`

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३७ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ७५ रहेको छ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ३० र भन्टा डल्लो प्रतिकिलो रु ४० कायम भएको छ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ९०, मकै बोडी प्रतिकिलो रु १२०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ७०, भिन्डी प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९० र स्कुस प्रतिकिलो रु ६० कायम भएको छ।

रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो प्रतिकिलो रु २५०, तोरीको साग प्रतिकिलो रु १००, प्याज (हरियो) रु २००, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ५५०, राजा च्याउ प्रतिकिलो रु ३३० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ।

कुरिलो प्रतिकिलो रु ५००, निउरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु १६०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ५००, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु १,५००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमूला प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६०, गुन्द्रुक प्रतिकिलो रु ३५० र रुख टमाटर प्रतिकिलो रु४०० तोकिएको छ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, आँप (मालदह) प्रतिकिलो रु २८०, आँप (चोसा) प्रतिकिलो रु २५०, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५ काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु ६०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २००, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु २००, एभोकाडो प्रतिकिलो रु ५००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ।

ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ५००, अदुवा प्रतिकिलो रु २३०, खुर्सानी सुकेको प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ७०, लसुन हरियो प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ३५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३३० र ताजा माछा (छडी) प्रतिकिलो रु ३३० निर्धारण भएको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले आज विश्वासको मत लिँदै, मन्त्रिमण्डल विस्तारको तयारी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। उनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका हुन्।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले मुख्यमन्त्री भट्टले मङ्गलबार सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिने प्रयोजनका लागि बैठकको समय व्यवस्थापन गरिदिन आग्रह गरेकाले सोहीअनुसार आज दिउँसो १ः०० बजे बैठक बस्न लागेको जानकारी दिए।

उक्त बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। त्यसपछि प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्ने र मतदान प्रक्रिया अघि बढ्नेछ । गत साउन २९ मा भट्ट मुख्यमन्त्री नियुक्त भएका हुन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को समर्थनमा नियुक्त भएका उनले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। यहाँ दुई राज्यमन्त्री, सात मन्त्रीसहित १० जनाको मन्त्रिमण्डलमा हाल तीन मन्त्री र एक राज्यमन्त्री मात्र जिम्मेवारीमा छन्। मुख्यमन्त्री भट्टले आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन्।

प्रदेशसभामा हाल मुख्यमन्त्री भट्ट नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका २२, नेपाली कांग्रेसका १८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्य छन्।

बाँके निकुञ्जमा सवारीको टाइम कार्ड घट्यो, अब २१–२४ मिनेटमै यात्रा

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार सम्पन्न समन्वयात्मक बैठकले निकुञ्ज क्षेत्रमा सवारी आवागमन सहज बनाउँदै यात्राको समय घटाउने निर्णय गरेको हो ।

बैठकमा बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल, रणध्वज गणका गणपति खिमबहादुर डाँगी, कोहलपुर नगरपालिका–९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगी र वडा नं १२ का वडाध्यक्ष वीरेन्द्र शाहलगायतको सहभागिता थियो ।

बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१ अनुसार ४० किलोमिटर प्रतिघण्टाको गतिमा १४ दशमलव दुई किलोमिटर दूरी पार गर्न न्यूनतम २४ देखि अधिकतम २८ मिनेट समय निर्धारण गरिएको थियो । अब उक्त समय घटाएर न्यूनतम २१ देखि अधिकतम २४ मिनेट कायम गरिएको छ ।

वैज्ञानिक अध्ययनबाट सो दूरी २१ देखि २४ मिनेटमा पार गर्न सकिने देखिएपछि नयाँ समय लागू गर्ने निर्णय गरिएको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष शाहले जानकारी दिनुभयो । उहाँका अनुसार यसबाट यात्रुको कम्तीमा सात मिनेट समय बचत हुनेछ ।

राजमार्गमा पर्यटन प्रवद्र्धन, मानव–वन्यजन्तु सहअस्तित्व र सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा सूचना तथा साइनबोर्ड राख्ने निर्णय गरिएको छ । यसका लागि कोहलपुर नगरपालिका र बाँके राष्ट्रिय निकुञ्जबीच आवश्यक समन्वय तथा सहकार्य गरिनेछ ।

बैठकले बाँके राष्ट्रिय निकुञ्जलाई जिल्लाको पर्यटन गन्तव्यका रूपमा प्रचार–प्रसार गर्ने निर्णय पनि गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकासहित सम्बन्धित निकायसँग समन्वय गरी जुडुवा नाका, राँझा चोक, नेपालगञ्ज विमानस्थल र कोहलपुर चौराहमा ठूला होर्डिङ बोर्ड एवम् सूचना बोर्ड राखिनेछ ।

बैठकमा निकुञ्ज संरक्षणसँगै पर्यटन प्रवद्र्धन र स्थानीय विकासलाई जोडेर अघि बढ्ने विषयमा समेत छलफल भएको थियो ।

नुवाकोटको टोखा–छहरे सडक राति १० बजेदेखि बिहान ५ बजेसम्म बन्द

नुवाकोट । वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र चीनसँगको नाका रसुवागढीसम्म जोड्ने मुख्य सडकमा पहिरोको जोखिम बढेपछि हरेक दिन राति १०ः०० देखि बिहान ५ः०० बजेसम्म यातायात बन्द गरिएको हो ।

शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा वर्षाका कारण लेदो, पहिरो तथा गेग्रान खस्ने जोखिम बढेपछि यात्रुको सुरक्षालाई ध्यानमा राखी रातिको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । भदौ १ गते रातिदेखि लागू भएको यो व्यवस्था अर्को सूचना जारी नभएसम्म कायम रहनेछ ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले जोखिमयुक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरी एम्बुलेन्सलगायत आकस्मिक सेवाका सवारीसाधनलाई भने सञ्चालन गर्न दिइने बताए । उनले वर्षाको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारण, यातायात व्यवसायी र सम्बन्धित सबैलाई आग्रह गरे।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले सडक तथा मौसमको अवस्था अझै जोखिमपूर्ण रहेकाले सावधानी अपनाउन र प्रशासनको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ । विपद्सम्बन्धी जानकारी तथा सहयोगका लागि जिल्ला प्रहरी कार्यालयको १००, सशस्त्र प्रहरी बलको १११४ र जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

पछिल्लो १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो १३ महिनामा ४३ हजार ५९३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्दै रु तीन करोड १८ लाख ८५ हजार ५०० जरिवाना असुल गरिएको छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार गत आर्थिक वर्ष २०८२–८३ मा प्रदेशका नौ जिल्लामा ३९ हजार २१२ सवारीसाधन कारबाहीमा परेका थिए ।
चालु आर्थिक वर्षको पहिलो साउन महिनामा मात्रै चार हजार ३८१ सवारीसाधनलाई कारबाही गरिएको उनले जानकारी दिए । गत साउनमा मात्रै ट्राफिक कारबाहीबाट रु ३७ लाख ९० हजार ५०० जरिवाना असुल भएको छ ।

साउनमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ८७ जना चालकलाई कारबाही गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।ट्राफिक नियम पालना नगर्ने तथा लापरबाहीपूर्वक सवारी चलाउनेमा मोटरसाइकल, जिप÷कार, ट्रक र ट्याक्टरलगायतका सवारीसाधन बढी रहेको ट्राफिक प्रहरीले जनाएको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी १३ हजार ६४८ मोटरसाइकल कारबाहीमा परेका थिए ।

यसैगरी, आठ हजार ८९३ जिप÷कार, छ हजार २८५ ट्रक, तीन हजार ७११ ट्याक्टर, एक हजार ७८५ बस र चार हजार ८९० अन्य सवारीसाधन कारबाहीमा परेका थिए ।प्रहरी उपरीक्षक कार्कीले सुदूरपश्चिममा सवारीसाधनको सङ्ख्या बढ्नु, सडक साँघुरा हुनु तथा ट्राफिक नियमप्रतिको बेवास्ता र जनचेतनाको कमीका कारण दुर्घटनाको जोखिम बढेको बताए ।ट्राफिक नियम उल्लङ्घन गर्ने क्रम बढ्दै गएको पछिल्लो तथ्याङ्कले देखाएको उनको भनाइ छ । ट्राफिक प्रहरीले प्रदेशभर नियमित चेकजाँचका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार गत वर्ष सुदूरपश्चिममा सवारी दुर्घटनामा परी २५० जनाको मृत्यु भएको थियो । दुर्घटनामा एक हजार ३८१ जना गम्भीर र एक हजार १६२ जना सामान्य घाइते भएका थिए ।गत वर्ष लागूऔषध सेवन गरी सवारी चलाउने ५८ जना चालकलाई कारबाही गरिएको थियो भने मादक पदार्थ सेवन गरी सवारी चलाउने तीन हजार ६४१ चालकलाई कारबाही गरी जरिवाना गरिएको कार्यालयले जनाएको छ ।

पहिरोपीडितले बस्ती छाडे, राहुपारेका टहरा भत्काइयो

म्याग्दी। पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको सामुदायिक वन क्षेत्रको सार्वजनिक जग्गामा बस्दै आएकाहरुको अस्थायी घरटहरा हटाइएको छ ।
गाउँपालिकाले पटक–पटक ताकेता गरी अस्थायी टहरामा बस्दै आएकालाई बस्ती खाली गर्न आग्रह गरेको थियो । अस्थायी टहरामा बस्दै आएकाले आफैँ बस्ती छाडेपछि मङ्गलबार डोजर परिचालन गरिएको हो ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल, वडा नम्बर ३ का वडाअध्यक्ष खिमबहादुर शाहीसहितको टोली राहुपारेमा पुगेर अस्थायी टहराका संरचनालाई डोजर लगाएर हटाउनुभएको हो ।

विसं २०७२ जेठ १० गते गएको बैँसरी पहिरोबाट विस्थापित भएका राहुपारेमा अस्थायी टहरा बनाएर बसोबास गर्दै आएको र उनीहरुको वैकल्पिक बसोबासको व्यवस्था अन्यत्र गर्न लगाएर बस्ती खाली गर्न लगाइएको थियो ।

गाउँपालिकाको असार ३१ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार राहुपारे क्षेत्रमा सार्वजनिक जग्गा, सडकको अधिकार क्षेत्र तथा सार्वजनिक उपयोगका लागि छुट्याइएको स्थानलाई अतिक्रमित गरी निर्माण गरिएका टहरा हटाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो ।

“पटकपटकको ताकेतापछि अस्थायी रुपमा बसोबास गर्दै आएकाहरुले बस्ती छाडेर गएपछि त्यहाँ रहेका टहरालाई हटाइएको छ,” उहाँले भन्नुभयो, “गाउँपालिकाभित्र सार्वजनिक जग्गा अतिक्रमण भएका अन्य ठाउँको खोजी गरी त्यसलाई अतिक्रमणमुक्त बनाउने अभियानमा गाउँपालिका लागेको छ ।”

राहुपारेमा बसोबास गर्दै आएका बैँसरीका पहिरो पीडितको अन्यत्र वैकल्पिक बसोबास गर्ने ठाउँ भएपछि गाउँपालिकाले सार्वजनिक सूचना र मौखिक रुपमा समेत ठाउँ खाली गर्न अनुरोध गरेको थियो । पछिल्लो पटक गाउँपालिका र अस्थायी टहरामा बसोबास गर्दै आएकाहरुसँग साउन मसान्तभित्र राहुपारे अस्थायी बस्तीलाई खाली गर्ने सहमति भएको थियो ।

एघार वर्षदेखि सार्वजनिक जग्गामा अस्थायी टहरा बनाई बसोबास गर्दै आएकालाई आफ्नै घरजग्गामा फर्कन अनुरोध गरेबमोजिम बस्ती छाडेर गएपछि त्यहाँ रहेका टहरा भत्काउने र भौतिक संरचनाको फोहोरलाई व्यवस्थित गर्ने काम गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको पहाडबाट खसेको पहिरोले बैँसरी बस्ती पुरिएपछि विस्थापित २६ घरमध्ये केही पुरानै पहिरो गएको बैँसरीमा फर्किएका थिए भने केहीले गलेश्वर, बेनी पोखरालगायतका ठाउँमा बसोबास गर्दै आएका थिए ।हाल चार परिवारले राहुपारेमा बस्दै आएका थिए । गाउँपालिकाको अनुरोध र निर्देशनबमोजिम बस्ती खाली गरेपछि त्यहाँ रहेका टहरा हटाउन डोजर लगाइएको गाउँपालिकाले जनाएको छ ।

