`

श्रीलङ्काको राष्ट्रिय क्रिकेट बोर्डमा नेतृत्व परिवर्तनका लागि मार्ग प्रशस्त गर्न सरकारद्वारा निर्देशन

कोलम्बो। श्रीलङ्का सरकारले राष्ट्रिय क्रिकेट बोर्डको कार्यकारी समितिलाई यसै साताको अन्त्यसम्ममा नयाँ प्रशासनका लागि मार्ग प्रशस्त गर्न निर्देशन गरेको छ ।

श्रीलङ्का क्रिकेट देशको सबैभन्दा धनी खेलकुद निकाय हो तर यो भ्रष्टाचार र कुव्यवस्थापनले ग्रस्त छ ।हाल बोर्डका प्रमुख रहनुभएका शम्मी सिल्भाले आफ्नो चौथो कार्यकालको जिम्मेवारी सम्हालिरहनुभएको छ ।

नाम नबताउने सर्तमा एक अधिकारीले भन्नुभयो, “पूर्व इन्भेस्टमेन्ट बैङ्करको नेतृत्वमा बोर्डको अन्तरिम प्रशासन रहनेछ ।”

“सरकारले जनताको आक्रोशको जवाफ दिइरहेको छ,” उहाँले भन्नुभयो ।श्रीलङ्काले गत फेब्रुअरी–मार्चमा भारतमा आयोजना गरिएको टी–२० विश्वकपमा प्रतिस्पर्धाबाट बाहिरिएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले स्थानीय बोर्ड सञ्चालनमा राजनीतिक हस्तक्षेप भएको भन्दै सन् २०२३ नोभेम्बरमा श्रीलङ्काको सदस्यता निलम्बन गरेको थियो ।त्यो निलम्बन सन् २०२४ जनवरीको अन्त्यमा हटाइएको थियो ।

गौर यातायात कार्यलयबाट एक जना बिचौलिया पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई हैरानी दिने कार्यमा संलग्न एक जना बिचौलियालाई नियन्त्रणमा लिएको छ ।बुधबार दिउँसो करिब १ः३० बजेको समयमा गौर नगरपालिका वडा नं. ३ स्थित यातायात व्यवस्था कार्यालयको कम्पाउण्ड भित्रबाट प्रहरीले लक्ष्मी कुमार केशरीलाई नियन्त्रणमा लिएको हो । ४० वर्षीय केशरी गौर न.पा. वडा नं. ५ दोस्तिया टोलका बासिन्दा हुन् ।

प्रहरीका अनुसार केशरीले यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो गराइदिने बहानामा अनावश्यक झन्झट दिने र हैरानी पार्ने गरेका थिए । उनले सेवाग्राहीका कागजातहरू बोकी विभिन्न फाँटहरूमा जाने र ‘सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिन्छु’ भन्दै विभिन्न प्रलोभन देखाई मोलमोलाई गरिरहेको अवस्थामा प्रहरी टोलीले फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिएका छन् ।

प्रहरीले सरकारी कार्यालयहरूमा हुने यस्ता बिचौलिया गतिविधिविरुद्ध निगरानी बढाएको र कोही कसैलाई पनि प्रलोभनमा नपर्न आग्रह गरेको छ ।

राष्ट्रपतिद्वारा दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं । संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संसद् बैठक आह्वान गरेका हुन् । १७ गते बिहीबार दिउँसो २ बजे संसद्का दुवै सदनको बैठक बस्नेछ ।

वातावरण पदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ। काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा लागिपरेको ट्राफिक प्रहरीले आज मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १२ वटा सवारीसाधन आज नियन्त्रणमा लिएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले आज उपत्यकाका विभिन्न स्थानमा गरेको विशेष चेकजाँच अभियानका क्रममा ती सवारी साधनलाई नियन्त्रणमा लिइएको हो । ट्राफिक प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा निजी तथा सार्वजनिक दुवै प्रकारका सवारी रहेका छन् ।

नियमित रूपमा सञ्चालनमा रहेका यस्ता सवारीले तोकिएको प्रदूषण मापदण्ड उल्लङ्घन गर्दै अत्यधिक धुवाँ फाल्ने गरेको पाइएपछि कारबाही स्वरूप नियन्त्रणमा लिएर अहिले ती सवारी साधनलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा राखिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मापदण्डभन्दा बढी धुवाँ फालेर वातावरण प्रदूषण गर्ने सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइन्छ । नियमअनुसार जरिवाना तथा प्राविधिक सुधारपछि मात्रै त्यस्ता सवारी साधनलाई छाडिनेछ ।” उहाँले पछिल्लो समय काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर बढ्दै गएकाले ट्राफिक प्रहरीले यसलाई नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिरहेको पनि जानकारी दिनुभयो ।

सवारीसाधनको नियमित मर्मतसम्भार नगर्ने, इन्जिनमा समस्या भए पनि बेवास्ता गर्ने तथा प्रदूषण परीक्षण नगरी सडकमा गुड्ने प्रवृत्तिका कारण यस्तो समस्या बढिरहेको उहाँको भनाइ छ ।

ट्राफिक प्रहरीले सवारी चालक तथा धनीहरूलाई समयमै सवारी साधनको प्रदूषण परीक्षण गराउन, इन्जिनको नियमित मर्मत गर्न र वातावरणमैत्री अभ्यास अपनाउन आग्रह गरेको छ । साथै, आगामी दिनमा यस्ता अनुगमनलाई अझ सशक्त बनाइने र मापदण्ड उल्लङ्घन गर्ने सवारी साधनमाथि कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले सरोकारवाला निकाय, सवारी धनी तथा सर्वसाधारण सबैले जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता देखिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाले पनि वायु प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्दै ट्राफिक प्रहरीसँग सहकार्य गर्दै प्रदूषण नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

कोशी प्रदेश सरकार फेरबदल हुनसक्ने सभापति थापाको संकेत

विराटनगर । गगन कुमार थापाले कोशी प्रदेशमा केही दिनभित्रै सरकारको नेतृत्व परिवर्तन हुन सक्ने संकेत दिएका छन् ।नेपाली कांग्रेसद्वारा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थाले छिट्टै नयाँ समीकरणतर्फ जाने संकेत गरेका हुन् ।

थापाले प्रदेश र स्थानीय तहमा कांग्रेसको बलियो उपस्थिति रहेको उल्लेख गर्दै जनताका अपेक्षा पूरा गर्न नेतृत्व परिवर्तन आवश्यक हुन सक्ने धारणा राखे।‘हामी प्रदेश र स्थानीय निकायमा सबैभन्दा बढी छौं, कतिपय प्रदेशमा नेतृत्व कांग्रेसको हातमा छ, बाँकी ठाउँमा पनि केही दिनमै हुने छ,’ उनले भनेका छन् ।

उनले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने स्पष्ट पार्दै सरकारका कामकारबाहीप्रति कडा निगरानी राख्ने चेतावनी दिए ।थापाले निर्वाचनमा पराजय बेहोरे पनि पार्टी पुनः संगठित भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे। ‘हामी हारेर पनि पुनर्जीवित हुन्छौं, अझ मजबुत भएर अगाडि बढ्छौं,’ उनले भने।

कार्यक्रममा जरा अभियानको चर्चा गर्दै सभापति थापाले कांग्रेसका साथीहरु भौतिक रुपमा उपस्थित भएर अद्यावधिक गरिने प्रष्ट पारेका छन् ।उनले भनेका छन्,‘हामीले सबैले भरिदिने फारमलाई एसपटक आफैंले भर्नुपर्ने बातावरण बनाएका हौं,’ उनले भनेका छन् ।कार्यक्रममा कांग्रेसकी उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायत नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

उपत्यकामा वैशाख १५ देखि नियमित पठनपाठन सुरु गर्न मेयर्स फोरमको आग्रह

काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले विद्यालय सञ्चालन र शैक्षिक सत्र सम्बन्धी अन्योलता अन्त्य गर्न आग्रह गर्दै नयाँ शैक्षिक सत्र निर्धारित मितिअनुसार सञ्चालन गर्न सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।

फोरमको आज बसेको बैठकले नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णय तथा प्रचलित शिक्षा नियमावली, २०५९ को नियम ८४ (१) अनुसार शैक्षिक सत्र वैशाखदेखि सुरु भई चैत मसान्तसम्म कायम रहने व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको हो ।

फोरमका अनुसार विद्यालय सञ्चालन, व्यवस्थापन र नियमनको अधिकार संविधान २०७२ को अनुसूची–८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज) बमोजिम स्थानीय तहअन्तर्गत पर्ने भएकाले प्रत्येक पालिकाले आफ्नो शैक्षिक क्यालेण्डरअनुसार विद्यालय सञ्चालन गर्दै आएका छन् । तर, पछिल्लो सरकारी सूचनाले विद्यालय सञ्चालनमा अन्योल सिर्जना गरी नियमित पठनपाठन प्रभावित हुने अवस्था देखिएको भन्दै फोरमले चिन्ता व्यक्त गरेको छ ।

यसैबीच, विभिन्न स्थानीय तह, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, शिक्षक महासंघ, प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल, प्याब्सन, एनप्याब्सन तथा अभिभावक संघलगायत सरोकारवाला निकायबाट प्राप्त सुझाव र गुनासोको अध्ययनपछि विद्यार्थीको सिकाइमा हुने सम्भावित क्षति न्यूनीकरण गर्न तथा उपत्यकाभर शैक्षिक एकरूपता कायम गर्न आवश्यक कदम चालिएको फोरमले जनाएको छ ।
२०८३ वैशाख ११ गतेदेखि नयाँ विद्यार्थी भर्ना अभियान सुरु गरिने र २०८३ वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गरिनेछ ।

साथै, मुलुकमा देखिएको इन्धन संकटलाई ध्यानमा राख्दै भविष्यमा समस्या थप जटिल हुनसक्ने अवस्थालाई विचार गरी विद्यालयहरूलाई वैकल्पिक उपायको तयारी गर्न पनि आग्रह गरिएको छ । फोरमले विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिन तथा पठनपाठन अवरुद्ध हुन नदिन अनलाइन कक्षासहित अन्य विकल्प अपनाउन सुझाव दिएको छ ।काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले सबै सम्बन्धित पक्षलाई उक्त निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् ।

७७ औँ स्थापना दिवसमा खनालको सन्देश : गल्ती सच्याउँदै आन्दोलन पुनर्निर्माण गरौँ

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झालनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनको ७७औँ स्थापना दिवसको सन्दर्भमा पार्टी र आन्दोलनलाई पुनर्गठन गर्न आह्वान गरेका छन् ।

स्थापना दिवसको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै खनालले ७७ वर्ष लामो सङ्घर्षपछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि सामाजिक–आर्थिक रूपान्तरण, शिक्षा, स्वास्थ्य, प्रशासन र संस्कृतिमा अपेक्षित परिवर्तन हुन नसकेको बताए । जनताका आधारभूत आवश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा सम्बोधन हुन नसक्दा व्यापक असन्तोष चुलिएको उनको भनाइ छ ।

खनालका अनुसार यही असन्तोषका कारण ठुलो सङ्ख्यामा जनता बिदेसिन बाध्य भएका छन् भने त्यसैको फाइदा उठाउँदै विभिन्न शक्तिहरूले आन्दोलनलाई दिशाहीन बनाएको आरोप लगाए । उनले हालको राजनीतिक अवस्थालाई गम्भीर रूपमा समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।

कम्यूनिष्ट पार्टी स्थापना सम्झना मात्र होइन, चुनौतीसँग जुध्ने प्रतिबद्धता पनि हो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसलाई सम्झना मात्र होइन चुनौतीसँग जुध्ने प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा स्मरण गर्नुपर्ने बताएका छन् ।

पार्टी स्थापना दिवसको शुभकामना दिँदै सचिव बस्नेतले सामाजिक सञ्जालमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर शेयर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेपछि समाजमा अझ धेरै असमानता,बेरोजगारी,महँगी र निराशा बढेको उल्लेख गरेका छन् ।

बस्नेतले लेखेका छन् ‘श्रमिक र विद्यार्थीका सङ्गठनहरू खारेज गर्ने प्रयासले सरकार अधिनायकवादी बाटोमा उन्मुख भएको संकेत गरेको छ ।’
बस्नेतले कम्यूनिष्ट आन्दोलनलाई कमजोर बनाउने उद्देश्य सहित पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गरिएको घटनाले लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रश्न उठाएको बताएका छन् । सरकारको यस प्रकारको रवैयाले देशलाई फासिवादतर्फ लैजाने भएकोले यसको प्रतिकार गर्न उनले आह्वान गरेका छन् ।

बस्नेतले लेखेका छन् ‘आज आवश्यकता छ । नारा होइन,व्यवहारमा रूपान्तरणको । सत्ता होइन वा केन्द्रित राजनीतिको । विभाजन होइन,एकता र जनविश्वासको पुन निर्माणको ।’

बस्नेतले यही मूल मर्म बुझ्दै समानता,न्याय र श्रमिक अधिकारका लागि अझ सशक्त,जुझारु र संगठित ढंगले अघि बढ्नुपर्ने समय आएको बताएका छन् ।‘जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय अभियानलाई अझ प्रभावकारी बनाऔँ ।’

एमाले अध्यक्ष ओलीले आज नेकपा स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्ने

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको अवसरका आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

दिउसो दुई च्यासलमा आयोजना गरिने ७७ औं स्थपना दिवशको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने पार्टी केन्द्रीय कार्यलय सचिव डा।भिष्म अधिकारीले जानकारी दिए । ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरु समेटिने बताइएको छ ।

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत। तीन दशकअघि मार्ग खुलेको यहाँको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला खण्ड २० दिन बन्द हुने भएको छ ।कालोपत्रको तयारीका लागि सो अबधिका लागि सवारीसाधनआवत जावत बन्द गरिएको हो जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले यही वैशाख १० गतेदेखि ३० गतेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।

उक्त खण्डको झन्डै तीन किलोमिटर सडक अहिले कालोपत्र गर्न थालिएको छ । सडकमा चार पाङ्ग्रे सवारी बन्द गरिए पनि दुई पाङ्ग्रे सवारीसाधन भने सञ्चालन गर्न दिइने भएको छ । उक्त समयमा वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । वैकल्पिक सडकका रुपमा बाम्रा–गैराथोक–राताडाँडा हुँदै बुमी–लाम्पाटा–गहतेपोखरा–साइकलचोक सडक प्रयोग गर्न आग्रह गरिएको हो ।

अहिले ठुलीपोखरी–खौला खण्डमा कालोपत्र गर्नका लागि नाली निर्माण, सडक चौडा गर्ने, ग्यावियन जाली लगाउनेलगायत अन्य संरचना निर्माणको काम सम्पन्न गरी सबवेस बिछ्याउने काम भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका इन्जिनियर विज्ञान पौडेलका अनुसार गण्डकी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत रु पाँच करोड ८० लाखमा सम्झौता भई गत वर्षदेखि निर्माणकार्य थालिएको हो ।

इन्जिनियर पौडेलले यस वर्ष झन्डै तीन किलोमिटर सडक कालोपत्र हुने र जसमध्ये २५० मिटर ढलान गरिने जानकारी दिनुभयो । सडक निर्माणको जिम्मा पाएको देबचुली–कालीगङ्गा जेभी निर्माण कम्पनीका इन्जिनियर प्रविन गुरुङले निर्धारित समयमै सडक कालोपत्र सम्पन्न गर्नका लागि अवरोध नहोस् भनेर सवारी आवागमन बन्द गरेर निर्माणकार्य धमाधम गरिएको जानकारी दिनुभयो ।

दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकको सिल्मीदेखि ठुलीपोखरीसम्मको केही भाग यसअघि नै कालोपत्र भएको थियो । अहिले बाँकी रहेको खण्डमा ढलान तथा कालोपत्र गरी सम्पन्न हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । अब खौलादेखि कार्किनेटासम्मको झन्डै चार किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । यो सडक कालोपत्र भएमा मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सकिने भएको छ । अहिले पनि स्याङ्जा, पाल्पा, बुटबलतर्फ जाने केही सवारीसाधनले यो मार्ग प्रयोग गर्दै आएका छन् ।

यो मार्गमा कालोपत्र गर्नका लागि पटकपटक बजेट माग गर्दा पनि पर्याप्त मात्रामा विनियोजन हुन नसकेको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका वडाध्यक्ष झलक रिमालले बताउनुभयो । आगामी आर्थिक वर्षमा पनि बजेट माग गरेर यसलाई पूरा गर्न लागिपरेको उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले विकास निर्माणको कार्य गर्ने बेला केही कठिनाइसमेत हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गरी उक्त सडकलाई पूर्णता दिन सहयोग गर्न सो क्षेत्रका बासिन्दालाई आग्रह गर्नुभएको छ । उहाँले निर्माण व्यवसायीलाई २० दिनभित्र पूरै काम सम्पन्न गर्न अनुरोध गर्नुभएको छ ।

कम्यूनिष्ट आन्दोलन खडेरीको दुबो जस्तै फेरी मौलाउने प्रदीप ज्ञवालीको दाबी

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कम्यूनिष्ट आन्दोलन खडेरीको दुबो जस्तै फेरी मौलाउने दाबी गरेका छन् ।नेपाल कम्यूनिष्ट पार्टीको स्थापनाको ७७औँ वर्षको अवसरमा नेता ज्ञवालीले स्थापनाकाल देखि नै विभिन्न धक्का,विभाजन र विरोध भाषा खेपे पनि यो आन्दोलन दुबो जस्तै हरेक खडेरी र दलनलाई चिर्दै पुन मौलाउँदै आएको दाबी गरेका हुन् ।

ज्ञवालीले विगतको वर्ष कम्यूनिष्ट आन्दोलनका लागि सुखद नरहेको बताएका छन् । उनले यो असाधारण धक्कालाई आधार बनाएर केही व्यक्तिले आन्दोलन समाप्त भएको घोषणा गरेको उनले उल्लेख गरेका छन् ।

‘बिचार धाराको मृत्यु र इतिहासको अन्त्यको घोषणा गर्ने फुकुवामा अचेल आफ्ना भविष्यवाणीप्रति पछुताउदैछन् । हाम्रा फुकुयामाहरुका भविष्यवाणी पनि व्यर्थ साबित हुनेछन् । किनभने कम्यूनिष्ट आन्दोलनको स्थापना,अस्तित्व र भविष्य कसैको व्यक्तिगत इच्छाबाट होइन,समाजको ऐतिहासिक विकास क्रम,वर्ग संरचना र रूपान्तरणको वस्तुगत आवश्यकताबाट निर्दिष्ट छ,’ ज्ञवालीले लेखेका छन् ।

गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा२झ ३८५४ नम्बरको टाटा सुमोले गए राति पैदलयात्री चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका भुजेलको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । ठक्कर दिने सवारीसाधन कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका) नवलपरासी (बर्दघाट सुस्तापूर्व)को रहेको प्रहरी उपरीक्ष खड्काले जानकारी दिनुभयो ।

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ, ९ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५५, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ४०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ६०, सेता मूला प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५५ र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ५५, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु २५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, राजमा प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु १३०, भटमास कोसा प्रतिकिलो रु २००, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु २०, परवर प्रतिकिलो रु १००, परवर (तराई) प्रतिकिलो रु ९०, चिचिन्डो प्रतिकिलो रु ४५, घिरौँला प्रतिकिलो रु ३५, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २०, भिन्डी प्रतिकिलो ५५, बरेला प्रतिकिलो रु ५०, सक्खरखण्ड प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ५० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु ८०, तोरीसाग प्रतिकिलो रु ४०, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ८०, बकुला प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ६०, कोइराला प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ५०, पार्सले प्रतिकिलो रु १८०, सेलरी प्रतिकिलो रु १९०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु २५० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, कागती प्रतिकेजी ३९०, केरा दर्जन रु ३००, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २४०, अङ्गुर (कालो) प्रतिकिलो रु ३८०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २४०, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ४०, रुखकटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, माछे खुर्सानी प्रतिकिलो रु ८०, खुर्सानी अकबरे प्रतिकिलो रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १३०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा कोसी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन आज विराटनगर जाने भएका छन् ।निर्धारित कार्यपालिका अनुसार सभापति थापा बिहान ९ः५० बजे जादैछन् । आज बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने पार्टीकी सहमहामन्त्री डा डिला सङ्ग्रौलाले जानकारी दिइन् ।

पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा पार्टीका कोसी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहनेछ ।

 

जबजका सामु लोकप्रियतावाद र अवशरवाद केही समयका पाहुना हुन् : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले अंगिकार गरेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) सामु लोकप्रियतावाद, अराजकतावाद र अवसर बाधको चुनौती केही समयका पाहुना भएको बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा यसका संस्थापकको स्मरण गर्दै पोखरेलले सामाजिक सञ्जाल मार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

‘जबजका समृद्ध विचारका सामु अल्गो रिदमले नेपाली राजनीतिमा सृजना गरेको लोकप्रियतावाद,अराजकतावाद, र अवसर बाधको चुनौती केही समयका पाहुना जस्तै हुन्’ पोखरेलले लेखेका छन् ‘कम्यूनिष्ट आन्दोलनको गौरवपूर्ण इतिहासप्रति सम्मान प्रकट गर्दै जबजको मार्गदर्शनमा समाजवादको बाटोमा दृढतापूर्वक अघि बढ्ने सङ्कल्प गरौँ ।’

 

खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर झापामा ‘पेलेट ऊर्जा’ उत्पादन

झापा। खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ ।‘पेलेट ऊर्जा’लाई वातावरणमा न्यून असर पार्ने इन्धनको स्रोत मानिदै आएको हुँदा यसलाई पत्थर कोइला, दाउरा र अन्य खनिज इन्धनको विकल्पका रूपमा मानिएको छ ।

पराजुली बायोमास व्रिकेट उद्योगले ‘पेलेट ऊर्जा’को उत्पादन सुरुआत गरेको हो । उद्योगको १२ घण्टामा ७० हजार किलोग्रामसम्म ‘पेलेट ऊर्जा’ उत्पादन गर्ने क्षमता रहेको जनाउँदै उद्योगका सञ्चालक आदित्य पराजुलीले यहाँबाट उत्पादित पेलेटलाई झापामा मात्र नभएर नेपालका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतमा समेत निर्यात गरिने बताउनुभयो ।

चिया, सिमेन्ट, इँटा, फलामलगायतका उद्योगहरूलाई सस्तो र वातावरणमैत्री इन्धनका रूपमा ‘पेलेट ऊर्जा’को प्रयोग बढिरहेको हुँदा उद्योगले खेर जाने कमल भेनियर सिट, उखुको खोस्टा, सुकेका पातपतिङ्गर, बाँसका चोइटा र काठका टुक्रालाई अत्याधुनिक प्रविधिबाट मेसिनमा प्रशोधन गरी दानेदार ऊर्जा तयार गरिने सञ्चालक पराजुलीले जानकारीदिनुभयो ।

पेलेटले पत्थर कोइलाको आयातलाई प्रतिस्थापन गरेर मुलुकलाई इन्धनमा आत्मनिर्भर बन्न योगदान पुर्याउने भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल बताउनुहुन्छ ।

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी खेतीको गण्डकी प्रदेशअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिकाका कृषकहरुले अवलोकन गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका–१ भूगाईथरस्थित माछापुच्छ्रे उत्तम कफी उत्पादक सहकारी संस्था लिमिटेडका अगुवा कृषकको नेतृत्व गर्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीको टोलीले महाभारत गाउँपालिकामा भइरहेको कफी खेतीको अवलोकन गर्नुभएको हो ।

कफी खेतीको अवलोकन भ्रमणमा सहभागि कास्की जिल्लाका जिल्ला कफी उत्पादक सहकारी सङ्घका अध्यक्ष आनन्द सुवेदीले महाभारत गाउँपालिकाले सुरु गरेको कफी खेती किसानको हितमा रहेकाले यसलाई मध्यनजर गर्दै सरकारले यसको अनुशरण गरेर नेपालका मध्यपहाडी क्षेत्रका जिल्लाहरुमा विस्तार गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा कृषकहरुसँग भेटघाटपछि महाभारत गाउँपालिकाले कफी खेतीलाई धेरै महत्वका साथ अगाडि बढाएको पाएको कास्कीका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष केसीले बताउनुभयो । ‘यहाँका कफी खेतीको अवस्था हेरेपछि गाउँमा बाँझो छोडिएका जमिनमा मात्रै कफी खेती गर्न सकेको खण्डमा विदेश जानु नपर्ने अवस्था बनाउन सकिने रहेछ”, उहाँले भन्नुभयो, “अरुलाई गालि र आलोचना गर्नुको साटो मेहिनतमा रमाउन सकेको खण्डमा एउटा मान्छेले कतिसम्म गर्न सकिदो रहेछ भन्ने कुरा महाभारतको किसानबाट शिक्षा पाएँ ।”

महाभारत–१ का कफी उत्पादक कृषकहरुले महाभारतको कफी उत्पादनको विषयमा सञ्चारमाध्यममा धेरै आएको पाएपछि अवलोकन भ्रमण गर्न सो ठाउँलाई रोजेको बताएका छन् । महाभारत साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामीले महाभारत गाउँपालिकामा भइरहेको कफी खेतीको विषयमा चासोका साथ देशका विभिन्न ठाउँका कृषकले अवलोकन भ्रमण कृषकका लागि खुसीको विषय भएको बताउनुभयो । गाउँपालिकाले अगाडि सारेको ‘जसले रोप्छ कफीको बोट, उसले पाउँको रु बीसको नोट’ अभियान र पालिका सरकारको दृष्टिकोणअनुसार प्रदेश सरकारसँगको सहकार्यमा ‘एक वडा एक उत्पादन’ अन्तर्गत कफी खेती अभियानले महाभारतलाई थप उचाईमा पु¥याएको महसुस भएको उहाँले बताउनुभयो ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले किसानको आर्थिक उत्पादनको अवस्थालाई ध्यानमा राख्दै पालिकाले उत्पादनमा आम्दानीको रुपमा कफीलाई बनाउने उद्देश्यसहित पर्यटकलाई महाभारतमा कफी हेर्न आउने बनाउने लक्ष्यका साथ योजनाबद्ध रुपमा अगाडि सारेको बताउनुभयो । कफीको बजारलाई हेरेर समृद्धिमा उत्पादनलाई कसरी जोड्ने भन्ने राष्ट्रिय नीतिअनुसार नै किसानको उत्पादनलाई जोड दिएर काम अगाडि बढाइरहेको उहाँले बताउनुभयो । त्यससँगै उहाँले चिया खेती हेर्न इलाम गए जस्तै कफी खेतीको उत्पादन हेर्न महाभारत जाउँ भन्ने नारालाई स्थापित गर्ने गरी काम भइरहेको छ ।

करिब ६० कृषकहरुको अवलोकन भ्रमण टोलीले महाभारत–५ को खोलाघारी, भर्लेनी, मुखियटोल, खेतडाँडा, बार्तली र वडा नं ४ को लामीडाँडा लगायतका ठाउँमा ‘एक वडा एक उत्पादन’ कार्यक्रम गाउँपालिकाको ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु बीसको नोट’ अभियान अन्तर्गत कफी नर्सरी, इजराइली प्रविधिबाट मल्चिङ र थोपा सिँचाइ प्रविधिको कफी खेती, छहा री विधि र पोखरी सिँचाइलगायत खेतीका कार्यक्रमको अवलोकन गरेका थिए । अहिलेसम्ममा गाउँपालिकाको तीन हजार २०० भन्दा बढी रोपनी क्षेत्रफलमा व्यावसायिक कफी खेती विस्तार गरेको छ ।

विसं २०७८ बाट यहाँका कफी खेती गर्ने किसान, कृषि सहकारी र समूहलाई गरी तीन लाख ३१ हजारभन्दा बढी विरुवा वितरण गरिसकेको छ भने यसवर्ष एक लाख कफीको बोट वितरणका लागि आवश्यक विरुवा उत्पादन गरिसकेको छ ।
सानको उत्साहलाई साथ दिनका लागि पालिकाले अनुदानमा कफीको बोट वितरण, आवश्यक उपकरण वितरण गर्नुका साथै प्रशोधन गर्ने उपकरणहरु वितरणलाई जोड दिँदै आएको छ ।

उत्पादन र गुणस्तर राम्रो भएको महाभारत गाउँपालिकामा कफीको बजारीकरणसमेत राम्रो भएको तथा यस वर्ष मात्रै ८० टनभन्दा बढी कफी उत्पादन र निर्यात भएको गाउँपालिकाले जनाएको छ ।

वीरगन्ज नाकाबाट ६ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

वीरगन्ज (पर्सा), ९ वैशाख : वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा छ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँका वस्तु तथा सामान आयात भएको छ ।वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ८० अर्ब ४४ करोड रुपैयाँ अर्थात् १३ प्रतिशत बढी आयात भएको हो ।

जबकि गत आवको नौ महिनामा भने छ खर्ब १३ अर्ब ६१ करोड रुपैयाँबराबरका वस्तु तथा सामान आयात भएको थियो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै हुने आयातमा बढोत्तरी भएको बताउनुभयो ।

यो नाका हुँदै चालु आवको नौ महिनामा एक खर्ब ४८ अर्ब १६ करोड रुपैयाँको पाँच थरिको पेट्रोलियम पदार्थ आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने एक खर्ब ४० अर्ब १० करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको थियो ।

चालु आवको नौ महिनामा ६२ अर्ब २६ करोड रुपैयाँ पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । गत आवको सोही अवधिमा भने ५५ अर्ब नौ करोड रुपैयाँका फलाम तथा फलामबाट बनेका सामान भित्रिएको थियो ।चालु आवको नौ महिनामा ५० अर्ब ४० करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा ३८ अर्ब १५ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भयो ।

चालु आवको नौ महिनामा ४९ अर्ब १३ करोड रुपैयाँ पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ । जबकि गत आवको नौ महिनामा भने ४० अर्ब ५७ करोड रुपैयाँको मेसिनरी तथा पार्टपुर्जा भित्रिएको थियो ।

चालु आवको नौ महिनामा ३४ अर्ब १९ करोड रुपैयाँ पर्ने इलेक्ट्रिक मेसिनरी उपकरण र तिनका पार्टपुर्जा भित्रिएको छ भने गत आवको सोही अवधिमा भने ३० अर्ब १४ करोड मूल्यका इलेक्ट्रिक मेसिनरी उपकरण र तिनका पार्टपुर्जा आयात भएको थियो । कार्यालयले चालु आवको नौ महिनामा एक खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसनधान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।निर्माण सेवाका सञ्चालक तथा सम्वद्ध संयुक्त उपक्रमहरुको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा रकम जम्मा गराएको पाइएको छ।

आयोगका अनुसार, त्यसरी प्राप्त भएको घुस रकमबाट संयुक्त रुपमा सम्पत्ति खरिद गरेको पाइएको छ । निर्माण सेवा प्रालिले एकल वा संयुक्त उपक्रममा समावेश भई विभागले गरेको ठेक्का सम्झौता मध्ये कुल रु ६४ करोड २१ लाख ८९ हजार बराबरको ठेक्कामा रु चार करोड २२ लाख ७५ हजार, नौ सय ८५ बराबरको रकम घुस लिएको आयोगको आरोप छ ।

भ्रष्टाचार गरेर आर्जन गरेको रकमबाट आपसी मिलेमतो र योजनामा जग्गा एवम् सुन खरिद गरेको तथा विभिन्न व्यक्तिलाई भुक्तानी समेत गरेको पाइएको आयोगले जनाएको छ ।

गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउने रुपान्तरण तथा हस्तान्तरण गर्ने गराउने कार्य गैरकानुनी कार्य भएको ठहर गरिएको छ ।

पूरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर श्रेष्ठ र सहायक पथप्रदर्शक अधिकारी विरुद्ध समान रु चार करोड २२ लाख ७५ हजार नौ सय ८५ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २१ रुपैयाँ ९९ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९७ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९६ पैसा र बिक्रीदर ४१ रुपैयाँ १२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ६५ पैसा र बिक्रीदर ४० रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २३ रुपैयाँ ६० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४८७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ४८ पैसा, ओमनी रियाल एकको खरिददर ३८७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ३७ पैसा रहेको छ ।यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

शान्ति वार्तामा सहभागी हुन इरानद्वारा अझै औपचारिक पुष्टि गरेको छैन: पाकिस्तानी अधिकारी

इस्लामावाद-शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डलको औपचारिक धारणा अझै नआएको पाकिस्तानी अधिकारीले बताएका छन् ।

पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले मङ्गलबार सामाजिक सञ्जालमा लेख्नुभएको छ, “पाकिस्तानले इस्लामावादमा शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डलको औपचारिक स्वीकृतिको प्रतीक्षा गरिरहेको छ।”

तरारले भन्नुभएको छ, “पाकिस्तानले मध्यस्थकर्ताको रूपमा काम गरिरहेको छ र तेहरानसँग निरन्तर सम्पर्कमा छ । पाकिस्तानले कूटनीति र संवादलाई निरन्तरता दिइरहेको छ।” उहाँले दुई हप्ताको युद्धविरामको समयसीमा अघि नै वार्तामा भाग लिने इरानको निर्णय हुनु महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले थप्नुभयो, “पाकिस्तानले इरानी नेतृत्वलाई दोस्रो चरणको वार्तामा सामेल हुन मनाउन गम्भीर प्रयास गरेको छ र यी प्रयासहरू जारी छन्।”वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल भने २०८३ वैशाख ८ गते मङ्गलबार इस्लामावाद आइपुगेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णयप्रति नेता खड्काको आपत्ति

काठमाडौँ, ९ वैशाखः नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विद्यार्थी सङ्गठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । उहाँले २०८३ वैशाख ८ गते विज्ञप्ति जारी गरी विद्यार्थी सङ्गठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णय लोकतान्त्रिक मूल्य–मान्यता विपरीत र अधिनायकवादी प्रवृत्ति रहेको बताउनुभयो ।
नेता खड्काले नेपालको राजनीतिक इतिहासमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आइपुग्दा विद्यार्थीको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभयो । निर्दलीय पञ्चायती व्यवस्थाको समयमा राजनीतिक दलमाथि प्रतिबन्ध हुँदा विद्यार्थी सङ्गठनहरूले लोकतन्त्रको पक्षमा जनचेतना फैलाएको उहाँको भनाइ छ ।

नेता खड्काले विसं २०३६/३७ सालको विद्यार्थी आन्दोलन, २०४६ को जनआन्दोलन तथा २०६२/६३ को ऐतिहासिक आन्दोलनमा विद्यार्थीहरूको सक्रिय सहभागिताले वर्तमान राजनीतिक व्यवस्था स्थापना सम्भव भएको बताउनुभयो । वर्तमान सरकारले लोकतान्त्रिक स्वतन्त्रताको उपयोगबाट उदाएका युवा नेतृत्व बालेन शाहलाई स्थापित गर्ने वातावरण बनेको भए पनि सोही सरकारले विद्यार्थी संगठनमाथि प्रहार गर्नु विरोधाभाषपूर्ण रहेको नेता खड्काको भनाइ छ ।

विद्यार्थी सङ्गठनलाई केवल राजनीतिक आस्थासँग जोडिएका संस्था मात्र नभई शैक्षिक क्षेत्रका विकृति र विसङ्गति विरुद्ध आवाज उठाउने वैधानिक निकायको रूपमा वर्णन गर्नुभएको छ । नेता खड्काले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन र विद्यार्थी सङगठनहरूको गरिमा कायम राख्न आग्रह गर्नुभयो । अन्यथा, लोकतन्त्रको रक्षाका लागि विद्यार्थीहरू पुनः आन्दोलनमा उत्रिन सक्ने उहाँले चेतावनी दिनुभयो ।

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन सेवा प्रदान गर्न अन्तिम तीन दिनको अवधि दिएको छ ।

गएको महिना (चैत २५ गते) सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दूरीका बस सेवा बसपार्कभित्रबाट एकीकृत रूपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । यसरी सूचनालाई अवज्ञा गर्ने कम्पनीहरूलाई तीन दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिइएको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।

यातायात आवागमनको सहजता र सहरी सुरक्षासँग जोडिएको प्रणालीका विषयमा कुरा गर्र्दै महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई नेपाल प्रहरीसँग समन्वय गरेर अनुगमन नियमन कार्यका लागि संयुक्त टोली बनाएर एकीकृत काम गर्ने प्रणाली तयार गर्न पनि उहाँले निर्देशन दिनुभएको छ ।

“बसपार्कको समस्यासँगै ठमेललगायत रात्रिकालीन व्यवसाय सञ्चालन हुने ठाउँका परिवारले ध्वनि प्रदूषणले असर गरेको, स्पालगायत व्यवसायमा हुने अवाञ्छित क्रियाकलापबाट पारिवारिक वातावरण बिग्रिएको, छात्राबास सञ्चालकहरूबाट बसोबासमा समस्या आएको जस्ता गुनासा आउने गरेका छन् । यसको नियमनका लागि नेपाल प्रहरी र महानगर प्रहरी बलका आ–आफ्नै क्षेत्राधिकार छन् । एकै पटक अनुगमन जाने र आ–आफ्ना क्षेत्राधिकारका काम गर्न थालेपछि व्यवस्थापनमा महसुस योग्य नतिजा आउनेछ,” उहाँले भन्नुभयो ।

सो विषयमा अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्कीले, सहरी सुरक्षालाई जनशक्तिबाट भन्दा पनि प्रविधिबाट निगरानी बढाउँदै लैजानुपर्ने बताउनुभयो । त्यस्तै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले, सडक सङ्केत र सडक अनुशासन पालना गराउन कामपाका र ट्राफिक प्रहरीका बीचमा समन्वयात्मक कार्यक्रमलाई बढाउनुपर्ने बताउनुभयो ।

प्रहरीका अनुसार काठमाडौँबाट दैनिक औसतमा ७०० वटा सार्वजनिक यातायातका साधन बाहिरिन्छन् । तीमध्ये करिब ३५० वटा बसपार्क बाहिरै पार्किङ गर्ने, यात्रु चढाउने तथा ओराल्ने गर्छन् ।

बसपार्कबाट औसतमा दैनिक ३४० वटा गाडी आउने जाने गर्छन् । पोखरा, नुवाकोट, बुटबल, स्याङ्जा, दाङलगायत जिल्लामा माइक्रोबस सेवा सञ्चालन हुन्छ । नयाँ बसपार्क क्षेत्र १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा ७५० वटा सवारीसाधन व्यवस्थापन गर्न सकिन्छ ।

युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने होः मन्त्री पोखरेल

मोरङ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अब युवा विद्यार्थीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्नेगरी उद्यमशीलताको विकास गर्नुपर्ने बताउनुभएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहमा उहाँले युवालाई उद्यमशीलतामा लाग्न अनुरोध गर्नुभयो । मन्त्री पोखरेलले भन्नुभयो, “हामीले प्राप्त गरेको ज्ञान, सीप र विवेकको सही सदुुपयोग गर्यौँ भने मात्र हामी सबै मिलेर नेपाललाई सबल, सक्षम र समृद्धशील राष्ट्र बनाउन सक्छौँ ।”

पूर्वाञ्चल विश्वविद्यालयले स्थापनाको करिब तीन दशकमा नेपालको विकास र समृद्धिमा आवश्यक उल्लेख्य दक्ष जनशक्ति उत्पादन गर्न सफल भएकामा धन्यवाद व्यक्त गर्दै मन्त्री पोखरेलले वर्तमान अवस्थामा नेपाल सरकारले गुणस्तरीय, व्यावहारिक र अनुसन्धानमुखी बनाउने दिशामा महत्त्वपूर्ण कदम चालिरहेको समेत बताउनुभयो ।

आयोजित दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने छ हजार ७०६ विद्यार्थी दीक्षित भएका हुनुभएको छ । जसमध्ये विभिन्न सङ्कायमा उत्कृष्ट अङ्क ल्याउने २१ जना विद्यार्थीलाई मन्त्री पोखरेलद्वारा स्वर्ण पदकसहित प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

मुस्ताङमा भारतीय नागरिक मृत फेला

मुस्ताङ। मुस्ताङमा एक भारतीय नागरिकको शव मृत अवस्थामा फेला परेका छन् ।

घरपझोङ गाउँपालिका–४ लामाकुर्सीस्थित लामाकुर्सी गुम्बाको बत्ती बाल्ने कोठामा भारतीय नागरिकको शव आज बिहान १०ः१५ बजेको समयमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रतापगढ उत्तर प्रदेश राज्य भारत घर भएका ६३ वर्षीय पुरुष सङ्गमलाल यादवको शव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिनुभयो ।

वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको सिमाना पान्डा खोला नजिकै जोमसोम–कागबेनी सडक छेउको लामाकुर्सी गुम्बाको बत्ती बाल्ने कोठामा भारतीय नागरिकको मृत शव फेला परेको प्रहरी निरीक्षक महतले बताउनुभयो ।

मृत फेला परेका भारतीय नागरिकको घटनास्थलबाट आधार कार्ड फेला परेको छ । घटनाको प्रहरी विवरणअनुसार मृत फेला परेका भारतीय नागरिक यादव अघिल्लो महिनाको चैत्र १८ गते ट्रेकिङका लागि आएको बताइएको छ ।

भारतीय नागरिकको मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङले मृतकको परिवारसँग सम्पर्कको लागि समन्वय गरिहेको जनाएको छ । प्रहरी कार्यालयका अनुसार मृतक भारतीय नागरिकको शव जोमसोमस्थित प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

यसअघि भारतीय नागरिकको शव मृत अवस्थामा रहेको सूचना प्राप्त गरेलगत्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङमा नौ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले भारतीय नागरिक मृत अवस्थामा फेला परेको घटनास्थलको प्रकृति र मचुल्का तयार गरी अनुसन्धानकार्य अघि बढाइएको प्रहरी निरीक्षक महतले उल्लेख गर्नुभयो ।

बङ्गलादेशमा इन्धन अभावले पम्पमा घण्टौँ कुर्नुपर्ने बाध्यता

ढाका। इन्धन आयातमा निर्भर बङ्गलादेशमा इन्धनको सिमित ढुवानी हुँदा देखिएको अभावसँगै पेट्रोल पम्प र ग्यास डिपोहरूमा लामो लाइन लाग्न थालेको छ।

मध्यपूर्व युद्धका कारण इन्धन आपूर्तिमा विश्वव्यापी समस्या आएको छ। बङ्लादेश पनि यस समस्यासँग जुधिरहेको छ । इन्धन आपूर्तिमा कमी आएका कारण डिपोहरूले माग बमोजिम इन्धन आपूर्ति गर्न नसक्दा यसको प्रभाव सार्वजनिक यातायातका साधन र सर्वसाधारणमा समेत पर्न थालेको छ ।

इन्धन सङ्कटका कारण सेवाग्राही पेट्रोल, डिजेल, ग्यासलगायतका वस्तु खरिदका लागि लामो समय (घण्टौँ)सम्म लाइनमा बस्नुपर्ने बाध्यता आएको छ ।

आफ्नो पहिलो नाम मात्र उल्लेख गर्ने ४३ वर्षीय चालक शमसुद्दिन मध्यरातदेखि ढाकाको ग्यास स्टेसनमा पर्खिरहेका थिए।

गोपनीयताको कारण आफ्नो पहिलो नाम मात्र बताउने ४३ वर्षीय चालक शमसुद्दिन मध्यरातदेखि ढाकाको पेट्रोल डिपोमा पर्खिरहनुभएको थियो ।

“छ घण्टा पछि अन्तमा मैले इन्धन पाएको छु,” उहाँले भन्नुभयो । अहिले बिहानको अदालतको सुनुवाइको लागि आफ्नो मालिक (एक वकिल) लाई कार्यालयमा पु¥याउनुपर्छ । आराम गर्ने समय नै छैन ।

“म अब दिनभर व्यस्त रहनेछु,” रातभर निदाउन नसकिएपछि आँखा रातो भएको र भारी भएका उहाँले एएफपीसँग बताउनुभयो ।

उहाँले पेट्रोल भरेर जाँदा सयौँ थकित मोटरसाइकल चालकहरू अझै पनि लाइनमा थिए, ग्यास स्टेशनबाट लगभग १.५ किलोमिटर (लगभग एक माइल) लामो लाइन थियो । कोही आफ्नो अचल गाडीमा सुतेका देखिन्थ्यो ।

करिब १७ करोड जनसङ्ख्या रहेको दक्षिण एसियाली मुलुक बङ्गलादेशले आफ्नो तेल र ग्यासको ९५ प्रतिशत आयात गर्छ, जसमध्ये अधिकांश मध्य पूर्वबाट आयात हुन्छ । स्ट्रेट अफ हर्मुज हुँदै हुने ऊर्जा ढुवानी फेब्रुअरीको अन्त्यमा युद्ध सुरु भएदेखि अवरूद्ध भएपछि बङ्लादेशले वैकल्पिक बाटोबाट यदाकदा इन्धन भित्राएको भएपनि अधिकांश ढुवानीमा अवरोध भएको छ ।

बङ्गलादेशका ऊर्जामन्त्री इकबाल हसन महमुदले देशमा पर्याप्त इन्धन रहेको बताउँदै अवरोधको हल्लाले सेवाग्राहीले आत्तिएर भण्डारण गर्न खोज्दा समस्या भएको बताउनुहुन्छ ।

“देशमा इन्धनको कुनै अभाव छैन”, उहाँले आइतबार संसदमा भन्नुभयो, “मार्चमा पनि गत वर्षको जस्तै इन्धनको आपूर्ति भएको छ ।”

तर मोबाइल नेटवर्क अपरेटरहरूको राष्ट्रिय सङ्घले सोमबार इन्धन अभावको कारण देखाउँदै अब निरन्तर सेवाको सुनिश्चितता गर्न नसक्ने बताएको छ ।

ग्यास स्टेशनमा पूर्व सरकारी अधिकारी शरिफुल इस्लामले आफूले अन्यत्र तीन घण्टा पर्खिसकेको तर पम्पले इन्धन भर्न बन्द गरेको बताउनुभयो ।

डिपोहरूमा लामो प्रतीक्षाको परिणामले गर्दा कतिपय व्यक्तिले लाइनमा नै मृत्युवरण गरेका सञ्चारमाध्यमले समाचारमा जनाएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार रङ्गपुर शहरमा भीषण गर्मीबिच घण्टौँ लाइनमा बसेका एक सेवाग्राहीको मृत्यु भएको छ ।

दक्षिणी जिल्ला नरेलमा इनधन भर्न लाइनमा बसेका एक ट्रक चालकले पम्प म्यानेजरलाई किचेको आरोपमा भएको विवादमा अन्य दुई जनाको मृत्यु भएको छ।

केही उद्यमीहरूले व्यावसायिक अवसरहरू पनि पहिचान गरेका छन् । लामो लाइनमा बस्ने र लाइन छोड्न नपाएका चालकहरूलाई स्थानीयले रोटी र केरा, वा मसलादार बिरयानी (भुटेको भात) बेच्न तछाडमछाड गरेको देखिन्छ ।

यसैबिच इनधन अभावपछि इलेक्ट्रिक बाइकको बिक्री पनि बढेको छ । सरकारी तथ्याङ्कले विद्युतीय सवारी साधनको आयातमा तीन गुणा वृद्धि देखाएको छ । फेब्रुअरीमा ६०३ युनिटबाट मार्चमा दुई हजार १३९ युनिट पुगेको छ।

विद्युतीय मोटरसाइकल विक्रेता अशरफुल आलमले गत साता खुलेदेखि ढाकामा उहाँको एटलस शोरूमबाट छ वटा मोटरसाइकल बिक्री भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्युतीय साधनको माग दिन प्रतिदिन बढिरहेको छ ।”

ढाका विश्वको सबैभन्दा घना जनघनत्व भएको शहरहरू मध्ये एक हो र यहाँ कारले भरिएको सडकहरूमा दैनिक दुई करोड २० लाख बासिन्दाहरूको लागि यातायात सेवा इन्धन अभावको कारण निरन्तर निराशाको स्रोत बनेको छ।

दुई सन्तानकी आमा फरहाना जान्नातले आफ्नी छोरीलाई विद्यालयको परीक्षामा लैजान आफ्नो मोटरसाइकलका लागि इन्धन किन्न पर्खिरहेकाहरूसँग बिन्ती गर्नुपरेको बताउनुभयो ।

“मैले लाइनमा रहेका अरूलाई बिन्ती गरें, किनकि मसँग अरू कुनै विकल्प छैन,” जनातले भन्नुभयो । ढाकामा वर्षौंको भीडले मोटरसाइकल ट्याक्सी चालकहरूको बढ्दो प्रयोगले ट्राफिकको समस्या हुने गरेको भएपनि अहिले यो खुकुलो भएको पाइन्छ तर इन्धनको अभावले अब उनीहरूको जीविकोपार्जनलाई खतरामा पारेको छ।

“मेरो आम्दानी गुमिरहेको छ,” चालक मिजानुर रहमानले आक्रोशित हुँदै भन्नुभयो । दुई सन्तानका ४० वर्षीय पिता रहमानले भन्नुभयो, “उहाँ एक दिनमा एक हजार ५०० टाका कमाउनुहुन्थ्यो, तर त्यो मध्यपूर्व युद्धभन्दा पहिलेको कुरा हो।”

“मैले मोटरसाइकल रिफिल गर्ने दिन कमाउन सक्दिनँ, अहिले १० देखि १२ घण्टा लाग्छ,” बिहान ४ः३० बजे लाइनमा सामेल भएका रहमानले भन्नुभयो । यद्यपि ग्यास स्टेशनले कम्तिमा मध्यान्हसम्म बेच्न ताजा आपूर्ति नहुने बताएको थियो।

रहमानले भन्नुभयो, “म लामो दूरीका यात्रुहरू लैजान डराउँछु, किनकि म इन्धन भर्न र सुरक्षित रूपमा फर्कन सक्छु कि सक्दिनँ भन्ने निश्चित छैन।”

झापामा सवारी दुर्घटनामा परी एकको मृत्यु, छ जना घाइते

झापा। कनकाई नगरपालिका–३ नयाँबस्तीमा आज दिउँसो भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–३ की ६८ वर्षीया मन्जुधरी ढकाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र १–०१–००१ ह८२५२ नम्बरको अटो अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको मे ५ प ६६२० नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना हुँदा ढकालसहित सात जना घाइते भएका थिए ।

घाइते सबैलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि लगिएकोमा ढकालको अपराह्न ४ः३५ बजे मृत्यु भएको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

घाइते हुनेहरूमा हल्दिवारी–३ का ५७ वर्षीय जीवन ढकाल, ५० वर्षीया हरिमाया ढकाल, ३५ वर्षीया भिमा ढकाल र १३ वर्षीय रोजन ढकाल रहेका छन् । यस्तै, अटोमै सवार १३ वर्षीय प्रदीप नेपाल र मोरङ मिक्लाजुङ–६ का ३७ वर्षीय मोटरसाइकल चालक चन्द्रबहादुर खत्री घाइते भएका छन् ।

चालक र सवारी नियन्त्रणमा इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले अटो, मोटरसाइकल र अटो चालक हल्दिवारी–३ बस्ने ४६ वर्षीय खेमराज गौतमलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन सभामुखलाई हस्तान्तरण

काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले सभामुख डोल प्रसाद (डीपी) अर्याललाई मस्यौदा प्रतिवेदन बुझाएको छ ।समितिका सभापति गणेश पराजुलीले उक्त मस्यौदा सभामुख अर्याललाई हस्तान्तरण गरेका हुन् ।

मस्यौदा बुझ्दै सभामुख अर्यालले यसमा थप छलफल गरिने बताए । उनले सदनमा विस्तृत छलफल हुने र आवश्यक परेमा कमी–कमजोरी सुधार गर्न सकिने उल्लेख गरे ।संविधान, विगतका नजिर, प्रचलित कानुनी व्यवस्था, साथै विज्ञ र सम्बन्धित निकायसँगको परामर्शका आधारमा नियमावलीलाई परिष्कृत गरिने सभामुख अर्यालले बताएका थिए ।

जब एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगे

अछाम । कुरा यही वैशाख ३ गतेको हो । यहाँको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान बल्देका ३५ वर्षीय पहलसिंह बुढा घाँस काट्न आफ्ना दुई छोराहरू दिलीप र नरेशलाई लिएर कर्णाली नदीपारि सुर्खेतको पञ्चपुरी क्षेत्र पुगेका थिए।

आफ्नै काठे डुङ्गा लिएर घाँस काट्न गएका उनीहरूमध्ये जेठो छोरा १४ वर्षीय दिलीपले आफूभन्दा पहिले पालैपालो बुबा र भाइलाई पारि पठाएका थिए । अन्तिममा आफू तरे । नदी तरिसकेपछि पहलसिंहले कर्णाली नदीमा जाल थापे । त्यसपछि तीनै जनाले घाँस काटे । तीन भारी घाँस काटिसकेपछि साँझपख जेठो छोरा दिलीपले डुङ्गामा पालैपालो तीनै भारी घाँस तारे।

घाँस तारेर बुबा र भाइ लिन दिलीप डुङ्गा लिएर पुनः कर्णाली पारि पुपे । साँझ झमक्क परिसकेको थियो । दिलीपले बुबालाई पालैपालो डुङ्गामा पारी पुर्‍याउने प्रस्ताव गरे । तर पहलसिंहले दिलीपलाई भने, “छोरा घाँस तार्दातार्दा तिमीलाई थकाइ पनि लागेको छ । रात परिसक्यो सबै जनासँगै जाऔँ”, दिलीपले ‘हुन्न त्यसरी नजाउँ’ पनि भने, तर बुबाले मानेनन्।

नभन्दै नदीको बिच भागमा पुगेपछि डुङ्गा पल्टियो । डुङ्गा पल्टिनेबित्तिकै दिलीप पौडी खेल्दै जसोतसो नदी किनारमा निस्किए । रुँदै, गुहार्दै वरपरका मान्छेलाई खबर गरे । डुङ्गा पल्टिएर उल्टो भएपछि ११ वर्षका भाइ नरेश डु¬ङ्गामै च्यापिए। पहलसिंहले कान्छो नरेशलाई बचाउन च्यापिएका ठाउँबाट निकालेर पिठ्युँमा बोके । अनि नदी पार गर्न पौडिन थाले। नदी पार गर्ने बेलामा पानीको बहावसँगै दुवै जना बेपत्ता भए । त्यस रातभरि परिवार र स्थानीय खोजीमा जुटे। कतै फेला परेनन्।

सशस्त्र प्रहरी बल खप्तड गुल्मको विपद् उद्धार टोली, सुर्खेतबाट आएको गोताखोरको टोली, स्थानीय बासिन्दा र नेपाल प्रहरीको संयुक्त प्रयासमा निरन्तर खोजी गर्दा कर्णाली नदीको खोँचमा वैशाख ५ गते छोरा नरेश र ६ गते बुबा पहलसिंहको शव फेला पर्‍याे ।

बाबुछोराकै निधनपछि अहिले पहलसिंहको परिवारमात्रै होइन, पूरै गाउँ शोकमा छ । पहलसिंहको परिवारको मुख्य पेसा कृषि थियो । कर्णाली नदी किनारमा बसोबास गर्ने भएकाले उनीहरूको दैनिक जीवनयापन नदीमा माछा मार्ने र पशुपालन थियो । जेठो दिलीप बसुन्धरा मावि थालपाटामा कक्षा ८ मा अध्यनरत थिए।

कान्छो नरेश भने कक्षा ४ मा अध्यनरत थिए । श्रीमान् र नाबालक छोराको निधनपछि पहलसिंहकी ३३ वर्षीया श्रीमती शान्तिकुमारी माझी (बुढा) अझै राम्रोसँग होसमा आएकी छैनन् । श्रीमान्‌काे भरमा चलेको परिवारमा श्रीमान् नै नभएपछि कसरी जीविका चलाउने भन्ने चिन्ता थपिएको छ।

पुल नहुँदा वारपार गर्न जोखिम

यस स्थानमा हालसम्म एउटा झोलुङ्गे पुलसम्म छैन । जसका कारण घरायसी कामकाजकै लागि वारपार गर्न ज्यान जोखिममा हिँड्नुपर्ने बाध्यता छ ।

कर्णाली नदीले घेरिएको यो ठाउँमा झोलुङ्गे पुल निर्माण गरिदिन पटकपटक आवाज उठाउँदा पनि कुनै सुनुवाइ नभएको स्थानीय दुर्गबहादुर बिसीले गुनासो गरे । अछामतर्फ बढी सुक्खा क्षेत्र भएकाले घाँस ल्याउन सुर्खेततर्फ जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ। “घाँसको भारी कर्णाली पार गर्दै ल्याउनुपर्छ, कतिखेर के हुन्छ थाहै हुँदैन”, उनले भने।

भारतको मल उत्पादनमा गिरावट

पश्चिम एसियामा बढ्दो युद्धको प्रत्यक्ष असर देखिँदै भारतको मल उत्पादन मार्च महिनामा झन्डै एक चौथाइले घटेको छ । प्राकृतिक ग्यास आपूर्तिमा आएको अवरोधका कारण उत्पादनमा यस्तो तीव्र गिरावट आएको सरकारी तथ्याङ्कले देखाएको छ । यसले कृषि क्षेत्रमा दबाब बढाउने सङ्केत गरेको छ ।

भारतमा युरिया उत्पादनका लागि प्राकृतिक ग्यास अत्यावश्यक कच्चा स्रोत मानिन्छ । यही युरिया देशको विशाल कृषि प्रणालीका लागि मुख्य मल भएकाले यसको उत्पादन विश्वव्यापी ऊर्जा आपूर्ति र मूल्य उतारचढावसँग प्रत्यक्ष रूपमा जोडिएको छ । तर फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गर्दा ग्यास आपूर्ति प्रभावित भएको हो ।

यो जलमार्गबाट विश्वका करिब एक तिहाइ मल आपूर्ति हुने भएकाले अवरोधले विश्वव्यापी खाद्य उत्पादनमै असर पर्ने चिन्ता व्यक्त गरिएको छ । भारतजस्तो कृषिमा निर्भर मुलुकका लागि यसको प्रभाव अझ गम्भीर मानिएको छ । भारतमा कुल रोजगारीको ४५ प्रतिशतभन्दा बढी हिस्सा कृषिले ओगटेको छ । साना र कम उत्पादनशील खेती प्रणालीमा निर्भर किसानहरूका लागि मल अभाव थप चुनौती बन्न सक्छ ।

वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मार्च २०२६ मा मल उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.६ प्रतिशतले घटेको छ । यसअघि भने उत्पादनमा सुधारको क्रम देखिएको थियो—फेब्रुअरीमा ३.४ प्रतिशत, जनवरीमा ३.७ प्रतिशत र डिसेम्बर २०२५ मा ४.१ प्रतिशतले वृद्धि भएको थियो ।

सरकारले भने तत्काल अभाव नहुने दाबी गरेको छ । पेट्रोलियम मन्त्रालयका अनुसार देशमा हाल ‘पर्याप्त मल भण्डार’ रहेको छ र आपूर्ति स्रोतहरूलाई विभिन्न देशहरूबाट विविधीकरण गर्ने प्रयास भइरहेको छ ।

भारतमा मलको माग मुख्यतः मनसुन बाली रोपाइँ (जुन–जुलाई) अघि र जाडो सिजनका बाली रोपाइँ (अक्टोबर–नोभेम्बर) बेला उच्च हुन्छ । यही समयलाई लक्षित गर्दै सरकारले यसअघि अप्रिलमा मल अनुदान ११ प्रतिशतले बढाएको थियो, जसले बढ्दो मूल्यबाट किसानलाई केही राहत दिने अपेक्षा गरिएको छ ।

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ । कारागारको आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास गरेको आरोपमा उनीहरूलाई आज बिहानै नियन्त्रणमा लिइएको हो ।

दुई दिनअघि कारागारका चौकीदार प्रेम चौधरीलाई केही कैदीको समूहले जबर्जस्ती बाहिर निकाल्दै आन्तरिक व्यवस्थापन आफ्नो हातमा लिने प्रयास गरेपछि तनाव सुरु भएको थियो । कारागारभित्रै गुटबन्दी गरी अशान्ति फैलाउन खोजेपछि सुरक्षा निकायले हस्तक्षेप गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले कारागारको सुरक्षा र अनुशासन कायम राख्न प्रहरीले कारागारमा बिहानै ‘अप्रेसन’ चलाएको जानकारी दिए । घटनाबारे स्पष्ट पार्दै भने, “कारागारभित्र केही कैदीबन्दीले आन्तरिक प्रशासन आफ्नो नियन्त्रणमा लिने उद्देश्यले चौकीदारलाई निष्कासनको प्रयास गरेपछि सुरक्षा चुनौती बढेको थियो । थप झडप हुन नदिन हामीले २२ जनालाई नियन्त्रणमा लिएका छौँ । उनीहरूलाई आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी अन्य कारागारमा स्थानान्तरणको तयारी भइरहेको छ ।”

यसअघि गत माघमा कारागारभित्रै कटुवा पेस्तोल र दुई राउन्ड गोली फेला परेपछि तत्कालीन चौकीदार इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिएर अन्यत्र सारिएको थियो । सो समयमा इन्द्रजितको पक्राउको विरोध गर्दै कैदीबन्दीले दुई दिनसम्म प्रदर्शनसमेत गरेका थिए ।

विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति

तनहुँ । विश्व बैंकको सहयोगमा स्तरोन्नति सुरु भएको व्यास नगरपालिकास्थित चार वडा जोड्ने सडकको काम ४३ प्रतिशत सकिएको छ । वि.सं. २०८१ जेठदेखि सुरु भएको उक्त सडकमा हालसम्म ४३ प्रतिशत भौतिक प्रगति भएको व्यास नगरपालिकाले जनाएको छ।

विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नतिको काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए।

व्यास नगरपालिकाको वडा नं ७, ९, १० र ११ लाई जोड्ने पराशर मार्गअन्तर्गत बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती सडक कालोपत्र गरिनेछ । उक्त खण्डमा १०.५५ किलोमिटर दूरी कालोपत्र हुने प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए।

उक्त सडक स्तरोन्नतिका लागि २०८१ साल वैशाख १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि ४० करोड ८३ लाख ३५ हजार ९२१ रुपैयाँमा निर्माण कम्पनी बिकेएचटिडिसीएल एसिपीएल जेभी कालीमाटीसँग सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि गत विसं २०८० पुस २६ गते ५२ करोड ७८ लाख ३० हजार ४२७ रुपैयाँको ठेक्का आह्वान भएको थियो।

त्यसमध्ये ९ वटा फर्मले बोलपत्र दर्ता गराएकामा २३.४१ प्रतिशत घटी बोलपत्र दर्ता गराउने फर्मको बोलपत्र स्वीकृत भएको थियो । विसं २०८२ असारसम्म यसको म्याद रहेकामा काम नसकिएपछि २०८३ असारसम्म म्याद थप भएको छ।

दश दशमलव ५५ किलोमिटर उक्त सडकखण्डमा कालोपत्र, नाला तथा अन्य संरचना निर्माण गरिनेछ । उक्त सडकले व्यास नगरपालिका–११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, व्यास नगरपालिका–९ कुमालगाउँ, व्यास नगरपालिका–७ समता स्कुल, कलेस्तीलगायतका ठाउँ जोड्छ।

विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रौतहट बौधीमाई नगरपालिका–७ का २५ वर्षीय मिथिलेश कुशवाहा, भोजपुर नगरपालिका–७ का ४४ वर्षीय केदारबहादुर भण्डारी, सप्तरी सुरूङगा नगरपालिका–५ का ५३ वर्षीय रामतुला मियाँ र भक्तपुर सूर्यविनायक नगरपालिका–७ की ५५ वर्षीया सुनिता खत्री रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकामध्ये मिथिलेशले कुवेत पठाइदिन्छु भन्दै तीन लाख ५० हजार रुपैयाँ, केदारबहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै रु एक लाख २५ हजार तथा रामतुला र सुनिताले अल्बानिया पठाइदिन्छु भन्दै रु तीन लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताए ।

सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

काठमाडाैँ । सन् २०२५ मा आप्रवासन मार्गहरूमा लगभग सात हजार ९०० व्यक्तिको मृत्यु भएको छ वा बेपत्ता भएका संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले मङ्गलबार सार्वजनिक उक रिपोर्टमा भनेको छ । यससँगै आप्रवासनका क्रममा सन् २०१४ देखि सन् २०२५ को अन्त्यसम्म कुल मृतक र बेपत्ता व्यक्तिहरूको सङ्ख्या ८० हजारभन्दा बढी भएको छ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले सुरक्षित मार्गहरू पहुँच भन्दा बाहिर हुँदा मानिसहरू खतरनाक, अनियमित यात्रामा जान बाध्य हुनेगरेको र ज्यान गुमाउने गरेको बताएको छ । सङ्गठनले देशहरूलाई आप्रवासन मार्गहरूमा बढीभन्दा बढी जीवन बचाउन राजनीतिक इच्छाशक्ति खोज्न आग्रह गरेको छ।

आइओएमले भनेको छ, “सन् २०२५ मा विश्वभर आप्रवासनका क्रममा करिब सात हजार ९०० मानिसको मृत्यु वा बेपत्ता भएको अभिलेख राखिएको छ ।”

आइओएमको बेपत्ता आप्रवासी परियोजनाले सन् २०१४ यता आप्रवासनका क्रममा ८० हजारभन्दा बढीको मृत्यु र बेपत्ताको अभिलेख राखेको छ ।

“यद्यपि यी तथ्याङ्कहरूले प्रभावित व्यक्तिहरूको वास्तविक संख्याको सबैभन्दा कम सीमालाई प्रतिनिधित्व गर्दछ, तर पनि यसले आप्रवासी मृत्युको अन्त्य गर्न र पछाडि छोडिएका परिवारहरूको जटिल आवश्यकतालाई सम्बोधन गर्न तत्काल प्रतिक्रियाको आवश्यकतालाई जोड दिन्छ,” आइओएमले भनेको छ।

आइओएमले सन् २०२५ मा भएको हजारौँको मृत्यु र बेपत्ताको अभिलेखले यी रोकथाम गर्न सकिने मृत्युलाई अन्त्य गर्न विश्वव्यापी असफलताको निरन्तरता र वृद्धिलाई सङ्केत गरेको बताएको छ।

“सन् २०२५ मो सहायता कटौती र खतरनाक अनियमित मार्गहरूको सूचनामा प्रतिबन्ध लगाइएको थियो, जसले धेरै भन्दा धेरै बेपत्ता आप्रवासीहरूको गणनालाई कठिन बनाएको थियो, ” विज्ञप्तिमा भनिएको छ।

यसैबीच, आप्रवासीहरूको वेपत्ता हुने समस्याले गर्दा अहिले कम्तिमा तीन लाख ४० हजार परिवारका सदस्यहरू प्रत्यक्ष रूपमा प्रभावित भएको अनुमान गरिएको छ ।

उनीहरूले आफ्नो नातेदारको मनोवैज्ञानिक, सामाजिक, कानुनी र आर्थिक प्रभावहरूको सामना गरिरहेका आइओएमले जनाएको छ । बेपत्ता हुने समस्या अझै पनि समाधान भएको छैन।

आइओएमले सन् २०२६ मेको अन्तर्राष्ट्रिय आप्रवासन समीक्षा मञ्च गतिशीलता परिवर्तन गर्ने अवसर भएको बताएको छ।

“विश्वव्यापी आप्रवासन मार्गहरूमा जीवन बचाउन र यी रोकथाम गर्न सकिने क्षतिबाट सबैभन्दा बढी प्रभावित परिवारहरूलाई देख्न दिगो राजनीतिक इच्छाशक्ति आवश्यक छ,” आइओएमले भनेको छ

ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना

सान जोस – मध्यपूर्वमा चर्किंदै गएको युद्धको पृष्ठभूमिमा निकारागुआका राष्ट्रपति डेनियल ओर्टेगाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा व्यक्तिगत आक्षेप लगाउँदै उहाँलाई ‘मानसिक रूपमा अस्थिर’ रहेको टिप्पणी गर्नुभएको छ ।

इरानविरुद्धको सैन्य आक्रमणलाई लक्षित गर्दै गरिएको यस्तो अभिव्यक्तिले वासिङ्टन–मानागुआ सम्बन्धमा थप तिक्तता ल्याउने सङ्केत दिएको छ ।

राज्यद्वारा सञ्चालित सञ्चारमाध्यममार्फत प्रसारित मानागुआस्थित एक कार्यक्रममा बोल्दै ओर्टेगाले वर्तमान अमेरिकी नेतृत्वको युद्ध सञ्चालन शैलीलाई असामान्य र खतरनाक भएको बताउनुभयो ।

उहाँका अनुसार यस्तो आक्रामक नीति ‘आफ्नो नियन्त्रण गुमाइसकेको व्यक्तिको व्यवहार’ जस्तो देखिन्छ, जसले आफूले चाहेको कुनै पनि क्रूर कदम चाल्न सक्छ भन्ने मानसिकता झल्काउँछ । उहाँले यसलाई ‘मानसिक अस्थिरताको समस्या’ भन्दै थप कडा टिप्पणी गर्नुभएको थियो ।

फेब्रुअरी २८ मा इरान विरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले संयुक्त रूपमा सुरु गरेको आक्रमणपछि ओर्टेगाले लगातार ट्रम्पको आलोचना गर्दै आउनुभएको छ । उहाँको भनाइमा उक्त युद्धले क्षेत्रीय मात्र नभई, विश्वव्यापी अस्थिरता बढाएको छ ।

ओर्टेगाले ट्रम्पको सामाजिक सञ्जाल गतिविधिलाई समेत विवादास्पद भन्दै आलोचना गर्नुभयो । विशेषगरी ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा कृत्रिम बौद्धिकताबाट बनाइएको एउटा तस्बिर पोस्ट गरेको प्रसङ्ग उठाउँदै उहाँले त्यसलाई अस्वीकार्य व्यवहारको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो । उक्त तस्बिरमा ट्रम्पलाई येशू ख्रीष्टको रूपमा चित्रण गरिएको देखाइएको थियो, जहाँ उहाँ बिरामी व्यक्तिलाई निको पार्दै गरेको दृश्य देखिन्छ ।

यसप्रति प्रतिक्रिया जनाउँदै ओर्टेगाले ट्रम्पले कति जनालाई निको पारेका छन् भन्ने प्रश्न गर्दै, उल्टै युद्धमार्फत कति जनाको ज्यान गएको छ भन्ने विषयमा विश्व समुदायले जवाफ खोज्ने बताउनुभयो ।

यसैबीच, ओर्टेगाले आफ्ना परिवारमाथि लक्षित अमेरिकी प्रतिबन्धको पनि आलोचना गर्नुभएको छ । सन् २००७ देखि सत्तामा रहँदै आउनुभएका उहाँमाथि यसअघि पनि संवैधानिक संशोधन र असन्तुष्टिलाई दमन गरेर शक्ति केन्द्रित गरेको आरोप लाग्दै आएको छ, जसलाई संयुक्त राज्य अमेरिकाले बारम्बार उठाउँदै आएको छ । पछिल्लो समयमा उहाँका दुई सन्तान सुन उद्योगसँग सम्बन्धित गतिविधिमा संलग्न भएको आरोपमा अमेरिकाले प्रतिबन्ध लगाएको छ ।

यस कदमप्रति आक्रोश व्यक्त गर्दै ओर्टेगाले आफूलाई लक्षित गर्न नसकेपछि आफ्ना परिवारमाथि दबाब सिर्जना गरिएको टिप्पणी गर्नुभयो । उहाँका अनुसार यस्तो प्रतिबन्ध राजनीतिक उद्देश्यले प्रेरित रहेको छ ।

बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ

सुनसरी। जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ ।जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनाअनुसार इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका तथा गढी गाउँपालिकालगायत स्थानमा कुखुरापालन गरिएका फार्महरूमा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा, एच फाइभ एन वन) नामक रोग पुष्टि भएको जनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेका अनुसार उक्त रोग मानिसमा समेत सर्न सक्ने भएकाले बर्ड फ्लु नियन्त्रण नियमावली, २०७८ बमोजिम सङ्क्रमित क्षेत्रलाई केन्द्रविन्दु मानी चार किलोमिटर क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र तोकिएको छ । रोग थप फैलिन नदिन सो क्षेत्रमा आवश्यक नियन्त्रणका कार्य अघि बढाइएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासनले वैशाख १४ गतेसम्मका लागि कुखुरा, चल्ला तथा कुखुराजन्य वस्तु (अण्डा र मासु) को ओसारपसारमा प्रतिबन्ध लगाएको छ । सङ्क्रमित क्षेत्रबाट अन्यत्र तथा अन्य जिल्लाबाट सुनसरीभित्र कुखुरा तथा कुखुराजन्य वस्तु भित्र्याउन र बाहिर लैजान रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले जिल्लावासी, कृषक, व्यवसायी तथा सरोकारवालालाई उच्च सतर्कता अपनाउन र नियन्त्रण कार्यमा सहयोग गर्न आग्रह गरेको छ । गत चैत ११ गते सुनसरीमा बर्डफ्लु पुष्टि भएपछि जिल्लाका विभिन्न स्थानमा प्रभावित फार्महरूमा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको थियो । सोही दिन इटहरी, दुहबी र गढीलगायतका ठाउँहरूमा आठ वटा बढी कृषि फार्ममा सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएपछि इटहरी–१९ स्थित ओकेओ कृषि प्रालिमा रहेका ११ हजार २० कुखुरा र ११ हजार ३०० अण्डा नष्ट गरिएको थियो । यस्तै, गढी गाउँपालिका–५ को सञ्जित कृषि फार्ममा ४२१, इटहरी–११ को आलम कृषि फार्ममा ५५०, इटहरी–१८ को रानी कृषि फार्ममा एक हजार ९३० (लेयर्स र गिरीराज) तथा इटहरी–१७ को लक्ष्मी पोल्ट्री फार्ममा ५१० कुखुरा र ५२० अण्डा नष्ट गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोले जानकारी दिनुभयो ।सोमबार सुनसरीको रामधुनी नगरपालिका–६ स्थित एक पोल्ट्री फार्ममा पालिएका करिब एक लाख ५० हजार लेयर्स कुखुरामा सङ्क्रमण पुष्टि भएपछि नष्ट गरिएको थियो ।

मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

धनुषा। जनकपुरधामलगायत मधेस प्रदेशमा आज अत्यधिक गर्मी बढेको छ । प्रदेशभरमै सबैभन्दा बढी तापक्रम यो समाचार तयार पार्दासम्म जनकपुरधाममा मापन भएको छ ।जसअनुसार जनकपुरको तापक्रम अहिले ३८ डिग्री पुगेको छ भने वीरगञ्जमा ३९ डिग्री सेल्सियस पुगेर जनजीवन अत्यधिक प्रभावित भएको जल तथा मौसम विज्ञान विभाग कार्यालय जनकपुरका प्रमुख राजिव झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चर्को गर्मीसँगै तातो हावा चलेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनाएको छ भने विशेषगरी बालबालिका, वृद्धवृद्धा, मजदुर र साना व्यवसायीहरू यसबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।यस्तै, गर्मीको प्रत्यक्ष असर श्रमिक, मजदुर र साना सडक व्यवसायीहरूमा परेको छ ।

गर्मी अत्यधिक बढेर तातो हावा चलेसँगै दिनभर काम गर्न असहज भएको र ग्राहकहरूको चहलपहल पनि कम हुँदा उनीहरूको आम्दानीमा पनि असर परेको छ । सडक किनारमा ठेला वा पसल राख्ने व्यवसायीहरू दिउँसोको चर्को घाममा बस्न नसक्ने अवस्थामा छन् ।जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रमा अझै केही दिन तापक्रम उच्च रहने सम्भावना छ । यसले गर्दा तातो हावा (लु) चल्ने क्रम पनि जारी रहनेछ ।

स्वास्थ्यकर्मीहरूले गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । पर्याप्त मात्रामा पानी पिउने, झोलिलो पदार्थ सेवन गर्ने, दिउँसो घरबाहिर ननिस्कने, हल्का र खुकुलो कपडा लगाउने जस्ता उपायहरू अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरूलाई गर्मीको प्रत्यक्ष प्रभावबाट बचाउन विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित

लुम्बिनी – लुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ ।

प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १४औँ बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफलसहित पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

बैठकमा सभामुख तुलाराम घर्तिमगरले उक्त विधेयक छलफलसहित सर्वसम्मत रूपमा पारित भएको जानकारी गराउनुभयो । कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि समितिको प्रतिवेदन पेस गर्नुभयो ।

यस्तै, भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजीप्रसाद घिमिरेले समितिको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुभयो ।

प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरूले विभिन्न समसामयिक विषय उठाएका छन् । प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले जनताको संरक्षण गर्ने राज्यले जनतालाई दुःख दिन नहुने बताउँदै योजना कार्यान्वयन र फरफारक प्रक्रियालाई सहज बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले विकासका लागि बजेट भए पनि त्यसको प्रभावकारी सदुपयोग हुन नसकेको उल्लेख गर्नुभयो ।

प्रदेशसभा सदस्य शान्ति लोदले रुपन्देहीको मायाँदेवी क्षेत्रमा नागरिकताको समस्या रहेको विषय उठाउनुभयो । प्रदेशसभा सदस्य निलम पासवानले लुम्बिनी प्रदेशमा पूर्व परासीदेखि तौलिहवा हुँदै बर्दियासम्म यातायात सेवा सञ्चालन गर्न माग गर्नुभयो । साथै सङ्घीय सरकारले भन्सारमा गरेको कडाइले गरिब तथा विपन्न नागरिकको जनजीवन प्रभावित भएको उहाँको भनाइ थियो ।

प्रदेशसभा सदस्य भगवतीकुमारी थरुनीले इन्धन मूल्यवृद्धिका कारण भान्सादेखि कृषि क्षेत्रसम्म असर परेको भन्दै मूल्यवृद्धि फिर्ता लिन आग्रह गर्नुभयो ।

प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले सङ्घीय सरकारको नयाँ भन्सार नीतिका कारण सीमावर्ती क्षेत्रका नागरिक समस्यामा परेको उल्लेख गर्दै विवाह तथा पूजाआजाका सामग्री ल्याउन रोक नलगाउन अनुरोध गर्नुभयो ।

प्रदेशसभा सदस्य अम्बिका काफ्लेले ई–रिक्सा चालकहरूको समस्या समाधान गर्न माग गर्नुभयो । उहाँले चालकहरूको शैक्षिक स्तर र लिखित परीक्षा प्रणालीका कारण लाइसेन्स प्राप्त गर्न कठिन भइरहेको बताउँदै धेरै चालक निरक्षर रहेका र लाइसेन्सबिना नै सवारी सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले मौखिक तथा प्रयोगात्मक परीक्षा प्रणाली लागू गरी लाइसेन्स प्रक्रिया सहज बनाउनुपर्ने माग गर्नुभयो ।

प्रदेशसभा सदस्य रेवती गुरुङले संविधान र कानुनभन्दा माथि कोही नरहेको उल्लेख गर्दै देशलाई अव्यवस्थाबाट जोगाउन सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । अर्का प्रदेशसभा सदस्य दिलकुमारी बुढाले डिभिजन कार्यालयहरू प्रदेशप्रति उत्तरदायी हुन नसकेको गुनासो गर्दै जनतालाई सास्ती दिन नहुने धारणा राख्नुभयो ।

यस्तै, अर्का प्रदेशसभा सदस्य वसन्ती न्यौपानेले बजेट तर्जुमा प्रक्रियालाई सरल र प्रभावकारी बनाउन आग्रह गर्दै विगतका कमजोरी नदोहोर्‍याउन सुझाव दिनुभयो ।

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

काठमाडौँ- देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म तराईका केही जिल्लामा लु चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । धनगढी र नेपालगञ्जमा ४३ डिग्री, भैरहवामा ४४ डिग्री र काठमाडौँमा ३३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

विभागका मौसमविद् विनु महर्जनका अनुसार पूर्वी भूभागमा शनिबारसम्म र पश्चिम क्षेत्रमा अझै केही दिन बढी तातो रहने सम्भावना छ । उहाँले दिउँसोको समयमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन, चिसो तथा हावादार स्थानमा बस्न, हल्का र पातलो कपडा लगाउन तथा प्रशस्त पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिनुभयो ।

लुम्बिनी र सुदूरपश्चिमका तराई जिल्लाहरू—कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देही—मा ‘सतर्क रहनु’ स्तरको चेतावनी जारी गरिएको छ ।

त्यस्तै, अछाम, सुर्खेत, दैलेख, सल्यान, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, परासी, नवलपुर, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सिन्धुली र उदयपुरलगायत जिल्लामा ‘अद्यावधिक रहनु’ स्तरको चेतावनी दिइएको छ ।

तातो हावा र उच्च तापक्रमका कारण थकान, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, आँखामा पोल्ने, चक्कर आउने तथा बेहोस हुने जस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ । बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू विशेष जोखिममा पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज (मंगलबार) बस्ने भएको छ ।
बैठक सिंहदरबारमा मध्यान्ह साढे १२ बजे बस्ने भएको हो ।

बैठकमा नयाँ संसद् भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगति सम्बन्धमा सहरी विकास तथा भवन निर्माण विभागसँग छलफल हुनेछ ।