थ्य सुविधा, रोजगारी सिर्जना, आधुनिक कृषि प्रणालीसहित बजारको सुविधालगायतका विषयमा प्रतिबद्धता सार्वजनिक गर्न उम्मेदवारसँग माग गरेका छन् । प्रमुख राजनीतिक दलका उम्मेदवारहरूले ‘समृद्ध कोशीपारी’ निर्माणका पक्षमा मतदान गरी जिताउन आग्रह गर्दै स्थानीय जनताको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट काभ्रेपलाञ्चोक क्षेत्र नं १ का उम्मेदवार अमित लामाले कोशीपूर्वस्थितका गाउँवस्तीमा पुग्दा सुनकोशी–तेस्रो जलविद्युत् आयोजनालाई तीव्रता दिन अनुरोध गरेको जानकारी दिनुभयो । स्थानीयको मागबमोजिम सो आयोजनालाई तीव्रता दिन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरी मतदातालाई आश्वस्त तुल्याउन प्रयास गरेको उहाँले स्पष्ट गर्नुभयो । घरदैलो प्रचारप्रसारका क्रममा चौरीदेउराली गाउँपालिकाका विभिन्न वडामा पुग्नुभएका उम्मेदवार लामाले विकास निर्माण, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा कृषिमा आधुनिकीकरणजस्ता विषयमा छलफल गरिरहेको बताउनुभयो ।

यसैगरी धार्मिक पर्यटन विस्तारका लागि पाथिभरा मन्दिर, चौँरीदेउराली मन्दिर, खाँडादेवी मन्दिर र नाग्रेगगर्चेलाई जिल्लाको विकासको केन्द्रकारुपमा अघि बढाइने मार्गचित्र घरदैलोमार्फत मतदातालाई जानकारी गराइएको छ । घरदैलो अभियानका क्रममा लामाले विगतमा यस क्षेत्रमा सडक, खानेपानी, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा उल्लेखनीय परिवर्तन हुन नसकेकाले आफु निर्वाचित भए यस भेगमा आधारभूत विकास निर्माणको बलियो जग बसाल्ने दावी गर्दै आउनुभएको छ ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार गुणराज मोक्तानले बदलिँदो राजनीतिक परिवेशलाई समेत आत्मसात् गरी कोशीपारी क्षेत्रको विकासका पक्षमा आफ्नो पार्टी रहेको स्पष्ट गर्दै भौगोलिक रुपमा दुर्गम कोशीपारी क्षेत्रका जनताको चाहनाबमोजिम काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कृषि, पूर्वाधार निर्माण, राजनीतिक स्थिरता, सवल कूटनीति, दीगो आर्थिक विकास, सबै पेशा, वर्ग, क्षेत्रका लागि मुलुकमा कांग्रेसको नेतृत्व आवश्यक रहेको उहाँले धारणा व्यक्त गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार दिननाथ गौतमले उम्मेदवारी सदैव उपेक्षित क्षेत्रका रुपमा परिचित यस क्षेत्रका जनताको गास, बास, कपास, रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा यथासक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै पार्टीको घोषणा र स्थानीय जनताको मागबमोजिम स्थानीय जनताकाम पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा आफ्नो पार्टीको अतुलनीय योगदान रहेको चर्चा गर्दै एक पटक नेकपालाई मौका दिन अनुरोध गर्नुभयो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मधुकुमार चौलागाईंले पुराना राजनीतिक दलहरूका कारण मुलुक यसकिसिमको अवस्थामा पुगेको धारणा व्यक्त गर्दै अब एक पटक नयाँलाई अवसर दिन मतदातासँग अनुरोध गर्नुभयो ।

काभ्रेको निर्वाचन क्षेन नंं १ मा १५ दल र तीन स्वतन्त्र गरी १८ उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । यस निर्वाचन क्षेत्रमा विशेषगरी कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ मा एक लाख ६१ हजार एक सय मतदाता कायम छन् । काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता छन् ।