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०७ रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ २६ पैसा र बिक्रीदर १८९ रुपैयाँ कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०६ पैसा , क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १७ पैसा र बिक्रीदर ११० रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२० रुपैयाँ ०६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ८४ पैसा र बिक्रीदर १० रुपैयाँ ८८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६७ पैसा र बिक्रीदर २३ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ४३ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ८८ पैसा र विक्रीदर ३९८ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

काठमाडौँ – सरकारले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना बढाउँदै सभ्य समाज निर्माण गर्ने उद्देश्यले मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय गरेको छ ।

यही भदौ २० गते मनाइने दिवसका लागि ‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नारा तय गरिएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रविधिको बढ्दो प्रयोगसँगै मानव बेचबिखन तथा ओसारपसारका तरिका पनि बदलिँदै गएकाले प्रविधिको सुरक्षित प्रयोग र सजगतालाई प्राथमिकता दिँदै यस वर्षको नारा तय गरिएको हो ।

विशेषगरी सामाजिक सञ्जाल, अनलाइन रोजगारी र वैदेशिक रोजगारीका नाममा हुने झुटा प्रलोभन, ठगी तथा शोषणबाट नागरिकलाई जोगाउन ‘डिजिटल’ माध्यमको सुरक्षित र जिम्मेवार प्रयोगबारे जनचेतना बढाउने उद्देश्य नाराले बोकेको छ ।

मन्त्रालयका अनुसार सो दिवसका अवसरमा मानव बेचबिखनको जोखिम न्यूनीकरण तथा रोकथाम, पीडितको संरक्षण र पुनःस्थापना तथा सम्बन्धित निकायबीचको सहकार्यलाई प्रभावकारी बनाउने सन्देश प्रवाह गरिनेछ ।

मानव बेचबिखन नियन्त्रण सरकारको मात्र जिम्मेवारी नभई तीनै तहका सरकार, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, परिवार र समुदायको साझा दायित्व भएकाले सबैको सहकार्य र ऐक्यबद्धतामा जोड दिइएको मन्त्रालयले जनाएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ) – तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण कार्यमा ६२ प्रतिशत प्रगति हासिल भएको छ ।

बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट भर्नुपर्नेमा हालसम्म चार लाख ७३ हजार ७६१ घनमिटर कङ्क्रिट भरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।

आयोजनाको प्रमुख संरचनामध्ये रहेको मुख्य बाँध निर्माण निर्धारित लक्ष्यअनुसार अगाडि बढिरहेको उहाँले बताउनुभयो । बाँधमा कङ्क्रिट राख्ने कार्य निरन्तर जारी रहेकाले केही समयभित्रै थप प्रगति हुने उहाँले बताउनुभयो ।

प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ५९ प्रतिशत प्रगति भएको छ । मुख्य बाँध निर्माणका लागि डाँडो कटान, पहुँच सडक निर्माण, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा डाइभर्सन सुरुङ लगायतका संरचनाको निर्माण कार्य सम्पन्न भएको छ ।

मुख्य बाँध निर्माणका लागि सेती नदीलाई पथान्तरण गरिएको छ । मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण कार्य सम्पन्न गर्नुका साथै दुवै किनारमा अवस्थित ग्राउटिङ टनेल आठ वटा निर्माण भएका छन् । मुख्य बाँधको कङ्क्रिटिङ कार्य २०८१ साल चैत ७ गतेदेखि सुरु भएको थियो ।

बाँधको फाउन्डेसनको स्थायित्वका लागि विभिन्न ग्राउटिङ ग्यालरीमा कोर ड्रिलिङ, पानीको चाप परीक्षण, ‘कन्सोलिडेसन ग्राउटिङ’ तथा ‘कर्टेन ग्राउटिङ’ कार्य भएका छन् ।

यस्तै, ढलान स्थिरीकरण तथा नदी संरक्षणका लागि सटक्रिट, वायर मेस जडान तथा ग्याबियन निर्माण कार्य पनि निरन्तर अगाडि बढाइएको भण्डारीले बताउनुभयो ।

रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा

तुलसीपुर (दाङ) – दाङको घोराहीमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा घोराहीका सोहनलाल चौधरी, कृष्णबहादुर चौधरी, बङ्गलाचुलीका दिवाकर खत्री र सोही स्थानका खिमबहादुर घर्तीविरुद्ध कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत मुद्दा दायर गरेको हो ।

प्रहरीका अनुसार उनीहरूलाई गत साउन २८ गते राति घोराही उपमहानगरपालिका–७ सिसहनियामा एक ट्याक्टरमा डिएपी र युरिया मल ढुवानी गरी बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । ट्याक्टरसँगै ५३ बोरा डिएपी र चार बोरा युरिया मल बरामद गरिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारीका अनुसार उक्त मल कृषि सामग्री कम्पनी लिमिटेडले लक्षित किसानलाई वितरण गर्ने प्रयोजनका लागि सहकारीको नाममा खरिद गरिएको थियो । किसानलाई वितरण नगरी महँगो मूल्यमा बिक्री गर्न खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानका क्रममा उनीहरूले बङ्गलाचुली गाउँपालिका–५ स्थित सहकारीका लागि गत साउन २८ गते १३० बोरा डिएपी र १८० बोरा युरिया मल खरिद गरेको देखिएको छ ।

सरकारी अनुदानमा प्राप्त मल तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरी किसानलाई ठगी गरेको प्रमाण फेला परेपछि कानुनी कारबाही अघि बढाइएको सहायक जिल्ला न्यायाधिवक्ता अधिकारीले बताउनुभयो ।

मुद्दा दायर गरिएकालाई ऐनबमोजिम कैद तथा जरिवानाको सजाय माग गरिएको छ । बरामद मल जफत गरी सम्बन्धित सहकारी वा कृषि सामग्री कम्पनीमार्फत किसानलाई उचित मूल्यमा बिक्री वितरण गर्ने व्यवस्था मिलाउन समेत माग गरिएको छ ।

प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, काम गर्ने अवधि, उनीहरूको व्यावसायिक दक्षता तथा चिकित्सा शिक्षाको गुणस्तर बढाउनेलगायतका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार प्रा डा जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा भएको छलफलमा चिकित्सा शिक्षा आयोग, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का उच्च अधिकारीलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

प्रा डा अग्रवालले चिकित्सकहरूमाथि मानसिक र शारीरिक चाप नहोस्, पाठ्यक्रम पनि पूर्णतया लागू होस् र कुनै पनि प्रकारको शोषण नहोस् भन्ने कुरालाई सन्तुलित रूपमा मिलाएर लैजानुपर्नेमा जोड दिनुभयो । साथै, चिकित्सा शिक्षा सेवा मात्र नभई एक कठोर तालिम भएकाले यसमा श्रमको कानुन आकर्षित नहुने कुरा चिकित्सक र सरोकारवालाहरूलाई बुझाउनुपर्ने उहाँको भनाइ थियो ।

चिकित्सकहरूको स्तर वृद्धि गर्नुका साथै नियमित अनुगमन गर्नुपर्ने विषयमा पनि सरकार लागिरहेको बारे बैठकमा प्रष्ट पारियो ।

चिकित्सकहरूको क्षमता जाँच्ने ठोस माध्यम नभएको अवस्थामा अहिले सरकारले ल्याएको ‘डिजिटल लग बुक’ ले यसलाई सहज बनाएको र यसका माध्यमबाट हरेक कुरा नियमन गर्न सकिने डा अग्रवालले बताउनुभयो ।

छलफलमा प्रशिक्षार्थी तथा आवासीय चिकित्सकले पाउने तलब तथा निर्वाह भत्ताको विषय पनि उठेको थियो । यस सन्दर्भमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा विकास देवकोटाले पाठ्यक्रमको आधारमा तलब निर्धारण गरिएको स्पष्ट पार्नुभयो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा देवेन्द्रबहादुर खत्रीले चिकित्सकहरूको नियमितता र आरामको सुनिश्चितताका लागि नीतिगत व्यवस्था हुनुपर्ने बताउनुभयो । चिकित्सकहरूका लागि ९० प्रतिशत हाजिरी अनिवार्य हुनुपर्ने र हप्तामा एक दिन बिदाको व्यवस्था पनि हुनुपर्ने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशमा विभिन्न क्षेत्रको सुधार गर्न सरोकारवालाहरूसँग निरन्तर रूपमा यस्ता छलफल गर्दै आएको छ ।

बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा बर्डफ्लू सङ्क्रमणका कारण हालसम्म ३० कृषकको पन्क्षीमा लाखौँको क्षति पुर्‍याएको छ । बर्डफ्लू सङ्क्रमणले क्षति पुगेका कृषकलाई क्षतिपूर्ति दिलाउन थालिएको जिल्ला पशुसेवा कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयका अनुसार हालसम्म २० कृषकले क्षतिअनुसारको क्षतिपूर्ति प्राप्त गरिसकेका छन् । बाँकी १० कृषकको क्षतिपूर्ति रकम चालु आर्थिक वर्षमा दिइने कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक ब्रजकिशोर ठाकुरले बताउनुभयो । उहाँका अनुसार विभिन्न मितिमा बर्डफ्लू प्रमाणित भएका ३० कृषकका खोरमा रहेका कुखुरा तथा अन्य पन्क्षी नष्ट गरिएको थियो । बर्डफ्लू प्रमाणित भएका ३० कृषकमध्ये २० ले गत आर्थिक वर्षको अन्त्यतिर राहत रकम प्राप्त गरिसकेको जनाइएको छ ।

कार्यालयका अनुसार काभ्रेपलाञ्चोकमा गिरिराज कुखुरा, लेयर्स, ब्रोइलर, राजहाँस, स्थानीय कुखुरा र पेकिङ हाँसलगायत गरी ९० हजार २७५ पन्क्षी नष्ट गरिएको छ । यस्तै ३८ हजार १८३ अण्डा, १० हजार २१० केजी दाना र पाँच हजार २७५ क्रेट नष्ट गरिएको हो । विशेषगरी जिल्लाको बनेपा, पनौती तथा पाँचखाल क्षेत्रका विभिन्न फर्ममा बर्डफ्लु सङ्क्रमण पाइएको थियो ।

बर्डफ्लु महामारीले काठमाडौँ उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोकलाई समेत प्रभावित बनाएको थियो । कोशी प्रदेशबाट २०८२ चैतमा सुरु भएको उक्त महामारी गत असार मसान्तसम्म काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लामा फैलिएको थियो ।

उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोकमा बिपी तथा अरनिको राजमार्गका साथै अन्य सहायक सडक र खुला नाकाबाट भित्रिने पन्छीजन्य सामग्रीका कारण बर्डफ्लुको जोखिम बढेको थियो । बर्डफ्लू प्रमाणित हुन समय लाग्ने, प्रमाणित पन्क्षी नष्ट गर्न पनि समय लाग्ने तथा अन्य विविध कारणले कृषक सङ्कटमा परेको ठाकुरले बताउनुभयो ।

मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र अन्य खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत सङ्क्रमण थप फैलिएको निष्कर्ष निकालिएको ठाकुरको भनाइ छ । कार्यालयले सङ्क्रमण नियन्त्रणनार्थ परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको ठाकुरले बताउनुभयो ।

ठाकुरका अनुसार व्यावसायिक पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ लागू लगाइ कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्ने, प्रवेश गर्नु परे सुरक्षाका उपाय अपनाउने, खोर तथा उपकरण नियमित रूपमा सफा राख्न र कुखुरा ओसारपसार गर्दा पूर्ण सरसफाइका मापदण्ड पालना गर्न लगाइएको थियो ।

हाल पनि जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रूपमा ओसारपसार हुने कुखुराको निगरानी र नियन्त्रणलाई कडाइ गरिएको जनाइएको छ ।

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ: नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

वाणिज्य बैंकबाट नेपाल प्रहरीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबी खाता सञ्चालन गर्नेसम्बन्धमा यसअघि भएको सम्झौताको अवधि समाप्त भएकाले उक्त कार्यलाई निरन्तरता प्रदान गर्न नेपाल प्रहरी र बैंकबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनालले समझदारीपत्रमा हस्ताक्षर गर्नुका साथै समझदारीपत्र आदानप्रदान समेत गर्नुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले सम्झौताक लागि बैंकलाई धन्यवाद दिँदै यस सम्झौताले अहोरात्र खटिने प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारी बहन गर्न थप उत्प्रेरणा र हौसला मिल्नुका साथै अवकाश प्राप्त, अमर र अशक्त प्रहरी कर्मचारी तथा आश्रित परिवारजनले सरल र सुलभ कर्जा लगायतका सुविधा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा प्रहरी र वाणिज्य बैंकबीच आपसी सहयोग आदानप्रदान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले प्रहरी र बैंकले विभिन्न चरणमा सहकार्य गर्दै आएको चर्चा गर्दै आगामी दिनमा नेपाल प्रहरीसँग आवश्यक सहकार्य र समन्वय गर्दै जाने बताउनुभयो । सम्झौताअनुसार तलबी बचत खाता सञ्चालन, बिना धितो पेसाकर्मी सरल कर्जा लगानी र अवकाश प्राप्त कर्मचारीको आश्रित परिवारसमेतका लागि आवश्यक पेन्सन वितरण र कर्जा लगानीसम्बन्धी पाँच वर्षका लागि थप सेवासहित नवीकरण गरिएको छ । यसअघि १० वर्षका लागि तलबी सम्झौता गरिएको थियो ।

सम्झौताअनुसार पेसाकर्मी सरल कर्जा रु १५ लाख र पेन्सनर कर्जा रु पाँच लाख प्रदान गरिने छ भने बहालवाला प्रहरी कर्मचारी तथा अवकाश, अमर/सहिद र अशक्त प्रहरी कर्मचारी (पेन्सन खाता वाणिज्य बैंकको हुनुपर्ने) नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा बैंकको उपभोक्ता कर्जा निर्देशिकाको अधिनमा रही २० (बीस) वर्षसम्मको रु ५० लाखसम्म घर कर्जा तथा सवारीसाधन खरिद गर्न सातदेखि १० वर्षका लागि गाडी कर्जा उपलब्ध हुनेछ ।

घर कर्जामा एक प्रतिशत, गाडी कर्जामा एक दशमलव ७५ प्रतिशत र शैक्षिक कर्जामा एक प्रतिशत प्रिमियम ब्याजदर कायम हुने सम्झौतामा उल्लेख गरिएको छ । यसैगरी प्रहरी कर्मचारीको दुर्घटनामा परी मृत्यु वा पूर्ण अपाङ्ग भएमा रु पाँच लाखको बिमाको व्यवस्था गरिएको कार्यकारी अधिकृत खनालले जानकारी दिनुभयो ।

खातावाला प्रहरी कर्मचारी दुर्घटनामा परी घाइते भई उपचार गर्नुपर्ने अवस्थामा दोहोरो बिमा दाबी नहुने गरी बिमा प्राधिकरणबाट जारी भएको निर्देशिका बमोजिम अस्पतालको बसाइँ तथा खर्चको क्षतिपूर्तिसहित सुविधा बिमाबापत उपलब्ध गराउने गरी नाम उल्लेख गरी रकम उपलब्ध हुनेछ । उक्त बिमाका लागि प्रतिव्यक्ति रु १०० शुल्क लाग्ने सम्झौतामा उल्लेख गरिएको छ ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डम्बरबहादुर बिक, प्रहरी नायब महानिरीक्षक तथा वरिष्ठ प्रहरी अधिकृतलगायत राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधिहरूको उपस्थिति थियो

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौँ, ३ भदौः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

यस्तै, बैठकमा युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसैगरी, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘नेपाल भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्नेसम्बन्धी सम्झौता’ पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्नुहुने कार्यक्रम छ ।

यस्तै, बैठकमा अर्थ मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुनेछ ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

जीवनभरको कमाइबाट ठड्याएको घर आँखाअघि नै गर्ल्याम्म ढल्दा

गोरखा। साउन १८ गते सोमबार बिहान करिब ११ बजेतिर अविरल वर्षा भइरहेका बेला गोरखा नगरपालिका–९ लक्ष्मीबजारका मानसिंह गुरुङको घरमा एक्कासी केही चुँडिएको जस्तो आवाज आयो।

केही सेकेन्डमै घरको आँगन चिरिन, छापिएका ढुङ्गा भत्किन र इट्टाका गाह्रो उप्कन थालेपछि मानसिंह, उनकी श्रीमती चित्रकुमारी र दुई वर्षका नाति आत्तिएर सडकतिर दौडिए। पोलबाट घरसम्म टाँगिएको बिजुलीको तार चुँडियो र हेर्दाहेर्दै उनीहरूको चारतले घर जगैदेखि गर्ल्याम्म ढल्यो।

‘केही मिनटमै घर गल्र्याम, गुर्लुम् ढल्यो, मैले त केही सोच्नै सकिनँ, होसै हराए जस्तो भयो,’ ५९ वर्षीय मानसिंह गुरुङले भने। शहिदलखन गाउँपालिका–१ ठूलो दिप्लिङबाट बसाइँ सरेर आएका मानसिंहले नेपाल प्रहरीको सेवा र वैदेशिक रोजगारीको कमाइ जोरजाम गरेर २०६६ सालमा घडेरी जोडेका थिए। त्यसपछि भूकम्पलगत्तै २०७४ सालमा ७७ लाख रुपैयाँ खर्च गरेर उनले चारतले घर बनाएका थिए। जीवनभरको कमाइ खर्चिएर बनाएको घर निर्माण भएको १० वर्ष नबित्दै जगैदेखि ढलेर आडैमा रहेको छिमेकी किसनदेवको घरमा समेत क्षति पुगेको छ।

घर ढल्दा भाडामा बस्ने ठेकेदार भित्रै परे पनि धन्न कुनै मानवीय क्षति भएन। तर घर ढलेको दृश्य प्रत्यक्ष देखेकी ५३ वर्षीया चित्रकुमारी अझै त्यो भयावह अवस्थाबाट बाहिर आउन सकेकी छैनन्। ‘१७/१८ वर्ष भयो यहाँ आको, धेरै वर्ष अरुकोमा भाडा गरेर बसियो, बल्लतल्ल दुःखसजिलो गरेर हामीले पनि आफ्नै घर ठड्याएका थियौँ,’ चित्रकुमारीले भनिन्, ‘आज सोच्दै नसोचेको भयो, आँखैअघि घर लड्दा केही सोच्नै सकेको छैन, यस्तो दुःख कसैलाई नहोस्।’

अहिले गुरुङ परिवार स्थानीय सन्तबहादुर गुरुङको घरमा आश्रित छ। सेना, प्रहरी र स्थानीयले ढलेको घरबाट केही महत्त्वपूर्ण कागजात, फर्निचर र लत्ताकपडा निकालेका छन्। राज्यले कल्भर्ट बनाउँदा लापरबाही गरेकै कारण आफूहरूको यस्तो दुरावस्था आएको मानसिंहले गुनासो गरे। विकास निर्माणमा हुने स–साना गल्तीले परिवार नै विस्थापित हुनुपरेकाले राज्यले यसको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ।

पीडित परिवारलाई गोरखा नगरपालिकाले तत्कालका लागि २५ हजार र वडाध्यक्ष कुलबहादुर कुँवरले ५० हजार नगद सहयोग गरेका छन्। पुनर्वासका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत चार लाख रुपैयाँ उपलब्ध गराउन सकिने गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताएका छन्। साथै विभिन्न सङ्घसंस्थाले उनीहरूलाई खाद्यान्न सहयोग पुर्‍याएका छन्।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो पनि साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

पहाडी भूभागका धेरै स्थान, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ।

त्यसैगरी आज राति देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ।

देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थान, मधेस तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

हेटौँडामा खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता

हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरस्थित निर्मल माविमा अध्ययनरत चार जना बालिकालाई आज खोलाले बगाएको छ ।

चारमध्ये एक मृत भेटिनुका साथै एक सकुसल फेला परेकी छिन् भने दुई जना बालिका अझै बेपत्ता छन् ।

विद्यालयबाट घर फर्किने क्रममा बाटो काट्दा हेटौँडा-१९ बासुदेवमा पर्ने बासुदेव खोलाले बगाएर ती बालिका बेपत्ता भएको जानकारी पाएपछि विद्यालयका प्रधानाध्यापक प्रवोध बिडारीले प्रहरीलाई खबर गर्नुभएको थियो ।

हेटौँडा-१९ बस्तीपुर बस्ने दीप स्याङ्ताङकी अन्दाजी आठ वर्षीया छोरी रोशनीको शव घटनास्थलबाट करिब ६०० मिटर पर रुखमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

स्थानीय सीताराम भोलनकी १३ वर्षीया छोरी सीमा भोलन भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो । उहाँका अनुसार ११ वर्षीया सुमित्रा भोलन र १२ वर्षीया विनिता भोलन अझै बेपत्ता रहेकाले उनीहरूको खोजी कार्य भइरहेको छ ।

घटनाको जानकारी प्राप्त हुनेबित्तिकै इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मबाट सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजी तथा उद्धारका लागि खटिएको छ ।

कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ

जेनेभा। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआर कङ्गो)मा फैलिएको इबोला प्रकोप नियन्त्रणमा आउन अझै धेरै समय लाग्ने चेतावनी दिनुभएको छ।

डब्लुएचओको आपत्कालीन बैठकमा मङ्गलबार बोल्दै टेड्रोसले यो प्रकोप इबोलाका विगतका अन्य प्रकोपको तुलनामा तीव्र गतिमा फैलिरहेको र राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा सङ्क्रमण फैलिने जोखिम उच्च रहेको बताउनुभयो।

“यो महामारी नियन्त्रणमा आउन अझै धेरै बाँकी छ। हामी अझै पनि यसलाई पछ्याउने र नियन्त्रण गर्ने प्रयासमा पछि परिरहेका छौँ,” उहाँले भन्नुभयो।

डीआर कङ्गोले सोमबार सार्वजनिक गरेको विवरणअनुसार करिब पाँच हजार सङ्क्रमितमध्ये दुई हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ। यो प्रकोप देशकै इतिहासमा सबैभन्दा घातकमध्ये एक बनेको छ।

डीआर कङगोले गत मे १५ मा आफ्नो १७औँ इबोला प्रकोप घोषणा गरेको थियो। घोषणाभन्दा केही साताअघिदेखि नै सङ्क्रमण फैलिएको अनुमान गरिएको छ। देशका उत्तरी तथा पूर्वी क्षेत्रमा सङ्क्रमण बढी देखिएको छ। ती क्षेत्रमा कमजोर स्वास्थ्य पूर्वाधार, राज्यको सीमित उपस्थिति र लामो समयदेखि सक्रिय सशस्त्र समूहका कारण रोग नियन्त्रणमा चुनौती थपिएको छ।

डब्लुएचओको आपत्कालीन समितिले गत मे १७ मा इबोला प्रकोपलाई ‘अन्तरराष्ट्रिय चासोको जनस्वास्थ्य आपत्काल’ घोषणा गरेको थियो। त्यसयता मङ्गलबार समितिको दोस्रो बैठक बसेको हो। समितिले बैठकपछि आफ्ना सिफारिस कहिले सार्वजनिक गर्ने भन्ने स्पष्ट भइसकेको छैन।

डब्लुएचओका अनुसार डीआर कङ्गोमा जनस्वास्थ्य जोखिमको स्तर ‘अत्यधिक उच्च’ रहेको छ भने छिमेकी युगान्डासहित अन्य छिमेकी मुलुकका लागि ‘उच्च’ र अफ्रिकाका अन्य भाग तथा विश्वका लागि ‘न्यून’ रहेको छ।

हालसम्म डीआर कङ्गोका छ वटा प्रान्तमा सङ्क्रमण देखिएको छ भने छिमेकी युगान्डामा सङ्क्रमित भेटिएका छन् । “थप राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा सङ्क्रमण फैलने जोखिम उच्च नै छ,” टेड्रोसले चेतावनी दिनुभयो।

डब्लुएचओका अनुसार सन् २०१८ देखि २०२० सम्म डीआर कङ्गोमा फैलिएको इबोला प्रकोपमा तीन हजार ३८१ पुष्टि भएका सङ्क्रमितमध्ये दुई हजार २९९ जनाको मृत्यु भएको थियो।

यसअघि सन् २०१३ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोप सबैभन्दा घातक मानिएको थियो। लाइबेरिया, सियरा लियोन र गिनीलगायत देशमा फैलिएको उक्त प्रकोपमा ११ हजार ३०० भन्दाबढी मानिसको मृत्यु भएको थियो।

पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

इस्लामाबाद। पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि राजधानी इस्लामाबादस्थित निजी अस्पताल लैजान तथा परिवारका सदस्यसँग साप्ताहिक भेटघाट गर्न दिन मङ्गलबार आदेश दिएको छ ।

तीन सदस्यीय इजलासले खानलाई आगामी दिनमा शिफा इन्टरनेसनल अस्पतालमा विशेषज्ञ चिकित्सक तथा उहाँका निजी चिकित्सकमध्ये एक फैसल सुल्तानसहितको मेडिकल बोर्डबाट स्वास्थ्य परीक्षण गराउन आदेश दिएको हो ।

अदालतले जेल प्रशासनलाई खानलाई परिवारका सदस्यसँग साप्ताहिक भेटघाट तथा आफ्ना छोरासँग टेलिफोनमा कुराकानी गर्न अनुमति दिनसमेत निर्देशन दिएको छ । खानको स्वास्थ्य अवस्था र निजी चिकित्सक तथा परिवारका सदस्यलाई भेट्न नदिइएको विषयमा लामो समयदेखि चिन्ता व्यक्त हुँदै आएको थियो ।

खानका वकिल सलमान अक्रम राजाका अनुसार, स्वास्थ्य सेवामा पहुँच पाउनु उहाँको संवैधानिक अधिकार भएकाले अदालतले अस्पताल लैजान आदेश दिएको हो । उहाँले अस्पतालमा उपचारका क्रममा समर्थकलाई भीड नगर्न आग्रह गर्नुभएको छ ।

सम्भावित सुरक्षा खतराको सूचनापछि पाकिस्तानले यस वर्षको सुरुदेखि खानलाई राखिएको जेलमा आगन्तुकको प्रवेशमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि खानले अस्पताल स्थानान्तरण तथा निजी चिकित्सक, परिवार र वकिलसँग भेटघाटको अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिनुभको थियो ।

यसअघि आँखाको समस्याका कारण खानलाई पटकपटक सरकारी अस्पताल लगिएको थियो । गत जनवरीमा उहाँको दाहिने आँखाको करिब ८५ प्रतिशत दृष्टि गुमेको परिवारले दाबी गरेको थियो भने सरकारले उक्त दाबी अस्वीकार गरेको थियो । पछि अधिकारीले उहाँको दृष्टिमा सुधार आएको बताएका थिए ।

क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बन्नुभएका खान भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि सन् २०२३ देखि जेलमा हुनुहुन्छ । संसद्मा अविश्वास प्रस्ताव पारित भएपछि सन् २०२२ अप्रिलमा उहाँ प्रधानमन्त्री पदबाट हट्नुभएको थियो ।

कानुनी समस्याका बाबजुद खान पाकिस्तानको राजनीतिमा प्रभावशाली व्यक्तित्वका रूपमा रहँदै आउनुभएको र उहाँको समर्थनमा ठूलो जनमत रहेको छ ।

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ। केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने (ठगी) कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले आइतबार चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

वित्तीय संस्था, डिजिटल वालेट (जस्तैः इसेवा वा टेलिकम सेवाहरूमा आफ्ना व्यक्तिगत विवरण अद्यावधिक (नवीकरण) गर्ने कामलाई प्रक्रिया हो। ग्राहकको पहिचान पुष्टि गर्न र सुरक्षाका लागि समयसमयमा यो अपडेट गर्नुपर्ने हुन्छ।

पक्राउ पर्नेहरूमा बाराको देउताल गाउँपालिका-४ बस्ने २२ वर्षीय अभय तिवारी, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१६ बस्ने २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका-१७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका-३ बस्ने २७ वर्षीय कुवेर थापा पक्राउ परेका केन्द्रीय समाचार कक्षले जनाएको छ ।

‘बैंकबाट बोलेको हुँ, केवाइसी अपडेट गर्नुपर्‍यो’ भन्दै पछिल्लो समयमा बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्स एपमा फोनमार्फत ‘स्क्रिन सेयर’ गर्न लगाई ओटिपी कोड (खाताको सुरक्षाका लागि मोबाइलमा आउने एकपटक मात्र प्रयोग गर्न मिल्ने छ वा चार अङ्कको गोप्य नम्बर) प्राप्त गरी अथवा ओटिपी कोड माग गरी कर्मचारीको खातामा पहुँच पुर्‍याई खातामा रहेको रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने कार्यमा संलग्न निजहरूलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा चितवनबाट पक्राउ गरेको हो ।

निजहरूउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको अनधिकृत पहुँच र विद्युतीय माध्यम सम्बन्धी ठगी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

अङ्कारा पूर्वी जापानको चिबा प्रिफेक्चरमा गत साता परेको कीर्तिमानी मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ भने एक जना अझै बेपत्ता रहेको प्रिफेक्चरल सरकारले मङ्गलबार जनाएको छ ।

प्रिफेक्चरभरि दुई हजार ३०० भन्दाबढी घरमा क्षति पुगेको छ । बाढीका कारण करिब दुई हजार ७०० सवारीसाधन डुबेर सडकमा अलपत्र परेका छन् । यसबाट यातायात प्रभावित हुनुका साथै विभिन्न क्षेत्रमा सवारी जाम भएको छ ।

गत बिहीबारदेखि शुक्रबारसम्म चिबा प्रिफेक्चरमा कीर्तिमानी वर्षा भएको थियो । वर्षापछि जापानको मौसम विज्ञान विभागले प्रिफेक्चरका केही क्षेत्रमा भारी वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै उच्चतम तहको ‘लेभल–५’ आपत्कालीन चेतावनी जारी गरेको थियो ।

आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार

जनकपुरधाम। मधेस प्रदेश सरकारले प्रदेशको वित्तीय सुशासन, पारदर्शिता र मितव्ययिता कायम गर्न सरकारी खर्चमा थप कडाइ गर्ने जनाएको छ ।

प्रदेश सरकारको अर्थ मन्त्रालयले मातहतका निकायलाई परिपत्र गरी सरकारी कोषको दुरुपयोग रोक्न तथा बजेटलाई नतिजामुखी बनाउन खर्च मापदण्ड कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो ।

प्रदेशका अर्थमन्त्री युवराज भट्टराईका अनुसार प्रदेशको बजेटलाई नतिजामुखी बनाउँदै फजुल खर्च पूर्ण रूपमा रोक्न सरकारले आर्थिक अनुशासनमा कडाइ गरेको हो । प्रदेशको आन्तरिक आय तथा स्रोतको अवस्था विश्लेषण गर्दै खर्च व्यवस्थापनलाई थप व्यवस्थित बनाउन रणनीतिक सुधार कार्यान्वयनमा ल्याइएको जनाउँदै उहाँले सोहीअनुसार सम्बन्धित निकायलाई परिपत्र गरिएको बताउनुभयो ।

परिपत्र अनुसार मन्त्री तथा विशिष्ट पदाधिकारीले प्रयोग गरेका सरकारी सामान आप्नो कार्यकाल सकिएपछि आफैँ लैजान पाउने पुरानो अभ्यास अन्त्य गरिएको छ । अब जिन्सी सामान प्रयोग गर्ने पदाधिकारीले अनिवार्य रूपमा सामान बुझाएको भरपाइ वा रसिद लिनुपर्ने र पदावधि समाप्त भएपछि वा सरुवा भएमा सम्बन्धित सामान अनिवार्य रूपमा स्टोर शाखामा बुझाउनुपर्ने व्यवस्था गरिएको मन्त्री भट्टराईले बताउनुभयो ।

सरकारले कर्मचारी तथा पदाधिकारीको अनावश्यक भ्रमण नियन्त्रण गर्न पनि कडा व्यवस्था गरेको छ । प्रदेशभित्रको भ्रमणमा एकपटकमा बढीमा चार दिन र महिनाभरिमा अधिकतम १२ दिनभन्दा बढीको भ्रमण भत्ता नदिने व्यवस्था गरिएको मन्त्री भट्टराईले बताउनुभयो । उहाँका अनुसार मन्त्रीका स्वकीय सचिवालयका कर्मचारीहरू मन्त्रीसँग भ्रमणमा जाँदा उहाँँहरुको भ्रमण अवधिसम्मका लागि मात्र भत्ता पाउने स्पष्ट व्यवस्था गरिएको छ ।

सवारीसाधनको जथाभावी प्रयोगलाई निरुत्साहित गर्न पनि निर्देशिकाले महत्त्वपूर्ण सुधार गरेको छ । यसअघि सवारीसाधन नपाउने कर्मचारीलाई सवारीसाधन उपलब्ध गराउने व्यवस्था खारेज गरी अब कानुनले तोकेका सचिव तथा सो सरहका पदाधिकारीलाई मात्र सवारीसाधन उपलब्ध गराउने व्यवस्था गरिएको छ । तोकिएको दरबन्दीभन्दा बढी रहेका सवारीसाधनको विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सङ्कलन गरी आवश्यकता र औचित्यका आधारमा अन्य निकायमा हस्तान्तरण गर्ने नीति लिइएको छ ।

अर्थमन्त्री भट्टराईका अनुसार सार्वजनिक स्रोतसाधनको दोहोरो प्रयोग र दुरुपयोग रोक्न सवारीसाधन व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको छ । यसले सरकारी खर्च घटाउनुका साथै उपलब्ध स्रोतलाई प्राथमिकताका क्षेत्रमा परिचालन गर्न सहयोग पुग्ने सरकारको विश्वास छ ।

विगतमा अनावश्यक रूपमा कार्यक्रम तथा बैठक आयोजना गरी ठूलो रकम खर्च गर्ने प्रवृत्तिलाई नियन्त्रण गरिएको छ । अब स्वीकृत लागत अनुमान र तोकिएको मापदण्डभित्र रहेर मात्र भैपरी खर्च गर्न पाइने व्यवस्था गरिएको मन्त्री भट्टराईले बताउनुभयो । सामान्य कार्यक्रम, गोष्ठी तथा नियमित बैठक होटलमा आयोजना गरी फजुल खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै त्यस्ता कार्यक्रम सरकारी कार्यालयमै सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्री तथा अन्य पदाधिकारी सहभागी हुने कार्यक्रममा दिइने खाना तथा खाजा खर्चमा हुने विविधता हटाउँदै मापदण्डअनुसार एकरूपता कायम गरिएको छ । यसबाट सरकारी कार्यक्रमका नाममा हुने अनावश्यक खर्च कटौती हुने अपेक्षा गरिएको मन्त्री भट्टराईको कथन छ ।

प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा बजेट सक्नकै लागि जथाभावी खर्च गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखलाई जिम्मेवार बनाउँदै स्वीकृत बजेटअनुसार खर्च नगरे जरिवानासहित असुलउपर गर्ने कानुनी प्रबन्ध मिलाइएको जनाएको छ ।

अर्थमन्त्री भट्टराईका अनुसार असारे विकास र गैरजिम्मेवार खर्चको प्रवृत्तिलाई पूर्णरूपमा नियन्त्रण नगरेसम्म वित्तीय सुशासन कायम गर्न कठिन हुने भएकाले यस्तो व्यवस्था लागू गरिएको हो । स्रोत सुनिश्चितता नभएका बहुवर्षीय आयोजनाको घोषणा गर्ने प्रवृत्तिलाई रोक्दै प्रदेश नीति तथा योजना आयोगको प्राथमिकीकरण, मध्यमकालीन खर्च संरचना र वित्तीय स्रोतको सुनिश्चितताका आधारमा मात्र बहुवर्षीय आयोजना अघि बढाउने व्यवस्था कडाइ गरिएको छ ।

मधेस प्रदेश सरकारले पछिल्लो समय बजेटको आकारभन्दा खर्चको गुणस्तर र कार्यान्वयन क्षमतालाई प्राथमिकता दिने नीति अघि सारेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारले अघिल्लो वर्षभन्दा कम आकारको बजेट ल्याउँदै मितव्ययिता, पुँजीगत खर्च र परिणाममुखी कार्यक्रमलाई प्राथमिकता दिएको मन्त्री भट्टराईले बताउनुभयो ।

खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु

किएभ। उत्तरपूर्वी युक्रेनको खार्किभ क्षेत्रमा रुसी सेनाले गरेको रकेट हमलामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

युद्ध सुरु भएयताका पछिल्ला महिनामा नागरिक हताहत बढिरहेका बेला भएको यस हमलाको युक्रेनले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

खार्किभ क्षेत्रका गभर्नर ओलेग सिनेगुबोभका अनुसार रुसी सीमाबाट करिब ४० किलोमिटर टाढा रहेको पेचेनिगी गाउँमा रकेट प्रहार गरिएको थियो । उहाँले सामाजिक सञ्जालमार्फत प्रारम्भिक विवरणअनुसार १० जनाको मृत्यु भएको र १७ जना घाइते भएको जानकारी दिनुभएको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले हमला व्यस्त चौबाटोमा भएको बताउनुभएको छ । उहाँका अनुसार उक्त क्षेत्रमा हुलाक कार्यालय र पसलहरू रहेका थिए भने चारैतिर आवासीय भवन थिए ।

युक्रेनी आपत्कालीन सेवाले सार्वजनिक गरेका घटनास्थलका तस्बिरमा उद्धारकर्मीहरू भग्नावशेषमा खोज तथा उद्धार कार्यमा खटिएको देखिन्छ । आक्रमणका कारण भवनहरू ध्वस्त भएका छन् भने घटनास्थलमा धुवाँ फैलिएको र केही सवारीसाधनमा आगो लागेको देखिएको छ ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनले रुसी हमलाको जवाफ दिने बताउँदै अन्तर्राष्ट्रिय साझेदार राष्ट्रहरूले पनि रुसमाथि दबाब बढाएर युक्रेनको समर्थनमा थप कदम चाल्नुपर्ने बताउनुभयो ।

“हामी निश्चित रूपमा यो रुसी आक्रमणको जवाफ दिनेछौँ”, उहाँले सामाजिक सञ्जालमा भन्नुभयो । उहाँले युक्रेनको प्रतिक्रियालाई सहयोगी राष्ट्रहरूले रुसमाथि दबाब र युक्रेनलाई समर्थन गर्ने आफ्ना कदममार्फत थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

खार्किभ क्षेत्रको केही भूभाग रुसी सेनाको नियन्त्रणमा छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेदेखि यो क्षेत्र निरन्तर रुसी आक्रमणको निशानामा पर्दै आएको छ ।

यसैबीच संयुक्त राष्ट्रसङ्घले रुस–युक्रेन युद्धमा पछिल्ला महिनामा नागरिक हताहतको सङ्ख्या युद्ध सुरु भएयताकै अन्य अवधिको तुलनामा उच्च रहेको जनाएको छ ।

युद्ध लम्बिँदै जाँदा आवासीय क्षेत्र तथा नागरिक पूर्वाधारमाथिका आक्रमणले सर्वसाधारणको जोखिम थप बढाएको राष्ट्रसङ्घले जनाएको छ ।

अन्नपूर्णद्वारा दिवङ्गत पर्वतारोही पुर्जाको सम्मानमा शालिक बनाउने

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दिवङ्गत कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स) दाईको सम्मान र स्मृतिमा उहाँको जन्मथलोमा शालिक बनाउने भएको छ ।

गाउँ कार्यपालिकाको आज बसेको बैठकले गत साउन १४ गते पाकिस्तानको ब्रोडपिक आरोहणका क्रममा हिउँपहिरोमा पुरिएर ज्यान गुमाएका १० सदस्यीय पर्वतारोहण टोलीको नेतृत्व गर्नुभएका पुर्जाको शालिक बनाउने निर्णय गरेको हो ।

“परिवारका सदस्यहरूको इच्छाअनुसार निर्मलको साहस, बहादुरी र कीर्तिमान तथा योगदानको सम्मानमा अन्नपूर्ण गाउँपालिका-३ दानामा गाउँपालिकाले शालिक बनाउने निर्णय गरेका हौँ”, गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले भन्नुभयो, “निर्मलको जन्मथलो अन्नपूर्ण गाउँपालिकाको भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाललाई निम्सदाई अन्नपूर्ण नामाकरणका लागि सङ्घीय सरकारलाई सिफारिस गरेका छौँ ।”

अन्नपूर्णका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको नामबाट नामकरण गरिएको नारच्याङबाट अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गलाई निम्सदाई मौरिस हर्जोग नामाकरण गर्न हर्जोगका परिवारसँग परामर्श लिएर निर्णय गरिने अध्यक्ष पुनले बताउनुभयो ।

सन् २०१९ मा पुर्जाले ‘प्रोजेक्ट पसिबल’ नाम दिएर अन्नपूर्णबाट सुरु गरेको अभियानमा विश्वका सबै १४ वटा आठ हजारमाथि उचाइ भएका हिमाल छ महिना छ दिनमा आरोहण गरेर सबैभन्दा छोटो अवधिमा आठ हजार मिटर अग्ला सबै हिमाल चढेको कीर्तिमान बनाउनुभएको थियो ।

अठार वर्षको उमेरमा सन् २००३ मा ब्रिटिश गोर्खा रेजिमेन्टमा भर्ती भएका निर्मलले सन् २००९ मा बेलायतको ‘स्पेशल बोट सर्भिस एसबिएस’ विशेष फौजमा आबद्ध हुनुभएको थियो । अक्सिजनबिना विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमाल दुई पटक आरोहण गर्ने कीर्तिमान बनाउने क्रममा पुर्जाको हिमपहिरोमा पुरिएर निधन भएको थियो ।

तीन वर्षअघि निर्मलले घोषणा गरेको रु ४० लाखको अक्षयकोषको ब्याजबाट ज्ञान प्रकाश नमुना माविको कक्षा ८, १० र १२ मा सर्वोकृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा दानाका अन्य चार वटा आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिँदै आएको छ ।

पारिजातमा प्रकाश, गौरव र खुसीको सहकार्य

गायक तथा सङ्गीतकार प्रकाश सिलवालको नयाँ गीत ’पारिजात’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभिनेता गौरव विष्ट र अभिनेत्री खुसी कार्की फिचर्ड छन् । प्रेमील भाव व्यक्त गर्ने गीतको भिडिओमा एकतर्फी प्रेमलाई देखाएइको छ । खुसी प्रति आकर्षित भएका गौरव उनको प्रेममा परेपछि आफूलाई परिवर्तन गर्छन् । पर्खाइमा रहेका गौरवले प्रेम प्राप्ति गर्छन् वा गर्दैनन् भन्ने विषयलाई पटकथा बनाएर भिडिओका निर्माता शान बस्यातले प्रस्तुत गरेका छन् ।

सरल र मनछुने शैलीमा तयार गरिएको गीतको भिडिओलाई गायक प्रकाश सिलवालकै युत्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । अस्मिता रुचालको शब्दमा गायक प्रकाश सिलवालले कर्णप्रिय स्वर भरेका छन् । सङ्गीत पनि उनकै हो । उनले प्रेमले पार्ने प्रभाव र ल्याउने परिवर्तनलाई गीतमा प्रस्तुत गरिएको बताए ।

उनले अडियो अनुसार नै भिडिओ पनि तयार भएको बताए । गीतमा प्रेमीको रुपमा प्रस्तुत अभिनेता गौरव जीवन्त देखिएका छन् । सम्भावना बोकेको अभिनेताको रुपमा परिचित गौरवले गीतको भाव अनुसार आफूलाई प्रस्तुत गरेको बताए ।

घामपानी पिक्चर्स प्रोडक्सनले तयार गरेको भिडिओका निर्माता कथाकार शान बस्न्यात हुन् । उनले नै भिडिओको कथा तथा पटकथा तयार गरेका हुन् । यसमा गौरव र खुसीसँगै सहयोग अधिकारी, विनोद पौडेल, गीता श्री, विशाल लामा (चरी), युवक लामा (घाइते), कमला राई, कृषा श्रेष्ठ, सुष्मा तामाङ, देव न्यौपाने, सुजाता तिमल्सिना लगायतले अभिनय गरेका छन् ।

भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित

काठमाडौँ। तेस्रो संस्करणको एसिसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा फराकिलो जित दर्ता गरेको छ ।

विजयी सुरुआत गर्ने क्रममा नेपालले आज भएको पहिलो खेलमा कर्नाटक राज्यस्तरीय टोलीलाई ११६ रनले हरायो । यस खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४५ ओभरमा १८८ रनमा अलआउट भएको थियो । नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले ७० बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ४९ रनको पारी खेले ।

इशान पाण्डेले ३४, देव खनाल र सन्दीप जोराले २७/२७, बसिर अहमदले अविजित १९ तथा गुलशनकुमार झाले ११ रन जोडे । कर्नाटकका लागि क्रिती एमले आठ ओभरमा एक मेडनसहित २० रन दिएर सर्वाधिक पाँच विकेट हात पारे ।

नेपालले दिएको १८९ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको कर्नाटक २८ ओभरमा ७२ रनमै अलआउट भयो । उसका लागि शरथ श्रीवास्तावले ६५ बलमा तीन चौकासहित सर्वाधिक ३२ रन बनाए । उनी अविजित रहे पनि कर्नाटकका अरू ब्याटर सस्तैमा आउट भए ।

कर्नाटकलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि बलिङतर्फ करण केसी, ललितनारायण, शेर मल्ल र बसिर अहमदले दुई/दुई विकेट लिए । यस्तै, कप्तान सन्दीप लामिछाने र हेमन्त धामीको नाममा एक/एक विकेट रह्यो ।

नेपालले भारतमा थप अर्को अभ्यास खेल खेल्ने तालिका छ । १० दिनको प्रशिक्षण सकाएर नेपाली टोली प्रिमियर कप खेलेर भारतबाटै मलेसिया प्रस्थान गर्नेछ ।

मलेसियामा तीन दिन अभ्यास गरेर नेपाली टिम प्रतियोगिता खेल्ने तयारीमा छ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल भदौ १५ मा बहराइनको सामना गर्नेछ । त्यसपछि प्रतियोगितामा नेपालको भेट मलेसिया, साउदी अरेबिया र हङकङविरुद्ध हुनेछ ।

‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ – चन्द्रप्रसाद ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको गण्डकी क्षेत्रमा व्याप्त रहेको पर्यटनको प्रचुर सम्भावनाको उजागर गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बागलुङ जिल्लाको बागलुङ नगरपालिका-१२ मा अवस्थित बलेवा कालभैरवमा आयोजित ‘हरेलो मेला’को आज उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेशमा प्राकृतिक मात्र नभएर धार्मिक, सांस्कृतिक पर्यटनको पनि अधिक सम्भावना रहेकाले यसको उजागर गर्न स्थानीय आफैँ लाग्नुपर्नेमा जोड दिनुभयो ।

निवर्तमान अध्यक्ष ढकालले भन्नभुयो, “मुक्तिनाथमा हाल भारतीय पर्यटकको आगमन बढ्दै गएको छ । मुक्तिनाथ पुग्ने नेपालकै आन्तरिक पर्यटक पनि दिनप्रतिदिन बढ्दैछन् । बागलुङ बजार मुक्तिनाथ र रारा ताल जाने नेपालीकै ‘ट्रान्जिट’ जस्तै बनेको छ । ती पर्यटकलाई बागलुङ बजार तथा पर्यटकीय बलेवा भैरवस्थानसम्म पुग्ने र बास बस्ने वातावरण कसरी निर्माण गर्न सकिन्छ भनेर योजना बनाउनुपर्दछ ।”

पूर्वअध्यक्ष ढकालले नेपाल आउने करिब ५० प्रतिशत पर्यटक पोखरा आउने भएकाले तिनलाई बागलुङसम्म ल्याउने र एक–दुई दिन बसाइँ लम्ब्याउने योजनामा लाग्न जिल्लाका पर्यटन व्यवसायीसँग आग्रह पनि गर्नुभयो । नेपालका उत्तर र दक्षिणी छिमेकीसँग जोडिएको गण्डकी प्रदेशले ती छिमेकीको कम्तीमा पनि तीन अर्ब जनसङ्ख्याबाट फाइदा लिनसक्नुपर्ने उहाँको भनाइ छ ।

उनीहरूलाई नेपाल भित्र्याउने प्रभावकारी पर्यटन नीति र योजनाका साथ अघि बढ्न सकिएमा गण्डकी क्षेत्र मात्र नभएर नेपालको समग्र पश्चिम क्षेत्रकै भविष्य उज्ज्वल बन्ने उहाँले बताउनुभयो । अध्यक्ष ढकालले हरेलो उत्सव नेपालको पश्चिम क्षेत्रकै एक मौलिक सांस्कृतिक परम्परा रहेकाले यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

बागलुङमा वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलागोस्, बाली नमासियोस्, पाकेको बाली सहजै भित्र्याउन सकियोस् र अन्न प्रशस्त उत्पादन होस् भन्ने कामना गर्दै हरेक वर्ष भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने प्रचलन छ । घर तथा खेतमै पुगेर गरिने हरेलो पूजा खेतीबाली र जमिनको पूजा हो । यसलाई प्रकृति अर्थात् जमिनको पूजा पनि भन्ने गरिन्छ ।

खेतमा धूपसहित पूजा गरेर मास, चामल, गहुँ, फापर, तोरी आदिबाट तयार पारिएका विभिन्न परिकार तयार गरी चढाउने गरिन्छ । यो मौलिक परम्पराको संरक्षण र सम्वर्द्धन होस् भन्ने उद्देश्यले बागलुङ नगरपालिका र बलेवा कालभैरव मन्दिर समितिको पहलमा केही वर्षदेखि हरेलो मेलाको आयोजना गरिँदै आइएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।

काठमाडौँका विभिन्न सामुदायिक विद्यालयको स्थलगत अवलोकनपछि मन्त्री पोखरेलले विद्यालयको वास्तविक अवस्था तथा सरोकारवालाबाट प्राप्त सुझावलाई शिक्षा सुधारका नीतिमा समेटिने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक नीतिगत तथा व्यावहारिक पहल गरिने उल्लेख गर्नुभयो ।

मन्त्री पोखरेलले राम आधारभूत स्कुल, मदन आश्रित आदर्श मावि, बाल विकास आधारभूत स्कुल र गणेश माविको अवलोकन गर्नुभएको थियो । त्यस क्रममा उहाँले विद्यालयको शैक्षिक अवस्था, पठनपाठन, व्यवस्थापन, पूर्वाधार तथा विद्यार्थीका समस्या र आवश्यकताबारे जानकारी लिनुभयो ।

अवलोकनका क्रममा मन्त्री पोखरेलले प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै विद्यालयमा देखिएका समस्या, चुनौती र सुधारका आवश्यकताबारे जानकारी लिनुभएको थियो ।

मन्त्रालयका अनुसार सामुदायिक विद्यालयको अवस्था प्रत्यक्ष रूपमा बुझ्न विद्यालयमै पुगेर शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापनसँग संवाद गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ । मन्त्री पोखरेलले सोमबारदेखि काठमाडौंका सामुदायिक विद्यालयको स्थलगत अवलोकन सुरु गर्नुभएको हो ।

प्रदेशसभा सदस्य देउवा पदमुक्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवालाई पदमुक्त गरिएको छ ।

सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीले नेपालको संविधान र प्रदेशसभा नियमावलीको प्रावधानअनुसार लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित रहेका कारण उहाँलाई पदमुक्त गरिएको जानकारी दिनुभयो । आजै सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्नेसम्बन्धी निर्णय गर्नुभएको उहाँले बताउनुभयो ।

नेपालको संविधानको धारा १८० को (घ) मा प्रदेशसभा सदस्यको स्थान रिक्त हुनेसम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफामा सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ । यस्तै, सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० ले पनि सोहीअनुसार व्यवस्था गरेको छ ।

देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनलगत्तै व्यक्तिगत कामका लागि अमेरिका जानुभएको थियो । उहाँ यसयता नेपाल फर्किनुभएको छैन ।

रास्वपाको केन्द्रीय समितिको बैठक शुक्रबार बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आगामी भदौ ५ गते (शुक्रबार) बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बैठक बिहान ११ बजे वनस्थलीस्थित घन्टी घरमा बस्न लागेको हो ।

रास्वपाका महामन्त्री विपिन कुमार आचार्यका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट, पार्टीको संगठनात्मक व्यवस्थापन तथा विभिन्न पदमा मनोनयनलगायत विषयमा छलफल हुने जनाइएको छ ।

बैठकको कार्यसूचीअनुसार स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने तथा राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल हुनेछ ।

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ, भदौ २-नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासमा आफ्नो नाफा उल्लेख्य रूपमा बढाएको छ । नेपाल टेलिकमको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वैशाखदेखि असार मसान्तसम्ममा मात्र रु चार अर्ब २० करोड २४ लाख ५२ हजार नाफा कमाएको छ । तेस्रो त्रैमासमा रु तीन अर्ब १४ करोड ८० लाख १८ हजार नाफा नाफा कमाएको टेलिकमले चौथो त्रैमासमा मात्रै आफ्नो नाफा रु एक अर्ब पाँच करोड ४४ लाख ३४ हजार बढाएको हो ।

सरकारले नेपाल टेलिकमको पहुँच र गुणस्तर बढाउने कार्यलाई प्राथमिकतामा राखेर सुधारका काम थालेसँगै इन्टरनेट सेवाका प्रयोगकर्ता उल्लेख्य बढेका छन् । शासकीय सुधारसम्बन्धी १०० कार्यसूची र सूचना तथा सञ्चार मन्त्रालयले तयार नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गतको १० बुँदे सुधारात्मक कार्ययोजनामा नेपाल टेलिकमका सेवा सुधारलाई प्राथमिकतामा राखिएको थियो । सुधारका लागि सरकारी प्रयासको नतिजा कम्पनीको वित्तीय स्वास्थ्यमा पनि देखिन थालेको हो ।

नेपाल टेलिकमका प्रवक्त कमल लामिछानेका अनुसार पछिल्लो समय ‘फाइबर टु दि होम’ (एफटिटिएच) र जिएसएम डाटा खपत बढ्दा आम्दानी बढेको छ । “पछिल्लो समय भ्वाइसमा भन्दा डाटा खपत बढेको छ । कम्पनीको सञ्चालन खर्च पनि गतवर्षको तुलनामा घटेको छ । आम्दानी बढेको र खर्च घटेको कारण समग्र नाफा बढेको हो”, उहाँले भन्नुभयो । नेपाल टेलिकमले विज्ञापन, प्रायोजनलगायतका खर्च कटौतीबाट पनि उल्लेख्य बचत गरेको जनाएको छ । फजुल खर्च घटाउने सरकारको नीतिअनुसार सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले टेलिकमलाई मितव्ययी र पारदर्शी भएर काम गर्न पटक–पटक निर्देशन दिँदै आउनुभएको छ । जसअनुसार नेपाल टेलिकमले गत आर्थिक वर्षमा मात्रै विज्ञापन र प्रायोजनलगायतका शीर्षकको खर्च कटौतीबाट रु १० करोड देखि १५ करोड हाराहारी बचत गरेको जनाएको छ । सेवा सञ्चालन तथा मर्मतसम्भार खर्च घटेको छ भने नियामकलाई तिर्नुपर्ने रकम पनि अघिल्ला आर्थिक वर्षको तुलनामा घटेको टेलिकमको तथ्याङ्कबाट देखिन्छ ।

टेलिकमले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को अन्तिम त्रैमासमा रु एक अर्ब २२ करोड ४८ लाख चार हजार नाफा कमाएको थियो । अर्थात्, टेलिकमले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा करिब रु तीन अर्बले नाफा बढाएको हो । यो कर अघिको मुनाफा हो ।

यो अवधिमा टेलिकमको कुल आम्दानीमा समेत उल्लेख्य वृद्धि देखिएको छ । गत वैशाखदेखि असार मसान्तसम्ममा टेलिकमले रु १० अर्ब ३४ करोड ४७ लाख ५२ हजार कुल आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा रु ५८ करोड ८२ लाख १२ हजार ४२८ ले बढी हो । आर्थिक वर्ष २०८१/८२ को अन्तिम त्रैमासमा नेपाल टेलिकमले रु नौ अर्ब ७५ करोड ६५ लाख ३९ हजार ७८२ बराबर कुल आम्दानी गरेको थियो ।

वार्षिक करिब नौ अर्ब खुद मुनाफा

टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु आठ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको छ । कम्पनीले गत शनिबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा रु दुइ अर्ब ८५ करोड ७९ लाख अर्थात् ४७ दशमलव ५८ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा रु छ अर्ब ६७ लाख थियो । एक वर्षको अवधिमा कम्पनीको खुद मुनाफामा उल्लेख्य वृद्धि भएको हो ।

कम्पनीका अनुसार समीक्षा अवधिमा करअघिको मुनाफा पनि उल्लेख्य बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म करअघिको मुनाफा रु १३ अर्ब २६ करोड ४७ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा रु नौ अर्ब ८५ करोड २ लाख रहेको थियो । यस आधारमा करअघिको मुनाफा रु तीन अर्ब ४१ करोड ४५ लाख अर्थात् ३४ दशमलव ६६ प्रतिशतले बढेको हो ।

त्यस्तै, कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी रु २० अर्ब ४८ करोड १ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रहेको रु १८ अर्ब ४९ करोड ६० लाखको तुलनामा यस्तो आम्दानी गत आर्थिक वर्षमा रु एक अर्ब ९८ करोड ४१ लाख अर्थात् १० दशमलव ७३ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमको कुल सञ्चालन आय समीक्षा अवधिमा रु ३४ अर्ब ९५ करोड ४ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्म यस्तो आय रु ३३ अर्ब ८९ करोड ४५ लाख थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा सञ्चालन आय रु एक अर्ब ५ करोड ५९ लाख अर्थात् तीन दशमलव १२ प्रतिशतले बढेको हो ।

कम्पनीको कुल आयसमेत बढेको छ । समीक्षा अवधिमा कुल आय रु ३९ अर्ब १९ करोड ९६ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल आय रु ३८ अर्ब १८ करोड ८१ लाख थियो । यसअनुसार कुल आय रु १ अर्ब १ करोड १५ लाख अर्थात् दुई दशमलव ६५ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको प्रति शेयर आम्दानी (वार्षिकीकरण गरिएको) रु ४९ दशमलव २५ रहेको छ ।

ब्याज आम्दानी घटे पनि मुनाफामा वृद्धि

कम्पनीका अनुसार समीक्षा अवधिमा ब्याजदर क्रमिक रूपमा घट्दा ब्याज आम्दानीमा भने कमी आएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा ब्याज आम्दानी करिब रु ८६ करोड १९ लाख अर्थात् २२ दशमलव ८८ प्रतिशतले घटेको छ ।

तर, मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानीमा भएको वृद्धिका कारण समग्र सञ्चालन आय तथा मुनाफामा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ ।
विशेषगरी जिएसएम सेवातर्फको राजस्व बढेको छ । कम्पनीका अनुसार अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा जिएसएम सेवातर्फको राजस्व रु ६४ करोड ५४ लाख अर्थात् दुई दशमलव २८ प्रतिशतले बढेको छ ।

एनटिसी सुधारका लागि सरकारको प्रयास

नयाँ सरकार गठन पछि नेपाल टेलिकम र समग्र दूरसञ्चार सेवा सुधारमा महत्वपूर्ण कामहरू भएका छन् । शासकीय सुधारसम्बन्धी १०० कार्यसूची र सूचना तथा सञ्चार मन्त्रालयले अघि सारेको नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गतको १० बुँदे सुधारात्मक कार्ययोजनामा पनि नेपाल टेलिकम सुधारको विषय अघि सारिएको थियो । जसअनुसार नेपाल टेलिकमको प्रयोगकर्ताको डाटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य भएको छ भने सबै सेवा अनलाइन गर्ने र ‘वान टाइम केवाइसी’ लागु गर्ने कार्यले पूर्णता पाएको छ । ‘पे–एज–यू–गोज’ प्रणाली लागु भएसँगै ग्राहकले आफ्नो डाटा सकिएपछि स्वतः शुल्क कट्ने वा नयाँ प्याकेज खरिद गर्नेबारे विकल्पसहितको छनोटको सुविधा पाएका छन् ।

विशेषगरी मोबाइल डाटा व्यवस्थापन, डिजिटल प्लेटफर्म विस्तार र प्रशासनिक प्रक्रियालाई सरल बनाउने उद्देश्यले सरकारले नेपाल टेलिकममा व्यापक रूपान्तरण प्रक्रिया थालेको थियो । ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति तथा स्वामित्व हस्तान्तरणजस्ता सेवाहरू पनि पूर्ण रूपमा अनलाइन माध्यमबाट उपलब्ध हुन थालेका छन् । दूरसञ्चार सेवामा नागरिकको पहुँच र सहजीकरण बढाउन टेलिकमका कार्यालयमा ‘एकल बिन्दु सेवा’ सहायता कक्ष स्थापना गरिएका छन् । जसले ग्राहकलाई एउटै स्थानबाट सबै सेवा प्राप्त गर्न सहज बनाएको छ । ४जी सेवाको गुणस्तर सुधार गर्न महत्त्वपूर्ण नीतिगत पहलसमेत यसबीचमा भएका छन् । ४जी सेवाको पहुँच र गुणस्तर बढाउनका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराइएको छ ।

स्थानीय कर्मचारी नियुक्ति मितव्ययी भएको परराष्ट्रमन्त्रीको दाबी

काठमाडौँ, भदौ २-परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा विदेशस्थित नेपाली नियोगमा स्थानीय कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७२ बमोजिम स्थानीय कर्मचारी नियुक्त गर्ने गरिएको जानकारी दिनुभएको छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा ३७४ जना स्थानीय कर्मचारी कार्यरत रहेको छ । तीमध्ये १८५ जना नेपाली नागरिक र १२६ जना विदेशी नागरिक रहेका छन् ।

प्रतिनिधिसभामा आज सांसद निश्कल राईले विदेशस्थित नेपाली नियोगमा कार्यरत नेपाली तथा विदेशी स्थानीय कर्मचारीको सङ्ख्या र त्यसबाट राज्यलाई परेको आर्थिक भारबारे सोध्नुभएको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले स्थानीय कर्मचारी नियुक्ति विश्वव्यापी अभ्यासअनुसार नै हुँदै आएको बताउनुभयो ।

मन्त्री खनालका अनुसार विदेशस्थित नेपाली नियोगमा कूटनीतिक कर्मचारीलाई दैनिक प्रशासनिक, कन्सुलरलगायत काममा सहयोग गर्न स्थानीयस्तरमा उपलब्ध जनशक्तिलाई करारमा नियुक्त गर्ने गरिएको छ । नेपालबाट थप कर्मचारी पठाउनुभन्दा स्थानीय कर्मचारी नियुक्त गर्दा आर्थिक रूपमा मितव्ययी हुनुका साथै काममा सहजता र प्रशासनिक तथा कूटनीतिक दृष्टिले पनि व्यावहारिक हुने उहाँको भनाइ छ ।

“स्थानीय भाषा, कानुन तथा कार्यसंस्कृति बुझेका कर्मचारीबाट कामकाज गर्न र गराउन सहज तथा प्रभावकारी हुने भएकाले ती पदमा स्थानीयस्तरमै पदपूर्ति गर्ने गरिएको छ”, मन्त्री खनालले भन्नुभयो । विदेशस्थित नेपाली नियोगमा स्थानीय कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७२ बमोजिम स्थानीय कर्मचारी नियुक्त गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । नियोगको कार्य प्रकृति र कार्यबोझअनुसार अफिस सेक्रेटरी, लिगल एडभाइजर, ड्राइभर, मेसेन्जर, ट्रान्सलेटर, गार्डनर, सुरक्षा गार्ड तथा अफिस असिस्टेन्टलगायतका पदमा स्थानीय कर्मचारी नियुक्त हुने गरेका छन् ।

मन्त्री खनालका अनुसार विदेशस्थित नेपाली नियोगमा स्थानीय कर्मचारीका लागि ३७४ दरबन्दी स्वीकृत रहेकोमा हाल १२६ पदमा विदेशी नागरिक र १८५ पदमा नेपाली नागरिक कार्यरत छन् । केही पद राजदूत नियुक्त भएपछि पूर्ति हुने र राजदूत फिर्ता भएसँगै रिक्त हुने भएकाले सबै दरबन्दीमा एकैपटक कर्मचारी कार्यरत नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

स्थानीय कर्मचारीको तलबमा आर्थिक वर्ष २०८२/८३ मा ९१ करोड १७ लाख ३८ हजार खर्च भएको पनि मन्त्री खनालले जानकारी दिनुभयो । उहाँले नेपाली नियोगमा स्थानीय कर्मचारीको सङ्ख्या नेपालजस्तै ठूलो डायस्पोरा भएका अन्य मुलुकको तुलनामा निकै कम रहेको दाबी गर्नुभयो । ‘यो सङ्ख्या नेपालजस्तै डायस्पोरा ठूलो भएका देशहरूको तुलनामा साह्रै न्यून हो”, उहाँले भन्नुभयो ।

मन्त्री खनालका अनुसार करिब सात लाख नेपाली डायस्पोरा रहेको संयुक्त अरब इमिरेट्स ९यूएई० मा अबुधाबी र दुबईस्थित नेपाली नियोगमा जम्मा १० जना स्थानीय कर्मचारी कार्यरत छन् । यसको तुलनामा फिलिपिन्सका नियोगमा ७५ जना स्थानीय कर्मचारी रहेको उदाहरण उहाँले प्रस्तुत गर्नुभयो । करिब तीन लाख ५० हजार नेपाली डायस्पोरा रहेको श्रीलङ्काको नियोगमा ४० भन्दा बढी स्थानीय कर्मचारी रहेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय कर्मचारी नियुक्त गर्दा नेपालको कानुनसँगै सम्बन्धित आतिथेय राष्ट्रको स्थानीय कानुन तथा सन् १९६१ को कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धि र सन् १९६३ को वाणिज्यदूतसम्बन्धी भियना महासन्धिका केही प्रावधानसमेत आकर्षित हुने मन्त्री खनालले प्रतिनिधिसभालाई जानकारी गराउनुभयो । सरकारले विदेशमा रहेका ठूलो सङ्ख्याका नेपालीको सुरक्षा, हित र कन्सुलर सेवा प्रभावकारी बनाउन स्थानीय कर्मचारीको व्यवस्थापनलाई आवश्यकताअनुसार अघि बढाउँदै आएको जनाएको छ ।

जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम यात्रा, शोभा भगवतीमा गरियो अन्त्येष्टि

काठमाडौं । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ । मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो। त्यसपछि पार्थिव शरीरको नगर परिक्रमा गराउँदै शोभा भगवतीस्थित कर्णदीप लगेर अन्त्येष्टि गरिएको हो।

गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले राष्ट्रिय झण्डा ओढाएर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेपाल भाषा परिषद्ले दुई दशकअघि ‘जनकवि’ उपाधिबाट सम्मानित श्रेष्ठ पछिल्ला छ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय थिए । नेपाल भाषासँगै नेपाली भाषामा पनि कविता, गीतलगायत साहित्यका विभिन्न विधामा योगदान दिएका उनका ‘सय थरी बाजा एउटै ताल’ र ‘फूलको आँखामा फूलै संसार’ जस्ता गीत चर्चित छन् । ९३ वर्षीय श्रेष्ठको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको थियो ।

कांग्रेस सभापति गगन थापाको आग्रह– ‘१५औँ महाधिवेशन निष्पक्ष र विश्वसनीय हुनुपर्छ

काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन्।मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले निर्वाचन समितिको मुख्य जिम्मेवारी निर्वाचन गराउनु भए पनि त्यसको निष्पक्षता सबैभन्दा महत्वपूर्ण हुने बताए।

उनले विगतका महाधिवेशनमा पनि निर्वाचन समितिका संयोजक तथा सदस्यहरू पार्टी नेतृत्वबाट प्रस्तावित भए पनि निर्वाचनको जिम्मेवारी लिएपछि निष्पक्षता कायम गरेकै कारण सबैले निर्वाचनको परिणाम स्वीकार गर्ने अवस्था बनेको बताए।थापाले वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई निर्वाचन समितिको संयोजकको जिम्मेवारी दिँदा पनि राजनीतिक रुझानभन्दा माथि उठेर निष्पक्ष रूपमा काम गर्न आग्रह गरेको बताए।

उनले भने, ‘पार्टीभित्रको राजनीतिक रुझान, लाइक, डिस्लाइक, आफूलाई को मनपर्छ, को मनपर्दैन, त्यो छुट्टै विषय हो। तर निर्वाचनको काम सुरु भइसकेपछि सबैले यसमा फेयरनेस महसुस गर्न पाउनुपर्छ।’

सभापति थापाले महाधिवेशनमा सदस्यता र निर्वाचन प्रक्रिया मुख्य विषय रहेको उल्लेख गर्दै यसपटक सदस्यता डिजिटलाइज भइसकेकाले विगतमा जस्तो विवाद नहुने दाबी गरे।उनका अनुसार महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिले सदस्यताको विषय टुंग्याएर निर्वाचन समितिलाई हस्तान्तरण गर्नेछ। सोही सदस्यता सूचीलाई मतदाता सूचीका रूपमा प्रयोग गरिने उनले बताए।

सदस्यता वा निर्वाचन समितिको निष्पक्षतामाथि कुनै आशंका भए आफू खुला छलफलका लागि तयार रहेको पनि थापाले बताए।उनले भने,‘सदस्यताको सन्दर्भमा कुनै प्रश्न छ वा अहिले गरेको काम निष्पक्ष भएन भन्ने आशंका छ भने अर्को कुन समिति बनाउनुपर्ने हो, कसरी बनाउनुपर्ने हो, त्यसका लागि म तयार छु, हामी तयार छौँ।’

थापाले असोज १६ गतेदेखि काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै मंगलबारदेखि महाधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु भएको बताए। निर्वाचन समितिले तयार गरेको कार्यतालिकाअनुसार सबैले अघि बढ्नुपर्ने उनको भनाइ छ।

 

काठमाडौँमा ग्यास आपूर्ति सहज बन्दै, मागभन्दा दैनिक ५–८ हजार सिलिण्डर बढी आपूर्ति भइरहेको निगमको दाबी

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह समेत गरेको छ । हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने उल्लेख समेत बताएको छ।

“काठमाडौँ उपत्यकामा प्रतिदिन औसत ३५ देखि ३७ हजार सिलिन्डरको माग हो, तर अहिले हामीले औसतमा पाँच हजारदेखि आठ हजार सिलिण्डर बढी आपूर्ति गरिरहेका छौँ”, निगमका निर्देशक विनितमणि उपाध्यायले भने।

निगमका अनुसार आज भदौ २ गते मात्रै काठमाडौँ उपत्यकाका २२ ग्यास उद्योगले ४७ हजार ३८८ थान सिलिण्डर बिक्री गर्दैछन् । साथै भदौ १ गते काठमाडौँ उपत्यकामा ५२ हजार ५७६ थान सिलिण्डर बिक्री गरिएको छ । जुन दैनिक औसतभन्दा करिब १५ हजारले बढी हो ।

निगमले पछिल्लो एक साताअर्थात् साउन २७ गतेदेखि भदौ २ गते साँझसम्म तीन लाख नौ हजार ५५३ वटा सिलिण्डर बिक्री भइरहेको जनाएको छ । यो औसतमा दैनिक ४४ हजारभन्दा बढी हो ।

उद्योगी व्यवसायीका अनुसार अहिले आपूर्तिका कारण ग्यासको समस्या भएको होइन । गत फागुनमा बाह्य कारणले ग्यास आयातमा कमी आएपछि सरकारले समस्या समाधानका लागि आधा भरिएको सिलिण्डर बिक्री सुरु गरेको थियो। त्यसको असर अहिले देखिएको मात्रै हो। तर यो लामो समयसम्म जाँदैन।

एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार सोमबारदेखि डिलरमार्फत नै ग्यास बिक्री गर्न थालेपछि धेरै सहज भएको बताए। उनका अनुसार अबको एक सातामा सबै समस्या समाधान हुने देखिएको छ।

साउनमा ४० लाखभन्दा बढी सिलिण्डर बिक्री

निगमका अनुसार सामान्य अवस्थामा मुलुकभर दैनिक एक लाख १० हजारको हाराहारीमा सिलिण्डर बिक्री हुन्छ। तर चालु आर्थिक वर्षको साउनमा मात्रै ५७ हजार ३१६ मेट्रिक टन एलपी ग्यासअर्थात् ४० लाख ३६ हजार ३६४ थान सिलिण्डर बिक्री भएको छ।

जुन अघिल्लो गत २०८२/८३ को साउनको तुलनामा करिब २९.३ प्रतिशत बढी हो । गत आवको ४४ हजार ३१८ मेट्रिक टन एलपी ग्यास अर्थात् ३१ लाख २० हजार ९८६ थान सिलिण्डर बिक्री भएको थियो । त्यसैगरी अघिल्लो आव २०८१/८२ को साउनमा ४५ हजार ७३५ मेट्रिक टन अर्थात् ३२ लाख २० हजार ७७५ थान सिलिण्डर बिक्री भएको थियो।

चैतदेखि असारसम्मको बिक्री

निगमका अनुसार गत चैतमा ३८ हजार ८०० मेट्रिक टन ग्यास आयात भएको थियो। जसमा विभिन्न उद्योगबाट ५४ लाख ६४ हजार ७८९ थान आधा भरिएका सिलिण्डर बिक्री भएका थिए । जबकी २०८१ साल चैतमा ४८ हजार ३२७ मेट्रिकटन ग्यास आयात हुँदा ३४ लाख तीन हजार ३१० पूरा भरिएका सिलिण्डर बिक्री भएका थिए।

त्यसैगरी गत वैशाखमा ३२ हजार ५६ मेट्रिक टन आयात भएको थियो भने गत वर्षको वैशाखमा ४६ हजार ५०३ मेट्रिक टन ग्यास आयात भएको थियो। साथै यस वर्षको जेठमा ३३ हजार ८४२ मेट्रिक टन र गत वर्षको जेठमा ४९ हजार ८१६ मेट्रिक टन ग्यास आयात भएको थियो । साथै यस वर्षको असारमा ४४ हजार ५४४ मेट्रिक थान ग्यास आयात हुँदा गत वर्षको असारमा ४७ हजार ९३३ मेट्रिक टन थान ग्यास आयात भएको थियो।

मन्त्री छनोटमा सकस, सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। आफ्नै दलभित्र मन्त्री छनोटको विषय पेचिलो बनेपछि भट्टले पहिला विश्वासको मत लिने र त्यसपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन्।

यसअघि मंगलबार नै विश्वासको मत लिने तयारी भए पनि प्रदेश सभा बैठक एक दिन पछि सारिएको हो। मंगलबार नेकपा संसदीय दलको बैठक बसेपछि प्रदेश सभा बैठक आह्वान गर्ने तयारी गरिएको नेकपाका एक सांसदले जानकारी दिए।

विश्वासको मत लिने र मन्त्रिमण्डल विस्तारबारे नेकपा सुदूरपश्चिम संयोजक भानुभक्त जोशी, साविक नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र मुख्यमन्त्री भट्टबीच समेत छलफल भएको जनाइएको छ।

नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेबीचको गठबन्धनमा मुख्यमन्त्री बनेकै दिन भट्टले नेकपाबाट तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका थिए। तर नेकपाबाट थप मन्त्री बन्नेहरूको टुंगो लाग्न नसक्दा आफ्नो भागमा परेका मन्त्रालयमा अझै मन्त्री नियुक्त गर्न सकेका छैनन्।

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले ह्याण्डपम्प तथा ट्युबवेल (चापाकल) खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत लागत अनुमान तयार गरी खरिद प्रक्रियालाई विभाजन गरेर प्रतिस्पर्धा सीमित गरेको पाइएको आयोगले जनाएको छ । एउटै वस्तुको खरिदलाई पटकपटक विभाजन गरी आपूर्तिकर्तासँग मिलेमतो गरी भुक्तानी दिइएको आयोगको अनुसन्धानबाट खुलेको जनाएको छ ।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नीलाम्बर मिश्र मैथली र तत्कालीन लेखापाल विजयकुमार यादवविरुद्ध जनही रु ३६ लाख १३ हजार ३१ बराबरको बिगो माग दाबी गरिएको छ ।

यस्तै, तत्कालीन इन्जिनियर सन्तोषकुमार यादव र तत्कालीन सब–इन्जिनियर विपिनकुमार मण्डलविरुद्ध जनही रु २० लाख ४९ हजार ४५० तथा तत्कालीन जिन्सी शाखा प्रमुख शिवशङ्कर यादवविरुद्ध रु १५ लाख ६३ हजार ५८१ बिगो कायम गरी आरोपपत्र दायर गरेको छ । त्यस्तै, तत्कालीन योजना शाखा प्रमुख गङ्गाराम यादवविरुद्ध रु ३६ लाख १३ हजार ३१ बिगो कायम गरिएको छ ।

आयोगले अनियमिततामा संलग्न रहेको आरोपमा विभिन्न आपूर्तिकर्ता तथा सञ्चालकविरुद्ध पनि बिगो र सोहीअनुसारको सजाय मागदाबी गरेको छ । लीला आयरन स्टोर्सका प्रोप्राइटर विनयकुमार यादवविरुद्ध रु पाँच लाख ३४ हजार ८७६, डिएम जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर दूधनाथ कुमरविरुद्ध रु ११ लाख ८९ हजार ४७१ बिगो माग दाबी गरिएको छ ।

यस्तै, श्रीराम इन्टरप्राइजेजका प्रोप्राइटर अमरनाथ कुमरविरुद्ध रु २ लाख २० हजार १९७, जैसवाल निर्माण सेवा (सिर्जना ट्रेडर्स)का प्रोप्राइटर रामबाबु चौधरीविरुद्ध रु सात लाख नौ हजार ६२३ र क्वालिटी सोलुसन कम्पनी प्रालिका प्रबन्ध निर्देशक मनोजकुमार यादवविरुद्ध रु सात लाख ११ हजार ९०० बिगो कायम गरिएको छ ।

आयोगले राष्ट्रसेवक कर्मचारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम तथा आपूर्तिकर्ताविरुद्ध सोही ऐनको दफा २२ बमोजिम मतियारका रूपमा कसुर गरेको आरोपमा जरिवाना, कैद तथा बिगो असुलउपरको मागदाबी गरेको छ । आपूर्तिकर्ता कम्पनीलाई कानुनबमोजिम सजायको मागदाबी गरिएको आयोगले जनाएको छ ।

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौँ। टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान गरेको छ ।

टोली सिरिज खेल्न गएराति त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान)ले अष्ट्रेलिया जाने १५ सदस्यीय टोलीलाई आइतबार नै बिदाइ गरेको थियो । यसपटक अष्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिलकुमार साहले गर्ने छन् ।

यही भदौ ५ गतेदेखि सुरु हुने टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्नेछ ।

यस्तै, नेपालले यही भदौ ६ मा बङ्गलादेश हाई पर्फर्मेन्स, भदौ ८ मा होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ मा हैदरावाद किङ्समेन एकेडेमी तथा भदौ १३ मा भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने छ ।

क्यानका अनुसार अष्ट्रेलियामा रहँदा नेपाल ‘ए’ ले न्युजिल्याण्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेलसमेत खेल्ने तालिका छ ।

दियालो बङ्गलाबाट २४ लाख राजश्व संकलन

चितवन। गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले यहाँको दियालो बङ्गला अवलोकन गरेका छन् । यसमध्ये भारत र चीनका पर्यटक समेत रहेका छन् ।

भरतपुर महानगरपालिकाकी सूचना अधिकारी मेनुका पण्डितका अनुसार गत आवमा ज्येष्ठ नागरिक १६९ जना र विद्यार्थी एक हजार ५३३ जनाले बङ्गलाको भ्रमण गरेका छन् । २०८१ साल असार २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको यो बङ्गला भरतपुर– १ मा पर्दछ । यहाँ आएका पर्यटकबाट रु २४ लाख ५८ हजार ४०० राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । उठेको राजस्वको ६० प्रतिशत नेपाल ट्रष्ट र ४० प्रतिशत भरतपुर महानगरपालिकाले पाउने गरी सर्वसाधारणका लागि खुला गरिएको हो ।

यहाँ घुम्न आएका पर्यटकमध्ये जेष्ठ नागरिक, विद्यार्थी, अपाङ्गहरुका लागि रु ५०, स्वदेशी अन्य पर्यटकका लागि रु १०० र विदेशी पर्यटकका लागि रु २०० प्रवेश शुल्क लाग्ने गर्दछ । ट्रष्टको माताहतमा रहेको यो बङ्गला महानगरपालिकाको आग्रहमा सर्वसाधारणका लागि खुला गरिएको थियो ।

जाडो महिनामा तत्कालीन राजपरिवारले यही दरबारमा धेरै समय बिताउने गरेका जनाइएको छ । सिकार खेल्न आउँदा बस्ने ठाउँ यो हो । ऐतिहासिक महत्व बोकेको दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । यसको भित्तामा पूर्वराजा महेन्द्र र वीरेन्द्रको तस्वीर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा तत्कालीन राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।

दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नम्बर खोपी तत्कालीन रत्नराज्यको हो भने २ नम्बर तत्कालीन राजा र ३ नम्बर रानी, ४ र ५ तत्कालीन राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छ ।

तत्कालीन राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै तत्कालीन राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ । केही पर सवारीसाधन राख्नका लागि ग्यारेज छ । त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी छैन । कपडा फेर्नका लागि बनाइएको आडैको घरमा नेपाल ट्रष्टको एकाइ चलेको छ ।

तत्कालीन राजपरिवारले प्रयोग गरेका यी संरचना हेर्न सर्वसाधारण लालाहित भएपछि भरतपुर महानगरपालिकाले ट्रष्टलाई आग्रह गरेर सञ्चालनमा ल्याइएको कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले बताउनुभयो ।

उपसभामुख रुबीका सचिवालय सदस्य दीपकको मर्यादाहीन त्यो अभिव्यक्ति

काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरको सचिवालयमा रहेका दीपकजंग ठाकुरले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र उनको परिवारप्रति अश्लील तथा मर्यादाहीन अभिव्यक्ति दिएका छन् । उनले श्रेष्ठ र उनको परिवारलाई लक्षित गर्दै विभिन्न लान्छना लगाएका छन् । उनका कतिपय अभिव्यक्ति सार्वजनिक रूपमा सुन्नै नसकिने खालका छन् ।

उपसभामुखजस्तो संवैधानिक पदमा रहेकी व्यक्तिको सचिवालयमा रहेका व्यक्तिबाट पत्रकार र उनको परिवारलाई लक्षित गरी यस्तो अभिव्यक्ति आउनु आलोचनाको विषय बनेको छ । सार्वजनिक पदसँग जोडिएका व्यक्तिले आफ्नो अभिव्यक्ति र व्यवहारमा मर्यादा कायम राख्नुपर्ने हुन्छ ।

दीपकको यस्तो अभिव्यक्ति सार्वजनिक भइरहेका बेला उपसभामुख ठाकुरले भने सम्पादक श्रेष्ठविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । उनले श्रेष्ठले मानमर्दन गरेको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएकी हुन् ।

श्रेष्ठ सोमबार मात्रै अदालतको आदेशपछि रिहा भएका थिए । तर, उपसभामुखले पुनः उजुरी दिएपछि उनी फेरि पक्राउ पर्न सक्ने सम्भावना बढेको छ ।

यो विवाद केही दिनअघिको घटनासँग जोडिएको छ । जनआस्थाले उपसभामुख ठाकुर र उनका सचिवालय सदस्य दीपकको तस्बिर राखेर ‘सुध्रिनुहोस् माननीय, अझै मौका छ’ भन्ने आशयको समाचार प्रकाशित गरेको थियो । उक्त तस्बिर उपसभामुख ठाकुर आफैंले सार्वजनिक गरेको जनआस्थाको दाबी छ ।

समाचार प्रकाशित भएपछि ठाकुरले आफू झण्डै आत्महत्या गर्ने अवस्थामा पुगेको बताएकी थिइन् । दीपक पनि त्यस्तै अवस्थामा पुगेको उनको भनाइ थियो ।

त्यसपछि ठाकुरले गृहमन्त्री सुधन गुरुङसँग सम्पादक श्रेष्ठलाई पक्राउ गर्न आग्रह गरेकी थिइन् । अहिले श्रेष्ठविरुद्ध मानमर्दनको आरोपमा प्रहरीमा उजुरी परेको छ ।

समाचार वा पत्रकारको अभिव्यक्तिप्रति चित्त नबुझे कानुनी उपचार खोज्ने अधिकार सम्बन्धित पक्षलाई हुन्छ । तर, त्यसको प्रतिकारमा पत्रकार र उनको परिवारप्रति गरिने व्यक्तिगत लान्छना तथा अश्लील अभिव्यक्तिले भने अर्को गम्भीर प्रश्न उठाएको छ ।

एकातिर सम्पादक श्रेष्ठविरुद्ध मानमर्दनको उजुरी परेको छ । अर्कोतिर उपसभामुखकै सचिवालयमा रहेका व्यक्तिबाट पत्रकार र उनको परिवारप्रति मर्यादाहीन अभिव्यक्ति आएको छ । त्यसैले यो प्रकरणमा दुवै पक्षको आचरण र अभिव्यक्तिबारे प्रश्न उठेको छ ।