`

लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस

दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनःगठनका लागि सिफारिस गरिएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गठित तथा पुनःगठित मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजनसहित सिफारिस गर्नुभएको हो ।

मन्त्रिपरिषद् पुनःगठनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीन जना नयाँ मन्त्री नियुक्तिका लागि सिफारिस गरिएको छ ।

प्रदेश प्रमुख कार्यालयका सचिव राजेश गौतमले दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णाकुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिनेगरी प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्का अन्य सदस्यमा तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिनेगरी सिफारिस गरिएको उहाँले बताउनुभयो ।

सचिव गौतमका अनुसार यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहनुभएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय र तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिनेगरी प्रस्ताव गरिएको छ ।

नयाँ नियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथग्रहण प्रदेश प्रमुखको कार्यालय बुटवलमा मङ्गलबार दिउँसो ३ः२५ बजे राखिएको प्रदेश प्रमुख कार्यालयका सचिव गौतमले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा सबै प्रदेशसभाका सदस्यलाई उपस्थितिका लागि उहाँले अनुरोध गर्नुभयो ।

सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबिचको सहकार्य हुनुपर्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन सके मात्रै नागरिकले अनुभूत गर्नेगरी सङ्घीयताको कार्यान्वयन हुने बताएका छन् ।

नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल सुदूरपश्चिम प्रदेश समितिसँग आज धनगढीमा आयोजित छलफलमा उनले संविधानमा भएका व्यवस्थाको कार्यान्वयन गर्दै आपसी सहकार्यबाट सङ्घीयतालाई सफल बनाउनुपर्नेमा जोड दिए ।

“प्रदेशको विकास र समृद्धिका लागि स्थानीय तहसँगको सहकार्य अपरिहार्य छ। स्थानीय तहका समस्या, आवश्यकता र सुझावलाई प्रदेश सरकारले प्राथमिकताका साथ सम्बोधन गर्छ । त्यसका लागि सबै मिलेर अगाडि बढौँ”, मुख्यमन्त्री भट्टले भने ।

त्यस अवसरमा सङ्घीयताका जानकार खिमलाल देवकोटाले प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यले शासन प्रणालीलाई सुदृढ बनाउने बताए । उनले स्थानीय तहका आवश्यकता र प्राथमिकतालाई प्रदेश तथा सङ्घीय सरकारका नीति तथा कार्यक्रमसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए ।

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

पेरिस। यस वर्ष युरोपमा तापक्रम असामान्य रूपमा उच्च रह्यो । यो महाद्वीप अन्य कुनै पनि महादेशभन्दा छिटो तात्दै छ । युरोपको सन् २०२६ को गर्मी मौसम जलवायु परिवर्तनको इतिहासमा किन यादगार बन्दैछ यो चिन्ताको बिषय बनेको छ ।

गर्मीयाममा ४० डिग्री सेल्सियस पुग्नु युरोपका केही भागमा सामान्य भइसकेको भए पनि सन् २०२६ मा अन्य औसत चिसो मौसम रहने क्षेत्रले पहिलो पटक यो सीमा पार गरेको छ ।

युरोपेली ड्राउट अब्जर्भेटरी (इडिओ) को अगस्ट १५ सम्मको दैनिक अधिकतम् तापक्रममा आधारित एएफपी विश्लेषणअनुसार टर्कीबाहेक एक करोड ८० लाख मानिस बसोबास गर्ने युरोपका क्षेत्रमा सन् २००० पछि पहिलो पटक तापक्रम ४० डिग्री सेल्सियस पुगेको थियो ।

यसले विशेष गरी जर्मनीका ९० लाख मानिस बसोबास गर्ने क्षेत्र मुख्यतः बर्लिनको दक्षिण र पश्चिम तथा फ्र्याङ्कफर्ट वरपरलाई असर गरेको छ ।

फ्रान्सका विशेष गरी पूर्वी फ्रान्स र ब्रिटनीसहितका ४० लाख मानिस बसोबास गर्ने क्षेत्रमा पनि यस्तो अवस्था आएको छ ।

इडिओ तथ्याङ्कअनुसार तापक्रमको अचानक वृद्धि शरीरका लागि कठिन हुन सक्छ तर लगातार उच्च तापक्रम चिन्ताको बिषय हुनसक्छ ।

जुन महिनाको मध्यदेखि अगस्टको मध्यसम्म स्पेनका लेरिडा (क्याटलोनिया), कर्डोबा र ग्रानाडा (एन्डालुसिया) नगरपालिका वरपर ५५ दिनभन्दा बढी तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि रह्यो ।

एन्डालुसियामा हालका वर्षहरूमा (विशेष गरी सन् २०२५ र सन् २०२३ मा) यस्तो लगातार गर्मी देखिएको भए पनि उत्तरमा रहेको लेरिडामा यो समस्या सन् २०२६ मा पहिलो पटक आएको हो ।

स्पेनको एइएमइटी मौसम निकायको तथ्याङ्कअनुसार लेरिडा मौसम स्टेशनमा एक महिनाभन्दा बढी समयसम्म हरेक दिन ३५ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रेकर्ड भएको थियो ।

साइप्रसको निकोसियाका बासिन्दाले पनि ५५ दिनभन्दा बढी त्यस्तै उच्च तापक्रमको सामना गरेका थिए ।

मध्य, पूर्वी र उत्तरी युरोपका धेरै देशले यस वर्ष आफ्नो इतिहासकै उच्च तापक्रम रेकर्ड तोडे। डेनमार्कमा ३७ डिग्री सेल्सियस, स्लोभाकियामा ४२.२ डिग्री सेल्सियस पुग्यो भने जर्मनी, अस्ट्रिया, चेक गणतन्त्र र पोल्यान्डमा ४० देखि ४२ डिग्री सेल्सियससम्म तापक्रम पुग्यो ।

यस गर्मीयामको सबैभन्दा उच्च तापक्रम सम्भवतः इटालीमा रेकर्ड भएको थियो। जुलाई १९ मा सार्डिनियाको ओरानीमा ४८.४ डिग्री सेल्सियस पुगेको एआरपिएएस क्षेत्रीय वातावरण संरक्षण निकायले जनाएको छ । यो सन् २०२१ मा सिसिलीमा रेकर्ड भएको युरोपेली उच्चतम ४८.८ डिग्री सेल्सियसभन्दा केही कम हो ।

रातमा पनि २५ डिग्री सेल्सियस

दिनभरि धेरै तातो हुँदा मानिसहरू रातको शीतलताको आशा गर्छन् तर त्यो राहत अब कम हुँदै गएको छ।

सन् २०२६ मा करिब एक करोड ८० लाख मानिस बसोबास गर्ने युरोपका भागमा रातको तापक्रम २५ डिग्री सेल्सियसभन्दा तल झरेन।

यो विशेष गरी फ्रान्सको पे दे ला लोयर क्षेत्रका करिब ५० लाख मानिस र पेरिस वरपरका क्षेत्रमा देखियो ।

यसपहिले तातो रात अनुभव नगरेका इटालीका ‘आल्प्स’को फेदीमा रहेका केही क्षेत्रमा पनि रातको तापक्रम औसतभन्दा तातो रहेको देखिएको थियो । यो घटना पोल्यान्डको विशेष गरी वार्सा वरपरसम्म फैलिएको थियो ।

दक्षिणी इटालीमा रातको तापक्रम २५ डिग्री सेल्सियसभन्दा तल नझर्नु सामान्य कुरा हो र यस गर्मीयाममा केही ठाउँमा यो अवस्था झन् गहिरियो।

इटालीको पश्चिमी छेऊ सिसिली र दक्षिणी एड्रियाटिक तटमा केही क्षेत्रमा यो बर्ष दुई महिनामा २० भन्दा बढी दिन तातो रात रेकर्ड भएको छ भने समुद्रपारि क्रोएसियाका ब्राच टापु वरपर पनि यस्तै अवस्था रहेको इडिओकोे तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन

कास्की। पोखरामा आज सम्पन्न भएको पहिलो संस्करणको ‘पिसिएम कप’ खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शास्वत बज्राचार्य र सुरेन्द्र विक च्याम्पियन बनेका छन् ।

गण्डकी प्रदेश टेनिस सङ्घको आयोजनामा आधारभूत तहदेखि टेनिस खेलाडी उत्पादन गर्ने उद्देश्यले पोखरा रङ्गशालामा यही भदौ ५ गतेदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा १८ वर्षमूनिको ‘ब्वाइज सिङ्गल्स’ को फाइनलमा शास्वतले सन्दीप विकलाई ६-२ र ६-१ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भए । उत्कृष्ट प्रदर्शन गरेका शास्वतले प्रतियोगिता भर आफ्नो प्रभावशाली खेललाई फाइनलसम्म निरन्तरता दिएका थिए ।

यसैगरी १६ वर्षमुनिको ‘ब्वाइज सिङ्गल्स’ तर्फ सुरेन्द्र विक च्याम्पियन बनेका छन् । फाइनलमा उनले आर्यषराज पौडेललाई ६-३ र ६-३ को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफलल भएका हुन् । प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा भएको थियो ।

चौध वर्षमुनिको ‘ब्वाइज सिङ्गल्स’ को उपाधि भने आर्यषराज पौडेलले जितेका छन् । उनले फाइनलमा अभिषेक बयलकोटीलाई ६-१ र ७-५ को सेटमा पराजित गर्दै उपाधि पोल्टामा पार्न सफल भएका हुन् ।

‘गल्र्सतर्फ’ निम्ती कुँवरले उत्कृष्ट प्रदर्शन गर्दै दुई उपाधि आफ्नो नाममा लेखाइन् । उनी यु-१२ र यु-१० ‘गल्र्स सिङ्गल्स’ दुवै विधामा च्याम्पियन बन्न सफल भइन् । यसैगरी आठ वर्षमुनिको ‘गल्र्स सिङ्गल्स’ मा वाणी राजभण्डारी प्रथम हुँदा निवेदी सुनार द्वितीय भइन् ।

‘ब्वाइज’तर्फ यु-१२ ‘सिङ्गल्स’ मा सहंश बस्नेत प्रथम भए । उनले इभान भट्टराईलाई पराजित गर्दै उपाधि जितेका हुन् । यु-९ ब्वाइज सिङ्गल्समा सर्वज्ञजङ्ग खत्री प्रथम र सोनम टीघले द्वितीय बने ।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीलाई मुख्य प्रायोजक पोखरा कलेज अफ म्यानेजमेन्टकी प्राचार्य लिना नेगी श्रेष्ठ, नेपाल टेनिस सङ्घका पूर्वअध्यक्ष मनोज राणा, प्रतियोगिता संयोजक लोक गुरुङलगायतले आकर्षक उपहार, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

गण्डकी प्रदेश टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थले सङ्घले आफ्नो स्थापना भएदेखि हालसम्म आधारभूत तहमा टेनिसका लागि ‘खेल्छ गण्डकी’ कार्यक्रमका माध्यमबाट विपन्न वर्गका बालबालिकाबाट अभियान सुरु गर्दै आएको बताउँदै बालबालिकाको क्षमता विकास गर्न र खेलप्रति आकर्षित गराउन प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशमा जुनियर टेनिस खेलाडीको प्रतिभा पहिचान र विकासमा प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको गण्डकी प्रदेश टेनिस सङ्घका महासचिव नवीन श्रेष्ठले बताउनुभयो । पोखरा रङ्गशालाभित्रको टेनिस हलमा यही भदौ ५ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न उमेर समूहसँगै खुलातर्फका खेलमा ६० भन्दा बढी खेलाडीको सहभागिता थियो ।

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

सियोल। संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र पानी (समुद्र) मा अवतरण गर्ने तय भएको विशाल संयुक्त अभ्यास रद्द गरेको दक्षिण कोरियाले सोमबार जनाएको छ ।

इरानसँगको युद्धका कारण सैन्य बल उपलब्धतामा बाधा पुगेकाले यो निर्णय भएको हो ।

द्विवार्षिक स्याङयोङ अभ्यासमा दक्षिण कोरिया र अमेरिकाका नौसैनिक बल सहभागी हुने प्रचलन छ । यो अभ्यास संयुक्त कारबाहीलाई सुदृढ बनाउन तयार गरिएको हो र सामान्यतया युद्धपोत, विमान र स्थल सेनाहरूले जमिन तथा समुद्रमा अवतरणको अभ्यास गर्छन् ।

यो रद्द हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता छुट्टै वार्षिक ‘उल्ची फ्रिडम शिल्ड’ अभ्यासलाई छोट्ट्याउने आदेश दिनुभएपछि उक्त संयुक्त अभ्यासलाई पनि ११ दिनबाट घटाएर पाँच दिनमा झारिएको थियो ।

राष्ट्रपति ट्रम्पले त्यसबेला यसको उच्च लागत औँल्याउँदै यसले उत्तर कोरियालाई ‘अनुपयुक्त र शत्रुतापूर्ण’ सन्देश पठाउने बताउनुभएको थियो । साथै उत्तर कोरियाली नेता किम जोङ उनसँगको आफ्नो सम्बन्धलाई जोड दिनुभएको थियो ।

“अमेरिकी ‘मेरिन कोप्र्स’ले जुन महिनामा मध्यपूर्वको अवस्थाको कारण देखाउँदै हाम्रा फोर्सलाई औपचारिक रूपमा सूचित गर्दै यस वर्षको स्याङयोङ अभ्यासमा फोर्स तैनाथ गर्ने क्षमता सीमित हुनेछ भनेको थियो,” दक्षिण कोरियाली ‘मेरिन कोप्र्स’का प्रवक्ता हान सेउङ–जेओनले पत्रकार सम्मेलनमा भन्नुभयो ।

उहाँले भन्नुभयो, “सियोल र वाशिङटनले जमिन र समुद्रमा अवतरण गर्ने सैन्य अभ्यास पुनः कहिले सुरु गर्नेबारे परामर्श जारी राखिरहेका छन् तर यो कहिले हुने अहिले भन्न सकिँदैन ।”

पेन्टागनले सियोलको घोषणाबारे टिप्पणी मागिएकोमा तत्काल प्रतिक्रिया दिएन।

गत साता ‘उल्ची फ्रिडम शिल्ड’ अभ्यास घटाउने आदेश राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा किम जोङ उनसँग विकसित सम्बन्ध पुनः जीवित पार्ने प्रयासका बीच आएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार किम जोङ उनसँग ‘मिल्नु’ महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले थप्नुभयो, “प्योङयाङसँग अहिले ५७ वटा ‘अत्यन्त शक्तिशाली’ परमाणु हतियार छन् ।

सियोलको अनुमानअनुसार उत्तर कोरियासँग करिब ८० देखि १२० वटा यस्ता हतियार छन् ।

राष्ट्रपति ट्रम्प र नेता किमले ट्रम्पको पहिलो कार्यकालमा तीन पटक भेट गरेका थिए । तर उनीहरूको सन् २०१९ को दोस्रो हनोई शिखर सम्मेलन उत्तर कोरियाको परमाणु निःशस्त्रीकरणमा सहमति नजुटेपछि सफल हुन नसकेपछि प्योङयाङले आफ्नो परमाणु कार्यक्रम तीव्र बनाएको थियो ।

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा। गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज साँझ गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार मृतकको परिचय खुलेको छैन । जिपमा कति यात्री सवार थिए यकिन पनि भएको छैन ।

जिप चालक र केही घाइतेलाई गल्याङ नगर अस्पताल पुर्याइएको छ । दुर्घटनाको विवरण सङ्कलन जारी छ ।

चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक। पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने सडकको इको खण्ड आजदेखि सञ्चालनमा आएको छ ।

भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इको क्षेत्रमा गत असार ३१ गते पहिरासँगै सडक भासिएपछि सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालयले नयाँ टर््याक खोलेपछि आजदेखि सवारीसाधन यो बाटोमा गुड्न थालेका हुन् । सडक खुलाउन छ वटा टिपर र १२ वटा ठूला मेसिन परिचालन गरिएको थियो ।

“डाक्लाङमा सडक सहज भइसकेको छ । अब इकोमा पनि सडक खोलिएको छ । लिपिङमा पनि मर्मतसम्भार शीघ्र थालिने छ”, उक्त कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले भन्नुभयो ।

सडक सञ्चालनमा आएसँगै कोदारी बजारमा रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेका सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले बताउनुभयो । उहाँका अनुसार लिपिङपारि करिब ८५ कन्टेनर अझै अलपत्र छन् ।

अन्तरष्ट्रिय राजमार्ग यति लामो समयदेखि बन्द हुँदा आफूहरूले ठूलो हानि बेहोर्नुपरेको गुनासो गर्दै उहाँले वर्षा कम भएसँगै बाँकी अवरोध पनि हट्ने र दसैँका लागि अ सामान आयात गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो र

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार बाह्रबिसे–तातोपानी सडकको २६ किलोमिटर खण्डमा वर्षायाममा पटकपटक पहिरो जाने र सडक भासिने समस्या दोहोरिँदै आएको छ । इकोमा सडक खुले पनि लिपिङको समस्या समाधान नभएसम्म नाका सहज रूपमा सञ्चालन हुननसक्ने उहाँले बताउनुभयो ।

“अस्थायी रूपमा आवागमन खुले पनि लिपिङको सडक मर्मत तथा चीनतर्फको पहिरो हटाउने काम नहुँदासम्म नाका सहज रूपमा सञ्चालन हुने अवस्था छैन”, उहाँले भन्नुभयो ।

बागमती प्रदेशसभा बैठक भोलि

हेटौँडा। बागमतीे प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने भएको छ ।

बैठक प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको हो ।

आज साँझ ८ः०० बजेका निर्धारण गरिएको बैठक भोलिका लागि सारिएको प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिए ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको मिति र समय परिवर्तन गर्नुभएको उनले बताए ।

उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उदयपुरको कटारी नगरपालिका–४ मरुवा खोला नजिकबाट एक सय ९९ किलो तीन सय २० ग्राम गाँजासहित रुपन्देहीका २१ वर्षीय सोम मगरलाई गए राति पक्राउ गरिएको हो । निजले टिपर ढालाभित्र लुकाइछिपाइ राखेका नौ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारेको हो ।

यसैगरी, चितवनको राप्ती नगरपालिका–१० चिप्लेटीबाट करिब एक सय ६८ किलो गाँजासहित दुई जनालाई आज बिहान पक्राउ गरिएको छ ।नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–२ भिर्कुटीचोकका डिल्लीराम थारू र चितवनको राप्ती नगरपालिका–१ पिप्लेका कर्णबहादुर तामाङलाई उनीहरू सवार कारबाट गाँजासहित पक्राउ गरिएको हो ।

महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास

ललितपुर। नेपाली कांग्रेसले महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलताको प्रवद्र्धन तथा देशको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले यही भदौ ११ गते यहाँ ‘महिला उद्यमशीलता सम्मेलन’ आयोजना गर्ने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

प्रतिष्ठानको उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यका अनुसार सम्मेलनमा विशेषगरी नयाँ व्यवसाय, लघु, साना तथा मझौला उद्यम र साना तथा मझौला उद्यम गरिरहेका महिलाका अनुभव, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र नेटवर्किङका लागि साझा मञ्चबारे छलफल हुनेछ ।

त्यस अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय परिसरमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी पनि गरिनेछ । प्रदर्शनीमार्फत महिला उद्यमीले आफ्ना उत्पादन तथा सेवा उपभोक्ता, व्यवसायी, लगानीकर्ता तथा सम्भावित साझेदारसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने अवसर पाउने संयोजक आचार्यले बताए ।

समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधिको विकाससँगै समाजलाई नैतिकता, आचरण र इमान्दारीको खाँचो रहेको बताउनुभएको छ ।

नेपाल जनप्रशासन सङ्घद्वारा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले प्रविधि र क्षमता अरूबाट लिएर पनि उपयोग गर्न सकिने भए पनि आचरण, नैतिकता र इमान्दारी व्यक्तिको अन्तस्करणसँग जोडिएको विषय भएको बताउनुभयो ।

“आधुनिक प्रविधिसँगै आधुनिक प्रशासन चाहिन्छ । तर आधुनिक प्रशासनको आधार पनि नैतिक र जिम्मेवार नेतृत्व नै हो भन्ने भावलाई बिर्सनु हुँदैन”, राष्ट्रपति पौडेलले भन्नुभयो, “मलाई लाग्दछ, आज हाम्रो समाजलाई त्यही नैतिकता, आचरण र इमान्दारीको अलिक बढी खाँचो छ ।”

प्रविधिको विकास र परिवर्तनको गति तीव्र भइरहेको उल्लेख गर्दै उहाँले कृत्रिम बौद्धिकता, डिजिटल शासन, विश्वव्यापीकरण र नयाँ आर्थिक संरचनाले प्रशासन तथा व्यवस्थापनका परम्परागत अभ्यासलाई समयानुकूल परिवर्तन गरिरहेको बताउनुभयो ।

“प्रविधि परिवर्तन भए पनि केही मूल्य कहिल्यै पुराना हुँदैनन् इमान्दारी, अनुशासन, जिम्मेवारी, नैतिकता, मानवता र सार्वजनिक हितप्रतिको प्रतिबद्धता”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले मुलुकको बदलिँदो परिवेशमा जनताको विकासको चाहना सुशासनका माध्यमबाट पूरा गर्नुपर्ने बताउनुभयो । सूचना प्रविधिको विकाससँगै विस्तार भएको विश्वव्यापीकरण र आधुनिकीकरणको वर्तमान समयमा राज्यको सफलता र विकासको मापन आर्थिक विकासका सूचकबाट मात्र गर्न नहुने उहाँको भनाइ थियो ।

“जनताले राज्यबाट झन्झटरहित तरिकाले पाउने छिटोछरितो र गुणस्तरीय सेवा, निर्णय प्रक्रियाको पारदर्शिता, संस्थाको जवाफदेहिता, न्यायपूर्ण व्यवहार, विधिको शासन र सार्वजनिक संस्थाप्रतिको विश्वासलाई पनि हामीले बिर्सनु हुँदैन”, उहाँले भन्नुभयो ।

उहाँले दिगो विकास सक्षम संस्था, दक्ष संस्थागत नेतृत्वसहित उच्च नैतिकता, व्यावसायिकता र उत्तरदायित्वको संस्कृतिमा निर्भर रहने उल्लेख गर्नुभयो ।

नेपाल जनप्रशासन सङ्घजस्ता पेसागत तथा प्राज्ञिक संस्थाले नीति निर्माण, प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनका क्षेत्रमा विगतमा जस्तै आगामी दिनमा पनि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसनले सफल प्रशासक तथा व्यवस्थापकका रूपमा स्थापित स्वर्गीय हेमबहादुर मल्लको योगदानलाई स्मरणीय बनाउन सम्मान कार्यक्रमलाई निरन्तरता दिनु खुसीको विषय भएको राष्ट्रपति पौडेलले बताउनुभयो । राज्य, पेसागत संस्था, सार्वजनिक संस्थान र समाजबीचको सहकार्यले राष्ट्रनिर्माणमा योगदान गर्नसक्ने उहाँको अभिमत थियो ।

सबैको साझा प्रयासबाट मात्र न्यायपूर्ण, सक्षम, उत्तरदायी र समृद्ध नेपाल निर्माण गर्न सकिने उल्लेख गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै नागरिकको अपेक्षाअनुरूप देश विकासको चाहनालाई मूर्तरूप दिनु सबैको साझा दायित्व भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले हेमबहादुर मल्ल सम्मानबाट सम्मानित डा. रामकण्ठ माकजू श्रेष्ठ र रामेश्वरप्रसाद खनाललाई बधाई दिँदै सार्वजनिक सेवाप्रतिको उहाँहरूको समर्पण र राष्ट्रनिर्माणमा पु¥याएको योगदानको कदरस्वरूप सम्मान गरिएको बताउनुभयो ।

इरान युद्ध नयाँ चरणमा जाने जोनसनको संकेत

काठमाडाैँ । अमेरिकी प्रतिनिधि सभाका अध्यक्ष माइक जोनसनले इरानसँगको जारी द्वन्द्व चाँडै नयाँ चरणमा प्रवेश गर्ने बताउँदै अमेरिकी सहयोगी राष्ट्रहरू पनि त्यसमा सहभागी हुने सङ्केत गरेका छन्। उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा इरानलाई आणविक हतियार विकास गर्नबाट रोकिएको दाबी गर्दै सैन्य अभियानको उद्देश्य पूरा भएको बताए।

फक्स न्युजसँग आइतबारको अन्तर्वार्तामा उनले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु विगत पाँच दशकदेखि अमेरिकी प्रशासनहरूको साझा लक्ष्य रहेको र राष्ट्रपति ट्रम्पले त्यो उद्देश्य पूरा गरेको दाबी गरे। इरानसँगको वार्तामा मुख्य चुनौती विश्वासको अभाव रहेको बताउँदै उहाँले ‘वार्ताको टेबलको अर्को छेउमा रहेका इरानीहरूलाई विश्वास गर्न सकिँदैन’ भने।

जोनसनले इरानमा जारी सैन्य संलग्नताप्रति अमेरिकाभित्र असन्तुष्टि बढे पनि रिपब्लिकन पार्टीले आगामी नोभेम्बर ३ को मध्यावधि निर्वाचनमा प्रतिनिधिसभाको बहुमत कायम राख्ने दाबी गरे। उनले निर्वाचनअघि द्वन्द्व समाधान भए त्यसले पार्टीलाई थप सहयोग पुग्ने बताए। युद्धका कारण ऊर्जा लागत र मुद्रास्फीति बढेको तथा अमेरिकामा पेट्रोलको मूल्य प्रतिग्यालन चार अमेरिकी डलरभन्दा माथि पुगेको विषय पनि राजनीतिक बहसमा आएको छ।

राष्ट्रपति ट्रम्पका प्रमुख सहयोगी जोनसनले इरानको मुख्य खतरा समाप्त पारिएको दाबी गर्दै ‘हामीले मुख्य खतरा हटाएका छौँ’ भने। आणविक हतियार विकास गर्नबाट इरानलाई रोक्नु सैन्य अभियानको प्रमुख उद्देश्य रहेको उनले दोहोर्‍याए।

ट्रम्प प्रशासनले इरानविरुद्धको सैन्य कारबाही आणविक क्षमता विकास रोक्न गरिएको बताउँदै आएको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त सैन्य कारबाही गरेपछि सर्वोच्च नेता अली खामेनीसहित केही वरिष्ठ अधिकारीको मृत्यु भएको थियो। त्यसपछि तेहरानले हर्मुजको जलघाँटी हुँदै समुद्री आवागमन रोक्नुका साथै मध्यपूर्वस्थित अमेरिकी सैन्य प्रतिष्ठानमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको थियो।

अप्रिलमा प्रारम्भिक युद्धविराम भए पनि क्षेत्रमा तनाव र सीमित सैन्य आदानप्रदान जारी रह्यो । पछिल्ला सातामा सक्रिय युद्ध घटेको भए पनि राष्ट्रपति ट्रम्पले इरानमाथि थप आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अमेरिका, इजरायल र इरानबिच अनिश्चित युद्धविराम कायम रहे पनि समुद्री सुरक्षाको जोखिम यथावत छ।

इरानी अधिकारीहरूले हर्मुजको जलघाँटीमाथिको नियन्त्रण नछाड्ने अडान राख्दै आएका छन् । उक्त जलमार्गमा अवरोध हुँदा विश्व बजारमा इन्धन तथा प्राकृतिक ग्यासको मूल्य बढेको छ । जोनसनले भने हर्मुजमा तेल ट्याङ्करको आवागमन बढेको रिपोर्टसमेत उल्लेख गर्दै ‘हामी चरणबद्ध रूपमा काम गरिरहेका छौँ’ भने।

बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको दाबी

काठमाडाैँ। बेलायतले किएभलाई लामो दूरीका मिसाइल उत्पादन गर्न आवश्यक जानकारी दिएर युक्रेनमा शान्ति रोकिरहेको क्रेमलिनले सोमबार दावी गरेको छ । क्रेमलिनले युक्रेनी मिसाइल उत्पादन गर्ने प्लान्टहरू नष्ट गर्ने चेतावनी दिएको छ।

यो चेतावनी बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले किएभ भ्रमणका क्रममा युक्रेनलाई सैन्य सहयोग जारी राख्ने वाचा गरेको बेला आएको हो।

बेलायत सरकारले रक्षा कम्पनी एमबिडीएलाई ‘फ्रान्को–ब्रिटिश मिसाइल’मा प्रयोग हुने बेलायती उपकरणहरूको जानकारी दिने अनुमति जारी गर्ने बताएको छ, यसले गर्दा किएभले घरेलु रूपमा ती मिसाइल उत्पादन गर्न सक्नेछ।

‘स्काल्प ब्लूप्रिन्ट’बारे सोधिएको बेला क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग भने, “बेलायत नियमित रूपमा विधिपूर्वक आगोमा इन्धन थप्ने काम गरिरहेको छ र शान्ति प्रक्रियामा हुने थोरै भएपनि प्रगति रोक्न विधिपूर्वक र नियमित रूपमा योजना बनाइरहेको छ।”

“हाम्रा सशस्त्र बलहरू तदनुसार काम गरिरहेका छन्, यस्ता मिसाइल र अन्य सैन्य उपकरणका उत्पादन स्थल पहिचान गर्न सम्बन्धित गुप्तचर जानकारी सङ्कलन गर्दै छन् र ती सुविधाहरू नष्ट गर्ने उपाय लिइरहेका छन्,” पेस्कोभले भने।

‘स्काल्प मिसाइल’ अर्थात् लामो दूरीको क्रुज मिसाइलले करिब २५० किलोमिटर (करिब १५० माइल) टाढासम्मका लक्ष्यमा हान्न सक्छ। फ्रान्स र बेलायतले सन् २०२२ मा रुसले पूर्णरूपमा आक्रमण सुरु गरेदेखि युक्रेनलाई यो हतियार आपूर्ति गर्दै आएका छन्, तर किएभले अहिलेसम्म घरेलु रूपमा उत्पादन गरेको छैन।

बर्नहमले सोमबार युक्रेनको स्वतन्त्रता दिवस समारोहका लागि किएभ भ्रमण गरेका छन्। समाराेहमा उनले युक्रेन सरकारका लागि बेलायतको सैन्य सहयोग कायम राख्ने प्रतिवद्धता व्यक्त गरे।

“मेरो देशविरुद्ध रुसका अशोभनीय धम्कीका बाबजुद हामी युक्रेनको रक्षाका लागि आफ्नो सहयोग जारी राख्नेछौँ,” बर्नहमले युक्रेनका अन्तर्राष्ट्रिय समर्थकहरूको बैठकअघि गरेको सम्बोधनमा भने।

सङ्गीत, खेलकुद र चलचित्र क्षेत्रलाई सेवा उद्योगका रूपमा परिभाषित गरिएको छ : मन्त्री यादव

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सङ्गीत, खेलकुद र चलचित्र क्षेत्रलाई सेवा उद्योगका रुपमा परिभाषित गरिएको स्पष्ट पारेकी छिन्।

प्रतिनिधि सभाको साेमबारकाे बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईको जिज्ञासाको जवाफ दिँदै उनले विद्यमान औद्योगिक नीति, २०६७ र औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ती क्षेत्र सेवामूलक उद्योगको वर्गमा पर्ने जानकारी गराए।

मन्त्री कुमारीले ती क्षेत्रलाई उद्योगका रुपमा दर्ता हुने भएता पनि उद्योग प्रवर्द्धन, विकास र नियमनसम्बन्धी कार्य सम्बन्धित निकायबाट हुने स्पष्ट पारे। उनले भने, “त्यसअनुसार बजेट पनि सम्बन्धित निकायमा नै विनियोजन भएको छ। आव २०८३/८४ मा यी सेवामूलक उद्योगमा विनियोजन गरिएको बजेट सम्बन्धित मन्त्रालयगत बजेट सूचना प्रणालीबाट प्राप्त गर्न सकिनेछ।”

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताएका छन् ।

सञ्चारमन्त्री डा. तिमिल्सिनासँग साेमबार राष्ट्रिय विज्ञापन सङ्घ नेपालका पदाधिकारीले गरेकाे भेटमा उनले विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता देखिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताए। अब सरकारी विज्ञापन वितरणमा त्यस्ता समस्या दोहोरिन नदिन विज्ञापन चक्रसँग जोडिएका सबै पक्षले आफ्नो जिम्मेवारी पारदर्शी र व्यावसायिक ढङ्गले निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

सञ्चारमन्त्री तिमिल्सिनाले केही समयअघि मात्रै राष्ट्रिय विज्ञापन नीति जारी भएको उल्लेख गर्दै विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन नीतिगत सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए। विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्चारमाध्यम, नियामक निकाय तथा उपभोक्तासहित विज्ञापन बजारसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने उनले उल्लेख गरे।

मन्त्री तिमिल्सिनाले पछिल्ला वर्षमा डिजिटल माध्यमको तीव्र विकाससँगै विज्ञापन गर्ने शैली र विज्ञापनका उपभोक्ताको व्यवहारमा समेत ठूलो परिवर्तन आएको बताए। विगतमा प्रयोग हुँदै आएका परम्परागत विज्ञापनका तरिका मात्रै पर्याप्त नहुने भन्दै उनले प्रविधिको विकास र बदलिँदो उपभोक्ता व्यवहारअनुसार विज्ञापन बजारलाई नयाँ ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिए।

सञ्चारमन्त्री तिमिल्सिनाले नेपालको सञ्चार तथा विज्ञापन क्षेत्रलाई सिर्जनात्मक, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए। विज्ञापन क्षेत्रको विकासले सञ्चारमाध्यमको आर्थिक आधार बलियो बनाउनुका साथै रोजगारी सिर्जना र व्यवसाय प्रवर्द्धनमा समेत योगदान पु¥याउने भएकाले यसलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने उनको भनाइ छ।

भेटका क्रममा राष्ट्रिय विज्ञापन सङ्घ नेपालले कोभिड–१९ महामारीपछि नेपालको अर्थतन्त्रसँगै विज्ञापन व्यवसाय पनि प्रभावित भएको उल्लेख गर्दै विज्ञापन बजार र विज्ञापन एजेन्सीले भोगिरहेका समस्या तथा कानुनी र नीतिगत विषयमा मन्त्रालयको ध्यानाकर्षण गराएको थियो।

विज्ञापन एजेन्सी सरकार, सञ्चारमाध्यम, विज्ञापनदाता र उपभोक्ताबीचको महत्त्वपूर्ण सेतुका रूपमा काम गर्दै आएको उल्लेख गर्दै सङ्घले यस क्षेत्रले हजारौँ रोजगारी सिर्जना गर्नुका साथै व्यापार तथा व्यवसाय प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको जनाएको छ।

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

रसुवा । जनैपूर्णिमा दिन गोसाइँकुण्ड मेला भर्न आउने भक्तजनको स्वास्थ्य, सुरक्षा, खानपान–बसाइलगायत सम्पूर्ण तयारी पूरा भएको छ ।लाङ्टाङ राष्ट्रिय निकुञ्जको अगुवाइमा गठित ११ वटा उपसमितिको तर्फबाट आआफ्नो जिम्मेवारी पूरा गरी भक्तजनको धार्मिक यात्रालाई अघिल्ला वर्षहरूको भन्दा सहज, सुरक्षित र सफल बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यसैसन्दर्भमा गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले मौसममा आउने प्रतिकूलतालाई ख्याल गरी निर्धक्क भई आउन अनुरोध गर्दै यात्राका क्रममा असहज परिस्थिति सिर्जना भए आवश्यकताअनुसार सवारीसाधन र त्यसबाट नभए हेलिकप्टरसमेत प्रयोग गरी निःशुल्क रुपमा बिरामीको उद्धार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हिमालय उद्धार सङ्घ, नेपालका कार्यकारी निर्देशक गोविन्द बत्स्यालले समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डमा यात्राका क्रममा भक्तजनलाई लेक लाग्ने तथा अन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले आवश्यकताअनुसार विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार मध्याह्नदेखि सञ्चालनमा आएको स्वास्थ्य शिविर भदौ १३ गतेसम्म सञ्चालन हुनेछ । शिविरमा आवश्यक औषधि तथा अक्सिजनसहित छ जना चिकित्सक र हिमालय उद्धार सङ्घका प्रतिनिधिका रूपमा प्रकाश खत्रीलाई खटाइएको छ ।

यसैबीच गोसाइँकुण्ड यात्रालाई सुरक्षित बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसमेतका सुरक्षा निकायलाई आवश्यकताअनुसार परिचालन गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले स्पष्ट गर्नुभएको छ ।

सामाजिक सञ्जालमा देखाइए जस्तो गोसाइँकुण्ड जाने बाटोका कुनै पनि स्थानमा अहिले असहज अवस्था नरहेको र भारी वर्षाका कारण खसेका पहिरोसमेत तत्काल हटाउने काम भइरहेको प्रजिअ परियारले जानकारी दिनुभयो । यद्यपि यात्राका क्रममा भौगर्भिक अवस्थालाई ध्यानमा राख्दै सम्भावित जोखिम न्यूनीकरण गरेर मात्र अघि बढ्न सम्बद्ध सबैसँग उहाँको सुझाव छ ।

गोसाइँकुण्ड यात्राका क्रममा स्वास्थ्य, सुरक्षा एवं बिरामी परेमा सुरक्षाकर्मीद्वारा उद्धार समेतका व्यवस्थापन मिलाइ सकिएकाले निर्धक्क भएर यात्रा गर्नसमेत प्रजिअ परियारले सबैसँग अनुरोध गर्नुभएको छ ।

जेठदेखि बन्द रहेको पोखरा–जोमसोम हवाई उडान आजदेखि पुनः सुरु

गण्डकी। वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द रहेको पोखरा–जोमसोम हवाई उडान आजदेखि पुनः सुरु भएको छ ।पोखरा अन्तरराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार आज समिट एयरको विमानले पोखरा–जोमसोम उडान तीन पटक गरेका छन् ।

कम ‘भिजिबिलिटी’का कारण हरेक वर्षायाममा पोखरा–जोमसोम हवाई उडान बन्द हुने गरेको छ । पर्यटक आगमनको याम सुरु हुन लागेकाले उडान पुनः सञ्चालन भएसँगै मुस्ताङको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

हुम्लाका किसान न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य

हुम्ला। हुम्लाका किसान न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। किसानका स्याउका बोटमा फलेका दान बाँदर र विभिन्न प्रजातिका कीराले फलमा क्षति पुर्याउन थालेपछि समय नपुग्दै स्याउ बिक्री गर्न बाध्य भएका हुन्।

सोही कारणले गत असार २९ गते जिल्ला दररेट निर्धारण समिति, हुम्लाले स्याउको मूल्य निर्धारण गरेको छ। प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिले क्रमशः ‘ए’ ग्रेडको प्रति केजी रु ६० ‘बि’ ग्रेडको प्रति केजी रु ५० र ‘सि’ ग्रेडको प्रति केजी रु ४० निर्धारण गरेको थियो।

हुम्लाको तल्लो क्षेत्र अदानचुली र ताँजाकोटका किसान सालाखाला स्याउ प्रति केजी रु ३० देखि रु ४० मा बिक्री गर्न बाध्य भएका छन्। अदानचुली गाउँपालिका–५ का किसान वीरवलसिंहले बाँदर र विभिन्न प्रजातिका कीराले फलमा क्षति पुर्याउन थालेपछि समय नपुग्दै स्याउ बिक्री गर्नुपरेको जानकारी दिए।

“पछिल्लो समय गाउँमा स्याउ खरिद गर्न व्यापारी आउन थालेका छन् । यता स्याउ पाकेको छैन । स्याउ भण्डारण गर्ने भौतिक संरचना छैन । नजिकै बजार र आफूसँग सवारीसाधन नभएकाले स्याउ बिक्री गर्न बाध्य छौँ”, उनले भने।

सांसद सुब्बाद्वारा ग्रामीण चक्रीय अर्थतन्त्रमा जोड

काठमाडौँ, भदौ ८-प्रतिनिधिसभाका सदस्य सन्तोष सुब्बाले कृषि क्षेत्रको बजेट कटौतीप्रति असहमति जनाउनुभएको छ ।प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उहाँले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने गरी सरकारको नीति तथा कार्यक्रम पुनःविचार गरिनुपर्ने धारणा राख्नुभयो । कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा मन्त्रालयकै बजेट घटाइनु नीतिगत असन्तुलन भएको जनाउँदै सांसद सुब्बाले आर्थिक रूपमा सक्रिय जनशक्तिको ठूलो हिस्सा कृषि, वन तथा मत्स्य क्षेत्रमा संलग्न रहेकाले त्यसरी बजेट विनियोजन गरिनु नहुने तर्क प्रस्तुत गर्नुभयो ।

उहाँले कृषि क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा करिब एक चौथाइ योगदान दिइरहेको अवस्थामा बजेट कटौतीले किसान, उत्पादन र ग्रामीण अर्थतन्त्रमा प्रतिकूल असर पार्ने उहाँको भनाइ छ ।

सांसद सुब्बाले भन्नुभयो, “कृषिमा विनियोजित बजेटको ठूलो हिस्सा प्रशासनिक संरचना र रासायनिक मलमा खर्च हुने गरेको छ । उत्पादन तथा उत्पादकत्व वृद्धि, भण्डारण, प्रशोधन र दीर्घकालीन पूर्वाधारमा अपेक्षित लगानी हुन सकेको छैन ।”

उहाँले सरकारको नीति तथा प्राथमिकतामा ‘चक्रीय सहरी अर्थतन्त्र’ प्रवर्द्धन गर्ने विषय उल्लेख भए पनि पर्याप्त रूपमा नसमेटिएको भनी गुनासो गर्नुभयो । “चक्रीय सहरी अर्थतन्त्र प्रवर्द्धन गर्ने कुरा राम्रो छ, तर चक्रीय ग्रामीण अर्थतन्त्रको कुरा कहीँ उल्लेख छैन”, सांसद सुब्बाले भन्नुभयो, “यसले हामीलाई कहाँ पुर्याउँदैछ भन्ने विषयमा सरकारले समयमै सचेत भएर पुनःविचार गर्नुपर्छ ।”

ग्रामीण क्षेत्रमा रोजगारी र आर्थिक अवसरको अभावका कारण विशेष गरी हिमाली तथा पहाडी क्षेत्रबाट बसाइँसराइ बढिरहेको उल्लेख गर्दै उहाँले बसाइँसराइको समस्यालाई कृषि, शिक्षा, स्वास्थ्य र स्थानीय अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने बताउनुभयो ।
ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउन ग्रामीण शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि पर्याप्त लगानी आवश्यक रहेको र योजनाकारले विगतमा बनाएका योजना र नीतिहरूले बढ्दो बसाइँसराइ रोक्न नसकेको भन्दै उहाँले सरकारलाई यसको जवाफ दिनसमेत आग्रह गर्नुभयो ।

सांसद सुब्बाले रासायनिक मलको प्रयोग घटाउँदै जैविक, प्राङ्गारिक तथा हरित मलको उत्पादन र प्रयोग विस्तार गर्नुपर्ने सुझाव दिनुभयो । “प्रत्येक पालिकामा जैविक, प्राङ्गारिक र हरित मल उत्पादन गर्ने उद्योग स्थापना गर्ने योजना अगाडि बढाउनुपर्छ”, सांसद सुब्बाले भन्नुभयो, “कृषि क्षेत्रमा संरचनागत सुधार आवश्यक छ ।

सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग

काठमाडौँ, भदौ ८-नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद पद्माकुमारी अर्यालले बारामा बलात्कारपछि हत्या गरिएकी बालिका गरिमा चौधरीको घटनाका दोषीलाई शीघ्र पहिचान गरी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उहाँले त्यस घटनाको अनुसन्धानमा रहेको सुरक्षा निकायले शीघ्र अनुसन्धान पूरा गरी दोषीको पहिचान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सांसद अर्यालले पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र यस्ता घटना दोहोरिन नदिन गम्भीर अध्ययन र अनुसन्धान गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।“यस्ता खालका घटनामा ठीक ढङ्गले कारबाही गरिएन भने यो प्रवृत्ति मौलाएर जान्छ,” सांसद अर्यालले भन्नुभयो । पछिल्ला दिनमा नाबालिकामाथि हुने हिंसाका घटना बढिरहेकोप्रति चिन्ता गर्दै उहाँले घटनापछि अनुसन्धान होइन, दीर्घकालीन रुपमा यस्ता घटना दोहोरिन नदिन अध्ययन र अनुसन्धानमा आधारित कार्ययोजना बनाइनुपर्नेमा जोड दिनुभयो ।

जनताका दैनिक समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउँदै सांसद अर्यालले ग्यास, रासायनिक मल र राहदानीका लागि नागरिकले लामो समय लाइन बस्नुपर्ने अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

ग्यास नपाएर उपभोक्ता लामो समय लाइनमा बस्नु परेको तथा किसानले मलका लागि भौतारिन परेको बताउँदै उहाँले जनताका आधारभूत समस्या समाधानमा सरकारको प्रभावकारिता देखिनुपर्नेमा जोड दिनुभयो ।

सांसद अर्यालले प्रविधिको प्रयोगलाई विकृत रूपमा गरिँदा समाजमा पारिवारिक तथा सामाजिक समस्या बढिरहेको बताउनुभयो । सामाजिक सञ्जालका कारण बालबालिकाको सिर्जनशीलता, मौलिकता र सामाजिक व्यवहारमा नकारात्मक असर परेको उहाँको भनाइ थियो ।

सांसद अर्यालले सामाजिक सञ्जालमा सार्वजनिक हुने पारिवारिक विवाद, आपत्तिजनक सामग्री तथा बालबालिकालाई लक्षित सामग्रीका कारण कतिपय परिवारमा तनाब र विघटनको अवस्था सिर्जना भएका उल्लेख गर्नुभयो ।

सांसद अर्यालले विकसित मुलुकले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेरसम्बन्धी सीमा तथा विभिन्न मापदण्ड लागू गरिरहेको उल्लेख गर्दै नेपालमा यस विषयमा ढिलाइ गर्न नहुने बताउनुभयो ।

सांसद अर्यालले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्नु सकारात्मक भएको बताउँदै यसको विस्तारका लागि सरकारले सहुलियतका कार्यक्रम ल्याउन सुझाव दिनुभयो । विद्युतीय सवारीको प्रयोगले पेट्रोलियम पदार्थमा हुने खर्च घटाउने, वातावरणीय प्रदूषण नियन्त्रण गर्ने र विदेश जाने पुँजी स्वदेशमै राख्न सहयोग पुग्ने बताउँदै उहाँले सहरमा मात्र नभई ठूला यात्रुवाहक बसमा समेत विद्युतीय सवारी सञ्चालनलाई प्राथमिकता दिनु सरकारको ध्यानाकर्षण गराउनुभयो ।

श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट

काठमाडौँ, भदौ ८ –युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीले आज शिष्टाचार भेट गर्नुभएको छ ।सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच दुई देशबीचका द्विपक्षीय श्रमसम्बन्धी समझदारी तथा सहमतिको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त कार्य समूहको बैठक शीघ्र आयोजना गर्ने सहमति भएको छ ।

भेटमा मन्त्री यादवले नेपाली श्रमिकलाई प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी दोहोरो प्रक्रिया पूरा गर्न व्यवस्थालाई सरल र सहज हुन आवश्यक रहेको बताउनुभयो । त्यस अवसरमा राजदूत शामसीले नेपाली श्रमिकको हकहित र अधिकारका विषयमा युएई निरन्तर छलफल र समन्वय गरिरहेको बताउनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

हरवाचरवा मुक्तिको चार वर्ष, समस्या उस्तै

कैलाली । विभिन्न अधिकारसम्बन्धी सङ्घसंस्थाले मुक्त हरवाचरवाको पहिचान, पुनःस्थापना तथा अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। मुक्त हरवाचरवा सङ्घर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो आधार, पुनःस्थापना हाम्रो सरोकार’ भन्ने नाराका साथ अघि बढाइएको अभियानप्रति ऐक्यबद्धता जनाउँदै विभिन्न पाँच संस्थाले सो आग्रह गरेका हुन्।

राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपाल, राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपाल, मुक्त कमैया समाज, कमैया महिला जागरण समाज र मुक्त कमलरी विकास मञ्चद्वारा आज जारी संयुक्त प्रेस विज्ञप्तिमा मुक्त घोषणा भएको चार वर्ष हुँदा पनि माग सम्बोधन नहुनु बिडम्बना भएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘विक्रम संवत् २०७९ साउन २ गते सरकारले तत्कालीन प्रधानमन्त्रीमार्फत हरवाचरवा प्रथा अन्त्य तथा हरवाचरवा मुक्तिको घोषणा गरेको चार वर्ष पूरा भइसक्दा पनि पहिचान, पुनःस्थापना र अधिकार सुनिश्चित हुन सकेको छैन। यसमा सरकार गम्भीर बन्नुपर्छ।’

मुक्तिको घोषणा मात्रै पर्याप्त नभएको जनाउँदै उनीहरूले भूमि, सुरक्षित आवास, सामाजिक सुरक्षा, सम्मानजनक रोजगारी, जीविकोपार्जन तथा आर्थिक पुनःस्थापनाजस्ता आधारभूत अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। मधेस केन्द्रित समस्याका रूपमा रहेको हरवाचरवाको मुद्दा र माग सम्बोधनका लागि विशेष गरी त्यहाँको प्रदेश सरकार र स्थानीय तहको नेतृत्वमा सङ्घीय सरकारले आवश्यक पहलकदमी लिनुपर्ने आफूहरूको आग्रह रहेको आरडिएनका अध्यक्ष मोहन ओडले बताए।

अध्यक्ष ओडले भने, ‘मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवाको पूर्ण मुक्ति, भूमि अधिकार, सामाजिक सुरक्षा, आर्थिक पुनःस्थापना तथा मर्यादित जीविकोपार्जन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। उक्त प्रतिबद्धतालाई स्पष्ट कार्ययोजना, पर्याप्त बजेट, समयसीमा र प्रभावकारी कार्यान्वयनमा रूपान्तरण गर्न हाम्रो आग्रह छ।’

विशेष गरी मधेस प्रदेशका आठवटै जिल्लामा हरवाचरवाको लगत सङ्कलन तथा प्रमाणीकरण गरी परिचयपत्र वितरण गर्न, भूमिहीन परिवारको पहिचान गरी दिगो पुनःस्थापनाको योजना बनाउन तथा आवश्यक बजेट सुनिश्चित गर्न सरोकारवाला सबै संस्थाको माग रहेको राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालका अध्यक्ष रमेश कोलीको भनाइ छ।

मुक्त हरवाचरवा सङ्घर्ष समितिले मङ्गलबारदेखि आफ्ना माग सम्बोधनका लागि मधेस प्रदेश केन्द्रित आन्दोलनलगायत गतिविधि अगाडि बढाउँदैछ। त्यसको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गरी आफूहरूले सरकार, नागरिक समाज, मानव अधिकारकर्मी तथा सरोकारवाला सबैलाई मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्ने अभियानमा सहयोग गर्न आह्वान गरेको कमैया महिला जागरण समाजकी केन्द्रीय अध्यक्ष कृष्णी थारूले बताइन्।

विज्ञप्तिमा राष्ट्रिय दलित नेटवर्क नेपालका केन्द्रीय अध्यक्ष मोहन ओड, राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष रमेश कोली, मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरी, कमैया महिला जागरण समाजकी केन्द्रीय अध्यक्ष कृष्णी थारू र मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुमिता चौधरीले हस्ताक्षर गरेका छन्।

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्यो, ‘सीए टीएस’ प्रमाणीकरण प्रक्रिया सुरु

पर्सा। पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउन बाघ संरक्षणका लागि सुनिश्चित व्यवस्थापन अन्तर्राष्ट्रिय मापदण्ड (सिए टिएस) प्रमाणीकरण प्रक्रिया सुरु भएको छ।

सन् २०२२ मा ४१ वयस्क बाघ रहेको पर्सा निकुञ्जमा सन् २०२६ को गणनाअनुसार बाघको सङ्ख्या ७१ पुगेपछि संरक्षण उपलब्धिलाई दीर्घकालीन र गुणस्तरीय व्यवस्थापनमा रूपान्तरण गर्न सिए टिएस प्रक्रिया अघि बढाइएको हो।

यसै क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा पर्सा राष्ट्रिय निकुञ्जमा सम्पन्न सिए टिएस कार्यशालामा विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्य, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा, जेडएसएल नेपाल, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सुरक्षा निकाय, निकुञ्जका कर्मचारी, उपभोक्ता समिति तथा स्थानीय सरोकारवालाको सहभागिता थियो।

कार्यशालामा सिए टिएसको प्रारम्भिक तयारी, स्वमूल्याङ्कन, व्यवस्थापन सुधार, प्रमाण सङ्कलन तथा सरोकारवालाबीच समन्वयका विषयमा छलफल भएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए।

कार्यशालामा वरिष्ठ इकोलोजिष्ट आचार्यले बाघको सङ्ख्या बढ्नु मात्र पर्याप्त नभई त्यसलाई दीर्घकालसम्म टिकाइराख्न बासस्थान, आहारा, सुरक्षा तथा समग्र व्यवस्थापनको गुणस्तरमा निरन्तर सुधार आवश्यक रहेको बताए। उनले सिए टिएसले बाघको सङ्ख्या मात्र नभई बाघ संरक्षणका लागि आवश्यक समग्र व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डका आधारमा मूल्याङ्कन गर्ने भएकाले पर्साका लागि यो महत्त्वपूर्ण अवसर भएको बताए।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत खतिवडाले सन् २०२२ देखि २०२६ सम्म पर्सामा बाघको सङ्ख्या ४१ बाट बढेर ७१ पुग्नु संरक्षणको महत्त्वपूर्ण उपलब्धि भए पनि अबको चुनौती बाघसँगै स्थानीय समुदायलाई सुरक्षित राख्नु रहेको बताए। उनले संरक्षणबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ पाउने वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गरे।

उनका अनुसार निकुञ्जको ‘बाघ मित्र अभियान’लाई सिए टिएस प्रक्रियासँग जोडेर मानव–बाघ सहअस्तित्व, समुदायको सुरक्षा, सचेतना तथा सहभागितालाई थप प्रभावकारी बनाउन सकिन्छ।

कार्यशालामा सहभागी सरोकारवालाले सिए टिएसलाई निकुञ्जले प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियाका रूपमा मात्र नभई निकुञ्ज, मध्यवर्ती क्षेत्र, सुरक्षा निकाय, संरक्षण साझेदार तथा स्थानीय समुदायको साझा अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

सिए टिएसले बाघको सङ्ख्या मात्र नभई बासस्थान, आहारा, सुरक्षा, व्यवस्थापन, वैज्ञानिक अनुगमन, समुदायको सहभागिता, मानव–बाघ द्वन्द्व, पर्यटन तथा बाघको दीर्घकालीन अवस्थालगायत विषयको समग्र मूल्याङ्कन गर्नेछ। अब दर्ता, स्वमूल्याङ्कन, सुधार योजना निर्माण, अनुपालनसम्बन्धी दस्तावेज तयारी, राष्ट्रिय समीक्षा, स्वतन्त्र मूल्याङ्कन तथा अन्तर्राष्ट्रिय निर्णयसम्मको प्रक्रिया अघि बढाइनेछ।

यस क्रममा बासस्थान तथा आहारा संरक्षण, चोरी–सिकार नियन्त्रण, स्मार्ट पेट्रोलिङ, मानव–बाघ द्वन्द्व व्यवस्थापन, वैज्ञानिक अनुगमन तथा समुदाय सहभागितालाई प्राथमिकता दिइने प्रमुख संरक्षण अधिकृत खतिवडाको भनाइ छ।

बाघको सङ्ख्या बढ्दै गएको अवस्थामा सिए टिएस प्रमाणीकरण प्रक्रियाले पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण व्यवस्थापनलाई थप वैज्ञानिक, व्यवस्थित र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। संरक्षणको सफलता प्रमाणपत्र प्राप्त गर्नुमा मात्र नभई बाघ सुरक्षित, वन क्षेत्र स्वस्थ तथा स्थानीय समुदाय सुरक्षित र संरक्षणका सक्रिय साझेदार बन्नुमा निर्भर रहने उनले बताए।

छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज

तनहुँ। तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा प्रभावित बनेको छ ।

आइतबार साँझ पहिरो खसेर सडकको एक लेन अवरुद्ध हुँदा अर्को लेनबाट सवारीसाधन आवतजावत गर्न असहज भएको प्रहरीले जनाएको छ ।

पहिरो खसेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएको छ ।

प्रहरी टोलीले पहिरो हटाई सडक सञ्चालनमा ल्याउन आवश्यक पहल गरिरहेकोे छ ।

पहिरोका कारण राजमार्गमा सवारीसाधन आवतजावत प्रभावित भएकाले चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७३, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३८ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ८० रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, काउली स्थानीय प्रतिकिलो रु ११०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ३० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, काउली स्थानीय प्रतिकिलो रु ११०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ३० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ९०, मकै बोडी प्रतिकिलो रु १२०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, भिन्डी प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ८० र स्कुस प्रतिकिलो रु ५० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु १२०, पालुङ्गो प्रतिकिलो रु २५०, तोरीको साग प्रतिकिलो रु १००, प्याज (हरियो) रु २००, च्याउ (कन्य) प्रतिकिलो रु ३००, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकिलो रु ३३० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निउरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु १६०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ५००, सेलरी प्रतिकिलो रु ५००, पार्सले प्रतिकिलो रु १,८००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ७००, गान्टेमूला प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६०, गुन्द्रुक प्रतिकिलो रु ३५० र रुख टमाटर प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३००, आँप (मालदह) प्रतिकिलो रु २८०, आँप (चोसा) प्रतिकिलो रु २५०, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २० काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुखकटहर प्रतिकिलो रु ६०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४००, एभोकाडो प्रतिकिलो रु २५०, अमला प्रतिकिलो रु २००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ५००, अदुवा प्रतिकिलो रु २३०, खुर्सानी सुकेको प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ५०, लसुन हरियो प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ५००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २३०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३४० र ताजा माछा (छडी) प्रतिकिलो रु ३५० निर्धारण भएको छ ।

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी। म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ ।

नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको हो ।

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले राहुघाट जलविद्युत् आयोजना विद्युत् उत्पादनको तयारीमा रहेको जानकारी दिनुभयो । “बाँध, डिसेन्डर, सुरुङ, स्विचयार्डको परीक्षण सफल भइसकेको छ,” उहाँले भन्नुभयो “२० मेगावाट क्षमताको एक वटा ‘युनिट’को परीक्षण पनि सकिएको छ । अर्को २० मेगावाटको युनिटको पनि आइतबारदेखि परीक्षण थालिएको छ ।”

एक हप्तादेखि १० दिनसम्म परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित तीव्र गतिकाब साथ काम भइरहेको प्रबन्धक केसीले जानकारी दिनुभयो । रघुगङ्गा –४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुई पानी थिग्र्याउने पोखरीको परीक्षण भइसकेको छ ।

तिल्केनीचौरमा विद्युत्गृह निर्माणको काम सकेर जडान भएका उपकरणहरुको परीक्षण थालिएको हो । आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत्गृह परिसरमा निर्माण भएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको छ ।

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) रु छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । सन् २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोबेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो ।

चौथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न हुन लागेको हो । कोरोना महामारी, बाढी, पहिरो जस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताउनुभयो ।

भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको थियो । भारतीय आयात निर्यात (एक्जिम) बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो ।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । आइभिआरसिएलसँग विसं २०६६ मा ठेक्का सम्झौता भएको थियो ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार जिल्लामा सबैभन्दा पहिले र सरकारी लगानीमा सञ्चालन भएको राहुघाटलाई जलविद्युत् विकासको ‘गेटवे’ (प्रवेशविन्दु) मानिएको थियो । “राहुघाट सुरु भएपछि म्याग्दीमा भित्रिएका १० वटा आयोजना सम्पन्न भइसकेको छन्,” उहाँले भन्नुभयो, “ढिलै भए पनि दुई दशकको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना सम्पन्न भएको खबरले हामीलाई उत्साहित बनाएको छ ।”

पछिल्लो पटक छनौट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले वार्षिक रु २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।

बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिनुहुने भएको छ ।

यसका लागि प्रदेशसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ। बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनसहित दाबी पेस गरेका थापालाई यही भदौ ४ गते बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्रीमा गरिएको समर्थनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद छ भने नेपाली कांग्रेसले विश्वासको मतको प्रस्तावका विपक्षमा मतदान गर्न पार्टीका प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गरेको छ ।

मन्त्री चौधरीले भनिन् – टीकापुर घटनाको लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध छ

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

थारु कल्याण कारिणी सभाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढंगबाट समाधान खोज्नुपर्ने बताइन्।

थारु कल्याण कारिणी सभाले हरेक वर्ष भदौ ७ गतेलाई टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको निकास’ तथा ‘नेपालको संविधानको अन्तरवस्तुमा थारु समुदायको साझा सवाल र संशोधनको आवश्यकता’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।

मन्त्री चौधरीले थारु समुदायका माग तथा मुद्दा सरकारमै बसेर उठाइरहेको बताउँदै अधिकार, पहिचान र न्यायका सवालमा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्।

३५ वर्षमा पुराना दलले गरेका राम्रा कामको धन्यवाद दिनुपर्छ – रवि

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आइतबार काठमाडौंमा भएको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आउँदो पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्ने बताए ।

प्रतिपक्षले देशमा लोकतन्त्र स्थापनाका लागि ठूलो त्याग गरेको तर सुशासन ल्याउन नसकेकाले रास्वपाले सरकारको नेतृत्व गर्ने अवसर पाएको उनको भनाई छ । उनले सरकार गठनको १०० दिन पूरा भएदेखि प्रधानमन्त्रीसँग छलफल गरिरहेको पनि स्पष्ट पारे ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्धारा गायिका टिका पुन सम्मानित, १४ वटा मौलिक तीज लोकार्पण

काठमाडौँ । प्राज्ञ तथा वरिष्ठ लोक गायिका टिका पुन ‘मौलिक गायन सम्मान’बाट सम्मानित भएकी छन्। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा आइतबार काठमाडौँमा आयोजित ‘सामूहिक मौलिक तीज गीत विमोचन तथा तीज नारी सम्मान कार्यक्रम–२०८३’ का अवसरमा पुनलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको हो।

नेपाली लोक तथा मौलिक गीत–संगीतको संरक्षण, प्रवर्द्धन र विकासमा पुर्‍याएको योगदानको कदर गर्दै पुनलाई सम्मान गरिएको आयोजकले जनाएको छ। लोकगीत तथा मौलिक संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय पुनले नेपाली लोकसंस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिँदै आएकी छन्।

कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष ऋता थापाले गायिका पुनले नेपाली लोकसंगीतको क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै उनको सिर्जनात्मक यात्राको प्रशंसा गरेकी थिइन्। उनले मौलिक लोकगीतको संरक्षण र प्रवर्द्धनमा पुनको भूमिका महत्वपूर्ण रहेको बताइन्।

त्यस्तै, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले पनि गायिका पुनको योगदानको प्रशंसा गर्दै नेपाली मौलिक गीत–संगीतको संरक्षणमा कलाकारको भूमिका महत्वपूर्ण हुने धारणा राखे।

कार्यक्रममा १४ वटा मौलिक लोकगीतसहित विभिन्न गीतको सामूहिक रूपमा लोकार्पणसमेत गरिएको थियो। तीजको मौलिकता, नेपाली लोकसंस्कृति र परम्परालाई केन्द्रमा राखेर तयार गरिएका गीतहरू सार्वजनिक गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा गायक बसन्त थापा, गायक प्रकाश पराजुलीलगायतका कलाकार तथा सञ्चारकर्मीहरूले नेपाली मौलिक गीत–संगीतको अवस्था, तीज गीतको मौलिकता र यसको संरक्षणका विषयमा धारणा राखेका थिए। इन्द्रेणी कार्यक्रमका कृष्ण कँडेलले पनि नेपाली लोकसंस्कृति तथा कलाकारको योगदानका विषयमा आफ्ना विचार व्यक्त गरेका थिए।

कार्यक्रमका वक्ताहरूले तीज गीत नेपाली समाजको सांस्कृतिक पहिचानसँग जोडिएको विषय भएकाले यसको मौलिकता जोगाउन आवश्यक रहेको बताएका थिए। पछिल्लो समय तीज गीतमा आधुनिकता बढ्दै गए पनि नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक मूल्यलाई समेट्ने सिर्जनालाई प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिए।

सम्मान ग्रहण गर्दै गायिका पुनले आफूले नेपाली लोकगीत तथा संगीत क्षेत्रमा गरेको योगदानको कदरस्वरूप प्राप्त सम्मानले थप जिम्मेवारीबोध गराएको बताइन्। उनले लोकगीत तथा मौलिक संगीतको संरक्षणका लागि कलाकार, सञ्चारकर्मी र नयाँ पुस्ताबीच सहकार्य आवश्यक रहेको धारणा राखिन्।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपाली लोककला, संस्कृति, लोकगीत तथा मौलिक सिर्जनाको प्रवर्द्धनसँगै कलाकार र स्रष्टालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। संस्थाले मौलिक गीत–संगीतको संरक्षण तथा कलाकारको सम्मानलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ।

कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार, सञ्चारकर्मी, स्रष्टा तथा लोकसंस्कृतिप्रेमीहरूको सहभागिता रहेको थियो।

राप्तीसोनारी गाउँपालिका विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा, आश्रयस्थल र उद्धार टोली तैनाथ

बाँके । बाढी, डुबान, कटान र आगलागीलगायत विपद्को जोखिममा रहेको बाँकेको राप्तीसोनारी गाउँपालिका विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको छ।
वर्षायाममा राप्ती नदी तथा विभिन्न खहरे खोलामा आउने बाढीका कारण मानव बस्ती डुबानमा पर्ने, खेतीयोग्य जमिन कटान हुने तथा विद्यालय, स्वास्थ्य संस्था र सडकजस्ता संरचनामा क्षति पुग्ने जोखिम रहेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए। उनले भने, ‘राप्तीसोनारी हरेक वर्ष विपद्बाट प्रभावित हुने गाउँपालिका हो। पछिल्ला वर्षमा जोखिम न्यूनीकरणका लागि पूर्वाधार निर्माण र विपद् प्रतिकार्यका योजना अघि बढाइएकाले जोखिम केही कम हुँदै गएको छ।’

गाउँपालिकाले यस वर्षका लागि विपद् प्रतिकार्य योजना तयार गरेको छ। बाढी तथा डुबान भए प्रभावितको उद्धार गरी सुरक्षित स्थानमा राख्ने, स्वास्थ्योपचार, खाद्यान्न तथा राहत उपलब्ध गराउने र मनोसामाजिक परामर्श दिने तयारी गरिएको अध्यक्ष पौडेलले बताए।

उनका अनुसार स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४सैँ घण्टा तयारी अवस्थामा राखिएको छ। वडा कार्यालय, वडा विपद् व्यवस्थापन समिति र गाउँपालिका विपद् व्यवस्थापन समितिमार्फत मनसुनअघि र मनसुनपछि पनि आवश्यक तयारी तथा व्यवस्थापनका कामलाई निरन्तरता दिइएको छ।

विपद् व्यवस्थापनलाई ध्यानमा राख्दै राप्तीसोनारीमा हाल पाँच वटा सुरक्षित आश्रयस्थल सञ्चालनमा छन् भने थप दुई वटा निर्माणको क्रममा छन्। सञ्चालनमा रहेका आश्रयस्थलमा करिब एक हजार ५०० देखि दुई हजार जनासम्मलाई राख्न सकिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले बाढी पूर्वानुमानमा आधारित कृत्रिम घटना अभ्यास गरी सम्भावित विपद्का लागि पूर्वतयारी र प्रतिकार्य क्षमताको परीक्षण गरेको अध्यक्ष पौडेलले बताए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले गत वैशाख ३१ गते स्वीकृत गरेको नयाँ कार्यविधि कार्यान्वयन गर्दै राप्तीसोनारी गाउँपालिकाले पहिलोपटक स्थानीय तहका रूपमा नमूना अभ्यास सञ्चालन गरेको हो। अभ्यासमा बाढीमा परेका नागरिकको उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत र खाद्यान्न व्यवस्थापनलगायतका गतिविधि प्रदर्शन गरिएको थियो।

बाँकेमा सेभ द चिल्ड्रेनसँगको साझेदारीमा विपद् व्यवस्थापन क्षेत्रमा कार्यरत सामाजिक विकास मञ्चका परियोजना स्रोत व्यक्ति घनश्याम उपाध्यायले कार्यविधिअनुसार नेपालमै पहिलोपटक राप्तीसोनारी गाउँपालिकामा बाढी कृत्रिम घटना अभ्यास गरिएको बताए। उनले अभ्यासले बाढी आएपछि गरिने प्रतिकार्यको क्षमता परीक्षण गर्न सहयोग पुगेको बताए।

उनका अनुसार अभ्यासले विपद्का बेला सुरक्षा निकाय, स्थानीय सरकार, स्वयंसेवक, स्वास्थ्यकर्मी, सामाजिक सङ्घसंस्था र समुदायबीचको समन्वयको महत्त्वसमेत देखाएको छ। राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले बाढी आएपछि उद्धार गर्नुभन्दा पहिले नै समुदायलाई तयार बनाउने, उद्धार टोलीको क्षमता परीक्षण गर्ने तथा आवश्यक उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्ने अभ्यास प्रभावकारी हुने बताए।

टेम्केमैयुङ गाउँपालिकामा रायो र मूलाखेती प्रवर्द्धन, ५००-५०० टन खरिदको पूर्वसम्झौता

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो र मूलाखेती प्रवर्द्धनमा जोड दिएको छ। गाउँपालिकाले उन्नत जातको रायो र मूलाको बीउ वितरण गर्ने तयारीसँगै किसानले उत्पादन गरेका कृषि उपजको बजार सुनिश्चित गर्न खरिद पूर्वसम्झौता गरेको छ।

गाउँपालिकाले किसानलाई आवश्यक पर्ने उन्नत जातको रायो र मूलाको बीउ उपलब्ध गराउन आवेदन माग गरेको छ। कृषि विकास शाखाको स्वीकृत कार्यक्रमअन्तर्गत उन्नत जातको बीउ वितरण गरी उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ।

किसानले उत्पादन गरेका रायो र मूलाको बजारीकरणमा समस्या नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले सिद्धकाली एग्रो प्रालि भोजपुरसँग खरिद पूर्वसम्झौता गरेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए। सम्झौताअनुसार न्यूनतम समर्थन मूल्य निर्धारण गरी रायो ५०० टन र मूला ५०० टन खरिद गरिनेछ।

गाउँपालिका अध्यक्ष बस्नेतले भने, ‘किसानलाई उत्पादनमा मात्र नभएर उत्पादित वस्तुको बजार सुनिश्चिततामा स्थानीय सरकारले सहयोग गर्नुपर्छ। त्यसैले उत्पादन गर्नुअघि नै खरिद गर्ने पक्षसँग सम्झौता गरेका हौँ। यसले किसानलाई आफ्नो उत्पादन बिक्री हुने सुनिश्चिततासहित व्यावसायिक खेतीमा लाग्न प्रोत्साहन गर्नेछ।’

गाउँपालिकाले किसानलाई आवश्यक बीउ उपलब्ध गराउनुका साथै खेती प्रविधिबारे प्राविधिक सहयोग गर्ने जनाएको छ। उत्पादनको परिमाण बढाउँदै किसानको आम्दानीमा वृद्धि गर्ने उद्देश्यले रायो र मूलालाई प्राथमिकतामा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए।

उनका अनुसार किसानलाई बीउ वितरण, उत्पादनमा प्राविधिक सहजीकरण तथा बजारीकरणमा सहकार्य गर्ने गरी कार्यक्रम अघि बढाइएको हो। उत्पादन भएका कृषि उपजले उचित मूल्य नपाउने तथा बजारको अभाव हुने समस्या समाधान गर्न खरिद पूर्वसम्झौता महत्त्वपूर्ण हुने उनको भनाइ छ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा विकास गर्न गाउँपालिकाले उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्। किसानलाई उत्पादनमा प्रोत्साहनसँगै उनीहरूको उपजको उचित मूल्य प्राप्त हुने वातावरण निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ।

रायो र मूलाको व्यावसायिक उत्पादन बढाएर स्थानीय किसानको आम्दानी वृद्धि गर्ने तथा बाह्य क्षेत्रबाट आउने तरकारीको निर्भरता घटाउने लक्ष्य गाउँपालिकाले राखेको छ।

बनेपामा अमूर्त सांस्कृतिक सम्पदाका रूपमा जोगाइँदै १२४ वर्ष पुरानो ‘कन्या-पूजा’

बनेपा । प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपामा १२४ वर्षदेखि लगातार कन्यालाई देवीका रूपमा मान्दै पूजा गरिँदै आइएको छ। रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई ‘कन्या-पूजा’ नाम दिइएको यस परम्परालाई यस वर्ष पनि निरन्तरता दिन स्थानीय सनातन कन्या-पूजा प्रबन्ध समितिले तयारी थालिसकेको छ।

‘अमूर्त सांस्कृतिक-सम्पदा’ नामकरण गरी वर्षौँदेखि बनेपालीहरू उक्त पूजामा जुट्दै आएका छन्। विक्रम संवत् १९५९ देखि सांस्कृतिक सम्पदा जोगाउँदै आएकामा बनेपालीहरू गर्व गर्छन्। यस वर्ष यही भदौ १९ गते पूजाको आयोजना गरिएको छ। परम्पराअनुसार बनेपाको पुरानो बजारमा वर्षैँपिच्छे सप्तमी र कृष्ण जन्माष्टमीका दुई दिन पूजा गरिँदै आइएको छ।

नेवाः कन्या-पूजाको नाममा टिकट दिएर बनेपा नगरपालिका-८ दक्षुटोलमा उक्त पूजा आयोजना गरिन्छ। नेवाः कन्या-पूजामा बर्सेनि करिब दुई हजारदेखि दुई हजार ५०० कन्या सहभागी हुने गर्छन्। पछिल्ला वर्षमा यो सङ्ख्या बढ्दै गएको छ। मुख्य पूजा भने सनातन कन्या-पूजा प्रबन्ध समितिमार्फत बनेपामा कन्यालाई ‘सवा-शताब्दी’देखि पुज्दै आइएको हो।

नेपालको काभ्रेपलाञ्चोक जिल्लाबाहेक अन्य स्थानमा यस्तो पूजा गरिएको पाइँदैन। रजस्वला नभएका तथा ‘वेल-विवाह’ नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहिआएको छ। यसै मान्यताका साथ पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका विभिन्न बजार तथा बस्तीमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा कन्या पुज्ने प्रचलन विस्तार भएको छ।

समितिका अनुसार उक्त पूजामा सहभागी हुने करिब आठ हजार कन्याका लागि ३२ हजार स्वारीसहितका सामग्री तयार पारिएको छ। कन्या पुज्नका लागि आवश्यक सामग्री तथा पुज्ने व्यक्तिको तय भइसकेको समितिका सचिव प्रकाश कायस्थले जानकारी दिए। उनका अनुसार बनेपा आसपास ‘सात गाउँ’का कन्यालाई बनेपामा पूजा गरिँदै आएको परम्परालाई व्यवस्थित गर्न समिति नै गठन गरी निरन्तरता दिइएको हो।

कृष्ण जन्माष्टमीको दिनमा गरिने मुख्य कन्या-पूजामा काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्लाबाट बर्सेनि करिब आठदेखि १० हजार हाराहारीमा कन्या सहभागी हुने गर्छन्। बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन्। जनविश्वासका कारण कन्यालाई पुज्नेको ठूलो भीड लाग्ने गर्छ।

त्यस दिन कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाटसमेत भक्तजन आउने गरेका छन्। कन्या-पूजामा समितिमार्फत १३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाई वितरण गर्छन्। पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टीका लगाइदिने प्रचलन छ।

बनेपामा हुने कन्या-पूजामा प्रतिकन्या ५०० रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइन्छ। गत वर्ष पनि करिब आठ हजार कन्याका लागि तीन करोड रुपैयाँभन्दा बढी खर्च भएको समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले बताए। उनका अनुसार दाताको सहयोगबाहेकको खर्च समितिका पदाधिकारीले नै व्यहोर्दै आएका छन्।

किंवदन्तीअनुसार रजस्वला नभएका र वेलविवाह नगरिएका कन्याको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नरकन्या र किचकन्या मानवकन्याका भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने विश्वास छ। बनेपा सात गाउँलाई राक्षसबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीको रूपमा ‘कन्या’ नै भएकाले कन्यालाई पुज्दै आएको बताइन्छ।

कन्याको स्वागत एवं सम्मानका लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजासमेत बजाउँछन्। भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाति या वर्गको आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिन्छ। बनेपा नगरपालिका-३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या-पूजा सुरु हुने गर्छ।

बनेपाको ऐतिहासिक लेखनअनुसार कुनै समय बनेपाका एक नेवार समुदाय (वैद्य)का व्यक्तिले धेरै दुःख भएपछि घरको बुइँगलमा राखेर कन्यालाई पूजा गरेका थिए। सुरुका वर्षमा नेवार समुदायका रजस्वला नभएका कन्यामात्रै पुजिँदै आएको र केही वर्षपछि सबै जातजातिका कन्यालाई पूजामा सामेल गराइएको स्थानीयहरू बताउँछन्।पछिल्ला केही वर्षदेखि बनेपाका विभिन्न वडा तथा विभिन्न सङ्घसंस्थाले धुलिखेल, पनौती, पाँचखाल, दोलालघाटलगायतका स्थानमा समेत कन्या-पूजा आयोजना गर्दै आएका छन्।

 

अपराध बढ्दा नागरिकमा असुरक्षा र भयको मनोविज्ञान बढ्यो – शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको पछिल्लो अवस्थाले समाजमा आत्महत्याको शृङ्खलासमेत वृद्धि गराएको बताएका छन् । नेता पोखरेलले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

उनले समाजमा बढ्दो हत्या, हिंसा र बलात्कारका घटना केवल आपराधिक गतिविधिका रूपमा मात्र बुझ्न नहुने बताएका छन् ।

