`

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा परेर घाइते भएकामध्ये २१ जनाको महारजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका प्रवक्ता, डा. गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये २१ जनाको उपचार भइरहेको जानकारी दिनुभयो । उक्त अस्पतालबाट हाल उपचार गरेर ५५ जना घर फर्किएका छन् ।

चार जना अस्पतालमा आएर अन्य अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता डा. सेढाईंले बताए। उक्त अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये एक घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन् ।

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

खोटाङ। खाेटाङकाे प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्पमा विस्फोटक पदार्थ फेला परेको छ । बेसक्याम्पमा फुटसल ग्राउन्ड निर्माणका लागि स्थानीयले जमिन खन्ने क्रममा आइतबार साँझ विस्फोटक पदार्थ फेला पारेका हुन् ।

स्थानीयले भेटेको विस्फोटक पदार्थलाई सोमबार बिहान मात्रै निष्किृय पार्ने तयारी गरिएको रणभीम गण, मुडे ब्यारेकका गणपति प्रमुख सेनानी पवन कार्कीले जानकारी दिए। द्वन्द्वकालका बेला उक्त स्थानमा सुरक्षा फौजको क्याम्प रहेको थियो । सोही समयमा सुरक्षा फौजले विस्फोटक पदार्थ राखेको हुन सक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिए।

बेवारिसे अवस्थामा भेटिएको विस्फोटक पदार्थ निष्किृय पार्ने समय नभएपछि आसपासका क्षेत्रमा नजान र सावधानी अपनाउन स्थानीयलाई आग्रह गरिएको छ । बेसक्याम्प आसपासमा यसअघि पनि पटक–पटक विस्फोटक पदार्थ फेला पर्ने गरेको थियो ।

सशस्त्र द्वन्द्वको समयमा सो बेसक्याम्पमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त फौज राखिएको थियो । व्यक्तिको जग्गामा राखिएको बेसक्याम्प अन्यत्र सारेपछि स्थानीयले खेतीपातीको काम गर्दा विस्फोटक पदार्थ फेला पार्ने गरेका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा सडक सञ्चालन गर्न मुख्यमन्त्रीको निर्देशन

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका विभिन्न स्थानमा गएको बाढीपहिरो तथा त्यसका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएका छन्।

मुख्यमन्त्री भट्टले बाजुरा जिल्लाका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट भएको क्षति तथा अवस्थाबारे बाजुराका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत जानकारी लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

बैतडीको ढोल्यामोडलगायत विभिन्न क्षेत्रमा गएको बाढीपहिरो र त्यसका कारण सडक अवरुद्ध भएको विषयमा उनले जानकारी लिएका छन्। उनले दुवै जिल्लाका अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका आवश्यक स्रोतसाधन परिचालन निर्देशन दिए। विपद्‌बाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र सतर्कता अपनाउन मुख्यमन्त्री भट्टले सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

मुख्यमन्त्री भट्टले विपद्को समयमा नागरिकको जनधनको सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउदै उद्धार, राहत तथा सडक सञ्चालनका कामलाई प्रभावकारी बनाउन प्रदेश सरकारका सम्बन्धित निकायलाई परिचालन हुन निर्देशन दिए।

इरानको आणविक कार्यक्रममा अन्तर्राष्ट्रिय दबाब थप बढ्दै

अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था आईएईएको ‘बोर्ड अफ गभर्नर्स’समक्ष यस्तो प्रस्ताव राख्ने तयारी गरेका छन्, जसमा इरानलाई आणविक अप्रसारसम्बन्धी आफ्ना कानूनी जिम्मेवारी पालना नगरेको मामिला संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्सम्म पठाउने तयारी गरेका छन् ।

पछिल्लो समय इरानको आणविक कार्यक्रममाथि अन्तर्राष्ट्रिय दबाब अझ बढ्दै गएको देखिन्छ ।

इरानको आणविक कार्यक्रममामिला अत्यन्त गम्भीर छ किनकि सन् २०२५ मा आईएईए बोर्डले करिब २० वर्षपछि पहिलोपटक इरानलाई आफ्ना आणविक अप्रसारसम्बन्धी जिम्मेवारी पालना नगरेको ठह¥याएको थियो।

प्रस्ताव अहिले वार्ताको चरणमा छ र आईएईए बोर्डलाई औपचारिक रूपमा बुझाइएको छैन। यसमा आईएईएका महानिर्देशक राफेल ग्रोसीलाई प्रस्ताव र पहिले पारित प्रस्तावहरू आईएईएका सबै सदस्यहरूसँगै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् र महासभासम्म पु¥याउन भनिएको छ । प्रस्तावमा इरानको आणविक कार्यक्रमबाट उत्पन्न चुनौतीहरूको कूटनीतिक समाधान निकाल्ने समर्थन पनि गरिएको छ ।

सबै पक्षलाई वार्तामा रचनात्मक तरिकाले सहभागी हुन अपील गरिएको छ। प्रस्तावमा परिवर्तन पनि सम्भव छ। औपचारिक रूपमा प्रस्तुत भएपछि अर्को साता भियनामा आईएईए बोर्डको बैठकमा यसउपर मतदान हुनेछ।

आणविक अप्रसार सन्धिअन्तर्गत इरानमाथि आफ्ना सबै आणविक पदार्थ र गतिविधिहरूको जानकारी दिनुपर्ने तथा आईएईएका निरीक्षकहरूलाई आणविक सामग्री शान्तिपूर्ण कामबाहेक अन्यत्र प्रयोग भइरहेको छैन भन्ने सुनिश्चित गर्न जाँच गर्न दिनुपर्ने कानूनी जिम्मेवारी छ ।

सन् २०२५ मा अमेरिका र इजरायलले इरानका आणविक स्थलमाथि आक्रमण गरेपछि इरानले प्रभावित आणविक स्थलहरूमा आईएईए निरीक्षकहरूलाई प्रवेश दिएको छैन। एजेन्सीले छ महिनाभन्दा बढी समयदेखि हतियार बनाउने क्षमता नजिक पुगिसकेको युरेनियम भण्डारको स्थिति पनि प्रमाणित गर्न सकेको छैन। आईएईएले हालै चेतावनी दिएको छ कि निरीक्षकहरूलाई प्रवेश नदिनु र आणविक सामग्रीको पुष्टि नहुनुले प्रसारको जोखिम सिर्जना गर्छ, जसमा तुरुन्त ध्यान दिन आवश्यक छ।

आईएईएका अनुसार इरानसँग ४४०.९ किलोग्राम युरेनियमको भण्डार छ, जसलाई ६० प्रतिशतसम्म शुद्धतामा समृद्ध पारिएको छ। आणविक हतियार बनाउन सामान्यतया करिब ९० प्रतिशत शुद्धता भएको युरेनियम चाहिन्छ । अर्थात् इरानको हालको भण्डार प्राविधिक रूपमा त्यो स्तरबाट धेरै टाढा छैन।

आईएईए प्रमुख राफेल ग्रोसीले गत वर्ष भन्नुभएको थियो, “यदि इरानले आफ्नो कार्यक्रमलाई हतियार बनाउने दिशामा लैजाने निर्णय ग¥यो भने यो परिमाणले उसलाई सैद्धान्तिक रूपमा १० आणविक बम बनाउन सक्षम बनाउन सक्छ ।

उहाँले भन्नुभएको थियो, “यसको मतलब इरानसँग आणविक हतियार छ भन्ने होइन।”

भोटेकोशी बाढी : शव पहिचानका लागि बाँकेमा १६ जनाको डीएनए नमूना सङ्कलन

बाँके । रसुवाको भोटेकोशी बाढीपश्चात् हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँके जिल्लाबाट १६ आफन्तको ‘डीएनए’ नमूना सङ्कलन गरिएको छ ।

रसुवा, भोटेकोशी तथा त्रिशूली कोरिडोरमा आएको विनाशकारी बाढीका कारण बाँके जिल्लाका धेरै व्यक्ति बेपत्ता भएका र फेला परेका कतिपय शवहरू क्षतविक्षत भई पहिचान गर्न कठिन भएकाले बाँकेबाट १६ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।

उनका अनुसार, नेपालगञ्जमा सम्पर्कमा आएका १६ जना आफन्तको भेरी अस्पतालमा डिएनए नमूना सङ्कलन गरिएको हो । अन्य आफन्तको काठमाडौँ र चितवनस्थित अस्पतालमा डिएनए नमूना सङ्कलन गरिएको छ । डिएनए परीक्षणका लागि बेपत्ता भएका व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमूना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।

शव पहिचानका लागि डिएनए परीक्षणका लागि नमूना पठाएपछि बाढीपछि बेपत्ता दाजु–भाउजू र छोराको शव पहिचान हुनेमा आफू आशावादी भएको नेपालगञ्ज–२० निवासी अनलाल रोकायले बताए । भोटेकोशीमा आएको बाढीपश्चात् उनको १९ वर्षीय एक्लो छोरा दीपक, दाजु ५३ वर्षीय शेरसिंह र भाउजू ५६ वर्षीय विष्णुमतीलाई एकैसाथ बेपत्ता भएका छन् ।

रसुवाको भोटेकोशी बाढीपश्चात् बाँके जिल्लाका २३ व्यक्ति हालसम्म पनि बेपत्ता रहेका छन् । हालसम्म तीनजनाको शव सनाखत भई मृत्यु घोषणा भएको छ भने ३२ जनाको सकुशल उद्धार भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

उनका अनुसार, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २४ लाख ३७ हजार २७४ सहयोग जम्मा भएको छ । विभिन्न २१ सङ्घसंस्था, विद्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिले स्वस्फूर्त रूपमा उक्त रकम सहयोग गरेका हुन् ।

बाँकेबाट सबैभन्दा ठूलो सहयोग नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले रु ६ लाख एक हजार, नेपाल ज्वेलर्सबाट रु दुई लाख ११ हजार र विभिन्न मस्जिदबाट सङ्कलित रकम उल्लेख्य रहेको छ । जिल्ला प्रशासनमा उपलब्ध सहयोगबाहेक पनि विभिन्न सङ्घसंस्था र नागरिक तहबाट स्वस्फूर्त रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उल्लेख्य राहत रकम जम्मा भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

तादीखोलामा एक्रोब्रिज जडान तीब्र

नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नगरपालिका–८ जिलिङ जोड्ने गरेर देवीघाटस्थित तादी खोलामा नेपाली सेनामार्फत एक्रोब्रिज जडानलाई तीब्र पारिएको छ ।

भोटेकोशी नदीको बाढीको बहाव तादीमा पसेर उक्त स्थानका दुई पक्की पुलमा क्षति गराएसँगै नुवाकोटको बेलकोटगढी हुँदै धादिङसँग टुटेको यातायात सम्पर्क जोड्न पुल निर्माण थालिएको हो ।

नेपाली सेनाको श्री १४ नं वाहिनी अड्डाअन्तर्गत रहेको ‘ब्रिजिङ युनिट’ मार्फत निर्माण भइरहेको पुल पाँच दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको पुल निर्माणको नेतृत्व गरिरहनुभएका सेनानी चिरिञ्जीवी चौलागाईंले जानकारी दिनुभयो ।

उहाँको अनुसार भोटेकोशी हँुदै आएको बाढीले पु¥याएको क्षतिपश्चात् त्रिशूली नदी वारपार गर्न नुवाकोट र रसुवाका सबै पुल बगाएसँगै प्राविधिक अध्ययनपश्चात् पहिलो पुल देवीघाटमा जोड्न थालिएको हो ।

नुवाकोटको पाँच स्थानमा पुल राख्न अध्ययन भएकामा देवीघाट जडानलगत्तै वेत्रावतीमा एक्रोब्रिज पुल जडान गरेर नुवाकोट र रसुवासँगको यातायात सम्पर्क सञ्चालन गरिने योजना रहेको छ ।

“पुल निर्माणका लागि पुरानै जिप प्रयोग गर्न सक्ने अवस्था र धादिङको गल्छी हुँदै नुवाकोटको देवीघाटबाट सदरमुकाम विदुरसँग आउजाउ सञ्चालन गराउन पहिलो प्राथमिकतामा देवीघाटमा पुल निर्माण थालिएको छ,” उहाँले भन्नुभयो, “शनिबारदेखि निर्माण सुरु भएको पुल पाँच दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित ५५ जनाको टोली चौबिसै घण्टा कार्यक्षेत्रमा खटिएको छ ।”

नेपाली सेनासँग धादिङको गजुरीस्थित भैरव गणमा तीन थान मौजुदा राखिएको पुल नुवाकोट र रसुवाको बाढी प्रभावित क्षेत्रमा आउजाउ सञ्चालन गराउन प्रयोग गरिने सेनाले जनाएको छ । सेनासँग ७५ मिटर दूरीका तीन थान पुल मौजुदा राखिएको थियो ।

देवीघाटमा निर्माण थालिएको पुल ५७.५ मिटर लम्बाइ र ५.५ मि चौडाइको छ । बेलीब्रिजभन्दा एक्रोब्रिज गुणस्तरीय र धेरै भारवहन क्षमताको रहने सेनानी चौलागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले निर्माण थालिएको पुलले ७० टन भारवहन क्षमता बहन गर्न सक्नेछ ।

“बेलीब्रिजको प्रविधिलाई परिमार्जन गरेर बनाइएको आधुनिक अमेरिकी रूप भएकाले एक्रोब्रिज थप तीन गुणा बढी बलियो र टिकाउ हुनेछ,” उहाँले भन्नुभयो, “उच्च गुणस्तरको ग्याल्भानाइज्ड अमेरिकी स्टिल र बलिया स्टिलका डेक प्रयोग गरिएको हँुदा ठूला भारवहन क्षमतासहित चौडा फराकिलो बनाउन सकिने छ ।

पुल निर्माणका लागि आवश्यक सामग्री गजुरीबाट काठमाडौँ हुँदै नुवाकोट ल्याउनुपर्ने बाध्यता भएकाले ढुवानीमा समस्या देखिएको छ । कार्यस्थलमा निर्माण सामग्री आउन र नियमित काम गर्न कुनै अवरोध नभए पाँच दिनभित्र काम सम्पन्न गर्ने लक्ष्य छ ।

त्यसका लागि नेपाली सेनाको श्री १४ नं वाहिनी अड्डाअन्तर्गत रहेको ब्रिजिङ युनिटबाट सेनानीको नेतृत्वमा ५५ जना प्राविधिक खटिएका छन् ।

सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन खेती

कपिलवस्तु । सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गरेका छन् ।

करिब डेढ वर्षअघि चार कट्ठा जमिनमा सुरु गरिएको खेतीबाट उनले हालसम्म तीन पटक फल उत्पादन गरिसके । रुपन्देहीको रानीबगियाबाट ६२८ बिरुवा खरिद गरी १५७ पोलमा चार–चार वटा बिरुवा रोपेर खेती सुरु गरिएको बेलवासेले बताए ।

उनले प्रतिबिरुवा रु १६० का दरले खरिद गरेका हुन् । बिरुवा अझै पूर्ण रूपमा परिपक्व नभएकाले उत्पादन बढ्न केही समय लाग्ने उनको भनाइ छ । “अहिलेसम्म तीन पटक फल टिपेका छौँ । चौथो पटक फल टिप्ने तयारीमा छौँ । आगामी वर्षदेखि उत्पादन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरेको छु,” उनले भने ।

ड्रागन फ्रुटको बजार राम्रो भएकाले बिक्रीका लागि समस्या नरहेको बेलवासेले बताए। उनका अनुसार अहिले प्रतिकिलोग्राम रु ४०० सम्ममा बिक्री भइरहेको छ । फल उत्पादन भएपछि ग्राहकहरू घरमै आएर खरिद गर्ने गरेको उनले बताए ।

युट्युबबाट खेतीसम्बन्धी जानकारी लिएर नयाँ बालीतर्फ आकर्षित भएको बताउँदै बेलवासेले सिँचाइको अभावलाई खेतीको मुख्य चुनौतीका रूपमा लिएका छन् । रोग तथा कीरा व्यवस्थापनका लागि थप प्राविधिक ज्ञान आवश्यक रहेको उनको भनाइ छ ।

चितवनको हावापानी ड्रागन फ्रुट खेतीका लागि बढी अनुकूल मानिए पनि कपिलवस्तुमा उचित व्यवस्थापन गर्न सके राम्रो उत्पादन लिन सकिने उनले बताए । जिल्लामा अत्यधिक गर्मी हुने भएकाले भने खेती व्यवस्थापनमा केही कठिनाइ हुने गरेको उनको अनुभव छ ।

कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीले जिल्लामा ड्रागन फ्रुट खेतीको क्षेत्रफलसम्बन्धी यकिन अभिलेख नरहे पनि साना तथा छरिएर खेती सुरु हुन थालेको बताए । व्यावसायिक सम्भावना, राम्रो बजार र आकर्षक मूल्यका कारण किसानमा ड्रागन फ्रुट खेतीप्रति आकर्षण बढ्दै गएको उनले बताए ।

परम्परागत बालीसँगै नयाँ तथा बढी आम्दानी दिन सक्ने फलफूल खेतीतर्फ किसान आकर्षित हुन थालेसँगै कपिलवस्तुमा ड्रागन फ्रुट खेतीले पनि विस्तारको सम्भावना देखाएको छ ।

चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको डीएनए नमूना सङ्कलन

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, ‘डीएनए’ नमूना सङ्कलन र पहिचान गर्ने काम भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा ३६२ शव फेला परेका छन् । तीमध्ये ३३३ शवको व्यवस्थापन गरिसकिएको छ भने १४ वटा शवको सनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ ।

शवहरूको वैज्ञानिक पहिचानका लागि यही भदौ १६ गतेदेखि डीएनए नमूना सङ्कलन सुरु गरिएको थियो । यादवका अनुसार भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका आफन्त ६८ जनाको डिएनए नमूना सङ्कलन गरिएको छ ।

उनका अनुसार भदौ १६ गते सात पुरुषको नमूना सङ्कलन गरिएको थियो । भदौ १७ गते २६ जनाको नमूना सङ्कलन गरिएकोमा दुई महिला, २२ पुरुष र दुई पुरुष भारतीय नागरिक रहेका छन् । भदौ १८ गते २२ जनाको नमूना सङ्कलन गरिएकामा चार महिला, १४ पुरुष, एक बालक र तीन भारतीय पुरुष नागरिक छन् ।

यस्तै, भदौ १९ गते सात जनाको नमूना सङ्कलन गरिएकामा एक महिला, चार पुरुष, एक बालक र एक भारतीय पुरुष नागरिक रहेका छन् । भदौ २० गते छ जनाको नमूना सङ्कलन गरिएकामा दुई महिला, एक पुरुष र तीन बालक रहेका छन् ।

प्रहरी नायब उपरीक्षक यादवका अनुसार हाल पनि खोजी, शवहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण, हराइरहेका व्यक्तिको विवरण सङ्कलन र अन्य समन्वयात्मक प्रक्रिया निरन्तर छ ।

आज पनि देशभरका यी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार धादिङको पृथ्वी राजमार्गका कृष्णभिर र चालिसेसहित रसुवा, रोल्पा, मुगु र कालीकोटका विभिन्न सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्।

काठमाडौँ, ललितपुर तथा धादिङका केही सडक एकतर्फी सञ्चालनमा रहेका छन् भने बीपी राजमार्ग र नुवाकोटको टोखा–छहरे सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

नेपाल प्रहरीले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न तथा वर्षाका समयमा पहिरो र बाढीको जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

रसुवाको भोटेकोशी बाढी : हालसम्म १ हजार ३४१ शव फेला

काठमाडौं ।भोटेकोशी नदीमा आएको बाढी कारण हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीले आज बिहान ७ः४० बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ४४ जना अझै सम्पर्कविहीन छन् । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै, बाढीमा परेका ९ हजार १५१ जना घाइतेहरुको उद्धार गरिएको छ । प्रहरीले हालसम्म १ हजार ३७ जनाको शव व्यवस्थान गरेको जनाएको छ ।

एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो

काठमाडौँ। मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत साउदी अरेबियाविरुद्ध नेपालले ‘टस’ हारेर ‘फिल्डिङ’को निम्तो पाएको छ ।

नेपाल र साउदी अरेबियाबीचको प्रतिस्पर्धा क्लालालम्पुरस्थित वायुमास ओभलको मैदानमा भइरहेको हो । नेपाल आज पनि आफ्नो जित यात्रा जारी राख्न चाहन्छ ।

नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः बहराइनलाई सात विकेट र आयोजक मलेसियालाई छ विकेटले हराएको थियो ।

नेपाली टोलीसामु आज जित निकालेर एक खेलअगावै सेमिफाइनलमा स्थान बनाउने मौका छ । समूह ‘ए’ मा रहेको नेपाल ताजा अवस्थामा दुई खेलबाट चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपालविरुद्ध खेल्ने साउदी अरेबिया भने तीन खेलबाट दुई अङ्कसहित तालिकाको पुछारमा छ ।

दुई टोलीबीचको इतिहास

हालसम्म नेपाल र साउदी अरेबियाबीच दुई एकदिवसीय खेलमा भेट भएको छ । जसमा नेपालले एक खेल जितेको छ । यी दुई टोलीबीचको एउटा खेल भने वर्षाका कारण रद्द भएको विगत छ ।

नेपाल र साउदीले पहिलोपटक सन् २०१२ मा एकदिवसीय प्रतियोगितामा एकअर्काको सामना गरेका थिए । युएईमा भएको त्यस खेलमा नेपालले साउदी अरेबियालाई नौ विकेटले हराएको थियो ।

सन् २०२३ को एसिसी प्रिमियर कपमा भने नेपाल र साउदीबीचको खेल वर्षाका कारण रद्द भएको थियो ।

नेपालले आजको खेलमा प्लेइङ–११ मा एक खेलाडी मात्र परिवर्तन गरेको छ । नेपालले साउदीविरुद्ध तीव्र गतिका बलर हेमन्त धामीलाई विश्राम दिएर स्पिनर शेर मल्ललाई मौका दिएको हो ।

आजको खेलमा नेपालको प्लेइङ–११ मा आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, इशान पाण्डे, रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, गुलशनकुमार झा, करण केसी, सन्दीप लामिछाने (कप्तान), ललितनारायण राजवंशी र शेर मल्ल रहेका छन् ।

पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा । बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । गएराति लगातार परेको वर्षाका कारण मार्तडीस्थित बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायत स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

यसैगरी, बडीमालिका नगरपालिका–८ को राप्का र वडा नं ६ को जडाङ्गालगायत स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए ।

सडक अवरुद्ध भएको जानकारी प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ ।

प्रहरी टोलीले बडीमालिका नगरपालिका र सडक विभागको जेसिबीको प्रयोग गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने पहल गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लगातार वर्षा भइरहेकाले सडकका अन्य स्थानमा पनि पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण सडक अवरुद्ध भएपछि साँफे–मार्तडी सडकखण्डमा आवतजावत प्रभावित भएको छ भने गन्तव्य स्थानतर्फ जाने सवारीसाधनहरु बाटोमा नै रोकिएका छन् ।

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौँ । प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ ।

चलचित्रको कथासँग प्रत्यक्ष जोडिएको ‘पेन्सन पट्टा’ लाई भारतीय भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई पेन्सन वितरण गर्ने दूतावासको मिलिटरी पेन्सन शाखाले विशेष चासोका साथ हेरेको जनाइएको छ ।

‘पेन्सन पट्टा’ को ट्रेलर हेरेपछि यसको विषयवस्तुप्रति चासो व्यक्त गर्दै दूतावासको सो शाखाले चलचित्र निर्माण टोलीलाई भेटघाटका लागि निम्तो दिएको थियो । तर रसुवागढीको विनाशकारी बाढीका कारण निर्माण पक्षले चलचित्रसम्बन्धी भेटघाट तथा प्रचारप्रसार केही ढिला गरेको हो ।

चलचित्रका निर्देशक तथा अभिनेता माओत्से गुरुङले भेटका क्रममा भारतीय दूतावासका कर्मचारीले देखाएको आत्मीयताको प्रशंसा गरे ।

दूतावासका मेजर राहुल झाका अनुसार नेपालमा भारतीय सेना तथा असैनिक (सिभिल) सेवाका गरी एक लाख १९ हजार ५०४ जना पेन्सनभोगी छन् । भारत सरकारले नेपालमा रहेका पेन्सनभोगीलाई वार्षिक करिब सात हजार एक सय करोड नेपाली रुपैयाँ पेन्सनबापत पठाउने गरेको छ ।

चलचित्र ‘पेन्सन पट्टा’ यही भदौ २६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ ।

भोटेकोशी विपद्को असर : पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता

कास्की । यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि त्यसको नकारात्मक असर देशको पर्यटकीय राजधानी पोखराको पर्यटन र समग्र अर्थतन्त्रमा समेत पर्न थालेको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनको शनिबार उद्घाटन कार्यक्रममा सहभागी उद्योगी तथा पर्यटन व्यवसायीले विपद् प्रभावित क्षेत्रबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्य सुरक्षित र सञ्चालनमा रहेको सन्देश अन्तरराष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याए । विपद्का कारण पूरै देश नै असुरक्षित बनेकोजस्तो नकारात्मक सन्देश बाहिर गएको उल्लेख गर्दै उनहरूले पोखरा सुरक्षित रहेको र भ्रमणका लागि उपयुक्त गन्तव्य भएको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले प्राकृतिक विपत्तिको असर पोखराको पर्यटन क्षेत्रमा गम्भीर रूपमा पर्न थालेको बताए । विपद्सम्बन्धी नकारात्मक सन्देशका कारण पर्यटक आगमन प्रभावित हुनसक्ने भन्दै उनले पोखराको अर्थतन्त्रमा पर्न सक्ने असरबारे समयमै चिन्तन गर्नुपर्नेमा जोड दिए ।

“प्राकृतिक विपत्तिपछि अहिले पर्यटक आउन सकेका छैनन् । लामो समय पर्यटक आएनन् भने पोखराको अर्थतन्त्रमा कस्तो असर पर्ला ? यसबारे चिन्तनमनन गर्दै समाधानका लागि अहिल्यै लाग्नुपर्छ । ढिला गर्ने छुट हामीलाई छैन”, उनले भने ।

नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले विपद् प्रभावित क्षेत्रबाहेक नेपालका अधिकांश पर्यटकीय गन्तव्य खुला र सुरक्षित रहेको सन्देश अन्तरराष्ट्रिय क्षेत्रमा प्रभावकारी रूपमा प्रवाह गर्नुपर्ने बताए । “विपद्को प्रत्यक्ष असर नपरेका क्षेत्रमा समेत पर्यटन गतिविधि घट्दा असर परेको छ । पोखरासहित नेपालको पर्यटन क्षेत्रको विकास तथा अन्तरराष्ट्रिय प्रचारप्रसारमा सक्रिय भूमिका खेल्नुपर्ने खाँचो छ”, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय समुदायसँग समेत सहयोग मागिएको बताए । उनले महासङ्घले विश्वका ७० वटा उद्योग तथा वाणिज्य सङ्घलाई पत्र पठाएर नेपालको विपद् पुनःस्थापनामा सहयोग गर्न आग्रह गरेको जानकारी दिए ।

“विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि राज्यलाई ठूलो आर्थिक स्रोत आवश्यक छ । त्यसका लागि हामीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा सहयोगका लागि आह्वान गरेका छौँ । विदेशमा रहेका उद्योग तथा वाणिज्य सङ्घसँग समेत सहयोगका लागि पहल भइरहेको छ”, अध्यक्ष श्रेष्ठले भने, “देशमा ठूलो विपत्ति परेको छ । यस्तो अवस्थामा सबै व्यवसायी तथा निजी क्षेत्रले मानवीय भावनाका साथ खुलेर सहयोग गर्नुपर्छ ।”

अध्यक्ष श्रेष्ठले नेपालमा विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै दीर्घकालीन रूपमा विपद् न्यूनीकरणका लागि पूर्वतयारी र योजनाबद्ध विकासमा जोड दिनुपर्ने बताए। नदी तथा खोला किनारमा भइरहेको अव्यवस्थित बस्ती विस्तार, हिमताल र अन्य प्राकृतिक जोखिमलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो । निजी क्षेत्र अहिले चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उहाँले व्यवसायीलाई निरुत्साहित गर्नेभन्दा लगानी र उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउन सरकारसँग आग्रह गरे ।

लक्ष्मी विद्या पदकबाट तीन विद्यार्थी सम्मानित

कार्यक्रमका अवसरमा लक्ष्मी ग्रुप प्रालिद्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य सङ्घद्धारा सञ्चालित ‘लक्ष्मी विद्या पदक–२०८२’ बाट व्यवस्थापन सङ्कायअन्तर्गत कास्की जिल्लामा उत्कृष्ट नतिजा हासिल गर्ने तीन विद्यार्थी सम्मानित भएका छन् ।

स्नातकोत्तर तह (एमबिएस) मा जनप्रिय बहुमुखी क्याम्पसकी ज्योति तामाङ, स्नातक तह (बिबिए)तर्फ पोखरा कलेज अफ म्यानेजमेन्टकी समीक्षा तिमिल्सिना तथा बिबिएसतर्फ जनप्रिय बहुमुखी क्याम्पसका सन्तोष थापा सम्मानित भए। उनीहरूलाई माला, दोसल्ला, ताम्रपत्र, विद्यापदक तथा नगद पुरस्कार प्रदान गरिएको थियो । हालसम्म लक्ष्मी विद्या पदकबाट ७६ विद्यार्थी सम्मानित भइसकेका छन् । महाधिवेशनअन्तर्गत आज सङ्घको नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यतालिका छ । नेतृत्वका लागि उत्तममान बुद्धाचार्य, शोभा गौतम, बलराम आचार्य र अर्जुन पोखरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सुखद खबरको पर्खाइमा

लमजुङ। बिहानसम्म परिवारसँग फोनमा कुराकानी भइरहेको थियो । घरपरिवारले पनि उहाँहरू काममै हुनुहुन्छ भन्ने ठानेको थियो ।

तर यही जेठ १० गते बिहान करिब ८ः३० बजेपछि आएको एउटा खबरले बेँसीसहर नगरपालिका–११ का घर्ती परिवारलाई गहिरो पीडामा धकेल्यो, ‘रसुवामा बाढी आएको छ, आयोजनामा कार्यरत राधिका र झपटबहादुरको सम्पर्क टुटेको छ ।”

त्रिचालीस वर्षीया राधिका घर्ती र ४५ वर्षीय झपटबहादुर घर्ती श्रीमान्–श्रीमती हुनुहुन्छ । उहाँहरू रसुवास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा करिब १०–१२ वर्षदेखि कार्यरत हुनुहुन्थ्यो । राधिका खाना पकाउने काम गर्नुहुन्थ्यो भने झपटबहादुर सुरुङसम्बन्धी काममा खटिनुहुन्थ्यो । बाढी आएको दिन बिहानसम्म सबै सामान्य नै थियो । परिवारसँग करिब ८ः३० बजेसम्म सम्पर्क भएको थियो । त्यसपछि भने फोन लागेन । झपटबहादुरको मोबाइलको ‘लोकेसन’ पनि बिहान करिब ८ः५६ बजेसम्म देखिएको थियो । त्यसपछि लोकेसनसमेत देखिन छाड्यो ।

“उहाँहरू कहाँ हुनुहुन्छ भन्ने नै थाहा हुन सकेन । सुरुङ वा पावरहाउस आसपास हुनसक्ने हाम्रो अनुमान छ”, भतिज विशाल घर्तीले भन्नुभयो । बाढीपछि नेपाली सेनाले सुरुङमा एक पटक खोजी गरेको थियो । तर सुरुङभित्रको कठिन अवस्थाका कारण पूर्ण रूपमा खोजी गर्न नसकिएको घर्तीको परिवारले जनाएको छ । त्यसपछि परिवारका लागि हरेक दिन प्रतीक्षाको दिन बनेको छ । घर्ती परिवार कतैबाट फोन आउँछ कि, खोजीका क्रममा कुनै खबर भेटिन्छ कि भन्ने आशामा ।

राधिका र झपटबहादुरका दुई छोरा र एक छोरी हुनुहुन्छ । जेठो छोरा आमाबुबाको खोजीमा संलग्न हुनुहुन्छ । कान्छो छोरा जापानमा हुनुहुन्छ भने छोरीको विवाह भइसकेको छ । परिवारका सदस्यहरूका लागि भने अहिले सबैभन्दा ठूलो प्रश्न एउटै छ – उहाँहरू कहाँ हुनुहुन्छ ? “अब त न सासको खबर छ, न लासको । जिउँदै भेटिने आस पनि लगभग मरिसकेको छ । तर पनि उहाँहरूको अवस्था थाहा पाउन र कम्तीमा शवसम्म भए पनि फेला पार्न पाए हुन्थ्यो”, विशालले भन्नुभयो ।

आफन्तका अनुसार राधिका र झपटबहादुर लामो समयदेखि आयोजनामै काम गर्दै आउनुभएको थियो । रोजगारीकै क्रममा रसुवा पुग्नुभएका उहाँहरू वर्षौँदेखि त्यहीँ कार्यरत हुनुहुन्थ्यो । घरपरिवारबाट टाढा रहेर काम गर्दै आउनुभएका उहाँहरू एकैपटक सम्पर्कविहीन भएपछि परिवारमा बज्रपात भएको छ ।

रसुवामा आएको बाढीपछि राधिका र झपटबहादुरमात्र होइन, लमजुङका अन्य व्यक्तिसमेत सम्पर्कविहीन छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार रसुवाको बाढीपछि जिल्लाका १० जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार सम्पर्कविहीन व्यक्तिको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी लिने काम भइरहेको छ ।

बाढी आएको दिनदेखि नै ती परिवारको ध्यान फोनतिर छ । अपरिचित नम्बरबाट फोन आउँदा पनि हराएका आफन्तको खबर पो आयो कि भन्ने आशा जाग्छ । तर फोन अरू कसैको हुन्छ । फेरि उस्तै निराशा । समय बित्दै जाँदा आफन्त जीवितै भेटिने आशा कमजोर बन्दै गएको छ । तर आशा पूर्ण रूपमा मरेको छैन । त्यसैले परिवारहरू अझै खोजी टोलीबाट आउने एउटा खबरको प्रतीक्षामा छन् । राधिका र झपटबहादुरको परिवारका लागि पनि अहिले त्यही प्रतीक्षा बाँकी छ– आफन्त जीवितै भेटिन्छन् कि भन्ने अन्तिम आशा, नभए कम्तीमा उनीहरूको अवस्थाबारे सत्य जानकारी ।

रसुवाको बाढीले भौतिक क्षतिमात्र गरेको छैन, लमजुङका यी परिवारलाई आफ्ना आफन्तको अवस्थाबारे अनिश्चित प्रतीक्षामा समेत छाडेको छ । दिनहरू बितिरहेका छन्, आशा कमजोर हुँदै गएको छ, तर परिवारका सदस्यहरू अझै आफ्ना प्रियजनको खबर आउने आशाको त्यान्द्रो समातेर बसिरहेका छन् ।

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेको छ।

देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखी मध्यम वर्षा भैरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

मधेश प्रदेश र कोशी प्रदेशको तराई भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभाग तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८७ रुपैयाँ १२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५० पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १८ पैसा र बिक्रीदर ४० रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १६ पैसा र बिक्रीदर ११ रुपैयाँ २१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५ रुपैयाँ ८५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४५ पैसा र बिक्रीदर २३ रुपैयाँ ५४ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २४ पैसा र बिक्रीदर १९ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ १९ पैसा बिक्रीदर ४०१ रुपैयाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४५ पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्री शाहको भरोसा : ‘अलपत्र छोड्दैनौं’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित ज्येष्ठ नागरिकलाई सरकारले कुनै हालतमा अलपत्र नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा बाढी आएको ११औँ दिनमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार भएपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत ज्येष्ठ नागरिकप्रति भावुक सन्देश दिएका हुन्। श्रेष्ठलाई सशस्त्र प्रहरीको उद्धार टोलीले बेत्रावतीस्थित एक घरबाट उद्धार गरेको थियो। उद्धारपछि उनलाई हेलिकोप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैथिली ब्यारेक लगेर प्रारम्भिक उपचार गरिएको थियो।

प्रधानमन्त्री शाहले चन्द्रिका श्रेष्ठको उद्धारको खबरले देशमा आशा जगाएको उल्लेख गर्दै खोज तथा उद्धार कार्य अझै निरन्तर रहेको बताएका छन्।

उनका अनुसार बाढीबाट प्रभावित ज्येष्ठ नागरिकलाई अस्थायी शिविर तथा सुरक्षित आश्रयस्थलमा राखेर राहत, स्वास्थ्य सेवा र आवश्यक सुविधाको व्यवस्था गरिएको छ। नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवन बाढीबाट क्षतिग्रस्त भएपछि त्यहाँ रहेका ७ जना ज्येष्ठ नागरिकलाई काठमाडौंको म्हैपीस्थित नेपाल सिनियर केयरमा र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको प्रधानमन्त्री शाहले बताएका छन्

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन् –

आदरणीय आमाबुबाहरु

बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर—१० बेत्रावतीमा आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छ।

यो खबर, खोज तथा उद्धारमा हामी अझैँ डटेर लागिरहेका छौँ भन्ने सन्देश पनि हो।

यसअघि पनि हामीले चन्द्रिका आमाको उमेर समूहका र त्योभन्दा माथिल्लो उमेरका धेरै आमाबुबाहरूलाई प्रभावित क्षेत्रबाट उद्धार गरिसकेका छौं।
कतिपय आमाबुबाले आफ्नो ज्यानको अलिकति पनि परवाह नगरी, काँपिरहेका हातहरूले नातिनातिनाहरूलाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनुभयो। लौरो नटेकी दुई पाइला सर्न नसक्ने गोडाहरूमा त्यो क्षणमा आफ्ना सन्तान बचाउने अनौठो हिम्मत आयो। बाढीका कारण वृद्धआश्रममा बसिरहनुभएका आमाबुबाहरु समेत भाग्नुपर्यो।

बाढी आउनु अघिसम्म हजुरहरू आफ्नै घरको आँगनमा बसेर नदी किनारामा रहेको खेतबारीमा छोराछोरीले काम गरिरहेको हेरिरहनुभएको थियो होला। बेलाबेला आफैले पनि उहाँहरुलाई सघाउनु हुन्थ्यो होला। नातिनातिनाहरू हात हल्लाउँदै स्कूल गएको हेरिबस्नु हुन्थ्यो होला। उनीहरु आउने पर्खाइमा बाटोमा नजर पनि लगाइरहनु हुन्थ्यो होला। चौतारीमा बसेर छिमेकीहरूसँग वर्षौँको दुःख–सुख, अनुभव र ज्ञान बाँड्नुहुन्थ्यो होला।

अहिले न ती घर आँगन छन्, न त चौतारीमा बसेर दुःख–सुख साट्ने अवस्था नै छ।

त्यो बिहान भोटेकोशीको विनाशकारी बाढीले एकैछिनमा धेरै कुरा खोसेर लग्यो। हजुरहरुमध्ये कसैले आफ्नै आँखा अगाडि छोराछोरी र काँधमा हुर्केका नातिनातिना बगेको हेर्न विवश हुनुपर्यो होला! कसैले जीवनसाथी गुमाएर पूर्णतः एक्लै हुनुपर्यो होला! हजुरहरुले जिन्दगीभर पसिना बगाएर जोरजाम गरेको घर, खेतबारी र सन्तान सरह माया गरेर हुर्काएका पशुपंक्षी क्षणभरमै बाढीमा बगेर गए।

आफ्नै घरव्यवहार सम्हालिरहनुभएका हजुरहरूलाई अहिले सरकारले व्यवस्था गरेको अस्थायी शिविरहरूमा बस्नु परेको छ। होल्डिङ सेन्टरमा राहत, स्वास्थ्य सेवा र जीवनयापनका लागि आवश्यक सुविधाहरू पुर्‍याइएको छ। नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, विदुर भवन बाढीबाट क्षतिग्रस्त भएको थियो। त्यहाँ रहनुभएकामध्ये ७ जना आमाबुबालाई नेपाल सिनियर केयर म्हैपी काठमाडौंमा, १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिएका छौं। उहाँहरुलाई हिँडडुलका लागि आवश्यक पर्ने ह्वीलचियर तथा वाकर उपलब्ध गराएका छौं। यो उमेरमा परेको मानसिक आघात र शारीरिक कष्ट कम गर्न विशेष टोलीमार्फत निरन्तर स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइरहेका छौं।

अस्थायी बसाइलाई सकेसम्म छोटो बनाइ हजुरहरुलाई हरसम्भव छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउनेछौं। हजुरहरूको छातीमा परेको त्यो असीम पीडा, रित्तोपन र आघातलाई हामीले हदृयदेखि महसुस गरेका छौं। हजुरहरुले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।

आदरणीय आमाबुबाहरू,

हजुरहरूले जीवनमा अनेक घामपानी, खडेरी र आँधीबेहरी पार गर्नुभएको छ। भोटेकोशीको बाढीले हजुरहरुकोे ओत र जायजेथा बगाएको छ, तर हजुरहरुको स्वाभिमान, अनुभव र मार्गदर्शनको अपरिहार्यतालाई बगाउन सकेको छैन।

हजुरहरू यो देशका जग र हाम्रा मार्गदर्शक हुनुहुन्छ। कृपया मन दह्रो बनाइदिनुहोस् र हामीलाई परिवारकै सदस्य मानेर सल्लाह र मार्गनिर्देश गर्नुहोस्।
सँगसँगै अर्को दुःखको पाटो पनि छ। बाढीका बेला हामीले धेरै आमाबुबालाई गुमायौं। उहाँहरू सिङ्गो घरको मूल खम्बा, संस्कार र ज्ञानका स्रोत हुनुहुन्थ्यो। आज उहाँहरूको अभावले देश शोकमा छ, हामी उहाँहरूप्रति भावपूर्ण सामूहिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।

साथै, आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक हो। एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो। हामीले उहाँहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ। यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ।

हाम्रा सुरक्षाकर्मीहरू अझै पनि कुनै बहाना नबनाई बाढीपछिको दलदल र खण्डहर बनेका क्षेत्रहरुमा खोस्रिरहेका छन्। उहाँहरुका आँखा चनाखा छन्। आफ्नो ज्यान जोखिममा राखेर खटिएका सुरक्षाकर्मीहरूप्रति हामीले हरेक दिन हृदयदेखि कृतज्ञता व्यक्त गर्नैैपर्छ। उहाँहरुको आत्मबल बढाउनु हाम्रो कर्तव्य हो।

आदरणीय आमाबुबाहरु,
हामीमाथि भरोसा राख्नुहोस्…

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

नुवाकोट। भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा परेर धेरै नागरिक हराइरहेका छन् । कतिपय परिवार आफ्ना आफन्त फर्किने आशामा दिन गन्दैछन् भने कतिपयले शवसमेत फेला पार्न नसकेपछि कुशको शव बनाएर अन्तिम संस्कार गर्नुपर्ने पीडा भोगिरहेका छन् ।

यही निराशाबीच शुक्रबार बिहान माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् केन्द्रको सुरुङबाट आएको एउटा सानो आवाजले भने फेरि आशा जगायो । ‘हेलो… हेलो…’ सुरुङभित्र फसेका व्यक्तिको खोजीमा खटिएको नेपाली सेनाको टोलीका लागि त्यो आवाज जीवनको सङ्केत थियो । उद्धार टोलीका प्रमुख, प्रमुख सेनानी गङ्गा बरालले सुरुङभित्रतर्फ आवाज दिँदै ‘कोही हुनुहुन्छ..?’ भनेर सोध्दा उताबाट आएको त्यही मधुरो आवाज ‘हेलो… हेलो…’ले लामो समयदेखि अँध्यारो सुरुङभित्र खोजी गरिरहेको टोलीमा नयाँ उत्साह थप्यो ।

त्यसलगत्तै उत्साहित हुँदै “हामी आउँदै छौँ है ! चिन्ता नगर्नुहोस्, नेपाली सेना उद्धार गर्न आउँदै छ”, बरालले सुरुङभित्र रहेका व्यक्तिलाई हौसला दिनुभयो ।

त्यसपछि उद्धार टोलीको प्रयासलाई अझ तीव्र बनाइयो । करिब एक घण्टाको निरन्तर प्रयासपछि सुरुङभित्र फसेका दुई जनालाई सकुशल बाहिर ल्याउन नेपाली सेनाको नेतृत्वमा रहेको सयुक्त सुरक्षा फौजको विपद् व्यवस्थापन टोली सफल भयो ।

माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् केन्द्रमा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाहको शुक्रबार बिहान करिब ९ः३५ बजे र मेकानिकल सुपरभाइजर कवीरजङ्ग महर्जनको १०ः०५ बजे सकुशल उद्धार गरिएको हो ।

यस उद्धारबाट दुई जनालाई सुरुङबाट बाहिर निकाल्नु मात्र थिएन । बाढीका कारण निराश बनेका परिवार र आफन्त एवं शुभचिन्तकलाई आशाको खबर थियो । अँध्यारो सुरुङभित्र जीवन खोज्दै नेपाली सेनाले गरेको निरन्तर प्रयासमा यो ठूलो सफलता थियो ।

उद्धारको नेतृत्व नेपाली सेनाका प्रमुख सेनानी गङ्गा बरालले गर्नुभएको थियो । उहाँको नेतृत्वमा नेपाली सेनाको स्पेशल फोर्स, विपद् व्यवस्थापनको खोज तथा उद्धार टोली, प्राविधिक इञ्जिनियर, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारी, जलविद्युत् आयोजनाका विज्ञ तथा भौगोलिक इञ्जिनियर उदय न्यौपानेसहितको संयुक्त टोली परिचालन भएको थियो ।

एक ‘सिफ्ट’मा १८ जनाका दरले टोली परिचालन गरी सुरुङभित्र खोजी गरिएको थियो । सुरुङ रहेको स्थान पत्ता लगाउनु नै पहिलो चुनौती बनेको थियो । सुरुङको प्रवेश बिन्दु पहिचान भएपछि त्यहाँ भरिएको लेदोले थप अवरोध सिर्जना गरेको थियो । त्यसपछि सोही बिन्दुभन्दा करिब १० मिटर अगाडि अर्को होल खोपेर उद्धार टोली सुरुङभित्र प्रवेश गरेको थियो ।

उद्धार टोलीका प्रमुख बरालका अनुसार सुरुङ पहिल्याउनसक्ने अवस्था नै नरहेकाले खोजीमा केही समय लागेको थियो । तर, निरन्तरको प्रयासपछि टोलीले आशा गरेको परिणाम प्राप्त गर्‍यो ।

सुरुङको होल खोपेर भित्र प्रवेश गर्नसक्ने भएसँगै बिहीबार साँझ ६ः०० बजेदेखि खोज तथा उद्धारलाई तीव्र बनाइयो । खाना खाइसकेपछि टोली काममा खटिएको थियो । आवश्यक उपकरण लिन आवतजावत गर्नुपरे पनि खोज तथा उद्धारको काम रोकिएन । करिब ११ घण्टासम्म निरन्तर प्रयास गरेपछि टोलीले सुरुङभित्र जीवन भेट्टायो ।

“बिहीबार साँझ ६ः०० बजेदेखि काम सुरु गरेका थियौँ । खाना खाइसकेर काम सुरु गरेकाले निरन्तर काम गरेका थियौँ । केही इक्युपमेन्ट लिन आवतजावत गरियो, अन्यथा निरन्तर ११ घण्टा खोज तथा उद्धारकर्मीको प्रयासमा सफलता पायौँ”, प्रमुख सेनानी बरालले भन्नुभयो ।

उद्धार टोलीले सुरुङ पहिचानपश्चात् सङ्लो पानी देखेपछि टोलीमा आशा अझ बलियो बनाएको थियो । सुरुङभित्र रहेका व्यक्तिलाई जीवितै बाहिर ल्याउन सकिन्छ भन्ने विश्वासका साथ टोलीले कामलाई चौबिसै घण्टा जारी राख्दै आएको थियो ।

“जीवन ल्याउन सकिन्छ भन्नेमा आशा राखेर नै काम गरेका हौँ । हामीले टनेल प्रवेशको होल खोपेर भित्र पस्दा सङ्लो पानी देखेपछि अझै उत्साहित भएका थियौँ”, बरालले भन्नुभयो ।

उहाँको अनुसार उद्धारकर्मीले सुरुङभित्रको अवस्था कठिन बनेमा प्रयोग गर्नेगरी अक्सिजन साथमै राखिएको थियो । तर, उद्धारका क्रममा त्यसको प्रयोग परेन ।

दुई जनाको सकुशल उद्धारपछि उद्धार टोलीका प्रमुख बरालका लागि यो व्यक्तिगत रूपमा पनि विशेष अनुभूतिको पल बन्यो । लामो समयको जोखिमपूर्ण प्रयासपछि नेपाली उद्धारकर्मी र नेपाली प्राविधिकसहितको टोलीले प्राप्त गरेको सफलताले उहाँमा नेपालीले गर्न सक्छन् भन्ने आत्मविश्वास अझ बलियो बनायो ।

“एकदमै सक्सेस अनुभूति । एउटा विशेष के छ भने नेपालीले पनि केही गर्न सक्दो रहेछ है ! यत्तिको संरचनामा नेपाली उद्धारकर्मी, नेपाली विज्ञ संलग्न टिमले चाहना गरेको उच्चतम सफलता पाएको हो । गर्न खोज्यो भनेदेखि र एउटा स्वच्छ भावनाबाट गर्छु भन्ने भावना भयो भनेदेखि नेपालीले पनि गर्न सक्ने रहेछ”, बरालले भन्नुभयो ।

यो सफलता कुनै एक जनाको प्रयासले मात्र सम्भव भएको होइन । कठिन भूगोल, लेदो र अँध्यारो सुरुङका बीच नेपाली सेना, प्राविधिक र विज्ञहरूको संयुक्त प्रयासबाट यो सम्भव भएको हो । त्यसको नेतृत्व गर्दै सुरुङभित्र जीवनको खोजीमा निरन्तर खटिनुभएका प्रमुख सेनानी बराल र उहाँको टोलीका लागि यो क्षण विशेष रह्यो ।

अँध्यारो सुरुङभित्रबाट आएको ‘हेलो… हेलो…’ को आवाजले उनीहरूलाई जीवन अझै त्यहाँ रहेको सङ्केत दिएको थियो । त्यही सङ्केतलाई पछ्याउँदै नेपाली सेनाको टोली अघि बढ्यो र अन्ततः दुई जनालाई जीवितै बाहिर ल्यायो ।

दुई जनाको सकुशल उद्धारले आशा जगाए पनि सुरुङभित्र जीवन खोजिरहेको उद्धार टोलीले एक जनाको शव फेला पारेको प्रमुख सेनानी बरालले जानकारी दिनुभयो । उक्त शवको पहिचान हुन बाँकी छ ।

माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् केन्द्रका अनुसार भोटेकोशीको बाढीपछि आयोजनामा कार्यरत ४६ जना कर्मचारी सम्पर्कविहीन छन् । सुरुङभित्र अझै रहेका व्यक्तिको अवस्था यकीन भइसकेको छैन । नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले खोज तथा उद्धारको कामलाई निरन्तरता दिइरहेको छ ।

भदौ १० मा भोटेकोसी हुदै त्रिशूली नदीमा आएको बाढीले धेरैको जीवनमा दुःख र निराशा ल्याएको छ । तर, यही कठिन समयमै नेपाली सेनाको टोलीले सुरुङभित्र फसेका दुई जनालाई सकुशल बाहिर निकालेर आशा जगाएको छ ।

यो उद्धारले जस्तोसुकै कठिन अवस्थामा पनि निरन्तर प्रयास गरे जीवन बचाउन सकिन्छ भन्ने देखाएको छ । प्रमुख सेनानी गङ्गा बरालले भने झैँ, दृढ इच्छाशक्ति र स्वच्छ भावनाका साथ काम गर्ने हो भने नेपालीले कठिनभन्दा कठिन काम पनि गर्न सक्छन् ।

भोटेकोशी बाढी : रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा । नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ । ल्हेन्दे खोला हुँदै गएको बाढीका कारण हालसम्म जिल्लामा एक हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने तीन हजार ७१ जना अझै सम्पर्कविहीन छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढी र पहिरोको चपेटामा परेका एक हजार २२७ नेपाली र ८६ विदेशी पर्यटकको सुरक्षाकर्मी तथा स्थानीयको सक्रियतामा सफल उद्धार गरिएको छ । बाढीका कारण अलपत्र परेका तथा गोसाइँकुण्ड क्षेत्रमा रोकिएका १४५ तीर्थयात्री तथा स्थानीयलाई हेलिकप्टरमार्फत नुवाकोट र काठमाडौँतर्फ सुरक्षित स्थानान्तरण गरिएको छ । दुर्गम र सडक सञ्जाल विच्छेद भएका क्षेत्रमा राहत र उद्धारका लागि हेलिकप्टर प्रयोग गरिएको छ ।

विपद्पछि जिल्लामा सम्पर्कविहीन हुनेहरूको सङ्ख्या ठूलो छ । श्रीनाथ गण, ब्राबल ब्यारेकअन्तर्गतका २७ नेपाली सेना, २८ नेपाल प्रहरी, १३ सशस्त्र प्रहरी, ७९ सरकारी कर्मचारी र २६ जना बैंक तथा वित्तीय संस्थाका कर्मचारी अझै सम्पर्क बाहिर छन् । यस्तै, रसुवाका एक हजार ३७०, अन्य जिल्लाका एक हजार २६२ र २६६ विदेशी पर्यटक सम्पर्कविहीन रहेका सहायक प्रजिअ अधिकारीले बताए ।

विपद्का क्रममा फेलापरेका शवमध्ये छ जनाको सनाखत भई आफन्तलाई बुझाइसकिएको छ । उत्तरगया–५ का जनक आचार्य, गङ्गादेवी श्रेष्ठ, पुदुली तामाङ, आशवीर तामाङ र आशिष बानियाँ तथा गोसाइँकुण्ड–६ की छिरिङ ग्याल्मो तामाङको शव सनाखत भएको हो । अन्य विभिन्न स्थानमा फेलापरेका १६३ शवमध्ये पाँच जनाको सनाखत भइसकेको र बाँकीको सनाखत प्रक्रिया तथा डिएनए परीक्षणका लागि मुचुल्का उठाउने कार्य भइरहेको सहायक प्रजिअ अधिकारीले बताए ।

बाढीपहिरोले रसुवाको भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार एक हजार ५०० निजी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । यस्तै २८ सरकारी तथा सार्वजनिक निकाय, आठवटा सामुदायिक विद्यालय, तीन निजी विद्यालय र १४ बैंकका भवनमा क्षति पुगेको छ ।

त्यसैगरी, जिल्लाको मेरुदण्ड मानिने ४१ किलोमिटर राजमार्ग तथा सडकखण्ड ठप्प भएको छ । छवटा पक्की मोटरेबल पुल, आठवटा ट्रस तथा बेलीब्रिज, एक आर्च पुल र १० वटा झोलुङ्गे पुल बाढीले बगाएको वा क्षति पुर्याएको छ । जिल्लाका आठवटा जलविद्युत् आयोजनामासमेत अत्यधिक क्षति गरेको छ ।

थातथलोबाट विस्थापित भएका सात हजार ३३ नागरिकलाई जिल्लाका विभिन्न १२ सुरक्षित आश्रयस्थलमा राखिएको छ । धुन्चेस्थित सिटी सेन्टर, कोमिन श्यामे वाङ्फेल मावि, गणेश आधारभूत विद्यालयलगायत स्थानमा आश्रित नागरिकलाई गाँसबासको व्यवस्था मिलाइएको छ । प्रभावित क्षेत्रमा हालसम्म १३६ पटक राहत सामग्री वितरण गरिसकिएको छ । विपद्का बीच पनि जिल्लाको ८३ प्रतिशत जनसङ्ख्यामा विद्युत सेवा पुनः सञ्चालन गरिएको छ भने नेपाल टेलिकमको सञ्चार सेवा सम्पूर्ण क्षेत्रमा सञ्चालनमा ल्याइएकाले उद्धार र समन्वय कार्यमा सहज भएको छ ।

भोटेकोशी बाढी: ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् । बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार करिब रु ६४ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित नुवाकोटमा २२ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ । ती आयोजनामा मात्रै रु चार करोड ११ लाख ५० हजार बराबरको क्षति भएको विभागले जनाएको छ ।

विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीका कारण धादिङका २०, गोरखाका पाँच तथा रसुवाका आठ वटा आयोजनामा क्षति भएको छ । बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भने अझै जारी रहेको विभागले जनाएको छ ।

बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको छ । प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको मर्मतलाई प्राथमिकता दिइएको महानिर्देशक श्रेष्ठले बताए ।

विशेष गरी विदुर खानेपानी आयोजना प्रभावित क्षेत्रमा खानेपानी वितरण सहज बनाउन १०० केभीए क्षमताको डिजेल जेनेरेटर सञ्चालनमा ल्याइएको छ । उक्त जेनेरेटरमार्फत दैनिक करिब पाँच लाख लिटर खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

त्यस्तै, एक एचपी क्षमताका सातवटा पम्प सञ्चालनमा ल्याएर बट्टार क्षेत्रका करिब ५०० घरपरिवारमा खानेपानी सेवा पुनः सञ्चालन गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)सँगको समन्वयमा भदौ १२ गतेदेखि चार वटा ट्याङ्करमार्फत विदुर र बट्टारका विभिन्न बस्तीमा खानेपानी वितरण भइरहेको महानिर्देशक श्रेष्ठको भनाइ छ ।

बाढी प्रभावित त्रिशूली बजार, बेलकोटगढी, कोल्पुटार, गल्छी, गजुरी र विदुरका बाँकी क्षेत्रमा खानेपानी सेवा विस्तार गर्न आवश्यक सामग्रीसमेत व्यवस्थापन गरिएको विभागले जनाएको छ । सेवा विस्तारका लागि दुई एचपी र एक एचपी क्षमताका गरी कुल १४ वटा पम्प, एक हजार लिटर क्षमताको हिलटेक ट्याङ्की तथा करिब ४१।१ किलोमिटर एचडीपीइ पाइप तयारी अवस्थामा राखिएको छ ।

विभागका अनुसार उक्त सामग्री प्रभावित क्षेत्रमा ढुवानी तथा जडान गरी खानेपानी सेवा विस्तार गर्ने तयारी भइरहेको छ । बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनः स्थापना र प्रभावित बस्तीमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली निरन्तर परिचालन गरिएको छ ।

बाढीपछि खानेपानीको अभाव हुन नदिन तत्कालीन राहतसँगै दीर्घकालीन पुनः स्थापनाको कामलाई समेत अघि बढाइएको विभागले जनाएको छ । क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा थप पुनर्निर्माण तथा पुनः स्थापनाका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ। यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गएको बाढीबाट सो क्षेत्रमा साढे सात हजार घरधुरी प्रभावित भएका देखिएको छ ।

द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कनअन्तर्गत गरिएको प्रारम्भिक मूल्याङ्कनअनुसार करिब सात हजार ५७० घरधुरी प्रभावित भई करिब ३२ हजार ९३३ जना प्रभावित भएका सरकारले जनाएको छ ।

यसैगरी, ४८ सरकारी कार्यालय प्रभावित भएका, ५५ किलोमिटर सडक, ३७ वटा मोटर चल्ने पुल तथा ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको परराष्ट्र मन्त्रालयले आज भोटेकोशीसम्बन्धी अद्यावधिक गरेको विवरणमा उल्लेख छ ।

त्यस्तै, करिब एक हजार ८०६ हेक्टर कृषि भूमि, १३ वटा जलविद्युत् आयोजना, एउटा सौर्य ऊर्जा आयोजना तथा दुई वटा प्रसारण लाइनमा पनि क्षति पुगेको छ । मूल्याङ्कनअनुसार ७८३ मेगावाट जलविद्युत् उत्पादन क्षमता प्रभावित भएको छ ।

यस विपद्बाट भएको क्षतिको व्यापकता र परिमाणलाई दृष्टिगत गर्दै क्षति तथा नोक्सानीको पूर्ण विवरण तथा पुनर्निर्माण र पुनःस्थापनाका लागि आवश्यक लागत निर्धारण गर्न विपद्पश्चात् आवश्यकता मूल्याङ्कन पनि एकैसाथ सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।

भोटेकोशी नदीको बाढीबाट रसुवा, नुवाकोट, धादिङ तथा नदीको बहाव क्षेत्रसँग जोडिएका अन्य जिल्लामा ठूलो जनधनको क्षति, व्यापक विस्थापन तथा घर, भवन, सडक, पुल, जलविद्युत् आयोजना र अन्य महत्त्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ । खोज र उद्धार कार्य आज एघारौँ दिन पनि जारी रहेको छ ।

हालसम्म १३ हजार ९८ जनाको उद्धार गरिएको छ भने त्यसमा ३०० भन्दाबढी विदेशी नागरिक रहेका छन् । शुक्रबार मात्रै धुन्चे र कोलोनीबाट क्रमशः एक जना चिनियाँ र एक जना अमेरिकी गरी दुई विदेशी नागरिकको उद्धार गरिएको सो विवरणमा उल्लेख छ ।

त्यस्तै, शुक्रबार अपर त्रिशूली–तीन ए सुरुङबाट दुई नेपाली नागरिक र अपर त्रिशूली–एक सुरुङबाट आज एक चिनियाँ नागरिक तथा बेत्रावतीस्थित एउटा घरबाट एक नेपाली नागरिकको जीवितै उद्धार गरिएको छ । करिब पाँच हजार जना अझै बेपत्ता रहेका भने त्यसमा ३५ देशका करिब ६०० जना विदेशी नागरिक रहेका मन्त्रालयको विवरणमा उल्लेख छ ।

प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ३४४ वटा शव बरामद गरिएका छन् । शुक्रबार त्रिशूली–तीन ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट एउटा शव बरामद गरिएको थियो । नेपाल सरकारले खोज, उद्धार तथा राहतका लागि आफ्नो नियन्त्रणमा रहेका सबै उपलब्ध साधन तथा स्रोत परिचालन गरिरहेको जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल पूर्ण रूपमा परिचालित छन् । साथै विपद् व्यवस्थापनसम्बन्धी निकाय, प्रदेश तथा स्थानीय तह र अन्य सम्बन्धित निकाय पनि परिचालित छन् ।

सुरुङ उद्धार नेपाली सुरक्षाकर्मीसँगै विदेशी विज्ञ

हाल भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी काम जारी राखेका छन् । छिमेकी मुलुक, मित्रराष्ट्र तथा अन्तरराष्ट्रिय समुदायबाट प्राप्त उद्धार सहयोगका उपकरण, ड्रोन, लोड क्यारियर तथा अन्य सामग्री यी कार्यमा प्रयोग भइरहेका छन् ।

त्यस्तै, १५ सदस्यीय विपद् सहायता तथा प्रतिकार्य टोली अस्ट्रेलियाबाट शुक्रबार आइपुगेको छ भने ११ सदस्यीय विशेष मलेसियाली विपद् सहायता तथा उद्धार टोली मलेसियाबाट आज बिहान आइपुगेको छ ।

