`

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ, ७ वैशाख : प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।

यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नास नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौँको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो ।

गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने धर्मशास्त्रविद् एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रा तोयराज नेपाल बताउनुहुन्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ ।

“वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नास नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो, ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनिमात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ”, उहाँले भन्नुभयो ।

आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ । यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ ।

सत्ययुगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नास नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो हुने गर्छ । शिवालयमा जम्मा भएका भक्तजनले पूजा, आराधना एवं दर्शन गरी अक्षय तृतीया पर्व मनाउँछन् ।

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

ठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बोलाइएको छ ।

बैठकका लागि रास्वपाले ९ बुँदे एजेन्डा तय गरेको छ, जसमा पार्टी गतिविधिको ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ तथा केन्द्रीय समिति पदाधिकारी मनोनयनका विषयमा छलफल हुने उल्लेख छ ।

काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी

काठमाडौँ, ७ वैशाख : नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ ।निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ । छिमेकी देश भए पनि बङ्गलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले उडान भर्न सकेको थिएन । सोही आवश्यकतालाई ध्यानमा राखेर आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमका अपरेसन विभाग निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजालले जानकारी दिनुभयो ।

बङ्गलादेशबाट हाल काठमाडौँमा नियमित उडान हुँदै आएको छ । नेपालको निजी क्षेत्रको हिमालयन एयरलाइन्सले पनि ढाकामा उडान भर्दै आएको छ । राष्ट्रिय ध्वजावाहकको उडान भने हालसम्म हुनसकेको छैन । अध्ययन समितिले दिने प्रतिवेदनका आधारमा उडान तय गरिने निगमले जनाएको छ ।

त्यसैगरी निगमले काठमाडौँ–दिल्ली–काठमाडौँ हवाई उडान सेवा थप विस्तार गरेको छ । हाल सो रुटमा निगमले गत चैत १७ गतेदेखि सातामा थप तीन दिन उडान थप गरेको छ । नयाँ व्यवस्थापछि काठमाडौँ–दिल्ली–काठमाडौँ साताको १० उडान भइरहेको छ ।कार्गो व्यवसायलाई थप सुदृढ एवं उपलब्धिमूलक बनाउन कार्गो म्यानेजमेन्ट सिस्टम स्टडी टास्कफोर्स गठन गरिएको छ । रासस

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ । अहिलेसम्म मासिक रूपमा दिइँदै आएको तलब सुविधा आगामी दिनमा अर्धमासिक (महिनामा दुई पटक) रूपमा वितरण गरिने भएको हो ।

मन्त्रालयबाट जारी पत्रअनुसार यो व्यवस्था कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ ।हालसम्म सरकारी कर्मचारीहरूले एकैपटक महिनाको अन्त्यमा तलब बुझ्दै आएका थिए । तर नयाँ प्रणाली लागू भएपछि अब महिनामा दुई चरणमा तलब पाउने व्यवस्था हुनेछ ।

मौसम पूर्वानुमान : हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग लगायत देशका बाँकी हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।

राती देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

काठमाडौँ, ७ वैशाख : चालु आर्थिक वर्षको गत चैत २० गतेसम्म काठमाडौँ जिल्ला अदालतमा दुई हजार ९०७ वटा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएकामा एक हजार ३९ मुद्दाको फैसला भइसकेको छ ।विसं २०७६ देखि हालसम्म उक्त अदालतमा सम्बन्धविच्छेदसम्बन्धी फर्छ्यौट हुन बाँकी मुद्दाको सङ्ख्या एक हजार ९४७ रहेको छ । सर्वाेच्च अदालतको २०८१÷८२ को वार्षिक प्रतिवेदनअनुसार मुलुकभर ४२ हजार ७३९ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । सो आर्थिक वर्षमा सर्वाेच्च अदालतमा ११९ र उच्च अदालतमा एक हजार ५४१ सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएका थिए ।

सोही आवमा ३३ हजार ५० वटा मुद्दा फर्छ्यौट भएकामा नौ हजार ६८९ मुद्दाको छिनोफानो हुन सकेन । त्यसमध्ये जिल्लाबाट ४१ हजार ७९ वटा मुद्दा फर्छ्यौट भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । आव २०८०-८१ मा ४० हजार ३२० वटा सम्बन्धविच्छेदसँग सम्बन्धित मुद्दा दर्ता भएकामा ३१ हजार ७५२ मुद्दा फर्छ्यौट भएको थियो भने आठ हजार ५६८ मुद्दा छिनोफानो हुन सकेन ।

यहाँ उल्लेखित तथ्याङ्कले के देखाउँछ भने पछिल्लो समय सम्बन्धविच्छेदसम्बन्धी मुद्दाको सङ्ख्या एकदमै बढेको छ । बदलिँदो विश्व परिस्थितिको प्रभाव, आधुनिक नेपाली समाज र परिवारमा देखिने सामान्य मतभेदमा पनि सम्बन्धविच्छेद गरिहाल्ने प्रवृत्तिले सङ्ख्या बढेको सरोकारवाला बताउँछन् ।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकृत दीपक श्रेष्ठका अनुसार बैंकिङ कसुर र चेक अनादरपछि सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेका छन् । कतिपय परिवारमा श्रीमान्श्री-मतीबीच सामान्य खटपट हुनासाथ सम्बन्धविच्छेदका लागि अदालत आउने गरेको देखिएको छ ।

वैदेशिक रोजगार, परिवारको असहमतिमा हुने प्रेम–विवाह, अन्तरजातीय विवाह, आधुनिकता, अर्काको नक्कल गर्ने प्रवृत्ति, कुटपिट, मानाचामल र हेरचाह नगरेको, नेपाली समाजमा खस्कँदै गएको संस्कार र संस्कृति तथा दम्पतीबीचको मतभेदले पनि सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको अनुमान गरिएको छ ।

अधिवक्ता गोकुल दवाडी वैदेशिक रोजगारी, आर्थिक अभाव, परिवारिक तनावजस्ता कारणले सम्बन्धविच्छेदको सङ्ख्या बढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “रिट निवेदन लिएर अदालतमा पुगेका सबैको सम्बन्धविच्छेद भइहाल्छ भन्ने होइन, ५० प्रतिशत जतिको हुन्छ भने केही दम्पतीले मेलमिलाप गरेर फर्केका उहाहरण पनि छन् ।”

अध्ययन र रोजगारीका लागि ‘डिपेन्डेन्ट भिसा’मा जाने कतिपय युवा जोडीले त विवाह गरेको महिना दिन नपुग्दै दाम्पत्य सम्बन्ध अन्त्यका लागि फिरादपत्र लिएर अदालत आउँछन् । सूचना अधिकृत श्रेष्ठले विदेश जान प्रेमविवाह हतारमा गर्ने, परिवारलाई थाहा नहुने अनि कतिपय सामाजिक आस्था र परिवारको सहमतिबेगर भएका कारण पनि सम्बन्धविच्छेद भएको पाइन्छ ।

त्यसो त ज्येष्ठ नागरिक भइसकेका र बाँकी जीवनका लागि सहारा चाहिने उमेरमा पनि सम्बन्धविच्छेद गरेका घटना प्रशस्तै छन् । हजुरबुबा–हजुरआमा उमेरका पनि सम्बन्धविच्छेदका लागि अदालत आउने गरेको कानुन व्यवसायी बताउँछन् ।

सम्बन्धविच्छेदका मुद्दामा दुवै पक्ष सहमत भएमा काठमाडौँ जिल्ला अदालतले दुई दिनमै निर्णय सुनाउन सक्ने व्यवस्था मिलाएको छ । अदालतमा सम्बन्धविच्छेदका लागि आउनेमध्ये कतिपय श्रीमतीसँगै बस्न सक्दिनँ भनेर आउँछन् भने केही श्रीमान्ले अंश दिन नपर्ने भनी निवेदनमा मागदाबी गरेको पाइन्छ ।

अधिकांश जोडीका बीचमा भने बच्चा र अंशका विषय मेलमिलापमा पुग्न र मुद्दालाई न्यायिक निरुपणमा पुर्याउन मुद्दा लम्बिने गरेको पाइन्छ । सम्बन्धविच्छेदका लागि मुद्दा परेपछि अर्काे पक्षलाई २१ दिन म्याद दिएर जानकारी गराउने, जवाफ आएपछि दुवैलाई मेलमिलापमा पठाउने र यस्तो मुद्दा एक वर्षसम्म राखेर छलफल गराउन सकिने कानुनी व्यवस्था छ ।

जेनजी आन्दोलनका बेलामा एकैदिनमा पनि त्यस्ता मुद्दालाई किनारा लगाइएको थियो । तर हतारमा गर्दा कागजमा त्रुटि हुने कारणले दुई दिनमा मात्रै छिनोफानो गर्ने गरिएको सूचना अधिकृत श्रेष्ठ बताउनुहुन्छ । परिस्थितिजन्य अवस्थामा त्यस्ता मुद्दा अधिकृत वारेसमार्फत पनि दर्ता गर्न सकिने छ । त्यो अवस्थामा अधिकांशमा अंश नलिएर छोडपत्र गरेको पाइन्छ । यो सङ्ख्या ३० वर्ष उमेर समूहको बढी छ ।

नातिनातिना खेलाउने उमेरका हजुरबुबा–आमा पनि सम्बन्धविच्छेदका लागि अदालत पुग्ने गरेका छन् । त्यस्ता कतिपय श्रीमतीले श्रीमान्लाई तपाईँको साथ र संरक्षण नरहे पनि सिन्दूर कायम रहोस् भन्ने गरेका छन् । त्यस्तो अवस्थामा श्रीमान् श्रीमतीमध्ये सम्पत्तिमा छोराछोरी कसका पक्षमा छ भन्ने अवस्थाले सम्बन्ध निर्धारण गर्छ ।

अधिवक्ता शरदचन्द्र गौतमका अनुसार अदालतमा रिट निवेदन लिएर आउने मुद्दामध्ये सम्बन्धविच्छेदको सङ्ख्या धेरैमा पर्छ । पहिलेजस्तो सात जन्मसँगै बस्ने, धर्म र पापसँग जोडिएको नभई विवाहलाई एउटा करारका रूपमा लिने प्रचलन बढेको प्रतिक्रिया उहाँले दिनुभयो । देशको आयआर्जन वैदेशिक विप्रेषणमा निर्भर भएको र वैदेशिक रोजगारीका कारण श्रीमान् वा श्रीमती विदेशमा रहनुपर्ने बाध्यताले पनि केही हदसम्म सम्बन्धविच्छेद बढ्नुमा कारकतत्वको भूमिका निर्वाह गरेको अधिवक्ता गौतमको भनाइ छ ।

जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गर्न आउनुभएकी एक युवतीले भन्नुभयो, “साथीमार्फत ऊ (श्रीमान्)सँग चिनजान भयो । त्यसपछि प्रेमविवाह भयो । छोरी अहिले छ वर्षकी भई । म २२ वर्षकी भएँ । पहिले ऊ होटलमा काम गथ्र्याे, पछि उसले काम छोड्यो । लागुऔषध सेवन गरेर हैरानी दिन थालेपछि सुरक्षित हुन सम्बन्धविच्छेदका लागि आएकी हुँ ।”

अधिवक्ता ऋषिकेश श्रेष्ठका अनुसार वैदेशिक रोजगारीका हिसाबले श्रीमान् श्रीमतीसँगै बस्न अनुकूल नभएको र त्यसले उब्जाएको आशङ्का र फाटोले पनि सम्बन्धविच्छेदका घटना बढाएको छ । उहाँ भन्नुहुन्छ, “सम्पत्ति सुरुमा श्रीमतीको नाममा राख्ने अनि कतिपय स्वतन्त्रताप्रति आशङ्काको दृष्टिले हेर्ने प्रवृत्तिले यस्ता घटनाको बढोत्तरी भएको छ । नव युवापुस्ता विदेश जान अदालती दर्ता विवाह गर्ने अनि सम्बन्धविच्छेदमार्फत सम्बन्ध अन्त्य गर्ने प्रचलन पनि देखिएको छ ।”

भाइबुहारीको सम्बन्धविच्छेद मुद्दाको तारेख लिन काठमाडौँ जिल्ला अदालत आइपुग्नुभएकी नुवाकोटकी एक महिलाले भन्नुभयो, “भाइ विदेश बस्थ्यो, घरायसी कुरा नमिलेर पाँच-छ वर्षदेखि बुहारीले घर छाडेर हिँडेकी छ ।”

अधिवक्ता सृजना कँडेलका अनुसार सम्बन्धविच्छेदका लागि ५० वर्ष उमेर समूहमाथिको सङ्ख्या पनि उल्लेख्य छ । उहाँ भन्नुहुन्छ, “केही दिनअघि मात्रै धादिङकी ७० वर्षीया महिला र ७३ वर्षीय पुरुषको सम्बन्धविच्छेद भयो । श्रीमान्ले दुईवटीसँग पहिले पनि सम्बन्धविच्छेद गर्नुभएको रहेछ ।”

ती ७० वर्षीया वृद्धाले दुई दिन भने पनि श्रीमान्सँग ‘डिभोर्स’ गर्छु भनेको अधिवक्ता कँडेलले सुनाउनुभयो । उहाँले १५ वर्षअघिसम्म सम्बन्धविच्छेदको मुद्दा अदालतमा न्यून हुने गरेको बताउनुभयो । हाल त्यो सङ्ख्या ह्वात्तै बढेको छ । पछिल्लो पुस्ता झन् आफू स्वतन्त्र भएर बस्न र घरपरिवारबाट मुक्त हुन चाहन्छ । उनीहरूमा किन दबाबमा बस्ने भन्ने सोच छ ।

अदालत परिसरमा नाति च्यापेर बस्नुभएकी एक महिलाले भन्नुभयो, “म जेठी श्रीमती हुँ । यो उमेरमा श्रीमान्ले कान्छी ल्याएर बसेको छ । छोरो बाहिर छ, हामीलाई घरमा आएर कुटपिट गर्नुहुन्छ । अदालतले पनि हामीजस्ता पीडितलाई छिटो न्याय दिलाउनुपर्छ । अहिले अंश र मानाचामलका लागि दाबी गर्न आएकी हुँ ।”

अधिवक्ता राजन केसी सम्बन्धविच्छेदमा खासगरी प्रेमविवाह, गरिबी, आर्थिक, रोजगारीलगायत पढाइलेखाइमा एकअर्काबीच अन्तर तथा सामाजिक अवस्थाले समेत प्रभाव पारेको बताउनुहुन्छ । सम्बन्धविच्छेदसम्बन्धी मुद्दा महिलाले दर्ता गरेमा अदालतले पीडामा परेको अनुमान गरी छिटो निष्कर्षमा पुग्छ । पुरुषले हालेको अवस्थामा फैसला भएको सङ्ख्या कम छ ।

उहाँले भन्नुभयो, “श्रीमान् र श्रीमती तीन वर्षसँगै नबसेको, खान लाउन नदिएको, मानसिक यातना दिएको जस्ता विषय जोडेर मुद्दा हाले पनि न्यायालयले भरसक परिवारको बिछोड होइन, जोड्ने काम गर्नुपर्छ भन्ने मान्यता राख्छ । धेरै मेलमिलाप हुनसक्ने सम्भावना पनि हुन्छ ।”

‘ट्रेन्ड’कै रूपमा बढ्दो सम्बन्धविच्छेदको दर हेर्ने हो भने कानुनी अधिकार प्रयोग गरी स्वतन्त्रता चाहनेको सङ्ख्या बढेको हो या स्वतन्त्रताका नाममा विकृतिले प्रोत्साहन पाइरहेको हो भन्ने विषयमा भने समाजशास्त्रीय कोणबाट अति सुक्ष्म रूपमा अध्ययन गर्नुपर्ने देखिएको छ ।

पोखरेबगर-घोडेपानी सडकको हल्लेखर्क खण्ड श्रमदानबाट मर्मत

म्याग्दी। अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकको हल्लेखर्क खण्डको श्रमदानमार्फत मर्मत सुरु गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगर, बिरौटा, हल्लेखर्क, कुरमुनी, भुवानीथान र घारका स्थानीयद्वारा स्वस्फूर्त रूपमा श्रमदान गरी सडक मर्मत थालिएको हो ।

स्थानीयले यसअघि गत साता पनि दुई दिन श्रमदान गरेर सोही सडकको लुलियाघुम्तीको अप्ठ्यारो सडकमा ढुङ्गा बिछ्याएर सोलिङ गरी मर्मत गरेका थिए । अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले वडाका जनप्रतिनिधिसहित ४० जनाले आज दिनभर श्रमदान गरेर १५ मिटर दूरीको सडकमा सोलिङ गरेर पोखरेबगर-घोडेपानी खण्डमा सवारीसाधान सञ्चालन गर्न सकिने बनाएका जानकारी दिनुभयो ।

सडक मर्मतपछि सहज रूपमा ठूला र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका वडाध्यक्ष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय युवा राजाराम बरुवाल, बिपिन बरुवाल, रामकृष्ण खड्काको समन्वयमा सडक मर्मतका लागि श्रमदान अभियान सञ्चालन भएको हो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य आज श्रमदान भइरहेको ठाउँमा पुगेर सहभागीलाई हौसला प्रदान गर्नुभएको थियो । लुलियाघुम्ती र हल्लेखर्च पहिरोको जोखिमयुक्त क्षेत्रका रूपमा मानिनाका साथै जीर्ण अवस्थाका कारण स्थानीयका साथै पर्यटकीयस्थल घोडेपानी भ्रमणमा जाने पर्यटकलाई आवागमनमा समस्या हुँदै आएको थियो । पहिरोका कारण साँघुरिएको, ग्रेड र मोड नमिलेको लुलियाघुम्ती र हल्लेखर्क पहिरोमा सवारीसाधन उक्लन नसक्ने, बीचमा अड्किने र दुर्घटना हुने समस्या बढेको थियो ।

सङ्घीय सरकारले बजेट विनियोजन गरेको उक्त आयोजना कार्यान्वयनमा भएको ढिलाइका कारण जोखिम बढेपछि समुदायस्तरबाट श्रमदान गरेर अस्थायी रूपमा मर्मत गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो । ग्यावियन जाली, ढुङ्गा ढुवानी, खाजा, डोजर परिचालनका लागि मुक्तिनाथ केबुलकार प्रालिबाट रु ५० हजार नगद र अन्य दाताबाट आवश्यक सामग्री सहयोग भएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । जनप्रतिनिधिहरूबाट निरन्तर ताकेता भएपछि स्थानीय पूर्वाधार विकास कार्यालय पोखराले बिहीबार मात्रै रु तीन करोड बजेट विनियोजन भएको उक्त आयोजना कार्यान्वयनका लागि ठेक्का आह्वान गरेको छ ।

यसैबीच, यतिबेला घोडेपानीको वनपाखा लालीगुराँस फुलेर रङ्गिएको छ । कास्कीको बिरेठाटीतर्फबाट पनि घोडेपानी सडकले जोडिएको छ । बिरेठाँटी उल्लेरी हुँदै घोडेपानी जोड्ने सडक नयाँ मार्ग खोलेकाले भालेओडार क्षेत्रमा हिलोमा फस्ने समस्या छ ।

अहिले लालीगुराँसको जङ्गल, पुनहिलबाट हिमशृङ्खला अवलोकनका लागि सवारीसाधन चढेर घोडेपानी जाने आन्तरिक पर्यटकको चाप बढेको स्थानीय बताउँछन् ।

राष्ट्रिय जुनियर टेनिसमा भान्सीलाई दोहोरो स्वर्ण

कास्की। पोखरामा सञ्चालन भइरहेको पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा भान्सी राजभण्डारीले दोहोरो स्वर्ण पदक जितेकी छन् ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन उनले यू-८ र यू-९ ‘गल्र्सतर्फ’ स्वर्ण पदक जितेकी हुन् ।

प्रतियोगिताअन्तर्गत यू-८ र यू-९ गल्र्सतर्फ राउण्ड रोविनको आधारमा भएको प्रतियोगिताको यू-८ मा सेजल राजभण्डारीले रजत र लु सिआन र साशा भट्टराईले कास्य पदक जितेकी छिन् । त्यसैगरी ‘ब्वाइज’ यू-८ तर्फ सर्वत्र खत्रीले स्वर्ण पदक जित्दा सुविज्ञराज बुढाथोकीले रजत र अनोमल श्रेष्ठ र श्रीभान्स पछाईले रजत पदक जितेका छन् ।

यू-९ तर्फ ‘गल्र्स’मा भान्सीले स्वर्ण पदक जितिन् भने मिलिवाना लावतले रजत तथा सेजल राना मगरले रजत पदक जितिन् । जारी प्रतियोगिता यू-१८ ब्वाइजतर्फ दर्शिल श्रेष्ठ र शाश्वत बज्राचार्य फाइनलमा एकअर्काको सामना गर्नेछन् ।

दर्शिलले सेमिफाइनलमा स्पन्दन उदासलाई ६-०, ६-१ को सोझो सेटमा पराजित गर्दा शाश्वतले सुरेन्द्र विकलाई ६-०, ६-० को सोझो सेटमा पराजित गरी फाइनलमा स्थान पक्का गरेका हुन् ।

यसैगरी, यू-१६ गल्र्सतर्फ ऐरा खत्री र शोरा थापा फाइनलमा स्थान पक्का गरेका छन् । आज भएको सेमिफाइनलमा ऐराले शाल्भी शेरचनलाई पराजित गरिन् । उनले ६-१, २-६ र ६-० ले पराजित गरेकी हुन् । त्यस्तै, शोराले आरुषी तुलाचनलाई ६-०, ६-० ले पाखा लगाइन् ।

यही वैशाख ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यू-८, यू-९, यू-१०, यू-१२, यू-१४, यू-१६ र यू-१८ उमेर समूहका ‘ब्वाइज’ तथा ‘गल्र्सतर्फ’ ‘सिङ्गल्स’ र ‘डबल्स’ गरी कुल १६ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक लोकबहादुर गुरुङले जनाएका छन् । प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित मुलुकका अन्य जिल्लाबाट गरी ९० खेलाडीको सहभागिता छ ।

प्रतियोगितामा पोखरासहित काठमाडौँ, चितवन र बुटवलका खेलाडीको सहभागिता रहेको सङ्घका कार्यवाहक अध्यक्ष नवीन चालिसेले बताएका छन् । यस प्रतियोगिताले नयाँ तथा प्रतिभाशाली खेलाडीको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पुर्‍याउने उनले विश्वास व्यक्त गरेका छन् ।

“विद्यालयतयबाट टेनिस खेल विकास गरी योग्य र सक्षम खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग पुग्ने विश्वास लिएका छौँ । पोखरामा खेल पर्यटन प्रवर्द्धनका लागि पनि यो प्रतियोगिता महत्वपूर्ण हुनेछ”, चालिसेले भनेका छन् ।

‘पूर्वसूचना प्रभावकारी भएमा विपद्मा क्षति न्यूनीकरण गर्न सकिने’

काठमाडौँ। विपद्जन्य घटनाको पूर्वसूचना प्रभावकारी बनाउन सके विपद्को क्षति न्यूनीकरण गर्न सकिने सरोकार भएका निकायका प्रतिनिधिहरूले बताउनुभएको छ ।

आज काठमाडौँमा पूर्वसूचना प्रणालीको राष्ट्रिय कृत्रिम घटना अभ्यासअन्तर्गत तीनदिने अभ्यास कार्यक्रमको उद्घाटनका अवसरमा सहभागीहरूले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले पूर्वसूचना प्रभावकारी र समयसापेक्ष हुँदा पूर्वतयारी र प्रतिकार्य प्रभावकारी भई क्षति न्यूनीकरणमा टेवा पुग्ने धारणा राख्नुभयो । उहाँले सबैका लागि पूर्वसूचनाको राष्ट्रिय मार्गचित्र निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सुरेश पन्थीले सरकारले पूर्वसूचनालाई जोड दिइरहेको उल्लेख गर्दै सोहीअन्तर्गत यो कार्यक्रम भएको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीका महासचिव मीनबहादुर मल्ल, आइएफआरसीका हेड अफ कन्ट्री डेलिगेसन डेभिड फिसर, विश्व खाद्य कार्यक्रमका कार्यक्रम निर्देशक हेइले अबेराले पूर्वसूचना प्रणालीको महत्वबारे धारणा राख्नुभएको थियो ।

अभ्यासमा सबैका लागि पूर्वसूचनासँग सम्बन्धित सङ्घीय मन्त्रालय तथा विभागहरु, प्रदेश तथा स्थानीय तह, सुरक्षा निकाय, राष्ट्रसङ्घीय निकाय, रेडक्रस एवं साझेदार संस्थाका प्रतिनिधिको सहभागिता छ । अभ्यासका क्रममा दोस्रो दिन ‘टेबल-टप अभ्यास’ हुनेछ भने तेस्रो दिन कीर्तिपुरको टौदहमा स्थलगत अभ्यास हुने प्राधिकरणले जनाएको छ ।

सबैका लागि पूर्वसूचना प्रणालीका चारवटा स्तम्भ छन् । जसमा पहिलो विपद् जोखिमको ज्ञान हो । दोस्रोमा अवलोकन, विश्लेषण र पूर्वानुमान पर्दछ । त्यसैगरी, तेस्रोमा चेतावनीको प्रवाह र सञ्चार छ भने चौथोमा पूर्वतयारी, प्रतिकार्य र क्षमता विकास रहेको छ ।

आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित

काठमाडौँ। रुवाण्डामा भइरहेको पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

रुवाण्डा क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपालले इटालीलाई ५० रनले पराजित गरेको हो । नेपालले जितका लागि दिएको ११३ रनको लक्ष्य पछ्याएको इटलीको पारी १८.४ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमा समेटियो । इटालीका लागि दुई ब्याटर बाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । इटालीका चथुरिका महामालागेले २२ रन तथा पासिन्दी कनन्केगेले १२ रन जोडिन् ।

बलिङतर्फ नेपालका लागि रुबिना क्षेत्रीले चार, कविता कुँवरले २ तथा मनिषा उपाध्याय, रिया शर्मा र रचना चौधरीले एक÷एक विकेट लिइन् ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११२ रनको योगफल बनायो । नेपालका लागि उपकप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन् । उनले ४५ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरिन् । त्यस्तै सम्झना खड्काले १६, बिन्दु रावलले १५ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् ।

बलिङतर्फ इटालीकी एमिलिया बाट्र्रामले तीन विकेट लिइन् । शनिबार भएको पहिलो खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको थियो । इटालीले भने पहिलो खेलमा घरेलु टोली रुवाण्डालाई पराजित गरेको थियो ।

अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा

इस्लामावाद । आगामी दिनमा अमेरिका र इरानबीच हुने शान्ति वार्ताअघि पाकिस्तानको राजधानी इस्लामावादमा आइतबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि शान्ति वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पको आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशलमा उहाँले लेख्नुभएको छ, “मेरा प्रतिनिधिहरू पाकिस्तानको इस्लामाबाद जाँदैछन् र उनीहरू भोलि साँझ वार्ताका लागि त्यहाँ हुनेछन् ।”

पाकिस्तानी अधिकारीहरूले यसअघि इश्लामावाद शहरभर र छिमेकी रावलपिण्डीमा सडक बन्द गर्ने र सवारी प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।एएफपीका पत्रकारहरूले इस्लामावादको सबैभन्दा सुरक्षित होटल, जहाँ अमेरिका र इरानी प्रतिनिधिहरूबीच पहिलो चरणको वार्ता भएको थियो, त्यहाँ नजिकै सशस्त्र गार्डको उपस्थिति र चेकप्वाइन्टहरू बनाइएको बताएका छन् ।

सुरक्षा सावधानीका लागि आइतबारदेखि नै सेरेना होटल जाने अधिकांश सडकहरू काँडेतार, ब्यारिकेड, कडा सुरक्षा र ट्राफिक डाइभर्सनका साथ बन्द गरिएका छन् ।“नागरिकहरूलाई सुरक्षा निकायहरूसँग सहयोग गर्न हार्दिक अनुरोध गरिएको छ,” शहरका एक अधिकारीले एक्समा पोस्ट गर्नुभयो ।

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

काठमाडौँ । भारतको दक्षिणी क्षेत्रमा रहेको एक पटाका कारखानामा आइतबार भएको आगलागीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएका प्रहरीले जनाएको छ ।स्थानीय प्रहरी प्रमुख एन श्रीनाथले एएफपीलाई बताएअनुसार तामिलनाडु राज्यको विरुधुनगर जिल्लामा रहेको एक कारखानामा भएको घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।

उहाँले आगलागीको कारण खुल्न नसकेको र उद्धारकर्ताले समाचार तयार पार्दासम्म घटनास्थलमा अझै काम गरिरहेको बताउनुभयो ।भारतमा प्रायः सुरक्षा नियमहरूको कमजोर पालना र कमजोर कार्यान्वयनको कारण औद्योगिक दुर्घटनाहरू हुनुलाई सामान्य रूपमा लिने गरिएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत उक्त घटनामा आफ्ना प्रियजन गुमाएका पिडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले एक्समा एक पोस्ट गर्दै पटाका कारखानामा भएको आगलागी र मृत्युको घटना ‘दुःखद’ भएको बताउनुभएको छ।मध्य भारतको एक विद्युत गृहमा यसै हप्ता भएको विस्फोटमा २० जनाभन्दा बढीको मृत्यु भएको थियो । गत महिना पनि भारतको पश्चिम क्षेत्रमा रहेको एक पटाका कारखानामा आगलागी हुँदा १७ जनाको मृत्यु भएको थियो ।

रूसी तेल छुटप्रति युक्रेनको आपत्ति

काठमाडाैँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रूसी तेलमाथि लगाइएको प्रतिबन्ध आंशिक रूपमा खुकुलो बनाइएपछि त्यसले रूसलाई युद्धका लागि ठूलो आर्थिक स्रोत उपलब्ध गराउने चेतावनी दिएका छन्।

उनले यस्तो निर्णयले युक्रेनमाथि भइरहेका आक्रमणलाई थप तीव्र बनाउने जोखिम रहेको बताए।

सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै जेलेन्स्कीले रूसी तेल खरिदमा खर्च हुने प्रत्येक डलर युद्धकै लागि प्रयोग भइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार यस्तो आर्थिक प्रवाहले युक्रेनमा भइरहेको विनाशकारी आक्रमणलाई प्रत्यक्ष सहयोग पुर्‍याइरहेको छ । यद्यपि उहाँले स्पष्ट रूपमा नाम नलिएको भए पनि अमेरिकी प्रशासनले हालै रूसी तेल निर्यातसम्बन्धी प्रतिबन्धमा दिएको अस्थायी छुटतर्फ उहाँको सङ्केत रहेको बुझिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले शुक्रबार रूसी तेल तथा पेट्रोलियम पदार्थलाई समुद्रमार्फत बिक्री गर्न अनुमति दिने गरी एक महिनाका लागि छुट विस्तार गरेको थियो । यो कदम मुख्यतः मध्यपूर्व युद्धका कारण बढेको ऊर्जा मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले चालिएको बताइएको छ । तर यसअघि अमेरिकी अर्थ मन्त्रालयले यस्तो छुट नवीकरण नहुने सङ्केत दिएको केही दिनमै निर्णय उल्टिएको देखिएको छ।

जेलेन्स्कीका अनुसार हाल समुद्रमा ११० भन्दा बढी रूसी ट्याङ्करहरू अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लङ्घन गर्दै कच्चा तेल बोकेर हिँडिरहेका छन्, जसमा एक करोड २० लाख टनभन्दा बढी तेल रहेको अनुमान छ । उनले प्रतिबन्ध खुकुलो पारिएकाले यी स्रोतहरू सजिलै बिक्री हुन सक्ने र त्यसबाट करिब १० अर्ब डलर आम्दानी हुने दाबी गरे, जुन रकम प्रत्यक्ष रूपमा युक्रेनविरुद्धको आक्रमणमा प्रयोग हुन सक्ने उनको भनाइ छ।

उनले पछिल्लो एक सातामा मात्र रुसले दुई हजार ३६० भन्दा बढी आक्रमणकारी ड्रोन, एक हजार ३२० भन्दा बढी निर्देशित हवाई बम र करिब ६० मिसाइल युक्रेनी सहरहरूमा प्रहार गरेको जानकारी दिए। यसले युद्धको तीव्रता अझै घट्न नसकेको स्पष्ट पारेको छ।

उत्तरी सहर चेर्निहिभमा राति भएको आक्रमणमा १६ वर्षीय एक किशोरको मृत्यु भएको र चार जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । यस्तो घटनाले सर्वसाधारणमा त्रास र असुरक्षा झन् बढाएको छ ।

जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदायलाई रूसी तेल ढुवानी रोक्न र ट्याङ्करहरूलाई बन्दरगाहसम्म पुग्न नदिन कडा कदम चाल्न आग्रह गरे । उनले रूसी तेल निर्यात घटाउन सके मात्र आक्रमणकारीको क्षमता कमजोर पार्न सकिने र त्यसतर्फ युक्रेनले आफ्ना दीर्घ दूरीका प्रतिबन्धात्मक उपायहरू जारी राख्ने बताए।

रेडक्रसद्वारा चारै तहको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीले चार तहको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सोसाइटीले पालिका, जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

सोसाइटीका महामन्त्री मीनबहादुर मल्लका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी असार २४ र २५ गते तोकिएको छ । यसैगरी, सोसाइटीले पहिलो चरणमा यही वैशाख २६ देखि जेठ ४ गतेसम्म देशैभरका पालिका शाखा समितिको निर्वाचन सम्पन्न गर्नेगरी कार्यतालिका तय गरेको छ । जेठ १५ गते जिल्ला शाखा समिति र असार २ गते सात वटै प्रदेश समिति निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ

नेपाल रेडक्रस सोसाइटीले संस्थाको विधान २०२० (अठारौँ संशोधन, २०८२ सहित) तथा निर्वाचन नियमावली, २०४९ (चौथो संशोधन २०८२ सहित) सबै पालिकास्तरमा पालिका शाखा, जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको सोसाइटीका महामन्त्री मल्लले जानकारी दिनुभयो ।

सरकारले सधैँ विवाद हुँदै आएको सोसाइटीमा यसपटक विनोदकुमार शर्माको नेतृत्वमा केन्द्रीय तदर्थ समिति गठन गरी पालिका, जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन गर्ने कार्यभार तोकेको थियो । सोही कार्यभारअनुसार सोसाइटीका सबै निकायको निर्वाचन गर्ने तयारीमा रहेको महामन्त्री मल्लले बताउनुभयो । रेडक्रस सोसाइटीको संशोधित नयाँ विधानमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी पटक कार्यसमितिमा बस्न नपाइने नयाँ व्यवस्था गरेको छ ।

नेपालको एक मात्र रेल्वे सेवा प्रत्येक वर्ष घाटामा, ७९ करोड ऋणमा

जनकपुरधाम । नेपालको एक मात्र रेल्वे सेवा प्रत्येक वर्ष घाटामा गइरहेको छ । रेल्वे सेवा घाटामा गइरहेकाले योजनाबद्ध रूपमा कार्यसम्पादन गर्नुपर्ने र व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

लामो समयदेखि महाप्रबन्धक पद रिक्त रहेकाले व्यवस्थापनमा समस्या हुँदै आएको भएको नेपाल रेल्वे कम्पनी लिमिटेडका कर्मचारीहरू बताउँछन् । लिमिटेडका अनुसार पछिल्लो पाँच वर्षको तथ्याङ्कले कम्पनीको आम्दानीभन्दा खर्च करिब तेब्बरभन्दा बढी रहेको देखाउछ । सोही कारण रेल्वे सेवा दीर्घकालीन रूपमा आर्थिक सङ्कटतर्फ गइरहेको जानकारहरू बताउँछन् ।

कम्पनीको व्यावसायिक कार्ययोजना, २०८२ अनुसार आर्थिक वर्ष २०७६/७७ देखि आव २०८०/८१ सम्म रु १९ करोड २१ लाख आम्दानी हुँदा रु ६७ करोड ३७ लाख खर्च भएको उल्लेख छ । पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्र रु आठ करोड ५० लाख आम्दानी हुँदा रु २६ करोड २७ लाख खर्च भएको कम्पनीका तत्कालीन महाप्रबन्धक निरञ्जन झाले बताए।

उनका अनुसार अहिले मासिक आम्दानी करिब रु ७५ लाख भए पनि खर्च रु एक करोड २९ लाख पुग्ने गरेको छ । आम्दानीले खर्च धान्न नसक्दा कम्पनीले सरकारको जमानीमा ऋण लिँदै सञ्चालन गर्नुपरेको झाको भनाइ छ ।

“विसं २०८१ असार मसान्तसम्म साँवा र ब्याजसहित कुल ऋण रु ७९ करोड नाघिसक्दा कम्पनीमाथि थप आर्थिक दबाब सिर्जना गरेको छ ”, उनले भने, “यात्री सेवाका हिसाबले भने रेल प्रभावकारी मानिएको छ ।”

पूर्वमहाप्रबन्धक झाका अनुसार भारतको जयनगरबाट जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालन भइरहेको रेल सेवा दैनिक तीन पटक सञ्चालन हुँदै आएको छ । घाटाको प्रमुख कारणमध्ये भारतीय प्राविधिक कर्मचारीमा हुने उच्च खर्च मुख्य मानिएको उनको भनाइ छ।

हाल यहाँ १७ जना भारतीय कर्मचारी कार्यरत रहेका जनाउँदै पूर्वमहाप्रबन्धक झाले त्यसका लागि कम्पनीले भारतीय कोंकन कम्पनीलाई मासिक करिब रु एक करोड १२ लाख भुक्तानी गर्दै आएको बताए । उनका अनुसार नेपालीतर्फ १०३ कर्मचारीको कुल तलब रु १७ लाख छ।

स्थायी प्राविधिक जनशक्तिको अभाव, वर्कसपको कमी, स्वदेशी चालक तथा स्टेसन मास्टरको अभाव, फ्युलिङ स्टेसन नहुनु र इन्धनसमेत भारतबाट ल्याउनुपर्ने अवस्थाले सञ्चालन खर्च अझ बढाएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । साथै कम्पनी लामो समयदेखि महाप्रबन्धकविहीन रहेको हुँदा व्यवस्थापन कमजोर बनेको छ।

विसं १९९४ मा सुरु भएको रेल सेवा २०७० मा ब्रोड गेज विस्तारका लागि बन्द गरिएको थियो । विसं २०७८ चैत १९ देखि पुनः सञ्चालनमा आएको रेल हाल ५२ किलोमिटर क्षेत्रमा विस्तार भइसकेको छ । कम्पनीले रेल्वेको आम्दानी बढाउन तथा आत्मनिर्भर बन्न विभिन्न विकल्प अघि सारेको छ । रक्सौलस्थित २८ एकड जग्गा भाडामा दिँदा वार्षिक करिब रु आठ करोड आम्दानी हुने अनुमान गरिएको छ।

साथै पुरानो न्यारो गेज रहँदाको कोइला इन्जिन सहितका चीजहरुलाई रेल म्युजियम स्थापना गरी पर्यटनमार्फत आय बढाउने योजना पनि अघि सारेको छ । स्थानीय व्यापारीहरूले यात्रु सेवासँगै मालसामान ढुवानी सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

स्थानीयका अनुसार यात्रु मात्र बोक्ने सेवाबाट नाफा सम्भव छैन । तत्कालीन महाप्रबन्धक झाले नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक बनाउन कार्गो रेल्वे सेवा शीघ्र सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले आफ्नो कार्यकालमा रेल्वेमा वोगी थपेर वा नयाँ रेल थपेर कार्गो सेवा सञ्चालन गर्नुपर्ने विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको जानकारी दिए।

भारतको कलकत्ता बन्दरगाहबाट सस्तो दरमा नेपालमा मालसमान ढुवानी गर्ने कार्गो रेल्वे सेवा सञ्चालनका लागि पहिलेदेखि जनकपुर क्षेत्रका व्यवसायीले माग गर्दै आए पनि हालसम्म सञ्चालन हुन सकेको छैन । जनकपुरका व्यवसायीका अनुसार कार्गो सेवा सञ्चालन भएमा मालसमान ढुवानीका लागि सहज हुनुका साथै सस्तो पनि हुने थियो।

समयमा व्यवस्थापन सुधार, स्वदेशी दक्ष जनशक्ति उत्पादन, मालवाहक सेवा विस्तार र ऋण व्यवस्थापन गर्न सके रेल सेवा नाफामुखी बन्न सक्ने जानकारहरू बताउँछन् । बढ्दो ऋणले नेपालको एकमात्र रेल सेवा थप सङ्कटमा पर्ने निश्चितजस्तै देखिएको धनुषाका ६० वर्षीय रामकुमार झाले बताए। रेलले दैनिक जीवन सहज बनाएकाले यसको थप विस्तार र उचित व्यवस्थापन हुनुपर्नेमा उनले जोड दिए।

इरानसँगको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाने

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्नेछन्।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल एक्समा गरेको पोष्टमा अमेरिकाले इरानलाई ‘उचित सम्झौता’ प्रस्ताव गरिरहेको र यदि तेहरानले प्रस्तावलाई हल्का लिएमा उसले इरानका सबै पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने बताएका छन्।

आइतबार सामाजिक सञ्जालमा पोष्ट गर्दै ट्रम्पले इरानले दुई हप्तादेखि जारी युद्धविराम सहमतिका बुँदाहरूको उल्लङ्घन गरेको आरोप लगाएका छन् भने मध्यस्थकर्ताको अनुरोधमा आफ्नो वार्ता टोली पुनः एक पटक पाकिस्तान जाने बताएका हुन्।

सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा गरिएको आफ्नो ताजा चेतावनीमा राष्ट्रपति ट्रम्पले अगाडि भने, “यदि उनीहरू सम्झौताका लागि सहमत भएनन् भने इरानका लागि जे गरिनुपर्ने थियो र अमेरिकाका राष्ट्रपतिहरूले विगत ४७ वर्षदेखि गरेका थिएनन्, त्यो गर्नु मेरो सम्मानको कुरा हुनेछ । सबै ती इरानी पुल चाँडै भत्किनेछन् ।”

इरान र अमेरिकाबिच जारी गतिरोधका कारण ‘स्ट्रेट अफ हर्मुज’ आइतबार पनि अवरूद्ध गरिएको छ । तेहरानले हर्मुज जलमार्गलाई पुनः खोल्ने घोषणा शुक्रबार गरेको थियो र यसले विश्व बजारमा उत्साह बढाएको थियो ।

यद्यपि, शनिबार फेरि समुद्री यातायातका लागि त्यो मार्ग बन्द भएको इरानले घोषणा गरेको छ।

अप्रिल ११ र १२ मा पाकिस्तानमा भएको उच्चस्तरीय वार्तापछि मध्यस्थताको प्रयास जारी रहँदा इरानले अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य नगरेसम्म महत्वपूर्ण समुद्री व्यापार मार्ग नखोल्ने बताएको हो।

हावाहुरी पीडित मुसहरलाई लहान नगरपालिकाको सहयोग

सिरहा। शनिबार साँझ आएको हावाहुरीबाट प्रभावित मुसहर परिवारलाई लहान नगरपालिकाले राहत वितरण गरेको छ ।

हावाहुरीका कारण लहान नगरपालिका–२१ कालाबन्जरस्थित मुसहर बस्तीका २१ परिवारको जस्तापाता उडाएको थियो ।

स्थलगत निरीक्षणका क्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले पीडित परिवारलाई त्रिपाल, चामल, नुन, खानेतेललगायतका आवश्यक सामग्री वितरण गर्नुभयो ।

सो अवसरमा नगरप्रमुख चौधरीले पीडितको तत्काल बसोबासको व्यवस्थापनमा नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो । “हावाहुरीबाट प्रभावित परिवारलाई तत्काल सुरक्षित बसोबासका लागि त्रिपाल उपलब्ध गराएका छौँ,” उहाँले भन्नुभयो, “अब एक हप्ताभित्रै जस्तापाता उपलब्ध गराएर दीर्घकालीन बसोबासको व्यवस्था गर्छौँ ।”

नगरप्रमुख चौधरीले भूमिहीन तथा सुकुम्वासी परिवारको दीर्घकालीन व्यवस्थापनका लागि नगरपालिकाले दोस्रो चरणमा ५०० घर निर्माण गर्ने योजना अघि बढाएको जानकारी दिनुभयो ।

“हामी सुकुम्बासी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजनामा छौँ,” उहाँले भन्नुभयो । उक्त बस्तीमा ४२ परिवार बसोबास गर्दै आएका छन् ।

यसैबीच, हावाहुरीकै कारण लहान—२४ मा सात घर र लहान—१९ मा एक घरमा पनि क्षति पुगेको छ ।

कर्णाली नदीमा बेपत्ता बुबाछोराको शव फेला

अछाम। तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ ।

तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको आज शव फेला परेको हो । दुवैजना यही वैशाख ३ गते डुङ्गा पल्टिँदा बेपत्ता भएका थिए ।

कर्णालीपारि सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर ल्याउने क्रममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बुबाछोरा बेपत्ता भएका थिए ।

सुर्खेतबाट आएको सशस्त्र प्रहरी नायब निरीक्षक चेतन राजकोटी नेतृत्वको ६ जनाको गोताखोर टोली र नं ४९ गुल्म हेड क्वाटर खप्तड अछामबाट सशस्त्र प्रहरी सहायक निरीक्षक खेमराज खतिवडाको नेतृत्वको विपद् व्यवस्थापन टोलीले घटनास्थलबाट ५०० मिटर पारि पानी मुनिबाट शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

काठमाडौँ। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेट भएको छ ।

टर्कीको इस्तानबुलमा जारी अन्तर व्यवस्थापिका सङ्घको १५२औँ महासभामा सहभागी हुन त्यहाँ पुग्नुभएका उहाँहरुबीच भेट भएको हो ।

भेटमा उहाँहरुबीच नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

अष्ट्रेलियाले नेपालको विकास र समृद्धिका लागि विगतदेखि नै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी दिनमा अझ थप सहयोग र सहकार्यका लागि आग्रह गर्नुभएको थियो ।

सो क्रममा अष्ट्रेलियाका सभामुख मिल्टनले अष्ट्रेलिया र नेपालको सम्बन्ध विगतदेखि नै निकै सौहार्द्रपूर्ण रहेको चर्चा गर्दै संसदीय सहकार्यले दुई देशको सम्बन्ध अझ प्रगाढ र मजबुत बन्ने बताउनुभएको थियो ।

भेटमा नेपाली संसदीय प्रतिनिधिमण्डलका तर्फबाट राष्ट्रियसभाका सदस्यहरु कृष्णबहादुर रोकाया र डा अञ्जान शाक्य तथा राष्ट्रियसभा सचिव तुलबहादुर कँडेललगायत सहभागी हुनुहुन्थ्यो ।

क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँः महामन्त्री पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको ‘डिजिटल’ अद्यावधिक अभियानलाई सफल पार्न बागमती प्रदेशका नेताकार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

महामन्त्री पौडेलले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले ‘जरा’ अभियानका लागि खटाएका केन्द्रित प्रतिनिधिलगायतको प्रशिक्षण कार्यक्रम क्रियाशील सदस्यतालाई व्यवस्थित गर्न खोजिएको बताउनुभयो । उहाँले सदस्यतालाई सहज र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक गर्न लागिएको उल्लेख गर्नुभयो ।

“एक पटक डिजिटल रेकर्ड भएपछि नवीकरणमा सहजता पुग्छ, एकपटक आ–आफ्नो स्थानबाट मेहनत गरिदिनुहोस्,” महामन्त्री पौडेलले भन्नुभयो । सदस्यता डिजिटल अद्यावधिक गर्न लागिए पनि पुरानो खारेज नहुने उहाँको भनाइ छ ।

महामन्त्री पौडेलले निर्वाचन प्रचारको शैली फेरिएर डिजिटल हुन थालेको भन्दै पार्टी सर्कुलर गर्न, आम सदस्यको राय लिन तथा पार्टीका गतिविधिबारे जानकारी दिन अब डिजिटल प्रविधिको उपयोग गरिने बताउनुभयो । उहाँले पार्टीको सदस्यसँग पार्टी विचार लिन, जिम्मेवार बनाउन र सदस्यको क्षमताको रोष्टर तयार पार्न पनि डिजिटल अद्यावधिक आवश्यक रहेको उल्लेख गर्नुभयो ।

महामन्त्री पौडेलले सदस्यताका लागि वडामा नै जानुपर्ने व्यवस्था गरिएको भन्दै सदस्यलाई आफ्नै टोलमा फर्काउन र चिनारी बढाउन वडामा नै जानुपर्ने व्यवस्था गरिएको बताउनुभयो । “हरेक क्रियाशील सदस्यलाई प्रणालीमा जोड्न र अपनत्वको भाव विकास गर्न वडामै जान प्रोत्साहित गरिएको हो, यसले विवरणमा पारदर्शिता समेत कायम गर्न सकिनेछ,” उहाँले भन्नुभयो ।

कुनै विशेष कारण जान वडा जान नसक्नेका हकमा के गर्ने भन्ने विषय छलफलमार्फत टुङ्ग्याइने महामन्त्री पौडेलले बताउनुभयो । कांग्रेसले जिल्ला सभापतिमार्फत सबै वडामा सदस्यताको फारम पठाउने उहाँले बताउनुभयो ।

वडा सभापतिमार्फत अन्य क्रियाशील अद्यावधिक हुने तथा नवीकरण गरिसकेका सदस्यहरूको वडा सभापतिले सदर गरेर इन्ट्री गरेपछि वैध मानिने व्यवस्था मिलाइएको छ । सदस्यता नवीकरण नभएकाले नयाँ फर्म भर्न सकिने भए पनि अद्यावधिक नभएमा आगामी महाधिवेशनसम्बन्धी प्रक्रियामा भाग लिन पाउने छैनन् ।

इटालीविरुद्धको खेलमा नेपालले ११२ रन बनायो

काठमाडौँ। रुवाण्डामा जारी पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी-२० च्यालेन्ज ट्रफीअन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले ११२ रनको योगफल बनाएको छ ।

रुवाण्डा क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११२ रनको योगफल बनाएको हो । यससँगै इटालीले नेपाललाई पराजित गर्न ११३ रनको लक्ष्य पाएको छ ।

नेपालका लागि पूजा महतोले ४५ बलमा अविजित ४८ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरिन् । त्यस्तै बिन्दु रावलले २६ बलमा १५ रन जोडिन् भने सम्झना खड्काले १३ बलमा १६ रन बनाइन् । नेपाली टोलिकी कप्तान इन्दु वर्माले १० रन योगदान गरिन् । बलिङतर्फ एमिलिया बाट्र्रामले तिन विकेट लिइन् । इटाली अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु

म्याग्दी। धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरुआत भएको छ । धौलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ धौलागिरि हिमालको उचाइ आठ हजार १६७ मिटर छ ।इमेजिन नेपाल कम्पनीमार्फत आरोहणका लागि गएका चार विदेशी र पाँच नेपालीले शनिबार चालुु वसन्तयामको पहिलो सफल आरोहण गरेका हुन् । चीनका लिउ होङ, लिउ यिशी, वाङ, झोङ, स्विटजरल्याण्डका क्रिस्टिन भोगोन्डी, नेपालका फुर ग्याल्जेन शेर्पा, पासाङ नाम्गेल शेर्पा, किली पेम्बा शेर्पा, ङिमा नुुरु शेर्पा र पेम्बा छिरी शेर्पाको टोलीले धौलागिरिको सफल आरोहण गरेका इमेजिन नेपालले जनाएको छ ।

शनिबार दिउँसो ११ः४० बजे धौलागिरिको चुचुरोमा पुुगेको आरोहण टोली सकुशल रुपमा तेस्रो आधार शिविरमा फर्किएको आरोहण टोलीको नेतृत्व गरेका फुुर ग्याल्जेन शेर्पाले बताउनुभयो । शेर्पाहरुको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरुको सहयोगमा आरोही चुचुरोमा पुगेका हुन् ।

पर्यटन विभागका अनुसार वसन्तयाममा धौलागिरि आरोहणका लागि तीन समूहका १२ महिला र १६ पुुरुषले अनुमति लिएका छन् । अनुमति लिएकाबाट रु एक करोड २५ लाख ६० हजार ८५० सलामी दस्तुर (शुल्क) प्राप्त भएको पर्यटन विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले बताउनुभयो । गत शरद्याममा धौलागिरि हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए ।

छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौती हो । अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ ।

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धौलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धौलागिरिको चुचुरोमा पुग्नुभएको थियो ।

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत। जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता हुनुहुन्छ । गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरिङस्थित आफ्नो मामाघरबाट आफ्नो घर फर्कने क्रममा उहाँ बेपत्ता हुनुभएको हो ।

मालढुङ्गा–बेनी सडकअन्तर्गत मिलनचोकबाट मोदी गाउँपालिकाको पातीचौर जान गाडीमा चढेको पाइए पनि हालसम्म सम्पर्कमा नआएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक विजय यादवले बेपत्ता किशोरीको खोजी तीव्र पारिएको र हुलियासहित मातहतका सबै प्रहरी युनिटलाई खोजीकार्य जारी राख्न भनिएको बताउनुभयो ।

स्थानीय शिक्षक भूमिराज शर्माले गाडी चढेकी किशोरी बाटोमा रहेको पातीचौरमा नझरी कास्कीको पोखरा महानगरपालिका–२५ हेमजाको मिलन चोकमा झरेको पाइएको जानकारी दिनुभयो । झर्नुपर्ने ठाउँबाट करिब ३५ किलोमिटर अगाडि हेमजामा झरेको थाहा भए पनि त्यसपछिको अवस्था अज्ञात रहेको उहाँले बताउनुभयो ।

किशोरी देउपुरमै रहेको स्थानीय जननेत्र माध्यमिक विद्यालयको कक्षा ८ उत्तीर्ण गरी अब ९ मा भर्ना हुने समय भएको जनाइएको छ । निजलाई देखेभेटेमा वा शंकास्पद व्यक्तिबारे थाहा पाएमा नजिकैको प्रहरीमा खबर गरेर खोजीमा सहयोग गरिदिन परिवारले सबैमा अनुरोध गरेको छ ।

सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएका सूचना हल्ला हुन वा आधिकारिक हुन भनेर चिन्न आवश्यक रहेको बताउनुभएको छ ।पछिल्लो समय सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने तयारी गरिरहेको भनी फैलिएको विषय पूर्ण रूपमा भ्रामक र कपोलकल्पित रहेको स्पष्ट पार्नुभयो ।

यहाँको लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा स्थानीयसँगको भेटघाटका क्रममा मन्त्री डा तिमिल्सिनाले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिएको उक्त सूचना सत्य नभएको जनाउँदै यस्ता भ्रमपूर्ण सामग्रीले सरकारप्रति अनावश्यक अविश्वास सिर्जना गर्ने प्रयास भएको उल्लेख गर्नुभयो । उहाँले यस्तो सूचना गलत नियतका साथ फैलाइएको हुनसक्ने आशंकासमेत व्यक्त गर्नुभयो ।

मन्त्री डा तिमिल्सिनाले नागरिकलाई कुनै पनि सूचना साझा गर्नु अघि त्यसको सत्यता र स्रोतको विश्वसनीयता जाँच गर्न आग्रह गर्नुभयो । “पुष्टि नभएका सूचना विश्वास गर्नु र फैलाउनुपूर्व त्यसको आधिकारिकता खोज्नु हामी हरेक सचेत नागरिकको जिम्मेवारी पनि हो ।” उहाँले भन्नुभयो ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले वर्तमान सरकार नागरिकको करबाट सङ्कलित स्रोतसाधनको सदुपयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै जनताको पैसाको कहीँकतै दुरुपयोग भएको देखिएमा नागरिकले खबरदारी गर्नुपर्नेसमेत बताउनुभयो । “हामीले सत्यमा आधारित प्रश्न गर्न छोड्न हुँदैन । यसले सरकारलाई पनि थप जिम्मेवार बनाउँछ । तर फैलिएका सबै सूचना सही हुन वा होइनन् भनेर चनाखो हुनुपर्छ”, उहाँले भन्नुभयो ।

सरकारको प्राथमिकता नागरिकको जीवनस्तर सुधार र देशको समग्र विकासमा केन्द्रित रहेको उहाँको भनाइ थियो । यसै सन्दर्भमा उहाँले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार शून्य सहनशीलताको नीतिमा अघि बढिरहेको र कुनै पनि प्रकारको अनियमितता वा पदको दुरुपयोग सहन नहुने स्पष्ट गर्नुभयो । प्रश्न उठ्ने बित्तिकै सरकारले छानबिन र आवश्यक कारबाही अघि बढाउने नीति अवलम्बन गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री डा तिमिल्सिनाले लोकतान्त्रिक व्यवस्थामा जनताको अपेक्षा र आवाजलाई केन्द्रमा राखेर काम गर्न सरकार प्रतिबद्ध रहेकोसमेत उल्लेख गर्नुभयो । नागरिकलाई सहज सेवाप्रवाह, सुशासन र पूर्वाधार विकासका काममा विगतका वर्षहरूमा अपेक्षित रूपमा काम हुन नसकेको अवस्थामा अब परिणाममुखी ढङ्गले काम गर्ने समय आएको उहाँले बताउनुभयो । “बोलेर होइन, काम गरेर देखाउने हाम्रो लक्ष्य हो । हामी अभिव्यक्तिभन्दा प्रमाण र परिणाममा विश्वास गर्छौं”, उहाँले भन्नुभयो ।

उहाँले विकास प्रक्रिया क्रमिक हुने भएकाले तत्काल चमत्कारको अपेक्षा नगर्न आग्रह गर्दै दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । सरकारले गाउँगाउँमा पुगेर नागरिकको प्रत्यक्ष आवाज सुन्ने र सोही आधारमा नीति तथा कार्यक्रम निर्माण गर्ने कार्यलाई प्राथमिकता दिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा मन्त्री डा तिमिल्सिनाले जिल्लाको समग्र विकास र स्थानीय जनताको आकांक्षाबारे आफू जानकार रहेको उल्लेख गर्दै आगामी दिनमा ती आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै, नागरिकलाई सकारात्मक सुझाव र सहकार्यका लागि आह्वान गर्दै विगत ३० वर्षमा पूरा हुन नसकेका विकासका काम आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउनुभयो ।

बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक। वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभे्रको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।

कटुञ्जे–मङ्गलटार सडकखण्डको विभिन्न स्थानमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डाइभर्सन मर्मत सुरु गरिए पनि आवागमन सुचारु गर्न केही समय लाग्ने कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको हो ।

गत सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको चार किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।

यसैबीच, राजमर्गा अवरुद्ध भएपछि सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिलसमेत गरिएको छ ।

गतसाल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

टेम्पोमाथि रुख ढल्दा २ जनाको ज्यान गयो, ३ जना घाइते

काठमाण्डौ – महोत्तरीको जलेश्वरमा टेम्पोमाथि रुख ढल्दा २ जनाको ज्यान गएको छ । हावाहुरीका कारण हिजो बेलुका रुख ढलेको र ढलेको रुखले जलेश्वर नगरपालिका–९ परकौली सडकमा गुडिरहेको ज १ घ ४८५० नम्बरको टेम्पोलाई थिचेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

टेम्पोमा रहेका जनकपुर उपमहानगरपालिका–२० की ४१ वर्षीय सकुन्तला देवी र महोत्तरी एकडारा गाउँपालिका–३ का ३३ वर्षीय राहुल मलिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिनुभयो ।

दुर्घटनामा ३ जना घाइते भएका छन् । उनीहरूको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रास्वपा सचिवालयको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ले पार्टी सचिवालयको बैठक बोलाएको छ । पार्टीका सभापति रवि लामिछानेले बैठक आज दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बोलाएका हुन् ।

बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनको विषयमा छलफल हुने छ ।

यस्तै, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत सम्बन्धमा, विज्ञहरू, योजनाका लगायत विविध विषयमा छलफल हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

काठमाडौँ। अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा पाउने प्रावधान छ ।

विश्वविद्यालयले योग्य, दक्षा र अनुसन्धानमैत्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन बिदा दिने गरेको हो । तर प्रध्यापकहरूले बिदाको चरम दुरुपयोग गरेको पाइएको छ । यससम्बन्धी समाचार प्रकाशित भएपछि त्रिविले अध्ययन बिदामा गएर नफर्किने शिक्षक÷कर्मचारीहरूको खोजबिन गर्न डा जीवन काफ्लेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । समितिमा कृष्णहरि आचार्य र दीपक तिवारी सदस्य हुनुहुन्छ ।

उक्त समितिले खोजबिन गर्दा करिब ३९८ प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको भेटिएको छ । यसबाट त्रिविलाई आर्थिका साथै प्राज्ञिक क्षति पुगेको छ । अध्ययन बिदामा गएका स्थायी शिक्षकको ठाउँमा आंशिक र करारका शिक्षक राख्दा त्रिविलाई थप आर्थिक भार परेको छ ।

समितिका संयोजक डा काफ्लेले अध्ययन बिदामा विदेश गएकामध्ये नफर्किनेको सङ्ख्या बढ्दा त्रिविले आर्थिक क्षतिका साथै शैक्षिक समस्या र नैतिक नोक्सानी व्यहोरिरहेको बताउनुभयो । “शिक्षक कर्मचारीबाटै अध्ययन बिदामा गएर नफर्किने लापरवाही प्रवृत्तिले विद्यार्थीमा नकारात्मक सन्देश गएको छ”, उहाँले भन्नुभयो, “त्रिविप्रतिको धारणामा असर पनि पुगेको छ ।”

त्रिवि कार्यकारी परिषद्ले २०८१ पुस २५ गते छानबिन समिति बनाएको थियो । छानबिन समितिले तयार पारेको प्रतिवेदनमा नफर्किएका १९१ जना र बिदा लिएर अध्ययन पूरा नगर्नेमा २०७ जना गरी कुल ३९८ प्राध्यापक छन् । समितिका संयोजक काफ्लेका अनुसार थप ५०–६० फाइल पनि भेटिएको छ ।

त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा तीन वर्षभन्दा बढी पाँच वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा पाँच वर्ष सेवा गर्नुपर्ने उल्लेख छ । यदि तीन वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा तीन वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ ।

अध्ययन बिदा सकिएपछि शिक्षक नफर्किएमा बिदामा बस्दा त्रिविको ढुकुटीबाट खाइपाइ आएको तलबभत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने भनेर शिक्षक कर्मचारीले कबुलियतनामा पनि गरेका हुन्छन् । पाँच वर्षसम्म त्रिविको तलब खाने र बिदा सकिएपछि अमेरिका, अष्ट्रेलिया, क्यानडा तथा युरोपका विभिन्न मुलुकमा बस्ने गरेको पाइएको छ ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले धेरै वर्षदेखि पेचिलो बनिरहेको अध्ययन बिदा दुरुपयोगको विषयलाई त्रिविले आँट गरेर बाहिर ल्याएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “समितिले गरेको अध्ययनमा १९३ जना पाँचवर्षे अध्ययन बिदा सकेर नफर्किएका र अध्ययन बिदा लिएर अध्ययन पूरा नगरेका ४०० भन्दा बढी पाइएको छ ।”

शिक्षाध्यक्ष डा केसीका अनुसार विश्वविद्यालयसँग गरेको कबुलियतअनुसार साँवाब्याजसहित फिर्ता गर्न त्रिविले पत्राचार गरेकामा २० जनाले रकम बुझाइसकेका छन् । उनीहरूबाट रु छ करोड रकम फिर्ता भएको छ । अध्ययन बिदा सकिएपछि नफर्किएमा बिदामा बस्दा त्रिविको ढुकुटीबाट खाइपाइ आएको तलबभत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने भनेर कबुलियतनामा गरिएको हुन्छ । सोही कबुलियतनामाअनुसार रकम फिर्ता गरिरहेका हुन् ।

त्रिविले ताकेता गरेपछि ५० जनाभन्दा बढी प्राध्यापक फिर्ता गर्ने प्रक्रियामा छन् । त्रिविका अनुसार नफर्किने प्राध्यापकले प्रतिव्यक्ति कम्तीमा रु १० लाखदेखि रु ५० लाख बढीसम्म फिर्ता गर्नुपर्ने देखिएको छ । डा केसीले भन्नुभयो, “हामी निर्ममतापूर्वक अहिले पनि लागिरहेका छौँ । अब पहिलो चरणमा पैसा नबुझाउनेलाई दोस्रो चरणमा कानुनी परामर्श लिएर नाम सार्वजनिक गर्छौँ, ३५ दिने सूचना अवधिमा पनि सम्पर्कमा नआए सम्बन्धित निकायलाई कारबाहीका लागि सिफारिस गरिनेछ ।”

त्रिविको उपप्राध्यापक पदको शिक्षकको सेवा सुविधालाई मात्र आधार मान्ने हो भने एक शिक्षकको रु ४८ हजार ७३७ बेसिक तलब जम्मा आठ ग्रेडबापत रु १३ हजार र कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोष समेत १०–१० प्रतिशत कट्टी गर्दा रु १२ हजार ३४८ र मासिक बिरामी बिदाबापत रु दुई हजार ५७३, महँगी भत्ता रु दुई हजार र प्राज्ञिक भत्ता रु एक हजार चाडबाड खर्च रु ६१ हजार ७३७ गरी जम्मा वार्षिक रु १० लाख १७ हजार ६३३ को हिसाबले ३९७ शिक्षक कर्मचारीले पाँच वर्षको अवधिमा करिब रु दुई अर्बको हाराहारीमा दुरुपयोग गरेको प्रतिवेदनको प्रारम्भिक विवरणमा छ ।

प्रधानमन्त्री र शिक्षामन्त्रीको चासो

अध्ययन बिदाको दुरुपयोगका विषयमा सरकारले चासो लिएको छ । प्रधानमन्त्री वालेन्द्र शाह र सरकारको प्रवक्ताको समेत जिम्मेवारी सम्हाल्नुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमन्त्री सस्मित पोखरेलले चासोका साथ अध्ययन गरिरहुनभएको हो । प्रधानमन्त्री शाह र शिक्षामन्त्री पोखरेलको सचिवालयले छानबिन समितिका संयोजक डा काफ्लेसँग छलफल गरेको छ । प्रधानमन्त्री र शिक्षमन्त्रीले चासो देखाएपछि त्रिविले कामलाई थप तीव्रता दिएको छ ।

समितिका संयोजक डा काफ्लेले डिन कार्यालय, क्याम्पस, केन्द्रीय विभागलगायतका कार्यालयमा पुगेर नफर्किने प्राध्यापक र कर्मचारीको खोजी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्ववत रूपमा आकलन गरिएको सङ्ख्याभन्दा अझ बढी सङ्ख्यामा दुरुपयोगको अवस्था देखिएको छ भने समिति गठनपश्चात् दुरुपयोग गर्नेहरू सार्वजनिक जीवनमा पर्न जाने असरलाई मूल्याङ्कन गरी आफूले दुरुपयोग गरेको क्षतिपूर्ति रकम त्रिवि नियमअनुसार बुझाउन अग्रसर देखिएका छन् ।”

डा काफ्लेका अनुसार हालसम्म टोलीले त्रिविका ६० प्रतिशत आङ्गिक क्याम्पस र कार्यालयमा प्रत्यक्ष रूपमा अवलोकन गर्दा अध्ययन बिदा लिई सेवामा नफकर्ने शिक्षक कर्मचारीका साथै अध्ययन बिदा लिई उपाधि हासिल गर्न नसक्नेहरूको सङ्ख्या समेत उल्लेख्य रूपमा रहेको पाइएको छ ।

त्रिविले विशवविद्यालयअन्तर्गतका क्याम्पस कार्यालयहरूमा कार्यरत स्थानीय शिक्षक तथा कर्मचारीलाई निजहरूको वृत्ति विकासका लागि अध्ययन अध्यापन र अनुसन्धान कार्य गर्न एक वर्षदेखि पाँच वर्षसम्मको अध्ययन बिदा दिने गरेको छ । यसरी अध्ययन बिदाबाट प्राप्त गरेको ज्ञान र सीप विश्वविद्यालयको समग्र हितमा हुने अपेक्षाका साथ एक वर्षदेखि पाँच वर्षसम्मको तलबी अध्ययन बिदा दिने गरेको हो ।

अध्ययन बिदामा बसेको शिक्षकहरूले आफूले अध्ययन बिदा उपयोग गरेको समयअनुसार विश्विद्यालयमा सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ र सोअनुसार सेवा नगर्ने शिक्षक कर्मचारीका लागि दण्ड सजायको समेत व्यवस्था गरिएको छ । अध्ययन बिदामा बसी नफर्कने शिक्षक कर्मचारीलाई त्रिविले पत्र काटेर नफर्किने शिक्षकको विवरण उपलब्ध गराउन सबै निकायलाई भनेको थियो । तर सही विवरण नआएपछि समिति क्याम्पस क्याम्पसमा पुगेर सङ्कलन गर्न लागेको हो ।

“समितिले सम्बन्धित क्याम्पसमै पुगेर खोजबिन गरिरहेको छ । ठूलो सङ्ख्यामा शिक्षक र कर्मचारी अध्ययन बिदामा गएर नफर्किएको पाइएको छ”, समितिका संयोजक डा काफ्लेले भन्नुभयो । विसं २०४४ यताका सबै फाइल खोजेर अध्ययन गरिरहेको समितिले जनाएको छ । अध्ययन बिदामा गएका त्रिविका कति शिक्षक कर्मचारी फर्किए, कति उतै लुके भन्ने तथ्याङ्क त्रिविसँग थिएन । त्यसैले समिति बनाएर त्रिविले तथ्याङ्क सङ्कलन गरिरहेको हो ।

समितिका अनुसार त्रिविका आङ्गिक क्याम्पस÷डिन कार्यालय÷केन्द्रीय विभागमा खोजबिन सकिएको छ । कति सङ्ख्यामा शिक्षक कर्मचारी विदेशमै लुकेका छन् भन्ने तथ्याङ्क एकैपटक सार्वजनिक गरिने उहाँले बताउनुभयो । असार मसान्तसम्मको समयावधि पाएको समितिले तीव्र रूपमा काम गरिरहेको छ ।

चार सयले गरे बिदाको दुरुपयोग

समितिले छ महिना त्रिविका सबै निकायमा पुगेर खोजबिन गर्दा ४०० प्राध्यापकले दुरुपयोग गरेको भेटिएको हो । समितिले ताकेता गरेपछि अहिले अध्ययन बिदाबाट नफर्किएका प्राध्यापकले धमाधम रकम फिर्ता गर्न थालेका छन् । हालसम्म ४४ जनाले निवेदन दिएको र तीमध्ये २० जनाले साढे छ करोड रकम फिर्ता गरेको समितिका संयोजक डा काफ्लेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले २० जनाबाट साढे ६ करोड रकम उठिसकेको छ । अरुलाई पनि हामीले पत्राचार गरिरहेका छौँ ।”

अध्ययन बिदामा बसेर नफिर्किने शिक्षक र कर्मचारी अहिले करिब चार सय पुष्टि भएको तथा अझै केही केशहरू पनि आइरहेकाले यो सङ्ख्या झन्डै पाँच सय पुग्ने बताइन्छ । विश्वविद्यालयको नियममा पाँच वर्षसम्म अध्ययन बिदामा बस्न पाउने प्रावधान छ । तीन वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा तीन वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा पाँच वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ । बिदामा बस्दा शिक्षकले नेपाली कागजमा फर्किने कबुलियतनामा गरेको हुन्छ । नफर्किएमा जायजेथाबाट भए पनि खाएको रकम असुल गर्ने भनिएको छ । तर, २०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक फर्किएका छैनन् ।

धेरैजसो प्राध्यापकको खाएको तलबभन्दा ब्याज बढी भएपछि फिर्ता गर्न आनाकानी गरिरहेका छन् । यसमा के गर्ने भनेर त्रिवि पदाधिकारीले छलफल गरिरहेको छ । शिक्षाध्यक्ष डा केसीले त्रिविलाई अझै पनि अध्ययन बिदा दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याउन तथा प्रतिवेदन कार्यान्वयनका चुनौती र छिद्रहरू रहेकाले जवाफदेही बनाउनका लागि सरकार, नागरिक समाज र सञ्चारमाध्यमको साथ र सहयोगको जरुरी भएको उल्लेख गर्नुभयो ।

अध्ययन बिदा लिएपछि क्याम्पस कार्यालयमा नफर्कने शिक्षक तथा कर्मचारीको सङ्ख्या अध्ययन संस्थानतर्फ सङ्कायतर्फको भन्दा तुलनात्मक रूपमा बढी देखिएको समितिले उल्लेख गरेको छ । त्रिविका केही शिक्षकहरूले स्वीकृत अध्ययन बिदा लिएपछि निर्धारित समयमा अध्ययन पूरा नगरेको तथा बिदा समाप्त भएपछि क्याम्पस वा विभागमा पुनः नफर्किनुले अध्ययन बिदाको मूल उद्देश्य नै विफल भएको समितिको ठहर छ ।

त्रिविको नियममा शिक्षक लगातार ९० दिनसम्म बिनासूचना क्याम्पस वा कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउने वा बर्खास्त गर्न सकिने भनिएको छ । विदेशबाट राजीनामापत्र त्रिविमा पठाउने तर रकम भने फिर्ता गर्दैनन् ।

यी हुन् समितिले खोजबिन गरेका क्याम्पस

अध्ययन बिदामा बसेर नफर्केका शिक्षक÷कर्मचारीको खोजबिन समितिले अहिलेसम्म खोजबिन गरेका क्याम्पसहरूमा विज्ञान तथा प्रविधि अध्ययन संस्थान, कृषि र पशु विज्ञान अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, चिकित्साशास्त्र अध्ययन संस्थान, रसायनशास्त्र केन्द्रीय विभाग, प्राणीशास्त्र केन्द्रीय विभाग, भौतिकशास्त्र केन्द्रीय विभाग, वनस्पतिशास्त्र केन्द्रीय विभाग, भूगर्भशास्त्र केन्द्रीय विभाग, जल तथा मौसम विज्ञान केन्द्रीय विभाग, माइक्रोबायोलोजी केन्द्रीय विभाग, गणित केन्द्रीय विभाग, तथ्याङ्कशास्त्र केन्द्रीय विभाग, वातावरण केन्द्रीय विभाग, विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग र बायोटेक्नोलोजी केन्द्रीय विभाग रहेका छन् ।

यस्तै रत्नराज्यलक्ष्मी क्याम्पस, अमृत क्याम्पस, नेपाल ल क्याम्पस, पुल्चोक क्याम्पस, पुल्चोक, विश्वभाषा क्याम्पस, महेन्द्र रत्न बहुमुखी क्याम्पस, थापाथली क्याम्पस तथा झापाको मेची बहुमुखी क्याम्पस, विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, स्नातकोत्तर क्याम्पस, विराटनगर नर्सिङ क्याम्पस छन् ।

त्यसैगरी, धरानको पूर्वाञ्चल क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस, काठमाडौँको त्रिवि शिक्षण अस्पताल, आयुर्वेद क्याम्पस, मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, महाराजगञ्ज नर्सिङ क्याम्पस, पोखराको पृथ्वी नारायण क्याम्पस, पश्चिमाञ्चल क्षेत्रीय क्याम्पस, वन विज्ञान क्याम्पस रहेका छन् ।

यसरी खोजबिन गर्दा मानविकी तथा सामाजिकशास्त्र सङ्काय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र इन्जिनियरिङ अध्ययन संस्थानका धेरै प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेका छन् । तीन सय ९८ प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेकामा मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा ११४ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा १०६ जना र इन्जिनियरिङ अध्ययन संस्थानमा ९९ जना छन् । वन विज्ञान अध्ययन संस्थानमा २८, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा १३, चिकित्साशास्त्र अध्ययन संस्थानमा नौ, शिक्षाशास्त्र सङ्कायमा नौ, व्यवस्थापन सङ्कायमा १९ र कानुन सङ्कायमा एक प्राध्यापक रहेका छन् ।

फिर्ता गर्नेमा सांसद पनि

त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिई पूरा अवधि काम नगरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसका सांसदले तलबभत्ता फिर्ता गरेका छन् । कैलाली–५ बाट निर्वाचित रास्वपा सांसद डा आनन्द चन्द र गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित कांग्रेस सांसद जगत तिमिल्सिनाले रकम फिर्ता गरेका हुन् ।

सांसद हुनुअघि उपप्राध्यापक चन्द त्रिवि पाटन संयुक्त क्याम्पस र सहप्राध्यापक तिमिल्सिना व्यवस्थापन केन्द्रीय विभागमा कार्यरत थिए । चन्दले गत ३० चैतमा ४४ लाख ५६ हजार र तिमल्सिनाले गत २ वैशाखमा ३३ लाख ५० हजार रकम फिर्ता गरेका हुन् ।

त्यसैगरी, रकम फिर्ता गर्नेमा मित्रमणि सुवेदी, हिमाकुमारी राउत, रीना श्रेष्ठ, पुष्पराज आचार्य, ज्ञानप्रसाद गौतम, डा आशुतोषकुमार सिंह, जीवनाथ लम्साल, डा बुना भण्डारी, दीपक पुडासैनी, सरस्वती दवाडी, थिरबहादुर बुढाथोकी, नारायण सुवेदी, प्रकाश आचार्य, शम्भु पौडेल, जगत तिमल्सिना, बालहरि पौडेल, वीरेन्द्रप्रसाद गुप्ता, अर्चना न्यौपाने तिमिल्सिना, शैलेन्द्रनाथ अधिकारी र आनन्दबहादुर चन्द छन् ।

त्रिविले अध्ययन बिदाको दुरुपयोग गर्ने शिक्षक कर्मचारीबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राखेको छ । आर्थिक वर्ष २०८२÷८३ को बजेटमा त्रिविले यो शीर्षकलाई आन्तरिक आम्दानीको स्रोतमा पनि राखेको छ ।

सहज रूपमा विद्युत् महसुल सङ्कलनका लागि सेवाप्रदायक छनोट गर्दै प्राधिकरण

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल सङ्कलन प्रक्रियालाई थप सहज र सरल बनाउने उद्देश्यका साथ इच्छुक सेवा प्रदायकहरूसँग प्रस्ताव माग गरेको छ ।महसुल सङ्कलनका लागि आवश्यक सहजीकरणका लागि विद्युतीय माध्यमबाट काम गर्ने वा गराउने फर्मलाई प्रस्ताव पेस गर्नका लागि आग्रह गरेको हो । प्राधिकरणले सेवाप्रदायक संस्था दर्ता तथा नवीकरण भएको प्रमाणपत्र, विद्युतीय माध्यमबाट कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजतपत्र प्राप्त गरेको प्रमाणपत्र आवश्यक पर्नेछ ।

यस्तै, आयकर र मूल्य अभिवृद्धि कर, गत आवसम्मको कर चुक्ता प्रमाणपत्र, सेवा प्रदायक संस्थाको प्रबन्धपत्र र नियमावली पनि पेस गर्नुपर्नेछ । प्रस्तावित सेवाका लागि कानुनी रूपमा अयोग्य नभएको स्वघोषणा गर्नुपर्नेछ । प्राधिकरणबाट तोकिएबमोजिमको बैंक जमानत पेस गर्ने प्रतिबद्धतापत्र, दुगर्म क्षेत्रका ग्राहकले समेत विद्युतीय माध्यमबाट विद्युत् सङ्कलन गर्ने प्रतिबद्धतापत्र, सेवा प्रदायक संस्थाले अवलम्बन गर्ने प्रविधिबाट प्राधिकरणको आय तथ्याङ्कको गोप्यता र सुरक्षा पर्याप्त रहने प्रतिबद्धता आवश्यक पर्दछ ।

सङ्कलित रकम प्राधिकरणले तोकेबमोजिमको बैंक खातामा दाखिला गर्न गरेको मञ्जुरी, महसुल भुक्तानीका लागि आवश्यक एवं सञ्चालनमा रहेका विभिन्न माध्यमहरूबाट महसुल सङ्कलनका लागि बढीभन्दा बढी सुविधा दिन सक्नुपर्नेछ । सेवा प्रदायक संस्थामा कम्तीमा पनि पाँच जना विषयगत प्राविधिक दक्ष जनशक्तिको विवरण पनि पेस गर्नुपर्नेछ ।

प्रस्तावकले प्रस्ताव पेस गर्दा कार्यक्षेत्रको विवरण उल्लेख गर्नुपर्नेछ । सेवा प्रदायक सञ्जाल एवं एजेन्सीहरूको विवरण, सेवा प्रदायकले प्राधिकरणको आय प्रणालीमा आबद्ध गर्ने व्यवस्था, सेवा प्रदायकले प्राधिकरणलाई उपलब्ध गराउने सफ्टवेयर एवं उपकरणको विवरण दिनुपर्नेछ । सेवा प्रदायकले प्राधिकरणसँग समन्वय गरी कार्य गर्ने तौरतरिका एवं प्रक्रिया र सङ्कलित रकम प्राधिकरणमा जम्मा गर्ने समय, तरिका र सोको सुरक्षणसम्बन्धी विवरण आवश्यक पर्नेछ ।

प्राधिकरणको सूचनाअनुसार रु पाँच सयसम्म महसुल भुक्तानी गर्ने ग्राहकलाई निःशुल्क रूपमा सेवा प्रवाह गर्नुपर्नेछ । यस्तै, रु पाँच सय एकदेखि रु पाँच हजारसम्म महसुल तिर्ने ग्राहकलाई प्रतिकारोबार रु पाँच अधिकतममात्रै लिनुपर्ने सीमा निर्धारण गरिएको छ । प्राधिकरणको यो प्रस्तावअनुसार सेवाप्रदायकले शुल्क तोक्नुपर्नेछ ।

त्यस्तै, रु पाँच हजार एकदेखि रु १० हजारसम्म महसुल तिर्ने ग्राहकलाई प्रतिकारोबार रु आठमात्रै लिनुपर्नेछ । यस्तै, रु १० हजार एकदेखि माथि प्रतिकारोबार अधिकतम रु १० सेवा शुल्क लिन पाइनेछ । प्राधिकरणले तोकेको यो प्रस्तावित सेवा शुल्कमा आधारित रहेर सेवा प्रदायकले शुल्क तोक्नुपर्नेछ । सेवा प्रदायकको प्रस्ताव स्वीकृत भएको जानकारी प्राधिकरणले दिएको १५ दिनभित्र बैंक जमानत लिई सम्झौताका लागि आउनुपर्नेछ । सुरक्षणका लागि न्यूनतम रु एक करोडबराबरको (क) श्रेणीको वाणिज्य बैंकबाट कम्तीमा एक बर्षको म्याद राखी जारी भएको शर्तसहितको बैंक जमानत राख्नुपर्नेछ ।

बैंक जमानत राखेको भन्दा बढी रकम दैनिक सङ्कलन गर्न पाउनेछैन । सेवा प्रदायकले महसुल सङ्कलन गर्दा प्राधिकरणबाट कुनै सेवा शुल्क पाउनेछैन ।सेवाप्रदायक र प्राधिकरणबीच कुनै विवाद भएको खण्डमा सञ्चालक समितिले तोकेको सञ्चालकको अध्यक्षतामा विवाद समाधान समिति गठन गरिनेछ ।

समितिमा प्राधिकरणका उपकार्यकारी निर्देशक, कानुन विभागका निर्देशक, सेवा प्रदायक संस्थाले नियुक्त गरेको एक जना प्रतिनिधि सदस्य रहनेछन् । यस्तै संस्थागत वित्तीय विभागका निर्देशक सदस्यसचिव रहने व्यवस्था गरिएको छ ।

वैशाख–८ गतेदेखि सोल्मामा ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता

खोटाङ। सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले यही वैशाख ८ गतेदेखि वडास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।वार्षिक रुपमा प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले वैशाख ८ गतेदेखि १२ गतेसम्म ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

पाँच दिनसम्म सञ्चालन हुने वडास्तरीय फुटबल प्रतियोगितामा प्रथम हुने वडाले नगद पुरस्कार रु एक लाख ११ हजार १११ तथा द्वितीय हुने वडाले नगद रु ६६ हजार ६६६ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिनुभयो ।

प्रतियोगिताका सेमिफाइनलिष्ट दुई वटा वडाले रु २५ हजार ५५५ का दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।प्रतियोगितामा बेष्ट प्लेयर एक जनालाई रु पाँच हजार ५५५ तथा बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर, हाई स्कोरर, बेष्ट कोच र राइजिङ प्लेयरलाई रु दुई हजार २२२ का दरले नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता समापनका अवसरमा जिल्लामा क्रियाशील एकजना पत्रकारलाई ‘सोल्मा खेलकुद पत्रकारिता पुरस्कार’ प्रदान गरिने आयोजकले जनाएको छ ।सोल्मास्थित आफ्नै खेल मैदानमा सञ्चालन हुने छैटौँ संस्करणको प्रतियोगितामा जिल्लाका १४ वडाले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार वैशाख–८ गतेको पहिलो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र सोही नगरपालिकाको वडा नं ६ नेर्पा तथा दोस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाबीच हुने भएको छ ।

वैशाख ९ गते चार खेल सञ्चालन हुने आयोजकले जनाएको छ । वैशाख ९ गतेको पहिलो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, दोस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी, तेस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा र हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडा तथा  चौथो खेल साकेला गाउँपालिका–२ रतन्छा र हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेबीच हुने भएको छ ।

प्रतियोगितामा जिल्लाभित्रका वडाहरूले मात्र सहभागी हुन पाउने नियम बनाइएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा सहभागी सबै खेलाडी एउटै वडाको हुनुपर्ने जनाइएको छ ।

सहभागी खेलाडीले वडा कार्यालयबाट सिफारिस साथमा नाम, थर र ठेगाना खुल्ने सक्कल कागजसहित दुई÷दुईप्रति पास्पोर्ट अनिवार्य उपलब्ध गराउनुपर्नेछ । प्रतियोगितामा कीर्ते खेलाडी सहभागी गराउने वडालाई रु २० हजार जरिवाना र तीन वर्षसम्म प्रतियोगितामा सहभागी हुन नपाउने जनाइएको छ ।

खेलमा सहभागी भएपश्चात् बहिस्कार गर्न नपाइने र कसैले बहिस्कार गरेका खण्डमा आयोजकलाई रु २० जरिवाना बुझाउनुपर्ने जनाइएको छ । खेलमा दाबी विरोध गर्नुपरेमा खेल सकिएको एक घण्टाभित्र रु २५ हजार नगदसहित उजुरी गर्नुपर्नेछ भने उजुरी परेको वडाले दुई घण्टाभित्र विवरण पेस गरिसक्नुपर्ने जनाइएको छ ।

विसं २०७० मा स्थापना भएको सोल्मा स्पोर्टस् क्लबले हरेक वर्ष वडास्तरीय प्रतियोगिता सञ्चालन गर्दै आएको छ । ‘सभ्य समाज निर्माणका निम्ति अनिवार्य खेलकुद’ भन्ने नाराका साथ स्थापना गरिएको सोल्मा स्पोर्टस् क्लबको अन्तरराष्ट्रिय मापदण्डको आफ्नै खेल मैदान रहेको छ । तस्वीर उपलब्ध छ ।

सल्यानमा जन्ती चढेको जीप दुर्घटना हुँदा चार जनाको ज्यान गयो, १४ जना घाइते

काठमाण्डौ – सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१२ पुथालाको भित्री सडकखण्डमा जन्ती चढेको जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।

बनगाड कुपिन्डे–८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ विवाहको जन्ती लिएर जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ज ०२७१ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना हुँदा अन्य १४ जना घाइते भएका छन् ।

बनगाड कुपिण्डे नगरपालिका–८ का ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती, १९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनुभयो ।

सुर्खेतको मेहलकुनामा रहेको अस्पतालमा घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्तयामको आरोहण सुरु

म्याग्दी। अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्तयामको आरोहण सुरु भएको छ ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट टेकका लाक्पा शेर्पाको नेतृत्वमा सात जना नेपाली र पाँच जना विदेशी पर्वातारोही शनिबार अन्नपूूर्णको चुुचुरो चुमेका हुन् ।

सेभेन समिटका अनुुसार आरोहण गर्नेहरूमा क्यानडाका चाल्र्स पेज, रुसका भालेरिय बाबानोभ, भ्लादिमिर अफानासेभ, युरी कुग्लोभ र अजरवैजानका इस्फार्ली असुुर्ली रहेका छन् । नेपाली लाक्पासहित छेवाङ, दावा नर्बुु, पासाङ दुुङपा, छाङुुबा, तारामान र पासाङ शेर्पाले पनि शनिबार नै अन्नपूूर्णको सफल आरोहण गर्नुभएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, शनिबार विहान १०ः१५ बजे नेदरल्यान्ड र अष्टे««लियाका दुई आरोहीसँगै एक शेर्पाले सफलतापूर्वक आरोहण गरेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।

“अन्नपूर्ण हिमालमा यसपटकको पहिलो आरोही टोलीले सफलतापूर्वक आरोहण गरेका छन्”, उहाँले भन्नुभयो, “आरोहण टोलीसँगै बेसक्याम्पसम्म घुम्न जानेको चहलपहल सुरु भएको छ”, अभियान्ता गुरुङले भन्नुभयो ।

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट चार समूहका २७ जनाले अनुमति लिएका छन् । उनीहरूबाट रु एक करोड २० लाख ४९ हजार १७५ राजस्व प्राप्त भएको विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले बताउनुभयो । अन्नपूर्ण संसारको दशौँ अग्लो हिमाल हो । गत वर्षको वसन्तयाममा अन्नपूर्ण चढ्न ६६ जनाले अनुमति लिएका थिए ।

अन्नपूर्ण आरोहणका लागि विभिन्न कम्पनीबाट पुगेका आरोही र पर्यटकहरूको आधार शिविरमा चहलपहल छ । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलोपटक आरोहण गर्नुभएको थियो ।

मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ सालमा सरएडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १९० रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७५ पैसा र बिक्रीदर २१ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १८ पैसा र बिक्रीदर १६ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४२ पैसा र बिक्रीदर २३ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ५८ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ १२ पैसा, ओमनी रियाल एकको खरिददर ३८५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९८ पैसा रहेको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच भेटवार्ता, के के भयो कुराकानी ?

काठमाडौँ। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १५२औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहनुभएका अध्यक्ष दाहालले शनिबार टर्कीको संसद्का सभामुखसँग शिष्टाचार भेट गर्नुभएको हो । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । द्विपक्षीय भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत दुई देशबीचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनुपर्ने उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीयमैत्री समूह गठनका लागि आफूहरू आतुर रहेको बताउनुभयो ।

दुई देशबीचको कूटनीतिक सम्बन्ध छ दशकदेखि नै सौहार्द र आपसी सम्मानमा आधारित रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालमै टर्कीको दूतावास स्थापना गर्न आग्रह गर्नुभयो । अहिले टर्कीसँग जोडिएका सबै काम गर्न नेपाली भारतको राजधानी दिल्ली धाउनुपर्ने स्थिति रहेको भन्दै अध्यक्ष दाहालले नेपाल र टर्कीबीच श्रम सम्झौता गर्नुका साथै नेपालमै टर्किस दूतावास स्थापना भए दुई देशबीचको सहकार्यमा थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

आइपीयूको महासभामा टर्की सरकार र संसद्ले गरेको स्वागत र हार्दिकताका लागि अध्यक्ष दाहालले धन्यवाद व्यक्त गर्नुभयो । सो क्रममा टर्कीको संसद् ग्रान्ड नेसनल एसेम्बलीका सभामुखले राष्ट्रियसभा अध्यक्षसहित नेपाली संसदीय प्रतिनिधिमण्डललाई इस्तानबुलमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । टर्की र नेपालबीच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन आफूहरू सदैव तत्पर रहेको उल्लेख गर्दै सभामुख नुमानले नेपालमा टर्किस दूतावास खोल्न सकारात्मक रहेको बताउनुभयो ।

टर्किस सरकारले नेपालका लागि सीमित कोटाको शैक्षिक छात्रवृत्तिको व्यवस्था गरेको उल्लेख गर्दै उहाँले छात्रवृत्तिको कोटा वृद्धि गर्ने र दुई देशबीचको व्यापार पनि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आगामी नोभेम्बरमा कोप–३१ टर्कीमा हुन लागेको उल्लेख गर्दै सभामुख नुमानले त्यसको नेतृत्वका लागि टर्कीलाई आवश्यक सहयोग गर्न अनुरोध पनि गर्नुभयो । भेटमा आइपीयूमा सहभागी नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरू पनि उपस्थित हुनुहुन्थ्यो ।

सरकारले शक्तिको आडमा जनतामाथि दमन गरिरहेको भन्दै रक्षाले गरिन् गगनको खोजी , भनिन् – प्रतिपक्ष खोई, गगन ?

काठमाडौं जेनजी अभियन्ता रक्षा बमले नेपाली कांग्रेसका सभापति गगन थापाको खोजी गरेकी छिन् । शनिवार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले प्रतिपक्ष खोई भन्दै गगनलाई धेरै प्रश्नहरु गरेकी छिन् ।

प्रतिपक्षको भूमिका कमजोर देखिएको भन्दै उनले हामीलाई प्रतिपक्ष बलियो आवाज चाहिएको बताएकी छिन् । उनले गगनलाई कमजोर नबन्न पनि बनेकी छिन् । उनले लेखेकी छिन् –

प्रतिपक्ष खोई, गगन?
झन्डै दुई तिहाइको सरकारले आफ्नो शक्तिको प्रयोग गर्दै अगाडि बढिरहेको सन्दर्भमा, पछिल्ला केही घटनाहरूले हामीलाई गम्भीर बनाएका छन्। एक जना महिलालाई प्रहरीले घाँटी निमोठ्दै गरेको भिडियो पनि सामाजिक सञ्जालमा हामीले देख्यौँ। एउटी आमाले आफ्नो बच्चालाई च्याप्पै समाएर रूदै गर्दा, बालबालिकाहरूले आफ्नो घर डोजरले भत्किँदै गरेको हेर्दै गर्दा, व्यापारीहरूलाई लखेटिँदै गर्दा, लाठी लगाएर तर्साइँदै गर्दा, तपाईं किन मौन हुनुहुन्छ, गगन? “सुध्रिएको कांग्रेस” वा “नवीन कांग्रेस” भन्ने कुरा सत्ता हातमा हुँदा मात्र देखाउने योजना थियो र? प्रतिपक्षका लागि कांग्रेस होइन र? नेता जुनसुकै पक्षमा होस्, ऊ अन्ततः जनताकै पक्षमा हुनुपर्छ। जनताकै पीडा र जनताकै मुद्दा बोक्नुपर्छ।

संसदमा दोस्रो ठूलो दलको सभापति भएको नाताले, प्रतिपक्षमा हुँदा तपाईंको भूमिका झन् ठूलो र झन् जिम्मेवार हुन्छ जस्तो लाग्छ। आज प्रतिपक्ष कमजोर देखिएको छ। सत्तामा बसेकाहरूले जनताको आवाज नसुन्न सक्छन्, तर त्यो आवाज सुनाउनका लागि भए पनि प्रतिपक्ष बोल्नुपर्छ। हामीलाई प्रतिपक्ष बलियो आवाज चाहिएको छ।
जनताको घाँटी निमोठ्न कसैलाई पनि छुट छैन। जनताले यो सरकारलाई इतिहास रच्न मत दिएका हुन्, इतिहासबाट खस्ने कामहरू नगर्नुहोस्। 🙏

इरानले ‘स्ट्रेट अफ हर्मुज’ मा आवागमनमा रोक लगाएको घोषणापछि इन्धन बोकेका जहाजमाथि आक्रमण

लन्डन। इरानले शनिबार ‘स्ट्रेट अफ हर्मुज’ पार गर्ने क्रममा इन्धन बोकेका व्यावसायिक जहाजहरूमा आक्रमण भएको साथै थप आक्रमणको चेतावनीको सामना गर्नुपरेको सुरक्षा अनुगमनकर्ताहरूले बताएका छन्।

इरानले मध्यपूर्व युद्धमा युद्धविरामको क्रममा जलमार्गलाई व्यापारिक यातायातका लागि पुनः खोल्ने आफ्नो प्रतिज्ञालाई शुक्रबार उल्ट्याउँदै अनुमतिविना यहाँबाट कुनै पनि आवागमनमा रोक लगाइएको घोषणा गरेको थियो । उक्त मार्ग मध्यपूर्वका लागि र त्यहाँबाट अन्य देश जाने सामानको ढुवानीको लागि एक महत्त्वपूर्ण मार्ग हो।

बेलायतको एक समुद्री सुरक्षा एजेन्सीले भनेको छ, “इरानको रिभोलुसनरी गाड्र्स (आईआरजीसी) ले एक ट्यांकरमा गोली चलाएको छ।” सामुद्रिक सुरक्षा निगरानी का लागि प्रयोग हुने संूथा ‘भ्यानगार्ड टेक’ले शुक्रबार तेहरानले केही समयको राहत घोषणा गरेपछि खाडीबाट भागिरहेका खाली यात्रुबाहक जहाजलाई ‘आक्रमण गर्ने’ चेतावनी दिएको छ।

यद्यपि, केही तेल र ग्याँस ट्याङ्करहरूले शनिबार बिहानै स्ट्रेट पार गरेका निगरानी समूहका तथ्याङ्कले देखाएको छ ।

‘यूके मेरिटाइम ट्रेड अपरेसन सेन्टर (यूकेएमटीओ)’ ले एक अनलाइन विज्ञप्तिमा भनेको छ, “ओमानको उत्तरपूर्वी जलमार्गमा ट्याङ्करमा ‘गनबोट’ हरूले गोली चलाएका छन् तर जहाज र चालक दल सुरक्षित रहेका छन्।”

भ्यानगार्डले ट्याङ्करलाई भारतको ध्वजावाहक ट्यांकर सनमार हेराल्डको रूपमा पहिचान गरेको छ।

यसले क्याप्टेनलाई उद्धृत गर्दै भन्यो, “आईआरजीसीका दुई गस्ती डुङ्गाहरू रेडियो सम्पर्क बिना नै नजिक आए र त्यसपछि ‘गोली चलेको’ थियो, आक्रमणबाट जहाजको झ्यालहरूमा क्षति पुगेको थियो।”

‘स्ट्रेट अफ हर्मुज’ मा इरानले हामीलाई सौदाबाजी गर्न सक्दैन : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुजको भविष्यमा सौदाबाजी (ब्ल्याकमेल) नगर्न चेतावनी दिएका छन् ।

“तपाईंलाई थाहा छ, उनीहरूले वर्षौंदेखि गरेजस्तै हर्मुज घाँटी फेरि बन्द गर्न चाहन्थे । हामी उनीहरूसँग वार्ता गरिरहेका छौँ। उनीहरूले हामीलाई ‘ब्ल्याकमेल’ गर्न सक्दैनन्,” ट्रम्पले शनिबार ह्वाइट हाउसको एक कार्यक्रममा भने ।

राष्ट्रपति ट्रम्पले इरानका बारेमा केही जानकारी प्राप्त हुने बताउँदै भने, “हामी कडा अडान लिइरहेका छौँ ।

यसैबीच, इरानको सेनाले शनिबार विश्वको कच्चा र तरलीकृत प्राकृतिक ग्यासको पाँच भागको एक भाग पार हुँदै जाने जलमार्ग हर्मुज घाँटी फेरि एकपटक बन्द गरिएको घोषणा गरेको छ।

उपल्लो मुस्ताङमा वन्यजन्तु पीडितलाई राहत वितरण

मुस्ताङ। मुस्ताङस्थित उपल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुपालक किसानलाई राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङले तीन किस्ता गरी वन्यजन्तुबाट भएको क्षति राहत रकम उपलब्ध गराएको जनाएको छ ।

एक्याप लोमान्थाङले पछिल्लो तीन आर्थिक वर्षमा वन्यजन्तुबाट पशुधनमा भएको क्षतिको राहत रकम रु ३५ लाख ९९ हजार तीन चरणमा गरी सम्बन्धित पीडित किसानको बैंक खातामा पठाएको जनाइएको छ । उपल्लो मुस्ताङमा हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट स्थानीय पशुपालक किसानको पशुचौपाया क्षति हुने गरेको एक्यापको तथ्याङ्कले देखाउँछ ।

आव २०८०/०८१ मा उपल्लो मुस्ताङमा हिउँचितुवा र ब्वाँसोबाट क्षति भएका वन्यजन्तु पीडित पशुपालक किसानलाई एक्याप लोमान्थाङ कार्यालयबाट रु १९ लाख पाँच हजार राहत रकम उपलब्ध गराएको थियो । यसैगरी, आव २०८१/०८२ मा हिउँचितुवा र ब्वाँसोबाट क्षति भएका पीडित किसानलाई चालु आवको मङ्सिर महिनामा दोस्रो चरणको वन्यजन्तु क्षति राहतस्वरूप रु ११ लाख १५ हजार उपलब्ध गराइएको थियो ।

एक्याप लोमान्थाङले आज उपल्लो मुस्ताङका हिउँचितुवा तथा ब्वाँसोको आक्रमणबाट गत वर्ष र चालु आवमा क्षति भएका पशुधनको सम्बन्धित पीडित किसानलाई तेस्रो चरणको क्षति राहत रकम वितरण गरेको जनाएको छ ।

एक्याप कार्यालय लोमान्थाङमा आयोजित वन्यजन्तु क्षति राहत वितरण कार्यक्रममा त्यहाँका २७ घरधुरी पीडित किसानलाई राहतस्वरूप रु १५ लाख ७९ हजार हस्तान्तरण गरिएको हो । क्षति राहत वितरण गरिएको बैंक भौचर एक्याप प्रमुख उमेश पौडेलले सम्बन्धित वन्यजन्तु पीडित किसानलाई हस्तान्तरण गर्नुभएको हो ।

एक्याप लोमान्थाङका अनुसार चालु आवको साउनदेखि चैतसम्मको नौ महिना अवधिमा हिउँचितुवालगायत वन्यजन्तुबाट ६२ वटा घटना घटेको हो । कार्यालय प्रमुख पौडेलले चालु आवमा हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट घोडा १४, च्याङ्ग्रा ९८, भेडा २६ र याक १४ वटा गरी १५२ वटा पशुधनमा क्षति पुगेको बताउनुभयो ।

एक्यापले हिउँचितुवालगायत वन्यजन्तुबाट पशुधनमा भएको हालसम्मको राहत रकम वितरण गरी शून्यमा झारिएको बताउनुभयो । “अब पछिल्ला एकाध घटनाको कागजी प्रक्रियामा छन्, प्रक्रिया पूरा गरिएका सबै पशुधन क्षतिको राहत वितरण गरेर सक्यौँै”, प्रमुख पौडेलले भन्नुभयो, “पशुधन क्षतिको राहत समुदायमा समयमै उपलब्ध गराउनेगरी अघि बढेका छौँ, एक्यापले क्षतिको कागजी पूरा गरेका पशुधनको तीन महिनाभित्रै क्षति राहत वितरण गराइने लक्ष्य राखेको छ ।”

एक्यापले यसपटक उपल्लो मुस्ताङमा घटना घटेको एक वन्यजन्तु पीडितलाई १० दिनमै पशुधनको क्षति राहत उपलब्ध गराएको जनाएको छ ।

गत चैत २१ गते लोमान्थाङ–४ न्याम्डोका पशुपालक किसान घ्याचो गुरुङको सोही वडाको समजुङमा रहेको च्याङ्ग्रा खोरमा हिउँचितुवाले आक्रमण गर्दा २१ च्याङ्ग्रा मरेका थिए । एक्याप लोमान्थाङले उक्त घटनाको पाँच दिनमै कागजी प्रक्रिया पूरा गरी सम्बन्धित पशुपालक किसान गुरुङले राहत रकम उपलब्ध गराएको प्रमुख पौडेलले बताउनुभयो ।

एक्यापले वन्यजन्तु पीडित किसानलाई छिटोछरितो र कागजी प्रक्रिया पूरा गरी राहत रकम उपलब्ध गराउन उच्च प्राथमिकतामा राखेर काम गरेको जनाएको छ ।

हिउँचितुवा र मानवबीच सहअस्तित्व निर्माण गरी परम्परागत पशुपालन व्यवसायको संरक्षण गर्न एक्याप लोमान्थाङले वन्यजन्तुबाट हुने क्षतिको रकम वितरण गर्न राहत कोषसमेत व्यवस्था गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट उपलब्ध राहत रकम उपलब्ध हुने समय लाग्ने भएकाले एक्यापले आफ्नै आन्तरिक राहत कोष खडा गरेको हो । यसबाट पीडित किसानले पशुधन क्षतिको राहत पाउँन धेरै समय पर्खिनु नपर्ने प्रमुख पौडेलको भनाइ छ ।

पशुधन क्षति भएको १० दिनमै राहत रकम पाएकामा लोमान्थाङ–४ न्याम्डोका पशुपालक घ्याचो गुरुङ खुसी भएका छन् । राहत रकम पाएकामा गुरुङले भने वन्यजन्तु क्षति राहत निर्देशिकाबमोजिम नियमानुसार राहत पाएको र यसले पशुपालन व्यवसायी अपनाएका किसानलाई थोरै भए पनि सान्त्वना दिलाएको बताउनुभयो ।

हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय हिउँचितुवा र ब्वाँसोलगायत वन्यजन्तुले स्थानीय पशुपालक किसानले पालेका पशुचौपाया क्षति बनाउने घटनाहरू बढ्दै जान थालेका छन् । एक्याप लोमान्थाङका अनुसार हिउँचितुवालगायत वन्यजन्तुले पछिल्लो तीन आवमा २६ वटा घटना पशुपालकको खोरमा, २५ वटा घटना बस्तीमा र ७० वटा घटना चरन क्षेत्रमा घटेको हो ।

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर। जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ मा फरार भएका सिन्धुलीको सुनकोशी गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौँको सुकेधारा बस्दै आएका २५ वर्षीय प्रकाश मगर पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीका अनुसार मगरलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–३ सानेपामा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनःनख्खु कारागारमा बुझाइएको प्रहरीले जनाएको छ

देशभरका जिल्ला प्रशासन कार्यालयलाई नागरिकमैत्री सेवा प्रवाहका लागि गृहमन्त्रालयको नौबुँदे निर्देशन जारी

काठमाडौं – गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई नागरिकमैत्री सेवा प्रवाहका लागि नौबुँदे निर्देशन जारी गरेको छ । सेवा प्रवाहमा एकद्वार लागू गर्नेसहितका नौबुँदे निर्देशन मन्त्रालयले जारी गरेको हो । सेवा सुधारमा आवश्यक पर्ने बजेट माग गर्न समेत मन्त्रालयले भनेको छ ।

मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार गरिएको निर्देशनमा भनिएको छ, “गृहमन्त्रीको निर्देशन र १०० कार्यसूचीको मूल भावनाअनुरूप सुधारका कार्यलाई तत्काल अगाडि बढाउने सिलसिलामा ‘एकद्वार सेवा प्रणाली’ यथाशीघ्र लागू गर्न आवश्यक छ ।”

नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र र नाबालक परिचयपत्रसम्बन्धी सेवाका लागि उपयुक्त सेवाकक्ष तयार गरी सेवाग्राही मैत्री बनाउन निर्देशनमा भनिएको छ । त्यस्तै, सेवाको कार्य प्रारम्भ गर्नेदेखि स्वीकृत गर्ने तहसम्मका सबै कर्मचारीले सकेसम्म एकै कक्षबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

दर्ता संघसंस्था तथा नवीकरण, हातहतियार नवीकरण तथा कागजात प्रमाणीकरणका कार्य कार्यबोझ र कर्मचारीको उपलब्धताका आधारमा उपयुक्त सेवा कक्षको प्रबन्ध गर्न निर्देशन दिइएको छ । त्यस्तै, जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा सम्भव भएसम्म अनलाइन प्रणालीमार्फत नै सेवा प्राप्त गर्नसक्ने व्यवस्था मिलाउन भनिएको छ ।

सेवाग्राहीको चाप र आवश्यकताका आधारमा टोकन प्रणाली लागू गर्न निर्देशन दिइएको छ । सहायता कक्षमा जिल्ला प्रशासन कार्यालयको सेवासम्बन्धी विषयवस्तु बुझेको कर्मचारीलाई मात्रै राख्न निर्देशन दिइएको छ । सेवाग्राहीका कागजातको जाँच गर्दै आवश्यक सहजीकरण गरेर टोकन वितरण गर्न भनिएको छ ।

सेवाग्राहीलाई निवेदन लेख्न र विवरण भर्न सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ । यस्तै, सहायता कक्षमा कागजातको प्रारम्भिक परीक्षण गरेर टोकन दिने र कागजात नपुगेको सेवाग्राहीलाई के के पुगेन स्पष्ट गरी टिपोट दिनका लागि पनि सहायता कक्ष आवश्यकता औँल्याइएको छ ।

जिल्ला प्रशासन प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, प्रशासकीय अधिकृत र वडाध्यक्ष तहसम्मको ह्वाट्सएप समूह तयार गरी सेवा प्रवाह सरलीकरण गर्न नियमित रूपमा छलफल गर्न निर्देशन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा प्राप्त उजुरी तथा गुनासोको अभिलेख गरी उजुरी तथा गुनासो समाधानका लागि तत्कालै क्रियाशील हुनका लागि गुनासो सुन्ने व्यवस्था गर्न निर्देशनमा भनिएको छ ।

कार्यालय प्रमुख र गुनासो सुन्ने अधिकारीको कार्यालयको निरन्तर सम्पर्क हुने व्यवस्था मिलाउनुपर्ने र तत्काल सम्पर्क हुन नसकेमा ‘कलब्याक’ गरी जानकारी लिनुपर्ने, प्रत्येक महिना जनतासँग प्रजिअ कार्यक्रम सञ्चालन गर्ने र जनताका गुनासाहरू सम्बोधन गर्न निर्देशनमा भनिएको छ ।

कार्यालयमा बिचौलियाको प्रवेशमा उच्च निगरानी गरी बिचौलियामार्फत काम गर्ने गराउने कार्यलाई कडाइकासाथ पूर्ण रूपमा नियन्त्रण गर्न भनिएको छ । जिल्ला प्रशासन कार्यालयबाट भएका कार्यसम्पादनबारे प्रत्येक महिनाको पहिलो दिन र १६ गते बुझाउन निर्देशन दिइएको छ ।