`

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ ।

गोँगबु आवास क्षेत्र सुधार समितिले आज आयोजना गरेको ‘नयाँ वर्ष–२०८३ को शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले त्यसका लागि सरकारले आवश्यक काम गर्न सुरु गरिसकेको बताउनुभयो ।

मन्त्री खनालले भन्नुभयो,“जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएर परिवर्तनको बाटो रोजेका छन्, वर्तमान सरकारले यसलाई खेर फाल्दैन । रास्वपाले वाचापत्रमा उल्लेख गरेअनुसार सुशासन र समृद्धिलाई मुख्य प्राथमिकतामा राखेर काम गर्छौं ।”

उहाँले भ्रष्टाचार नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेकाले मन्त्रिपरिषद्को बैठकले विसं २०६२ पछि उच्च ओहोदामा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न समिति गठन गरिएको उल्लेख गर्नुभयो । परराष्ट्रमन्त्री खनालले जनतालाई सहज रूपमा सेवा, सुविधा प्रदान गर्नका लागि सरकारले रातदिन नभनी काम गरिरहेको बताउनुभयो ।

“हामीले जनताले परिवर्तनको अनूभूति गर्नेगरी काम गरिरहेका छौँ । देशभित्र मात्रै होइन, विदेशमा रहेका नेपाली नागरिकलाई पनि सुरक्षित राख्नका लागि सरकारले काम गरिरहेको छ”, उहाँले भन्नुभयो,“आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिन्छ । सहज ढङ्गले व्यापार व्यवसाय गर्ने वातावरण बनाउँछ ।”

काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री खनालले आफ्नो क्षेत्रभित्रको खानेपानी, ढल, सडकलगायत समस्या समाधानका लागि पनि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लघुकथाकृति ‘आमाको आँखा’ को लोकार्पण

काठमाडौँ। लघुकथाकार शोभा अधिकारीको पहिलो लघुकथाकृति ‘आमाको आँखा’ को आज लोकार्पण भएको छ ।

लघुकथा समाज, नेपालद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, पद्मकन्या क्याम्पसका सहायक प्रमुख विमला नेपाल, साहित्यकार अनुपमा रेग्मी, सुमन घिमिरे वर्षा, समाजका अध्यक्ष तुलसीहरि कोइराला लगायतले लोकार्पण गर्नुभएको हो ।

नाट्यकर्मी मल्लले हरेक कृति र कलाको महत्व हुने बताउँदै कृतिकार अधिकारीको लेखनीले साहित्यिक क्षेत्रमा नयाँ इँटा थपिएको बताउनुभयो ।

साहित्यकार ‘रोदन’ले समसामयिक घटना र समाजलाई बुझ्ने सन्दर्भमा कृतिकार अधिकारीमा दूरदृष्टि पाइएको बताउनुभयो ।

समाजका अध्यक्ष कोइरालाले लघुकथाका क्षेत्रमा नारी हस्ताक्षरको सङ्ख्या क्रमशः बढ्नु सकारात्मक रहेको बताउनुभयो । कथाकार अधिकारीले आफूले देखे–भोगेका यथार्थ विषयवस्तुलाई मनको आवाज र हृदयको सन्देशका माध्यमबाट किताबमा उतारेको अनुभव सुनाउनुभयो ।

जुम्लामा चालु आवको नौ महिनामा २९ प्रतिशत मात्रै पुँजीगत खर्च

जुम्ला। जुम्लामा चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनामा कुल बजेटको पुँजीगत खर्च २९ दशमलव २८ प्रतिशत मात्रै खर्च भएको छ ।

चालु आवका लागि सङ्घीय सरकारबाट जिल्लामा पुँजीगत बजेट रु एक अर्ब ९४ करोड १९ लाख १० हजार विनियोजित भएकामध्ये साउनदेखि चैतसम्म ५६ करोड ८५ लाख १९ हजार अर्थात् २९ दशमलव २८ प्रतिशत विकास बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मन्जित अछामीले जानकारी दिनुभयो ।

चालु आवका लागि यहाँका आठ स्थानीय तहसहित जिल्लाका ३६ वटा सङ्घीय सरकार मातहतका कार्यालयका लागि चालु र पुँजीगत गरी रु सात अर्ब ३१ करोड ५२ लाख २९ हजार बजेट विनियोजित भएको छ । कुल बजेटको चालु आवको चैत मसान्तसम्म चालुतर्फ रु तीन अर्ब ५३ करोड ९२ लाख ५४ हजार अर्थात् ६५ दशमलव ८७ प्रतिशत खर्च भएको कोष नियन्त्रक अछामीको भनाइ छ ।

कुल बजेटको चालु र पुँजीगत गरी चालु आवको नौ महिनामा रु चार अर्ब १० करोड ७७ लाख ७३ हजार, अर्थात् ५६ दशमलव १५ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक अछामीले बताउनुभयो ।

सङ्घीय सरकारले जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये सबैभन्दा बढी पुँजीगततर्फ सघन सहरी तथा भवन आयोजना जुम्लालाई रु ८० करोड ९५ लाख ४७ हजार विनियोजित बजेटमध्ये चालु आवको चैतसम्म रु १९ करोड ६८ लाख पाँच हजार अर्थात् २३ दशमलव ५५ प्रतिशत मात्र खर्च भएको छ ।

यसैगरी, सडक डिभिजन कार्यालय जुम्लाका लागि पुँजीगततर्फ रु ७४ करोड ३६ लाख १९ हजार विनियोजित बजेटमध्ये सोही अवधिमा रु १८ करोड ३८ लाख ९४ हजार अर्थात् २४ दशमलव ७३ प्रतिशत मात्र विकास बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ ।

गत आव २०८१/८२ मा जुम्लामा पुँजीगततर्फ रु तीन अर्ब पाँच करोड ११ लाख २७ हजार विनियोजित रकममध्ये रु दुई अर्ब आठ करोड १९ लाख ८५ हजार अर्थात् ६७ दशमलव ९१ प्रतिशत मात्र विकास बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ । यहाँका दुई वटा ठूला विकासे कार्यालय सडक डिभिजन कार्यालय र सघन सहरी तथा भवन आयोजना जुम्लाको विकास बजेट खर्चको अवस्था अत्यन्तै निराशाजनक देखिएको छ ।

सडक डिभिजन कार्यालयको कार्य क्षेत्र जुम्लालगायत कालीकाट र मुगु रहेको छ । सघन सहरी तथा भवन आयोजना जुम्लाबाट माथिल्लो कर्णालीका जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पा गरी पाँच जिल्ला हेर्ने गरेको छ ।

नेपालले टस जितेर पहिले फिल्डिङ रोज्यो

काठमाडौँ। पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी २० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

रुवाण्डामा भएको टसमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । यससँगै अमेरिकाले पहिला ब्याटिङ गर्नेछ ।

नेपालको प्लेइङ–११ मा कप्तान इन्दु वर्मा, उपकप्तान पूजा महतो, विकेट किपर रोमा थापा, बिन्दु रावल, कविता जोशी, कविता कुँवर, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, रुविना क्षेत्री र सम्झना खड्का रहेका छन् । अन्तरराष्ट्रिय क्रिकेट परिषद्ले एसोसिएट देशको महिला क्रिकेट विकासका लागि सुरुआत गर्न लागेको हो ।

प्रतियोगितामा नेपाल, अमेरिका, भानुआटु, रुवान्डा र इटलीका महिला टिमको सहभागिता छ । प्रतियोगिता डबल राउन्ड रोविन लिगका आधारमा हुने र लिगको सबै खेलपश्चात् शीर्ष स्थानमा हासिल गर्ने टोली विजेता बन्नेछ ।

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीविरुद्ध उल्लेख्य सङ्ख्यामा भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायर गरेको छ ।

सो अवधिमा कुल एक लाख ६६ हजार ५२० उजुरी परेकामा एक लाख २१ हजार ९४३ (७३ दशमलव २३ प्रतिशत) फर्छ्यौट भई ७९८ मुद्दा दायर भएका छन् । ती मुद्दामा चार हजार ६६२ जनालाई प्रतिवादी बनाई ३१ अर्ब ५२ करोड २५ लाख पाँच हजार ५७३ रुपैयाँ बिगो दाबी गरिएको छ ।

यी मुद्दामा विशेष अदालतबाट सरदर ५५ प्रतिशत कसुर स्थापित भएको छ भने कसुर स्थापित नभएकामध्ये ७१९ मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावलोकनका लागि सर्वाेच्च अदालत गएको छ । पुनरावलोकन गरिएकामध्ये नौ मुद्दामा अख्तियारको माग दाबीअनुसार सर्वाेच्च अदालतबाट ठहर भएको आयोगले जनाएको छ ।

आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका पदाधिकारीले २०७७ माघ २१ गतेदेखि पद बहाली गरेका थिए । आर्थिक वर्ष २०७७/७८ को तुलनामा पछिल्लो आर्थिक वर्षमा उजुरी, फछ्र्याैट र मुद्दा दायरको आँकडा बढ्दो देखिएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७७/७८ को माघसम्ममा १२ हजार ४९६ उजुरी र ४६ मुद्दा दायरी भई २३० प्रतिवादी रहेकामा चालु आर्थिक वर्षको गत चैत मसान्तसम्म २८ हजार ४१६ उजुरी र १२१ मुद्दा दायर भई ४२९ प्रतिवादी छन् ।

आर्थिक वर्ष २०७७/७८ मा दायर भएका मुद्दामध्ये ६८ प्रतिशत कसुर स्थापित भएका थिए भने चालु आर्थिक वर्षको चैतसम्ममा ४८ दशमलव ८५ प्रतिशत कसुर स्थापित भएका छन् ।

यसैगरी, आव २०७८/७९ मा २४ हजार ३३१ उजुरी परेकामा ७० दशमलव ५६ प्रतिशत फछ्र्यौट भई १३१ मुद्दा दायर भई ६३९ प्रतिवादी रहेका थिए । आव २०७९/८० मा २८ हजार ६५ उजुरी परेकामा ६६ दशमलव ९८ प्रतिशत फछ्र्याैट भई १६१ मुद्दा दायर भएकामा ७६६ प्रतिवादी कायम गरिएको थियो । यी मुद्दामा ३३ दशमलव ४३ प्रतिशत कसुर स्थापित भएका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा ३६ हजार १८६ उजुरी परेकामा ७६ दशमलव ५९ प्रतिशत फछ्र्याैट भई २०१ मुद्दामा गरी एक हजार ५४५ प्रतिवादी रहेका थिए । यसमध्ये ६५ दशमलव ६७ प्रतिशत कसुर स्थापित भएको थियो ।

आव २०८१/८२ मा ३७ हजार २६ उजुरीमध्ये ८० दशमलव २२ प्रतिशत फछ्र्याैट भई १३७ मुद्दामा ७५३ प्रतिवादी कायम भए । यीमध्ये ५२ दशमलव ६७ प्रतिशत कसुर स्थापित भएको थियो । संसद्को गत अधिवेशनमा पेस भएको अख्तियारको ३५औँ वार्षिक प्रतिवेदनमा प्रदेशगत आधारमा हेर्दा बागमती प्रदेशमा सङ्घीय निकाय वा पदाधिकारीसम्बन्धी उजुरीको सङ्ख्या बढी देखिएको छ ।

‘स्टिङ अपरेसन’का सम्बन्धमा सर्वाेच्च अदालतबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० अमान्य र बदर हुनेगरी २०७८ वैशाख ८ मा फैसला भएका कारण त्यसयता घूस (रिसवत) सम्बन्धी भ्रष्टाचार मुद्दाको सफलता दर केही घट्न गएको आयोगको बुझाइ छ ।

आयोगले प्राप्त उजुरी, आयोगको अनुसन्धान र विद्यमान कानुनी व्यवस्थाअनुसार मुद्दा अघि बढाउने भएकाले विशेष अदालतको फैसलाबारे पुनरावलोकनबाहेक अरू विकल्प आफूहरुसँग नहुने प्रवक्ता न्यौपानेको भनाइ छ ।

नेपालको संविधानको भाग २१ बमोजिम दुरुपयोग अनुसन्धान आयोगले कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा कानुनबमोजिम अनुसन्धान गरी वा गराई त्यस्तो अनुसन्धानबाट कसुरदार देखिएमा त्यस्ता व्यक्तिउपर विशेष अदालतमा मुद्दा दायर गराउँदै आएको छ ।

आयोगले भ्रष्टाचारजन्य कसुरको अनुसन्धान र अभियोजन गर्ने वा गराउने कार्यका अतिरिक्त भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न प्रकारका निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिहरु तय गरी सदाचार, निष्पक्षता, निडरता, पेसागत विशिष्टता र प्रमाणमा आधारित अनुसन्धान एवं अभियोजनजस्ता मूल्यमान्यताका आधारमा आफ्नो संवैधानिक दायित्व निर्वाह गर्दै आएको प्रवक्ता न्यौपानेले बताए ।

शीर्ष नेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

आयोगले यसबिचमा दायर गरेका मुद्दामा प्रतिवादी बनाइएकामा तत्कालीन प्रधानमन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधिसम्म छन् । आयोगका अनुसार २०७७ माघ २१ देखि गत चैत मसान्तसम्ममा यस वर्गमा १०२ प्रतिवादी भएका छन् ।

प्रतिवादी बनाइएकामा पतञ्जली योगपीठको जग्गा साटफेर प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, वाइडबडी खरिदमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, टेरामक्स खरिदमा तत्कालीन सूचना तथा प्रविधिमन्त्री मोहनबहादुर बस्नेत, लिची बगैँचा जग्गाको घूस रिसवतमा तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र तत्कालीन भूमि व्यवस्था, सहकारी र गरिबी निवारणमन्त्री रजिता श्रेष्ठविरुद्ध मुद्दा दायर भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अनियमितता मुद्दामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्य र दीपक चन्द अमात्य तथा तत्कालीन अर्थमन्त्री डा.रामशरण महत प्रतिवादी रहेका छन् ।

यस्तै, भन्सार छलेर सुन ल्याएको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आयोगले मुद्दा दायर गरेको छ । यसैगरी, विभिन्न प्रदेशका मन्त्री, सांसद, नगर तथा गाउँपालिकाका प्रमुख र अध्यक्ष तथा उपप्रमुख र उपाध्यक्षविरुद्ध पनि मुद्दा दायर भएको छ ।

यसैगरी, पूर्वमुख्यसचिव डा वैकुण्ठ अर्यालविरुद्ध अन्तःशुल्क स्टिकरमा मुद्दा दायर भई किनारा लागिसकेको छ भने नेपाल सरकारका तत्कालीन सचिवहरु रामकुमार श्रेष्ठविरुद्ध गैह्रकानुनी सम्पत्ति आर्जन, शङ्करप्रसाद अधिकारीविरुद्ध वाइडबडी खरिद, सञ्जय शर्माविरुद्ध नेसनल पेमेन्ट गेटवे, छविराज पन्तविरुद्ध पतञ्जली योगपीठ जग्गा साटफेरमा मुद्दा दायर गरिएको छ ।

तत्कालीन सचिवहरु सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा र भेषराज शर्माविरुद्ध विमानस्थल निर्माणमा लागत बढाइएको विषयमा मुद्दा दायर भएको छ । यस्तै, विभिन्न सहसचिव, महानिर्देशकहरु, प्रदेश सचिव, सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा विभिन्न कर्मचारीविरुद्ध मुद्दा दायर भएको आयोगले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ मा भएको हालको संशोधित व्यवस्थाअनुसार आयोगले भ्रष्टाचारजन्य कसुरको अनुसन्धान गर्ने क्रममा सम्पत्ति शुद्धीकरण कसुरका तत्व देखिएमा सोको समेत अनुसन्धान गर्ने व्यवस्था रहेको छ ।

चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

चितवन । गत आर्थिक वर्षमा भन्दा चालु आवमा रु एक अर्ब ४७ करोड १८ लाख बढी राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आवको चैत मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व सङ्कलन बढाएको हो ।

कार्यालयका अनुसार चैतसम्ममा रु १८ अर्ब पाँच करोड ५० लाख राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु १६ अर्ब ५८ करोड ३२ लाख राजस्व सङ्कलन भएको थियो । वार्षिक लक्ष्यअनुसार भने राजस्व सङ्कलन हुन सकेको छैन ।

चालु आवको चैतसम्ममा रु २० अर्ब ६१ करोड २४ लाख लक्ष्य रहेकामा ८७ दशमलव ५९ प्रतिशत प्रगति भएको कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । उनका अनुसार गत आवको सोही अवधिका लागि आन्तरिक राजस्व कार्यालयले रु १८ अर्ब ३४ करोड ८९ लाख लक्ष्य दिएकामा ९० दशमलव ३८ प्रतिशत प्रगति भएको थियो ।

राजस्व बढी सङ्कलन भए पनि लक्ष्यअनुसार प्रगति प्रतिशत भने गत आवको तुलनामा चालु आवमा कम रहेको उनले बताए । चालु आवको अन्त्यसम्मका लागि रु ३१ अर्ब पाँच करोड ९५ लाख चार हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख खड्काले जानकारी दिए । गत आवको अन्त्यसम्मका लागि रु २६ अर्ब ६० करोड ९७ लाख ६० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो ।

खड्काले अन्तशुल्कमा राजस्व कम उठेकाले राजस्व बढे पनि लक्ष्यमा पुग्न नसकिएको बताए । उनका अनुसार भरतपुर महानगरपालिका–२९ जुगेडीमा रहेको रोलिङरिभर नामको मदिरा उद्योग बन्द हुँदा वार्षिक रु एक अर्ब राजस्व घटेसँगै लक्ष्यमा पुग्न कठिन भएको हो । चालु आवमा अन्तशुल्क ८९ दशमलव ३५ प्रतिशत असुल गरिएकामा गत आवमा यो प्रतिशत ९३ दशमलव २९ थियो ।

चालु आवमा रु १३ अर्ब ४९ करोड ६३ लाख अन्तशुल्क सङ्कलन भएको कार्यालय प्रमुख खड्काले जानकारी दिए । गत आवमा रु १२ अर्ब ९४ करोड ४१ लाख अन्तशुल्क सङ्कलन भएको थियो । कार्यालयले असारसम्म लक्ष्यमा पुग्नेगरी काम अघि बढाएको उनको भनाइ छ ।

खड्काका अनुसार रु पाँच अर्बभन्दा बढी बाँकी रहेको बक्यौता असुलीलाई कडाइका साथ लागिएको छ । त्यस्तै रु दुई अर्ब १५ करोड ८६ लाख बेरुजु फछ्र्यौटका लागि तीव्र रूपमा काम अघि बढाइएको छ । सो बेरुजुमध्ये नियमित गर्नुपर्ने र असुल गर्नुपर्ने दुवैलाई फछ्र्यौट गर्ने अभियान थालिएको कार्यालय प्रमुख खड्काले जानकारी दिए । उनका अनुसार कार्यालयले ६० वटा करदाताको अनुसन्धान गरिरहेको छ ।

चालिस वटा फर्मको अग्रिम कर कट्टीको परीक्षण भइरहेको जनाउँदै प्रमुख खड्काले नियमित बजार अनुगमनलाई निरन्तरता दिइएको उल्लेख गरे । विलासिताको करवापत तिर्नुपर्ने दुई प्रतिशत असुल गर्न कार्यालयले अनुगमन एवं ताकेता गरिरहेको उनले बताए ।

प्रमुख खड्काका अनुसार उद्योग वाणिज्य सङ्घहरू, उद्योग सङ्घ, चेम्बर अफ कमर्शलगायत तिनका वस्तुगत सङ्घसंस्थाहरूसँग सहकार्य गरेर करदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेका छन् । अवैध मदिरा नियन्त्रण समितिमार्फत अवैध मदिरा नियन्त्रण गर्न अनुगमन टोली गठन गरेर काम अघि बढाइएको उनले जानकारी दिए ।

जिल्लास्थित राजस्व चुहावट नियन्त्रण समितिमार्फत हाटबजार, मेला, महोत्सवको अनुगमन गरी अवैध मदिराको बिक्री वितरण भए/गरेको पाइएमा तत्काल कारबाही गर्नेगरी काम अघि बढाइएको उनले जानकारी दिए । उनका अनुसार यस कार्यालयअन्तर्गत व्यावसायिक करदाता ७४ हजार ३७९ जना र व्यक्तिगत करदाता एक लाख ८६ हजार ५७३ जना छन् ।

रुसी तेल खरिदमा अमेरिकाले लगाएको प्रतिबन्ध फुकुवा थप बिस्तार

काठमाडौँ । अमेरिकी ट्रम्प प्रशासनले एक महिना लामो प्रतिबन्धमा छुट जारी गर्दै समुद्रमा रहेका रुसी तेल र पेट्रोलियम पदार्थको बिक्रीलाई अनुमति दिने निर्णयलाई शुक्रबार थप बिस्तार गरेको छ ।

ट्रेजरी डिपार्टमेन्टले जारी गरेको इजाजतपत्र ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले वाशिङ्गटनले रुसी तेल र पेट्रोलियम पदार्थको बिक्रीका लागि छुट नवीकरण नगर्ने बताएको दुई दिनपछि आएको हो।

अमेरिकी प्रशासनको पछिल्लो निर्णयले शुक्रबारसम्म कुनै पनि जहाजमा लोड गरिएको रूसबाट अन्य मुलुक जाने तेल र पेट्रोलियम उत्पादनहरूको खरिदको लागि अनुमति दिन्छ ।

यसले यस पहिले अप्रिल ११ सम्मका लागि प्रतिबन्धलाई खुकुलो बनाउने अमेरिकाको योभन्दा पहिलेको निर्णयलाई लम्ब्याएको छ ।

बुधबार बेसेन्टले पत्रकारहरूसँग संयुक्त राज्य अमेरिकाले रूसी तेल वा इरानी तेलको लागि यस्तो छुटलाई विस्तार नगर्ने बताएका थिए । दुबै निर्णयको उद्देश्य इरानविरुद्ध अमेरिका–इजरायल युद्धबाट विश्वव्यापी आपूर्तिको झट्कालाई कम गर्नु थियो।

तेहरानले आक्रमणको प्रतिकार गर्दै ऊर्जा ढुवानीको लागि एक प्रमुख जलमार्ग हर्मुज घाँटीलाई पनि प्रभावकारी रूपमा बन्द गरेर आक्रमणको विरोध जनाउँदै आएको छ ।

हर्मुजमा आवतजावतमा इरानले गरेको कडाइका कारण विश्वव्यापीरूपमा तेलको मूल्य बढेको छ, जसले इन्धनका लागि विशेष गरी यस क्षेत्रबाट ऊर्जा निर्यातमा निर्भर ती देशहरूलाई समस्यामा पारेको छ ।

यो अवधिमा अमेरिकी पेट्रोलको मूल्य पनि बढेको छ, जसले यस वर्षको प्रमुख मध्यावधि चुनावको अगाडि अमेरिकी नागरिकहरूको जनजीवनलाई समेत प्रभावित गरेको छ ।

यस्तो छूटले रूसलाई युक्रेनविरुद्धको युद्धका लागि आवश्यक तेलको राजस्वबाट वञ्चित गर्ने प्रयासलाई जटिल बनाउन सक्छ।

अमेरिकी वर्तमान् प्रशासनको निर्णयको विरोध गर्दै अमेरिकी सिनेटका डेमोक्र्याट् सदस्यहरू ज्यान साहिन, चक सुमर र एलिजावेथ वारेनले संयुक्त विज्ञप्ति जारी गरी निर्णयलाई ‘लज्जास्पद’ भनेका छन् ।

अमेरिकी संसद्का सदस्यहरूले भने, “यो निर्णय लज्जास्पद छ र यो सेक्रेटरी बेसेन्टले रूसलाई प्रतिबन्ध राहत नदिने प्रतिबद्धता व्यक्त गरेको दुई दिन पछि आएको शत प्रतिशत उल्टो निर्णय हो ।”

“कुनै गल्ती नगर्नुहोस्, राष्ट्रपति ट्रम्पको इरान बिरूद्ध युद्धको सबैभन्दा ठूलो लाभग्राहीमध्ये पुटिन एक हुनुभएको छ किनकि रूसले मार्चमा तेलको राजस्व लगभग दोब्बर देखेको थियो,” उनीहरूले थपे।

