भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि मधेस प्रदेशमा भइरहेको सुझाव सङ्कलन कार्यक्रमलाई प्रभावित पार्नेगरी घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताएका छन् ।
मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कुनै पनि भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई रोक्न नसक्ने स्पष्ट पारेका हुन् ।
उनका अनुसार सिरहा र सप्तरीमा आयोजित अन्तरक्रियामा १०० भन्दाबढी विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको सहभागिता थियो ।
कार्यक्रममा दुई जना व्यक्तिले हल्लाखल्ला गरेपछि सहभागीको सहभागिता प्रभावित हुने अवस्था आएपछि आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको उनले बताए । “एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याएर अनावश्यक भ्रम फैलाउने प्रयास गरिएको छ”, मन्त्री पोखरेलले भरेका छन् ।
उनले लोकतान्त्रिक व्यवस्थामा असहमति जनाउने अधिकार सबैलाई भए पनि घटनाको पूर्ण सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु उचित नहुने बताए।
मन्त्री पोखरेलले उक्त घटनापछि पनि शिक्षा सुधारका लागि आफ्नो अभियान नरोकिएको जानकारी दिए । उनका अनुसार सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय र मदरसा शिक्षालयमा पुगेर विद्यार्थीसँग संवाद गर्नुका साथै सोमबार मात्रै करिब आठदेखि १० वटा विद्यालयमा पुगेर सुझाव सङ्कलन गरिएको थियो ।
