`

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्म कोषको खातामा रु १३ अर्ब ५४ करोड नौ लाख तीन हजार ११७ मौज्दात छ ।

कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ः०० बजेपछि मात्रै रु २८ करोड २० लाख १४ हजार ३६६ थपिएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा बैंकमा रहेको छ । सरकारले यसअघि उक्त कोषबाट बाढीपीडितका नाममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा गरिसकेको छ ।

त्यस्तै कोषका दुई वटा बैंकका डलर खातामा पनि रकम बढ्ने क्रम जारी छ । भदौ २६ गते साँझ ५ः०० बजेपछि उक्त खातामा एक लाख ५४ हजार ७७० डलर थपिएर कूल दुई करोड ३४ लाख ३८ हजार ८४७ अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जनसहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले बजेट निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाउन आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए ।

“बजेट होलिडेको अवस्था रहेकाले नवगठित सरकारका नीतिगत प्राथमिकताका आधारमा बजेट निर्माणको काम तत्काल अगाडि बढाउने निर्णय भएको छ । यस प्रक्रियालाई प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउँदै आवश्यक संशोधन तथा परिमार्जन गरी अन्तिम रूप दिने प्रक्रिया तीव्र बनाउने र त्यसको अधिकार आन्तरिक मामिला मन्त्रालयलाई दिने निर्णय भएको छ”, उनले भने ।

यसैगरी, विगत १० महिनादेखि प्रदेशको प्रमुख सचिवका रूपमा कार्यरत वैकुण्ठप्रसाद अर्यालको सरुवा भएकाले धन्यवादसहित बाँकी शुभकामना दिने निर्णय गरिएको छ ।

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौँ । भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि सङ्कलित नमुनाका आधारमा अहिले विधिविज्ञान प्रयोगशालामा धमाधम डिएनएन परीक्षण भइरहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को प्रयोगशालामा डिएनए परीक्षण भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले राससलाई जानकारी दिए ।

शव पहिचानका लागि सङ्कलित डिएनए नमुनामा कुनै त्रुटि नहुने गरी सुक्ष्म रूपमा परीक्षण कार्य अघि बढाइएको छ । नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ नेपाल आएका छन् । प्रहरीको विधिविज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटारस्थित प्रयोगशालामा भारतीय र चिनियाँ टोलीले सघाइरहेका छन् ।

डिएनए परीक्षणका लागि चार वटा मेसिन सञ्चालन गरिएको छ । सो मेसिनले आवश्यक तयारीपश्चात ९० मिनेटमा एउटा नतिजा निकाल्छ । अर्को नमुनाको परीक्षणका लागि सो मेसिनलाई पूर्ण रूपमा निर्मलीकरण गर्नुपर्ने हुन्छ ।

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा राखेर ७२ घण्टापछि मात्रै प्रक्रियामा लगिन्छ ।

शनिबार अपराह्नसम्म फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी एक हजार २३० वटा शव माटोमुनि व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ७७९ गरी कुल तीन हजार ६५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।

प्रहरीको प्रयोगशालाको वार्षिक ४०० डिएनए परीक्षण गर्ने क्षमता छ । अहिले दैनिक २५–३० वटा नमुनाको परीक्षण भइरहेको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए । प्रहरीले भदौ १३ गतेदेखि डिएनएको नमुना सङ्कलन गरिरहेको छ । हालसम्म करिब ४०० बढी नमुनाको डिएनए परीक्षण गरिएको छ ।

कतिपय नमुनाको पुनःपरीक्षण गर्नुपर्ने अवस्था आउने विज्ञको भनाइ छ । हड्डी र दाँतको करिब ३० प्रतिशत नतिजा दोहोर्‍याउनुपर्ने हुनसक्ने बताइन्छ ।

फेला परेका शवको नमुनाबाट जतिसक्दो डिएनएन परीक्षण गर्नेगरी काम भइरहेको प्रवक्ता काफ्लेले बताए । डिएनए परीक्षणलाई तीव्र बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा पनि प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

“हेटौँडास्थित प्रदेश प्रहरी कार्यालयमा पनि चाँडोभन्दा चाँडो अर्को प्रयोगशाला सञ्चालन गर्दैछौँ, मेसिन ल्याइसकेका छौँ, ‘सेटअप’ भइरहेको छ, एक हप्ताभित्र सञ्चालनमा आउँछ”, उनले भने । भोटेकोशी विपद्पछिको खोज, उद्धार, शव पहिचान र व्यवस्थापनलाई प्राथमिकतामा राखी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पहल लिइरहेका छन् ।

डिएनए ‘म्याचिङ’ गर्न ‘कोडिस’ सफ्टवेयरको प्रयोग

फेला परेका शव र हराइरहेकाको नजिकको आफन्तको नमूना सङ्कलन गरेर डिएनए म्याचिङ¬ गर्न ‘कम्बाइन डिएनए इन्डेक्स सिस्टम’ (कोडिस) सफ्टवेयर प्रयोगमा ल्याइएको छ ।

“मृतकको र आफन्तको डिएनए निकालेर सफ्टवेरमा हालेपछि त्यसले ‘म्याचिङ’ गर्ने हो”, केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले भने । कोडिस अन्तर्राष्ट्रिय सफ्टवेयर हो ।

“यो सफ्टवेयरले मृतक र आफन्तको डिएनएको रिपोर्ट राखेपछि त्यो सिस्टमले ‘म्याचिङ’ भएको देखाउँछ”, उनले भने, “त्यसपछि सम्बन्धित व्यक्तिलाई आवश्यक कागजातका आधारमा उक्त शव निकालेर अन्तर्राष्ट्रिय अभ्यास र कानुनबमोजिम हस्तान्तरण गर्छौं ।”

डिएनए परीक्षणका कामलाई जतिसक्दो चाँडो सम्पन्न गर्न प्रहरीका त्यससम्बन्धी सम्पूर्ण जनशक्ति परिचालित गरिएको छ । प्रहरीका सबै जनशक्तिलाई कुनै पनि बिदा नदिइ २४ सै घण्टा ड्युटीमा खटाइएको छ ।

“डिएनए प्रोफाइलिङमा स्वदेशी तथा विदेशी जनशक्तिको सहयोग लिइएको छ । विदेशी जनशक्ति पनि नेपालमा आएका छन्”, उनले भने । डिएनए खर्चिलो र समय लाग्ने परीक्षण हो । त्यसका लागि नेपाल सरकारले आवश्यक स्रोत साधनको व्यवस्था गरिदिएको छ ।

मृतकको शव फेला पर्नेक्रम बढिरहेको र आवश्यक उपकरण तथा जनशक्तिको अभावले प्रहरीलाई चुनौती दिइरहेको छ । सातै प्रदेशमा विधिविज्ञान प्रयोगशाला सञ्चालनमा ल्याउन सकिए अहिलेको चुनौती कम हुनेछ ।

नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पाल बाढी प्रभावित क्षेत्रबाट सङ्कलित मृतक र आफन्तबाट सङ्कलित नमुना आउनेक्रम जारी रहेको बताउँछन् । “सङ्कलित नमुनालाई सुरक्षित भण्डारण गर्नुका साथै परीक्षणसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी डिएनए परीक्षणमा अहोरात्र खटिएर कार्य गरिरहेका छौँ”, उनले भने ।

कुनै पनि व्यक्तिको पहिचानका साथै व्यक्तिहरू बीचको जैविक सम्बन्ध स्थापित गर्नका निमित्त डिएनए प्रोफाइलिङ सबैभन्दा प्रभावकारी साधनको रूपमा मानिन्छ ।

शव पहिचानमा प्रहरीका तीन उपाय

फेला परेका शव पहिचानका लागि प्रहरीले तीन उपाय अपनाएको छ । प्रहरी प्रवक्ता काफ्ले डिएनए परीक्षण, शवको औँठा छाप र फोटो भिडान गरेर शवको पहिचानको विधि अलम्बन गरिएको सुनाउँछन् ।

हराएका व्यक्ति र शवको फोटो भिडान गर्न प्रहरीले ‘डिजास्टर भिक्टिम आइडिन्टिफिकेसन’ सफ्टवेयरसमेत विकास गरेको छ । “केही शवको औँठाछाप निकालेका छौँ, त्यसलाई प्राविधिक रूपान्तरण गरेर कहाँकहाँ हुन सक्छन् भनेर खोजी गरिरहेका छौँ”, उनले भने ।

औँठाछाप ‘भेरिफाइड’ गर्न प्रहरीले राष्ट्रिय परिचयपत्रलगायतको प्रणालीबाट जैविक विवरण लिइएको छ । यो विधिलाई कम खर्चिलो र छरितो मानिएको छ । यद्यपि, हात नभएका तथा गलेका शवबाट औँठाछाप लिन नसकिने प्रहरीको भनाइ छ ।

बेँसीसहर–चामे सडक आज दिनभर बन्द हुने

लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा सडक ढलान गर्न आज बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने भएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा एक सय ३५ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाले करिब ५० मिटर सडक ढलान गर्ने भएको हो । सडक साँघुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारीसाधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएकाले सडक पूर्ण रूपमा बन्द गर्न लागिएको उनले बताए।

आज बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कुनै प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन । साँझ ५ः०० बजेदेखि भोलि बिहान १०ः०० बजेसम्म भने भारी सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताए ।

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ८० रुपैयाँ र सानो (टनेल) गोलभेडा ५२ रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो (लाम्चो) ५० रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ४८ रुपैयाँ, आलु रातो (मुडे) ४८ रुपैयाँ, भारतीय रातो आलु ४२ रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ७० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (लोकल) २० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २५ रुपैयाँ, लाम्चो भन्टा २० रुपैयाँ, डल्लो भन्टा ४० रुपैयाँ, तने बोडी ७० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ तथा घिउ सिमी (लोकल) ९० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ९० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी ८० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ६० रुपैयाँ, लौका ६० रुपैयाँ, परवर (लोकल) ७० रुपैयाँ, घिरौला ५० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) ३० रुपैयाँ, भिण्डी ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग ५० रुपैयाँ, पालुङ्गो साग १५० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ र हरियो प्याज १०० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ५५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ४०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली १५० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३५० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो १३० रुपैयाँ, केरा (नेपाली) प्रतिदर्जन १५० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो ३५० रुपैयाँ, अनार २५० रुपैयाँ र तरबुजा (हरियो) ५० रुपैयाँ तोकिएको छ ।

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८९४ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८९४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८१, सिसिटिभिमार्फत ५९, रातोबत्तीमा ६९ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १०६, हर्न निषेधमा १९, लेन क्रसमा २८, अवस्था ठिक नभएको २०, एकतर्फीमा ९ र अन्यमा ५०३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै

काठमाडौँ। तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन्।

नेपाल र युएईबीचको फाइनल खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ७ः१५ बजे सुरु हुनेछ।

दुवै टोली दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन्। नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा युएईलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो। युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो।

यसपटक भने उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले फाइनल दुवै टोलीका लागि महत्वपूर्ण छ।

जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँच खेलमा चार जित र एक हारको नतिजा निकालेको छ । युएई भने अपराजित रहँदै फाइनलमा पुगेको हो।

एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ खेल भएका छन्। नेपालले ११ र युएईले आठ खेल जितेका छन्। पछिल्ला पाँच खेलमा नेपालले तीन खेल जितेको छ।

नेपालले युएईसँग पछिल्लोपटक गत मेमा आइसिसी विश्वकप लिग–२ मा पनि स्पर्धा गरेको थियो । त्यसअन्तर्गतका दुवै खेलमा नेपाल विजयी भएको थियो।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ १८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १९ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ३५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ९० पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६३ पैसा र बिक्रीदर ४० रुपैयाँ ७९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०२ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११ रुपैयाँ ७७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६७ पैसा र बिक्रीदर २३ रुपैयाँ ७७ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ६० पैसा र बिक्रीदर ४९९ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ७२ पैसा बिक्रीदर ४०६ रुपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ८९ पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग

बाँके । भोटेकोशी बाढीपीडितका लागि बाँकेका निजी विद्यालय र अस्पतालले रु. एक करोड २५ लाखभन्दा बढी सहयोग गरेका छन् ।

निजी तथा आवासीय विद्यालय (प्याब्सन) बाँकेमा आबद्ध विद्यालयले रु. ६५ लाख तथा निजी अस्पतालले रु. ६० लाख ७८ हजार ५ सय १३ सहयोग गरेका हुन् ।

प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यका अनुसारबाँकेका ७७ निजी तथा आवासीय विद्यालयबाट सङ्कलित रकममध्ये रु. ५३ लाख ४१ हजार ४०६ तथा बाँकेका अस्पतालले रु. ६० लाख ७८ हजार ५१३ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला हुनेगरी प्रदान गरेका छन् ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले रु. २५ लाख, सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालि नेपालगञ्जले रु. २५ लाख, फत्तेबाल आँखा अस्पतालले रु. पाँच लाख ११ हजार, एचसीआरसी अस्पतालले रु. २ लाख ५० हजार, न्यूरो अस्पतालले रु. एक लाख १६ हजार ५१३, सागर अस्पताल नेपालगञ्जले रु. एक लाख एक हजार र लाइफ लाइन जनरल अस्पताल नेपालगञ्जले रु. एक लाख सहयोग गरेका लाइफ लाइन जनरल अस्पतालका सञ्चालक डा. प्रतीक श्रेष्ठले जानकारी दिए ।

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा । दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो नहुँदै बारीमा पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिने बित्तिकै गुलेली र नक्कली बन्दुक लिएर धपाउने गर्थे । साँझ परेपछि पनि उनीहरू घर फर्किन पाउँदैन थिए । रातभरि बँदेल बारीमा पसे कि भन्ने चिन्ताले सधैँ पिरोल्ने गर्थ्यो । खेती गरेर पनि उत्पादन घर भित्र्याउन नसकेपछि कतिपय किसान खेतीबाटै निराश हुन थालेका थिए । तर अहिले वडा कार्यालयले गाउँगाउँमा बाँदर हेरालु कर्मचारीदेखि, कृषकको बारीमा काँडेतार जालीको व्यवस्था गरेपछि भने किसानलाई राहत मिलेको छ । वडा कार्यालयले २०८० सालदेखि बारीमा हेरालुको व्यवस्था गर्नुका साथै जङ्गली जनावरबाट बाली जोगाउन जाली लगाएपछि किसानलाई खेती गर्न सहज भएको हो ।

विगतमा जेठदेखि भदौसम्म मकै खेती जोगाउन स्थानीयले बिहानैदेखि रातिसम्म बारीमा बसेर बाँदर धपाउनुपर्ने अवस्था थियो । वडा कार्यालयबाट हेरालुको व्यवस्था भएपछि किसानले लामो समय बारीमा बसेर बाली कुर्नुपर्ने बाध्यता हटेको स्थानीय सूर्यबहादुर विकले बताए । “दुई वर्षअघिसम्म रातिमा बँदेल र दिउँसोमा बाँदर आएर बाली खाएर हैरान पार्थे । अहिले हेरालु र जाली लगाएपछि जङ्गली जनावर आएर बालीनाली नोक्सान गरेको छैन,” सुनारले भने ।

दिनको समयमा हेरालुले बारीमा आउने बाँदर धपाउने गरेका छन् भने बारी वरिपरि काँडेतारको जाली लगाएर रातिको समयमा बँदेल, दुम्सी, मृग, घोरललगायतका वन्यजन्तुलाई बालीमा प्रवेश गर्न रोक्ने प्रयास गरिएको छ । वडा कार्यालयले प्रत्येक वर्ष बाँदर लखेट्न नौ जनाका दरले हेरालु कर्मचारी खटाएर कृषकको मकै खेती जोगाउने अभियान नै सञ्चालन गरेको हो । वडा कार्यालयले साउन भदौका लागि बाँदर लाग्ने वडाको धैरेनी मेयालपानी क्षेत्रमा नौ जना हेरालु राखेर मकै खेती रेखदेख गर्दै आएको छ । ख्याहाको धैरेनी मेयालपानी, रातामाटा कोटफेरालगायतका क्षेत्रमा छ जना र जोगीथुम क्षेत्रमा तीन जना गरी नौ जना हेरालु राखेर बाँदर धपाउने काम गरेको छ ।

बाँदर हेरालु बिहान ०५ बजेदेखि राति ८ बजेसम्म निरन्तर कृषकको मकैबारी क्षेत्रमा खटिदै आएका छन् । बाँदर हेरालुलाई गुलेली, नक्कली बन्दुक, गोला बारुदलगायतका सामग्री उपलब्ध गराइएको छ । दिनको समयमा हेरालुले बारीमा आउने बाँदर धपाउने गरेका छन् भने बारी वरिपरि काँडेतारको जाली लगाएर रातिको समयमा बँदेल, दुम्सी, मृग, घोरललगायतका वन्यजन्तुलाई बालीमा प्रवेश गर्न रोक्ने प्रयास भएको स्थानीय रामप्रसाद न्यौपानेले बताउनुभयो । बाली जोगाउन निरन्तर निगरानी गर्नुपर्ने अवस्थाबाट मुक्त भएपछि किसान मकै खेतीप्रति थप उत्साहित भएको उनको भनाइ छ ।

जङ्गली जनावरबाट किसानले लगाएको बाली जोगाउन नसक्दा खेतीयोग्य जमिन बाझिँदै जाने र गाउँबाट बसाइँसराइ बढाउने जोखिम बढेपछि वडाबाट बजेट विनियोजन गरेर हेरालु र काँडेतार लगाउने कार्यक्रम ल्याइएको वडा अध्यक्ष चिरञ्जीवी पोखरेले बताए । उनले भने “स्थानीय किसानको मागअनुसार बाँदर र बँदेर लाग्ने ठाउँहरुमा हेरालु र जालीको व्यवस्था गरेका छौँ ।”

चालु आर्थिक वर्षमा थप ५०० मिटर क्षेत्रमा काँडेतार जालीको बजेट विनियोजन गरिएको वडा अध्यक्ष पोखरेलले बताउनुभयो । वडा कार्यालयले गत वर्षमात्र नमुनाका रूपमा जङ्गली जनावरले अत्यधिक दुःख दिने स्थानमा काँडेतार जाली लगाएको थियो । जसले गर्दा बाँदर जालीमा चढ्नसमेत कठिनाइ हुने, रातिमा आउने बँदेल, दुम्सी, मृग, घोरल र खरायो जस्ता जनावार नियन्त्रणमा आएको थियो ।

बिहान ०५ बजेदेखि राति ८ बजेसम्म बारी आसपासमा आफुहरु खटिने गरेको बाँदर हेरालु विष्णुबहादुर सुनारले बताए । “बाँदर आएको बेला सबै जना मिलेर धपाउँछौँ । तर सामान्य समयमा हेरालु आफैँले नै बारी हेर्ने भएकाले किसानलाई निकै सजिलो भएको छ,” सुनार भन्छन् ।

जङ्गली जनावरको समस्या ख्याहाको मात्रै होइन । पाल्पासहित पहाडी जिल्लाका धेरै गाउँमा बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले किसानलाई हैरान पार्दै आएका छन् । एउटा वडाले हेरालु राख्दैमा वा केही १०० मिटर काँडेतार लगाउँदैमा समस्या पूर्ण रूपमा समाधान हुँदैन । तर ख्याहाले देखाएको बाटोले भने समस्या समाधानका लागि किसान र स्थानीय सरकारबीचको सहकार्य प्रभावकारी हुन आवश्यक देखाएको छ ।

भोटेकोशी बाढीबाट पाठ सिकेर जलविद्युत् पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिमलाई ध्यानमा राखी जलविद्युत् तथा ऊर्जा पूर्वाधार निर्माणमा आवश्यक सुरक्षा र पूर्वतयारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।

इप्पानद्वारा शुक्रबार ललितपुरमा आयोजित ‘परिवर्तनशील जलवायुमा जलवायु प्रतिरोधी पूर्वाधार निर्माण र भोटेकोशी महाप्रलयबाट सिकेका पाठहरू’ विषयक प्राइभेट फोरममा वक्ताहरूले जलवायु परिवर्तनका कारण उत्पन्न विपद्ले जलविद्युत् आयोजनामा ठुलो क्षति पुर्‍याउन सक्ने भएकाले पूर्वतयारी, जोखिम न्यूनीकरण र सुरक्षित पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

कार्यक्रमकापूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विपद्ले ऊर्जा क्षेत्रमा रसुवाका माथिल्लो त्रिशूली–१ लगायत विभिन्न आयोजनामा ठुलो क्षति पुगेको उल्लेख गर्दै उनले प्रभावित आयोजनाका संरचनामा फसेका व्यक्तिको शीघ्र उद्धारका लागि सरकारसँग आग्रह गरे।

कार्यक्रममा इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन र सचिव विजयमोहन भट्टराईको समन्वयमा बाढीबाट प्रभावित कम्पनीहरूसँग इप्पानले सहयोग र सहकार्य गरिरहेको जानकारी दिइएको थियो ।

भोटेकोशीमा बाढी आएपछि इप्पानको कार्यसमितिको बैठकले विपद्को समयमा सहकार्य गर्न सदस्य कम्पनीलाई आह्वान गरेको र विभिन्न कम्पनीबाट रु १३ करोड सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कार्यक्रममा जानकारी दिइयो । सहयोग गर्ने कम्पनीलाई इप्पानले धन्यवादसमेत व्यक्त गरेको छ ।

इप्पानका अध्यक्ष मोहनकुमार डांगीले प्रभावित १३ वटा आयोजनाका सम्बन्धमा छलफल गर्न आगामी आइतबार संयुक्त बैठक बोलाएको र बैठकबाट प्रभावित आयोजनाको पुनः सञ्चालन तथा पुनर्निर्माणका लागि नेपाल सरकारबाट आवश्यक सहयोग पहिचान गरी माग पत्र तयार गरिने र उक्त माग पत्र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमार्फत सरकारसमक्ष पेस गरिने जानकारी दिए । नेपालले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न सक्ने आधार रहेको बताउँदै विद्युत् खपत बढाउने तथा निर्यात विस्तार गर्ने नीति आवश्यक रहेकोमा उनको जोड छ ।

उनका अनुसार नेपालमा विद्युत् खपत १५ हजार मेगावाट पुर्‍याउने लक्ष्यका साथै भारतमा १० हजार मेगावाट र बङ्गलादेशमा पाँच हजार मेगावाट विद्युत् निर्यात गर्न सके मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुग्ने छ । गत वर्ष विद्युत् निर्यातबाट रु २९ अर्ब ३१ करोड आम्दानी भएको तथ्यसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, दैवीप्रकोप अध्ययन केन्द्रका निर्देशक डा। बसन्तराज अधिकारीले जलवायु परिवर्तन र जलवायु प्रतिरोधी पूर्वाधार निर्माणका विषयमा प्रस्तुति दिएका थिए ।

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अप्रेशन सञ्चालनमा ल्याएको छ ।

सो अप्रेशनअन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय–प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, ‘डिएनए प्रोफाइलिङ’ एवं ट्राफिक व्यवस्थापनलगायत विषयलाई उच्च प्राथमिकता दिइएको छ ।

यस कार्यक्रमलाई सफल बनाउन प्रहरी हेडक्वार्टमा सञ्चालित ‘नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’मार्फत सम्बन्धित बाढी प्रभावित जिल्लालाई आवश्यक निर्देशन दिइएको छ ।

बाढीका कारण भोटेकोशी र त्रिशूलीका तटीय क्षेत्रका विभिन्न स्थानमा बगाइ वा हराइ रहेका मानिस जीवित हुनसक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राखेर उद्धार तथा खोजी गर्न मातहतका युनिटलाई भनिएको छ ।

फेला परेका शव वा शरीरका अङ्गका मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैङ्क कार्ड तथा महत्त्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्ले बाढीमा परी बेपत्ताको खोजलाई प्राथमिकतामा राखी नदी किनारा, भग्नावशेषलगायत स्थानमा प्रहरी टोली परिचालित गरिएको बताए ।

“कठिन भौगोलिक अवस्थालाई मध्यनजर गरी खोजी कार्यलाई प्रभावकारी बनाउन ड्रोन एवं केनाइनको प्रयोगमा विशेष जोड दिइएको छ । प्रहरीले टिमुरेदेखि त्रिवेणशीसम्म विशेष अप्रेशन सञ्चालन गरी खोज तथा उद्धारलाई तीव्र पारेको छ”, उनले भने । बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रमा प्रहरीले सक्रियता बढाएको छ ।

प्रभावित क्षेत्रमा खोज तथा उद्धार, शव सङ्कलन, मुचुल्का तथा घटनास्थल व्यवस्थापन, पोष्टमार्टम, शव पहिचानमा सहजीकरण, डिएनए प्रोफाइलिङको लागि नमुना सङ्कलन र शवको सुरक्षित व्यवस्थापनका क्षेत्रमा प्रहरीले सक्रियाताका काम गरिरहेको छ ।

भौगोलिक विकटकताका कारण उद्धारकर्ता एवम् केनाइनसमेत पुग्न नसक्ने स्थानमा ड्रोनको प्रयोग गरी हराइरहेकाको खोजी जारी राखिएको छ । बाढीका कारण अवरुद्ध सडक खुलाउन एवम् सडक नभएका स्थानमा तुईनमार्फत सुरक्षित आवतजावतमा सहजीकरण गरिएको प्रवक्ता काफ्लेले बताए ।

पोखरा बसपार्कका सुकुमबासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढाउने भएको छ ।

महानगरले गरेको छानविनको अन्तिम प्रतिवेदनअनुसार हालसम्म बसपार्कमा ३२५ परिवार भूमिहीन र २४२ परिवार अव्यवस्थित बसोबासी छन् ।

जसमा १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुमबासी तथा २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा छन् । महानगर कार्यपालिका बैठकले भूमिहीन र अव्यवस्थित बसोबासीको विवरण प्रमाणीकरण गरिसकेको छ ।

महानगर प्रमुख धनराज आचार्यले बसपार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुमबासी परिवारको व्यवस्थापनलाई अघि बढाइने बताए ।

उनका अनुसार बसपार्क क्षेत्रका सुकुमबासी बस्ती व्यवस्थापनको बाँकी प्रक्रिया आउँदो आइतबारदेखि पुनः अघि बढाइने छ । नयाँ बस्ती व्यवस्थापन तथा सुकुमबासी समस्या समाधानका लागि गठित जिल्ला समितिको आवश्यक निर्णय प्रक्रिया अगाडि बढिरहेको प्रमुख आचार्यले बताए ।

“भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सम्बन्धित सबैको कार्यव्यस्तता उद्धार तथा राहततर्फ केन्द्रित भएपछि बस्ती व्यवस्थापनको काम केही दिनका लागि रोकिएको थियो । अब भने बाँकी निर्णय प्रक्रिया पुनः अघि बढाइनेछ । विपद्का बेला सुकुमबासी बस्ती व्यवस्थापन वा निर्माणका काममा केही दिन ढिलाइ हुनुभन्दा नागरिकको उद्धार, राहत, शव व्यवस्थापन तथा मानवीय सहयोगलाई प्राथमिकता दिएका छौँ”, आचार्यले भने ।

प्रमुख आचार्यले मनसुनसमेत क्रमशः रोकिँदै गएको उल्लेख गर्दै बसपार्क क्षेत्रको समस्या समाधानसँगै फिर्के खोलाको बाँकी काम पनि सँगसँगै अघि बढाइने जानकारी दिए । महानगरले बसपार्कका सुकुमबासीलाई वैकल्पिक व्यवस्था गरेर मात्र बसोबास गरिरहेको स्थानबाट हटाउने र त्यसका लागि जमिन केही स्थानमा पहिचान भइसकेको जनाएको छ ।

पोखरामा सुविधा सम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा जग्गा अधिग्रहण गरिएको थियो । योजना बनेको पाँच दशकसम्म बसपार्क नबन्दा पृथ्वीचोक क्षेत्रको सडक फेटी र फुटपाथबाटनै लामो तथा छोटो दूरीका बस गन्तव्यका लागि छुट्ने बाध्यता छ ।

बसपार्कभित्रको जग्गा सुकुमबासी र अन्य केही व्यक्तिले अतिक्रमण गरेपछि बसपार्क बन्न सकेको थिएन । पछिल्लो समय महानगरले बसपार्कभित्रका व्यापारिक सटर कवल हटाएको छ । महानगरले बसपार्कको जग्गा खाली गरेपछि दातृ निकायको सहयोगमा सुविधा सम्पन्न बसपार्क बनाउने योजना सार्वजनिक गरिसकेको छ ।

पृथ्वीचोकमा सुविधा सम्पन्न बसपार्क बनाउन तथा पोखराको स्मार्ट यातायात व्यवस्थापनका लागि दक्षिण कोरिया सरकारले सहयोग गर्ने भएको छ । कोरियाली विकास नियोग(कोइका)ले यहाँको यातायात प्रविधिमैत्री र वातावरणमैत्री बनाउनका लागि लगानीको प्रतिबद्धता जनाइसकेको महानगरले जनाएको छ ।

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माणका लागि समिति गठन गरेको छ ।

रास्वपाले आज ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माणका लागि पार्टी महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

रास्वपाको गत भदौ ५ गतेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार उक्त समिति गठन गरिएको प्रवक्ता खरेलले बताउनुभयो ।

समितिमा सदस्यमा गणेश पराजुली, मनिष झा, समीक्षा बाँस्कोटा, अनुष्का श्रेष्ठ, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कडरिया र प्रमोद न्यौपाने हुनुहुन्छ ।

सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल अघिको सडक पेटीमा शिशुलाई जन्म दिएको घटना सार्वजनिक भएपछि सो विषयमा सङ्घ, प्रदेश र जिल्लास्तर गरी तीन वटा छानबिन समिति गठन गरिएको छ । ती समितिले छानबिन प्रक्रिया पनि सुरु गरिसकेका छन् ।

छानबिन समितिले उक्त कार्यस्थलमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार, सफाइकर्मी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जीतेन्द्र कँडेलसँग सोधपुछ गरिसकेको अस्पताल प्रशासनले जनाएको छ । छानबिन टोलीले घटनाको प्रकृति, पीडित महिलाको अवस्था, स्वास्थ्यकर्मीको व्यवहार तथा अन्य विषयमा अनुसन्धान गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राञ्जित झाले बताउनुभयो । उहाँ घटना भएको दिन कामविशेषले काठमाडौँमा हुनुहुन्थ्यो ।

मेडिकल सुपरिटेन्डेन्ट डा झाले प्रारम्भिक चरणमा घटनाका दिन अस्पातलको प्रसूति वार्डमा काम गरिरहेका चार स्वास्थ्यकर्मी, एक चौकीदार र एक जना सरसफाइकर्मी गरी छ जनालाई तत्काल निलम्बन गरिएको जानकारी दिनुभयो । उहाँले छानबिन समितिको अन्तिम प्रतिवेदनअनुसार निलम्बितहरूका बारेमा थप निर्णय गरिने बताउनुभयो । “छानबिनको अन्तिम टुङ्गो नलागेसम्म छ जनाकै निलम्बन कायम रहने छ”, उहाँले भन्नुभयो ।

स्थलगत छानबिनका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार सुप्रभात श्रेष्ठको नेतृत्वमा गठित छानबिन समिति, मधेस प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिका सदस्य किरणकुमारी साह नेतृत्वमा गठित छानबिन समिति र जिल्ला प्रशासन कार्यालयद्वारा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सतिशकुमार यादवको नेतृत्वमा गठित छानबिन समितिले आजदेखि काम सुरु गरिसकेका छन् ।

समितिले आआफ्नो तरिकाले घटनाबारे सत्यतथ्य बुझेर सात दिनभित्र सम्बन्धित निकायमा प्रतिवेदन बुझाउने गरी समय तोकिएको छ । स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा तीनदिन अघि सुत्केरी व्यथा लागेर आउनुभएकी राजविराज नगरपालिका-१४ परसाही टोलकी ३० वर्षीया बविता पासमान रकम अभावका कारण उपचार नहुने भन्दै अस्पतालबा बाहिर निस्किनुभएको थियोे ।

यसअघि तीन सन्तानलाई वर्थिङ्ग सेन्टर र अस्पतालमा जन्म दिनुभएकी बविताले चोथौ सन्तानलाइै रकम अभावका कारण सडकमै जन्माउनुभएको थियो ।

स्वास्थ्यकर्मीले पुर्जामा लेखिदिएको रु तीन हजार २०० को जाँच गराउन पैसा नभएपछि जोहो गर्न निस्केका बेला उहाँले सडकपेटीमा शिशुलाई जन्म दिनुभएको थियोे । उक्त दृश्य सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट भाइरल बनेपछि सत्यतथ्य जाँच गर्न छानबिन समिति गठन गरिएको हो ।

भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया। रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई जना बेपत्ता भएपछि आफन्त घर फर्कने आशमा पर्खिरहेका छन् ।

भदौ १० गते आएको बाढीमा छोराबुहारी (दीपेन्द्र र फूलमाया तमाङ) सम्पर्कविहीन बनेपछि बारबर्दिया नगरपालिका–१ मुर्गिहवाका आँशुराम थारु र कइरी थारु छोराबुहारी फर्किने आशमा दिनरात बाटो हेरिरहेका छन् ।

बुवाआमासँग सम्पर्क टुटेपछि उनीहरूका छोराछोरी अहिले मामाको साहरामा काठमाडौँमा छन् । छोराबुहारीको अवस्थाबारे कुनै खबर नपाउँदा बुवाआमाको पर्खाइसँगै बालबालिकाको भविष्यसमेत अन्योलमा परेको आँशुरामले बताउनुभयो ।

छोरा सम्पर्कमा आउने आशामा बुबा आँशुराम मोबाइलमा घण्टी बज्यौ कि तुरुन्तै फोन उठाउनुहुन्छ । घरको बाटोतिर पनि आँखा लगाइरहनुहुन्छ । “छोराबुहारी भेटिएको फोन कतैबाट आयो कि भनेर तुरुन्तै उठाउने गर्छुु”, उहाँले भन्नुभयो, “घर आउँदैछन् कि भनेर बाटो हेर्छु । तर, अहिलेसम्म कतैबाट कुनै खबर आएको छैन ।” छोराबुहारी सम्पर्कविहीन भएपछि उहाँलाई नातिनतिनालाई कसरी शिक्षा दीक्षा दिने भन्ने चिन्ता थपिएको छ ।

“छोराबुहारीको अवस्थाबारे कुनै जानकारी नहुँदा परिवारका सदस्य विक्षिप्त बनेका छन् । हामीलाई छोराबुहारी भेटाइदेउ भनेर रातदिन भगवानसँग प्रथना गरिरहेका छौँ”, निराश हुँदै उहाँले भन्नुभयो, “सरकार तथा सरोकार भएका निकायले छिटो बेपत्ताको खोजी गरी वास्तविक आवस्था पत्ता लगाएर जानकारी दिनुपर्‍यो । यदी नभेटिएमा शव दिनुपर्छ । नातिनतिनालाई पढाइका लागि आवश्यक व्यवस्था गरिनुपर्छ ।”

रसुवाको सल्लेटारमा दीपेन्द्र होटल सञ्चालन गर्दै परिवारसहित बस्दै आएका थिए । भदौ १० गते भोटेकोशीमा आएको बाढीले दीपेन्द र श्रीमती फूलमाया सम्पर्कविहीन भएका छन् । बाढी आउँदा दीपेन्द्रका छोरा र छोरी विद्यालय गएका थिए । विद्यालय गएकाले छोराछोरी सुरक्षित भए भने आफ्नै होटलमा रहेका दीपेन्द्र र पत्नी फूलमाया बाढीपछि सम्पर्कविहीन भएका बुबा आँशुरामले जानकारी दिनुभयो ।

दीपेन्द्रका छोरा दीप थारु आठ वर्षका छन्, भने छोरी दीक्षा छ वर्षकी छिन् । उनीहरू दुवै जना रसुवाको स्थानीय विद्यालयमा अध्ययनरत थिए । बाढीपछि अभिभावकविहीन बनेपछि उद्धार गरी काठमाडौँ लगिएको हो । अहिले मामा उत्तम तामाङसँग बसिरहेका परिवारले जानकारी दिएको छ ।

“बेपत्ता भएका दीपेन्द्र विगत ११ वर्षदेखि रसुवामा बस्दै आएका थिए । सुरुमा कामदारका रूपमा रसुवास्थित चाइना कम्पनीमा काम गर्दथे । त्यसको दुई वर्षपछि रसुवाकी फूलमायासँग विवाह भयो । पछि सबै परिवार यहाँ करिब तीन वर्ष बस्यो । चाइनामा काम गर्न जाने भनेर दिपेन्दले सात वर्षअघि बसाइँसराइ गरेर परिवारसहित रसुवा बसिरहेको थियो”, बुबा आँशुरामले भन्नुभयो । बसाइँसराइ गरेको एक वर्षपछि रसुवामा होटल चलाएर बसिरहेका छोराबुहारी बाढीपछि सम्पर्कविहीन भएको उहाँले दुखेसो पोख्नुभयो ।

आँशुरामका छ भाइ छोरा छन् । तीमध्ये राइला छोरा हुन् दिपेन्द्र । दीपेन्द्र जस्तै सबै छोरा काठमाडौँ, पोखरा, नुवाकोटलगायत विभिन्न ठाउँमा काम गरिरहेका छन् । छोराबुहारी बाढीपछि सम्पर्कविहीन भएपछि परिवारका सबै सदस्य दीपेन्द्र र फूलमायाको खोजीमा चितवन, धादिङ, नुवाकोट र काठमाडौँका विभिन्न अस्पताल तथा होल्डिङ सेन्टरसम्म पुगेका छन् ।

“कतै पनि भाइबुहारीको अवस्था पत्ता लाग्न नसकेको बताएका छन् । छोराबुहारी कतै भेटिन्छन् कि भनेर चितवन, धादिङ, नुवाकोट र काठमाडौँसम्म सबै ठाउँमा छोराहरूले खोजी गरे”, बुबा आँशुरामले भन्नुभयो , “तर, भेटिएन । अहिले त अरु छोराहरू पनि आआफ्नो काम फर्किएका छन् ।”

कामको सिलसिलामा रसुवा र नुवाकोट पुगेका दीपेन्द्र जस्तै बर्दियाका ७६ जना अझै सम्पर्कविहीन रहेका जिल्ला प्रशासन कार्यालय बर्दियाका विपद् सम्पर्कव्यक्ति लोकप्रसाद ढकालले जानकारी दिनुभयो । “बारबर्दियाका मात्रै २५ जना सम्पर्कविहीन छन् । हालसम्म ५३ जना घर फर्किसकेका छन्”, उहाँले भन्नुभयो ।

बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल

महोत्तरी। शिक्षा तथा खेलकुदमन्त्री सुस्मित पोखरेलले बर्दिवास मेडिकल कलेज निर्माणले अब गति लिने बताउनुभएको छ ।

आज कलेज निर्माणका लागि प्रस्तावितस्थल बर्दिवास-४ माइस्थानमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्दै उहाँले कलेज निर्माण प्रक्रिया अघि बढिसकेको स्पष्ट गर्नुभयो ।

“कलेज बन्ने/नबन्ने विभिन्न थरिका कुराले यस क्षेत्रमा चिन्ता र चासो बढेको छ । अब यसबारे धेरै चिन्ताभन्दा पनि कलेज निर्धारित समयमै बन्छ भन्नेमा सबैलाई विस्वश्त पार्न चाहन्छु”, मन्त्री पोखरेलले भन्नुभयो । यसपालिको बजेटमा कलेज निर्माणका लागि रु २५ करोड रकम विनियोजन गरिएको जनाउँदै उहाँले काम अघि बढाउन अझै रकमको सुनिश्चिततामा आपूm प्रयासरत रहने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो, “भर्खरै मन्त्रिपरिषद्ले बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना, बर्दिवासको अवधि एक वर्ष थपेको छ, यो कलेज बनाउन थपिएको हो । काम थाल्दै गएर सम्पन्न हुन तीन-चार वर्ष लाग्नसक्ने देखिन्छ ।”

बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना बर्दिवास कार्यालयले आयोजना गरेको छलफलमा महोत्तरी निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतोले कलेज निर्धारित समयमा सम्पन्न गराउन वर्तमान सरकारले हरप्रयास गर्ने उल्लेख गर्नुभयो ।

मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री शारदा थापाले निर्धारित समयमा काम सम्पन्न गराउन आफूले सहकार्य र समन्वय गर्ने बताउनुभयो । यसैगरी बर्दिवासका नगरप्रमुख प्रहलादकुमार क्षेत्रीले प्रस्तावित ठाउँमा कलेज निर्माणका पक्षमा आमजनता रहेकाले सबैको साथसहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

छलफल कार्यक्रममा आयोजना निर्देशक देवीप्रसाद सुवेदीले अब प्रस्तावितस्थलको भोगाधिकार आफ्नो कार्यालयले पाइसकेको हुँदा रुख कटानको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

नेपाल सरकारको आर्थिक वर्ष २०७३/७४ को कार्यक्रममा परेर २०७५ वैशाखमा आयोजना कार्यालय स्थापना भए पनि वन क्षेत्रभित्रको प्रस्तावित जग्गाको भोगाधिकारका लागि विभिन्न निकायबाट काम सम्पादन हुन समय लाग्दा कलेज निर्माण पछि पर्दै आएको थियो ।

कलेजका लागि पहिलो चरणमा अस्पताल र प्रशासनिक भवन निर्माण चालु आवमा विनियोजित रु २५ करोडबाट थालिने आयोजना कार्यालयले जनाएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले थप रकमको सुनिश्चितता बढ्दै गएसँगै निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग

काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले संस्थागत रूपमा रु १५ करोड सहयोग गरेको छ ।

प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयअनुसार आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा चेक हस्तान्तरण गरेको हो । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले रु १५ करोडको चेक अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभयो ।

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवासहित आसपासका क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि सरकार तथा विभिन्न निकायबाट सहयोग जुटाउने क्रम जारी छ । सोही क्रममा प्राधिकरणले विपद् व्यवस्थापनमा संस्थागत योगदान गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका अनुसार विपद्को यस कठिन घडीमा बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रको पुनःस्थापना र विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको हो ।

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई समेत बाढीबाट उत्पन्न विपद् व्यवस्थापनका लागि आफ्नो तर्फबाट यथाशक्य सहयोग गर्न आग्रह गरेको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार संस्थागत सहयोगसँगै प्राधिकरणका कर्मचारी तथा पदाधिकारीबाट समेत आर्थिक योगदान गर्ने निर्णय भएको छ । विपद्बाट प्रभावित नागरिकको राहत तथा आवश्यक सहयोगका लागि कर्मचारीको तलब र पदाधिकारीको पारिश्रमिक तथा बैठक भत्ताबाट रकम योगदान गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

निर्णयअनुसार अधिकृत प्रथम श्रेणीका कर्मचारीले आफ्नो सुरु तलब स्केलको आठ दिनबराबरको रकम योगदान गर्नेछन् । त्यसैगरी अधिकृत द्वितीय श्रेणीका कर्मचारीले छ दिन र अधिकृत तृतीय श्रेणीका कर्मचारीले चार दिन बराबरको तलब योगदान गर्ने निर्णय गरिएको छ । सहायकस्तरका कर्मचारीबाट दुई दिनबराबरको तलब तथा श्रेणीविहीन कर्मचारीबाट एक दिनबराबरको तलब योगदान गरिनेछ ।

त्यस्तै, प्राधिकरणका अध्यक्षले आफ्नो १० दिन बराबरको तलब र दुई बोर्ड बैठक भत्ता योगदान गर्ने निर्णय भएको छ । प्राधिकरणका बोर्ड सदस्यहरूले समेत दुई दिनको बोर्ड बैठक भत्ताबराबरको रकम विपद् प्रभावितका लागि योगदान गर्ने निर्णय गरिएको छ ।

भोटेकोशी बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाले आ–आफ्नो क्षेत्रबाट सहयोग गरिरहेका छन् । दूरसञ्चार क्षेत्रसमेत विपद्का समयमा सञ्चार सम्पर्कलाई निरन्तरता दिनुपर्ने महत्त्वपूर्ण क्षेत्र भएकाले प्राधिकरणले सेवा प्रदायकलाई प्रभावित क्षेत्रमा सेवा सञ्चालन तथा विपद् व्यवस्थापनमा आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।

प्राधिकरणले विपद्का समयमा सञ्चार सेवा अवरुद्ध हुन नदिन तथा प्रभावित क्षेत्रमा दूरसञ्चार पूर्वाधारको पुनःस्थापना र सेवा सञ्चालनलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग

काठमाडौँ। नेपाल चलचित्र कलाकार सङ्घले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु पाँच लाख २५ हजार ५२५ सहयोग गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको उपस्थितिमा सङ्घका अध्यक्ष उत्तम केसीले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सिंहदरबारमा उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि कलाकारहरूबाट रकम सङ्कलन गरी कोषमा जम्मा गरिएको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष केसीले बाढी प्रभावित क्षेत्र नुवाकोटका जनप्रतिनिधिका रूपमा मन्त्री तिमिल्सिनाले खेलेको भूमिकाको प्रशंसा गर्दै चलचित्र क्षेत्रका विभागीय मन्त्रीको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको बताउनुभयो ।

सङ्घका निवर्तमान अध्यक्ष मोहन निरौलाले नेपाल चलचित्र कलाकार सङ्घको स्थापना सामाजिक सेवाको भावनासहित भएको उल्लेख गर्दै सङ्घले आफ्नो सामाजिक उत्तरदायित्व निरन्तर रूपमा पूरा गर्दै आएको बताउनुभयो । कठिन समयमा सरकारसँग एकताबद्ध हुँदै प्रभावितलाई सहयोग गर्ने उद्देश्यले कलाकारहरूबाट रकम सङ्कलन गरिएको उहाँको भनाइ थियो ।

सङ्घका अनुसार जेनजी सहिद दिवस तथा नेपाल चलचित्र कलाकार सङ्घको ३८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमबाट सङ्कलित रकम हस्तान्तरण गरिएको हो ।

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौँ । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तरराष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाइएको जनाएको छ।

प्रेस विज्ञप्तिअनुसार यो व्यवस्था लागू भएसँगै अब भ्रमण विवरण लिनका लागि सेवाग्राहीलाई विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनुपर्ने बाध्यताको अन्त्य भएको विभागले जनाएको छ।

एपमा सम्बन्धित व्यक्तिको राहदानीको विवरण देखिने भएकाले व्यक्तिगत विवरण पूर्ण रूपमा सुरक्षित रहने विभागले जनाएको छ । यसअघि भौतिक रूपमा निवेदन दिँदा प्रक्रियागत झन्झट हुने, समयमा विवरण नपाइने र विभागको कार्यबोझ बढ्ने गरेकामा नयाँ प्रविधिले सेवाग्राहीको समय र लागत दुवै बचत गर्नेछ विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले बताए। उनका अनुसार विभिन्न व्यक्ति तथा सङ्घसंस्थाहरूले नागरिक एपबाटै प्राप्त गरेको यो विवरणलाई आधिकारिक स्रोतका रूपमा प्रयोग गर्न सक्नेछन्।

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

काठमाडौँ, २६ भदौः नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका छ । शनिबार हुने फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराउन सके नेपाल लगातार दोस्रोपटक एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कप जित्ने पहिलो टोली बन्नेछ ।

नेपाल सन् २०२३ मा घरेलु मैदानमा आयोजना भएको ५० ओभरको एसिसी प्रिमियर कप च्याम्पियन टोली थियो । सन् २०२४ मा आयोजना भएको प्रिमियर कप टी-२० फम्र्याटमा खेलाइएको थियो । ओमानमा भएको उक्त प्रतियोगितामा नेपालको प्रदर्शन भने साधारण रह्यो । सेमिफाइनलसम्म पुगेको नेपालले चौथो स्थान हासिल गरेको थियो । यसपालि भने सानदार पुनरागमन गर्दै नेपालले फाइनलमा स्थान बनाइसकेको छ ।

तीन वर्षअघिको इतिहास दोहोर्‍याउने मौका

पहिलो संस्करणको उपाधि जित्नेक्रममा नेपालले फाइनलमा युएईलाई सात विकेटले हराएको थियो । नेपाली टोली फेरि तीन वर्षअघिको इतिहास दोहोर्‍याउँदै दोस्रो पटक एकदिवसीय प्रारूपको एसिसी प्रिमियर कपको उपाधि जित्ने योजनामा छ ।

नेपालले दोस्रो पटकको प्रिमियर कपमा भने अपेक्षाकृत प्रदर्शन गर्न सकेन । टी-२० फम्र्याटको उक्त प्रतियोगितामा नेपाल चौथो स्थानमा खुम्चिएको थियो । सन् २०२४ मा आयोजित त्यस संस्करणको प्रिमियर कपमा ओमानलाई हराउँदै युएई च्याम्पियन बनेको थियो । ऊ यसपालि पनि उपाधि रक्षा गर्ने योजनामा छ ।

युएईले जारी संस्करणमा सानदार प्रदर्शन गर्दै नेपालसँगको उपाधि भेट पक्का गरिसकेको छ । उसले समूह चरणको चार वटै खेलमा एकतर्फी जित निकालेको थियो । सेमिफाइनलमा युएईले हङकङलाई सात विकेटले हराएको थियो । युएई अब फाइनलमा पनि आफ्नो आफ्नो लय जारी राख्ने सोचमा छ । यद्यपि विश्वस्तरीय बलिङ रहेको नेपालविरुद्ध जित निकाल्न युएईलाई सहज हुने छैन ।

समूह चरणमा हङकङबाहेक नेपालले तीनवटा खेलमा सानदार जित दर्ता गरेको थियो । सेमिफाइनलमा ओमानविरुद्ध नेपालको बलिङ प्रदर्शन थप उच्कृष्ट रह्यो । १४७ रन बनाउँदा पनि नेपालले ओमानसँगको सेमिफाइनल खेलमा ८७ रनको फराकिलो जित निकाल्यो । उक्त खेलमा नेपालले ओमानी टिमलाई ६० रनमै अलआउट गर्‍यो ।

नेपाल अब युएईविरुद्ध पनि जित निकालेर दोस्रो पटक एसिया कपमा स्थान बनाउन चाहन्छ । एसिसी प्रिमियर कप २०२६ मा तुलनात्मक रूपमा युएई नेपालको सर्वाधिक कठिन प्रतिद्वन्द्वी हो । विगतमा भएका महत्वपूर्ण प्रतियोगितामा नेपालका लागि युएई बाधक बनेको थियो । सोही कारण यसपटक नेपालले उत्कृष्ट योजनाका साथ फाइनल खेल्नुपर्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वक्रिकेटर दीपेन्द्र चौधरीको धारणा छ ।

उहाँले फाइनल खेलमा मलेसियाको पिचको अवस्थाले पनि धेरै फरक पार्ने बताउनुभयो । “फाइनल हुने मैदानमा धेरै पिच छन् । कुन पिचमा खेल हुन्छ, त्यसले पनि धेरै कुराको निर्भर गर्नेछ । सेमिफाइनल खेलिएकै पिचमा फाइनल पनि खेलाइएमा नेपाललाई धेरै फाइदा मिल्नेछ”, नेपाल क्रिकेट सङ्घ (क्यान) को खेलाडी छनोट समितिका पूर्वसंयोजर्कसमेत रहनुभएका चौधरीले रासससँग भन्नुभयो ।

‘स्पिन पिच’मा फाइनल खेल भएमा नेपालको जित प्रतिशत ७० रहेको उहाँको विश्लेषण छ । नेपालभन्दा बढी दबाब युएईलाई रहेको उल्लेख गर्दै उपाधि जित्ने हो भने नेपालका शीर्षक्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न आवश्यक रहेको चौधरीले बताउनुभयो ।

“पछिल्लो केही वर्षयताको नतिजा हेर्ने हो भने युएईविरुद्ध नेपाल हाबी भइरहेको छ । त्यसकारण हामीभन्दा उनीहरू दबाबमा छन् । त्यसो भन्दैमा हामी नै जित्छौँ भन्ने होइन, नेपालको तर्फबाट शीर्ष क्रमका ब्याटरहरूबाट ठूलो पारी देख्न पाइएको छैन । फाइनलमा ओपनिङ जोडी चल्न सके नेपालले उपाधि जित्ने सम्भावना धेरै छ”, उहाँले भन्नुभयो ।

युएईको टोलीमा अधिकांश नयाँ खेलाडी छन् । उनीहरूभन्दा अन्तरराष्ट्रिय क्रिकेटमा नेपाली खेलाडी अनभवी छन् । नेपालले फाइनलमा त्यसको फाइदा उठाउनसक्नुपर्ने पूर्वक्रिकेटर चौधरीको भनाइ छ ।

“युएईको टोलीमा धेरैजसो भारतीयमूलका खेलाडी छन् । उनीहरूसँग एसोसियट र अन्तरराष्ट्रिय क्रिकेट खेलेको त्यति अनुभव छैन । त्यसको फाइदा हामीले उठाउन सक्नुपर्छ । हाम्रो बलिङ र फिल्डिङ उत्कृष्ट छ । ब्याटिङमा थप राम्रो गर्न सके उपाधि जित्न सक्छौँ”, उहाँले भन्नुभयो ।

नेपाल र युएईबीचको विगत

एकदिवसीय अन्तरराष्ट्रियमा हालसम्म नेपाल र युएईबीच १९ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा नेपालले ११ र युएईले ८ खेलमा जित निकालेको इतिहास छ । युएईसँग खेलिएको पछिल्लो पाँच एकदिवसीय खेलमध्ये नेपाल तीन खेलमा विजयी भएको छ । नेपालले युएईविरुद्ध अन्तिमपटक गत मे महिनामा खेलेको थियो ।

उक्त आइसिसी विश्वकप लिग-२ शृङ्खलाको खेलमा नेपाल छ रनले विजयी भयो । सोही शृङ्खलाको पहिलो खेलमा नेपालले युएईलाई ३७ रनले हराएको थियो । नेपाल सोही प्रदर्शन शनिबार हुने फाइनलमा पनि कायमै राख्ने योजनामा छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

काठमाडौं । मोन्भिसो नेपाल फाउन्डेसनले भोटेकोसी नदीको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ ।

भदौ १० गते आएको भोटेकोशी नदीको बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले फाउन्डेसनका अध्यक्ष छोङ्बा लामा शेर्पा र कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीसमेत सहभागी थिए । फाउन्डेसनले आर्थिक सहयोगमा मात्र सीमित नरही बाढी प्रभावितका लागि थप ५० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्ने तयारीसमेत गरेको छ ।त्यस्तै, भोटेकोसी बाढीमा आफ्ना परिवारका सदस्य गुमाएका सोलुखुम्बुका पीडित परिवारलाई थप १० लाख रुपैयाँ सहयोग गर्ने फाउन्डेसनले जनाएको छ ।

मधेशका मन्त्रीलाई अपमान गरेर हटाइयो, जनता बुझ्नेछन् : प्रचण्ड

जनकपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले रास्वपा नेतृत्वको सरकारले मधेश र मधेशी जनतामाथि पहिलो प्रहार गरेको टिप्पनी गरेका छन् ।शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै संयोजक प्रचण्डले मधेशी जनताले आशावादी भएर जिताएको रास्वपा नेतृत्वको सरकारले सबैभन्दा बढी पीडा मधेश र मधेशवासीलाई नै दिएको बताए ।

सरकारले यहाँका गरीब, मजदुर, किसानमाथि नै प्रहार गरेको प्रचण्डको भनाई छ । मधेशसंग जोडिएका भारतका सीमानाकाको रक्षा गर्दै आएका मधेशी जनतालाई नै भारतबाट सामान ल्याउँदा कर लगाउने सरकारको नीतिप्रति आपत्ति जनाए ।

प्रधानमन्त्री बालेन्द्र साहले आफ्नो एक अभिव्यक्तिमा नेपालले भारतको सीमा मिचेको भनेको नै मधेशी जनतालाई लक्षित गरी भनिएको प्रचण्डले बताए । प्रधानमन्त्री बालेनको सो अभिव्यक्तिले मधेशी जनताको अपमान गरेको प्रचण्डले उल्लेख गरे ।

मधेशी जनताले मधेशको छोरो प्रधानमन्त्री हुने भनेर विश्वासका साथ दिएको भोटले उल्टै मधेशी जनतामाथि नै प्रहार भएको उनले बताए ।

सरकारको बजेटर र नियुक्ति पनि मधेशको विरुद्धमा रहेको प्रचण्डको भनाई छ । समय बितेसंगै मधेशका जनताले गलत ठाउँमा भोट दिएको भन्ने समिक्षा गर्ने प्रचण्डले बताए । संयोजक प्रचण्डले अब फेरि जेनजी युवाहरुले यो सरकारको विरोधमा विद्रोह गर्ने दाबी गरे ।

सरकार मधेशी जनता विरोधी रहेको महशुस गरेकै कारणले अहिले रास्वपाकै सांसदहरु सरकारको विरोधमा लागेको उनले बताए । मधेशका मन्त्रीहरुलाई अपमान गरेर हटाइनु, मधेशी जनताले पक्कै बुझ्नेछ र चाँडै मधेशी जनताले सरकारको विरोधमा उत्रिने प्रचण्डले उल्लेख गरे ।

रसुवाको आम जनता जुन आधारमा बाँचिरहेका थिए, त्यो आधार सम्पूर्ण समाप्त भयो : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवामा आएको विनाशकारी बाढीले जिल्लाका आम नागरिक बाँच्ने मुख्य आधार नै समाप्त पारेको बताएका छन् ।शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले बाढीले रसुवाको सामाजिक, आर्थिक तथा मानवीय संरचनामा ठूलो क्षति पुर्याएको बताए । उनले विपद्का कारण रसुवा २० देखि ३० वर्ष पछाडि धकेलिएको र एउटा पुस्ता नै सखाप भएको टिप्पणी गरे ।

यो विपद्ले रसुवाको आम जनता जुन आधारमा पछिल्लो समय रसुवा पर्यटन तथा व्यापारको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको र रोजगारीका लागि धेरै जिल्लाका मानिसहरू त्यहाँ पुग्न थालेको बताए । तर, बाढीले त्यही आधारलाई ध्वस्त पारेको उनको भनाइ छ ।

उनले भने, ‘मैले यति ठूलो विपद् देखेको थिइनँ। यो विपद्को सामाजिक पाटोबाट हेर्ने हो भने रसुवालाई २०–३० वर्ष धकेल्यो यसले। एउटा पुस्ता नै यसले सखाप बनाएको छ। किनकि त्यहाँ यति ठूलो पर्यटन र व्यापारको हब हुन थाल्यो कि धेरै जिल्लाका मानिसहरू काम गर्न जान थाले। यस्तो अवस्थामा यो विपद्ले रसुवाका आम जनता जुन आधारमा बाँचिरहेका थिए, त्यो आधार सम्पूर्ण समाप्त गरेको छ।’

उनका अनुसार बाढीका कारण रसुवाको भविष्य नै संकटमा परेको छ। मानवीय तथा सामाजिक दृष्टिकोणबाट हेर्दा यो रसुवाका लागि अत्यन्त ठूलो विपद्का रूपमा आएको उनले बताए।

उनले भने,‘यति ठूलो विपद् यो मानवीय र सामाजिक दृष्टिकोणले हेर्ने हो भने यो विपद् रसुवाको लागि एकदमै ठूलो विपद्का रूपमा आएको छ । जुन अवस्थामा चिलिमे आउनुअगाडि रसुवा थियो, त्यही अवस्थामा पुर्याएको मलाई महसुस भएको छ।’

घिसिङले बाढीका कारण रसुवाका प्राविधिक जनशक्तिसमेत ठूलो रूपमा प्रभावित भएको बताए । चिलिमे जलविद्युत् आयोजना निर्माणका क्रममा छात्रवृत्ति दिएर पढाइएका स्थानीय प्राविधिक जनशक्तिसमेत अहिलेको विपद्बाट प्रभावित भएको उनको भनाइ छ ।

उनले भने, ‘रसुवाको टेक्निकल मानिसहरू करिब समाप्त नै भएको छ । चिलिमे बनाउँदै हामीले छात्रवृत्ति दिएर पढाएको मानिसहरू पनि थिए। रसुवाको अत्यन्तै दर्दनाक अवस्था देखेर मलाई सारै दुःख लागेको छ ।’

काठमाडौँमा ग्यासको हाहाकार टार्न उद्योगहरू दैनिक १४ घण्टा सञ्चालन

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन्।चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक १४ घण्टा बोटलिङको काम गरिरहेका छन्।

नेपाल एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेतीले चितवनको बाबा, साइबाबा, नेपाल ग्यास गण्डकी, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को जानकी र धनुषाको नेपाल ग्यास, नारायणीले दैनिक दुई सिफ्टमा १५ हजार सिलिन्डर बोटलिङ गरिरहेको जानकारी दिए। उक्त प्लान्टले २४ वटा बोटलिङ उपकरणबाट एक मिनेटमा २४ सिलिन्डर भरिरहेका छन्।धनुषाको नोबेल, बाराको वान (एनएल), जगदम्बा, लियो, अम्बर ग्यास, पर्साको सुप्पर, मनोज, मकवानपुरको साहरा ग्यास र नवलपरासीको चन्डेश्वरी ग्यासले बोटलिङ गराएर सिलिन्डर उपत्यका पठाइरहेका छन्।

उक्त उद्योगले दैनिक १० हजार हाराहारी सिलिन्डर भरेका छन्। तीमध्ये आधा स्थानीय बजारमा र बाँकी काठमाडौँ पठाइरहेको बताइन्छ।कालाखेतीले ट्रक व्यवस्थापनदेखि बुलेटमा ग्यास मगाएर बोटलिङ गरेर बजार पठाउनेसम्मको काममा सबै उद्योगी लागिरहेको बताए।

दैनिक उपत्यकामा ४० हजार सिलिन्डर माग हुने गरेकामा अहिले करिब एक लाख सिलिन्डरको माग रहेको छ। बुधबार ५३ हजार ४६९ सिलिन्डर पठाइएको थियो। यो सङ्ख्या दैनिक तलमाथि हुने गरेको छ।चितवनमा भरिएका सिलिन्डर हेटौँडा हुँदै काठमाडौँ पठाइएको छ। साँघुरो सडक र सवारीको उच्च चापसँगै बेलाबेलामा खस्ने पहिरोका कारण ढुवानी असहज हुँदा समस्या भइरहेको छ।

प्रधानमन्त्री शाहले असोज ८ गते राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्ने भएका छन् । उक्त महासभाको ‘उच्चस्तरीय सामान्य बहस’ आगामी असोज ६ देखि १२ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सञ्चालन हुनेछ । महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसपटकको महासभाको नारा ‘विश्वास पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसङ्घ’ रहेको छ । संयुक्त राष्ट्रसङ्घबाट प्राप्त जानकारीअनुसार हालसम्म उक्त महासभामा ८१ मुलुकका राष्ट्रप्रमुख र नेपालसहित ५० मुलुकका सरकार प्रमुखहरू सहभागी हुनेछन् ।

मन्त्रालयका सचिव अमृतबहादुर राईले नेपालमा गत वर्ष भएको ‘जेनजी’ आन्दोलन, त्यसपछि भएको सफल निर्वाचन र सोमार्फत प्राप्त जनादेशसहित गठन भएको वर्तमान सरकारका प्राथमिकतालगायतका विषयहरू अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न ८१औँ महासभा महत्त्वपूर्ण अवसर हुने बताए ।

सो विषयमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले अन्तरराष्ट्रिय सहयोग एवं सद्‌भाव निरन्तरता र बढोत्तरीका लागि उच्चस्तरबाटै आह्वान गर्नसमेत यो महासभा महत्त्वपूर्ण अवसरका रूपमा रहेको उल्लेख गरे ।

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण नेपालले अपूरणीय क्षति भोग्नुपरेको छ । यसले नेपाल जलवायु सङ्कटको दृष्टिले जोखिममा रहेको पुनर्पुष्टि गरेको छ ।

“विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगन्य योगदान रहे पनि यसका नकारात्मक असरबाट नेपालजस्ता मुलुक सर्वाधिक पीडित हुनुपरेको अवस्था छ”, सचिव राईले भने, “यस सन्दर्भमा प्रधानमन्त्रीज्यूबाट महासभामा जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपबाट नेपालले बारम्बार भोग्नुपरेको जनधनको क्षतिबारे विश्वसमुदायको ध्यानाकर्षण गराउने विषय प्रस्तुत हुनेछ ।”

साथै महासभामा नेपालले नगन्य कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनका नकारात्मक असरहरू भोग्नुपरिरहेको विषयलाई प्रस्तुत गरिने उनले बताए । यस सन्दर्भमा हानि तथा नोक्सानीको सम्बोधनसम्बन्धी कोष लगायतका निकायबाट तत्कालै र उचित क्षतिपूर्ति प्राप्त गर्नेजस्ता जलवायु न्यायसम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने सरकारको तयारी छ ।

नेपालमा जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्न, जलवायुमैत्री कृषि प्रवर्द्धन गर्न र सरोकारवालाहरूको क्षमता विकास गर्न आवश्यक प्रविधि र जलवायु वित्त सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन धनी र विकसित मुलुकहरूलाई सो अवसरमा अपिल गरिने सचिव राईले उल्लेख गरे ।

साथै, नेपालले प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी जङ्गल, विशाल हिमालय क्षेत्र र बृहत् नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षण र प्रवर्द्धनमा पुर्याउँदै आएको योगदानको बारेमा जानकारी गराउने तयारी गरेको छ ।

यस महासभामा नेपालले ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्य निर्माणका लागि कार्य आह्वान विषयक सहायक कार्यक्रम’ आयोजना गर्दैछ । विश्वव्यापी जलवायु परिवर्तनका कारण खासगरी हिमाली क्षेत्रमा परेका नकारात्मक प्रभाव र यसबाट सिर्जित विनासकारी परिणामका बारेमा छलफल गरी विश्व समुदायको ध्यानाकर्षण गर्नु यस कार्यक्रमको मूल उद्देश्य रहेको छ ।

यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनाल अतिकम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासोन्मुख मुलुकहरू, असंलग्न मुलुकहरू, जि–७७ र चाइनालगायतका मन्त्रीस्तरीय बैठकहरूमा सहभागी हुनेछन् ।

साथै,उनले संयुक्त राष्ट्रसङ्घले आयोजना गरेका अन्य उच्चस्तरीय छलफल तथा साइड इभेन्टहरूलाई पनि सम्बोधन गर्नेछन् । यसका अतिरिक्त परराष्ट्रमन्त्री खनालले छिमेकी मुलुकलगायत विभिन्न मित्रराष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्रसङ्घका उच्च पदाधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव राईलगायतका उच्चपदस्थ पदाधिकारीहरू सहभागी हुनेछन् ।

सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित गुदेलमा पहिरो खसेर हुङ्गा (हुङ्कु) खोला थुनिएको छ । खोलामा माथिबाट पहिरो खस्दा करिब १५ मिटर अग्लो बाँध (ड्याम) बनेको र हाल पनि पहिरो खस्ने क्रम जारी रहेको छ ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई उद्धृत गर्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरी जोखिमबारे जानकारी गराएको हो ।

पहिरोले खोला थुनिएपछि बनेको ड्याम जुनसुकै बेला फुट्न सक्ने जोखिम बढेको छ । यसले गर्दा हुङ्गा (हुङ्कु) खोला तथा दुधकोशी नदीको तटीय र आसपासका क्षेत्रमा बाढीको ठूलो खतरा उत्पन्न भएको छ ।

महाशाखाले हुङ्गा खोला र दुधकोशी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई अर्को सूचना जारी नभएसम्मका लागि उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन विशेष अनुरोध गरेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले स्थितिलाई नजिकबाट नियालिरहेका छन् ।

चिलिमे टनेल उद्धारमा नयाँ आशा, १२० मिटर भित्रबाट इको सुनियो

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवास्थित चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्गृहमा फसेका कर्मचारीको उद्धार कार्यमा आफू पनि सहभागी भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत घिसिङले चिलिमे जलविद्युत् कम्पनीको पूर्वप्रबन्ध निर्देशकका रूपमा विद्युत्गृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई प्राविधिक सुझाव, समन्वय तथा सहजीकरण गरिरहेको जानकारी दिएका छन्।

उनका अनुसार विद्युत्गृह जाने मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा जम्मा भएको लेदो, बालुवा र ढुंगा हटाउने काम तीव्र रूपमा भइरहेको छ। उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढिरहेको उनले बताएका छन्।

सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटरभित्र आवाज पठाउँदा त्यसको इको सुनिएको र त्यहाँबाट चिसो हावासमेत आइरहेको घिसिङले बताएका छन्। यसले सुरुङभित्र फसेका कर्मचारी सकुशल रहेको हुनसक्ने आशा बढाएको उनको भनाइ छ।

चिलिमे टनेल उद्धारमा थप प्रगति, बाक्लो लेदो र भग्नावशेष हटाउँदै मुखनजिक पुग्यो टोली

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको वनिाशकारी बाढीबाट प्रभावति चिलिमे जलवद्यिुत आयोजनाको टनेल क्षेत्रमा खोजी तथा उद्धार कार्य तीव्र पारएिको छ ।

टनेलभत्रि फसेकाहरूको खोजीका लागि बिहानैदेखी एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम जारी छ । इन्जिनियर गोकर्ण चौधरीका अनुसार उद्धार टोली अहिले टनेलको मुखनजिक पुगसिकेको छ । बाढीले थुपारेको बाक्लो लेदो, ढुंगामुढा र कंक्रिट हटाउँदै उद्धार कार्यलाई तीव्रता दिइएको उनले बताए ।

नयाँ टनेलभत्रि फसेका श्रमकि तथा अन्य व्यक्तहिरूको अवस्था पत्ता लगाउन र सुरक्षित उद्धार गर्न टोलीले द्रुत गतिमा अवरोध पन्छाउने काम गरिरहेको इन्जिनियर चौधरीले जानकारी दिए ।

रसुवा भोटेकोशी बाढी : १,३८५ शव फेला, ४ हजारभन्दा बढी बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्य जारी रहँदा हालसम्म १ हजार ३८५ जनाको शव तथा मानव अंग फेला परेको छ । नेपाल प्रहरीले अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै खोज, उद्धार तथा व्यवस्थापनको पछिल्लो अवस्था सार्वजनिक गरेको हो ।

प्रहरीको अद्यावधिक विवरणअनुसार फेला परेका शवहरूमध्ये ५४२ पुरुष र ३३८ महिला रहेका छन् भने ५०५ वटा आंशिक मानव अंग फेला परेका छन् । फेला परेका शवमध्ये १०३ वटा शव पहिचान गरी आफन्तलाई हस्तान्तरण गरिसकिएको छ भने १,१४८ शव सुरक्षित तवरले जमिनमुनि व्यवस्थापन गरिएको छ । त्यस्तै पहिचान नभएका १,३२६ विवरण वेबसाइटमा अपलोड गरिएको छ । शव पहिचानका लागि मृतकका १,२८६ र मृतकका आफन्तका १,७१२ गरी कुल २,९९८ जनाको डीएनए नमुना संकलन गरिएको छ ।

बाढीमा परी हालसम्म ४ हजार ८९ जना बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा स्वदेशी नागरिक ३,४७९ (२,९०७ पुरुष र ५७२ महिला) तथा विदेशी नागरिक ६१० (२७२ पुरुष, ३२८ महिला र १० अन्य) रहेका छन् ।

आपत्कालीन उद्धार कार्यअन्तर्गत हालसम्म घाइते तथा प्रभावित गरी कुल ९,२८७ जनाको उद्धार गरिएको छ । जसमा ६,४०७ पुरुष, २,८३० महिला र ५० जना पहिचान नखुलेका रहेका छन् । उद्धार गरिएका नागरिकमध्ये हाल ३,१७६ जना विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रित छन् ।

प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ७,८७५ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । बाढीका कारण २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् भने ६५ जना प्रहरी प्रभावित भएका छन् ।

यसैगरी, विपद् जोखिम न्यूनीकरण तथा सचेतना अभिवृद्धिका लागि प्रभावित क्षेत्रहरूमा १६६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा ४५,२३८ जना स्थानीय नागरिकको सहभागिता रहेको नेपाल प्रहरीले जनाएको छ ।

मुस्ताङ भूकम्प: ३० भन्दा बढी घर क्षतिग्रस्त, सयौं घर जोखिममा

भदौ २३ गते राति मुस्ताङको लोमान्थाङ केन्द्रविन्दु भएर गएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण मुस्ताङको लोमान्थाङ गाउँपालिकामा ढुङ्गा र माटोले बनेका ३० भन्दा बढी घर पूर्ण रूपमा भत्किएका छन्।

वडा नम्बर-५ बाहेक अन्य सबै वडाका अधिकांश घरमा चिरा परेर भत्किने खतरा बढेको छ।नेपाल-चीन उत्तरी कोरलानाकासँग जोडिएको यस क्षेत्रमा घरबारविहीन बनेका नागरिकलाई तत्कालका लागि गाउँकै समाजघर र पाल टाँगेर सुरक्षित रूपमा राखिएको गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए। भूकम्पबाट सबैभन्दा बढी क्षति लोमान्थाङ–३ फुवा र त्यस आसपासका बस्तीमा पुगेको छ।

बुधबारदेखि सुरु गरिएको स्थलगत लगत संकलनका क्रममा हालसम्म वडा नम्बर-३ का नाम्ग्याल, फुवा र ठिङ्गर, वडा नम्बर ४ का किम्लिङ, चुम्जुङ र नाम्डोक तथा वडा नम्बर-१ को छोसेर क्षेत्रका ३० घर पूर्ण क्षतिग्रस्त भएको पुष्टि भइसकेको छ। वडा नम्बर २ र ५ मा भने विवरण संकलनको काम भइरहेको छ।

मङ्गलबार राति ९ बजेर ५३ मिनेटमा पहिलो पटक भूकम्प गएपछि त्यसलगत्तै कम्तीमा नौ पटकसम्म पराकम्पन महसुस गरिएको थियो। लगातारको धक्कापछि उपल्लो मुस्ताङका बासिन्दा सुरक्षित स्थान खोज्दै रातभर खुला आकाशमुनि बस्न बाध्य भएका थिए।

गाउँपालिकाका अध्यक्ष गुरुङ, उपाध्यक्ष छ्युमी विष्टसहितका जनप्रतिनिधि, कर्मचारी, इलाका प्रहरी कार्यालय, छोसेर प्रहरी चौकी, सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रतिनिधिहरू यतिबेला स्थलगत विवरण संकलनमा खटिएका छन्।

पीडितहरूको पुनःस्थापना र राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको उपाध्यक्ष विष्टले बताए।यसअघि लोमान्थाङ-५ स्थित ऐतिहासिक छोदे गुम्बाको बाहिरी पर्खालमा समेत क्षति पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीले भौगोलिक विकटताका कारण क्षतिको विस्तृत र पूर्ण विवरण प्राप्त हुन अझै केही समय लाग्ने बताए।

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज। प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।पटेर्वासुगौली गाउँपालिका–४ भथौरास्थित ७० वर्षीय दुखी महतोलाई निजको घरबाट १८ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरिएको छ भने वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नियमित गस्तीमा रहेको प्रहरी टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो । अभियुक्तद्वयलाई प्रहरी हिरासतमा राखिएको छ ।

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ। भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ ।

त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती ३३ वर्षीय राजेश शर्मा पौडेल र ३१ वर्षीया प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षकी अदिति १६ दिनसम्म नभेटिएपछि उनीहरूका अभिभावकले हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन् । वेपत्ता हुनुभएका इन्जिनियर दम्पतीका आफन्ती विष्णु शर्माका अनुसार राजेश पौडेल परिवारका एकमात्र छोरा हुनुहुन्थ्यो ।

यसैबीच, त्रिशूली हाइड्रोपावरमा कार्यरत तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक तथा त्रिशूली–३ बी आयोजनामा कार्यरत बागलुङ नगरपालिकाका चारसहित १६ जना अझै बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज

दाङ । दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि जहाज अवतरण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार बिहीबार डेढ महिनापछि विमानस्थलमा जहाज अवतरण गरेको हो । नेपाल एयरलाइन्सको १९ सिटे जहाजमा बिहीबार काठमाडौंँबाट आठ जना र दाङबाट चार यात्रुले सेवा लिएका थिए ।

मौसमका कारण अनियमित भएको दाङ–काठमाडौँ हवाईसेवा अब भने नियमित हुने वरिष्ठ अधिकृत भुुसालको भनाइ छ । “मौसमले सेवा अनियमित थियो, अब नियमित हुन्छ”, उनले भने ।

उनका अनुसार अब हप्तामा आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार गरी चार दिन सेवा प्रदान गरिनेछ । हाल हवाई भाडा रु १२ हजारबराबर छ । हवाई सेवा बिहान ९ः०० देखि ११ः०० बजेको बीचमा उपलब्ध हुने भुसालले बताए ।

टरिगाउँमा हाल ७५० मिटरमात्रै धावनमार्ग छ । जहाँ १९ सिटे जहाजमात्रै बस्न सक्छ । कम क्षमताको जहाज बस्ने र त्यो पनि अनियमित हुने भएकाले यस क्षेत्रका यात्रु नेपालगन्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । सो विमानस्थलमा ठूला जहाज बस्नेगरी धावनमार्ग विस्तारका लागि पटकपटक आवाज उठ्दै आएको भए पनि त्यसले सार्थकता पाउन सकेको छैन । विसं २०११ मा स्थापना भएको विमानस्थल विस्तार हुनसकेको छैन । चालु आर्थिक वर्षमा विमानस्थल स्तरोन्नतिका रु २५ करोड बजेट विनियोजन भएको छ ।

टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण

दाङको राप्ती गाउँपालिकाले वडा कार्यालयसम्म पुग्न नसक्नेलाई घरमै पुगेर सेवा प्रदान गर्न थालेको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई वडा कार्यालयसम्म पुगेर सेवा लिन कठिन हुने भएकाले यस्तो नवीकरण अभियान थालिएको हो ।

पञ्जीकरण शाखा प्रमुख नारायणबहादुर राउतका अनुसार सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा टोलटोलमै पुगेर नवीकरण गर्न थालिएको हो । पालिकाको विकट क्षेत्रका रूपमा रहेको वडा नं ९ बाट यो अभियान सुरुआत गरिएको छ । आवश्यकताअनुसार अन्य वडाका गाउँ तथा टोलमा पनि अभियान सञ्चालन गरिने उनको भनाइ छ ।

