`

लागुऔषध ओसारपसार : ९९ जनाविरुद्ध ६५ मुद्दा दर्ता

काठमाडौँ । नेपाल प्रहरीले यहाँ गत माघ महिनामा लागुऔषध कारोबारका अभियोगमा ९९ जना आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत माघ महिनामा काठमाडौँका विभिन्न क्षेत्रका गरिएको खोजी अभियानका क्रममा सात महिलासहित ९९ जनालाई लागुऔषधसहित पक्राउ गरिएको र उनीहरुविरुद्ध ६५ वटा मुद्दा दर्ता भएको छ ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले उनीरुबाट खैरो हेरोइनमात्रै ५५.१८ ग्राम बरामद भएको छ । यस्तै लागुऔषध ट्रमाडोल मात्रै २३ हजार ३०० ट्याबलेट र नाइट्राजेपाम दुई हजार ८१३ एम्पल बरामद गरिएको छ ।

गाँजा २ किलो, डाइजेपाम ९३ एम्पुल, फेनारगन ६२ एम्पुल, नुर्फिन १५१ एम्पुल, नाइट्राभेट १० एम्पुल बरामद गरिएको छ । यस्तै स्पामो १२६ क्याप्सुल पोल्याण्ड ६७८ ग्राम पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ प्रहरीका अनुसार गएको एक महिनाको अवधिमा आात्महत्याका ३६ घटना भएको छ । यसमा १९ देखि ३९ वर्षका २७ छन् । आात्महत्या गर्नेमा २४ पुरुष रहेका पनि प्रहरीले जनाएको छ ।

अनुचित लेनदेनतर्फ सात मुद्दा दर्ता भएको र दुई मुद्दा मिलापत्र भएको पनि प्रहरीले जानकारी दिएको छ । ती मुद्दाहहरुमा रु आठ करोडभन्दा बढीको मागदाबी रहेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।

एमाले सधैँ देश निर्माण गर्ने शक्ति हो : ईश्वर पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेले सधैँ देश निर्माण गर्ने शक्ति भएको बताएका छन्।

बुधबार टोखामा आयोजित घरदैलो कार्यक्रममा उनले भने, “एमालेले देश बनाउने काम गर्छ, देश विगार्ने काम गर्दैन ।”

नेता पोखरेलले जनताका गुनासा, आलोचना र समस्या सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्र्याकमा ल्याउनैका लागि देशभर एमालेको जित आवश्यक रहेको औँल्याए।

प्रतिज्ञा पत्रबारे सभापति थापासँग भोलि खुला प्रश्नोत्तर गरिने

काठमाडौंँ । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ । आज जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने जानकारी दिए।

भोलि बिहीबार दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञा पत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने छन् । सभापति थापाले ठूलो ‘एलइडि स्क्रिन’मार्फत प्रतिज्ञापत्रको संक्षेपमा जानकारी गराउने कार्यक्रम रहेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए।

उनले भने, “कांग्रेसले आज मधेसको राजधानी जनकपुरबाट सार्वजनिक गरेको प्रतिज्ञापत्रका बारेमा बिहीबार काठमाडौँमा विस्तृतमा जानकारी दिने र त्यसमा उल्लेखित विषयमा खुला प्रश्नोत्तर कार्यक्रम राखिएको छ ।” प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रुपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गर्न लागिएको प्रवक्ता चालिसेले जानकारी दिए।

कार्यक्रमस्थल राष्ट्रियसभा गृहमा सहभागीबाट पनि प्रश्न लिने र त्यसको जवाफ सभापतिले थापाले दिने व्यवस्था मिलाइएको छ । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने र आगामी पाँच वर्षमा गर्ने योजनाको खाका प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ ।

प्रतिज्ञापत्रमा समेटिएका विषयलाई आम नागरिकले प्रश्न गर्न र जिज्ञासा राख्न पाउने छन् । नेपालको राजनीतिक इतिहासमा चुनावी घोषणापत्रका बारेमा नागरिकले प्रश्न गर्ने र सम्बन्धित दलका नेताले सार्वजनिक र प्रत्यक्ष रूपमा जवाफ दिने अभ्यास पहिलो पटक हुन लागेको जनाइएको छ।

जेनेभामा दोस्रो दिन पनि युक्रेन र रुसबिच वार्ता

काठमाडाैँ । मस्को र किएभका दूतहरूले बुधबार जेनेभामा अमेरिकी मध्यस्थतामा लगातार दोस्रो दिनको वार्ता जारी राखेर चार वर्षअघि सुरु भएको युद्धपछि उत्पन्न राजनीतिक र सैन्य मतभेदहरूको समाधान खोज्ने प्रयास गरेका छन् ।

अधिकारीहरूका अनुसार दुवै पक्षले राजनीतिक र सैन्य मार्गदर्शनका विषयमा कार्य समूहमार्फत परामर्श गर्दै छन् र हिजो छलफल गरिएका निर्णयका मापदण्ड र कार्यान्वयनको स्पष्टता सुनिश्चित गर्न प्रयास भइरहेको छ ।

स्विट्जरल्यान्डमा जारी वार्ता अमेरिकाद्वारा आयोजित प्रत्यक्ष वार्ताको तेस्रो चरण हो । यसअघि यसैवर्ष अबुधाबीमा भएको बैठक रचनात्मक भए तापनि सफल हुन सकेको थिएन । अमेरिकी प्रतिनिधि स्टिभ विटकफले सामाजिक सञ्जालमा गत वर्ष युक्रेनमा शान्तिका लागि वासिङ्टनले गरेको दबाबले ‘अर्थपूर्ण प्रगति’ ल्याएको बताउनुभयो तर लडाइँ जारी रहेको पुष्टि पनि गरे ।

हाल दुवै सेनाले करिब एक हजार २५० किलोमिटर लामो फ्रन्टलाइनमा युद्ध जारी राखेका छन् । युक्रेनी वायुसेनाका अनुसार रुसी सेनाले नागरिक क्षेत्रहरूमा रातभर ब्यालेस्टिक क्षेप्यास्त्र र १२६ लामो दूरीका ड्रोन प्रहार गरेको छ । दक्षिणी सहर जापोरिझियामा रुसी ड्रोन हमलामा एक महिला मारिएकी र दुई साना बच्चासहित सात जना घाइते भएका छन् ।

शान्ति सम्झौताको प्रयासका बाबजुद दुवै पक्षबिच अझै ठूलो दूरी देखिन्छ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्धविराम र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आमने सामने भेटको प्रस्ताव राखेका छन् तर मस्कोले युद्धविराम अघि विस्तृत सम्झौता चाहन्छ ।

फेब्रुअरी २४, २०२२ मा सुरु भएको आक्रमणका क्रममा पुटिनका मुख्य लक्ष्यहरू युक्रेनले नाटोमा सामेल नहुने, सेनाको आकार घटाउने र देशलाई मस्कोको प्रभाव क्षेत्रमा राख्दै रूसी भाषा र संस्कृतिको संरक्षण गर्नु रहेको पुटिनले बताए । जेलेन्स्कीले युक्रेनले रुसी कब्जा क्षेत्रहरू फिर्ता नगर्ने स्पष्ट सङ्केत दिइसकेका छन् ।

सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड भन्दा बढीको क्षति

खोटाङ । साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा रु तीन करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

गाउँपालिकाको स्टोर (भण्डारण गृह) र आवास गृहको रूपमा प्रयोग हुँदै आएको सामुदायिक भवनमा आज आगलागी भएको हो । आगलागी भएको जानकारी पाएलगत्तै घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मात्तिमका टोली र स्थानीयवासीले करिब डेढ घण्टा लगाएर आगो निभाएको गाउँपालिकाका सूचना अधिकारी डिएम चाम्लिङले जानकारी दिए।

आगलागीका घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए।

जाडो छल्न बेंसी झरेका मुस्ताङी मतदानका लागि गाउँ फर्किंदै

मुस्ताङ । मुस्ताङमा चुनावी माहोल तातिन थालेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदा चुनावी चहलपहल सुरु भएको हो ।

निर्वाचनमा होमिएका उम्मेदवार मतदाता रिझाउन बेँसीमै व्यस्त थिए । तर जाडो छल्न बेंसी झरेका मतदाता फर्किन थालेपछि उम्मेदवार पनि मतदातासँगै लेकतिर उक्लिन थालेका छन् । मुस्ताङमा चार राजनीतिक दलका उम्मेदवारले पहिलो चरणको घरदैलो अभियान सम्पन्न गरेका छन् । यहाँ नेपाली कम्युनिष्ट पार्टी (नेकपा), मङ्गोल नेशनल अर्गनाइजेशन, उज्यालो नेपाल र आम जनता पार्टीका उम्मेदवारले घरदैलो गरेका थिए ।

अहिले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङले थासाङ गाउँपालिकादेखि घरदैलो थालेको बताए। उम्मेदवारी दर्ता गराएपछि पूरै एक महिनाभन्दा बढी समय पोखरा, काठमाडौँमा रहेका मुस्ताङी मतदातासँग भेट गरेपछि जिल्लामै रहेका मतदाता भेट्नमा व्यस्त रहेको उनले बताए।

यसैगरी उज्यालो नेपाल पार्टीका उम्मेदवार डा.सुरेन्द्र शेरचनले माथिल्लो मुस्ताङमा चुनावी घरदैलो सकेर काठमाडौँ फर्किएको बताए। बेंसी झरेका कतिपयले बेंसीमै घुम्ती ब्यापार सञ्चालन गर्छन् । माथिल्लो मुस्ताङका दुई स्थानीय तहका ८० प्रतिशत बढी मतदाता बेंसी झरेका थिए । तल्लो मुस्ताङका पनि ५० प्रतिशत बढी मतदाता बेंसी झरेका थिए ।

यहाँस्थित जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला सुरक्षा समितिलगायतले निर्वाचन तयारीलाई तीव्रता दिइरहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए। निर्वाचन तयारीका लागि हालसम्म पाँच वटै स्थानीय तहका मतदानस्थलमध्ये ९० प्रतिशत मतदानस्थलको स्थलगत अवलोकन गरिसकेको उनले बताए।

उहाँले भन्नुभयो, “मौसमले साथ दिएमा निर्वाचन सम्पन्न गराउन केही अप्ठ्यारो पर्दैन, मौसम प्रतिकूल भएमा आयोगको निर्देशन अनुसार काम गर्छौँ ।” निर्वाचनका लागि जिल्ला सुरक्षा योजना तयार भइसकेको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन सुरक्षाका लागि चार वटै सुरक्षा निकाय परिचालित भइसकेका छन् ।

२३५ नेपाल प्रहरी र २६६ निर्वाचन प्रहरी गरी ५०१ सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । सशस्त्र प्रहरीले सशस्त्र र निर्वाचन प्रहरी गरी २०० बढी सुरक्षाकर्मी खटाएको छ । निर्वाचनका लागि यहाँका ३९ मतदानस्थलमा २४० जना कर्मचारी र ८६ जना स्वंयसेविक खटाइने जनाइएको छ।

म नेतृत्वको पार्टी सुशासन र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानमा अग्रसर रहेको छ – प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको पार्टी सुशासन र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानमा अग्रसर रहेको बताएका छन् ।

आज रुकुमपूर्वको सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा जनभेटघाटका क्रममा उनले यस्तो बताएका हुन् । उनले निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिए ।
उनले रुकुमपूर्वलाई आफ्नो अर्को कर्मथलोको रूपमा उल्लेख गर्दै यहाँ आउँदा नयाँ ऊर्जा प्राप्त भएको बताए ।

उनले वर्तमान निर्वाचनलाई नियमित प्रक्रिया नभई विशिष्ट समयको राजनीतिक प्रतिस्पर्धा भएको उल्लेख गरे । चुनावमा तीन प्रवृत्तिबीच प्रतिस्पर्धा भइरहेको बताउँदै उनले भदौ २३ को घटनामा युवाको हत्या गर्ने शक्ति, भदौ २४ मा आगजनी र विध्वंस मच्चाउने शक्ति र सुशासन, गणतन्त्र तथा शान्तिको पक्षमा उभिएको शक्ति बीच जनमत संग्रह हुने उल्लेख गरे ।

‘उनले भने मान्छे मार्नुहुन्न, आगो लगाउनु हुन्न, भ्रष्टाचारको अन्त्य गर्नुपर्छ भन्ने प्रवृत्तिलाई जिताउने कि हिंसा र विध्वंसलाई जिताउने भन्ने फैसला जनताले गर्नेछन्,’

आफ्नो नेतृत्वको पार्टी सुशासन र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानमा अग्रसर रहेको बताउँदै जनताले सकारात्मक शक्तिलाई विजय गराउने विश्वास व्यक्त गरे ।

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन प्रचारप्रसारसहित गीतसङ्गीतको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

मर्मस्पर्सी सन्देशमूलक र कालजयी गीतसङ्गीत प्रस्तुत भएका चलचित्रको रोजाइमा पर्ने गरेको उहाँहरूको अनुभव छ । पछिल्लो समय ‘भिडियो सेयरिङ साइट’ टिकटकमा समेत गीतसङ्गीत लोकप्रिय हुने गरेको छ । ‘प्रेम गीत’, ‘नाई नभन्नु ल’, ‘म यस्तो गीत गाउँछु’ लगायतका धेरै चलचित्र गीतसङ्गीतकै कारण सफल भएका प्रसस्तै उदाहरण छन् ।

सङ्गीतकार अर्जुन पोखरेलले चलचित्र उद्योगमा गीतसङ्गीतलाई प्रचारप्रसारको सशक्त माध्यमका रुपमा लिइए पनि यसतर्फ लगानी गर्न कन्जुस्याइँ गर्दा अपेक्षा गरिएअनुसार गुणस्तरीय चलचित्र बन्न नसकेको बताए।

“चलचित्रमा हुने गीतसङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । गीतअनुसारको दृश्य हुनु जरुरी छ । एकलरूपमा आउने गीतभन्दा चलचित्रका गीत भव्य र फरक हुनुपर्छ । तर, पछिल्लो समय त्यसतर्फ निर्माताकै ध्यान गएको देखिँदैन”, सङ्गीतकार पोखरेलले भने।

उनले सङ्गीत दिनुभएको ‘स्टुपिड मन’, ‘प्रेम गीत’, ‘ऐश्वर्य’, ‘म यस्तो गीत गाउँछु’ सफल हुनुको कारण गीतसङ्गीत मानिएको छ । तर, पछिल्लो समय गीतसङ्गीतलाई चलचित्रकै दृश्य राखेर पनि सार्वजनिक गर्ने गरिन्छ ।

“केही समयदेखि प्रेमकथानक चलचित्र निर्माणमा कमी आएको छ, यसले गर्दा पनि प्रेमिल गीत कम निर्माण भएका छन् । तर, जे जस्तो गीत भए तापनि त्यसलाई प्रचारको रुपमा लिएर तयार गरियो भने त्यसले चलचित्रलाई फाइदा नै पुग्छ”, सङ्गीतकार पोखरेलले भने।

निर्देशक पुर्नेन्दु झाको पनि चलचित्रको पहिलो प्रचार नै गीतमार्फत हुने बुझाइ छ । गीतसङ्गीतकै कारण आम दर्शकलाई चलचित्रको बारेमा जानकारी हुनेगरेको उनको भनाइ छ ।

“चलचित्रको प्रचारप्रसार गीतमार्फत सुर हुने प्रचलन छ । किनकि यसले पहिलो प्रभाव पार्छ । त्यसपछि अन्य श्रव्यदृश्यलगायतका सामग्री सार्वजनिक गर्ने गरेका छौँ”, निर्देशक झाले भने।

उनले आफू निर्देशित पहिलो चलचित्र ‘संरक्षण’ को गीतको लागि होलीको माहोल सिर्जना गरेका थिए । गीतसङ्गीत लोकप्रिय नभएका चलचित्रहरू असफल पनि भएका छन् । केही थोरै चलचित्र छन्, जसमा गीतसङ्गीतको आवश्यकता देखिएको छैन ।

इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा

इजरायल । इजरायलले बुधवारदेखि सुरु भएको रमजानमा पूर्वी जेरुसेलमको अल–अक्सा मस्जिदमा जनाको लागि दश हजार जना प्यालेस्टिनी उपासकलाई साप्ताहिक प्रार्थनामा भाग लिन अनुमति दिने घोषणा गरेको छ ।

इजरायली अधिकारीहरूले मस्जिद परिसरमा प्रवेश गर्न प्रतिबन्ध लगाइ ५५ वर्ष वा सोभन्दा बढी उमेरका पुरुष, ५० वर्ष वा सोभन्दा बढी उमेरका महिला र १२ वर्ष सम्मका बच्चाहरूलाई मात्र प्रवेश गर्न अनुमति दिएको जनाएका छन् ।

“दस हजार प्यालेस्टिनी उपासकहरूलाई रमजानको महिना भरि शुक्रबारको प्रार्थनाका लागि टेम्पल माउन्टमा प्रवेश गर्न अनुमति दिइने तयारी भएको प्यालेस्टिनी नागरिक मामिलाका लागि इजरायली रक्षा मन्त्रालयको एजेन्सी कोगाटले विज्ञप्ति मार्फत जनाएको छ ।

रमजानको समयमा, लाखौं प्यालेस्टिनीहरू परम्परागत रूपमा अल– अस्कामा प्रार्थनामा भाग लिने गर्छन् । अल–अक्सा, इस्लामको तेस्रो पवित्र स्थल, हो जुन पूर्वी जेरुसेलममा अवस्थित छ, जसलाई इजरायलले सन् १९६७ मा कब्जा गरेको थिायो ।

प्यालेस्टिनी जेरुसेलम गवर्नरेटले यस हप्ता इजरायली अधिकारीहरूले इस्लामिक जोर्डनियनलाई रोकेको बताएको छ । हाल अस्थाई संरचनाहरू स्थापना गर्ने र अस्थायी चिकित्सा क्लिनिकहरू स्थापना गर्ने सहित रमजान अघिका नियमित तयारीहरू भई रहेको जनाइएको छ ।

अल–अक्सा मस्जिदका एक वरिष्ठ व्यक्ती इमाम शेख मुहम्मद अल–अब्बासीलाई उदृत गर्दै एएफपीले उहाँलाई पनि परिसरमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको जनाएको छ ।

म्याग्दीका ज्येष्ठ नागरिक भन्छन्– ‘वर्षौंदेखि भोट हाल्दै आयौँ, तर विकास पाएनौँ’

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका– ४ मा पर्ने थामडाँडा गुरुङ बाहुल्यताको बस्ती हो । यो गाउँ सदरमुकाम बेनी बजारबाट नजिकै पर्छ । सोही गाउँका बासिन्दा हुन् ८८ वर्षीय जगतबहादुर गुरुङ पनि ।

गुरुङले गएको ६५ वर्षदेखि विभिन्न व्यक्ति र पार्टीलाई निर्वाचनमा मत दिँदै आएका छन् । उनको गुनासो छ, “यतिका वर्षदेखि भोट हाल्दै आएँ, न गतिलो बाटोघाटो पाएँ, न पुल पुलेसा, न खानेपानी र सिँचाइको सुविधा । खोइ अब त भोट पनि किन हाल्ने हो र जस्तो लाग्न थालेको छ ।”

सोही गाउँकी ८६ वर्षीया सतदेवी गुरुङले भनिन्, “छोरा नाति हुर्किएपछि विदेश जानुपर्छ, न देशमा काम पाइन्छ, न पौरख गरेर उत्पादन गरेको फलफूल अन्नपातको राम्रो पैसो पर्छ । सिंगा जान पुल छैन, बजार जान गतिलो मोटरबाटो छैन । चुनावको बेला कोको आउँछन्, यो गर्छु र त्यो गर्छु भनेर भोट माग्छन् । जितेपछि नाकमुखै देखाउँदैनन् ।”

बेनी नगरपालिका– २ बगरफाँटका ९२ वर्षीय वेदप्रसाद उपाध्यायले पनि भोट दिँदादिँदा थाकिसकेको तर नेताहरुले भनेजस्तो अझै नभएको बताउँछन्। उपाध्यायले भने, “पहिलाको तुलनामा विकास र सुविधा हुँदै नभएको त होइन, तर भनेजस्तो र जनताले चाहेजस्तो अझै हुन सकेको छैन ।”

म्याग्दीका ज्येष्ठ नागरिक मतदाताहरुका यी प्रतिनिधिमूलक भनाइबाट दशकौँदेखि विभिन्न पार्टीका उम्मेदवारलाई भोट हाल्दै आएको तर आफूले चाहेको विकास अझैसम्म पनि नदेखिएको गुनासो व्यक्त भएको छ । चुनाव प्रचारका क्रममा गाउँगाउँ पुगेका उम्मेदवार तथा नेताहरुसँग भेट हुँदा उनीहरुले खुलेरै असन्तुष्टि व्यक्त गर्ने गरे।

ज्येष्ठ मतदाताहरु भन्छन्, “हामीले जीवनभर भोट हाल्यौँ, तर सडक, स्वास्थ्य, शिक्षाजस्ता आधारभूत सुविधा अझै पनि अपूरा छन् । भोट हाल्दाहाल्दै बूढो भयौँ तर विकास भने देख्न पाएनौँ ।”

उनीहरुले विशेषगरी ग्रामीण भेगमा अझै पनि यातायात, खानेपानी, स्वास्थ्य सेवा र रोजगारीको अवसर अभाव रहेको उल्लेख गर्दै नेताहरुलाई प्रश्न गर्ने गरेका छन् । “हामीलाई चुनावमा सम्झिन्छन्, तर चुनाव सकिएपछि हाम्रो आवाज हराउँछ”, मङ्गला गाउँपालिका–५ का ७६ वर्षीय हरिकृष्ण पौडेलले भने।

चुनाव प्रचारका क्रममा उम्मेदवारहरुले भने आगामी दिनमा विकासका कामलाई प्राथमिकता दिने आश्वासन दिएका छन् । उनीहरुले सडक विस्तार, रोजगारी, पर्यटन, स्वास्थ्यचौकी सुदृढीकरण, शिक्षा सुधार र कृषि क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । तर, ज्येष्ठ नागरिकहरु भने यस्ता आश्वासन विगतमा पनि धेरै पटक सुनेको तर व्यवहारमा नदेखिएको भन्दै आशङ्का व्यक्त गर्छन्।

म्याग्दीका ग्रामीण क्षेत्रका ज्येष्ठ मतदाताहरुको गुनासोले स्थानीय विकासको वास्तविक अवस्था उजागर गरेको छ । दशकौँदेखि लोकतान्त्रिक अभ्यासमा सक्रिय रहँदै आएका उनीहरु अब ठोस काम देख्न चाहेको स्पष्ट सन्देश दिएको स्थानीय यादव रिजालले बताउँछन् ।

चुनावी माहोल तात्दै गर्दा ज्येष्ठ मतदाताहरुको आवाजले उम्मेदवारहरुलाई चुनौती दिएको छ । भोट मात्र होइन, अब परिणाम देखाउनुपर्ने समय आएको छ ।

मालिका गाउँपालिका–२ रुमका ७९ वर्षीय टेकबहादुर विकले भने, “हामीले जीवनभर भोट हाल्यौँ । सडक अझै अधुरा छन्, अस्पतालमा औषधि छैन, छोराछोरी रोजगारीको खोजीमा विदेश जानुपरेको छ । भोट हाल्दाहाल्दै बूढा भयौँ तर विकास भने देख्न पाएका छैनौँ ।”

त्यस्तै, सोही स्थानकी ७० वर्षीया जमुना थापाले भनिन्, “चुनाव आउँदा नेताहरु ढोग्छन्, हात समात्छन्, आशीर्वाद माग्छन् । तर चुनाव सकिएपछि हाम्रो गाउँमा फर्केर हेर्ने कोही हुँदैन ।” म्याग्दीमा उम्मेदवारहरुले रोजगारी, प्रविधि, शिक्षा र स्वास्थ्यलाई मुख्य एजेण्डा बनाएका छन् । जनभेटघाटमा उनीहरुले वृद्धवृद्धासँग आशीर्वाद लिने, हात समातेर केही पाइला हिँड्ने, परिवारको हालखबर सोध्नेजस्ता आत्मीय व्यवहार देखाइरहेका छन् । तर मतदाताहरुले यस्ता व्यवहारलाई चुनावी रणनीति मात्र ठानेका छन् ।

उम्मेदवारहरुले ग्रामीण सडक विस्तार, स्वास्थ्यचौकी सुदृढीकरण, शिक्षा सुधार र कृषि क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । तर ज्येष्ठ नागरिकहरु विगतमा पनि यस्ता आश्वासन धेरै पटक सुनेको तर व्यवहारमा नदेखिएको भन्दै शङ्का व्यक्त गरिरहेका छन् । ज्येष्ठ मतदाताहरुले अब ठोस काम देख्न चाहेको स्पष्ट सन्देश दिएका छन् । उनीहरुको भनाइमा, “हामीलाई भोट माग्न आउनुहोस्, तर चुनाव सकिएपछि पनि हाम्रो गाउँमा फर्केर हेर्नुहोस् । हामीलाई आधारभूत सुविधा दिनुहोस् ।”

ज्येष्ठ मतदाताहरुका यी गुनासाहरुलाई उम्मेदवारहरुले पनि गम्भीर रुपमा लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले ज्येष्ठ नागरिकहरुको चाहना पूरा गर्नेगरी काम गर्ने बताए । जनताले खोजेको सुशासन, रोजगारी र भ्रष्टाचारको अन्त्य नै आफ्नो मुख्य एजेण्डा भएको बताए। उनले भने, “उहाँहरुको गुनासोलाई म आत्मसात गर्दै विभाजनको राजनीति होइन सबैलाई समेट्ने विकासको बाटोमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु । मतदाताको विश्वासलाई कामबाटै प्रमाणित गर्छु ।”

त्यस्तै नेकपा (एमाले) का उम्मेदवारका हरिकृष्ण श्रेष्ठले नेकपा एमाले जनताको सुख दुःखमा सधैँभरि जनतासँगै रहेको बताउँदै जनताको चाहनाअनुसार नै आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “समाजलाई विभाजन गर्ने भाषाशैली होइन, जनताको पक्षमा उभिने राजनीति आवश्यक छ । गरिब, किसान र युवाका मुद्दा संसद्मा बलियो रूपमा उठाउनेछौँ ।”

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार अर्जुनबहादुर थापाले “म्याग्दीमा अधुरा विकास योजना पूरा गर्नु आफ्नो प्राथमिकता भएको बताए। उनले भने “आश्वासन होइन, स्पष्ट योजना र समयसीमासहित काम गरेर देखाउने हाम्रो लक्ष्य छ ।”

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजिनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका महावीर पुनले आफूलाई परम्परागत राजनीतिभन्दा फरक भएको दाबी गर्दै भने, “जनताले पुरानो शैली अस्वीकार गरिसकेका छन् । पारदर्शिता, जवाफदेहिता र परिणाममुखी काम नै मेरो पहिचान हुनेछ ।”

एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा कूल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । यस जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

अन्य दलजस्तो बाहिरबाट कार्यकर्ता ल्याएर कार्यक्रम गर्ने शैली हाम्रो छैन – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले घरदैलो अभियान उत्साहपूर्ण देखिएको बताएका छन्। भक्तपुर जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका बस्नेतले बुधबार सूर्यविनायक नगरपालिका–३ स्थित बालकोटमा घरदैलोमा राम्रो उपस्थिति देखिएकोले निर्वाचनमा सकारात्मक परिणाम आउने संकेत दिएको बताए ।

उनले अन्य दलजस्तो बाहिरबाट कार्यकर्ता ल्याएर कार्यक्रम गर्ने शैली आफूहरुको नरहेको बताउदै निर्वाचनमा कम्तीमा ३० हजार मत आउने अपेक्षा रहेको बताए ।

उनले भने, ‘हामीले सुरु गरेको घरदैलो अभियान उत्साहपूर्ण देखिएको छ। हामी जुन वडामा पुग्छौँ, त्यहीँका स्थानीय कार्यकर्तालाई परिचालन गरेका छौँ। अन्य दलजस्तो बाहिरबाट कार्यकर्ता ल्याएर कार्यक्रम गर्ने शैली हाम्रो छैन।’

विगतमा बालकोट क्षेत्र एमालेका लागि कमजोर मानिने गरेको उल्लेख गर्दै बस्नेतले पछिल्लो समय विकास निर्माणका कामले पार्टीको प्रभाव बढेको दाबी गरे।

नेकपाका महासचिव ऋषि कट्टेलसहित चार जना पक्राउ

काठमाडौँ – निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई प्रहरीले आज पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले कट्टेललाई आज कीर्तिपुरबाट पक्राउ गरिएको जानकारी दिनुभयो । हालसम्म कट्टेलसँगै निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा चार जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार मङ्गलबार राति नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बाँस्तोला, नेता विष्णुप्रसाद तिमिल्सिना र दुर्गा प्रसाईं समूहका एसपी साहलाई पनि पक्राउ गरिएको छ । उनीहरूले निर्वाचन बहिष्कार गर्ने अभिव्यक्ति दिएका थिए ।

नेकपा, नेकपा बहुमतलगायत केही साना दलले निर्वाचन बहिष्कार गर्दै निर्वाचनविरोधी गतिविधि गरिरहेकाले प्रहरीले उनीहरूलाई निगरानीमा राखेको छ ।

यातायातको चाप घटेसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषणमा कमी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारीसाधन आवागमनमा कमी हुँदा वायु प्रदूषणमा उल्लेख्य कमी आएको छ ।

ग्याल्पो ल्होसारका अवसरमा आज सार्वजनिक बिदा रहेको छ । मङ्गलबार दिउँसो १३ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) १९१ पुगेको थियो भने आज सोही समयमा घटेर ११४ मा झरेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार मङ्गलबार काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर भएको थियो । आज भने काठमाडौँ १४ औँ स्थानमा झरेको छ । हाल पाकिस्तानको लाहोर १९३ एक्युआईसहित पहिलो र सेनेगलको राजधानी डकार १९२ एक्युआईसहित दोस्रो स्थानमा रहेका छन् ।

वातावरणविद् भुषण तुलाधारका अनुसार वायु प्रदूषण बढ्नुमा यातायात क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । “सवारीसाधनको धुवाँले प्रत्यक्ष रूपमा प्रदूषण बढाउँछ । गत माघ १ गतेदेखि इँटाभट्टा सञ्चालनमा आएका छन्, जसबाट निस्कने धुवाँ र धुलो पनि प्रदूषणको अर्को कारण हो”, उनले भने।

उनका अनुसार फोहोर जलाउने प्रवृत्ति र डढेलोको मौसम सुरु हुनुले पनि प्रदूषण बढ्ने जोखिम हुन्छ । त्यसैले समयमै पूर्वतयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण तथा सवारीसाधनको धुवाँ परीक्षण र मापदण्डको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको तुलधारको सुझाव छ ।

प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सार्वजनिक बिदाका दिन करिब १० प्रतिशतले यातायातको चाप घट्ने गरेको छ । “सार्वजनिक यातायातका कारण प्रदूषण बढ्ने कुरा सत्य हो । विस्तारै विद्युतीय बस (ईभी) को सङ्ख्या बढिरहेको छ, जसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ”, उनले भने।

एक्युआईको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ (हरियो सङ्केत), ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ (पहेँलो सङ्केत) मानिन्छ । १०१ देखि १५० सम्म ‘अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी श्वासप्रश्वास र मुटु रोगीलाई असर गर्न सक्छ । १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

काठमाडौँ उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई ३०० भन्दा माथि पुगेको अवस्थालाई सरकारले विपद्का रूपमा मान्ने व्यवस्था गरेको छ । यस्तो अवस्थामा फोहोर जलाउने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुम प्रयोग बढाउने, र बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने प्रावधान छ ।

राष्ट्रिय वातावरण नीति, २०७६ ले वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि तथा अन्य जोखिमपूर्ण प्रदूषण नियन्त्रणसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने रणनीति अघि सारेको छ । साथै प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषण जोखिमयुक्त स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नियमित अनुगमन गर्ने उल्लेख गरिएको छ ।

मुक्तकमैयाको उम्मेदवारलाई प्रश्नः ‘हाम्रा माग कहिले पूरा हुन्छन् ?’

कञ्चनपुर । चुरेफेदस्थित शुक्लाफाँटा नगरपालिकाअन्तर्गत पर्ने मुक्तकमैया बस्ती नौखरी प्रवेश गर्ने मुख्य मार्गमा राखिएको होर्डिङ बोर्ड (सूचना पार्टी)ले निर्वाचन नजिकिएको सङ्केत गर्छ ।

उक्त बोर्ड कुनै व्यावसायिक प्रयोजनका लागि नभई प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई लक्षित गरी राखिएको हो । बोर्डमा स्पष्ट शब्दमा लेखिएको छ, ‘हाम्रा माग कहिले पूरा हुन्छन् ?’

बाध्यकारी श्रम प्रथाबाट मुक्त गरिएका कमैयालाई समाजमा पुनःस्थापना गर्ने सरकारी घोषणाको अढाइ दशक बितिसक्दा पनि आधारभूत अधिकार र सेवाबाट वञ्चित हुनुपरेको भन्दै बस्तीबासीले १८ बुँदे मागसहितको होर्डिङ बोर्ड बस्ती प्रवेशद्वारमा राखेका हुन् । विसं २०५८ देखि उक्त बस्तीमा छ सय ४८ मुक्तकमैया परिवार बसोबास गर्दै आएका छन् ।

सरकारले जमिन उपलब्ध गराएर पुनःस्थापना गरेको जनाए पनि व्यवहारमा मुक्तकमैया परिवार अझै असुरक्षित र सीमित अधिकारको घेरामा रहेको गुनासो बस्तबासीको छ । पुनःस्थापनाका क्रममा प्राप्त जमिन लालपुर्जामा परिणत नभएको, धितो राख्न नपाइने र बिक्री गर्नसमेत नपाइने अवस्थाले आर्थिक क्रियाकलापमा बाधा पुगेको ५० वर्षीय जोगिराम डगौराले बताए ।

पाँच कट्ठा जमिन पाएको जनाउँदै त्यसलाई बैंकमा धितो राख्न वा बिक्री गर्न नपाइने कानुनी सीमाले उद्यम गर्न कठिनाइ भएको उनले बताए । “उद्यम गर्न चाहँदा पनि कानुनी व्यवस्थाले रोक्छ”, उनले भने, “त्यसको अन्त्य गर्ने व्यवस्था गरिनु पर्‍यो ।”

बस्तीमा शुद्ध खानेपानीको अभाव अर्को गम्भीर समस्या बनेको छ । हालसम्म हेण्डपम्पको पानी प्रयोग गर्नुपरेको भन्दै त्यसमा आर्सेनिक तथा आइरनको मात्रा बढी रहेकाले विभिन्न समयमा स्वास्थ्य समस्या आउने गरेको डगौराले जानकारी दिए । “पानीका कारण बस्तीमा विभिन्न स्वास्थ्य समस्या देखिएका छन्”, उनले भने, “वैकल्पिक स्रोत नहुँदा जोखिमयुक्त पानी पिउनुपर्ने बाध्यता छ ।”

स्थानीय महिलाहरूका अनुसार स्वास्थ्य उपचार पूर्ण रूपमा निःशुल्क हुनुपर्ने माग पटकपटक उठाए पनि कार्यान्वयनमा ठोस् प्रगति भएको छैन । घरकटुवा र सनबोरा नदीले बर्सेनि बस्ती क्षेत्र कटान गर्दै आएको स्थानीय मायादेवी चौधरीले बताइन् । “बस्ती जोगाउन तटबन्ध निर्माणको माग वर्षौंदेखि गर्दै आएका छौँ, तर सुनुवाइ भएको छैन”, उनले भनिन् । वर्षायाममा बस्तीबासी त्रासमा बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

बस्तीमा व्यवस्थित सडक र ढल निकासको अभाव छ भने विद्यालयमा गुणस्तरीय शिक्षा नहुँदा अभिभावक चिन्तित छन् । उच्च तहसम्म पूर्ण निःशुल्क शिक्षा सुनिश्चित गर्नुपर्ने मागसमेत बोर्डमा उल्लेख गरिएको छ । परिवारअनुकूल स्तरीय आवास, सुरक्षित सडक सञ्जाल, स्वच्छ वातावरण तथा जङ्गली जनावरबाट सुरक्षा व्यवस्था गर्नुपर्ने मागसमेत राखिएको छ ।

युवाहरूका लागि रोजगारीको अवसर नहुँदा भारतीय सहरतिर जानुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । बस्तीका ३३ वर्षीय आशिष चौधरीले स्वदेशमा रोजगारी सिर्जना गर्ने योजना ल्याउने उम्मेदवारलाई समर्थन गर्ने बताए । “हामी विदेशिन चाहँदैनौँ, गाउँमै रोजगारी चाहिन्छ”, उनले भने ।

दुई दशकदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका महादेव चौधरीले सरकारी अनुदान पहुँचवालामा सीमित भएको गुनासो गरे । “मेहनत गर्ने किसानले पाउँदैनन्, पहुँच भएकाले मात्रै अनुदान पाउँछन्”, उनले भने, “यो प्रवृत्ति अन्त्य गर्ने नेतृत्व चाहिएको छ ।”

मुक्तकमैया तथा कमलरीलाई परिचयपत्र उपलब्ध गराउन, बस्तीका श्रमिकलाई पञ्जीकरण गरी सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न र गाउँसभा तथा नगरसभामा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग बस्तीका बासिन्दाले अघि सारेका छन् ।

बस्तीका लागि छुट्टै बजेट विनियोजन र स्थानीय तहमा श्रम सम्बन्ध समिति गठन गर्नुपर्ने साथै भलमन्सा ऐन संशोधन, भुइँयारी तथा देवथान निर्माणलगायत सांस्कृतिक पहिचानसँग सम्बन्धित विषय पनि मागसूचीमा समेटिएका छन् ।

बस्तीका अगुवा भागिराम चौधरीका अनुसार प्रचारप्रसारका क्रममा घरदैलोमा आउने उम्मेदवारलाई प्रवेश मार्गमा राखिएको बोर्ड पढ्न लगाइन्छ । “हाम्रा मागमा स्पष्ट प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्रै मत दिन्छौँ”, उनले भने । उनका अनुसार विगतमा आश्वासन मात्र पाइए पनि कार्यान्वयन नभएको अनुभवले यसपटक सामूहिक सल्लाहबाट मतदान गर्ने रणनीति अपनाइएको छ ।

“विगतका गल्ती दोहोर्‍याउँदैनौँ, विवेक प्रयोग गरेर मतदान गर्छौँ”, उनले भने, “हाम्रो माग सुविधा प्राप्तिको मात्र होइन, सम्मानजनक जीवनयापनको सुनिश्चिततासँग जोडिएको छ । पुनःस्थापनाको अढाइ दशकपछि पनि आधारभूत सेवा, आर्थिक अवसर र सुरक्षित आवास सुनिश्चित नभएकाले चुनावलाई दबाब र अवसर दुवैका रूपमा लिएका छौँ ।”

हालसम्म आफ्ना माग पूरा गर्ने स्पष्ट प्रतिबद्धता जनाउने उम्मेदवार नपाइएको बस्तीवासीको भनाइ छ । यस निर्वाचनमा मुक्तकमैया बस्तीको सामूहिक आवाज उम्मेदवारका लागि चुनौती मात्र नभई सामाजिक न्याय र समावेशी विकासको परीक्षणका रूपमा हेरिएको छ ।

प्रतिनिधिसभा निर्वाचनः घरदैलो कार्यक्रममा व्यस्त काठमाडौँ–३ का उम्मेदवार

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौँको निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार दलका घोषणापत्रसहित घरदैलोमा कार्यक्रममा व्यस्त छन् । आफ्ना चुनावी एजेण्डासहित आमसभा, भेटघाट, प्रचारप्रसारलगायत गतिविधिमा उम्मेदवारले सक्रियता बढाएका हुन् ।

गोर्कणेश्वर नगरपालिका–४ का स्थानीय भीमभक्त तामाङले स्वदेशमा रोजगारी सिर्जना गर्नेलाई मत खसाल्ने निधो गरेको बताए । उमेरले ६५ काटेका उनले रोजगारीको अभावका कारण छोराछोरीलाई बुढेसकालमा विदेश पठाउनुपर्ने बाध्यता रहेकाले स्वदेशमा रोजगारी सिर्जना गर्नेलाई मत दिने धारणा राखे ।
“यो उमेरमा छोराछोरीसँग टाढा बस्नुपर्ने बाध्यता छ, स्वदेशमा रोजगार दिए कसलाई विदेशिन मन हुन्छ ?”, उनले प्रश्न गरे । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्दा स्वेदशमा युवा टिकाउने नेतालाई प्राथमिकतामा राख्ने तामाङले सुनाए ।

काठमाडौँ क्षेत्र नं ३ मा पुराना र नयाँ पार्टीका अधिकांश नयाँ नेताको अनुहार देखिन्छ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीका उम्मेदवार राजनीतिक परिवर्तनका लागि निर्वाचनमा सहभागी छन् । यही फागुन २१ गते हुने निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

काठमाडौँ–३ मा कांग्रेसले रमेश अर्याल, एमालेले रामेश्वर फुयाँल, रास्वपाले राजुनाथ पाण्डे, नेकपाले निरज लामा, उज्यालो नेपाल पार्टीले अध्यक्ष कुलमान घिसिङलाई उम्मेदवार बनाएको छ । कांग्रेस, एमाले, नेकपा, रास्वपाले विगतको निर्वाचनमा नदोहोरिएका अनुहारलाई उम्मेदवार बनाएको छ भने उज्यालो नेपाल पार्टी निर्वाचनका लागि पहिलो अनुभव बटुल्दै गरेको यो नयाँ अनुहार हो ।

यसअघि २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका सन्तोष चालिसे यस क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । उहाँले १५ हजार १५८ मतले ल्याएर निर्वाचित भएका थिए ।

कांग्रेसका उम्मेदवार अर्यालले काठमाडौँ क्षेत्र–३ मा विगतका जनप्रतिनिधिले गरेका विकास र समृद्धिको कामलाई निरन्तरता दिँदै जनताको भावना अनुरुप विकासको मार्गचित्र तयार गर्ने बताए । एमालेका उम्मेदवार फुयाँलले संविधानका अधिकार कार्यान्व्यन गर्न कानुन बनाउनु पर्ने, सुशासन, समृद्धि, युवालाई स्वदेशमा रोजगार र मुलुकलाई आत्मनिर्भर बनाउने जिम्मेवारीसहित आफूले उम्मेदवारी दिएको बताए ।

रास्वपाका उम्मेदवार पाण्डेले ‘तपाईं भोट हाल्नुहोस्, हामी देश बदल्छौँ’ भन्ने भाव राख्दै मतदाताको घरदैलो पुगेका छन् । उनले पछिल्लो समय युवाको सक्रियतामा विकास गर्ने उद्देश्य महत्वका साथ लिएको बताए । अरुभन्दा फरक हुने भएकाले युवा सक्रियताले देश बनाउने विश्वासका साथ अब नेतृत्व बदलिने, मुलुक सञ्चालन प्रणाली बदलिने र यसले सकारात्मक परिवर्तन ल्याउने उनले विश्वास व्यक्त गरे ।

उज्यालोका नेपाल पार्टीका उम्मेदवार घिसिङले घोषणापत्र जारी गर्दै ‘गफ होइन कामः भाषण होइन परिणाम’ भन्ने मुख्य नारा समेटेर घरदैलो कार्यक्रममा सक्रियता बढाएका छन् । नागरिकको भरोसा जित्ने काममा आफू र आफ्नो पार्टी समर्पित रहेको बताउँदै उनले जनताको मन जित्ने र जनमुखि काम गर्ने प्रतिबद्धता जनाए ।

निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार यहाँ पुराना र नयाँ पार्टीका उम्मेदवारबीच हुने प्रतिस्र्पर्धामा जनताले स्वःविवेक प्रयोग गरी मतदान गर्नुपर्ने छ । “अहिले उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्नुभएकोछ, मतदाता पनि उत्साहित देखिन्छन्”, उनले भने, “यद्यपि निर्वाचन आचारसंहिताभित्रै प्रचारप्रसार भए÷नभएकोमा हामी सचेत छौँ ।”

काठमाडौँ–३ मा गोकर्णेश्वर नगरपालिकाका नौवटा वडा, कागेश्वरी मनोहरा नगरपालिका–१, २ र ३ नं वडा तथा काठमाडौँ महानगरपालिका–६ नं वडा पर्दछन् । निर्वाचन आयोगका अनुसार यो निवाृचन क्षेत्रमा कूल मतदाताको सङ्ख्या ६४ हजार ४७९ रहेका छन् । यस क्षेत्रमा ७२ मतदान केन्द्र तोकिएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए ।

बहत्तर वर्षमा मङ्गलीले पाइन् नागरिकता

तनहुँ । बन्दीपुर गाउँपालिका–४ लोहीपाखाकी ७२ वर्षीया मङ्गली भुजेलले अन्ततः नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

लामो समयदेखि विभिन्न कारणले नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने आधारभूत सेवासुविधाबाट वञ्चित उनलाई मङ्गलबार नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले आफू संरक्षक रहनेगरी उनलाई सिफारिस गरेपछि नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए ।

टी–२० विश्वकप तीन खेल हुँदै, कुन-कुन भीड्दैछन् ?

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछ । जारी खेलमा समूह ‘डी’ को एउटा खेल हुँदैछ भने समूह ‘ए’ का दुई खेल हुँदैछन् । पहिलो खेल बिहान ११ बजेर १५ मिनेटमा भारतको नयाँदिल्लीमा समूह ‘डी’का दक्षिण अफ्रिका र यूएईबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै दिउँसो ३ बजेर १५ मिनेटमा समूह ‘ए’ का पाकिस्तान र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल श्रीलंकाको कोलम्बुमा हुँदैछ ।

यस्तै अर्को खेल समूह ‘ए’कै भारत र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल साँझ ७ बजेर १५ मिनेट जाँदा भारतको अहमेवादमा सुरु हुनेछ ।

पर्वले समुदायबिच सम्बन्ध मजबुत बनाउँछ: अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पर्वले विविध जातजाति र समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं सम्बन्ध मजबुत बनाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गरेका छन् ।

ग्याल्पो ल्होसारको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले समस्त नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

नेपालको हिमाली भेगमा आदिमकालदेखि बसोबास गर्दै आएका शेर्पा समुदायको मौलिक भाषा, लिपी, संस्कृति, रीतिरिवाज, भेसभुसासहितको विशिष्ट पहिचान रहेको उल्लेख गर्दै उनले शेर्पा समुदायले नयाँ वर्षको रूपमा मनाउने ग्याल्पो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व भएको बताएका छन् ।

नेपाली जनताको महान् त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकतत्वलाई स्वीकार गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले यस प्रकारका पर्वहरूले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपी, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान दिएको बताएका छन् । ल्होसार पर्वले आन्तरिक राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने उनको विश्वास छ ।

कांग्रेसले आज प्रतिज्ञा पत्र सार्वजनिक गर्दै, सभामा गगन र विश्वप्रकाशले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आज पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गर्दैछ । जनकपुरधाममा हुन लागेको प्रतिज्ञा सभामा १ लाख सहभागी हुने अपेक्षा गरिएको बताइएको छ ।

नेपाली कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा हुने सभामा सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मधेसको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने यो प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रूपमा कांग्रेसले लिएको छ ।

बढ्यो अण्डाको मूल्य

चितवन । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ ।

अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।

देश हाल भू–राजनीतिक चक्रब्यूहमा फसेको छ, सही व्यक्तिलाई मतदान गरौ – राप्रपा अध्यक्ष लिङ्देन

कञ्चनपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गलत व्यक्तिलाई मतदान गर्दा देशले दीर्घकालीन दुःख भोग्नुपर्ने भएकाले सही व्यक्तिलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मतदातालाई गम्भीर र सचेत भएर मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।

“मतदान सामान्य प्रक्रिया होइन, यो भविष्य निर्माण गर्ने निर्णय हो,” उहाँले भन्नुभयो, “जनता सार्वभौम सत्ताका मालिक भएकाले आफ्नो मत प्रयोग गर्दा हजार पटक सोच्नुपर्छ ।”

उहाँले देश हाल भू–राजनीतिक चक्रब्यूहमा फसेको उल्लेख गर्दै राष्ट्रिय हित केन्द्रमा राखेर नयाँ समझदारी र स्पष्ट दिशाको आवश्यकता औँल्याउनुभयो । सबै राजनीतिक दललाई निष्पक्ष रूपमा मूल्याङ्कन गर्न आग्रह गर्दै उहाँले देश जोगाउने शक्ति कुन दलसँग छ भन्ने विवेकपूर्ण निर्णय गर्न मतदातासँग अपिल गर्नुभयो । राजा र राजनीतिक शक्तिबीच सहकार्य भए मात्र देश सुरक्षित रहनसक्ने उहाँको दाबी थियो ।

अध्यक्ष लिङ्देनले युवाहरू रोजगारीको अभावमा विदेशिन बाध्य भएको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । “आमा–बुवा र परिवार छाडेर युवाहरू विदेश जानुपरेको अवस्था अन्त्य गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “दृढ इच्छाशक्ति र सही नीति भए पाँच वर्षमै देशको मुहार फेर्न सकिन्छ ।”

देशको वर्तमान अवस्था सन्तोषजनक नरहेको उल्लेख गर्दै उहाँले बढ्दो वैदेशिक ऋण र कमजोर आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । राष्ट्रको सुरक्षा र स्वाधीनताको रक्षा गर्न राप्रपालाई प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।

यसैबीच, कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तीर्थराज चटौतले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विजयी भए राज्यबाट पाउने कुनै पनि सेवा–सुविधा नलिने घोषणा गर्दै उहाँले स्वच्छ राजनीति र पारदर्शीताको अभ्यास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यकर्ता तानातानमा राजनीतिक दलहरूबीच होटबाजी

खोटाङ। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै खोटाङमा राजनीतिक दल कार्यकर्ता तानातानमा होटबाजी गर्न थालेका छन् ।यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न जिल्लास्थित राजनीतिक दल कार्यकर्ता तानातानमा होटबाजी गर्न थालेका हुन् ।

नेपाली कम्युष्टि पार्टी (नेकपा) खोटाङलय गत माघ २० गते केपिलासगढी गाउँपालिकाका निवर्तमान गाउँपालिका प्रमुख कृष्णकुमार राईलाई प्रवेश गराएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका जिल्ला सचिवालय समितिका पूर्वसदस्यसमेत रहनुभएका कृष्णकुमार एमाले केपिलासगढी गाउँपालिका कार्यसमिति उपसचिव रमेश परियारसहित विभिन्न पदमा रहेका कार्यकर्ता लिएर नेकपा प्रवेश गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जनताको भवना बुझ्ने र जेनजी आन्दोलनपछि सबैभन्दा पहिले पुनःगठन भएको पार्टी भएकाले आफू पनि नेकपा प्रवेश गरेको नेता राईले बताउनुभयो ।

यही फागुन २ गते एमालेकै कोशी प्रदेश समिति सदस्य कूलदीप राई र दीपक राई, नेपाली कांग्रेस दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडासभापति सन्तोष राई, एमाले विजयखर्क वडासमितिका उपाध्यक्ष रविनकुमार राई, पूर्वअध्यक्ष प्रेम राई, तत्कालीन नेकपा (माओवादी केन्द्र) खोटाङका जिल्ला सदस्य लालकिरण राई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।

विजयखर्कमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरेर १११ जना नेता तथा कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश गरेको जिल्ला अध्यक्ष प्रताप राईले जानकारी दिनुभएको छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जिल्ला सचिव माइतीराज राई फागुन ४ गते एमाले प्रवेश गर्नुभएको छ । एकीकृत समाजवादी र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएपछि निस्क्रिय बस्नुभएका माइतीराजलाई एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराई, सदस्य विणादेवी राई, प्रदेश उपसचिव देवान राई लगायतले एमालेमा प्रवेश गराउनुभएको हो ।

माइतीराज विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा केपिलासगढी गाउँपालिका प्रमुखको उम्मेदवार बन्नुभएको थियो । माइतीराजसँगै केपिलासगढी गाउँपालिकाका ११५ जना नेता तथा कार्यकर्ताह एमाले प्रवेश गरेको प्रचार विभाग प्रमुख खेमराज देउसाली राईले जानकारी दिनुभयो ।

दश स्थानीय तह रहेको जिल्लामा राजनीतिक दलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित कार्यक्रमलाई व्यापक बनाएका छन् । प्रतिनिधिसभा सदस्यतर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेका छन् ।

नेपाली कांग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवविक्रम राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट डा हरि रोका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनील चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, डा राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

अर्थ तथा वाम राजनीतिक विश्लेषक डा रोका नेकपाबाट उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिनुभएपछि खोटाङको चुनावी माहोल रोचक बनेको छ । तीन दशकसम्म राजधानी काठमाडौँमा बसेर अध्ययन, अनुसन्धान तथा खेलनमा व्यस्त डा रोका पुनःखोटाङमा आएर उम्मेदवार बन्नुभएपछि चुनावी माहोल तातिएको हो ।

डा रोका देशभरका वौद्धिक वर्गले शुभकामना दिँदै आगामी निर्वाचनमा मतदान गरी जिताएर पठाउन खोटाङ्गे मतदातालाई आह्वान गरिरहेका छन् ।

अर्थशास्त्री डा पीताम्बर शर्मा, कानुनविद् युवराज सङ्ग्रौला, किरात प्रज्ञा–प्रतिष्ठानका कूलपति जयकुमार राई, लेखक/साहित्यकार खगेन्द्र सङ्ग्रौला, युग पाठक र झलक सुवेदी, शल्यचिकित्सक डा कृष्णकुमार राई ‘केके’, लेखक÷साहित्यकार डा विष्णु राई र डा नारायण ढकाल, अधिवक्ता प्रतीक कार्कीलगायत बौद्धिक वर्गले डा रोकाप्रति शुभेच्छा प्रकट गर्दै जिताएर पठाउन आह्वान गरिरहेका हुन् ।

विसं २०७९ को निर्वाचनमा खसेको समानुपातिक मतलाई हेर्दा खोटाङमा एमालेको अवस्था बलियो देखिएको छ तर, यस पटकको अवस्था पहिलेजस्तो नरहेको राजनीतिक विश्लेषकले बताएका छन् । श्रम संस्कृति पार्टीलगायत अन्य नयाँ राजनीतिक दलले जिल्लामा पछिल्लो समय सङ्गठन विस्तार गर्नुका साथै मतदाताले नयाँ विकल्पको खोजी गर्दा ठूला राजनीतिक दलको भोट काटिने देखिएको छ ।

एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा सबै राजनीतिक दलका उम्मेदवारले यो निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताउँदै आएका छन् । यद्यपि, यस वर्षको निर्वाचनमा पुरानै तीन राजनीतिक दल (कांग्रेस, एमाले र (नेकपा)का उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरूले बताएका छन् ।

आगामी निर्वाचनका लागि जिल्लामा १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील, ६४ वटा संवेदनशील र ५१ वटालाई सामान्यमा राखेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभयो ।

रास्वपाले आज धनगढीमा चुनावी सभा गर्दै, रवि र बालेन सहभागी हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज धनगढीमा चुनावी सभा गर्दैछ । चुनावी सभामा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह सहभागी हुनेछन् ।

बिहान ११ बजेदेखि हुने चुनावी सभामा सहभागी हुन सभापति लामिछाने मंगलबार नै सुदूरपश्चिम पुगेका छन् भने आजै त्यहाँ पुग्ने बताइएको छ ।

रबी र बालेन धनगढी आउँदा कार्यकर्ताको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

बैतडीमा चार सय सात जनाले बुझाए हातहतियार

बैतडी, फागुन ६ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी स्थानीय प्रशासनले आह्वान गरेअनुरुप यहाँका ४०७ जनाले प्रहरी प्रशासनलाई हातहतियार बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार जिल्लामा एक हजार ८६ थान हातहतियार रहेकामा हालसम्म ४०७ थान मात्र प्राप्त भएका छन् । उनले बाँकी हतियार बुझाउन सम्बद्ध व्यक्तिसँग आग्रह गर्दै निर्धारित समयभित्र त्यसो नगरे कारबाही हुने चेतावनी दिएका छन् ।

प्रशासनलाई बुझाइएका सबै हातहतियार र गोलीगठ्ठा चैत २० गतेपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने जनाइएको छ । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासनले अनुमतिप्राप्त हातहतियार बुझाउन आग्रह गरिएको हो ।

यस्तो छ आजका लागि फलफूल तथा तरकारी को थोक मूल्य

काठमाडौँ, ६ फागुन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २६ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिबल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु २५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ४५, काउली तराई प्रतिकिलो रु ३०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १८०, घिरौँला प्रतिकिलो रु १३५, लौका प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २०, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ६५, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ६५ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु २०, पालुङ्गो प्रतिकेजी रु ३५, चमसुर प्रतिकिलो रु ३०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु २८०, रातो बन्दा प्रतिकिलो रु १००, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु ५०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु २००, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १४५, काँक्रो (लोकल) प्रतिकिलो रु १६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ७०, रुखकटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकिलो रु ६५, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १४०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५५०, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ९००, भेडे खुर्सानी प्रतिकिलो रु ८५, हरियो लसुन प्रतिकिलो रु ६०, हरियो धनियाँ प्रतिकिलो रु ५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २५०, छ्यापी सुकेको प्रतिकिलो रु १५०, छ्यापी हरियो प्रतिकिलो रु १५०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।–

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना

काठमाडौँ, ६ फागुन : बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गर्नुभएको छ ।

बङ्गलादेशका प्रधानमन्त्रीले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग मङ्गलबार साँझ भएको भेटमा नेपालमा आसन्न संसदीय निर्वाचनको सफलताको शुभकामना व्यक्त गर्नुभएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा मन्त्री शर्माले बङ्गलादेशको प्रधानमन्त्री हुनुभएकामा उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले पठाउनुभएको बधाई सन्देश हस्तान्तरण गर्नुभएको थियो ।

सन्देशमा प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री रहमानलाई बधाई दिँदै दुवै देश र जनताका साझा हितका लागि आपसी सम्मान, साझा प्रतिबद्धता र साझेदारीको भावनाका साथ उहाँसँग काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।

उक्त दूतावासका अनुसार परराष्ट्रमन्त्री शर्माले निर्वाचन सफलतापूर्वक सञ्चालन गरी लोकतान्त्रिक प्रक्रियामा सहज सङ्क्रमण सुनिश्चित गरेकोमा बङ्गलादेश सरकारको सराहना गर्दै नेता रहमान नेतृत्वको बङ्गलादेश नेशनलिस्ट पार्टीले बहुमत हासिल प्राप्त गरेकामा बधाई ज्ञापन गर्नुभयो ।

प्रधानमन्त्री रहमानले शपथग्रहण समारोहमा सहभागी भएकोमा मन्त्री शर्मालाई धन्यवाद दिँदै यसले नेपाल सरकार र जनताका तर्फबाट बङ्गलादेश सरकार र जनताप्रति दर्शाइएको सद्भाव र एकता प्रतिबिम्बित गरेको बताउनुभयो ।

नेपाल र बङ्गलादेशबीचको दिगो साझेदारी अझ सुदृढ बनाउने साझा प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्री रहमान र परराष्ट्रमन्त्री शर्माले व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा, पर्यटनलगायत क्षेत्रमा सहकार्य बढाउनेबारेमा छलफल गर्नुभएको थियो ।

त्यसअघि, परराष्ट्रमन्त्री शर्मा बङ्गलादेशको नवनिर्वाचित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूको शपथग्रहण समारोहमा पनि सहभागी हुनुभएको थियो । साथै उहाँले बङ्गलादेश जमत‑ए‑इस्लामीका नेता तथा शफिकुर रहमानसँग पनि भेटवार्ता गर्नुभएको छ । उक्त भेटमा उहाँहरूबीच द्विपक्षीय सहकार्यका मुख्य क्षेत्रमा विचारविमर्श गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री शर्मा बिहीबार स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री रहमानको शपथ समारोहमा सहभागी हुन उहाँ गत सोमबार ढाका प्रस्थान गर्नुभएको थियो ।

स्वीकृति नलिई भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ ।
समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रूपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले कानुनअनुसार समितिबाट स्वीकृति नलिई पात्रो तथा क्यालेन्डर प्रकाशन गर्न नपाइने बताए । “समितिबाट स्वीकृत नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइँदैन, यदी कसैले स्वीकृत नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गरे एक लाखसम्म जरिवाना हुन्छ”, कार्यकारी निर्देशक पन्थीले भने ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको गठन आदेश २०७७ को दफा ७ (ञ) र (ढ) मा समितिबाट स्वीकृति लिएर मात्रै पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइने भन्ने व्यवस्था छ । उक्त समितिको दिग्दर्शनको परिच्छेद १५ मा स्वीकृत नलिई पात्रो तथा क्यालेन्डर प्रकाशन गरे रु १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । कसैले स्वीकृत नलिई पात्रो वा क्यालेन्डर प्रकाशन गरेको विषयको अनुगमन गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई तोकिएको छ ।

कार्यकारी निर्देशक पन्थीले पात्रो र भित्तेपात्रो प्रकाशन गर्ने सबै संस्था, कम्पनी, निकाय वा व्यक्तिलाई अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने बताए । बेच्ने प्रयोजनको लागि प्रकाशन गरिएका र निःशुल्क वितरण गर्न लागिएका पात्रो वा भित्तेपात्रो प्रकाशनको लागि अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने हुन्छ ।

समितिले भित्तेपात्रो प्रकाशनको स्वीकृतिका लागि शुल्क तय गरेको छ । समितिले शैक्षिक संस्थाले प्रकाशन गर्ने क्यालेण्डरको स्वीकृतिका लागि रु दुई हजार रुपैयाँ, निःशुल्क वितरण गर्न प्रकाशन गरिने क्यालेण्डरको स्वीकृतिका लागि रु पाँच हजार रुपैयाँ र मूल्य राखेर प्रकाशन गरिने क्यालेन्डर स्वीकृतिमा रु १० हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्ने भएको छ । बिहान ११ः०० बजे बस्नेगरी बैठक आह्वान भएको हो ।

बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

आज र भोलि सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौँ, ६ फागुन : सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको छ ।

सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । दुवै दिन विहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ ।

विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ । यस्तै बिहीबार भने राहदानीका लागि आवेदन फारम सङ्कलन हुने जनाएको छ । अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले स्पष्ट पारेको छ ।

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति

काठमाडौँ, ६ फागुन -उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन प्रेरित गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । ग्याल्पो ल्होसार, २१५३ को पावन अवसरमा आज सम्पूर्णमा शुभकामना दिँदै उहाँले धार्मिक श्रद्धा, सामाजिक सद्भाव, सांस्कृतिक गौरव र राष्ट्रिय एकताको प्रतीक बनेर ग्याल्पो ल्होसार पर्वले देशलाई प्रगति, शान्ति र समृद्धिको मार्गमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

शुभकामना सन्देशमा उहाँले स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउनुपर्नेमा जोड दिनुभएको छ । नयाँ वर्षका रुपमा मनाइने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने विश्वास लिएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यो पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सृजना गर्ने बताउनुभएको छ ।

शुभकामना सन्देशमा भनिएको छ, “परम्परागत पोसाक, मौलिक नृत्य, भजन–किर्तन र सांस्कृतिक कार्यक्रमले हाम्रो विविधतायुक्त समाजलाई जीवन्त राख्ने कार्य यस पर्वले गर्दै आएको छ, ग्याल्पो ल्होसार, शेर्पा समुदायको मात्र पर्व नभई सम्पूर्ण नेपालीको साझा सांस्कृतिक सम्पदा हो, जसले बहुभाषा र बहुसंस्कृतिलाई सम्मान गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्छ ।”

यस अवसरमा गुम्बा दर्शन, धर्मगुरु र लामाबाट आशीर्वाद प्राप्त गर्ने परम्परा, विशेष परिकार खाप्से, डेशिल, गुथुकआदिको स्वाद लिनु र परिवारसँग मिलेर उल्लासपूर्वक समय बिताउनु नेपालीको मौलिक पहिचान हो । यसले रैथाने संस्कृतिको जगेर्ना गर्दै कृषि उपजको महत्वलाई उजागर गर्दछ ।

आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले विभिन्न कार्यक्रमका साथ मनाउँदै

काठमाडौँ । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रूपमा मनाउँछन् ।

पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउँछ ।

नयाँ वर्षका रूपमा मनाइने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने पनि विश्वास छ । यो पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सृजना गर्दछ ।

यस अवसरमा गुम्बा दर्शन, धर्मगुरु र लामाबाट आशीर्वाद प्राप्त गर्ने परम्परा, विशेष परिकार खाप्से, डेशिल, गुथुक आदिको स्वाद लिनु र परिवारसँग मिलेर उल्लासपूर्वक समय बिताउनु नेपालीहरूको मौलिक पहिचान हो ।

उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु÷कुहिरो रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ ।

लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

यसैगरी आज राती तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷हिमपात तथा पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, फागुन ६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ १८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १३ पैसा र बिक्रीदर १६ रुपैयाँ २० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९५ पैसा र बिक्रीदर २३ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

काठमाडौं, फागुन ६ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ । आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र नगराउन एव्म सहयोगी भूमिका निर्वाह गरिदिन पनि आम सञ्चारलगायतका सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरी सृजना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा नराख्न र निर्वाचनलाई मर्यादित बनाउन आग्रह गरे । उनले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा नतिजा सार्वजनिक गर्ने काम नगर्न समेत सञ्चार माध्यमहरुलाई आग्रह गरे

उनले भने, ‘‘हालैका केही अभ्यासहरु, जसमा मतदान हुनुअघि नै मतदाताहरुको कुराकानीलाई आधार बनाएर हारजीतको अनुमान गर्ने वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने गरिएको छ । त्यसप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।”

निर्वाचन आचारसंहिता, २०८२ ले प्रस्ताव गरेको मतदातको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउन सक्ने भएकाले नतिजा पहिला नै घोषणा गरिदिँदै उम्मेदवारहरुलाई हतोत्साही बनाउने र प्रतिस्पर्धाको वातावरणलाई खलल पु¥याउन काम नगर्न आयोगले अनुरोध गरेको छ ।

प्रविधिको तीव्र विकाससँगै एआईको प्रयोग गरी सृजना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन सहयोगी भुमिका निर्वाह गरिदिन आयोगले विशेष आग्रह गर्दै आएको छ । प्रविधिले सूचना प्रवाहमा सहजता ल्याएपनि यसको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न आयोगले ध्यानाकर्षण गराएको छ ।

बाँकेमा तीन राजनीतिक दलका प्रतिबद्धतापत्र सार्वजनिक

नेपालगञ्ज। आगामी फागुन २१ गने हुने निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दलले धमाधम प्रतिबद्धतापत्र सार्वजनिक गर्न थालेका छन् ।

बाँकेमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । बाँकेको निर्वाचन क्षेत्र नं २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेककुमार श्रेष्ठले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उद्योग, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, विपद् न्यूनीकरण, वातावरण संरक्षण र सूचना प्रविधिको विकासका लागि स्थानीय सरकारको सहभागितामा साझा नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने बताउनुभयो ।

सो पार्टीले प्रतिबद्धतापत्रमा भेरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने, सीमावर्ती व्यापार, भन्सार र खुला सीमाबाट सिर्जित चुनौती समाधानका लागि सङ्घीय नीतिमा पहल गर्ने, शिक्षाको गुणस्तर सुधारका लागि गुरुयोजना निर्माण गर्ने, आकाशे पुल, निर्माणलगायत विषयलाई प्राथमिकतामा राखिएको छ ।

एमाले उम्मेदवार राईको प्रतिबद्धता

बाँकेको क्षेत्र नं २ का नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मोहम्मद इस्तियाक राईले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

प्रतिबद्धता पत्रमा पूर्वाधार तथा सहरी विकास, औद्योगिक, व्यापारिक र रोजगारी विकास, शैक्षिक विकास, स्वास्थ्य क्षेत्रको विकास, कृषि तथा अनुसन्धान, सामाजिक सुरक्षा, धर्म, संस्कृति संरक्षण, पर्यटन विकास, सुशासन र प्रविधि विकास, सामाजिक न्याय र समावेशी विकास, व्यवस्थित बसोबास, गरिबी न्यूनीकरण र मानव विकास, शिक्षा र सामाजिक जागरण, धार्मिक सद्भाव र सामाजिक एकता, पर्यटन, सहरी व्यवस्थापन र आर्थिक अवसर र लागुऔषध नियन्त्रण र सुरक्षित समाज शीर्षकमा विभिन्न बुँदा उल्लेख छ ।

राईले आधुनिक क्रिकेट रङ्गशाला निर्माण, नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि कूटनीतिक पहल, नेपालगञ्ज चक्रपथ, डुडुवामा बाढी र डुबान रोक्न तटबन्ध, राप्तीको पानी नेपालगञ्ज ल्याएर पिउने पानीको व्यवस्था गर्ने, नेपालगञ्जमा आकाशे पुल निर्माण गर्ने प्रतिबद्धता पत्रमा समावेश गर्नुभएको छ ।

नेकपाका युवा उम्मेदवार विष्टको प्रतिबद्धतापत्र

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट बाँके निर्वाचन क्षेत्र नं २ का युवा उम्मेदवार दीपेन्द्र विष्टले विभिन्न १४ शीर्षकमा छ पृष्ठ लामो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

प्रतिबद्धता पत्रको मूल आत्मा ‘भ्रष्टाचार शून्य बाँके–२’ अभियान रहेको देखिएको छ । विष्टले भ्रष्टाचारमुक्त क्षेत्र निर्माणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख छ ।

यसअन्तर्गत प्रविधिमा आधारित पारदर्शी प्रणाली लागू गर्ने, डिजिटल उजुरी प्रणाली सञ्चालन गर्ने, भ्रष्टाचारमा संलग्न व्यक्तिलाई तत्काल निलम्बन गरी कानुनी कारबाही अघि बढाउने व्यवस्था गर्नेजस्ता उपायलाई प्राथमिकतामा राखिएको छ । सुशासन, पारदर्शिता र आधुनिक प्रविधिलाई केन्द्रमा राखिएको यो अवधारणाले प्रशासनिक सुधारलाई राजनीतिक अठोटसँग जोड्ने प्रयास प्राथमिकतामा राखिएको छ ।

युवा उद्यमी विष्ट आफैँ पनि ‘आइक्यास’ नामक डिजिटल पे कम्पनीका सञ्चालक हुनुहुन्छ । उहाँको प्रतिबद्धतामा नेपालगञ्जलाई सूचना प्रविधिमैत्री सेवा र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने दृष्टिकोण प्रस्तुत गरिएको छ । “नागरिकका दैनिक कामलाई सहज बनाउन सिफारिस, कर भुक्तानी तथा अन्य सरकारी सेवा अनलाइनमार्फत उपलब्ध गराइनुपर्छ”, विष्टले भन्नुभयो ।

उहाँको प्रतिबद्धतामा, सबै शुल्क डिजिटल प्रणालीबाट तिरिने, फाइलको अवस्था नागरिकले आफैँ अनलाइनमार्फत हेर्नसक्ने व्यवस्था लागू गरिने उल्लेख छ । त्यसबाहेक युवा रोजगारी र उद्यमशीलता, पर्यटन र अर्थतन्त्र, बाढी समस्या र जोखिम व्यवस्थापन, कृषि, उद्योग र व्यापारिक हबलगायत विषय छन् । नेपाली कांग्रेस बाँकेले दुई दिनपछि प्रतिबद्धतापत्र सार्वजनिक गरिने जनाएको छ ।

ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चका पूर्व अध्यक्षद्वारा थापालाई विजयी गराउन अपिल

ओखलढुंगा । प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ नजिकिँदै जाँदा ओखलढुंगाको राजनीतिक माहोल थप तातेको छ । नेकपा (एमाले) ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चका पूर्व अध्यक्षहरू र वर्तमान अध्यक्षले संयुक्त अपिल जारी गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार अस्मिता थापालाई अत्याधिक मतले विजयी गराउन आग्रह गरेका छन्।

‘जेनजी पुस्ता, नवीन सोच, युवा उद्यम र रोजगारीका लागि ओखलढुंगामा अस्मितालाई भोट’ भन्ने मूल सन्देशसहित सार्वजनिक गरिएको अपिलमा सूर्य चिन्हमा मतदान गर्न जिल्लावासीमा अनुरोध गरिएको छ। संयुक्त अपिलमा ओखलढुंगाको विकास, युवा रोजगारी सिर्जना, उद्यमशीलताको प्रवर्द्धन तथा समृद्ध जिल्लाको दीर्घकालीन लक्ष्य पूरा गर्न सक्षम र ऊर्जाशील नेतृत्व आवश्यक रहेको उल्लेख गरिएको छ।

सम्पर्क मञ्चका पूर्व अध्यक्षहरू शान्तिराम खतिवडा, दीप ब. कार्की, नानीबाबु बुढाथोकी, केदारराज पुडासैनी, सुरेन्द्र बोगटी, कुमार प्र. घिमिरे, तीर्थराज सुवेदी, अमृत ब. धमला, सीताराम राउत, चन्द्र व. राई वाम्बुले, मोहन कु. बिष्ट, सूर्य ब. गुरुङ, विनोद राईले संयुक्त रूपमा हस्ताक्षर गर्दै अस्मिता थापाको पक्षमा माहोल बनाउन आह्वान गरेका छन्।

त्यस्तै, हालकी अध्यक्ष संगिता कार्कीले पनि आफूहरू सबै सक्रिय भएर चुनावी अभियानमा जुटेको उल्लेख गर्दै संगठनको सम्पूर्ण शक्ति उम्मेदवारको जितमा केन्द्रित गरिने बताएकी छन्। उनले ओखलढुंगाको समग्र विकास, युवा सहभागिता , महिला नेतृत्वमा नयाँ ऊर्जा र सुशासनको पक्षमा स्पष्ट दृष्टिकोण भएकी उम्मेदवारका रूपमा अस्मिता थापा योग्य र सक्षम विकल्प भएको दाबी गरेकी छन्।

संयुक्त अपिलमार्फत जिल्लाभर रहेका नेता- कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूलाई घरदैलो अभियानलाई प्रभावकारी बनाउन, मतदातासम्म स्पष्ट सन्देश पुर्‍याउन र सूर्य चिन्हमा मतदान सुनिश्चित गर्न आग्रह गरिएको छ।

निर्वाचन नजिकिँदै जाँदा एमालेभित्र देखिएको एकता र पूर्व तथा वर्तमान नेतृत्वको साझा प्रतिबद्धताले ओखलढुंगामा अस्मिता थापाको पक्षमा चुनावी माहोल थप सशक्त बन्दै गएको नेताहरूको भनाइ छ।

नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर  

काठमाडौँ। नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराईले र भारत सरकारका तर्फबाट नेपालका लागि महामहिम भारतीय राजदूत नवीन श्रीवास्तवले आज सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सरकारको मन्त्रिपरिषद् बैठकले गत असोज ३० गते उक्त सम्झौता गर्ने निर्णय गरेअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको मन्त्रालयका प्रवक्ता दलबहादुर अधिकारीले जानकारी दिनुभयो ।

सो सम्झौताले फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन तथा न्यायिक कारबाहीका क्रममा प्रमाण सङ्कलन तथा आदानप्रदानलगायत विषयमा दुवै मुलुकका सक्षम अधिकारीबीच सहयोग आदानप्रदान गर्न विधिवत् मार्गप्रशस्त गर्ने मन्त्रालयका प्रवक्ता अधिकारीले बताउनुभयो ।

सम्झौताले विधिको शासन सुदृढीकरण गर्न तथा न्याय प्रशासनमा संस्थागत समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने उहाँको भनाइ छ । उहाँले सम्झौताको कार्यान्वयनसँगै दुवै देशका केन्द्रीय अधिकारीहरूबीच सहकार्य अझ सबल एवं परिणाममुखी हुने अपेक्षा बताउनुभयो ।

प्रवक्ता अधिकारीले सम्झौताले नेपालमा हुने वित्तीय अपराध न्यूनीकरण गर्न तथा अनुसन्धान, अभियोजन र न्याय निरूपणलाई थप प्रभावकारी बनाउन कोशेढुङ्गा सावित हुने उल्लेख गर्नुभयो ।

सो सम्झौताले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्नेसम्बन्धी पारस्परिक मूल्याङ्कनमा थप मद्दत पुर्याउने अपेक्षा गरिएको छ । समारोहमा मन्त्रालयका सचिव पाराश्वर ढुङ्गाना तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति थियो ।

लन्डनस्थित दूतावासमा २६३ औँ नेपाली सेना दिवस : बेलायती चिफअफ स्टाफको प्रशंसा

बेलायत। ब्रिटिश सेनाका चिफअफ स्टाफ, फिल्ड आर्मी मेजर जनरल कार्ल बोसवेल सिबिइले नेपाली सेना विश्व प्रतिष्ठित संस्था भएको बताउनुभएको छ ।

लन्डनस्थित नेपाली दूतावासमा २६३औँं नेपाली सेना दिवसका अवसरमा सोमबार साँझ आयोजित विशेष समारोहका प्रमुख अतिथिका रुपमा बोसवेलले नेपाली सेना गर्विलो इतिहास र उत्कृष्टताका कारण विश्वव्यापी प्रतिष्ठा भएको सैन्य संस्था रहेको बताउनुभएको हो ।

संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनामा असाधारण योगदान दिँदै नेपाली शान्ति सेनाले अनुशासन, सहानुभूति र सबैभन्दा जटिल कामका लागि विश्वभर प्रशंसा कमाएको उहाँको भनाइ छ । उहाँले संयुक्त अधिराज्यको वेल्समा आयोजित विश्वकै कठिन अभ्यास ‘क्याम्ब्रियन पट्रोल एक्सरसाइज–२०२५’ मा नेपाली सेनाले स्वर्ण पदक जितेकामा प्रशंसा गर्नुभयो ।

उहाँले ब्रिटिस गोर्खा सैनिक पनि बहादुरी, बफादारी र व्यावसायिकताको उदाहरण बनेको उल्लेख गर्दै दुई सेनाबीचको साझेदारी संयुक्त तालिम र शिक्षा, विपद् प्रतिक्रिया सहयोग, व्यावसायिक आदानप्रदान, शान्ति, स्थिरता र अन्तरराष्ट्रिय नियम–आधारित व्यवस्थाप्रति साझा प्रतिबद्धतामार्फत अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाली सेनाको गौरवशाली इतिहास र सेनाले राष्ट्रका लागि हासिल गरेका महत्वपूर्ण उपलब्धि स्मरण गर्दै, नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनादेखि विभिन्न सैन्य गतिविधिमा निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहले स्वागत मन्तव्य दिँदै नेपाली सेनाले रणनीतिक नीतिको कार्यान्वयन, राष्ट्र निर्माण प्रयास प्रवद्र्धन र सन्तुलित सैन्य कूटनीतिमा संलग्न हुँदै आफ्नो सम्मानित स्थान कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

सो कार्यक्रममा बेलायतस्थित नेपाली डायस्पोराका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका १०० बढीको सहभागिता रहेको थियो ।

पैदलयात्रुलाई हातपात गर्ने कार चालक पक्राउ, सात दिन म्याद थप

काठमाडौँ। काठमाडौँमा एक जना कार चालकले पैदलयात्रुलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

आज बिहानैदेखि भाइरल भएको उक्त भिडियोबारे सर्वत्र आलोचना भएपछि प्रहरीले खोजी अभियान थालेको र अभियानका क्रममा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यसरी कुटपिट गर्ने व्यक्ति हाल बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षका पारस बम रहेको र उनलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।

अधिकारीले उनी इञ्जिनियर रहेको खुलेको र उनलाई थप कारबाहीका लागि केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाइएको पनि बताउनुभयो । उनले काठमाडौँको नारायणगोपाल चोकस्थित गाडी रोकिएका बेला कारबाट ओर्लिएर सडकमा हिँडिरहेका एक व्यक्तिलाई हातपात गरेका भिडियोमा देखिन्छ ।

नारायणगोपाल चोकस्थित सडकखण्डमा बा३च ११०३ नं को निजी जिप चालकले सार्वजनिकस्थलमा पैदलयात्रीलाई हातपात तथा दुव्र्यव्यवहार गरेको भिडियो विभिन्न सामाजिक सञ्जालमा देखिएको थियो ।

उनलाई आजै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अनुसन्धानका लागि सात दिनको म्याद थप भएको काठमाडौँ प्रहरीका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

चार वर्षपछि शान्ति प्रयास पुनः सक्रिय

जेनेभा । रुसले युक्रेनमाथि पूर्ण आक्रमण थालेको करिब चार वर्ष पुग्न लाग्दा मस्को र किएभका प्रतिनिधिमण्डलहरू अमेरिकी पहलमा पुनः वार्ताको टेबलमा फर्किएका छन् । युद्धको चौथो वार्षिकोत्सवभन्दा एक साताअघि जेनेभामा सुरु हुन लागेको यो चरणलाई द्वन्द्वको सम्भावित मोडविन्दुका रूपमा हेरिएको छ । यद्यपि दुवै पक्षका अडान कठोर नै छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफ्नो प्रतिनिधिमण्डल स्विट्जरल्यान्ड आइपुगेको जानकारी दिएको छ भने रुसी राज्य समाचार एजेन्सी तासले पनि रुसी टोली पुगेको जनाएको छ । दुई दिनसम्म चल्ने वार्ता बुधबारदेखि औपचारिक रूपमा सुरु हुने अपेक्षा गरिएको छ ।

वार्तामा सबैभन्दा जटिल मुद्दा रूसी नियन्त्रणमा रहेका करिब २० प्रतिशत युक्रेनी भूभागको भविष्य रहने बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफ र जारेड कुशनर प्रतिनिधिमण्डलहरूसँग छलफलमा बस्ने तयारीमा छन् । संवेदनशीलताका कारण नाम नखुलाउने सर्तमा एपीसँग कुरा गरेका एक स्रोतका अनुसार डोनबास क्षेत्रबारे ‘कठिन’ बहस हुने सम्भावना छ, किनकि मस्कोले अझै पनि किएभलाई पूर्वी क्षेत्रको नियन्त्रण त्याग्न दबाब दिइरहेको छ ।

जेनेभामा सैन्य तहको समानान्तर छलफल पनि हुने भएको छ । अमेरिकी, रुसी र युक्रेनी सैन्य प्रमुखहरूले सम्भावित युद्धविरामको अनुगमन संयन्त्र, असैन्यीकृत क्षेत्रको व्यवस्थापन र प्रत्यक्ष सैन्य सम्पर्क पुनःस्थापनाबारे विचार–विमर्श गर्नेछन् । यसअघि अबु धाबीमा भएको चरणमा यस्ता प्राविधिक विषयमा प्रारम्भिक छलफल भएको थियो ।

तर यथार्थमा प्रगतिको सम्भावना सीमित देखिएको छ । संयुक्त राज्य अमेरिकाले जुनसम्म समाधानको समयसीमा सुझाए पनि दुवै पक्ष मूलभूत क्षेत्रीय मागमा पछि हट्न तयार देखिएका छैनन् । करिब एक हजार २५० किलोमिटर लामो मोर्चामा युक्रेनी सेना ठूलो रुसी बलसँग जुधिरहेको छ । जेलेन्स्कीका अनुसार रुसले हालै १२ क्षेत्रमा करिब ४०० लामो दूरीका ड्रोन र २९ मिसाइल प्रहार गरेको छ, जसमा बालबालिकासहित नौ जना घाइते भएका छन् । ओडिसा बन्दरगाह सहरमा हजारौँ बासिन्दा विद्युत् र पानी सेवाविहीन बनेका छन् ।

जेलेन्स्कीले निरन्तर आक्रमणले शान्ति प्रयास कमजोर बनाएको उल्लेख गर्दै मस्कोलाई ‘जवाफदेही बनाइनु आवश्यक’ रहेको बताएको छ । उनले बिना शर्त र दीर्घकालीन युद्धविरामको अमेरिकी प्रस्तावमा आफूहरू सहमत रहेको दोहो¥याए ।

ट्रम्पले जेनेभा बैठकलाई ‘ठूलो वार्ता’ को संज्ञा दिएको छ । वासिङ्टन फर्कँदै गर्दा उनले युक्रेनले छिटो वार्तामा सक्रिय हुनुपर्ने बताएको थियो, यद्यपि उक्त अभिव्यक्तिको सन्दर्भ प्रस्ट पारिएको छैन ।

अमेरिकी पक्षबाट युरोपमा नाटो सेनाका कमान्डर जनरल एलेक्सस ग्रिन्केविच र अमेरिकी सेनाका सचिव डान ड्रिस्कोल सहभागी हुनेछन् । ग्रिन्केविचले रुसी सेना प्रमुख जनरल भ्यालेरी गेरासिमोभसँग उच्चस्तरीय संवाद सुरु गर्ने अपेक्षा गरिएको छ । यसअघि संयुक्त राज्य अमेरिकाले रुससँग प्रत्यक्ष सैन्य सम्पर्क पुनःस्थापित गरेको जनाएको थियो ।

जेनेभामा यी वार्ताहरू भइरहेका बेला अमेरिकी अधिकारीहरूले इरानसँग पनि स्विस सहरमै अप्रत्यक्ष संवाद अघि बढाएका छन् ।