`

युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड

जर्मनी। ‘ब्रेक्जिट’ को बिषयमा निर्णय लिन भएको जनमत संग्रहको १० वर्षपछि बेलायत र युरोपेली सङ्घले बढ्दो अस्थिर विश्वमा आफ्नो स्थान मजबुत पार्नुपर्ने यस क्षेत्रका नेताहरूले शनिबार बताएका छन्।

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयनले म्युनिख सुरक्षा सम्मेलनमा युरोप र बेलायतले हाम्रो लोकतन्त्रको रक्षार्थ ’सुरक्षा र अर्थतन्त्रमा’ अझ नजिकबाट सहकार्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।

“युरोप र विशेष गरी बेलायत एक साथ अघि बढ्नुपर्छ । ब्रेक्जिटपछि १० वर्ष बितिसक्दा पनि हाम्रो भविष्य पहिलेभन्दा भिन्न नभएको बरू उस्तै वा अझ विग्रिएको अवस्थामा रहेको छ,” उहाँले म्युनिख सुरक्षा सम्मेलनमा भन्नुभयो ।

सम्मेलनमा बेलायती नेता केइर स्टार्मरले पनि उहाँको भनाइलाई समर्थन गर्नुभएको थियो ।“हामी दोबाटोमा छैनौँ । अगाडिको बाटो सीधा छ र यो स्पष्ट छ। हामीले हाम्रो मजबुत शक्ति निर्माण गर्नुपर्छ, किनकि यो युगको मुद्रा हो,” उहाँले भन्नुभयो ।

“हामी आक्रामकतालाई रोक्न सक्षम हुनुपर्दछ र आवश्यक भएमा हामी युद्धको सामना गर्न तयार बन्नुपर्छ,” उहाँले भन्नुभयो ।“युरोपभरि एक साझा औद्योगिक आधार निर्माणको लागि आह्वान गर्दछ जसले हाम्रो रक्षा उत्पादनलाई गति दिन सक्छ र ‘हाम्रो शक्ति गुणा गर्न सक्छ’।

शुक्रबार नेटो प्रमुख मार्क रुटले भन्नुभयो, “शक्तिशाली नेटोसँगै युरोप बलियो हुनुको अर्थ ट्रान्सएटलान्टिक बन्धन पहिलेभन्दा बलियो हुनेछ ।”फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले भन्नुभयो, “यो युरोपलाई शक्तिशाली बनाउने सही समय हो, जसले ‘सुरक्षाको आफ्नै वास्तुकला निर्माण गर्नेछ’।”

महाशिवरात्रिः पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो, यस्तो छ तयारी

काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष ट्राफिक योजना तयार पारी लागू गरेको छ । अनावश्यक घुइँचो हुँदाको अवस्थालाई मध्यनजर गर्दै सवारी आवागमन रुट तय गरी पार्किङको स्थान तोकेर प्रहरीले सुरक्षा योजना तयार पारी लागू गरेको हो ।

पशुपतिनाथ क्षेत्रमा हुने भीडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न कार्यालयले सुरक्षा योजना तयार पारी आजदेखि लागू गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवतजावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको बताउनुभयो ।

उहाँका अनुसार निश्चित ठाउँमा पार्किङको व्यवस्थासहित रुट पनि तोकिएको छ । उहाँले सिफल चौरमा दर्शानार्थीको सवारी, पासवाहक सवारीसाधन, सुरक्षाकर्मीका सवारीसाधनलाई पार्किङको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । गुहेश्वरी पारि तीर्थयात्री, दर्शानार्थीका सवारीसाधन, पशुपति विकास कोषको कार्यालय/भण्डारखालमा पासवाहक सवारीसाधन, तिलगङ्गा आँखा अस्पताल र करिडोरमा तीर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारीसाधनलाई पार्किङको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै वनकाली क्षेत्रमा शिविर सञ्चालन गर्ने सङ्घसंस्था, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारीसाधन, प्रहरी वृत्त गौशालामा पासवाहक सवारीसाधन र सरकारी सवारीसाधन राख्ने व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो ।

विभिन्न नाका भई भित्रिने भक्तजनका सवारीसाधन छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार अन्य जिल्लाबाट आउने भक्तजनको सुविधाका लागि निर्बाध आवतजावतको व्यवस्था मिलाउनाका साथै पार्किङ गर्ने ठाउँसमेत तोकिएको छ ।

दर्शनार्थीको घुइँचोका कारण गौशाला क्षेत्र भई चक्रपथ क्षेत्रमा सञ्चालन हुने सवारीसाधन नियमित चलाउन नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्यसका लागि करिडोर सडक र भित्री सडकमा बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सुवेदीले उल्लेख गर्नुभयो ।

चाबहिल, गौशाला, तिलगङ्गा क्षेत्रमा निर्बाध रूपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको छ तर भक्तजनको भीडभाड अत्यधिक भई सवारी आवागमनमा समस्या हुने अवस्था भएको खण्डमा डाइभर्सन गरी वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइने पनि सुरक्षा योजनामा उल्लेख छ ।

तीनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालवाहक सवारी साधनहरुलाई आवश्यकताअनुसार निषेध गरिएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ ।

गौशाला चोकमा भीडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो ।

प्रचण्डले भने – अब देश जलाउने र भ्रष्टाचार गर्नेहरू हार्नेछन्, गणतन्त्र ल्याउनेहरू जित्नेछन्’

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचनमा आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्ने बताएका छन् ।

रुकुम पूर्वको चुनबाङमा शनिबार आयोजित कार्यक्रममा उनले यस्तो बताउका हुन् । उनले अब देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने दाबी गरे ।

उनले भने – ‘सिंहदरबार, संसद् भवन जले। सर्वोच्च अदालत जल्यो। निजी सम्पत्ति जले, व्यक्तिका घर जले। अब आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन् गणतन्त्र र परिवर्तन ल्याउनेहरू जित्नेछन्।’

उनले भने – ‘बङ्गलादेशमा पनि आगो लगाइयो। चुनावमा आगो लगाउनेहरू नै जित्छन् भनिन्थ्यो, तर उनीहरू हारे। नजलाउने र स्थिरता चाहनेहरू जिते’ उनले आगजनी, कुशासन, दमन र हिंसा मच्चाउनेहरूलाई रोल्पा–रुकुमका जनताले राम्ररी बुझेको बताए

यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया

काठमाडौँ, २ फागुन । संयुक्त अरब इमिरेट्स (युएई)को आबुधावीस्थित नेपाली दूतावासले नेपाली श्रमिकले भोग्नुपरेका शारीरिक तथा मानिसक समस्यामा केन्द्रित रहेर अन्तरक्रिया सम्पन्न गरेको छ ।

श्रमिकहरुले भोग्नुपरेका शारीरिक तथा मानसिक स्वास्थ्य समस्या र तिनीहरूको समाधान एवं रोकथामका लागि अपनाउनुपर्ने उपायहरुका बारेमा नेपाली चिकित्सकहरुसँग अन्तरक्रिया गरिएको दूतावासले जनाएको छ ।

कार्यक्रममा युएईमा कार्यरत २५ जना नेपाली चिकित्सक सहभागी थिए । चिकित्सकहरुले नेपाली श्रमिकमा शारीरिक तथा मानसिक दुवै किसिमका समस्या देखिने गरेको उल्लेख गर्दै मानसिक समस्या अझ बढी रहेको बताए । उनीहरुले त्यहाँ कार्यरत नेपाली श्रमिकमा विशेष गरी उच्च रक्तचाप, हृृदयघातको समस्या, मिर्गौलाको समस्या, मानसिक तनावका कारण महिलासँग सम्बन्धित विभिन्न समस्या रहेको बताए। त्यस अवसरमा उनीहरुले ती समस्यालाई न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा परामर्श दिएका थिए ।

चिकित्सकहरुले स्वास्थ्यसम्बन्धी चेतनाको कमी, स्वास्थ्यलाई हल्का रुपमा लिने र रोग लुकाउने प्रवृत्ति, खाडी राष्ट्रमा कार्यरत वातावरणीय असरबारे पर्याप्त जानकारी नहुनु, आफ्नो स्वास्थ्य बिमाका बारेमा अनभिज्ञता र भाषाको समस्याका कारण धेरैजसो नेपाली श्रमिकहरु स्वास्थ्य जाँच गराउन समयमै अस्पताल नजाने गरेको उल्लेख गरेका थिए ।

उनीहरुले श्रमिकलाई नियमित रुपमा कम्तीमा छ महिनामा एकपटक स्वास्थ्य जाँच गराउन, पर्याप्त मात्रामा पानी पिउन, मदिरा सेवन त्याग्न, स्वास्थ्य बिमाबारेमा जानकारी लिन पनि सुझाव दिए ।

उनीहरुले राजदूतावासले स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई युएईमा तीव्रता दिन अति आवश्यक भएको बताए । मानसिक रोगबाट पीडितको उपचारका लागि नेपाल सरकारसँग समन्वय गरी नेपालबाट टेलिमेडिसिन सेवा प्रदान गर्न पनिसुझाव दिए ।

युएईमा आउने श्रमिकलाई नेपालमा नै स्तरीय स्वास्थ्य जाँचको व्यवस्था स्तरीय अस्पतालमा हुनुपर्ने र यूएई आउनुअघि अभिमुखिकरण तालिममा स्वास्थ्य, बिमा र युएईको हावापानी, सडक सुरक्षा तथा दुर्घटनासम्बन्धी विस्तृत चेतनामूलक तालिम तथा प्रशिक्षण दिनुपर्ने कुरा बताए ।

त्यस अवसरमा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले युएईमा रहेका नेपाली चिकित्सकहरुले आफ्नो क्षेत्रबाट चिकित्सा क्षेत्रमा तथा युएईमा कार्यरत नेपाली समुदायलाई पु¥याएको योगदानको प्रशंसा गर्दै प्राप्त अमूल्य सुझावलाई कार्यान्वयन गर्न राजदूतावास तत्पर रहेको बताए । साथै आगामी दिनमा राजदूतावाससँगको समन्वयमा विभिन्न स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने विषयमा सबै इमिरेट्सहरुमा रहेका नेपाली चिकित्सकहरुको सक्रिय सहयोग र हातेमालोका लागि अनुरोध गरे ।

टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पाल्पा। तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धार्थ राजमार्गमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु४९प ७७९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको लु२ख १८८३ नम्बरको टिपर आज एकापसमा ठोक्किएका हुन् ।

मृत्यु हुनेमा मोटसाइकल चालक गुल्मीको कालीगण्डकी गाउँपालिका पुर्तिघाटका ३१ वर्षीय मिलन सार्की तथा अर्का परिचय नखुलेकी एक महिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका दुवै जनालाई प्रहरी चौकी दोभानको टोलीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना छः सभापति थापा

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना रहेको बताउनुभएको छ ।

सर्लाही क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका सभापति थापाले मतदातासँग आज भेटघाट गर्नु हुँदै विगतमा गरेका कमीकजोरीबाट सिक्दै वर्षौँदेखि गर्छौँ भनेर गर्न नसकिएका कामलाई मुर्तरूप दिने योजना तथा तयारीसहित नेपाली कांग्रेस निर्वाचनमा सहभागी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दोस्रो विशेष महाधिवेशन पश्चात नेपाली कांग्रेस नयाँ भएको छ, यो नयाँ कांग्रेससँग आगामी पाँच वर्ष काम गर्ने योजना, उत्साह र सङ्कल्प छ । हामीले विगतबाट सिकेका छौँ, त्यसैले आगामी दिनमा के गर्ने भन्नेमा स्पष्ट छौँ ।”

भेटघाटमा सभापति थापाले युवालाई स्वदेशमै राख्न रोजगारी सिर्जना गर्न नीति नियममार्फत नीजि क्षेत्रलाई प्रोत्साहित गर्ने बताउनुभयो ।

“प्रत्येक वर्ष हामीले झन्डै पाँच लाख रोजगारी सिर्जना गर्नुपर्ने अवस्था छ । त्यो प्रधानमन्त्री वा सरकारले मात्र गर्न सक्दैन । त्यसका लागि हामीले नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने हो, लगानीमैत्री वातावरण बनाउने हो, नीति नियममार्फत प्रोत्साहन गर्ने हो । पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना बढेका छन्, नेपालका युवालाई अझैँ दक्ष बनाएर विदेशी लगानीकर्तालाई आकर्षित गर्न सक्छौँ । लगानीकर्तालाई चाहिने नीति, नियम र दक्ष जनशक्ति हामीसँग हुँदै गर्दा सहयोगी सरकार भएमा विश्वभरका लगानीकर्ता एकपटक नेपालमा लगानी गर्न प्रेरित हुनेछन् । म यिनै विषयमा आगामी पाँच वर्ष काम गर्न चाहन्छु”, सभापति थापाले भन्नुभयो ।

सर्लाही–४ मा आगामी एक वर्षभित्रमै आफ्नो ज्ञान र नेटवर्कको प्रयोग गरेर शिक्षा, स्वास्थ्य र उद्यमशीलताका क्षेत्रमा काम गरेर अहिले देखिएका समस्या समाधान गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जसपा नेपालका नेता चौधरीलगायत कांग्रेसमा प्रवेश

यसैबीच नेपाली काँग्रेसका सभापति थापाले संविधान सभाका सदस्य एवं जनता समाजवादी पार्टी नेपालका नेता केदारनन्दन चौधरीसहितका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभएको छ ।

सर्लाही क्षेत्र नं ४ को बलरा नगरपालिका–९ अचलगढमा आज आयोजित कार्यक्रममा संविधान सभा सदस्य चौधरी, लोसपाका महासचिव एवं हाल जसपा नेपालका केन्द्रीय नेता मनिषकुमार मिश्रलगायत पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नुभएको हो । सोही कार्यक्रममा जनता समाजवादी पार्टी नेपालकी नेतृ वीणा सिन्हा, लोकतान्त्रिक समाजवादी पार्टीबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा विष्णु गाउँ पालिकाबाट अध्यक्षका प्रत्यासी अरविन्दकुमार सिंह, लोकतान्त्रिक समाजवादी पार्टीका क्षेत्र नम्बर ४ का क्षेत्रीय उपाध्यक्ष वीरेन्द्रप्रसाद यादव, नवलकुमार सिंह, सोही निर्वाचनमा बहुजन समाजवादी पार्टीबाट गोडैता नगरपालिकामा अध्यक्षका उम्मेदवार श्याम गुप्तालगायतलाई अबिर र माला पहि¥याएर सभापति थापाले पार्टी प्रवेश गराउनु भएको हो ।

सो अवसरमा सभापति थापाले आफू यस क्षेत्रको पारिवारिक सदस्य बन्ने क्रम सुरु भएको बताउनुभयो । आफूले पाएको माया र स्नेह कुनै पनि हालतमा खेर जान नदिने उहाँको भनाइ थियो ।

‘विपद्मा एपिएफ अस्पतालको भूमिका सराहनीय छ’

काठमाडौँ। नेपाल एपिएफ अस्पतालले विपद्का समयमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरिएको छ ।

नेपाल एपीएफ अस्पतालको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्राकृतिक विपद्, आपत्कालीन अवस्था, भूकम्प, कोभिड महामारी जस्ता चुनौतीको सामना गर्दै अस्पतालले जनस्वास्थ्यलाई सर्वोपरि ठानी कार्य गर्दै आइरहेको बताउनुभयो ।

अस्पताल उपचार सेवामा मात्र सीमित नभई इमर्जेन्सी, प्याथोलोजी, रेडियोलोजी, डाइलेसिस सेवा, प्रसूति सेवालगायत आधुनिक सेवामा स्थापित हुँदै आएको भन्दै उहाँले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा महानिरीक्षक अर्यालले अस्पतालमा कार्यरत रही वर्षभरि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा अस्पताललाई सहयोग पु¥याउने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलाई कदरपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

स्वास्थ्य सेवा केवल पेसा नभई मानवताको सेवा, करुणाको अभ्यास र राष्ट्रप्रतिको गहिरो प्रतिबद्धता भएको भन्दै महानिरीक्षक अर्यालले व्यक्तिगत लाभ, पदोन्नति र करियर केन्द्रित सोचभन्दा माथि उठेर राष्ट्र, सङ्गठन र जनताको सर्वोच्च हितलाई पहिलो प्राथमिकतामा राखी काम गर्न निर्देशनसमेत दिनुभयो ।

सोही अवसरमा अस्पतालमा ‘मडुलर अप्रेसन थिएटर’को उद्घाटन गरिएको छ । कार्यक्रममा अस्पतालका प्रमुख, प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक डा रुपक महर्जनलगायतले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

देशको भविष्य नेपाली कांग्रेससँग जोडिएको छः प्रवक्ता चालिसे

ललितपुर। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले देशको भविष्य कांग्रेससँग जोडिएको बताउनुभएको छ । उहाँले नेपाली कांग्रेस जिम्मेवार लोकतान्त्रिक राजनीतिक पार्टी भएकाले जनताको आदेशलाई शिरोधार्य गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा जानकारी दिन नेपाली कांग्रेसले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै प्रवक्ता चालिसेले पार्टीले वर्तमानको समीक्षा गर्दै भरपर्दो भविष्य लिएर जनतामा जाने बताउनुभयो ।

“सुधारिएको देश र जनमैत्री प्रशासनका विषयवस्तु नै प्रचारप्रसारका विषय हुनेछन्, सामाजिक सञ्जालमा पोखिने आक्रोश र मतपत्रमा लगाइने छापमा फरक हुन्छ,” उहाँले भन्नुभयो ।

प्रवक्ता चालिसेले सुधारिएको कांग्रेसबाट जनताले गरेको अपेक्षालाई कसरी सम्बोधन गर्दै सच्चिनु र सुध्रिनु पर्छ भनेर पार्टीले धारणा बुझ्ने प्रयास गरिरहेको बताउनुभयो । प्रचारप्रसारका गतिविधिबारे नियमित रुपमा जानकारी गराइने उल्लेख गर्दै उहाँले पार्टीको विषयमा विचार–विमर्श गर्दै जाने बताउनुभयो । यही फागुन ६ गते जनकपुरमा पार्टीले जनसभा आयोजना गर्ने प्रवक्ता चालिसेले जानकारी दिनुभयो । कांग्रेससँगका अपेक्षा बुझ्न डबली कार्यक्रममार्फत कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ थियो ।

प्रवक्ता चालिसेले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताप्रति नेपाली कांग्रेसको उच्च सम्मान रहेको उल्लेख गर्दै प्रचारप्रसारका गतिविधि विवेकपूर्ण हुने र जनताको घरदैलोमा सम्मानजनक तरिकाले उपस्थित हुने बताउनुभयो । कांग्रेसका उम्मेदवार घरदैलोमा पुग्दा आम कार्यकर्ता र जनतामा आएको उत्साहले हौसला र प्रेरणा मिलिरहेको भन्दै उहाँले देशभर ठूलो सङ्ख्यामा कांग्रेस प्रवेश गर्ने लहर बढ्दै गएको बताउनुभयो ।

प्रवक्ता चालिसेले लोकतन्त्रको संरक्षण र व्यवस्थाको रक्षाका लागि पार्टीका सबै तहका नेता तथा कार्यकर्ताका साथै आम नागरिकको संग्लग्नता जरुरी भएको बताउनुभयो ।

“देशको अर्थतन्त्र र नागरिकसँग भएका क्षमता तथा सम्भावनालाई कसरी देशको अर्थतन्त्रमा पुँजीकृत गर्ने भनेर कांग्रेसले ध्यान दिन्छ, देशभित्र लगानीको वातावरण तयार गर्न, देशभित्रको पुँजीको संरक्षण गर्न र अन्तरराष्ट्रिय लगानी भित्र्याउन कांग्रेसले जिम्मेवार भएर काम गर्छ,” प्रवक्ता चालिसेले भन्नुभयो ।

कांग्रेसले प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा तयार पारेको प्रतिज्ञापत्र आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो ।

राप्रपाको सङ्कल्प पत्रः ‘अबको गन्तव्यः सबल, समृद्व र समुन्नत नेपाल’ बनाउने

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सङ्कल्प पत्र सार्वजनिक गरेको छ ।धुम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको हो ।

‘अबको गन्तव्यः सबल, समृद्व र समुन्नत नेपाल’ भन्ने दीर्घकालीन सोचसहित राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिका विषय सङ्कल्प गरिएको छ ।

सङ्कल्प पत्रमा पार्टीको दृष्टिकोण, राजनीतिक स्थायित्व, सुशासन र पारदर्शी प्रशासनबारे प्रस्ट पार्दै पुँजी निर्माण, दिगो विकास, शिक्षा, स्वास्थ्यमा निःशुल्क पहुँच, सामाजिक सुरक्षा, युवा केन्द्रित उत्पादनमुखी र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार देशलाई विसं २०८७ सम्म मध्यम आयस्तर भएको राष्ट्रका रूपमा विकास गर्ने मार्गचित्र समावेश गरिएको छ ।

पार्टीले पृथ्वीपथलाई अवलम्बन गर्ने सङ्कल्प गर्दै शिक्षा, स्वास्थ्य र गरिबी न्यूनीकरण, प्रविधिको विकास र विस्तार रणनीतिक दिगो पूर्वाधार, दिगो सहर तथा बस्ती विकास, रोजगारमूलक उत्पादन र उत्पादकत्व अभिवृद्धि, प्रभावकारी सेवा प्रवाहका योजना अगाडि सारेको छ ।

राष्ट्रिय स्वतन्त्रता, अखण्डता, एकता, सार्वभौमिकता, प्राकृतिक धार्मिक सांस्कृतिक सम्पदाको संरक्षण, राष्ट्रिय सुरक्षाको मूल नीति बनाइने उल्लेख गरिएको पत्रमा जलस्रोत, पर्यटन, कृषि, सूचना प्रविधि, विदेशमा बस्ने नेपालीको सीप तथा पुँजी, निजी क्षेत्रको सहभागितामा देशको समग्र अर्थतन्त्रको जिडिपीमा ८२ प्रतिशत, पुँजी निर्माणमा ७७ प्रतिशत योगदान पु¥याउने लक्ष्य राखिएको छ ।

स्थानीय र केन्द्रीय दुई तहको शासकीय संरचना, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र कायम गर्ने प्रतिबद्धता जनाइएको छ ।

झापा गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलबाट बाहिरियो

झापा। झापा गोल्डकपमा चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलबाटै घर फर्किएको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी सातौँ झापा गोल्डकपअन्तर्गत आज सम्पन्न अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबसँग ४-० को फराकिलो गोल अन्तरले पराजित हुँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलबाट बाहिरिएको हो ।

योसँगै मच्छिन्द्र क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यही फागुन ४ गते हुने फाइनल प्रतियोगितामा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लवसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा मच्छिन्द्रका तर्फबाट स्ट्राइकर जोनाथन जोरिल्लाले तीन गोल गर्दै ह्याट्रिक गरेका थिए । त्यस्तै अतिरिक्त समयमा रेजिन सुब्बाले एक गोल थपे ।

खेलको ‘प्लेयर अफ दी म्याच’ मच्छिन्द्रका जोनाथन जोरिल्ला घोषित भएका छन् । उनले रु २५ हजार पुरस्कार प्राप्त गरेका आयोजकले जनाएको छ । प्रतियोगिताभर प्लेयर अफ दी म्याचको पुरस्कार अमेरिका निवासी रोशनलाल श्रेष्ठ र उनका साथीले प्रदान गर्दै आएका छन् ।

प्रतियोगितामा विजेताले रु १५ लाख र उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गर्नेछन् भने उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही रु ३५ हजार पाउने आयोजकले जनाएको छ । फाइनल खेल फागुन ४ गते हुने आयोजकले जानकारी दिएको छ ।

चिया उद्योगलाई आधुनिक र प्रतिस्पर्धी बनाउने चीनको नयाँ रणनीति

बेजिङ, २ फागुन । चीनले २०३० सम्म आफ्नो चिया उद्योगलाई कुल १.५ लाख करोड युआनको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ। यसका लागि देशका पाँच सरकारी विभागहरूले नयाँ मार्गनिर्देशन जारी गरेका छन् ।

यस योजना अनुसार चिया उद्योगको गुणस्तर र दक्षता सुधार गरिनेछ र उद्योगलाई आधुनिक, वातावरणमैत्री र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउने प्रयास गरिनेछ।

२०२८ सम्म प्रमुख चिया उत्पादन क्षेत्रहरूमा निरन्तर प्रगति र गुणस्तर वृद्धिलाई सुनिश्चित गरिनेछ। यसअन्तर्गत उत्पादन शृङ्खलामा आधुनिक प्रविधि प्रयोग, विविध उत्पादन विस्तार र उपभोक्तालाई अझ राम्रो सेवा पुर्‍याउने योजना बनाइएको छ।

मार्गनिर्देशनले विज्ञान र प्रविधि नवप्रवर्तनलाई बलियो बनाउन, बजारलाई प्रोत्साहन दिन र विशेष उद्योग क्लस्टरको विकास अघि बढाउन जोड दिएको छ। कच्चा चियालाई घरेलु सामग्री, दैनिक उपभोगका उत्पादन, सौन्दर्य प्रसाधन र स्वास्थ्य क्षेत्रहरूमा प्रयोग बढाउने योजना पनि बनाइएको छ।

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन

काठमाडौँ, २ फागुन । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन विशेष निर्देशन दिएका छन् ।

महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा आज सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाका सकल दर्तालाई शुभकामनासहित सम्बोधन गर्दै उनले नेपाली सेनाले विभिन्न क्षेत्रहरुमा निर्वाह गर्दै आइरहेको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गर्ने क्रममा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन समेत विशेष निर्देशन दिए ।

उनले नेपालको गौरवमय गाथा, परम्परा, सस्कृति, चिन्न, गौरव गर्न तथा इतिहासका पाठहरुबाट सिक्न सबै सैनिक तालिममा नेपाल र नेपालीको इतिहास अध्ययन र अध्यापन गराउन समेत निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

आजै आयोजित एक फरक कार्यक्रममा उनले कर्तव्य पालनाको सिलसिलामा जीवन उत्सर्ग गर्ने सैनिकहरुको सम्मानमा वीर स्मारक तथा सैनिक मञ्च टुँडिखेलमा श्रद्धासुमन अपर्ण गरे । त्यसैगरी उनले छाउनीस्थित वीर स्मारकमा पनि वीरगति प्राप्त सैनिकका परिवारलाई सम्मान गरेको निर्देशनालयले जनाएको छ ।

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

काठमाडौँ, २ फागुन । महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने भक्तजनको चहलपहल बढेको छ । देश, विदेशबाट आएका साधुसन्त एवं भक्तजनका कारण पशुपति क्षेत्रमा मेला लागेको छ ।

महाशिवरात्रिका अवसरमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन सेवा, खानेपानी, चियालगायत सेवा गर्नेको पनि घुइँचो छ । कतिले सेवा सुरु गरिसकेका छन्भने कतिले सेवाको तयारी गरेका छन् । महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारी स्थलगत रूपमै खटिएर काम गरिरहेका छन् ।

हंसमण्डप क्षेत्रको स्थलगत अनुगमनमा खटिएका कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले यस वर्ष सफाइमा विशेष ध्यान दिइएको बताए । पशुपति क्षेत्रमा आएका साधुसन्त र भक्तजनका लागि प्रभावकारी व्यवस्थापनमा कोष लागिरहेको उनले उल्लेख गरे । यस वर्ष चार हजारदेखि चार हजार ५०० सम्म साधुसन्त आउने अनुमान गरिएको उनले जानकारी दिए ।

गत वर्षभन्दा यस वर्ष साधुसन्त बढी आउने अनुमान गरिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा सेवा दिइरहेका स्वयंसेवी संस्थाको दृष्टिमा भने यस वर्ष विगतमा भन्दा कम मानिस अघिल्लो दिन पशुपति क्षेत्रमा आएका कोषाध्यक्ष सापकोटाले बताए ।

हंसमण्डपमा भोजन सेवामा खटिएका विनोद लीला अग्रवाल आज दिउँसो विगत वर्षभन्दा कम भक्तजन आएका उल्लेख गरे । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण पनि मानिसको आवागमन कम भएको हुनसक्ने उनको अनुमान छ । महाशिवरात्रिका लागि पशुपति क्षेत्रलाई विशेष रुपमा सिँगारिएको छ । फूलमालाले विशेष रुपमा सिँगारेर आकर्षक बनाइएको छ ।

आर्यघाट र राममन्दिर क्षेत्रको वाग्मती किनारमा सफाइ

‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियानको ६६६औँ हप्ताको सफाइ पशुपति क्षेत्रस्थित राममन्दिरमुनिको नदी किनारमा गरिएको छ । फागुन ३ गते आइतबार महाशिवरात्रि पर्वको तयारीका लागि पशुपति क्षेत्रको राममन्दिर, आर्यघाटसँगै यहाँको नदी किनारमा सरसफाइ गरिएको हो ।

सफाइमा कोषका सञ्चालक परिषद् सदस्य रामेश्वर सङ्गतसहित कर्मचारी, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, महानगर वातावरण विभागका प्रमुख सरिता राई, महानगर टेकुका प्रमुख मीनबहादुर थापासहित कर्मचारी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीलगायत जनप्रतिनिधि एवं स्थानीयवासीको सक्रियतामा आज त्यस क्षेत्रमा सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

आजको सफाइमा त्यस क्षेत्रबाट कुहिने र नकुहिने लगभग १८ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको पनि उनले जानकारी दिए ।

लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

काठमाडौँ, २३ वैशाख । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेपछि प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयले गत माघ २७ गते सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गर्दै वित्तीय समानीकरण अनुदानको तेस्रो किस्ताबापतको रकम कटौती गर्न भनेको हो ।

“पुस मसान्तसम्म लक्ष्यको तुलनामा ८१ दशमलव ७५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको र सोही अनुपातमा प्रदेश तथा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्न अर्थ मन्त्रालयबाट लेखिआएको छ”, महालेखा नियन्त्रक कार्यालयको परिपत्रमा भनिएको छ, “जसअनुसार तेस्रो त्रैमासिक किस्तावापत हुने २५ प्रतिशत मध्ये २० दशमलव ४३ प्रतिशत अर्थात् कूल स्वीकृत वार्षिक बजेटमध्ये तेस्रो किस्तासम्मको ७० दशमलव ४३ प्रतिशतमा नबढ्ने गरी प्रदेश तथा स्थानीय तहमा वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्नु गराउन हुन यस कार्यालयको २०८२ माघ २७ गतेको निर्णयानुसार अनुरोध छ ।”

अर्थ मन्त्रालयले गत साउनमा नै चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि ९५ बुँदे मार्गदर्शन जारी गर्दै वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्दा पहिलो र दोस्रो किस्ता सुरु अनुमानबमोजिम र तेस्रो किस्ता पुस मसान्तको राजस्व लक्ष्य तथा सङ्कलनको अनुपातका आधारमा भुक्तानी गरिने जनाएको थियो । त्यस्तै, चौथो किस्ता चैत मसान्तसमको राजस्वको लक्ष्य तथा सङ्कलनको अनुपातका आधारमा पुनःनिर्धारण गरी हस्तान्तरण गरिने पनि मार्गदर्शनमा उल्लेख छ ।

अर्थ मन्त्रालयका अनुसार यसवर्ष सरकारले रू १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख कूल आम्दानी गर्ने लक्ष्य राखेकामा पुस मसान्तसम्मको प्राप्ति भने रू पाँच खर्ब ८८ अर्ब ५१ करोड ४२ लाख अर्थात् वार्षिक लक्ष्यको ३८ दशमलव ३८ प्रतिशत मात्रै छ । यसरी लक्ष्यभन्दा कम राजस्व उठेपछि प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती गरिएको हो ।

गत आर्थिक वर्षमा पनि सरकारले यस्तो अनुदान कटौती गरेको थियो भने प्रदेश र स्थानीय तहहरुले ठेक्का लागिसकेका र काम अघि बढिसकेका योजना तथा कार्यक्रमको बजेट कटौती भएको भन्दै असन्तुष्टि पोखेका थिए ।

अघिल्लो वर्ष महालेखा नियन्त्रक कार्यालयले २०८१ माघ २९ मा सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै तेस्रो किस्ताबापतको वित्तीय समानीकरण अनुदानमा २५ प्रतिशतमध्ये १३ दशमलव २४ प्रतिशत अर्थात् वार्षिक बजेटको ६३ दशमलव २४ प्रतिशत नबढ्ने गरी बजेट निकासा गर्न भनेको थियो । तर प्रदेश तथा स्थानीय तहको चर्को विरोध पछि महालेखा नियन्त्रक कार्यालयले त्यसलाई संशोधन गरेर २०८१ फागुन १३ गते अर्को परिपत्र गर्दै वित्तीय समानीकरण अनुदानको तेस्रो किस्तावापतको भुक्तानी हुने रकम केही बढाएको थियो ।

जसअनुसार तेस्रो किस्ताबापतको २५ प्रतिशतमध्ये २१ दशमलव ०८ प्रतिशत अर्थात् कूल स्वीकृत वार्षिक बजेटमध्ये तेस्रो किस्तासम्मको ७१ दशमलव ०८ प्रतिशत नबढ्ने गरी वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन भनेको थियो ।

तल्लो तहमा जाने यस्तो अनुदान तेस्रो किस्ता मात्र नभई अन्तिम किस्ता पनि कटौती भएको थियो । अर्थ मन्त्रालयले २०८२ वैशाख १६ गते महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै चौथो किस्ताबापतको वित्तीय समानीकरण अनुदान कटौती गर्न भनेको थियो । अर्थ मन्त्रालयको सो निर्देशन पछि महालेखा नियन्त्रक कार्यालयले वित्तीय समानीकरण अनुदानको अन्तिम किस्ताबापतको २० दशमलव ६८ प्रतिशत हिस्सा मात्रै पठाउने निर्णय गरेको थियो ।गत आवमा वर्ष प्रदेश तथा स्थानीय तहहरुले कूल स्वीकृत वार्षिक बजेटमध्ये चौथो किस्तासम्मको ९१ दशमलव ७६ प्रतिशत बराबर मात्रै बजेट पाएका थिए ।

कास्कीमा ५६ अति संवेदनशील ५४ संवेदनशील मतदानस्थल

गण्डकी। कास्की जिल्लामा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल रहेका छन् ।

तीनवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल १५३ मतदानस्थल मध्ये ४३ वटा सामान्य रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुुभयो ।

निर्वाचन क्षेत्र अन्तर्गत कास्की क्षेत्र नं १ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः १९, २८ र १४ वटा मतदानस्थल छन् भने क्षेत्र नं २ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः सात, आठ र १८ मतदानस्थल छन् ।

त्यस्तै क्षेत्र नं ३ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः क्रमशः ३०, १८ र ११ मतदानस्थल रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी लम्सालका अनुुसार मतदानस्थलको भौगोलिक अवस्थिति, भौतिक पूर्वाधारको अवस्थालगायत विषयमा जानकारी लिन स्थलगत रूपमा अनुगमन भइरहेको छ ।

तीनवटै क्षेत्रमा गरी कूल ४९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकामा कूल मतदाता सङ्ख्या तीन लाख आठ हजार ५७२ जना रहेको छ ।

नेपाली कांग्रेसले भोलि घोषणा पत्र सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आइतबार घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो । कांग्रेसले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा घोषणा पत्र सावर्जनिक गरिने जनाएको छ ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसले यसपटकको घोषणापत्रमा १० वटा मुख्य भिजनसहितको संकल्प ल्याउँदैछ ।

सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यसको प्रारम्भ चार वटा सामुदायिक विद्यालयमा नमूना कार्यक्रममार्फत हुने कामपाले जानकारी दिएको छ । कामपा स्वास्थ्य विभागका मेडिकल अधिकृत डा दिवश न्यौपाने भन्नुहुन्छ, “यो कार्यक्रममा व्यक्तिगत सरसफाइ र स्वच्छता, पोषण, जीवनशैली र नसर्ने रोग, सरुवा रोग र एन्टिमाइक्रोवियल रेसिस्टेन्स, प्राथमिक उपचार र सुरक्षा तथा मानसिक स्वास्थ्य र नेतृत्व गरी पाँचवटा विषयमा प्रशिक्षण प्रदान गरिन्छ ।”

सहपाठी बालबालिकाबीच आपसी सिकाइ, प्रयोगात्मक र भूमिका निर्वाह, अभिलेख र अनुगमन सिकाइका मुख्य विधि हुन् । पाठ्यक्रममा आधारित तीन महिना तालिम दिएपछि बाँकी नौ महिना विद्यार्थीलाई समूहगत रूपमा निरोगात्मक स्वास्थ्य प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न दिइन्छ ।

एउटा स्वास्थ्य क्लबमा १५ जनादेखि २० जनासम्म छात्रछात्रा राखिनेछ । कार्यक्रमको बारेमा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, स्वास्थ्य सचेतना अभिवृद्धि गर्न र बालबालिकाबीच सहसिकाइका लागि यो विधि उपयुक्त हुने जानकारी दिनुभयो । उहाँले अधिकारीलाई भन्नुभयो, “विद्यालयमा कार्यक्रम लैजाँदा कार्यान्वयन गर्नेलाई बोझ महसुस हुने गरी लैजानु हुँदैन, आवश्यक छ । जसरी पनि कार्यान्वयनमा जानुपर्छ भन्ने तत्परता जागृत गराउनुपर्छ । अनिमात्र कार्यक्रम दिगो र प्रभावकारी हुन्छ । यसको नतिजा ढिलो देखिन्छ । तर, सकारात्मक हुन्छ ।”

विद्यालयहरूमा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम पनि चाहिएको छ । शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले भन्नुभयो, “सामुदायिक विद्यालयका विद्यार्थीलाई सकारात्मक प्रतिस्पर्धाका लागि आत्मविश्वाशयुक्त बनाउनु पर्नेछ । यसका लागि पुस्तकरहित शुक्रबारका कार्यक्रमभित्रका कार्यक्रमको प्रभावकारी सिकाइका लागि थप मिहनेत गर्नुपर्नेछ ।”

कार्यशालामा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले नमूना कार्यक्रमबाट प्राप्त पृष्ठपोषणका आधारमा वृहत कार्यक्रम तर्जुमा गरिने बताउनुभयो । “सम्भवतः यो कार्यक्रम विद्यालयमा पहिलो हुनुपर्छ । यसलाई नतिजा प्रदान गर्ने बनाउँछौँ,” उहाँले भन्नुभयो । शिक्षा अधिकृत केशव ज्ञवालीले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकलाई कार्यक्रमका पक्ष बुझाउन सकेमात्र कार्यान्वयनमा सहज हुने बताउनुभयो ।

विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्यका विषयमा प्रशिक्षित गराएर स्वास्थ्य दूतका रूप विकास गर्ने कार्यक्रमलाई साना डाक्टर नाम दिइएको हो । विद्यार्थी, परिवार र समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने कार्यक्रमको लक्ष्य हो ।

तनहुँद्वारा अस्थायी मतदाता नामावली स्वीकृत

तनहुँ। जिल्ला निर्वाचन कार्यालय तनहुँले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको नामावली स्वीकृत गरेको छ ।

कार्यालयले एक हजार ६९८ जना अस्थायी मतदाताको नामावली स्वीकृत गरेको हो । जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले कारागारमा रहेका कैदीबन्दी, सङ्घ र प्रदेश सरकार मातहतका कर्मचारी, सुरक्षाकर्मी अस्थायी मतदाताको रूपमा रहेको जानकारी दिनुभयो । अस्थायी मतदातालाई छुट्टै मतदान केन्द्रको व्यवस्था गरिनेछ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रयोजनका लागि अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ को दफा ९ उपदफा (१) बमोजिमका निकाय वा संस्थाबाट प्राप्त सोही कार्यविधिको दफा १० बमोजिम नाम समावेश गर्न, त्रुटी सच्याउन तथा दाबी विरोधका लागि निवेदन पेस भए अनुसार जाँचबुझ गरी सोही कार्यविधिको दफा ११ बमोजिम अस्थायी मतदाता स्वीकृत गरिएको लम्सालले बताउनुभयो ।

निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार ४९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार ९०६ जना रहेको छ ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नं १ तर्फ एक लाख २६ हजार ८८२ र र क्षेत्र नं २ तर्फ एक लाख २७ हजार ५१५ मतदाता कायम भएका छन् । क्षेत्र नं १ मा पुरुषको सङ्ख्या ६१ हजार ७७८ र महिलाको सङ्ख्या ६५ हजार १०४ रहेको छ ।

क्षेत्र नं २ मा पुरुषको सङ्ख्या ६१ हजार ७१३ र महिलाको सङ्ख्या ६५ हजार ८०२ रहेको छ । क्षेत्र नं १ तर्फ व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ ।

क्षेत्र नं २ तर्फ शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको वडा नं ५ र ६ पर्दछ ।

ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं । ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गएराति लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक कोन्ज्योसोम गाउँपालिका–१ मा  सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको हो ।

दुर्घटनामा ट्रक चालक र एक जनाको घटनास्थलमै मृत्यु भएको थियो, भने अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भयो ।

दुर्घटनामा परी ट्रक चालक ललितपुरकै गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, ट्रकमा सवार अन्य दुई जना अन्दाजी ४० वर्षीय र ५० वर्षीय पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ ।

मेयर कप राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

बैतडी। मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार किरनकुमार ठगुन्नाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।

टोलीका अन्य सदस्यहरूमा गजेन्द्र बोहरा, किरन धामी, रोशन साउद, आयुश द्वारिया, लोकेन्द्र चन्द, मिलन बोहरा, आशिष तिरुवा, सौर्य श्रेष्ठ, सुशिल रावल, टेक रावत, कैलाश ऐर, लोकेन्द्र ऐर र दिपक टमटा रहेका छन् ।

उक्त टोलीले गैँडाकोट नगरपालिका, नवलपरासीको प्रवद्र्धन, नव जागरण ग्रामिण विकास केन्द्रको आयोजना तथा नवलपुर जिल्ला क्रिकेट सङ्घको सह–आयोजनामा हुन लागेको पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने छ । प्रतियोगिताको विजेताले रु तीन लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार पाउनेछ ।

पारिवारीक कथामा तयार भएको चलचित्र ‘श्री बुकुरो’ प्रदर्शनमा

काठमाडौँ। पारिवारीक कथामा तयार भएको चलचित्र ‘श्री बुकुरो’ शुक्रबारदेखि प्रदर्शन गरिएको छ । निर्देशक सुदीप भुपाल सिंहका अनुसार ‘श्री’ शब्दले सुन्दरता, शक्ति, बुद्धि र धनको सन्तुलनलाई जनाउँछ । ‘बुकुरो’ को अर्थ हुन्छ सानो घर । यसमै आधारित रहेर चलचित्र तयार भएको छ ।

एउटी आमा र उसका तीन भाइ छोरा । दुईको विवाह भइसकेको छ भने कान्छोको विवाहको तरखर छ । विवाहकै तयारीमा हुने घटनाक्रमले निम्त्याउने परिस्थितिमा चलचित्र तयार गरिएको छ । पूर्ण पारिवारिक चलचित्रले परिवारको महत्व दर्शाउने निर्देशक सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले परिवार एकसाथ हुन् कुनै शुभकार्य वा चाडपर्व नै हुनुपर्छ । तर, एउटी आमाको चाहना सबै परिवारसँगै रहेर खुसी र सुखी होस् भन्ने हुन्छ । मैले आमाको भावनालाई समेटेर चलचित्र तयार गरेको छु । यो हेरिरहँदा आफ्नो परिवारलाई पक्कै याद गर्नुहुनेछ ।”

उक्त चलचित्रमा आमाको भूमिकामा अभिनेत्री लक्ष्मी गिरी हुनुहुन्छ । कलाकारिता गरेको झन्डै पाँच दशकको यात्रामा अभिनेत्री गिरीले यसपटक कथालाई नेतृत्व गर्ने मौका पाउनुभएको छ । ‘श्री बुकुरो’को सबैभन्दा शक्तिशाली पात्र निर्वाह गर्ने अवसर पाएको अभिनेत्री गिरीले बताउनुभयो ।

“मलाई तपाइँ नै चलचित्रको हिरो (शिर्ष पात्र) होभन्दा कता कता डर पनि लाग्यो । किनकि मलाई लिएर यस्तो कथा अहिले कसैले सोच्छ भन्ने मैले सोच्न छाडेकी थिएँ, तर यो कथा सुनेपछि आत्म विश्वास बढ्यो । चलचित्रले परिवार जोड्ने कथा लिएर आएको छ, त्यसैले यो पारिवारिक चलचित्र हो”, अभिनेत्री गिरीले भन्नुभयो ।

परिवारको एकतामा हुने शक्ति देखाइएको उक्त चलचित्रमा घरलाई निर्जीव वस्तु नभई भावना र सम्झनाको प्रतिकको रूपमा चित्रण गरिएको उहाँले बताउनुभयो ।

“घरसँग जीवनको स्मरण जोडिएको हुन्छ, त्यसैले त्यो निर्जीव होइन । घरको महत्व र परिवारको एकताको विषयलाई केन्द्रमा राखेर तयार गरिएको कथाले दर्शकको मन छुन्छ”, अभिनेत्री गिरीले भन्नुभयो ।

चलचित्रमा अभिनेत्री गिरीसँगै आशिर्वाद क्षेत्री, निकिता आचार्य, राजन इशान, उत्तम केसी, रोशनी कार्कीलगायतका कलाकारले अभिनय गर्नुभएको छ । आधुनिक युगमा छरिएको परिवारलाई एकीकृत बनाउने आमाको प्रयासमा दर्शक ‘कनेक्ट’ हुने विश्वास अभिनेता आशिर्वाद क्षेत्रीको छ ।

“आमा, छोरा र परिवारको कथाले चलचित्र भवनमा आइपुग्नुभएका दर्शकलाई पर्दाका पात्रसँग जोड्छ भन्ने लागेको छ । यसमा मैले कान्छो छोराको भूमिका निर्वाह गरेको छु, हामी सबै कलाकारको पात्र हाम्रो घर र समाजदेखिने किसिमका छन्”, उहाँले भन्नुभयो ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २८, आलु रातो (भारतीय) प्रतिकिलो रु २६ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ५५, बन्दा (तराई) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ३०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ५०, काउली तराई प्रतिकिलो रु ३०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १६, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५५ र भन्टा डल्लो प्रतिकिलो रु ६५ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ६५, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ७५, तिते करेला प्रतिकिलो रु २००, घिरौँला प्रतिकिलो रु १४५, लौका प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७५, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ७० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो प्रतिकेजी रु ४०, चमसुर प्रतिकिलो रु ३०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ३८०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु २८०, रातो बन्दा प्रतिकिलो रु १००, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु ४०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु १८०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १८०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १४०, काँक्रो (लोकल) प्रतिकिलो रु १६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ६०, रुखकटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १३०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५५०, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ५५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ७०, हरियो धनियाँ प्रतिकिलो रु ५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, छ्यापी सुकेको प्रतिकिलो रु १५०, छ्यापी हरियो प्रतिकिलो रु १६०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

विश्वकप क्रिकेटमा आज तीन वटा खेल हुँदै

काठमाडौँ । भारतमा जारी टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदैछन् ।शनिबार पहिलो खेलमा समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजेदेखि शुरु हुदैछ ।

आयरल्याण्ड र ओमान दुवैले अहिलेसम्म आफ्ना शुरुका २–२ खेलमा हार बेहोरेका छन् ।त्यस्तै आजको दोस्रो खेलमा समुह सी का इङल्याण्ड र स्कटल्याण्ड भिड्दैछन् ।भारतको कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल दिउसो ३ः १५ बजेदेखि शुरु हुदैछ ।

जारी विश्वकपमा इङल्याण्ड र स्कटल्याण्ड दुवैले २–२ खेलमा १–१ खेल जितेका छन् भने १–१ खेलमा हार बेहोरेका छन् ।त्यस्तै,आज तेस्रो खेल समुह डी का न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच हुदैछ । यो खेल नेपाली समय अनुसार साँझ ७ः १५ बजेदेखि शुरु हुदैछ ।न्यूजील्याण्ड र दक्षिण अफ्रिका दुवैले यसअघि खेलेका २–२ खेलमा नै जित हासिल गरेका छन् ।

आज प्रणय दिवस मनाइँदै

काठमाडौं । आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेको दिन नेपालसहित विभिन्न देशमा प्रेमिल जोडीहरूले एक–आपसमा शुभकामना साटासाट गर्दै मनाउँदै छन् ।

भ्यालेन्टाइन डे प्रेम, स्नेह र भावनाको अभिव्यक्ति गर्ने विशेष दिनका रूपमा चिनिन्छ । आधुनिक समयसँगै यसको प्रभाव नेपालमा पनि बढ्दै गएको छ । विशेषगरी युवा पुस्तामा यस दिन फूल, चकलेट, कार्ड, उपहार तथा साथमा समय बिताउने चलन बढ्दो देखिन्छ ।

भ्यालेन्टाइन डे एक सातासम्म चल्ने ‘भ्यालेन्टाइन सप्ताह’को अन्तिम दिन हो । यस अवधिमा रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, हग डे र किस डे जस्ता विभिन्न दिन मनाइएपछि आजको दिन प्रेम दिवसका रूपमा समापन गरिन्छ ।

उम्मेदवार गाउँगाउँमाः चुनावी प्रचार तीव्र

सुर्खेत । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गाउँ–सहरमा चुनावी प्रचार तीव्र बन्दै गएको छ । राजनीतिक दल र उम्मेदवारहरू मत माग्न गाउँ गाउँमा पुगेका छन् ।

गाउँ–गाउँमा राजनीतिक दल तिनका उम्मेदवार निर्वाचन प्रचारको लागि गाउँ गाउँ व्यस्त छन् । तर युवा मतदाता गाउँमा कम नै छन् । सुर्खेतको चौकुने गाउँपालिकाका–५ का लोकेन्द्र सिंहराज थापाले युवा अहिले गाउँमा कम नै नभएको बताए ।

उनले भने, “यहाँका युवा खेतीपातीको याम र चाडपर्वको बेलामा गाउँमा आउँछन्, अन्य बेलामा रोजगारीका लागि भारततिर जाने गर्दछन्।” उनले गाउँमा निर्वाचनको रौनक बढे पनि महिला र बुढाबुढी मात्रै मतदाता रहेको भन्दै अब गाउँमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने माग गरे ।

चौकुने गाउँपालिकाकै सीतादेवी नेपालीले पनि अहिले गाउँमा युवा मतदाता कम नै रहेको बताइन् । उनले राजनीति भन्दा जीविकोपार्जन कसरी गर्ने भन्ने अवस्थाले युवाहरू विदेशिन बाध्य भएको बताए ।

सुर्खेत चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बाँस्तोलाले स्वरोजगार सम्बन्धीका कार्यक्रम सञ्चालन गरिए पनि युवाहरू गाउँमा नबस्ने गरेको बताए । सुर्खेत मात्रै होइन, कर्णालीका अधिकांश युवा रोजगारीका लागि भारतमा जाने गर्दछन् । पछिल्लो समय भने भारत बाहेकका मुलुकमा जानेसमेत थालेका छन् ।

गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी, ५० हजारसम्म आम्दानी गर्न सकिने

बाँके । थोरै लगानी, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग र निरन्तर मेहनतबाट पनि उल्लेखनीय आर्थिक सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा नेपालगञ्ज उपमहानगरपालिका–१८, तेजनगरका वीरबहादुर हमाल रहेका छन् । विगत १२ वर्षदेखि उहाँ ‘एभरेष्ट अर्गानिक एग्रोफार्म’ सञ्चालन गर्दै गँड्यौला मल अर्थात् भर्मिक कम्पोष्ट मल उत्पादनमा सक्रिय छन् ।

“गँड्यौला मल उत्पादन गर्न थोरै लगानीमै धेरै मुनाफा गर्न सकेको छु,” हमालले आत्मविश्वासका साथ भने , “यदि लगनशीलता र धैर्य छ भने कृषिमा सम्भावनाको कमी छैन ।” उनका अनुसार गँड्यौला मल माटोको उर्वराशक्ति वृद्धि गर्न, बालीबिरुवाको वृद्धि सन्तुलित बनाउन र वातावरण संरक्षणमा योगदान पु¥याउन अत्यन्त प्रभावकारी छ। रासायनिक मलको विकल्पका रूपमा जैविक मलको प्रयोग बढ्दै गएको सन्दर्भमा यसको माग क्रमशः विस्तार हुँदै गएको उनले बताए ।

हमालका अनुसार वैदेशिक रोजगारीतर्फ आकर्षित हुँदै गएका युवालाई स्वदेशमै कृषि क्षेत्रमार्फत आत्मनिर्भर बनाउन सकिने सम्भावना प्रशस्त छ । “स्थानीय स्रोत–साधनको प्रयोग गरेर अर्गानिक मल उत्पादनमा जोड दिए युवालाई विदेशिनु पर्दैन,” उनले भने, “कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने हो भने यहीँ राम्रो आम्दानी गर्न सकिन्छ ।”

गँड्यौला मल उत्पादनका लागि गाईको गोबर, पराल, झारपात तथा घरआँगनमा उपलब्ध जैविक पदार्थ प्रयोग गरिन्छ । विशेष जातको गँड्यौला ‘आइनिया फेटेटरी’ प्रयोग गरी जैविक मल तयार पारिँदै आएको उनले जानकारी दिए । “हामीले प्रयोग गर्ने गँड्यौला विशेष प्रजातिको हो, जसले छिटो मल तयार गर्छ,” उनले भने, “एक पटक गँड्यौला खरिद गरेपछि पटक–पटक लगानी गर्नुपर्दैन ।”

उद्योगको प्रारम्भिक चरण भने चुनौतीपूर्ण थियो । बजारको अभाव, आर्थिक कठिनाइ तथा प्राविधिक ज्ञानको कमीबीच हमालले कामको थालनी गरेका थिए । “सुरुमा कृषक र स्थानीयबासीलाई गँड्यौला मलका बारेमा खासै जानकारी थिएन,” उनले स्मरण गरे , “धेरैले पत्याउँदैनथे, तर मलाई आफ्नै मेहनतमा विश्वास थियो ।” कठिन परिस्थितिका बाबजुद निरन्तर प्रयास र धैर्यका कारण आजको अवस्था सम्भव भएको हमालको भनाइ छ ।

सुरुआती समयमा उत्पादन गरिएका मल बजारसम्म पु¥याउन र उपभोक्ताको विश्वास जित्न समय लागेको उनी बताउँछन् । “टनका टन उत्पादन गरे पनि मागअनुसार बिक्री गर्न गाह्रो हुन्थ्यो,” हमालले भने, “तर अहिले प्रत्येक स्थानीय तहमा, विशेष गरी युवाहरूमा यसप्रति चासो बढेको छ ।” उनका अनुसार अहिले करिब २५ प्रतिशत कृषकमा जैविक मल प्रयोग गर्नुपर्छ भन्ने चेतनाको विकास भएको छ ।

हाल हमालले चार कठ्ठा जग्गा भाडामा लिएर ६० वटा वेडमार्फत मल उत्पादन गर्दै आएका छन् । एक पटकमा १८ देखि २० ट्राली गाईको गोबर खरिद गरिन्छ, जसबाट प्रति ट्राली करिब १२ क्वीन्टलसम्म गँड्यौला मल उत्पादन हुने उहाँले जानकारी दिनुभयो । “एक पटक किनेको गोबरबाट चार पटकसम्म मल उत्पादन गर्न सकिन्छ,” उनले भने, “यसले लागत घटाएर आम्दानी बढाउन सहयोग गर्छ ।”

उत्पादित मल विशेष गरी हिमाली जिल्लामा ढुवानी हुने गरेको छ । उच्च मूल्यका स्याउका बोट तथा तरकारी बालीमा यसको प्रयोग व्यापक रहेको हमालले बताउनुभयो । “हिमाली क्षेत्रमा जैविक उत्पादनको माग धेरै छ,” उनले भने, “त्यहाँका कृषकले गुणस्तरीय मल खोज्ने भएकाले हाम्रो उत्पादनको बजार राम्रो बनेको छ ।”

आर्थिक पक्षसमेतमा हमालको यात्रा उल्लेखनीय देखिन्छ । उनका अनुसार तीन महिनामा करिब १६० क्विन्टल मल उत्पादन हुन्छ भने चार महिनामा ६४० क्विन्टलसम्म उत्पादन सम्भव हुन्छ । हाल बजार मूल्यप्रति क्विन्टल करिब रु दुई हजार ५०० रहेको छ । “वार्षिक रूपमा रु १५ लाखदेखि रु १६ लाख बराबरको मल बिक्री हुन्छ, समग्र कारोबार भने रु २० लाखदेखि रु २५ लाखसम्म हुन्छ”, हमालले भने, “मल उत्पादनमा लागेका युवाहरूले सामान्यतया मासिक रु ४० हजारदेखि रु ५० हजारसम्म आम्दानी गर्न सक्छन् ।”

यसले युवालाई विदेशिनबाट रोक्न सहयोग पुग्ने उनको विश्वास छ । कृषि क्षेत्रमा सम्भावना भए पनि जानकारी र प्रेरणाको अभावका कारण धेरै युवा विदेशिने गरेका हमालको धारणा छ । विसं २०७१ मा केवल एक किलो गँड्यौला खरिद गरेर सुरुवात गर्नुभएका हमालले हालसम्म झन्डै ५० क्विन्टल गँड्यौला मल बिक्री गरिसक्नुभएको छ । सानो सुरुवातलाई निरन्तरता दिन सके ठूलो उपलब्धि हासिल गर्न सकिने उनको भनाइ छ । “मैले कहिल्यै पनि नाफालाई मात्र केन्द्रमा राखिनँ, सधैँ गुणस्तर र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिए”, हमालले भने।

हमालका अनुसार सफलता हासिल गर्न इमानदारी, निष्ठा र दीर्घकालीन सोच आवश्यक हुन्छ । “काम सानो वा ठूलो हुँदैन,” उनले स्पष्ट पारे, “त्यसमा देखाइने प्रतिबद्धताले नै परिणाम निर्धारण गर्छ ।”

गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी गर्दै आएका हमालको अनुभवले देखाएको छ–स्थानीय स्रोत–साधनको सदुपयोग, वैज्ञानिक विधिको प्रयोग र निरन्तर परिश्रमका माध्यमबाट कृषिलाई व्यावसायिक र सम्मानित पेशाका रूपमा स्थापित गर्न सकिन्छ । उनको सफलताले सङ्घर्षरत कृषक तथा युवालाई स्वदेशमै अवसर खोज्न प्रेरणा दिएको छ । उहाँले विदेशिने युवालाई धैर्य राखेर आफ्नै देशमा गर्न सके सबै कुराको सम्भावना रहेको बताए ।

“कृषि क्षेत्रमा सम्भावना धेरै छ, आवश्यकता छ त केवल विश्वास र निरन्तरताको हो”, हमालले भने, “दृढ इच्छाशक्ति र सकारात्मक सोच भए सामान्य अवस्थाबाट पनि उल्लेखनीय उपलब्धि हासिल गर्न सकिन्छ ।”

साउदीको जेद्दामा घुम्ती शिविर

काठमाडौँ । साउदी अरबको जेद्दाको अल खुम्राह/सनैया क्षेत्रमा एक दिने घुम्ती शिविर सम्पन्न भएको छ ।

शिविरमा साउदी अरबस्थित अबीरग्रुप अस्पताल समूहको सहयोगमा रहेको मेडिकल टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो । उक्त शिविरबाट करिब १०० नेपाली श्रमिक प्रत्यक्ष लाभान्वित भएको नेपाली महावाणिज्य दूतावासले जनाएको छ । सो शिविर नेपाली महावाणिज्य दूतावास, जेद्दा र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) क्षेत्रीय समन्वय समिति, जेद्दाको संयुक्त आयोजनामा भएको थियो ।

शिविरमा आँखा जाँच, मधुमेह रोग परीक्षण, तथा विभिन्न रोगको परामर्श सेवा उपलब्ध गराइएको थियो । त्यसैगरी, राहदानीसम्बन्धी सेवाका लागि आवश्यक प्रक्रियामा सहजीकरण गरिएको महावाणिज्य दूतावासले जनाएको छ । शिवीरमा श्रमिकलाई श्रम कानुन तथा अधिकारका बारेमा श्रमिक सचेतना वित्तीय साक्षरता प्रदान गरिएको थियो । कार्यक्रमको अन्त्यमा नेपाली श्रमिक कामदारका विभिन्न समस्याबारे अन्तरक्रिया गरिएको थियो ।

रङ्गशाला बनेसँगै भोजपुरमा खेल गतिविधि बढ्यो

भोजपुर। रङ्गशाला निर्माणसँगै भोजपुरमा खेल गतिविधि बढेको छ । खेलकुद क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको भोजपुर अब पूर्वाधारका हिसाबले पनि सशक्त बन्दै गएको छ । भोजपुर नगरपालिका–७ कोदारमा रङ्गशाला निर्माण गरिएपछि खेल क्षेत्रको विकासमा थप टेवा पुगेको छ ।

देश सङ्घीय प्रणालीमा प्रवेश गरेपछि भोजपुरमा राष्ट्रियस्तरको रङ्गशाला निर्माणले खेल क्षेत्रलाई नयाँ गति दिएको छ । पाँच हजार दर्शक अट्न सक्ने क्षमतासहितको यो रङ्गशाला कोशी प्रदेश सरकारको रु १४ करोड पाँच लाखको लागतमा बनेको हो । करिब सात हजार वर्ग मिटर क्षेत्रफलमा संरचना निर्माण गरिएको छ । कुल २५ रोपनी क्षेत्रफलमा फैलिएको रङ्गशालामा सात प्याराफिट तयार गरिएका छन् ।

विसं २०६४ मा तत्कालीन जिल्ला विकास समिति बोर्डले रु ५५ लाखमा जिल्ला खेलकुद परिषद्मार्फत जग्गा खरिद गरेको थियो । प्रारम्भिक चरणमा केही बजेट विनियोजन गरी स्तरोन्नतिको काम थालिए पनि पर्याप्त स्रोत अभावका कारण योजना अगाडि बढ्न सकेको थिएन । लामो समयदेखि अधुरो रहेको सपना अहिले साकार भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी जन्माउने जिल्लाका रूपमा परिचित भोजपुर अब आधुनिक खेल पूर्वाधारका हिसाबले पनि सुदृढ बन्दै गएको छ । रङ्ङशाला निर्माण सम्पन्न भएसँगै अब जिल्लामै राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न सहज भएको छ । यसले खेल पर्यटन प्रवद्र्धन, स्थानीय आर्थिक गतिविधिमा वृद्धि तथा नयाँ प्रतिभा पहिचान र उत्पादनमानसमेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यही भूमिमा जन्मिएकी अल्ट्रा धाविका मिरा राईले नेपाललाई अन्तर्राष्ट्रिय जनगतमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएकी छन् । भोजपुरबाट ब्याडमिन्टनतर्फ नङशलादेवी तामाङ, रत्नजित तामाङ, सरादेवी तामाङ तथा विकास श्रेष्ठ, विवेक श्रेष्ठ र नवीन श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका छन् । भलिबलका जोसन श्रेष्ठ, दुर्जकुमार राईलगायत थुप्रै खेलाडीले समेत जिल्लाको नाम उजागर गरेका छन् ।

यति धेरै खेल प्रतिभा जन्माउने जिल्लामा विगतमा पर्याप्त खेल पूर्वाधारको अभाव थियो । दीर्घकालीन योजना र लगानीको कमीका कारण खेलाडीले नियमित प्रशिक्षण, स्तरीय प्रतियोगिता तथा आवश्यक सुविधा नपाउँदा समस्या भोग्दै आएका थिए । विशेष गरी ठुला प्रतियोगिता आयोजना गर्न उपयुक्त रङ्गशाला नहुँदा जिल्लामा खेल गतिविधि सीमित हुने गरेको थियो । स्थानीय खेल प्रेमीका अनुसार आधुनिक सुविधासहितको रङ्गशाला निर्माण भएपछि युवाहरू खेलप्रति थप आकर्षित भएका छन् ।

भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै

चितवन। भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट यहाँ इन्धन भर्न पाउने भएका छन् । नेपाल आयल निगमले यही फागुन ६ गतेबाट यहाँ इन्धन भर्न मिल्ने गरी तयारी अघि बढाएको हो ।निगमका प्रवक्ता उपनिर्देशक मनोजकुमार ठाकुरले नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरी काम अघि बढाइएको बताए ।

उनले भने, “यही फागुन ६ गतेबाट रिफिलिङ् गर्ने गरी काम भइरहेको छ । डिपो स्टेशन स्थापनाका लागि दुई थान रिफ्युलर र एक थान मोबाइल डिस्पेन्सरको व्यवस्था गरिएको छ । दिगो रूपमा काम गर्न भने छ महिनादेखि एक वर्ष लाग्ने छ ।”

जमिनमुनि वा माथि ट्याङ्की राखेर काम गर्नका लागि समय लाग्ने भए पनि तत्काल इन्धन जहाजमा भर्ने व्यवस्था मिलाउन समय नलाग्ने उनले बताए । निगमले यहाँ ३० किलोलिटर इन्धन भण्डारण र व्यवस्थापनका लागि रु चारदेखि पाँच करोड खर्च हुने जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले प्राधिकरणसँग जग्गा सम्झौता भएको र बाँकी सबै काम निगमले गर्ने बताए । यस कार्यबाट त्यस क्षेत्रमा उडान भर्ने जहाज लाभान्वित हुने बताए ।

बुद्ध एयरले भरतपुरबाट काठमाडौँ र पोखरा गरी दैनिक सात वटा जहाज उडान भर्दै आएको छ । दुई वटा ४७ सिटका र पाँचवटा ७२ सिटका जहाजले यहाँबाट उडान भरिरहेका बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले जानकारी दिए । यहाँ तेल भर्ने व्यवस्था भए काठमाडौँबाट यहाँ आउने जहाजमा थप दुई जना यात्रु ल्याउन सकिने उनको भनाइ छ ।

बुद्ध एयरको ७२ सिटको जहाजले काठमाडौँबाट आउँदा हाल ७० जना बोक्ने गरेको छ भने गर्मीयाममा ६० जना बोक्नुपर्ने बाध्यता छ । बस्नेतका अनुसार यहाँबाट उड्दा भने हाल ५५ जना र गर्मीयाममा ४० जना बोक्ने गरिएको छ ।

यस्तै, ४७ सिटको जहाजले हाल काठमाडौँबाट आउँदा ४५ जना र फर्कँदा ४३ जना लिएर जाने गरेको छ । गर्मीयाममा काठमाडौँबाट आउँदा ३५ जना र यहाँबाट जाँदा ३३ जना हाराहारी यात्रु बोकेर जाने गरेको छ ।

भारतको कोइलाखानीमा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग

खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाले भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा परेर ज्यान गुमाएका आफ्ना नागरिकका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

रोजगारीको सिलसिलामा चार महिनाअघि मेघालय गएका हलेसी तुवाचुङ–५ दुर्छिमका ५० वर्षीय रत्न राईको कोइलाखानीमा काम गर्दैगर्दा गत माघ २२ गते विष्फोटमा परी ज्यान गएको थियो । उनको परिवारलाई नगरपालिकाले रु ५१ हजार सहयोग गरेको हो । गत असोज ९ गते मेघालय जानुभएका रत्नले ज्यान गुमाएपछि घरमै गएर मृतककी श्रीमती मिना राई ९तामाङ०लाई रकम उपलब्ध गराएको नगरप्रमुख विमला राईले जानकारी दिए ।

दुर्छिमस्थित जोरकाफलका राई दम्पतीको दुई छोरा र दुई छोरी छन् । ज्यालामजदुरी कमाएको पैसाले घर व्यवहार धान्दै आएका रत्नको मृत्यु भएपछि परिवारका अन्य सदस्यको विचल्ली भएको छ । उक्त घटनामा खोटाङकै बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र सोही वडाको भञ्ज्याङका ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरले पनि ज्यान गुमाएका थिए । उनीहरूको भारतमै अन्त्येष्टि गरिएको छ । विष्फोटमा ज्यान गुमाउने सालघारीका पूर्णिराम र सुरेन्द्र दाजुभाइ भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए । विष्फोटमा गम्भीर घाइते भएका भञ्ज्याङका नरबहादुरको उपचारको क्रममा गत माघ २३ गते सिलोङस्थित निलग्रीन हस्पिटलमा मृत्यु भएको हो ।

विष्फोटमा गम्भीर घाइतेको सिलोङमा उपचार हुँदै

विष्फोटमा गम्भीर घाइते भएका नेपालका चार जनाको सिलोङस्थित निलग्रीन हस्पिटलमै उपचार भइरहेको घटनास्थलमा पुगेका मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिए । उनका अनुसार बराहपोखरी–१ सालघारीका ४७ वर्षीय कर्णबहादुर खपाङ्गी मगर र भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ४८ वर्षीय दावा शेर्पा तथा छिमेकी जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका ललितबहादुर लुङ्गेली मगरको हाल उपचार भइरहेको छ ।

रोजगारीको सिलसिलामा गत पुस ३ गते घरबाट हिँडेर भारतको मेघालय पुगेका तीन जनाको एउटै घटनामा ज्यान गएपछि बराहपोखरी गाउँपालिका शोकमा डुबेको छ । घटनाका मृतक परिवारलाई बराहपोखरी गाउँपालिकाले प्रतिव्यक्ति रु ५० हजारका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका प्रमुख शालिकराम बञ्जराले जानकारी दिए । कोइलाखानीमा भएको विष्फोटपछि सँगै काम गर्दै आएका सोही गाउँपालिका–१ वालम्पाका ताराबल मगरले फोनमार्फत घटनाको बारेमा जानकारी गराएका थिए । मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनामध्ये ताराबल मात्रै सकुशल छन् ।

मेघालयको कोइलाखानीमा भएको घटनापछि मृतकका परिवारलाई राहत तथा गम्भीर घाइतेको उपचारका लागि सहयोग सङ्कलन अभियानसमेत सुरु गरिएको स्थानीय इन्द्र लिमेल मगरले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहका उजुरी अत्यधिक

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा स्थानीय तहका भ्रष्टाचार सम्बन्धि उजुरी अत्यधिक परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख झरेन्द्रप्रसाद चापागाईँले अख्तियारमा प्राप्त विभिन्न क्षेत्रका उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित रहेका जानकारी दिए । उनका अनुसार, सबैभन्दा बढी बर्दियाको बढैयाताल गाउँपालिकाको २५, दाङको तुलसीपुर उपमहानगरपालिकाको १८, दाङको घोराही उपमहानगरपालिकाको १७, बाँके कोहलपुर नगरपालिकाको १६, बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको १५, नरैनापुर गाउँपालिकाको १५, बारबर्दिया नगरपालिकाको १३, दाङ लमही नगरपालिकाको १२, बाँकेको डुडुवा गाउँपालिकाको १० र अन्य ७६ उजुरी दर्ता भएका हुन् ।

नेपालगञ्ज कार्यालयमा चालू आथिक वर्षको साउनदेखि माघ २५ गतेसम्म करिब सात महिनाको अवधिमा ४७१ उजुरी प्राप्त भएका छन् । यसमा १८५ उजुरीको छानबिन सम्पन्न भएको छ भने २८६ उजुरी छानविनको प्रक्रियामा रहेका छन् । अख्तियार नेपालगञ्ज कार्यालयको बाँके, बर्दिया, दाङ र रोल्पा जिल्ला कार्यक्षेत्र रहेको छ ।

नेपालगञ्ज कार्यालयमा चालू आवमा स्थानीय तह (सङ्घीय मामिला)तर्फ ११७, स्थानीय तहतर्फ (शिक्षा)तर्फ १००, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयतर्फ (वन वातावरण मात्र) ६२, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयतर्फ ३७, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयतर्फ २६, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ १८, गृह मन्त्रालयतर्फ १५, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयतर्फ १४, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मात्र) १० र अन्य ७२ गरी जम्मा ४७१ उजुरी दर्ता भएका हुन् ।

यसमध्ये स्थानीय तह (सङ्घीय मामिला)तर्फ ४३, स्थानीय तह (शिक्षा)तर्फ ४५, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय (वन वातावरण मात्र)तर्फ २८, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयतर्फ १२, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयतर्फ १४, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ पाँच, गृह मन्त्रालयतर्फ ११, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयतर्फ ६, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मात्र)तर्फ चार र अन्य १७ गरी जम्मा १८५ उजुरी फछ्र्यौट भएका छन् भने २८६ उजुरी बाँकी रहेका छन् ।

नेपालगञ्ज कार्यालयमा गत आवमा ९०२ उजुरी दर्ता भएकामा ७८८ उजुरी फछ्र्यौट भएका थिए । त्यसैगरी आव २०८०/८१ मा एक हजार ४४ उजुरी दर्ता भएकामा ८७५ उजुरी फछ्र्यौट भएका र आव २०७९/८० मा ८१२ उजुरी दर्ता भएकामध्ये ४९९ उजुरी फछ्र्यौट भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख चापागाईँले जानकारी दिए ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९५ पैसा र बिक्रीदर २१ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ १९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १६ पैसा र बिक्रीदर १६ रुपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९७ पैसा र बिक्रीदर २३ रुपैयाँ ०७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ २६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रुपैयाँ ९२ र बिक्रीदर ३७७ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

निर्वाचन १९ दिन बाँकी: मतपत्र छपाइको काम अन्तिम चरणमा, अब १४ जिल्लाको मात्रै बाँकी

काठमाडौँ । मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब काठमाडौँ उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइको काम भइरहेको छ । आयोगका अनुसार, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।

हालसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न भएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुराको मतपत्र छपाइ सम्पन्न भएको छ ।

यस्तै, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्तापश्चिम (नवलपरासी), मोरङको मतपत्र छपाइ सम्पन्न भएको छ ।

त्यस्तै, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट र काभ्रेपलान्चोक गरी ६३ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो ।

अब काठमाडौँ उपत्यका वरपरका १४ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी छ । तीन दिनमा मतपत्र छपाइ सकिने अनुमान गरिएको सहायक प्रवक्ता न्यौपानेले बताउनुभयो । छापिएका जिल्लाको मतपत्र प्याकिङ भइसकेको छ । हालसम्म १५ हजार ३७१ बाकस मतपत्र प्याकिङ भइसकेको छ । हाल दिनमा करिब एक हजार बाकस मतपत्र प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ ।

गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार दुई सय नमुना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ । दोस्रो चरणमा दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी गरिएको आयोगले जनाएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ ।

त्यसैगरी छपाइ सम्पन्न भएको मतपत्र आजैदेखि आयोगले कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाउन सुरु गरेको छ । कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिए ।

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

दार्चुला। सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले सम्हालेको छ ।बिहीबारदेखि जिल्ला कारागार कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो ।

सदरमुकाम खलङ्गामै रहेको श्रीदल गुल्मबाट सहसेनानि अन्वेश गुरूङको नेतृत्वमा १० जनाको टोली कारागार सुरक्षार्थ खटिएको छ ।

यसअघि उक्त कारागारमा नेपाल प्रहरीको टोलीले सुरक्षा दिँदै आएको थियो । अहिले प्रहरी टोली पनि करागार सुरक्षार्थ खटिएको छ ।

सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण आयोजनामा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार कारागारमा नेपाली सेना खटिएको हो ।

सोही निर्णयअनुसार दार्चुला कारागारमा पनि सेना तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारको निर्देशनअनुसार आवश्यक समन्वय गरेर सुरक्षा व्यवस्थापन अघि बढाइएको हो ।

आजको मौसम : मध्याह्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ ।

तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

कामपाद्वारा दश वटा वडामा भूसूचना प्रणाली सञ्चालन गरिँदै

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले १० वटा वडाबाट भू-सेवा तथा भू-सूचना प्रणालीलाई नमूना कार्यक्रमका रूपमा सञ्चालन गर्ने भएको छ ।

आज कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको ४७औँ कार्यपालिका बैठकमा, सुशासन समितिका संयोजक ख्यामराज तिवारीले पेस गर्नुभएको प्रस्तावमा छलफल गर्दै नमूना कार्यक्रमका सिकाइबाट मानव स्रोत, कार्यकक्ष, साधन तथा उपकरण व्यवस्था गर्दै अन्य वडामा क्रमशः सेवा विस्तार गर्ने निर्णय पारित गरेको हो । नमूना कार्यक्रमका रूपमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा सेवा सञ्चालन हुनेछ ।

यसअघि चारकिल्ला, घरबाटो सिफारिसलगायत सेवा कार्यान्वयनमा आइसकेका छन् । यसका अतिरिक्त भूमिको स्वामित्व तथा हकसम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्वसम्बन्धी सेवा कार्यक्रम सञ्चालन भएसँगै ती सेवा वडाबाटै प्राप्त हुनेछन् ।

साथै नागरिक परामर्श तथा गुनासो सहजीकरण, सेवाग्राहीबाट लिनुपर्ने राजस्व वडा कार्यालयबाट लिने व्यवस्था, सेवाग्राहीको पहिचानका सुनिश्चित गर्न बायोमेट्रिक विवरण सङ्कलन गर्ने, सम्पत्ति रोक्का राख्ने काम वडाबाटै हुनेछन् ।

गत माघ १८ गते गृह मन्त्रालयमा बसेको बैठकबाट कामपाको वडा नं २७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालय रहेको भवन कामपालाई प्रयोग गर्न दिने सहमति भएकाले उक्त भवन प्रयोगमा ल्याउने र रामशाहपथमा उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको जग्गा सरकारको नाममा दर्ता गर्न कामपाले सहमति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै साविक वडा नं २८ तथा अहिलेको वडा नं २५ बाढ्गेमुढामा रहेको जग्गासम्बन्धी मुद्दामा कामपाको पक्षमा अदालतबाट फैसला आएकाले उपभोग तथा व्यवस्थापनका लागि नेपाल सरकारबाट अनुमति माग्ने निर्णय भएको कामपाले जनाएको छ ।

स्वास्थ्य बिमा कार्यक्रममा सरकारले गरेको निर्णयबाट सर्वसाधारणमा परेको अन्यौलता हटाउनुपर्ने, सरसफाइका लागि माग गरिएका जनशक्तिको पूर्ति गर्ने सम्बन्धमा जवाफ पाउनुपर्ने, तार व्यवस्थापनको एकीकृत गर्नुपर्ने, विपद् प्रभाव व्यवस्थापन गर्नुपर्ने, ज्येष्ठ नागरिकको घरघरमा गएर परिचयपत्र तथा अन्य सेवा नवीकरण गर्नुपर्ने, बालाजु बाइसधाराको पौडी पोखरी सञ्चालन गर्नुपर्ने, सहकारीसम्बन्धी समस्या सुनुवाइ गर्ने प्रणाली बनाउनुपर्ने, सडक बत्तीसम्बन्धी योजना कार्यान्वयनमा ल्याउनुपर्नेलगायत विषयमा छलफल भएको कार्यवाहक प्रमुख डङ्गोलले जानकारी दिनुभयो ।

सङ्घर्ष जारी छ, अबको सङ्घर्ष उत्पादनका लागि हुन्छ : संयोजक दाहाल

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धदेखि सुरु भएको सङ्घर्ष उत्पादन र समृद्धिको चरणमा आइपुगेको बताउनुभएको छ ।

रुकुमको भूमे–२, खाबाङ्ग बगरमा ३०औँ जनयुद्ध दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नयाँ पुस्ताले उठाएका मागहरूलाई जनयुद्धकै निरन्तरता भएको उल्लेख गर्नुभयो । “जेनजी पुस्ताले उठाएका मागहरू शान्ति प्रक्रियाका क्रममा उठाइएका तर शक्ति सन्तुलनका कारण पूरा हुन नसकेका मुद्दाहरूको निरन्तरता हुन्”, उहाँले भन्नुभयो, “मुद्दाहरू बाँकी छन्, सपनाहरूको हिसाब अझै भएको छैन, हामीले त्यो बिर्सेका छैनौँ ।”

संविधान जारी भएको एक दशकमा विभिन्न सुधारका प्रयास गरिएको उल्लेख गर्दै संयोजक दाहालले सरकारमा रहँदा एक वर्षभित्र पाँच लाख भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने नीति तथा बजेट ल्याइएको जानकारी दिनुभयो । त्यसका लागि कानुन संशोधन गरिए पनि सरकारबाट बाहिरिएपछि कार्यक्रम रोकिएको उहाँको भनाइ थियो ।

विदेशबाट फर्केका युवालाई लक्षित उद्यमशीलता कार्यक्रमले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै उहाँले अबको युद्ध उत्पादनसँग जोडिने बताउनुभयो । उहाँले सूचना प्रविधि, पर्यटन, कृषिलगायत क्षेत्रमा आगामी पाँच वर्षभित्र २० लाखभन्दा बढी रोजगारी र स्वरोजगारी सृजना गर्न सकिने दाबी गर्नुभयो ।

पाँच वर्षसम्म स्थिर सरकार सञ्चालन गर्न नपाउँदा राम्रा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन नसकेको अनुभव सुनाउँदै संयोजक दाहालले दोहोरो जिम्मेवारी भएका निकाय गाभ्ने, सङ्घीय संरचनामा दोहोरिएका कार्यक्रम हटाउने तथा नीति–बजेट प्रक्रियामा सुधार गर्ने प्रयासहरू अधूरै रहेको बताउनुभयो ।

कुशासन र भ्रष्टाचार बढ्दै जाँदा जनताको आक्रोशले व्यवस्था नै सङ्कटमा पर्न सक्ने चेतावनी आफूले पटकपटक दिएको उल्लेख गर्दै उहाँले वर्तमान परिस्थिति त्यसैको परिणाम भएको दाबी गर्नुभयो । “मेरो आजको लडाइँ रुकुमको समृद्धि र समग्र देशको विकासका लागि हुनेछ”, उहाँले भन्नुभयो । लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै अधुरा एजेन्डा पूरा गर्न नयाँ ऊर्जा, उत्पादनमुखी अभियान र राष्ट्रिय एकताको आवश्यकता रहेको उहाँको जोड थियो ।

‘इतिहास र वर्तमान जोडेरमात्रै सुदृढ भविष्य निर्माण हुन्छ’

संयोजक दाहालले इतिहास र वर्तमानलाई जोडेर मात्रै राष्ट्रको भविष्य सुदृढ गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले फागुन १ केवल गौरवमय अतीतको स्मरणमात्र नभई वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शनसमेत भएको उल्लेख गर्नुभयो । उहाँले सामन्ती राज्यसत्ताविरुद्ध स्वतन्त्रता, समानता र न्यायका पक्षमा नेपाली जनताले ऐतिहासिक विद्रोहको मशाल यही दिन प्रज्ज्वलित गरेको बताउनुभयो ।

रुकुमपूर्वलाई क्रान्ति र शान्तिको साक्षी भूमि भन्दै उहाँले यही ठाउँबाट वंशमा आधारित शासन व्यवस्थाविरुद्ध विद्रोह सुरु भएको स्मरण गर्नुभयो । महिलाहरूले घुम्टो फालेर स्वतन्त्रताको आवाज उठाएको, आदिवासी जनजाति समुदायले पहिचान र स्वाभिमानका लागि सङ्घर्ष गरेको तथा दलित समुदायले जातीय उत्पीडनविरुद्ध आवाज बुलन्द गरेको दिन फागुन १ भएको उहाँको भनाइ छ ।

सहिदको सम्मान

जनयुद्ध दिवसका अवसरमा संयोजक ‘प्रचण्ड’ले सहिद परिवार, घाइतेलाई सम्मान गर्नुभएको छ । तीसौँ जनयुद्ध दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँ र पार्टीका नेतृ पम्फा भुसालले सहिद, बेपत्ता परिवार तथा घाइतेहरूलाई सम्मान गर्नुभएको हो ।

जनयुद्ध दिवस मनाउन जनयुद्धको आधार इलाका रुकुमपूर्व पुग्नुभएका संयोजक दाहालले जिल्लाको विभिन्न ठाउँमा सहिद परिवार, घाइते, अपाङ्ग, बेपत्ता परिवारहरूसँग भेटघाट जारी राख्नुभएको छ । सहिद परिवारलाई सम्मान गर्नुअघि संयोजक दाहालले भुमे–७ लाबाङ र ६ को महत गाउँमा पुगेर त्यहाँका सहिद परिवार, घाइते, अपाङ्ग र बेपत्ता परिवारसँग भेटघाट गर्नुभयो ।

प्राचण्डको हातबाट सम्मानपत्रले सम्मानित हुन पाउँदाको पल आफ्ना लागि अत्यन्तै खास रहेको भुमे–१ लुकुमका सहिद परिवारका व्यक्ति कलुराम विकले बताउनुभयो ।

यस्तै सोही ठाउँका अर्का सहिद परिवारका व्यक्ति रणबहादुर घर्तीले पनि आज आएर प्रचण्डको हातबाट सम्मानित हुन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै उहाँले रुकुमपूर्वबाट प्रचण्डलाई चुनाव जिताएर पठाउने बताउनुभयो । रुकुमपूर्वमा २५२ जना सहिद परिवार छन् ।

झापा गोल्डकपः एपिएफ फाइनलमा

झापा। झापामा जारी ‘झापा गोल्डकप’अन्तर्गत आज सम्पन्न सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा एपिएफ क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

एपिएफले आयोजक झापा–११ लाई घरेलु मैदानमा टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलयात्रा तय गरेको हो । एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै एपिएफले जित हासिल गरेको छ । यो जितसँगै एपिएफले रु सात लाख ५० हजार सुरक्षित गरेको छ ।

एपिएफका लागि सुमन श्रेष्ठ, दिपेश धिमाल, सन्तोष खत्री र समिराज थोकरले गोल गरेका थिए भने नवीन लामाको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले बचाएका थिए ।

झापाका तर्फबाट रोमन भुजेल र रोहन कार्कीले मात्र गोल गरेका थिए । नारायण क्षेत्री र गौरव धिमालको बल एपिएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाएका थिए । खेलको ६१औँ मिनेटमा झापाले अग्रता लियो । नारायण क्षेत्रीको कर्नर प्रहारमा झापाका विदेशी खेलाडी रिचार्ड विल्सनले गोल गर्न सफल भए ।

झापाको अग्रता छ मिनेट पनि टिक्न सकेन । एपिएफका स्ट्राइकर नवीन लामाले ६७औँ मिनेटमा खेललाई बराबरीको अवस्थामा पुर्याए । लामाले डिबक्स बाहिरबाट गरेको प्रहार क्रस बारमा लाग्दै गोलमा परिणत भएको थियो । उनान्चालीसौँ मिनेटमा रोहन कार्कीको प्रहार बारमा लागेर फर्किंदा खेलमा अग्रता लिने अवसरबाट वञ्चित भएको थियो । खेलको ५७औँ मिनेटमा झापाका रिचार्ड विल्सनको लङ रेञ्जर सट बारको केही माथिबाट बाहिरिएको थियो ।

एपिएफले ३०औँ मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । दिपेश धिमालले पाएको सुन्दर अवसर खेर फालेका थिए । खेलको प्लेयर अफ दी म्याच विजेता टिम एपिएफका गोलकिपर एञ्जल श्रेष्ठ घोषित भए । उनले नगद रु २५ हजार पुरस्कार पाए । शनिबारको अर्काे सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र एफसीबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद रु १५ लाख र उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलरक्षकले जनही रु ३५ हजार पुरस्कार पाउनेछन् ।

चीनले दुग्धजन्य पदार्थमा लगाएको कर ‘अनुचित’ भएको इयूको दाबी

बेल्जियम। बेइजिङले इयूका केही दुग्ध उत्पादनहरूमा पाँच वर्षका लागि ११.७ प्रतिशतसम्म कर लगाएपछि ब्रसेल्सले शुक्रबार चिनियाँ कर ‘अनुचित’ भस्एको बताएको छ।

“हामी यी उपायहरूलाई अनुचित र अन्यायपूर्ण ठान्छौँ। अन्तिम निर्धारणमा तोकिएका यी कर्तव्यहरू अस्थायी चरणमा प्रस्ताव गरिएको भन्दा धेरै कम रहेको हामी स्वीकार गर्दछौँ,” ईयू व्यापार प्रवक्ता ओलोफ गिलले भन्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो मूल्याङ्कनमा आवेदनहरूमा यस्तो कार्यवाही खोल्ने औचित्य पुष्टि गर्न पर्याप्त प्रमाणको अभाव थियो, जे होस्, यी अनुसन्धानहरू पहिलो प्राथमिकता हुनु हुँदैनथ्यो ।“

गिलले थप्नुभयो, इयूका कार्यकारी निकायले अब जिम्मेवारीको प्रभावको मूल्याङ्कन गर्नेछ र ब्रसेल्सले अन्तर्राष्ट्रिय व्यापार नियमहरू अनुरूप डेरी क्षेत्रको हितको रक्षा गर्नेछ ।”

ब्रसेल्समा पत्रकारहरूसँग कुरा गर्दै गिलले भन्नुभयो, “हामी यहाँबाट हाम्रा विकल्पहरू के हुन् भनेर हेर्नेछौं, जसमा विश्व व्यापार सङ्गठनमा कारबाही गर्ने सम्भावनाहरू पनि समावेश छन्।

बेइजिङले बिहीबार भनेको छ, “ईयूबाट उत्पादन हुने केही दुग्ध उत्पादनहरू अनुदानित छन्, जसले चीनको डेरी उद्योगमा ठूलो क्षति पुर्याएको छ ।”

शुक्रबारदेखि लागू हुने यो दर ७.४ प्रतिशतदेखि ११.७ प्रतिशतसम्म हुनेछ, यद्यपि, यो कर वृद्धि दर चीनले डिसेम्बरमा लगाउने घोषणा गरेको ४२.७ प्रतिशत दरभन्दा निकै कम २१.९ प्रतिशत मा सीमित रहनेछ ।

चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार उनीहरूले ताजा र प्रशोधित पनीर, दही, नीलो चीज र केही दूध र क्रिमसहित विभिन्न वस्तुहरूमा कर लागू गरेको छ ।

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा बङ्गलादेश सरकार र बङ्गलादेशका जनतालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज सामाजिक सञ्जालमार्फत बङ्गलादेश नेशनलिस्ट पार्टीलाई यस निर्वाचनमा ऐतिहासिक विजयतर्फ नेतृत्व गर्नु भएकामा तारिक रहमानलाई बधाई दिनुभएको छ ।

“हाम्रा छिमेकी सम्बन्धलाई अझ सुदृढ बनाउन तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्न तपाईंसँग नजिकबाट काम गर्न पाउने अपेक्षा राख्दछु,” प्रधानमन्त्री कार्कीले उल्लेख गर्नुभएको छ ।