`

आश्वासन होइन, समस्या समाधानको आधार खोज्दै बादी समुदाय

कञ्चनपुर। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र रूपमा भइरहेको छ । जिल्लामा विभिन्न पार्टी तथा स्वतन्त्र उम्मेवारहरू आफ्नो जितका लागि मतदातालाई फकाउँदै छन् ।

यहाँका बादी समुदाय भने आफ्नो अवस्था परिवर्तन र अधिकारको ग्यारेण्टी खोजिरहेका छन् । जिल्लाका गुन्यालफाँटा, गर्जमुनी, कृष्णपुर, भीमदत्तनगरको जमुनाभाडी, सब्जीमण्डी, दोधारा चाँदनी र पुनर्वासलगायत क्षेत्रमा दुई सयभन्दा बढी बादी परिवारको बसोबास छ ।

यी बस्तीका मतदाताले मत माग्न आफ्नो घरआँगनमा आउने उम्मेदवारबाट परम्परागत आश्वासनभन्दा स्पष्ट कार्ययोजना र कार्यान्वयनको विश्वासिलो आधार खोज्ने गरेका छन् । संविधानले प्रत्याभूत गरेको गास, बास र कपासको ग्यारेण्टी गर्न सक्नेलाई मात्र मत दिने भन्दै मतदाताले उम्मेदवारसँग त्यसको आधार मागिरहेका स्थानीय पदम बादी रानाले बताउनुभयो ।

यसअघि विभिन्न आयोग र कार्यक्रम घोषणा भए पनि समुदायको जीवनस्तरमा अपेक्षित सुधार नआएको गुनासो गर्दै उहाँले अब सुरक्षित आवास, युवालाई स्वदेशमै रोजगारी, शिशुदेखि उच्च शिक्षासम्म निःशुल्क शिक्षा तथा बसोबास गरिरहेको जग्गाको स्वामित्व सुनिश्चित गर्ने एजेण्डा ल्याउने उम्मेदवारलाई समर्थन बताउनुभयो ।

“हरेक पटक चुनाव आउँछ, उम्मेदवारले आश्वासन दिन्छन् । हामी पनि मख्ख पर्दै मत हालिरहेका थियौँ, यसपटक भने मीठा भाषण गर्नेलाई होइन हाम्रा समस्या समाधान गर्छौं भन्ने आधार भएका उम्मेदवार र पार्टीलाई मत हाल्छौँ”, उहाँले भन्नुभयो ।

दुरा कुमाल पनि उम्मेदवारले कागनमा जनाउने प्रतिबद्धतामा आफूहरू नफस्ने भन्दै व्यवहारमा कार्यान्वयन हुने आधारमा निर्णय गर्ने बताउनुहुन्छ । “बादी समुदाय सामाजिक, आर्थिक र शैक्षिक रूपमा पछाडि परेको छ, त्यसमा पनि महिलाको अवस्था झनै संवेदनशील छ”, उहाँ भन्नुहुन्छ,“वर्षौंदेखि हामीले भोग्दै आएको सामाजिक उत्पीडनको अन्त्यसँगै समुदायको उत्थानमा योगदान पुरयाउन सक्ने, महिला सशक्तीकरण र लक्षित कार्यक्रमलाई प्राथमिकता दिने उम्मेदवार समुदायको रोजाइमा पर्छ । सल्लाह गरेरै मत हाल्छौँ ।”

स्थानीय श्याम कुमालले रोजगारीको अभावमा युवाहरू भारततर्फ पलायन हुन बाध्य भएकाले अब स्वदेशमै अवसर सिर्जना गरिनुपर्नेमा जोड दिनुभयो । “साँझ बिहानको छाक टार्न पनि धौधौ छ । अन्य आवश्यकता पूर्ति गर्ने विषयमा त सोच्न पनि सकेका छैनौँ । यो समस्या यहाँका नेतालाई थाहा नभएको होइन, तर पनि काम गरेर खाने अवसर छैन । यो समस्या अन्त्य गर्ने उम्मेदवारको खोजीमा छौँ”, उहाँले भनाइ छ ।

स्थानीय जानकी कुमालले सुरक्षित आवास, जातीय विभेद अन्त्य र सामाजिक सम्मान सुनिश्चित गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो । “धेरै आश्वासन सुनेका छौँ, तर परिणाम देखेनौँ”, उहाँ भन्नुहुन्छ,“कतिपय बस्ती नदी कटानको जोखिममा छन् । तटबन्ध निर्माण र सुरक्षित पुनःस्थापनाको आवश्यकता छ ।”

यहाँका बादी समुदायले माटोका भाँडाकुँडा बनाउनेलगायत परम्परागत पेसाबाट आवश्यकता पूर्ति गर्दै आएका थिए । पछिल्लो समय परम्परागत पेसा लगानी र बजार अभावका कारण सङ्कटमा छ । आफ्ना आर्थिक, सामाजिक र सांस्कृतिक मुद्दाका साथै परम्परागत सीपको संरक्षणका लागि दल तथा उम्मेदवारले सोच्नुपर्ने उनीहरूको माग छ ।

पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एक जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट पेस्तोल र गोलीसहित कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चितवनबाट काठमाडौँ आउँदै गरेको बा१९च ६९० नम्बरको कारबाट पुरीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पुरीले कालो रङ्गको झोलाभित्र एक थान पेस्तोल र चार राउण्ड गोली लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

मस्कोस्थित कार्यालय भवनमा आगलागी, १६ जनाको उद्धार

मस्को। मस्कोको उत्तरी क्षेत्रमा रहेको एक कार्यालयको भवनमा आगलागी भएको छ । समाचार तयार पार्दासम्म भवनबाट १६ जनाको उद्धार गरिएको रुसी आपतकालिन व्यवस्था मन्त्रालयले सोमबार जानकारी दिएको छ । अहिले आगलागी नियन्त्रणमा लिइसकिएको छ ।

आगलागी भवनको चौथो तलामा भएको र आगलागीले ८० वर्गमिटर क्षेत्रफलमा क्षति पुगेको बताइएको छ । समाचार तयार पार्दासम्म आगलागी पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, स्थानीय अधिकारीहरूले प्रारम्भिक जानकारीलाई उद्धृत गर्दै भनेका छन्, “आगो लाग्नुको कारण विद्युतीय उपकरणहरूमा आकस्मिक रूपमा समस्या आएका कारण भएको हुनसक्ने देखिएको छ।”

अधिकारीहरूले आगलागीको कारण स्थलगत अनुसन्धानको नतिजाको आधारमा पछि सार्वजनिक गरिने बताएका छन् ।

मन्त्रालयका अनुसार अनुसन्धान समितिले आगलागीबारे अनुसन्धान प्रक्रिया सुरु गरिसकेको र यसबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिनेछ।

काठमाडौँ-५ मा प्रमुख दलका नेताकै बढी चर्चा

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण बन्दै गएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्ने समय सुरु भएपछि चुनावी माहोल थप तातेको छ ।

सङ्घीय राजधानी काठमाडौँको प्रतिनिधिसभा क्षेत्र नं ५ मा विगतमा विजयी हासिल गरेका र प्रमुख प्रतिस्पर्धी उम्मेदवारदेखि विभिन्न दलबाट नयाँ र स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दिएका छन् ।

यस निर्वाचन क्षेत्रमा उपप्रधानमन्त्रीदेखि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका र पार्टीको प्रमुखदेखि वरिष्ठ उपाध्यक्ष, महामन्त्रीलगायत पद सम्हालेका व्यक्तिले उम्मेदवारी दिएका छन् ।

काठमाडौँ–५ मा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा, नेपाल कम्युनिष्ट पार्टीका कल्पना शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल उम्मेदवार छन् ।

यस निर्वाचन क्षेत्रमा २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका पौडेल १५ हजार २६९ मत प्राप्त गरी विजयी भएका थिए । उक्त निर्वाचनमा एमालेका पोखरेल १० हजार १९० मत प्राप्त गरी निकटतम् प्रतिस्पर्धी बनेका थिए । रास्वपाका डा प्रणयशम्शेर राणाले पाँच हजार ४७७ मत प्राप्त गरेका थिए भने राप्रपाका रामप्रसाद उप्रेतीले तीन हजार १६२ मत पाएका थिए ।

कांग्रेस महामन्त्रीसमेत रहेका पौडेलले जेनजी पुस्तालगायत आमनागरिकले उठाउँदै आएका सुशासन, आर्थिक विकास, समाजिक न्याय, सांस्कृतिक पहिचान जस्ता सवाललाई प्राथमिकतामा राखेको बताए ।

“प्रविधियुक्त र जीवनोपयोगी शिक्षा, सबैका लागि व्यवस्थित सार्वजनिक पार्क, खुला र सुरक्षित सडक, सहज, सुलभ र प्रविधिमैत्री स्वास्थ्य प्रणालीः सबैका लागि स्वास्थ्य बीमा, हाम्रो सम्पदा, हाम्रो पहिचानः कला– संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धन हाम्रा प्राथमिकतामा छन्”, उनले भने, “त्यस्तै खानेपानी र ढल निकास ः एकीकृत र दिगो व्यवस्थापन, युवा रोजगारी र उद्यमशीलताः नवपर्वतन र व्यावसायिक उत्थान, सामाजिक न्याय र सार्वजनिक सेवा प्रभावकारी बनाउनेलगायत विषय पनि हाम्रा मुद्दा हुन् ।”

एमालेको गत मङ्सिर २७ गतेदेखि भएको ११औँ महाविधेशनमा अध्यक्षमा निकटतम् प्रतिपस्र्धी रहिसकेका वरिष्ठ नेता पोखरेलले शैक्षिक र स्वास्थ्य संस्थाको पँहुच तथा गुणस्तर अभिवृद्धिका लागि व्यवस्थित गर्नुपर्नेलगायत विषय आफ्नो प्राथमिकतामा रहेको बताए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उनले भने, “उत्पादन र रोजगारीलाई प्रत्यक्ष रुपमा जनतासँग जोड्नुपर्नेछ, सहरी सुविधा व्यवस्थापनका लागि अधुरा भौतिक पूर्वाधार सम्पन्न गर्नुपर्ने र थप निर्माण गर्नुपर्ने विषय हाम्रो एजेण्डामा छन् ।”

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका राप्रपाका उम्मेदवार थापाले राष्ट्रियता र भ्रष्टाचार नियन्त्रणका लागि हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको विषयलाई मुख्य एजेण्डा बनाएका छन् । “हाँडीगाउँ र टोखालाई सांस्कृतिक नगरका रुपमा विकास गर्नेछौँ, विष्णुमति, धोबिखोला करिडोरलगायतका बस्तीलाई व्यवस्थित बनाउँने छौँ”, उनले भने ।

नेकपाका उम्मेदवार शर्माले भ्रष्टाचार नियन्त्रण र सुशासन आफ्नो प्रमुख मुद्दा भएको बताए । शिक्षा र स्वास्थ्यमा समयानुकूल परिमार्जन र सहज पँहुचको विषयलाई चुनावी मुद्दा बनाएका उनले भने, “सामाजिक न्याय र सेवा प्रवाहलाई प्रभावकारी र चुस्त बनाउनु हाम्रो प्राथमिकताको विषय हो, समयानुकूल कानुन निर्माण र संशोधन अपरिहार्य छ, त्यसका लागि हामी तालिकासहित अघि बढ्नेछौँ ।”

रास्वपाका पोखरेलले उत्तरदायित्व, पारदर्शिता र प्रत्यक्ष संवादमार्फत जवाफदेही प्रतिनिधित्व स्थापित गर्ने अठोट व्यक्त गरे । यस निर्वाचन क्षेत्रका सबै वडामा, प्रत्येक महिनामा एक वडा केन्द्रित गर्दै सुनुवाइ सञ्चालन गर्ने उल्लेख गर्दै उनले भने, “स्थानीयका गुनासा, सुझाव, अपेक्षा र प्राथमिकतालाई प्रत्यक्ष रूपमा अभिलेखीकरण गरी, तिनलाई संसद्मा नीतिगत बहस र कार्यक्रम निर्माणसँग जोड्नेछौँ ।”

आगामी निर्वाचनका लागि यस क्षेत्रमा जनता समाजवादी पार्टी नेपालबाट दानिन्द्र जोशी, नेपाल मजदुर किसान पार्टीबाट शोभालाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट अशोक बिक्रम जिसी, प्रगति लोकतान्त्रिक पार्टी विष्णु श्रेष्ठ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मीरा गुरुङ, संयुक्त नागरिक पार्टीबाट स्याम काजी सुनुवार उम्मेदवारी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) निमेस खनाल, गतिशील लोकतान्त्रिक पार्टीबाट नीशा अधिकारी, जय मातृभूमि पार्टीबाट वसन्तराज कुँवर, श्रम संस्कृति पार्टीबाट अमित थापा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट ज्ञानेन्द्र प्रजापति, उज्यालो नेपाल पार्टीबाट श्रीराम गुरुङ, त्रिमूल नेपालबाट रमेश तामाङ, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) (एकल चुनाव चिह्न) बाट युवराज काफ्ले, आम जनता पार्टी (एकल चुनाव चिह्न) बाट कोमल पौडेलले उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारका रुपमा क्यामुना मिजार, ढकबहादुर कार्की, धर्म डङ्गोल, प्रभा श्रेष्ठ र रमिता सापकोटा छन् ।

समानुपातिकतर्फ गत निर्वाचनमा रास्वपाले ११ हजार ६४७, कांग्रेसले १० हजार ४३, एमालेले नौ हजार ६५२, राप्रपाले सात हजार २०१, माओवादी केन्द्रले एक हजार २२४ मत प्राप्त गरेको थियो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मुलुकभर ६५ राजनीतिक दलले ६१ निर्वाचन चिह्नमा प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ ६३ राजनीतिक दलले ५७ निर्वाचन चिह्नमा चुनाव लड्दैछन् । त्यसप्रणालीका लागि महिला एक हजार ७७२ र पुरुष एक हजार ३६३ उम्मेदवार गरी तीन हजार १३५ उम्मेदवारको नाम बन्द सूचीमा समावेश छ । निर्वाचन आयोगले यही माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ ।

यसपटकको निर्वाचनका लागि ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेका छन् । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

गीतकार तथा गजलकार आर्जु गिरीको ‘नयन’को चर्चा

काठमाडौँ । लेखन विधामा निरन्तर कलम चलाई रहेका गीतकार तथा गजलकार आर्जु गिरीको ‘नयन’ गीतको भिडियो सार्वजनिक भएको छ । आर्जु गिरीको शब्द रचना रहेको गीतमा प्रविण बेडवालको स्वर रहेको छ ।

जसमा  सन्दीप वस्ती र उपासना पाठकको प्रेम र रोमान्सका किस्साहरुलाई निर्देशक कृष्णदेव रुपाखेतीले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् । प्रविणको जादुमयी स्वरमा दुवै कलाकार गज्जबले भावनामा डुबेको दृश्य निकै नै लोभलाग्दो छ । भिडियोलाई फिल्मी शैलीमा उर्तान र वैँशालु उमेरका हरेक युवा युवतीले भोगेको कथालाई जस्ताको त्यस्तै देखाउन सिनेमेटोग्राफर उत्सब दाहालको पनि हात रहेको छ ।

आँफैमा एक कुशल र अनुभवी सिनेमेटोग्राफर हुन् उत्सब । कैयौँ म्यूजिक भिडियो र केही फिल्ममा काम गरिसकेका अनुभवी छायांकर उत्सब, गायक प्रविण र निर्देशक रुपाखेतीको टिमले निकै नै मेहेनत गरेको भिडियो एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको हो ।

सो अवसरमा बोल्दै गायक प्रविणले आँफुले ‘नयन’मा साँच्चिकै मेहेनत गरेको पटक पटक दोहोर्याए । त्यस्तै निर्देशक रुपाखेतीले नयनमा नयाँ कलाकार भएको भएता पनि टिमवर्क राम्रो भएका कारण र कलाकारले आँफुलाई चरित्रमा ढाल्न सफल भएकै कारण भिडियो उत्कृष्ठ बनेको बताए । गायक प्रविण  स्वयमकै कम्पोज रहेको गीतको कथा गीतकार स्वयमकै हो । विकाश दाहालले सम्पादन गरेको भिडियो नेपाली गजल बहारबाट बजारमा आएको हो ।

कालीकोटको खुलालुदेखि हिल्सासम्मको कर्णाली करिडोरको स्थलगत निरीक्षण

हुम्ला। कालीकोटको खुलालुदेखि हिल्सासम्मको २६९ किलोमिटर कर्णाली करिडोर सडकको राष्ट्रिय योजना आयोगका सहसचिव मिमांस अधिकारी नेतृत्वको पाँच सदस्यीय टोलीले स्थलगत निरीक्षण गरेको छ ।

गत माघ २६ देखि यही फागुन १ गतेसम्म सो टोलीले उक्त करिडोर सडकको स्थलगत निरीक्षण गरेको हो ।

निरीक्षण टोलीमा राष्ट्रिय योजना आयोगका उपसचिव गोकुल खड्का, उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयका इन्जिनियर जयराम अधिकारी, कर्णाली करिडोर उत्तर खण्डका योजना प्रमुख बेलबहादुर नेपाली र कर्णाली करिडोर दक्षिण खण्डका योजना प्रमुख विसुन दास लामालगायत रहेका थिए ।

यसै आर्थिक वर्षमा कर्णाली करिडोरको विभिन्न खण्डमा सडक स्तरोन्नतिका लागि रु पाँच अर्ब ४८ करोडको बहुवर्षीय स्रोत सहमतिका लागि माग गरिएको हिल्सा सिमिकोट सडक योजना कार्यालयका योजना प्रमुख बेलबहादुर नेपाली जानकारी दिनुभयो ।

स्याउ र ओखरका बिरुवा वितरण

त्यसैगरी हुम्ला जिल्ला कृषि विकास कार्यालयले वागवानी केन्द्रबाट ३३० थान ओखर र ५०० थान स्याउका बिरुवा ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको छ । एक बोट ओखरका बिरुवालाई रु ५५० र एक बोट स्याउको बिरुवालाई रु ३३० मा बिक्री गरिएको कृषि विकास कार्यालयका प्रमुख चूडामणि पन्तले जानकारी दिनुभयो ।

खार्पुनाथ, सर्केगाड र सिमकोट गाउँपालिका किसानहरुलाई स्याउ तथा ओखरका बिरुवा वितरण गरिएकोसमेत कृषि विकास कार्यालय प्रमुख पन्तले बताउनुभयो ।

उखुबारीमा आगलागी हुँदा एक करोड बढीको क्षति

सिरहा। सिरहाको लहान नगरपालिका–१३ घलेटोलमा आज दिउँसो आगलागी हुँदा करिब ३० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ ।

प्रारम्भिक विवरणअनुसार आगलागीबाट स्थानीय २५ किसानको करिब रु एक करोड १६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार दिउँसो उखुबारीको मध्यभागबाट आगो सल्किएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीय बासिन्दाको सहयोगमा आगो मानव बस्तीमा फैलिन नदिइएको उहाँले बताउनुभयो ।

गोलबजार नगरपालिकाबाट आएको बारुणयन्त्रको सहयोगमा करिब ४ घन्टापछि आगो पूर्ण रूपमा निभाइएको थियो । लहान नगरपालिकाबाट गएको बारुणयन्त्रको पानी फाल्ने मोटर बिग्रिएपछि गोलबजारबाट सहयोग मगाइएको थियो ।

प्रहरीका अनुसार उखुबारीको मध्यभागबाट आगो सल्किएकाले कसैले चुरोट वा बिँडी पिएर ठुटो फालेको वा नियतवश आगो लगाएको हुनसक्ने आशङ्का गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पीडित किसान रामलखन मण्डलले उखु बेचेर घरायसी खर्च र ऋण तिर्ने योजना रहेको दुःखेसो पोख्दै भन्नुभयो, “लागतसमेत डुब्यो, दोषी पत्ता लगाएर क्षतिपूर्तिसहित कारबाही हुनुपर्छ ।” अर्का किसान कपिलदेव यादवले उखुमा आगो लगाउने जोसुकै भए पनि किसानमाथि अपराध गरेको भन्दै कानुनी कारबाहीको माग गर्नुभयो ।

उहाँका अनुसार, उखु रोप्नुअघि र रोपेपछि मलखाद र सिँचाइ उपलब्ध हुँदा प्रतिकट्ठा औसत ३० देखि ३५ क्विन्टल उत्पादन हुन्छ । चिनी उद्योगलाई बेच्दा प्रतिक्विन्टल रु ६२० र सरकारी अनुदान रु ७० गरी रु ६९० आम्दानी हुने गर्छ ।

यस आधारमा ३० बिघा क्षेत्रफलमा करिब १८ हजार क्विन्टल उखु जलेको अनुमान गर्दा क्षति रु एक करोड २४ लाख २० हजारसम्म पुग्ने देखिएको उहाँले बताउनुभयो ।

भूकम्पबाट भत्किएका सरकारी संरचना बनाउन अख्तियारी

सुर्खेत। कर्णाली प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका स्वास्थ्य संस्था, विद्यालय निर्माण गर्ने भएको छ ।

विसं २०८० कात्तिक १७ मा जाजरकोटको रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालय, स्वास्थ्य संरचना निर्माण गर्नका लागिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले पाँच वटा स्वास्थ्यचौकीको छनोट गरेर निर्माणका लागि अख्तियारीसमेत पठाइएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार १४ वटा विद्यालय छनोट गरेर निर्माणका लागि पूर्वाधार विकास कार्यालयलाई अख्तियारी पठाएको छ । त्रिवेणी गाउँपालिकामा, चौरजहारी नगरपालिकामा र आठबीसकोट नगरपालिकामा एक÷एक तथा बाँफीकोट गाउँपालिकामा दुई स्वास्थ्य संस्था निर्माण हुने भएका छन् । यसैगरी मुसिकोट नगरपालिका र चौरजहारीमा दुई÷दुई विद्यालय, सानी भेरीमा र त्रिवेणी गाउँपालिकामा तीन तथा आठबीसकोटमा पाँच विद्यालय निर्माण गर्न अख्तियारी प्रदान गरिएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

यस्तै, जाजरकोटमा २१ विद्यालय र पाँच वटा स्वास्थ्य संस्था, बारेकोटमा चार विद्यालय र दुई स्वास्थ्य संस्था निर्माण हुनेछन् । यसैगरी नलगाडमा तीन र भेरीमा दुई विद्यालय एवं एक स्वास्थ्य संस्था निर्माण हुनेछ । छेडागाड नगरपालिकामा तीन विद्यालय, एक स्वास्थ्य संस्था, कुशे गाउँपालिकामा दुई विद्यालय, एक स्वास्थ्य संस्था निर्माण गरिने जनाइएको छ ।

शिवालय गाउँपालिकामा दुई विद्यालय र जुनिचाँदेमा पाँच विद्यालय निर्माण गरिएने प्रवक्ता सुवेदीले बताउनुभयो ।

चुनाव नीति प्रधान हुनुपर्छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन धनभन्दा नीति प्रधान हुनुपर्ने बताउनुभएको छ ।

निर्वाचन आयोगद्वारा आयोजित ‘निर्वाचन प्रचारप्रसार खर्च व्यवस्थापन र निर्वाचनमा महिलाका लागि सुरक्षित वातावरण प्रवद्र्धन’सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नीतिलाई प्रधानता दिएर दल र उम्मेदवार परिचालित हुनुपर्नेमा जोड दिनुभयो । विसं २०४३ मा रुपचन्द्र विष्टले आफ्ना नीति, कार्यक्रमसहित जनतासँगै पैसा मागेर चुनाव जित्नुभएको स्मरण गर्नुभयो । त्यसबेला यस्तै उम्मेदवार नौ जनाले जितेको पनि उहाँले सुनाउनुभयो ।

“निर्वाचन खर्चको हद पार गरे उम्मेदवारी खारेज गरिनेसम्मको कारबाही हुन्छ, आइतबारमात्र आयोगले निर्वाचनको प्रचारप्रसार गर्दा पालना गर्नुपर्ने विषयमा ६३ बुँदामा गर्न हुने र नहुने विषयमा जानकारी गराएको छ । देशलाई सुशासनमा लैजान मितव्ययी निर्वाचन आवश्यक छ, राजनीतिलाई व्यापारीकरण गरिनुहुन्न”, उहाँले भन्नुभयो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा त्यसअघिका कानुनभन्दा नयाँ कानुन तर्जुमा गरेर चुनाव गराइएको स्मरण गर्नुभयो । चुनावमा गरिने खर्च नै देशमा भ्रष्टाचार बढाउने माध्यम बनेकाले यसमा सुधारका लागि आयोगको पहल सकारात्मक रहेको उहाँको भनाइ थियो ।

आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन लोकतन्त्रको आधारभूत मान्यता भएको उल्लेख गर्दै निर्वाचनमा सहभागी हुने दल र उम्मेदवारले खर्च पारदर्शी बनाउनुपर्ने बताउनुभयो ।

देशलाई नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग छ – उपसभापति शर्मा

तनहुँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिँदो अवस्थामा पुस्तान्तरबीचको दूरी घटाएर गरी समन्वय गर्दै देशलाई विश्वासको नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस तनहुँद्वारा दमौलीमा आज आयोजित आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोजित बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभयो ।

चुनाव केवल दलको जित हारको विषय नभई देशलाई सङ्कटबाट निकास दिने क्षमताको परीक्षण गर्ने समय भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, विषम परिस्थितिमा देशलाई कसले संयमतापूर्वक समन्वय गर्न सक्छ र कसले परिपक्व तवरबाट फूलको माला जसरी गाँस्न सक्छ र देशलाई स्वच्छ बनाएर हाँक्न सक्छ भन्ने हो ।”

उहाँले ऐतिहासिक तथ्यका आधारमा कांग्रेसले मुलुकलाई सही ढङ्गले अघि बढाएको उदाहरण जनतामाझ लैजान आग्रह गर्नुभयो । कांग्रेस यतिबेला सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने अभियानमा लागेको बताउँदै उहाँले भन्नुभयो, “त्यही अभियानको लहर तनहुँमा पनि मिसिनेछ । देशलाई नवीन सपनामा, नवीन मार्गमा लैजानुछ । यदि सही ढङ्गले देशलाई अघि बढाउन सकेनौँ भने अहिले जेनजी विद्रोह भयो । दश वर्षपछि फेरि अल्फाको विद्रोह हुनेछ । हामी त्यो अवस्था बन्न दिने छैनौँ ।”

नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले यहाँ सुशासन, समृद्धि कायम गर्दै आमनागरिकको माग पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो । विषम् परिस्थितिलाई चिरेर देशकै जिम्मेवारी लिने गरी अगाडि बढेकाले कांगे्रसलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।

इरान–अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु

जेनेभा । इरानका परराष्ट्रमन्त्री अब्बास अराघची अमेरिकासँग हुने दोस्रो चरणको अप्रत्यक्ष वार्तामा सहभागी हुन जेनेभा आइपुगेका छन् । उक्त वार्तामा ओमानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ । छलफलका क्रममा इरानको आणविक कार्यक्रम, ब्यालिस्टिक क्षेप्यास्त्र तथा क्षेत्रीय सहयोगीहरूको भूमिकालगायत विषयमा विचार–विमर्श हुने अपेक्षा गरिएको छ ।

इरानको ६० प्रतिशत युरेनियमको भण्डारको अवस्था अझै अनिश्चित छ । यो युरेनियम अन्तिम पटक अन्तर्राष्ट्रिय आणविक निरीक्षकहरूले जूनमा निरीक्षण गरेका थिए ।

इरानी परराष्ट्र मन्त्रालयका अनुसार, अराघचीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले जेनेभा र ओमानी समकक्षीका साथै अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीका प्रमुख राफाएल ग्रोसीसँग औपचारिक र सम्मानजनक वार्ता गर्नेछन् ।

अमेरिकाबाट पनि उच्च स्तरका प्रतिनिधिहरू सहभागी छन् । वाशिङ्गटनले आफ्नो मध्यपूर्व विशेष प्रतिनिधि स्टीभ विटकोफ र जारेड कुश्नरलाई वार्तामा पठाएको छ ।

इरानका उपपरराष्ट्रमन्त्री मजिद तकरावांचीले बीबीसीसँग भने, “यदि अमेरिकी पक्षले आफ्नो तर्फबाट ईमानदारी देखायो भने, हामी सकारात्मक ढङ्गले सम्झौताका मार्गमा अघि बढ्न सक्षम हुनेछौं ।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने, “सम्झौतामा इरानले सबै युरेनियम धनीकरण गर्ने क्षमता रोक्नुपर्छ । उपकरण र संरचना पनि निष्क्रिय हुनुपर्छ ।”

इरानले आफ्नो उपपरराष्ट्रमन्त्री हामिद घानबारीमार्फत भनेको छ कि वार्ता आर्थिक लाभका लागि पनि महत्त्वपूर्ण छ । उनका अनुसार, “सम्झौता दुवै देशका लागि सम्मानजनक र आर्थिक दृष्टिले लाभदायक हुनुपर्छ । यसले दुवै देशका नागरिक र उद्योगलाई लाभ पुर्याउनेछ ।”

स्विट्जरल्यान्डले दशकोंदेखि इरान र अमेरिकाबीच कूटनीतिक सम्बन्धको मध्यस्थको रूपमा काम गर्दै आएको छ । वाशिङ्गटन र टिह्रानबीच प्रत्यक्ष कूटनीतिक सम्बन्ध नरहेकोले स्विट्जरल्यान्डले अमेरिकी हितको प्रतिनिधित्व गर्दै आएको छ ।

यसपटकको वार्ता इरान–अमेरिका सम्बन्धमा नयाँ दिशा र सम्भावित सम्झौताको संभावना लिएर आएको छ । वार्तामा उल्लेखित विषयहरूमा दुवै पक्षले सम्मानपूर्वक छलफल गर्ने आशा गरिएको छ, र अन्तर्राष्ट्रिय समुदायले पनि यसलाई ध्यानपूर्वक नियाल्नेछ ।

अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानविय सहयोग आवश्यक : युनिसेफ

काबुल,। संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले आफ्नो पछिल्लो प्रतिवेदनमा अफगानिस्तानमा गत वर्ष करिब २२ लाख नौ हजार नागरिकले मानविय सहयोगको आवश्यकता महसुस गरेको जनाएको छ । यसमध्ये करिब १२ लाख बालबालिका पनि रहेका छन् ।

प्रतिवेदन अनुसार, लगातारको खडेरी, बाढी, आर्थिक स्थिरताको कमी र बढ्दो बेरोजगारीका कारण मानविय आवश्यकताहरू उल्लेखनीय रूपमा बढेका छन् । अत्यधिक मौसमका असरले खाद्य अभाव बढेको छ ।

युनिसेफले स्वास्थ्य, पोषण, पानी र सरसफाइजस्ता महत्वपूर्ण क्षेत्रमा वित्तीय अभाव रहेको पनि औंल्याएको छ । यसले सेवा वितरणमा असर पु¥याएको छ र आवश्यक जीवनरक्षक सामग्रीको आपूर्ति अवरुद्ध हुन सक्ने चिन्ता बढाएको छ ।

प्रतिवेदनले अफगानिस्तानमा मानविय सहायता अझ तीव्र आवश्यक रहेको र तत्काल कदम चालिनुपर्नेमा जोड दिएको छ ।

सुदूरपश्चिमका सात जिल्ला कारागार सुरक्षार्थ सेना परिचालन

महेन्द्रनगर ।आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका सात जिल्लाको कारागार सुरक्षाको जिम्मेवारी सम्हालेको छ ।

तराईको कैलाली र कञ्चनपुर सदरमुकाममा भएका जिल्ला कारगारसँगै सेनाले पहाडी जिल्ला बैतडी र बाजुराबाहेक बाँकी सात जिल्लामा रहेका कारागारको सुरक्षा जिम्मेवारी लिएको नेपाली सेनाले जनाएको छ । सेनाको श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकका अनुसार वाहिनीअन्तर्गत रहेका कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बझाङमा रहेका कारागारको सुरक्षामा सेना तैनाथ भइसकेको छ ।

बैतडीमा भने कारागार निर्माणाधीन अवस्थामा रहेकाले सेना खटिनु नपरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । त्यसैगरी नेपाली सेनाको श्री नं ५ वाहिनी अड्डाअन्तर्गतका डोटी, कैलाली र अछाममा समेत कारागार सुरक्षार्थ सेना खटिएको छ । सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण आयोजनामा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुरुप सेना खटिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सागर बोहराले यहाँका सात जिल्लाका कारागार, विनमास्थल सुरक्षा र धनगढीस्थित आयल निगमको डिपोमा सेनाले सुरक्षा दिइरहेको जानकारी दिए ।

“बैतडी र बाजुराको कारगार भवन निर्माणाधीन छन्,” प्रहरी उपरीक्षक बोहराले भने, “गेटा विमानस्थल, बाजुराको कोल्टी विमानस्थल, डोटी र बझाङ विमानस्थलमा सुरक्षाका लागि सेना खटिइसकेको छ ।”

त्यसैगरी, निर्वाचन सुरक्षालाई लक्षित गरी केही सातायता नेपाली सेना सुदूरपश्चिमभर खटिएको छ । सेनाको टोलीले विभिन्न निर्वाचन क्षेत्रमा गस्तीलगायत सुरक्षा प्रबन्ध गरिरहेको सेनाले जनाएको छ ।

इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट

तेल अविव । इजरायलको वार्षिक मुद्रास्फीति दर जनवरी महिनामा घटेर एक दशमलव ८ प्रतिशतमा पुगेको छ । उक्त दर सन् २०२१ यताकै सबैभन्दा न्यून रहेको छ । अर्थतन्त्रविद्हरूले यसलाई देशको अर्थतन्त्रमा स्थिरता र मूल्यवृद्धि नियन्त्रणतर्फको सकारात्मक सङ्केतको रूपमा लिएका छन् ।

अघिल्लो महिनासँग तुलना गर्दा मुद्रास्फीति शून्य दशमलव ८ प्रतिशत बिन्दुले घटेको छ । हालको दर सरकारले तोकेको १ देखि ३ प्रतिशतको लक्ष्य सीमाभित्र पर्छ । मुद्रास्फीति कम हुनुले उपभोक्ताहरूका लागि जीवन यापनको लागत नियन्त्रणमा रहेको जनाउँछ ।

मुद्रास्फीति नियन्त्रणमा आएपछि केन्द्रीय बैङ्कले आफ्नो आधार ब्याजदर दुई पटक घटाएको छ । यसअघि जनवरी २०२४ देखि स्थिर रहेको ब्याजदर अब क्रमशः कम गरिएको छ । ब्याजदर घटाइएका कारण व्यवसाय र उद्योग क्षेत्रमा लगानी सहज हुने अपेक्षा गरिएको छ ।

यसैबीच, उद्योग व्यवसाय सङ्घले निर्यात क्षेत्रलाई थप प्रतिस्पर्धात्मक बनाउन अझै ब्याजदर घटाउनुपर्ने सुझाव दिएको छ । यसले निर्यातमा सुधार र रोजगारीमा वृद्धि हुने सम्भावना देखाउँछ ।

मासिक आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा पनि गिरावट देखिएको छ । मनोरञ्जन, लत्ताकपडा तथा खानेकुराको मूल्यमा कमी आउँदा समग्र मूल्य स्तरमा गिरावट आएको हो । यद्यपि, चुरोट र गहनाको मूल्य बढेकाले केही हदसम्म यस गिरावटको प्रभाव कम भएको बताइएको छ ।

अर्थविद्हरूका अनुसार मुद्रास्फीति लक्ष्य सीमाभित्र रहनु देशको अर्थतन्त्रको स्थिरता र दीर्घकालीन सन्तुलनतर्फको सङ्केत हो । यसले उपभोक्ताको खरिद शक्ति, उद्योग र व्यापारमा लगानीका साथै सामाजिक जीवनमा पनि सकारात्मक असर पार्ने विश्वास गरिएको छ ।

इजरायलमा मूल्यवृद्धि घट्नु र ब्याजदरको समायोजनले देशको आर्थिक स्वास्थ्यमा सुधारको सङ्केत दिएको देखिन्छ ।

प्रतिनिधिसभा निर्वाचनः निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

काठमाडौँ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई स्पष्टीकरण सोधेको हो । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरणलगायत कारबाहीका लागि लेखी पठाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए ।

जिल्लास्तरमा समेत निर्वाचन आचारसंहिना उल्लङ्घन विरुद्धका उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको छ । निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीको प्रक्रिया अघि बढाइरहेको छ ।

प्राप्त भएका ३२ जवाफको अध्ययन भइरहेको कानुन अधिकृत जोशीले बताए । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेको उनले बताए ।

जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाइ कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक÷कोप नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।

छोटो समयमै सबै जिल्लामा सरोकारवालाहरूलाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रुपमा भइरहेको कानुन अधिकृत जोशीले बताए । जिल्लास्तरमा आएका उजुरीका सम्बन्धमा जिल्लाबाटै स्पष्टीकरण सोधी जवाफ माग गरेर दोषी देखिएकालाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

सामाजिक सञ्जालबाट प्रभावित भएर नभई देश बनाउने व्यक्तिलाई मतदान गर्न लिङ्देनको आग्रह

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन् ।

आजदेखि सुरु भएको घरदैलो अभियानअन्तर्गत झापा क्षेत्र नं ३ स्थित हल्दिबारीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउने र बचाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका हुन् ।

“देश अहिले सङ्कटमा छ, देश रहन्छ कि रहँदैन”, अध्यक्ष लिङ्देनले भने, “देश बचाउने हो भने सामाजिक सञ्जालबाट प्रभावित भएर भोट दिने होइन विवेक प्रयोग गरेर देश बनाउनेलाई दिनुहोस् ।” उनले यस क्षेत्रमा उल्लेखनीय विकास भए पनि अझै धेरै काम गर्न बाँकी रहेको र भविष्यमा त्यो पूरा गर्ने मतदातालाई आश्वासन दिए ।

सो क्षेत्रमा १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा २८ वटा वडाका एक लाख ४० हजार ८५७ मतदाता छन् । यस निर्वाचन क्षेत्रअन्तर्गत कचनवल गाउँपालिकाका १ देखि ७ सम्म सबै, हल्दिबारीका १ देखि ५ सम्म सबै र बाह्रदशी गाउँपालिकाका सबै वडाहरु पर्दछन् ।

प्रतिनिधिसभा निर्वाचनः जनचासोमा भक्तपुर-२, तीन मूख्य दलबीच प्रतिस्पर्धा

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारमा जटेका दलहरुले आजबाट घरदैलो अभियान सुरु गरेका छन् ।

प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. १ र क्षेत्र नं. २ मा उम्मेदवारी दिएका मुख्य दलहरुले आजबाट घरदैलो कार्यक्रम सुरु गरेका हुन् । आज बिहान नेकपा (एमाले), नेपाली कांगे्रस, नेमकिपा, राप्रपा, रास्वपालगायतका दलहरुले निर्वाचनका दुवै क्षेत्रमा घरदैलो अभियान सुरु गरिसकेका छन् भने अन्य दल र स्वतन्त्र उम्मेदवारले पनि प्रचारप्रसार तीव्र पारेका छन् ।

भक्तपुर क्षेत्र नं. २ मा चुनावी सरगर्मी बढेको छ । मुख्य प्रतिस्पर्धी दलहरुलाई चुनावी माहोलले तताएको छ । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु जनता माझ पुगिरहेका छन् भने विकासका एजेण्डा बोकेर उम्मेदवारहरु घरघर टोलटोल पुग्न थालेका हुन् ।

भक्तपुर क्षेत्र नं. २ यस वर्षको निर्वाचनमा निकै चासोको क्षेत्र बनेको छ । नेकपा (एमाले)का सचिव महेश बस्नेतको उम्मेदवारी रहेको यस क्षेत्रको निर्वाचन के हुन्छ भन्नेमा मतदाताबीच अड्कलबाजी गर्न व्यस्त छन् । बस्नेतले यस क्षेत्रबाट लगातार चौथो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

यसअघि विसं २०७० को निर्वाचनमा रामेश्वर ढुङ्गेलसँग पराजित भएका उनी २०७४ सालमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गाना पराजित गरेका थिए । साथै २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापाले २४ हजार २३८ मत ल्याएर निर्वाचित हुँदा एमालेका महेश बस्नेतले भने २३ हजार २७९ मत ल्याएर बस्नेत पराजित भएका थिए ।

यसपटकको निर्वाचनमा बस्नेतसँगै नेपाली काँग्रेसको तर्फबाट पत्रकार कबिर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पत्रकार राजीव खत्री र नेकपाका दिपशिखा प्रतिष्पर्धामा छन् ।

यस क्षेत्रमा २०४८ सालमा नेपाली काँग्रेसका जगन्नाथ आचार्य, २०५१ सालमा नेमकिपाका आशाकाजी बासुकला, २०५६ सालमा कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ सालमा नेमकिपाका सुनिल प्रजापति, २०७० सालमा नेपाली काँग्रेसका रामेश्वर ढुंगेल, २०७४ सालमा नेकपा एमालेका महेश बस्नेतले र २०७९ सालमा नेपाली कांग्रेसका दूर्लभ थापाले निर्वाचित भएका थिए ।

एमालेका बस्नेत सम्बृद्ध र सुखी भक्तपुरको मुद्दा लिएर अगाडि बढेका छन् । नेपाली कांग्रेसका राणा भक्तपुरको सेरोफेरो विकास गर्ने एजेण्डा बोकेर जनतामाझ गएको बताउँछन् । भक्तपुर क्षेत्र नं. २ मा कांग्रेसको बलियो आधार रहेको, यसअघि पनि तीन पटक कांग्रेस विजयी भइरहेको क्षेत्र भएकाले आफ्नो जितको आधार भएको बताए ।

चुनावी प्रचारमा तिव्रगतिमा लाग्दै टोलटोल मतदातामाझ पुग्नु भएका रास्वपाका उम्मेदवार एवं पत्रकार राजिव खत्री मतदाताले यस पटक नयाँलाई अवसर दिन माग गरेका छन् । उनले भक्तपुरदेखि देशभरको समस्या संसदमा उठाउने र भक्तपुरको विकासमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार भएका रामप्रसाद सापकोटा (दिपशिखा) ले पनि भक्तपुरको विकासलाई पहिलो प्राथमिकतामा राख्ने बताउदै बिभिन्न दलहरुसंगको एकता र मतदाताको विश्वासले यस पटक क्षेत्र नं। २ मा पहिलो पटक आफू निर्वाचित हने दाबी गर्छन् ।

भक्तपुर क्षेत्र नं. २ मा यसपटक नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विक्रम थापा, उज्यालो नेपाल पार्टीबाट जितराम लामा, श्रम संकृति पार्टी अर्जुन बासु, त्रीमुल नेपालबाट राकेश श्रेष्ठ, नेपाल जनसेवा पार्टी जानुका पाठक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पत्रकार जन्मदेव जैसी, नेपाल कम्युनिस्ट पाटी संयुक्त लोककृष्ण दाहाल, जनता समाजवादी पार्टी नेपालबाट नवीन श्रेष्ठ, नेकपा माओवादीबाट प्रकाशराज ढुङ्गेल, मंगोल नेशनल अर्गनाइजेसनबाट पेम्वा घले, नेपालका लागि नेपाली पार्टीबाट राजेश बाडे पनि मतदाताको घरदैलोमागएर मत माग्न थालेका छन् ।

यस क्षेत्रबाट सविन महत, प्रदिपकुमार रूपाखेती, आनन्द कार्की, मधु प्रकाश साहुखल, श्यामकृष्ण धुख्वा, लक्ष्मि बास्तोला पौडेल, बालकृष्ण थापा, ओमकृष्ण कुटु, नवीनकुमार महत, साजन ढकाल, सुवर्ण थापा, रेणु श्रेष्ठ, अर्चना भट्टराई, अनिता भट्टराईले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार र लागूऔषध लुकाई–छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आइतबार छापा मारेको थियो ।

सो अवसरमा प्रहरीले उनका २२ वर्षीय छोरा सौगात थापा मगरले घरपछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाई–छिपाई राखेको ९८९ एमएमको पेस्तोल एक थान र गोली ४० राउन्ड बरामद गरेको हो ।

घटनामा संलग्न सौगात भने फारर रहेको प्रवक्ता खड्काले जानकारी दिए । लुटपाटमा संलग्न राजवंशीलाई मुलुकी अपराधसंहिता २०७४ बमोजिम कारबाही हुने उनको भनाइ छ ।

परराष्ट्रमन्त्री बङ्गलादेश भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्ने भएको छ ।

परराष्ट्रमन्त्रीको भ्रमणले नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी सहकार्यका सम्बन्धहरूलाई अझ प्रगाढ बनाउने नेपालको प्रतिबद्धता झल्काएको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर जनाएको छ ।

परराष्ट्रमन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयलयका वरिष्ठ अधिकारी रहनेछन् । उनी यही फागुन ७ गते स्वदेश फर्किने कार्यक्रम छ ।

मुगुमा यस्तो छ चुनावी चहलपहल, कसले मार्ला बाजी ?

मुगु। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर मुगुमा चुनावी चहलपहल बढेको छ । विशेषगरी राजनीतिक दलहरुबीच यहाँ कडा प्रतिस्पर्धा हुने चर्चा छ ।

यस क्षेत्रबाट निर्वाचनमा नेपाली कांग्रेसबाट खडगबहादुर शाही, नेकपा (एमाले) बाट पूर्णहादुर रोकाया, नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुवन टमाटा, नेकपा (माओबादी)का रङ्गवीर परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलबहादुर मल्ल र प्रगतिशील लोकतान्त्रिक पार्टीका एटन मल्ल प्रतिस्पर्धामा छन् ।

विसं २०७४ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा पराजित कांग्रेसका शाही अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धामा छन् । एमालेका रोकाया निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख पनि छन् । नेपाली कम्युनिष्ट पार्टीका शाही भने २०५६ सालको संंसदीय निर्वाचनमा विजयी भएका थिए । उनी विसं २०७४ को प्रदेशसभा सदस्यमा निर्वाचित भएर कर्णाली प्रदेश सरकारमा कृषि तथा सहकारीमन्त्रीसमेत भएसकेका छन् ।

विसं २०७९ मा भएको निर्वाचनमा समानुपातिकतर्फ एमाले पहिलो हुँदा कांग्रेस दोस्रो भएको थियो । साथै तेस्रोमा माआवादी केन्द्र र चौथोमा नेकपा (एकीकृत समाजवादी) पार्टी भएका थिए । तत्कालीन समयमा एमालेले आठ हजार ६४३, नेपाली कांग्रेसले आठ हजार ४४०, माओवादी केन्द्रले चार हजार ६५० र एकीकृत समाजवादिले दुई हजार ६१२ मत प्राप्त गरेका थिए । अहिले माओवादी केन्द्र र एकीकृत समाजबादी पार्टीबीच एकता भएर नेकपा भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमाटा आफूलाई नयाँ अनुहारका रुपमा प्रस्तुत गरेका छन्भने अन्य पार्टीका नेताले पनि आफूहरुको जित सुनिश्चित भएको दाबी गर्दै मत मागिरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार मुगुमा ३६ हजार ३१ जना मतदाता छन् । चारवटा स्थानीय तह रहेको मुगुमा ६७ मतदानस्थल र ७९ मतदान केन्द्र तोकिएका छन् । विसं २०७९ को निर्वाचनमा यहाँ ७४ प्रतिशतले मतदान गरेका थिए । विसं २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फको नेकपा (माओवादी केन्द्र), एकीकत समाजवादी र नेपाली कांग्रेसले गठबन्धन गर्दा कांंग्रेसका ऐनबहादुर शाहीले १४ हजार ७०६ मत प्राप्त गरेका थिए भने एमालेका उम्मेदवार राजबहादुर कार्कीले १० हजार ७१० मत ल्याएका थिए।

मतपत्रसहितका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा पठाइँदै

सुदूरपश्चिम – आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज कैलालीका लागि मतपत्रसहितका निर्वाचन सामग्री आइपुगेको छ ।

प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रका लागि समानुपातिक निर्वाचनतर्फको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फको मतपत्रसहितका निर्वाचन सामग्री आइपुगेको जानकारी दिए ।

उनले भने, “भोलि मङ्गलबारसम्म सबै निर्वाचन क्षेत्रमा मतपत्रसहितको सामग्री पु¥याउने गरी काम धमाधम भइरहेको छ ।” कैलालीको निर्वाचन क्षेत्र–१ मा एक लाख आठ हजार ४९१, क्षेत्र–२ मा एक लाख सात हजार ७५७, क्षेत्र–३ मा एक लाख नौ हजार १२२, क्षेत्र–४ मा एक लाख १५ हजार १४३ र क्षेत्र–५ मा एक लाख १० हजार ५३९ गरी कूल पाँच लाख ५१ हजार ५२ मतदाता छन् ।

निर्वाचनका लागि जम्मा ५१ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्नेमा ३७ प्रकारका सामग्री प्रदेश निर्वाचन कार्यालयबाट र बाँकी १४ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट आपूर्ति गर्ने व्यवस्था गरिएको छ । फागुन ६ गतेदेखि मतदान अधिकृतका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदैछ ।

निर्वाचनको तयारीको क्रममा सोमबारदेखि सुदूरपश्चिम प्रदेशभरिका सबै वडामा ७३४ मतदाता शिक्षा स्वयंसेवी परिचालन गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । खटिएका मतदाता शिक्षा स्वयंसेवीले विद्यालयका साथै घरदैलो कार्यक्रममार्फत मतदाता शिक्षा दिन थालेका छन् । यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सदूरपश्चिम प्रदेशमा राजनीतिक दलका र स्वतन्त्र गरी २०६ जना चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचनलाई पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्णः मुख्यमन्त्री यादव

महेन्द्रनगर (धनुषा)। मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमितिद्वारा जनकपुरमा आयोजित ‘निर्वाचन विशेष अभियान २०८२’ मधेस प्रदेशस्तरीय रणनीतिक बैठकलाई आज सम्बोधन गर्दै नेपाली कांग्रेसका मधेस प्रदेश सभापति समेत रहेका यादवले लोकतन्त्र सुदृढीकरणका लागि तथ्यपरक, सन्तुलित र जिम्मेवार पत्रकारितामा जोड दिँदै गलत सूचना र भ्रामक प्रचारप्रति सचेत रहन सञ्चारकर्मीहरूलाई आग्रह गरे ।

उनले मधेस प्रदेशमा विकास, सुशासन र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहो¥याउँदै जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै निर्वाचनका बेला सत्य र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

उनले पत्रकारहरूको पेसागत सुरक्षा र हकहित संरक्षणमा सङ्गठन प्रतिबद्ध रहेको धारणा व्यक्त गरे । “प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो, त्यसको रक्षा गर्दै जनतालाई सही सूचना दिनु हाम्रो दायित्व हो”, उनले भने ।

बैठकमा प्रदेशका सञ्चारकर्मी, युनियनका पदाधिकारी तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

पर्यटन बोर्ड र जापानको वाकायामाबीच दिगो पर्यटन सहकार्यमा समझदारी

काठमाडौ । नेपाल र जापानबीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चरबीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ ।

आज भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त प्रवद्र्धन, ज्ञान आदान–प्रदान तथा दिगो पर्यटन विकासका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले हस्ताक्षर गरे ।

यस समझदारीले संयुक्त पर्यटन प्रवद्र्धन तथा मार्केटिङ, पर्यटनसम्बन्धी सूचना र उत्कृष्ट अभ्यासको आदानप्रदान, विज्ञ तथा अधिकारीहरूको भ्रमण आदानप्रदान, सञ्चार तथा जनसम्पर्क सहकार्य र सांस्कृतिक रूपमा सम्मानजनक तथा दिगो पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिने जनाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले जापानदेखि गभर्नर नेतृत्वको टोलीको नेपाल भ्रमण स्वागतयोग्य कदम रहेको उल्लेख गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षका सन्दर्भमा भएको यो सहकार्य दिगो र उत्तरदायी पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने धारणा व्यक्त गरे । “दुवै देशले सांस्कृतिक विषयलाई उच्च महत्व दिएका छन् । ७० वर्षे कूटनीतिक सम्बन्धको सन्दर्भमा भएको यो सहकार्यले दिगो पर्यटनलाई बलियो आधार प्रदान गर्नेछ”, उनले भने ।

त्यसैगरी मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपाल–जापानबीचको दीर्घकालीन सम्बन्ध स्मरण गर्दै यस समझदारीलाई पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक कदमका रूपमा व्याख्या गरे । “नेपाल र जापानबीच लामो समयदेखिको सम्बन्ध छ । हिमालयको देश तथा भगवान् बुद्धको जन्मस्थल नेपालका लागि बजार विविधीकरणका लागि यो समझदारी यो उपयुक्त समय हो”, उनले भने ।

वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले इतिहास र संस्कृतिले समृद्ध नेपालसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । “इतिहास र संस्कृतिले समृद्ध नेपालसँग समझदारी गर्न पाउँदा हामी खुसी छौँ । यस समझदारीले नेपाल र वाकायामाबीच पर्यटन प्रवर्द्धन थप सुदृढ हुने विश्वास लिएको छु”, उनले भने ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जापानलाई नेपालको महत्वपूर्ण पर्यटन स्रोत बजारमध्ये एकका रूपमा उल्लेख गर्दै पछिल्लो समय जापानी पर्यटक आगमनमा करिब आठ प्रतिशत वृद्धि भएको जानकारी दिए ।

समझदारी हस्ताक्षरको मितिदेखि लागू भई आपसी समझदारीका आधारमा कार्यान्वयन गरिने उल्लेख गरिएको छ । सहकार्यसम्बन्धी गतिविधिको समन्वयका लागि दुवै पक्षले सम्पर्क विन्दु तोक्ने तथा खर्च आ–आफ्नै रूपमा व्यहोर्ने व्यवस्था गरिएको छ । कानुनी रूपमा बाध्यकारी नभए पनि पारस्परिक सद्भाव र विश्वासमा आधारित यो समझदारीले सात दशक लामो नेपाल–जापान सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

लाफा दाइको २८ वर्षे आर्ट यात्राः आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल

खोटाङ, ४ फागुन । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका भोजबहादुर थापामगर ‘लाफा दाइ’ले आर्ट (चित्रकला) व्यवसाय सुरु गरेको २८ वर्ष पूरा भयो । कलाकार भोजबहादुर आफ्नो नामले भन्दा कामले परिचित भएका छन् । उनको आर्ट फर्मको नाम हो ‘लाफा आर्ट’ । उनी आफ्नो वास्तविक नाम (भोजबहादुर)ले भन्दा पनि लाफा दाइ भनेर चिनिने गरेका छन् । लाफा भनेको मगर भाषामा साथी हो ।

स्नातकसम्मको अध्ययन पूरा गरेर जिल्ला फर्किएका भोजबहादुरले विसं २०५४ मा दिक्तेल बजारमा आर्ट व्यवसाय सुरु गरेका थिए । आधिकारिक रुपमा ‘लाफा आर्ट’ फर्म दर्ता गरेर व्यवसाय सुरु गरेका भोजबहादुरको अहिले मासिक कमाई ८० हजारदेखि एक लाखसम्म हुने गरेको जनाइएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित सल्लेसीटोलका गेहकुमार सैँजूको घरमा एउटा कोठा भाडामा लिएर आर्ट व्यवसाय सुरु गरेका भोजबहादुरले अहिले त्यसैको कमाईबाट आफ्नै घरसमेत किन्न सफल भएका छन् । केही थान कुची र रङको डब्बा राखेर व्यवसाय सुरु गरेका भोजबहादुरको अहिले फर्ममा मात्रै चार करोड बढी लगानी पुगेको भोजबहादुरले जानकारी दिएका छन् ।

डुम्रेधारापानी निवासी पदमबहादुर र शुभद्रमायाँ थापामगरका कान्छो सन्तानका रुपमा विसं २०३४ पुस १५ गते जन्मिएका भोजबहादुरले सामाजिक शास्त्रमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । विसं २०६१ सालमा साकेला गाउँपालिका–२ रतन्छाकी रेनुका राईसँग प्रेमविवाह गरेका भोजबहादुरको दुई छोरी र एक छोरा छन् ।

सुरुमा ब्यानर तथा भित्ते लेखन गर्नुभएका भोजबहादुरको आर्ट फर्ममा अहिले आर्टसम्बन्धीका सम्पूर्ण काम, शिलालेख, ताम्रपत्र, टुडी बोर्ड, लाइभ बोर्ड, थ्रिडी बोर्ड, डिजिटल बोर्ड, निओन बोर्ड, टी–सर्ट तथा छापहरु प्रिन्टलगायत सबै सेवा उपलब्ध छ । बिहानदेखि राति अबेरसम्म सेवाग्राहीको भीड लाग्ने भोजबहादुरको आर्ट फर्ममा उनकी श्रीमती रेनुकाले भरपुर सहयोग गर्दै आएका छन् ।

आर्ट व्यवसायबाट नाम र दाम दुवै कमाएका भोजबहादुरले विभिन्न सङ्घ÷संस्थाबाट सम्मान प्राप्त गरिसकेका छन् ।

ललितकला सङ्गम विराटनगर र रोटरी क्लबले विसं २०५८ तथा खोटाङ वाङ्मय कला प्रतिष्ठानले विसं २०६० मा ताम्रपत्रसहित भोजबहादुरलाई सम्मान गरेको हो ।

सरकारी कार्यालय तथा सार्वजनिकस्थलहरुमा झुन्डिएका बोर्ड तथा ब्यानरहरु सबैमा लाफा आर्ट लेखिएका भेटिन्छन् । आर्टसँगै प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका भोजबहादुरले कला भरेका आर्टका सामग्री बाहिरी जिल्लाहरु धरान, विराटनगर, राजधानी काठमाडौँलगायत सहरहरुमा समेत निर्यात हुने गरेको छ ।

आर्ट व्यवसायबाटै छोराछोरीको पठनपाठन तथा घरव्यवहार चलाउनाका साथै बचत गर्दै आएका भोजबहादुर दम्पतीका जेठी छोरी सीमा थापामगर भारतको बैङ्लोरमा नर्सिङ गर्दै छन्भने कान्छी सन्ध्या थापामगर काठमाडौँको रिलायन्स कलेजमा विज्ञान विषय लिएर कक्षा १२ तथा छोरा सस्टिन थापामगर दिक्तेल इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययन गर्दैछन् । धनकुटा बहुमुखी क्याम्पसबाट विसं २०५३ मा स्नातक उत्तीर्ण गरेका भोजबहादुरले एसएलसीसम्मको अध्ययन गाउँकै देउराली माध्यमिक विद्यालय डुम्रेधारापानीमा गरेका हुन् ।

सानै उमेरदेखि चित्रकलामा रुचि राख्नुहुने भोजबहादुर बिना प्रशिक्षण आर्ट पेसामा व्यावसायिक बनेको बताइएको छ । “मेरो पढाइ एकातिर भयो । व्यवसाय अर्कोतिर । तरै पनि यही व्यवसायबाट नाम र दाम दुवै कमाएको छु”, उनले भने, “व्यवसाय सफल हुनुमा रेणुको ठूलो हात छ । सेवाग्राहीको चाप भएको समयमा दुई जना (श्रीमान्÷श्रीमती) मिलेर सेवा दिइरहेका छौँ । सेवाग्रही पनि सन्तुष्ट हुनुहुन्छ ।”

सेवाग्राहीले जिल्लामा हुने मेला÷महोत्सव तथा आमसभाजस्ता सार्वजनिक कार्यक्रमका लागि आवश्यक ब्यानर, सजावटका सामग्रीलगायत सबै भोजबहादुरकै आर्ट फर्म बनाएर लाने गरेका छन् । दिक्तेलस्थित शान्तिटोलमा सञ्चालित लाफा आर्ट फर्मबाट उत्पादित सामग्री आकर्षक र गुणस्तरीय हुने सेवाग्राहीले बताउने गरेका छन् ।

आर्ट व्यवसायमा लामो समयदेखि निरन्तर जमिरहेका भोजबहादुरलाई सेवाग्राहीहरुले जिल्लामा निर्माण भएका पार्क (उद्यान) तथा पाटीपौवामा समेत लगेर कला भर्न लगाउने गरेका छन् । भोजबहादुरले गरेको आर्ट सुन्दर, सफा र दीर्घकालीन हुने उनका सेवाग्राहीहरुले बताउँदै आएका छन् ।

भर्खरै साकेला गाउँपालिकाले निर्माण गरेको साकेला पार्कमा भोजबहादुरले नै आर्ट गरेका छन् । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित गाउँपालिकाको लगानीमा निर्माण गरिएको साकेला पार्कमा भोजबहादुरले विभिन्न जातजातिको मौलिक पहिचान झल्कने आकर्षक चित्रहरु कोरेका छन् ।

आर्ट व्यवसायसँगै प्रशिक्षको भूमिका निर्वाह गर्दै आएका भोजबहादुरका चेलाहरुले जिल्लाका विभिन्न ठाउँमा आ–आफ्नो व्यवसाय सुरु गरेका छन् । आफूले सिकाएका चेलाहरुले आफ्नो ठाउँमा फर्किएर आर्ट व्यवसायलाई व्यावसायिक रुप दिएकामा भोजबहादुर खुसी छन् । दश स्थानीय तह रहेको जिल्लामा भोजबहादुरसँगै किशोर राई र लक्ष्मण राईले आर्ट व्यवसाय गर्दै आएका छन् । किशोरले ‘रानोहँछा आर्ट’ र लक्ष्मणले ‘दुमी आर्ट’दर्ता गरेर व्यवसाय गरेका हुन् ।

गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता

वासिङ्टन, ४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नव गठित शान्ति बोर्डले गाजाका लागि मानवीय र पुनर्निर्माण सहायता स्वरुप पाँच अर्व डलर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत ट्रम्पले सन् २०२६ फेब्रुअरी – १९, मा, शान्ति बोर्डका सदस्यहरूमा सामेल हुने र जहाँ सदस्य राष्ट्रहरूले मानवीय प्रयास र गाजाको पुनर्निर्माणलाई सहयोगको प्रतिज्ञा गरेको घोषणा गर्ने जनाएका छन् । गाजामा सुरक्षा कायम गर्न अन्तर्राष्ट्रिय स्थिरीकरण बल (आइएसएफ) र स्थानीय प्रहरीमा हजारौं कर्मचारी नियुक्त गरिएकोसमेत उनले प्रष्ट पारेका छन् ।

आसन्न बैठकले शान्ति बोर्डको पहिलो आधिकारिकतालाई प्रतिविम्वित गर्ने जनाइएको छ । भने अमेरिकी राष्ट्रपति ट्रम्पले यो पहल गाजाको भविष्यको निर्णायक बिन्दु भएको उल्लेख गरेका छन् ।

न्युयोर्क टाइम्सले यस अघि अमेरिकाले गाजामा शान्ति बोर्ड स्थापनाको परियोजनाहरूका लागि एक अर्ब डलर भन्दा बढी रकम दिने वाचा गरेको जनाएको थियो ।

ह्वाइट हाउसका एक अधिकारीले आगामी दिनमा थप प्रतिज्ञाहरू अपेक्षा गरेको जनाउदै गत सेप्टेम्बरमा घोषणा गरिएको ट्रम्पको २०–बुदे शान्ति योजनाले युद्धविरामको लागि मार्ग प्रशस्त गर्ने र शान्ति बोर्डले कोष व्यवस्थापन गर्ने जनाएका छन् ।

स्रोतका अनुसार वित्तीय प्रतिज्ञाहरूको ठुलो हिस्सा गाजामा मानवीय परियोजनाहरूका साथै आइएसएफका लागि समर्थनका लागि तोकिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जनवरी– २२ मा सुरु गरिएको शान्ति बोर्डमा अहिले सम्म २० भन्दा बढी देश सामेल भइसकेका छन् भने बोर्डको स्थापना चार्टर स्विजरल्याण्डको डाभोसमा विश्व आर्थिक फोरमको एक समारोहमा हस्ताक्षर गरिएको थियो ।

‘महिला, ज्येष्ठ नागरिक र अशक्त मतदातालाई सहज वातावरण बनाऔँ’ – श्रद्धा श्रेष्ठ

काठमाडौँ, ३ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आसन्न निर्वाचनमा महिला, ज्येष्ठ नागरिक र शारीरिक रूपले अशक्त मतदातालाई सहजतापूर्वक मतदान गर्ने वातावरण मिलाउन आवश्यक रहेको बताएकी छिन् ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)ले आज यहाँ आयोजना गरेको ‘समाज रूपान्तरणका लागि नागरिक समाजको सुदृढीकरण’ विषयक छलफलमा उनले निर्वाचनलाई महिला तथा अशक्त नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिएकी हुन् ।

मन्त्री श्रेष्ठले आधा जनसङ्ख्या भएको महिला मतदातालाई सहज रूपमा मत हाल्ने अवस्था सिर्जना गराउन सबैले भूमिका खेल्नुपर्ने बताइन् । उनले भनिन्, “महिला र ज्येष्ठ नागरिकले सहज रूपमा मत हाल्ने वातावरण मिलाउन हामी सबैले प्रयत्न गर्नुपर्छ । साथै निर्वाचनमा बालबालिकालाई प्रयोग गर्नु कानुनविपरीत भएकाले त्यस्ता घटनाको नियमन जरूरी छ ।”

मन्त्री श्रेष्ठले निर्वाचनकै लागि भनेर विभिन्न १० वटा मातृभाषामा सार्वजनिक सूचना तयार गरेर प्रसारण भइरहेको जानकारी दिइन् ।

अकोराबका निर्देशक शिरोमणि ढुङ्गानाले आगामी निर्वाचनमा जनस्तरसम्म पुगेर निर्वाचन शिक्षा दिन आवश्यक रहेको बताउँदै अकोराबले मतदाताको पहुँच विकास गर्न आफ्नो भूमिका निर्वाह गर्दै आएको बताए ।

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) का महासचिव राजु घिमिरेले विगतको निर्वाचनमा पनि बालबालिकालाई राजनीतिक पार्टीले चुनाव प्रचारमा प्रयोग गरेर कानुनविपरीत काम गर्दै आएको अनुभव सुनाउदै हालको चुनावमा समेत यस्ता गतिविधि भइरहेको बताए । उनले अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालबालिकालाई चुनावमा प्रयोग गरिएकाले निर्वाचन आयोगमा २१४ उजुरी परेको जानकारी दिँदै यसपटक ‘बालबालिका प्रयोग नगरौँ, बालबालिका शान्ति क्षेत्र हुन्’ भन्दै सन्देशमूलक अभियान सञ्चालिन गरिएको बताए ।

प्रयत्न नेपालका अध्यक्ष सरिता लामिछाने दृष्टिविहीन र शारीरिक रूपमा अशक्त मतदाताले सुरक्षित साथ मतदान गर्ने अवस्था बनाउन लाग्नुपर्ने बताइन् । निर्वाचन आयोगलाई मतदानस्थलमा सहज पहुँच बढाउन पहलका लागि उनले आग्रह गरिन् ।

पर्वतमा आठवर्षमा २१ मोटरवेल पुल बन्यो

पर्वत । पर्वत जिल्लामा पछिल्लो आठ वर्षको अवधिमा २१ वटा मोटरेबल पुलको निर्माण सम्पन्न भएको छ। जिल्लाका सबै ६१ वटा वडा, टोल र बस्तीसम्म सडक सञ्जाल पुगेपछि ती सडकलाई बाह्रैमास सञ्चालन गर्ने उद्देश्यले पुल निर्माणको कामलाई तीव्रता दिइएको हो।

२१० किलोमिटर ग्रामीण सडक कालोपत्र भएको यस जिल्लामा मध्यपहाडी लोकमार्गमा दुई र कालीगण्डकी करिडोरमा तीनवटा पुल बनेका छन्। पछिल्लो समय भएका संसदीय, प्रदेश र स्थानीय तहको निर्वाचनपछिको अवधिमा भौतिक पूर्वाधारतर्फ पर्वतले उल्लेखनीय प्रगति गरेको छ।

जिल्लाका दुई ठूला नदी कालीगण्डकी र मोदीखोलामा लामा पुलहरू निर्माण भएका छन् भने ग्रामीण क्षेत्रका साना खोलाहरूमा पनि छोटो दुरीका पुल बनेका छन्। निर्माण सम्पन्न भएका मोदीवेणीस्थित मोदी खोला, भूकताङलेको भुरुङदीखोला, तिलाहारको रतीखोला र दुर्लुङ–बाजुङ जोड्ने आम्बोटखोला लगायतका पुलमा अहिले नियमित सवारी सञ्चालन भइरहेका छन्।

यसैगरी दक्षिण पर्वतको पैँयू गाउँपालिकामा पर्ने मर्दि खोला, सेतीखोला, रिठेखोला र गेडीखोलासँगै फलेवास नगरपालिकाको चिर्दीखोला र जैमिनीघाट जोड्ने कालीगण्डकी पुल पनि यसै अवधिमा सम्पन्न भएका हुन्। पूर्वाधार विकास कार्यालयका अनुसार रानीपानी–इमिचौरदेखि गुल्मी जोड्ने कालीगण्डकी पुल र मोदी गाउँपालिकाको भुकदेखि कास्की जोड्ने भुरुङदीखोला पुलले पनि यस क्षेत्रको यातायातमा सहजता ल्याएका छन्।

जिल्लामा अझै आधा दर्जन पुलको माग भइरहेको छ। ती पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भए पनि बजेट सुनिश्चित हुन बाँकी छ। मोदीखोलाको गाडतारा र झाप्रे बगरमा पुलको सम्भाव्यता अध्ययन सकिएको छ भने कालीगण्डकीका दुई स्थानमा पुल निर्माणका लागि योजना प्रक्रियामा रहेका छन्।

हाल मल्याङ्दीखोला र पराधिस्थित मोदीखोलामा दुईवटा पुल निर्माणाधीन अवस्थामा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिएका छन्।

महाशिवरात्रिमा रातभर जाग्राम: पशुपतिदेखि नागेश्वरसम्म भक्तजनको अभूतपूर्व भीड

काठमाडौँ । चिसो स्याँठ र कठ्याङ्ग्रिँदो जाडोको प्रवाह नगरी हजारौँ भक्तजनले आइतबार रातभर पशुपतिनाथसहित देशभरका शिवालयमा महाशिवरात्रि मनाएका छन्। बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा आइतबार साँझदेखि सुरु भएको भक्तजनको भीड सोमबार बिहानसम्मै कायमै रह्यो।

भक्तजनको चाप अत्यधिक भएपछि पशुपति क्षेत्र विकास कोषले यो वर्ष रातभर मन्दिरको मूलढोका खुला राखेको थियो। पशुपतिनाथमा आइतबार सूर्यास्तपछि सुरु भएको महाशिवरात्रिको चार प्रहरको पूजा आज बिहान ६ बजे सम्पन्न भयो।

विगतका वर्षहरूमा राति १० बजेपछि मूलढोका बन्द गरेर चार प्रहर पूजा गर्ने गरिए पनि यसपालि राति अबेरसम्म भक्तजन लाइनमा बसेकाले ढोका बन्द नगरिएको कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिइन्। पशुपति क्षेत्रमा यस वर्ष लाखौँ भक्तजनले पूजा, आराधना र दर्शन गरेका छन्।

पशुपतिनाथसँगै गोकर्णेश्वर महादेव मन्दिरमा पनि आइतबार रातिसम्म भक्तजनको उत्तिकै भीड लाग्यो। पशुपतिमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा हुने शास्त्रीय मान्यताका कारण धेरै भक्तजन दुवै मन्दिर पुग्ने गर्छन्। भक्तजनको भीडका कारण जम्मा भएको फोहोरलाई आज बिहान वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा सफाइ गरिँदैछ।

त्यस्तै, गोठाटारस्थित नागेश्वर महादेव मन्दिरमा पनि आइतबार बिहानैदेखि लागेको भक्तजनको लाम रातिसम्मै उस्तै थियो। नागेश्वरमा ६ जना ब्राह्मणद्वारा चारै प्रहर पूजाआराधना र रुद्राभिषेक सम्पन्न गरियो।

महाशिवरात्रिमा बाणेश्वर र नागेश्वरको दर्शन गर्नाले मुद्दामामिलाबाट छुटकारा पाउनुका साथै श्री प्राप्ति हुने धार्मिक विश्वास रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग रायमाझीले बताए। राजधानीका अन्य शिवालयहरूमा पनि मध्यरातसम्मै भक्तजनको चहलपहल देखिएको थियो।

जेनजी युवापुस्ताबाट मलाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा आइरहेको छ – प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय जेनजी युवापुस्ताबाट देशको सहि नेतृत्व गर्न र आन्दोनमार्फत उठाएका माग सम्बोधन गर्नका लागि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा आइरहेको बताएका छन् ।

आइतबार चुनावी अभियानअन्तर्गत पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट घरदैलो कार्यक्रमका क्रममा उनले यस्तो बताएका हुन् । उनले जेनजीका मुख्य नेताहरूले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुनेरहेछ भनेको पनि बताए ।

उनले चीन र भियतनामको मोडल पढेर त्यसबाट शिक्षा लिने तर नेपालको समाजवाद नेपाली समुदायमा आधारित मौलिक खालको हुने बताएका हुन् ।

उनले रुकुम पूर्वलाई समाजवादको उर्वर भूमि भएको उल्लेख गर्दै ‘नेपालको समुदायमा आधारित समाजवाद’ निर्माणको आधार यही क्षेत्र बन्ने उल्लेख गरे । उनले भने ‘चीन र भियतनामको मोडल पढ्यौं, तर नेपालको समाजवाद नेपाली समुदायमा आधारित मौलिक खालको हुन्छ ।

निर्वाचनमा कुनै पनि धर्मको नाममा प्रचारप्रसार नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि धर्मको नाममा प्रचारप्रसार नगर्न नगराउन र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार नगर्न वा मत नमाग्न निर्देशन जारी गरेको छ ।

आयोगले आइतबार जारी गरेको ६४ बुँदे निर्देशनमा निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा बढीमा दुई वटा दुई पाङ्ग्रे वा तीन पाङ्ग्रे वा चार पाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन र त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोगबाहेक अन्य सवारीसाधन र घोडा प्रयोग नगर्न निर्देशन दिएको छ ।

कुनै दल वा उम्मेदवारले अनुमति लिएको सवारीसाधन प्रयोग गरी मतदाता ओसारपसार नगर्न पनि निर्देशन जारी गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ एम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटबाहेक प्रसारण गराउन नहुने आयोगको निर्देशन छ । राजनीतिक दल वा उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा चार कोलम (पच्चीस सेन्टिमिटर उचाई) सम्मको आकारमा कुनै एउटा पत्रिकामा भन्दा बढी प्रचार सामग्री छपाउन नहुने निर्देशनमा उल्लेख छ ।

प्रचारप्रसार निषेध अवधि सुरू हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनु पर्ने, प्रचारप्रसार निषेध अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, प्रचारप्रसार निषेध अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर वा प्रतिक्रिया गर्न वा गराउन नहुने निर्देशन दिइएको प्रवक्ता भट्टराईले बताए ।

मतदानको दिन मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा ब्याज लगाउन वा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोसाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने निर्देशन दिइएको छ । सभा, जुलुस, र्‍याली वा घरदैलो जस्ता निर्वाचन प्रचारप्रसारका कार्यक्रम सकिएपश्चात् सम्बन्धित दल तथा उम्मेदवारले प्रयोग गरेका सामग्रीहरू अनिवार्य रूपमा सङ्कलन गरी वातावरणमैत्री तवरले उचित व्यवस्थापन गर्नुपर्ने आयोगले जनाएको छ ।

निर्वाचन प्रचारप्रसार, सभा जुलुस वा र्‍याली वा घरदैलो कार्यक्रम गर्दा प्लास्टिक वा पोलिथिन जस्ता अजैविक सामाग्रीको प्रयोग गर्न नहुने, हरित निर्वाचनलाई सहयोग पुग्ने गरी वातावरणमैत्री कार्यक्रमहरू सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्ने, निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि गठित विभिन्न समितिमा अनिवार्य प्रतिनिधित्व गर्ने साथै निर्वाचन व्यवस्थापनको सिलसिलामा हुने सर्वदलीय वा सर्वपक्षीय बैठकमा आमन्त्रण गरिएका बखत सहभागी हुन पनि आयोगले निर्देशन दिएको छ ।

निर्वाचनसम्बन्धी प्रचलित कानुनी व्यवस्था एवं निर्वाचन आचारसंहिता, २०८२ को उल्लङ्घन गरेको पाइएमा लिखित वा मौखिक वा सामाजिक सञ्जाल वा विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय वा मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन कार्यालय वा स्थानीय प्रशासन वा निर्वाचन आयोगमा उजुरी वा सूचना दिई निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सहयोग र सहजीकरण गर्न पनि आयोगले ध्यानाकर्षण गराएको छ ।

राजनीतिक दलहरूले आफ्नो प्रचारप्रसार गर्दा निर्वाचन आचारसंहिता, २०८२ एवं प्रचलित निर्वाचन कानुनमा नागरिक तथा मतदाताले पालना गर्नुपर्ने भनी उल्लेख भएका विषयबारे जानकारी गराई जनस्तरबाटै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् भयरहित निर्वाचनको वातावरण तयार गर्न सहयोग गर्न र फागुन २१ गते हुने निर्वाचनका लागि ६४ वटा बुँदामा लेखिएका विषय सम्पादन गर्न गराउन सबै राजनीतिक दल र दलका उम्मेदवारलाई समेत आयोगले अनुरोध गरेको छ ।

आइसिसी टि ट्वान्टी विश्वकप : आज तीन खेल हुँदै

काठमाडौं । आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत सोमबार तीन खेल हुँदैछन् । जसमा आज पहिलो खेलमा समूह ‘डी’ बाट अफगानिस्तान र यूएईले प्रतिस्पर्धा गर्दैछ भने दोस्रो खेलमा समूह ‘सी’का इंग्ल्यान्ड र इटाली भिड्दैछन् । यसैगरी तेस्रो खेलमा सोमबार (आज) साँझ अस्ट्रेलिया र श्रीलंका भिड्नेछन् ।

भारतको दिल्लीमा हुने अफगानिस्तान र यूएईको खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । यो विश्वपमा अफगानिस्तान जितबिहीन छ भने यूएईले दुई अंक जोडेको छ । समूह ‘डी’मा अफगानिस्तान अंकबिहीन अवस्थामा तालिकाको चौथो स्थानमा छ भने दुई अंक जोडेको यूएई तेस्रो स्थानमा छ ।

दोस्रो खेलमा समूह ‘सी’का इंग्ल्यान्ड र इटालीबीचको यो खेल भारतको इडन गार्डेनमा दिउँसो ३ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ । विश्वकपमा इंग्ल्यान्डले दुई खेलमा जित निकालेर चार अंक जोडेको छ भने इटालीले दुई अंक जोडेको छ । समूह ‘सी’को इंग्ल्यान्डको यो अन्तिम खेल हो । एक खेल गुमाएको इंग्ल्यान्ड समूह चरणको अन्तिम खेलमा जित निकाल्दै सुपर आठ पुग्न चाहन्छ । पहिलो पटक विश्वकप खेलेको इटाली भने दोस्रो जितको खोजीमा हुनेछ ।

यसैगरी अस्ट्रेलिया र श्रीलंकाबीचको यो खेल साँझ ७ बजेर १५ मिनेटमा श्रीलंकामा हुँदैछ । शीर्ष स्थानमा रहेको आयोजक श्रीलंका तेस्रो जितको खोजीमा हुनेछ । एक जित र एक हारको सामना गरेको अस्ट्रेलिया भने दोस्रो जितको खोजीमा छ ।

मलंगवामा इन्जिनियरको गो ली हानी हत्या, सीमा क्षेत्रमा सुरक्षा कडा

रौतहट । सर्लाहीको सदरमुकाम मलंगवामा आइतबार साँझ एक इन्जिनियरको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ । मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत ३६ वर्षीय इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या गरिएको हो ।
सिरहाको सुखीपुर नगरपालिका–६ घर भई मलंगवा–१० देबिटोलमा श्रीमतीसँगै डेरा गरी बस्ने यादवमाथि अज्ञात समूहले छातीमा गोली प्रहार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार प्रारम्भिक अनुसन्धानमा इन्जिनियर यादवलाई फोन गरेर डेरा बाहिर बोलाइएको र लगत्तै गोली प्रहार गरिएको देखिएको छ । गोली लागेर अचेत भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाको कारण अझै खुल्न सकेको छैन । प्रहरीले शंकास्पद क्षेत्रमा ’सिल’ गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ । मृतकको शव अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी अपराधीको खोजी तीव्र बनाइएको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको र आवागमनमा अत्यन्त कडाइ गरिएको उनले जानकारी दिए । सदरमुकामको आवासीय क्षेत्रमै सरकारी कर्मचारीको हत्या भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपरासी। नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ ।आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।

सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको छ । त्यस्तै शनिबार भएको खेलबाट लुम्बिनी प्रदेश र मधेश प्रदेश सेमिफाइलनमा पुगिसकेका छन् भने शुक्रबार भएको खेलबाट आयोजक गैँडाकोट मेयर्स ११ सेमिफाइलनमा पुगिसकेको थियो ।

लुम्बिनीले बागमतीलाई हराउँदै, मधेसले गण्डकीलाई हराउँदै तथा मेयर्स ११ ले कर्णालीलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।आज हुने सेमिफाइनलमा सुदूरपश्चिमले मधेस–प्रदेशको सामना गर्नेछ भने गैँडाकोट मेयर्स ११ ले लुम्बिनी प्रदेशको सामना गर्नेछ । सेमिफाइनल प्रवेशका लागि आइतबार भएको अन्तिम खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ६१ रनले हराउन सफल भयो । टस जितेर बलिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १६० रनको योगफल तयार पारेको थियो ।

१६१ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोशी प्रदेशले १९ दशमलव १ ओभर खेल्दै १० विकेटको क्षतिमा ९९ रन मात्रै बनाउन सफल भयो । सुदूरपश्चिमको सेमिफाइनल यात्रका लागि आशिष तिरुवाले ४७ रनको योगदान दिए । तिरुवाले २८ बलमा चार छक्का र तीन चौका प्रहार गर्दै टिमका लागि अघिल्लो यात्राको ढोका खोल्न महत्वपूर्ण भूमिका खेले । सुदूरपश्चिमका लागि टेक रावतले २४ बलमा दुई छक्का र तीन चौकासहित ३८, कप्तान किरन ठगुन्नाले २४ बलमा अविजित रहँदै दुई छक्का र एक चौकासहित २८, लोकेन्द्र चन्दले २५ बलमा तीन चौकासहित २० रनको योगदान दिए ।

यस खेलमा कोशी प्रदेशका ज्ञानेन्द्र श्रेष्ठले दुई तथा श्रवन किस्कु, रोहन शाह, कृतिक कमातले एक÷एक विकेट लिन सफल भए । जवाफी ब्याटिङमा उत्रिएको कोशी प्रदेशका लागि कृतिक कमातले १७ बलमा एक छक्का र एक चौकासहित १९, गौरव कटवालले २५ बलमा एक छक्का र एक चौकासहित १८ रनको योगफल तयार पारे । त्यस्तै, कप्तान शाकिब हकले १९ बलमा १६, भूपाल दङ्गालले १८ बलमा १३ को योगदान दिँदा अन्य ब्याटरहरुले दोहोरो अङ्क जोड्न सकेनन् ।

कोशीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका कैलाश ऐर, सौर्य श्रेष्ठ र लोकेन्द्र चन्दले दुई÷दुई विकेट लिए । आइतबारको खेलमा सुदूरपश्चिमका आशिष तिरुवा म्यान अफ दी म्याच घोषित भए । जिल्लाकै ठूलो धन राशिको राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सात प्रदेशबाट सात वटा तथा आयोजक एक गरी आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार पाउनेछन् । प्रतियोगिता आयोजक संस्था नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाका अनुसार प्रतियोगिताको म्यान अफ दी सिरिजले २५ हजार तथा उत्कृष्ट ब्याटर, बलर, फिल्डर एवम् किपरले १५ हजारका दरले पुरस्कार पाउने छन् ।

त्यस्तै, बेस्ट क्याच अफ दी टुर्नामेन्टले १० हजार एवम् प्रत्येक खेलको म्यान अफ दी म्याचले रु पाँच हजार र नव प्रतिभा खेलाडीलाई विशेष प्रोत्साहन पुरस्कार प्रदान गरिने सापकोटाको भनाइ छ ।

विदेश पलायनको कथा बोकेको चलचि ‘पहाड’ नयाँ वर्षमा

काठमाडौँ, ४ फागुन : वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी नयाँ वर्ष अर्थात् विसं २०८३ वैशाख १ गतेदेखि प्रदर्शन हुने भएको छ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्या चित्रण गरिएको चलचित्रको प्रदर्शन मिति वितरक तथा प्रदर्शकसँगको छलफलमा तय गरिएको निर्देशक घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, चलचित्रले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । चलचित्र हेरिरहँदा दर्शकले आफ्नोपन र आफ्नो कथा पाउनु हुनेछ । नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु ।”

चलचित्र ‘बलिदान’मा मदनकृष्ण श्रेष्ठ, ‘चिनो’मा स्वर्गीय अभिनेता सुनिल थापासँग काम गर्नुभएका निर्देशक घिमिरेले नयाँ र पुरानो पुस्तासँगको सहकार्यले राम्रो नतिजा दिनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले समाजको तीतो यथार्थलाई चलचित्रमार्फत दर्शकसमक्ष पु¥याउने बताउनुभयो । ओजस्वी केसीले निर्माण गर्नुभएको उक्त चलचित्रलाई प्रसिद्ध छायाकार प्रमोद प्रधानले छायाङ्कन गर्नुभएको छ ।

चलचित्रमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीका रूपमा दर्शकसामु ल्याउँदै हुनुहुन्छ ।

चलचित्रको प्राविधिक समूहमा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले ‘प्रोडक्सन डिजाइनर’को जिम्मेवारी सम्हाल्नुभएको छ । चलचित्रमा रञ्जित गजमेरले सङ्गीत दिनुभएको छ ।

पाकिस्तान भारतसँग ६१ रनले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको पाकिस्तानले १७.५ ओभरमै सबै विकेट गुमाएपछि ६१ रनकोे हार व्यहोरेको हो ।आइतबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालामा भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभर सकिँदा सबै विकेट गुमाएर ११४ रनमात्रै बनायो ।

पाकिस्तानलाई सस्तैमा रोक्न भारतका जसप्रीत बुमराह, वरुन चक्रवर्ति र अक्षर पटेलले समान दुई विकेट लिए । हार्दिक पण्ड्या, कुल्दीप यादव र तिलक वर्माले समान एक विकेट लिए । पाकिस्तानका निम्ति पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका उसमान खानले सर्वाधिक ४४ रन बनाए । ३४ बल खेलेका खानले ६ चौका र एक छक्का प्रहार गरे ।

अविजीत रहेका शाहिन साह अफ्रिदीले २३ रन बनाए । सदाव खानले १४ र फहिम असरफले १० रन जोडे । शीर्षक्रम धरमराउँदा ओपनर सैम अयुव ६ रनमा आउट भए । बाबर आजम पाँच रन बनाएर पभेलियन फर्किए । कप्तान सलमान अली आघा र मोहम्मद नवाजले समान चार रन मात्र जोडे ।

अर्का ओपनर साहिबजादा फरहान शून्यमा आउट भए । त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो । भारतका ओपनर इशान किशनले सर्वाधिक ७७ रन बनाए । इशानले ४० बलमा १० चौका र तीन छक्का प्रहार गरे ।

कप्तान सुर्यकुमार यादवले ३२ रन जोडे । २९ बल खेलेका कप्तान यादवले तीन चौका प्रहार गरे । शिभम दुवेले २७ रन बनाए । तिलका वर्माले २५ रन जोडे भने रिंकु सिंहले ११ रन बनाए । ओपनर अभिषेक शर्मा शून्यमा आउट हुँदा पाँचौ नम्बरमा ब्याटिङमा आएका अलराउण्डर हार्दिक पण्ड्या ‘गोल्डेन डक’ आउट भए ।

पाकिस्तानका सैम आयुवले तीन विकेट लिए । आयुवले चार ओभर बलिङ गर्दा २५ रन खर्चिए । पहिलो हार व्यहोरेको पाकिस्तानको भने हारसँगै सुपर–८ सम्भावना कठिन बनेको छ । अब पाकिस्तानको सुपर–८ यात्रा अन्तिम खेलबाट निर्धारण हुनेछ । पाकिस्तानले अन्तिम खेलमा नामिबियाको सामना गर्ने तालिका छ ।

दुर्गम भूगोलमा निर्वाचनको चुनौती : सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्र

मुस्ताङ, ४ फागुन : आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ कायम भएका कतिपय मतदानस्थल तथा केन्द्रहरू सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटरभन्दा बढी टाढा दूरीमा छन् ।

नेपाल–चीन उत्तरी कोरलानाकास्थित माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा कायम गरिएका मतदानस्थलहरू एक सय किलोमिटरभन्दा बढी दूरीमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । लोमान्थाङ गाउँपालिकामा छवटा मतदानस्थल छन् । जहाँ दुई हजार ११ जना मतदाता छन् ।

यहाँका सबै मतदानस्थलमा पुग्न सदरमुकाम जोमसोमदेखि सवारीसाधनमार्फत करिब ६÷७ घण्टा समय लाग्ने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । यहाँ लोमान्थाङ–२ समजुङ मतदानस्थल सारेर सोही वडाको छोसेरस्थित दिव्य माध्यमिक विद्यालय मतदानस्थलमा गाभिएको जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले बताउनुभयो ।

कोरला सडक मार्गसँग जोडिएका मतदानस्थल र शाखा सडकमा रहेका मतदानस्थल सवारीसाधनको सहज पहुँचमा छैनन् । त्यसैगरी लोघेकर दामोदरकुण्ड गाउँपालिकाका मतदान केन्द्रहरूको दूरी पनि एक सय किलोमिटर दूरीमा छन् ।

कोरला सडकअन्तर्गत घिलिङ, घमी, चराङलगायतका मतदानस्थलहरू राष्ट्रिय राजमार्गसँग जोडिएकाले यातायात आउजाउमा सहज भए पनि अन्य मतदानस्थलहरू टाढा रहेकाले त्यहाँ पुग्न जोमसोमदेखि घण्टौँ लाग्ने जनाइएको छ । मतगणनास्थलदेखि जोमसोमसम्म मतपेटिका ल्याई पु¥याउन राति १२ बजेसम्म समय लाग्ने बताइएको छ । माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पाँच वडामा एक हजार ५४२ जना मतदाता छन् ।

त्यसैगरी, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका मतदान केन्द्र तथा मतदानस्थलहरूको दूरी जोमसोमबाट करिब ५० किलोमिटर छ । दुई हजार ८८५ मतदाता यस पालिकामा छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँका पाँच स्थानीय तहमा ३९ मतदानस्थल कायम गरिएका छन् । यहाँ कुल ११ हजार ३२८ जना मतदाता कायम रहेको छ ।

आज कहाँको मौसम कस्तो?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु÷कुहिरो रहनेछ ।कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहने महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

नारायणमान बिजुक्छेँको नेमकिपाको घोषणा पत्रमा के छ ?

भक्तपुर। आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पार्टीको घोषणा पत्र सार्वजनिक गरेको छ । नेमकिपाको केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ले पार्टीको घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।

पार्टीको घोषणा पत्रमा समाजवादी व्यवस्था स्थापना, नागरिकता नीतिमा कडाइ, भ्रष्टाचारविरुद्ध कठोर कानुन र शिक्षा–स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क बनाउने मुख्य ‘एजेन्डा’ रहेको उहाँले बताउनुभयो ।

निर्वाचनलाई ‘सैद्धान्तिक, वर्गीय र राजनीतिक सङ्घर्षको माध्यम’का रूपमा व्याख्या गर्दै निर्वाचनबाट मात्र समाजवाद नआउने, संसद्लाई प्रधानमन्त्री केन्द्रित संस्था नभई जनताको पीडा बुझ्ने, देशको रक्षा गर्ने र आवश्यक नीति तथा कानुन निर्माण गर्ने जनप्रतिनिधिमूलक सदन बनाउने प्रतिबद्धता घोषणा पत्रमार्फत गरिएको उहाँले बताउनुभयो ।

नेमकिपाले जन्मका आधारमा नागरिकता पाएका विदेशीका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था खारेज गर्नुपर्ने, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने र ठूला भ्रष्टाचारीलाई ज्यान सजायसम्मको व्यवस्था गर्नुपर्ने, संसद् र राज्य संयन्त्रलाई ‘सुविधा खोज्ने संस्था’ बन्न नदिन कानुनी सुधार गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ ।

शिक्षा, स्वास्थ्य र विश्वविद्यालय निःशुल्क बनाउने प्रतिबद्धता, पूर्वाधार र उत्पादनमुखी अर्थतन्त्रमा जोड, जनप्रतिनिधि आफ्नै जिल्लामा बस्नुपर्ने प्रस्ताव घोषणा पत्रमार्फत अगाडि सारेको छ ।

घरजग्गा कारोबारबाट गत माघमा पाँच अर्ब राजस्व सङ्कलन

काठमाडौँ। गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् ।गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो ।

देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन । विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएको छ । गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको सङ्ख्यामा केही बढोत्तरी भएको छ ।

विभागका अनुसार गत माघमा सेवा करबापत रु ३१ करोड ५८ लाख ७२ हजार ४८८, रजिस्टे«सन दस्तुर रु दुई अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ सङ्कलन भएको थियो । त्यसैगरी पुँजीगत लाभकरबापत रु एक अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ सङ्कलन भएको विभागले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति पुग्यो?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ । निगमका अनुसार आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँ वृद्धि गरिएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य बढेपछि निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल र डिजेलरमट्टितेलको मूल्य वृद्धि गरिएको हो ।