`

प्रतिनिधिसभा निर्वाचनः डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

महेन्द्रनगर (डडेल्धुरा), २९ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा नेपाली कांग्रेस जुटेको छ । विसं २०४८ देखि कांग्रेसले लगातार जित्दै आएको डडेल्धुरामा यस पटकको पूर्वसभापति शेरबहादुर देउवा उम्मेदवार नहुँदा गढ जोगाउन प्रयासमा कांग्रेस जुटेको हो ।

विसं २०७९ सम्म सात पटक यहाँबाट निर्वाचित हुँदै मुलुकको कार्यकारी पद प्रधानमन्त्रीदेखि कांग्रेसको सभापति भएका पूर्वसभापति देउवा आसन्न निर्वाचनको दौडमा नहुँदा निर्वाचनको मैदानमा रहेका प्रतिस्पर्धी आ–आफ्नो पक्षमा नतिजा पार्न सक्रिय भएका छन् ।

कांग्रेसका युवानेता नैनसिंह महरले देउवा निर्वाचनमा सहभागी नहुनुका कारण बताउँदै मतदाताको मन जित्ने र जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । जेनजी आन्दोलनमा देउवा दम्पत्तिमाथिको आक्रमण, त्यसपछि पार्टी सभापति नहुनुलगायत विषयले देउवाको गृहजिल्ला डडेल्धुरामा निर्वाचन आफ्नो पक्षमा पार्न पार्टीलाई चुनौती थपिएको जानकारहरू बताउँछन् ।

नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सभापतिसमेत भइसकेका हालका उम्मेदवार महरलाई देउवाले लगातार जित्दै आएको डडेल्धुरामा कांग्रेसको विजयी यात्रालाई निरन्तरता दिनुपर्ने चुनौती छ ।

कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले निर्वतमान सभापति देउवा स्वास्थ्य समस्याका कारण यहाँ आउन नसक्ने अवस्थामा भएको बताए । “उहाँ प्रचारप्रसारका लागि यहाँ नआउने कुरो बजार हल्ला मात्रै हुन्”, उनले भने, “उहाँ पार्टीको कार्यक्रममा यहाँ आउनुहुन्छ ।”

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चक्र स्नेही पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन् । विसं २०७४ मा राष्ट्रियसभा सदस्य भइसकेका स्नेही विद्यार्थी जीवनदेखि एमालेको राजनीतिमा सक्रिय भएका हुन् । विसं २०७० को संविधानसभा निर्वाचनका बेला एमालेबाट डा तारा जोशी उम्मेदवार भएका थिए ।

एमालेका जिल्ला अध्यक्ष गजेन्द्र शाहीले सिङ्गो पार्टीपङ्क्ती चुनावी मैदानमा सक्रिय रहेको बताए । “एमालेले राष्ट्र, राष्ट्रियता र विकासको पक्षमा गरेको काम गर्ने पार्टी भएकाले विजयी हुने विश्वास छ”, उनले भने ।

कूल ९३ हजार ४०३ मतदाता रहेको डडेल्धुरामा १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । विसं २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा विजयी भएका जोशीको अहिले रास्वपाबाट उम्मेदवारी परेको छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

नेपाली कम्युनिष्ट पार्टीले यहाँ मानसिंह माललाई चुनावी मैदानमा उतारेको छ । “डडेल्धुरामा सम्भावना थुप्रै छन्, जिल्लालाई शिक्षा र स्वास्थ्यको हब बनाउन सकिने सम्भावना छ”, चुनावी घरदैलोमा मालले भने, “मुलुकमा युवाको माग भइरहेको छ । म युवा पनि हुँ, पहिलो पटक जनमतका लागि घरदैलोमा छु । सहयोगको अपेक्षा छ ।”

विसं २०७९ मा सातौ पटक विजयी हुँदा यहाँ देउवाले २५ हजार ५३४ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका थिए ।

प्रतिनिधिसभातर्फ एकमात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा कूल ९३ हजार ४०३ मतदाता छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ९१ हजार २०१ मतदाता थिए । अहिले जिल्लामा दुई हजार २०२ जना मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीले बताए ।

मतदाता वृद्धि भएसँगै मतदान संरचनामा पनि विस्तार गरिएको छ । यसपटक जिल्लामा १०४ मतदानस्थल र १४१ मतदान केन्द्र कायम गरिएका जनाउँदै उनले तीमध्ये ३३ मतदानस्थल ‘अतिसंवेदनशील’को सूचीमा राखिएको उल्लेख गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार डा ताराप्रसाद जोशी पनि चुनावी मैदानमा सक्रिय छन् । एमाले, एकीकृत समाजवादी, स्वतन्त्र, उज्यालो नेपाल पार्टी हुँदै अहिले रास्वपामा पुगेका जोशी डडेल्धुरामा तेस्रो पटक घरदैलो अभियानमा जुटेका हुन् ।

उनले सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको बताए । “नयाँको भावना र पुरानाको अनुभव आजको आवश्यकता हो”, उनले भने, “म त्यो कुरालाई प्रतिनिधित्व गर्छु, राष्ट्र निर्माणका लागि स्पष्ट मार्गचित्र मसँग छ ।”

यहाँ, राप्रपाबाट गोविन्द खडायत, आम जनता पार्टीबाट खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्र विक, श्रम संस्कृति पार्टीबाट महेन्द्र पुनमगर, जय मातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट, स्वतन्त्रबाट सुरेन्द्र रावल, तीर्थराज उप्रेती र गौरवबहादुर ऐर उम्मेदवार भएका छन् । करिब ३४ वर्षपछि पहिलो पटक डडेल्धुराका मतदाताले कांग्रेसबाट देउवाबाहेकका उम्मेदवारलाई मतदान गर्नेछन् । रासस

बालअधिकारका विषय घोषणापत्रमा समावेश गर्न अनुरोध

काठमाडौँ, माघ २९-बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले बालअधिकारका विषयलाई आफ्ना घोषणापत्रमा समावेश गर्न सबै राजनीतिक दलसमक्ष अनुरोध गरेको छ ।अभियानले बालअधिकारको रक्षासँग सम्बन्धित विषयलाई घोषणापत्रमा समावेश गर्न ध्यानाकर्षण गराउँदै राजनीतिक दलका प्रतिनिधिलाई २५ बुँदे सुझाव हस्तान्तरण गरेको छ ।

सबै स्थानीय तह, प्रदेश र सङ्घमा बालअधिकार सुनिश्चितताका निम्ति नेपालको संविधान, बालअधिकारसम्बन्धी महासन्धि, १९८९, बालबालिकासम्बन्धी ऐन, २०७५, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, राष्ट्रिय बालबालिका नीतिको पालनामा अभियानले जोड दिएको छ ।

यसैगरी, बालमैत्री स्थानीय शासन, बालविवाहमुक्त स्थानीय तह, बालश्रममुक्त स्थानीय तह, पोषणयुक्त स्थानीय तह, वातावरणमैत्री स्थानीय तह, बाल हिंसामुक्त स्थानीय तह, सडक बालबालिकामुक्त स्थानीय तह निर्माणका साथै बालबालिकाको हकहित र अधिकारको सुनिश्चितता गर्ने विषयलाई प्राथमिकतामा राख्न अनुरोध गरिएको छ ।

तामाकोशी नदीमा भएको बस दुर्घटनाका तीन जना यात्रु अझै बेपत्ता

रामेछाप । मन्थली नगरपालिका–६, बेनीघाटस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनाका तीन जना यात्रु अझै बेपत्ता रहेका छन् ।जिल्ला प्रहरी कार्यालय रामेछापले उनीहरुको फोटोसहित हुलिया जारी गरी खोजतलास जारी राखेको जनाउँदै सर्वसाधारण तथा सम्बन्धित निकायसँग खोजी कार्यमा सहयोग गर्न अपिल गरेको छ ।

पारिवारिक स्रोतका अनुसार बेपत्ता हुनेहरुमा मन्थली नगरपालिका–२, पिल्ले बस्ने मृतक तारा तामाङका करिब ९ वर्षीय छोरा क्रिशन तामाङ, लिखु तामाकोशी गाउँपालिका–७, तिल्पुङ बस्ने रमिता तामाङका ८ वर्षीय छोरा रोनिश तामाङ र उमाकुण्ड गाउँपालिका–६, गुप्तेश्वर बस्ने २४ वर्षीय विशाल सुनुवार रहेका छन् । नदी क्षेत्रमा सुरक्षाकर्मी र स्थानीयवासीले संयुक्त रुपमा खोजी कार्य जारी राखे पनि हालसम्म उनीहरु फेला नपरेको प्रहरीले जनाएको छ ।

चितवनमा अटोरिक्सालाई स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु, चार घाइते

चितवन। स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

गीतानगरबाट भरतपुरतर्फ आइरहेको अटोरिक्सालाई स्कारपियोले ठक्कर दिएको हो । घाइते सबैको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।

टी–२० विश्वकपः दोस्रो खेलमा नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । खेल मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।
दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन् । पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो । समूह ‘सी’ मा सुपर–८ पुग्ने सम्भावना जोगाइराख्न दुवैका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ ।

नेपालका लागि यसअघिपनि वानखेडेमा खेलिसकेको अनुभव रहेको छ भने इटाली कोलकाताबाट मुम्बई आइपुगेको हो ।नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेख प्रमुख रन–स्रोत मानिएका छन् । कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, नन्दन यादव र शेर मल्ल टोलीका मुख्य खेलाडी हुन् । डेथ ओभरमा बलिङ नियन्त्रण सुधार गर्नुपर्ने पक्षका रूपमा देखिएको छ ।

इटाली पहिलोपटक विश्वकप खेलिरहेको छ । नियमित कप्तान वेन म्याडसन चोटका कारण उपलब्ध छैनन् । जेजे स्मट्स, ग्रान्ट स्टुअर्ट तथा मानेन्टी र मुस्का दाजुभाइ टोलीका मुख्य खेलाडीका रूपमा छन् ।

अपराध गरी विदेश भागेका दश जनालाई इन्टरपोलको समन्वयमा नेपाल ल्याइयो

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन(इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ ।

चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी भएकामा रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई इन्टरपोलको समन्वयमा विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले राससलाई बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षमा ३४ जनाविरूद्ध रेड नोटिस र दुई जनाविरूद्ध डिफ्युजन जारी भएकोमा १७ जना रेड नोटिस जारी भएका र तीन जना डिफ्युजन जारी भएका प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको थियो ।

इन्टरपोलसँगको समन्वयमा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न एवं अन्तरराष्ट्रियस्तरमा फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव क्रियाशील रहेको बताउँदै उहाँले अपराध गरेर संसारको जुनसुकै कुनामा लुके पनि उनीहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी प्रतिबद्ध छ भन्नुभयो ।

मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, निर्वाध ढङ्गले आसन्न निर्वाचन सम्पन्न गर्न तथा अपराध अनुसन्धान एवं नियन्त्रणमा नेपाल प्रहरी अझ सक्रिय भई विभिन्न सुरक्षा रणनीति अवलम्बन गरी कार्यक्षेत्रमा जुटेको प्रवक्ता काफ्लेले बताउनुभयो ।

फरार प्रतिवादीहरूको अन्तरराष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरीअन्तर्गतको नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) को अनुरोधमा इन्टरपोल महासचिवालयले नोटिस जारी गर्दै आएको छ ।

देश बनाउने काम एक जनाबाट मात्र सम्भव हुँदैन, सबैलाई मिलाएर लैजान्छु : सभापति थापा

बरहथवा (सर्लाही)/ नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश बनाउने काम एक जनाबाट मात्र सम्भव नभएकाले सबैलाई मिलाएर लैजाने बताए । सर्लाही निर्वाचन क्षेत्र नं ४ अन्तर्गत बुधबार साँझ जिल्लाको धन्कौलमा आयोजित मतदातासँग भेटघाट कार्यक्रममा उनले आफू मधेसबाट देश जोड्ने सन्देश दिने उद्देश्यसहित यहाँ आएको भन्दै मतदाताको विश्वास जितेर काम गर्ने बताए ।

सभापति थापाले भने,“देश एक्लैले बनाउने होइन । यो सामूहिक प्रयास र सङ्कल्पबाट मात्रै सम्भव हुन्छ । एउटा व्यक्तिले देश बनाउने भए पहिले नै राजा महाराजाले बनाइसक्ने थिए । यसर्थ देशमा रहेका सबै दललाई मिलाएर परिवर्तनका लागि हातेमालो गर्नुछ । त्यसको भूमिका मेरो पार्टी र मैले पूरा गर्नेछु ।”

उनले आफू निर्वाचन क्षेत्र नपाएर सर्लाही नआएको भन्दै उनले काठमाडौँ क्षेत्र नं ४ जस्तो आफ्नो बलियो जनाधार रहेको सजिलो क्षेत्र छाडेर आएको उनले बताए । “मलाई अझ बढी मधेस बुझ्नु छ । यहाँको पीडा बुझ्नु छ । यहाँका समस्याबारे धेरै कुरा उठिसकेका छन्, म समाधान गर्छु भनेर आएको हुँ”, सभापति थापाले भने ।

आफ्नो पार्टीले विश्वास गरेर प्रधानमन्त्रीमा अगाडि सारेको उल्लेख गर्दै उनले अब देशभरबाट पार्टीलाई सहयोग गरेर त्यसमा समर्थन प्राप्त हुनेमा विश्वस्त रहेको बताए । प्रधानमन्त्रीको जिम्मेवारी नपाए पनि आफूले सर्लाही क्षेत्र नं ४ को विकासमा प्रतिबद्ध भएर काम गर्ने उनको भनाइ थियो ।

“मलाई कसैले नेता वा माननीयका रूपमा हेर्नुपर्ने छैन । यहाँहरूले मलाई आफ्नै दाइ, भाइ वा छोरा। साथी भनेर बुझिदिनु हुन्छ । म पाँच वर्षका लागि यहाँहरूको परिवारको सदस्य हुन आएको छु”, सभापति थापाले भने,“समस्या समाधानका लागि सर्लाही–४ र काठमाडौँ दुवै ठाउँमा कार्यालय सञ्चालन गर्नेछु, अहिले मैले मत मागे जसरी पछि यहाँका नागरिकले मसँग हक माग्ने हो ।”

करिब दुई हजार तीन सय सहकारीलाई दर्ता अभिलेखीकरण

काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई दर्ता अभिलेखीकरण गरेको छ । सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने देशभरका सम्पूर्ण सहकारीलाई दर्ता अभिलेखीकरण सुरु गरेको हो ।

सङ्घ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्र बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने सहकारी संस्थाको नियमन, अनुगमन र सुपरिवेक्षण गर्ने प्रमुख जिम्मेवारी प्राधिकरणलाई दिइएको छ ।

ती सहकारीले प्राधिकरणमा दर्ता अभिलेखीकरण नगरी कारोबार गरेमा त्यसलाई गैर कानुनी मानिने तथा उनीहरूको वासलात परीक्षण, नवीकरण प्रक्रिया रोकिने भएकाले प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई कर्जा सूचना केन्द्रको सदस्यता लिनसमेत निर्देशन दिइएको छ ।

प्राधिकरणका निर्देशक केशव भट्टराईका अनुसार सहकारी ऐन २०७४ को दफा ८१ अनुसार बचत तथा ऋण सहकारी संस्थाले कर्जा सूचना केन्द्रमा आबद्ध भएर सूचना आदान–प्रदान गर्नुपर्ने व्यवस्था छ । बचतकर्ताको निक्षेप सुरक्षणका लागि तथ्याङ्क व्यवस्थापन प्रणाली र ऋण कारोबारसम्बन्धी सूचना आदान–प्रदानको व्यवस्था गरिएको उनले जानकारी दिए ।

सहकारी ऐनअनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरी कर्जा कारोबारसम्बन्धी सूचना नियमित आदान–प्रदान गर्नुपर्ने उल्लेख छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ५२, बन्दा (तराई) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु २८, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ५०, काउली तराई प्रतिकिलो रु ३०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १६, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १९०, लौका प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७० र स्कुस प्रतिकिलो रु ७० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ४०, चमसुर प्रतिकिलो रु ३०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु ११०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकिलो रु १००, जिरीको साग प्रतिकिलो रु ५०, ग्याठकोभी प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ४० पुदिना प्रतिकिलो रु ३५०, गान्टे मुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु १९०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २४०, अङ्गुर (कालो) प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १८०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १४५, काँक्रो (लोकल) प्रतिकिलो रु १७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ७०, रुख कटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १४०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५५०, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ११०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १४०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ५५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ७०, हरियो धनियाँ प्रतिकिलो रु ५०, छ्यापी सुकेको प्रतिकिलो रु १५०, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

काठमाडौँ। नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको बताएको छ ।दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले उक्त कुरा बताउनुभएको हो ।

आजको विश्वव्यापी चुनौती र अनिश्चितताका बीचमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको भन्दै उहाँले राष्ट्रिय प्रयास र विश्वव्यापी प्रक्रियाबीच सेतुका रूपमा क्षेत्रीय सहकार्य अत्यावश्यक भएको बताउनुभयो ।

सार्कका महासचिव गोलाम सरवारले सार्कले चार दशकमा हासिल गरेका उपलब्धिको स्मरण गर्दै क्षेत्रीय सहकार्यको आकाङ्क्षालाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

आज समापन हुने बैठकले सार्क सचिवालयको बजेट र कार्यक्रमहरू अनुमोदन गर्नेछ । बैठकमा बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुन्छ ।

“म्याग्दीका मतदाता भन्छन्– भाषण होइन, योजना चाहियो”

म्याग्दी। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका मतदाताले आफ्नो धारणा बनाउन थालेका छन् ।
अब विगतमा झैँ भाषण, आरोप–प्रत्यारोप र आश्वासन बाँड्नेलाई नभई सुशासन, विकास र रोजगारीमार्फत भविष्य निर्माणको सङ्कल्प तथा योजना भएका उम्मेदवार भोट दिने युवा मतदाता बताउने गरेका छन् ।

सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्मका मतदातामा काम गर्ने, समाज जोड्ने र विश्वास कायम गर्ने नेतृत्व रोज्ने धारणा बलियो बन्दै गएको युवा मतदाता भवि शर्माको भनाइ छ । उहाँ भन्नुहुन्छ, “चुनावको मौसममा उम्मेदवार र मतदाता दुवैका विचारहरू आइरहेका छन् । विगतदेखि नै उम्मेदवारले झुटा आश्वासन र विकासे नारामा हामीलाई लोभ्याउँदै आएको अवस्थामा यसपटक त्यस्तो हुँदैन । देशका समस्या समाधान गर्ने स्पष्ट योजना भएको उम्मेदवारलाई रोज्छौँ, त्यसका लागि हामीले सचेत भएर हेरिरहेका छौँ ।”

बेनी नगरपालिका–२ का मतदाता पूर्णबहादुर खत्री समाजमा विग्रह ल्याउने र गलत कुरा गरेर मत बटुल्ने सोचविरुद्ध आफू रहेको बताउनुहुन्छ । “हरेक चुनावमा सपना बाँडिन्छ, तर काम देखिँदैन । यसपटक पनि कतिपयले त्यस्तै गर्न खोजिरहेका छन्, तर हामी सचेत छौँ । अब समाजलाई भ्रमित बनाउने र झुट्टा आश्वासन दिने उम्मेदवारलाई भोट दिँदैनौँ । जनताको दुःख बुझ्ने र काम गर्ने मान्छेलाई रोज्छौँ”, उहाँले भन्नुभयो ।

मङ्गला गाउँपालिका–५ का किसान हरिकृष्ण पौडेलले देशमा सबैभन्दा प्रचुर सम्भावना भएर पनि उपेक्षामा परिरहेको कृषि क्षेत्रको विकासको स्पष्ट खाका ल्याउने दल र उम्मेदवारलाई आफ्नो सहयोग रहने बताउनुभयो । उहाँले कृषि, पर्यटन, रोजगारीलगायत क्षेत्रमा देखिएका समस्या समाधानको नीति, कार्यक्रम र सोच ल्याउनुको सट्टा नपत्याउने गफ गर्नेलाई पहिचान गर्ने चरणमै रहेकाले यसपटक सोचेर मात्र मत दिने योजना रहेको बताउनुभयो ।

खत्रीले भन्नुभयो,“हामीलाई मल, सिँचाइ, सडक र बजार चाहिएको हो । जात र दलको कुरा गरेर समाज भाँड्ने राजनीति अब स्वीकार्य छैन । यस्तो प्रवृत्तिलाई भोट जाँदैन । यसपटक निकै सचेत भएर मत हाल्छौँ ।”

म्याग्दीमा राजनीतिक दलका र स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । हाल सबै उम्मेदवार जनताको घरदैलोमा गई आफ्ना योजना सुनाइरहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले जनताले खोजेको विकास र सुशासन नै आफ्नो मुख्य ‘एजेन्डा’ भएको र जनताको घरघर गएर समस्या पहिचान र गुनासो सुन्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विभाजनको राजनीति होइन, सबैलाई समेटेर विकास गर्ने सोचसहितको बाटोमा हामी प्रतिबद्ध छौँ । मतदाताको विश्वासलाई कामबाटै प्रमाणित गर्छौं ।”

नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठ पनि जनचाहनाअनुसार नै आफूले काम गर्ने विषयमा जनतालाई बुझाउने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाको विकास र स्थानीयका चाहनाबारे हामी जानकार छौँ । गरिब, किसान र युवाका मुद्दा संसद्मा बलियो गरी उठाउने र जनचाहनाअनुसार नै विकास काम अगाडि बढाउनेमा मेरो पार्टी र म प्रतिबद्ध छु ।”