सामाजिक सुरक्षा भत्ता नवीकरणका क्रममा राष्ट्रिय परिचयपत्रसहित लाभग्राही स्वयं उपस्थित हुनुपर्नेलगायतका कारणले कतिपयलाई समस्या हुने गरेको छ । सोही कारण यस्तो अभियान थालिएको शाखा प्रमुख रावतले बताए । घरमै पुग्दा लाभग्राहीको अवस्था बुझ्नुका साथै आवश्यक कागजात तथा प्रक्रियाबारे जानकारी गराउने गरिएको उहाँको भनाइ छ । सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि असोज मसान्तसम्म समय छ ।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ।अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। त्यस्तै आज विभिन्न छवटा समितिको बैठक पनि बस्दैछ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ५३ पैसा र बिक्रीदर २०७ रुपैयाँ ३४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ३७ पैसा र बिक्रीदर ११० रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ४७ पैसा र बिक्रीदर १२० रुपैयाँ ९४ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर नौ रुपैयाँ ९६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९८ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११ रुपैयाँ ४० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५ रुपैयाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७२ पैसा र बिक्रीदर २३ रुपैयाँ ८१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ २४ पैसा बिक्रीदर ४०५ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ४२ पैसा रहेको छ।त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन,पवित्र कुश घरघरमा भित्र्याएर मनाइदै

काठमाडौँ । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिनमात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेकाे धार्मिक विश्वास छ । आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

पितृसम्मान दिवस

यसै अवसरमा आज छोराछोरीले परम्पराअनुसार आआफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको घुइँचो लाग्छ ।

मेलाका सबै तयारी गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि लाग्ने मेला लाग्छ । बेत्रावतीमा पिता दिवङ्गत भएकाहरू तर्पण, सिदादान र पिण्डदान गर्न पुग्ने गर्छन् । यस वर्ष भोटेकोशी बाढीका कारण बेत्रावतीमा मेला लाग्ने–नलाग्ने निश्चित भएको छैन ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने ‘बुद्धोक्त पाराजिकाय’ नामक धर्मग्रन्थमा उल्लेख छ । आजको दिनमा थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्वका रूपमा लिइन्छ ।

  बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौँ । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै रु ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन (आरडिएनए) प्रतिवेदन’मा तत्काल र दीर्घकालीन पुनः स्थापनाका लागि उक्त खर्च लाग्ने अनुमान रहेको उल्लेख छ ।

प्रतिवेदनमा ‘क्रस कटिङ’ क्षेत्रअन्तर्गत भत्किएका भवनका संरचना हटाउन, विपद् जोखिम न्यूनीकरण र समावेशी पुनः स्थापनाका लागि उक्त रकम खर्च हुने आकलन छ । बाढीका कारण रु ४८ अर्ब २४ करोडबराबरको भत्किएका भवनका संरचना थुप्रिएको छ । त्यसमा करिब दुई अर्बको माटोको थुप्रो छ । यो हटाउनका लागि मात्रै रु ३० करोडभन्दा बढी खर्च लाग्ने अनुमान छ ।

त्यसैगरी, विपद् जोखिम न्यूनीकरणका लागि तत्कालै रु ३५ करोड र दीर्घकालका लागि रु ९४ करोड ४० लाख गरी रु ९४ करोड ७५ लाख बराबर खर्च हुने अनुमान छ । त्यसमा जलमार्गमा रहेको भग्नावशेष हटाउने, नदी व्यवस्थापन तथा बस्ती संरक्षण, कमाण्ड क्षेत्र विकास, उच्च नदी किनाराको कटान तथा पहिरो नियन्त्रण, सिँचाइ प्रणाली पुनः स्थापना तथा बहुविपद् पूर्वसूचना प्रणालीलगायतको विकासका लागि उक्त खर्च लाग्ने देखिएको हो ।

प्रतिवेदनले समावेशी पुनः स्थापनाका लागि तत्काल अर्थात् छ महिनाका लागि रु १५ करोड आवश्यक रहेको देखाएको छ । यो रकम असुरक्षित र सीमान्तकृत समुदाय, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अन्य जोखिममा रहेका समूहको आवश्यकता समेटेर पुनः स्थापना तथा पुनर्निर्माणमा खर्च गरिनेछ ।

प्रतिवेदनले भवनको भग्नावशेष, ढुङ्गा, माटो, बालुवा हटाउने काम छ महिनाभित्र ३१।१ प्रतिशत पूरा गर्न सकिने उल्लेख गरेको छ । साथै जोखिम न्यूनीकरण व्यवस्थापनअन्तर्गत ०।४ प्रतिशत काम मात्रै गर्न सकिने प्रतिवेदनको ठहर छ । समावेशी पुनः स्थापना र पुनर्निर्माण भने सो समयभित्र सम्पन्न गर्न सकिने सम्भावना छ ।

तत्कालको पुनरुत्थानका लागि पूर्वाधार क्षेत्रमा रु ६७ अर्ब ४२ करोड खर्च हुनेछ । जसमा ऊर्जा क्षेत्रमा जलविद्युत् र ग्रिड, घरायसी नवीकरणीय ऊर्जा, सडक, पुल, सञ्चार, सफाइ तथा खानेपानी, सिँचाइ र नदीसँग सम्बन्धित काम हुनेछन् । सामाजिक क्षेत्रको पुनरुत्थानका लागि तत्काल रु आठ अर्ब २९ करोड लाग्ने अनुमान गरिएको छ । यसमा निजी घर, सार्वजनिक भवन र सुविधा, शिक्षा, स्वास्थ्य र सांस्कृतिक क्षेत्रमा खर्च हुनेछ ।

उत्पादन क्षेत्रको तत्काल पुनरुत्थानका लागि रु पाँच अर्ब लाग्ने अनुमान छ । यो रकम कृषि, माछापालन, पशुपालन, बैंकिङ, आर्थिक गतिविधि र जीवनयापनमा खर्च गरिनेछ । साथै भग्नावशेष हटाउन र विपद् जोखिम न्यूनीकरणका लागि तत्काल अर्थात् छ महिनाका लागि रु छ अर्ब ६० करोड लाग्ने आकलन छ ।

‘अबको बजेटमा दलित अधिकार दशकका रूपमा विशेष कार्यक्रम ल्याइने’

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले अब आउने बजेटमा ‘दलित अधिकार दशक’ का रूपमा विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।

धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेश बादी उत्थान विकास समितिको दोस्रो सम्मेलनमा मुख्यमन्त्री भट्टले दलित समुदायमाथिको छुवाछूत अन्त्य गर्दै आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउने उद्देश्यले विशेष कार्यक्रम र योजना अघि बढाइने गरी तयारी भइरहेको बताउनुभएको हो ।

मुख्यमन्त्री भट्टले दलित तथा बादी समुदायसहित गरिब, असहाय, महिला, बालबालिका, नवयुवा र सुकुम्वासी समुदायलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम निर्माणको तयारी भइरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारलाई गरिब, असहाय र ‘भुइँमान्छे’ को सरकारका रूपमा स्थापित गर्ने गरी सामाजिक न्याय र सुशासनलाई प्राथमिकतामा राखेर बजेट निर्माणको भइरहेको उल्लेख गर्नुभयो ।

“प्रदेशको औचित्य पुष्टि हुने गरी बजेट निर्माण गरिरहेका छौँ । बादी समुदायलगायत भुइँमान्छेको पहिचान, आत्मसम्मान र अधिकार सुनिश्चित गर्नुपर्नेमा हामी सचेत छौँ । सामाजिक विभेद अन्त्य र सामाजिक न्यायका क्षेत्रमा विशेष योगदान पुग्ने गरी बजेट, नीति तथा कार्यक्रम बनाउँछौँ”, मुख्यमन्त्री भट्टले भन्नुभयो ।

देशमा अझै पनि असमानता, विभेद र छुवाछूत कायम रहेकाले यसको अन्त्यका लागि राज्यले अझ धेरै काम गर्न बाँकी रहेको मुख्यमन्त्री भट्टले बताउनुभयो ।

दसवर्षे जनयुद्धले दलित तथा बादी समुदायमाथि हुने विभिन्न प्रकारका विभेद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा राख्दै उहाँले समानता, सामाजिक न्याय र सम्मानमा आधारित समाज निर्माणका लागि राज्यको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।

अल्जेरियाले किन तोड्यो युएईसँग कूटनीतिक सम्बन्ध ?

अल्जेरियाले बिहीबार संयुक्त अरब एमिरेट्स (युएई) सँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । वर्षौँदेखि चल्दै आएको तनावपछि अल्जियर्सले अबु धाबीलाई राष्ट्रिय तथा क्षेत्रीय मामिलामा हस्तक्षेप गरेको आरोप लगाएको छ ।“द्विपक्षीय सम्बन्ध जोगाउन सबै उपायहरू समाप्त भएपछि अल्जेरियाले संयुक्त अरब एमिरेट्ससँग कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ,” अल्जेरियाको राष्ट्रिय टेलिभिजनले घोषणा गरेको छ ।

अल्जेरियाले युएईलाई ‘उत्तेजक र शत्रुतापूर्ण कार्य’ गरेको आरोप लगाएको छ, तर विदेश मन्त्रालयको विज्ञप्तिमा विस्तृत विवरण दिइएको छैन।
“उसले युएई पक्षको ध्यान आकर्षित गर्ने र अल्ेरियाली सरकारले लिएको पछिल्लो कदमको खेदजनक तथा अनुचित व्यवहारबाट हुन सक्ने गम्भीर परिणामबारे चेतावनी पनि दिएको छ,” मन्त्रालयले जनाएको छ ।युएईका अधिकारीहरूबाट यसबारे तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

अल्जेरियाली राष्ट्रपति अब्देलमजिद तेब्बौने प्रायः सम्बोधनमा युएईलाई ‘सूक्ष्म राज्य’ वा ‘साना राज्य’ भनेर उल्लेख गर्दै आएका छन्। उनले यसलाई क्षेत्रका लिबिया, माली र सुडानसहित धेरै देशहरू अस्थिर बनाउन खोजेको आरोप लगाउँदै आएका छन् ।

दुई देशबीचको तनाव पछिल्ला वर्षहरूमा धेरै घटनाहरूले बढाएको छ।गत वर्ष अल्जेरियाली राष्ट्रिय टेलिभिजनले एमिरेट्सस्थित प्रसारक स्काई न्यूज अरबियाले इतिहासकार मोहम्मद अमिन बेल्घितसँग गरेको अन्तर्वार्तापछि शत्रुतापूर्ण मिडिया अभियान चलाइएको आरोप लगाएको थियो। बेल्घितले अल्जेरियाको आदिवासी अमाजिघ संस्कृति अस्तित्वमा छ कि छैन भन्ने विवादास्पद टिप्पणी गरेका थिए ।

बेल्घित अल्जेरियामा जेल परेका थिए तर पछि तेब्बौनेद्वारा जेल सजाय माफी पाएका थिए । अल्जियर्स र अबु धाबीबीच थप मतभेद उसको इजरायलसँगको कूटनीतिक नीतिमा आएको फरक दृष्टिकोणबाट पनि आएको हो, जसमा सन् २०२० मा एमिरेट्सले इजरायलसँग सम्बन्ध सामान्यीकरण गरेको घटना पनि समावेश छ ।