`

रातो मछिन्द्रनाथको जात्रा आजदेखि सुरु हुँदै

काठमाडौं । रातो मछिन्द्रनाथको जात्रा आज (मंगलबार) देखि सुरु हुने भएको छ । हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा आजबाट सुरु हुने भएको हो ।

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर जात्रा सुरु हुन्छ । मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तस्बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पु¥याएर बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ ।

नवलपुरको पहाडी क्षेत्रमा पोल पुग्यो, भएन विद्युत् वितरण

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै विद्युत् वितरण हुन सकेको छैन ।जिल्लाको बुलिङटार गाउँपालिकाको अर्खला, देउरालीलगायतका विभिन्न गाउँमा अझै राष्ट्रिय प्रसारण लाइनको प्रसारण लाइन नसकेको हो । बुलिङटार गाउँपालिका–४ को अर्खलामा विद्युत्् वितरणका संरचना तार, पोललगायत निर्माण भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि विद्युत् वितरण हुन नसकेको वडाध्यक्ष मीनबहादुर आलेले बताउनुभयो ।

उक्त वडाकै देउरालीका बासिन्दाले विद्युत् मिटर जडानका लागि शुल्क बुझाएको पनि लामो समय भइसकेको छ, तर बिजुली बाल्न नपाएको उहाँले बताउनुभयो । विद्युत् प्राधिकरणले बोझा पोखरीमा विद्युत् सबस्टेसन सञ्चालन गरेको छ । तर उक्त सबस्टेसनबाट ७÷८ किलोमिटर दूरीमा रहेका गाउँहरू अझै पनि अँध्यारोमा बस्न बाध्य छन् भने केही गाउँ लघु जलविद्युत्मा निर्भर रहनुपरेको अवस्था रहेको वडाध्यक्ष आलेले बताउनुभयो ।

अर्खलामा लघु जलविद्युत्मार्फत बत्ती बालिए पनि आवश्यकताअनुसार विद्युत् उपभोग गर्न नसकिएको उहाँको गुनासो छ । “लघु जलविद्युत् छ, त्यो रातिमा मात्र चल्छ, दिनभरि केन्द्रको बिजुलीका तार र पोल हेरेर बस्नु बाहेक केही उपाय छैन”, अध्यक्ष आलेले भन्नुभयो, “हामीले ताकेता गरिरहेका छौँ, तर यी तारमा बिजुली कहिले आउने हो थाहा छैन ।”

बिजुली नहुँदा वडा कार्यालयबाट प्रदान गरिने सेवासमेत प्रभावित हुने गरेको उहाँको भनाइ छ । “वडा कार्यालयमा दिउँसोका लागि सोलार छ, तर घाम लागेन भने चल्दैन, हिजोआज धेरै सेवा प्रविधिसँग जोडिएको छ, सेवाग्राहीलाई त्यसै फर्काउनुपर्ने अवस्था हुन्छ, बिजुली आए यो समस्या हट्ने थियो”, वडाध्यक्ष आलेले भन्नुभयो ।

दिनको समयमा कसैको घरमा बिहे, पूजा आदि कार्यक्रम परेमा पहिले नै सूचना दिई लघु जलविद्युत् सञ्चालन गराउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उक्त लघु जलविद्युत्बाट सामान्य बत्ती बाल्ने काम मात्र गर्न सकिने र धेरै विद्युतीय उपकरण सञ्चालन गर्न नसकिने उहाँको भनाइ छ । लघु जलविद्युत् रातिको समयमा मात्र सञ्चालन हुने गरेको छ ।

विद्युत् वितरण केन्द्र कावासोतीका प्रमुख शिवनारायण गोशलीका अनुसार ठेकेदारको लापर्वाहीका कारण विद्युत् विस्तारमा ढिलाइ भएको हो । विद्युत् वितरणको पूर्वाधार निर्माणका लागि ठेक्का लागेको लामो समय भए पनि समयमा काम सम्पन्न नभएकाले ती क्षेत्रमा बिजुली वितरण गर्न नसकिएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको ‘उज्यालो गण्डकी प्रदेश’ कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६÷०७७ मा यस क्षेत्रमा कार्यक्रम अघि बढाइएको थियो । युनिकर्न कन्स्ट्रक्सनले पूर्वाधार निर्माणको जिम्मा पाएको भए पनि समयमा काम नसक्दा उक्त क्षेत्रमा विद्युत् पु¥याउन नसकिएको कार्यालय प्रमुख गोशलीले बताउनुभयो ।

सो क्षेत्रमा केही स्थानमा पहिरोले विद्युत् पोलमा क्षति पु¥याएकाले अहिले बजेट विनियोजन गरी काम अगाडि बढाइएको उहाँको भनाइ छ । निर्माणको जिम्मा पाएको कम्पनीलाई निरन्तर ताकेता गरिरहेको र बाँकी संरचना निर्माण सम्पन्न गरेर छिट्टै उक्त क्षेत्रका गाउँहरूमा बिजुली बाल्ने तयारी भइरहेको कार्यालय प्रमुख गोशलीले बताउनुभयो । देउराली, अर्खला, सिङ्च्याङ हुँदै कालीगण्डकी करिडोरको कोखेटारसम्म छिट्टै विद्युत् पु¥याइने उहाँको भनाइ छ ।

“हामीले विद्युत्का संरचना निर्माण सक्न ताकेता गरिरहेका छौँ, सायद अब छिट्टै काम सकिएर उक्त क्षेत्रमा बिजुली बल्नेछ”, कार्यालय प्रमुख गोशलीले भन्नुभयो ।

भैँसीपालन व्यवसाय छाडेर बाख्रापाल : वार्षिकलाखौं आम्दानी लिन्छन् गौचन

म्याग्दी। जिल्लाको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन रु ५२ हजार लगानीबाट सुरुआत गरेको बाख्रापालन व्यवसायबाट वार्षिक लाखौँ आम्दानी गर्न सफल हुनुभएको छ ।६० वर्षीय गौचनले विसं २०७४ मा घुम्तीकोषको सहुुलियत ब्याजदरको ऋण रु ३८ हजार १५० र रु १५ हजार बीउपुजीबाट सुरु गरेको लोकेश कृषि तथा बाख्रा फार्मबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएको हो ।

“ घुम्तीकोषको ऋण र बीउपुँजीबाट तीन माउ बाख्रा किनेर घरमा भएका दुई वटा बाख्रामा थपेर पाँच वटा बनाएको थिए तर दुई वटा मरे”, उहाँले भन्नुभयो, “जमुनापारी जातको बाख्राको नश्ल सुुधारका लागि भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रबाट बोयर जातको बोका पाएपछि मेरो गोठमा बाख्राको सङ्ख्या बढेर १२० सम्म पुग्यो ।”

हाल ७० खसीबोका, पाठापाठी र माउबाख्रा छन् । उक्त फार्मबाट वार्षिक १५ भन्दा बढी खसीबोका र उत्तिकै सङ्ख्यामा पाठापाठी बिक्री हुुन्छ । मासुका लागि खसीबोका मासुु र पाल्नलाई पाठापाठी किन्न ग्राहकहरु गोठमै आउँछन् । पाठापाठी र खसीबोकाको उमेर तथा तौलको आधारमा फरक–फरक मूल्यमा बिक्री हुने गरेको छ । घुम्तीगोठमा परम्परागत भैँसीपालन व्यवसाय छाडेर गौचनले बाख्रापालन सुरु गर्नुुभएको थियो ।

बाख्रापालनबाट भएको आम्दानीले घरव्यवहार चलाउन सहज भएको गौचनले बताउनुभयो । उहाँलाई व्यवसाय सञ्चालनका लागि श्रीमती र छोरीले साथ दिँदै आउनुभएको छ । बाख्रापालनबाट भएको आम्दानीले कान्छा छोरा लिलेन्द्र गौचनलाई पढ्नका लागि अष्टे«लिया पठाउनुभएको छ । वैदेशिक रोजगारीका लागि केही वर्र्ष पोर्चुुगलमा काम गरेका जेठा छोरा सुरेन्द्र जन्मथलो फर्किएर बुबा कृष्णलाई बाख्रापालनमा साथ दिनुभएको छ ।

वैदेशिक रोजगारीमा सेचोजस्तो सफलता नमिलेपछि घर फर्किएर बुबालाई बाख्रापालनमा साथ दिएको सुुरेन्द्रले बताउनुभयो । “विदेशमा गर्ने मेहनत र बगाउने श्रम पसिनाबाट आफ्नै देशभित्र पनि केही गर्न सकिने रहेछ भन्ने बुबाको व्यवसायबाट सिकेर साथ दिएको छ”, उहाँले भन्नुभयो, “विदेशको अनुुभव पनि गरियो । अबै यतै व्यवस्थित रुपमा बाख्रापालन गर्ने सोचाइमा छु ।”

बाख्रापालनका लागि गौचनले लमसुङ र मरेनी दुई ठाउँमा गोठ बनाउनुभएको छ । चरनका लागि दुई÷दुई महिनामा लमसुङ र मरेनीमा गोठ सार्ने गर्दै आउनुभएको छ । खोर निर्माणका लागि पछिल्लोपटक भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रु एक लाख ५० हजार सहयोग गरेको गौचनले बताउनुभयो ।

विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ ।लामो समयसम्म विद्युत् महसुुल नतिर्ने ती ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो ।

उनीहरुबाट रु एक करोड चार लाख १७ हजार ३८१ बक्यौता उठान बाँकी रहेको केन्द्रका सूचना अधिकारी नन्दराम विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयसम्म बक्यौता नतिरेका उनीहरुलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको हो ।

केन्द्रले बक्यौता उठाउनका लागि यस आर्थिक वर्षमा एक हजार ८२६ जना ग्राहकको विद्युत् लाइन काटेको छ । छ महिनासम्म पनि विद्युत् महसुल नतिरेका ग्राहकको लाइन काटिएको उहाँले बताउनुभयो ।

केन्द्रमा हाल ७४ हजार ८७६ ग्राहक रहेका छन् । ती ग्राहकबाट रु ४९ करोड चार लाख १० हजार ४३७ बक्यौता उठाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

बक्यौता असुलीका लागि कार्यालयले लाइन काट्ने, सेवाग्राहीलाई सूचित गर्नेलगायतका काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बक्यौता असुलीका लागि कर्मचारीहरुले नियमित रुपमा काम गरिरहेका छन् ।”

फिलिम–लार्केपास पदमार्गमा पाँच दिन खच्चड आवतजावत बन्द

गोरखा। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत पर्ने फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावतमा रोक लगाइएको छ । उक्त पदमार्ग स्तरोन्नति भइरहेकाले पाँच दिनका लागि खच्चड ओहोरदोहोर गर्न/गराउन रोक लगाइएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले गाउँपालिकाको वडा नं ५ राना गाउँस्थित फिलिम–लार्केपास पदमार्गमा ढलान तथा रेलिङ निर्माणका लागि भइरहेकाले मङ्गलबार आजदेखि खच्चड हिँडाउन बन्द गर्न लागिएको जानकारी दिनुभयो ।

“वैशाख ८ गतेदेखि १२ गतेसम्म खच्चड आवतजावत गराउनुपरे वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ, पैदलमार्ग स्तरोन्नति सम्पन्न भएलगत्तै पुनः सहज बनाइनेछ”, उहाँले भन्नुभयो ।

चुमनुब्री गाउँपालिकामा अहिले पनि दैनिक उपभोग्य वस्तु खाद्यान्नलगायत निर्माण सामग्रीसमेत खच्चडबाट ढुवानी गराउनुपर्ने बाध्यता रहँदै आएको छ । गाउँपालिकाले खच्चड व्यवसायीलाई पनि पाँच दिनका लागि खच्चड आवतजावत बन्द गरिदिन अनुरोध गरेको छ ।

जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्य तीव्र पार्न दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार आगामी जेठ ४ गतेसम्म प्रत्येक दिन राति ११ः४५ बजेदेखि बिहान ६ः३० बजेसम्म ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ सम्पन्न गर्न विमानस्थल बन्द रहने भएको हो ।

विमानस्थल कार्यालयद्वारा जारी सूचनामा निर्माण कार्य छिटो सम्पन्न गर्न यो निर्णय गरिएको उल्लेख छ । हाल धावनमार्ग छेउको ट्याक्सीवे क्षेत्रमा निर्माण कार्य भइरहेकाले सुरक्षाका कारण रातिको समयमा पूर्ण रूपमा उडान सञ्चालन रोक्न लागिएको जनाइएको छ । यस अवधिमा यात्रु तथा उडान व्यवस्थापनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै विमानस्थल कार्यालयले सबै हवाई सेवा प्रदायक कम्पनीहरूलाई आवश्यकताअनुसार आफ्नो उडान तथा अवतरण तालिका समायोजन गर्न आग्रह गरेको छ ।

 

एकै दिन ५३ फर्ममा अनुगमन,सबै फर्मलाई सुधारात्मक निर्देशन

काठमाडौँ । बजार अनुगमनलाई प्रभावकारी बनाउँदै उपभोक्ताको अधिकार संरक्षण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता बढाएको छ । कम मात्रामा फर्म वा व्यापारिक प्रतिष्ठानमा अनुगमन गर्दै आएको विभागले पछिल्ला दिनमा एकै पटक ठुलो सङ्ख्यामा अनुगमन गर्दै आएको हो ।

यसै क्रममा विभागले सोमबार मात्रै काठमाडौँ महानगरपालिका(१ दरबारमार्ग र वडा नं ३० को कमलपोखरी क्षेत्रका व्यावसायिक प्रतिष्ठान, फर्ममा अनुगमन गरेको छ । अनुगमनपछि विभागले सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ ।

उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा विभागले नियमित अनुगमन गर्दै आएको जनाएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले जनाएको छ ।

‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

काठमाडौँ । केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक गर्मी बढेको छ । यससँगै तराईका जिल्लामा तातो हावा (लु) चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ।

विभागले साेमबार दिउँसो सार्वजनिक गरेको तथ्याङ्कअनुसार कपिलवस्तुमा ४१ डिग्री सेल्सियस र बाँकेमा ३९ डिग्री सेल्सियस तापक्रम पुगेको छ । मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा उपत्यका र खोँचहरूमा दिन तातो भएको, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पश्चिमी तराई क्षेत्रमा ‘लु’ चल्ने सम्भावना रहेको विभागले जनाएको छ । पछिल्लो सूचनामा अद्यावधिक रहन तथा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

विभागका मौसमविद् सञ्जिव अधिकारीले विशेषगरी तराईका जिल्लामा बुधबारसम्म अत्यधिक गर्मीको अवस्था कायम रहने जानकारी दिए। “आजदेखि पर्सि बुधबार सम्म विशेषगरी तराई, उपत्यका र खोँच क्षेत्रमा तातो हावाको लहर चल्ने सम्भावना छ”, उनले भने, “कोशी प्रदेशमा भने बादल देखिएकाले ‘लु’ को सम्भावना तत्काल कम छ । विशेषगरी लुम्बिनी प्रदेशको पश्चिम क्षेत्र, धनगढीलगायत सुदूरपश्चिमका अन्य तराई जिल्ला, नेपालगञ्ज, धनगढीलगायत स्थानमा ‘लु’ को सम्भावना बढी छ ।”

सुदूरपश्चिमको दिपायलमा आज दिउँसो तापक्रम करिब ४० डिग्री सेल्सियस पुगेको उल्लेख गर्दै उहाँले त्यहाँका लागि यो तापक्रम असामान्य भएको बताउनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वरिष्ठ ‘हाइड्रोलोजिस्ट’ राजेन्द्र शर्माले जलवायु परिवर्तनसँगै ‘लु’ जस्ता मौसमी घटना बढ्दै जाने भएकाले समयमै तयारी र सचेतना बढाउन आग्रह गर्नुभयो । “लु को प्रभाव न्यूनीकरणका लागि हामीले कार्यविधि बनाएर कार्यान्वयनका लागि सम्बन्धित अन्तरसरकारी निकायमा पठाएका छौँ, प्रभावकारी कार्यान्वयनका लागि आवश्यक छलफल पनि गरिरहेका छौँ”, उनले भने।

“समयमै चिसो वातावरण कायम गर्ने, सफा तथा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने, बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र बिरामीहरूको विशेष हेरचाह गर्ने उपायहरू अपनाउनु पर्छ”, उहाँले भन्नुभयो, “यसैगरी अस्पताल, विद्यालय तथा सार्वजनिक स्थानहरूमा आवश्यक पूर्वसावधानीको व्यवस्था मिलाउनु पनि उत्तिकै महत्वपूर्ण छ।”

स्वास्थ्यमा कस्तो असर पर्छ ?

जनस्वास्थ्यविद् डा समीर अधिकारीले ‘लु’ लाग्दा हृदयको गति तीव्र हुने, श्वासप्रश्वास र रक्तचाप घट्ने, टाउको अत्यधिक दुख्ने, आँखा पोल्ने, चक्कर लाग्ने तथा अचेत हुने जस्ता समस्या देखिन सक्ने बताउनुभयो । “लु ले दीर्घकालीन असरसमेत पुर्‍यायाउन सक्छ, मस्तिष्क तथा रक्तप्रणालीमा समस्या गर्न सक्छ”, उनले भने, “बालबालिका र वृद्ध उमेरका समूहलाई सबैभन्दा बढी असर गर्न सक्छ । पर्याप्त पानी पिउने, शीतल छहारीमा बस्ने, मदिरा तथा धुम्रपान गर्नुहुँदैन ।”

यसैगरी शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी पुग्ने, छाला सुक्खा, रातो र तातो हुने लक्षण पनि देखिन सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंले ‘लु’ चल्दा वा अत्यधिक गर्मीको समयमा बालबालिकाको स्वास्थ्यमा असर पुग्न सक्ने हुँदा उच्च सतर्कता अपनाउन सुझाव दिए।

विश्व स्वास्थ्य सङ्गठनले गरेको “नेपालमा तातो हावाको लहरको प्रवृत्ति र यसबाट उत्पन्न स्वास्थ्य जोखिमबारे जनधारणाको अध्ययन”ले जलवायु परिवर्तनका कारण गर्मीजन्य समस्या बढेको निष्कर्ष निकालेको छ । अध्ययनअनुसार जलवायु परिवर्तन, तीव्र सहरीकरण र वायु प्रदूषणका कारण तापक्रम बढ्ने प्रवृत्ति निरन्तर बढेको हो । यसले मानव स्वास्थ्यसँगै अन्य क्षेत्रमा पनि नकारात्मक असर पारिरहेको छ।

देशभरका ३३ वटा मौसम स्टेसनबाट सन् १९८७ देखि २०१६ सम्मको तथ्याङ्क विश्लेषण गर्दा गर्मी दिनको सङ्ख्या बढ्दै गएको छ । विशेषगरी देशको दक्षिणी भूभागमा गर्मी रातहरू, प्रि–मनसुन तथा मनसुन अवधिमा वर्षा हुने ढाँचामा परिवर्तन आएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । अध्ययनअनुसार बढ्दो तापक्रमसँग जुध्न जनचेतना अभिवृद्धि, स्वास्थ्य सुरक्षा उपायको विस्तार र स्थानीय तहमा अनुकूलन रणनीति सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

कृषिमा असर, उत्पादन घट्ने जोखिम

अत्यधिक तापक्रम वृद्धिले कृषि र पशुपालन क्षेत्रमा पनि असर गर्न सक्ने जनाइएको छ । कृषि विज्ञ डिल्लीराम शर्माका अनुसार अत्यधिक गर्मी तथा ‘लु’ का कारण कृषि उत्पादनमा गम्भीर असर पर्न सक्छ । ‘लु’ का कारण विशेषगरी बालीहरू सुक्न थाल्ने, फूल झर्ने र फलफूल राम्रोसँग नलाग्ने समस्या हुने र यसले किसानलाई आर्थिक नोक्सानी पुर्‍याउन सक्ने उनले बताए।

“तरकारीमा फूल वा फल लाग्ने बेला लु लागेमा वृद्धि रोकिन्छ, राम्रो उत्पादन हुँदैन”, उनले भने, “यतिबेला कतिपय स्थानमा मकैमा दाना लाग्न सुरु भइसकेको छ, मकैमा दाना लागे पनि पोटिलो नहुने भएकाले उत्पादनमा कमी आउन सक्छ ।”

प्लास्टिक टनेल (पोलिहाउस) भित्र खेती गर्दा भने जोखिम न्यूनीकरणमा सहयोग पुग्ने उहाँले सुझाव दिनुभयो । कृषि तथा पशुपालन क्षेत्र जलवायु परिवर्तनको प्रत्यक्ष असरमा पर्ने भएकाले यस्ता जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको सरोकारवालाको भनाइ छ । विज्ञहरूले गर्मीको समयमा सिँचाइ व्यवस्थापन सुधार, छायाँ तथा पानीको उचित व्यवस्था, पशु स्वास्थ्यमा ध्यान र जलवायु अनुकूल कृषि अभ्यास अपनाउन सुझाव दिएका छन् ।

कसरी जोगिने ?

प्राधिकरणले ‘लु’ बाट जोगिन दिउँसो सकेसम्म घरबाहिर ननिस्कन, प्रशस्त पानी तथा फलफूलको रस पिउन, अत्यधिक पसिना आएमा ‘जीवनजल’ सेवन गर्न सुझाव दिएको छ । बाहिर निस्कनै परे टाउको छोप्ने, छाता प्रयोग गर्ने, चिसो पानीले नुहाउने तथा खेतबारीमा बिहान वा बेलुका मात्र काम गर्न सल्लाह दिएको छ।

यसका साथै मदिरा सेवन नगर्न, क्याफिनयुक्त पेय पदार्थ (चिया, कफी, सोडा) कम प्रयोग गर्न र चिनी बढी भएको झोल पदार्थ नपिउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ।

के हो लु ?

अत्यधिक गर्मी वा तातो हावाको लहरका लागि पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्रतिकार्य कार्ययोजनाका अनुसार अत्यधिक गर्मीका कारण सिर्जना हुने मौसमी अवस्थालाई तातो हावाको लहर (लु) भनिन्छ । नेपालको सङ्घीय तथा प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनमा यसलाई ‘तातो हावाको लहर’ भनेर उल्लेख गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार चैतदेखि भदौ महिनासम्मको अवधिमा तापक्रमका आधारमा तातो दिनहरू छुट्याइन्छन् । अधिकतम तापक्रम विगत ३० वर्षको ९० प्रतिशतभन्दा माथि पुगेमा त्यसलाई तातो दिन भनिन्छ । कार्यविधिमा भनिएको छ, “जब लगातार तीन वा बढी दिनसम्म तातो दिन रहन्छ भने हल्का तातो लहर, धेरै तातो दिनको अवस्था रहेमा मध्यम तातो लहर र अत्यधिक तातो दिन भइरहे अत्यधिक तातो लहरको रूपमा वर्गीकृत गरिन्छ।”

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल गरेका छन् ।सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वाग्ले र विषयगत सबै मन्त्रालयका मन्त्री तथा सचिवबिच आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी सम्बन्धमा छलफल भएको हो ।

छलफलमा अर्थसचिव डा. घनश्याम उपाध्यायले अर्थ मन्त्रालयले रकमान्तरमा विषयगत मन्त्रालयबाटै हुने गरी सहजीकरणको लागि निर्णय गरेको बताए । उनले बहुवर्षीय ठेक्काको स्रोत सहमतिको समय सीमा परिवर्तन लगायतका विषयमा जानकारी गराएका थिए ।

बजेट तथा कार्यक्रम महाशाखाका सहसचिव डा. सुमन दाहालले आगामी आर्थिक वर्षको बजेट तयारीको हालसम्मको अवस्थाका बारेमा संक्षिप्त प्रस्तुति गरेका थिए । विषयगत मन्त्रालयका मन्त्रीहरूले आआफ्नो मन्त्रालयको बजेट तथा कार्यक्रमसँग सम्बन्धित स्थिति र समस्याका विषयहरू उठाएका थिए ।

अर्थमन्त्रीले नेपालको सार्वजनिक वित्त संकटको अवस्थामा रहेको सन्दर्भमा आगामी बजेटमा हामी सबैको सामूहिक परीक्षण हुने जानकारी गराए ।राज्यको अनिवार्य दायित्व १३३० अर्ब र राजस्व ११८० अर्ब रहेको अवस्थामा नागरिकका आकाङ्क्षाहरू सम्बोधन हुने गरी बजेट निर्माण गर्नु चुनौतीपूर्ण रहेको बताए ।कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्य र प्रधानमन्त्रीका प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल समेतको सहभागि भएका थिए ।

तनहुँ जिल्ला प्रशासनका केही सेवा एकीकृत सेवा कार्यालयको भवनबाट

तनहुँ। जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि आफ्ना केही सेवा साविक एकीकृत सेवा कार्यालयको भवनबाट प्रवाह गर्न सुरु गरेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले प्रशासन शाखाअन्तर्गतका विभिन्न सिफारिस तथा प्रशासनिक कार्य, भण्डारण शाखा, लेखा शाखाका साथै सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षबाट प्रदान गरिने सेवाहरू एकीकृत सेवा कार्यालयको भवनबाट सञ्चालन हुने जानकारी दिनुभयो ।

यसअघि व्यास नगरपालिकाको स्वामित्वमा रहेको दमौली हल भवनबाट सञ्चालन हुँदै आएका सेवाहरू पनि सोमबारदेखि सोही नयाँ कार्यालयमा स्थानान्तरण गरिएको रेग्मीले बताउनुभयो । कठिन परिस्थितिमा जिल्ला प्रशासनका सेवा सञ्चालन गर्न सहयोग पुर्‍याएकामा व्यास नगरपालिकाप्रति धन्यवाद व्यक्त गर्दै कार्यालयले एकीकृत सेवा कार्यालयको भवन प्रयोग गर्न दिने निर्णय गरेकामा गण्डकी प्रदेश सरकारप्रति विशेष आभार प्रकट गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ स्थानबाट सेवा प्रवाह सुरु गरिएको जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारले साविकको सामाजिक विकास कार्यालय र घरेलु, पर्यटन तथा उद्योग कार्यालयलाई एकीकरण गरी एकीकृत सेवा कार्यालय सञ्चालनमा ल्याइएको हो ।

यसअघि दुई फरक भवनबाट सेवा दिँदै आएको एकीकृत कार्यालयलाई हाल पुरानो घरेलु तथा साना उद्योग कार्यालयको भवनमा सारिएको छ । एकीकृत कार्यालय एकै ठाउँमा सीमित गराएर खाली बनाई सामाजिक विकास कार्यालयको भवनलाई प्रशासनले प्रयोगमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले उल्लेख गर्नुभयो । उहाँका अनुसार प्रशासन कार्यालयले क्षति पुगेको पुरानै प्रशासनिक भवनबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरू प्रदान गरिरहेको छ ।

गत भदौमा भएको जेनजी आन्दोलनबाट क्षति भएको भवनलाई मर्मत गरी केही समय सेवा प्रवाह गरिए पनि कार्यकक्षको अभाव थियो । अब अन्य प्रशासनिक तथा शान्ति सुरक्षासम्बन्धी सेवाहरू सामाजिक विकास कार्यालयमा स्थापना गरिएको नयाँ शाखाबाट प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

पर्सा। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ ।कार्यालयले गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १६ अर्ब २० करोडअर्थात् १० प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सार कार्यालयले चालु आवको नौ महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन गरेको बताउनुभयो । भन्सार विभागले कार्यालयका लागि चालु आवको नौ महिनामा भने रु एक खर्ब ९९ अर्ब ३४ करोड लक्ष्य निर्धारण गरेको थियो ।

वीरगञ्ज भन्सारले चालु आवको साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब नौ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड, मङ्सिरमा रु २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको थियो ।

त्यस्तै पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुनमा रु १९ अर्ब ३४ करोड र चैतमा रु २२ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई वर्षभरिमा रु दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । तर, चालु आवको नौ महिनामा कूल वार्षिक लक्ष्यको ६५ प्रतिशत मात्रै राजस्व सङ्कलन हुन सकेको छ । चालु आवको तीन महिना अझै बाँकी रहेकाले पनि थप राजस्व सङ्कलन हुने सम्भावना भने कायमै छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको ‘बुलेटिन’मा जनाइएको छ ।

साथै मधेसलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

महाशाखाका अनुसार आज राति हिमाली भू–भागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने र कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

राहुघाट जलविद्युत् आयोजनाः ९५ प्रतिशत भौतिक प्रगति

म्याग्दी। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ ।सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको हो ।

आगामी जेठभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यसहित निर्माण भएका भौतिक संरचनाको परीक्षणको तयारी गरेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिनुभयो । “सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकलका संरचना निर्माण र उपकरण जडान सकेर फिनिसिङ भइरहेको छ”, उहाँले भन्नुभयो, “सुरुङमा पस्ने चारवटा प्रवेशमार्ग बन्द गराएपछि पानी भरेर परीक्षण गर्ने तयारीमा छौँ ।”

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) रु छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । सन् २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोबेम्बरसम्मका लागि तेस्रोपटक म्याद थपिएको थियो । चौथोपटक थपिएको समयभित्र आयोजना सम्पन्न गराउने लक्ष्यअनुसार काम भइरहेको प्रबन्ध सञ्चालक केसीले बताउनुभयो ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्य्राउने पोखरी निर्माण सकिएको छ । तिल्केनीचौरमा विद्युतगृह निर्माण सकेर रङरोगन गर्न थालिएको छ । बीस मेगावाटको एकवटा युनिट जडान भइसकेको छ भने अर्को युनिटका पाटपुर्जा जडान अन्तिम चरणमा पुगेको छ ।

विद्युत्गृह परिसरमा आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि स्वीचयार्ड तयार पारिएको हाइड्रोपावरका प्रबन्ध सञ्चालक केसीले जानकारी दिनुभयो ।

कोरोना महामारी, बाढीपहिरोलगायत प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजनाको काममा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताउनुभयो । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग २०७६ साल कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको थियो ।

भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो ।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभिआरसीएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लोपटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी)ले विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।

यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना-कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चारवटा टावर र प्रसारण लाइन पनि बनिसकेको आयोजना कार्यालयले जनाएको छ ।

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ आठ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ आठ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ३९ पैसा र बिक्रीदर १९१ रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०९ रुपैयाँ नौ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ र बिक्रीदर ११७ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८१ पैसा र बिक्रीदर २१ रुपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ८० पैसा र बिक्रीदर ४० रुपैयाँ ९६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २५ पैसा र बिक्रीदर १६ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४३ पैसा र बिक्रीदर २३ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ सात पैसा, कुवेती दिनार एकको खरिददर ४८५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३९४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३९५ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ८१ पैसा रहेको छ ।यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

झापा, ८ वैशाखः भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ ।

भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ः०० बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

भारतको पश्चिम बङ्गालमा वैशाख १० गते विधानसभाको चुनाव हुँदैछ । विगतमा पनि नेपाल र भारत दुवैतर्फ चुनावअघि सहमतिमा नाकामा आवागमन बन्द गरिँदै आइएको थियो । ‘बोर्डर शिल’ गरिएको अवधिमा पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द गरिने भए पनि उपचारका लागि बिरामी र अतिजरुरी कामका लागि परिचय देखाएर सीमामा आवतजावत गर्न दिइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

नेपाल र बङ्गलादेशका पर्यटकको हकमा आफ्नो मुलुक जानका लागि भारतीय प्रशासनले परिचय खुल्ने कागजपत्र देखाएमा आवतजावतमा सहजीकरण गरिदिने भएको उहाँले बताउनुभयो ।

वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य

काठमाडौँ। वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल पुनः सुरु भएको छ ।

टि ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्सलाई जितका लागि ७८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा युएईले नेपाललाई हराउन ७८ रनको लक्ष्य पाएको हो । निर्धारित २० ओभरको खेललाई १० ओभरमा छोट्याएपछि युएईले ७८ रनको लक्ष्य पाएको हो ।

खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएपछि खेल वर्षाले प्रभावित भएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ९ बलमा १६ रन बनाउँदा अर्जुन साउदले ११ बलमा १३ रन जोडे । सन्दीप जोराले ६ रनमै आफ्नो विकेट गुमाए । मध्यक्रममा कुशल मल्लले १७ रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरीले ३५ बलमा अविजित ३२ रनको महत्वपूर्ण इनिङ्स खेले ।

त्यस्तै बासिर अहमदले १४ रन योगदान गरे भने अन्त्यतिर नन्दन यादवले ७ बलमा २ छक्का सहित १३ रन जोड्दै टोलीलाई १२२ रनसम्म पु¥याए । युएईका तर्फबाट मोहम्मद जुहैबले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । जुनैद सिद्दिकीले २ विकेट लिए भने हैदर अली र मोहम्मद अरफानले समान १–१ विकेट लिए ।

नेपालले पावरप्लेमा ३ विकेट गुमाउँदै ४० रन बनाएको थियो । १० ओभरमा ६२÷३ को स्थितिमा रहेको नेपालले १६.३ ओभरमा १०० रन पूरा गरेको थियो ।

मन्त्री चौधरीद्वारा कृषि बिमा, मल र बजारीकरण सुधारमा जोड

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि परामर्श गर्नुभएको छ ।

आज उहाँले केरा उत्पादक किसानसँगको भेट गरी केरा उत्पादन, बजारीकरण, मल आपूर्तिलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री चौधरीले किसानलाई कृषि क्षेत्रमा टिकिरहन बिमा, उत्पादन र बजार व्यवस्थापनमा समन्वयात्मक ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

छलफलमा मन्त्री चौधरीले नेपालमा उत्पादन हुने कृषि उपजलाई प्राथमिकता दिनुपर्ने र आपूर्ति व्यवस्थामा पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वबजारमा रासायनिक मलको अभाव देखिए पनि सरकारले यसको सहज आपूर्तिका लागि पहल गरिरहेको जानकारी दिनुभयो । “अभावको बहानामा मूल्यवृद्धि गर्नु वैधानिक होइन, कालोबजारी नियन्त्रणमा सबैको सहयोग आवश्यक छ । त्यसका लागि सरकारले पनि आवश्यक सतर्कता अपनाइरहेको छ”, उहाँले भन्नुभयो ।

किसानहरूले भने बिमा, मल आपूर्ति, बजारीकरण र नीतिगत समस्याबारे गुनासो राख्दै बिमा भुक्तानीमा ढिलाइ, ‘प्रिमियम’ तिरे पनि क्षतिपूर्ति नपाइएको, प्राकृतिक विपत्तिबाट भएको क्षतिको राहत नपाएकालगायत विषयमा ध्यानाकर्षण गराएका थिए । केराखेतीमा संलग्न किसानले सीमामा कडाइ, मल अभाव र बजारमूल्यमा अस्थिरताका कारण समस्या भोग्नुपरेको गुनासो गरेका थियो ।

छलफलमा सहभागी कैलालीका किसान दीपेन्द्र थारुले किसानले लगानी गरे पनि उचित प्रतिफल नपाएको गुनासो गरेको बताउनुभयो । चितवनका जनकराज पन्तले जग्गा व्यवस्थापन र नदी किनारमा बगरखेती प्रवर्द्धन र्गा सुझाव दिनुभएको थियो ।

किसानहरूले रु ५० लाखसम्मको लगानीमा ८० प्रतिशत बिमा सुविधा भए पनि भुक्तानी प्रक्रिया प्रभावकारी नभएको गुनासो गरेका थिए । एक वर्ष बित्दा पनि बिमा दाबी भुक्तानी नहुने समस्या रहेकाबारे जानकारी गराइएको थियो ।

जवाफमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले बिमा प्रक्रियालाई सहज बनाउन पहल भइरहेको बताउनुभयो । उहाँले मल आपूर्ति बढाउन, उत्पादन सुधारलगायत विषयमा मन्त्रालयले काम गरिरहेको जानकारी गराउनुभयो ।

स्वस्थ समाज निर्माणका लागि खेलकुद अपरिहार्यः सभामुख यादव

धनुषा। मधेस प्रदेशका सभामुख रामअशिष यादवले स्वस्थ समाज निर्माणका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभएको छ ।

जनकपुरधामस्थित श्रीराम जानकी बहुउद्देश्यीय रङ्गशालामा आयोजित अन्तरविद्यालयस्तरीय ‘नेशनल क्रिकेट च्यान्पियनशिप’ प्रतियोगिताको आज उद्घाटन गर्दै उहाँले ‘स्वस्थ मधेस र समृद्ध मधेस’ को लक्ष्य हासिल गर्न खेल संस्कृतिको विकास आवश्यक रहेको बताउनुभययो ।

सभामुख यादवले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्दै खेलले अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्ने भएकाले विद्यार्थी जीवनदेखि नै खेल गतिविधिमा सक्रिय रहन आग्रह गर्नुभयो ।

जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष आकाश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन-प्याब्सन) का अध्यक्ष आशिष झा, कोषाध्यक्ष सचिन सिंहलगायतले प्रतियोगिताको सफलताको कामना गर्दै खेलकुदमार्फत विद्यार्थीहरूको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घका सचिव सरोज मिश्रका अनुसार प्रतियोगितामा जनकपुरधाम तथा आसपासका विभिन्न विद्यालयका क्रिकेट टोलीहरूको उत्साहजनक सहभागिता रहेको छ ।

‘र्‍यानसमवेयर’ आक्रमणबाट जोगिन साइबर सुरक्षा ‘एडभाइजरी’ जारी

काठमाडौँ। राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पछिल्लो समय सूचना प्रविधि प्रणालीमा ‘र्‍यानसमवेयर’ आक्रमण बढ्दै गएपछि आमनागरिक र संस्थालाई सचेत गराउन साइबर सुरक्षा ‘एडभाइजरी’ जारी गरेको छ ।
‘एडभाइजरी’ मा कम्प्युटर, मोबाइल तथा अन्य उपकरणमा हुने सम्भावित जोखिमबारे जानकारी दिँदै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

‘र्‍यानसमवेयर’ एक प्रकारको हानिकारक सफ्टवेयर हो । यसले प्रयोगकर्ताको कम्प्युटर वा मोबाइलमा रहेका फाइल तथा डाटालाई ‘इन्क्रिप्ट’ गरी पहुँच अवरुद्ध बनाउँछ । त्यसपछि ती फाइल पुनः खोल्नका लागि आक्रमणकारीले फिरौती ९र्यान्सम० माग गर्ने गर्दछ ।

यस्तो आक्रमणले प्रयोगकर्ताका महत्त्वपूर्ण डाटा, कागजात र सम्पूर्ण प्रणालीमा पहुँच रोक्न सक्छ । साथै, सरकारी वा निजी संस्थाले प्रदान गर्ने सेवा अवरुद्ध हुन सक्छ । संवेदनशील सूचना चोरी वा लिक हुने जोखिम पनि उत्तिकै रहनुका साथै गोपनीयतामा गम्भीर असर पार्न सक्ने जनाइएको छ । डाटा पुनःप्राप्त गर्न फिरौती तिर्नुपर्दा आर्थिक क्षतिसमेत हुने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

केन्द्रले जारी गरेको एडभाइजरीअनुसार ‘र्‍यानसमवेयर’ आक्रमण प्रायः शंकास्पद इमेलका ‘अट्याचमेन्ट’जस्तै पिडिएफ, वर्ड, जिपलगायत फाइल खोल्दा, नक्कली वेबसाइटका लिङ्कमा क्लिक गर्दा, असुरक्षित स्रोतबाट फाइल डाउनलोड गर्दा तथा ‘पाइरेटेड’ वा ‘क्र्याक’ गरिएको सफ्टवेयर प्रयोग गर्दा हुने गर्दछ । यसैगरी, सिस्टम अपडेट नगर्नु, एन्टिभाइरसको अभाव हुनु र असुरक्षित नेटवर्क वा युएसबीको प्रयोग गर्नु पनि जोखिमका कारण हुनसक्ने केन्द्रले जनाएको छ ।

एडभाइजरीले यस्ता आक्रमणबाट जोगिन उपाय सुझाएको छ । अपरिचित स्रोतबाट आएको इमेलका लिङ्क वा ‘अट्याचमेन्ट’ खोल्नुअघि त्यसको विश्वसनीयता सुनिश्चित गर्नुपर्ने, आधिकारिक प्लेटफर्मबाट मात्र सफ्टवेयर डाउनलोड गर्नुपर्ने र पाइरेटेड सफ्टवेयर प्रयोग गर्न नहुने उल्लेख गरिएको छ । साथै, सिस्टम नियमित अपडेट गर्ने, एन्टिभाइरस प्रयोग गर्ने र डाटाको नियमित ‘ब्याकअप’ राख्न सुझाव दिइएको छ । ‘ब्याकअप क्लाउड’ र ‘अफलाइन’ दुवै माध्यममा सुरक्षित राख्न भनिएको छ ।

यस्तै, नेटवर्क सुरक्षा बलियो बनाउन र युएसबी वा अन्य बाह्य उपकरण प्रयोग गर्दा सावधानी अपनाउन पनि आग्रह गरिएको छ । ¥यानसमवेयर आक्रमण भइहालेमा तुरुन्तै प्रभावित उपकरणलाई इन्टरनेटबाट अलग गर्न, पासवर्ड परिवर्तन गर्न र आक्रमणकारीले मागेको फिरौती नतिर्न सुझाव दिइएको छ । फिरौती तिरे पनि डाटा फिर्ता हुने सुनिश्चित नहुने भएकाले यस्तो कार्यले आक्रमणकारीलाई थप प्रोत्साहन मिल्ने एडभाईजरीमा उल्लेख छ ।

‘ब्याकअप’बाट सिस्टम पुनःस्थापना गर्न र घटनाबारे विस्तृत जानकारीसहित नेपाल प्रहरीको साइबर ब्युरो तथा राष्ट्रिय साइबर सुरक्षा केन्द्रमा रिपोर्ट गर्न आग्रह गरिएको छ । साथै, ‘‘र्‍यानसम नोट’, ‘स्क्रिन म्यासेज’ र ‘लग फाइल’जस्ता प्रमाण सुरक्षित राख्न पनि भनिएको छ ।साइबर सुरक्षासम्बन्धी आधारभूत सावधानी अपनाएमा ¥यानसमवेयरजस्ता खतराबाट आफ्ना सूचना प्रणाली र डाटा सुरक्षित राख्न सकिने एडभाइजरीमा उल्लेख छ ।

चन्द्रगढी महिला गोल्डकपः नेपाल पुलिस क्वाटरफाइनलमा

झापा। नेपाल पुलिस क्लब मेची रङ्गशालामा जारी प्रथम ‘ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।निर्धारित ८० मिनेटको खेलमा उपाधि दाबेदार मानिएको पुलिसले आयोजक चन्द्रगढी युवा क्लबमाथि ६–० को सहज जित निकालेको हो ।

खेलको ‘प्लेयर अफ द म्याच’ रेखा पौडेल घोषित भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलमा पुलिसले भारतको लक्ष्मीबाई स्पोट्र्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । मङ्गलबार सशस्त्र प्रहरीको एपिएफ क्लब र ओखलढुङ्गाको पद्मा स्पोर्टिङ क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ तथा उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार रुपैयाँ तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही : सभापति थापा

मकवानपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही भएको बताउनुभएको छ ।

कांग्रेसको केन्द्रीय समितिद्वारा आज हेटौँडामा आयोजित नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा आफ्नो धारणा राख्दै सभापति थापाले उक्त घटनाका सम्बन्धमा सत्यतथ्य, स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनुभयो ।

गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजयको सम्बन्धमा राखिएको समीक्षा कार्यक्रममा उहाँले नयाँ सरकारले कसैमाथि गैरकानुनी सम्पत्ति आर्जन, भ्रष्टाचारको बिषयमा अनुसन्धान गर्दा कानुन, नियम, विधि प्रकृयाअनुसार गर्नुपर्ने उल्लेख गर्नुभयो । कसैप्रति पूर्वाग्रही ढङ्गले व्यवहार नगर्न आग्रह गर्दै उहाँले विधिको शासन व्यक्तिले मात्र नभएर प्रधानमन्त्रीले समेत मान्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसको क्रियाशील सदस्यले अब नयाँ जिम्मेवारी लिई डिजिटल रुपमा सूचना प्रविधिको सदुपयोग गरेर पार्टी नीति सिद्धान्तअनुरूपका कार्यक्रम हरेक नागरिकसम्म पु-याउनुपर्ने बताउनुभयो ।

जापानमा शक्तिशाली भूकम्पका कारण ८० सेन्टिमिटरको सुनामीको छाल कुजीमा ठोक्कियो

टोकियो। जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ भूकम्पका कारण सयौँ किलोमिटर टाढाको टोकियोका गगनचुम्वी भवनहरूलाई हल्लाएको छ र तीन मिटर (१० फिट) सम्म सुनामी छालहरू आउने चेतावनी दिइएको छ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार स्थानीय समयअनुसार साँझ ४ बजेर ५३ मिनेटमा उत्तरी इवाते प्रान्तको प्रशान्त महासागरमा भूकम्प गएको हो ।

भूकम्पको करिब ४० मिनेटपछि ८० सेन्टिमिटर (३१ इन्च) को सुनामीको लहर इवातेको कुजीस्थित एउटा बन्दरगाहमा ठोक्किएको छ ।

जेएमएले सुरुमा भूकम्पको धक्का ७.४ म्याग्निच्युडको रहेको बताएपनि यसलाई पछि परिमार्जन गरी ७.५ म्याग्निच्युड रहेको पुष्टि गरिएको हो ।

जेएमएद्वारा जारी चेतावनीमा भनिएको छ, “तटीय क्षेत्र र नदी किनारका क्षेत्रलाई खाली गरी उच्च स्थान वा उद्धार भवनजस्ता सुरक्षित स्थानमा तत्काल जान अनुरोध गरिन्छ।”

उहाँले भन्नुभयो, “पटक–पटक सुनामीको छाल आउने अपेक्षा गरिएको छ । चेतावनी नहटेसम्म सुरक्षित ठाउँ नछोड्नुहोस्,” विज्ञप्तिमा भनिएको छ।

राष्ट्रिय प्रसारक एनएचकेको फुटेजमा इवातेका बन्दरगाहका वरपरका धैरै स्थानमा तत्काल कुनै ठूलो क्षति नभएको उल्लेख गरिएको छ ।

जेएमएका एक अधिकारीले टेलिभिजनमार्फत् दिएको एक जानकारीमा विशेष गरी आगामी दुई देखि तीन दिनभित्र वा अर्को हप्तासम्ममा यस क्षेत्रमा थप केही ठूला भूकम्पहरू आउन सक्छन् र ती अझ कडा कम्पनहरू पनि हुन सक्नेछन् भनिएको छ ।

प्रधानमन्त्री कार्यालयले सङ्कट व्यवस्थापन टोली गठन गरेको जनाएको छ ।

जापानका प्रधानमन्त्री साने ताकाइचीले पत्रकारहरूसँगको भेटमा भन्नुभयो, “चेतावनी जारी गरिएको क्षेत्रमा बसोबास गर्ने नागरिकलाई कृपया उच्च र सुरक्षित स्थानहरूमा जान सूचना पु¥याउन समाचारहरूमार्फत् सहयोग गर्न आग्रह गर्दछु,”

जापान विश्वको भूकम्पीय दृष्टिकोणबाट सबैभन्दा सक्रिय तरङ्गहरू भएको देशहरूमध्ये एक हो । यो प्रशान्त महासागरको पश्चिमी किनारमा चार प्रमुख ‘टेक्टोनिक प्लेट’हरू, ‘रिङ अफ फायर’ को शीर्षमा स्थानमा रहेको छ।

करिब १२ करोड ५० लाख मानिस बसोबास गर्ने यस द्वीपसमूहमा हरेक वर्ष करिब एक हजार ५०० भूकम्पीय झट्का महशुस गरिने गर्छ र यो विश्वमा हुने भूकम्पको १८ प्रतिशत हिस्सा हो ।

उत्तरी तटमा ७.५ म्याग्निच्युडको कम्पन आएपछि २०२५ डिसेम्बरमा एक हप्ता लामो दोस्रो ‘शक्तिशाली भूकम्पको धक्का’ को सम्भावित चेतावनी जारी गरेको थियो।

डिसेम्बर ८ मा गएको भूकम्पले ७० सेन्टिमिटर (२८ इन्च) सम्म सुनामी छालहरू निम्त्याएको थियो र ४० भन्दा बढी व्यक्ति घाइते भएका थिए, तर कुनै ठूलो क्षति भएको थिएन ।

पानी परेपछि नेपाल र युएईबीच जारी टी–२० खेल बीचमै रोकियो

काठमाडौं । पानी परेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र युएईबीच जारी टी–२० खेल बीचमै रोकिएको छ। १९औं ओभर चलिरहेका बेला वर्षा सुरु भएपछि खेल रोक्नुपर्ने अवस्था आएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभर ५ बलमा ८ विकेटको क्षतिमा १२२ रन जोडेको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा मैदान उत्रिएको नेपाली टोलीले मध्यम सुरुवातलाई अन्त्यतिर सम्हाल्ने प्रयास गरे पनि लगातार विकेट गुमाएको थियो।

 

उत्तर कोरियाको क्लस्टर क्षेप्यास्त्र परीक्षण

काठमाडौँ। उत्तर कोरियाले आइतबार गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षणमा क्लस्टर हतियार प्रयोग गरिएको केसीएनएले सोमबार पुष्टि गरेको छ ।

आणविक हतियार सम्पन्न उक्त देशले छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्दै आफ्नो नयाँ वारहेड क्षमताको परीक्षण गरेको जनाएको हो ।

कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार नेता किम जोङ उनको प्रत्यक्ष निगरानीमा गरिएको यो परीक्षणमा ‘रणनीतिक ब्यालेस्टिक मिसाइलमा प्रयोग हुने क्लस्टर बम वारहेड र खण्डित माइन वारहेडको विशेषता र शक्तिको परीक्षण’ गरिएको थियो । परीक्षण आइतबार सम्पन्न भएको बताइएको छ ।

उत्तर कोरियाले पछिल्ला हप्ताहरूमा ब्यालेस्टिक मिसाइल, एन्टी–वारसिप क्रुज मिसाइल तथा क्लस्टर हतियार प्रणालीसहित विभिन्न सैन्य परीक्षणहरू गर्दै आएको छ । यसले क्षेत्रीय सुरक्षा अवस्था थप तनावपूर्ण बनाएको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ ।

दुवै कोरियाले सन् २००८ को क्लस्टर बमसम्बन्धी ओस्लो महासन्धिमा हस्ताक्षर नगरेको अवस्थामा यो परीक्षण भएको हो । दक्षिण कोरियाले भने उत्तरको पछिल्लो गतिविधिलाई ‘उक्साहटपूर्ण’ भन्दै तत्काल रोक्न आग्रह गरेको छ ।

केसीएनएका अनुसार परीक्षणमा ह्वासोङपो–११ए सतहदेखि सतहमा प्रहार गर्न सकिने सामरिक ब्यालेस्टिक मिसाइल प्रयोग गरिएको थियो । पाँचवटा मिसाइल करिब १३६ किलोमिटर टाढाको टापु नजिकको लक्ष्य क्षेत्रमा प्रहार गरिएको र त्यसले १२.५ देखि १३ हेक्टर क्षेत्रफलमा अत्यधिक घनत्वका विस्फोट प्रभाव देखाएको जनाइएको छ ।

रिपोर्टअनुसार नेता किम जोङ उनले परीक्षणको नतिजाप्रति ‘गहिरो सन्तुष्टि’ व्यक्त गर्नुभएको छ । उहाँले क्लस्टर वारहेड विकासले निश्चित लक्ष्य क्षेत्रमा उच्च घनत्वको प्रहार क्षमता र उच्च परिशुद्धता वृद्धि गर्ने बताउनुभयो ।

विशेषज्ञहरूको विश्लेषणमा यो प्रणालीले बहु रकेट लन्चर र छोटो दूरीका ब्यालेस्टिक मिसाइलबीचको प्राविधिक दूरी घटाउने उद्देश्य राखेको देखिन्छ । कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका अनुसन्धानकर्ता होङ मिनका अनुसार यस्तो क्षमताले सियोल र अमेरिकी सैन्य अड्डाहरू उत्तर कोरियाको दायराभित्र अझ नजिक ल्याउन सक्छ ।

सियोल विश्वविद्यालयका प्राध्यापक याङ मू–जिनका अनुसार पछिल्ला परीक्षणहरूले उत्तर कोरियाले अगाडिको मोर्चाबाट प्रत्यक्ष प्रक्षेपण गर्न सकिने प्रणाली परिचालनको नजिक पुगेको सङ्केत गर्छ । यसले दक्षिण कोरिया र अमेरिकी अड्डाहरूमा तत्काल खतरा बढाउन सक्ने उहाँको मूल्याङ्कन छ ।

संयुक्त राज्य अमेरिकाले दक्षिण कोरियामा करिब २८ हजार सैनिक तैनाथ गरेको छ, जसले क्षेत्रीय सुरक्षा संरचनामा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

यसैबीच, दक्षिण कोरियाले आइतबार उत्तर कोरियाको सिन्पो क्षेत्रबाट धेरै छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको पुष्टि गरेको छ । सियोलले अमेरिकासँग ‘दृढ संयुक्त रक्षा स्थिति’ कायम रहेको बताउँदै कुनै पनि उक्साहटको कडा जवाफ दिने चेतावनी दिएको छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले उत्तर कोरियालाई लगातार क्षेप्यास्त्र परीक्षण रोक्न आग्रह गर्दै यसले क्षेत्रीय तनाव बढाइरहेको जनाएको छ । साथै, शान्ति स्थापना प्रयासमा सहभागी हुन पनि आग्रह गरिएको छ ।

विश्लेषकहरूका अनुसार पछिल्ला परीक्षणहरूले उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्ने प्रयासलाई अस्वीकार गरेको सङ्केत गर्छ । केही महिनाअघि ड्रोनसम्बन्धी विवादपछि सम्बन्ध थप चिसिएको उल्लेख गरिएको छ ।

उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरूबीच लगातार हतियार विकास जारी राखेको छ । यसले ब्यालेस्टिक मिसाइल प्रविधि र आणविक कार्यक्रमसम्बन्धी प्रतिबन्धहरू बारम्बार उल्लङ्घन गर्दै आएको छ ।

यसअघि अप्रिल महिनामा किम जोङ उनले नौसेनाको युद्धपोतबाट प्रक्षेपण गरिएको क्रुज मिसाइल परीक्षणको निरीक्षण गर्नुभएको थियो । सो परीक्षण चो ह्योन नामक पाँच हजार टन वर्गको युद्धपोत जहाजबाट गरिएको थियो, जुन गत वर्ष सञ्चालनमा आएको हो ।

उत्तर कोरियाले थप दुईवटा त्यस्तै वर्गका युद्धपोत निर्माण गरिरहेको छ । साथै, रूससँगको सैन्य सहकार्य बढ्दै गएको भन्दै विश्लेषकहरूले प्योङयाङले नौसैनिक आधुनिकीकरणलाई तीव्र बनाएको बताएका छन् ।

रिपोर्टअनुसार उत्तर कोरियाले युक्रेन युद्धमा रूसलाई समर्थन गर्न स्थल सेना र तोपखाना सहयोग पठाएको छ भने बदलामा मस्कोबाट सैन्य प्रविधि सहयोग प्राप्त गरिरहेको अनुमान गरिएको छ ।

वैशाख शुक्ल तृतीया : मनाइयो अक्षय तृतीया

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइएको छ ।

यस दिन गरेको स्नान, दान, ध्यान, जप, होमलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो

शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पुजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।

गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्ति समेत प्राप्त हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुभयो । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ ।

सत्य युगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो ।

स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट

काठमाडौँ।स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री निशा मेहतासँग एसियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक आर्नो काउचोइसले आज शिष्टाचार भेट गर्नुभएको छ ।

खानेपानी मन्त्रालयमा उहाँहरुबीच भेटवार्ता भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

भेटवार्तामास्वास्थ्य तथा खानेपानीका क्षेत्रमा हाल भइरहेका क्रियाकलाप र आगामी कार्यक्रमको बारेमा छलफल भएको उहाँले बताउनुभयो ।

साथै कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका सवल पक्ष एवं भविष्यका सम्भावनाबारे छलफल भएको उहाँले जानकारी दिनुभयो ।

जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई राष्ट्रिय महत्त्वको धरोहरका रूपमा अघि बढाउन र राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत गर्न पहल भइरहेको बताउनुभएको छ ।

उहाँले जितगढीलाई राष्ट्रिय सम्पदाको सूचीमा सूचीकृत गर्न प्रदेश सरकारको तर्फबाट सङ्घीय सरकारसँग पहल गरिररहेको बताउनुभएको छ । बुटवलस्थित जितगढी किल्ला क्षेत्रमा आज आयोजित जितगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले जितगढी किल्लाको महत्त्व एउटा स्थानीय तहमा सीमित नराखी राष्ट्रियस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

रुपन्देहीलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न सबै स्थानीय तहको समान भूमिका आवश्यक रहेको उल्लेख गर्दै उहाँले प्रदेश सरकारले विकास, उन्नति र समृद्धिका लागि आधार तयार गर्ने बताउनुभयो । मुख्यमन्त्री आचार्यले राष्ट्र, राष्ट्रियता र स्वाधीनताको रक्षामा अग्रजहरूको बलिदानलाई सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।

“कमजोर अवस्थाका बाबजुद उच्च मनोबल र रणनीतिक कौशलका आधारमा विजय हासिल गरेको इतिहास हामी सबैका लागि गर्वको विषय हो”, उहाँले भन्नुभयो, “जीतगढी किल्ला राष्ट्रिय स्वाभिमानसँग जोडिएको सम्पत्ति हो यसको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो ।”

कार्यक्रम बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गोरखाबाट ११ दिन पैदल यात्रा गरेर नेपाली सेनाका अधिकृत र जवानहरु आज बुटवल आइपुगेको बताउनुभयो । यसबीचमा पैदल यात्री टोलीलाई हरेक स्थानीय तहमा भव्य सम्मान गरिएको बताउँदै तत्कालीन समयमा अङ्ग्रेजसँगको युद्धमा नेपाली सेनाले हराएको गौरवपूर्ण इतिहासको प्रभाव अहिलेसम्म पनि रहेको जनताको सम्मानबाट पुष्टि हुने गरेको बताउनुभयो ।

उहाँले तत्कालीन समयमा नेपाली सेना र नेपाली समाजको समन्वयमा युद्ध भएर शक्तिशाली अङ्ग्रेज फौजलाई परास्त गर्न सफल भएको बताउनुभयो । उहाँले जितगढी किल्लामा हरेक वर्ष मनाइने विजयोत्सव कार्यक्रम नेपाली सेना र जनताबीच समन्वयको कार्यक्रम भएको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख सावित्रा अर्यालले जितगढी किल्लाको ऐतिहासिक तथ्यको बारेमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगतमा प्रचारप्रसार गरेर नेपालीको गौरवपूर्ण इतिहास विश्वभरि पुर्याउन आवश्यक रहेको बताउनुभयो ।

इतिहासविद् देवेन्द्रराज शाक्यले जितगढी किल्लाको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउनुभएको थियो । बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको जितगढी विजयोत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो । उत्सवमार्फत किल्लाको संरक्षण, प्रवद्र्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पु¥याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

विसं १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अङ्ग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाइँदै आएको छ । कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले सुलेभान उड नेतृत्वको अङ्ग्रेज फौजलाई पराजित गरेको थियो । इतिहासविद्हरूका अनुसार उक्त युद्धमा तीन सयभन्दा बढी अङ्ग्रेज सैनिक मारिएका थिए ।

गोरखा दरबारबाट सुरु भएको गोरखा–जीतगढी पदयात्रा करिब २०७ किमि दूरी पार गर्दै तनुहँ–स्याङ्जा–पाल्पा हुँदै ११औँ दिनमा जीतगढी पुगेको हो ।

रास्वपाको सचिवालयमा दुई जना सदस्य थप, सागर ढकाल र सरिता श्री ज्ञवाली

राष्ट्रिय स्वतन्त्र पार्टीले भुपदेव शाहलाई महामन्त्री बनाउने निर्णय गरेको छ ।सोमबार बसेको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका हुन् ।

‘दोस्रो महामन्त्रीको रुपमा भुपदेव शाह मनोनयन अनुमोदन हुनुभएको छ,’उनले भनेत्यस्तै रास्वपाले सचिवालयमा दुई जना सदस्य थप गर्दै सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्य बनाउने निर्णय गरेको पनि उनले जानकारी दिए ।
उनले भने,‘हाम्रो सचिवालय सदस्यमा दुई जना सदस्यहरु थपिनुभएको छ । केन्द्रीय सदस्य रहनुभएको सागर ढकाल र केन्द्रीय सदस्य नै रहनुभएको सरिता श्री ज्ञवाली हुनुहुन्छ ।’

त्यस्तै उनको अनुसार सांसदहरूको लेवी घटाउने निर्णय पनि बैठकले गरेको छ ।गृहमन्त्री सुदन गुरुङको विषयमा भने बैठकमा कुनै छलफल नभएको उनले जानकारी दिए ।

स्थापनाको ४०औँ वर्षमा पशुपति क्षेत्र विकास कोष

काठमाडौँ। पशुपति क्षेत्रको बृहत्तर विकासका लागि स्थापित पशुपति क्षेत्र विकास कोष स्थापनाको ४०औँ वर्ष प्रवेश गरेको छ ।

पशुपति क्षेत्रलाई यसको प्रतिष्ठा एवं गरिमा अनुरूप सुव्यवस्थित र विकसित पार्ने उद्देश्यले २०४३ सालमा एक अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाका रूपमा कोषको स्थापना गरिएको थियो । हाल यो ‘पशुपति क्षेत्र विकास कोष ऐन, २०४४’ अन्तर्गत सञ्चालित छ ।

कोषले पशुपतिनाथका दैनिक पुजापाठका अतिरिक्त विशेष पूजा र महाशिवरात्री, बालाचतुर्दशी, तीज, साउने सोमबारलगायतका पर्वमा पूजा व्यवस्थित गर्ने गर्दछ । कोषले आजै वार्षिकोत्सव समारोह मनाएको छ । यस अवसरमा पशुपति क्षेत्रमा सफाइ गरिएको थियो ।

सफाइपछि आयोजित कार्यक्रममा कोषका कार्यवाहक सदस्य सचिव श्रीधर सापकोटा, कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीलगायतले ४१औँ वार्षिकोत्सव समारोह मनाउने क्रममा उल्लेखनीय काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा गौरी आध्यात्मिक मासिकका सम्पादक अर्जुन लामिछानेसहित उत्कृष्ट काम गर्ने कर्मचारी, महाशिवरात्रिलगायत पर्वमा उत्कृष्ट स्वयंसेवा गर्ने संस्थालाई सम्मानसमेत गरिएको थियो ।

एमालेका नेता प्रदीप ज्ञवालीले भने – सरकारले विद्यार्थी संगठनलाई निषेध गर्नु समस्याको समाधान होइन

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन् ।

सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी गरेपछि ज्ञवालीेले विद्यार्थी संगठनलाई निषेध गर्नु समस्याको समाधान नभएको भन्दै सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

विद्यार्थी संगठनलाई निषेध गर्नु समस्याको समाधान नभएको भन्दै उनले लेखेका छन् – विद्यार्थीहरूको स्वतन्त्र विद्यार्थी युनियनको अधिकार खोस्ने र विश्वविद्यालयबाट विद्यार्थी सङ्गठनका गतिविधि, उपस्थिति र अस्तित्वलाई निषेध गर्ने निर्णय चरम अलोकतान्त्रिक हो । अझ यसका लागि विश्वविद्यालयभित्र ‘सुरक्षा युनिट’ स्थापना गर्नु भनेको विश्वविद्यालयको प्राज्ञिक स्वायत्ततामाथिको हस्तक्षेप हो । पञ्चायती निरङ्कुशतामा समेत सरकारले धृष्टता गर्न नसकेको यस्तो विषयमा हस्ताक्षर गर्न विश्वविद्यालयका उपकुलपतिज्यूहरूले कसरी सक्नु भए होला ?

नि:सन्देह, विद्यार्थी आन्दोलनमा समस्या छन् । आम विद्यार्थीहरूका हित, शिक्षाको गुणस्तर अभिवृध्दि र स्वस्थ शैक्षिक वातावरण निर्माणमा ‘क्याटालिस्ट’ बन्नु पर्ने विद्यार्थी आन्दोलन घरीघरी मूल मुद्दाबाट बरालिएको पनि छ । तर विद्यार्थी सङ्गठनलाई निषेध गर्नु समस्याको समाधान होइन । समाधान त उनीहरूसँग संवाद, रचनात्मक सहकार्य र गुणस्तरीय शिक्षाका लागि विद्यार्थी आन्दोलनको रूपान्तरण हो ।
के तपाईँ कपालमा चायाँ पर् यो भनेर गर्धन नै छिनाउनु हुन्छ ?

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३६, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु २६ र आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ४०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, टाटेसिमी प्रतिकिलो रु ११०, भटमास कोसा प्रतिकिलो रु २२०, तीते करेला प्रतिकिलो रु ५५, लौका प्रतिकिलो रु ३०, परवर (तराई) प्रतिकिलो रु १००, चिचिन्डो प्रतिकिलो रु ५०, घिरौँला प्रतिकिलो रु ३०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, भिन्डी प्रतिकिलो ५०, बरेला प्रतिकिलो रु ५५, सक्खरखण्ड प्रतिकिलो रु ७५, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ५५ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ५५, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु ८०, तोरीसाग प्रतिकिलो रु ४०, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ९०, बकुला प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ५०, पार्सले प्रतिकिलो रु २००, सेलरी प्रतिकिलो रु १४०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु १२०, गान्टेमूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु २५० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, कागती प्रतिकेजी ३६०, अनार प्रतिकिलो रु ३८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २३०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १६०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ३५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ४०, रुखकटहर प्रतिकिलो रु ८०, नासपाटी (चाइनिज) प्रतिकिलो रु ३६०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।

यसैगरी, एभोकाडो प्रतिकिलो रु ८००, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, माछे खुर्सानी प्रतिकिलो रु १००, खुर्सानी अकबरे प्रतिकिलो रु ३५०, भेडेखुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १३०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु १००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

छ दिनमा देशभर एक सय ४६ विपद्का घटना

काठमाडौँ। बितेका छ दिनमा देशभर कुल १४६ विपद्का घटना घटेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर सात जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।

विपद्मा परेर ३७ जना घाइते भएका छन् भने १४५ घरपरिवार प्रभावित भएका छन् । छ दिनमा आगलागीका ९३, हुरीबतासका तीन, लेक लाग्ने दुई, डुङ्गा पल्टने एक, चट्याङ चार, सर्पदंश १२, भारी वर्षा दुई, डढेलो २०, जनावर आक्रमण सात, बाढीका दुईवटा घटना घटेका हुन् ।

विपद् प्रभावितको उद्धारका लागि २२९ प्रहरी परिचालित भएका थिए । विपद्मा परेर १९ जना घाइते भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ करोड ९० लाख रुपैयाँका ७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको हो ।

पहिलो चरणमा १० प्रतिशत अर्थात् ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन हुने उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन अवधि वैशाख २२ गतेसम्म रहनेछ, माग नपरेमा वैशाख ३० गतेसम्म लम्बिन सक्नेछ ।

आईपीओको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने आवेदन मेरो शेयर प्रणाली तथा आस्बा सदस्य बैंकमार्फत दिन सकिनेछ । कम्पनीलाई केयर रेटिङ्गस् नेपाल ले ‘केयरएनपी डबल बी’ रेटिङ्ग प्रदान गरेको छ, जसले मध्यम जोखिम जनाउँछ ।
भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको कम्पनीको कारखाना चितवनको खैरहनीमा सञ्चालनमा छ ।हालसम्म १४ वर्षदेखि पेन्ट उत्पादन गर्दै आएको कम्पनी चालू आर्थिक वर्षको पुस मसान्तसम्म ९० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ ।

पर्यटकको पर्खाइमा म्याग्दीको पाउद्वार मुर्ताला गुफा : जहाँ ढुङ्गामै देखिन्छन् देव-आकृति

“गुफाभित्र मूर्तिकारले पहाडको चट्टान कुँदेर बनाएजस्ता विचित्रका दृश्यहरू देख्दा अनौठो लाग्छ,” उनले भने, “स्थानीय स्तरमा सीमित यो गुफाको धार्मिक तथा ऐतिहासिक महत्त्वको विषयमा अध्ययन, संरक्षण, व्यवस्थापन, पूर्वाधार निर्माण र प्रवर्द्धन गरी धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न हामी पाउद्वारवासी जुटेका छौँ।”

यहाँ गणेश, शिवलगायत हिन्दु धर्मावलम्बीहरूका देवीदेवताका आकृतिहरू पनि भेटिन्छन्। तपतप गरेर पानी चुहिरहने यो गुफा करिब १० मिटर लामो भएको स्थानीय बताउँछन्। गुफाभित्र अँध्यारो हुने भएकाले बत्ती अथवा टर्चलाइट बाल्नुपर्छ।

टेक्ने भुइँ चिप्लो र गुफा होचो भएको हुँदा घोप्टो परेर हिँड्नुपर्छ र अवलोकन गर्दा सावधानी अपनाउनुपर्छ। स्थानीयवासीबाहेक बाहिरका पर्यटकहरू हालसम्म यस गुफाको अवलोकन गर्न नआएको पुनले बताए।

पाउद्वार गाउँदेखि सवारीसाधनमा १० मिनेट र त्यसपछि २० मिनेट पैदल हिँडेपछि झारवाङको छेउमा रहेको यस गुफामा पुगिन्छ। यसअघि गुफासम्म पुग्ने पदमार्ग थिएन, निगालोको झ्याङ समाएर गुफासम्म पुग्नुपर्ने अवस्था थियो। गुफा नजिकको झारवाङ खोलामा पुल पनि थिएन।

तर, अहिले पाउद्वारकी पुर्जा रोकाले आफ्नी आमा जैसराले पाउने ‘पेन्सन’ बापतको रकम खर्चेर गुफासम्म जाने करिब ३०० मिटर पदमार्ग निर्माण गरिदिएकी छन्। उक्त पदमार्ग निर्माणमा पाउद्वारवासीले श्रमदान गरेका छन्। त्यस्तै, झारवाङदेखि गुफासम्म ५०० मिटर तार तानेर विद्युत् पनि विस्तार गरिएको छ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु. तीन लाख बजेटबाट झारवाङ खोलामा आठ मिटर लामो ट्रस पुल निर्माण भएको छ।

गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी पुनले उक्त गुफाभित्रका आकृतिहरू देखेर अनौठो महसुस भएको बताइन्। गुफाको विषयमा विस्तृत अध्ययन-अनुसन्धान गरेर धार्मिक र ऐतिहासिक तथ्यहरूको खोजी थालिएको पनि उनले बताइन्। त्यहाँका बासिन्दाले केही दिनअघि मात्रै उक्त गुफालाई ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ नामकरण गरेका हुन्।

पाँचथरको फालोट क्षेत्रस्थित ‘गोठ–बास’मा पर्यटक आकर्षित हुँदै

पाँचथर। पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरुलाई फाइदै फाइदा पु¥याएको छ ।विसं २०७४ सालदेखि समुन्द्री सतहबाट तीन हजार ५०० मिटर उचाइको फालोट क्षेत्रमा आयोजना हुने महोत्सवले चौँरीपालन संवद्र्धन हुनाका साथै चौँरीजन्य सामग्रीले अन्तरराष्ट्रिय बजार पाएको छ । चौँरीपालकका गोठहरु नै अहिले पर्यटक बस्ने स्थल बनेका छन् भने यहाँ पूर्वाधार विकास पनि बढ्दै गएको छ ।

फालोट याक गोठबासका सञ्चालक एवम् अगुवा चौँरीपालक चन्द्रलाल नेपालका अनुसार महोत्सव आयोजना हुन थालेपछि चौँरी गोठालाहरुमै उत्साह बढेको छ । फालोट क्षेत्रमा ०७४ सालअघि १८ वटा चौँरी गोठ रहेकामा अहिले ३१ वटा गोठ रहेका छन् । “पेसाप्रति युवा र महिलाहरु आकर्षित छन् ।

पहिले पुरुषहरु मात्रै गोठमा बस्ने चलन थियो”, उहाँले भन्नुभयो, “गोठहरु पहिलेभन्दा धेरै सुधार भएका छन् । अहिले गोठमै पर्यटकलाई राख्ने प्रबन्ध भएको छ ।” जसलाई ‘गोठ–बास’ (गोठ–स्टे) भनिन्छ । गोठालाहरु नै पर्यटनतर्फ आकर्षित भएका छन् । तर सबै गोठमा गोठबास कार्यान्वयन हुन सकेको छैन । अहिले १०–१२ वटा गोठले मात्रै पर्यटक राख्न सक्छन् । सन्दकपुर आहालदेखि फालोटसम्म रहेका यी गोठमा गरेर करिब १५० मानिस यहाँ बास बस्न सक्दछन् ।

वार्षिक रुपमा कम्तीमा पाँच हजार पर्यटक आउने गरेको नेपालको भनाइ छ । असार, साउन र भदौमा अत्यधिक वर्षाका कारण गोठहरु गाउँतर्फ झारिने हुँदा पर्यटकहरुलाई पुग्न र बास बस्न कठिन पर्ने गरेको छ । पहिले यहाँ चौँरीको घ्यू र छुर्पी मात्रै उत्पादन हुने गरेकामा अहिले चिज उत्पादन गरी बिक्री हुँदै आएको छ । महोत्सवकै कारण चौँरीजन्य सामग्रीले बजार पाएको, सरकारी निकायहरुले सहयोग गर्न थालेका र पर्यटकहरु पुग्न थालेको नेपालको भनाइ छ ।

फालेलुङको चारराते, तीन सिमानालगायत क्षेत्रका चौँरीपालकहरुको समूह कञ्चनजङ्घा याक चिज उत्पादक समूहका अध्यक्ष रामचन्द्र गुरुङका अनुसार पछिल्ला वर्षहरुमा चौँरीको सङ्ख्यामा अत्यधिक वृद्धि हुँदै गएको छ । चौँरीपालनमै आधारित भएर जीविकोपार्जन गर्नेको सङ्ख्या पनि बढेको छ भने पर्यापर्यटनको विकासमा धेरै ठूलो मद्दत पुगेको छ । यसको मुख्य कारण पर्यटकको सङ्ख्या बढ्दै जानु हो । चौँरी महोत्सवले पर्यटक भित्र्याएपछि चौँरीका सामग्रीले राम्रो मूल्य पाउन थालेका छन् ।

गुरुङका अनुसार चौँरीको हाडखोर पनि बिक्री हुन्छ । सिङ, पुच्छर पनि बिक्री हुन्छ । चौँरीका धेरै सामग्री धार्मिक÷सांस्कृतिक कार्यमा प्रयोग गरिने हुँदा धेरै माध्यमबाट गोठालाहरुले आम्दानी गर्ने गरेका छन् ।

पछिल्लो समय नयाँ याकहरु ल्याएर चौँरीका नयाँ प्रजातिको विकासको प्रयास भइरहेको छ, जसले चौँरीको सङ्ख्या बढाउँदै लगेको छ । ताप्लेजुङका हिमाली भेग र भूटानबाट याक ल्याएर उन्नत प्रजाति उत्पादनको प्रयास चलिरहेको छ, जसमा अहिलेसम्म ४० बढी चौँरी हुर्किएको गुरुङको भनाइ छ । अब सरकारले चौँरीमा कृत्रिम गर्भाधानमा सहयोग गर्नुपर्ने उहाँको माग छ ।

चौँरीजन्य सामग्रीको बजार पनि सहजै रहेको अध्यक्ष गुरुङले बताउनुभयो । “छुर्पीको निर्यात कहिलेकाहीँ समस्या आउने गरेको छ । तर बिक्री राम्रै भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिले याक चिज उत्पादन भइरहेको छ । यसको बजार पनि राम्रै छ । तर मूल्य वृद्धि हुनुपर्छ ।” याक चिज काठमाडौँमा धेरै निर्यात हुन्छ । अहिले चिज प्रतिकिलो रु ८०० देखि रु एक हजारसम्ममा बिक्री भइरहेको छ भने चौँरीको घ्यू रु ८०० छ ।

उत्पादित सामग्रीको मूल्य भने कम भएको अध्यक्ष गुरुङको गुनासो छ । “गाई र चौँरीका दुग्धजन्य सामग्रीमा धेरै अन्तर छ । चौँरी त जडीबुटी चरेर दूध दिने जनावर हो”, गुरुङले भन्नुभयो, “तर गाई र चौँरीका दुग्धजन्य सामग्रीको मूल्य करिब बराबर छ । यसले त उत्पादन लागत पनि उठ्न गाह्रो हुन्छ ।”

यस पटक पाँचथरकै याङरुमा उत्पादित भेडाको घ्यूसमेत महोत्सवमा राखिएको थियो । असाध्यै मेहनत पर्ने भएकाले भेडाको घीउ प्रतिकिलो रु १२ हजार पर्ने गरेको बिक्रेता लोकेश गुरुङको भनाइ छ । “भेडाको व्यावसायिक पालन घट्दै गएको अवस्था छ । माग अत्यधिक छ तर, घीउ उत्पादन गर्न कठिन पर्ने गरेको छ”, उहाँले भन्नुभयो, “यसमा राज्यले पनि केही सहयोग गरे हामीलाई सहज हुन्थ्यो ।”

विगत नौ वर्षदेखि नयाँ वर्षको दिन चाररातेमा चौँरी महोत्सव आयोजना हुने गरेको छ । महोत्सवमा नेपालका विभिन्न जिल्लासहित भारत, भूटान, बङ्गलादेशबाट पर्यटक आउने गर्दछन् ।महोत्सवका अवसरमा भेला पारिने सयौँ चौँरीको बथान हेर्ने, यहाँबाट नेपाल, भारत र भूटानका हिमशृङ्खलाको दृश्यावलोकन गर्ने, ढकमक्क फुलेको गुराँस र चिमलको रङ्गमा हराउनमै धेरै पर्यटक व्यस्त हुन्छन् ।
हिमाली संस्कृतिको जीवन्त प्रस्तुतिसँग साक्षात्कार गर्न पाउँदा सबैले यस नेपाल–भारत सीमावर्ती उच्च पहाडले आकर्षित गर्ने गरेको फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगूको भनाइ छ ।

प्रधानमन्त्रीले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन् । बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।

प्रधानमन्त्री शाहले कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि बोलाएका हुन् । बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा देखिएका समसामयिक समस्या र तिनका समाधानका उपायबारे विस्तृत विमर्श हुने जनाइएको छ । साथै तत्काल समाधान गर्न सकिने विषयहरूमा पनि केन्द्रित छलफल हुने बताइएको छ ।

छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सहभागी हुनेछन् । यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरूको पनि उपस्थिति रहनेछ ।

त्यस्तै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले संवाद गर्ने कार्यक्रम छ ।

यसका साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि छलफल हुनेछ । कर्णाली, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू पनि उक्त बैठकमा सहभागी हुने जनाइएको छ ।

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने

काठमाडौँ। सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।यहाँको माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहनेगरी सो आयोजना प्रस्ताव गरिएको हो । आयोजनाको विद्युतगृह माप्य दुधकोशी गापा–४ काँकुखोला र दुधकोशी नदीको सङ्गमबाट ७३० मिटर माथि रहनेछ ।

आयोजना निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा ६१७.८६ गिगावाट घण्टा प्रतिवर्ष विद्युत् आपूर्ति हुनेछ । निर्माणको चरणमा ६० दक्ष, १५० अर्धदक्ष र ३५५ अदक्ष जनशक्तिले रोजगारी प्राप्त गर्नेछन् ।

विद्युत् विकास विभागले सो आयोजनालाई अर्ध जलाशययुक्त प्रकृतिमा निर्माणका लागि यसअघि नै सहमति प्रदान गरिसकेको छ । इन्डेपेन्डेन्ट पावर कम्पनी नेपालले सो आयोजना निर्माण गर्ने जनाइएको छ ।

आयोजनाको यसअघि नदी प्रवाही आयोजनाका रूपमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएको भए पनि पछिल्लोपटक अर्धजलाशय प्रकृतिमा निर्माण गर्ने भएपछि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गर्न लागिएको छ । वन तथा वातावरण मन्त्रालयले आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कनका लागि आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।

आयोजनाको ग्रस हेड २३७.९ मिटर र रेटेड नेट हेड २२२.३ मिटर रहेको छ । आयोजनाको संरचना निर्माणका लागि २५.२८ हेक्टर सामुदायिक वन क्षेत्रबाट दुई हजार ४५९ वटा खोटेसल्ला, बाँझ, चिलाउने, उत्तिस, मौवा, मलाट, भलायो, जामुख आदि प्रजातिका रुख काट्नुपर्नेछ ।

आयोजनाबाट उत्पादित बिजुली नयाँ खिम्ती सबस्टशेन देवीटार दोलखामा जोडिने आयोजनाले जनाएको छ । आयोजनाको कुल लागत १९ अर्ब ११ करोड रुपैयाँबराबर रहनेछ । प्रवर्द्धक कम्पनीका अनुसार प्रतिमेगावाट लागत २० करोड रुपैयाँबराबर रहेको छ ।आयोजना पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्राः देवताको रक्षार्थ खुसीयालीको पर्व

काभ्रेपलाञ्चोक, ७ वैशाख : यहाँको ऐतिहासिक नगर बनेपामा करिब दुई हजार ५०१ वर्षदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले हरेक वर्षको वैशाख पूर्णिमादेखि तीन दिनसम्म उक्त जात्रा मनाउने गर्दछन् ।

बनेपामा यही वैशाख १८ गते चण्डी पूर्णिमादेखि द्वितीयासम्म जात्रा मनाइँदैछ । तीन दिनसम्म मानिने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । बनेपावासीका लागि यो जात्रा महान् पर्वका रूपमा लाग्ने गर्दछ । केही दिनयता जात्रा व्यवस्थापन समिति र स्थानीय जात्राको तयारीमा जुटेका छन् । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिङ्गारिन्छ ।

जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरबार (खड्ग)सँगै जात्रामा सरकारको तर्फबाट समेत पूजा गर्ने व्यक्तिको सहभागिता रहनुले पनि बनेपाली यसको महत्वले अझ व्यापकता पाएकामा गर्व गर्छन् । जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरघरमा भोज गरिन्छ । बूढापाकाले टोलटोलमा बसी भजन गाउँछन् भने जात्रा अवधिभर यहाँका सडक, गल्लीमा भीडभाड हुने गर्दछ ।

‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीय श्याम मानन्धर बताउनुहुन्छ । उहाँका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजनहरू ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् । जात्राअन्तर्गत पहिलो दिन बिहान सबेरै बनेपादेखि पुण्यश्वर महादेवसम्म मत पूजा अर्थात् चिराग यात्रा गरिन्छ । धिमे, नाय्खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आआफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भई जलेश्वर महादेव (जसिगा)सम्म पुगेर विसर्जन गर्ने प्रचलन छ ।

जात्राको विधिअनुसार तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ । बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजासहित स्थानीय युवाहरूले बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पुर्याउँछन् । यसक्रममा रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालझ्यालबाट उनीहरूलाई नेवारी भाषामा ‘ल्हाका पालुं हाः’ भन्दै साहस थपिदिने काम हुन्छ । यस्तै हरेक घरमा तयार पारिएका प्रसादहरू झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् । खटलाई मन्दिर नजिक पुर्याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई पुनः खटमा राखिन्छ ।

दोस्रो दिन बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको बध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वासअनुसार रथ पुर्याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा गरी बलि दिने परम्परासमेत रहेको छ । जात्राको सुरुदेखि नै तोकिएको धार्मिक पीठमा बलि दिइन्छ । खटलाई प्राचीन लायकू दरबारसम्म पुर्याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने गरिने परम्परा रहिआएको छ । यस्तै मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्याएपछि जात्रा सकिने गर्छ ।

जात्राका क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरूलाई १२ वटा बोका बलि दिने र तीमध्ये एउटा बोका द्वारे र अर्को बोका जोशी (तोकिएका जातजाति)लाई दिइने प्रचलन छ । बाँकी बोकाको मासु ‘कलंदान’ गरिँदै आइन्छ । कलंदान जात्रामा मासुलाई प्रसादस्वरुप भीडमा फालिन्छ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वकासाथ लिइने गरिएको हो ।

चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घसंस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिन्छन् । बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरू पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् भन्ने मान्यता छ । यस जात्रा छुटाउनै हुँदैन भन्ने जनविश्वास पनि रहेको छ ।

किंवदन्तीअनुसार करिब दुई हजार ५०० वर्ष अगाडि दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका थिए । त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरू (देवता) भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगेको बताइन्छ ।

स्वर्गका राजालाई समेत चण्डासुरले जितेपछि देवताहरूको भागाभाग भई ज्यान जोगाउन पन्छीको रूपधारण गरी उक्त वनबाट अलप भए । चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरेपछि त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन् र चण्डासुरलाई मार्ने प्रयास गरिन् तर, सकिनन् । त्यसपछि उनी भगवतीको रुपमा प्रकट भएर चण्डासुरको बध गरेर देवताको रक्षा गरेको खुसीयालीमा जात्रा मनाइँदै आएको जनविश्वास छ ।

टी–२०आई सिरिजमा दिपेन्द्रको कप्तानीमा नेपाल यूएईसँग भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी २० आई सिरिजको पहिलो खेलमा आज यूएईविरुद्ध खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल साँझ ५ बजे सुरु हुनेछ । घरेलु मैदानमा नेपाली टोलीले यूएईविरुद्ध २ खेलको टी २० आई सिरिज खेल्दैछ ।

यस सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाउँदैछ । जसमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् । त्यस्तै बैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान रहेका छन् ।

सिरिजको दोस्रो खेल भोली हुने छ । नेपालले पहिलो पटक टी–२० र एकदिवसीय क्रिकेटमा अलग अलग कप्तानको अभ्यास गरेको छ । पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी–२० टिमबाट बाहिर रहेका छन् । यो शृंखला इतिहासमै पहिलो पटक ‘फ्लडलाइट’मा हुँदैछ ।

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७५ रुपैयाँ २६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ५७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३८ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७७ पैसा र बिक्रीदर २१ रुपैयाँ ८५ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६ रुपैयाँ २६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३६ पैसा र बिक्रीदर २३ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९५ रुपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३८५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ४९ पैसा रहेको छ ।यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।