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुनबहादुर थापाले म्याग्दीमा अधुरा विकास योजना पूरा गर्नु आफ्नो प्राथमिक सरोकार भएको बताउनुभयो । “आश्वासन होइन, स्पष्ट योजना र समयसीमासहित काम गरेर देखाउने हाम्रो लक्ष्य छ । सोहीअनुसार जनतालाई बुझाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बन्नुभएका महावीर पुनले आफूलाई परम्परागत राजनीतिभन्दा फरक भएको दाबी गर्दै घरदैलो गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “जनताले पुरानो शैली अस्वीकार गरिसकेका छन् । पारदर्शिता, जवाफदेहिता र परिणाममुखी काम नै मेरो पहिचान हुनेछ । त्यसका लागि मैले आफ्नो स्पष्ट सोच र योजना बनाएको छु ।”

यहाँ उम्मेदवार आफ्ना कुरा राख्न र मत माग्न व्यस्त छन् । मतदाताले पनि योजना र व्यक्तिको पृष्ठभूमि हेरेर निर्णय गछौँ भनेर आफ्नो धारणा राखिरहेका छन् । बेनी बजारमा व्यवसाय गर्दै आउनुभएका शिव पौडेलले उम्मेदवारका प्रतिबद्धता कार्यान्वयनको आधार देखेमा मात्रै यसपालिको निर्वाचनमा कुनै उम्मेदवारलाई मत दिने बताउनुहुन्छ । “नेताहरूका कुरा धेरै सुनियो । अब व्यापार, रोजगारी र स्थायित्वका कुरा गर्ने उम्मेदवारलाई नै मेरो र परिवारको भोट जान्छ”, उहाँ भन्नुहुन्छ ।

बेनीकी युवा मतदाता अङ्गिता पुन पनि भन्नुहुन्छ, “हामी भाषण होइन, भविष्य खोजिरहेका छौँ । युवालाई देशमै अवसर दिने नीति र योजना भएको उम्मेदवारलाई मात्र भोट दिन्छौँ ।”

माउन्ट एभरेष्ट आवासीय माविका प्रधानाध्यापक राजु केसी मतदातामा बढ्दै गएको चेतनाले यसपटक निर्वाचन भावनाभन्दा मूल्याङ्कनमा आधारित हुने सङ्केत देखिएको बताउनुहुन्छ । आश्वासन र समाजमा दरार ल्याउने रणनीतिले उम्मेदवारलाई घाटा पु¥याउन सक्ने उहाँको विश्लेषण छ ।

यहाँका अधिकांश मतदाताले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर कालोपत्र गर्ने, अन्य सडक निर्माण तथा स्तरोन्नति, खानेपानी, शिक्षा, कृषि क्षेत्रको प्रवर्द्धन, सुलभ स्वास्थ्य सेवा, रोजगारीलगायतका मुद्दालाई मूल्याङ्कनको आधार बनाउने बताएका छन् ।

म्याग्दीमा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ कुल ८६ हजार ३९७ मतदाता छन्, जसमध्ये अन्य एक, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएका छन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौँ। निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे अध्ययन, अनुसन्धान गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिलमा लेखी पठाएको छ ।

काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित शिवपुरी मिडिया नेटवर्क प्रालिबाट सञ्चालित सगरमाथा पोष्ट डटकमका अध्यक्ष÷सम्पादक रबिनप्रसाद थपलिया र प्रबन्ध सम्पादक चित्रकुमार (सिके) चौलागाईंले आफ्ना व्यक्तिगत सामाजिक सञ्जालबाट उम्मेदवारका प्रचारप्रसारका सामग्री निरन्तर पोष्ट गरेको भनी आयोगमा उजुरी परेपछि प्रेस काउन्सिल नेपाललाई कानुनी कारबाहीका लेखी पठाएको हो ।

उजुरीअनुसार यसमा प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाही गर्न काउन्सिलमा पठाइएको आयोगले जनाएको छ ।आफ्ना व्यक्तिगत सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता, २०८२ को दफा ७ को खण्ड (क) र (झ) को प्रतिकूल हुने गरी उम्मेदवारका प्रचारप्रसार सामग्री निरन्तर पोष्ट गरेको भनी उजुरी परेकाले काउन्सिलमा लेखी पठाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले बताउनुभयो ।

यसैगरी गोरखापत्र संस्थानले मधेस र बाग्मती प्रदेशका संयोजक हटाएको विषयमा परेको उजुरीका आधारमा पनि स्पष्टीकरण सोधिएको उहाँले जानकारी दिनुभयो । आयोगले संस्थानलाई यस विषयमा दुई दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको जनाएको छ ।

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको र बाँकी भागको मौसम मुख्यतया सफा रहेको बताएको छ ।

मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ । कोशी प्रदेशका पहाडी र हिमाली भागमा साधरणतया बादल लाग्नेछ भने बाँकी पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ ।

तराईका अन्य स्थानमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।

स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत्

काठमाडौँ। स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ ।बिमा गरेबापतको रु एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभयो । उहाँले बीमा कार्यक्रमअन्तर्गत रु तीन हजार ५०० बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने वार्षिक कुल रु एक लाख बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको बताउनुभयो ।

बोर्डले रु २५ हजार ओपिडी सेवा र रु ७५ हजार अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको सूचना अधिकारी मल्लले बताउनुभयो ।

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानका आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । यस्तै, थप प्रतिसदस्य रु सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ ।

बोर्डले अनावश्यक रूपमा हुने ओपिडी सेवाको प्रयोग र दोहोरोपन रोक्न तथा गम्भीर, जटिल र ज्यान जोखिममा पर्ने रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्नका लागि सेवाको रकम छुट्याएकाले सोहीअनुसार प्रयोग गर्न पनि आग्रह गरेको छ । सूचना अधिकारी मल्लले भन्नुभयो,“पाँच जनाको परिवारले वर्षभरिमा बढीमा रु दुई हजार ५०० बराबरको बहिरङ्ग सेवा (ओपिडी) सेवा लिन पाउने व्यवस्था छ । पाँच जनाभन्दा बढी सदस्य भएका प्रतिसदस्यले थप रु पाँच हजार बराबरको ओपिडी सेवा कायम गरिएको छ ।”

हाल स्वास्थ्य बिमाको बजेटको ७० प्रतिशतभन्दा ठूलो हिस्सा सामान्य बिरामीको ओपिडी सेवामा नै खर्च भइरहेको छ । यसले गर्दा परिवारमा कसैलाई गम्भीर रोग लाग्दा वा महँगो शल्यक्रिया आवश्यक पर्दा बिमाको रकम अपर्याप्त हुने र बिरामीको आफ्नै खल्तीबाट ठूलो रकम खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको जानकारहरू बताउँछन् ।

बोर्डका सूचना अधिकारी मल्लले वास्तविक बिरामीको उपचारमा बिमाको रकम खर्च गर्ने उद्देश्यका साथ ओपिडी, अस्पताल भर्ना र शल्यक्रिया जस्ता अलग अलग शीर्षकमा खर्च तोकिएकाले त्यसको पालना गर्न आग्रह गर्नुभयो ।

