`

फिल्म ‘राम नाम सत्य’ को ‘धागोले बाटेको’ गीतमा विराज र सुपुष्पाको रोमान्स

काठमाडौं । फिल्म ‘राम नाम सत्य’ ले गीत रिलिज गर्दै प्रचारप्रसार थालेको छ । आइतबार युट्युबमा यो फिल्मको गीत ‘धागोले बाटेको’ सार्वजनिक गरिएको छ ।रोमान्टिक शैलीको गीतमा कलाकार विराज भट्ट र सुपुष्पा भट्टलाई फिचर्ड गरिएको छ । गीतमा यी दुईजना रोमान्टिक देखिएका छन् ।

२७ चैतदेखि यो फिल्म प्रदर्शन तयारीमा छ । सार्वजनिक गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ ।

माइकल इन्टरटेनमेन्ट हाउसको ब्यानरमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र श्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार फिल्मका कार्यकारी निर्माता हुन् । मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको यो फिल्मका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन् । बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत फिल्ममा छ ।

माइकल चन्दकै पटकथा रहेको यो फिल्ममा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याकग्राउन्ड म्युजिक छ । फिल्मले ‘पर्दा पछाडिको पर्दा’ को थिम बोकेको छ । फिल्ममा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुषसिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारको अभिनय छ । फिल्मलाई एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण गरिएको छ ।

काठमाडौँको तारकेश्वरमा घरभित्र पसेको चितुवाको उद्धार

काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ । काठमाडौँ डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको प्रहरीले जनाएको छ ।

आज अपराह्न मनमैजु मन्दिर नजिकै घरमा पसेर दुई जनालाई घाइते बनाएको चितुवाको उद्धार गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय अनोजमणि अधिकारीको घरभित्र चितुवा पसेको चितुवाले स्थानीय दुलाल महर्जन र मायानाथ वाग्लेलाई आक्रमण गरेको थियो । दुवै जनालाई उपचारका लागि अस्पताल पठाइएको छ ।

प्रतिनिधिसभा निर्वाचन : निजी क्षेत्रको आत्मविश्वास फर्काउने विषय चुनौतीपूर्ण

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अधिकांश राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । उनीहरूको घोषणापत्रमा निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य इञ्जिन मानिएको छ र व्यावसायिक जगतको आत्मविश्वास बढाउन आफूहरूले नीतिगत सुधार गर्ने दाबी पनि गरेका छन् ।

लगानीकर्तालाई विश्वास दिलाउन करका दर स्थिर राख्ने, राज्य केबल सहजकर्ता वा नियामकमात्र रहने, भयरहित वातावरण बनाउने, स्वदेशी उत्पादन र नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने, एकाधिकार हटाउने, कानुन संशोधन गरी अवरोध हटाउने, लगानीलाई व्यापारभन्दा उत्पादनशील क्षेत्रमा केन्द्रित गर्न प्रोत्साहन गर्नेजस्ता विषय घोषणापत्रमा समेटिएका छन् ।

यद्यपि, गत भदौ २३÷२४ को जेनजी आन्दोलनका क्रममा आफ्नो सम्पत्ति र भौतिक संरचनामाथि भएको आक्रमणका कारण निजी क्षेत्रको मनमा लागेको घाउ अझै पनि आलै छ । तसर्थ, जोसुकै दल आए पनि आसन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने सरकारले व्यावसायिक जगतको मनमा लागेको ठेस निको पार्न यथेष्ट प्रयास गर्नुपर्ने देखिन्छ ।

अनलाइन समाचार पोर्टल ‘क्लिकमाण्डु डट कम’ले हालै सार्वजनिक गरेको ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण, २०८२’ शीर्षकको अध्ययन प्रतिवेदनले पनि निजी क्षेत्रको आत्मविश्वास इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको छ । प्रतिवेदनअनुसार ९८ प्रतिशत लगानीकर्ताको मनोबल कुनै न कुनै स्तरमा कमजोर भएको देखिएको छ भने ९७ प्रतिशत व्यवसायीले लगानीको वातावरण कमजोर भएको महसुस गर्नु भएको छ । यसैगरी ७० प्रतिशत व्यवसायी थप लगानीका निमित्त ‘पर्ख र हेर’को अवस्थामा रहेको प्रतिवेदनको ठहर छ ।

भौतिक तथा आर्थिक क्षति र लगानीकर्ता व्यवसायीको मनोबल मापन गर्ने तथा व्यावसायिक वातावरण जाँच गर्ने उद्देश्यका साथ गरिएको सो अध्ययनले नेपालका स्थापित र ठूला व्यवसायीहरूमा गहिरो मनोवैज्ञानिक र आर्थिक चोट पु¥याएको देखाएको छ । खासगरी भौतिक क्षतिको तुलनामा विश्वास र मनोबलको क्षति निकै डरलाग्दो देखिएको छ ।

मुलुकको कूल गार्हस्थ्य उत्पादन, पुँजी निर्माण, रोजगारी सिर्जना तथा सरकारी राजस्व परिचालनमा निजी क्षेत्रको योगदान उल्लेखनीय छ । तर दुई दिनको गतिविधिले निजी क्षेत्रको भौतिक संरचना, उत्पादन प्रणाली, सेवा प्रवाहमा गम्भीर क्षति पु¥याउनुका साथै उद्यमीहरूको मनोबलमा निकै नराम्रो असर पु¥याएको प्रतिवेदनको ठहर छ ।

अर्बौं रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति, उत्पादन र बिक्रीमा आएको अवरोध, आपूर्ति शृङ्खलाको विच्छेद र लाखौँ नेपालीको रोजगारी गुम्ने अवस्था जेनजी विद्रोहका प्रत्यक्ष नतिजा भएको विषय अध्ययनमा सहभागी लगानीकर्ता व्यवसायीले उठाएका छन् ।

जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न व्यावसायिक प्रतिष्ठानमा भौतिक तथा आर्थिक क्षति भएको छ भने धेरै व्यवसायीको व्यावसायिक गतिविधिमा मात्र नभई व्यक्तिगत घर र गाडीमा आक्रमण भएको छ । जेनजी प्रदर्शनका कारण व्यवसायीले भोगेको क्षतिको प्रकृति विश्लेषण गर्दा भौतिक क्षतिभन्दा ठूलो असर मनोबलमा परेको पाइएको हो ।

प्रतिवेदनमा प्रमुख सूचनादाताका रुपमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भनेका छन्, “दशकौँको मेहनत र अर्बौंको लगानीबाट खडा गरिएका उद्योग र व्यावसायिक प्रतिष्ठानमा तोडफोड र लुटपाट हुँदा त्यसले भौतिक क्षति मात्र गर्दैन, एउटा उद्यमीको आत्मविश्वासको जग नै हल्लाइदिन्छ । आफ्नो लगानी र सम्पत्ति सुरक्षित छ त ः भन्ने त्रासमा बाँच्नुपर्ने अवस्था कुनै पनि व्यवसायीका लागि सबैभन्दा ठूलो पीडा हो ।”

उनका अनुसार अङ्कमा मापन गर्नै नसकिने ‘मनोवैज्ञानिक क्षति’ भौतिक क्षतिभन्दा निकै बढी छ । लगानीकर्ताको मनोबल टुट्नु र असुरक्षाको भावना बढ्नु मुलुकको दीर्घकालीन विकासका लागि निकै महँगो साबित हुने उनको भनाइ छ ।

महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छाले भनेका छन्, “प्रदर्शनपछि आर्थिक क्षतिका विवरण आइरहेकै छन् । तर, आर्थिकभन्दा मानसिक क्षति बढी भएको महसुस मैले गरेको छु । रोजगारी सिर्जना गर्ने, कर तिर्ने र जोखिम मोलेर सम्पत्ति सिर्जना गर्ने वर्गमाथि ईष्र्या र रिसइबीका कारण प्रहार हुनु असह्य छ ।”

निजी क्षेत्रले जोखिम नमोल्ने र व्यवसाय नगर्ने हो भने देश सञ्चालन हुने नसक्ने भन्दै गोल्छा थप्छन्, “तर, हामीलाई जहिले पनि ‘नाफाखोर’ का रूपमा मात्र हेरिन्छ । हामीले जोखिम नमोले रोजगारी सिर्जना हुँदैन, सरकारले कर पाउँदैन ।” नाफा वास्तबमा खराब शब्द नभएको दाबी गर्ने गोल्छाका अनुसार व्यवसायीले कानुनको परिधिभित्र रहेर मर्यादित रूपमा नाफा कमाउँछ र कर तिर्छ । “केही सीमित व्यक्तिको खराबीलाई हेरी सम्पूर्ण निजी क्षेत्रलाई एकै डालोमा राखेर आक्रमण गर्नु अशिक्षाको उपज हो”, गोल्छाको भनाइ छ ।

क्लिकमाण्डुको अध्ययनमा सहभागी ९८ प्रतिशत व्यवसायीले जेनजी प्रदर्शनका कारण आफ्नो मनोबलमा सामान्य, ठूलो वा अत्यधिक असर परेको जवाफ दिँदा दुई प्रतिशत व्यवसायीले मात्र मनोबलमा फरक नपरेको जवाफ दिएका छन् । यो तथ्यले व्यवसायीको आत्मविश्वास निकै कमजोर बनेको पुष्टि गर्छ । आठ प्रतिशत व्यवसायीले लगानी थप गर्न वा व्यवसाय विस्तार गर्न आफू तयार नभएको बताउँदा पर्ख र हेरको अवस्थामा ७० प्रतिशत व्यवसायी छन् । २१ प्रतिशत व्यवसायी भने थप लगानी गर्न इच्छुक देखिएका छन् ।

“विसं २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा भौतिक वा आर्थिक क्षति समय क्रममा पुनरुत्थान हुँदै जानेछ तर यसबाट व्यवसायीमा परेको आघात भने अमिट छ”, प्रतिवेदनमा भनिएको छ, “अध्ययनका क्रममा व्यवसायीहरूमा चरम निराशा, असुरक्षा र अनिश्चितताजन्य त्रास फैलिएको पाइएको छ ।”

प्रतिवेदनले निजी क्षेत्रको आत्मविश्वास इतिहासकै कमजोर अवस्थामा पुगेको देखाएको छ । नयाँ लगानीका योजना स्थगित भएको र केही उद्यमीहरूले ‘पुँजी पलायन’ सम्मको सोच बनाउन थालेको प्रतिवेदनमा उल्लेख छ । नेपाल लगानीका लागि असुरक्षित गन्तव्य बनेको सन्देश जाँदा वैदेशिक लगानी प्राप्त हुने सम्भावना झन क्षीण भएको छ ।

जेनजी विद्रोहका क्रममा उद्योग, बैंक, व्यापारिक प्रतिष्ठान तथा सवारीसाधनमा भएको तोडफोड र आगजनीबाट निजी क्षेत्रमा करिब ३४ अर्ब बराबरको क्षति भएको छ । प्रत्यक्ष भौतिक क्षतिभन्दा अप्रत्यक्ष आर्थिक क्षति अझ भयावह छ, जुन करिब ८१ अर्ब रुपैयाँ छ । यसले नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब पाँच प्रतिशतसम्म प्रभाव पार्ने अनुमान गरिएको छ ।

समाजमा व्यवसायीलाई रोजगारी सिर्जना र राजस्वमा योगदान गरेबापत आर्थिक विकासका सारथि भन्नुपर्नेमा ‘नाफाखोर’ वा ‘शोषक’ का रूपमा हेर्ने गलत भाष्य विकास भएको महसुस उत्तरदाता व्यवसायीले गरेका छन् । खासगरी मिडिया, राजनीतिक दल र शिक्षा प्रणालीले उद्यमशीलतालाई सम्मान गर्ने संस्कृति विकास गर्न नसक्दा निजी क्षेत्रप्रति सर्वसाधारणमा नकारात्मक दृष्टिकोण हाबी भएको प्रतिवेदनको ठहर छ ।

यद्यपि, जेनजी विद्रोहलगत्तै सरकारले शान्तिसुरक्षा कायम गर्न, निजी क्षेत्रका कुरा सुन्दै केही तत्कालीन राहतका प्याकेज ल्याउँदा लगानीकर्तामा केही आशा पलाएको देखिन्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको संघारमा सार्वजनिक भएको यो अध्ययन प्रतिवेदनले राजनीतिक दलहरुलाई घचघच्याएको र व्यावसायिक जगतको आत्मविश्वासमा सुधार ल्याउन हदैसम्म सकारात्मकता विकास गर्नुपर्ने सन्देश दिएको क्लिकमाण्डुका अध्यक्ष पुष्पप्रसाद दुलाल बताउँछन् ।

“जेनजी विद्रोहपछिको तनाव केवल मनोवैज्ञानिक समस्या मात्र होइन, यो नेपालको निजी क्षेत्रको अस्तित्वसँग जोडिएको सङ्कट हो । राज्यले तत्काल सुरक्षाको प्रत्याभूति, विधिको शासनको पुनर्बहाली र निजी क्षेत्रमैत्री वातावरण सिर्जना नगर्ने हो भने, देशलाई दीर्घकालीन गम्भीर आर्थिक भुमरी र ठूलो बौद्धिक तथा पुँजी पलायनतर्फ धकेल्ने देखिन्छ”, दुलालले भने, “लगानीकर्तामा व्याप्त यस त्रासलाई बेलैमा सम्बोधन नगरे सामाजिक र आर्थिक सन्तुलन नै बिग्रने जोखिम छ ।”

प्रतिवेदनका अनुसार व्यवसायीको आत्मविश्वासमा गहिरो चोट पुगेको छ भने आज पनि व्यवसायी मनोवैज्ञानिक त्रासमा बाँच्नुपरेको छ । “व्यवसाय गरेर नाफा कमाउनु अपराध हो र भन्ने निराशाजनक भावना र ‘धनीविरुद्ध गरिब’ को भाष्यले लगानीकर्ताको मनोबल र व्यावसायिक आत्मविश्वासलाई पूर्णतः धराशायी बनाएको प्रतिवेदनको निष्कर्ष छ ।

“लगानीको वातावरणमा गहिरो संशय व्यक्त हुँदा राज्यले शान्ति सुरक्षा र कानुनी शासनको प्रत्याभूति दिलाउन नसकेसम्म र व्यवसायीको खस्किएको मनोबल उकास्ने ठोस कदम नचालेसम्म लगानीको वातावरण पुरानै लयमा फर्कन निकै लामो समय लाग्ने देखिन्छ”, प्रतिवेदनमा उल्लेख छ ।

निजीक्षेत्र नै अर्थतन्त्रको इञ्जिन भएका कारण सरकारले निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र आत्मविश्वासको जागरणबिना दिगो आर्थिक विकास सम्भव नहुने निष्कर्ष अध्ययन प्रतिवेदनको छ । राज्य, निजीक्षेत्र र समाजमा पारस्परिक विश्वास, संवाद र सहकार्य सुदृढ गर्न सकिए मात्र नेपालको अर्थतन्त्रलाई स्थायित्व र दिगोपनतर्फ अग्रसर गराउन सकिने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले निजी क्षेत्रको मनोबल उकास्न तत्काल, मध्यकाल र दीर्घकालमा तत्तत् निकाय वा क्षेत्र गर्नुपर्ने कामसमेत सुझाएको छ । “राज्यले ‘सहजकर्ता’ को भूमिका खेल्ने, निजी क्षेत्रले ‘व्यावसायिकता’ देखाउने र समाजले ‘सम्मान’ व्यक्त नगरेसम्म लगानीको दिगो वातावरण बन्न सक्दैन, राज्यले निजी क्षेत्रलाई ‘दूध दिने गाई’ मात्र सम्झिनु हुँदैन, निजी क्षेत्रले पनि राज्यलाई ‘दुःख दिने संयन्त्र’ मात्र मान्नु हुँदैन । यी दुवैबीच विश्वासको पुल निर्माण गरेमात्र देशमा समृद्धि आउँछ, यो नै आजको एकमात्र विकल्प हो”, प्रतिवेदनको सुझाव छ ।

ग्रिनल्यान्डलाई अमेरिकी अस्पताल जहाजको आवश्यकता छैन

कोपनहेगन, १० फागुन । डेनमार्कका रक्षामन्त्री ट्रोअल्स लुन्ड पौल्सेनले ग्रिनल्यान्डलाई अन्य देशहरूबाट चिकित्सा सहायता आवश्यक नभएको स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अस्पताल जहाज स्वायत्त डेनिस क्षेत्रमा पठाइरहेको दाबी गरेपछि उनले यो कुरा सार्वजनिक रूपमा बताएका हुन् ।

लुन्ड पौल्सेनले भने, “ग्रिनल्यान्डको जनसङ्ख्याले आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्छ । उनीहरूले यसलाई या त ग्रिनल्यान्डमा प्राप्त गर्छन् वा यदि विशेष उपचार आवश्यक भएमा डेनमार्कमा प्राप्त गर्छन् । त्यसैले ग्रिनल्यान्डमा विशेष स्वास्थ्य सेवा पहलको आवश्यकता छैन ।” डेनमार्कमा जस्तै ग्रिनल्यान्डमा स्वास्थ्य सेवामा पहुँच निःशुल्क छ । आर्कटिकको विशाल टापुमा पाँचवटा क्षेत्रीय अस्पतालहरू रहेका छन्, जसमा नुक अस्पतालले सम्पूर्ण क्षेत्रका बिरामीहरूलाई सेवा दिइरहेको छ ।

ग्रिनल्यान्डको स्थानीय सरकारले पनि डेनमार्कका अस्पतालहरूमा आफ्ना बिरामीहरूको उपचार सुधार गर्न फेब्रुअरीको सुरुमा कोपेनहेगनसँग सम्झौता गरेको थियो ।

शनिबार ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै भनेका थिए, “हामी ग्रिनल्यान्डमा बिरामी भएका र त्यहाँ हेरचाह नगरिएका धेरै मानिसहरूको हेरचाह गर्न ठूलो अस्पतालको डुङ्गा पठाउन जाँदैछौँ । यो बाटोमा छ !!!”

ट्रम्पले यसअघि ग्रिनल्यान्डलाई अमेरिकाले आफ्नो सुरक्षा सुनिश्चित गर्न नियन्त्रण गर्नुपर्छ भनी उल्लेख गरेका थिए । यद्यपि उनले नाटो महासचिव मार्क रुटसँग अमेरिकी प्रभाव सुनिश्चित गर्न ‘फ्रेमवर्क’ सम्झौता गरेपछि कब्जा गर्ने पहिलेका धम्कीहरू फिर्ता लिएका छन् ।

लुन्ड पौल्सेनले चिकित्सकसँग उनलाई अस्पताल जहाजको सम्भावित आगमनको बारेमा थाहा नभएको बताए । उनले भने, “ट्रम्पले लगातार ग्रिनल्यान्डका बारेमा ट्विट गर्दै आउनुभएको छ । यो अन्तर्राष्ट्रिय राजनीतिमा पकड लिएको नयाँ सामान्यको अभिव्यक्ति हो ।”

यसअघि शनिबार डेनमार्कको आर्कटिक कमान्डले नाविकले तत्काल चिकित्सा सहायता अनुरोध गरेपछि अमेरिकी पनडुब्बीको चालक दलका सदस्यलाई नुकको तटबाट बाहिर निकालिएको घोषणा गरेको थियो ।

बजेटलाई यथार्थपरक र व्यवस्थित बजाउन मुख्यमन्त्री आचार्यको निर्देशन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा र बजेट विनियोजनलाई यथार्थपरक र व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।

प्रदेश सरकार आर्थिक मामिला मन्त्रालयको आयोजनामा आज यहाँ प्रदेश राजधानीमा सम्पन्न आर्थिक वर्ष २०८२÷८३ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थासम्बन्धी अर्धवार्षिक समीक्षामा उनले आगामी आर्थिक वर्षको बजेटलाई यथार्थपरक र व्यवस्थित बनाउने गरी तयारी थाल्न आग्रह गरेका हुन् ।

प्रदेश सरकारले योजना तर्जुमा निर्देशिका निर्माण गरी टुक्रे योजना कटौती गर्ने र प्रदेश मन्त्रिपरिषद्बाट स्वीकृत गरेर कार्यान्वयनमा लैजाने तयारी गरेको उनले जानकारी दिए ।

आयोजना बैंकबाट वार्षिक योजना छनोट गर्ने व्यवस्था निर्देशिकामार्फत लागू गर्ने पनि जनाइएको छ । “आगामी आर्थिक वर्षको बजेट यथार्थपरक बनाउन जरूरी छ । अघिल्लो वर्ष प्रयास गरिएको थियो, तर प्राविधिक कारणले केही समस्या देखियो”, मुख्यमन्त्री आचार्यले भने, “अब बजेटलाई व्यवस्थित आकारमा ल्याएर प्रभावकारी कार्यान्वयनतर्फ लैजान्छौँ । सबै निकाय जिम्मेवार बन्नुपर्छ ।”

जनताको अपेक्षाअनुसार कामको गति बढाउन र परिणाममुखी कार्यसम्पादनमा जोड दिँदै उनले गत आर्थिक वर्षमा सम्पन्न भई भुक्तानी हुन बाँकी रहेका आयोजनाको रकम फागुन महिनाभित्रै निकाशा गर्न निर्देशन दिए ।

मुख्यमन्त्री आचार्यले प्रदेशको आन्तरिक आम्दानी वृद्धि गर्न राजस्वको दायरा विस्तार गर्नुपर्ने उल्लेख गर्दै निर्माण सम्पन्न भएर प्रयोगमा नआएका संरचनाको प्रभावकारी सदुपयोग सुनिश्चित गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए । साथै समपूरक, सशर्त र विशेष अनुदानअन्तर्गत आयोजनालाई समयमै सम्पन्न गर्न प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, पूर्वमुख्यमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका नेता पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्याललगायतले योजना छनोट र कार्यान्वयन पक्षलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धुप्रसाद बाँस्तोलाले अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशको वित्तीय प्रगति सन्तोषजनक रहेको जानकारी दिए । पुस मसान्तसम्म पुँजीगत खर्च १८ दशमलव ०४ प्रतिशत र कुल खर्च २० दशमलव ४५ प्रतिशत पुगेको उनले उल्लेख गरे ।

यस्तै, कार्यसम्पादन मूल्याङ्कनतर्फ प्रदेशले ३४ दशमलव ७१ अङ्क प्राप्त गरी पाँचौँ स्थान हासिल गरेको जानकारी दिइयो । मूल्याङ्कन सुधारका लागि प्रदेशको अधिकार क्षेत्रभित्र राजस्व परिचालन बढाउने, वन क्षेत्रको दायरा विस्तार गर्ने तथा बेरुजु घटाउनेतर्फ विशेष ध्यान दिनुपर्ने सुझाव प्रस्तुत गरिएको छ ।

समीक्षा कार्यक्रममा मन्त्रालयका उच्च अधिकारी, विभिन्न निकायका प्रमुख तथा सम्बन्धित सरोकार भएकाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा उठाइएका सुझावलाई कार्यान्वयनमा उतार्दै आगामी बजेटलाई यथार्थपरक, परिणाममुखी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

निर्वाचन आचारसंहिता पालना गर्ने सवालमा गम्भीर हुन आयोगलाई राप्रपाको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आचारसंहिताको पालना गर्ने, गराउने सवालमा गम्भीर हुन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

प्रवक्ता मोहन श्रेष्ठले आज विज्ञप्ति जारी गरी घण्टी चिह्न हुने दलले ध्वनि प्रदूषण हुनेगरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लङ्घन गरिरहेको जनाएको छ ।

“ध्वनि प्रदूषण हुनेगरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लङ्घन गरिरहँदा आयोगले नदेखेजस्तो, नसुनेजस्तो गरिरहनु विडम्बनापूर्ण छ, खुकुरी चिह्न हुनेले घण्टी बजाउँदै हिँडेजस्तो खुकुरी नचाउँदै हिँड्ने, डोजर चिह्न हुनेले सडक र राजमार्ग अवरुद्ध हुनेगरी डोजर चलाउँदै हिँड्ने अवस्था आयो वा हिँड्यो भने निर्वाचन आयोगका लागि त्यो पनि स्वीकार्य हुनसक्छ ?”, विज्ञप्तिमा उल्लेख छ ।

रौतहटमा सामाजिक एकता र सद्भाव खल्बल्याउने, साम्प्रदायिक वैमनस्यता पैदा गर्नेगरी भएका घटनाप्रति पार्टीले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र एकता कायम गर्न अपिल गरेको छ ।

निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन् ।

उनले भने, “सरकारको प्रमुख प्राथमिकता तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु हो । त्यसैले निष्पक्ष निर्वाचनका लागि अपरिहार्य मानिएको सुरक्षा व्यवस्था चुस्त र मजबुत बनाएका छौँ । सबै मतदातालाई निर्धक्क र ढुक्क भएर शान्तिपूर्ण रूपमा मतदान गर्न आग्रह गर्दछौँ ।”

सरकारले निर्वाचन प्रहरी छनोटदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाउने काम गरेको उल्लेख गर्दै उनले एकीकृत सुरक्षा योजना लागू गरेर सुरक्षा संवेदनशीलताका आधारमा देशैभरि सुरक्षा व्यवस्थालाई सुदृढ र सबल बनाइएको बताए ।

मन्त्री अर्यालले निर्वाचनसम्बन्धी कमान्ड पोष्ट केन्द्रमार्फत प्रदेश तथा जिल्लास्तरमा रहेर काम भइरहेको, एकीकृत सुरक्षा योजनाले परिकल्पना गरेका संयन्त्रमार्फत निर्वाचन सेलहरु परिचालन गरिएको र गृह प्रशासनले दिनहुँजसो अवस्था, आवश्यकता र चुनौती विश्लेषण गरेर काम गरिरहेको जानकारी दिए । एक प्रश्नको जवाफमा हालै देखिएका केही छिटपुट झडपलगायत घटनाले निर्वाचनलाई कुनै असर नगर्ने उनको भनाइ थियो ।

ती घटना नियन्त्रणभित्रै रहेका र चुनावलाई असर नपार्ने किसिमले गृह प्रशासनले ‘ह्यान्डल’ गरिरहेको उनको भनाइ थियो ।

मन्त्री आर्यालले गत भदौको जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी एवं लुटिएका हतियार अब सुरक्षा चुनौती नरहेको पनि स्पष्ट गरे । उनले भने, “धेरैजसो हतियार र भागेका कैदीबन्दी फिर्ता गरिसकेका छौँ । जेजति बाहिर हुनुहुन्छ उहाँहरूलाई पनि फिर्ता गराउन पहिलाभन्दा अझ बढी मेहनत गरिरहेका छौँ । सबैतिर सुरक्षाकर्मी परिचालित छन् र सरोकार भएकाहरूलाई पनि त्यस्तो कुनै सूचना भएमा जानकारी गराउन अनुरोध गरेका छौँ । भागेकाहरूले बाहिर गएर फेरि अपराध गरेका तथा ती हतियार प्रयोग गरेका सूचना अहिलेसम्म आएका छैनन् । अब त्यस खालको असुरक्षाको भय छैन ।”

एक अर्को प्रश्नमा मन्त्री अर्यालले फागुन २१ गते निर्वाचन नगर्ने छुट सरकारलाई नरहेको पनि स्पष्ट गरे । वर्तमान सरकार विशेषतः चुनावी सरकार रहेकाले सोहीबमोजिम निर्वाचनलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउँदै उनले संविधानले नै संसद् विघटन भएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था गरेकाले सरकार या कोही पनि यो चुनावबाट भाग्ने या पन्छिने कुरै नआउने बताए ।

“यो निर्वाचन एक प्रकारले हाम्रो निष्ठाको जाँच नै भन्दा हुन्छ । हामीले समयमै निष्पक्ष निर्वाचन गराउने र निर्वाचित सरकारलाई प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने शपथ खाएका छौँ । चुनाव सार्ने या सर्ने भन्ने नै हुँदैन”, मन्त्री अर्यालले भने, “सबै खाले परिस्थितिलाई काबुमा राखेका छौँ र निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण प्रक्रिया पनि पूरा गरिसकेका छौँ । अब मतदानका लागि धेरै दिन बाँकी छैनन् । त्यसैले चुनाव नहुने भन्ने आशङ्का या भय कसैले पनि पाल्नु हुँदैन ।”

उनले निर्वाचन सार्ने भाष्य बनाउने र त्यस खालको परिस्थिति निर्माण गर्न खोज्ने प्रवृत्तिलाई मुलुकको राज्य संयन्त्रले निस्तेज पार्ने र जनताको साथ तथा सहयोगका साथ अघि बढ्ने पनि बताए ।

मन्त्री अर्यालले भने, “यो सरकार संवैधानिक रिक्ततालाई परिपूर्ति गर्ने र संवैधानिक व्यवस्थालाई पूर्ण रूपमा बहाली गर्ने प्रयोजनले आएको हो । यो सरकार राज्यको एक अत्यन्तै फरक परिस्थितिले जन्माएको हो । राष्ट्रपतिज्यूले फागुन २१ गते नै निर्वाचनको मिति तोक्नाका कारण पनि संसद् विघटन भएको छ महिनाभित्र निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप नै हो । हामीले संविधानको रक्षा गर्ने र संविधानअनुसार चल्ने शपथ खाएका छौँ । सोही अनुसार हामीले निष्ठा जाँचिने गरी नै काम गर्नुपर्छ र समयमै निर्वाचन सम्पन्न गर्नुपर्छ । यसबाट हामी या कोही पनि दायाँबायाँ हुने छुट नै छैन ।”

उनले सरकार विधिको शासन र सुशासन बहाली गर्ने, जनतालाई दिनुपर्ने सेवा प्रवाहको अवस्थालाई अझ सुदृढ गर्ने र जनताको मन जित्ने बाटोबाट अगाडि बढेको बताए ।

मन्त्री अर्यालले सरकारले कुनै शासक नभएर सहजकर्ताका रूपमा राज्यस्तरमा समन्वयात्मक काम गरिरहेको बताए ।

सरकार बनेको भोलिपल्टदेखि नै निर्वाचन आयोगलाई सम्पर्क गरेर मतदाता नामावली अद्यावधिकलगायत कामबाट निर्वाचन प्रक्रिया सुरु गरेको स्मरण गर्दै उनले अब मतदानको दिन आइसकेकाले जनताले निर्धक्क भएर मतदान गर्ने अवस्था रहेको उल्लेख गरे । “जसरी राज्यमा सिर्जना भएको विशेष परिस्थितिमा यो सरकार बन्यो, त्यस्तै विशिष्ट परिस्थितिमा यो निर्वाचन हुन गइरहेको छ । समयमै निर्वाचन सम्पन्न गरेर निर्वाचित प्रजातान्त्रिक सरकारलाई सत्ता हस्तान्तरण गर्न सबैले आ–आफ्ना स्थान र कामबाट सहयोग गर्नुपर्छ ।”

मन्त्री अर्यालले भदौ अन्तिम साताको जेनजी आन्दोलनको त्यो परिस्थतिबाट सबै राजनीतिक दल तथा सरोकार भएकाहरूको सहमतिमा निर्धक्कसँग मतदान गर्नसक्ने आजको अवस्था निर्माण गर्न र त्यस्तो असहज अवस्थामा पनि राजनीतिक सहमतिका माध्यमबाट सबैलाई निर्वाचनमा जान तयार पार्न यो सरकारले निकै मेहनत गरेको बताए । उनले निर्वाचन सफल बनाउने कामलाई सरकारले अर्जुनदृष्टि दिँदै आएको भन्दै यस्तो असहज परिस्थितिमा पनि समयमै हुन गइरहेको निर्वाचनलाई विश्वले नै हेरिररहेको बताए ।

मन्त्री अर्यालले भने, “यो निर्वाचनले सही पात्र छनोट गर्ने र प्रजातान्त्रिक प्रणालीलाई थप सुदृढ र समावेशी बनाउने भएकाले शान्तिपूर्ण र अहिंसात्मक रूपमा सहभागी भई निर्धक्क भएर मतदान गर्न सबै देशवासीसँग हाम्रो आग्रह छ ।”

आज यहाँ भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा आएका मन्त्री अर्यालले राससको समाचार उत्पादन तथा वितरण प्रणालीको अवलोकन गरी जानकारी लिएका थिए ।

कम्युनिष्ट एकता एमालेसहितको एकतामा पुग्ने अध्यक्ष दाहालको विश्वास

काठमाडौँ, १० फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकता एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यहाँ आज आयोजित कार्यक्रममा नेकपा (एमाले) पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका कीर्तिपुर नगरपालिकाका पूर्व प्रमुख रमेश महर्जन र वडा नं ६ का पूर्ववडाअध्यक्ष नुच्छे मर्हजनलाई पार्टीमा स्वागत गर्दै संयोजक दाहालले राष्ट्रवादी शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राखे ।

पार्टी प्रवेश गरेका पूर्वप्रमुख महर्जनले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट कीर्तिपुर–१० मा तारा चिह्नबाट उम्मेदवार रहेकी रुपा मर्हजनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

पूर्वनगरप्रमुख र पूर्ववडाअध्यक्षलाई नेकपाका नेता बामदेव गौतमलगायतका नेताहरूले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।

‘निर्वाचन सफल पार्न मिडियाको भूमिका महत्वपूर्ण’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले आसन्न निर्वाचन सफल पार्न मिडियाको भूमिका महत्वपूर्ण हुने बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा फैलिएका र केही मिडियामा आचारसंहिता विपरीतका गलत, भ्रामक र मिथ्या सूचना सम्प्रेषण हुने गरेका र यसबाट जोगिएर नागरिकलाई सत्य सूचना प्रदान गर्ने मिडियाको प्रमुख दायित्व हुने बताइन् ।

गोरखापत्र संस्थानले आज यहाँ आयोजना गरेको ‘निर्वाचन समाचार अभिमुखीकरण’ कार्यक्रमको समापन कार्यक्रममा सचिव बस्नेतले निर्वाचनको बेला भइरहेका आचारसंहिता उल्लङ्घनका घटना बाहिर ल्याएर सत्य सूचना प्रवाहमा मिडियाले जोड दिनुपर्ने सुझाव दिइन् । निर्वाचन जनताले आफ्नो शासकीय प्रतिनिधित्व छान्न पाउने संवैधानिक अधिकार भएकाले यसको भरपुर सदुपयोग गरेर मतदातालाई प्रोत्साहित गर्नुपर्ने उनको धारणा छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई र सहसचिव राजेन्द्र केसीले निर्वाचनसम्बन्धी प्रशिक्षण दिए । आचारसंहिता पालना गर्न र गराउनु नै चुनौती भएकाले मतदान शिक्षामा सबैले जोड दिनुपर्ने तथा मतदाता शिक्षामा महिलाको सहभागिता अति आवश्यक रहेको उनीहरुको भनाइ थियो ।

गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद भण्डारीले निर्वाचनको बेला मिडियाले दल र जनताबीच निष्पक्ष पुल जस्तै भूमिका निर्वाह गर्नुभपर्ने धारणा राखे ।

अमेरिका इरानमा सैन्य आक्रमणको तयारीमा : पूर्व सिआइए अधिकारीको दाबी

वासिङ्टन । अमेरिकाका पूर्व सिआइए अधिकारी जोन किरियाकोउले आगामी हप्ताको सुरुमा इरानविरुद्ध सैन्य आक्रमण गर्ने अन्तिम निर्णय भइसकेको दाबी गरेका छन् । जुलियन डोरे पोडकास्टमा उनले ह्वाइट हाउसका एकजना पूर्व गुप्तचर अधिकारीको हवाला दिँदै प्रशासनले दिएको सार्वजनिक समयसीमा हुँदाहुँदै पनि आक्रमण सन्निकट हुन सक्ने बताए ।

किरियाकोउले भने, “मेरो एक साथी, पूर्व सिआइए अधिकारी हुन्, जो आज बिहान ह्वाइट हाउसमा आफ्ना साथीहरूसँग कुरा गरिरहेका थिए । उनी भन्छन् कि सोमबार वा मङ्गलबार इरानमा आक्रमण गर्ने निर्णय गरिएको छ ।”

किरियाकोउका अनुसार राष्ट्रपतिले हिजो सार्वजनिक रूपमा इरानी नेतृत्वलाई १० दिनको समय दिएका थिए, तर यस्तो समयसीमा प्रायः रणनीतिक विचलनको रूपमा प्रयोग गरिन्छ ।

यसैबीच, संयुक्त राज्य अमेरिकाले मध्यपूर्वका विभिन्न प्रतिष्ठानहरूमा अज्ञात मिसनका लागि सैनिकहरूको रणनीतिक स्थानान्तरण सुरु गरेको छ । द जेरुसेलम पोस्टका अनुसार, कतारको अल उदेद बेसबाट सयौँ सैनिकहरू स्थानान्तरण गरिएको सङ्केत पाइएको छ । बहराइन, इराक, सिरिया, कुवेत, साउदी अरब, जोर्डन र संयुक्त अरब इमिरेट्समा पनि अमेरिकी सुविधाहरूमा यस्तै रसद परिवर्तनहरू भएको पाइएको छ ।

सरकारी अधिकारीहरूले यस क्षेत्रमा हाल तैनाथ ३० हजारदेखि ४० हजार अमेरिकी सैनिकहरूले पूर्ण युद्धको स्थितिमा इरानको प्राथमिक लक्ष्यका रूपमा काम गर्न सक्ने आशङ्का व्यक्त गरेका छन् । सैन्य विज्ञहरूले यस सम्भावित द्वन्द्वलाई सन् २०२५ मा अल उदेदमा भएको आक्रमणभन्दा फरक हुने बताएका छन्, जसमा इरानी अधिकारीहरूले अमेरिकालाई अग्रिम सूचना दिएका थिए ।

इरानी पक्षले संयुक्त राष्ट्रसङ्घमा चेतावनी दिँदै अमेरिकी आक्रमणको अवस्थामा ‘यस क्षेत्रमा शत्रु शक्तिका सबै आधार, सुविधाहरू र सम्पत्तिहरू वैध लक्ष्यहरू हुने’ चेतावनी दिएको छ । यी खतराहरूको प्रकाशमा, अमेरिकाले आफ्नो सेनाको सुरक्षाका लागि मध्यपूर्वमा हवाई रक्षा प्रणालीहरू स्थानान्तरण गर्दै दुई विमानवाहकहरू महत्त्वपूर्ण दूरीमा राख्ने निर्णय गरेको छ ।

पूर्व सिआइए अधिकारीले अमेरिकी प्रशासनभित्र आन्तरिक राजनीतिक विभाजन र हस्तक्षेप समर्थक तथा विरोधी गुटहरूको अवस्थाबारे पनि टिप्पणी गरेका छन् । युद्ध विरोधी गुटमा जेडी भान्स र तुलसी गबार्ड छन् भने युद्ध समर्थक गुट मार्को रुबियोको नेतृत्वमा रहेको छ । यसैबीच, ट्रम्प प्रशासनले विगत १२ महिनामा सबै संयुक्त प्रमुखहरूलाई प्रतिस्थापन गरेर राजनीतिक रूपमा वफादार व्यक्तिहरूलाई बढावा दिएको उनले जानकारी दिए ।

हालैको सरकारी खुलासाहरू र युएफओसम्बन्धित कागजातहरूको प्रत्याशित सार्वजनिक घोषणालाई पनि सम्भावित विचलनका रूपमा हेरिएको छ । किरियाकोउले भने, “सम्भवतः आंशिक रूपमा हो, उनीहरूले हिजो राति युएफओ फाइलहरू जारी गर्न जाँदैछन् ।”

तनहुँमा मतपत्र आइपुग्यो, मतदाता शिक्षाका लागि स्वयंसेवक पनि परिचालन

दमौली । यही फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ । तनहुँका दुवै क्षेत्रको प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र शनिबार आइपुगेको हो ।

तनहुँ क्षेत्र नं १ को मतपत्र दमौलीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं २ को मतपत्र दुलेगौँडास्थित निर्वाचन अधिकृतको कार्यालयमा राखिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालले जानकारी दिनुभयो ।

क्षेत्र नं १ प्रत्यक्षतर्फ एक लाख ३६ हजार र समानुपातिकतर्फ एक लाख ४२ हजार मतपत्र आएको छ । क्षेत्र नं २ प्रत्यक्षतर्फ एक लाख ३७ हजार र समानुपातिकतर्फ पनि एक लाख ३७ हजार मतपत्र आइपुगेको निर्वाचन अधिकारी लम्सालले बताउनुभयो ।

निर्वाचनका लागि आवश्यकपर्ने अन्य सामग्री पनि व्यवस्थापनको काम सकिएको छ । निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्ति भई अब तालिम सञ्चालन गर्न लागिएको छ ।

लम्सालका अनुसार क्षेत्र नं १ का कर्मचारीका लागि फागुन ११ र क्षेत्र नं २ का कर्मचारीका लागि फागुन १२ गते तालिम सञ्चालन हुनेछ । निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार ४९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार ९०६ जना रहेको लम्सालले बताउनुभयो ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नं १ तर्फ एक लाख २६ हजार ८८२ र क्षेत्र नं २ तर्फ एक लाख २७ हजार ५१५ मतदाता कायम भएका छन् । क्षेत्र नं १ मा पुरुषको सङ्ख्या ६१ हजार ७७८ र महिलाको सङ्ख्या ६५ हजार १०४ रहेको छ । क्षेत्र नं २ मा पुरुषको सङ्ख्या ६१ हजार ७१३ र महिलाको सङ्ख्या ६५ हजार ८०० दुई रहेको छ ।

क्षेत्र नं १ तर्फ व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ । क्षेत्र नं २ तर्फ शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको वडा नं ५ र ६ पर्दछ ।

मतदाता शिक्षा सञ्चालनका लागि स्वयंसेवक परिचालन

निर्वाचनलाई लक्षित गर्दै तनहुँ जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि स्वयंसेवक परिचालन गरिएको छ । निर्वाचनका क्रममा बदर मतको सङ्ख्या न्यून बनाउने उद्देश्यसहित जिल्लाका दशवटै पालिकामा स्वयंसेवक परिचालन गरिएको हो ।

बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल केसीले छ वटै वडामा मतदाता शिक्षा सञ्चालनका लागि स्वयंसेवकलाई तालिम दिएर खटाइएको जानकारी दिनुभयो । स्वयंसेवकलाई मतदान प्रक्रिया, मतदाताको अधिकार तथा कर्तव्य, बदर मत न्यूनीकरण लगायतका विषयमा अभिमुखीकरण गरिएको छ ।

उहाँले भन्नुभयो, “वडामा खटिने स्वयंसेवकलाई मतदातासँग पुगेर मतदान प्रक्रियाका बारेमा जानकारी गराउनुहुनेछ । यसको मुख्य उद्देश्य मत बदर न्यूनीकरण गर्नु हो ।” जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी विकास लम्सालले सबै पालिकामा मतदाता शिक्षा सञ्चालनका लागि स्वयंसेवक खटाइएको जानकारी दिनुभयो ।

मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिनु, मतपत्र प्रयोग गर्ने सही तरिका बुझाउनु तथा मतदान गर्दा ध्यान दिनुपर्ने विषयमा सचेत गराउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो ।

लम्सालले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुनसकेमा मतदातालाई मतदान गर्न सहज हुने र बदर मतको समस्या उल्लेखनीय रूपमा घट्ने विश्वास व्यक्त गर्नुभयो ।

विशेषगरी नयाँ मतदाता, पहिलो पटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई लक्षित गरी व्यवहारिक अभ्याससहित कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

कार्यक्रमअन्तर्गत मतपत्रमा सही चिन्ह कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयतासम्बन्धी विषयमा जानकारी दिइनेछ ।

निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नं १ तर्फ एक लाख २६ हजार ८८२ र र क्षेत्र नं २ तर्फ एक लाख २७ हजार ५१५ मतदाता कायम भएका छन् । क्षेत्र नं १ मा पुरुषको सङ्ख्या ६१ हजार ७७८ र महिलाको सङ्ख्या ६५ हजार १०४ रहेको छ । क्षेत्र नं २ मा पुरुषको सङ्ख्या ६१ हजार ७१३ र महिलाको सङ्ख्या ६५ हजार ८०२ रहेको छ ।

क्षेत्र नं १ तर्फ व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ । क्षेत्र नं २ तर्फ शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको वडा नं ५ र ६ पर्दछ ।

बालबालिकामा इन्टरनेटको प्रभावः अभिभावकलाई स्वास्थ्य, शिक्षाका विषयमा चिन्ता

तानसेन । पछिल्लो समय प्रविधिको विकास भएसँगै मोबाइल फोन र इन्टरनेटको पहुँच गाउँगाउँसम्म विस्तार हुँदै गएको छ । स्मार्टफोन र इन्टरनेटको प्रयोग गर्दै हुर्किरहेका अहिलेका बालबालिकामा यसको सकारात्मकभन्दा बढी नकारात्म प्रभा पर्दै जान थालेको विज्ञहरू बताउँछन् । पछिल्लो समय मोबाइल नहुने परिवार कमै छन् । वर्तमान समयमा न्यून आय भएका परिवारका साथै सबैजसो घरका सदस्यसँग स्मार्टफोन र इन्टरनेटको पहुँच पुगेको छ ।

स्मार्टफोनमा पहुँचको दुरुपयोग पनि बढेको छ, यो जोखिमपूर्ण र चिन्ताको विषय बनेको मनोचिकित्सक तथा बालरोग विशेषज्ञ डा विकासराज अधिकारीले बताउनुभयो । मोबाइलको बढी प्रयोगका कारण आफ्ना सन्तानमा समस्या देखिएपछि अविभावकहरू विभिन्न मनोचिकित्सा उपचार केन्द्रमा पुग्ने गरेका उहाँको भनाइ छ ।

“अहिले शिशु उमेरदेखि बालबालिका मोबाइलसँग परिचित हुन्छन् । आमाबुबाले चलाएको, फोटो खिचेको देखेर हुर्किएका उनीहरू कम उमेरदेखि मोबाइलमा गेम खेल्ने, साथीभाइसँग कुराकानी गर्नेलगायत अन्य विभिन्न काममा इन्टरनेटको प्रयोग गर्छन् । यसले बालबालिकामा इन्टरनेटको आदत बस्दा अभिभावकलाई उनीहरूको स्वास्थ्य, शिक्षालगायत विषयमा चिन्ता बढ्ने गरेको छ”, डा अधिकारीले भन्नुभयो ।

कक्षा ५ मा अध्ययनरत तानसेनका उमेश खड्का निकै चुलबुले स्वभावका हुनुहुन्थ्यो । जतिबेला पनि साथीसँग खेल्न चाहने, साइकल कुदाउँन घरबाहिर निस्किरहने उहाँलाई लकडाउनको समयमा कोठामै राख्न हम्मेहम्मे प¥यो । त्यसका लागि अभिभावकले इन्टरनेटमा भुलाउन जुक्ति निकाल्नुभयो ।

साउनमा दोस्रो चरणको लकडाउन सुरु भएपछि उनको विद्यालयले अनलाइन कक्षा सुरु ग¥यो । त्यसपछि उनको अधिकांश समय इन्टरनेटमा बित्न थाल्यो । माघ पहिलो हप्तादेखि विद्यालय खुल्यो, तर उनी जान मानेनन् । विद्यालय जान नमान्ने, मोबाइल चलाइरहन खोज्ने, नदिँदा धेरै रिसाउने, समान फ्याँक्ने, फुटाउने गर्न थालेपछि परिवारले विद्यालयसँग सम्पर्क गरेर मनोपरामर्श दिन सुरु गरेको छ ।

अहिले आठ वर्ष पुगेकी तानसेन–३ भगवती टोलकी मनिषा पाण्डेलाई पनि अभिभावकले खुवाउने बेला विभिन्न किसिमका भिडियोहरू देखाउनुहुन्थ्यो । उनीमा खाने बेला, पढ्नु अघि भिडियो हेर्ने बानी नै बस्यो । त्यसलाई अभिभावकले सामान्य ठाने । विस्तारै उनले मोबाइलमा गेम ९खेल० पनि खेल्न थालिन । त्यो देखेर अभिभावक खुसी व्यक्त गर्नुहुन्थ्यो ।

मनिषाको गेमप्रति लगाव बढ्दै गयो । त्यसपछि उनी जतिबेला पनि मोबाइल खोज्ने र गेम खेल्ने गर्न थालिन । गत पुसमा ५ दिन इन्टरनेट नआउँदा मनिषाले धेरै रिसाहा व्यवहार देखाएकी अभिभावकले बताउनुभयो । अनलाइन हुन नपाउँदा आमाको फोन फ्याँकेर फुटाइदिनेसम्मका क्रियाकलाप हुन थालेपछि मनोचिकित्सकबाट उपचार सुरु गरिएको मनिषाक िआमाले जानकारी दिनुभयो ।

दुई वर्ष पहिलेसम्म पढाइमा अब्बल रहेको छोरा विस्तारै कमजोर बन्दै गएपछि गुल्मी तम्घासकी अप्सरा परियार पनि चिन्तित हुनुहुन्छ । तीन कक्षामा अध्ययनरत १२ वर्षीय छोरा प्रिन्स केही समयदेखि विद्यालयबाट कोठामा फर्किएपछि झोला र पोसाक नखोली मोबाइलमा व्यस्त हुन्छन् ।

मोबाइल खोसिदिएपछि रुने र खाना नखाइदिने आमा अप्सराले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलेपहिले पढाइ राम्रो थियो, कोभिडपछि मोबाइलबाट पढ्ने बानी बसेपछि अहिले मोबाइल नभई हुँदैन । मोबाइलमा गेम खेल्ने र युुट्युुबमा भिडियो हेर्ने गर्दा पढाइमा ध्यान दिँदैन ।”

छोरा खाली मोबाइलमा व्यस्त हुने, कुनै पनि काम नगर्ने, भनेको नमान्ने, अटेरी र जिद्धी स्वभावको हुँदै गएको आमा अप्सराको भनाइ छ । उहाँले भन्नुभयो, “बच्चा पढ्दै छन् मोबाइलमा चाहिने कुरा हेर्दै होलान् भन्यो युट्युबमा विभिन्न खालका भिडियो हेर्ने, गेम खेल्ने गरेका हुन्छन्, उनीहरूले समयमा आफ्ना कुनै पनि काम नगर्ने, भनेको नमान्नेलगायत गतिविधि देखाउँछन् ।”

इन्टरनेटको पहुँचले जनजीवन सहज भए पनि सुरक्षित रूपमा प्रयोग गर्न नसक्दा गलत सूचनाको बाढी र बालबालिका बढी समस्यामा पर्ने गरेका मनोचिकित्सक तथा बालरोग विशेषज्ञ डा अधिकारीले बताउनुभयो ।

अभिभावकले व्यस्तता देखाउँदै भुलाउन मोबाइल वा कम्प्युटर प्रयोग गर्न दिने तर उनीहरूले के गर्दै छन् भन्ने ख्याल नगर्दा पनि बालबालिकाले इन्टरनेटको गलत प्रयोग गर्ने गरेका बताउँदै उहाँले यसले मस्तिष्क, आँखा, स्मरण शक्तिलगायतमा नकारात्मक असर गर्ने उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय मोबाइलको प्रयोगले बालबालिकामा स्वास्थ्य समस्या उत्पन्न हुँदै गएको मनोचिकित्सक डा अधिकारीले बताउनुभयो । “आफ्ना बालबालिकाले पढाइ बिगारेको, नसुतेको, समयमा नउठेकोलगायत समस्या लिएर अधिकांश अभिभावक आउनुहुन्छ । सबैको समस्या मोबाइलको बढी प्रयोग नै देखिन्छ”, उहाँले भन्नुभयो ।

अधिकारीका अनुसार सानै उमेरदेखि लामो समयसम्म यस्ता विद्युतीय उपकरण मोबाइल, ल्याप्टप चलाएमा यसको दीर्घकालीन असर गर्दछ । एकोहोरो रूपमा इन्टरनेटमा व्यस्त हुँदा बालबालिकाको सामाजिक, मानसिक विकासमा असर पर्ने उहाँले जानकारी दिनुभयो ।

बढी समय इन्टरनेटमा बिताउने बच्चालाई पछि गएर सामान्य अवस्थामा फर्काउनसमेत मुस्किल हुने डा अधिकारीको अनुभव छ । उनीहरू पछि गएर भावनात्मक रूपमा कमजोर हुने, आत्माविश्वासको अभाव हुने, मनस्थितिमा अस्थिरता हुने, आँखा तथा श्रवणशक्ति, स्मरणशक्ति कमजोर हुनेलगायत समस्या देखिने उहाँले जानकारी दिनुभयो ।

आफ्ना बालबालिकामा मोबाइलको प्रयोग आदत बनेको छ÷छैन सोबारे अभिभावकले विचार पु¥याउनुपर्नेमा जोड दिँदै डा अधिकारीले आफूले पनि मोबाइल कम प्रयोग गर्ने, बालबालिकासँग खेल्ने, समय बिताउने, पढ्ने र पढ्न प्रेरित गर्नेलगायत गतिविधि गरेर बालबालिकाको बानी परिवर्तन गराउन सकिने उहाँको भनाइ छ ।

माध्यमिक परिक्रमाको सातौँदिन : यात्री ध्रुवकुण्ड पुग्दै

महोत्तरी। पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज सातौँ दिन ध्रुवकुण्ड पुग्दैछन् ।गत बिहीबार यात्राको चौथो दिन मटिहानीबाट महोत्तरी प्रवेश गरेका यात्री मटिहानी, जलेश्वर र मडैको रात्रिबास सकेर आज सातौँ दिन बलवा नगरपालिका–९ स्थित ध्रुवकुण्ड पुग्दैछन् ।

अहिले ध्रुवकुण्डदेखि मडैसम्मै यात्रीको अटुट पङ्क्ति देखिँदो छ । आज मध्याह्नअघि सबै यात्री ध्रुवकुण्ड आइपुग्ने छन् ।

ध्रुवकुण्ड अघि सत्ययुगमा राजा उत्तानापादका छोरा राजकुमार ध्रुवले कठोर तपस्या गरेका ठाउँ मानिन्छ । हिन्दू धर्मग्रन्थहरूले ध्रुवलाई भगवान् विष्णुका २४ अवतारमध्ये एक मानिदा यो ठाउँ धार्मिक आस्थाको केन्द्र बनेको छ ।

यात्रीसँगै मिथिलाविहारी श्रीराम र श्री किशोरीजी (सीताजी)का प्रतिमा राखिएका डोली विश्रामस्थल आइपुगेपछि डोलाको दर्शन गर्न श्रद्धालु जम्मा हुन्छन् । प्रत्येक विश्रामस्थलमा भजनकीर्तनको परम्परा छ भने धार्मिक मेला लाग्ने गर्छ ।

ध्रुवकुण्डको रात्रिबासपछि भोलि यात्री आठौँ दिनको विश्रामका लागि कञ्चनवन प्रस्थान गर्नेछन् । कञ्चनवन यात्राको महोत्तरीमा पर्ने अन्तिम विश्रामस्थल हो । यहाँबाट नवौँ दिन यात्री धनुषातिर प्रस्थान गर्नेछन् । यो यात्रा प्राचीन मिथिलाको राजधानी जनकपुरलाई मध्य केन्द्र बनाई १३३ किलोमिटर बृत्तमा गरिन्छ । यस यात्राका १५ रात्रि विश्रामस्थलमा महोत्तरीमा पाँच, धनुषामा छ र मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार छन् ।

फागुन औँसीका दिन प्रारम्भ भई पूर्णिमासम्मको यो यात्राको ध्येय मानव कल्याण रहेको बताइएको छ ।

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।

वीरगन्जबाट चितवनतर्फ गइरहेको बाप्र०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत्को पोलमा ठोक्किँँदा बसमा सवार २२ जना यात्रु घाइते भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

घाइते उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो ।

गुल्मीमा हवाई उडान कटौती , अब सातामा तीनपटक मात्र

गुल्मी। गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो ।

नेपाल वायु निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएको थियो । उडान तालिकामा परिवर्तन गरेसँगै अबदेखि आइतबार, मङ्गलबार र शनिबार गरी सातामा तीन पटकमात्र उडान हुने भएको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।

नेपाल वायुसेवा निगमका हाल तीन मात्र ट्वीनअटर जहाज रहेको र उक्त जहाज समय–समयमा मर्मत गर्नुपर्ने भएका कारण जहाजको अभावमा केही समयका लागि निगमले यसअघिको नियमित तालिकामा परिवर्तन गरेको उहाँले बताउनुभयो । वर्षात्को समय, खराब मौसम र बाक्लो हुस्सुका कारणबाहेक पछिल्लो तीन महिना रेसुङ्गा विमानस्थलमा नियमित रूपमा हवाई उडान हुँदै आइरहेको छ ।

रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजबाट काठमाडौँदेखि बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलदेखि बिहान ७ः३० बजे उडान गर्दै आइरहेको छ । निगमले काठमाडौँबाट गुल्मीका लागि सात हजार ५०० र गुल्मीदेखि काठमाडौँका लागि रु सात हजार ३०० भाडादर निर्धारण गरेको छ । रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान हुने गर्दछ ।

जिल्लामा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ । अठार घण्टा लामो यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता रहेको यस क्षेत्रका नागरिकले आकाशमार्गबाट ४५ मिनेटमै सहज रूपमा गुल्मीबाट राजधानी आवतजावत गर्न सहज बनेको छ ।

जिल्लामा हवाई सेवा लिने नागरिकको चाप पछिल्लो समयमा बढ्दै गएको छ । तर यात्रुहरूको चाप बढे पनि उडान सङ्ख्या थोरै हुने र उडान तालिकामा परिवर्तन भइरहने भएका कारण यस क्षेत्रका नागरिक समस्यामा परेका छन् । जिल्लामा नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि व्यावसायिक हवाई उडान सेवा सुरुआत गरेको थियो ।

रौतहटको गौरमा पुनः निषेधाज्ञा जारी

रौतहट। जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आज बिहान ८ः३० बजेदेखि पुनः निषेधाज्ञा जारी भएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आइतबार बिहान ८ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि पुनः निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो ।

गौर–६ सवगढा गाउँमा शनिबार बिहान दुई समुदायबीच विवाद भएपछि शनिबार १ः०० बजेदेखि आज बिहान ६ः३० बजेसम्मका निषेधाज्ञा जारी गरिएको थियो । ६ः३० बजेदेखि ८: ३० बजेम्म निषेधाज्ञालाई खुकुलो बनाइएको थियो ।

‘राजनीतिक दलका उम्मेदवारको साङ्गठनिक विरासत र महावीरको व्यक्तित्वबिचको प्रतिस्पर्धा’

म्याग्दी । प्रतिनिधिसभा सदस्य चुनावको प्रचारप्रसारका क्रममा जिल्लामा फरक फरक नयाँ दृश्यहरू देखिएका छन् । चुनाव प्रचारका लागि गाउँमा पुगेका उम्मेदवारलाई स्थानीयले आर्थिक सहयोग गर्ने, एउटै मञ्चबाट दुई पार्टीका उम्मेदवारले मत माग्नेदेखि चुनावी प्रतिबद्धता पूरा गरेकामा विपक्षी पार्टीका जनप्रतिनिधिका नेतृत्वमा पूर्वसांसदलाई सम्मान गरेका हुन् ।

अनौपचारिक शैलीमा टोलटोलमा पुगेर चुनाव प्रचार गरिरहनुभएका स्वतन्त्र उम्मेदवार डा महावीर पुनलाई विभिन्न ठाउँमा आमा समूह र स्थानीयवासीले स्वस्फूर्त रूपमा आर्थिक सहयोग गरिरहेका छन् ।

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर पुख्र्यौली थलो म्याग्दीमा प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धाका लागि होमिनु भएका पुनलाई उनको जन्मथलो अन्नपूर्ण गाउँपालिका–८ नागी, मालिका गाउँपालिका–५ पन्थोक, ४ च्युरीबोटलगायत ठाउँमा मतदाताले स्वस्फूत आर्थिक सहयोग गरेका छन् ।

“कतिपयले चुनाव जित्न मतदातालाई पैसा बाँडेको चर्चा हुने गरे पनि मलाई उल्टै मतदाताहरूले नै आर्थिक सहयोग गरिरहनुभएको छ”, चुनावी अभियानका क्रममा धवलागिरि गाउँपालिका–६ मराङमा पुगेका पुनले भने, “हालसम्म रु १५ लाख सहयोग पाएको छु । प्राप्त सहयोग रकमको हिसाब चुनावपछि सार्वजनिक गर्नेछु ।”

केही दिनअघि फरकफरक पार्टीका दुई जना उम्मेदवारले एउटै मञ्चबाट मत मागेको अन्नपूर्ण–१ दोवामा शनिबार चुनावी प्रतिबद्धता पूरा गरेको जनाउँदै नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्षका नेतृत्वमा स्थानीयवासीले तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित गण्डकी प्रदेशका पूर्वसांसद विनोद केसीलाई सम्मान गरेका छन् ।

एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरे (विप्लप)ले गत माघ २७ गते दोवामा मतदाता भेटघाट र आफ्ना विचार व्यक्त गर्न एउटै मञ्च प्रयोग गरे । सोही स्थानमा शनिबार नेकपाका उम्मेदवार अर्जुन थापालाई लिएर चुनाव प्रचारका लागि पुगेका २०७४ सालमा म्याग्दी १(क) बाट निर्वाचित प्रदेश सांसद केसीलाई एमालेबाट निर्वाचित वडाध्यक्ष दिलीप गर्बुजाको नेतृत्वमा सम्मान गरेका हुन् ।

पूर्वसांसद केसीले २०७४ सालको चुनाव प्रचारका क्रममा दोवामा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधाको व्यवस्था मिलाउने प्रतिबद्धता जनाए । आर्थिक वर्ष २०७५÷७६ देखि प्रदेश सरकारमार्फत सुरु भई करिब रु पाँच करोड लगानीमा गत वर्ष सम्पन्न भएको दोवा खानेपानी योजनाबाट ४२२ घरपरिवार लाभान्वित भएका छन् ।

मतदानको मिति नजिकिँदै गर्दा जिल्लाका राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । उम्मेदवारहरूले एकै दिन तीनदेखि छ ठाउँमा चुनावीसभा र नेता, कार्यकर्ता टोलटोलमा पुगेर घरदैलो गर्न थालेपछि ग्रामीण क्षेत्रमा चहलपहल बढेको छ । उम्मेदवारले घरदैलोदेखि सामाजिक सञ्जाललाई चुनाव प्रचारको माध्यम बनाएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उम्मेदवार डा महावीर पुन मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका राजनीतिक विश्लेषक लक्ष्मण शर्माले बताए ।

उनले राजनीतिक दलका उम्मेदवारहरूको साङ्गठनिक विरासत, विगतका कामको मूल्याङ्कन र महावीरको व्यक्तित्वबीचको प्रतिस्पर्धाका रूपमा लिइएको बताए । छ स्थानीय तह रहेको जिल्लामा ८६ हजार ३९७ जना मतदाता, ८२ मतदानस्थल र १२० मतदान केन्द्र रहेका छन् ।

जिल्लाका उम्मेदवारहरूले हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउने, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने, ढिलासुस्ती हटाउने, कानुन, बजेट र योजनामा जिल्लावासीको भावना, माग र आवश्यकतालाई समेट्ने प्रतिबद्धता जनाएका छन् ।

संखुवासभा गयो ४.१ म्याग्निच्युटको भूकम्प

काठमाडौं । संखुवासभा केन्द्रबिन्दु भएर आज (आइतबार) ४.१ म्याग्निच्ुटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान ७:३१ बजे भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका क्षेत्रमा सामान्य रूपमा महसुस भएको भए पनि हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।

तर स्थानीय प्रशासन र सुरक्षा निकायहरूले सतर्कता अपनाउन, पुराना कमजोर भवनमा ध्यान दिन र आवश्यक परे खाली स्थानमा बसेर सुरक्षा अपनाउन आग्रह गरेका छन् ।

आज यस्तो छ फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४२, आलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५५, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, बन्दा (तराई) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ३५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ५०, काउली तराई प्रतिकिलो रु ३५, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु १८, भन्टा लाम्चो प्रतिकिलो रु ७० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ११०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १८०, घिरौँला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ७५, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २०, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ३५, चमसुर प्रतिकिलो रु ३०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ४३०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु ३००, रातो बन्दा प्रतिकिलो रु ८०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु ४०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ ।
स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २६०, अङ्गुर (कालो) प्रतिकिलो रु ४००, सुन्तला (भारतीय) प्रतिकिलो रु १७०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १४५, काँक्रो (लोकल) प्रतिकिलो रु १४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ७०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु १२०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १८०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो प्रतिकिलो रु १९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ९००, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु ४५, हरियो धनियाँ प्रतिकिलो रु ४०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १५०, छ्यापी हरियो प्रतिकिलो रु १२०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

विश्वकप क्रिकेटमा आज सुपर–८ का दुई खेल हुँदै

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज सुपर–८ का दुई खेल हुँदैछन्।आइतबार हुने पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड भिड्दैछन् । इंग्ल्यान्ड समूह ‘सी’बाट तीन जित र एक हारको सामना गर्दै सुपर आठ पुगेको हो भने श्रीलंका समूह ‘बी’बाट तीन जित र एक हारसहित सुपर आठमा पुगेको हो ।

दुवै टिम समूह उपविजेता हुन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुँदैछ।विश्वकपमा शनिबारबाट सुपर–८ का खेल सुरु भएका हुन् । पहिलो खेल वर्षाले अवरुद्ध हुँदा न्युजिल्याण्ड र पाकिस्तानले अंक बाँडेका छन्।

२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन् ।सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह दुईमा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

दोस्रो खेलमा आइतबार साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । भारतमा हुने यो भिडन्त साँझ ७ बजेर १५ मिनेटमा सुरु हुँदैछ । भारत समूह ‘ए’को विजेता हो भने दक्षिण अफ्रिका समूह ‘डी’को विजेता हो । यो विश्वकपको समूह चरणमा दुवै टिम अपराजित छन्।

प्रतिनिधिसभा निर्वाचन : चुनावी घोषणापत्रको ‘लागत मूल्य’

काठमाडौं। “घोषणापत्र लेख्न धेरै लागत लाग्दैन, मन चाहे लेख्दा हुन्छ । कार्यान्वयन कसरी ? र वित्तीय स्रोत के ? निःशुल्क र निब्र्याजी विश्वास नगर्नु होला । सम्भव छैन । सिधै लिने कि घुमाएर लिने, आज लिने कि भोलि लिने भन्नेमात्रै हो”, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले शुक्रबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको धारणा हो यो ।

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य सुशील भट्टले त्यही सञ्जालमा बिहीबार लेख्नुभयो, “म सधैँ यस्तो घोषणापत्र हेर्न चाहन्छु, जसमा महत्वाकाङ्क्षी वाचामात्र गर्नेभन्दा पनि लागतको विस्तृत मूल्याङ्कन, वित्तीय रूपमा जिम्मेवार योजना, स्पष्ट रूपमा पहिचान गरिएका लगानीका स्रोत र कार्यान्वयनका विधिहरू समावेश भएका हुन् । कार्यान्वयन कसरी गर्न सकिन्छ भन्ने विवरण त्यहाँ आओस् ।”

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सबैजसो दल आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेर मत माग्न व्यस्त छन् । लोकतन्त्रमा घोषणापत्र केबल मत माग्ने कागज नभई मतदातासँग गरिने सामाजिक करार हो । तर, लोकरिझ्याईँका आकर्षक शब्दावली, क्षमताभन्दा ठूला आकाङ्क्षा र वित्तीय स्रोत नखोजिएका हचुवाका योजना राखेर बनाइएका पुलिन्दालाई सामाजिक सञ्जालमा कटाक्ष गरेका हुन् श्रेष्ठ र भट्टले । चुनावी घोषणापत्रको ‘लागत मूल्य’ कति हो ? त्यो रकम कहाँबाट आउँछ ? र कसरी कार्यान्वयन हुन्छ ? जस्ता प्रश्न बौद्धिक वृत्तमा मुखरित हुने गरेको पहिलोपटक भने होइन । तर अहिले हरेक सचेत मतदाताले दल तथा उम्मेदवारहरूलाई यी प्रश्न गरिरहेका छन् ।

विसं २०७२ सालको भूकम्प, भारतको नाकाबन्दी, कोभिड–१९ महामारी र अस्थिर राजनीतिका कारण निरन्तर थलिएको मुलुकको अर्थतन्त्र भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि थप सङ्कटग्रस्त छ । अहिलेको आर्थिक अवस्था र बजारको मनोविज्ञानले त्यही भन्छ । लक्ष्यअनुसार राजस्व उठ्न नसकेपछि बजेटको मध्यावधि समीक्षामार्फत सरकारले आय–व्यय अनुमान घटाएको छ ।

सात महिनाको विकास खर्च केवल १५ प्रतिशतमा खुम्चिएको छ । राजस्व घटेसँगै सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती गरेर कुल स्वीकृत वार्षिक बजेटमध्ये तेस्रो किस्तासम्मको ७० दशमलव ४३ प्रतिशतमात्रै पठाउने भनिएको छ । स्रोत जुटाउन सकस भएरै राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट चालु आर्थिक वर्षको बजेटको आकारभन्दा कम हुनेगरी करिब रु १९ खर्बको सीमाभित्र ल्याउन सरकारलाई सिफारिस गरेको छ ।

सङ्घीय सञ्चित कोष रु एक खर्ब ३० अर्बभन्दा बढी घाटामा छ । सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ४५ प्रतिशत हाराहारी पुगेको छ भने साँवाब्याज भुक्तानीमा विकास बजेटभन्दा बढी खर्च हुन थालेको छ । सस्तो ब्याजदर र पर्याप्त तरलता हुँदा पनि कर्जा विस्तार ६.७ प्रतिशतमा खुम्चिएको छ । निजी क्षेत्र आफ्नो लगानीको सुरक्षा प्रत्याभूति हुन नसकेको भन्दै गुहारिरहेको छ । अर्थतन्त्रको तेस्रो खम्बा मानिने सहकारी क्षेत्र आफैँ सङ्कटमा छ । यी सबै धरातलीय वास्तविकताभन्दा पर रहेर राजनीतिक दलका घोषणापत्रले झुटो आश्वासन र पूरा गर्नै नसकिने सपना बाँडिरहेको अर्थतन्त्रका जानकारहरू बताउँछन् ।

मतदाताको ध्यान आफूतिर खिच्न दलहरूले आकर्षक नारा र कार्यक्रम ल्याउनु केही हदसम्म स्वाभाविक भए पनि कार्यान्वयनयोग्य योजना र एजेन्डाका सवालमा पर्याप्त गृहकार्य नदेखिने गरेको पूर्वअर्थमन्त्री शङ्कर कोइराला बताउनुहुन्छ ।

“अहिले सबैजसो दलले आर्थिक समृद्धिको एजेन्डा अघि सारेका छन्, सुधारका मार्गचित्र ल्याएका छन्, त्यो सकारात्मक पक्ष हो,” उहाँले भन्नुभयो, “तर स्रोत नखोजिकन खर्चमात्रै गर्ने विषय बढी देखिन्छन् । हामीले खर्च गर्नुअघि आम्दानी हेर्नुपर्छ । जबसम्म आम्दानीका स्रोत सुनिश्चित हुँदैनन्, तबसम्म योजना कार्यान्वयनको ग्यारेन्टी हुँदैन ।” पूर्वाधार विकासमा क्षमताभन्दा बढी महत्वाकाङ्क्षी लक्ष्य, पाँच वर्षभित्रै प्रतिव्यक्ति आय दोब्बर–तेब्बर पुर्याउने, तत्कालै शिक्षा–स्वास्थ्य निःशुल्क बनाउने, सामाजिक सुरक्षामा पूर्ण सरकारी जिम्मेवारी लिनेजस्ता दायित्व थप्ने योजना अव्यावहारिक आर्थिक रूपमा आधारविहीन रहेको उहाँको भनाइ छ । अहिलेको अवस्थामा सरकारको राजस्वले साधारण खर्चमात्र धान्न सक्ने उल्लेख गर्दै उहाँले करको दायरा विस्तार, निर्यात प्रवर्द्धन, व्यापक औद्योगिकीकरणजस्ता सुधारका काम नभएसम्म थप दायित्व सृजनामात्रै गरिरहनु अनुपयुक्त र अव्यावहारिक कदम हुने बताउनुभयो ।

सबैजसो दलका घोषणापत्र वितरणमुखी कार्यक्रममा बढी केन्द्रित भएको पूर्वअर्थमन्त्री कोइराला बताउनुहुन्छ । “त्यहाँ लागत–लाभको अर्थशास्त्रीय सिद्धान्त हेरिएको छैन । घोषणापत्रका योजना कार्यक्रमका लागि खर्च कहाँबाट जुटाउने र त्यसबाट लाभ कति हुन्छ भन्ने महत्त्वपूर्ण आधार नै छुटाइएको छ”, उहाँले भन्नुभयो । स्रोत सुनिश्चित नगरी घोषणामात्रै गर्दा कार्यान्वयनप्रति विश्वस्त हुन नसकिने कोइरालाले उल्लेख गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा शिवराज अधिकारी चुनावी घोषणापत्र मुलतः सम्बन्धित दलको विचार प्रस्तुत गर्ने, मतदातालाई उत्प्रेरित गर्ने र भविष्यको लक्ष्य किटान गर्ने दस्तावेज भए पनि त्यसको लागत अनुमान, स्रोत सुनिश्चितता र स्पष्ट बजेटिङ गर्ने परम्परा अझै विकास हुन नसकेको बताउनुहुन्छ ।

“घोषणापत्र बनाउँदा लागत हेर्ने र बजेटिङ गर्ने चलन बलियो भएको भए ती अझ बढी वास्तविक हुन्थे । घोषणापत्रलाई यथार्थमा आधारित बनाउन भोलिका दिनमा अर्थतन्त्र कहाँ पुग्न सक्छ ? उपलब्ध स्रोत–साधनको उपयोग कसरी गरिनेछ र मुलुकको राजनीतिक अवस्था कस्तो रहन्छ भन्ने आधारभूत प्रश्नहरूको उत्तर पनि सँगै खोजिनुपर्छ”, उहाँ भन्नुहुन्छ । घोषणापत्रलाई लागतको सुनिश्चितताका आधारमा मात्र नभई कार्यान्वयनको समयसीमा, स्रोत परिचालन र संस्थागत क्षमताजस्ता पक्षसमेतलाई हेरेर कार्यान्वयनयोग्य तथा वास्तविकतामा आधारित छ वा छैन भनेर मूल्याङ्कन गरिने अधिकारीको बुझाइ छ ।

विसं २०४८ यताका घोषणापत्रको तुलनात्मक अध्ययन गर्दा पछिल्ला वर्षमा केही सुधार देखिएको उहाँको मूल्याङ्कन छ । पहिलेको तुलनामा अहिलेका घोषणापत्र लागतका हिसाबले केही यथार्थपरक बन्न खोजेको देखिन्छ । ठूला दलहरूले आफ्ना प्रतिबद्धतामा सामान्य लागत अनुमान समावेश गर्ने प्रयास गरेको उहाँ बताउनुहुन्छ । “घोषणापत्रलाई परिस्कृत बनाउन खोजेको देखिन्छ, तर अझै पनि पूर्ण वित्तीय खाका र प्राथमिकताक्रम स्पष्ट छैनन्”, उहाँले भन्नुभयो ।

अधिकांश दलले पाँच वर्षभित्र रु एक सय खर्बमाथिको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखेका छन् । अधिकारीका अनुसार यो लक्ष्य पूर्णतः असम्भव भने होइन । राष्ट्रिय योजना आयोगले तयार पारेको १६औँ पञ्चवर्षीय योजनाले पनि यस्तै आकारको अर्थतन्त्रको लक्ष्य अघि सारेको सन्दर्भ उहाँले स्मरण गर्नुभयो । “दुई अङ्कको आर्थिक वृद्धि हासिल गर्न सकियो भने एक सय खर्बको अर्थतन्त्र सम्भव छ”, उहाँले भन्नुभयो, “तर त्यो निरन्तर राजनीतिक स्थिरता, नीतिगत एकरूपता र कार्यान्वयन क्षमतामा निर्भर हुन्छ ।”

दलहरूले घोषणापत्र बनाउँदा राजनीतिक अस्थिरताको सम्भावनालाई प्रायः बेवास्ता गर्ने गरेको पनि अधिकारीले उल्लेख गर्नुभयो । त्यस्तै, संविधान, नीति, ऐन–नियम तथा दलका आफ्नै मूल विधानसमेत पूर्ण रूपमा कार्यान्वयन नहुने राजनीतिक संस्कृतिले आर्थिक लक्ष्यलाई कमजोर बनाउने उहाँको तर्क छ । व्यवहारमा सुधार नआएसम्म घोषणापत्रमा लेखिएका लक्ष्य यथार्थमा परिणत नहुने उनले स्पष्ट पार्नुभयो ।

राजनीतिक दलहरूले आफ्नै व्यवहार र कार्यशैलीबारे पनि घोषणापत्रमा स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, “संविधान र कानुनका व्यवस्थाहरू कार्यान्वयनमा हामी कति सफल भयौँ ? दलका विधान कत्तिको पालना भएका छन् ? यसको आत्ममूल्याङ्कन घोषणापत्रमा समेटिनुपर्छ । आफ्नो अवस्था र व्यवहार सुधार्ने प्रतिबद्धता भएमात्र राजनीति स्थिर बन्छ ।”

दलहरू सरकारमा सँगै गए पनि एजेन्डामा एक नहुने, प्रतिशोधको राजनीति गर्ने र आर्थिक एजेन्डामा साझा धारणा नबनाउने प्रवृत्तिले विकासको गति अवरुद्ध हुने गरेको पनि उहाँको टिप्पणी छ । त्यस्तै, चुनावी घोषणापत्रका कार्यक्रम सरकारका विद्यमान नीति तथा योजनासँग मेल खाने–नखाने पक्ष पनि महत्त्वपूर्ण हुने अधिकारीले बताउनुभयो । कार्यक्रममा आधारित, नतिजामुखी र प्राथमिकताक्रम स्पष्ट भएका योजनाले मात्र परिणाम दिन सक्ने उहाँको धारणा छ ।

राजनीतिक दलका चुनावी घोषणापत्रमा समेटिएका धेरै योजना अपत्यारिला र तिनको कार्यान्वयन गर्न आवश्यक स्रोत कहाँबाट जुटाउने भन्ने स्पष्ट उल्लेख नहुँदा कसले बढी महत्वाकाङ्क्षी योजना राखेर भ्रमपूर्ण बनाउने प्रतिस्पर्धा जस्तो देखिएको अर्थविद् डा डिल्लीराज खनालको टिप्पणी छ । खनालका अनुसार घोषणापत्र सामान्यतः केही महत्वाकाङ्क्षी हुनु स्वाभाविक भए पनि यथार्थसँग मेल नखाने लक्ष्य राख्नु उचित होइन । प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्याउने प्रतिबद्धताका सन्दर्भमा उहाँले भन्नुभयो, “त्यसका लागि १३–१४ प्रतिशतको आर्थिक वृद्धि चाहिन्छ । तर अहिले करिब चार प्रतिशत हाराहारीको वृद्धि भइरहेको अवस्थामा त्यो कसरी सम्भव हुन्छ ?”

डा खनालका अनुसार उन्नत लोकतन्त्र भएका मुलुकमा अघिल्लो चुनावमा गरिएका प्रतिबद्धता अर्को चुनावसम्म कति पूरा भए भन्ने मतदाताले मूल्याङ्कन गर्छन् र निर्णय गर्छन् । तर नेपालमा अघिल्लो चुनावमा लेखिएको घोषणा अर्को चुनावसम्म आइपुग्दा हराइसक्ने उहाँ बताउनुहुन्छ । घोषणापत्रअनुसार काम भयो कि भएन भन्नेबारे मतदाताले पनि प्रश्न नगर्दा दलहरू जवाफदेही हुन नसकेको उहाँको बुझाइ छ । त्यस्तै, सरकारमा गएपछि सबै कुरा सुधारिन्छ भन्ने भाष्यप्रति पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

“अर्थतन्त्रको अहिलेको अवस्था सन्तोषजनक छैन । लक्ष्यअनुसार पुँजीगत खर्च हुनसकेको छैन र बैंकिङ प्रणालीमा तरलता थुप्रिए पनि पर्याप्त लगानी हुनसकेको छैन । यस्तो परिस्थितिमा अर्थतन्त्रलाई लयमा फर्काउन अझै कम्तीमा दुई–तीन वर्ष लाग्छ”, उहाँले भन्नुभयो, “दल घोषणापत्रमा आजको भोलि नै सबै ठिक हुन्छ र कालापलट गरिन्छ भन्ने तरिकाले आएका छन् । अहिलेको अवस्थालाई स्वीकार गर्दै यथार्थमा आधारित सुधारको योजना अहिलेको आवश्यकता हो ।”

सामाजिक सुरक्षालाई शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र उत्पादन क्षेत्रसँग जोड्नुपर्नेमा रकम वितरणलाई मात्र बढावा दिनेगरी घोषणापत्रहरू आउने गरेकोप्रति पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो । “हामीकहाँ प्रशासनिक खर्च र सामाजिक सुरक्षाको दायित्व ठूलो छ । तर यो रकमले राष्ट्रिय पुँजी निर्माणमा कति योगदान गरिरहेको छ भन्ने मूल्याङ्कन भएको छैन”, उहाँले भन्नुभयो । सामाजिक सुरक्षालाई राजनीतिकरण गर्दै वितरणमुखी बनाउने प्रवृत्ति बढिरहेको पनि उहाँको टिप्पणी छ ।

यसरी स्रोत सुनिश्चितता, लागत–लाभ विश्लेषण र राजनीतिक जवाफदेहिताबिनाको महत्वाकाङ्क्षी घोषणापत्र दलहरूको संस्कृति र मतदाताको नियति बनिसकेको छ । चुनावका बेला दलहरू आर्थिक समृद्धि, उच्च वृद्धिदर, प्रतिव्यक्ति आयवृद्धि, निःशुल्क सेवा र विस्तारित सामाजिक सुरक्षाजस्ता आकर्षक लक्ष्य त राख्छन् तर त्यसका लागि आवश्यक राजस्व विस्तार, लगानी वातावरण, संस्थागत सुधार, राजनीतिक स्थिरताजस्ता बहुआयामिक पक्षको यथार्थ मूल्याङ्कन गर्दैनन् ।

वर्तमान परिदृश्यमा राजस्वले साधारण खर्च मात्र धान्ने अवस्था, कमजोर पुँजीगत खर्च, पर्याप्त तरलता हुँदाहुँदै पनि न्यून लगानी, वितरणमुखी सामाजिक सुरक्षा र अघिल्ला प्रतिबद्धताप्रति मतदाता तथा दल दुवैको कमजोर अनुगमन संस्कृतिले घोषणापत्रहरू व्यवहारिक रूपमा कार्यान्वयनयोग्य बन्न सकेका छ्रैनन् । यद्यपि, युवापुस्ताको सक्रियता र ‘जेनजी’ आन्दोलनका कारण नीति कार्यान्वयन र सेवा प्रवाह सुधारको प्रतिबद्धता घोषणापत्रमा देखिएको उहाँहरूको बुझाइ छ । त्यस्तै, पुराना कार्यक्रमको प्रभाव मूल्याङ्कनबिनै नयाँ–नयाँ योजना घोषणा गर्ने र दायित्वमात्रै थपिरहने प्रवृत्तिलाई हटाउन सकिएको छैन । दलअनुसार घोषणापत्र, प्रतिबद्धतापत्र वा वाचापत्रजस्ता नाम परिवर्तन भए पनि सोचमा मौलिक परिवर्तन आवश्यक छ । घोषणापत्रको आवरण परिवर्तनले मात्र पुग्दैन । अब, नीतिगत निरन्तरता, संस्थागत अनुशासन र राजनीतिक संस्कारमा सुधार अपरिहार्य बनिसकेको छ ।

राजनीतिक दलका घोषणापत्रमा मुख्य आर्थिक एजेन्डा
१. नेपाली कांग्रेसको चुनावी प्रतिज्ञापत्र

नेपाली कांग्रेसले आगामी पाँच वर्षलाई ‘आर्थिक पुनरुत्थानको अर्धदशक’ घोषणा गर्दै दोस्रो पुस्ताको आर्थिक सुधारमार्फत नेपालको अर्थतन्त्रलाई रु ११५ खर्ब र प्रतिव्यक्ति आय अमेरिकी डलर २५ सय पुर्याउने जनाएको छ । यसका लागि कुल रु १३७ दशमलव पाँच खर्बको लगानी परिचालन गर्ने र त्यसमा ८० प्रतिशत निजी क्षेत्रबाट लगानी जुटाइने उल्लेख छ । नेपालको अर्थतन्त्रलाई ‘प्रो–प्राइभेट, प्रो–ग्रोथ र प्रो सोसल बनाउन उदार अर्थतन्त्र, उत्पादनमुखी अर्थतन्त्र र न्यायमूलक अर्थतन्त्रलाई तीन मुख्य स्तम्भका रूपमा चित्रित गरिएको छ ।

त्यस्तै, सरकार फेरिँदा नीति नफेरिने गरी प्रमुख दलहरूबीच ‘न्यूनतम साझा आर्थिक एजेन्डा’मा राष्ट्रिय सहमति कायम गर्ने पनि कांग्रेसको चुनावी प्रतिज्ञापत्रमा उल्लेख छ । करका दर र शर्तहरू कम्तीमा १०–१५ वर्ष स्थिर रहनेगरी ‘स्टाबिलिटी क्लज’ सहितको कानुनी ग्यारेन्टी गर्ने, नवीन सोच भएका युवा तथा महिला उद्यमीका लागि बिनाधितो परियोजनाकै आधारमा रु पाँचदेखि ५० लाखसम्मको कर्जा उपलब्ध गराउने, कृषि बीमाको प्रिमियममा ९० प्रतिशतसम्म अनुदान दिनेलगायतका योजना कांग्रेसका छन् ।

त्यस्तै, हचुवाका भरमा बजेट विनियोजन गर्ने र खर्च हुन नसक्ने पुरातन शैलीलाई अन्त्य गर्दै तथ्यमा आधारित बजेट निर्माण, न्यायपूर्ण कर प्रणाली र फजुल खर्चको कटौतीमार्फत वित्तीय सुशासन कायम गरिने पनि प्रतिज्ञापत्रमा उल्लेख छ । करको भारबाट सर्वसाधारणलाई राहत दिन व्यक्तिगत आयमा सुरुको रु १० लाखसम्म आयकर नलाग्ने व्यवस्था गर्ने, व्यक्तिगत आयकरको अधिकतम दर २५ प्रतिशतभन्दा बढी नबढ्ने, संस्थागत आयकरलाई २० प्रतिशतमा झार्ने, मूल्य अभिवृद्धि कर (भ्याट)को विद्यमान १३ प्रतिशतको एकल दरलाई १० प्रतिशतमा झार्नेलगायत योजना राखिएका छन् । युवा उद्यमीका लागि २५ प्रतिशत अनुदान, ५० प्रतिशत सहुलियतपूर्ण ऋण र २५ प्रतिशत स्वलगानीको मोडल कार्यान्वयन गर्ने पनि कांग्रेसको योजना छ ।

२. नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घोषणापत्र

प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले चुनावी घोषणापत्र जारी गर्दै १८ देखि २८ वर्षसम्मका लागि हरेक महिना १० जिबी इन्टेरनेट डाटा निःशुल्क दिने, विप्रेषण पठाउने श्रमिकको बैंक खातामा वार्षिक बोनस रु पाँच हजार थप्ने, २० लाख विद्यार्थीलाई निब्र्याजी ऋण उपलब्ध गराउने, प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई रु २० लाखसम्म निब्र्याजी ऋण दिनेलगायतका योजना सार्वजनिक गरेको छ । त्यस्तै, १० कक्षासम्म दिवाखाजा, रु २५ हजारसम्मको ऋण मिनाहा, रु २० हजारसम्मको सुत्केरी पोषण भत्ता, रु २० लाखसम्मको उद्यमी महिला निब्र्याजी ऋणलगायतका योजना घोषणापत्रमा परेका छन् ।

कृषिको उत्पादकत्व, विद्युत् उत्पादन क्षमता, खनिज तथा औद्योगिक उत्पादन, सूचना प्रविधि र भौतिक पूर्वाधार निर्माणमा फड्को मार्दै सात प्रतिशतदेखि नौ प्रतिशतसम्मको आर्थिक वृद्धिद्वारा अर्थतन्त्रको आधार पाँच वर्षमा रु एक सय खर्ब र १० वर्षमा रु दुई सय खर्बको पुर्याउने भनिएको छ । प्रतिव्यक्ति आय पाँच वर्षमा करिब अमेरिकी डलर तीन हजार पुर्याउने भनिएको छ । पूर्वाधारका क्षेत्रमा पूर्वपश्चिम रेलमार्ग १० वर्षमा सम्पन्न गरी सञ्चालन गर्ने, नेपाल–भारत अन्तरदेशीय रेलमार्ग पाँच वर्षमा सम्पन्न गर्ने, पूर्वपश्चिम राजमार्गलाई एक्सप्रेस वेमा स्तरोन्नतिजस्ता योजना अघि सारिएका छन् ।

३. नेपाली कम्युनिष्ट पार्टीको प्रतिबद्धतापत्र

आगामी पाँच वर्षभित्र दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यका साथ नेपाली कम्युनिष्ट पार्टीले आफ्नो चुनावी प्रतिबद्धतापत्र तयार पारेको छ । अहिलेको २०.१५ प्रतिशतको बहुआयामिक गरिबीलाई पाँच वर्षमा १० प्रतिशतमा झार्ने, प्रतिवर्ष एक लाख ५० हजार अतिरिक्त रोजगारी थप गरी वार्षिक पाँच लाख रोजगारी सुनिश्चित गर्ने, विपन्न पिछडिएका र सीमान्तकृत समुदायका लागि विशेष रोजगारी कार्यक्रम लागू गर्नेलगायतका योजना पनि यो दलले आफ्नो चुनावी घोषणापत्रमा राखेको छ ।

धान, गहुँ, मकै, तरकारी, फलफूल, उखु, दूध, मासु, मत्स्यमा दुई वर्षभित्र आत्मनिर्भर हुने, दुई वर्षभित्र देशलाई भोकमुक्त नेपाल घोषणा गर्ने, पाँच वर्षभित्र ८० प्रतिशत सिँचाइयोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गर्ने तथा १० हजार सोलार सिँचाइ पम्प जडान गर्ने, स्टार्टअप उद्यमलाई निःशुल्क दर्ता तथा पाँच वर्षसम्म कर छुट दिने लगायतका एजेन्डा ल्याइएका छन् ।

४. राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी वाचापत्र २०८२ मार्फत रुपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधार प्रस्तुत गरेको छ । नेपाललाई ‘सम्मानजनक मध्यम आय भएको मुलुक बन्न अर्को पाँच वर्ष औसत आर्थिक वृद्धिदर स्थिर मूल्यमा वार्षिक सात प्रतिशत कायम गर्ने जनाइएको छ । यसका आधारमा पाँचदेखि सात वर्षभित्रै प्रचलित मूल्यमा प्रतिव्यक्ति आय तीन हजार डलर नाघ्ने र अर्थतन्त्रको आकार एक सय खर्ब नाघ्ने लक्ष्य लिइएको छ ।

पारिवारिक भारका आधारमा आयकरको सीमा पुनरावलोकन गर्ने, राष्ट्रिय गौरवका आयोजनालाई आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने, आगामी पाँच वर्षमा थप १० आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरी कार्यान्वयनमा लैजाने, सरकार गठन भएको एक सय दिनभित्र समस्याग्रस्त सहकारीका सबै साना बचतकर्ताको रकम बचत खातामा फिर्ता गर्नेलगायतका योजना ल्याइएका छन् ।

५. राष्ट्रिय प्रजातन्त्र पार्टीको सङ्कल्प पत्र

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनावी घोषणापत्रमार्फत ‘नयाँ चरणको आर्थिक सुधार ३.०’ को आवश्यकता औँल्याउँदै कल्याणकारी राष्ट्रवाद र संरक्षणकारी विकासवादको नीति लिइने जनाएको छ ।

आगामी पाँच वर्षभित्र आर्थिक वृद्धिदरलाई सात प्रतिशतभन्दा माथि पुर्याउने, करको संरचना र दायरामा सुधार गर्ने, दोहोरो करको अन्त्य गर्ने, ‘रेअर अर्थजस्ता रणनीतिक वस्तु उत्पादनको सम्भावना खोजी गर्ने, लगानीमैत्री नेपाल कार्यक्रमअन्तर्गत लगानी प्रवर्द्धन दशक घोषणा गर्ने, राष्ट्रिय हितलाई ध्यानमा राखी आवश्यकता र प्राथमिकताका आधारमा मात्रै अन्तरराष्ट्रिय विकास सहायता र ऋण लिने निक्र्यौल गरिने लगायतका प्रावधानहरू सङ्कल्पपत्रमा राखिएका छन् ।

विसं २०२५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्न कार्ययोजना बनाउने, पाँच वर्षभित्र सबै सरकारी सेवालाई पूर्ण रूपमा कागजविहीन बनाउनेजस्ता योजना पनि यो दलको चुनावी घोषणापत्रमा परेका छन् ।

हुम्लामा मतपत्रसहित निर्वाचन सामग्री पुग्यो

हुम्ला, फागुन १० । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ११ दिन मात्र बाँकी रहँदा हिमाली जिल्ला हुम्लामा मतपत्रसहित निर्वाचन सामग्री आइपुगेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाई मार्गमार्फत ढुवानी गरेर मतपत्रसहित अन्य निर्वाचन सामग्री पठाएको निर्वाचन अधिकारी भीमबहादुर रोकायाले बताए ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतबाट मतपत्रसहित अन्य निर्वाचन सामग्री शनिबार हुम्ला आइपुगेको हो । निर्वाचन अधिकारी रोकायाका अनुसार शनिबार सेनाको हेलिकोप्टरबाट १० प्रकारका सामग्री हुम्ला आइपुगेका छन् । निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिने कर्मचारीको भत्ता, ढुवानी र हेलिकोप्टरको खर्च पठाइसकिएको तथा आवश्यकताका आधार आयोगले थप काम गर्दै जानेछ ।

तीन हजार मिटरभन्दा माथि जिल्लामा लेक लाग्ने अवस्थालाई मध्यनजर गरेर औषधि खरिदका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बजेट पठाइएको आयोगले जनाएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा निर्वाचन पूर्व र निर्वाचनपश्चात् मतदान केन्द्रमा खटाइने कर्मचारीको आउनेजाने व्यवस्थाको सुनिश्चित गर्न बैठकमा सुरक्षा प्रमुखहरूले अनुरोध गरेका थिए, सोहीअनुसार व्यवस्था गर्ने गरी आयोगमा कुरा भएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताए ।

निर्वाचनमा जिल्लामा ३४ हजार ३७२ मतदाता, ६० मतदानस्थल र ६४ मतदान केन्द्र रहेका छन् । मतपत्रसहित अन्य सामग्री बुझ्नका लागि मुख्य निर्वाचन अधिकृत बराल, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, गुल्मपति हरिबाबु श्रेष्ठ, प्रहरी नायब उपरीक्षक शङ्कर खड्का, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक पुष्करसिंह ऐर, अनुसन्धान प्रमुख मेघराज कँडेल, आचारसंहिता अनुगमन समिति अतिकृत राजेन्द्र चन्द र अङ्गबहादुर कार्की, जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायालगायतको उपस्थितिमा निर्वाचन सामग्री हस्तान्तरण गरिएको हो

निर्वाचनका लागि ३६९ कर्मचारी परिचालन
मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा ३६९ कर्मचारी परिचालन गरेको छ । जिल्लाका १५ मतदान केन्द्रका लागि पाँच/पाँच कर्मचारी ७५ जना र अरू बाँकी ४९ मतदान केन्द्रमा छ–छ कर्मचारी गरी २९४ कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताए ।

जिल्लाका ६४ मतदान केन्द्रमध्ये ३०० भन्दा कम मतदाता भएका केन्द्रमा पाँच–पाँच जना र सोभन्दा धेरै मतदाता भएका केन्द्रमा छ–छ जना खटाइएको छ । यसमा दुई मतदान अधिकृत र दुई सहायक मतदान अधिकृतलाई जगेडामा राखिएको छ । यदि कुनै कारणवश आउन नसकेको खण्डमा उनीहरूलाई पठाउन जगेडामा राखिएको उनले बताए ।

यस्तै अदालतका श्रेस्तेदार तथा सहायक मतदान अधिकृत श्रीदीप वाग्लेको संयोजकत्वमा तीन जनालाई प्रशासनिक कामको जिम्मेवारी दिएको छ । जिल्ला अदालतका नासु छत्तबहादुर बोगटीलाई प्रशासनिक काम र लेखापाल श्यामप्रसाद सापकोटालाई लेखा तथा भुक्तानीका लागि जिम्मेवारी दिइएको छ ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश बरालका अनुसार जिल्लाको ६४ मतदान केन्द्रमा ६४ मतदान अधिकृत, ६४ सहायक मतदान अधिकृत, १७५ सहायक कर्मचारी र ६४ सहयोगी कर्मचारी परिचालन गरिएको छ ।

नेपालगन्ज भन्सारः पाँच महिनामा ५५ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती

बाँके, १० फागुन । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकामा माघ मसान्तसम्ममा मात्र रु ११ अर्ब चार करोड ६५ लाख ८५ हजार अर्थात् लक्ष्यको ४५.०१ प्रतिशत असुली भएको भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए । उनका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका पाँच महिनामा ५५ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती छ ।

भन्सार कार्यालयको मासिक लक्ष्यअुनसार हालसम्म कुनै पनि महिनामा राजस्व सङ्लन हुनसकेको छैन । चालु आवको साउन, भदौ, असोज, कात्तिक, मङ्सिर, पुस र माघमा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशतमात्र राजस्व असुली भएको छ । आव २०८१/८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने आव २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।

नेपाल–भारत सीमाको जमुनाहनाकामा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयात–निर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्षयता लक्ष्य पूरा हुन नसकेको भन्सार प्रमुख पौडेको भनाइ छ । उनले चालु आवको सात महिनामा गत आवको सात महिनाको तुलनामा रु नौ करोड २४ लाखभन्दा बढी राजस्व सङ्लन भएको उल्लेख गर्दै लक्ष्य पूरा हुन नसके पनि राजस्व सङ्कलन वृद्धि हुने क्रममा रहेको बताए । गत आवको सात महिनामा नेपालगन्ज नाकाबाट रु १० अर्ब ९५ करोड ४१ लाख ८४ हजार राजस्व सङ्कलन भएको थियो ।

नेपालगन्ज भन्सारमा चालु आवको साउनमा रु एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४.१४ प्रतिशत रु एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा रु एक अर्ब ९३ लाख ६४ हजार ५४ लक्ष्य रहेकामा ६९.७७ प्रतिशत रु एक अर्ब ३५ करोड १० लाख नौ हजार राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी, असोजमा रु एक अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रहेकामा रु एक अर्ब ७४ करोड १६ लाख पाँच हजार, कात्तिकमा रु दुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकामा रु एक अर्ब ५३ करोड ७० लाख ८२ हजार, मङ्सिरमा रु एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्य रहेकामा रु एक अर्ब ६३ करोड ८५ लाख १० हजार, पुसमा रु दुई अर्ब तीन करोड ४५ लाख २१ हजार लक्ष्य रहेकामा रु एक अर्ब ६९ करोड ४४ लाख १३ हजार र माघमा रु एक अर्ब करोड ६९ लाख ४० हजार लक्ष्य रहेकामा रु एक अर्ब ७० करोड एक लाख ८२ हजार राजस्व सङ्कलन भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आव २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मङ्सिरमा ७६।२७, पुसमा ७१.१५ प्रतिशत र माघमा ७५.१३ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।

आजको कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमालीमा हिमपातको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत अन्य बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ । देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति तराई भागका केही स्थानमा तुँवालो लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्नेछ बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ १९ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०३ पैसा र बिक्रीदर २१ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४० रुपैयाँ ०५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६ रुपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २२ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ९३ पैसा रहेको छ ।
यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

निर्वाचन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

काठमाडौं, फागुन १० । निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ ।

आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको छ । आयोगले यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएको जनाएको छ ।

आममतदाताको बस्ती तथा घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउने कार्य खटिएका स्वयंसेवकबाट भइरहेको आयोगले उल्लेख गरेको छ । मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भइसकेको छ ।

यस्तै, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न तथा गैरकानुनी कार्य गर्ने व्यक्ति र संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगले अधिकतम् प्रयास गरिरहेको छ । आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाइ पूर्ण रूपमा क्रियाशील रहेको जनाएको छ ।

हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने २९० कन्टेन्ट उत्पादक र सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ । यस्तै, ११ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ । त्यस्तै, ६५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र एक वटालाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम कारबाहीका लागि पठाइएको आयोगले जनाएको छ ।

आचारसंहिता विपरीत टाँसिएका २० हजार प्रचार सामग्री हटाइए

धनुषा, फागुन १० । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रचारप्रसार तीव्र बनेको बेला आचारसंहिता विपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री प्रशासनले हटाएको छ । धनुषा जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले जथाभाबी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको हो ।

प्रशासनका अनुसार सार्वजनिकस्थल, विद्युत्का पोल, सरकारी भवन तथा सडक छेउछाउमा आचारसंहिता विपरीत टाँसिएका सामग्री हटाइएको छ । निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन प्रशासनले बिहीबार उम्मेदवार तथा राजनीतिक दललाई एक दिनको समय दिएर नियम विपरीतका प्रचार सामग्री स्वयं हटाउन निर्देशन दिएको थियो । तर तोकिएको समयभित्र सामग्री नहटाइएपछि प्रशासन आफैँ खटेर प्रचार सामग्री हटाएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधामका विभिन्न स्थानमा जथाभाबी टाँसिएका प्रचार सामग्रीले सहरको सौन्दर्यमा असर परेको र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै कारबाही स्वरूप हटाइएको बताए । प्रजिअ लुइटेलका अनुसार अब पुनः यस्ता सामग्री टाँसे कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

पछिल्ला दिनमा उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाउने क्रममा धनुषाका विभिन्न स्थानमा पर्चा, पम्पलेट अत्यधिक मात्रामा प्रयोग गरिएको पाइएको थियो । विशेष गरी मुख्य बजार क्षेत्र, चोक, सार्वजनिक भित्ता र सरकारी संरचनामा आचारसंहिता विपरीत सामग्री टाँसिएको भेटिएको थियो । निर्वाचन व्यवस्थापनलाई व्यवस्थित बनाउन र सहरलाई सफा राख्न प्रशासनले निगरानी बढाएको जनाएको छ । स्थानीय तह, प्रहरी र सरोकारवाला निकायको समन्वयमा अनुगमन जारी रहेको प्रशासनले जनाएको छ ।

यसैबिच, निर्वाचन नजिकिँदै जाँदा दल र उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो तथा सभामार्फत प्रचारमा सक्रिय भएका छन् । तर प्रचारप्रसार गर्दा आचारसंहिताको पालना गर्न प्रशासनले पुनः आग्रह गरेको छ । प्रशासनले अबदेखि नियम विपरीत सामग्री टाँसिए तत्काल हटाइने र सम्बन्धित उम्मेदवार तथा दललाई आवश्यक कारबाही गरिने स्पष्ट पारेको छ ।

कांग्रेस बदलिएर आएको छ, पहिलो दल बनाइदिनुस् उपसभापति शर्मा

झापा। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावबाट कांग्रेसलाई मुलुकको ‘पहिलो दल’ बनाउन मतदातालाई आग्रह गर्नुभएको छ ।

झापा निर्वाचन क्षेत्र नं १ को बुद्धशान्ति–४ मा आज आयोजित चुनावी कोणसभामा बोल्दै उहाँले आफू बदलिएर देश बदल्ने सङ्कल्प गरेको नेपाली कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो दल बनाउनुपर्ने बताउनुभयो ।

“अहिले देशमा विषम परिस्थिति छ,” उहाँले भन्नुभयो, “चुनावमा हार्ने र जित्ने सामान्य कुरा हो । तर विषम परिस्थितिमा देशलाई कसले सम्हाल्न सक्छ, त्यो मुख्य कुरा हो ।

तसर्थ, मुलुकलाई सही नेतृत्व गरेर निकास निकाल्ने क्षमता भएको नेपाली कांग्रेसलाई जनताले जिताएर पहिलो पार्टी बनाउँछन् ।” उहाँले आवेगमा आएर लहैलहै र झोक्किएर मतदान नगर्न आह्वान गर्दै बदलिएको नेपाली कांग्रेसलाई ढुक्क भएर मतदान गर्न जेनजी भाइबहिनीहरूलाई आह्वान गर्नुभयो ।

पाल्पामा निर्वाचनको तयारी : सामग्री प्याकिङदेखि मतदान केन्द्र सुरक्षाको नमूना अभ्याससम्म

पाल्पा। आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी पाल्पामा तीव्र पारिएको छ । यहाँका राजनीतिक दलदेखि निर्वाचन कार्यालय, जिल्ला प्रशासनलगायत कार्यालयले निर्वाचनका लागि आवश्यक कामको तयारी तीव्र पारेका छन् ।

जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय निर्वाचन सामग्री मिलाउने, मतदाता सङ्ख्याअनुसार मतपत्र मिलाउने, रुजु गर्ने, बिग्रेको मतपत्र हटाउने, मतदानस्थलमा पठाएका मतपत्रको रेकर्ड राख्ने, सिलबन्दी गर्ने, प्याकिङ गर्ने काममा व्यस्त देखिएका छन् ।

निर्वाचन कार्यालय पाल्पाले मतदानस्थलमा आवश्यक पर्ने सरसमान प्याकिङ गरी तयारी अवस्थामा राखेको छ । निर्वाचनका लागि अनिवार्य मानिने मत पेटिका, स्वस्तिक छाप र स्ट्याम्प प्याडदेखि मसलन्दका सरसमान, मतदान अधिकृतको डायरी, मुचुल्का फारम, मतदाता नामावली र नयाँ मतदाता परिचयपत्र तयार गरिएको छ ।

यसैगरी लाहा छाप, सलाई, मैनबत्ती, सुतली धागो, स्टेसनरी सामग्री, र मतदान केन्द्र व्यवस्थापनका लागि डोरी, अशक्त वृद्धवृद्धाको लागि प्रयोग हुने साङ्केतिक कार्ड र प्राथमिक उपचार बाकस समेत व्यवस्था गरिएको छ । यहाँका दुई वटा निर्वाचन क्षेत्रका २५१ वटा स्थायी र दुई वटा अस्थायी गरी २५३ वटै मतदान केन्द्रका लागि आवश्यक सामग्री रुजु गरी पोका बनाउने काम सम्पन्न भएको निर्वाचन कार्यालय पाल्पाका निर्वाचन अधिकारी महेश शर्माले बताउनुभयो । उहाँका अनुसार मतदानस्थलमा चाहिने ६० भन्दा बढी प्रकारका सामाग्रीको प्याकिङ गरिएको छ ।

यहाँका प्रत्येक निर्वाचन केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरी ६ जनाका दरले कर्मचारी खटाउने गरी अन्तिम तयारीमा लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रहरी प्रशासनले पनि आफ्नो तयारीलाई तीव्र रूपमा अगाडि बढाएको छ । उसले निर्वाचनमा खटिने तालिम प्राप्त निर्वाचन प्रहरीलाई मतदान केन्द्रको सुरक्षामा ध्यान दिनुपर्ने पक्ष र मतदानको प्रक्रियाका विषयमा जानकारी गराउने उद्देश्यले नमुना मतदानस्थलको अभ्यास गराएको छ ।

निर्वाचन प्रहरीलाई मतदान प्रक्रिया, उनीहरूले निर्वाह गर्नुपर्ने भूमिकाका साथै सुरक्षा प्रक्रियाका विषयमा नमूना मतदान कार्यक्रममा सहभागी गराई सचेत गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताउनुभयो ।

तालिमपछि उच्च मनोबलका साथ तोकिएको आचारसंहिताभित्र रहेर काम गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले निर्वाचन प्रहरीलाई निर्देशन दिनुभएको छ । मतदान केन्द्रमा खटिने कर्मचारी र निर्वाचन प्रहरीको संयुक्त प्रयासबाट नै मतदान व्यवस्थित रूपमा सम्पन्न हुनसक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । “एकजना कर्मचारीले गर्ने व्यवहारका कारणले मतदान केन्द्रको सम्पूर्ण निर्वाचन व्यवस्थापनमा असर पर्ने भएकाले आफूले के गर्न हुने र के गर्न नहुने विषयमा ख्याल राख्नुहोला,” उहाँले भन्नुभयो ।

मतदातालाई भयरहित वातावरणमा मतदान गर्ने वातावरण मिलाउन निर्वाचन प्रहरीको महत्त्वपूर्ण भूमिका हुने प्रहरी उपरीक्षक थारुले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीको पोसाक लगाएर आएपछि तपाईंहरू नागरिक होइन, यो समयमा तपाईंहरू निर्वाचन प्रहरी हो, तपाईंहरूले गर्ने व्यवहार नागरिक र लैङ्गिकमैत्री हुनुपर्छ ।”

तालिम अवधिभर निर्वाचन प्रहरीलाई मतदानस्थलको जानकारी, सुरक्षा, भिड नियन्त्रण गर्ने तरिका, निर्वाचन ऐन र कानुनसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा एक हजार ४१४ निर्वाचन प्रहरीलाई परिचालन गरिनेछ । यसबाहेक जनपद प्रहरी, सशस्त्र, नेपाली सेनाको विओपी र सिओपी पोष्टबाट समेत सुरक्षा प्रदान गरिनेछ ।

आगामी निर्वाचनका लागि पाल्पामा ११८ मतदानस्थल तोकिएको छ भने २५१ मतदान केन्द्र रहेका छन् । यहाँ २९ मतदानस्थल अति संवेदनशील सूचीमा रहेका छन् । जिल्लाको निस्दी, माथागढी, रैनादेवीछहरा,तिनाउ, रामपुरलगायतका स्थानमा रहेका अधिकांश मतदान केन्द्र संवेदनशील रहेका छन् ।

नगरभित्रकै पनि कतिपय स्थानमा रहेका मतदान केन्द्र सुरक्षाका दृष्टिले संवेदनशील रहेको सुरक्षा समितिले जनाएको छ । पाल्पामा दुई लाख सात हजार ४३६ कुल मतदातामध्ये क्षेत्र नं १ मा ९८ हजार ३८३ र क्षेत्र नं २ मा एक लाख ९५३ मतदाता रहेका छन् ।

राष्ट्रिय महिला फुबटल प्रतियोगिताको उपाधि एपिएफलाई

उदयपुर। जिल्लाको गाईघाटस्थित थरुहट रङ्गशाला मैदानमा भएको राष्ट्रिय महिला फुबटल प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरीको (एपिएफ) ले उपाधि जितेको छ ।

आज त्रिभुवन आर्मी र सशस्त्र प्रहरी एपिएफबीच भएको फाइनल खेलमा २–१ गोल अन्तरले एपिएफले उपाधि जितेको हो । एपिएफका तर्फबाट गीत रानाले एक र रेनुका नगरकोटीले एक गोल गर्दै आर्मीविरुद्ध जित हासिल गरेको आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

आर्मीको तर्फबाट जेनीफर राणाले एक गोल गरेकी थिइन् । फाइनलमा महिला राष्ट्रिय फुबटल प्रतियोगितामा प्रथम हुने एपिएफले रु सात लाख ५० हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको त्रिभुवन आर्मीलाई रु पाँच लाख पुरस्कार प्रदान गरिएको एन्फा महासचिव किरण राईले बताएका छन् ।

आजको खेलको प्ले अफ दी म्याच एपिएफकी गीता रानालाई घोषणा गरिएको छ । उनले रु सात हजार प्राप्त गरेकी छिन् । खेल अवधिभरिमा बढी गोल गर्ने एपिएफकी रश्मीकुमारी घिसिङलाई रु ५० हजार पुरस्कार प्रदान गरिएको आयोजक एन्फाले जनाएको छ ।

खेल अवधिभरि उत्कृष्ट समूहमा नेपाल प्रहरी घोषित भएको छ । प्रहरीको टिमलाई रु ५० हजार नगद पुरस्कार वितरण गरिएको आयोजकले बताएको छ । खेल अवधिभरिको बेस्ट गोलकिपर एपिएफकी अञ्जना राना मगरलाई र खेलभरिका महत्वपूर्ण खेलडी आर्मीकी दीपा शाहीलाई घोषणा गरिएको भन्दै दुवैलाई जनही रु ५० हजार प्रदान गरिएको एन्फा महासचिव किरण राईले बताएका छन् ।

प्रथम, दोस्रो हुने टिम र खेलभरि विभिन्न उत्कृष्ट प्रदर्शनी गर्ने खेलाडीलाई त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत, कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार, एन्फाका महासचिव राई र नेपाली सेना १८ नं बाहिनी प्रमुख बिमल बस्नेतले पुस्कार वितरण गर्नुभएको आयोजक एन्फा र सहआयोजक जिल्ला फुटबल सङ्घ उदयपुरले जनाएको छ ।

यही फागुन १ गतेदेखि सुरु भई आजसम्म सञ्चालन भएको राष्ट्रिय महिला फुबटल प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए । खेल नकाउटको आधारमा सञ्चालन गरिएको आयोजकले बताएको छ । नेपालमा पहिलोपटक उदयपुरमा भएको राष्ट्रिय महिला फुबटल प्रतियोगिता गाईघाटस्थित थरुहट रङ्गशाला खेलमैदानमा भएको थियो । आर्थिक सहयोग फिफा रहेको थियो भने रमपम चाउचाउको प्रायोजनमा खेल सञ्चालन गरिएको थियो ।

निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ सङ्गठन योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) ले फागनु २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन बिथोल्ने गरी कुनैपनि गतिनिधि नगर्न राजनीतिक दललाई आग्रह गरेको छ ।

बिहीबार राति दाङको तुलसीपुर बजारमा एक समूहले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै एमालेको चुनाव चिह्न अङ्कित झण्डा जलाएको विषयप्रति लक्षित गर्दै सङ्गठनले आज विज्ञप्ति जारी गरी राजनीतिक दलका झण्डा जलाउने, च्यात्नेलगायत गतिविधिले निर्वाचन बिथोलिने भएकाले यस्ता गतिविधि नगर्न/नगराउन आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “राजनीतिलाई गलत दिशातिर लैजान खोज्ने तत्वले झण्डा जलाउने, च्यात्ने, कार्यक्रम बिथोल्नेलगायत अराजनीतिक र उच्छशृङ्खल गतिविधि गर्नु लोकतान्त्रिक संस्कारविपरीत कार्य हो, लोकतन्त्रमा असहमति राख्न सकिन्छ, तर त्यसलाई हिंसात्मक बनाउनु हुँदैन ।”

लामो सङ्घर्ष र बलिदानबाट स्थापित गणतन्त्रको मूल सुन्दरता अभिव्यक्ति स्वतन्त्रता, आफ्ना राजनीतिक गतिविधि निर्वाध रूपमा सञ्चालन गर्ने अधिकार र फरक विचारप्रति पारस्परिक सम्मान भएको उल्लेख गर्दै वाइसिएलले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबैको जिम्मेवारी हुनेमा जोड दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनु सम्पूर्ण राजनीतिक दल, राज्यसंयन्त्र तथा नागरिक समाजको साझा जिम्मेवारी हो । मतदाताको अधिकारको सम्मान गर्दै सबै पक्षले संयम, सहिष्णुता र कानुनी मर्यादाको पालना गर्नु अत्यावश्यक छ ।” निर्वाचन बिथोल्ने कार्य गर्नेलाई कारबाही गर्न वाइसिएलले सरकारसँग माग गरेको छ ।

खनिज सहकार्यतर्फ भारत–ब्राजिल

काठमाडौँ । महत्त्वपूर्ण खनिज आपूर्ति शृङ्खलामा नयाँ आधार निर्माण गर्ने उद्देश्यसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा शनिबार नयाँदिल्लीमा भेटवार्ता गर्दै छन् । दुर्लभ खनिज तत्वमा चीनको प्रभाव घटाउने रणनीतिका बीच दुई देशबीच खनिज सहकार्यलाई प्राथमिकता दिइएको छ ।

ब्राजिलसँग विश्वको दोस्रो ठूलो दुर्लभ पृथ्वी (खनिज) भण्डार छ । यी तत्वहरू विद्युतीय सवारी, सौर्य प्यानल, स्मार्टफोन, जेट इन्जिनदेखि निर्देशित मिसाइलसम्मका प्रविधिमा प्रयोग हुन्छन् । चीनमाथिको निर्भरता घटाउन भारतले नयाँ आपूर्तिकर्ता खोज्दै घरेलु उत्पादन र पुनर्चक्रण विस्तार गरिरहेको छ । यसै सन्दर्भमा दुवै नेताबीच महत्त्वपूर्ण खनिजसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

एक दर्जनभन्दा बढी मन्त्री र व्यावसायिक प्रतिनिधिसहित लुला बुधबार नयाँदिल्लीमा विश्वव्यापी शिखर सम्मेलनका लागि आइपुगेका थिए । शनिबारको भेटमा व्यापार विस्तार, आपूर्ति शृङ्खला विविधीकरण र प्रविधिगत सहकार्यबारे छलफल हुने अधिकारीहरूले जनाएका छन् ।

सन् २०२५ मा १५ अर्ब डलर बराबरको द्विपक्षीय व्यापारसहित भारत ब्राजिलको निर्यातका लागि दशौँ ठूलो बजार बनेको छ । दुवै देशले सन् २०३० सम्म व्यापार २० अर्ब डलर पुर्‍याउने लक्ष्य लिएका छन् । ल्याटिन अमेरिकामा ब्राजिल भारतको सबैभन्दा ठूलो साझेदार हो । भारतमा ब्राजिलका प्रमुख निर्यात वस्तुमा चिनी, कच्चा तेल, वनस्पति तेल, कपास र फलामको अयस्क पर्छन् । तीमध्ये फलामको माग भारतको तीव्र पूर्वाधार विस्तार र औद्योगिक वृद्धिले बढाएको छ ।

दिल्लीस्थित काउन्सिल अफ इनर्जीका विज्ञ ऋषभ जैनका अनुसार ब्राजिलसँगको सहकार्यले संयुक्त राज्य अमेरिका, फ्रान्स र युरोपेली सङ्घ सँग भारतले अघि बढाएको आपूर्ति शृङ्खला पहललाई पूरक बनाउनेछ । उनले विश्वव्यापी ग्लोबल साउथका गठबन्धनहरू स्थलगत स्रोतको पहुँच सुरक्षित गर्न र व्यापारका उदीयमान नियम आकार दिन महत्त्वपूर्ण हुने बताएका छन् ।

सन् २०२५ मा अमेरिकी शुल्कले दुवै देश प्रभावित भएपछि मोदी र लुलाले बहुपक्षीय व्यापार प्रणालीमाथिको दबाब र विश्वव्यापी आर्थिक अवरोधबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ । वासिङ्टनले हालै घोषणा गरिएको सम्झौताअनुसार भारतीय सामानमा लगाइएका केही शुल्क फिर्ता लिने वाचा गरेको छ ।

ब्राजिलका कूटनीतिज्ञ सुसान क्लेब्याङ्कले दुई नेताबीच बहुपक्षवाद र अन्तर्राष्ट्रिय व्यापारका चुनौतीबारे विचार आदानप्रदान हुने बताएका छन् । यसैबीच, Embraer र अडानी ग्रुपले भारतमा विमान निर्माण गर्ने योजना सार्वजनिक गरेपछि ब्राजिलका कम्पनीहरूको उपस्थिति पनि विस्तार हुँदै गएको छ ।

लुलाले बिहीबार दिल्लीमा आयोजित एआई इम्प्याक्ट शिखर सम्मेलनमा कृत्रिम बौद्धिकताका लागि समावेशी र बहुपक्षीय विश्वव्यापी शासन ढाँचाको आवश्यकता औँल्याएका थिए । त्यसपछि दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँग भेट गर्न र व्यापारिक कार्यक्रममा सहभागी हुन सियोल प्रस्थान गर्ने कार्यक्रम छ ।

वर्तमान सुरक्षा अवस्थाबीच निर्वाचन हुन लागेकामा चिन्ता लागेको छ – झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले घोषणापत्र आमजनतासम्म पुग्नेमा शंका रहेको बताउका छन् ।

प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा वाम बुद्धिजिवी एवम् पेसाकर्मीहरुको भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सुरक्षा अवस्थाबीच प्रतिनिधिसभा निर्वाचन हुन लागेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले उक्त ‘महाविध्वंस’मा संलग्न अपराधीहरू हालसम्म पक्राउ नपरेको र उनीहरू खुलेआम हिँडिरहेको बताए ।

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढ्न थाल्यो

चिसो घटेसँगै मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको छ । हिउँदयामको चिसो मौसमका कारण मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी पर्यटकको सङ्ख्या घटेकामा फागुन लागेसँगै दर्शन गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको हो ।

मुक्तिनाथमा फागुन सुरु भएसँगै दैनिक चार हजारदेखि पाँच हजारको हाराहारीमा दर्शनार्थी पर्यटक आउन थालेका मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । उनका अनुसार पुस र माघमा आशिंक रूपमा धार्मिक पर्यटक तथा दर्शनार्थी यहाँ आउने गरेकामा चिसो केही कम भएकाले दर्शनार्थी पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।

मुस्ताङमा हिउँदयाम सकिएर गर्मीयाम सुरु हुन थाले पछि मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी तथा धार्मिक पर्यटकको आगमन थप वृद्धि हुने अपेक्षा गरिएको व्यवस्थाक भुसालले बताए । फागुन लागेपछि मन्दिर दर्शन गर्ने भक्तजनको उचित व्यवस्थापन, सरसफाइ, खानपानलगायत पक्षमा ध्यान दिइएको उनको भनाइ छ ।

मुक्तिनाथ दर्शन गर्नका लागि भक्तजनलाई लाईनवद्ध गराउने, दर्शनमा सहज बनाउने, स्वच्छ पानी तथा खानपानलगायत लेक लाग्ने समस्याबाट सुरक्षित रूपमा भक्तजनको सुरक्षाका लागि अक्सिजनसहित स्वास्थ्यकर्मी र स्वास्थ्य क्लिनिकलाई क्रियाशील राखिएको व्यवस्थापक भुसालले जानकारी दिए ।

उनका अनुसार मुक्तिनाथको चिसोमा १०८ धारा र कुण्डमा स्नान गरेका दर्शनार्थीलाई आगो ताप्ने व्यवस्था गरिएको छ ।हिन्दू तथा बौद्ध धर्मालम्बीको धार्मिक आस्थाको केन्द्र पवित्र धार्मिकस्थलमा दर्शन गर्नाले जानअञ्जानमा भएका गल्तीमा मुक्त भइने धार्मिक जनविश्वाश रहिआएको छ ।

नापतौलमा अनियमितता गर्ने ११ सय व्यवसायीलाई कारबाही

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा एक हजार १५३ व्यवसायी तथा उद्योगीलाई कारबाही गरेको छ । नापतौल इजाजतपत्र नलिई आफूखुशी नापतौल यन्त्रको प्रयोग गर्ने, उपभोक्तालाई ठग्गी गर्ने, तथा तोकिएको समयमा नवीकरण नगराउनेलाई कारबाही गरिएको कार्यालय प्रमुख सुनिलकुमार यादवले जानकारी दिए ।

सोही अवधिमा कार्यालयले ६२६ व्यवसायीलाई नयाँ नापतौल इजाजतपत्र तथा एक हजार ३९७ व्यवसायीको नापतौल यन्त्रको नवीकरण गरेको छ । सो अवधिमा अनुगमन, नवीकरण, कारबाही तथा इजाजतपत्र प्रदान गरेबापत रु २५ लाख ४६ हजार ६०४ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख यादवले जानकारी दिए ।

गत आर्थिक वर्षमा ९१७ वटा नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई व्यवसायिक कारोबारका लागि नापतौल यन्त्र सञ्चालन गर्न कार्यालयले इजाजतपत्र प्रदान गरेको थियो । धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछाप गरी पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले ती जिल्लाका व्यवसायीलाई नयाँ नापतौल इजाजतपत्र प्रदान गर्दै आएको छ । साथै कार्यालयले पाँचै जिल्लामा नापतौलसम्बन्धी अनियमितता गर्नेलाई कारबाही गर्नुका साथै अनुगमन तथा निरीक्षण र नापतौल यन्त्रको इजाजतपत्र दिँदै आएको जनाएको छ ।

उक्त अवधिमा नापतौलमा ठगी गर्ने तथा लामो समयदेखि नापतौल यन्त्रको नविकरण नगराउने दुई हजार ४३ उद्योगी तथा व्यवसायिक फार्मलाई कारबाहीका साथै जरिवाना गरिएको कार्यालय प्रमुख यादवले बताए । कारबाहीमा परेका व्यवसायी तथा उद्योगीले आफूखुशी जथाभाबी ढक तथा तराजु (डिजिटलसमेत) नापतौल यन्त्रको प्रयोग गरेको पाइएपछि जरिवाना गरी कानुनी दायरामा ल्याइएको उनको भनाइ छ ।

कार्यालयबाट प्राप्त विवरणअनुसार आव २०८१/८२ को साउनदेखि असारसम्म गरिएको डोर खटनपटन, अनुगमन तथा नापतौल यन्त्रको प्रयोगमा पाइएको कैफियतको आधारमा कारबाही तथा जरिवाना गरिएको यादवले उल्लेख गरे। प्राप्त विवरणअनुसार सो अवधिमा दुई हजार ६३० जना व्यवसायीको नापतौल यन्त्रको जाँच गरिएको थियो ।

सर्लाहीको लालबन्दी तथा हरिवन नगरपालिका, महोत्तरीको गौशाला, रामेछापको मन्थली नगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिकामा नापतौल यन्त्रको प्रयोग, नापतौल जरिवाना तथा कानुनी कारबाहीसम्बन्धी चेतनामूलक जानकारी गराइएको प्रमुख यादवले जानकारी दिए ।

उक्त अवधिमा कार्यालयले एकल अनुगमन २९ पटक, व्यवसायिक फार्मको अनुगमन २७२ पटक, संयुक्त अनुगमन १८ पटक तथा व्यवसायिक फार्मको अनुगमन ४९९ पटक गरी विभिन्न शिर्षकबाट रु ५१ लाख एक हजार ९६० राजस्व सङ्कलन गरेको प्रमुख यादवले जानकारी दिए। आव २०८०/८१ मा कार्यालयले रु ४० लाख ६७ हजार २४२ राजस्व सङ्कलन गरेको थियो ।

त्यस्तै पाँच जिल्ला कारोबार रहेको कार्यालयसँग आफ्नो भवन नभएकाले साँघुरो भाडाको भवनबाट सेवा प्रवाह गरिरहेको छ । डोरको खटनपटन र अनुगमनका लागि सवारी सुविधा नभएको तथा कार्यालय सञ्चालनका लागि बजेटको अभाव हुँदा प्रभावकारी कार्यसम्पादनमा समस्या हुँदै आएको यादवले गुनासो गरे ।

हिटलरको घर अब प्रहरी चौकी

नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा रूपान्तरण गरेपछि उनको गृहनगर ब्राउनाउ एम इनमा बहस चुलिएको छ । सरकार उक्त भवनलाई अति–दक्षिणपन्थी चरमपन्थीहरूको आकर्षण केन्द्र बन्न नदिने उद्देश्यले नयाँ प्रयोगमा ल्याउन अग्रसर भएको हो ।

सन् १८८९ अप्रिल २० मा हिटलर जन्मिएको उक्त घर सहरको केन्द्रमा साँघुरो पसलहरूले घेरिएको सडकमा अवस्थित छ । भवनअगाडि राखिएको स्मारक ढुङ्गामा ‘शान्ति, स्वतन्त्रता र लोकतन्त्रको रक्षा गरौँ । फासीवादी शासन फेरि कहिल्यै दोहोरिन नदिऔँ । लाखौँ मानिसको मृत्यु यसका लागि चेतावनी हो’ लेखिएको छ । यसै साता एएफपीले अवलोकन गर्दा जीर्णोद्धारको अन्तिम काम भइरहेको देखिएको थियो । गृह मन्त्रालयका अनुसार सन् २०२६ को दोस्रो त्रैमासिकभित्र प्रहरी त्यहाँ सर्ने तयारीमा छ ।

सरकारले सन् २०१६ मा निजी मालिकबाट भवनको नियन्त्रण लिन विशेष कानून पारित गर्दै यसलाई ‘बेअसर’ बनाउने नीति अघि सारेको थियो । अस्ट्रिया सन् १९३८ मा नाजी जर्मनीद्वारा कब्जा गरिएको थियो र नरसंहारमा आफ्नो भूमिकाबारे विगतमा पर्याप्त आत्मस्वीकृति नगरेको आरोप खेप्दै आएको छ । नाजी शासनकालमा करिब ६५ हजार अस्ट्रियाली यहुदी मारिएका थिए भने एक लाख ३० हजार निर्वासनमा पठाइएका थिए ।

स्थानीय बासिन्दा सिबिले ट्रेइब्लमेयरले यो निर्णयलाई ‘दुई धारको तरबार’ भएको प्रतिक्रिया दिए । उनका अनुसार यसले अति–दक्षिणपन्थी समूहलाई भेला हुन निरुत्साहित गर्न सक्छ, तर भवनलाई फरक ढङ्गले पनि उपयोग गर्न सकिन्थ्यो । नरसंहार पीडितहरूको प्रतिनिधित्व गर्ने मौथौसेन कमिटी अस्ट्रियाका सदस्य लेखक लुडविग लहरले प्रहरी चौकी बनाउने निर्णयलाई ‘समस्यापूर्ण’ बताए । उनका अनुसार प्रहरी राज्यको संरचनाअनुसार चल्ने भएकाले स्मृति र शान्ति संवादका लागि छुट्टै केन्द्र उपयुक्त हुने थियो ।

यसअघि भवनलाई शान्ति निर्माण र ऐतिहासिक सचेतनाका कार्यक्रम सञ्चालन गर्ने स्थल बनाउने प्रस्तावले व्यापक समर्थन पाएको बताइएको छ । स्थानीय पसल व्यवसायी जस्मिन स्ट्याडलरले हिटलरको जन्मलाई ‘ऐतिहासिक सन्दर्भमा राखेर प्रस्तुत गर्नु रोचक हुने’ धारणा व्यक्त गरे । पुनर्निर्माणमा करिब दुई करोड युरो खर्च भएको विषयमा पनि आलोचना भएको छ ।

तर सबै प्रतिक्रिया नकारात्मक छैनन् । इलेक्ट्रिकल इन्जिनियर वोल्फगाङ्ग लेथनरले भवनलाई प्रहरी चौकीमा रूपान्तरण गर्दा ‘केही शान्ति आउने’ विश्वास व्यक्त गरे । उनका अनुसार यसरी प्रयोग गर्दा भवन अति–दक्षिणपन्थीहरूको तीर्थस्थल बन्ने सम्भावना कम हुनेछ ।

ब्राउनाउका कन्जरभेटिभ मेयरको कार्यालयले यस विषयमा टिप्पणी दिन अस्वीकार गरेको छ । यसबीच, अस्ट्रियामा नाजी अतीत र नरसंहार इतिहासलाई कसरी स्मरण र सम्बोधन गर्ने भन्ने बहस फेरि सतहमा आएको छ । अति–दक्षिणपन्थी फ्रिडम पार्टी सन् २०२४ को चुनावमा सबैभन्दा ठूलो दल बने पनि सरकार गठन गर्न असफल भएको थियो । गत वर्ष ब्राउनाउ एम इनमा नाजी स्मृतिसँग जोडिएका दुई सडकको नाम परिवर्तन गरिएको थियो ।

इतिहासको पीडादायी स्मृतिलाई कसरी रूपान्तरण गर्ने भन्ने प्रश्नबीच हिटलर जन्मिएको घरको नयाँ पहिचानले अस्ट्रियामा स्मृति, जिम्मेवारी र भविष्यको दिशाबारे पुनः बहस जगाएको छ ।

गण्डकीका सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चाहिने मतपत्रबाहेक ५२ प्रकारका निर्वाचन सामग्री गण्डकी प्रदेशका ११ वटै जिल्लामा पुगिसकेको छ । मतपत्र ढुवानीको काम पनि सुरु भएको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ ।

आज कास्कीमा मतपत्र आइपुगेको कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपाने बताए । “निर्वाचनका लागि आवश्यकपर्ने ५२ प्रकारका सामग्री जिल्लामा पुगिसकेको छ, आइतबारदेखि कास्कीबाहेक अन्य जिल्लामा पनि मतपत्र ढुवानी सुरु हुन्छ”, उनले भने, “निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचनको अन्तिम तयारीमा जुटेको छ ।”

निर्वाचनका बेला प्रयोग हुने ५३ प्रकारका सामग्रीमध्ये ४९ वटा सामग्रीलाई मतदानस्थलमा पठाइने र अन्य सामग्री कार्यालयमा प्रयोग हुने सूचना अधिकारी न्यौपानेले बताए । सामग्री व्यवस्थापनसँगै निर्वाचनमा परिचालन हुने कर्मचारीको खटनपटनको काम पनि सँगसँगै भइरहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने भएका छन् ।

मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्माचारीलाई तालिम दिएर मतदान केन्द्रमा पठाइने सूचना अधिकारी न्यौपानेले बताए । यस प्रदेशका एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र रहेका छन् । मतदाताको सङ्ख्या १८ लाख ७० हजार ६५ रहेको छ । गण्डकीमा विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६ लाख ६२ हजार २४६ मतदाता थिए । अहिलेको चुनावमा दुई लाख सात हजार ८१९ नयाँ मतदाता थपिएका हुन् । यहाँ १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् ।

प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलका चुनावी घोषणापत्रः निःशुल्क स्वास्थ्यमा जोड

काठमाडौँ। आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलले जनताको स्वास्थ्य सेवालाई मुख्य एजेण्डा बनाएका छन् ।राजनीतिक दलले जारी गरेका घोषणापत्रमा मुख्यतः नागरिकको स्वास्थ्य उपचार निःशुल्क बनाउनेमा जोड दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जारी गरेको घोषणापत्रमा सबै विद्यालयका किशोरीलाई निःशुल्क ‘प्याड’ उपलब्ध उल्लेख गरेको छ ।

साथै स्वास्थ्य स्वयंसेविकालाई रु २० हजार भत्ता र सामाजिक सुरक्षासमेत उपलब्ध गराउने उल्लेख छ । एमालेद्वारा सुत्केरी महिला भत्ता २० हजार र पाँच लाखसम्मको निःशुल्क जीवन बिमा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख गरिएको छ ।

सबै तहमा अस्पतालको पूर्वाधार निर्माण, आधुनिक उपकरणको व्यवस्था, सेवाको गुणस्तर निर्धारण तथा जनशक्ति व्यवस्थापन गरी विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ ।

एमालेले प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा कम्तिमा एक जना ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन’ (एमडीजिपी) चिकित्सक, नर्स, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध गराउने उल्लेख गरेको छ । जिल्ला अस्पतालको स्तरोन्नति गरी न्यूनतम सेवा उपलब्ध गराउने र प्रदेशस्तरमा प्रभावकारी ‘रिफरल’ प्रणालीको व्यवस्था गर्ने उल्लेख छ ।

त्यस्तै नेपाली कांग्रेसले जारी गरेको ‘प्रतिज्ञापत्र’मा स्वास्थ्य उपचारमा नागरिकले खल्तिबाट पैसा तिर्नुपर्ने अवस्थाको अन्त्य गर्ने र निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उल्लेख गरेको छ । साथै प्रतिज्ञापत्रमा सबै तहका सरकारले कूल बजेटको स्वास्थ्य क्षेत्रमा १० प्रतिशत छुट्टाउनुपर्ने व्यवस्था कार्यान्वयन गरिने उल्लेख गरेको छ ।

कांग्रेसले सबै उपचार स्वास्थ्य बिमाबाट गरिने उल्लेख गर्दै स्वास्थ्य बिमाका लागि आम्दानी नहुनेले प्रिमियम तिर्न राज्यले व्यहोर्ने प्रतिज्ञापत्रमा उल्लेख गरेको छ । सबै स्थानीय तहबाट प्रथम सेवा विन्दु सञ्चालन गर्ने, तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्नेलगायत स्वास्थ्यसम्बन्धी विषय प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जारी गरेको ‘प्रतिवद्धतापत्र’ मा २०८८ सम्म सतप्रतिशतलाई स्वास्थ्य बिमामा आबद्ध गर्ने उल्लेख छ । साथै स्वास्थ्य खर्च हाल करिब ५४ प्रतिशत रहेको अवस्थालाई २०८८ सम्म ३५ प्रतिशतभन्दा कममा झार्ने लक्ष्य राखिएको छ ।

हरेक वडा, समुदाय र विद्यालयमा ‘मिडलेभल’ ( मध्यमस्तर) स्वास्थ्य टोली परिचालन गरिने घोषणापत्रमा उल्लेख गरिएको छ । ती टोलीमार्फत नियमित स्वास्थ्य जाँच, जीवनशैली परामर्श तथा रोग रोकथामसम्बन्धी सेवा प्रदान गरिने जनाइएको छ ।

साथै सरकारी अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी) वर्षभरि बिहान ७ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन गरिने र स्वास्थ्य चौकीमा पनि ३६५ दिन सेवा विस्तार गरिने उल्लेख छ । प्रतिबद्धतापत्रमा वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण निःशुल्क गरिने उल्लेख छ ।

नेकपाले औषधि खरिदमा हुने अनियमितता अन्त्य गर्न केन्द्रीय फ्रेमवर्क सम्झौता तथा सरकारी सरकारी खरिद प्रणाली लागू गरिने उल्लेख गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक गरेको ‘वाचापत्र’ मा स्वास्थ्यसँग सम्बन्धित सबै सामाजिक सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीमा लैजाने उल्लेख छ ।

वाचापत्रमा क्यान्सरलगायत नसर्ने रोगलाई उपचारभन्दा पनि रोकथाममुखी रणनीति अवलम्बन गर्ने, जलन पीडितको निःशुल्क र गुणस्तरीय उपचार सुनिश्चित गर्न जलन उपचार कोष स्थापना र एक विश्वस्तरीय विशेष जलन अस्पताल निर्माण गर्ने उल्लेख छ । मानसिक स्वास्थ्य सेवालाई नागरिकको सहज पहुँचमा पुर्‍याउन छुट्टै अधिकार सम्पन्न महाशाखा स्थापना गर्ने, प्रथामिक स्वास्थ्य सेवा प्रवाहमा मानसिक प्राथमिक उपचार सबै जिल्ला अस्पतालमा विशेष चिकित्सकको व्यवस्थासहित २४सैँ घण्टा सञ्चालन हुने हेल्पलाइनमार्फत सेवा प्रवा गर्ने उल्लेख छ ।

योग र ध्यान कार्यक्रम सञ्चालन गर्ने र वैज्ञानिक अध्ययनमा आधारमा वैकल्पिक उपचार पद्दतिलाई संस्थागत रूपमा सञ्चालन गर्ने वाचापत्रमा उल्लेख गरिएको छ ।

गृहमन्त्रीद्वारा काठमाडौँ र मकवानपुरको मतदानस्थलको अनुगमन

गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । आज काठमाडौँ र मकवानपुरको विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा गृहमन्त्री अर्यालले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबै पक्षको सहयोग रहने विश्वास व्यक्त गर्नुका साथै निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सफल बनाउन आम नागरिकको सक्रियता जरुरी रहेको बताएका हुन् ।

सरकारको प्रवक्तासमेत रहनुभएका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरबाट सचेत भएर आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षमा अनुरोध गरे । निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापनसम्बन्धी विषयमा गृहमन्त्री अर्यालसँगै गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव एवं प्रवक्ता आनन्द काफ्ले, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौँ प्रहरी प्रमुख ९एसएसपी० रमेश थापालगायत उच्च पदाधिकारी सहभागी रहेका थिए ।

मन्त्री अर्यालसहितको टोलीले दक्षिणकाली नगरपालिका–९ फर्पिङस्थित सेतीदेवी माविको मतदान केन्द्रको स्थलगत निरीक्षण गर्नुभएको हो । साथै, गृहमन्त्री अर्यालले कीर्तिपुरस्थित सशस्त्र प्रहरीबल नेपाल दङ्गा नियन्त्रण रेजिमेन्ट गणको अनुगमन र निर्देशनसहित जिल्लाको समग्र सुरक्षा व्यवस्थापनको जानकारी लिएका थिए । यस्तै, गृहमन्त्री अर्यालले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१८ को मतदान केन्द्रको अनुगनम गरे ।

सो क्रममा मकवानपुर जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीसहित गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीसहितको उपस्थितिमा अनुगमन तथा निर्वाचन सुरक्षासम्बन्धी विषयमा छलफल भएको थियो । त्यसैगरी मन्त्री अर्यालसहितको टोलीले इन्द्रसरोवर नगरपालिकाको चौकी निरीक्षण गरी जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएको थियो ।

काठमाडौँ र मकवानपुर जिल्लाका जिल्ला सुरक्षा प्रमुखसहितको संयुक्त टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको थियो । दुबै जिल्लाका सीमा आसपासका क्षेत्रको सुरक्षा, मतदान केन्द्रलगायत सुरक्षाकर्मीको परिचालन गरिरहेको ब्रिफिङ लिनुका साथै सुरक्षा व्यवस्थापन र परिचालनसम्बन्धी आवश्यक निर्देशन दिए ।

थाइल्यान्डको पार्कमा भाइरसका कारण दर्जनौँ बाघको मृत्यु

बैङ्कक। पछिल्लो हप्तामा उत्तरी थाइल्यान्डमा रहेको एक निजी पशु पार्कमा घातक भाइरस र ब्याक्टेरिया सङ्क्रमण को कारण कम्तिमा ७२ वटा बाघको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।

चियाङ माईको प्रान्तीय पशुधन कार्यालयले विज्ञप्ति मार्फत मृत बाघमा परीक्षणबाट अत्यधिक सङ्क्रामक क्यानाइन डिस्टेम्पर भाइरसका साथै श्वास–प्रश्वास प्रणालीलाई असर गर्ने ब्याक्टेरियाहरू पत्ता लगाएको बताएको छ ।

बिरामी बाघमा भएको स्वास्थ्य समस्या अन्य जनावरहरूमा भन्दा पत्ता लगाउन गाह्रो हुने जनाउदै परीक्षण गर्दा सम्म धेरै ढिलो भइसकेकाले उनीहरुको ज्यान बचाउन नसकिएको राष्ट्रिय पशुधन विभागका निर्देशक सोमचुआन रतनमुङक्लानोनले स्थानीय मिडियालाई बताउनु भएको छ ।

टाइगर किङडम, पार्कको वेबसाइटमा उल्लेख भएका सुचनाका आधारमा बाघहरू समयमै परीक्षण र उचित औषधोपचारको अभावमा दुःख, र डरको बिचमा मत्यु वरण गरेको पशु अधिकार सङ्गठन पेटा एसियालाई उदृत गर्दै एएफपीले जनाएको छ ।