प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धार कार्य जारी राख्न थप उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरिँदैछ । यसअन्तर्गत अपर त्रिशूली–एक, अपर त्रिशूली–तीन ‘ए’, अपर त्रिशूली–तीन बी, यु–२१६ हाकु, चिलिमे र लाङ्टाङलगायत जलविद्युत् आयोजना रहेका छन् ।

सम्पर्क सञ्जाल पुनःस्थापनाका प्रयास

सम्बन्धित निकायले प्रभावित क्षेत्रमा सडक, विद्युत् तथा दूरसञ्चार सम्पर्क पुनःस्थापना गर्न र प्रभावित नागरिकसम्म राहत सामग्री समयमै पुर्‍याउन सक्रिय रूपमा काम गरिरहेका छन् । अन्तरराष्ट्रिय समुदाय, साझेदार तथा व्यक्तिबाट प्राप्त थप सामग्री तथा सहयोगलाई प्रभावकारी रूपमा परिचालन गरिँदैछ ।

यसैगरी, नेपाली सेनाले इन्जिनियरको टोलीसँग मिलेर टाँडी नदीमाथि अस्थायी पुल निर्माण गरी गल्छी–त्रिशूली सडक पुनःस्थापना गर्ने काम गरिरहेको छ । साथै, त्रिशूली इन्द्रेणीघाट र देवीघाटमा एक–एक गरी दुई वटा तुइन सञ्चालनमा ल्याइएको छ ।

नेपालले आफ्नो नियन्त्रणमा रहेका सबै स्रोत तथा साधन परिचालन गरेको छ । तर, यस विपद्को व्यापकता र जटिलतालाई दृष्टिगत गर्दा निरन्तर अन्तरराष्ट्रिय ऐक्यबद्धता तथा सहयोग आवश्यक रहेको नेपालले स्वीकार गरेको छ ।

हालसम्म निकटतम छिमेकी, मित्रराष्ट्र, अन्तरराष्ट्रिय संस्था तथा परोपकारी व्यक्तिमध्ये भारत, चीन, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, जापान, संयुक्त राज्य अमेरिका, कतार, सिङ्गापुर, गणतन्त्र कोरिया, अस्ट्रेलिया, जर्मनी, लाटिभया, लक्जेम्बर्ग, मलेसिया, म्यानमार, भुटान, बङ्गलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलङ्का, थाइल्यान्ड, भियतनाम, न्युजिल्यान्ड, डेनमार्क, स्वीट्जरल्यान्ड, आयरल्यान्ड, चेक गणतन्त्र, तथा युरोपेली सङ्घ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसङ्घ तथा यसका विशिष्टीकृत निकायले विभिन्न सहयोग गरेका छन् ।

यसैगरी, आवश्यक फरेन्सिक प्रक्रिया पूरा गरेपछि बरामद भएका शवको अस्थायी दफन प्रक्रिया सुरु गरिएको छ । ताकि पछि तिनको पहिचान गरी अन्तिम संस्कारका लागि परिवारलाई पार्थिव शरीर हस्तान्तरण गर्न सहज होस् ।

बेपत्ता व्यक्तिका निकटतम परिवारका सदस्यलाई नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, काठमाडौँ वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न वा आफू बसेको देशमै आफ्नो डिएनए प्रोफाइल तयार गराइमा पठाउन अनुरोध गरिएको छ ।

भारत, चीन, सिङ्गापुर तथा दक्षिण कोरियाका फरेन्सिक टोलीहरू नेपाल प्रहरी तथा अन्य सम्बन्धित निकायसँग मिलेर डिएनए सङ्कलन, विश्लेषण तथा मृतकहरूको पहिचानलाई तीव्र बनाउन सहभागी भएका छन् ।

यसका साथै हालसम्म मन्त्रालयले सम्बन्धित मुलुक तथा निकायका साथै नेपाल सरकारका सम्बन्धित अधिकारीहरूसँग समन्वय गरी मित्रराष्ट्र तथा अन्तरराष्ट्रिय संस्थाबाट बाढी राहत सामग्री तथा उद्धार टोली लिएर आएका २४ वटा उडानको अनुमति तथा सहजीकरण गरेको छ ।

चीनतर्फ रहेका नेपाली नागरिक

मन्त्रालय तथा चीनस्थित नेपाली नियोगहरूले बाढीबाट प्रभावित भई नेपाल फर्कन चाहने नेपाली नागरिकको सुरक्षित स्वदेश फिर्तीका लागि चिनियाँ अधिकारीहरूसँग नजिकबाट समन्वय गरिरहेको जनाएको छन् । शुक्रबार तातोपानी नाकाबाट १५५ जना नेपाली नागरिक नेपाल फर्किएका छन् भने आज सोही नाकाबाट १२७ जना नेपाली नागरिक नेपाल फर्कने अपेक्षा गरिएको छ ।

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

रसिया । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि आक्रमण नगर्न आदेश दिएका छन् । यो कदम अमेरिकी दूत स्टिभ विट्कफ र जारेड कुश्नरसँगको सम्पर्क तयारीसँग जोडिएको क्रेमलिन प्रवक्ता दिमित्रि पेस्कोभले शनिबार बताए ।

“उहाँहरूले राष्ट्रपति पुटिनसँग भेट वार्ता गर्नुहुनेछ । सामान्यतया विगतमा यस्ता भेटहरू निकै लामो हुने गरेका छन् । हामी पर्खेर हेरौँ। यसबारे हामी छिट्टै तपाइहरूलाई जानकारी दिनेछौँ,” पेस्कोभले पत्रकारसँगको कुराकानीमा भने ।

पेस्कोभले समाधान प्रस्तावबारे अनुमान नलगाउन आग्रह गर्दै पुटिन र अमेरिकी वार्ताकारहरूबीचको भेटको परिणाम पर्खन आग्रह गरे ।Laxmi sunrise bank
विट्कफ र कुश्नर शनिबार स्थानीय समयअनुसार दिउँसो १२ः५२ बजे मस्कोको भ्नुकोभो विमानस्थलमा अवतरण गरेका थिए । उनीहरूलाई विमानस्थलमा रूसका विशेष राष्ट्रपतीय दूत किरिल दिमित्रिएभले स्वागत गरे ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार विहानै रूसले किएभ र त्यसको दक्षिण–पूर्वी उपनगर बोरिस्पिलका विमानस्थलमा आक्रमण गरेको बताएपछि पेस्कोभको भनाइ आएको हो।

जेलेन्स्कीले युक्रेनले रूसी कदमलाई ध्यानमा राखेको र अर्को साता रूसी हवाई क्षेत्रसम्बन्धी आफ्ना कारबाहीलाई पुनरावलोकन गर्ने बताएका छन् ।जेलेन्स्कीले बिहीबार नै ट्रम्पका दूतहरूसँग युक्रेनी राजधानीमा आगामी दिनमा भेट्ने अपेक्षा गरिएको बताएका थिए ।

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन

गोरखा । यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्न २९ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागको गत पछिल्लो तथ्यांकअनुसार २९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् ।

विभागबाट अहिलेसम्म कुल ३२ टोलीका ३६७ जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र २९ टोलीका ३४८ आरोही रहेको विभागले जनाएको छ ।

यस हिमालबाट यस सिजनका लागि जारी पर्वतारोहण अनुमतिबाट रु. १५ करोड ९६ लाख २० हजार ८२८ रोयल्टी सङ्कलन भइसकेको पर्यटन विभागले जनाएको छ । त्यसमध्ये मनास्लुका आरोहीबाट मात्र रु. १५ करोड ८७ लाख ५६ हजार २५० राजस्व संकलन भएको छ ।

गोरखाको चुमनुब्री एक, सामा गाउँमा रहेको आठ हजार १६३ मिटर उचाइको मनास्लुमा केही वर्षदेखि पर्वतारोहीको आकर्षण बढ्दै गएको छ ।

अहिले मनास्लु हिमाल आरोहणका लागि शेर्पाहरूले क्याप निर्माण गर्ने र बाटो बनाउने काम गरिरहेको आरोही नाङ्स्याल छोदेनले बताए। आरोहीहरू भने सोमबार (सेप्टेम्बर ७) पछि मात्र बेसक्याप आउने उनले जानकारी दिए ।

हाल बेसक्याप नजिकै रहेको सामा गाउँ आरोही र उनीहरूका सहयोगीले खचाखच भरिएको छोदेनको भनाइ छ । मनास्लु हिमाल संसारको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । यसलाई किलर माउन्टेनका रूपमा पनि चिनिन्छ ।

मनास्लु हिमालको बेसक्याम्प सामागाउँबाट दुई घण्टाको पैदल दूरीमा छ । बेसक्याम्प गाउँ नजिकै रहनुले आरोहीको रोजाइमा पर्ने गर्छ ।

आरोहीले यहाँबाट मनास्लुको चुचुरोमा पुग्न एक सातादेखि एक महिनासम्म लगाउने गर्छन् । सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए ।

‘कर्मचारीलाई तर्साएर गराइएको काम प्रभावकारी हुँदैन, उत्प्रेरित गर्नुपर्छ’ – प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद् तथा संकटको घडीमा कर्मचारीतन्त्रलाई त्रसित बनाएर नभई उत्प्रेरित र जिम्मेवार बनाएर परिचालन गर्नुपर्ने बताएका छन् ।

शनिबार राजधानीमा २३ औं निजामती सेवा दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित ‘निजामती सेवा सम्मान–२०८३’ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले राज्यका निकाय र कर्मचारीतन्त्र अन्योलमा परेको टिप्पणी गरे ।

कर्मचारीतन्त्रलाई अनुशासित र जिम्मेवार बनाउन त्रासको वातावरण सिर्जना गर्न नहुने भन्दै उनले करबलले गराइएको काम प्रभावकारी नहुने स्पष्ट पारे ।

‘कर्मचारीलाई जिम्मेवार बनाउने दुई तरिका हुन्छन्— एउटा असल कर्म र नीतिद्वारा उत्प्रेरित गर्ने, अर्को तर्साएर बाध्य पार्ने। करबल र त्रास देखाएर गराइएको काम प्रभावकारी हुन सक्दैन। अहिले राज्यका निकाय अन्योलमा छन्,’ उनले भने ।

सरकारले राम्रो काम गरे सहयोग र नराम्रो काम गरे खबरदारी गर्ने नीति रहेको स्मरण गराउँदै प्रचण्डले अहिलेका लक्षणहरू सकारात्मक नदेखिएको दाबी गरे । उनले देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र लामो संघर्षबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि सबै सचेत नागरिक र राजनीतिक नेतृत्व एकजुट हुनुपर्नेमा जोड दिए ।

हालैको बाढी–पहिरोको वितण्डा र उद्धार कार्यको समीक्षा गर्दै अध्यक्ष प्रचण्डले १० दिनपछि सुरुङ (टनेल) बाट दुई जनाको सकुशल उद्धार हुनु सन्तोषजनक भए पनि समयमै प्रभावकारी कदम चाल्न नसक्दा ठूलो मानवीय क्षति भएको बताए ।

‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन, व्यापार २५ करोड ८० लाख ५ हजार ५२५ रुपैयाँ

काठमाडौं । चलचित्र ‘गौंथली’ले आज प्रदर्शनको ५१औँ दिन मनाएको छ । यो वर्षको हालसम्मको सर्वाधिक धेरै कमाउने सिनेमामा दर्ज भएको ‘गौँथली’ले काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर तीन दर्जनभन्दा धेरै हलमा ५१औँ दिन माउन सफल भएको हो । ‘गौँथली’ हाल ४३ हलमा प्रदर्शनरत छ । “हाम्रो सिनेमा आज ४३ हलमा ५९ शो सहित प्रदर्शन भइरहेको छ,” निर्माता सुमन गिरीले भने, “हालसम्म २५ करोड ८० लाख ५ हजार ५२५ रुपैयाँ कलेक्सन गरेको छ ।”

अधिकांश सिनेमालाई एक हप्ता पनि हलमा टिक्न कठिन भइरहेको समयमा यो चलचित्र भने नेपाली सिनेमा उद्योगकै दोस्रो धेरै कमाउने चलचित्र बन्दै ५१औँ दिनसम्म पुगेको हो । ‘पूर्ण बहादुरको सारङ्गी’पछि यो सिनेमा नेपाली सिनेमा उद्योगमा सबैभन्दा धेरै कमाउने दोस्रो चलचित्र बनिसकेको छ ।

“हाम्रो मेहनत र दर्शकको मायाले हामी ५१औँ दिन मनाउन सफल भएका छौँ,” निर्देशक कपिल रिजालले भने, “यो मायाले हामीलाई थप जिम्मेवार बनाएको छ ।” थप जिम्मेवार बन्दै चाँडै दर्शकमाझ आउने उनको भनाइ छ । उनले दर्शकलाई धन्याद दिँदै आभार प्रकट गरेका छन् ।

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् ।

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति र निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित निजी क्षेत्र र प्रदेश सरकारबीच बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले औद्योगिक क्षेत्रको विकास र रोजगारी सिर्जनालाई प्रदेश सरकारले आगामी बजेटमा प्राथमिकतासाथ सम्बोधन गर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री भट्टले प्रदेशको ‘रातो किताब’ रकम वितरण गर्ने पुलिन्दा नभई प्रदेशको समृद्धिको मार्गचित्र बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “बजेटले प्रदेशको आवश्यकता, सम्भावटना र जनताको अपेक्षालाई सम्बोधन गर्न सक्नुपर्छ । त्यसका लागि यसपटकको बजेटमा हाम्रो प्रयास रहन्छ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री भट्टले सुशासनमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै प्रदेशमा रहेका बेथिति र अनियमितता नियन्त्रण गर्न सरकार निर्मम भएर अघि बढ्ने बताउनुभयो । बेथितिका विषयमा कुनै पनि सम्झौता नगर्ने स्पष्ट गर्दै उहाँले सुदूरपश्चिमको विकास र रूपान्तरणका लागि पनि सबै पक्ष गम्भीर भएर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

निजी क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री भट्टले प्रदेशको आर्थिक विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । प्रदेश निर्माणको अभियानमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

अन्तरक्रियामा निजी क्षेत्रका व्यवसायीले सुदूरपश्चिममा रहेका सम्भावना तथा आफूहरूले भोग्दै आएका समस्या र चुनौतीबारे धारणा राख्नुभएको थियो । उहाँहरूले कृषि, उद्योग तथा पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले नीतिगत सहजीकरण गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सो अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्णप्रकाश भट्टलगायतको सहभागिता थियो ।

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

बाजुरा। बाजुराको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन परिवार विस्थापित भएका छन् । गएरातिदेखि परेको अविरल वर्षासँगै वीरेखोलामा ठूलो बाढी आएपछि २३ परिवार विस्थापित भएका हुन् ।

अविरल वर्षापछि माथिल्लो क्षेत्रमा गएको पहिरोले खोला थुनेर ताल बनेको र ताल फुटेपछि सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–६ र ८ को सीमामा पर्ने वीरेखोलामा ठूलो बाढी आएको स्थानीय लालसिंह साउदले बताउनुभयो । “गएराति करिब ८ः०० बजे अविरल वर्षापछि वीरेखोलामा एक्कासी ठूलो बाढी आयो । त्यसपछि घरबाहिर निस्क्यौँ, अहिलेसम्म न खाना छ, न त बास”, उहाँले भन्नुभयो ।

बाढीले मानवीय एवं भौतिक क्षति नगरे पनि गाउँको बीचबाटै ठूलो बाढी आएपछि २३ परिवार विस्थापित भएका हुन् । थप १८ परिवारसमेत जोखिममा रहेको साउदले बताउनुभयो ।

भीषण बाढीबाट वीरेखोलाका ४१ परिवार प्रभावित भएको बडीमालिका नगरपालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवालले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले एक माछा पोखरी, दुई वटा पानी घट्ट र वीरेखोला झरनाको टिकट काउन्टरमा क्षति पुर्‍याएको छ । धानबाली बगाएपछि खेत बगरमा परिणत भएको छ । बाढीबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष बडुवालले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाले बाढी प्रभावित परिवारलाई तत्काल त्रिपाल उपलब्ध गराएको छ । रेडक्रस बाजुरा शाखाका उपमन्त्री बिपीन विष्टका अनुसार विस्थापित २३ परिवारलाई त्रिपाल वितरण गरिएको छ ।

पाँच वर्षअघिको त्यो दिन, फेरि उही जोखिम

अहिले मात्रै होइन, वीरेखोलाका बासिन्दा पाँच वर्षदेखि नै बाढीपहिरोको त्रासमा छन् । विसं २०७७ साउन २५ गते बुढीगङ्गा नदीमा गएको बाढीले यहाँको धेरै खेतीयोग्य जमिन बगाएको थियो । किसानले पुस्तौँदेखि खेती गर्दै आएको जमिन एकैछिनमा बालुवा र ढुङ्गाले पुरिएको थियो । कसैका लागि त्यो खेत थियो, कसैका लागि परिवार पाल्ने आधार । त्यही जमिन बाढीपछि बगर बन्यो ।

बाढी रोकिएपछि नदी आफ्नो पुरानै बाटोमा फर्कियो । तर बाढीले दिएको घाउ भने स्थानीयको मन र जमिनमा उस्तै रह्यो । अहिलेको बाढीले भने त्यही पुरानो डरलाई फेरि वास्तविकतामा बदलिदिएको छ । विस्थापित भएपछि वीरेखोलामा बाढीको जोखिम कति गम्भीर छ भन्ने फेरि देखिएको छ । यहाँका स्थानीयका लागि यो केवल एउटा विपति मात्रै होइन, बारम्बार दोहोरिइरहेको सङ्कट हो ।

“एकातिर खेतीयोग्य जमिन गुमेको पीडा छ, अर्कोतिर घरबास नै सुरक्षित नरहने अवस्था छ”, स्थानीय कली साउदले भन्नुभयो, “नदी कटान र बाढीको जोखिम बढ्दै गएपछि अब कहाँ बस्ने, के खाने भन्ने ठूलो सङ्कट भएको छ ।”

सुन्दरताभित्र लुकेको त्रास

सदरमुकाम मार्तडीबाट करिब ६ किलोमिटर टाढा रहेको बिरेखोला झरना आन्तरिक पर्यटकको मुख्य आकर्षणको केन्द्र हो । यसको आँगनमै बुढीगंगा नदी बगिरहेको छ । सामान्य अवस्थामा नदीको बहाव हेर्दा यहाँका बासिन्दाका लागि यो प्रकृतिको सुन्दर दृश्यजस्तो लाग्छ ।

वर्षायाम सुरु हुनासाथ जिल्लाका विभिन्न ठाउँ तथा छिमेकी जिल्ला अछामबाट समेत झरनाको अवलोकन गर्न तथा फोटो–भिडियो खिच्न आउनेको भीड लाग्ने गर्छ । तर वर्षायाम सुरु भएसँगै यही बिरेखोलाको सुन्दरता स्थानीयका लागि त्रासको कारण बन्ने गरेको छ ।

पानी बढ्दै जाँदा नदीको गर्जनसँगै यहाँका बस्तीमा डर पस्छ–कतिबेला घरखेत बगाउने हो भन्ने चिन्ताले । “घरआँगनमै बुढीगङ्गा नदी बग्छ, गाउँकै बीचमा वीरेखोला बगिरहेको छ”, स्थानीय मतिकला खड्काले भन्नुभयो, “आँगनबाट नदीको कटान र पछाडिबाट खोलाले कतिखेर बगाउँछ भन्ने चिन्ता हुन्छ । हिजोको मात्रै होइन, यसअघि पटकपटकको बाढीले खेतीयोग्य जमिन बगर भइसक्यो । अब कुन दिन घरसँगै हामीलाई बगाउने हो भन्ने डर छ ।”

जमिन बगर बन्यो, अब घर बग्ने चिन्ता

कृषिमा निर्भर परिवारका लागि खेत केवल जमिनको टुक्रा होइन, जीविकोपार्जन गर्ने मुख्य आधार हो । २०७७ सालको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि धेरै परिवारले उत्पादनको आधार गुमाएका थिए । अहिले फेरि बिरेखोला झरनाको बाढीले घरबासमा समेत जोखिम निम्त्याएपछि समस्या झन् गम्भीर बनेको स्थानीय कमला साउँदले बताउनुभयो । “खेत रहेन, अब घर पनि सुरक्षित छैन,” उहाँले भन्नुभयो, “कहाँ गएर बस्ने ? अन्त कतै ठाउँ छैन ।”

वर्षौँदेखि नदी कटान र बाढीको जोखिममा रहेका वीरेखोलाका स्थानीयका लागि अहिलेको बाढीले फेरि एउटै प्रश्न खडा गरेको छ । पहिले खेत गुम्यो, अब घर पनि गुम्ने हो कि ? तत्कालका लागि २३ परिवार सुरक्षित स्थानमा सारिए पनि वीरेखोलाको दीर्घकालीन जोखिम भने यथावत् रहेको बडीमालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवाल बताउनुहुन्छ । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बाढीपछि भएको क्षतिको बारेमा यकीन विवरण सङ्कलन र घटनाबारे बझ्ने कार्य भइरहेको जानकारी दिनुभयो ।

भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर,कुन वर्षमा सबैभन्दा कम पर्यटक ?

भक्तपुर। भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने पर्यटकहरूसँग शुल्क लिन थालेको ३२ वर्ष नाघेको हो । नगरपालिकाले पहिलो पटक आर्थिक वर्ष २०५०/५१ देखि नगर प्रवेश गर्ने पर्यटकसँग शुल्क उठाउन थालेको थियो ।

नगरपालिकाले पहिलो पटक गैरसार्क राष्ट्रका पर्यटकसँग मात्रै शुल्क उठाउन थालेको थियो । घुम्न आउने विदेशी पर्यटकसँग शुल्क उठाउन थालेको यो नै नेपालको पहिलो भएको बताइन्छ । यसपछि विस्तारै काठमाडौँ, ललितपुरलगायत ठाउँमा पनि घुम्न आउने विदेशी पर्यटकसँग ती नगरपालिकाहरूले प्रवेश शुल्क उठाउन थालेका थिए ।

सो अवधिमा ५२ लाख ६५ हजार २६४ विदेशी पर्यटकले भक्तपुर घुमेर गएका छन् । आर्थिक वर्ष २०८२/८३ अर्थात् २०८३ असार मसान्तसम्म यी पर्यटकले भक्तपुर भ्रमण गरेको तथ्याङ्क हो । तथ्याङ्कअनुसार चीनसहित सार्क मुलुकबाट १८ लाख ३७ हजार २१८ पर्यटकले भक्तपुर घुमेका छन् । गैरसार्क मुलुकबाट भने ३४ लाख २८ हजार ४६ पर्यटकले यो अवधिमा भक्तपुर भ्रमण गरेका छन् ।

भक्तपुरको पर्यटनमा पछिल्ला तीनदशकमा उतारचढाव देखिएको छ । विसं २०५०/५१ मा ८७ हजार ३४५, २०५१/५२ मा ९७ मा हजार ७५७, २०५२/५३ मा एक लाख १२ हजार ७४०, २०५३/५४ मा एक लाख १० हजार ८५२ र २०५४/५५ मा एक लाख ५३ हजार २३० पर्यटकले भक्तपुर घुमेर गए ।

विसं २०५५/५६ मा एक लाख ९७ हजार ८०५, २०५६/५७ मा एक लाख ९७ हजार ८८१, २०५७/०५८ मा एक लाख ८० हजार ५३, २०५८/०५९ मा ९१ हजार ८००, २०५९/०६० मा ८५ हजार १५३, २०६०/६१ मा एक लाख १९ हजार ३९, २०६१/६२ मा ८७ हजार ६०५, २०६२/६३ मा ९२ हजार ३३० र २०६३/६४ मा एक लाख २१ हजार ४३१ ले भक्तपुर घुमे ।

त्यसपछिका वर्षमा क्रमशः २०७८/७९ मा ५३ हजार ५६०, २०७९/८० मा एक लाख ६७ हजार ६५२, २०८०/८१ मा दुुई लाख ४५ हजार ५९३, २०८१/८२ मा दुुई लाख ४४ हजार ८६८ र पछिल्लो आर्थिक वर्ष २०८२/८३ मा दुई लाख २१ हजार ९७६ जना पर्यटक भक्तपुर आएका थिए । यसैले हालसम्म कुल जम्मा ५२ लाख ६५ हजार २६४ जना पर्यटक भक्तपुर भित्रिएका छन् ।

कुन वर्षमा सबैभन्दा कम पर्यटक ?

कोरोनाका कारण आव २०७७/७८ भक्तपुरको पर्यटन इतिहासमै पर्यटक आगमनका हिसाबले सबैभन्दा कमजोर वर्ष बनेको थियो ।

उक्त वर्ष तीन हजार ११२ पर्यटक भक्तपुर भित्रिए । यो वर्ष गैरसार्क मुलुकबाट एक हजार ३८३ तथा चीनसहित सार्क मुलुकबाट एक हजार ७२९ पर्यटकले मात्रै भक्तपुर भ्रमण गरेका थिए ।

भक्तपुर नगरपालिकाले गैरसार्क राष्टका पर्यटकसँग २०५० सालदेखि नै प्रवेश शुल्क लिन थालेको थियो भने सार्क राष्ट्र (नेपालीबाहेक)सँग २०५४ सालदेखि प्रवेश शुल्क लिन थालेको थियो ।

कुन वर्षमा सबैभन्दा बढी पर्यटक ?

बत्तिस वर्ष लामो इतिहासमा अहिलेसम्म सबैभन्दा धेरै पर्यटकले भक्तपुर भ्रमण गरेको वर्ष आव २०७०/७१ हो । उक्त वर्ष एकैवर्षमा दुुई लाख ९० हजार ८९१ जना विदेशी पर्यटकले भक्तपुर टेकेका थिए ।

चालिस बढी मुलुकका पर्यटकले घुमे भक्तपुर

नगरपालिकाको तथ्याङ्कअनुसार हालसम्म ४० भन्दाबढी मुलुकका पर्यटकले भक्तपुर भ्रमण गरिसकेका छन् । अमेरिका, अर्जेन्टिना, अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानडा, चिली, चीन, डेनमार्क, बेलायत, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, नेदरल्यान्ड्स, हङ्गेरी, आइसल्यान्ड, भारत, आयरल्यान्ड, इजरायल, इटाली, जापान, मलेसिया, मेक्सिको, न्युजिल्यान्ड, नर्वे, पोल्यान्ड, पोर्चुगल, रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया, सिङ्गापुर, स्पेन, स्वीडेन, स्वीजरल्यान्ड, ताइवान, टर्की र थाइल्यान्डलगायत मुलुकबाट पर्यटक भक्तपुर आएका छन् । पछिल्लो समय भक्तपुर नगरपालिकाले विभिन्न स्थानमा मेटलका क्युआर कोडसमेत राखेर पर्यटकलाई आवश्यक सूचना डिजिटल माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।

सबैभन्दा बढी भारतीय, त्यसपछि चिनियाँं

भक्तपुरको पर्यटन सूचना तथा सेवा केन्द्रका अनुसार भक्तपुर घुम्ने आउनेमा पहिलोमा भारतीय पर्यटक पर्दछन् । दोस्रोमा भने चिनियाँ पर्यटक परेका छन् । गत आव एक वर्षको मात्रै तथ्याङ्कअनुसार ७० हजार ७११ जना भारतीय पर्यटकले भक्तपुरको भ्रमण गरेको थियो ।

त्यस्तै, चीनबाट ३६ हजार ७८३ चिनियाँ पर्यटकले भक्तपुर अवलोकन गरेका थिए । यसैगरी अमेरिकाका १३ हजार २११, जर्मनीका १० हजार ८०० जना, फ्रान्सका नौ हजार ९८०, इटालीका सात हजार ७३, स्पेनका पाँच हजार ३६२, जापानका छ हजार ७९६, इङ्ल्याण्डका छ हजार, अस्ट्रेलियाका चार हजार ९४६, ताइवानका चार हजार ९५० र हल्यान्डका तीन हजार ७४२ नागरिकले भक्तपुर अवलोकन गरेको थियो ।

चौध स्थानबाट पर्यटक शुल्क

भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने विदेशी पर्यटकबाट हाल १४ वटा स्थानबाट पर्यटक शुल्क उठाउँदै आएको छ । खौमा, सानो व्यासी, ठूलो व्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाति, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल र भार्वाचोमा पर्यटक शुल्क सङ्कलन केन्द्र सञ्चालनमा छन् । थप एउटा काउन्टर निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले नगर प्रवेश गर्ने सम्पूर्ण नाकाहरूमा एउटाएउटा काउण्ट राखेर नगर प्रवेश गर्ने पर्यटकहरूसँंग शुल्क उठाउने गर्दछ ।

कति छ प्रवेश शुल्क ?

भक्तपुर नगरपालिकाले गैरसार्क मुलुकका पर्यटकका लागि हाल प्रतिव्यक्ति दुई हजार रूपैयाँ प्रवेश शुल्क लिँदै आएको छ । सुरुमा विसं २०५० साउन ६ गते प्रतिव्यक्ति ५० रूपैयाँबाट प्रवेश शुल्क लिन सुरु गरिएको थियो ।

त्यसपछि २०५३ साउन १ गते ३०० रूपैयाँ, २०५७ साउन १ गते ३७५ रूपैयाँ, २०५७ पुस १७ गते ७५० रूपैयाँ, २०६७ पुस १७ गते एक हजार १०० रूपैयाँ, २०७० पुस १७ गते एक हजार ५०० रूपैयाँ र २०७९ पुस १७ गते एक हजार ८०० रूपैयाँ प्रवेश शुल्क कायम गरिएको थियो । विसं २०८२ साउनदेखि गैरसार्क पर्यटकका लागि प्रवेश शुल्क दुई हजार रूपैयाँ कायम गरिएको हो ।

चीनसहित सार्क पर्यटकको शुल्क

चीनसहित सार्क मुलुकका पर्यटकका लागि विसं २०५४ पुस १७ गतेदेखि प्रवेश शुल्क लिन थालेको थियो । पहिलो पटक नगरपालिकाले प्रतिव्यक्ति तीन रूपैयाँ प्रवेश शुल्क लिन सुरु गरेको थियो । त्यसपछि त्यसलाई २०५७ पुस १७ गतेदेखि ५० रूपैयाँ, २०६७ देखि १०० रूपैयाँ र २०७१ साउन १ गतेदेखि ५०० रूपैयाँ प्रवेश शुल्क लिँदै आएको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

छ वटा भाषामा पर्यटन सामग्री

नगरपालिकाले पर्यटकले टिकट काटेपछि जानकारीमूलक प्रतिटिकट एउटा एउटा सूचना सामग्री अर्थात् ब्रोसर प्रदान गर्दछ । टिकट काट्ने काउन्टरबाटै पर्यटकलाई ती सूचना सामग्री प्रदान गरिन्छ ।

सूचना सामग्री आफनै भाषामा होस् भनेर नगरपालिकाले विभिन्न ६ वटा भाषाहरूमा सामाग्रीहरू प्रकाशन गरेका छन् । अमेरिका, चीन, जर्मनी, जापान, फ्रान्स र स्पेनका पर्यटकलाई लक्षित गरी छ वटा भाषामा नक्सासहितको पर्यटन ब्रोसर उपलब्ध गराउँदै आएको छ । यी सबै ब्रोसरमा रहेका सूचनाहरू भने एउटै हुन् । मात्रै भाषा फरक हो ।

के हुँंदैछ भक्तपुरमा प्रवेश शुल्कबाट ?

भक्तपुर नगरपालिकाको आन्तरिक स्रोतमध्ये एउटा प्रमुख स्रोत हो पर्यटक शुल्क । त्यसकारण शुल्क लिएर भक्तपुरमा के कामका लागि प्रयोग गरियो बजेट भन्ने पनि प्रश्न उठ्दै आएको छ ।

भक्तपुर नगरपालिका पर्यटन सूचना तथा सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुरको विकासको मुख्य आधार नै पर्यटक भएको बताउनुहुन्छ । यही शुल्कबाट यहाँ धेरै काम हुन पाएको उहाँ सुनाउनुहुन्छ । भक्तपुर नगरपालिका कर्मचारी एसोसिएसनका अध्यक्षसमेत रहनुभएका लासिवा भन्नुहुन्छ, यही शुल्कबाट भक्तपुर नगरपालिकाले इन्जिनियरिङ लगायतका आधा दर्जन बढी कलेज सञ्चालन गरिराखेको छ, अस्पताल सञ्चालन गरिराखेको छ ।

यसबाहेक सरसफाइ, सम्पदा संरक्षणमा पनि यो पैसा प्रयोग भइरहेको उहाँ बताउनुहुन्छ । यसबाहेक पनि नगरपालिकाले पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न पर्यटक सूचना केन्द्र, पर्यटक बसपार्क र पर्यटक शौचालय सञ्चालनमा ल्याएको छ । पर्यटक सूचना केन्द्रमार्फत विभिन्न छ भाषामा नक्सासहितको ब्रोसर उपलब्ध गराउने गरिएको छ ।

त्यस्तै, निःशुल्क इन्टरनेटसहित कम्प्युटर, शारीरिक रूपमा अशक्त पर्यटकका लागि ह्विलचेयर, लगेज राख्ने कोठा, मोबाइल चार्ज गर्ने सुविधा तथा पत्रपत्रिकासहित विश्रामस्थलको व्यवस्था गरिएको छ ।

नगरपालिकाले स्थानीय पथप्रदर्शक परिचालन समिति गठन गरी स्थानीय पथप्रदर्शकलाई पुनर्ताजगी तालिम दिनुका साथै आवश्यक व्यवस्थापनसमेत गर्दै आएको पनि जनाएको छ ।

विदेशीभन्दा पाँचगुणा नेपाली

भक्तपुरमा जति विदेशी पर्यटक घुम्न आउछन् तीभन्दा सालाखाला सामान्यतया पाँचगुणा बढी आन्तरिक पर्यटक भक्तपुर घुम्न आउने अनुमान छ ।

विदेशी पर्यटकसँग शुल्क उठाउने भक्तपुरका धेरै काउन्टरमध्ये मुख्य अर्थात् भक्तपुर प्रवेश गर्ने मुख्य काउन्टर खौमा काउन्टर हो, जहाँबाट विदेशी मात्रै होइन, स्वदेशी पर्यटक पनि सबैभन्दा बढी प्रवेश गर्छन् । सो काउन्टरमा बस्ने एक जना कर्मचारी मुरज दिदीयाले खौमा प्रवेशद्वारबाट मात्रै दैनिक टिकट काटेर जाने विदेशी पर्यटकभन्दा पाँचगुणा स्वदेशी नेपाली आन्तरिक पर्यटक घुम्न आएको अनुमान गर्नुहुन्छ ।

“स्वदेशी पर्यटक सामान्यतया दैनिक पाँच हजार बढी आउने अनुमान हामी गर्छौं”, उहाँले भन्नुुभयो, “शनिबार, अन्य बिदाका दिनमा त यहाँ तेब्बर चौबर हुन्छ ।” साथै गाईजात्रालगायत विभिन्न जात्रा पर्वका बेला अझ अत्यधिक आन्तरिक पर्यटक भक्तपुर घुम्न आउने गरेको अनुभव उहाँंले बताउनुुभयो । अहिले काठमाडौँ उपत्यकासहित उपत्यका बाहिरका विभिन्न स्कुलका विद्यार्थीलाई पनि स्कुलस्कुलले भक्तपुर घुमाउने ल्याउने गरेको उहाँले सुनाउनुभयो ।

तीन दिनको प्रयासपछि नेपाल-चीन सीमामा फेरि फहरायो नेपालको झण्डा

काठमाडौं । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले नेपाल–चीन सीमा क्षेत्रमा रहेका भौतिक संरचनासँगै सीमा स्तम्भसमेत बगाएको थियो। बाढीपछि तीन दिनको निरन्तर प्रयासमा नेपाली सीमामा राष्ट्रिय झण्डा पुनःस्थापना गरिएको छ।

बाढीको प्रभाव र नदी कटान अझै जारी रहेकाले नेपाली भूभागबाट सीमा पहिचान गरी झण्डा गाड्न निकै कठिन भएको थियो। जोखिमपूर्ण अवस्थाका बाबजुद सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको समन्वयमा नेपाली सीमा क्षेत्रमा पुनः नेपालको राष्ट्रिय झण्डा फहराइएको हो।

सीमा क्षेत्रमा बाढी र कटानका कारण उत्पन्न चुनौतीका बीच सुरक्षाकर्मीले जोखिम मोलेर झण्डा पुनःस्थापना गरेका हुन्।

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै पुरिएको अवस्थामा मृत फेला परे ।

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार गर्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४ वर्षीया चन्डिकाको आज अपराह्न जीवितै उद्धार गरेको हो ।

प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमाण्डमा खटिएको प्रहरीले बेत्रावतीस्थित नदीको बगर तथा क्षतिग्रस्त संरचनामा आवश्यक खोजी जारी राखेको थियो । सोही क्रममा आनन्दलालको चारतले घरको छतमा पुगेपछि भित्रबाट आवाज आएको सुनिएको प्रहरी निरीक्षक दर्नालले बताए ।

पर्खालमा सानो प्वाल बनाएर खोजी गर्दा भित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज सुनिएको थियो । “त्यसपछि पर्खाल फुटाएर उहाँको उद्धार गर्न सफल भएका हौँ”, प्रहरी निरीक्षक दर्नालले भने ।

उद्धार गरिएकी चन्डिकालाई नेपाली सेनाको हेलिकप्टरद्वारा वीरेन्द्र सैनिक अस्पताल छाउनी ल्याएर उपचार भइरहेको छ । अहिले उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव

मध्य पूर्व युद्धको कारण इराकमा पेट्रोल आपूर्ति घटेको कारण शनिबार बगदादमा इन्धन स्टेशनहरूमा लामो लाइन लागेको जनाइएको छ ।

पछिल्लो समयमा क्षेत्रीय शत्रुता बढ्दै जाँदा, बगदाद र अन्य प्रान्तहरूमा सरकारद्वारा सञ्चालित इन्धन स्टेशनहरू बाहिर लामो लाइनहरू लागेको जनाइएको छ ।

इराकको पेट्रोलको औसत दैनिक खपत तीन करोड ३० लाख लिटर छ, तर अधिकारीहरूका अनुसार मानिसहरू अभावका कारण माग बढेर तीन करोड ८० लाख पुगेको छ ।

क्षेत्रीय घटनाहरू र चलिरहेको द्वन्द्वले इराकी बन्दरगाहहरूमा तिनीहरूको आगमनमा ढिलाइ गर्दै ट्याङ्कर आवागमनमा चुनौतीहरू निम्त्याइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नागरिकहरूलाई आवश्यक पर्ने मात्रा मात्र इन्धन किन्न र भण्डारणका लागि भीडभाड नगर्न आग्रह गरेको छ भने ऊर्जा मन्त्री बासेम मोहम्मद खुदैरले “पेट्रोलको अस्थायी अभाव” लाई सम्बोधन गरिरहेको र आपूर्ति स्थिर गर्न मद्दत गर्न नयाँ ढुवानी चाँडै आइपुग्ने बताउनुभएको छ । अन्य तेल उत्पादकहरू जस्तै इराक पनि अमेरिका–इरान द्वन्द्वबाट धेरै प्रभावित भएको छ, जसले हर्मुजको जलमार्गलाई अवरुद्ध गरेको छ ।

गत फेब्रुअरीमा युद्ध सुरु हुनुअघि इराकले प्रति दिन करिब ४० लाख ब्यारेल उत्पादन गर्ने गरेको र हर्मुज हुँदै औसत ३४ लाख ब्यारेल निर्यात गर्ने गरेको जनाइउको छ ।

उल्लेखनीय गिरावटपछि, इराकी तेल निर्यात अगस्तमा २२ लाख बीपीडीभन्दा बढी पुगेको मन्त्रालयले जनाएको छ । गत महिना, इरानको समाचार एजेन्सी इरनाले गत छ महिनामा तेहरानले धेरै इराकी तेल ट्याङ्करलाई हर्मुज हुँदै जान अनुमति दिएको बताएको थियो ।

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा । भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ । जिल्ला प्रशासन कार्यालयले यही १० गतेको बाढीले पुर्याएको क्षतिसम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीबाट २८ वटा सरकारी र सार्वजनिक भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ वटा बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र एक हजार ५०० वटा निजी घरमा क्षति पुगेको छ ।

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा निर्माण भएका आठ वटा जलविद्युत् आयोजनामा पूर्ण रुपमा क्षति पुगेको छ ।

बाढीले १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको भोटेकोशी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङ्टाङ खोला, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, पाँच मेगाावटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ र ३७ दशमलव तीन मेगावाटको त्रिशूली ३ ‘बी’मा क्षति पुर्याएको छ ।

खोज तथा उद्धार जारी

बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको खोज तथा उद्धार जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार कार्य भइरहेको छ । थप मद्दतका लागि दक्षिण कोरिया, भारत र चीनका विज्ञसमेत प्रभावित क्षेत्रमा खटिइएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

हालसम्म बाढीमा परी एक हजार ३६५ रसुवाली नागरिक, एक हजार १६० अन्य जिल्लाका नागरिक, २६४ पर्यटक सम्पर्कविहीन भएका छन् । यसैगरी बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारी, ७९ जना सरकारी कर्मचारी, १३ सशस्त्र प्रहरी, २८ जना नेपाल प्रहरी, २७ नेपाली सेना हराएको सहायक प्रजिअ अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रभावित क्षेत्रका बासिन्दालाई खाद्यन्न आपूर्ति सहज गर्न हेलिकप्टरमार्फत राहत वितरण भइरहेको छ ।

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय विद्युत् केन्द्र तथा घरमा फसेका व्यक्तिको जीवितै उद्धार सम्भव भएको छ । प्रलयकारी विपद्को यस दुःखद् घडीमा अर्थहीन सल्लाह दिने, नकारात्मक टीकाटिप्पणी गर्ने र विशेषगरी सरकारले केही गरेन भन्ने भाष्य निर्माण गर्ने प्रवृत्ति बढिरहको अवस्थामा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त प्रयासबाट पछिल्लो दुई दिनमा चार जनाको जीवितै उद्धार गरिएको हो ।

नेपाली सेनाको नेतृत्वमा शुक्रबार माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् केन्द्रको दुई जना कर्मचारी र आज एक चिनियाँ नागरिक तथा सशस्त्र प्रहरी वल तथा नेपाल प्रहरीको प्रयासबाट नुवाकोट विदुरमा एक जना महिलाको जीवितै उद्धार सम्भव भएसँगै सुरक्षाकर्मीको मेहनत र बहादुरीको सर्वत्र प्रशंसा गरिएको छ ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा भदौ १० गते गएको अकल्पनीय एवं विनाशकारी बाढीले जनधनको अपुरणीय क्षति पुर्याएको विषय परिस्थितिका बाबजुद अविचलित भई उद्धारमा खटिएका नेपाली सेनाको विशेष टोली र सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले उच्च मनोबलका साथ निर्वाह गरेको उदाहरणीय भूमिकाको स्वदेश तथा विदेशबाट प्रशंसा भइरहेको सामाजिक सञ्जालमा देखिन्छ ।

रसुवा बाढीपछि उद्धार टोलीको नेतृत्व गरिरहेका नेपाली सेनाका प्रमुख सेनानी गङ्गा बरालले माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् केन्द्रको सुरुङमा खटिएको उद्धार टोली करिब ११ घण्टाको निरन्तर प्रयासपछि शुक्रबार बिहान दुई जना प्राविधिक कर्मचारीको जीवितै उद्धार गर्न सफल भएको भनी दिएको जानकारीबाट आशा र विश्वास जगाउन तथा क्षमता झल्काउन सफल भएको थियो ।

सेना नेतृत्वको टोलीले सो जलविद्युत् केन्द्रमा कार्यरत प्राविधिक सञ्जय साहको बिहान करिब ९ः ३५ बजे र कवीरजङ्ग महर्जनको १०ः ०५ बजे जीवितै उद्धार गरेको थियो । नेपाली सेनाको ‘स्पेसल फोर्स’ विपद् व्यवस्थापन खोज तथा उद्धार टोली, प्राविधिक इञ्जिनियर, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारी, जलविद्युत् आयोजनाका विज्ञ तथा भौगर्भिक इन्जिनियरसहितको संयुक्त टोली उद्धारमा खटिएका थिए ।

यसैगरी, नेपाली सेना नेतृत्वको टोलीले आज दिउँसो एक चिनियाँ नागरिक र सशस्त्र प्रहरी बलको नेतृत्वमा नुवाकोट विदुरकी चन्डिका श्रेष्ठलाई जीवितै उद्धार गरी अर्काे चमत्कार रच्न सफल भएको छ । जीवितै उद्धार हुनेक्रम अझै बढोस् र धेरैको घरपरिवारमा खुसी छाओस् भन्ने कामना गरेको पनि त्यत्तिकै देखिन्छ ।

हिमपहिरोसँगै ल्हेन्दे खोलामा यही भदौ १० गते गएको बाढी भोटेकोशी नदीमा मिसिएपछि आसपासमा रहेका व्यक्तिका घर तथा कार्यालय भवन, विद्युत् केन्द्र, सडक तथा पुल, जग्गाजमिनलगायत मानवीय तथा भौतिक क्षति भएको थियो । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति पुर्याएको तथा धादिङ र चितवनमा सडक तथा पुल बगाएसँगै यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ ।

त्यस्तै, जलविद्युत् आयोजनासहित अन्यत्र काम गरिरहेका स्वदेश तथा विदेशका कैयाैँ व्यक्ति सम्पर्कविहीन भएका अवस्थामा नेपाली सेना नेतृत्वको उद्धार टोली अहोरात्र खटिरहेको छ ।

यसैबिच, खोज तथा उद्धारका क्रममा जङ्गी अड्डाबाट प्राप्त हुने निर्देशन, विद्युत् आयोजनाका कर्मचारी एवं विज्ञबाट प्राप्त हुने सुझावलाई आत्मसात् गर्दै उद्धार टोलीमा संलग्न सुरक्षा फौजलाई उत्साहित बनाई लक्ष्यप्राप्तिका लागि अहोरात्र खटिएको टोलीको नेतृत्वकर्ता प्रमुख सेनानी बरालले बताए ।

उनका अनुसार खाना खाएर बिहीबार साँझ ६ः०० बजेदेखि त्रिशूली जलविद्युत् आयोजनाभित्र फसेका व्यक्तिको उद्धार कार्य सुरु भई करिब ११ घण्टाको निरन्तर प्रयासपछि दुई जना कर्मचारीलाई जीवितै उद्धार गर्न सफल भएको हो ।

प्रमुख सेनानी बरालले भने, “दृढ इच्छाशक्ति र स्वच्छ भावनाका साथ काम गर्ने हो भने जस्तोसुकै विषम परिस्थितिमा पनि कठिनभन्दा कठिन काम गर्न हामी नेपाली सक्षम छौँ । अहिलेको अकल्पनीय रसुवा बाढीमा पनि खटिएर त्यो प्रमाणित गर्न सफल भएका छौँ ।”

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले प्रलयकारी एवं महाविपत्को यस दुःखद् घडीमा नेपाल सरकारको निर्देशनमा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीकोसमेत सहयोग, सहकार्य र समन्वय खोज तथा उद्धारको काम तीव्र गतिमा भइरहेको जानकारी दिए ।

उनले भने, “युद्धस्तरमा बाढी प्रभावित क्षेत्रमा खटिएको विशेष उद्धार टोलीले दिनरात नभनी काम गरेर मुलुकको फौजी संरचनासहित नेपाल र नेपालीको प्रतिष्ठा बढाउन सफल भएको छ, यसरी खटिने सुरक्षाकर्मीलाई हौसला प्रदान गर्न हामी सबैको कर्तव्य हो ।”

