`

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर। पूर्वराष्ट्रपति डा। रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताउँदै उनीहरूलाई आगामी दिनमा पनि देशको विकासमा निरन्तर योगदान गर्न आग्रह गरेका छन् ।

व्यावसायिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले सिजन मिडियाको प्रस्तुतिमा आज ललितपुरमा आयोजित ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड नेपाल २०२६’ को ग्रान्ड अवार्ड समारोहमा उनले नेपालसहित विभिन्न एसियाली मुलुकका व्यक्तित्वलाई सम्मान गर्ने अवसर महत्वपूर्ण भएको बताए ।

नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद साफिकुर रहमानले एसियाली समाजमा उत्कृष्टता, समर्पण र योगदानको सम्मान गर्दै युवासहित सबैलाई समाजसेवाका लागि प्रेरित गर्ने तथा नेपाल–बङ्गलादेशबीच जनस्तरको सम्बन्ध र सांस्कृतिक सहकार्य सुदृढ गर्ने मञ्चका रूपमा अवार्ड कार्यक्रमको प्रशंसा गरे ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफलता निरन्तरको लगनशीलताबाट प्राप्त हुने बताउँदै विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरेकोमा आयोजकप्रति आभार व्यक्त गरे । उनले सम्मानित व्यक्तित्वलाई समाजप्रति जिम्मेवार भएर क्रियाशील रहन आग्रह गरे ।

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

आइतबार जाभा र बोर्नियो टापुबीच चल्ने एउटा डुङ्गा खराब मौसमका कारण डुब्दा कम्तीमा छ जनाको मृत्यु भएको र १३० जना बेपत्ता रहेको इन्डोनेसियाका उद्धारकर्ताहरूले बताएका छन् ।

भाइर्गो ट्रान्सपोर्ट ८ नामक डुङ्गामा २४३ यात्री र चालक दल थिए । यो जहाज पूर्व जाभाको सुराबायाबाट प्रस्थान गरेपछि आइतबार बिहानै आफ्नो कम्पनीसँग सम्पर्कविहीन भएको थियो ।

इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय बासार्नासले पछिल्लो अपडेटमा छ जनाको मृत्यु र १३० जना बेपत्ता रहेको जनाएको छ। समाचार तयार पार्दासम्म १०७ जनालाई उद्धार गरिएको छ ।

उद्धार संस्थाका अनुसार जहाजमा २१३ यात्री र ३० चालक दलका सदस्य थिए।

इन्डोनेसियाका यातायात मन्त्री डुडी पुर्वागान्धीले जहाज पानीमा पल्टिएको बताउनुभयो ।

“हामीले प्राप्त गरेको जानकारी अनुसार हेलिकोप्टर निगरानीबाट जहाज पल्टिएको देखिन्छ तर डुबेको छैन। दिउँसो ३ बजेसम्म यो अझै डुबेको थिएन, तर पल्टिएको अवस्थामा छ,” उहाँले बन्जरमासिनमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।

स्थानीय खोज तथा उद्धार प्रमुख आई पुटु सुदायनाले जहाजको कप्तानले सम्पर्कविहीन हुनुअघि मालिकलाई जहाज पानीमा ‘ढलिकरहेको’ बताएको यसअघि एएफपीलाई जानकारी दिनुभएको थियो ।

उद्धारकर्ताहरूले २.५ मिटर (८.२ फिट) सम्मका छालसँग जुधेर फेरीसम्म पुग्नुपरेको सुदायनाले पत्रकारहरूलाई बताउनुभयो ।

“जहाजका लागि यो अत्यन्त जोखिमपूर्ण छ । हाम्रो ४० मिटर लामो बासार्नास जहाज समेत ठूलो जोखिममा छ,” उहाँले भन्नुभयो ।

एउटा बासार्नास हेलिकोप्टर पनि अपरेसनमा सहभागी भएको उहाँले थप्नुभयो ।

जहाजको अन्तिम सम्पर्क जाभा सागरमा, गन्तव्यबाट करिब १५० किलोमिटर (९३ माइल) टाढा पत्ता लागेको थियो ।

बन्जरमासिन समुद्री बन्दरगाह प्राधिकरणका प्रमुख हेरी पुरवान्तोले सवारी साधन पनि रहेको डुङ्गा आइतबार बिहान २ बजे सम्पर्कविहीन भएको बताउनुभयो ।

“हामीले घटनाको रिपोर्टमा छिटो प्रतिक्रिया दियौँ ।अहिले हाम्रो मुख्य ध्यान र प्राथमिकता जहाजमा सवार सबैको सुरक्षा हो र हामी समन्वित उद्धार अपरेसन परिचालन गरिरहेका छौँ,” हेरी पुरवान्तोले भन्नुभयो ।

इन्डोनेसियामा समुद्री दुर्घटना नियमित रूपमा सुनिने घटना हुन् । कुल १७ हजारभन्दा बढी टापु भएको यो द्वीपसमूहमा दैनिक यातायात र पर्यटनका लागि डुङ्गा यातायातमा धेरै निर्भर छ।

कमजोर सुरक्षा मापदण्ड र अप्रत्याशित मौसम यस्ता विपत्तिका मुख्य कारण हुन्।

युद्धका बाबजुद पनि दुबईसँग इरानको आर्थिक सम्बन्ध तोड्न कठिन

पुरानो दुबईका बजारहरूमा इरानबाट आएका केशर, जीरा, पिस्ता र बदामले अझै पसलहरू भरिएका छन्, मानौँ खाडीका दुई किनार युद्धले छुट्याइएका छैनन् ।

गत महिना संयुक्त अरब इमिरेट्स (युएई)ले तेहरानसँग व्यापार र वित्तीय लेनदेन रोकेको घोषणा गरेको थियो । तेहरानले अमेरिकी आक्रमणको जवाफमा अमेरिका–मित्र देशलाई निशाना बनाउँदै रणनीतिक हर्मुज जलमार्गमा आफ्नो पकड कसेको छ।

इरानी व्यापारीहरू बलियो रूपमा स्थापित रहेको पुरानो दुबईमा दशकौँदेखि युएईको वित्तीय केन्द्र र दक्षिणी इरानबीच बनेका सम्बन्धहरू तोडिने विश्वास उनीहरू गर्दैनन् ।

सन् १९६३ मा बुबाले स्थापना गरेको किराना पसल चलाउने मोर्तेजा असादी भन्नुहुन्छ, “युद्ध सुरु भएदेखि केही इरानी उत्पादनहरू दुर्लभ भएका छन् र अरूको मूल्य बढेको छ । पर्सियन खानामा प्रयोग हुने जेरेसक भनिने साना राता जामुन जस्ता धेरैजसो परम्परागत खाद्य पदार्थ उपलब्ध छन् ।”

“यो आइरहेको छ। कसरी? मलाई थाहा छैन, तर आइरहेको छ,” उहाँले भन्नुभयो ।

एएफपीसँग गोप्यताका सर्तमा कुरा गरेका दुई थोक बिक्रेताले अझै इरानबाट, विशेष गरी ओमानी बन्दरगाहमार्फत सामान ल्याइरहेको बताउनुभयो ।

“हामी अब इमिरेट्सबाट निर्यात गर्न सक्दैनौँ, तर केही सामान भित्र्याउन सक्छौँ,” सँगै रहेका अर्का एक व्यक्तिले बताए ।

छोटो अवरोधपछि हवाई सम्पर्क पुनः सुरु भएपछियास्सरको केशर पसलमा यो बहुमूल्य मसला उत्तरपूर्वी इरानको मसहदबाट हवाई मार्गबाट आउँछ ।

–दुबईको इरानी समुदाय–

दुबईमा ठूलो इरानी समुदाय छ । यो सङ्ख्या केही लाख रहेको अनुमान छ । यसले युएईको व्यापारिक विकासमा योगदान पु¥याएको छ र तेहरानसँगका विभिन्न तनावका अवधिसँग जुधेको छ ।

सन् २०१२ मा अमेरिकाले इस्लामिक गणतन्त्रविरुद्ध प्रतिबन्ध कसेपछि ‘दुबईका मानिसहरूले अबु धाबीका साझेदारलाई यो व्यापार, प्रतिबन्ध जे भए पनि, जारी राख्नुपर्ने बताए । उनीहरूको विचारमा यसले युएई अर्थतन्त्रमा योगदान पु¥याइरहेको छ,” लन्डनस्थित बोर्स एण्ड बजार फाउन्डेसन थिंक ट्यांकका मेहरान हगिरीयानले एएफपीलाई बताउनुभयो ।

सन् २०२४ मा युएई इरानमा सामान भित्र्याउने मुख्य प्रवेशद्वार थियो, जसले ३० प्रतिशतभन्दा बढी आयात ओगट्यो, जसको मूल्य २१ अर्ब डलर थियो।

विश्व व्यापार सङ्गठनका अनुसार यो इरानको तेस्रो ठूलो ग्राहक पनि थियो, जसले करिब ७ अर्ब डलरभन्दा बढी अर्थात् १२ प्रतिशत निर्यात लियो ।

दुबई इरानी व्यवसायहरूका लागि महत्त्वपूर्ण वित्तीय केन्द्र हो। वासिङ्टनले यसलाई प्रतिबन्ध छल्न प्रयोग हुने वित्तीय सञ्जालको मुख्य विन्दु भएको आरोप लगाएको छ ।

इरानमाथि आर्थिक दबाबको नीतिअन्तर्गत अमेरिकाले अगस्टको अन्त्यमा इरानका व्यापारिक साझेदारलाई लक्षित नयाँ उपाय घोषणा ग¥यो र इरानको बैङ्क मेल्लीको दुबई शाखाका निर्देशकलाई प्रतिबन्ध लगायो।

संस्थाले भने ग्राहकलाई सेवा दिने काम जारी राखेको छ ।

“हामी वर्षौंदेखि प्रतिबन्धमा छौँ,” दुबईका दुई शाखामध्ये एकका कर्मचारीले निसास्सिएर भन्नुभयो ।

–प्राथमिकता परिवर्तन हुन्छ–

हगिरीयानका अनुसार अबु धाबीको इरानसँग सम्बन्ध निलम्बनको घोषणा तेहरानलाई वार्ता टेबुलमा फर्काउने प्रयासको अंश हो र यसले खाडी देश र अमेरिकासँगको एकरूपता देखाउने उद्देश्य राख्छ ।

तर यसले अनौपचारिक प्रवाह वा दुवै किनारका निजी अभिनेताबीचका गहिरो जरा गाडेका लेनदेनलाई अनिवार्य रूपमा काट्ने छैन।

दीर्घकालमा स्थायी विच्छेदले दुबईको अर्थतन्त्रमाथि नै भार पार्न सक्छ।

“यो अचानक काटेर प्रभाव नपर्ने गरी ठूलो हिस्सा छोड्न गाह्रो छ। त्यो हिस्सा सजिलै प्रतिस्थापन गर्न सकिँदैन,” उहाँले जोड दिनुभयो ।

दुबईमा एउटा सम्मेलनमा इमिरेती व्यवसायी र इमिरेटका पूर्व वरिष्ठ अधिकारी नासिर अल–शेखले यी चिन्तालाई कम महत्व दिनुभयो र भन्नुभयो, “इरान ‘केही वर्षअघि जस्तो इमिरेटको अर्थतन्त्रका लागि अब त्यति महत्त्वपूर्ण छैन’,”उहाँले भन्नुभयो ।

“सम्बन्ध पारस्परिक रूपमा लाभदायक थियो”, उहाँले भन्नुभयो, “युद्धको समयमा प्राथमिकता परिवर्तन हुन्छ । राष्ट्रिय सुरक्षा पहिले आउँछ।”

बुर दुबईको आफ्नो पसलमा असादी वर्तमान सङ्कटबाट व्यापार बाँच्नेमा विश्वस्त देखिनुहुन्छ ।

“त्यहाँ पानी देख्नुहुन्छ?” उहाँले युएईलाई दक्षिणी इरानको तटबाट छुट्याउने खाडीतिर इशारा गर्दै भन्नुभयो, “पानीले पहाड पनि तोड्न सक्छ।”

भोटेकोशी बाढी : प्रभावित क्षेत्रबाट ४ हजारभन्दा बढीको हवाई उद्धार, जलविद्युत आयोजनाका सुरुङमा खोजी तीव्र

काठमाडौं । विपद् प्रभावित विभिन्न क्षेत्रहरूमा नेपाली सेनासहितको संयुक्त टोलीले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ । आज साँझ साढे ६ बजेसम्मको विवरण अनुसार सेनाले हवाई साधनमार्फत विभिन्न भोटेकोशी बाढी प्रभावित इलाकाहरूबाट हालसम्म कुल ४ हजार १ सय ५७ जनाको सकुशल उद्धार गरेको छ । उद्धार गरिएकाहरूमा ३ हजार ८ सय ७४ जना स्वदेशी तथा २ सय ८३ जना विदेशी नागरिक रहेका छन् ।

विशेषगरी रसुवा र नुवाकोटस्थित विभिन्न जलविद्युत आयोजनाहरूमा स्वदेशी तथा विदेशी विज्ञसहितको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ ।

‘कम्पोजिट क्विक रियाक्सन टिम’ तथा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ । लाङटाङमा संयुक्त टोलीले सुरुङभित्र ड्रोन परिचालन गरी खोजी गरे तापनि हालसम्म केही फेला पर्न सकेको छैन ।

चिलिमे सुरुङभित्र जम्मा भएको लेदो र गेग्रान (डेब्रिज) हटाउन एक्साभेटर र डोडर प्रयोग गरिएको छ । हालसम्म करिब ८५ मिटर सफा गरिएको छ भने खोला वारपार गर्न नजिकै तुइन जडान कार्य भइरहेको छ ।

माथिल्लो त्रिशूली–१ मा नेपाली सेना र आयोजनाका प्रतिनिधिहरू संयुक्त रूपमा खोजीमा जुटेका छन् ।

त्रिशूली–३ ‘ए’ पावरहाउस तथा सुरुङ इलाकामा टोलीले खोजी कार्य जारी राखेको छ । त्रिशूली–३ ‘बी’ मा तीन वटा एक्साभेटर र एउटा ब्याकहो लोडरको सहायताले उत्खनन गर्दै आवास गृह रहेको गहिराइसम्म पुगेर खोजी कार्य अघि बढाइएको छ ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी (पूर्व) का प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालित छन् । टोलीले घाइतेहरूको उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, सडक खुलाउने तथा आपत्कालीन स्वास्थ्य उपचार प्रदान गरिरहेको छ ।

एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा

काठमाडौँ। जापानमा आगामी असोजमा हुने २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।नेपाल ओलम्पिक कमिटीले आज दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीका अन्य सदस्यमा रोहितकुमार पौडेल, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, लोकेश बम, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, कुशल मल्ल, नन्दन यादव, ललितनारायण राजवंशी र शेर मल्लले रहेका छन् ।टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहनुभएको छ ।

अटोरिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली। कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।

मिलनचोकमा बाटो पार गर्ने क्रममा धनगढी उपमहानगरपालिका–२ आदर्श टोलका १८ वर्षीय अङ्कित गुप्ताले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ स ६११ नम्बरको अटोरिक्साले चौराहाबाट भन्सारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ५९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–८ ‘क’ गाउँका १४ वर्षीय क्रिस गोतामेको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक कैलालीको घोडाघोडी नगरपालिका–८ का २२ वर्षीय दिनेश थापा घाइते भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पश्चिम एसियामा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै

काठमाडाैँ। इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ्दो सुरक्षा चुनौतीको सामना गरिरहेको साउदी अरबका लागि पछिल्लो अवस्था थप जटिल बन्दै गएको छ।

इरानसँग सम्बन्धित क्षेत्रीय समूहहरूको गतिविधि बढ्दै जाँदा साउदी अरबको ऊर्जा पूर्वाधार र विश्व बजारमा तेल तथा ग्यासको आपूर्तिमाथि पनि दबाब बढेको छ। इराकी मिलिसियामाथि आरोप लगाइएका ड्रोन आक्रमणका कारण एउटा प्रमुख तेल पाइपलाइन बन्द गर्नुपरेको छ भने इरानले हर्मुज जलडमरूमध्यमा पनि निरन्तर अवरोध सिर्जना गरिरहेको छ।

यी घटनाक्रमले विश्वव्यापी ऊर्जा बजारमा समेत चिन्ता बढाएको छ। लाल सागरको महत्वपूर्ण समुद्री मार्गमा देखिएको जोखिम, पाइपलाइन बन्द हुनु र होर्मुज जलडमरूमध्यमा जारी अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तथा आपूर्तिबारे अनिश्चितता बढेको छ।

विशेषगरी साउदी अरबका लागि अवस्था चुनौतीपूर्ण बनेको छ, किनभने उसको सबैभन्दा महत्वपूर्ण सहयोगी संयुक्त राज्य अमेरिकाको पछिल्लो नीतिलाई लिएर पनि अनिश्चितता देखिएको छ। आगामी अमेरिकी कंग्रेस निर्वाचनलाई ध्यानमा राख्दै ट्रम्प प्रशासनले पहिले नै विवादास्पद र लामो समयदेखि गतिरोधमा रहेको पश्चिम एसिया युद्धलाई थप विस्तार गर्न नचाहेको आकलन गरिएको छ।

यसैबिच हुथीहरूको पछिल्लो प्रगति र प्रमुख पाइपलाइन बन्द हुनुले इरानमाथि विश्वव्यापी आर्थिक दबाब बढाउने रणनीतिलाई पनि बल पुग्न सक्ने देखिएको छ। यद्यपि, हर्मुज जलडमरूमध्यमा इरानको प्रभाव केही कमजोर भएको अवस्थामा क्षेत्रीय शक्ति सन्तुलनमा समेत परिवर्तन देखिन थालेको छ।

बाब अल–मन्देब जलडमरूमध्य विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो। यसको आसपासमा सुरक्षा जोखिम बढ्दा एसिया, युरोप तथा पश्चिम एसियाबिचको समुद्री व्यापार र ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्न सक्ने चिन्ता छ।

पछिल्ला घटनाक्रमले साउदी अरबलाई एकैसाथ आफ्नो सुरक्षा, ऊर्जा पूर्वाधार र आर्थिक हितको संरक्षण गर्नुपर्ने दबाबमा पारेको छ । क्षेत्रीय द्वन्द्व थप विस्तार भएमा यसको असर साउदी अरबमा मात्र सीमित नरही विश्वव्यापी तेल बजार र समुद्री व्यापारमा समेत पर्न सक्ने विश्लेषण गरिएको छ।

हरिओम र निरजको जोडीलाई ब्याडमिन्टन प्रतियाेगिताकाे उपाधि

डडेल्धुरा। डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ।
आइतबार सम्पन्न फाइनल खेलमा हरिओम र निरजको जोडीले योगेश बोहरा र भरतबहादुर ऐरको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। उपाधिसँगै विजेता केसी र मल्लको जोडीले रु २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

यस्तै, उपविजेता बोहरा र ऐरको जोडीले रु १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बोहरा र ऐरले प्राप्त गरेको रकम भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।

विजेता तथा उपविजेता खेलाडीलाई भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए। पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष चटौतले खेलकुदले आपसी भाइचाराको विकास गर्नुका साथै स्वस्थ जीवनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए।

जिल्ला खेलकुद समिति डडेल्धुराका अध्यक्ष जगतबहादुर ऐरले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने बताए। जिल्ला खेलकुद समितिद्वारा आयोजित सो प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो।

जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।“जोखिममा रहेका हिमताल ‘ब्लास्टिङ’ गरेर जलसतह पास गर्नेगरी छलफल अघि बढेको छ। जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले कटाएर जोखिम कम गर्नुपर्छ, आवश्यक तयारी सकिएपछि निर्णय लिनेछौँ,’ उनले भने।

जोखिम घटाउने सम्बन्धमा विज्ञहरुसँग परामर्श लिइरहेको जानकारी दिँदै ऊर्जामन्त्रीले जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिइने बताए। मन्त्री श्रेष्ठकाअनुसार ग्रीन क्लाइमेट फण्ड (जिसिएस) बाट प्राप्त सहयोग परिचालन गरेर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र राष्ट्र सङघीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त अध्ययनअनुसार नेपालमा २१ हिमताल जोखिमयुक्त छन् । कोशी र गण्डकी क्षेत्रमा चारवटा अतिउच्च जोखिमयुक्त हिमताल छन्।

इन्द्रजात्राको तयारी : भक्तपुर पुग्यो गुठी संस्थानको टोली

काठमाडौँ। इन्द्रजात्राका लागि लिङ्गो बनाउन रुख काट्न हिँड्ने साइत गरी यो पर्वको प्रक्रिया आरम्भ भएको छ। प्रत्येक वर्ष भाद्रपद शुक्ल द्वितीयाका दिन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतमा वन यात्रा सुरु गरी लिङ्गोका लागि रुख काट्न वनमा जाने परम्परा रहेको छ ।

त्यसअनुसार आज बिहान ९ः५३ को साइतमा वसन्तपुर दरबार क्षेत्रबाट साइत गरिएको गुठी संस्थानका मुख्य कानुन अधिकृत एवं प्रवक्ता जनक पोखरेलले जानकारी दिए। समितिले इन्द्रजात्राको लिङ्गो उठाउन रुख काट्न जानका लागि वन यात्रा गर्न दिएको साइतमा निस्केर भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताँथलीस्थित नाला सामुदायिक वनमा गइन्छ। इन्द्रजात्रा र बिस्केट जात्राका लागि यही सामुदायिक वनबाट सल्लाको रुख ल्याउने गरिएको संस्थानका कर्मचारी रमेश काफ्लेले बताए।

वनमा पुगेर तरबार र खड्ग एवं रुखको पनि पूजा गरी समितिले नै दिएको साइत रातिको ८ः४७ बजे रुख काटिन्छ। रुख काट्नुअघि बोकाको बलिसहित तान्त्रिक विधिले पनि पूजा गर्ने परम्परा रहेको छ। इन्द्रजात्राको लिङ्गोका लागि रुख काट्न सामुदायिक वनसँग सम्झौता गर्ने गरिएको छ। बिस्केट जात्राको लिङ्गो काट्नका लागि भने ‘टेण्डर’ नै गर्ने गरिएको संस्थानले जनाएको छ।

बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास

काठमाडौं । कृष्णभीर पहिरोबाट सडक सञ्चालनमा ल्याउने कार्य अन्तर्गत परीक्षणको रूपमा काठमाडौँ–चितवनतर्फ एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन पास गराइएको छ।

पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसारत्यसैगरी, चितवन–काठमाडौ तर्फबाट एउटा भारी सवारी साधनसमेत सफलतापूर्वक पास गराइएको छ।सडकलाई पूर्ण सञ्चालनमा ल्याउने कार्य तीव्र गतिमा जारी छ।

नेपाल–चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्नेमा झलनाथ खनालकाे जोड

काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।‘फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजम’ द्वारा राजधानीमा आयोजित दुई दिने ‘काष्ठमण्डप डाइलग’ तेस्रो शृङ्खलाको आज समापन गर्दै उनले तीव्र आर्थिक, वैज्ञानिक तथा प्राविधिक विकास गरिरहेको चीनबाट नेपालले लाभ लिनसक्नुपर्ने बताए।

नेपाली कम्युनिष्ट पार्टीका नेता खनालले दुई देशबिचको सम्बन्धलाई अझ समुन्नत बनाउँदै लैजानुपर्नेमा जोड दिए। नेपाल–चीन सम्बन्धका लागि बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय वातावरण’, ‘पार्टी निर्माण र सुशासनका अनुभव आदानप्रदान’, ‘व्यावहारिक सहयोगः भूराजनीति, व्यापार र कनेक्टिभिटी’, ‘जलवायु उत्थानशीलता र सीमापार जोखिम घटाउने’, ‘नेपाल–चीन सांस्कृतिक तथा जनस्तरको सहयोग’ र ‘युवाको भूमिका : अर्को पुस्ताको मित्रता निर्माण’ बारेमा विचार आदानप्रदान भएको थियो।

ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

नारायणगढ । ‍नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत तुइलखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर यसको दीर्घकालीन समाधान गर्न सडक डिभिजन कार्यालय लागिपरेको छ ।

गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप (ढलान) बनाउँदै ‘नेलिङ’ (किला/रड ठोकेर बलियो बनाउने) प्रविधि अपनाउने तयारी गरिएको हो । सडक डिभिजन भरतपुरले नेलिङसँगै रसाएको पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) र बायोइन्जिनियरिङ (जैविक) प्रविधि प्रयोग गरिने जनाएको छ ।

सडक डिभिजन भरतपुरका प्रमुख इञ्जिनियर नारायणप्रसाद लामिछानेका अनुसार अहिले तुइलखोलामा माथिबाट खस्ने ठूला ढुङ्गा काटेर पन्छाउने काम भइरहेको छ । उनले भने, “सात दिनयता माथिका ठूला ढुङ्गा काटेर फाल्ने काम भइरहेको छ । अहिले अलि गाह्रो स्थानमा थोरै जनशक्तिले काम गरिरहेका छन् । ठूला ढुङ्गा काटेर पन्छाएपछि थप जनशक्ति र उपकरण परिचालन गरेर काम अघि बढाउने तयारीमा छौँ ।”

उनका अनुसार तुइनखोलामा गर्न लागिएको पहिरो रोकथामको कार्यमा मुख्यत नेलिङ प्रविधि प्रयोग गरिनेछ । स्लोपको प्रकृतिअनुसार टू-डाइमेन्सनल (द्वि-आयामी ढाँचा) र त्रि-आयामी ढाँचा (थ्री-डाइमेन्सनल रेट) प्रयोग गरी बायोइन्जिनियरिङमार्फत पहिरो रोकथामका उपाय अवलम्बन गरिने उनले बताए ।

अहिले पहिरोको भिर काटेर ढुङ्गा फाली स्लोप बनाउने काम भइरहेको छ । त्यसपछि उक्त स्थानमा ‘नेलिङ’ प्रविधि अपनाइने इञ्जिनियर लामिछानेले बताए । पहिरो जाने क्षेत्रमा जमेको तथा रसाएको पानीले भूगोललाई कमजोर बनाउने भएकाले पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’को समेत व्यवस्थापन गरिने उनको भनाइ छ । उनले भने, “मुख्य रूपमा यहाँ नेलिङ प्रविधि प्रयोग गरिनेछ । स्लोपको अवस्था हेरेर डाइमेन्सनल नेट प्रयोग गर्ने र बायोइन्जिनियरिङलाई प्राथमिकता दिने योजना छ ।”

इञ्जिनियर लामिछानेले एक महिनाभित्र नेलिङको काम गर्ने तयारीमा रहेको बताउँदै माथिका ठूला ढुङ्गा पन्छाएपछि सडक अवरुद्ध हुने अवस्था नआउने जानकारी दिए । उक्त खण्डमा बिहान ८ः३० देखि बेलुकी ६ः०० बजेसम्म प्रत्येक दुई घण्टाको समयमा आधा घण्टाका लागि मात्रै सवारी आवागमन खुला गर्ने गरिएको छ । बेलुकी ६ः०० देखि बिहान ८ः०० बजेसम्म भने सवारीसाधन निरन्तर सञ्चालन भइरहेका छन् ।

‘विचारसँग विचारले लडौँ, प्रश्न र आलोचना गरौँ तर हिंसा नगरौँ’ – ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहले शिक्षामन्त्रीको कार्यक्रममा असहमति जनाउन र विरोध गर्न पाइने भए पनि हिंसात्मक गतिविधि गर्न नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत शाहले कसैलाई लखेट्ने वा कुटपिट गर्ने संस्कार नेपाली समाजको नभएको उल्लेख गरेका छन्।

‘शिक्षामन्त्रीज्यूको कार्यक्रममा असहमति हुन सक्छ, विरोध गर्न पाइन्छ। तर कसैलाई लखेट्ने र कुट्ने संस्कार हाम्रो नेपाली समाजको संस्कार होइन,’ उनले लेखेका छन्।

शाहले सामाजिक सञ्जालमा लेखेका छन् –
शिक्षामन्त्रीज्यूको कार्यक्रममा असहमति हुन सक्छ, विरोध गर्न पाइन्छ।
तर कसैलाई लखेट्ने र कुट्ने संस्कार हाम्रो नेपाली समाजको संस्कार होइन।
विचारसँग विचारले लडौँ,
प्रश्न गरौँ, आलोचना गरौँ
तर हिंसा नगरौँ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टीको १५औँ महाधिवेशनका बारेमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राससलाई जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम। “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब छ हजार २७१ मेट्रिक टन जडीबुटी सङ्कलन गर्ने सम्भावना छ, जबकि गत आर्थिक वर्षमा नेपालकै कुल जडीबुटी निर्यात पाँच हजार ५२६ मेट्रिक टन मात्र थियो”, नेपाल सरकार व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रतिवेदन २०८१ मा भनिएको छ, “यसरी एक वर्षमा निर्यात भएको जडीबुटीको औसत मूल्यलाई आधार मान्ने हो भने पनि सुदूरपश्चिम प्रदेशमा वार्षिक रूपमा रु एक अर्ब २४ करोडको जडीबुटी निकासी गर्न सकिने सम्भावना देखिन्छ ।”

सम्भावनाको यो तथ्याङ्क प्रदेशका नीति निर्माता र राजनीतिक नेतृत्वका लागि नयाँ होइन, तर सङ्घीयता कार्यान्वयन भएको करिब नौ वर्ष पुग्दा पनि प्रदेशमा न आयुर्वेद औषधि उत्पादन उद्योग स्थापना भएको छ, न जडीबुटी प्रशोधन केन्द्र । यहाँसम्मकी जडीबुटी प्रशोधन र औषधि उत्पादनका लागि आवश्यक बृहत् सम्भाव्यता अध्ययनसमेत हुनसकेको छैन ।

आयुर्वेद क्षेत्रका जानकारहरूले भाषण, दस्तावेज र नीति बहसमा यहाँका अधिकांश नेता तथा जनप्रतिनिधिले सम्भावनाको कुरा गरे पनि अवसर आएको बेला कार्यान्वयनमा चासो नदेखाएको आरोप लगाउँदै आएका छन् । आफूहरूले सम्भावनाको उपयोग कसरी गर्ने भनेर सुझाउँदै आए पनि हालसम्म त्यसको सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।

सरकारी आँकडामै सुदूरपश्चिमको बझाङ जिल्लाबाट मात्रै करिब १७ लाख ५५ हजार ३१५ किलो, डोटीबाट आठ लाख ६५ हजार ५००, दार्चुलाबाट सात लाख ७४ हजार ५४, अछामबाट छ लाख ८७ हजार ३००, बाजुराबाट छ लाख छ हजार १९८, डडेल्धुराबाट पाँच लाख ८४ हजार किलो, कैलालीबाट पाँच लाख ८४ हजार, बैतडीमा तीन लाख ४७ हजार ७७० र कञ्चनपुरबाट ७० हजार किलो जडीबुटी सङ्कलनको सम्भावना देखाइएको छ । यद्यपि, यसको नियमित अद्यावधिक भइरहेको छैन ।

“प्रदेशका जङ्गलमा जडीबुटी छ, बजारमा माग छ र प्रदेशभित्रै औषधिको खपत पनि ठूलो छ भन्नेमा सबै जानकार छौँ । तथापि, जडीबुटीलाई औषधिको बट्टामा रूपान्तरण गर्ने उद्योग भने अझै प्रदेशको प्राथमिकतामा परेको छैन”, यस क्षेत्रका व्यवसायीहरूले विगतदेखि नै भन्दै आउनुभएको छ ।

प्रदेशका हिमाली जिल्लाबाट सङ्कलित यार्सागुम्बा, पाँचऔँले, कुटकी, चिराइतो, सुगन्धवाल र जटामसीदेखि तराईका कुरिलो, सर्पगन्धा, क्यामोमाइल, मेन्था, तेजपात र लेमनग्राससम्मका जडीबुटी बाहिरिन्छन् । ती जडीबुटी प्रशोधन भएर औषधि बनेपछि भने महँगो मूल्यमा पुनः प्रदेशमा भित्रिने गरेका छन् । सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीका निमित्त प्रमुख डा ओमप्रकाश कलौनी प्रदेशमा आवश्यक सानो परिणामको आयुर्वेद औषधि पनि अन्यत्रबाट किन्नुपर्ने अवस्था अन्त्य हुन नसकेको बताउनुहुन्छ । यसको अन्त्यका लागि अन्य प्रदेशमा जस्तै सुदूरपश्चिममा औषधि उत्पादन उद्योग सञ्चालन गरिनुपर्ने उहाँको जोड छ ।

सुदूरपश्चिमका नौ जिल्लामा रहेका प्रादेशिक आयुर्वेद चिकित्सालय, महाकाली आयुर्वेद औषधालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्थानीय नागरिक आरोग्य केन्द्र, निजी क्लिनिक र फार्मेसीको मागअनुसार वार्षिक करोडौँ रकमको आयुर्वेदिक औषधि खपत हुनसक्ने अनुमान रहेकाले आन्तरिक खपतका लागि पनि प्रदेशमै उद्योग स्थापना आवश्यक रहेको छ ।

“हाम्रै प्रदेशमा सम्भव भएका औषधि पनि बाहिरबाट ल्याउनु परिरहेको छ । त्यसमा करिब रु २५ करोडभन्दा बढी बाहिरिइरहेको छ । कच्चा जडीबुटी बाहिर पठाउने र त्यही जडीबुटीबाट बनेका चूर्ण, वटी तथा अन्य औषधि खरिद गरेर ल्याउने चक्र वर्षौँदेखि दोहोरिँदै आएको छ । थारै लगानीमा यसलाई बदल्न सकिन्छ । त्यसका लागि नेतृत्वको इच्छाशक्तिको खाँचो छ”, निमित्त प्रमुख डा कलौनीले भन्नुभयो ।

‘कच्चापदार्थ, बजार र उत्पादन सम्भावना’

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रतिवेदनअनुसार सन् २०१८ मा रु एक अर्ब ४४ करोड अमेरिकी डलर बराबरको जडीबुटी आयात भएको थियो । जडीबुटीको यो बजारलाई एकातिर नेपालले उपयोग गर्न सक्ने अवस्था विद्यमान छ भने अर्कातिर मूल्ययोगसहित नेपाली जडीबुटीको वस्तु र बजार विविधिकरण गर्न सक्ने सम्भावना पनि छ । सुदूरपश्चिममा उपलब्ध जडीबुटीलाई दिगो व्यवस्थापनको विधिबाट सङ्कलन गरी यस क्षेत्रलाई नेपालकै आयआर्जनको क्षेत्रका रूपमा विकास गर्न सकिने केन्द्रको निष्कर्ष छ ।

हाल प्रदेशमा एक प्रादेशिक आयुर्वेद चिकित्सालय, सात जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, एउटा आयुर्वेद औषधालय (महाकाली), ३३ वटा पालिकास्तरीय आयुर्वेद औषधालय र ५५ नागरिक आरोग्य सेवा केन्द्र (पालिका स्तरीय)ले अनुमानित करिब रु सात करोडको आयुर्वेदिक औषधि बाहिरबाट ल्याउनुपरिरहेको प्रादेशिक चिकित्सालयले जनाएको छ ।

जडीबुटीमा सम्भावनामात्रै नभई उत्पादनको अभ्याससमेत सफल भइसकेको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयले आर्थिक वर्ष २०८२÷८३ मा करिब रु ३२ लाखबराबरका ३१ प्रकारका जडीबुटीजन्य कच्चा पदार्थ खरिद गरी त्यसबाट रु एक करोडभन्दा बढी बजार मूल्यका औषधि उत्पादन गरेको जनाएको छ ।

निमित्त प्रमुख डा कलौनीका अनुसार चिकित्सालयले निःशुल्क वितरणका लागि ३५ प्रकारका अत्यावश्यक औषधिसहित करिब रु एक करोड १६ लाखका औषधि खरिद गरेको छ भने सःशुल्क फार्मेसीबाट करिब रु एक करोडका औषधि बिक्री गरेको छ । “एउटा प्रादेशिक अस्पतालमै वार्षिक सवा दुई करोड रुपैयाँको औषधि खपत हुन्छ । बाँकी संस्थाहरूमा पनि त्यस्तै माग छ । राज्यले सुरुमा थोरै लगानी गरेमा आन्तरिक खपतका लागि औषधि उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण हामीले पेस गरिसकेका छौँ”, उहाँले भन्नुभयो ।

यहाँ पाइने जडीबुटीलाई कच्चा पदार्थका रूपमा बिक्री गर्नुभन्दा प्रशोधन गरी औषधि तथा हर्बल उत्पादन बनाउन सके उल्लेख्य मूल्य अभिवृद्धि गर्न सकिने जानकारहरू बताउँछन् । चिराइतो प्रशोधन गर्दा ३.५ देखि ४.५ गुणा, टिमुरबाट चारदेखि छ गुणा, तेजपात तथा दालचिनीबाट पाँचदेखि आठ गुणा र अमलाबाट १० गुणाभन्दा बढी मूल्य अभिवृद्धि गर्न सकिन्छ । पाषाणभेदबाट छदेखि नौ गुणा, रिठ्ठाबाट पाँचदेखि आठ गुणा, क्यामोमाइल तथा मेन्थाबाट १० देखि २० गुणा र गुर्जोबाट आठदेखि १२ गुणासम्म मूल्य बढाउन सकिने सम्भावना छ ।

किसानले प्रतिकिलो रु ४०–६५ मा बेच्ने ताजा अमलाबाट च्यवनप्राश, त्रिफला चूर्ण तथा क्याप्सुल बनाउन सकिन्छ । त्यस्तै, प्रतिकिलो रु २५–४० मा बिक्री हुने काँचो गुर्जोबाट बन्ने गुर्जो सत्वको मूल्य प्रतिकिलो रु चार हजारसम्म पुग्ने गरेको आयुर्वेद औषधि व्यवसायी ठक्कर बोगटी भनाइ छ ।

योजना छ, अब लगानी आवश्यक

सुदूरपश्चिममा जडीबुटीको सम्भावना छ, तर त्यसलाई उत्पादन, सङ्कलन, प्रशोधन, औषधि निर्माण, गुणस्तर प्रमाणीकरण र बजार व्यवस्थापनसँग जोडेर एउटै मूल्य शृङ्खला निर्माण हुनसकेको छैन । “सुदूरपश्चिमका बाटो–बाटोमा जडीबुटी छ, तर घाँस त हो नि भनेर हेला गर्ने नागरिक छौँ । यसको महत्व बुझाउन सरकारको पनि पर्याप्त ध्यान छैन”, व्यवसायी बोगटीले भन्नुभयो, “पहिले केन्द्रलाई सरापेर बस्थ्यौँ, अब प्रदेश र स्थानीय सरकार छन् । मिलेर काम गर्नुपर्यो । सम्भावनाको मन्त्र जपेरमात्रै भएन ।”

त्यसका लागि सरकारले सहज रूपमा जडीबुटी खेती र त्यसको निकासी पैठारी गर्ने नीति बनाउन आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ । व्यवसायी जयराज भट्ट निजी क्षेत्रले कानुनी झमेला र लगानीको सीमितताका कारण जडीबुटी प्रशोधन उद्योग सञ्चालन गर्न नसकेकाले प्रदेश तथा स्थानीय तहले उपयुक्त वातावरण बनाउन लाग्नुपर्ने सुझाव दिनुहुन्छ ।

“कोरोना महामारीपछि आयुर्वेद औषधिप्रति नागरिकको चासो बढेको छ र विगतको तुलनामा करिब २५ प्रतिशत माग बढेको छ, तर त्यो माग धान्न हामी बाहिरबाटै औषधि ल्याउँछौँ”, उहाँले भन्नुभयो, “आफ्नै प्रदेशबाट सस्तोमा कच्चापदार्थ बाहिरिने र फेरि बट्टामा महँगो औषधि भित्रिने अवस्था अन्त्य गर्न सरकारले काम गर्नुपर्छ । निजी क्षेत्र त्यसमा सहकार्य गर्न तयार छ ।”

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङका प्रमुख डा विजय पुरी पनि उत्पादन हुने ठाउँमै प्रशोधन र औषधि उत्पादन उद्योग नहुँदा जडीबुटीको उपयोग हुन नसकेको बताउनुहुन्छ । “बझाङको कुरा गर्दा यहाँ सैपाल हिमालदेखि चैनपुरसम्म बहुमूल्य जडीबुटी छन् । उच्च मूल्य भएका यार्शागुम्बा, चिराइतोदेखि टिमुर, पाषणभेद, गुर्जोदेखि हाम्रो वरिपरि सजिलै पाइने धतुरो, निर्गुणी, तितेपात्ती, चुत्रोलगायत जडीबुटी पाइन्छन्”, उहाँले भन्नुभयो, “तर, त्यसको उपयोगका लागि नीतिगत व्यवस्था, निर्देशिका छैन । त्यसैले नेपालगन्ज हुँदै भारतलगायत क्षेत्रमा सस्तो मूल्यमा कच्चा पदार्थ गइरहेको छ । अब प्रदेशमै यसको उपयोग हुनेगरी सोच्न आवश्यक छ ।”

यद्यपि, सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाले जडीबुटी, फलफूल तथा तरकारी प्रशोधन उद्योग स्थापना, स्थानीय स्रोतमा आधारित उद्योग क्लस्टर, गुणस्तर परीक्षण प्रयोगशाला, स्थानीय उत्पादनको ब्रान्डिङ तथा प्याकेजिङ र निर्यात प्रवर्द्धनको नीति लिएको छ । महाकाली आयुर्वेद औषधालयका प्रमुख डा सूर्य उपाध्याय अब नीति र हालसम्म भएका छलफल तथा योजना कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुहुन्छ । यहाँका बडिमालिका, खप्तड, अपिनप्पा, सैपाल र रामारोशनलगायत क्षेत्रमा रहेका उच्च औषधीय गुण भएका जडीबुटीलाई उत्पादक कम्पनीले समेत महत्व दिने गरेकाले त्यसको लाभ लिनसक्नुपर्ने उहाँको भनाइ छ ।

“सुदूरपश्चिम जडीबुटीको उद्गमस्थल नै हो । त्यसैले प्रदेशमै प्रशोधन केन्द्र र उत्पादन उद्योग आवश्यक छ । केन्द्र सरकार मातहत रहेको सिंहदरबार बैद्यखानाजस्तै यहाँ पनि संरचना चाहिन्छ भनेर सरकारलाई भन्दै आएका छौँ”, प्रमुख डा उपाध्यायले भन्नुभयो, “सबै सकारात्मक हुनुहुन्छ, अब काम सुरु गर्न ढिला गर्नुहुँदैन ।”

प्रादेशिक आयुर्वेद चिकित्सालय व्यवस्थापन समिति अध्यक्ष कर्णबहादुर बलायरले प्रदेशले आफ्नै उत्पादन केन्द्र बनाउनुपर्ने र त्यसका लागि प्रादेशिक चिकित्सालय तयार रहेको बताउनुभयो । “अब पनि प्रशोधन तथा उत्पादन केन्द्र नबनाउने हो भने सुदूरपश्चिमका बुहमूल्य जडीबुटी बाहिरिने, बाहिरका उद्योगले त्यसबाट औषधि बनाइरहनेछन् र प्रदेशका नागरिक आफ्नै जङ्गलको जडीबुटीबाट बनेका औषधि महँगोमा खरिद गरिरहनेछन्”, उहाँले भन्नुभयो, “त्यसैले अब औषधि उत्पादनमा लगानी गर्ने समय आएको छ । त्यसको सम्भावना र आधार छ । प्रादेशिक चिकित्सालय, यहाँका आयुर्वेद स्वास्थ्य संस्थासँग त्यो जनशक्ति छ ।”

जानकारहरूका अनुसार मध्यमस्तरको मानक आयुर्वेद औषधि उत्पादन केन्द्र निर्माण गर्न रु ४० करोडदेखि रु ६० करोडसम्म लाग्न सक्छ । पूर्वाधार, शास्त्रीय मेसिनरी, फाइटोकेमिस्ट्री तथा हेभी मेटल परीक्षण प्रयोगशाला, प्रमाण प्रमाणीकरण र स्थानीय जडीबुटी खरिदमा आवश्यक सो रकम एकैपटक आवश्यक पर्ने होइन ।

“अत्यावश्यक पूर्वाधारमा रु चार–पाँच करोडबाटै काम सुरु गरेर विस्तार लगानी थप्दै जान सकिन्छ । त्यसका लागि हामीले लगानीको खाकासहित प्रस्ताव तयार गरिसकेका छौँ । प्रदेश सरकारले लगानी गर्न कन्जुस्याइँ गर्नु हुँदैन । लगानीको प्रतिफलका लागि चिन्ता गर्नुपर्ने अवस्था छैन, त्यो हामी सुनिश्चित गर्छौँ”, प्रादेशिक चिकित्सालयका निमित्त प्रमुख डा कलौनीले भन्नुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले प्रदेशमा जडीबुटीको अपार सम्भावना रहेको र त्यसबाट उपयुक्त लाभ लिन कम्तीमा एक तहको प्रशोधन उद्योग बनाउने ध्येयले सरकारले सोचिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“सरकारको सोच बहुउद्देश्यीय जडीबुटी प्रशोधन केन्द्र बनाउने भन्ने छ । यस वर्षको बजेटमा त्यसका लागि सम्भाव्यता अध्ययनलगायत विषयमा बजेट राख्नुपर्छ भनेर छलफल गरिरहेका छौँ । सकेसम्म सरकार आफैँले, नभए सरकारी निजी साझेदारीमा प्रशोधन केन्द्र बनाउन सकिन्छ भन्ने विषय आएका छन् । बजेटमा केही न केही सम्बोधन हुन्छ ।”

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव डा नीरज अर्यालले पनि जडीबुटी र त्यसको आयुर्वेद औषधीय प्रयोगका विषयमा आफूहरू गम्भीर रहेको बताउनुभयो । प्रदेशमा प्रशोधन केन्द्र र औषधि उत्पादन गर्ने विषयमा विभिन्न चरणमा छलफल तथा परामर्श भएकाले अब छिट्टै परिणाम देखिने उहाँको भनाइ छ ।

“प्रचुर सम्भावना छ, तर त्यसमा ठोस काम भएन भनेर हामी चिन्तित छौँ । अब महाकाली आयुर्वेद औषधालयको स्तरोन्नति, त्यही नजिक जडीबुटी प्रशोधन केन्द्र र धनगढीस्थित प्रादेशिक चिकित्सालयमा औषधि उत्पादन तथा ब्रान्डिङका काम गर्ने भन्नेछ”, डा अर्यालले भन्नुभयो, “सबैको जोड रहेमा यसै आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरेर काम गर्न सकिन्छ । यसमा कर्मचारी र राजनीतिक नेतृत्व पनि सकारात्मक छ ।”

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जा । स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ। धान, मकैजस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक रूपमा खुर्सानी खेती थालेका हुन्। तारुखोलामा करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ।

वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजनाअन्तर्गत केदारनाथ कृषि फार्ममार्फत व्यावसायिक रूपमा खुर्सानी खेती गरिएको फार्मका सञ्चालक दयाराम पाठकले बताए। धान, मकै लगायतका खाद्यान्न बालीबाट भन्दा खुर्सानीबाट राम्रो आम्दानी हुने र बाँदरले क्षति नगर्ने भएकाले खुर्सानी खेती विस्तार गरिएको उनले बताए।

“गत फागुनमा लगाएको अकबरे खुर्सानीले अहिले उत्पादन दिन थालेको छ,” सञ्चालक पाठकले भने “उत्पादन भएको जति सबै बजार पठाउने गरेका छौँ, मागअनुसार बजारमा पुर्याउन सकेका छैनौँ।”

हाल दुई–तीन दिनमा करिब ३०० किलो पाकेको खुर्सानी टिपेर बिक्री गर्ने गरिएको छ। यहाँ उत्पादित खुर्सानी यशोदा फुड्स प्रालि, बुटवलस्थित तरकारी मण्डी र स्थानीय बजारमा सहजै खपत हुने गरेको उनले बताए।

“खुर्सानी प्रतिकिलो रु २२० का दरले बिक्री भइरहेको छ,” उनले भने, “यहाँ उत्पादन भएको खुर्सानीले राम्रो बजार पाएको छ। बजारको समस्या छैन, उत्पादन निरन्तर भइरहेको छ।”

पहिलो पटक व्यावसायिक रूपमा खुर्सानी उत्पादन गरिएकाले आगामी दिनमा खेतीको क्षेत्र विस्तार गर्दै लैजाने तयारी गरिएको छ। वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजना (हेफर) ले कृषि प्राविधिक, मल्चिङ प्लास्टिक, मल तथा सुकाउने मेसिन उपलब्ध गराएको छ।

“खेतमा खुर्सानी पाक्ने र टिप्ने क्रम जारी छ। कामदार लगाएर खुर्सानी टिपिरहेका छौँ,” उनले भने, “गर्न सकेको खण्डमा आफ्नै गाउँठाउँमा खेर गएको जमिनबाट पनि राम्रो आम्दानी लिन सकिने रहेछ।”

हालसम्म करिब रु सात लाखको खुर्सानी बिक्री भइसकेको छ। फार्ममा खुर्सानीसँगै माछापालन र कागती खेतीसमेत गरिएको छ। उत्पादित खुर्सानी, कागती, माछालगायत कृषिजन्य वस्तु फार्मकै सवारीसाधनमार्फत कृषक तथा व्यापारीकहाँ ढुवानी गरिदिने गरिएकाले व्यापारी तथा उपभोक्तालाई सहज भएको छ।

देशका यी स्थानमा आज भारी बर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ।

हाल देशभर साधारणतया बादल लागेको छ। कोशी प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।

लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको पहाडी भूभागका साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

काठमाडौँ । नेपालमा कुष्ठरोग प्रभावित व्यक्तिमाथि वर्षौँदेखि हुँदै आएको कानुनी तथा सामाजिक विभेदको सधैँका लागि अन्त्य गर्न व्यापक कानुनी सुधारको प्रक्रिया अगाडि बढाइएको छ ।

औषधिको नियमित सेवन गरेमा छोटो समयमै पूर्ण निको हुने कुष्ठ रोग प्रभावित व्यक्तिप्रति नेपाली समाजमा गरिने व्यवहार र कानुन पीडित मैत्री हुन नसकिरहेको अवस्थामा नेपालमा कुष्ठरोग प्रभावित व्यक्तिविरुद्धको भेदभाव अन्त्यका लागि कानुनी सुधार गर्न लागिएको हो ।

नेपाल कानुन समाजको अग्रसरतामा विद्यमान कानुनी त्रुटिहरूलाई उजागर गर्दै तीनै तहका सरकारको सहभागितामा एकीकृत कानुन निर्माणको बलियो आधार तयार पारिएको छ । स्वास्थ्यको पाटोबाट कुष्ठ प्रभावसम्बन्धी समस्याको पहिचान, उपचार र पुनः स्थापना तथा विभेदकारी कानुनलाई समयानुकूल सुधार गर्न यससम्बन्धी मस्यौदा बनाइ स्थानीय तहसम्म पुगेर छलफल गर्ने तयारी गरिएको समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिए ।

मुलुकी देवानी संहिता, २०७४ मा पूर्ण रूपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रूपमा दृष्टिविहीन वा कुष्ठरोगी भएको व्यक्तिलाई विवाहका सन्दर्भमा विभेदकारी ढङ्गले प्रस्तुत गरिएको थियो । यद्यपि, नेपालको संविधानको धारा १८ (२) ले स्वास्थ्य स्थितिका आधारमा भेदभाव गर्न नपाइने मौलिक हक सुनिश्चित गरेको छ, तर जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ र मुलुकी अपराध संहिता, २०७४ मा यस्तो विभेदलाई स्पष्ट रूपमा दण्डनीय बनाइएको थिएन ।

त्यसैगरी, कुष्ठरोगबाट प्रभावित व्यक्तिको विशिष्ट प्रकारको अपाङ्गतालाई अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ले समेट्न सकेको थिएन भने उनीहरूलाई सामाजिक सुरक्षाको दायराबाट बाहिर राखिनुका साथै स्थानीय तहको भूमिका पनि अस्पष्ट रहेको पूर्वकानुनसचिव धनराज ज्ञवालीले बताए ।

उनले भने, “कुष्ठ प्रभावितको सबैभन्दा ठुलो समस्या भनेकै सामाजिक विभेद हो, त्यसमा सचेतना आवश्यक छ । त्यो भूमिका प्रदेश सरकार र स्थानीय तहबाट हुनुपर्छ ।” कुष्ठ प्रभावितको स्वास्थ्योपचारलाई सुनिश्चित गर्ने कानुनी पाटोबाट व्यवस्थापकीय पक्षमा देखिएको समस्या समाधान गर्नुपर्छ ।

प्रभावितको स्वास्थ्य, कानुनी र संवैधानिक तथा सामाजिक पक्षलाई दृष्टिगत गरी सर्वोच्च अदालतले मिति २०८३ वैशाख १४ गते परमादेश जारी गरेको थियो । मुलुकी देवानीसंहितामा रहेको ‘कुष्ठरोगी भएको’ भन्ने वाक्यांश संविधानको समानता तथा मौलिक हक विपरीत रहेको ठहर गर्दै खारेज गरिदिएको छ । अदालतले विवाहका क्रममा स्वास्थ्य वा शारीरिक अवस्था लुकाउन नपाउने गरी स्पष्ट कानुनी व्यवस्था गर्न तथा कुष्ठरोग प्रभावित व्यक्तिमाथि रहेका सबै विभेदकारी व्यवस्था हटाइ उनीहरूको मानवोचित जीवन र समान अधिकार सुनिश्चित गर्न नेपाल सरकारका नाममा निर्देशन जारी गरेको छ ।

सर्वोच्चको निर्देशन र कुष्ठरोग प्रभावितको अधिकारलाई पूर्ण रूपमा सम्बोधन गर्न छ वटा प्रमुख कानुनलाई समेटेर एकीकृत विधेयकको प्रारम्भिक मस्यौदा तयार पारिएको छ । यस विधेयकलाई थप परिष्कृत र व्यावहारिक बनाउन लुम्बिनी प्रदेश र स्थानीय तहहरूसँग परामर्श गरिँदैछ । स्थानीयस्तरबाट प्राप्त सुझावका आधारमा सङ्घीय तहमा अन्तिम मस्यौदा तयार गरी आवश्यक अग्रिम कानुनी कारबाहीका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने योजना अगाडि बढाइएको छ ।

उक्त कानुनी सुधारबाट कुष्ठरोग प्रभावित नेपाली नागरिकको आत्मसम्मान, मानवअधिकार र समाजमा समान सहभागिताको नयाँ ढोका खोल्ने दृढ विश्वास गरिएको छ । हाल नेपालमा करिब दुई लाखको सङ्ख्यामा कुष्ठरोग प्रभावित व्यक्ति रहेकामा ३० हजार व्यक्ति अपाङ्गताको सिकार बनेको र करिब दुई हजारदेखि दुई हजार ५०० सम्म व्यक्ति बर्सेनि यो रोगको सङ्क्रमणमा पर्ने गरेको पाइएको छ । तथ्याङ्कमा मधेस तथा लुम्बिनी प्रदेशका तराईका ११ जिल्लामा अहिले पनि प्रति १० हजारमा एक जनाभन्दा बढी व्यक्ति कुष्ठ प्रभावित भएकाले ती जिल्लालाई अतिकुष्ठ प्रभावित जिल्ला मानिएको छ ।

नेपालमा सात दशकदेखि कुष्ठप्रभाव निवारणका लागि विभिन्न प्रयास भएकामा यसलाई २०६६ सालमा गम्भीर स्वास्थ्य समस्याका रूपमा नभएको जनाउँदै यो रोग निवारण भएको घोषणा गरिएको थियो । तथापि, अहिले पनि विश्व स्वास्थ्य सङ्गठनले भने यो रोग प्रभावित विश्वका २३ मुलुकको सूचीमा नेपाललाई पनि समावेश गरेको छ । विगतमा कुष्ठ प्रभाव रोकथामका कार्यक्रममा राज्यको प्राथमिकतामा परेको भए पनि कुष्ठ प्रभाव निवारण घोषणापछि प्रभावित व्यक्तिले विभिन्न चुनौती समाधान गरिरहेका छन् ।

पूर्वअर्थसचिव शिशिरकुमार ढुङ्गाना कुष्ठ प्रभावितमाथि समाजमा विद्यमान विभेद, बहिष्करण र राज्यका अवसरबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्दै उनीहरूलाई स्वाबलम्वी बनाउने विषयलाई गम्भीरतापूर्वक उठाउनुपर्ने बताउँछन् । लामो समयदेखि कुष्ठ प्रभावित व्यक्तिले शारीरिक असहजताका साथै समाजमा विद्यमान द्वेषयुक्त मनोवृत्ति र सङ्कुचित मानसिकताका कारण गम्भीर प्रकारको सामाजिक, सांस्कृतिक तथा मानवीय बहिष्करणको पीडा भोग्दै आएका छन् ।

रोजगारी, आय, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा दिगो पहुँचको अभावले गर्दा उनीहरूको व्यक्तित्व विकास र सामाजिक एकीकरणको प्रयास कमजोर बन्दै गएको छ । नेपालको संविधानको धारा ४३ ले सामाजिक सुरक्षाको हक सुनिश्चित गरे तापनि राज्य प्रणालीमा उनीहरूको उपस्थिति न्यून छ । विशेषगरी सङ्घीय संरचनाअन्तर्गत सबैभन्दा बढी प्रभावित मानिएका लुम्बिनी र मधेस प्रदेशमा समेत उनीहरूलाई लक्षित गरेर सञ्चालन गरिने सुरक्षा र सशक्तीकरण कार्यक्रमको अवस्था अति न्यून रहेको यथार्थ औँल्याइएको छ ।

कुष्ठ प्रभावितको स्वास्थ्य र जीवनरक्षाका लागि स्वास्थ्य तथा उपचार सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ । कुष्ठरोगको निःशुल्क र निरन्तर उपचारको सुनिश्चितता गरिनुका साथै उपचारपछि कमजोर हुनसक्ने स्नायु, हातगोडा तथा घाउको नियमित स्याहार र फिजियोथेरापी सेवा उपलब्ध गराउनुपर्ने प्रस्ताव गरिएको छ ।

पूर्वपहिचान र परीक्षणमार्फत अपाङ्गता हुन नदिने व्यवस्था मिलाउने, जटिल अवस्थामा रहेका बिरामीका लागि छुट्टै शय्यासहितको निःशुल्क उपचार गर्ने र आवश्यकताअनुसार विभिन्न उपचारजन्य सहायक सामग्री तथा दैनिक जीवनयापनका साधनको प्रबन्ध गरिनेछ । नियमित उपचार गराइरहेका कुष्ठ प्रभावितको आश्रित परिवारका लागि भरणपोषणको व्यवस्था मिलाउनुका साथै समयमै रोग पहिचान गर्न समुदायमा तालिम तथा सचेतना कार्यक्रम विस्तार गरिनेछ ।

अपाङ्गताको वर्गीकरणका आधारमा फरकफरक दरको सामाजिक सुरक्षा भत्ता दिने, स्थानीय तहको नेतृत्वमा अति विपन्न परिवारका लागि थप पारिवारिक भरणपोषण भत्ताको व्यवस्था गर्ने र कुष्ठ प्रभावित बालबालिका तथा विद्यार्थी सन्तानका लागि विद्यालय दिवा खाजा, निःशुल्क पाठ्यपुस्तक र विद्यालय पोसाक वितरण गर्ने कार्यक्रम अगाडि सारिएको छ ।

कुष्ठ प्रभावितलाई समाजमा पुनर्स्थापित गर्न समुदायमा आधारित पुनः स्थापना कार्यक्रम, शारीरिक पुनः स्थापना, मनोसामाजिक परामर्श, परिवारमा पुनः स्थापना र समुदायमा पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।

समाजमा विद्यमान सामाजिक कलङ्क र भेदभावको अन्त्य गर्न विद्यालयस्तरदेखि नै पाठ्यक्रममा वैज्ञानिक तथा अधिकारमुखी सूचना समावेश गर्ने, सञ्चारमाध्यमबाट तथ्यमा आधारित सूचना प्रवाह गर्ने, स्वास्थ्यकर्मी र जनप्रतिनिधिका लागि सचेतना तालिम सञ्चालन गर्ने तथा विभेदजन्य व्यवहारलाई फौजदारी कसुरका रूपमा कानुनी दायरामा ल्याउने प्रस्ताव गरिएको छ ।

कुष्ठ प्रभावितलाई आर्थिक रूपमा सबल बनाउन सीप विकास तालिम, सहुलियतपूर्ण कर्जा र सामूहिक उद्यमशीलतालाई विशेष रूपमा अगाडि सारिएको पूर्वसचिव ढुङ्गानाको भनाइ छ । कुष्ठ प्रभावितलाई लक्षित गरी सिलाइ–कटाइ, बुटिक, कम्प्युटर तथा डिजिटल सीप, मोबाइल तथा इलेक्ट्रोनिक्स मर्मत, कृषि तथा जैविक खेती, हस्तकला, साना होटल र अनलाइन व्यापारसम्बन्धी तालिम सञ्चालन गरिनेछ ।

व्यवसाय सञ्चालनका लागि बिना धितो समूह जमानीमा ऋण, ब्याज अनुदान, कर्जा सुरक्षणमा प्रिमियम अनुदान, महिला तथा दलित कुष्ठ प्रभावितका लागि थप सहुलियत, र युवाहरूका लागि स्टार्टअप कर्जाको व्यवस्था गरिनेछ । कुष्ठ प्रभावितलाई समेटेर सामूहिक तरकारी खेती, डेरी व्यवसाय, मौरीपालन, बाख्रापालन, सामूहिक पसल तथा खाद्य प्रशोधनका गतिविधि सञ्चालन गरिनेछ । उत्पादित वस्तुको ब्रान्डिङ, प्याकेजिङ, डिजिटल मार्केटिङ, स्थानीय हाटबजार र सरकारी कार्यालय तथा स्थानीय तहको खरिदमा विशेष प्राथमिकता दिने व्यवस्था मिलाइनेछ ।

निजी क्षेत्रसँगको सहकार्यमा रोजगारी सृजना गर्ने र स्थानीय विकास आयोजनामा उनीको रोजगारी सुनिश्चित गरिनेछ । ‘एक पालिका एक आर्थिक पुनः स्थापना’ कार्यक्रमअन्तर्गत स्थानीय तहको सहकार्यमा सीप, पुँजी, प्राविधिक तालिम र व्यवसाय विस्तारको अवधारणा कार्यान्वयनमा ल्याइनेछ । समूहमा बचत परिचालन गर्दै वित्तीय साक्षरता अभिवृद्धि गर्ने र सहकारी संस्थाको माध्यमबाट आर्थिक सवलीकरण गर्ने योजना पनि बनाइएको छ ।

पूर्वसचिव ढुङ्गाना कुष्ठ प्रभावित व्यक्तिको पहिचान र उपचारबाहेक अन्य सामाजिक सुरक्षाको सुविधा नरहेको बताउँछन् । “कुष्ठ प्रभावित व्यक्ति औषधिको सेवनबाट निको हुन्छ, तर अपाङ्गताको अवस्था कायमै रहन्छ, त्यस्तो सामाजिक सुरक्षा कुष्ठरोग भनेर किटान गरिएको छैन”, पूर्वसचिव ढुङ्गानाले रासससँग भने ।

पूर्वसचिव ढुङ्गानाले कुष्ठ प्रभावसम्बन्धी समस्या ठिक भए पनि मनस्थिति र मानसिकतामा परिवर्तन नभएको र ऊ प्रतिको सामाजिक सोच उस्तै रहेको र विभेद कायमै रहेको बताए । “कुनै कुनै पालिकाले कुष्ठरोगीका परिवारलाई स्वास्थ्य बिमाको प्रिमियम शुल्क तिरिदिएका छन्”, उनले भने, “व्यावसायिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले दिने सीप तालिममा मात्र होइन विद्यालय शिक्षामा समेतमा पनि कुष्ठ प्रभावितलाई केन्द्रित गरेर कुनै सेवा सुविधा, कार्यक्रम र छात्रवृत्ति राखिएको छैन ।”

सामाजिक सोचमा परिवर्तन भएका कारण कतिपय कुष्ठ प्रभावित व्यक्ति अझै पनि सुरक्षित आश्रयस्थलमा बसोबास गरिरहेका छन् । “उनीहरूका काम गर्न सक्ने अवस्थामा नरहेकाले विशेष ‘प्याकेज’ आवश्यक छ”, पूर्वसचिव ढुङ्गानाले भने, “बीउ पुँजी दिएर स्वरोजगार बनाउने, उद्यमशीलताका लागि व्याज अनुदान दिने, सामूहिक उत्पादन प्रणालीमा सहभागी गराउनेलगायत कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।”

यी कार्यक्रमको कार्यान्वयनबाट सामाजिक सुरक्षा भत्तामा मात्र आश्रित रहनुपर्ने अवस्थाको अन्त्य गर्दै कुष्ठ प्रभावित व्यक्तिलाई आयआर्जन गर्न सक्ने स्वावलम्बी, आत्मनिर्भर र सक्षम नागरिकको रूपमा समाजमा स्थापित हुने विश्वास व्यक्त गरिएको छ ।

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

काठमाडौँ। हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ ।

विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ ।

दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने अनुभव धर्मशास्त्रविद् प्रा तोयराज नेपालको छ ।

विगत वर्षमा नेपालमा मात्र मनाइने तीजपर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि मनाउन थालिएको छ । तीजको गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालिएको छ ।

नीराहार व्रतको अघिल्लो दिन दरको संस्कृति

तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज बर्तालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रूपमा खाई सोमबारको व्रतका लागि पूर्वतयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् नेपाल बताउनुहुन्छ ।

महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।

विकृति बन्दैछ तीजको संस्कृति

पछिल्ला वर्षहरूमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक बढेको गुनासो सुनिन थालेको छ । एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउनुहुन्छ । व्रत बस्ने शक्तिका लागि भाद्र शुक्ल तृतीयाको अघिल्लो दिन बेलुकी खाइने दर महिनौँ अघिदेखि खानु र व्रतका नाममा खाइने खाद्य पदार्थमा तामसी चिज हुनुले पनि संस्कृतिलाई विकृतितिर लगेको उहाँ सुनाउनुहुन्छ ।

यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीहरूले जोड दिएका छन् । महिनौँअघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रूपमा दर खाने दिनका लागि तोकिएको छ । यो दिन तोकिनुको कारण तृतीयाका दिन नीराहार व्रत बस्नकै लागि भएको नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

पछिल्लो समय सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमका नाममा तामझाम हुने गरेको छ । समाजमा सुरु भएको विकृति रोक्नुपर्ने जिम्मेवारी बोकेका सरकारी कार्यालय नै विकृतिका भासमा जाकिएपछि यसले संस्थागत रूप लिँदै गएको छ । संस्कृतिलाई विकृतिका रूपमा लैजान नागरिकको करबाट चलेका संस्था नै अग्रसर हुनु राम्रो नभएको धर्मशास्त्रविद् भट्टराईको तर्क छ ।

दर खाएर सुरु गरिँदै चारदिने तीज

आइतबार बेलुकी दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीजपर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

यस वर्ष भदौ ३० गते मङ्गलबार भगवान् गणेश उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी पर्व मनाइन्छ । भदौ ३० गते मङ्गलबार ऋषि पञ्चमी पर्व मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौथी प्रातःकालमा तिथि परेका दिन मनाइन्छ । ऋषि पञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।

हरितालिका (तीज) पर्वको पौराणिकता

तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको वर्णन विभिन्न पुराणमा गरिएको छ ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले नीराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरेको विषय पनि पुराणमा उल्लेख गरिएको छ ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको लाम लाग्ने गर्छ । तीजका अवसरमा महिला पुराना साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गर्छन् । भेटघाटका क्रममा वर्ष दिनका सुखदुःखका कुरा गर्छन् ।

तीज सुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’ गीत बजाउने गरेका छन् । तीज आएसँगै समग्र माहोल नै पर्वमय बन्न पुगेको छ । तीजलगत्तै नेपालीले मनाउने ठूला पर्व बडादसैँ र तिहार नेपालीको घरआँगनमा आउने गर्छ ।

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताए ।

भक्तपुरका सञ्चारकर्मीहरूसँग आज सूर्यविनायकमा छलफलका क्रममा उनले घरबास गुमाएकाहरूको लागि प्रदेश सरकारले बस्ती निर्माण गरेर पुर्नवासको व्यवस्था गर्ने बताए ।

उनले भने, “रसुवामा आएको बाढीले बगाएको भोटेकोशी र त्रिशूली नदीको दायाँ–बायाँ क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैन किनकी भोटेकोशी र त्रिशूली नदी किनारका क्षेत्र अझै जोखिमपूर्ण छ, त्यसैले बागमती प्रदेश सरकारले घरबास गुमाएका नागरिकका लागि दीर्घकालीन सोचका साथ बस्ती विकास गर्ने तयारी गरेको छ ।”

उनले त्यस्ता नागरिकका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको बताउँदै नुवाकोटका पीडितका लागि विदुर नगरपालिकामा जग्गा उपलब्ध गराउने भएको र रसुवाका लागि जग्गा खोजी रहेको बताए ।

मुख्यमन्त्री थापाले बागमती प्रदेश सरकारले बाढी तथा विपद् प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढाएको बताए । तत्कालीन राहतसँगै प्रभावित नागरिकलाई दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनस्र्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको बताए ।

मुख्यमन्त्री थापाले भने, “भोटेकोशीमा गएको बाढीका प्रभावितलाई उद्योग वाणिज्य महासङ्घ तथा उद्योगीहरूसँगको सहकार्यमा रोजगारीको व्यवस्था गर्ने भएका छौँ । त्यसका लागि हामीले पहल र छलफल सुरु गरिसकेको छौँ । त्यसैगरी प्रभावित क्षेत्रका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा, आवासको जिम्मेवारी लिने प्रदेश सरकारले निर्णय गरी आवश्यक प्रक्रिया अगाडि बढाएका छौं ।”

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । सरकारले पाँच वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिएअनुरुप पछिल्लो समय सिक्टा सिँचाइको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताए ।

बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने यो अवधिमा पूर्वाधार निर्माणतर्फ करिब रु २४ अर्ब खर्च भइसकेको छ । मर्मत सम्भारको काम नियमित रुपमा चल्ने भए पनि आयोजना निर्माणको बाँकी काम पाँच वर्षमा सक्ने गरी अहिले काम भइरहेको छ ।

आर्थिक वर्ष २०६२र६३ मा सुरु भएको यो आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका अगैयास्थित राप्ती नदीमा तीन सय १७ मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी ४२ हजार सात सय ६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ ।

नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण सुरु गरिएको यो आयोजनाको पश्चिम मूल नहरबाट ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । हाल २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको आयोजना निर्देशक आचार्यले जानकारी दिए ।

विसं २०६४ मा स्वीकृत पहिलो गुरुयोजनाअनुसार रु १२ अर्ब ८० करोड लागतमा आव २०७०/७१ सम्पन्न आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजना निर्माणका क्रममा सरकारले थप नौ हजार हेक्टर क्षेत्रमा नहर बनाउने गरी पूर्वी मूल नहर निर्माणलगायत अन्य संरचना थप गरिएको थियो । आव २०७१/७२ मा संशोधित स्वीकृत गुरुयोजनाले रु २५ अर्ब दुई करोडमा २०७६/७७ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको थियो ।

संशोधित गुरुयोजनाको लक्ष्यअनुसार आव २०७६र७७ मा पनि आयोजनाले पूर्णता नपाएपछि पछिल्लो पटक २०७९ मा स्वीकृत गुरुयोजनाअनुसार आयोजनाको सम्पूर्ण काम रु ५२ अर्ब ८९ करोड लागतमा आर्थिक वर्ष २०८९/९० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी मनोजकुमार साहले बताए ।

उनका अनुसार आयोजनाको शाखा र प्रशाखा निर्माणको काम धमाधम भइरहेको छ । निर्माणका लागि थप ३० वटा बोलपत्र आह्वान भएको छ । आयोजनाअन्तर्गत ४५ किलोमिटर पश्चिम मूल नहर निर्माण भइसकेको छ । यो नहरका सिधनिया, अकलघरुवा र गुरुवागाउँ शाखा नहर पनि सम्पन्न हुने चरणमा छन् । डुडुवा शाखा नहर निर्माण भइरहेको छ ।

करिब १६ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको डुडुवा शाखा नहर निर्माण लामो समयसम्म अलपत्र परेको थियो । ठेकेदार कम्पनी ‘कोस्टल पप्पु जेभी’को विवाद र अदालतमा विचाराधीन मुद्दाका कारण अलपत्र परेको नहर निर्माण गत वर्ष विवाद सल्टाएर नयाँ ठेकेदारमार्फत अगाडि बढाइएको हो । पश्चिम मूल नहरअन्तर्गत अरू थुप्रै उपशाखा र प्रशाखा नहर बनाउन बोलपत्र आह्वान भएको सूचना अधिकारी साहले बताए ।

गत आर्थिक वर्ष २०८२र८३ मा मात्रै डुडुवा सिँचाइ प्रणालीअन्तर्गत करिब नौ दशमलव पाँच किलोमिटर, पश्चिम नहरतर्फका शाखा, उपशाखा तथा प्रशाखा गरी नौ किलोमिटर, पूर्वी नहरतर्फका शाखा, उपशाखा तथा प्रशाखा गरी नौ दशमलव पाँच किलोमिटर नहर निर्माण, सिञ्चित क्षेत्र बचाउ तथा संरक्षण कार्यअन्तर्गत सात दशमलव पाँच किलोमिटर तटबन्ध निर्माण र पाँच दशमलव पाँच हेक्टर जमिन अधिग्रहण गरिएको छ ।

गत आर्थिक वर्षमा सिक्टा सिँचाइ आयोजनालाई विनियोजन भएको रु एक अर्ब ५७ करोडमध्ये रु एक अर्ब ४१ करोड करिव ८९ प्रतिशत वित्तीय प्रगति हुँदा भौतिक प्रगति ९६ प्रतिशत बढी भएको सूचना अधिकारी साहले जानकारी दिए । आयोजनाको ५३ किलोमिटर पूर्वी मूल नहर निर्माण अधुरै छ ।

पूर्वी मूल नहरअन्तर्गत बाँधदेखि वैशागाउँ हुँदै करिब ३५ किलोमिटरसम्म नहर बनेको छ । तर नरैनापुर गाउँपालिका क्षेत्रमा निर्माण रोकिएको छ । आयोजनाका दुवै मूल नहरअन्तर्गत शाखा, उपशाखा र प्रशाखा नहर निर्माण पूरा नहुँदा किसानले आवश्यक परेका बेला बालिमा सिँचाइ गर्न नपाएको सिक्टा आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताए ।

पुटिनसँग भेट्न तयार भए जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार सार्वजनिक भएको एक मिडिया अन्तर्वार्तामा युद्ध अन्त्यका लागि वार्ता गर्न मियामीमा हुने जी–२० शिखर सम्मेलनमा रुसी नेता भ्लादिमिर पुटिनसँग भेट्न तयार रहेको बताएका छन् ।

क्रेमलिनले डिसेम्बरमा हुने विश्व नेताहरूको यो भेलामा पुटिन सहभागी हुने कि नहुने भन्ने निर्णय अझै नगरेको जनाएको छ र जेलेन्स्कीलाई वार्ताका लागि रुस आउन पुटिनको माग दोहोर्याएको छ ।

वासिङ्टनले दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा घातक यो द्वन्द्वको समाधान खोज्न लामो समयदेखि अवरूद्ध वार्तालाई पुनः सुरु गर्न खोजिरहेको छ । अमेरिकी वार्ताकारहरूले वार्ता पहलका लागि हालै किएभ र मस्कोको भ्रमण गरेका थिएभने राष्ट्रपति डोनाल्ड ट्रम्प र पुटिनले यस साता फोनमा द्वन्द्वबारे कुराकानी गरेका थिए ।

संयुक्त राज्य अमेरिकाले यस वर्ष प्रमुख अर्थतन्त्रहरूको समूह ( जी–२०)को अध्यक्षता गरेको छ, जसमा १९ देशहरू, युरोपेली सङ्घ र अफ्रिकी सङ्घ समावेश छन् । डिसेम्बर १४–१५ मा नेताहरूको शिखर सम्मेलनपछि अमेरिकाले नेतृत्व हस्तान्तरण गर्नेछ ।

यसपहिले नै जी–२० बैठकमा सहभागी भइसकेका रुसका अर्थमन्त्रीका लागि युक्रेनका केही युरोपेली सहयोगीहरूका कारण असहजता पैदा गरेको बताइएको छ । अर्को साता ऊर्जा मन्त्रीहरूको भेलामा रुसी प्रतिनिधिमण्डल सहभागी हुने तय छ ।

यदि दुवै नेतालाई निमन्त्रणा दिइयो भने डिसेम्बरको शिखर सम्मेलनमा पुटिनसँग भेट्न तयार हुनुहुन्छ कि भन्ने प्रश्नमा जेलेन्स्कीले जर्मन प्रसारक डोयचे भेलेसँग भने, ‘हो, अवश्य ।’

उनले भने, ‘हामी आउनुपर्छ। हामी भेट्नुपर्छ, कुरा गर्नुपर्छ र निर्णय गर्नुपर्छ। यो शब्दको कुरा होइन। मैले उहाँलाई के भन्नेछु वा उनले मलाई के भन्न चाहनुहुन्छ, त्यसको कुनै मतलब छैन।’

उनले थने, ‘महत्त्वपूर्ण कुरा ‘परिणाम’ मात्र हो।

रुसको तास न्यूज एजेन्सीले क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै भनेको छ, ‘हामीलाई अझै थाहा छैन । हामी मियामी जानेछौँ वा छैनौँ।’

पेस्कोभले यसपहिले नेता पुटिनको भनाइ दोहार्‍याए र भने, ‘जेलेन्स्कीले कुनै पनि वार्ताका लागि सन् २०२२ मा युक्रेनमा पूर्ण स्तरको आक्रमण सुरु गरेर युद्ध सुरु गरेको देश रुस आउनुपर्छ । ‘यदि उहाँ साँच्चै पुटिनसँग भेट्न चाहनुहुन्छ भने, पुटिनले पहिले नै भनिसक्नुभएको छ कि उहाँ मस्को आउन सक्नुहुन्छ।’

गत सप्ताहन्तमा अमेरिकी वार्ताकार स्टिभ विटकोफ र जारेड कुश्नरले मस्को भ्रमण गरेका थिए । पुटिन तथा ट्रम्पले पनि यस साता युद्धबारे कुराकानी गरेका थिए । वार्तालाई क्रेमलिनले ‘अत्यन्त स्पष्ट’ र रचनात्मक एक घण्टा लामो टेलिफोन संवाद भनेको थियो ।

क्यानडामा शुक्रबार भएको डोयचे भेलेसँगको अन्तर्वार्तामा जेलेन्स्कीले विटकोफ र कुश्नरको भ्रमण ‘राम्रो सङ्केत’ भएको बताए । उनीहरूले मस्कोसँगै किएभको पनि भ्रमण गरेको स्मरण गर्दै नेता जेलेन्स्कीले संवाद महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

‘यो हाम्रा जनताप्रति सम्मान हो,’ उनले भने ।

जेलेन्स्कीले सेप्टेम्बरको अन्त्यतिर ट्रम्पसँग भेट्ने योजना पनि घोषणा गरेका छन् । वासिङ्टनले मस्को र किएभबिच नयाँ प्रत्यक्ष वार्ताका लागि दबाब दिइरहेको छ ।

वार्ताका उचित वातावरण

सम्भावित वार्ताअघि युक्रेनको अडानबारे सोधिएको प्रश्नमा जेलेन्स्कीले भने, ‘युक्रेन अहिले युद्धमैदानमा गत वर्षभन्दा धेरै बलियो छ । त्यसैले हामीलाई लाग्छ कि हामीसँग अहिले वार्ताका लागि राम्रो स्थिति छ।’

वार्ता यस महिना नै हुन सक्ने किएभले बताएको छ तर क्रेमलिनले सोमबार ‘स्थान वा मितिबारे छलफल गर्न अझै चाँडो’ हुने बताएको थियो ।

अघिल्ला धेरै वार्ताका चरणहरू असफल भएका छन् । दुवै पक्षबिच विश्वास कम छ र मस्को वा किएभले आफ्ना अडान परिवर्तन गरेको कुनै सङ्केत छैन ।

मस्को र किएभ दुवैले हालैका महिनाहरूमा एकअर्कामाथि लामो दूरीका आक्रमण बढाएका छन्, जसले युद्धको सुरुवाती दिनपछिको सबैभन्दा उच्च नागरिक मृत्युदर निम्त्याएको छ ।

शुक्रबार रातभरिका रुसी आक्रमणमा युक्रेनमा चार जना मारिएका छन्, जसमा दक्षिणी जापोरिज्झियामा दुई जना र मध्य क्रिभी रिहको अर्सेलरमित्तल कारखानामा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारी र स्टिल निर्माताले शनिबार बताएका छन् ।

‘दक्षिणी बन्दरगाह सहर ओडेसामा रुसी मिसाइल र ड्रोन आक्रमणले आवासीय भवनहरूमा क्षति पुर्‍यायो, जसले पूरा तल्लाहरू नष्ट गरे र ३५ जना घाइते भए,’ क्षेत्रीय गभर्नरले बताउनुभयो ।

अन्तर्वार्तामा जेलेन्स्कीले युक्रेनका सहयोगीहरूलाई रुसी हवाई आक्रमण रोक्न थप मिसाइल उपलब्ध गराउन आफ्नो आह्वान दोहोर्‍याए ।

युक्रेनलाई अमेरिकी बनावटका ‘प्याट्रियट एयर डिफेन्स प्रणाली’का लागि थप ‘इन्टरसेप्टर’ मिसाइलहरू तत्काल आवश्यक छ, तर वासिङ्टनले इरानसँगको युद्धमा ठूलो सङ्ख्यामा प्रयोग गरेपछि अमेरिकी आपूर्ति घटेको छ।

वासिङ्टनले पर्याप्त मिसाइल उपलब्ध गराउने कि नगराउने स्पष्ट नभएको जेलेन्स्कीले बताए । ‘उनीहरूसँग ‘बेच्ने र सहयोग गर्ने राजनीतिक इच्छाशक्ति छ, तर उत्पादन त्यति धेरै छैन,’ उनले भने ।

उनले युरोपेली सहयोगीहरूबाट थप सहयोगको पनि आग्रह गरे र भने, ‘हामीलाई साँच्चै समर्थन गर्ने सबै युरोपेलीहरूसँग हामीलाई चाहिने कुरा छ।’

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि मधेस प्रदेशमा भइरहेको सुझाव सङ्कलन कार्यक्रमलाई प्रभावित पार्नेगरी घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताएका छन् ।

मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कुनै पनि भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई रोक्न नसक्ने स्पष्ट पारेका हुन् ।

उनका अनुसार सिरहा र सप्तरीमा आयोजित अन्तरक्रियामा १०० भन्दाबढी विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको सहभागिता थियो ।

कार्यक्रममा दुई जना व्यक्तिले हल्लाखल्ला गरेपछि सहभागीको सहभागिता प्रभावित हुने अवस्था आएपछि आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको उनले बताए । “एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याएर अनावश्यक भ्रम फैलाउने प्रयास गरिएको छ”, मन्त्री पोखरेलले भरेका छन् ।

उनले लोकतान्त्रिक व्यवस्थामा असहमति जनाउने अधिकार सबैलाई भए पनि घटनाको पूर्ण सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु उचित नहुने बताए।

मन्त्री पोखरेलले उक्त घटनापछि पनि शिक्षा सुधारका लागि आफ्नो अभियान नरोकिएको जानकारी दिए । उनका अनुसार सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय र मदरसा शिक्षालयमा पुगेर विद्यार्थीसँग संवाद गर्नुका साथै सोमबार मात्रै करिब आठदेखि १० वटा विद्यालयमा पुगेर सुझाव सङ्कलन गरिएको थियो ।

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ ।

रसुवाको भोटेकोशीमा गएको बाढीका कारण ९रसुवागढी–केरुङ०नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट माल वस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम बढ्दो रहेको उल्लेख गर्नुभयो । शुक्रबारमात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन रु २७ करोड ११ लाख राजस्व सङ्कलन गरेको छ । भदौ २२ पछि मुस्ताङ भन्सारबाट दैनिक औसत रु ३० करोड हाराहारीमा राजस्व सङ्कलन हुने गरेको प्रमुख चुडालको भनाइ छ ।

प्रमुख चुडालका अनुसार शुक्रबारमात्रै ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधन (इभी) को भन्सार जाँच पास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन् । रसुवागढीनाका बन्द भएको भदौ १० गतेपछि भदौ २५ गते शुक्रबारसम्म कोरलानाकाबाट नेपाल भित्रिएका ४३४ वटा कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधनको भन्सार कार्यालयमा जाँच पास गराइएको उनले बताए।

चालु आव २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका कन्टेनर र विद्युतीय सवारीसाधनको भन्सार जाँच पास गरिँदा रु दुई अर्ब ३१ करोड ४४ लाख राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुडालले बताए । भदौ ९ गतेसम्म १३३ कन्टेनर र १६३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका थिए ।

विसं २०८२ भदौअघि उपल्लो मुस्ताङका नागरिकका लागिमात्रै बाह्रै महिना खुला गरिएको कोरलानाका गत वर्ष तातोपानी र रसुवागढीनाका बाढीपहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ ३१ गतेदेखि कोरलानाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो । भन्सार प्रमुख चुडालका अनुसार गत आव २०८२/८३ मा उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले रु छ अर्ब ९२ करोडको राजस्व सङ्कलन गरेको थियो ।

त्यस वर्ष पैठारीतर्फ रु १४ अर्ब ४१ करोड र निकासीतर्फ रु २० करोड ५० लाखबराबरको माल वस्तुको कारोबार भएको थियो । गत वर्ष कोरलानाका हुँदै तीन हजार २२३ वटा विद्युतीय सवारी र एक हजार ८७३ वटा कन्टेनरको जाँच पास गरिएको थियो ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ १८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १९ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ३५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ९० पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६३ पैसा र बिक्रीदर ४० रुपैयाँ ७९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११ रुपैयाँ ४१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६७ पैसा र बिक्रीदर २३ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ६० पैसा र बिक्रीदर ४९९ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ७२ पैसा बिक्रीदर ४०६ रुपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ८९ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन – माधव नेपाल

पर्सा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता हुनुपर्नेमा जोड दिएका छन् । आज वीरगञ्जमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, सङ्घीयता, समावेशितालगायत प्राप्त संवैधानिक अधिकार संरक्षण गर्दै नागरिकका हक पूर्ण कार्यान्वयनका लागि पनि परिवर्तनकारी शक्तिबीचको कार्यगत एकताको आवश्यकता औँल्याए ।

सहसंयोजक नेपालले भने, “संविधान सामान्य परिवर्तनबाट आएको होइन, अहिलेको संविधानको रक्षा गर्न राजनीतिक दलबीच एकता, सहकार्य र समन्वय आवश्यक छ । जनतालाई सुशासनसहितको सेवा प्रवाहमा सबै एक भई अगाडि बढ्नुको विकल्प छैन ।”

उनले आदिवासी महिला, जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछपिडएको क्षेत्रलगायत सिमान्तृकत समुदायको संवैधानिक अधिकार संरक्षण गर्नु हामी सबैको दायित्व भएकाे बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सहसंयोजक वर्तमान सरकारप्रति जनताको तीव्र आकाङ्क्षा भएकाले जनताको चाहनाअनुसार काम गर्नुपर्ने धारणा राखे । यही भदौ १० गतेको भोटेकोशी बाढीपछि बेपत्ताको खोजी र उद्धारमा सरकारले थप तीव्रता दिनुपर्ने उनको भनाइ छ ।

नेपालले भने, “देश अहिले विपत्मा छ, हिमाली बाडीका कारण ठूलो जनधनीको क्षति भएको छ । खोजी कार्यमा सरकारले उपलब्ध स्रोतसाधन, विभिन्न सङ्घसंस्था तथा राजनीतिक दललाई पनि उद्धार र राहतमा खटाउन सक्नुपर्छ ।”

उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि गरे ।

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौँ । हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत कोष सञ्चालक परिषद् सदस्यहरुसहित कर्मचारी, स्थानीयवासी र भक्तजनहरुको उपस्थितिमा पशुपति क्षेत्रका बागमती पारिको १५ शिवालय, मृगस्थली, किरातेश्वर, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, भुवनेश्वरीलगायत मुख्य मुख्य क्षेत्रमा सफाइ गरिएको हो ।

त्यस क्षेत्रका अव्यवस्थित संरचनालाई पनि व्यवस्थित गराइएको छ । पन्ध्र शिवालय क्षेत्रमा शुक्रबार राति भएको आगलागीबाट एउटा शिवालयमा पुगेको क्षतिको अनुगमन गरी फोहर हटाइएको छ । ढुङ्गैढुङ्गाले बनेको शिवालयको भित्र काठ प्रयोग भएको र त्यहाँ बस्नेले भित्री भागमा कपडा राखेकाले आगलागी भएको पाइएको कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले जानकारी दिए ।

आगलागीका कारण आज बिहानसम्म त्यस क्षेत्रमा धुवाँको मुस्लो छुटेको थियो । शुक्रबार रातिको घटनापछि पशुपति क्षेत्रका कुनै पनि शिवालय एवम् मन्दिर क्षेत्रमा अनधिकृत रुपमा बसोबास गर्न नदिइने पनि उनले बताए ।

पशुपति क्षेत्रलाई सफा, स्वच्छ राखी नेपाली महिलाको महान् पर्व हरितालिका (तीज)को तयारीका लागि सहयोग गर्न आज पशुपति क्षेत्रमा विशेष सफाइ गरिएको हो । स्वच्छ पशुपति निर्माणमा सामाजिक उत्तरदायित्वको भावनाले सफाइमा जुटौँ भन्ने नाराका साथ सफाइ अभियान सञ्चालन गरिएको उनले सुनाए ।

साउनको महिनाको तयारीका लागि असारको अन्ति शनिबारदेखि कोषले पशुपति क्षेत्रमा सुरु गरेको सफाइ अभियान प्रत्येक हप्ताको शनिबार बिहान जारी राखिएको छ । पशुपति क्षेत्रमा आज नवौँ हप्ताको सफाइ गरिएको हो ।

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ। भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला पारी सम्बन्धित व्यक्तिलाई जानकारी नदिई राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार गजुरी गाउँपालिका–६ बन्छेटारका अन्दाजी ३५ वर्षीय रामबहादुर तामाङलाई गरगहनासहित नियन्त्रणमा लिइएको हो ।

गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारका लीलाबहादुर बोगटीको घर बगाएको थियो । सोही क्रममा बगाएर ल्याएका गरगहना तामाङले भदौ ११ गते फेला पारी कसैलाई जानकारी नदिई आफ्नो घरमा राखेको भन्ने जानकारी बोगटीले अन्य व्यक्तिबाट थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले सुन जस्तो देखिने पहेँलो धातुका बाला तीन टुक्रा, दुई थान झुम्का, दुई थान सिक्री, दुई थान औँठी, रातो पोतेमा जडित दुई थान मङ्गलसूत्र तथा चाँदीजस्तो देखिने सेतो धातुका दुई जोर पाउजु बरामद गरेको छ ।

तामाङमाथि चोरीसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय गजुरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौँ। रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले भदौ महिनाको पुरस्कार घोषणा यही असोज १ गते गरिने जानकारी दिए । करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो ।

साउन १ गतेदेखि सञ्चालनमा आएको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत यही भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपद् आएपछि स्थगन गरिएको थियो ।

महानिर्देशक भुसालले पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट हरेक दिनको एक जनाका दरले १५ जनालाई एक लाख ३३ हजार ३३४ रूपैयाँका दरले विजेता छनोट गरिने बताए ।

भदौ १ देखि १५ सम्म कारोबारमा संलग्न उपभोक्तामध्येबाट एक जनालाई रु १० लाख रूपैयाँ राशिको करदाता बम्पर प्रोत्साहन पुरस्कारका लागि छनोट गरिनेछ । त्यसपछि दोस्रो चरणमा, भदौ १६ देखि ३१ गतेसम्मका १६ दिनका लागि १६ जनालाई रु एक लाख ३३ हजार ३३४ पुरस्कारका लागि छनोट गरिने विभागले जनाएको छ ।

भदौ महिनाको दोस्रो १६ दिनका उपभोक्तामध्येबाट एक जना रु १० लाख राशिको बम्पर विजेता छनोट हुनेछन् । असोज १ गते भदौ महिनाका रु एक लाख ३३ हजार ३३४ का ३१ जना विजेता र रु १०–१० लाखका दुई जना बम्पर विजेता गरी जम्मा ३३ जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।

पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

काठमाडौँ । पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ ।

पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल गरी बैकल्पिक बाटोबाट ती सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरिएका हुन् ।

निगमका अनुसार सोमबार ४८ हजार १०९, मङ्गलबार ४६ हजार २१८, बुधबार ५३ हजार ४६९, बिहीबार ४५ हजार २३० र बिहीबार ४० हजार ६३६ थान सिलिण्डर काठमाडौँ ल्याएर बिक्री गरिएका छन् ।

मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले यही भदौ १४ गतेदेखि काठमाडौँ, धादिङ र काभ्रेपलाञ्चोकस्थित उद्योगका सिलिण्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर बैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो ।

पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास सिलिण्डर काठमाडौँ ल्याई बिक्री गरिने निगमले जनाएको छ ।

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौँ । नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा विद्युत् गृहमा फसेकाको उद्धारलाई प्राथमिकतामा राखी खोजी गरिरहेको छ ।

सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले रसुवाको स्याफ्रुबेँसीबाट चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म पुग्ने करिब एक किलोमिटर बढी पहुँच सडक निर्माण गरी हराइरहेकाको खोजी जारी राखिएको जानकारी दिए ।

चिलिमे आयोजनाको सुरुङ क्षेत्रमा ठाउँ साँघुरो हुँदा हेलिकप्टरबाट डोजर झार्न नसकिएकाले पहुँच सडक निर्माण गर्नुपरेको हो ।

सेनाको उद्धार टोली त्यस कार्यमा २४सै घण्टा खटिइरहेको छ । उनले भने, ‘त्यहाँ बाढीले ल्याएको एकदमै बाक्लो लेदो रहेछ, हाम्रो टोलीले रातभरि नै सुरुङ सफा गरिरहेका छन् ।’

सेनाका अनुसार माथिल्लो त्रिशूली–१ बाट हालसम्म चार वटा शव सङ्कलन भएको छ ।

त्रिूशली–३ ‘बी’मा र चिलिमेलाई केन्द्रित गरेको उद्धारका प्रयास भइरहेको सेनाले जनाएको छ । त्रिशूली–३ बीमा एक सयभन्दा बढी फौज उद्धारमा खटिइएका छन् । यस्तै, चिलिमे आयोजनाको सुरुङमा अहिले नेपाली सेना र भारतीय उद्धारकर्मीले संयुक्त रूपमा उद्धार प्रयास जारी राखेको छन् ।

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ । इन्द्रजात्रा पर्वको प्रक्रिया भाद्रपद शुक्ल द्वितीयादेखि सुरु हुन्छ । इन्द्रजात्राको लिङ्गो उठाउन रुख काट्न जानका लागि वन यात्रा गर्न जाने साइत भदौ २८ गते आइतबार बिहान ९ः५३ को रहेको समितिका अध्यक्ष एवं सहप्राडा पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

रुख काट्ने साइत राति ८ः४७ बजेको रहेको छ । भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काट्ने परम्परा रहिआएको उनले जानकारी दिए । लिङ्गो नगर प्रवेश गराउने साइत असोज ३ गते शनिबार बिहान ८ः०५ बजे रहेको समितिले जनाएको छ ।

इन्द्रध्वजोत्थानको साइत असोज ७ गते बुधबार बिहान ७ः४७ बजे रहेको पनि सहप्राडा भट्टराईले बताए । यसैगरी, इन्द्रजात्राको मुख्य दिन असोज ९ गते शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ ।

यसैदिन राष्ट्रपतिलगायत अतिविशिष्ट व्यक्तित्वले हनुमानढोकास्थित गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा रहिआएको उनले उल्लेख गरे । असोज १० गते शनिबार माथिल्लो टोल यात्रा गराइने छ ।

असोज १३ गते मङ्गलबार महिलाले मात्र रथ तानेर नानीचा यात्रा गरिन्छ । यसै दिन राति ९ः२५ बजे इन्द्रध्वजाको लिङ्गो ढाल्ने साइत रहेको समितिले जनाएको छ । लिङ्गो ढालेपछि राति नै राष्ट्राध्यक्षले कुमारी, गणेश र भैरवको दर्शन गरी प्रसाद ग्रहण गरेपछि १३ दिन लामो इन्द्रजात्रा समापन हुन्छ ।

राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार गिरफ्तार

काठमाडौं । राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार गिरफ्तार भएका छन् । शनिबार दिउँसो संवाद डबलीमा समसामयीक राजनीतिक विषयमा कार्यक्रम सम्पन्न गरिसकेपछि साँझा ५ः४५ बजे डबली प्राणङगण अनामनगरबाट प्रहरी परिसर भद्रकालीबाट आएको टोलिले गिरफ्तार गरेको हो ।

आज जनक परियारले आयोजना गरेको कार्यक्रम सम्पन्न भएलगत्तै उनलाई गिरफ्तार गरिएको थियो । सो कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीकोसमेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले बाढी पीडितलाई राहतभन्दा आहत दिएको प्रतिक्रिया दिएका थिए ।

यसअघि जेठ १५ गते विवादास्पद अभिव्यक्ति दिएको भन्दै परिसर भद्रकालीले गिरफ्तार गरेको थियो । एकप्तापछि सर्बोच्च अदालतले तरेखमा छाड्न आदेश दिएपछि रिहा भएका थिए । उनले भरखरै मात्र तारेख थामेर आएको र मंसिर २२ गतेको लागि अदालत उपस्थित हुने तारेख लिएर आएको परिवारका एक सदस्यले बताए ।

डा. सिके राउतको दाबी– ‘वर्तमान सरकार पूर्ण रूपमा असफल भइसक्यो’

जनकपुर । जनमत पार्टी अध्यक्ष डा.सिके राउतले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताएका छन् ।अग्रगामी मोर्चाद्वारा शनिबार जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै डा.राउतले रास्वपा नेतृत्वको सरकार हरेक दृष्टिकोणले असफल भइसकेको उल्लेख गरे ।

भाषणमा विदेशबाट नेपाली फर्काउने कुरा गरेको सरकारले विगत चार महिनामा तीन लाख नेपाली विदेश गएको तथ्यमाथि विचार गर्नुपर्ने डा.राउतको भनाई थियो । स्वास्थ्य बीमा रोकेर सरकारले जनतालाई दुःख दिन खोजेको डा.राउतले बताए ।

सीमानाकाबाट एक दर्जन केरा ल्याउँदा पनि रोक्ने सरकारको नीतिको डा. राउतले घोर निन्दा गरे । कसैले सामाजिक सञ्जालमा सरकारको नराम्रो गतिविधिको विरोध गरे तुरुन्त पक्राउ गर्न लगाउने जस्ता कार्यले सरकार पूर्ण असफल भइसकेको प्रमाणित भएको डा. राउतले बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुले विगतमा ठूलो गल्ती गरेका स्वीकारे । उनले पदको लोभमा मुल लक्ष्यबाट आफूहरु भट्किएको बताए ।

उनले मधेशवादी पार्टी तथा नेताहरुले आफ्नो गल्ती स्वीकार्दै अब एकजुट भएर अन्तिम सडक आन्दोलनमा होमिने जानकारी दिए । यादवले छठ पर्वपछि पुनः एक पटक सडक आन्दोलन गर्ने बताए ।

प्रधानमन्त्री बालेन्द्र साहले ‘बल्गर मधेश’ बनाउने भाषण गरेपनि ६ महिना भन्दा बढी भइसक्दा पनि संविधान संशोधनको कुरा विर्सेको अध्यक्ष यादवले सरकारको आलोचना गरे । उनले जनसंख्याको आधारमा बजेट बिनियोजन हुनुपर्ने र संविधान संशोधन हुनुपर्नेमा जोड दिए ।कार्यक्रममा मधेश प्रदेशका ८ वटै जिल्लाबाट २ हजार बढी नेता, कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

युएईलाई ४४ रनले हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ, भदौ २७ –तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले हराउँदै नेपालले दोस्रोपटक प्रिमियर कपको उपाधि जितेको हो ।

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३ मा युएईलाई नै हराएर एसिया कपमा स्थान बनाएको थियो ।

गत संस्करणको विजेता बनेको युएई भने एसिया कप २०२७ मा स्थान बनाउन वञ्चित भयो । फाइनल खेलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९ दशमलव एक ओभरमा २६९ रनमा अलआउट भयो । उसका लागि राुहल चोपराले १०५ बलमा तीन चौका र चार छक्कासहित अविजित १०० रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन ।

यस्तै सोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रीत सिंहले ३३ र खुजैमा चनवीरले १५ रन जोडे । नेपालका लागि बलिङतर्फ करण केसीले तीन, ललितनारायण राजवंशीले दुई, कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र गुलशनकुमार झाले एकरएक विकेट लिए ।

त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनाएको थियो । नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय इनिङ खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको इनिङ खेलेका हुन् ।

एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक हो । यस्तै, आज गुलशनकुमार झाले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ५२ रनको पारी खेलेका हुन् ।

एकदिवसीय अन्तरराष्ट्रियमा गुलशनको यो छैटौँ अर्धशतक हो । यस्तै, अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ र ईशान पाण्डेले १३ रन जोडे ।युएईका लागि बलिङमा इब्रार अहमदले चार, खुजैमा तनवीरले दुई तथा हैदर अली, अबीद उस्मानीले एकरएक एक विकेट लिएका थिए ।

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्म कोषको खातामा रु १३ अर्ब ५४ करोड नौ लाख तीन हजार ११७ मौज्दात छ ।

कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ः०० बजेपछि मात्रै रु २८ करोड २० लाख १४ हजार ३६६ थपिएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा बैंकमा रहेको छ । सरकारले यसअघि उक्त कोषबाट बाढीपीडितका नाममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा गरिसकेको छ ।

त्यस्तै कोषका दुई वटा बैंकका डलर खातामा पनि रकम बढ्ने क्रम जारी छ । भदौ २६ गते साँझ ५ः०० बजेपछि उक्त खातामा एक लाख ५४ हजार ७७० डलर थपिएर कूल दुई करोड ३४ लाख ३८ हजार ८४७ अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जनसहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले बजेट निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाउन आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए ।

“बजेट होलिडेको अवस्था रहेकाले नवगठित सरकारका नीतिगत प्राथमिकताका आधारमा बजेट निर्माणको काम तत्काल अगाडि बढाउने निर्णय भएको छ । यस प्रक्रियालाई प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउँदै आवश्यक संशोधन तथा परिमार्जन गरी अन्तिम रूप दिने प्रक्रिया तीव्र बनाउने र त्यसको अधिकार आन्तरिक मामिला मन्त्रालयलाई दिने निर्णय भएको छ”, उनले भने ।

यसैगरी, विगत १० महिनादेखि प्रदेशको प्रमुख सचिवका रूपमा कार्यरत वैकुण्ठप्रसाद अर्यालको सरुवा भएकाले धन्यवादसहित बाँकी शुभकामना दिने निर्णय गरिएको छ ।

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौँ । भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि सङ्कलित नमुनाका आधारमा अहिले विधिविज्ञान प्रयोगशालामा धमाधम डिएनएन परीक्षण भइरहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को प्रयोगशालामा डिएनए परीक्षण भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले राससलाई जानकारी दिए ।

शव पहिचानका लागि सङ्कलित डिएनए नमुनामा कुनै त्रुटि नहुने गरी सुक्ष्म रूपमा परीक्षण कार्य अघि बढाइएको छ । नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ नेपाल आएका छन् । प्रहरीको विधिविज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटारस्थित प्रयोगशालामा भारतीय र चिनियाँ टोलीले सघाइरहेका छन् ।

डिएनए परीक्षणका लागि चार वटा मेसिन सञ्चालन गरिएको छ । सो मेसिनले आवश्यक तयारीपश्चात ९० मिनेटमा एउटा नतिजा निकाल्छ । अर्को नमुनाको परीक्षणका लागि सो मेसिनलाई पूर्ण रूपमा निर्मलीकरण गर्नुपर्ने हुन्छ ।

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा राखेर ७२ घण्टापछि मात्रै प्रक्रियामा लगिन्छ ।

शनिबार अपराह्नसम्म फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी एक हजार २३० वटा शव माटोमुनि व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ७७९ गरी कुल तीन हजार ६५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।

प्रहरीको प्रयोगशालाको वार्षिक ४०० डिएनए परीक्षण गर्ने क्षमता छ । अहिले दैनिक २५–३० वटा नमुनाको परीक्षण भइरहेको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए । प्रहरीले भदौ १३ गतेदेखि डिएनएको नमुना सङ्कलन गरिरहेको छ । हालसम्म करिब ४०० बढी नमुनाको डिएनए परीक्षण गरिएको छ ।

कतिपय नमुनाको पुनःपरीक्षण गर्नुपर्ने अवस्था आउने विज्ञको भनाइ छ । हड्डी र दाँतको करिब ३० प्रतिशत नतिजा दोहोर्‍याउनुपर्ने हुनसक्ने बताइन्छ ।

फेला परेका शवको नमुनाबाट जतिसक्दो डिएनएन परीक्षण गर्नेगरी काम भइरहेको प्रवक्ता काफ्लेले बताए । डिएनए परीक्षणलाई तीव्र बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा पनि प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

“हेटौँडास्थित प्रदेश प्रहरी कार्यालयमा पनि चाँडोभन्दा चाँडो अर्को प्रयोगशाला सञ्चालन गर्दैछौँ, मेसिन ल्याइसकेका छौँ, ‘सेटअप’ भइरहेको छ, एक हप्ताभित्र सञ्चालनमा आउँछ”, उनले भने । भोटेकोशी विपद्पछिको खोज, उद्धार, शव पहिचान र व्यवस्थापनलाई प्राथमिकतामा राखी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पहल लिइरहेका छन् ।

डिएनए ‘म्याचिङ’ गर्न ‘कोडिस’ सफ्टवेयरको प्रयोग

फेला परेका शव र हराइरहेकाको नजिकको आफन्तको नमूना सङ्कलन गरेर डिएनए म्याचिङ¬ गर्न ‘कम्बाइन डिएनए इन्डेक्स सिस्टम’ (कोडिस) सफ्टवेयर प्रयोगमा ल्याइएको छ ।

“मृतकको र आफन्तको डिएनए निकालेर सफ्टवेरमा हालेपछि त्यसले ‘म्याचिङ’ गर्ने हो”, केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले भने । कोडिस अन्तर्राष्ट्रिय सफ्टवेयर हो ।

“यो सफ्टवेयरले मृतक र आफन्तको डिएनएको रिपोर्ट राखेपछि त्यो सिस्टमले ‘म्याचिङ’ भएको देखाउँछ”, उनले भने, “त्यसपछि सम्बन्धित व्यक्तिलाई आवश्यक कागजातका आधारमा उक्त शव निकालेर अन्तर्राष्ट्रिय अभ्यास र कानुनबमोजिम हस्तान्तरण गर्छौं ।”

डिएनए परीक्षणका कामलाई जतिसक्दो चाँडो सम्पन्न गर्न प्रहरीका त्यससम्बन्धी सम्पूर्ण जनशक्ति परिचालित गरिएको छ । प्रहरीका सबै जनशक्तिलाई कुनै पनि बिदा नदिइ २४ सै घण्टा ड्युटीमा खटाइएको छ ।

“डिएनए प्रोफाइलिङमा स्वदेशी तथा विदेशी जनशक्तिको सहयोग लिइएको छ । विदेशी जनशक्ति पनि नेपालमा आएका छन्”, उनले भने । डिएनए खर्चिलो र समय लाग्ने परीक्षण हो । त्यसका लागि नेपाल सरकारले आवश्यक स्रोत साधनको व्यवस्था गरिदिएको छ ।

मृतकको शव फेला पर्नेक्रम बढिरहेको र आवश्यक उपकरण तथा जनशक्तिको अभावले प्रहरीलाई चुनौती दिइरहेको छ । सातै प्रदेशमा विधिविज्ञान प्रयोगशाला सञ्चालनमा ल्याउन सकिए अहिलेको चुनौती कम हुनेछ ।

नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पाल बाढी प्रभावित क्षेत्रबाट सङ्कलित मृतक र आफन्तबाट सङ्कलित नमुना आउनेक्रम जारी रहेको बताउँछन् । “सङ्कलित नमुनालाई सुरक्षित भण्डारण गर्नुका साथै परीक्षणसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी डिएनए परीक्षणमा अहोरात्र खटिएर कार्य गरिरहेका छौँ”, उनले भने ।

कुनै पनि व्यक्तिको पहिचानका साथै व्यक्तिहरू बीचको जैविक सम्बन्ध स्थापित गर्नका निमित्त डिएनए प्रोफाइलिङ सबैभन्दा प्रभावकारी साधनको रूपमा मानिन्छ ।

शव पहिचानमा प्रहरीका तीन उपाय

फेला परेका शव पहिचानका लागि प्रहरीले तीन उपाय अपनाएको छ । प्रहरी प्रवक्ता काफ्ले डिएनए परीक्षण, शवको औँठा छाप र फोटो भिडान गरेर शवको पहिचानको विधि अलम्बन गरिएको सुनाउँछन् ।

हराएका व्यक्ति र शवको फोटो भिडान गर्न प्रहरीले ‘डिजास्टर भिक्टिम आइडिन्टिफिकेसन’ सफ्टवेयरसमेत विकास गरेको छ । “केही शवको औँठाछाप निकालेका छौँ, त्यसलाई प्राविधिक रूपान्तरण गरेर कहाँकहाँ हुन सक्छन् भनेर खोजी गरिरहेका छौँ”, उनले भने ।

औँठाछाप ‘भेरिफाइड’ गर्न प्रहरीले राष्ट्रिय परिचयपत्रलगायतको प्रणालीबाट जैविक विवरण लिइएको छ । यो विधिलाई कम खर्चिलो र छरितो मानिएको छ । यद्यपि, हात नभएका तथा गलेका शवबाट औँठाछाप लिन नसकिने प्रहरीको भनाइ छ ।

बेँसीसहर–चामे सडक आज दिनभर बन्द हुने

लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा सडक ढलान गर्न आज बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने भएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा एक सय ३५ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाले करिब ५० मिटर सडक ढलान गर्ने भएको हो । सडक साँघुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारीसाधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएकाले सडक पूर्ण रूपमा बन्द गर्न लागिएको उनले बताए।

आज बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कुनै प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन । साँझ ५ः०० बजेदेखि भोलि बिहान १०ः०० बजेसम्म भने भारी सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताए ।