`

चितवनको खैरहनीमा दुर्घटना, मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।आज दिउँसो नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बाप्र०३–००१ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बाप्र०१–०१५प ३३८५ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय पुरुष र पछाडि सवार अन्दाजी २६ वर्षीया महिला गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज पठाइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार उपचारका क्रममा मोटरसाइकल चालकको दिउँसो १ः५५ बजे र महिलाको २ः०० बजे मृत्यु भएको हो । मृतकहरूको नाम, थर र वतन खुल्न बाँकी रहेको उनले जानकारी दिए ।

बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ निवासी ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस र मोटरसाइकल दुवै प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक यादवले बताए ।

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत् आपूर्ति प्रणालीलाई थप व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउँदै विद्युत् खपत वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

कोशी प्रदेशको भ्रमणका क्रममा नेपाल विद्युत् प्राधिकरणका प्रादेशिक तथा वितरण कार्यालयका प्रमुख, कर्मचारी, जनप्रतिनिधिलगायत सरोकार भएका निकायका प्रतिनिधिसँग आज छलफल गर्दै उनले विद्युत् आपूर्तिमा देखिएका समस्या, स्थानीयवासीका गुनासा र कर्मचारीका समस्या पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिइएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

प्रदेशको विद्युत् वितरण प्रणालीको वर्तमान अवस्था, उपलब्धि र आगामी कार्यदिशाबारे आयोजित अन्तरक्रियामा मन्त्री श्रेष्ठले नागरिकले नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पाउने वातावरण बनाउन प्राधिकरणका कर्मचारीले विगतभन्दा अझ बढी मेहनत गर्नुपर्ने बताए । विद्युत् आपूर्तिमा समस्या देखिएलगत्तै समाधान गर्ने र गुनासो प्राप्त भएपछि ढिलाइ नगरी सम्बोधन गर्ने प्रणाली विकास गर्न निर्देशन दिँदै उनले समयमै सूचना प्रवाह र प्रभावकारी गुनासो व्यवस्थापनले नागरिकको विश्वास बढाउने बताए ।

मन्त्री श्रेष्ठले वितरण केन्द्रले स्थानीय आवश्यकता र समस्याका आधारमा अघि सारेका रचनात्मक योजना तथा प्रस्तावलाई प्रादेशिक कार्यालयमार्फत प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । योजना, बजेट र पूर्वाधार निर्माणको उपलब्धिभन्दा नागरिकले प्राप्त गरेको सेवाको गुणस्तरलाई कामको वास्तविक मूल्याङ्कनको आधार बनाउनुपर्ने उनको भनाइ छ ।

सरकारले चालु आर्थिक वर्षमा प्रसारण तथा वितरण प्रणाली सुधारका लागि पर्याप्त बजेट विनियोजन गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बजेट कार्यान्वयनका लागि सुरुदेखि स्पष्ट योजना बनाएर काम अघि बढाउन निर्देशन दिए । आर्थिक वर्षको अन्त्यमा मात्रै प्रगति खोज्नेभन्दा अहिलेबाटै आयोजना तथा कार्यक्रम कार्यान्वयनलाई गति दिनुपर्ने उनले बताएका सचिवालयले जनाएको छ ।

औद्योगिक तथा व्यावसायिक गतिविधिका दृष्टिले महत्वपूर्ण कोशी प्रदेशमा विद्युत् खपत बढाउने पर्याप्त सम्भावना रहेकाले उद्योग, व्यवसाय तथा अन्य क्षेत्रमा विद्युत् उपयोग विस्तारका लागि विशेष कार्यक्रम बनाउनुपर्ने ऊर्जामन्त्री श्रेष्ठको भनाइ छ ।

कोशीमा विद्युत् चुहावट नियन्त्रणमा भएको प्रगतिलाई सकारात्मक उपलब्धिका रूपमा उल्लेख गर्दै उहाँले प्रसारण तथा वितरण पूर्वाधारसँग सम्बन्धित समस्या समाधानका लागि जनप्रतिनिधि र स्थानीय तहसँग सहकार्य बढाउनुपर्ने सुझाव दिए ।

प्राधिकरणमा बजेट तथा कार्यक्रम कार्यान्वयनमा विकेन्द्रीकरणको अभ्यास सुरु गरिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले प्रादेशिक कार्यालयले प्राप्त अधिकार, जिम्मेवारी र स्रोतको अधिकतम उपयोग गर्नुपर्ने बताए । अधिकारसँगै जिम्मेवारी पनि बढेकाले त्यसको परिणाम नागरिकले महसुस गर्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।

छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले वितरण प्रणालीमा लक्षित सुधार गर्न सके दिगो र गुणस्तरीय विद्युत् सेवा प्रवाहमा उल्लेख्य परिणाम हासिल गर्न सकिने बताए । चुहावट नियन्त्रणमा कोशी प्रदेशले गरेको सुधारलाई सेवा प्रवाहमा समेत रूपान्तरण गर्नुपर्ने उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले नागरिकको अपेक्षा उच्च रहेकाले प्राधिकरणले कार्यसम्पादनको स्तर अझमाथि उठाउनुपर्ने बताए । नागरिकले सेवा प्रवाहलाई विद्युत् कटौती र आपूर्तिको नियमितताका आधारमा मूल्याङ्कन गर्ने भएकाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने उनले सुझाव दिए ।

प्राधिकरणका उपकार्यकारी निर्देशक एवं वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले वितरण पूर्वाधार विस्तारसँगै नागरिकले प्राप्त गर्ने सेवाको गुणस्तरलाई केन्द्रमा राख्नुपर्ने बताए । औद्योगिक तथा घरायसी क्षेत्रमा उच्च विद्युत् खपत गर्ने प्रदेश भए पनि कोशीमा विद्युत् खपत अझै बढाउन सकिने सम्भावना रहेको उनले बताए ।

प्राधिकरणको कोशी प्रादेशिक कार्यालयका प्रमुख कमल आचार्यका अनुसार प्रदेशका १४ जिल्लाका २४ वितरण शाखामार्फत ११ लाख ३७ हजारभन्दा बढी ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराइएको छ । गत आर्थिक वर्षमा प्रदेशमा दुई हजार ४८ दशमलव ४१ गिगावाट घण्टा विद्युत् बिक्री गरिएकामा रु १९ अर्ब २१ करोड आम्दानी भएको उनले जानकारी दिए । प्रदेशमा विद्युत् चुहावट ११ दशमलव २१ प्रतिशतमा झरेको उनले जानकारी दिए ।

कोशी प्रादेशिक कार्यालयअन्तर्गत तीन महत्वपूर्ण सबस्टेसन निर्माणाधीन रहेको बताउँदै प्रमुख आचार्यले मोरङको लेटाङमा पोलमाउन्टेन प्रविधिको सबस्टेसन निर्माण सम्पन्न भएको जानकारी दिए ।

छलफलमा मोरङ र सुनसरीबाट प्रतिनिधित्व गर्ने सांसद दीपक साह, सिर्जना श्रेष्ठ, रुबिना आचार्यलगायतले जनअपेक्षाअनुसार विद्युत् सेवा प्रवाहमा सुधार गर्न सुझाव दिए । उनीहरूले स्थानीयस्तरमा देखिएका विद्युत् आपूर्ति तथा पूर्वाधारसम्बन्धी समस्या तत्काल सम्बोधन गर्दै नागरिकलाई सहज, सुलभ, नियमित र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

यसैबिच, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठले सुनसरी-मोरङ औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सहज बनाइने बताएका छन् । शुक्रबार इनरुवास्थित ४०० केभी भोक्राहा सबस्टेसनको निरीक्षण गर्दै उनले विद्युत् उत्पादनसँगै आन्तरिक खपत कसरी वृद्धि गर्ने भन्ने विषयमा योजनाबद्ध काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

मन्त्री श्रेष्ठले चर्चामा रहेको इनरुवालाई विद्युतको ‘हब’का रूपमा विकास गर्न सकिने उल्लेख गर्दै पूर्वी क्षेत्रमा देखिएका विद्युत् समस्या समाधान तथा प्रसारण प्रणालीमा सुधार गरिने जानकारी दिए । उनले विद्युत् निर्यातसँगै देशभित्रै खपत बढाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

सुनसरी-मोरङ औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सहज बनाउनुका साथै सुनसरी खोलाबाट हुने बाढीको जोखिम न्यूनीकरण र विद्युत् भारत निर्यातका लागि आवश्यक पूर्वाधार विकासमा समेत सरकारले काम गरिरहेको उनको भनाइ छ । भोक्राहा सबस्टेसन तथा सुनसरी खोलाको स्थलगत निरीक्षणका क्रममा उनले पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति, प्रसारण लाइन तथा अन्य विद्युत् पूर्वाधारको अवस्थाबारे जानकारी लिएका थिए ।

मन्त्री श्रेष्ठले भने, “विद्युत् आपूर्तिमा देखिएका समस्यालाई प्राथमिकताका आधारमा क्रमशः समाधान गर्दै लगिनुका साथै आवश्यक रणनीति निर्माण गर्नु जरुरी छ । साथै नीतिगत सुधार गर्नुपर्ने भएमा सोका लागि प्रभावकारी रूपमा पहल गर्दै जानेछौँ ।”

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

कैलाली । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोहीअनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताएकी छन् ।

कैलालीको धनगढी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा उनले अव्यवस्थित बसोबासी, भूमिहीन परिवारलाई लालपुर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार सम्पूर्ण रूपमा तयार रहेको बताइन । मन्त्री रावलले विकासका अन्य गतिविधिजस्तै भूमिसम्बन्धी समस्या समाधानलाई पनि उच्च प्राथमिकतामा राखेर काम गर्न धनगढी उपमहानगरपालिकालाई आग्रह गरिन् ।

यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उनले ६०० दिनभित्र लालपुर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै जिल्लाका सबै पालिकामा समस्या समाधानका लागि सहजीकरण गर्न समितिलाई आग्रह गरिन् । मन्त्री रावलले भूमि समस्या समाधान कार्यका लागि सरकारले आवश्यक स्रोतसाधन, जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको बताइन् ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले कैलालीमा चाँडै लालपुर्जा वितरण गर्ने तयारीबारे छलफल भएको जानकारी दिए । मन्त्री रावल कैलाली र कञ्चनपुरमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित हुनुभएकामा उहाँप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहो¥याउनुभएको छ ।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले नेपाल र बङ्गलादेशका जनतालाई आपसमा जोड्ने गहिरो जनस्तरीय सम्बन्धसहित विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७३, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३८ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ८० रहेको छ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ११०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु १००, मकै बोडी प्रतिकिलो रु १२०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, भिन्डी प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९० र स्कुस प्रतिकिलो रु ६० कायम भएको छ।

रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो प्रतिकिलो रु २५०, तोरीको साग प्रतिकिलो रु १२०, प्याज (हरियो) रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु ३००, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकिलो रु ३३० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ।

कुरिलो प्रतिकिलो रु ५००, निउरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु १६०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ५००, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु १,५००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमूला प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६०, गुन्द्रुक प्रतिकिलो रु ३५० र रुख टमाटर प्रतिकिलो रु ४०० तोकिएको छ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३५०, आँप (मालदह) प्रतिकिलो रु २८०, आँप (चोसा) प्रतिकिलो रु २५०, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २० काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुखकटहर प्रतिकिलो रु ६०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २००, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु २००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ।

ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ५००, अदुवा प्रतिकिलो रु २३०, खुर्सानी सुकेको प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ५०, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु ५००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २३०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३४० र ताजा माछा (छडी) प्रतिकिलो रु ३५० निर्धारण भएको छ।

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

बागलुङ। किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रिबसबाट वीरगञ्ज पठाइएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

किसानका लागि तोकिएको कोटाअनुसार जिल्लामा बिक्री गर्नुपर्ने मल अन्यत्र पठाएको अभियोगमा पर्साको छिपहरमाई गाउँपालिका–६ दिनेश पण्डितकुमार तथा बागलुङ नगरपालिका–२ का कुलबहादुर रानामगर र विनय शाक्यलाई पक्राउ गरिएको हो ।अभियुक्तहरूमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनबमोजिम अनुसन्धान भइरहेको छ ।

गरिमा प्रकरणमा दबाब र पहुँचका आधारमा दोषीले उन्मुक्ति पाउनु हुँदैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बला त्का रपछि ह त्या भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

शनिबार सञ्जालमार्फत उनले घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न दोषीलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचका आधारमा उन्मुक्ति नदिन सरकारसँग माग गरे । उनले दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘यस घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न दोषीलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचको आडमा उन्मुक्ति नदिई कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

गरिमामाथिको अपराधले राज्य, समाज र न्याय प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गरेको बताउँदै उनले बालिकाहरूले भयमुक्त वातावरणमा बाँच्न, सुरक्षित हुन र आफ्नो भविष्य निर्माण गर्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व भएको बताए ।

‘गरिमालाई न्याय दिलाउनु पहिलो प्राथमिकता हो’, अनुसन्धान प्रभावित नपार्न गृहमन्त्री गुरुङको आग्रह

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधको निष्पक्ष र प्रभावकारी अनुसन्धान भइरहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले घटनालाई सरकारले पहिलो दिनदेखि नै गम्भीरतापूर्वक लिएको दाबी गरेका छन्। उनले आरोपितहरू पक्राउ परिसकेको र अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन तथा कारबाहीको प्रक्रिया अघि बढाइएको उनले बताएका छन्।

घटनापछि मृत्युदण्डको माग गर्दै उठेको आवाजप्रति आफू जानकार रहेको उल्लेख गर्दै गुरुङले नेपालको संविधानले मृत्युदण्ड दिने गरी कानुन बनाउन निषेध गरेको स्पष्ट पारे। संविधानको धारा १६ को उपधारा २ तथा नेपालका अन्तर्राष्ट्रिय प्रतिबद्धताका कारण तत्काल मृत्युदण्ड दिन सक्ने कानुनी अवस्था नरहेको उनको भनाइ छ।

गुरुङले सामाजिक सञ्जालमा लेखेका छन् – तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधले मलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको छ। एउटी सानी छोरीमाथि यस्तो अपराध भएको पीडा कुनै परिवारको मात्र होइन, हाम्रो सम्पूर्ण समाजको पीडा हो। आमाहरू, महिलाहरू र नागरिकहरूमा देखिएको आक्रोशलाई म पूर्ण रूपमा महशुस गर्न सक्छु।
सरकार यो घटनाको पहिलो दिन देखिनै मौन छैन र निष्क्रिय पनि छैन। घटनालाई अत्यन्त संवेदनशील रूपमा लिँदै प्रभावकारी अनुसन्धानका लागि हामीले एकछिन पनि ढिलाइ नगरि, विगतका अनुभव र कमजोरीहरूबाट पाठ सिक्दै, कुनै पनि किसिमको बाधा वा त्रुटि नहोस् भन्नेमा हामी पूर्णरूपमा सचेत भएर अनुसन्धान अगाडि बढिरहेको अवस्था छ I 🔸️आरोपितहरू तत्कालै पक्राउ गरिएको छ र अनुसन्धान जारी छ। प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने गम्भीर प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीहरूमाथि समेत छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको छ।
मृत्युदण्डको मागमा देखिएको आक्रोशलाई पनि म बुझ्छु। तर नेपालको संविधानको धारा १६ को उपधारा २ ले मृत्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको छ र नेपालले मृत्युदण्ड उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतामा समेत हस्ताक्षर गरेको छ । गृह प्रशासनको मुख्य जिम्मेवारी र सीमा भनेको निष्पक्ष तथा मजबुत अनुसन्धान गर्नु हो, ताकि अनुसन्धानमा कुनै कमी नहोस्, दोषी उम्किन नपाओस् र पीडितले न्याय पाओस्। घटनाको आवेगमा राज्यले तत्काल मृत्युदण्ड दिन सक्ने कानुनी अवस्था छैन।
कानून,न्याय तथा संसदिय मामिला मन्त्री सोबिता गौतमले पनी सरकारमा आएपछि पहिलो निर्णय नै महिला तथा बालबालिकाविरुद्ध हुने यस्ता जघन्य अपराधमा विद्यमान कानुनी बधा हटाउने निर्णय गर्नु भएको थियो । आवश्यक कानुन संशोधनको मस्यौदा तयार भइ संसदीय प्रक्रियामा लैजाने तयारीमा छ। कानुन निर्माण रातारात हुने प्रक्रिया होइन, तर यसको अर्थ सरकार चुप बसेको छ भन्ने पनि होइन। हामी कानुनलाई अझ प्रभावकारी बनाउने काममा निरन्तर लागिरहेका छौँ।
अहिले हाम्रो पहिलो प्राथमिकता एउटै हुनुपर्छ; गरिमालाई न्याय।
त्यसका लागि प्रमाण सुरक्षित हुनुपर्छ, अनुसन्धान निष्पक्ष र वैज्ञानिक हुनुपर्छ, दोषी उम्कनु हुँदैन र निर्दोष फस्नु हुँदैन। पछिल्लो समय गरिमाको अभिभावकले जाहेरी दिनुभएको आधारमा अनुसन्धानका लागि थप चारजना पक्राउ गरिएको छ। त्यसैले यस संवेदनशील घटनालाई राजनीतिकरण वा अपुष्ट सूचनाका आधारमा ‘मिडिया ट्रायल’ नगरौँ, आक्रोशले रन्थनिएर सानी नानीको लाश माथी राजनिती हुँदै पो छ की भन्ने पनी सोच्नुहोला र विगतको घटनाहरू देखि हामीले पाठ सिक्नुपर्छ। तपाईको आक्रोशले अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभावित गर्ने कामले अन्ततः न्यायलाई नै कमजोर बनाउन सक्छ।
नागरिकको खबरदारी आवश्यक छ। सरकारमाथि प्रश्न उठाउनुहोस्, कमजोरी देखिए सचेत गराउनुहोस्, हामीलाई जवाफदेही बनाउनुहोस्। तर अनुसन्धानलाई आफ्नो काम गर्न दिऔँ ।
हाम्रो लक्ष्य एउटा घटनामा दोषीलाई सजाय दिलाउनुमा मात्र सीमित छैन। हाम्रा छोरीहरू डराएर होइन, सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माण गर्नु हो।
यस घटनामा कानूनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न र भविष्यमा यस्ता अपराध रोक्ने बलियो कानुनी तथा संस्थागत व्यवस्था बनाउन सरकार प्रतिबद्ध छ।
आक्रोशलाई न्यायको शक्तिमा बदलौँ।
गरिमालाई न्याय दिलाऔँ।
हरेक छोरीका लागि सुरक्षित नेपाल बनाऔँ।

‘सर्वसाधारणलाई दुःख दिँदैनौँ, तस्करीविरुद्ध निर्मम हुन्छौँ’ – रास्वपा

काठमाडौं । सरकारले सीमावर्ती क्षेत्रबाट हुने आयातमा करसम्बन्धी व्यवस्थालाई परिमार्जन गर्दै सर्वसाधारणलाई सहजता दिने र संगठित तस्करी नियन्त्रण गर्ने नीति लिएको जनाएको छ।

सरकारका अनुसार लामो समयदेखि आर्थिक ऐनमा एक सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु विदेशबाट आयात गर्दा कर लाग्ने व्यवस्था थियो। उक्त व्यवस्था रास्वपा सरकार वा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार आएपछि बनेको नभई विगतदेखि नै कायम रहेको सरकारको भनाइ छ।

सरकारले साना तथा घरायसी प्रयोजनका सामानमा समेत कर लाग्ने व्यवस्थालाई व्यवहारिक नभएको भन्दै एक सय रुपैयाँको सीमालाई बढाएर पाँच सय रुपैयाँ पुर्‍याएको जनाएको छ। उक्त सीमा एक हजार, दुई हजार वा २ हजार ५०० रुपैयाँसम्म पुर्‍याउने विषयमा समेत छलफल भएको बताइएको छ।

सरकारले सीमावर्ती क्षेत्रमा आयातमा केही कडाइ गरेपछि नेपालतर्फका बजार चलायमान भएको दाबी गरेको छ। सीमापारिबाट हुने अनियन्त्रित खरिदका कारण नेपाली बजार प्रभावित हुँदै आएको भन्दै पछिल्लो समय स्थानीय व्यापारी उत्साहित भएको सरकारको भनाइ छ।

तर, घरायसी प्रयोजनका लागि सीमापारि जाने मधेशका सर्वसाधारणलाई भने अनावश्यक दुःख दिन नहुने सरकारको धारणा छ। सरकारले संगठित तस्करी नियन्त्रण र सर्वसाधारणलाई सहजता दिने नीतिबीच सन्तुलन कायम गर्न खोजिएको जनाएको छ।

सरकारले सीमामा रहेका सशस्त्र प्रहरीलाई समेत वास्तविक उपभोक्ता र संगठित तस्करबीच फरक छुट्याएर व्यवहार गर्न निर्देशन दिएको जनाएको छ।

काठमाडौं उपत्यकामा २४ घण्टामा १ हजार १३९ चालक कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १३९ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५०, सिसिटिभिमार्फत ६७, रातोबत्तीमा ५७ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १५६, हर्न निषेधमा ४६, लेन क्रसमा ९९, अवस्था ठिक नभएको ३१, एकतर्फीमा २२ र अन्यमा ६११ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी र तराई भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

पहिरो र बाढीले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ, ६ भदौः वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०५ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् ।

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ १८ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ०४ः०० बजेदेखि बेलुका १८ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ ।मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति १७ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको राति २२ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म आवागमन बन्द गरिएको छ ।
उक्त सडकमा अर्को सूचना जारी नभएसम्म कुनै किसिमका सवारीसाधन चलाउन नपाइने जनाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो, सोही गाउँपालिका–२ लिपिङस्थित सडक भासिएपछि उक्त राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि सो सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । साथै, गोसाइकुण्ड गाउँपालिका –२ स्याउपार्किङमा बिहीबार अपराह्न पहिरो खसेपछि पासाङल्हामु सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पनि पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैगरी, रोल्पा र पाल्पाका दुई प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । रोल्पाको माडी गाउँपालिका–६ झकलीमा रुखसहितको पहिरो खस्दा घोराही–थवाङ–रुकुम सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने विन्दुबाट करिब एक सय मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा आज बिहान भूक्षय भएको हो ।सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले सम्बन्धित निकायले अवस्था हेरी सावधानीपूर्वक यात्रा गर्न तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी प्रधानकार्यालयले आग्रह गरेको छ ।

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०९ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ २३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ १७ पैसा र बिक्रीदर १११ रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ९२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११ रुपैयाँ ०८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १५ पैसा र बिक्रीदर १६ रुपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९२ पैसा र बिक्रीदर २४ रुपैयाँ ०१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १९ पैसा र बिक्रीदर ५०० रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ र बिक्रीदर ३९८ रुपैयाँ ५१ पैसा रहेको छ।त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

जापानको हाचिजो टापु नजिक ५.५ म्याग्निच्युडको भूकम्प, टोकियोमा पनि कम्पन महसुस

टोकियोबाट करिब २८० किलोमिटर दक्षिणमा रहेको हाचिजो टापु नजिक प्रारम्भिक ५.५ म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान निकायले शुक्रबार बताएको छ । यसको कम्पन जापानको राजधानी टोकियोमा पनि महसुस गरिएको थियो ।

यो भूकम्प स्थानीय समयअनुसार राति करिब ९ बजेर ०२ मिनेट जाँदा करिब ६० किलोमिटर गहिराइमा गएको थियो। भूकम्पीय तीव्रता मापन मियाके टापुमा ७ र मिकुरा टापुमा ३ गरिएको जापानको विज्ञान निकायले बताएको छ।

भूकम्पको केन्द्र ३३.७ डिग्री उत्तर अक्षांश र १४०.५ डिग्री पूर्व देशान्तरमा अवस्थित थियो।

भूकम्पपछि कुनै सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छैन।

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म ‘ग्राउन्ड बीफ’ ( गाईको पेलिएको मासु) लाई भन्साररहित अवस्थामा आयात गर्न अनुमति दिनेभएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव नजिकिँदै गर्दा अमेरिकी उपभोक्ताका लागि गाईको मासुको मूल्य घटाउने प्रयास गरिरहेको देखिन्छ ।

“हामी हाम्रा पशुपालकहरूलाई सहयोग गर्न काम गरिरहेको भएपनि आगामी ९० दिनसम्म संयुक्त राज्य अमेरिकाले ‘ग्राउन्ड बीफ’ का लागि तीन लाख मेट्रिक टनसम्मको उत्पादनलाई कोटाबाहिरको भन्साररहित आयात गर्न अनुमति दिनेछ,” राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभएको छ ।

अमेरिकी राष्ट्रपतिले कुन–कुन देशले यो बीफ निर्यात गर्ने भन्ने कुरा उल्लेख गर्नुभएको छैन तर ‘ग्राउन्ड बीफ’ लाई बजार मूल्यभन्दा २५ प्रतिशत कममा बेच्ने प्रतिबद्धता जनाउनुभएको छ ।

“यो सम्झौताले अमेरिकीहरूका लागि मूल्य घटाउनेछ र हाम्रा महान् किसानहरूलाई ठाउँ दिनेछ,” राष्ट्रपति ट्रम्पले लेख्नुभएको छ ।

अमेरिकी उपभोक्ताहरू उच्च खाद्य मूल्यको निरन्तर दबाबमा छन्, जसमा इरान युद्धसँग जोडिएको ऊर्जा सङ्कटले इन्धन र यातायात खर्च बढाएर थप प्रभाव पारेको छ ।

सरकारी सफ्टवेयर विकास र सञ्चालनका लागि छुट्टै केन्द्र स्थापना हुँदै

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा मर्मतसम्भारका लागि सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ अनुसार केन्द्र स्थापना गर्न लागिएको हो।

सार्वजनिक निकायका सफ्टवेयरलाई व्यवस्थित रूपमा विकास, स्तरोन्नति र आवश्यक मर्मतसम्भार गरी सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउने उद्देश्यले केन्द्र स्थापना गर्न लागिएको हो।

केन्द्रको नीति तथा कार्यक्रम निर्धारण, आवश्यक मार्गदर्शन तथा समन्वय गर्ने जिम्मेवारी समितिको हुनेछ। साथै, केन्द्रबाट हुने सफ्टवेयर विकास, स्तरोन्नति तथा मर्मतसम्भारसम्बन्धी कामको सुपरीवेक्षणसमेत समितिले गर्नेछ।

यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सचिवको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरिएको छ। केन्द्रको प्रशासकीय प्रमुखका रूपमा एक जना कार्यकारी निर्देशक रहने व्यवस्था गरिएको छ।

केन्द्रमा विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीसहित कुल ३० जना कर्मचारी रहने व्यवस्था गरिएको छ।

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्थानीय तहलाई परिपत्र गरेको छ ।

स्वास्थ्य मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापनसम्बन्धी विवरण भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा पठाएको हो ।

मन्त्रालयले स्थानीय तह मातहतका स्वास्थ्य संस्थाबाट औषधि निःशुल्क वितरण गर्ने तथा वर्षभरि औषधिको उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले संलग्न सूचीअनुसार सम्बन्धित तहको जिम्मेवारीअनुसार औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थापन गर्न आग्रह गरेको छ ।

पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूचीसमेत संलग्न गरिएको छ । सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्रीसमेत समेटिएका छन् ।

स्थानीय चुनावको तयारीमा रास्वपा,उम्मेदवार छनोटको रूपरेखा पारित र ‘राइट टु रिकल’ दस्ताबेज बनाउने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आफ्नो साङ्गठनिक गतिविधि र चुनावी तयारीलाई तीव्र बनाएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले उम्मेदवार छनोटको रूपरेखा अनुमोदन गर्नुका साथै ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण गर्ने र पार्टीका विभिन्न रिक्त पदहरूमा मनोनयन गर्ने महत्त्वपूर्ण निर्णय गरेको हो ।

महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिअनुसार, बैठकले आगामी स्थानीय निर्वाचनका लागि तयार पारिएको ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ लाई प्राप्त सुझावहरू समेटेर अनुमोदन गरेको छ । यसैगरी, केन्द्रीय उम्मेदवार छनोट समितिमा रहन इच्छुक केन्द्रीय सदस्य तथा सांसदहरूबाट नामावली माग गर्ने निर्णय पनि पार्टीले गरेको छ । उम्मेदवार छनोट रूपरेखा र निर्वाचन सम्बन्धी विषयमा अभिमुखीकरण गर्न पार्टीले केन्द्रीय सदस्य र सांसदहरूलाई देशभरका ४६० गाउँपालिकामा परिचालन गर्ने भएको छ । यस अभियानको संयोजन सहमहामन्त्री निशा डाँगीले गर्नेछिन् ।

यसैबीच, रास्वपाले आफ्ना जनप्रतिनिधिले सन्तोषजनक काम नगरे फिर्ता बोलाउन पाउने लोकतान्त्रिक अभ्यास ‘राइट टु रिकल’ लाई नीतिगत रूपमै अगाडि बढाउने भएको छ । यसका लागि विस्तृत दस्ताबेज निर्माण गर्न महामन्त्री आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । त्यस्तै, मधेस प्रदेशमा जिल्ला र प्रदेश अधिवेशन सुरु गर्नुअघि साङ्गठनिक अवस्थाको मूल्याङ्कन (अडिट) गर्न सहमहामन्त्री हरि ढकालको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको छ । सो समितिमा मधेसबाहेकका प्रदेशका केन्द्रीय सदस्यहरू मात्र रहने व्यवस्था गरिएको छ । पार्टीले आफ्ना गतिविधि र विचार प्रवाह गर्न आगामी असोजदेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका समेत प्रकाशन गर्ने निर्णय गरेको छ ।

पार्टीको साङ्गठनिक संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय समितिले पदाधिकारी, सचिवालय सदस्य र विभिन्न विभागका प्रमुखहरूको मनोनयन गरेको छ । पार्टीको सह–महामन्त्रीमा पुरुषोतम सुप्रभात यादव, कोषाध्यक्षमा डा. मनोहर प्रधान र सह–कोषाध्यक्षमा बसुमाया तामाङलाई मनोनयन गरिएको छ । त्यसैगरी, प्रवक्ताको जिम्मेवारी ललितपुरका सांसद जगदीश खरेलले पाएका छन् भने सह–प्रवक्तामा डा. नमिता यादव र सुरेन्द्र चौधरी चयन भएका छन् । बैठकले पूर्वाधारमन्त्री सुनील लम्साल, गृहमन्त्री सुधन गुरुङ, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, लगायत ९ जनालाई नयाँ केन्द्रीय सदस्यका रूपमा मनोनयन गरेको छ ।

बैठकले महत्त्वपूर्ण विभागहरूको नेतृत्व पनि तोकेको छ । जसअनुसार संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की र पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी चयन भएका छन्। अर्थ विभागको नेतृत्व लिमा अधिकारी आचार्यले पाएकी छन् भने प्रशिक्षण विभागको उपप्रमुखमा कमल

स्थानीय विपद् जोखिम तथा जलवायु उत्थानशीलता ढाँचा तयार

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले स्थानीय विपद् जोखिम तथा जलवायु उत्थानशीलतासम्बन्धी ढाँचा तयार भएको जानकारी दिको छ।

शुक्रबार जल तथा ऊर्जा आयोगको सचिवालय र जल तथा मौसम विज्ञान विभागको संयुक्त आयोजना तथा विभिन्न सङ्घसंस्थाको सहकार्यमा आयोजित ‘सुपर एल निनो र जलवायु जोखिमः नेपालमा जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानशीलतामा पर्ने प्रभाव’ विषयक राष्ट्रिय गोष्ठीको अन्तिमसत्रलाई सम्बोधन गर्दै उनले जलवायुजन्य विपद् प्रतिकार्यका लागि स्थानीय क्षमता अभिवृद्धि गरिने बताए।

“स्थानीय तहको विपद् व्यवस्थापन क्षमता अभिवृद्धिका लागि प्राधिकरणले ‘स्थानीय विपद् जोखिम तथा जलवायु उत्थानशीलता ढाँचा तयार गरेको छ । तातो लहरसहित विपद्को जोखिम देखिएसँगै तत्काल कार्यान्वयनमा जान सक्नेगरी विभिन्न मानक सञ्चालन कार्यविधिसमेत तयार गरिएको छ”, उप्रेतीले भने। उनले नेपालले सुक्खा हिउँदको सामना गरिरहेका भन्दै वर्षामा आएको कमीले कृषि, वन, जैविक विविधता तथा माटोको चिस्यानमा असर पार्ने जोखिम बढेको बताए।

उप्रेतीका अनुसार पछिल्लो समय देखिएको महासागरीय तापक्रमको असामान्य अवस्था तथा एल निनोको प्रभावले आगामी हिउँदमा पनि तापक्रम र सुक्खाको जोखिम बढाउन सक्छ । “यसको प्रत्यक्ष असर गहुँ, मसुरोलगायत हिउँदे बाली, बिरुवा उत्पादन, वन तथा जैविक विविधतामा पर्न सक्छ”, उनले भने, “सुक्खा हिउँदको प्रभाव खेतमा मात्र सीमित हुँदैन, यसले माटोको चिस्यान, वनस्पति, वन र समग्र पारिस्थितिक प्रणालीमा असर पार्छ ।”

जलवायुजन्य जोखिम बढ्दै गएपछि प्राधिकरणले विपद् आएपछि मात्र उद्धार तथा राहतमा केन्द्रित हुने प्रतिक्रियात्मक प्रणालीबाट जोखिम पहिचान गरी पूर्वतयारी गर्ने प्रणालीतर्फ काम गरिरहेको उनले जानकारी दिए। प्राधिकरणले सन् २०२६ मा विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यमुखी ढाँचा तयार गरी स्वीकृत गरिसकेको छ।

उनका अनुसार प्राधिकरणका २४ प्रमुख कार्यमध्ये २० वटा कृषि, जलस्रोत, स्वास्थ्य, ऊर्जा र वनलगायत निकायसँगको समन्वयमा केन्द्रित छन्। नेपालका लागि पूर्वसूचना प्रणालीसम्बन्धी ‘रोडम्याप’को मस्यौदा तयार भइसकेका जनाउँदै उक्त मस्यौदा स्वीकृतिको अन्तिम प्रक्रियामा रहेको उनले बताए।

इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छ : इरानी राष्ट्रपति

काठमाडाैँ। संयुक्त राज्य अमेरिकाविरुद्धको महिनौँदेखिको पश्चिम एसिया युद्ध अन्त्य गर्ने बेला आएको इरानी राष्ट्रपति मसुद पेजेस्कियानले शुक्रबार बताएका छन्।

उनले अहिले मध्यपूर्वमा तेहरान वाशिङ्टनभन्दा बलियो अवस्थामा रहेको दावी गर्दै यो नै युद्ध अन्त्य गर्ने समय भएको बताएका हुन्। दशकौँदेखिका यी दुई शत्रुबिचको वार्ता अहिले अवरूद्ध भएको छ । फेब्रुअरीमा अमेरिका र इजरायलले सुरु गरेको युद्धमा दुवै पक्ष गतिरोधमा फसेका छन्।

तेहरानले महत्त्वपूर्ण होर्मुज जलमार्ग आंशिक रूपमा बन्द राखेको छ भने वाशिङ्टनले इरानविरुद्ध नौसैनिक अवरोध जारी राखेको छ । “हामी अहिले शक्ति र मर्यादाको अवस्थामा रहेकाले युद्धलाई अहिले नै अन्त्य गर्नु राम्रो हुन्छ,” पेजेस्कियानले चिकित्सकहरूसँगको भेटमा भने।

“सारा संसारले हाम्रो विजय स्वीकार गरेको छ । युद्धमा अमेरिकाले सबै नियम उल्लङ्घन गर्दै हाम्रा विद्यालय, अस्पताल र पूर्वाधारमा आक्रमण गरेको छ र संसारभर घृणाको पात्र बनेको छ।”

पेजेस्कियानले जुनमहिनामा अमेरिकासँग युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको समझदारी पत्रको पनि बचाउ गर्दै भने, “यो युद्धमा तेहरानको पराजय नजनाउने आधार हो ।” उनले भने, “यस समझदारी पत्रमा उनीहरूले आत्मसमर्पण जनाउने एक आधार पनि भेट्न सक्दैनन् । सबै प्रतिबद्धता अर्को पक्षसँग सम्बन्धित छन् ।”

उनका यी टिप्पणीहरू इरानका सर्वोच्च नेता मुज्तबा खामेनीले युद्ध अन्त्य गर्ने सम्झौतालाई ‘फरक विचार’ भए पनि स्वीकृति दिएको केही हप्तापछि आएका हुन्।

इरानी कट्टरपन्थी सांसदहरूले पनि सरकारलाई यस सम्झौताका लागि आलोचना गरेका छन्, जसमा मुख्यतः रणनीतिक हर्मुज जलमार्ग पुनः खोल्ने विषयमा अमेरिकालाई सहुलियत दिएको आरोप लगाइएको छ।

अमेरिकी सञ्चारका रिपोर्टअनुसार अमेरिकी नौसेनाले हर्मुज जलमार्गका दक्षिणी क्षेत्र हुँदै ट्याङ्कर काफिलाहरूलाई गोप्यरूपमा व्यवस्थित र सुरक्षा प्रदान गर्दै दैनिक ५० लाखदेखि एक करोड ब्यारेलसम्म तेल निर्यात गर्न सक्षम बनाएको छ।

तेहरानले आफू बलियो अवस्थामा रहेको दाबी गर्दा अमेरिकाले तेहरानमाथि दबाब बढाउन प्रतिबन्धहरू थप कडा बनाउने बताएको छ। अमेरिकी योजनाप्रति इरानको परराष्ट्र मन्त्रालयले निन्दा गर्दै अमेरिकालाई ‘आर्थिक आतङ्कवाद’ र ‘मानवताविरुद्ध’ का अपराध गरेको आरोप लगाएको छ।

“यी प्रतिबन्धका कर्ता र उक्साउनेहरू यस्ता घृणित अपराध गरेबापत मुद्दा र सजायको योग्य छन्,” इरानी राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित वक्तव्यमा भनिएको छ। यसैबिच अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बिहीबार वाशिङ्टनले युद्ध सुरु भएको करिब छ महिनापछि धम्कीपूर्ण अभियानबाट इरानी शासनलाई ‘ध्वस्त’ पार्ने प्रतिबद्धता जनाए।

यी टिप्पणीहरूले ट्रम्प प्रशासनले तेहरानमाथि सैन्यभन्दा आर्थिक दबाबतर्फ सर्दै गरेको देखाउँछन् किनकि अमेरिकी राष्ट्रपतिद्वारा सुरू गरेको ‘अलोकप्रिय’ युद्ध लम्बिँदै गएको छ।

चीनले पनि वाशिङ्टनको आर्थिक योजनाको आलोचना गर्दै अमेरिकी ‘प्रतिबन्ध र दबाब’ ले मध्यपूर्व द्वन्द्व समाधान नगर्ने बताएको छ।

विदेशमा रहेका मतदातालाई मताधिकार दिन कानुनी व्यवस्था गर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन विधेयक (एकीकृत) को मस्यौदा र निर्वाचन व्यवस्थापनमा गर्नुपर्ने सुधारबारे छलफल गरेको छ।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको छलफलमा निर्वाचन सुधारका समसामयिक विषय तथा प्रस्तावित विधेयकमा समेटिएका नयाँ व्यवस्थाबारे प्रस्तुतीकरण र अन्तरक्रिया गरिएको हो।

छलफलमा गृहमन्त्री गुरुङले विगतका निर्वाचनमा देखिएका समस्या समाधान गर्ने तथा विदेशमा र देशभित्रै आफ्नो स्थायी ठेगानाभन्दा बाहिर रहेका मतदातालाई मतदानको अधिकार सुनिश्चित गर्ने आवश्यक कानुनी व्यवस्था विधेयकमा समेट्न आयोगलाई आग्रह गरे।

प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षता अभिवृद्धि गर्दै मतदाताको चाहनाअनुसार निर्वाचन विधि तथा पद्धतिमा सुधार गर्न आयोगले कानुनी, संस्थागत र प्राविधिक तयारी अघि बढाएको बताए।

छलफलमा प्रस्तावित विधेयकमार्फत निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने विषयमा समेत छलफल भएको आयोगले जनाएको छ।

मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने

जनकपुरधाम। मधेस प्रदेशसभाको चालु सातौँ अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य हुने भएको छ ।प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु सातौँ अधिवेशन अन्त्य गर्नुभएको हो ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता संजीपकुमार दुब्बेद्वारा आज जारी विज्ञप्तिमा प्रदेश प्रमुखले आज राति १२ः०० बजेदेखि मधेस प्रदेशसभाको चालु सातौँ अधिवेशन अन्त्य गर्नुभएको उल्लेख छ । प्रदेशसभाको सातौँ अधिवेशन गत जेठ १ गतेदेखि सुरु भएको थियो ।

अधिवेशन अन्त्यसँगै प्रदेशसभामा चालु अधिवेशनअन्तर्गत भइरहेका संसदीय गतिविधि औपचारिक रूपमा टुङ्गिनेछन् ।

सरकारले आवश्यकताअनुसार आगामी अधिवेशन आह्वानका लागि पुनः संवैधानिक प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्थाअनुसार आगामी अधिवेशन आह्वान गरिने विज्ञप्तिमा जनाइएको छ ।

कांग्रेस महाधिवेशन रोक्न देउवा पक्षद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।
पार्टीका पूर्वसभापति शेरबहादुर देउवाका तर्फबाट बारेसमार्फत आगामी असोजमा तय भएको १५औँ महाविधेशन रोक्न आदेशको माग गर्दै आज रिट निवेदन दायर गरिएको हो ।

कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक गरेको छ । उक्त निर्णय रोक्न रिट निवेदन पेस गरिएको हो ।

कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतमा पुनः सुनुवाइ गर्न देउवा पक्षले निस्सा (अनुमति) पाएको छ । सोको टुङ्गो नलाग्दासम्म महाधिवेशन प्रक्रिया रोक्न रिट निवेदनमा माग गरिएको हो ।

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ), भदौ ५-दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको चाप घट्दै गएपछि समय परिवर्तन गरी आइतबारदेखि शुक्रबारसम्म सेवा सञ्चालन गर्ने जनाएको हो ।

कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रको विवरण दर्ता, विवरण संशोधन तथा कार्ड लिन आउने सेवाग्राहीलाई यसअघि शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा पनि सेवा दिँदै आइएको थियो ।

पछिल्लो समय सेवाग्राहीको चाप क्रमशः घटेकाले यही भदौ ६ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आइतबारदेखि शुक्रबारसम्म सेवा प्रवाह गरिने जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरी जनाएको छ ।कार्यालयले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन आउने सबै सेवाग्राहीलाई सोहीअनुसार कार्यालयमा उपस्थित हुन आग्रहसमेत गरेको छ ।

चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो

चितवन, साउन ५-यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिका १५ स्थित त्रिभुवन विश्वविद्यालयको नाममा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जमिनमा रङ्गशाला निर्माण भइरहेको हो ।

भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार चारवटा प्यारापिट (रङ्गशालामा दर्शक बस्नका लागि तह(तहमा बनाइएको सिँढीजस्तो संरचना)मध्ये तीनवटाको ढलान भइसकेको छ भने एउटाको डन्डी बाँधेर ढलानको तयारी गरिएको छ । यी प्यारापिट दर्शकका लागि बनाइएको हो ।

खेलाडी र विशिष्ट पाहुनाका लागि निर्माण गरिएका दुईवटा टावरमध्ये एउटालाई ‘फिनिसिङ’ (अन्तिम प्लास्टर, रङरोगन, टायलरमार्बल बिछ्याउनेलगायत काम गरी आकर्षक बनाउने) गर्ने काम भइरहेको छ भने अर्कोको अन्तिम ढलान सकिएको छ । दोस्रो टावरको फिनिसिङको काम अब गर्ने तयारी गरिएको छ ।

“मैदानको कामका लागि पाइप आइसकेको छ । भुइँमा पाइप बिछ्याएर माटोले पुरेपछि त्यसमाथि दुबो लगाइने छ । सडकबाट रङ्गशालासम्म जाने बाटोको सबग्रेडको काम सकिएको छ”, इन्जिनियर पोखरेलले भन्नुभयो, “ढलमाथिको ढकन राखिएको छ । कम्पाउन्डको काम सकिएको छ । अहिले दैनिक १०० हाराहारी मजदुरले काम गरिरहेका छन् ।”

महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यका अनुसार महँगी, बजेट निकासामा केही समय लागेको र जेनजी आन्दोलनको समयमा कामले गति लिन नसक्दा लक्ष्यअनुसार प्रगति हुन नसकेको हो । उहाँका अनुसार हिमालयन(कालिन्चोक(बिबीआर ज्वाइन्टभेन्चरले आगामी पुस मसान्तभित्र सम्पन्न गर्नेगरी २०८१ साल असार २३ गते रु ७८ करोड ५० लाख ९१ हजारमा निर्माण सम्झौता गरेको थियो ।

पछिल्लो समय कामलाई तीव्रता दिइएको बताउँदै इन्जिनियर आचार्यले परियोजनाको वित्तीय साझेदारीअनुसार बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत खर्च व्यहोर्ने सहमति भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार महानगरले व्यहोर्ने खर्चमा भने सङ्घीय सरकारले सहयोग गरेको छ ।

रङ्गशालामा १५ हजार दर्शक क्षमताको प्यारापिट बनिरहेको हो । दुईवटा तीनतले भिआइपी टावर तथा खेलमैदान हुनेछन् । विसं २०७५ माघ १६ गते राजधानीको राष्ट्रियसभा गृहमा चितवनको रामपुरमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको घोषणा गरिएको थियो । सुरुमा धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा रङ्गशाला निर्माण गर्ने सहमति गरे पनि काम गर्न नसकेपछि महानगरलाई हस्तान्तरण गरिएको थियो ।

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार ९ः०० देखि १ः०० बजेसम्म निजामती कर्मचारी तथा परिवार लक्षित विशेष ओपीडी सेवा सञ्चालन गर्न लागेको छ ।विशेष ओपिडी सेवामा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक–कान तथा घाँटी रोग (इएनटी), रेडियोलोजी र प्याथोलोजी लगायतका सेवा प्राप्त हुनेछ ।

अस्पतालकी सूचना अधिकारी श्रीरञ्जना नेपालका अनुसार आगामी दिनमा त्यसमा थप विशिष्टीकृत सेवा थप गरिनेछन् । उनका अनुसार, निजामती कर्मचारीले अस्पतालबाट प्रदान गरिने सेवाका लागि लाइन बस्न नपरोस् र सहज रुपमा उपचार सुविधा प्राप्त होस् भनी त्यस सेवा सञ्चालन गर्न लागिएको हो ।

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’ माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । त्यसअघि प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री साविता गौतमले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गरेकी थिइन् ।

राष्ट्रियसभाको अर्को बैठक यही भदौ ९ गते मङ्गलबार बिहान १०ः१५ बजे बस्नेछ ।

५ हजार ४ सय रुपैयाँदेखि स्वास्थ्य परीक्षण, ग्रान्डीको विशेष तीज प्याकेज

काठमाडौं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलले महिलाका लागि विशेष ‘तीज हेल्थ प्याकेज’ सार्वजनिक गरेको छ। ‘संस्कार, संस्कृति र स्वास्थ्य सँगसँगै’ भन्ने नाराका साथ ल्याइएको उक्त प्याकेजमा महिलाहरूको स्वास्थ्य परीक्षणमा ४३ प्रतिशतसम्म छुट दिइएको अस्पतालले जनाएको छ।

स्वस्थ नारी नै सुखी परिवारको आधार भएको उल्लेख गर्दै अस्पतालले तीज पर्वको अवसरमा महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउने उद्देश्यले विशेष स्वास्थ्य परीक्षण प्याकेज ल्याएको हो।अस्पतालले उक्त प्याकेजअन्तर्गत दुई प्रकारका स्वास्थ्य परीक्षण सुविधा उपलब्ध गराएको जनाएको छ। पहिलो प्याकेजअन्तर्गत ९ हजार ४ सय रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण सेवा ५ हजार ४ सय रुपैयाँमा उपलब्ध हुनेछ।

यस प्याकेजमा स्त्री तथा प्रसूति रोग विशेषज्ञसँग परामर्श, रगतमा चिनीको मात्रा परीक्षण, युरिया, क्रिटिनाइन, कलेजोसम्बन्धी परीक्षण, थाइराइड परीक्षण, पिसाब परीक्षण, रगत परीक्षण, पाठेघरको मुखको क्यान्सर परीक्षण तथा पेट र तल्लो पेटको भिडियो एक्सरे समावेश गरिएको छ।

त्यस्तै, दोस्रो प्याकेजअन्तर्गत १३ हजार ५ सय ८० रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण सेवा ७ हजार ८ सय रुपैयाँमा उपलब्ध गराइने अस्पतालले जनाएको छ।यस सुविधामा पहिलो प्याकेजमा समावेश गरिएका सम्पूर्ण स्वास्थ्य परीक्षणका साथै एचपिभी परीक्षणसमेत समावेश गरिएको छ। एचपिभी परीक्षणलाई पाठेघरको मुखको क्यान्सरको जोखिम पहिचानका लागि महत्वपूर्ण परीक्षणका रूपमा लिइन्छ।

तीज हेल्थ प्याकेज लिने बिरामीले अन्य अतिरिक्त प्रयोगशाला परीक्षणमा समेत १० प्रतिशत छुट पाउने अस्पतालले जनाएको छ।महिलाहरूलाई पर्वको उत्सवसँगै आफ्नो स्वास्थ्यप्रति पनि ध्यान दिन प्रेरित गर्ने उद्देश्यले यो योजना सञ्चालनमा ल्याइएको अस्पतालको भनाइ छ।

ग्रान्डी इन्टरनेशनल हस्पिटलले सार्वजनिक गरेको यो विशेष तीज हेल्थ प्याकेज आगामी २०८३ साल भदौ ३१ गतेसम्म लागू हुने जनाएको छ।तीजका अवसरमा महिलाहरूले स्वास्थ्य परीक्षण गराई सम्भावित स्वास्थ्य समस्याको समयमै पहिचान र उपचार गर्न सकून् भन्ने उद्देश्यका साथ विशेष छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ ।शुक्रवार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएको हो ।

बैठकमा समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । पार्टीभित्रको आन्तरिक विवाद चर्किएको बेला अनुशासन समितिको बैठक बोलाइएको छ ।

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

झापा। वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।

मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेइ सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेइबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो । यससँगै जिल्लामा जेइ सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ ।

उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेइ परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको उहाँले राससलाई जानकारी दिए।

पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा। गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पु¥याएपछि उच्च जोखिममा रहेका १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

बिहीबार दिउँसो अविरल वर्षासँगै खसेको पहिरोले ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको तीनतले घर पूर्ण रूपमा क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशबहादुर शाहीका अनुसार दुवै घरभित्रका सामान पुरिएका छन् । आसपासका क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई अस्थायी टहरामा सारिएको छ । पुरिएका सामग्री निकाल्ने प्रयास पनि जारी छ ।

यसैबीच, गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्न पालिकाबाट टोली परिचालन भएको जानकारी दिँदै उनीहरूको सहयोगमा जुट्न स्थानीय सामाजिक सङ्घसंस्थालाई आह्वान गर्नुभएको छ ।

संघीय संसद्का दुईवटा समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्का आज दुईवटा समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूचीअनुसार आज अर्थ समितिको बैठक बिहान ९ः३० बजे र संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक पनि बिहान ९ः३० बजे नै बस्दैछ ।

अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने कार्यसूची छ ।

यस्तै संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा सूचना माग भएको सम्बन्धमा, अभिमुखीकरण कार्यक्रम सम्बन्धमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।

विद्युतीय सवारीसाधन सञ्चालनका समस्या समाधान गर्न माग

काठमाडौँ – यातायात व्यवसायीले सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालनका क्रममा देखिएका समस्या समाधान गर्न माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिले आज यहाँस्थित विद्युतीय सवारीसाधनका आधिकारिक विक्रेताका प्रतिनिधिलाई भेटेर विद्युतीय सवारीसाधन सञ्चालनमा देखिएका समस्या समाधान गर्न माग गरेको हो ।

महासङ्घ बागमती प्रदेशका संयोजक सुवर्ण गिरीले विद्युतीय सवारीसाधन सञ्चालनका क्रममा व्यवसायीले भोग्नुपरेका समस्याप्रति गम्भीर हुन सम्बद्ध कम्पनीलाई आग्रह गर्नुभयो । उहाँले बजारमा विद्युतीय सवारीसाधनका स्पेयर पाट्र्सको अभाव रहेको, आवश्यक पार्टपुर्जा समयमा उपलब्ध नहुँदा सवारीसाधन ग्यारेजमा थन्क्याउनुपर्ने र मर्मतसम्भार सेवा प्रभावकारी नभएको बताउनुभयो ।

यस्तै, उहाँले चार्जिङ सेवामा प्राविधिक समस्या देखिएकाले त्यसको तत्काल समाधान गर्नुपर्नेमा जोड दिनुभयो । व्यवसायीले विद्युतीय सवारीसाधन बिक्रीका क्रममा कम्पनीले गरेका प्रतिबद्धता र आश्वासन व्यवहारमा कार्यान्वयन नभएको गुनासो गरेका छन् ।

संयोजक गिरीले सार्वजनिक यातायात क्षेत्रमा व्यवसायीको ठूलो लगानी, हजारौँको रोजगारी र नागरिकको दैनिक जीवन प्रत्यक्ष जोडिएकाले कम्पनीले आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने बताउनुभयो ।

महासङ्घले आफूले बिक्री गरेका सवारीसाधनमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता पूरा नगरे थप कडा कदम चाल्ने जनाएको छ । पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढे पनि बिक्रीपछिको सेवा प्रभावकारी नहुँदा व्यवसायी र यात्रु दुवै समस्यामा परेको महासङ्घले जनाएको छ ।

किष्ट प्रत्यारोपण केन्द्र : निजी अस्पतालमै बालिकाको सफल कलेजो प्रत्यारोपण, नेपालमा नयाँ इतिहास

ललितपुर । नेपालमा पहिलो पटक निजी अस्पतालको संरचनामा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरिएको छ। किष्ट प्रत्यारोपण केन्द्रले सम्पन्न गरेको उक्त सफल प्रत्यारोपणलाई नेपालमा बालबालिकाको कलेजो प्रत्यारोपण सेवाको विकासतर्फ महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

विल्सन रोगका कारण गम्भीर स्वास्थ्य समस्यामा पुगेकी ती बालिकालाई उपचारका लागि किष्ट शिक्षण अस्पताल ल्याइएको थियो। प्रत्यारोपणअघि उनको स्वास्थ्य अवस्था निकै जटिल रहेको अस्पतालले जनाएको छ। बालिकाको स्वास्थ्य अवस्था जटिल भएपछि विभिन्न विशेषज्ञ चिकित्सकको टोलीले करिब एक महिनासम्म निरन्तर उपचार र निगरानी गरेको थियो। सघन उपचार तथा विभिन्न विशेषज्ञको संयुक्त प्रयासबाट उनको स्वास्थ्य अवस्था स्थिर बनाएपछि कलेजो प्रत्यारोपण गर्ने निर्णय गरिएको थियो।

वि.सं. २०८३ भदौ २ गते ३३ वर्षीया आमाले आफ्नी ५ वर्षीया छोरीलाई आफ्नो कलेजोको एक अंश दान गरेकी थिइन्। आमाबाट छोरीमा गरिएको जीवित दाता कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको किष्ट प्रत्यारोपण केन्द्रले जनाएको छ। बालबालिकामा कलेजो प्रत्यारोपणलाई अत्यन्त जटिल र चुनौतीपूर्ण चिकित्सा प्रक्रियाका रूपमा लिइन्छ। यस्तो प्रत्यारोपणका लागि अनुभवी प्रत्यारोपण शल्यचिकित्सक, कलेजो रोग विशेषज्ञ, बेहोस बनाउने चिकित्सक, बालरोग विशेषज्ञ, सघन उपचार टोली तथा अत्याधुनिक चिकित्सा पूर्वाधार आवश्यक पर्ने चिकित्सकहरू बताउँछन्।

किष्ट प्रत्यारोपण केन्द्रको विभिन्न विधाका विशेषज्ञ सम्मिलित टोलीले आपसी समन्वयमा उक्त जटिल शल्यक्रिया तथा उपचार सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। यस सफलतासँगै नेपालमै जटिल बाल कलेजो प्रत्यारोपण सेवा विस्तार गर्ने सम्भावना थप बलियो बनेको अस्पतालको विश्वास छ। यसअघि यस्ता जटिल उपचारका लागि धेरै नेपाली बिरामी विदेश जानुपर्ने अवस्था रहँदै आएको थियो।

किष्ट प्रत्यारोपण केन्द्रले आगामी दिनमा बालबालिकाका लागि विशेष उपचार सेवा विस्तार गर्ने लक्ष्य समेत लिएको जनाएको छ। केन्द्रलाई बाल उपचारको विशेषज्ञ केन्द्रका रूपमा विकास गर्दै विभिन्न विशेषज्ञ चिकित्सकको संयुक्त उपचार सेवा उपलब्ध गराउने योजना रहेको बताइएको छ।

आमाले आफ्नी छोरीलाई कलेजोको एक अंश दान गर्नु, चिकित्सक तथा स्वास्थ्यकर्मीको निरन्तर प्रयास र आधुनिक चिकित्सा प्रविधिको समन्वयबाट बालिकाले नयाँ जीवन पाएको अस्पतालले जनाएको छ। यो सफलता किष्ट प्रत्यारोपण केन्द्रका लागि मात्र नभई नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विस्तार र विकासतर्फ पनि महत्वपूर्ण उपलब्धि हुने विश्वास गरिएको छ।

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा । एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ छ । तिब्बतको सीमा क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–७ का किसान हाल गहुँ काट्न, कुट्न, केलाउन र थन्क्याउनमा व्यस्त छन् ।

चुमभ्यालीको छेकम गाउँका दोर्जे लामाका अनुसार पुरुषले गहुँ काट्ने र कुट्ने तथा महिलाले केलाउने र थन्क्याउने गर्छन् । गहुँ भित्र्याएपछि केही दिनमै तोरी र फापर काट्न, झाँट्न र कुट्न थालिन्छ ।

गत असोजमा लगाइएको गहुँ, फापर र तोरी अहिले भित्र्त्याउने समय भएको लामाले बताउनुभयो। चुमभ्यालीमा साउनको पहिलो सातादेखि गहुँ काट्न सुरु गरिएको हो। यहाँ बाली भित्र्याउनुअघि स्थानीय लामाबाट साइत जुराउने परम्परा छ ।

चुमभ्यालीमा साइत जुराएर बाली भित्र्त्याएमा सहकाल रहने जनविश्वास रहेको स्थानीय प्रमुख लामा पासाङ फुञ्जोले बताए। यहाँ सबै गाउँमा एकैपटक बाली काटिँदैन। छेकम, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी, लार, पाङदुन, छुले र निलेका बासिन्दाले आलोपालो गरेर बाली थन्क्याउने गरेका छन्।

भौगोलिक रूपमा गाउँहरू टाढा छन् चार घण्टा पैदल हिँडेर पनि गाउँले एकअर्काको खेतबारीमा काम गर्न पुग्छन् । अबको एक महिनामा चुमभ्यालीका सबै गाउँमा गहुँ, फापर र तोरी भित्र्याइसक्नुपर्नेछ ।

चुमनुब्री–७ छेकम्पार चीनको स्वशासित क्षेत्र सिचाङको सीमा क्षेत्रमा तीन हजार ३०० देखि तीन हजार ५०० मिटरको उचाइमा छ । यहाँ गहुँ पाक्न ११ महिना लाग्छ ।

“यहाँ गहुँ, फापर र आलु मात्र खेती गर्ने गरिन्छ,” प्रमुख लामा फुञ्जोले भने, “बारीमा गहुँ र फापर आलोपालो गरी बालीचक्र मिलाएर लगाउने चलन छ।”

एक वर्षमा एकपटक मात्र खेती हुने चुमभ्यालीमा ११ महिना लगाएर उत्पादन भएको गहुँले स्थानीयको वर्षभरको आवश्यकता धान्ने गरेको छ । यहाँ उत्पादित गहुँ र फापर गुणस्तरीय मानिने भएकाले काठमाडौँ तथा विदेशमा बस्ने लामा गुरुहरूले समेत खरिद गर्ने चलन रहेको प्रमुख लामाले बतए ।

खेतीमा बढ्दो मेसिनको प्रयोग

हिमाली भेगको परम्परागत खेती प्रणालीमा पछिल्लो समय प्रविधिको प्रयोग पनि बढ्दै गएको छ । चुमभ्यालीका किसानले करिब १० वर्षदेखि तिब्बती बजारबाट ल्याइएका मेसिनमार्फत गहुँ काट्ने र कुट्ने गरेका छन् ।

चुमभ्यालीका अधिकांश घरमा गहुँ काट्ने र कुट्ने मेसिन रहेका चुमनुब्री–७ का वडाध्यक्ष टासी दोर्जे लामाले बताए ।

चुमभ्यालीमा उत्पादित गहुँ र फापर मुख्यतः ढिँडो बनाउन प्रयोग हुन्छ। स्थानीयवासीले ढिँडोसँगै रोटी र चम्पा बनाउन पनि गहुँ प्रयोग गर्छन् । याक र नाकको दानाका साथै घरेलु मदिरा उत्पादनमा गहुँ प्रयोग हुने गरेको छ ।

काभ्रेमा साउनमा मात्रै ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन् । यस अवधिमा ६५९ सवारीसाधानलाई कारबाही गरिएको छ भने विभिन्न घटनामा संलग्न ७६ प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयद्वारा सार्वजनिक प्रगति विवरणअनुसार एक महिनामा दर्ता ७४ वटा सानाठूला आपराधिक घटनामध्ये ४१ मुद्दाको फछ्र्योट भइसकेको छ भने बाँकी घटनाको अनुसन्धानकै चरणमा रहेको छ । यस अवधिमा प्रहरीले विभिन्न अपराधमा संलग्न चालु मुद्दाका ७६ प्रतिवादीलाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जनाकारी दिए । उनका अनुसार काभ्रेपलाञ्चोकमा केही महिनादेखि आर्थिक–वित्तीय अपराधको ग्राफ बढ्दै गएको पाइएको छ ।

कार्यालयमा दर्ता भएका मुद्दामध्ये अधिकांश (१८ वटा) बैंकिङ कारोबारका छन् । यसबाहेक साधारण चोरी, मोटरसाइकल तथा चौपाया चोरीका १२ मुद्दा दर्ता भएका हुन् । यस्तै सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह र बोक्सीको आरोपसम्बन्धी मुद्दा, जबर्जस्ती करणी तथा करणी उद्योगका गम्भीर मुद्दा दर्ता भएको छ । विभिन्न मितिमा सवारी ज्यान मुद्दामा फरार रहेका २० फरार अभियुक्तलाई पक्राउ गरिएको छ ।

गत साउनमा प्रहरीले एक वर्ष चार महिना १५ दिनको कैद सजाय कार्यान्वयन गर्नुका साथै रु २९ लाख ६९ हजार ९०० जरिवाना असुल गरेको छ । यसैगरी सडक सुरक्षा तथा अवैधधन्दा रोक्न प्रहरीले ६५९ सवारीसाधनलाई कारबाही गरी रु छ लाख एक हजार ५०० राजस्व सङ्कलन गरेको छ ।

नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न टिपर नियन्त्रणबाट रु तीन लाख १७ हजार राजस्व दाखिला गराएको जनाइएको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित १०७ भट्टी नष्ट गर्दै एक हजार ३९८ लिटर अवैध घरेलु मदिरा तथा तीन हजार ३५ लिटर कच्चा पदार्थसमेत जफत गरेको छ ।

आपराधिक घटना न्यूनीकरण गर्न काभ्रेपलाञ्चोक प्रहरीद्वारा सञ्चालित समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत साइबर अपराध, यौन दुव्र्यवहार, मानव बेचबिखन र लागुऔषधविरुद्ध ९८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट १९ हजार ९१३ नागरिकलाई सचेतना गराइएको विष्टको भनाइ छ । उहाँका अनुसार नागरिकको धनजनको सुरक्षार्थ गस्ती, सरप्राइज चेकिङ तथा प्रविधिको प्रयोगलाई अझ कडाइका साथ अघि बढाइएको छ ।

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३८ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ७८ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ११०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ९०, मकै बोडी प्रतिकिलो रु १२०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, भिन्डी प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९० र स्कुस प्रतिकिलो रु ६० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो प्रतिकिलो रु २५०, तोरीको साग प्रतिकिलो रु ११०, प्याज (हरियो) रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३३० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निउरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु १६०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ५००, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु १,५००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमूला प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६०, गुन्द्रुक प्रतिकिलो रु ३५० र रुख टमाटर प्रतिकिलो रु ४०० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, आँप (मालदह) प्रतिकिलो रु २८०, आँप (चोसा) प्रतिकिलो रु २५०, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५ काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २००, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु २००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ५००, अदुवा प्रतिकिलो रु २३०, खुर्सानी सुकेको प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु ७०, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु ३५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३४० र ताजा माछा (छडी) प्रतिकिलो रु ३५० निर्धारण भएको छ ।

शिक्षा ऐनबारे संवाद गर्न मन्त्री पोखरेल आज धनगढी जाँदै

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल आज धनगढी जाने भएका छन्। उनी मन्त्रालयले आयोजना गरेको ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन धनगढी जान लागेका हुन्।

शिक्षा ऐन निर्माणअघि मन्त्रालयले सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका शिक्षा क्षेत्रमा क्रियाशील शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालासँग शिक्षा ऐन र विद्यालय शिक्षा सुधारका विषयमा प्रत्यक्ष छलफल तथा अन्तरक्रिया गरिने मन्त्रालयले जनाएको छ।

कार्यक्रममार्फत प्रदेशस्तरमा शिक्षा क्षेत्रका समस्या, आवश्यकता तथा सुधारका सुझाव संकलन गरी प्रस्तावित शिक्षा ऐनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।

रास्वपा बैठक आज बस्दै, स्थानीय तह निर्वाचनको उम्मेदवार छनोट रूपरेखा अनुमोदन गरिने

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सुरु हुने भएको छ ।पार्टीका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने, ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण गर्ने तथा साङ्गठनिक व्यवस्थापन र विभिन्न मनोनयनका विषयमा छलफल हुनेछ ।

केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य, विभागीय प्रमुख तथा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनका विषय पनि बैठकको कार्यसूचीमा रहेका छन् ।

त्यस्तै, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यहरूको नेतृत्वमा स्थानीय तहमा उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ। पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा समेत बैठकले आवश्यक निर्णय लिने जनाएको छ ।

वर्षासँगै सडकमा जोखिम बढ्यो, विभिन्न सडकखण्डमा आवागमन प्रभावित

काठमाडौँ। वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् ।

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ १८ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ०४ः०० बजेदेखि बेलुका १८ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति १७ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको राति २२ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म आवागमन बन्द गरिएको छ ।

उक्त सडकमा अर्को सूचना जारी नभएसम्म कुनै किसिमका सवारीसाधन चलाउन नपाइने जनाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ ।सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो, सोही गाउँपालिका–२ लिपिङस्थित सडक भासिएपछि उक्त राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि सो सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । साथै, गोसाइकुण्ड गाउँपालिका –२ स्याउपार्किङमा बिहीबार अपराह्न पहिरो खसेपछि पासाङल्हामु सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा पनि पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले सम्बन्धित निकायले अवस्था हेरी सावधानीपूर्वक यात्रा गर्न तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी प्रधानकार्यालयले आग्रह गरेको छ ।