`

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन

लुम्बिनी, ९ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नेगरी तयारीका साथ काम गर्न निर्देशन दिएकी छिन् ।

निर्वाचन तयारी सन्दर्भमा आज लुम्बिनी प्रदेशको अवस्थाका बारेमा जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु सबैको जिम्मेवारी भएकाले यसमा सबै जिम्मेवार बन्न निर्देशन दिएको बैठक पछि लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले जानकारी गराए ।

प्रधानमन्त्री कार्कीसहित आज बिहान मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलमा आयोजित प्रदेशस्तरीय एकीकृत सुरक्षा बैठकमा समग्र प्रदेशको निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे जानकारी दिएको प्रदेश सरकारका प्रमुख सचिव काप्रीले जानकारी दिए ।

जिल्लास्थित सुरक्षा समितिले जिल्लाको चुनौतीका अवस्था पहिचान गरेर त्यसैअनुरुपको सुरक्षा रणनीति बनाएर अघि बढ्न प्रधानमन्त्रीबाट निर्देशन भएको प्रदेश सरकारका प्रमुख सचिव काप्रीले जानकारी दिए ।

जिल्लागत रुपमा मतदानस्थललाई चुनौती पहिचान गरी तिनलाई वर्गीकरण गरेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहितको एकीकृत सुरक्षा योजनाअनुरुप अघि बढ्न निर्देशन दिएको प्रमुख सचिव काप्रीले बताए ।

प्रदेशका १२ वटै जिल्लामा तयारी, प्रदेशमा गठन भएको निर्वाचन कमाण्ड सेलसँग संवाद गरेर निर्वाचन निष्पक्ष र शान्ति पूर्ण रुपमा सम्पन्न गर्न १२ वटै जिल्लामा जिल्ला सुरक्षा समितिले योजना बनाएका विषयमा प्रधानमन्त्रीसमक्ष जानकारी गराइएको प्रमुख सचिव काप्रीले जानकारी गराए ।

बैठकमा नेपाली सेनाका पृतनापति हिम्मतबहादुर विष्ट, नेपाल प्रहरीका प्रदेश प्रमुख, प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्री, सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षकलगायत बैठकमा सहभागि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले जानकारी गराएका थिए ।

यस्तै प्रदेश सरकारका प्रमुख सचिव काप्रीले समग्र प्रदेशको तयारीका अवस्थामा जानकारी गराइएको बताए ।

जिल्लागत रुपमा अतिसंवेदनशील, संवेदनशील र सामान्य निर्वाचन मतदान केन्द्र पहिचान गरेर आवश्यक तयारी गरिएको जानकारी गराए । जिल्लास्थित सरकारी निकायले त्यस्ता चुनौती पहिचान गरेर समाधानका लागि आवश्यक संवाद र छलफल गरेर काम गर्ने विषयमा जानकारी गराइएको थियो ।

प्रधानमन्त्रीको निर्देशनबाट निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न थप हौसला मिलेको र प्रतिबद्धताका साथ निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न लाग्ने प्रमुख सचिव काप्रीले बताए ।

एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागबाट सङ्कलित सूचना गरेर आवश्यक रणनीति तय गरिने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।

प्रदेश सरकारले पनि यो निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने जिम्मेवारी रहेकाले प्रदेश सरकारका जिल्लास्थित निकायहरु, स्थानीय तहबाट सहयोग लिएर निर्वाचन तयारीको काम भइरहेको जानकारी गराए ।

प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमध्ये प्रमुख रुपमा तराईका जिल्लामा खुला सीमाना प्रमुख साझा चुनौतीका रुपमा रहेका विषयमा छलफल भएको बताए ।

यस प्रदेशमा पश्चिम नवलपरासीदेखि बर्दियासम्ममा ४१४ किलोमिटर खुला सिमाना छ । प्रदेशमा एउटा हिमाली जिल्ला रुकुमपूर्व सञ्चारमा सूचना सङ्कलन, पहुँचजस्ता विषय, जनसाङ्ख्यिक विविधताका हिसाबले धार्मिक, जातीय र भौगोलिकताजस्ता विषयमा समस्या आउनसक्ने सम्भावना लाई पहिचान गरेर तयारी गरिने बताए ।

प्रधानमन्त्रीसमक्ष यस्ता विषयमा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जानकारी गराएको बताए ।

एआई शिखर सम्मेलन निष्कर्षविहीन

नयाँदिल्ली । पाँच दिनसम्म विश्वका नेताहरू, प्रविधि कम्पनीका प्रमुख र नीति निर्माता भेला भएको ग्लोबल एआई शिखर सम्मेलन औपचारिक अन्तिम घोषणाबिना टुङ्गिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को अवसर र जोखिमबारे साझा दृष्टिकोण तय गर्ने उद्देश्य राखिएको सम्मेलनको संयुक्त वक्तव्य शनिबार दिउँसोसम्म सार्वजनिक भएको थिएन, जबकि त्यसको अपेक्षा एक दिनअघि गरिएको थियो ।

फ्रान्स, ब्राजिल लगायतका देशका नेतासहित दर्जनौँ राष्ट्रिय प्रतिनिधिमण्डलहरू भारतको राजधानी नयाँदिल्लीमा द्रुत रूपमा विकसित भइरहेको जेनेरेटिभ एआई प्रविधिको प्रभावबारे छलफल गर्न भेला भएका थिए । यो विकासोन्मुख राष्ट्रद्वारा आयोजना गरिएको पहिलो वार्षिक बैठक हो र एआई प्रभावसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका रूपमा आयोजना गरिएको थियो ।

भारतका सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले शुक्रबार ‘घोषणामा ठूलो सहमति’ भएको बताएका थिए, तर विवरण खुलाउन अस्वीकार गरेका थिए । उनका अनुसार ७० भन्दा बढी हस्ताक्षरकर्ताले समर्थन जनाइसकेका छन् र यो सङ्ख्या ८० नाघ्ने अपेक्षा गरिएको छ । “हामी यो सङ्ख्या अधिकतम बनाउन प्रयासरत छौँ”, सम्मेलन समापनका क्रममा उनले बताएका थिए । शनिबारसम्म आयोजक र मन्त्रालयबाट औपचारिक टिप्पणी प्राप्त भएको थिएन ।

सम्मेलनमा बहुभाषी एआई अनुवादका सामाजिक लाभ, रोजगारीमा पर्ने सम्भावित असर, डाटा सेन्टरहरूको उच्च ऊर्जा खपत र नियमनको दायरा जस्ता विषयहरू प्रमुख बहसमा रहे । यद्यपि विश्लेषकहरूले सम्मेलनको व्यापक र खुला एजेन्डाले ठोस र बाध्यकारी प्रतिबद्धता निकाल्न कठिन बनाएको टिप्पणी गरेका छन् । यसअघि फ्रान्स, दक्षिण कोरिया र बेलायतमा आयोजित संस्करणहरूमा पनि अस्पष्ट प्रतिज्ञा मात्र गरिएको स्मरण गराइएको छ ।

गत वर्षको एआई शिखर सम्मेलनमा संयुक्त वक्तव्यमा हस्ताक्षर नगरेको संयुक्त राज्य अमेरिकाले यसपटक भारतसँग अलग द्विपक्षीय घोषणापत्र जारी गरेको छ । उक्त घोषणापत्रमा दुवै देश ‘उद्यमशीलता र नवप्रवर्तनलाई अनुकूल हुने एआईसम्बन्धी विश्वव्यापी दृष्टिकोण’ अघि बढाउन सहमत भएको उल्लेख गरिएको छ ।

यसैबीच, ह्वाइट हाउसका प्रविधि सल्लाहकार तथा अमेरिकी प्रतिनिधिमण्डलका प्रमुख माइकल क्रेटसिओसले जेनेरेटिभ एआईमाथि केन्द्रीयकृत विश्वव्यापी नियन्त्रणको अवधारणाविरुद्ध चेतावनी दिएका छन् । उनले ट्रम्प प्रशासनले एआईको विश्वव्यापी शासन संरचनालाई अस्वीकार गर्ने नीति दोहोर्‍याएको बताए ।

केही सहभागीहरूले सम्मेलन स्थलमा प्रवेश–निकास व्यवस्थापन कमजोर रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । यद्यपि दशौँ हजार सहभागीको उपस्थितिसहित सम्पन्न सम्मेलनले एआईको भविष्यबारे बहसलाई अझ व्यापक बनाएको विश्लेषकहरूको भनाइ छ । तर साझा घोषणापत्रबिना टुङ्गिएको यो सम्मेलनले विश्वव्यापी सहमतिको मार्ग अझै जटिल रहेको सङ्केत दिएको छ ।

युक्रेनी सीपमा युरोपको लगानी

वार्सा। रुस–युक्रेन युद्धले बदलिएको आधुनिक युद्ध प्रविधिबाट सिक्दै पाँच युरोपेली राष्ट्रले सस्तो र प्रभावकारी ड्रोन रक्षा प्रणाली विकास गर्न संयुक्त पहल अघि सारेका छन् ।

फ्रान्स, पोल्यान्ड, जर्मनी, बेलायत र इटाली सम्मिलित ‘इ५’ समूहले युक्रेनको युद्धमैदानमा विकसित अनुभव र प्रविधि उपयोग गर्दै कम लागतका हवाई प्रतिरक्षा प्रणाली र स्वायत्त ड्रोन उत्पादनमा लगानी गर्ने घोषणा गरेका छन् ।

यस पहलको लक्ष्य युरोपेली हवाई क्षेत्र उल्लङ्घन गर्ने ड्रोनहरूलाई छिटो पत्ता लगाउने, ट्र्याक गर्ने र निष्क्रिय पार्ने क्षमता विकास गर्नु हो। युरोपेली देशहरूले पछिल्ला वर्षहरूमा सीमाक्षेत्र र विमानस्थल वरिपरि शङ्कास्पद ड्रोन गतिविधि देखेपछि सुरक्षा संरचना बलियो बनाउने प्रयास तीव्र पारेका छन् ।

केही घटनाका लागि रुसलाई दोष लगाइएको भए पनि मस्कोले संलग्नता अस्वीकार गर्दै आएको छ । युद्धलाई ‘प्रयोगशाला’ का रूपमा प्रयोग गर्दै रुस र युक्रेन दुवैले अत्याधुनिक ड्रोन युद्ध क्षमता विकास गरेका छन् । पोल्यान्डले यसअघि नै युक्रेनसँग संयुक्त तालिम र उत्पादन परियोजनामा सहकार्य गरिरहेको छ ।

अब ‘लो–कोस्ट इफेक्टर्स एन्ड अटोनोमस प्लेटफर्म’ (एलइएपी) नाम दिइएको कार्यक्रममा ड्रोन–आधारित आक्रमण क्षमता विकास, कम लागतमा उत्पादन तथा संयुक्त खरिदमा सहमति गरिएको पोल्यान्डका रक्षामन्त्री भ्लाडिस्लाभ कोसिनियाक–कामिजले बताउनुभयो । उहाँका अनुसार कृत्रिम बौद्धिकता (एआई) सहितका लडाकू पेलोड विकासमा समेत साझेदारी हुनेछ ।

बेलायतका रक्षा तयारी तथा उद्योगमन्त्री ल्युक पोलार्डले नाटोको सुरक्षा कवच सुदृढ बनाउन नयाँ पुस्ताका हवाई प्रतिरक्षा र स्वायत्त प्रणालीमा लगानी आवश्यक रहेको बताउनुभयो ।

उहाँले कम लागतका ड्रोन र मिसाइलविरुद्ध महँगा लडाकू जेट प्रयोग गर्नु दिगो समाधान नभएको उल्लेख गर्दै ‘खतराको लागत र प्रतिरक्षाको लागतबीच सन्तुलन मिलाउनुपर्ने’ धारणा राख्नुभयो। सेप्टेम्बर २०२५ मा रूसी ड्रोनहरू पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गर्दा तिनलाई रोक्न करोडौँ डलर मूल्यका जेट प्रयोग गरिएको थियो भने ती ड्रोनको लागत तुलनात्मक रूपमा निकै कम थियो ।

त्यस्ता अवस्थालाई ध्यानमा राख्दै सस्तो काइनेटिक वा इलेक्ट्रोनिक प्रतिरोध प्रणाली विकासमा जोड दिइएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो र युरोपेली रक्षा खर्चबारे गरेको आलोचनापछि युरोपेली मुलुकहरू आफ्नै सुरक्षा संरचना मजबुत बनाउन थप सक्रिय भएका छन् ।

युरोपेली सङ्घ (इयु) ले रक्षा क्षेत्रमा लगानी बढाएको छ र गहिरा सैन्य सहकार्यबारे खुला छलफल सुरु गरेको छ । इयुकी विदेश नीति प्रमुख काजा कल्लासले रुसको आक्रामकता, मध्यपूर्वको अस्थिरता, चीनसँगको प्रतिस्पर्धा र अमेरिकासँग पुनर्परिभाषित सम्बन्धलाई उद्धृत गर्दै ‘युरोपको सुरक्षा दशकौँयताकै सबैभन्दा अनिश्चित अवस्थामा’ रहेको बताउनुभयो ।

उहाँले कम लागतको इन्टरसेप्टर कार्यक्रमलाई युरोपेली प्रतिबद्धताको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो र बलियो युरोपले नाटोलाई समेत सुदृढ बनाउने धारणा राख्नुभयो ।

यद्यपि ३२ सदस्यीय नाटो गठबन्धन ट्रम्प प्रशासनसँगका तनावका कारण दबाबमा छ । डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्ने अमेरिकी अभिव्यक्ति र अफगानिस्तानमा नाटो सहयोगी सेनाबारे टिप्पणीले सम्बन्धमा चिसोपना ल्याएको थियो ।

हाल तनाव केही कम भए पनि आन्तरिक मतभेदले विश्वकै सबैभन्दा ठूलो सुरक्षा गठबन्धनको एकीकृत क्षमतामाथि प्रश्न उठाइरहेको छ । यस्तो परिवेशमा युरोपेली राष्ट्रहरू युद्धबाट प्राप्त युक्रेनी अनुभवलाई आत्मसात् गर्दै सस्तो तर प्रभावकारी सुरक्षा संरचना निर्माणतर्फ अघि बढेका छन् ।

आफ्नो पक्षमा मत पार्न पृथक प्रचार शैली अपनाउँदै प्रत्याशी

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै चुनावी प्रतिस्पर्धामा होमिएका उम्मेदवार पनि प्रचारप्रसारमा व्यस्त छन् ।

मत आफ्नो पक्षमा पार्न उनीहरू सबै आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेका छन् । यसले गाउँघरमा चुनावी चहलपहल बढेको छ । उम्मेदवारका प्रचार शैली पनि पृथक छन् ।

प्रत्यक्ष भेट वा चिनजान नै नभएका केही प्रत्याशी मतादाताका खेतबारी जोत्न, मल बोक्न, सागसब्जी केलाउनेदेखि बिरामी बोक्नेसम्मका काममा सक्रिय भएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा छरपस्ट भएका छन् ।

उम्मेदवारहरुले आआफ्नो परिचय दिने क्रममा पहिले पनि भेटेको, ‘फलाना’को नाताको मान्छे हुँ भनेर मत मागिरहेको सामाजिक सञ्जालमा हामी सबैले देखेका छौँ। प्रत्याशीहरूले मुलुकको राजनीतिक अवस्था र आगामी मार्गचित्रबारे जनतालाई बुझाउँदै निर्वाचित आफू निर्वाचित भएमा मतदाताका अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलगायत उम्मेदवारले मतदाताको विश्वास जित्न अपनाएको फरक शैली र अभिव्यक्तिलाई धेरै राजनीतिक विश्लेषकहरूले बहसको विषय बनाएका छन् ।

विसं २०७९ को निर्वाचनबाट प्रमुख दलका रुपमा उदाएका नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले देशका विभिन्न स्थानमा आमसभा गरिरहेका छन् ।पत्रकार राजेन्द्र दाहाल प्रविधिका कारण उम्मेदवारहरु मतदातामाझ सहजै पुगिरहेका बताउनुहुन्छ ।

“समाजको प्रवृत्तिलाई प्रविधिले विस्तार गरिदिएको मात्रै हो। लक्ष्य उही हो, मतदाताको भोट सङ्कलन गर्ने”, उहाँ भन्नुहुन्छ। यही फागुन २१ गते १६५ स्थानका लागि हुने निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार प्रत्याशी भएका छन् ।

यो निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले भोट हाल्ने अपेक्षा निर्वाचन आयोगले गरेको छ । यसका लागि १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण भएका छन् । पूर्वप्रशासक देवकुमारी गुरागाईं सभ्य ढङ्गले प्रचार गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

“लोकप्रिय हुने नाममा अहिले अपनाइएका प्रचारका शैली परिपक्वताको कमी देखिएको समाजले महसुस गरिरहेको छ”, उहाँ भन्नुहुन्छ, “सरल, शान्त र कूटनीतिक शैलीबाट मतदाताको विश्वास जित्न सकिन्छ ।” आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)का महासचिव कृष्णमान प्रधान प्रचार र शैली मतदातालाई स्वच्छ मतदानका लागि नभई ‘अल्मल्याउने’ खालको भएको टिप्पणी गर्नुहुन्छ ।

“मतदातालाई अन्योलमा पार्न हुँदैन, उम्मेदवारले मतदातालाई आफ्नो मार्गचित्र देखाउन सक्नुपर्छ”, उहाँ भन्नुहुन्छ ।

वैदेशिक व्यापारका सात महिनाः नौ खर्ब पचास अर्ब घाटा

काठमाडौँ – चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबरको वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागका अनुसार समीक्षा अवधिमा रु ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाखको आयात र रु एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख बराबरको निर्यात भएको छ । यो अवधिमा मुलुकले रु नौ खर्ब ५५ अर्ब ३४ करोड तीन लाख घाटा बेहोरेको छ ।

भारतसँग बितेका सात महिनामा रु छ खर्ब २९ अर्ब २९ करोड ५९ लाखको आयात र रु एक खर्ब ३७ अर्ब ५१ करोड ७४ लाखको निर्यात हुँदा मुलुकले रु चार खर्ब ९१ अर्ब ७७ करोड ५१ लाख बराबरको व्यापार घाटा बेहोरेको छ । चीनसँग रु दुई खर्ब ३५ अर्ब ३८ करोड २३ लाखको आयात र रु ९० करोड एक लाख बराबरको निर्यात हुँदा रु दुई खर्ब ३४ अर्ब ४८ करोड २२ लाख बराबरको घाटा भएको छ ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार अर्जेन्टिनासँग रु ६६ अर्ब ११ करोड ६६ लाख, संयुक्त अरब इमिरेट्ससँग रु ३९ अर्ब ७७ करोड ९८ लाख, इन्डोनेसियासँग रु १२ अर्ब ६४ करोड ४५ लाख बराबरको व्यापार घाटा देखिन्छ ।

व्यापार नाफा बढी रहेका मुलुकमा भने रोमानियासँग यो अवधिमा रु पाँच करोड ५२ लाख, नर्वेसँग रु तीन करोड ३३ लाख र आइसल्याण्डसँग रु दुई करोड ५७ लाख बराबरको व्यापार नाफा देखिन्छ ।

पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । यो अवधिमा रु ६९ अर्ब ९१ करोड २२ लाखको डिजेल, रु ३८ अर्ब १३ करोड ८६ लाखको पेट्रोल र रु ३१ अर्ब ८५ करोड नौ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।

यसैगरी, रु ३१ अर्ब नौ करोड १२ लाख बराबरको फलाम तथा फलामजन्य वस्तु, रु २१ अर्ब ३२ करोड ६१ लाख बराबरको स्मार्टफोन, रु ५९ अर्ब १३ करोड ८२ लाख बराबरको कच्चा सोयाबिन तेल, रु २१ अर्ब २० करोड बराबरको सुन आयात भएको छ ।

बढी निर्यात भएका वस्तुमा सोयाबिन तेल रु ६६ अर्ब ७८ करोड ८७ लाख बराबरको निर्यात भएको छ । अलैँची रु आठ अर्ब ६१ करोड २० लाख, सूर्यमुखी तेल रु पाँच अर्ब ७८ करोड, कार्पेट रु पाँच ७१ करोड ८८ लाख ६९ हजार बराबरको निर्यात भएको विभागको तथ्याङ्क छ ।

सुदुरको संस्कृति बोल्ने होली गीत ‘होरी’ मा महानायक राजेश हमालको अभिनय

काठमाडौं । गायक कृष्ण विक र गायिका समीक्षा अधिकारीको स्वरान होरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुदुरपश्चिममा चर्चामा रहेको भाकालाई राष्ट्रियकरण गर्नका लागि कृष्ण र उनको टिमले लामो समयदेखिको प्रयासलाई होली गीत होरीका मार्फत देखाउन खोजेका छन् ।

जसमा महानायक राजेश हमाल, पूर्वमिस नेपाल उषा खड्की, मनोज मर्हजन र बिन्दिया बुढाथोकीसहितको अभिनय देख्न सकिन्छ । भक्तपुरका विभिन्न स्थानमा २ दिन लगाएर छायांकन गरिएको भिडियोले होली पर्वको सांस्कृतिक र परम्परागत महत्वलाई नजिकबाट केलाएको निर्माण युनिटको दाबी छ । सुदूरको संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले लामो समयको प्रयासपछि होरी लिएर आएको निर्देशक सरोज खड्का बताउँछन् ।

भिडियोमा राजेश र उषाका माध्यमबाट सुदूरपश्चिमको कला र संस्कृतिलाई देखाउने काम गरिएको छ । राम अबिरल विष्टको शब्द सृजना रहेको गीतमा दीपक आरजेको संगीत छ । पवन सुस्लिगंको छायांकन रहेको गीतको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । देउ सिंह ओराको कोरियोग्राफी रहेको होरी गायक स्वयम कृष्ण विकको अफिसियल युट्युब च्यानलबाट बजारमा आएको हो ।

आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ: पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती (अन्तर्वार्ता)

काठमाडौँ । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र सुशासनका लागि हुन गइरहेको निर्वाचनको महायज्ञलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने वातावरण बनाउन सबै राजनीतिक दल र उम्मेदवारलाई अपिल गरेका छन् ।

उनले राजनीतिक दल र उम्मेदवारबाट हुने शान्तिपूर्ण चुनावी प्रचारप्रसार र चुनावमा मतदाताको उत्साहपूर्ण सहभागिताले मात्र लोकतन्त्र फस्टाउने र मुलुकले समृद्धि हासिल गर्ने बताए।

पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने, ‘राजनीतिलाई स्थिरता दिन नसके पनि निर्वाचन गराउने सिलसिलामा हामी अनुभवी छौँ । विगतका चुनौतीपूर्ण अवस्थामा पनि मतदाताको उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण रूपमा थुप्रै निर्वाचन गरिसकेका छाैँ ।’

उनकै नेतृत्वमा निर्वाचन आयोगले विसं २०७० मा संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न गरेको थियो । सोही संविधानसभाले नेपालको संविधान जारी गरेको थियो ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा केन्द्रित रही पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

मुलुक निर्वाचनको सम्मुखमा छ, यो निर्वाचनलाई कसरी हेर्नुभएको छ ?

आवधिक निर्वाचन प्रत्येक पाँच वर्षमा हुन्छ । त्यो कुन दिन, कुन मिति, कुन महिनामा हुन्छ भन्ने विषय पनि मतदातालाई पहिल्यै थाहा हुनुपर्छ । लोकतन्त्र र राजनीतिक स्थायित्व भएका देशमा यस्तो खालको व्यवस्था छ । प्रजातन्त्रको स्थायित्वका लागि आवधिक अवधि नपुगी बीचैमा निर्वाचन गराउन पर्ने अवस्था सकेसम्म आउन दिनुहुन्न । नेपालमा जुन अवस्थाका कारण निर्वाचन घोषणा भयो, त्यो वातावरण नआएको भए विसं २०८४ मा नियमित निर्वाचन हुन्थ्यो । योबीचमा सरकारले राम्रो काम गर्न सकेन, फलस्वरुप जेनजी आन्दोलनको बलमा बीचमै निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । यद्यपि, जेनजी आन्दोलनमा निर्वाचनको माग उठेको थिएन । तत्कालीन सरकारको बहिर्गमनका सन्दर्भमा लोकतान्त्रिक प्रक्रियामा जानका लागि मध्यावधि निर्वाचन आवश्यक र अनिवार्य हुन पुग्यो । आजसम्म आइपुग्दा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । प्रजातन्त्रमा निर्वाचनको विकल्प र अर्काे उपायको खोजी गर्न नपरोस् भन्ने सोचिन्छ । हामी लोकतान्त्रिक अभ्यासमा निकै अगाडि आइसक्यौँ । निर्वाचन गर्न र गराउने सिलसिलामा हामी अनुभवी छौँ । मतदाताको उत्साहपूर्ण सहभागितामा थुप्रै निर्वाचन गरिसकेका छौँ । तथापि, राजनीतिले स्थायित्व र सरकार स्थिर नहुँदा दुःख लाग्छ । यस पाटोमा सुधार गर्दै लैजानुपर्ने छ । जहाँसम्म यही फागुन २१ को निर्वाचनको विषय छ, यो त आइनै सक्यो । अब यसलाई शान्तपूर्ण वातावरणमा अवतरण गराउनुपर्छ ।

निर्वाचनलाई शान्तिपूर्ण बनाउने र विधिपूर्वक सम्पन्न गराउन मतदाताले मन परेको असल व्यक्ति र दललाई मत दिनुपर्छ । निर्वाचन परिणामका आधारमा गठन हुने सरकारले जनभावनाअनुरुप विकास र सुशासन प्रदान गर्न सक्नुपर्छ । त्यसका लागि प्रत्येक मतदाताको पनि उत्तिकै दायित्व छ । निर्वाचनमा राजनीतिक दल र उम्मेदवार विजयी तुल्याउन दर्शन र सिद्धान्तभन्दा ठूलो भूमिका मतदाताको रहन्छ, किनभने मतदाताको मतबिना निर्वाचनको अर्थ हुँदैन । मतदान शुद्ध हुनुपर्छ, मतमा स्वस्तिक चिह्न लगाउँदा यताउति हुनुभएन । विगत देखिकै प्रायः सबै निर्वाचनमा नेपाली मतदाताको उत्साहपूर्वक सहभागिता हुने गरेको छ । यस पटक पनि त्यही खालको वातावरण तयार गर्नुपर्छ । निर्वाचन आयोग, सरकार, राजनीतिक दल, उम्मेदवार र मतदाता सबै मिलेर निर्वाचनको महायज्ञको जिम्मेवारी र दायित्वलाई हामीले पूरा गर्नुपर्छ ।

निर्वाचनमा के कस्ता कुरालाई बढी चासोका साथ हेरिने गरिएको छ ?

निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रतिनिधित्वको विषयलाई नै बढी चासो राखिन्छ । त्यो भनेको जसले चुनाव जित्ने हो, उसैलाई चासो दिइन्छ । निर्वाचनमा उठेका सबै उम्मेदवारले जित्न कोसिस गरे पनि त्यसको परीक्षा र मूल्याङ्कन मतदाताले गर्छन् । सुदूरपूर्व र पश्चिमका मतदाताले आपसमा सरसल्लाह नगरे पनि सामूहिक विद्वताबाट एउटा दर्शन बोकेको राजनीतिक दल र उम्मेदवार विजयी हुनसक्दछ ।

चुनावमा सबै उम्मेदवारलाई जित्ने निर्वाचन गर्न सकिन्न । जति निर्वाचन क्षेत्र र स्थान छ त्यसमा मात्र उम्मेदवारले जित्ने हो । सबै जित्ने होइन, तर नेपाल र लोकतन्त्रले जित्नैपर्छ । आगामी निर्वाचनबाट सकेसम्म विधिसम्मत रूपमा सम्पूर्ण वर्ग, क्षेत्र, समूह र लैङ्गिक प्रतिनिधित्व हुन सकोस् । निर्वाचनपछि बनेको सरकारले पूरा अवधि पाँच वर्ष सरकार चलाओस् । सदन पनि पूरा चलोस् । पाँच वर्षका लागि भनेर चुनाव गर्ने अनि विगतको जस्तो १७ वर्षमा १७ वटै सरकार ब्यहोर्नु नपरोस् ।

छोटो अवधि र संयुक्त सरकारले ठीक ढङ्गले कार्य सम्पादन गर्न नसक्दा नेपाली जनताको सुशासन, विकास र समृद्धिको चाहना ओझेलमा परिरहेको छ । निरन्तर सरकार परिवर्तन भएमा राजनीतिले पनि स्थायित्व प्राप्त गर्न कठिन हुन्छ । राजनीतिक स्थायित्व नभई विकासको प्रक्रिया अगाडि बढ्न सक्दैन । यो पटक मतदाताको सामूहिक विद्वताले असल नतिजा दिलाउन सक्नुपर्छ । त्यसका लागि विश्वास लागेको पात्र र दललाई मतदान गर्नुपर्छ, जसबाट मुलुकमा स्थायी सरकार दिलाउन सकियोस् ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष गराउन कसको कस्तो भूमिका रहन्छ ?

