`

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ – सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको छ । यस्तै, राष्ट्रियसभाको बैठक शुक्रबारका लागि निर्धारण गरिएका कारण आज एकै पटक धेरै समितिका बैठक बस्न लागेका हुन् ।

कार्यक्रमअनुसार बिहान ११ः०० बजे बस्ने अर्थसमितिको बैठकमा ‘नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल जारी रहनेछ । बैठकमा अर्थमन्त्री र अर्थसचिवलाई आमन्त्रण गरिएको छ ।

बिहान ११ः०० बजेका लागि तय भएको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपाललगायतका सरोकारवाला निकायसँग छलफल गर्ने कार्यक्रम छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १०ः०० बजे बस्दैछ । सो समितिको बैठकमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ । बिहान १०ः०० बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘नेपालमा जैविक÷प्राङ्गारिक मलको उत्पादन, भण्डारण तथा बिक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादन नघट्ने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने’ सम्बन्धमा उत्पादकहरूसँग छलफल’ गर्ने कार्यसूची छ ।

पूर्वाधार विकास समितिको बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गतको बागमती ब्युटिफिकेसन आयोजनाका बारेमा छलफल गरिँदैछ । बैठक बिहान १०ः०० बजे बस्दैछ । बिहान ११ः०० बजेका लागि तय भएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीलगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल गरिँदैछ ।

यस्तै, बिहान १०ः०० बजेका लागि निर्धारित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’का सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।

सार्वजनिक लेखा समितिको बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षणका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । सो समितिको बैठक बिहान १०ः०० बजे बस्दैछ । अपराह्न १ः०० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विधायिकी अन्तरसम्बन्धमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गर्ने कार्यक्रम छ ।

पूर्ववडाध्यक्ष किरण थापा मगर हुँदैछन् मुख्यमन्त्री

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगर आज नियुक्त हुँदैछन् । यसअघि प्रदेशको स्वास्थ्यमन्त्री भइसकेका मगरले अब प्रदेश सरकारको नेतृत्व सम्हाल्ने भएका हुन् ।

भक्तपुर–२ को प्रदेश (क)बाट निर्वाचित मगर उनको दल एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बन्न लागेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष उनले बुधबार नै मुख्यमन्त्रीमा बहुमतसहित दाबी पेस गरेका छन् । स्थानीय तहमा वडाध्यक्ष हुँदै प्रदेश संसद पुगेका मगर पहिलोपटकमै मुख्यमन्त्री बन्ने भएका हुन् ।

उनी सामाजिक क्षेत्रबाट राजनीतिमा आएका नेतृत्व हुन् । उनले नेपालवानएचडीसँग भनेका छन्, ‘समृद्ध बागमती बनाउने ऐतिहासिक कार्यभार पूरा गर्न तयार छु ।’

आज मुख्यमन्त्री नियुक्त भए मगरले ३० दिनभित्र प्रदेश संसदमा विश्वासको मत लिनुपर्छ । उनको कार्यकाल करिब एक वर्षको हुने छ । किनभने प्रदेश सभाको निर्वाचन आगामी २०८४ मा हुने छ ।

अन्नपूर्ण आधार शिविर जाने पर्यटकका लागि ‘स्मार्ट’ सूचना प्रणाली

म्याग्दी। म्याग्दीको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको ‘स्मार्ट’ सूचना प्रणाली तयार भएको छ।जिल्ला प्रहरी कार्यालयले ‘क्युआर कोड’को सहायतामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको ‘मौरिस हर्जोग’ पदमार्गको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने सूचना प्रणाली तयार पारेको हो।

बेनीदेखि आधार शिविरसम्मका होटेल तथा रेष्टुरेष्ट, आश्रय स्थल, सवारी चालकको सम्पर्क नम्बर, एकदेखि अर्को गन्तव्यसम्म पुग्न लाग्ने समय, उचाइ, समस्या परेमा सम्पर्क गर्ने निकायको फोन नम्बरसहितका विवरण मोबाइलबाटै हेर्न सकिने व्यवस्था मिलाएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।

“आधार शिविर भ्रमणमा जानुअघि पूर्व सूचना प्राप्त गर्न व्यक्तिलाई फोन गरिरहन नपरोस् र यात्राका क्रममा अप्ठ्यारो परेमा सहयोग लिनका लागि पर्यटकलाई सहज होस् भन्ने उद्देश्यले कार्यालयकै जनशक्तिको सीप, अनुभव र दक्षताको प्रयोग गरी स्मार्ट सूचना प्रणालीको विकास गरेका हौँ,” उनले भने, “स्मार्ट सूचना प्रणालीलाई अपटेड, परिमार्जन गर्दै निरन्तरता दिनेछौँ।”

प्रहरी निरीक्षक सागर तिमिल्सिनाले फोनमार्फत अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गका बारेमा जानकारी माग्नेहरू धेरै भएकाले कसैलाई फोन नगरी सहजै सूचना पाउने प्रणाली तयार पारिएको बताए। बसपार्क, होटेल, प्रहरी चौकी, सार्वजनिक स्थलमा आम नागरिकको सहज पहुँच हुने गरी ‘क्युआर कोड’ टाँस्ने र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिने उनको भनाइ छ।

समुन्द्री सतहदेखि चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दूरीमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाइमा परेको छ। नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग विसं २०७७ देखि सञ्चालनमा आएको थियो।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्री खोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ।

दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ। नीलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ। आधार शिविरमुनि समुन्द्री सतहदेखि चार हजार ५० मिटर उचाइमा पञ्चकुण्ड ताल छ।

आधार शिविरको डाँडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ। एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी संकलन भएर बनेको प्राकृतिक हिमताल हो। अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकै पटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको मुख्य विशेषता हो।

मापसेदेखि तीव्र गतिसम्म: २४ घण्टामा १,१७८ चालक कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १७८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६६, सिसिटिभिमार्फत ६९, रातोबत्तीमा ६६ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १४१, हर्न निषेधमा ४२, लेन क्रसमा ७५, अवस्था ठिक नभएको ३५, एकतर्फीमा २१ र अन्यमा ६६३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

ठमेललाई २४सै घण्टा सञ्चालन गरिने

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोलीले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग गरेको भेटमा ठमेललाई २४सै घण्टा पारिवारिक, सुरक्षित र मर्यादित रुपमा सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको हो ।

ठमेल पर्यटन विकास परिषद्का तत्कालिन अध्यक्ष भविश्वर शर्माको पहलमा २०८१ सालमा तत्कालिन गृहमन्त्री रवि लामिछानेले ठमेललाई २४सै घण्टा सञ्चालन भएको घोषणा गरेका थिए ।

परिषद्का महासचिव पशुपति कँडेलले पर्यटकीय केन्द्र ठमेललाई २४सै घण्टा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ठमेल पर्यटन विकास परिषदबिच सहकार्य गर्ने सहमति भएको जानकारी दिए ।

भेटमा ठमेल क्षेत्रको शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन, सडक बालबालिकाको उचित व्यवस्थापन तथा हकर्सको व्यवस्थापन जस्ता महत्वपूर्ण विषयमा छलफल भएको उनले बताए ।

भेटमा प्रमुख जिल्ला अधिकारी पौडेलले ठमेललाई थप व्यवस्थित बनाउन सुरक्षा निकायलाई आवश्यक रूपमा परिचालन गर्ने र परिषद्सँग प्रभावकारी समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेलको दीर्घकालीन शान्ति, सुरक्षा र पर्यटनमैत्री वातावरण निर्माण गर्न परिषद्ले विभिन्न निकायसँग समन्वय गरेर काम गरिरहेको बताए । परिषद्ले ठमेलको विकास र सुरक्षाका लागि सबै सरोकारवाला पक्षबिचको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीय: गृहमन्त्री गुरुङ

ललितपुर । गृहमन्त्री सुधन गुरुङले नागरिकको सेवामा ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय रहेको बताएका छन् ।

ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा उनले महानगरपालिकाले कला, संस्कृति र सभ्यताको संरक्षणमा गरेको काम अनुकरणीय रहेको बताए ।

गृहमन्त्री गुरुङले ललितपुर र भक्तपुरले नेपालको कला, संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्दै त्यहाँ पुग्दा देशको गौरव महसुस हुने बताए । उनले ललितपुर महानगरपालिकाले नयाँ सोचका साथ सञ्चालन गरेका कामबाट गृह मन्त्रालयले समेत सिक्न सक्ने बताउँदै यस्ता नवप्रवर्तनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

गृहमन्त्री गुरुङले आफूमा शासकीय घमण्ड र सत्ताको लोभ नभएको उल्लेख गर्दै देश र समाजका लागि सकारात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालकुमारीदेखि बल्खुसम्मको सात दशमलव नौ किलोमिटर सडकखण्डमा जडान गरिएको स्मार्ट स्ट्रिट लाइटले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए । उनले स्मार्ट स्ट्रिट लाइटको अवधारणा नेपालमा ललितपुर महानगरपालिकाले सुरु गरेको दाबी गरे।

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके । बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार वर्षअघि आफ्नो एक बिगाहा खेतमा ताइवानी अम्बा लगाउने निर्णय गर्दा भविष्यको आम्दानीबारे खासै अनुमान थिएन । धान र तोरी फलाउँदै आएको खेतमा सुरु गरिएको अम्बा खेतीले अहिले उनलाई परम्परागत खेतीभन्दा राम्रो आम्दानी दिन थालेको छ ।

“व्यावसायिक रूपमा गरेको अम्बा खेतीबाट एक ‘सिजन’मा करिब रु दुई लाख ५० हजारसम्म आम्दानी हुन्छ,” विष्टले भनिन्। उनका अनुसार अम्बाको वर्षमा दुई सिजन उत्पादन हुन्छ । धान र तोरी खेती गर्दै आएको खेतमा व्यावसायिक अम्बा खेती सुरु गर्दा सुरुमा केही जोखिम लिएजस्तो लागे पनि अहिले आम्दानी राम्रो हुन थालेपछि उनी सन्तुष्ट छिन् ।

