`

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छः अध्यक्ष दाहाल

सिरहा। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले देशले विपद्को सामना गरिरहेको बेला सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

सिरहाको मिर्चैया नगरपालिका–५ स्थित मोहन नमूना माध्यमिक विद्यालयको नवनिर्मित भवन तथा विज्ञान प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै अध्यक्ष दाहालले हालै रसुवाको भोटेकोशीमा गएको बाढीपछि देश सङ्कटमा परेको भन्दै सबैलाई साथ सहयोग गर्न अपिल गर्नुभयो ।

उहाँले भन्नुभयो, “पहाडमा सङ्कट परेको बेला मधेसले र मधेसमा विपद् परेको बेला पहाडले सहयोग गर्ने हाम्रो संस्कृति नै हो । आज पनि तराई मधेसको सहयोग अतुलनीय छ ।”

शुक्रबारसम्म चल्ने विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन कार्यक्रमा प्रतिनिधिसभा सदस्य तपेश्वर यादव, सिरहा जिल्ला समन्वय समितिका सभापति दिनेश महतो, मिर्चैया–७ फूलबरियास्थित बाजु माविका प्रधानाध्यापक फुलगेन नायक, सगरमाथा बोर्डिङ स्कुलका संस्थापक प्रदीप तिवारीलगायतले शुभकामना मन्तव्य व्यक्त राख्नुभएको थियो । सङ्घीय सरकारको नमुना विद्यालय कार्यक्रमअन्तर्गत चारवटा भवन निर्माण गरिएका हुन् ।

दुई करोड उद्धार कोषमा पठाउने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले भोटेकोशी बाढीपीडितका लागि दुई करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको छ ।

यहाँ आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले यसअघि प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयन गर्दै उक्त रकम निकासा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले सुदूरपश्चिम प्रदेशमा बाढी तथा अन्य विपद् आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

साथै विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक तयारी र समन्वयका साथ परिचालन गर्ने विषयमा बैठकमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

ईसीबीले मध्यपूर्व इन्धन आपूर्तिबाट निम्तिएको आर्थिक झट्का सामना गर्न ऋण लागत बढायो

युरोपेली केन्द्रीय बैङ्क (ईसीबी) ले बिहीबार यस वर्ष दोस्रो पटक ब्याजदर बढाएको छ । मध्यपूर्वमा पुनः लडाइँ सुरु भएपछि इन्धन मूल्य आकाशिएको छ, जसले व्यापक मुद्रास्फीति अझ बढ्ने खतरा उत्पन्न गरेको छ ।

व्यापक रूपमा अपेक्षित २१ युरोजोन राष्ट्रहरूका लागि केन्द्रीय बैङ्कले आफ्नो बेन्चमार्क दर एक चौथाइ प्रतिशत बिन्दु बढाएर २.५ प्रतिशत पु¥याएको छ, जुन गत वर्षको मार्चपछिको उच्चतम स्तर हो।

यो ईसीबीको यस वर्षको दोस्रो वृद्धि हो। नीति निर्माताहरूले जुन महिनामा सन् २०२३ यता पहिलो पटक ऋण लागत बढाएका थिए, जुन अमेरिका–इरान युद्धबाट उत्पन्न इन्धन आपूर्तिबाट निम्तिएको झट्काको प्रतिक्रिया स्वरूप थियो ।

“मध्यपूर्वको द्वन्द्वले मुद्रास्फीति दबाब सिर्जना गरिरहेको छ, र मुद्रास्फीति लामो समयसम्म लक्ष्यभन्दा धेरै माथि रहनेछ,” ईसीबीले विज्ञप्तिमा भनेको छ ।

“दृष्टिकोण अत्यन्त अनिश्चित छ, मुद्रास्फीतिका लागि सकारात्मक र आर्थिक वृद्धिका लागि नकारात्मक प्रतिफलको जोखिम छ,” ईसीबीले भनेको छ ।

ईसीबीले यस वर्षको मुद्रास्फीति पूर्वानुमान तीन प्रतिशतमा अपरिवर्तित राखेको छ, तर अर्को वर्षका लागि थोरै बढाएर २.५ प्रतिशत पु¥याएको छ ।

यसले यस वर्षको वृद्धि पूर्वानुमान पनि थोरै बढाएर ०.८ प्रतिशतबाट ०.९ प्रतिशत र अर्को वर्षका लागि १.२ प्रतिशतबाट १.४ प्रतिशत पु¥याएको छ।

अब सबैको नजर ईसीबी प्रमुख (अध्यक्ष) क्रिस्टिन लागार्डको प्रेस सम्मेलनमा हुनेछ, जहाँ बैङ्कको अर्को कदमका सङ्केत खोजिनेछ । केही विश्लेषकहरूले थप दर वृद्धिले युरोजोन अर्थतन्त्रमा दबाब पार्न सक्ने चेतावनी दिएका छन्।

अगस्टमा मुद्रास्फीति ३.३ प्रतिशत पुगेको थियो, जुन ईसीबीको दुई प्रतिशत लक्ष्यभन्दा माथि हो। विश्वव्यापी ऊर्जा मूल्यमा आएको उछालले उच्च मुद्रास्फीतिको त्रास बढाएको हो ।

अन्तर्राष्ट्रिय तेलका लागि मानक मानिने ‘ब्रेन्ट’ ले भनेको छ, “यस साता फेरि प्रति ब्यारेल कच्चा तेलको मूल्य १०० डलर माथि पुगेको छ भने युरोपका लागि प्रमुख ऊर्जा लागत प्राकृतिक ग्यासको मूल्य तीन वर्षभन्दा बढी समययताको उच्चतम स्तरमा पुगेको छ ।

यो उछाल अमेरिका–इरान द्वन्द्वको बढ्दो तीव्रता साथै साउदी अरब र यमनी विद्रोहीबीचको लडाइँ चर्किएको कारणले भएको हो, जसले खाडी ऊर्जा ढुवानी सामान्य अवस्थामा फर्कने सम्भावना कमजोर बनाएको छ ।
युरो क्षेत्रका घरपरिवारका लागि अर्को दर वृद्धि भनेको महँगो धितो ऋण, उपभोक्ता केन्द्रित क्रेडिट र अन्य ऋण हो ।

केन्द्रीय बैङ्क यस पटक आफ्नो फ्रान्कफर्ट मुख्यालयबाट बाहिर नियमित भ्रमणका क्रममा बर्लिनमा बैठक गर्दैछ । यसले ऊर्जा आपूर्ति झट्कालाई कडा मौद्रिक नीतिबाट सामना गर्ने प्रयास गरेकोमा केही पक्षबाट आलोचना खेपेको छ ।

दर वृद्धिले उपभोक्ता र व्यवसायको माग घटाएर मुद्रास्फीति नियन्त्रण गर्ने लक्ष्य राख्छ । आलोचकहरू भन्छन्, “यसले हालको ऊर्जा अभावबाट निम्तिएको मूल्य वृद्धिको मूल कारण सामना गर्न थोरै मात्र योगदान गर्न सक्छ।

अहिलेसम्म युरोक्षेत्रको मुद्रास्फीति खाद्य, वस्तु वा सेवाको लागतमार्फत अर्थतन्त्रमा व्यापक रूपमा फैलिएको कुनै सङ्केत देखिएको छैन।

केही अर्थशास्त्रीहरू भन्छन्, “ईसीबी सन् २०२२ को सङ्कट दोहोरिने चिन्तामा छ, जब रुसको युक्रेन आक्रमणपछिको मुद्रास्फीति उछालमा बैङ्कले दर धेरै ढिलो बढाएको भनेर आलोचना खेपेको थियो ।”

तैपनि केही विश्लेषकहरू थप कडाइको पक्षमा छन् र हालको ऊर्जा उछालले ईसीबीलाई थप दर बढाउन प्रेरित गर्न सक्ने बताउँछन् ।

“गर्मीयाममा मुद्रास्फीतिको दृष्टिकोण बिग्रिएको छ,” एसएन्डपीका युरोप, मध्यपूर्व र अफ्रिकाका प्रमुख अर्थशास्त्री सिल्भेन ब्रोयरले भन्नुभयो ।

“आपूर्ति झट्का मात्र बढिरहेका छैनन्, मागले पनि मुद्रास्फीतिमा योगदान पु¥याउने सम्भावना बढ्दै गएको छ,” उहाँले भन्नुभयो ।

“त्यस्तो अवस्थामा ईसीबीले प्रतिबन्धक क्षेत्रमा प्रवेश गर्न आवश्यक पर्न सक्छ र अहिले थप दर वृद्धि नहुने भन्न सकिँदैन।”

पदभार ग्रहण गर्दै मन्त्री साहले भने- विगतको समीक्षा गरेर नयाँ कार्यक्रम अघि बढाउँछौँ

काठमाडौं। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले पदभार ग्रहण गरेका छन् ।

बिहीवार शपथ ग्रहणलगत्तै सिंहदबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपतिले साहलाई बिहीवार नै उद्योग मन्त्री नियुक्त गरेका थिए ।

पदभार ग्रहणलगत्तै मन्त्री साहले निवर्तमानमन्त्री गौरीकुमारी यादवसँग छलफल गरेर थप योजना तथा कार्यक्रम ल्याउने बताए ।

‘कुनै पनि काम गर्नुअघि विगतमा के–के भइसकेका छन्, त्यसको जानकारी लिएर अघि बढ्दा काम गर्न सहज हुन्छ,’ मन्त्री साहले भने, ‘त्यसैले मन्त्रालयका सचिवज्यूलाई पूर्वमन्त्रीज्यूसँग भेटघाटको वातावरण मिलाउन आग्रह गरेको छु। उहाँसँग दुई–चार घण्टा बसेर घनीभूत छलफल गरेपछि मात्र हामी नयाँ कार्यक्रमहरू अगाडि बढाउनेछौँ।’

उनले बजारमा भएको ग्यासको अभावको समस्या समाधान गर्न पनि मन्त्रालयका कर्मचारी र निवर्तमान मन्त्री यादवसँग छलफल गरेपछि मात्र काम थाल्ने उनको भनाइ छ ।

अहिले मन्त्री यादवले मन्त्रालयका कर्मचारीहरुसँग छलफल गरिरहेका छन् ।

करार कर्मचारीको प्रोत्साहन भत्ता व्यवस्थापनबारे अध्ययन गर्न कार्यदल

हेटौँडा। बागमती प्रदेश सरकारले अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीले पाउने प्रोत्साहन भत्तामा देखिएको अन्योल समाधान गर्न अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकार र अन्य प्रदेशमा करार कर्मचारीको प्रोत्साहन भत्ता व्यवस्थापनसम्बन्धी अभ्यास अध्ययन गरी प्रदेशमा एकरूपता, सन्तुलित र न्यायोचित व्यवस्था कायम गर्न सुझाव दिने गरी कार्यदल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार करार कर्मचारीले प्राप्त गर्ने प्रोत्साहन भत्ताको व्यवस्थामा स्पष्टता आवश्यक देखिएकाले सङ्घ तथा अन्य प्रदेशले अपनाएको अभ्याससमेत अध्ययन गरिनेछ ।

बैठकले प्रदेश मातहतका विभिन्न कार्यालयमा कार्यरत अस्थायी कर्मचारीको सालबसाली अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । विभिन्न कार्यालयबाट प्राप्त अस्थायी दरबन्दीसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकृति दिएको मन्त्री केसीले बताउनुभयो । उहाँका अनुसार सङ्घीय सरकारले कायम गरेको तलबमानसँग नबाझिने गरी प्रदेश मातहत कार्यरत अधिकृत ११औँ तहदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीको तलबमान एकिन गरिएको छ ।

मन्त्रिपरिषद्ले यसअघि एकीकृत गरिएको बाख्रा विकास केन्द्र चित्लाङ र मत्स्य विकास केन्द्र कुलेखानीलाई पुनः पूर्ववत् छुट्टाछुट्टै कार्यालयका रूपमा कायम गर्ने निर्णयसमेत गरेको छ । बाख्रा र मत्स्य विकासको विषयगत कार्यक्षेत्र फरक भएकाले दुवै केन्द्रलाई अलग गर्ने निर्णय गरिएको मन्त्री केसीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् विस्तारबारे सञ्चारकर्मीको जिज्ञासामा उहाँले तत्काल त्यससम्बन्धी कुनै निर्णय नभएको बताउनुभयो । तीन दलीय गठबन्धनबीच निर्णय भए आगामी दिनमा मन्त्रिपरिषद् विस्तार हुन सक्ने उहाँको भनाइ छ ।

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरुसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफल कार्यक्रममा शिक्षा तथा खेलकुद क्षेत्रमा सङ्घ र प्रदेश सरकारबीच सहकार्य तथा समन्वय थप मजबुत बनाउने विषयमा छलफल भएको थियो ।

त्यसैगरी, छलफलमा १०औँ राष्ट्रिय खेलकुदको आयोजना, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम विधेयक, विपद्का समयमा सहकार्य तथा अन्तरसरकार समन्वय लगायतका विषयमा विचार–विमर्श भएको थियो । १०औँ राष्ट्रिय खेलकुद निर्धारित समयमै सम्पन्न गर्ने, टिभेट विधेयक आपसी छलफलबाट टुङ्ग्याउने तथा प्राविधिक शिक्षालाई थप विकेन्द्रीकृत र पहुँचयोग्य बनाउने प्रतिबद्धता व्यक्त गरियो ।

कार्यक्रममा शिक्षामन्त्री पोखरेलले सङ्घीय सरकार प्रदेश सरकारसँग मिलेर काम गर्न चाहेको बताउँदै शिक्षा र खेलकुदका क्षेत्रमा दुवै तहका सरकारबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिए । मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन मन्त्रालयको प्राथमिकतामा रहेको भन्दै उक्त ऐनमा तीन तहका सरकारको अधिकार क्षेत्रको स्पष्टता तथा छुटेका विषयलाई समावेश गराएर ऐनलाई थप समृद्ध बनाइने विश्वास व्यक्त गरे ।

“विद्यालय शिक्षा ऐनलाई प्राथमिकतामा राखेका छौँ, पहिलाको विधेयकमा कति कुरा छुटेकाले पनि अहिले देशभर सबै सरोकारवालाहरुसँग छलफल गरी रायसुझावका आधारमा अगाडि बढाइएको छ । दीर्घकालीन रुपमा होस् भनेर विषयवस्तु सम्बोधन गर्दा केही समय लागेको हो,” मन्त्री पोखरेलले भने ।

मन्त्री पोखरेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य, सभ्य रुपमा प्रभावकारी बनाउन तीन तहका सरकारबीच बलियो समन्वय र सहकार्य जरुरी भएको उल्लेख गरे। उनले खेल क्षेत्रको विकास तथा राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिताहरुमा सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै खेलाडीहरुलाई प्रोत्साहन गरिने बताए ।

कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रभावकारी ढङ्गले सञ्चालन गरिनुपर्नेमा जोड दिए । साथै तीन तहका सरकार मिलेर सिर्जनशील र दूरदर्शी योजना बनाएर जानुपर्ने उनको भनाइ थियो ।

मधेस प्रदेश सरकारका खेलकुद तथा समाजकल्याणमन्त्री लखन दास तत्माले शिक्षा प्रभावकारी नभएसम्म देश समृद्ध हुन सक्दैन भन्दै शिक्षा र खेलकुद क्षेत्रका विकासका लागि तीन तहका सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन त्यसतर्फ जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गर्नुभएको हो ।

बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले अन्तरराष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्नु आफैँमा गौरवको विषय भएको बताउँदै खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रन आग्रह गर्नुभयो । उहाँले व्यक्तिगत प्रदर्शनसँगै राष्ट्रको प्रतिष्ठा र गौरवलाई ध्यानमा राखेर खेल्न खेलाडीलाई सुझाव दिनुभयो ।

“देशको प्रतिनिधित्व गरेर जान लाग्नुभएको छ । सीमित स्रोतसाधनका बाबजुद मेहनत गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु”, मन्त्री पोखरेलले भन्नुभयो, “प्रतियोगितामा सहभागी हुनु जित्नकै लागि हो । तर जिते पनि नजिते पनि खेलाडीको सम्मान राज्यका तर्फबाट घट्ने छैन । अहिले जसरी बिदाइ गरिएको छ, भोलि जितेर आए पनि हारेर आए पनि त्यति नै सम्मानका साथ स्वागत गर्नेछौँ ।”

उहाँले नेपाली खेलाडीमा पर्याप्त प्रतिभा र क्षमता रहेको उल्लेख गर्दै अन्तरराष्ट्रियस्तरमा राम्रो नतिजा हासिल गर्न सरकारबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताउनुभयो । खेलाडीको क्षमता विकास, प्रशिक्षण, खेल पूर्वाधार तथा खेल क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ ।

दुई सय ११ सदस्यीय टोली जापान जाने

जापानमा आगामी असोज ३ देखि १८ गतेसम्म आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपालबाट २११ सदस्यीय टोली सहभागी हुँदैछ । टोलीमा २१ खेलका १३५ खेलाडी रहेका छन् । तीमध्ये ५७ महिला र ७८ पुरुष खेलाडी छन् । टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा खेल प्राविधिक, मेडिकल टिमका छ सदस्य, चार पत्रकार तथा विशिष्ट अतिथि, सेभ द मिसन, डेपुटी सेभ द मिसन र अन्य अधिकारीसमेत सहभागी हुनेछन् ।

नेपालले सन् १९५१ मा भारतमा भएको पहिलो एसियाली खेलकुददेखि सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करणमा एथलेटिक्सतर्फ मात्र नौ सदस्यीय टोली सहभागी भएको नेपालले यसपटक २१ खेलमा प्रतिस्पर्धा गर्नेछ । नेपालले एसियाली खेलकुदमा पहिलो पदक सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औँ संस्करणमा जितेको थियो । त्यसयता नेपाल एसियाली खेलकुदबाट पदकविहीन भएर फर्किएको छैन ।

सरकारले खेलाडीको क्षमता विकासका लागि वैदेशिक प्रशिक्षण तथा अन्तरराष्ट्रिय एक्सपोजरको व्यवस्था गर्दै आएको जनाएको छ । विदेशमा प्रशिक्षणरत केही खेलाडी त्यहीँबाट जापान पुग्नेछन् । नेपालमा रहेका खेलाडीलाई विदेशी प्रशिक्षकमार्फत प्रशिक्षण दिइएको छ । तीन वर्षदेखि विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई पछिल्लो दुई महिनादेखि बन्द प्रशिक्षणमा राखेर उच्चस्तरीय तयारी गराइएको जनाइएको छ ।

यसपटक कबड्डीमा सबैभन्दा बढी २४ खेलाडी सहभागी हुनेछन् । क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा आठ, बक्सिङमा सात तथा जुडो, एथलेटिक्स, टेबल टेनिस र कुस्तीमा समान छ-छ खेलाडी सहभागी हुनेछन् ।

खेल तालिकाअनुसार नेपाली खेलाडी जापान जाने क्रम सुरु भइसकेको छ । विभिन्न खेलका खेलाडी प्रतियोगिताको तालिकाअनुसार फरक-फरक मितिमा जापान पुग्नेछन् ।

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग

सुदूरपश्चिम। राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन नरही संवाद सुरु गर्न तथा सङ्कटमा रहेका व्यक्तिलाई सुन्ने, बुझ्ने र सहयोग गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज प्रेस–विज्ञप्ति जारी गर्दै आयोगले आत्महत्या मानसिक स्वास्थ्यको मात्र विषय नभई जीवन, मर्यादा, स्वास्थ्य, सुरक्षा तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारसँग सम्बन्धित गम्भीर मानव अधिकारको विषय भएको जनाएको हो ।

आयोगले मानसिक तनाव, चिन्ता तथा निराशा, घरेलु तथा लैङ्गिक हिंसा, दीर्घकालीन मानसिक स्वास्थ्यसम्बन्धी समस्या, आर्थिक समस्या, गरिबी तथा बेरोजगारीलगायतका कारण आत्महत्याका घटना हुने गरेको विभिन्न अध्ययनबाट देखिएको जनाएको छ । साथै, आत्महत्या रोकथामलाई मानसिक स्वास्थ्यको सीमित विषयका रूपमा मात्र नहेरी व्यक्तिको जीवन र मर्यादाको अधिकारसँग जोडेर सम्बोधन गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।

सङ्कटमा रहेका व्यक्तिलाई सुन्ने, बुझ्ने र सहयोग गर्ने वातावरण निर्माण गर्न तथा आत्महत्याको प्रयास गरेका व्यक्ति र आफन्त गुमाएका परिवारलाई दोष लगाउने, लाञ्छना लगाउने वा सामाजिक बहिष्करण गर्ने कार्य अन्त्य गर्न आयोगले सरकार तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

यस्तै, आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई सम्मान, गोपनीयता, भेदभावरहित व्यवहार र आवश्यक सहयोग उपलब्ध गराउन आयोगले आग्रह गरेको छ । विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्ष सेप्टेम्बर १० तारिखमा मनाइन्छ । यस वर्ष सन् २०२६ का लागि ‘संवाद सुरु गरौँ’ भन्ने नारा तय गरिएको छ ।

लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति

मुस्ताङ। यही भदौ २३ गते लोमान्थाङ केन्द्रविन्दु भएर गएको भूकम्पको पराकम्पनले (नेपाल—चीन) उत्तरी कोरलानाकासँग जोडिएको लोमान्थाङ गाउँपालिकाका विभिन्न स्थानमा ढुङ्गा र माटोले बनेका ३० भन्दा बढी घर पूर्णरुपमा क्षति भएका छन् ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार लोमान्थाङ गाउँपालिकाअन्तर्गत लोमान्थाङ–५ बाहेक अन्य वडामा मङ्गलबार रातिको भूकम्पले सयौँ घरमा क्षति पुगेको छ । लोमान्थाङ गाउँपालिकामा भूकम्पको क्षति विवरण सङ्कलन बुधाबारदेखि थालिएको छ । अध्यक्ष गुरुङ र उपाध्यक्ष छ्युमी विष्टसहितका जनप्रतिनिधि तथा गाउँपालिकाका कर्मचारी, ईलाका प्रहरी कार्यालय लोमान्थाङ, छोसेर प्रहरी चौकी, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) र एक्याप लोमान्थाङका प्रतिनिधीहरुले लोमान्थाङ क्षेत्रमा गएको भूकम्पको क्षति विवरण सङ्कलन गर्न थालेका हुन् ।

गाउँपालिकाका गुरुङले अहिलेसम्म लोमान्थाङ गाउँपालिकाअन्तर्गत वडा नं ३ को नाम्ग्याल, फुवा र ठिङ्गर, वडा नं ४ अन्तर्गत किम्लिङ, चुम्जुङ र नाम्डोक तथा वडा नं १ को छोसेर क्षेत्रमा भूकम्पको क्षति विवरण सङ्कलन भएको बताउनुभयो । लोमान्थाङको वडा नं ३ ,४ र वडा नं १ छोसेर गाउँको आधा क्षति विवरण सङ्कलन हुँदा झण्डै ३० घर भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

लोमान्थाङ गाउँपालिका–२ छोसेर र वडा नं ५ को लोमान्थाङमा क्षति विवरण सङ्कलन हुन बाँकी छ । भूकम्पको क्षति विवरण सङ्कलन गर्ने क्रममा लोमान्थाङ–५ बाहेक सबै वडामा भूकम्पको असरले स्थानीयका अधिकांश घरमा आंशिक चिरा परेका र भत्किने खतरा रहेको उहाँले उल्लेख गर्नुभयो । लोमान्थाङ क्षेत्रमा भूकम्पले पु¥याएको विस्तृत क्षति विवरण सङ्कलन हुन केही समय लाग्ने बताइएको छ ।

भूकम्पले पूर्ण रुपमा क्षति भएका घरका बासिन्दालाई तत्कालका लागि समाजघर र पाल टाँगेर पुनःस्थापना गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले राससलाई बताउनुभयो ।

भूकम्पले सबैभन्दा बढी क्षति लोमान्थाङ–३ फुवा र त्यस आसपासका गाउँमा परेको छ । लोमान्थाङ क्षेत्रका भूकम्प पीडितको पुनःस्थापना तथा अन्य सहयोगका लागि स्थानीय जनप्रतिनिधिसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको गाउँपालिकाका उपाध्यक्ष विष्टले जानकारी दिनुभयो ।

यसअघि जिल्ला प्रहरी कार्यालय मुस्ताङले लोमान्थाङ क्षेत्रमा गएको भूकम्पले फुवामा एउटा घरमा क्षति भएको र लोमान्थाङ–५ लोमान्थाङको छोदे गुम्बाको बाहिर पर्खालमा क्षति पुगेको जनाएको थियो ।

लोमान्थाङ क्षेत्रमा गएको भूकम्पको असरले उक्त क्षेत्रका स्थानीयबासी प्रभावित भएका छन् । लोमान्थाङ क्षेत्रमा मङ्गलबार राति ९ बजेर ५३ मिनेट जाँदा पहिलो पटक भूकम्प गएको थियो ।

गाउँपालिकाका अध्यक्ष गुरुङका अनुसार लगत्तै नौ पटकसम्म भूकम्पको धक्का महशुस गरिएको थियो । भूकम्पको पहिलो धक्का महशुस भएपछि उपल्लो मुस्ताङका बासिन्दा सुरक्षित स्थानको खोजीमा रातभर घर बाहिर निस्किएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीले लोमान्थाङ क्षेत्रमा गएको भूकम्पको पूर्ण क्षतिको विवरण प्राप्त भइनसकेको जानकारी दिनुभयो ।

रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास

रसुवा । यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार, बेपत्ता व्यक्तिको पहिचान, स्वास्थ्य, खाद्यान्न आपूर्ति, विद्युत् तथा विद्यालय सञ्चालनलगायतका कार्य व्यवस्थित बनाई अगाडि बढ्ने निर्णय भएको छ। जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले बाढीपछिको सिर्जनात्मक कार्य गर्न विभिन्न १६ वटा निर्णय गरेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको अध्यक्षतामा बसेको समितिको बैठकले यसअघि गरिएका निर्णयको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै बाढी प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेदेखि बेपत्ता व्यक्तिको ‘डीएनए’ परीक्षणका लागि नमूना सङ्कलन गर्नेसम्मका निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय रसुवाले सरोकारवाला निकाय र विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)का प्रतिनिधि समेतलाई आमन्त्रित राखी विपद् व्यवस्थापनको बैठकले विनाशकारी बाढीका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उत्पन्न समस्या क्रमशः समाधान गर्दै लाने सहमति भएको छ।

समितिले गत भदौ १० गते नेपाल–चीन सीमाना नजिक भई बग्ने ल्हेन्दे खोलाबाट भोटेकोशी नदीमा आएको बाढीका कारण हराएका तथा बेपत्ता भएका व्यक्तिका परिवारबाट डीएनए परीक्षणका लागि नमूूना सङ्कलनको व्यवस्था मिलाउने निर्णय गरेको छ।

यसका लागि रसुवा अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा नमूना सङ्कलन टोली गठन गरी भदौ २५ गतेदेखि जिल्लाका पाँचवटै स्थानीय तहमा समय तालिका बनाएर डीएनए नमूना सङ्कलन अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।

त्यसैगरी, रसुवाबाट विपद्का कारण विस्थापित भई काठमाडौँलगायतका विभिन्न आश्रयस्थलमा रहेका व्यक्तिहरूको पनि डीएनए सङ्कलनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत नेपाल प्रहरी अस्पतालसँग समन्वय गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।

बैठकले बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयका अनुसार आमाछोदिङ्मो, गोसाइँकुण्ड, उत्तरगया र कालिका गाउँपालिकाका बाढी प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीले जानकारी लिए।

हैजाविरुद्धको ओसिभी खोप एक वर्षमाथिका सबै उमेर समूहलाई, दादुरा, रुबेला खोप छ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई तथा टिटानस–डिफ्थेरिया (टिडी) खोप उद्धारकर्मी, स्वास्थ्यकर्मी तथा घाइते व्यक्तिलाई लक्षित गरी सञ्चालन गरिने निर्णयमा बताइएको छ । विपद्पछि फैलनसक्ने सरुवा रोगको जोखिमलाई ध्यान दिँदै जिल्ला जनस्वास्थ्य कार्यालयले क्षेत्रगत कार्यक्रम बनाएर कार्यान्वयन गर्ने निर्णय पनि भएको छ ।

बाढीका कारण सम्पर्कविहीन तथा बेपत्ता भएका व्यक्तिको परिवारले आफ्ना धर्म–संस्कृतिअनुसार मृत्यु संस्कार गर्नुपर्ने अवस्थामा लाग्ने खर्च व्यवस्थापनको माग गुनासो आएकाले रकम व्यवस्थापनका लागि नेपाल सरकार, गृह मन्त्रालय सिंहदरबार काठमाडौंसँग अनुरोध गर्ने निर्णय गरिएको छ।

सडक तथा यातायात सम्पर्क अवरुद्ध भएका कारण खाद्यान्न अभाव भएका क्षेत्रमा एमआई–१७ हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्ने निर्णय गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–१ थुमन, वडा नं ३ बृद्विम, वडा नं ४ लाङटाङ तथा क्याङजिन क्षेत्रमा खाद्यान्न पुर्‍याउन र आमाछोदिङ्मो गाउँपालिका–५ थाम्चेतमा तत्काल आवश्यक खाद्यान्न ढुवानी गर्न विश्व खाद्य कार्यक्रमसँग स्थानीय तहको समन्वयमा हेलिकप्टर व्यवस्था गर्न अनुरोध गर्ने निर्णय भएको जनाइएको छ ।

यसैगरी, आमाछोदिङ्मोका विभिन्न वडामा जिल्ला प्रशासन कार्यालयमा मौज्दात रहेको खाद्यान्न नेपाली सेना वा सशस्त्र प्रहरी बलको हेलिकप्टरमार्फत ढुवानी गरी अपुग राहत व्यवस्थापन गर्ने निर्णय भएको छ । हालसम्म प्राप्त स्टोरमा मौज्दात रहेको तथा वितरण गरिएको राहत सामग्रीको विवरणलाई नियमित रूपमा अद्यावधिक गर्न निर्देशन दिइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट तोकिएका प्रतिनिधिसँग समन्वय गरी राहत प्राप्ति, वितरण तथा स्टोर व्यवस्थापनसम्बन्धी विवरणलाई वस्तुनिष्ठ, विश्वसनीय र अद्यावधिक राख्ने निर्णय भएको बताइएको छ।

बाढीबाट प्रत्यक्ष प्रभावित परिवारलाई एक चरणको राहत सामग्री उपलब्ध गराइसकिएको अवस्थामा सडक तथा आपूर्ति प्रणाली प्रभावित भई खाद्यान्न अभाव देखिएको भन्दै स्टोरमा सङ्कलित राहत सामग्रीलाई प्रभावित जनसङ्ख्याको अनुपातमा सम्बन्धित गाउँपालिकामा हस्तान्तरण गरी वडा कार्यालयमार्फत वितरण गर्ने निर्णय गरिएको छ।

बाढीपछि भदौ १४ गतेदेखि हालसम्म हेलिकप्टर, ड्रोन तथा सवारी साधनमार्फत वितरण गरिएको राहत, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको विवरण बैठकमा समीक्षा गरिएको छ। हेलिकप्टरमार्फत गोसाइँकुण्ड, उत्तरगया, कालिका र आमाछोदिङ्मोका विभिन्न वडामा राहत तथा खाद्यान्न ढुवानी गरिएको विवरण निर्णयमा समेटिएको प्रजिअ पाण्डेले जानकारी दिए।

बाढी प्रभावित विद्यालयहरूमा अस्थायी आश्रयस्थल (होल्डिङ सेन्टर) सञ्चालनमा रहेका कारण पढाइ प्रभावित भएको विषयलाई बैठकले सम्बोधन गरेको छ। सम्बन्धित स्थानीय तहले अस्थायी आश्रयस्थलको व्यवस्थापन वा स्थानान्तरण गरी शिक्षा विकास तथा समन्वय इकाइसँगको समन्वयमा भदौ २५ गतेदेखि विद्यालयहरू नियमित सञ्चालन गर्ने निर्णय भएको छ।

बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त, जीर्ण तथा अस्थायी र स्थायी आवासस्थलमा धनजनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायको प्रत्यक्ष निगरानीमा खोज, उद्धार, उत्खनन, सङ्कलन तथा हस्तान्तरणको काम अघि बढाउने बैठकले निष्कर्ष निकालेको रसुवा प्रहरी प्रमुख अशोक थापाले जानकारी दिए। यस कार्यमा स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिसमेतको रोहवरमा काम गर्ने व्यवस्था मिलाउने समेत सहमति भएको छ।

रसुवा जिल्ला विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको अवस्थामा जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा समस्या बढेको छ। होटल तथा आवास सबै क्षेत्रमा समस्या बढेको हो। बाढी प्रभावित क्षेत्रका बासिन्दालाई विद्युत् चुलो प्रयोग गराउन १०० युनिट बिजुली निःशुल्क दिनुपर्ने गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङको प्रस्तावमा छलफल हुँदा बाध्यात्मक अवस्थालाई मध्यनजर राखी विद्युत् महसुल छुट उपलब्ध गराउन गृह मन्त्रालयमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग अनुरोध गर्ने बैठकले निर्णय गरेको बताइएको छ।

त्यस्तै, जिल्लामा पर्याप्त इन्धन भण्डारण नभएकाले आगामी दिनमा थप समस्या आउन नदिन स्थानीय तहमा मागअनुसार इन्धन ढुवानी गर्ने व्यवस्था मिलाउने र पालिकाले भुक्तानीमा सहजीकरण गर्न निर्णयले मार्फत अनुरोध गरिएको छ। उद्योग वाणिज्य सङ्घ रसुवाको समन्वयमा स्थानीय व्यवसायीमार्फत आवश्यक सामग्री खरिद गर्ने व्यवस्था मिलाउनसमेत बैठकले कार्यदिशा तय गरेको छ।

गोसाइँकुण्ड गाउँपालिका–४ मा सञ्चालित लाङटाङ माइक्रोहाइड्रोबाट १०० केभी क्षमताको विद्युत् खरिद गरी वडा नं. ३ मा विद्युत् सेवा सञ्चालनका लागि विद्युत् खरिद प्रक्रिया तत्काल अगाडि बढाउन नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गरिएको छ।

बाढीबाट प्रभावित आमाछोदिङ्मो, गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकाका सडक सम्पर्कविच्छेद भएका विभिन्न वडामा राहत वितरणका लागि हेलिकप्टर आवश्यक रहेको बैठकले जनाएको छ। राहत वितरणलाई थप प्रभावकारी बनाउन दुई वटा डेडिकेटेड हेलिकप्टर उपलब्ध गराउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग अनुरोध गर्ने निर्णय गरिएको छ। रसुवाका बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउनुपर्ने आवश्यकता अझै रहेकाले गोसाइँकुण्ड गाउँपालिकाका प्रभावित क्षेत्रमा थप राहत उपलब्ध गराउन प्राधिकरणसँग अनुरोध गर्ने निर्णय भएको छ।

बाढीपछि सम्पर्कविहीन तथा बेपत्ता भएका व्यक्तिको मृत्यु दर्ता तथा घटना दर्ता प्रक्रियामा समस्या देखिएको र झन्झटिलो प्रक्रियाका कारण बीमा दाबी तथा मृतकको आधिकारिक पहिचानमा समस्या भएकाले वैकल्पिक तथा छिटो माध्यमबाट घटना दर्ताको व्यवस्था गर्न गृह मन्त्रालयसँग बैठकले अनुरोध गरेको छ।

बैठकले हालसम्म वितरण गरिएको राहत सामग्रीको विवरणलाई सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले आफ्नो ‘वेबसाइट’ तथा ‘फेसबुक पेज’मार्फत राहत सामग्री वितरणको विवरण दैनिक रूपमा सार्वजनिक गर्ने निर्णय गरे पनि यसले राहत वितरणमा पारदर्शिता कायम गर्न तथा वास्तविक लाभग्राहीसम्म राहत पुगे–नपुगेको जानकारी लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

समितिका निर्णयहरूले रसुवामा बाढीपछि तत्काल राहत तथा खाद्यान्न व्यवस्थापनसँगै बेपत्ता व्यक्तिको पहिचान, स्वास्थ्य जोखिम न्यूनीकरण, विद्यालय सञ्चालन, विद्युत् तथा इन्धन आपूर्ति, आवास सुरक्षा र घटना दर्ताजस्ता विषयलाई समेत प्राथमिकतामा राखेकाले कार्यान्वयन गराउन सहज हुने जनाइएको छ।

विशेषगरी डीएनए नमूना सङ्कलन, बेपत्ता व्यक्तिका परिवारलाई मृत्यु संस्कार खर्चको व्यवस्था, राहत वितरणको सार्वजनिक विवरण, विद्यालय पुनःसञ्चालन, विद्युत् महसुलमा छुट र प्रभावित क्षेत्रमा थप हेलिकप्टर परिचालन गर्ने निर्णयलाई बाढीपछिको पुनःस्थापना प्रक्रियाका महत्वपूर्ण निर्णयका रूपमा हेरिएको स्थानीय समाजसेवी साङ्तेम्वा तामाङले जानकारी दिए।

यस्तै जिल्ला विपद् ब्यवस्थापन समितिका अनुसार विनासकारी बाढीका कारण भदौ १० गते २४ गतेसम्म चार हजार छ जना बेपत्ता भएको, ३३६ जना होडिङ सेन्टरमा राखिएको, ९० पर्यटकसहित एक हजार ५७० जनालाई उद्वार गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । मुस्ताङ जिल्लाबाहेक अन्य ७६ जिल्लाका मानिस बगाएका बताइएको छ । शवतर्फ भने १६४ जनाको सङ्कलन भए पनि १० वटाको मात्र सनाखत भएको बताइएको छ ।

बाढीका कारण भौतिक पूर्वाधार झोलुङ्गे पुल १० वटा बेलिब्रिज, छ वटा पक्की पुल, ४१ किमी पक्की तथा कच्ची सडक, एक हजार ५०० निजी घर, एक पेट्रोलपम्प, भाडामा बसेका १४ वटा बैङ्क तथा वित्तीय संस्था, निजी तीन र सरकारी आठसमेत ११ विद्यालय र २८ वटा सरकारी÷सार्वजनिक भवनमा क्षति भएको छ।

नेपाली सेना श्रीनाथ गणका २७, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरीका १३, सरकारी कर्मचारी ७९, बैङ्क संस्थाका कर्मचारी २६ जना हराएको बताइएको छ।

बढ्दो समुद्री सतहले दुईलाख भन्दाबढी तटीय क्षेत्रका अस्ट्रेलियाली घर खतरामाः रिपोर्ट

समुद्रको सतह निरन्तर बढेको कारण सन् २१०० सम्ममा दुई लाख ५० हजारभन्दा बढी तटीय क्षेत्रका अष्ट्रेलियाली घर तटीय बाढीको जोखिममा पर्ने प्रतिवेदनले जनाएको छ ।

गैरसरकारी संस्था क्लाइमेट काउन्सिलले बिहीबार जारी गरेको प्रतिवेदनमा बढ्दो समुद्री सतह र आँधीबेहरीले २१औँ शताब्दीमा राष्ट्रिय अर्थतन्त्रलाई आठ खरव ५५ अरव अष्ट्रेलियन डलर बराबरको क्षेतिहुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनले सन् २१०० सम्ममा बाढीले दुई लाख ६७ लाख तटीय घर र दुई लाख हेक्टर भूमिका साथै उत्तरी क्षेत्रका महत्वपूर्ण पूर्वाधारलाई क्षतिको जोखिममा पार्ने जनाएको छ ।

आँधीबेहरी र तटीय बाढीको प्रभाव र समुद्रको सतहको वृद्धिले समुदायलाई पटक–पटक असर गरिरहेको मौसम विज्ञान ब्यूरोका जलवायु पूर्वानुमानका पूर्वप्रमुख र प्रतिवेदनका सह–लेखक एन्ड्र्यू वाटकिन्सले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

वैज्ञानीकका अनुसार हालका सामान्य तया एक वर्षमा देखिने चरम समुद्री सतह सन् २०९० सम्ममा मासिक रूपमा हुने छ भने क्षति मर्मत गर्न असम्भव हुने छ ।

प्रतिवेदन अनुसार उत्तरपूर्वी राज्य क्विन्सल्यान्डमा सबैभन्दा धेरै सम्पत्ति क्षतिको जोखिममा छन्, भने पश्चिमी अष्ट्रेलिया (डब्लुए)मा प्रभावित भूमिको सबैभन्दा ठूलो क्षेत्र र सबैभन्दा बढी अनुमानित आर्थिक क्षति छ ।

प्रतिवेदनले खेतीयोग्य जमिनको ३४.६ प्रतिशत क्षतिको जोखिममा रहेकाले यसले राज्यको लागि संचयी आर्थिक घाटा हुने जनाएको छ ।

वाटकिन्सले राजनीतिक नेताले जलवायु प्रदूषणलाई छिटो कटौती गर्न र पहिले नै बन्द गरिएको समुद्री सतहको वृद्धिका लागि तटीय समुदायलाई राम्रोसँग तयार पार्न कदम चाल्नु पर्ने बताएका छन् ।

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ

नुवाकोट। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहने बताएका छन् ।

बाढीले पुर्‍याएको क्षति एवं प्रभावित बासिन्दाको अवस्था बुझ्न आज नुवाकोट आउनुभएका राजदूत माओमिङले बाढीपश्चात् असहज बनेको परिस्थितिलाई सहज बनाउन आवश्यक राहत उपलब्ध गराइरहेको उल्लेख गर्दै पुनरुत्थानमा पनि चीन सरकारबाट आवश्यक सहयोग उपलब्ध हुने जानकारी दिए ।

बाढीपछिको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालनमा चीन सरकारको सहयोगसहित थप दुई मिलियन अमेरिकी डलरसमेत नेपाल सरकारलाई उपलब्ध गराइसकिएको उनले जानकारी दिए । “बाढीबाट नेपालमा ठूलो जनधनको क्षति भएको छ । यसमा हामी ९चीन सरकार० अत्यन्त दुःखी छौँ”, उनले भने, “विद्यालय, सडक, आवासलगायत भौतिक संरचनामा पुगेको क्षतिको पुनरुत्थानका लागि नेपाल सरकारलाई गर्नुपर्ने सहयोग निरन्तर रहनेछ ।”

चिनियाँ राजदूत माओमिङले बाढीबाट पुगेको क्षतिको सम्बन्धमा जिल्लास्थित विपद् व्यवस्थापन समितिका पदाधिकारीसँगको छलफल गरी जानकारी लिएका थिए ।

त्यसपश्चात् बाढीले क्षति पुर्‍याएको विदुर नगरपालिका(१ र १० का विभिन्न स्थानको अवलोकन गर्नाका साथै विदुर नगरपालिका(२ कर्भडहलमा सञ्चालित ‘होल्डिङ सेन्टर’को पनि अवलोकन गरे ।

शपथसँगै उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाले दीपककुमार साहले, चार पार्टी चहार्दै मन्त्री बने

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदीय जिम्मेवारी सम्हालेका छन्।

खाना पकाउने ग्यासको समस्या समाधान गर्न नसकेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएपछि उनको स्थानमा सुनसरी–४ बाट निर्वाचित साह नियुक्त भएका हुन्।

साहले राजनीतिक यात्राका क्रममा हालसम्म चारवटा पार्टी परिवर्तन गरिसकेका छन्। जनमत पार्टी गठनमा महत्वपूर्ण भूमिका खेलेका साह डा. सीके राउतका निकट सहयोगीका रूपमा समेत चिनिन्थे।

जनमत पार्टी गठनका बेला राउतका सारथि रहेका साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हुँदै अहिले उद्योगमन्त्री बनेका हुन्।

भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको अवरुद्ध सडकमा भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्य तीव्र पारेको छ।कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ।

सशस्त्र प्रहरी बल, नेपालले निर्माण क्षेत्रमा फ्लडलाइट जडान गरिदिएको छ, जसका कारण रातको समयमा समेत गरी दैनिक १२ देखि १४ घण्टासम्म काम भइरहेको छ।नयाँ ट्रयाकसँगै पहिरो रोकथामका लागि माथि र तल दुवैतर्फ तीव्र गतिमा काम भइरहेको छ भने यस मार्गका अन्य ५ स्थानमा गएको पहिरो पन्छाउने र दुईतर्फी यातायात खुलाउने काम पनि साथसाथै भइरहेको छ।

यही भदौ १० गते बाढीका कारण कृष्णभीर क्षेत्रको सडक कमजोर बनेको थियो। त्यसपछि फेरि भदौ १४ गते भोटेकोशीको बाढीले सडक भासिएपछि सोही दिन सरकारी टोलीद्वारा स्थलगत निरीक्षण गरियो र प्रधानमन्त्री पूर्वाधारमन्त्रीबीच तत्काल मर्मतबारे छलफल भएको थियो।

यसै क्रममा सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकहरूले ४ दिनसम्म द्रुत अध्ययन गरी कृष्णभीरको पहाड काटेर २५० मिटर नयाँ ट्रयाक बनाउने पहिलो विकल्प सुझाएका थिए।

भोटेकोशी बाढीपीडितका लागि तयारी पोशाक उद्योग संघको ३३ लाख ३३ हजार सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि नेपाल तयारी पोशाक उद्योग संघले ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ ।

संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो । संघका सदस्य उद्योगहरूले समेत आफ्नोतर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराइरहेको संघले जनाएको छ ।

भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै संघले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ता नागरिकको शीघ्र खोजी तथा घाइते र प्रभावित नागरिकको स्वास्थ्यलाभको कामना गरेको छ ।

संघले बाढी प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण तथा राहतका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायबाट भइरहेको प्रयासको प्रशंसा गरेको छ ।

यसैगरी, बाढीपीडित तथा प्रभावित नागरिकको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै संघका सदस्य तथा अन्तर्राष्ट्रिय क्रेताको सहयोगमा लत्ताकपडा, तयारी पोशाक तथा अन्य आवश्यक सामग्रीसमेत राहतस्वरूप वितरण भइरहेको जनाएको छ ।

संघले विपद्बाट प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनमा फर्काउन तत्कालीन राहतसँगै दीर्घकालीन पुनस्र्थापना, स्थानीय आर्थिक गतिविधिको पुनरुत्थान तथा रोजगारीका अवसरको संरक्षण र सिर्जनामा समेत ध्यान दिनुपर्नेमा जोड दिएको छ ।

नेपाल तयारी पोशाक उद्योग संघले विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उद्धार, राहत, पुनस्र्थापना तथा रोजगारी पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

बढ्दो समुद्री सतहले दुईलाख भन्दाबढी तटीय क्षेत्रका अस्ट्रेलियाली घर खतरामाः रिपोर्ट

समुद्रको सतह निरन्तर बढेको कारण सन् २१०० सम्ममा दुई लाख ५० हजारभन्दा बढी तटीय क्षेत्रका अष्ट्रेलियाली घर तटीय बाढीको जोखिममा पर्ने प्रतिवेदनले जनाएको छ ।गैरसरकारी संस्था क्लाइमेट काउन्सिलले बिहीबार जारी गरेको प्रतिवेदनमा बढ्दो समुद्री सतह र आँधीबेहरीले २१औँ शताब्दीमा राष्ट्रिय अर्थतन्त्रलाई आठ खरव ५५ अरव अष्ट्रेलियन डलर बराबरको क्षेतिहुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनले सन् २१०० सम्ममा बाढीले दुई लाख ६७ लाख तटीय घर र दुई लाख हेक्टर भूमिका साथै उत्तरी क्षेत्रका महत्वपूर्ण पूर्वाधारलाई क्षतिको जोखिममा पार्ने जनाएको छ ।
आँधीबेहरी र तटीय बाढीको प्रभाव र समुद्रको सतहको वृद्धिले समुदायलाई पटक–पटक असर गरिरहेको मौसम विज्ञान ब्यूरोका जलवायु पूर्वानुमानका पूर्वप्रमुख र प्रतिवेदनका सह–लेखक एन्ड्र्यू वाटकिन्सले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

वैज्ञानीकका अनुसार हालका सामान्य तया एक वर्षमा देखिने चरम समुद्री सतह सन् २०९० सम्ममा मासिक रूपमा हुने छ भने क्षति मर्मत गर्न असम्भव हुने छ ।प्रतिवेदन अनुसार उत्तरपूर्वी राज्य क्विन्सल्यान्डमा सबैभन्दा धेरै सम्पत्ति क्षतिको जोखिममा छन्, भने पश्चिमी अष्ट्रेलिया (डब्लुए)मा प्रभावित भूमिको सबैभन्दा ठूलो क्षेत्र र सबैभन्दा बढी अनुमानित आर्थिक क्षति छ ।

प्रतिवेदनले खेतीयोग्य जमिनको ३४.६ प्रतिशत क्षतिको जोखिममा रहेकाले यसले राज्यको लागि संचयी आर्थिक घाटा हुने जनाएको छ ।वाटकिन्सले राजनीतिक नेताले जलवायु प्रदूषणलाई छिटो कटौती गर्न र पहिले नै बन्द गरिएको समुद्री सतहको वृद्धिका लागि तटीय समुदायलाई राम्रोसँग तयार पार्न कदम चाल्नु पर्ने बताएका छन् ।

असोज ६ गते अमेरिका जाँदै प्रधानमन्त्री बालेन, १० गते फर्किने

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नेतृत्वमा महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो।

स्वीकृत कार्यक्रमअनुसार प्रधानमन्त्री शाह नेतृत्वको टोली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ। टोली असोज १० गते स्वदेश फर्किनेछ।

पार्टी एकताका लागि नरम हुन तयार छु : गगन थापा

स्याङ्जा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्। कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ४५ दिनको पूण्यतिथिमा बिहीबार आयोजित शोक सभालाई सम्बोधन गर्दै उनले पार्टीलाई मजबुत बनाउनका लागि सभापतिको हैसियतले जिम्मेवारपूर्वक अगाडि बढ्ने बताए।

“पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु”, उनले भने, “नरम पनि छु र पार्टीभित्र भएका कमी कमजोरीहरूलाई हटाएर निर्मम पनि भएर अगाडि बढ्नुपर्ने छ, त्यो सजिलो छैन र पनि पार्टी हितका सन्दर्भमा निर्मम भएर लाग्छु ।” पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने जिम्मेवारीलाई बुझेर सोहीअनुसार अगाडि बढ्नकालागि लागि पर्ने उनले बताए।

देशमा आइपरेका जटिल समयहरूमा कांग्रेस जिम्मेवार भएर समस्या समाधान गर्दै आइरहेको बताउँदै उनले नागरिकमाझ विश्वास र भरोसा जगाउने बताए। स्व. श्रेष्ठले पार्टीलाई मजबुत बनाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो।

विपद्को समय सरकारको टिप्पणी गर्ने उपयुक्त समय नभएको सभापति थापाको भनाइ छ। शोकसभामा महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतका वक्ताहरूले स्व श्रेष्ठले पार्टीप्रति खेलेको भूमिकाको चर्चा गरेका थिए।

चाडपर्वका लागि ल्याएको अर्बौंको सामान भोटेकोशीले बगायो, व्यवसायी मारमा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले चाडपर्वका लागि ल्याइएको सामान बगाउँदा व्यवसायी समस्यामा परेका छन् ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने रसुवागढी नाका बगाउनुका साथै ठूलो जनधनको क्षति गरेको थियो । हालसम्म उक्त घटनामा परेर एक हजार ३६७ जनाको ज्यान गएको छ भने पाँच हजार १३२ जना अहिलेसम्म पनि सम्पर्कविहीन भएका छन् ।

यस्तै, बाढीमा परी नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ तथा सरकारी कर्मचारी ७३ जना अझै सम्पर्कविहीन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६ र विदेशी पर्यटक ५८९ जना सम्पर्कविहीन छन् ।

उक्त बाढीले नजिकिँदै गरेका तीज, दसैँ, तिहार र छठ पर्वका लागि आयात गरिएका अर्बौं मूल्य बराबरका मालसामान र सयौँ कन्टेनरसमेत बगाएको छ । नेपाली बजारमा चाडपर्वका बेला खपत हुने अधिकांश लत्ताकपडा, कच्चापदार्थ र विद्युतीय सामग्री उत्तरी नाका चीनको केरुङबाट रसुवागढी हुँदै आउने गर्छन् ।

व्यवसायीका अनुसार भदौदेखि सुरु हुने नेपालका चाडपर्वका लागि व्यवसायीले असार–साउनमा चीन पुगेर सामान आयात गर्ने गरेका छन् । गत वर्षको साउनदेखि चीनसँगको अर्को प्रमुख व्यापारिक नाका सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि पछिल्लो समय व्यवसायीले रसुवागढी नाका हुँदै सामान आयात गर्दै आएका थिए ।न्युरोड ओटुमा लामो समयदेखि व्यापार गर्दै आएका राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोज श्रेष्ठ आफूले चाडपर्वलाई लक्षित गरेर ल्याएको लाखौँ मूल्य बराबरको सामान बगाउँदा समस्या परेको बताउँछन् ।

“दसैँ, तिहारका लागि भनेर झण्डै ३५ लाख मूल्य बराबरको सामग्री आउँदै थियो भदौ १० को उक्त बाढीले सबै सामान बगायो, सामान नहुँदा दसैँ, तिहारमा व्यवसाय गर्न नसकिने भइयो”, उनले भने ।
फसिकेवमा व्यापार गर्दै आएका वीरेन्द्र श्रेष्ठको पनि सामान उक्त बाढीले बगाएको छ । तीजलाई लक्षित गरी महिलाका लागि ब्याग ल्याएका श्रेष्ठको सामान बगाउँदा रु ४० लाख बराबरको क्षति भएको उनी बताउँछन् ।

यस्तै, महिलाले लगाउने भित्री कपडालगायतका सामग्रीको होलसेल गर्दै आएका भोटेबहालका रवि खड्काको सबै सामान बाढीले बगाउँदा रु ५० लाख क्षति भएको बताउँछन् ।न्युरोड गुच्चाटोलमा टोपीको होलसेल गर्दै आएका अर्जुन हुमागाईंको पनि रु ५० लाख बराबरको क्षति भएको छ । यसैगरी, न्युरोडकै फसिकेवमा ‘बेल्ट’ र पर्सको व्यापार गर्दै आएका विष्णु न्यौपानेले पनि दसैँका लागि ल्याएको सबै सामान बाढीले बगाइदिएको छ । उनको सबै गरेर रु ८० लाख बराबरको क्षति पुगेको छ ।

माथि उल्लेख घटना प्रतिनिधिमूलक मात्र हुन् । काठमाडौँको प्रमुख व्यापारिक केन्द्र न्युरोडमा होलसेल गर्दै आएका हजारौँ व्यवसायीको सामान भोटेकोशी बाढीले बगाइदिएको छ । न्युरोडको नेपाः कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, महाबौद्ध, ओटुलगायत क्षेत्रमा दसैँका लागि ल्याएका अर्बौं मूल्य बराबरको सामान भोटेकोशी बाढीले बगाउँदा यहाँका व्यवसायी समस्यामा परेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठ चाडपर्वका लागि ल्याइएका सामान भोटेकोशी बाढीले बगाउँदा व्यवसायी समस्यामा परेको बताउँछन् । “चाडपर्वका लागि भनेर केरुङ नाका हुँदै सामान ल्याएका २५० कन्टेनर सामग्री बाढीले बगाउँदा अर्बौंको क्षति पुगेको छ”, अध्यक्ष श्रेष्ठले भने ।

केरुङबाट ल्याएका २५० कन्टेनर सामानमध्ये ७६ कन्टेनर सामान भन्सार पास भएर काठमाडौँ ल्याउने तयारी गरिएको अवस्थामा बाढी आएको अध्यक्ष श्रेष्ठ बताउँछन् । यस्तै, झण्डै २५० मालवाहक सवारीसाधन सामान लिनका लागि भन्सार नाकामा जाँदै गरेका बेला बाढीले बगाएको थियो ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष कुमार कार्की नेपाल–चीन जोड्ने सबैभन्दा छोटो नाका केरुङ नाका भएका कारण पनि यस नाकाबाट सबैभन्दा धेरै सामान आयात हुँदै आएको बताउँछन् । “छोटो नाकाका कारण सामान आयात गर्न सजिलो हुने भएकाले धेरै मालसामान यही नाका हुँदै आउँछ, चाडपर्वका लागि नाकामा आएको अर्बौंको सामान भोटेकोशी बाढीले बगाउँदा व्यवसायी समस्यामा परेका छन्”, उनले भने ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार भोटेकोशी बाढीले झण्डै ६०० मालवाहक सवारीसाधनमा क्षति पुर्‍याएको छ । महासङ्घका महासचिव डेकनाथ गौतम भोटेकोशी बाढीले एक हजारभन्दा बढी मालवाहक र यात्रुवाहक सवारीसाधनमा क्षति पुर्‍याएको बताउँछन् । “चाडपर्वको पूर्वसन्ध्यामा सामान लिन भन्सार नाका गएका सयौँ मालवाहक सवारीमा क्षति पुगेको छ”, उनले भने ।

चीनतर्फबाट सामान धमाधम नेपाल भित्रिँदै गरे पनि वर्षायामका कारण नेपालतर्फको सडक राम्रो नहुँदा रसुवागढी नाकामा ठूलो परिमाणमा मालसामान र कन्टेनर रोकिएर बसेका थिए । भन्सारमा रहेका रेडिमेड सामानसँगै ठूलो सङ्ख्यामा आयात गरिएका महँगा विद्युतीय सवारीसाधन (इभी) समेत बाढीले बगाएको छ ।

महासङ्घका महासचिव गौतमका अनुसार भन्सारमा रहेका विद्युतीय सवारीसाधन, सामान लिन गएका मालवाहक, यात्रुवाहक र गोसाइँकुण्ड दर्शन गर्न गएकासमेत एक हजार ३०० हाराहारी सवारीसाधनमा भोटेकोशी बाढीले क्षति पुर्‍याएको छ ।

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण पूर्वाधार क्षेत्रमा मात्रै रु एक खर्ब ९० अर्बको क्षति भएको छ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन’ प्रतिवेदनअनुसार बाढीले पारेको क्षतिको पुनःरुत्थानका लागि रु चार खर्ब ७३ अर्ब ५७ करोड लाग्ने अनुमान छ ।

प्रतिवेदनअनुसार ऊर्जा क्षेत्रतर्फ बाढीका कारण कूल ७५९ दशमलप शून्य २५ मेगावाट क्षमताका १३ वटा जलविद्यत् आयेजना प्रभावित भएका छन् । जसमा २४ दशमलव ३६ मेगावाट क्षमताको पाँच वटा सोलार प्लान्टसमेत समावेश छन् ।

प्रतिवेदनमा बाढीका कारण एउटा सवस्टेसन, तीन वटा ट्रान्समिसन लाइन, एउटा स्विचयार्ड र एउटा वितरण लाइनमा क्षति पुगेको छ । ऊर्जा क्षेत्रमा कूल रु एक खर्ब ५१ अर्ब चार करोड बराबरको क्षति भएको छ । यो क्षेत्रको पुनःरुत्थानका लागि रु तीन खर्ब ९० अर्ब ६२ करोड लाग्ने अनुमान छ ।

घरायसी नवीकरणीय ऊर्जातर्फ पनि ठूलो क्षति पुगेको छ । जसमा २४५० वटा सोलार ‘होमसिस्टम’, २७४० बायोग्यास प्रणाली, १३ वटा संस्थागत सोलार प्रणाली, ९२ किलोवाटको लघुजलविद्युत्, १८५ ‘वाटरमिल्स’ र ७९५ वटा खाना पकाउने चुल्होमा क्षति पुगेको छ । घरायसी नवीकरणीय ऊर्जामा रु ५६ करोडको क्षति भएको छ भने यसको पुनःरुत्थानका लागि रु एक अर्ब ६४ करोड लाग्ने देखिएको छ ।

बाढीका कारण ६९ किलोमिटर सडकमा क्षति पुगेको अनुमान छ । जसमध्ये ५५ किलोमिटरमा पूर्ण रूपमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । साथै पृथ्वीराजमार्गको कृष्णभीर क्षेत्रमा १५० मिटरमा क्षति पुगेको छ । सडक संरचनातर्फ रु २३ अर्ब ४२ करोडको क्षति पुगेको छ । उक्त क्षेत्रको पुनःरुत्थानका लागि रु ५५ अर्ब १८ करोड लाग्ने अनुमान छ ।

बाढीका कारण ३३ वटा मोटरेबल पुल बगेका छन् भने चार वटामा आंशिक क्षति पुगेको छ । त्यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुगेको छ । तेत्तिस वटा झोलुङ्गे पुलमा पूर्ण क्षति पुगेको छ । पुलमा मात्रै रु ११ अर्ब ३५ करोडको क्षति पुगेको छ भने पुनरुत्थानका लागि रु १८ अर्ब १६ करोड आवश्यक पर्ने देखिएको छ ।

सञ्चार क्षेत्रमा पनि टेलिकमका बिटिएस टावरमा क्षति पुगेको छ । एनसेलमा २७ वटा र नेपाल टेलिकमका ३८ वटा टावर प्रभावित भएका थिए । जसमध्ये अधिकांश सञ्चालनमा आइसकेका छन् । बाढीका कारण १५२ दशमलव तीन किलोमिटर फाइभर केबल र दुई वटा ट्रान्समिसन प्रणाली, एफटिटिएच/आइएसपीमा प्रभाव परेको थियो । यो क्षेत्रमा करिब रु ६३ करोडको क्षति भएको थियो भने पुनःरुत्थानका लागि रु ९४ करोड लाग्ने अनुमान छ ।

त्यसैगरी खानेपानी तथा सरसफाइ क्षेत्रमा रु एक अर्ब ३८ करोड बराबरको क्षति पुगेको छ भने यसको पुनर्निर्माणका लागि रु दुई अर्ब सात करोड लाग्ने अनुमान छ । बाढीका कारण १६ वटा इनार, ९८ वटा इनटेक, १६० वटा ट्याङ्की, ४४३ दशमलव नौ किलोमिटर पाइपलाइन प्रभावित भएका छन् ।

प्रतिवेदनका अनुसार सिँचाइ, नदी संरक्षण क्षेत्रतर्फ चार हजार ९९० मिटर नदी संरक्षण, ७०० हेक्टर सिँचाइ र छ वटा जलसतह मापन केन्द्र प्रभावित भएका छन् । यस क्षेत्रमा करिब रु एक अर्ब ६५ क्षति पुगेको छ भने पुनरुत्थानका लागि रु चार अर्ब ९४ करोड आवश्यक पर्ने अनुमान गरिएको छ ।

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशकसहित विभागीय प्रमुखलाई सेवाग्रहीको समस्यामा केन्द्रित हुन निर्देशन दिएका छन् ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा ‘प्रदेश अस्पताल सुर्खेतका निर्देशक तथा विभागीय प्रमुखसँग अस्पताल सेवा सुदृढीकरण’का विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले अस्पतालका बहिरङ्ग तथा अन्तरङ्ग सेवा प्रवाह र भएका समस्याका बारेमा बाहिर धेरै गुनासा आएको बताउँदै ती गुनासा तथा समस्यालाई सम्बोधन गर्ने गरी सेवालाई छरितो र प्रभावकारी बनाउनतर्फ ध्यान दिन सुझाए ।

गत आर्थिक वर्ष २०८२÷८३ मा ओपिडीबाट मात्र दुई लाख हजार सेवाग्राहीलाई सेवा दिएको भन्दै मुख्यमन्त्री शाहीले अस्पताल परिवारलाई धन्यवाद दिए । कर्णाली प्रदेश सरकारको गौरवको स्वास्थ्य संस्थाको गरिमालाई माथि उठाउने र उपलब्ध सेवालाई सहज एवं प्रभावकारी रूपमा प्रवाह गर्न निर्देशक तथा विभागीय प्रमुखलाई मुख्यमन्त्री शाहीले निर्देशन दिए । अस्पतालमा जनशक्ति, उपकरण र सुविधामा भएको कमी र पूर्ति गर्ने मामिलामा प्रदेश सरकारको आवश्यक सहयोग हुने उनले बताए ।

प्रदेश सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले बिरामीलाई पुनःजन्म दिलाउने समक्ष मानव पूँजीका रूपमा चिकित्सक तथा स्वास्थ्यकर्मी नै रहेको उल्लेख गर्दै प्रदेश सरकारको स्वास्थ्य सम्पतिका रूपमा स्थापित प्रदेश अस्पतालका सेवा प्रवाहका बारेमा अनपेक्षित जनगुनासा आउनुले गम्भीर बनाएको बताए । स्वास्थ्य बीमा, विशेषज्ञ सेवा, उपकरण सञ्चालन, सेवाग्रहीप्रति चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले गर्ने व्यवहारका बारेमा सुनिएका गुनासा, उठेका प्रश्न र राखिएका जिज्ञासाको समुचित सम्बोधन गरी सेवाको गुणस्तरीयता र प्रभावकारिता कायम राख्ने वातावरणको सिर्जना गर्न सक्नु नै ठूलो सफलता भएकोले त्यसमा कटिबद्ध भएर लाग्न अस्पताल पदाधिकारी तथा कर्मचारीलाई आग्रह गरे ।

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

प्रधानमन्त्री सानाए ताकाइचीको लोकप्रिय सरकारको सामना गर्न प्रभावकारी विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि जापानको विपक्षी खेमा थप विभाजित बनेको छ । यसैबीच, प्रमुख विपक्षी दलले बुधबार आफूलाई विघटन गर्ने घोषणा गरेको छ ।

‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ले आफ्ना राजनीतिक गतिविधि बन्द गर्ने निर्णय गरेको दलका प्रमुख जुन्या ओगावाले पत्रकार सम्मेलनमा बताउनुभयो । यससँगै ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) विरुद्ध प्रभावकारी राजनीतिक विकल्प निर्माण गर्ने आठ महिनादेखिको प्रयास समाप्त भएको छ ।

“बाँकी रहेका आर्थिक दायित्व चुक्ता गरेपछि हामी पार्टी विघटन गर्नेछौँ,” ओगावाले भन्नुभयो । ताकाइची सरकारविरुद्ध थप बलियो र एकीकृत विपक्षी शक्ति निर्माण गर्ने तथा दुई प्रमुख विपक्षी समूहलाई एकीकृत गर्ने उद्देश्यले जनवरीमा यो मध्यमार्गी दल गठन गरिएको थियो । ती समूहमा एलडीपीको पूर्व गठबन्धन साझेदार कोमेइतो र कन्स्टिट्युसनल डेमोक्रेटिक पार्टी अफ जापान (सीडीपीजे) थिए ।

फेब्रुअरीमा भएको आमनिर्वाचनमा नयाँ दलले अपेक्षाअनुसार नतिजा ल्याउन सकेन । ४६५ सदस्यीय तल्लो सदनमा सेन्ट्रिस्ट रिफर्म एलायन्सले ४९ सिट मात्र जित्न सक्यो । पुनःनिर्वाचन लडेका उसका १०० भन्दाबढी बहालवाला सांसदसमेत पराजित भए ।

यसको विपरीत, एलडीपीले १०० भन्दाबढी सिट थप्दै तल्लो सदनमा कुल ३१६ सिट जित्यो । मध्यमार्गी दलका केही सदस्य आफ्ना पुराना दलमा फर्कने वा नयाँ राजनीतिक दल गठन गर्ने अपेक्षा गरिएको छ ।

पार्टी औपचारिक रूपमा विघटन भए पनि यसका सदस्यले तल्लो सदनमा छुट्टै संसदीय समूह गठन गरेर एलडीपीको बलियो विकल्प निर्माणका लागि प्रयास जारी राख्ने ओगावाले बताउनुभयो ।

बौद्ध संस्थाको समर्थन प्राप्त शान्तिवादी दल कोमेइतोले गत वर्ष अक्टोबरमा एलडीपीसँगको २६ वर्ष लामो गठबन्धन अन्त्य गरेको थियो । राजनीतिक चन्दासम्बन्धी विवादपछि चन्दा सङ्कलनका नियम कडा बनाउन एलडीपीले अस्वीकार गरेको भन्दै कोमेइतोले गठबन्धनबाट बाहिरिने निर्णय गरेको थियो ।

देशमा वैकल्पिक राजनीतिक शक्ति र तेस्रो ध्रुवको आवश्यकता छ – मिराज ढुंगाना

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले मुलुकमा वैकल्पिक राजनीतिक शक्ति र तेस्रो ध्रुवको आवश्यकता रहेको बताएका छन् ।

जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा आयोजित ‘जेनजी आन्दोलनको १ वर्ष र अबको बाटो’ कार्यक्रममा बोल्दै ढुंगानाले वर्तमान सरकारबाट जनजीविकामा अपेक्षित सुधारको अनुभूति हुन नसकेको दाबी गरे । उनले सरकारले नागरिकमा आशा जगाउन नसके वैकल्पिक राजनीतिक शक्तिबारे देशव्यापी बहस सुरु गर्नुपर्ने बताए ।

‘आन्दोलनमार्फत नयाँ सरकार आयो, साथीहरू निर्वाचित हुनुभयो । तर के देशले वास्तविक परिवर्तन पायो ? के हाम्रो जीवनस्तर सुध्रिएको छ ? के महँगी घटेको छ ? के जनजीविका सहज भएको छ ?’ उनले प्रश्न गरे ।

नयाँ सरकार गठन भएको करिब साढे पाँचदेखि ६ महिना मात्र भएकाले तत्कालै सबै उपलब्धिको मूल्यांकन गर्न कठिन हुने भए पनि सरकारले आगामी दिनको संकेत देखाउनुपर्ने उनको भनाइ थियो ।

‘हुने बिरुवाको चिल्लो पात भनेझैँ सुरुवाती उपलब्धिबाट भविष्यको संकेत देखिनुपर्छ । तर आधा वर्ष बितिसक्दा पनि आशा देखिएन भने त्यो गम्भीर विषय हो,’ ढुंगानाले भने ।

भोटेकोशी बाढीमा बेपत्ताको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र परिचालन गर्न सुझाव

काठमाडौँ । सांसदहरूले भोटेकोशी बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित स्थानमा दिगो व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरूले यही भदौ १० गतेको बाढीमा बेपत्ता भएका नागरिकको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र परिचालित गर्न, होल्डिङ सेन्टरमा रहेकालाई उचित राहत दिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद विदूषी राणाले रसुवा विपद् हिमालय क्षेत्रले दिएको पूर्वचेतावनी भएको जनाउँदै हिमनदी र उच्च हिमाली जोखिमको नियमित अनुगमन, अन्तरदेशीय सूचना आदानप्रदान र विपद् अनुकूल पूर्वाधार निर्माण गर्न आग्रह गरिन् ।

सांसद बिना गुरुङले भोटेकोशी विपद्ले जनधनसँगै नेपालको पर्यटन र नागरिकको जीविकोपार्जनमा ठूलो क्षति पुर्‍याएको भन्दै बाढी पहिरोबाट घरबारविहीन भएका नागरिकलाई तत्काल पुनःस्थापित गर्न तथा पर्यटन व्यवसायीलाई विशेष राहत दिन माग गरिन्।

सांसद बुद्धरत्न महर्जनले राष्ट्रिय राजमार्गका रूपमा रहेको कान्ति लोकपथको नियमित मर्मतसम्भार गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद बुद्धिप्रसाद पन्थले जेनजी युवाले देखेको सपना सम्बोधन गर्नुपर्नेमा जोड दिँदै आन्दोलनमा सहभागी युवालाई झुटा मुद्दा लगाइएकामा आपत्ति जनाइन् ।

सांसद भरतकुमार स्वाँर र भरतप्रसाद पराजुलीले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकको खोजबिनलाई तीव्र बनाउन तथा बेपत्ताको दाहसंस्कारसम्बन्धी कानुनी व्यवस्था गर्न सुझाव दिइन् । सांसद भीमकुमारी बुढा मगरले भोटेकोशी बाढीमा फसेका नागरिकको उद्धारमा ढिलाइ हुँदा सम्पर्कविहीन नागरिकका परिवारजनमा पीडा थपिएको बताइन् ।

सांसद भरतबहादुर खड्काले डोटीको दिपायलबाट सरकारी कार्यालय अन्यत्र सारिँदा सरकारको लगानी खेर गएको भन्दै ती भवनको सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद मञ्जु भुसालले विनाशकारी भोटेकोशी बाढीमा हराइरहेका नागरिकको खोज, उद्धार र परिवारमा पुनर्निमलनका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारलाई सुझाव दिए ।

सांसद मधुकुमार चौलागाईँले भोटेकोशी बाढीपीडितलाई तत्काल राहत र सुरक्षित स्थानमा पुनःस्थापना गराउन सकारको ध्यानाकर्षण गराए । सांसद मदनकृष्ण श्रेष्ठले भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धार प्रयासका बारेमा सदनलाई जानकारी गराउन माग गराए ।

सांसद मनमाया विश्वकर्माले निजामती सेवामा क्रियाशील ट्रेड युनियनका सम्पत्ति जफत गर्ने प्रक्रिया अविलम्ब रोक्न गर्न माग गरिन् । सांसद बलावती शर्माले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन छानबिन गर्न गठित आयोगको प्रतिवेदन शीघ्र कार्यान्वयन गर्न माग गरिन् । सांसद मनिष खनालले जेनजी पुस्ताको माग सम्बोधन गर्न सरकारले खुट्टा कमाउन नहुनेमा जोड दिए ।

सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका सहिद र घाइते परिवारले कहिले न्याय पाउँछन् भनी प्रश्न गरे । सांसद रजनी श्रेष्ठले जेनजी आन्दोलनका सहिद र घाइते परिवार तथा झुठा मुद्दा लागेकाले कहिले न्याय पाउने जिज्ञासा राखिन् ।

सांसद रिमा विश्वकर्माले जेनजी आन्दोनलका क्रममा युवामाथि लगाइएको झुठा मुद्दा फिर्ता र बन्दी युवालाई तत्काल रिहा गर्न माग गरिन् । सांसद रमेश प्रसाईले जेनजी आन्दोलनमाथि दमन गर्नेमाथि कारबाही नहुँदा चौतर्फी प्रश्न उठिरहेको बताए । सांसद बसुमाया तामाङले ग्यासको कृत्रिम अभाव हुँदा साना व्यवसायी मारमा परेको उल्लेख गर्दै तत्काल ग्यासको बिक्रीवितरण सहज बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद मोहनलाल आचार्यले बाढीमा बेपत्ताको खोजी गर्न सरकारसँग अपिल गरे । सांसद मोहम्मद फिरदोश आलमले बाढी प्रभावितलाई तत्काल सुरक्षित स्थानमा स्थानन्तरण गर्न, पीडितलाई उचित राहत दिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद युवराज दुलालले बाढीमा बेपत्ता सिन्धुपाल्चोकका २३९ जनाको खोजी कार्य प्रभावकारी बनाउन माग गर्दै नदी तटीय वस्तीमा पूर्वचेतावनी प्रणाली जडान गर्न सुझाव दिए । सांसद रमेशकुमार सापकोटाले नेपाललाई सहानुभूति नभई जलवायु न्याय चाहिएको बताए ।

सांसद यशोधा कुमारीले तराई/मधेसमा विषालु सर्पको बिगबिगी बढेको भन्दै तत्काल ‘एन्टीस्नेक भेनम’ उपलब्ध गराउन सरकारसँग माग गरिन् । सांसद यज्ञबहादुर बोगटीले अछाममा विद्युत् विस्तारका लागि ठेक्का भएको पाँच वर्ष पुगे पनि ग्रामीण वस्तीमा विद्युतीकरणको योजना अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद रत्नाकुमारी थापाले भोटेकोशी बाढीमा बेपत्ता भएकाको खोज र उद्धारलाई थप तीव्र बनाउन माग गरिन् । सांसद रञ्जु न्यौपानेले विपत्तिलाई अन्तर्राष्ट्रिय जगत्मा स्पष्टसँग उठाएर जलवायु न्यायलाई जोडदार रुपमा उठाउनुपर्ने धारणा राखिन् ।

सांसद रमेशकुमार मल्लले राप्ती लोकमार्गअन्तर्गत सल्यानको खारकोलामा गएको पहिरोमा परी त्रिवेणी गाउँपालिकाका युवा मदन पुनको निधन भएको जनाउँदै तत्काल सडक स्तरोन्नति गरी नागरिकको जीउधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरू राजन गौतम, राजीव खत्री, राधिका रम्तेल, राम लामा, रिङ्गला यादव, रिना उप्रेती, रुकेश रञ्जित, रुक्मणीदेवी कोइराल, रुविना आचार्य, रेखाकुमारी यादव, रेनुका काउचा र माधवबहादुर थापा जेनजी आन्दोलनमा दमन गर्नेमाथि कारबाही तथा भोटेकोशी बाढीमा निधन भएकामा व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको खोजी, घाइतेको स्वास्थ्य उपचार, विस्थापितलाई सुरक्षित स्थानमा पुनःस्थापित गर्न सरकारको ध्यानाकर्षण गराए ।

नर्वेका दिवङ्गत राजा हेराल्ड पाँचौँका लागि २० लाख डलरको अन्तिम विश्रामस्थल

नर्वेका दिवङ्गत राजा हेराल्ड पाँचौँका लागि करिब २० लाख अमेरिकी डलर खर्चमा तयार गरिएको विशेष सार्कोफागस बुधबार सार्वजनिक चासोको विषय बनेको छ । ८९ वर्षको उमेरमा अगस्ट २८ मा निधन भएका उनलाई पत्नी रानी सोनजासँगै राख्न उक्त अन्तिम विश्रामस्थल तयार गरिएको हो ।

सरकारले सन् २०२४ मा यसको निर्माणका लागि दुई करोड नर्वेजियन क्रोनर बजेट छुट्याएको थियो । त्यसबेला राजा हेराल्डले आफ्नो अन्तिम विश्रामस्थलका लागि बजेट छुट्याइएको विषयमा हास्यपूर्ण टिप्पणी गर्दै सार्कोफागसलाई इजिप्टका चिहानसँग तुलना गरेका थिए ।

प्रसिद्ध नर्वेजियन वास्तुकला संस्था स्नोहेट्टाले हेराल्ड र सोनजाका लागि दोहोरो सार्कोफागस डिजाइन गरेको हो । उनको अन्त्येष्टि सेवापछि पार्थिव शरीरलाई अकोर्शस किल्लास्थित शाही समाधिमा लगेर निजी समारोहबीच अन्त्येष्टि गरिनेछ ।

सन् १९४९ मा निर्मित उक्त समाधिमा यसअघि राजा हाकोन सातौँ र रानी मौड तथा राजा ओलाव पाँचौँ र क्राउन राजकुमारी मार्थाका सार्कोफागस राखिएका छन् । शाही परिवारलाई समाधिमा राख्ने परम्परालाई निरन्तरता दिँदै नयाँ सार्कोफागस तयार गरिएको नर्वेजियन राजदरबारले जनाएको छ ।

राजा हेराल्डको अन्त्येष्टि समारोहका कारण अकोर्शस किल्लास्थित शाही समाधि हाल सर्वसाधारणका लागि बन्द गरिएको छ ।

भदौ २३ को आन्दोलनमा साम्राज्यवादी शक्तिको स्रोत–साधन परिचालन भयो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले गत भदौ २३ गते भएको आन्दोलनमा बाह्य तथा साम्राज्यवादी शक्तिको स्रोत–साधन परिचालन भएको आरोप लगाएका छन् ।भण्डाफोर तथा विरोध कार्यक्रममा बोल्दै बस्नेतले सुरुमा उक्त आन्दोलनप्रति आफूहरूको कुनै आपत्ति नरहेको बताए । तर आन्दोलनमा बाह्य शक्तिको स्रोत–साधन प्रयोग भएपछि त्यसको स्वरूप परिवर्तन भएको उनले बताए ।

‘भदौ २३ गते भएको आन्दोलनमा सबैको समर्थन थियो, हाम्रो पनि कुनै आपत्ति थिएन,’ बस्नेतले भने, ‘तर जब त्यो आन्दोलनमा साम्राज्यवादी शक्तिहरूको स्रोत–साधन परिचालन गरियो, राज्यका सेना, प्रहरीलगायत निकायहरू मूल दर्शक बने र जानेर वा नजानेर सहयोगी भए ।’

त्यसपछि आन्दोलन सामान्य विरोध प्रदर्शनमा सीमित नरही मुलुकमाथिको गम्भीर आक्रमणको स्वरूपमा परिणत भएको उनले बताए ।उनले बाह्य शक्तिले नेपाललाई आफ्नो चङ्गुलमा फसाउने प्रयास गरेको आरोप लगाउँदै नयाँ पुस्ताका युवाहरूलाई प्रयोग गरिएको बताए । उनका अनुसार यस क्रममा मुलुकको सम्पत्ति नष्ट हुने अवस्था सिर्जना भएको थियो।

 

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?

चितवन। पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ ।
क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६० प्रतिशत थियो । भोटेकोशीसँगै सडक सञ्जालमा आएको अवरोधलगायतका कारण ती ‘बुकिङ’ रद्द हुँदा होटल सुनसान छ ।

अध्यक्ष पाण्डे आफ्नो जस्तै अन्य होटलको पनि अवस्था उस्तै रहेको जानकारी दिनुहुन्छ । नेपालमा सीमित भूभागबाहेक अन्य क्षेत्रमा बाढीको कुनै प्रभाव छैन । कृष्णभिरको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भए पनि वैकल्पिक सडक सञ्चालनमा छन् । यद्यपि, पर्यटकहरूले धमाधम ‘बुकिङ’ रद्द गरिरहेका छन् । यस महिनाका बुकिङ सबै रद्द भएको उहाँ बताउनुभयो ।

भारतको गोरखपुरबाट १०० पर्यटकले सौराहाका लागि ‘बुकिङ’ गरेको कार्यक्रम स्थगन गरेका छन् । अध्यक्ष पाण्डले भन्नुभयो “संवादका क्रममा पर्यटकले नेपालमा विपद परिरहेका समयमा आफूहरु त्यहाँ रमाउन नसक्ने जानकारी दिएका छन् । अन्तरराष्ट्रियस्तरमा अहिले नेपालमा बाढीपहिरोको जोखिम नभएको सन्देश प्रवाह गर्नुपर्छ । ”

गत वर्षको यो समयमा जेनजी आन्दोलनसँगै सुस्ताएको पर्यटन यो वर्ष निकै राम्रो हुने अपेक्षा व्यवसायीले गरेका थिए । सौराहाको होटल भिष्टाका सञ्चालक रमेश सिलवाल भारतीय पर्यटक बढी आउने यो बेलामा बाटोका कारण समस्या भएको जानकारी दिनुहुन्छ । बाढी आउँदाभन्दा सडक अवरुद्ध हुँदा बढी ‘बुकिङ’ रद्द भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “भोटेकोशीमा बाढी आउँदा केही रद्द भए पनि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा बाँकी सबै बुकिङ रद्द भएको छ ।”

मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधामलगायत धार्मिक क्षेत्रमा आउने भारतीय पर्यटकले ‘बुकिङ’ रद्द गर्दा यसको प्रत्यक्ष प्रभाव सौराहामा परेको जनाइएको छ । उहाँले भन्नुभयो, “अन्तरराष्ट्रियस्तरमा बाढीको प्रभाव सीमित ठाउँबाहेक अन्यत्र छैन भन्ने सन्देश दिनु सक्नुपर्छ ।”

होटल सङ्घ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरे विभिन्न देशहरूले नेपाललाई असुरक्षित सूचीमा राखेकाले विदेशी पर्यटकले ‘बुकिङ’ रद्द गरेको बताउनुहुन्छ । वर्षात्पछि अबका दिनहरूमा क्रमशः स्वदेशी र विदेशी पर्यटक आएर विगतमा सौराहा भरिने गरेको उहाँले स्मरण गर्नुभयो । वर्षात्को समयमा पनि शनिबार र आइतबार बिदा हुँदा आन्तरिक पर्यटक आउने गरेकामा बाढी र त्यसपछिको सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटक पनि नआएको उहाँ बताउनुहुन्छ ।

‘सेप्टेम्बर’ र ‘अक्टोबर’ महिनाका लागि गरिएका अधिकांश बुकिङ रद्द भएको उहाँको भनाइ छ । ‘सेप्टेम्बर’ का सबै बुकिङ रद्द भएका छन् भने अवस्था सुध्रिएमा ‘अक्टोबर’ मा गरिएका केही बाँकी बुकिङ रद्द नहुने अपेक्षा उहाँको छ । त्यसपछिका महिनामा पूर्ववत् अवस्थामा पर्यटक आउने व्यवसायीले आशा गरेका छन् ।

सौराहामा यतिबेला सरदर पाँच प्रतिशत पर्यटक भएको अनुमान छ । गत वर्ष यतिबेला २५ देखि ३० प्रतिशत पर्यटक हुने गरेका थिए । केन्द्रीय सदस्य घिमिरे अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूमा नेपाल घुम्नका लागि सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताउनुहुन्छ । सरकारले विश्वका विभिन्न देशमा रहेका राजदूतहरूमार्फत नेपालको अहिलेको अवस्थाका बारेमा सम्बन्धित देशमा सूचना प्रवाह गर्न सकेमा पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ छ ।

सौराहाको केसीज रेष्टुरेन्ट एन्ड होमका सञ्चालक नरेश गिरी चोकैमा रहेको आफ्नो रेष्टुरेन्ट र होटलसमेत सुनसान भएको जानकारी दिनुहुन्छ । विगतमा रेष्टुरेन्ट भिडभाड हुने यो समयमा पर्यटक नआएको जनाउँदै उहाँले भएका ‘बुकिङ’समेत रद्द भएको बताउनुभयो । ‘बुकिङ’ रद्द भएको अवस्था हेर्दा ‘नोभेम्बर’सम्म नकारात्मक देखिएको उहाँको भनाइ छ ।

भोटेकोशी बाढीमा भारतीयसहित विदेशी पर्यटकसमेत परेका कारण अन्तरराष्ट्रिय जगत्मा नेपाल असुरक्षित छ भन्ने सन्देश पुगेको व्यवसायी गुनासो गर्दछन् । सीमित भूगोलामा बाढीको प्रभाव रहे पनि नेपालका अन्य भूभाग सुरक्षित छन् भन्ने सन्देश प्रवाह गर्न जरुरी छ । यसका बारेमा अन्तरराष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न नसक्दा पर्यटन क्षेत्रमा नकारात्मक असर परेको जनाइएको छ ।

सौराहामा १२० भन्दा बढी होटल छन् । जहाँ पाँच हजारभन्दा बढी पर्यटकलाई एकैदिन राख्न सक्ने क्षमता छ । यहाँबाट काठमाडौँ दैनिक पर्यटक बस चल्ने गरेकामा पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो गएसँगै ती बस रोकिएका छन् । हवाई भाडा महँगो र उच्च चापका हुँदा पर्यटक सहजै आउने परिस्थिति छैन । मुख्य रूपमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक यहाँ बस्ने गर्दथे । यस्तै देशका विभिन्न भागबाट गोष्ठी, बैठक, सभा, सम्मेलन गर्न नेपाली यहाँ आउने गर्दछन् ।

नेपालको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा सौराहालाई लिने गरिन्छ । सफारी पर्यटनको हिसाबले यो पहिलो गन्तव्य हो ।

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलबस्तु। रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन छन् ।
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बर्दियाका ७६, दाङका ५४, रोल्पाका २४, बाँकेका २३, रुपन्देहीका १९, पाल्पाका नौ, प्युठानका नौ, नवलपरासी (बर्दघाट सुस्तापश्चिम)का नौ, अर्घाखाँचीका आठ, गुल्मीका सात, कपिलवस्तुका छ र रुकुमपूर्वका चार जना सम्पर्कविहीन रहेका छन् ।

त्यसैगरी, बाढीपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा १५८ शव फेलापरेका छन् । फेलापरेका शवमध्ये ५२ महिला, ९० पुरुष, छ बालक, छ बालिका र चार जनाको लिङ्ग पहिचान हुन नसकेको केन्द्रले जनाएको छ । त्यहाँ ६४ शरीरका अङ्गसमेत फेलापरेका छन् । शव र शरीरका अङ्ग गरी फेलापरेको कुल सङ्ख्या २२२ पुगेको छ ।

फेलापरेका शवमध्ये नौ जनाको सनाखत भएको छ । सनाखत भएकामा एक महिला र आठ पुरुष रहेका छन् । बाँकी शव तथा शरीरका अङ्गमध्ये १४२ शव र ६४ शरीरका अङ्ग गरी २०६ वटा व्यवस्थापन गरिएको विवरणमा उल्लेख छ ।

बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिको खोजी तथा फेलापरेका शव र शरीरका अङ्गको पहिचान एवं व्यवस्थापन कार्य जारी रहेको जनाइएको छ ।

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली। कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त राजमार्गको सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत दुल्लु नगरपालिका–१ दैलेखको भम्लु खोलास्थित गए राति माथिबाट सुक्खा पहिरो आएर सडक अवरद्ध भएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार राजमार्गअन्तर्गत कालीकोट खाँडाचक्र नगरपालिकाको पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा खसेको पहिराले यही भदौ २० गतेदेखि बन्द सडक मङ्गलबार दिउँसोदेखि सञ्चालन भएको थियो ।

दैलेखमा गए राति गएको सुक्खा पहिरोले सडक पुनः अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी टोली भम्लु खोलामा खटिएको र सडक जतिसक्दो छिटो खोलेर आवागमन सञ्चालन गर्न सडक डिभिजन कार्यालय सुर्खेतसँग आवश्यक समन्वयमा पहिरो पन्छाउने काम सुरु भएको छ ।सडक अवरोधका कारण हुम्ला, मुगु, जुम्ला, कालीकोटबाट सुर्खेत, नेपालगन्ज, काठमाडौँ गन्तव्य यात्रुहरूलाई सास्ती भएको जनाइएको छ ।

बाढीले अन्धकार बनेका रसुवाका बस्तीमा जेनेरेटर सहयोग

रसुवा। भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा स्थानीय तहलाई ११ थान अत्यावश्यक जेनेरेटर सहयोगस्वरूप वितरण गरिएको छ ।‘सेटोप अष्ट्रेलिया’को आर्थिक सहयोगमा रसुवा–नुवाकोट पर्यटन समाजले वितरण गरेको सो जेनेरेटरबाट विद्युत् र सञ्चार सेवा अवरुद्ध भएका जिवजिवे, बेताङ, स्वर्यु, लोकिल, राम्चे, बेत्रावती, भोर्ले, हाकु र माथिल्लो जिवजिवेलगायतका क्षेत्रका वासिन्दा लाभान्वित भएका छन् । स्थानीयवासीलाई मोबाइल चार्ज गर्न, सञ्चार सम्पर्क कायम गर्न तथा आपत्कालीन सेवा सञ्चालनमा सहज भएको छ ।

त्यसैगरी, आपत्कालीन उद्धार, राहत, पुनःस्थापना र प्रतिकार्यलाई व्यवस्थित बनाउन कालिका गाउँपालिका र उत्तरगया गाउँपालिकाका आश्रय स्थलमा पनि जेनेरेटर हस्तान्तरण गरिएको छ ।

बाढीका कारण सडक सम्पर्कसमेत विच्छेद भई बेत्रावती नजिकैको जङ्गल क्षेत्रमा पाल टाँगेर आश्रय लिइरहेका विस्थापित परिवारलाई पनि प्रत्यक्ष रूपमै पुगेर जेनेरेटर उपलब्ध गराइएको छ ।

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण :  बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं ४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ ।सङ्घीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौँले म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उक्त पुलबाट हिलापोखरी, बाँसबोट, खोरबाङ, सोलवाङ, खारा, खाम्ला, छहरी, खिवाङ, शिवाङ, ताकम, काफलडाडाका बासिन्दा लाभान्वित भएका जानकारी दिए ।

उनका अनुसार बाँसबोटका किसानले उत्पादन गरेको केरा बजारीकरणमा सहज भएको छ । पुल निर्माणका लागि २०८२ साल असारमा रामकृष्ण–सोमरस जेभी र डिभिजनबीच रु एक करोड ६४ लाख १५ हजार २५४ मा ठेक्का सम्झौता भएको थियो । यसै महिनामा पुल निर्माण सकिएपछि आवतजावतका लागि खुला गरिएको छ ।

अठार महिनाको ठेक्का अवधि रहेको थियो । निर्धारित समयभित्रै पुल सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि प्रविन सापकोटाले बताए । धवलागिरि गाउँपालिका–७ का राजकुमार कोइरालाले पुलले आवतजावतका लागि यात्राअवधि छोटिनुका साथै पर्यटकीयस्थलका रूपमा विकास हुने अपेक्षा गरिएको बताउनुभयो । एक घण्टाको यात्राअवधि पाँच मिनेटमा छोटिएको उनले बताए ।

धवलागिरि गाउँपालिकामा यसअघि गत वर्ष दुई वटा तीन सय मिटर भन्दा लामा झोलुङ्गे पुल निर्माण भएको थियो । धवलागिरी गाउँपालिका–६ घाइरीबोट र खाउरीबाङ जोड्ने मराङखोलामा तीन सय ६५ मिटर र वडा नं.–३ फलियागाँउ र दर जोड्ने दरखोला माथी तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो । यो सहित हाल म्याग्दीमा तीन सय मिटर भन्दा लामा झोलुुङ्गे पुलको संख्या सात वटा पुगेको छ ।

रघुगंगा गाउँपालिका–१ बेग र बादुक जोड्ने बेगखोलामा ३६५.८० मिटर, मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका–६ रिख जोड्ने ३५० मिटर, बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३८८ मिटर र अन्नपूूर्ण गाउँपालिका–५ शिख र किन्दु जोड्ने ३४४ मिटर लामो पुुल निर्माण भइसकेका छन्

बाढीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्यांकन (आरडिएनए) को विवरण यथार्थपरक बनाउन निर्देशन दिएका छन्।

मंगलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्यांकन (आरडिएनए) र विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद्पश्चात् द्रुत क्षति अनुमान (ग्रेड) को छुट्टाछुट्टै प्रारम्भिक मूल्यांकनबारे छलफल गर्दै उनले आयोग र विश्व बैंकका नेपाल प्रतिनिधिहरूलाई यस्तो निर्देशन दिए।

“पुनर्निर्माण र पुनर्स्थापनालाई प्रभावकारी बनाउन बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्यांकन यथार्थपरक बनाउन जरुरी छ,” अर्थमन्त्री वाग्लेले भने, “सरकारले ठिक निर्णय गर्न र लगानी जुटाउन आरडिएनए र ग्रेड यथार्थपरक र सत्यतामा आधारित भएर एउटा राष्ट्रिय डकुमेन्ट बन्नुपर्छ।”

योजना आयोगले बाढीले पुर्‍याएको भौतिक क्षति र मानवीय क्षतिको द्रुत तथा प्रारम्भिक चरणको आकलन प्रतिवेदनको खाका तयार गरिरहेको छ। विश्व बैंकले भने क्षतिको प्रारम्भिक आकलन तयार पारेको छ।

सोही खाकाका प्रारम्भिक विवरणहरूलाई यकिन गरेर साझा प्रारम्भिक प्रतिवेदन तयार पार्न मंगलबार सरोकारवालाहरूसँग अर्थमन्त्री वाग्लेले छलफल गरेका हुन्।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसहित आयोगका उच्चपदस्थ अधिकारी सहभागी भएको छलफलमा बाढीका कारण भौतिक सम्पत्तिमा पुगेको क्षतिको आरडिएनए गर्न चार फरक–फरक क्षेत्रमा छुट्याएर मूल्यांकन गरिएको जानकारी गराइयो। त्यसमा सामाजिक, उत्पादनमूलक, पूर्वाधार र अन्य क्षेत्रका रूपमा विभाजन गरिएको छ।

सामाजिक क्षेत्रअन्तर्गत निजी भवन र संरचना, सार्वजनिक, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रका पूर्वाधारमा पुगेको क्षतिको अध्ययन नतिजा समावेश गरिएको छ।

उत्पादनमूलक क्षेत्रअन्तर्गत कृषि, मत्स्य, पशुपन्छी, वित्तीय र आर्थिक गतिविधिको मूल्यांकन भइरहेको छ। जलविद्युत् आयोजना र प्रसारण लाइन, घरायसी हरित ऊर्जाको उपयोग, सडक, पुल, दूरसञ्चार, वातावरणीय स्वास्थ्य तथा सिँचाइ एवं नदी व्यवस्थापनको कार्यलाई पूर्वाधार क्षेत्रका रूपमा मूल्यांकन गरिएको छ।

बाढीग्रस्त क्षेत्रमा थुप्रिएको भग्नावशेष र जोखिमयुक्त फोहोरको अवस्थालाई पनि चौथो क्षेत्र (अन्तरक्षेत्रीय विषयवस्तु) का रूपमा समावेश गरेर मूल्यांकन गरिएको छ। दुवै प्रतिवेदनलाई समेटेर सरकारले एक साझा आरडिएनए प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ।

योजना आयोगले सहसचिव अर्जुन भण्डारीको नेतृत्वमा भौतिक पूर्वाधार मन्त्रालयसहितका सरोकारवाला मन्त्रालयका प्रतिनिधिलाई राखेर आरडिएनए प्रतिवेदन तयार गरिरहेको छ।

सोही प्रतिवेदनका आधारमा सरकारले तत्कालीन राहतको व्यवस्थादेखि लगानीको स्रोत जुटाउने र पुनर्निर्माण तथा पुनर्स्थापनाको काम अघि बढाउनेछ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११० रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ ०९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ८३ पैसा र बिक्रीदर नौ रुपैयाँ ८७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४० रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २८ पैसा र बिक्रीदर ११ रुपैयाँ ३२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५ रुपैयाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९ रुपैयाँ ३९ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ६० पैसा बिक्रीदर ४०३ रुपैयाँ १९ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ८५ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

ब्रिक्समा भारतको नयाँ एजेन्डा

काठमाडाैँ। भारतले सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीमा आयोजना गर्ने १८औँ ब्रिक्स शिखर सम्मेलनमार्फत व्यापार, प्रविधि, स्वास्थ्य, ऊर्जा, कृषि र जलवायु क्षेत्रमा व्यावहारिक सहकार्यलाई प्राथमिकता दिने भएको छ । भारतको सन् २०२६ को अध्यक्षता ‘लचिलोपन, नवीनता, सहयोग र दिगोपनका लागि निर्माण’ भन्ने मूल विषयमा केन्द्रित छ।

सन् २००६ मा ब्राजिल, रुस, भारत र चीनबाट सुरु भएको ब्रिक समूह दक्षिण अफ्रिका थपिएपछि सन् २०११ मा ब्रिक्स बनेको थियो। सन् २०२४ मा इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स तथा सन् २०२५ मा इन्डोनेसिया थपिएपछि अहिले यसमा ११ पूर्ण सदस्य राष्ट्र छन्।

भारतले अध्यक्षताका क्रममा ब्रिक्सलाई राजनीतिक समन्वयमा मात्र सीमित नराखी आर्थिक र विकाससम्बन्धी ठोस सहकार्यको मञ्चका रूपमा अघि बढाउने लक्ष्य लिएको छ। यसका लागि लचिलोपन, नवीनता, सहयोग र दिगोपनलाई चार प्रमुख स्तम्भ बनाइएको छ।

आर्थिक क्षेत्रमा ब्रिक्स आर्थिक साझेदारी २०३० को रणनीति, विश्व व्यापार सङ्गठनमा आधारित बहुपक्षीय व्यापार प्रणाली तथा आपूर्ति शृङ्खला सुदृढीकरणलाई प्राथमिकता दिइएको छ। साना तथा मझौला उद्यमलाई व्यापार वित्त उपलब्ध गराउन इनभ्वाइस डिस्काउन्टिङ संयन्त्र र सदस्य राष्ट्रका प्रविधि केन्द्र तथा वित्तीय संस्थाबीच सहकार्यका लागि एमएसएमई पोर्टल प्रस्ताव गरिएको छ।

नवप्रवर्तनतर्फ स्टार्टअप इन्क्युबेटरलाई जोड्ने नेटवर्क र नयाँ उद्यमका लागि वित्तीय सहयोग जुटाउने स्टार्टअप इनोभेसन फन्ड प्रस्ताव गरिएको छ । कृषिमा कृत्रिम बौद्धिकता, भू–स्थानिक प्रविधि र डिजिटल पूर्वाधारको प्रयोग तथा बिउ र कृषि सामग्रीमा सहकार्य बढाउने पहल अघि बढाइएको छ।

स्वास्थ्य क्षेत्रमा विश्वव्यापी स्वास्थ्य पहुँच, महामारीको तयारी, डिजिटल स्वास्थ्य र सस्तो औषधिमा सहकार्यसँगै मानसिक स्वास्थ्यका लागि समेत समन्वय संयन्त्र निर्माणको पहल गरिएको छ ।

ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै स्मार्ट ग्रिड, ऊर्जा भण्डारण, नवीकरणीय ऊर्जा, हाइड्रोजन, जैविक इन्धन, महत्त्वपूर्ण खनिज र कार्बन कब्जा प्रविधिमा सहकार्य अघि बढाउने योजना छ । जलवायु–लचिलो सहरी पूर्वाधार, हरित वित्त र ऊर्जा सङ्क्रमणलाई समेत भारतले प्राथमिकतामा राखेको छ।

भारतले यी पहललाई शिखर सम्मेलनमा मात्र सीमित नराखी दीर्घकालीन रूपमा कार्यान्वयन गर्दै ब्रिक्समार्फत दिगो विकास र विश्वव्यापी शासनमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

मुस्ताङ भन्सार: ५६ करोड राजस्व सङ्कलन

मुस्ताङ । भोटेकोशीमा बाढीका कारण (रसुवागढी—केरुङ) नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । भन्सार कार्यालयका अनुसार यही भदौ १० देखि २३ गतेसम्म रु ५६ करोड बढी राजस्व सङ्कलन भएको छ ।

रसुवा र तातोपानी नाका एकैसाथ बन्द हुँदा मुस्ताङ भन्सार कार्यालय मात्रै वैकल्पिक नाका बनेको छ । कोरलानाका हुँदै नेपाल प्रवेश गरेका ८८ वटा मालवाहक कन्टेनर र १३० वटा विद्युतीय सवारी (इभी) को भन्सार जाँचपास भएको भन्सार प्रमुख विदुर चुडालले जानकारी दिए ।

दैनिक पन्ध्र वटासम्म विद्युतीय सवारी र १० वटा बढी माल वस्तु पैठारी गरिएका कन्टेनर कोरलानाकाबाट भित्रिएको छ ।

भन्सार प्रमुख चुडालका अनुसार चालु आवको साउनदेखि भदौ १० गतेसम्म १६३ विद्युतीय सवारी र १३३ वटा माल वस्तु बोकेको कन्नेटरको भन्सार जाँचपास गरिएको थियो । चालिस दिनमा रु ५२ करोड ८० लाख राजस्व सङ्कलन भएको थियो । सो भन्सार कार्यालयले हालसम्म रु एक अर्ब आठ करोड ८० लाख राजस्व सङ्कलन भएको छ ।

आव २०८२/८३ मा मुस्ताङ भन्सारले रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो ।

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले शय्या पाउन निकै सास्ती व्यहोर्नु परिरहेको छ ।

भाइरलजन्य रोगका बिरामीको सङ्ख्या अत्यधिक बढेका कारण अस्पतालका शय्या पूर्ण रूपमा भरिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले जानकारी दिए ।

उनका अनुसार शय्या अभावकै कारण गम्भीर अवस्थाका बिरामीलाई अस्पतालमा राखेर उपचार गर्न समस्या भएको छ । “शय्या नपाएपछि सिकिस्त बिरामी बाध्य भएर निजी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान वा नेपालगन्जसम्म जानु परिरहेको छ,” उनले भने, “बिरामी शय्याका लागि कुर्नुपर्ने अवस्था छ ।”

प्रादेशिक अस्पताललाई हालसम्म ५० शय्याको मात्रै स्वीकृति प्राप्त छ । यद्यपि, अस्पताल प्रशासनले आमा सुरक्षा कार्यक्रम, सङ्घीय सशर्त कार्यक्रम र साबिकको कोभिड कार्यक्रमको जनशक्ति परिचालन गरी आफ्नै स्रोतसाधनबाट हाल १४१ शय्या सञ्चालन गरिरहेको छ ।

बिरामीको चाप भने अत्यधिक छ । सामान्य दिनमा पनि दैनिक ५०० भन्दा बढी र सरकारी बिदा पछिका दिनमा ओपिडीमा आउने बिरामीको सङ्ख्या ७०० सम्म पुग्ने गरेको डा होदाले बताए ।

विशेषगरी बाल वार्ड, मेडिसिन वार्ड, र प्रसूति वार्डमा शय्याको अभाव छ । बाल वार्डमा ११ वटा शय्या रहेकामा चाप बढेपछि १३ वटा पुर्‍याइएको छ । शय्या उपलब्ध गराइदिन भन्दै दैनिक दर्जनौँ फोन आउने र बिरामीको चाप धान्न नसकिने अवस्था रहेको डा होदाले बताउनुभयो ।

अस्पतालमा विशेषज्ञ डाक्टरबाट सहज एवं सुलभ सेवा पाउन थालेपछि अस्पतालप्रति नागरिकको विश्वास बढेको छ । सोही कारण बिरामीको चाप अत्यधिक वृद्धि भइरहेको उनले बताए । बेडको अभावमा उपचारमा समस्या हुने गरेको छ । अस्पताल विकास समितिले यसलाई सरकारीस्तरबाटै ओएनएम सर्भे गराई स्थायी दरबन्दी सिर्जना गरेर कम्तीमा २०० शय्यामा स्तरोन्नति गर्नुपर्ने माग राख्दै आएको छ ।

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आगामी असोज ५ देखि १९ गतेसम्म सञ्चालन हुने अभियानमा जिल्लाका १५ वटै पालिकाका ३० वर्षमाथिका करिब चार लाख ९३ हजार ३१९ नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा चार महिला र दुई पुरुष गरी छ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमण र मृत्युदर बढेपछि उच्च सतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार अभियानका लागि आवश्यक खोपको भण्डारण तथा व्यवस्थापनको काम अघि बढाइएको छ । जिल्लामा सबैभन्दा बढी जेई सङ्क्रमित मेचीनगर नगरपालिकामा भेटिएको छ । खोप अभियान पनि मेचीनगरबाट नै सुरु हुनेछ ।

एक स्थानीय तहमा बढीमा सात दिनसम्म खोप सेवा सञ्चालन गर्ने तयारी गरिएको दासले बताए । उनका अनुसार खोप लगाउँदा सामान्य असर देखिन सक्ने भए पनि यसले स्वास्थ्यमा ठुलो समस्या पार्ने छैन ।

खोपलाई सहज र पहुँचयोग्य बनाउन प्रत्येक वडामा खोप केन्द्र स्थापना गरिनेछ । अभियानमा महिला स्वास्थ्य स्वयंसेविका तथा खोपकर्मी परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, २४ भदौः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने भएको छ ।

यस्तै, बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसैगरी, कानुनमन्त्री गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ । विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले सो प्रतिवेदन पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।

यस्तै, बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुनेछ ।

यसैबीच, आज अर्थ समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव रोकिएपछि गाउँपालिकाले सतर्कताका लागि अपिल गरेको छ ।
आज साँझ ६ः३० बजेदेखि खोला थुनिएन पानीको बहाव अवरुद्ध भएको सूचना स्थानीयबाट प्राप्त भएपछि आफूहरू वीरेठाँटी जाँदै गरेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो । पहिरो वा अन्य के कारणले कुन स्थानमा खोला थुनिएको भन्ने एकिन हुन नसकेको उहाँले बताउनुभयो ।

“दुई घण्टादेखि खोला थुनिएर पानीको बहाव अवरुद्ध भएको खबर आएकाले म वीरेठाँटी हिँडेको छ । किम्रोङखोला एवं मोदीखोला तटीय क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ दिदिबहिनीहरूलाई विशेष सतर्कता अपाउन आग्रह गरेका छौँ”, अध्यक्ष केसीले भन्नुभयो ।

किम्रोङखोला मोदी नदीमा आएर मिसिने भएकाले कास्की र पर्वतको नदी तटीय क्षेत्रहरू वीरेठाँटी, नयाँपुल लगायतका क्षेत्रमा उच्च सतर्ककताका लागि गाउँपालिकाले अपिल गरेको छ ।किम्रुङ खोलामा गत असार २८ गते पनि एक्कासी बाढी आएको थियो । सो बाढीले पुल बगाएको थियो भने होटलमा क्षति पुगेको थियो ।

हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

पेरिस। हिन्दू प्रतिनिधिमण्डलको भ्रमणका क्रममा महिला कर्मचारीको उपस्थिति सीमित गर्ने व्यवस्थापनको निर्देशनको विरोधमा भएको हड्तालपछि आइफेल टावर मङ्गलबार पुनः सञ्चालनमा आएको छ । कर्मचारीले उक्त निर्देशनलाई अस्वीकार्य भन्दै विरोध गरेका थिए ।

सिजिटी युनियनकी प्रतिनिधि डायन डेभोइनले एसोसिएटेड प्रेसलाई बताएअनुसार, सप्ताहन्तमा आइफेल टावरका कर्मचारीबीच व्यवस्थापनको निर्देशनलाई लिएर असन्तुष्टि बढेको थियो । व्यवस्थापनले करिब ३३० मिटर अग्लो टावरमा आउने बोचासनवासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बापस)को प्रतिनिधिमण्डलसँग महिला कर्मचारीलाई सम्पर्कमा नआउन निर्देशन दिएको उहाँको भनाइ छ ।

बापस स्वामीनारायण सम्प्रदायअन्तर्गतको विश्वव्यापी धार्मिक तथा सामाजिक संस्था हो । संस्थाले फ्रान्सेली राजधानीमा परम्परागत हिन्दू ढाँचामा निर्माण गरिएको मन्दिरको उद्घाटनका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ ।

मङ्गलबार एपीलाई पठाइएको लिखित विज्ञप्तिमा बापसले प्रतिनिधिमण्डलको भ्रमणका क्रममा कर्मचारी र अन्य आगन्तुकलाई हुने सम्भावित असुविधा कम गर्न आइफेल टावर व्यवस्थापनसँग समन्वय गरिएको जनाएको छ ।

उक्त समन्वय लैङ्गिक आधारमा कुनै अनुरोध गर्ने उद्देश्यले नभएको संस्थाले स्पष्ट पारेको छ । “कुनै पनि अवस्थामा लैङ्गिक आधारमा अनुरोध गरिएको थिएन,” विज्ञप्तिमा भनिएको छ ।

बापसले आफू “लैङ्गिकता, पृष्ठभूमि वा धार्मिक आस्थाको पर्वाह नगरी समानता, पारस्परिक सम्मान र सबैको सेवाको सिद्धान्तप्रति दृढ प्रतिबद्ध,” रहेको जनाएको छ । संस्थाले यस घटनाबाट कसैलाई चोट वा असहजता पुगेको भए त्यसप्रति क्षमा मागेको छ ।

आइफेल टावर सञ्चालन गर्ने कम्पनीले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । करिब १३७ वर्ष पुरानो आइफेल टावरमा हरेक वर्ष झन्डै ७० लाख पर्यटक पुग्ने गर्छन् ।

सिजिटीकी डेभोइनका अनुसार आइफेल टावरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, विभिन्न राजपरिवारका सदस्य तथा ब्रिट्नी स्पियर्सजस्ता चर्चित व्यक्तिसहित विशेष प्रतिनिधिमण्डलको नियमित रूपमा स्वागत गर्दै आएको छ । कर्मचारी त्यस्ता भ्रमणका लागि आवश्यक व्यवस्थापन गर्न तयार रहने भए पनि शनिबार दिइएको निर्देशन असामान्य र अस्वीकार्य रहेको उहाँले बताउनुभयो ।

पेरिसका मेयर इमानुएल ग्रेगोइरले सामाजिक सञ्जाल ‘एक्स’मा घटनाबारे अनुसन्धान गर्ने बताउनुभएको छ । “हाम्रा ऐतिहासिक स्मारकको परिसरमा वा यस शहरका अन्य कुनै पनि स्थानमा लैङ्गिक समानता रोकिने छैन,” उहाँले लेख्नुभएको छ । उहाँले यो सिद्धान्त “सबैतिर र सबैका लागि, कुनै अपवादबिना” लागू हुने सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

औद्योगिक विवादका कारण आइफेल टावर बन्द भएको यो पहिलो घटना भने होइन । टावरको उचित मर्मतसम्भार र उच्च पारिश्रमिकको माग गर्दै कर्मचारीले गरेको हड्तालका कारण सन् २०२४ को फेब्रुअरीमा पनि आइफेल टावर छ दिनसम्म बन्द भएको थियो