`

स्थानीय तहले सम्हाले मतदाता शिक्षाको कमाण्ड

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभरका ७५३ वटै स्थानीय तहले मतदाता शिक्षा र समन्वयका कामलाई तीव्रता दिएका छन्। निर्वाचन आयोगले फागुन ३ देखि १७ गतेसम्मका लागि सञ्चालन गरेको विशेष मतदाता शिक्षा कार्यक्रमअन्तर्गत देशभरका ६ हजार ७४३ वडामा स्वयंसेवकहरू परिचालन गरिएको छ।

यी स्वयंसेवकहरूले नमुना मतपत्रसहित मतदाताको घरदैलोमा पुगेर मतदान गर्ने सही तरिका र निर्वाचनको महत्त्वबारे जानकारी दिइरहेका छन्। मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोका अनुसार विगतको ‘जेनजी आन्दोलन’ का क्रममा कतिपय सरकारी भवन र कम्प्युटरहरू जलाइएका कारण भौतिक सहयोगमा केही चुनौती देखिए पनि निर्वाचन सफल पार्न नगरपालिकाले पूर्ण समन्वय गरिरहेको छ।

मुलुकको राजनीतिक स्थायित्व र प्रणालीको रक्षाका लागि पनि यो निर्वाचन महत्त्वपूर्ण रहेको भन्दै उनले क्षतिग्रस्त संरचनाहरूलाई व्यवस्थित गर्दै निर्वाचनका लागि आवश्यक पूर्वाधार मिलाइरहेको जानकारी दिए।

महोत्तरीको मटिहानी नगरपालिकामा भने मतदाता शिक्षासँगै शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। नगर प्रमुख हरिप्रसाद मण्डलले निर्वाचनलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा लिँदै तडकभडकरहित र मित्रवत् प्रतिस्पर्धाका लागि दलहरूलाई सहजीकरण गरिरहेको बताए। यता नुवाकोटको शिवपुरी गाउँपालिकाले भने मतदाता शिक्षाका अतिरिक्त सुरक्षा निकायका लागि अस्थायी बसोबासको व्यवस्थापनमा समेत समन्वय गरिरहेको छ।

निर्वाचन आचारसंहिता पालना गराउन पनि स्थानीय तहहरू सक्रिय देखिएका छन्। आचारसंहिता अनुसार स्थानीय तहको स्रोतसाधन कुनै पनि दल वा उम्मेदवारको पक्षमा प्रयोग गर्न पाइँदैन। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रभावकारी मतदाता शिक्षाले बदर मतको संख्या घटाउन मद्दत गर्ने भन्दै यस कार्यमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए। संघ, प्रदेश र स्थानीय सरकारको त्रिकोणात्मक समन्वयले निर्वाचनको माहोललाई थप उल्लासमय बनाएको छ।

मेची भन्सारद्वारा ९ अर्ब ९२ करोड राजस्व असुली

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा रु १० अर्ब ५५ करोड २० लाख ३४ हजार सङ्कलनको लक्ष्य निर्धारण भएको थियो ।

यद्यपि माघमा मात्रै रु एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार सङ्कलन भएको छ । यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो ।

चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ ।

सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ

काठमाडाैँ । बेलायतका पूवै राजकुमार एन्ड्रयु माउन्टबेटन–विन्डसरलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ ।

एन्ड्रयु माउन्टबेटन बेलायतका राजा चाल्र्सका भाइ तथा पूर्व राजकुमार हुन् ।थेम्स भ्याली प्रहरीले यौन अपराधी जेफरी एपस्टीनसँग गोप्य जानकारी साझा गरेको आरोपमा पूर्व राजकुमारको उजुरीको अनुसन्धान गरिरहेको बताएपछि उहाँलाई पक्राउ गरिएको हो । एन्ड्रयुले लगातार दृढताका साथ आफुले कुनै पनि गलत कार्य नगरेको बताउँदै आएका छन् ।

उनको राजकुमार उपाधि गत वर्ष गुमेको थियो भने उपाधिकोृ अन्त्यसँगै उहाँले रोयल लज, प्यालेस अफ विन्डसर पनि छोड्नुपरेको थियो ।

उनलाई प्रहरीले कहाँबाट पक्राउ गर्यो भन्ने खुल्न सकेको छैन, तर आज बिहान नोरफोकको स्यान्ड्रिङ्घममा केही नौला सवारी साधनहरू देखिएका थिए । उनले विन्डसरमा आफ्नो घर छोडेपछि स्यान्ड्रिङ्घममा बस्दैआउनुभएको थियो । तिनीहरू प्रहरीले प्रयोग गरेका प्रहरीको सङ्केत नभएका सवारी साधन भएको विश्वास गरिएको छ।

पूर्व राजकुमार पक्राउ परेको यो पहिलो पटक हो । उनीमाथि दोषी यौन अपराधी जेफरी एपस्टीनसँग सम्बन्ध राखेको आरोप लगाइएको छ। बिबिसीको रिपोर्टका अनुसार उहाँलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको हो ।

यसैबिच थेम्स भ्याली प्रहरीले एन्ड्रयूको गिरफ्तारीपछि एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हाम्रो अनुसन्धानको एक भागको रूपमा, हामीले आज (१९÷२) सार्वजनिक कार्यालयमा दुव्र्यवहारको शङ्कामा नोरफोकबाट ६० वर्ष भन्दा बढी उमेरका एक व्यक्तिलाई पक्राउ गरेका छौँ। बर्कशायर र नोरफोकका ठेगानाहरूमा पनि खोजी भइरहेको छ। ती व्यक्ति अहिले प्रहरी हिरासतमा छन् ।”

विज्ञप्तिमा भनिएको छ, “हामीले राष्ट्रिय निर्देशिकाअनुसार पक्राउ परेकाहरुको नाम सार्वजनिक गर्दैनौँ । कृपया यो पनि ध्यान दिनुहोस् कि यो मुद्दा हाल सक्रिय छ, त्यसैले कुनै पनि प्रकारको प्रकाशन गर्दा अदालतको अवहेलनाबाट बच्न सावधानी अपनाउनु पर्छ।”

सहायक प्रमुख प्रहरी हवल्दार ओलिभर राइटले भने, “विस्तृत मूल्याङ्कन पछि हामीले सार्वजनिक कार्यालयमा दुव्र्यवहारको यस आरोपको अनुसन्धान सुरु गरेका छौँ।

“यो महत्त्वपूर्ण छ कि हामी यस कथित अपराधको अनुसन्धानको क्रममा अनुसन्धानको निष्पक्षता र न्यायको रक्षा गर्न हाम्रा साझेदारहरूसँग काम गर्छौँ। हामी बुझ्दछौं, यस मामिलामा सार्वजनिक चासो धेरै उच्च छ, र हामी उपयुक्त समयमा जानकारी साझा गर्नेछौँ।”

देशको बागडोर सम्हाल्न सक्ने दल कांग्रेस हो – विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेस इतिहासदेखि नै सङ्कटको घडीमा देशलाई सम्हाल्दै आएको बताएका छन् । मोरङ–१ मा कांग्रेस उम्मेदवार खड्ग फागोको मोरङको केराबारी गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताउका हुन् ।

उनले सिकारुलाई देश जिम्मा दिन नहुने बताए । उनले देशको बागडोर सम्हाल्न सक्ने दल कांग्रेस भएको दाबी पनि गरे । शर्माले भने, ‘सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन, जिम्मेवारी हाक्न, परिपक्व, अनुभवी र सङ्कट व्यवस्थापन गर्न सक्ने दललाई मात्रै देशको नेतृत्व दिनुपर्छ ।’

नेपालमा सिर्जना भएका हरेक विषम परिस्थितिमा देशलाई सम्हाल्ने क्षमतावान एक मात्र दल कांग्रेस भएको बताएका छन् ।

एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२ औं महाधिवेशनको संघारमा अध्यक्ष पदका बलिया प्रत्यासी एवं वर्तमान उपाध्यक्ष रोविन शेरचनले विश्वव्यापी दौडाहा सुरु गर्ने भएका छन्।

संघभित्र देखिएको विवाद समाधान गरी एकताको सन्देश प्रवाह गर्न विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको निम्तोमा शेरचनले अर्को सातादेखि दुई हप्ते विश्व भ्रमण सुरु गर्न लागेका हुन्।

शेरचनले हालै जारी गरेको ‘बृहत् एकताका लागि अपील’ पछि एनआरएनए वृत्तमा चुनावी माहोल थप तातिएको छ। उनले आफ्नो अपिलमा व्यक्तिभन्दा संस्था ठूलो हो भन्ने मूल मन्त्रलाई आत्मसात् गर्न आग्रह गर्दै व्यक्तिगत अडान र समूहगत स्वार्थभन्दा माथि उठेर प्रवासमा रहेका नेपालीहरूको साझा घरलाई बलियो बनाउन सबै पक्षलाई आह्वान गरेका छन्। शेरचनको यो सन्तुलित र मध्यमार्गी अडानका कारण विश्वभरका एनसीसीहरूले उनलाई आफ्नो देशमा संवादका लागि आमन्त्रण गरेका हुन्।

शेरचनको यो भ्रमण विशेषगरी एनआरएनएभित्र डेलिगेट्स चयन र निर्वाचन प्रणालीमा देखिएका असमझदारी सुल्झाउन केन्द्रित रहनेछ। सहमति र संवादको विकल्प छैन भन्दै उनले प्रधानमन्त्रीको उपस्थितिमा भएको १० बुँदे सहमतिको मर्म अनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

शेरचनले संसारभरका सदस्यहरूले सहज रूपमा मतदान गर्न पाउने पारदर्शी अनलाइन वा भौतिक मतदान प्रक्रिया सुनिश्चित गर्नुपर्ने मागलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन्।

आगामी दुई हप्ताको कार्यतालिका अनुसार आफूले अमेरिका रिजनबाट यात्रा सुरु गर्न लागेको उनले बताए । जसअनुसार अमेरिका र क्यानडाका विभिन्न शहरहरूमा गैरआवासीय नेपालीहरूसँग साक्षात्का र गरिसकेपछि उनी ओसियानिया, मध्यपूर्व र युरोपका विभिन्न देशहरू पुग्नेछन्। युरोपको भ्रमण सम्पन्न गरी उनी एसियाका एनसीसीहरूसँग छलफल गर्दै निर्वाचनका लागि नेपाल आइपुग्ने योजना रहेको छ।

पछिल्लो समय एनआरएनएको निर्वाचनलाई लिएर देखिएको तिक्तताका बीच शेरचनको यो सक्रियता र एकताको अपिललाई अर्थपूर्ण रूपमा हेरिएको छ।

उनले निर्वाचनलाई विवादको नभई ‘एकताको महाधिवेशन’ बनाउनुपर्ने अडान राख्दै आएका छन्। शेरचनको यो मध्यमार्गी भूमिका र सबै पक्षलाई समेट्ने प्रयासले गर्दा नै विभिन्न देशका एनसीसीहरूले उनलाई एकताको अभियन्ताका रूपमा स्वीकार गर्दै स्वागतको तयारी गरेका हुन्।

एनसीसीहरूले उनको विस्तृत भ्रमण कार्यतालिकालाई अन्तिम रूप दिइरहेका छन् । यसबारे चाँडै विस्तृतमा सार्वजनिक गरिने बताइएको छ। एनआरएनएको १२औँ महाधिवेशन फागुन ३० देखि चैत २ सम्म काठमाडौँमा हुने तय भएको छ ।

अमेरिकाद्वारा आइइए छोड्ने चेतावनी

पेरिस, फ्रान्स- अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए)बाट फिर्ता हुने आफ्नो चेतावनी दोहोर्याएको छ। वाशिङ्गटनले सङ्गठनलाई ‘अर्को वर्ष वा त्यसभन्दा बढी’ ‘नेट–जिरो एजेन्डा’ त्याग्न दबाब दिनेछ।

पेरिसमा आइइए मन्त्रीस्तरीय बैठकको अन्तिम दिन बोल्दै राइटले भने, “ऊर्जा सुरक्षा सुनिश्चित गर्ने ५२ वर्ष पुरानो संस्थाले आफ्नो संस्थापक अभियानमा फर्कनु पर्छ।”

आइइए सन् १९७३ को पेट्रोलियम सङ्कटपछि आपूर्तिको प्रमुख अवरोधहरूको समाधानका लागिसमन्वय गर्न सिर्जना गरिएको थियो । राइटले भने, “सङ्गठनले जलवायु एजेन्डा अपनाएको छ जसमा सन् २०५० सम्म शुद्ध शून्य उत्सर्जनमा पुग्ने लक्ष्य समावेश छ ।”

राइटले एक पत्रकार सम्मेलनमा भने, “अमेरिकाले आइइएलाई अर्को वर्ष वा त्यसभन्दा बढी समयमा यो एजेन्डाबाट टाढा लैजानका लागि हामीसँग पर्ने सबै दबाब प्रयोग गर्नेछ।

“यदि आइइएले ऊर्जा इमानदारिता, ऊर्जा पहुँच र ऊर्जा सुरक्षाको मिसनमा ध्यान केन्द्रित गर्न सकेन भने, दुःखको कुरा हामी आइइएको पूर्व सदस्य हुनेछौँ,“ उनले थपे ।

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

मोरङ, ७ फागुन । आज विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको छ । सो बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको छ ।

मोरङ, झापा र सुनसरी तथा भारतका किसनगञ्ज, अररिया र सुपौल जिल्लाका उच्च अधिकारीहरूबीच सम्पन्न सो बैठकले आगामी निर्वाचनका सुरक्षाका विषयमा छलफल गरेको जिल्ला प्रशासन कार्यालय मोरङद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैठकमा मतदान हुनुभन्दा ७२ घण्टा आगाडि सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति भएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र भारतको अररिया जिल्लाका डिष्ट्रिक मजिष्ट्रेट विनोद दुहानको सह–अध्यक्षतामा सम्पन्न उक्त बैठकले निर्वाचनका समयमा सम्भावित सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न संयुक्त सीमा गस्तीलाई सशक्त बनाउनाका साथै सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त पार्ने निर्णय बैठकले गरेको छ ।

त्यसैगरी सीमा क्षेत्रमा हुने अवैध गतिविधिहरू, तेस्रो देशका नागरिकहरूको अनधिकृत प्रवेश, लागुऔषध तथा मानव बेचबिखन, जाली नोटको कारोबार, हतियार र नगद तस्करी नियन्त्रणका लागि निरन्तर सहकार्य गर्ने विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले सरकार चलाएको २०४६ देखि २०५१ स्वर्णिम युग थियोः सभापति थापा

काठमाडौँ, ७ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्म पार्टीले सरकार चलाएको समयलाई कांग्रेसले स्वर्णिम युगका रूपमा लिने बताएका छन् ।

पार्टीको प्रतिज्ञापत्रका सन्दर्भमा आज भएको खुला प्रश्नोत्तर कार्यक्रममा सभापति थापाले त्यसैबलाको जगमा अहिलेसम्म मुलुकको आर्थिक विकास टिकेको बताए । तर समयानुकूल परिवर्तन हुँदै मुलुकको समृद्धिको यात्रा तय गर्नुपर्ने उनको भनाइ छ ।

“विसं २०४६ सालपछि ०५१ सालसम्मको कांग्रेसले चलाएको सरकारकैबेला आर्थिक सुधारका दह्रो पाइला टेकिएको थियो”, उनले भने, “कांग्रेसले त्यसैका कारण लामो समयसम्म कम्युनिष्ट पार्टीका साथीहरूबाट निरन्तर लखेटिनुप¥र्यो । हामी निरन्तर लखेटियौँ । हाम्रा सार्वजनिक नीतिहरूका बारेमा नागरिकलाई बुझाउन सकेनौँ त्यो हाम्रो कमजोरी रह्यो । तर आज पनि नेपालमा जे–जति कुरा आएका छन् त्यसको कथा खोज्दै गयो भने २०५९ साल सुरु गरेकै योजनाको जगमा आएका छन् ।”

पार्टी स्थापनाकालमा नेताहरूले ३० वर्षपछिसम्मको सपना देखेको विषयलाई उनले स्मरण गरे । “जननायक बिपी कोइरालाले त्यसबेला प्रत्येक नेपाली म जस्तै मध्यमवर्गीयस्तरको हुनुपर्छ भनेर सपना देख्नुभयो”, सभापति थापाले भने, “आज हामी हिजो गरेका उपलब्धिप्रति गौरब गर्छौं । हाम्रा ऐतिहासिक मूल्यमान्यतालाई अझै उज्याले बनाउछौँ ।”

विसं २०३३ को अप्ठ्यारा दिनमा सात वटा ज्यान मुद्दा बोकेर राष्ट्रियता जोगाउन नेताहरू नेपाल आएको उनको भनाइ छ । सभापति थापाले भने, “हाम्रा आफ्ना सङ्घर्षका दिनहरू सम्झन्छौँ । तीस वर्षको पञ्चायती कालरात्रिमा एकपटक पनि हाम्रो नेतृत्वले सत्तातिर हेरेर फर्केन ती दिनहरू सम्झदै हामी अघि बढ्ने छौँ ।”

मुलुकको समृद्धि र समुन्नतिका लागि कांग्रेसले आगामी ३० वर्षपछिको सपना देखेर अघि बढेको उनको दाबी छ ।

सात महिनामा मेची भन्सारद्वारा नौ अर्ब बयानब्बे करोड राजस्व असुली

भद्रपुर (झापा)-मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार सङ्कलनको लक्ष्य निर्धारण भएको थियो ।

यद्यपि माघमा मात्रै एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार सङ्कलन भएको छ । यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो ।चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ ।

एमालेका पूर्वमन्त्री रामवीर मानन्धर कांग्रेसमा प्रवेश

काठमाडौं । नेकपा एमालेका नेता पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सभापति गगन थापाले मानन्धरलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन्। उनी काठमाडौँ क्षेत्र नम्बर ७ मा प्रभावशाली नेताका रुपमा चिनिन्छन।

उक्त अवसरमा थापाले लोकतान्त्रिक मूल्य, सुशासन र उत्तरदायी शासन प्रणाली निर्माणमा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुभवी नेताहरूको सहभागिताले पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे।

पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन्। यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। स्थानीय तहदेखि संघीय संसद्सम्मको अनुभव बोकेका मानन्धरको कांग्रेस प्रवेश गरेका हुन्।

माल्दिभ्समा राष्ट्रपति र संसदीय चुनाव एकसाथ गर्ने योजना

माले । खर्च घटाउने उद्देश्यका साथ माल्दिभ्सले राष्ट्रपति र संसदीय चुनाव एकै दिनमा सञ्चालन गर्ने सम्भावना परीक्षण गर्न अप्रिलमा राष्ट्रव्यापी जनमतसङ्ग्रह गर्ने निर्णय गरेको एक अधिकारीले बुधबार बताएका छन् ।

राष्ट्रपति मोहम्मद मुइज्जुले अप्रिल ४ का लागि जनमतसङ्ग्रह तोक्नुभएको छ, जसले स्वीकृत भएमा अर्को संसदीय मतदान अगाडि ल्याउनेछ र वर्तमान संसदीय कार्यकाल करिब पाँच महिना छोट्याउनेछ ।

संसदीय चुनाव सन् २०२९ को सुरुमा र राष्ट्रपति चुनाव सेप्टेम्बर २०२८ मा हुने निर्धारित भएको थियो । मुइज्जुका प्रवक्ताले राष्ट्रपतिले सोमबार राति जनमतसङ्ग्रह आदेश जारी गरेको जानकारी दिए । यस प्रक्रिया स्थानीय परिषद्को निर्वाचनसँगै हुनेछ ।

राष्ट्रपति मुइज्जुले दुवै राष्ट्रिय चुनाव एकै दिन सञ्चालन गर्दा हिन्द महासागरको द्वीपसमूहलाई करिब ८० लाख डलर बचत हुने तर्क गरेका छन् । उनको पार्टीको प्रभुत्व रहेको पिपुल्स मजलिसले गत हप्ता संवैधानिक संशोधनमार्फत चुनावी क्यालेन्डर समन्वय गर्न प्रस्ताव पारित गरेको थियो । पूर्वराष्ट्रपति मोहम्मद नाशिदले पनि यो सुधारलाई समर्थन गरेका छन् ।

माल्दिभ्सले वित्तीय दबाब सामना गर्दै सुधारका लागि कदम चालिरहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले गत वर्ष तीव्र गतिमा बढेको पर्यटन उद्योगका बाबजुद अर्थतन्त्र स्थिर बनाउन सुदृढीकरण उपायहरू अपनाउन सुझाएको थियो । सन् २०२४ मा सरकारले आइएमएफको बेलआउट अस्वीकार गर्दै मुइज्जुको तलब आधा गर्ने र व्यापक खर्च कटौती गर्ने योजना घोषणा गरेको थियो ।

करिब तीन लाख ८२ हजार मानिस बसोबास गर्ने माल्दिभ्सले आफ्नो आर्थिक तनाव अस्थायी रहेको जनाएको छ र हाल कुनै बाह्य सहायता लिने योजना नरहेको बताइएको छ । नयाँ कदमले खर्च घटाउने मात्र नभई, चुनाव प्रक्रियामा समन्वय र प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ ।

नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

लिस्बन । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा बस्ने भएकाे छ । बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यसहित नेपाल–पोर्चुगल सम्बन्धको समग्र अवस्थाको समीक्षा हुनेछ ।

बैठकको सह–अध्यक्षताका निम्ति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई यहाँ आइपुगेका छन् । यहाँस्थित नेपालको राजदूतावासका अनुसार द्विपक्षीय परामर्शका क्रममा परराष्ट्र सचिवले पोर्चुगलको परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुका साथै नवस्थापित नेपाली दूतावासको उद्घाटन गर्ने कार्यक्रम छ ।

यहाँ रहँदा परराष्ट्र सचिवले नेपाली समुदायका प्रतिनिधिहरूसँग छलफल पनि गर्नेछन्। हाल पोर्चुगलमा ४० हजारभन्दा बढी नेपालीको बसोबास छ ।

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूका साथै पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल तथा दूतावासका अन्य अधिकारी रहने छन् ।

प्रतिनिधिमण्डल आगामी आइतबार स्वदेश फर्कने छ । सन् २०१८ मा नेपाल–पोर्चुगल परामर्श संयन्त्र स्थापना भएको हो ।

लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक दल, नेतृत्व र नागरिक सचेत बन्न आवश्यक छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

यस अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, “आजको दिनले हामीलाई संविधानमा निहित सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र कानुनी राज्यलाई अक्षुण्ण राख्दै गरिबी, अशिक्षा, बेरोजगारी एवं विभेद अन्त्य गर्ने दिशामा एकजुट भएर अघि बढ्न प्रेरित गर्दछ । लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक दल, नेतृत्व र नागरिक सबैले आदर्श आचरण, सकारात्मक सोच र जिम्मेवारपूर्ण व्यवहारलाई आत्मसात् गर्न आवश्यक छ ।”

प्रजातन्त्र दिवसले नागरिक अधिकारको रक्षा, समान अवसरको सुनिश्चितता, सामाजिक न्यायमा आधारित समतामूलक समाजको निर्माण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन सम्बद्ध सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा उपराष्ट्रपतिले जोड दिएका छन् ।

भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको संकल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गरौँ – प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक सन्देश जारी गर्दै उनले भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको संकल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गर्नुपर्ने बताएकी छिन् ।

स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि एकजुट हुनु पर्ने उनले बताएकी छिन् ।

उनले लेखेकी छिन्
७६औँ प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना।२००७ सालको क्रान्तिले हामीलाई रैतीबाट नागरिक बनायो र २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचनको सुरुवात भयो।

तर लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ। पटकपटक आन्दोलन गर्नुपर्‍यो।अब त्यस नियतिको अन्त्य गर्नैपर्छ।भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको संकल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गरौँ।

स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि एकजुट बनौँ। प्रजातन्त्र र सुशासनका लागि जीवन अर्पण गर्ने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।

राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको आज ऐतिहासिक दिन – ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक सन्देश जारी गर्दै उनले प्रजातन्त्र दिवस, जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन भएको बताएका छन् ।

उनले आजको ऐतिहासिक दिनबाट प्रेरणा लिँदै हामी सबै जागरूकता पूर्वक अघि बढ्न सिक्नुपर्ने बताएका छन् । उनले अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा सम्मान पनि व्यक्त गरेका छन् । ।

उनले लेखेका छन् – आज प्रजातन्त्र दिवस, जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन। प्रजातन्त्रका लागि आफ्नो जीवन अर्पण गर्नुहुने अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा सम्मान ।

आजको दिनले हामीलाई तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउँछ -पहिलो, राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउने।

दोस्रो, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवित राख्ने।तेस्रो, आम विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रका धरोहर, हाम्रो समृद्ध मानवीय संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा गर्ने। आजको ऐतिहासिक दिनबाट प्रेरणा लिँदै हामी सबै जागरूकता पूर्वक अघि बढ्न सकौं । प्रजातन्त्र दिवसको हार्दिक शुभकामना।

प्रतिज्ञा पत्रबारे सभापति थापासँग आज खुला प्रश्नोत्तर गरिने

काठमाडौंँ । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ । हिजो जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने जानकारी दिए।

आज दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञा पत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने छन् । सभापति थापाले ठूलो ‘एलइडि स्क्रिन’मार्फत प्रतिज्ञापत्रको संक्षेपमा जानकारी गराउने कार्यक्रम रहेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए।

कार्यक्रमस्थल राष्ट्रियसभा गृहमा सहभागीबाट पनि प्रश्न लिने र त्यसको जवाफ सभापतिले थापाले दिने व्यवस्था मिलाइएको छ । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने र आगामी पाँच वर्षमा गर्ने योजनाको खाका प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ ।

प्रतिज्ञापत्रमा समेटिएका विषयलाई आम नागरिकले प्रश्न गर्न र जिज्ञासा राख्न पाउने छन् । नेपालको राजनीतिक इतिहासमा चुनावी घोषणापत्रका बारेमा नागरिकले प्रश्न गर्ने र सम्बन्धित दलका नेताले सार्वजनिक र प्रत्यक्ष रूपमा जवाफ दिने अभ्यास पहिलो पटक हुन लागेको जनाइएको छ।

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, बन्दा (तराई) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ३०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ४५, काउली तराई प्रतिकिलो रु ३०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ६५, तिते करेला प्रतिकिलो रु १८०, घिरौँला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु १८, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १८, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ६५, बरेला प्रतिकिलो रु ६५, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो प्रतिकेजी रु ३५, चमसुर प्रतिकिलो रु ३०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ४६०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु २८०, रातो बन्दा प्रतिकिलो रु ८०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु ४०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु २२०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु २००, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १४५, काँक्रो (लोकल) प्रतिकिलो रु १७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ७०, रुखकटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १४०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ९००, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु ६०, हरियो धनियाँ प्रतिकिलो रु ५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २५०, छ्यापी सुकेको प्रतिकिलो रु १५०, छ्यापी हरियो प्रतिकिलो रु १५०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु रहनेछ भने हिमाली भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा तथा बाँकी पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति तराईका केही स्थानमा तुवाँलो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भागमा बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भभागका एकदुई स्थानमा हल्का र वर्षा हिमपातको सम्भावना रहेकाले यातायातका साधन सञ्चालन, कृषिकर्मलगायत अन्य दैनिक गतिविधिमा संग्लन सर्वसाधारण तथा सरोकार भएका सबैलाई सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।

भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु

चितवन। चितवनको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु गरिएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि इन्धन ‘रिफिलिङ’सेवा सुरु गरेको हो ।

लिमिटेडका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले हवाई इन्धनका कारण यात्रुलाई असुविधा नहोस् भनेर सेवा सुरु गरिएको बताउनुभयो ।

हाल यहाँबाट दैनिक आठवटा उडान हुँदै आएको बताउँदै उहाँले आवश्यकताअनुसार हवाई इन्धन भर्न सक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भरतपुरमा दुईवटा रिफिलिङ काउन्टर स्थापना गरिएको छ, जहाँबाट दैनिक २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिने छ । हाललाई लिमिटेडको सिनामङ्गल कार्यालयमा रहेका छ जना कर्मचारीमार्फत सेवा सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

यहाँबाट हाल दैनिक भरतपुर–काठमाडौँ–भरतपुर र आंशिक रूपमा भरतपुर–पोखरा– भरतपुर उडान हुँदै आएको छ । बुद्व एयरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले रिफिल काउन्टर स्थापना भएसँगै यात्रु तथा जहाजलाई सहज भएको बताउनुभयो ।

“अब जहाजले तेल बोकेर आउनुपर्ने समस्या हुने छैन, जसका कारण काठमाडौँबाट आउने जहाजमा थप यात्रु ल्याउन पाइने छ”, उहाँले भन्नुभयो ।

निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छ: कावा प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्बाध रूपमा चुनावी प्रचारप्रसार गर्न आह्वान गरेका छन् ।

दशौँ निर्वाचन दिवसका अवसरमा आज एक सन्देश दिँदै उनले निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक र आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न अपिलसमेत गरे ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भनेका छन्, “स्वच्छ, स्वतन्त्र, विश्वसनीय, पारदर्शी एवम् मितव्ययी निर्वाचन शान्ति, स्थिरता, समृद्धि र सुशासन भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै सबै सरोकार भएकाहरू सँगको समन्वय, सहयोग, साझेदारी र सहकार्यमा यही फागुन २१ गते हुने निर्वाचनले विद्रोहपछि भड्किएको अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास गरेको छु ।”

नेपालमा पहिलो आमनिर्वाचन अर्थात् प्रतिनिधिसभा सदस्य निर्वाचन विसं २०१५ फागुन ७ गते सुरु भई २०१६ वैशाख २१ गते सम्पन्न भएको थियो । यो नै नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएको पहिलो आमनिर्वाचन हो । नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्न पाएको सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउने गरिएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि राष्ट्रपतिबाट घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन आउन अब १४ दिन बाँकी छ । यस पटकको निर्वाचन दिवस आयोगका लागि मात्र नभएर आममतदाता, नागरिक, राजनीतिक दल र उम्मेदवारका लागि पनि विशेष र अविस्मरणीय रहेको कावा प्रमुख आयुक्त भण्डारीको भनाइ छ ।

लोकतान्त्रिक शासन व्यवस्थालाई जीवन्त राख्न र उत्तरदायी बनाउन आवधिक निर्वाचनको भूमिका महत्त्वपूर्ण रहने र यो स्वाभाविक र लोकतान्त्रिक प्रक्रियाको एक हिस्सा भएको उल्लेख गरेका छन् । कावा प्रमुख आयुक्त भण्डारीले उल्लेख गरेका छन्, “लोकतान्त्रिक व्यवस्थामा जनताको मनोभावना, अपेक्षा र निर्णयको अभिव्यक्ति आवधिक रूपमा प्रकट भइरहनु अनिवार्य हुन्छ । आममतदाताले मताधिकारमार्फत प्रकट गर्ने अभिमतले शासन व्यवस्थालाई पुनर्ताजगी गर्छ । स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन नै वैध सरकारको आधार हो ।”

स्वतन्त्र र निष्पक्ष प्रतिस्पर्धाबाट नियमित रूपमा जनप्रतिनिधि चुनिने प्रक्रियाले नै लोकतन्त्रलाई चिरस्थायी बनाउने भन्दै उनले निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गरे । “निर्वाचनले नै शासनमा जनताको स्वामित्व सुनिश्चित गर्छ”, उनले भनेका छन् ।

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस्ः राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गर्नुभएको छ । उहाँले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनि कामना गर्नुभएको छ ।

शुभकामना सन्देशमा भनिएको छ, “प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनलाई पथ प्रदर्शन गर्नुहुने अग्रजहरूप्रति सम्मान एवम् श्रद्धा प्रकट गर्दछु ।’

राष्ट्रपति पौडेलले संविधान, लोकतन्त्र र जनताले चाहेको सुशासन र तीव्र विकासको बाटो पहिल्याउन यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल पार्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै त्यसमा योगदान गर्न सबैलाई अपिल पनि गर्नुभएको छ ।

विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरुद्ध बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा नागरिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ । मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा अङ्कित भएको राष्ट्रपति पौडेलको भनाइ छ ।

लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैँले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने कुरालाई बिर्सन नहुने बताउँदै उहाँले प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्व स्थायी बनाउनाका साथै सहिदहरूको अमर गाथा पनि सदैव स्मरण गराउने उल्लेख गर्नुभएको छ ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि हो । लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने छ”, शुभकामना सन्देशमा उल्लेख छ,“जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको छ । नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।”

राष्ट्रपति पौडेलले सुशासनमार्फत मुलुकको विकास र समृद्धि नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट भएकाले यस कार्यमा लाग्न अपिलसमेत गर्नुभएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३० पैसा र बिक्रीदर १७२ रुपैयाँ १ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९७ रुपैयाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४० पैसा र बिक्रीदर १०२ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ १५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर दश रुपैयाँ ३ पैसा र बिक्रीदर १० रुपैयाँ ७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ११ पैसा र बिक्रीदर १६ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९३ पैसा र बिक्रीदर २३ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ २२ पैसा र बिक्रीदर ४७६ रुपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६३ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

पूर्वराजा शाहद्वारा प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।प्रजातन्त्र दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उहाँले गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको औँल्याउनुभएको छ ।

पूर्वराजा शाहले भन्नुभएको छ, “विगतमा भएका आन्दोलन र सङ्घर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको छ । अधिकार मात्र खोज्ने, तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाउँदै गएको अवस्था छ । त्यसैले सबैले गम्भीर भएर सोच्नुपर्छ ।”

एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा पूर्वराजा शाहको जोड छ ।

लोकतान्त्रिक, प्रगतिशील उम्मेदवारलाई विजयी गराउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा एक सन्देश जारी गर्दै उहाँले राष्ट्रलाई सङ्कटतिर जानबाट रोक्न आगामी निर्वाचनको सही उपयोग हुनुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले चुनावमा नयाँ भनिनेसँग कुनै नयाँ नीति, कार्यक्रम वा प्रतिबद्धता नदेखिएको धारणा राख्दै पहिलेदेखि काम गर्दै आएका पार्टीहरूले आफ्ना विगतका कमजोरीहरु सच्याउँदै नयाँ सङ्कल्प लिएर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभएको छ । आसन्न निर्वाचन सम्पूर्ण नेपालीका निम्ति एउटा अर्को अवसर र चुनौतीका रूपमा हेर्नुपर्ने खनालको भनाइ छ ।

नेपालको इतिहासमा निरङ्कुश तानाशाही राणा शासनविरुद्ध लोकतन्त्रको आवाज घन्काउँदै प्रजातान्त्रिक प्रक्रियाले विजय प्राप्त गरेको स्मरण गर्दै नेता खनालले यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले प्रजातन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै यस अवधिमा लोकतान्त्रिक क्रान्ति, संविधानसभा, नयाँ संविधान, नयाँ आम निर्वाचन र दुई तिहाइको सरकार बनाउने जस्ता ऐतिहासिक उपलब्धि प्राप्त गरेको स्मरण गर्नुभएको छ । “सहिदहरूकै बलिदानले देशमा पटक पटक परिवर्तन भएको छ ।

पछिल्लो समय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब दुई दशक पुग्न लाग्दा पनि मुलुकमा समृद्धि कायम हुन सकेको छैन । अब मुलुकमा क्रान्तिकारी भूमि सुधार, कृषिमा आधुनिकीकरण, राष्ट्रिय औद्योगिकीकरण, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तनको आवश्यकता छ”, उहाँले भन्नुभएको छ ।

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

काठमाण्डौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ ।

आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाएर जारी गरेको हो।कार्यविधिअनुसार आयोगले स्थायी मतदाता नामावली सङ्कलन गर्ने कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ । सो सूचना आयोगले आवश्यकताअनुसार राष्ट्रियस्तरका सञ्चारमाध्यमबाट समेत प्रकाशन तथा प्रसारण गर्न सक्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम स्थायी मतदाता नामावलीमा समावेश हुनेछ ।

निर्वाचन आयोगले जारी गरेको उक्त कार्यविधिअनुसार कुनै व्यक्तिको नाम छुटेको वा कुनै मतदाताको नाम वा विवरणमा कुनै त्रुटि भएमा सम्बन्धित व्यक्तिले आफ्नो नाम समावेश गराउन वा त्रुटि सच्याउन प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

संविधानको मर्मबमोजिम शासन व्यवस्था सञ्चालनमा ध्यान दिनुपर्नेमा उपाध्यक्ष घिमिरेको जोड

काठमाडौँ। राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संविधानको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन विषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले प्रजातन्त्र दिवस–२०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवम् दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र दिवसले त्यस कार्यमा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको हो ।

उपाध्यक्ष घिमिरेले नागरिकका आधारभूत मौलिक हक तथा मानव अधिकारको कार्यान्वयन गर्दै लोकतन्त्रका लाभहरूको समतामूलक र समन्यायिक वितरण गर्नतर्फ हाम्रो ध्यान जानु जरुरी उल्लेख गर्नुभएको छ । उहाँले प्रजातन्त्रमा नागरिकले निर्वाचनमार्फत आफ्ना अभिमत व्यक्त गर्ने भएकाले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबाट देशले अझै सुदृढ लोकतन्त्र र जनताको जनजीविकाको सवालमा खरो उत्रन सक्ने नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उपाध्यक्ष घिमिरेले भन्नुभएको छ, “कतिपय अवस्थामा निर्वाचनबाट नै तानाशाहको जन्म हुन सक्ने खतरा पनि उत्तिकै रहेको हुन्छ । यस पटक जनताले त्यस्तो अवस्था आउन नदिनतर्फ आफूलाई सतर्क राख्नुपर्छ ।”

उहाँले १०४ वर्षे लामो निरङ्कुश तथा तानाशाही राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण पनि गर्नुभएको छ । लामो सङ्घर्ष, त्याग र बलिदानको फलस्वरुप विसं २००७ फागुन ७ गते राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएसँगै सोही दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । नेपाली जनताको लोकतन्त्रप्रतिको समर्पित भावना र दृढ इच्छा शक्तिकै कारण संविधानमार्फत जनतामा निहित सार्वभौमसत्ता, स्वायत्तता र स्वशासनको अधिकार प्राप्त भएको उपाध्यक्ष घिमिरेले स्मरण गर्नुभएको छ ।

प्रजातन्त्र प्राप्तिको मार्गदर्शनमा वर्तमान संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्पसहित सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका जस्ता आधारभूत विशेषतालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको पनि उपाध्यक्ष घिमिरेको भनाइ छ ।

शुभकामना सन्देशमा भनिएको छ, “प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लोकतान्त्रिक व्यवहारलाई आत्मसात् गर्ने प्रेरणा सबैमा दिनेछ भन्ने विश्वास व्यक्त गर्दै पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

लोकतन्त्र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था हो: अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा लोकतान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउँदै अघि बढ्ने प्रण गर्नु मै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुने बताएका छन् ।

उनले प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था भएको उल्लेख गरेका हुन् ।

अध्यक्ष दाहालले भने, “राष्ट्रियसभाले नीति निर्माण, विधायन व्यवस्थापन, लोकतान्त्रिक अभ्यासको संस्थागत विकास, नागरिक अधिकारहरूको संरक्षण तथा राष्ट्रिय हितका विषयहरूमा निरन्तर क्रियाशील रहँदै आएको छ ।”

विसं २००७ को राजनीतिक परिवर्तनका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनले देशको अग्रगामी परिवर्तन र लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि विभिन्न समयमा भएका ऐतिहासिक जनसङ्घर्ष र जनआन्दोलनमा योगदान गर्ने सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

जारी शुभकामना सन्देशमा भनिएको छ, “जहानियाँ राणा शासनको अन्त गरी देशमा प्रजातान्त्रिक शासन व्यवस्था सुरुआत गरिएको फागुन ७ नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक दिन हो । प्रजातन्त्र दिवस मनाइरहँदा नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् संविधान सभाबाट निर्मित नेपालको संविधानको पालना, संरक्षण र कार्यान्वयनतर्फ सबैले ध्यान दिन जरुरी छ ।”

अध्यक्ष दाहलालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता, अभिव्यक्ति स्वतन्त्रता एवम् देशको समृद्धि र विकासका लागि सबैलाई एकताबद्ध भई अघि बढ्न प्रजातन्त्र दिवसले प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

दशौँ निर्वाचन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको सम्झनामा बिहीबार दसौँ निर्वाचन दिवस मनाइँदै छ ।

मुलुकमा प्रजातन्त्र स्थापनाको आठ वर्षपछि विसं २०१५ फागुन ७ गते आमनिर्वाचन भएको थियो । संवैधानिक अङ्गका रूपमा रहेको निर्वाचन आयोगले स्थानीय तहदेखि राष्ट्रपतिसम्मको निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा गराउँदै आएको छ ।

आयोग यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारीमा जुटिरहेको छ ।

आयोगले वर्तमान संविधान जारी भएपछि दुई पटक प्रतिनिधिसभा तथा प्रदेशसभा र स्थानीय तहको आवधिक निर्वाचन, तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा सदस्यको विभिन्न निर्वाचन र उपनिर्वाचन सम्पन्न गरिसकेको छ ।

उक्त निर्वाचनमार्फत जनप्रतिनिधि निर्वाचित भई जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक सङ्घीय शासन प्रणालीको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह भइरहेको छ ।

इतिहासका सबै कालखण्ड र राजनीतिक परिवर्तनका हरेक नयाँ उपलब्धिमा मुलुकले अङ्गीकार गरेको शासन व्यवस्था र निर्वाचन प्रणालीलाई संविधान र कानुन बमोजिम निर्वाचनको माध्यमबाट वैधानिकता प्रदान गर्ने संवैधानिक दायित्व पूरा गर्दै आइरहेको छ ।

यस वर्ष आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमै केन्द्रित हुन परेकाले बिहीबार कान्तिपथस्थित परिसरमा कार्यक्रम आयोजना गरी दिवस मनाउन लागिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले राससलाई जानकारी दिए ।

इरानले भावी अमेरिकी वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पारिरहेको छ : इरानी कुटनीतिज्ञ

तेहरान। तेहरानले वाशिङ्गटनसँग भविष्यको वार्ताको रूपरेखा तयार गरिरहेको इरानका उच्च कूटनीतिज्ञ अब्बास अराघचीले बुधबार संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थासँगको टेलिफोन वार्ताको क्रममा बताउनुभएको छ।

इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आइएइएका प्रमुख राफेल ग्रोसीसँगको कुराकानीमा अराघचीले भविष्यको वार्तालाई अगाडि बढाउनका लागि प्रारम्भिक र सुसङ्गत ढाँचाको मस्यौदा तयार गर्नमा इरानको ध्यान केन्द्रित गर्न जोड दिनुभएको छ ।

जेनेभामा इरान र संयुक्तराज्य अमेरिकाबीच ओमानको मध्यस्थतामा भएको दोस्रो चरणको वार्ताको भोलिपल्ट यो फोन वार्ता भएको हो ।

अराघचीले मङ्गलबार भन्नुभयो, “तेहरानले द्वन्द्वबाट बच्नका लागि सम्झौताका लागि ‘मार्गदर्शक सिद्धान्तहरू’ मा सहमति जनाएको छ।” यसबारे अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भन्नुभयो, “तेहरानले वाशिङ्गटनको सबै ‘सीमा सर्त’ लाई अझै स्वीकार गरेको छैन।”

अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले पनि बुधबार वाशिङ्गटनले तेहरानलाई ‘कुनै न कुनै तरिकाले’ आणविक हतियार प्राप्त गर्नबाट रोक्ने बताउनुभएको छ ।

भियनामा रहेको इरानी नियोगका अनुसार बुधबार भियनामा आइएइएका लागि इरानका स्थायी प्रतिनिधि रेजा नजाफीले ग्रोसी र मित्र राष्ट्रहरू चीन र रुसका राजदूतहरूसँग संयुक्त बैठक गरी एजेन्सीको बोर्ड अफ गभर्नरको आगामी बैठक र इरानको आणविक कार्यक्रमसँग सम्बन्धित घटनाक्रमबारे विचार आदानप्रदान गर्नुभएको थियो ।

तेहरानले आइएइएसँगको केही सहयोग निलम्बन गरेको छ र वाचडगका निरीक्षकहरूलाई जूनमा १२ दिने युद्धको क्रममा इजरायल र संयुक्त राज्य अमेरिकाले बमबारी गरेको स्थलहरूमा पुग्न प्रतिबन्ध लगाएको छ ।

संयुक्त राष्ट्र सङ्घीय निकायले इरानमाथि भएको आक्रमणबारे पूर्वाग्रही बनेको र आक्रमणको निन्दा नगरेको आरोप इरानले लगाएको छ ।

हालैका हप्ताहरूमा यस क्षेत्रमा वाशिङ्गटनको सैन्य निर्माणको बीचमा इरानमा अमेरिकी सैन्य हस्तक्षेपको सम्भावनालाई रोक्न कूटनीतिक प्रयासहरू जारी छन्।

देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला यही चुनावले गर्छ – संयोजक दाहाल

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा जनतासँगको भेटघाट तथा अन्तरक्रियामा क्रान्तिको आधारभूमिलाई विकासको नमुना जिल्लामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सिस्ने गाउँपालिकाको खुपिचार, खारा, भीङ, पोखरा, सिस्नेरी र धपेमा आयोजित कार्यक्रममा उहाँले जनयुद्धकालीन स्मृतिहरू सम्झँदै रुकुम–रोल्पा आफ्नो राजनीतिक कर्मथलो रहेको बताउनुभयो ।

“रुकुमपूर्व मेरा लागि नयाँ ठाउँ होइन । म ४१ वर्ष पहिले नै यहाँ आएको थिएँ। रुकुम–रोल्पा मेरै नेतृत्वमा भएको जनयुद्धको आधार इलाका हो । यहीँबाट मैले क्रान्तिको नेतृत्व गरेँ”, उहाँले भन्नुभयो।

संयोजक दाहालले रुकुमपूर्वलाई आफ्नो अर्को कर्मथलोका रूपमा उल्लेख गर्दै यहाँ आउँदा नयाँ ऊर्जा प्राप्त भएको बताउनुभयो । जनतासँगको भेटघाटलाई उहाँले विजय उत्सवसँग तुलना गर्नुभयो ।

“कतै भव्य जुलुस छ, कतै पञ्चेबाजा बजेका छन् । मत माग्न होइन, विजय उत्सव मनाइरहेको जस्तो लाग्छ”, उहाँले भन्नुभयो । उहाँले वर्तमान निर्वाचनलाई नियमित प्रक्रिया नभई विशिष्ट समयको राजनीतिक प्रतिस्पर्धा भएको उल्लेख गर्नुभयो ।

आफ्नो नेतृत्वको पार्टी सुशासन र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानमा अग्रसर रहेको बताउँदै जनताले सकारात्मक शक्तिलाई विजय गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिँदै सेना र प्रहरीप्रति भरोसा व्यक्त गर्नुभयो ।

“यो निर्वाचन राष्ट्रका लागि महत्वपूर्ण छ । देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला यही चुनावले गर्छ”, उहाँले उल्लेख गर्नुभयो ।

भौतिक कठिनाइका बाबजुद जनताबीच पुग्दा आफूले नयाँ ऊर्जा प्राप्त गरेको बताउँदै दाहालले रुकुमपूर्वलाई विकासको नमुना जिल्ला बनाउने प्रतिबद्धता दोहोर्‍याउनुभयो ।

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री तथा नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

निर्वाचन तयारीको सिलसिलामा आज काठमाडौँको निर्वाचन क्षेत्र नं–३, गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजल क्षेत्रका विभिन्न मतदान केन्द्र तथा निर्वाचन अधिकृतको कार्यालयको स्थलगत निरीक्षण गर्दै उनले सुरक्षा व्यवस्था र आवश्यक तयारीबारे जानकारी लिएका थिए ।

निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा आउन सक्ने गलत र मिथ्या सूचना तथा दुष्प्रचारबाट सचेत रहँदै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्बद्ध अधिकारीलाई निर्देशन दिए । गृह सचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसहितको टोलीले गोकर्णेश्वर र ओख्रेनी माविमा रहेका मतदान केन्द्र एवं धापड्याम क्षेत्रको अवलोकन गरेको थियो ।

सो अवसरमा निर्वाचन अधिकृतहरूले जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा र निर्वाचन सामग्री ढुवानीलगायतका तयारी चुस्त रूपमा अघि बढिरहेको जानकारी गराएका थिए ।

एनआरएनए भित्र बृहत् एकता गर्न रोविन शेरचनले गरे अपिल

टोकियो । गैरआवासीय नेपाली संघका उपाध्यक्ष रोविन शेरचनले संस्थाभित्र बृहत् एकताका लागि अपिल गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शेरचनले आगामी मार्च महिनामा हुन गई रहेको एनआरएनएको १२ औँ महाधिवेशनमा निर्वाचन प्रणाली, डेलिगेट्स छनोट लगायतका विषयमा विवाद चर्किएको बेला शेरचनले त्यस्तो अपिल गरेका हुन् ।

एनआरएनएको १२ औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका शेरचनले निर्वाचन प्रणाली, डेलिगेट्स छनोट लगायतका विषयमा व्यापक छलफल गरी सहमतिको बिन्दु पत्ता लगाउन आग्रह गरे ।

जापान निवासी शेरचनले अहिले संस्था र प्रवासमा बस्ने नेपालीहरूको हितका लागि एकताबद्ध एनआरएनए नै प्रमुख आवश्यकता रहेको बताए । शेरचनले एकताको महाधिवेशनको विकल्प नभएको पनि बताए ।

अध्यक्षका प्रत्याशी शेरचनले सबैले आफ्नो हठ त्यागेर संस्थालाई एकताबद्ध बनाउन अपिल गरे । उनले व्यक्ति भन्दा पनि संस्थागत हितका लागि सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए ।

केही समय अघि आफ्नो घोषणा पत्र पनि सार्वजनिक गरेका शेरचनले एनआरएनको निर्वाचन भौतिकरुपमा गर्नु नै उपयुक्त हुने पनि बताए । स्टेरिङ कमिटीले निर्वाचन प्रणालीबारे सङ्कल्प प्रस्ताव ल्याउने निर्णय गरेकोतर्फ सङ्केत गर्दै शेरचनले सकेसम्म संसारभरकै सबै सदस्यहरूले मतदान गर्ने व्यवस्था गर्नु पर्नेमा जोड दिए ।

अहिले अनलाइन र भौतिक माध्यमबाट चुनावको विषयमा स्पष्ट निर्णय नभइसकेको अवस्थामा सबैलाई समेट्नका लागि सबै सदस्यले अनलाइनमार्फतबाट मतदान गर्न पाउने व्यवस्था उपयुक्त हुने पनि उनले उल्लेख गरे ।

विगतमा विभिन्न समूहमा विभाजित एनआरएनए नोभेम्बर ३० तारिखमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकताबद्ध भएका थिए । त्यति बेला भएको १० बुँदे सहमति अनुसार मार्च १४–१६ काठमाडौँमा १२ औँ महाधिवेशन हुँदै छ ।

सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा

कास्की। आयोजक सहारा क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा छ पटकका च्याम्पियन टोली मनाङ मस्र्याङदी क्लबलाई ‘सडन डेथ’मा पराजित गर्दै सहारा फाइनलमा पुगेको हो। खेलको नियमित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा समेत दुबै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा पाँच÷पाँच गोल भएपछि खेल सडन डेथमा पुग्यो । मनाङका कप्तान सविन श्रेष्ठको प्रहार सहाराका गोलकिपर टिकेन्द्र थापाले रोकेपछि सहारा नौ वर्षपछि आहा राराको फाइनलमा पुग्न सफल भएको हो। ट्राइब्रेकरमा सहाराका कप्तान सुशील लामा, विक्की चामलिङ राई, आशिष गुरुङ, मुकुन्दकुमार न्यूरे, शिसश थापा, विनय तामाङ र प्रशन्न श्रेष्ठले गोल गरे।

यसैगरी मनाङका अशिष श्रेष्ठ, गिदोन नोआ क्यारेमेह, रोनिश राजवक, दीपेश गुरुङ, ज्ञानबहादुर पुलामी र नवराज गुरुङले गोल गरे । सहारा अन्तिम पटक विसं २०७३ मा फाइनल पुगेको थियो । त्यसबेला फाइनलमा मनाङसँगै सहारा पराजित भएको थियो । त्यसयता सहारा फाइनल पुग्न सकेको थिएन।

प्रतियोगिताको दोस्रो सेमिफाइनलको खेलमा बिहीबार जावलाखेल युथ क्लब र पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लबकाबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजक सहारा क्लबले जनाएको छ। गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल यही फागुन ९ गते शनिबार हुनेछ ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने र उपविजेता टोलीले रु सात लाख एक हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।

त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने र अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउने छन् ।

लागुऔषध ओसारपसार : ९९ जनाविरुद्ध ६५ मुद्दा दर्ता

काठमाडौँ । नेपाल प्रहरीले यहाँ गत माघ महिनामा लागुऔषध कारोबारका अभियोगमा ९९ जना आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत माघ महिनामा काठमाडौँका विभिन्न क्षेत्रका गरिएको खोजी अभियानका क्रममा सात महिलासहित ९९ जनालाई लागुऔषधसहित पक्राउ गरिएको र उनीहरुविरुद्ध ६५ वटा मुद्दा दर्ता भएको छ ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले उनीरुबाट खैरो हेरोइनमात्रै ५५.१८ ग्राम बरामद भएको छ । यस्तै लागुऔषध ट्रमाडोल मात्रै २३ हजार ३०० ट्याबलेट र नाइट्राजेपाम दुई हजार ८१३ एम्पल बरामद गरिएको छ ।

गाँजा २ किलो, डाइजेपाम ९३ एम्पुल, फेनारगन ६२ एम्पुल, नुर्फिन १५१ एम्पुल, नाइट्राभेट १० एम्पुल बरामद गरिएको छ । यस्तै स्पामो १२६ क्याप्सुल पोल्याण्ड ६७८ ग्राम पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ प्रहरीका अनुसार गएको एक महिनाको अवधिमा आात्महत्याका ३६ घटना भएको छ । यसमा १९ देखि ३९ वर्षका २७ छन् । आात्महत्या गर्नेमा २४ पुरुष रहेका पनि प्रहरीले जनाएको छ ।

अनुचित लेनदेनतर्फ सात मुद्दा दर्ता भएको र दुई मुद्दा मिलापत्र भएको पनि प्रहरीले जानकारी दिएको छ । ती मुद्दाहहरुमा रु आठ करोडभन्दा बढीको मागदाबी रहेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।

एमाले सधैँ देश निर्माण गर्ने शक्ति हो : ईश्वर पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेले सधैँ देश निर्माण गर्ने शक्ति भएको बताएका छन्।

बुधबार टोखामा आयोजित घरदैलो कार्यक्रममा उनले भने, “एमालेले देश बनाउने काम गर्छ, देश विगार्ने काम गर्दैन ।”

नेता पोखरेलले जनताका गुनासा, आलोचना र समस्या सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्र्याकमा ल्याउनैका लागि देशभर एमालेको जित आवश्यक रहेको औँल्याए।

प्रतिज्ञा पत्रबारे सभापति थापासँग भोलि खुला प्रश्नोत्तर गरिने

काठमाडौंँ । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ । आज जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने जानकारी दिए।

भोलि बिहीबार दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञा पत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने छन् । सभापति थापाले ठूलो ‘एलइडि स्क्रिन’मार्फत प्रतिज्ञापत्रको संक्षेपमा जानकारी गराउने कार्यक्रम रहेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए।

उनले भने, “कांग्रेसले आज मधेसको राजधानी जनकपुरबाट सार्वजनिक गरेको प्रतिज्ञापत्रका बारेमा बिहीबार काठमाडौँमा विस्तृतमा जानकारी दिने र त्यसमा उल्लेखित विषयमा खुला प्रश्नोत्तर कार्यक्रम राखिएको छ ।” प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रुपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गर्न लागिएको प्रवक्ता चालिसेले जानकारी दिए।

कार्यक्रमस्थल राष्ट्रियसभा गृहमा सहभागीबाट पनि प्रश्न लिने र त्यसको जवाफ सभापतिले थापाले दिने व्यवस्था मिलाइएको छ । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने र आगामी पाँच वर्षमा गर्ने योजनाको खाका प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ ।

प्रतिज्ञापत्रमा समेटिएका विषयलाई आम नागरिकले प्रश्न गर्न र जिज्ञासा राख्न पाउने छन् । नेपालको राजनीतिक इतिहासमा चुनावी घोषणापत्रका बारेमा नागरिकले प्रश्न गर्ने र सम्बन्धित दलका नेताले सार्वजनिक र प्रत्यक्ष रूपमा जवाफ दिने अभ्यास पहिलो पटक हुन लागेको जनाइएको छ।

जेनेभामा दोस्रो दिन पनि युक्रेन र रुसबिच वार्ता

काठमाडाैँ । मस्को र किएभका दूतहरूले बुधबार जेनेभामा अमेरिकी मध्यस्थतामा लगातार दोस्रो दिनको वार्ता जारी राखेर चार वर्षअघि सुरु भएको युद्धपछि उत्पन्न राजनीतिक र सैन्य मतभेदहरूको समाधान खोज्ने प्रयास गरेका छन् ।

अधिकारीहरूका अनुसार दुवै पक्षले राजनीतिक र सैन्य मार्गदर्शनका विषयमा कार्य समूहमार्फत परामर्श गर्दै छन् र हिजो छलफल गरिएका निर्णयका मापदण्ड र कार्यान्वयनको स्पष्टता सुनिश्चित गर्न प्रयास भइरहेको छ ।

स्विट्जरल्यान्डमा जारी वार्ता अमेरिकाद्वारा आयोजित प्रत्यक्ष वार्ताको तेस्रो चरण हो । यसअघि यसैवर्ष अबुधाबीमा भएको बैठक रचनात्मक भए तापनि सफल हुन सकेको थिएन । अमेरिकी प्रतिनिधि स्टिभ विटकफले सामाजिक सञ्जालमा गत वर्ष युक्रेनमा शान्तिका लागि वासिङ्टनले गरेको दबाबले ‘अर्थपूर्ण प्रगति’ ल्याएको बताउनुभयो तर लडाइँ जारी रहेको पुष्टि पनि गरे ।

हाल दुवै सेनाले करिब एक हजार २५० किलोमिटर लामो फ्रन्टलाइनमा युद्ध जारी राखेका छन् । युक्रेनी वायुसेनाका अनुसार रुसी सेनाले नागरिक क्षेत्रहरूमा रातभर ब्यालेस्टिक क्षेप्यास्त्र र १२६ लामो दूरीका ड्रोन प्रहार गरेको छ । दक्षिणी सहर जापोरिझियामा रुसी ड्रोन हमलामा एक महिला मारिएकी र दुई साना बच्चासहित सात जना घाइते भएका छन् ।

शान्ति सम्झौताको प्रयासका बाबजुद दुवै पक्षबिच अझै ठूलो दूरी देखिन्छ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्धविराम र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आमने सामने भेटको प्रस्ताव राखेका छन् तर मस्कोले युद्धविराम अघि विस्तृत सम्झौता चाहन्छ ।

फेब्रुअरी २४, २०२२ मा सुरु भएको आक्रमणका क्रममा पुटिनका मुख्य लक्ष्यहरू युक्रेनले नाटोमा सामेल नहुने, सेनाको आकार घटाउने र देशलाई मस्कोको प्रभाव क्षेत्रमा राख्दै रूसी भाषा र संस्कृतिको संरक्षण गर्नु रहेको पुटिनले बताए । जेलेन्स्कीले युक्रेनले रुसी कब्जा क्षेत्रहरू फिर्ता नगर्ने स्पष्ट सङ्केत दिइसकेका छन् ।

सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड भन्दा बढीको क्षति

खोटाङ । साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा रु तीन करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

गाउँपालिकाको स्टोर (भण्डारण गृह) र आवास गृहको रूपमा प्रयोग हुँदै आएको सामुदायिक भवनमा आज आगलागी भएको हो । आगलागी भएको जानकारी पाएलगत्तै घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मात्तिमका टोली र स्थानीयवासीले करिब डेढ घण्टा लगाएर आगो निभाएको गाउँपालिकाका सूचना अधिकारी डिएम चाम्लिङले जानकारी दिए।

आगलागीका घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए।

जाडो छल्न बेंसी झरेका मुस्ताङी मतदानका लागि गाउँ फर्किंदै

मुस्ताङ । मुस्ताङमा चुनावी माहोल तातिन थालेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदा चुनावी चहलपहल सुरु भएको हो ।

निर्वाचनमा होमिएका उम्मेदवार मतदाता रिझाउन बेँसीमै व्यस्त थिए । तर जाडो छल्न बेंसी झरेका मतदाता फर्किन थालेपछि उम्मेदवार पनि मतदातासँगै लेकतिर उक्लिन थालेका छन् । मुस्ताङमा चार राजनीतिक दलका उम्मेदवारले पहिलो चरणको घरदैलो अभियान सम्पन्न गरेका छन् । यहाँ नेपाली कम्युनिष्ट पार्टी (नेकपा), मङ्गोल नेशनल अर्गनाइजेशन, उज्यालो नेपाल र आम जनता पार्टीका उम्मेदवारले घरदैलो गरेका थिए ।

अहिले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङले थासाङ गाउँपालिकादेखि घरदैलो थालेको बताए। उम्मेदवारी दर्ता गराएपछि पूरै एक महिनाभन्दा बढी समय पोखरा, काठमाडौँमा रहेका मुस्ताङी मतदातासँग भेट गरेपछि जिल्लामै रहेका मतदाता भेट्नमा व्यस्त रहेको उनले बताए।

यसैगरी उज्यालो नेपाल पार्टीका उम्मेदवार डा.सुरेन्द्र शेरचनले माथिल्लो मुस्ताङमा चुनावी घरदैलो सकेर काठमाडौँ फर्किएको बताए। बेंसी झरेका कतिपयले बेंसीमै घुम्ती ब्यापार सञ्चालन गर्छन् । माथिल्लो मुस्ताङका दुई स्थानीय तहका ८० प्रतिशत बढी मतदाता बेंसी झरेका थिए । तल्लो मुस्ताङका पनि ५० प्रतिशत बढी मतदाता बेंसी झरेका थिए ।

यहाँस्थित जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला सुरक्षा समितिलगायतले निर्वाचन तयारीलाई तीव्रता दिइरहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए। निर्वाचन तयारीका लागि हालसम्म पाँच वटै स्थानीय तहका मतदानस्थलमध्ये ९० प्रतिशत मतदानस्थलको स्थलगत अवलोकन गरिसकेको उनले बताए।

उहाँले भन्नुभयो, “मौसमले साथ दिएमा निर्वाचन सम्पन्न गराउन केही अप्ठ्यारो पर्दैन, मौसम प्रतिकूल भएमा आयोगको निर्देशन अनुसार काम गर्छौँ ।” निर्वाचनका लागि जिल्ला सुरक्षा योजना तयार भइसकेको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन सुरक्षाका लागि चार वटै सुरक्षा निकाय परिचालित भइसकेका छन् ।

२३५ नेपाल प्रहरी र २६६ निर्वाचन प्रहरी गरी ५०१ सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । सशस्त्र प्रहरीले सशस्त्र र निर्वाचन प्रहरी गरी २०० बढी सुरक्षाकर्मी खटाएको छ । निर्वाचनका लागि यहाँका ३९ मतदानस्थलमा २४० जना कर्मचारी र ८६ जना स्वंयसेविक खटाइने जनाइएको छ।

म नेतृत्वको पार्टी सुशासन र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानमा अग्रसर रहेको छ – प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको पार्टी सुशासन र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानमा अग्रसर रहेको बताएका छन् ।

आज रुकुमपूर्वको सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा जनभेटघाटका क्रममा उनले यस्तो बताएका हुन् । उनले निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिए ।
उनले रुकुमपूर्वलाई आफ्नो अर्को कर्मथलोको रूपमा उल्लेख गर्दै यहाँ आउँदा नयाँ ऊर्जा प्राप्त भएको बताए ।

उनले वर्तमान निर्वाचनलाई नियमित प्रक्रिया नभई विशिष्ट समयको राजनीतिक प्रतिस्पर्धा भएको उल्लेख गरे । चुनावमा तीन प्रवृत्तिबीच प्रतिस्पर्धा भइरहेको बताउँदै उनले भदौ २३ को घटनामा युवाको हत्या गर्ने शक्ति, भदौ २४ मा आगजनी र विध्वंस मच्चाउने शक्ति र सुशासन, गणतन्त्र तथा शान्तिको पक्षमा उभिएको शक्ति बीच जनमत संग्रह हुने उल्लेख गरे ।

‘उनले भने मान्छे मार्नुहुन्न, आगो लगाउनु हुन्न, भ्रष्टाचारको अन्त्य गर्नुपर्छ भन्ने प्रवृत्तिलाई जिताउने कि हिंसा र विध्वंसलाई जिताउने भन्ने फैसला जनताले गर्नेछन्,’

आफ्नो नेतृत्वको पार्टी सुशासन र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानमा अग्रसर रहेको बताउँदै जनताले सकारात्मक शक्तिलाई विजय गराउने विश्वास व्यक्त गरे ।