`

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ ।

बैठक सोमबार बिहान १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्षमा बस्ने भएको हो ।

बैठकमा चिनीको सहज आपूर्तिका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।

टप एन्ड टी–२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?

काठमाडौँ – अष्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा नेपाल दोस्रोपटक सहभागिता जनाउने तयारीमा छ । यसपटक नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिनियर टोलीको सट्टा ‘ए’ टिमलाई अष्ट्रेलिया पठाउन लागेको हो ।

टप एन्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टोलीमा अनुभवी र युवा खेलाडीको मिश्रण छ । अनिलकुमार साहको कप्तानीमा रहेको टोली सन्तुलित रहेकाले नतिजा उत्कृष्ट निकाल्नेमा प्रशिक्षक र खेलाडी आशावादी हुनुहुन्छ ।

‘नेपाली क्रिकेटको स्ट्रेन्थ बढाउन ‘ए’ टिम महत्त्वपूर्ण छ’

नेपाल ‘ए’ टोलीका मुख्य प्रशिक्षक राजु बस्न्यातले खेलाडीले राम्रो तयारी गरेकाले अष्ट्रेलियामा सकारात्मक नतिजा निकाल्ने सम्भावना बलियो रहेको प्रतिक्रिया दिनुभयो । त्यहाँको पिचसँग घुलमिल हुन चुनौती रहे पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

“पछिल्लो १०–१२ दिनदेखि हामी नियमित अभ्यास गरिरहेका थियौँ । तयारी र टिम राम्रो छ । टोलीमा अनुभवी र युवा खेलाडीको राम्रो सहभागिता छ । अष्ट्रेलियामा रहँदा टी–२० र ५० ओभरको क्रिकेटमा पनि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौँ । त्यहाँको अवस्थाको आत्मसात् गर्दै नेपाल ‘ए’ टिमका खेलाडीले उत्कृष्ट खेल्नेमा आशावादी छु”, मुख्य प्रशिक्षक बस्न्यातले टोलीको बिदाइ कार्यक्रममा भन्नुभयो ।

उहाँले नेपाली क्रिकेटलाई बलियो बनाउन ‘ए’ टिमको अवधारण महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । “दीर्घकालका लागि नेपाल ‘ए’ टिमको अवधारणा एकदमै राम्रो छ । पछिल्ला दिनहरूमा हेर्ने हो भने ‘ए’ टिमबाट नयाँ खेलाडी पनि सिनियर टिममा सिफ्ट भइरहेका छन् । यस्तै, सिनियर टोलीका खेलाडी लयमा फर्किनका लागि ‘ए’ टिममा आउने जुन अभ्यास भइरहेको छ, त्यसले नेपाली क्रिकेटको स्ट्रेन्थ बढाउन ‘ए’ टिम महत्त्वपूर्ण छ”, मुख्य प्रशिक्षक बस्न्यातले भन्नुभयो ।

‘राम्रो तयारीका साथ अस्ट्रेलिया जाँदैछौँ’

नेपाल ‘ए’ टोलीका कप्तान साहले फरक–फरक तरिकाले अभ्यास गरेकाले टप एन्ड टी–२० सिरिजमा आफूहरूले उत्कृष्ट प्रदर्शन गर्ने बताउनुभयो । अष्ट्रेलियाको महत्त्वपूर्ण प्रतियोगितामा सहभागिता जनाउन पाउँदा उत्साहित रहेको उहाँले प्रतिक्रिया दिनुभयो ।

“हामीले पछिल्लो ८–१० दिनदेखि हेडकोचको निगरानीमा निरन्तर अभ्यास गरिरहेका थियौँ । त्यहाँको कन्डिसनअनुसार कसरी खेल्ने भन्नेबारे योजनाबद्ध प्रशिक्षण गर्यौँ । नेपाल ‘ए’ टोलीका लागि अष्ट्रेलिया भ्रमण महत्त्वपूर्ण छ”, कप्तान साहले भन्नुभयो, “कम समयमा पनि क्यानले क्याम्पको आयोजना गरेर सहयोग गर्यो । टप एन्ड टी–२० सिरिजजस्तो प्रतियोगितामा सहभागिता जनाउने अवसर जुराएको छ, त्यसका लागि क्यानलाई धन्यवाद । हामी यो प्रतियोगितामा पाएको मौकालाई सदुपयोग गर्न उत्साहित छौँ ।”

नतिजामा सुधार गर्ने मौका

नेपालले दोस्रोपटक टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन लागेको हो । गत संस्करणमा नेपालको सिनियर पुरुष टिमले यो प्रतियोगिता खेलेको थियो ।

उक्त संस्करणमा नेपालले लिग चरणको छ खेलमध्ये दुईमा जित र चार खेलमा पराजय व्यहोरेको थियो । यसपालि त्यो नतिजामा सुधार गरेर उपाधि जित्ने नेपाल ‘ए’ टोलीको योजना छ ।

उक्त सिरिजमा नेपालले पहिलो खेल २१ अगस्टमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध खेल्नेछ । त्यस्तै, २२ अगस्टमा बङ्गलादेश हाई पर्फर्मेन्स, २४ अगस्टमा होबार्ट हरिकेन्स, २६ अगस्टमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, २७ अगस्टमा हैदराबाद किङ्समेन एकेडेमी तथा २९ अगस्टमा भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने तालिका छ ।

टप एन्ड टी–२० सिरिजपछि नेपाल ‘ए’ले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अष्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेलसमेत खेल्ने क्यानले जनाएको छ । नेपालको सिनियर टोली एसिसी प्रिमियर लिगमा व्यस्त हुने भएकाले क्यानले ‘ए’ टोलीलाई अष्ट्रेलिया पठाउन लागेको हो ।

अष्ट्रेलिया जाने नेपाली ‘ए’ टोलीमा अनिलकुमार साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, कुशल मल्ल, राशिद खान, पवन सर्राफ, दीपक डुम्रे, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, रिजन ढकाल र युवराज खत्री छन् ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ २८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ २३ पैसा र बिक्रीदर २०७ रुपैयाँ ०४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८८ रुपैयाँ १४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११० रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ १२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९८ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७६ पैसा र बिक्रीदर १० रुपैयाँ ८० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५९ पैसा र बिक्रीदर २३ रुपैयाँ ६८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ २१ पैसा बिक्रीदर ४०५ रुपैयाँ ८० पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३९७ रुपैयाँ ३६ पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

श्रावण शुक्ल पञ्चमीः किन गरिन्‍छ नागकाे पुजा?

काठमाडौँ। नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ। घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर टाँसेर यो पर्व मनाइन्छ।

हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ। यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन यो पर्व परेको हो।

नागको तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो।

वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ। प्रत्येक घरमा नाग रहेका हुन्छन्। घरको जगमुनि बसेका नाग रिसाएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासका आधारमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो।

नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिएको हो। प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् श्री गणेशको एक हातमा नाग छ। भगवान् विष्णुको अवतारका रूपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागकै अवतारका रूपमा मानिन्छ। श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ।

यस्तै, भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटको आकारमा सर्पको आकृति रहेको हुन्छ। मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ। जैन तीर्थङ्करको शिरमा समेत सर्पाकार मुकुट हुन्छ। पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख छ। लक्ष्मीको बास त्यो घरमा हुन्छ, जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि रहिआएको छ।

नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन्, जसमध्ये एउटा प्रख्यात किंवदन्ती यस्तो छ–

एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए। ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखेर किसानसँग क्रुद्ध भइन्। रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मारेर पनि रिस शान्त नभएपछि किसानको घरमा गएर उनकी श्रीमती र दुई छोरालाई पनि मारिदिइन्।

संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन्। नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडिन् र बाटामा फेला पारी मार्न खोजिन्। किसानकी छोरीले अनेक प्रकारले अनुनयविनय गर्दै ‘मलाई नमार्नुस्, म तपाईंको पूजाआजा गर्छु र दूध खान दिन्छु’ भनेर बिन्ती गरेपछि नागिनीले दया गरी उनलाई छोडिन्।

मृत्युको मुखबाट बचेर प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई षोडशोपचारले पूजाआराधना गरी कचौरामा दूध खान दिइन्। किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले ‘तिम्रो भक्तिबाट म प्रसन्न भएँ, वर माग’ भनेपछि उनले मौका छोपी ‘मेरा मातापिता र भाइहरूलाई पनि जीवनदान दिनुहोस्’ भनी वर मागिन्।

प्रसन्न भएकी नागिनीले ‘तथास्तु’ भनी किसानको सम्पूर्ण परिवारलाई बचाइदिइन्। यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ।

यसबाहेक, गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र वर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइयो। गुरु आएको देखेर गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ।

संसारमा सबैभन्दा मूल्यवान् मानिने मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन्। श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ। गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यतासमेत छ।

नागका बाह्र नाम भए पनि आठ कुलका आठवटा नागको पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी अष्टनागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गराई घरको ढोकामाथि टाँसिन्छ। आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जीवलाई मार्नु हुँदैन भन्ने मान्यता छ।

आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नागस्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसादका रूपमा चढाउने गरिन्छ।

वैज्ञानिक रूपमा पनि प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले सोसेर मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने तथ्य अनुसन्धानबाट पुष्टि भएको छ। यही कुरा बुझेर नै ऋषिमुनिहरूले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ। नागपञ्चमी पर्वसँगै वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ।

 

 

‘सरकार र निजी क्षेत्रले उद्यममैत्री वातावरण बनाउनुपर्छ’- विदुषी राणा

काठमाडौँ। प्रतिनिधिसभा सदस्य विदुषी राणाले नेपालमा अटोमोबाइल, सूचना प्रविधि र पर्यटनजस्ता क्षेत्रमा अथाह सम्भावना रहेको बताएकी  छिन् ।

नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आइतबार यहाँ आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयक संवादमा

उनले नेपालका हरेक क्षेत्रमा सम्भावना भए पनि नीतिगत जटिलताका कारण युवा विदेशिन बाध्य भएको बताइन् ।

“युवालाई स्वदेशमै रोक्न सरकार र निजी क्षेत्रले उद्यममैत्री वातावरण बनाउनुपर्छ, व्यवसाय दर्तादेखि कर तिर्नसम्मका झन्झटिला प्रक्रिया अन्त्य गरी एकद्धार प्रणाली लागू गर्नु अबको आवश्यकता हो”, उनले भनिन् ।

नाइमाका संस्थापक एवं उद्यमी सौरभ ज्योतिले विभिन्न सवारीसाधन देशभित्रै उत्पादन गर्न सकिने बताइन् । उनले यसका लागि स्थानीय आपूर्ति शृङ्खला र पार्टपुर्जा उद्योगको विकास गर्नुपर्नेमा जोड दिइन् । उनले उद्योगको आवश्यकता र शैक्षिक पाठ्यक्रमबीच तालमेल नहुँदा दक्ष जनशक्तिको अभाव खड्किएको भन्दै तत्काल पाठ्यक्रम परिमार्जन गर्नुपर्ने धारणा राखिन्।

थापाथली क्याम्पसका सहप्राध्यापक लोचनकेन्द्र देवकोटाले विश्वविद्यालयले सैद्धान्तिक ज्ञान दिए पनि व्यावहारिक सीपका लागि उद्योगसँगको सहकार्य अपरिहार्य रहेको बताइन्् । “इन्टर्नसीप, अनुसन्धान र विद्यार्थीका परियोजनालाई उद्योगको समस्या समाधानसँग जोड्न सकेमात्र उत्पादनमुखी जनशक्ति तयार हुन्छन्”, उनले भनिन्।  निजी क्षेत्रलाई सीप विकासमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो ।

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।

सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । यस्तै, महिलामन्त्री वादीले नै ‘मानव बेचबिखन तथा ओपारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

कृषि सामग्री कम्पनीबाट दुई हजार मेट्रिकटनभन्दा बढी मल बिक्री

तनहुँ। कृषि सामग्री कम्पनी दमौलीले एक वर्षको अवधिमा दुई हजार ७०० मेट्रिकटनभन्दा बढी मल बिक्री गरेको छ। कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा दुई हजार ७६६ दशमलव ६७ मेट्रिकटन मल बिक्री गरेको हो ।

कार्यालय प्रमुख विजया बास्कोटाका अनुसार तनहुँमा एक हजार ९०३ दशमलव शून्य ७५ मेट्रिकटन र लमजुङमा ८६३ दशमलव ६०० मेट्रिकटन मल बिक्री गरिएको छ। उक्त अवधिमा युरिया, डिएपी, पोटास र चुन मल बिक्री गरिएको उनले बताए।

बास्कोटाका अनुसार तनहुँमा एक हजार ३८३ दशमलव १५० मेट्रिकटन युरिया, ४६५ दशमलव १०० मेट्रिकटन डिएपी, ४७ दशमलव २५० मेट्रिकटन पोटास र सात दशमलव ५७५ मेट्रिकटन चुन बिक्री गरिएको छ।

यस्तै, लमजुङमा ६४३ दशमलव ८०० मेट्रिकटन युरिया, १७७ दशमलव २०० मेट्रिकटन डिएपी, ३५ दशमलव ९०० मेट्रिकटन पोटास र छ दशमलव ७०० मेट्रिकटन चुन बिक्री गरिएको प्रमुख बास्कोटाले जानकारी दिए। उक्त आवमा दुई हजार ७५१ मेट्रिकटन मल प्राप्त भएको थियो भने अघिल्लो आवको २०० दशमलव १२५ मेट्रिकटन मौज्दात थियो।

आव २०८२/८३ मा बिक्री भएर १८४ दशमलव ४५० मेट्रिकटन मल चालु आवका लागि मौज्दात रहेको बास्कोटाले जानकारी दिए। आव २०८२/८३ मा युरिया दुई हजार २५ मेट्रिकटन, डिएपी ६०० मेट्रिकटन, पोटास १०५ मेट्रिकटन र चुन २१ मेट्रिकटन प्राप्त भएको थियो।

प्रमुख बास्कोटाका अनुसार युरिया ११४ दशमलव ४००, डिएपी २१ दशमलव शून्य ५०, पोटास २२ दशमलव ५०० र चुन २६ दशमलव ५०० मेट्रिकटन मल मौज्दात छ। चालु आव २०८३/८४ को साउनको २८ गतेसम्म युरिया २७१ र डिएपी २०० मेट्रिकटन मल प्राप्त भएको छ। अघिल्लो वर्षको बाँकी रहेकोसहित हालसम्म ४३४ दशमलव ८०० मेट्रिकटन मल बिक्री भइसकेको छ।

कार्यालयका सूचना अधिकारी मदन थपलियाका अनुसार प्रदेश मन्त्रालयले प्रत्येक स्थानीय तहका लागि मल बिक्रीको कोटा तोकेर पठाउने गरेको छ । प्रदेशबाट कोटा आएपछि स्थानीय तहमा रहेको मल व्यवस्थापन समितिले आफ्नो क्षेत्रमा आवश्यकताका आधारमा मलको मात्रा निर्धारण हुने उनले बताए।

स्थानीय तहले निर्धारण गरेको कोटाअनुसार मल बिक्री गर्ने विक्रेताहरूले कार्यालयमा माग गर्छन्। विक्रेताले स्थानीय तहबाट पाएको कोटाको विवरण पेस गरेपछि कार्यालयले सोही कोटाका आधारमा मल उपलब्ध गराउने व्यवस्था रहेको थपलियाले जानकारी दिए।

शनिबार र आइतबार १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार र आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अतिआवश्यक उपभोक्ताका लागि १६ हजार ३०० बढी सिलिन्डर ग्यास बिक्री वितरण गरिएको छ ।

विक्रेताबाट सहजै ग्यास नपाइएको गुनासो बढेपछि निगमले काठमाडौँ र भक्तपुरका १० स्थानबाट विभिन्न कम्पनीको ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको थियो । शनिबार काठमाडौँको टेकु, बबरमहल, चाबहिल, कीर्तिपुर र वसुन्धारामा ग्यास बिक्री वितरण गरेको हो ।

अतिआवश्यक उपभोक्ताका लागि आइतबार टेकु, बूढानीलकण्ठ, कीर्तिपुर, नयाँबजार, तारकेश्वर, चन्द्रागिरि र ठिमीबाट विभिन्न कम्पनीका ग्यास बिक्री गरिएको थियो । सातवटा बिक्री केन्द्रबाट आज नौ हजार ५६८ थान सिलिन्डर बिक्री गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

शनिबार ६ हजार ८०२ थान सिलिन्डर बिक्री गरिएको निगमले जनाएको छ । निगमले भोलि भदौ १ गतेदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेताबाट नियमित प्रक्रियाअनुसार बिक्रीवितरणको व्यवस्था मिलाइएको जनाउँदै आफूलाई पायक पर्ने ग्यास विक्रेताकहाँ सम्पर्क गरी खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

पछिल्लो चार महिना आधा सिलिन्डर ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएकामा गत असार ३१ देखि १४.२ किलो बराबरको ग्यास उपलब्ध गराउन थालिएपछि बजारमा एकाएक ग्यासको अभाव देखिएको थियो ।

सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम। सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार पुदूरपश्चिमका हिमाली, क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

पहाडी तथा तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैबीच सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनीले कैलाली र कञ्चनपुरका बाढी प्रभावित क्षेत्र तथा नदी तटीय क्षेत्रमा सतर्कताका लागि आग्रह गरेको छ । बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले भारी वर्षको सम्भावना रहेकाले ती क्षेत्रमा सूचनामूलक माइकिङसमेत गरिएको जानकारी दिनुभयो ।

उहाँले पहाडी र तराई क्षेत्रका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावनालाई मध्यनजर गरी सूचना प्रवाह गर्नुका साथै आफ्नो मातहतका युनिटलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा राखिएको बताउनुभयो ।

सोमबार दिउँसो पनि सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान कार्यालयले जनाएको छ । सोमबार दिउँसो यहाँका हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यकता अपनाउन मौसम विज्ञान कार्यालय अत्तरियाले आग्रह गरेको छ ।

मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो

बैतडी, ३१ साउनः बैतडी पुग्नुभएका पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई हेलिकप्टरमार्फत कैलालीको धनगढी लगिएको छ । उहाँलाई धनगढीबाट काठमाडौँ लगिने छ ।

स्वास्थ्यमा समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरबाट मन्त्री लम्साललाई धनगढी लगिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुभयो ।

“स्वास्थ्यमा समस्या आएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उहाँलाई धनगढी लगिएको छ”, प्रजिअ अर्यालले भन्नुभयो ।

मन्त्री लम्सालको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग र पूर्वाधारको अवस्थाको निरीक्षण गर्न आएको हो । उहाँ दार्चुलाबाट फर्किएर बैतडीका विभिन्न क्षेत्र र बझाङ जाने कार्यक्रम तय भएको थियो ।

विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन

गण्डकी। नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकास्थित शिशुवा-खुदीखोला र कालिकास्थान-लामेआहाल-पुँडीटार सडक विस्तार तथा स्तरोन्नितको काम सकिएको छ ।

पोखरा-३० को शिशुवा-खुदीखोला चार दशमलव १४ किमी सडक उद्घाटन भइसकेको छ भने पोखरा-३३ मा पर्ने कालिकास्थान-लामेआहाल-पुँडीटार सडक हस्तान्तरण हुन बाँकी छ । आयोजनाअन्तर्गत पोखरा-२७ तालचोकबाट पोखरा-३१ बेगनास जोड्ने सडक भने निर्माणाधीन अवस्थामा छ ।

चार लेनको उक्त सडक आगामी कात्तिक मसान्तसम्ममा सक्ने गरी अन्तिम पटकलाई म्याद थप गरिएको आयोजनाका स्रोतव्यक्ति इन्जिनियर नवीन गौतमले जानकारी दिनुभयो । सङ्घ सरकारको समन्वय तथा विश्व बैंकको आर्थिक सहयोगमा पोखरामा उक्त आयोजना सञ्चालनमा काम भइरहेको उहाँको भनाइ छ ।

विश्व बैंकको रु ४८ करोड ९६ लाख ३५ हजार २५४ आर्थिक सहयोगमा शिशुवा-खुदीखोला सडक निर्माण भएको हो । नालीसहित १५ मिटरमा दुई लेन सडक, एक दशमलव पाँच मिटर साइकल लेन र दुई दशमलव पाँच मिटर फुटपाथ ट्रयाक रहेको इन्जिनियर गौतमले बताउनुभयो । आशिष निर्माण सेवाले विसं २०८१ वैशाख २ गते निर्माण सम्झौता गरी निर्धारित समयमै सडकको काम सकेको उहाँको भनाइ छ ।

कालिकास्थान-लामेआहाल-पुँडीटार सडक निर्माण पनि गत असारमै पूरा भएको उहाँले बताउनुभयो । पोखरा भित्रिने वैकल्पिक सडकका रूपमा हेरिएको उक्त सडकको दूरी १२ दशमलव ४४ किमी रहेको छ । साइकल ट्रेक र फुटपाथसहित सडक निर्माण गरिएको इन्जिनियर गौतमले बताउनुभयो । आशिष निर्माण सेवाले रु ७७ करोड ६८ लाखमा ठेक्कामा उक्त सडक बनाएको हो ।

पोखरा-३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले छिटपुटबाहेक सडक निर्माण सकिएको बताउनुभयो । सडक उद्घाटन भने भइसकेको छैन । सडकको दायाँबायाँ तीन मिटरमा फलफूलका बिरुवा रोप्ने योजना रहेको वडाध्यक्ष अधिकारीले जानकारी दिनुभयो । तनहुँको कोत्रे हुँदै बाघमारा भएर पोखरा भित्रिने वैकल्पिक मार्गका रूपमा यो सडकलाई विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।

सडक स्तरोन्नति भएसँगै आवतजावत तथा स्थानीय उत्पादनको बजारीकरणमा पनि महत्वपूर्ण टेवा विश्वास लिइएको छ । साविक भरतपोखरी गाउँ विकास समिति रहेको यस क्षेत्र पोखरा महानगरपालिकामा गाभिए पनि अपेक्षित रूपमा विकास हुन नसकेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । महानगरभित्रका ग्रामीण र विकासमा पछाडि पारिएका वडालाई बजेट तथा कार्यक्रममा प्राथमिकता दिन महानगरको नेतृत्वससँग पहल भइरहेको उहाँको भनाइ छ ।

निर्माणमा ढिलासुस्ती भइरहेको तालचोक-बेगनास सडकलाई थपिएको म्यादभित्र काम सक्न महानगरले ताकेता गरिरहेको महानगरप्रमुख धनराज आचार्यले बताउनुभयो । उक्त सडकमा देखिएको जग्गाको मापदण्डलगायत विवाद समाधान भइसकेकाले अब निर्माणले गति लिने उहाँले विश्वास व्यक्त गर्नुभयो । “सडकको काम पूरा गर्न निर्माण कम्पनीलाई समयसीमा दिएका छौँ । समयमै काम सकिनेमा हामी विश्वस्त छौँ”, प्रमुख आचाार्यले भन्नुभयो ।

विसं २०७९ चैतदेखि निर्माण थालिएको तालचोक-बेगनास सडक निर्माण कम्पनीको ढिलासुस्तीका कारण समयमा बन्न नसकेको हो । तीन दशमलव २८ किमीको उक्त सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द-सपना-वर्ल्डवाइड जेबी’ले निर्माण जिम्मा पाएको थियो । ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माण सुरु भएको थियो ।

रु एक अर्ब ४९ करोडको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटसहित रु ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले जानकारी दिनुभयो । फुटपाथ ट्रयाक, साइकल लेन, सडक बत्ती र पार्किङसहितको नुमना सडक बन्ने उहाँको भनाइ छ ।

सडक छेउछाउमा बगैँचा, यात्रु प्रतिक्षालयसहित आकर्षक पूर्वाधार बनाइने बताउँदै उहाँले सडकमा तीन वटा पुल निर्माणाधीन अवस्थामा रहेका जानकारी दिनुभयो । अहिले सडक विस्तार, फुटपाथ, कल्भर्ट, नाला र पर्खाल निर्माण भइरहेको छ ।

पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ । महानगरको गौरवको आयोजनाका रूपमा तालचोक-बेगनास सडक विस्तार एवं स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो । पोखरा महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच सन् २०२१ मार्चमा परियोजना सम्झौता भई सडक निर्माण सुरु भएको थियो ।

सनातन धर्मसम्बन्धी देउवाको अभिव्यक्तिको राप्रपाद्वारा स्वागत, ‘राष्ट्रिय पहिचानको रक्षा गर्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गर्ने निर्णयसहित वक्तव्य दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले त्यसको स्वागत गरेको छ।

राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले वक्तव्य जारी गर्दै देउवाको पछिल्लो कदमले देशका ८१ प्रतिशत हिन्दू तथा समग्र सनातनी समुदायमा नयाँ आशा र विश्वास जगाएको बताएकी छन्।

ओलीले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णय स्पष्ट जनभावना र व्यापक राष्ट्रिय बहसबिनै गरिएको दाबी गर्दै यस विषयमा अझै गम्भीर प्रश्नहरू कायम रहेको उल्लेख गरेकी छन्।

उनका अनुसार देउवाको अभिव्यक्ति केवल व्यक्तिगत आस्थामा सीमित नभई नेपालको मौलिक पहिचान, संस्कृति र ऐतिहासिक निरन्तरतासँग जोडिनुपर्ने विषय हो।

ओलीले देउवाको पछिल्लो धारणा राष्ट्रिय राजनीतिको ‘कोर्स करेक्सन’ बन्नुपर्ने बताएकी छन्।

मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए

काबुल। अक्टोबरमा दुई देशबीच झडप भएपछि स्थल सीमा लगभग पूर्ण रूपमा बन्द भए पनि पाकिस्तान हुँदै अफगानिस्तानमा अन्तर्राष्ट्रिय मानवीय सहायता बोकेका सात सयभन्दा बढी ट्रक आइपुगेका संयुक्त राष्ट्रसङ्घले आइतबार यो जानकारी दिएको हो।

अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) की प्रवक्ता ओल्गा चेरेभ्कोले एएफपीसँग भन्नुभयो, “यो समूह (काफिला) मा खाना र अन्य अत्यावश्यक मानवीय सामग्री रहेका छन् ।

पाकिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय तथा मानवीय समन्वयक मो याह्याले एक्समा लेख्नुभएको छ, “तोरिखम नाकाबाट ७२४ ट्रक मानवीय सहायताका सामान बोकेर अफगानिस्तान प्रवेश गरेका छन्। यो सबैभन्दा बढी आवश्यकता परेका परिवारहरूसम्म पुग्नेछ।”

 

उहाँले इस्लामाबाद र यो मानवीय जीवनरेखा खुला राख्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभयो ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अगस्टको सुरुमै यस वर्ष मानवीय सहायताको अभावमा अफगानिस्तानमा बालबालिकाको गम्भीर कुपोषण सङ्कटपूर्ण स्तरमा पुगेको चेतावनी दिएको थियो ।

गत वर्षका घातक भूकम्प, यस वर्षका जलवायुसम्बन्धी विपद् र सन् २०२३ देखि इरान तथा पाकिस्तानबाट फर्किएका लाखौँ अफगानका कारण करिब एक करोड चालीस लाख अफगान अहिले गम्भीर भोकमरीको सामना गरिरहेका डब्लुएफपीले जनाएको छ।

अफगानिस्तानको पाकिस्तानसँगको द्वन्द्वका कारण सन् २०२५ को अक्टोबरदेखि दुई देशबीचको स्थल सीमा लगभग पूर्ण रूपमा बन्द भएको छ । यसले मानवीय सहायता पु¥याउने यातायात मार्गलाई गम्भीर रूपमा प्रभावित पारेको डब्लुएफपीका उप कार्यकारी निर्देशक कार्ल स्काले मे महिनामा एएफपीसँग बताउनुभएको थियो ।

यस वर्षको सुरुमा पाकिस्तानबाट आउने अफगान विद्यालयका बच्चाहरूका लागि पोषणयुक्त बिस्कुटलाई इरान हुँदै लैजानुपरेको थियो। तर त्यहाँ पनि युद्ध सुरु भएपछि त्यो बाटो समेत अवरुद्ध भयो।

अन्ततः ती बिस्कुट जोर्डन, टर्की र अजरबैजान हुँदै स्थल तथा समुद्री बाटोबाट महिनौं पछि मात्र अफगानिस्तान पुगेका थिए।

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी। प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा अवरुद्ध हुँदै आएको छ ।

प्रतिकूल मौसम, दिनहुँ बाक्लो कुहिरो लाग्नेलगायत कारणले रेसुङ्गा विमानस्थलबाट हवाई सेवा नियमित हुन सकेको छैन ।

रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले हवाई सेवा अवरुद्ध हुँदा वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामका लागि राजधानीसम्म जाने यात्रु थप समस्यामा परेका जानकारी दिनुभयो । उडानका लागि विमानस्थल पुग्ने गरेका यात्रुहरू विमानको प्रतिक्षामा बस्ने बताउँदै उहाँले अन्तिम समयमा वायु सेवा निगमले प्रतिकूल मौसमका कारण जनाउँदै उडान तालिका रद्द गरेपछि निराश हुँदै फर्कनुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो ।

नेपाल वायु सेवा निगमले सातामा शनिबार, आइतबार र बिहीबार गरी तीन दिन हवाई उडानको तालिका निर्धारण गरेको छ । रेसुङ्गा विमानस्थलबाट जेठको तेस्रो सातादेखि हवाई उडान अवरुद्ध हुँदै आएको स्टेसन प्रमुख थापाले जानकारी दिनुभयो । उहाँका अनुसार खराब मौसमका कारण टिकट लिएका यात्रुहरू विमानस्थल आएर फर्कनुपर्ने बाध्यता छ ।

रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजमार्फत काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७ः३० बजे उडान भर्दै आइरहेको छ । निगमले काठमाडौँबाट गुल्मीका लागि रु १० हजार ७१० र गुल्मीबाट काठमाडौँका लागि रु १० हजार ५१० भाडादर निर्धारण गरेको छ ।

रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान हुने गरेको स्टेसन प्रमुख थापाले जानकारी दिनुभयो ।

जिल्लामा हवाई उडान सुरु भएसँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यासमेत वृद्धि हुँदै गएको स्थानीय बताउँछन् । सडक मार्गबाट १२ देखि १६ घण्टासम्मको यात्रा गरेर राजधानी पुग्नुपर्ने यस क्षेत्रका नागरिक आकाश मार्गबाट ४५ देखि ५० मिनेटमा सजिलैसँग राजधानी आवतजावत गर्न सक्नेछन् ।

गुल्मीमा नेपाल वायुसेवा निगमले विसं २०८० वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई सेवा प्रदान गर्दै आइरहेको छ । पछिल्लो समयमा इन्धनमा भएको मूल्य वृद्धि, सडकको स्तरोन्नति र आरामदायी सार्वजनिक यातायातका साधनको सहज उपलब्धताका कारण रेसुङ्गा विमानस्थलमा हवाई उडान गर्ने यात्रुको सङ्ख्या केही कमी आएको विमानस्थल कार्यालयले जनाएको छ ।

जाजरकोट पहिरो प्रभावितका लागि कर्णाली सरकारका सात निर्णय, राहतदेखि पुनःस्थापनासम्म

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङलगायत क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि कर्णाली प्रदेश सरकारले सातवटा निर्णय गरेको छ । शनिबारको अविरल वर्षापछि रिसाङ क्षेत्रमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने केही नागरिक घाइते भएका छन् र करिब दुई सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

प्रदेश सरकारको निर्णयअनुसार बाढीपहिरोमा परी ज्यान गुमाउने व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

त्यस्तै, भेरी नगरपालिका–२ रिसाङलगायत प्रभावित क्षेत्रमा रहेका नागरिकलाई प्रदेश सरकारको तर्फबाट आवश्यक राहत सामग्री यथाशीघ्र उपलब्ध गराउने निर्णय गरिएको छ । यसअघि प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय जाजरकोटको मागअनुसार त्रिपाल, ब्ल्याङ्केट, खाद्यान्न, टेन्टलगायत राहत सामग्री पठाइसकेको छ ।

पहिरोबाट घर, पशुपन्छी तथा कृषि बालीमा भएको क्षतिको यथार्थ विवरण सम्बन्धित कृषि कार्यालयले जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँगको समन्वयमा संकलन गर्ने र त्यसका आधारमा प्रदेशको सम्बन्धित मन्त्रालयले आवश्यक प्रबन्ध मिलाउने निर्णय पनि गरिएको छ ।

पहिरोबाट विस्थापित भएका नागरिकको स्वास्थ्य उपचारलगायतका आवश्यक व्यवस्थापन सामाजिक विकास मन्त्रालयमार्फत गर्ने निर्णय भएको छ । जोखिममा रहेका तथा विस्थापित नागरिकलाई भेरी नगरपालिका–२ स्थित त्रिभुवन आधारभूत विद्यालयमा सुरक्षित रूपमा राखिएको छ ।

‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘

नयाँ दिल्लीले बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई प्रत्यर्पण नगरेसम्म प्रधानमन्त्री तारिक रहमान भारत भ्रमण गर्ने छैनन् जबसम्म नयाँ दिल्लीले शेख हसिनालाई प्रत्यर्पण गर्दैनन्। शेख हसिना सन् २०२४ को विद्रोहका क्रममा भागेर गएकी बांग्लादेशकी पूर्व प्रधानमन्त्री हुन् ।

हसिनाको सरकार ढलेपछि र उहाँ छिमेकी भारतमा भागेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ। उहाँ अहिले पनि भारतमै रहनुभएको छ ।

बङ्गलादेशमा मानवताविरुद्धको अपराधका लागि दोषी ठहरिएकी हसिनालाई मृत्युदण्डको सजाय तोकिएको छ र ढाकाले बारम्बार उहाँको प्रत्यर्पणको माग गरेको छ।

आइतबार पत्रकारहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका अधिकारी ए.के.एम. शाहिदुल करिमले अर्को हप्ता रहमानको भारत भ्रमण हुन सक्ने मिडियाको अनुमानलाई खासै महत्त्व दिएर प्रतिक्रिया दिन चाहनुभएन ।

“हामी यस्तो दृष्टिकोण राख्छौं कि भ्रमणका लागि अनुकूल वातावरण सिर्जना हुनु आवश्यक छ,” करिमले पत्रकारसँग भन्नुभयो ।

“यसका लागि हामीले भारतीय अधिकारीहरूलाई शेख हसिना र अन्य फरार व्यक्तिहरूको प्रत्यर्पण प्रक्रिया छिटो अगाडि बढाउन आग्रह गरेका छौँ।”

भारतले बङ्गलादेशको प्रत्यर्पण अनुरोध ‘अध्ययनको क्रममा’ रहेको बताएको छ।

फेब्रुअरीमा पदभार ग्रहण गर्नुभएका प्रधानमन्त्री रहमानले मलेसिया र चीन भ्रमण गरिसक्नुभएको छ । बङ्गलादेशका नेताहरूको पहिलो विदेश भ्रमण भारत जाने परम्पराबाट यो फरक थियो।

भारतको बङ्गलादेशस्थित उच्चायुक्त दिनेश त्रिवेदीले गत हप्ता रहमानसँग भेट गर्नुभएको थियो, यसले सम्भावित सफलताको अनुमानलाई बढाएको थियो।

करिमका अनुसार बङ्गलादेश र भारतका अधिकारीहरू रहमानको भ्रमणको सम्भावनाबारे हालका हप्ताहरूमा सम्पर्कमा थिए ।

“शेख हसिनाको खुला मिडिया अन्तर्वार्ताले सम्बन्ध सुधारको प्रक्रियामा समस्या उत्पन्न गरेको छ । उहाँ मानवताविरुद्धको अपराधमा दोषी ठहरिनुभएको छ ।”

जो एक लामो समय प्रजातन्त्र समर्थक नेता रहनुभएकी हसिना उहाँको १५ वर्षको शासनकालमा अधिनायकवादी बन्दै गएको आलोचकहरूले बताउने गरेका छन् ।

हसिनाले यस महिना दिएको अन्तवार्तामा आफू जेल जान परे पनि डिसेम्बरमा स्वदेश फर्कने घोषणा गर्नुभएको थियो ।

करिमले थप्नुभयो,“सरकारले सार्वभौमिकता र अहस्तक्षेपमा आधारित ‘बङ्गलादेश प्रथम’ विदेश नीति अघि बढाउने छ र भारत तथा अन्य देशहरूसँग पारस्परिक लाभदायक सम्बन्ध खोज्ने छ।

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

काठमाडौँ – सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले रोल्पाको थवाङ र सुनछहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको हो ।

कमाण्ड पोष्टले प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि सहभागी अध्ययन टोली तीन दिनभित्र कार्यस्थलमा खटाउने निर्णय गरेको छ । उक्त टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिसमेत सहभागी हुनेछन् ।

रोल्पा, जाजरकोट र बझाङमा उद्धार, राहत तीव्र बनाउन निर्देशन

मनसुनजन्य विपद्का कारण विभिन्न जिल्लामा जनधनको क्षति बढिरहेका बेला मनसुन प्रतिकार्य कमाण्ड पोष्टले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । ती जिल्लामा पहिरोबाट भएको क्षतिप्रति गम्भीर चासो व्यक्त गर्दै प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरिएको छ ।

बैठकले विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ अनुसार प्रारम्भिक द्रुत लेखाजोखाका आधारमा प्रभावित परिवारलाई नगद वा वस्तुगत राहत, मृतक राहत तथा घाइतेको निःशुल्क उपचार उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहलाई अनुरोध गरेको छ ।

त्यस्तै, विपद्बाट क्षतिग्रस्त परिवारका लागि अस्थायी आवास निर्माण तथा निजी आवास प्रवलीकरण, पुनर्निर्माण र पुनःस्थापनाको अनुदान प्रक्रिया तत्काल अघि बढाउन पनि निर्देशन दिइएको छ ।

अत्यावश्यक सेवा तत्काल सञ्चालन गर्न आग्रह

बैठकले पहिरो तथा बाढीका कारण अवरुद्ध भएका सडक, खानेपानी, सिँचाइलगायत अत्यावश्यक सेवा तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

त्यसैगरी नदी कटान तथा पहिरो नियन्त्रण, प्रभावित परिवारलाई स्वास्थ्योपचार र मनोसामाजिक परामर्श उपलब्ध गराउने तथा स्थानीय तहले पहिचान गरेका अन्य आवश्यक कामलाई प्राथमिकताका साथ अघि बढाउन भनिएको छ ।

‘मनसुन अझै सक्रिय छ, सतर्क रहनुहोस्’

देशका अधिकांश स्थानमा वर्षा भइरहेको र हिमाली तथा पहाडी क्षेत्रमा लगातारको वर्षाका कारण जमिन गलेर पहिरोको जोखिम थप बढेको भन्दै बैठकले सर्वसाधारणलाई मनसुन अवधिभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

देशका विभिन्न स्थानमा बाढी, आकस्मिक बाढी, गेग्रान बहाव र डुबानको जोखिमसमेत रहेकाले सम्भावित जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको सूचना पालना गर्न आग्रह गरिएको छ ।

नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

ललितपुर – हरेक वर्षको साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का दिन ललितपुरको धापाखेलस्थित नागदहमा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । यस वर्ष सोमबार लाग्ने नागपञ्चमीको प्रचारप्रसार, सुरक्षा, सरसफाइ, गङ्गा आरती, पूजा, बजार व्यवस्थापनलगायत तयारी पूरा भएको हो ।

ललितपुर महानगरपालिका-२४ का वडाध्यक्ष एवं नागदह विकास तथा संरक्षण समितिका अध्यक्ष दिनेशजङ्ग पाण्डेका अनुसार धापाखेलस्थित नागदहमा सोमबार लाग्ने नागपञ्चमी मेलाको सुरक्षा, सरसफाइ, गङ्गा आरतीलगायत तयारी पूरा भएको हो ।

“परापूर्वकालदेखि श्रावण शुक्ल पञ्चमीका दिन यहाँ मेला लाग्ने परम्परा रहिआएको छ । वासुकी नागको बासस्थान रहेको नागदहमा लाग्ने मेला भव्य रूपमा सम्पन्न गर्न हामी तयारीमा जुटेका छौँ”, वडाध्यक्ष पाण्डेले भन्नुभयो । मेलाका दिन (सोमबार) बिहान ४ः०० बजेदेखि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

वडाध्यक्ष पाण्डेका अनुसार यस वर्षको नागपञ्चमी मेलालाई थप व्यवस्थित, स्वच्छ र भव्य बनाउन प्रचारप्रसार, सुरक्षा, सरसफाइ, गङ्गा आरती, पूजा, बजार व्यवस्थापनलगायत ११ वटा विषयगत उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ । विभिन्न क्षेत्रका सुरक्षाकर्मी, विद्यालयका स्काउट, समाजसेवीलाई लाइन व्यवस्थापनको लागि खटाइने तयारी भएको उहाँले बताउनुभयो ।

स्वास्थ्य उपचारका लागि धापाखेल हेल्थपोस्ट, रेडक्रस र सुमेरु अस्पतालसँगको सहकार्यमा एम्बुलेन्स तयारी अवस्थामा राख्नुका साथै प्राथमिक उपचारको व्यवस्था गरिएको छ । वडाध्यक्ष पाण्डेका अनुसार पूजारी शिव गिरीको घरबाट सोमबार बिहान बहुमूल्य गरगहनासहित पित्तलको नागको प्रतिमा नागदहमा ल्याइन्छ र पूजा गरिन्छ ।

दिनभरी पूजा गरिएको प्रतिमालाई राति बाजागाजासहितको टोलीले फेरि पुजारीकै घरमा लगेर राखिदिने परम्परा रहेको उहाँले बताउनुभयो । “नाग भगवान्लाई रिझाएर खुसी पारेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वासअनुसार यहाँ नागपञ्चमीका दिन वासुकी नागको विशेष पूजाआराधना हुन्छ”, वडाध्यक्ष पाण्डे भन्नुभयो ।

नागको पूजा गर्दा घरमा सुखशान्ति मिल्ने, अन्नबाली सप्रने र छालाको रोग निको हुने जनविश्वास रहेको उहाँले बताउनुभयो । “नागपञ्चमीमा नागदहमा आएर नागको दर्शनसँगै स्नान गरेमा घरमा सुखशान्ति मिल्ने, अन्नबाली सप्रने र छालासम्बन्धी रोग निको हुने जनविश्वास छ”, वडाध्यक्ष पाण्डेले भन्नुभयो ।

नागपञ्चमीका अवसरमा लाग्ने मेला भर्न उपत्यका र आसपासका जिल्लाबाट भक्तजन आएर नागदहमा स्नान गर्नुका साथै विभिन्न भाकल राखेर नागको मन्दिरमा पूजा गर्ने तथा दर्शन गर्ने चलन रहिआएको छ । मेलामा ललितपुरका धापाखेल, झरुवाराशी, चापागाउँ, ठैव, हरिसिद्धी, लुभु, लेले, गोदावरी, छम्पी, सातदोबाटोलगायत क्षेत्रका स्थानीय र भक्तजनको घुइँचो लाग्ने वडाध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

करिब ५२ रोपनी क्षेत्रफलमा फैलिएको प्राकृतिक नागदहको गहिराइ समग्रमा २५ फिट भए पनि मध्यभागमा ४१ फिट रहेको छ । दहको चौडाइ ९३७ मिटर रहेको समितिले जनाएको छ । प्राचीन तालका रूपमा परिचित यो पोखरीको धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । काठमाडौँको पानी चोभार गल्छीबाट पठाइएपछि यो स्वतः निर्मित दह बनेको हो । त्यसबेला उपत्यकाका नागले यहाँ बसोबास गरेका भन्दै नागको पूजाआजा हुन थालेको जनविश्वास रहिआएको छ ।

आदिकालमा काठमाडौँ उपत्यकाका तीन सहर जलमय भइरहेका बेलामा मञ्जुश्रीले चोभार र बाँडेगाउँको पहाडलाई तान्त्रिक विधिबाट छेदन गरी पानी बाहिर पठाएको किंवदन्ती रहेको वडाध्यक्ष पाण्डेले बताउनुभयो । “त्यसरी पानी बाहिर पठाउँदा नागराजा पनि बाहिर जाने भएकाले दह बनाएर नागराजालाई राखिएको र त्यही दह धापाखेलस्थित नागदह बनेको जनविश्वास छ”, उहाँले भन्नुभयो ।

नागदह धार्मिक एवं सांस्कृतिक क्षेत्र मात्र होइन । राष्ट्रिय सिमसार क्षेत्रसमेत भएकाले विभिन्न स्थानबाट आउने पन्छीको बासस्थान पनि यहाँ छ । नागदहमा नागपञ्चमी र ऋषिपञ्चमीमा ठूलो मेला लाग्दछ । पछिल्लो समय ललितपुर महानगरपालिकाले यसलाई पर्यटकीय गन्तव्यका रूपमा संरक्षण र प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गरिरहेको छ ।

इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित

पूर्वी इन्डोनेसियामा शनिबार आएको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म कम्तीमा ५१ जनाको मृत्यु भएको त्यहाँको प्रशासनले जनाएको छ । करिब पाँच हजार मानिस विस्थापित भएका छन्। उद्धार टोलीहरू अझै पहिरोले अवरुद्ध बाटो खोल्न व्यस्त छन्।

इन्डोनेसियाको करिब २९ करोड जनसङ्ख्या लगभग १७ हजार टापुमा बसोबास गर्छ । यो प्यासिफिक ‘रिङ अफ फायर’मा पर्ने भएकाले विश्वकै सबैभन्दा बढी भूकम्प आउने देशहरूमध्ये एक हो ।

शनिबार बिहानै आएको ७.७ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु इन्डोनेसियाको मध्य क्षेत्रमा रहेको फ्लोरेस टापुको एन्डे सहरबाट करिब ६८ किलोमिटर उत्तर–पश्चिममा, पूर्वी नुसा तेङ्गारा प्रान्तमा परेको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणले यसको गहिराई १० किलोमिटर बताएको छ ।

भूकम्पपछि अहिलेसम्म करिब ३४१ परकम्प आइसकेका छन्। यो पछिल्ला वर्षहरूमा इन्डोनेसियाको सबैभन्दा घातक भूकम्पहरूमध्ये एक मानिएको छ।

उप स्वास्थ्यमन्त्री बेन्जामिन पाउलस ओक्टेभियानसले आइतबार भन्नुभयो, “भूकम्पमा परी ५१ जनाको मृत्यु भएको, ३६ जनालाई गम्भीर घाइते अवस्थामा भेटिएको छ भने ७७ जनालाई सामान्य चोट लागेको छ ।

भूकम्पका कारण सिक्का क्षेत्रमा मात्र तीन हजार ३०० भन्दा बढी मानिस घर छाडेर भागेका वा अलपत्र परेका र धेरैजना खेल मैदानमा आश्रय लिइरहेका राष्ट्रिय विपद् व्यवस्थापन निकाय बिएनपिबीले जनाएको छ।

टालिबुरा गाउँकी एक बासिन्दाले भन्नुभयो, “कम्पन धेरै ठूलो थियो। हामी १३ जना परिवार नै भागेर बाहिर निस्कियौँ।”

मौमेरे बन्दरगाह शहरमा बासिन्दाहरू भत्किएका घर अगाडि पालमुनि बसिरहेका छन्। अरूलाई अस्पताल बाहिर अस्थायी पालमा उपचार दिइएको छ। एक क्षेत्रीय उपप्रमुखले भन्नुभयो, “अधिकांश सिक्काबासी अहिले पनि घरभित्र बस्न डराउँछन् र बाहिरै सुत्छन्।”

–घर र पूर्वाधारमा क्षति–

बिएनपिबी प्रमुख लेफ्टिनेन्ट जनरल सुहार्यान्तोका अनुसार भूकम्पले कम्तीमा १५७ घर पूर्ण रूपमा ध्वस्त पारेको छ भने करिब २०० घर क्षतिग्रस्त भएका छन्। भूकम्पको केन्द्र नजिकको नागेकेओ क्षेत्रका करिब दुई हजार स्थानीयलाई अस्थायी आश्रयमा सारिएको छ ।

उद्धारका लागि तीन हेलिकप्टर र एउटा उद्धार जहाज पठाइएको छ। यस क्षेत्रका साना–साना टापुहरूले पहुँचलाई अझै कठिन बनाएका छन्।

पूर्वी नुसा तेङ्गाराका प्रहरी प्रमुख रुडी दार्मोकोले भन्नुभयो, “प्रान्तभरि गम्भीर क्षति र भवन भत्किएका छन्।”

केही ठाउँमा उद्धार अझै पुग्न सकेको छैन ।

पहिरोले बाटो अवरुद्ध गरेको नागेकेओसम्म उद्धार टोली पूर्ण रूपमा पुग्न सकेका छैनन्। त्यहाँको सञ्चार पनि बिग्रिएको छ । मौमेरेका एक उद्धार अधिकारीले भन्नुभयो, “टोलीले उद्धारका लागि फेरीबाट वस्तीमा पुग्ने प्रयास गरिरहेको छ ।”

भूकम्पपछि उद्धार तथा राहत वितरण व्यवस्थापनका लागि तीन हजार ५०० भन्दा बढी सेना र प्रहरी परिचालन गरिएका छन्। एक हजार ३०० भन्दा बढी घर क्षतिग्रस्त भएका छन्। विद्युत् कटौतीका कारण २० पेट्रोल पम्प बन्द भएका राज्यको ऊर्जा कम्पनी पर्टामिनाले जनाएको छ ।

मानार्थ महारथीको दर्जा लिन भारतीय प्रधानसेनापति सेठ नेपालमा

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ मानार्थ महारथीको दर्जा ग्रहण गर्न आइतबार काठमाडौं आइपुगेका छन् । एयर इन्डियाको विमानमार्फत अपराह्न ४ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका सेठले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नेछन् भने नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेट गर्ने कार्यक्रम छ । भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी गत जुन ३० मा सम्हालेका सेठलाई नेपालले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्न लागेको हो ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना हुने विशेष समारोहमा भारतीय प्रधानसेनापति सेठलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछन् ।

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ। ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी उपभोक्तालाई राहत दिन सरकारसँग माग गरेको छ।ग्यास उद्योग र फरकफरक स्थानमा बिक्री केन्द्र तोकेर ग्यास बिक्री वितरण गरिँदा उपभोक्ताले अनावश्यक दुःख पाएको भन्दै महासङ्घले नजिकैको बिक्रेतामार्फत उपभोक्तालाई सहज रुपमा ग्यास पाउन व्यवस्था गर्न माग गरेको हो।

“बिक्रेतामार्फत बिक्री नगरी उद्योग र विभिन्न बिक्री केन्द्रमार्फत ग्यास बिक्री गर्ने निर्णयले यसको अभाव थप जटिल बन्दै गएको छ”, महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ। महासङ्घले अहिले ग्यासको बिक्री वितरणमा देखिएको समस्या समाधानमा केन्द्रित हुन सरोकारवालाको ध्यानाकर्षणसमेत गराएको छ।

बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौँ । बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गरेकी छिन्। उनले रु दुई हजार १०० को रसिद काटी पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

अभिनेत्री चोपडासहित आज २३५ जनाले विशेष पूजाको रसिद काटेर मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेका कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले जानकारी दिए। सौरमास अनुसार आज साउनको अन्तिम दिन भएकाले बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। सार्वजनिक बिदा पनि परेकाले साउनको अन्तिम दिन धेरै भक्तजन आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनमा यहाँ आएकी हुन्।

अभिनेत्री चोपडा पनि साउन महिना पारेर पशुपतिनाथको पूजा, आराधना र दर्शन गर्न नेपाल आएकी हुन्। गत हप्ता बलिउड अभिनेत्री शिल्पा सेट्टीले पनि पशुपतिनाथ मन्दिरमा रसिद काटेर विशेष पूजा, आराधना र दर्शन गरेकी थिइन्।

प्रकाश पराजुली र प्रियाको जोडीको ‘म्वाई खादै’ले तान्यो दर्शकको ध्यान

काठमाडौं । नेपाली दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा सर्जक प्रकाश पराजुलीले यस वर्षको तीजलाई लक्षित गर्दै सार्वजनिक गरेको ‘म्वाई खादै’ बोलको गीत अहिले चर्चामा छ। आफ्नै श्रीमती प्रिया अधिकारीलाई भिडियोमा अभिनय गराउँदै पराजुलीले सार्वजनिक गरेको गीतले दर्शक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानिरहेको छ।

गीतमा एउटी नारीले आफ्नो जीवनमा भोगेको पीडा आमाको अगाडि समेत लुकाएर सुनाउनुपर्ने बाध्यतालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। श्रीमान् तथा परिवारबाट पाएको पीडा र यातनालाई समेत सहेर अरूको अगाडि मुस्कुराउन बाध्य हुने नारीको वास्तविकतालाई गीतले प्रस्तुत गर्न खोजेको छ।

भिडियोमा प्रियाको अभिनय र नृत्यले पनि दर्शकको मन जितेको छ। सामाजिक सञ्जालमा रमाइला भिडियोमार्फत चिनिँदै आउनुभएकी प्रियाले अभिनय र नृत्यमा समेत आफ्नो क्षमता देखाउनुभएको छ। गीतमा उहाँले निर्वाह गर्नुभएको भावनात्मक भूमिकाको अहिले सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

प्रकाश पराजुलीको शब्द तथा संगीत रहेको गीतमा चर्चित दोहोरी गायिका देवी घर्तीको आवाज रहेको छ। पराजुलीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले पराइ घर गएपछि एउटी नारीले भोग्नुपर्ने पीडा, संघर्ष र वास्तविकतालाई कथामार्फत प्रस्तुत गरेको छ।

गीतका शब्द र भावअनुसार अहिले टिकटकमा समेत विभिन्न भिडियोहरू बनिरहेका छन्। गीतका टुक्का तथा भावलाई प्रयोग गरेर ठूलो संख्यामा टिकटक भिडियो बनेका छन्। करिब एक लाखभन्दा बढी टिकटक भिडियो बनेको दाबी गरिएको यो गीत यस वर्षको तीज गीतमध्ये सामाजिक सञ्जालमा राम्रो चर्चा पाउने गीतका रूपमा देखिएको छ।

प्रकाश पराजुली नेपाली दोहोरी क्षेत्रमा भावुक तथा मन छुने सिर्जनाका लागि परिचित हुनुहुन्छ। उहाँका गीतमा नेपाली समाज, प्रेम, सम्बन्ध र मानिसका वास्तविक पीडालाई समेटिएको पाइन्छ। लाइभ दोहोरीमा समेत उहाँले प्रस्तुत गर्ने शब्द, टुक्का र भाव सामाजिक सञ्जालमा बारम्बार भाइरल हुने गरेका छन्।

