`

चार वर्षपछि शान्ति प्रयास पुनः सक्रिय

जेनेभा । रुसले युक्रेनमाथि पूर्ण आक्रमण थालेको करिब चार वर्ष पुग्न लाग्दा मस्को र किएभका प्रतिनिधिमण्डलहरू अमेरिकी पहलमा पुनः वार्ताको टेबलमा फर्किएका छन् । युद्धको चौथो वार्षिकोत्सवभन्दा एक साताअघि जेनेभामा सुरु हुन लागेको यो चरणलाई द्वन्द्वको सम्भावित मोडविन्दुका रूपमा हेरिएको छ । यद्यपि दुवै पक्षका अडान कठोर नै छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफ्नो प्रतिनिधिमण्डल स्विट्जरल्यान्ड आइपुगेको जानकारी दिएको छ भने रुसी राज्य समाचार एजेन्सी तासले पनि रुसी टोली पुगेको जनाएको छ । दुई दिनसम्म चल्ने वार्ता बुधबारदेखि औपचारिक रूपमा सुरु हुने अपेक्षा गरिएको छ ।

वार्तामा सबैभन्दा जटिल मुद्दा रूसी नियन्त्रणमा रहेका करिब २० प्रतिशत युक्रेनी भूभागको भविष्य रहने बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफ र जारेड कुशनर प्रतिनिधिमण्डलहरूसँग छलफलमा बस्ने तयारीमा छन् । संवेदनशीलताका कारण नाम नखुलाउने सर्तमा एपीसँग कुरा गरेका एक स्रोतका अनुसार डोनबास क्षेत्रबारे ‘कठिन’ बहस हुने सम्भावना छ, किनकि मस्कोले अझै पनि किएभलाई पूर्वी क्षेत्रको नियन्त्रण त्याग्न दबाब दिइरहेको छ ।

जेनेभामा सैन्य तहको समानान्तर छलफल पनि हुने भएको छ । अमेरिकी, रुसी र युक्रेनी सैन्य प्रमुखहरूले सम्भावित युद्धविरामको अनुगमन संयन्त्र, असैन्यीकृत क्षेत्रको व्यवस्थापन र प्रत्यक्ष सैन्य सम्पर्क पुनःस्थापनाबारे विचार–विमर्श गर्नेछन् । यसअघि अबु धाबीमा भएको चरणमा यस्ता प्राविधिक विषयमा प्रारम्भिक छलफल भएको थियो ।

तर यथार्थमा प्रगतिको सम्भावना सीमित देखिएको छ । संयुक्त राज्य अमेरिकाले जुनसम्म समाधानको समयसीमा सुझाए पनि दुवै पक्ष मूलभूत क्षेत्रीय मागमा पछि हट्न तयार देखिएका छैनन् । करिब एक हजार २५० किलोमिटर लामो मोर्चामा युक्रेनी सेना ठूलो रुसी बलसँग जुधिरहेको छ । जेलेन्स्कीका अनुसार रुसले हालै १२ क्षेत्रमा करिब ४०० लामो दूरीका ड्रोन र २९ मिसाइल प्रहार गरेको छ, जसमा बालबालिकासहित नौ जना घाइते भएका छन् । ओडिसा बन्दरगाह सहरमा हजारौँ बासिन्दा विद्युत् र पानी सेवाविहीन बनेका छन् ।

जेलेन्स्कीले निरन्तर आक्रमणले शान्ति प्रयास कमजोर बनाएको उल्लेख गर्दै मस्कोलाई ‘जवाफदेही बनाइनु आवश्यक’ रहेको बताएको छ । उनले बिना शर्त र दीर्घकालीन युद्धविरामको अमेरिकी प्रस्तावमा आफूहरू सहमत रहेको दोहो¥याए ।

ट्रम्पले जेनेभा बैठकलाई ‘ठूलो वार्ता’ को संज्ञा दिएको छ । वासिङ्टन फर्कँदै गर्दा उनले युक्रेनले छिटो वार्तामा सक्रिय हुनुपर्ने बताएको थियो, यद्यपि उक्त अभिव्यक्तिको सन्दर्भ प्रस्ट पारिएको छैन ।

अमेरिकी पक्षबाट युरोपमा नाटो सेनाका कमान्डर जनरल एलेक्सस ग्रिन्केविच र अमेरिकी सेनाका सचिव डान ड्रिस्कोल सहभागी हुनेछन् । ग्रिन्केविचले रुसी सेना प्रमुख जनरल भ्यालेरी गेरासिमोभसँग उच्चस्तरीय संवाद सुरु गर्ने अपेक्षा गरिएको छ । यसअघि संयुक्त राज्य अमेरिकाले रुससँग प्रत्यक्ष सैन्य सम्पर्क पुनःस्थापित गरेको जनाएको थियो ।

जेनेभामा यी वार्ताहरू भइरहेका बेला अमेरिकी अधिकारीहरूले इरानसँग पनि स्विस सहरमै अप्रत्यक्ष संवाद अघि बढाएका छन् ।

७५ हजार भन्दा बढी सेवाग्राहीलाई निःशुल्क कानुनी सहायता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७५ हजार बढी सेवाग्राहीलाई निःशुल्क कानुनी सहायता प्रदान गरेको जनाएको छ ।

कामपाले हाल पाँचौ संस्करणका न्यायिक सहजकर्तालाई निःशुल्क कानुनी सहायता समेत प्रदान गरिरहेको छ । त्यसका लागि सार्वजनिक सूचना प्रकाशन गरेर कानुन विषयमा स्नातक तह तेस्रो वर्ष पूरा गरेका इच्छुक विद्यार्थीलाई सहजकर्ताका रुपमा छनोट गरिएको छ ।

पाँचौँ संस्करणसम्म आइपुग्दा ७५ हजार १९९ जना सेवाग्राहीले निःशुल्क कानुनी तथा प्रशासनिक सहायता प्राप्त गरेको कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोले जानकारी दिइन् । डङ्गोलले भनिन्, “कानुन नजानेका कारण, लेख्न नजानेका कारण, प्रक्रिया नबुझेका कारण वा एक्लो भएर सहयोग गर्ने मान्छे नभएका कारण कोही पनि न्यायबाट बञ्चित हुनु नपरोस् हाम्रो चाहना हो ।”

पीडितका पीडालाई औपचारिक निवेदनको भाषामा उतार्न कठिन हुने भएकाले सहजकर्ताको व्यवस्था गरिएको हो । कामपाका निर्देशक वसन्त आचार्यले सहजकर्ताका सर्त तथा दायित्व, स्थानीय विवाद समाधानका उपायका बारेमा भने, “कामपाले सेवाग्राहीलाई निःशुल्क सेवा दिन सहजकर्ताको व्यवस्था गरेको हो । सहजकर्ताले शुल्क, उपहार तथा कुनै पनि प्रकारको सहयोग लिनुहुँदैन ।”

कानुन तथा मानव अधिकार विभागका निमित्त प्रमुख सुशील कुँवरले, नबुझी वा आफू स्पष्ट नभइ सेवा नदिन र अस्पष्ट भएका कुरा जनप्रतिनिधि, वडा सचिव तथा केन्द्रमा कानुन तथा मानव अधिकार विभागसँग स्पष्ट हुन आग्रह गरे।

एक वडा र अर्को वडामा काम गर्ने सहजकर्ताका बिचमा समन्वय संयन्त्रले समस्यालाई आपसी समन्वयमा समाधान गर्न सकिन्छ । सेवाग्राहीको आवश्यकता अनुसार सामान्य निवेदन, उजुरी निवेदन, फिरादपत्र, प्रतिउत्तर पत्र, लिखित जवाफको मस्यौदा गरिदिने, मौखिक उजुरी परामर्श दिने सहजकर्ताको यस क्रममा लिखतको ढाँचा, त्यसमा प्रयोग हुने शब्द, भाषा कानुनमा तोके बमोजिम बनाउन सहजकर्तालाई जिम्मेवार बनाइएको छ ।

पात्रो, भित्तेपात्रो तथा गोजी पात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन पञ्चाङ्ग निर्णायक समितिको आह्वान

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो, भित्तेपात्रो तथा गोजी पात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।

समितिको गठन आदेश, २०७७ को दफा ७ (ञ), (ठ) र (ढ) तथा आन्तरिक व्यवस्थापन दिग्दर्शन–२०७९ को परिच्छेद १५ बमोजिम पञ्चाङ्ग (पात्रो) तथा भित्तेपात्रो (क्यालेण्डर), गोजीपात्रो प्रकाशन गर्नुअघि समितिबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइएको कार्यकारी निर्देशक लक्ष्मण पन्थीले राससालाई जानकारी दिनुभयो ।

गठन आदेशअनुसार निर्माण भएको आन्तरिक व्यवस्थापन दिग्दर्शनको परिच्छेद १५ को दफा ५३.१ पञ्चाङ्ग तथा भित्तेपात्रो प्रकाशन गर्ने व्यक्ति, सङ्घ, संस्था, समुदायले पात्रो, भित्तेपात्रो, गोजी पात्रो, क्यालेण्डर, टेबल क्यालेण्डर प्रकाशन गर्न अनिवार्यरूपले समितिको स्वीकृति लिएर मात्र प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

साथै सोही परिच्छेद १५ दफा ५६.१ बमोजिम प्रकाशित पञ्चाङ्ग तथा भित्तेपात्रोको निरीक्षण गर्न मन्त्रालयको संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा मन्त्रालयको प्रतिनिधि, गृह मन्त्रायलको प्रतिनिधि, समितिले तोकेको पञ्चाङ्गकारको प्रतिनिधि, समितिको प्रतिनिधि रहने व्यवस्था रहेका उहाँले जानकारी दिनुभयो ।

अनुगमन समितिको सिफारिसमा समितिद्वारा स्वीकृति, नलिई भित्तेपात्रो वा पञ्चाङ्ग प्रकाशन गरेमा समितिले उक्त प्रकाशित सामग्री जफत गर्न, प्रकाशनमा रोक लगाउन र स्वीकृति लिई प्रकाशित भएका पञ्चाङ्ग, भित्तेपात्रोलाई हानी पु¥याए कसुर हेरी दश हजारदेखि एकलाखसम्म बिगोवापत दण्ड जरिवाना गर्न सक्ने व्यवस्था रहेको समितिले जनाएको छ । विसं २०७९ देखि पञ्चाङ्ग (पात्रो) का अतिरिक्त भित्तेपात्रो (क्यालेण्डरहरू) मा समेत स्वीकृति अनिवार्य गरिएको छ ।

समितिबाट स्वीकृति प्राप्त नगरी प्रकाशित गरिएका क्यालेण्डर तथा पञ्चाङ्गहरूमा चाडपर्व, तिथि, मिति, मुहूर्त, सरकारी बिदालगायत विषयमा त्रुटि तथा असङ्गति देखिन सक्ने हुँदा सर्वसाधारणमा भ्रम तथा असहजता उत्पन्न हुने गरेको पाइएकाले यसतर्फ समितिले विशेष ध्यानाकर्षण गराएको हो ।

नेपालभर प्रकाशन तथा वितरण गरिने सम्पूर्ण पञ्चाङ्ग (पात्रो) र भित्तेपात्रो (क्यालेण्डर) हरू समितिबाट स्वीकृति लिएर मात्र प्राप्त, प्रकाशन तथा वितरण गर्न सम्बन्धित सबै व्यक्ति, संघ–संस्था तथा निकायहरूलाई निर्देशन जारी गरिएको छ ।

स्वीकृति प्राप्त प्रकाशनमा स्वीकृति पत्र तथा नम्बर अनिवार्यरूपमा उल्लेख गरिएको हुन्छ । स्वीकृति नलिई प्रकाशन तथा वितरण गरिएका पञ्चाङ्ग तथा क्यालेण्डरहरू सम्बन्धित प्रशासनिक निकायमार्फत् जफत गरी प्रचलित कानूनबमोजिम कारबाही गरिने उहाँले बताउनुभयो ।

यो विषय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरू, जिल्ला प्रशासन कार्यालयहरू, स्थानीय तह, शैक्षिक संस्था, उद्योग–वाणिज्य तथा सहकारी क्षेत्रलगायत सबै सरोकारवाला निकायहरूको सहयोगको आशा गरिएको समितिले जनाएको छ ।

कार्यक्रममा समितिका अध्यक्ष प्राडा शम्भुप्रसाद ढकाल, सदस्य प्रा डा देवमणि भट्टराई र महिला ज्योतिष एवं समिति सदस्य रतिवेदी जोशी श्रेष्ठले पनि पात्रो, भित्तेपात्रो र गोजी पात्रो प्रकाशन अघि समितिको स्वीकृत लिनुपर्ने व्यवस्थालाई यस वर्षदेखि कडाइका साथ पालना गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन : ९० हजार मतपेटिकाको व्यवस्था

काठमाडौँ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौँ र ललितपुरका मतदान केन्द्रका लागि आवश्यक मतपेटिका आयोगको केन्द्रीय कार्यालयमै राखिएको छ । दुवै जिल्लाका निर्वाचन कार्यालयमा राख्ने ठाउँ नभएकाले केन्द्रीय कार्यालयमै राखिएको थियो । चितवनमा भने भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा मतपेटिका जलाइएकाले आयोगको केन्द्रीय कार्यालयबाट दुई हजार ५०० थान मतपेटिका पठाइएको प्रशासन शाखा प्रमुख एवं सहायक प्रवक्ता प्रकाश न्यौपानेले राससलाई जानकारी दिनुभयो ।

भक्तपुरमा जिल्ला निर्वाचन कार्यालयले मतपेटिका राखेकाले त्यसैबाट मतदान केन्द्रसम्म पठाउने व्यवस्था गरिएको छ । अन्य ७४ जिल्लामा पनि २०७९ सालमै पठाइएको मतपेटिकाको मौज्दातबाट पठाइने गरी व्यवस्था गरिएको उहाँले बताउनुभयो । यसपटकको निर्वाचनका लागि ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

सीमापार कार्बन भण्डारणमा मलेसिया–जापान सहकार्य

बैङ्कक। जलवायु परिवर्तन नियन्त्रणका उपायहरूमाथि विश्वव्यापी बहस चर्किरहेका बेला जापान र मलेसियाले सीमापार कार्बन क्याप्चर तथा भण्डारण परियोजना अघि बढाउने तयारी गरेका छन् । आलोचकहरूले प्रभावकारितामाथि प्रश्न उठाइरहे पनि दुवै देशले यसलाई उत्सर्जन व्यवस्थापनको नयाँ विकल्पका रूपमा प्रस्तुत गरेका छन् ।

योजनाअनुसार जापानले विद्युत् उत्पादन, तेल प्रशोधन, सिमेन्ट, ढुवानी र इस्पात उद्योग जस्ता आफ्ना औद्योगिक क्षेत्रहरूबाट निस्कने कार्बन डाइअक्साइड सङ्ग्रह गरेर तरलीकृत अवस्थामा मलेसिया पठाउने प्रस्ताव गरेको छ । उक्त कार्बन बोर्नियो टापुको सारावाक राज्य नजिकका समाप्त ग्यास क्षेत्रहरूमा भूमिगत रूपमा भण्डारण गरिने सम्भावना छ । यदि सफल भएमा यसले इन्डोनेसिया र थाइल्यान्डजस्ता अन्य दक्षिणपूर्व एसियाली राष्ट्रहरूमा यस्तै परियोजनाका लागि मार्ग प्रशस्त गर्न सक्ने विज्ञहरूको भनाइ छ ।

कार्बन क्याप्चर प्रक्रिया प्रदूषणकारी स्रोतबाट सिधै उत्सर्जन सङ्ग्रह गर्ने, त्यसलाई तरलीकृत गरी विशेष जहाजमार्फत ढुवानी गर्ने र अन्ततः भूमिगत इन्जेक्सनमार्फत दीर्घकालीन भण्डारण गर्ने तीन चरणमा आधारित हुन्छ । इन्जेक्सनपछि चुहावट रोक्न दीर्घकालीन निगरानी आवश्यक हुन्छ । यद्यपि विस्तृत प्राविधिक खाका अझै सार्वजनिक गरिएको छैन ।

केही सरकार र ऊर्जा कम्पनीहरूले यसलाई स्वच्छ ऊर्जातर्फको सङ्क्रमणका लागि ‘समय किन्ने’ उपायका रूपमा व्याख्या गर्छन् । युरोपमा पनि सीमापार कार्बन ढुवानी र अपतटीय भण्डारण परियोजनाहरू परीक्षण भइरहेका छन् । तर अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सन् २०५० सम्म कुल उत्सर्जन कटौतीमा यसको योगदान पाँच प्रतिशतभन्दा कम हुने अनुमान गरेको छ ।

मलेसियाले आफूलाई क्षेत्रीय कार्बन क्याप्चर केन्द्रका रूपमा उभ्याउने लक्ष्य राखेको छ । गत वर्ष यससम्बन्धी विधेयक पारित गरिएको थियो र अर्थ मन्त्रालयले ३० वर्षमा दुई खर्ब ५० अर्ब डलरसम्म आर्थिक लाभ हुन सक्ने आकलन गरेको जनाएको छ । सरकारी तेल तथा ग्यास कम्पनी पेट्रोनासले एक अर्ब १० करोड डलरको अपतटीय कार्बन भण्डारण सुविधा निर्माणको नेतृत्व गरिरहेको छ, जुन दशकको अन्त्यसम्म सञ्चालनमा ल्याउने लक्ष्य छ । यद्यपि मलेसियाको करिब ८१ प्रतिशत बिजुली अझै जीवाश्म इन्धनबाट उत्पादन हुन्छ ।

विश्वका प्रमुख कार्बन उत्सर्जकमध्ये एक जापानले शुद्ध उत्सर्जन घटाउने योजनाअन्तर्गत नौ कार्बन भण्डारण स्थलमा लगानी गरिरहेको छ, जसमध्ये तीन मलेसियामा रहेका छन् । सन् २०३० सम्म ती स्थलहरूले वार्षिक दुई करोड टन कार्बन भण्डारण गर्ने अनुमान गरिएको छ, जुन जापानको वार्षिक उत्सर्जनको करिब दुई प्रतिशत हो । भण्डारण गरिएको कार्बनको प्रतिटन मलेसियालाई भुक्तानी गरिनेछ र जापानले सो मात्रा आफ्ना कुल उत्सर्जनबाट घटाउन सक्नेछ ।

तर आलोचकहरूले यसलाई ‘कार्बन उपनिवेशवाद’ को संज्ञा दिएका छन् । फ्रेन्ड्स अफ द अर्थ जापानकी अयुमी फुकाकुसाले अन्य देशमा उत्सर्जन निर्यात गर्नु दिगो समाधान नभएको बताए । सेन्टर फर इन्टरनेसनल इन्भाइरोन्मेन्टल लका राचेल केनरलीले यस्तो योजनाले प्रदूषणको बोझ मलेसियातर्फ सार्ने र वास्तविक उत्सर्जन कटौती प्रयासलाई कमजोर पार्ने चेतावनी दिए ।

जलवायु सङ्कटसँग जुध्न तत्काल उत्सर्जन घटाउने उपाय प्राथमिक हुनुपर्ने तर्क राख्नेहरूका अनुसार कार्बन क्याप्चर महँगो र अप्रमाणित विकल्प हो । तथापि, जापान र मलेसियाले यसलाई प्रविधिगत अवसर र आर्थिक सम्भावनाका रूपमा अघि बढाइरहेका छन् । सीमापार कार्बन भण्डारणको यो पहल सफल हुने वा थप विवाद जन्माउने भन्ने प्रश्न अब कार्यान्वयन चरणमा निर्भर रहनेछ ।

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई चार दिनको म्याद दिएको छ ।

सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौँले आज प्रशासनमा पेस गरेको थियो ।

निर्वाचनसम्बन्धी अफवाह फैलाएर शान्ति खलल गरेको आरोपमा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसूरमा पक्राउ गरिएको र सोही कसुरमा अनुसन्धानका लागि म्याद थप भएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

प्रसाईंले फागुन २१ मा निर्वाचन हुँदैन भन्दै हिँडेका थिए । यसअघि पनि उनी विभिन्न कसुरमा पटकपटक पक्राउ परेका थिए । केही दिनअघि वीरगञ्ज जान लागेका बेला दक्षिणकालीबाट एकपटक र त्यसअघि पोखराबाट पनि उनलाई पक्राउ गरिएको थियो ।

काठमाडौँमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) आज मध्याह्नसम्म १९१ पुगेको छ । यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पार्न सक्छ ।

योससँगै आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा पुगिसकेको छ । ‘एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार आज काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । भारतको दिल्ली २२९ एक्युआईसहित पहिलो र पाकिस्तानको लाहोर २०३ एक्युआईसहित दोस्रो स्थानमा सूचीकृत भएको छ ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नभए आगामी दिनमा प्रदूषण अझै बढ्न सक्ने बताए । वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्ने भएकाले लामो समयसम्म सुक्खा मौसम रहँदा प्रदूषणको मात्रा उच्च हुने उनको भनाइ छ । दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको महानिर्देशक सुवेदीले जानकारी दिए ।

वातावरण अभियन्ता वर्षा पराजुलीका अनुसार उपत्यकामा सवारी साधनको तीव्र वृद्धि, डिजेल तथा पेट्रोलबाट निस्कने धुवाँ, निर्माणाधीन सडक तथा पूर्वाधार परियोजनाबाट उड्ने धुलो, साथै वन डढेलो र लामो समयसम्मको सुक्खा मौसमले वायु प्रदूषण बढाएको छ ।

“यदि समयमै नियन्त्रणका उपाय अपनाइएन भने स्थिति अझ जटिल बन्न सक्छ,” उनले भनिन् । सुक्खा रहेमा अझ झन् प्रदूषण बढ्न सक्ने भन्दै समयमा नै सचेत हुन समेत पराजुलीले आग्रह गरेकी छन् । इन्डेक्सको तथ्याङ्कअनुसार देखि ५० एक्युआई राम्रो (हरियो सङ्केत) तथा ५१ देखि १०० सम्म सचेत रहनुपर्ने (पहेँलो सङ्केत) मानिन्छ ।

त्यसैगरी, १०१ देखि १५० एक्युआई अस्वस्थ मानिन्छ, जसले श्वासप्रश्वास र मुटुरोगी बिरामीलाई असर गर्छ । यस्तै १५१ देखि २०० एक्युआई सबैका लागि अस्वस्थ, २०१ देखि ३०० एक्युआई धेरै अस्वस्थ तथा ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ ।

काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार नेपाल सरकारले एक्युआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको छ । यस्तो विपद् न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ‘ब्रुमर’ तथा ‘भ्याकुम’को प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा उल्लेख छ ।

राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति छ । साथै प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषणको जोखिम रहेका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्साङ्कन गरिने उल्लेख गरिएको छ ।

काठमाडौँ महानगरद्वारा ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४५२ ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण गर्दा ११ जनालाई तत्काल अस्पताल लैजानुपर्ने पाइएको छ । गत माघ १८ गतेदेखि सुरु गरिएको ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण गर्ने क्रममा यस्तो अवस्था देखिएको महानगरपालिकाले जानकारी गराएको छ ।

यसैगरी, २०८ जनालाई नियमित निगरानीको आवश्यकता देखिएको कार्यक्रमका ‘फोकल पर्सन’ अस्पताल नर्सिङ निरीक्षक कल्पना श्रेष्ठले जानकारी दिइन् । यस्तै ८४ प्रश्नावलीका आधारमा सर्वेक्षण गरिँदैछ । यसबाट ८२ ज्येष्ठ नागरिक कमजोर आर्थिक अवस्थाका कारण औषधोपचार गर्न कठिन अवस्थामा रहेका छन् भने १९२ बीमा नगरिएका ज्येष्ठ नागरिक भेटिएकाे उनले बताइन् ।

श्रेष्ठका अनुसार सर्वेक्षणमा समेटिएका ज्येष्ठ नागरिकलाई हरियो, पहेँलो र रातो ‘जोन’मा वर्गीकरण गरिएको छ । हरियो जोन भनेको सुरक्षित अवस्था हो । यो जोनमा भएका ज्येष्ठ नागरिकलाई धेरै निगरानी र हेरचाह आवश्यक पर्दैन । पहेँलो जोनमा रहेका बिरामीलाई चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको निगरानी तथा हेरचाह आवश्यक पर्छ । तत्काल अस्पताल पठाउनुपर्ने अवस्थाका ज्येष्ठ नागरिकलाई रातो जोनमा राखिएको छ । यस्ता ज्येष्ठ नागरिकलाई तत्काल नजिकको स्वास्थ्य संस्थामा ‘रेफर’ गर्ने थालिएको श्रेष्ठको भनाइ छ ।

तथ्याङ्कमा समेटिएका ३०२ महिला र १५० पुरुष गरी ४५२ ज्येष्ठ नागरिकमध्ये ४२३ जना परिवारसँगै रहनुभएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । सर्वेक्षणमा शारीरिक र मानसिक स्वास्थ्य, पारिवारिक तथा सामाजिक अवस्था हेरिन्छ । उनीहरुले नियमित प्रयोग गर्ने औषधि, औषधि प्रयोग गर्ने समय तालिका, तौलमा अनायास आएको परिवर्तनलगायतका विषय हेर्ने गरिएको छ ।

ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षणका लागि सबै वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । सत्तरी वर्षमाथिका स्वास्थ्य संस्थामा गएर उपचार गर्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमलाई वास्तविकतामा आधारित बनाउन तथ्य सङ्कलन र स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गरिएको हो ।

ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित उपचार र सर्वेक्षण थालिएको हो ।

जलविद्युत् आयोजनाको कार्यान्वयनमा देखिएका अवरोध हटाउन समन्वय सुदृढ गर्ने सहमति

काठमाडौँ । वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबिच आज समन्वय बैठक सम्पन्न भएको छ । बैठक वनमन्त्री माधवप्रसाद चौलागाईँ र ऊर्जामन्त्री अनिलकुमार सिन्हासहितको दुवै मन्त्रालयका सचिव, विभाग तथा महाहाखा प्रमुखलगायत उच्च अधिकारीहरुको सहभागितामा सम्पन्न भएको हो ।

बैठकमा ऊर्जा तथा जलविद्युत् आयोजनासँग सम्बन्धित वन क्षेत्रभित्रको जग्गा भोगाधिकार, स्वीकृति प्रक्रिया तथा प्रक्रियागत जटिलताका कारण रोकिएका विषयमा विस्तृत छलफल भएको थियो ।

विशेषगरी वन क्षेत्र प्रयोग अनुमति, वातावरणीय स्वीकृति तथा विभिन्न निकायबिचको समन्वय अभावका कारण ढिलाइ भएका परियोजनालाई कसरी सहजीकरण गर्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको हो ।

बैठकमा नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागका प्रतिनिधिहरूको समेत सहभागिता थियो । सहभागीहरूले आयोजना कार्यान्वयनका क्रममा देखिएका कानुनी, प्रशासनिक तथा प्राविधिक अवरोधहरूबारे आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

छलफलका क्रममा वातावरण संरक्षण र ऊर्जा विकासबिच आवश्यक सन्तुलन कायम गर्दै जलविद्युत् तथा ऊर्जा आयोजनाको कार्यान्वयनमा देखिएका अवरोध हटाउन आपसी समन्वय सुदृढ गर्ने सहमति भएको छ ।

वातावरणमैत्री विकासलाई प्राथमिकता दिँदै सम्बन्धित प्रक्रियालाई छरितो र प्रभावकारी बनाउने बैठकले निष्कर्ष निकालेको छ । दुवै मन्त्रालयले आगामी दिनमा नियमित समन्वय संयन्त्रमार्फत अडकिएका आयोजनाको समस्या समाधान गर्दै दिगो ऊर्जा विकास, वातावरण संरक्षण तथा राष्ट्रिय विकास लक्ष्य हासिल गर्न सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ–तराई/मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छन् ।

ललितपुरको खोकनामा धार्मिक–सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायका तर्फबाट चासो व्यक्त भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्कीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी हुन् ।

यसअघि गत माघ १३ गते प्रधानमन्त्री कार्कीले निर्माणाधीन द्रुतमार्गको निरीक्षण भ्रमण पनि गरेकी थिइन् । त्यस क्रममा पनि उनले विकास निर्माणका काम गर्दा स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएकी थिइन् । साथै सुरु विन्दु परिर्तन गरेर भए पनि राष्ट्रिय गौरवको यो आयोजना चाँडो सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ थियो ।

आज प्रधानमन्त्री कार्कीले अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधव चौलागाईँ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, प्रधान सेनापति अशोकराज सिग्देलसहित द्रुतमार्ग आयोजनासँग सम्बन्धित अधिकारीहरु एवं सम्बन्धित मन्त्रालयका सचिवहरुलाई बोलाएर छलफल गरेकी थिइन् ।

यस क्रममा नेपाली सेनाका तर्फबाट आयोजनामा हालसम्म भएको प्रगति, समस्याहरु र सरकारसँग अपेक्षाका विषयमा ब्रिफिङ भएको थियो । सबै सम्बन्धित निकायका अधिकारीहरुलाई राखेर उहाँले विकास निर्माणका काममा अनावश्यक ढिलासुस्ती नगर्न र विवादमा अल्झिएर पनि नबस्न आग्रह गरिन् ।

“विकास निर्माणका काममा अनावश्यक ढिलासुस्ती गर्नुहुँदैन । सकेसम्म विवादको समाधान गर्ने हो । तर विवाद भयो भने अनिश्चितकालसम्म त्यहीँ अल्झिएर हुँदैन । विकल्प खोजेर अघि बढ्नुपर्छ, “प्रधानमन्त्री कार्कीले भनिन्, “अब विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरौँ । सुरु विन्दु खोकना हुँदैन भने जहाँ कुरा मिल्छ, त्यहीँबाट प्रस्थानविन्दु कायम गरौँ । आयोजनाको काम जहाँसम्म सम्पन्न हुन्छ, त्यहाँसम्म भए पनि सञ्चालन गरौँ ।”

ठुलो लगानीको आयोजना अनिश्चितकालसम्म लम्बिँदै गएमा आर्थिक बोझ थेग्न गाह्रो पर्न सक्ने भएकाले पनि चाँडो सञ्चालन हुनेगरी निकास खोज्नुपर्ने उनको धारणा थियो । अब उहाँको निर्देशनबमोजिम खोकनाभन्दा ३.३ किलोमिटर तल फर्सिडोलमा टोल प्लाजा (शुल्क संकलन गृह) निर्माण गर्ने गरी डीपीआर संशोधन हुने भएको छ ।

काठमाडौँका २५० उम्मेदवारमध्ये १२० जनाले मात्र खोले बैङ्क खाता

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँकै आधा उम्मेदवारले हालसम्म बैङ्क खाता खोलेका छैनन् ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरे पनि हालसम्म १२० जनाले मात्र निर्वाचनलक्षित बैङ्क खाता खोलेको विवरण प्राप्त भएको काठमाडौँका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचन आयोगले उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न, गराउन नहुने भनी राजनीतिक दललाई निर्देशन दिएको थियो । निर्वाचन आचारसंहितामै उक्त विषय उल्लेख गरिए पनि आधा उम्मेदवारले बैङ्क खाता खोलेका छैनन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रयोजनका लागि २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा वा खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने भनी आइतबार फेरि विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको बताए ।

आयोगले आदेश दिएमा खर्चको बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थामा रहेको खाताको विवरण तथा सक्कल बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नुपर्ने पनि उनले जानकारी दिए ।

भूगोलअनुसार उम्मेदवारले २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन : मतपत्र छपाइ सकियो

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिए । आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उनले बताए ।

प्रबन्ध निर्देशक पौडेलले भने, “प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइकार्य सोमबार साँझबाट सम्पन्न गरेका छौँ । ४२ दिनको कार्यतालिका लिएर छपाइ सुरु गरिएकामा ४० दिनमै सम्पन्न गर्न सफल भयौँ । अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याउँछौँ ।”

केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो । यसअघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ भने दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ ।

प्रबन्ध निर्देशक पौडेलले कर्णाली र सुदुरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पु¥याउने गरी काम भइरहेको जानकारी दिए ।

उत्पादन बढाउँदै सिंहदरवार वैद्यखाना

काठमाडौँ । सिंहदरबार वैद्यखाना फेरि लयमा फर्कन थालेको छ । विसं २०७७ देखि औषधि उत्पादनमा कमी आएकामा वैद्यखाना फेरि लयमा फर्कन थालेको हो ।

तीन वर्षदेखि कच्चापदार्थका लागि ठेक्का सम्झौता नहुँदा औषधि उत्पादन घटेकामा हाल औषधि उत्पादन बढाइएको वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक प्रदीप केसीले जानकारी दिए ।

“केही समय समस्या भएको थियो, हाल उत्पादन वृद्धिमा ध्यान दिएर लागेका छौँ । उत्पादन वृद्धिसँगै कारोबारमा बढाइरहेका छौँ”, उनले भने, “हाल सरकारी औषधालयमा मात्र रु दुई करोड बराबरको औषधि माग आएको छ ।”

कुनै बेला आम्दानीभन्दा २३३ प्रतिशत बढी खर्च हुने वैद्यखाना साउनयता नाफामा गएको कार्यकारी निर्देशक केसीले जानकारी दिए । समयमा कच्चापदार्थको आपूर्ति नहुँदा औषधि उत्पादन ठप्प भइरहेकामा पछिल्लो समय आन्तरिक समस्या समाधान गरेर उत्पादन वृद्धि गर्न लागेको उनले बताए ।

विसं २०७७ मा १२ वटा मात्र औषधि उत्पादन गर्ने गरिएकामा हाल यहाँबाट ८६ प्रकारका औषधि उत्पादन भइरहेका छन् । तीमध्ये ३० वटा औषधि सरकारी औषधालयमा जाने गरेका छन् । “हामीले कच्चापदार्थ आपूर्तिका लागि २०८० पुसमा ठेक्का सम्झौता भएको थियो, तर ठेकेदारले कच्चापदार्थ नल्याएपछि कालोसूचीमा राख्यौँ । विसं २०८१ वैशाख नयाँ ठेक्का सम्झौता गरेर सोही वर्षको साउनयता औषधि उत्पादन भइरहेको छ”, कार्यकारी निर्देशक केसीले भने ।

वैद्यखाना निरन्तर घाटामा गएपछि सात महिनासम्म कर्मचारीले तलबसमेत नपाउने अवस्था आएको थियो । हाल नियमित औषधि उत्पादन भएर नाफामा गएपछि कर्मचारीले नियमित तलब पाइरहेका छन् ।

माग धान्नै गा¥हो

वैद्यखानाको औषधिलाई सबैले रुचाएका कारणले हाल माग बढिरहेको र हाल करिब चार करोड बराबरको औषधिको माग रहेको केसीले बताए । “देशभरिबाट नै औषधिको माग बढिरहेको छ, तर हामीले मागअनुसार उत्पादन गर्न सकेका छैनौँ । त्यसैले हाल सरकारीबाहेक अन्यलाई औषधि दिन सकिएको छैन”, उनले भने ।

कार्यकारी निर्देशक केसीले यस वर्षको अन्त्यसम्म ५० प्रतिशत सरकारी औषधालयमा औषधि पुर्याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए ।

शिलाजित, च्यवनप्रास, निमिया (जोर्नी दुख्ने औषधि), चन्द्र प्रभावटी, महायोगराज, कान्चानार, त्रिफलालगायत औषधिको माग उच्च रहेको वैद्यखानाले जनाएको छ । हाल १५ वर्षदेखि रोकिएको स्वर्णभ्रष्म विन्दु फेरि उत्पादन सुरु गरिएको छ ।

तीन किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन् ।

वीरगञ्जबाट काठमाडौँ आइरहेको यात्रीवाहक बसमा शङ्का लागेर पर्साको फेटा गाउँपालिका–६ का आसु साबको झोला जाँच गर्दा गैरकानुनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेका नागढुङ्गास्थित प्रहरी प्रभागले जनाएको छ ।

चाँदीसहित अभियुक्तलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमसक्ष पेस गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

बुर्तिबाङ–ढोरपाटन सडक निर्माण धमाधम

ढोरपाटन (बागलुङ)।नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक निर्माणले गति लिएको छ । लामो समयदेखि रोकिएको उक्त सडक निर्माणको काम गत मङ्सिरदेखि धमाधम भइरहेको छ ।

बुर्तिबाङ बजारदेखि ढोरपाटन देउरालीसम्मको २५ किलोमिटर सडक निर्माण दुई खण्डमा भइरहेको छ । रुपन्देहीको सालझण्डीदेखि ढोरपाटन जोड्ने गरी २०७८ सालमा निर्माण थालिएको उक्त सडकले तराई र पहाडलाई जोडेको छ । बुर्तिङबाङदेखि फल्लेघरसम्मको २२ किलोमिटर (पहिलो खण्ड) हाल ग्राभेल भइरहेको छ भने फल्लेघरदेखि देउरालीसम्मको (दोस्रो खण्ड) मा कालोपत्रको तयारी छ ।

पहिलो खण्ड २०८० वैशाखसम्म ग्राभेल गरिसक्नुपर्ने भए पनि हालसम्म ६५ प्रतिशत मात्र सम्पन्न भएको काम सकिएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर परीक्षा पौडेलले जानकारी दिए । पहिलो खण्ड ग्राभेल गर्न चार वर्ष अगाडि स्वच्छन्द र ओम÷बुद्ध जेबीले जिम्मा पाएको थियो । समयमै काम गर्न नसक्दा चार पटक म्याद थप गरिएको छ ।

तीस महिनामा सक्ने गरी २०७८ कात्तिकमा सम्झौता भएको इन्जिनियर पौडेलले बताए । अहिले सडक फराकिलो बनाउने, कल्भर्ट निर्माणलगायत काम भइरहेको छ । २५ करोड ६१ लाखको लागतमा सो सडक स्तरोन्नति भइरहेको छ ।

“पहिलो खण्डको काम यसअघिदेखि नै सुस्तरुपमा भएको थियो, अहिले निमाण कम्पनीले गति बढाएको छ,” इन्जिनियर पौडेलले भने । दोस्रो खण्ड कालोपत्र गर्न गत असारमा सम्झौता भएकामा हाल धमाधम भइरहेको छ । उक्त खण्ड कालोपत्र गर्न ‘पिटीआर अधिकारी कन्स्ट्रक्सन’सँग १६ करोड ४८ लाखमा सम्झौता भएको इन्जिनियर पौडेलले बताए ।

अहिले सडक फराकिलो बनाउने, नाला निर्माणलगायत काम भइरहेको छ । आगामी २०८४ असारसम्म सक्नुपर्ने काम हालसम्म १२ प्रतिशत मात्र सम्पन्न भएको उनले बताए । विसं २०६८ मा रूपन्देहीदेखि सुरु भएको उक्त सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटनसँग जोडिएको छ ।

एआईमा भारतको लगानी : दुई वर्षमा २०० अर्ब डलरभन्दा बढीको सम्भावना

नयाँ दिल्ली । भारतका इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले मङ्गलबार आगामी दुई वर्षमा देशमा कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा २०० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी हुने सम्भावना रहेको बताएका छन् ।

मन्त्री वैष्णवले उक्त जानकारी भारत ‘कृत्रिम बौद्धिकता प्रभाव सम्मेलन २०२६’ को अवसरमा प्रेस सम्मेलनमा साझा गरेका थिए । उनले सम्मेलनमा देशभरका मानिसहरूको ठूलो सहभागिता देखिएको उल्लेख गरे । यस सम्मेलनले भारतमा कृत्रिम बौद्धिकता क्षेत्रको महत्व र सम्भावनालाई व्यापक रूपमा प्रस्तुत गरेको छ ।

उनले भने,“विश्वका प्रमुख कम्पनीका कार्यकारीहरूले नयाँ प्रविधि सम्बन्धी स्टार्टअप तथा पूर्वाधार परियोजनामा उच्च रुचि देखाइरहेका छन् । यसले भारतमा प्रविधि क्षेत्रको वृद्धि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो ।”

वैष्णवले सम्मानजनक शैलीमा भारतले विश्वका नेताहरूबीच कृत्रिम बौद्धिकताको सही र जिम्मेवार प्रयोग सुनिश्चित गर्न पहल गर्ने जोड दिए । यसले कृत्रिम बौद्धिकतालाई मानव समाजको भलोमा प्रयोग गर्न मद्दत पु¥याउने उनको विश्वास रहेको छ ।

मन्त्रीले भने,“ हालको अवस्थामा कृत्रिम बौद्धिकता प्रणालीमा केही चुनौती र कठिनाइहरू अवश्य छन् । उहाँले ती समस्याहरू प्रविधि र कानूनी उपायहरू मार्फत समाधान गर्न आवश्यक रहेको स्पष्ट गर्नुभयो ।” यसले मात्र एआई प्रणालीको दिगो र उत्तरदायी विकास सम्भव हुने उनको भनाइ थियो ।

वैष्णवले सम्मेलनमा सहभागी सबैलाई आभार व्यक्त गर्दै यस्तो सम्मेलनले देशमा नयाँ सोच र नवप्रवर्तनको वातावरण सिर्जना गर्ने र कृत्रिम बौद्धिकता क्षेत्रलाई अझ समृद्ध बनाउने बताएका छन् ।

भक्तपुर-१ : उम्मेदवारहरु विकासको ‘एजेन्डा’सहित घरदैलोमा

भक्तपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रचारप्रसारमा जुटेका दलका उम्मेदवारहरु घरदैलो अभियान लिएर गाउँ पसेका छन् । प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ र २ मा उम्मेदवारी दिएका मुख्य दलहरुले घरदैलो अभियान सञ्चालन गरेर मतदाताका घरघरमा मत माग्न पुगेका हुन् ।

बिहान र अपराह्न गरी दुई चरणमा अभियानको तालिका नै बनाएर नेकपा (एमाले), नेपाली कांग्रेस, नेमकिपा, नेकपा, राप्रपा, रास्वपालगायतका दलहरुले निर्वाचनका दुवै क्षेत्रमा घरदैलो अभियान तीव्र बनाएका हुन् । विगतमा नेमकिपाको बलियो आधार क्षेत्र मानिँदै आएको भक्तपुर क्षेत्र नं १ मा चुनावी सरगर्मी बढेको छ । मुख्य प्रतिस्पर्धी दलहरुले चुनावी वातावरणलाई तताएका छन् । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु विकासका एजेन्डा बोकेर जनतामाझ पुगिरहेका छन् ।

भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले चौथोेपटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवार दिइरहँदा अन्य विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २५ जना प्रतिस्पर्धामा उभिएका छन् । भक्तपुर क्षेत्र नं १ मा २०४८ साल, २०५१ साल, २०५६ साल, २०६४ साल र २०७० सालमा अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व गर्दै निरन्तर प्रतिनिधिसभा सांसदमा अत्यधिक मतले निर्वाचित हुँदै आएका थिए ।

विसं २०७४ मा भिने बजुक्छेले पार्टीमा पुस्तान्तरण गर्नुपर्छ भन्दै उम्मेदवारी नदिने निर्णय गरेसँगै नेमकिपाबाट सुवालले २०७९ साल, २०७४ साल र २०७८ सालको निर्वाचनमा यही क्षेत्रबाट भारी मतान्तरणले निर्वाचित भएका थिए । यसअघि २०७९ सालको प्रतिनिधिसभाका निर्वाचनमा भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका सुवालले ४२ हजार ७६१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नवराज गेलालले ११ हजार ९६८ मत ल्याएर दोस्रो भएका थिए। तीस हजार ७९३ मतको मतान्तरले पछाडि पार्दै प्रतिनिधिसभामा निर्वाचित भएकाले यस वर्षको निर्वाचनमा पनि भक्तपुर क्षेत्र नं १ मा फराकिलो मतान्तरले नेमकिपाले पहिलो पार्टी हुने दाबी गर्दै आएको छ ।

समाजवादी व्यवस्था स्थापना, नागरिकता नीतिमा कडाइ, भ्रष्टाचारविरुद्ध कठोर कानुन र शिक्षा–स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क बनाउने मुख्य एजेन्डा रहेको नेमकिपाका उम्मेदवार प्रेम सुवालले जानकारी दिए । निर्वाचनबाट मात्र समाजवाद नआउने, संसद्लाई प्रधानमन्त्री केन्द्रित संस्था नभई जनताको पीडा बुझ्ने, देशको रक्षा गर्ने र आवश्यक नीति तथा कानुन निर्माण गर्ने जनप्रतिनिधिमूलक सदन बनाउने प्रतिबद्धता लिएर जनतामाझ गएको बताउँदै उनले नेमकिपाले जन्मका आधारमा नागरिकता पाएका विदेशीका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था खारेज गर्ने, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, संसद् र राज्य संयन्त्रलाई ‘सुविधा खोज्ने संस्था’ बन्न नदिन कानुनी सुधार गर्ने घोषणा पत्रमा लिएर मतदातामाझ गएको बताए ।

नेमकिपालाई यस निर्वाचनमा पछाडि पार्छौं भन्दै विशेषगरी नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी प्रचारलाई तीव्र बनाएका छन् । नेकपा (एमाले)बाट यस वर्षको निर्वाचनमा सोमप्रसाद मिश्रले उम्मेदवारी दिएका छन् । एमालेको अघिल्लो कार्यकालको केन्द्रीय सदस्य, भक्तपुर इन्चार्जको जिम्मेवारी सम्हालिसकेका मिश्रले यसअघिको स्थानीय तहको निर्वाचनमा भने चाँगुनारायण नगरपालिकाको नगर प्रमुखका रुपमा पाँच वर्ष स्थानीय तहको प्रतिनिधित्व गरिसकेका छन् ।

एमालेका मिश्र यस चुनावले जनताको मतले नेमकिपालाई पछाडि पार्दै निर्वाचनमा विजयी हासिल गर्ने बताउँदै नेमकिपाले विकासमा विभेद गरेर भक्तपुर नगरपालिकाबाहेक क्षेत्र नं १ को चाँगुनारायण नगरपालिका क्षेत्रको बासिन्दालाई बेवास्ता गरेकाले यसपटक नेमकिपाले यसअघिको वर्चस्वलाई कायम राख्न नसक्ने दाबी गर्छन् ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेदवार एवं नेपाल बार एसोसिएसन भक्तपुरका पूर्वअध्यक्ष अधिवक्ता किरण न्यौपानेले पनि चुनाव प्रचारलाई तीव्र पारेका छन् । नेमकिपाले नगरबाहेक बाहिरको क्षेत्र नं १ लाई नदेखेको, नहेरेको, विकासमा विभेद गरेको भन्दै जनताले नयाँ स्वरुपमा आएको कांग्रेसलाई विश्वास गरेर विजयी बनाउने दाबी गर्छन् ।

रास्वपाका उम्मेदवार रुकेश रञ्जित नेमकिपाको किल्ला भत्काउने दाबी गर्छन् । चुनाव जित्नलाई भक्तपुर बाहिरको मत पनि लिने तर चुनाव जितेपछि फर्केर पनि गाउँ नजाने नेमकिपाको प्रवृत्तिले गर्दा यस पटक रास्वपाले नेमकिपाको किल्ला भत्काउने दाबी गर्छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार भएका अधिवक्ता हरिराम लवजुदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दोस्रोपटक उम्मेदवार भएका भरतबहादुर खड्काको आरोप पनि एउटै छ । नेमकिपाको एकाधिकारलाई यसपटकको नर्वाचनले परिवर्तन गर्ने र गाउँसम्म समान विकासको पुहँच पुर्याउने उनीहरुको दाबी छ ।

भक्तपुर क्षेत्र नं १ बाट उम्मेदवारी दिएका उज्यालो पार्टी नेपालबाट रमेश बल्ल, आमजनता पाटीबाट देवेन्द्र ठाकुर, राष्ट्रिय जनमोर्चा पार्टीबाट ईश्वरीप्रसाद पैयानी, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट श्यामसुन्दर शिल्पकार, नेकपा (संयुक्त)बाट दामोदर पाण्डे, नेकपा (माओवादी) पार्टीबाट चन्द्रमान कोजु, मितेरी पाटी नेपालबाट सावित्री न्यौपाने, नेपालका लागि नेपाली पार्टीबाट दीपक पोखरेल, श्रम संस्कृति पार्टीबाट विष्णुहरि न्हिसुतु र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रवि खाइजु पनि चुनाबी मैदानमा छन् ।

त्यसैगरी, स्वतन्त्रतर्फका उम्मेदवारहरु सुजिता बुढाथोकी, विष्णुराम दुमरु, राजेश्वरी प्रजापति, सुदीप न्यौपाने, पुण्यराम सुवाल, राजु श्रेष्ठ, दशरथ थापा, सुरेश कोजु र बालकृष्ण खाइतु पनि सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट चुनावी प्रचारमा लागेका छन् ।

तीन महिनापछि बल्यो सामागाउँमा बिजुली

गोरखा । तीन महिनापछि उत्तरी गोरखाको सामागाउँ र साम्दोका बासिन्दाले बिजुली बाल्न पाएका छन् । सामागाउँ लघुजलविद्युत् आयोजनाको उपकरण मर्मतपछि सञ्चालनमा आएको सो आयोजनाका अध्यक्ष वीरबहादुर लामाले जानकारी दिए ।

हिमालपारीको सामागाउँ र साम्दोका बासिन्दाले ल्होसारमा बिजुली बत्ती बाल्न पाएपछि खुसी भएका छन् । मनास्लु क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–१ स्थित यी दुई गाउँमा हालसम्म मोटरबाटो पुगेको छैन । “धेरै सकस व्यहोरेर बल्लतल्ल आयोजना मर्मत गरियो”’, अध्यक्ष लामाले भने, “भारतबाट सामान झिकाएर मर्मत गर्दा समय पनि धेरै लाग्यो ।” मोटरबाटो नपुगेको सो गाउँमा हेलिकप्टरबाट उपकरण ढुवानी गरेर मर्मत गरिएको उनको भनाइ छ ।

सामागाउँका वडाअध्यक्ष कर्मा छेवाङले ल्होसारमा बत्ती बाल्न पाउँदा गाउँले रमाएको प्रतिक्रिया दिए । चुमनुब्री– १ सामागाउँ र साम्दोका करिब ३०० घरपरिवारका लागि कादुरी नामक संस्थाले पाँच वर्षअघि सामागाउँ जलविद्युत् आयोजनाबाट १०० किलोवाट क्षमताको विद्युत् उत्पादन गरेको थियो ।

मतदाता शिक्षाका लागि झापामा १३१ स्वयंसेविका र सहजकर्ता परिचालन

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी बनाउन जिल्लामा स्थानीय स्वयंसेविका, बाल विकास सहजकर्ता र सामुदायिक अध्ययन केन्द्रका परिचालक गरी १३१ जना खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार जनशक्ति छनोट गर्दा विगतका निर्वाचनमा कार्य अनुभव हासिल गरेका व्यक्तिलाई विशेष प्राथमिकता दिइएको छ । यसरी खटाइएका कर्मचारीले प्रत्येक वडामा पुगेर तोकिएको जिम्मेवारी पूरा गर्न सुरु गरिसकेका छन् । उनले फागुन ३ गतेदेखि स्वयम्सेवक परिचालन गरेको बताए ।

कार्यक्षेत्रमा खटाइएका स्वयंसेवकले मतदाताको घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने उनले बताए । मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरण गर्ने उनको भनाइ छ ।

पाँचवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको झापामा मतदाताको सङ्ख्या सात लाख १३ हजार ५३७ रहेको छ । यस पटक ५० हजार नयाँ मतदाता थपिएका छन् । जिल्लाका कूल मतदातामध्ये तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ जना अन्य रहेका छन् ।

जिल्लाका पाँच निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नं ५ मा एक लाख ६३ हजार ३७९ रहेका छन् । निर्वाचन कार्यालयले अहिले मतदाता शिक्षा र मतदान केन्द्रको भौतिक अवस्थाको निरीक्षणलाईसमेत सँगसँगै अगाडि बढाइरहेको जनाएको छ । यही फागुन १७ गतेसम्म मतदाता शिक्षा सञ्चालन गरिने छ ।

आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो – घिसिङ

चितवन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन काम गर्ने र भाषण गर्ने बीचका प्रतिस्पर्धा भएको बताएका छन् ।

भरतपुर महानगरपालिका—१० चौबिसकोठीमा आज आयोजित चुनावी सभामा उनले अब आममतदाताले काम गर्नेलाई चिन्नुपर्नेमा जोड दिए । काम गर्ने र देशमा परिवर्तन गर्ने ध्येयससहित आफ्नो पार्टीको उदय भएको भन्दै अध्यक्ष घिसिङले आफ्नो अभियानमा साथ दिन आग्रह गरे । उनले भने, “हामी देश र जनताको भविष्य उज्यालो पार्न आएका छौँ । यसमा जनताले साथ दिनुप¥यो ।”

पार्टीका जिल्ला संयोजक समीर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश संयोजक, चितवनका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारलगायतको उपस्थिति रहेको थियो ।

काठमाडौँ–६ : मतदाता भन्छन्, ‘गरिखाने वातावरण देऊ’

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति जतिजति नजिक हुँदै छ चुनावी सरगर्मी त्यसैगरी बढिरहेको छ । निर्वाचन आयोगले हिजो फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार गर्ने बाटो खुला गरिदिएपछि भने चुनावी गर्मीले देश हपक्कै तातेको छ । अहिले राजनीतिक दलका नेता मतदाताको घरदैलोमा व्यस्त छन् । मतदाताहरुलाई उम्मेदवारहरुको नमस्कार फर्काएर भ्याइनभ्याइ छ । मतदाताहरु यो नेताहरुको नमस्कार चुनावका बेलामा मात्रै भएको र अरू बेला वास्ता नगर्ने गरेको दुःखेसो पनि पोखिरहेका छन् ।

यस्तै अभियान काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा पनि जारी छ । यस क्षेत्रमा पनि उम्मेदवारबीच रोचक उपस्थिति रहेको छ । मतदाताहरु उम्मेदवारका गतिवधि नियालिरहेका छन् । कतिपय मतदाताले विगतमा गरेका काम र अब गर्नुपर्ने कामबारे प्रश्न सोधिरहेका छन् । कोही उम्मेदवारका कुरामा मुन्टो हल्लाउँदै मौन समर्थन गर्छन् भने कतिपयले प्रतिप्रश्न पनि गरिरहेका दृश्यहरु देखिएका छन् ।

यहाँ अहिले मतदाताका उत्तर दिँदै उम्मेदवारहरु आ–आफ्नो घोषणापत्रका आधारमा मत मागिरहेका दृश्य देख्न सकिन्छ । तारकेश्वरका मतदाता विष्णु लामिछाने स्वास्थ्य, शिक्षा, रोजगार सुनिश्चित गर्दै नागरिकले सहज रुपमा सरकारी सेवा पाउने वातावारण गराउनुपर्ने अहिलेको टड्कारो आवश्यकता हो भन्नुहुन्छ । यसतर्फ उम्मेदवारले ध्यान दिनुुपर्ने बताउँदै लामिछानेले भन्नुभयो, “अहिलेसम्म उम्मेदवारसँग मेरो भेट भएको त छैन, भेटेपछि म स्वास्थ्य, शिक्षा, रोजगारबारे तपाईंको प्रतिबद्धता के हो, सरकारी सेवा सहज पाउने बारेमा के सोच्नुभएको छ ? गाउँका खानेपानी, भरपर्दा र सुरक्षित सडक निर्माणदेखि, ढल निकासका समस्या कसरी समाधान गर्नुहुन्छ, यही प्रश्न सोध्छु, जसले चित्तबुझ्दो जवाफ दिन्छन्, उसैलाई भोट हुन्छ ।”

काठमाडौँ क्षेत्र नम्बर ६ फरकफरक तीन खालको भौगोलिक स्थितिमा विभाजित क्षेत्र हो । एउटा मुख्य सहर भएको क्षेत्र छ, जुन काठमाडौँ महानरगभित्र पर्छ । लैनचौर, बागबजारलगायत ठाउँ पनि यही क्षेत्रमा छ । अर्को बीच क्षेत्र छ महानगरभन्दा अलि पर र काँठभन्दा अलि तल टोखा र तारकेश्वर नगरपालिकाका केही वडाहरु पर्दछ । धेरै जिल्लाबाट बसाइँ सरेर आएर शहर बनेको ठाउँ यसभित्र पर्छ । अर्को काँठ क्षेत्र जस्तै साङ्ला, झोर यहाँ रहेको छ । तीन भूगोलका फरकफरक मनोविज्ञान रहेका छन् र समस्या पनि फरकफरक रहेका छन् ।

यी क्षेत्रलाई उम्मेदवारले जितेर गएपछि कसरी सम्बोधन गर्छन् भन्ने कुरा महत्वपूर्ण हुने स्थानीयहरु बताउँछन् । “हामीलाई अरू केही चाहिएको होइन । हामीले राम्रोसँग काम गरेर खाने वातावरण दिनुपर्‍यो”, टोखाकी राममाया शर्मा प्रश्न गर्दै भन्नुहुन्छ, “चुनावमा खुट्टै ढोगौँला जसरी नमस्कार गर्दैै यो गर्छु र त्यो गर्छु भन्दै आइपुग्छन्, तर पछि वास्तै गर्दैनन्, सबै नेता उस्तै हुन् । बोलेको पूरा गर्नुप¥यो नि नेता भएपछि त ?

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार दोहोर्‍याउँदा नेपाली कांग्रेस र नेकपा (एमाले)ले उम्मेद्वार फेरेका छन् । यता नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०ले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बनेर तेस्रो स्थानमा चित्त बुझाएका नेता हिमाल (हिमलाल) शर्मालाई उम्मेदवार बनाएको छ । यहाँ पनि प्रमुख दलका उम्मेदवार नै मुख्य प्रतिष्पर्धी देखिएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ६ मा कुल उम्मेदवार २० जना रहेका छन्, जसमा पाँच जना स्वतन्त्र रुपमा उठेका छन् । यहाँ नेकपा (एमाले)बाट अमनकुमार मास्के, नेपाली कांग्रेसबाट कृष्ण (सबुज) बानियाँ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट हेमलाल शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल उम्मेदवार रहेका छन् । उनीहरु चार जनाबीच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने बताइन्छ ।

यस्तै, राप्रपाबाट उद्धवराज भेटवाल, उज्यालो नेपाल पार्टीबाट वारिस धरेल, नेपाल मजदुर किसान पार्टीबाट इन्द्रकुमारी बज्राचार्य र राष्ट्रिय जनमोर्चाबाट जगतप्रसाद रेग्मीलगायतको उम्मेदवारी रहेको छ ।

काठमाडौँ ६ का एमालेका उम्मेदवार अमनकुमार मास्के बागमती प्रदेशसभा सदस्यबाट राजीनामा दिएर चुनावी मैदानमा होमिनुभएको छ । उहाँसँग प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री भएको अनुभव छ । बानियाँ नेपाली कांग्रेस काठमाडौँका सभापति हुनुहुन्छ । उहाँले हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको अध्यक्षता समेत गर्नुभएको थियो । यस्तै, हिमाल शर्मा तत्कालीन माओवादीको विद्यार्थी राजनीतिबाट आउनुभएको होे । रास्वपाका शिशिर खनाल भने गत २०७९ को निर्वाचनमा विजयी भएर यसपालि पनि दोहोर्‍याउँदै हुनुहुन्छ । उहाँ नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा छोटो समय शिक्षा तथा विज्ञान प्रविधिमन्त्री पनि बन्नुभएको थियो ।

मनमैंजुका कृष्ण श्रेष्ठ पसल चलाएर बस्नुहुन्छ । उहाँलाई अहिलेसम्मका जनप्रतिनिधिले गरेका कामबाट सन्तुष्ट हुनुहुन्न । श्रेष्ठ भन्नुहुन्छ, “अझै यस क्षेत्रमा विकास गर्न पुगेको छैन, राम्रो गर्नुप¥यो, नागरिकको जीवन सहजरुपमा चल्ने वातावरण र काम गरेर खानेहरुलाई सहज हुने अवस्था सिर्जना गर्नुपर्छ । यसतर्फ उम्मेदवारको ध्यान जानुपर्छ ।” स्वास्थ्य शिक्षा, रोजगार, विकास बाटोघाटो, सडकसँगै युवा पलायन रोक्ने, रोजगारी सिर्जना गर्ने र उद्योग कलकारखाना खोज्ने, कृषिमा व्यवसायिक वातावरण तयार गर्न र शान्ति सुरक्षामा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

काठमाडौँ क्षेत्र नम्बर ६ मा ३२ मतदान स्थलमा ७९ वटा मतदान केन्द्र रहेको छ । यो क्षेत्रमा ६७ हजार ७५९ मतदाता रहेकामा ५१।५९ प्रतिशत अर्थात ३४ हजार ९५६ महिला मतदाता रहेका छन् । पुरुष मतदाता ३२ हजार ८०२ अर्थात ४८.४१ प्रतिशत र अन्य मतदाता एक रहेको छ । विसं २०७९ मा यहाँ ६२ हजार १०२ मतदाता थिए ।

काठमाडौँ ६ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाको २६, २७ र २८ नम्बर वडा, टोखा नगरपालिकाको १, ८, ९, १० र ११ र तारकेश्वर नगरपालिकाका वडा १, २, ६, ७, ८, ९, १० र ११ रहेका छन् । काठमाडौँको मुख्य शहरी क्षेत्रदेखि काँठसम्मै यो क्षेत्रले भेटेको छ । यो क्षेत्रमा काठमाडौँ महानगरको सामाखुसी, लैनचौर, बागबजार, महाबौद्ध, दरबार हाईस्कुल, ज्याठा, कमलादी, पुरानो बसपार्क, भृकुटीमण्डवको प्रदर्शनीमार्ग, गोल्कुपाखा, हुँदै टोखा र तारकेश्वर नगरपालिकाका धेरै ठाउँलाई ओगटेको छ ।

तारकेश्वरको साङ्ला, काभ्रेस्थली, धर्मस्थली, फुटुङ, डाँडाचौर, मनमैंजु, नेपालटार, ऐश्वर्य नगर, टोखाको गोङ्गबु, गैरीगाउँ, मनोहरा र झोरसम्मै काठमाडौँ क्षेत्र नम्बर ६ ले ओगटेको छ । विविधतायुक्त बस्ती र समस्या भएको क्षेत्र पनि रहेको छ काठमाडौँको क्षेत्र नम्बर ६ । यो क्षेत्रको काँठमा छुट्टै समस्या रहेको छ भने मुख्य कोर एसियामा छुट्टै समस्या रहेको मतदाता बताउँछन् ।

के भन्छन् उम्मेदवार ?

उम्मेदवारहरुले विभिन्न कार्यक्रम तथा मतदाताको घरदैलोमा जाँदा आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् । उनीहरुले आफ्नो विकास र समृद्धिका योजना पनि मतदातालाई सुनाइरहेका छन् । रास्वपाका उम्मेदवार खनाल आगामी १० वर्षमा सम्मानजनक मध्यम आय भएको मुलुक बनाउन नेपालको कानुन तथा नीतिगत सुधार गर्नुपर्ने र व्यवसाय गर्नका लागि सुरक्षित नेपाल बनाउनुपर्ने बताउँदै रोजगारी सिर्जना गर्नतर्फ आफू अग्रसर रहेको उल्लेख गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “यसपालि देशको रुपान्तरण चाहेका छौँ, समृद्धि र सुशासनको चाहनाका लागि नै हामीलाई ठूलो बहुमत चाहिने रहेछ । अघिल्लो पटकजस्तै विभिन्न दलसँग मिलेर सरकार बनाउनु परेमा कुनै काम गर्न नसकिने सिकाइ रह्यो । त्यही बुझाउँदै हिँडेका छौँ सुशासन र समृद्धिमा ठोस काम गर्न सकेनौँ भने अर्को पटक मत दिनै पर्दैन भनेर जनतामाझ गइरहेका छौँ ।”

नेकपाका उम्मेदवार शर्मा पुस्तान्तरणको नयाँ बहस सुरु भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीलाई संविधानमा ग्यारेन्टी गराइएको तर कार्यान्वयन नभएकाले त्यसलाई व्यवहारमै लागू गरेर देखाउन जरुरी रहेको बताउनुहुन्छ । “मुलुकको शासकीय स्वरुप परिवर्तन गरी सुशासन कायम गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जना गरी देशलाई आर्थिक समृद्धि बनाउन भूमिका खेल्ने छु । संविधानमा उल्लेख भएको शिक्षा स्वास्थ्य र रोजगार जस्ता मौलिक अधिकारलाई जनताको पक्षमा लागू गराउन आवश्यक कानुन निर्माण गर्न लाग्ने छु”, शर्माले भन्नुभयो ।

एमालेका उम्मेदवार मास्केले भने यहाँका नागरिकको दुखसुखको साथी नै आफू बन्न चाहेको बताउनु भएको छ । उहाँले महिलालगायत हरेक समुदायलाई सक्षम र आर्थिक सवल बनाउनुपर्ने तथा यो माटोमा केही गर्नुपर्छ भन्ने चेत आफूसँग रहेको र प्रदेशसभामा रहँदा पनि विकासका धेरै काम धेरै गरेको सुनाउनुभयो ।

उहाँ भन्नुहुन्छ, “राजनीति विशुद्ध सेवा हो, त्यो विश्वास छ र म नागरिकको सेवामा समर्पित हुन्छु ।” कर तिर्न मापलोत नापीमा जाँदा वा कुनै निकायमा सेवा लिन जाँदा जनताले सहज सेवा प्राप्त गर्नका लागि प्रणालीको विकास गर्न जरुरी रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका उम्मेदवार बानियाले मतदाताको दैलोदैलोमा गएर मतदातालाई बुझाउँदै जेनजी र नागरिकले खोजेको परिवर्तनको सम्वाहक बनेर उभिने बताउनुभएको छ । उहाँले नागरिकका आवाज पूरा गर्न लाग्ने प्रतिबद्धता पनि जनाउनुभएको छ । उहाँले भन्नुभयो, ”दीर्घकालीन विकास र बदलिँदो अवस्थामा सबै चुनौती सामाना गर्नुपर्ने परिस्थितिका लागि निर्वाचन भएको हो र त्यसका लागि कांग्रेसले जित्नु पर्नेछ ।” उज्यालो नेपालका धरेल आफूले विदेशमा सिकेर आएको ज्ञान र सीपको उपयोग गरी युवा पुस्तालाई उद्यमशीलतातर्फ डो¥याउनु नै आफ्नो लक्ष्य रहेको बताउनुहुन्छ ।

गत २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट रास्वपाका शिशिर खनाल १४ हजार २२१ मत अर्थात ३८.०१ प्रतिशत मतका साथ विजयी भएका थिए । उहाँका निकटतम प्रतिष्पर्धी एमालेका सर्वेन्द्र खनालले नौ हजार ९१७ मत ल्याउनुभएको थियो । जुन कुल मतको २३. ८४ प्रतिशत हो ।अघिल्लो दुई निर्वाचनमा लगातार जितेका नेपाली कांग्रेसका भीमसेनदास प्रधानले विजय प्राप्त गर्नुभएको थियो ।

एक महिनामा भक्तपुरमा १५२ वटा आपराधिक घटना दर्ता

भक्तपुर । भक्तपुर जिल्लामा विगत एक महिनाको अवधिमा १५२ वटा आपराधिक घटनाको मुद्दा दर्ता भएका छन् भने विभिन्न घटनामा ११० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै गत माघभरिमा जघन्य तथा गम्भीर अपराधसम्बन्धी दुई वटा हत्याका घटना घटेका जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार लागुऔषधका आठ घटना, बहुविवाह एक, बैंकिङ कसुरका ६२, ठगीका सात, चोरीका १६, जुवाको एउटा र आत्महत्याका दुई वटा मुद्दा दर्ता भएका छन् ।

विभिन्न घटनामा संलग्न ३२ जनालाई कैद सजायका लागि कारागार चलान गरिएको, फैसला कार्यान्वयनतर्फ दुई वर्ष नौ महिना एक दिन कैद सजाय भुक्तानका लागि कारागार चलान भएका छन् । विभिन्न घटनामा रु ६७ लाख ४७ हजार ८० जरिवाना एवं बिगो सङ्कलन गरिएको उनले जानकारी दिए ।

भक्तपुर नगरपालिका–३ वंशगोपालस्थित ३८ वर्षीया लालमाया तामाङको हत्याको अभियोगमा काभ्रे तिमाल गाउँपालिका–९ घर भई भक्तपुर नगरपालिका–३ बस्ने ३६ वर्षीय लनाम तामाङ पक्राउ परी पुर्पक्षका लागि जेल चलान गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

उनका अनुसार मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित डेराकोठामा आफ्नै आमा ५० वर्षीया सरिता भण्डारीको हत्या अभियोगमा पक्राउ परेका सिन्धुली कमलामाई नगरपालिका–६ बस्ने २७ वर्षीय प्रविन भण्डारीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

महिला हिंसाका घटनामा ३६ उजुरी परेकामा २६ वटा मिलापत्र गरिएको छ भने १० वटा अनुसन्धानका क्रममा रहेका, ३२ जना नागरिक हराएकामा २३ जना फेला परेका छन् । प्रहरीमा आएर विभिन्न घटनामा उजुरी दिनेमा १८३ जना रहेकामा १४७ को फछ्र्यौट गरिएको जनाउँदै उनले जिल्ला प्रशासन कार्यालयमार्फत आएका ४३ उजुरीमध्ये ३७ वटाको फछ्र्यौट गरिएको बताए ।

सवारी दुर्घटनातर्फ गत माघमा २२७ सवारीसाधन दुर्घटनामा ३४० वटा सवारीसाधनको संलग्नता रहेको जनाउँदै पाँच जनाको मृत्यु भएको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए । उनका अनुसार ती घटनामा ११५ जना घाइते भएका छन् ।

विभिन्न दुर्घटनामा १०० को प्रहरीले उद्धार गरेको, सवारी चेकिङका क्रममा एक हजार ६०७ वटा सवारीसाधनलाई कारबाही गरेको र रु ११ लाख ४२ हजार २०० जरिवाना राजस्व सङ्कलन गरेको उनले जानकारी दिए ।

पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची । मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा मरेको छ । मालारानी –३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परेर चितुवा घाइते भएको थियो ।

घाइते चितुवालाई उद्धार गरी उपचारका लागि अर्घाखाँची जिल्ला वन कार्यालयमा लगिएको थियो । उपचारका सोमबार दिउँसो चितुवा मरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले जानकारी दिए ।

चितुवाको उद्धार गर्ने क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।

काठमाडौं–५ मा उज्यालो नेपालका गुरुङको दाबी : ‘परिणाममुखी राजनीति गर्छु’

काठमाडौं । उज्यालो नेपाल पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका श्री गुरुङ(श्रीराम) चुनावी अभियानलाई तीव्र बनाइरहेका छन् । घरदैलो, भेटघाट र अन्तरक्रियामा सक्रिय देखिएका उनले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेका छन् ।

कुराकानीमा गुरुङले पछिल्लो समय मतदाता देशको भविष्यप्रति चिन्तित देखिएको बताए । ‘घरदैलोमा जाँदा धेरै प्रश्न आउँछन् । देशको अवस्था, रोजगारी, आर्थिक भविष्यबारे चासो देखिन्छ । प्रश्नहरूको जवाफ दिँदा मतदातामा केही आशा पलाएको महसुस गरेको छु,’ उनले भने ।

उनले विषम परिस्थितिमा हुन लागेको निर्वाचनलाई परिणाममुखी बनाउन आफू प्रतिबद्ध रहेको बताए । काठमाडौं–५ मा यसपटक प्रतिस्पर्धा रोचक देखिएको छ । गुरुङका प्रतिद्वन्द्वीहरूमा प्रदीप पौडेल (नेपाली कांग्रेस), ईश्वर पोखरेल (नेपाल कम्युनिष्ट पार्टी एमाले) र कमल थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी) बाट प्रतिद्वन्द्वी छन् । यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरिसकेका गुरुङ यसपटक पार्टीको औपचारिक साथसहित मैदानमा उत्रिएका छन् ।

‘म सँग मेरै पुरानो प्रतिद्वन्द्वीहरू हुनुहुन्छ । कांग्रेसबाट प्रदीप पौडेल हुनुहुन्छ भने एमालेबाट ईश्वर पोखरेल तथा राप्रपाबाट कमल थापा प्रतिद्वन्द्वी हुनुहुन्छ । पहिला मैले स्वतन्त्र रुपमा चुनावमा प्रतिस्पर्धा गरेको थिए भने अहिले म उज्यालो नेपाल पार्टीबाट प्रतिस्पर्धामा छु । अहिले पार्टी छ, साथीभाइहरु धेरै भएका छन् । त्यसैले तयारीका साथ अगाडि बढेको छु । क्षेत्रगत रुपमा मलाई धेरै राम्रो जानकारी छ, अनुभव छ । त्यसैले यसपटक जित्नेमा ढुक्क छु,’ उनले भने ।

गुरुङले आफ्नो मुख्य एजेण्डा रोजगारी सिर्जना र आर्थिक रूपान्तरणलाई बनाएका छन् । विकास निर्माणका पूर्वाधार महत्त्वपूर्ण भएपनि त्यसअघि रोजगारी र व्यवसायीलाई संरक्षण गर्ने नीति आवश्यक रहेको उनी बताउँछन् ।

उनले भने, ‘पहिलो कुरा आफ्नो ऐजेण्डाहरुमा दत्तचित्त हुनुपर्यो । देश परिवर्तन गर्ने व्यक्तिलाई साथ दिनुपर्छ भनेर नै म पार्टीमा आवद्ध भएर चुनावमा होमिएको हुँ । विकास निर्माणको कुराहरु छँदैछन् । तर त्यो भन्दा अगाडि रोजगारी, व्यवसाय चाहियो । व्यवसायीहरुले राज्यले संरक्षण गर्नुपर्यो । देशलाई समृद्धि चाहियो, आर्थिक रुपान्तरण चाहियो । बढी राजनीतिक कुरा मात्रै गरेर हुँदैन । क्षेत्रगत रुपमा खासगरी रोजगारी र समृद्धिको कुरा हो । आर्थिक रुपान्तरणको कुरामा म दत्तचित्त छु, कटिवद्ध छु र म क्लियर छु ।’

लामो व्यवसायिक अनुभव आफूलाई अन्य राजनीतिक प्रतिस्पर्धीभन्दा फरक बनाउने आधार भएको उनको तर्क छ । ‘मैले जीवनभर व्यवसाय र रोजगारीको क्षेत्रमा काम गरेको छु । रोजगारी नदिएका, व्यवसाय नगरेका नेताले रोजगारी दिने कुरा गर्दा जनतालाई भ्रममा पार्ने काम मात्रै हुन्छ,’ उनले टिप्पणी गर्दै भने ।

पर्यटन क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै गुरुङले नीतिगत सुधारमार्फत ठूलो सम्भावना उजागर गर्न सकिने बताए । उनले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र नेपाल पर्यटन ऐन संशोधनको आवश्यकता औंल्याए । वैदेशिक लगानी, प्रविधि र सहकार्यका लागि ‘ओपन डोर’ नीति अपनाए नेपालले वार्षिक ३५ लाख पर्यटक भित्र्याउन सक्ने उनको विश्वास छ ।

उनले भने, ‘म त जिन्दगीभर रोजगारी र व्यवसायीको बारेमा बुझेको जानेको व्यक्ति हुँ । नीतिगत रुपमा राम्रो तरिकाले प्रतिनिधित्व गर्न पनि सक्छु । यदी सरकारमा गएभने पनि जस्टिफाई भूमिका निर्वाह गर्न सक्छु । पर्यटन क्षेत्रको कुरा गर्दा नागरिक उड्यन प्राधिकरण ऐनको संशोधन, नेपाल पर्यटन ऐनको संशोधन लगायतका विभिन्न ऐनहरु संशोधन, गर्नुपर्ने छ । त्यो ऐनहरुले हामीले संशोधन गर्ने वित्तिकै सहकार्य, वैदेशिक लगानी, प्रविधि लगायतका क्षेत्रहरुलाई ढोका खुला गर्नुपर्नेछ । त्यसले सम्भावना बढ्छ । यो देशमा ३५ लाख पर्यटक भित्र्याउने योजना नीतिगत रुपमा ढोका खोल्न त्यसमा लाग्ने छु ।’

यसैगरी आफूले परिणाममुखी राजनीति गर्न चाहेको उनले बताए । ‘म परिणाममुखी राजनीति गर्न चाहन्छु । नीतिगत सुधारमार्फत रोजगारी सिर्जना, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रभावकारी प्रतिनिधित्व गर्ने लक्ष्य राखेको छु,’ गुरुङले भने ।

लामो व्यवसायिक अनुभव रहेको दाबी गर्दै उनले आफूले रोजगारी सिर्जना गरेको र सामुदायिक संस्थाहरूसँग काम गरेको अनुभवका आधारमा नीतिगत तहमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने बताए । सरकारमा जाने अवसर पाएँ भने न्यायोचित भूमिका निर्वाह गर्न सक्ने उनले उल्लेख गरे ।

गुरुङले आफू परिणाममुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गर्दै काठमाडौं–५ र देशका लागि उपयुक्त उम्मेदवार भएको दाबी गरेका छन् ।
काठमाडौं–५ का मतदातासँग आशा र अपेक्षाको संवाद गर्दै गुरुङ यतिबेला आफूलाई ‘अनुभव, एजेण्डा र क्षमताको संयोजन’ का रूपमा प्रस्तुत गरिरहेका छन् । निर्वाचनको परिणामले मतदाताले उनको दाबीलाई कत्तिको स्वीकार गर्छन् भन्ने टुंगो लगाउनेछ ।

गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता: लुम्बिनी र मधेस प्रदेश भिड्दै

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा जारी पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी र मधेस प्रदेशबीच उपाधि भिडन्त हुने भएको छ । गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा आज हुने फाइनल खेलका लागि लुम्बिनी र मधेस प्रदेशले आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

सोमबार भएको सेमिफाइनल प्रतिस्पर्धामा आयोजक गैँडाकोट मेयर्स ११ लाई पाखा लगाउँदै लुम्बिनी प्रदेश र सुदूरपश्चिमलाई पाखा लगाउँदै मधेस प्रदेश उपाधि भिडन्तका लागि आमनेसामने हुने भएका हुन् । पहिलो सेमिफाइनल खेलमा आयोजक गैँडाकोट मेयर्स ११ लाई ४४ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । टस हारेर ब्याटिङको निम्ता पाएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८१ रन बनायो । लुम्बिनीले दिएको १८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको गैँडाकोट मेयर्स ११ ले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १३७ रनमात्र बनाउन सफल भयो ।

लुम्बिनीको जितका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेले । उनले ५० बलमा छ छक्का र पाँच चौकाको मद्दतले ७४ रनको योगफल तयार पारे । त्यस्तै प्रज्वल थापाले १९ बलमा तीन छक्का र दुई चौकासहित ३८, सम्राट भुसालले २३ बलमा एक छक्का र तीन चौकासहित २७ तथा दिपेश रोकाले १० बलमा एक छक्का र एक चौकासहित १५ रनको योगदान दिँदा अन्य ब्याटरहरूले दोहोरो अङ्क जोड्न सकेनन् ।

बलिङतर्फ मेयर्स ११ का बलर चन्द्रकान्त पौडेलले चार ओभरमा २० रन खर्चिदै लुम्बिनीको चार विकेट लिए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । त्यस्तै, गौतम केसीले तीन तथा अपराजित पौडेलले एक विकेट लिए । गैँडाकोट मेयर्स ११ का लागि दीपक बोहोराले ४० बलमा एक छक्का र चार चौकासहित ४४ रनको योगफल तयार पारे । त्यस्तै हरि चौहानले ३४ बलमा तीन छक्का र चार चौकासहित ४२, कप्तान गौरव विश्वकर्माले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्को योगफल तयार पार्न सकेनन् । मेयर्स ११ लाई पाखा लगाउने क्रममा लुम्बिनीका सलाउद्दिन खानले पाँच, वीरबहादुर घर्तीमगरले चार तथा कृष्ण कार्कीले एक विकेट लिए ।

सोमबार नै भएको अर्को सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशका विरुद्ध मधेस प्रदेशले तीन विकेटले जित निकाल्दै फाइनल प्रवेश गरेको हो । सुदूरपश्चिम प्रदेशले दिएको १५३ रनको चुनौती मधेसले १८.२ ओभर खेल्दै सात विकेटको क्षतिमा पूरा गर्न सफल भयो । यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले २० ओभर खेल्दै नौ विकेटको क्षतिमा १५२ रन बनाएको थियो ।

मधेस प्रदेशको जितका लागि पवन सर्राफले अविजित रहँदै अर्धशतकीय पारी खेले । उनले ३४ बलमा पाँच छक्का र एक चौकाको मद्दतले ५१ रनको योगफल तयार पारे । त्यस्तै मयन यादवले २७ बलमा तीन छक्का र दुई चौकासहित ३८, कप्तान अनिलकुमार शाहले १४ बलमा तीन छक्का र तीन चौकासहित ३३, अविशेख तिवारीले १२ बलमा १० रन बनाउँदा अन्य ब्याटरहरूले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङतर्फ सुदूरपश्चिमका कैलाश ऐरले तीन एवं मिलन बोहोरा, सौर्य श्रेष्ठ र लोकेन्द्र चन्दले एक–एक विकेट लिएका थिए ।

सुरुआती ब्याटिङमा उत्रिएको सुदूरपश्चिम प्रदेशका कप्तान किरन ठगुन्नाले २३ बलमा एक छक्का र चार चौकासहित ३४ रनको योगफल तयार पारे । त्यस्तै, रोशन साउदले २५ बलमा दुई छक्का र दुई चौकासहित २९, दीपक टमटाले २४ बलमा दुई छक्का र दुई चौकासहित २७, टेक रावतले १० बलमा एक छक्का र दुई चौकासहित २० रनको योगफल तयार पारे । लोकेन्द्र चन्द र कैलाश ऐरले १०–१० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कको योगफल तयार पार्न सकेनन् । बलिङतर्फ रञ्जित कुमारले चार तथा अविशेख तिवारीले तीन विकेट लिए ।

जिल्लाकै ठूलो धनराशिको पाँचौँ गैँडाकोट टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेशबाट सातवटा तथा आयोजक एक गरी आठ टिमको सहभागिता थियो । प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार पाउनेछन् ।

कास्कीको छुमरुङका मतदानस्थल सडक पहुँचविहीन

कास्की । कास्कीका १५३ मतदानस्थलमध्ये एउटा मतदानस्थल सडक पहुँचविहीन रहेको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीको क्षेत्र नं ३ अन्तर्गत अन्नपूर्ण गाउँपालिका–११ छुमरुङको मतदानस्थलमा हालसम्म पनि सडक पहुँच नपुगेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । उक्त मतदानस्थल पुग्न सडक पहुँच भएको झिनुदेखि करिब दुई घण्टा हिँड्नुपर्ने उनले बताए ।

सडक पहुँच पुग्न नसकेको छुमरुङस्थित धौलाश्री मावि मतदानस्थलमा ७८५ मतदाता छन् । उक्त मतदानस्थलमा मतदान गर्न जाने मतदाताहरू यस आसपासका क्षेत्र घुर्जुङबाट साढे दुई घण्टा, किम्रुङ खोलाबाट दुई घण्टा, सिनुवाबाट दुई घण्टा पैदल हिँडेर पुग्ने गरेको स्थानीवासी एवं छुमरुङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रका अशक्त मतदाताले घोडाको प्रयोग गरेर मतदानस्थल पुग्ने गरेका छन् ।

जिल्लामा कुल मतदानस्थलमध्ये १३६ वटा विद्यालयमा छन् भने १४ वटा वडा कार्यालय र तीनवटा सामुदायिक भवनमा रहेका छन् । मतदानस्थलको भौतिक पूर्वाधार, सुरक्षा व्यवस्थालगायत विषयमा स्थलगत अनुगमन पनि भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिए ।

बीचमा माछापुच्छे र रुपा गाउँपालिकाका मतदानस्थलको अनुगमन भइसकेको र अन्नपूर्ण तथा पोखरा महानगरका केही मतदानस्थलको अनुगमन हुने क्रममा रहेको उनले बताए ।

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज आलु रातो प्रतिकिलो २२ रुपैयाँ, आलु रातो (भारतीय) २४ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३६ रुपैयाँगोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) ४० रुपैयाँ र गोलभेँडा सानो (तराई) ४० रुपैयाँ तोकिएको छ ।

यस्तै,रातो मूला २५ रुपैयाँ, सेतो मूला (लोकल) १० रुपैयाँ, सेतो मूला (हाइब्रिड) १५ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) ४० रुपैयाँ, बन्दा (लोकल) ४० रुपैयाँ, बन्दा (नरिवल) २० रुपैयाँ, काउली (स्थानीय) २२ रुपैयाँ, काउली (तराई) २२ रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ र भन्टा डल्लो ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (लोकल) ९० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ६० रुपैयाँ, घिउ सिमी (राजमा) १२० रुपैयाँ, टाटे सिमी ६० रुपैयाँ, तितो करेला १६० रुपैयाँ, लौका ६० रुपैयाँ, फर्सी पाकेको ४५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) १० रुपैयाँ, हरियो फर्सी (डल्लो) १० रुपैयाँ, सलगम ४० रुपैयाँ, भिन्डी १०० रुपैयाँ, सखरखण्ड ५५ रुपैयाँ र पिँडालु ५५ रुपैयाँ तोकिएको छ ।
समितिले रायोसाग प्रतिकिलो १० रुपैयाँ, पालुङ्गो साग २० रुपैयाँ, चमसुर २० रुपैयाँ, मेथीको साग ३० रुपैयाँ र हरियो प्याज ५० रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै, बकूला प्रतिकिलो ४५ रुपैयाँ, तरुल ५० रुपैयाँ, च्याउ (कन्य) ७० रुपैयाँ, च्याउ (डल्ले) ३०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, ब्रोकाउली ३० रुपैयाँ, चुकुन्दर ५५ रुपैयाँ, जिरीको साग ५० रुपैयाँ, सेलरी १५० रुपैयाँ, पार्सले ३५० रुपैयाँ, सौफको साग ४० रुपैयाँ, पुदिना ३०० रुपैयाँ र गुन्द्रुक २८० रुपैयाँ तोकिएको छ ।

यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, केरा (दर्जन) १७० रुपैयाँ, अनार २९० रुपैयाँ, अंगुर (हरियो) २०० रुपैयाँ, अंगुर (कालो) ३५० रुपैयाँ, सुन्तला (नेपाली) १५० रुपैयाँ, तरबुजा (हरियो) ८० रुपैयाँ, मौसम १०० रुपैयाँ, जुनार १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १३५ रुपैयाँ, काँक्रो (लोकल) १३० रुपैयाँ, काँक्रो (हाइब्रिड) ४० रुपैयाँ, निबुवा ५५ रुपैयाँ, नास्पाती (चाइनिज) २२० रुपैयाँ, मेवा (नेपाली) ६० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसुलु) ४५० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ र अमला ९० रुपैयाँ निर्धारण गरिएको छ ।

पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्सा र नेपाल प्रहरीको संयुक्त टोलीले पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट कार चालकसहित १६० किलो गाँजा बरामद गरेको छ ।

संयुक्त टोलीले सोमबार पर्साको पकहाँमैनपुर गाउँपालिकाको मधुवनीचोकतर्फ आइरहेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकीको स्वीफ्ट कारका चालक बुद्धिलाल घलानसहित सो परिमाणको गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले गाँजासहित पक्राउ परेका चालक घलानलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया पठाइएको जानकारी दिए ।

गणपति क्षेत्रीले गाँजासहित भेटिएका घलानले कारको डिक्कीबाट प्याकिङ गरेको गाँजा फ्याँक्ने क्रममा पक्राउ गरिएको बताए । सशस्त्र प्रहरीका अनुसार चालक घलानको साथबाट रु २२ हजार ५०० नगद र रियलमी कम्पनीको स्मार्टफोनसमेत बरामद भएको छ ।

झापा-१ : हात्तीको त्रासबाट मुक्त गराउनेलाई मत

झापा । मेचीनगर-१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त रहेकी छन्। अन्य बाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रूपमा उनले तोरीबाली रोजेकी छन्। हात्तीले नखाने भएकाले गाउँका पाखोबारीमा अचेल अन्नभन्दा बढी तोरी झुल्न थालेका उनको भनाइ छ ।

भारतसँग सीमा जोडिएको तिरिङ मात्र होइन, मेचीनगर-१, २, ३ र ४ सम्म फैलिएको सिङ्गो बाहुनडाँगीका स्थानीयको चार दशकदेखि साझा चासो र प्रश्न एउटै छ, ‘जङ्गली हात्तीबाट जिउज्यान र बाली कसरी जोगाउने ?’ अन्नबाली, फलफूल र तरकारी जोगाउन नसकेर सास्ती पाएका यहाँका बासिन्दाका लागि तोरीखेती हात्तीबाट जोगाउन सकिने वैकल्पिक कृषिकर्म बनेको छ ।

अन्यत्र झैँ झापा निर्वाचन क्षेत्र नं १ मा पनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार आश्वासनको झोला बोकेर घरदैलोमा पुग्न थालिसकेका छन् । मेचीनगरको १, २, ३ र ४ नं वडा सङ्घीयता आउनुअघि साविक बाहुनडाँगी गाविसको अङ्ग थिए । यहाँका २२ हजारभन्दा बढी मतदाता अहिले हात्तीको त्रासबाट जसले समाधान दिन्छ उसैलाई मत दिने भनेर साझा अभिमत व्यक्त गरिरहेका छन् ।

“अहिलेसम्म एक जना उम्मेदवार मात्र आउनुभएको छ, अरू पनि आउनुहोला”, तोरीको थुप्रो पन्छाउँदै स्थानीय पुरीले भनिन्, “हामीलाई जसले हात्तीको त्रासबाट मुक्त गराउने विश्वाससहित योजना दिन्छ, यसपालिको भोट उसैलाई दिनेछौँ ।”

पटकपटकका निर्वाचनमा उम्मेदवार फेरिए, सरकार फेरियो, तर बाहुनडाँगीको नियति नफेरिएको स्थानीयवासीको गुनासो छ । भारतबाट मेची नदी तरेर आउने हात्तीलाई रोक्न सरकारले करोडौँ खर्चेर विद्युतीय तारबार लगाएको छ । तर, स्थानीयका अनुसार ती तारबार अहिले ‘हात्तीका लागि खेलौना’ जस्तै भएका छन् । हात्तीले तारबार भत्काउने र नाघेर गाउँ पस्नेक्रम रोकिएको छैन ।

कक्षा १२ मा अध्ययनरत युवा मतदाता प्रवेश पुरीले देशमा धेरै परिवर्तन भए पनि गाउँमा हात्तीको समस्या उस्तै रहेको बताए । उनले यसपटक मत माग्न घरदैलोमा आउने हरेक उम्मेदवारसँग हात्तीको समस्या समाधानका लागि ‘चित्तबुझ्दो र दीर्घकालीन’ योजना के छ भनेर प्रश्न सोध्ने गरिएको बताए ।

झापा-१ मा राजनीतिक दलका १३ र स्वतन्त्र दुई गरी १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ कूल एक लाख ३१ हजार ६७ मतदाता छन्, जसमा १० हजार ६९२ नयाँ मतदाता थपिएका हुन् । मेचीनगरका १५ वटै वडा, बुद्धशान्तिका चार वटा र भद्रपुरका दुई वटा वडा समेटिएको यो क्षेत्रमा ४३ मतदानस्थल र १४५ मतदान केन्द्र तोकिएका छन् ।

झापा–१ को भूगोलमा हात्तीको त्रास नभएको कुनै गाउँ छैन । बाली नोक्सान नभएको कुनै वडा छैन र हात्तीको आक्रमणमा आफन्त नगुमाएको कुनै पालिका छैन । निर्वाचन नजिकिएसँगै नेताहरूले बाँड्ने ‘आश्वासनको पोको’ भन्दा ‘कार्यान्वयनयोग्य समाधान’को पर्खाइमा यहाँका मतदाता रहेका पुरीले बताए ।

विश्वकप क्रिकेटमा आज स्कटल्यान्डसंग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ । समूह ‘सी’ अन्तर्गतको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार राति ७ : १५ मा सुरु हुनेछ ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो संस्कण जितविहिन हुने संघारमा छ । सन् २०१४ को डेब्यु विश्वकपमा २ जित निकालेको नेपाल सन् २०२४ को पछिल्लो संस्करणमा जितविहिन बनेको थियो । त्यसैले नेपाल जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छ ।

नेपालले अघिल्ला तीनै खेल गुमाएको थियो । नेपालले यसअघि इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजय व्यहोरेको थियो ।

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी, ५ फागुनः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने वैकल्पिक सडक बनाउने मुद्दा अघि सारेका छन् ।

बेनीबाट घतान-पात्लेखेत-झिँ-पाखापानी-ठाडाखानी-कुइँनेमङ्गले-मल्कवाङ-मराङ-बिम-दरबाङ हुँदै बेनीसम्मका पाँच वटा स्थानीय तहलाई समेट्ने राहुघाट-म्याग्दी चक्रपथ सडक आयोजना पनि उम्मेदवारको पूर्वाधारतर्फ प्राथमिकतामा परेको मुद्दा हो ।

जिल्ला सदरमुकाम बेनीबाट उत्तरी क्षेत्रमा रहेको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङको कोरला नाका जोड्ने सडक स्तरोन्नति गर्ने पछिल्ला तीन वटा चुनावी प्रतिबद्धता पूरा गरेका राजनीतिक दलले राहुघाट र म्याग्दी करिडोरको समग्र विकासका लागि राहुघाट-म्याग्दी चक्रपथ र ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने मध्यपहाडी लोकमार्गका वैकल्पिक मार्ग बनाउनुपर्ने विषयलाई चुनावी मुद्दा बनाएका हुन् ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा म्याग्दी भएर ढोरपाटन हुँदै पूर्वीरुकुम पुग्ने सडक ६५ देखि ७० किलोमिटर छोटो पर्ने भएकाले वैकल्पिक सडक बनाउन सकेमा पर्यटन, सामाजिक, आर्थिक क्षेत्रमा परिवर्तन ल्याउन सकिने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापाले बताउनुभयो ।

बेनी-जोमसोम-कोरला सडक सहज हुँदा म्याग्दी हँुदै मुस्ताङमा वार्षिक आठ लाखभन्दा बढी पर्यटक आवतजावत गर्दा त्यसको लाभ जिल्लाले पाउन थालेकाले पश्चिमी र राहुघाट क्षेत्रमा पनि सडक यातायातको पूर्वाधारलाई सहज बनाउनसकेमा बसाइँसराइ रोकिने, रोजगारी सिर्जना हुने र आयआर्जन वृद्धिमा सहयोग पुग्ने नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार हरिकृष्ण श्रेष्ठले सडक पूर्वाधार विकासको मुख्य आधार भएकाले नागरिकको माग र स्थानीय आवश्यकताका आधारमा रणनीतिक महत्वका सडक योजनालाई प्राथमिकता दिने उल्लेख गर्नुभयो ।

बेनीबाट ७५ किलोमिटरको दूरीमा ढोरपाटन पुग्न सकिने यो सडकलाई धवलागिरि गाउँपालिका मात्र नभएर पश्चिम म्याग्दीको समग्र पूर्वाधार विकास, आर्थिक सामाजिक क्षेत्रको रुपान्तरणका लागि महत्वपूर्ण आधारका रूपमा लिएका हुन् ।

हाल प्रयोगमा आइरहेको बागलुङबाट ढोरपाटन जोड्ने सडकको दूरी १२६ किलोमिटर छ । बेनीबाट विसं २०५५ मा यो सडक निर्माण सुरु भएको थियो । बेनी-मुना-खोरिया-मरेनी हुँदै जलजला करिब ६४ किलोमिटर सडकको मार्ग यसैवर्ष खुलेको हो ।

पूर्वीरुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ । जलजला, ढोरपाटन र उत्तरगङ्गा जाने पर्यटक तथा स्थानीयवासीलाई यो सडक छोटो पर्ने भएकाले मुना-ढोरपाटन खण्डको स्तरोन्नति र ढोरपाटन पूर्वीरुकुम मार्ग खुलाउने विषय म्याग्दीको साझा मुद्दा बनेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुवीन श्रेष्ठले बताउनुभयो ।

प्रदेश सरकारले दरबाङबाट ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शीर्षकमा योजना सञ्चालन गरेको छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा उम्मेदवारले साझा मुद्दा बनाएका हुन् ।

पूर्वी रुकुम, म्याग्दी र बागलुङ जिल्लाको एक हजार ३२५ वर्गमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष हो । विश्वभरका साहसी सिकारीको गन्तव्य ढोरपाटन पछिल्लो समय नेपाली पर्यटकको पनि रोजाइमा परेको छ । यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिकलगायत अवसर छन् ।

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं, ५ फागुन । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ । महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ ।

विसं १८३१ मा जङ्गबहादुरका जेठा छोरा जगतजङ्गले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरेदेखि यो परम्परा सुरु भएको संस्थानका पूर्वउपप्रशासक एवं साधुसन्त बिदाइको धेरैपटक संयोजन गर्नुभएका दीपकबहादुर पाण्डेले जानकारी दिए ।

बिदाइका लागि संस्थानले करिब रु ३० लाख बजेट छुट्याएको छ । रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि नागा बाबालगायत साधुसन्तलाई आएकै दिन बाँडिएको छ । कार्ड बाँडिएका साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिइने परम्परा रहिआएको पाण्डेले जानकारी दिए। नेपाल बाहिरबाट आएका नागा बाबा र साधुसन्तलाई नजिकको सीमासम्म पुग्न सकियोस् भनी दक्षिणा बढाइएको संस्थानले जनाएको छ ।

पशुपतिका गोरखनाथ मठ, आर्यघाट पारिको रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा, निर्मला अखडा र पशुपति परिसरका विभिन्न स्थानमा गरी करिब चार हजारदेखि बढी साधुसन्त नेपाल बाहिरबाट आई बसेका छन् । प्रत्येक स्थानमा फरक सम्प्रदायका साधु रहेका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले जनाकारी दिए।

“पहिले पशुपतिमा नागाबाबा र साधुसन्तलाई भोजन गराई थापाथलीस्थित कालमोचनघाटबाट दक्षिणासहित बिदाइ गरिन्थ्यो । कोत पर्वमा मारिएका सबैलाई कालमोचनघाटमा जलाइएकाले शिवरात्रिमा धेरै साधुसन्तलाई यहाँबाट बिदाइ गर्दा मृतआत्माले शान्ति पाउँछ भन्ने विश्वासका साथ कालमोचनघाटबाट बिदाइ गर्ने गरिएको थियो । अहिले त्यो परम्परा हटेको छ । हाल पशुपतिको पश्चिम मूल ढोकाबाट नागा बाबा र साधुसन्तलाई बिदाइ गर्न थालिएको छ”, उनले भने ।

पशुपति जस्तै महाशिवरात्रिको अवसर पारेर थापाथली कालमोचनघाटमा रहेका वैरागी अखडा, उदासी अखडा, सन्यासी अखडा र नाथ अखडामा आई बसेका नागा बाबा एवं साधुसन्तलाई पनि आजै दान दक्षिणासहित बिदाइ गरिने संस्थानले जनाएको छ । यी साधुसन्तलाई कालमोचनघाटबाटै बिदाइ गरिन्छ ।

पशुपतिनाथ मन्दिरमा २०६८ चैत २६ गते लागू गरिएको भेटीघाटी पारदर्शी तथा पूजा व्यवस्था नियमावली पछि २०६९ सालको महाशिवरात्रिदेखि पशुपति क्षेत्र विकास कोषले पनि दान दक्षिणा दिई भोजन गराएर नागाबाबा र साधुसन्तलाई बिदाइ गर्न थालेको थियो ।

“कोषले रु पाँच हजार एकदेखि रु १०१ सम्म दक्षिणा दिने तयारी गरेको छ”, कोष सञ्चालक परिषद् सदस्य एवं साधुसन्त सेवा तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमिति संयोजक शिला पन्तले भने, “कोषले रु पाँच हजार एक २० साधुलाई, रु एक हजार एक दुई सय साधुलाई, रु ७०१ एक हजार साधुलाई, रु ५०१ एक हजार साधुलाई, रु ३०१ एक हजार तीन सय साधुलाई, रु २०१ जोगी सबैलाई र लाइनमा बस्ने जति सबैलाई रु १०१ दक्षिणास्वरुप दिनेछ” ।

साधुलाई दान दक्षिणाका लागि रु आठ लाख बजेट कोषले छुट्याएको उनले जानकारी दिए । कोषले दान दक्षिणासहित पशुपतिनाथमा वर्षभर चढाइएका रुद्राक्ष पहिराएर साधुलाई बिदाइको तयारी गरेको छ । महाशिवरात्रिमा आएका नागा बाबा र साधुसन्तलाई पशुपतिनाथ मन्दिरभित्र पाँच दिन र बाहिर चार दिन धुनी जगाउनलाई रु सात लाखको ५० हजार किलो दाउरा किनिएको संस्थानका उपप्रशासक पाण्डेले बताए ।

भेटीघाटी पारदर्शी गरी पशुपतिनाथ मन्दिरलाई नेपालकै उदाहरणीय मन्दिरका रूपमा स्थापित गराउने उद्देश्यका साथ २०६८ चैत २६ देखि कोषको भेटी बाकसमा जम्मा गरिएको भेटी रु १५ करोड पुगिसकेको पनि कोषले जनाएको छ ।

पशुपतिमा फोहरको डङ्गुर

शिवरात्रीको मेलापछि पशुपति क्षेत्र भने फोहरको डङ्गुरले भरिएको छ । करोडौँको सम्पत्ति भएको नेपालको राष्ट्रदेव पशुपतिको मन्दिर परिसरमा एउटा मेला सकिएपछि फोहरको डङ्गुर थुप्रिनु लाजमर्दो भएको कोषका पूर्वसदस्यसमेत रहिसक्नुभएका स्थानीयवासी गोपालप्रसाद सुवेदीले बताए । “कोषले राम्रो व्यवस्थापन गर्न सकेको भए पशुपति क्षेत्रमा फोहर बसिरहने थिएन”, उनले भने ।

फोहरको डङ्गुरका कारण शिवरात्रिपछि पशुपति दर्शन गर्न आउने भक्तजन नाक थुनेर मन्दिरभित्र प्रवेश गर्नुपर्ने दुःखदायी अवस्था रहेको कीर्तिपुरबाट दर्शनका लागि आएका दर्शनार्थी लक्ष्मी शर्मा दाहालले बताए । हजारौँ कर्मचारी भएको कोषले फोहर तत्काल व्यवस्थापन गर्न नसक्नु कोषको बेइज्जतको विषय भएको आमभक्तजनको गुनासो रहेको छ ।

कोषका सदस्य सचिव डा टण्डनले लाखौँ भक्तजनको आगमनका कारण फूल प्रसादले पशुपति क्षेत्र फोहर देखिएकामा सफाइ सुरु गरी सकिएकाले बिहीबारसम्म पूर्ण रूपमा सफाइ सकिने बताए।

नागाबाबा हेर्नेको घुइँचो

शिवरात्रिका लागि पशुपतिमा नागाबाबाको आगमन हुन थालेपछि फागुन कृष्ण एकादशीदेखि हेर्न आउनेको घुइँचो लागेको छ । शिवरात्रि अगाडिका दुई दिन र शिवरात्रि पछिका दुई दिन पशुपतिमा नागाबाबा रहने भएकाले हेर्न आउनेको घुइँचो लागेको हो ।

नागाबाबालाई हेर्न आउनेमा अन्य व्यक्तिका अतिरिक्त क्याम्पस अध्ययन गर्ने छात्रछात्राको सङ्ख्या पनि उल्लेख्य देखिएका मन्दिर परिसरमा पूजापाठ गर्र्दै आएका पण्डित सुन्दर शर्मा कुइँकेलले बताए । क्याम्पसको पोशाकमा आउने गरेका छात्रछात्रा शिवरात्रिका अवसरमा पशुपति मन्दिरभित्रै छिर्ने गरेका छन् । शिवरात्रि अगाडि आफ्ना साथीसँग पशुपति बाहिर घुम्ने छात्रछात्रा शिवरात्रिका अवसरमा भने भित्रै छिरेर नागाबाबाको दर्शन गरेका उनको भनाइ छ ।

भारत वनारसबाट आएका सन्त स्वामी महेशानन्दले नेपालमा रहेको पशुपतिनाथ मन्दिर भारतका विभिन्न स्थानमा रहेका द्वादश ज्योतिर्लिङ्गको पनि शिर भएकाले प्रत्येक वर्ष शिवरात्रिमा दर्शनका लागि आउने गरेको बताए ।

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि विदेश पठाउने भन्दै रु ६५ लाख ३३ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–६ बस्ने ५१ वर्षीय धर्मप्रसाद राई, काठमाडौँ तार्केश्वर नगरपालिका–७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, झापा अर्जुनधारा–५ का ४२ वर्षीय गोविन्दप्रसाद निरौला र गोरखा गण्डकी गाउँपालिका–१ का ४३ वर्षीय सुरजबहादुर श्रेष्ठ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेकामध्ये राईले अष्ट्रिया पठाउने भन्दै रु पाँच लाख ८५ हजार, लामाले बेलायत पठाउने भन्दै रु ५० लाख, निरौलाले टर्की पठाउने भन्दै रु दुई लाख तीन हजार र श्रेष्ठले रोमानिया पठाउने भन्दै रु सात लाख ५० हजार रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेका सातै जनालाई सोमबार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँमा पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।

आज उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । देशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति तराई भागका केही स्थानमा तुँवालो लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५० पैसा र बिक्रीदर १०२ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७० पैसा र बिक्रीदर ११५ रुपैयाँ १७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९५ पैसा र बिक्रीदर २१ रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १८ पैसा र बिक्रीदर १६ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९९ पैसा र बिक्रीदर २३ रुपैयाँ ०८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ र बिक्रीदर ३७७ रुपैयाँ ५६ पैसा रहेको छ ।
यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

भोजपुरको कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना

भोजपुर। आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले भोजपुरको कारागार र विमानस्थल सुरक्षाको जिम्मेवारी सम्हालेको छ ।सदरमुकाममा रहेको कारागार कार्यालयसँगै भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थलको सुरक्षाका लागि सेना परिचालन गरिएको हो । कार्यरत प्रहरी निर्वाचनका लागि खटिनुपर्ने भएकाले ती दुवै ठाउँको सुरक्षाका लागि सेनालाई जिम्मेवारी दिइएको हो ।

जिल्लामा रहेका नेपाली सेनाको नयाँ श्रीनाथ गणले कारागार कार्यालय र विमानस्थलको सुरक्षा जिम्मेवारी सम्हालेको ती कार्यालयले जनाएका छन् । सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील मानिएका कारागार, विमानस्थल तथा आयोजनामा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुरूप ती ठाउँको सुरक्षामा सेना खटिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताउनुभयो ।

गत माघ २१ गतेदेखि निर्वाचनका लागि शान्तिसुरक्षा कायम गर्न सेना परिचालन गर्ने निर्णयसँगै भोजपुरका ग्रामीण क्षेत्रमा पनि अहिले नेपाली सेनाले अन्य सुरक्षा निकायसँगको सहकार्यमा गस्तीलगायत कार्य गरिरहेको छ ।

भोजपुरमा दलले थाले उम्मेदवारको प्रचारप्रसार

यसैबीच, फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचारप्रसार सुरु भएको छ । निर्वाचन आयोगले तोकेको समयअनुसार यहाँ रहेका राजनीतिक दलले भोजपुर सदरमुकामबाट प्रचारप्रसार अभियान सुरु गरेका छन् ।

बजार क्षेत्रमा बिहानैदेखि राजनीतिक दलका नेता तथा कार्यकर्ताले घरदैलोमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको पोस्टर टाँस्न सुरु गरेका छन् । निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार आफूरुले प्रचारप्रसार सुरु गरेको दलले जानएका छन् ।

मतदान हुनुभन्दा १५ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ ।

सोही व्यवस्थाअनुसार फागुन ४ गतेदेखि १८ गते राति १२ः०० बजेसम्म राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्नसक्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी दल तथा उम्मेदवार एवं अन्य सरोकार भएका सबैले चुनाव प्रचारप्रसार गर्नसक्ने र औपचारिक रूपमा मतदातासमक्ष मत माग्न पाउने उहाँले बताउनुभयो ।

प्रमुख सुवेदीका अनुसार दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै अनलाइन सञ्चारमाध्यममा पनि विज्ञापनबाट प्रचारप्रसार गर्न सक्नेछन् । निर्वाचन कार्यालयले यही फागुन १७ गतेसम्मका लागि भोजपुरमा ८१ जना मतदाता शिक्षा स्वयंसेवक र नौ जना अनुगमनकर्तासमेत परिचालन गरिसकेको छ ।

यहाँ १२ दलका १२ उम्मेदवार चुनावी मैदानमा छन् भने जिल्लामा ८७ वटा मतदानस्थल र दुई अस्थायीसहित १६१ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभाका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा एक लाख २५ हजार ७६६ मतदाता छन् ।

निर्वाचन १६ दिन बाँकीः बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् ।राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । सोही व्यवस्थाअनुसार हालसम्म ६७१ जना उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा चुनावी खाता खोलेका छन् ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवारमध्ये हालसम्म बैंक खाता खोल्नेको सङ्ख्या ६७१ जना रहेका आयोगको प्रणालीमा सूचना प्राप्त भएको जानकारी दिनुभयो ।

निर्वाचनमा भाग लिने दल र उम्मेदवारले यसअघिका निर्वाचनमा बैंक खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य गरिएको थिएन । यस वर्षदेखि भने दल र उम्मेदवारले निर्वाचन खर्च अनिवार्य बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको हो । बंैकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने आयोगको विश्वास छ ।

आयोगले विभिन्न आधारमा भूगोलअनुसार उम्मेदवारले रु २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ । आर्थिक अनुशासनका लागि आयोगले यस्तो व्यवस्था गरेको स्पष्ट पारेको छ । आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार कालीकोटजस्तो दुर्गम जिल्लाका सबै उम्मेदवारले बैंक खाता खोलिसक्दा सुगम जिल्लाका अधिकांश उम्मेदवारले अझै खाता नखोलेका बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका अनुसार ७५३ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खुलेका छन् । राजनीतिक दल र उम्मेदवारले रु २५ हजारभन्दा बढी रकम बैंक खाताबाट लिने र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगले सोमबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई आमन्त्रण गरी छलफल गरेको थियो । सो छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने बताउनुभएको थियो ।

बैंकसँगको छलफलमा उहाँले हातहातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने व्यवस्था गरिएको र त्यसकै लागि आयोगले छुट्टै निर्देशिका बनाएको जानकारी दिनुभएको थियो ।

दुर्गा प्रसाईं फेरि पक्राउ, सचिवालयद्वारा तत्काल रिहाइको माग

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी आज भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ परेका उनलाइ प्रहरी परिसर काठमाडौं लगिएको छ। फागुन ७ लाई लक्षित गरी सडक आन्दोलन गर्न सक्ने आशंकामा सरकारले उनलाई पक्राउ गरेको जनाइएको छ ।

यसअघि पनि उनी माघ २३ गते पक्राउ परेका थिए । त्यसपछि उनी माघ २५ गते हाजिरी जमानीमा रिहा भएका थिए । राप्रपाले दुर्गा प्रसाईलाई पक्राउ गरेर सरकारले तानाशाही चरित्र देखाएको आरोप लगाएको छ ।

प्रसाई पक्राउ परेपछि प्रमुख स्वकीय सचिव सुशील बरालले विज्ञप्ति जारी गर्दै पक्राउ गरेको घटनाप्रति आपत्ति जनाएका छन् ।

बरालले सुतिरहेको अवस्थामा प्रहरीले धरपकड गरी पक्राउ गरेको भन्दै व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारको ठाडो उल्लंघन हुने गरी गरिएको यो गिरफ्तारी पूर्णतः प्रतिशोधपूर्ण र अलोकतान्त्रिक भएको विज्ञप्तिमा बताएका छन् ।

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौँ। गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका सात जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–१ का ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका–४ का २० वर्षीय प्रितम गुरुङ, कञ्चनपुरको पुनर्वास नगरपालिकाका २३ वर्षीया बबिता तामाङ, काभ्रेपलान्चोकको ठाँटी चापखोरीका २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङ गाउँपालिका–२ का २७ वर्षीय भुवन तामाङ, सिन्धुलीको फिक्कल गाउँपालिका–३ का २० वर्षीय अनिस मगर तथा भारत घर भएका २६ वर्षीय रोशन साह रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, “काठमाडौँस्थित कारागारहरूमा विभिन्न कसुरमा कैद भुक्तान गरिरहेका निज कैदीबन्दीहरू गत भदौ २४ गते कारागारबाट फरार रहेकामा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहत प्रहरी कार्यालयहरूबाट खोजतलास गर्ने क्रममा पक्राउ गरी सम्बन्धित कारागार कार्यालय दाखिला गरिएको छ ।”

पक्राउ परेकाहरूमा तेन्जिङबहादुर तामाङ डाँका चोरी, प्रितम गुरुङ चोरी, बबिता तामाङ मानव बेचबिखन तथा ओसारपसार, विक्रम नेपाली नकवजनि चोरी, भुवन तामाङ लागुऔषध, अनिस मगर ज्यान मार्ने उद्योग तथा रोशन साह लागुऔषधको कसुरमा कैद भुक्तान गरिरहेका थिए ।

कास्की जिल्ला अदालतले रवि लामिछानेको मुद्दामा तत्काल कुनै प्रक्रिया अगाडि नबढाउने

गण्डकी – कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा तत्काल कुनै प्रक्रिया अगाडि नबढाउने भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताका लागि अदालतमा दिएको निवेदनमाथि सोमबार भएको सुनुवाइपछि अदालतले उक्त मुद्दा तत्काललाई ‘होल्ड’ गर्ने आदेश गरेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो ।

महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरूद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले उक्त मुद्दा फिर्ताका लागि जिल्ला अदालतमा निवेदन दिएको थियो । जिल्ला न्यायाधीश नितिश राईको इजलासले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णयका विषयमा सर्वोच्च अदालतमा पनि रिट परेकाले सर्वोच्च अदालतबाट आउने आदेशपछि मात्र जिल्ला अदालतले आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

“मुद्दा फिर्ता गर्ने वा नगर्ने भन्ने आदेश भएको होइन, यो विषयमा सर्वोच्चमा पनि रिट परेकाले सर्वोच्चको आदेश नआउञ्जेलसम्म होल्डमा राख्ने कुनै प्रक्रिया अगाडि नबढाउने आदेश भएको हो”, स्रेस्तेदार खनालले भन्नुभयो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा पनि थियो । महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछाने प्रतिवादी रहेको सहकारी ठगी मुद्दा यथावत राख्दै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।