`

नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित

भोजपुर, १६ मङ्सिरः समाज निर्माणमा जीवनभर पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

सोमबार यहाँ आयोजित एक कार्यक्रममा १०३ वर्षीय इन्द्रबहादुर राईसहित ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । त्यस अवसरमा उहाँहरूलाई वडा कार्यालयले सम्मानपत्र र न्याना कपडा पनि प्रदान गरेको थियोे ।

कार्यक्रममा कोशी प्रदेशका सांसद विनोद वान्तवाले ज्येष्ठ नागरिकको स्याहारसुसार, स्वास्थ्योपचार, सुरक्षा तथा अधिकार संरक्षणमा सबै तहका निकायले गम्भीर हुनुपर्ने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले ज्येष्ठ नागरिक राष्ट्रका गौरव भएकाले भावी पुस्तालाई संस्कार सिकाउन पनि कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।वडाध्यक्ष हर्कराज राईले ज्येष्ठ नागरिकको सम्मान गर्नु वडाका साथै वडावासीको कर्तव्य हो भन्नुभयो ।

सम्मानितहरूका तर्फबाट मन्तव्य व्यक्त गर्दै लुङ्गिनका बोमप्रसाद राईले आफूहरूको श्रमको सम्मान गरेकामा वडाप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।

विशेष महाधिवेशन रोक्नमात्र कार्यतालिका आएजस्तो नहोस्ः विशेष महाधिवेशन पक्षधर

काठमाडौँ-नेपाली कांगे्रसको १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएकामा विशेष महाधिवेशन पक्षधरले सकारात्मक उपलब्धिका रूपमा लिँदै विशेष महाधिवेशन रोक्नमात्र यस्तो गरिएको हो भन्ने नबनाउन आग्रह गरेको छ ।

“विशेष महाधिवेशनको माग गरिएको हस्ताक्षरको दबावस्वरूप यो घोषणा विशेष महाधिवेशनलाई निस्तेज पार्न गरिएको हो ? वा वास्तवमा महाधिवेशन गर्न खोजिएको हो ? समय क्रमले जवाफ दिने छ”, विशेष महाधिवेशन पक्षधरले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसका दुई हजार ४८८ जना (कूल महाधिवेशन प्रतिनिधिको ५४ दशमलव आठ प्रतिशत) ले गत असोज २९ गते पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गर्दै लिखित कारण र हस्ताक्षरसहित निवेदन दर्ता गराएपछि केन्द्रीय समितिले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । त्यो निवेदन केवल दबाबको अस्त्र मात्र नभई समयमा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने केन्द्रीय समितिको वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ ।

आगामी फागुन २१ गते प्रतिनिधि सदस्यको निर्वाचनअघि कांग्रेसको महाधिवेशन सम्पन्न गर्नु संवैधानिक, राजनीतिक र नैतिक दायित्व भएको उल्लेख गर्दै वक्तव्यमा केन्द्रीय समितिले प्रस्ताव गरेको आगामी पुस २६–२८ को महाधिवेशन मिति पूर्वपार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्यतालिका प्रथम दृष्टिमा अव्यावहारिक र अवैज्ञानिक देखिएको हस्ताक्षरकर्ताको नेतृत्व गर्नुभएका कांग्रेस नेता गुरुराज घिमिरेले बताउनुभयो ।

कुनै पनि बहाना वा अवस्थामा अधिवेशनका श्रृङ्खलाहरू अवरूद्ध गरिएमा वा भएमा असोज २९ मा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित रहनुका साथै विधानबमोजिम पूर्ण रूपमा कार्यान्वयन योग्य रहेको उहाँले बताउनुभयो । आगामी पुस २८ मा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्यसमेत प्रष्ट नभएको हस्ताक्षरकर्ताको भनाइ छ । यसले समयमै अधिवेशन सम्पन्न हुँदैन भन्ने संशयलाई आधार दिएको छ ।

एकजुट भएर १५औँ महाधिवेशनलाई समयमा सम्पन्न गर्न सक्रियतापूर्वक सहभागी हुन पनि विशेष महाधिवेशन पक्षधर नेताहरूले समर्थक एवं शुभेच्छुकमा आग्रह गरेका छन् । यदि उक्त समयमा महाधिवेशन सम्पन्न नभएमा विशेष महाधिवेशनका लागि तयार रहनसमेत उहाँहरूले हार्दिकतापूर्वक आह्वान गरेका हुन् ।

१५औँ महाधिवेशनको घोषणा विशेष महाधिवेशन मागकर्ताको हस्ताक्षरको परिणाम भएकाले घिमिरेले सबै हस्ताक्षरकर्तालाई आभार प्रकट गर्नुभएको छ । पार्टीको समग्र सुधार, रुपान्तरण र पुनर्गठनका लागि सबैको साथ र समर्थन सधैँ रहिरहने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १६ मङ्सिर: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ११०, आलु रातो प्रतिकिलो रु ५०, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३८ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३२ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १५०, गाजर (तराई) प्रतिकिलो रु १३०, बन्दा (लोकल) प्रतिकिलो रु ७०, बन्दा (तराई) प्रतिकिलो रु ५५, बन्दा (नरिवल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ७५, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ९०, काउली तराई प्रतिकिलो रु ६५, रातो मूला प्रतिकिलो रु ६०, सेतो मूला (लोकल) प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ६०, भन्टा डल्लो प्रतिकिलो रु ७०, तने बोडी प्रतिकिलो रु १७० र मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १४०, तिते करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ८०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु १३०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, सलगम प्रतिकिलो १२०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ११० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकेजी रु १८०, चमसुर प्रतिकिलो रु १००, तोरीको साग प्रतिकिलो रु ७०, मेथीको साग प्रतिकिलो रु १६०, हरियो प्याज प्रतिकिलो रु १२०, बकुला प्रतिकिलो रु १६०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८० र कुरिलो प्रतिकिलो रु १३०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १६०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु ६५०, सेलरी प्रतिकिलो रु ५००, पार्सले प्रतिकिलो रु ७००, सौफको साग प्रतिकिलो रु १६०, पुदिना प्रतिकिलो रु ६००, गान्टेमुला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु १२०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु २६०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, निबुवा प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, अम्बा प्रतिकिलो रु १०० र लप्सी प्रतिकिलो रु ७०, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २५०, सरिफा प्रतिकिलो रु २०० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ७०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ११०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु १५०, भेडे खुर्सानी प्रतिकिलो रु १६०, हरियो लसुन प्रतिकिलो रु १३०, हरियो धनियाँ प्रतिकिलो रु १३०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १५०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ७० निर्धारण गरिएको छ ।

कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात

वीरगञ्ज (पर्सा) – वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन् । गत आवको सोही अविधको तुलनामा यो रु एक अर्ब २४ करोडले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु दुई अर्ब २९ करोड बराबरको चार करोड २१ लाख ८६ हजार १११ किलोग्राम मकै र रु दुई अर्ब एक करोड बराबरको पाँच करोड ४० लाख ४५ हजार ४१३ किलोग्राम धान आयात भएको छ ।

त्यसैगरी, रु एक अर्ब छ करोड मूल्यका एक करोड नौ लाख ४४ हजार ५६० किलोग्राम चामल आयात भएको छ ।

नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदै, फिफा वरियतामा नेपाल ८९औँ स्थानमा

योग्यकर्ता (इन्डोनेसिया) – यहाँ जारी त्रिदेशीय अन्तरराष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदैछ ।स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुनेछ । नेपालभन्दा बलियो मानिएको टोली चाइनिज ताइपेइ फिफा वरियतामा नेपालभन्दा माथि रहेको छ । चाइनिज ताइपेइ फिफा वरियतामा ४२औँ स्थानमा रहँदा नेपाल ८९औँ स्थानमा छ । सन् १९७७ मा अन्तरराष्टिय महिला प्रतियोगितामा सहभागिता जनाएको चिनियाँ ताइपेइले १९७७, १९७९ र १९८१ मा लगातार एएफसी महिला एसियन कपको उपाधिसमेत जितेको थियो ।

सन् १९८६ देखि अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको नेपालले पनि एसियन कप खेलेको थियो तर नेपालको सहभागिता समूह चरणको खेलमा मात्र सीमित बनेको देखिन्छ ।

नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले चिनियाँ ताइपेइ नेपालभन्दा बलियो टोली भएता पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै जित निकाल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अघिल्लो इन्डोनेसियाविरुद्धको खेलमा फिनिसिङ कमजोर देखिए पनि चिनियाँ ताइपेइविरुद्धको खेलमा सुधारिएको प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामी सुधारिएको खेल प्रदर्शन गर्दै जीतको लक्ष्यसहित मैदानमा उत्रनेछौँ । राम्रो सङ्गठनमा खेल्न सक्यौँ भने चाइनजि ताइपेलाई हराएर प्रतियोगिताको समापन सकारात्मक गर्नेछौँ । हामीले जित निकाल्छाँै भन्ने विश्वास छ ।”

मुख्य प्रशिक्षक न्यौपानेले नेपाली टोली साफ च्याम्पियनसिपको तयारीमा रहेको हुँदा ‘इन्जुड’ खेलाडीलाई आराम दिँदै नयाँ खेलाडीलाई मौका दिइने र आवश्यक परे सबैलाई मैदानमा उतार्न सकिने बताउनुभयो ।

त्यसैगरी, नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले सबै खेलाडी मानसिक र शारीरिक रूपमा तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी राम्रो खेल्छौँ । सबै खेलाडी ‘फिजिकली’ र ‘मेन्टली’ तयार भएकाले मैदानमा शतप्रतिशत खेल्नेछौँ ।

यस सिरिजअन्तर्गत यही मङ्सिर १० गते भएको पहिलो इन्डोनेसियाविरुद्धको खेलमा नेपाल पराजित भएको थियो । सो खेलमा इन्डोनेसियासँग नेपाल २–१ गोलअन्तरले पराजित भएको थियो । त्यसैगरी यता चिनियाँ ताइपेइले भने इन्डोनेसियामाथि ५–० गोलको जित निकालेको थियो ।

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ ।

मंगलबार समितिको १४१ औँ बैठक बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बस्न लागिएको हो । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत गर्दै लालबाबु

जलेश्वर (महोत्तरी) – जिल्लाको मनराशिस्वा नगरपालिका–३ सोनौल गाउँका लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक रु सात लाख बचत गरिरहनुभएको छ । करिब २० कट्ठा क्षत्रमा लगाइएको सयपत्री फूलखेतीबाट उहाँले वार्षिक रु सात लाख बचत गर्दै आउनुभएको हो ।

अहिले लालबाबुको दैनिकी बिहान ५ः०० बजेदेखि बेलुकाका ५ः०० बजेसम्म फूलखेतीमा बित्ने गरेको छ । गाउँको दुई स्थानमा १०÷१० कट्ठामा क्षेत्रफलमा सयपत्री फूलखेती गर्नुभएका लालबाबुले दिनभरि फूलको बिरुवा हेरचाह, सिँचाइ, मलखाद्य र फूल टिप्ने कार्यमा बिताउनुहुन्छ ।

फूलखेतीमा उहाँलाई छोराद्वय विकास र आकाशले पनि सघाउने गर्नुभएको छ । भारतको मुज्जफरपुरबाट सयपत्री फूलको बिरुवा प्रतिवटा भारु दुईमा ल्याएर रोपाइँ गर्ने गरेको लालबाबुले बताउनुभयो । उहाँका अनुसार एउटा बिरुवा हुर्कन २० देखि ४० दिन लाग्दछ । “एउटा बिरुवा सप्रिएपछि तीन–चार महिनासम्म फूल दिने गर्दछ । दश कट्ठामा लगाइएको एक हजार २०० बिरुवाले एकैपटक फूल दिँदा एक दिनमा ५० किलोसम्म हुन्छ”, उहाँले भन्नुभयो ।

उहाँले दुई स्थानमा फरकफरक समयमा फल्ने सयपत्री लगाउनुभएको छ । एक स्थानमा उत्पादित फूल सकिन लाग्दा अर्को स्थानमा फूल्न थाल्ने भएकाले वर्षभरि बिक्री गर्न सक्ने लालबाबुले बताउनुभयो । सयपत्री फूलको माग वर्षभरि हुने भएकाले सधैँ आपूर्ति गर्न सफल भएको उहाँको भनाइ छ ।

“एउटा सयपत्री फूल उनेको मालाको रु ५० देखि रु ७० पर्छ । घरमा आएका व्यापारीलाई रु ४० मा बिक्री गर्छौँ । यसबाट दैनिक रु पाँच हजारसम्म आम्दानी हुने गरेको छ”, लालबाबुका छोरा विकासले भन्नुभयो । थोकमा प्रतिकिलो रु चारदेखि रु ५०० सम्ममा बिक्री गर्दा दैनिक रु दुई हजारदेखि रु पाँच हजारसम्म आम्दानी हुने उहाँले जानकारी दिनुभयो ।

लालबाबुले घरमा ‘जयमा फूल भण्डार’ नाममा पसल सञ्चालन गर्नुभएको छ । वर्षभरिको घरखर्च, छोराहरूको पढाइ र अन्य खर्च कटाएर रु सात लाखसम्म बचत हुने गरेको उहाँले जानकारी दिनुभयो ।

आजको मौसम : बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौँ – कोशी, मधेस र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो । आज यहाँको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने छ ।

एनपिएलः आज दुई खेल हुने, को-को भीड्दैछन् ?

काठमाडौँ – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुर बोल्ट्स यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ । चार खेलबाट दुई खेल जितेको चितवन राइनोज भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ ।

अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ । दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ । चार खेलमा एक खेलमात्र जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ ।

आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस

काठमाडौँ – विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ । मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु यो दिवसको उद्देश्य हो ।

संयुक्त राष्ट्रसङ्घले सन् १९४९ को २ डिसेम्बरमा मानव बेचबिखन तथा यौन शोषण रोक्नेसम्बन्धी महासभा सङ्कल्प प्रस्ताव पारित गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ ।

राष्ट्रसङ्घका अनुसार आज पनि विश्वभर पाँच करोड मानिस आधुनिक दासत्वको जोखिममा छन् । यी मध्ये अधिकांश महिला र बालबालिका बलपूर्वक श्रम गर्न बाध्य पारिएका छन् ।

जातीय विभेद, गरीबी, सामाजिक बहिष्कार तथा असमानतामा आधारित व्यवहारका कारण केही समुदायहरू अझै पनि शोषणको गम्भीर जोखिममा छन् । प्रवासी तथा असुरक्षित श्रमिकहरूलाई घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रसम्म विभिन्न आर्थिक शोषणमा लगाइने गरेको पाएको छ ।

अन्तरराष्ट्रिय श्रम सङ्गठनले दासत्व र आधुनिक शोषण अन्त्य गर्न सरकार, नागरिक समाज तथा समुदायबीच सहकार्य आवश्यक रहेको भन्दै पीडितको उद्धार, पुनःस्थापना, न्याय र दीर्घकालीन सुरक्षामा जोड दिएको छ ।

मुस्ताङमा चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या बढ्यो

मुस्ताङ – हिउँदयामको अत्यधिक चिसो बढेसँगै मुस्ताङका बालबालिका रुघाखोकी, निमोनियालगायत समस्याबाट प्रभावित बनेका छन् । चिसोले यहाँका बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याएको पाइएको छ ।

प्रादेशिक अस्पताल जोमसोममा पछिल्लो समय चिसोका कारण रुघाखोकी, निमोनियालगायत समस्याका बिरामी भर्ना हुने क्रम बढेको अस्पतालले जनाएको छ । हिउँदयाममा चिसोबाट जोगिन विशेष सावधानीका उपाय अपनाउन नसक्दा सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा भर्ना भएर सेवा लिनेमध्ये ८० प्रतिशतभन्दा बढी बालबालिका छन् ।

अस्पतालबाट चालु आवको साउनमा ७४९, भदौमा ६०९, असोजमा ५७० र कात्तिकमा ४८८ जनाले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् । साउनमा १८, भदौमा ३७, असोजमा ३७ र कात्तिकमा ४८ जनाले अस्पताल भर्ना भई स्वास्थ्य सेवा लिएका डा कँडेलले उल्लेख गर्नुभयो । उहाँका अनुसार मङ्सिर १५ गतेसम्ममा २८ जना बिरामीले भर्ना भई सेवा लिइसकेका छन् ।

पन्ध्र श्ययाको प्रादेशिक अस्पतालमा चिसोका कारण बिरामीको सङ्ख्या दिनहुँ वृद्धि भइरहँदा प्रभावकारी उपचारमा समस्या हुनुका साथै श्यया अभाव भएको उहाँको भनाइ छ ।

बालबालिकामा रुघाखोकी लाग्ने, स्वाशप्रश्वासमा समस्या, स्वाँस्वाँ हुने, छाती घ्यारघ्यार हुने, ज्वरो आउनेलगायत समस्या देखिन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कँडेलले जानकारी दिनुभयो । अधिकांश रुघाखोकी, ज्वरो, निमोनियालगायत समस्या लिएर आउनेमध्ये ८० प्रतिशत जति १० वर्ष मुनिका बालबालिका रहेका उहाँले उल्लेख गर्नुभयो ।

रुघाखोकी र निमोनियाका लक्षण देखिएमा तुरुन्तै अस्पताल वा नजिकैको स्वास्थ्य संस्थामा जचाउँनुपर्ने डा कँडलले सुझाव दिनुभयो । चालु आवको साउनदेखि मङ्सिर दोस्रो सातासम्मको तथ्याङ्क अनुसार बिरामी भई अस्पताल भर्ना हुने बालबालिका करिब ७० प्रतिशतले वृद्धि भएको अस्पतालले जनाएको छ ।

चिसोबाट सुरक्षित रहन दाउरा वा कोइला बाल्दा, गिजर, हिटरलगायत उपकरण प्रयोग गर्दा हावा छिर्ने गरी ‘भेन्टिलेसन’ खुला गर्नुपर्ने डा कँडेलले जनाउनुभयो । साथै तातोपानी पिउने, झोलिलो र पोषणयुक्त खानपान गर्नेलगायत आवश्यक सावधानी अपनाउनुपर्नेमा डा कँडेलले जोड दिनुभयो ।

यसैबीच, अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसी झरिसकेका छन् । यहाँका बालबालिकालाई चिसोबाट जोगाउन सुरक्षित स्थान खोज्दै बेँसी झारिएको जनाइएको छ । यहाँका बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका शैक्षिक संस्था भने सञ्चालनमा छन् ।

नारखोला जलविद्युत् आयोजनामा पाँच बैंकको नौ अर्ब ६३ करोड लगानी

काठमाडौँ – मनाङमा आयोजनास्थल रहेको नारखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । कूल ६१ मेगावाट क्षमताको सो आयोजनामा कुमारी बैंकको अगुवाइमा विभिन्न पाँच वटा बैंकले लगानी गर्न लागेका हुन् । आयोजनामा बैंकले रु नौ अर्ब ६३ करोड बराबरको ऋण लगानी गर्न लागेका छन् ।

नारखोला हाइड्रो इनर्जीका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रूपमा लगानी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । हिमाली जिल्ला मनाङस्थित नार्पा भूमि र नासोङ गाउँपालिकामा रहेको नारखोला र सोतीखोलाको पानीलाई एकीकृत गरी ६१ दशमलव ११ मेगावाट बिजुली उत्पादन गरिनेछ ।

आयोजनाको निर्माणका लागि सबै प्रक्रिया पूरा भइसकेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । नेपाल विद्युत् प्राधिकरणसँग यसअघि विद्युत् खरिद सम्झौता भइसकेको सो आयोजनामा कुमारी बैंकको अगुवाइमा नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, एनआइसी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्नेगरी सोमबार लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

नारखोला जलविद्युत् आयोजनाको ग्रसहेड ५८८ दशमलव ८२ मिटर रहनेछ भने आयोजनाबाट वार्षिक ३६६ दशमलव ४८ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । आयोजनाले वार्षिक रु दुई अर्ब १० करोड बराबरको बाँधका संरचना नार्पा भूमि गाउँपालिकामा र विद्युत्गृह नासो गाउँपालिकामा निर्माण हुनेछन् । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको मनाङस्थित धारापानीमा निर्माणाधीन सवस्टेसनमा जोडिने छ ।

आयोजनाको कूल लागत रु १२ अर्ब ८४ करोड रहेकामा बैंकले रु नौ अर्ब ६३ करोड लगानी गर्नेछन् । यस्तै, लगानीकर्ताले स्वपुँजीका रूपमा रु तीन अर्ब २१ करोड लगानी गर्नेछन् । स्वपुँजीमा सिँगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ ।

आयोजनाले पहुँचमार्ग निर्माण सुरु गरिसकेकाले आगामी तीन महिनाभित्र मुख्य संरचना निर्माण सुरु गरी तीन वर्षभित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ १६ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ १३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ २६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ४० पैसा र बिक्रीदर ११० रुपैयाँ ८६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २१ पैसा र बिक्रीदर नौ रुपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ २२ पैसा र बिक्रीदर २० रुपैयाँ ३० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ १० पैसा र बिक्रीदर ३८ रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४७ पैसा र बिक्रीदर चार रुपैयाँ ४९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १७ पैसा र बिक्रीदर १५ रुपैयाँ २४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २७ पैसा र बिक्रीदर २२ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४६७ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ३७९ रुपैयाँ २६ पैसा र बिक्रीदर ३८० रुपैयाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर ३७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए

काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु पाँच खर्ब ५३ अर्ब ३१ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११ दशमलव नौ प्रतिशतले वृद्धि भई रु चार खर्ब आठ अर्ब ७७ करोड रहेको थियो । चालु आवको पहिलो महिना अर्थात् गत साउनमा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबर पुगेको थियो ।

यस्तै, गत भदौ महिनामा विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि भई रु तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको थियो । चालु आवको पहिलो त्रैमासमा चालु खाता रु दुई खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर रु दुई खर्ब ६४ अर्ब तीन करोडले बचतमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा चालु खाता रु एक खर्ब १५ अर्ब ३६ करोड र शोधनान्तर रु एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा थियो ।

यसैगरी, चालु आवको पहिलो तीन महिनामा कूल वस्तु निर्यात ८९ दशमलव छ प्रतिशतले वृद्धि भई रु ७२ अर्ब ७८ करोड कायम भएको छ । सो अवधिमा वस्तु आयात १९ दशमलव आठ प्रतिशतले बृद्धि भई रु चार खर्ब ६८ अर्ब आठ करोड कायम भएको छ । समीक्षा अवधिमा कूूल वस्तु व्यापार घाटा १२ दशमलव दुई प्रतिशतले वृद्धि भई रु तीन खर्ब ९५ अर्ब ३० करोड पुगेको छ ।

हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ

हङकङको वाङ फुक कोर्टमा आगलागीमा लापरवाही गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।उक्त जानकारी सोमबार स्थानीय अधिकारीहरूले पत्रकार भेटघाटमार्फत दिनुभएका हुन् ।

प्रहरीले जनाएको अनुसार घटनाको विस्तृत अनुसन्धान अझै जारी रहेको छ, र आवश्यक परे थप व्यक्तिहरूलाई समेत पक्राउ गर्न सकिने सम्भावना छ ।आगो लागेका भवनबाट सङ्कलित २० वटा निर्माण जालीका नमूनामध्ये ७ वटा जाँचका क्रममा आगो प्रतिरोधको न्यूनतम मापदण्ड समेत पुरा नगरेको पुष्टि भएको अधिकारीहरूले बताएका छन् ।

यिनै कमजोर निर्माण जालीका कारण आगो अत्यन्त तीव्र गतिमा फैलिएको हुन सक्ने प्रारम्भिक निष्कर्ष आएको छ ।

क्वारेन्टाइन कार्यालय बिराटनगरको त्रैमासिक प्रतिवेदन सार्वजनिक, ८३.३७ प्रतिशत काम सम्पन्न 

बिराटनगर — पशु क्वारेन्टाइन कार्यालय बिराटनगरले आ.व. २०८२÷८३ को पहिलो त्रैमासिकको अवधिमा प्रथम त्रैमासिक अवधिको निर्धारित कार्यहरुको ८३.३७ प्रतिशत काम सम्पन्न भएको सो कार्यहरुको ४७.५५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको कार्यालय प्रमुख डा विदुर प्रसाद गौत्तमले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा अवैध पशुजन्य सामग्री नियन्त्रणमा केन्द्रित गतिविधि प्रभावकारी रुपमा कार्यान्ययन गरिएको उहाँले बताउनुभयो । कार्यालयले विराटनगरको रानी रानी, भान्टाबारी (सुनसरी) र माडर (सिराहा) नाकाबाट हुने आयात–निर्यातलाई नियमित निगरानी र कडाइका साथ जाँच गरिएको कार्यालयले प्रतिवेदनमार्फत जानकारी दिएको छ ।

अवैध रूपमा भित्रिने जोखिमयुक्त पशु तथा पशुजन्य सामग्री रोकथाम, स्वास्थ्य परीक्षण, क्वारेन्टाइन प्रमाणपत्र जारी गर्ने कार्यलाई प्राथमिकतामा राख्दै कार्यालयले आयातकर्ता तथा निर्यातकर्ता उद्योगसँग नियमित समन्वय गरिरहेको छ । प्रतिवेदनअनुसार अवैध सामग्री नष्ट गर्ने अभियान यस त्रैमासिकमा झनै सशक्त रूपमा अघि बढाइएको छ । कार्यालयका टोलीले पहिलो त्रैमासिकमा ३२ पटक अनुगमन गरी ठूलो परिमाणका अवैध पशुजन्य सामग्री नियन्त्रणमा लिएर नष्ट गरेको छ । नष्ट गरिएका सामग्रीमध्ये २४० केजी ब्रोलर कुखुरा ,३२९ वटा बोइलर कुखुरा , सेतो अण्डा २९ क्रेट , पहिचान नखुलेको आलो मासु १०४ केजी , प्याकेज सि फिस ३० केजी , एकुरियम माछा १० पिस , फ्रोजन फिस ७३५ केजी , माछाको सिद्रा २० केजी नष्ट गरेको छ ।

भारत–नेपाल सीमाबाट भित्रिने पशुचौपायाको स्वास्थ्य परीक्षण, संक्रमण जोखिम रोकथाम तथा सवारीसाधन स्यानिटाइजेसन नियमित रूपमा भइरहेको उल्लेख गरिएको छ । साथै सो अवधिमा आयातित कच्चा पदार्थको गुणस्तर जाँचका लागि नमुना संकलन गरी प्रयोगशाला परीक्षण पनि गरिएको छ । कार्यालयले सीमा क्षेत्रमा अवैध सामग्री नियन्त्रणका लागि स्थानीय प्रशासन र सुरक्षासम्बन्धी निकायसँग समन्वय निरन्तर भैरहेको छ ।

प्रविधिको प्रभाव घटाउन सिङ्गापुरको स्कूल नीति बदलिँदै

सिङ्गापुर सरकारले सन् २०२६ जनवरीदेखि माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालय समयभर स्मार्टफोन र स्मार्टवाच प्रयोग गर्न नपाउने नयाँ नीति लागू गर्ने घोषणा गरेको छ । पहिले लागू भएको नियम अनुसार विद्यार्थीहरूले केवल कक्षाको समयमा मात्र स्मार्टफोन प्रयोग गर्न पाउँथे ।

शिक्षा मन्त्रालयले आइतबार घोषणा गर्दै, यो कदम विद्यार्थीहरूमा स्वस्थ स्क्रिन प्रयोग बानी प्रवद्र्धन गर्न र उनीहरूको सुधार्न उठाइएको कदम रहेको जनाएको छ । नयाँ नियम अनुसार, विद्यार्थीहरूले आफ्नो मोबाइल र स्मार्टवाचलाई विद्यालयले तोकेको सुरक्षित स्थान वा स्कुल ब्यागमा राख्नुपर्नेछ । यद्यपि, आवश्यक परेमा विद्यालयले विशेष परिस्थितिमा छुट दिन सक्नेछ ।

मन्त्रालयका अनुसार,“विद्यार्थीहरूमा अत्यधिक स्क्रिन प्रयोगले सुत्ने समय, शारीरिक गतिविधि र परिवार तथा साथीहरूसँगको सामाजिक अन्तरक्रियामा बाधा पु¥याउने देखिएको छ । यसले उनीहरूको समग्र स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ ।”

शिक्षक र अभिभावकहरूका अनुसार, यस कदमले विद्यार्थीहरूलाई बढी ध्यान केन्द्रित गर्ने, शारीरिक गतिविधिमा संलग्न हुने र सामाजिक सम्बन्धमा सुधार ल्याउने अवसर दिनेछ ।

सिरहा र धनुषा जोड्ने कमला नदीमा तत्कालका लागि अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा, १५ मङ्सिरः हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा तत्कालका लागि आवतजावतलाई सहज बनाउन अस्थायी ‘डाइभर्सन’ निर्माण हुने भएको छ ।
हुलाकी सडक निर्देशनालयअन्तर्गतको योजना कार्यालय जनकपुरले आइतबार डाइभर्सन सडक निर्माणका लागि ठेक्कासम्बन्धी सूचना प्रकाशित गरेको छ । कार्यालयका प्रमुख कृष्णकुमार महतोका अनुसार रु एक करोड २४ लाख ८५ हजारको लागतमा सिरहाको बसविट्टाघाट र कमला खोलालाई जोड्ने गरी ५५ मिटर लम्बाइ र १० मिटर चौडाइको अस्थायी ‘डाइभर्सन’ निर्माण गर्न लागिएको हो । आकस्मिक कार्यअन्तर्गत आह्वान गरिएको ठेक्काअनुसार एक महिनाभित्र काम सम्पन्न गर्नुपर्नेछ ।

यहाँ विगत १४ वर्षदेखि पक्की पुल निर्माणाधीन अवस्थामा छ । हाल स्थानीय युवाले बनाएको काठको पुल र नदीमा डुङ्गाको माध्यमबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको छ ।

यसैबीच यही मङ्सिर ५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पुलको निरीक्षणका क्रममा तत्कालै अस्थायी प्रकृतिको डाइभर्सन बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । मन्त्री घिसिङको निर्देशनपछि पुल निर्माणको जिम्मेवारी लिएको लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णुप्रसाद शर्माले मन्त्रीसमक्ष अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गरेर सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

विसं २०६८ जेठमा तीन वर्षमा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको यो पुल १४ वर्ष बितिसक्दा पनि अधुरै छ । विसं २०७८ असार १७ गते कमलाको बाढीले भाँसिएको पुलको निर्माण सम्झौता हाल नवौँपटक म्याद थपको प्रक्रियामा छ । डुङ्गाबाट नदी वारपार गर्दा ठूलो जोखिम बढेकाले पक्की पुल पुनर्निर्माण भएर सञ्चालनमा नआउञ्जेल डाइभर्सनले ठूलो राहत प्रदान गर्नेछ ।

जनताको चाहना र भावनाअनुसार काम गर्न कोशी प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री कार्की

विराटनगर, १५ मङ्सिरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको भावना र चाहनाअनुसार काम गर्न प्रदेश सरकार दृढ रहेको बताउनुभएको छ । आज उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कबर्डहलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार सकेसम्म जनभावनाअनुसार काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको हो ।

मुख्यमन्त्री कार्कीले सीमित स्रोतसाधनका बाबजुद पनि जनताका असङ्ख्य आवश्यकता पूरा गर्नुपर्ने बाध्यता प्रदेश र स्थानीय तहमा रहेको भए पनि आफूहरु दृढतका साथ जनभावना र जनचाहनालाई सम्बोधन गर्न लागिपरेको बताउनुभयो ।

थोरै बजेटले धेरै काम गर्ने बाध्यताले गर्दा कोशी प्रदेशभित्र धेरै योजना अलपत्र परेकाले यसलाई अबको दिनमा सच्याउँदै अघि बढ्नेसमेत मुख्यमन्त्री कार्कीले बताउनुभयो । कोशी प्रदेश सरकारले २०७५ सालमा पहिलोपटक बजेट निर्माण गर्दा रु ४६ अर्बको बजेट बनाएको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले तत्कालीन समयको माग र अहिलेको मागको तुलनामा अहिले जनताको माग धेरै भएको बेला प्रदेश सरकार बजेट घटेर रु ३६ अर्बमा सीमित हुँदा पनि कतिपय कामहरु सरकारले चाहेर पनि गर्न नसको बताउनुभयो ।

उहाँले दिन प्रतिदिन जनताको आवश्यकता, बाटोघाटोको माग बढ्दै गएको बेला देशको अर्थतन्त्र नै शिथिल भएर राज्यमा बजेटको आकार घट्दो क्रममा रहेकाले गर्दा समयमा जनताका माग पूरा नभएको पनि आफूहरु गम्भीर रहेकोसमेत बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले पहिला पहिला भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा होस् वा अन्य क्षेत्रमा होस् राज्यले कनिका छरेजस्तो गरी बजेट विनियोजन गर्ने क्रमको अन्त्य गर्दै अब कोशी प्रदेश सरकारले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्दै जनचाहना र जनभावनाको सम्बोधन हुनेगरी काम गर्ने बताउनुभयो ।

कोशी प्रदेश सरकारले २०७६÷०७७ सालमा रु पाँच लाख र नगरपालिकाको रु १० लाख रकम बिनियोजन गरेर निर्माण सुरु गरिएको सुन्दरपुर ब्याडमिन्टन कवडहलको गत वर्ष चौदण्डीगढी नगरपालिकाले रु ३२ लाख ८५ हजार रकम विनियोजन गरेर निर्माण सम्पन्न गरेको हो ।

उक्त नवनिर्मित सुन्दरपुर ब्याडमिन्टन कवडहलको मुख्यमन्त्री कार्कीले सोमबार उद्घाटन गर्नुभएको हो भने सोही हलमा यही मङ्सिर २० गतेबाट आयोजना हुने कोशी प्रदेश स्तरीय उपमेयर कप ब्याडमिन्टन प्रतियोगिताको समेत सोमबारै मुख्यमन्त्री कार्कीले उद्घाटन गर्नुभएको कुरा मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।

एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने

काठमाडौँ, १५ मङ्सिरः अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने भएको छ । आज बसेको बैठकले प्रतियोगिताका लागि सङ्घको विधानअनुसार क्लबका साथै इच्छुक सबै ए डिभिजन क्लबलाई टोली दर्ता गर्न खुला गर्ने निर्णय गरेको एन्फाका महासचिव किरण राईले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न भएको एक महिनाभित्र ए डिभिजन लिग आयोजना गरिने पनि उहाँले बताउनुभयो । बैठकले राष्ट्रिय लिगको आगामी एक वर्ष र सहिद स्मारक ए डिभिजन लिगको आगामी पाँच वर्षका लागि ‘मार्केटिङ’, ‘टिकेटिङ’, ‘ब्रोडकास्टिङ’, डिजिटल अधिकारको बोलपत्र आह्वान गर्ने निर्णय गरेको छ । बोलपत्रका लागि राष्ट्रिय लिगको सात दिने र सहिद स्मारक ए डिभिजन लिगको लागि १५ दिने सूचना जारी गर्ने निर्णयसमेत गरिएको एन्फाले जनाएको छ ।

फिफा फरवार्ड कार्यक्रमअन्तर्गत धुलिखेल, धनगढीमा नयाँ क्रिकेट घाँसे मैदान निर्माण गर्न र एन्फा कम्प्लेक्स सातदोबाटोको कृत्रिम घाँसे मैदान परिवर्तन गर्न फिफाबाट छनोट भएकामध्ये ‘एडेल ग्रास’लाई छनोट गर्न प्रस्ताव गर्ने निर्णय पनि बैठकले गरेको महासचिव राईले बताउनुभयो । यस्तै, ‘एएफसी इक्वेल पिच’ कार्यक्रमअन्तर्गत दशरथ रङ्गशालामा ‘हाइब्रिड’ घाँसे मैदान राख्न प्रस्ताव पेस गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

बैठकबाट एएफसीको कार्यक्रमअन्तर्गत सिन्धुपाल्चोकको मैदानमा कार्यालयसहित प्यारापिट निर्माणलगायत अत्यावश्यक संरचना निर्माण गर्न जगदम्बा मोक्तान जेभीलाई रु एक करोड २६ लाख ४८ हजार ८१५ मा ठेक्का प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले प्रयोग गर्ने पोसाक तथा खेल सामग्री खरिद सम्झौता सम्बन्धित कम्पनीसँग अक्टोबर २१, २०२६ सम्म नवीकरण गरिएको छ भने अर्को वर्षदेखि एक वर्षको लागि बोलपत्र आह्वान गर्ने पनि भएको छ ।

यसैगरी साफ महिला यु–१९ प्रतियोगिता आगामी फागुन महिनामा पोखरामा आयोजना गर्ने र महिला फ्रेन्चाइज प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ । राष्ट्रिय महिला नकआउट प्रतियोगिता उदयपुरमा, सहिद स्मारक राष्ट्रिय महिला लिगका लागि झापा, मोरङ, मकवानपुर र सुनसरी जिल्लासँग समन्वय गरी स्थान तोकिने निर्णय गरिएको एन्फाले जनाएको छ ।

थाइल्याण्डमा आगामी जनवरीमा आयोजना हुने साफ महिला तथा पुरुष फुटसल प्रतियोगिताका लागि प्रत्येक टोलीलाई रु ७२ लाख ५६ हजार ३४५ दिने गरी अनुमानित बजेट रु एक करोड ४५ लाख १२ हजार ६९० अनुमोदन गर्ने निर्णयसमेत गरिएको महासचिव राईले बताउनुभयो ।

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल

काठमाडौँ, १५ मङ्सिरः वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा सरोकारवालाबीच छलफल भएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासङ्घ, नेपाल स्वास्थ्य व्यवसायी महासङ्घ र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबीच छलफल भएको हो ।

त्यस अवसरमा मन्त्रालयका सचिव डा कृष्णहरि पुस्करले वैदेशिक रोजगार व्यवसायसँगै सेवा पनि भएकाले श्रमिकको सर्वोत्तम हितका लागि तीन तहकै सरोकारवालाबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसायमा देखापर्ने जुनसुकै सिन्डिकेट प्रवृत्ति आफूलाई स्वीकार नहुने र त्यसका विरुद्धमा निरन्तर लागिरहेको सुनाउनुभयो ।

साथै उहाँले वैदेशिक रोजगार सेवा शुल्कबारेमा छलफल गर्न तीन तहकै प्रतिनिधि र मन्त्रालयको वैदेशिक रोजगार महाशाखाको संयोजनमा छलफल समिति बनाउन आग्रह गर्नुभयो ।

स्वास्थ्य व्यवसायी महासङ्घका महासचिव कृष्णप्रसाद बजगाईँले हालसम्म सरकारले ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्न जरुरी रहेको बताउनुभयो । व्यवसायी सङ्घका महासचिव महेशकुमार बस्नेतले स्वास्थ्यका नाममा एक प्रकारको सिन्डिकेट देखिएको बताउनुभयो । अभिमुखीकरण व्यवसायी महासङ्घका अध्यक्ष राजाराम गौतमले पछिल्लो समय प्रविधिमैत्री तालिम सुविधा वृद्धि गर्ने कार्य भइरहेको र अनुभवी प्रशिक्षणसमेत सहभागिता बढ्न थालेको प्रगति समीक्षा प्रस्तुत गर्नुभएको थियो ।

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ, १५ मङ्सिरः नेकपा (एमाले)ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको नियमित काम सुरु गरेको छ । मर्मतसम्भार गरी पुरानै भवनबाट पार्टीको काम सुरु गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

“पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिवको कार्यकक्ष मर्मत गरी बस्नु थाल्नुभएको छ”, उहाँले भन्नुभयो, “पार्टीका सबै कामकारबाही पुरानै भवनबाट सुरु गरिएको छ ।”
पार्टी महासचिव शङ्कर पोखरेल पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नै कार्यकक्षबाट सुरु गर्नुभएको छ । आगजनी र तोडफोड भएपछि एमाले कार्यालय टेन्ट टाँगेर सञ्चालन गरिएको थियो ।

कार्यालय सचिव डा अधिकारीले केन्द्रीय कमिटी बैठक सभाहल र अन्य साना केही कोठामात्र मर्मत गर्न बाँकी रहेको बताउनुभयो । गत भदौ २४ गते भएको जेनजीको आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति भएको पार्टी कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने भनेपछि मर्मत गरिएको हो ।

गत भदौ २४ गते भएको जेनजीको आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालयसहित देशभर ६४ पार्टी कार्यालयमा तोडफोड र १५८ भन्दा बढी नेता तथा कार्यकर्ताका निजी घर र व्यवसायसमेत क्षतिग्रस्त भएका थिए ।

विदेश पठाउने भन्दै १४ करोड १३ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, १५ मङ्सिरः वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु १४ करोड १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने ५२ वर्षीय शम्भु दयाल अग्रवाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेका शम्भुले विभिन्न देश पठाइदिने भन्दै पीडितहरूबाट रु १४ करोड १३ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा हिजो आइतबार पक्राउ गरिएको हो ।” निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो ।

जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीन जना पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ कलङ्कीका २८ वर्षीय रसिल जोशी, दार्चुला घर भई काठमाडौँको सुन्धारा बस्ने १९ वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर र काठमाडौँ बाफलका ३१ वर्षीय विराटप्रसाद जोशी छन् ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले आन्दोलनका क्रममा प्रहरीका हतियार लुटपाट गरी लुकाइराखेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेकासँग नेपाल प्रहरी लेखिएको पेस्तोल एक थान र विभिन्न कम्पनीका मोबाइल दुई थान बरामद गरेको छ । पक्राउ रसिल जोशी लागुऔषध मुद्दामा प्रहरी वृत्त स्वयम्भुमा थुनामा रहेको अवस्थामा जेनजी आन्दोलनको मौका छोपेर भागेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता आचार्यले बताउनुभयो ।

पक्राउ परेका तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको सो कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस

काठमाडौँ – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो परिचय पत्र आमा, बुबा, श्रीमान्, श्रीमती र अविवाहित छोरा, छोरीलाई दिइने छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनमा मृत्यु भई सहिद घोषणा गरेका परिवारलाई गृह मन्त्रालयले तस्बिरसहितको परिचयपत्र दिने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । यस्तै, प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’का रूपमा मनाउने निर्णयसमेत गरिएको उहाँले बताउनुभयो ।

बैठकले आगामी माघ १ गतेदेखि एकपटकमा रु पाँच लाख वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने निर्णय पनि गरेको छ । यसैगरी श्रीलङ्कामा भीषण बाढीपहिरोले क्षति गरेकाले नेपाल सरकारले सहायतास्वरुप दुई लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरिएको प्रवक्ता खरेलले बताउनुभयो ।

यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा ज्ञानबहादुर थापा, प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय भएको छ । कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने निर्णय पनि गरिएको छ ।

राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा वैकुण्ठप्रसाद अर्याललाई बढुवा गरिएको छ । मन्त्रिपरिषद्का अन्य निर्णय मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा जानकारी गराइने पनि मन्त्री खरेलले बताउनुभयो ।

अबको महाधिवेशन नेतृत्व चयनको महाधिवेशनः उपमहासचिव गुरुङ

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ११ औँ राष्ट्रिय महाधिवेशन नेतृत्व चयनको महाधिवेशन हुने बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले नीति महाधिवेशन सम्पन्न गरिसकेकाले अब नेतृत्व चयनको महाधिवेशन हुने बताउनुभयो ।

उपमहासचिव गुरुङले पार्टी र पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता पक्षमा उभिएकाले केही विमति भए पनि राष्ट्रिय स्वाधीनताको पहलेदार भने पक्कै रहेको बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनको मुद्दा र राष्ट्रिय स्वाधीनताको मुद्दा बोक्ने नेता ओलीलाई नै फेरि पनि पार्टी नेतृत्वमा लैजानुपर्ने बताउनुभयो ।

जनताको बहुदलीय जनवाद (जबज)को उत्तरअधिकारी कुनै परिवारको सदस्य नभई पार्टी अध्यक्षको हैसियतले ओली नै रहेको गुरुङको भनाइ थियो । “जबज भनेर हिँडेका मान्छे धेरै थिए । ती चुनाव हार्दै पार्टी छोड्दै हिँडे । त्यही भएर उनीहरु कोही पनि जबजको उत्तराधिकारी होइनन्”, उहाँले भन्नुभयो, “जबजको व्याख्या र कार्यान्वयन गर्ने व्यक्ति केपी शर्मा ओली नै हुनुहुन्छ ।”

कार्यक्रममा एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले लेख्नुभएको ‘जनताको बहुदलीय जनवादका आधारहरू’ पुस्तक विमोचन गरिएको छ । नेता गौतमले पुस्तकमा मदन भण्डारीसँग आफूले काम गरेको अनुभव पुस्तकमा लेखेको बताउनुभयो ।

इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो

इन्डोनेशियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको विनाशकारी बाढी र पहिरोले मृत्यु हुनेको सङ्ख्या ५०२ पुगेको छ भने ५०८ जना अझै बेपत्ता रहेको इन्डोनेशियाको राष्ट्रिय दैवी प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ ।

निकायका अनुसार उद्धार कार्य प्रभावित क्षेत्रमा तीव्र गतिमा जारी रहेको छ । उत्तर सुमात्रा, पश्चिम सुमात्रा र अचेह प्रान्तमा आएको बाढीका कारण झण्डै पाँच लाख ५० हजार मानिस विस्थापित भएको उल्लेख गरिएको छ ।

सडक अवरुद्ध हुनुका साथै सञ्चार अवरुद्ध भएकाले केही प्रभावित क्षेत्रमा पुग्न मुस्किल परेको र बचाउ तथा राहत सामग्री मुख्य रूपमा हवाई माध्यमबाट पु¥याइनुपर्ने अवस्था रहेको निकायले जनाएको छ ।

सोमबार इन्डोनेशियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले सरकारका उद्धार तथा राहत प्रयासहरू पूर्ण क्षमतासहित अघि बढाइएको बताउनुभयो ।

उहाँले इन्डोनेशियाले जलवायु परिवर्तनका चुनौतीहरूलाई प्रभावकारी रूपमा सामना गर्नुपर्ने र स्थानीय सरकारहरूले वातावरण संरक्षण तथा आगामी चरम मौसमी घटनाका तयारीमा अझ ठूलो भूमिका खेल्नुपर्ने आवश्यकता जोड दिनुभयो ।

पोखरामा आइटिएफ टेनिस सुरु, १६ देशका ८० खेलाडी प्रतिस्पर्धा गर्दै

कास्की, १५ मङ्सिरः पर्यटकन राजधानी पोखरामा आजदेखि ‘आइटिएफ जे ३० टेनिस’ को प्रतियोगिता सुरु भएको छ । पोखरा रङ्गशालाको टेनिस सेन्टरमा सुरु प्रतियोगिता अन्तरराष्ट्रिय टेनिस महासङ्घद्वारा स्वीकृतप्राप्त ‘आइटिएफ जे ३० टेनिस टुर पोखरा’को आठौँ संस्करण हो । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा सञ्चालन भएको प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म चल्नेछ । प्रतियोगितामा १६ देशका ८० खेलाडीहरुको सहभागिता छ । जसमा पुरुषतर्फ ५५ र महिलातर्फ २५ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बङ्गलादेश र क्यानाडका खेलाडी सहभागी छन् । यसैगरी अस्ट्रेलिया, कोरिया, बेलायत, सिङ्गापुर, मलेसिया, श्रीलङ्का, इजरायल र हङकङका खेलाडीहरुले समेत उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा १३ वर्षदेखि १८ वर्ष उमेर समूहमा हुने प्रतिष्पर्धाका विजेताले समान ३० अङ्क, उपविजेताले १८ अङ्क, सेमिफाइनलिष्टले नौ अङ्क, क्वाटरफाइनालिष्टले पाँँच र आर–१६ ले दुई अङ्क प्राप्त गर्नेछन् । त्यस्तै ‘डबल्स’मा विजेताले २५ अङ्क उपविजेताले १३ अङ्क, सेमिफाइनालिष्टले छ अङ्क, क्वाटरफाइनालिष्टले तीन अङ्क प्राप्त गर्ने प्रतियोगिता संयोजक अजय विष्टले जानकारी दिनुभयो ।

प्रतियोगितामा ‘ब्वाइज सिङ्गल्स’ तथा ‘डबल्स’÷‘गल्र्स सिङ्गल्स तथा डबल्स’ गरी चार विधामा सञ्चालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाणपत्रसहित पदक प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन गर्दै नेपाल पयर्टन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले प्रतियोगिताले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले पोखरा पर्यटनको राजधानी मात्र नभई खेलकुदको समेत ‘हव’ भएको उल्लेख गर्नुभयो ।

“प्रतियोगिताले पोखरालाई खेलकुदको हवको रुपमा चिनाउन मात्रै नभई खेलकुदमार्फत पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको छ । पोखरालाई खेलकुदमार्फत चिनाउन टेनिसको महत्वपूर्ण भूमिका भएकोले पर्यटन बोर्ड सहकार्य गर्दै अघि बढेको छ”, उहाँले भन्नुभयो ।

आयोजक कास्की टेनिस सङ्घका अध्यक्ष राजकुमार गुरूङले आठौँ सस्करणको यात्रामा प्रतियोगिता अझै प्रभावकारी बन्दै गएको बताउँदै मुलुकको विषम परिस्थितिमा समेत १६ देशका खेलाडीहरुको सहभागिता हुनु गर्वको विषय रहेको उल्लेख गर्नुभयो ।कास्की टेनिसका सचिव भीष्मराज पौडेलले प्रतियोगिताको सफल व्यवस्थापनकै कारण पोखरामा आएर खेल्न खेलाडीहरु उत्साहित रहेको उल्लेख गर्नुभयो ।

अमेरिकी सवारीसाधन बिक्रीमा तीव्र गिरावट

उच्च भन्सार शुल्क, बढ्दो महँगी र रोजगारी सङ्कुचनका कारण अमेरिकी नागरिकहरूले सवारीसाधन किन्ने योजना परिमार्जन गर्न थालेका छन् । एक अमेरिकी पत्रिकाका अनुसार, ग्राहक साना र प्रयोग भएका सवारीमा बढी रुचि देखाइरहेका छन् ।

यसै क्रममा, अमेरिकामा विद्युतीय सवारीसाधन बजारमा ठूलो गिरावट आएको छ । गत मार्चमा विद्युतीय सवारी खरिदमा प्रदान हुने कर छुट समाप्त भएपछि हजारौँ सम्भावित खरिदकर्ताहरूले खरीद रद्द गरेका थिए, जसले उद्योगमा थप दबाब सिर्जना गरेको छ ।

अमेरिकी प्रशासनले यस वर्ष फेब्रुअरीमा आयातित सवारीसाधनमा २५ प्रतिशत र मार्चमा सवारी पाट्र्समा थप २५ प्रतिशत भन्सार शुल्क लगाएको थियो । यसका कारण आयातित मात्र नभई स्वदेशमै बनेका सवारीसाधन पनि महँगा भएको समाचारमा उल्लेख छ ।

फेडेरल रिजर्भको पछिल्लो बेइज पुस्तक अनुसार, जुलाईको सुरुदेखि अगस्तको मध्यसम्म अमेरिकी उपभोक्ता खर्च निरन्तर घटेको देखिन्छ । साथै, मिशिगन विश्वविद्यालयले सार्वजनिक गरेको सूचकाङ्कले धेरै अमेरिकी नागरिकहरू रोजगारका अवसरप्रति निराश रहेको र बढ्दो महँगीका कारण खर्च कटौती गर्न बाध्य भएको निष्कर्ष निकालेको छ ।

नारायणगढ–गैँडाकोट जोड्ने आइकोनिक पुल निर्माण सुरु

नारायणगढ (चितवन) – मुलुकको पूर्वपश्चिम जोड्ने प्रमुख व्यापारिक नाका नारायणगढस्थित नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माण सुरु भएको छ । चितवनको नारायणगढ र नवलपुरको गैँडाकोट जोड्ने हालको पुलसँगै नयाँ पुल निर्माण सुरु गरिएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इ नारायणप्रसाद लामिछानेका अनुसार निर्माणाधीन पुलको काम निरन्तर अघि बढिरहेको छ । पुलको निर्माण डिजाइन एण्ड बिल्ड प्रणालीअन्तर्गत भइरहेको छ ।

निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनादेखि फिल्डमा काम सुरु गरिसकेको छ । विसं २०८० जेठ १९ गते ठेक्का सम्झौतापछि निर्माण कम्पनीले पुलको अन्तिम डिजाइन तयार गरी प्रमाणीकरण गराइसकेको प्रमुख लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले समयमै डिजाइन पूरा गरी प्रमाणीकरण पनि भइसकेको छ, सोही आधारमा अहिले जग खन्ने र फाउन्डेसन निर्माण अघि बढाइएको छ ।” लामिछानेका अनुसार यो पुल केबल–स्टेड शैलीको आधुनिक संरचना हो । पुलको मुख्य टावरबाट तानिएका ठूला स्टिल केबलहरूले पुललाई थाम्ने भएकाले यो संरचना बलियो, सुरक्षित, सौन्दर्यपूर्ण र पहिचानमूलक हुने बताइएको छ । हाल नदीमा डाइभर्सन निर्माण गरी पुलको फाउन्डेसन निर्माण गर्नुपर्ने स्थानहरूमा आवश्यक स्पेस तयार गर्ने काम भइरहेको छ ।

उक्त आयोजनाका व्यवस्थापक इ मञ्जिल मिश्रका अनुसार बर्खा सुरु हुनुअघि नै फाउण्डेसनको काम सक्नेगरी काम भइरहेको छ । प्रारम्भिक चरणमा टेस्ट पाइल पनि अघि बढिरहेको छ ।

चालु आर्थिक वर्षभित्र फाउन्डेसन तथा पाइलिङ सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुल निर्माणको अवधि चार वर्ष भए पनि हाल डेढ वर्ष जति समय बाँकी छ । हाल निर्माणको म्याद थपको प्रक्रिया पनि अघि बढिसकेको जानकारी उहाँले दिनुभयो ।

इ मिश्रका अनुसार ‘सिग्नेचर’ पुलमा नदीतर्फ दुई र दायाँबायाँ गरी चारवटा पिलर रहनेछन् । नारायणगढतर्फ दुई महिनाभित्र पाइलिङ सकेर गैँडाकोटतर्फ अर्को महिनादेखि सुरु गरिने छ । यस वर्ष फाउन्डेसन तथा केही सब–स्ट्रक्चरका कामहरू सुरु गरिने मिश्रको भनाइ छ ।

सडक विभागले पुल निर्माणका लागि सन् २०२३ मा ठेक्का लगाएको थियो । नारायणी नदीमा रहेको अहिलेको पुलको समानान्तर निर्माण गरिँदै गरेको नयाँ पुलको लम्बाइ ४२० मिटर र चौडाइ १२ मिटर हुनेछ ।

आइकोनिक केबल–स्टेड पुलअन्तर्गत आर्चब्रिज, केबल नेटवर्किङ आर्च, सस्पेन्सनलगायतका संरचनात्मक प्रविधिहरू समावेश हुनेछन् । पुल रु एक अर्ब ६८ करोड लागतमा निर्माण हुनेछ । नयाँ पुलको आयु कम्तीमा १०० वर्ष रहने बताइएको छ । हाल रहेको पुल विसं २०३८ मा निर्माण भएको हो र यसको आयु ७० वर्ष तोकिएको थियो ।

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्सद्वारा डेढ करोड सहयोग

काठमाडौँ – ‘जेनजी’ प्रदर्शनीका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणका लागि नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रु एक करोड ५० लाखको सहयोग प्रदान गरेको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आज कम्पनीका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल सङ्घई, सञ्चालक कमलेशकुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा उक्त रकमको भौचर अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गर्नुभएको हो ।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनःरुत्थान तथा राहतलगायत कार्यका लागि उक्त कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा उक्त रकम योगदान गरिएको जनाएको छ ।

हालसम्म कोषमा रु ११ करोड ८२ लाख जम्मा भएको पनि अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ: मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताउनुभएको छ ।

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ हेटौँडामा आयोजित ‘एक स्वस्थ्य सहर, एक स्थानीय तहमा एक नमूना स्वास्थ्य संस्था’ का लागि प्रदेश स्वास्थ्य सहजकर्तालगायतको पैरवी, समन्वय र अन्तरक्रिया कार्यक्रममा उहाँले नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर काम भइरहेको बताउनुभएको हो ।

मुख्यमन्त्री बानियाँले नागरिक स्वस्थ्य भए मात्र समाज र राष्ट्र स्वस्थ्य हुने भन्दै स्वास्थ्य सेवालाई प्रभावकारी बढाउन प्रदेश सरकारले स्वास्थ्य नीति बनाएर काम गरिरहेको बताउनुभयो । प्रदेश सरकारले यहाँ ‘एक जिल्ला एक स्वस्थ्य सहर’ कार्यक्रम सञ्चालन गर्न लागेको छ । प्रदेश सरकारले स्वास्थ्य सेवा क्षेत्रलाई विशेष प्राथमिकता दिएर ‘एक जिल्ला एक स्वस्थ सहर’, ‘एक स्थानीय तह एक नमूना सहर’, ‘एक विद्यालय एक नर्स’ तथा स्वास्थ्य बिमालगायत कार्यक्रम अघि बढाएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले गुणस्तरीय सेवामार्फत स्वस्थ्य प्रदेश बनाउन क्यान्सर, हृदयरोग तथा डायलासिस सेवालाई बिस्तार गरिएको उल्लेख गर्नुभयो ।

प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले स्वास्थ्य क्षेत्रमा सुधार गर्न सर्ने र नसर्ने दुवै प्रकृतिका रोग नियन्त्रणका लागि ठोस योजना बनाएर काम भइरहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका पालिका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिको सहभागिता रहेको स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले जानकारी दिनुभयो ।

दाङमा ४७१ जना एचआइभी सङ्क्रमितले सेवा दिँदै

देउखुरी (दाङ) – दाङमा ४७१ जना एचआइभी एड्सका बिरामीले उपचार गराइरहेका छन् । ३८औँ विश्व एड्स दिवस २०२५ का अवसरमा स्वास्थ्य कार्यालय दाङको आयोजनामा तथा नेपाल परिवार नियोजन सङ्घ दाङ शाखा, दाङ प्लस, नागार्जुन डेभलपमेन्ट कम्युनिटी, घोराही उपमहानगरपालिका र सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को सहआयोजनामा भएको सचेतनासम्बन्धी कार्यक्रमका उक्त जानकारी दिइएको छ ।

कार्यक्रममा सहभागीले एचआइभी एड्सको सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य सचेतनासँगै सावधानी आवश्यक रहेकोमा जोड दिनुभएको थियो । नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाका प्रबन्धक वसन्त खनालले जिल्लामा हाल ४७१ जना एचआइभी सङ्क्रमितले उपचार सेवामा लिइरहेको बताउनुभयो । जसमा २२७ पुरुष, २३६ महिला, आठ जना यौनिक अल्पसङ्ख्यक र १८ बालबालिका उहाँको भनाइ छ ।

जिल्लामा एआरटी सेवा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमार्फत सेवा दिइँदै आइएको छ । स्वास्थ्य कार्यालय दाङ, स्थानीय तह र समुदायमा आधारित स्वास्थ्य संस्थाहरुले समुदायमै पुगेर परीक्षण, परामर्श, जोखिम पहिचान, कण्डम वितरण, सुई÷सिरिञ्ज कार्यक्रम, स्वास्थ्य शिक्षा तथा व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गर्दै आइएको छ ।

स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख मेघराज आचार्यले यससम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको बताउनुभयो । घोराही उपमहानगरपालिका, स्वास्थ्य शाखा प्रमुख राधा पौडेल, स्वास्थ्य कार्यालयका कुन्दन ठाकुरलगायतले एचआइभी रोकथामका लागि सबै सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो ।

वामपन्थी शक्तिहरु एक भएर जानुपर्छ – प्रचण्ड

विराटनगर – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको आत्मसम्मान र स्वाधीताका निम्ति वामपन्थीहरु एक हुनुपर्ने बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टी केशी प्रदेशद्वारा आज विराटनगरमा आयोजित ‘पार्टी एकता सन्देश सभा’लाई सम्बोधन गर्दै उहाँले मुलुक अहिले सङ्कटमा रहेको र नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्न नेपाली सेना र नेपाल प्रहरीले मात्र गर्न नसक्ने भन्दै सम्राज्यवादलाई परास्त गर्न सबै नेपाली फौजी जस्तो बन्नुपर्ने धारणा राख्नुभयो ।

संयोजक दाहालले संस्थालाई जोगाउन राष्ट्रपति रामचन्द्र पौडेललाई अन्तरिम सरकार बनाउन आफूहरुले पनि सहमति दिएको बताउनुभयो । उहाँले आफूहरुलाई सच्चिनका लागि जेनजी आन्दोलनले सचेत बनाएको प्रसङ्ग उल्लेख गर्दै नेपालमा दलहरुले एकता र विभाजनको पीडा भोगिसकेको स्मरण गराउनुभयो । जेनजी आन्दोलनबाट उठेका मागलाई सम्बोधन गर्न, नेपाली जनतालाई बलियो बनाउन, सुशासन र भ्रष्टाचारलाई नियन्त्रण गर्न १६ वटा कम्युनिष्ट पार्टीहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको उहाँको भनाइ थियो । उहाँले सरकारले तोकिएकै समयमा निष्पक्ष, धाधलीरहित, स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण तयार गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालीको पहिचान र स्वाधीनतालाई रक्षा गर्न वामपन्थीहरु एक भएको बताउनुभयो । उहाँले कम्युनिष्टहरुको क्रान्तिकारी चरित्र जोगाउन पार्टीहरुलाई एकीकरण गरेको धारणा राख्दै नेपाली सभ्यता, संस्कृति, सामाजिक न्याय र समानुपाति प्रणालीलाई जोगाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

उक्त पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विभिन्न समयमा कम्युनिष्टहरुको सरकार बने पनि नेपाली जनताको सर्वोच्च हितमा काम गर्न नसकेको धारणा राख्दै आफ्नो पार्टीले निर्वाचनबाट बहुमत ल्याउन सक्यो भने भूमि सुधार आयोग, कृषिमा आधुनिकीकरण, औद्योगिकीकरण गरी रोजगार सृजना गर्नेमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेता नारायणकाजी श्रेष्ठले सङ्घीयतालाई रक्षा गर्न, सुदृढीकरण गर्न र संविधानमा रहेका कमीकमजोरीलाई परिमार्जन गर्न आफ्नो पार्टी दृढ सङ्कल्पित रहेको बताउनुभयो ।

नेता डा भीम रावलले मुलुकमा समृद्धि र आर्थिक विकासमा आफ्नो पार्टी प्रतिबद्ध रहेको चर्चा गर्नुभयो । पार्टी एकता सन्देशसभाका संयोजक हरिबोल गजुरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टीमा आबद्ध सरिता थापा, गोपाल किराँती, राजेन्द्र श्रेष्ठ र रुपेश खतिवडालगायतले बोल्नुभएको थियो ।

चीनद्वारा नयाँ ‘शिजियान–२८’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

दक्षिण चीनको हैनान प्रान्तस्थित वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चीनले आइतबार नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ।लङ मार्च–७ रकेटले ‘शिजियान–२८ उपग्रह’ बोकेर सन् २०२५ नोभेम्बर ३० का दिन साँझ ८:२० बजे (बेइजिङ समय) प्रक्षेपण गरिएको हो।

‘शिजियान–२८ उपग्रह’ चीनद्वारा विकसित गरिएको एक प्रायोगिक तथा प्राविधिक परीक्षण गर्ने प्रकारको उपग्रह हो, जसको मुख्य उद्देश्य नयाँ अन्तरिक्ष प्रविधि, उपकरण, संचार प्रणाली र वैज्ञानिक उपकरणहरूको कार्यक्षमता जाँच्ने तथा सुधार गर्ने हो। यस उपग्रहलाई उन्नत परीक्षण प्लेटफर्मका रूपमा प्रयोग गरिन्छ, जहाँ भविष्यका ठूला अन्तरिक्ष परियोजनामा आवश्यक तकनीकहरू (जस्तै उर्जाको दक्षता, डाटा सञ्चार र सेन्सरहरूको कार्य परीक्षण—गरिन्छ।)

उपग्रहले प्रक्षेपणपछि आफ्नो पूर्वनिर्धारित कक्षा सफलतापूर्वक प्राप्त गरेको चीनले जानकारी दिएको छ।यससँगै लङ मार्च श्रृंखलाका वाहक रकेटको यो ६११औँ उडान मिशन भएको पनि सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

नोभेम्बरमा एक लाख १६ हजार विदेशी पर्यटक नेपाल भित्रिए,सबैभन्दा बढी भारतबाट

काठमाडौँ, १५ मङ्सिरः सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो ।

जसमा नोभेम्बरमा मात्रै सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् । त्यसैगरी क्रमशः संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट सात हजार ८७१, बेलायतबाट सात हजार १८९, बङ्गलादेशबाट पाँच हजार ६५३, अष्ट्रेलियाबाट पाँच हजार ३९३, श्रीलङ्काबाट चार हजार ८३१, म्यानमारबाट चार हजार ४८४, फ्रान्सबाट चार हजार २११ र जर्मनीबाट चार हजार १३४ पर्यटक भित्रिएका हुन् ।

क्षेत्रगत रुपमा दक्षिण एसियाली मुलुकबाट ३० हजार ८७०, एसियाली अन्य मुलुकबाट २८ हजार ६१३, युरोपबाट पाँच हजार ८९१, अमेरिकाबाट १३ हजार ६७८, मध्य पूर्वी मुलुकबाट एक हजार ८०२, अफ्रिकाबाट ४१२ र अन्य मुलुकबाट छ हजार २६९ पर्यटक भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजार २६९ पर्यटक भित्रिएका छन् । यस वर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो महिनालाई मुख्य पर्यटकीय याम मानिन्छ ।सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए ।

ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार

म्याग्दी, १५ मङसिर : म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन् ।

सिमेन्ट बोकेर भैरहवादेखि दरवाङ जाँदै गरेको ग २ ख ०८४० नं को ट्रक फापरखेत पहिरोको घुमाउरो र साँघुरो सडकबाट आज बिहान करिब २ः३० बजेको समयमा ६० मिटर तल म्याग्दी नदीमा खसेको थियो । ट्रकसहित चालक पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखराका ३४ वर्षीय गोविन्दबहादुर खाम्चा म्याग्दी नदीमा खस्नुभएको थियो ।

प्रहरी निरीक्षक सागर तिमिल्सिना र सिङ्गा तातोपानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिवाकर सुवेदीको १३ जना प्रहरीको टोलीले म्याग्दी नदीको पानीमा खसेको ट्रकभित्र रहेका चालक खाम्चालाई उद्धार गरेको हो । निधारमा चोट र शरीरको विभिन्न भाग ददारिएको अवस्थामा उद्धार गरिएका चालक खाम्चाको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार चालकको अवस्था खतरामुक्त छ । नदीभित्र रहेको ट्रक निकाल्ने प्रयास भइरहेको छ । प्रहरीका अनुसार ट्रकमा तीन सय ४० बोरा सिमेन्ट थिए । केही बोरा नदीमा खसेको र केही बोरा भिरमा अड्किएको छ ।

फापरखेतको पहिरोले बर्खायाममा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक दैनिकजसो अवरुद्ध बनाउने र अन्य समयमा दुर्घटनाको जोखिम बनाएको छ । उक्त ठाउँमा गत असोजमा पनि सिमेन्ट बोकेको ट्रक सडकबाट खसेको थियो ।

सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

ढोरपाटन (बागलुङ), १५ मङ्सिर : तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ । सडकको बुर्तिबाङ–फल्लेघरसम्मको करिब २२ किलोमिटर सडक ग्राभेलका लागि चार वर्ष अगाडि स्वच्छन्द/ओमबुद्ध जेबी काठमाडौँले जिम्मा पाएको थियो ।

विसं २०८० वैशाखका ग्राभेल गरिसक्नुपर्ने भए पनि अहिलेसम्म जम्मा ६१ प्रतिशत मात्रै काम सकिएको छ । ३० महिनामा सक्नेगरी विसं २०७८ कात्तिक ५ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले अहिले तेस्रो पटक म्याद थप गरेर काम गरिरहेको छ ।

उक्त म्याद पनि आगामी विसं २०८३ जेठसम्म रहेको छ । रु २५ करोड ६१ लाख ३१ हजार १६६ मा उक्त खण्ड स्तरोन्नति भइरहेको सालझण्डी–ढोरपाटन सडक आयोजनाका सचना अधिकारी कृष्टिना थापाले जानाकारी दिनुभयो । अहिले सडक फराकिलो बनाउने, नाली निर्माणसहित ग्राभेलको काम भइरहेको उहाँको भनाइ छ । केही समयदेखि निर्माण कम्पनीले धमाधम काम गरिरहेको थापाले बताउनुभयो । यो अन्तिम म्याद रहेको उहाँ बताउनुहुन्छ । आगामी जेठसम्म नसके अर्को प्रक्रियामा जाने थापाको भनाइ छ । निर्माण कम्पनीले अहिलेकै गतिमा काम गरे जेठसम्म काम सक्ने उहाँ बताउनुहुन्छ ।

“लामो समय काम नहुँदा सडक अलपत्र परेको थियो, अहिले निर्माण कम्पनीले मेसिन र कामदार लगाएर काम गरिरहेको छ, सुरुबाटै काम गरेको भए एक वर्ष अगाडिनै सकिनुपर्ने हो, तर काम भएन,” उहाँले भन्नुभयो, “अहिलेको गतिमा काम भए त यो म्यादभित्र काम सकिन समस्या छैन, आशा गरौँ काम सकिएला ।”

स्वच्छन्द÷ओमबुद्ध जेबीका प्रतिनिधि डालबहादुर कुँवरले आगामी जेठ महिनासम्म काम सक्ने गरी तीव्र गतिमा भइरहेको बताउनुभयो । अहिले सडकका विभिन्न खण्डमा छ वटा ठूला मेसिनसहित कामदार लगाएको उहाँको भनाइ छ । पुस र माघ महिनामा धेरै चिसो हुने हुँदा अहिलेनै अलि बढी काम सक्नुपर्ने बाध्यता रहेको कुँवरले सुनाउनुभयो । गत मङ्सिरदेखि यस खण्डमा कामले गति लिएको हो ।

विसं २०६८ मा रूपन्देहीदेखि सुरु भएको यस सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पाहुँदै ढोरपाटन जोडिएको छ । रूपन्देहीमा, अर्घाखाँची, पाल्पा र गुल्मी जिल्लामा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षा अनुसार काम हुन नसकेको हो । यतिका समयसम्म काम सम्पन्न हुनहुँदा हिउँदमा हिलो र बर्खामा धुलोले स्थानीय र ढोरपाटन आउन पर्यटकले सास्ती खेप्नु परेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बताउनुभयो । पछिल्लो समय ढोरपाटनमा आउने पर्यटकको चाप बढेको भन्दै सडकको दुरावस्थाका कारण दुःख पाउनु परेको उहाँको भनाइ छ ।

उपप्रमुख कायतले भन्नुभयो, “बुर्तिबाङ–ढोरपाटन लामो समयसम्म स्तरोन्नति नहुँदा हजारौँ स्थानीय र पर्यटकले दुःख पाएका छन्, अहिले निर्माण कम्पनीले काम सक्ला भन्ने छ, काम गरिरहेको हुँदा आशा पलाएको छ, यो ढोरपाटनमा उत्पादन भएका वस्तु बजारीकरण गर्ने मुख्य सडक हो, बर्खामा यात्रा गर्न निकै कठिन छ, हिउँदमा पनि त्यत्ति सहज छैन ।”

फल्लेघरदेखि देउरालीसम्म कालोपत्र गरिने

बुर्तिबाङ–ढोरपाटन खण्डकै फल्लेघर–देउराली सडक कालोपत्रका लागि काम सुरु भएको छ । सालझण्डी–ढोरपाटन सडक आयोजनाले गत असार २७ गते ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको हो । यस खण्ड सुरुमा ट्र्याक खुलेदेखि अहिलेसम्म स्तरोन्नतिनै भएको छैन ।

रु १६ करोड ४८ लाख २६ हजार २२८ लागतमा दुई वर्षमा सक्ने गरी काम सुरु भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयले जनाएको छ । सडक कालोपत्रका लागि पिटीआर अधिकारी कन्स्ट्रक्सनले जिम्मा पाएको सूचना अधिकारी कृष्टिना थापा बताउनुहुन्छ । तीन किलोमिटर सडक साह्रै साँघुरो हुँदा यात्रासमेत जाखिमपूर्ण हुने गरेको उहाँको भनाइ छ । अहिले सडक फराकिलो, नाली निर्माणको काम हुन थालेको थापाले बताउनुभयो ।

एनपिएल : आज विश्राम,भोलि दुई खेल हुने

काठमाडौँ १५ मङ्सिर : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ । चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ ।

दुबै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ । चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ । कर्णालीका लागि भने यो खेल गर या मरको अवस्थामा छ ।
मङ्सिर १ गतेदेखि सुरू प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन् । अपराजित सुदूरपश्चिम रोयल्स मात्रै १० अङ्क जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौँ, १५ मङ्सिर : भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ ।

विभागले यही मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो । यसअघि विभागले गत असोज १३ गते सूचना प्रकाशित गर्दै आवेदनका लागि सार्वजनिक आह्वान गरेको थियो ।

घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने मालपोत ऐन, २०३४ मा भएको व्यवस्था बमोजिम सरकारले राजपत्रमा सूचना प्रकाशित गरी घरजग्गा कारोबार गर्ने कम्पनीका हकमा कार्यक्षेत्र समेत तोकेको थियो । विभागले पहिलो चरणमा महानगरपालिका र उपमहानगरपालिकालाई कार्यक्षेत्रका रुपमा परिभाषित गरेको थियो ।

एक पटकमा रु तीन करोड भन्दा बढीको कारोबार गर्ने इच्छुक फर्म, कम्पनी वा संस्थाले आवेदन दिन सकिने प्रबन्ध गरेको थियो । घरजग्गाको व्यवसायलाई पारदर्शी, मर्यादित एवम् वैज्ञानिक बनाउने उद्देश्यका साथ कारोबारलाई व्यवस्थित गर्न लागेको जनाइएको छ ।

विभागले गत शुक्रबारदेखि लागू हुने गरी आवेदनको म्याद थप गरिएको जनाएको हो । विभागले पहिलो चरणमा छ वटा महानगर र ११ उपमहानगपालिकामा घर जग्गा कारोबारलाई व्यवस्थित बनाउने उद्देश्यका साथ कम्पनी दर्ताको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रकाशित सूचनाअनुसार न्यून सङ्ख्यामा आवेदन परेकाले म्याद थप गरिएको हो ।

विभागका अनुसार गत कात्तिकमा घरजग्गा कारोबारबाट रु दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ बराबरको राजस्व सङ्कलन भएको थियो । त्यसैगरी सेवा कर रु २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिष्टे«शन शुल्क रु एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४, पूँजीगत लाभकर रु ९९ करोड ७८ लाख ४४ हजार ३९२ बराबर सङ्कलन भएको थियो ।