`

रसुवा बाढी अपडेट : हालसम्म १६२ जनाको शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १६२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार आज बिहान करिब ५ बजेसम्म बाढी प्रभावित तथा नदी तटीय क्षेत्रबाट ती शव फेला परेका हुन्।

फेला परेका शवमध्ये चितवनमा ६४, धादिङमा २७, नवलपरासी (पूर्व)मा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवामा २ र नवलपरासी (पश्चिम)मा २ जनाको शव रहेका छन्।

बाढीमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये त्रिवि शिक्षण अस्पतालमा २०, त्रिशूली अस्पतालमा ९, राष्ट्रिय ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा ३, नर्भिक अस्पतालमा ३, वीरेन्द्र सैनिक अस्पतालमा १ र ग्रिन सिटी अस्पतालमा १ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

उद्धार तथा खोजी कार्यका लागि ३ हजार ३१८ जना प्रहरी कर्मचारी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।

यसैबीच, बाढी प्रभावित रसुवा जिल्लाका विभिन्न प्रहरी चौकी तथा इकाइमा कार्यरत ६४ प्रहरीमध्ये ३६ जना सम्पर्कमा आएका छन् भने २८ जना अझै सम्पर्कविहीन छन्।

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

रामेछाप । रसुवागढी र आसपासको क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी रामेछाप जिल्लाका २६ जना नागरिक बेपत्ता भएको विवरण सार्वजनिक भएको छ । हालसम्म प्राप्त विवरणअनुसार उनीहरू बाढीपछि सम्पर्कविहीन भएका रामेछापबाट निर्वाचित वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले जानकारी दिएका छन् ।

बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा स्थानीयवासीलाई आवश्यक पहल गरिदिन परिवारले आग्रह गरेका छन् । बेपत्ता व्यक्तिका परिवारजनलाई भरपर्दो सूचना नआएसम्म नआत्तिई धैर्य गर्न अनुरोध गरिएको छ ।

प्राप्त विवरणअनुसार बेपत्ता हुनेहरूमा रामेछाप नगरपालिका, मन्थली नगरपालिका, खाँडादेवी, दोरम्बा शैलुङ, गोकुलगंगा, उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकाका नागरिक रहेका छन् ।

बेपत्ता भएका भनिएका व्यक्तिहरूको नामावली ः

१.दिलबहादुर प्रधान—रामेछाप—३ साँघुटार

२. उत्तम प्रसाईं—खाँडादेवी—४ पकरबास

३.डम्बरबहादुर मगर—दोरम्बा शैलुङ –२ दोरम्बा

४.सूर्यबहादुर मगर—दोरम्बा शैलुङ –२ दोरम्बा

५. वमबहादुर मगर—दोरम्बा शैलुङ–२ दोरम्बा

६.तारानाथ चौलागाईं (नवराज)—दोरम्बा शैलुङ–६, माथिल्लो ढाडे

७.सुन्दर श्रेष्ठ—मन्थली–१ मन्थली

८.मीन आले मगर—रामेछाप–४ हिमगंगा

९.नवराज आले मगर—रामेछाप–४ हिमगंगा

१०.राजु गजमेर (बिजुल)—गोकुलगंगा–४ बेताली

११.ईश्वरीबहादुर खड्का (कुमार)—गोकुलगंगा–४ बेताली

१२. टलकबहादुर भण्डारी—खाँडादेवी–८ गागल

१३.सुमनविक्रम कार्की—रामेछाप–७ हिलेपानी

१४.गुन्ज श्रेष्ठ—रामेछाप.१ गोठपानी

१५.नवराज श्रेष्ठ—रामेछाप—१ गोठपानी

१६.राजन श्रेष्ठ—रामेछाप—१ गोठपानी

१७.पेन्जु लामा (विशाल)—दोरम्बा शैलुङ–१ डडुवा

१८.लाक्पा दोर्जे शेर्पा—दोरम्बा शैलुङ–१ डडुवा

१९.निरा थापा—दोरम्बा शैलुङ–४ गौश्वारा

२०.ङिमा शेर्पा—उमाकुण्ड–१, तेछिम

२१.बुद्धिमान तामाङ—लिखु तामाकोशी–५ नागदह

२२.कुशल बुढाथोकी—लिखु तामाकोशी–५ नागदह, भालुखोप

२३.प्रकाश मंग्राती—खाँडादेवी–४ पकरबास

२४.मधुकुमार कार्की—उमाकुण्ड

२५. हेमलाल श्रेष्ठ

२६. दीपक भुजेल—मन्थली–१ मन्थली

उक्त विवरण प्रारम्भिक भएकाले खोजी तथा उद्धारको क्रममा बेपत्ता व्यक्तिको संख्या वा विवरणमा थपघट हुन सक्ने जनाइएको छ । सम्बन्धित निकायबाट प्राप्त आधिकारिक तथा पछिल्लो विवरणलाई आधार मानी थप सूचना सार्वजनिक गरिने बताइएको छ ।

भोटेकोसी बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका केही परीक्षाहरू प्राकृतिक विपत्तिका कारण स्थगित भएका छन् ।

त्रिवि व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले बुधबार जारी गरेको सूचनाअनुसार भोटेकोसी नदीमा आएको बाढीका कारण सिर्जना भएको असहज परिस्थितिलाई ध्यानमा राख्दै भोलि भदौ ११ गतेका लागि तोकिएका विषयहरूको परीक्षा स्थगित गरिएको हो ।

स्नातकोत्तर तहअन्तर्गत एमबिएस, एमपिए,एमबिए–एफ, एमबिए–सिएल, एमबिए–एम, एमबिएम, एमएचएम, एमटिटिएम र म्याट्स कार्यक्रमको तेस्रो सत्रको नियमित परीक्षा–२०२६ अन्तर्गतका तोकिएका परीक्षा मात्र स्थगित भएको डीनको कार्यालयले जनाएको छ । संकायले स्थगित परीक्षाको नयाँ मिति यथाशीघ्र प्रकाशित गरिने जनाएको हो ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाद्वारा यहाँ जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिमा उल्लेख छ ।

मौसम बुलेटिनका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले महाशाखाका सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ ।

रसुवा–नुवाकोटमा थप ठूलो बाढी आउने हल्लामा नआत्तिन आग्रह

काठमाडौं । रसुवा–नुवाकोट क्षेत्रमा थप ठूलो बाढी आउन लागेको भन्दै विभिन्न फोन तथा सूचना प्राप्त भइरहेका बेला नेपाल बाढी सूचनाले त्यस्ता अपुष्ट सूचनाको पछि नलाग्न आग्रह गरेको छ।नेपाल बाढी सूचनाका अनुसार उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने देखिए पनि हालसम्म थप ठूलो बाढी आउने कुनै विश्वसनीय सूचना प्राप्त भएको छैन।

आज बिहानको बाढीबाट प्रभावित स्थानभन्दा बाहिर सुरक्षित स्थानमा रहेका नागरिकलाई हाललाई थप ठूलो बाढी आउने सम्भावना नरहेको भन्दै अनावश्यक रूपमा नआत्तिन र संयमित रहन आग्रह गरिएको छ।आगामी समयमा नेपालतर्फ कुनै ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी उपलब्ध सञ्चार माध्यममार्फत यथाशीघ्र आधिकारिक सूचना तथा पूर्वसूचना जारी गरिने नेपाल बाढी सूचनाले जनाएको छ।

उसले नागरिकलाई सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिने अपुष्ट सूचना र हल्लाको पछि नलागी आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार मान्न आग्रह गरेको छ।साथै, सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउनसमेत नागरिकलाई अनुरोध गरिएको छ।

 

रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । सभापति लामिछानेले आज (बिहीबार) बिहन ९ बजे रास्वपा संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा भोटेकोसी बाढी क्षति, खोजी, उद्वार, राहत र पुनस्र्थापनाबारे छलफल हुनेछ ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आठ ट्रक राहत सामग्री पठाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ।गृह मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री बोकेका सेनाका आठ वटा सवारीसाधन बिहीबार राति प्रभावित क्षेत्रतर्फ पठाइएको हो।

प्रभावित नागरिकका लागि पठाइएका राहत सामग्रीमा ५०० थान मच्छरदानी, १ हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट तथा ३० केभीए क्षमताको एक थान जेनेरेटर रहेका छन्।

बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक सामग्री पुर्‍याउन तथा पीडित नागरिकलाई राहत उपलब्ध गराउन ती सामग्री पठाइएको गृह मन्त्रालयले जनाएको छ।बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेकाले आवश्यकताअनुसार थप राहत सामग्री पठाउने तयारीसमेत भइरहेको छ।

त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

चितवन। चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा त्रिशूली र नारायणी नदीमा ६४ शव भेटिएका छन्।भेटिएका शव सग्लो र शरीरका अङ्गहरु मात्रै पनि छन्। भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

उनका अनुसार अनुसार तनहुँमा भेटिएका नौ शव चितवन पठाइएको भए पनि यहाँ राख्ने ठाउँ नभएर पुनःतनहुँ नै फिर्ता गरिएको छ।

जिल्लास्थित तीनवटै सुरक्षा निकायले नदी किनारमा शव खोज्ने काम सुरु गरेका छन्। भरतपुर अस्पतालको शवगृहमा शव नअटाए पछि अब भेटिएका शवहरुलाई औद्योगिक प्रतिष्ठानको कार्यालयमा व्यवस्थापन गर्नेगरी तयारी गरिएको उनले जानकारी दिए।

भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, ६ जना बालिका, ७ जना बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन।

प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव भेटिएको छ। साथै, नुवाकोटमा ६ महिला र ७ पुरुष, धादिङमा १० महिला, १० पुरुष, १ बालिका तथा ६ जना (पहिचान नखुलेको) को शव भेटिएको छ। गोरखामा २ महिला, ८ पुरुष, १ बालक र पहिचान नखुलेका ८ जनाको शव भेटिएको छ।

प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, १ बालिका, ४ बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ। त्यसैगरी, तनहुँमा १ महिला, ५ पुरुष, १ बालिका, १ बालक र पहिचान नखुलेका १ जनाको शव भेटिएको छ।

यस्तै, नवलपरासी पूर्वमा २ महिला, १२ पुरुष, ३ बालिका, १ बालक र पहिचान नखुलेका ४ जनाको शव भेटिएको छ।

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

उहाँका अनुसार गम्भीर घाइतेलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ । घाइतेको अवस्था अनुसार प्राथमिकीकरण (वर्गीकरण) गरी उद्धार तथा उपचारलाई अघि बढाइनेछ । यसैगरी, प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ६० पैसा र बिक्रीदर २०८ रुपैयाँ ४१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९० रुपैयाँ २७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२० रुपैयाँ ४५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६७ पैसा र बिक्रीदर २२ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५८ पैसा र बिक्रीदर ४० रुपैयाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१ रुपैयाँ ९६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ र बिक्रीदर ११ रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७८ पैसा र बिक्रीदर २३ रुपैयाँ ८७ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ १६ पैसा बिक्रीदर ४०५ रुपैयाँ ७५ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ३४ पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

बाढीको कारण हिउँ–चट्टानको हिमपहिरो, तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

काठमाडौँ, ११ भदौः रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठूला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा थप असर पर्न सक्ने भन्दै विज्ञहरुले सजगता अपनाउन आग्रह गरेका छन् ।

बुधबार बिहान करिब ९ः०० बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ्न थालेको थियो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्याएको छ ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकले यो बाढी उच्च हिमाली क्षेत्रमा उत्पन्न हिउँ–चट्टानको हिमपहिरो (आइस–रक एभालान्च) का कारण आएको हुन सक्ने विषयमा अनुसन्धान गरिरहेका छन् ।

भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्याङ्कनअनुसार ठूलो परिमाणमा हिउँ र चट्टानको गेग्रान भोटेकोशी नदीको सहायक नदी ल्हेन्दे खोलामा खसेको हुन सक्छ । अनुसन्धानकर्ताका अनुसार उक्त घटनाले अचानक ठूलो बहाव सिर्जना गरेको हुन सक्छ, जसले पानी, गेग्रान र ठूला ढुङ्गाहरूलाई तल्लो तटतर्फ बगाएको थियो ।

जलविज्ञानसम्बन्धी अवलोकनले बाढीको बहावको गति र परिमाण असाधारण रहेको देखाएको छ । गल्छीमा त्रिशूली नदीको पानीको सतह ३० मिनेटमा नौ मिटरसम्म बढेको तथा मलेखुमा सोही अवधिमा सात मिटरले बढेको बताइएको छ ।

त्रिशूली नदीको किनारमा रहेका धेरै पानी मापन केन्द्र बाढीका क्रममा क्षतिग्रस्त वा बगाएको बताइएको छ । यद्यपि, गल्छीको पानी मापन केन्द्र भने सञ्चालनमै रहेको इसिमोडले जनाएको छ ।

विशेषज्ञले गेग्रानले नदीको साँघुरो भागमा अस्थायी रूपमा नदी थुनेर पहिरो बाँध (ल्यान्डस्लाइड ड्याम) बनाएको थियो कि थिएन भन्ने विषयमा पनि मूल्याङ्कन गरिरहेका छन् । यस्तो अवरोधका कारण जम्मा भएको पानी अचानक बाहिर निस्किएमा दोस्रो चरणको जोखिम उत्पन्न हुन सक्छ । सम्भावित अवरोधको आकार, स्थान र स्थायित्वबारे अधिकारी तथा वैज्ञानिकहरूले निरन्तर मूल्याङ्कन गरिरहेका छन् ।

विपद्को समयमा ‘रेकर्ड’ गरिएका भूकम्पीय तथ्याङ्कको प्रारम्भिक विश्लेषणले असामान्य सङ्केत पहिचान गरेको छ । प्रभावित क्षेत्रबाट उत्तरतर्फ करिब १२ किलोमिटर टाढा जिलुङमा रहेको भूकम्पमापन केन्द्रले असामान्य सङ्केत रेकर्ड गरेको थियो भने झाङ्मुस्थित अर्को केन्द्रले पनि असमान्य गतिविधि रेकर्ड गरेको थियो ।

वैज्ञानिकहरूले ती सङ्केत सम्भावित हिमपहिरोसँग सम्बन्धित छन् कि छैनन् भन्ने अध्ययन गरिरहेका छन् । हालसम्म भूकम्पीय गतिविधि र बाढीबीच कुनै कारणात्मक सम्बन्ध स्थापित भएको छैन ।

इसिमोडका जलवायु तथा वातावरणीय जोखिम प्रमुख स्याङ्गोङ झाङले गत वर्षको रसुवा बाढीबाट ध्वस्त भएको यही क्षेत्र फेरि एकपटक जोखिममा परेको बताउँदै ल्हेन्दे खोलामा आएको बाढीको सम्भावित कारण हिमपहिरो भएको उल्लेख गर्नुभयो ।

“नेपाल–चीन सीमास्थित नदीको माथिल्लो क्षेत्रमा अझै अवरोध कायम रहेकाले अधिकारीहरुले दोस्रो बाढी आउन सक्ने चेतावनी दिएका छन् र जिलुङ बन्दरगाह सुरक्षित स्थानमा सार्ने आदेश अहिले नै जारी गरिएको छ,” उहाँले भन्नुभयो ।

बाढीका कारण प्रभावित क्षेत्रमा जलविज्ञान मापन केन्द्रलगायतका पूर्वाधारमा ठूलो क्षति पुगेको बताइएको छ । भोटेकोशी नदी तथा यससँग जोडिएका नदी प्रणालीका किनारमा धेरै जलविद्युत् आयोजना छन् ।

सीमापार विपद् जोखिमको सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक

इसिमोडका वरिष्ठ ‘क्रायोस्फियर विशेषज्ञ’ ( हिमनदी, हिउँको अवस्था, जलवायु परिवर्तनको प्रभाव र हिमताल फुट्ने जस्ता जोखिमको अध्ययन गर्ने वैज्ञानिक) मोहम्मद फारुक आजमले क्रायोस्फियरसँग सम्बन्धित जोखिमको बढ्दो आवृत्ति पहिलेभन्दा स्पष्ट रूपमा देखिन थालेको बताउनुभयो ।

“परिवर्तनको गति यति तीव्र छ कि विद्यमान प्रयासहरु त्यससँग जुध्न कठिनाइमा परिरहेका छन् । आज ल्हेन्दे खोलामा भएको विपद्ले सीमापार जोखिमको सामना गर्न अझ बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको देखाएको छ । सीमापार जोखिमको प्रतिकार्यका लागि सरकारले समन्वयात्मक रूपमा काम गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

इसिमोडका विज्ञले घटनाको कारण र तल्लो तटीय समुदायमा जारी जोखिमलाई अझ राम्रोसँग बुझ्न जलविज्ञान, भूकम्पीय, रिमोट सेन्सिङ तथा स्थलगत तथ्याङ्कको विश्लेषण जारी राखेको जनाएका छन् । इसिमोडले नेपाल सरकार, वैज्ञानिक संस्थाहरू तथा चीनका साझेदारसँग मूल्याङ्कनको काम जारी रहँदा नजिकबाट सम्पर्क र समन्वय गरिरहेको जनाएको छ ।

इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले अचानक र अप्रत्याशित रूपमा आएको दुःखद विपद्बाट मर्माहत भएको उल्लेख गर्दै यो कठिन समयमा नेपालका जनता र सरकारप्रति ऐक्यबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले पीडित तथा उनीहरूका परिवार र प्रभावित सबैप्रति समवेदना प्रकट गर्दै सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वैज्ञानिकहरूले हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमनदी, हिउँको अवस्था, पर्माफ्रस्ट (स्थायी रूपमा जमेको भू–सतह) तथा हिमाली भिरालो भूभागमा परिवर्तन भइरहेको भए पनि यस विशेष घटनामा जलवायु परिवर्तनको भूमिका के थियो भन्ने निर्धारण गर्न अहिले नै हतार हुने बताएका छन् ।

रसुवा बाढीबाट ६ प्रसारण लाइन अवरुद्ध, त्रिशुलीको २२० केभी सवस्टेशन पूर्णरुपमा क्षति

काठमाडौँ । रसुवा भीषण बाढीबाट ६ वटा प्रसारणलाइन अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार त्रिशुलीको २२० केभी सवस्टेशन पूर्णरुपमा क्षति भएको छ भने अन्य प्रसारण लाइनमा क्षति हुँदा विद्युत प्रवाह अवरुद्ध बनेको हो ।

प्राधिकरणकाअनुसार त्रिशुली स्थित २२० के।भी। ३ बि हब सवस्टेशनव पूर्णरुपमा क्षति पुगेको छ ।चिलिमे २२० के।भी हव टावर अवरुद्ध भएका कारण बन्द भएको छ । समुद्रटार ( त्रिशुली १३२ के।भी। प्रसारण लाइन अवरुद्ध भएको छ । चिलिमे ( त्रिशुली ६६ के।भी। प्रसारण लाइन अवरुद्ध छ ।

चिलिमे हव ( त्रिशुली ३ बि हब ( मातातिर्थ २२० के।भी। प्रसारण लाइन अवरुद्ध छ । त्रिशुली(बालाजु ६६ के।भी। प्रसारण लाइन अवरुद्ध छ । अन्य केही प्रसारण लाइनको टावरमा समस्या रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले वैकल्पिक उपायबाट सञ्चालन हुन सक्ने स्थानबाट आंशिक क्षेत्रमा विद्युत प्रणाली सञ्चालनको प्रयास भैरहेको जनाएको छ । यसै क्रममा सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रमा प्रणाली चालु भै चौघोडा सवस्टेशन सञ्चालनको प्रयास जारी गरिएको छ ।गुजुरीदेख गल्छीसम्मका क्षेत्रहरुमा धादिङ्गबेसी सवस्टेशनमार्फत विद्युत आपूर्ति सुचारु गर्ने प्रयास भैरहेको प्राधिकरणले जनाएको छ ।

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ। भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता तथा विपद् राहत पठाएको जनाएको छ ।

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताएका छन् ।

“हामी शोकसन्तप्त परिवारजन तथा यस घटनाबाट प्रभावित सबैप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ”, उनले भनेका छन्, “यस चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा उभिएको छ ।”

विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने

काठमाडौँ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्पछिको उद्धार तथा राहतका लागि आवश्यक सामग्री तथा सहयोगको माग दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

प्राधिकरणका अनुसार विपद्का कारण प्रभावित व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक सामग्री र सहयोगको माग सेतु प्रणालीमार्फत दर्ता गर्न सकिन्छ ।

सम्बन्धित विवरण https://setu.ndrrma.gov.np/. मा गई भर्नुहुन प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणका अनुसार हालसम्म १७४ जनाले यस्तो अग्रह गरिसकेका छन् ।

सेतु प्रणालीमार्फत प्राप्त मागका आधारमा विपद् प्रभावित क्षेत्रमा आवश्यक सहयोग तथा राहत व्यवस्थापनमा सहजीकरण हुने अपेक्षा गरिएको छ ।

अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी

काठमाडौँ। अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी २० सिरिजअन्तर्गत अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्धको खेलमा नेपाल ‘ए’ विजयी भएको छ ।

अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले एसीटीलाई ४ विकेटले पराजित गरेको हो ।

एसिटीले दिएको १४१ रनको लक्ष्य नेपाल ‘ए’ले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ६१ रन बनाए । उनले ४७ बलमा ५ चौका र एक छक्का प्रहार गरे । त्यस्तै पवन सर्राफ २९ रनमा अविजित रहे । मयन यादवले २१ तथा लोकेश बमले १२ रन बनाए । बलिङतर्फ एसिटीका ज्याक कहले ३ तथा जित मेहताले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एसीटीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । एसीटीका डिलन हन्टरले सर्वाधिक ४४ रन बनाए । एन्स टिवारी र निक ब्रोसले समान १९-१९ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले तीन विकेट लिए भने युवराज खत्रीले दुई विकेट लिए । त्यस्तै पवन सर्राफ, बिपिन खत्री र शाहब आलमले समान एक एक विकेट लिए ।

प्रतियोगितामा नेपाल ‘ए’ को लगातार यो दोस्रो जित हो । यसअघि सोमबार भएको खेलमा नेपाल ‘ए’ले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो । त्यसअघि नेपाल ‘ए’ पहिलो खेलमा एनटी स्ट्राइकसँग ८ विकेट तथा बङ्गलादेशको ए टोलिसङ ९ विकेटले पराजित भएको थियो ।

त्यस्तै एसिटी भने प्रतियोगितामा जितविहीन रहेको छ । यस अघि तीन खेल खेलेको एसिटी किङ्समेनसँग ६ विकेट, भिक्टोरिया सिए-११ सँग ८ विकेट तथा एनटी स्ट्राइकसँग ६ विकेटले पराजित भएको थियो ।

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ -रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन भएका छन् ।

नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर ६२ नेपाली र ३४१ विदेशी पर्यटक सम्पर्कविहीन भएका हुन् ।

पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ४०३ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभयो ।

सम्पर्कविहीन हुनेमा २०३ पुरुष र २०० महिला रहेका छन् । बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । हालसम्म भारतका १३३, अमेरिकाका ४७, अष्ट्रेलियाका ३४ जना, संयुक्त अधिराज्य बेलायतका ३३ जना, क्यानडाका २४ जना, मलेसियाका १९ जना, युक्रेनका सात जना, सिङ्गापुर र दक्षिण अफ्रिकाका छ/छ जना, न्युजिल्याण्ड र जापानका पाँच/पाँच जना रहेका छन् ।

यसबाहेक जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्याण्ड, नेदरल्याण्ड लगायतका २५ भन्दा बढी देशका नागरिक बाढीमा परेर सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बाढीले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरीचौकी र भन्सार कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण रसुवागढी नाका जोड्ने सडक र पुलहरू समेत क्षतिग्रस्त भएको छ ।

नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ ।

छिमेकीसँगको कूटनीतिक संवादलाई तीव्रता दिँदै इरान

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले छिमेकी मुलुकसँगको ‘दृढ’ कूटनीतिले शान्ति र स्थिरताप्रतिको इरानको प्रतिबद्धता पुष्टि गर्ने बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल सैयद आसिम मुनिर र ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद अल बुसाइदीसँग क्रमशः सोमबार र मङ्गलबार भएका वार्तामा क्षेत्रीय समाधानमा जोड दिइएको बताउनुभयो ।

“नयाँ करिडोरका लागि प्रस्तावित रूपरेखा, संयुक्त रूपमा बारुदी सुरुङ हटाउनेकार्य र होर्मुजको भविष्यको व्यवस्थापन यसका उदाहरण हुन्,” अराघचीले लेख्नुभएको छ ।

इरान र ओमानले होर्मुज जलसन्धिमा अस्थायी संयुक्त जलमार्ग (सिपिङ करिडोर) स्थापना गर्ने तथा उक्त जलमार्गबाट बारुदी सुरुङ हटाउने संयुक्त परियोजना सञ्चालन गर्ने प्रस्ताव सार्वजनिक गरेपछि उहाँको यस्तो भनाइ आएको हो ।

यसैबीच, अराघचीले मङ्गलबार कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ । इरानी विदेश मन्त्रालयका अनुसार वार्तामा क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन तथा क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न कूटनीति र समन्वयमा जोड दिइएको थियो ।

इरानी भू–भागमा इजरायल र संयुक्त राज्य अमेरिकाको संयुक्त आक्रमणपछि इरानले फेब्रुअरी २८ देखि होर्मुज जलसन्धिमा आफ्नो नियन्त्रण कडा बनाउँदै इजरायल र अमेरिकासँग सम्बन्धित वा उनीहरूको स्वामित्वमा रहेका जहाजको आवतजावतमा रोक लगाएको थियो ।

गत महिना दुई देशबीच तनाव बढेसँगै, जुन १८ मा भएको अमेरिका–इरान समझदारीपत्र (एमओयू) अन्तर्गतको ६० दिने वार्ताको समयसीमा अगस्ट १७ मा समाप्त भएको थियो । यससँगै अन्तिम शान्ति सम्झौताको सम्भावना अनिश्चित बनेको छ ।

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, ६३ जना घाइते

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार मृतकमध्ये २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक र पहिचान नखुलेका २० जना छन्।

प्रहरीका अनुसार रसुवामा एक पुरुषको शव फेला परेको छ। नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जनाको मृत्यु भएको छ।

त्यस्तै, धादिङमा ११ महिला, ५ पुरुष र पहिचान नखुलेका २ जनासहित १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। गोरखामा एक महिला, ४ पुरुष, एक बालक र पहिचान नखुलेका १० जनाको शव भेटिएको छ।

चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र पहिचान नखुलेका ८ जनाको शव फेला परेको छ। तनहुँमा ३ पुरुष, एक बालिका र एक बालक तथा नवलपरासी पूर्वमा ८ पुरुष र ३ बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका अनुसार बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

भोटेकोशी बाढीपीडितका लागि सरकारको सहयोग अपिल, उद्धार कोषमा रकम जम्मा गर्न आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र गोरखालगायत तटीय जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बिहान ८:४० बजे नदीमा आएको बाढीले विभिन्न क्षेत्र प्रभावित भएका छन्।

विपद्बाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी खाना, बसोबास तथा आवश्यक स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्ने भन्दै सरकारले दीर्घकालीन पुनःस्थापनाका लागि समेत सहयोग जुटाउन थालेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देश तथा विदेशमा रहेका नेपाली नागरिक, संघसंस्था, व्यवसायी तथा दातृ निकायलाई आर्थिक सहयोग गर्न अपिल गरेको छ।

सरकारले सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेका ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’ मा रकम जम्मा गर्न आग्रह गरेको छ। त्यसका लागि सरकारले सम्बन्धित बैंक खाता विवरणसमेत सार्वजनिक गरेको जनाएको छ।

रास्वपाले बाढीपीडितका लागि ५० लाख सहयोग गर्ने

काठमाडौं – चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुःख व्यक्त गरेको छ।

रास्वपा सचिवालयको बुधबार बसेको बैठकले विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि पार्टीका तर्फबाट ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै रास्वपाले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी नागरिकको तत्काल उद्धार, सुरक्षित बासस्थान, शुद्ध खानेपानी, औषधि र खाद्यान्नको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

रास्वपाले आफ्ना केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका समिति, सदस्य र शुभेच्छुकलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिएको छ। उद्धार तथा राहतमा पार्टीको र्‍याट परिचालनको संयोजन पूर्वर्‍याट संयोजक आशिष थापालाई दिइएको छ।

विपद्का बेला भ्रामक सूचना तथा अफवाह फैलिन सक्ने भन्दै रास्वपाले सरकारी निकायबाट जारी आधिकारिक सूचनालाई मात्र आधार मान्न र सामाजिक सञ्जालमा तथ्यपरक सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ। नदी तटीय तथा पहिरोको उच्च जोखिममा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउनसमेत अपिल गरेको छ।

‘तपाईंहरू एक्लो हुनुहुन्न, राज्य सम्पूर्ण साधनस्रोतसहित साथमा छ’ – प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ५० भन्दा बढी नागरिकको मृत्यु भएको जानकारी दिएका छन्। उनले बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई तीव्र पारिएको बताएका छन्।

प्रधानमन्त्री शाहका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली उद्धारमा परिचालन भएका छन्। सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र घाइतेहरूलाई काठमाडौं ल्याएर उपचार भइरहेको उनले बताएका छन्।

घाइतेको निःशुल्क उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको तथा अन्य अस्पताललाई पनि तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।

प्रधानमन्त्री शाहले बाढी प्रभावित नुवाकोट, रसुवा, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा तत्काल खाद्यान्न, खानेपानी, औषधि र अस्थायी बसोबासको व्यवस्था गरिने बताएका छन्। बेपत्ताको खोजी तथा उद्धार कार्य रातभर जारी रहने उनको भनाइ छ।

उनले विपद्को यो कठिन घडीमा सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारी राहत तथा उद्धार अभियानमा सहयोग गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन् –
आदरणीय आमाबाबु, दिदीबहिनी तथा दाजुभाइहरू,
आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु। आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्महत बनाएको छ। प्राकृतिक विपद्को यो अप्रत्याशित बज्रपातले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी र साना–साना बालबालिकाहरूलाई गहिरो पीडामा धकेलेको छ।
बाढीका कारण हालसम्म ५० भन्दा बढी हाम्रा प्रिय नागरिकहरूले ज्यान गुमाइसकेको दुःखद खबर प्राप्त भएको छ। म नेपाल सरकार र व्यक्तिगत तर्फबाट ज्यान गुमाउनुहुने ती सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। आफ्नो मान्छे, आफ्नो परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका ती दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु। तपाईंहरूको यो असैह्य पीडामा सिङ्गो नेपाल सरकार र सम्पूर्ण देशबासी साथमा छौँ। बाढीमा परी घाइते हुनुभएका र अस्पतालमा उपचार गराइरहनुभएका सबै नागरिकहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना गर्दछु।
यो दुःखद खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौंको संख्यामा उद्धार कार्यमा परिचालन गरेको छ।
बाढी गएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बस्यो। त्यसलगत्तै राष्ट्रिय परिषद्को बैठक र मन्त्रिपरिषद्को बैठक समेत बसेर उद्धार, खोज र राहत कार्यलाई कसरी तीव्र बनाउने भन्नेबारे महत्वपूर्ण निर्णयहरू गरियो।
बाढी प्रभावित क्षेत्रमा नागरिकहरूको ज्यान जोगाउन र खोजतलास गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरूलाई तत्कालै मैदानमा उतारिएको छ।
हाम्रा सुरक्षाकर्मीहरूले नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५०+ नागरिकको उद्धार गरिसकेका छन्। उद्धार गरिएकामध्ये घाइतेहरूलाई तत्काल काठमाडौँ ल्याएर उपचार सुरु गरिएको छ।
अहिलेको यो समय निकै संवेदनशील छ। घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु नै हाम्रो पहिलो प्राथमिकता हो।
घाइते नागरिकहरूको सहज र निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या छुट्याइएको छ। उपत्यकाका अन्य सबै ठूला अस्पतालहरूलाई पनि जुनसुकै बेला घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ। सरकारले प्रभावित क्षेत्रमै मेडिकल टिम खटाएर घाइतेहरूको उद्धार र प्राथमिक उपचार गरिरहेको छ। काठमाडौंको राष्ट्रय ट्रमा सेन्टर, विभिन्न सुरक्षा निकायहरुबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुको टोली तत्कालै पठाइएको छ। यस्तै, नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत निकायबाट पनि चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री बाढीप्रभावित क्षेत्रमा पठाइसकिएको छ।
आपत्कालीन स्वास्थ्य सेवा, औषधी र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटजस्ता संघसंस्थाहरूसँग निरन्तर समन्वय भइरहेको छ।
बाढीग्रस्त क्षेत्रका संघीय सांसदहरूसँग हामीले परामर्श गरी स्थानीय तहमा कहाँ के सहयोग आवश्यक छ, सोही अनुसार सहजिकरण गरिरहेका छौं। घाइतेहरूको थप विवरण संकलन गर्ने काम अझै निरन्तर जारी छ।
यो विपद्बाट नागरिकलाई बचाउन र उहाँहरूको जनजीवन सामान्य बनाउन सरकार लागिरहनेछ। बाढीमा हराइरहेका नागरिकहरूको खोजतलासलाई अझ तीव्र पारिनेछ। घाइतेहरूको पूर्ण विवरण र बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण संकलन गरिनेछ। आज रात भर पनि उद्धार कार्य जारी नै रहने छ ।
नुवाकोटको विदुर; रसुवाको उत्तरगया र गोसाइँकुण्ड; धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन्। यी सबै क्षेत्रका पीडित परिवारहरूसम्म खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पुर्याइने छ ।
बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइनेछ। विस्थापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिनेछ
बाढी प्रभावित क्षेत्रका आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
तपाईंहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन। तर म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु—यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ। कृपया धैर्य धारण गर्नुहोला। तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ।
यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुनुपर्छ। म सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध गर्दछु।
हाम्रा पीडित दाजुभाइ–दिदीबहिनीहरूलाई पुनः सामान्य जीवनमा फर्काऔँ।

रसुवा, नुवाकोटसहितका जिल्लामा आज राति वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोकलगायत जिल्लामा मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

महाशाखाले ती जिल्लाका एक–दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरेको छ । सम्भावित वर्षाका कारण खोज तथा उद्धारका कार्यमा आवश्यक सावधानी अपनाउन महाशाखाले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार चार जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनका अनुसार ट्रमा सेन्टरमा नुवाकोट विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछानेको उपचार भइरहेको छ ।

त्यसैगरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा नुवाकोट विदुर नपा–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्वा तामाङ, ठेगाना नखुलेका कुशल मगर, कार्की थपका एक पुरुष, नाम थर बताउन नसक्ने एक पुरुष, सिन्धुपालचोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ, जाजरकोटका बलबहादुर घर्ती मगरको उपचार भइरहेको छ । साथै गोरखा टिमुरे गोसाइकुण्ड– ७ का कामु नगरकोटीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । नगरकोटीको साथमा तीन महिनाको नाबालक शिशु समेत साथमा रहेको जनाइएको छ ।

प्रहरीका अनुसार टिमुरे गोसाइकुण्ड–७ का प्रेमदोर्जे घले, नेमा दोर्जे घले, फुर्प लामा (ठेगाना नखुलेको), बर्दिया जीतपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती गाउँपालिका–५ का सुराची राना मगर र भक्तपुर चांगुनारायण नगरपालिका–१ का रिता दोचाको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी

काठमाडौँ, भदौ १०-रसुवाको सीमा क्षेत्र रसुवागढी, भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा आज आएको भीषण बाढी हिमपहिरोका कारण नदी थुनिएर अचानक पानीको ठूलो बहाव तलतिर आएको हुनसक्ने बताइएको छ ।

अन्तरराष्ट्रिय एकीकृत विकास केन्द्र ९इसिमोड०का विपद् जोखिम न्यूनीकरण विज्ञ शास्वत सन्यालले सो क्षेत्रको लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी आएको बताउनुभयो । “यस पटक सम्भवतः हिमपहिरोका कारण नदी थुनिएर अचानक पानीको ठूलो बहाव तलतिर आएको हुन सक्छ । थप जानकारी प्राप्त हुँदै जाँदा यसको पुष्टि हुन बाँकी छ”, रासससँग कुरा गर्दै उहाँले भन्नुभयो ।

यसैगरी इसिमोडका जलवायु तथा वातावरणीय जोखिम प्रमुख स्याङ्गोङ झाङले गत वर्षको रसुवा बाढीबाट तहसनहस भएको त्यही क्षेत्र फेरि जोखिममा परेको बताउनुभयो । “लेन्दे खोलामा आज आएको बाढी हिमपहिरो कारणले भए पनि यसको अझै पुष्टि हुन बाँकी छ । नेपाल–चीन सीमास्थित नदीको माथिल्लो भागमा अझै अवरोध कायम रहेकाले दोस्रो पटक बाढी आउन सक्छ”, उहाँले भन्नुभयो । बाढीबाट सो क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको बताइएको छ ।

युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ

बैङ्कक। मध्यपूर्वमा लामो सैन्य तैनाती पूरा गरेको अमेरिकी विमानवाहक युद्धपोत युएसएस अब्राहम लिङ्कन चालक दलको आराम तथा पुनःस्थापनाका लागि थाइल्यान्डतर्फ प्रस्थान गरेको थाई अधिकारीहरूले बुधबार बताएका छन् ।

लिङ्कनले इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीलाई सहयोग गरेको थियो । जहाजले पछिल्लो तैनातीमा २५० दिनभन्दा बढी समय निरन्तर समुद्रमा बिताएको थियो ।

लामो तैनातीका क्रममा चालक दलको मानसिक स्वास्थ्यमा समस्या तथा खाना र सरसफाइका सामग्रीलगायत आवश्यक आपूर्तिको अभाव देखिएको विवरण सार्वजनिक भएपछि यसको तैनातीबारे चिन्ता बढेको थियो ।

रोयल थाई नेभीका अनुसार अमेरिकी क्यारियर स्ट्राइक समूहका तीन जहाज पूर्वी थाइल्यान्डमा छोटो समय रोकिनेछन् । भ्रमणका क्रममा कुनै सैन्य अभ्यास नगरिने बताइएको छ । सुरक्षा कारण देखाउँदै थाई पक्षले जहाजको बन्दरगाह र आगमन मिति भने सार्वजनिक गरेको छैन ।

लामो समयको तैनातीले चालक दलसँगै जहाज र उपकरणमा समेत दबाब बढाउने गर्छ । अमेरिका–इरानबीचको तनाव केही मत्थर भए पनि अमेरिकी नौसेनाले हर्मुज जलघाँटीमा इरानी बन्दरगाहविरुद्ध नाकाबन्दी जारी राखेको छ ।

युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी प्रशासनले भने स्पष्ट योजना सार्वजनिक गरेको छैन ।

भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति

काठमाडौँ। नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति भएको छ ।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढी र प्रभावित क्षेत्रको मौसमी अवस्थाका बारेमा चिनियाँ पक्षसँग भएको छलफलका क्रममा मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति भएको छ ।

नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिसमेतको उपस्थितिमा जल तथा मौसम विज्ञान विभाग र चिनियाँ मौसम विज्ञान निकाय (सिएमए)का अधिकारीबिच आज यहाँ भएको भर्चुअल बैठकमा मौसम गतिविधि र पूर्वानुमानका विषयमा सहकार्य गर्ने सहमति भएको विभागले जनाएको छ ।

विभागकी महानिर्देशक डा अर्चना श्रेष्ठले भोटेकोशी नदीमा एक्कासि आएको बाढी तथा मौसमी अवस्था र पूर्वानुमानसहित क्षतिका बारेमा छलफल भएको बताउँदै चिनियाँ पक्षले प्रभावित क्षेत्रको मौसमी विवरणका सम्बन्धमा सहकार्य गर्ने सहमति जनाएको स्पष्ट ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले नेपाल र चीन दुवैतर्फको प्रभावित क्षेत्रमा भारी वर्षा नभएको जानकारी , “हिमताल विस्फोट, पहिरो वा अन्य कुनै कारणले नदी थुनिएर बाढी आएको हुन सक्ने सम्भावना रहे पनि त्यसको आधिकारिक पुष्ट्याइ नभइसकेकाले दुवैतर्फको संलग्नतामा यस विषयमा थप अध्ययन हुन आवश्यक छ ।”

बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री माननीय गीता चौधरीले बाढीका कारण पशुचौपायामा रोग फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक रोकथाम तथा नियन्त्रणका उपाय तत्काल अवलम्बन गर्न पशु सेवा विभागलाई निर्देशन दिएकी छिन् ।

बाढीका कारण पशुचौपायाको आवतजावत तथा सम्पर्क बढ्न सक्ने र त्यसबाट संक्रामक रोग फैलिन सक्ने जोखिम रहेकाले पशु स्वास्थ्यमा विशेष निगरानी तथा सतर्कता अपनाउन उनले निर्देशन दिएकी हुन्।

विशेषगरी रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा विशेष टोली परिचालन गरी पशु स्वास्थ्यसम्बन्धी निगरानी, रोग पहिचान, रोकथाम तथा नियन्त्रणका आवश्यक कार्य अघि बढाउन पशु सेवा विभागलाई निर्देशन दिएकी छिन् ।

मन्त्री चौधरीले विपद्को समयमा मानव स्वास्थ्यसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ। सम्भावित पशुजन्य रोगको जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्दै तत्काल आवश्यक कदम चाल्नुपर्नेमा उनले जोड दिएकी छिन् ।

भोटेकोशी बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जनाको हवाई उद्धार गरिएको छ।

नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन्।

नेपाली सेनाले टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट पाँच जना, बेत्रावतीबाट चार जना र त्रिशूली–काठमाडौंबाट तीन जनाको उद्धार गरेको छ।

त्यसैगरी, निजी क्षेत्रअन्तर्गत कैलाश हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा पाँच जना, सिम्रिक हेलिकप्टरले रसुवाबाट तीन जना, अन्नपूर्ण हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा चार जना, प्रभु हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा पाँच जना, सिम्रिकले रसुवा–टिचिङ अस्पतालमा दुई जना, फिसटेलले रसुवा–टिचिङ अस्पतालमा पाँच जना, एभरेष्टले रसुवा–टिचिङ अस्पतालमा दुई जना र प्रभु हेलिकप्टरले रसुवाबाट वीर अस्पतालमा दुई जनाको उद्धार गरेका छन्।

भोटेकोशीमा अचानक ठूलो बाढी, सतर्कता अपनाउन आग्रह

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट नेपाल छिर्ने भोटेकोशी नदीमा अचानक ठुलो बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बुधबार बिहान जिल्ला प्रशासन कार्यालय धादिङ र रसुवाले विशेष सूचना जारी गर्दै नदीमा पानीको बहाव अत्यधिक बढेर बाढी आएसँगै तटीय क्षेत्रमा विपद्को ठुलो जोखिम रहेको जनाएका छन् । चीनतर्फ भारी वर्षा भएको वा हिमताल विष्फोट भएको हुन सक्ने अनुमान गरिए पनि बाढीको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशीमा आएको यो बाढी त्रिशूली नदी हुँदै मुग्लिनसम्म पुग्ने देखिएको छ । प्रशासनले नदी किनारमा माछा मार्ने, बालुवा निकाल्ने वा अन्य काममा संलग्न मजदुरहरूलाई तत्काल सुरक्षित स्थानमा जान निर्देशन दिएको छ । साथै, नदी तटीय क्षेत्रमा सञ्चालित आयोजनाहरू, कार्यालयहरू र त्यहाँ बसोबास गर्ने आम जनसमुदायलाई आवश्यक पूर्वतयारी र सावधानी अपनाउन विशेष अनुरोध गरिएको छ ।

सहकारीको सम्पत्ति लिलामी गरेर बचतकर्ताको रकम फिर्ता गरिने मन्त्री रावलको भनाइ

डडेलधुरा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीको रकम अपचलन तथा हिनामिनासँग जोडिएका सम्पत्ति खोजी गरी बचतकर्ताको रकम फिर्ता गराउने कामलाई सरकारले तीव्रता दिएको बताएकी छन्।

मंगलबार डडेलधुरामा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पीडितसँगको छलफलमा मन्त्री रावलले बचतकर्ताको रकम फिर्ता गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताइन्।

उनका अनुसार शिवशिखर सहकारीमा १० हजार रुपैयाँभन्दा कम बचत रहेका करिब ४ हजार बचतकर्ताको रकम फिर्ता भइसकेको छ। बाँकी बचतकर्ताको रकम पनि दामासाहीका आधारमा फिर्ता गर्ने निर्णय भएको उनले जानकारी दिइन्।

मन्त्री रावलले सहकारी, त्यसका मार्ट तथा भवनहरूको मूल्यांकनसमेत सम्पन्न भइसकेको बताइन्। ती सम्पत्ति लिलामी गरी प्राप्त रकम बचतकर्तालाई वितरण गरिने उनको भनाइ छ।

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भातीय) प्रतिकिलो रु ५०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३८ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ९२ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ११०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु २५ र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ९०, मकै बोडी प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, भिन्डी प्रतिकिलो रु ४०, सखरखण्ड प्रतिकिलो रु १२०, पिँडालु प्रतिकिलो रु ८० र स्कुस प्रतिकिलो रु ४० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु १२०, पालुङ्गो प्रतिकिलो रु २५०, तोरीको साग प्रतिकिलो रु १००, प्याज (हरियो) रु २००, च्याउ (कन्य) प्रतिकिलो रु ३००, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकिलो रु ३३० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, न्यूरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु १६०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ५००, सेलरी प्रतिकिलो रु ५००, पार्सले प्रतिकिलो रु १,८००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ७००, गान्टेमूला प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६०, गुन्द्रुक प्रतिकिलो रु ३५० र रुख टमाटर प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३००, आँप (मालदह) प्रतिकिलो रु २८०, आँप (चोसा) प्रतिकिलो रु २५०, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुखकटहर प्रतिकिलो रु ६०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४००, एभोकाडो प्रतिकिलो रु २५०, अमला प्रतिकिलो रु २००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ५००, अदुवा प्रतिकिलो रु ३००, खुर्सानी सुकेको प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ५०, लसुन हरियो प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ५००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३४० र ताजा माछा (छडी) प्रतिकिलो रु ३५० निर्धारण भएको छ ।

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराले कपाल काटेर छोटो बनाओस जस्तो लाग्छ । उनले भनर्,“विद्यालयबाट बाबुलाई कपाल कटाउन लगाउनुपर्यो भनेर टेलिफोन कल पनि आएको छ । बाबुलाई कपाल छोटो बनाउन बाबु भन्दा मान्दैन । जबरजस्त गर्नुभएन ।”

भरतपुर–१० का बुद्धिकान्त न्यौपानेको गुनासो पनि उस्तै खालको छ । उनी कक्षा १२ मा अध्ययनरत छोरालाई कपाल काट्न भन्न छाडेको बताउछन् । उनले भने, “ठूलो छोरालाई कपाल काट्न भन्न छाडेँ, कक्षा ७ मा पढ्ने कान्छो छोराले पनि टेर्न छाड्यो ।”

यी प्रतिनिधिपात्र मात्रै हुन्, पछिल्लो समय अधिकांश अभिभावकको गुनासो ‘छोराहरुले कपाल छोटो बनाउनै मान्दैनन्’ भन्ने नै हुने गरेको छ । विद्यालय र उच्च शिक्षा तह अध्ययनरत गरेका विद्यार्थीहरू लामो कपाल पाल्न सौखिन हुन थालेका छन् । कतिपयले त लामो कपाल मिलाउन (कोर्न)समेत इन्कार गर्ने गर्दछन् । जस्तो छ उस्तै छाड्ने उनीहरूको बानी हुने गरेको छ ।

विद्यालयहरूले कपाल काट्न दबाब दिन नहुने भएपछि यस्ता विद्यालयले अभिभावकको साहारा लिन थालेका छन् । विद्यार्थीले कपाल काट्न दबाब दिएको जनाउँदै हेलो सरकार र प्रहरीमा समेत उजुरी दिने गरेको पाइएको छ । भरतपुर महानगरपालिका, शिक्षा महाशाखाका प्रमुख सुवास आचार्य विद्यार्थीहरूले विद्यालयले दबाबमा कपाल काट्न लगायो भनेर हेलो सरकारमा उजुरी दिने गरेको जानकारी आफूकहाँ आएको दिए ।

उनका अनुसार विशेष गरेर हजुरबुबा आमासँग बस्ने, होस्टल (आवास)मा बस्ने र अभिभावकभन्दा टाढा रहेका विद्यार्थीले कपाल छोटो बनाउन नमान्ने गरेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष मदन पुरी विद्यार्थीलाई कपाल काट्न भन्न छाडेको बताउछन् । निजी विद्यालय विरुद्ध हेलो सरकारमा उजुरी परेको जनाउँदै उनले देशभरका ३५ भन्दा बढी विद्यालयविरुद्ध विद्यालयले जबर्जस्ती कपाल काट्न लगाउने गरेको उजुरी परेको जानकारी पाएको बताए ।

उनले भने, “अहिले कपाल काट्ने विषयमा केही गर्न सक्ने अवस्था नै छैन । कक्षा ९ देखि १२ सम्म पढ्ने विद्यार्थीमा यस्तो अवस्था छ । ”

सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१०औँ संशोधन)मा जबर्जस्ती विद्यार्थीको कपाल काट्न नपाउने व्यवस्था राखिएको छ । विद्यालयहरूले विद्यार्थीको इच्छाविपरीत कपाल काट्ने र काट्न लगाउने गरेको गुनासो आएपछि सरकारले ऐनमा नै यो व्यवस्था गरेको हो ।

नियमावलीको नियम २५ मा कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने गतिविधि विद्यालय परिसर वा कक्षा कोठाभित्र सञ्चालन गर्न गराउन नदिने भनिएको छ । विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउन नपाइने नियमावलीमा उल्लेख गरिएको छ ।

वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका मनोविज्ञान विषयका उपप्राध्यापक डा सुरेन्द्र घिमिरे पहिलेपहिले विद्यार्थीहरू क्याम्पस पढ्ने समयमा मात्रै चलचित्र हेरेर विश्वका गतिविधि थाहा पाउने र सोको सिको गर्ने भए पनि अहिले सानै उमेरदेखि विश्वका गतिविधि देख्न पाउँदा त्यसप्रति नक्कल गर्ने झुकाव बढेको बताउछन् । उनले भने, “नक्कल गर्ने मानिसको नैसर्गिक गुण हो । जे चिज ‘सेलिब्रेटी’ले गर्छन्, त्यसको नक्कल उनीहरूले गर्न चाहन्छन् ।”

इन्टरनेट र सामाजिक सञ्जालको पहुँच सानै उमेरदेखि हुँदा अहिले किशोर अवस्थादेखि नै त्यसको सिको गर्न थालेको उनको बुझाइ छ । उनले भने, “बच्चाले मोबाइलमा सेलिब्रेटी देखेको छ, पहिले ठूलो भएपछि देख्थ्यो, अहिले त्यो उमेर तल झरेको छ ।” कपाल पाल्ने, नराम्रो होइन ।” यद्यपि कपाल पाल्दै गर्दा त्यसको स्याहारसुधारमा लाग्ने खर्च र समयका कारण पढाइमा पर्ने असर भने कायमै रहेको उनी बताउँछन् ।

घर, विद्यालय सबैतिरबाट किशोरावस्थामा कपाल नपाल्न आग्रह गरिए पनि नटेर्नुलार्ई भने आज्ञाकारिताविरुद्धको साङ्केतिक विरोधका रूपमा लिन सकिने उनी बताउछन् । विशेषगरी विद्यालय तथा कलेज तहका किशोरहरू छोटो कपालको परम्परागत शैलीभन्दा फरक, आफूलाई आकर्षक र आधुनिक देखाउने शैलीतर्फ आकर्षित हुन थालेको देखिन्छ । सामाजिक सञ्जाल, चलचित्र, सङ्गीत तथा विदेशी फेसनको प्रभावले यो प्रवृत्तिलाई थप बढावा दिएको पाइन्छ ।

कपाल लामो हुँदा सफा गर्न गाह्रो हुने, दैनिक हेरचाहामा समय खर्च गर्नुपर्ने, खर्चिलो हुने र स्याहार सुधार गर्न नसकेमा जुम्रा, चाया परेर स्वास्थ्यमा असर पार्ने विज्ञहरु बताउँछन् । धेरै लामो वा बाक्लो कपालमा पसिना र फोहर जम्ने हुँदा विशेषगरी गर्मीमा समस्या हुने गर्दछ ।

११३२ हेल्पलाइनबाट सुर्तीको लत छुटाउँदै स्वास्थ्य मन्त्रालय, पाँच सयले लिए परामर्श

काठमाडौँ । सुर्तीजन्य पदार्थको लत छुटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालनमा ल्याएको हेल्पलाइन सेवा प्रभावकारी बन्दै गएको छ ।
हेल्पलाइनमार्फत परामर्श लिएका केही सेवनकर्ता सुर्तीजन्य पदार्थको लत त्याग्न सफल भएका उदाहरण छन् । मन्त्रालयले २०८२ जेठ १८ गते सुर्तीजन्य पदार्थको सेवन त्याग्न चाहनेका लागि ११३२ हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको थियो । हालसम्म करिब ५०० जनाले उक्त सेवामार्फत निःशुल्क परामर्श लिएका छन् भने १३ जना सुर्तीजन्य पदार्थको लत त्याग्न सफल भएका छन् ।

हेल्पलाइनमा फोन गर्नेमा ८० प्रतिशत पुरुष रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको तथ्याङ्कमा छ । बैतडीका ४० वर्षीय एक पुरुषले १८ वर्षदेखि खैनी र सुपारी सेवन गर्दै आएका थिए । दैनिक दुई प्याकेटसम्म खैनी सेवन गर्ने उनले सुर्तीजन्य पदार्थमा धेरै रकम खर्च भइरहेको र दमको समस्यासमेत देखिएपछि लत छुटाउने इच्छा गरेका थिए । रेडियो नेपालमा हेल्पलाइनसम्बन्धी सूचना सुनेपछि उहाँले निःशुल्क हेल्पलाइनमा फोन गरी परामर्श लिनुभयो । हेल्पलाइनबाट नियमित परामर्श पाएपछि लत छुटाउने प्रयासमा रहनुभएको छ ।

बाजुराका २५ वर्षीय एक युवाले चुरोट, गाँजा र सुर्ती सेवन गर्नुका साथै दैनिक १२ प्याकेटसम्म स्थानीय खैनी सेवन गर्ने गरेका थिए । टाउको दुख्ने, भोक नलाग्ने तथा स्वास्थ्यप्रति चिन्ता बढेपछि उहाँले लत छुटाउने प्रयास गरे। हाल उहाँले नियमित परामर्शपछि पूर्णरूपमा सुर्तीजन्य पदार्थ सेवन बन्द गर्न सफल भएकका छन् ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा राधिका थपलियाले हालसम्म यो हेल्पलाइन प्रभावकारी देखिए पनि सीमित परामर्शकर्ताले अपेक्षाकृत दिन नसकिएको बताइन् ।
“परामर्श लिएका व्यक्तिलाई छ महिनासम्म निरन्तर फलोअप गरिन्छ । सुरुमा एक–एक हप्ताको अन्तरालमा फलोअप गरी उनीहरूको अवस्था बुझ्ने र आवश्यक परामर्श दिने व्यवस्था गरिएको छ”, उनले भनिन् ।

नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण वार्षिक करिब ३९ हजार मानिसको मृत्यु हुने तथ्याङ्क छ । सुर्तीजन्य पदार्थको सेवन नसर्ने रोगको प्रमुख जोखिम कारकमध्ये एक मानिन्छ ।

पछिल्लो समय बजारमा परम्परागत चुरोट, खैनी र गुट्खाका अतिरिक्त भेप, ई–सिगरेट र निकोटिन पाउचजस्ता नयाँ स्वरूपका सुर्तीजन्य पदार्थसमेत उपलब्ध छन् । यस्ता पदार्थलाई कम हानिकारक वा धुँवारहित भनेर प्रचार गरिए पनि स्वास्थ्यमा पार्ने जोखिम गम्भीर रहेको डा थपलिया बताउँछिन् ।

भेप, ई–सिगरेट र निकोटिन पाउचजस्ता नयाँ स्वरूपका पदार्थलाई समेत सुर्तीजन्य पदार्थकै श्रेणीमा राख्ने गरी ऐन संशोधनको तयारी भइरहेको उनले जानकारी दिइन् । हेल्पलाइन सेवाकालागि हाल एक जना नर्सिङ स्टाफ खटाइएको छ । सेवा सोमबारदेखि शुक्रबारसम्म सार्वजनिक बिदाबाहेक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएको छ ।

परामर्श दिँदै आएकी नर्सिङ अफिसर अमिशा रावतले हेल्पलाइनबाट परामर्श लिएका व्यक्तिलाई निरन्तर छ महिनासम्म फलोअप गरिने बताउँछिन् । उनका अनुसार सेवनकर्ताको अवस्था हेरेर नियमित परामर्श तथा लत त्याग्न आवश्यक सहयोग प्रदान गरिँदै आएको छ ।

“लत त्याग्न हेल्पलाइनमार्फत परामर्श दिए पनि व्यवस्थित रेफरल मेकानिजम भने बनाउन सकिएको छैन । अलि जटिल खालका केशहरूमा विशेषज्ञ नै चाहिन सक्छन् त्यो भने हाम्रो लागि चुनौती नै छ । सामान्य प्रकृतिका सेवनकर्ताले परामर्शपछि लत त्याग्न सक्ने भए पनि जटिल प्रकृतिको लत भएका व्यक्तिलाई निरन्तर परामर्श र सहयोग आवश्यक पर्छ”, नर्स रावत भन्छिन् ।

विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको थियो ।

उक्त आगो फैलिएर उहाँकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए ।

आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा तीन घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट कोटमाया कार्कीको घरसँगै अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो देखिने गहना र रु २० हजार नगद जलेर नष्ट हुँदा करिब रु १२ लाखबराबरको क्षति भएको जनाइएको छ ।

त्यस्तै ज्ञानकुमारी कार्कीको घरसँगै अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो देखिने गहना र रु ५० हजार नगद जलेर नष्ट हुँदा करिब रु १४ लाख क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय र चौपाया क्षति भने नभएको प्रहरी निरीक्षक साहले जानकारी दिए ।

जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र गरिने भएको छ ।रघुगङ्गा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूको सहयोगमा कालीगण्डकी करिडोरको घुमाउने तालदेखि पिप्ले हुँदै पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र गर्न लागिएको हो । दुई दशकअघि मार्ग खुलेको उक्त सडक स्तरोन्नतिसहित कालोपत्र योजना सुरु भएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिए ।

“कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकअन्तर्गत घुमाउने तालदेखि गाउँपालिका केन्द्र मौवाफाँट जोड्ने छ किलोमिटर ४०० मिटर सडक कालोपत्र गर्न लागिएको हो”, उनले भने, “४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरको ८० प्रतिशत र पालिकाभित्र निर्माण सम्पन्न भएका र निर्माणाधीन अन्य जलविद्युत् आयोजनाहरूको २० प्रतिशत लागत साझेदारीमा सडक स्तरोन्नतिसहित कालोपत्र योजना अगाडि बढाइएको हो ।”

घुमाउने तालदेखि पिप्ले हुँदै पालिका केन्द्र मौवाफाँट चोकसम्म कालोपत्र र त्यहाँदेखि बुक्ल–बाँधस्थल खण्डको सडक ग्राभेलसहित खोल्साहरूमा कलभर्ट निर्माण गरिने योजना छ । साँघुरो, जीर्ण र कच्ची सडकलाई, घुम्ती सुधार, नाली, पर्खाल तथा ग्यावियन निर्माण गरी फराकिलो पारेर कालोपत्र योजना थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिए ।

जलविद्युत् आयोजनाहरूले पहुँच मार्गका रूपमा प्रयोग गरेको सडक स्तरोन्नतिका लागि गाउँपालिकाले धेरै प्रयास गरेपछि अहिले आएर सार्थकता पाएको उनले बताए । गाउँपालिकाको संयोजनमा एक वर्षअघि भएको राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधिसमेतको छलफलमा जलविद्युत् आयोजनाले पहुँच मार्गका रूपमा प्रयोग गरेको सडक स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएअनुसार कालोपत्रको योजना अघि बढेको अध्यक्ष भण्डारीले बताए ।

हाल रघुगङ्गा हाइड्रोपावरले सडक फराकिलो पार्ने, नाली निर्माण र सवबेस हाल्ने काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताए । उनका अनुसार राहुघाट जलविद्युत् आयोजनाले कालोपत्र गर्ने कामबाहेकका सम्पूर्ण काम गर्ने र अन्य जलविद्युत् आयोजनाहरूले कालोपत्र गर्ने खर्चको २० प्रतिशत लागत व्यहोर्नेगरी सम्झौता भएको छ । आगामी कात्तिक १५ गतेसम्म सडक स्तरोन्नतिको काम सक्नुपर्ने आयोजनासँग लिखित सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

सडक स्तरोन्नतिसहित कालोपत्र भएपछि रघुगङ्गाका आठवटै वडाका बासिन्दालाई सहज हुने जनाइएको छ । रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा ४८.५ मेगावाटको माथिल्लो राहुघाट, ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, २१.३ मेगावाटको ठूलोखोला, २२.५ मेगावाटको माथिल्लो ठूलोखोला ‘ए’ लगायतका आयोजना सञ्चालनमा छन् । चालीस मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादनको तयारी गरेको छ ।

गड्डाचौकी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्यो

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्ला केही वर्षयता यो नाका भएर नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ ।

उनका अनुसार गत आर्थिक वर्षमा एक हजार ७५३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन । यस्तै, रु एक करोड पाँच लाख १८ हजार ११९ राजस्व सङ्कलन भएको सूचना नवराज अधिकारी भट्टले जानकारी दिए । उनका अनुसार एक हजार ५३४ पर्यटक यो नाकाबाट बाहिरिएका छन् ।

कार्यालयका अनुसार २०२२ मा ५४२ पर्यटक सो नाका भएरस नेपाल आएका थिए । यस्तै, २०२३ मा ९८३ र २०२४ मा एक हजार १५४ जना विदेशी पर्यटक यो नाका भएर नेपाल आएको अध्यागमनको तथ्याङ्क छ ।

सुदूरपश्चिममा पर्यटनका थुप्रै सम्भावना भए पनि पश्चिमी नाकाबाट नेपाल आएका पर्यटक काठमाडौँ, पोखरालगायतका सहरमा जाने गरेका छन् ।

सुदूरपश्चिममा खप्तड, बडिमालिका, रामारोशनर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका प्रमुख पर्यटकीय गन्तव्य रहे पनि पूर्वाधारको अभाव र प्रचारप्रसार नहुँदा यो नाकाबाट आएका पर्यटक समेत अन्यत्र जाने गरेको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

“विदेशी पर्यटक भित्रिने गड्डाचौकी नाका प्रमुख नाका हो यहाँबाट भारतका पर्यटकीय शहर नजिक छन्,” पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले भने, “नाकामै पर्यटन सूचना डेस्क स्थापना हुनुपर्छ ।”

उनले यहाँबाट आउने पर्यटकलाई सुचना केन्द्रबाट सुदूरपश्चिमलगायत नेपालका पर्यटकीय गन्तव्यका बारे जानकारी दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्र र सरकाले समन्वयमा काम गर्नुपर्ने उनको भनाइ थियो ।

सुदूरपश्चिममा पर्यटनका सम्भावना भए पनि पर्याप्त पूर्वाधार विकास र प्रचारप्रसारको अभावका कारण पर्यटक अन्यत्र जाने गरेको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले बताए।

“हामीसँग रहेका आकर्षक गन्तव्यसम्म पुग्न सहज पूर्वाधार र अन्य सुविधाको अभाव छ,” उनले भने, “यहाँका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी पर्यटकलाई एक रात भए पनि यतै बस्ने वातावरण बनाउनुपर्छ ।”

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ३७ पैसा र बिक्री दर १५२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २०८ रुपैयाँ ६७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९० रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १२० रुपैयाँ ४२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६८ पैसा र बिक्रीदर २२ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५८ पैसा र बिक्रीदर ४० रुपैयाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११ रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७८ पैसा र बिक्रीदर २३ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ १४ पैसा बिक्रीदर ४०५ रुपैयाँ ७३ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ३४ पैसा रहेको छ ।त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।

सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१(८२ प्रस्तुत गर्नेछन् । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्नेछन् ।

त्यस्तै, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ ।

देशका यी स्थानमा आज ठुलो पानी पर्नै सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

हाल देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल लागेको छ बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकरदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा रहिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका धेरै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशका तराई भूभागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।