उनले लेखेका छन् –
समाजमा बढ्दो हत्या, हिंसा र बलात्कार केवल आपराधिक घटना मात्र होइनन्; यी सामाजिक अराजकता, कमजोर राज्य व्यवस्था र २०८२ भाद्र २४ को विध्वंसात्मक अराजकताले सिर्जना गरेको विचलित मनोविज्ञानका परिणाम हुन्। यसले समाजमा आत्महत्याको श्रृंखला पनि वृद्धि गरिदिएको छ । जबसम्म उक्त विध्वंसकारी घटनाका योजनाकार र दोषीहरू पहिचान गरी दण्डित हुँदैनन्, तबसम्म समाजमा अपराधीहरू निर्भय हुने र नागरिकहरू सदैव भयभीत तथा असुरक्षित हुने अवस्था रहिरहन्छ।

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेपलाञ्चोक। काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता जनाइएको छ ।

सो विषयमा संवाद तथा नीतिगत छलफलमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखले यस्तो प्रतिबद्धता पनि जनाएका छन् । स्वास्थ्य सेवा विभाग, नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा पोमावती थापाले काभ्रेपमा नसर्ने रोगको रोकथाम तथा व्यवस्थापनका क्रममा हालसम्म प्राप्त उपलब्धि, अनुभव र सिकाइबारे कार्यपत्र प्रस्तुत गर्दै यसबाट उच्च रक्तचापबाट उत्पन्न हुनसक्ने जटिलता न्यूनीकरणमा सहयोग पुगेको बताउनुभयो ।

विसं २०७९ भदौ १७ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत जिल्लाका १३ वटै स्थानीय तहका १६७ स्वास्थ्य संस्थाबाट उच्च रक्तचापका बिरामीको पहिचान, उपचार र निगरानी भइरहेको जनाइएको छ । स्थानीय सरकार र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा ६१८ स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकिएको छ भने जिल्लाका करिब १० हजार व्यक्ति नियमित रुपमा उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन् ।

जिल्लामा सुरु गरिएको यस नमूना कार्यक्रम नेपालमै पहिलो भएको र त्यसको अनुभवका आधारमा हाल पर्सा, बारा, कैलाली र इलाममा पनि विस्तार गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । आगामी दिनमा यस्तो कार्यक्रम क्रमशः अन्य जिल्लामा बिस्तार गर्ने तयारी रहेको विभागले जनाएको हो ।

एक तथ्याङ्कअनुसार प्रत्येक वर्ष एक लाख ३७ हजारभन्दा बढी मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको र करिब ४७ लाख व्यक्ति उच्च रक्तचापको जोखिममा रहेका छन् । दक्ष स्वास्थ्यकर्मीमा आधारित सेवा, प्रोटोकलअनुसार उपचार, प्रभावकारी बिरामी प्रेषण प्रणाली, बिरामीको ‘ट्र्याकिङ’ तथा बिरामीको ‘फलोअप’, औषधिको नियमितता र आपूर्ति सुनिश्चिततालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।

यस्तै, सङ्गठनका वरिष्ठ स्वास्थ्य नीति सल्लाहकार डा ग्याम्पो दोर्जीले काभ्रेको अनुभव अन्य जिल्लाका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै बिरामीको नियमित रेखदेख तथा औषधिको निरन्तरतामा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभएको छ । बाग्मती स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले काभ्रेको सिकाई देशभर नमूना हुने तर्क गर्नुभएको छ ।

छलफलमा उच्च रक्तचापको उपचारबाट लाभ लिइरहेका दुई सेवाग्राहीले स्वास्थ्यकर्मीको नियमित सेवा र आफूहरुको नियमित औषधि सेवनले आफूहरुले नयाँ जीवन पाएको सुनाउनुभयो । उहाँहरुले उच्च रक्तचापसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउन जनचेतनामूलक प्रचार–प्रसार अघि बढाउनसमेत सुझाउनुभएको छ ।

‘गोलमेच नीतिगत संवाद’ नामकरण गरिएको कार्यक्रममा नौबुँदे प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरियो । प्रतिबद्धतापत्रमा नागरिकलाई स्वास्थ्य सेवाको केन्द्रमा राखिने, नसर्ने रोगसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै सेवा बिस्तार गर्ने तथा तीन तह सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय–सहकार्य सुदृढ गर्ने र दिगो प्राथमिक स्वास्थ्य सेवा प्रणाली विकास गर्ने उल्लेख गरिएको छ ।

यस्तै, काभ्रेलाई प्राथमिक स्वास्थ्य सेवाको राष्ट्रिय सिकाइ केन्द्रका रूपमा विकास गर्ने, स्रोत परिचालन तथा समन्वयमार्फत कार्यक्रमको दिगोपन सुनिश्चित गर्ने, तथ्य र परिणामका आधारमा जवाफदेहिता कायम गर्ने, राष्ट्रिय स्वास्थ्य–प्रणाली रुपान्तरणमा स्थानीय तहको नेतृत्व स्थापित गर्ने तथा जिल्लालाई राष्ट्रिय र अन्तरराष्ट्रिय सिकाइ तथा नमूना केन्द्रका रुपमा विकास गर्ने प्रतिबद्धता जनाइएको छ । प्रतिबद्धतापत्रमा काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहका प्रमुखले हस्ताक्षर गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, काभ्रेका १३ स्थानीय तह र जिल्लस्थित जनस्वास्थ्य कार्यालयले स्वामित्व ग्रहण गरेका छन् ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती, गण्डकी र प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागद्वारा मौसम बुलेटिनमा उल्लेख छ ।

मौसम बुलेटिनका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले महाशाखाका सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।थारू कल्याणकारिणी सभाले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढङ्गले समाधान खोज्नुपर्ने बताउनुभयो ।

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको निकास’ तथा ‘नेपालको संविधानको अन्तरवस्तुमा थारू समुदायको साझा सवाल र संशोधनको आवश्यकता’ विषयमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका माग तथा मुद्दा सरकारमै बसेर उठाइरहेको बताउँदै थारू समुदायको अधिकार, पहिचान र न्यायका सवालमा आफूले निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने र थारू समुदायका जायज माग सम्बोधनका लागि सरकार गम्भीर रहेको बताउनुभयो ।

सुदूरपश्चिममा साउनमा ५ हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा गत साउन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार सवारी साधन कारबाहीमा परेका छन् ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार प्रदेशमा सो महिनामा पाँच हजार २०२ सवारी कारबाही परेका हुन् ।

सवारी कारबाहीबाट प्रहरीले ४३ लाख ६३ हजार ५०० रकम राजस्व सङ्कलन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । उनका अनुसार साउनमा सुदूरपश्चिममा २२३ सवारी दुर्घटना भएका थिए । यसमा १५ जनाको मृत्यु भएको थियो भने ३२४ जना घाइते भएका थिए । दुर्घटनामा ३२९ सवारी संलग्न रहेका थिए ।

उहाँका अनुसार १८१ दुर्घटना चालकका कारण भएका छन् भने नौ मादक पदार्थ सेवनका कारण दुर्घटना भएका छन् । त्यसैगरी, सवारी साधनका कारण चार, पैदल यात्रीका कारण १२, चौपायाको कारण १५, मौसमका कारण एक र सडकका कारण एक वटा दुर्घटना भएको प्रहरी तथ्याङ्क रहेको छ ।

“ट्राफिक नियम उल्लङ्घन गर्ने र क्षमताभन्दा बढी यात्रु तथा मालसमान बोक्ने सवारीसाधनलाई कारबाही गर्ने गरिएको छ,” प्रवक्त विष्टले भने, “सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक कार्यक्रम समेत गरिँदै आएको छ ।”

त्यसैगरी, प्रहरीले एक करोड ६९ लाख ५७ हजार ७८२ मूल्य बराबरको भन्सार छली ल्याएको सामान नियन्त्रणमा लिएको छ । प्राकृतिक सम्पदा दोहनमा संलग्न २४ वटा सवारीसाधन बरामद गरी रु दुई लाख ५४ हजार ५०० जरिवाना असुल गरिएको छ । यसमा संलग्न नौ जना मानिसलाई पनि पक्राउ गरिएको थियो ।

अवैध वन पैदावार चोरीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर ७१४ क्युफिट काठ बरामद गरेर आठ लाख तीन हजार राजस्व सङ्कलन भएको छ । अवैध पशुपन्छी नियन्त्रणबाट प्रहरीले रु एक लाख २६ हजार राजस्व सङ्कलन गरेको छ ।

आरक्ष विस्थापितका नाममा थप राजनीति नगर्न मन्त्री प्रतिभा रावलको आग्रह

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले शुक्लाफाँटा आरक्षबाट विस्थापितको समस्या समाधानका लागि छिट्टै आयोग गठन हुने बताएकी छिन् ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा शुक्लाफाँटा आरक्षबाट विस्थापितको भेलालाई सम्बोधन गर्दै उनले पीडितको मागअनुसार सरकारले आयोग गठन गरी समस्या समाधान गर्ने बताएकी हुन्। “आरक्ष विस्थापितको समस्या समाधानका लागि तपाईँहरूका मागअनुसार एकडेढ साताभित्रै आयोग गठन हुँदैछ”, मन्त्री रावलले भनिन्, “उक्त आयोगले समस्या समाधानको निकास निकाल्ने छ ।”

समस्या समाधानको प्रक्रिया अघि बढिसकेकाले धैर्य गरेर बस्न आग्रह गर्दै उहाँले अब माग लिएर काठमाडौँ धाउन नपर्ने बताइन्। “सरकार समाधानको बाटोमा अघि बढिसकेको छ, आयोगलाई काम गर्न सहयोग गर्नुहोस्”, उनले भनिन् ।

आरक्ष विस्थापितका नाममा थप राजनीति नगर्न आग्रह गर्दै मन्त्री रावलले समस्या समाधानको प्रक्रिया अघि बढिसकेको उल्लेख गरिन् । उनले विस्थापितलाई आन्दोलनका कार्यक्रम अन्त्य गरी आयोगलाई सहयोग गर्न आग्रह गरिन् ।

विसं २०५८ मा तत्कालीन शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित भएका करिब दुई हजार आरक्षपीडित विभिन्न स्थानमा कष्टकर जीवन बिताउँदै आएका छन् । पीडितले आफूहरूको उचित व्यवस्थापनको माग गर्दै विभिन्न समयमा आन्दोलन गर्दै आएका छन् ।

त्यसैगरी, मन्त्री रावलले कञ्चनपुरका कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका भूमिहीन सुकुमवासीसँग भेट गरी सरकारले लालपुर्जा वितरण गर्ने भएकाले ढुक्क भएर बस्न आग्रह गर्नुभयो । “तपाईँहरूलाई लालपुर्जा दिने बाटो खुलिसकेको छ, कानुनी सुधार पनि भइसकेको छ”, उनले भनिन्, “अब जिल्ला भूमि आयोगले छिटो काम अघि बढाएर तपाईँहरूलाई लालपुर्जा दिनेछ ।”

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु – कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ ।

कृष्णनगर नगरपालिका–२ पुरानो बसपार्क क्षेत्रमा गस्ती गरिरहेको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका पाँच जनालाई रोकी जाँच गर्दा उनीहरूको साथबाट १५ किलोभन्दा बढी लागुऔषध बरामद गरेको हो ।
जाँचका क्रममा उनीहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूका साथबाट पाँच थान मोबाइलसमेत नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा दाङका रजिता रोकाय र विमला पुन, कपिलवस्तुका पनिसरा सारु र नन्सरी घर्ती मगर, पर्साका चुमा लामिछाने छिन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार पक्राउ परेकामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । बरामद पदार्थको परीक्षण तथा घटनासँग सम्बन्धित अन्य व्यक्ति र सम्भावित सञ्जालबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिए ।