`

काठमाडौँमा ग्यास आपूर्ति सहज बन्दै, मागभन्दा दैनिक ५–८ हजार सिलिण्डर बढी आपूर्ति भइरहेको निगमको दाबी

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह समेत गरेको छ । हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने उल्लेख समेत बताएको छ।

“काठमाडौँ उपत्यकामा प्रतिदिन औसत ३५ देखि ३७ हजार सिलिन्डरको माग हो, तर अहिले हामीले औसतमा पाँच हजारदेखि आठ हजार सिलिण्डर बढी आपूर्ति गरिरहेका छौँ”, निगमका निर्देशक विनितमणि उपाध्यायले भने।

निगमका अनुसार आज भदौ २ गते मात्रै काठमाडौँ उपत्यकाका २२ ग्यास उद्योगले ४७ हजार ३८८ थान सिलिण्डर बिक्री गर्दैछन् । साथै भदौ १ गते काठमाडौँ उपत्यकामा ५२ हजार ५७६ थान सिलिण्डर बिक्री गरिएको छ । जुन दैनिक औसतभन्दा करिब १५ हजारले बढी हो ।

निगमले पछिल्लो एक साताअर्थात् साउन २७ गतेदेखि भदौ २ गते साँझसम्म तीन लाख नौ हजार ५५३ वटा सिलिण्डर बिक्री भइरहेको जनाएको छ । यो औसतमा दैनिक ४४ हजारभन्दा बढी हो ।

उद्योगी व्यवसायीका अनुसार अहिले आपूर्तिका कारण ग्यासको समस्या भएको होइन । गत फागुनमा बाह्य कारणले ग्यास आयातमा कमी आएपछि सरकारले समस्या समाधानका लागि आधा भरिएको सिलिण्डर बिक्री सुरु गरेको थियो। त्यसको असर अहिले देखिएको मात्रै हो। तर यो लामो समयसम्म जाँदैन।

एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार सोमबारदेखि डिलरमार्फत नै ग्यास बिक्री गर्न थालेपछि धेरै सहज भएको बताए। उनका अनुसार अबको एक सातामा सबै समस्या समाधान हुने देखिएको छ।

साउनमा ४० लाखभन्दा बढी सिलिण्डर बिक्री

निगमका अनुसार सामान्य अवस्थामा मुलुकभर दैनिक एक लाख १० हजारको हाराहारीमा सिलिण्डर बिक्री हुन्छ। तर चालु आर्थिक वर्षको साउनमा मात्रै ५७ हजार ३१६ मेट्रिक टन एलपी ग्यासअर्थात् ४० लाख ३६ हजार ३६४ थान सिलिण्डर बिक्री भएको छ।

जुन अघिल्लो गत २०८२/८३ को साउनको तुलनामा करिब २९.३ प्रतिशत बढी हो । गत आवको ४४ हजार ३१८ मेट्रिक टन एलपी ग्यास अर्थात् ३१ लाख २० हजार ९८६ थान सिलिण्डर बिक्री भएको थियो । त्यसैगरी अघिल्लो आव २०८१/८२ को साउनमा ४५ हजार ७३५ मेट्रिक टन अर्थात् ३२ लाख २० हजार ७७५ थान सिलिण्डर बिक्री भएको थियो।

चैतदेखि असारसम्मको बिक्री

निगमका अनुसार गत चैतमा ३८ हजार ८०० मेट्रिक टन ग्यास आयात भएको थियो। जसमा विभिन्न उद्योगबाट ५४ लाख ६४ हजार ७८९ थान आधा भरिएका सिलिण्डर बिक्री भएका थिए । जबकी २०८१ साल चैतमा ४८ हजार ३२७ मेट्रिकटन ग्यास आयात हुँदा ३४ लाख तीन हजार ३१० पूरा भरिएका सिलिण्डर बिक्री भएका थिए।

त्यसैगरी गत वैशाखमा ३२ हजार ५६ मेट्रिक टन आयात भएको थियो भने गत वर्षको वैशाखमा ४६ हजार ५०३ मेट्रिक टन ग्यास आयात भएको थियो। साथै यस वर्षको जेठमा ३३ हजार ८४२ मेट्रिक टन र गत वर्षको जेठमा ४९ हजार ८१६ मेट्रिक टन ग्यास आयात भएको थियो । साथै यस वर्षको असारमा ४४ हजार ५४४ मेट्रिक थान ग्यास आयात हुँदा गत वर्षको असारमा ४७ हजार ९३३ मेट्रिक टन थान ग्यास आयात भएको थियो।

मन्त्री छनोटमा सकस, सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। आफ्नै दलभित्र मन्त्री छनोटको विषय पेचिलो बनेपछि भट्टले पहिला विश्वासको मत लिने र त्यसपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन्।

यसअघि मंगलबार नै विश्वासको मत लिने तयारी भए पनि प्रदेश सभा बैठक एक दिन पछि सारिएको हो। मंगलबार नेकपा संसदीय दलको बैठक बसेपछि प्रदेश सभा बैठक आह्वान गर्ने तयारी गरिएको नेकपाका एक सांसदले जानकारी दिए।

विश्वासको मत लिने र मन्त्रिमण्डल विस्तारबारे नेकपा सुदूरपश्चिम संयोजक भानुभक्त जोशी, साविक नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र मुख्यमन्त्री भट्टबीच समेत छलफल भएको जनाइएको छ।

नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेबीचको गठबन्धनमा मुख्यमन्त्री बनेकै दिन भट्टले नेकपाबाट तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका थिए। तर नेकपाबाट थप मन्त्री बन्नेहरूको टुंगो लाग्न नसक्दा आफ्नो भागमा परेका मन्त्रालयमा अझै मन्त्री नियुक्त गर्न सकेका छैनन्।

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले ह्याण्डपम्प तथा ट्युबवेल (चापाकल) खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत लागत अनुमान तयार गरी खरिद प्रक्रियालाई विभाजन गरेर प्रतिस्पर्धा सीमित गरेको पाइएको आयोगले जनाएको छ । एउटै वस्तुको खरिदलाई पटकपटक विभाजन गरी आपूर्तिकर्तासँग मिलेमतो गरी भुक्तानी दिइएको आयोगको अनुसन्धानबाट खुलेको जनाएको छ ।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नीलाम्बर मिश्र मैथली र तत्कालीन लेखापाल विजयकुमार यादवविरुद्ध जनही रु ३६ लाख १३ हजार ३१ बराबरको बिगो माग दाबी गरिएको छ ।

यस्तै, तत्कालीन इन्जिनियर सन्तोषकुमार यादव र तत्कालीन सब–इन्जिनियर विपिनकुमार मण्डलविरुद्ध जनही रु २० लाख ४९ हजार ४५० तथा तत्कालीन जिन्सी शाखा प्रमुख शिवशङ्कर यादवविरुद्ध रु १५ लाख ६३ हजार ५८१ बिगो कायम गरी आरोपपत्र दायर गरेको छ । त्यस्तै, तत्कालीन योजना शाखा प्रमुख गङ्गाराम यादवविरुद्ध रु ३६ लाख १३ हजार ३१ बिगो कायम गरिएको छ ।

आयोगले अनियमिततामा संलग्न रहेको आरोपमा विभिन्न आपूर्तिकर्ता तथा सञ्चालकविरुद्ध पनि बिगो र सोहीअनुसारको सजाय मागदाबी गरेको छ । लीला आयरन स्टोर्सका प्रोप्राइटर विनयकुमार यादवविरुद्ध रु पाँच लाख ३४ हजार ८७६, डिएम जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर दूधनाथ कुमरविरुद्ध रु ११ लाख ८९ हजार ४७१ बिगो माग दाबी गरिएको छ ।

यस्तै, श्रीराम इन्टरप्राइजेजका प्रोप्राइटर अमरनाथ कुमरविरुद्ध रु २ लाख २० हजार १९७, जैसवाल निर्माण सेवा (सिर्जना ट्रेडर्स)का प्रोप्राइटर रामबाबु चौधरीविरुद्ध रु सात लाख नौ हजार ६२३ र क्वालिटी सोलुसन कम्पनी प्रालिका प्रबन्ध निर्देशक मनोजकुमार यादवविरुद्ध रु सात लाख ११ हजार ९०० बिगो कायम गरिएको छ ।

आयोगले राष्ट्रसेवक कर्मचारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम तथा आपूर्तिकर्ताविरुद्ध सोही ऐनको दफा २२ बमोजिम मतियारका रूपमा कसुर गरेको आरोपमा जरिवाना, कैद तथा बिगो असुलउपरको मागदाबी गरेको छ । आपूर्तिकर्ता कम्पनीलाई कानुनबमोजिम सजायको मागदाबी गरिएको आयोगले जनाएको छ ।

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौँ। टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान गरेको छ ।

टोली सिरिज खेल्न गएराति त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान)ले अष्ट्रेलिया जाने १५ सदस्यीय टोलीलाई आइतबार नै बिदाइ गरेको थियो । यसपटक अष्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिलकुमार साहले गर्ने छन् ।

यही भदौ ५ गतेदेखि सुरु हुने टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्नेछ ।

यस्तै, नेपालले यही भदौ ६ मा बङ्गलादेश हाई पर्फर्मेन्स, भदौ ८ मा होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ मा हैदरावाद किङ्समेन एकेडेमी तथा भदौ १३ मा भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने छ ।

क्यानका अनुसार अष्ट्रेलियामा रहँदा नेपाल ‘ए’ ले न्युजिल्याण्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेलसमेत खेल्ने तालिका छ ।

दियालो बङ्गलाबाट २४ लाख राजश्व संकलन

चितवन। गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले यहाँको दियालो बङ्गला अवलोकन गरेका छन् । यसमध्ये भारत र चीनका पर्यटक समेत रहेका छन् ।

भरतपुर महानगरपालिकाकी सूचना अधिकारी मेनुका पण्डितका अनुसार गत आवमा ज्येष्ठ नागरिक १६९ जना र विद्यार्थी एक हजार ५३३ जनाले बङ्गलाको भ्रमण गरेका छन् । २०८१ साल असार २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको यो बङ्गला भरतपुर– १ मा पर्दछ । यहाँ आएका पर्यटकबाट रु २४ लाख ५८ हजार ४०० राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । उठेको राजस्वको ६० प्रतिशत नेपाल ट्रष्ट र ४० प्रतिशत भरतपुर महानगरपालिकाले पाउने गरी सर्वसाधारणका लागि खुला गरिएको हो ।

यहाँ घुम्न आएका पर्यटकमध्ये जेष्ठ नागरिक, विद्यार्थी, अपाङ्गहरुका लागि रु ५०, स्वदेशी अन्य पर्यटकका लागि रु १०० र विदेशी पर्यटकका लागि रु २०० प्रवेश शुल्क लाग्ने गर्दछ । ट्रष्टको माताहतमा रहेको यो बङ्गला महानगरपालिकाको आग्रहमा सर्वसाधारणका लागि खुला गरिएको थियो ।

जाडो महिनामा तत्कालीन राजपरिवारले यही दरबारमा धेरै समय बिताउने गरेका जनाइएको छ । सिकार खेल्न आउँदा बस्ने ठाउँ यो हो । ऐतिहासिक महत्व बोकेको दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । यसको भित्तामा पूर्वराजा महेन्द्र र वीरेन्द्रको तस्वीर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा तत्कालीन राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।

दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नम्बर खोपी तत्कालीन रत्नराज्यको हो भने २ नम्बर तत्कालीन राजा र ३ नम्बर रानी, ४ र ५ तत्कालीन राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छ ।

तत्कालीन राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै तत्कालीन राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ । केही पर सवारीसाधन राख्नका लागि ग्यारेज छ । त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी छैन । कपडा फेर्नका लागि बनाइएको आडैको घरमा नेपाल ट्रष्टको एकाइ चलेको छ ।

तत्कालीन राजपरिवारले प्रयोग गरेका यी संरचना हेर्न सर्वसाधारण लालाहित भएपछि भरतपुर महानगरपालिकाले ट्रष्टलाई आग्रह गरेर सञ्चालनमा ल्याइएको कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले बताउनुभयो ।

उपसभामुख रुबीका सचिवालय सदस्य दीपकको मर्यादाहीन त्यो अभिव्यक्ति

काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरको सचिवालयमा रहेका दीपकजंग ठाकुरले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र उनको परिवारप्रति अश्लील तथा मर्यादाहीन अभिव्यक्ति दिएका छन् । उनले श्रेष्ठ र उनको परिवारलाई लक्षित गर्दै विभिन्न लान्छना लगाएका छन् । उनका कतिपय अभिव्यक्ति सार्वजनिक रूपमा सुन्नै नसकिने खालका छन् ।

उपसभामुखजस्तो संवैधानिक पदमा रहेकी व्यक्तिको सचिवालयमा रहेका व्यक्तिबाट पत्रकार र उनको परिवारलाई लक्षित गरी यस्तो अभिव्यक्ति आउनु आलोचनाको विषय बनेको छ । सार्वजनिक पदसँग जोडिएका व्यक्तिले आफ्नो अभिव्यक्ति र व्यवहारमा मर्यादा कायम राख्नुपर्ने हुन्छ ।

दीपकको यस्तो अभिव्यक्ति सार्वजनिक भइरहेका बेला उपसभामुख ठाकुरले भने सम्पादक श्रेष्ठविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । उनले श्रेष्ठले मानमर्दन गरेको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएकी हुन् ।

श्रेष्ठ सोमबार मात्रै अदालतको आदेशपछि रिहा भएका थिए । तर, उपसभामुखले पुनः उजुरी दिएपछि उनी फेरि पक्राउ पर्न सक्ने सम्भावना बढेको छ ।

यो विवाद केही दिनअघिको घटनासँग जोडिएको छ । जनआस्थाले उपसभामुख ठाकुर र उनका सचिवालय सदस्य दीपकको तस्बिर राखेर ‘सुध्रिनुहोस् माननीय, अझै मौका छ’ भन्ने आशयको समाचार प्रकाशित गरेको थियो । उक्त तस्बिर उपसभामुख ठाकुर आफैंले सार्वजनिक गरेको जनआस्थाको दाबी छ ।

समाचार प्रकाशित भएपछि ठाकुरले आफू झण्डै आत्महत्या गर्ने अवस्थामा पुगेको बताएकी थिइन् । दीपक पनि त्यस्तै अवस्थामा पुगेको उनको भनाइ थियो ।

त्यसपछि ठाकुरले गृहमन्त्री सुधन गुरुङसँग सम्पादक श्रेष्ठलाई पक्राउ गर्न आग्रह गरेकी थिइन् । अहिले श्रेष्ठविरुद्ध मानमर्दनको आरोपमा प्रहरीमा उजुरी परेको छ ।

समाचार वा पत्रकारको अभिव्यक्तिप्रति चित्त नबुझे कानुनी उपचार खोज्ने अधिकार सम्बन्धित पक्षलाई हुन्छ । तर, त्यसको प्रतिकारमा पत्रकार र उनको परिवारप्रति गरिने व्यक्तिगत लान्छना तथा अश्लील अभिव्यक्तिले भने अर्को गम्भीर प्रश्न उठाएको छ ।

एकातिर सम्पादक श्रेष्ठविरुद्ध मानमर्दनको उजुरी परेको छ । अर्कोतिर उपसभामुखकै सचिवालयमा रहेका व्यक्तिबाट पत्रकार र उनको परिवारप्रति मर्यादाहीन अभिव्यक्ति आएको छ । त्यसैले यो प्रकरणमा दुवै पक्षको आचरण र अभिव्यक्तिबारे प्रश्न उठेको छ ।

राष्ट्र, राष्ट्रियता र धर्म संस्कृति बचाउ महाअभियानसँग वार्ता गर्न सरकारी टोली गठन

काठमाडौं । सरकारले आन्दोलनरत राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ताका लागि टोली गठन गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

वार्ता टोलीको सदस्यहरूमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी रहेका छन् ।

यसअघि सोमबार दिनभर जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको कार्यकक्षमा महाअभियानका प्रतिनिधि र सरकारी प्रतिनिधिबिच गहन छलफल भएको थियो ।छलफलमा महाअभियानको मागबमोजिम नेपाल सरकारका तर्फबाट औपचारिक रूपमा वार्ता टोली गठन गरी आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने सहमति भएको थियो ।

सरकारले वार्ताका लागि गरेको आह्वानलाई सम्मान गर्दै महाअभियानका प्रतिनिधिले वार्ताका लागि आएको पत्रसमेत ग्रहण गरेका थिए ।छलफलमा महाअभियानका प्रतिनिधि विष्णु बोहोरा क्षेत्री, राजु आचार्य, सकुनी सिंह, हरदेव महतो, तारा बजगाईं र विजय थापा रहेका थिए ।

सभामुखलाई आशिका तामाङको कडा जवाफ- ‘हस्’ भन्दै टाउको हल्लाएर बस्दिनँ

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले सभामुख डोलप्रसाद अर्याललाई कडा जवाफ फर्काएकी छन् ।सभामुखले आफूलाई ‘मर्यादामा बस्न’ निर्देशन दिएको भन्दै तामाङले मर्यादाको नाममा आफू चुप लागेर नबस्ने बताइन् ।

‘मर्यादा भनेको सभामुखज्यूले जे भन्नुहुन्छ, हस् भनेर टाउको हल्लाएर बस्नु मेरो लागि कदापि स्वीकार्य हुने छैन,’ उनले भनिन् ।सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले तामाङलाई मर्यादामा रहेर बोल्न निर्देशन दिएका थिए । आफ्नो आलोचना गरेपछि सभामुख असन्तुष्ट बनेका थिए ।

तामाङले भने ३७ दिनअघि धादिङका एक युवकको शव नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै पहल नभएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् ।

मृतककी श्रीमती र बुबालाई लिएर कहिले मन्त्रालय त कहिले प्रधानमन्त्री कार्यालय धाउँदाको दुःख सम्झिँदै उनले सरकारप्रति प्रश्न उठाइन् ।उनले बालेन नेतृत्वको सरकार जनताप्रति जवाफदेही नभएको आरोपसमेत लगाइन् । जनताको समस्या उठाउँदा आफूलाई मर्यादाको पाठ पढाइनु उचित नभएको उनको भनाइ थियो ।

रास्वपाको निकै विवादित ‘क्यान्डिडेट क्लब’ खुला

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीले गरेको बाचाअनुसार क्लबमार्फत उम्मेदवार छनोट प्रक्रिया अघि बढाइएको बताएका छन् ।पहिलो चरणमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यलगायत पदमा दाबी गर्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरिएको लामिछानेले जानकारी दिएका छन् ।

‘रास्वपाले बाचा गरेअनुसार अब क्यान्डिडेट क्लब खुला भएको छ । पहिलो चरणमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यलगायत पदमा आफ्नो दाबेदारी प्रस्तुत गर्न चाहनुहुने जोसुकैलाई आवेदन खुला भएको जानकारी गराउन चाहन्छु,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले सबैलाई क्लबमा सहभागी हुन आग्रह गरेका छन् । ‘आउनुहोस्, सबै मिलेर नेतृत्व तहमा पुगौँ,’ उनले भनेका छन् ।रास्वपाले क्यान्डिडेट क्लबबाट छनोट भएकालाई आगामी २०८४ को स्थानीय तह निर्वाचनमा उम्मेदवार बनाउने तयारी गरेको छ । पार्टीले पहिलो चरणमा गाउँपालिकाबाट क्लबको सुरुवात गरेको जनाएको छ ।

तर, रास्वपाको क्यान्डिडेट क्लब विगतदेखि नै विवादमुक्त भने छैन । यसअघि प्रतिनिधिसभा निर्वाचनका क्रममा क्लबमा सहभागी कतिपय व्यक्तिले रकम बुझाए पनि उम्मेदवार बन्न नपाएको भन्दै असन्तुष्टि जनाएका थिए । कतिपयले आफूले बुझाएको रकम फिर्ता मागेका थिए ।

त्यसपछि रास्वपाको क्यान्डिडेट क्लबमाथि रकम उठाउने माध्यम बनेको भन्दै आलोचना भएको थियो । आलोचकहरूले यसलाई ‘ठगी खाने मेलो’को संज्ञासमेत दिएका थिए ।यही पृष्ठभूमिमा रास्वपाले फेरि क्यान्डिडेट क्लब खुला गरेको हो । नयाँ प्रक्रियाले विगतमा उठेका प्रश्नको सम्बोधन गर्दै कत्तिको पारदर्शी र विवादरहित रूपमा उम्मेदवार छनोट गर्छ भन्नेमा भने चासो बढेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५२ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ र बिक्रीदर २०७ रुपैयाँ ८१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८९ रुपैयाँ २९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०९ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १७ पैसा र बिक्रीदर ११० रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६६ पैसा र बिक्रीदर ४० रुपैयाँ ८२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ८१ पैसा र बिक्रीदर १० रुपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १० पैसा र बिक्रीदर १६ रुपैयाँ १६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६८ पैसा र बिक्रीदर २३ रुपैयाँ ७७ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ २२ पैसा र बिक्रीदर ४९९ रुपैयाँ १७ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ९५ पैसा बिक्रीदर ४०६ रुपैयाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ०९ पैसा रहेको छ।त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

म्याग्दी । विदेश जाने र सहर पस्ने सपना धेरैको हुन्छ । तर पर्वतको जलजला गाउँपालिका–८ फर्सेका चिरञ्जीवी श्रेष्ठको यात्रा भने फरक छ ।दश वर्ष कतार बसेर फर्किएपछि बागलुङ बजारमा ११ वर्ष तरकारी पसल सञ्चालन गरे। व्यापार राम्रै चले पनि २१ वर्षपछि उनी फेरि आफ्नै जन्मथलो फर्किए। अहिले मालढुङ्गा–बेनी सडक छेउमा श्रेष्ठ कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेर हाँस, लोकल कुखुरा, बोइलर कुखुरा र तरकारी उत्पादन गरिरहेका छन् ।

फार्मसँगै किराना पसल पनि सञ्चालनमा छ । विदेशको अनुभव, सहरको व्यवसाय र गाउँको माटोलाई जोडेर उद्यम गरिरहेका चिरञ्जीवीको जीवनयात्रा धेरैका लागि अनुशरणयोग्य बनेको छ ।

“एसएलसीसम्मको अध्ययन गरी रोजगारीको लागि १० वर्ष कतारमा बिताएर फर्किएपछि बुबा सुवास र आमा मीनाले गर्दै आएको तरकारीखेतीलाई बजारीकरणमा साथ दिन बागलुङ बजारमा ११ वर्ष तरकारी पसल चलाए”, उनले भने, “बजारको व्यापार सन्तोषजनक र सफल भए पनि २१ वर्षपछि जन्मथलो फर्किएर बुबाआमासँगै सात महिनाअघि सुरु गरेको फार्मबाट उत्साही छु ।”

आफन्तको तीन रोपनी जग्गा भाडामा लिएर रु २५ लाख लगानीमा हाँस, कुखुरापालन र व्यवसायका लागि संरचना बनाएका श्रेष्ठ परिवारले थप चार रोपनी जग्गामा मौसमी र बेमौसमी तरकारीखेती गरेका छन् ।

बुबाआमाले फर्सेमा उत्पादन गरेको तरकारी बागलुङमा बजारीकरण गरेका चिरञ्जीवी र उनकी श्रीमती रितुले रामरेखामा घर बनाए । एक जना छोरालाई उच्च शिक्षा अध्ययनका लागि क्यानडा पठाएका छन् भने अर्का छोरा काठमाडौँमा आइटी विषयमा स्नाकोत्तर अध्ययन गरिरहेका चिरञ्जीवीले बताए ।

तरकारीको तुलनामा सजिलो हुने र धौलागिरि क्षेत्रमा नयाँ भएकाले हाँस र कुखुरापालन सुरु गरेको श्रेष्ठले बताए । “दुई चरणमा प्रतिकिलो रु छ सयका दरले करिब चार सय हाँस बिक्रीबाट भएको आम्दानीले सात महिनाको दाना खर्च उठ्यो, एक सय वटा लोकल कुखुरा पनि बिक्री गरेको छ”, उनले भने, “सुरुआती आम्दानीले उत्साही बनाएको छ ।”

उनको फार्ममा हाल चार सय ५० वटा हाँस र एक सय ५० लोकल साकिनी र कोइलर जातका कुखुरा छन् । दुई वटा गाई पालेका उनिहरुले दैनिक छ लिटर दूध बिक्री गर्छन् । कुखुरा र हाँसको अण्डा पनि बिक्री हुन्छ । म्याग्दीको बेनी, पर्वतको कुश्मा र बागलुङ बजार नजिकै भएकाले हाँस र कुखुरालाई बजारको समस्या छैन् ।

उनले चिनियाँ मसकोवी जातको हाँस पालेका छन् । तीन महिना पालेपछि तीन किलोग्रामभन्दा बढी तौल हुन्छ । श्रेष्ठले हाँसको चल्ला पनि आफ्नै फार्ममा उत्पादन गर्न थालेका छन्। स्थानीयस्तरमै हाँसपालन सुरु भएपछि टाढाको बजारबाट मगाउनु नपरेको बेनी नगरपालिका–१ रत्नेचौरको रेष्टुरेष्ट व्यवसायी दिनेश रावलले बताए । उनका अनुसार हाँसको मासुको छोइला उपभोक्ताको रोजाइमा परेको छ ।

चिरञ्जीवीका बुबा सुवास र आमा मीना छोराबुहारीले बूढेशकालमा जन्मथलो फर्किएर साथ र साहरा दिएकोमा खुसी व्यक्त गरे । “एउटा परिवार दुईतिर हुँदा दुःख भएको थियो”, सुवासले भने, “विदेशको राम्रो कमाइ हुने जागीर र बजारको सुविधा त्यागेर छोराबुहारी गाउँ फर्किएकोमा हार्मीलाई गर्व लागेको छ ।”

तरकारीखेतीलाई निरन्तरता दिने र हाँसपालनलाई थप विस्तार गर्ने चिरञ्जिवीको योजना छ । उनीहरुका छिमेकी सावित्री खत्रीले धेरै मानिसहरु सुविधा र अवसरको खोजीमा बजार झर्ने र विदेशिने गर्दा गाउँबस्ति सुनसान भइरहेको अवस्थामा चिरञ्जीवीले गाउँमै सम्भावना देखाउने प्रयास गरेर सकारात्मक सन्देश प्रवाह गराएकाे बताए ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन् ।

यस्तै, प्रधानमन्त्री बालेन शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन– २०८२ असार) पेस गर्ने कार्यसूची छ ।बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावित प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, कानुनमन्त्री गौतमले नै ‘संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्ने कार्यसूची छ ।

काठमाडौँ उपत्यकामा अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र सहरी क्षेत्रमा सडक किनारका पोलमा गुजुल्टिएका, चुँडिएका र प्रयोगविहीन तार व्यवस्थापन गर्ने अभियानमा उल्लेख्य प्रगति भएको पाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रगति प्रतिवेदनअनुसार अधिकांश क्षेत्रमा तारको बन्डलिङ गर्ने काम सम्पन्न भए पनि फिनिसिङ, ट्यागिङ र बन्डल बाहिर रहेका खुला तार व्यवस्थापनमा अझै सुधार आवश्यक देखिएको छ ।

काठमाडौँ उपत्यकाका विद्युत् पोलमा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकका अत्यन्त अव्यवस्थित अवस्थामा रहेका तारले सहरी सौन्दर्यसँगै सुरक्षामा पनि चुनौती थपेको भन्दै सरकारले त्यस्ता तार व्यवस्थापनको अभियान चलाइरहेको छ । त्यस अभियानका क्रममा पहिलो चरणमा प्रमुख छ वटा स्थानमा तार व्यवस्थापन गरिएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिए ।

पहिलो चरणमा त्रिपुरेश्वर–कलङ्की–कालीमाटी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–जमल–लाजिम्पाट, सामाखुसी–टाउन प्लानिङ–गोँगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–चाबहिल–गौशाला क्षेत्रका तार व्यवस्थापन गरिएको छ ।

तार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्राधिकरणले गत जेठ २९ गते विशेष उपसमिति गठन गरेको थियो । उपसमितिमा दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी कार्यालय, इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान), नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडका प्रतिनिधि रहेका छन् ।

सोही दिन एनटीएले १५ दिनको समय सीमा तोकेर सूचना जारी गर्दै सम्बन्धित सेवा प्रदायकलाई तोकिएको रुटमा आफ्ना तारमा अनिवार्य रूपमा पहिचान खुल्ने ट्याग राख्न निर्देशन दिएको थियो । अभियानलाई प्रभावकारी बनाउन गत जेठ १६ गते प्राधिकरणले पुरानो बानेश्वर–गौशाला–चाबहिल रुटमा प्रयोगविहीन तार हटाउने र बाँकी तारमा ट्याग लगाउने काम १० दिनभित्र सम्पन्न गर्न निर्देशन दिएको थियो । तर, प्रारम्भिक चरणमै अपेक्षित गतिमा काम अघि बढ्न नसकेपछि प्रत्येक क्षेत्रका प्रमुख अपरेटर अर्थात् ‘लिड अपरेटर’ र फोकल पर्सन तोकेर कामको नियमित अनुगमन गर्न थालिएको थियो ।

त्यसबाट कुन रुटको कामको नेतृत्व कसले गर्ने र समस्याका लागि कसलाई जिम्मेवार बनाउने भन्ने विषय स्पष्ट पार्ने प्रयास भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको त्यस्ता पहलबाट पनि कामले अपेक्षित गति लिन नसकेपछि सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा गत असार ३१ र साउन १५ गते गरी दुई पटक उच्चस्तरीय समीक्षा बैठक बसेको थियो ।

मन्त्रालयस्तरीय छलफल र निर्देशनपछि प्राधिकरणले नयाँ कार्य योजना बनाएर तार व्यवस्थापन अभियान अघि बढाउने निर्णय गरेकोछ । त्यसअनुसार सेवा प्रदायकलाई पुनः जिम्मेवारी बाँडफाँड गरी १३ दिने परिमार्जित कार्य योजना लागू गरियो । त्यसमा कुन सेवा प्रदायकले कुन क्षेत्रमा नेतृत्व गर्ने, कति दूरीमा काम गर्ने, कति पोल व्यवस्थापन गर्ने र कति जनशक्ति परिचालन गर्ने भन्ने विवरणसमेत पुनः निर्धारण गरिएको थियो ।

प्राधिकरणको रुटगत अनुगमनअनुसार जडीबुटी क्षेत्रमा तार व्यवस्थापनको काम सम्पन्न भएको छ । अधिकांश तार बन्डलिङ गरिएको भए पनि कामको अन्तिम ‘फिनिसिङ’ भने कमजोर देखिएको जनाइएको छ । त्यस क्षेत्रमा अत्यन्त थोरै स्थानमा मात्र सेवा प्रदायकको पहिचान खुल्ने ट्याग राखिएको पाइएको दूरसञ्चार प्राधिकरणले जनाएको छ । त्यहाँ बन्डलिङ गरिए पनि ‘केबल लूप’ भने अझै देखिन्छन् । त्यहाँ तारलाई एकै ठाउँमा बाँध्ने काम मात्र नभई प्रत्येक तारको पहिचान र अन्तिम व्यवस्थापन पनि आवश्यक रहेको प्राधिकरणको निश्कर्ष छ ।

बानेश्वर क्षेत्रमा भने समग्र अवस्था सन्तोषजनक देखिएको प्राधिकरणको मूल्याङ्कन छ । अधिकांश खुला तथा लत्रिएका तार हटाइएका वा व्यवस्थित गरिएका छन् । यद्यपि, केही स्थानमा ट्याग छुटेका छन् । आइस्पानले प्रयोग गरेका केही ट्यागमा च्यातिने समस्या पनि देखिएको छ । त्यस क्षेत्रमा पनि केबल लूप रहेको प्राधिकरणले जनाएको छ ।

सामाखुसी क्षेत्रमा तार बन्डलिङ गरिएको भए पनि समग्र दृश्य अझै फोहोर तथा अव्यवस्थित अवस्थामै रहेको प्राधिकरणको भनाइ छ । त्यहाँ सबै स्थानमा समान ढङ्गले ट्यागिङ गरिएको पाइँदैन । अर्थात् तार बाँध्ने काम भए पनि तारको पहिचान, लूप व्यवस्थापन र अन्तिम फिनिसिङमा एकरूपता कायम हुन सकेको देखिन्न ।

त्यस्तै, लाजिम्पाट–त्रिपुरेश्वर रुटमा आंशिक प्रगति भएको छ । अधिकांश क्षेत्रमा तार बन्डलिङ गरिएको भए पनि दरबार हाइस्कुलको विपरीत दिशामा केही खुला तार अझै देखिएका छन् । केही स्थानमा नेपाल टेलिकमका ट्याग देखिएका छन् । केही क्षेत्रमा आइस्पानका ट्याग राखिएको पाइएको छ । तर, समग्र रुटमा ट्यागिङ सम्पन्न हुन सकेको छैन । यस क्षेत्रमा पनि केबल लूप अझै छन् ।

त्रिपुरेश्वर–कलङ्की रुटमा अभियानको प्रगति तुलनात्मक रूपमा राम्रो देखिएको छ । अधिकांश क्षेत्रमा बन्डलिङ सम्पन्न भएको छ र तारलाई व्यवस्थित गर्ने काम प्रभावकारी रूपमा अघि बढेको छ । यद्यपि, केही निश्चित स्थानमा बन्डलभन्दा बाहिर खुला तार अझै बाँकी छन् । अन्य रुटको तुलनामा यस क्षेत्रमा ट्यागिङ भने राम्रो देखिएको छ । सेवा प्रदायकका तारमा आवश्यक पहिचान खुल्ने ट्याग सही ढङ्गले राखिएको पाइएको प्राधिकरणले जनाएको छ ।

कीर्तिपुर क्षेत्रमा पनि तार व्यवस्थापनमा राम्रो प्रगति भएको छ । अधिकांश क्षेत्रमा बन्डलिङ सम्पन्न गरिएको छ । तर, केही स्थानमा बन्डलभन्दा बाहिर खुला तार बाँकी छन् । ट्यागिङ भने सीमित स्थानमा मात्र गरिएको पाइएको छ । त्यसैले बन्डलिङ सम्पन्न भएको भए पनि ट्यागिङ र अन्तिम फिनिसिङको काम अझै पूरा गर्नुपर्ने देखिएको छ ।

प्राधिकरणको अनुगमनमा एउटा समान समस्याका रूपमा ‘केबल लूप’ लगभग सबै रुटमा देखिएको छ । जडीबुटीदेखि बानेश्वर, सामाखुसी, लाजिम्पाट–त्रिपुरेश्वर, त्रिपुरेश्वर–कलंकी र कीर्तिपुरसम्मका रुटमा केबल लूपहरू रहेको प्राधिकरणले जनाएको छ । सेवा विस्तार वा मर्मतका लागि केही अतिरिक्त केबल राख्ने अभ्यास भए पनि त्यसको उचित व्यवस्थापन नहुँदा यस्ता लूपले फेरि सडकको दृश्य अव्यवस्थित बनाउने जोखिम रहन्छ । त्यसैले तार व्यवस्थापन अभियानमा लूप राख्ने निश्चित मापदण्डसमेत आवश्यक देखिएको छ ।

त्यस्तै तार व्यवस्थापन अभियानको अर्को प्रमुख कमजोरी ट्यागिङमा देखिएको छ । प्राधिकरणले तारमा सेवा प्रदायकको पहिचान खुल्ने ट्याग अनिवार्य गरे पनि सबै रुटमा समान रूपमा ट्यागिङ हुन सकेको छैन । कतिपय क्षेत्रमा ट्याग नै नभएको, कतिपय ठाउँमा ट्याग छुटेको र केही स्थानमा ट्याग च्यातिएको पाइएको छ । ट्यागिङ प्रभावकारी नहुँदा भविष्यमा बिग्रिएको वा प्रयोगविहीन तार कुन कम्पनीको हो भनेर पहिचान गर्न पुनः समस्या आउन सक्छ । त्यसैले तार व्यवस्थापनसँगै ट्यागिङलाई अनिवार्य र स्थायी व्यवस्थापन प्रणालीका रूपमा लागू गर्नुपर्ने देखिएको छ । अधिकांश रुटमा तार बन्डलिङ भइसकेको भए पनि खुला तार, केबल लूप, असमान ट्यागिङ र कमजोर फिनिसिङका समस्या बाँकी छन् । त्यसैले अबको चरणमा ‘बन्डलिङ सम्पन्न’ भएको घोषणा मात्र नगरी प्रत्येक रुटको अन्तिम निरीक्षण गरेर बाँकी समस्या सच्याउनुपर्ने आवश्यकता देखिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै विद्युत् तथा दूरसञ्चार पूर्वाधार निर्माण गर्दा भविष्यमा तार पुनःजथाभावी फैलिन नदिन साझा पूर्वाधार तथा भूमिगत युटिलिटी डक्टको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि प्राधिकरणले औँल्याएको छ । सरकारले यसअघि पनि काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा अव्यवस्थित तार हटाउने अभियान सञ्चालन गर्दै आएको थियो । तर, नयाँ तार थपिँदै जाने र पुराना तार समयमै नहटाउने प्रवृत्तिका कारण समस्या पुनः दोहोरिँदै आएको छ ।

सबै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, यी कागजात पुग्छन् व्यक्तिको घरसम्मै

काठमाडौँ । जिल्ला हुलाक कार्यालय हुम्ला र जिल्ला प्रशासन कार्यालय हुम्लाबिच सरकारी कागजात घरघरमै पुर्‍याउने विषयमा सम्झौता भएको छ । हुलाक सेवालाई ‘सरकारी कुरियर सेवा’ का रूपमा विकास गर्ने सरकारी अभियानअन्तर्गत सो सम्झौता भएको हो । हाल ७७ वटै जिल्लामा सरकारी कुरियर सेवा पुगेको छ ।

मन्त्रिपरिषद्को पहिलो निर्णयले हुलाकलाई सरकारी सामग्री तथा कागजात ढुवानी सेवाका रूपमा विकास गर्ने उद्देश्य राखेको थियो । हुलाक सेवा विभागले सरकारी कागजात तथा सामग्री ढुवानीसँगै राहदानी, सवारी चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्रलगायत सेवा नागरिकको घरदैलोसम्म पुर्याउन सुरु गरिसकेको छ ।

हुलाक सेवा विभागले २०८३ भदौ १ गतेसम्म ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा दुई लाख ५१ हजार ५०१ थान राहदानी हुलाकमार्फत ढुवानी गरिएको छ ।

तीमध्ये आठ हजार ७१२ थान राहदानी सेवाग्राहीको घरदैलोमै पुर्‍याएर वितरण गरिएको छ । त्यसैगरी, सवारी चालक अनुमतिपत्रतर्फ यातायात व्यवस्था विभागबाट प्राप्त १० लाख ३८ हजार ८०८ थान अनुमति पत्र सात वटै प्रदेशका यातायात व्यवस्था कार्यालयमा हुलाकमार्फत पुर्‍याइएको छ ।

तीमध्ये एक हजार ९९ थान अनुमति पत्र सेवाग्राहीको घरदैलोमै पुर्‍याइएको विभागले जनाएको छ । सवारी चालक अनुमति पत्र घरदैलोमै पुर्‍याउने उद्देश्यले कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र हुलाक निर्देशनालय, सुर्खेतबिच समझदारी पत्रमा हस्ताक्षर भई सेवा सुरु भइसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा पनि यस्तै सेवा विस्तार गर्न अन्तिम तयारी भइरहेको विभागले जनाएको छ । शैक्षिक प्रमाणपत्र घरदैलोमै पुर्‍याउने व्यवस्थाअन्तर्गत नेपाल खुला विश्वविद्यालय र हुलाक सेवा विभागबिच गत असार ८ गते सम्झौता भई सेवा कार्यान्वयनमा आएको छ ।

त्रिभुवन विश्वविद्यालयसँग पनि यस्तै सम्झौताका गर्न छलफल भइरहेको छ । स्वास्थ्य क्षेत्रमा पनि हुलाक सेवाको प्रयोग विस्तार भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सम्झौताअनुसार १७ वटा अस्पतालका एक हजार ५१० वटा प्रयोगशाला नमुना ढुवानी गरिएको छ ।

स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रसँग भएको सम्झौताअनुसार ४४ हजार १८४ थान सामग्री हुलाकमार्फत ढुवानी गरिएको छ । स्वास्थ्य बीमा बोर्डसँगको सम्झौता अनुसार १४२ बोरा स्वास्थ्य सामग्री ढुवानी गरिएको विभागले जनाएको छ ।

हाल सिम कार्डबाहेक नेपाल टेलिकमका अन्य सामग्री पनि हुलाक सेवामार्फत ढुवानी भइरहेको छ । भूमि व्यवस्था तथा अभिलेख विभाग र हुलाक सेवा विभागबिच साउन ८ गते सम्झौता भई जग्गाधनी पुर्जा, सरकारी कागजातलगायत सामग्री ढुवानी तथा वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

हुलाक सेवालाई परम्परागत चिठी पत्र आदानप्रदानको माध्यममा सीमित नराखी सरकारी सेवा तथा कागजात नागरिकको घरदैलोसम्म पुर्‍याउने भरपर्दो सार्वजनिक सेवा प्रणालीका रूपमा विकास गर्ने प्रयास भइरहेको विभागले जनाएको छ । सेवालाई थप प्रभावकारी, छरितो र कम खर्चिलो बनाउन डाँक मार्गको पुनरावलोकन गरी गत जेठ ३१ गते स्वीकृत गरिएको छ ।

त्यसैगरी, हुलाक सङ्केत प्रणालीलाई सात अङ्कीय बनाउँदै आन्तरिक निगरानी प्रणालीमा समेत स्तरोन्नति गरिएको छ । वैदेशिक हुलाक सेवालाई सहज बनाउन हुलाक सेवा विभागको समन्वयमा वैदेशिक हुलाक भन्सार कार्यालय र राष्ट्रिय वाणिज्य बैंकका सेवा बिदाका दिनसमेत सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक हुलाक सामग्रीको ढुवानीलाई थप छरितो बनाउन त्यहाँ द्रुत जाँच सेवा लागू गरिएको छ । हुलाक सामग्रीको हवाई ढुवानी सहज बनाउन यतिलगायत विभिन्न वायुसेवा कम्पनीसँग सम्झौता तथा पूरक सम्झौता गरिएको छ । नेपाल वायुसेवासँग अन्तर्राष्ट्रिय डाँक ढुवानीको रकम भुक्तानीसम्बन्धी विषयमा छलफल गरी नेपाल वायुसेवा र हुलाक सेवा विभागबिच भएको सम्झौता संशोधन गर्ने निर्णय भएको विभागले जनाएको छ ।

हुलाक सेवालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित गर्न अन्तर्राष्ट्रिय हुलाक सङ्घको सन् २०२५ को निर्देशिकाअनुसार पत्र तथा पार्सलसम्बन्धी विवरण अद्यावधिक गर्ने पहिलो चरणको काम सम्पन्न भएको छ भने दोस्रो चरणको काम सुरु गरिएको छ ।

हुलाकको आन्तरिक निगरानी प्रणालीलाई थप स्तरोन्नति गरी राहदानी विभागसँग प्रत्यक्ष जोड्ने विषयमा सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग, केन्द्रीय हुलाक कार्यालय, राहदानी विभाग र परराष्ट्र मन्त्रालयबिच छलफल भएको छ । सरकारको नीति तथा कार्यक्रमअनुसार देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’ मा रूपान्तरण गर्ने अभियानसमेत अघि बढाइएको छ ।

यसका लागि आवश्यक मापदण्ड स्वीकृत गरी ५० वटा हुलाक कार्यालयलाई सूचना प्रविधिमा आधारित आधुनिक हुलाकका रूपमा विकास गर्न छनोट गरिएको छ । त्यसैगरी, स्वास्थ्य सेवा विभागसँग औषधिजन्य सामग्री ढुवानीका लागि सम्झौता गर्ने विषयमा प्रारम्भिक छलफल सम्पन्न गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ । गैरकर राजस्व अभिवृद्धि तथा सेवा प्रवाहलाई सहज बनाउन सुरक्षण मुद्रण केन्द्रसँगको सहकार्यमा रु ३४ लाख ७४ हजार थान हुलाक टिकट छपाइ गरिएको छ ।

थप हुलाक टिकट छपाइका लागि डिजाइन स्वीकृत गरी आवश्यक प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । हुलाक सेवाको प्रयोग बढाउन सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय विस्तार गरिएको छ । यस क्रममा द्रुत हुलाक, पार्सल तथा पत्र सेवासम्बन्धी अन्तरक्रिया र जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

काभ्रेपलान्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ ।

योजनाअनुसार उक्त सडकखण्डमा १० मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

हाल मुख्य कालोपत्रे भएको सडकको चौडाइ औसतमा पाँच दशमलव पाँच मिटर छ । चौडा पारिने सडकको लम्बाइ करिब २० किलोमिटर रहेको कार्यालयले जनाएको छ ।

सडक चौडा पार्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम भइरहेको छ ।

डिपिआरअनुसार सडक विस्तारमा रु तीन अर्ब ७९ करोड ७८ लाख खर्च हुने अनुमान गरिएको छ । सडक कालोपत्रे गर्न प्रतिकिलोमिटर रु १८ करोड पाँच लाख खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ ।

सडकको दायाँबायाँ १५ मिटरसम्म बनेका संरचना तथा जग्गाको मुआब्जा वितरण भइसकेको योगेशले बताए । विस्तार गरिने सडक खण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकामा पछ ।

विसं २०८१ असोजमा आएको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो । रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएकामा हाल क्षतिग्रस्त क्षेत्रमा स्थायी पुनर्निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ ।

क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलान्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता भई काम अघि बढाइएको छ ।

काभ्रेपलान्चोकतर्फका तीन सडकखण्डका लागि रु सात अर्ब ५० करोड र सिन्धुलीतर्फको एक सडकखण्डका लागि रु एक अर्ब बराबरको स्रोत सुनिश्चित गरिएको कार्यालयले जनाएको छ ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) निर्माण सुरु गरिएको थियो ।

एक सय ६० किलोमिटर लामो उक्त राजमार्ग निर्माण सम्पन्न भएपछि विसं २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो ।

मृतक बालकका परिवार र प्राधिकरणबिच सहमति

मुगु । रारा विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा डुबेर मृत्यु भएका बालकका परिवार र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच सहमति भएको छ ।

गत साउन ३० गते विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर छायानाथ रारा नगरपालिका–४ ताल्चाका ११ वर्षीय गौरव भामको मृत्यु भएको थियो ।

ठेकेदारले खनेको खाल्डोमा वर्षाको पानी जमेको र सुरक्षाका लागि घेराबार नगरी खुला छाडिएको अवस्थामा बालकको डुबेर मृत्यु भएको परिवारको भनाइ छ । घटनापछि पीडित परिवारले उचित राहत तथा विमानस्थलको सुरक्षा व्यवस्थामा ध्यान दिन माग गर्दै विरोध गर्दै आएका थिए ।

सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरण प्रतिनिधि र पीडित परिवारबिच नेपाल नागरिक उड्डयन कार्यालय नेपालगन्ज परिसरमा सहमति भएको हो ।

सहमतिअनुसार मृतक बालक गौरवका बुवा जयबहादुर भामलाई योग्यता र क्षमताअनुसार उपयुक्त करार सेवाको रोजगारीका लागि नागरिक उड्डयन कार्यालय रारा विमानस्थलमार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणमा सिफारिस गरिनेछ ।

त्यस्तै, मृतकका परिवारलाई राहत स्वरूप टर्मिनल भवन निर्माणकर्ता बुढी इन्टरनेसनल कन्स्ट्रक्सन प्रालिले तत्काल रु १० लाख उपलब्ध गराउने र मृतकका परिवारले जिल्ला प्रहरी कार्यालय मुगुमा दिएको जाहेरी तथा उजुरी फिर्ता लिने सहमति भएको छ ।

सहमति कार्यान्वयनका लागि सहजीकरण गरिने छायानाथ रारा नगरपालिका–८ का वडाध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए ।

ठेकेदार पक्षको लापरबाही, मृतक परिवारलाई राहत तथा यात्रु टर्मिनल भवन निर्माणमा भएको ढिलाइबारे मुगुबाट निर्वाचित सङ्घीय सांसद खड्गबहादुर शाहीले सोमबारको संसद् बैठकमा ध्यानाकर्षण गराएका थिए ।

समय अगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

मनाङ । मनाङमा सरकारी वकिलको कार्यालयले नयाँ भवनबाट सेवा सुरु गरेको छ । नवनिर्मित भवनको सोमबार महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले उद्घाटन गरे ।

भवन उद्घाटन गर्दै महान्यायाधिवक्ता कँडेलले सरकारी वकिलको मुख्य जिम्मेवारीअनुसार जिल्लामा सरकारका निकायलाई कानुनी रायसल्लाह दिनु तथा सरकारको पक्षमा मुद्दा सञ्चालन गर्नु रहेको बताए ।

