शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरुसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफल कार्यक्रममा शिक्षा तथा खेलकुद क्षेत्रमा सङ्घ र प्रदेश सरकारबीच सहकार्य तथा समन्वय थप मजबुत बनाउने विषयमा छलफल भएको थियो ।
त्यसैगरी, छलफलमा १०औँ राष्ट्रिय खेलकुदको आयोजना, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम विधेयक, विपद्का समयमा सहकार्य तथा अन्तरसरकार समन्वय लगायतका विषयमा विचार–विमर्श भएको थियो । १०औँ राष्ट्रिय खेलकुद निर्धारित समयमै सम्पन्न गर्ने, टिभेट विधेयक आपसी छलफलबाट टुङ्ग्याउने तथा प्राविधिक शिक्षालाई थप विकेन्द्रीकृत र पहुँचयोग्य बनाउने प्रतिबद्धता व्यक्त गरियो ।
कार्यक्रममा शिक्षामन्त्री पोखरेलले सङ्घीय सरकार प्रदेश सरकारसँग मिलेर काम गर्न चाहेको बताउँदै शिक्षा र खेलकुदका क्षेत्रमा दुवै तहका सरकारबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिए । मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन मन्त्रालयको प्राथमिकतामा रहेको भन्दै उक्त ऐनमा तीन तहका सरकारको अधिकार क्षेत्रको स्पष्टता तथा छुटेका विषयलाई समावेश गराएर ऐनलाई थप समृद्ध बनाइने विश्वास व्यक्त गरे ।
“विद्यालय शिक्षा ऐनलाई प्राथमिकतामा राखेका छौँ, पहिलाको विधेयकमा कति कुरा छुटेकाले पनि अहिले देशभर सबै सरोकारवालाहरुसँग छलफल गरी रायसुझावका आधारमा अगाडि बढाइएको छ । दीर्घकालीन रुपमा होस् भनेर विषयवस्तु सम्बोधन गर्दा केही समय लागेको हो,” मन्त्री पोखरेलले भने ।
मन्त्री पोखरेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य, सभ्य रुपमा प्रभावकारी बनाउन तीन तहका सरकारबीच बलियो समन्वय र सहकार्य जरुरी भएको उल्लेख गरे। उनले खेल क्षेत्रको विकास तथा राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिताहरुमा सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै खेलाडीहरुलाई प्रोत्साहन गरिने बताए ।
कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रभावकारी ढङ्गले सञ्चालन गरिनुपर्नेमा जोड दिए । साथै तीन तहका सरकार मिलेर सिर्जनशील र दूरदर्शी योजना बनाएर जानुपर्ने उनको भनाइ थियो ।
मधेस प्रदेश सरकारका खेलकुद तथा समाजकल्याणमन्त्री लखन दास तत्माले शिक्षा प्रभावकारी नभएसम्म देश समृद्ध हुन सक्दैन भन्दै शिक्षा र खेलकुद क्षेत्रका विकासका लागि तीन तहका सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।