प्रकाश र प्रिया प्रेम विवाह गर्नुभएको जोडी हुनुहुन्छ। विवाहको सुरुवाती समयदेखि नै चर्चामा रहेको यो जोडी पछिल्लो समय व्यवसायसँगै सांगीतिक क्षेत्रमा पनि सँगसँगै देखिँदै आएको छ। प्रकाश दोहोरी च्याम्पियनमा प्रतिस्पर्धा गर्दा प्रियाले उहाँको सफलताका लागि निरन्तर भोट माग्दै साथ दिनुभएको थियो। अन्ततः प्रकाश पराजुली सहभागी टिम नै दोहोरी च्याम्पियन बन्न सफल भएको थियो।

स्याङ्जामा जन्मिनुभएका प्रकाश पराजुली सानैदेखि दोहोरी क्षेत्रमा सक्रिय सर्जकका रूपमा स्थापित हुनुभएको हो। उहाँले सिर्जना गरेका थुप्रै गीत दर्शक तथा श्रोताको मनमा बस्न सफल भएका छन्। आफ्ना सिर्जनामा आफैंले आवाज दिँदै उहाँले विभिन्न गीत बजारमा ल्याउनुभएको छ भने उहाँका सिर्जनामा अन्य कलाकारले समेत लगानी गरेर गीत सार्वजनिक गर्दै आएका छन्।

पछिल्लो समय देश तथा विदेशका विभिन्न सांगीतिक कार्यक्रममा व्यस्त रहनुभएका पराजुली अहिले स्टेज कार्यक्रमहरूमा समेत सक्रिय देखिनुहुन्छ। ‘म्वाई खादै’मा भने उहाँले सिर्जनासँगै अभिनयमा समेत आफूलाई प्रस्तुत गर्नुभएको छ।

नारीको पीडा, सहनशीलता र वास्तविक जीवनको कथालाई भावनात्मक रूपमा प्रस्तुत गरेको ‘म्वाई खादै’ गीतले आगामी दिनमा अझै दर्शकको माया पाउने अपेक्षा गरिएको छ।

कोशीमा विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे नीति संवाद

विराटनगर । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक सङ्घ नेपालको सहजीकरणमा ‘विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधान’ विषयमा देशव्यापी नीति संवाद अभियानअन्तर्गत कोशी प्रदेशस्तरीय कार्यक्रम भएको छ ।

उक्त मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले नयाँ शिक्षा ऐन तर्जुमा गर्न सरकार गम्भीर रहेको बताउँदै विद्यालय शिक्षालाई व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधारलाई ऐनले प्राथमिकतामा राख्ने जानकारी दिए।

सोही मन्त्रालयका सल्लाहकार शैलेन्द्र झाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै सबै सामुदायिक विद्यालयको गुणस्तर सुनिश्चित गर्ने दिशामा सरकार अघि बढिरहेको उल्लेख गरे । उनले विद्यालयलाई बजेटको पहुँचका आधारमा मात्र नभई वास्तविक आवश्यकताका आधारमा स्रोत तथा बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

मुलुकको शैक्षिक क्षेत्रका जानकार विद्यनाथ कोइरालाले विद्यालय शिक्षा सुधारका लागि नीति निर्माण गर्दा विद्यालय तहका वास्तविक अनुभव, आवश्यकता र सरोकारवालाको आवाजलाई समेट्नुपर्ने बताए ।

प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमले विद्यालय तहका वास्तविक समस्या र समाधानका सुझावलाई नीति निर्माणको केन्द्रमा पुर्याउन प्रत्यक्ष संवाद महत्वपूर्ण हुने बताए ।

कोशी प्रदेशका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी गरी २०० जना सहभागी उक्त संवादमा शिक्षक–कर्मचारीका पेशागत समस्या, विद्यालय शिक्षाका चुनौती तथा मौजुदा शिक्षा ऐन, नियमावली र नीतिगत सुधारबारे छलफल भएको थियो ।

त्यस अवसरमा दिइएको जानकारीअनुसार प्रदेशस्तरका समूहगत छलफल र अनलाइनबाट प्राप्त सुझावलाई एकीकृत गरी शिक्षा ऐन, नियमावली तथा शिक्षा नीतिलाई विद्यालय तहका वास्तविक आवश्यकता र सरोकार भएकाहरूका सुझावमा आधारित बनाउन पुनः परामर्श गरिनेछ । नीति संवाद अभियान अन्य प्रदेशमा सञ्चालन हुनेछन् ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५७, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३७ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६५ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, काउली स्थानीय प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ९०, मकै बोडी प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ६०, परवर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, भिन्डी प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु १०० र स्कुस प्रतिकिलो रु ६० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु १३०, पालुङ्गो प्रतिकिलो रु २५०, तोरीको साग प्रतिकिलो रु १००, प्याज (हरियो) रु २००, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३३० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निउरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु १६०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ५००, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु १५००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमूला प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, आँप (मालदह) प्रतिकिलो रु २८०, आँप (चोसा) प्रतिकिलो रु २५०, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५ काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु ६०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २००, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ६०, अमला प्रतिकिलो रु २८०, एभोकाडो प्रतिकिलो रु ५००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ५००, अदुवा प्रतिकिलो रु २३०, खुर्सानी सुकेको प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ५०, लसुन हरियो प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ३५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३३० र ताजा माछा (छडी) प्रतिकिलो रु ३३० निर्धारण भएको छ ।

ज्ञानेन्द्र शाहीको सरकारमाथि व्यंग्य – ‘ग्यास लुकाउन पहिले सिलिन्डर हुनुपर्‍यो नि !’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले ग्यास लिन नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको सरकारको निर्णयप्रति व्यंग्य गरेका छन् ।

सरकारले ग्यास लुकाएर अभाव सिर्जना भएको दाबी गरेको प्रसंग उल्लेख गर्दै शाहीले नागरिकले ग्यास कहाँ लुकाए भन्दै प्रश्न गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले व्यंग्यात्मक शैलीमा लेखेका छन्, ‘ग्यास लिन नागरिकता र राष्ट्रिय परिचयपत्र किन अनिवार्य गरेको भनेर सोध्दा सरकार भन्छ— नागरिकहरूले ग्यास लुकाए।’

उनले सरकारलाई प्रश्न गर्दै नागरिकले ग्यास पानीको गाग्रो, ड्रम, ट्याङ्की, भकारी वा जमिनमुनि खाल्डो खनेर लुकाएको हो भन्दै व्यंग्य गरेका छन् ।

शाहीले ग्यास लुकाउन नागरिकसँग पहिले सिलिन्डर हुनुपर्ने भन्दै बजारमा सिलिन्डर नै अभाव रहेको दाबी गरेका छन् ।

‘ग्यास लुकाउनका लागि त नागरिकसँग पहिले सिलिन्डर हुनुपर्‍यो नि ! सिलिन्डरहरू त सबै लाइनमा छन्,’ उनले लेखेका छन् ।

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने

काठमाडौँ। मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरुले बताएका छन् ।

उनीहरूले विद्युत् बजार विस्तार गर्न नयाँ कानुन आवश्यक नरहेको र विद्यमान विद्युत् ऐन, २०४९ का आधारमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन सकिने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल (इप्पान)ले हालै ललितपुरमा आयोजना गरेको ‘नेपाल–भारत ऊर्जा व्यापारः निजी क्षेत्रका लागि अबको बाटो’ शीर्षकमा भएको छलफलमा उनीहरुले एउटा निकायबाट मात्र ठूलो परिमाणमा विद्युत् व्यापार सम्भव नहुने भन्दै प्रतिस्पर्धात्मक विद्युत् बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्नेमा जोड दिएका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मुलुकको अपार जलस्रोतको विद्युत् उत्पादनमा अधिकतम उपयोग गर्दै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउने सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले यसका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्न चाहन्छ भन्नुभयो ।

मन्त्री श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा विद्युत् निर्यातबाट रु २९ अर्ब ३२ करोड आर्जन भएको तथा रु १८ अर्बभन्दा बढी खुद बचत भएको छ । अब पूर्वानुमानयोग्य नीति, सक्षम नियमन, निजी क्षेत्रको सहभागिता र प्रभावकारी ऊर्जा कूटनीतिमार्फत मुलुकलाई वर्षभरि विश्वसनीय विद्युत् निर्यातकर्ता बनाइनेछ ।

पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिने सम्बन्धमा विगतमा कानुन तर्जुमा गरिएको भए पनि सरकार परिवर्तनका कारण निर्णय हुन नसकेको बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक प्रबल अधिकारीले विद्यमान ऐनमा उत्पादित विद्युत् बिक्री तथा आयातसम्बन्धी व्यवस्था रहेकाले त्यसकै आधारमा निजी क्षेत्रलाई व्यापारको अनुमतिपत्र दिन सकिने बताउनुभयो ।

विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले आफ्नो उत्पादनका लागि ग्राहक खोज्न सक्ने प्रावधानयुक्त खुला पहुँचसम्बन्धी निर्देशिका जारी गर्ने तयारीमा आयोग रहेको जानकारी दिनुभयो ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशले ऊर्जा क्षेत्रमा अवसर सिर्जना हुने बताउनुभयो भने इप्पानका पूर्वउपाध्यक्ष आशिष गर्गले निजी क्षेत्र विद्युत् खरिद–बिक्रीका लागि तयार रहेको बताउनुभयो ।

रोल्पामा पहिरोमा परिएर एक जनाको मृत्यु

रोल्पा। लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तरको वर्षासँगै आज बिहान खसेको पहिरोमा परी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो ।

सुवासना खड्काले जितिन् ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन् ।उपाधिसँगै खड्काले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् ।

ग्रान्ड फिनालेमा सुवासनासहित आठ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

नेपाली विद्युतीय स्कुटरलाई अमेरिकी पहाडसम्म पुर्‍याउने सपना देखौँ : अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन् ।

सिप्रदी यात्रीद्वारा काठमाडौँको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ुयात्री पीटूु बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै उनले यस्तो बताए।

“तपाईंहरूले गरेको मेहनत सह्रानीय छ। यात्री पीटू विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,” अर्थमन्त्री डा। वाग्लेले भने, “गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोला। अघि बढ्नुहोस्। सरकार तपाईंहरूको साथमा छ।”

नेपालले आफैँ डिजाइन गरेर दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माण गर्नु आफैँमा ऐतिहासिक कदम भएको बताउँदै अर्थमन्त्री वाग्लेले यसलाई विश्व बजारसम्म फैलाउन र प्रतिस्पर्धामा अब्बल हुन पनि सुझाव दिए।

“एप्पलको डिजाइन क्यालिफोर्नियामा हुन्छ, उत्पादन चीनमा हुन्छ। सकेसम्म तपाईंहरू नेपालमै गर्नुहोस्। सरकारले के(के सहयोग गर्नुपर्ने हो भन्नुस् तर, विश्व बजारमा फैलन अरू के(के गर्न सकिन्छ त्यसमा पनि सोच्नुहोला,” अर्थमन्त्री डा। वाग्लेले भने, “नेपाली इन्जिनियर र डिजाइनरहरूले गरेको यो मेहनतको म सम्मान गर्छु।”

नेपालमा बनेको स्कुटरले विश्व बजारमा चलिरहेका ब्रान्डहरूलाई जित्न सकोस् भन्ने शुभकामना पनि उनले दिए। नेपालमा बनेको स्कुटर अमेरिकी पहाडहरूमा समेत दौडिन सकून् भन्दै अर्थमन्त्रीले प्रवासमा रहेका नेपालीहरूलाई यो ब्रान्ड मन परोस् र नेपालीहरूले खोजीखोजी चढेको हेर्न पाइयोस् भन्ने शुभकामना व्यक्त गरे ।

सो क्रममा अर्थमन्त्री डा।वाग्लेलाई यात्री विद्युतीय बाइकका संस्थापक तथा सीईओ असिम पाण्डेले नयाँ बनाइएको स्कुटर ९यात्री पीटू० को डिजाइन, सुरक्षा जाँच, त्यसमा प्रयोग हुने पार्टपुर्जा र स्कुटरको सफल परीक्षणको अनुभवबारे जानकारी गराएका थिए । ।

यस्तै, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले आफूहरूले विद्युतीय स्कुटर नेपालमै डिजाइन र उत्पादन गरेर ऐतिहासिक सफलता हासिल गरेको बताए।

दुईपांग्रे सवारीसाधनको डिजाइन र उत्पादन नेपालमै गर्नु र त्यसका केही विशेषता विश्वमै नभएको उच्चस्तरीय र विशिष्ट हुनु नयाँ सफलता भएको उनको भनाइ छ।

नेपालको कठिन र जटिल पहाडी तथा हिमाली भूभागहरूमा सफल परीक्षणपछि यस्तो स्कुटरलाई छिट्टै सर्वसाधारणलाई बिक्रीका लागि सार्वजनिक गर्ने तयारी भइरहेको श्रेष्ठले बताए। दुईपांग्रे विद्युतीय सवारीसाधनमा डीसी चार्जर भएको स्कुटर नेपालमा निर्माण हुनु विश्वकै पहिलो सफलता भएको कम्पनीका अधिकारीहरूको दाबी छ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सरकारले विद्युतीय ब्याट्री र स्कुटरका पार्टपुर्जा बनाउने कच्चा पदार्थमा केही सहुलियतपूर्ण नीति लिनुपर्ने बताए।

दाइजोका नाममा दबाब र अन्याय सहनु पर्दैन, सम्पर्क गर्नुस् : उपसभामुख ठाकुर

काठमाडौं – प्रतिनिधि सभाका उपसभामुख रुबीकुमारी ठाकुरले छोरीलाई दाइजो नभई शिक्षा दिन आग्रह गरेकी छिन् । शनिबार धनुषाको ढल्केबरमा नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाको उद्घाटन गर्दै उनले दाइजोका कारण कसैलाई अन्याय भए आफूलाई सम्पर्क गर्न पनि आग्रह गरिन् ।

उपसभामुख ठाकुरले दाइजो प्रथाविरुद्ध आफूले निरन्तर आवाज उठाउँदै आएको पनि बताइन् । उनले दाइजो लिएर वा दिएर विवाह गर्ने तथा दाइजोका लागि दबाब दिने कार्य कानुनी रूपमा दण्डनीय हुने भएकाले त्यस्तो कार्य नगर्न आग्रह गरिन् । उनले भनिन्

‘छोरीलाई दाइजो नभई शिक्षा दिनुहोस्, छोराको विवाह गर्दा दाइजो नलिनुहोस्,’ उपसभामुख ठाकुरले भनिन्, ‘दाइजो समाजका लागि अभिसाप हो, सबै मिलेर यसको अन्त्य गरौँ।’

वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।प्रहरी प्रधानकार्यालयले आज बिहान ५ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै सवारीसाधनको आवागमन रोक लगाइएको छ । उक्त सडकखण्डमा बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन् ।मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमन रोक लगाइएको छ ।

इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ ।सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा यो सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ

सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडामा सडक भासिँदा कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–४ कैकुखोलामा पहिरोले बेनी–जोमसोम सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा पहिरोले भालुवाङ–लिवाङ सडक तथा चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा रूखसहितको सुक्खा पहिरो खसेपछि पृथ्वीराजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

निरन्तरको वर्षाका कारण पहिरो खस्ने, बाढीले सडक कटान गर्ने तथा भासिने क्रम जारी रहेकाले आफू यात्रा गर्ने सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालयले सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ । यही साउन २६ देखि छ दिनका लागि सुरु भएको मेलाको पाँचौँ दिन आजसम्ममै आयोजकको लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पोस्थल पुगिसकेका आयोजकको दाबी छ ।

शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेका आयोजकले जनाएको छ । यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको सङ्ख्या एक लाख ५० हजार नाघेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले छ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो । अटोसो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अवलोकनकर्ताको उल्लेख्य सहभागिताले उत्साहित बनाएको बताए ।

नाइमा मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो
नाइमा मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो
एक्स्पोको उद्घाटनका दिन यही साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका आयोजकको तथ्याङ्क छ । मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । नयाँ–नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेर वितरक कम्पनीहरूले अवलोकनकर्तालाई आफ्ना स्टलमा आकर्षित गरिरहेका छन् ।

अवलोकनकर्ताले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी/ग्यारेन्टी, रिसेल भ्यालूलगायतका विषयमा चासो राख्ने गरेका छन् । कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । मेलामा हालसम्म विभिन्न ब्रान्डले ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो आज साउन ३१ सम्म चल्नेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको छ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् ।

दाजुभाइको दीर्घायुको कामना गर्दै मनाए रानाथारू महिलाले तिज

कञ्चनपुर – छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले दाजुभाइ तथा भतिजाहरूको दीर्घायुको लागि व्रत बसेर तिज पर्व उल्लासहका साथ मनाएका छन् ।

कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायको प्रमुख पर्व तिज पृथक तरिकाले मनाउने गरेका छन् । अन्य समुदायले तिज पर्व भाद्र शुक्ल तृतीयाका दिन मनाउने प्रचलन रहिआएको भए पनि रानाथारू समुदायले श्रावण शुक्ल तृतीयाका दिन तिज मनाउने प्रचलन रहिआएको छ । राना समुदायमा तिज पर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने प्रचलन छ ।

पन्ध्र दिनअघि नै गाउँमा सावनकी डोला अर्थात् पिङ हाल्ने प्रचलन रहिआएको रानाथारू समुदायका जानकार भीमदत्त नगरपालिका–१४ का पर्शुराम रानाले जानकारी दिनुभयो । उहाँका अनुसार तिजका दिन व्रतालु महिलाहरूले रानाथारू समुदायका विभिन्न परिकार पुरी, पापड, सेमइ, पकौडा, गुलगलालगायतका विशेष परिकार पकाएर चेलीबेटीसँगै छिमेकी र आफन्तलाई समेत खुवाउने गरेको बताउनुभयो ।

रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व तिजमा दाजुभाइको दीर्घायु, सुख, समृद्धि र प्रगतिको कामना गर्दै व्रत बस्ने गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ बस्तीका केशमती रानाले बताउनुभयो । “तिजमा हामीहरू पानीसमेत नखाएर निराहार व्रत बस्छौँ, साँझपख कुसको गाँठो पारेर त्यसलाई चाँदीको सिक्काले काटेर नदीमा बगाउँछौँ”, रानाले भन्नुभयो, “जसरी नदीको लामो भार हुन्छ त्यति नै लामो आयु हाम्रो दाइभाइको होस् भनेर कामना गर्छौँ ।” उहाँका अनुसार नदीमा कुस बगेर जति तलसम्म जाने गर्दछ, दाइभाइको आयु त्यति नै लामो हुने गरेको धार्मिक विश्वास छ ।

तिजमा विवाहित महिलाहरूसमेत यतिबेला माइतमा आएर रमाइलो गर्ने गरेका छन् । रानाथारू समुदायको महिलाले आआफ्नो माइतमा बसेर व्रत बसी तिज पर्व मनाउनुका साथै दाजुभाइ र भतिजाहरूको दीर्घायुको कामना गर्दै पिङ खेलेर रमाइलो गर्ने गरेको भीमदत्त नगरपालिका–१६ का सोमन राना बताउनुहुन्छ । “साउन महिनाको सुरुमा गाउँमा पिङ राखेर रमाइलो गर्छौँ, तिजको दिन दाजुभाइको दीर्घायुका लागि व्रत बस्ने गर्दछाँै”, उहाँले भन्नुभयो, “यस अवसरमा आफन्तलाई घरमा बोलाएर विभिन्न परिकार खुवाउने चलन छ ।”

यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा समेत मनाउने गरिएको रानाथारू समुदायका जानकारहरू बताउँछन् । साउनभर मनाउने सावनकी डोला पर्वको क्रममा तिज मनाउँछन् । सावनकी डोला (पिङ)मा काठका खम्बाबाट बनाइन्छ, तर पछिल्लो समय जङ्गलबाट काठ ल्याउन प्रतिबन्ध भएपछि पिङ अर्थात् साउनको डोला राख्न निकै सकस हुने गरेको भीमदत्त नगरपालिका–१४ का स्थानीय वसन्ती रानाले बताउनुभयो । “अहिले दुईवटा खम्बा फलामका बनाएर पिङ (साउनको डोला) निर्माण गरेका छौँ”, रानाले भन्नुभयो, “काठको खम्बासँगै आवश्यक रस्सी जीर्ण हुँदै गएको छ हामीले निकुञ्जसँग माग गरिराखेका छौँ ।” छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यो समुदायमा तिज पर्व पछिल्लो समय नयाँ पुस्ताको समेत रोजाइमा पर्न थालेको उहाँ बताउनुहुन्छ ।

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समय मेचीनगरका एक पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १० पुगेको छ ।

सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन् । जिल्लामा हालसम्म मेचीनगरका चार, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जनामा जेई सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित १० जनामध्ये पाँच जनाको मृत्यु भएको, दुई जना उपचाररत रहेको र तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । सङ्क्रमितमध्ये एक जना सात महिनाका बालक रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए ।

लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिसबाट बच्न वर्षायाममा घर वरपर पानी जम्न नदिन तथा आवश्यक सावधानी अपनाउन जनस्वास्थ्य निरीक्षक श्रेष्ठले सर्वसाधारणलाई आग्रह गरे ।

वर्षायाममा सहज बन्न सकेन बेँसीसहर–चामे सडक

मनाङ । डुम्रे–बेँसीसहर–चामे सडकको ट्र्याक खोलिएको करिब तीन दशक बढी भयो । यस सडकको लमजुङतर्फको सडक अझैसम्म पनि सहज बनाउन सकिएको छैन । डुम्रे–बँेसीसहर–चामे सडक आयोजनाले निर्माण तथा मर्मतको काम गर्दै आएको भए पनि अपेक्षाकृत काम भने हुन सकेको छैन ।

सडक आयोजनाले मात्रै काम गर्दा पुरा नहुँदा स्थानीयवासीका साथै पर्यटकीय क्षेत्र मनाङ पुग्न सास्ती भोग्नुपर्ने बाध्यता रहेको छ । हिउँदयाममा कच्ची सडकमा सहज यात्रा गर्न सकिन्छ भने वर्षायाममा सकस हुने गरेको छ । वर्षायाममा मनाङको मेरुदण्ड (लाइफलाइन) तथा एक मात्र स्थलमार्गको रूपमा रहेको सडक जोखिम भए पनि सहज यात्रा गर्न सकिने अवस्था नरहेको स्थानीय फुर्पा लामाले बताए ।

“सधैँ ठाडो खोला तथा खहरे खोला बढेर आउँदा मनाङ आवतजावत गर्न मुस्किल हुन्छ”, लामाले भने, “मनाङतर्फ भन्दा पनि लमजुङतर्फको सडक बढी अवरुद्ध हुने समस्या छ । लमजुङका खहरे खोलाले यात्रालाई सकस बनाउने गरेको छ ।”

रैदु खोला, श्रीचौरमा खहरे खोला बढेर आउँदा वारपार गर्न सक्ने अवस्था नै नभएको उनले बताए । “बिरामी भए अस्पताल पुग्न समस्या हुन्छ । यस्तो कहिलेसम्म सास्ती भोग्नुपर्ने खै ?” लामाले भने, “केही ठाउँमा अपर मस्र्याङ्दी जलविद्युत् आयोजनाले खोलामा ह्युमपाइप राखेर सजिलो बनाएको छ ।” बाढी, पहिराले मनाङ यात्रालाई सकस बनाउँदै आएको छ ।

बेँसिसहर–चामे सडक खण्डअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ रैदु खोलामा बाढी आउँदा शनिबार करिब आठ घण्टा यातायात अवरुद्ध भएको थियो । आवतजावत अवरुद्ध भएपछि आयोजनाले ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

“वर्षा निरन्तर भइरहेको अवस्था छ । अझै पनि ती क्षेत्रमा जोखिम छ”, सूचना अधिकारी समेत रहेका पौडेलले भने, “दीर्घकालका लागि नभए पनि केही समय आवतजावतमा सहज भएको जानकारी पाएका छौँ । यात्रा गर्दा भने सडकका बारेमा जानकारी लिएर मात्र गर्न सम्पूर्णमा अनुरोध गर्दछौँ ।”

शुक्रबार राति परेको वर्षाका कारण बाटो अवरुद्ध भएको थियो । श्रीचौरमा ठूलो पहिरोले बाटो अवरुद्ध हुँदा मनाङ आउने र बेँसीसहर जाने यात्रुले सास्ती भोग्नुपरेको थियो ।

सुरु भयो मिथिलामा झुलनोत्सव

महोत्तरी । ‘सखी हे, झुला पडल फूल बगियाक डार,

सीतासँग झुलथी रघुबर, मन हरषित अपार !’

मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा विष्णु लक्ष्मी भक्तिका गीत गुञ्जन थालेका छन् । साउन शुक्ल तृतीया तिथिसँगै शनिबार झुलनोत्सव पर्व सुरु भएसँगै मिथिलामा झुलागीत गुञ्जन थालेका हुन् ।

हिन्दु परम्पराका आराध्यदेव श्री विष्णु र भगवती लक्ष्मीको पुकारा गरिने यस पर्वमा यी देवदेवीका अवतार मानिने रामसीता र राधाकृष्णका प्रतिमा कलात्मक झुलना ९एक प्रकारको कोक्रा०मा राखेर भक्ति गीतको लयमा झुलाउने (हल्लाउने) गरिन्छ । साउन पूर्णिमाका दिन समापन गरिने यो पर्व मिथिलाको विशिष्ट सांस्कृतिक उत्सव रहँदै आएको छ ।

शनिबार पर्व सुरु भएसँगै मिथिला क्षेत्रमा अहिले झुला महोत्सवको रौनक छाएको छ । पर्वले महोत्तरीका रामजानकी, लक्ष्मीनारायण र राधाकृष्ण मन्दिर र वैष्णव मठहरूमा झुला महोत्सवमा साधुसन्तसहित सर्र्वसाधारण झुमेका देखिँदा छन् । मैथिल हिन्दु परम्परामा यो पर्व भक्ति, समर्पण र सांस्कृतिक मनोरञ्जनका लागिसमेत विशिष्ट रहँदै आएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउँछन् ।

“यो बालरुप भगवान् र भगवतीलाई झुलनामा झुलाइने पर्व हो, श्रीरामकी माता कौशल्या र श्रीकृष्णकी माता यशोदाले कोक्रामा हल्लाउनुभएको प्रतिकात्मक सम्झना यस पर्वमा गरिन्छ”, डा वैष्णवले भने । विष्णुलक्ष्मी भक्तिको यो पर्व घरघरै नभएर मठमन्दिरमा सामूहिक रूपमा मनाइन्छ । विष्णु लक्ष्मीका अवतार मानिने रामसीता र कृष्णराधाका प्रतिमालाई विशेष झुलामा राखेर गीत गाउँदै हल्लाउनु पर्वको मुख्य विधि हो । झुलामा राखिएका प्रतिमालाई डोरी समाएर झुला गीत गाउँदै श्रद्धालुले हल्लाएर भक्ति भाव जाहेर गर्छन् ।

पर्वका अवसरमा शनिबार साँझ मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरबाट लक्ष्मीनारायणका प्रतिमा डोलीमा राखेर बजागाजासाथ झुलाघर पुर्याएर पर्व सुरु गरिएको छ । यो पर्वमा आमसर्वसाधारण आफ्नो बस्ती नजिकको मठ वा मन्दिरमा भेला भई भजनकीर्तन गाउँदै सीताराम र राधाकृष्णका प्रतिमा राखिएका झुला हल्लाउँदै नाच्दै भक्तिमा नाच्छन् ।

झुला उत्सवमा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत गाइने चलन छ । झुलनोत्सव भनिने यो पर्व प्राचीन मिथिला क्षेत्रका सबैतिर मनाइए पनि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र मन्दिर एवं जनकपुरस्थित जानकी मन्दिरको निकै प्रसिद्ध छ । यसैगरी महोत्तरीको जलेश्वर–१ र बर्दिबास–१४ स्थित रामजानकी कुटीमा झुलामहोत्सव मनाइन्छ ।

मिथिलामा यो पर्व राम जन्मभूमि अवध (अयोध्या) र कृष्णको बाललीलास्थल मानिने वृन्दावनबाट देखासिकीबाट भित्रिएको विश्वास गरिन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सीताको माइती भएका हुँदा ज्वाइँलाई प्रसन्न गराउनुपर्ने मैथिल परम्पराअनुसार यो पर्व मनाउन विसं १७८७ तिर सन्त सुरकिशोर दासले सुरु गराएको मानिन्छ ।

जनकपुरमा अघि रामसीताको विवाह हुँदा राजा जनकले दाइजोमा दिनुभएको हिरा, रत्न र मणिमाणक्यको थुप्रो लागेको र त्यो पहाडजस्तै बनेको बताइन्छ । अहिले मणिपर्वत भनिने सो ठाउँ जनकपुरस्थित जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तर पश्चिममा अवस्थित छ । झुला पर्वमा साउन शुक्ल तृतीयाका दिन यसै मणिपर्वतको पूजा गरेर पर्व सुरु गरिने मिथिला परम्परा छ ।

महोत्तरीको मटिहानीमा छुट्टै झुलाघर निर्मित छ । जहाँ लक्ष्मीनारायण मठ र मन्दिरबाट विष्णुलक्ष्मी प्रतिमा डोलीमा बोकेर ल्याई झुलामा झुलाइन्छ । मटिहानीमा अहिले जिल्लाका र सीमावर्ती भारतका दर्जनौँ मठमन्दिरका प्रतिमा झुलाका लागि ल्याइएका छन् । पर्वभरि साधुसन्त केन्द्रमा जम्मा भई पर्वमा रमाउँछन् ।

साउन पूर्णिमाका दिन विष्णुलक्ष्मीका प्रतिमा झुलाइने झुलनाको डोरी चुडालेर पर्व समापन गरिने मैथिल परम्परा छ । मिथिलामा प्रचलनमा रहेका पञ्चाङ्ग विद्यापति र मिथिला हुन् । यी दुवै पञ्चाङ्गमा चन्द्रमासको साउनदेखि वर्ष प्रारम्भ हुन्छ । यसअनुसार साउनमै मनाइने मधुश्रावणी, झुला, लगपाँच (नागपञ्चमी) र रक्षावन्धनसँगै वर्षभरिका चाडवाडको सिलसिला सुरु भएको सूचनाका रुपमा लिने गरिएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् ।

निगमले आज यी थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौँ। नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिवार विभिन्न ब्रान्डका छ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्रीवितरण गरेको छ ।

निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर वसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलस्थित बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको हो ।

वितरणका क्रममा केही ब्रान्डका ग्यास सिलिन्डर अपुग भएपछि बिक्री केन्द्रमा समयमै उपस्थित भएका उपभोक्तालाई कुपनमार्फत भोलिपल्ट पहिलो प्राथमिकतामा राखी ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ ।

आइतबार उपत्यकाका थप सात बिक्री केन्द्रबाट ग्यास बिक्री गरिने

निगमले आइतबार काठमाडौँ उपत्यकाका थप सात बिक्री केन्द्रबाट अत्यावश्यक उपभोक्ताका लागि एलपी ग्यास बिक्रीवितरण गर्ने जनाएको छ । निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन् ।

त्यस्तै, पशु सेवा शाखा, चापली, बूढानीलकण्ठबाट नेपाल, एचपी र भानु, राधास्वामी परिसर, कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया; नयाँबजार/नयाँ बानेश्वर होटल परिसरबाट नेपाल, एचपी र ओम तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर, बबरमहलबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ ।

चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र, कीर्तिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटिसी ब्रान्डका ग्यास बिक्रीवितरण गरिने निगमले जनाएको छ ।

निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको जनाएको छ । बिक्रीवितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना बिक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री गर्नसमेत अनुरोध गरेको छ ।

साथै, कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्नसक्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ४० पैसा र बिक्रीदर १८८ रुपैयाँ १३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११० रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ १३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९८ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७९ पैसा र बिक्रीदर १० रुपैयाँ ८३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६ रुपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २३ रुपैयाँ ६४ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ २१ पैसा बिक्रीदर ४०५ रुपैयाँ ८० पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३९७ रुपैयाँ ३६ पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

काठमाडौँ। देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा कोशी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका धेरै तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही तथा मधेस र कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा कोशी र बागमती प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा तथा मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भने धेरै भारी वर्षासमेत हुनसक्ने महाशाखाले जनाएको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम हुनसक्ने महाशाखाले जनाएको छ।

वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा महाशाखाबाट जारी हुने सूचनामा अद्यावधिक भइरहन अनुरोध गरिएको छ।