`

मधेस सरकार श्रम तथा यातायात मन्त्रालयको ११ बुँदे निर्देशन

जनकपुरधाम। मधेस प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालयहरूको कामलाई छिटोछरितो र प्रभावकारी बनाउन ११ बुँदे निर्देशन जारी गरेको छ ।मन्त्रालयले सेवाग्राहीको गुनासो, बिचौलियाको प्रभाव र अव्यवस्थित सेवा प्रणालीलाई नियन्त्रण गर्न सो निर्देशन दिएको हो ।

विभिन्न बहानामा दुःख दिने, फाइल अड्काउनेलगाायत विभिन्न समस्याबाट मुक्त पार्न अब काम लिएर आउने सेवाग्राहीलाई टोकन सिस्टम लागू गर्न सबै यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिइएको छ । यसका साथै यातायात कार्यालयमा प्रहरीको सहयोगमा ‘नो मिडलम्यान जोन’ घोषणा गरी बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेर सेवाग्राहीलाई सहज वातावरणमा सेवा दिने व्यवस्था गर्ने निर्देशनमा जनाइएको छ ।

मन्त्रालयले हेल्पडेस्क र नागरिक वडापत्र अनिवार्य रूपमा राख्नुपर्ने, सेवाग्राहीका गुनासा तत्काल समाधान गर्न गुनासो पेटिका र फेसबुक पेजमार्फत सुझाव सङ्कलन गर्ने र त्यसको छिटो सम्बोधन गर्ने व्यवस्था मिलाउने मन्त्रालयबाट जारी सूचनामा जनाइएको छ ।यसैगरी, सूचनामा पारदर्शिताका लागि कार्यालयको डिस्पले बोर्ड, वेबसाइट र सामाजिक सञ्जालमा सूचना अधिकारीको नाम, पद र मोबाइल नम्बर अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने निर्देशनमा भनिएको छ ।

सेवा सुधारका लागि मन्त्रालयले कार्यालयको भौतिक व्यवस्थापनमा पनि ध्यान दिएको छ । पिउने पानीको व्यवस्था, दैनिक सरसफाइ (विशेषगरी शौचालय र कार्यालय परिसर) तथा पार्किङ व्यवस्थापन मिलाउन निर्देशन दिइएको छ ।

त्यसैगरी, प्रत्येक सेवाको समयसीमा निर्धारण गरिने र ढिलासुस्ती गर्ने कर्मचारीमाथि कानुनअनुसार कारबाही गरिने स्पष्ट गरिएको छ । सेवाग्राहीको अनुभव मापन गर्न सन्तुष्टि÷असन्तुष्टि सर्वेक्षण फारामसमेत लागू गर्न भनेको छ । अबदेखि कार्यालयका प्रत्येक कोठामा नम्बर र सेवा विवरण स्पष्ट देखिनेगरी टाँस्नुपर्ने निर्देशन यातायात कार्यालयहरूलाई दिइएको छ ।

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।जसअनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४० पैसा र बिक्रीदर १७६ रुपैयाँ ११ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर २०२ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९० रुपैयाँ ७१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०७ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८२ पैसा र बिक्रीदर २१ रुपैयाँ ९१ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ८२ पैसा र बिक्रीदर ४० रुपैयाँ ९८ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर ४० रुपैयाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

त्यस्तै ,साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २२ पैसा र बिक्रीदर १६ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४७ पैसा र बिक्रीदर २३ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ ०९ पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ३९४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९६ रुपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८८ रुपैयाँ १० पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ ।

सिरहामा सार्वजनिक सवारीसाधनमा सिसीटिभी अनिवार्य गर्न निर्देशन

सिरहा । जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य रूपमा सिसीटिभी क्यामेरा जडान गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै २० दिनभित्र सबै यात्रीवाहक सवारीसाधनमा सिसीटिभी जडान गरिसक्न निर्देशन दिएको हो ।

जिल्ला यातायात व्यवस्थापन समितिको निर्णयअनुसार सिरहा सदरमुकाम, लहान र मिर्चैयालगायत क्षेत्रबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधनमा यो नियम लागू हुनेछ । सार्वजनिक यातायातमा हुनसक्ने चोरी, दुव्र्यवहार र अन्य आपराधिक क्रियाकलाप नियन्त्रण गरी यात्रुलाई सुरक्षित महसुस गराउन यो कदम चालिएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार तोकिएको २० दिनको समयसीमाभित्र सिसीटिभी जडान भए÷नभएकोबारे यातायात व्यवस्था कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट नियमित अनुगमन गरिनेछ । निमित्त प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी गरिएको उक्त सूचनामा नियमको पालना नगर्ने सवारीसाधनलाई कारबाही गरिने उल्लेख गरिएको छ ।

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ

भक्तपुर, ४ वैशाख : बिस्केट जात्राको सातौँ दिन बिहीबार भक्तपुरमा इतिहासमै पहिलोपटक महिलाहरूले नकिजु अजिमा (भद्रकाली)को दुईतले रथ तानेका छन् । आठ रात नौ दिनसम्म भक्तपुरमा भव्य रूपमा मनाइने बिस्केट जात्रामा सातौँ दिन पाँचतले मन्दिरबाट नकिजु अजिमा (भद्रकाली)को रथ तानेर इतिहास कायम गरेका हुन् ।

यसअघि हरेक वर्ष पुरुषहरूले तान्दै आएको नकिजु अजिमाको रथ यस वर्ष भने जात्रा व्यवस्थापन समितिले नै महिलाहरूलाई आह्वान गरी पहिलोपटक महिलाहरूले मात्रै रथ तानेका हुन् । वैशाख १ गते ल्यासिंखेलमा लिङ्गो ढालेपछि त्यहीबाट भैरव र भद्रकालीको रथलाई तानेर ल्याई गःहिटीम जुधाउने प्रचलन रहेको छ । नकिजु अजिमाको रथ तान्नलाई हजाराँै महिलाको भीड थियो ।

२०८३ वैशाख ३ गते बिहीबार नै ब्रम्हायणी र महेश्वरीको तिप्वा जात्राको खट जुधाइएको छ । भक्तपुरमा आयोजना गरेको या जात्रा हरेक बिस्का जात्राको सातौँ दिन ब्रम्हायणी र महेश्वरीको रथ जुधाएर जात्रा मनाउने गरिन्छ ।

जात्राका आठौँ दिन आज ( २०८३ वैशाख ४ गते शुक्रबार) भने सुगन जात्रा मनाउने प्रचलन छ । सगुन जात्रामा भक्तपुरका स्थानीयले यहाँका विभिन्न देवीदेवताका मन्दिरमा गएर सगुन चढाएर पुजन गर्ने गरिन्छ । जात्राको नवौ दिन अर्थात् जात्राको अन्तिम दिन वैशाख ५ गते भैरवको रथ तानेर जात्रा सम्पन्न गर्ने प्रचलन छ ।

१८ वर्षपछि फेसबुकमार्फत हराएको छोरा फेला, परिवार पुनर्मिलनको प्रतीक्षामा

कञ्चनपुर, ४ वैशाख : सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा खुसीयाली छाएको छ । लामो समयदेखि सम्पर्कविहीन रहेका छोरा दीपक जीवित रहेको खबर पाएपछि परिवार पुनर्मिलनको प्रतीक्षामा छ ।

घरको कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको उमेरमा रोजगारीको खोजीमा भारत गएका दीपक गाउँकै एक आफन्तसँग हिमाञ्चल पुगेका थिए । त्यहाँ काम गर्ने क्रममा बिरामी परेपछि ‘अस्पताल जान्छु’ भनेर हिँडेका उनी त्यसपछि सम्पर्कविहीन भएका थिए । त्यसयता उनी कहाँ छन् भन्ने कुनै जानकारी परिवारले पाउन सकेको थिएन ।

समय बित्दै जाँदा परिवारले आफन्त र चिनेजानेकाहरूसँग खोजी गरे पनि कुनै पत्तो लागेन । अन्ततः दीपक जीवित छन् कि छैनन् भन्ने नै अन्योलमा परेको अवस्थामा परिवारले आशा मारेको थियो । तर नियतिले नयाँ मोड लियो । भारतको लेह–लद्दाख क्षेत्रमा चौँरीगोठमा काम गरिरहेका एक नेपालीले दीपक नेगीसँग भेट गरेका थिए । कुराकानीका क्रममा उहाँले आफू कञ्चनपुरको देखतभूलीको दीपक (दीपु) नेगी भएको बताएका थिए ।

त्यसपछि ती नेपालीले दीपकको नाम, ठेगाना र अवस्थासहितको भिडियो फेसबुकमा अपलोड गरे । उक्त भिडियो सामाजिक सञ्जालमार्फत फैलिँदै नेगी परिवारसम्म पुगेको हो । प्रहरीमार्फत सूचना वडा कार्यालयसम्म पुगेपछि परिवार र भिडियो अपलोड गर्ने व्यक्तिबीच सम्पर्क स्थापित भएको थियो । त्यसपछि फेसबुक र फोनमार्फत दीपकको अवस्थाबारे थप जानकारी लिइएको छ ।

मोबाइलको स्क्रिनमा १८ वर्षपछि छोराको अनुहार देख्दा परिवारका सदस्यहरू स्तब्ध बनेका थिए । एकछिन त विश्वास नै गर्न नसकेको परिवार त्यसपछि भावुक बनेको थियो । “भगवान्ले नै आएर खबर सुनाएजस्तो भयो”, दीपकका बुबा डम्बरबहादुर नेगीले भन्नुभयो, “यति वर्षपछि छोराको खबर पाउनु नयाँ जीवन पाएजस्तै हो ।”

आमा मानमती नेगीका लागि पनि त्यो क्षण अत्यन्त भावुक रह्यो । “पहिले त विश्वास नै लागेन, पछि राम्रोसँग हेर्दा आफ्नै छोरा हो भन्ने थाहा पाएँ”, उहाँले भन्नुभयो, “खुसीले बोल्न सकिनँ, आँसुमात्रै आयो, अब छिट्टै भेट्ने व्यग्र प्रतीक्षा छ, छोरा भेट्ने अझै बेचैनी बढ्दै जान थालेको छ ।”

परिवारका अनुसार दीपक केही वर्षदेखि मानसिक रूपमा अस्वस्थ छन् । काम गर्ने ठाउँका मालिकले उपचार गराइरहेका छन् भन्ने जानकारी प्राप्त भएको छ । सीमित स्रोतसाधनका बाबजुद गरिएको सहयोगप्रति परिवारले आभार व्यक्त गरेको छ । हाल नेगी परिवार र दीपकबीच फेसबुक भिडियो कलमार्फत नियमित सम्पर्क भइरहेको छ । लामो समयपछि छोरासँग कुरा गर्दा परिवार अझै पनि विश्वास गर्न गाह्रो भइरहेको बताउँछ ।

“फोनमा आवाज सुन्दा र भिडियोमा देख्दा मन भरिन्छ”, बुबा डम्बरबहादुरले भन्नुभयो, “अब छिट्टै घर ल्याउन पाए सबै दुःख बिर्सिन्छौँ ।” छत्तीस वर्षीय दीपकलाई घर फर्काउने तयारी पनि सुरु गरिएको छ । दुर्गम लेह–लद्दाख पुग्न समय र खर्च दुवै लाग्ने भएकाले परिवार आवश्यक स्रोत जुटाउने कार्यमा लागेको छ । आफन्तसँग सरसापट र कर्जा मागेर भए पनि दीपकलाई ल्याउनका लागि तयारी गरिएको छ ।

हाल दिल्लीमा कार्यरत दीपकका दाजु र भाउजुले यसै महिनाको २० तारिखतिर लद्दाख पुगेर उहाँलाई घर ल्याउने योजना बनाइरहेका छन् । परिवारले ल्याउनका लागि अब ढिलाइ नगर्ने जनाएको छ ।

वडाध्यक्ष नवलसिंह रानाका अनुसार प्रहरीमार्फत सूचना प्राप्त भएपछि परिवारलाई जानकारी गराइएको र भारतस्थित सम्पर्क व्यक्तिसँग समन्वय गरिएको हो । “फेसबुककै कारण वर्षौँदेखि हराएको व्यक्ति परिवारसँग जोडिनु प्रविधिको सकारात्मक प्रयोग हो”, उहाँले भन्नुभयो ।

नेगी परिवारका छिमेकी वडा सदस्य जयसिंह भण्डारीले पनि फेसबुक भिडियोमार्फत दीपक जीवित रहेको थाहा पाउँदा गाउँभरि खुसी छाएको बताउनुभयो । नेगी परिवारका तीन छोरामध्ये दीपक माइला हुन् । जेठो र कान्छो छोरा भारतमै रोजगारीमा छन् भने बुबा गाउँकै सामुदायिक वनमा चौकीदारका रूपमा कार्यरत छन् ।

वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ, ४ वैशाख : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले सुनाउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो ।

यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ । मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।

विदेशको दुःख त्यागेर गाउँमै कमाइ : घुम्तीगोठबाट आत्मनिर्भर बने दम्पती

म्याग्दी, ४ वैशाख : रोजगारका लागि बहराइनमा पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारीलाई स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्कनुपर्यो ।

तीन छोराछोरी, वृद्ध बुबाआमा, भाइबहिनीहरूको पठनपाठनदेखि घरव्यवहार चलाउने भीम विदेशबाट फर्किँदा निरास भए पनि हिम्मत हार्नुभएन । विदेशबाट फर्किएपछि बेरोजगार बनेका भीमलाई बाख्रापालन गर्ने सोच पलायो । आठ वर्षअघि सुरु गरेको घुम्तीगोठमा बाख्रापालन व्यवसायले उहाँलाई स्वरोजगारका साथै आत्मनिर्भर बनाएको हो ।

“विदेशबाट फर्किनुपर्दा घरव्यवहार चलाउने खर्च कसरी जुटाउने भनेर पिरोलिएको थिएँ”, उहाँले भन्नुभयो, “घुम्तीगोठमा बाख्रापालन सुरु गरेपछि रोजगारी र घरव्यवहार चलाउनकै लागि पैसा कमाउन विदेश नै जानुपर्दो रहनेछ भन्ने महसुस भयो ।”

भीमले बुबा लालबहादुर भण्डारीले पितापुर्खाको पालादेखि नै गर्दै आएको बाख्रापाल्ने पेसालाई व्यवस्थित गरेर निरन्तरता दिनुभएको हो । पचास वटाबाट सुरु भएको भीमको गोठमा हाल एक सय ५० स्थानीय खरी जातका बाख्रा छन् । उहाँलाई बाख्रापालनमा श्रीमती विपनाले साथ दिनुभएको छ ।

वार्षिक १५ देखि २० वटा खसीबोका र त्यति नै सङ्ख्यामा पाठापाथी तथा माउ बाख्रा बिक्री गर्ने भण्डारी दम्पती बाख्रापालनबाट सन्तुष्ट छन् । “गोठमा बाख्राको सङ्ख्या धेरै हुँदा दुई सय वटासम्म पुगेको थियो”, विपनाले भन्नुभयो, “अर्काको देशमा गर्ने दुःख आफ्नै ठाउँमा गर्ने हो भने आत्मनिर्भर भइने रहेछ ।”

अग्ला र धेरै तौल हुने खरी स्थानीय जातको बाख्रा हो । औसतमा एक बेतमा एकवटा पाठापाठी जन्माउने खरीका खसी दुई वर्ष पालेपछि प्रतिगोटा रु २० हजारमा बिक्री हुने विपनाले बताउनुभयो । धेरै सङ्ख्यामा दानापानी र घाँस पुर्याउन नसकिने हुँदा ग्रामीण क्षेत्रका किसानले घुम्तीगोठमा बाख्रापालन गर्छन् ।

कात्तिकमा बेँसी झरेका भण्डारी दम्पतीका बाख्रागोठ हिजोआज फलीगाउँको फेदीमा रहेको हुचिनमा छ । चिसो हुने भएकाले हुचिनभन्दा अझ न्यायो र बेँसी सोलवाङमा गोठ राखिएको थियो । वैशाखको अन्तिम साता चरनका लागि बाख्रागोठ ढोरपाटन लैजाने उनीहरूको योजना छ ।

जेठ, असार र साउनमा गुर्जाघाट चर्ने बाख्रा भदौ र असोजमा त्यो भन्दा माथिको बुकी अनेरीमा पुग्छन् । किसानले पशुका लागि आवश्यक पर्ने पोषिलो आहारा पाइने चरन क्षेत्रलाई बुकी भन्छन् । त्रिपालको टहरामा रात कटाउने उनीहरूले बाख्राको सुरक्षाका लागि पाँचवटा कुकुर पालेका छन् ।

कुकुरले चितुवालगायत जङ्गली जनावरको गतिविधिलाई निगरानी गर्ने, बाख्रालाई बचाउने, भुकेर सूचना दिने र कतिपय अवस्थामा जङ्गली जनावरसँग भिडेर भगाई सहयोग गर्ने विपनाले सुनाउनुभयो । आफ्नै नाममा जग्गा जमिन नहुँदा व्यवसाय दर्ता गर्न नपाएका उनीहरूले बाख्रापालनलाई नै निरन्तरता दिने र जीविकोपार्जनको माध्यम बनाउने बताएका छन् ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अभियानकै रूपमा महामारीजन्य रोग पिपिआरविरुद्धको खोप र धवलागिरि गाउँपालिकाले प्राविधिक सेवा, त्रिपाल र सौर्य ऊर्जा सहयोग गरेको छ । महामारीबाहेकको अवस्थामा पनि बाख्राको औषधि उपचार निःशुल्क गर्ने र पशु बीमाका लागि सहजीकरण गरिदिन भण्डारी दम्पतीले राज्यका निकायसँग अनुरोध गरेका छन् ।

अमेरिका–इरान वार्ताको पहलका लागि पाकिस्तानी प्रधानमन्त्री कतारमा

काठमाडाैँ । संयुक्त राज्य अमेरिका र इरानबिचको युद्धविरामको प्रमुख मध्यस्थकर्ता पाकिस्तानका प्रधानमन्त्री बिहीबार कतार पुगेका छन् । वासिङ्टन र तेहरानबिच दोस्रो चरणको शान्ति वार्ताको लागि वातावरण बनाउन उहाँले बुधबार साउदी अरबका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गरेका थिए ।

शहबाज सरिफको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “साउदी अरबको भ्रमणपछि उनको प्रतिनिधिमण्डल दोहा आइपुगेको छ । उहाँले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेट्ने अपेक्षा गरिएको छ।”

क्षेत्रीय र विश्वव्यापी शान्तिका लागि पाकिस्तानले गरिरहेको प्रयासबारे उनीहरुले विचार आदानप्रदान गर्ने उनको कार्यालयले जनाएको छ। पाकिस्तानी प्रधानमन्त्रीले सरिफले मध्यपूर्वको भ्रमणपछि टर्कीए जाने कार्यक्रम तय भएको छ।

गत सप्ताहन्तमा इस्लामावादमा अमेरिकी र इरानी प्रतिनिधिमण्डलहरूबिच भएको उच्चस्तरीय वार्ताबाट कुनै सम्झौता हुन सकेको थिएन । अप्रिल ७ मा दुई हप्ताको युद्धविराम सुरु भएपछि मध्यपूर्वमा युद्ध स्थायी रूपमा अन्त्य गर्ने सम्बन्धमा पाकिस्तानमा भएको वार्ताले तत्काल कुनै सहमत गर्न विफल भएको थियो।

इरानमाथि अमेरिका र इजरायलको आक्रमणका कारण फेब्रुअरीको अन्त्यतिर सुरु भएको युद्धको प्रारम्भमा कतारको ऊर्जा पूर्वाधारमा इरानको आक्रमणका कारण दोहाले तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उत्पादन रोक्न बाध्य भएको थियो।

इरानसँग विशाल दक्षिणी पार्स ग्यास क्षेत्रमा साझा सिमा रहेको अमेरिका, अष्ट्रेलिया र रूसको साथ एलएनजीको प्रमुख उत्पादकहरू मध्ये एक हो। कतार पाकिस्तानलगायत एसियाली राष्ट्रहरूको लागि एक प्रमुख आपूर्तिकर्ता हो।

  परराष्ट्रमन्त्री खनालसँग साउदी अरेबियाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद ए मनिखरले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा बिहीबार भएको भेटमा उनहरूबिच दुई देशबीचको सहकार्य र समन्वयलाई अझ विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
साथै भेटमा नेपालका विभिन्न परियोजनाहरूमा साउदी लगानी आकर्षित गर्ने र वृद्धि गर्ने विषयमा पनि विचार–विमर्श भएको थियो ।

गैँडाको खागसहित चार जना पक्राउ

सुनसरी । सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गैँडाको खागसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले जानकारी दिए ।

झापाबाट गैँडाको खाग लिएर आइरहेको भनी आएको गोप्य सूचनाका अधारमा खागसहित बर्जु–६ ताल नजिकबाट चार जनालाई नियन्त्रणमा लिएको उनले बताए । पक्राउ परेकाको साथबाट एउटा खाग, दुई वटा मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले बताए । पक्राउ परेकाको नाम गोप्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ । यसको सञ्जाल ठुलो भएको र अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरेको उनले बताए ।

विराट गोल्डकप फुटबल: सम्राट स्पोर्टिङ फाइनलमा

मोरङ। विराट गोल्ड कप फुटबलको ३८औँ संस्करण अन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा सम्राट स्पोर्टिङ क्लब विराटनगर फाइनलमा प्रवेश गरेको छ ।विराट गोल्डकप फुटबल ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा भएको आजको खेलमा सम्राटले चर्च व्वाइज युनाइटेड क्लब काठमाडौँलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । सम्राट स्पोर्टिङका लागि सौरभ तामाङ, आदित्य शाक्य र विवेक राईले गोल गरेका थिए ।

खेलको प्लेयर अफ दी म्याच सम्राट स्पोर्टिङका सौरभ तामाङ घोषित भई रु ११ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी थिए ।विराटनगर गोल्डकपको विजेताले रु ११ लाख, उपविजेताले रु पाँच लाख, उत्कृष्ट प्रशिक्षकले रु १५ हजार, उत्कष्ट गोल रक्षकले रु १५ हजार, सर्वाधिक गोलकर्ताले रु १५ हजार तथा सर्वोकृष्ट खेलाडीले रु ५१ हजार पुरस्कार प्राप्त गर्ने छन् ।ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार प्रतियोगिताको फाइनल खेल शनिबार सम्राट स्पोर्टिङ र झापा–११ बीच हुने छ ।

छतबाट खसेर प्रहरी कार्यालय सहयोगीको मृत्यु

कैलाली। भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण कार्यालय धनगढीमा कार्यरत एक कार्यालय सहयोगीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठेगाना भई हाल सो गणमा कार्यरत २७ वर्षीय अजय चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिन्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतक चौधरी सरसफाइ गर्ने क्रममा भान्साको माथिल्लो तलाबाट खसि बेहोस भई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको र उपचारका क्रममा उहाँको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

इन्धनको मूल्यवृद्धिले यातायात व्यवसायी मारमाः भाडा समायोजन गर्न माग

काठमाडौँ। यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले इन्धनको मूल्यवृद्धिले व्यवसायी मारमा परेका भन्दै भाडा समायोजन गर्न माग गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण नेपालमा आउने इन्धनको मूल्य बढेको र यातायात सञ्चालनमा समस्या परेको भन्दै भाडा समायोजन गर्न माग गर्नुभएको हो

“नेपाल आयल नियमले पटकपटक गरी डिजेल÷पेट्रोलमा भारी मूल्य वृद्धि गरेको हुँदा सार्वजनिक यातायात क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन र मालवाहक सवारीसाधन सञ्चालन गर्न कठिन अवस्था सिर्जना भएकाले मूल्यवृद्धिका आधारमा भाडा समायोजन गर्न माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले विषम परिस्थितिको मूल्याङ्कन गर्दै देशभरि सेवा सञ्चालन गर्ने महासङ्घ सदस्यले पेट्रोलियम पदार्थको खपत कम गर्न र सेवा सञ्चालन गर्दा हुने घाटालाई न्यूनीकरण गर्न व्यवसायी, व्यवसायीबीच सहकार्य गरी नेपाल सरकारबाट तोकिएको भाडा लिइ अस्वस्थ प्रतिस्पर्धा नगरी रुट मिलाएर दैनिक यात्रुको चापका आधारमा मात्र सेवा सञ्चालन गर्न अनुरोधसमेत गरेको छ ।

महासचिव गौतमले नेपाल सरकारको स्वामित्व रहेको नेपाल आयल निगमबाट पटकपटक मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन माग गरेको छ ।

गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने

काठमाडौँ। अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानुनी अभ्यास गर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ ।

विभागका प्रवक्ता निर्देशक टिकाराम ढकालले यसरी गैररकानुनी रूपमा प्रस्थान अनुमति दिने कर्मचारीमाथि आन्तरिक छानबिनको प्रक्रिया अघि बढाइएको बताउनुभयो । संयुक्त अरब इमिरेट्स प्रस्थान गर्न लागेका कुनै नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै ‘Employment is strictly prohibited Visit till’ लेखेको भनि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचारप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उहाँले छानबिन थालिएको बताउनुभयो ।

विभागले आज एक विज्ञप्ति जारी गरी आजको दिनमा धेरै नेपालीहरूको विदेश यात्रा रहर र राम्रो अवसरको खोजी मात्र नभई बाध्यता भएको यथार्थ हामी सबैलाई अवगत छ । नागरिकको यही बाध्यतालाई भजाएर विभिन्न तहमा हुने गरेका ठगी र शोषण नियन्त्रण गर्न अध्यागमन प्रशासनले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको जनाएको छ ।

विभागले अनावश्यक कागजात माग गर्ने र तजबिजीको आधारमा निर्णय गरी हुने गरेको अनियमिततालाई नियन्त्रण गर्न नेपाल सरकारको २०८२ कात्तिक १३ को निर्णयानुसार भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकको सन्दर्भमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणासहित विदेश जान पाउने गरी प्रस्थानलाई सरलीकृत र व्यवस्थित बनाइएको स्पष्ट पारेको छ ।

विभागले यात्रुहरूको आगमन र प्रस्थानलाई झन्झटरहित बनाउन नीतिगत सहजीकरण र अध्यागमन प्रणालीलाई थप आधुनिकीकरण गरी राष्ट्रिय सुरक्षाको सुदृढीकरणका क्षेत्रमा काम गरिरहेको जानकारी गराएको छ ।

बालबालिकाको पहिचान सार्वजनिक नगर्न अदालतको अन्तरिम आदेश

नेपालगन्ज। उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएका बालबालिकाको नाम, तस्बिर र भिडियो सार्वजनिक नगर्न तथा नगराउन आज अन्तरिम आदेश जारी गरेको छ ।

इजलास नेपालगन्जका न्यायाधीश दलबहादुर केसीको एकल इजलासले निवेदकको मागबमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए पेस गर्न विपक्षीलाई कारण देखाऊ आदेश दिनुभएको हो । तुल्सीपुर, नेपालगन्ज इजलासले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ (१) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम उक्त आदेश जारी गर्दै सम्बन्धित प्रहरी कार्यालयलगायत विपक्षी निकायलाई सो आदेशको जानकारी दिई कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

उक्त आदेशअनुसार म्याद तामेल भएको मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षी नं १७ र १८ ले मुख्य न्यायाधिवक्ताको कार्यालय, लुम्बिनी प्रदेशमार्फत तथा अन्य विपक्षीले उच्च सरकारी वकिल कार्यालय, नेपालगन्जमार्फत लिखित जवाफ पेस गर्नुपर्ने छ ।

अधिवक्ता वसन्त गौतमले उक्त आदेश स्वच्छ सुनुवाइ, फौजदारी न्याय प्रणालीको सुदृढीकरण, बालन्यायको प्रभावकारी कार्यान्वयन, गोपनीयताको हक तथा थुनुवाको अधिकार संरक्षणका विषयमा दायर गरिएको सार्वजनिक सरोकारको रिट निवेदनको सन्दर्भमा आएको जानकारी दिनुभयो । बुधबार मात्रै उच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजलासमा अन्तरिम आदेशसहित परमादेश माग गर्दै सो रिट अधिवक्ता गौतमले दायर गर्नुभएको थियो ।

सो मुद्दामा वरिष्ठ अधिवक्ताहरू सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह तथा अधिवक्ताहरू वसन्त गौतम, बलबहादुर चन्द, विश्वजित तिवारी, विकास आचार्य, सुनिता शर्मा, पवन कुमार गुप्ता र हरिकेश बर्माले बहस गर्नुभएको थियो ।

सार्वजनिक सरोकारको विषयमा दायर गरिएको उक्त रिटमा एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक रहनुभएका अधिवक्ता गौतमसहित अधिवक्ताहरु विश्वजित तिवारी, सुनिता शर्मा, विकास आचार्य, बलबहादुर चन्द, सुरेशकुमार गौतम, केवल सिंह थारू, शैलेन्द्रकुमार वैश्य, इन्सेकका भोला महतलगायत कानुन व्यवसायी तथा मानव अधिकारकर्मी निवेदक रहनुभएको छ ।

रिटमा जिल्ला प्रशासन कार्यालय बाँके र बर्दिया, जिल्ला प्रहरी कार्यालय र बर्दिया, भूमि सुधार तथा मालपोत कार्यालय र बर्दिया, भन्सार कार्यालय नेपालगन्ज, डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारालगायत अर्ध–न्यायिक निकायहरू तथा नेपाल सरकारका, अर्थ, गृह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई दोष प्रमाणित नहुँदै सार्वजनिक गर्ने, हिरासतमा दबाबपूर्ण बयान लिने, बालबालिकाको पहिचान खुल्ने गरी भिडियो तथा सूचना सार्वजनिक गर्ने जस्ता कार्यले निर्दोषिताको अनुमान, गोपनीयताको हक र स्वच्छ सुनुवाइको अधिकारमा प्रत्यक्ष असर परेकोे जिकिर गरिएको छ ।

रिटमा नेपालको संविधानका धारा, १८, २०, २१, ४६ र १४४, न्याय प्रशासन ऐन, २०७३ को दफा ८ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ९१ लगायतका कानुनी प्रावधानहरू र अन्तरराष्ट्रिय मानव अधिकार सन्धिहरू—आइसिसिपिआर, युडिएचआर र सिआरसी—लाई आधार बनाइएको छ । साथै सर्वोच्च अदालतबाट स्थापित स्वच्छ सुनुवाइसम्बन्धी नजिरहरू पनि उद्धृत गरिएको रिट निवेदक अधिवक्ता गौतम बताउनुहुन्छ ।

एमालेद्वारा वडा, पालिका र जिल्ला तहमा निर्वाचनको समीक्षामा

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको तल्लो तहबाट समीक्षा गर्न थालेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले निर्वाचनमा बेहोर्नुपरेको पराजयको समीक्षाका लागि वडा कमिटी, पालिका कमिटी र जिल्ला कमिटीमा काम सञ्चालन भइरहेका बताउनुभयो । उहाँले ती तीनै तहले समीक्षा प्रतिवेदन प्रदेश कमिटीलाई पठाउने र प्रदेश कमिटीले केन्द्रीय सचिवाललाई पठाउने जानकारी दिनुभयो ।

त्यस्तै, केन्द्रीय सचिवालयले ‘अनलाइन’ प्रश्नावली तयार गरी अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझाव सङ्कलन गरिरहेको केन्द्रीय कार्यालय सचिव डा अधिकारीले बताउनुभयो ।

केन्द्रीय सचिवालय बैठकले सबैतिरबाट आएका समीक्षासहित केन्द्रीय कमिटी बैठकमा पनि समीक्षा गरेर पार्टीको संस्थागत दृष्टिकोण तय गर्ने उहाँले उल्लेख गर्नुभयो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नौ सिट प्राप्त गरेको थियो ।

कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र चयनात्मक – कांग्रेस

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र चयनात्मक रहेको निष्कर्ष निकालेको छ ।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा चैत २ र ३ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न बैठकले गत भदौ २४ गतेका घटनाको पर्याप्त छानविन नभएकाले उक्त घटनाको पुनःनिष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । बैठकमा समसामयिक राजनीतिक अवस्था, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन, सम्पत्ति छानविन, पेट्रोलियम पदार्थको मूल्यलगायतका विषयमा छलफल भएको प्रवक्ता चालिसेले जानकारी बताउनुभयो ।

“बैठकले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, नागरिक सर्वोच्चता, मानव अधिकार तथा प्रेस स्वतन्त्रताजस्ता संविधानमा नीहित मूल्यमान्यताप्रति प्रतिबद्ध रहँदै संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी ढङ्गले निर्वाह गर्ने निर्णय गरेको छ, सरकारका सकारात्मक र कानुनसम्मत काममा सहयोग गर्ने तर लोकतान्त्रिक मूल्यविपरीत कदममा कडा प्रतिवाद गर्ने कांग्रेसको धारणा छ”, उहाँले भन्नुभयो । उहाँले कांग्रेसले विधिको शासनलाई लोकतन्त्रको आधार मानेको उल्लेख गर्दै कानुनभन्दा माथि कोही नहुने स्पष्ट पार्नुभयो ।

मध्यपूर्व सङ्कटका कारण बढेको पेट्रोलियम पदार्थको मूल्यले आमनागरिकको जीवन प्रभावित भएकाले मूल्य घटाउन विभिन्न करमा सहुलियत, भन्सार र अन्य शुल्क घटाउने तथा विद्यार्थीलाई विशेष सुविधा दिन कांग्रेसले सरकारसँग माग गरेको छ ।

बैठकले भ्रातृ संस्थाहरूको अवस्था अध्ययनसम्बन्धी प्रतिवेदन पारित गर्नुका साथै प्रवासस्थित जनसम्पर्क समितिको प्रतिवेदन अनुमोदन गरेको छ । साथै, क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।

सुदूरपश्चिमको दोस्रो आवधिक योजनाको मस्यौदामाथि छलफल

काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजना (२०८३÷८४–२०८७÷८८) को मस्यौदामाथि सङ्घीय सांसद तथा सरोकारवालाबीच छलफल गरिएको छ ।

प्रदेश नीति तथा योजना आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा पञ्चवर्षीय योजनालाई थप वस्तुपरक बनाउँदै कार्यान्वयन एवं परिमाणात्मक आवधिक लक्ष्य निर्धारण, आन्तरिक आयका क्षेत्र पहिचान गरी प्रभावकारी परिचालनका रणनीति, योजना कार्यान्वयनका लागि आवश्यक वित्तीय स्रोतको आकलन र स्रोत परिचालनका क्षेत्रको पहिचान, क्षेत्रगत कार्यक्रम तथा परियोजना कार्यान्वयनमा आउनसक्ने जोखिमहरू पहिचान तथा न्यूनीकरण उपायलगायत विषयमा छलफल भएको हो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट सङ्घीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने अधिकांश सांसद तथा सम्बद्ध सरोकार भएका निकायको सहभागिता रहेको थियो । छलफलका क्रममा उहाँहरूले उत्पादन र उत्पादकत्व वृद्धि, गरिबी निवारण, रोजगारी र आयस्तरमा सुधार, गुणस्तरीय, सहज र दिगो पूर्वाधार विकास, स्वस्थ, सक्षम, सम्मानजनक जीवनयापन सुनिश्चित, जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण, सम्वर्द्धन र प्राकृतिक स्रोतको दिगो उपयोग, सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउन, विपद् जोखिम न्यूनीकरण, प्रविधिमैत्री प्रदेशको विकासलगायत योजनाका उद्देश्य कार्यान्वयन गर्नेगरी विश्वासयोग्य मार्गचित्र तय गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू डा आनन्द चन्द, जनकराज गिरी, भरत खड्का, ऐन महर, भरतकुमार स्वाँर, ज्ञानेन्द्रसिंह महता, जनकसिंह धामी, यज्ञ बोगटी, गणेशसिंह ठगुन्ना, डा तारा जोशी, करिश्मा कठरिया, खेमराज कोइराला, कृपाराम राना, हरिनादेवी कामीलगायतले प्रदेशको विकासमा दीर्घकालीन महत्त्व राख्ने गौरवका आयोजना, सडक तथा औद्योगिक पूर्वाधारको विकास र पर्यटन प्रवर्द्धनका लागि धार्मिक तथा पर्यटकीय सर्किट निर्माणलगायत विविध विषयमा सुझाव दिनुभयो ।

यसैगरी, राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट, खम्मबहादुर खाती, रेणु चन्द, मदनकुमारी शाह (गरिमा) लगायतले रोजगारी सिर्जना, आर्थिक, सामाजिक विकास तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नेगरी योजना निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा पहिलो आवधिक योजनासँग वार्षिक योजनाको तालमेल, विनियोजन अनुशासनको कमी, प्रदेश सरकारको कमजोर खर्च क्षमता, ठोस आयोजनामा लगानी केन्द्रित नहुनु, आयोजना बैंक प्रणाली संस्थागत नहुनु, साधनस्रोतको सुनिश्चितता तथा सम्भाव्यता अध्ययन नगरी महत्वाकाङ्क्षी आयोजना तथा कार्यक्रम योजनामा समावेश गर्नु र तीन तहका सरकारबीचको सहकार्य, समन्वय र सूचना व्यवस्थापन प्रणाली कमजोर हुनुलगायतलाई लक्ष्यअनुसार काम हुन नसक्नुका चुनौतीका रूपमा लिइएको छ ।

यसैगरी प्रदेशको लगानी उत्पादनमूलक क्षेत्रमाभन्दा स–साना पूर्वाधारमा छरिँदा ठोस उपलब्धि हासिल हुन नसकेको, अपेक्षाअनुरुप सङ्घीय तथा प्रदेशको आर्थिक परिचालन हुन नसक्दा निर्धारित आर्थिक वृद्धिदर महत्वाकाङ्क्षी जस्तो देखिएको, नयाँ अभ्यासका रुपमा रहेको प्रदेश संरचनामा अपेक्षाअनुरूप जनशक्ति र स्रोतसाधन परिचालन गर्न नसक्दा योजनाको लक्ष्य हासिल चुनौतिपूर्ण बनेको, वार्षिक योजना र पञ्चवर्षीय योजनाबीच तालमेल गराउन वार्षिक नीति तथा कार्यक्रम तर्जुमा प्रक्रिया र नियमित समीक्षामा आवधिक लक्ष्यसँग तुलना गर्न नसकिएकाबारे चर्चा भएको थियो ।

त्यसबाट पाठ सिक्दै प्राथमिकता निर्धारण भएअनुसार बजेट विनियोजन गर्नुपर्ने, प्रदेश गौरवका योजनाहरू कार्यान्वयन, आवधिक योजनाका लक्ष्यअनुरूप क्षेत्रगत योजना र कार्यक्रमलाई प्राथमिकता दिइ बजेट विनियोजन, प्रदेशको वित्तीय क्षमताअनुरूप क्रमागत र बहुवर्षीय योजनाको वित्तीय आकार निर्धारण, स्थानीय तहका आवश्यकता र प्राथमिकतालाई प्रदेश सरकारको बजेटमार्फत प्रभावकारी रूपमा सम्बोधन गरिनुपर्ने लगायत विषयमा जोड दिइएको थियो ।

छलफलमा भाग लिँदै राष्ट्रियसभाका उपाध्यक्ष लिला भण्डारीले सुदूरपश्चिममा कृषि, पर्यटन, जलविद्युत्, व्यापारलगायत क्षेत्रमा पर्याप्त विकासका सम्भावनाहरु रहेको बताउनुभयो । विकास आयोजनाहरुको कार्यान्वयन तथा अनुगमनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । विगतमा अगाडी बढाएका योजनाहरु सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उपाध्यक्ष भण्डारीले सुदूरपश्चिममा रहेका सम्भावनाहरुको खोजी गरी अगाडी बढाउन आवश्यक भएको बताउनुभयो ।

यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टले पूर्वाधार विकासका कार्यक्रम कार्यान्वयन गरेर उच्च आर्थिक वृद्धि गर्न सकिने बताउनुभयो । सुदूरपश्चिमको गरिबी निवारणका लागि योजनावद्ध ढङ्गले अघि बढ्नु आवश्यक भएको उहाँको भनाइ थियो । पछिल्लो समय प्रदेशको पहाडी जिल्लाबाट तराइमा बसाइँसराइ तीव्र गतिमा भइरहेको प्रति चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्न ठोस कदम चाल्नुपर्नेमा उपाध्यक्ष डा भट्टले जोड दिनुभयो ।

नीति आयोगका सदस्य नृपबहादुर सुनारले सङ्घीयस्तरमा आवश्यक समन्वय, सहजीकरण र पक्षधरताका आधारमा प्रदेशको विकासमा योगदान गर्नुपर्ने साझा दृष्टिकोण निर्माण गर्ने अपेक्षासहित छलफल गरिएको बताउनुभयो ।

प्रदेशले आवधिक योजना बनाए पनि त्यसका लक्ष्य र उद्देश्य पूर्तिका लागि सङ्घीय सरकारको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उहाँले सोही भूमिकाका लागि आवश्यक सुझाव र प्रतिबद्धताका लागि कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

“हामीले दोस्रो आवधिक योजनालाई वस्तुपरक, कार्यान्वयन योग्य र परिणाममुखी बनाउन अवधारणापत्र तयारी र मस्यौदा तर्जुमा गर्दै सबै सरोकार भएकाहरूसँग छलफल गरिरहेका छौँ । त्यसक्रममा विषयविज्ञ, जनप्रतिनिधि, विकास साझेदार, सङ्घीय सरकार तथा अन्तर प्रदेशका महत्त्वपूर्ण निकाय र व्यक्तिसँग छलफल गरिसकेका छौँ”, सुनारले भन्नुभयो ।

छलफलमा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाका कार्यक्रम र पूर्ण क्षमताको अस्पताल सञ्चालन गर्न आवश्यक नीतिगत एवं स्रोतगत व्यवस्था, कञ्चनपुरको दैजीछेला तथा कैलालीको हरैया क्षेत्रलाई औद्योगिक करिडोर वा विशेष आर्थिक क्षेत्रका रूपमा सञ्चालन, पश्चिम सेती, एसआर–सिक्स, वेतन कर्णाली जलविद्युत् परियोजना तथा प्रदेशका सम्भाव्य ऊर्जा परियोजनाहरूलाई शीघ्र कार्यान्वयनमा लैजान आवश्यक लगानी र संस्थागत सहजीकरण गर्न, मध्यपहाडी लोकमार्ग, महाकाली करिडोर, कर्णाली करिडोर, सेती लोकमार्गको निर्माण कार्य र पूर्वपश्चिम राजमार्ग चिसापानीबाट गड्डाचौकीसम्म छ लेन सडक विस्तार, रानीजमरा कुलरिया सिँचाइ आयोजना, महाकाली सिँचाइ आयोजना, फाप्ला खेल मैदानमा क्रिकेट रङ्गशाला निर्माण र दोधारा–चाँदनीको ड्राइपोर्ट निर्माणलगायत विषय समन्वयका लागिसमेत ध्यानाकर्षण गराइएको थियो ।

मुस्ताङ भन्सारमा पाँच अर्ब ७३ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ। नेपाल-चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पाँच अर्ब ७३ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

चालु आवको ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालयले सात महिनाको अवधिमा उक्त राजस्व सङ्कलन गरेको हो ।

उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट सात महिनाको अवधिमा रु १२ अर्ब २२ करोड ७६ लाख बराबरको मालवस्तु चीनतर्फबाट आयात भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । यसैगरी नेपालबाट रु २० करोड ५५ लाख बराबरको मालवस्तु चीनतर्फ निर्यात भएको उहाँले बताउनुभयो ।

गत साउन र भदौमा रसुवागढी र तातोपानी भन्सार कार्यालय बाढीपहिरोका कारण बन्द हुँदा यहाँको कोरला नाकाबाट आयात÷निर्यातमा उभार आए पनि पछिल्लो समय यहाँको भन्सारबाट आयात÷निर्यातको परिमाण घटेको भन्सार प्रमुख खड्काले उल्लेख गर्नुभयो ।

यहाँको कोरलास्थित मुस्ताङ भन्सार कार्यालयबाट सात महिनाको अवधिमा कोरला नाका हुँदै चीनबाट आयात गरिएका कुल दुई हजार ३४७ वटा विद्युतीय इलेक्ट्रोनिक (इभी) सवारीसाधनको भन्सार जाँचपास भएको छ ।

यसैगरी, चीनबाट नेपाल भित्रिएका एक हजार ८१८ वटा मालवस्तु ढुवानी गरिएका कन्टेनरहरुको भन्सार जाँचपास भएको हो । नेपालबाट स्वदेशी उत्पादन तथा हस्तकलाका सामग्री लोड गरिएका १३७ वटा मालवाहक कन्टेनरहर मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भएको कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो ।

कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आएपछि यहाँको मुस्ताङ कार्यालयमा आयातनिर्यातको कारोबार चलाएमान भएको थियो । कोरलानाका हुँदै नेपालका व्यापारिक कम्पनीहरूले चीनबाट विद्युतीय सवारीसाधनका साथै लत्तापकडा, कस्मेटिक सामान र इलेक्ट्रोनिक उपकरण आयात गर्दै आएका छन् ।

सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने

काठमाडौं। सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।स्वास्थ्य क्षेत्रमा क्रियाशील पेशागत संगठनहरुको चर्को दवाब पछि सरकारले सरकारी स्वामित्वको अस्पताल र स्वास्थ्य संस्थामा पनि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सरकारको यो निर्णयसँग अब देशभरका सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरुमा आकस्मिक तथा अन्तरंग सेवा बाहेकका ओपीडी भने बन्द रहने छ ।

स्वास्थ्यमन्त्री निशा मेहता, स्वास्थ्य सचिव डा.विकास देवकोटा र पेसागत संगठनका प्रतिनिधिबीच छलफल भएपछि सरकारले स्वास्थ्य संस्था र अस्पतालहरुको मामलामा पनि लचकता अपनाएर हप्तामा दुई दिन नै सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

हर्क साम्पाङको फेसबुक बन्द

सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक आजबाट बन्द भएको छ ।

अत्यधिक धेरै रिपोर्ट भएपछि उनको फेसबुक बन्द भएको बताइएको छ । अहिले उनको फेसबुक खुलाउने प्रयास भइरहेको छ ।

फेसबुकले लगाएको सामाजिक मापदण्ड विपरीत क्रियाकलाप भएको भन्दै उनीविरुद्ध रिपोर्ट परेपछि उनको फेसबुक बन्द भएको हो ।

दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पूर्वऊर्जा मन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्काको थुना कानुनसम्मत नभएको ठहर गर्दै यस्तो आदेश जारी गरेको हो ।

सम्पत्ति शुद्धीकरणको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोद्वारा चैत १५ गते पक्राउ परेका खड्काको रिहाइका लागि उनकी पत्नी विनिता थापाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

अदालतले खड्कालाई विदेश जानका लागि भने पूर्वस्वीकृति लिनुपर्ने सर्त राखेको छ। साथै, सर्वोच्चले पूर्व नजिरलाई आधार मान्दै खड्कालाई लागेको अभियोगमा मिलापत्र हुन सक्ने सम्भावनासमेत आदेशमा औंल्याएको छ ।

गुल्मीमा रुखमा अड्किएका व्यक्तिको सकुशल उद्धार

गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिकामा रुखको हाँगा काट्ने क्रममा लडेर बीचमा अड्किएका एक जनालाई प्रहरीले उद्धार गरेको छ । धुर्कोट-७ वाग्लाको फूलबारीका ३४ वर्षीय मुक्तबहादुर कुमाल आज बिहान आफ्नै घर नजिकै रहेको पीपलको रुखमा चढी हाँगा काट्ने क्रममा अचानक हाँगाले लाग्दा रुखको बीचमा अड्किनुभएको थियो ।

रुखमा अड्केर घाइते हुनुभएपछि तल झर्न नसकी करिब ३५ मिटर उचाइमा रहेको रुखको बीच भागमा उहाँ अड्किनुभएको थियो । घटनाकाबारेमा जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरीचौकी धुर्कोट वस्तुबाट प्रहरी सहायक निरीक्षक झरेन्द्र बस्नेतको नेतृत्वमा तीन जनाको टोली घटनास्थल खटिएको थियो

घाइतेको थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक विवेक घलेको नेतृत्वमा छ जनाको प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयवासीको सहयोगमा प्रहरीले रस्सी रुखमा बाँधेर सोही रस्सीको सहायताले रुखमा चढेरे आज दिउँसो घाइते कुमालको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धारका क्रममा उहाँ अचेत अवस्थामा हुनुहुन्थ्यो ।

उद्धारपछि कुमाललाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइपुर्‍याइको छ । उहाँको कम्मरमा चोट लागेकाले गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहनुहुने सदस्यको नामावली हेरफेर गर्नुभएको छ ।

सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० र प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम गठित समितिमा रहनुहुने सदस्यको नामावली हेरफेर गर्नुभएको हो ।

संसदीय सुनुवाइ समितिमा सदस्य रञ्जु न्यौपानेको स्थानमा सांसद पुनमकुमारी अग्रवाल र सांसद चन्दनकुमार सिंहको स्थानमा दीपकराज बोहोरा रहनेगरी हेरफेर भएको छ ।

सांसद राम लामा र सांसद गणेश कार्की राज्य व्यवस्था तथा सुशासन समितिबाट अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, जगदीश खरेल (ललितपुर) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा हेरफेर हुनुभएको छ ।

त्यस्तै, सांसदहरू दीपकराज बोहरा र बब्लु गुप्ता अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट राज्यव्यवस्था तथा सुशासन समिति, सांसदहरू रहबर अन्सारी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा हेरफेर हुनुभएको छ ।

सांसद हरिप्रसाद भुसाल अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सांसद चन्दनकुमार सिंह उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा हेरफेर हुनुभएको छ ।

अधिवेशन प्रारम्भ भएपछि सहमतिका लागि प्रस्ताव गर्ने गरी सभामुख अर्यालले समिति सदस्यको हेरफेर गर्नुभएको प्रतिनिधिसभाका सचिव हर्कराज राईले जानकारी दिनुभयो ।

सभामुख अर्यालसँग एनएफपिजेका प्रतिनिधिको भेट

काठमाडौँ । सभामुख डिपी अर्यालसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालमा आबद्ध फोटो पत्रकारहरूको टोलीले भेटगरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारले भोग्नुपरेका समस्याका बारेमा जानकारी गराएका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तसहितको टोलीले संसदीय रिपोर्टिङका समस्याबारी जानकारी दिँदै समाधानका लागि आग्रह गरेका हुन् ।

सभामुख अर्याललाई अध्यक्ष वन्तले पदभार सम्हालेकामा बधाई दिँदै फोटो पत्रकारहरूले कार्यक्षेत्रमा सामना गरिरहेका विभिन्न चुनौतीबारे जानकारी गराउनुभयो । उहाँले विशेषगरी संसद् परिसरमा काम गर्ने फोटो पत्रकारहरूलाई आवश्यक सहजीकरणका लागि समन्वयात्मक पहल गरिदिन आग्रह गर्नुभयो ।

सभामुख अर्यालले हाल संसद् बैठक अस्थायी संरचनाबाट सञ्चालन भइरहेको उल्लेख गर्दै नयाँ संसद् भवन सञ्चालनमा आएपछि यस्ता समस्या क्रमशः समाधान हुने विश्वास व्यक्त गर्नुभयो । नयाँ भवन सञ्चालनका लागि आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाइएको जनाउँदै उहाँले निकट भविष्यमै नयाँ भवनमा वैठक सुरु गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

फोटो पत्रकारहरूको पेसागत हकहित र कार्यसुविधा सुनिश्चित गर्न आफू सकारात्मक रहेको उल्लेख गर्दै सभामुख अर्यालले आवश्यक सहयोगका लागि प्रतिबद्धता व्यक्त पनि व्यक्त गर्नुभयो ।

रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव

रसुवा। हिमाली जीवनशैली, परम्परागत पशुपालन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले गतलाङस्थित पार्वतीकुण्ड क्षेत्रमा चौँरी महोत्सव आयोजना हुने भएको छ ।

चाँैरीपालनलाई व्यावसायिक बनाउँदै पर्यापर्यटन विस्तार गर्ने, चौँरीको दूधबाट उत्पादन हुने घिउ, छुर्पी, चिजलगायत दुग्धजन्य पदार्थको बजारीकरण व्यवस्थित गर्ने मुख्य लक्ष्यसहित यही वैशाख १३, १४ र १५ गते महोत्सव आयोजना हुन लागेको हो ।

चौँरीपालन व्यावसायिक समितिका अध्यक्ष सुरेन्द्र तामाङका अनुसार महोत्सवमा उत्कृष्ट चाँैरीपालक किसानलाई सम्मान तथा पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रका बासिन्दाको प्रमुख आयस्रोत पशुपालन भएकाले महोत्सवबाट किसानलाई थप हौसला मिल्ने अपेक्षा गरिएको छ ।”

वडाध्यक्ष तामाङका गतलाङ क्षेत्रमा मात्रै करिब एक हजार ३०० भन्दा बढी दुग्ध उत्पादन गर्ने चौँरी रहेका छन् । महोत्सव अवधिमा चौँरीजन्य परिकारको प्रदर्शनी, बिक्री तथा प्रचारप्रसारसँगै परम्परागत उपचार विश्वासअनुसार चौँरीको रगत सेवनको व्यवस्थासमेत मिलाइने जनाइएको छ ।

यस क्षेत्रका किसानले चाँैरीपालनसँगै भेडाबाख्रापालन पनि गर्दै आएका छन् । भेडाको ऊनबाट घरेलुस्तरमै राडी, पाखी, गलैँचा, स्वेटर, टोपी तथा पटुकाजस्ता सामग्री उत्पादन गरिँदै आएको छ, यसको प्रदर्शनी तथा बजार विस्तारमा महोत्सव केन्द्रित हुनेछ ।

स्थानीय किसान मार लामा भन्छन्, “गतलाङका बासिन्दाको मुख्य आम्दानी चौँरीको दूधबाट बनेका परिकार, ऊनजन्य सामग्री, लेकाली आलु, बन्दाकोबी, सिमीलगायत कृषि उत्पादनबाट हुने गरेको छ ।” पछिल्ला वर्षमा किसानहरूले आलु उत्पादनपछि सिमी रोप्ने परम्परागत अभ्यास परिवर्तन गर्दै बढी आम्दानी दिने बन्दाकोपी खेतीतर्फ आकर्षित भएका छन् ।

तामाङ सम्पदा मार्गमा पर्ने गतलाङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दो छ । स्थानीय स्तरमा सञ्चालन भएका होमस्टे सेवाले पर्यटन आम्दानी बढाउन सहयोग पु¥याएको छ । यहाँ आउने पाहुनालाई सिस्नोको तरकारी, सिमीको दाल, मकै, कोदो र फापरको ढिडो, लोकल कुखुराको मासुजस्ता परम्परागत खानाले विशेष आकर्षण पैदा गराइएको स्थानीयवासीले बताएका छन् ।

समुद्र सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा रहेको पार्वतीकुण्ड धार्मिक तथा प्राकृतिक दृष्टिले समेत महत्वपूर्णस्थल मानिन्छ । हिमालयकी पुत्री पार्वतीको वासस्थलका रूपमा विश्वास गरिने यस क्षेत्रमा हरेक वर्ष हजारौँ भक्तजन दर्शनका लागि आउने गर्दछन्, यसबाट स्थानीयले भोजनलगायतका सेवा प्रदानमार्फत अतिरिक्त आम्दानी गर्दै आएका छन् ।

विसं २०६५ को डढेलोबाट नष्ट भएको वन क्षेत्र पुनःस्थापनाका लागि वृक्षरोपण अभियान सञ्चालन भइरहेको डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङले जानकारी दिनुभयो । ‘ड्रोन’बाट समेत वनस्पतिका बीउ छरिन लागेका र रोपेका बिरूवा तथा छरेका बीउ संरक्षण कार्यमा चौँरीपालक किसानबाट समेत उल्लेखनीय सहयोग मिल्ने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।

करिब ६०० घरपरिवार बसोबास रहेको गतलाङ क्षेत्र परम्परागत पशुपालन, कृषि उत्पादन र ग्रामीण पर्यटनको संयोजनमार्फत क्रमशः आर्थिक समृद्धितर्फ उन्मुख हुँदै गएको किसान अगुवाहरूको भनाइ छ । याक तथा चौँरी महोत्सवले हिमाली संस्कृति संरक्षणसँगै किसानलाई प्रत्यक्ष प्रोत्साहन दिने विश्वास गरिएको समाजसेवी मिलन तामाङले जानकारी दिनुभयो ।

आर्थिक गणनाका लागि खटाइयो गणक

चितवन। आर्थिक गणनाका लागि जिल्लामा १३३ गणक खटिएका छन् । आजदेखि स्थलगत तथ्यांक संकलनका लागि गणकहरु खटिएका हुन् । उनीहरूले आगामी असार ७ गतेसम्म स्थलगत गणना गर्नेछन् ।

आर्थिक गणना कार्यालयका अनुसार खटिएका गाहकहरू सातै स्थानीय तहमा परिचालन हुनेछन् । कार्यालयकी आर्थिक गणना अधिकारी रेणुकुमारी घिमिरेका अनुसार भरतपुर महानगरपालिकामा ७५ जना, राप्ती र कालिका नगरपालिकामा आठ-आठ जना, रत्ननगर नगरपालिकामा १९ जना, खैरहनी नगरपालिकामा १४ जना खटिएका छन् ।

माडी नगरपालिकामा पाँच जना र इच्छाकामना गाउँपालिकामा चार जना गणक खटिएको उनले जानकारी दिए । उनीहरुसँगै १७ जना सुपरीवेक्षकसमेत खटिएका छन् । १८ वटा उद्योग समूहका आर्थिक एकाइहरूलाई समेटेर १३ वटा खण्डमा प्रश्नावली लिएर गणकहरु घरघर जाने उनले बताए ।

आर्थिक गणना २०७५ अनुसार चितवनमा २९ हजार २३७ उद्योग रहेका छन् । जसमा १७ हजार ४५ उद्योग दर्ता भएको र १२ हजार १८४ उद्योग दर्ता भएका छैनन् । उनका अनुसार जिल्लाका ६२ दशमलव ६२ प्रतिशत उद्योग पुरुषको स्वामित्वमा रहेका छन् । ३७ दशमलव ३८ प्रतिशत उद्योग महिला व्यवस्थापक भएर काम गरेको उनले जानकारी दिए ।

अहिले सुरु गर्न लागिएको गणनाले कृषि क्षेत्रमा केही क्षेत्रबाहेक अन्य क्षेत्रको गणना गरिनेछ । आर्थिक गणनाले देशको अर्थतन्त्र व्यवस्थापन गर्न सहज बनाउने उनले बताए।

संघीय सरकारका परिपत्रले प्रदेश कानून निष्प्रभावी बनाउन मिल्दैनः मुख्यमन्त्री कँडेल

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले जारी गर्ने परिपत्रका आधारमा प्रदेशले बनाएका कानूनहरूलाई निष्प्रभावी बनाउन नमिल्ने बताएका छन् ।

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कँडेलले यस्तो धारणा राखेका हुन् । बैठकमा कोशी र सुदूरपश्चिम बाहेकका पाँच प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थिति थियो ।

बैठकमा मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयन, संवैधानिक अधिकारको बाँडफाँट र प्रशासनिक जटिलताका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्री कँडेलकाअनुसार संघीय सरकारले पछिल्लो समय जारी गरेका कतिपय परिपत्रहरू संविधानसम्मत नभएको विषय बैठकमा जोडदार रूपमा उठाइएको छ ।

विशेष गरी सञ्चार र विकास निर्माणका आयोजनाका ठेक्कापट्टा सम्बन्धी परिपत्रका बारेमा उठेको प्रश्नमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए । प्रधानमन्त्रीले उक्त परिपत्रको मनसाय प्रदेशका सबै क्रियाकलाप रोक्ने नभई केवल ठेक्कापट्टाको सूचना संप्रेषणमा एकरूपता ल्याउनु मात्र रहेको स्पष्ट पारे ।

मुख्यमन्त्री कँडेलले कर्मचारीतन्त्रमा अझै पनि संघीय मानसिकता हाबी रहेको र उनीहरूले प्रदेश कानुनभन्दा संघको परिपत्रलाई बढी प्राथमिकता दिने गरेको गुनासो गरे ।

संविधान कार्यान्वयनको १० वर्ष पुग्न लाग्दा पनि संघीय निजामती सेवा ऐन, शिक्षा ऐन र वन ऐन जस्ता महत्त्वपूर्ण कानूनहरू नबन्दा प्रदेश सरकारको भुमिका प्रभावकारी हुन नसकेको उनले उल्लेख गरे । ती कानूनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीले सकारात्मक प्रतिवद्धता जनाउनुभएको कँडेलको भनाइ छ ।

बैठकमा प्रधानमन्त्रीले संघीयतालाई सुदृढ बनाउन तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेको बताउनुभएको पनि उनले जानकारी दिए ।

नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ

रुपन्देही। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नक्कली नोटसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार कपिलवस्तुको वाणगङ्गा नगरपालिका-२ का ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचली नगरपालिका-१५ का २८ वर्षीय सुजन खनाल भन्ने मुक्तिप्रसाद खनाल, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-८ का ३५ वर्षीय रोलबहादुर श्रेष्ठ र काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-९ का ५३ वर्षीय दीपेन्द्र थापा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक कृष्णकुमार चन्दका अनुसार जिल्लाका विभिन्न स्थानमा नेपाली नोटको अवैध कारोबार भइरहेको भन्ने प्रहरीलाई विशेष सूचना प्राप्त भएको थियो ।

उक्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीको निगरानीका क्रममा गत चैत २२ गते सिद्धार्थनगर नगरपालिका-५ (भैरहवा) र चैत २६ गते सैनामैना नगरपालिका-१० स्थित भच्कैयाबाट रु एक हजारदरका नेपाली नक्कली नोट २१ थानसहित चार जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो । पक्राउ परेका चारैजनालाई सार्वजनिक गरी सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री बालेनले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले पदभार सम्हालेपछि पहिलो पटक आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन् ।
बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएका हुन् ।

बैठक विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहनेछ ।

साथै, राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबिच सहकार्य कसरी अझ सुदृढ बनाउने भन्ने विषय पनि बैठकको एजेन्डा रहनेछ ।

देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत बैठकमा हुने अपेक्षा गरिएको छ ।

यस बैठकलाई संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने र जनतामा प्रत्यक्ष लाभ पु¥याउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) ३५ रुपैयाँ र गोलभेँडा सानो (तराई) ४० रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो १८ रुपैयाँ, आलु रातो (भारतीय) २२ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३४ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) २० रुपैयाँ, बन्दा (लोकल) ३५ रुपैयाँ, काउली (स्थानीय) ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २५ रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ र भन्टा डल्लो ६० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (लोकल) ५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ४० रुपैयाँ, घिउ सिमी (राजमा) १०० रुपैयाँ, टाटे सिमी १०० रुपैयाँ, लौका ३० रुपैयाँ, फर्सी पाकेको ५० रुपैयाँ, हरियो फर्सी (लाम्चो) ३० रुपैयाँ, हरियो फर्सी (डल्लो) ४० रुपैयाँ, भिन्डी ७० रुपैयाँ, सखरखण्ड ६५ रुपैयाँ र पिँडालु ४० रुपैयाँ तोकिएको छ ।

समितिले रायोसाग प्रतिकिलो ४५ रुपैयाँ, पालुङ्गो साग ९० रुपैयाँ, चमसुर १०० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज ६० रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै, बकूला प्रतिकिलो ४० रुपैयाँ, च्याउ (कन्य) १७० रुपैयाँ, च्याउ (डल्ले) ३५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, कुरीलो ३५० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, ब्रोकाउली ७० रुपैयाँ, चुकुन्दर ४० रुपैयाँ, सेलरी १२० रुपैयाँ, पार्सले २०० रुपैयाँ, सौफको साग १०० रुपैयाँ, पुदिना ११० रुपैयाँ र गुन्द्रुक २२० रुपैयाँ तोकिएको छ ।

यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, केरा २२० रुपैयाँ, अनार ३५० रुपैयाँ, अंगुर (हरियो) २१० रुपैयाँ, अंगुर (कालो) ३३० रुपैयाँ, सुन्तला (भारतीय) १४० रुपैयाँ, तरबुजा (हरियो) ३५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) ५५ रुपैयाँ, काँक्रो (हाइब्रिड) २० रुपैयाँ, मेवा (नेपाली) ६० रुपैयाँ निर्धारण गरिएको छ ।

रास्वपा संसदीय दलको बैठक बस्दै, समिति सभापति निर्वाचनबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।बैठक मध्यान्ह १२ः१५ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेगरी बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा र अन्य विविध विषयमा छलफल हुने छ ।

संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ ।मनोनयनपत्र दर्ता दिउँसो १ देखि ४ बजेसम्म संहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने छ ।

दिउँसो साढे ४ बजे नै उमेदवारहरूको सूची प्रकाशन गरिने कार्यक्रम रहेको छ ।समिति सभापतिको निर्वाचन भने भोलिका लागि तोकिएको छ ।

दाइजो प्रथाविरुद्ध निमन्त्रणापत्रमै ‘ दाइजो मुक्त विवाह’ उल्लेख गर्न उपसभामुख रुवीकुमारीको आग्रह

काठमाडौं – उपसभामुख रुवीकुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध विवाह निमन्त्रणापत्रमै ‘ दाइजो मुक्त विवाह’ उल्लेख गर्न आग्रह गरेकी छन्।

उपसभामुख ठाकुरले दाइजो लिनु दिनु मात्र होइन, दाइजोमा आधारित विवाह स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास भएको बताएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेकी छिन् – सबैमा नमस्कार,
हालै मैले धेरै विवाहका निमन्त्रणापत्रहरू प्राप्त गरिरहेको छु। तर तीमध्ये कुनैपनि कार्डमा “दहेज मुक्त विवाह” भन्ने स्पष्ट उल्लेख देख्न पाइएको छैन। यसले हाम्रो समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्छ।
दाइजो लिनु र दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो। यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउँछ।
यदि हामी साँच्चिकै समाज परिवर्तनको कुरा गर्छौं, देश विकासको सपना देख्छौं र सामाजिक कुरीतिका विरुद्ध उभिन चाहन्छौं भने परिवर्तनको सुरुवात हामी आफैंबाट गर्नुपर्छ। व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुन्छ।
यसैले, दाइजो लेनदेन भएको विवाहमा म सहभागी हुन असमर्थ रहने जानकारी गराउन चाहन्छु। कृपया दहेज मुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गरौं।
अत: विवाह निमन्त्रणापत्रमा “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने स्पष्ट सन्देश समावेश गरी पठाउन हार्दिक अनुरोध गर्दछु।
आउनुहोस्, हामी सबै मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस पाइला चालौं।
धन्यवाद।
रुवि कुमारी कुमारी ठाकुर
उपसभामुख

सभामुख र उद्योगमन्त्रीबिच भेट, निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग उद्योगमन्त्री गौरी कुमारीले भेट गरेकी छन् ।बुधबार सभामुख डीपी अर्याल र उद्योगमन्त्री गौरीबिच भेटवार्ता भएको हो ।

उनीहरुबीच भेटका क्रममा सभामुख अर्यालले कम्पनी दर्ता तथा बन्द गर्ने प्रक्रियालाई सहज बनाउन सुझाव दिएका छन् ।साथै, उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरे ।

एमालेका महासचिव शंकर पोखरेलले भने – ‘पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिनेछ’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई नियोजित तथा प्रायोजित रूपले विवादित बनाउने काम भइरहेको बताएका छन् ।बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पोखरेलले लेखेका छन् – निर्वाचन समिक्षाका आधारमा पार्टीलाई योजनावद्ध रुपमा पुनर्जागृत र पुनर्गठित गरिनेछ।

त्यसैले यस अवधिमा नियोजित तथा प्रायोजित रुपमा पार्टीलाई विवादित र कमजोर बनाउने उद्देश्यले भइरहेका प्रचारबाजीबाट प्रभावित नहुन सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अनुरोध छ ।

निर्वाचन समिक्षाका सन्दर्भमा केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावली तयार गरी अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझावसमेत संकलन गरिरहेको छ। यी सम्पूर्ण तथ्य र सुझावका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रिय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समिक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तय गर्नेछ ।

थलिएका जीवनमा खुसीको पाङ्ग्रा : ह्विलचेयरले ल्यायो नयाँ जीवन

महोत्तरी, ३ वैशाख : पछिल्ला तीन वर्षयता कैयन चाडपर्व आएगए तर पक्षघातले थलिनुभएका महोत्तरीको बर्दिबास–११ खयरमाराका ६६ वर्षीय पूर्णबहादुर भुजेललाई कुनै प्रवाह भएन । यसपालिको नयाँवर्ष २०८३ को प्रारम्भ भने उहाँका लागि सम्झनलायक बनेको छ ।

मधेसमा नयाँवर्षमा मनाइने जुडशीतल पर्वको पहिलो दिन मङ्गलबार भुजेलले घुमफिर गर्न सहयोगी हुने ‘ह्विलचेयर’ पाउनुभएको छ । त्यसैले यसपालिको नयाँ वर्ष र जुडशीतल पर्व उहाँका लागि सम्झनलायक बनेको हो । लायन्स क्लब अफ बर्दिबास समाजले बस्तीमै पुगेर उहाँलाई ह्विलचेयर दिएको हो । “हातगोडा केही नचल्ने भएर तीन वर्षदेखि थला परेको थिए, अब भने यही ह्विलचेयरमा घर ओरपर डुल्न पाइने भएको छ । यो अवसरका लागि सहयोगी संस्था र व्यक्तित्वलाई आभार छ”, भुजेलले भन्नुभयो ।

उक्त बस्तीमा भुजेलका अतिरिक्त १३ वर्षीय जनम दियाली र ३५ वर्षीय खुपबहादुर थापाले पनि सहयोग पाउनुभएको छ । “दुर्घटनामा परेर दुवै गोडा काटिएपछि १५ वर्षदेखि कुँजिएर बसेको थिएँ, आफ्नै जीवन बोझजस्तै बनेको थियो”, ह्विलचेयर पाएपछि थापा भन्नुहुन्छ, “यसपटक भने नयाँ वर्षले आफ्नो जीवनमा नयाँ आशा ल्याएर आएको अनुभूति भएको छ । अब त ह्विलचेयरमा वरपर जान सहज भएको छ ।”

दियाली त जन्मँदै अशक्त हुनुहुन्छ । उहाँ बोल्न पनि नक्नुहुन्न । ह्विलचेयर पाएपछि उहाँ पनि खुसी हुनुहुन्छ । हेर्दा सानो सहयोग भए पनि लायन्स क्लब अफ बर्दिबासले अशक्त जीवनमा निकै खुसी दिएको बर्दिबास–११ का वडाध्यक्ष गोपाल बल बताउनुहुन्छ ।समाजका अध्यक्ष वैकुण्ठप्रसाद देवकोटाले लायन्स क्लब इन्टरनेसनल ३२५ ‘एफ’ को सहयोगमा ह्विलचेयर प्रदान गरिएको बताउनुभयो । यसपटक छ वटा ह्विलचेयर सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

एकैदिन ५६ व्यावसायिक फर्ममा अनुगमन

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ ।खाद्य पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुको बिक्री–वितरण गर्ने फर्म, पसल तथा व्यावसायिक प्रतिष्ठानमा विभागले स्थलगत अनुगमन गरी कारबाहीको दायरामा ल्याइएको जनाएको हो ।

विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“बुधबार एकैदिन ५६ वटा व्यावसायिक फर्ममा अनुमगन गरी सुधारात्मक निर्देशन दिइएको छ ।दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्री बिक्री–वितरण गर्ने व्यावसायिक फर्म, पसलले बिल बीजक दिए/नदिएको, उपभोक्ताले देख्ने गरी मूल्यसूची राखेन/राखेको, कानुनअनुसार तिर्नुपर्ने कर तथा अन्य क्रियाकलाप गरे/नगरेको विषयमा जानकारी लिएको छ ।”उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएकाहरूको उपस्थितिमा अनुगमन गरिएको विभागले जनाएको छ ।

पहाडी र हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र पहाडी भूभागमा आंशिक बादल लागेको छ तथा तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा हल्का वर्षा र हिमपात भईरहेको छ ।

दिउँसो कोशी प्रदेशको पहाडी भूभाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राती कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने, लुम्बिनी र सुदुरपश्चिम प्रदेशसहित बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जलवायुमैत्री कृषिमार्फत चुनौतीको सामना गर्दै किसान

सिरहा। बढ्दो खडेरी, अनपेक्षित वर्षा र भूमिगत जलस्तर घट्दै जाँदा केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई आफ्नो खेत बाँझै रहला कि भन्ने चिन्ताले सताउँथ्यो ।

आकाशे पानीको भरमा खेती गर्ने उहाँ कहिले अतिवृष्टि त कहिले अनावृष्टिको मारमा पर्नुहुन्थ्यो, अचेल भने मण्डलको त्यो चिन्ता हटेर गएको छ । उहाँले परम्परागत खेती प्रणालीलाई त्यागेर ‘जलवायुमैत्री कृषि’ अपनाउनुभएको छ ।

“पहिले पानी नपर्दा मल र बीउको लगानी पनि उठ्दैनथ्यो”, आफ्नो अनुभव सुनाउँदै मण्डल भन्नुहुन्छ, “हाल मल्चिङ प्रविधि र थोपा सिँचाइ सुरु गरेपछि कम पानीमा पनि लटरम्म तरकारी फलेको छ । खेती गर्ने तरिका फेर्दा आम्दानी मात्र होइन, मनमा शान्ति पनि मिलेको छ ।”

मण्डल परिवार तरकारी खेतीको आम्दानीबाट जीविका चलाउँदै आएको छ । विगत छ महिनादेखि प्लास्टिक घर, थोपा सिँचाइ, गँड्यौला मल, झोल मल, कीरा नियन्त्रणका लागि आवश्यक जानकारी लिई तरकारीखेती गर्दा केही सहज भएको उहाँको भनाइ छ । मण्डल भन्नुहुन्छ, “रसायनिक मल पहिलादेखि नै न्यूनीकरण गर्दै लगेका थियौँ । एक त भनेको समयमा नपाइने, पाए तापनि माटोको उर्वराशक्ति ह्रास गर्ने र उत्पादन पनि घट्ने । जैविक मलको प्रयोगले मानव स्वास्थ्यलाई पनि राम्रो हुने भएकाले यसको उपयोग गर्न थालेका छौँ ।”

मण्डल परिवारले करिब साढे दुई कट्ठा जग्गाबाट पछिल्लो छ महिनामा मात्रै काउली खेतीबाट रु ४० हजार, टमाटरबाट रु ५० हजार, च्याउबाट रु २० हजार र सागसब्जीबाट रु नौ हजार आम्दानी गरिसकेको छ । उहाँले खेतीलाई वातावरण अनुकूल बनाउन तापक्रम नियन्त्रण गर्ने टनेल हाउस र सिँचाइका लागि सोलार प्रणाली जडान गरी लाभ लिइरहेको सुनाउनुभयो ।

परिवर्तित खेती प्रणालीको सफलताले वैदेशिक रोजगारीमा रहेकाहरूलाई समेत स्वदेशमै भविष्य देखाएको छ । धनगढीमाई नगरपालिका–१० की अनिता महतोले यही सिजनमा तीन कट्ठामा लगाएको काउली बेचेर रु एक लाखभन्दा बढी आम्दानी गरेको बताउनुभयो । उहाँको यो प्रगति देखेपछि वैदेशिक रोजगारीमा रहनुभएका श्रीमान् जागेश्वर महतो घर फर्किएर कृषिमा साथ दिइरहनुभएको छ ।

जागेश्वर भन्नुहुन्छ, “बिजुलीको झन्झट छैन, इन्धनको खर्च जोगिएको छ । घाम लागेसम्म पानीको चिन्ता हुँदैन । प्लास्टिकको घर (टनेल) भित्र गरिएको खेतीले असिना र अत्यधिक तापक्रमबाट बाली जोगाएको छ । यसले परिवारको आम्दानी मात्र होइन, आत्मनिर्भरता पनि बढाएको छ ।”

आधुनिक र जलवायु उत्थानशील पद्धतिमा आबद्ध गराउन लहानस्थित ‘राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल’ले जलवायुमैत्री गाउँ परियोजनामार्फत सहयोग गरिरहेको छ । ‘केयर नेपाल’को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित यस परियोजनाले किसानलाई पाठशाला सञ्चालन गर्नेदेखि कृषि सामग्री उपलब्ध गराउनेसम्मका काम गरिरहेको संस्थाका लक्ष्मीपुर पतारीका ‘फिल्ड सुपरीवेक्षक’ उमेश नन्दन चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार किसानलाई माटो बचाउँदै खेती गर्ने प्रणालीबारे सिकाइएको छ । पालिकाका छमध्ये पाँच वटा वडामा महिला कृषक समूह गठन गरी गोठ सुधार कार्यक्रम, गँड्यौला मल उत्पादन तथा बोरिङ, फोहोरा सिँचाइ, आधुनिक चुलो र जलवायुमैत्री बीउबिजन वितरण गरिएको छ ।

यस्तै, धनगढीमाई नगरपालिकाका क्षेत्रगत सुपरिवेक्षक रबिन साहले पनि नमूना किसान समूह निर्माण गरी किसानलाई यस प्रविधितर्फ आकर्षित गरिएको जानकारी दिनुभयो ।

परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत ईश्वर थापाका अनुसार यो कार्यक्रम यहाँका धनगढीमाई नगरपालिका, लक्ष्मीपुर पतारी, भगवानपुर र सखुवानन्कारकट्टी गाउँपालिका गरी चार स्थानीय तह तथा सप्तरीका रुपनी र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा सञ्चालित छ । यी छ वटा पालिकामा जलवायु उत्थानशील कृषक समुदायको विकास गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो ।

“हरित गृह ग्यास उत्सर्जनलाई न्यूनीकरण गर्ने र महिलाको कार्यबोझ कम गर्दै क्षमता अभिवृद्धि गर्ने परियोजनाको मुख्य उद्देश्य हो”, थापा भन्नुहुन्छ, “यस प्रदेशमा जलवायु उत्थानशील कृषक समुदायको विकास गर्न हामीले ७० प्रतिशत संस्थाको र ३० प्रतिशत स्थानीय किसानको लागत साझेदारीमा काम गरिरहेका छौँ । यसले किसानमा अपनत्वको बोध पनि गराइरहेको छ ।”

उहाँका अनुसार, हालसम्म यी पालिकाहरूमा ५१८ घरधुरी लाभान्वित हुने गरी ९३ वटा भूमिगत सिँचाइ प्रणाली (बोरिङ) जडान गरिएका छन् भने ५०० वटा महिला समूह क्रियाशील छन् ।

उत्पादनको बजारीकरणका लागि पनि यहाँ योजनाबद्ध रूपमा काम भइरहेको छ । हाल सिरहाको लक्ष्मीपुर पतारीमा कृषक समूहले मानकीदेवी मोची र गीतादेवी मण्डललाई तरकारी बिक्रीको जिम्मा दिएर उत्पादनको उचित बजार र मूल्यका लागि प्रयास गरिएको छ । “उपभोक्ताले ढुक्कसँग अग्र्यानिक तरकारी किन्न पाएका छन् । फलानो ठाउँको तरकारी भनेपछि अहिले सबैले रासायनिक मल र विषादी नहालेको भनेर चिनिहाल्छन्”, परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत थापाले भन्नुभयो ।

उहाँका अनुसार जलवायुमैत्री कृषि प्रणालीले मुख्यतया तीनवटा कुरामा जोड दिन्छः पानीको उचित व्यवस्थापन, माटोको स्वास्थ्य सुधार र अनुकूलित बीउको प्रयोग । थापा भन्नुहुन्छ, “यो प्रणाली अपनाउँदा उत्पादन लागत ३० देखि ४० प्रतिशतसम्म घट्छ र प्रतिकूल मौसममा पनि उत्पादनलाई स्थिर बनाउन मद्दत पुग्छ ।”

जलवायुमैत्री कृषिको महत्त्व बढ्दै जाँदा सरकारले पनि यसलाई विशेष प्राथमिकता दिएको छ । सरकारले भर्खरै सार्वजनिक गरेको ‘शासकीय सुधारका १०० कार्यसूची’ मा समेत माटोमा कार्बन बढाउने विषयलाई समेटेको छ । माटोमा कार्बनको सञ्चिति बढ्दा पोषक तत्वहरूको चुहावट कम हुने, सिँचाइपछि लामो समयसम्म चिस्यान कायम रहने र जराको फैलावटमा वृद्धि हुने गरेको जानकारहरू बताउँछन् । यसले माटोमा हावाको सञ्चार राम्रो बनाउनाका साथै सूक्ष्म जीवहरूको सङ्ख्या बढाई पारिस्थितिकीय प्रणालीमा खाद्य चक्र सन्तुलन राख्छ, जसले अन्ततः माटोको भौतिक, रासायनिक र जैविक गुणमा सुधार ल्याई जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न मद्दत पु¥याउने गरेको सुपरिवेक्षक साहले बताउनुभयो ।

खडेरी र कीराको प्रकोप जस्ता समस्या झेल्दै आएका यहाँका किसानका लागि ‘जलवायुमैत्री कृषि’ पद्धति ‘वरदान’ साबित हुँदै गएको छ । यद्यपि, सबै किसानसम्म यी प्रविधि पुगेका छैनन् । अग्रणी किसानको सफलताले अन्य कृषकलाई पनि यसतर्फ लाग्न प्रेरित भने गरिरहेको छ ।