सरकारको विपद् व्यवस्थापनमाथि आचार्यको प्रश्न -‘राहतको अभावमा नागरिक भोकै, सामग्री कुहिएर गन्हाउँदैछ’

काठमाडौं । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विपद्पछिको राहत वितरण भद्रगोल भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले नदीपारिका नागरिक राहतको अभावमा भोकै बस्नुपर्ने तर नदीवारी राहत सामग्री थन्किएर कुहिने र गन्हाउने अवस्था देखिएको भन्दै राहत वितरणमा प्रभावकारी समन्वय हुन नसकेको बताएका छन्।

आचार्यले सरकारले लागू गरेको भनिएको ‘एकद्वार प्रणाली’ प्रभावकारी रूपमा कार्यान्वयन भएको हो कि स्थानीय तथा प्रदेश सरकारप्रतिको अविश्वासका कारण सबै जिम्मेवारी नेपाली सेनालाई दिइएको हो भन्ने प्रश्न गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन् – नदी पारि जनता भोकै छन्, यता राहत कुहिएर गन्हाइसक्यो! आखिर यो कस्तो व्यवस्थापन हो?
केही गम्भीर प्रश्नहरू:
१. ‘एकद्वार प्रणाली’ साँच्चै प्रभावकारी भएर लागू गरिएको हो, कि स्थानीय र प्रदेश सरकारप्रतिको चरम अविश्वासले गर्दा सबै काम सेनाकै थाप्लोमा थोपरिएको हो?
२. नेपाली सेनाको मुख्य काम विपद्मा ज्यान बचाउने (उद्धार/Rescue) हो कि चामल बाँड्ने (राहत वितरण)?
३. सेनालाई उद्धार कार्यमा मात्रै केन्द्रित हुन दिएर, आम नागरिक, स्थानीय तह र प्रदेश सरकारको समन्वयमा राहत वितरण टोली बनाएको भए यो बिजोग हेर्नुपर्थ्यो र?
सबैलाई आ-आफ्नो जिम्मेवारी नदिने र सिस्टम नबनाउने हो भने सधैं यस्तै नियति भोग्नुपर्ने भयाे ।

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ, २० भदौः अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता सलहेश युवा क्लबले जितेको पारेको छ ।

शुक्रबार भएको फाइनल खेलमा फिदिम स्पोर्टिङ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सहलेशले उपाधि हात पारेको हो ।

सलहेशका खेलाडी फागुराम थारुले दोस्रो हाफमा गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो । सलहेश युवा क्लबले भा रतको जर्जियन युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यता झापा-११ लाई १-० गोल अन्तरले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको थियो ।

लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतको सहित आठ समूहको सहभागिता थियो । विजेता सलहेशले रु सात लाख दुई हजार ८३ तथा उपविजेता फिदिमले रु तीन लाख ५२ हजार ८३ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिएको छ ।

सहयोगी सुरक्षा निकायहरूबीचको विवाद ‘अस्वीकार्य’ – जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हप्ता किएभमा सहयोगी सुरक्षा निकायहरूबीच भएको आपसी आक्रमणको आलोचना गर्नुभएको छ । उहाँले उच्च पदस्थ अधिकारीहरूको बर्खास्त गर्ने योजना बनाएको बताउनुभएको छ ।

सैन्य गुप्तचर निकाय (जीयूआर) र राष्ट्रिय सुरक्षा सेवा (एसबीयू) बीच बुधबार राजधानीमा भएको आक्रमणको घटना गोलीबारी भएको थियो, जसमा धेरै अधिकारी घाइते भएका थिए ।

यो आपसी विवाद युक्रेनले रुसको लम्बिएको आक्रमणको सामना गरिरहेकै समय दिनदहाडै भएको थियो ।

जेलेन्स्कीले बिहीबार राति भन्नुभयो, “घटनाबारे दुवै निकाय जवाफदेही बन्नुपर्छ, दुवैले पूर्ण रूपमा अस्वीकार्य काम गरेका छन्।”

उहाँले भन्नुभयो, “दुवै निकायका दुई सुरक्षा अधिकारीलाई संदिग्धको रूपमा अनुसन्धान अघि बढाइएको छ।”

“यस्ता घटना फेरि कहिल्यै नहुन् भन्नका लागि सत्य स्थापित हुनु महत्त्वपूर्ण छ,” उहाँले भन्नुभयो ।

उहाँले थप्नुभयो, “दुवै निकायका प्रमुखहरूको ‘मूल्याङ्कन’ गरिनेछ र ‘यो अवस्थाका लागि जिम्मेवार उपप्रमुखहरूलाई बर्खास्त गरिनेछ।”

युक्रेनी मिडियाका अनुसार, यो द्वन्द्व एसबीयूले रुसी स्वयंसेवक कोरका एक उपकमाण्डरलाई पक्राउ गरेसँग जोडिएको हुन सक्छ । यो किएभका लागि लड्ने क्रेमलिन विरोधी रुसीहरूको बटालियन हो, जुन जीयूआरको अधीनमा छ।

एसबीयूले भनेको छ, “यसले ‘रुसद्वारा आदेश दिएको हत्या रोक्न’ ‘तोडफोडविरोधी कार्य’ गरिरहेको थियो र कमाण्डर र रुसका विशेष सेवाहरूबीच सम्पर्क स्थापित गराएको दाबी गरेको छ।”

यसैबीच जीयूआरले भन्यो कि यसको विरुद्ध “लक्षित दुष्प्रचार अभियान” चलिरहेको छ।

दुवै निकाय किएभको युद्ध प्रयासमा केन्द्रीय भूमिका खेल्छन् र रुसको आक्रमणका दौरान उनीहरूको शक्ति व्यापक बढेको छ ।

बाढी प्रभावितको सुरक्षा र स्थायी पुनर्स्थापना सरकारको प्राथमिकता हो – मन्त्री बादी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गर्दै प्रभावित नागरिकको सुरक्षा, संरक्षण तथा स्थायी पुनर्स्थापनालाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन् ।

मन्त्री बादीले विदुर–४ स्थित युनाइटेड आधारभूत विद्यालय तथा तल्लो पिपलटारमा सञ्चालित होल्डिङ सेन्टरको निरीक्षण गरी प्रभावित नागरिकको आवास, स्वास्थ्य, खाद्यान्न तथा आधारभूत सेवाको अवस्थाबारे जानकारी लिइन् । उनले प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको तत्कालीन आवश्यकता र समस्याबारे समेत जानकारी लिएकी थिइन्।

अनुगमनका क्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सुत्केरी महिलाको विशेष सुरक्षा र संरक्षण सुनिश्चित गर्नुपर्नेमा मन्त्री बादीले जोड दिइन्। प्रभावित महिलाका लागि छुट्टै सुरक्षित होल्डिङ सेन्टर, आवश्यकताअनुसार महिला प्रहरीको परिचालन तथा सुरक्षित स्थानान्तरणको व्यवस्था प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय गरिएको थियो।

मन्त्री बादीले विपद्का कारण जोखिममा परेका तथा अभिभावकबाट छुट्टिएका बालबालिकाको पहिचान, सुरक्षित संरक्षण, पारिवारिक पुनर्मिलन र आवश्यक मनोसामाजिक सहयोगलाई विशेष प्राथमिकता दिनुपर्ने बताइन्। बालबालिकालाई असुरक्षित वातावरणमा वयस्कसँगै राख्न नहुने भन्दै उनीहरूको अवस्था र संरक्षण आवश्यकताअनुसार सुरक्षित व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिइन्।

अनुगमनका क्रममा कारागार कार्यालय, बाल सुधार गृह तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको समेत निरीक्षण गरी सुरक्षा, स्वास्थ्य तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिइन् ।

मन्त्री बादीले प्रभावित नागरिकलाई तत्काल राहत र सुरक्षित आश्रय उपलब्ध गराउनुका साथै दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थायी पुनर्स्थापनाका लागि सरकारले योजना अघि बढाइरहेको बताइन् ।

रसुवा भोटेकोशी बाढी : १ हजार २९५ शव फेला, ४ हजार ८९८ बेपत्ता

रसुवाको भोटेकोशी नदीमा आएको बाढी कारण हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन् । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै, बाढीमा परेका ८ हजार ६३१ जना घाइतेहरुको उद्धार गरिएको छ । प्रहरीले हालसम्म १ हजार ३० जनाको शव व्यवस्थान गरेको जनाएको छ ।

दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्

कास्की। रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत पोखरा–१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारीको यसपटक तीजमा घर आउने योजना थियो ।

आफ्ना दिदीबहिनीसँग बसेर तीज मनाउने र उनीहरूका लागि किनेका नयाँ कपडा उपहार दिने सोचमा हुनुहुन्थ्यो ।

यही भदौ ९ गते साँझ ‘भिडियो कल’मार्फत किनेका कपडा देखाउँदै ‘यो कलर कस्तो छ’ भन्दै उहाँले परिवार र दिदीबहिनीसँग खुशी साट्नु भएको थियो ।

दिदीबहिनीलाई तीजको उपहार दिने र परिवारसँगै चाड मनाउने उहाँको त्यो सपना अब सँधैका लागि अधुरै रह्यो । टिमुरे भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत ४७ वर्षीय अधिकारी गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन हुनुभयो । बाढीमा परेका उहाँको अवस्था त्यसयता अज्ञात छ ।

घटनापछि ज्यान जोगाएर फर्किन सफल उहाँका सहकर्मीका अनुसार अधिकारी बाढी आउनुअघि अन्य साथीसँगै कार्यालयकै काममा हुनुहुन्थ्यो । सोही बाढीमा भन्सार कार्यालयका १५ कर्मचारी सम्पर्कविहीन भएका थिए ।

पोखरा विमानस्थल भन्सार कार्यालयबाट करिब छ महिनाअघि टिमुरे सरुवा भएर जानुभएका अधिकारी यसबीचमा दुई पटक घर आउनुभएको थियो । परिवारका सदस्य उहाँ फेरि सकुशल घर फर्किनुहुन्छ भन्ने आशामा बसे तर,उहाँको कुनै खबर आएन ।

बाढी आएको दिन बिहानसम्म अधिकारी परिवारसँग सम्पर्कमा हुनुहुन्थ्यो । त्यसपछि भने उहाँसँग परिवारको कुनै सम्पर्क हुन सकेन ।

परिवारले पटक–पटक उहाँको मोबाइलमा फोन ग¥यो । विभिन्न ठाउँमा बुझे र अस्पताल र शव राखिएका स्थानमा समेत खोजी गर्यो । सुरुमा अप्ठ्यारो भूगोलका कारण सम्पर्क हुन नसकेको हुनसक्ने भन्दै परिवारले उहाँ सकुशल फर्किने आशा मारेको थिएन ।

बिहीबार घटनास्थलको प्रत्यक्ष अवलोकन गरेर पोखरा फर्किएपछि भने परिवारको आशा समाप्त भयो । लामो समयसम्म कुनै जानकारी नपाएपछि परिवारले हिन्दु संस्कारअनुसार शुक्रबार कुशको शव बनाएर शुक्रबार रामघाटस्थित सेती नदीमा अन्त्येष्टि गरेर काजकिरिया सुरु गरेको छ ।

छोरा विनय अधिकारीले बुबासँग बाढी आउनु दिनको विहानसम्म परिवारको सम्पर्क रहेपनि त्यसपछि कुराकानी हुन नसकेको बताउनुभयो ।

“बुबा सकुशल आउनुहोला भनेर धेरै कामना गरेर बस्यौँ । तर केही जानकारी पाउन सकिएन। हिजो टिमुरे पुगेर साँझ फर्किएपछि त्यहाँको अवस्था देख्दा अब बुबा आउनुहोला भनेर आशा गर्ने ठाउँ नै रहेन ।” उहाँले मलिन अनुहार र सुस्त आवाजमा भन्नुभयो ।

बुबा बेपत्ता भएपछि परिवारले कम्तीमा शव भए पनि भेटिन्छ कि भन्ने आशामा विभिन्न अस्पताल र स्थानमा खोजी गरेको विनयले बताउनुभयो । धादिङमा एउटा शवको तस्बिर मिल्दोजुल्दो देखिएपछि परिवार शव पहिचानका लागि त्यहाँसम्म पुगेको थियो । तर, प्रत्यक्ष रूपमा शव हेर्दा त्यो अधिकारीको नभएको पुष्टि भयो ।

“धादिङमा भेटिएको शवको तस्बिर हेर्दा मिल्दोजुल्दो देखिएपछि हामी गयौँ,” विनयले भन्नुभयो, “तर हातमा भएको ट्याटुका आधारमा त्यो शव बुबाको नभएको पुष्टि भयो ।”

अधिकारीका छिमेकी र मिल्ने साथी रहनुभएका नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालले अधिकारी सम्पर्कविहीन भएदेखिनै समावेशी टोलमा सन्नाटा छाएको बताउनुभयो ।

सहयोगी, मिलनसार र सामाजिक स्वभावका अधिकारी बेपत्ता भएपछि टोलवासी पनि निरन्तर खोजीमा जुटेको उहाँले बताउनुभयो । शव वा अन्य कुनै सुराकको खोजीमा पोखरा, चितवनलगायतका अस्पतालसम्म पुगे पनि लामो समयसम्म कुनै जानकारी प्राप्त हुन नसकेको उहाँको भनाइ छ ।

“जागिरका क्रममा उहाँ टिमुरे गए पनि हामीबीच दैनिकजसो कुराकानी हुन्थ्यो । टाढा रहे पनि उहाँलाई टोल र छिमेकको सधैँ चासो हुन्थ्यो । कसैलाई अप्ठ्यारो पर्दा सबैभन्दा अगाडि सर्ने स्वभाव थियो । साथीको यस्तो अकल्पनीय घटनाले हामीलाई गहिरो पीडा दिएको छ,” बरालले दुःख व्यक्त गर्नुभयो ।

सामाजिक कार्यमा सक्रिय अधिकारी गीत–सङ्गीतमा पनि उत्तिकै रुचि राख्नुहुन्थ्यो । समावेशी टोलको सहसचिवका रूपमा उहाँले टोलका समस्या समाधान र विकासका काममा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँको अर्को विशेष परिचय थियो मुरलीको मधुर धुन । विशेषगरी साथीभाइ जम्मा भएको बेला मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउने उहाँको कला टोलवासीका लागि अहिले सम्झना बनेको छ ।

छिमेकी घनश्याम पाण्डेका अनुसार अधिकारी घरमा हुँदा मुरली कहिल्यै छुटाउनुहुन्नथ्यो ।

“साथीभाइ जम्मा हुनेबित्तिकै उहाँ मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउनुहुन्थ्यो । उहाँ घरमा हुँदा मुरली सधैँ साथमै हुन्थ्यो। त्यसैले कुशको शवसँगै एउटा मुरली पनि राखिदिएका छौँ । अर्को मुरली उहाँको सम्झनाका लागि घरमै राखेका छौँ,” पाण्डेले भन्नुभयो ।

तनहुँको तत्कालीन मिजुङ गाविस तथा हालको भानु नगरपालिका–५ स्थायी घर भएका अधिकारीको परिवार विगत १५ वर्षदेखि पोखरा–१४, समावेशी टोलमा बसोबास गर्दै आएको छ । उहाँका आमा, श्रीमती, एक छोरा, एक छोरी, तीन दिदी र एक बहिनी हुनुहुन्छ ।

गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि पोखराका १२ जना अझै सम्पर्कविहीन रहेका छन् । घटनामा परेर कुनै जानकारी नपाएकाका परिवारले अझै पनि आफ्ना प्रियजन आउने झिनो आसमा छन् ।

बाढीपछि सम्पर्कविहीन भएका तीन जना भने पछि परिवारको सम्पर्कमा आएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । अन्यको अवस्था भने हालसम्म अज्ञात रहेको उहाँले जानकारी दिनुभयो ।