यसै हप्ता वासिङ्टनमा भएको विश्वका शक्तिशाली सात अर्थतन्त्रहरूको समूह (जि–७) का अर्थमन्त्रीको बैठकपछि फ्रान्सका अर्थमन्त्री रोलान्ड लेस्क्युरले ‘इरानमा जे भइरहेको छ, त्यसबाट रुसले फाइदा लिनु हुँदैन’ भन्ने कुरामा जोड दिएका थिए ।

सन् २०२२ मा युक्रेनमा सुरु भएको रुसको आक्रमण दोस्रो विश्वयुद्धपछि युरोपमा सबैभन्दा घातक द्वन्द्व बनेको छ भने अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणले विश्वव्यापीरूपमा इन्धनको मूल्य बढाएको छ ।

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सुरु भएको दुई दशक बितिसक्दा हालसम्म ४६ प्रतिशत भौतिक प्रगति हासिल भएको छ। आर्थिक वर्ष २०६१/६२ मा स्थापना भई सोही आवदेखि निर्माण सुरु भएको आयोजनाको हालसम्म ४६ प्रतिशत काम भएको हो।

सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले आयोजना सुरु भएदेखि हालसम्मको कुल खर्च रु २३ अर्ब ७७ करोड २९ लाख पुगेको जानकारी दिए। उनका अनुसार यो कुल गुरुयोजनाको तुलनामा ४४ दशमलव ९५ प्रतिशत वित्तीय र ४६ प्रतिशत भौतिक प्रगति हो।

चालु आवका लागि स्वीकृत गुरुयोजनाबमोजिम रु तीन अर्ब ३० करोड ५९ लाख बजेट प्रस्ताव गरिएको जनाउँदै आचार्यले आयोजनालाई रु एक अर्ब ५७ करोड मात्र बजेट प्राप्त भएको उल्लेख गरे।

“चालु आवको चैत मसान्तसम्मको विवरणअनुसार कुल रु ८५ करोड ७७ लाख ९८ हजार ३११ खर्च भइसकेको छ”, उनले भने, “यो अवधिको तथ्याङ्कअनुसार आयोजनाले ७६ दशमलव ३१ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ भने वित्तीय प्रगति ५४ दशमलव ४८ प्रतिशत रहेको छ।”

राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ पु¥याउने लक्ष्य लिएकोमा आव २०८२/८३ को चैत मसान्तसम्म २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ सुविधा पुगेको आयोजना निर्देशक आचार्यले जानकारी दिए।

आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इञ्जिनियर मनोजकुमार साहका अनुसार बहुवर्षीय आयोजनाका रूपमा सञ्चालन भएको यो आयोजनाअन्तर्गत सुरुको गुरुयोजना आव २०७०/७१ को अन्त्यमा सम्पन्न गर्नेगरी रु १२ अर्ब ८० करोडमा विसं २०६४ मङ्सिर ३ गते स्वीकृति भएको थियो।

उक्त गुरुयोजनाअन्तर्गत तीन चरणमा आयोजना सम्पन्न गर्ने योजना गरिएकामा पहिलो र दोस्रो चरणसम्मका कार्यका लागि रु १२ अर्ब ८० करोडको अनुमान गरिएको उनले जानकारी दिए।

सम्पदा र संस्कृतिको संरक्षणमा लगानी बढाउनुपर्नेमा पर्यटनमन्त्री श्रेष्ठको जोड

काठमाडाैँ । वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले नयाँ मठमन्दिर निर्माणमा भन्दा विद्यमान सम्पदा र संस्कृतिको संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित ‘सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनः समृद्धिको आधार’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा मठमन्दिर निर्माणमा प्राथमिकता दिएको भएपनि मौलिक सम्पदाको संरक्षणमा लगानी न्यून रहेको उहाँको भनाइ छ ।

उहाँले भएका सम्पदाको संरक्षणलाई प्राथमिकता दिन सके मात्रै सांस्कृतिक धरोहर जोगाउन सकिने बताउनु भयो । उहाँले संस्कृति र सम्पदा संरक्षणप्रति नवयुवा पुस्तामा चासो नहुनु चिन्ताको विषय भएको बताउनु भयो । उहाँले सांस्कृति पर्व एवं सम्पदाको महत्वबारे आउने पुस्तालाई बुझाउन आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले काठमाडौं उपत्यकामा सञ्चालन हुने विभिन्न जात्रा तथा रथयात्रामा युवापुस्ताको सहभागिता घट्दै गएको उल्लेख गर्दै यसले सम्पदा संरक्षणमा चुनौती बढ्दै गएको समेत बताउनु भयो ।

विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’

काठमाडौँ। नेपालस्थित विभिन्न देशका राजदूतहरूले नेपालको स्वच्छ हावापानी र स्वस्थ्य जीवन शैलीको प्रशंसा गर्दै दक्षिणकाली नगरपालिका–३ मा आज पैदलयात्रा गरेका छन् ।

पहिलो अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा परराष्ट्र मन्त्रालयले उहाँहरूलाई हात्तीवन–चम्पादेवी पदमार्गमा ‘आरोग्य पदयात्रा’ गराइएको हो ।

यात्रामा काठमाडौँस्थित राजदूतहरू, कूटनीतिक समुदायका अन्य सदस्य तथा सरकारका उच्च पदाधिकारीले नेपालले विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न खोजेको आरोग्य र स्वस्थ जीवनशैलीको समर्थन गर्न आफूहरूले प्रतिबद्धता जनाएको उहाँहरूले प्रतिक्रिया दिनुभयो ।

सहभागी कूटनीतिज्ञहरूलाई बिहान हात्तीवन रिसोर्टमा भेला गराई योग र पूर्वीय दर्शनमा आधारित ध्यानबारे जानकारी दिइएको थियो । उहाँहरूलाई जीवन विज्ञानका प्रशिक्षक प्रतीक शर्माले आसन, प्राणायाम र ध्यानका केही विधिबारे प्रशिक्षण दिनुभएको थियो ।

त्यसपछि सहभागी सबै कूटनीतिज्ञलाई हात्तीवन रिसोर्ट क्षेत्रबाट चम्पादेवीतर्फ जाने मार्गमा करिब दुई घण्टाको पदयात्रा गराइएको थियो । कूटनीतिज्ञलाई स्वागत गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष अप्रिल १५ लाई अन्तररष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउने निर्णय गरेको उल्लेख गर्नुभयो ।

साथै, उहाँले नेपाललाई विश्वकै उत्कृष्ट ‘आरोग्य पर्यटकीय गन्तव्य’ का रूपमा विकास गर्ने नेपाल सरकारको नीति रहेको समेत बताउनुभयो । नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले आरोग्य पर्यटन रणनीति तयार गरेको जानकारी दिँदै उहाँले आगामी सन् २०२७ लाई नेपाली आरोग्य पर्यटन वर्षका रूपमा मनाउने त्यसका लागि आवश्यक लगानी भित्र्याउने तयारीमा सरकार रहेको जानकारी गराउनुभयो । नेपालले विश्वका विभिन्न देशमा रहेका दूतावास कूटनीतिक नियोग र गैरआवासीय नेपालीको सञ्जाल प्रयोग गर्नेसमेत उहाँले बताउनभयो ।

नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहकले उपत्यकाकाकै प्राकृतिक डाँडामा गरिएको यात्रा सामान्य हिँडाइ वा शारीरिक अभ्यास मात्र नभई मानसिक शान्तिसमेत दिने किसिमको भएको बताउनुभयो ।

नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन(युनेस्को) का प्रतिनिधि जाको डु टोइटले नेपाली प्राकृतिक थलोमा नेपाली गीत सुन्दै हिँड्दा आफूले आरोग्य लाभ गरिरहेको प्रतिक्रिया दिनुभयो । आफ्नो देश दक्षिण अफ्रिकमा यहाँजस्ता उच्च हिमाल नभए पनि तर प्राकृतिक सम्पदाहरूले एकअर्को देशलाई जोड्नसक्ने धारणा उहाँको थियो ।

नेपालका लागि राष्ट्रसङ्घीय विकास नियोग प्रतिनिधि क्योको योकोसुकाले सप्ताहन्तमा अत्यन्त स्वच्छ हावा युक्त हात्तिवन चम्पादेवी पदमार्गको पैदलयात्रा, योग र ध्यानले आफूलाई उत्साहित बनाएको बताउनुभयो । आफ्ना आफन्त देशवासीलाई नेपाल प्राकृतिक र सांस्कृति सम्पदा मात्र नभई योग ध्यानमार्फत आत्मसन्तुष्टि प्राप्तिका लागि घुम्नैपर्ने मुलुक भएको सन्देश पु¥याउने बताउनुभयो ।

नेपालका लागि बेलायती राजदूत रोर्वट फेनले अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा नेपालले यसरी पदयात्रा आयोजना गर्दा आफूलाई खुसी लागेको बताउनुभयो । आरोग्य दिवसमा तय गरिएको नारामध्ये लामो पैदलयात्राले श्वासप्रश्वासलाई अझ लामो समय स्वस्थ्य राख्छ भन्ने कुराले आफू प्रभावित भएको बताउनुभयो ।

बेलायतमा नेपाल पहिल्यै लोकप्रिय भएको बताउँदै बेलायतीहरूमा नेपालबारे जान्न चाहने र नेपाली भौगोलिक र सांस्कृतिक विविधताप्रति मोहित भएको बताउनुभयो ।

रासससँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपालको आरोग्य पर्यटनका माध्यमबाट नेपाली ‘सप्ट पावर’ कूटनीतिलाई अगाडि बढाउन खोजेको बताउँदै पहिलो अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा आयोजित १३ देशका राजदूतहरूले महत्त्व दिनु कूटनीतिक हिसाबले महत्त्वपूर्ण भएको बताउनुभयो ।

“नेपाललाई योग ध्यानजस्ता प्राकृतिक स्वास्थ्यलाभका पद्धतिहरूमार्फत विश्वकै उत्कृष्ट आरोग्य गन्तव्य बनाउने लक्ष्य सरकारको छ”, उहाँको भनाइ थियो ।

सर्वाेच्च अदालतका कर्मचारीले पालना गरेनन् नियम

काठमाडौँ। कानुनको अन्तिम व्याख्या गर्ने निकाय सर्वोच्च अदालतका कर्मचारीले नै नियम पालना नगरेको पाइएको छ ।

यही वैशाख ३ गते अदालतको अनुगमन महाशाखाबाट आकस्मिक रूपमा हाजिर एवं ‘ड्रेसकोड’ अनुगमन गर्दा नियम पालना नगरेको पाइएको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ । सर्वाेच्च अदालत प्रशासनले जारी गरेको सूचनामा निर्दिष्ट समयभित्रै कर्मचारीका लागि तोकिएको पोसाकमा मात्र अदालत प्रवेश गर्न र तोकिएको शाखामा प्रमुख/महाशाखा प्रमुखको निर्देशनमा रही सेवाग्राहीबाट गुनासो नआउने गरी कार्यसम्पादन गर्न तथा गराउन भनिएको छ ।

त्यस दिन बिहान गरिएको छड्के अनुगमनमा बिहान ९ः०० बजेपछि कार्यालय प्रवेश गर्ने कर्मचारीको सङ्ख्या ८२ जना रहेको तथा तोकिएको पोसाक नलगाउने २२ जना (जिन्स, टिसर्टसमेत लगाएका) पाइएको छ ।

बिदा स्वीकृत/पूर्वजानकारी नगराइ अनुपस्थित रहेको सङ्ख्या ७० जना रहेका छन् । यस्तै, वैशाख २ गतेको कुर्सी छड्के गर्दा नौ जना (बिहान–बेलुका हाजिर मात्र गरेको) आफ्नो कार्यकक्षमा नभेटिएका पाइएको पनि अदालत प्रशासनले जानकारी दिएको छ ।

अनुगमनका क्रममा पाइएको कैफियतको अभिलेख रहने र अब उप्रान्त बिहान ९ः१५ पश्चात् एवं बेलुका ५ः०० बजे अघि हाजिरी मेसिनले हाजिर नलिने बेहोरासमेत जानकारी गराउँदै अदालतले अनुगमन महाशाखाबाट यो कार्य निरन्तर रूपमा जारी रहने उल्लेख गरेको छ ।

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

काठमाडौँ। त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् ।

कान्तिपुर मिडिया ग्रुप (केएमजी) को आयोजनामा आज यहाँ भएको २१ दशमलव एक किलोमिटरको हाफ म्याराथनअन्तर्गत पुरुषतर्फ रोकाया र महिलातर्फ श्रेष्ठले उपाधि जितेका हुन् । राजनले एक घण्टा ४ः०३ मिनेटमा उक्त दूरी पूरा गरे । पुरुषतर्फ शीर्ष तीनमा आर्मीका खेलाडीको एकलौटी वर्चस्व रह्यो । अर्जुन बुढाले उक्त दूरी एक घण्टा ६ः०४ मिनेटमा पार गरी दोस्रो र सुशील शाही एक घण्टा ६ः५ मिनेट पार गरी तेस्रो भए ।

काठमाडौँका तीर्थ पुन एक घण्टा ७ः४२ मिनेटका साथ चौथो, आर्मीकै सञ्जय श्रेष्ठ एक घण्टा ८ः०२ मिनेटका साथ पाँचौँ र आर्मीकै नरेन्द्र राउत एक घण्टा ९ः०३ मिनेटका साथ छैटौँ भए ।

महिलातर्फ सन्तोषीले एक घण्टा १८ः११ मिनेटमा पूरा गरेर विजेता बनेकी हुन् । आर्मीकी निशा पाल एक घण्टा १८ः२६ मिनेटका साथ दोस्रो र आर्मीकै पूर्णलक्ष्मी न्यौपाने एक घण्टा २३ः१३ सेकेन्डका साथ तेस्रो भए ।

आर्मीकी निर्मला केसी एक घण्टा २५ः५४ मिनेटका साथ चौथो, एपिएफकी फुलमती राना एक घण्टा २८ः४३ मिनेटका साथ पाँचौँ र सोनसरी रोकाया एक घण्टा ३२ः०३ सेकेन्डका साथ छैटौँ भए ।

हाफ म्याराथन पुरुष र महिला तर्फका विजेतालाई रु एक लाख ५० हजार र ट्रफी प्रदान गरिएको थियो । हाफ म्याराथनतर्फ दोस्रोदेखि छैटौँ हुनेले क्रमशः रु ७५ हजार, रु ५० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार प्राप्त गरे ।

कान्तिपुर टेलिभिजनको कार्यालय, तीनकुने अगाडिबाट सुरु भएको हाफ म्याराथन कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, थिमी, सल्लाघारी हुँदै जगाती चोकबाट फन्को लगाएर पुनः तीनकुनेमा आएर टुङ्गिएको थियो ।

यसैगरी, ह्विलचेयर पाँच किलोमिटर दौडतर्फ रमेश खत्री र ऐश्वर्यकुमारी कुमाल विजेता बनेका छन् । पुरुषतर्फ खत्रीले नौ मिनेट २९ः२२ सेकेन्डमा प्रथम भए । यस्तै, दीपक आलेमगर ११ मिनेट ०६ः०२ सेकेन्डसहित दोस्रो र रामकाजी मिजार ११ मिनेट ५७ः०५ सेकेन्डसहित तेस्रो भए ।

सोही विधाको महिलातर्फ अछामकी कुमालले १२ मिनेट २६ः९९ सेकेन्डमा पूरा गर्दै पहिलो भइन् । प्युठानकी यामी झाक्रीमगर १३ मिनेट ३०ः६३ सेकेन्डका साथ दोस्रो र खोटाङकी रजनी राई १५ मिनेट ५०ः०८ सेकेन्डका साथ तेस्रो भइन् । ह्विलचेयर रेसका विजेताले क्रमशः रु ३५ हजार, रु २५ हजार र रु १५ हजार नगद पाए ।

‘रन फर नेपाल’ नारासहित भएको म्याराथनको उद्घाटन दक्षिण एसियाली खेलकुदमा तीन स्वर्ण र चार पटक ओलम्पिकमा सहभागिता जनाइसकेका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले गर्नुभएको थियो ।

पेट्रोलियम पदार्थमा भइरहेको मूल्य घटाउन सरकारसँग उज्यालो नेपाल पार्टीको माग

काठमाडौं । उज्यालो नेपाल पार्टीले पेट्रोलियम पदार्थमा भइरहेको मूल्य मूल्य घटाउन सरकारसँग माग गरेको छ ।

पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा लगाइएका कर र भन्सार शुल्कको तत्काल पुनरावलोकन गरी मूल्य घटाउन सरकारसँग माग गरेको हो ।

पार्टीले नेपाल र भारतबीचको मूल्यअन्तर कम गर्न विशेष संयन्त्र बताइएको छ । बजारमा हुने कालोबजारी, कृत्रिम अभाव र कार्टेलिङ रोक्न संयुक्त अनुगमन आग्रह गरेको छ ।

विद्युतीय सवारी र विद्युतीय चुलोको प्रयोगमा विशेष सहुलियत दिई इन्धन निर्भरता गरिदिन सरकारलाई आग्रह गरेको छ ।पार्टीले नेपाल आयल निगमको वास्तविक लागत र कर संरचनामा पूर्ण पारदर्शिता कायम गर्ने उल्लेख गरेको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३६, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु २४, आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ५०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ७०, काउली स्थानीय (तराई) प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १००, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटेसिमी प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु २५०, तीते करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु १००, चिचिन्डो प्रतिकिलो रु ६०, घिरौँला प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४५, भिन्डी प्रतिकिलो ७०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु १२०, चमसुर प्रतिकिलो रु ११०, तोरीसाग प्रतिकिलो रु ४०, मेथी प्रतिकिलो रु ११०, हरियो प्याज प्रतिकिलो रु १२०, बकुला प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु ३७०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १६०, ग्याठकोभी प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु २००, सौफको साग प्रतिकेजी रु ११०, पुदिना प्रतिकिलो रु १३०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १४०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु २५० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा प्रतिकेजी २६०, कागती प्रतिकेजी ३५०, अनार प्रतिकिलो रु ३८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २३०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १६०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुखकटहर प्रतिकिलो रु ११०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।

यसैगरी, एभोकाडो प्रतिकिलो रु ८००, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, माछे खुर्सानी प्रतिकिलो रु १००, खुर्सानी अकबरे प्रतिकिलो रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो लसुन प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु १५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १४०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ९०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व सङ्कलन

बागमती। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनाा बार्षिक लक्ष्यको ४१ दशमलव ४० प्रतिशतअर्थात् २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ ।

घरजग्गा रजिष्ट्रेशन ९मालपोत० र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयश्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँड आव २०८२र८३ को साउनदेखि चैत महिनासम्ममा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार रूपैयाँ राजस्व सङ्कलन हुने अनुमान गरिएकामा लक्ष्यको ५५ दशमलव ०७ प्रतिशतअर्थात् १७ अर्ब एक करोड दुई लाख ६३ हजार रूपैयाँ राजस्व सङ्कलन भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सञ्ज्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आव २०८२र८३ मा घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट सात अर्ब ७० करोड रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा नौ महिनामा तीन अर्ब ५२ करोड ६२ लाख ५३ हजार रूपैयाँ राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथ नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट आव २०८२र८३ मा आठ अर्ब २५ करोड रूपैयाँ अनुमान गरिएकामा पाँच अर्ब छ करोड ५२ लाख ६२ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ ।

प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार रूपैयाँ प्राप्त हुने अनुमान गरिएकामा सो अवधिसम्ममा पाँच अर्ब ६९ करोड छ लाख ७२ हजार रूपैयाँ सङ्कलन भएको छ । अन्तःशुल्क करबापत चार अर्ब तीन करोड ७९ लाख नौ हजार रूपैयाँ प्राप्त हुने अनुमान गरिएकामा एक अर्ब ९९ करोड १५ लाख ५६ हजार रूपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत १४ अर्ब ८१ करोड ९३ लाख रूपैयाँ प्राप्त हुने अनुमान गरिएकामा नौ महिनामा त्यसको ५३ दशमलव ६० प्रतिशतअर्थात् सात अर्ब ९४ करोड २७ लाख ५६ हजार रूपैयाँ प्राप्त भएको अधिकृत सञ्ज्यालले बताउनुभयो ।

चालु आवमा प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्वबाट चार अर्ब ७७ करोड ७४ लाख २५ हजार रूपैयाँ प्राप्त हुने अनुमान गरिएकामा नौ महिनामा लक्ष्यको ५९ दशमलव ८३ प्रतिशत अर्थात् दुई अर्ब ८५ करोड ८१ लाख ५६ हजार रूपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व सङ्कलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायतका कारण अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेको जनाइएको छ ।

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ ।

कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुने जानकारी दिनुभयो । हरेक शनिबार सञ्चालन हुने यो कार्यक्रम अवधिमा सवारीसाधन प्रवेश निषेध गरिनेछ ।

आफ्नो भौगोलिक तथा प्रशासनिक क्षेत्रभित्रका मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि कामपाले निरन्तर काम गरिरहेको छ । यसरी गरिने कामले काठमाडौँको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार संस्कृति पुस्तान्तरण हुँदै जाने अपेक्षा गरिएको छ ।

मानवीय तथा सवारी आवागमन चापका कारण पछिल्लो समय काठमाडौँका भित्री सहरी क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएका छन् । सांस्कृतिक तथा सामाजिक चलनलाई मौलिक स्वरुपमा निरन्तरता दिन कठिन हुन थालेको र काठमाडौँको पहिचानमा नकारात्मक प्रभाव पारेकाले कामपाले उक्त कार्यक्रम सञ्चालन गरेको कामपाको प्रवक्ता नवीन मानन्धरले बताउनुभयो ।

शनिबार असन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सीपको प्रदर्शनी, गायन, वादन तथा नृत्यलगायत क्रियाकलाप सञ्चालन हुनेछन् । त्यस क्षेत्रमा भएका जीवन्त मूर्त अमूर्त सम्पदा बचावट गर्ने, संरक्षण र प्रवर्द्धन गर्ने, परम्परागत धार्मिक, सांस्कृतिक, सामाजिक तथा परम्परागत व्यापारिक क्रियाकलापको प्रदर्शन र प्रवद्र्धनात्मक क्रियाकलाप सञ्चालन गरिने प्रवक्ता मानन्धरले जानकारी दिनुभयो ।

कार्यक्रम सञ्चालन अवधिमा जमलतर्फ कःमिलाछी (कमलाछी) सिंह ढोकाबाट असनतर्फ सवारी प्रवेश गर्न पाइने छैन । यस्तै भोटाहिटी कलश ढोकाबाट असनतर्फ प्रवेश पाइने छैन । वीर अस्पतालबाट महाबौद्ध स्तुपतर्फ सवारी प्रवेश निषेध हुनेछ । वटु गणेश र भोँसीको स्थित गणेश मन्दिरबाट महाबौद्ध स्तूपतर्फ प्रवेश पाइने छैन । इन्द्रचोकबाट सवारी प्रवेश रोकिनेछ ।

मच्छिन्द्र वहाल, मांस गल्लीबाट मोटरसाइकलसमेत प्रवेश रोकिनेछ । गोसिफबाट इनबहाल इनबहाल गणेश मन्दिर जान सकिनेछ । गणेश मन्दिरबाट पिलांतु गल्लीतर्फ प्रवेश निषेध हुनेछ । न्हकेटलाबाट असनतर्फ जान पाइने छैन । कान्तिपथतर्फ ज्याठा अन्नपूर्ण स्कुलबाट भमुलु गल्लीतर्फ प्रवेश रोकिनेछ ।

यो क्षेत्र भएर सवारी धनीहरुले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ । शनिबारका दिन असन आउने आगन्तुकहरुले धरहरा भूमिगत पार्किङ, जमल वहाल, दरबार हाइस्कुल तथा अन्य तोकिएका स्थानमा सवारीसाधन राखेर पैदलयात्राबाट असन प्रवेश गर्नुपर्ने जनाइएको छ ।

एमालेले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ ।शुक्रबार बसेको एमाले केन्द्रीय कार्यालयको बैठकले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको हो ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पार्टी स्थापना दिवसमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुका साथै पार्टीको यस अघि निर्धारित केही कार्यक्रमलाई संशोधन गरेको छ ।

बैठकले सबै जिल्ला कमिटीहरूले यही बैशाख ९ गते सबै जिल्लामा अनिवार्य रूपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
पार्टीका कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार, उपत्यकाको हकमा भने बैशाख ९ गते दिउँसो २ बजे केन्द्रीय कार्यालय, च्यासलमा कार्यक्रम आयोजना गरिने भएको छ ।

 

इटहरी गोल्डकप फुटबल प्रतियोगिता : युवा समाज गछिया मोरङ फाइनलमा

सुनसरी। १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगितामा पहिलो पटक सहभागी भएको युवा समाज गछिया मोरङ फाइनलमा प्रवेश गरेको छ ।

गत चैत ३० गतेदेखि रात्रिकालीन रूपमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबार इटहरीस्थित रङ्गशालामा सम्पन्न खेलमा युवा समाजले साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई ट्राइबेकरमा पाँच–चार गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

निर्धारित समयमा दुवै टोलीले तीन–तीन गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो । पेनाल्टीमा पनि दुवै टोलीले चार–चार गोल गरेपछि खेल सडनडेथमा पुगेको हो ।

पेनाल्टी सुटआउटमा मछिन्द्रका रोहित चन्द, दीपेश गुरुङ, देबेन्द्र तामाङ र तुसार विश्वकर्माले गोल गरेका थिए भने सनिश श्रेष्ठको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । युवा समाजका रामचन्द्र वाजी, विशाल तामाङ, शिशिर लेखी र सृजनराज गौतमले गोल गरेका थिए भने कप्तान सुजन चौधरीको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

खेलको २२औँ मिनेटमा युवा समाजका जन्मि धामीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ४६औँ मिनेटमा सुजन डङ्गोल र ५९औँ मिनेटमा पदम भट्टराईले थप गोल गरे ।

मच्छिन्द्र क्लबका पदम बुढाथोकीले खेलको १३औँ र १६औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । निर्धारित अन्तिम समयमा तुसार विश्वकर्माले थप एक गोल गरेका थिए ।

शुक्रबारको खेलका ‘प्लेयर अफ द म्याच’ युवा समाजका पदम भट्टराई घोषित हुनुभयो । उहाँलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक अनुरोध थापाले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधिका लागि फाइनल खेल आगामी वैशाख ७ गते हुनेछ । विजेता टोलीले रु १० लाख तथा उपविजेताले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख, सर्वाधिक गोलकर्तालाई रु २५ हजार तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस

अमेरिका। नेपालले प्रस्ताव गरेअनुसार पारित भएको अन्तरराष्ट्रिय आरोग्य दिवस शुक्रबार संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भव्य कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

सो कार्यक्रममा राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले आरोग्यताले गरिबी निवारण दिगो विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

राजदूत थापाले आरोग्यताको अन्तरसम्बन्ध मानसिक स्वास्थ्य र सार्वजनिक स्वास्थ्यसँग समेत हुने भएकाले यसलाई विश्वव्यापी रूपमा लैजान बल पु¥याएको बताउनुभयो । राष्ट्र सङ्घीय सामाजिक तथा आर्थिक मामिलासम्बन्धी उपमहासचिव ली जुन हुवाले मानव जीवनमा आरोग्यताले सामाजिक आर्थिकलगायतका विषयमा प्रभाव पार्ने भएकाले यो महत्त्वपूर्ण भएको बताउनुभयो ।

कार्यक्रममा गुरु एलपी भानु शर्माले आरोग्यताले बहुआयामिक आयामिक पाटोहरूलाई सम्बोधन गर्ने भएकाले यसलाई निरन्तर रुपमा अपनाउन अपिल गर्नुभयो । कार्यक्रममा हार्डवर्ड युनिभर्सिटीका प्रोफेसर टेलरले योग्यता र मानव जीवनको प्रभावको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न देशका कूटनीतिज्ञहरूले नेपालले संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरेको अन्तरराष्ट्रिय आरोग्य दिवसको प्रशंसा गरेका थिए । यसरी प्रशंसा गर्नेहरूमा पोर्चुगल, डोमिनिकन रिपब्लिक, अर्मेनिया, भारत, भुटान, श्रीलङ्का, बङ्गलादेशलगायतका कूटनीतिज्ञहरू उपस्थित थियो ।

राष्ट्रसङ्घले नेपालको प्रस्तावमा हालै पारित गरेको प्रस्तावअनुसार हरेक वर्षको अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसको रुपमा मनाइने भएको छ ।

आज विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौंँ, ५ वैशाखः सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि अप्रिल १८ तारिखका दिन यो दिवस मनाउन थालिएको हो ।

विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।

यस अवसरमा आज बिहान राजधानीमा सम्पदा पदयात्रा गर्न लागिएको वाग्मती प्रदेश सरकार अन्तर्गत संस्कृति र पर्यटन मन्त्रालय मातहतको पर्यटन कार्यालयले गहना पोखरीबाट भाटभटेनी मन्दिरसम्म पदयात्रा गर्ने कार्यालय प्रमुख पवनकुमार पोखरेलले राससलाई जानकारी दिनुभयो ।

पदयात्रा पछि हाँडीगाउँ क्षेत्रको सांस्कृतिक महत्वका बारेमा अन्तरक्रिया कार्यक्रम पनि गरिने जानकारी उहाँले दिनुभयो । कार्यक्रममा वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको सहभागिता रहने जनाइएको छ ।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, पाँच जना घाइते

बागमती। मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्युु भएको छ भने पाँच जना घाइते भएका छन् ।

धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित सडकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

हेटौँडाबाट फुर्केचौरतर्फ आउँदै गरेको ना३९प ३७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बाप्र०३–००५प ७२१९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा हाल नाम थर वतन खुल्न नसकेको ३६ वर्षीय पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । गम्भीर घाइते उक्त पुरुषको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

सोही दुर्घटनामा परी मकवानपुरको बागमती गाउँपालिका–६ निवासी ४० वर्षीय अन्तबहादुर बिसी, हेटौँडा उपमहानगरपालिका–१८ निवासी ३५ वर्षीय राजु थिङ र प्र०३–००५प ७२१९ नम्बरको मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका १८ निवासी ३८ वर्षीय सूर्यमणि खतिवडा र १२ वर्षीय प्रशान्त वाइबा घाइते भएका प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

यसैगरी मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–७ पाथीभरास्थित सडकमा अटो रिक्सालाई पछाडिबाट कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सडक छेउमा रोकिएको ना२ह ४५९२ अटोलाई हेटौँडाबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्र३–०१–०२३च ३०८१ नम्बरको कारले ठक्कर दिँदा अटोमा सवार बागमती गाउँपालिका–७ निवासी ४० वर्षीय चिनीमाया रुम्बाको मृत्युु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो ।

दुर्घटनामा गम्भीर घाइते रुम्बालाई उपचारको लागि हेटौँडा अस्पताल ल्याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो ।

सोही दुर्घटनामा परी अटो चालक मकवानपुरको बागमती गाउँपालिका–८ निवासी २५ पर्षीय यमन राई र बागमती गाउँपालिका–७ शान्तिपुर निवासी ११ वर्षीय सुबिन पुलामीमगर घाइते भएको र दुवै जनाको हेटौँडास्थित सिसीएम चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो ।

टोखाको ऐतिहासिक विस्केट जात्रा सम्पन्न

काठमाडौँ। धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको विस्केट जात्रा सम्पन्न भएको छ ।

सपनतीर्थ मेलासँगै सुरु भएको उक्त जात्रा आज साँझ लिङ्गो ढलाएसँगै सम्पन्न भएको हो । नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्ष झै यस वर्ष भव्य रूपमा जात्रा लागेको थियो ।

वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दुर जात्रा गरी औपचारिक विस्का जात्रा सुरु हुने गरेको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले बताउनुभयो । उहाँका अनुसार वैशाख २ गते बिहान टोखा नगरपालिका-२ गणेशस्थान थलागटोलमा सिन्दुर जात्रा गरेर नगर परिक्रमा गरिने रथलाई सोही दिन माथिल्लो लाछिमा लगेर बिसाइन्छ ।

वैशाख ३ गते बिहान ६ः०० बजे माथिल्लो लाछिमा सिन्दुर जात्रा गरेर उठाइएको रथ दिउँसो १ः०० बजे वडा नं ३ स्थित हासलटोलमा लगेर बिसाउने चलन छ । बिहान ६ः०० बजेदेखि सुरु भएको रथयात्रालाई गुठी, गुठियारको घरमा लगेर बाली उठाउने गरिन्छ । दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्म हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ ।

सोही दिन साँझ उक्त रथलाई हासलटोलबाट उठाएर सरस्वती चौरको पोखरीमा स्नान गराई इन्द्रायणी मसानकाली परिक्रमा गराई वडा नं ३ को सानो लाक्षिमा लगेर बिसाउने परम्परा रहिआएको गुथिः टोखाका अध्यक्ष नापितले बताउनुभयो । उहाँका अनुसार सोही दिन रातभर गुठियार र विभिन्न खलःहरू बसेर रातभर भजनकीर्तन गर्ने तथा जाग्राम बस्ने चलन छ ।

जात्राको अन्तिम दिन आज बिहान ६ः०० बजे सानोलाक्षीबाट सिन्दुर जात्रा गरी दिउँसो १ः०० बजे वडा नं २ मा रहेको गछेटोलमा लगेर रथ बिसाइन्छ ।

उक्त स्थानमा बिसाइएको रथलाई विधिसहित सरकारी पूजाका साथै सिन्दुर जात्रा गरेर विभिन्न खलःको उपस्थितिमा नगरपरिक्रमा गराई आआफ्नो देवालयमा भित्र्याउने चलन रहेको उहाँले जानकारी दिनुभयो । यससँगै टोखाको ऐतिहासिक चारदिने विस्केट जात्रा आज सम्पन्न भएको छ ।

सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय

काठमाडौँ: सर्वाेच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धि विवादमा दिएको निर्णयलाई महामन्त्री गुरुराज घिमिरेले न्यायपूर्ण भएको टिप्पणी गर्नुभएको छ । सर्वोच्चको आदेश आए लगत्तै उहाँले आफ्नो धारणा सार्वजनिक गर्दै कांग्रेसका सदस्यले आजसम्म देशमा विधि र पद्धतिका लागि अनवरत गरेको संघर्षको प्रतिफल भएको बताउनुभएको छ ।

“यस निर्णयले सबैको आत्मसम्मान र योगदानको कदर गरेको छ । यो कसैको हार वा जित होइन ।अब हामी नेपाली कांग्रेसका सबै साथी एकताबद्ध भई पार्टीको १५औँ महाधिवेशनलाई उत्साह र एकताका साथ सम्पन्न गर्न केन्द्रित हुनुपर्छ ।” उहाँले विगतका सम्पूर्ण वादविवादलाई विस्मृतिमा राखेर कांग्रेसको आन्तरिक एकतालाई सुदृढ पार्दै अघि बढ्नुपर्छ भन्नुभएको छ ।

यस्तै अर्का महामन्त्री प्रदिप पौडेलले कांग्रेसको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ “यस फैसला कसैका लागि पनि हार वा जितको विषय हुनुहुँदैन । एउटाको जीत वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो ।”

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १९० रुपैयाँ ४१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७५ पैसा र बिक्रीदर २१ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा कायम भएको छ ।

त्यस्तै ,साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १८ पैसा र बिक्रीदर १६ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४२ पैसा र बिक्रीदर २३ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ५८ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ १२ पैसा, ओमनी रियाल एकको खरिददर ३८५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ ।

आजको मौसम  : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने, मधेस प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको छ ।

आज राती देशका हिमाली भूभागमा साधरणतया बादल लाग्ने, कोसी प्रदेशको पहाडी र तराई लगायत बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आँखा स्वास्थ्य सेवामा ‘डिजिटल’ युगको सुरुआत: विराटनगर आँखा अस्पतालमा ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालन

विराटनगर । नेपालको आँखा स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन, गुणस्तर र पहुँच विस्तारमा नयाँ मानक स्थापित गर्ने ध्येयले विराटनगर आँखा अस्पतालमा अत्याधुनिक ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालन ल्याइएको छ । नेपाल नेत्रज्योति सङघद्वारा सञ्चालित सो अस्पतालमा अर्बिस इन्टरनेशनलसँगका सहकार्यमा लहान आँखा तथा कान स्वास्थ्य सेवा प्रणाली (लिक्स) अन्तर्गत पहिलो पटक ‘डिजिटल ट्रेनिङ हब’ थालनी गरिएको हो ।

नेपालमै पहिलो पटक स्थापना गरिएको सो ‘हब’ले विशेष गरेर आँखा स्वास्थ्य सेवामा परम्परागत शिक्षण पद्धतिबाट प्रविधिमा आधारित आधुनिक चिकित्सा तालिमतर्फ ऐतिहासिक फड्को मार्ने अपेक्षा गरिएको छ । अत्याधुनिक ‘सर्जिकल सिमुलेटर’, ‘वेट ल्याब’, ‘भर्चुअल लर्निङ सिस्टम’ तथा ‘साइबर साइट’ मार्फत उपलब्ध विश्वव्यापि टेलि–मेन्टोरिङ सुविधासहित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अझ सुरक्षित, भरपर्दो र आत्मविश्वासका साथ सो तालिम केन्द्रबाट सीप विकास गर्न सक्ने जनाइएको छ ।

लिक्स परियोजनाअन्तर्गत सञ्चालन हुने तालिममा नेपालभरिका आँखा अस्पताल, मेडिकल कलेज, निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिका साथै अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाका पेसाकर्मीहरूको समेत सहभागिता रहनेछ । तालिमहरू विश्वस्तरका अनुभवि विशेषज्ञहरूद्वारा सहजीकरण गरिने नेपाल नेत्रज्योति सङघले जनाएको छ ।

यस केन्द्रले स्वास्थ्य सेवा सुदृढीकरणसँगै अन्तर्राष्ट्रिय प्रशिक्षार्थी आकर्षित गरी चिकित्सा शिक्षा पर्यटन प्रवर्द्धन गर्ने तथा महँगो विदेश तालिममा निर्भरता घटाउने अपेक्षा गरिएको छ । साथै यससँगै विराटनगर आँखा अस्पताल एक अग्रणी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तालिम केन्द्रका रूपमा स्थापित हुने विश्वास गरिएको छ ।लहान आँखा तथा कान स्वास्थ्य सेवा प्रणालीका (लिक्स) प्रमुख प्रशासक सुधिर ठाकुरका अनुसार लिक्स अन्तर्गत सञ्चालित यस सञ्जालले दुई अस्पताल तथा ४० भन्दा बढी आँखा उपचार केन्द्रमार्फत सहरीदेखि दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्दै आएको छ । सन् २०२५ मा मात्र १४ लाखभन्दा बढी आँखा सेवा प्रदान गरिएको छ, यसमा १ लाख ३२ हजारभन्दा बढी दृष्टि पुनः स्थापना शल्यक्रिया तथा ७ लाख ६४ हजारभन्दा बढी सामुदायिक सेवा समावेश छन् । स्थापना कालदेखि हालसम्म १ करोड ६६ लाखभन्दा बढी सेवा र झन्डै २५ लाख शल्यक्रिया भइसकेका छन् ।

नेपालको आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धि हासिल हुने अपेक्षा गरिएको सो ‘हब’को कोशी प्रदेशका स्वास्थ्य मानबहादुर लिम्बू तथा अर्बिस इन्टरनेशनलकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत क्याथलिन ए। शेरविनले हालै संयुक्त रूपमा शुभारम्भ गरे ।

सो अवसरमा नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्त, महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र, विराटनगर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्मनारायण चौधरी तथा अर्बिस इन्टरनेशनल भारतका देशीय निर्देशक डा ऋषिराज बोहरा लगायतको उपस्थिति थियो । ‘डिजिटल ट्रेनिङ हब’ले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन, गुणस्तर र पहुँच विस्तारमा नयाँ मापदण्ड स्थापित गर्दै रोकथामयोग्य अन्धोपन न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

विलबिजक नभएको काँचो केरा सहित चार जना नियन्त्रणमा पक्राउ

सुनसरी । सुनसरी हरिनगर गाउँपालिका–४ भुटहा बजारबाट प्रहरीले ११ लाख रुपैयाँभन्दा बढीको काँचो केरासहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गाडीकाे चालक मोरङग रतुवामाई गाउँपालिका–८ का २२ वर्षीय प्रल्हाद दाहाल, मोरङग उर्लाबारी नगरपालिका–८ का २४ वर्षीय ज्ञानबहादुर भट्टराई, सुनसरी भोक्रा हानरसिंह गाउँपालिका–२ का २७ वर्षीय सेराज मियाँ र कोशी गाउँपालिका–८ भण्टाबारीका ६० वर्षीय रामेश्वर दास रहेको जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रहरी उपरीक्षक केशबकुमार थेबेले जानकारी दिए।

सूचनाको अधारमा खटिएको प्रहरीको टोलीले घुस्कीबाट इनरुवातर्फ आउँदै गरेको प्र १–०२–००२ च ७४४९ र प्र १–०१–००२ च १८०१ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा विलबिजक नभएको काँचो केरासहित नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

बरामद भएको सामग्रीको ११ लाख २० हजार रुपैयाँ मुल्याङ्कन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरामद भएको केरा र सवारी आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेज बुझाइएको प्रहरीले जनाएको छ ।

सातै प्रदेशका अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणका लागि परियोजना सुरु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) सँगको सहकार्यमा सातै प्रदेशमा अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणका लागि परियोजना सञ्चालन गर्ने भएको छ।

यसअन्तर्गत सात वटै प्रदेशमा गरी कम्तीमा २० वटा अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गरिने जानकारी कार्यक्रममा गराइएको थियो । सात वटा प्रदेशका १७ समुदायका सांस्कृतिक परम्परालाई यसमा समेटिने भएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा यस्तो घोषणा गरिएको हो।

कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपाल समृद्ध सांस्कृतिक परम्परा रहेको मुलुक भएको उल्लेख गर्नुहुँदै अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो । प्रकृतिको पूजा गरेर पानी पर्ने, घैला फुटाएर पानी पर्नेलगायत विश्वास नेपालका विभिन्न जातजातिमा रहेको उनले सुनाए।

अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण समुदाय जागृत भएर लागेपछि मात्र हुने सचिव निरौलाको भनाइ थियो । यसका लागि मन्त्रालयले आवश्यक नीति, कानुन बनाउने उनकाे प्रतिबद्धता थियो ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि जाको डु तोइटले नेपालमा रहेका महत्वपूर्ण अभौतिक सांस्कृतिक सम्पदालाई सूचीकरणका लागि यो परियोजनाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । यसका लागि समुदालाई जागरण गराउन परियोजनाले मद्दत मिल्ने उको भनाइ थियो ।

मन्त्रालयका संस्कृति महाशाखा प्रमुख डा. सुरेशसुरस श्रेष्ठले अभौतिक सांस्कृतिक सम्पदालाई कसरी सूचीकरण गराउने भन्ने विषयमा प्रस्तुति दिएका थिए। नेपालमा सूचीकरण भएपछि मात्र युनेस्कोमा सूचीकरण गर्ने व्यवस्था भएकाले राष्ट्रिय सूचीकरणलाई प्राथमिकता दिन आह्वान गरेका थिए।

सरकारले पहिलो वर्ष आह्वान गरेको सूचीकरण आवेदनमा १०५ वटा आवेदन परेकामा ललितपुरको योमरी सूचीकरण हुन सफल भएको थियो । १०४ वटा आवेदनले प्रक्रिया पूरा नगरेकाले यस वर्ष फेरि तिनलाई प्रक्रिया पुग्ने गरी ल्याउन सहजीकरण भइरहेको सहसचिव श्रेष्ठले जानकारी गराए। चालु आर्थिक वर्षको गत चैत १५ गतेसम्म अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणका लागि आह्वान भएकामा १२ वटा मात्र आवेदन परी त्यसका बारेमा मूल्याङ्कन र सिफारिसको काम भइरहेको उनले सुनाए।

नेपालले सन् २०१० मै अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि अनुमोदन गरेको थियो । अनुमोदन गरेको छ वर्षपछि अर्थात् सन् २०१६ मा यससम्बन्धी आवधिक प्रतिवेदन पेस गर्नुपर्ने भए पनि संयुक्त राष्ट्रसङ्घले निर्देशिका परिवर्तन गरेका कारण त्यसको छ वर्षपछि गत वर्ष सरकारले प्रतिवेदन पेश गरेको थियो।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००३ अक्टोबर १७ मा यो महासन्धि पारित गरेको थियो । सन् २००६ देखि कार्यान्वयनमा आएको महासन्धिलाई नेपालले भने सन् २०१० मा अनुमोदन गरेको थियो । अनुमोदन गरेको छ वर्षपछि प्रतिवेदन पेश गर्नुपर्ने नियमअनुसार तयारी गरिरहेका बेला संयुक्त राष्ट्रसङ्घले यससम्बन्धी निर्देशिका परिवर्तन गरेको थियो । निर्देशिका परिवर्तन गरेको ६ वर्षपछि प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था बमोजिम गत वर्ष मन्त्रालयले प्रतिवेदन पेस गरेको हो।

नेपाल मूर्त, अमूर्त मौलिक सांस्कृतिक सम्पदामा धनी भए पनि अझैसम्म त्यसको सूचीकरणले व्यापकता पाउन सकेको छैन । गत वर्ष ललितपुरको योमरी राष्ट्रिय सूचीकरण भई युनेस्कोमा पनि सूचीकरणका लागि पठाइएको छ । अब सरकारले प्राथमिकताका साथ अभौतिक अर्थात् अमूर्त सांस्कृतिक सम्पदाको सूचीकरण गर्ने जनाइएको छ।

गर्मी र सुक्खा मौसम सुरुसँगै सिरहामा आगलागीका घटनामा तीव्र वृद्धि: एक महिनामा १९ स्थानमा आगलागी

सिरहा। गर्मी र सुक्खा मौसम सुरुसँगै सिरहामा आगलागीका घटनामा तीव्र वृद्धि भएको छ ।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको गत चैतको विवरणअनुसार एक महिनामा जिल्लाका विभिन्न १९ स्थानमा विद्युत् सर्टलगायत कारणले आगलागीका घटना भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार चैतमा तीन वटा विद्युत् सर्टसहित १९ वटा आगलागीका घटना भएका हुन् ।

यी घटनाहरूबाट करिब रु ३३ लाख २७ हजार बराबरको आर्थिक क्षति भएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रण र उद्धारका लागि प्रहरीले १८२ जना जनशक्ति परिचालन गरेको छ ।

आगलागीबाहेक जिल्लामा अन्य प्राकृतिक विपद्का घटनाबाट पनि मानवीय क्षति भएको छ । पानीमा डुबेर एक र करेन्ट लागेर एक जनाले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिनुभयो । उहाँका अनुसार जङ्गली जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् भने हावाहुरीका कारण एक ठाउँमा भौतिक क्षति पुगेको छ ।

यसैबीच, विपद्सँगै जोडिएको वातावरणीय जोखिम र प्राकृतिक सम्पदाको अवैध दोहन नियन्त्रणतर्फ पनि प्रहरीले सक्रियता देखाएको छ । चैत महिनामा अवैध रूपमा नदीजन्य वा वन पैदावार उत्खननमा संलग्न पाँच वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसबाट रु एक लाख जरिवाना सङ्कलन गरी राजस्व कार्यालयमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिनुभयो । विपद्को समयमा तत्काल प्रतिकार्यका लागि जिल्लाभरका विभिन्न युनिटबाट प्रहरी जनशक्ति परिचालन गरिएको उहाँले बताउनुभयो ।

प्रहरीले आगलागी नियन्त्रणका लागि स्थानीय तहका दमकल र स्थानीय बासिन्दासँगको समन्वयमा कार्य गर्दै आएको छ । सुक्खा मौसम अझै बाँकी रहेकाले आगलागीका घटना बढ्न सक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन र आगोको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

सशस्त्र प्रहरी रौतहटद्वारा स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद

पर्सा । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले स्रोत नखुलेको रू पाँच लाख २२ हजार ४९० सहित दुई जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) बेलबिछवाबाट खटिएको सीमा गस्ती टोलीले रौतहटको राजदेवी नगरपालिका–८ बाट स्रोत नखुलेको रकमसहित भारतको विहार राज्य सितामढीका नजिर नटको साथबाट रु तीन लाख २२ हजार र सर्लाही जिल्ला स्थायी घर भएका मुम्ताज अन्सारीको साथबाट रू दुई लाख ४९० सहित पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गौरका गुल्मपती एवं सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसागर विष्टले दुवै जानको साथबाट बरामद गरिएको रकम गौर भन्सार कार्यालयमा बुझाएर आवश्यक अनुसन्धान जारी रहेको जानकारी दिए।

सशस्त्र प्रहरीले निजहरू सवार रहेको विआर ०६ए ६२९२ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटरका गणपति रामहरि अधिकारीले सशस्त्र प्रहरीले पछिल्ला दिनमा सीमा क्षेत्रमा सक्रियता बढाएसँगै अवैध सरसमान बरामद हुने क्रम बढेको बताए।

सशस्त्र प्रहरीले आजै रौतहटका विभिन्न स्थानबाट अवैध भारतीय ब्रोइलर कुखुरा नियन्त्रणमा लिएर नष्ट गरेको जनाएको छ। सशस्त्र प्रहरीले जिल्लाको परोहा नगरपालिकामा नरकटिया सीमा इलाकामा सानो सीमा स्तम्भ नं ३५५÷२ अन्तर्गत भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध भारतीय ब्रोइलर कुखुरा ५४ थान नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरेको जनाएको छ।

धार्मिकस्थल पाथीभरामा चढाइएको सुनचाँदी प्रशोधनः ५० तोला सुन प्राप्त

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन तथा चाँदी प्रशोधन (रिफाइन) गरिएको छ । करिब दुई वर्षको अवधिमा सङ्कलन भएका सुन तथा चाँदी पाथीभरा क्षेत्र विकास समितिले रिफाइन गरेको हो।

समितिका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलका अनुसार वि.सं. २०८० पुस २५ गतेदेखि विसं २०८२ फागुन २५ गतेसम्म मन्दिरमा चढाइएका सुनचाँदी सङ्कलन गरी प्रशोधन गरिएको हो । उक्त कार्य पाथीभरा सुनचाँदी कला व्यवसायी सङ्घको प्राविधिक सहयोगमा सम्पन्न गरिएको समितिले जनाएको छ।

समितिका सूचना अधिकारी नवीन निरौलाका अनुसार करिब २६ महिनाको अवधिमा सङ्कलित ६७ तोला सुन र ४३ किलोग्राम चाँदी रिफाइन गरिएको छ । सुनचाँदी व्यवस्थापन उपसमितिका संयोजक चेतराज घिमिरेले ६७ तोला प्रशोधनपछि ५० तोला ८५ लाल बराबरको २४ क्यारेट (एक नम्बर) सुन प्राप्त भएको जानकारी दिए। उनका अनुसार ४३ किलोग्राम चाँदी रिफाइन गर्दा दुई हजार ५४ तोला ३५ लाल बराबरको शुद्ध चाँदी उत्पादन भएको छ।

भण्डारणमा रहेका सुनचाँदी लिलामीका लागि नयाँ कार्यविधि तयार गरी यथाशीघ्र बिक्री प्रक्रिया अघि बढाउने तयारी भइरहेको कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए। पछिल्लो समय सुनको मूल्यमा भइरहेको उतारचढावका कारण लिलामी प्रक्रिया प्रभावित भएको जनाउँदै उनले समितिमार्फत प्रभावकारी र व्यवस्थित प्रणाली अपनाउने तयारी भइरहेको बताए।

आज पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौँ । आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । कतैकतै तातो बढिरहेका बेला आज पनि केही जिल्लामा मध्यमसम्म वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले अझै केही दिन कोशीलगायत केही क्षेत्रमा मौसम बदली भइरहने र तराईका क्षेत्रमा तातो बढ्ने जानकारी दिए।

उहाँले मौसम छिनछिनमै परिवर्तन भइरहने भएकाले आधिकारिक सूचनाबारे जानकारी राख्न अनुरोध पनि गरे । उनले भने, “मधेस प्रदेशलगायत तराई क्षेत्रमा तापक्रम बढ्ने छ, तर कोशीलगायत उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने बदली रहने छ ।”

उनका अनुसार आज पछिल्लो तीन घण्टामा चितवनमा २२.६, तनहुँमा २५.८, कास्कीमा १४, लमजुङमा ८.८, नवलपरासीपूर्वमा २० मिलीमिटर वर्षा भएको छ । आज खोटाङमा पनि दिउँसो २५ मिलीमिटर वर्षा भएको थियो ।

शनिबार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यता मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको जनाइएको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

एमालेका घोषित आन्दोलन स्थगित

काठमाडौँ। नेकपा (एमाले) केन्द्रीय कार्यालयको आजको बैठकले यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमलाई स्थगन गर्दै पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ ।सो पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा भएकोे बैठकले पार्टी स्थापना दिवसमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुका साथै पार्टीको यसअघि निर्धारित केही कार्यक्रमलाई संशोधनको निर्णय गरेको हो ।

बैठकले सबै जिल्ला कमिटीहरूले यही वैशाख ९ गते सबै जिल्लामा अनिवार्य रूपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार उपत्यकाको हकमा वैशाख ९ गते दिउँसो २ः०० बजे केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरिनेछ ।

बैठकले पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीको सन्दर्भमा यही वैशाख ७ र १२ गते गर्नेगरी तय भएका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

अध्यक्ष ओलीले सर्वाेच्च अदालतको आदेशमा गत चैत २६ गते हाजिरी जमानीमा रिहा भएपछि एमालेले आन्दोलनका कार्यक्रम स्थगन गरेको हो ।

विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसमक्ष ‘प्रिन्सिपल एसोसियएसन अफ नेपाल’ (पान)ले विद्यालय शिक्षा ऐन छिटो जारी गरिनुपर्नेलगायत विद्यालय क्षेत्रका सुधारसँग सम्बन्धित विषयमा ध्यानाकर्षण गराएको छ ।सो एसोसिएसनका अध्यक्ष सुदामप्रसाद गौतमको नेतृत्वमा गएको टोलीले मन्त्री पोखरेललाई १० बुँदे सुझावपत्र हस्तान्तरण गरेको हो ।

पानले पर्याप्त लगानी गरेर विद्यालय शिक्षामा रुपान्तरण ल्याउन, सामुदायिक विद्यालयमा पुनःजागरण अभियान सञ्चालन गर्न, परीक्षा प्रणालीलाई डिजिटल प्रविधिमा आधारित सरलीकृत बनाउन, समयानुकूल र व्यवहारिक पाठ्यक्रम बनाउन, विद्यालयलाई डिजिटल लर्निङ हब बनाउन, शिक्षकको क्षमता विकास र उत्प्रेरणा दिन, शिक्षक दरबन्दीको असन्तुलन मिलाउन सुझाव दिएको छ ।सुझाव ग्रहण गरेपछि मन्त्री पोखरेलले शिक्षा सुधारका लागि उपयोगी सुझावहरूलाई मनन् गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सङ्खुवासभामा जडीबुटी निकासीबाट चार करोड बढी राजस्व सङ्कलन

सङ्खुवासभा। जिल्ला वन कार्यालयले चालु आर्थिक वर्षमा जडीबुटी बिक्री तथा निकासीबाट रु चार करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

जिल्लामा चालु आर्थिक वर्ष २०८२/८३ मा चिराइतो, मजिटो र रुद्राक्ष निकासीबाट रु चार करोड २१ लाख ६२६ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार रुद्राक्ष, चिराइतोलगायत विभिन्न बहुमूल्य जडीबुटीबाट उक्त आम्दानी भएको हो । साउनयता रु १२ लाख ८४ हजार ५५२ किलो रुद्राक्ष, चिराइतो, मजिटोलगायत जडीबुटी निकासीबाट रु चार करोड २१ लाख ६२६ राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी डम्बरबहादुर भण्डारीले जानकारी दिनुभयो ।

चालु आवमा जिल्लाबाट १४ लाख ९६ हजार ६४७ क्युफिट काठ निकासी भएको वन कार्यालयले जनाएको छ । त्यसैगरी जडीबुटी निकासीबाट प्रदेश शुल्कबापत रु ८३ लाख ३८१ राजस्व सङ्कलन भएको सूचना अधिकारी भण्डारीले बताउनुभयो ।

गत आर्थिक वर्षमा चिराइतो ६० हजार ८६७ किलो, रुद्राक्ष १२ लाख ६६ हजार ८९२ किलो, मजिटो १० हजार ३०० किलो, टिमुर प्रजाति एक हजार २०० किलो निकासी भएको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार जिल्लामा पाइने प्राकृतिक जडीबुटीको माग स्वदेशसँगै विदेशमा पनि बढ्दै गएकाले राजस्व सङ्कलनमा वृद्धि भएको हो ।

विशेषगरी रुद्राक्ष र चिराइतो सङ्खुवासभाका प्रमुख आम्दानीका स्रोत बनेका छन् । यी जडीबुटी स्थानीय बासिन्दाले सङ्कलन गरी बिक्री गर्ने गरेकाले स्थानीयको आयआर्जनमा समेत टेवा पुगेको छ । वन कार्यालयले अवैध रूपमा जडीबुटी निकासी रोक्न कडाइ गरिएको जनाएको छ ।

वन कार्यालयले दिगो व्यवस्थापनलाई प्राथमिकता दिँदै जडीबुटीको संरक्षण र उत्पादन वृद्धि गर्ने कार्यक्रम पनि गरिरहेको जनाएको छ । जिल्लामा जडीबुटीको प्रचुर सम्भावना रहेकाले यसको वैज्ञानिक व्यवस्थापन र बजारीकरणमा थप ध्यान दिनसके आगामी दिनमा अझै बढी राजस्व सङ्कलन हुने अपेक्षा छ ।

म्यानमारकी पूर्व राष्ट्रपति मिन्टलाई आममाफी, नेतृ सुकीको सजाय कटौती

याङ्गुन। सन् २०२१ को सैन्य विद्रोहपछि पक्राउ परेका म्यानमाका पूर्व राष्ट्रपति विन मिन्टलाई शुक्रबार सामूहिक आममाफीअन्तर्गत रिहा गरिएको छ ।

त्यसैगरी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको सजायँ पनि घटाएको उहाँको निकट स्रोतले जनाएको छ । मिन्ट र ८० वर्षीया नोबेल शान्ति पुरस्कार विजेता सुकीले एक दशक लामो नागरिक शासनको प्रयोगमा म्यानमाको नेतृत्व गरेका थिए ।

सन् २०१८ देखि सेवा गरेका पूर्व राष्ट्रपतिलाई सैन्य शासनपछि सजाय सुनाइएको र शुक्रबार रिहा गरिएको उहाँको पार्टीका प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी गराएका छन् ।

यसैबीच, सुकीलाई हिरासतमा राखिएको छ । अधिकारवादी समूहहरूले उहाँको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीलाई कमजोर पार्ने राजनीतिक रूपमा प्रेरित मुद्दामा सुकीलाई हिरासतमा राखिएको भए पनि उहाँको सजाय कटौती गरिएको सुकी निकट स्रोतले जनाएको छ।

सुरक्षाका कारण नाम नबताउने सर्तमा नेतृ सुकीको कानुनी मुद्दासँग निकट एक स्रोतले एएफपीसँग भन्यो, “सुकीको २७ वर्षको जेल सजाय आममाफीको एक हिस्साका रूपमा काटिएको हो ।”

स्रोतका अनुसार सुकीको सरकारलाई अपदस्थ गर्ने र गत हप्ता नागरिक राष्ट्रपतिको रूपमा शपथ लिने ‘कु’ पक्षधर नेता मिन आङ ह्लाइङले घोषणा गरेको ४० वर्षभन्दा कम सजायको बाँकी अवधिलाई छ भागको एक भाग घटाउने सामुहिक आममाफीको आदेश अन्तर्गत नेतृ सुकीको सजाय कटौती लागू हुन्छ ।

रूपान्तरण आदेशअघि उहाँले कति जेल सजाय भुक्तानी गर्नुभएको थियो भन्ने बिषयमा स्पष्ट जानकारी प्राप्त भएको छैन ।

बिना सर्त रिहा गरिनुपर्न

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले ’कू’ पछि अन्यायपूर्ण रूपमा पक्राउ परेका सबैलाई तत्काल र बिना सर्त रिहा गरिनु पर्ने बताउनुभएको छ ।

मिन्टले राष्ट्रपतिको रूपमा तत्कालिन सरकार प्रमुख सुकीको नेतृत्वमा संवैधानिक भूमिकामा जिम्मेवारी सम्हाल्नुसभएको थियो जसलाई सैन्य मस्यौदा संविधान अन्तर्गत शीर्ष पद धारण गर्न प्रतिबन्ध लगाइएको थियो।