“अम्बा खेतीमा अरू खेतीको जस्तो धेरै मेहनत गर्नुपर्दैन । त्यसैले अन्न फल्ने खेतमा व्यावसायिक रूपमा अम्बा लगायौँ । अहिले आम्दानी पनि सोचेजस्तै हुन थालेको छ,” उनले भनिन् ।

भारतबाट बिरुवा ल्याएर अम्बा खेती सुरु गर्नुभएकी विष्टको बगैँचामा अहिले मुख्य रूपमा ताइवानी प्रजातिका अम्बा छन् । केही स्थानीय जातका बिरुवा पनि लगाइएको छ । उत्पादन भएको अम्बालाई किरा र चराचुरुङ्गीबाट जोगाउन उनले फलमा प्लास्टिकको प्याकिङ गर्ने प्रविधि अपनाएकी छिन् ।

“प्लास्टिकले प्याक गर्दा फल किरा र सुगाबाट जोगिन्छ, रङ पनि राम्रो देखिन्छ र बजारमा आकर्षक हुन्छ,” उनले भने । अम्बाबाट व्यावसायिक आम्दानी लिन थालेको भने डेढ वर्ष मात्र भएको विष्टले सुनाउनुभयो । धान र गहुँको तुलनामा अम्बा खेती गर्न सहज रहेको उनको अनुभव छ । “बिस्तारै गर्दै जाँदा राम्रो होला भनेर सुरु गरेकी हुँ । अहिले ठीकठीकै आम्दानी भइरहेको छ, नराम्रो छैन,” उनले भनिन्।

अम्बा पाकेपछि प्रायः आफैँले टिप्ने गरेको उनी बताउँछिन् । ठेक्कामा बगैँचा दिँदा भने खरिदकर्ताले नै फल टिपेर लैजाने गरेका छन् । अम्बा बिक्रीका लागि बजारको समस्या नरहेको उहाँको अनुभव छ । बगैँचामा अम्बा तयार भएपछि व्यापारीहरू आफैँ आउने गरेका छन् । कतिपय ग्राहकले घरबाटै खरिद गर्ने गरेका छन् भने मुख्य रूपमा मण्डीका व्यापारीले खरिद गरी नेपालगन्ज बजारमा लैजाने गरेका छन् ।

हाल विष्टको बगैँचामा उत्पादित अम्बाको मुख्य बजार नेपालगन्ज हो । परम्परागत खेतीबाट व्यावसायिक फलफूल खेतीतर्फ लागेकी उनी आगामी दिनमा अम्बा खेती विस्तार गर्दै आम्दानी बढाउने योजनामा छिन् । “अहिलेको आम्दानीले हौसला बढाएको छ । मेहनत गर्दै गए भविष्यमा अझ राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विश्वास छ,” विष्टले भनिन् । उनको यो व्यावसायिक खेतीको स्थानीयस्तरमा प्रशंसा मात्रै भएको छैन, अन्यले समेत अनुसरण गर्ने सोच बनाएका छन् ।

नेपालगन्ज–पोखरा उडान पुनः सुरु हुँदै

नेपालगन्ज । लामो समयदेखि रोकिएको नेपालगन्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ ।

निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगन्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । बुद्ध एयर नेपालगन्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्दै गएको छ । गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घट्नु र इन्धन खर्च बढी भएकाले उडान रोकिएको शाहले बताउनुभयो । पछिल्लो समय धार्मिक पर्यटकको सङ्ख्या बढ्नाका साथै उडानको माग बढेकाले सेवा पुनः सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।

तालिकाअनुसार आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ । त्यसका लागि बुकिङ खुला गरिएको बुद्ध एयरले जनाएको छ । नेपालगन्ज–पोखरा उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन् । पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपालसँगै भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले यो उडान पर्यटन व्यवसायीका लागि महत्त्वपूर्ण रहेको बताए।

उनका अनुसार हवाई सेवा सञ्चालन भएपछि पोखरालगायतका क्षेत्रबाट बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिकस्थलमा पुग्न सहज हुनेछ । साथै बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ पुग्न पनि सहज हुने उनले बताए ।

स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि सातामा तीन दिन नेपालगन्ज–पोखरा उडान सुरु गरिएको थियो ।

परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली टोली राष्ट्रसङ्घको महासभामा सहभागी हुने

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने भएको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने ।’

नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको हो । त्यसयता नेपालले महासभामा नियमित रूपमा सहभागिता जनाउँदै आएको छ ।

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की। पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३० गते बगेर बेपत्ता भएका दुई किशोरको शव भेटिएको छ ।

सुरक्षाकर्मीले गोताखोरसहित विभिन्न विधि प्रयोग गरी खोजी गर्ने क्रममा पोखरा–१४ चाउथेका १५ वर्षीय ओमन राईको शव तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित सेती नदी किनारमा आज भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

यसअघि अर्का बेपत्ता स्याङ्जा स्थायी घर भई पोखरा–१४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङको शव मङ्गलबार घटनास्थलभन्दा डेढ किमी तल खोलाको बीचमा ढुङ्गाले अड्किएको अवस्थामा फेला परेको थियो ।

सेती नदीमा खोजी गर्ने क्रममा तनहुँमा भेटिएको राईको शव आमाले सनाखत गरेपछि परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको सहायक प्रजिअ बरालले बताउनुभयो ।

साथीहरुसँग फुटबल खेल्न विजयपुर खोला तरेर पोखरा–२६ सक्नेरी जाने क्रममा दुवै जनालाई खोलाले बगाएको थियो ।

दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा

काठमाडौँ । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि सडकमा जोखिमपूर्ण अवस्थामा धर्ना दिइरहेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी तत्कालका लागि गाँस, बास र स्वास्थ्योपचारको व्यवस्था गर्ने सरकारको आग्रहलाई नागरिक बचाउ महाअभियानका अगुवाहरूले अस्वीकार गरेका छन् ।

सडकको खुला र जोखिमयुक्त स्थानमा रहेका नागरिकको जीवन रक्षाका लागि सरकारले उनीहरूलाई पहिले सुरक्षित ठाउँमा लैजाने र त्यसपछि मात्रै उनीहरूका मागहरूबारे बुँदागत रूपमा गम्भीर छलफल गर्ने स्पष्ट प्रस्ताव राखेको थियो । तर, दुर्गा प्रसाईं नेतृत्वको महाअभियानका तर्फबाट खटिएका वार्ता टोलीका सदस्यहरूले सरकारको यो मानवीय आग्रहलाई बेवास्ता गर्दै सडकमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न मानेका छैनन् ।

सरकारी वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदीका अनुसार सरकार नागरिकको सुरक्षा र माग सम्बोधनमा अत्यन्तै गम्भीर भएर वार्ताको टेबलमा बसिसकेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले समेत गत साउन २९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेर र आज प्रेस विज्ञप्तिसमेत जारी गरी सडकमा रहेका नागरिकलाई पहिले सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास तथा सुरक्षाको प्रबन्ध मिलाउन र संवादलाई निरन्तरता दिन सरकारलाई आग्रह गरेको छ ।

सरकार नागरिकको जिउधनको सुरक्षा गर्दै आयोगको सुझावसमेतलाई ध्यानमा राखेर वार्ताबाटै समस्याको निकास निकाल्न तयार हुँदाहुँदै पनि आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईं र उनको निर्देशनमा चलेको वार्ता टोलीले भने यो आग्रहलाई लगातार लत्ताइरहेको सुवेदीले बताए ।

धर्नामा रहेका एक अगुवाले सर्वसाधारणलाई सडकमा अगाडि सारेर, उनीहरूको स्वास्थ्य र जीवनलाई जोखिममा पार्दै प्रसाईंले आफ्नो राजनीतिक स्वार्थसिद्ध गर्न खोजेको बताए । उनले भने, ‘सरकारसँग वार्ता सुरु भइसकेको छ । अब नागरिकलाई चिसो सडकबाट सुरक्षित स्थानमा सारौँ र उहाँहरूलाई बचाऔँ भन्दा हाम्रै नाइके (दुर्गा प्रसाई)ले मान्दैनन् । वृद्ध उमेरका नागरिकलाई ६ दिनदेखि सडकमा राख्दा उहाँहरूको स्वास्थ्य बिग्रिसकेको छ ।’

प्रसाईंले मङ्गलबार विष्णु बोहराको संयोजकत्वमा ९ सदस्यीय टोलीलाई सरकारसँग वार्ताका लागि पठाएका थिए । उक्त वार्तामा सरकारी टोलीले ‘पहिले सडकमा रहेका नागरिकलाई बचाउन सहयोग गर्नुहोस्, अनि मागबारे विस्तृत छलफल गरौँला’ भनेर आग्रह गरेको थियो । त्यसबारे प्रसाईंसँग सल्लाह गर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राति अबेर बाहिरिएको उक्त टोली बुधबार वार्तामा गएन ।

यद्यपि प्रसाईंले उल्टै सरकारलाई आरोप लगाउँदै भिडियो सार्वजनिक गरे ।

पुल्चोकमा धर्नामा रहेका एक व्यक्तिले पछिल्लो अवस्थाबारे असन्तोष व्यक्त गर्दै भने, ‘सर्वसाधारणलाई भड्काएर सडकमै जोखिममा राखिरहने प्रसाईंको यो राजनीति र हठका कारण वास्तविक पीडितहरू झन् सङ्कटमा परेका छन् ।’

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र करिब एक हजार दुई सय जना घाइते भएको चार दिनपछि पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा किराना पसल, पेट्रोल पम्प तथा अन्य व्यापारिक प्रतिष्ठान पुनः सञ्चालनमा आएका छन् ।गत शनिबार बिहान गएको भूकम्पबाट हजारौँ घर तथा सार्वजनिक संरचनामा क्षति पुगेपछि ५९ हजार ६ सयभन्दा बढी मानिस अझै पाल, उद्धार केन्द्र र अस्थायी आश्रयस्थलमा बसिरहेका अधिकारीले बताएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूकम्पबाट ११ हजार नौ सय २५ घर, १८२ स्वास्थ्य संस्था, ६५३ विद्यालय, १८४ सरकारी कार्यालय र १७३ धार्मिक स्थलमा क्षति पुगेको छ ।

प्रभावित समुदायमा खाद्यान्न, पारिवारिक पाल, आश्रय सामग्री र अन्य राहत सामग्रीसहित ३९८ टन राहत सामग्री पु¥याइएको एजेन्सीले जनाएको छ । पहाडी भूभाग तथा क्षतिग्रस्त र साँघुरा सडकका कारण राहत सामग्री वितरणमा भने कठिनाइ भइरहेको अधिकारीले बताएका छन् ।

दुर्गम क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले सैन्य विमान, पानीजहाज र थप जनशक्ति परिचालन गरेको विपद् व्यवस्थापन एजेन्सीका प्रवक्ता बर्टन पानजाइतानले बताउनुभयो ।
पूर्वी नुसा तेङ्गरा प्रान्तका गभर्नर इमानुएल मेल्कियाडेस लाका लेनाले भूकम्प प्रभावित सातवटै क्षेत्रका स्थानीय सरकारहरूले विपद्पछिको पुनर्लाभ तथा प्रशासनिक कामलाई गति दिन पुनः काम सुरु गरेको बताए ।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिए पनि पछि हटाइएको थियो । अधिकारीहरूले बुधबारसम्म तीन हजारभन्दा बढी परकम्प रेकर्ड गरेका छन् ।

परकम्पको त्रासका कारण टापुभरि हजारौँ मानिस राति बाहिरै सुतिरहेका छन् । उद्धारकर्मीहरूले थप पीडितको खोजी गर्दै पहिरो र भग्नावशेष हटाइरहेका छन् ।

आफ्ना सामान तथा पशुधन सुरक्षित राख्न धेरै मानिस क्षतिग्रस्त घरनजिकै आश्रय लिएर बसेकाले राहत वितरण थप चुनौतीपूर्ण बनेको उद्धार अभियान संयोजक फतुर रहमानले बताउनुभयो ।

यसैबीच, मौमेरेमा बजार तथा पेट्रोल पम्प खुलेपछि ठूलो भीड लागेको छ । अत्यधिक प्रभावित मङ्गाराई रिजेन्सीको रियोमा पनि किराना पसल खुलेपछि आवश्यक सामग्री खरिद गर्न स्थानीयवासी लामबद्ध भएका छन् ।

इन्डोनेसिया १७ हजारभन्दा बढी टापु भएको देश हो र प्रशान्त महासागरीय ‘आगोको घेरा’मा पर्ने भएकाले यहाँ भूकम्प तथा ज्वालामुखी विस्फोटको जोखिम उच्च छ । फ्लोरेसमा सन् १९९२ मा गएको भूकम्प र त्यसपछिको सुनामीमा करिब दुई हजार पाँच सय जनाको मृत्यु भएको थियो ।

‘विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ’ – गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ गृहमन्त्री सुधन गुरुङले आफ्नो जिम्मेवारीको रूपमा रहेको विपद् व्यवस्थापनमा मन्त्रालय संवेदनशील रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले सांसद गोपाल शर्माले जाजरकोट र रुकुम पश्चिमका विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका सम्बन्धमा सोधेको प्रश्नको जवाफ दिएका हुन् ।

मन्त्री गुरुङले विपद्मा एक परिवारबाट एक व्यक्तिलाई लाभ प्राप्त हुने कानुनी व्यवस्था रहेको बताउँदै एकभन्दा बढी व्यक्तिलाई लाभ प्रदान गर्न विपद् अघि नै अंशबण्डा भएको हुनुपर्ने र अलग बसेको हुनुपर्ने व्यवस्था रहेको उल्लेख गरे। उनले उक्त व्यवस्था संशोधन गर्न र स्थानीय तहलाई पूर्ण जिम्मेवार बनाउन विपद् प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको र काम अघि बढेको बताए ।

मन्त्री गुरुङले स्थानीय पालिका भवन निर्माण संहिता पालनाको व्यवस्था रहेको बताउँदै आवश्यक समन्वय र सहजीकरण भइरहेको उल्लेख गरे । साथै उनले विपद् व्यष्वस्थापन कार्य तीनै तहका सरकारको जिम्मेवारी भएको स्पष्ट पार्दै सोहीअनुसार समन्वय र सहकार्य भइरहेको जानकारी दिए ।

चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार

चीनको केन्द्रीय बैङ्क पिपुल्स बैङ्क अफ चाइना (पीबीओसी) र रिजर्भ बैङ्क अफ अष्ट्रेलिया (आरबीए)ले द्विपक्षीय स्थानीय मुद्रा विनिमय सम्झौता थप पाँच वर्षका लागि नवीकरण गरेका छन् । सम्झौताको अधिकतम सीमा बढाएर २२० अर्ब युआन (करिब ४६ अर्ब अष्ट्रेलियाली डलर) पु¥याइएको पीबीओसीले बुधबार जनाएको छ ।

यसअघि सम्झौताको अधिकतम सीमा २०० अर्ब युआन (करिब ४१ अर्ब अष्ट्रेलियाली डलर) थियो । दुवै पक्षको सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने पीबीओसीले जनाएको छ ।

पीबीओसीका अनुसार सम्झौताको नवीकरण र सीमा विस्तारले चीन र अष्ट्रेलियाबीच मौद्रिक तथा वित्तीय सहयोग थप सुदृढ गर्नुका साथै द्विपक्षीय व्यापार तथा लगानीलाई सहजीकरण गर्न र वित्तीय बजारको स्थिरता कायम गर्न सहयोग पुग्नेछ ।

आरबीएका अनुसार, सम्झौताअन्तर्गत दुवैमध्ये कुनै पनि केन्द्रीय बैङ्कले आवश्यकताअनुसार व्यवस्था कार्यान्वयनमा ल्याउन सक्नेछन् । यस क्रममा दुवै बैङ्कले तोकिएको सीमाभित्र स्थानीय मुद्राको विनिमय गर्न सक्नेछन् ।

चीन र अष्ट्रेलियाबीच सन् २०१२मा पहिलोपटक यस्तो मुद्रा विनिमय व्यवस्था स्थापना भएको थियो । त्यसयता नियमित रूपमा नवीकरण हुँदै आएको सम्झौता पछिल्लोपटक सन् २०२१ को जुलाईमा थप पाँच वर्षका लागि नवीकरण गरिएको थियो ।

आरबीएका अनुसार, यस्ता मुद्रा विनिमय सम्झौताले विशेषगरी वित्तीय बजारमा दबाब वा अस्थिरता देखिएका बेला केन्द्रीय बैङ्कलाई स्थानीय मुद्रामा व्यापारिक भुक्तानी व्यवस्थापन गर्न सहयोग पु¥याउँछन् ।

जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह

जेनेभा। संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले जाम्बियामा निर्वाचन अघि र पछि विपक्षी सदस्यको गिरफ्तारी तथा हिरासत सम्बन्धी घटनाप्रति चिन्ता व्यक्त गर्दै ‘मनमानी’ गिरफ्तारी रोक्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।

“सम्बन्धित निकायले मानिसलाई मनमानी ढङ्गले पक्राउ गर्न बन्द गर्नुपर्छ र हिरासतमा लिइएका सबै व्यक्तिको कानुनी अधिकारको पूर्ण सम्मान गर्नुपर्छ,” टर्कले बुधबार जारी गरेको विज्ञप्तिमा भन्नुभएको छ ।

जाम्बियाको निर्वाचन आयोगका अनुसार अगस्ट १३ मा भएको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति हाकाइन्डे हिचिलेमा करिब ६० प्रतिशत मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी मुख्य विपक्षी दल एनआरपीयुपीका नेता तथा पूर्वमन्त्री ब्रायन मुन्दुबिले करिब ३८ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि विपक्षीले धम्की र विभिन्न प्रतिबन्धका कारण आफ्नो चुनावी अभियान प्रभावित भएको बताएका छन् । युरोपेली सङ्घलगायत अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकले पनि निर्वाचन प्रक्रियालाई लिएर यस्तै चिन्ता व्यक्त गरेका छन् ।

मुख्य विपक्षी गठबन्धनका केही सदस्यलाई प्रहरीले अझै हिरासतमा राखेको बताइएको छ । उनीहरूलाई मिलिसिया वा विद्रोही गतिविधिमा सङ्लग्न भएको आरोपमा गत साता पक्राउ गरिएको विपक्षी दलले जनाएको छ । विपक्षी नेता मुन्दुबिले पनि आफूविरुद्धको धम्कीका कारण अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाको संरक्षणमा सुरक्षित स्थानमा रहेको एएफपीलाई बताउनुभयो ।

टर्कले सबै गिरफ्तारी र त्यसपछिका कानुनी कारबाही अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्ड तथा जाम्बियाको घरेलु कानुनअनुरूप हुनुपर्नेमा जोड दिएका छन् । उहाँले हिरासतमा लिइएका व्यक्तिलाई पक्राउको कारण र आरोपबारे तत्काल जानकारी दिन, कानुनी प्रतिनिधिको पहुँच तथा परिवारसँग सम्पर्कको सुविधा उपलब्ध गराउन र मानवीय व्यवहार गर्न आग्रह गर्नुभएको छ ।

साथै, उनीहरूलाई यथाशीघ्र न्यायाधीशसमक्ष उपस्थित गराइनुपर्ने उहाँले बताउनुभयो । निर्वाचनपछिको संवेदनशील अवस्थामा मानव अधिकारको सम्मान गर्न तथा निर्वाचनसँग सम्बन्धित गुनासो शान्तिपूर्ण र कानुनी प्रक्रियामार्फत सम्बोधन गर्नुपर्नेमा टर्कले जोड दिनुभएको छ ।

हिचिलेमा पहिलो कार्यकालमा आर्थिक सुधार तथा जाम्बियाको ऋण पुनः संरचनाका लागि प्रशंसा पाए पनि विपक्षी दल र नागरिक समाजले सरकारमाथि असहमति तथा विरोधका आवाज दबाएको आरोप लगाउँदै आएका छन् ।

निर्वाचन आयोगले आधिकारिक नतिजा सार्वजनिक गरेको सात दिनभित्र हिचिलेमा दोस्रो कार्यकालका लागि शपथ लिने व्यवस्था छ । यद्यपि, विपक्षी दलले निर्वाचन परिणाम विरुद्ध कानुनी चुनौती दिने तयारी गरेकाले शपथ ग्रहणमा ढिलाइ हुन सक्ने बताइएको छ ।

साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम

सान फ्रान्सिस्को। च्याटजीपीटी निर्माता ओपनएआइले आफ्नो सबैभन्दा उन्नत एआई मोडलको विकास केही समयका लागि सुस्त पार्दै सुरक्षा तथा आन्तरिक नियन्त्रण थप कडा बनाउने जनाएको छ ।

कम्पनीको एउटा एआई उपकरणले स्वायत्त रूपमा साइबर आक्रमणको प्रयास गरेको घटना सार्वजनिक भएको केही समयपछि ओपनएआइले यस्तो निर्णय गरेको हो ।

ओपनएआइले मङ्गलबार ब्लगमार्फत हालसम्मकै ठूलो एआई प्रशिक्षण प्रक्रिया सञ्चालन गर्ने योजना स्थगित गरी नयाँ मोडलले अपेक्षित रूपमा सुरक्षित व्यवहार गर्ने सुनिश्चित गर्न परीक्षण र निगरानी बढाउने जनाएको छ ।

प्रशिक्षण प्रक्रियामा ठूलो मात्रामा पाठ तथा तस्बिर सम्बन्धी तथ्याङ्क प्रयोग गरी एआई मोडलको तर्क गर्ने तथा विभिन्न निर्देशन र इनपुटमा प्रतिक्रिया दिने क्षमता विकास गरिन्छ ।

“मोडलको क्षमता, सुरक्षा र त्यसको व्यवहारलाई सुरक्षित रूपमा नियमन गर्ने हाम्रो क्षमताभन्दा अघि बढेको महसुस भएमा हामी आवश्यक कदम चाल्नेछौँ,” ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले भन्नुभयो ।

गत जुलाईमा ओपनएआइका दुई मोडलमा आधारित एआई एजेन्टले परीक्षणका लागि सीमित गरिएको वातावरणबाट बाहिरिएर इन्टरनेटमा पहुँच बनाउने र एआई मोडल साझा गर्ने प्लेटफर्म हगिङ फेसमाथि आक्रमण गर्ने प्रयास गरेको थियो ।

त्यसैगरी, ओपनएआइको प्रतिद्वन्द्वी एन्थ्रोपिकले पनि जुलाईको अन्त्यमा परीक्षणका क्रममा आफ्ना तीन एआई मोडलले तीन संस्थाका कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच बनाएको घटना सार्वजनिक गरेको थियो । यी घटनापछि एक हजारभन्दा बढी प्रविधि क्षेत्रका कर्मचारीले अमेरिकी सरकारलाई अत्याधुनिक एआई प्रणालीको विकासमा समन्वयात्मक रूपमा गति घटाउन आग्रह गरेका थिए ।

अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले पनि ओपनएआई, एन्थ्रोपिक र मेटाका प्रमुखलाई पत्र पठाउँदै मानिसको नियन्त्रणभन्दा बाहिर जान सक्ने एआई विकास रोक्न आग्रह गर्नुभएको थियो ।

ओपनएआइका अनुसार, नयाँ सुरक्षा प्रणाली विकास भइरहेका कारण पछिल्लो मोडलको प्रशिक्षण दुई साताका लागि रोकिएको छ । कम्पनीले एआई प्रणालीको आन्तरिकतर्क प्रक्रियामा निगरानी बढाउने र शङ्कास्पद गतिविधि देखिएमा ३० मिनेटभित्र मानव निरीक्षकलाई सूचित गर्ने प्रणाली विकास गरिरहेको जनाएको छ ।

यस्तो निगरानी प्रणाली सञ्चालन गर्न हालको तुलनामा करिब २० प्रतिशत थप कम्प्युटिङ क्षमता आवश्यक पर्ने कम्पनीले जनाएको छ । ओपनएआइको सन् २०२५ को आफ्नै अनुसन्धानले भने निगरानीमा रहेको जानकारी पाएको एआई मोडलले आफ्नो वास्तविक उद्देश्य लुकाउन सक्ने सम्भावना देखाएको थियो ।

कम्पनीले हगिङ फेससँग सम्बन्धित घटनाको विस्तृत प्राविधिक विवरण सार्वजनिक गर्ने जनाएको छ । उक्त विवरण आगामी केही साताभित्र सार्वजनिक गरिने ओपनएआईले बताएको छ ।

नीशा सुनारले सार्वजनिक गरिन् ‘झ्याप छौं कि साइँला दाई’, नाजिर र उषाको रोमान्स

गायिका नीशा सुनारले नयाँ गीत सार्वजनिक गरेकी छिन् । लामो समयदेखि अमेरिकामा रहँदै आएकी नीशाले नेपाल आएको समयमा ‘झ्याप छौं कि साइँला दाई’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।
रमाइलो शैली यो गीतमा खेम सेन्चुरी र नीशा सुनारको स्वर छ । गीतमा रमेश वीजीको शब्द, खेम सेन्चुरीकै संगीत छ ।

सार्वजनिक गीतको भिडियोलाई सुनिल वीकेले निर्देशन गरेका हुन् । गीतको भिडियोमा नाजिर हुसेन र उषा उप्रेतिको डान्स हेर्न सकिन्छ । गीतको भिडियोमा उनीहरु रमाइलो शैलीमा रोमान्टिक भएका छन् ।अनिल के मानन्धरको छायांकन रहेको यो भिडियोमा प्रविण भट्टको सम्पादन, राजेन्द्र मोक्तानको कलर, रोशन विश्वकर्माको कोरियोग्राफी छ ।

नीशाकै स्वरमा रहेको नयाँ तीज गीत पनि केही दिनमै बजारमा ल्याउने तयारी भइरहेको छ । कुनै समय दर्शकमाझ निकै नै लोकप्रिय गायिका सुनारले अब गायनलाई निरन्तरता दिने बताएकी छिन् ।

भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता

काठमाडौँ। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ तथा श्रीमती कोमल सेठ चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनुभएको छ ।

उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदिपजङ्ग केसी र उहाँकी धर्मपत्नीले बिदाइ गर्नुभएको थियो ।

भ्रमणको दौरान सेनाध्यक्ष सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्नुभएको थियो ।

उहाँले आफ्नो भ्रमणको दौरान राष्ट्रपति, प्रधानमन्त्री एवं रक्षा मन्त्री र प्रधान सेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नु भएको थियो ।

सेनाध्यक्ष सेठको भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुगेको नेपाली सेनाले जनाएको छ ।

एक वर्षमा चौध करोडको जडीबुटी निर्यात

झापा । एक वर्षमा रु १४ करोड ६ लाख ८३ हजारको जडीबुटी निर्यात भएको छ। काँकडभिट्टाबाट भारत र बङ्गलादेशतर्फ १२ थरीका कूल एक हजार १०८ मेट्रिक टन जडीबुटी निर्यात भएको हो।

भारततर्फ ४२२ मेट्रिक टन तेजपात निर्यात भई रु दुई करोड ६६ लाख ६४ हजार र बङ्गलादेशतर्फ २६९ मेट्रिक टन चिराइतो निर्यात हुँदा रु छ करोड ५६ लाख ३५ हजार आम्दानी भएको पूर्वी भन्सार नाका काँकडभिट्टाका प्रमुख नन्दकिशोर सिंहले बताए।

नेपाली जडीबुटीको परम्परागत बजार भारत हो । पछिल्लो समय बङ्गलादेशतर्फ रिठ्ठा, क्यानोला तेल, सतावर, मजिठो र जटामसीलगायतका जडीबुटीको निकासी बढेको छ।

यस अवधिमा बङ्गलादेशतर्फ १८७ मेट्रिक टन रिठ्ठा (रु दुई करोड तीन लाख ८६ हजार), ४० मेट्रिक टन क्यानोला तेल (रु एक करोड २८ लाख ३६ हजार) र पाँच मेट्रिक टन सतावर (रु ९४ लाख ५६ हजार) निर्यात भएको छ।

कम परिमाणमा निर्यात भए पनि हिमाली तथा पहाडी क्षेत्रमा पाइने पदमचाल र सतावरले निकै राम्रो बजार मूल्य पाएका छन्। १२ मेट्रिक टन पदमचालबाट रु ९४ लाख ८८ हजार र पाँच मेट्रिक टन जटामसीबाट रु ६३ लाख ८० हजार आम्दानी भएको छ।

यसबाहेक २६ मेट्रिक टन चुत्रो (रु ११ लाख ४१ हजार), २२ मेट्रिक टन नागबेली पाउडर (रु १० लाख १८ हजार), आठ मेट्रिक टन अमला (रु आठ लाख ६७ हजार) र दुई मेट्रिक टन टिमुर (रु आठ लाख) निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ।

स्वदेशी जडीबुटीको प्रशोधन र बजारीकरणमा सरकारी तवरबाट थप सहजीकरण हुन सके पूर्वी नाकाबाट जडीबुटी निर्यात अझै बढाउन सकिने सरोकारवालाहरू बताउँछन्।

कोशी कटानको जोखिममा परेका परिवारलाई स्थानान्तरण

सुनसरी । सप्तकोशी नदीको तीव्र कटानका कारण जोखिममा परेका बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टापुका सात परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

सप्तकोशी नदीले निरन्तर कटान गर्न थालेपछि अति जोखिममा परेका उनीहरुलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्थासहित स्थानान्तरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिए ।

श्रीलङ्का टापुुको चिलिया र गरैयालगायतका क्षेत्रमा सप्तकोशी नदीले तीव्र कटान गरिरहेको छ । कटान नियन्त्रणका लागि बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकासँगै स्थानीयवासीको समन्वयमा अस्थायी तटबन्ध निर्माण भइरहेको नगरप्रमुख कार्कीले जानकारी दिए ।

‘बालुवा र सिमेन्टका बोरा भरेर नदी किनार जोगाउने प्रयास भइरहेको छ । ठुलो बाढी आयो भने यो प्रयासले मात्रै धान्न सक्दैन । यसले केही समयका लागि राहत दिन्छ, तर यो स्थायी समाधान होइन’, उनले भने ।

कटान नियन्त्रणका लागि गत वर्ष निर्माण गरिएका करिब १८ स्परमध्ये नौ वटा पूर्णरूपमा क्षतिग्रस्त भइसकेका छन् भने बाँकी स्परलाईसमेत नदीले कटान गरिरहेको नगरप्रमुख कार्कीले बताए।

‘अहिले श्रीलङ्का टापु, चिलिया टापुमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा बराहक्षेत्र र बेलका नगरपालिकाको समन्वयमा श्रमदानमार्फत कटान रोक्ने प्रयास भइरहेको छ । बाँस गाड्ने, नाइलनको डोरीले बाँध्ने तथा बालुवा भरिएका बोरा राख्नेजस्ता उपाय अपनाइएको छ । यी अस्थायी उपाय मात्र हुन । दीर्घकालीन रूपमा बलियो तटबन्ध निर्माण र नदी व्यवस्थापन नगरी समस्या समाधान हुँदैन’,नगरप्रमुख कार्कीले भने।

सप्तकोशी नदीले धार परिवर्तन गरेर बनाएको चिलिया टापुमा अहिले पनि त्यहाँ ठूलो सङ्ख्यामा बसोबास छ । बराहक्षेत्र नगरपालिका–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–१, २ र ३ मा फैलिएको यस क्षेत्रमा हरेक वर्ष बर्खायाममा नदीको बहाव बढेसँगै बाढी र कटानको जोखिम बढ्ने गरेको छ।

यस वर्ष चिलिया र गरैया क्षेत्रमा नदीले तीव्र कटान थालेपछि करिब ६, ७ सय घरपरिवार प्रत्यक्ष जोखिममा रहेको नगरप्रमुख कार्कीले बताए । सप्तकोशीले विस्तारै धार पश्चिमतर्फ मोड्ने सङ्केत देखिएकाले बाक्लो मानव बस्ती रहेका क्षेत्रमा जोखिम झन् बढेको उनको भनाइ छ।

हरेक वर्ष बर्खायाममा सप्तकोशीको बाढीले श्रीलङ्का टापुुको बस्ती डुबानमा पार्नुका साथै खेतीयोग्य जमिन कटान गरेर बगाउने गरेको छ। बर्सेनि नदीले जमिन तथा बस्ती कटान गर्दै जोखिम बढाए पनि यसको दीर्घकालीन समाधान हुन सकेको छैन। विशेषगरी बराहक्षेत्र नगरपालिका–६ र ९ स्थित चिलिया टापु, गरैया तथा श्रीलङ्का टापुुका बासिन्दा बर्सेनि बाढी र कटानको दोहोरो जोखिममा पर्दै आएका छन्।

अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र

काठमाडौँ । १७ करोड ७९ लाखभन्दा बढी क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक ३५ वर्षीय झु यी फेङ्ग गत चैत १९ गते काठमाडौँको ठमेलबाट पक्राउ परे । रु ३० लाख ४९ हजार ७३६ बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने बङ्गलादेशी नागरिक २९ वर्षीय मोहम्मल शेहाबुल इस्लाम गत चैत ११ गते पक्राउ परे।

यस्तै क्रिप्टोकरेन्सी कारोबारमा सङ्लग्न काठमाडौँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गा बस्ने २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोदप्रसाद धिताल गत चैत २ गते पक्राउ परे। प्रविधिको तीव्र विकास एवं सहज पहुँचसँगै यसको दुरुपयोगबाट हुने आपराधिक घटना पनि दिनानुदिन बढ्दै गइरहेको छ।

पछिल्लो समय अनलाइन बेटिङ र क्रिप्टोकरेन्सीका कारोबार बढिरहेको हुँदा त्यस्ता किसिमका गतिविधि नियन्त्रण गरी संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरीले विशेष अभियान नै सञ्चालन गरेको छ।

आर्थिक वर्ष २०८२/०८३ मा अनलाइन बेटिङमा संलग्न ४८ जना पक्राउ परे। जसमध्ये २६ जना विदेशी नागरिक र २२ जना स्वदेशी नागरिक छन्। यस्तै आर्थिक वर्ष २०८१/०८२ मा अनलाइन बेटिङमा संलग्न ९३ विदेशी नागरिकसमेत गरी जम्मा १४८ जना पक्राउ परेका थिए। आर्थिक वर्ष २०८०/०८१ मा अनलाइन बेटिङमा संलग्न १३ जना विदेशी नागरिकसमेत ६२ जना पक्राउ परेका थिए।

आव २०८२/०८३ मा क्रिप्टोकरेन्सीमा संलग्न ४२ जना पक्राउ परे । जसमध्ये ७ जना विदेशी नागरिक र ३५ जना स्वदेशी नागरिक छन्। यस्तै आर्थिक वर्ष २०८१/०८२ मा क्रिप्टोकरेन्सीमा संलग्न ४५ विदेशी नागरिकसमेत गरी जम्मा ११७ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८०/०८१ मा क्रिप्टोकरेन्सीमा संलग्न ५ जना विदेशी नागरिकसहित १० जना पक्राउ परेका थिए।

विशेषगरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको अवस्थामा विभिन्न अनलाइन बेटिङ प्लेटफर्महरू धेरै सक्रिय हुने गरेको अनुसन्धानका क्रममा पाइएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले अनलाइन बेटिङ नेटवर्क एवं क्रिप्टोकरेन्सी कारोबार नियन्त्रण गर्न सूचना सङ्कलन र निगरानीलाई विशेष प्राथमिकतामा राखी प्रहरीले काम गर्दै आइरहेको बताउँछन्।

“सट्टाबाजी हुने सम्भावित स्थान, गिरोह र व्यक्तिको बारेमा गोप्य सूचना सङ्कलन, अनलाइन सट्टाबाजी (विशेष गरी खेलकुद बेटिङ) मा संलग्न नेटवर्कको डिजिटल निगरानी एवं बैंकिङ तथा डिजिटल वालेटमार्फत हुने कारोबारको निगरानीमा समेत प्रहरीले थप संवेदनशील भई कार्य गर्दै आइरहेको छ”, उनले भने।

अनलाइन बेटिङ साइबर अपराध, ठगी र हुण्डीसँग पनि जोडिएको हुन्छ । यस्तो कसुरमा मानिसलाई उत्सुक/तयारी गर्न सामाजिक सञ्जालको प्रयोग गरिन्छ र यसकै माध्यमबाट ठगी गर्ने तथा हुण्डी कारोबारलाई पनि बढवा दिने गरेको भेटिएको छ।

मुलुकी अपराध संहिता, २०७४, मा सट्टाबाजीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएमा प्रयोग भएको बिगो जफत गरी कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र रु १० हजारसम्म जरिवाना हुने व्यवस्था छ।

यस्तै क्रिप्टोकरेन्सीमा संलग्नलाई मुलुकी अपराध संहिता (संशोधन सहित), २०७४ मा अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुर, बिगो र सो बाट बढे वा बढाएको सम्पत्तिसमेत जफत गरी पाँच वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना हुने व्यवस्था छ।

विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह

काठमाडौँ। विवाह गर्ने विद्यमान कानुनी उमेर २० वर्ष नै कायम राख्न सरोकारवालाले जोड दिएका छन्।

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आज काठमाडौँमा आयोजना गरेको दुई दिने बालअधिकार सिकाइ–सम्मेलनको दोस्रो दिन बालविवाह अन्त्यसम्बन्धी राष्ट्रिय संवादमा विवाहको उमेर घटाउन नहुने धारणा व्यक्त गरिएको हो।

विवाहको न्यूनतम उमेर २० वर्षबाट घटाएर १८ वर्ष कायम गर्न विद्यमान कानुनमा संशोधनको प्रस्ताव ल्याउनुभन्दा बालविवाह अन्त्यका लागि प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्।का

कार्यक्रममा राष्ट्रियसभा सदस्य रोशनी मेचेले बालविवाह न्यूनीकरणमा सीमित नभई यसको पूर्ण अन्त्यका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए।

केन्द्रीय बालकल्याण समितिका पूर्वकार्यकारी निर्देशक तारक धितालले विवाहको कानुनी उमेर घटाउँदा बालबालिकाको शैक्षिक, मानसिक, आर्थिक तथा सामाजिक जीवनमा नकारात्मक असर पर्नुका साथै प्रजनन स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पर्न सक्ने विभिन्न अध्ययनले देखाएको बताए।

उनले चीन, दक्षिण कोरिया र भारतलगायत मुलुकमा २० वर्षपछि विवाह गर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै नेपाल सरकारले ल्याएको बालविवाह अन्त्यसम्बन्धी रणनीति, २०७२ को प्रभावकारी कार्यान्वयनमा तीनै तहका सरकार तथा निजी क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिए।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले बालविवाहले विकराल रूप लिन सक्ने भएकाले यसको अन्त्यका लागि सरकारले विभिन्न प्रयास गरिरहेको जानकारी दिए।

राष्ट्रिय मानवअधिकार आयोगका उपसचिव गीता दाहालले बालविवाहलाई निरुत्साहित गर्न राज्यसँगै परिवार, समुदाय र सम्बन्धित सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताए।

नेपालको संविधानको धारा ३० ले बालबालिकालाई बालविवाह गर्न बाध्य पार्न नहुने व्यवस्था गरेको छ। त्यसैगरी मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ ले २० वर्ष उमेर नपुगी गरिने विवाहलाई दण्डनीय कसुरका रूपमा व्यवस्था गरेको छ।

सिजपका अध्यक्ष तिलोत्तम पौडेलले कम उमेरमा विवाह गरी सन्तान जन्माउँदा मातृ तथा शिशु स्वास्थ्यमा जोखिम बढ्नुका साथै जन्म तथा मृत्यु दरमा समेत प्रतिकूल असर पर्न सक्ने बताए।

बाल उत्तरदायी बजेटको लेखापरीक्षण हुनुपर्नेमा जोड

सम्मेलनको पहिलो दिन बालबालिकाका लागि विनियोजित बजेटको कार्यान्वयन र उपलब्धिको नियमित लेखापरीक्षण आवश्यक रहेकामा सांसद, विज्ञ र सरोकार भएकाहरूले जोड दिए ।

प्रतिनिधि सभा सदस्य एवं महिला तथा सामाजिक मामिला समितिका सदस्य ज्ञानु पौड्यालले बाल उत्तरदायी बजेटको व्यवस्था भए पनि त्यसको प्रभावकारी लेखापरीक्षण हुन नसकेको उल्लेख गर्दै बालबालिकाका लागि विनियोजित बजेटको कार्यान्वयन र उपलब्धिको नियमित लेखापरीक्षण आवश्यक रहेको बताइन्।

“बाल उत्तरदायी बजेट राखिएको छ । त्यसको लेखापरीक्षण हुन सकेको छैन । त्यो हुन जरुरी छ । लेखापरीक्षण भए बालबालिकाको क्षेत्रमा कति विकास भयो भन्ने थाहा हुन्छ ।” उनले भनिन्।

सांसद पौड्यालले बाल सुधारगृहमा रहेका बालबालिकाको अवस्था सुधार गर्न आवासीय विद्यालय सञ्चालनका लागि पहल सुरु गरिएको जानकारी दिइन्।

राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गानाले बालबालिका बेचबिखनको पूर्ण अन्त्य हुनुपर्ने तथा बालबालिकाको अधिकार व्यवहारमै सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य गौरी प्रधान, राष्ट्रिय बालअधिकार परिषद्का सदस्यसचिव दुर्गाप्रसाद चालिसे, केन्द्रीय बालकल्याण समिति पूर्वकार्यकारी निर्देशक तारक धिताल तथा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईलगायतले बालबालिकाको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्न राज्य तथा सरोकारवाला सबै पक्ष गम्भीर बन्नुपर्ने धारणा राखे।

मन्त्रीबीच कुनै विवाद छैन भन्दै बोले रवी लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रिपरिषद्का सदस्यबीच कुनै विवाद नरहेको र मन्त्री हेरफेर गर्ने तयारी पनि नभएको बताएका छन् ।

आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मन्त्री तथा सांसदहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै मन्त्रालय वा मन्त्रीले गरेका काममध्ये केहीमा प्रश्न उठ्नु स्वाभाविक भएको बताए ।

प्रश्न उठेकै आधारमा त्यसलाई असहज रूपमा लिन नहुने उनको भनाइ थियो । सभापति लामिछानेले रास्वपाभित्र प्रश्न गर्ने र कमजोरीबारे छलफल गर्ने परिपाटी रहेको बताउँदै त्यसैलाई सम्बोधन गर्न सांसद र मन्त्रीबीच छलफल गरिएको स्पष्ट पारे ।

फरक प्रसङ्गमा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सरकार लागिरहेको उनले बताए ।

तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङ जिल्लाका दुई जना व्यक्तिलाई आज झुटा विवरण पेस गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

सुन्दरबजारस्थित आर्दश बाल माध्यमिक विद्यालयमा माध्यमिक तहमा कार्यरत शिक्षक नवराज केसी र तत्कालीन जिल्ला शिक्षा कार्यालय लमजुङका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेविरुद्ध आरोपपत्र दायर गरिएको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिमको कैद र जरिवाना र सजायको मागदाबी गरिएको जानकारी दिए ।

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) – हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेलापरेको छ ।

निर्मल माविबाट पढेर फर्किने क्रमममा मङ्गलबार अपराह्न चार बालिकालाई सो खोलाले बगाएको थियो । उनीहरूमध्ये एकको सकुशल उद्धार गरिएको थियो भने एक जना मृतावस्थामा फेलापरेकी थिइन् । २ जना भने बेपत्ता रहेका थिए ।

बेपत्ता भएकाहरूको आज बिहानैबाट खोजीका क्रममा बिनिता भ्लोन खोलामा मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

कक्षा ५ मा अध्ययनरत सुमित्रा भ्लोन बेपत्ता छिन् । उनको खोजी जारी छ । खोलाले बगाएका चार विद्यार्थीमध्ये मङ्गलबार राक्सिराङ–१ की रेश्मा स्याङ्तान (कक्षा २) मृतावस्थामा फेलापरेकी थिइन् भने सीमा भ्लोन (कक्षा ६) लाई घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता बालिकाको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी जुटिरहेका छन् ।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले बैठक दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार

चितवन। डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ६९ वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ । डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका विभिन्न स्थानबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो ।

कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार वन क्षेत्रमा सबैभन्दा धेरै अजिङ्गरको उद्धार गरिएको छ । बस्ती पसेर स्थानीयलाई दुःख दिने गरेका ४५ अजिङ्गरको उद्धार गरेर व्यवस्थापन गरिएको हो । यस्तै चारवटा चित्तल, रतुवा तीन, धामन सर्प तीन, गोही दुई, मयुर दुई, लाटोकोसेरो दुईवटाको उद्धार गरिएको छ । बाँदर, नियाले बाघ, जरायो, मलसाप्रो, चितुवा, गोहोर, कछुवा, हुच्चिल –एक–एकवटाको उद्धार गरी व्यवस्थापन गरिएको हो ।

समुदायमा पसेर समस्या बनाएका एवं समस्याग्रस्त ती जनावारको उद्धार गरी व्यवस्थापन गरिएको हो । यससँगै गत आर्थिक वर्षमा ४२ मृत वन्यजन्तुको व्यवस्थापन गरिएको उनले जानकारी दिए । उहाँका अनुसार ३० चित्तल, नौवटा रतुवा, दुईवटा बदेल, एउटा स्याल मृत भेटिएर तीनको व्यवस्थापन गरिएको हो ।

यससँगै कार्यालयले गत आर्थिक वर्षमा २६७ साइकलको लिलामी गरेको छ । अवैध रूपमा काठ तस्करीमा प्रयोग गरिएका ती साइकलको लिलामीबाट रु दुई लाख ५२ हजार राजस्व सङ्कलन गरिएको थियो । यस आर्थिक वर्षमा ८१ थान मोटरसाइकल लिलामी गर्ने तयारी गरेको छ । कसुरजन्य मुद्दामा नियन्त्रणमा लिइएका र बेवारिसे अवस्थामा भेटिएका गरी ती मोटरसाइकल लिलामी गर्न लागिएको हो ।

कार्यालय प्रमुख आचार्यका अनुसार विगत लामो समयदेखि कार्यालय परिसरमा रहेका ती मोटरसाइकल लिलामी गर्न लागिएको हो । मोटरसाइकलसँगै २५ बस, ट्रक, भ्यान, अटो, ट्याक्टर र ५९ साइकलको लिलामी प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए ।

रवीले बोलाए रास्वपाको संसदीय दलको बैठक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको संसदीय दलको बैठक बोलाएका छन्।सांसदहरूको प्रस्तुति र उपस्थिति खस्किन थालेपछि उनले बैठक बोलाएका हुन् ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने जनाइएको छ । बैठकमा मन्त्रीहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ।

कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा एक जनाकाे मृत्यु

कैलाली । बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार बर्दगोरिया–३ का विश्वकर्माको गए राति सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु भएको जानकारी दिए ।

उनले विश्वकर्मासँगै जङ्गल गएका एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको र घटनास्थलको अनुसन्धान जारी रहेको बताए।

प्रहरी निरीक्षक विष्टले भने “बन्दुक कसले किन चलाएको र विश्वकर्मासँग रहेको बन्दुकबाटै गोली चलेको हो भन्ने एकीन हुन नसकेको छैन । ”

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

चितवन। चितवनको खैरहनी नगरपालिका क्षेत्रमा बर्खे धानमा पातको फेद डढुवा (शीथ ब्लाइट) रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन् ।

नगरपालिकाका कृषि अधिकृत सिर्जना श्रेष्ठका अनुसार नगरपालिकाका केही क्षेत्रमा धानको पातको फेदमा फेद डढुवा रोगका प्रारम्भिक लक्षण देखिन थालेका छन् । अहिले रोग धेरै फैलिएको अवस्था नरहे पनि फाट्टफुट्ट रूपमा देखिन थालेकाले किसानलाई बेलैमा सचेत भएर धानबालीको नियमित निरीक्षण गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

“अहिले फेद डढुवा धेरै फैलिएको अवस्था छैन । केही ठाउँमा छिटफुट रूपमा देखिएको जानकारी आएको छ । हामीले खेतमै पुगेर यसको अवस्थाबारे रिपोर्टिङ गरिरहेका छौँ”, कृषि अधिकृत श्रेष्ठले भन्नुभयो । फेद डढुवा राइजोक्टोनिया सोलानी नामक ढुसीका कारण लाग्ने गर्दछ । रोग लागेमा सुरुमा पातको फेदमा अन्डाकार खैरो–हरियो थोप्ला देखिने र प्रकोप बढ्दै गएपछि ती थोप्ला फैलिँदै गई सिङ्गो बोट नै डढेको जस्तो देखिने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार रोग माटोबाट समेत सर्ने भएकाले धान रोप्नुअघि नगरपालिकाबाट अनुदानमा उपलब्ध हुने जैविक विषादी प्रयोग गरी माटो उपचार गर्न सकिन्छ । बीउ उपचार गर्दा कार्बेन्डाजिम दुई ग्राम प्रतिकिलो बीउका दरले प्रयोग गर्न उहाँले सुझाव दिनुभयो ।

धान बाक्लो रोप्न नहुने, युरिया मलमात्र बढी प्रयोग नगरी सन्तुलित रूपमा मलखाद प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ । सुरुआती अवस्थामै रोगको पहिचान गरी व्यवस्थापन गर्न सके प्रकोप फैलिनबाट रोक्न सकिने उहाँले बताउनुभयो ।

रोगको जोखिम बढेमा एजोक्सिस्ट्रोबिन १८.२ प्रतिशत र डाइफेनोकोनाजोल ११.४ प्रतिशतको मिश्रण एक मिलीलिटर प्रतिलिटर पानीका दरले वा भ्यालिडामाइसिन तीन मिलीलिटर प्रतिलिटर पानीका दरले मिसाएर छर्कन सकिने कृषि शाखाले जनाएको छ ।

खैरहनीमा बर्खे धानको खेती राम्रो हुने भएकाले अहिले धानमा बाला निस्कने समय सुरु भएको छ । फेद डढुवा रोग हरेक वर्ष धानबालीमा देखिने गरेकाले यस वर्ष पनि समयमै सावधानी अपनाउन किसानलाई आग्रह गरिएको हो ।

यसैगरी, धानबालीमा मरुवा (ब्लास्ट) रोगको जोखिमसमेत रहेकाले किसानलाई फेद डढुवा र मरुवा दुवै रोगको नियमित निगरानी गर्न कृषि शाखाले आग्रह गरेको छ । यस वर्ष चैते धानमा मरुवा रोगका कारण क्षति भएकाले बर्खे धानमा समयमै सावधानी अपनाउनुपर्ने कृषि अधिकृत श्रेष्ठले बताउनुभयो ।

खैरहनी नगरपालिकामा बर्खे धान तीन हजार ९३९ हेक्टर क्षेत्रफलमा खेती गरिँदै आएको छ । धानखेतीका लागि अनुकूल क्षेत्र मानिने खैरहनीमा अहिले धानमा बाला निस्कने समय भएकाले रोगको जोखिमसमेत बढ्ने गर्दछ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३७ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ७५ रहेको छ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ३० र भन्टा डल्लो प्रतिकिलो रु ४० कायम भएको छ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ९०, मकै बोडी प्रतिकिलो रु १२०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ७०, भिन्डी प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९० र स्कुस प्रतिकिलो रु ६० कायम भएको छ।

रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो प्रतिकिलो रु २५०, तोरीको साग प्रतिकिलो रु १००, प्याज (हरियो) रु २००, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ५५०, राजा च्याउ प्रतिकिलो रु ३३० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ।

कुरिलो प्रतिकिलो रु ५००, निउरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु १६०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ५००, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु १,५००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमूला प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६०, गुन्द्रुक प्रतिकिलो रु ३५० र रुख टमाटर प्रतिकिलो रु४०० तोकिएको छ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, आँप (मालदह) प्रतिकिलो रु २८०, आँप (चोसा) प्रतिकिलो रु २५०, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५ काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु ६०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २००, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु २००, एभोकाडो प्रतिकिलो रु ५००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ।

ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ५००, अदुवा प्रतिकिलो रु २३०, खुर्सानी सुकेको प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ७०, लसुन हरियो प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ३५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३३० र ताजा माछा (छडी) प्रतिकिलो रु ३३० निर्धारण भएको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले आज विश्वासको मत लिँदै, मन्त्रिमण्डल विस्तारको तयारी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। उनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका हुन्।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले मुख्यमन्त्री भट्टले मङ्गलबार सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिने प्रयोजनका लागि बैठकको समय व्यवस्थापन गरिदिन आग्रह गरेकाले सोहीअनुसार आज दिउँसो १ः०० बजे बैठक बस्न लागेको जानकारी दिए।

उक्त बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। त्यसपछि प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्ने र मतदान प्रक्रिया अघि बढ्नेछ । गत साउन २९ मा भट्ट मुख्यमन्त्री नियुक्त भएका हुन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को समर्थनमा नियुक्त भएका उनले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। यहाँ दुई राज्यमन्त्री, सात मन्त्रीसहित १० जनाको मन्त्रिमण्डलमा हाल तीन मन्त्री र एक राज्यमन्त्री मात्र जिम्मेवारीमा छन्। मुख्यमन्त्री भट्टले आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन्।

प्रदेशसभामा हाल मुख्यमन्त्री भट्ट नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका २२, नेपाली कांग्रेसका १८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्य छन्।

बाँके निकुञ्जमा सवारीको टाइम कार्ड घट्यो, अब २१–२४ मिनेटमै यात्रा

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार सम्पन्न समन्वयात्मक बैठकले निकुञ्ज क्षेत्रमा सवारी आवागमन सहज बनाउँदै यात्राको समय घटाउने निर्णय गरेको हो ।

बैठकमा बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल, रणध्वज गणका गणपति खिमबहादुर डाँगी, कोहलपुर नगरपालिका–९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगी र वडा नं १२ का वडाध्यक्ष वीरेन्द्र शाहलगायतको सहभागिता थियो ।

बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१ अनुसार ४० किलोमिटर प्रतिघण्टाको गतिमा १४ दशमलव दुई किलोमिटर दूरी पार गर्न न्यूनतम २४ देखि अधिकतम २८ मिनेट समय निर्धारण गरिएको थियो । अब उक्त समय घटाएर न्यूनतम २१ देखि अधिकतम २४ मिनेट कायम गरिएको छ ।

वैज्ञानिक अध्ययनबाट सो दूरी २१ देखि २४ मिनेटमा पार गर्न सकिने देखिएपछि नयाँ समय लागू गर्ने निर्णय गरिएको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष शाहले जानकारी दिनुभयो । उहाँका अनुसार यसबाट यात्रुको कम्तीमा सात मिनेट समय बचत हुनेछ ।

राजमार्गमा पर्यटन प्रवद्र्धन, मानव–वन्यजन्तु सहअस्तित्व र सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा सूचना तथा साइनबोर्ड राख्ने निर्णय गरिएको छ । यसका लागि कोहलपुर नगरपालिका र बाँके राष्ट्रिय निकुञ्जबीच आवश्यक समन्वय तथा सहकार्य गरिनेछ ।

बैठकले बाँके राष्ट्रिय निकुञ्जलाई जिल्लाको पर्यटन गन्तव्यका रूपमा प्रचार–प्रसार गर्ने निर्णय पनि गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकासहित सम्बन्धित निकायसँग समन्वय गरी जुडुवा नाका, राँझा चोक, नेपालगञ्ज विमानस्थल र कोहलपुर चौराहमा ठूला होर्डिङ बोर्ड एवम् सूचना बोर्ड राखिनेछ ।

बैठकमा निकुञ्ज संरक्षणसँगै पर्यटन प्रवद्र्धन र स्थानीय विकासलाई जोडेर अघि बढ्ने विषयमा समेत छलफल भएको थियो ।

नुवाकोटको टोखा–छहरे सडक राति १० बजेदेखि बिहान ५ बजेसम्म बन्द

नुवाकोट । वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र चीनसँगको नाका रसुवागढीसम्म जोड्ने मुख्य सडकमा पहिरोको जोखिम बढेपछि हरेक दिन राति १०ः०० देखि बिहान ५ः०० बजेसम्म यातायात बन्द गरिएको हो ।

शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा वर्षाका कारण लेदो, पहिरो तथा गेग्रान खस्ने जोखिम बढेपछि यात्रुको सुरक्षालाई ध्यानमा राखी रातिको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । भदौ १ गते रातिदेखि लागू भएको यो व्यवस्था अर्को सूचना जारी नभएसम्म कायम रहनेछ ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले जोखिमयुक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरी एम्बुलेन्सलगायत आकस्मिक सेवाका सवारीसाधनलाई भने सञ्चालन गर्न दिइने बताए । उनले वर्षाको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारण, यातायात व्यवसायी र सम्बन्धित सबैलाई आग्रह गरे।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले सडक तथा मौसमको अवस्था अझै जोखिमपूर्ण रहेकाले सावधानी अपनाउन र प्रशासनको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ । विपद्सम्बन्धी जानकारी तथा सहयोगका लागि जिल्ला प्रहरी कार्यालयको १००, सशस्त्र प्रहरी बलको १११४ र जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

पछिल्लो १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो १३ महिनामा ४३ हजार ५९३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्दै रु तीन करोड १८ लाख ८५ हजार ५०० जरिवाना असुल गरिएको छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार गत आर्थिक वर्ष २०८२–८३ मा प्रदेशका नौ जिल्लामा ३९ हजार २१२ सवारीसाधन कारबाहीमा परेका थिए ।
चालु आर्थिक वर्षको पहिलो साउन महिनामा मात्रै चार हजार ३८१ सवारीसाधनलाई कारबाही गरिएको उनले जानकारी दिए । गत साउनमा मात्रै ट्राफिक कारबाहीबाट रु ३७ लाख ९० हजार ५०० जरिवाना असुल भएको छ ।

साउनमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ८७ जना चालकलाई कारबाही गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।ट्राफिक नियम पालना नगर्ने तथा लापरबाहीपूर्वक सवारी चलाउनेमा मोटरसाइकल, जिप÷कार, ट्रक र ट्याक्टरलगायतका सवारीसाधन बढी रहेको ट्राफिक प्रहरीले जनाएको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी १३ हजार ६४८ मोटरसाइकल कारबाहीमा परेका थिए ।

यसैगरी, आठ हजार ८९३ जिप÷कार, छ हजार २८५ ट्रक, तीन हजार ७११ ट्याक्टर, एक हजार ७८५ बस र चार हजार ८९० अन्य सवारीसाधन कारबाहीमा परेका थिए ।प्रहरी उपरीक्षक कार्कीले सुदूरपश्चिममा सवारीसाधनको सङ्ख्या बढ्नु, सडक साँघुरा हुनु तथा ट्राफिक नियमप्रतिको बेवास्ता र जनचेतनाको कमीका कारण दुर्घटनाको जोखिम बढेको बताए ।ट्राफिक नियम उल्लङ्घन गर्ने क्रम बढ्दै गएको पछिल्लो तथ्याङ्कले देखाएको उनको भनाइ छ । ट्राफिक प्रहरीले प्रदेशभर नियमित चेकजाँचका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार गत वर्ष सुदूरपश्चिममा सवारी दुर्घटनामा परी २५० जनाको मृत्यु भएको थियो । दुर्घटनामा एक हजार ३८१ जना गम्भीर र एक हजार १६२ जना सामान्य घाइते भएका थिए ।गत वर्ष लागूऔषध सेवन गरी सवारी चलाउने ५८ जना चालकलाई कारबाही गरिएको थियो भने मादक पदार्थ सेवन गरी सवारी चलाउने तीन हजार ६४१ चालकलाई कारबाही गरी जरिवाना गरिएको कार्यालयले जनाएको छ ।

पहिरोपीडितले बस्ती छाडे, राहुपारेका टहरा भत्काइयो

म्याग्दी। पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको सामुदायिक वन क्षेत्रको सार्वजनिक जग्गामा बस्दै आएकाहरुको अस्थायी घरटहरा हटाइएको छ ।
गाउँपालिकाले पटक–पटक ताकेता गरी अस्थायी टहरामा बस्दै आएकालाई बस्ती खाली गर्न आग्रह गरेको थियो । अस्थायी टहरामा बस्दै आएकाले आफैँ बस्ती छाडेपछि मङ्गलबार डोजर परिचालन गरिएको हो ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल, वडा नम्बर ३ का वडाअध्यक्ष खिमबहादुर शाहीसहितको टोली राहुपारेमा पुगेर अस्थायी टहराका संरचनालाई डोजर लगाएर हटाउनुभएको हो ।

विसं २०७२ जेठ १० गते गएको बैँसरी पहिरोबाट विस्थापित भएका राहुपारेमा अस्थायी टहरा बनाएर बसोबास गर्दै आएको र उनीहरुको वैकल्पिक बसोबासको व्यवस्था अन्यत्र गर्न लगाएर बस्ती खाली गर्न लगाइएको थियो ।

गाउँपालिकाको असार ३१ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार राहुपारे क्षेत्रमा सार्वजनिक जग्गा, सडकको अधिकार क्षेत्र तथा सार्वजनिक उपयोगका लागि छुट्याइएको स्थानलाई अतिक्रमित गरी निर्माण गरिएका टहरा हटाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो ।

“पटकपटकको ताकेतापछि अस्थायी रुपमा बसोबास गर्दै आएकाहरुले बस्ती छाडेर गएपछि त्यहाँ रहेका टहरालाई हटाइएको छ,” उहाँले भन्नुभयो, “गाउँपालिकाभित्र सार्वजनिक जग्गा अतिक्रमण भएका अन्य ठाउँको खोजी गरी त्यसलाई अतिक्रमणमुक्त बनाउने अभियानमा गाउँपालिका लागेको छ ।”

राहुपारेमा बसोबास गर्दै आएका बैँसरीका पहिरो पीडितको अन्यत्र वैकल्पिक बसोबास गर्ने ठाउँ भएपछि गाउँपालिकाले सार्वजनिक सूचना र मौखिक रुपमा समेत ठाउँ खाली गर्न अनुरोध गरेको थियो । पछिल्लो पटक गाउँपालिका र अस्थायी टहरामा बसोबास गर्दै आएकाहरुसँग साउन मसान्तभित्र राहुपारे अस्थायी बस्तीलाई खाली गर्ने सहमति भएको थियो ।

एघार वर्षदेखि सार्वजनिक जग्गामा अस्थायी टहरा बनाई बसोबास गर्दै आएकालाई आफ्नै घरजग्गामा फर्कन अनुरोध गरेबमोजिम बस्ती छाडेर गएपछि त्यहाँ रहेका टहरा भत्काउने र भौतिक संरचनाको फोहोरलाई व्यवस्थित गर्ने काम गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको पहाडबाट खसेको पहिरोले बैँसरी बस्ती पुरिएपछि विस्थापित २६ घरमध्ये केही पुरानै पहिरो गएको बैँसरीमा फर्किएका थिए भने केहीले गलेश्वर, बेनी पोखरालगायतका ठाउँमा बसोबास गर्दै आएका थिए ।हाल चार परिवारले राहुपारेमा बस्दै आएका थिए । गाउँपालिकाको अनुरोध र निर्देशनबमोजिम बस्ती खाली गरेपछि त्यहाँ रहेका टहरा हटाउन डोजर लगाइएको गाउँपालिकाले जनाएको छ ।

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०७ रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ २६ पैसा र बिक्रीदर १८९ रुपैयाँ कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०६ पैसा , क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १७ पैसा र बिक्रीदर ११० रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२० रुपैयाँ ०६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ८४ पैसा र बिक्रीदर १० रुपैयाँ ८८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६७ पैसा र बिक्रीदर २३ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ४३ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ८८ पैसा र विक्रीदर ३९८ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

काठमाडौँ – सरकारले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना बढाउँदै सभ्य समाज निर्माण गर्ने उद्देश्यले मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय गरेको छ ।

यही भदौ २० गते मनाइने दिवसका लागि ‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नारा तय गरिएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रविधिको बढ्दो प्रयोगसँगै मानव बेचबिखन तथा ओसारपसारका तरिका पनि बदलिँदै गएकाले प्रविधिको सुरक्षित प्रयोग र सजगतालाई प्राथमिकता दिँदै यस वर्षको नारा तय गरिएको हो ।

विशेषगरी सामाजिक सञ्जाल, अनलाइन रोजगारी र वैदेशिक रोजगारीका नाममा हुने झुटा प्रलोभन, ठगी तथा शोषणबाट नागरिकलाई जोगाउन ‘डिजिटल’ माध्यमको सुरक्षित र जिम्मेवार प्रयोगबारे जनचेतना बढाउने उद्देश्य नाराले बोकेको छ ।

मन्त्रालयका अनुसार सो दिवसका अवसरमा मानव बेचबिखनको जोखिम न्यूनीकरण तथा रोकथाम, पीडितको संरक्षण र पुनःस्थापना तथा सम्बन्धित निकायबीचको सहकार्यलाई प्रभावकारी बनाउने सन्देश प्रवाह गरिनेछ ।

मानव बेचबिखन नियन्त्रण सरकारको मात्र जिम्मेवारी नभई तीनै तहका सरकार, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, परिवार र समुदायको साझा दायित्व भएकाले सबैको सहकार्य र ऐक्यबद्धतामा जोड दिइएको मन्त्रालयले जनाएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ) – तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण कार्यमा ६२ प्रतिशत प्रगति हासिल भएको छ ।

बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट भर्नुपर्नेमा हालसम्म चार लाख ७३ हजार ७६१ घनमिटर कङ्क्रिट भरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।

आयोजनाको प्रमुख संरचनामध्ये रहेको मुख्य बाँध निर्माण निर्धारित लक्ष्यअनुसार अगाडि बढिरहेको उहाँले बताउनुभयो । बाँधमा कङ्क्रिट राख्ने कार्य निरन्तर जारी रहेकाले केही समयभित्रै थप प्रगति हुने उहाँले बताउनुभयो ।

प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ५९ प्रतिशत प्रगति भएको छ । मुख्य बाँध निर्माणका लागि डाँडो कटान, पहुँच सडक निर्माण, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा डाइभर्सन सुरुङ लगायतका संरचनाको निर्माण कार्य सम्पन्न भएको छ ।

मुख्य बाँध निर्माणका लागि सेती नदीलाई पथान्तरण गरिएको छ । मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण कार्य सम्पन्न गर्नुका साथै दुवै किनारमा अवस्थित ग्राउटिङ टनेल आठ वटा निर्माण भएका छन् । मुख्य बाँधको कङ्क्रिटिङ कार्य २०८१ साल चैत ७ गतेदेखि सुरु भएको थियो ।

बाँधको फाउन्डेसनको स्थायित्वका लागि विभिन्न ग्राउटिङ ग्यालरीमा कोर ड्रिलिङ, पानीको चाप परीक्षण, ‘कन्सोलिडेसन ग्राउटिङ’ तथा ‘कर्टेन ग्राउटिङ’ कार्य भएका छन् ।

यस्तै, ढलान स्थिरीकरण तथा नदी संरक्षणका लागि सटक्रिट, वायर मेस जडान तथा ग्याबियन निर्माण कार्य पनि निरन्तर अगाडि बढाइएको भण्डारीले बताउनुभयो ।

रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा

तुलसीपुर (दाङ) – दाङको घोराहीमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा घोराहीका सोहनलाल चौधरी, कृष्णबहादुर चौधरी, बङ्गलाचुलीका दिवाकर खत्री र सोही स्थानका खिमबहादुर घर्तीविरुद्ध कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत मुद्दा दायर गरेको हो ।

प्रहरीका अनुसार उनीहरूलाई गत साउन २८ गते राति घोराही उपमहानगरपालिका–७ सिसहनियामा एक ट्याक्टरमा डिएपी र युरिया मल ढुवानी गरी बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । ट्याक्टरसँगै ५३ बोरा डिएपी र चार बोरा युरिया मल बरामद गरिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारीका अनुसार उक्त मल कृषि सामग्री कम्पनी लिमिटेडले लक्षित किसानलाई वितरण गर्ने प्रयोजनका लागि सहकारीको नाममा खरिद गरिएको थियो । किसानलाई वितरण नगरी महँगो मूल्यमा बिक्री गर्न खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानका क्रममा उनीहरूले बङ्गलाचुली गाउँपालिका–५ स्थित सहकारीका लागि गत साउन २८ गते १३० बोरा डिएपी र १८० बोरा युरिया मल खरिद गरेको देखिएको छ ।

सरकारी अनुदानमा प्राप्त मल तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरी किसानलाई ठगी गरेको प्रमाण फेला परेपछि कानुनी कारबाही अघि बढाइएको सहायक जिल्ला न्यायाधिवक्ता अधिकारीले बताउनुभयो ।

मुद्दा दायर गरिएकालाई ऐनबमोजिम कैद तथा जरिवानाको सजाय माग गरिएको छ । बरामद मल जफत गरी सम्बन्धित सहकारी वा कृषि सामग्री कम्पनीमार्फत किसानलाई उचित मूल्यमा बिक्री वितरण गर्ने व्यवस्था मिलाउन समेत माग गरिएको छ ।