बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने
भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताए ।
भक्तपुरका सञ्चारकर्मीहरूसँग आज सूर्यविनायकमा छलफलका क्रममा उनले घरबास गुमाएकाहरूको लागि प्रदेश सरकारले बस्ती निर्माण गरेर पुर्नवासको व्यवस्था गर्ने बताए ।
उनले भने, “रसुवामा आएको बाढीले बगाएको भोटेकोशी र त्रिशूली नदीको दायाँ–बायाँ क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैन किनकी भोटेकोशी र त्रिशूली नदी किनारका क्षेत्र अझै जोखिमपूर्ण छ, त्यसैले बागमती प्रदेश सरकारले घरबास गुमाएका नागरिकका लागि दीर्घकालीन सोचका साथ बस्ती विकास गर्ने तयारी गरेको छ ।”
उनले त्यस्ता नागरिकका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको बताउँदै नुवाकोटका पीडितका लागि विदुर नगरपालिकामा जग्गा उपलब्ध गराउने भएको र रसुवाका लागि जग्गा खोजी रहेको बताए ।
मुख्यमन्त्री थापाले बागमती प्रदेश सरकारले बाढी तथा विपद् प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढाएको बताए । तत्कालीन राहतसँगै प्रभावित नागरिकलाई दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनस्र्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको बताए ।
मुख्यमन्त्री थापाले भने, “भोटेकोशीमा गएको बाढीका प्रभावितलाई उद्योग वाणिज्य महासङ्घ तथा उद्योगीहरूसँगको सहकार्यमा रोजगारीको व्यवस्था गर्ने भएका छौँ । त्यसका लागि हामीले पहल र छलफल सुरु गरिसकेको छौँ । त्यसैगरी प्रभावित क्षेत्रका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा, आवासको जिम्मेवारी लिने प्रदेश सरकारले निर्णय गरी आवश्यक प्रक्रिया अगाडि बढाएका छौं ।”
