`

स्कट कुगेलेइन सुदूरपश्चिम रोयल्समा पुनः अनुबन्ध

Nepal One HD १ भदौ २०८३ २०:०३
खेलकुद

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले न्यूजील्याण्डका पेस बलर स्कट कुगेलेइनलाई पुनःअनुबन्ध गरेको छ ।

सुदूरपश्चिमले कुगेलेइनलाई विदेशी खेलाडीका रूपमा टोलीमा समावेश गरेको हो। यसअघि सुदूरपश्चिमले इङ्ग्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको छ।

कुगेलेइनले एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिमबाट ९ खेलमा १७ विकेट लिएका थिए। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा रहेका थिए ।

दोस्रो संस्करणमा उनले ९ खेलबाट १० विकेट लिएका थिए। सुदूरपश्चिम रोएल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कुगेलेइनलाई पुनःटोलीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

“उनीबाट यसपटक पनि पहिलो र दोस्रो संस्करणको जस्तै योगदानको अपेक्षा राखेका छौँ । उपाधि जिताउन उनको भूमिका महत्त्वपूर्ण हुनेछ भन्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

तेस्रो संस्करणका लागि सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई टोलीमा कायम राखेको छ ।

अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई अनुबन्ध गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *