`

बीमा परिचयपत्र नभए पनि स्वास्थ्य सेवा पाइने, तीन जिल्लामा यस्तो व्यवस्था

काठमाडौँ, भदौ २२ –स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ ।बोर्डले आज विज्ञप्ती जारी गर्दै यही भदौ १० गते भोटेकोशीमा गएको बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङमा सहज रुपमा बीमा सेवा दिइने जनाएको छ ।

बोर्डले ती जिल्लामा स्वास्थ्य बीमा सेवा सहज रूपमा सञ्चालन गरी नागरिकलाई सहजीकरण गर्ने उद्देश्यले स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थामा तोकिएको समयावधिसम्म स्वास्थ्य बीमा सेवामा लाग्ने सहभुक्तानी (को–पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको हो । क्यापिङ भन्नाले कुनै निश्चित सेवा तथा उपचारमा बीमाले दिने रकमको अधिकतम सीमा बुझिन्छ ।

बोर्डका अनुसार उक्त क्षेत्रमा बिमितको स्वास्थ्य बीमा परिचयपत्र नभएको अवस्थामा समेत सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको प्रणालीमार्फत स्वास्थ्य बीमा नम्बर यकिन गरी स्वास्थ्य बीमा सेवा उपलब्ध गराइनेछ । बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट तथा प्रवक्ता डा पवनकुमार साहले स्वास्थ्य बीमा बोर्डको उक्त निर्णयसँगै रुसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज हुने बताउनुभयो ।

‘जेनजी आन्दोलका सहिदको सुशासन र भ्रष्टाचार अन्त्यको सपना पूरा होस्’

भक्तपुर। मुलुकमा सुशासन र भ्रष्टाचारविरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते भएकोे जेनजी आन्दोलन भोलि एक वर्ष पुरा हुँदैछ। देशको आवश्यकता र आम जनताको मागलाई कार्यान्वयन गर्न दबाब सिर्जना गर्ने क्रममा आफ्ना सन्ततिको बलिदानीको असह्य पीडा जेनजी सहिद परिवारले भोगिरहेका छन्।

त्यस आन्दोलनका क्रममा देशका होनहार युवासहित ७६ जनाको निधन भएको थियो । त्यसमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरी राज्यका तर्फबाट उनीहरूका परिवारलाई आर्थिक सहयोग र रोजगारी उपलब्ध गराइएको छ।

त्यस आन्दोलनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा भएको झडपमा सिन्धुली स्थायी घर भई चाँगुनारायण नगरपालिका–१ बस्दै आएका योगेन्द्र न्यौपाने (रोशन)सहितका युवाको गोली लागेर ज्यान गयो भने कयौँ घाइते भए।

एक वर्षपछि भएको भेटमा योगेन्द्रकी सानीआमा तारा रोक्काले त्यो आन्दोलनको स्मरण गर्दै भने, “अघिल्लो वर्ष भदौ २३ छोरालाई आन्दोलनमा गोली लागेको खबर सुनेपछि दौडेर अस्पताल पुग्दा ऊ बितिसकेको रहेछ ।”

स्थानीय प्राथमिक विद्यालयका शिक्षक युवराज न्यौपाने र आमा लक्ष्मी न्यौपानेका जेठा छोरा योगेन्द्र अधिकृतको परीक्षाका लागि लोकसेवाको तयारीमा थिए। सुशासन र भ्रष्टाचार विरुद्धको नव युवापुस्ताको आन्दोलमा सहभागी हुन बानेश्वर पुगेका उनलाई टाउकामा गोली लागेपछि घटनास्थलमा नै निधन भएको थियो।

छोराको सम्झनामा योगेन्द्रका बुबाले गोलन्जर–१ च्याकुटारबेंसीस्थित सुनकोशीको उकास जग्गामा ‘स्मृति पार्क’ निर्माण गरेका छन्। उक्त पार्कको भोलि उद्घाटन गरिने कार्यक्रम रहेको छ ।

सानीआमा रोक्काले सरकारले सहिद परिवारलाई गरेकाे वाचा नभुल्नुहुन पनि अनुरोध गरेका छन्। त्यस्तै, भदौ २४ गतेको आन्दोलनमा सहिद भएका बैतडीका निरज पन्तकी धर्मपत्नी कमला एक वर्षदेखि पतिवियोगको पीडामा छिन् भने छोराछोरी पिता गुमाउन परेको असह्य वेदनामा छिन् ।

कमलाले भनिन्, “परिवारको अभिभावक गुमाएपछि एक वर्षको यस अवधिमा भगवान्को प्राथना गर्ने, धैर्यधारणा गर्ने तथा पारिवारिक कर्तव्य पूरा गर्ने काममा लागिरहेको छु । वर्तमान सरकारले पीडाका बीचमा उपलब्ध गराएको सहुलियत र सुविधाप्रति धन्यवाद भन्न चाहन्छु ।”

सरकारले निरजको निधनपछि परिवारलाई रु १५ लाख आर्थिक सहयोग र केही महिलाअघि देखि मासिक २८ हजार भत्ता उपलब्ध गराएको छ । त्यस्तै, भदौ २४ गते सहिद भएका २२ वर्षीय अविशेक चौलागाईंका बुबा दिनेश चौलागाईंले सहिद परिवारसँग भएको सम्झौता पूर्ण कार्यान्वयनको माग गरेका छन्।

सम्झौतामा सहिद परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराउने लगायतका विषय उल्लेख थिए । उनले छोरालाई गोली लागेको खबर सुनेपछि हतारहतार निजामती अस्पतात पुगेर खोज्दा ‘बेडमा शव’ मात्र फेला परेको घटना सुनाए। त्यही दिन उनले नेपाल प्रहरीको जागिर छाडेका रहेछन्।

दोलखाको सैलुङ गाउँपालिका–४ स्थायीवासी दिनेश चौलागाई र रीता चौलागाईंका एक्ला छोरा अविशेक आफ्ना परिवारसँग भक्तपुरकै चाँगुनारायण नगरपालिका–१ मा बस्दै आएका थिए। यसबिचमा सहिद परिवारको हितका लागि सहुलित, रोजगारी र भत्ता उपलब्ध गराउन सरकारले गरेको निर्णयलाई भने उहाँहरुले सकारात्मक कदमका रुपमा लिएको प्रतिक्रिया दिए।

जेनजी आन्दोलनका क्रममा देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, सर्वाेच्च अदालत, नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन तथा सरकारी संरचनासहित महत्वपूर्ण सम्पदा तथा व्यापारिक भवन समेत जलेर क्षति भएको थियो।

नेपालका राजनीतिक इतिहासमा जेनजी आन्दोलन एउटा महत्वपूर्ण घटनाका रुपमा स्थापित भएको छ ।

सोही आन्दोलनका जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित सरकारले छोटो समयसीमा भित्र गत फागुन २१ मा आम निर्वाचन गराई वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहलाई नयाँ सरकार गठनका लागि नेतृत्व हस्तान्तरण गरेका थिए।

उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा करिब दुई तिहाइ सिट जित्न सफल भएपछि पार्टीका वरिष्ठ नेता शाहलाई प्रधानमन्त्रीमा चयन गरेको हो।

नेपालमा सुशासन र भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा ज्यान गुमाएका भक्तपुरका योगेन्द्र र अविषेक तथा वैतडीका निरजजस्ता जेनजी आन्दोलनका सहिदको सपना पूरा होस् भन्ने सहिद परिवारको चाहना रहेको छ ।

बाढीका कारण प्रभावित जलविद्युत् आयोजनामा कहिले र कसरी भए उद्धार प्रयास ?

नुवाकोट । रसुवास्थित भोटेकोशीमा यही भदौ १० गते गएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आधारित विद्युत् आयोजनामा ठुलो असर परेको छ । ती आयोजनामा कार्यरत सयौँको सङ्ख्यामा कर्मचारी हालसम्म पनि सम्पर्कविहीन छन् ।

कतिपयले ती आयोजनाका सुरुङमा मानिस अझै फसेको हुनसक्ने आशङ्का व्यक्त गरिरहेका छन् । यसै सन्दर्भमा नेपाली सेना, विभिन्न आयोजनामा कार्यरत कर्मचारी लगायतसँग गरिएको कुराकानीका आधारमा आयोजनामा भइरहेको प्रयासबारे तयार गरिएको खोलमूलक विवरणः

सुवागढी जलविद्युत् आयोजना

नेपाल–चीनको सीमादेखि ४ दशमलव ५ किलोमिटर नजिक रहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् गृह बाढीबाट सबैभन्दा पहिले प्रभावित भयो । जसका कारण अहिले उक्त आयोजनाको हेडवक्र्सका सम्पूर्ण संरचना र पावर हाउस बाहिर र भूमिगत पावर हाउसभित्र भएका अधिकांश सामग्रीमा क्षति पुगेको छ ।

नेपाल–चीन सीमा क्षेत्रमा रहेका केरुङ र टिमुरे बजार नजिकको यस आयोजनाका अनुसार त्यहाँ कार्यरत कर्मचारी, कामदारलगायत ९३ जना सम्पर्कविहीन छन् ।

आयोजनाका वरिष्ठ जियोलोजिष्ट तथा टनेलविज्ञ विष्णु सिवाकोटीका अनुसार यही भदौ १० गतेदेखि नै उद्धार सुरु गरिएको थियो तर विभिन्न कठिनाइका कारण सम्भव भएको छैन । भदौ ११ गते आयोजनामा कार्यरत कर्मचारीका आफन्त पनि त्यहाँ गएका थिए।

भदौ १२ गतेदेखि उद्धार निरन्तर सुरु गरियो । सोही दिन नेपाली सेनाले निरीक्षण पनि गरेको थियो । त्यसभन्दा अगाडि सामान पुर्‍याउनै पनि कठिन भयो । त्यसको केही दिनपछि मिनी एक्साभेटर झारेर काम सुरु गरियो । बाढीग्रस्त त्यस क्षेत्रमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टर ल्यान्ड गर्न सक्ने अवस्था थिएन ।

उनका अनुसार कम्पनीका ५२ जना, भेनस कम्पनीका तीन जना, दैनिक ज्यालादारीमा कार्यरत दुई जना, चिनियाँ कम्पनी सिडब्ल्युईका एक चिनियाँसहित पाँच जना र शेर्पा हाइड्रोका ३१ जना कर्मचारी घट्टेखोलामा कार्यरत थिए । आयोजनामा कार्यरत दुई जनाको शव फेला परिसकेको छ भने चार जनाको सकुशल उद्धार भइसकेको छ ।

आयोजनाका अनुसार टनेलमा खासै क्षति छैन। पावर हाउसमा आंशिक क्षति भएको छ भने ड्याम पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । उक्त आयोजना नदीदेखि १२ मिटरको दूरीमा छ । सेनाका अनुसार सो आयोजनामा भदौ १३ गतेदेखि उद्धारको प्रयास सुरु गरियो। बाढीका कारण सुरुमा त्यहाँको अवस्था निकै कठिन थियो ।

नेपाली सेनाले हेलिकप्टरमार्फत जेनेरेटरलगायतका आवश्यक उपकरण ढुवानी गरी लगेको थियो । उक्त आयोजनामा कार्यरत एक जना कर्मचारीलाई भदौ १४ गते उद्धार गरी उहाँहरुकै सहयोगमा टनेलभित्र खोजी गरियो । टनेलको करिब २७५ मिटरसम्म मात्रै पुग्न सकियो तर त्यहाँ थप कोही पनि फेला नपरेको सेनाले जनाएको छ ।

यद्यपि, त्यसपछिका दिनमा पनि टनेलभित्र तथा अन्य आसपास क्षेत्रमा खोजी जारी नै छ ।

लाङटाङ खोला जलविद्युत् आयोजना

सेनाका अनुसार लाङटाङ खोला जलविद्युत् आयोजनामा भदौ १० गतेदेखि नै उद्धार कार्य सुरु भएको थियो । पहिलो दिन नेपाली सेनाले आयोजनाको रेकी गरेको थियो । २० मेगावाट क्षमताको यो जलविद्युत् आयोजनामा भदौ १३ गतेदेखि प्रत्यक्ष रुपमा उद्धारको प्रयास गरिएको थियो। नेपाली सेनाले सुरुआती चरणमा भारतीय सेनासँगको सहकार्यमा काम सुरु गरेको थियो।

टनेलभित्र ६० मिटर प्रवेश गरेपछि ठूला चट्टानहरु भेटिएका थिए। खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउनका लागि भदौ १६ गते उक्त जलविद्युत् आयोजनाका तीन तथा नेपाली सेनाका २५ दक्ष जनशक्तिलाई आवश्यक उपकरणहरुसहित तैनाथ गरिएको थियो । ग्यास वैल्डिङको माध्यमबाट सहायक टनेलमा प्वाल पारी भित्र प्रवेश गरिएको थियो ।

आयोजनाबाट विद्युत् उत्पादन नभइसकेकाले छदेखि सात जना मात्रै त्यहाँ कार्यरत थिए । उनीहरु वैल्डिङ तथा मर्मतको काम गरिरहेका थिए । बाँकी कर्मचारीहरु पावर हाउस र क्वार्टरमा थिए । सुरुमा टनेलको निश्चित क्षेत्र प्रवेश गर्नका लागि प्वाल खोलेर काट्ने काम भएको थियो । त्यसपछि टनेलमा तीन जना मृत भेटिएका थिए । थप खोजी गर्दा कोही पनि नभेटिएको र खोजी अहिले पनि जारी रहेको नेपाली सेनाको भनाइ छ ।

चिलिमे जलविद्युत् आयोजना

बाढीग्रस्त चिलिमे जलविद्युत् आयोजनामा पनि भदौ १० गतेदेखि नेपाली सेनाले उद्धार कार्य सुरु गरेको थियो। भदौ १३ गते भारतबाट आएको विशेषज्ञ खोज तथा उद्धार टोली आई सोही मितिमा काम सुरु गरेको थियो । भदौ १४ गते संयुक्त रुपमा खोज तथा उद्धार कार्य सञ्चालन गरिएको थियो ।

सुरुमा आयोजनाको भित्रसम्म हिलो भरिएकाले जान समस्या भएको थियो । २२ मेगावाट क्षमताको सो आयोजनाका बाहिरी संरचना सबै बगेका छन्। नदीसँगै रहेको आयोजनामा अहिले सर्भिस टनेल मात्रै पत्ता लागेको छ । तर टनेलको मुखसम्म बाढीले कटान गरेकाले स्थान अभावमा ठुला हेलिकप्टर ल्यान्ड गर्न निकै कठिन थियो ।

त्यसैले सानो हेलिकप्टरमा एक पटकमा बढीमा तीनजना मात्रै झर्ने र भित्ताको आडमा ५/६ वटा हुक लगाएर मानिस र सामान तान्नु परेको अवस्था थियो । उक्त टनेलमा जानका लागि बाटोबनाउने काम पनि सुरु भएको छ । स्याफ्रुबेँसी बजारबाट दुई वटा एस्काभेटरले बाटो बनाइरहेको आयोजनाका लेखाप्रमुख धुव्रराज न्यौपानेको भनाइ छ । काम गर्नका लागि मौसमको पनि चुनौती छ ।

यद्यपि, नेपाली सेनाको अथक एवं साहसिक प्रयासपछि हाल उक्त आयोजनाको मुख्य टनेलको १०० मिटरभित्र पुग्न सकिने भएको छ । हाल भारतीय सेनाले नेपाली सेनाको समन्वयमा काम गरिरहेको छ । जसमा ४० जना जनशक्ति छन् ।

घटना हुने समयमा आयोजनामा सेक्युरिटी गार्ड एक, कर्मचारी एक र इन्जिनियर तथा ओभरसियर चारसहित जम्मा छ जना कार्यरत थिए । टनेलको इनलेट पोर्टलको उचाइ एक हजार ३९५ मिटर रहेको तर टनेलभित्र ‘इमर्जेन्सी एसेम्बली’ (आपत्कालीन समयमा जम्मा हुने ठाउँ) को उचाइ एक हजार ४०५ मिटर भएकाले टनेलभित्र फसेका मानिसहरु जीवित हुनसक्ने आशङ्का छ । उक्त आयोजनाबाट दुई वटा शव फेला परेको थियो ।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना प्रभावितमध्ये सबैभन्दा ठूलो आयोजाना हो । २१६ मेगावाट क्षमताको यो आयोजनातर्फ धेरैको चासो व्यक्त भएको छ । यसको कारण हो, यो कम्पनीमा नेपाली, चिनियाँ, कोरियन र भारतीय नागरिकहरुले काम गरिरहेका थिए ।

एक हजारभन्दा बढी जनशक्ति कार्यरत रहेको यो आयोजनामा भदौ १० गतेदेखि नै उद्धारको प्रयास गरिएको थियो । आयोजनाको हेडवक्र्स हाकुबेँसीमा थियो। जहाँ ठुलो सङ्ख्यामा मानिसहरु कार्यरत थिए भने आयोजनाको मैलुङ पोस्ट नजिकैको अडिट चारअन्तर्गत टनेलबाहिर र भित्र गरी ठुलो सङ्ख्यामा कामदारहरु कार्यरत थिए।

बाढीबाट जोगिएका आयोजनाका रेसिडेन्ट हेड इन्जिनियर रवीन्द्र हमाल बाढी आउँदा करिब ५०० को हाराराहारीमा टनेलका विभिन्न भागमा काम गरिरहेको हुनसक्ने आशङ्का व्यक्त गर्छन् । जसमध्ये बाढीको समयमा बाहिर आए र कति भित्र फसे भन्ने अझै यकिन तथ्याङ्क छैन । नेपाली सेनाले सुरुमा उक्त आयोजनास्थलबाट २५४ जनाको उद्धार गरेको थियो। सो आयोजनामा कार्यरत करिब ५०० व्यक्ति अझै सम्पर्कविहीन छन्।

हमालका अनुसार आयोजनामा विभिन्न छ वटा फेज थिए । जसमा फेज एक र दुईमा ग्रान्डिङको काम भइरहेको थियो । त्यहाँ करिब ४० जना कामदार थिए। फेज तीन र चारमा कङ्क्रिट लाइनिङ र ड्रिलिङको काम भइरहेको स्थानमा ५० जना जति काम गरिरहेका थिए । फेज पाँच र चारमा इनभर्ट तथा फुल फेज लाइनिङको काम गर्ने करिब ७० जना कामदार थिए।

त्यसपछि भर्टिकल साफ्टमा लाइनिङ, जिभा ड्रेन तथा वाटर सेपेज कन्ट्रोलका काम गर्ने करिब ४० जना थिए। पावरहाउसको पेनस्टक क्षेत्रमा पनि इएम र एचएमसम्बन्धी काम भइरहेको थियो, त्यहाँ करिब ८० जना कामदार थिए। टेलरेसतर्फ भने धेरै जनशक्ति आवश्यक नभएकाले १० जनाको आसपासमा रहेको हमालले जानकारी दिए।

हेडवक्र्सबाट आएको बाढीको प्रभाव सबैभन्दा पहिले त्यसै क्षेत्रमा परेको देखिन्छ । हेडवक्र्स टनेलबाट करिब दुई हजार ३०० मिटरपछि अडिट एक आउँछ त्यसपछि अडिट तीन र अडिट चार लगायतका संरचना छन् । अहिले टनेलभित्र सम्भावित मानिसको खोजी भइरहेको छ।

नेपाली सेनाको प्रयास २४सै घण्टा काम गर्ने भन्ने छ । अहिलेको मुख्य चुनौती केही संरचनाहरु गेट अपरेसनका लागि हुन्छन् । उक्त क्षेत्रमा ठूलो मात्रामा हिलो नपुगेकाले केही मानिसहरु माथिल्लो भागमा सुरक्षित रुपमा बसेको हुनसक्ने अनुमान गरिएको छ।

उक्त टनेलबाट ११औँ दिनमा एक जना चिनियाँ नागरिकलाई उद्धार गरिएको छ भने यस आयोजनाबाट १०औँ दिनमा एक जनाको शव फेला परेको थियो। आयोजनाको सुरुङबाट भदौ २० गते दुई वटा शव फेला परेको थियो । टनेलमा थप मानिसहरु हुने आशङ्कामा नेपाली सेनाको नेतृत्वमा कोरियन र चिनियाँ विशेषज्ञ रहेको टोली अहिले पनि उद्धार कार्यमा सक्रिय रहेको छ।

त्रिशूली ३ ‘ए’

यो आयोजनामा धेरै मानिस परेको हुनसक्ने भनी धेरैको चासो र चिन्तो थियो । सुरुमा आयोजनामा कार्यरत ४२ जना सम्पर्कविहीन थिए। जसमध्ये १०औँ दिनमा दुई जनाको उद्धार गरिएको थियो भने एक जनाको टनेलभित्रबाट शव फेला परेको थियो।

प्राविधिक तथा उद्धार टोलीले दोहोर्याएर खोजी गर्दा पनि नभेटेको जनाएको छ । सो आयोजनामा भदौ ११ गते बेलुकादेखि नै उद्धार सुरु गरिएको थियो । उद्धारमा इन्जिनियर समेत रहेका सांसद श्रीराम न्यौपाने र सागर ढकालले पनि ठुलो सहयोग गरेको आयोजनाले जनाएको छ।

नेपाली सेनाका अनुसार सुरुमा यो आयोजनाको मुख पत्ता लगाउन नै ठूलो समस्या भएको थियो । नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा उद्धार सुरु गरिएको थियो । मुख पत्ता नलागेपछि ‘लोकेसन’ पत्ता लगाउन प्राधिकरणबाट नक्सा माग गरिएको थियो । भदौ १२ गते ‘रेकी’ गरी भदौ १३ गतेदेखि काम सुरु भएको थियो ।

सुरुमा त्यहीँ रहेका एक्साभेटरको प्रयोग गर्ने भनिएको थियो । तर इन्धन अभाव र मेसिनले नै काम नगरेपछि हेलिकप्टरमार्फत तीन वटा एक्साभेटर लगिएको थियो । हाल पछिल्लो समय उक्त स्थानमा ६ वटा एक्साभेटरले काम गरिरहेका छन्।

नेपाली सेनाका अनुसार माथिबाट करिब २५ मिटर खनेपछि केवल टनेल पत्ता लागेको थियो । त्यसपछि उद्धार टोली घ्रिसिएरभित्र प्रवेश गरेको थियो । टनेलको मुख खोल्नका लागि काठमाडौँ–तराई मधेस द्रुत मार्गको आयोजनाबाट विस्फोटनको सामान माग गरिएको थियो । त्यतिले नपुगेर नागढुङ्गा टनेल आयोजनाबाट कम्प्रेसर माग गरिएको थियो ।

नागढुङ्गाबाट एउटा हेलिकप्टरमा ल्याउने भनिएको सामानका लागि पाँच वटा उडान लागेको थियो । कम्प्रेसर ल्याउन पनि ठूलो समस्या भएको थियो । आयोजनाका लागि दुई वटा उडानमार्फत ड्रिलिङ मेसिन लगिएको थियो । ठुलो प्रयासपछि मात्रै काम सुरु गरिएको थियो । आयोजनामा नेपाली सेनासँगै चिनियाँ र कोरियन टोलीले पनि काम गरेको थियो ।

त्रिशूली–३ ‘बी’ आयोजना

त्रिशूली–३ बी जलविद्युत् आयोजनाको सुरुङ बाहेकको संरचनापूर्णरुपमा क्षतिग्रस्त छन् । जसमा ४० भन्दा बढी कर्मचारी पुरिएको आशङ्का आयोजनाको छ । सुरुका दिनमा दलदलका कारण हेभी इक्विपमेन्ट ढुवानी गर्न सकिएको थिएन।

सुरुङमा ठूलो समस्या छैन । भदौ ११ गते उद्धारका लागि गएको नेपाली सेनाको टोलीले हिलोका कारण अवतरण गर्न सकेको थिएन । सुरुका केही दिनमा त आयोजनाको कुन संरचना कहाँ थियो भन्ने नै बुझ्न नसकिएको अवस्था थियो। पछि प्राविधिकको सहयोगमा भदौ १३ गतेदेखि उक्त आयोजनामा उद्धारको प्रयास सुरु गरिएको थियो । उक्त आयोजनामा भदौ १३ गते चिनियाँ टोलीले रेकी गरेको थियो ।

घटनाको समयमा अधिकाङ्श मानिस कार्यालय र आवासीय भवनमा रहेको त्यहाँ कार्यरत किसन अधिकारीले बताए। उनका अनुसार टनेलभित्र समस्या छैन । “मेरो छोरी र आमा आवासीय भवनमा हुनुहुन्थ्यो, उहाँहरु अहिलेसम्म सम्पर्कविहीन भएको अवस्था छ, अहिलेसम्म उद्धारले सफलता पाएको छैन, धेरै साथीहरु हाम्रा आँखाअगाडि नै बाढीमा बग्नुभयो, म भागेर बाँच्न सफल भए, बाढीको सूचना पाएको एकाध मिनेटमै अकल्पनीय अवस्था सिर्जना भयो”, उनले भने।

आयोजना नजिकैको सुकम्वासी बस्तीको अस्तित्व नै मेटिएको छ तर पावर हाउस, कार्यालय र छ वटा आवासीय भवन पूर्ण रुपमा बाढीले पुरिएका छन् । ती क्षेत्रमा ५०/५० मिटर क्षेत्रमा १५ मिटर गहिरो खाल्डो पनि खनिएको छ ।

हाल आयोजनाका प्रबन्ध निर्देशकसहित नेपाली सेनाको ८९ जना दक्ष जनशक्ति खटिई काम भइरहेको छ। जेनेरेटर र कम्प्रेसर तथा अन्य विपद्का उपकरणको प्रयोग गरी खोज तथा उद्धार कार्य भइरहेको छ ।

टनेलको प्रवेश विन्दुबाट छातीको सतहसम्म रहेको दलदल पछाउँदा विभिन्न तरिका तथा उपकरणको सहायताले अडिट टनेलको एक दशमलव सात किलोमिटरभित्र प्रवेश भइसकेको । जसमा एउटा गाडी फेला परेको छ । हाल त्रिशूली ३ ‘ए’ बाट त्रिशूली ३ ‘बी’मा एक्साभेटर लैजाने काम पनि भइरहेको छ।

भोटेकोशी बाढी: नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

काठमाडौँ, भदौ २२ –नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि आज रु एक करोड ३८ लाख ९९ हजार ४२५ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूका तर्फबाट सङ्कलित रकम कोषमा जम्मा गरिएको हो ।

राष्ट्र बैंकको गभर्नर कार्यालयद्वारा आज जारी विज्ञप्तिअनुसार भदौ १० गते आएको बाढीबाट प्रभावितहरूका लागि गभर्नर, डिपुटी गभर्नर तथा बैंकमा कार्यरत स्थायी तथा करार तहका कर्मचारीहरूले सामूहिक रूपमा योगदान गरी सङ्कलन गरिएको रकम कोषमा जम्म गरिएको जनाइएको छ ।

मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला

मुस्ताङ, भदौ २२ –मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुल्ला गरिएको छ । गत भदौ ८ गतेको जिल्लास्तरीय निर्णयअनुसार आजदेखि ढिलो पाक्ने स्याउ उत्पादनको पोस्ट हार्भेस्ट खुल्ला गरिएको हो ।

यसअघि मुस्ताङमा छिटो पाक्ने स्याउ भदौ १५ गतेदेखि टिपाइ गर्न पाइने निर्णय भएको थियो । आजदेखि ढिलो पाक्ने स्याउको बगैँचामा टिपाइ गर्न पाइने गरी खुल्ला गरिएको छ । मुस्ताङमा उत्पादन हुने स्याउमध्ये गाला, फुजी र साउने स्याउ छिटो पाक्ने प्रजातिअन्तर्गत पर्छन् । अन्य जातका स्याउ केही ढिलो पाक्ने सूचीअन्तर्गत पर्दछन् ।

मुस्ताङी स्याउको ‘ब्रान्ड’लाई जोगाई राख्न जिल्लास्तरबाट स्याउ टिप्ने पाइने कार्यतालिका सार्वजनिक गरिएको हो ।जिल्ला समन्वय समिति, मुस्ताङको अगुवाइमा सराकोरवाला कार्यालय र मुस्ताङका अगुवा कृषकहरु सम्मिलित जिल्लास्तरीय बैठकले छिटो पाक्ने स्याउ र ढिलो पाक्ने स्याउको टिपाइ गर्न पाइने समय कार्यतालिका निश्चित गरेका छन् ।

समिति प्रमुख माया गुरुङले आजदेखि मुस्ताङका सबै प्रजातिका स्याउ टिपाइ गर्न खुल्ला भएको जानकारी दिनुभयो । स्याउको गुणस्तर खस्किन नदिन, उत्पादन वृद्धि गर्न र स्याउमा पर्याप्त मात्रामा गुलियोपना कायम होस् भन्ने अभिप्रायले मुस्ताङमा जिल्लास्तरीय निर्णय गरी स्याउ टिप्ने कार्यतालिका बनाइएको हो ।

मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिपाइ गर्न पाइने नियम खुल्ला भएसँगै मुस्ताङका स्याउ बगैँचामा धमाधम स्याउ टिपाइ गरी हार्भेस्टको काम भइरहेको छ ।

एक साताअघि मुस्ताङ आउनुभएका धादिङका स्याउ व्यापारी उर्चा तामाङले स्याउ टिपाइ खुल्ला भएका कारण आफूहरु मुस्ताङ आएको बताउनुभयो । विगत तीन दशकदेखि स्याउको ब्यापारी गर्दै आई रहनुभएका ब्यापारी तामाङले मुस्ताङबाट एक करोड मूल्य बराबरको स्याउ बजार पठाउने तयारी गरेको बताउनुभयो ।

व्यापारी तामाङ जस्तै जिल्लाभित्र र बाहिरका दर्जनौँ सङ्ख्यामा ब्यापारी स्याउ खरिद गर्न किसानको बगैँचामा पुगिसकेका छन् । यस वर्ष कोरलानाकाबाट पनि चिनियाँ स्याउ भित्रिने सूचनाले स्याउ बिक्री नहुने पो हो कि भन्ने चिन्ता बढेको स्याउ व्यापारी तामाङले बताउनुभयो ।

मुस्ताङमा गत वर्ष रु एक अर्ब १० करोड २३ लाख ७० हजारको स्याउ उत्पादन भएको थियो । जसमध्ये ९० प्रतिशत स्याउ जिल्ला बाहिर निकासी हुँदा रु ९९ करोड जिल्लमा भित्रिएको थियो ।
कृषि तथा पशु विकास कार्यालयको गत वर्षको तथ्याङ्कअनुसार मुस्ताङका पाँच स्थानीय तहमा कुल ८९९ दशमलव १६ हेक्टरमा स्याउ खेती विस्तार भएको छ ।

कार्यालय प्रमुख डा. लालमणि अर्यालयका अनुसार स्याउ बिस्तार भएको क्षेत्रफलमध्ये ८३७ हेक्टर क्षेत्रफल स्थानीय र ६२ हेक्टर क्षेत्रफलमा उच्चघनत्वको (हाइब्रिड) स्याउ खेती गरिएको छ ।
यसैगरी, मुस्ताङमा गरिएको स्याउ खेतीमध्ये ६२७ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटमा उत्पादन हुने गरेको छ । प्रमुख डा अर्यालयका अनुसार मुस्ताङमा ५७२ हेक्टरमा स्थानीय र ५५ हेक्टर क्षेत्रफलमा लगाइएको बोटले उत्पादन दिने गरेको छ ।

बाढीपछि लयमा फर्किंदै नेपाली चलचित्र क्षेत्र

काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीका कारण प्रभावित बनेको नेपाली चलचित्र क्षेत्र जनजीवन सामान्य बन्दै गएसँगै पुनः लयमा फर्कन थालेको छ। विपद्का कारण केही चलचित्रहरूले आफ्नो प्रदर्शन मिति सारे पनि केहीले प्रदर्शन र प्रचार–प्रसारलाई यथावत् राख्दै सिनेमा बजारलाई चलायमान बनाइरहेको अवस्थामा पुनः लयमा फर्की चलचित्र क्षेत्र गतिशील भएको हो।

यसै क्रममा आइतबार नयाँ नेपाली चलचित्र ‘बेहुली’ले आफ्नो आधिकारिक ‘ट्रेलर’ सार्वजनिक गरेको छ । ‘ट्रेलर’ सार्वजनिक कार्यक्रममार्फत निर्माता अर्जुन पोखरेलले चलचित्रको कुल व्यावसायिक कमाईबाट निर्माताको हिस्सामा पर्ने रकमको पाँच प्रतिशत बाढी प्रभावितका लागि राहतस्वरूप ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा प्रदान गर्ने घोषणा गरेका छन्।

निर्माता पोखरेलले भने,“रसुवा–त्रिशूली नदी बाढी प्रभावितलाई केही हदसम्म राहत पुगोस् भनी ‘बेहुली’ चलचित्रको कमाईबाट निर्माताको भागमा पर्ने पाँच प्रतिशत रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा प्रदान गरिने छ । हालैको अकल्पनीय बाढीपछि लयमा फर्कन लागेको चलचित्र क्षेत्रलाई अझ चलायमान र गतिशील बनाउने अभियानमा सम्बद्ध सबै क्षेत्रबाट साथसहयोग प्राप्त हुने विश्वास लिएको छु।”

अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न प्रतिष्ठित पुरस्कार जितेर नेपालको नाम विश्वस्तरमा उच्च बनाउन सफल चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ गत शुक्रवारदेखि देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको छ । कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ जित्न सफल यो चलचित्रले प्रतिकूल मौसमका बाबजुद पनि बक्स अफिसमा दर्शकको निकै राम्रो साथ पाइरहेको छ। गत साउन १ गते ‘रिलिज’ भई भदौ १० गतेको बाढीपछि अहिलेसम्म निरन्तर चलिरहेको गौँथली रु २५ करोड ८६ लाख व्यापार गर्न सफल भएको छ।

त्यस्तै, बाढीकै समयमा ‘रिलिज’ भएको अर्को नेपाली चलचित्र ‘पार्वती’लाई पनि नेपाली दर्शकले हलमा पुगेर उत्साहजनक रूपमा साथ दिइरहेका छन् भने केही विदेशी चलचित्रहरू पनि प्रदर्शनरत छन् । यतिबेला ‘बेहुली’ सँगै अन्य केही चलचित्रहरूले पनि आआफ्ना ‘ट्रेलर’ तथा गीत–सङ्गीत धमाधम सार्वजनिक गर्दै दर्शकमाझ आउने तयारी तीव्र पारेका छन्।

यसैबिच नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष उदय सुब्बा मुलुकमा आइपर्ने प्राकृतिक विपत्तिको समयमा आफ्ना व्यावसायिक कर्मलाई पनि सँगै अगाडि बढाउनुपर्ने र सोही कर्मबाट आर्जित प्रतिफलमार्फत बाढी प्रभावितहरूलाई निरन्तर सहयोग गर्ने सामूहिक प्रतिबद्धतासहित प्रभावित क्षेत्रमा राहत वितरण गर्न चलचित्रकर्मीहरू हाल सक्रिय रहेको बताउँछन्।

जनजीवन क्रमिक रूपमा सामान्य बन्दै गएकाले नेपाली सिनेमा हलहरूमा दर्शकको चहलपहल पुनः बढ्ने र चलचित्र उद्योगले छिट्टै पुरानै लय समात्नेमा चलचित्र सम्बद्ध सङ्घसंस्था तथा हल सञ्चालकहरू विश्वस्त देखिएका छन्।

भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता

काठमाडौँ। रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन्।

पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका हुन्। पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका पर्यटक बेपत्ता भएको जानकारी दिए।

बेपत्ता भएका विदेशी पर्यटकमध्ये २५६ पुरुष, ३२९ महिला र दुई अन्य रहेका छन् । बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका रहेका छन्। विभागले दिएको जानकारीअनुसार भारतका १८४ नागरिक बेपत्ता भएका छन्।

यसबाहेक अष्ट्रेलियाका ३३, बेलारुसका दुई, क्यानडाका ३०, फिनल्यान्डका एक, फ्रान्सका चार, जर्मनीका आठ, हङ्गेरीका एक, आइरिसका दुई, इजरायलका एक, लिथ्वानियाका एक, मलेसियाका ५५ र नेदरल्यान्डका दुईजना बेपत्ता भएका छन्।

यस्तै, न्युजिल्यान्डका पाँच, पोर्चुगलका दुई, रसियाका आठ, सिङ्गापुरका नौ, दक्षिण अफ्रिकाका छ, स्पेनका दुई, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६७, जापानका पाँच, फिलिपिन्सका एक, काजकिस्तानका तीन, बेल्जियमका दुई, स्विडेनका एक जना बेपत्ता भएका छन्। यसैगरी, लाटभियाका ३३, स्विजरल्यान्डका एक, इटलीका दुई, चीनका २६, भियतनामका एक, इस्टोनियाका एक र पोल्यान्डका दुई पर्यटक बेपत्ता भएका छन् ।

उक्त बाढीमा परेर नेपालका १८८ पर्यटक बेपत्ता भएका छन् । विभागका अनुसार बेपत्ता हुनेमा १६१ पुरुष र २७ महिला रहेका छन् । बेपत्ता हुनेमा विदेशी पर्यटकको सहयोगीका रुपमा गएका र कैलाश मानसरोवर तथा गोसाइँकुण्ड घुम्न गएका नेपाली रहेको विभागका सूचना अधिकारी घिमिरेले बताए।

सरकारले विपद्का बीच उद्धार कार्य पनि जारी राखेको छ । हालसम्म ३०७ विदेशी पर्यटकको सफल उद्धार गरिएको विभागले जनाएको छ । उद्धार भएकामध्ये २५४ पुरुष र ५३ महिला रहेका छन्। यसैगरी, बाढीपछि सम्पर्कविहीन भएकामध्ये सात जना (दुई पुरुष, चार महिला र एक अन्य) हाल सम्पर्कमा आएका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता भएकाको खोजी र राहत कार्यलाई तीव्रता दिएका छन्।

रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित २१ घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा.गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये एक भारतीयसहित २१ घाइतेको अहिले त्यहाँ उपचार भइरहेको जानकारी दिए ।

उक्त अस्पतालमा अशोक श्रेष्ठ, बलबहादुर घर्ती, मिनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट, रामप्रसाद थारु, रिता डोल्चा, ऋतु डङ्गोल, सुरुची राना मगर, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ, सङ्गीता तामाङ, सिजल थापा क्षेत्रीको उपचार भइरहेको छ ।

यस्तै, सितार तामाङ, मनिषा उचाई मगर, श्रीकेशकुमार यादव, चण्डिका श्रेष्ठ, कृष्ण श्रेष्ठ र सनम पाल्मोको पनि उपचार भइरहेको छ । यस्तै, भारतीय नागरिक नवलेश शर्माको पनि उक्त अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा रहनेमध्ये पवित्र कार्की, पेमा तामाङ र चण्डिका श्रेष्ठलाई आइसियुमा तथा मीनबहादुर श्रेष्ठ र राजेन्द्र भट्टको हाई केयर युनिटमा उपचार भइरहेको प्रवक्ता डा सेढाईंले बताए । उक्त अस्पतालबाट हाल उपचार गरेर ५५ जना डिस्चार्ज भएका छन् ।

यस्तै चार जना अस्पतालमा आएर अन्य अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता डा.सेढाईंले बताए । उक्त अस्पतालमा ल्याएका मध्य २५ वर्षीय कुशल मगरको उपचारका क्रममा मृत्यु भएको छ ।

बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस, सरकारी कार्यालयमा झण्डा आधा झुकाइयो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदै छ । आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै सिंहदरबार स्थीत विभिन्न मन्त्रालय परिसरमा पनि आज राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता

ताप्लेजुङ, २२ भदौ ः ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।

आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज बिहान मैवाखोलाको पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको थियो ।

दुर्घटनापछि सोही ट्याक्टरमा सवार मेरिङदेन गाउँपालिका–६ नाल्बोका १४ वर्षीय समीर नाल्बोले इलाका प्रहरी कार्यालय दोभानमा पुगेर घटनाबारे मौखिक जानकारी गराएको थिए ।

ट्याक्टर पुलबाट करिब २० मिटर तल मैवाखोलाको बगरमा भेटिएको छ भने ट्याक्टर चालकको ठेगाना तत्काल नखुलेका समीर बराइली र ट्याक्टरमा सवार अनिल नाल्बोलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक कमल बजगाईले जानकारी दिनुभयो ।

बेपत्ताको खोजीका लागि प्रहरी निरीक्षक विन्देश्वर यादव सहितको टोली परिचालन गरिएको छ । ट्याक्टर अरुण भेनियर कम्पनीको रहेको र कम्पनीका सञ्चालक प्रकाश नाल्बोसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय दोभानबाट करिब ८०० मिटर उत्तरतर्फ पर्दछ ।

भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन। पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएको हो ।

भरतपुरबाट काठमाडौँ लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएका छन् । बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौँका लागि दैनिक पाँच उडान हुँदै आएकोमा सडक असहज बनेसँगै सङ्ख्या बढाएर ११ वटासम्म पु¥याइएको छ । दैनिक उडान आवश्यकताअनुसार ९ देखि ११ सम्म पुर्याइएको उहाँले जानकारी दिनुभयो ।

यहाँबाट काठमाडौँ आवतजावत गर्ने ‘एटिआर ७२’ जहाज हो । यसले काठमाडौँबाट आउँदा ६५ देखि ७० र यहाँबाट काठमाडौँ जाँदा ५० जना यात्रु ओसार्ने गर्दछ । क्षमता ७२ जनाको भए पनि धावन मार्ग छोटो भएका कारण क्षमता अनुसारको यात्रु ओसार्न सक्दैन ।

कृष्णभिरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौँ जाने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । वर्षायामका कारण यात्रुले हवाई यात्रालाई प्राथमिकता दिने गरेको उहाँले बताउनुभयो । यहाँ चितवनसहित नवलपरासी, गोरखा, तनहुँ, लम्जुङ, मकवानपुरबाट समेत यात्रु आउने गर्दछन् ।

एयरलायन्सले उडानको संख्या बढाएर यात्रुलाई सहजीकरण गरेको जनाएको छ ।

सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको सहिद लखन र चितवनको इच्छाकामना गाउँ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् ।

गोरखा २ का प्रतिनिसभा सदस्यसमेत रहेका उन्ले यी दुई गाउँपालिका बाढीका कारण सङ्कटमा रहेको जानकारी दिए । सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका नदी तटीय केही पालिकाहरुलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सांसद बुर्लाकोटीले यहाँ सञ्चारकर्मीसंग कुराकानी गर्दै भोटेकोशी बाढीबाट चितवनको इच्छाकामना र गोरखाको सहिद लखन गाउँपालिकाका केही क्षेत्र पनि प्रभावित भएको जनाउँदै सरकारले यसलाई पनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्छ भने ।

यस विषयमा आफूले सरकार र पार्टीमा कुरा राखिसकेको जनाउँदै विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएसँगै दुवै पालिकाका प्रभावितलाई राज्यका तर्फबाट सम्बोधन गर्न सकिन्छ भने।उनले भने,“बाढीले यी दुवै पालिकामा क्षति पुर्याएको छ । नदी तटीय क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । नदी किनारमा रहेका पर्यटकीय होटल र उद्योगमा क्षति पुगेको छ । दुवै गाउँपालिका त्रिशूली नदीको वारी र पारी पर्दछन् । भोटेकोशीबाट आएको बाढी यिनै पालिकासँगैको त्रिशूली नदी हुँदै नारायणीमा मिसिएको हो । ”

सरकारले रसुवाको उत्तरगया, गोसाइकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका, नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका, नुवाकोटकै किस्पाङ र तारकेश्वर गाउँपालिकाकालाई विपद्त सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । धादिङको गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका, तनहुँको देवघाट र आँबुखैरेनी गाउँपालिकालाई विपद्त सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने भएको हो ।

आइतबार दिउँसो सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको थियो ।

भोटेकोशी बाढीका विषयमा बैठक बढी केन्द्रित भएको र त्यसका बारेमा सरकारलाई आवश्यक सुझाव सल्लाह दिने, आफ्नो तर्फबाट गर्न सकिने कामहरू प्रभावित क्षेत्रमा गरिरहने, पार्टीको संरचना र भातृ तथा सुभेक्षुक संगठनहरूलाई थप परिचालन गर्ने, पीडितहरूलाई सहयोग गर्ने, उद्धार तथा राहत र पुनर्निर्माणका थप योगदान गर्ने निर्णय भएको थियो ।

पार्टीको अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका, निधन भएका बाहेक सबैलाई पन्ध्रौ महाधिवेशनका लागि नवीकरण गरेपनि अध्यावधिक नगरेकाहरूलाई १५औं महाधिवेशनमा सहभागी हुन मिल्ने निर्णय गरिएको थियो ।

सडक, पुल र ऊर्जा पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन कुलमान घिसिङको आग्रह

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रको समग्र पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि तत्काल गुरुयोजना बनाउन सरकारसँग माग गरेका छन्।

बाढी आएको १३औँ दिन राष्ट्रिय शोक मनाइरहँदा सामाजिक सञ्जालमार्फत घिसिङले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्।

उनले दिनरात नभनी खोज तथा उद्धारमा खटिएका नेपाली सेना, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, प्रशासन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञ एवं प्राविधिक टोलीप्रति आभार व्यक्त गरेका छन्।

बाढीमा परेका अझै धेरैको अवस्था अज्ञात रहेको भन्दै घिसिङले चिलिमे, रसुवागढीलगायतका सुरुङमा फसेकाहरूको खोजी तथा उद्धार र राहत वितरण कार्यलाई अझ तीव्र, व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

घिसिङले सामाजिक सञ्जालमा लेखेका छन् –

रसुवा जिल्लास्थित भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीको आज १३औँ दिनमा राष्ट्रिय शोक मनाइँदैछ। यस विनाशकारी विपद्मा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। दिनरात नभनी खोज तथा उद्धार कार्यमा खटिनुभएका नेपाल आर्मी, अन्य सुरक्षा निकायहरू, सम्बन्धित पालिकाका जनप्रतिनिधिहरू, स्थानीय प्रशासन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ एवं प्राविधिक टोलीलगायत सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दछु। बाढीमा परेका अझै धेरैको अवस्था अज्ञात छ। उहाँहरूको अवस्था यथाशीघ्र पत्ता लाग्ने विश्वास व्यक्त गर्दै चिलिमे, रसुवागडी लगाएतका टनेलमा फसेकाहरूको खोजी, उद्धार गर्न तथा राहत वितरण कार्यलाई अझ तीव्र, व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित सबै निकायलाई अनुरोध गर्दछु । बाढीले त्रिशूली नदी बेसिनको भूगोल र प्राकृतिक स्वरूप नै बदलिदिएको छ। जलविद्युत आयोजना, सडक, पुल, प्रसारणलगायतका महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको छ भने सयौँ परिवार घरबारविहीन भएका छन्। यो क्षति तत्कालीन राहत र पुनर्निर्माणले मात्र सम्बोधन हुने अवस्था होइन। अब संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै त्रिशूली नदी बेसिनको समग्र पुनर्निर्माण तथा दीर्घकालीन विकासको गुरुयोजना तत्काल अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु। सुरक्षित एकीकृत बस्ती, सडक तथा पुल, ऊर्जा पूर्वाधार, नदी नियन्त्रण र तटीय संरक्षणलाई प्राथमिकतामा राखिनुपर्छ। विपद्ले भत्काएको त्रिशूलीलाई अझ सुरक्षित, व्यवस्थित र दिगो त्रिशूलीका रूपमा पुनर्निर्माण गर्ने संकल्प अब आवश्यक छ।यस पुनर्निर्माण र पुनर्स्थापनाको अभियानमा आफ्नो विज्ञता, अनुभव र क्षमताले भ्याएसम्म साथ, सहयोग र योगदान गर्न म पूर्ण रूपमा प्रतिबद्ध छु।

उद्धारमा ढिलाइप्रति हर्क साम्पाङको असन्तुष्टि- ‘जनशक्ति, उपकरण र समन्वय तत्काल बढाउनुपर्छ’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्य अझ प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत साम्पाङले खोजी तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै कम्तीमा १५ हजार सुरक्षाकर्मीलाई आवश्यक औजार तथा उपकरणसहित बाढी प्रभावित क्षेत्रमा परिचालन गर्न माग गरेका हुन्।

बाढी प्रभावित क्षेत्रमा बेल्चासमेत पर्याप्त नभएको दाबी गर्दै उनले आफूहरूले बोकेर लगेको बेल्चाले अघिल्लो दिनको खोजी कार्यमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

उनले सरकारको उद्धार व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै आफ्नो सामाजिक सञ्जालमा लेखिएका सुझावलाई ध्यान दिन आग्रह गरेका छन्।

साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् –
खोजि र उद्दार कार्य खास प्रभावकारी भाको छैन ! अझै सुधार गर्नु पर्छ ! थोरैमा १५ हजार सुरक्षाकर्मीलाई परिचालन गरियोस् ! औजार र उपकरण सहित बाढी ग्रस्त क्षेत्रमा पठाइयोस् ! बेल्चा समेत नभएको अवस्था छ ! हिजोको खोजि कार्यमा हाम्ले बोकेको बेल्चाले ठुलो काम गर्‍यो ! सरकार पक्षले मेरो फेस्बुकको वाल पढ्नै पर्छ यदी सबल र सहज तरिकाले काम गर्ने हो भने अन्यथा भद्रगोल छ स्थिति ! हिजो पनि उपकरण प्रयोग गर्ने अनुमति दिइएन ! जीवनको खोजि छिटो र प्रभावकारी हुन सक्थ्यो !

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ८० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ८० रुपैयाँ र सानो (टनेल) गोलभेडा ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो (लाम्चो) ५० रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ४८ रुपैयाँ, आलु रातो (मुडे) ४८ रुपैयाँ, भारतीय रातो आलु ४० रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ९३ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ७० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (लोकल) २० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २५ रुपैयाँ, लाम्चो भन्टा १५ रुपैयाँ, डल्लो भन्टा ३० रुपैयाँ, तने बोडी ६० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ तथा घिउ सिमी (लोकल र हाइब्रिड) प्रतिकेजी ८० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी ६० रुपैयाँ, भटमासकोसा १२० रुपैयाँ, तितो करेला ४० रुपैयाँ, लौका ४० रुपैयाँ, परवर (लोकल) ७० रुपैयाँ, घिरौला १५ रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) ३० रुपैयाँ, भिण्डी ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग ५० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ र हरियो प्याज १०० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ४०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३५० रुपैयाँ, स्याउ(मुस्ताङ्ग) प्रतिकिलो १३५ रुपैयाँ, केरा (नेपाली) प्रतिदर्जन १८० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो ३५० रुपैयाँ, अनार २५० रुपैयाँ र तरबुजा (हरियो) ५० रुपैयाँ तोकिएको छ ।

पूर्वी पहाडमा लगातार वर्षापछि सप्तकोसीमा बढ्यो बहाव, ब्यारेजमा रातो बत्ती र झण्डा

काठमाडौं – लगातार भएको वर्षाका कारणले सप्तकोसी नदीमा पानीको बहाव बढेको छ ।

आइतबार राति ८स्१५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर दुई लाख २० हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भइरहेको प्रहरीले जनाएको छ ।

पानीको बहाव बढेपछि कोशी ब्यारेजको मूल ५२ वटा र ४ वटा नहरको गरेर ५६ वटा ढोका मध्यै २७ वटा ढोका खुल्ला गरिएको प्रहरीले जनाएको छ । कोशी ब्यारेजमा खतराको सङ्केत देखिएपछिरातो बत्ती बालिएको र रातो झन्डा फहराइएको छ ।

अविरल वर्षासँगै बाढी–पहिरोको असर, बीपी राजमार्गमा सवारी रोकियो

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (सोमबार) बिहान ६ः४० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।

काठमाडौं धादिङको चन्द्रागिरी नगरपालीका २ चिसापानी पहिरोका कारण अवरुद्ध भएको सडक खण्डमा एकतर्फी सुचारु भएको छ ।

बिपी राजमार्गको खुर्कोट—नेपालथोक—कटुन्जेबेँसी खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गरिने छ ।

रसुवाको उत्तरगया गाउँपालिका—५ खाल्टेमा बाढीका कारण त्रिशुली—मैलुङ्ग—स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

मुख्य राजमार्ग सबै अर्के सूचना जारी नभएसम्मको लागि पुर्न रुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

शिवपुरी गाउपालिका ८ घट्टेखोला टोखा छहरे सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । राति १० बजे देखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको हो ।

बङ्गलादेशको त्रैमासिक रेमिट्यान्स प्रवाह ६ अर्ब अमेरिकी डलर

काठमाडौँ । विदेशमा बस्ने र काम गर्ने लाखौँ बङ्गलादेशीहरूले जुलाई–अगस्टको तीन महिनाको अवधिमा करिब छ अर्ब अमेरिकी डलर रेमिट्यान्स स्वदेश पठाएका सरकारी तथ्याङ्कले देखाएको छ ।

आधिकारिक तथ्याङ्क उद्धृत गर्दै बङ्गलादेश बैङ्कका प्रवक्ता तथा कार्यकारी निर्देशक आरिफ होसेन खानले भने, “बङ्गलादेशको विदेशी मुद्राको प्रमुख स्रोतमध्ये एक रहेको रेमिट्यान्स अगस्टमा गत बर्षको सोही महिनाको तुलनामा २२.५ प्रतिशतले बढेर दुई अर्ब ९६ करोड सात लाख डलर पुगेको छ ।”

बङ्गलादेशीहरूले जुलाईमा दुई अर्ब ८५ करोड ९० लाख डलर रेमिट्यान्स स्वदेश पठाएको उनले थपे । बैङ्कका अनुसार आर्थिक वर्ष २०२५/२६ मा बङ्गलादेशको रेमिट्यान्स ३५ अर्ब डलरभन्दा बढी पुगी सर्वकालीन उच्च बिन्दुमा पुगेको थियो ।

बङ्गलादेशमा रेमिट्यान्स मुख्यतः संयुक्त अरब एमिरेट्स, साउदी अरब र कुवेतजस्ता मध्य पूर्वी मुलुकहरूबाट आउने गरेको छ ।

बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा

कञ्चनपुर। गएरातिदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरको बेदकोट नगरपालिका-३ र ४ घटानथान जोड्ने चौधर नदीको झोलुङ्गे पुल खसेको छ ।

नदीको कटानले पुल आसपासका संरचनामा क्षति पुर्याएपछि चौधर नदीमा रहेको झोलुङ्गे पुल खसेको बेदकोट नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार नदी कटानका कारण उक्त पुल नजिकैको पक्की पुलसमेत जोखिममा परेको छ । “नदीमा आएको बाढीले कटान गरेपछि झोलुङ्गे पुल खसेको हो”, उहाँले भन्नुभयो, “नदीको कटानका कारण नजिकै रहेको पक्की पुल पनि जोखिममा परेको छ ।”

उहाँका अनुसार निरन्तरको वर्षाका कारण पालिकाभित्रका खेतबारी पनि डुबानमा परेका छन् । लगातार वर्षाले नदी तथा खोलानालामा पानीको सतह बढ्न थालेपछिले पालिकाले नगर प्रहरी र वडाध्यक्षहरूमार्फत नागरिकलाई सतर्क रहन सूचनामार्फत आग्रह गरेको चन्दले बताउनुभयो ।

बेदकोट-४ का वडाध्यक्ष नरेन्द्रबहादुर बोहराले बगाएको झोलुङ्गे पुल पहिलादेखि जोखिममा रहेको बताउनुभयो । “गत वैशाखमा बसेको नगर कार्यपालिका बैठकमा पुल जोखिममा रहेकाले मर्मत गर्नुपर्ने भनेका थियौँ”, उहाँले भन्नुभयो, “वडाको बजेटबाट सम्भव हुँदैन नभएकाले नगरपालिकासँग समन्वय गरिरहेका थियौँ ।”

यसैबीच, कञ्चनपुरमा निरन्तर वर्षाका भइरहेकाले नदी तथा खोलानालामा पानीको सतह बढेको छ । मौसम पूर्वानुमान महाशाखाले जिल्लाको बेदकोट, भीमदत्त र दोधारा चाँदनी नगरपालिकामा भारी वर्षाको सम्भावना रहेकाले सरोकार भएका निकायलाई नदी आसपासको क्षेत्रमा निगरानी बढाउन, समुदायलाई सूसुचित गराउन र आवश्यक तयारी सुरु गर्न सूचना जारी गरेको छ ।

त्यसैगरी महाकाली नदीको जल सतह सतर्कता तह पार गरेपछि भारतीय पक्षले नेपाल-भारत जोड्ने वनवासास्थित शारदा ब्यारेजमा आवागमनमा रोक लगाएको छ ।

इलाका प्रहरी कार्यालय ड्डाचौकीका प्रमख जीवन गुरुङका अनुसार आज साँझ ५ः०० बजेको जलमापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ३३ हजार ८८८ क्युसेक पुगेको छ ।

महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा सुरक्षाको कारण देखाउँदै चारपाङ्गे्रे सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आइएको छ ।

आज विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेको छ।

देशभर साधारणतया बादल लागेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भएको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ । देशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

मधेश प्रदेश र कोशी प्रदेशको तराई भूभागका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ १० पैसा र बिक्रीदर ११९ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १८ पैसा र बिक्रीदर ४० रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २२ पैसा र बिक्रीदर ११ रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४४ पैसा र बिक्रीदर २३ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २४ पैसा र बिक्रीदर १९ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ १९ पैसा बिक्रीदर ४०१ रुपैयाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी

रुपन्देही। भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिमप्राप्त केनाइन (कुकुर) टोलीलाई परिचालन गरेको छ ।

बाढी, पहिरो तथा भग्नावशेषमा पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजीमा विशेष तालिमप्राप्त कुकुरको प्रयोग प्रभावकारी बन्दै गएको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट, चितवनलगायतका स्थानमा प्रहरीले केनाइन टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको जनाएको छ ।

रसुवामा जर्मन सेफर्ड ‘जम्बो’ र बेल्जियन सेफर्ड ‘रक्की’, नुवाकोटमा ल्याब्राडोर ‘लियो’ र ‘कालु’ तथा चितवनमा जर्मन सेफर्ड ‘दिप्सी’लाई खोजीकार्यमा परिचालन गरिएको छ ।

प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले भग्नावशेष, माटो तथा हिलोमा पुरिएका मानिसको गन्ध पत्ता लगाउन केनाइनको प्रयोग प्रभावकारी हुने बताउनुभयो । “केनाइनको प्रयोगबाट छोटो समयमा ठूलो स्थानमा खोजी गर्न सकिने भएकाले विपद्को अवस्थामा खोज तथा उद्धार कार्यलाई थप छिटो र प्रभावकारी बनाउन सहयोग पुग्छ”, उहाँले भन्नुभयो, “उद्धारकर्मी तथा उपकरण पुग्न कठिन हुने स्थानमा विशेष तालिमप्राप्त कुकुरको प्रयोग अझ प्रभावकारी हुन्छ ।”

प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीले विपद्का बेला हराइरहेका व्यक्तिको खोजीमा प्रविधिसँगै तालिमप्राप्त जनशक्ति र केनाइनको संयोजनले थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो ।

उहाँका अनुसार बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको भौगोलिक अवस्था, माटोको गहिराइ, पानी, हिलो तथा भग्नावशेषको अवस्थाले खोजीकार्यमा चुनौती सृजना गरे पनि उपलब्ध स्रोतसाधनको अधिकतम् प्रयोग गरिएको छ ।

नेपाल प्रहरी केनाइन कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण बस्नेतका अनुसार लगातार खोजी गर्दा कुकुरको क्षमतामा असर पर्न सक्ने भएकाले निश्चित समय काम गराएपछि विश्राम दिने गरिएको छ ।

“केनाइनलाई सामान्यतः करिब ३० मिनेट खोजीकार्यमा लगाएपछि १५ देखि २० मिनेटसम्म विश्राम दिने गरिन्छ”, उहाँले भन्नुभयो, “दलदले हिलो, रातको समयमा अपर्याप्त प्रकाश तथा ठूलो क्षेत्रफलमा खोजी गर्नुपर्ने अवस्थाले चुनौती थप्ने गरेको छ ।”

नेपाल प्रहरी केनाइन कार्यालयबाट खटिएको टोलीले रसुवाको टिमुरे, घट्टेखोलालगायतका क्षेत्रमा खोजी तथा उद्धार गरेको थियो । उक्त टोलीले टिमुरेबाट दुई शव तथा एक शारीरिक अङ्ग फेलापारेको थियो ।

त्यसैगरी, नुवाकोटको विदुर, अर्चले, शान्तिबजार, मैलुङ हाइड्रोपावर, ढुङ्गे, देवीघाट, बेत्रावती, भैँसे, बट्टारलगायतका क्षेत्रमा पनि केनाइनसहितको टोली परिचालन गरिएको थियो । मैलुङ हाइड्रोपावरको कर्मचारी आवासबाट शारीरिक अङ्ग तथा बट्टारस्थित सोलार हाउसबाट हत्केलाको भाग फेलापरेको प्रहरीले जनाएको छ ।

केनाइन शाखाबाट खटिएको टोलीले नारायणी पुल आसपास, देवघाट तथा दमौली–गोलघाट क्षेत्रमा समेत खोजी गरेको थियो । सो टोलीले दमौली–गोलघाट क्षेत्रबाट दुई शव फेला पारेको थियो ।

भौगोलिक जटिलता तथा प्रतिकूल मौसमका कारण केनाइनको प्रयोगमा समेत चुनौती रहने गरेको प्रहरीको भनाइ छ । अत्यधिक गहिरो वा बाक्लो माटोमा गन्ध पहिचान गर्न कठिन हुने तथा हावा, पानी, तापक्रम र वातावरणीय प्रदूषणले समेत कुकुरको गन्ध पहिचान क्षमतामा असर पार्न सक्छ ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा हराइरहेका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीले केनाइनसहितका जनशक्ति परिचालन गरी खोजीकार्यलाई निरन्तरता दिइरहेको प्रहरी प्रधान कार्यालयको समाचार कक्षले जनाएको छ ।

भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग

तौलिहवा। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि कपिलवस्तुका छ स्थानीय तहले रु दुई करोड २५ लाख १३ हजार सहयोग गर्ने भएका छन्।

पालिकाहरूले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।

केही पालिकाले रकम कोषमा जम्मा गरिसकेका छन् भने केहीले जम्मा गर्ने निर्णय गरेका छन्। कपिलवस्तु नगरपालिकाले रु ५१ लाख ११ हजार, वाणगङ्गा नगरपालिकाले रु ४५ लाख, बुद्धभूमि नगरपालिकाले रु ४३ लाख ४५ हजार, महाराजगञ्ज नगरपालिकाले रु ३७ लाख र शिवराज नगरपालिकाले रु ३८ लाख ५७ हजार सहयोग गर्ने निर्णय गरेका छन्। विजयनगर गाउँपालिकाले रु १० लाख कोषमा जम्मा गरिसकेको छ।

जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको सहभागितामा पालिकाहरूले यो रकम जुटाएका हुन्। विपद्का बेला स्थानीय तहले आफ्नो क्षेत्रभन्दा बाहिरका प्रभावित नागरिकका लागि सहयोग गर्ने क्रम बढेको छ।

बाढीपीडितको उद्धार, घाइतेको उपचार, बेपत्ताको खोजी तथा प्रभावितको पुनःस्थापनामा सरकारले विशेष ध्यान दिनुपर्ने बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बताए। स्थानीय सरकारले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलको भनाइ छ।

कपिलवस्तुका अन्य चार स्थानीय तहले पनि बाढी प्रभावितका लागि सहयोग गर्ने तयारी गरेका छन्। यसैगरी जिल्लाका उद्योगी, व्यवसायी, सामुदायिक वन, विद्यालय, समाजसेवी तथा अन्य संघ-संस्थाले उद्धार कोषमा रकम जम्मा गरी सहयोग गर्ने क्रम जारी राखेका छन्।

विश्व शान्ति र विपद् मुक्तिको कामना गर्दै ठिनीमा फालो पर्व, प्रकृति पूजाका लागि नमखुलेकतर्फ

मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिका–३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले परम्परागत रूपमा मनाउने फालो पर्व आइतबारदेखि सुरु भएको छ।

हरेक वर्ष भदौ महिनामा मनाइने भएकाले स्थानीय थकाली भाषामा यस पर्वलाई ‘फालो’ भनिएको हो।

थकाली समुदायको उद्गमस्थलका रूपमा परिचित ठिनी गाउँ ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। थकाली राजाले शासन गरेको यस गाउँमा पुस्तौँदेखि फालो पर्व मनाइँदै आएको स्थानीय बताउँछन्।

फालो पर्वको अवसरमा ठिनी गाउँमा दुई दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुन्छन्। पर्वको पूर्वसन्ध्यामा गाउँका लामाले प्रकृतिको विशेष पूजा गरेपछि स्थानीयवासीले उनीहरूबाट आशीर्वाद लिने परम्परा छ। प्रकृति पूजा गर्न जाने क्रममा स्थानीय महिलाले लामालाई खादासहित फूलमाला लगाएर सम्मानका साथ बिदाइ गर्छन्।

फालो पर्वमा हिमाललाई साक्षात् भगवानका रूपमा मानेर पूजा गरिने स्थानीय लामा श्यामप्रसाद थकालीले बताए। गाउँमा कुनै अनिष्ट नहोस्, रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस्, प्राकृतिक विपत्ति नआओस् र विश्वमा शान्ति छाओस् भन्ने कामनासहित प्रकृति पूजा गरिने उनले जानकारी दिए।

पछिल्लो समय विपद्का घटना बढ्दै गएको र रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको स्मरण गर्दै यस्ता घटना नदोहोरिउन् भन्ने कामना प्रकृति पूजामा गरिने उनले बताए।

ठिनी गाउँका स्थानीयवासी फालो पर्वको पूर्वसन्ध्यामा घोडामा सवार भएर प्रकृति पूजाका लागि नमखुलेक क्षेत्रमा पुगेका छन्। पर्वमा सहभागी हुने लामालाई गाउँका महिलाले परम्परागत रूपमा सम्मानसहित बिदाइ गरेका छन्।

प्रकृति पूजा गर्न गएको टोली दुई दिनपछि गाउँ फर्कनेछ। टोली फर्किएपछि मात्र फालो पर्व औपचारिक रूपमा सुरु हुनेछ। पर्वमा याक नाच, जोगी नाच, तमाया नाचलगायत सांस्कृतिक झाँकी प्रस्तुत गरिन्छ। दुई दिनसम्म सञ्चालन हुने पर्व धार्मिक विधि तथा परम्पराअनुसार समापन हुनेछ।

प्लाइउड उद्योगले गाउँमै दियो ६५ जनालाई रोजगारी, महिला श्रमिकको बाहुल्य

सुनसरी। घरको काम मिलाएर उद्योग आउने र कहिलेकाहीँ ११ घण्टासम्म पनि काम गर्ने गरेको वराहक्षेत्र नगरपालिका–५ की बबिता बस्नेतले बताएकी छन्।

प्लाइ उद्योग स्थापना भएदेखि नै काम गर्दै आएकी उनले काठका पाता बोक्ने, टिप्ने, सुकाउने तथा गाडीमा सामान राख्ने र झार्ने काम गरेर कमाएको पैसाले घरपरिवारको दैनिक खर्च तथा बालबालिकाको खाजा खर्च जुटाउन सहज भएको जानकारी दिएकी हुन्।

जितमाया श्रेष्ठ र सुरेश साहको संयुक्त लगानीमा भेनियर उत्पादनसँगै गाउँमै रोजगारी बढाउने उद्देश्यले २०८१ माघमा स्थापना गरिएको प्लाइउड उद्योगले २०८२ वैशाखदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो। उद्योगका व्यवस्थापन तथा लेखा प्रमुख दीपक रानामगरका अनुसार स्थानीय रोजगारीका लागि उद्योग प्रभावकारी देखिएको छ। वराहक्षेत्र–५ कालाबन्जरमा ७२ कट्ठा जग्गा लिजमा लिएर १ करोड ५० लाख रुपियाँ लगानीमा सञ्चालित उद्योगमा हाल ६० देखि ६५ जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन्।

स्थानीयस्तरमा पुरुष श्रमिक पाउन कठिनाइ भएपछि उद्योगमा महिला श्रमिकको सङ्ख्या बढी रहेको छ। उद्योगले दैनिक ८० हजारदेखि १ लाख स्क्वायरफिटसम्म भेनियर उत्पादन गर्छ। गाउँमै उद्योग खुलेपछि रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता हटेको र परिवारसँगै बसेर कमाएको आम्दानीले घरखर्च चलाउन सहयोग पुगेको श्रमिक रोशन चौधरीले बताए।

श्रमिकलाई कामअनुसार प्रतिघण्टाका दरले पारिश्रमिक दिने गरिएको छ। उत्पादन सुरु गर्दा दक्ष प्राविधिकको अभावमा भारतबाट जनशक्ति ल्याउनुपरे पनि अहिले नेपाली श्रमिकले नै मेसिन सञ्चालनलगायतका काम सिकिसकेका छन्। उद्योगले भेनियर उत्पादनका लागि उत्तिस, कटुस र चिलाउने जातका गोलिया काठ प्रयोग गर्दै आएको छ। आवश्यक काठ तेह्रथुम, खोटाङ र भोजपुर जस्ता पहाडी जिल्लाबाट ल्याइन्छ।

मेसिनमार्फत गोलिया काठलाई पातलो तहमा काटेर तयार गरिएको भेनियर इटहरी, इनरुवा, झापा, नेपालगन्ज र कोहलपुरका प्लाइउड उद्योगमा बिक्री हुने गरेको छ। यसका साथै भारतको उत्तर प्रदेश, राजस्थान र सिलीगुडीसम्म पनि भेनियर पठाउने गरिएको छ।

वार्षिक ५ करोड रुपियाँ बराबरको कारोबार गर्दै आएको यस उद्योगले उत्पादनका क्रममा निस्कने दाउरा र काठका टुक्रा बिक्री गरेर थप आम्दानीसमेत गर्छ। ठूला दाउरा प्रतिट्रक ५ हजार रुपियाँसम्म र साना टुक्रा प्रतिकिलो ३ देखि ५ रुपियाँसम्म बिक्री हुने गरेको छ।

आज राष्ट्रिय शोक मनाइँदै

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।

आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको मुख्य विमानस्थलका सेवा स्थगित

इन्डोनेसियाले आइतबार आफ्नो मुख्य अन्तर्राष्ट्रिय विमानस्थल र अन्य सात विमानस्थल बन्द गरेपछि करिब एक लाख ७० हजार यात्री अलपत्र परेका छन् । माउन्ट अनाक क्राकातोआबाट १५० किलोमिटरभन्दा टाढाबाट ज्वालामुखी खरानी र लाभाको बादल उठेपछि सयौँ उडान रद्द भएका हुन् ।

इन्डोनेसियाको भूगर्भ विज्ञान सर्भेक्षण तथा अनुसन्धान निकायले दिएको वक्तव्यअनुसार माउन्ट अनाक क्राकातोआमा शनिबार ज्वालामूखी विस्फोट भयो, जसबाट लाभाको फोहोरा निस्कियो र सयौँ किलोमिटर टाढासम्म गर्जन सुनियो।

ज्वालामुखीमामिला अध्ययन तथा अनुसन्धान निकायले आइतबार पनि थप दुई विस्फोट भएको जानकारी दिएको छ।

ज्वालामुखीबाट निस्केको खरानी सुएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल वरपरको हवाई क्षेत्रमा देखिएपछि अधिकारीहरूले सुरूमा आइतबार बिहान १ः३० बजेदेखि ५ः३० बजेसम्मका लागि सेवा सञ्चालन स्थगित गरेका थिए।
यातायात मन्त्रालयले दिएको वक्तव्यअनुसार स्थगन पटक–पटक थपियो र पछिल्लो सूचनापछि यो मध्यरातसम्म कायम रहनेछ ।

मन्त्रालयले बान्डुङको हुसेन सास्त्रानेगारा विमानस्थल र सुमात्राको बन्दर लाम्पुङ नजिकको रादिन इन्तेन द्वितीय विमानस्थल सहित अन्य सात विमानस्थलमा पनि सेवा सञ्चालन स्थगित गरिएको बताएको छ ।

“ज्वालामूखीका कारण हालसम्म प्रभावित आठ विमानस्थलमा एक हजार ५५८ उडान ढिला भएका छन् जसका कारण एक लाख ७० हजार यात्री अलपत्र परेका छन्,” मन्त्रालयले भनेको छ।

अधिकांश स्थगित उडानमध्ये ९०० भन्दा बढी प्रभावित उडान सुएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र त्यहाँबाट उडान भर्ने रहेका थिए ।

यातायात मन्त्री डुडी पुर्वागान्धीले सेमाराङ र सुराबायालगायतका शहरका केही विमानस्थलहरूलाई ‘अवतरणका वैकल्पिक स्थान’ का रूपमा तयार पारिएको बताउनुभएको छ।

अवरोधका कारण केही यात्री वैकल्पिक उडान खोज्न बाध्य भएका बताइएको छ ।

आफ्नी आमालाई लिएर गृहनगर फर्कने आशा गरेकी ४४ वर्षीया हेन्नी येन्सानले ‘सबै निराश भएको’ तर ‘कसैले पनि रिस नदेखाएको’ बताउनुभयो । यो अन्ततः प्राकृतिक विपद् थियो त्यसैले निराश भएर पनि पर्खनुको विकल्प भने थिएन ।

शुक्रबारदेखि लोम्बोकमा व्यापारिक यात्रामा रहेका डानोनका कार्यकारी सामुएल गिबेर्तोले राजधानी फर्कने वैकल्पिक उडान खोज्दै गरेको बताउनुभयो । उहाँले विकल्प खोजेपनि ‘अहिले केही निश्चित छैन’ भन्नुभयो ।

“मैले सिटीलिङ्कमा अर्को उडान फेला पारेको थिएँ तर त्यो पनि रद्द भयो,” ४७ वर्षीय एक व्यक्तिले फोनमार्फत् एएफपीसँग भन्नुभयो । उहाँले भन्नुभयो, “अहिलेलाई लोम्बोकमै बस्नुको विकल्प छैन ।”

ज्वालामुखी खरानी सुमात्राको दक्षिणी छेउमा रहेको बन्दर लाम्पुङ शहरसम्म पुगेको छ, जसले पार्किङ गरिएका कार र सडकका छेउहरू ढाकेको छ ।

भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी

काठमाडौँ। भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङ र विद्युत् गृहमा फसेकाको उद्धारको प्रयास आज पनि जारी छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित विदेशी विज्ञ र आयोजनाको प्रतिनिधि सम्मिलित उद्धार टोलीले जलविद्युत् आयोजनाको संरचनामा हराइरहेकाको खोजी गरिरहेको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सुरक्षाकर्मी र आयोजनाका प्रतिनिधि रसुवागढी जलविद्युत् आयोजनाको ‘पावरहाउस’ र ‘कन्ट्रोल रुम’ सम्म पुगी खोजी गरेका छन् । त्यस्तै त्रिशूली-३ ‘ए’ को पावरहाउस तथा टनेलमा सैनिक फौज उद्धार उपकरणसहित खोज तथा उद्धारमा निरन्तर खटिएको छ ।

त्रिशूली-३‘ बी’ मा अडिट-२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट-१ बाट निस्किएका छन् । अडिट-२ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेका सेनाले जनाएको छ ।

चिलिमे जलविद्युत् आयोजनामा विदेशीसहितको संयुक्त टोलीले ‘मिनी एक्साभेटर’ र पम्पको सहायताले लेदो फाल्ने काम गरेको र हेलिकप्टरबाट स्याफ्रुबेँसीमा झारेको एक्साभेटर टनेल इलाकामा लैजाने काम भइरहेको छ ।

माथिल्लो त्रिशुली-१ मा विदेशीसहितको टोलीले थर्मल क्यामेरामार्फत सुरुङभित्र खोजी गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो ।

सेनाले नुवाकोटको विदुर नगरपालिका-५ देवीघाटस्थित तादी नदीमा ‘एक्रो ब्रिज’ जडानलाई तीव्र बनाएको छ । सेनाको इन्जिनियरिङ फौजबाट खटिएका ५५ जनाको टोलीले पुल निर्माण गरिरहेको छ । सैनिक हेलिकप्टरमार्फत आज प्रभावित इलाकाबाट १३ जनाको उद्धार गरिएको छ । हालसम्म हेलिकप्टरमार्फत तीन हजार ९७५ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।

प्रभावित क्षेत्रका मैलुङदेखि स्याफ्रुबेँसी इलाकासम्म पैदल गस्ती गरी खोज तथा उद्धार कार्य गरिरहेको सेनाले जनाएको छ । विपद् व्यवस्थापनका लागि रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीपूर्वका प्रभावित क्षेत्रमा नौ हजार ३०० भन्दा सैनिक परिचालित भएका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ – प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग रकम सङ्कलनको क्रम जारी छ । स्थानीय तह, विभिन्न सामाजिक सङ्घसंस्था, व्यवसायी, जनप्रतिनिधि, आमनागरिक, कर्मचारीलगायतले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितको रखोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि रकम सहयोग गरिरहेका छन् ।

सोही क्रममा आज लोकप्रिय रेस्टुरेन्ट चेन सेकुवा बाई किलोले बाढीबाट प्रभावितलाई लागि रु २० लाख ११ हजार १११ सहयोग गरेको छ । लोकप्रिय रेस्टुरेन्टले यही १६ गते आफ्ना कलङ्की, झम्सिखेल, दरबारमार्ग, लाजिम्पाट र बाँसबारी गरी पाँचवटै बिक्री केन्द्रबाट बिक्री भएको १०० प्रतिशत रकम बाढीपीडितका लागि दिने घोषणा गरेको थियो ।

त्यससँगै, कम्पनीका सबै कर्मचारीले एक दिनको तलब र बोर्ड सदस्यले प्रतिव्यक्ति रु एक लाख योगदान गर्नुभएको थियो । सङ्कलित रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

यसैगरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घमा आबद्ध गुल्मी जिल्लाका विभिन्न यातायात व्यवसायी प्रालिले आज महासङ्घमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख एक हजार सहयोग गरेका छन् । गुल्मी यातायात प्रालिका अध्यक्ष रुपकलाल श्रेष्ठको पहलमा सङ्कलन गरिएको उक्त रकम आज महासङ्घका उपमहासचिव पुरुषोत्तम सिंखडाले अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलालाई हस्तान्तरण गर्नुभयो ।

गुल्मी जिल्लामा सञ्चालित गुल्मी यातायात प्रालिले रु तीन लाख ५१ हजार, आगन सेवा यातायात प्रालिले रु ५० हजार, मैत्री यातायात प्रालिले रु ५० हजार र रुरु रेसुङ्गा प्रालिले रु ५० हजार सहयोग गरेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा महासङ्घका अध्यक्ष सिटौलाले सङ्कटको घडीमा यातायात व्यवसायीले देखाएको यो सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको बताउनुभयो ।

त्यस्तै, रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, चितवनले रु तीन लाख ८६ हजार ५२५ बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ । कार्यालयले विभिन्न समयमा सञ्चालन गरेका सीपमूलक तालिममा उत्पादित तथा स्टोरमा रहेका कपडा र जुत्ता, चप्पल छनोट गरी जिल्ला प्रशासन कार्यालय चितवनको राहत सङ्कलन केन्द्रमार्फत बाढी प्रभावितका लागि उपलब्ध गराएको हो ।

कार्यालय प्रमुख विनोद पौडेलका अनुसार कार्यालयले सञ्चालन गरेका सीपमूलक तालिमबाट उत्पादित सामग्रीमध्ये कुल एक हजार २७ थान कपडा र ११६ जोर जुत्ता, चप्पल राहतस्वरूप हस्तान्तरण गरिएको छ । उहाँका अनुसार सीपमूलक तालिम सञ्चालन गर्दा प्रयोग हुने कच्चा पदार्थ कार्यालयले उपलब्ध गराउने व्यवस्था छ ।

साथै नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले भोटेकोशी बाढीबाट प्रभावित पत्रकारलाई रु एक लाख नगद सहयोग गरेको छ । बाढीका कारण घरबार गुमाएका, प्रभावित भएका तथा सम्पर्कविहीन पत्रकार र उनीहरूका परिवारलाई भेटेरै तथा सम्बन्धित शाखामार्फत सहयोग रकम उपलब्ध गराइएको महासङ्घका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिनुभयो ।

त्यसैगरीm तनहुँको आँबुखैरेनी गाउँपालिकाले भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म सम्पर्कविहीन रहेका चार जना नागरिकका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । गाउँकार्यपालिकाको बैठकले सम्पर्कविहीन नागरिकको खोजीमा परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रतिपरिवार रु २५ हजारका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।

गाउँपालिकाले सम्बन्धित निकायसँग समन्वय गरी सम्पर्कविहीन नागरिकको खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ । खोजी, उद्धार, शव व्यवस्थापनलगायत विपद् व्यवस्थापनका सम्पूर्णमा सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरण भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी

नुवाकोट। सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) का प्रहरी निरीक्षक पप्पु यादवलाई यही भदौ १० गते बिहान ९ः२६ बजे प्रहरी नायब उपरीक्षक वीरेन्द्र राउतको फोन आयो, “त्रिशूलीमा ठूलो बाढी आउँदै छ, कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्नु र आफू पनि सुरक्षित हुनु।”

रसुवाको भोटेकोशी नदीमा आएको बाढीसम्बन्धी त्यो सूचना आउँदा प्रहरी निरीक्षक यादव नियमित काममै थिए। सशस्त्र प्रहरी बलका तर्फबाट कारागारको नेतृत्व उनले नै गरिरहेका थिए। नेपाल प्रहरीको नेतृत्व भने प्रहरी नायब निरीक्षक श्रीकृष्ण सुवेदीले गरिरहेका थिए।

उक्त सूचनापछि दुवै निकायका ५२ सुरक्षाकर्मीमा ‘हाइ अलर्ट’ जारी भयो । कारागारको ब्लक एक र दुईमा रहेका ५०५ कैदीबन्दीलाई तत्कालै कारागार क्षेत्रभित्र नै सुरक्षित एसेम्बली प्वाइन्टमा ल्याइयो।

“हामीले कैदीबन्दीलाई जसै एसेम्बलीमा ल्यायौँ, नदी किनारभन्दा अन्दाजी १०० मिटर टाढाको कारागार भवनमा बाढीको पहिलो धक्का लाग्यो”, सशस्त्र प्रहरी बलका इन्चार्ज प्रहरी नायव निरीक्षक यादवले भने। उनका अनुसार बाढी आइसकेपछि कैदीबन्दीमा थप त्रास फैलियो, उनीहरु पनि तितरबितर हुन थाले ।

नेपाल प्रहरीका कारागार इन्चार्ज सुवेदीका अनुसार कारागारका कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्ने कार्यसँगै सोही भवनमा रहेको हातहतियार पनि पनि सुरक्षित गर्न थालिएको थियो। उनले भने, “यत्तिकैमा बाढी आयो, कैदीबन्दी, हातहतियार र आफूबाहेक अरु जोगाउन पाएनौँ।”

हिलो र ग्रेग्यानसहितको बाढी कारागारसम्म आइपुग्नुभन्दा अगाडि करिब डेढ किलोमिटर माथिको २५ मेगावाटको नुवाकोट सौर्य परियोजनामा प्रहार गरिसकेको थियो। कारागारको हाइपोस्टबाट त्यो भयानक दृश्य नियालिरहेका सुरक्षाकर्मी अताल्लिए । त्यो खबर कारागारमा फैलन समय लागेन । त्यो दृश्य देखिरहेका केही सुरक्षाकर्मीलाई बाढीले कुन तहको प्रलय ल्याइरहेको छ भन्ने बुझ्न कठिन भएन । बाढी कारागारमा प्रवेश गर्नुअघि छेवैको कारागारको प्रशासनिक भवन प्रवेश ग । त्यसपछि प्रहरीको प्रशासनिक भवन हुँदै कारागारको कैदीबन्दी भवनलाई बाढीले धक्का दियो ।

“कारागारको भवनमा ठूलो क्षति हुन पाएन, त्यसको एउटा कारण छ, कारागारभन्दा बाहिरका दुई वटा पेरिमिटर पर्खाल”, इन्चार्ज यादवले भने, “यदि बाढी कारागारको भवनमा सिधै ठोक्किएको भए ठूलो जनधनको क्षति हुने थियो, तर प्रशासनिक भवन र नेपाल प्रहरीको भवन हुँदै दुई वटा पेरिमिटर पर्खालमा ठोक्किँदा त्यसको गति कम भयो, यसले क्षति कम गरायो ।”

उनका अनुसार बाढीका कारण दुई वटा पेरिमिटर पर्खालको केही हिस्सा भत्किएर कारागारको ब्लक १ र २ मा पानी पसेको छ। दुई वटा पेरिमिटर पर्खालबीचको दूरी करिब दुई मिटर छ । बाढीले एक एक गरी दुईवटै ती पर्खाल भत्काएर कारागार भवनसम्म ठोक्किँदा सायद त्यसको गति निकै कम भइसकेको थियो । त्यसैले कारागार भवन र परिसरमा भेल पसे पनि ठूलो नोक्सानी छैन ।

बाढीबाट कैदीबन्दी जोगाएपछि पनि सुरक्षाकर्मीका चुनौती सकिएनन्। अब कैदीबन्दीले आन्दोलन गर्न थाले। त्रिशूली नदीमा भीषण बाढीसँगै कारागारभित्र कैदीबन्दी उर्लिन थाले । कारागार परिसरमा ९२३ कैदीबन्दीको ज्यान जोगाउँदै उनीहरुलाई शान्त बनाउनका लागि ५२ सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। ५० भन्दा बढी कैदीबन्दी मूल गेटभन्दा बाहिर नै आए । उनीहरुले त्यहाँ ठूलो होहल्ला गरे । भीड नियन्त्रण लिन इन्चार्ज यादवले ११ राउण्ड हवाई फायर गरे।

कैदीबन्दीलाई मूल गेटभन्दा बाहिर नै आएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अनुप गुरुङको नेतृत्वमा थप जनशक्तिले साथ दियो । बाढीको त्रास सकिएपछि कारागारभित्र प्रवेश गर्ने समयमा दुई जना कैदीबन्दी भाग्न थाले ।

“हामी त्यहाँ पुग्दा कैदीबन्दी हामीलाई बाढीबाट ज्यान बचाउँछौँ, भाग्दैनौँ भन्दै थिए, यद्यपि हामीहरु सतर्क थियौँ, यत्तिकैमा दुई जना खेतैखेत जङ्गलतर्फ भाग्न थाले, मैले नै दौडिएर उनीहरुलाई दिउँसो ११ः०० बजेतिर पक्राउ गरी फर्काएर ल्याएँ”, उनले भने।

दिउँसो ११ः३० बजेसम्म बाढी शान्त भइसकेको थियो । कैदीबन्दीलाई कारागारभित्रै व्यवस्थापन गरियो। बाढी सकिए पनि त्रास अझै सकिएको छैन। त्यहाँ कार्यरत सुरक्षाकर्मीका अनुसार त्रिशूली नदीमा बाढीको जोखिम अझै पनि छ । त्यसमाथि बाढीले कमजोर बनाएको पूर्वाधार पनि सुरक्षित छैन।

बाढी आएको पर्सीपल्ट अर्थात् भदौ १२ गते कारागारमा रहेका ३२ महिला कैदीबन्दीलाई मकवानपुरको भीमफेदीमा स्थानान्तरण गरियो। अहिले कारागारमा बालसुधार गृहका १३८ जनासहित ८८७ कैदीबन्दी छन्। सशस्त्र प्रहरी बल, नेपालका थप ३० जना जनशक्ति थपिएर कुल ६२ जना पुगेका छन् भने नेपाल प्रहरीका २० जना कार्यरत छन्।

बाढीका कारण एउटा दुई वटा ब्लक प्रभावित भएपछि हाल कैदीबन्दी र बालसुधार गृहका बालसुधारमा रहेकालाई एउटै युनिटभित्र दुई वटा ब्लकमा राखिएको छ। सुरक्षाका हिसाबले पनि जोखिमपूर्ण हुने भएकाले यसमा पनि सुधारको आवश्यक भएको त्यहाँ कार्यरत सुरक्षाकर्मीहरु बताउनुहुन्छ । हाल कारागारको प्रशासनिक भवन त्रिशूली नदी किनारबाट सुरक्षित स्थानमा सारिसकिएको छ।

भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको बाढीमा परी घाइते भएर उद्धार गरी वीर अस्पताल उपचारका लागि ल्याइएका २० जनामध्ये १७ जना डिस्चार्ज भएका छन् ।

वीर अस्पतालका निर्देशक डा विकास नेपालका अनुसार बाढीमा परी घाइते भएकामध्ये २० जनालाई उपचारका लागि वीर अस्पताल ल्याइएको थियो । तीमध्ये १७ जना स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज भएका हुन् भने तीन जनाको उपचार भइरहेको छ ।

अस्पतालमा उपचाररत तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक डा नेपालले जानकारी दिनुभयो । यसैबीच, बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिने तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । अस्पतालमा आफन्तजन आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी लिन पुगिरहेका छन् ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत वितरणको कामलाई पनि निरन्तरता दिइएको छ । उद्धार गरिएका घाइतेको उपचार तथा उनीहरूका आफन्तसँग समन्वय गर्न सम्बन्धित निकायले आवश्यक पहल गरिरहेका छन् ।

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा। गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ ।

सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका-८ सुवाकाँध, वीरेखोला, नुनेपानी क्षेत्रमा पहिरोले करिब ३२ वटा विद्युत्का खम्बा ढालेपछि विद्युत् आपूर्ति बन्द भएको हो ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका निमित्त प्रमुख लोकराज जोशीकाअनुसार सुवाकाँधमा सडकमाथिबाट ठूलो पहिरो खस्दा सात र वीरेखोला क्षेत्रमा २५ वटा खम्बा ढलेका छन् ।

गएराति करिब ९ः०० बजेदेखि जिल्लाभर विद्युत् सेवा बन्द भएकामा हालसम्म सञ्चालन नभएको उहाँले बताउनुभयो । अवरुद्ध विद्युत् सेवा सञ्चालन आज दिनभर प्राविधिकको टोली खटिए वर्षा सुरु भएपछि कार्यक्षेत्रबाट फर्किएका जोशीले बताउनुभयो ।

अछामबाट जिल्ला सदरमुकाम मार्तडीसम्म ३३ केभी राष्ट्रिय प्रसारण लाइनको विद्युत् सञ्चालनमा छ । जिल्लामा शनिबारदेखि लगातार परेको वर्षाका कारण साँफे-मार्तडी सकडखण्डका विभिन्न स्थानमा पहिरो जाँदा विद्युत्का खम्बा तथा प्रसारण लाइनमा क्षति पुगेपछि जिल्लाभर विद्युत् आपूर्ति बन्द भएको छ ।

विद्युत् सेवा बन्द हुँदा सदरमुकाम मार्तडीसहित अन्य क्षेत्रका घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका छन् भने विद्युत्बाट सञ्चालन हुने सम्पूर्ण कामकाज प्रभावित भएका छन् ।

अविरल वर्षाका कारण बाजुरामा साँफे-मार्तडी सडकखण्डसमेत ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको छ भने पहिरो पन्छ्याएर सञ्चालन गरेपनि पुनःभारी वर्षा हुन थालेपछि समस्या हुँदा ढिलाइ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘महाविपत्तिमा सरकार र पीडित नागरिकसँगै रहन्छौँ, अन्तिम विन्दुसम्म साथ दिन्छौँ’ – गगन थापा

ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीबाट उत्पन्न महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँ भनेर सबैलाई आश्वस्त बनाउन चाहन्छौँ भनेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको सुरुआतमा सम्बोधन गर्दै सभापति थापाले यो विपत्ति सामान्य प्राकृतिक प्रकोप नभई ठूलो मानवीय क्षति ‘महाविपत्ति’ भएको उल्लेख गर्दै उद्धार, राहत, पुनःस्थापना, पुनर्वास र पुनःनिर्माणका काममा राज्यले अधिकतम शक्ति परिचालन गर्नुपर्नेमा जोड दिए ।

“हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ, यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिकहरूसँगसँगै रहन्छौँ, हामी अन्तिम विन्दुसम्म जहाँ पुग्नुपर्ने हुन्छ, त्यहाँसम्म पीडामा रहेका नागरिकसँगसँगै रहन्छौँ र गर्न सक्ने मात्र होइन, नसक्ने काममा पनि अतिरिक्त तागत लगाएर सहयोग गर्छौँ”, उनले भने ।

सभापति थापाले बाढीमा ज्यान गुमाउनेप्रति पार्टीका तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता नागरिकहरू सकुशल भेटिने आशा व्यक्त गर्दै उद्धारका क्रममा जीवित नागरिक भेटिएका घटनाले अझै आशा जीवित रहेको धारणा राखे । उनले विपत्तिपछिको अवस्थालाई विगतका प्राकृतिक विपत्तिसँग तुलना गर्न नमिल्ने भन्दै अहिले धेरै परिवारले एकैपटक आफ्ना सदस्य गुमाएको र कतिपय समुदाय नै सामूहिक शोकमा रहेको उल्लेख गरे ।

“अहिले त्यहाँ राहत, पुनःस्थापना, पुनर्वास र पुनःनिर्माणको प्रोटोकल त चाहिन्छ नै, तर त्योभन्दा पनि ठूलो कुरा अहिले त्यहाँ करुणा र सद्भाव चाहिएको छ । समानुभूति र समवेदना चाहिएको छ”, उनले भने ।

नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा आफूले पीडित परिवारका दर्दनाक कथा सुनेको जानकारी गराउँदै सभापति थापाले कतिपय परिवारमा वृद्ध आमाबुबा, छोराछोरी तथा अन्य आफन्तलाई बाढीले बगाएको र परिवारका एक–दुई सदस्य मात्र जीवित रहेको उल्लेख गरे । उनले पीडित परिवारलाई खाद्यान्न, कपडा र अन्य भौतिक सहयोगसँगै दीर्घकालीन साथ र अभिभावकत्व आवश्यक रहेकामा जोड दिए। बाढीका कारण परिवारका सबै सदस्य गुमाएका बालबालिकाको संरक्षण राज्य र समाजको प्राथमिकतामा पर्नुपर्ने सभापति थापाको जोड छ ।

सभापति थापाले विपत्तिमा परिवार गुमाएका एक बालककी हजुरआमासँग भएको भेटको प्रसङ्ग सुनाउँदै बालकलाई शिक्षा, संरक्षण र अभिभावकत्व आवश्यक रहेको बताए । “एउटा परिवारले अर्कोलाई, अर्को परिवारले अर्कोलाई हात समाइदिनुपर्छ, यतिखेर सिङ्गो समाज र समुदायलाई नै ठूलो बज्रपात परेको छ । हात समाइदिने मान्छे चाहिएको छ”, उनले भने ।

कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ। नेपाल-चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट (वनस्पति) क्वारेन्टाइन कार्यालयमा कर्मचारी थपिएको छ ।

मुस्ताङ भन्सार भन्सारका लागि छ जना कर्मचारी थप गरी भन्सार विभागले खटाउने अन्तिम तयारी गरेको छ भने वनस्पति क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले तीन जना कर्मचारीलाई मुस्ताङ पठाइसकेको छ ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण (रसुवागढी-केरुङ) नाका पूर्ण रूपमा बन्द भएसँगै भन्सार विभागले मुस्ताङको कोरला नाकास्थित भन्सार कार्यालयका लागि छ जना कर्मचारी काजमा पठाउने तयारी गरिएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो । उहाँका अनुसार भन्सार विभागले तीन अधिकृत र तीन जना नायब सुब्बास्तरका कर्मचारी भन्सार कार्यालयमा पठाउने तयारी गरेको हो ।

“तीन/तीन जना अधिकृत र नायब सुब्बा खटाउने तयारी भइसकेको छ, लगातारको बिदाले उहाँहरू आउन ढिलाइ भएको हो”, भन्सार प्रमुख चुडालले भन्नुभयो, “कार्यालय खुल्ने दिनमै खटाइएका कर्मचारी रवाना लिएर कार्यस्थलमा आइपुग्नु हुन्छ ।” उहाँका अनुसार मुस्ताङ भन्सार कार्यालयमा १८ जनाको दरबन्दी छ ।

हाल मुस्ताङ भन्सारमा १२ जना मात्रै कर्मचारी छन् । रसुवागढी-केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी पदपूर्ति गर्न लागेको हो । रसुवागढी र तातोपानी नाका पूर्णरुपमा बन्द भएसँगै मुस्ताङको कोरला नाका वैकल्पिक मार्गका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

रसुवागढी-केरुङ नाका बन्द भई रोकिएका सामग्रीलाई कोरला नाकातर्फ फिर्ता पठाउन लागिएपछि मुस्ताङ भन्सार र क्वारेन्टाइन कार्यालयलाई सक्रिय बनाउन थालिएको भन्सार प्रमुख चुडालले उल्लेख गर्नुभयो । थप कर्मचारी खटाउन लागिए पनि आवास तथा भौतिक पूर्वाधारको समस्या हुँदा व्यवस्थापनमा चुनौती देखिएको उहाँले बताउनुभयो ।

“कोरला नाका पूर्ण रूपमा सञ्चालन नभई उपल्लो मुस्ताङका नागरिकलाई मात्रै अन्तदेशीय अल्पकालीन हाटबजार लाग्दा मात्रै बर्सेनि दुई पटक सीमित समय भन्सार कार्यालय सक्रिय हुन्थ्यो । सोसमयमा कम कर्मचारी मात्रै भन्सारमा हुन्थे । विसं २०८२ भदौ ३१ गते मुस्ताङको कोरलालाई वैकल्पिक नाकाका रूपमा सञ्चालन गरिएसँगै भन्सारमा जनशक्ति थप गरिएको हो”, उहाँले भन्नुभयो ।

नाकामा क्वारेन्टाइन कार्यालय विसं २०६२/६३ मा स्थापना गरिएको थियो । क्वारेन्टाइन कार्यालय स्थापना भए पनि कार्यालयका चाहिने दरबन्दी अनुसारको जनशक्ति र क्वारेन्टाइन परीक्षण गर्ने उपकरण नहुँदा सहज तरिकाले सञ्चालन हुन नसकेको उहाँको भनाइ छ । न्हेचुङमा रहेको क्वारेन्टाइन कार्यालयमा पाँच जनाको दरबन्दी रहेपनि एक जना प्राविधिक सहायक कार्यरत छन् ।

रसुवाको भोटेकोशी बाढीका कारण (रसुवागढी-केरुङ) नाका बन्द भएको र तातोपानी नाका सञ्चालनमा आउन नसकेपछि मुस्ताङमा रहेको क्वारेन्टाइन कार्यालयलाई सक्रिय बनाउन थालिएको प्रमुख चुडालले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार रसुवागढी-केरुङ नाकाबाट कोरला नाकातर्फ पठाइएका सयाैँ कन्टेनरमा रहेका फलफूलको क्वारेन्टाइन परीक्षण गर्नुपर्ने भएकाले कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले केही कर्मचारीलाई मुस्ताङ पठाइसकेको छ ।

मुस्ताङको लोमान्थाङ-४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयकी निमित्त प्रमुख एवं प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार क्वारेन्टाइनका लागि तीन जना कर्मचारी जोमसोम आइपुगेका जानकारी दिनुभयो । केन्द्रले भन्सार विभागको समन्वयमा वरिष्ठ बाली सरक्षण अधिकृत (एक) र कम्प्युटर अपरेटर (एक) जना कर्मचारी काजमा मुस्ताङ पठाएको निमित्त प्रमुख घर्तीमगरले उल्लेख गर्नुभयो ।

भन्सार प्रमुख चुडालले क्वारेन्टाइनका लागि आउने कर्मचारीको आवश्यक समन्वय गर्नु भन्ने विभागबाट जानकारी प्राप्त भइसकेको बताउनुभयो । योसँगै मुस्ताङ भन्सार कार्यालय र यहाँ रहेको क्वारेन्टाइन कार्यालयको कार्यसम्पादन थप गतिशील हुने देखिएको छ ।

उहाँका अनुसार रसुवागढीनाका बन्द भएपछि कोरला नाकातर्फ मालवस्तु पैठारीका लागि दैनिक ५० भन्दा बढी कन्टेनर यसतर्फ आइरहेका छन् ।

सुरक्षाकर्मीको साहसको प्रधानमन्त्री बालेनले गरे प्रशंसा – ‘आँशु लुकाएर दलदलमा पसिरहनुभएको छ’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको साहस र योगदानको प्रशंसा गरेका छन्।

सामाजिक सञ्जालमार्फत सुरक्षाकर्मीलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नुवाकोटको विदुर–६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा बाढीका बेला सुरक्षाकर्मीले देखाएको साहसलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

बाढीले कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोस्ट र पर्खालमा क्षति पुर्‍याउँदै कैदीबन्दी राखिएको भवनसम्म लेदो र पानी पसे पनि कारागार सुरक्षार्थ खटिएका ५२ जना सुरक्षाकर्मीले दुई भवनमा रहेका ९२३ कैदीबन्दीलाई सुरक्षित रूपमा माथिल्लो भवनमा सारेको उनले बताएका छन्।

बाढीको मौका छोपेर पर्खाल र गेट तोडेर करिब १०० मिटरसम्म भागेका ५० कैदीबन्दीलाई समेत सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएको शाहले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन् –
राष्ट्रसेवक सुरक्षाकर्मीज्यूहरू,
नुवाकोटको विदुर ६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा ९२३ जना कैदीबन्दीहरूलाई राखिएको थियो। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी दायाँबायाँ क्षति पुर्‍याउँदै अघि बढ्यो।
यसबारे थाह पाएपछि कारागारको सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका कमान्डरहरूसहित ५२ जना सुरक्षाकर्मीहरूले अलिकति पनि हिम्मत र धैर्य गुमाउनुभएन। उहाँहरूले २ भवनहरूमा राखिएका सबै कैदीबन्दीलाई माथिल्लो भवनमा सार्नुभयो।
त्यो बेलासम्म त्रिशूलीको तटीय क्षेत्रमा रहेको कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोष्ट र पर्खाल ढाल्दै केहीबेर अघिसम्म कैदीबन्दीहरू राखिएको भवनहरूको पहिलो तलासम्म लेदोसहित बाढी पसिसकेको थियो।
सुरक्षाकर्मीहरूका लागि त्यति मात्रै चुनौती थिएन। बाढीको मौका छोपेर पर्खाल र गेट तोडी १०० मिटरसम्म भागिसकेका ५० जना कैदीबन्दीहरूलाई उहाँहरूले पुनः नियन्त्रणमा लिनुभयो। भाग्न नपाएका कैदीबन्दीहरूले गरेको आक्रमणबाट हाम्रा केही सुरक्षाकर्मीहरू घाइते हुनुभयो। उहाँहरूले वरपरका स्थानीय बासिन्दाको समेत ज्यान रक्षा गर्नुभयो।
आज पनि उहाँहरू बस्ने ब्यारेक र कार्यालय लेदोमै छ, पहुँचमार्ग अस्तित्वमै छैन। खानेपानीको व्यवस्था बिथोलिएको छ। खेतको आलीलाई बाटो बनाउँदै आफैँ टाढाबाट पानी बोकेर कैदीबन्दीहरूलाई खुवाउने, बाटो खुलाउने र उच्च मनोबलका साथ ड्युटीमा उभिने हाम्रा सुरक्षाकर्मीहरूको यो साहस अद्भुत छ।
यो त एक उदाहरण हो।
यो विपद्मा हाम्रा सुरक्षाकर्मीहरूले कैयौँ उदारहणीय काम गर्नु भएको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा प्रभावित क्षेत्रहरूबाट अहिलेसम्म १३ हजार ३ सय ९१ मानिसहरूलाई उद्धार गरिएको छ। स्थलमार्ग, हेलिकप्टरमार्फत र कहीँकतै आफ्नै काँधमा बोकेर समेत घाइतेहरूलाई तत्काल अस्पताल पुर्‍याउनुभयो।
शवलाई संवेदनशीलताका साथ व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा महामारी वा संक्रामक रोग फैलिन नदिन र शिविरहरूमा प्रभावितहरूलाई हौसला बढाउन हाम्रा तीनै निकायका सुरक्षाकर्मीहरू अहोरात्र खटिरहनुभएको छ।
कठिन भूगोल छ। प्रतिकूल मौसम छ। तर, हाम्रा सुरक्षाकर्मीहरू बाढीले थुपारेको दलदल र भग्नावशेषमा खोस्रिरहनुभएको छ।
तपाईंहरूले प्रभावितहरुको पीडा गहिरोसँग बुझ्नुभएको छ। बाढीका कारण सम्पर्कविहीन भएको भन्दै आफ्ना मान्छे खोजिदिन तपाईंहरुसँग आग्रह गर्ने मानिसहरुको संख्या ठूलो छ। त्यसैले तपाईंहरूले आफ्नो थकान र तनाव भुल्नुभएको छ, अहोरात्र खटिरहनुभएको छ, खोजिरहनुभएको छ, उद्धार गरिरहनुभएको छ।
हामीलाई थाहा छ तपाईंहरु पनि साथीहरु गुमाएको पीडामा हुुनुहुन्छ। बाढीका कारण ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन हुनुहुन्छ। यस्तो पीडामा आँशु लुकाएर दलदलमा पसिरहनुभएको छ। सकिनसकी शव उठाइरहनुभएको छ। होल्डिङ सेन्टरमा दिनरात पहरेदारी दिइरहनुभएको छ। अझै पनि बाढी आउन सक्ने सूचना आएकाले सर्तक रहन माइकिङ गर्दै हिँडिरहनुभएको छ।
तपाईंहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल काँधमा काँध मिलाएर संकट व्यवस्थापनमा लागिरहनुभएको छ।
आ आफ्ना मुख्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमाण्ड पोष्टबाट कमाण्डरहरुले प्रभावित क्षेत्रमा खटिरहेका सुरक्षाकर्मीहरूलाई निर्देशन दिइरहनुभएको छ। समन्वय गरिरहनुभएको छ।
कमान्डरहरुलाई चिन्ता पनि छ होला कतै आफ्ना सुरक्षाकर्मी खोजी र उद्धारमा खटिदै गर्दा आफै अफठ्यारोमा पर्छन् की? त्यसैले प्रभावित क्षेत्रमा खटिरहनु भएका आफ्ना साथीहरुको मनोवल उच्च राख्ने प्रयास गरिरहनुभएको छ।
नेपाली सेनाः बाढी आएलगत्तै सैनिक मुख्यालयको योजना अनुसार नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ र मुख्य ‘फरवार्ड एयर बेस’ खडा गरी उद्धार कार्य भइरहेको छ। रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’,चिकित्सकसहितको‘फरवार्ड मेडिकल टिम’ र अतिरिक्त ‘एयर बेस’ सञ्चालन गरिरहेको छ। प्रभावित क्षेत्रको कठिन भूगोलहरूमा अन्य सुरक्षा निकायहरूको सहयोग लिएर उद्धार कार्यको अगुवाइ गरिरहेको छ। विद्युत् आयोजनाका सुरुङ क्षेत्रमा पनि खोज तथा उद्धार कार्यको नेतृत्व गरिरहेको छ। यो उद्धार टोलीमा सशस्त्र प्रहरी बल, नेपालको विशेष खोज तथा उद्धार टोली र नेपाल प्रहरीको ‘डग टीम’ परिचालन भइरहेको छ। साथै, सेनाले तत्काल आवागमन सहज बनाउन बेलीब्रिज निर्माण र बाटो खोल्ने काम तीव्र पारेको छ। नुवाकोटको देवीघाटमा सेना आफैले आफ्ना इन्जिनियरहरु परिचालन गरी एक्रो ब्रिज जडान गरिरहेको छ। बाढी प्रभावित क्षेत्रमा अहिले ९ हजार २ सय ८७ जना सेना खटिरहनुभएको छ।
नेपाल प्रहरीः बाढी प्रभावित क्षेत्रमा सुरुआतबाटै अग्रपङ्क्तिमा खटिएर खोज, उद्धार तथा राहत वितरणमा नेपाल प्रहरी सक्रिय छ। तालिमप्राप्त कुकुरहरूले खोजी तथा उद्धारलाई सहयोग गरेका छन्। घाइतेहरूलाई जतिसक्दो चाँडो अस्पताल पुर्‍याउने काम भइरहेको छ। शव व्यवस्थापनमा प्रहरीले नेतृत्व गरिरहेको छ। जोखिमपूर्ण क्षेत्रहरूमा निरन्तर सूचना प्रवाह गर्दै नागरिकको जिउधनको सुरक्षा गरिरहेको छ। त्यति मात्रै होइन, प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न पनि प्रहरीले उत्तिकै मिहिनेत गरिरहेको छ। हाल बाढी प्रभावित क्षेत्रमा ७ हजार ९ सय ७५ प्रहरी खटिरहनु भएको छ।
सशस्त्र प्रहरी बल, नेपालः कठिन भूगोल र उर्लँदो भोटेकोशी—त्रिशूली नदीको जोखिम मोल्दै विपद् व्यवस्थापनमा विशेष तालिमप्राप्त गोताखोर, डोरी टोलीलगायत उद्धार टोलीमार्फत प्रत्यक्ष खोज तथा उद्धारमा सक्रिय रूपमा खटिरहेको छ। त्यसको लागि प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमाण्ड पोष्ट, १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरिएको थियो। ड्रोन स्क्वाड परिचालन गरिरहेको छ। केनाइन टोली पनि सँगसँगै खटाएको छ। प्रभावित क्षेत्रमा उपचार सेवा दिइरहेको छ। प्रभावित क्षेत्रको नेपाल चीन सीमानामा नेपाली झण्डा स्थापना गर्न सफल भएको छ। हाल प्रभावित क्षेत्रमा ४ हजार २ सय ३ जना सशस्त्र प्रहरी खटिरहनुभएको छ।
राष्ट्रसेवक सुरक्षकर्मीहरु,
तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज संकटको बेला लाखौँ मानिसहरुले सुरक्षित महसुस गर्न पाउनुभएको छ। कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ। तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन।
संकटका बेला खटिरहन प्रेरित गर्ने तपाईंको घरपरिवारप्रति पनि हामी कृतज्ञ छौं।
संकट व्यवस्थापनका लागि हाम्रा सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश तथा विदेशका अन्य विज्ञहरुलाई पनि हामी विशेष धन्यवाद दिन्छौं।
राष्ट्रसेवक सुरक्षाकर्मीज्यूहरु,
तपाईंहरुप्रति हामी सँधै कृतज्ञ रहनेछौं।

विश्वव्यापी चुनौतीबिच दक्षिण कोरियाको निर्यातमा उल्लेखनीय वृद्धि

काठमाडाैँ। दक्षिण कोरियाको निर्यातले यस वर्ष तीव्र वृद्धि कायम राख्दै नयाँ कीर्तिमान बनाएको छ। शनिबारसम्म देशको कुल निर्यात ७०९.४ अर्ब अमेरिकी डलर पुगेको छ । जुन गत वर्ष कायम भएको ७०९.३ अर्ब अमेरिकी डलरको वार्षिक निर्यात रेकर्डभन्दा पनि बढी हो।

दक्षिण कोरियाको व्यापार, उद्योग तथा स्रोत मन्त्रालय र कोरिया भन्सार सेवाले सार्वजनिक गरेको तथ्यांकअनुसार, यस वर्षको वार्षिक निर्यात अझै तीन महिना बाँकी रहँदै गत वर्षको सम्पूर्ण निर्यातलाई उछिनिसकेको हो। निर्यातमा देखिएको निरन्तर वृद्धि र बलियो अन्तर्राष्ट्रिय मागका कारण दक्षिण कोरिया यस वर्ष १ ट्रिलियन अमेरिकी डलरको वार्षिक निर्यात हासिल गर्ने दिशामा अघि बढेको छ।

कोरिया भन्सार सेवाका प्रमुखले तयार पारेको प्रतिवेदनलाई उद्धृत गर्दै दक्षिण कोरियाका राष्ट्रपतिले शनिबार सामाजिक सञ्जालमार्फत निर्यातको वर्तमान गति कायम रहेमा देशले डिसेम्बरको सुरुआती चरणमै १ ट्रिलियन डलरको निर्यात आँकडा पार गर्न सक्ने बताएका छन्।

विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, अन्तर्राष्ट्रिय व्यापारमा रहेका चुनौती तथा मध्यपूर्वमा जारी द्वन्द्व र तनाव जस्ता प्रतिकूल बाह्य परिस्थितिका बाबजुद दक्षिण कोरियाको निर्यातमा भने उल्लेखनीय वृद्धि भइरहेको छ ।

यस निर्यात वृद्धिको प्रमुख आधारमध्ये सेमिकन्डक्टर अर्थात् अर्धचालक (चिप) उद्योग रहेको छ । विश्व बजारमा दक्षिण कोरियाली चिप तथा इलेक्ट्रोनिक उत्पादनको माग बलियो रहँदा देशको समग्र निर्यातलाई त्यसले महत्वपूर्ण रूपमा टेवा दिएको छ।

दक्षिण कोरियाले यस वर्ष १ ट्रिलियन अमेरिकी डलरको वार्षिक निर्यात हासिल गर्न सकेमा यो देशको व्यापारिक इतिहासमा महत्वपूर्ण उपलब्धि हुनेछ । गत वर्ष नै ७०९.३ अर्ब डलरको रेकर्ड कायम गरेको दक्षिण कोरियाले यस वर्ष त्यसलाई उल्लेखनीय रूपमा उछिन्दै नयाँ उचाइ हासिल गर्ने संकेत देखाएको छ।

निर्यातको वर्तमान गति आगामी महिनाहरूमा समेत कायम रहेमा दक्षिण कोरियाको अर्थतन्त्रलाई थप बलियो बनाउन तथा विश्व व्यापारमा उसको स्थान अझ सुदृढ गर्न यस उपलब्धिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सर्वोच्च अदालतमा रहेको मुद्दाको निर्णय पर्खिनु पर्छः नेता लेखक

महेन्द्रनगर। नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन गर्न सर्वोच्च अदालतमा रहेको मुद्दाको निर्णय पर्खिनुपर्ने बताएका छन् ।

पार्टी मिलाउन दुवै पक्षले आ–आफ्ना महाधिवेशन स्थगन गर्नुपर्नेमा जोड दिए। नेपाली कांग्रेस भीमदत्तनगर कार्यसमितिले आज महेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता लेखकले भने, “पार्टी मिलाउने हो भने दुवै पक्षले आ–आफ्ना महाधिवेशन स्थगन गरौँ र पार्टी मिलाउने बैठकमा छलफल गरौँ ।”

नेता लेखकले १४औँ महाधिवेशनको कार्यसमितिलाई हटाइएकाले पार्टीमा विवाद सिर्जना भई समस्या सुरु भएको बताए । “महाधिवेशन नरोक्ने, अरु अरु कुरा गरेर कसरी मिल्छ”, उनले प्रशन गरे । दुवै पक्षले एकापसमा छलफल गरेर पार्टी विभाजन रोक्नुपर्ने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा नेता लेखकले रसुवा बाढीका कारण सिँगो मुलुकले क्षति व्यहोर्नुपरेको बताउँदै विपद्को सामनाका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा चाँदनी, भीमदत्त र बेदकोट नगरपालिकामा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै कञ्चनपुरका तीन पालिकामा भारी वर्षाको सम्भावना रहेकाले तयारी अवस्थामा रहन र सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले स–साना नदीहरुमा पानीको बहाव उलेख्य बढ्ने जोखिम कायम रहेको जनाएको छ ।

बेदकोट नगरपालिकाका विपद् सम्पर्क व्याक्ति सुनिल चन्दले पालिका पूर्वतयारी अवस्थामा रहेको जानकारी दिनुभयो । “नगर प्रहरी, वडाध्यक्षलाई तयारी अवस्थामा रहन भनेका छौँ”, उहाँले भन्नुभयो, “आवश्यक सामग्री तयारी अवस्थामा राखेका छाँै ।”

दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले पूर्वतयारी अवस्थामा रहेको जानकारी दिनुभयो । मौसम पूर्वानुमान महाशाखाले सरोकारवाला निकायलाई नदीको निगरानी बढाउन, स्थानीय तह तथा समुदायलाई सूचित गराउने र आवश्यक तयारी सुरु गर्न सूचना जारी गरेको छ ।

कञ्चनपुरमा आज बिहानैदेखि अविरल वर्षा भइरहेको छ । महाकाली नदीको जल सतह सतर्कता तह पार गरेपछि भारतीय पक्षले नेपाल–भारत जोड्ने वनवासास्थित शारदा व्यारेजमा आवागमनमा रोक लगाएको छ । इलाका प्रहरी कार्यालय ड्डाचौकीका प्रमख जीवन गुरुङले साँझ ५ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव प्रति सकेन्ड एक लाख ३३ हजार ८८८ क्युसेक पुगेको छ ।

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा सुरक्षाको कारण देखाउँदै चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आएको छ ।

इरान, साउदी अरब र टर्कीबिच हर्मुज सुरक्षाबारे छलफल

काठमाडाैँ। इरानी परराष्ट्र मन्त्री सैयद अब्बास अराघचीले हर्मुज जलमार्गको सुरक्षा सुनिश्चित गर्न भइरहेका पछिल्ला कूटनीतिक प्रयासहरूबारे आफ्ना टर्की र साउदी समकक्षीहरूसँग टेलिफोनमा कुराकानी गरेको इरानी समाचार संस्था (इर्ना) ले आइतबार जनाएको छ।

विदेशमन्त्री अराघचीले शनिबार राति टर्कीका विदेशमन्त्री हाकान फिदान र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदसँग अलग–अलग द्विपक्षीय मुद्दाहरू र पछिल्ला क्षेत्रीय विकासबारे छलफल गरेको रिपोर्टमा उल्लेख छ।

तीनै विदेशमन्त्रीहरूले पश्चिम एशिया क्षेत्रमा स्थिरता प्रवर्द्धन गर्न र संयुक्त राज्य अमेरिकाको ‘आक्रामक कार्यहरू’ का कारण हर्मुज जलमार्गमा उत्पन्न असुरक्षालाई सम्बोधन गर्न भइरहेका कूटनीतिक प्रयासहरूको प्रगतिबारे पनि परामर्श गरेको रिपोर्टमा जनाइएको छ।

यी कुराकानीहरू शनिबार बिहानै इरान र संयुक्त राज्य अमेरिकाबीच भएका समुद्री झडपहरूपछि भएका हुन्। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले शनिबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भनेको थियो, “इरानको ‘इस्लामिक रेभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी)’ ले क्षेत्रीय जलमार्गमा गस्ती गरिरहेका दुई अमेरिकी नौसेना युद्धपोतहरूतर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि’ अमेरिकी सेनाले तीन वटा इरानी कच्चा तेल ढुवानी गर्ने जहाजहरूमा प्रहार गरेको छ।”

सेन्टकमले भनेको अगाडी भनेको छ, “एक अमेरिकी विमानवाहक पोत र निर्देशित मिसाइल युक्त डिस्ट्रोयरले धेरै अव्यवस्थित इरानी आक्रमणहरू सफलतापूर्वक छलेका छन् । कुनै पनि अमेरिकी कर्मचारी घाइते भएनन्।”

इरानी नोसेनाले पछि अमेरिकी प्रहारहरूको पुष्टि गर्दै हर्मुज जलमार्गमा तीन वटा तेल ट्याङ्करहरू र अन्यत्र तीन वटा अमेरिका सम्बद्ध जहाजहरूलाई प्रतिशोधस्वरूप निसाना बनाएको बताएको छ ।

आईआरजीसीले आइतबार बिहानै आफ्नो आधिकारिक समाचार माध्यम सेपा न्यूजमार्फत प्रकाशित वक्तव्यमा भनेको छ, “यसका एयरोस्पेस फोर्सहरूले अघिल्ला घण्टाहरूमा एक अमेरिकी विमानवाहक युद्धपोत र एक डिस्ट्रोयरमाथि धेरै ब्यालिस्टिक मिसाइल प्रहार गरेका थिए । ती जहाजहरूले इरानी जहाजहरूलाई दुःख दिएको र इरानविरुद्धको नौसेना नाकाबन्दीमा सहभागी भएको आरोप इरानको छ।”

आईआरजीसीले यसका नौसेना फोर्सहरूले हर्मुज जलमार्गको संरक्षित क्षेत्रमा प्रवेश गर्न खोजेको एक अमेरिकी आर्मीको पार्किङ गरी राखिएको जहाजमाथि पनि आक्रमण गरेको बताएको छ ।

फेब्रुअरी २८ मा अमेरिका–इजरायली प्रहारहरूपछि तेहरानले हर्मुज जलमार्गबाट आवागमनमा प्रतिबन्ध लगाएको थियो भने अमेरिकी सेनाले इरानी बन्दरगाह र तटीय क्षेत्रहरूमा आउने–जाने जहाजहरूलाई निसाना बनाएर नौवहनमा नाकाबन्दी लगाएको थियो।