`

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

Nepal One HD २४ भदौ २०८३ ६:१६
जीवनशैली/स्वास्थ्य

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आगामी असोज ५ देखि १९ गतेसम्म सञ्चालन हुने अभियानमा जिल्लाका १५ वटै पालिकाका ३० वर्षमाथिका करिब चार लाख ९३ हजार ३१९ नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा चार महिला र दुई पुरुष गरी छ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमण र मृत्युदर बढेपछि उच्च सतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार अभियानका लागि आवश्यक खोपको भण्डारण तथा व्यवस्थापनको काम अघि बढाइएको छ । जिल्लामा सबैभन्दा बढी जेई सङ्क्रमित मेचीनगर नगरपालिकामा भेटिएको छ । खोप अभियान पनि मेचीनगरबाट नै सुरु हुनेछ ।

एक स्थानीय तहमा बढीमा सात दिनसम्म खोप सेवा सञ्चालन गर्ने तयारी गरिएको दासले बताए । उनका अनुसार खोप लगाउँदा सामान्य असर देखिन सक्ने भए पनि यसले स्वास्थ्यमा ठुलो समस्या पार्ने छैन ।

खोपलाई सहज र पहुँचयोग्य बनाउन प्रत्येक वडामा खोप केन्द्र स्थापना गरिनेछ । अभियानमा महिला स्वास्थ्य स्वयंसेविका तथा खोपकर्मी परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *