`

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

नारायणगढ (चितवन) – चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइने भएको छ । यसका लागि जिल्ला समन्वय समिति चितवनको ९औँ जिल्ला सभाले साविक जिल्ला विकास समितिको नाममा रहेको कित्ता नं १९५९ को जग्गामध्ये एक बिघा १६ कठ्ठा १४ धुर जग्गा सहिद मैदान निर्माणका लागि भरतपुर महानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरिएको थियो ।

महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले गेस्ट हाउस चौरको पृष्ठभूमि संरक्षण गर्दै ऐतिहासिककालदेखि देशका लागि योगदान गरेका सहिदहरूको सम्मान र सम्झनामा व्यवस्थित सहिद मैदान निर्माण गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भरतपुरको मुटुमा रहेको यस ऐतिहासिकस्थललाई विभिन्न राष्ट्रिय तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने गरी र सहिदहरूको स्मृतिका लागि सहिद मैदानका रूपमा विकास गर्न लागेका हौँ । यसका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माणको काम महानगरले अघि बढाएको छ ।”

सहिद मैदान निर्माणका लागि हाल रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । मैदान स्तरोन्नति तथा सम्याउने कार्यका लागि महानगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माणका क्रममा सङ्कलित माटो प्रयोग गरी मैदान पुर्ने काम भइरहेको छ ।

केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक अधिवेशनसमेत यही स्थानमा रहेको मञ्चमा भएको थियो ।
कार्यवाहक प्रमुख अधिकारीले गेस्ट हाउस चौरलाई सबैले साझा थलोका रूपमा प्रयोग गर्दै आएकाले यसलाई व्यवस्थित गरी सहिद मैदानका रूपमा विकास गर्न महानगरपालिकाले प्रक्रिया अघि बढाएको बताउनुभयो ।

उहाँका अनुसार मैदानमा हाल रहेको मञ्चलाई व्यवस्थित तथा सुदृढ गरिनेछ । यसका साथै आकर्षक मुख्य प्रवेशद्वार, घेराबार, दुवैतर्फ ढल निकास, फुटपाथ, हरित क्षेत्र तथा अत्याधुनिक स्मार्ट शौचालय निर्माण गरिनेछ । यी सबै कामलाई एउटै प्याकेजमा समेटेर बोलपत्र आह्वान गर्ने अन्तिम तयारी भइरहेको छ ।

फ्रान्सका विद्यालयमा अर्को महिनादेखि मोबाइल फोन निषेध गरिने

फ्रान्सले अर्को महिनाबाट माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ । तर ट्रेड युनियनहरूले यो उपाय छिटो कार्यान्वयन गर्न कठिन हुन सक्ने चेतावनी दिएका छन्।

फ्रान्सको संसद्ले जुलाईमा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग दुवै प्रतिबन्ध लगाउने विधेयक पारित गरेको थियो।

यो राष्ट्रपति इमानुएल म्याक्रोँको बालबालिकालाई स्क्रिन अगाडि कम समय बिताउने वातावरण दिन ल्याइएको दबाबको एक हिस्सा हो । सरकारले बालबालिका तथा किशोरकिशोरीलाई स्क्रिनको लतले उनीहरूको विकास रोकिरहेको छ भन्ने धारणा राख्छ ।

यस महिनाको सुरुमा देशको सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी प्रावधान खारेज गरेपछि म्याक्रोँलाई यस मुद्दामा अघि बढ्न अलमल पारेको थियो ।

तर संवैधानिक परिषद्ले माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग प्रतिबन्ध लगाउने छुट्टै प्रावधानबारे कुनै निर्णय गरेन।

सोमबार सरकारकी प्रवक्ता मोद ब्रेजोँले भन्नुभयो, “संवैधानिक परिषद्ले यसको मुख्य प्रावधान खारेज गरे पनि म्याक्रोँले फोन प्रतिबन्धसहितको कानून ‘प्रख्यापन गर्ने निर्णय गर्नुभएको छ।”

उहाँले मन्त्रिपरिषद् बैठकपछि भन्नुभयो, “माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै लागू हुन सक्छ। यसका लागि स्थिर, सुदृढ र वैधानिक कानूनी ढाँचा छ।”

फ्रान्सको शैक्षिक सत्र सेप्टेम्बरमा सुरु हुन्छ।

फ्रान्सले पहिले नै ११ देखि १५ वर्ष उमेरका विद्यार्थी जाने कलेज, माध्यमिक विद्यालय र प्राथमिक विद्यालयमा बालबालिकालाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाइसकेको छ ।

संसदले त्यस महिनापछि पारित गर्नुअघि नै जुलाईको सुरुमा माध्यमिक विद्यालयहरूलाई सेप्टेम्बरबाट यो उपाय कार्यान्वयन गर्न तयारी गर्न निर्देशन दिइएको थियो ।

प्रतिबन्ध लागू गर्न स्कूलहरूले आफ्ना आन्तरिक नियम संशोधन गर्नुपर्नेछ र यसका लागि केही समय अवश्य लाग्नेछ ।

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

कास्की। पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ ।

महानगरले बसपार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिनका लागि सूचना गरेको थियो । त्यसपछि दाबी–विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरणअनुसार ३२५ परिवार भूमिहीनको सूचीमा परेका छन् भने २४२ परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

उहाँका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका २००, भूमिहीन सुकुमबासीका २४८ र अव्यवस्थित बसोबासीका ११६ निवेदन प्राप्त भएका थिए । वडाले सार्वजनिक गरेको सूचनाअनुसार दाबी–विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो ।

अन्तिम विवरणअनुसार १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुमबासी गरी कूल ३२५ परिवार भूमिहीन कायम भएका छन् । त्यस्तै, छानबिनपछि २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका छन् ।

वडा तहको सहजीकरण समितिले दाबी–विरोध र छानबिनपछिको अन्तिम विवरण वडा समितिसमक्ष सिफारिस गरेको छ । वडा समितिको बैठकले सहजीकरण समितिको प्रतिवेदनलाई नियमानुसार ग्रहण गर्दै आवश्यक सिफारिससहित पोखरा महानगरपालिकामा पठाउने निर्णय गरेको जनाएको छ ।

महानगर प्रमुख आचार्यले बसपार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुमबासी परिवारको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । अन्तिम विवरण टुङ्गो लागेसँगै अब महानगरपालिकाको कार्यपालिकाबाट आवश्यक निर्णय गरी जिल्ला समितिमा सिफारिस पठाइने उहाँले बताउनुभयो ।

“वास्तविक भूमिहीन, भूमिहीन दलित र सुकुमबासी परिवारको पहिचान गरी कानुनबमोजिम व्यवस्थापन गर्ने प्रक्रिया अब निर्णायक चरणमा पुगेको । हामी कसैलाई अन्याय नहोस् र वास्तविक पीडितले न्याय पाऊन् भन्ने उद्देश्यका साथ छानबिन र दाबी–विरोधको प्रक्रिया पूरा गरेका छौँ ।” प्रमुख आचार्यले भन्नुभयो ।

अब पोखरा महानगरपालिकाको कार्यपालिकाले उक्त प्रतिवेदनमाथि छलफल गरी यसै साता जिल्ला समितिमा सिफारिस गर्ने तयारी गरेको छ । त्यसपछि बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुमबासी तथा अन्य बसोबासी परिवारको व्यवस्थापन र स्थानान्तरण प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ ।

नगरप्रमुख आचार्यले प्रक्रिया समयमै सम्पन्न भएमा अर्को सातादेखि बसपार्क क्षेत्रको सुकुम्बासी बस्ती स्थानान्तरणको काम अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाले सबै सरोकारवाला निकायसँग समन्वय गरेर व्यवस्थित रूपमा स्थानान्तरणको काम अघि बढाउँछ ।”

बसपार्कभित्रका सुकुमबासीले भने निष्पक्ष छानबिन गरी वास्तविक सुकुमबासीको व्यवस्थापनमा आफूहरुले सघाउने प्रतिबद्धता जनाएका छन् । भूमिहीन सुकुमबासी सरोकार समितिका संयोजक प्रेम गुरुङले विकासका लागि सुकुमबासी बाधक नबन्ने र बसपार्क खाली गर्नुअघि आफूहरुको व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।

“हाम्रो कारणले मात्र बसपार्क बन्न नसकेको होइन । धेरै कारण छन् यसमा । हामी बसपार्क बनाउनका लागि महानगरलाई सहयोग गर्न तयार छौँ । हाम्रो वैकल्पिक व्यवस्थापन पहिला हुनुपर्छ ।” गुरुङले भन्नुभयो । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा जग्गा अधिग्रहण गरिएको थियो । योजना बनेको पाँच दशकसम्म बसपार्क नबन्दा पृथ्वीचोक क्षेत्रको सडकपेटी र फुटपाथबाट नै लामो तथा छोटो दूरीका बसहरु गन्तव्यका लागि छुट्ने बाध्यता थियो ।

बसपार्कभित्रको जग्गा सुकुमबासी र अन्य केही व्यक्तिले अतिक्रमण गरेपछि बसपार्क बन्न सकेको थिएन । पछिल्लो समय महानगरले बसपार्कभित्रका व्यापारिक सटर कवलसमेत हटाएको छ । महानगरले बसपार्कको जग्गा खाली गरेपछि दातृ निकायको सहयोगमा सुविधासम्पन्न बसपार्क बनाउने योजना सार्वजनिक गरिसकेको छ ।

‘निवेदन दिँदैमा सांसद पदमुक्त हुँदैन’ : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशका सांसदलाई कारबाहीका लागि निवेदन दिँदैमा उनीहरूको सांसद पद स्वतः पदमुक्त नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत राप्रपाका नेता तथा कार्यकर्तालाई अपिल गर्दै शाहीले पार्टीले बागमती प्रदेशसभा सचिवालयमा कारबाहीका लागि निवेदन मात्र बुझाएको स्पष्ट पारेका हुन्।

उनले सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायबाट पदमुक्त भएको घोषणा नभएसम्म सांसद पदमुक्त भएको प्रचार गर्नु उचित नहुने बताए।

‘निवेदन बुझाउँदैमा सांसद पदमुक्त हुँदैन। सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार निर्वाचन आयोगबाट पदमुक्त भएको औपचारिक घोषणा नभएसम्म पदमुक्त भएको भनेर प्रचार गर्नु उचित हुँदैन,’ उनले भनेका छन्।

शाहीले पार्टीका आधिकारिक व्यक्ति र जिम्मेवार नेताहरूले नै तथ्य नबुझी गलत सूचना फैलाउन थाले पार्टी कमजोर हुने बताए। पार्टीले कारबाही गर्न सक्ने भए पनि कारबाहीको निवेदन दिँदैमा सांसद पदमुक्त भएको मान्न नसकिने उनको भनाइ छ।

प्रत्यक्ष निर्वाचित सांसदको पद जनताको मतबाट प्राप्त हुने भएकाले यस विषयमा थप संवेदनशील हुनुपर्ने उनले बताएका छन्।

‘भावनामा होइन, तथ्यमा बोलौँ। गलत सूचना होइन, सत्य कुरा प्रचार गरौँ,’ शाहीले अपिल गरेका छन्।

चितवनमा कर छुट सुविधा प्रभावकारी, एक महिनामै २८ करोड बढी राजस्व

चितवन। सरकारले ‘आर्थिक ऐन २०८३’ जारी गरेपछि हालसम्म जिल्लामा दुई हजार ९०६ फर्मले छुट सुविधा लिएका छन् ।आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कको हालसम्म रहेको बक्यौतामध्ये बक्यौता र थप एक प्रतिशत कर बुझाएमा बाँकी ब्याज, जरिवाना, विलम्ब शुल्क मिनाहा हुने व्यवस्था ऐनले गरेको हो । ऐन जारीभएसँगै बक्यौता भुक्तान गर्ने क्रम सुरु भएसँगै राजस्वसमेत बढेको छ ।

लामो समयसम्म करको बक्यौता रहेर भुक्तान गर्न नसकी व्यवसाय अगाडि बढाउन नसकेका करदाताहरुलाई एक पटकका लागि सरकारले यो अवसर दिएको आन्तरिक राजस्व कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले बताउनुभयो । उहाँका अनुसार जुनसुकै करको बक्यौता भए पनि यो सुविधा लिन सकिने छ । उहाँले भन्नुभयो, “यसलाई अवसरका रुपमा लिएर कर छुटको सुविधा उपभोग गर्नुहोस् ।” यस्तो सुविधा पुनः आउन नसक्ने भन्दै आएको अवसर नगुमाउन आग्रह गर्नुभयो ।

उहाँका अनुसार विसं २०८२ भदौ २ सम्म विवरण नबुझाएका सुन, चाँदी, गरगहना, हीरा, रत्न, पत्थरमा दिएको विलासिता शुल्क र मूल्य अभिवृद्धि करमा एउटा फर्मले छुट लिएको छ । संस्था दर्ता ऐन २०३४ लाई आयकर छुटअन्तर्गत दुई वटा फर्मले सुविधा लिएका छन् ।

आयकरतर्फ प्यान नं नलिई कारोकार गर्ने सात वटा फर्मले छुट सुविधा लिएका हुन् । आयकरतर्फ प्यान नं लिई हालसम्म कारोवार नगर्ने २६६ फर्मले यो सुविधा लिएका छन् । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार आयकरतर्फ व्याज जरिवाना छुटको सुविधा कार्यालयमार्फत तीन सय २६ फर्म र अनलाइन सिस्टमबाट एक हजार ९६४ फर्मले सुविधा लिएको उहाँले जानकारी दिनुभयो ।

मूल्य अभिवृद्धि करतर्फ कर सङ्कलन नगरेको र विवरण पनि दाखिला नगरेका ४४, कर सङ¬्कलन गरेको तर विवरण दाखिला नगरेका ३८ फर्मले छुट सुविधा लिएका छन् । यस्तै अन्तशुल्कतर्फ कारोबारको असुलउपर र विवरणमा छ वटा र इजाजत नविकरण नगरेका २१६ फर्मले सुविधा लिएको खड्काले जानकारी दिनुभयो ।

आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्तर्फ विवरण पेस गरी कर नबुझाएका २३, कर निर्धारणबाट सिर्जित बक्यौता दाखिला गर्ने ११ वटा र विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने दुई वटा फर्मले छुट सुविधा लिएका छन् ।

जिल्लामा आयकरतर्फ ७४ हजार ३६६ करदाता रहेका छन् । तीमध्ये मूल्य अभिवृद्धि करमा ११ हजार ३४५ र अन्तशुल्कमा चार हजार ९६१ दर्ता भएका छन् । हालसम्मको तथ्याङ्कअनुसार मूल्य अभिवृद्धि करतर्फ सबै महिनाको विवरण नबुझाउने करदाताको सङ्ख्याअनुसार ५५ प्रतिशत रहेका छन् । आयकरतर्फ आर्थिक वर्ष २०८१÷०८२ सम्म ३३ प्रतिशत करदाताले विवरण बुझाउन बाँकी देखिन्छ । आयकरतर्फ आर्थिक ऐन २०८३ ले दिएको छुट सुविधा लिने करदाता विसं २०८३ जेठ १५ देखि भदौ ५ गतेसम्म दुई हजार पाँच सय ६३ करदाताले विवरण बुझाई कर दाखिला गरिसकेको उहाँको भनाइ छ ।

मूल्य अभिवृद्धि करतर्फ ८२ करदाताले विवरण बुझाई कर रकम समेत दाखिला गरेको देखिएको छ । अन्तशुल्कतर्फ जम्मा २२२ करदाताले आर्थिक ऐन २०८३ को दफा ४३ (१) र (२) अनुसार अन्तशुल्क दस्तुर बुझेर विवरणसमेत दाखिला गरिसकेका छन् ।

गत आव २०८२÷०८३ को साउनमा रु एक अर्ब ५३ करोड ३९ लाख १० हजार राजस्व सङ्कलन भएकोमा यस वर्षको साउनमा रु एक अर्ब ८१ करोड ५५ लाख ५८ हजार राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । अघिल्लो आवको यसै अवधिमा भन्दा चालु आवको यस अवधिमा रु २८ करोड राजस्व बढी सङ्कलन भएको छ ।

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६८, गोलभेँडा सानो (भातीय) प्रतिकिलो रु ५५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३८ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ९० रहेको छ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ११०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु २५ र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ९०, मकै बोडी प्रतिकिलो रु १२०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, भिन्डी प्रतिकिलो रु ४०, सखरखण्ड प्रतिकिलो रु १२०, पिँडालु प्रतिकिलो रु ८० र स्कुस प्रतिकिलो रु ५० कायम भएको छ।

रायोसाग प्रतिकिलो रु १२०, पालुङ्गो प्रतिकिलो रु २५०, तोरीको साग प्रतिकिलो रु १००, प्याज (हरियो) रु २००, च्याउ (कन्य) प्रतिकिलो रु ३००, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकिलो रु ३३० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ।

कुरिलो प्रतिकिलो रु ५००, निउरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु १६०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ५००, सेलरी प्रतिकिलो रु ५००, पार्सले प्रतिकिलो रु १,८००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ७००, गान्टेमूला प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६०, गुन्द्रुक प्रतिकिलो रु ३५० र रुख टमाटर प्रतिकिलो रु ३०० तोकिएको छ।

स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३००, आँप (मालदह) प्रतिकिलो रु २८०, आँप (चोसा) प्रतिकिलो रु २५०, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २० काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुखकटहर प्रतिकिलो रु ६०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४००, एभोकाडो प्रतिकिलो रु २५०, अमला प्रतिकिलो रु २००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ।

ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ५००, अदुवा प्रतिकिलो रु ३००, खुर्सानी सुकेको प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ५०, लसुन हरियो प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ५००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३४० र ताजा माछा (छडी) प्रतिकिलो रु ३५० निर्धारण भएको छ।

मुक्तिनाथमा एकै दिन आठ हेलिकप्टर उडान, ३२ भारतीय दर्शनार्थीले लिए सेवा

मुस्ताङ । मुस्ताङको मुक्तिनाथमा एकै दिन आठ वटा हेलिकप्टरले उडान गरेका छन् ।जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार आज विभिन्न हेलिकप्टर कम्पनीले काठमाडौँ–मुक्तिनाथ र मुक्तिनाथ–काठमाडौँ दुईतर्फी उडान गरेका हुन् ।

जोमसोम विमानस्थल प्रमुख दीपक पोखरेलका अनुसार आज काठमाडौँ–मुक्तिनाथ दुईतर्फी हेलिकप्टर उडान भएका छन् । ती उडानबाट ३२ भारतीय दर्शनार्थीले हेलिकप्टर सेवा लिएका छन् । उनका अनुसार वर्षायाममा यति धेरै सङ्ख्यामा हेलिकप्टर उडान भएको पहिलो पटक हो ।

विमानस्थल प्रमुख पोखरेलका अनुसार काठमाडौँबाट सिधै मुक्तिनाथ र मुक्तिनाथबाट काठमाडौँ विभिन्न पाँच निजी हेलिकप्टर कम्पनीले उडान गरेका छन् । एयर डाइनेस्टिक, अल्टिच्युड एयर, एभरेस्ट हेली, अन्नपूर्ण एयर र मिम्रिक एयरले उडान गरेका हुन् ।

यसैगरी, दुई महिनादेखि रोकिएको पोखरा–जोमसोम हवाई सेवा पनि आजदेखि पुनःसञ्चालनमा आएको छ । पोखरा–जोमसोम नियमित हवाई सेवाका लागि समिट एयरलाइन्सले तीन वटा उडान गरेको हो ।

समिट एयरको जोमसोम स्टेसन इन्चार्ज सुमन थकालीका अनुसार जेठ २ गतेदेखि बन्द रहेको हवाई सेवा सोमबारदेखि पुनःसुरु भएको हो ।पहिलो दिन समिट एयरको जहाजले ४८ भारतीय यात्रुलाई सेवा दिएको उहाँले जानकारी दिनुभयो । तारा एयरलाइन्सले भने अझै उडान सुरु गरेको छैन ।

नेपालमै बनेको ‘यात्री पी–२’ ले जगायो राष्ट्रिय आत्मविश्वास, सरकारको सहयोग र संरक्षणको प्रतिबद्धता

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र निर्माण भएको विद्युतीय स्कुटर ‘यात्री पी-२’ सार्वजनिक गरेका छन् ।

सिप्रदी यात्री कम्पनीले नेपालमै निर्माण गरेको उक्त स्कुटरको सोमबार सार्वजनिक गर्दै उनले नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास जगाएको बताए।

‘बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो। नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो,’अर्थमन्त्री डा। वाग्लेले भने’नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास पनि जगायो।’

अर्थमन्त्रीले उक्त स्कुटर इटालीका प्रख्यात ब्रान्डहरूभन्दा पनि अब्बल बनोस् र विश्व बजारमा फैलिन सकोस् भन्दै शुभकामना पनि दिए। सो क्रममा उनले नेपालमै बनेको यति राम्रो विद्युतीय स्कुटरको विस्तारका लागि सरकारले भरपूर सहयोग र संरक्षण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएको छ । बैठक बिहान १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष बस्ने भएको हो ।

बैठकमा आउटसोर्सिङका माध्यमबाट गरिने श्रमिक व्यवस्थापनका सम्बन्धमा सरोकारवालाहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।

देशका यी स्थानमा आज मेघगर्जनसहित पानी पर्नै सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम बर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेश तथा कोशी प्रदेशको तराईको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु

काठमाडौँ । सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरेको छ ।

कृषि विभागले उखु उत्पादन हुने तराईका ११ जिल्लामा स्थलगत सर्वेक्षण सुरु गरेको छ । त्यसमा उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण सङ्कलन हुनेछ ।

विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क सङ्कलन गर्ने जनाएको छ । प्राप्त तथ्याङ्कका आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गरिने कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।

उनका अनुसार विगतको तुलनामा ढुवानी, उत्पादन तथा अन्य खर्चको समेत अध्ययन गरिनेछ । अध्ययन प्रतिवेदन तयार भएपछि थप छलफलका लागि कृषि वन तथा पर्यावरण मन्त्रालयमा पठाइनेछ । उखुको न्यूनतम खरिद मूल्य र सरकारले किसानलाई दिने अनुदान रकम मन्त्रिपरिषद्ले निर्धारण गर्ने महानिर्देशक सञ्जेलले बताए।

सरकारले किसानलाई उखु, गहुँलगायत कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न र बजार मूल्य घट्दा किसानलाई हुने नोक्सानी कम गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।

गत वर्ष खरिद मूल्य प्रतिक्विन्टल रु ६२० र सरकारले दिने अनुदान प्रतिक्विन्टल रु ७० निर्धारण भएको थियो ।

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा। जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका बाहुनडाँगी क्षेत्रका बासिन्दाले मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने बताएका छन् ।

राज्यले बाहुनडाँगीबाट कोसीटप्पुसम्म हात्ती हिँड्ने बाटोका रूपमा जैविक मार्ग बनाउने योजना अघि सारेसँगैै स्थानीयले बस्ती संरक्षण प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन् । मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन।

नहुने भन्दै बस्ती र नागरिक पहिलो प्राथमिकतामा पर्नुपर्ने बाहुनडाँगीबासीले सरकारसँग माग गरेका छन् ।

जनावर संरक्षणको नाममा नागरिकको बास उठाउन खोजिएको तत्कालीन बाहुनगाँगी गाउँ विकास समितिका अध्यक्ष निलकण्ठ तिवारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “करिब ४० लाख नागरिक बसोबास गर्ने क्षेत्रलाई हात्ती हिँड्ने बाटोका रूपमा विकास गर्नुहुँदैन ।”

स्थानीय रमेश दाहाल र विनोद खनालले जैविक विविधता संरक्षणको नाम बस्ती जोखिममा पार्न नहुने भन्दै हात्तीको सुरक्षा र संरक्षण जङ्गलभित्रै गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँहरूले मानव बसोबास क्षेत्रमा नागरिकलाई शान्तिपूर्ण रूपमा बस्न दिने वातावरण सुनिश्चित गराउन सरकासँग माग गर्नुभयो ।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न १ः०० बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

बैठकमा कानुनमन्त्री गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्नुहुनेछ ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निधेष तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसैबीच, बिहान १०ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ४६ पैसा र बिक्रीदर २०९ रुपैयाँ २८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ५७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ३१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ५३ पैसा र बिक्रीदर ११० रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ३६ पैसा र बिक्रीदर १२० रुपैयाँ ८३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४२ रुपैयाँ ११ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११ रुपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ११ पैसा र बिक्रीदर १६ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८६ पैसा र बिक्रीदर २३ रुपैयाँ ९५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ५०० रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ५४ पैसा बिक्रीदर ४०७ रुपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ७२ पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

बागलुङमा ६४६ जनामा डेङ्गु सङ्क्रमण

बागलुङ । बागलुङमा डेङ्गु सङ्क्रमण फैलिएको छ । पछिल्लो दुई महिनामा जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ ।

स्वास्थ्य कार्यालय बागलुङका अनुसार जिल्लाका सबै पालिकामा डेङ्गु सङ्क्रमण देखिएको छ । साउन र असार महिनाको तथ्याङ्कअनुसार बागलुङ नगरपालिकामा मात्रै ४५९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै, गलकोट नगरपालिकामा ४३, काठेखोला गाउँपालिकामा ४५, जैमिनी नगरपालिकामा २७, ढोरपाटन नगरपालिकामा १७, ताराखोला गाउँपालिकामा तीन, बडिगाड गाउँपालिकामा तीन, निसीखोला गाउँपालिकामा सात, तमानखोला गाउँपालिकामा दुई र बरेङ गाउँपालिकामा दुई जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । अन्य जिल्लाबाट उपचारका लागि बागलुङ आएका ३८ जनामा डेङ्गु देखिएको छ ।

बागलुङ सदरमुकाममा दैनिक २० देखि ३० जनासम्म डेङ्गुका बिरामी देखिन थालेको धौलागिरि अस्पताल बागलुङका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार साउन महिनामा मात्रै बागलुङ बजारमा १८२ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो ।

पानी निरन्तर परेसँगै डेङ्गु फैलाउने लामखुट्टेको सङ्ख्या बढेकाले सङ्क्रमितको सङ्ख्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार डेङ्गु बढेपछि वडा तहमा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको छ । लामखुट्टेको वासस्थान खोजेर नष्ट गर्ने अभियान हरेक शुक्रबार सञ्चालन भइरहेको छ । लामखुट्टेको लार्भा र वासस्थान हुने ग्यारेज, टायर, फूलदानीलगायत स्थानमा निगरानी बढाइएको छ ।

डेङ्गु सङ्क्रमण बढेपछि धौलागिरि प्रादेशिक अस्पताल, बुर्तिबाङ र गलकोट अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको प्रदेश जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।

सरकारी स्वास्थ्य संस्थामा परीक्षण गराएका बिरामीको मात्र तथ्याङ्क सङ्कलन गरिएको उहाँले बताउनुभयो । निजी स्वास्थ्य संस्था र मेडिकलमा डेङ्गु परीक्षण भइरहेकाले वास्तविक सङ्क्रमितको सङ्ख्या अझ बढी हुनसक्ने अनुमान गरिएको छ ।

डेङ्गु फैलाउने लामखुट्टेको सम्भावित वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने तथा पानी जम्न नदिने अभियानलाई तीव्रता दिइएको छ । समुदायमा सरसफाइ र लामखुट्टेको वासस्थान नष्ट गर्ने विषयमा जनचेतना फैलाउने कामसमेत भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि ओठमा मीठो मुस्कान । सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङको पछिल्लो परिचय ।

देशभित्र धेरै स्थानमा ‘ड्रागन फ्रुट’को राम्रो खेती भएको सुने पनि आफ्नो जग्गामा होला कि नहोला भन्ने द्विविधा छँदै थियो । ‘तँ आट म पुर्‍याउँछु’ भन्ने मनमा राखेर सुरु गरेको ड्रागन फ्रुटखेतीले आज कृपाश्वरलाई नाम मात्रै होइन राम्रै दामसमेत दिएको छ । लामो समय भारतीय सेनामा सेवा गरेपछि अवकाश लिएका सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङले व्यावसायिक ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

उनले दुई बिघा क्षेत्रफलमा उक्त खेती गरेर वार्षिक रु ५५ लाखदेखि ६० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । करिब २८ वर्ष भारतीय सेनामा सेवा गरेका घलेले अवकाशपछि कृषि व्यवसायमा लागेका हुन् । उनले विसं २०७४ मा ‘सर्जुमा ड्रागन फ्रुट कृषि फार्म’ स्थापना गरी व्यावसायिक रूपमा खेती सुरु गरेका थिए । करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एउटा बिरुवाबाट उहाँले ड्रागन फ्रुटखेती सुरु गर्नुभएको थियो । सुरुमा यसको बजार र स्वास्थ्यसम्बन्धी उपयोगिताबारे धेरै जानकारी नभए पनि बिस्तारै माग र मूल्य बढ्दै गएपछि उनले खेती विस्तार गरेका हुन् ।

हाल उनको फार्ममा करिब ५०० ड्रागन फ्रुटका बोट छन् । अन्य फलफूलले वर्षमा एक पटक मात्र उत्पादन दिने भए पनि ड्रागन फ्रुटले मौसममा नौदेखि १० पटकसम्म उत्पादन दिने भएकाले आम्दानी नियमित हुने गरेको घलेले बताए ।

फार्म सञ्चालन, मल, औजार र मजदुरका लागि वार्षिक करिब रु आठदेखि नौ लाख खर्च हुने गरेको उनले बताए । फल उत्पादनसँगै बिरुवा बिक्रीबाट पनि आम्दानी हुने गरेको छ । वार्षिक रु चार लाखभन्दा बढीको बिरुवा बिक्री हुने गरेको घलेले जानकारी दिए ।

पहिले प्रतिबोट रु चारदेखि पाँचमा बिक्री हुने बिरुवा मागअनुसार रु ५० देखि ७० सम्ममा बिक्री हुने गरेको उनले सुनाए । फार्मबाट ड्रागन फ्रुट खुद्रा प्रतिकिलो रु ३५० र थोकमा रु ३०० मा बिक्री हुने गरेको छ । बेमौसममा भने प्रतिकिलो रु ४५० देखि ५०० सम्ममा बिक्री हुने गरेको छ ।

फार्ममा मासिक रु १६ हजार तलब पाउने दुई जना स्थायी कर्मचारी छन् । दैनिक रु ८०० ज्यालामा आठ/नौ जना मजदुरले काम गर्छन् । फल टिप्ने र मल हाल्ने समयमा मजदुरको सङ्ख्या थपिने गरेको घलेले बताए ।

गत वर्ष फार्ममा २७ मेट्रिकटन ड्रागन फ्रुट उत्पादन भएको थियो । यस वर्ष ३० मेट्रिकटनभन्दा बढी उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित फल काठमाडौँ, पोखरा, हेटौँडा र बुटवल पठाउने गरिएको छ ।

यस्तै, धरान, इटहरी, इनरुवा र विराटनगरलगायत स्थानीय बजारमा पनि बिक्री हुने गरेको छ । धेरै व्यापारी फार्म मै आएर फल लैजाने गरेका छन् ।

घलेका अनुसार ड्रागन फ्रुट खेतीका लागि पानी नजम्ने, खुला र अत्यधिक चिसो नहुने स्थान उपयुक्त हुन्छ । कहिलेकाहीँ ढुसी तथा फङ्गस रोगका कारण उत्पादनमा असर पर्ने भए पनि नियमित निगरानी र व्यवस्थापन गर्न सके राम्रो उत्पादन लिन सकिने उनको अनुभव छ ।

गत वर्ष फङ्गस रोगको समस्या देखिए पनि यस वर्ष त्यसको असर कम रहेकाले उत्पादन बढ्ने उहाँले बताए ।

ड्रागन फ्रुटमा वैशाखदेखि फूल लाग्न सुरु हुन्छ । जेठको अन्तिम सातादेखि फल टिप्न सुरु गरिने र कात्तिकसम्म लगातार फल लाग्ने गरेको घलेले बताए । बत्ती जडान गरी बेमौसमामा तीनदेखि चार पटकसम्म फल उत्पादन गर्न सकिने र त्यस समयमा मूल्य पनि बढ्ने उनको भनाइ छ ।

घलेले कृषि व्यवसायबाट राम्रो आम्दानीसँगै स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गर्न सकिने बताउनुभयो । “अल्छी नगरी मेहनत गर्दा नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ”, उनले भने ।

ड्रागन फ्रुट खेतीमा योगदान पुर्‍याएबापत घलेले उत्कृष्ट किसानका रूपमा विभिन्न सङ्घसंस्थाबाट एक दर्जनभन्दा बढी सम्मान प्राप्त गरिसकेका छन् । पछिल्लो समय युवापुस्तामा ड्रागन फ्रुट खेतीप्रति आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । रामधुनी नगरपालिका–७ मा मात्रै हाल १० भन्दाबढी घरधुरीले ड्रागन फ्रुटखेती गर्दै आएका छन् । विदेशबाट फर्किएका युवाले यसबाट राम्रो आम्दानी गरिरहेको घलेले बताए ।

“दैनिक विदेश पलायन भइरहेका युवाले आफ्नै देशमा व्यवसाय गरेर राम्रो आम्दानी गर्न सक्छन् । अर्काको देशमा दुःख गर्नुपर्ने अवस्था आउँदैन”, उनले भन्े, “छोटो समयमा राम्रो आम्दानी गर्न चाहनेका लागि ड्रागन फ्रुटखेती राम्रो विकल्प बन्न सक्छ ।” उहाँका अनुसार सुरुआतमा केही मेहनत गरेपछि ठूलो लगानी र धेरै मेहनत गरिरहनुपर्दैन । बिरुवा रोपेको एक वर्षदेखि फल दिन सुरु गर्ने भएकाले ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ ।

लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस

दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनःगठनका लागि सिफारिस गरिएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गठित तथा पुनःगठित मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजनसहित सिफारिस गर्नुभएको हो ।

मन्त्रिपरिषद् पुनःगठनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीन जना नयाँ मन्त्री नियुक्तिका लागि सिफारिस गरिएको छ ।

प्रदेश प्रमुख कार्यालयका सचिव राजेश गौतमले दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णाकुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिनेगरी प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्का अन्य सदस्यमा तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिनेगरी सिफारिस गरिएको उहाँले बताउनुभयो ।

सचिव गौतमका अनुसार यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहनुभएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय र तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिनेगरी प्रस्ताव गरिएको छ ।

नयाँ नियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथग्रहण प्रदेश प्रमुखको कार्यालय बुटवलमा मङ्गलबार दिउँसो ३ः२५ बजे राखिएको प्रदेश प्रमुख कार्यालयका सचिव गौतमले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा सबै प्रदेशसभाका सदस्यलाई उपस्थितिका लागि उहाँले अनुरोध गर्नुभयो ।

सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबिचको सहकार्य हुनुपर्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन सके मात्रै नागरिकले अनुभूत गर्नेगरी सङ्घीयताको कार्यान्वयन हुने बताएका छन् ।

नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल सुदूरपश्चिम प्रदेश समितिसँग आज धनगढीमा आयोजित छलफलमा उनले संविधानमा भएका व्यवस्थाको कार्यान्वयन गर्दै आपसी सहकार्यबाट सङ्घीयतालाई सफल बनाउनुपर्नेमा जोड दिए ।

“प्रदेशको विकास र समृद्धिका लागि स्थानीय तहसँगको सहकार्य अपरिहार्य छ। स्थानीय तहका समस्या, आवश्यकता र सुझावलाई प्रदेश सरकारले प्राथमिकताका साथ सम्बोधन गर्छ । त्यसका लागि सबै मिलेर अगाडि बढौँ”, मुख्यमन्त्री भट्टले भने ।

त्यस अवसरमा सङ्घीयताका जानकार खिमलाल देवकोटाले प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यले शासन प्रणालीलाई सुदृढ बनाउने बताए । उनले स्थानीय तहका आवश्यकता र प्राथमिकतालाई प्रदेश तथा सङ्घीय सरकारका नीति तथा कार्यक्रमसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए ।

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

पेरिस। यस वर्ष युरोपमा तापक्रम असामान्य रूपमा उच्च रह्यो । यो महाद्वीप अन्य कुनै पनि महादेशभन्दा छिटो तात्दै छ । युरोपको सन् २०२६ को गर्मी मौसम जलवायु परिवर्तनको इतिहासमा किन यादगार बन्दैछ यो चिन्ताको बिषय बनेको छ ।

गर्मीयाममा ४० डिग्री सेल्सियस पुग्नु युरोपका केही भागमा सामान्य भइसकेको भए पनि सन् २०२६ मा अन्य औसत चिसो मौसम रहने क्षेत्रले पहिलो पटक यो सीमा पार गरेको छ ।

युरोपेली ड्राउट अब्जर्भेटरी (इडिओ) को अगस्ट १५ सम्मको दैनिक अधिकतम् तापक्रममा आधारित एएफपी विश्लेषणअनुसार टर्कीबाहेक एक करोड ८० लाख मानिस बसोबास गर्ने युरोपका क्षेत्रमा सन् २००० पछि पहिलो पटक तापक्रम ४० डिग्री सेल्सियस पुगेको थियो ।

यसले विशेष गरी जर्मनीका ९० लाख मानिस बसोबास गर्ने क्षेत्र मुख्यतः बर्लिनको दक्षिण र पश्चिम तथा फ्र्याङ्कफर्ट वरपरलाई असर गरेको छ ।

फ्रान्सका विशेष गरी पूर्वी फ्रान्स र ब्रिटनीसहितका ४० लाख मानिस बसोबास गर्ने क्षेत्रमा पनि यस्तो अवस्था आएको छ ।

इडिओ तथ्याङ्कअनुसार तापक्रमको अचानक वृद्धि शरीरका लागि कठिन हुन सक्छ तर लगातार उच्च तापक्रम चिन्ताको बिषय हुनसक्छ ।

जुन महिनाको मध्यदेखि अगस्टको मध्यसम्म स्पेनका लेरिडा (क्याटलोनिया), कर्डोबा र ग्रानाडा (एन्डालुसिया) नगरपालिका वरपर ५५ दिनभन्दा बढी तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि रह्यो ।

एन्डालुसियामा हालका वर्षहरूमा (विशेष गरी सन् २०२५ र सन् २०२३ मा) यस्तो लगातार गर्मी देखिएको भए पनि उत्तरमा रहेको लेरिडामा यो समस्या सन् २०२६ मा पहिलो पटक आएको हो ।

स्पेनको एइएमइटी मौसम निकायको तथ्याङ्कअनुसार लेरिडा मौसम स्टेशनमा एक महिनाभन्दा बढी समयसम्म हरेक दिन ३५ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रेकर्ड भएको थियो ।

साइप्रसको निकोसियाका बासिन्दाले पनि ५५ दिनभन्दा बढी त्यस्तै उच्च तापक्रमको सामना गरेका थिए ।

मध्य, पूर्वी र उत्तरी युरोपका धेरै देशले यस वर्ष आफ्नो इतिहासकै उच्च तापक्रम रेकर्ड तोडे। डेनमार्कमा ३७ डिग्री सेल्सियस, स्लोभाकियामा ४२.२ डिग्री सेल्सियस पुग्यो भने जर्मनी, अस्ट्रिया, चेक गणतन्त्र र पोल्यान्डमा ४० देखि ४२ डिग्री सेल्सियससम्म तापक्रम पुग्यो ।

यस गर्मीयामको सबैभन्दा उच्च तापक्रम सम्भवतः इटालीमा रेकर्ड भएको थियो। जुलाई १९ मा सार्डिनियाको ओरानीमा ४८.४ डिग्री सेल्सियस पुगेको एआरपिएएस क्षेत्रीय वातावरण संरक्षण निकायले जनाएको छ । यो सन् २०२१ मा सिसिलीमा रेकर्ड भएको युरोपेली उच्चतम ४८.८ डिग्री सेल्सियसभन्दा केही कम हो ।

रातमा पनि २५ डिग्री सेल्सियस

दिनभरि धेरै तातो हुँदा मानिसहरू रातको शीतलताको आशा गर्छन् तर त्यो राहत अब कम हुँदै गएको छ।

सन् २०२६ मा करिब एक करोड ८० लाख मानिस बसोबास गर्ने युरोपका भागमा रातको तापक्रम २५ डिग्री सेल्सियसभन्दा तल झरेन।

यो विशेष गरी फ्रान्सको पे दे ला लोयर क्षेत्रका करिब ५० लाख मानिस र पेरिस वरपरका क्षेत्रमा देखियो ।

यसपहिले तातो रात अनुभव नगरेका इटालीका ‘आल्प्स’को फेदीमा रहेका केही क्षेत्रमा पनि रातको तापक्रम औसतभन्दा तातो रहेको देखिएको थियो । यो घटना पोल्यान्डको विशेष गरी वार्सा वरपरसम्म फैलिएको थियो ।

दक्षिणी इटालीमा रातको तापक्रम २५ डिग्री सेल्सियसभन्दा तल नझर्नु सामान्य कुरा हो र यस गर्मीयाममा केही ठाउँमा यो अवस्था झन् गहिरियो।

इटालीको पश्चिमी छेऊ सिसिली र दक्षिणी एड्रियाटिक तटमा केही क्षेत्रमा यो बर्ष दुई महिनामा २० भन्दा बढी दिन तातो रात रेकर्ड भएको छ भने समुद्रपारि क्रोएसियाका ब्राच टापु वरपर पनि यस्तै अवस्था रहेको इडिओकोे तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन

कास्की। पोखरामा आज सम्पन्न भएको पहिलो संस्करणको ‘पिसिएम कप’ खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शास्वत बज्राचार्य र सुरेन्द्र विक च्याम्पियन बनेका छन् ।

गण्डकी प्रदेश टेनिस सङ्घको आयोजनामा आधारभूत तहदेखि टेनिस खेलाडी उत्पादन गर्ने उद्देश्यले पोखरा रङ्गशालामा यही भदौ ५ गतेदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा १८ वर्षमूनिको ‘ब्वाइज सिङ्गल्स’ को फाइनलमा शास्वतले सन्दीप विकलाई ६-२ र ६-१ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भए । उत्कृष्ट प्रदर्शन गरेका शास्वतले प्रतियोगिता भर आफ्नो प्रभावशाली खेललाई फाइनलसम्म निरन्तरता दिएका थिए ।

यसैगरी १६ वर्षमुनिको ‘ब्वाइज सिङ्गल्स’ तर्फ सुरेन्द्र विक च्याम्पियन बनेका छन् । फाइनलमा उनले आर्यषराज पौडेललाई ६-३ र ६-३ को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफलल भएका हुन् । प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा भएको थियो ।

चौध वर्षमुनिको ‘ब्वाइज सिङ्गल्स’ को उपाधि भने आर्यषराज पौडेलले जितेका छन् । उनले फाइनलमा अभिषेक बयलकोटीलाई ६-१ र ७-५ को सेटमा पराजित गर्दै उपाधि पोल्टामा पार्न सफल भएका हुन् ।

‘गल्र्सतर्फ’ निम्ती कुँवरले उत्कृष्ट प्रदर्शन गर्दै दुई उपाधि आफ्नो नाममा लेखाइन् । उनी यु-१२ र यु-१० ‘गल्र्स सिङ्गल्स’ दुवै विधामा च्याम्पियन बन्न सफल भइन् । यसैगरी आठ वर्षमुनिको ‘गल्र्स सिङ्गल्स’ मा वाणी राजभण्डारी प्रथम हुँदा निवेदी सुनार द्वितीय भइन् ।

‘ब्वाइज’तर्फ यु-१२ ‘सिङ्गल्स’ मा सहंश बस्नेत प्रथम भए । उनले इभान भट्टराईलाई पराजित गर्दै उपाधि जितेका हुन् । यु-९ ब्वाइज सिङ्गल्समा सर्वज्ञजङ्ग खत्री प्रथम र सोनम टीघले द्वितीय बने ।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीलाई मुख्य प्रायोजक पोखरा कलेज अफ म्यानेजमेन्टकी प्राचार्य लिना नेगी श्रेष्ठ, नेपाल टेनिस सङ्घका पूर्वअध्यक्ष मनोज राणा, प्रतियोगिता संयोजक लोक गुरुङलगायतले आकर्षक उपहार, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

गण्डकी प्रदेश टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थले सङ्घले आफ्नो स्थापना भएदेखि हालसम्म आधारभूत तहमा टेनिसका लागि ‘खेल्छ गण्डकी’ कार्यक्रमका माध्यमबाट विपन्न वर्गका बालबालिकाबाट अभियान सुरु गर्दै आएको बताउँदै बालबालिकाको क्षमता विकास गर्न र खेलप्रति आकर्षित गराउन प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशमा जुनियर टेनिस खेलाडीको प्रतिभा पहिचान र विकासमा प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको गण्डकी प्रदेश टेनिस सङ्घका महासचिव नवीन श्रेष्ठले बताउनुभयो । पोखरा रङ्गशालाभित्रको टेनिस हलमा यही भदौ ५ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न उमेर समूहसँगै खुलातर्फका खेलमा ६० भन्दा बढी खेलाडीको सहभागिता थियो ।

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

सियोल। संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र पानी (समुद्र) मा अवतरण गर्ने तय भएको विशाल संयुक्त अभ्यास रद्द गरेको दक्षिण कोरियाले सोमबार जनाएको छ ।

इरानसँगको युद्धका कारण सैन्य बल उपलब्धतामा बाधा पुगेकाले यो निर्णय भएको हो ।

द्विवार्षिक स्याङयोङ अभ्यासमा दक्षिण कोरिया र अमेरिकाका नौसैनिक बल सहभागी हुने प्रचलन छ । यो अभ्यास संयुक्त कारबाहीलाई सुदृढ बनाउन तयार गरिएको हो र सामान्यतया युद्धपोत, विमान र स्थल सेनाहरूले जमिन तथा समुद्रमा अवतरणको अभ्यास गर्छन् ।

यो रद्द हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता छुट्टै वार्षिक ‘उल्ची फ्रिडम शिल्ड’ अभ्यासलाई छोट्ट्याउने आदेश दिनुभएपछि उक्त संयुक्त अभ्यासलाई पनि ११ दिनबाट घटाएर पाँच दिनमा झारिएको थियो ।

राष्ट्रपति ट्रम्पले त्यसबेला यसको उच्च लागत औँल्याउँदै यसले उत्तर कोरियालाई ‘अनुपयुक्त र शत्रुतापूर्ण’ सन्देश पठाउने बताउनुभएको थियो । साथै उत्तर कोरियाली नेता किम जोङ उनसँगको आफ्नो सम्बन्धलाई जोड दिनुभएको थियो ।

“अमेरिकी ‘मेरिन कोप्र्स’ले जुन महिनामा मध्यपूर्वको अवस्थाको कारण देखाउँदै हाम्रा फोर्सलाई औपचारिक रूपमा सूचित गर्दै यस वर्षको स्याङयोङ अभ्यासमा फोर्स तैनाथ गर्ने क्षमता सीमित हुनेछ भनेको थियो,” दक्षिण कोरियाली ‘मेरिन कोप्र्स’का प्रवक्ता हान सेउङ–जेओनले पत्रकार सम्मेलनमा भन्नुभयो ।

उहाँले भन्नुभयो, “सियोल र वाशिङटनले जमिन र समुद्रमा अवतरण गर्ने सैन्य अभ्यास पुनः कहिले सुरु गर्नेबारे परामर्श जारी राखिरहेका छन् तर यो कहिले हुने अहिले भन्न सकिँदैन ।”

पेन्टागनले सियोलको घोषणाबारे टिप्पणी मागिएकोमा तत्काल प्रतिक्रिया दिएन।

गत साता ‘उल्ची फ्रिडम शिल्ड’ अभ्यास घटाउने आदेश राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा किम जोङ उनसँग विकसित सम्बन्ध पुनः जीवित पार्ने प्रयासका बीच आएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार किम जोङ उनसँग ‘मिल्नु’ महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले थप्नुभयो, “प्योङयाङसँग अहिले ५७ वटा ‘अत्यन्त शक्तिशाली’ परमाणु हतियार छन् ।

सियोलको अनुमानअनुसार उत्तर कोरियासँग करिब ८० देखि १२० वटा यस्ता हतियार छन् ।

राष्ट्रपति ट्रम्प र नेता किमले ट्रम्पको पहिलो कार्यकालमा तीन पटक भेट गरेका थिए । तर उनीहरूको सन् २०१९ को दोस्रो हनोई शिखर सम्मेलन उत्तर कोरियाको परमाणु निःशस्त्रीकरणमा सहमति नजुटेपछि सफल हुन नसकेपछि प्योङयाङले आफ्नो परमाणु कार्यक्रम तीव्र बनाएको थियो ।

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा। गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज साँझ गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार मृतकको परिचय खुलेको छैन । जिपमा कति यात्री सवार थिए यकिन पनि भएको छैन ।

जिप चालक र केही घाइतेलाई गल्याङ नगर अस्पताल पुर्याइएको छ । दुर्घटनाको विवरण सङ्कलन जारी छ ।

चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक। पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने सडकको इको खण्ड आजदेखि सञ्चालनमा आएको छ ।

भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इको क्षेत्रमा गत असार ३१ गते पहिरासँगै सडक भासिएपछि सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालयले नयाँ टर््याक खोलेपछि आजदेखि सवारीसाधन यो बाटोमा गुड्न थालेका हुन् । सडक खुलाउन छ वटा टिपर र १२ वटा ठूला मेसिन परिचालन गरिएको थियो ।

“डाक्लाङमा सडक सहज भइसकेको छ । अब इकोमा पनि सडक खोलिएको छ । लिपिङमा पनि मर्मतसम्भार शीघ्र थालिने छ”, उक्त कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले भन्नुभयो ।

सडक सञ्चालनमा आएसँगै कोदारी बजारमा रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेका सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले बताउनुभयो । उहाँका अनुसार लिपिङपारि करिब ८५ कन्टेनर अझै अलपत्र छन् ।

अन्तरष्ट्रिय राजमार्ग यति लामो समयदेखि बन्द हुँदा आफूहरूले ठूलो हानि बेहोर्नुपरेको गुनासो गर्दै उहाँले वर्षा कम भएसँगै बाँकी अवरोध पनि हट्ने र दसैँका लागि अ सामान आयात गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो र

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार बाह्रबिसे–तातोपानी सडकको २६ किलोमिटर खण्डमा वर्षायाममा पटकपटक पहिरो जाने र सडक भासिने समस्या दोहोरिँदै आएको छ । इकोमा सडक खुले पनि लिपिङको समस्या समाधान नभएसम्म नाका सहज रूपमा सञ्चालन हुननसक्ने उहाँले बताउनुभयो ।

“अस्थायी रूपमा आवागमन खुले पनि लिपिङको सडक मर्मत तथा चीनतर्फको पहिरो हटाउने काम नहुँदासम्म नाका सहज रूपमा सञ्चालन हुने अवस्था छैन”, उहाँले भन्नुभयो ।

बागमती प्रदेशसभा बैठक भोलि

हेटौँडा। बागमतीे प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने भएको छ ।

बैठक प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको हो ।

आज साँझ ८ः०० बजेका निर्धारण गरिएको बैठक भोलिका लागि सारिएको प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिए ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको मिति र समय परिवर्तन गर्नुभएको उनले बताए ।

उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उदयपुरको कटारी नगरपालिका–४ मरुवा खोला नजिकबाट एक सय ९९ किलो तीन सय २० ग्राम गाँजासहित रुपन्देहीका २१ वर्षीय सोम मगरलाई गए राति पक्राउ गरिएको हो । निजले टिपर ढालाभित्र लुकाइछिपाइ राखेका नौ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारेको हो ।

यसैगरी, चितवनको राप्ती नगरपालिका–१० चिप्लेटीबाट करिब एक सय ६८ किलो गाँजासहित दुई जनालाई आज बिहान पक्राउ गरिएको छ ।नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–२ भिर्कुटीचोकका डिल्लीराम थारू र चितवनको राप्ती नगरपालिका–१ पिप्लेका कर्णबहादुर तामाङलाई उनीहरू सवार कारबाट गाँजासहित पक्राउ गरिएको हो ।

महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास

ललितपुर। नेपाली कांग्रेसले महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलताको प्रवद्र्धन तथा देशको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले यही भदौ ११ गते यहाँ ‘महिला उद्यमशीलता सम्मेलन’ आयोजना गर्ने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

प्रतिष्ठानको उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यका अनुसार सम्मेलनमा विशेषगरी नयाँ व्यवसाय, लघु, साना तथा मझौला उद्यम र साना तथा मझौला उद्यम गरिरहेका महिलाका अनुभव, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र नेटवर्किङका लागि साझा मञ्चबारे छलफल हुनेछ ।

त्यस अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय परिसरमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी पनि गरिनेछ । प्रदर्शनीमार्फत महिला उद्यमीले आफ्ना उत्पादन तथा सेवा उपभोक्ता, व्यवसायी, लगानीकर्ता तथा सम्भावित साझेदारसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने अवसर पाउने संयोजक आचार्यले बताए ।

समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधिको विकाससँगै समाजलाई नैतिकता, आचरण र इमान्दारीको खाँचो रहेको बताउनुभएको छ ।

नेपाल जनप्रशासन सङ्घद्वारा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले प्रविधि र क्षमता अरूबाट लिएर पनि उपयोग गर्न सकिने भए पनि आचरण, नैतिकता र इमान्दारी व्यक्तिको अन्तस्करणसँग जोडिएको विषय भएको बताउनुभयो ।

“आधुनिक प्रविधिसँगै आधुनिक प्रशासन चाहिन्छ । तर आधुनिक प्रशासनको आधार पनि नैतिक र जिम्मेवार नेतृत्व नै हो भन्ने भावलाई बिर्सनु हुँदैन”, राष्ट्रपति पौडेलले भन्नुभयो, “मलाई लाग्दछ, आज हाम्रो समाजलाई त्यही नैतिकता, आचरण र इमान्दारीको अलिक बढी खाँचो छ ।”

प्रविधिको विकास र परिवर्तनको गति तीव्र भइरहेको उल्लेख गर्दै उहाँले कृत्रिम बौद्धिकता, डिजिटल शासन, विश्वव्यापीकरण र नयाँ आर्थिक संरचनाले प्रशासन तथा व्यवस्थापनका परम्परागत अभ्यासलाई समयानुकूल परिवर्तन गरिरहेको बताउनुभयो ।

“प्रविधि परिवर्तन भए पनि केही मूल्य कहिल्यै पुराना हुँदैनन् इमान्दारी, अनुशासन, जिम्मेवारी, नैतिकता, मानवता र सार्वजनिक हितप्रतिको प्रतिबद्धता”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले मुलुकको बदलिँदो परिवेशमा जनताको विकासको चाहना सुशासनका माध्यमबाट पूरा गर्नुपर्ने बताउनुभयो । सूचना प्रविधिको विकाससँगै विस्तार भएको विश्वव्यापीकरण र आधुनिकीकरणको वर्तमान समयमा राज्यको सफलता र विकासको मापन आर्थिक विकासका सूचकबाट मात्र गर्न नहुने उहाँको भनाइ थियो ।

“जनताले राज्यबाट झन्झटरहित तरिकाले पाउने छिटोछरितो र गुणस्तरीय सेवा, निर्णय प्रक्रियाको पारदर्शिता, संस्थाको जवाफदेहिता, न्यायपूर्ण व्यवहार, विधिको शासन र सार्वजनिक संस्थाप्रतिको विश्वासलाई पनि हामीले बिर्सनु हुँदैन”, उहाँले भन्नुभयो ।

उहाँले दिगो विकास सक्षम संस्था, दक्ष संस्थागत नेतृत्वसहित उच्च नैतिकता, व्यावसायिकता र उत्तरदायित्वको संस्कृतिमा निर्भर रहने उल्लेख गर्नुभयो ।

नेपाल जनप्रशासन सङ्घजस्ता पेसागत तथा प्राज्ञिक संस्थाले नीति निर्माण, प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनका क्षेत्रमा विगतमा जस्तै आगामी दिनमा पनि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसनले सफल प्रशासक तथा व्यवस्थापकका रूपमा स्थापित स्वर्गीय हेमबहादुर मल्लको योगदानलाई स्मरणीय बनाउन सम्मान कार्यक्रमलाई निरन्तरता दिनु खुसीको विषय भएको राष्ट्रपति पौडेलले बताउनुभयो । राज्य, पेसागत संस्था, सार्वजनिक संस्थान र समाजबीचको सहकार्यले राष्ट्रनिर्माणमा योगदान गर्नसक्ने उहाँको अभिमत थियो ।

सबैको साझा प्रयासबाट मात्र न्यायपूर्ण, सक्षम, उत्तरदायी र समृद्ध नेपाल निर्माण गर्न सकिने उल्लेख गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै नागरिकको अपेक्षाअनुरूप देश विकासको चाहनालाई मूर्तरूप दिनु सबैको साझा दायित्व भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले हेमबहादुर मल्ल सम्मानबाट सम्मानित डा. रामकण्ठ माकजू श्रेष्ठ र रामेश्वरप्रसाद खनाललाई बधाई दिँदै सार्वजनिक सेवाप्रतिको उहाँहरूको समर्पण र राष्ट्रनिर्माणमा पु¥याएको योगदानको कदरस्वरूप सम्मान गरिएको बताउनुभयो ।

इरान युद्ध नयाँ चरणमा जाने जोनसनको संकेत

काठमाडाैँ । अमेरिकी प्रतिनिधि सभाका अध्यक्ष माइक जोनसनले इरानसँगको जारी द्वन्द्व चाँडै नयाँ चरणमा प्रवेश गर्ने बताउँदै अमेरिकी सहयोगी राष्ट्रहरू पनि त्यसमा सहभागी हुने सङ्केत गरेका छन्। उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा इरानलाई आणविक हतियार विकास गर्नबाट रोकिएको दाबी गर्दै सैन्य अभियानको उद्देश्य पूरा भएको बताए।

फक्स न्युजसँग आइतबारको अन्तर्वार्तामा उनले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु विगत पाँच दशकदेखि अमेरिकी प्रशासनहरूको साझा लक्ष्य रहेको र राष्ट्रपति ट्रम्पले त्यो उद्देश्य पूरा गरेको दाबी गरे। इरानसँगको वार्तामा मुख्य चुनौती विश्वासको अभाव रहेको बताउँदै उहाँले ‘वार्ताको टेबलको अर्को छेउमा रहेका इरानीहरूलाई विश्वास गर्न सकिँदैन’ भने।

जोनसनले इरानमा जारी सैन्य संलग्नताप्रति अमेरिकाभित्र असन्तुष्टि बढे पनि रिपब्लिकन पार्टीले आगामी नोभेम्बर ३ को मध्यावधि निर्वाचनमा प्रतिनिधिसभाको बहुमत कायम राख्ने दाबी गरे। उनले निर्वाचनअघि द्वन्द्व समाधान भए त्यसले पार्टीलाई थप सहयोग पुग्ने बताए। युद्धका कारण ऊर्जा लागत र मुद्रास्फीति बढेको तथा अमेरिकामा पेट्रोलको मूल्य प्रतिग्यालन चार अमेरिकी डलरभन्दा माथि पुगेको विषय पनि राजनीतिक बहसमा आएको छ।

राष्ट्रपति ट्रम्पका प्रमुख सहयोगी जोनसनले इरानको मुख्य खतरा समाप्त पारिएको दाबी गर्दै ‘हामीले मुख्य खतरा हटाएका छौँ’ भने। आणविक हतियार विकास गर्नबाट इरानलाई रोक्नु सैन्य अभियानको प्रमुख उद्देश्य रहेको उनले दोहोर्‍याए।

ट्रम्प प्रशासनले इरानविरुद्धको सैन्य कारबाही आणविक क्षमता विकास रोक्न गरिएको बताउँदै आएको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त सैन्य कारबाही गरेपछि सर्वोच्च नेता अली खामेनीसहित केही वरिष्ठ अधिकारीको मृत्यु भएको थियो। त्यसपछि तेहरानले हर्मुजको जलघाँटी हुँदै समुद्री आवागमन रोक्नुका साथै मध्यपूर्वस्थित अमेरिकी सैन्य प्रतिष्ठानमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको थियो।

अप्रिलमा प्रारम्भिक युद्धविराम भए पनि क्षेत्रमा तनाव र सीमित सैन्य आदानप्रदान जारी रह्यो । पछिल्ला सातामा सक्रिय युद्ध घटेको भए पनि राष्ट्रपति ट्रम्पले इरानमाथि थप आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अमेरिका, इजरायल र इरानबिच अनिश्चित युद्धविराम कायम रहे पनि समुद्री सुरक्षाको जोखिम यथावत छ।

इरानी अधिकारीहरूले हर्मुजको जलघाँटीमाथिको नियन्त्रण नछाड्ने अडान राख्दै आएका छन् । उक्त जलमार्गमा अवरोध हुँदा विश्व बजारमा इन्धन तथा प्राकृतिक ग्यासको मूल्य बढेको छ । जोनसनले भने हर्मुजमा तेल ट्याङ्करको आवागमन बढेको रिपोर्टसमेत उल्लेख गर्दै ‘हामी चरणबद्ध रूपमा काम गरिरहेका छौँ’ भने।

बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको दाबी

काठमाडाैँ। बेलायतले किएभलाई लामो दूरीका मिसाइल उत्पादन गर्न आवश्यक जानकारी दिएर युक्रेनमा शान्ति रोकिरहेको क्रेमलिनले सोमबार दावी गरेको छ । क्रेमलिनले युक्रेनी मिसाइल उत्पादन गर्ने प्लान्टहरू नष्ट गर्ने चेतावनी दिएको छ।

यो चेतावनी बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले किएभ भ्रमणका क्रममा युक्रेनलाई सैन्य सहयोग जारी राख्ने वाचा गरेको बेला आएको हो।

बेलायत सरकारले रक्षा कम्पनी एमबिडीएलाई ‘फ्रान्को–ब्रिटिश मिसाइल’मा प्रयोग हुने बेलायती उपकरणहरूको जानकारी दिने अनुमति जारी गर्ने बताएको छ, यसले गर्दा किएभले घरेलु रूपमा ती मिसाइल उत्पादन गर्न सक्नेछ।

‘स्काल्प ब्लूप्रिन्ट’बारे सोधिएको बेला क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग भने, “बेलायत नियमित रूपमा विधिपूर्वक आगोमा इन्धन थप्ने काम गरिरहेको छ र शान्ति प्रक्रियामा हुने थोरै भएपनि प्रगति रोक्न विधिपूर्वक र नियमित रूपमा योजना बनाइरहेको छ।”

“हाम्रा सशस्त्र बलहरू तदनुसार काम गरिरहेका छन्, यस्ता मिसाइल र अन्य सैन्य उपकरणका उत्पादन स्थल पहिचान गर्न सम्बन्धित गुप्तचर जानकारी सङ्कलन गर्दै छन् र ती सुविधाहरू नष्ट गर्ने उपाय लिइरहेका छन्,” पेस्कोभले भने।

‘स्काल्प मिसाइल’ अर्थात् लामो दूरीको क्रुज मिसाइलले करिब २५० किलोमिटर (करिब १५० माइल) टाढासम्मका लक्ष्यमा हान्न सक्छ। फ्रान्स र बेलायतले सन् २०२२ मा रुसले पूर्णरूपमा आक्रमण सुरु गरेदेखि युक्रेनलाई यो हतियार आपूर्ति गर्दै आएका छन्, तर किएभले अहिलेसम्म घरेलु रूपमा उत्पादन गरेको छैन।

बर्नहमले सोमबार युक्रेनको स्वतन्त्रता दिवस समारोहका लागि किएभ भ्रमण गरेका छन्। समाराेहमा उनले युक्रेन सरकारका लागि बेलायतको सैन्य सहयोग कायम राख्ने प्रतिवद्धता व्यक्त गरे।

“मेरो देशविरुद्ध रुसका अशोभनीय धम्कीका बाबजुद हामी युक्रेनको रक्षाका लागि आफ्नो सहयोग जारी राख्नेछौँ,” बर्नहमले युक्रेनका अन्तर्राष्ट्रिय समर्थकहरूको बैठकअघि गरेको सम्बोधनमा भने।

सङ्गीत, खेलकुद र चलचित्र क्षेत्रलाई सेवा उद्योगका रूपमा परिभाषित गरिएको छ : मन्त्री यादव

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सङ्गीत, खेलकुद र चलचित्र क्षेत्रलाई सेवा उद्योगका रुपमा परिभाषित गरिएको स्पष्ट पारेकी छिन्।

प्रतिनिधि सभाको साेमबारकाे बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईको जिज्ञासाको जवाफ दिँदै उनले विद्यमान औद्योगिक नीति, २०६७ र औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ती क्षेत्र सेवामूलक उद्योगको वर्गमा पर्ने जानकारी गराए।

मन्त्री कुमारीले ती क्षेत्रलाई उद्योगका रुपमा दर्ता हुने भएता पनि उद्योग प्रवर्द्धन, विकास र नियमनसम्बन्धी कार्य सम्बन्धित निकायबाट हुने स्पष्ट पारे। उनले भने, “त्यसअनुसार बजेट पनि सम्बन्धित निकायमा नै विनियोजन भएको छ। आव २०८३/८४ मा यी सेवामूलक उद्योगमा विनियोजन गरिएको बजेट सम्बन्धित मन्त्रालयगत बजेट सूचना प्रणालीबाट प्राप्त गर्न सकिनेछ।”

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताएका छन् ।

सञ्चारमन्त्री डा. तिमिल्सिनासँग साेमबार राष्ट्रिय विज्ञापन सङ्घ नेपालका पदाधिकारीले गरेकाे भेटमा उनले विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता देखिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताए। अब सरकारी विज्ञापन वितरणमा त्यस्ता समस्या दोहोरिन नदिन विज्ञापन चक्रसँग जोडिएका सबै पक्षले आफ्नो जिम्मेवारी पारदर्शी र व्यावसायिक ढङ्गले निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

सञ्चारमन्त्री तिमिल्सिनाले केही समयअघि मात्रै राष्ट्रिय विज्ञापन नीति जारी भएको उल्लेख गर्दै विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन नीतिगत सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए। विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्चारमाध्यम, नियामक निकाय तथा उपभोक्तासहित विज्ञापन बजारसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने उनले उल्लेख गरे।

मन्त्री तिमिल्सिनाले पछिल्ला वर्षमा डिजिटल माध्यमको तीव्र विकाससँगै विज्ञापन गर्ने शैली र विज्ञापनका उपभोक्ताको व्यवहारमा समेत ठूलो परिवर्तन आएको बताए। विगतमा प्रयोग हुँदै आएका परम्परागत विज्ञापनका तरिका मात्रै पर्याप्त नहुने भन्दै उनले प्रविधिको विकास र बदलिँदो उपभोक्ता व्यवहारअनुसार विज्ञापन बजारलाई नयाँ ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिए।

सञ्चारमन्त्री तिमिल्सिनाले नेपालको सञ्चार तथा विज्ञापन क्षेत्रलाई सिर्जनात्मक, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए। विज्ञापन क्षेत्रको विकासले सञ्चारमाध्यमको आर्थिक आधार बलियो बनाउनुका साथै रोजगारी सिर्जना र व्यवसाय प्रवर्द्धनमा समेत योगदान पु¥याउने भएकाले यसलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने उनको भनाइ छ।

भेटका क्रममा राष्ट्रिय विज्ञापन सङ्घ नेपालले कोभिड–१९ महामारीपछि नेपालको अर्थतन्त्रसँगै विज्ञापन व्यवसाय पनि प्रभावित भएको उल्लेख गर्दै विज्ञापन बजार र विज्ञापन एजेन्सीले भोगिरहेका समस्या तथा कानुनी र नीतिगत विषयमा मन्त्रालयको ध्यानाकर्षण गराएको थियो।

विज्ञापन एजेन्सी सरकार, सञ्चारमाध्यम, विज्ञापनदाता र उपभोक्ताबीचको महत्त्वपूर्ण सेतुका रूपमा काम गर्दै आएको उल्लेख गर्दै सङ्घले यस क्षेत्रले हजारौँ रोजगारी सिर्जना गर्नुका साथै व्यापार तथा व्यवसाय प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको जनाएको छ।

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

रसुवा । जनैपूर्णिमा दिन गोसाइँकुण्ड मेला भर्न आउने भक्तजनको स्वास्थ्य, सुरक्षा, खानपान–बसाइलगायत सम्पूर्ण तयारी पूरा भएको छ ।लाङ्टाङ राष्ट्रिय निकुञ्जको अगुवाइमा गठित ११ वटा उपसमितिको तर्फबाट आआफ्नो जिम्मेवारी पूरा गरी भक्तजनको धार्मिक यात्रालाई अघिल्ला वर्षहरूको भन्दा सहज, सुरक्षित र सफल बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यसैसन्दर्भमा गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले मौसममा आउने प्रतिकूलतालाई ख्याल गरी निर्धक्क भई आउन अनुरोध गर्दै यात्राका क्रममा असहज परिस्थिति सिर्जना भए आवश्यकताअनुसार सवारीसाधन र त्यसबाट नभए हेलिकप्टरसमेत प्रयोग गरी निःशुल्क रुपमा बिरामीको उद्धार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हिमालय उद्धार सङ्घ, नेपालका कार्यकारी निर्देशक गोविन्द बत्स्यालले समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डमा यात्राका क्रममा भक्तजनलाई लेक लाग्ने तथा अन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले आवश्यकताअनुसार विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार मध्याह्नदेखि सञ्चालनमा आएको स्वास्थ्य शिविर भदौ १३ गतेसम्म सञ्चालन हुनेछ । शिविरमा आवश्यक औषधि तथा अक्सिजनसहित छ जना चिकित्सक र हिमालय उद्धार सङ्घका प्रतिनिधिका रूपमा प्रकाश खत्रीलाई खटाइएको छ ।

यसैबीच गोसाइँकुण्ड यात्रालाई सुरक्षित बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसमेतका सुरक्षा निकायलाई आवश्यकताअनुसार परिचालन गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले स्पष्ट गर्नुभएको छ ।

सामाजिक सञ्जालमा देखाइए जस्तो गोसाइँकुण्ड जाने बाटोका कुनै पनि स्थानमा अहिले असहज अवस्था नरहेको र भारी वर्षाका कारण खसेका पहिरोसमेत तत्काल हटाउने काम भइरहेको प्रजिअ परियारले जानकारी दिनुभयो । यद्यपि यात्राका क्रममा भौगर्भिक अवस्थालाई ध्यानमा राख्दै सम्भावित जोखिम न्यूनीकरण गरेर मात्र अघि बढ्न सम्बद्ध सबैसँग उहाँको सुझाव छ ।

गोसाइँकुण्ड यात्राका क्रममा स्वास्थ्य, सुरक्षा एवं बिरामी परेमा सुरक्षाकर्मीद्वारा उद्धार समेतका व्यवस्थापन मिलाइ सकिएकाले निर्धक्क भएर यात्रा गर्नसमेत प्रजिअ परियारले सबैसँग अनुरोध गर्नुभएको छ ।

जेठदेखि बन्द रहेको पोखरा–जोमसोम हवाई उडान आजदेखि पुनः सुरु

गण्डकी। वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द रहेको पोखरा–जोमसोम हवाई उडान आजदेखि पुनः सुरु भएको छ ।पोखरा अन्तरराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार आज समिट एयरको विमानले पोखरा–जोमसोम उडान तीन पटक गरेका छन् ।

कम ‘भिजिबिलिटी’का कारण हरेक वर्षायाममा पोखरा–जोमसोम हवाई उडान बन्द हुने गरेको छ । पर्यटक आगमनको याम सुरु हुन लागेकाले उडान पुनः सञ्चालन भएसँगै मुस्ताङको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

हुम्लाका किसान न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य

हुम्ला। हुम्लाका किसान न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। किसानका स्याउका बोटमा फलेका दान बाँदर र विभिन्न प्रजातिका कीराले फलमा क्षति पुर्याउन थालेपछि समय नपुग्दै स्याउ बिक्री गर्न बाध्य भएका हुन्।

सोही कारणले गत असार २९ गते जिल्ला दररेट निर्धारण समिति, हुम्लाले स्याउको मूल्य निर्धारण गरेको छ। प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिले क्रमशः ‘ए’ ग्रेडको प्रति केजी रु ६० ‘बि’ ग्रेडको प्रति केजी रु ५० र ‘सि’ ग्रेडको प्रति केजी रु ४० निर्धारण गरेको थियो।

हुम्लाको तल्लो क्षेत्र अदानचुली र ताँजाकोटका किसान सालाखाला स्याउ प्रति केजी रु ३० देखि रु ४० मा बिक्री गर्न बाध्य भएका छन्। अदानचुली गाउँपालिका–५ का किसान वीरवलसिंहले बाँदर र विभिन्न प्रजातिका कीराले फलमा क्षति पुर्याउन थालेपछि समय नपुग्दै स्याउ बिक्री गर्नुपरेको जानकारी दिए।

“पछिल्लो समय गाउँमा स्याउ खरिद गर्न व्यापारी आउन थालेका छन् । यता स्याउ पाकेको छैन । स्याउ भण्डारण गर्ने भौतिक संरचना छैन । नजिकै बजार र आफूसँग सवारीसाधन नभएकाले स्याउ बिक्री गर्न बाध्य छौँ”, उनले भने।

सांसद सुब्बाद्वारा ग्रामीण चक्रीय अर्थतन्त्रमा जोड

काठमाडौँ, भदौ ८-प्रतिनिधिसभाका सदस्य सन्तोष सुब्बाले कृषि क्षेत्रको बजेट कटौतीप्रति असहमति जनाउनुभएको छ ।प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उहाँले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने गरी सरकारको नीति तथा कार्यक्रम पुनःविचार गरिनुपर्ने धारणा राख्नुभयो । कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा मन्त्रालयकै बजेट घटाइनु नीतिगत असन्तुलन भएको जनाउँदै सांसद सुब्बाले आर्थिक रूपमा सक्रिय जनशक्तिको ठूलो हिस्सा कृषि, वन तथा मत्स्य क्षेत्रमा संलग्न रहेकाले त्यसरी बजेट विनियोजन गरिनु नहुने तर्क प्रस्तुत गर्नुभयो ।

उहाँले कृषि क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा करिब एक चौथाइ योगदान दिइरहेको अवस्थामा बजेट कटौतीले किसान, उत्पादन र ग्रामीण अर्थतन्त्रमा प्रतिकूल असर पार्ने उहाँको भनाइ छ ।

सांसद सुब्बाले भन्नुभयो, “कृषिमा विनियोजित बजेटको ठूलो हिस्सा प्रशासनिक संरचना र रासायनिक मलमा खर्च हुने गरेको छ । उत्पादन तथा उत्पादकत्व वृद्धि, भण्डारण, प्रशोधन र दीर्घकालीन पूर्वाधारमा अपेक्षित लगानी हुन सकेको छैन ।”

उहाँले सरकारको नीति तथा प्राथमिकतामा ‘चक्रीय सहरी अर्थतन्त्र’ प्रवर्द्धन गर्ने विषय उल्लेख भए पनि पर्याप्त रूपमा नसमेटिएको भनी गुनासो गर्नुभयो । “चक्रीय सहरी अर्थतन्त्र प्रवर्द्धन गर्ने कुरा राम्रो छ, तर चक्रीय ग्रामीण अर्थतन्त्रको कुरा कहीँ उल्लेख छैन”, सांसद सुब्बाले भन्नुभयो, “यसले हामीलाई कहाँ पुर्याउँदैछ भन्ने विषयमा सरकारले समयमै सचेत भएर पुनःविचार गर्नुपर्छ ।”

ग्रामीण क्षेत्रमा रोजगारी र आर्थिक अवसरको अभावका कारण विशेष गरी हिमाली तथा पहाडी क्षेत्रबाट बसाइँसराइ बढिरहेको उल्लेख गर्दै उहाँले बसाइँसराइको समस्यालाई कृषि, शिक्षा, स्वास्थ्य र स्थानीय अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने बताउनुभयो ।
ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउन ग्रामीण शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि पर्याप्त लगानी आवश्यक रहेको र योजनाकारले विगतमा बनाएका योजना र नीतिहरूले बढ्दो बसाइँसराइ रोक्न नसकेको भन्दै उहाँले सरकारलाई यसको जवाफ दिनसमेत आग्रह गर्नुभयो ।

सांसद सुब्बाले रासायनिक मलको प्रयोग घटाउँदै जैविक, प्राङ्गारिक तथा हरित मलको उत्पादन र प्रयोग विस्तार गर्नुपर्ने सुझाव दिनुभयो । “प्रत्येक पालिकामा जैविक, प्राङ्गारिक र हरित मल उत्पादन गर्ने उद्योग स्थापना गर्ने योजना अगाडि बढाउनुपर्छ”, सांसद सुब्बाले भन्नुभयो, “कृषि क्षेत्रमा संरचनागत सुधार आवश्यक छ ।

सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग

काठमाडौँ, भदौ ८-नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद पद्माकुमारी अर्यालले बारामा बलात्कारपछि हत्या गरिएकी बालिका गरिमा चौधरीको घटनाका दोषीलाई शीघ्र पहिचान गरी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उहाँले त्यस घटनाको अनुसन्धानमा रहेको सुरक्षा निकायले शीघ्र अनुसन्धान पूरा गरी दोषीको पहिचान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सांसद अर्यालले पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र यस्ता घटना दोहोरिन नदिन गम्भीर अध्ययन र अनुसन्धान गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।“यस्ता खालका घटनामा ठीक ढङ्गले कारबाही गरिएन भने यो प्रवृत्ति मौलाएर जान्छ,” सांसद अर्यालले भन्नुभयो । पछिल्ला दिनमा नाबालिकामाथि हुने हिंसाका घटना बढिरहेकोप्रति चिन्ता गर्दै उहाँले घटनापछि अनुसन्धान होइन, दीर्घकालीन रुपमा यस्ता घटना दोहोरिन नदिन अध्ययन र अनुसन्धानमा आधारित कार्ययोजना बनाइनुपर्नेमा जोड दिनुभयो ।

जनताका दैनिक समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउँदै सांसद अर्यालले ग्यास, रासायनिक मल र राहदानीका लागि नागरिकले लामो समय लाइन बस्नुपर्ने अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

ग्यास नपाएर उपभोक्ता लामो समय लाइनमा बस्नु परेको तथा किसानले मलका लागि भौतारिन परेको बताउँदै उहाँले जनताका आधारभूत समस्या समाधानमा सरकारको प्रभावकारिता देखिनुपर्नेमा जोड दिनुभयो ।

सांसद अर्यालले प्रविधिको प्रयोगलाई विकृत रूपमा गरिँदा समाजमा पारिवारिक तथा सामाजिक समस्या बढिरहेको बताउनुभयो । सामाजिक सञ्जालका कारण बालबालिकाको सिर्जनशीलता, मौलिकता र सामाजिक व्यवहारमा नकारात्मक असर परेको उहाँको भनाइ थियो ।

सांसद अर्यालले सामाजिक सञ्जालमा सार्वजनिक हुने पारिवारिक विवाद, आपत्तिजनक सामग्री तथा बालबालिकालाई लक्षित सामग्रीका कारण कतिपय परिवारमा तनाब र विघटनको अवस्था सिर्जना भएका उल्लेख गर्नुभयो ।

सांसद अर्यालले विकसित मुलुकले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेरसम्बन्धी सीमा तथा विभिन्न मापदण्ड लागू गरिरहेको उल्लेख गर्दै नेपालमा यस विषयमा ढिलाइ गर्न नहुने बताउनुभयो ।

सांसद अर्यालले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्नु सकारात्मक भएको बताउँदै यसको विस्तारका लागि सरकारले सहुलियतका कार्यक्रम ल्याउन सुझाव दिनुभयो । विद्युतीय सवारीको प्रयोगले पेट्रोलियम पदार्थमा हुने खर्च घटाउने, वातावरणीय प्रदूषण नियन्त्रण गर्ने र विदेश जाने पुँजी स्वदेशमै राख्न सहयोग पुग्ने बताउँदै उहाँले सहरमा मात्र नभई ठूला यात्रुवाहक बसमा समेत विद्युतीय सवारी सञ्चालनलाई प्राथमिकता दिनु सरकारको ध्यानाकर्षण गराउनुभयो ।

श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट

काठमाडौँ, भदौ ८ –युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीले आज शिष्टाचार भेट गर्नुभएको छ ।सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच दुई देशबीचका द्विपक्षीय श्रमसम्बन्धी समझदारी तथा सहमतिको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त कार्य समूहको बैठक शीघ्र आयोजना गर्ने सहमति भएको छ ।

भेटमा मन्त्री यादवले नेपाली श्रमिकलाई प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी दोहोरो प्रक्रिया पूरा गर्न व्यवस्थालाई सरल र सहज हुन आवश्यक रहेको बताउनुभयो । त्यस अवसरमा राजदूत शामसीले नेपाली श्रमिकको हकहित र अधिकारका विषयमा युएई निरन्तर छलफल र समन्वय गरिरहेको बताउनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

हरवाचरवा मुक्तिको चार वर्ष, समस्या उस्तै

कैलाली । विभिन्न अधिकारसम्बन्धी सङ्घसंस्थाले मुक्त हरवाचरवाको पहिचान, पुनःस्थापना तथा अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। मुक्त हरवाचरवा सङ्घर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो आधार, पुनःस्थापना हाम्रो सरोकार’ भन्ने नाराका साथ अघि बढाइएको अभियानप्रति ऐक्यबद्धता जनाउँदै विभिन्न पाँच संस्थाले सो आग्रह गरेका हुन्।

राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपाल, राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपाल, मुक्त कमैया समाज, कमैया महिला जागरण समाज र मुक्त कमलरी विकास मञ्चद्वारा आज जारी संयुक्त प्रेस विज्ञप्तिमा मुक्त घोषणा भएको चार वर्ष हुँदा पनि माग सम्बोधन नहुनु बिडम्बना भएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘विक्रम संवत् २०७९ साउन २ गते सरकारले तत्कालीन प्रधानमन्त्रीमार्फत हरवाचरवा प्रथा अन्त्य तथा हरवाचरवा मुक्तिको घोषणा गरेको चार वर्ष पूरा भइसक्दा पनि पहिचान, पुनःस्थापना र अधिकार सुनिश्चित हुन सकेको छैन। यसमा सरकार गम्भीर बन्नुपर्छ।’

मुक्तिको घोषणा मात्रै पर्याप्त नभएको जनाउँदै उनीहरूले भूमि, सुरक्षित आवास, सामाजिक सुरक्षा, सम्मानजनक रोजगारी, जीविकोपार्जन तथा आर्थिक पुनःस्थापनाजस्ता आधारभूत अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। मधेस केन्द्रित समस्याका रूपमा रहेको हरवाचरवाको मुद्दा र माग सम्बोधनका लागि विशेष गरी त्यहाँको प्रदेश सरकार र स्थानीय तहको नेतृत्वमा सङ्घीय सरकारले आवश्यक पहलकदमी लिनुपर्ने आफूहरूको आग्रह रहेको आरडिएनका अध्यक्ष मोहन ओडले बताए।

अध्यक्ष ओडले भने, ‘मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवाको पूर्ण मुक्ति, भूमि अधिकार, सामाजिक सुरक्षा, आर्थिक पुनःस्थापना तथा मर्यादित जीविकोपार्जन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। उक्त प्रतिबद्धतालाई स्पष्ट कार्ययोजना, पर्याप्त बजेट, समयसीमा र प्रभावकारी कार्यान्वयनमा रूपान्तरण गर्न हाम्रो आग्रह छ।’

विशेष गरी मधेस प्रदेशका आठवटै जिल्लामा हरवाचरवाको लगत सङ्कलन तथा प्रमाणीकरण गरी परिचयपत्र वितरण गर्न, भूमिहीन परिवारको पहिचान गरी दिगो पुनःस्थापनाको योजना बनाउन तथा आवश्यक बजेट सुनिश्चित गर्न सरोकारवाला सबै संस्थाको माग रहेको राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालका अध्यक्ष रमेश कोलीको भनाइ छ।

मुक्त हरवाचरवा सङ्घर्ष समितिले मङ्गलबारदेखि आफ्ना माग सम्बोधनका लागि मधेस प्रदेश केन्द्रित आन्दोलनलगायत गतिविधि अगाडि बढाउँदैछ। त्यसको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गरी आफूहरूले सरकार, नागरिक समाज, मानव अधिकारकर्मी तथा सरोकारवाला सबैलाई मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्ने अभियानमा सहयोग गर्न आह्वान गरेको कमैया महिला जागरण समाजकी केन्द्रीय अध्यक्ष कृष्णी थारूले बताइन्।

विज्ञप्तिमा राष्ट्रिय दलित नेटवर्क नेपालका केन्द्रीय अध्यक्ष मोहन ओड, राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष रमेश कोली, मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरी, कमैया महिला जागरण समाजकी केन्द्रीय अध्यक्ष कृष्णी थारू र मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुमिता चौधरीले हस्ताक्षर गरेका छन्।

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्यो, ‘सीए टीएस’ प्रमाणीकरण प्रक्रिया सुरु

पर्सा। पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउन बाघ संरक्षणका लागि सुनिश्चित व्यवस्थापन अन्तर्राष्ट्रिय मापदण्ड (सिए टिएस) प्रमाणीकरण प्रक्रिया सुरु भएको छ।

सन् २०२२ मा ४१ वयस्क बाघ रहेको पर्सा निकुञ्जमा सन् २०२६ को गणनाअनुसार बाघको सङ्ख्या ७१ पुगेपछि संरक्षण उपलब्धिलाई दीर्घकालीन र गुणस्तरीय व्यवस्थापनमा रूपान्तरण गर्न सिए टिएस प्रक्रिया अघि बढाइएको हो।

यसै क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा पर्सा राष्ट्रिय निकुञ्जमा सम्पन्न सिए टिएस कार्यशालामा विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्य, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा, जेडएसएल नेपाल, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सुरक्षा निकाय, निकुञ्जका कर्मचारी, उपभोक्ता समिति तथा स्थानीय सरोकारवालाको सहभागिता थियो।

कार्यशालामा सिए टिएसको प्रारम्भिक तयारी, स्वमूल्याङ्कन, व्यवस्थापन सुधार, प्रमाण सङ्कलन तथा सरोकारवालाबीच समन्वयका विषयमा छलफल भएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए।

कार्यशालामा वरिष्ठ इकोलोजिष्ट आचार्यले बाघको सङ्ख्या बढ्नु मात्र पर्याप्त नभई त्यसलाई दीर्घकालसम्म टिकाइराख्न बासस्थान, आहारा, सुरक्षा तथा समग्र व्यवस्थापनको गुणस्तरमा निरन्तर सुधार आवश्यक रहेको बताए। उनले सिए टिएसले बाघको सङ्ख्या मात्र नभई बाघ संरक्षणका लागि आवश्यक समग्र व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डका आधारमा मूल्याङ्कन गर्ने भएकाले पर्साका लागि यो महत्त्वपूर्ण अवसर भएको बताए।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत खतिवडाले सन् २०२२ देखि २०२६ सम्म पर्सामा बाघको सङ्ख्या ४१ बाट बढेर ७१ पुग्नु संरक्षणको महत्त्वपूर्ण उपलब्धि भए पनि अबको चुनौती बाघसँगै स्थानीय समुदायलाई सुरक्षित राख्नु रहेको बताए। उनले संरक्षणबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ पाउने वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गरे।

उनका अनुसार निकुञ्जको ‘बाघ मित्र अभियान’लाई सिए टिएस प्रक्रियासँग जोडेर मानव–बाघ सहअस्तित्व, समुदायको सुरक्षा, सचेतना तथा सहभागितालाई थप प्रभावकारी बनाउन सकिन्छ।

कार्यशालामा सहभागी सरोकारवालाले सिए टिएसलाई निकुञ्जले प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियाका रूपमा मात्र नभई निकुञ्ज, मध्यवर्ती क्षेत्र, सुरक्षा निकाय, संरक्षण साझेदार तथा स्थानीय समुदायको साझा अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

सिए टिएसले बाघको सङ्ख्या मात्र नभई बासस्थान, आहारा, सुरक्षा, व्यवस्थापन, वैज्ञानिक अनुगमन, समुदायको सहभागिता, मानव–बाघ द्वन्द्व, पर्यटन तथा बाघको दीर्घकालीन अवस्थालगायत विषयको समग्र मूल्याङ्कन गर्नेछ। अब दर्ता, स्वमूल्याङ्कन, सुधार योजना निर्माण, अनुपालनसम्बन्धी दस्तावेज तयारी, राष्ट्रिय समीक्षा, स्वतन्त्र मूल्याङ्कन तथा अन्तर्राष्ट्रिय निर्णयसम्मको प्रक्रिया अघि बढाइनेछ।

यस क्रममा बासस्थान तथा आहारा संरक्षण, चोरी–सिकार नियन्त्रण, स्मार्ट पेट्रोलिङ, मानव–बाघ द्वन्द्व व्यवस्थापन, वैज्ञानिक अनुगमन तथा समुदाय सहभागितालाई प्राथमिकता दिइने प्रमुख संरक्षण अधिकृत खतिवडाको भनाइ छ।

बाघको सङ्ख्या बढ्दै गएको अवस्थामा सिए टिएस प्रमाणीकरण प्रक्रियाले पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण व्यवस्थापनलाई थप वैज्ञानिक, व्यवस्थित र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। संरक्षणको सफलता प्रमाणपत्र प्राप्त गर्नुमा मात्र नभई बाघ सुरक्षित, वन क्षेत्र स्वस्थ तथा स्थानीय समुदाय सुरक्षित र संरक्षणका सक्रिय साझेदार बन्नुमा निर्भर रहने उनले बताए।

छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज

तनहुँ। तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा प्रभावित बनेको छ ।

आइतबार साँझ पहिरो खसेर सडकको एक लेन अवरुद्ध हुँदा अर्को लेनबाट सवारीसाधन आवतजावत गर्न असहज भएको प्रहरीले जनाएको छ ।

पहिरो खसेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएको छ ।

प्रहरी टोलीले पहिरो हटाई सडक सञ्चालनमा ल्याउन आवश्यक पहल गरिरहेकोे छ ।

पहिरोका कारण राजमार्गमा सवारीसाधन आवतजावत प्रभावित भएकाले चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।