`

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११५ रुपैयाँ १२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९५ पैसा र बिक्रीदर २१ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ १९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २२ पैसा र बिक्रीदर १६ रुपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९९ पैसा र बिक्रीदर २३ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ २६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रुपैयाँ ९२ र बिक्रीदर ३७७ रुपैयाँ ४८ पैसा रहेको छ ।यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

निर्वाचन १७ दिन बाँकी:आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौँ, ४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ ।मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् ।निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने जनाइएको छ । सोही व्यवस्थाभित्र रहेर राजनीतिक दलका उम्मेदवारले औपचारिक रुपमा मतदातासमक्ष मत माग्न पाउनेछन् ।

आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन गरिरहेको छ । राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता उल्लङ्घन भएको बारे पत्र काटेर स्पष्टीकरण सोध्ने, कानुनी कारबाहीका लागि अघि सर्नुपर्ने अवस्था नआओस् भन्ने स्पष्ट पारेको छ ।

आचारसंहिता राजनीतिक दल एवं सरोकारवाला पक्षहरूसँग व्यापक विचार–विमर्श गरेर तर्जुमा गरिएको आयोगले स्मरण गराएको छ । आचारसंहिताको पूर्ण परिपालना गर्छौं भनेर सबै राजनीतिक दलहरूले प्रतिबद्धता जनाएका छन् ।

आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । उल्लङ्घनकर्तालाई आयोगले स्पष्टीकरण सोध्ने र उल्लङ्घनको प्रमाण तथा अवस्था हेरेर सचेत, दण्डजरिवाना तथा उम्मेदवारी खारेजीसम्म हुने कानुनी व्यवस्था छ ।

यसैगरी, दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै ‘अनलाइन’ सञ्चारमाध्यममा पनि विज्ञापनवाट प्रचारप्रसार गर्न सक्नेछन् । निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।

निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट एवं सङ्गठित रूपमा निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिन नपाइने आयोगले उल्लेख गरेको छ ।

वीरगन्ज भन्सार : सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनासम्म रु एक खर्ब ५३ अर्ब ८४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि सो अवधिसम्म भने लक्ष्यको ८८.०७ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको सात महिनामा कार्यालयको भन्सार सङ्कलनमा उत्साहजनक भएको छ । कार्यालयले साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोज महिनामा रु १९ अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो ।

त्यस्तै, कात्तिकमा रु १७ अर्ब ३३ करोड र मङ्सिरमा भने रु २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै पुसमा पनि रु २० अर्ब २० करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले माघमा मात्र रु २१ अर्ब २९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु १८ अर्ब ९० करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई वर्षभरिमा रु दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।

सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यसवर्ष रु ९० लाखको सुन्तला बिक्री गरे । जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तला खेतीबाट सन्तुष्ट रहेका छन् ।

गाउँको भिरालो जमिनलाई सदुपयोग गरी अधिकारीले विसं २०५२ देखि व्यावसायिक सुन्तलाखेती सुरु गरेका थिए । सुन्तला खरिदका लागि बगानमै ठेकेदार आउने गरेको बताउँदै उनले बजारमा समस्या नरहेको सुनाए ।

त्यसैगरी, व्यास नगरपालिका–१३ बेनीकोटका कृषक दलबहादुर थापाले यस वर्ष रु १६ लाखको सुन्तला बिक्री गरे । अघिल्लो वर्षको तुलनामा यस वर्ष रु तीन लाख बढीको सुन्तला बिक्री भएको उनले बताए ।

विदेशबाट फर्किएर सुन्तला खेतीमा लागेका गिरबहादुरले यस वर्ष रु तीन लाख ५० हजारको सुन्तला बिक्री गरेको बताए । यी त केही उदाहरण हुन्, तनहुँका कृषकले यस वर्ष रु ४५ करोड ५० लाखको सुन्तला बिक्री गरेका छन् । गत वर्ष यहाँका किसानल रु ४२ करोड ५० लाखको सुन्तला बिक्री गरेका थिए ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले यसवर्ष ५८२१.९ मेट्रिक टन सुन्तला बिक्री भएको जानकारी दिए । उनका अनुसार यस वर्ष ११८२१.७ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लामा १६७० हेक्टर सुन्तलाखेतीको क्षेत्रफल रहेकामा ९७७ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको परियारले जानकारी दिए ।

आँबुखैरेनी गाउँपालिकास्थित डुम्रीखर्क, डाँडापानी, खोलागाउँ, झारपुङ, घिरिङ गाउँपालिकास्थित च्याचुल, उवाथोक, मेवापानी, पोखरीछाप, देवघाट गाउँपालिकास्थित नरम, छिपछिपे, लुम्रिङ, दगारा, भिमाद नगरपालिकास्थित अक्सपाङ्दी, चामबोट, कोखे, म्याग्दे गाउँपालिकास्थित बहपुर, उमाचोक, छाङ, ऋषिङ गाउँपालिकास्थित अर्चल्दी, दुवुङ, बन्दीपुर गाउँपालिकास्थित धरमपानी, कमलबारी, काफलस्वारा, झारगाउँ, बासपानी, व्यास नगरपालिकास्थित तनहुँसुर, बेनीकोट र शुक्लागण्डकी नगरपालिकास्थित नाम्सीकोट र ज्याङ्लादी सुन्तला उत्पादनका पकेट क्षेत्र हुन् ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा रु ३० करोड बराबरको सुन्तला उत्पादन भएको थियो । त्यतिबेला तीन हजार ७५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लामा सुन्तला खेतीतर्फ आकर्षण बढेसँगै सुन्तला उत्पादनमा वृद्धि भएको परियारको भनाइ छ ।

तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् ।

काठमाडौँका अलवा पोखरा, नारायणगढलगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । जिल्लाका अधिकांश ठाउँमा व्यापारी नै बगैँचासम्म पुगेर सुन्तला खरिद गर्ने गरेका छन् ।

चितवनमा मतदातालाई रिझाउन रणनीति तयार गर्दै उम्मेदवारहरू

चितवन । आसन्न निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल र तिनका उम्मेदवार र कार्यकर्ता मतदातासँगका भेटघाटमा व्यस्त छन् । यहाँका राजनीतिक दल र उम्मेदवारहरूले भोली (सोमबार) देखि थप चुनावी प्रचारको तयारीमा जुट्ने आन्तरिक तयारी गरेका छन् । साथै उनीहरुले मतदातालाई आफ्नो पक्षमा कसरी रिझाउन भन्ने विषयमा रणनीति समेत तयार गर्दैछन् ।

स्थानीय समस्यालाई चुनावी कार्ययोजना बनाएका सबै दलले प्रचारलाई तीव्र बनाउनेगरी गृहकार्य गरिरहेका जानकारी दिएका छन् । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा तीनवटै क्षेत्रका टोल तहबाट प्रचार अभियानलाई तीव्र बनाउने गरी गृहकार्य गरिरहेको दलहरूको भनाइ छ ।

नेपाली कांग्रेस चितवनले प्रचार अभियानलाई टोल तहबाट सञ्चालन गर्ने गरी तयारी गरिरहेको जनाएको छ । पार्टीका जिल्ला सचिव ध्रुव पोखरेलले तीनवटै निर्वाचन क्षेत्रका क्षेत्रीय प्रचार कार्यालय सञ्चालन गरी विधिवत रूपबाट घरदैलो कार्यक्रम सुरुआत हुने जानकारी दिए । उनले भने, “पार्टीका केन्द्रीय सभापति गगन थापा र केन्द्रीय प्रचार संयोजक देवराज चालिसेसँग समन्वय गरी ठूलो सभा गर्ने तयारी गरेका छौँ । ”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनका इन्चार्ज देवी ज्ञवालीले सोमबारबाट वडा तहमा घरदैलोसँगै कोणसभा गर्ने तयारी रहेको जानकारी दिए । उनले भने, “सभालाई केन्द्रीय नेताले सम्बोधन गर्ने सम्भावित कार्यसूचि रहेको छ ।”

यसैगरी नेपाली कम्युनिष्ट पार्टी चितवनका संयोजक रामचन्द्र अधिकारीले सोमबारबाट नै घरदैलो, कोणसभा र सभा गर्नेगरी आज तालिका तयार गर्न लागिएको जानकारी दिए । केन्द्रीय नेताहरूको उपस्थितिमा कहिले सभा गर्ने भन्ने टुङ्गो लागि नसकेको जनाउँदै उनले तीनवटै क्षेत्रमा प्रचार तीव्रगतिमा गराइने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य राजन गौतमले सोमबारबाट प्रचार प्रसारलाई तीव्र गर्नेगरी तयारी भइरहेको जानकारी दिए । उनले भने, “ घरदैलो, कोणसभा र सभाहरू गरिने जनाउँदै उहाँले केन्द्रीय नेताहरूको उपस्थितिमा बृहत सभा गरिने छ ।”

अन्य राजनीतिक दलहरु र तिनका उम्मेदवारले पनि चुनावी प्रचारलाई तीव्रता दिने तयारी गरेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गाेल नेसनल अर्गनाइजेसन, जनता समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी, जनमत पार्टी, प्रगतिशील लोकतान्त्रक पार्टी, श्रम संस्कृति पार्टी, नेसनल रिपब्लिकन नेपाल, नेपाल मजदुर किसान पार्टी, नागरिक उन्मुक्तिलगायतका पार्टी र स्वतन्त्र उम्मेदवारले चुनावी प्रचार तीव्र पार्ने तयारी गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यही फागुन २१ गते हुने निर्वाचनमा जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । यसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला एवं दुई जना तेस्रो लिङ्गी रहेका छन् ।

उनीहरूले १६२ वटा स्थल र ४९४ वटा केन्द्रबाट मतदान गर्नेछन् । निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले प्रतिनिधिसभा निर्वाचन २०७९ को निर्वाचनको तुलनामा यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ७४० नयाँ मतदाता थपिएका छन् भने ३४ वटा मतदान केन्द्र थप भएको बताए ।

क्षेत्र नं १ मा एक लाख ४९ हजार ६२१ मतदाता छन् । यसमा ७६ हजार ७६१ पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ मतदानस्थल र १६८ मतदान केन्द्र रहेका छन् ।

यस्तै क्षेत्र नं २ मा एक लाख ३७ हजार १५२ मतदाता रहेका छन् । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । यहाँ ४८ स्थल र १५२ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्नेछन् ।

क्षेत्र नं ३ मा एक लाख ५५ हजार ३०९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तीमध्ये ७५ हजार ६९६ पुरुष र ७९ हजार ६१२ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरूले ६३ स्थल र १७४ केन्द्रबाट मतदान गर्नेछन् ।

काठमाडौँका सबै स्थानीय तहमा मतदाता शिक्षा सुरु

काठमाडौँ । यहाँका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८ वडामा शिक्षा सुरु प्रारम्भ भएको छ । जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा मतदाता शिक्षा दिन एक जना स्वयंसेवक परिचालन गरेको छ ।

उक्त कार्यालयका निर्वाचन अधिकारी ठाकुर भट्टराईका अनुसार यही फागुन १७ गतेसम्म सञ्चालन गरिने छ । स्वयंसेवकहरू प्रत्येक मतादाताका घरआँगनमा पुगेर सही ढङ्गले मतदान गर्न सिकाउने छन् ।

आम नागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले निर्वाचन आयोगले देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एकएक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको हो ।

भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउन आग्रह गरेको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा डा रमेशकान्त अधिकारीले भ्रामक सूचनाको पछि नलागि किशोरीहरुलाई खोप लगाउन आग्रह गरेका हुन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघ २५ देखि यही फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउने अभियान सुरु गरेको छ ।

“आधारहिन हल्ला र भ्रममा नलागौँ । अरुका कुरा सुनेर आफ्ना बालिकाको स्वास्थ्यसँग खेलवाड नगरौँ । आफ्नो स्वास्थ्यको संरक्षणका लागि खोप लगाऔँ”, अध्यक्ष प्रा.डा. अधिकारीले भने, “एचपिभी खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त तथा औषधि व्यवस्था विभाग, नेपालबाट स्वीकृत सुरक्षित खोप हो ।”

अभियानअन्तर्गत गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्ष उमेरका विद्यालय बाहिरका किशोरीलाई खोप लगाइने छ । अध्यक्ष डा.अधिकारीले विफर उन्मूलन र पोलियो जस्ता रोगको रोकथाम खोप नै रहेकाले ढुक्क भएर किशोरीलाई खोप लगाउन आग्रह गरे।

“विफरले बर्सेनि धेरै व्यक्तिको ज्यान लिएको थियो । पोलियोले धेरै बालबालिकालाई जीवनभरका लागि अपाङ्गता बनाएको थियो । लहरे खोकी, डिफ्टेरिया, टिटानस जस्ता रोगले हाम्रो बाल मृत्युदर उच्च बनाएको थियो । आज ती रोगहरू नदेखिनु संयोग होइन । यो खोपको सफलता हो,” उनले भने, “खोप भनेको रोग लागेपछि उपचार होइन, रोग लाग्नै नदिनु हो ।”

वर्षौँ देखिको प्रयासपछि नेपालले एचपिभी खोप ल्याउन सफल भएको उल्लेख गर्दै एचपिभी खोपले पाठेघरको मुखको क्यान्सर जस्ता गम्भीर रोगबाट हाम्रा छोरी–नातिनीहरूको भविष्य सुरक्षित गर्ने बताउनुभयो । अभियानअन्तर्गत सरकारले तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउने छ ।

नेकपाले निर्वाचन आयोगलाई बुझायो प्रतिबद्धता पत्र

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आफ्नो प्रतिबद्धतापत्र निर्वाचन आयोग समक्ष पेस गरेको छ ।

पार्टीको तर्फबाट उक्त प्रतिबद्धता पत्र आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष बुझाइएको हो ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०८२ अनुसार निर्वाचनमा सहभागी राजनीतिक दलहरूले आफ्नो घोषणापत्र वा प्रतिबद्धतापत्र फागुन ३ गतेभित्र अनिवार्य रूपमा बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ । सोहीअनुरूप आयोगले यसअघि नै सबै दलहरूलाई निर्धारित समयभित्र आवश्यक कागजात पेस गर्न पत्राचार गरेको जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनः बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च नगर्न नगराउन आयोगको निर्देशन

काठमाडौँ। निर्वाचन आयोगले उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने भनी राजनीतिक दलहरुलाई फेरि निर्देशन दिएको छ ।

निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने भनी आयोगले यसअघि पनि निर्देशन दिँदै आएको छ । रु २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट सहयोग लिने र खर्च गर्नुपर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

“निर्वाचन प्रचारप्रसारमा खर्च गर्दा आफू वा आफ्नो निर्वाचन प्रतिनिधि मार्फत् मात्र खर्च गर्ने र आयोगले तोकेको निर्वाचन खर्चको हदभन्दा बढी खर्च गर्न वा गराउनुहुँदैन, निर्वाचन प्रचारप्रसार गर्दा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र बनाइ सोको आधारमा प्रचारप्रसार गर्ने, मतदाताको जानकारीका लागि सार्वजनिक गर्ने, उक्त घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्छ”, प्रवक्ता भट्टराईले भन्नुभयो ।

निर्वाचन प्रचारप्रसार अभियानमा प्रचलित सङ्घीय कानुन वा निर्वाचन आचारसंहिताले निषेध गरेको काम कारवाही गर्न वा गराउनका लागि कुनै प्रकारले आर्थिक सहयोग लिन वा काम कारबाहीका लागि खर्च गर्न वा गराउन नहुने, निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्बन्धित दलले आयोगमा र उम्मेदवारले जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने आयोगको निर्देशन छ ।

जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने दल वा व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अङ्कित लोगो वा स्टीकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने र जुलुस, आमसभा, कोणसभा, भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने आयोगको निर्देशन छ ।

दलको झण्डाको वा दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाइ सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुनेतर्फ आयोगले दलहरुलाई सचेत गराएको छ ।

आणविक पूर्वाधारमा अस्ट्रेलियाको २.८ अर्ब डलर प्रतिबद्धता

सिड्नी । अस्ट्रेलियाले त्रिपक्षीय एयुकेयुएस सुरक्षा साझेदारीअन्तर्गत आणविक–सञ्चालित पनडुब्बी निर्माण क्षमतातर्फ निर्णायक कदम चाल्दै नयाँ निर्माण सुविधाका लागि तीन अर्ब ९० करोड अस्ट्रेलियन डलर (करिब दुई अर्ब ८० करोड अमेरिकी डलर) को प्रारम्भिक लगानी घोषणा गरेको छ । उक्त रकमलाई सरकारले ‘डाउन पेमेन्ट’ का रूपमा व्याख्या गरेको छ । यसले दीर्घकालीन रक्षा रूपान्तरणको आधार तयार गर्ने बताइएको छ ।

बेलायत र संयुक्त राज्य अमेरिकासँगको एयुकेयुएस सम्झौताले अस्ट्रेलियालाई अमेरिकी अत्याधुनिक पनडुब्बीहरूको फ्लीट उपलब्ध गराउने मात्र नभई, उन्नत युद्ध प्रविधिको विकासमा सहकार्य गर्ने मार्ग पनि खोल्ने लक्ष्य राखेको छ । सन् २०३२ देखि पनडुब्बी आपूर्ति सुरु हुने योजना छ र यसलाई प्रशान्त क्षेत्रमा विशेषतः चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्ने रणनीतिसँग जोडेर हेरिएको छ ।

सम्झौताले आगामी ३० वर्षमा अस्ट्रेलियालाई करिब दुई खर्ब ३५ अर्ब अमेरिकी डलरसम्म खर्च गर्न बाध्य पार्न सक्ने अनुमान गरिएको छ । यसअन्तर्गत भविष्यमा स्वदेशमै पनडुब्बी निर्माण गर्ने प्रविधि हस्तान्तरणसमेत समावेश छ । रक्षामन्त्री रिचर्ड मार्लेसले दक्षिणी सहर एडिलेड नजिकैको ओसबोर्नस्थित निर्माण स्थललाई परियोजनाको केन्द्रविन्दु हुने बताए । उनका अनुसार दीर्घकालमा सो सुविधामा करिब ३० अर्ब अस्ट्रेलियन डलर लगानी अपेक्षित छ ।

उनले ओसबोर्नमा भइरहेको पूर्वाधार विस्तारले अस्ट्रेलियालाई आउँदा दशकहरूमा आफ्नै आणविक–सञ्चालित पनडुब्बी निर्माण गर्ने सार्वभौम क्षमता दिलाउने मार्गमा अघि बढाएको उल्लेख गरे । प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनडुब्बी निर्माण यार्डमा गरिएको लगानी परम्परागत रूपमा सशस्त्र, आणविक–सञ्चालित पनडुब्बी आपूर्ति सुनिश्चित गर्न निर्णायक हुने बताए । उनले एयुकेयुएस परियोजनाले रक्षा क्षमताको दीर्घकालीन सुरक्षा, रोजगारी सृजना र औद्योगिक समृद्धिमा टेवा पु¥याउने धारणा व्यक्त गरे ।

यसअघि सेप्टेम्बरमा क्यानबेराले पश्चिमी अस्ट्रेलियाको पर्थस्थित जहाज निर्माण तथा मर्मत परिसरलाई भविष्यका आणविक–सञ्चालित पनडुब्बीका लागि रूपान्तरण गर्न एक दशकमा आठ अर्ब अमेरिकी डलर खर्च गरिने जनाएको थियो ।

एयुकेयुएस कार्यक्रम सन् २०२१ मा फ्रान्ससँगको बहु–अर्ब डलरको डिजेल–सञ्चालित पनडुब्बी खरिद सम्झौता रद्द गरेपछि अघि बढाइएको थियो, जसले पेरिससँग कूटनीतिक तनाव उत्पन्न गरेको थियो । गत जुनमा वासिङ्टनले उक्त सम्झौता राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फस्र्ट’ एजेन्डासँग मेल खान्छ कि होइन भनेर समीक्षा सुरु गरेपछि परियोजना अन्योलमा परेको थियो । तर डिसेम्बरमा पेन्टागनले समीक्षा प्रक्रिया हटाइएको र ट्रम्पले कार्यक्रम ‘पूर्ण रूपमा अगाडि बढाउन’ निर्देशन दिएको जनाएको थियो ।

नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग

काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसम्बन्धी विद्यमान कानुनी संरचनामा परिमार्जनको प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले शुक्रबार ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ लाई संशोधन गर्ने विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट सात दिनभित्र राय तथा सुझाव माग गरेको हो । राष्ट्र बैंक ऐन जारी भएयता नौ पटक संशोधन भइसकेको सन्दर्भमा प्रस्तावित संशोधन दशौँ हुनेछ ।

अर्थ मन्त्रालयका अनुसार केन्द्रीय बैंकको उद्देश्य, कार्यक्षेत्र र संरचनालाई अन्तरराष्ट्रिय रुपमा स्वीकार्य अवधारणासँग तादम्यता कायम गर्ने, संस्थागत स्वायत्तता सुदृढ गर्ने तथा सुपरीवेक्षकीय र नियमन भूमिकालाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ ऐन संशोधन गर्न लागिएको हो । त्यस्तै, केन्द्रीय बैंकको निर्णय प्रक्रियामा पारदर्शीता, जवाफदेहिता र व्यावसायिकता अभिवृद्धि गर्न कानुनी आधार अद्यावधिक गर्नुपर्ने भएकाले विधेयक ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य, नेपाल राष्ट्र बैंकको चौथो रणनीतिक योजना (२०२२–२०२६) तथा चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लिखित सुधार कार्यक्रम कार्यान्वयन गर्न ऐनमा समयानुकूल संशोधन अपरिहार्य रहेको पनि मस्यौदामा उल्लेख गरिएको छ । विशेषगरी वित्तीय प्रणालीको स्थायित्व, मुद्रास्फीति नियन्त्रण, बैंकिङ पहुँच विस्तार र डिजिटल वित्तीय सेवाको नियमनका विषयलाई कानुनी आधार प्रदान गर्न संशोधन प्रस्ताव गरिएको जनाइएको छ ।

विधेयकको मस्यौदामा केन्द्रीय बैंकको स्वायत्तता सुदृढीकरण, उद्देश्य र कार्यक्षेत्रमा थप स्पष्टता तथा वर्तमान आर्थिक–वित्तीय परिवेशअनुसार ऐन अद्यावधिक गर्ने विषयलाई प्राथमिकता दिइएको छ । त्यस्तै, जोखिमको आधारमा सुपरीवेक्षण प्रणाली (रिस्क–बेस्ड सुपरभिजन) प्रवद्र्धन, मुद्रास्फीति नियन्त्रणसम्बन्धी व्यवस्थाको सुदृढीकरण, सङ्घीय संरचनाअनुरुप राष्ट्र बैंकको भूमिका मिलान तथा अन्तरराष्ट्रिय लेखा मापदण्डअनुसार वासलात र प्रतिवेदन प्रणालीको आधुनिकीकरणलाई संशोधनको प्रमुख उद्देश्यका रूपमा राखिएको छ । बैंक तथा वित्तीय संस्थाको फरफारख (रिजोलुसन)सम्बन्धी व्यवस्थामा स्पष्टता ल्याउने प्रस्ताव पनि मस्यौदामा समेटिएको छ ।

डिजिटल वित्तीय प्रणालीको विस्तारसँगै विधेयक मस्यौदाले ‘डिजिटल बैंक’ को अवधारणालाई कानुनी मान्यता दिन प्रस्ताव गरेको छ । प्रस्तावित व्यवस्थाअनुसार भौतिक शाखा वा सञ्जालबिना पूर्ण रूपमा डिजिटल माध्यमबाट वित्तीय कारोबार सञ्चालन गर्न केन्द्रीय बैंकबाट इजाजत प्राप्त संस्था ‘डिजिटल बैंक’का रूपमा परिभाषित हुनेछन् । यसले परम्परागत बैंकिङ संरचनाभन्दा फरक ढाँचामा सञ्चालन हुने वित्तीय संस्थालाई नियमनको दायरामा ल्याउने बाटो खोल्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, डिजिटल मुद्रा अथवा भर्चुअल करेन्सीलाई पनि ‘मुद्रा’ को परिभाषाभित्र समेट्ने प्रस्ताव गरिएको छ । यस व्यवस्थाले भविष्यमा केन्द्रीय बैंकले जारी गर्न सक्ने केन्द्रीय बैंक डिजिटल करेन्सी वा अन्य डिजिटल भुक्तानी साधनलाई स्पष्ट कानुनी आधार प्रदान गर्ने ठानिएको छ । राष्ट्र बैंकको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्थामा पनि संशोधन प्रस्ताव गरिएको छ ।

हाल विनिमय दर पद्दति निर्धारण गर्ने व्यवस्था रहेकोमा त्यसलाई परिमार्जन गर्दै ‘विदेशी मुद्राको विनिमय दर पद्दति र विनिमय दर निर्धारण गर्ने’ स्पष्ट अधिकार समेट्न खोजिएको छ । यसले विदेशी विनिमय बजारमा केन्द्रीय बैंकको भूमिकालाई थप स्पष्ट र सुदृढ बनाउने देखिन्छ ।

बैंकिङ तथा वित्तीय सेवामा सर्वसाधारणको पहुँच र विश्वसनीयता अभिवृद्धि गर्ने दायित्वलाईसमेत कानुनी रूपमा सुदृढ गर्न प्रस्ताव गरिएको छ । साथै, केन्द्रीय बैंकलाई समष्टिगत विवेकशील (म्याक्रोप्रुडेन्सियल) निकायका रूपमा स्पष्ट भूमिका दिँदै वित्तीय प्रणालीमा देखिन सक्ने प्रणालीगत जोखिमको पहिचान र व्यवस्थापन गर्ने अधिकार सुनिश्चित गर्ने व्यवस्था मस्यौदामा राखिएको छ । समस्याग्रस्त बैंक तथा वित्तीय संस्थालाई नियन्त्रणमा लिने वा रिजोलुसन प्रक्रियामा लैजाने स्पष्ट प्रावधान पनि प्रस्ताव गरिएको छ ।

संस्थागत संरचनातर्फ, राष्ट्र बैंकको सञ्चालक समितिमा हाल तीन जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था संशोधन गरी पाँचजना पु¥याउने प्रस्ताव गरिएको छ । विधेयकमा ‘छुट्टाछुट्टै क्षेत्रको प्रतिनिधित्व हुनेगरी नेपाल सरकारले नियुक्त गरेका पाँच जना गैरकार्यकारी स्वतन्त्र सञ्चालक सदस्य रहने’ व्यवस्था राखिएको छ ।

डेपुटी गभर्नर नियुक्तिसम्बन्धी व्यवस्थामा पनि महत्वपूर्ण परिमार्जन प्रस्ताव गरिएको छ । हाल ‘बैंकका विशिष्ट श्रेणीका अधिकृतमध्येबाट’ नियुक्त गर्ने प्रावधान रहेकोमा मस्यौदाले ‘बहालवाला डेपुटी गभर्नर पद रिक्त हुनुभन्दा कम्तीमा एक महिना अगावै बैंकको कार्यकारी निर्देशक पदमा कार्यरत रहेका अधिकृतमध्येबाट’ नियुक्त गर्ने व्यवस्था प्रस्ताव गरेको छ ।

त्यस्तै, गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको पुनःनियुक्तिसम्बन्धी प्रावधानमा पनि संशोधन प्रस्ताव गरिएको छ । विद्यमान ऐनअनुसार गभर्नर र डेपुटी गभर्नरलाई पुनः एकपटक तथा सञ्चालकलाई जतिसुकै पटक नियुक्त गर्न सकिने व्यवस्था रहेकोमा मस्यौदाले यसलाई सीमित गर्दै ‘नेपाल सरकारले मनासिव देखेमा कार्यकाल समाप्त भएको गभर्नर र सञ्चालकलाई एकपटकको लागि मात्र पुनः नियुक्ति गर्न सक्ने’ व्यवस्था राखेको छ ।

विद्यमान ऐनको दफा ३३ अन्तर्गतको व्यवस्थापन समिति र दफा ३४ अन्तर्गतको लेखापरीक्षण समितिको काम, कर्तव्य र अधिकारमा पनि संशोधन प्रस्ताव गरिएको छ । आन्तरिक सुशासन, जोखिम व्यवस्थापन तथा लेखापरीक्षण प्रणालीलाई अन्तरराष्ट्रिय अभ्यासअनुरुप परिमार्जन गर्ने लक्ष्य राखिएको मस्यौदामा उल्लेख छ । वित्तीय व्यवस्थापन सुदृढीकरणका लागि विभिन्न जगेडा कोष स्थापना गर्ने प्रस्ताव पनि मस्यौदामा समावेश गरिएको छ ।

राष्ट्र बैंकमा ‘साधारण जगेडा कोष’ स्थापना गरी बैंकको खुद नोक्सानी व्यहोर्न तथा पुँजी वृद्धि गर्न प्रयोग गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यस्तै, वित्तीय उपकरण, विदेशी मुद्रा, सुन तथा अन्य सम्पत्तिको पुनःमूल्याङ्कनबाट हुने नाफा वा नोक्सानीको लेखाङ्कनका लागि ‘पुनःमूल्याङ्कन जगेडा कोष’ स्थापना गर्ने व्यवस्था राखिएको छ ।

वित्तीय क्षेत्रको स्थायित्व, वित्तीय पहुँच अभिवृद्धि तथा समग्र वित्तीय प्रणाली सुदृढीकरणका लागि ‘वित्तीय विकास कोष’ स्थापना गर्ने प्रस्ताव पनि गरिएको छ, जसको आकार राष्ट्र बैंकको कूल मौद्रिक दायित्वको पाँच प्रतिशत नबढ्ने गरी सीमित गरिने उल्लेख छ । साथै, कूल मौद्रिक दायित्वको दुई प्रतिशतभन्दा बढी नहुने गरी ‘विशेष जगेडा कोष’ स्थापना गर्न सकिने प्रावधान पनि मस्यौदामा समेटिएको छ ।

‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ पछिल्लोपटक सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐन संशोधन गर्ने ऐन, २०८० र सहकारीसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८१ मार्फत संशोधन गरिएको थियो ।

मतदाता शिक्षाका लागि जुम्लामा स्वयंसेवक परिचालित

जुम्ला । जिल्ला निर्वाचन कार्यालय जुम्लाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि स्वयंसेवक परिचालनको तयारी गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलका अनुसार जिल्लाका आठ स्थानीय तहका ६० वटै वडामा एक जनाका दरले मतदाता शिक्षा स्वयंसेवक यही फागुन ३ देखि १७ गतेसम्म कार्यक्षेत्रमा खटिने छन् ।

मतदाता शिक्षा स्वयंसेवकले विशेषगरी निर्वाचन प्रक्रियामा बढीभन्दा बढी मतदाता सहभागी गराउने, मतदान गर्दा ध्यान दिनुपर्ने विधि, प्रक्रियाका बारेमा सिकाउने, बदर हुनसक्ने मत न्यूनीकरण गर्ने, निर्वाचन आचारसंहिताका बारेमा जानकारी गराउने र समग्रमा निर्वाचनलाई उत्सवका रूपमा मनाउने विषयमा मतदातालाई सुसूचित गराउने निर्वाचन आयोगले स्पष्ट गरेको छ । यसैसन्दर्भमा मतदाता शिक्षा अनुगमनकर्ताका लागि अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन भइसकेको छ ।

बालविकास सहजकर्ता, महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक परिचालिका, मातृस्वास्थ्य कार्यकर्ता तथा सामुदायिक अध्ययन केन्द्रका परिचालकहरू मतदाता स्वयंसेवकका रूपमा परिचालित हुने व्यवस्था गरिएको छ । जिल्लामा ८५ मतदानस्थल र ११० वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि जिल्लामा कुल मतदाता ७१ हजार ७३९ जना रहेका छन् । महिलातर्फ ३४ हजार २८० जना र पुरुषतर्फ ३७ हजार ४५९ जना मतदाता रहेको निर्वाचन कार्यालय जुम्लाले स्पष्ट गरेको छ ।

“अफ्रिकाका चुनौती सामना गर्न अफ्रिकी सङ्घसँग सहकार्य प्रतिबद्धता”

एडिस अबाबा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिका आज विश्वका गम्भीर चुनौतीहरूलाई दृढता, सिर्जनशीलता र सहनशीलतासहित सामना गरिरहेको बताएका छन् ।

इथियोपियाको राजधानी एडिस अबाबामा आयोजित अफ्रिकी सङ्घको शिखर सम्मेलनका क्रममा उनले सञ्चारकर्मीसँग कुरा गर्दै अफ्रिकी मुलुकहरूले विकास, शान्ति र स्थायित्वका क्षेत्रमा महत्वपूर्ण प्रयास गरिरहेको उल्लेख गरे ।

महासचिवले अफ्रिकामा क्षेत्रीय एकता, स्वच्छ ऊर्जामा लगानी तथा पूर्वाधार विकासमा प्रगति भइरहेको बताए । साथै शान्ति र सुरक्षा, आर्थिक न्याय तथा जलवायु सम्बन्धी कार्यमा सहकार्य अझ सुदृढ गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले केही क्षेत्रहरूमा बहुआयामिक द्वन्द्व र जटिल परिस्थिति कायम रहेको उल्लेख गर्दै सुडान, कङ्गो, साहेल क्षेत्र तथा अफ्रिका सिङ्गो क्षेत्रमा शान्ति स्थापना गर्न थप अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताए ।

आर्थिक पक्षमा उनले अफ्रिका विश्वका तीव्र गतिमा उदीयमान अर्थतन्त्रहरूमध्ये एक भए पनि वित्तीय संरचनामा रहेको असमानताले उद्योग, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा अवरोध पुर्‍याइरहेको धारणा व्यक्त गरे । औपनिवेशिक इतिहासका प्रभावहरू अझै पनि आर्थिक संरचनामा देखिने उनले बताए ।

जलवायु परिवर्तनका सन्दर्भमा अफ्रिकाको योगदान न्यून भए पनि सूखा, बाढी, खाद्य सङ्कट र अत्यधिक गर्मी जस्ता समस्याबाट सबैभन्दा बढी प्रभावित भएको उनले उल्लेख गरे । आवश्यक सहयोग प्राप्त भए अफ्रिका विश्वस्तरको नवीकरणीय ऊर्जा केन्द्र बन्न सक्ने उनको भनाइ थियो ।

मुग्लिन–मलेखु सडकः एघार किलोमिटर कालोपत्र पूरा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणअन्तर्गत हालसम्म ४० प्रतिशत अर्थात् कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र भएका छन् ।

धादिङको बाँदरेमा कालोपत्र जारी छ भने फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राखिएको छ । उक्त खण्डका छ वटा पुलमध्ये हुग्दी र चरौदीमा जमिनमाथिको काम भइरहेको छ । निर्माण सामग्री अभाव नहोस् भन्नेमा आफूहरू रहेको उनले बताए ।

धादिङको चरौदी र बेनिघाट एवं इच्छाकामनाबाट सामग्री लगिएको भएपनि लामो समयका लागि काम गर्न सामग्री अभाव हुने आशङ्का उनले व्यक्त गरे ।

विश्व बैंकको ऋण सहयोग रु चार अर्ब ८० करोड ५९ लाख मा ३८ किलोमिटर लामो यो सडकखण्ड स्तरोन्नति थालिएको हो ।

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ बनाएर ढुवानीका लागि तयारी अवस्थामा राखिएको निर्वाचन आयोगले जनाएको छ ।

आजसम्म एक करोड ९१ लाख २४ हजार मतपत्र छपाइ भएर ढुवानी गर्न तयारी अवस्थामा राखिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । बाँकी १० जिल्लाको पनि मतपत्र छपाइ भएको छ भने प्याकिङ बाँकी रहेको उनले बताए । अब ११ लाख ९९ हजार मतपत्रमात्र छाप्न बाँकी रहेको छ ।

हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, चितवन र सिराहा गरी ६७ जिल्लाको मतपत्र छपाइ सम्पन्न गरी ढुवानीका लागि तयारी भएको हो ।

शनिबारसम्म ६६ जिल्लाको मतपत्र छपाइ सकी प्याकिङ गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको थियो । आज थप एक जिल्लाको मतपत्र छपाइ सकी प्याकिङ गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ ।
अब काठमाडौँ उपत्यका वरपरका जिल्लाको मात्र मतपत्र छपाइ बाँकी रहेको जनाइएको छ । अब दुई दिनमा मतपत्र छपाइ सकेर प्याकिङ गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिने जनाइएको छ । हालसम्म १७ हजार ७२८ बाकस मतपत्र प्याकिङ भइसकेको छ ।

हाल दिनमा करिब एक हजार बाकस मतपत्र प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको पनि आयोगले जनाएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्पmको मतपत्र छपाइ सुरु भएको हो ।

छपाइ भएको मतपत्र शुक्रबारदेखि आयोगले पठाउन सुरु गरेको थियो । पहिलो चरणमा कर्णालीमा मतपत्र पठाइएको थियो । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमप्रदेशका दुर्गम जिल्लामा पनि मतपत्र पठाइएको आयोगले जनाएको छ । सहरी क्षेत्र र सुगम जिल्लामा भने मतपत्र पठाउन बाँकी छ ।

राष्ट्रपतिले गरे महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा पूजाआराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्श गरेका छन् । आज महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् ।

उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए । मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हा सहितका मन्त्रिहरू, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय नियकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

एआई प्रतिस्पर्धामा भारतको एक खर्ब ७५ अर्ब डलरको ‘डाटा सिटी’ अभियान

नयाँदिल्ली। संयुक्त राज्य अमेरिका र चीनसँगको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिस्पर्धामा दूरी घटाउने उद्देश्यसहित भारतले अभूतपूर्व परिमाणको ‘डाटा सिटी’ परियोजना अघि बढाएको छ । आन्ध्र प्रदेश सरकारले विशाखापट्टनमलाई केन्द्रमा राख्दै एआई पूर्वाधार, डाटा सेन्टर र उच्च क्षमतायुक्त डिजिटल इकोसिस्टम निर्माण गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको हो ।

आन्ध्र प्रदेशका सूचना प्रविधिमन्त्री नारा लोकेशले एआई क्रान्ति अपरिहार्य भइसकेको बताउँदै राष्ट्रले यसलाई सक्रिय रूपमा अँगाल्ने नीति लिएको उल्लेख गरे । उनका अनुसार राज्यले ७६० परियोजनासहित करिब एक खर्ब ७५ अर्ब डलर बराबरको लगानी प्रतिबद्धता जुटाइसकेको छ । यसमा संयुक्त राज्य अमेरिका बाहिरकै सबैभन्दा ठूलो एआई पूर्वाधार हब निर्माणका लागि गुगलको १५ अर्ब डलर लगानीसमेत समावेश छ ।

त्यस्तै, रिलायन्स इन्डस्ट्रिज, क्यानाडाको ब्रुकफिल्ड र अमेरिकी कम्पनी डिजिटल रियल्टीको संयुक्त उद्यमले सोही सहरमा ११ अर्ब डलरको एआई डाटा सेन्टर विकास गरिरहेको छ । करिब २० लाख जनसङ्ख्या रहेको विशाखापट्टनमलाई अब सिङ्गापुरसँग जोडिने पनडुब्बी इन्टरनेट केबलको अवतरण विन्दुका रूपमा विकास गरिँदैछ ।

लोकेशका अनुसार १०० किलोमिटर अर्धव्यासभित्र फैलिने ‘डाटा सिटी’ अवधारणा केवल डाटा कनेक्टिभिटीमा सीमित नभई सर्भर उत्पादन, कूलिङ प्रणाली, सहायक उद्योग र पूर्ण प्रविधि आपूर्ति शृङ्खलासम्म विस्तार हुनेछ ।

उनले आन्ध्र प्रदेशले सन् २०२५ मा भारतको प्रत्यक्ष वैदेशिक लगानीको झण्डै २५ प्रतिशत आकर्षित गरेको दाबी गरे । प्रमुख लगानीकर्तालाई प्रतिस्पर्धात्मक दरमा जग्गा उपलब्ध गराउने नीति अवलम्बन गरिएको छ । मुख्यमन्त्री एन चन्द्रबाबु नायडूका पुत्रसमेत रहेका ४३ वर्षीय स्ट्यानफोर्ड शिक्षित मन्त्री लोकेशले हैदराबादलाई ‘साइबराबाद’ बनाउने अनुभवबाट प्रेरित भएको बताउँछन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गर्ने एआई इम्प्याक्ट शिखर सम्मेलनअघि सार्वजनिक गरिएको यस योजनाले भारतलाई विश्व एआई शक्तिको तेस्रो स्थानमा स्थापित गर्ने दाबीलाई बल दिएको छ । स्ट्यानफोर्ड युनिभर्सिटीको अध्ययनअनुसार पेटेन्ट, निजी लगानी लगायत ४० भन्दा बढी सूचकमा भारत दक्षिण कोरिया र जापानभन्दा माथि रहेको छ ।

एक अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्तासहितको बजारले बहुराष्ट्रिय प्रविधि कम्पनीहरूलाई आकर्षित गरिरहेको छ । माइक्रोसफ्टले हालै १७ अर्ब ५० करोड डलर लगानी घोषणा गर्दै यसलाई एसियामा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिबद्धता भनेको थियो ।

यद्यपि आलोचकहरूले भारत अझै उच्चस्तरीय कम्प्युटिङ क्षमता र व्यावसायिक एआई कार्यान्वयनमा पछाडि रहेको तर्क गर्छन् । डाटा सेन्टरहरूले पर्याप्त रोजगारी सिर्जना गर्ने विषयमा पनि प्रश्न उठाइएको छ । तर लोकेशले प्रत्येक औद्योगिक क्रान्तिले विस्थापनभन्दा बढी अवसर सिर्जना गरेको उल्लेख गर्दै एआई अँगालेका देशले नै फाइदा लिने धारणा व्यक्त गरे ।

ऊर्जा र पानीको उच्च माग सम्बोधन गर्न राज्यले दीर्घकालीन योजना बनाएको बताइएको छ । बङ्गालको खाडीमा बग्ने अतिरिक्त मनसुनी पानी उपयोग गरी विशाल डाटा सेन्टर चिस्याउने अवधारणा अघि सारिएको छ । साथै, कोभवाडामा छ वटा १।२ गिगावाट क्षमताका आणविक ऊर्जा संयन्त्रका लागि केन्द्रीय सरकारबाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको छ ।

छ गिगावाट डाटा सेन्टर क्षमताको लक्ष्यसहित आन्ध्र प्रदेशले तीव्र गति र ठूलो परिमाणमा कार्यान्वयन गर्ने दाबी गरेको छ । “हामी यात्रामा छौँ र देशले कहिल्यै नदेखेको गतिमा परियोजना कार्यान्वयन गर्नेछौँ”, लोकेशले भने ।

चीन–जर्मनी सम्बन्ध ‘नयाँ उचाइ’ तर्फ

म्युनिख, ३ फागुन । युरोपेली सङ्घ(इयु)ले चीन र संयुक्त राज्य अमेरिका दुवैप्रति आफ्नो निर्भरता पुनःमूल्याङ्कन गरिरहेका बेला बेइजिङले जर्मनीसँगको सम्बन्धलाई ‘नयाँ स्तरमा’ पु¥याउने स्पष्ट सङ्केत दिएको छ । चीनका विदेशमन्त्री वाङ यीले जर्मन चान्सलर फ्रेडरिक मेर्जसँग भेटवार्ता गर्दै द्विपक्षीय रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउन चीन इच्छुक रहेको बताएका छन्।

बेइजिङको विदेश मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार वाङले ‘सर्वाङ्गीण रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पु¥याउन’ जर्मनीसँग मिलेर काम गर्ने अपेक्षा व्यक्त गरे । उनले बर्लिनको सहयोगमा उच्चस्तरीय आदान–प्रदानको अर्को चरणको तयारी गर्न चाहेको पनि स्पष्ट गरे ।

चीनले आफूलाई इयुका लागि स्थिर र भरपर्दो साझेदारका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको सन्दर्भमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । युरोपेली मुलुकहरू एकातिर चीनसँगको आर्थिक सम्बन्ध सन्तुलित बनाउन र अर्कातिर अप्रत्याशित अमेरिकी नीतिबाट दूरी कायम गर्न खोजिरहेका छन् ।

यद्यपि पछिल्ला वर्षहरूमा अनुचित व्यापार अभ्यास, संरक्षणवाद र बजार पहुँचसम्बन्धी विवादले दुई देशबीचको गहिरो आर्थिक सम्बन्धमा चिसोपन आएको छ । यसै सन्दर्भमा मेर्ज यही महिनामा चीनको औपचारिक भ्रमण गर्ने तयारीमा रहेको बताइएको छ । भ्रमणका क्रममा विकसित व्यापारिक सम्बन्धलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रमुख मुद्दा रहने अपेक्षा गरिएको छ ।

वाङले जर्मनीलाई आफ्नो ‘रणनीतिक स्वायत्तता र आत्मनिर्भरता’ कायम राख्न प्रोत्साहन दिँदै चीन–युरोप सहकार्यमा जर्मनीले प्रेरक शक्ति बन्न सक्ने उल्लेख गरे । साथै उनले जर्मनीलाई रणनीतिक सम्बन्धका लागि ‘विश्वसनीय सहारा’ को भूमिकामा देख्न चाहेको धारणा व्यक्त गरे ।

यसअघि जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले डिसेम्बरमा बेइजिङ भ्रमण गरी वाङलगायत चिनियाँ अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा उनले युक्रेनमा जारी रुसको युद्ध अन्त्य गर्न चीनले आफ्नो प्रभाव प्रयोग गर्नुपर्ने विषय उठाएका थिए । वाडेफुलको अघिल्लो चीन भ्रमण भने अन्तिम समयमा रद्द भएको थियो, किनकि जर्मनीले उच्च अधिकारीहरूसँग भेटघाटको सुनिश्चितता गर्न नसकेको जनाएको थियो ।

सुदन र सन्तोषको प्रलोपाको घोषणापत्र सार्वजनिक, अन्य पार्टीभन्दा फरक भएको दाबी

काठमाडौँ। प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्षहरू सुदन किराती, दुर्गा सोब र सन्तोष परियारलगायतले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।

अध्यक्ष परिषद्का अध्यक्ष परियारले गत भदौ २३–२४ मा भएको ‘जेनजी विद्रोह’ ले नेपाली समाजलाई जरैदेखि हल्लाएको उल्लेख गर्दै उक्त आन्दोलनकै बलमा हुन लागेको चुनावमार्फत आफ्नो पार्टीले गर्ने कामको प्रतिबद्धतापत्र लिएर आएको बताउनुभयो ।

अध्यक्ष परिषद्का अध्यक्ष सोब र किरातीले मुलुक चरम आर्थिक सङ्कट, राजनीतिक दल तथा नेतृत्वको तीव्र भ्रष्टीकरण र कुशासनका कारण गम्भीर परिस्थितिमा पुगेकाले चुनावमार्फत त्यसलाई सच्याउनुपर्ने बताउनुभयो ।

पार्टीले परिवर्तनका विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने ज्ञातअज्ञात सहिदको सपना पूरा गर्ने अठोट व्यक्त गर्दै पार्टीले निर्वाचनमा उत्साहपूर्ण सहभागिताका लागि आम जनसमुदायलाई अपिलसमेत गरेको छ । प्रतिनिधिसभा निर्वाचनलाई राजनीतिक रूपान्तरणको ऐतिहासिक अवसरका रूपमा चित्रण गर्दै आफूलाई अग्रगामी वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य सो पार्टीले लिएको जनायो ।

पार्टीले ‘प्रगतिशील लोकतन्त्र’ को अवधारणा अघि सारेको जनाएको छ । यसको मूल आधार पूर्ण समावेशीता, सामाजिक न्याय र समता, जनसहभागितामूलक शासन, आर्थिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितता, सुशासन, पारदर्शिता तथा अग्रगामी परिवर्तनमा आधारित हुने अध्यक्ष सोबले बताउनुभयो ।

प्रलोपा नेतृत्वले पुराना दलहरू वर्तमान समस्याको समाधान र भविष्यका सम्भावनाको यथार्थ मूल्याङ्कन गर्न असफल भएको आरोप लगाउँदै आफूहरूसँग मुलुकलाई समृद्ध बनाउने स्पष्ट दृष्टिकोण, वैचारिक स्पष्टता, युवा तथा दूरदर्शी नेतृत्व, ठोस योजना र कार्यक्रम रहेको दाबी गरेको छ ।

रुपन्देहीमा १५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित

लुम्बिनी, ३ फागुन । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही जिल्लामा १५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएका छन् ।

आममतदातालाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु भएको हो । रुपन्देहीका पाँच निर्वाचन क्षेत्रका १५५ वडामा १५ दिनका लागि मतदाता शिक्षा स्वयंसेवक परिचालित गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कल्पना अर्यालले जानकारी दिए ।

प्रमुख आचार्यका अनुसार हरेक वडामा एक जना मतदाता शिक्षा स्वयंसेवक र प्रत्येक स्थानीय पालिकामा एक जना अनुगमनकर्ता परिचालन गरिएको छ ।

महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयमा कार्यरत बालशिक्षक र सामाजिक परिचालकलाई मतदाता शिक्षा स्वयंसेवकका रुपमा परिचालित गरिएको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार रुपन्देही जिल्लामा जम्मा छ लाख ७२ हजार ५२३ मतदाता रहेका छन् । सबैभन्दा बढी क्षेत्र नं एक मा एक लाख ४६ हजार ८२४ र कम क्षेत्र नं ४ मा एक लाख १६ हजार १७२ मतदाता रहेको आयोगले जनाएको छ ।

यसैगरी क्षेत्र नं २ मा एक लाख ३५ हजार ५०, क्षेत्र ३ मा एक लाख चार हजार ३५ जना र क्षेत्र ५ मा एक लाख ३४ हजार ४४२ जना मतदाता रहेको र जिल्लामा ४८ दशमलव ५२ प्रतिशत महिला मतदाता रहेको आयोगले स्पष्ट गरेको छ ।

मतदाता शिक्षा कार्यक्रमले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम निर्वाचन आयोगबाट मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भई कार्यान्वयनमा आएको आयोगको भनाइ छ ।

जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य होः सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताउनुभएको छ।

सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका सभापति थापाले आगामी पाँच वर्षमा जन भावना अनुसार सरकारले काम गर्नुपर्ने चुनौती रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब सिंहदरबार पनि जल्नु हुँदैन, गोली पनि चल्नु हुँदैन । हामीले कर्तव्यबोध गरेर काम गर्नुपर्छ । सुशासन कायम गर्नुपर्छ । जनता कुशासनले आजित भएका छन्, हामीले सुधार गर्नुपर्ने धेरै कुरा छन् । युवालाई रोजगारी चाहिएको छ, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत विषयमा काम गर्नुपर्ने छ । त्यसैले देश सम्हाल्न राष्ट्रिय दलले कर्तव्य बोध गरेर काम गर्नुपर्ने हुन्छ ।”

सभापति थापाले देशमा जोशसँगै होसका साथ र उत्साहसँगै अनुभवका साथ आगामी दिनमा काम गर्नुपर्ने दायित्व रहेको बताउनुभयो । जनतालाई परिणाम दिनुपर्ने समय आएको उल्लेख गर्दै उहाँले अब आनाकानी गर्ने छुट नभएको बताउनुभयो । सबै दललाई साथमा लिएर स्थायित्व हुने काम गर्नुपर्ने सभापति थापाको भनाइ थियो ।

कांग्रेसले नतिजा दिने गरी काम गर्ने सभापति थापाले बताउनुभयो । सर्लाही–४ का मतदातासँग भेटघाट गर्दै उहाँले प्राथमिकताका आधारमा शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रवासबाटै गायक बिन्ती कुमार गुरुङले मनचरी गीत बजारमा ल्याए

काठमाडौँ । गायक बिन्ती कुमार गुरुङको मनचरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द तथा संगीत सृजना रहेको सार्वजनिक गीतमा गायक बिन्ती कुमारलाई गायिका सदिक्षा कट्टेलले स्वरमा साथमा दिएकी छिन् ।

एक प्रेमील जोडी बीचको रोमान्टिक प्रेम कहानी बताउने मनचरीलाई गायक गुरुङले भ्यालेन्टाईन डेको अवसर पारेर सार्वजनिक गरेका हुन् । बैंशालु उमेरमा सुटुक्क माया बसेको एक जोडीको रोमाञ्चक प्रेम कहानीलाई मोडलद्धय प्रभात पल ठकुरी र जुना विश्वकर्माका माध्यमबाट बहुचर्चित निर्देशक शान थापाले कलात्मक शैलीमा उतारेको प्रेम कहानीको भिडियो निकै नै उत्कृष्ट बनेको छ । झट्ट हेर्दा भिडियो कुनै सिनेमाको एउटा अंश जस्तो लाग्छ ।

बिसम आचार्यको एरेन्ज रहेको गीतमा साजन शाहको मिक्सिङ र मास्टरिङ रहेको छ । दिनेश पराजुलीको छायांकन रहेको गीतमा बिबेक सुनारको सम्पादन तथा मिलन विश्वकर्माको कलर रहेको गीतको कोरियोग्राफी रोशन विश्वकर्माले गरेका हुन् भने भिडियो को निर्माण जष्मिन क्रियसनले गरेको हो । प्रस्तुत गीतका निर्मात्री हुन् संगीता गुरुङ ।

ग्रामिण भेगमा देखिँदै र भोगिँदै आएको भर्खरैका तन्नेरीहरुको आकर्षक प्रेमील कथा प्रस्तुत यस गीत आफ्ना यसअघिका सृजना भन्दा केही भिन्न शैलीमा तयार भएको गायक बिन्ती कुमार बताउँछन् । भन्छन् म प्रबासमा रहेर पनि घर गाउँका अर्गानिक सृजना यसरी तयार गर्न पाउँदा स्वदेशमा नै छु की झै लाग्छ । गायक तथा संगीतकार गुरुङले प्रवासमा रहेर पनि वर्षेनी २ देखि ३ वटा सम्म म्यूजिक भिडियो रिलिज गर्दै आइरहेका छन् ।

उनका बाटैबाटो, माया त यस्तो, चोखो माया, होई मेरो संसार, फूल भन्दा नी राम्री छ्यौ, लगायतका २ दर्जन बढी गीतहरू आफ्नै अफिसियल च्यानलबाट बजारमा आइसकेका छन् । यसका अलावा उनले आफ्नो मातृभाषा गुरुङ भाषामा पनि बेला बेलामा आफ्ना सृजनाहरु बजारमा ल्याइरहेका हुन्छन् ।

मनलाई स्वतन्त्र, शान्त र आनन्दित बनाउने प्रतीकात्मक स्वरूप नै पशुपतिनाथ हुन् – ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनलाई स्वतन्त्र, शान्त र आनन्दित बनाउने प्रतीकात्मक स्वरूप नै पशुपतिनाथ भएको बताएका छन् ।

आज महाशिवरात्रिका अबसरमा शुभकामना सन्देश जारी गर्दे उनले यस्तो बताएका हुन् । उनले ऊर्जाको तेजमय प्रवाहलाई संयममा राख्ने सामर्थ्य, विषको पीडा सामना गरेर पनि शान्त रहने धैर्य र नश्वरता सम्झँदै अनासक्त जीवन जिउने सन्देश पशुपतिनाथले दिएको बताउका छन् ।

उनले लेखेका छन् –

आज महाशिवरात्रि ।

यो पवित्र रात्रि उपवास, जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व हो। ‘पशु’ अर्थात् बन्धनमा बाँधिएको चेतनालाई मुक्त गराउने र लोभ, क्रोध, मोह, अहंकार लगायत सबै पाश९बन्धन०हरूबाट निकालेर मनलाई स्वतन्त्र, शान्त र आनन्दित बनाउने प्रतीकात्मक स्वरूप नै पशुपतिनाथ हुन्।

ऊर्जाको तेजमय प्रवाहलाई संयममा राख्ने सामर्थ्य, विषको पीडा सामना गरेर पनि शान्त रहने धैर्य र नश्वरता सम्झँदै अनासक्त जीवन जिउने सन्देश पशुपतिनाथले दिएका छन्।

बाहिरको कोलाहलमा होइन, भित्रको विवेकमा सत्य निहित छ। आजको यस दिनमा सबैले विवेकको सत्य फेला पार्न सकुन् र आत्मबोधको ज्योति प्रज्ज्वलित होओस्।

जय राष्ट्रदेव, महादेव भगवान पशुपतिनाथ !

हर हर महादेव !

शुभ महाशिवरात्रि

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २८, आलु रातो (भारतीय) प्रतिकिलो रु २६ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ५५, बन्दा (तराई) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु २५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ५०, काउली तराई प्रतिकिलो रु २५, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १६, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५५ र भन्टा डल्लो प्रतिकिलो रु ६५ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ६५, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ७५, तिते करेला प्रतिकिलो रु २००, घिरौँला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ७५, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७५, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ७० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ३५, चमसुर प्रतिकिलो रु ३०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु ४५, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु ९०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु २८०, रातो बन्दा प्रतिकिलो रु १००, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु ४०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु १९०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १८०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १४०, काँक्रो (लोकल) प्रतिकिलो रु १७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ६०, रुखकटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १३०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५५०, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ५५०, भेडे खुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु ६०, हरियो धनियाँ प्रतिकिलो रु ४५, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २५०, छ्यापी सुकेको प्रतिकिलो रु १५०, छ्यापी हरियो प्रतिकिलो रु १६०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

मुस्ताङबाट छ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी

मुस्ताङ। मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ केजी फोहरमैला जिल्ला बाहिर निकासी गरिएको छ ।यहाँस्थित वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा सङ्कलित फोहरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जिल्ला बाहिर पठाएको हो ।

धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङलाई स्वच्छ, सफा र वातावरणमैत्री तुल्याउने उद्देश्यले एक्यापले गत आर्थिक वर्षदेखि यहाँका समुदायले सङ्कलन गरेको फोहरमैलालाई ट्रकमार्फत ढुवानी गरी पोखरा पठाउन थालेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

एक्यापले मुस्ताङको तल्लो क्षेत्रमा समुदायले सङ्कलन गरेको नकुहिने प्लास्टिकजन्य फोहरमैला उठाएर पुनः प्रयोगका लागि पोखरास्थित ग्रीन वेस्ट मेनेजमेन्ट प्रालिमा निकासी गरेको कार्यालय प्रमुख गुप्ताले उल्लेख गर्नुभयो । चालु वर्षको पुससम्म यहाँ सङ्कलित फोहर चारपटक ट्रकमा ढुवानी गरी पोखरा पठाइएको प्रमुख गुप्ताको भनाइ छ ।

मुस्ताङमा पर्यटन व्यवसायी तथा स्थानीय समुदायस्तरबाट सङ्कलन भएको नकुहिने फोहरलाई एक्याप जोमसोमले ट्रकको ढुवानी गरिएको भाडा आफ्नै आर्थिक खर्च व्यवस्थापन गरी पोखरास्थित प्रशोधन केन्द्रमा पठाउने गरेको प्रमुख गुप्ताले जानकारी दिनुभयो ।

यस वर्ष पहिलो चरणमा गत भदौ ११ गते १७६ बोरा अर्थात् ५४४ केजी, दोस्रो चरणमा कात्तिक १९ गते १५४ बोरा अर्थात् ८६० केजी, तेस्रो चरणमा मङ्सिर ७ गते २४२ बोरा अर्थात् १५३ केजी र चौथो चरणमा पुस ९ गते १७२ बोरा अर्थात् एक हजार ३५१ केजी फोहर पोखरामा निकासी गरिएको हो ।

यसैगरी गतवर्ष एक्याप जोमसोमले यहाँको तीन पालिकामा पर्यटन व्यवसायी तथा समुदायले सङ्कलन गरेको दश हजार १९० केजी फोहर ट्रकमा ढुवानी गरी पोखरास्थित ग्रीन वेस्ट मेनेजमेन्ट प्रशोधन केन्द्रमा पठाएको थियो ।

यसअघि मुस्ताङमा सङ्कलन हुने नकुहिने प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि एक्याप र ग्रीन वेस्ट मेनेजमेन्ट प्रालिबीच फोहर व्यवस्थापन गर्नेसम्बन्धी सहमति गरेको थियो । एक्याप प्रमुख गुप्ताका अनुसार मुस्ताङमा सङ्कलन हुने फोहरलाई सम्बन्धित स्थानमा पुर्याउन ढुवानीको साधन व्यवस्थापन गर्नमा समस्या परिरहेको बताउनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको स्वामित्वमा रहेको मुस्ताङमा यहाँको वातावरणलाई चुस्त राख्ने उद्देश्यले फोहरमैला व्यवस्थापन गर्नका लागि चालु आवमा यहाँका तीन पालिकाले रु पाँच–पाँच लाख बजेट विनियोजन गरिएको प्रमुख गुप्ताले बताउनुभयो । एक्यापले दिएको फोहरमैला व्यवस्थापन शीर्षकको बजेटमा रहेर यहाँको घरपझोङ गाउँपालिकाले ट्याम्पो खरिद गरेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले सङ्कलित फोहरलाई थिच्ने कम्प्रेसर मेसिन खरिद गरेको छ भने थासाङ गाउँपालिकाले फोहरमैला शीर्षकमा छलफलको चरणमा रहेको एक्यापले जनाएको छ ।

त्यसैगरी, जिल्लामा पर्यटक तथा स्थानीय नागरिकबाट हुने फोहरमैलाको समुचित व्यवस्थापनका लागि यहाँका तीन पालिकामा एक्याप फोहर सङ्कलन केन्द्र पूर्वाधार निर्माण गरेको जनाएको छ । एक्यापले यहाँको थासाङ–४ घाँसा, थासाङ–३ लेते र धम्पु, थासाङ–२ कोवाङ, थासाङ–१ टुकुचे, घरपझोङ–३ स्याङ, घरपझाङ–१ छैरो, वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी र वारागुङ मुक्तिक्षेत्र–४ मुक्तिनाथमा फोहरमैला सङ्कलन केन्द्र पूर्वाधार निर्माण गरेको जनाएको छ ।

टी–२० विश्वकप : आज वेस्ट इन्डिजटोलीसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाली टोली आज वेस्ट इन्डिजटोलीसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगितामा टिकिरहन नेपाललाई जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर–८ मा पुग्ने संघारमा रहेको छ ।आजको खेल जितेमा वेस्ट इन्डिज अर्को चरणमा पुग्नेछ भने नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिनेछ ।

आजको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेलमाथि फेरि ध्यान केन्द्रित हुनेछ । साथै दीपेन्द्रसिंह ऐरीबाट अलराउन्ड प्रदर्शनको अपेक्षा गरिएको छ । बलिङतर्फ सन्दीप लामिछाने निर्णायक हुने अपेक्षा गरिएको छ ।

युक्रेनका सबै विद्युतगृह क्षतिग्रस्त, युक्रेनी जनता चिसोबाट पनि पिडितः राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका कारण युक्रेनका सबै विद्युत् गृहमा क्षति पुगेको र लाखौँ नागरिकले चिसोमा विद्युत् कटौतीको सामना गर्नु परेको बताएका छन् । युद्धबाट क्षति व्यहोरेका जनताले जाडोमा विद्युत्को अभाव हुँदा चिसोको पीडा पनि सहन बाध्य भएको उनले म्युनिखमा शनिबार सुरु भएको सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै बताएका हुन् ।

जेलेन्स्कीले मस्कोको आक्रमणको चौथो वर्षमा केही दिन अघि अधिकारीहरूलाई सम्बोधन गर्दै भने, “युद्धले दशौँ हजारको ज्यान लिएको छ, पूर्वी युक्रेनलाई ध्वस्त पारेको छ र लाखौँलाई भाग्न बाध्य पारेको छ।”

किएभ र उसका पश्चिमी सहयोगीहरूले मस्कोले युक्रेनको जनसङ्ख्यालाई जानीजानी विद्युत् गृहमा आक्रमण गरेको आरोप लगाएका छन् ।

जेलेन्स्कीले भने, “युक्रेनमा कुनै पनि विद्युत् गृह रूसी आक्रमणबाट क्षतिग्रस्त हुनबाट बाँकी छैन ।” प्लान्ट मर्मत गर्ने हजारौँ कामदारहरूको प्रशंसा गर्दै उनले भने, “हामी अझै पनि बिजुली उत्पादन गर्छौँ।”

उनले युक्रेनको पश्चिमी आपूर्तिमा आधारित वायु रक्षा प्रणालीका लागि द्रुत आपूर्तिको आह्वान गर्दै भने, “कहिलेकाहीँ हामी ‘प्याट्रियट्स’ वा नासाएमएसका लागि नयाँ मिसाइलहरू प्राप्त गर्न सफल हुन्छौँ।”

रुस र युक्रेनले अर्को हप्ता जेनेभामा अमेरिकी मध्यस्थतामा वार्ता गर्ने तयारी गरेका छन् र जेलेन्स्कीले युद्ध अन्त्यका लागि किएभले ‘सबै कुरा’ गरिरहेको बताएका छन् ।

रुसले युक्रेनलाई आफ्नो डोनेट्स्क क्षेत्रबाट फिर्ता लिन माग गरेको छ ।जेलेन्स्कीले वार्ताका लागि युक्रेन धेरै लचिलो बनेको बताउँदै भने, “युक्रेन रूसको तुलनामा बढी योगदान गर्न तयार रहे पनि वार्ता सफल हुन नसक्नु दुर्भाग्यपूर्ण हो।”

“अमेरिकीहरू प्रायः छुटको विषयमा कुरा उठाउने गर्छन् र प्रायः ती छुटहरू युक्रेनको सन्दर्भमा मात्र छलफल गरिन्छ,” उनले भने ।युक्रेनले आफ्नो पूर्वी क्षेत्र छोड्नु अस्वीकार्य भएको बताएको छ ।

म्याग्दीको नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना

म्याग्दी । म्याग्दीको सिमानामा रहेको बागलुङको ताराखोला गाउँपालिका–४ मा रहेको नेपाल माविले स्थापना गरेको अक्षयकोषमा रु एक करोड सङ्कलन भएको छ ।

गत माघ २५ देखि यही फागुन १ गतेसम्म विविध कार्यक्रमसहित मनाइएको ५७औँ स्थापना दिवस कार्यक्रममा प्राप्त भएको रु ३७ लाखसहित उक्त रकम सङ्कलन भएको हो । प्राविधिकतर्फ पशुविज्ञान विषयमा दश जोड दुई तहको पठनपाठन सञ्चालन गरेको विद्यालयको शैक्षिक र भौतिक विकासमा परिचालन गर्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोषमा हालसम्म रु एक करोड दुई लाख सङ्कलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम खत्रीले बताए ।

“दाताहरूले आफ्ना दिवङ्गत अभिभावक र दिवङ्गत भएका पूर्वविद्यार्थीहरूको स्मृतिमा उनीहरूका अभिभावकले अक्षयकोषमा सहयोग गर्नुभएको छ”, उनले भने, “विदेशमा रहेका ताराखोलावासीहरू आबद्ध सङ्घसंस्था र व्यवसायीहरूले व्यक्तिगत रूपमा पनि सहयोग गर्नुभएको छ ।”

विद्यालयको आन्तरिक स्रोतको कोषमा रहेको रु ६५ लाखबाट सुरु गरिएको अक्षयकोषमा ५६औँ वार्षिकोत्सवका अवसरमा गत वर्ष रु १५ लाख सहयोग प्राप्त भएको थियो । अक्षयकोषलाई वृद्धि गरेर रु दुई करोड बनाउने र सोको ब्याजबाट विद्यालयले पठनपाठनमा गरेको नमूना अभ्यासलाई निरन्तरता दिन परिचालन गरिने अध्यक्ष खत्रीले जानकारी दिए ।

अक्षयकोषमा गलकोट समाज जापानले रु पाँच लाख, जितबहादुर खत्रीले रु तीन लाख, टीकाराम कँडेलले रु दुई लाख, गैरआवासीय नेपाली सङ्घ जापानले रु एक लाख ५० हजार, यमबहादुर खत्रीले रु एक लाख, भीमबहादुुर पाण्डेको परिवारले रु एक लाख, कर्णबहादुर केसीले रु दुुई लाख ११ हजार १११, हुमाकुुमारी कँडेलले रु दुई लाख, रती घर्तीले रु ६५ हजार, पोकबहादुर घर्तीले रु ५० हजार र चित्रप्रसाद गौचनले रु एक लाख सहयोग गरे।

त्यसैगरी, राम चालिसेले रु तीन लाख ५० हजार र प्रकाश थापाले रु तीन लाख ५० हजार, लाखिम गैरेले रु ५० हजार र भक्त चोखालले रु ५० हजार सहयोग गरे । यसैगरी स्वर्गीय हरिबहादुुर चोखालको स्मृतिमा उनका बुबा पोकबहादुर चोखालको रु चार लाख ५५ हजार सहयोगमा विद्यालय भवनमा एक कोठा निर्माण भएको छ ।

चार सय ११ जना विद्यार्थी अध्ययनरत विद्यालयका विद्यार्थीको साधारणतर्फ सरदर सिकाइ उपलब्धि ५५.९५ र प्राविधिक धारतर्फका विद्यार्थीको सिकाइ उपलब्धि ६५.१५ प्रतिशत रहेको प्रअ प्रकाश रोकाले जानकारी दिए । सङ्घीय सरकारको नमूना विद्यालय कार्यक्रममार्फत ३४ कोठा क्षमताको पाँचवटा भवन निर्माण सकिएको र एक भवन निर्माणाधीन छ । एघारकोठे एक छात्रावास, १३ कोठे शौचालय, कम्युटर, विज्ञान प्रयोगशाला र पशु विज्ञान प्रयोगशाला स्थापना भएको छ ।

कक्षा ८ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने गरिएको छ । कोरियाको संस्थाको सहयोगमा सूचना प्रविधियुुक्त अत्याधुनिक मल्टिमिडिया र प्रविधियुक्त कम्युटर विषयको पठनपाठन हुुने कक्षा कोठा पनि रहेको छ ।

ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले नेपाल माविलाई आवासीय विद्यालयका रूपमा सञ्चालन गर्ने, स्कुल बसको सुविधा थप गर्ने र क्याम्पससमेत स्थापना गर्ने योजना रहेको बताए ।

कर्णाली प्रदेश सरकारद्वारा आगामी वर्ष कार्यान्वयन गरिने योजना माग

सुर्खेत । कर्णाली प्रदेश सरकारबाट आर्थिक वर्ष २०८३/८४ मा प्रदान गरिने समपूरक अनुदान तथा विशेष अनुदानका लागि प्रस्ताव माग गरिएको छ । कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहलाई प्रदेश सरकारले अनुदानका लागि प्रस्ताव माग गरेको हो ।

कर्णाली प्रदेश समपूरक अनुदान कार्यविधिअनुसार स्थानीय तहले आयोजना तथा कार्यक्रमको प्रस्ताव प्रदेश सरकारलाई पठाउन आग्रह गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता चेतनकुमार तिमिल्सेनाले जानकारी दिए ।

आगामी चैत १ गतेभित्र प्रदेशका सबै स्थानीय तहले विद्युतीय माध्यमबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रस्ताव पेस गर्न आग्रहसहित समयसीमा निर्धारण गरिएको उनले बताए ।

प्रस्ताव पेस गर्दा स्थानीय तहले आफ्नो स्रोत वा अन्य स्रोतबाट सञ्चालन भइरहेका, सञ्चालन हुने आयोजना कार्यक्रमसँग दोहोरो नपर्ने गरी प्रस्ताव गर्न निर्देशन दिइएको छ । स्थानीय तहको कार्यपालिकाले आयोजना वा कार्यक्रमको प्राथमिकीकरण निर्णयसहित समपूरक अनुदानका लागि कर्णाली प्रदेश समपूरक अनुदान (पहिलो संशोधनसहित) कार्यविधि २०८१ को अनुसूची २ अनुसार प्रस्ताव पठाउन आग्रह गरिएको हो ।

यसैगरी, विशेष अनुदानका लागि प्रदेश विशेष अनुदान पहिलो संशोधनसमेत कार्यविधि २०८१ को अनुसूची २, अनुसूची ३, अनुसूची ४ बमोजिमको ढाँचामा आवश्यक विवरण तथा सर्त पूरा भएको व्यहोराको प्रमाणीकरणसमेत संलग्न गरी पेस गर्न आग्रह गरिएको छ ।

अनुदान पाउनका लागि आगामी आर्थिक वर्षका लागि यसअघि समपूरक अनुदान प्राप्त गरी कार्यान्वयनमा गएका आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी सम्पन्न हुन बाँकी रहेको क्रमागत आयोजनालाई पहिलो प्राथमिकता राखी कार्यविधिमा व्यवस्था भएबमोजिम आयोजना वा कार्यक्रम पेस गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता तिमिल्सेनाले जानकारी दिए ।

समपूरक अनुदानका लागि स्थानीय तहलाई विभिन्न मापदण्ड तोकिएको छ । कृषि उपजको प्रशोधन, भण्डारण र बजारीकरण तथा कृषि सडक पूर्वाधारको विकासका लागि प्रस्ताव पेस गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

यसैगरी, सिँचाइ तथा नदी नियन्त्रण, तटबन्ध तथा पहिरो नियन्त्रण, सौर्य, वायु, जैविकलगायत वैकल्पिक ऊर्जा उत्पादनसँग सम्बन्धित पूर्वाधार, खानेपानी तथा सरसफाइ र ढल निकाससम्बन्धी पूर्वाधार र स्थानीय भवन (सामुदायिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य केन्द्र) निर्माण गर्न प्रस्तावमा राख्न आग्रह गरिएको छ ।

सार्वजनिक महत्त्वको पर्यटन पूर्वाधार, स्थानीय तहको केन्द्र र वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्थाजस्ता सेवा केन्द्र, औद्योगिक ग्राम वा क्षेत्र र बजार जोड्ने स्थानीय सडक, स्थानीय जनताको आयआर्जनमा उल्लेख्य योगदान पुग्ने कृषि उत्पादन, पशुपक्षीपालन तथा सहकारीजन्य पूर्वाधार विकाससम्बन्धी योजना, ग्रामीण क्षेत्रमा एकीकृत बस्ती विकास, वैकल्पिक ऊर्जा तथा सहरी विकाससम्बन्धी योजनाको समेत प्रस्ताव पेस गर्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रस्तावमा स्थानीय बजार विकास, वातावरण संरक्षण तथा जैविक विविधतासम्बन्धी पूर्वाधार, फोहरमैला व्यवस्थापन र ढल निकाससम्बन्धी योजना, प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा प्रदेश र स्थानीय तहबीच सहकार्य र संयुक्त लगानीमा कार्यान्वयन गर्ने गरी निर्धारण गरिएको आयोजना वा कार्यक्रमका लागि प्रस्ताव माग गरिएको छ ।

यस्तै, विशेष अनुदानका लागि स्थानीय तहले शैक्षिक विकासका लागि सेवाको गुणस्तर अभिवृद्धि, आधारभूत स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, आधारभूत खानेपानी तथा सरसफाइ सुविधाबाट वञ्चित दलित, लोपोन्मुख तथा आर्थिक सामाजिक रूपले पिछडिएको समुदाय लक्षित गरेर सञ्चालित गरिने खानेपानी वा सरसफाइका आयोजनाहरू समेत माग गर्न आग्रह गरिएको छ ।

प्रवक्ता तिमिल्सेनाले आर्थिक सामाजिक वा अन्य कुनै प्रकारले विभेदमा परेको वर्ग, समुदाय, क्षेत्रको उत्थानका तथा विकासका लागि लक्षित गरी सञ्चालन गरिने उत्पादन र उत्पादकत्व वृद्धि एवं आयआर्जन जीविकोपार्जन सुधार गर्नसमेत विशेष अनुदान पाउने व्यवस्था गरिएको बताए ।

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि आज (आइतबार) देखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुने भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो ।

आम नागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको आयोगले जनाएको छ ।

आजदेखि सुरु भएको सो कार्यक्रम यही फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा सञ्चालन हुनेछ । त्यसका लागि एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुनेछन् । आयोगका अनुसार त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनेछन् ।

प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । आयोगले सो कार्यमा सहयोग, समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार, सबै स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगत्लगायत सम्पूर्ण सरोकारवालामा आयोगले अनुरोध गरेको नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

भोजपुरमा राष्ट्रियस्तरको भलिबल प्रशिक्षण केन्द्र सञ्चालनको तयारी

भोजपुर। भोजपुर नगरपालिका–४, दावाँमा अवस्थित कृष्णलक्ष्मी–लक्ष्मी स्पोट्र्स कम्प्लेक्सलाई भलिबल तथा अन्य इन्डोर्स खेलको लागि प्रशिक्षण केन्द्रका रूपमा विकास गरिने भएको छ ।

करिब १२ वर्षअघि निर्माण सुरु गरिएको उक्त कम्प्लेक्सलाई राष्ट्रियस्तरको भलिबल प्रशिक्षण केन्द्रका रूपमा अघि बढाउने तयारी गरिएको हो ।

करिब रु दुई करोडको लागतमा निर्माण गरिएको यस कम्प्लेक्सलाई व्यवस्थित रूपमा सञ्चालन गरी भलिबल प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने योजना रहेको नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार राज्यको ठूलो लगानीमा निर्माण भएको संरचनालाई प्रभावकारी रूपमा उपयोग गर्दै राष्ट्रिय खेल भलिबलको विकासमा टेवा पुर्याउने सङ्घको लक्ष्य छ ।

महासचिव श्रेष्ठले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसारको बजेट राज्यबाट समयमै प्राप्त नहुँदा केही संरचनाको निर्माणकार्यमा ढिलाइ भएको उल्लेख गर्नुभयो । उहाँले यसको पूर्णता र दीर्घकालीन सञ्चालनका लागि आवश्यक बजेट विनियोजन हुनुपर्नेमा जोड दिनुभयो ।

“राष्ट्रिय भलिबल सङ्घले यहाँ आवासीय भलिबलसहित अन्य खेलका प्रशिक्षण केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको छ”, उहाँले भन्नुभयो, “भलिबल नेपालको राष्ट्रिय खेल भएकाले यसको दिगो विकासका लागि विशेष पहल गरेका छौँ । दावाँस्थित कृष्णलक्ष्मी स्पोट्र्स कम्प्लेक्सलाई खेल प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने हाम्रो प्रमुख उद्देश्य हो ।”

आवासीय प्रशिक्षण केन्द्र सञ्चालनका लागि राष्ट्रिय भलिबल सङ्घले एक जना योग्य प्रशिक्षकको व्यवस्था गर्ने जनाएको छ । यस केन्द्रमार्फत स्थानीय तथा प्रदेशस्तरका प्रतिभावान खेलाडीलाई व्यवस्थित प्रशिक्षण प्रदान गरिनेछ, जसले भविष्यमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिताका लागि खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

खेल क्षेत्रको विकासका लागि आफ्ना पिता स्वर्गीय माधवप्रसाद श्रेष्ठले १० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि यहाँ कम्प्लेक्स निर्माण गरिएको महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच, नेपालक भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले कम्प्लेक्सको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा उहाँले भौतिक अवस्था, सम्भाव्यता तथा आवश्यक सुधारका विषयमा चासो व्यक्त गर्दै केन्द्र सञ्चालनका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । स्थानीय सरकारको सक्रिय भूमिका र राज्यको निरन्तर सहयोगबिना यस्तो महत्त्वपूर्ण संरचना दीर्घकालीन रूपमा सञ्चालन गर्न कठिन हुने उहाँको धारणा छ ।

भलिबलका मुख्य प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद्का तालिम प्रशिक्षक एवं उपनिर्देशक जगदीशप्रसाद भट्टले संरचनालाई पूर्ण रूपमा सम्पन्न गर्न सके यहाँ भलिबलसहित अन्य ‘इन्डोर्स’ खेलका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सकिने बताउनुभयो । पहाडी क्षेत्रमा निर्माण भएको यस्ता संरचनामा प्रशिक्षण लिएका खेलाडीले उत्कृष्ट क्षमता प्रदर्शन गर्न सक्ने उहाँको भनाइ छ ।

प्रशिक्षण केन्द्र सञ्चालनले जिल्लामा खेलकुद गतिविधि वृद्धि हुुनका साथै युवालाई अनुशासित र स्वस्थ जीवनतर्फ प्रेरित गर्दै तथा राष्ट्रिय खेल भलिबलको प्रवर्द्धनमा भोजपुरको योगदान बढ्ने स्थानीयवासी उत्तम खड्काले बताउनुभयो । लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको खेल संरचनालाई पुनः जीवन दिने कार्यले भोजपुरको खेलकुद विकासमा नयाँ आशा जगाएको उहाँको भनाइ छ ।

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके। नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको भीडभाड हुने गर्दछ । करिब चार दशकदेखि स्थानीय अरमान अलीले हलुवा–पराठाको स्वाद चखाउँदै आउनुभएको छ ।

फेमस हलुवा–पराठामा बिहान ६ः०० बजेदेखि नै नजिकै रहेको महेन्द्र बहुुमुखी क्याम्पस पढ्ने विद्यार्थी र रुपैडिहा आवतजावत गर्ने बटुवा हलुवा–पराठा खान पुग्ने गर्दछन् । अरमानको परिवारले करिब ४३ वर्षदेखि हलुवा–पराठाको एउटै परिकार बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् ।

“हाम्रो बुबाले भारतको मुम्बईमा सिकेर आएपछि यहाँ हलुवा–पराठाको पसल खोल्नुभएको थियो, अहिले हामीले सञ्चालन गर्दै आएका छौँ”, अरमानले भन्नुभयो, “हामीले बनाएको हलुवा–पराठा अहिलेसम्म नमिठो भयो भन्ने सुन्नुपरेको छैन, बरु मिठो भयो भनेर थपेर खाने र पोको पारेर घर लैजानेहरू धेरै छन् ।”

खानाका अनेक परिकार पाइने भएकाले नेपालगन्जलाई स्वादहरूको सहर पनि भनिन्छ । ती अनेक स्वादमध्ये हलुवा पराठा पनि एक हो । नेपालगन्जका स्थानीयमात्र नभई बाहिरबाट नेपालगन्ज घुम्न आउने पाहुना पनि हलुवा–पराठा खाना चौलिकाचोक पुग्ने गरेको अरमानले बताउनुभयो ।

प्रत्येक दिन करिब ४० देखि ५० केजीसम्म हलुवा–पराठा बिक्री गरेर रु १५ देखि २० हजारसम्म आम्दानी गर्ने गरेको उहाँको भनाइ छ । पीठो मुछ्ने, हलुवा बनाउने, पराठा बनाउने, बिक्री गर्नेलगायत कामका लागि अरमानले सात जना कामदारलाई रोजगारीसमेत दिँदै आउनुभएको छ । अन्य दिनभन्दा शनिबार र सार्वजनिक बिदाका दिनमा हलुवा–पराठा खान आउने मानिसको धेरै भीडभाड हुने गरेको अरमानले बताउनुभयो ।

ठूलो पराठालाई तौलेर हलुवाका साथमा बेच्ने गरिन्छ । पराठा रोटी खानुको स्वाद त छँदैछ, बनाएको हेर्न झनै मज्जा आउँछ । नाङ्ललोभन्दा ठूलो तावामा पकाउनुअघि पराठा पकाउने कारिगढले पीठोलाई केही पराठाको आकारमा बनाएपछि त्यो आकारबाट बढाएर सुपो जत्तिकै ठूलो आकारमा पुर्याउँछन् । जुन पराठाको आकारले आधा शरीर छोपिन्छ । छेउतिरबाट हेर्दा पकाउनुअघिको काँचो पराठा पछ्यौरा ओढेजस्तै देखिन्छ । एउटै पराठाबाट कम्तीमा १० जनासम्मलाई पुग्ने उहाँको भनाइ छ ।

हलुवा पराठाको माग बढ्दै गएपछि हाल नेपालगन्जको त्रिवेणी मोड, बागेश्वरी मन्दिरको पूर्वपट्टि पनि केही वर्षदेखि हलुवा पराठा बनाउने गरिएको छ । तर अन्य स्थानको भन्दा चौलिकाचोकको हलुवा–पराठा नै अधिकांशको जिब्रोले मन पराउने गरेको महेन्द्र बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति माधव खत्रीले बताउनुभयो ।

बजारमा थरिथरिका फास्टफुड र रेष्टुरेन्टहरू खुले पनि अरमानको पसलमा आउने ग्राहकको भीड घटेको छैन । स्वच्छता र पुख्र्यौली स्वादले क्याम्पस पढ्ने युवादेखि पुराना धेरैका लागि यहाँको हलुवा–पराठा नास्तामात्र नभई एउटा पुरानो याद हुने गरेको खत्रीको भनाइ छ ।

श्वासप्रश्वासका बिरामीलाई उपचार सेवा प्रदान गर्न ललितपुरस्थित मानभवनमा ‘नेसनल चेष्ट सेन्टर’ सञ्चालनमा

काठमाडौँ। श्वासप्रश्वाससम्बन्धी बिरामीलाई सर्वसुलभ रुपमा विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्न ललितपुर महानगरपालिका–१३ स्थित मानभवनमा ‘नेसनल चेष्ट सेन्टर’ सञ्चालनमा ल्याइएको छ ।

पछिल्लो समय विभिन्न कारणले श्वासप्रश्वास (छाती) सम्बन्धी रोग दिनप्रतिदिन गम्भीर जनस्वास्थ्य समस्याका रूपमा बढ्दै गएको छ । यस्तो अवस्थामा स्वदेशमा नै श्वासप्रश्वाससम्बन्धी केन्द्रित भएर एकीकृत सेवा प्रदान गर्न पहिलोपटक छुट्टै ‘सेन्टर’ को स्थापना गरिएको हो ।

‘सेन्टर’बाट फोक्सोको कार्यक्षमता परीक्षण, डिजिटल एक्स–रे तथा आवश्यक इमेजिङ सुविधा, एलर्जी तथा दमको परीक्षणसम्बन्धी सेवा, सिओपिडी, दम, क्षयरोग तथा अन्य दीर्घकालीन श्वासप्रश्वास रोगको समग्र उपचार, कोभिडपश्चात् फोक्सो परीक्षण क्लिनिक, धुमपान त्याग परामर्श सेवा, विशेषज्ञ परामर्शसहित नियमित फलोअप, अत्याधुनिकस्तरको प्रयोगशाला सुविधा, बिरामीलाई सहज रूपमा औषधि उपलब्ध गराउन आफ्नै फार्मेसी सञ्चालन, बिरामीलाई एकै स्थानबाट सम्पूर्ण सेवा प्राप्त गर्ने सुविधा प्रदान गरिने जनाइएको छ । यसले गर्दा बिरामीको समय र खर्च दुवै बचत गर्ने अपेक्षा गरिएको छ ।

‘नेसनल चेष्ट सेन्टर’द्वारा जारी विज्ञप्तिका अनुसार ‘सेन्टर’को उद्देश्य केवल उपचारमा मात्र सीमित छैन । यसको दीर्घकालीन लक्ष्य श्वासप्रश्वास रोगको रोकथाम र जनचेतना अभिवृद्धि गर्नु पनि हो । विज्ञप्तिमा भनिएको छ, “नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी गराउने, वायु प्रदूषणबाट जोगिने उपायबारे सचेतना फैलाउने, सुर्तीजन्य पदार्थ त्याग्न प्रोत्साहन गर्ने तथा विद्यालय, कलेज र समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ‘सेन्टर’ योजना रहेको छ ।

श्वासप्रश्वास रोगको समयमै पहिचान र उपचार नगरेमा यसले दीर्घकालीन जटिलता निम्त्याउन सक्छ । प्रारम्भिक अवस्थामा नै परीक्षण तथा उपचार सुरु गर्न सकेमा रोग नियन्त्रण सम्भव हुन्छ र जीवनस्तर सुधार गर्न सकिन्छ । त्यसैले ‘रोकथाम नै उपचारभन्दा उत्तम’ भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै सेन्टरले समग्र, समन्वित र वैज्ञानिक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।”

बढ्दो प्रदूषण, बदलिँदो जीवनशैली, धुमपान सेवन र महामारीपछिको अवस्थाले नेपालमा श्वासप्रश्वास रोगलाई गम्भीर चुनौतीका रूपमा उभ्याएको छ । यस्तो अवस्थामा विशेषज्ञ, प्रविधिसहितको तथा बिरामीमैत्री सेवा केन्द्रको आवश्यकता महसुस गर्दै यो पहल सुरु गरिएका छ । ‘सेन्टर’ काठमाडौँ उपत्यकामात्र होइन, देशभरबाट आउने बिरामीलाई समेत सेवा प्रदान गर्ने लक्ष्य राखेको विज्ञप्तिमा उल्लेख छ ।

श्वासप्रश्वास नसर्ने रोगको प्रमुख समस्या उच्च ः एकै स्थानबाट बहुआयामिक सेवा

श्वासप्रश्वास रोगका लागि पूर्ण रूपमा समर्पित, बहुआयामिक सेवा दिने छुट्टै ‘चेष्ट सेन्टर’को अभाव रहँदै आएका अवस्थामा यो ‘सेन्टर’ स्थापनाले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपेको बताइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वभर हरेक वर्ष करोडौँ मानिस विभिन्न प्रकारका श्वासप्रश्वास रोगबाट प्रभावित भइरहेका छन् । दीर्घकालीन अवरोधात्मक फोक्सो रोग (सिओपिडी), दम, निमोनिया, क्षयरोग तथा फोक्सोसम्बन्धी रोगले गर्दा विश्वव्यापी रूपमा पर्दछन् ।

विज्ञप्तिमा भनिएको छ, “विश्वमा सिओपिडीले मात्र हरेक वर्ष लाखौँ मानिसको मृत्युको कारण बन्ने गरेको छ । नेपालको सन्दर्भमा पनि अवस्था कम चिन्ताजनक छैन । उपलब्ध राष्ट्रिय तथा अन्तरराष्ट्रिय अध्ययनहरूका आधारमा नेपालमा करिब १० देखि १२ प्रतिशत वयस्क जनसङ्ख्यामा कुनै न कुनै प्रकारको दीर्घकालीन श्वासप्रश्वास समस्या रहेको अनुमान गरिएको छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दीर्घकालीन श्वासप्रश्वास रोगहरू नसर्ने रोग प्रमुख समस्याका रूपमा उल्लेख गरिएको छ । नेपालमा हुने कुल मृत्युको झण्डै नौ–दश प्रतिशत हिस्सा सिओपीडीलगायतका दीर्घकालीन फोक्सो रोगसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ । दमको समस्या वृद्धवृद्धामा मात्र होइन, बालबालिका तथा युवामाझसमेत बढ्दो क्रममा देखिएको छ । सहरी क्षेत्रमा विद्यालय उमेर समूहका बालबालिकामा एलर्जीजन्य दमको दर उल्लेख्य रूपमा बढेको विभिन्न अध्ययनहरूले देखाएका छन् । विगतमा श्वासप्रश्वास समस्या प्रायः वृद्धवृद्धामा सीमित देखिने गरेकामा पछिल्लो समय युवा तथा कामकाजी उमेर समूहमा समेत यसको दर बढ्नु भविष्यका लागि गम्भीर र जटिल सङ्केत हो ।

विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ महामारीपछि स्थिति झन् जटिल बनेको छ । सङ्क्रमण निको भएपछि पनि धेरै व्यक्तिहरूमा लामो समयसम्म श्वास फेर्न गाह्रो हुने, छाती भारी हुने, दीर्घकालीन खोकी लागिरहने तथा फोक्सोको कार्यक्षमता घट्ने समस्या देखिएको छ । जसलाई ‘लङ कोभिड’का रूपमा चिनिन्छ । नेपालमा पनि कोभिड–१९ पश्चात श्वासप्रश्वाससम्बन्धी परामर्श तथा परीक्षण गराउने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको चिकित्सकहरूको अनुभवले देखाएको छ । अर्कातफ काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषणले श्वासप्रश्वास रोगलाई थप तीव्र बनाइरहेको छ । विभिन्न अन्तरराष्ट्रिय वायु गुणस्तर सूचकाङ्कहरूमा काठमाडौँ विश्वकै उच्च प्रदूषण भएका सहरको सूचीमा पटकपटक अग्रस्थानमा देखिँदै आएको छ ।”

सवारीसाधनको अत्यधिक चाप, पुराना डिजेल इन्जिन, निर्माणकार्यबाट उड्ने धुलो, उद्योगजन्य उत्सर्जन तथा खुला फोहर दहनजस्ता कारणले वायु प्रदूषणको स्तर उच्च बनाएको छ । वायु प्रदूषणको दीर्घकालीन सम्पर्कले दम, सिओपिडी, फोक्सोको क्यान्सर तथा मुटुरोगसमेत निम्त्याउने जोखिम बढाउँछ ।

श्वासप्रश्वास रोग बढ्नुको अर्को प्रमुख कारण सुर्तीजन्य पदार्थको प्रयोग हो । चुरोट, बिँडी, खैनी, सुर्ती तथा अन्य तम्बाखुजन्य पदार्थको नियमित सेवनले फोक्सोको कार्यक्षमता घटाउनुका साथै दीर्घकालीन अवरोधात्मक फोक्सो रोग, फोक्सोको क्यान्सर तथा मुटुरोगको जोखिम बढाउँछ ।

विज्ञप्तिमा भनिएको छ, “नेपालमा अझै पनि उल्लेख्य प्रतिशत वयस्क जनसङ्ख्या कुनै न कुनै रूपमा तम्बाखुुजन्य पदार्थ प्रयोग गर्छन् । परोक्ष धुमपानका कारण घरपरिवारका सदस्य, विशेषगरी महिला र बालबालिका पनि जोखिममा रहेका छन् । ग्रामीण क्षेत्रमा समस्या फरक स्वरूपमा देखिएको छ । दाउरा, गुइँठा तथा जैविक इन्धन प्रयोग गर्दा निस्कने धुवाँले घरभित्रको वायु प्रदूषण बढाउने गर्छ ।

परम्परागत चुलोमा खाना पकाउँदा महिला तथा बालबालिका प्रत्यक्ष रूपमा धुवाँमा बस्न बाध्य हुने हुँदा दीर्घकालीन खोकी, दम तथा सिओपिडीजस्ता समस्या बढ्ने गरेको छ । यसरी सहरी प्रदूषण र ग्रामीण भित्री धुवाँ दुवैले नेपालमा श्वासप्रश्वास रोगको भार बढाइरहेका छन् ।”

यी सबै तथ्य र चुनौतीहरूलाई मध्यनजर गर्दै स्थापना गरिएको नेशनल चेष्ट सेन्टरले विशेषज्ञ सेवा एउटै छानामुनि उपलब्ध गराउने लक्ष्य लिएको छ ।

सेन्टरमा वरिष्ठ छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ चिकित्सकहरूको टोलीले नियमित परामर्श, परीक्षण तथा उपचार सेवा प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले घोषणा पत्र बुधबार सार्वजनिक गर्ने, आज सार्वजनिक नगरिने

काठमाडौं । नेपाली कांग्रेसले घोषणा पत्र बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । आज सार्वजनिक गर्ने भनिएको घोषणापत्र बुधबारका लागि सरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । कांग्रेसले ६ गते मधेस प्रदेशको जनकपुरधामबाट चुनावी सभाको सुरूआत गर्ने बताइएको छ ।

कांग्रेसका प्रवक्ता चालिसेका अनुसार कांग्रेसले यसपटकको घोषणापत्रमा १० वटा मुख्य भिजनसहितको संकल्प ल्याउँदैछ ।

आज २६३औँ सेना दिवस मनाइँदै, राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा महाशिवरात्रि बढाइँ

काठमाडौँ – नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ । उहाँ नेपाली सेनाको परमाधिपति हुनुहुन्छ ।

सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।

जङ्गीअङ्डामातहत पृतना, बाहिनी, गण र गुल्म तथा कूटनीतिक नियोग र शान्ति मिसनमा पनि विभिन्न कार्यक्रम गरी सेना दिवस मनाइने सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो ।

सेनाको इतिहास र अन्तरराष्ट्रिय छवि

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।

वर्तमान सेनाको साङ्ठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आमनेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छाड्न सफल छ ।

सैनिक वीरपुर्खाहरूको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु सेनाको संवैधानिक जिम्मेवारी हो । सेनामा अनुशासन, ‘चेनअफ कमान्ड’ र राजनीति निरपेक्ष चरित्र र एकताको भावना उच्च संस्कार रहिआएको छ ।

नेपाली सेना मुलुकमा मात्र होइन, अन्तरराष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । सैनिक सङ्गठनमा समावेशिता बढ्दै गएको छ । पछिल्लो समय महिलाको सहभागिता पनि उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म ४४ शान्ति मिसनमा रही एक लाख ६२ हजार ४९६ नेपाली शान्ति सैनिकबाट योगदान भइसकेको छ ।

विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ७४ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ७७ सैनिक घाइते भएका छन् । विश्वका १० मिसनमा हाल ३९१ महिलासहित चार हजार ३०२ नेपाली शान्ति सैनिक परिचालित छन् । महिला सैनिक खटाउने देशको सूचीमा पनि नेपाल अग्रस्थानमा छ ।

विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा विश्वका कयौँ मुलुकका सैनिक निरन्तर सहभागीले यसलाई पुष्टि गरेको छ ।

सेनाले विपद् व्यवस्थापन र सडक पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम भइरहेको छ । दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै आएको सेनाले जनाएको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गराउन नेपाली सेनाको नेतृत्वमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९५ पैसा र बिक्रीदर २१ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ १९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १६ पैसा र बिक्रीदर १६ रुपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९७ पैसा र बिक्रीदर २३ रुपैयाँ ०७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ २६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रुपैयाँ ९२ र बिक्रीदर ३७७ रुपैयाँ ४८ पैसा रहेको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिका चार ढोका खुला

काठमाडौँ – प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको ह्दयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

पशुपतिका चार ढोका खुला

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले जानकारी बताउनुभयो । तीन वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारबाही गर्ने उहाँले बताउनुभयो ।

महाशिवरात्रिका अवसरमा आज बिहान २ः०० बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए ।

पशुपति दर्शनका तीन बाहिरी लाइन

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तीसपुतली–गौशाला, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गी भवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रूपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।

अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिनेगरी व्यवस्थापन गर्ने योजना बनाइएको उहाँले जानकारी दिनुभयो । आवश्यकता अनुसार तिलगङ्गा राममन्दिरतर्फ समेत एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन–तीन र पश्चिमबाट चारवटा भित्री लाइन व्यवस्थापन गर्न लागिएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । त्यसैगरी, राजधानी बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुन्छ ।

उच्च पहाडी र हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ र तराई भागमा मौसम सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग र बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राती तराई भूभागका केही स्थानमा तुँवालो लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आहा रारा गोल्डकपः पुलिसलाई हराउँदै सहारा सेमिफाइनलमा

कास्की। पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक सहारा क्लब प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न पहिलो क्वाटरफाइनलको रोमाञ्चक खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ‘सडनडेथ’सम्म पुगेको खेलमा ६–५ गोलले हराउँदै सहाराले अन्तिम चारमा स्थान बनाएको हो ।

पुलिस क्लबले खेलको ४९औँ मिनेटमा कप्तान राम बाजीको गोलमार्फत अग्रता लिएको थियो । खेलको ६१औँ मिनेटमा सहाराले पेनाल्टी पायो । मुकुन्दकुमार निउरेले कुनै गल्ती नगरिकन गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा पुलिसका राम बाजीको प्रहार असफल रहँदा सहाराका गोलरक्षक टिकेन्द्र थापा पनि गोल गर्नबाट चुके । तर सडेनडेथमा पुगेको खेलमा पुलिसका धिरेन्द्र शाहको प्रहारलाई उत्कृष्ट रूपमा बचाउ गर्दै टिकेन्द्रले टोलीलाई सेमिफाइनल पु¥याउन निर्णायक भूमिका खेले ।

पेनाल्टीमा सहाराका डिनियल बडारु, प्रशन्न श्रेष्ठ, विनय तामाङ, विक्की चामलिङ राई र शिसश थापाले गोल गरेका छन् । पुलिसका निरज खड्का, दशरथ गिरी, जोन विष्ट, विजय उराव, अमित टमाटा र सञ्जीव लामाले गोल गरेका हुन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सहाराका गोलरक्षक थापा ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद रु १० हजारसहित ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलको आइतबार हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन् ।

यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजारसहित ट्रफी पुरस्कार पाउने आयोजक सहाराले जनाएको छ ।

गृहमन्त्री अर्यालबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी  

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति क्षेत्रमा जानु भई भक्तालुहरुलाई पशुपति दर्शनका लागि गरिएको तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी लिनुभएको छ ।

गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरु, मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख, काठमाडौँका प्रमुख जिल्ला अधिकारी तथा मन्त्रालयका उच्चपदस्थ पदाधिकारीसहित पशुपति क्षेत्रमा पुग्नुभएका मन्त्री अर्याललाई पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले कोषले गरेको तयारीबारे जानकारी गराउनुभयो ।

सुरक्षा व्यवस्था तयारीबारे ‘ब्रिफिङ’का क्रममा काठमाडौँ प्रहरी प्रमुख रमेश थापाले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान गरी कुल ६ हजार सुरक्षाकर्मी खटिने गरी तयारी गरीएको तथा प्रत्येक सिफ्टमा मात्र एक हजार २०० सुरक्षाकर्मी खटिने जानकारी दिनुभयो ।

यसैगरी, स्थानीय तह, पशुपति क्षेत्र विकास कोष, नेपाल स्काउट तथा सुरक्षा निकायको समन्वयमा ‘हेल्प डेस्क’को व्यवस्था गरिएको र भीडमा हुनसक्ने चोरी, पाकेटमार, लागूपदार्थ सेवन तथा सम्भावित दुव्र्यवहारलगायतलाई नियन्त्रण गर्न सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको काठमाडौँ प्रहरी प्रमुख थापाले बताउनुभयो ।

सुरक्षा व्यवस्थाबारे जानकारी लिएपश्चात् मन्त्री अर्यालले दर्शनार्थीलाई सहज दर्शनको व्यवस्था मिलाउन तथा सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो ।

पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्ष महाशिवरात्रि पर्वमा अन्दाजी सात लाख दर्शनार्थीले दर्शन गर्ने अनुमान गरीएको छ। कोषले दर्शनलाई सहज बनाउन आइतबार बिहान २ः०० बजेदेखि पशुपतिका चारवटै ढोका खुल्ला रहने जनाएको छ ।