`

किम जोङ उन : उत्तर कोरियाली जनताको जीवनस्तर सुधार्ने वाचा

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले शुक्रबार सुरु भएको दुर्लभ वर्कर्स पार्टी सम्मेलनको उद्घाटन गर्दै जनताको जीवनस्तर सुधार्ने र राष्ट्रको आर्थिक विकास तीव्र पार्ने प्रतिज्ञा गरेका छन् । सम्मेलनले प्योङयाङमा राज्यको सबै क्षेत्रमा निर्देशन र कार्यान्वयनका योजना प्रस्तुत गर्ने अवसर प्रदान गरेको बताइएका छ ।

किमले भाषणमा भने, “हाम्रो पार्टीले आर्थिक निर्माण र जनताको जीवनस्तर सुधार गर्दै राज्य र सामाजिक जीवनका सबै क्षेत्रलाई छिटो रूपान्तरण गर्न आवश्यक ऐतिहासिक कार्यहरूको सामना गरिरहेको छ ।” उनले सक्रिय र निरन्तर प्रयास बिना कुनै ढिलाइ स्वीकार्य नहुने पनि जोड दिए ।

पछिल्ला दशकमा उत्तर कोरियाले आणविक हतियार र सैन्य क्षमता प्राथमिकता पाएको थियो, जसले खाद्यान्न अभाव र आर्थिक कठिनाइ निम्त्याएको थियो । तर किमले सन् २०११ मा सत्ता सम्हालेपछि गरिब राष्ट्रको अर्थतन्त्र बलियो बनाउने र नागरिकको जीवनस्तर सुधार्नेमा जोड दिएका छन् । सन् २०२१ को सम्मेलनमा उनले ‘लगभग सबै क्षेत्रमा गल्ती’ भएको दुर्लभ सार्वजनिक स्वीकार गरेका थिए ।

विश्लेषकहरूले यस भाषणलाई खाद्यान्न अभाव, भारी प्रतिबन्ध र रुस–युक्रेन युद्धमा उत्तर कोरियाको समर्थनका कारण बढेको असन्तुष्टि कम गर्ने रणनीति भएको अनुमान गरेका छन् । किमले विगत पाँच वर्षमा मुलुकले भोगेका कठिनाइ पार गर्दै भविष्यमा ‘आशावाद र विश्वास’ को नयाँ चरणमा प्रवेश गरेको बताए ।

सम्मेलनमा हजारौँ पार्टी अधिकारी उपस्थित थिए, जहाँ किम परिवारको दशकौँ लामो शासनकालमा नौ पटक मात्र पार्टी कङ्ग्रेस सम्पन्न भएको थियो । किमले आफ्नो व्यक्तित्वको सम्प्रदायलाई बलियो बनाउन र सत्तामा आफ्नो पकड प्रदर्शन गर्न सम्मेलनलाई प्रयोग गरेका छन् । सियोलको गुप्तचर सेवाका अनुसार, उत्तराधिकारीका रूपमा उकी किशोरी छोरी जु एमा विशेष ध्यान दिइनेछ ।

अन्तर्राष्ट्रिय सन्दर्भमा, चीन र रुसले मैत्रीपूर्ण सन्देश पठाएका छन् । किमले गत वर्ष बेइजिङमा चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग देखा पर्नु, उनको विश्व राजनीतिमा उच्च स्थिति र कूटनीतिक सञ्जालको सङ्केत हो । पाँच वर्षअघि किमले संयुक्त राज्य अमेरिका ‘सबैभन्दा ठूलो शत्रु’ घोषणा गरेका थिए तर अहिलेसम्म उच्च–स्तरीय कूटनीतिक वार्ता पुनः सुरु गर्ने प्रयासलाई सीमित राखेका छन् ।

यो सम्मेलनले उत्तर कोरियाली नेतृत्वको आन्तरिक नीति र अन्तर्राष्ट्रिय रणनीतिक स्थितिको झलक प्रदान गर्दै किम जोङ उनको सत्तामा स्थायित्व र जनताको जीवनस्तर सुधार्ने लक्ष्यलाई प्राथमिकता दिने स्पष्ट सङ्केत दिएको छ ।

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्ध आयोगलाई सरोकार भएका सबैबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज विराटनगरमा आयोजित ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा कार्यवाहक आयुक्त भण्डारीले बढीभन्दा बढी जनताको सहभागितासहित निर्वाचनलाई ऐतिहासिक एवं उत्सवमय बनाउने कार्यमा सम्बद्ध सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

उनले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने जोकोही कारबाहीको भागिदार हुने स्पष्ट गर्दै विधि र प्रक्रियालाई पालना गरी संयमित भएर निर्वाचन प्रक्रियामा सरिक हुन सबैसँग अनुरोध गरे । कार्यवाहक आयुक्त भण्डारीले निर्वाचन प्रचारप्रसारलगायत गतिविधिमा भारतीय नम्बरप्लेटको सवारीसाधनको प्रयोग निषेध गरिएको जानकारी दिँदै त्यसतर्फ सचेत रहन राजनीतिक पार्टी तथा उम्मेदवारको ध्यानाकर्षण गरे ।

मितव्ययी भई यथासक्य कम खर्चमा निर्वाचन सम्पन्न गर्न लागेको प्रसङ्ग उल्लेख गर्दै उनले तोकिएको सीमाभित्र रही खर्च व्यवस्थापन गर्न सम्बद्ध सबैसँग अनुरोध गरे ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउने सन्दर्भमा निर्वाचन आयोगबाट प्राप्त प्रतिबद्धतालाई साकार तुल्याउन कोशी प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरे ।

प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले निर्वाचनमा आचारसंहिता अनुगमनका लागि छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने सुझाव दिए । उनले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्ने अभियानमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलले निर्वाचन आचारसंहिता पालनमा सबै दल एवं उम्मेदवारबाट साथ, सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा आयोजक संस्थाका प्रशासकीय निर्देशक गणेशमान प्रधान, प्रदेश निर्वाचन अधिकारी चोलाराज दङ्गालले निर्वाचनलाई स्वच्छ, भयरहित तथा निष्पक्ष रुपमा सम्पन्न गर्न आचारसंहिता पूर्ण रुपमा पालना हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा प्रदेशअन्तर्गत विभिन्न जिल्लाका सुरक्षा निकायका प्रमुख, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु, निर्वाचन कार्यालयका प्रमुख, कानुनविद्, मानवअधिकार तथा सञ्चारकर्मीहरुको सहभागिता थियो ।

रसुवागढी नाका : बीलबिजकबिना अवैध सामग्री नबोक्न आग्रह

रसुवा । रसुवागढी नाका हुँदै आयात गरिने सामान अनिवार्य रूपमा भन्सार महसुल तिरेर मात्र निकासी गर्न नेपाल प्रहरीले व्यवसायी तथा सवारीसाधनका चालकलाई आग्रह गरेको छ । नियमानुसार ल्याउन छुट भएका सामग्री कानुनी प्रक्रिया पूरा नगरी ओसारपसार गर्ने क्रम बढेपछि यस्तो आग्रह गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख अशोक थापाका अनुसार केही व्यवसायीले खेताला प्रयोग गरी थोरै परिमाणका सामान पटकपटक मितेरी पुल पार गराएर टिमुरे पु¥याउने र त्यसपछि सार्वजनिक सवारीसाधनमार्फत त्रिशूली तथा काठमाडौँ लैजाने प्रवृत्ति बढेको पाइएपछि उक्त कार्य रोक्न प्रहरी सक्रिय बनेको हो । यस्तो गतिविधिले राज्यको राजस्व छलिने भएका कारण सवारीसाधनमा अवैध सामग्री नबोक्न चालकलाई अनुरोध गरिएको उनले बताए ।

प्रहरीका अनुसार सवारीसाधन जाँचका क्रममा अस्वाभाविक रूपमा खुद्रा सामान लुकाइछिपाइ ल्याउने घटना पटकपटक फेला परेपछि त्यस्ता सामग्री बरामद गरी सम्बन्धित निकायलाई बुझाउने गरिएको छ । खुला ट्रक लिएर केरूङ जाने र फर्कंदा लोड गरेर ल्याएका विद्युतीय उपकरणभित्रका खाली स्थानमा चिनियाँ चुरोट तथा मदिरालगायत विभिन्न सामग्री लुकाएर ल्याउने गरेको पाइएको छ ।

चेकपोस्टमा ठूला–साना सबै सवारीसाधनको नियमित जाँच भइरहेको र इभी मोटरभित्रका सम्भावित लुकाउने ठाउँमा विशेष निगरानी राखिएको प्रहरीले जनाएको छ । चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म विभिन्न मितिमा सशस्त्र प्रहरी बलले रू ११ लाख २८ हजार तथा नेपाल प्रहरीले रू एक लाख ८५ हजार बराबरका सामग्री बुझाएको छ ।

यस्तै भन्सार कार्यालयले रू ६२ लाख ७५ हजार बराबरको अवैध माल सामग्री बरामद गरेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भटृराईले जानकारी दिए । प्रहरीले कानुनविपरीत सामग्री बोकेमा चालक, व्यवसायी र सम्बन्धित व्यक्तिलाई कारबाही हुने उल्लेख गर्दै सबैलाई राज्यद्वारा निर्धारण गरिएको मापदण्डअनुसार मात्र सामान आयात–निकासी गर्न अनुरोध गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन २२ गते साधारण तारिखका लागि मिति तोकेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनविरुद्ध १७ वटा रिट निवेदन परेको थियो । उक्त रिट निवेदनको सुनुवाइका लागि मिति तय भएको छैन । अदालतले उक्त विवादमा साधारण तारिख यही फागुन २२ गतेका लागि तोकेको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

संसद् विघटनविरुद्ध परेको रिट निवेदनमा गत कात्तिक १२ गते संवैधानिक इजलाससमा सुनुवाइ गरी बाटोको म्यादबाहेक सात दिनभित्र विपक्षीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । विपक्षीहरूबाट लिखित जवाफ अदालतमा पेस भइसकेको छ ।

त्यसैगरी, सर्वोच्च अदालतको गत पुस ९ गते बसेको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन, सरकार निर्माण प्रक्रिया र संसद् पुनःस्थापनाको मागसम्बन्धीका पूरक रिट निवेदनलाई पनि एकैसाथ सुनुवाइ गर्ने आदेश दिएको थियो ।

बागमती प्रादेशिक ललितकला प्रदर्शनी तथा सम्मेलन सुरु

काठमाडौँ, ८ फागुन । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेशको आयोजनामा आजदेखि काठमाडौँमा ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी तथा सम्मेलन २०८२’ सुरु भएको छ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले प्रदर्शनीको उद्घाटन गरे । उनले कला, संस्कृति कहिल्यै नमर्ने बताउँदै नेपालको पहिचान दिलाउन र अर्थतन्त्रमा कला क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताए । मन्त्री श्रेष्ठले प्रतिष्ठानमा बन्दै गरेको कलाकार अरनिकोको मूर्ति तथा पाँचपोखरी थाङ्पालमा निर्माणाधीन ८४ फिट अग्लो बुद्धमूर्तिबारे चर्चा गर्दै यस विषयमा बागमती प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले समाजको ‘सफ्टपावर’ भनेको कलाकार भएकाले यसको सुरुआत ललितकलाले गरेको र कलाका विषयमा अहिले उपत्यका बाहिर पनि चर्चा–परिचर्चा बढेको बताए । उनले आगामी दिनमा सामाजिक रूपान्तरणमा ललितकलाको अभियानलाई अझ सशक्त बनाउँदै नेपाली माटो चिनाउने कलाको विकास, खोज, अनुसन्धानका क्षेत्रमा विभिन्न कार्यहरू गर्दै जानुपर्ने धारणा राखे ।

प्रतिष्ठानका उपकुलपति तथा बागमती प्रदेश समन्वय समिति संयोजक लालकाजी लामाले प्रादेशिक प्रदर्शनी सुरुआत गरेको प्रसङ्ग उल्लेख गर्दै प्रतिष्ठानले कलाको विकासका लागि जरामा गोडमेल गर्नुका साथै स्थानीय भूगोलमै जोडिएर काम गर्ने प्रयत्न गरेको बताए । उनले ललितकलाको प्रवर्द्धन र विकासमा प्रतिष्ठानले सबैसँग सहकार्य गर्दै अघि बढेको बताए ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले स्रष्टा युगको द्रष्टासमेत भएको बताउँदै आगामी दिनको ललितकला इतिहास लेख्ने अहिलेको पुस्ता भएको बताए ।

संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेशका सचिव दीपेन्द्र सुवेदीले देशको पहिचान नै कला–संस्कृतिसँग जोडिएको बताए । उनले बागमती प्रदेश प्रज्ञा–प्रतिष्ठान गठनको कानुनी पाटोको काम भइरहेको बताउँदै यसले छिट्टै सार्थकता पाउने जानकारी गराए । सुवेदीले कला अमूल्य हुने भएकाले यसको सम्मान गर्नुपर्ने धारणा राखे ।

समारोहमा सिद्धिरत्न शाक्य (परम्परागत मूर्तिकला), रामसुन्दर ख्याजु (परम्परागत चित्रकला पौभा), सरिता चित्रकार (लोककला(, विश्वम्भर लामिछाने (मूर्तिकला), सिन्धुली कला घर (सिन्धुली), वल्र्ड आर्टलिङ्क (रत्ननगर, चितवन), ई आर्टस् नेपाल (ललितपुर)लाई सम्मान गरिएको थियो ।

प्रदर्शनीको ‘क्युरेटिङ’ प्राज्ञसभा सदस्य सुन्दर सिंखवालको संयोजनमा सविना तामाङ तथा रजनी सिंखवालले गरेका थिए ।

प्रदर्शनीमा बागमती प्रदेशका कलाकारले सृजना गरेका परम्परागत चित्रकला, समसामयिक चित्रकला, समसामयिक मूर्तिकला, परम्परागत मूर्तिकला, शिल्प–हस्तकला, वास्तुकला तथा लोककला, बहुआयामिक तथा अन्य सृजनात्मक कला विधाका २३० भन्दा बढी कलाकृति राखिएका छन् । नेपाल पर्यटन बोर्ड कला प्रवर्द्धक रहेको प्रदर्शनी यही फागुन १२ गतेसम्म सञ्चान हुनेछ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभरका छ हजार ७४३ वडामा मतदाता शिक्षा जारी

काठमाडौँ, ८ फागुन । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले स्वीकृत कार्यक्रमअनुसार देशभरका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा एकएक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको जानकारी गराइएको हो ।

आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउने कार्य खटिएका स्वयंसेवकबाट भइरहेको आयोगका प्रवक्ता सीता पुन श्रीसले जानकारी दिए । मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भइसकेको छ ।

निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला जिल्लामा

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी निर्वाचन आयोगले अन्तिम चरणमा पुर्याएको छ । आयोगबाट स्वीकृत कार्यतालिकाअनुसार व्यवस्थापकीय कार्यतालिकाबद्ध र तोकिएको समयमा सञ्चालित छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सम्पन्न भई सम्बन्धित जिल्लाहरूमा पठाउने कार्य जारी छ ।

निर्वाचन सामग्री अधिकांश जिल्लामा पुर्याइसकिएको छ । स्वीकृत कार्यक्रमअनुसार मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम फागुन ३ देखि १७ गतेसम्म ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा निरन्तर सञ्चालित छ । निर्वाचन आचारसंहिता अनुगमन एवं परिपालनामा निरन्तरता दिँदै केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरूले सक्रिय रूपमा कार्यसम्पादन गर्दै आएका छन् ।

यही फागुन ४ गतेदेखि राजनीतिक दलहरूले चुनावको मुख्य प्रचारप्रसारका गतिविधि सुरुआत गरेका छन् । प्रचारप्रसारलाई प्रचलित कानुन र आचारसंहिताको अधीनमा रही शिष्ट र मर्यादित बनाउन आयोगबाट राजनीतिक दल र उम्मेदवारहरूलाई निर्देशन भइसकेको छ ।

‘डिजिटल प्लेटफर्म’ बाट प्रचारप्रसार जारी

निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म ३४५ वटा सामग्री आयोगबाट स्वीकृत गराई आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा राखिएको पनि उनले बताए ।

मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वसनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास आयोगले लिएको छ । यस्ता सामग्रीले डिजिटल प्लेटफर्मबाट समेत मतदाता शिक्षा कार्यक्रम प्रवर्द्धन र नागरिक तथा आमसरोकारवालाले आधिकारिक सूचना पाउने अपेक्षा आयोगको रहेको सहायक प्रवक्ता श्रीसले बताए ।

संवादमूलक सन्देश प्रसारण

मतदाता शिक्षा कार्यक्रम प्रवर्द्धनका लागि आयोगले उत्पादन गरेका संवादमूलक भिडिओ सन्देश, गीति सन्देश, लघु भिडिओ तथा जिङ्गलहरू प्रसारण सुरु गरेको छ । यस्ता सामग्री आयोगका आधिकारिक डिजिटल प्लेटफर्मबाट प्रसारण भइरहेका छन् । मतदातालाई निर्वाचनमा सहभागी हुन प्रेरित गर्ने, निर्वाचन स्वच्छता बढाउने तथा निर्वाचन आचारसंहिता पालनाका लागि उत्प्रेरित गर्ने सन्देशमूलक सामग्रीबाट मतदान प्रतिशत बढाउने तथा बदर मत प्रतिशत घटाउन भूमिका खेल्ने आयोगको अपेक्षा छ ।

कलाकारहरूसँग सहकार्य

आसन्न निर्वाचनको प्रचारप्रसार र मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन आयोगले राष्ट्रिय कलाकार, सोसल मिडियाका कन्टेन्ट क्रियटर र इन्फ्लुयन्सरसँग सहकार्यका लागि छलफल गरेको छ । विशिष्ट परिस्थितिमा हुन गइरहेको निर्वाचनको महाउत्सवलाई सहयोग पुर्याउन आयोगले गरेको आग्रहलाई स्वीकार गर्दै सहभागी कलाकारहरूले मतदाता शिक्षा तथा निर्वाचन स्वच्छता प्रवर्द्धन र मिथ्या सूचना न्यूनीकरणका लागि सत्यतथ्य जानकारी आम मतदातासम्म पुर्याउन आफ्ना डिजिटल प्लेटफर्ममा सन्देश प्रवाहको प्रतिबद्धता जनाएका छन् ।

जिल्ला–जिल्लामा पुर्याइँदै मतपत्र

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको व्यहोरा सर्वविदितै छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको उनले बताए ।

गत माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरी सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा ढुवानी कार्य सम्पन्न भइसकेको छ । अन्य प्रदेशहरूमा ढुवानी कार्य जारी छ । मतपत्रबाहेकका अन्य निर्वाचन सामग्री ढुवानी सम्पन्न भइसकेको आयोगले जनाएको छ ।

मतपत्र छपाइतर्फ आयोगले तोकेको कार्यतालिकाअनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा गत पुस २२ गतेदेखि मतदाता शिक्षा प्रयोजनका लागि छपाइ सुरु भएको थियो । जसअनुसार १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरिएको थियो ।

गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गतेसम्म आवश्यक पर्ने जम्मा दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरिएको आयोगले जनाएको छ ।

शुक्लाफाँटा निकुञ्ज बाहिर पाटेबाघ, स्थानीय त्रसित

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि क्षेत्रमा पटकपटक पाटेबाघ देखिएपछि स्थानीय त्रसित भएका छन्भने प्रशासनले सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका पाटेबाघ बस्तीमा पसेर घरपालुवा चौपाया मार्न थालेपछि स्थानीय भयभीत छन् । त्रिशक्ति उपभोक्ता समितिले पनि उनीहरुलाई सचेत रहन आग्रह गरेको छ ।

बाघ बस्तीमा आउन थालेपछि निकुञ्ज वरपरका स्थानीयलाई राति हिँडडुल नगर्न, हिँड्नै परेमा समूहमा पर्याप्त उज्यालो (टर्च लाइट) लिएर मात्र निस्कन र घर–गोठ वरपरका झाडी तथा बुट्यानहरू सफा राख्न अनुरोध गरिएको समितिका अध्यक्ष दमनबहादुर चन्दले राससलाई बताउनुभयो ।

“निकुञ्जको सीमा क्षेत्रमा पर्ने खेतबारीमा काम गर्न जाँदा, दाउरा–घाँस काट्न वा पशुचौपाया चराउन जाँदा एक्लै नजान र समूहमा रहेर मात्र काम गर्न सचेत गराएका छौँ”, उहाँले भन्नुभयो, “कतै बाघ देखिएमा वा बाघले चौपाया मारेको थाहा पाएमा निकुञ्ज प्रशासन, नेपाली सेना, नगरपालिका वा वडा कार्यालयमा खबर गर्न आग्रह गरेका छौँ ।”

उद्घोषक कोष खड्काले ल्याए निदाउन तिम्रै काख चाहिने बोलको गीतको भिडियो

लोकप्रिय उद्घोषक तथा मोडल कोष खड्काको अभिनय रहेको निदाउन तिम्रै काख चाहिने’ बोलको गीतको भिडियो  सार्वजनिक भएको छ । टेक विसीको युट्युब च्यालन मार्फत बजारमा आएको सार्वजनिक गीतमा खड्कासहित प्रतिक्षा खत्री र क्रिश बमको अभिनय रहेको छ । गीतमा टेक विसीसहित चर्चित गायिका रचना रिमालको स्वर रहेको छ ।

टेक विसी प्रस्तुतकर्ता रहेको गीतमा लेखक र म्युजिक भीम बिसीको रहेको छ । गीतमा म्युजिक एरेन्जरको रुपमा विशाल निरौला रहेका छन् । मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा मिक्सिङ कुमार रानाको रहेको छ । राहुल बराइलीले निर्देशन गरेको गीतका सिनमोटोग्राफर बाँशु बराल र इडिट र कलर मिन रावलको रहेको छ । गीत दुई युवायुवतीको प्रेम,दुर्घटनापछि युवतीको स्मरण शक्ति गुम्ने र त्यसपछि आफ्नो मान्छेलाई नचिन्ने अवस्थासँग सम्बन्धित छ ।

फागुन १८ रातिदेखि कोशीमा भारत–नेपाल सीमा बन्द

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सीमा नाका ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो ।

नेपालतर्फका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुख तथा भारततर्फका किशनगञ्ज जिल्ला, अररिया जिल्ला र सुपौल जिल्लाका सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले यस्तो सहमति गरेको हो ।

सहमति अनुसार फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म सीमा नाका बन्द रहनेछ ।

जर्मनीले कार्गो सहायक कम्पनीमा छ हजार कर्मचारी कटौती गर्ने

फ्र्याङकफर्ट। जर्मनीको राज्य सञ्चालित रेल सेवा ‘डच बान’ले बिहीबार नाफा बढाउन र सरकारी कोषमाथिको निर्भरता कम गर्न आफ्नो कार्गो सहायक कम्पनीमा करिब छ हजार रोजगारी कटौती गर्ने बताएको छ ।

“हालको पुनर्संरचना योजनाले ‘डच बान’ कार्गोमा करिब छ हजार रोजगारी कटौतीको परिकल्पना गरिएको छ,” डच बानले एक ब्लग पोस्टमा जानकारी गराएको छ । यसलाई सामाजिक रूपमा उत्तरदायी ढङ्गले कार्यान्वयन गर्ने योजना रहेको उसले बताएको छ।

घाटामा रहेको डच बान कार्गोले राज्य सहायता नियम अन्तर्गत इयूको अनुसन्धानको सामना गरिरहेको छ, जसको आधिकारिक निर्णय अक्टोबरमा हुने छ । “रेल सेवा फर्मले छ हजार रोजगारी कटौती गर्दा लगभग आधा कर्मचारी बराबर कटौति हुने र यसले ‘डच बान’लाई परनिर्भरता कम गर्न मद्दत हुनेछ,” डच बानका उपप्रमुख कोशिमा इन्सेन्जेले भन्नुभयो ।

उहाँले भन्नुभयो, “लक्ष्य भनेको ‘डच बान’ कार्गोलाई युरोपेली विकास बजारसँग सङ्रेखित गर्नु, संरचनाहरू सुव्यवस्थित गर्नु र यसलाई दिगो रूपमा लाभदायक बनाउनु हो र यसले कम्पनीलाई ईयू प्रतिस्पर्धा प्रक्रियाको सर्तहरू पालना गर्न सक्षम बनाउनेछ ।”

“हामी आशा गर्छौं कि ठूलो मात्रामा रोजगारी कटौती सुरु हुनुअघि दक्षता बढाउनको लागि हरेक सम्भावित उपायहरू जाँच गरिनेछ,“ इन्सेन्जेले भन्नुभयो । “म रोजगारदातासँग प्रतिज्ञा गर्दछु कि धेरै कडा वार्ताहरू अगाडि छन्। हामी हरेक कामका लागि लड्नेछौँ,” उहाँले थप्नुभयो ।

युएईका नेताहरूद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौँ – संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाउनुभएको छ ।

बिहीबार उहाँले सम्प्रेषण गर्नुभएको बधाई सन्देशमा राष्ट्रपति पौडेलसहित नेपाल सरकार तथा नेपाली जनताप्रति हार्दिक शुभकामना गरिएको यहाँस्थित युएईको राजदूतावासले आज जनाएको छ ।

त्यसैगरी, युएईका उपराष्ट्रपति, प्रधानमन्त्री तथा दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मक्तूम तथा उपराष्ट्रपति, उपप्रधानमन्त्री एवं राष्ट्रपति मामिलामन्त्री शेख मन्सुर बिन जायेद अल नाह्यानले पनि राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेललाई शुभकामना सन्देश पठाउनुभएको छ ।

लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाबाट दुई, मोरङबाट एक, सिरहाबाट तीन, कास्कीबाट तीन, बाँकेबाट तीन, कैलालीबाट दुई र मकवानपुरबाट दुई जनालाई पक्राउ गरिएको हो ।

अभियुक्तहरुबाट खैरो हिरोइन र विभिन्न किसिमका मनोद्दिपक औषधि बरामद गरिएको छ । नियमित सुरक्षा गस्तीका क्रममा प्रहरीले उनीहरुलाई बुधबार र बिहीबार पक्राउ गरेको हो ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, बन्दा (तराई) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ३५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ५०, काउली तराई प्रतिकिलो रु ३५, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५५ र भन्टा डल्लो प्रतिकिलो रु ५५ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ५५, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १२०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १८०, घिरौँला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २०, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ३५, चमसुर प्रतिकिलो रु ३०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १४०, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ४५, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु ३००, रातो बन्दा प्रतिकिलो रु ८०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु ४०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु २४०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २६०, अङ्गुर (कालो) प्रतिकिलो रु ४००, सुन्तला (भारतीय) प्रतिकिलो रु १७०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १४५, काँक्रो (लोकल) प्रतिकिलो रु १६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ८०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु १४०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १५०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो प्रतिकिलो रु १८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ९००, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो लसुन प्रतिकिलो रु ५०, हरियो धनियाँ प्रतिकिलो रु ४०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १५०, छ्यापी हरियो प्रतिकिलो रु १२०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

फोहरको दिगो व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्ने

काठमाडौँ। उपत्यका मेयर्स फोरमले काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक एवं दिगो व्यवस्थापन अध्ययन गर्न नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ ।

फोहर व्यवस्थापन अध्ययन तथा समन्वय समितिले फोहर व्यवस्थापनको विधि तथा प्रविधि अध्ययन गर्नुका अतिरिक्त सबै स्थानीय तहका बीचमा आवश्यकताअनुसार समन्वय, सहजीकरण र सामूहिक व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्ने जनाएको हो ।

काठमाडौँमा फोरमका अध्यक्ष एवं ललितपुर महनगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको १३औँ बैठकले गोदावरीदेखि बूढानीलकण्ठसम्म साइकल लेनसम्बन्धी कानुन निर्माण गरी गुरुयोजना बनाउने, पूर्वाधार निर्माण र सञ्चालनका लागि सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

उपत्यकाको एकीकृत विकास गरेर नागरिक जीवन सहजताका लागि सहकार्य र समन्वय गर्नुपर्ने धेरै काम छन् । फोरमको अहिलेको दृष्टि त्यसैमा छ । बैठकपछि फोरमका अध्यक्ष महर्जनले मेट्रोको अवधारणा कार्यान्वयनका लागि सङ्घ सरकारसँग सहकार्य गर्न उपत्यकाका स्थानीय तहहरू तत्पर रहेको उल्लेख गर्दै मेट्रोको अवधारणाअनुसार पूर्वाधार निर्माण तथा सञ्चालन गर्न आफूहरू तयार रहेको बताउनुभयो ।

बैठकमा कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सार्वजनिक यातायात सञ्चालन गर्दा उपत्यकाको भूगोल, बस्तीको मौलिकता, सांस्कृतिक तथा सामाजिक चालचलन सुहाउँदो ढाँचाको उपयुक्त माध्यमको छनोट गरी पूर्वाधार निर्माण गर्न सरकारसँग सहकार्य गर्नुपर्ने बताउनुभयो ।

यसअघि सार्वजनिक यातायात प्रणालीका विषयमा अध्ययन भएका कुन उपयुक्त छन् भन्ने कुराको ठोस निष्कर्षमा पुग्न विगतका अध्ययनहरूको पुनरावलोकन आवश्यक रहेको उहाँको भनाइ थियो । “समस्या सीमाविहीन छन्, तिनलाई प्रशासनिक साँधमा अडिएर आफ्नो भन्नुभन्दा पनि उपत्यकाका स्थानीय तहहरूको सहअस्तित्व स्वीकार गरेर समन्वयात्मक रूपमा सहकार्य गरेपछि नतिजा आउँछ”, डङ्गोलले भन्नुभयो ।

उपत्यकामा सार्वजनिक यातायात सञ्चालनका लागि यसअघि गरिएको अध्ययन प्रतिवेदनको विश्लेषण र उपत्यका सुहाउँदो ढाँचाका विषयमा आगामी बैठकमा पेस गरिने अध्यक्ष महर्जनले जानकारी दिनुभयो ।

फोहर व्यवस्थापन, सार्वजनिक यातायात सञ्चालन, खानेपानी वितरण तथा नदी सभ्यताको संरक्षण, खाद्य स्वच्छता, विपद् व्यवस्थापन, जलवायु परिवर्तनका असर कम गराउने सीमाविहीन समस्या हुन्, यी समस्या सुल्झाउन फोरमको उपयोग गरौँ डङ्गोलको भनाइ थियो ।

कञ्चनपुरका मुक्त हलिया भन्छन् – पहिले लिखित प्रतिबद्धता, अनि मात्र मतदान

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरका मुक्त हलिया बस्तीहरूमा राजनीतिक दल र उम्मेदवारहरूको दौडधुप बाक्लिएको छ । तर, यस पटक मुक्त हलियाहरू केवल मौखिक आश्वासन सुन्ने पक्षमा छैनन् ।

राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले कञ्चनपुरका उम्मेदवारलाई लक्ष्य गरी नौ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै हस्ताक्षरसहितको लिखित बाचा माग गरेपछि चुनावी माहोलमा नयाँ बहस सृजना भएको छ ।

विसं २०६५ भदौ १४ गते तत्कालीन सरकारले हलिया मुक्तिको घोषणा गरेको १८ वर्ष पुग्न लाग्दा पनि कञ्चनपुरका धेरै परिवारले पुनःस्थापनाको पूर्णता महसुस गर्न पाएका छैनन् । यही पीडा र आक्रोशबीच समुदायले यस पटक ‘भोटअघि प्रतिबद्धता’को नीति अघि सारेका छन् ।

निर्वाचनको सरगर्मी बढेसँगै गाउँ पसेका उम्मेदवारलाई देख्दा हलिया परिवारमा उत्साहभन्दा बढी संशय देखिन्छ । वैशाखा शिविरका मोहन दमाईले विगतका कयौँ निर्वाचनमा मतदान गरिसकेको भए पनि आफ्नो जीवनस्तरमा कुनै परिवर्तन नआएको बताए ।

उनी भन्छन्, “धेरैपटक चुनावमा भोट हाल्यौँ, उम्मेदवारहरू आउँछन् र भन्छन्, पुनः स्थापना गरेर छाड्छौँ, रोजगारी र बालबालिकालाई गुणस्तरीय शिक्षा दिन्छौँ, तर ती कुरा चुनावी नारामै सीमित रहे, जितेर गएपछि फर्केर कोही आउँदैनन् ।”

आवासको समस्या झनै विकराल छ । कृष्णपुर नगरपालिका–२ की सृजना ओडले सुरक्षित आवास नहुँदा अझै झुपडीमै बस्नुपरेको पीडा सुनाउनुभयो । “चुनाव जितेर गएपछि पक्की घर बनाइदिन्छौँ भन्छन्, अहिले पनि त्यही पुरानै कुरामा अल्झाउन थालेका छन्, विश्वास गर्न पनि गाह्रो परेको छ, कुन उम्मेदवारलाई पत्याउने ? सबैले अवस्था परिवर्तन गर्छौँ भनिरहेका छन्, तर यस पटक भने सोचेरै मतदान गर्छौँ”, उनले भने ।

भौगोलिक विकटता र आधारभूत पूर्वाधारको अभावले पनि यो समुदायलाई पिरोलेको छ । भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका कालुराम भुलले बस्तीमा जाने सडक पनि सहज नभएको गुनासो गरे । गाउँमा काम नपाउँदा उहाँ दैनिक गुजाराका लागि सीमावर्ती भारतीय बजार टनकपुर जानुपर्ने बाध्यतामा छन् । उनी भन्छन्, “गाउँमै रोजगारीको व्यवस्था गरिदिए हुन्थ्यो तर कोही पनि त्यसका लागि तयार छैनन्, चुनावका बेला प्रतिबद्धता जनाउने सबै छन्, चुनाव सकिएपछि बस्तीमा फर्केर आउने कोही होइनन्, हाम्रा दुःख हेर्ने कोही छैन ।”

मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिबी लुहारका अनुसार सुरुआतमा केही प्रगति भए पनि पुनः स्थापना कार्य अझै अधुरो र अपुरो छ । संविधानले समानता र न्यायको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा मुक्त हलियाको शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच अझै न्यून रहेको उनको ठम्याइ छ ।

सरकारी तथ्याङ्क र महासङ्घको अभिलेखअनुसार कञ्चनपुरमा अझै ठूलो सङ्ख्यामा हलिया परिवार सरकारी प्याकेजबाट वञ्चित छन् । कञ्चनपुरमा ‘क’ श्रेणीका १६८ जनाले जग्गा खरिद र घर निर्माणको रकम पाउन अझै बाँकी छ । ‘ख’ श्रेणीका ७२३ जनाले घर निर्माणको दोस्रो किस्ता अझै प्राप्त गर्न सकेका छैनन् । लगतमा समावेश भएका मुक्त हलियाको सङ्ख्या दुई हजार ५१६ रहेकामा जसमध्ये परिचयपत्र प्राप्त सङ्ख्या एक हजार ९९१ रहेको छ । पुनः स्थापन भएका एक हजार ८३० परिवार रहेका छन् भने पुनः स्थापन हुन बाँकी १६१ जना छन् ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा अझै तीन हजार ४०७ मुक्त हलिया परिवार पुनः स्थापना हुन बाँकी छन् । प्रारम्भमा १९ हजार ५९ घरपरिवारको विवरण सङ्कलन गरिएकामा सरकारले पुनः प्रमाणीकरण गरेका १६ हजार ९५३ परिवारमध्ये हालसम्म १३ हजार ५४६ परिवारले मात्र पुनःस्थापनाको प्याकेज पाएका छन् । अझै एक हजार १०४ परिवार अन्तिम किस्ताको रकम पाउनबाट वञ्चित छन् ।

पुनःस्थापनामा ढिलाइ हुनुको मुख्य कारण तीन तहका सरकारबीचको समन्वय अभावलाई मानिएको छ । अध्यक्ष लुहार भन्छन्, “पहिले पुनः स्थापना समस्या समाधान समितिमार्फत केही काम अघि बढेको थियो, तर पछिल्लो समय सङ्घीयता कार्यान्वयनसँगै जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण भएपछि पुनःस्थापनाको कार्यले गति लिनसकेको छैन, सङ्घीय सरकारले अधिकार त दियो तर बजेट र स्पष्ट कार्ययोजना दिएन ।”

बजेटसहित मुक्त हलिया परिवारलाई पुनःस्थापनसँगै शिक्षा, रोजगारीमा पहुँच पुर्‍याउने मागको उम्मेदवारहरूसँग प्रतिबद्धता माग गरिएको उनी बताउँछन् । विशेषगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पछिल्ला वर्षहरूमा मुक्त हलियाका लागि पर्याप्त बजेट विनियोजन नगरेपछि समस्या थप गम्भीर बनेको छ । विनियोजन गरिएको बजेट पनि प्रभावकारी ढङ्गले कार्यान्वयन नहुँदा मुक्त हलियाहरू आफ्नै भूमिमा भूमिहीन र सीमान्तकृत बन्नुपरेको अधिकारकर्मीको गुनासो छ ।

राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले उम्मेदवारका लागि अघि सारेको नौ बुँदे प्रतिबद्धता पत्रमा सुरक्षित आवास, खेतीयोग्य जमिनको लालपुर्जा, उच्च शिक्षासम्म छात्रवृत्ति र बिना धितो सहुलियतपूर्ण ऋणजस्ता महत्त्वपूर्ण माग समावेश छन् ।

“संविधान जारी भएको दशक बितिसक्दा पनि दासत्वको स्वरूपमा रहेको हलिया प्रथा अन्त्यको पूर्ण अनुभूति नहुनु राज्य र राजनीतिक दलहरूका लागि गम्भीर प्रश्नका रूपमा रहेको छ”, महासङ्घका अध्यक्ष ईश्वर सुनारले भने ।

मुक्त हलियाहरूले यस पटक आफ्ना मुद्दालाई मुख्य चुनावी एजेन्डा बनाएका छन् । मुक्त हलियाले उम्मेदवारहरूले लिखित प्रतिबद्धता नजनाए समुदायले सामूहिक रूपमा ‘नो भोट’ वा वैकल्पिक रणनीति अपनाउने चेतावनीसमेत दिएका छन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुरका राजनीतिक दल र उम्मेदवारले मुक्त हलियाको यो ‘प्रतिबद्धता अभियान’लाई कसरी लिन्छन् र कार्यान्वयनमा कत्तिको इमानदार देखिन्छन्, त्यसैमा उनीहरूको चुनावी नतिजा र लोकतन्त्रको समावेशी सफलता निर्भर रहने देखिएको छ ।

चोरीका दुईवटा स्कुटरसहित चार जना पक्राउ

काठमाडौँ। प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट दुईवटा चोरीका स्कुटरसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–१० स्थित गुरुङ टोलबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालिका–८ गैलनदीका २४ वर्षीय सन्तोष विष्ट, २२ वर्षीय धर्मेन्द्र खडायत, उदयपुर घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० बालुवाखानी कपन बस्ने १८ वर्षीय रविन परियार तथा २८ वर्षीय निर्मल परियार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरी प्रभाग ट्याङलाफाँटबाट खटिएको प्रहरी टोलीले सन्तोष विष्ट, धर्मेन्द्र खडायतलाई बाग्मती प्रदेश०२–०१८प ७९३६ नम्बरको एनटिओआरओ १२५ सिसी स्कुटर तथा प्रहरी बृत्त थिमी भक्तपुर क्षेत्रबाट चोरी भएको बा६४प ३७५५ नम्बरको १२५ सिसीको डियो स्कुटरसहित रविन परियार र निर्मल परियारलाई पक्राउ गरिएको हो ।”

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

काठमाडौं-आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को तत्वावधानमा यो दिवस मनाइन्छ । सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव पारित गरेअनुसार सन् २००९ देखि हरेक वर्ष फेब्रुअरी २० मा यो दिवस मनाउने निर्णय भएको हो ।

सामाजिक न्याय, समान अवसर, श्रम अधिकार र गरिमायुक्त कामको प्रवर्द्धनका लागि विश्व समुदायलाई एकजुट हुन आह्वान गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ८ फागुन : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५७ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०६ रुपैयाँ २१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६ रुपैयाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ९५ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

मुस्ताङ। चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै चालु वर्षको साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९, कात्तिकमा ८३ हजार ७६६, मङ्सिरमा ४९ हजार ५०, पुसमा ३९ हजार १५३ र माघमा ३२ हजार चार जना विदेशी तथा स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

गत वर्षको साउनदेखि माघसम्म तीन लाख ४० हजार ७२९ विदेशी तथा स्वदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । प्रहरीको तथ्याङ्कअनुसार गत वर्षको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा १८ हजार १७१ जना (५.३३ प्रतिशत) पर्यटक कम भित्रिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार म्याग्दी र मुस्ताङको सिमाना घाँसामा सडकमार्ग हुँदै मुस्ताङ भित्रिने विदेशी तथा स्वदेशी पर्यटकको अभिलेख सङ्कलन गर्ने गरेको छ । पोखरा–जोमसोम हवाई सेवामार्फत मुस्ताङ भित्रिएका र मनाङ हुँदै थोरङलापास गरी मुस्ताङ भित्रिएका पर्यटकको मातहतका प्रहरी एकाइहरूले अभिलेख सङ्कलन गर्ने गरेका छन् ।

मुस्ताङमा आव २०८०÷८१ मा चार लाख ५४ हजार ३२६ जना र आव २०८१÷८२ मा सात लाख पाँच हजार ७७९ जना स्वदेशी तथा विदेशी पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो समय राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बर्सेनि सहज हुँदै जान थालेपछि मुस्ताङमा पर्यटकको आगमनदर वृद्धि हुँदै गएको हो । मुस्ताङमा भित्रिएका सार्क राष्ट्रका पर्यटकमध्ये अधिकांश भारतीय पर्यटकले मुक्तिनाथको दर्शन गरी फर्किने गरेका छन् । अन्य राष्ट्रका विदेशी पर्यटक भने बेनी–जोमसोम सडकमार्ग र मनाङ हुँदै थोरङ्लपास क्रस गरी मुस्ताङ भित्रिने गर्छन् ।

मुस्ताङको कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध गर्न तथा मुक्तिनाथ मन्दिरको दर्शन गर्न आउने स्वदेशी पर्यटकको सङ्ख्या पनि बढ्दो छ ।

मुस्ताङ भित्रिएका पर्यटकमध्ये तीन प्रतिशत विदेशीले माथिल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन् । पछिल्लो समय जोमसोम–कोरला सडक सहज भएपछि उल्लेख्य सङ्ख्यमा स्वदेशी पर्यटक कोरलानाकासम्म पुग्ने गरेका पाइएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीका प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भागका साथै अन्य प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति तराईका केही स्थानमा तुवाँलो लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने छ भने बाँकी प्रदेशमा मुख्यतया मौसम सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

७ वर्षपछि मालढुंगा–बेनी सडक स्तरोन्नति, अव एक घन्टाको यात्रा १५ मिनेटमै

म्याग्दी-म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक स्तरोन्नति भएको छ। चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनामार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गरिएको हो।

पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगादेखि जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक दुई लेनको बनाएर कालोपत्रे गर्न २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले २०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो।

तेह्र किलोमिटर दूरीको सडकमध्ये ९६० मिटरबाहेकका ठाउँमा कालोपत्र र ढलान सकिएको आयोजना प्रमुख तेजस्वी शर्माले बताउनुभयो । “ढलान र कालोपत्र सकिएको सडकमा रङरोगन र सुरक्षा पूर्वाधार राख्ने काम भइरहेको छ”, उनले भने, ‘वारीबेनीको ७६० मिटर, केराबारी र फर्से पहिरोमा एक–एक सय मिटर सडकलाई ठेक्काबाट हटाइएको छ।’

वारीबेनीमा बस्तीको बीचमा सडक विस्तार गर्न घरधनीको अहसमति तथा फर्से र केराबारीमा पहिरोका कारण ठेक्काबाट हटाउनुपरेको योजना प्रमुख शर्माले बताए। २०७९ मा सम्पन्न गर्ने लक्ष्य थियो। सडक निर्माण कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावका कारण देखाएर सहायक ठेकेदार ओमकारेश्वरले अलपत्र बनाएको योजनालाई पूर्णता दिन एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा आएका थिए।

Arghakhachi cementShree Steel
यसअघि गत वर्ष मालढुंगा–फर्से खण्डमा तीन किलोमिटर ३०० मिटर कालोपत्रे र दुई किलोमिटर २०० मिटर ढलान भएको थियो।गत मंसिर पहिलो सातादेखि सुरु भएको लस्ती–बेनी खण्डको ६ किलोमिटर ५०० मिटर सडक कालोपत्र गर्ने काम सकेर प्राविधिक टोलीबाट नापजाँच भइरहेको निर्माण कम्पनीका इन्जिनियर जीवन चौधरीले बताए।

यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन्। ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ मा एकतर्फी कालोपत्रे भएको थियो।

मुस्ताङ र कोरलानाका सडक सञ्जालमा जोडिएपछि यातायातका साधनको चाप बढ्दा साँघुरो यो सडक पछिल्लो समय जीर्ण बनेको थियो। यातायात व्यवसायी बुद्धि पुनले मालढुङ्गा–बेनी सडकमा यात्रा गर्दा यसअघि एक घन्टाको यात्राअवधि स्तरोन्नतिपछि १५ देखि २० मिनेटमा छोटिएको बताए।

निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

काठमाडौँ। तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ ।

राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ । यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सक्नुहुन्छ । रमाइलोका लागि हेरिन वा बनाइने टिकटक बनाएर निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्ने र मतदाता शिक्षा प्रदान गर्न सकिनेछ । युवामाझ लोकप्रिय रहेको सामाजिक सञ्जाललाई आयोगले निर्वाचन प्रचारप्रसारका लागि प्रयोग गर्न लागेको छ ।

यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर आयोगले टिकटक भिडियो बनाउने निर्वाचनलाई केन्द्रमा राखेर निर्वाचन आयोगले टिकटक भिडियो बनाउने अभियान चलाउने भएको छ ।

राष्ट्रिय महत्त्वको निर्वाचनलाई भव्य, सभ्य बनाउनका लागि आयोगले टिकटक भिडियो बनाउने प्रतियोगिता सञ्चालन गर्ने भएको छ । निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षाका लागि यस खालको प्रतियोगिता अगाडि बढाउन लागेको हो ।

निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षाजस्ता विषयमा आधारित भएर एक मिनेटबराबरको टिकटक भिडियो बनाई आफ्नो सामाजिक सञ्जालमा राख्नुपर्ने छ । यही फागुन १७ गतेसम्म आयोगको इमेलमा समेत टिकटक पठाउनुपर्नेछ ।

आयोगमा प्राप्त भएका सबै टिकटक भिडियोमा सबैभन्दा बढी भ्युअर्स भएका टिकटकलाई आयोगले निश्चित रकम प्रदान गर्नेछ । आयोगले त्यस्ता टिकटकलाई धेरै भ्युअर्स भएका पहिलो टिकटकलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार र तेस्रोलाई रु २० हजारका दरले पुरस्कृत गरी प्रमाणपत्र प्रदान गर्नेछ ।

टिकटक भिडियो प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को परिवेशमा तयार पार्नुपर्नेछ । भिडियो संवादमूलक एवं सन्देशमूलक हुनुपर्नेछ । आफ्ने मौलिक, अडियो र अभिनय भएको भिडियोलाई विशेष प्राथमिकता दिइने आयोगले जनाएको छ ।

निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता, महत्व र मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्यका बारेमा जानकारी दिइएको हुनुपर्नेछ । यस्तै, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारीजस्ता छुट्टाछुट्टै विषयवस्तुमा आधारित भएर भिडियो बनाउनुपर्नेछ ।

कुनै एक व्यक्तिले एउटा विषयमा एउटा भिडियो पठाउन सक्नेछन् । साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर भिडियो निर्माण गर्न सक्ने आयोगले जनाएको छ । त्यसरी प्राप्त भएका भिडियोमा आयोगको अधिकार रहनेछ । भिडियो सन्देशलाई आयोगले आफ्ना सामाजिक सञ्जालबाट प्रसारण गर्न स्क्नेछ । तोकिएको शर्तहरूको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडियोहरू स्वीकार गरिनेछ । उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगबाट हुने सूचनामा उल्लेख छ ।

प्रमुख राजनीतिक दलको घोषणापत्रः ऊर्जा क्षेत्र विशेष प्राथमिकतामा

काठमाडौं, फागुन ८ । प्रमुख राजनीतिक दलले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको प्रमुख क्षेत्रका रूपमा ऊर्जा क्षेत्रलाई चित्रण गर्दै आफ्ना घोषणापत्रमा विशेष स्थान दिएका छन् । उनीहरूले विभिन्न समयसीमा निर्धारण गरेर कार्यान्वयन पक्षमा रहेको जटिलता हटाउने र ऊर्जा क्षेत्रमैत्री वातावरण बनाउने योजनासमेत अगाडि सारेका छन् ।

आन्तरिक खपतको वृद्धि, रोजगारी सृजना तथा ऊर्जा कूटनीतिमार्फत क्षेत्रीय बजारमा बिक्री गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेका छन् । नीतिगत जटिलताको अन्त्य, आठ मन्त्रालय र २३ विभाग धाउनुपर्ने अवस्थाको अन्त्य गरी निजी क्षेत्रलाई धक खोलेर लगानी गर्ने वातावरण बनाउने विषय घोषणापत्रमा समेटिएका छन् । वाचापत्र, प्रतिबद्धतापत्रजस्ता नाम दिइएका राजनीतिक दलका घोषणापत्रमा यसपटक सबैको साझा एजेन्डाका रूपमा ऊर्जा क्षेत्र पर्न गएको छ ।

कुनै राजनीतिक दलले १० वर्षको योजना अगाडि सारेका छन्, कुनै राजनीतिक दलले पाँच वर्षको नीति अवलम्बन गर्ने लक्ष्य राखेको छ । सरकारले अगाडि सारेको सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यको हाराहारीमा नै रहेर प्रमुख दलले ऊर्जा मिश्रण तथा वैकल्पिक ऊर्जालाई पनि उत्तिकै प्राथमिकता दिएको देखिन्छ ।

कार्यक्रमिक रूपमा नेपाली कांग्रेसले ‘पर्याप्त ऊर्जा : दिगो विकास’को नारा दिएको छ । त्यसमा आगामी पाँच वर्षमा देशको कुल विद्युत् जडित क्षमता १४ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ । उज्यालोमात्र होइन, आर्थिक उपार्जन सेयरबाट स्वरोजगारका रूपमा सो दलले यस क्षेत्रको दिगो र दीर्घकालीन विकासलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

यस्तै, प्रतिव्यक्ति विद्युत् खपत ७५० युनिट पुर्याउने, बढ्दो खपत, घट्दो महसुलको अवधारणा लागू गर्ने, राष्ट्रिय ऊर्जा सुरक्षा नीति बनाई ऊर्जा पूर्वाधारलाई सुदृढ बनाउँदै नागरिकलाई स्वच्छ र गुणस्तरीय ऊर्जा सुनिश्चित गर्ने कांग्रेसको योजना छ । यस्तै, पेट्रोल, डिजेललाई क्रमशः प्रतिस्थान गर्दै जाने लक्ष्य कांग्रेसको छ ।

“नेपाली कांग्रेसले ऊर्जा विकासलाई प्राथमिकतामा राखेको यथार्थ पार्टीको सरकारले २०४९ सालमा ल्याएको जलविद्युत् विकास नीति र हालसम्म पनि प्रचलनमा रहिरहेको विद्युत् ऐन, २०४९ का साथै जलविद्युत् विकास नीति, २०५८ बाट स्पष्ट हुन्छ”, सो दलको घोषणापत्रमा भनिएको छ ।

ठूलाठूला राजनीतिक परिवर्तन र सङ्क्रमणकालीन अस्थिरताले गर्दा अन्य क्षेत्रझैँ ऊर्जा उद्योगले पनि नीतिगत सुधारको यथोचित लाभ लिन नसकेको यर्थाथता कांग्रेसले स्वीकार गरेको छ ।

कांग्रेसले लागू गरेको उदार जलविद्युत् नीतिकै जगमा आजको ऊर्जा उद्योग उभिएको दाबी गरिएको छ । अनुभवी प्राविधिक जनशक्तिको उपलब्धता र बंैकहरूको सुधारिएको दक्षताले लगानीको वातावरण थप सुदृढ बनेको बैंक तथा वित्तीय संस्थाले परियोजना बुझेर लगानी गर्न थालेकाले वित्तीय पहुँच बढेको कांग्रेसको स्वीकारोक्ति छ ।

नेपाली निजी क्षेत्रले अहिले ठूला जलविद्युत् आयोजना निर्माण गर्न सक्ने आत्मविश्वास र क्षमता हासिल गरेको उल्लेख गर्दै सो दलले यस प्रकारको उत्साहलाई ठोस नतिजामा बदल्न आवश्यक नीतिगत सहजता र वित्तीय स्रोतको सही परिचालन गर्न सकिएको खण्डमा जलविद्युत् क्षेत्र मुलुकको औद्योगिक क्रान्तिको मुख्य आधार बन्ने उल्लेख गरेको छ ।

कांग्रेसले ऊर्जा सुरक्षालाई मध्यनजर गरी राष्ट्रिय ऊर्जा सुरक्षा नीति तय गर्ने, मुलुकको आर्थिक उन्नति, गरिबी निवारण र वातावरण संरक्षणसँग जोडेर हरेक नागरिकका लागि भरपर्दो र आधुनिक ऊर्जा सुनिश्चित गर्दै उर्जामा आत्मनिर्भर बन्ने कार्यक्रम समेटेको छ ।

कांग्रेसको प्रतिज्ञापत्रमा बुढीगण्डकी र दूधकोशीजस्ता ठूला आयोजना अघि बढाउने र हाल करिब ४५० युनिटको हाराहारीमा रहेको प्रतिव्यक्ति विद्युत् खपतलाई आगामी पाँच वर्षभित्र ७५० युनिट पुर्याउने विषयलाई प्राथमकितामा राखेको छ ।

बढ्दो खपत घट्दो महसुलको अवधारणालाई कार्यान्वयनमा लैजाने लक्ष्य राखेको कांग्रेसले हाल करिब चार हजार मेगावाट विद्युत् जडित क्षमता रहेकामा अन्तरराष्ट्रिय एवं निजी क्षेत्रको समेत सामूहिक लगानी जुटाएर सौर्य विद्युत्सहित थप करिब १० हजार मेगावाट क्षमताका आयोजनालाई निर्माण चरणमा लैजाने बताएको छ । त्यसका लागि नीतिगत र नियामकीय सुधार गरी कुल जडित क्षमता वृद्धि गर्ने बताएको छ ।

कांग्रेसले सरकारबाट ‘भायाबिलिटी ग्याप फन्डिङ’ उपलब्ध गराउँदै बुढीगण्डकी र दूधकोशीजस्ता जलाशययुक्त एवं अर्धजलाशययुक्त बेतन कर्णाली र चैनपुर सेती आयोजनाको निर्माण राष्ट्रिय प्राथमिकताका साथ सुरु गर्ने बताएको छ ।

विगत ३० वर्षदेखि अलपत्र रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय हितको अधिकतम रक्षा गर्दै प्राविधिक र राजनीतिक सहमतिमार्फत कार्यान्वयनमा लैजान गम्भीर पहल गर्ने कांग्रेसको प्रतिबद्धता छ ।

जलविद्युत् आयोजनाले पालना गर्नुपर्ने वन, जग्गा प्राप्ति र वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रियालाई छ महिनाभित्र टुङ्ग्याउने गरी एकद्वार प्रणालीको व्यवस्थासहित कानुनी सुधार गर्ने विषय प्राथमिकतामा छ ।

हाल आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको जलविद्युत् कम्पनीहरूको १० प्रतिशत अग्राधिकार सेयर खरिद गर्न सम्बन्धित विपन्न परिवारका लागि लाभांशबाट क्रमशः तिर्दै जानेगरी सहुलियतपूर्ण ऋणको नीतिगत व्यवस्था गर्ने कांग्रेसको योजना छ । आयोजना निर्माणमा संलग्न नेपाली नागरिक श्रमिकलाई पनि त्यस्तो सेयर खरिद गर्ने व्यवस्था र आर्थिक सहुलियत प्रदान गरिने भएको छ ।

स्वदेशी खपतपछि जगेडा हुनजाने विद्युत् निर्यातका लागि अन्तरदेशीय व्यापारमा रहेका जटिलता फुकाउन छिमेकी देशहरूसँग राजनीतिक र कूटनीतिक पहलमा जोड दिने, नेपाल–भारत विद्युत् व्यापारलाई उपक्षेत्रीय तहसम्म विस्तार गर्न प्रभावकारी आर्थिक कूटनीति अवलम्बन गर्ने कांग्रेसको योजना छ ।

‘स्वच्छ ऊर्जा, स्वदेशमा खपत हरित विकास, विदेशमा निर्यात’ नाराका साथ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले जलविद्युत्, सौर्य, ग्रीन हाइड्रोजनसमेतको नवीकरणीय ऊर्जाको उत्पादन, प्रसारण र वितरणका आयोजना सम्पन्न गर्ने योजना अगाडि सारेको छ ।

ऊर्जा सुरक्षाको प्रत्याभूति दिनुका साथै नेपाललाई दक्षिण एसियाको स्वच्छ ऊर्जा निर्यातक हबका रूपमा विकास गर्ने, विद्युत् उत्पादन र प्रतिव्यक्ति विद्युत् उपभोग दोब्बर बनाउने कार्यक्रम सो दलले आफ्नो घोषणापत्रमा समावेश गरेको छ ।

स्वच्छ ऊर्जा उत्पादन र प्रसारण तथा वितरण प्रणाली निर्माण गर्नका लागि राज्यको लगानी वृद्धि गर्ने एमालेको कार्यक्रम छ । निजी क्षेत्रलाई उत्पादनसँगै प्रसारण लाइन निर्माण र विद्युत् निर्यात गर्न उपयुक्त वातावरण विकास गर्ने एमालेको प्रतिबद्धता छ । जलविद्युत्, सौर्य ऊर्जा र ग्रीन हाइड्रोजनसमेत विकास गरी ऊर्जा आपूर्तिको विश्वसनीय प्रणाली स्थापित गर्ने सो दलको भनाइ छ ।

हिउँदको समयमा समेत विद्युत् आपूर्तिको समस्या नरहनेगरी माथिल्लो अरुण, दूधकोशी र बुढीगण्डकी आयोजनाको कार्यान्वयन गर्ने तथा निजी विद्युत् आयोजना निर्धारित समयमा सम्पन्न गर्ने सबै प्रकारको प्रयास गर्ने सो दलको कार्यक्रममा समावेश छ ।

सुनकोशी–मरिन तथा भेरी बबईजस्ता नदी पथान्तरणका सिँचाइ तथा विद्युत् आयोजना सम्पन्न गर्ने, कृषि, उद्योग, यातायात, पर्यटन, शिक्षा, स्वास्थ्य, व्यापार, व्यवसाय र वित्तीय क्षेत्रबाट हुने ऊर्जाको मागलाई प्राथमिकताका साथ आपूर्ति गरिने विषयलाई एमालेले प्राथमितामा राखेको छ ।

कुल गार्हस्थ्य उपभोगमा विद्युत्को खपतलाई प्रोत्साहित गर्ने, तराई, उपत्यका र टारमा डिपबोरिङ तथा लिफ्ट प्रणालीबाट सिँचाइ गर्न आवश्यक विद्युत सेवा सुपथ महसुलमा उपलब्ध गराउने एमालेको घोषणापत्रमा उल्लेख गरिएको छ ।

सामुदायिक विद्युतीकरणलाई प्रोत्साहन गर्न सामुदायिक विद्युत् उपभोक्ता संस्थाहरूको दिगो व्यवस्थापनका लागि मौजुदा नीति, कानुन र नियमलाई पुनरावलोकन गरी जनताको घरदैलोमा दैनिक उपभोगका लागि विद्युतीय सेवालाई सर्वसुलभ बनाउने लक्ष्य निर्धारण गरिएको छ ।

ग्रामीण क्षेत्रमा साना तथा मझौला उद्योग सञ्चालनका लागि र कृषिको औद्योगिकीकरणका लागि ऊर्जाको समुचित व्यवस्था गर्न सामुदायिक विद्युत् उपभोक्ता संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम एमालेको रहेको छ ।

नेपाली कम्युनिस्ट पार्टीले विशेष प्राथमिकताका साथ ऊर्जा तथा पूर्वाधार विकासलाई आफ्नो प्रतिबद्धतापत्रमा समावेश गरेको छ । त्यसमा जलविद्युत्, नवीकरणीय ऊर्जा तथा एकीकृत करिडोरको विषय अगाडि सारिएको छ ।

नेकपाले प्रतिव्यक्ति विद्युत् खपत पाँच वर्षमा ७५० किलोवाट घण्टा पुर्याउने विषय समावेश गरेको छ । हाल नै प्रतिव्यक्ति विद्युत् खपत ३८० किलोवाट घण्टाबराबर पुगेको छ ।

त्यसैगरी, विसं २१०० सम्म ४० हजार मेगावाट बिजुली उत्पादन गर्ने दीर्घकालीन लक्ष्य नेकपाले तय गरेको छ । विद्युत् उत्पादनको प्रक्रिया सुरु गर्दा १० हजार जनाले प्रत्यक्ष वा परोक्ष रूपमा रोजगारी पाउने अवस्थामा नेकपाले ऊर्जा क्षेत्रलाई समृद्धिको आधारका रूपमा व्याख्या गरेको छ ।

यस्तै, आगामी पाँच वर्षमा १० हजार मेगावाट बिजुली थप गर्ने लक्ष्य समेत नेकपाको प्रतिबद्धतापत्रमा उल्लेख छ । हाल निर्माणमा रहेका आयोजना, निर्माणमा जान ठिक्क भएका आयोजना र निर्माण सकिने चरणमा रहेका आयोजना जोडिनेबित्तिकै यो लक्ष्य पूरा हुन्छ ।

यस्तै, भारत र बङ्गलादेशमा थप व्यवस्थित तरिकाले बिजुली निर्यात गर्ने नेकपाको प्रतिबद्धतापत्रमा उल्लेख छ । केही कानुनी प्रश्नहरूको तत्काल समाधान गर्ने उल्लेख गरेको नेकपाले समाधान गर्ने र नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभागजस्ता संस्थाको नेतृत्वमा कामकाजी मान्छे ल्याउनेबित्तिकै सबैभन्दा देखिनेगरी प्रगति यही ऊर्जा क्षेत्रमा नै हुने देखिन्छ । नेकपाले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर प्रतिबद्धतापत्रमा समावेश गरेकाले पनि यो वस्तुनिष्ठ र व्यावहारिक देखिन्छ । उज्यालो नेपालको नेतृत्वकर्ता भएकाले नेकपाको प्रतिबद्धतापत्र अन्यको तुलनामा वैज्ञानिक र कार्यान्वयनमुखी रहेको देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दशकमा ३० हजार मेगावाट बिजुली उत्पादन गर्ने महत्वाकाङ्क्षी लक्ष्य निर्धारण गरेको छ । ऊर्जा विकासलाई तीव्रता दिन भूमि, वन तथा वातावरणसम्बन्धी विद्यमान कानुनमा सुधार र परिमार्जन गरिनेछ । यस्तै, हाल आठ मन्त्रालय र २३ विभाग धाउनुपर्ने अवस्थाको अन्त्य गरी एकल बिन्दु सेवा केन्द्रमार्फत काम हुने वातावरण बनाउने सो दलकोे योजना छ ।

जलस्रोत नीतिको तयारी गरी लागू गर्ने, पम्प स्टोरेज वा अन्य प्रविधिमा आधारित भण्डारण, वितरण प्रणालीमा निजी क्षेत्रमैत्री वा सहभागितामा काम गर्ने सो दलको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

यस्तै, सौर्य प्रणालीको विकास र विस्तार, आन्तरिक विद्युत् खपत वृद्धि उद्योगसम्म प्रसारण लाइन विस्तार गर्ने योजना अगाडि सारेको सो दलले ऊर्जामा आधारित ठूला उद्योगको विकास गर्ने लक्ष्य राखेको छ । सिमेन्ट, रासायनिक मल उद्योग, डाटा सर्भर, वितरण प्रणालीमा सुधार गरिनेछ । यस्तै, बिजुलीको महसुलमा पुनर्संरचना, सन् २०३५ सम्म प्रतिव्यक्ति खपत एक हजार ५०० किलोवाट घण्टा पुर्याउने लक्ष्य राखिएको छ ।

ऊर्जा निर्यातका लागि भारत र बङ्गलादेशसँग ऊर्जा कूटनीतिक अवलम्बन गरी अप्लकालीन, मध्यकालीन र दीर्घकालीन ऊर्जा व्यापार सम्झौता गर्ने सो दलको कार्यक्रम छ । यस्तै, सीमापार प्रसारण लाइनको विस्तार, ऊर्जा बजार पहुँच र स्थिर खरिद बिक्री संरचनामार्फत नेपाललाई विश्वसनीय ऊर्जा आपूर्तिकर्ता बनाउने लक्ष्य सो दलले राखेको छ ।

उज्यालो नेपाल पार्टीले पनि ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि महत्त्वपूर्ण योजना र कार्यक्रम अगाडि सारेको छ । निर्वाचनमा भाग लिन लागेका अधिकांश राजनीतिक दलको प्रतिबद्धतामा ऊर्जा क्षेत्रले विशेष प्राथमिकता पाएको छ । आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा यो क्षेत्र स्थापित हुँदा बेरोजगारीको अन्त्य, आर्थिक विकास र समृद्धिको ढोका खुल्ने जानकारहरूको टिप्पणी छ । यस्तै, केहीले भने कार्यान्वयनको प्रक्रियामा जाँदा के–कसो हुने हो, त्यसलाई मध्यनजर गरेर मात्र यस विषयलाई थप प्रष्ट पार्न सकिने उल्लेख गरेका छन् ।

कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा

काठमाडौँ । नेपाली कांग्रेसले विदेशमा बस्ने गैरआवासीय नेपालीहरूका मुद्दालाई प्रष्टसँग प्रतिज्ञापत्रमा उल्लेख गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले राजधानीमा बिहीबार आयोजित कार्यक्रममा प्रतिज्ञापत्रको पूर्णपाठ सार्वजनिक गरेका छन्।

प्रतिज्ञापत्रको १७० देखि १७४ पृष्ठसम्म ‘नेपाली डायस्पोराः अटुट सम्बन्ध, विस्तारित नेपाल’ शीर्षक दिएर प्रष्ट्याएको छ । सुरूमै कांग्रेसले गैरआवासीय नेपाली सङ्घले उठाउँदै आएको ‘एक पटकको नेपाली सधैँको नेपाली’लाई आत्मसात् गर्दै नागरिकताको निरन्तरता, सम्पत्ति र मतदानको अधिकार सुनिश्चित गरेर डायस्पोराका सबै पुस्ताको भावना, ज्ञान, सीप र पुँजीलाई देशको समुन्नतिका लागि जोड्ने उल्लेख गरेको छ ।

“विश्वको जुनसुकै कुनामा रहे पनि आफ्नो माटोप्रतिको स्नेह बोकेका लाखौँ नेपालीको भावनामा आज ‘विस्तारित नेपाल’ जीवन्त छ । मातृभूमिको सामाजिक, सांस्कृतिक र आर्थिक प्रगतिमा डायस्पोराको योगदान उल्लेखनीय रूपमा बढ्दै गएको वर्तमान अवस्थामा उनीहरूको इज्जत र सम्मानलाई नेपालको समृद्धिसँग जोड्नु अनिवार्य भइसकेको छ”, कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख छ ।

नेपाली डायस्पोराको प्रमुख माग र भावनालाई कदर गर्दै नागरिकताको निरन्तरतालाई सुनिश्चित गर्नु आजको प्राथमिक आवश्यकता रहेको उल्लेख गरिएको छ । प्रतिज्ञापत्रमा अगाडि भनिएको छ, “गैरआवासीय नेपालीको नागरिकता, पैतृक सम्पत्ति र मतदानको अधिकारलाई कानुनी रूपमै ग्यारेन्टी गर्नका लागि विद्यमान बाधक कानुनलाई परिमार्जन गर्दै एउटा एकीकृत गैरआवासीय नेपाली ऐन ल्याउनुपर्ने देखिन्छ ।”

एनआरएन नागरिकता लिए पनि अहिले उक्त नागरिकता कागजको खोस्टोको रुपमा परिणत भएको चर्चा भइरहेका बेला कांग्रेसले त्यसलाई कामकाजी बनाउन भूमि, अध्यागमन, कम्पनी र श्रमजस्ता क्षेत्रमा रहेका कानुनी जटिलतालाई फुकाएर डायस्पोरालाई नेपाली नागरिकसरहकै सुविधा र सुरक्षा प्रदान गर्ने कुरा उल्लेख गरेको छ ।

त्यसैगरी वर्षौंदेखि नेपालमा गैरआवासीय नेपालीको नोट चल्ने तर भोट नचल्ने विषयको बहस भइरहेका बेला कांग्रेसले विदेशबाट पनि मतदान गर्न पाउनुपर्ने आवाजलाई प्रतिज्ञापत्रमा समेटेको छ । “विशेषगरी सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै विदेशमा रहेका नेपालीलाई त्यहीँबाट मतदान गर्न पाउने व्यवस्थाका लागि निर्वाचन कानुनमा गरिने संशोधनले उनीहरूलाई राष्ट्रिय मूलधारसँग प्रत्यक्ष जोड्नेछ”, प्रतिज्ञापत्रमा उल्लेख छ ।

यसैगरी, नेपालको आर्थिक समृद्धिमा गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण हुने कुरालाई पनि प्रतिज्ञापत्रमा सम्बोधन गरिएको छ ।

“आर्थिक दृष्टिकोणले डायस्पोराको पुँजीलाई नेपालको पूर्वाधार विकासमा जोड्नु राष्ट्रिय अर्थतन्त्रका लागि कोशेढुङ्गा सावित हुन सक्छ । लगानीमैत्री वातावरण सिर्जना गर्न गैरआवासीय नेपालीलाई नेपालको पुँजी बजारमा सहज पहुँच पु¥याउने र दोहोरो कर प्रणाली अन्त्यका लागि विभिन्न देशसँग द्विपक्षीय सम्झौता गर्नु आवश्यक छ”, प्रतिज्ञापत्रमा उल्लेख छ ।

केबल आर्थिक रेमिट्यान्स मात्र नभई, विदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधि नेपालको विकासका लागि झन महत्वपूर्ण छ । उच्च दक्षता हासिल गरेका नेपाली विज्ञको पहिचान गरी उनीहरूलाई देशको नीतिनिर्माण र अनुसन्धानमा जोड्न नलेज एण्ड इनोभेसन सेन्टर जस्ता संयन्त्रले ठूलो भूमिका खेल्न सक्छन् । डायस्पोराको दोस्रो र तेस्रो पुस्तामा नेपालप्रतिको लगाव र अपनत्व कायम राख्न विशेष सांस्कृतिक र शैक्षिक कार्यक्रम सञ्चालन गर्ने कुरामा पनि जोड दिइएको छ ।

“विदेशमा हुर्किएका नेपाली बालबालिकालाई नेपालको भाषा, कला र इतिहास बुझाउन आवासीय समर स्कूलजस्ता अवधारणालाई प्रोत्साहन दिँदै उनीहरूलाई नेपाली खेलकुद र कला क्षेत्रमा सहभागी गराउनुपर्छ । यसका साथै आफ्नो जन्मथलोको विकासमा योगदान दिन चाहने डायस्पोराका लागि सरकार–डायस्पोरा सामुदायिक विकास कोषमार्फत साझेदारी मोडेल अघि सार्नुपर्छ”, प्रतिज्ञापत्रमा उल्लेख छ ।

यदि कुनै गैरआवासीय नेपालीले आफ्नो गाउँमा शिक्षा वा स्वास्थ्य क्षेत्रमा लगानी गरेमा, त्यसमा सरकारले पनि थप रकम उपलब्ध गराएर सहकार्य गर्ने नीतिले मातृभूमिप्रतिको स्नेहलाई थप प्रगाढ बनाउने पनि विश्वास व्यक्त गरिएको छ ।

प्रतिज्ञापत्रमा नेपाली डायस्पोरा केवल आर्थिक सहयोग गर्ने माध्यम मात्र नभई नेपालको अन्तरराष्ट्रिय प्रतिष्ठा बढाउने र आधुनिक प्रविधि भित्र्याउने बलियो खम्बा रहेको उल्लेख गर्दै उनीहरूको अधिकार सुरक्षित गर्दै र मातृभूमिसँगको भावनात्मक सम्बन्धलाई कानुनी रूपमै कसिलो बनाउँदै लैजाँदा मात्र ‘समुन्नत नेपाल’ को सपना साकार हुने विश्वास व्यक्त गरिएको छ ।

भेनेजुएलाका कार्यवाहक राष्ट्रपति र अमेरिकी सैन्य अभियान प्रमुखबिच भेटवार्ता

काठमाडाैँ । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज र अमेरिकी सैन्य अपरेसनका प्रमुखसँग भेट वार्ता भएको जनाइएको छ ।

रोड्रिगेजको सरकार र युएस साउदर्न कमान्डले सामाजिक सञ्जाल मार्फत छुट्टै भ्रमणको घोषणा गरेको जनाइएको छ । रोड्रिगेजको प्रेस कार्यालयले मरीन जनरल डोनोभानले रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेज र आन्तरिक मन्त्री डायोस्डाडो क्याबेलोसँग भेट गरेको बताएको छ ।

अमेरिकी सेनाले तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई काराकसमा आश्चर्यजनक छापामा समातेर लागुऔषध तस्करीको आरोपको सामना गर्न अमेरिका ल्याएको केही हप्तापछि यो बैठक भएको हो ।

बैठकको क्रममा दुवै देशहरू अवैध लागुऔषध तस्करी, आतङ्कवाद र आप्रवासनको विरूद्ध लड्न द्विपक्षीय सहयोग एजेन्डा विकास गर्न काम गर्न सहमत भएको रोड्रिगेजको प्रेस अफिसबाट सामाजिक सञ्जाल एक्स मार्फत बताए ।

मतभेद समाधान गर्न र सबै पक्षको हित र द्विराष्ट्रिय र क्षेत्रीय हितका सवालहरुलाई सम्बोधन गर्ने संयन्त्र कूटनीति हुनुपर्ने बैठकले औँल्याएको छ ।

खेलकुदमा एनआरएनएको सहभागिता गराउने कांग्रेसको लक्ष्य

काठमाडौं। नेपाली कांग्रेसले नेपालको राष्ट्रिय टिममा गैरआवासीय नेपाली खेलाडीलाई पनि समावेश गर्ने लक्ष्य लिएको छ ।पार्टी सभापति गगनकुमार थापाले आज सार्वजनिक गरेको नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा यस्तो उल्लेख गरिएको छ ।प्रतिज्ञापत्रमा भनिएको छ, “गैरआवासीय नेपाली युवालाई नेपालका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा सहभागी गराई नेपालीत्वको भावना अभिवृद्धि गराउन र समग्र नेपालको खेलकुद क्षेत्रको विकास गर्न कानुनी व्यवस्था गर्छौं ।”

विश्वका अन्य देशहरूमा बाहिरका खेलाडीले देशको प्रतिनिधित्व गरिरहेका बेला नेपालमा भने यो व्यवस्था नहुँदा डायस्पोरामा दोस्रो र तेस्रो पुस्ताका युवा खेलाडीहरूले देशको प्रतिनिधित्व गर्न नपाएको उल्लेख गर्दै कांग्रेसले गैरआवासीय नेपालीलाई राष्ट्रिय खेलमा सहभागीता गराउन विद्यमान खेलकुद विकास ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएको छ ।

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन। चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना सकिएको छ । गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना आज सकिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार तेस्रो ब्लकको काम सकिएर क्यामेरा सङ्कलनको काम आज सकिएको छ । उहाँले भन्नुभयो, “तीनवटै ब्लकमा १३ टोलीले काम गरेको हो ।” उहाँका अनुसार पहिलो ब्लक त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरण्डाभार क्षेत्रलाई पहिलो भाग बनाएर गणना गरिएको थियो । पहिलो ब्लकलाई २८६ वटा ग्रिड बनाएर गणना गरिएको थियो ।

क्यामेरा उठाएपछि दोस्रो भागमा जडान गरी गणना सुरु गरिएको थियो । दोस्रो भागमा १३ क्याम्प बनाएर गणना गरिएको सूचना अधिकारी थापामगरले बताउनुभयो । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा, सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको थियो । सो ब्लकलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको हो ।

पर्सा राष्ट्रिय निकुञ्जलाई तेस्रो ब्लक वनाएर गणना गरिएको थियो । सो ब्लकमा ३३६ ग्रिड निर्माण गरिएको सूचना अधिकारी थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखेर गणना गरिएको हो । एउटा ब्लकमा १७ रात क्यामेरा राखेर काम गरिएको हो । चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिएको हो । दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिएको हो ।

“अहिले क्यामेरा उठाएर ल्याउने क्रम जारी छ”, सूचना अधिकारी थापामगरले भन्नुभयो । हरेक चार वर्षमा बाघ गणना गरिँदै आएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदार गणनामा सहभागी भएका थिए ।

गणकहरूले भूगोलअनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने गरेका थिए । बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइन्छ ।

यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ बयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए ।

सङ्कटालाई हराउँदै एपिएफ फाइनल

उदयपुर। उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशाला खैलमैदानमा आज भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ महिला टिमले सङ्कटा क्लब काठमाडाँैविरुद्ध जित निकाल्दै एपिएफ फाइनलमा प्रवेश गरेको छ ।

आज भएको छैटौँ दिनको खेलमा एपिएफले सङ्कटाविरुद्ध शून्यको विरुद्ध ३ गोल जित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको आयोजक एन्फाले बताएको छ । खेलको ७औँ मिनेटमा एपिएफको तर्फबाट पहिलो रश्मीकुमारी घिसिङले पहिलो गोल गरेकी थिइन् भने खेलको ४२औँ मिनेटमा एपिएफकी अनिता केसीले दोस्रो गोल गरेकी थिइन् ।

खेलको ८४औँ मिनेटमा एपिएफको तर्फबाट जर्सी नम्बर १२ की गीता रानाले तेस्रो गोल गर्दै सङ्कटाविरुद्ध एपिएफले ३ शून्यले जित हासिल गरेको आयोजक एन्फाका महासचिव किरण राईले बताउनुभयो । अब फाइनल खेल शनिबार त्रिभुवन आर्मी महिला टिम र सशस्त्र प्रहरी (एपिएफ) बीच फाइनल खेल हुने आयोजक एन्फाले जनाएको छ ।

त्रिभुवन आर्मीले नेपाल प्रहरीविरुद्ध १ गोलले जित गर्दै फाइनलमा प्रवेश गरेको छ भने एपिएफले सङ्कटाविरुद्ध जित गर्दै फाइनलमा प्रवेश गरेको आयोजकले बताएको छ ।

अब खेलमा प्रथम हुने टिमलाई सात लाख ५० हजार नगद र दोस्रो हुने टिमलाई नगद रु पाँच लाख पुरस्कार प्रदान गरिने एन्फाका महासचिव किरण राईले बताउनुभयो ।

काठमाडौँ उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल फेला

काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल तथा स्कुटर खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट चोरी भएका ३१ मोटरसाइकल र २२ स्कुटर खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिनुभयो । भेटिएका सवारीसाधन अधिकांश काठमाडौँ उपत्यका वरिपरि जिल्लामा प्रयोग हुने गरेको पाइएको उहाँले बताउनुभयो ।

चोरी भएका मोटरसाइकललाई लगेर नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने तथा नक्कली कागजपत्र बनाएर बेचबिखन गर्ने गरेको पाइएको छ । कार्यालयले आफ्नो सवारीसाधन हराएमा तत्कालै नेपाल प्रहरीको हटलाइन १०० वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा खबर गर्न आग्रह गरेको छ ।

‘आचारसंहिताको पालना गर्दै निष्पक्ष रूपमा कलम चलाउन आवश्यक’

धनुषा। राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवको अवसरमा आज जनकपुरधाममा निर्वाचन ‘आचारसंहितामा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

रासस मधेस प्रदेश कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी वक्ताहरूले यसपटकको निर्वाचन विशेष एवं अत्यन्त महत्वपूर्ण भएकाले निर्वाचनलाई मर्यादित एवं निष्पक्ष गराउनुपर्ने बताउनुभयो । साथै उहाँहरुले निर्वाचनमा सहभागी भएका राजनीति दलका उम्मेदवारहरुप्रति कुनै भेद्भाव नराखी निष्पक्ष रुपमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो । देशमा सबै वर्ग र समुदाय निर्वाचन अभियानमा जुटिसकेकाले निर्वाचनलाई शान्तिपूर्ण एवं भयरहित बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा वक्ताहरुले जोड दिए ।

कार्यक्रममा वक्ताहरूले निर्वाचनका बेला सञ्चारमाध्यमको जिम्मेवारी थप बढ्ने उल्लेख गर्दै आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा पत्रकारिता क्षेत्रले निष्पक्ष, सत्य र तथ्यपरक समाचार सम्प्रेषण गर्नुपर्ने सुझाव दिए । उहाँहरूले निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमले मतदातालाई सही सूचना प्रवाह गर्नुका साथै भ्रामक सूचना र दुष्प्रचार नियन्त्रणमा सक्रिय भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

राससको स्थापना, विकासक्रम तथा समाचार प्रवाहमा पु¥याएको योगदानबारे चर्चा गर्नुका साथै सहभागीले विश्वसनीय समाचार सम्प्रेषणमा राससले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले सेवा प्रवाह गर्न सुझाव दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा धनुषाका मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिताको पूर्णपालना गराउँदै तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । गलत सूचना, अफवाह र पक्षपातपूर्ण सामग्रीले निर्वाचन प्रक्रियामा नकारात्मक असर पार्ने उल्लेख गर्दै उहाँले सत्य, प्रमाणित र विश्वसनीय समाचार प्रकाशन÷प्रसारणमा जोड दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत पुरीले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रशासन, सुरक्षा निकाय र सञ्चार क्षेत्रबीच समन्वय आवश्यक रहेको बताउनुभयो । कुनै पनि प्रकारका अवाञ्छित गतिविधि, गलत सूचना तथा अफवाह नियन्त्रण गर्न प्रशासन सतर्क रहेको उल्लेख गर्दै उहाँले सत्य र प्रमाणित सूचना मात्र सार्वजनिक गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले निर्वाचन अवधिभर कानुन कडाइका साथ पालना गरिने र शान्ति–सुरक्षा कायम राख्न आवश्यक सबै तयारी पूरा गरिएको जानकारी दिनुभयो । साथै उहाँले मतदातालाई निर्धक्क र सुरक्षित वातावरणमा मतदान गर्न आह्वान गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय धनुषा प्रमुख रुगमबहादुर कुँवरले निर्वाचनलाई ध्यानमा राखेर जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई सुदृढ एवं प्रभावकारी बनाएको जानकारी दिँदै निर्वाचन निष्पक्ष एवं धाधलीरहित हुने भएकाले ढुक्क भएर मतदान गर्न सबैमा आग्रह गर्नुभयो । निर्वाचन आचारसंहिताबारे कार्यपत्र प्रस्तुत गर्दै निर्वाचन आचारसंहिता अनुगमन अधिकृत कृष्ण गैरेले निर्वाचन आचारसंहिता पालना भएको वा नभएको विषयमा निरन्तर अनुगमन भइरहेको र यस कार्यमा सहयोग गर्न पत्रकारहरुसँग आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका अध्यक्ष पुरन साहले पत्रकारहरु निर्वाचन आचारसंहिताको विषयमा जिम्मेवारीका साथ भूमिका खेलिरहेको उल्लेख गर्दै पत्रकारहरुले उम्मेदवारहरुप्रति एकनाशको व्यवहार गर्नुपर्ने बताउनुभयो ।

रासस मधेस प्रदेश कार्यालयका प्रमुख सुरेश झाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै वार्षिकोत्सवलाई केवल औपचारिकतामा सीमित नराखी समसामयिक विषयमा बहस र अन्तरक्रियामार्फत सञ्चार क्षेत्रलाई सशक्त बनाउने प्रयास गरिएको बताउनुभयो ।

राससकर्मीहरु नीरञ्जन साह, गोपाल बराल र अजय साह, पत्रकार कमलेश ठाकुर, अमरकान्त ठाकुर, ओमप्रकाश साह, रुकमिनी साहलगायतले रासस एवं आचारसंहिताको विशषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

कास्की। जावलाखेल युथ क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाहुना टोली उज्वेकिस्तानको आभा एफसीलाई १–० गोलले पराजित गर्दै जावलाखेल उपाधि नजिक पुगेको हो । आहा रारामा १४ वर्षपछि फाइनलमा स्थान बनाएको जावलाखेलले शनिबार उपाधिका लागि आयोजक टोली सहारा क्लब पोखरासँग प्रतिस्पर्धा गर्नेछ ।

सहारा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै फाइनल पुगिसकेको छ । जावलाखेल विसं २०६८ मा मनाङ मस्र्याङदी क्लबसँग उपाघि भिडन्तमा पराजित भएपछि त्यसयता फाइनल पुग्न सकेको थिएन ।

खेलको ५२औँ मिनेटमा आभाका खुसन गनिजानोभले आत्मघाती गोल गरेपछि जावलाखेलले अग्रता बनायो । धर्वेन्द्र कुँवरको क्रस बललाई गानिजानोभले रोक्ने खोज्दा बल पोष्ट भित्र छिरेको थियो । जावलखेल ६०औँ मिनेटमा १० खेलाडीमा सीमित भए पनि त्यसको फाइदा पाहुना टोलीले उठाउन सकेन । आभाका र्सादोवेक मातुमारोभलाई मुक्का हानेपछि युवराज ढकालले रातो कार्ड खाँदै बाहिरिएपछि जावलाखेल १० खेलाडीमा सीमित बन्यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका जावलाखेलका विदेशी खेलाडी जोखिदजोन राखिमोभ ‘प्लेयर अफ द म्याच’ घोषित भए र रु १० हजार पुरस्कार पाए । गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन ९ गते शनिबार हुनेछ ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजारसहित ट्रफी र मेडल पुरस्कार पाउने आयोजक सहारा क्लब जनाएको छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउनेछन् ।

अब चुनाव नलड्ने माधव नेपालको उद्घोष

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले अब आफू चुनाव नलड्ने बताउका छन् । बिहीबार आफ्नो गृहजिल्ला रौतहटको गौरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सक्रिय चुनावी राजनीतिबाट बाहिरिने उद्घोष गर्दै उनले आफ्नो अन्तरात्माको आवाज सुन्दै अब चुनावी राजनीतिबाट विश्राम लिने निर्णयमा पुगेको बताए ।

उनले यो पटकको निर्वाचन नै आफ्नो लागि अन्तिम चुनावी मैदान भएको स्पष्ट पारेका छन् । उनले आफ्नो अन्तरात्माको आवाज सुन्दै अब चुनावी राजनीतिबाट विश्राम लिने निर्णयमा पुगेको बताए ।

स्थानीय तहले सम्हाले मतदाता शिक्षाको कमाण्ड

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभरका ७५३ वटै स्थानीय तहले मतदाता शिक्षा र समन्वयका कामलाई तीव्रता दिएका छन्। निर्वाचन आयोगले फागुन ३ देखि १७ गतेसम्मका लागि सञ्चालन गरेको विशेष मतदाता शिक्षा कार्यक्रमअन्तर्गत देशभरका ६ हजार ७४३ वडामा स्वयंसेवकहरू परिचालन गरिएको छ।

यी स्वयंसेवकहरूले नमुना मतपत्रसहित मतदाताको घरदैलोमा पुगेर मतदान गर्ने सही तरिका र निर्वाचनको महत्त्वबारे जानकारी दिइरहेका छन्। मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोका अनुसार विगतको ‘जेनजी आन्दोलन’ का क्रममा कतिपय सरकारी भवन र कम्प्युटरहरू जलाइएका कारण भौतिक सहयोगमा केही चुनौती देखिए पनि निर्वाचन सफल पार्न नगरपालिकाले पूर्ण समन्वय गरिरहेको छ।

मुलुकको राजनीतिक स्थायित्व र प्रणालीको रक्षाका लागि पनि यो निर्वाचन महत्त्वपूर्ण रहेको भन्दै उनले क्षतिग्रस्त संरचनाहरूलाई व्यवस्थित गर्दै निर्वाचनका लागि आवश्यक पूर्वाधार मिलाइरहेको जानकारी दिए।

महोत्तरीको मटिहानी नगरपालिकामा भने मतदाता शिक्षासँगै शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। नगर प्रमुख हरिप्रसाद मण्डलले निर्वाचनलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा लिँदै तडकभडकरहित र मित्रवत् प्रतिस्पर्धाका लागि दलहरूलाई सहजीकरण गरिरहेको बताए। यता नुवाकोटको शिवपुरी गाउँपालिकाले भने मतदाता शिक्षाका अतिरिक्त सुरक्षा निकायका लागि अस्थायी बसोबासको व्यवस्थापनमा समेत समन्वय गरिरहेको छ।

निर्वाचन आचारसंहिता पालना गराउन पनि स्थानीय तहहरू सक्रिय देखिएका छन्। आचारसंहिता अनुसार स्थानीय तहको स्रोतसाधन कुनै पनि दल वा उम्मेदवारको पक्षमा प्रयोग गर्न पाइँदैन। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रभावकारी मतदाता शिक्षाले बदर मतको संख्या घटाउन मद्दत गर्ने भन्दै यस कार्यमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए। संघ, प्रदेश र स्थानीय सरकारको त्रिकोणात्मक समन्वयले निर्वाचनको माहोललाई थप उल्लासमय बनाएको छ।

मेची भन्सारद्वारा ९ अर्ब ९२ करोड राजस्व असुली

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा रु १० अर्ब ५५ करोड २० लाख ३४ हजार सङ्कलनको लक्ष्य निर्धारण भएको थियो ।

यद्यपि माघमा मात्रै रु एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार सङ्कलन भएको छ । यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो ।

चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ ।

सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ

काठमाडाैँ । बेलायतका पूवै राजकुमार एन्ड्रयु माउन्टबेटन–विन्डसरलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ ।

एन्ड्रयु माउन्टबेटन बेलायतका राजा चाल्र्सका भाइ तथा पूर्व राजकुमार हुन् ।थेम्स भ्याली प्रहरीले यौन अपराधी जेफरी एपस्टीनसँग गोप्य जानकारी साझा गरेको आरोपमा पूर्व राजकुमारको उजुरीको अनुसन्धान गरिरहेको बताएपछि उहाँलाई पक्राउ गरिएको हो । एन्ड्रयुले लगातार दृढताका साथ आफुले कुनै पनि गलत कार्य नगरेको बताउँदै आएका छन् ।

उनको राजकुमार उपाधि गत वर्ष गुमेको थियो भने उपाधिकोृ अन्त्यसँगै उहाँले रोयल लज, प्यालेस अफ विन्डसर पनि छोड्नुपरेको थियो ।

उनलाई प्रहरीले कहाँबाट पक्राउ गर्यो भन्ने खुल्न सकेको छैन, तर आज बिहान नोरफोकको स्यान्ड्रिङ्घममा केही नौला सवारी साधनहरू देखिएका थिए । उनले विन्डसरमा आफ्नो घर छोडेपछि स्यान्ड्रिङ्घममा बस्दैआउनुभएको थियो । तिनीहरू प्रहरीले प्रयोग गरेका प्रहरीको सङ्केत नभएका सवारी साधन भएको विश्वास गरिएको छ।

पूर्व राजकुमार पक्राउ परेको यो पहिलो पटक हो । उनीमाथि दोषी यौन अपराधी जेफरी एपस्टीनसँग सम्बन्ध राखेको आरोप लगाइएको छ। बिबिसीको रिपोर्टका अनुसार उहाँलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको हो ।

यसैबिच थेम्स भ्याली प्रहरीले एन्ड्रयूको गिरफ्तारीपछि एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हाम्रो अनुसन्धानको एक भागको रूपमा, हामीले आज (१९÷२) सार्वजनिक कार्यालयमा दुव्र्यवहारको शङ्कामा नोरफोकबाट ६० वर्ष भन्दा बढी उमेरका एक व्यक्तिलाई पक्राउ गरेका छौँ। बर्कशायर र नोरफोकका ठेगानाहरूमा पनि खोजी भइरहेको छ। ती व्यक्ति अहिले प्रहरी हिरासतमा छन् ।”

विज्ञप्तिमा भनिएको छ, “हामीले राष्ट्रिय निर्देशिकाअनुसार पक्राउ परेकाहरुको नाम सार्वजनिक गर्दैनौँ । कृपया यो पनि ध्यान दिनुहोस् कि यो मुद्दा हाल सक्रिय छ, त्यसैले कुनै पनि प्रकारको प्रकाशन गर्दा अदालतको अवहेलनाबाट बच्न सावधानी अपनाउनु पर्छ।”

सहायक प्रमुख प्रहरी हवल्दार ओलिभर राइटले भने, “विस्तृत मूल्याङ्कन पछि हामीले सार्वजनिक कार्यालयमा दुव्र्यवहारको यस आरोपको अनुसन्धान सुरु गरेका छौँ।

“यो महत्त्वपूर्ण छ कि हामी यस कथित अपराधको अनुसन्धानको क्रममा अनुसन्धानको निष्पक्षता र न्यायको रक्षा गर्न हाम्रा साझेदारहरूसँग काम गर्छौँ। हामी बुझ्दछौं, यस मामिलामा सार्वजनिक चासो धेरै उच्च छ, र हामी उपयुक्त समयमा जानकारी साझा गर्नेछौँ।”

देशको बागडोर सम्हाल्न सक्ने दल कांग्रेस हो – विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेस इतिहासदेखि नै सङ्कटको घडीमा देशलाई सम्हाल्दै आएको बताएका छन् । मोरङ–१ मा कांग्रेस उम्मेदवार खड्ग फागोको मोरङको केराबारी गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताउका हुन् ।

उनले सिकारुलाई देश जिम्मा दिन नहुने बताए । उनले देशको बागडोर सम्हाल्न सक्ने दल कांग्रेस भएको दाबी पनि गरे । शर्माले भने, ‘सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन, जिम्मेवारी हाक्न, परिपक्व, अनुभवी र सङ्कट व्यवस्थापन गर्न सक्ने दललाई मात्रै देशको नेतृत्व दिनुपर्छ ।’

नेपालमा सिर्जना भएका हरेक विषम परिस्थितिमा देशलाई सम्हाल्ने क्षमतावान एक मात्र दल कांग्रेस भएको बताएका छन् ।

एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२ औं महाधिवेशनको संघारमा अध्यक्ष पदका बलिया प्रत्यासी एवं वर्तमान उपाध्यक्ष रोविन शेरचनले विश्वव्यापी दौडाहा सुरु गर्ने भएका छन्।

संघभित्र देखिएको विवाद समाधान गरी एकताको सन्देश प्रवाह गर्न विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको निम्तोमा शेरचनले अर्को सातादेखि दुई हप्ते विश्व भ्रमण सुरु गर्न लागेका हुन्।

शेरचनले हालै जारी गरेको ‘बृहत् एकताका लागि अपील’ पछि एनआरएनए वृत्तमा चुनावी माहोल थप तातिएको छ। उनले आफ्नो अपिलमा व्यक्तिभन्दा संस्था ठूलो हो भन्ने मूल मन्त्रलाई आत्मसात् गर्न आग्रह गर्दै व्यक्तिगत अडान र समूहगत स्वार्थभन्दा माथि उठेर प्रवासमा रहेका नेपालीहरूको साझा घरलाई बलियो बनाउन सबै पक्षलाई आह्वान गरेका छन्। शेरचनको यो सन्तुलित र मध्यमार्गी अडानका कारण विश्वभरका एनसीसीहरूले उनलाई आफ्नो देशमा संवादका लागि आमन्त्रण गरेका हुन्।

शेरचनको यो भ्रमण विशेषगरी एनआरएनएभित्र डेलिगेट्स चयन र निर्वाचन प्रणालीमा देखिएका असमझदारी सुल्झाउन केन्द्रित रहनेछ। सहमति र संवादको विकल्प छैन भन्दै उनले प्रधानमन्त्रीको उपस्थितिमा भएको १० बुँदे सहमतिको मर्म अनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

शेरचनले संसारभरका सदस्यहरूले सहज रूपमा मतदान गर्न पाउने पारदर्शी अनलाइन वा भौतिक मतदान प्रक्रिया सुनिश्चित गर्नुपर्ने मागलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन्।

आगामी दुई हप्ताको कार्यतालिका अनुसार आफूले अमेरिका रिजनबाट यात्रा सुरु गर्न लागेको उनले बताए । जसअनुसार अमेरिका र क्यानडाका विभिन्न शहरहरूमा गैरआवासीय नेपालीहरूसँग साक्षात्का र गरिसकेपछि उनी ओसियानिया, मध्यपूर्व र युरोपका विभिन्न देशहरू पुग्नेछन्। युरोपको भ्रमण सम्पन्न गरी उनी एसियाका एनसीसीहरूसँग छलफल गर्दै निर्वाचनका लागि नेपाल आइपुग्ने योजना रहेको छ।

पछिल्लो समय एनआरएनएको निर्वाचनलाई लिएर देखिएको तिक्तताका बीच शेरचनको यो सक्रियता र एकताको अपिललाई अर्थपूर्ण रूपमा हेरिएको छ।

उनले निर्वाचनलाई विवादको नभई ‘एकताको महाधिवेशन’ बनाउनुपर्ने अडान राख्दै आएका छन्। शेरचनको यो मध्यमार्गी भूमिका र सबै पक्षलाई समेट्ने प्रयासले गर्दा नै विभिन्न देशका एनसीसीहरूले उनलाई एकताको अभियन्ताका रूपमा स्वीकार गर्दै स्वागतको तयारी गरेका हुन्।

एनसीसीहरूले उनको विस्तृत भ्रमण कार्यतालिकालाई अन्तिम रूप दिइरहेका छन् । यसबारे चाँडै विस्तृतमा सार्वजनिक गरिने बताइएको छ। एनआरएनएको १२औँ महाधिवेशन फागुन ३० देखि चैत २ सम्म काठमाडौँमा हुने तय भएको छ ।

अमेरिकाद्वारा आइइए छोड्ने चेतावनी

पेरिस, फ्रान्स- अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए)बाट फिर्ता हुने आफ्नो चेतावनी दोहोर्याएको छ। वाशिङ्गटनले सङ्गठनलाई ‘अर्को वर्ष वा त्यसभन्दा बढी’ ‘नेट–जिरो एजेन्डा’ त्याग्न दबाब दिनेछ।

पेरिसमा आइइए मन्त्रीस्तरीय बैठकको अन्तिम दिन बोल्दै राइटले भने, “ऊर्जा सुरक्षा सुनिश्चित गर्ने ५२ वर्ष पुरानो संस्थाले आफ्नो संस्थापक अभियानमा फर्कनु पर्छ।”

आइइए सन् १९७३ को पेट्रोलियम सङ्कटपछि आपूर्तिको प्रमुख अवरोधहरूको समाधानका लागिसमन्वय गर्न सिर्जना गरिएको थियो । राइटले भने, “सङ्गठनले जलवायु एजेन्डा अपनाएको छ जसमा सन् २०५० सम्म शुद्ध शून्य उत्सर्जनमा पुग्ने लक्ष्य समावेश छ ।”

राइटले एक पत्रकार सम्मेलनमा भने, “अमेरिकाले आइइएलाई अर्को वर्ष वा त्यसभन्दा बढी समयमा यो एजेन्डाबाट टाढा लैजानका लागि हामीसँग पर्ने सबै दबाब प्रयोग गर्नेछ।

“यदि आइइएले ऊर्जा इमानदारिता, ऊर्जा पहुँच र ऊर्जा सुरक्षाको मिसनमा ध्यान केन्द्रित गर्न सकेन भने, दुःखको कुरा हामी आइइएको पूर्व सदस्य हुनेछौँ,“ उनले थपे ।

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

मोरङ, ७ फागुन । आज विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको छ । सो बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको छ ।

मोरङ, झापा र सुनसरी तथा भारतका किसनगञ्ज, अररिया र सुपौल जिल्लाका उच्च अधिकारीहरूबीच सम्पन्न सो बैठकले आगामी निर्वाचनका सुरक्षाका विषयमा छलफल गरेको जिल्ला प्रशासन कार्यालय मोरङद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैठकमा मतदान हुनुभन्दा ७२ घण्टा आगाडि सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति भएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र भारतको अररिया जिल्लाका डिष्ट्रिक मजिष्ट्रेट विनोद दुहानको सह–अध्यक्षतामा सम्पन्न उक्त बैठकले निर्वाचनका समयमा सम्भावित सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न संयुक्त सीमा गस्तीलाई सशक्त बनाउनाका साथै सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त पार्ने निर्णय बैठकले गरेको छ ।

त्यसैगरी सीमा क्षेत्रमा हुने अवैध गतिविधिहरू, तेस्रो देशका नागरिकहरूको अनधिकृत प्रवेश, लागुऔषध तथा मानव बेचबिखन, जाली नोटको कारोबार, हतियार र नगद तस्करी नियन्त्रणका लागि निरन्तर सहकार्य गर्ने विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले सरकार चलाएको २०४६ देखि २०५१ स्वर्णिम युग थियोः सभापति थापा

काठमाडौँ, ७ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्म पार्टीले सरकार चलाएको समयलाई कांग्रेसले स्वर्णिम युगका रूपमा लिने बताएका छन् ।

पार्टीको प्रतिज्ञापत्रका सन्दर्भमा आज भएको खुला प्रश्नोत्तर कार्यक्रममा सभापति थापाले त्यसैबलाको जगमा अहिलेसम्म मुलुकको आर्थिक विकास टिकेको बताए । तर समयानुकूल परिवर्तन हुँदै मुलुकको समृद्धिको यात्रा तय गर्नुपर्ने उनको भनाइ छ ।

“विसं २०४६ सालपछि ०५१ सालसम्मको कांग्रेसले चलाएको सरकारकैबेला आर्थिक सुधारका दह्रो पाइला टेकिएको थियो”, उनले भने, “कांग्रेसले त्यसैका कारण लामो समयसम्म कम्युनिष्ट पार्टीका साथीहरूबाट निरन्तर लखेटिनुप¥र्यो । हामी निरन्तर लखेटियौँ । हाम्रा सार्वजनिक नीतिहरूका बारेमा नागरिकलाई बुझाउन सकेनौँ त्यो हाम्रो कमजोरी रह्यो । तर आज पनि नेपालमा जे–जति कुरा आएका छन् त्यसको कथा खोज्दै गयो भने २०५९ साल सुरु गरेकै योजनाको जगमा आएका छन् ।”

पार्टी स्थापनाकालमा नेताहरूले ३० वर्षपछिसम्मको सपना देखेको विषयलाई उनले स्मरण गरे । “जननायक बिपी कोइरालाले त्यसबेला प्रत्येक नेपाली म जस्तै मध्यमवर्गीयस्तरको हुनुपर्छ भनेर सपना देख्नुभयो”, सभापति थापाले भने, “आज हामी हिजो गरेका उपलब्धिप्रति गौरब गर्छौं । हाम्रा ऐतिहासिक मूल्यमान्यतालाई अझै उज्याले बनाउछौँ ।”

विसं २०३३ को अप्ठ्यारा दिनमा सात वटा ज्यान मुद्दा बोकेर राष्ट्रियता जोगाउन नेताहरू नेपाल आएको उनको भनाइ छ । सभापति थापाले भने, “हाम्रा आफ्ना सङ्घर्षका दिनहरू सम्झन्छौँ । तीस वर्षको पञ्चायती कालरात्रिमा एकपटक पनि हाम्रो नेतृत्वले सत्तातिर हेरेर फर्केन ती दिनहरू सम्झदै हामी अघि बढ्ने छौँ ।”

मुलुकको समृद्धि र समुन्नतिका लागि कांग्रेसले आगामी ३० वर्षपछिको सपना देखेर अघि बढेको उनको दाबी छ ।