निर्वाचन खर्चिलो भयो भनिन्छ । हुन त राज्यको लागि पनि निर्वाचन खर्चिलो छ । निर्वाचन प्रक्रिया, विधि र प्रणालीका कारणले पनि निर्वाचन खर्चिलो भएको छ । राजनीतिक दल र उम्मेदवारबीच ज्ञान, विद्वता, अनुभव र दर्शनमा प्रतिस्पर्धा भए निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी हुन्छ । सिद्धान्त, प्रतिबद्धता र सङ्कल्पअनुसार जान सक्ने उम्मेदवार चुन्ने कि जसरी पनि जित्ने भन्नेलाई ? यो विषय महत्त्त्वूर्ण छ । जसरी पनि निर्वाचन जित्ने र संसद्मा पुग्ने अनि यसलाई व्यवसाय र जागिर बनाउने मानसिकता त्याग्नुपर्छ । जनताले यो विषयलाई ध्यानपूर्वक सोच्नुपर्छ ।

पछिल्लो समय निर्वाचन पैसाले होइन, निष्ठा र सिद्धान्तले जित्नुपर्छ भन्ने मान्यता हराउँदै गएको छ भनिन्छ नि !

निर्वाचनमा मतदाताले लोकतान्त्रिक सोच भएका, समाजसेवामा लागेका, सिद्धान्तप्रति प्रतिबद्ध र निष्ठावान उम्मेदवार पहिल्याउन सक्नुपर्छ । निर्वाचन खर्च तोकिएको सीमाभित्र रहेर गरिनुपर्छ । निर्वाचनमा अथाह खर्च गर्ने अनि कागजी प्रतिवेदनमा भने ठिक्क हिसाब देखाउने प्रवृत्ति रोक्नुपर्छ । चुनावमा बढी खर्च र तडकभडक प्रचारप्रसार गर्नेलाई अयोग्य घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई छ ।

राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचारप्रसारका क्रममा मतदातासमक्ष राखेका विषय दिगो विश्वासनीय हुनुपर्छ । प्रसारप्रसारलाई शान्तिपूर्ण ढङ्गबाट नै लैजानुपर्छ । एकअर्कालाई आरोप प्रत्यारोप गर्नहुन्न । निर्वाचलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षालाई चुस्त बनाउनुपर्छ । निर्वाचनमा मतदान गर्नु सबै मतदाताको कर्तव्यलाई बिर्सनुहुन्न । सोचेर मतदान गर्नुपर्छ । मत खेर फाल्नुहुन्न । घरको कामको चापलाई पनि समयको व्यवस्थापन गरी मतदान गर्नुपर्छ । मतदान भनेको भगवानलाई अर्चना र अर्पण गरेजस्तै देशको भविष्य र हितका लागि अमूल्य दान हो । यसमा कोही पनि छुट्नु र कसैलाई पनि छुटाउनुहुन्न । राजनीतिक दल र उम्मेदवारले पनि मतदान गर्ने विधि र प्रक्रिया ठीक ढङ्गले सिकाउन र बुझाउन जरुरी छ ।

निर्वाचन प्रचारप्रसारमा राजनीतिक दल र उम्मेदवारले के कस्ता कुरामा बढी ध्यान दिनुपर्छ ?

आवधिक निर्वाचन नौ महिना वा एक वर्ष सरकार चलाउनका लागि भएको होइन । निर्वाचनमा अब स्थायी सरकार बनाउँछु भनेर मतदाताले कसरी थाहा पाउने ? त्यो सबैभन्दा ठूलो प्रश्न छ । सरकारमा जाने र पाँच वर्षसम्म निरन्तर काम गर्न नसक्ने स्थिति कसले सिर्जना गरेको हो ? मतदाताले मतहाल्नुअघि विश्लेषण गर्नुपर्छ । हुन त त्यसमा केही हदसम्म राजनीतिक दल, मतदाता स्वयं र निर्वाचन प्रणालीको पनि दोष भनिन्छ । सदनमा धेरै राजनीतिक दल भए भने स्थायित्व हुन्न भन्ने मत पनि छ । यसमा मतदाताको विद्वताको परीक्षण पनि हुन्छ । उहाँहरूको विद्वताले कसको सरकार गठन हुने र विकासको मार्ग कसरी अगाडि बढ्छ भन्ने निर्धारण गर्छ । निर्वाचनपछि गठन हुने सरकारले सम्पूर्ण देशको क्षमता र अवस्थाका आधारमा सुझबुझपूर्ण ढङ्गले मुलुकलाई समृद्धितर्फ लैजान सक्नुपर्छ ।

मुलुक निर्वाचनमय भएको छ, यसबेला सरकार र आयोगको भूमिका कस्तो रहन्छ ?

सरकारले निर्वाचन आयोगलाई निर्वाचन प्रक्रियाका लागि आवश्यक पर्ने सबै खालको स्रोतसाधन र शान्ति सुरक्षाका हिसाबले राजनीतिक दल, उम्मेदवार र मतदातालाई निर्वाचनमा ढुक्कसँग भाग लिने वातावरण मिलाउनुपर्छ ।

सरकारले मुलुकको समग्र सुरक्षा अवस्थाको मूल्याङ्कन गरी कुन निर्वाचन क्षेत्र, कुन ठाउँ र कुन मतदान केन्द्रमा सुरक्षा चुनौती छ, त्यसको विश्लेषण गरी आवश्यक प्रबन्ध मिलाउनुपर्छ ।

हामी निर्वाचनमा अनुभवी छौँ । चुनावी प्रचारप्रसारदेखि मतदान, मतपेटिका ढुवानी, मतगणना र विजय जुलुस निस्कने बेलासम्मको सुरक्षा व्यवस्था चुस्त हुनुपर्छ । त्यसका लागि प्रत्यक्ष सरोकार भएका पक्ष राजनीतिक दल र उम्मेदवारले आवश्यक वातावरण बनाउन सहयोग पुर्याउनुपर्छ ।

निर्वाचनमा प्रचारप्रसारको समयमा राजनीतिक दल र उम्मेदवारले अपनाउनुपर्ने सजगताबारे के भन्नुहुन्छ ?

यस पटक यही फागुन ४ देखि १८ गतेसम्मका लागि निर्वाचन प्रचारप्रसारको समय तोकिएको छ । यस अवधिमा के के गर्न पाइन्छ, के गर्नुहुन्छ, के गर्नुहुँदैन भन्ने विषयमा निर्वाचन आचारसंहितामा स्पष्ट लेखिएको छ । निर्वाचनमा सबै राजनीतिक दल र उम्मेदवारले भद्र ढङ्गबाट चुनाव प्रचारप्रसार गर्न पाउनुपर्छ । आफ्नो पक्षमा चुनाव प्रचारप्रसार गर्दा अर्काे पक्षको विरोध गर्न पाइन्न । हाल निर्वाचन प्रचारप्रसारको सन्दर्भमा प्रविधिको प्रयोगको अभ्यास बढेको छ । अर्काे पक्षलाई आरोपप्रत्यारोप मात्र होइन, द्वेष र घृणा फैलाउने तथा अनर्गल प्रचार गर्नुहुन्न । आफ्ना राम्रा पक्ष र उद्देश्य मात्र प्रचारप्रसार गरिनुपर्छ । यसका लागि मतदाता शिक्षा र चुनाव प्रसारप्रसारको माध्यम सामाजिक सञ्जाल अत्यन्त प्रभावकारी देखिएको छ ।

निर्वाचनमा मौन अवधिलाई अलि पेचिलो र विशेष रूपमा किन हेरिन्छ ?

चुनावी प्रचारप्रसार जताततै भइरहेको छ । कतिपय स्थानमा एकअर्का दलका उम्मेदवार आपसमा अङ्कमाल गर्दै भोट मागिरहेको पनि देखिन्छ । यो असल पक्ष हो । निर्वाचन प्रचारप्रसारको अन्त्यतिर वातावरणलाई शान्त तुल्याउन र मतदातालाई कुन उम्मेदवारलाई मत प्रदान गर्न ठीक होला भनी सोच विचार गर्नका लागि मौन अवधिको व्यवस्था गरिएको हो । जोडतोडमा भइरहेको प्रचारप्रसार सकेर निर्वाचनको ठूलो महायज्ञको वातावरण बनाउन मौन अवधिको अत्यन्त महत्त्व छ । त्यो समयमा राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि कार्य गर्नहुन्न । शान्तपूर्वक बस्नपर्छ । मतदातालाई प्रभाव पार्ने ढङ्गबाट कुनै पनि कुरा गर्न पाइन्न । निर्वाचनको पवित्रतामाथि आक्षेप र प्रभाव पार्ने कुनै कार्य गरिनुहुन्न ।

अन्त्यमा मतदातालाई यहाँको केही सन्देश छ ?

लोकतन्त्र बचाउने जिम्मेवारी मतदाता, राजनीतिक दल र उम्मेदवारको हो । हामीले नै लोकतन्त्रलाई स्थिर र स्थायी बनाउनुपर्छ । मतदाताको विद्वता र विचारका आधारमा असल उम्मेदवार छनोट गर्न सक्नुपर्छ । दर्शनमा फरक भए पनि मतदान शुद्ध र स्वच्छ भावनाले हुनुपर्छ । तोकिएको समयावधिभित्र मतदान केन्द्रमा पुगी मतखेर नजाने ढङ्गबाट मतदान गर्नुपर्छ ।

बदलियो चुनाव प्रचार शैलीः घरदैलो र डिजिटल प्रयोगमा जोड

म्याग्दी। म्याग्दीका राजनीतिक दल र उम्मेदवारहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पुराना चुनावी शैली परिवर्तन गरेका छन् ।

विगतका निर्वाचनमा भित्तामा टाँसिने ठूलाठूला पोस्टर–पम्प्लेट र ठूला चनावी सभाभन्दा यसपटक उम्मेदवारहरूले टोल–बस्तीमा पुगेर मतदातासँग छलफल, घरदैलो र साना कार्यक्रम सञ्चालन गर्ने नीति लिएका छन् । यसबाहेक सामाजिक सञ्जालमार्फत ‘डिजिटल प्रचार सामग्री’ को प्रयोगलाई व्यापक प्राथमिकता दिइएको छ ।

हाल उम्मेदवारसँगै नेता र कार्यकर्ताहरूले घरदैलो र प्रत्यक्ष भेटघाटमा बढी जोड दिएका छन् । नेताहरूलाई आ—आफ्नो पालिकामा चुनाव प्रचार गर्ने जिम्मा दिइएको छ । यसरी जिम्मेवारी पाएकाहरूले मतदातासँग प्रत्यक्ष भेटघाट र सामाजिक सञ्जालमार्फत आफ्नो पार्टी तथा उम्मेदवारको प्रचार गरिरहेका छन् ।

क्यामेराम्यानसहित फेसबुक, टिकटक, युट्युबमा दैनिक भिडियो सामग्री बनाएर पोस्ट गर्ने, प्रत्यक्ष प्रसारण गर्ने शैली अपनाइएको छ । त्यतिमात्र होइन स्वतन्त्र उम्मेदवार महावीर पुनले त टोलटोलमा घुम्दै हाते माइकमार्फत जनतालाई कटुवाल कराउने शैलीमा ‘लौ है जनता हो ! महावीर आयो’ भन्दै आफ्ना कुरा सुनाइरहनुभएको छ ।

नेपाली कांग्रेस म्याग्दीका चुनाव प्रचारप्रसार समिति सदस्य निर्मल खत्री यसपटक सामाजिक सञ्जालमार्फत भिडियो सन्देश, प्रत्यक्ष प्रसारण र डिजिटल सामग्रीमार्फत मतदातासँग जोडिने प्रयास गरिएको बताउनुहुन्छ । कांग्रेस उम्मेदवार कर्णबहादुर भण्डारीको सचिवालयले प्रत्यक्ष भेटघाट र डिजिटल प्रचारप्रसारलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले पनि यस्तै शैली अपनाउँदै मतदाताको घरदैलोमा पुगिरहनुभएको छ । एमाले नेता प्रकाश पौडेलका अनुसार एमालेले विगतमा गरेका विकास कार्य र उम्मेदवारका प्रतिबद्धताहरू मतदातासम्म पु¥याउन भिडियो, गीत, टिकटक र पोडकास्टमार्फत प्रचार गरिरहेको छ ।

यस्तैगरी स्वतन्त्र उम्मेदवार महावीर पुनको सचिवालय पनि पोष्टकार्ड, रिल र भिडियो सामग्रीमार्फत डिजिटल प्रचारमा सक्रिय छ । पुनका सहयोगी चित्र तिलिजाले निर्वाचन प्रचारप्रसारका लागि मतदातासँग प्रत्यक्ष भेटघाट र डिजिटल प्रविधिको भरपुर प्रयोग गरिएको बताउनुभयो ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अर्जुन थापाको सचिवालयले पनि डिजिटल प्रचारलाई प्राथमिकता दिएको छ । भेटघाट, प्रत्यक्ष संवाद र मतदाताका प्रतिक्रियालाई फेसबुकमा लाइभ गर्दै प्रचार प्रसारलाई तीव्रता दिइएको नेकपाका नेता गोविन्द पौडेलले जानकारी दिनुभएको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बर सुवेदी, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, नेकपा (माओवादी) का क्षेत्रबहादुर घिमिरेलगायत उम्मेदवारले पनि सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेका छन् । यहाँ एक स्वतन्त्र र ११ राजनीतिक पार्टीका गरी १२ जना उम्मेदवार चुनावी प्रतिष्पर्धा छन् ।

यहाँका सबैजसो उम्मेदवारले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर कालोपत्र गर्ने, अन्य सडक निर्माण, खानेपानी, शिक्षा, कृषि क्षेत्रको प्रवर्द्धन, सुलभ स्वास्थ्य सेवा, रोजगारीलगायतका मुद्दालाई प्राथमिकतामा राखेका छन् ।

नयाँ उम्मेदवारको उपस्थिति, दलीय राजनीतिको बिचमा स्वतन्त्र उम्मेदवारको उपस्थिति र बदलिँदो प्रचार शैलीले यसपटक निर्वाचनलाई अझ रोचक बनाएको स्थानीय बुद्धिजीवी राजु केसीले बताउनुभयो ।

निर्वाचनको मिति नजिकिँदै जाँदा डिजिटल प्रविधिको प्रयोग गरी प्रचार कार्य बढेसँगै साइबर सुरक्षा चुनौती पनि बढ्दै गएको छ । उम्मेदवारको सामग्रीमा अर्का समर्थकहरूले गाली–गलौज र नकारात्मक टिप्पणी गर्दा द्वन्द्व बढेको देखिएको छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडाइका साथ निगरानी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक निर्वाचन क्षेत्र, छ पालिका र ४५ वटा वडा रहेको म्याग्दीमा ८६ हजार ३९७ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएका छन् ।

वानटाङ खोलामा पक्की पुल निर्माण सुरु

तनहुँ। तनहुँको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण सुरु भएको छ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्वअन्तर्गत १३० मिटर लम्बाइको पुल निर्माण कार्य सुरु गरिएको हो ।

पुलको डिजाइन स्वीकृत भएसँगै निर्माण व्यवसायीबाट नदीको बायाँ किनारतर्फ पुलको जग खन्ने काम सुरु गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।

आयोजनाको जलाशयका कारण डुबानमा पर्ने भिमाद ऋषिङ खण्डअन्तर्गत पर्ने वानटाङ खोलामा स्थायी पुल डिजाइन तथा निर्माण ढाँचा बनाउन विसं २०८१ फागुन २८ गते सपना निर्माण प्रालिसँग सम्झौता गरिएको थियो । ठेक्का सम्झौता भएको ३० महिनाभि पुलको निर्माण सम्पन्न गर्ने कार्यतालिका छ । निर्माण व्यवसायीले नै पुलको डिजाइन र निर्माण गर्ने (डिजाइन एण्ड बिल्ड) गरी रु २३ करोड सात लाख (मूल्य अभिवृद्धि करसहित)मा ठेक्का सम्झौता भएको थियो ।

भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदीले भिमाद हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न वडा जाने उक्त खोलामा पुल नहुँदा वर्षायाममा यस भेगका हजारौँ नागरिकले सास्ती भोग्नुपरेको बताउनुभयो ।

वानटाङ सेती नदीको सहायक खोला हो । आयोजनाले व्यास नगरपालिका–५ र ऋषिङ गाउँपालिका–१ को सिमानामा निर्माण गर्ने १४० मिटर अग्लो बाँध निर्माण गर्दैछ ।

समुद्र सतहबाट ४१५ मिटरसम्म बन्ने जलाशयका कारण त्यस भेगका बासिन्दाको आवतजावतमा अवरोध हुनेभएपछि आवागमनलाई सहज बनाउन पक्की पुल निर्माण गर्न लागिएको आयोजनाले जनाइएको छ ।

आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै

कास्की। मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५ औँ सस्करणको फाइनल खेल आज हुँदैछ ।

पोखरा रङ्गशालामा दिउसो २ः०० बजे हुने खेलमा उपाधिका लागि जावलाखेल युथ क्लब र सहारा क्लब पोखरा भिड्दैछन् ।

जावलाखेलले हालसम्म आहा राराको उपाधि चुम्न सकेको छैन । जावलाखेल पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने र सहारा पनि इतिहास दोहोराउने लक्ष्यमा छ । विसं २०७० मा पहिलोपटक उपाधि चुमेको सहारा दोस्रो उपाधिका लागि मैदानमा जाँदैछ ।

जावलाखेल प्रि–क्वाटरफाइनलमा मच्छिन्द्र क्लबलाई २–०, क्वाटरफाइनलमा अपी चर्च ब्वाईज युनाईटेडलाई ३–० र सेमिफाइनलमा विदेशी टोली उज्वेकिस्तानको आभा एफसीलाई १–० ले हराउँदै फाइनल पुगेको हो ।

सहाराले भने प्रिक्वाटरफाइनलमा गोरखा इन्टरनेशलन फुटबल क्लव हङकङलाई १–०, क्वाटरफाइनलमा नेपाल पुलिस क्लवलाई ६–५ र सेमिफाइनलमा मनाङमस्र्याङ्दी क्लबलाई ७–६ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

गत माघ २७ गतेदेखि सुरु भएको २५ औँ संस्करणको प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजार सहित ट्रफी र मेडल पुरस्कार पाउने आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो ।

यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउने छन् ।

देशमा सङ्घीयता कांग्रेस–कम्युनिष्टको चाहना विपरीत आएको हो – उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा सङ्घीयता कांग्रेस–कम्युनिष्टको चाहना विपरीत आएको बताएका छन् ।

सप्तरी क्षेत्र नं। ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका यादवले डाक्नेश्वरी नगरपालिका–८ पट्टीमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले सङ्घीयता विरोधी दलहरूले प्रदेश संरचना खारेज गरी मधेशी जनतालाई पुनः अधिकारविहीन बनाउने प्रयास गरिरहेको आरोप लगाए। उनले मधेश जनविद्रोहबाट स्थापित सङ्घीयता खारेज गर्ने षड्यन्त्र भइरहेको दाबी गरे ।

देशमा सङ्घीयता कांग्रेस–कम्युनिष्टको चाहना विपरीत आएको उल्लेख गर्दै उनले नेपाली कांग्रेस र कम्युनिष्ट शक्तिहरू सङ्घीयताप्रति सुरुमा सकारात्मक नभएको दाबी गरे।

आचारसंहिताविपरीत टाँसिएका २० हजार प्रचार सामग्री हटाइयो

धनुषा। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री हटाइएका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको जनाएको हो ।

प्रशासनका अनुसार सार्वजनिकस्थल, विद्युत्का पोल, सरकारी भवन तथा सडक छेउछाउमा आचारसंहिताविपरीत टाँसिएका सामग्री हटाइएको हो । निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन प्रशासनले बिहीबार उम्मेदवार तथा राजनीतिक दललाई एक दिनको समय दिएर नियमविपरीतका प्रचार सामग्री आफैँ हटाउन निर्देशन दिएको थियो ।

तोकिएको समयभित्र सामग्री नहटाइएपछि प्रशासन आफैँले शुक्रबार करिब २० हजार प्रचार सामग्री हटाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

उहाँले जनकपुरधामका विभिन्न स्थानमा जथाभावी टाँसिएका प्रचार सामग्रीले सहरको सौन्दर्यमा असर परेको र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै कारबाहीस्वरूप हटाइएको र अब फेरि यस्ता सामग्री टाँसे कानुनी कारबाही गरिने बताउनुभयो ।

यहाँ विशेष गरी मुख्य बजार क्षेत्र, चोक, सार्वजनिक भित्ताहरू र सरकारी संरचनामा आचारसंहिताविपरीत सामग्री टाँस्ने गरिएको छ । प्रमुख जिल्ला अधिकारी लुइँटेलले आफ्नो पार्टी र उम्मेदवारको प्रचारप्रसार गर्दा आचारसंहिताको पालना गर्न आग्रह गर्नुभएको छ ।

“नियमविपरीत सामग्री टाँसिए तत्काल हटाइने छ । अटेर गरेमा सम्बन्धित उम्मेदवार तथा दललाई आवश्यक कारबाही गर्ने अवस्था आउँछ”, उहाँले भन्नुभयो,“चुनावी वातावरण स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्छौं । यसको पालनाका लागि सबैलाई आग्रह छ ।”

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, बन्दा (तराई) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ३५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ५०, काउली तराई प्रतिकिलो रु ३५, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५५ र भन्टा डल्लो प्रतिकिलो रु ५५ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ५५, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १२०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १८०, घिरौँला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २०, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ३५, चमसुर प्रतिकिलो रु ३०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु ३००, रातो बन्दा प्रतिकिलो रु ८०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु ४०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु २४०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २६०, अङ्गुर (कालो) प्रतिकिलो रु ४००, सुन्तला (भारतीय) प्रतिकिलो रु १७०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १४५, काँक्रो (लोकल) प्रतिकिलो रु १६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ८०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु १५०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १५०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो प्रतिकिलो रु २००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ९००, भेडे खुर्सानी प्रतिकिलो रु १३०, हरियो लसुन प्रतिकिलो रु ५०, हरियो धनियाँ प्रतिकिलो रु ४०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १५०, छ्यापी हरियो प्रतिकिलो रु १२०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु, एकजना गम्भिर घाइते

धनगढी । धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका तीन जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया)ले मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा मृत्यु भएको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत्यु हुनेमा सुप प्र०१-०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओली रहेको बताए । सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका–६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका र उनको उपचार जारी रहेको छ ।

यस्तै, सुप प्र०१-००९प७७८१ नम्बरको मोटरसाइकलका चालक गोदावरी नगरपालिका–१ का अन्दाजी २६ वर्षीय योगेन्द्र शाह र पछाडि बस्ने अन्दाजी २३ वर्षीय हरिश पार्कीको मृत्यु भएको छ ।
प्रहरी नायब उपरीक्षक चन्दले भने, “प्रतिघन्टा १०० किलोमिटरभन्दा बढीको गतिमा मोटरसाइकल चलाइएको घटनास्थलको प्रकृतिले देखिएको छ, पाङ्ग्रासहितका पाटपुर्जा उछिट्टिएका छन् । योगेन्द्र शाह यसअघि पनि दुई पटक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए ।”

मृतक ओली गोदावरीमा विवाहमा सहभागी भएर धनगढीतर्फ फर्किदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै पूर्वी नेपालको मुन्दुम पदमार्ग

भोजपुर, फागुन ९ । मुन्दुम पदमार्ग पूर्वी नेपालको एक रमणीय र सहज पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण दिनानुदिन बढ्दो छ।

अग्ला पहाडी डाँडाकाँडा, चम्किला हिमश्रृङ्खला र तराईका समथर फाँटको मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भएकाले यो पदमार्ग पर्यटकको रोजाइँमा पर्न थालेको हो। यात्रा क्रममा किराँत समुदायको संस्कार-संस्कृति झल्काउने संरचना, विशाल घाँसे मैदान, स्थानीय गोठालाले पालेका चौँरी र भेडीगोठले यात्रालाई अझ रोमाञ्चक बनाउँछ।

टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार पछिल्लो समय मुन्दुम पदमार्ग सहज र सुरक्षित गन्तव्यका रूपमा विकास भइरहेको छ। पर्यटकको सुरक्षित यात्राका लागि गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनमा सक्रिय भूमिका खेल्दै आएको उनले बताए। साथै पदमार्गको थप विस्तार कार्यसमेत जारी रहेको जानकारी दिए।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले टेम्केमैयुङ प्राकृतिक रूपमा सुन्दर क्षेत्र भएकाले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर योजना अघि बढाएको बताए। पर्यटकलाई लक्ष्य गरी पदमार्ग आसपास धारा, विश्रामस्थललगायत संरचना निर्माण गरिएको छ।

पर्यटकलाई पदमार्गको विशेषता, भौगोलिक अवस्था, भ्रमणयोग्यस्थल, लाग्ने समय, आवास व्यवस्था तथा सुरक्षित यात्रासम्बन्धी जानकारी प्रदान गर्ने लक्ष्यले पर्यटन सूचना केन्द्र भवनसमेत स्थापना गरिएको छ ।

यो क्षेत्रमा किराँत राई, शेर्पा, तामाङलगायत समुदायको सांस्कृतिक पहिचान झल्कने परिकारका साथै गोठालाले उत्पादन गर्ने अर्गानिक खाद्य सामग्रीको स्वाद लिन सकिन्छ। विविध वनस्पति र जडीबुटीले पनि पर्यटकको ध्यान तान्ने गरेका छन्। नेपालका प्रमुख हिमाल एकै स्थानबाट अवलोकन गर्न सकिने विशेषताका कारण पनि यो पदमार्ग परिचित बन्दै गएको छ।

मध्यम खालको उकालो-ओरालो हुँदै फैलिएको यस पदमार्गबाट चारपाटे, नुप्से, सगरमाथा, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खला अवलोकन गर्न सकिन्छ। किराँत राई समुदायको धार्मिक–सांस्कृतिक ग्रन्थ ‘मुन्दुम’सँग जोडिएकाले यस पदमार्गको नामकरण सोही आधारमा गरिएको हो।पूर्वी नेपालको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको संगमस्थलका रूपमा मुन्दुम पदमार्गले अब नयाँ पहिचान बनाउँदै गएको छ।

मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या

मनाङ, ९ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गए पनि मनाङका केही मतदान केन्द्रको अनुगमन हुन सकेको छैन ।यहाँ फरक समयमा हिमपात भएकाले मतदान केन्द्रको अनुगमन गर्न केही समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले विशेष गरी हिमपातका कारण नार्पाभूमि गाउँपालिकामा रहेका मतदान केन्द्रको अनुगमनमा समस्या भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“भौगोलिक अवस्था र चिसोका कारण अनुगमन प्रभावित भएको छ । समस्याका बीच मनाङ ङिस्याङ गाउँपालिकाका नौवटै मतदान केन्द्रको अनुगमन गरिएको छ । चामे र नासोँ गाउँपालिकाकामा रहेका मतदान केन्द्रको यसअघि नै अनुगमन भए पनि नार्पाभूमिका केन्द्रमा पुग्न सकिएको छैन ।”

मनाङ सदरमुकाम चामेबाट नार्पाभूमिका मतदान केन्द्र पुग्न हिँडेर दुई दिन लाग्छ । नार्पाभूमि गाउँपालिकाका वडा नं १ देखि ३ सम्म नार क्षेत्रमा तीन, वडा नं ४ र ५ को फू क्षेत्रमा दुई गरी पाँच वटा मतदान केन्द्र छन् ।

यहाँ आउजाउ गर्न समस्या भएपछि अस्थायी रूपमा मतदान केन्द्र सदरमुकाम सार्ने विषयमा पनि स्थानीय पालिकासँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताउनुभयो ।

नार्पाभूमि गाउँपालिकामा ४८८ मतदाता रहेका छन् । जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले पाँच वटै वडामा मतदान केन्द्र कायम गरिएका र मौसम अनुकूल नभएमा के गर्ने भन्ने विषयामा छलफल भइरहेको बताउनुभयो ।

जिल्लामा तीन हजार ६२३ महिला र तीन हजार ३७७ पुरुष गरी सात हजार मतदाता रहेका छन् । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा छ हजार ७७९ मतदाता रहेकामा यसपटक २२१ मतदाता थपिएका हुन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको मनाङमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टीका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ १९ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

जापानी येन १०को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०३ पैसा र बिक्रीदर २१ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४० रुपैयाँ ०५ पैसा कायम भएको छ ।

केन्द्रीय बङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६ रुपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २२ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

राष्ट्र बङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ९३ पैसा रहेको छ ।
यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम। प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका चार ठाउँलाई अस्थायी मतदान केन्द्र तोकिएको छ ।प्रदेश निर्वाचन कार्यालयले कैलालीको निर्वाचन क्षेत्र–१ मा पर्ने टीकापुर नगरपालिका भवन, क्षेत्र–४ मा पर्ने गोदावरी नगरपालिकाको बनदेवी मन्दिर परिसर, क्षेत्र–५ मा पर्ने धनगढी उपमहानगरपालिका भवन र धनगढीकै जिल्ला कारागार शाखालाई अस्थायी मतदान केन्द्र तोकिएको जनाएको छ ।

कार्यालय प्रमुख प्रेमराज भट्टले भन्नुभयो, “स्थायी मतदाता नामावलीमा नाम समावेश भएकाले मात्र अस्थायी मतदान केन्द्रमा पुगेर समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउँछन् ।”

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कर्मचारी र कारागारका कैदीबन्दीलाई मतदान गर्न पाउने व्यवस्थाका लागि अस्थायी मतदान केन्द्र स्थापना गरिएको हो । कर्मचारी, सेना, प्रहरी, कैदीबन्दीले समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने व्यवस्था छ । जिल्लाका अस्थायी मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउनेमा ४० कैदीबन्दी सहित चार हजार १९६ मतदाता छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा प्रत्यक्ष र समानुपातिक गरी दुवै निर्वाचन प्रणालीमा भाग लिन पाउने स्थायी मतदाताको कूल सङ्ख्या भने कूल पाँच लाख ५१ हजार ५२ छ । दुवै निर्वाचन प्रणालीमा भाग लिनपाउने मतदाताका लागि जिल्लाभरी २३७ मतदान स्थल तोकिएको छ ।

निर्वाचन कार्यालयले हाल धमाधम मतदान अधिकृत र सहायक मतदान अधिकृतकोे लागि प्रशिक्षण सञ्चालन गरिरहेको छ ।निर्वाचनको मिति नजिकिँदै जाँदा केन्द्रबाट मतपत्र सहितको निर्वाचन सामग्री जिल्लामा पुगिसकेको छ ।

निर्वाचनका लागि ५१ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्नेमा ३७ प्रकारका सामग्री प्रदेश निर्वाचन कार्यालयबाट र बाँकी १४ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट आपूर्ति गर्ने व्यवस्था गरिएको छ ।

वडामा परिचालित मतदाता शिक्षा स्वयमसेवीले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेका छन् । प्रनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सदूरपश्चिम प्रदेशमा राजनीतिक दलका र स्वतन्त्र गरी २०६ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र सहित र निर्वाचन सामग्री ढुवानी भइसक्यो : आयोग

काठमाडौँ। निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई तीव्र पारेको छ ।हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा आयोगले मतपत्र ढुवानी गरिसकेको छ । अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री ढुवानीको काम गरिरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ गरेर निर्वाचन क्षेत्रमा पठाइएको छ ।
आयोगले गत माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरेको थियो । त्यसपछि आयोगले सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा नियमित रूपमा मतपत्र ढुवानी गरेको थियो ।

यस्तै, वाग्मती सहित र अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री नियमित रूपमा ढुवानी गरिरहेको छ । आयोगले अन्य प्रदेशमा ढुवानीकार्य जारी रहेको जानकारी दिँदै राजधानी काठमाडौँभित्रका मतदान केन्द्रमा पनि केही दिनमा पु¥याइने जनाएको छ ।

आयोगले मतपत्र बाहेकका अन्य निर्वाचन सामग्री ढुवानी सम्पन्न भइसकेको उल्लेख गरेको छ । निर्वाचनका लागि विभिन्न ५१ प्रकारका सामग्री आवश्यक पर्ने जनाइएको छ । मतपत्र छपाइतर्फ आयोगले तोकेको क्यालेण्डर अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा गत पुस २२ गतेबाट मतदाता शिक्षा प्रयोजनका लागि छपाइ सुरु भएको थियो । आयोगले १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेको थियो ।

यस्तै, गत पुस २६ गतेबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी गत माघ १३ गतेसम्म सम्पन्न गरेको छ । समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार समानुपातिक मतपत्र छपाइ गरेको थियो ।

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौँ, ९ फागुनः नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामङ्गल चोक तथा तिलगङ्गा क्षेत्रमा बिजुली कटौती हुने जनाएको छ ।

तिलगङ्गा आँखा अस्पताल अगाडि रहेको पोल ढल्केकोले त्यसलाई व्यवस्थितकार्य गर्नका लागि ११ केभी क्षमताको प्रसारण लाइन सटडाउन गर्न लागेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले तिलगङ्गा, प्रकाश सन्यास आश्रम, सम्भुमार्ग, गौशाखा र विमानस्थल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि १२ः३० सम्म बिजुली कटौती गर्ने भएको छ । यस्तै, तिनकुने, गैरीगाँउ, सिनामङ्गल र विमानस्थल क्षेत्र अन्तरगतका सबै क्षेत्रमा १ बजेदेखि १४ः३० बजेसम्म बिजुली कटौती हुनेछ ।

बिजुली कटौतीबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले माफी मागेको छ ।यसैगरी महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा विजुली कटौती हुने भएको छ । काठमाडौँ उपत्यकाका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले वितरण प्रणाली भूमिगतकार्य भइरहेको र सो कार्य सम्पन्न गर्नका लागि आज बिहान १० बजेदेखि २ बजेसम्म बिजुली कटौती हुनेछ ।

प्राधिकरणका अनुसार, बालुवाटार, शिवपुरी स्कुल, पाण्डोल मार्ग, प्रधानमन्त्री निवास आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुनेछ ।

यस्तै, हेपाली हाइट, च्यासिङडोल, देउराली जनता, भगवती मन्दिर, धापासलिगायतका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ ।त्यस्तै, वंशीधर मार्ग, चण्डोल, विशालनगर, सेन्ट्रल अर्पाटमेन्ट र टुँडालदेवी मन्दिरलगायतका क्षेत्रमा पनि १२ बजेदेखि २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ ।

कर्णाली प्रदेशका हिमाली जिल्लामा छिट्टै मतपत्र पठाइने

कर्णाली। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले कर्णाली प्रदेशका हिमाली जिल्लामा छिट्टै मतपत्र पठाउने बताउनुभएको छ ।

प्रदेश निर्वाचन सुरक्षा समितिको आज जिल्ला प्रशासन कार्यालय सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकमा सचिव राउतले विशिष्ट अवस्थामा हुन लागेको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिने यहाँका कर्मचारीको भत्ता, ढुवानी र हेलिकप्टरको खर्च पठाइ सकिएको छ । आवश्यकतामा आयोगले थप काम गर्दै जानेछ ।”

फागुन १० गतेदेखि मसान्तसम्मको मौसम अनुमान गरेर पठाउन जल तथा मौसम विज्ञान विभागलाई अनुरोध गरिएको बताउँदै उहाँले यहाँका उच्च हिमाली जिल्लाको निर्वाचनका लागि हुम्ला, मुगु र डोल्पामा फागुन ९, १० र ११ गतेभित्र मतपत्र पठाउने तयारी भइरहेको बताउनुभयो । तीन हजार मिटरभन्दा माथि जिल्लामा लेक लाग्ने अवस्थालाई मध्य नजर गरेर औषधि खरिदका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बजेट पठाइएको सचिव राउतको भनाइ थियो ।

कर्णाली प्रदेशका हिमाली जिल्लामा निर्वाचन पूर्व र निर्वाचन पश्चात् मतदान केन्द्रमा खटाइने कर्मचारीको आउने जाने व्यवस्थाको सुनिश्चित गर्न बैठकमा सुरक्षा प्रमुखहरुले अनुरोध गरेका थिए । त्यसैगरी निर्वाचनमा खटिएका कर्मचारीलाई आफ्नो मताधिकार प्रयोग गर्ने अवसर आयोगले दिनुपर्नेमा जोड दिइएको थियो ।

बैठकमा प्रदेश कमाण्ड पोष्टका संयोजक कर्णाली प्रदेश सरकारका निमित्त सचिव लक्ष्मीकुमार विक, जिल्ला कमाण्ड पोष्टका अध्यक्ष सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले निर्वाचन तयारीको अवस्था, सुरक्षाका चुनौती र समस्याका बारेमा प्रस्तुती राख्नुभएको थियो ।

सुर्खेत जिल्ला क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत दीपक ढकाल, उत्तरपश्चिम पृतना सुर्खेतका बाहिनीपति सहायक रथी सञ्जय रञ्जितलगायत सुरक्षा निकायका प्रमुखहरुले निर्वाचनलाई केन्द्रित गरेर सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको बताउनुभयो ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशमा १२ निर्वाचन क्षेत्र, दश लाख २४ हजार ६०६ मतदाता, ९५९ मतदानस्थल र एक हजार ४३८ मतदान केन्द्र रहेका छन् ।

नेसनल बास्केटबल लिग फागुन २६ गतेदेखि हुने

काठमाडौँ। नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा हिमालयन जाभा नेसनल बास्केटबल लिग यही फागुन २६ गतेदेखि सुरु हुने भएको छ ।

नेबाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दोस्रो संस्करणको उक्त प्रतियोगिता यही फागुन २६ देखि आगामी चैत २८ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने जानकारी दिइएको हो ।

बत्तीस दिनसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा पहिलो संस्करणमा च्याम्पियन बनेको टाइम्स इन्टरनेसनल कलेजसँगै उपविजेता गोल्डेनगेट इन्टरनेसनल कलेज, तेस्रो भएको हाउण्ड्स र चौथो भएको कीर्तिपुरसहित त्रिभुवन आर्मी क्लब, सोलो बास्केटबल, रोएल र प्लेबक्स एरेनाले प्रतिस्पर्धा गर्नेछन् ।

आर्मी, सोलो, रोएल र प्लेबक्स गत पुसमा भएको लिनिङ बास्केटबल प्रतियोगिताको शीर्ष चारमा रहेर दोस्रो संस्करणको नेसनल बास्केटबल लिगको लागि छनोट भएका हुन् । डबल राउन्ड रोबिन प्रणालीमा खेलाइने प्रतियोगितामा लिग चरणमा कूल ५६ खेल हुनेछन् । लिगमा शीर्ष चारमा रहने टोलीहरू प्लेअफमा प्रवेश गर्नेछन् ।

त्यसपछि सेमिफाइनल र फाइनल खेल हुने नेबाका अध्यक्ष भीमसिंह गुरुङले जानकारी दिनुभयो । नेपाली बास्केटबलको व्यावसायिक संरचना विकास गर्नु र खेलाडीलाई थप अवसर र प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने लक्ष्यका साथ यो लिग आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रतियोगिताको विजेताले रु चार लाख प्राप्त गर्नेछन् भने उपविजेताले रु दुई लाख र तेस्रो हुनेले रु एक लाख हात पार्नेछन् । त्यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै ‘मोस्ट भ्यालुएबल प्लेअर’ (एमभिपी) घोषित हुनेलाई आकर्षक पुरस्कार राखिएको नेबाका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

रौतहट अपडेट : सामाजिक सद्भाव कायम गर्न छ बुँदे सहमति

रौतहट। रौतहटको गौर नगरपालिकाको सवगढा गाउँमा सामाजिक सद्भाव कायम गर्न छ बुँदे सहमति गरिएको छ ।

बिहीबार राति सवगढा गाउँमा विवाहको समयमा बाजा बजाएको विषयमा दुई समुदायबीच भएको विवादले उग्र रुप लिँदा तनावग्रस्त भएको थियो । सोही विषयमा आज रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको अध्यक्षतामा बसेको बैठकले सामाजिक सद्भाव कायम गर्न छ बुँदे सहमति गरेको हो ।

गौर नगरपालिका–६ सवगढा बस्ने सत्यनारायण साहकी छोरीको विवाहको जन्ती बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सवगढा आउने क्रममा मस्जिद अगाडि बाजा बजाइएको विषयलाई लिएर मुस्लिम पक्ष र जन्ती पक्षबीच विवाद भएको थियो । विवादमा दुई पक्षबीच ढुङ्गा हानाहान हुँदा तनावग्रस्त भएको थियो । झडपमा प्रहरीसहित दर्जनौँ मानिस घाइते भएका थिए ।

घटनापछि जिल्ला प्रशासन कार्यालय गौरमा प्रजिअ भुसालको अध्यक्षतामा बैठक बसेको थियो । सो बैठकमा दुवै पक्षका प्रतिनिधि बोलाइ सामाजिक सद्भाव कायम गर्न वार्ता गरिएको थियो ।

सामाजिक सद्भाव कायम राख्न सबैलाई संयमता अपनाउन प्रमुख जिल्ला अधिकारी भुसालले आग्रह गर्नुभएको छ । हिन्दू पक्ष र मुस्लिम पक्षबीच सौहार्दपूर्ण वातावरणमा वार्ता सम्पन्न भएको प्रजिअ भुसालले जानकारी दिनुभयो । दुवै पक्षबीच छ बुँदे सहमति भएको र यही फागुन २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गराउने वातावरण सृजना गर्ने प्रतिबद्धता दोहो-याइएको उहाँले बताउनुभयो ।

गए राति भएको झड्पमा छ जना घाइते भएकालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । सबैको अवस्था सामान्य रहेको जनाइएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन १२ राउण्ड हवाइ फायर र ४० राउण्ड अश्रु ग्यास प्रहार गरिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।

एक करोड फिरौती र ५ किलो सुन माग्ने अपहरणकारी पक्राउ

राजविराज । सप्तरीको खड्क नगरपालिका–८ बिसनपुरबाट मङ्गलबार साँझ अपहरणमा परेकी ७ वर्षीया बालिका नेहा खातुनलाई प्रहरीले बिहीबार सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले अपहरणकारीलाई नियन्त्रणमा लिँदै बालिकाको उद्धार गरेको हो।

प्रहरीले अपहरणमा संलग्न खड्क नगरपालिका–९ लालपट्टि टोलका ३० वर्षीय इम्तियाज अहमदलाई रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलाबाट पक्राउ गरेको छ। अपहरणकारी अहमदले बालिकाका बुबा इमरान खानलाई फोन गरी छोरीको बदलामा एक करोड रुपैयाँ नगद र पाँच किलो सुन फिरौती मागेका थिए।

उनले उक्त फिरौती रकम र सुन बुझाउन खानलाई खाँडो खोलामा बोलाएको समयमा प्रहरीले घेरा हालेर उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए। मङ्गलबार घरबाटै हराएकी बालिकाको खोजीका लागि परिवारले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो।

पक्राउ परेका अहमदविरुद्ध अपहरण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

राप्ती–लच्कासम्म बागमती प्रदेश सरकारले बाइपास सडक बनाउने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको राप्ती खोला पुलदेखि रातमाटेको लच्कासम्म बाइपास सडक बनाउन प्रदेश सरकारले योजना तयार गरिरहेको बताएका छन् ।

सडक विस्तारका क्रममा पीडित भएका घरधनी र बागमती प्रदेश सरकारबीच शुक्रबार हेटौँडामा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री बानियाँले स्थानीयसँग समझदारी कायम गरी राप्ती पुलदेखि रातमाटेको लच्कासम्म बाइपास सडक बनाउनका लागि प्रदेश सरकारले आवश्यक बजेट छुट्याउने बताए।

“राप्तीदेखि सिधैँ लच्कासम्म बाइपास सडक बनाउन प्राविधिक रूपमा कुनै समस्या छैन्”, उनले भने, “बाइपास सडक बनाउने बाटोमा एउटा टावर छ, तर त्यसले कुनै समस्या हुँदैन, यसको पनि समाधान हुन्छ ।” यसक्षेत्रका स्थानीयसँग समझदारीमा काम गरेर अगाडि बढ्ने योजनामा प्रदेश सरकार रहेको उनको भनाइ छ ।

निर्वाचनपछि बन्ने नयाँ सङ्घीय सरकारसँग बाइपास सडक बनाउने विषय छलफल गरेर प्रदेश सरकारले आवश्यक बजेट छुट्याउन पहल गर्ने मुख्यमन्त्री बानियाँले प्रतिबद्धता जनाए। वैकल्पिक व्यवस्था नगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको राप्तीदेखि रातमाटेसम्म सडक विस्तारका लागि भौतिक संरचना भत्काउनु गलत भएको जिकिर गर्दै उहाँले मुख्य सडक दायाँबायाँ १६–१६ मिटर कायम गर्नुपर्ने सुझाव दिए।

अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ, सडक विस्तारका क्रममा पीडित भएका घरधनीलगायत स्थानीयको सहभागिता थियो।

पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह : ६ हजार ६२२ विद्यार्थी दीक्षित

पोखरा । पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा शुक्रबार विभिन्न सङ्कायका ६ हजार ६२२ जना विद्यार्थी दीक्षित भएका छन् । पोखरा–३० खुदी ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीले विद्यार्थीहरूलाई दीक्षित गरेकी हुन् ।

दीक्षान्त समारोहमा व्यवस्थापन सङ्कायका ३ हजार ६२५, विज्ञान तथा प्रविधिका २ हजार ५०६, स्वास्थ्य विज्ञानका ३६५ र मानविकी तथा सामाजिक शास्त्र सङ्कायका १२६ जना विद्यार्थी सहभागी थिए । समारोहमा ६ दशक लामो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव सँगालेकी चाँदनी जोशी प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् । दीक्षित हुनुअघि प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बसेको विश्वविद्यालय सभाको विशेष बैठकले योग्य विद्यार्थीहरूको ‘ग्रेस लिस्ट’ पारित गरेको थियो ।

समारोहका क्रममा शैक्षिक उत्कृष्टता हासिल गर्ने ६६४ जना विद्यार्थीलाई ‘डीन लिस्ट’ उपाधि र अन्य उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदकबाट सम्मान समेत गरिएको छ । वि.सं. २०५४ मा स्थापना भएको यस विश्वविद्यालयमा हाल ३७ हजार ५९३ विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले देशभरका ६६ वटा महाविद्यालयमार्फत ७४ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

एक वर्षमा ४० लाख भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता

काबुल । लगभग एक वर्षको समय अवधिमा ४० लाख भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तानमा फर्केको शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले बताएका छन् ।

चालु वर्षको सुरु देखि अफगानिस्तानमा ४० लाख ७६ हजार ८०८ जना अफगान शरणार्थीहरू फर्केको जनाइएको छ । फर्किनेहरुमा स्वेच्छाले फर्केका र निर्वासितहरू समेत समावेश रहेको अफगानिस्तानका रेडियो टेलिभिजन लगायतका मिडियाले हक्कानीलाई उद्धृत गर्दै जनाएका छन् ।

स्वदेश फर्केर, अस्थायी रूपमा शिविरमा बसेकाहरु सबैलाई अत्यावश्यक सहायता प्राप्त गरे पछि आ–आफ्नो गृह प्रान्तमा सारिएको आधिकारिक मिडियाहरुले जनाएका छन् ।

सन् २०२१ अगस्टमा अफगान सरकारले सत्ता सम्हालेपछि ८० लाखभन्दा बढी अफगान शरणार्थीहरू स्वेच्छाले छिमेकी राज्य र अन्य देशहरूबाट स्वदेश फर्केको जनाइएको छ ।

भौतिक र मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाउने प्रतिबद्धता

लुम्बिनी। आसन्न प्रतिनिधिसभा निर्वाचन आउन १३ दिन बाँकी रहँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट रूपन्देही क्षेत्र नं २ मा उम्मेदवारी दिनुभएका विष्णुप्रसाद पौडेलले जिल्लामा भौतिक तथा मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाइने प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

पार्टी उपाध्यक्षसमेत रहनुभएका उहाँले आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा सहरी पूर्वाधार, उद्योग–व्यापार, कृषि, पर्यटनदेखि सुशासनसम्मका बहुआयामिक योजना समेटिएको विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।

एमालेले प्रतिबद्धतापत्रमार्फत रूपन्देही निर्वाचन क्षेत्र नं २ लाई शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग, पूर्वाधार र कृषि विकासको नमूना क्षेत्र बनाउने लक्ष्य लिएको जनाएको छ ।

प्रतिबद्धतापत्रमा एमालेले संविधानको रक्षा, सामाजिक न्याय, समानता र सुशासनमार्फत रूपन्देहीलाई देशकै अग्रणी आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । पत्रकार सम्मेलनमा उम्मेदवार पौडेलले एमालेले रूपन्देहीलाई विद्यालय र उच्च शिक्षाको प्रमुख केन्द्रका रूपमा विकास गर्ने घोषणा गर्नुभयो ।

प्रतिबद्धतापत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार गरी स्वदेशी तथा विदेशी विद्यार्थी आकर्षित गरिने तथा नेपाल विश्वविद्यालय स्थापना गर्न आवश्यक सहयोग गरिने जनाइएको छ । बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माण तथा सञ्चालन, कृषि र इञ्जिनियरिङ क्याम्पस स्थापना गर्ने र प्राविधिक शिक्षालाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।

युवाहरूका लागि स्टार्टअप कोष स्थापना, सीप विकास तालिम, स्वरोजगार कार्यक्रम तथा विदेशबाट फर्केका युवाको सीप र पुँजीलाई उत्पादन क्षेत्रमा प्रयोग गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।

प्रतिबद्धतापत्रमा सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड स्तरोन्नति गर्ने, बुटवल–नारायणगढ सडक विस्तार, विभिन्न स्थानमा पुल निर्माण तथा स्थानीय सडक सञ्जाल विस्तार गर्ने योजना समेटिएको छ । यस्तै सहरी विकास र आधुनिक पूर्वाधार निर्माणका क्षेत्रमा बुटवल, तिलोत्तमा र सैनामैनालाई समेटेर ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास कार्यक्रम’ सञ्चालन गरी आधुनिक सहरी पूर्वाधार निर्माण गर्ने योजना छ ।

कृषि क्षेत्र आधुनिकीकरणमा विशेष ध्यान दिने र कृषि उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसँग जोड्ने, आधुनिक प्रविधि प्रयोग गर्ने, किसानलाई तालिम, ऋण र बजार पहुँच उपलब्ध गराउने योजना पनि प्रतिबद्धतापत्रमा समावेश गरिएका छन् ।

प्रधानमन्त्रीद्वारा प्रदेशको निर्वाचन सुरक्षा व्यवस्था सम्बन्धमा जानकारी

प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ हुने निर्वाचनका सम्बन्धमा गण्डकी प्रदेशको सुरक्षा व्यवस्थालगायतका विषयमा जानकारी लिएकी छिन् ।

प्रधानमन्त्री कार्कीलाई प्रदेश प्रमुख सचिव डण्डुराज घिमिरे, प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे, प्रदेश निर्वाचन अधिकारी नारायण ढकाललगायतले सुरक्षा व्यवस्थालगायत विषयमा जानकारी गराएका थिए ।

आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा भइरहेका तयारीलगायत विषयमा प्रधामन्त्रीले जानकारी लिनुभएको प्रदेश प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिए ।

“प्रदेशमा सुरक्षा संयन्त्रसहितको निर्वाचन सेल रहेको छ, यही सेलबाट भएगरेका गतिविधि उनलाई जानकारी गराइनुुका साथै उहाँबाट निर्देशन लिने काम भएको छ”, प्रमुख सचिव घिमिरेले भने । पोखरा विश्वविद्यलायको २१औँ दीक्षान्त समारोहको अवसर पारी प्रधानमन्त्री पोखरा आएकी हुन् ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि पारित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित गरेको छ ।

समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले सो कार्यविधि पारित गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा कपिलवस्तुलगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका व्यक्ति, निजका प्रस्तावक/समर्थक तथा पार्टी अनुशासनविपरीत क्रियाकलापमा संलग्न सदस्यका सम्बन्धमा छलफल भएको कांग्रेसले जनाएको छ ।

महोत्तरी–१ : मतदाता रिझाउन घरदैलोमा उम्मेदवार

महोत्तरी। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी–१ का उम्मेदवार अहिले मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् ।

यस क्षेत्रमा १२ राजनीतिक दलका र १३ स्वतन्त्रसहित २५ जना उम्मेदवार छन्। जताततै चुनावी चर्चा चुलिएको छ । चिया पसलमा पनि सबै चुनावी लख काट्न व्यस्त देखिन्छन् । दलका कार्यकर्ता र उम्मेदवार बस्तीबस्तीमा झण्डा फहराउँदै गाडी लिएर पुगिरेहका छन् ।

“भोटै त कति हालियो कति, हाम्रा दुःख जहाँका त्यही छन्”, महोत्तरी–१ भङ्गाहा–४ जमुनियाँचोकस्थित चिया पसलमा भेटिनुभएका स्थानीय नन्दा चौधरी थारूले भन्नुभयो, “न खेतबारीमा सिँचाइ, न छोराछोरीलाई रोजगारी, कसलाई दिनु हो भोट ?” सिँचाइ नहुँदा बाला ओइलाउँदै गरेको गहुँको बोट देखाउँदै उहाँले भन्नुभयो, “अब त जसले सिँचाइको प्रबन्ध गर्छ, तिनैलाई भोट दिइन्छ ।”

सोही बस्तीका महिकरण चौधरीले पनि सिँचाइ गाउँलेको पहिलो प्राथमिकता रहेको बताउनुभयो । “जीवन गुजारा धान्ने खेतीपातीले नै हो, तर हामी किसानतिर फर्केर हेर्ने कोही भएनन्”, उहाँ भन्नुहुन्छ, “न सिँचाइ, न समयमा बीउमल, न सुलभ ब्याजदरको ऋृणको व्यवस्था ।”

सोही बस्तीका महिकरण चौधरीले पनि सिँचाइ गाउँलेको पहिलो प्राथमिकता रहेको बताउनुभयो । “जीवन गुजारा धान्ने खेतीपातीले नै हो, तर हामी किसानतिर फर्केर हेर्ने कोही भएनन्”, उहाँ भन्नुहुन्छ, “न सिँचाइ, न समयमा बीउमल, न सुलभ ब्याजदरको ऋृणको व्यवस्था ।”

जिल्लाको सम्पूर्ण चुरेक्षेत्र ओगटेको यहाँका वन, पहाडी शृङ्खला र नदीनालाको संरक्षण र समुचित प्रयोग आम मतदाताको चासोको विषय बनेको छ । “वन मासिँदो छ, पहाडी थुम्का र नदीमा अनियन्त्रित उत्खननले बर्सेनि बाढीबाट कटान, डुबान र पहिरोको समस्या झेलिदै छ”, बर्दिबास–९ पशुपतिनगरका सामाजिक कार्यकर्ता अमृतकुमार महतो भन्नुहुन्छ, “यी सम्पदाको संरक्षणको मुद्दामा दलहरूको खासै रुचि देखिँदैन ।”

अहिले चुनाव प्रचारमा निस्केका दलका नेता, कार्यकर्ता र उम्मेदवारले जनताका यिनै प्रश्न सामना गरिरहेका छन् । यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले २०६४, २०७० र २०७४ सालमा चुनाव जितेका थिए । पटकपटक मन्त्री बनिसक्नुभएका गिरिराजमणि पोखरेल र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अघिल्लो निर्वाचनका विजेता लक्ष्मी महतो कोइरी उम्मेदवार छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका डा मुकेश काफ्ले, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतो, जनता समाजवादी पार्टीका योगनारायण महतो र आम जनता पार्टीका मुकेश साह पहिलोपटक प्रतिस्पर्धामा उत्रिएका छन् ।

यहाँको बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका प्रतिनिधिसभा क्षेत्र नं १ मा पर्छन् । बर्दिबासका सबै (१४), गौशालाका सबै (१२) र भङ्गाहाका ३, ४, ५ र ९ नम्बर वडासमेत यस क्षेत्रका जम्मा ३० वडामा सानाठूला गरेर १२५ भन्दा बढी टोल बस्ती छन् ।

यहाँका अधिकांश बस्ती बर्खामा कटानको जोखिम र हिउँद नसकिँदै खानेपानीको हाहाकारमा पर्दै आएका छन् । यहाँका ३० वडामा ५९ मतदानस्थल र १३० मतदान तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस क्षेत्रमा एक लाख पाँच हजार ६४६ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिनुभयो ।

नेकपा एमालेको झण्डा जलाउने रास्वपाका एक कार्यकर्ता पक्राउ

काठमाडौं – नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाउने रास्वपाका एक कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धि बहादुर बस्नेत रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो। बिहीबार तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा रास्वपा सभापति रवि लामिछानेलाई स्वागत गर्न आयोजित कार्यक्रम भइरहेको बेला एमालेको झण्डा जलाएको आरोप बस्नेतमाथि लागेको छ।

भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

बलियो जापानको प्रतिज्ञा

टोकियो । सत्तारूढ एलडिपीले दुई तिहाइ बहुमतसहितको जित हात पारेपछि प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्मा प्रस्तुत नीतिगत सम्बोधनमार्फत जापानलाई ‘बलियो र समृद्ध’ राष्ट्र बनाउने प्रतिबद्धता दोहोर्‍याएकी छन् । सुरक्षा चुनौती चर्किँदै गएको र आर्थिक दबाब बढिरहेको सन्दर्भमा उनले रक्षा नीतिको पुनरावलोकनदेखि आर्थिक पुनरुत्थानसम्म व्यापक एजेन्डा अघि सारेकी हुन् ।

ताकाइचीले चीनले पूर्वी तथा दक्षिण चीन सागर क्षेत्रमा आफ्नो गतिविधि बढाउँदै गएको र जापान वरपरको सुरक्षा अवस्थाप्रति चासो व्यक्त गरेको बताइन् । उनले रुस र उत्तर कोरियाको नाम पनि उल्लेख गर्दै जापानले दोस्रो विश्वयुद्धपछिकै ‘सबैभन्दा गम्भीर र जटिल सुरक्षा वातावरण’ सामना गरिरहेको बतायन् । यसै कारण यस वर्ष तीन प्रमुख रक्षा नीति कागजात संशोधन गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । घातक हतियार निर्यातमा जापानले स्वेच्छाले लगाएको प्रतिबन्ध थप खुकुलो पार्ने विषयमा पनि छलफल अघि बढाइने सङ्केत उनले दिइन् ।

नोभेम्बरमा ताइवानको अवस्थाबारे दिएको अभिव्यक्तिपछि बेइजिङले असहमति जनाएको थियो । त्यसपछि चीनले आफ्ना नागरिकलाई जापान भ्रमणबारे सतर्क रहन सुझाव दिएको थियो भने म्युनिख सुरक्षा सम्मेलनमा चिनियाँ कूटनीतिज्ञ वाङ् यीले जापानको सुरक्षा नीतिबारे चिन्ता व्यक्त गरेको थियो ।

अर्थतन्त्रतर्फ ताकाइचीले बजारको विश्वास कमजोर पार्ने ‘अविवेकी वित्तीय नीति’ नअपनाइने स्पष्ट पारिन् । सार्वजनिक ऋणलाई कुल गार्हस्थ उत्पादन (जिडिपी) को अनुपातमा घटाउने प्रतिबद्धता व्यक्त गर्दै उनले विकास प्रवर्द्धनका लागि ‘ग्रोथ स्विच’ निरन्तर थिचिरहने बताइन् । ऊर्जा, स्वास्थ्य, पूर्वाधार, साइबर सुरक्षा, एआई, चिप्स र जहाज निर्माणजस्ता क्षेत्रलाई प्राथमिकतामा राखिने उनको भनाइ छ ।

सरकारी तथ्याङ्कअनुसार जनवरीमा मुद्रास्फीति केही सुस्तिएको छ । ताजा खाद्यान्न बाहेकको कोर उपभोक्ता मूल्य वर्षमा दुई प्रतिशतले बढेको छ । यो दुई वर्षयताकै न्यून वृद्धि हो । दशकौँको स्थिर वा घट्दो मूल्यपछि बढ्दो मुद्रास्फीति अघिल्ला दुई प्रधानमन्त्रीको पतनको कारण बनेको थियो । ताकाइचीले घरपरिवारलाई राहत दिन दुई वर्षका लागि खाद्यान्नमा उपभोग कर निलम्बन गर्ने विषयमा विचार गर्ने चुनावी प्रतिबद्धता दोहोर्‍याइन ।

यस कदमले उच्च सार्वजनिक ऋणबारे बजारको चिन्ता बढाएको छ र दीर्घकालीन सरकारी बन्डको प्रतिफल गत महिना कीर्तिमानी उचाइमा पुगेको थियो । कर संरचना र बढ्दो सामाजिक सुरक्षा खर्च कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा क्रस–पार्टी ‘राष्ट्रिय परिषद्’ गठन गर्ने घोषणा पनि उनले गरिन् । साथै ऊर्जा सुरक्षाका लागि स्वदेशमै उत्पादित र डिकार्बोनाइज्ड ऊर्जा स्रोतको अधिकतम उपयोग गर्ने नीति अघि सारिने उनले बताइन् ।

भारत अमेरिका नेतृत्वमा सुरक्षित प्रविधि साझेदारीमा सामेल

नयाँदिल्ली । टेक्नोलोजी सुरक्षा र आपूर्ति शृङ्खलालाई सुदृढ पार्ने उद्देश्यले भारत शुक्रबार अमेरिकी नेतृत्वको रणनीतिक पहल, प्याक्स सिलिका, मा प्रवेश गरेको छ । यो कदमले भारत र अन्य लोकतान्त्रिक साझेदार राष्ट्रबीच नयाँ प्रविधि साझेदारी र सुरक्षा सहयोगको अवसरलाई जोड्नेछ, साथै हालैको रूसी तेल आयातको विषयमा छोटो तनावपछि भारत–अमेरिका सम्बन्धलाई पुनःस्थापित गर्ने सङ्केत पनि हो ।

प्याक्स सिलिकामा जापान, दक्षिण कोरिया, बेलायत, इजरायल लगायतका देशहरू सहभागी छन् । यस पहलको मुख्य उद्देश्य अर्धचालक (सेमीकन्डक्टर) डिजाइन, निर्माण, अनुसन्धान र आपूर्ति शृङ्खलामा साझेदार राष्ट्रबीच लचिलोपन र भरोसा योग्य नेटवर्क विकास गर्नु हो । यसले चीनको प्रभुत्व रहेको उत्पादन केन्द्रहरूमा निर्भरता घटाउने रणनीतिक लक्ष्यलाई पनि समर्थन गर्छ ।

अमेरिकी राजदूत सर्जियो गोरले हस्ताक्षर अघि भने, “प्याक्स सिलिका राष्ट्रहरूको समूह हुनेछ जसले टेक्नोलोजी मार्फत स्वतन्त्र मानिस र स्वतन्त्र बजारलाई सशक्त बनाउनुपर्छ । भारतको प्रवेशले केवल प्रतीकात्मक नभई रणनीतिक आवश्यकतालाई पनि दर्शाउँछ ।”

भारत–अमेरिका सम्बन्धमा हालैको सुधार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिखर सम्मेलन र द्विपक्षीय व्यापार सम्झौतासँग मेल खाँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा भारतमा आयात शुल्क २५ प्रतिशतबाट १८ प्रतिशतमा घटाउने घोषणा गरेको थियो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी तेल खरिदमा लगाइएको अतिरिक्त २५ प्रतिशत लेवी हटाउन सहमति जनाएको थियो । सन् २०२२ मा मस्कोको युक्रेन आक्रमणपछि भारतले रूसी तेल आयात बढाएको थियो, जसको पश्चिमी साझेदारहरूले आलोचना गरेका थिए ।

प्याक्स सिलिकामा भारतको प्रवेश र व्यापार छुटहरूले रणनीतिक रूपमा भारतको भूमिकालाई इन्डो–प्यासिफिक क्षेत्रमा एक प्रमुख अमेरिकी साझेदारका रूपमा सुदृढ बनाउने अपेक्षा गरिएको छ । गोरले भने, “व्यापार सम्झौतादेखि प्याक्स सिलिकासम्म र रक्षा सहयोगसम्म हाम्रा दुई राष्ट्रका लागि सँगै काम गर्ने सम्भावना साँच्चै असीमित छ ।” रासस

बागमती प्रदेश सरकारका बहुवर्षीय योजनाको काम धमाधम

बागमती। बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा भवन कार्यालय हेटौँडाद्वारा मकवानपुर र चितवनमा सञ्चालित आधा दर्जन योजनाको काम सम्पन्न भएको छ ।

निर्धारित समयमा योजनाहरु सम्पन्न गर्न कार्यालयले नियमित अनुगमन र निगरानी बढाएपछि बहुवर्षीय योजनाको काम सम्पन्न भएको हो ।

कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर भुपेन्द्रकुमार यादवले हेटौँडा अस्पतालको भवन निर्माणकार्य सम्पन्न भई हस्तान्तरणका क्रममा रहेको जानकारी दिए । गत २०८१ असार मसान्तसम्म समयावधि भए पनि अस्पतालले जग्गाको व्यवस्थापनमा ढिलाइ हुँदा केही बढी समय लागेको उनले बताए ।

उक्त कार्यालयको बहुवर्षीय योजनाअन्तर्गत चितवनमा निर्माणाधीन भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भवन निर्माणको काम आर्थिक वर्ष २०८१÷८२ मा सम्पन्न भइसकेको छ

यस्तै, प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा भवन निर्माण कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । हाल उक्त भवनमा जेनजी आन्दोलनपश्चात् बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अस्थायी रूपमा सञ्चालनमा छ ।

चितवनको भरतपुर महानगरपालिका–२२ स्थित कमलपोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम पनि सम्पन्न भएको प्रमुख यादवले जानकारी दिए । उनका अनुसार हेटौँडाको रातमाटे पावरहाउस चौक कमाने–भोर्ले सडकमा ढलानको काम सम्पन्न भएको छ ।

यस्तै, बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक आर्थिक वर्षमा ठेक्का लागेको हेटौँडा उपमहानगरपालिकास्थित अड्डा मार्गमा फुटपाथ निर्माण, हेटौँडा उपमहानगरपालिका–१० मा स्ट्रिट फुड पार्क, चितवनस्थित कृषि विकास कार्यालयको भवन, चितवनको खैरेनीस्थित सबडिभिजन वन कार्यालय भवन र चितवनस्थित गोले पार्कको काम तीव्र रूपमा भइरहेको कार्यालय प्रमुख यादवले बताए ।

चितवनको राप्ती–१२ मा निर्माणाधीन नौलापुर एकीकृत बस्ती पूर्वाधार निर्माण, चितवनको भरतपुर–२ स्थित मितेरी टोलदेखि नमस्ते पार्कसम्म ढलानको काम ५५ प्रतिशत सम्पन्न भएको र बाँकी काम तीव्र रुपमा भइरहेको उनले जानकारी दिए । यसैगरी मकवानपुरको थाहा नगरपालिका–९ स्थित ऐतिहासिक धनदेव गोले पार्क भौतिक पूर्वाधार निर्माण, चितवनको बङ्कुलर रत्ननगर अस्पताल मातृशिशु भवन निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ ।

चितवनको माडी–८ मा निर्माणाधीन मध्यवर्ती ‘होमस्टे’ सांस्कृतिक सामुदायिक भवन निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको र चालु आवमा बजेट नहुँदा काम रोकिएको प्रमुख यादवको भनाइ छ ।

रौतहटको गौरमा दुई समूदायबीच झडप, स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर

काठमाडौं – रौतहटको गौरमा दुई समूदायबीच विवाह भएको छ । आज गौर नगरपालिका वडा नम्बर ६ सबगढामा विवाहको जन्ती र स्थानीय मुस्लिम समूदायबीच विवाद हुँदा झडप भएको हो ।

फागुन ७ गते राति बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढास्थित सत्यनारायण साहको घरमा आउँदै गरेको जन्तीले मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर विवाद भएको जनाइएको छ ।

राति नै ढुङ्गा हानाहान हुँदा ६ जना घाइते भएका थिए । यसै बिषयलाई लिएर आज बिहान ९ः१५ बजे पुनः दुवै पक्षबीच विवाद भएको थिए । दुबै पक्षका करीब ५०० को सङ्ख्यामा भेला भएका मानिसहरूबीच दोहोरो झडप भएको छ ।

स्थिति तनावग्रस्त बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली परिचालन गरिएको थियो । भीडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले १२ राउण्ड ब्ल्याङ्क फायर ९हवाई फायर० र ४० सेल अश्रुग्यास प्रहार गरेका छन् । झडपमा परी थप ६ जना घाइते भएका छन् ।

आँसु बोकेर परदेश, रोग र पीडा बोकेर स्वदेश फर्किएकी सीता

भद्रपुर (झापा)। परदेश जाने निर्णय रहरले हुँदैन, बाध्यताले हुन्छ । ऋण, गरिबी र सन्तानको भविष्यले जब एकैचोटि थिच्छ, तब आफ्नै माटो छोड्नुबाहेक अरू विकल्प बाँकी रहँदैन ।

मेचीनगर नगरपालिका–८ की सीता थापामगर पनि यही बाध्यताको यात्रामा परदेशिइन् । कुबेतदेखि लेबनान र साउदी अरबसम्म फैलिएको उनको जीवन यात्रा वैदेशिक रोजगारीको अवसरभन्दा बढी सङ्घर्ष, पीडा र रोगसँगको लडाइँको दस्तावेज बनेर स्वदेश फर्किएको छ ।

सीताको विवाह १६ वर्षकै उमेरमा २०४७ सालमा भयो । किशोरावस्थामै गृहस्थीको जिम्मेवारी सम्हाल्न थालेकी सीताले छोटो समयमै मातृत्वको अनुभव पनि गरिन् । एक छोरा र एक छोरीको जन्मसँगै जीवनले नयाँ अर्थ लिँदै थियो । तर उनको उमेर २५ वर्ष नपुग्दै श्रीमान्को निधन भयो । श्रीमान् गुमाउँदा सीताले केवल जीवनसाथी मात्र गुमाइनन्, उपचारका क्रममा लागेको ऋण पनि उनकै काँधमा आइप¥यो ।

श्रीमान्को मृत्युपछि परिवारको सम्पूर्ण जिम्मेवारी सीतामाथि आयो । स–साना छोराछोरी, सासू–ससुरा र घरखर्च—सबै एक्लैले धान्नुपर्ने अवस्था आयो । नेपालमै मजदुरी गरेर ऋण तिर्न र परिवार पाल्न सम्भव नदेखिएपछि उनले परदेश जाने कठिन निर्णय लिइन् । आफन्तको सहयोगमा भारतको बाटो हुँदै भिजिट भिसामा २०६२ सालतिर सीता कुबेत पुगिन् । कुबेत जान करिब २० हजार रुपैयाँ खर्च भएको थियो, जुन रकम जुटाउन नै उनलाई सङ्घर्ष गर्नुपरेको थियो ।

कुबेतमा सीताले घरेलु कामदारका रूपमा काम सुरु गरिन् । मासिक करिब आठ हजार नेपाली रुपैयाँ पारिश्रमिक पाउँथिन् । तर परदेशी जीवन उनका लागि सहज थिएन । बिहानदेखि रातिसम्म निरन्तर काम गर्नुपर्ने, पर्याप्त आरामको अभाव, भाषागत कठिनाइ र असुरक्षित कार्य वातावरणसँग उनले दिनहुँ जुधिरहनुप¥यो । आफ्नो दुःख व्यक्त गर्ने ठाउँ र भरोसाको आधार नहुँदा मानसिक रूपमा पनि उनी कमजोर बन्दै गइन् । राम्रो साहु नपर्दा गालीगलौज, अपमान र मानसिक तनाव सहनु परेको अनुभव सीता सुनाउँछिन् । यस्ता कठिन परिस्थितिबीच पनि उनले हार मानिनन् । चार वर्षसम्मको कुबेत बसाइँमा भोगिएका पीडा र सङ्घर्षकै बीच श्रीमान्को उपचारका क्रममा लागेको ऋण तिर्न भने उनी सफल भइन् ।

ऋण तिरेर नेपाल फर्केपछि सीताले स्वदेशमै बस्ने योजना बनाइन् । परिवारसँगै बसेर छोराछोरीको हुर्काइ र शिक्षामा ध्यान दिने उनको चाहना थियो । तर समयसँगै छोराछोरी हुर्कंदै गए र उनीहरूको शिक्षा–दीक्षा, खानपान तथा दैनिकीका खर्च क्रमशः बढ्दै गयो । दैनिक जीवन चलाउनकै लागि पनि आर्थिक दबाब बढ्दै जाँदा परिवारको दायित्व घट्नुको सट्टा झन् थपिँदै गयो । नेपालमै सीमित आम्दानीका स्रोतले ती सबै जिम्मेवारी धान्न कठिन भएपछि सीता फेरि पनि परदेशकै बाटो रोज्न बाध्य भइन् । यसपटक भने उनले अघिल्ला अनुभवबाट सिक्दै मेनपावरमार्फत कानुनी प्रक्रियाबाट वैदेशिक रोजगारीमा जाने निर्णय लिइन् । सोही क्रममा २०६८ सालमा ६० हजार रुपैयाँ खर्चेर सीता मेनपावर कम्पनीमार्फत लेबनान पुगिन् ।

लेबनानमा उनको काम एक वृद्ध आमाको हेरचाह गर्ने थियो । काम तुलनात्मक रूपमा सहज थियो र मासिक करिब १५ हजार नेपाली रुपैयाँ जति पारिश्रमिक पाउँथिन् । स्थिर आम्दानी र कामको सहजताले उनी केही सन्तुष्ट थिइन् । तीन वर्षसम्म लेबनानको बसाइँ सामान्य रूपमा चलिरहेको थियो । तर जीवनले फेरि उनलाई ठूलो पीडा दियो । लेबनानमै काम गरिरहेको अवस्थामा नेपालबाट आएको खबरले सीताको जीवन फेरि बदलियो । उनका किशोर छोरा घरमै असामयिक निधन भएको खबर आयो ।

यो खबर सीताको जीवनकै सबैभन्दा ठूलो आघात बन्यो । आमाका लागि सन्तान गुमाउनु शब्दले व्यक्त गर्न नसकिने पीडा हो । परदेशमा बसेर सुनेको यो दुःखद समाचारले उनलाई गहिरो मानसिक चोट पु¥यायो । तीनवर्षे लेबनान बसाइँ पूरा हुन नपाउँदै सीता सबै काम छोडेर नेपाल फर्किइन् । घर फर्किएपछि केही समय उनी स्वदेशमै बसिन् । शोकको पीडा, परिवारको अवस्था र बाँकी जिम्मेवारी सम्हाल्ने प्रयासमै उनका दिन बित्न थाले । छोराको असामयिक निधनको पीडाले मन भारी रहँदा पनि जीवन चलाउनुपर्ने बाध्यता टरेन । यही क्रममा आर्थिक अभाव फेरि पनि उनको जीवनमा उपस्थित भयो, जसले सीतालाई पुनः कठिन निर्णयतर्फ धकेल्ने परिस्थिति सिर्जना गर्‍यो ।

दुई वर्षपछि सीता पुनः मेनपावरमार्फत साउदी अरब पुगिन् । साउदीमा उनले अस्पतालमा क्लिनरका रूपमा काम गरिन् । कामको प्रकृति शारीरिक रूपमा मेहनतिलो थियो र लामो समयसम्म निरन्तर काम गर्नुपर्ने अवस्था रहन्थ्यो । पाँच वर्षसम्म लगातार काम गर्दा परिवारको जिम्मेवारी पूरा गर्नेतर्फ ध्यान केन्द्रित हुँदा आफ्नो स्वास्थ्यप्रति भने पर्याप्त ध्यान दिन नसकेको उनी बताउँछिन् । यही क्रममा घाँटीमा समस्या देखाप¥यो ।

प्रारम्भमा सामान्य समस्या ठानेर बेवास्ता गरिए पनि समस्या बढ्दै गएपछि साउदीमै चार महिना उपचार गराइन् तर उपचारबाट अपेक्षित सुधार हुन सकेन । स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि अन्ततः उनी नेपाल फर्किइन् । नेपाल आएपछि चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा जाँच गराउँदा उनलाई दोस्रो चरणको घाँटीको क्यान्सर भएको पुष्टि भयो, जसले सीताको जीवनमा अर्को ठूलो चुनौती थपिदियो ।

क्यान्सरको खबरले सीताको जीवनमा अर्को ठूलो चुनौती थपियो । उपचारका क्रममा हालसम्म १४ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । अझै पनि नियमित उपचार र ‘फलोअप’ का लागि भरतपुर धाउनुपर्ने अवस्था छ । सीमित आम्दानी र स्रोतका बीच थोरै बचत, ऋण तथा आफन्तको सहयोगमा उनले उपचारलाई निरन्तरता दिइन् । शारीरिक पीडा, मानसिक तनाव र आर्थिक दबाबका बाबजुद पनि उनले हार मानिनन् । लामो सङ्घर्षपछि उनी क्यान्सरमाथि विजय पाउन सफल भइन् । तर उपचारमा लागेको ठूलो खर्च र निरन्तर स्वास्थ्य हेरचाहको आवश्यकताले उनको जीवन अझै पनि पूर्ण रूपमा सहज बन्न सकेको छैन ।

मेचीनगर नगरपालिकाले आयोजना गरेको एक अभिमुखीकरण कार्यक्रममा सहभागी हुँदा मात्रै सीताले वैदेशिक रोजगार बोर्डबाट गम्भीर बिरामी उपचार सहयोग पाउन सकिने जानकारी पाइन् तर उनका लागि आवेदन गर्ने समयसीमा गुज्रिसकेको थियो । “यो जानकारी मलाई समयमै किन कसैले दिएन?” भन्ने प्रश्न आज पनि उनको मनमा घुमिरहन्छ । यद्यपि, वैदेशिक रोजगार म्यादी बीमाबाट भने सीताले गम्भीर बिरामी बापतको केही रकम पाउन सफल भइन् ।

हाल सीता थापामगर मेचीनगर–८ मै रहेको दुई कट्ठा जमिनमा बनेको सानो घरमा बसोबास गर्दै आएकी छिन् । उनकी कान्छी छोरी हाल रोजगारीका लागि युएईमा छिन् । छोरीकै आम्दानीले अहिले उनको उपचार र दैनिकी चलेको छ । “विदेश जानु कसैको रहर होइन, बाध्यता हो,” सीता भन्छिन्, “तर विदेश जानुअघि धेरै सोचविचार गर्नुपर्छ, आफ्नो स्वास्थ्य र सुरक्षालाई पनि उत्तिकै महत्व दिनुपर्छ ।” सीताको जीवन कथा केवल एउटी महिलाको सङ्घर्षको कथा होइन । यो हजारौँ नेपाली वैदेशिक श्रमिकहरूको साझा यथार्थ हो । युवावस्थामा परदेशमा पसिना बगाउने, परिवारका लागि सपना साँच्ने र उमेर ढल्किँदा रोग, पीडा र आर्थिक अभाव बोकेर स्वदेश फर्किनुपर्ने बाध्यता धेरै नेपालीले भोगिरहेका छन् । सूचना र पहुँचको अभावले उनीहरूको पीडा अझ गहिरो बनेको छ ।

सीता थापामगरको कथा वैदेशिक रोजगारीको चम्किलो पक्षभन्दा परको वास्तविकता हो । ऋण तिर्न परदेश गएकी सीता आफैँ रोगी भएर फर्किन बाध्य भइन् । उनको अनुभवले राज्य, समाज र सरोकारवालालाई गम्भीर प्रश्न सोधिरहेको छ– वैदेशिक श्रमिकका लागि समयमै सूचना, स्वास्थ्य सुरक्षा र उपचार सहयोग कति प्रभावकारी छ ? सीताको जीवनले एउटा सन्देश दिन्छ– वैदेशिक रोजगारी समाधान मात्र होइन, जिम्मेवारी पनि हो । श्रमिकको श्रमसँगै उसको स्वास्थ्य, सुरक्षा र भविष्यको प्रत्याभूति राज्यले गर्न सके मात्र परदेशको पसिना अर्थपूर्ण बन्न सक्छ । नत्र, सीता थापामगरजस्ता श्रमिकका कथाहरू बाध्यताको इतिहास बनेर पुस्तौँसम्म दोहोरिइरहने छन् ।

चितवनमा दुई अस्थायी मतदान केन्द्र

चितवन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र थपिने भएका छन् । निर्वाचन कार्यालय भरतपुरका अनुसार स्थायी रूपमा रहेका मतदान केन्द्रबाहेक कारागार कार्यालय चितवन र जिल्ला समन्वय समिति चितवनमा दुई अस्थायी मतदान केन्द्र राख्न थालिएको हो ।

कारागार कार्यालयमा रहेका कैदीबन्दीका लागि कारागारमा र मतदान केन्द्रमा नखटिएका सुरक्षाकर्मी तथा सरकारी कर्मचारीका लागि जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र राख्न लागिएको निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।

कारागारमा ११५ जना मतदाता रहेका छन् । जिल्लामा दुई हजार ९७६ कर्मचारी निर्वाचनमा खटिने छन् ।

यहाँ स्थायी मतदान केन्द्र ४९४ वटा कायम गरिएकामा अस्थायी मतदान केन्द्र स्थापना भएसँगै मतदान केन्द्र ४९६ पुगेका छन् । कार्कीका अनुसार जिल्लामा १६२ मतदानस्थल कायम गरिएकामा दुई स्थल थपिएको छ । जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । यसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला एवं दुई जना तेस्रोलिङ्गी रहेका छन् ।

काठमाडौँको प्रदूषण घट्दै, आज प्रदूषित सहरको १८ औँ स्थानमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायुप्रदूषण घटिरहेको छ । आज दिउँसो वायुप्रदूषण घटेर वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) ९९ पुगेको छ ।

गत मङ्गलबार उपत्यकाको एक्युआइ १९१ पुगेको थियो भने बुधबार सोही समयमा घटेर ११४ मा झरेको थियो । हावा चल्ने दर बढेसँगै वायुप्रदूषण पनि घटेको वातावरण विभागले जनाएको छ ।

एक्युआइका अनुसार मङ्गलबार काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज १८औँ स्थानमा झरेको छ । हाल पाकिस्तानको लाहोर ३७३ एक्युआइसहित पहिलो र भारतको कोलकात्ता १८६ एक्युआइसहित दोस्रो स्थानमा छ ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सुक्खा मौसममा वायुप्रदूषण बढ्ने र वर्षा हुँदा तथा हावा चल्दा वायुप्रदूषण घट्ने जानकारी दिए । “वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्ने र हावाले धुलो तथा प्रदूषणका कण उठाएर लैजाँदा प्रदूषण कम हुन्छ”, उनले भने, “दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएका छौँ ।”

वातावरणविद् भुषण तुलाधारले समयमै पूर्वतयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण तथा सवारीसाधनको धुवाँ परीक्षण र मापदण्डको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको सुझाव दिए ।

एक्युआइको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ (हरियो सङ्केत), ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ (पहेंलो संकेत), १०१ देखि १५० सम्म ‘अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी श्वासप्रश्वास र मुटु रोगीलाई असर गर्नसक्ने जानकारहरू बताउँछन् । १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिने वातावरणविद् तुलाधरले बताए ।

जीवन बदलिने आशामै छन् बोटे समुदाय

मध्यविन्दु (नवलपरासी) । यहाँका बोटे समुदाय परम्परागत पेसामै निर्भर छन् । पुस्तौँदेखि माछा मार्ने, डुङ्गा चलाउने र ज्याला मजदूरी गर्ने पुख्र्यौली पेसा नै यो समुदायका व्यक्तिको मुख्य आम्दानीको स्रोत हो ।

शिक्षा, स्वास्थ्य र सडकको पहुँचमा केही सहज भए पनि आवश्यक सीप, वैकल्पिक रोजगारी र स्थायी बसोबासको सुनिश्चितता नहुँदा यो समुदायको जीवनस्तरमा अपेक्षित सुधार आउन सकेको छैन ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–२ स्थित बोटे माझी शिविरका रनकुमार बोटे आफ्नो समुदायले नयाँ पेसा व्यवसाय गर्ने सोच राखे पनि पूरा हुन नसकेको बताए । “हामीलाई माछा मार्नेबाहेक अरू काम खासै आउँदैन । तालिम र रोजगारीको अवसर भए नयाँ काम गर्न सकिन्थ्यो, तर हालसम्म यही पेसामा निर्भर हुनुपरेको छ”, उनले भने ।

नदी किनार आसपास बसोबास गर्ने बोटे समुदायका अधिकांश परिवार बिहानै नदीमा पुग्छन् । कसैले जाल हाल्छन्, कसैले डुङ्गा चलाएर जीविका चलाउँछन् । दिनभरको मेहनतपछि कमाएको थोरै रकमले परिवार धान्नुपर्ने अवस्था रहेको स्थानीय श्यामकुमारी बोटेको भनाइ छ । उनका अनुसार वैकल्पिक रोजगारी नहुँदा नयाँ पुस्ता पनि पुरानै पेसामा बाँधिन बाध्यरहेका छन् ।

बोटेको भने,“छोराछोरी पढिरहेका छन्, तर पढेपछि के गर्ने भन्ने अन्योल छ । काम गरिखाने सीप सिकाउने तालिम पाए फरक क्षेत्रमा जान सक्थे । सम्मानित जीवन जिउन सहज हुन्थ्यो ।”

विसं २०५८ मा नारायणी नदीमा आएको भीषण बाढीले साविक नारायणी गाविस– ३, ४ र कोल्हुवा गाविस–६ नन्दपुरका २३८ घरपरिवार विस्थापित भएका थिए । तीमध्ये करिब ३८ बोटे परिवारलाई हालको मध्यविन्दु नगरपालिका–२ शिविर बोटे माझी टोलमा स्थानान्तरण गरिएको थियो । सरकारले दिएको १० धुर जग्गामा उनीहरू वर्षौंदेखि बसोबास गर्दै आएका छन्, तर अझै जग्गाको लालपुर्जा प्राप्त हुन सकेको छैन ।

स्थानीय बासिन्दा भन्छन्, “जमिनको स्वामित्व सुनिश्चित भए भविष्यप्रति ढुक्क हुन सकिन्थ्यो । हाल बसोबास त गरिरहेका छौँ, तर कानुनी कागज नहुँदा असुरक्षा महसुस हुन्छ ।”

सामाजिक तथा आर्थिक रूपमा सीमान्तकृत मानिएको यस समुदायलाई राज्यले शिक्षा, सीपमूलक तालिम र लक्षित रोजगारी कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीय पूर्णिमा बोटेले बताए । परम्परागत पेसा संरक्षणसँगै आधुनिक सीप विकास गरिए मात्रै नयाँ पुस्ता गरिबीको रेखाबाट बाहिर निस्कनसक्ने उनको भनाइ छ ।

“स्थानीय तहले केही सामाजिक सुरक्षा र आधारभूत सेवा उपलब्ध गराए पनि दीर्घकालीन आयआर्जनका कार्यक्रमको अभाव छ”, बोटेले भने, “माछा मार्ने पेसालाई सम्मानजनक रूपमा आधुनिकीकरण गर्दै पर्यटन, मत्स्यपालन तथा साना उद्यमसँग जोड्ने गरी सरकारले योजना ल्याउनुपर्छ ।”

जिल्लाका गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका क्षेत्रमा बोटे समुदायको उल्लेख्य बसोबास रहेको छ । विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार जिल्लामा बोटे समुदायको जनसङ्ख्या दुई हजार ४०६ रहेको छ ।

बोटे समुदायका ज्येष्ठ नागरिकहरू भन्छन्, “हामी नदीसँगै जन्मियौँ, नदीमै बाँचेका छौँ । अब राज्यले हाम्रा सन्तानलाई नयाँ बाटो देखाइदियो भने हाम्रो सङ्घर्षको सार्थकता हुनेछ ।”

परम्परागत ज्ञान र संस्कृतिको धनी बोटे समुदाय आज पनि जीवनयापनको आधार खोज्दै सङ्घर्षरत छ । सीप, रोजगारी र सुरक्षित बसोबासको सुनिश्चितता भए उनीहरूको जीवनस्तर उकासिनुका साथै परम्परागत पहिचान पनि जोगिने विश्वास गरिएको छ । निर्वाचनको माहोल चलिरहेको अवस्थामा यस समुदायले दल तथा तिनका उम्मेदवारबाट यही आशा राखिरहेका छन् ।