वर्तमानु राष्ट्रपति ह्लाइङको कार्यालयले जारी गरेको आधिकारिक वक्तव्यमा उहाँले मिन्टलाई माफी दिएको उल्लेख गरिएको छ, जसलाई सुकीजस्तै धेरै अपराधमा दोषी ठहर गरिएको थियो ।

‘कू’ पछि विघटन गरिएको एनएलडीका प्रवक्ता म्यो न्युन्टले एएफपीलाई बताउनुभयो, “मैले पूर्व राष्ट्रपतिलाई राजधानी नेपिडोमा आफ्नी छोरीको घरमा भेट्दा उहाँ ‘स्वस्थ’ रहनुभएको पाएँ ।”

सशस्त्र बलको प्रमुखको रूपमा पाँच वर्ष शासन गरेपछि ह्लाइङलाई गत शुक्रबार संक्रमणकालीन लोकतन्त्रमा नागरिक नेताको रूपमा नियुक्त गरिएको थियो।

यो परिवर्तनसँगै जुन्ताको ‘कू’ पछिका केही निर्णयहरू उल्टाइएको छ । यसलाई वर्तमान् सरकारी नेतृत्वले मेलमिलापको रूपमा प्रचार गरेको छ, तर आलोचकहरूले यसलाई आफूलाई कानुनीरूपमा बलियो बनाउने र स्थापित गर्ने शैनिक शासकको रणनीतिक प्रयासका रूपमा वर्णन गरेका छन् ।

म्यानमाले नयाँ वर्षको उपलक्ष्यमा आम माफीका रूपमा घोषणा गरिएको चार हजार ३०० भन्दा बढी कैदीलाई रिहा गर्ने र सबै मृत्युदण्डको सजाय घटाउने ह्लाइङले शुक्रबार घोषणा गर्नुभएको छ।

मिन्टको माफी सम्भवतः अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण घोषणा हो । याङ्गुनको इन्सेन कारागारको काँडेतारको सीमा बाहिर एएफपीका पत्रकारहरूले पुरस्कार विजेता फिल्म निर्माता शिन डेवेलाई रिहा गरिएको देखेको बताउनुभएको छ।

रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार उहाँलाई सन् २०२४ मा आजीवन कारावासको सजाय सुनाइएको थियो भने पछि यसलाई १५ वर्षमा परिवर्तन गरिएको थियो । ‘आतंकवादमा संलग्नता’ भएको अभियोगमा यो एक पत्रकारमाथिको ‘कठोर’ सजाय थियो ।

“म भाग्यमानी भएपनि मेरा अभागी साथीहरू अझै अन्यायमा परेका छन् । परिवारमा फर्कंदा पनि मैले मेरा साथीहरूका लागि आँखाभरि आँसु लिएर फर्कँदैछु,” प्रसिद्ध वृत्तचित्रकार डेवले भन्नुभएको छ।

‘म्यानमाको इन्स्टिच्युट फर स्ट्राटेजी एन्ड पोलिसी म्यान्मा’ले गत वर्षको अन्त्यतिर ’कू’ पछि आममाफीका क्रममा रिहा भएका राजनीतिक बन्दी १४ प्रतिशतभन्दा कम व्यक्ति रहेको बताएको थियो ।

राजनीतिक कैदीहरूका लागि सहायता गर्न बनेको एक सङ्गठनका अनुसार ‘कू’ पछि राजनीतिक कारणले ३० भन्दा बढी मानिसहरूलाई हिरासतमा लिइएको छ।

पाँच वर्षअघि मिन्ट र सुकीको निर्वाचित सरकारलाई ह्लाइङले आम निर्वाचनमा धाँधली गरीसत्तामा आएको आरोप लगाउँदै सैनिक शासन लागु गरिएको घोषणा गर्नुभएको थियो । उहाँले सरकारको साँचो लिँदा एक बर्षभित्र निर्वाचन गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । जुन्ता सरकारले एनएलडी लगायतका विपक्षी दलहरूको समूहले प्रजातन्त्रको पक्षमा गरेका गतिविधिलाई ‘आतङ्कवादी’को संज्ञा दिएको थियो ।

पाँच बर्ष पहिले एनएलडीको विजयमा धाँधलीको आरोपबारे निर्वाचन अनुगमनकर्ताहरूले भनेका थिए, “निर्वाचनमा धाँधलीको कुनै प्रमाण छैन र म्यानमाको इतिहासको अधिकांश समय शासन गरेको सेनाले उहाँको भारी विजयपछि आफ्नो कमजोर प्रभावको बारेमा चिन्तित भएपछि सत्ता फिर्ता लिएको हो।”

सेनाले सत्ता कब्जा गरेपछि म्यान्मामा गृहयुद्ध सुरु भएको थियो । त्सपछि प्रजातन्त्र समर्थक छापामार र लामो समयदेखि सक्रिय जातीय अल्पसङ्ख्यक लडाकूहरू सेनाविरुद्ध खडा भए।

गत जनवरीमा विपक्षीहरूले बहिस्कार गरेको जुन्ता निकट सङ्गठनको चुनाव सम्पन्न भएको थियो, जसले सन् २०२० को चुनावको परिणामलाई उल्ट्याएको थियो ।

ललितपुरमा शनिबार रातो मच्छिन्द्रनाथको रथारोहन हुने

ललितपुर। वर्षा र सहकालका देवताको रूपमा पूजाअर्चना गरिने रातो मच्छिन्द्रनाथको रथारोहन शनिबार हुने भएको छ ।

रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको महत्त्वपूर्ण र लामो समयसम्म चल्ने जात्राका रूपमा लिने गरिएको छ । हाल पुलचोकमा रथ निर्माण भइरहेको छ ।

रथ निर्माण अन्तिम चरणमा पुगेको रथ निर्माणसँग सम्बन्धित बाराही ञँवालले जनाएको छ । ञँवालका नाइके प्रेम महर्जनका अनुसार शनिबार (भोलि)सम्म रथ निर्माण सम्पन्न गरी पात्रोअनुसार बेलुकासम्म रथारोहन गरिनेछ । “परम्पराअनुसार रथ तयार भएपछि यसको टुप्पामा गजुर (ब्यामो) राखिन्छ, जुन रथ निर्माण सम्पन्न भएको सङ्केत मानिन्छ”, उहाँले भन्नुभयो ।

गजुर राखेपछि ललितपुरस्थित मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुलचोकमा ल्याइनेछ । मूर्ति ल्याउने क्रममा गजुरको पल्टनसहित रातो मच्छिन्द्रनाथको पुजाहारी जलपानेजु र खलपानेजुको सक्रिय सहभागिता रहन्छ । मन्छिन्द्रनाथको मूर्तीलाई पूजागरी रथमा चढाइन्छ ।

रथारोहन सम्पन्न भएपछि पात्रोको तिथिअनुसार वैशाख ८ गते बेलुका रथ तान्ने कार्यक्रम रहेको ञँवालका नाइके महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार सोही दिन रथलाई गाबल पुर्‍याइनेछ ।

रातो मच्छिन्द्रनाथ जात्रा उपत्यकाको सबैभन्दा लामो समयसम्म सञ्चालन हुने धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छ । प्रत्येक वर्ष श्रद्धा र उत्साहका साथ मनाइने यस जात्राले स्थानीय समुदायमा विशेष महत्त्व राख्दै आएको छ ।

कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ

झापा। झापाको कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त टोलीले आज बिहान करिब ११ः३० बजे गोप्य सूचनाका आधारमा झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ जाँदै गरेको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका व्यक्तिबाट ५६३ दशमलव ६२० ग्राम खैरो हिरोइन बरामद गरिएको छ । साथै उनीहरूको साथबाट तीन थान मोबाइल र मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

प्रनाउ खड्काका अनुसार पक्राउ पर्नेमा झापा गाउँपालिका–६ बस्ने २२ वर्षीय साफिक उलमियाँ र भारतको डिगलबैंक थाना–१ बस्ने २२ वर्षीय निसार आलम रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ

महेन्द्रनगर। कञ्चनपुर प्रहरीले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल रसायलीलाई पक्राउ गरेको छ ।महेन्द्रनगर नगरविकास समिति (हाल भीमदत्त नगरविकास समिति) को जग्गा हिनामिना गरी भ्रष्टाचार गरेपछि अदालतबाट कैद र जरिवाना सजाय भएका भीमदत्त नगरपालिका–१३ का ४४ वर्षीय रसायलीलाई घर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले विशेष अदालत काठमाडौँको २०८१ वैशाख २४ गतेको फैसलाले भ्रष्टाचार मुद्दामा फरार रहेका रसाइलीलाई चार वर्ष कैद सजाय र रु ७६ लाख ८२ हजार ४६६ जरिवाना तोकिएको बताउनुभयो ।

“रसायलीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत कञ्चनपुर हुँदै कारागार पठाएको छ,” प्रवक्ता शाहीले भन्नुभयो, “फरार अभियुक्त पक्राउ गर्ने कामलाई जिल्लाभर तीव्रता दिएका छौँ ।”

यसअघि कञ्चनपुर प्रहरीले सोही मुद्दामा फरार रहेका नगर विकास समितिका पूर्वअध्यक्ष पल्टु रानालाई पक्राउ गरी कारागार चलान गरिसकेको छ ।विशेष अदालत काठमाडौँबाट पाँच वर्ष ११ महिना कैद र रु ८५ लाख जरिवाना तोकिएका पल्टुलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले बेलौरी क्षेत्रबाटै पक्राउ गरी कारागार चलान गरेको थियो ।

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा २५ करोड बढी राजस्व

जुम्ला। जुम्लास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु २५ करोड २८ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ ।चालु आवको साउनदेखि चैत मसान्तसम्म कार्यालयले रु २९ करोड ३० लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८४ दशमलव ४० प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख कर अधिकृत प्रभात घिमिरेले चालु आवको चैतसम्म आयकरतर्फ रु २१ करोड ७३ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु १८ करोड १८ लाख ५७ हजार सङ्कलन भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार भ्याटतर्फ रु पाँच करोड ४० लाख २७ हजार सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु पाँच करोड ३२ लाख ३९ हजार अर्थात् ९८ दशमलव ५४ प्रतिशत राजस्व सङ्कलन भएको छ ।यसैगरी अन्तशुल्कतर्फ रु एक करोड ३७ लाख तीन हजारमध्ये ७५ दशमलव सात प्रतिशत राजस्व सङ्कलन भएको छ । बहालकरतर्फ ८० लाख ११ हजार सङ्कलन गर्ने लक्ष्य राखिएकामा ६६ दशमलव ४० प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत घिमिरेले उल्लेख गर्नुभयो ।

कर दाखिला गर्न आनाकानी गर्ने करदाताको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायत अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ । लक्ष्य हासिल गर्न बजार अनुगमनलाई निरन्तरता दिने र करदातामुखी व्यावहारिक कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको कर अधिकृत घिमिरेले बताउनुभयो । उहाँका अनुसार कार्यालयले निर्धारण गरिएको वार्षिक लक्ष्य भेटाउने गरी काम भइरहेको छ ।

बक्यौता रहेको कर असुली गर्नका लागि कार्यालयले काम गरिएको छ । नक्कली बिलबिजक जारी गर्नेलाई कारबाहीको दायरामा ल्याएर कर असुल्ने, करको परीक्षण र अनुसन्धानको दायरालाई फराकिलो बनाउनेलगायत काम गरेमा राजस्व सङ्कलनको दरमा सुधार गर्न सकिने प्रमुख कर अधिकृत घिमिरेले धारणा राख्नुभयो ।

कार्यालयमा आयकरमा दर्ता भएका १६ हजार ९२२ जना करदाता छन् । भ्याटमा दर्ता भएका एक हजार ७१७ र अन्तशुल्कमा दर्ता भएका ५८२ जना करदाता रहेका आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।

व्यक्तिगत रूपमा स्थायी लेखा नम्बर (प्यान) स्थानीय तहबाट जारी गर्ने यहाँका स्थानीय तहलाई पटकपटक तोकता गर्दा पनि कुनै सुनुवाइ नभएको प्रमुख कर अधिकृत घिमिरेले बताउनुभयो । उहाँका अनुसार सङ्घीय सरकारले सम्बन्धित स्थानीय तहबाट प्यान लिने व्यवस्था गरेको छ । उक्त कार्यालयको जुम्लासहित मुगु र कालीकोट जिल्ला कार्यक्षेत्रभित्र पर्दछन् ।