उनले संविधानले प्रत्यायोजन गरेको अधिकारअनुसार महान्यायाधिवक्ताले जिल्लास्तरमा सरकारी वकिललाई अधिकार प्रत्यायोजन गर्ने र सोहीअनुसार सरकारी वकिलले कार्यसम्पादन गर्दै आएको जानकारी दिए ।

जिल्ला समन्वय समिति मनाङका प्रमुख चिनबहादुर घलेले नयाँ भवन निर्माणपछि सदरमुकामस्थित सरकारी कार्यालयमा सेवा प्रवाह थप सहज हुने बताए ।

उनले कतिपय सरकारी कार्यालयका आफ्नै भवन नभएको अवस्थामा सरकारी वकिलको कार्यालयका लागि सुविधासम्पन्न भवन निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको बताए ।

नायब महान्यायाधिवक्ता लोकराज पराजुलीले सरकारी वकिलको कार्यालय न्याय प्रणालीको अभिन्न अङ्ग भएको बताए ।

मनाङ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद पौड्यालले सेवा प्रवाहलाई सहज बनाउन सरकारी कार्यालयका भवन सेवाग्राहीमैत्री हुनुपर्ने बताए । उनले कार्यालयमा आउने सेवाग्राहीको सुरक्षा र सहज पहुँच सुनिश्चित गर्न आवश्यक संरचना तथा प्रविधिको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

भवन निर्माणका लागि विसं २०८१ माघ ११ गते रु चार करोड ८३ लाख १६ हजार २९ मा सम्झौता भएको थियो । सम्झौताअनुसार १८ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले करिब चार महिनाअघि नै काम सम्पन्न गरी हस्तान्तरण गरेको हो ।

इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वाशिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार होर्मुज जलमार्गबारे इरानसँगको अमेरिकी सम्झौतामा ‘बाधा पुर्याएको ओमानमाथि बमबारी गर्ने चेतावनी दिनुभएको छ ।उहाँले इरानलाई आत्मसमर्पण गर्न आग्रह गर्नुभएको छ । “यदि ओमानले बाधा पुर्यायो भने हामी उनीहरूमाथि व्यापक बमबारी गर्नेछौँ,” ट्रम्पले फक्स न्यूजका पत्रकार ट्रे यिङ्स्टसँग भन्नुभयो ।

यिङ्स्टले ओमान र इरानबीच जलमार्गको नियन्त्रणबारे चलिरहेको वार्तालाई उल्लेख गर्दा वासिङ्टनले पनि ओमानसँग छुट्टै वार्ता अघि बढाइरहेको छ ।इरानी र ओमानी अधिकारीहरू हप्ताौंदेखि समुद्री मार्गको भविष्यको नौवहन व्यवस्थाबारे कुराकानी गरिरहेका छन्।तेहरानको विदेश मन्त्रालयले सोमबार बिहान दुवै पक्ष संयुक्त घोषणापत्रमा काम गरिरहेको बताएको थियो।

राष्ट्रपति ट्रम्पले बारम्बार जोड दिनुभएको छ, “हर्मुज जलमार्गलाई तेहरानले मध्यपूर्व युद्ध सुरु भएको दिन फेब्रुअरी २८ देखि प्रभावकारी रूपमा बन्द गरेको थियो। अमेरिकाले यसलाई आफ्नो नियन्त्रणमा रहेको बताएको छ तर यहाँ यहाँबाट स्वतन्त्ररूपमा यातायात सेवा अझै अवरुद्ध छ।शुक्रबार ट्रम्पले हर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने दाबी गर्नुभएको थियो भने इरानले यो महत्त्वपूर्ण ऊर्जा मार्ग ‘इरानी नै रहने’ जवाफ दिएको थियो।

अमेरिकी–इजरायली इरान युद्ध सुरु हुनुअघि हर्मुज जलमार्ग खुला अन्तर्राष्ट्रिय जलमार्ग मानिन्थ्यो। यसबाट विश्वको ऊर्जा ढुवानीको ठूलो हिस्सा र अन्य वस्तुहरू निर्यात हुन्छन् ।तेहरानले जलमार्गको प्रभावकारी नियन्त्रणलाई अमेरिकी नेतृत्वको सैन्य शक्ति नष्ट गर्ने र विवादास्पद परमाणु ऊर्जा कार्यक्रम त्याग्न बाध्य पार्ने प्रयासविरुद्धको दबावका रूपमा प्रयोग गरेको छ ।

इरानको तट हर्मुजको उत्तरतिर छ भने ओमान दक्षिणतिर छ। ट्रम्पले इरानले ‘आत्मसमर्पणको सेतो झण्डा उठाउनुपर्छ’ भनेको राष्ट्रपतिसँगको अन्तर्वार्ताबारे यिङ्स्टले एक्समा पोस्ट गर्नुभएको छ।

राष्ट्रपति ट्रम्पले नोभेम्बरको अमेरिकी मध्यावधि चुनावअघि युद्ध अमेरिकीहरूबीच अत्यन्त अलोकप्रिय भए पनि सम्झौता गर्न हतार नभएको बताउनुभयो ।विपक्षी डेमोक्र्याट्हरूले ट्रम्पका रिपब्लिकनहरूबाट काङ्ग्रेस (संसद्) मा नियन्त्रण लिन खोजिरहेका छन्। ट्रम्पले यिङ्स्टलाई आफ्नो प्रशासन र इरानको रिभोल्युशनरी गार्डका अधिकारीहरूबीच प्रत्यक्ष ‘ब्याक–च्यानल’ रहेको बताउनुभयो ।

“उनीहरू राम्रा पोकर खेलाडी हुन्, तर उनीहरू मरिरहेका छन्,” उहाँले भनेको भनाईलाई उद्धृत गरिएको छ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउनको दोस्रो पाक्षिकका विजेता नम्बर घोषणा गरेको छ ।अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिमा उपहार विजेता कुपनको घोषणा गरिएको हो ।

विभागका अनुसार साउन दोस्रो पाक्षिकमा रु १० लाखको बम्पर उपहार ०२६८८८९७९०३९ नम्बरको कुपन भएका उपभोक्ताले प्राप्त गर्नुभएको छ । गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट रु ३५० को सामान खरिद गरेका उपभोक्ताले उक्त बम्पर उपहार जितेको विभागले जनाएको छ ।

त्यसैगरी साउन १६ देखि ३१ गतेसम्मका १६ विजेताले जनही रु एक लाख ३३ हजार ३३४ प्राप्त गरेका छन् । जसमा ०३०३४२२७९९५६, ०१९२५६५१०९२५, ०२६१४४५१५००५, ०३१७९९९३५०८२, ०१७७६६१०७००५, ०१८१२८७५९४०९, ०२४६७३१७१९०४, ०२११८४०००६५३, ०२३८५६८८५३७०, ०२५३५७३३१९८१, ०२२४५८०९६६६८, ०१६६६७२९०१४६, ०२००३७२८३७४७, ०२९१८४६२२६६५, ०२७७११४८७१४५ र ०२८६५७७७५४५९ कुपन नम्बर भएका उपभोक्ताले उक्त रकम जितेको विभागले जनाएको छ ।

गत साउन १६ देखि ३१ गतेसम्मको अवधिमा मात्रै तीन लाख ५७ हजार १४९ नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता (अपलोड) भएका थिए ।यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार सङ्ख्या सात हजार ७७ मात्रै थियो ।

क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार सङ्ख्या दुई करोड ५६ लाख आठ हजार ९४ बाट बढेर तीन करोड २० लाख ८६ हजार ३८० पुगेको छ ।विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कूल कारोबार सङ्ख्या तीन करोड २४ लाख ४३ हजार २२९ पुगेको छ ।

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो ।

मुख्यमन्त्री आचार्यलाई नेपाल कम्युनिष्ट पाटी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा पार्टी र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । प्रदेशसभामा कायम ८३ मध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी हुनुभयो ।

विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख तुलाराम घर्तीमगरले घोषणा गर्नुभयो । प्रदेशसभा बैठकमा आठ जना सांसद अनुपस्थित रहनुभएको थियो ।

बैठकको हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित रहनुभएको हो । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भने तटस्थ रहनुभएको थियो ।

नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुभएको हो । कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको पक्षमा रहेको दलको समर्थन कायम राख्दै मुख्यमन्त्री आचार्यले बहुमत जुटाउनुभएको हो ।

श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो

काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी विधिपूर्वक पूजाआराधना गरेर मनाइएकोे छ ।

आजको दिनमा घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभरी दुःख नपाइने धार्मिक विश्वास रही आएको छ ।

साथै चट्याङ, अग्निभय र मेघका कारण समेत पीडित हुनु नपर्ने भन्ने कुराको उल्लेख बराह लगायतका पुराणमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

आजको दिन पशुपति क्षेत्रस्थित वासुकीनाथ मन्दिर, काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत नेपालभरका नागदह, नागकुण्ड र नागस्थानहरुमा नागको पूजाआराधना गरी मेला लाग्ने गर्दछ ।

साथै चाँगुनारायण मन्दिरलगायत देशभरका नारायण मन्दिरमा पनि भक्तजनको लाम लाग्ने गर्छ । आज नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानले समेत आराम गर्ने परम्पर रहीआएको छ।

आजको दिनमा खनजोत गरेमा नाग मारिन्छन् भन्ने धार्मिक विश्वास छ। घर, खेत, बारीमा पनि नागले बास गर्छन् भन्ने वैदिक मान्यता छ । यसै मान्यताका आधारमा खेत बारीमा नागस्थान बनाई पूजा गरिन्छ ।

नागपञ्चमीका दिन विधिपूर्वक पूजा आजा गरी घरको मूल ढोकामा नाग टाँसेमा वर्षभर विद्युत, अग्नि, सर्प, चट्याङ लगायतको भय नहुने धार्मिक विश्वास समेत नेपाली समाजमा छ। नाग अर्थात् सर्पले वातावरणीय सन्तुलनका लागि समेत सहयोग गर्ने गर्छ ।

हमास नेतृत्वसँगको भेटपछि कुश्नरको नेतन्याहुसँग भेट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत जरेड कुश्नरले हमासका नेताहरूसँग छलफल गरेपछि सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेट गर्नुभएको छ । उहाँले इजरायलले अहिलेसम्म अस्वीकार गरेको गाजा शान्ति योजना पुनर्जीवित गर्ने प्रयासमा मध्यपूर्वको भ्रमण गर्नुभएको हो ।

यो भेट ट्रम्पको गाजा योजनाको पछिल्लो चरणलाई प्यालेस्टिनी इस्लामी समूह हमासले समर्थन गरेको दुई हप्तापछि भएको हो। नेतन्याहुले प्रस्तावलाई समर्थन गर्न अस्वीकार गर्दै कुनै पनि सम्झौतामा समूह ‘वास्तविक रूपमा निरस्त्र’ हुनुपर्ने अडान लिनुभएको छ ।

एक कूटनीतिक अधिकारीले एएफपीसँग भने, “जेरुसेलममा भएको यो बैठक सोमबार बिहान ढिलो सुरु भएको थियो।

ट्रम्पका ज्वाइँ कुश्नरले आइतबार इजिप्टको भूमध्यसागरीय शहर एल–अलामिनमा हमासका नयाँ नेता खलिल अल–हय्यासँग भेट गर्नुभएको यसबारे जानकार स्रोतहरूले एएफपीलाई बताए । यो संयुक्त राज्य अमेरिका र उसले आतङ्कवादी समूहको रूपमा वर्गीकरण गरेको सङ्गठनबीचको एकपटक अकल्पनीय वार्ताको पछिल्लो कडी हो ।

कुश्नरले सन् २०२३ अक्टोबर ७ को इजरायलविरुद्धको अभूतपूर्व आक्रमणले गाजा युद्ध सुरु गरेको हमास समूहलाई उसका हतियार त्यागेको प्रमाणित गर्न र प्यालेस्टिनी क्षेत्रको शासनमा कुनै भविष्यको भूमिका त्याग्न माग गरेको स्रोतहरूले बताए । यो नेतन्याहुका लागि मुख्य अवरोध हो।

नेतन्याहुले कुश्नरसँग बन्द कोठामा भेट गर्ने र भेटमा ट्रम्पको ‘शान्ति बोर्ड’ का गाजा क्षेत्रका उच्च प्रतिनिधि निकोले म्लादेनोभ पनि उपस्थित हुने बुझिएको छ।

कुश्नरको इजरायली नेतासँग लामो पारिवारिक सम्बन्ध छ।

इजरायली मिडियाले शान्ति समितिका वरिष्ठ अधिकारी पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर पनि उपस्थित हुने रिपोर्ट गरेको छ ।

एक हमास अधिकारीले भने,“समूहले कुश्नरलाई गाजा योजनाप्रति प्रतिबद्ध रहेको र नेतन्याहुमाथि दबाब दिन चाहेको बताएको छ।”

हमास अधिकारीले एएफपीसँग भने, “हमासले अमेरिकी प्रशासनसँग नेतन्याहुको सरकारलाई रोडम्याप सम्झौता पालना र कार्यान्वयन गर्न दबाब दिन माग गरेको छ । हमास इजरायलको सम्झौताप्रतिको अडानबारे अमेरिकी प्रशासनको प्रतिक्रियाको प्रतीक्षा गरिरहेको छ।”

ट्रम्प प्रशासन विनाशकारी द्वन्द्व अन्त्य गर्ने आशाले हमाससँग प्रत्यक्ष संलग्न हुन बढ्दो रूपमा सहज भएको छ । उसले अक्टोबरको युद्धविराम सम्झौता पनि वार्ता गरेको थियो जसले बाँकी इजरायली बन्धकहरूको रिहाइ गराएको थियो ।

–कडा सम्बोधन–

नेतन्याहु अक्टोबरमा चुनावको सामना गर्दै हुनुहुन्छ । इजरायली जसका सर्वेक्षणहरूले निर्वाचनमा कडा मुकाबला हुने देखाएका छन् । उहाँ ट्रम्पको समर्थनलाई आफ्नो अभियानमा जोड दिनुभएको छ तर अहिले ट्रम्पलाई चुनौती दिन बढ्दो रूपमा तयार देखिनुभएको छ ।

प्रधानमन्त्रीले फेब्रुअरीको अन्त्यमा सुरु भएको अमेरिकी–इजरायली इरान युद्ध रोकेर तेहरानका धार्मिक नेताहरूसँग सम्झौता खोज्ने ट्रम्पको निर्णयप्रति पनि आफ्नो असन्तुष्टि स्पष्ट पारेका छन्।

सुरुमा गाजा योजनाको मन्द आलोचना गरेका नेतन्याहुले गत साता आफ्नो क्याबिनेटलाई यसलाई अस्वीकार गरेको जानकारी दिनुभएको थियो । उहाँले प्यालेस्टिनी क्षेत्रबाट सेना नहटाउने प्रतिज्ञा गर्नुभयो ।

यो अडान म्लादेनोभले उहाँलाई आश्वासन दिएपछि आएको हो । हमासको पूर्ण निरस्त्रीकरण नभएसम्म इजरायलले फिर्ता हुनुपर्दैन। यसले शान्ति समितिको पहिलेको चरणबद्ध फिर्ताको आह्वानलाई अस्वीकार गरेको थियो ।

एक अन्तर्वार्तामा नेतन्याहुको क्याबिनेटका अति–दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गभिरले गाजामा सामूहिक आक्रमण जारी राख्न आह्वान गर्नुभएको छ ।

बेन गभिरले एक पूर्व गाजा बन्धकसँगको पोडकास्टमा भन्नुभयो , “मलाई लाग्छ गाजामा हरेक रात लक्षित आक्रमण गर्नुपर्छ । दिनमा ३० देखि ४० हमास लडाकूको मृत्यु हुने गरी आक्रमण भएमा मात्र उनीहरू गम्भीर बन्नेछन् ।”

“अहिले तपाईंलाई खतरा पु¥याउनेहरू मात्र होइन। यी मानिसहरू बाँच्नै हुँदैन”, उहाँले भन्नुभयो, “उनीहरूलाई मानव भनेर बोलाएर म उनीहरूलाई सम्मान दिइरहेको छु।”

आइतबार साउदी अरब, इजिप्ट र संयुक्त अरब इमिरेट्ससहित आठ मुस्लिम–बहुल देशहरूले संयुक्त वक्तव्यमा इजरायलको गाजा योजना अस्वीकारको निन्दा गरेका थिए । नेतन्याहुले इजरायलसँगको सम्बन्धलाई मुख्य उपलब्धि मान्ने यी देशहरूको आलोचना गर्नुभएको थियो ।

ट्रम्पले शान्ति योजना प्रवद्र्धन गरेपछिको शान्त अवधिसँगै इजरायलले गाजामा हवाई आक्रमण पुनः सुरु गरेको छ । अक्टोबरको युद्धविरामपछि पनि गाजामा हिंसा पूर्ण रूपमा रोकिएको छैन ।

युद्धविराम अक्टोबर १० मा लागू भएदेखि इजरायली सञ्चालनमा कम्तीमा एक हजार २६५ प्यालेस्टिनी मारिएका छन् । यो तथ्याङ्क हमासको नियन्त्रण रहेको गाजास्थित स्वास्थ्य मन्त्रालयको हो।

संयुक्त राष्ट्रसङ्घले यसका तथ्याङ्कलाई विश्वसनीय मानेको छ।

इजरायली सेनाले सोही अवधिमा गाजामा कारबाहीका क्रममा आफ्ना पाँच जनाको मृत्यु भएको रिपोर्ट गरेको छ ।

संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभामा यही भदौ १० गते प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम तय गरिएको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तरको कार्यक्रम तय गरिएको जानकारी दिएका हुन् ।

मुलुकीसंहिता समयअनुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मुलुकीसंहिता समयअनुकूल संशोधन गर्नुपर्ने आवश्कता भएको बताएकी छिन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आज ‘संहिता दिवस–२०८३’ का अवसरमा आयोजित समारोहमा मन्त्री गौतमले मुलुकीसंहिता न्यायमुखी, नागरिकमैत्री र कार्यान्वयन गर्न सकिने गरी संशोधन गर्नुपर्ने बताएकी हुन् ।

उनले भने, “मुलुकीसंहिता दिवसले सबैलाई एउटा साझा सङ्कल्प गराओस्, नागरिकको विश्वासका लागि उत्तरदायी राज्य बनाउनुपर्छ ।” कत्रिम बुद्धिमत्ता, साइबर अपराध, डिजिटल कारोबार, नयाँ प्रकारका आर्थिक अपराध, वातावरणीय सङ्कट, नयाँ प्रकृतिका सामाजिक सम्बन्ध र बदलिँदो रोजगारीका स्वरूपले कानुनका अगाडि नयाँ प्रश्नहरू खडा गरिरहेको मन्त्री गौतमको भनाइ थियो ।

कानुन आयोगलाई अझ सक्षम, अनुसन्धानमुखी र प्रभावकारी संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको भन्दै मन्त्री गौतमले कानुन निर्माणमा संलग्न कानुन अधिकृतहरूको क्षमता विकास, अनुभव आदानप्रदान र व्यावसायिक दक्षता अभिवृद्धिका लागि कानुन अधिकृत सम्मेलनलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताइन् ।

मन्त्री गौतमले कानुन आयोग सरकारका लागि कानुनी मस्यौदा तयार गर्न बनाउने निकाय र आयोगको अध्यक्ष कानुनमन्त्री हुँदा सहज हुने तथा अपनत्व लिने भएर राखिएको जानकारी दिइन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रले संहितामा सुधार गर्नुपर्न विषय धेरै भएको भन्दै संशोधन गरेर नागरिकलाई न्याय दिनुपर्ने बताउनुभयो । उनले मुलुकमा समस्या कानुनको नभएर व्यवहारमा भएकाले भाषा पनि सुधार हुनु जरुरी भएको बताइन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले संहिताहरू जारी गरेको आठ वर्ष भएको अवसरमा दिवस मनाउँदै गर्दा संहिताहरूको संशोधन विधेयक सदनमा लैजाने तयारी भएको जानकारी दिइन् । विसं १९१० मा मुलुकी ऐन जारी भएको थियोे । त्यसैको परिस्कृत रूप मुलुकीसंहिता, २०७४ भदौ १ गते जारी भई २०७५ भदौ १ गतेदेखि लागू भएको हो ।

प्रधानमन्त्री बालेनसँग गण्डकीका मुख्यमन्त्री पाण्डेको भेट

गण्डकी – प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीहरूबीच अन्तरसरकार सहकार्य तथा समन्वयका विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारका तर्फबाट विभिन्न विषयमा सङ्घ सरकारको ध्यानाकर्षण गराउनुभएको उनले बताए । भेटवार्ताका क्रममा प्रदेश सरकारले बनाएका कानुन कार्यान्वयनमा सहजीकरण, अधिकार प्रत्योजन, जग्गा प्राप्ति, पूर्वाधार विकासलगायत विषयमा छलफल भएको थियो । उनले नवलपुर जिल्लाको त्रिवेणी गाउँपालिकाको दुम्कीबाँसबास त्रिवेणीसम्मको हुलाकीमार्गको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सडक निर्माणका लागि सहजीकरण गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् ।

गण्डकी प्रदेशमा प्रस्तावित लोकाहाखोला र पुँडीटार औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्ति तथा मनाङ, मुस्ताङ र गोरखा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जग्गाको नापी तथा दर्ताका लागि आवश्यक व्यवस्था मिलाउन मुख्यमन्त्री पाण्डेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रेस संयोजक सापकोटाले जानकारी दिए ।

त्यस्तै अन्नपूर्ण संरक्षण र मनास्लु संरक्षण क्षेत्रअन्तर्गत पर्ने वन क्षेत्रलाई प्रदेश सरकारको मातहतमा ल्याउने तथा ती संरक्षण क्षेत्रभित्रका नदीजन्य पदार्थको सङ्कलन, व्यवस्थापन र उपयोग गर्न स्थानीय तहलाई अधिकार प्रदान गर्ने विषयमा छलफल भएको प्रेस संयोजक सापकोटाले बताए ।

मुख्यमन्त्री पाण्डेले ‘गण्डकी प्रदेश घरेलु मदिरा ऐन, २०८२’ कार्यान्वयनका लागि औद्योगिक व्यवसाय निवमावलीको उद्योग स्थापनासम्बन्धी अधिकार प्रत्यायोजन तथा घरेलु मदिराको अन्तःशुल्कको दर निर्धारणका लागि सहजीकरण गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ ।

मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रुपमा मतदाता नामावली अद्यावधिक गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

कुनै मतदाताको मृत्यु भएको अवस्था भएमा निजको एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिन आयोगले अनुरोध गरेको हो ।

विद्यमान मतदाता नामावलीलाई निरन्तर अद्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतासँग प्रत्यक्ष रुपमा सम्बन्धित विषय भएकाले यस कार्यमा सबै नागरिकबाट सहयोग प्राप्त हुने विश्वास गरिएको आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्कट कुगेलेइन सुदूरपश्चिम रोयल्समा पुनः अनुबन्ध

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले न्यूजील्याण्डका पेस बलर स्कट कुगेलेइनलाई पुनःअनुबन्ध गरेको छ ।

सुदूरपश्चिमले कुगेलेइनलाई विदेशी खेलाडीका रूपमा टोलीमा समावेश गरेको हो। यसअघि सुदूरपश्चिमले इङ्ग्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको छ।

कुगेलेइनले एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिमबाट ९ खेलमा १७ विकेट लिएका थिए। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा रहेका थिए ।

दोस्रो संस्करणमा उनले ९ खेलबाट १० विकेट लिएका थिए। सुदूरपश्चिम रोएल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कुगेलेइनलाई पुनःटोलीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

“उनीबाट यसपटक पनि पहिलो र दोस्रो संस्करणको जस्तै योगदानको अपेक्षा राखेका छौँ । उपाधि जिताउन उनको भूमिका महत्त्वपूर्ण हुनेछ भन्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

तेस्रो संस्करणका लागि सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई टोलीमा कायम राखेको छ ।

अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई अनुबन्ध गरिसकेको छ।

रास्वपाले घोषणा गर्‍यो ‘क्यान्डिडेट क्लब’, नेतृत्वमा मेरिटोक्रेसी स्थापित गर्ने दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘क्यान्डिडेट क्लब’ घोषणा गरेको छ। सोमबार पार्टी सभापति रवि लामिछानेले क्लबको लोगो सार्वजनिक गर्दै यसको औपचारिक घोषणा गरेका हुन्।

क्लबको अवधारणा सार्वजनिक गर्दै लामिछानेले रास्वपाले राजनीतिक दस्तावेज, नारा र सिद्धान्तमा मात्रै नभई व्यवहारमै फरक राजनीतिक अभ्यास अघि बढाउन खोजेको बताए।

राजनीतिक दलका नीति, सिद्धान्त र आदर्श समाजमा स्थापित हुन समय लाग्ने उल्लेख गर्दै उनले रास्वपाले त्यसका लागि आवश्यक अभ्यास र प्रक्रिया अघि बढाइरहेको बताए।

‘हाम्रो राजनीति दस्तावेज, नारामा र सिद्धान्तमा बढी तर व्यवहारमा अलिकति कमजोर हो कि भन्ने महसुस गरेर फरक राजनीतिक अभ्यासमा प्रवेश गरेका छौँ,’ लामिछानेले भने।

उनका अनुसार कुनै दल सरकारमा पुग्न वा संसद्मा उल्लेख्य उपस्थिति जनाउन सफल भए पनि राजनीतिक दलका रूपमा स्थापित हुन आवश्यक अभ्यास पूरा गर्न समय लाग्छ। दललाई वैचारिक रूपमा स्पष्ट बनाउँदै आफ्ना विचार नागरिकसम्म पुर्‍याउन पनि समय आवश्यक पर्ने उनको भनाइ छ।

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको इजलासले श्रेष्ठलाई हिरासतमा नराखी बाहिरै राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो।

श्रेष्ठलाई साउन २७ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको बागडोलबाट पक्राउ गरेको थियो। उनको पक्राउ गैरकानुनी भएको दाबी गर्दै पत्नी सरस्वतीले साउन २८ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले श्रेष्ठलाई हिरासतबाट मुक्त गर्न आदेश दिएको हो।

सर्वोच्चले श्रेष्ठको घर तथा कार्यालयबाट प्रहरीले बरामद गरेका सबै सामानसमेत फिर्ता गर्न आदेश दिएको छ।

राधिका हमालको नयाँ तीज गीत ‘जिन्दगी मालामालै छ’ सार्वजनिक

काठमाडौं । गायिका राधिका हमालले नयाँ नेपाली तीज गीत ‘जिन्दगी मालामालै छ’ सार्वजनिक गरेकी छिन्। हमालको शब्द तथा संगीत रहेको गीतमा कविता न्यौपाने, सफल पुन मगर ९शाकिरा० र उषा सुवेदीको अभिनय रहेको छ।

‘राधिका हमाल प्रस्तुत’ तीज गीतका रूपमा सार्वजनिक गरिएको ‘जिन्दगी मालामालै छ’ २०८२ को तीजलाई लक्षित गर्दै ल्याइएको हो। गीत र भिडियो राधिका हमालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

गीतमा हमालकै शब्द र संगीत रहेकाले यसले मौलिक तीज सिर्जनालाई प्राथमिकता दिएको छ। भिडियोमा कविता न्यौपाने, सफल पुन मगर (शाकिरा) र उषा सुवेदीको प्रस्तुति रहेको छ।‘जिन्दगी मालामालै छ’ राधिका हमालको आधिकारिक युट्युब च्यानलमा हेर्न तथा सुन्न सकिनेछ।

कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले समय, प्रविधि र सामाजिक आवश्यकता अनुसार कानुन बनाइनुपर्ने बताएका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आज यहाँ ‘संहिता दिवस, २०८३’ का अवसरमा आयोजित समारोहमा सभामुख अर्यालले नागरिकका बदलिँदा अपेक्षाअनुसार कानुनलाई समयानुकूल परिमार्जन गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

कानुन निर्माणसँगै त्यसको कार्यान्वयनको अवस्था अध्ययन, समीक्षा तथा आवश्यक सुधारका लागि सरकारलाई मार्गदर्शन गर्ने र संसदीय निगरानी गर्ने जिम्मेवारी पनि सङ्घीय संसद्को रहेको सभामुख अर्यालले बताए ।

उनले सङ्घीय संसद् कानुन निर्माण गर्ने थलो मात्र नभई कानुनको प्रभावकारिता र कार्यान्वयनको समीक्षा गर्ने तथा नागरिकका आवश्यकता र आकांक्षाअनुरूप कानुनमा आवश्यक सुधार गर्ने प्रमुख संस्था भएको उल्लेख गरे ।

“कानुन निर्माण र कार्यान्वयन कुनै एक संस्था वा निकायको मात्र जिम्मेवारी होइन”, सभामुख अर्यालले भने, “व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, कानुन व्यवसायी, राष्ट्रसेवक कर्मचारी, प्राज्ञिक क्षेत्र, नागरिक समाज र आम नागरिकबीचको निरन्तर संवाद, सहकार्य तथा समन्वयबाट मात्र न्यायपूर्ण र प्रभावकारी कानुनी प्रणाली निर्माण गर्न सकिन्छ ।”

सभामुख अर्यालले कानुन नागरिकलाई न्याय, सुरक्षा, समानता र अवसर प्रदान गर्ने माध्यम भएकाले कानुनको वास्तविक उद्देश्य प्रभावकारी कार्यान्वयनबाट मात्र पूरा हुने बताए ।

कानुनको गुणस्तरसँगै यसको प्रभावकारी कार्यान्वयन, न्यायिक तथा प्रशासनिक संस्थाहरूको सुदृढीकरण र नागरिकमा कानुनी सचेतना अभिवृद्धि आवश्यक रहेको उनको भनाइ थियो ।

कानुनको भाषा सरल, स्पष्ट र नागरिकले सहज रूपमा बुझ्न तथा व्यवहारमा प्रयोग गर्न सक्ने हुनुपर्ने सभामुख अर्यालले धारणा व्यक्त गरे। कानुनी प्रावधानहरूले जात, धर्म, लिङ्ग, वर्ग वा अन्य कुनै आधारमा हुने विभेदको अन्त्य गर्दै प्रत्येक व्यक्तिको मौलिक हक, स्वतन्त्रता र मानव अधिकारको सम्मान तथा संरक्षण सुनिश्चित गर्नुपर्ने उनले बताए ।

मानव बेचबिखनसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाको बैठकले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

उक्त प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।त्यसअघि प्रस्ताव महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले प्रस्तुत गर्नुभएको थियो ।प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २ गते बिहान ११ः०० बजे बस्नेछ ।

प्रदेश मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ

विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज एक समारोहबीच कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा २०८१ वैशाख २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त, हेरफेर र कार्यविभाजन हुने गरी आवश्यक व्यवस्थाका लागि भएको सिफारिसअनुसार मन्त्री र राज्य मन्त्री नियुक्त गरिएको हो ।

प्रदेश प्रमुख खापुङ समक्ष खिनु लङवा लिम्बूले पर्यटन, वन तथा वातावरण, जीवन आचार्यले भौतिक पूर्वाधार, गोम्बू शेर्पाले आन्तरिक मामिला तथा कानुन, गीता तिम्सिनाले सामाजिक तथा सपना दर्जीले भौतिक पूर्वाधार विकासमन्त्रीको सपथ लिनुभएको हो ।यस्तै सपना दर्जी परियारले मुख्यमन्त्री कार्कीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको सपथ लिनुभयो ।

रास्वपा सरकारलाई बीचमै अस्थिर बनाउन नहुने गगनको धारणा, ‘पाँच वर्ष चल्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई निर्वाध रूपमा पाँच वर्ष चल्न दिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले कांग्रेस अहिले प्रमुख प्रतिपक्ष दलको हैसियतमा रहेको भन्दै प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताए । लोकतन्त्रमा प्रतिपक्षले आफ्नो भूमिका सही ढंगले निर्वाह गर्न नसके लोकतान्त्रिक व्यवस्था नै कमजोर हुने उनको भनाइ थियो ।

उनले भने,‘ वर्तमान सरकारले हाम्रो दृष्टिकोणलाई बुझ्ने प्रयास गर्छ । हामी अहिले प्रमुख प्रतिपक्ष दलको हैसियतमा छौं । प्रमुख प्रतिपक्ष दलको आफ्नै जिम्मेवारी हुन्छ । डेमोक्रेसीमा पोजिसनले आफ्नो भूमिका ठीक ढंगले गर्न सकेन भने डेमोक्रेसी ठीक ढंगले अगाडि बढ्दैन भन्ने मान्यता हामी राख्छौं । हाम्रा विगतका अनुभवहरूले पनि पाठ सिकाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको यो सरकार निर्वाध रूपमा पाँच वर्ष चल्नुपर्छ ।’

थापाले आगामी निर्वाचन वर्तमान सरकारले नै गराउनुपर्ने धारणा राख्दै कांग्रेसले आगामी निर्वाचनमा वर्तमान सरकारभन्दा बढी काम गर्न सक्ने क्षमता प्रस्तुत गरेर नागरिकको विश्वास जित्ने बताए । उनले अन्य दलभित्रको आन्तरिक विवादमा कांग्रेसले हस्तक्षेप नगर्ने स्पष्ट पारे ।

उनले भने, ‘अर्को चुनाव यो सरकारले गराउनुपर्छ । त्यो निर्वाचनमा हामी अहिलेको सरकारभन्दा पनि बढी गर्न सक्ने क्षमता राखेर, नागरिकहरूलाई विश्वास दिलाएर, त्यो जिम्मेवारी लिने कुरामा विश्वास गर्छौं । हामी कुनै पनि पार्टीहरूको आन्तरिक विमेलमा कहीँकतै खेल्न चाहँदैनौं र खेल्दैनौं ।’

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

काभ्रेपलाञ्चोक । आजदेखि धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु भएको छ । अस्पतालले बिमाबापत रु आठ करोड प्राप्त गरेको छ । अस्पतालले बोर्डबाट सेवा प्रदान गरेबापत पाउनुपर्ने भुक्तानी रोकिएपछि गत असार १५ गतेदेखि स्वास्थ्य–बिमा सेवा पूर्णतः स्थगित थियो ।

स्वास्थ्य बिमा बोर्डसँगको समन्वयमा बीमितका लागि बहिरङ्ग (ओपीडी) सेवामार्फत बिमा सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । ओपिडी बाहेकका अन्य सेवा भने तत्काल बिमाअन्तर्गत सञ्चालन नहुने अस्पताल प्रशासनले जनाएको हो ।

सेवा लिन आउने बिरामीले स्वास्थ्य–बिमा परिचयपत्र तथा अन्य आवश्यक कागजातसहित तोकिएको प्रक्रिया पूरा गर्नुपर्छ । बीमितले अस्पताल आउनुअघि पायक पर्ने प्रथम सेवा विन्दुबाट आवश्यक प्रेषण लिनुपर्ने छ ।

६० दिने वार्ता असान्दर्भिक भएको इरानको दाबी

काठमाडाैँ। इरानले अमेरिका र इरानबिच भएको १४ बुँदे समझदारीमा उल्लेखित ६० दिने वार्ताको अवधि अब सान्दर्भिक नरहेको बताउँदै अमेरिकाले समझदारीमा हस्ताक्षर गरेको केही सातामै त्यसको गम्भीर उल्लङ्घन गरेको आरोप लगाएको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार ६० दिनको अवधि समाप्त भएको विषयमा प्रतिक्रिया दिँदै इरानले बाह्य दबाब, अल्टिमेटम वा समयसीमाका आधारमा आफ्नो नीति तय नगर्ने बताए। उनका अनुसार समझदारीमा प्रतिबन्ध हटाउने र आणविक विषयमा ६० दिनभित्र छलफल गर्ने तथा सहमति हुन नसके अवधि थप गर्न सकिने व्यवस्था थियो।

“संयुक्त राज्य अमेरिकाले जुन १८ मा समझदारीमा हस्ताक्षर गरेको केही सातामै त्यसको पाठको घोर र व्यापक उल्लङ्घन गरेकाले ६० दिने छलफल अब सान्दर्भिक छैन”, बाघाईले भने।

इरानी समाचार संस्था आइएसएनएका अनुसार उनले उक्त समझदारीअन्तर्गत वास्तविक वार्ता नै सुरु हुन नसकेको दाबी गरे। बाघाईले इरानले आफ्नो राष्ट्रिय हित र सुरक्षालाई आधार बनाएर निर्णय गर्ने स्पष्ट पार्दै दबाब वा समयसीमाका आधारमा नीति परिवर्तन नगर्ने बताए।

उनले तेहरान अहिले देशको आन्तरिक मामिला व्यवस्थापनमा केन्द्रित रहेको र इरानी सशस्त्र सेना सुरक्षा अवस्थाप्रति पूर्ण सतर्क रहेको बताए। “हाम्रा सशस्त्र सेनाले हरेक गतिविधिलाई खुला आँखा र पूर्ण सतर्कताका साथ हेरिरहेका छन्”, उनले भने।

छिमेकी तथा अन्य मुलुकसँगको सम्बन्ध सुदृढ पार्नु विदेश मन्त्रालयको नियमित जिम्मेवारी भएको बाघाईले जानकारी दिए। उनका अनुसार इरान क्षेत्रका सबै देश तथा सम्बन्धित पक्षसँग सम्पर्कमा रहँदै कूटनीतिक गतिविधि अघि बढाइरहेको छ।

बाघाईको भनाइ इरानी संसद्का अध्यक्ष मोहम्मद गालिबफले इरान अमेरिका र इजरायलको नेतृत्वमा भएको भनिएको ‘अन्यायपूर्ण युद्ध’ मा सैन्य तथा राजनीतिक रूपमा विजयी भएको दाबी गरेको एक दिनपछि आएको हो । सरकारी प्रसारक प्रेस टिभीका अनुसार गालिबफले इरान र अमेरिकाबीचको समझदारीलाई कूटनीतिक सफलताको आधारका रूपमा समेत प्रस्तुत गरेका थिए।

गालिबफले इरान ‘सैन्य र राजनीतिक दुवै रूपमा विजयी’ भएको दाबी गर्नुभएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको सैन्य पूर्वाधार ध्वस्त भएको दाबी गर्दै आएका छन्।

प्रेस टिभीका अनुसार गालिबफले इरान–अमेरिका समझदारीलाई ‘गर्व र विजयको स्रोत’ भन्दै यसले कूटनीतिक मोर्चामा इरानको सफलतालाई थप बलियो बनाउन सहयोग गर्ने बताएका थिए।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३७ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६२ रहेको छ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, काउली स्थानीय प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ९०, मकै बोडी प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ६०, परवर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, भिन्डी प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९० र स्कुस प्रतिकिलो रु ६० कायम भएको छ।

रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो प्रतिकिलो रु २५०, तोरीको साग प्रतिकिलो रु १००, प्याज (हरियो) रु २५०, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकिलो रु ३३० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ।

कुरिलो प्रतिकिलो रु ५००, निउरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु १५०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ७००, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु १५००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमूला प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, आँप (मालदह) प्रतिकिलो रु २८०, आँप (चोसा) प्रतिकिलो रु २५०, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५ काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु ६०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २००, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ६०, अमला प्रतिकिलो रु २००, एभोकाडो प्रतिकिलो रु ५००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ।

ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ५००, अदुवा प्रतिकिलो रु २३०, खुर्सानी सुकेको प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ५०, लसुन हरियो प्रतिकिलो रु २५०, हरियो धनियाँ प्रतिकिलो रु ४००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३३० र ताजा माछा (छडी) प्रतिकिलो रु ३३० निर्धारण भएको छ।

श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम

काठमाडौँ। नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिरस्थित वासुकिनाथ मन्दिर, काठमाडौँ महानगरपालिका–१ नागपोखरी र कीर्तिपुर नगरपालिका–६ मा रहेको टौदहमा भक्तजनको लाम लागेको छ। नागपञ्चमीका अवसरमा त्यहाँ उपस्थित भक्तजनले पूजा, आराधना एवं दर्शन गरिरहेका छन्।

नागपञ्चमीका अवसरमा वासुकिनाथ मन्दिर आज बिहान ३ः०० बजेदेखि नै खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। वासुकिनाथ मन्दिरमा आज विशेष पूजा, आराधना गरिन्छ।

मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि भक्तजन लाम लागेका कोष संस्कृति संरक्षण महाशाखाका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले राससलाई जानकारी दिए।

चान्द्रमासअनुसार श्रावण महिनाको तेस्रो सोमबार भएकाले आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लाम लागेको छ। सौरमासका सोमबार जस्तै नै आज पनि भक्तजनको लाम मन्दिर क्षेत्रमा रहेको उनले बताए।

आज पनि पशुपति क्षेत्रमा बोल बम यात्रीको आगमन बढेको छ। वाग्मती नदीको शिरोभागस्थित सुन्दरीजलबाट शुद्ध जल ल्याएर आराध्यदेव भगवान् पशुपतिनाथलाई चढाउने भक्तजनको लाम लागेको पुरातत्व अधिकृत गौतमले बताउनुभयो। कोषले आज पनि पशुपति क्षेत्रमा विशेष व्यवस्था गरेको छ।

नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम

काठमाडौँ महानगरपालिका–१ नागपोखरीमा बिहानैदेखि नित्य पूजा, आराधनाका लागि पोखरी खोलिएको छ। नित्य पूजा सकिएपछि भक्तजनलाई पूजा, आराधनाका लागि खुला गरिएको महानगरपालिका–१ का सदस्य रोशन श्रेष्ठले राससलाई जानकारी दिए। यहाँ आज विशेष मेलाको आयोजना पनि गरिएको उनले बताए।

यसैगरी, कर्कोटक नागराजा र नागरानीको निवास रहेको टौदहमा पनि कीर्तिपुर र पाँगाका स्थानीयवासी बिहानैदेखि पूजा, आराधना गर्न भक्तजनको घुइँचो लागेको हो। बिहान नित्यपूजापछि टौदहमा भक्तजनका लागि खुला गरिएको स्थानीय उपेन्द्र नेपालले जानकारी दिए।

टौदहमा परम्परादेखि नै जल यज्ञ विधिबाट सबै नाग नागिनीको पूजा, आराधना हुने गरेकामा २०७० सालपछि बन्द भएको थियो। विसं २०७२ मा एकपटक यो विधिबाट पूजाआजा गरिए पनि अबको पुस्ताले बिर्सने खतरा बढेको उनले बताए।

टौदहको व्यवस्थापन कर्कोटक नागराजा नागरानी व्यवस्थापन समाजले गर्दै आएको छ। यहाँ बिहानैदेखि आएका भक्तजनलाई पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको समाजले जनाएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिनु हुने भएको छ ।प्रदेशसभा सचिवालयले आज दिउँसो १ः०० बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी गराएको हो ।

सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउनु हुने छ । त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्नु हुनेछ ।

मुख्यमन्त्रीले प्रस्ताव पेस गरेपछि उक्त प्रस्तावमाथि प्रदेश सभा बैठकमा छलफल हुनेछ । छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्रीको जवाफपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

लुम्बिनी प्रदेश सभामा कुल ८३ प्रदेशसभा सदस्य छन् । सरकार गठनका लागि आवश्यक बहुमतका लागि ४२ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमतभन्दा बढी प्रदेश सभा सदस्यको समर्थन जुटाउने गरी तयारी गर्नुभएको छ ।

नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

बडीमालिका पूजा आजदेखि प्रारम्भ

बाजुरा। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा प्रारम्भ भएको छ ।यसअघि जिल्ला समन्वय समितिद्वारा आयोजित सर्वपक्षीय बैठकले दर्शनार्थीको बढ्दो चापलाई दृष्टिगत गर्दै बडीमालिका भगवतीको पूजा आजदेखि सुरु गर्ने निर्णय गरेको थियो ।

बडीमालिका भगवती मन्दिरका पुजारी नेत्र पाध्यायले यस वर्ष मुख्य पूजा भदौ ११ गते भए पनि एकै दिन पूजा हुँदा दर्शनार्थीको अत्यधिक घुइँचो हुने भन्दै अगाडिदेखि नै सुरु गरिएको बताउनुभयो । बडीमालिकामा हरेक वर्ष मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुन्छ । मुख्य पुजारी पाध्यायका अनुसार गत वर्ष मन्दिरमा ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए ।

हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत यहाँ दर्शनार्थी आउने गरेका छन् । बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोलीसमेत यहाँ आउने परम्परा छ । डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) सहित टोली यसअघि साउन २८ गते नै हिँडिसकेको छ ।

यस वर्ष दर्शनार्थीको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ । गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि यसको आकर्षण थप बढेकाले पनि सङ्ख्या बढ्ने अनुमान गरिएको स्थानीय चन्द्र थापाले बताउनुभयो । बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले पूजा तथा मेला व्यवस्थापनका लागि सबै तयारी भइरहेको जानकारी दिनुभयो । त्यसका लागि जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षा निकायले तयारी तीव्र पारेका उहाँले बताउनुभयो ।

“मेला सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १४ बुँदे निर्णय गरिएको छ । मन्दिर जाने मार्गमा सङ्केत चिह्न, साइनबोर्ड तथा सूचना पाटी राख्ने, धार्मिक क्षेत्रको पवित्रता कायम गर्न मदिरा, लागूपदार्थ र मासुजन्य वस्तु निषेध गरिने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।

यहाँ आउने दर्शनार्थीमा लेक लागे, बिरामी परे वा अन्य कारणले आपत्कालीन उद्धार आवश्यक परे जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले तत्काल उद्धार गर्ने व्यवस्था निमित्त जिल्ला समन्वय अधिकारी दीपेन्द्र पाण्डेले बताउनुभयो । त्यसका लागि स्थानीय तहले जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मीसँगको समन्वयमा बाँकी व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्ने उहाँले जानकारी दिनुभयो ।

यस वर्ष मेला अगावै सञ्चार सम्पर्क सहज बनाउन टेलिकमको फोरजी टावर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । मौसम खराबीका कारण सामग्री ढुवानीमा ढिलाइ हुँदा टावर निर्माण कार्य प्रभावित भएको छ । यसअघि सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई तत्काल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो ।

भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण पु¥याउन कठिन भएपछि यही साउन २६ गते हेलिकप्टरमार्फत उपकरण सामग्री बडीमालिकाको त्रिवेणी पाटनमा पु¥याइएको थियो । फोरजी टावर निर्माणका लागि बडीमालिका क्षेत्रमा करोडौँका उपकरण ढुवानी गरे पनि जडान गर्ने प्राविधिक टोली जाने टुङ्गो नलाग्दा काम अलपत्र छ ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालयका प्रमुख ईश्वर सिंहले टावर निर्माणका लागि प्राविधिक टोली एक हप्ता बसेर फर्किएको बताउनुभयो । बडीमालिकामा उपकरण पुग्नुभन्दा एक हप्ता अगाडि नै प्राविधिकको टोली त्यहाँ पुगेको थियो, तर मौसम खराबका कारण समयमै सामान नपुगेपछि टोली फिर्ता भएको छ । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बडीमालिका नगरपालिकाले त्रिवेणी पाटनबाट टावर निर्माण स्थलसम्म सामान पु¥याउन टोली खटाइसकेको बताउनुभयो । उहाँले मेला अगाडि नै सञ्चार सुविधा उपलब्ध हुने बताउनुभयो ।

विगतका वर्षभन्दा पछिल्लो समय बडीमालिकाको प्रचारप्रसार तथा पर्यटकको आकर्षण बढ्दै गएको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले बताउनुभयो । “यसअघि पनि दैनिक रुपमा पर्यटकहरु आइरहन्थे, अहिले मेला नजिकिएसँगै आजबाट पूजा पनि सुरु गरेकाले बडीमालिका जाने पर्यटक तथा भक्तजनको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ,” उहाँले भन्नुभयो ।

रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले यसअघि धनगढीमा चुनावी अभियानका क्रममा बडीमालिकालाई ‘नेपालको स्विट्जरल्यान्ड’ भनेर उल्लेख गरेपछि पनि यो क्षेत्र थप चर्चामा आएको हो । समुद्री सतहबाट चार हजार २०० मिटर उचाइमा अवस्थित भू–स्वर्ग बडीमालिका प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्रै नभई धार्मिक आस्थाको पनि अद्भुत सङ्गम हो । हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजा हुने गरे पनि अन्य समयमा पनि पर्यटक बडीमालिका पुग्ने गरेका छन् । यहाँको दर्शनले मनोकामना पूरा हुने, रोग निको हुने, पुत्र प्राप्ति हुने लगायतका धार्मिक विश्वास रहिआएको छ ।

मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूल, खेतीबेती, विष्णुपानी, धर्मद्वार बडीमालिका क्षेत्रका प्रसिद्ध स्थल हुन् । खेतिबेती क्षेत्रमा परापूर्वकालमा भगवती र मैसासुरको युद्धका क्रममा रोपिँदै गरेको धान यथास्थितिमा रहेको किंवदन्ती पाइन्छ । यहाँ डाँफे, मुनाल, कस्तुरी र झालरजस्ता दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पाइन्छन् । हिमालको मनोरम दृश्य, हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण यो पवित्र स्थलमा पछिल्ला केही वर्षयता देश तथा विदेशबाट भक्तजन तथा पर्यटक आउने क्रम बढ्दै गएको छ ।