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७३ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ १३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

यस्तै, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ नौ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११५ रुपैयाँ २६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १० पैसा र बिक्रीदर २३ रुपैयाँ २० पैसा कायम गरिएको छ ।

साथै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ५ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ७६९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा रहेको छ ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

त्यसैगरि, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ १४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ७६ पैसा रहेको छ ।

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौं, २९ माघ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ । लोकतन्त्र, निर्वाचन, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको हो ।

यस्तै, मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दल आदि विषयमा पनि यसमा समेटिएका छन् । आयोगले निर्वाचन शिक्षाका लागि तयार गरिएको ‘नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ लाई सबैको पहुँचका लागि आफ्नो वेबसाइटमा राखेको छ ।

आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले ती सामग्रीका आधारमा सरकारी र नागरिक क्षेत्रका सम्बन्धित निकाय, संस्था र व्यक्तिले नागरिक शिक्षा प्रवर्द्धन गर्न सक्नेछन् । आगामी फागुन १ गतेदेखि मतदाता शिक्षाको कार्यक्रमलाई पनि तीव्रता दिने आयोगको तयारी छ ।

कांग्रेस केन्द्रीय सदस्य भट्टलाई मातृशोक, सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरेन्द्रप्रसाद भट्टलाई मातृशोक परेको छ ।कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज शोक विज्ञप्ति जारी गरी केन्द्रीय सदस्य भट्टकी ८८ वर्षीय आमा मानमतीदेवी भट्टको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

भट्टको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताएको छ । भट्टको निधनप्रति कांग्रेस सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

सभापति थापाले उहाँको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै केन्द्रीय सदस्य नरेन्द्रप्रसाद भट्टलगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’

काठमाडौं । पश्चिम नवलपरासी (वसुप) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृतविनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’ ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन् ।

२०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएपछि चौधरीले जारी गरेको ३१ बुँदे घोषणापत्रको प्रत्येक बुँदामा भएको प्रगति, उपलब्धि र कार्यान्वयनको अवस्थासहितको विवरण सार्वजनिक गरेका हुन् ।

जेनजी आन्दोलनपश्चात प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ मा हुन गइरहेको आम निर्वाचनको सन्दर्भमा उनले आफूले तीन वर्षअघि गरेका प्रतिबद्धताहरूको सार्वजनिक मूल्यांकन जनतामाझ राखेका छन् ।

रिपोर्ट कार्ड सार्वजनिक गर्दै चौधरीले मतदाताको प्रश्न गर्ने अधिकारलाई लोकतन्त्रको मूल आधार भन्दै आफू जनताको अदालतमा जवाफदेही भएर उभिन तयार रहेको बताएका छन् ।

उनले भने, ‘प्रश्न सोध्न पाउनु मतदाताको अधिकार हो। गएको निर्वाचनमा मैले जारी गरेको प्रतिबद्धतापत्र अनुसार काम भयो कि भएन भनेर प्रत्येक मतदाताले मलाई सोधून् भन्ने चाहन्छु । जनताको अदालतमा उभिएर मैले गरेका प्रतिबद्धताको एक–एक जवाफ दिनु मेरो जिम्मेवारी हो । प्रश्न सोध्न पाउने जनताको अधिकार स्थापित गर्न हामीले कांग्रेस बदलेका हौं। देश बदल्छौं भनेर बाचा गरिरहँदा जनताका प्रश्नको जवाफ दिन सक्ने गरी काम गर्नुपर्छ भन्ने पनि बुझेका छौं। त्यसैले मैले ३१ बुँदे घोषणापत्रको एक–एक बुँदाको उत्तर लिएर आएको छु ।’

वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

ढोरपाटन (बागलुङ), २८ माघ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प नभएको बताउनुभएको छ ।

आज यहाँ आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुलुक अप्ठ्यारो अवस्थामा रहेको हुँदा यसको निकास निर्वाचनले मात्रै दिने बताउनुभयो । केही दलहरुले संसद् पुनःस्थापना र सर्वदलीय सरकार गठनका मुद्दा उठाए पनि नेकपाले त्यतापट्टि ध्यान नदिएको संयोजक दाहालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो हामीहरुले चाहेर आएको निर्वाचन होइन, हामीहरुले त २०८४ मा गएर गर्ने भन्ने सोचेका थियौँ, असाधारण परिस्थितिमा आइपरेको निर्वाचन हो, यो निर्वाचनलाई सदुपयोग गर्नुको विकल्प पनि छैन, इमानदार कम्युनिष्ट र देशभक्तहरुको अगाडि जनतामा जाने बलियो माध्यम निर्वाचन नै हो ।”

मुलुकको अहिलेको परिस्थिततिमा देशमा भएका वामपन्थी र देशभक्त एकताबद्ध हुने उद्देश्यले नेपाली कम्युनिष्ट पार्टी बनाएको दाहालले बताउनुभयो । अहिले देखिएको असहज परिस्थितिबाट देशको रक्षा गर्ने, लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त गरेका उपलब्धिहरुको रक्षा गर्न नेकपा प्रतिबद्ध भएर लागेको उहाँले उल्लेख गर्नुभयो ।

जेनजी आन्दोलन देशलाई भ्रष्टाचारमुक्त गर्न, सुशासन स्थापित र नागरिक स्वतन्त्रता कायम गर्न भए पनि देशीविदेशी शक्तिहरुको स्वार्थका कारण विध्वंश मच्चिएको संयोजक दाहालले बताउनुभयो । उहाँले अब मुलुको परिवर्तनका निम्ति वामपन्थी एक हुनुपर्ने आवश्यक छ ।”

“जेनजी आन्दोलन देशमा भ्रष्टाचार, सुशासन कायम, नागरिक स्वतन्त्रता कायम होस् भन्ने मनशायले युवा सडकमा उत्रिएका थिए, हामी सबैले सम्मान नै गरेका थियौँ, तर त्यहाँ घुसपैठ भयो”, उहाँले भन्नुभयो, “देशीविदेशी शक्तिहरुले आफ्नो स्वार्थअनुसार देशलाई विध्वंसमा बदल्ने काम भयो, त्यो हामी सबैका दुःखद् हो ।”

आहा रारा पोखरा गोल्डकपमा जावलाखेलको विजयी सुरुआत

कास्की, २८ माघ : जावलाखेल युथ क्लबले पोखरामा सञ्चालन भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको खेलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० को गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्न सफल भयो । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । खेलको ५४औं मिनेटमा जावलाखेलका विदेशी खेलाडी निकोलस हेमिलटनले गोल गर्दै जावलाखेललाई दिलाउनुभयो । यसैगरी दोस्रो गोल ६४औं मिनेटमा बौबुकार सिसोखोकोले गर्नुभयो ।

मछिन्द्र पटक–पटक खेलमा फर्किन खोजे पनि त्यसलाई जावलाखेलका खेलाडीहरूले विफल तुल्याए । खेलमा निकोलस ‘प्लेयर अफ दि म्याच’ घोषित हुँदै नगद रु १० हजार पुरस्कार पाउनुभयो । सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोलीको सहभागिता छ ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजार,उपविजेताले रु सात लाख एक हजार पाउने छन् । सहाराले यस वर्ष प्रतियोगिताको पुरस्कार राशी वृद्धि गरेको हो । गत वर्ष उपाधि विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले टेलजी कम्पनीको इलेक्ट्रिक स्कुटर, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउँदा, अनुशासित टोली, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्टाइकर, प्रशिक्षक र सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही रु २५ हजारका साथमा ट्रफी पुरस्कार पाउने सहाराले जनाएको छ ।यसैगरी हरेक म्याचमा ‘मेन अफ दि म्याच’ पुरस्कार रु १० हजार र ट्रफी रहेको छ ।

सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न महासङ्घको माग

काठमाडौँ। देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।महासङ्घका कार्यवाहक महासचिव पुरुषोत्तम सिङ्खडाले आज एक विज्ञप्ति जारी गरी पछिल्लो एक हप्तामा ठूला दुई दुर्घटना हुँदा दर्जनौँ व्यक्तिले अकालमा मृत्युवरण गर्नुपरेको भन्दै सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्नुभएको हो ।

माघ २७ गते काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको पूर्व अरनीको यातायात रामेछापमा दुर्घटना हुँदा १२ जनाको र माघ २२ गते बैतडीको पुर्चौडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ यात्रु घाइते भएका थिए ।

महासङ्घले दुर्घटनामा निधन हुनुभएकाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक आत्माको चीरशान्तिको कामना साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कार्यवाहक महासचिव सिङ्खडाले देशभर भएका सडक दुर्घटनाको सत्यतथ्य छानबिन गरी सम्बन्धित पक्षलाई तत्काल राहत एवम् उद्धारको व्यवस्थाका लागि सरकारसँग माग गर्नुभयो ।

महासङ्घले सिट क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा नगराउनुको साथै यात्रु टिकट काट्दा अनिवार्य रूपमा पहिचान खुलेको प्रमाण र नाम, सम्पर्क नम्बर अनिवार्य उल्लेख गरी दैनिक रेकर्ड अद्यावधिक गर्न सबैमा आग्रह गरेको छ ।

महासङ्घले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा हिमाल, तराई, पहाडी ग्रामीण क्षेत्रमा यातायात सञ्चालन गर्दा कसैको प्रलोभनमा नपरी सिट क्षमता भन्दा बढी यात्रु नराखी सिट क्षमताभित्र मात्र यात्रु राखी यातायात सेवा सञ्चालन गर्न अनुरोध गरेको छ ।

सडक दुर्घटना पश्चात सरकारद्वारा गठित सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनलगायत विषयमा बनेका सडक दुर्घटना छानबिन प्रतिवेदन कार्यान्वयन नहुँदा दिन प्रतिदिन सडक दुर्घटनाको जोखिम बढ्दै गइरहेकाले नेपाल सरकारद्वारा गठित दुर्घटना अध्ययन प्रतिवेदनसमेत तत्काल कार्यान्वयनका लागि महासङ्घले अनुरोध गरेको छ ।

यस वर्ष रासायनिक मल कम आयात हुने

काठमाडौँ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत आर्थिक वर्षको तुलनामा यस आवमा करिब एक लाख मेट्रिक टन मल कम आयाता गर्ने भएको छ ।अन्तरराष्ट्रिय बजारमा मलको मूल्य वृद्धि भएकाले आयातमा कमी हुने भएको हो । सरकारले मलका लागि अनुदानस्वरूप विनियोजन गरेको रु २८ अर्ब ८२ करोडको बजेटबाट पाँच लाख ५० हजार टन मल आयात गर्ने लक्ष्य राखेको थियो । अन्तरराष्ट्रिय मूल्य बृद्धि भएपछि विनियोजित बजेट ८४ हजार टन रासायनिक मल आयातका कमी हुने मन्त्रालयले जनाएको छ ।

चालु आवमा चार लाख ६६ हजार मेट्रिक टन मल आयातको लागि बोलपत्र भएको छ । बोलपत्र आह्वान गरिएको मलमध्ये केही परिमाण आएको तथा केही परिमाण आयातको प्रक्रिया पूरा गरी आउने क्रममा बाटोमा छ ।

मल खरिद गर्न विनियोजित बजेटबाट रकम अपुग भएपछि मन्त्रालयले वैकल्पिक स्रोत खोजी गरेको भए पनि रकम जुटाउन नसकेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो ।

देशभर बजारमा हाल मलको अभाव नरहेकाले किसानलाई खेती तथा बाली लगाउन समस्या नहुने मन्त्रालयले जनाएको छ । उहाँका अनुसार करिब एक लाख १५ हजार मेट मल मौज्दात छ । कृषि सामग्री कम्पनीले रासायनिक मलको करिब सत्तरी प्रतिशत हिस्सा र साल्ट ट्रेडिङ लिमिटेडले ३० प्रतिशत हिस्सा आपूर्ति तथा बिक्री गर्दै आएको छ ।

स्वदेशमा रासायनिक मल उत्पादन नहुँदा अन्तरराष्ट्रिय ग्लोबल बोलपत्रको माध्यमबाट अन्तरराष्ट्रिय बजारबाट खरिद गर्ने गरिएको छ ।

मल कलकत्ता, हल्दियालगायत स्थानबाट ल्याइने तथा देशका विभिन्न गोदामस्थल विराटनगर, वीरगञ्ज, भैरहवामा मौज्दात गरी देशभर मागको अनुपातमा आपूर्ति तथा बिक्री गरिन्छ ।

अन्तराष्ट्रिय बजारबाट विद्युतीय खरिद प्रणाली (इविडिङ)मार्फत आपूर्ति गर्दा प्रक्रिया लामो भएर समयमा मल उपलब्ध गराउन समस्या हुने गरेको छ ।विसं२०७८ को कृषिगणना अनुसार किसान परिवारमध्ये ७६ प्रतिशत किसान परिवारले धान बालीमा रासयनिक मल प्रयोग गरेको जनाइएको छ ।

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौँ। प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरोकारवालासँग समन्वय गरी आसन्न निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

जङ्गी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठकको समापन सत्रलाई आज सम्बोधन गर्दै उहाँले एकीकृत सुरक्षा योजना–२०८२ अनुसार समन्वयात्मकरूपमा निर्वाचनमा परिचालित हुन निर्देशन दिनुभयो ।

प्रधान सेनापति सिग्देलले सकलदर्जाको सामूहिक भावना र एकढिक्कापनलाई कायम राख्दै जिम्मेवारीमा खटिइन निर्देश गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उहाँले पृतनास्तरमा भएको प्रभावकारी कार्यका लागि पृतनापतिलाई धन्यवादसमेत दिनुभयो ।

बैठकमा वर्तमान परिस्थितिको विश्लेषण, तालिमहरूको समीक्षा, बन्दोबस्ती पक्षलगायत समसामयिक विषयमा छलफल भएको निर्देशनालयले जनाएको छ । बैठकको समापन कार्यक्रममा बलाधिकृत, रथीवृन्दलगायत अधिकृतको उपस्थिति थियो ।

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै

काठमाडौँ। संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो तीनदिने भ्रमणका लागि भोलि (बिहीबार) नेपाल आउँदै हुनुहुन्छ ।भ्रमणका दौरान उहाँले औपचारिक भेटघाटका साथै पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकनसमेत गर्ने नेपाली सेनाले जनाएको छ ।

यस प्रकारको भ्रमणबाट दुई देशबीचकोसम्बन्ध थप प्रगाढ हुनुका साथै मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तरराष्ट्रिय शान्ति स्थापनाकार्यजस्ता क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।उहाँ पूर्वनिर्धारित कार्यक्रमबमोजिम नेपाल आउन लाग्नुभएको हो ।

ज्यान मार्ने धम्की दिनेमाथि ६ मुद्दा, तीन दिन म्याद थप

काठमाडौँ। आफूलाई एक्स्ट्रिमिस्ट ग्रुप या नेपाल इजिएनको अध्यक्ष बताइ आफ्नो इमेल आइडीबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहित १० जनालाई ज्यान मार्नेसम्मको धम्की दिने व्यक्तिमाथि आज ६ वटा मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले यसरी धम्की दिने काभ्रेपलान्चोक, तेमाल गाउँपालिका– १ घर भई हाल फिलिपिन्स बस्दै आएका वर्ष ३४ का प्रकाश पाठक रहेका र उनलाई इन्टरपोलमार्फत पक्राउ गरी नेपाल ल्याइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार उनलाई फिलिपिन्सबाट आजै काठमाडौँ ल्याइ काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको पनि भट्टराईले बताउनुभयो ।

उनीविरुद्ध केही सार्वजनिक अपराध, ठगीसम्बन्धी कसूर, आपाराधिक लाभ लिन नहुने र आपाराधिक षड्यन्त्र गर्न नहुनेलगायतका कसूरमा ६ वटा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ ।

उनले सन् २०२५ अक्टोबर २२ मा आफूले प्रयोग गर्ने इमेल आइडीबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्तलगायत अन्य १० जना उपर ज्यान मार्नेसम्मको धम्की दिएका थिए ।त्यसपछि प्रहरीले खोजीको सूचीमा राखेको थियो । प्रहरीको इन्टरपोलमार्फत फिलिपिन्सको इन्टरपोलसँग समन्वय गरी उनलाई नेपाल झिकाइएको थियो ।

ईभी बसको सञ्चालन खर्च कम पर्ने भए पछि भाडादर घटाउने तयारी

काठमाडौँ, २८ माघ : यातायात व्यवस्था विभागले विद्युतीय सवारी (इभी)को भाडादर १० प्रतिशतसम्म घटाउने तयारी गरेको छ । विभागले यस विषयमा आन्तरिक छलफल अघि बढाएको जनाएको छ ।

हाल डिजेल बसको भाडादर निर्धारण गरिए पनि इभी बसको भाडादर स्पष्ट रूपमा कायम नभएको भन्दै नयाँ दर निर्धारणबारे छलफल भइरहेको हो । डिजेल बसको तुलनामा इभी बसको सञ्चालन खर्च कम पर्ने आधारमा भाडादर घटाउने प्रस्ताव गरिएको विभागको भनाइ छ ।

विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार इभी बसको भाडादरलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन आवश्यक अध्ययन भइरहेको छ । “डिजेल बसको भाडादर तय भइसकेको छ, तर इभी बसका हकमा स्पष्ट व्यवस्था छैन । त्यसैले लागत र सञ्चालन पक्षको अध्ययन गरी १० प्रतिशतसम्म भाडादर घटाउने विषयमा छलफल गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

विभागले सरोकारवालासँग परामर्श गरी चाँडै नै उपयुक्त निर्णय लिने जनाएको छ । निर्णय कार्यान्वयनमा आएपछि यात्रुहरूले सस्तो भाडामा यात्रा गर्न पाउने अपेक्षा गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले भाडादर वैज्ञानिक आधारमा निर्धारण गर्नुपर्नेमा आफूहरू सहमत रहेको बताउनुभएको छ । “इभी सवारीसाधनको हकमा ब्याट्री महँगो पर्ने भएकाले लागत पक्षलाई पनि ध्यान दिनुपर्ने हुन्छ, डिजेल महँगो छ । तर इभीमा ब्याट्री पनि महँगो छ । यी पक्षलाई मूल्याङ्कन गरेर वैज्ञानिक आधारमा भाडादर अलिकति घटबढ हुने कुरामा सहमत छौँ”, उहाँले भन्नुभयो । सञ्चालन खर्च, मर्मतसम्भार, इन्धन तथा प्रविधिसम्बन्धी लागतलाई पनि समेटेर वैज्ञानिक विधिअनुसार भाडादर समायोजन गर्नुपर्ने विषयमा छलफल गरेर मात्रै निर्णय हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

काठमाडौँ। सरोकारवालाहरुले आइटी क्षेत्रमा काम गर्नेहरुले वार्षिक सवा खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरिरहेको बताएका छन् ।नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको ‘नेपाली आइटी उद्योगको अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उहाँहरुले आइटी उद्योगबाट मुलुकले ठूलो लाभ लिनसक्ने बताए ।

नासआइटीका अध्यक्ष गौरवराज पाण्डेले एक अध्ययनमा सन् २०२२ मा यस क्षेत्रले रु ६७ अर्ब बराबरको सेवा निर्यात गरेको बताउनुभयो । उहाँले नेपालमा डिजिटल सेवा र एआईको सम्भावना विषयमा प्रस्तुतीकरण दिँदै आइटी सेवाको विकासमार्फत नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने धारणा राख्नुभयो ।

उहाँले सन् २०२२ यता आइटी क्षेत्रले सेवा निर्यात गरेर वार्षिक एक अर्ब डलर आम्दानी गरिरहेको अनुमान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालले विगतका औद्योगिक क्रान्तिहरू गुमायो, आइटीमार्फत भइरहेको क्रान्ति अब नेपालले गुमाउनुहुँदै, विश्वका विकसित देशहरुले यस क्षेत्रमा ठूलो लगानी गरेका छन्, नेपालमा पनि लगानीका लागि सरकारले सोअनुरुपको वातावरण बनाउनु आवश्यक छ ।”

नासआइटीका महासचिव अलिशा श्रेष्ठले नेपालमा यस क्षेत्रमा काम गर्ने कम्पनी र जनशक्ति बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार हाल नासआइटीले ८० वटा कम्पनी आबद्ध भइसकेको उहाँको भनाइ थियो ।

नासआइटीका कोषाध्यक्ष अभय पौडेलले यो क्षेत्र अहिले सेवामूलक उद्योगका रुपमा स्थापना भइसकेको उल्लेख गर्दै सरकारले यो क्षेत्रको विकासमा प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । पौडेलले रु एक अर्ब डलरभन्दा बढीको निर्यातलाई आगामी १० वर्षमा ३० अर्ब डलर पु¥याउने र पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य हासिल गर्नका लागि नीतिगत सहजीकरण आवश्यक रहेको बताउनुभयो ।

उहाँले कम्तीमा १० वर्षका लागि आयकरमा भारी छुट (पाँच प्रतिशतभन्दा कम) दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । भियतनाम र फिलिपिन्सजस्ता देशले यस्तै छुट दिएर आइटीमा प्रगति गरेको उहाँको भनाइ थियो ।

सरकारले रु १० करोडसम्मका सफ्टवेयर खरिदमा नेपाली कम्पनीहरूलाई नै पहिलो प्राथमिकता दिनुपर्ने नीति ल्याउन उहाँको सुझाव छ । ठूला विदेशी ठेक्कामा कम्तीमा ३० देखि ४० प्रतिशत काम नेपाली कम्पनीहरूसँग मिलेर गर्नुपर्ने सर्त राख्दा प्रविधि हस्तान्तरणमा मद्दत पुग्ने उहाँको तर्क छ ।

साथै कक्षा ५ देखि नै विद्यालयको पाठ्यक्रममा आइटी र एआईसम्बन्धी शिक्षा अनिवार्य गर्नुपर्ने, हाल स्नातक गरेका विद्यार्थीलाई पनि उद्योगको आवश्यकताअनुसार थप तालिम दिनुपर्ने अवस्था रहेकाले शिक्षा र उद्योगबीचको दूरी कम गर्नुपर्ने उहाँको भनाइ थियो ।

पर्यटन बोर्ड जस्तै आइटी क्षेत्रका समस्या समाधान र अन्तरराष्ट्रिय बजारमा नेपालको ब्रान्डिङ गर्न छुट्टै ‘आइटी प्रर्वद्धन बोर्ड’ गठन गर्न आवश्यक रहेको उहाँको सुझाव छ । अमेरिका, अस्ट्रेलिया, बेलायत र जापानजस्ता मुख्य बजारहरूसँग दोहोरो करमुक्ति सम्झौता गरेमा लगानीकर्तालाई नेपालमा काम गर्न थप सहज हुने उनको भनाइ छ ।

झापा गोल्डकप : सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब सेमिफाइनलमा प्रवेश

झापा। झापाको विर्तामोडमा जारी सातौँ झापा गोल्डकपको आज सम्पन्न खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आज सम्पन्न खेलमा भूटानको रोयल थिम्पू कलेजलाई ४–१ गोल फरकिलो गोल अन्तरले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ सेमिफाइनल प्रवेश गरेको हो । खेलको छैटौँ मिनेटमै एपिएफले पहिलो गोल गर्दै खाता खोलेको थियो । एपिएफका लागि तीन गोल कप्तान हरि कार्कीले गरेका थिए ।

भूटानका लागि एक मात्र सान्त्वाना गोल पेनाल्टीबाट सम्भव भयो । खेलको ७९औँ मिनेटमा किञ्जाङ तेञ्जिङ शेर्पालाई एपिएफका दिपेश धिमालले डिबक्समा फल गरेपछि भूटानले पेनाल्टी पाएको थियो । शेर्पाले नै पेनाल्टीमार्फत गोल गरेका थिए ।
खेलको ‘प्लेयर अफ द म्याच’ विजेता टिम एपिएफका ह्याट्रिककर्ता हरि कार्की घोषित भए । उनले नगद रु २५ हजार पुरस्कार पाए । बिहीबारको अन्तिम क्वार्टर फाइनल खेल मछिन्द्र एफसी र एन पेनाङ मलेसियाबीच हुनेछ ।

प्रतियोगितामा विर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन उपलब्ध गराउँदै आएको छ । त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएका एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही रु ३५ हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ

काठमाडौँका ११ वटै स्थानीय तहका मतदाता शिक्षा अनुगमनमा खटिनेलाई अभिमुखीकरण

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदाता शिक्षाका लागि काठमाडौँका ११ वटै स्थानीय तहमा खटिने अनुगमनकर्तालाई आज अभिमुखीकरण गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा अनुगमनकर्ताको काम, कर्तव्य र गर्नुपर्ने कामका विषयमा प्रशिक्षित गरिएको थियो ।

सङ्घीय राजधानी काठमाडौँका ११ वटै स्थानीय तहका सबै वडामा खटिने मतदाता शिक्षा स्वयंसेवकका लागि फागुन १ गते अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको निर्वाचन कार्यालय काठमाडौँका सूचना अधिकारी सृजना रायमाझीले राससलाई जानकारी दिनुभयो ।

अन्य जिल्लाका स्थानीय तहमा खटिने मतदाता शिक्षा अनुगमनकर्ता र वडामा खटिने स्वयंसेवकलाई पनि आजदेखि नै अभिमुखीकरण सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।

फागुन ३ गतेदेखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा स्वयंसेवक खटाउन आयोगले ७७ वटै जिल्लाका निर्वाचन कार्यालयलाई पत्राचार गरिसकेको छ । स्वयंसेवकले दिने मतदाताका शिक्षाका बारेमा प्रत्येक स्थानीय तहमा खटाइएका अनुगमनकर्ताले अनुगमन गर्ने जनाइएको छ ।

बजेट अर्धवार्षिक समीक्षाः परराष्ट्र अब्बल, सहरी विकास र उद्योग सबैभन्दा कमजोर

काठमाडौँ, २८ माघः चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अर्थात् पुस मसान्तसम्मको सरकारी खर्चको तथ्याङ्कले बजेट कार्यान्वयनको अवस्था निकै कमजोर र असन्तुलित देखाएको छ ।

सरकारले मङ्गलबार सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’अनुसार सङ्घ सरकारको बजेट खर्च ३५ र प्रदेशको बजेट खर्च १४ प्रतिशतमा खुम्चिएको छ । चालु आर्थिक वर्षका लागि कूल सङ्घ सरकारले रू १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएकामा पुस मसान्तसम्म रू छ खर्ब ९० अर्ब २१ करोड ७८ लाख खर्च भएको छ । जुन कूल बजेटको ३५ दशमलव १४ प्रतिशत हो । त्यस्तै, सातवटै प्रदेशको कूल बजेट रू दुई खर्ब ८७ अर्ब ७० करोड ३३ लाख रहेकामा पुस मसान्तसम्ममा १४ दशमलव १६ प्रतिशत मात्र खर्च भएको देखिएको छ ।

सङ्घीय विषयगत मन्त्रालयको खर्चको अवस्था हेर्दा थप नाजुक देखिन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, २१ वटा मन्त्रालय र राष्ट्रिय योजना आयोग गरी २३ वटा सङ्घीय निकायमध्ये पाँच वटाले मात्र आफ्नो वार्षिक विनियोजित बजेटको ४० प्रतिशतभन्दा बढी खर्च गर्न सकेका छन् भने १४ वटा मन्त्रालयको खर्च ३० प्रतिशतभन्दा तल छ । सबै मन्त्रालयको औसत खर्च दर करिब २८ प्रतिशत मात्र रहेको छ ।

पुस मसान्तसम्ममा सबैभन्दा धेरै खर्च गर्ने मन्त्रालयका रूपमा परराष्ट्र मन्त्रालय देखिएको छ । यसको वार्षिक खुद बजेट रू नौ अर्ब एक करोड ७१ लाख रहेकामा पुस मसान्तसम्म रू पाँच अर्ब तीन करोड १७ लाख खर्च भएको छ । यसको खर्च दर ५५ दशमलव ८० प्रतिशत छ, जुन सबैभन्दा अगाडि हो । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रू ६० अर्ब ५७ करोड छ लाखको वार्षिक बजेटमध्ये रू २८ अर्ब १० करोड दुई लाख बराबर खर्च गरेको छ । जुन वार्षिक विनियोजनको ४६ दशमलव ३९ प्रतिशत हुन आउँछ ।

चालु आवका लागि रक्षा मन्त्रालयले रू ६३ अर्ब ३० करोड ६९ लाखको बजेट पाएकामा हालसम्म रू २९ अर्ब चार करोड ५५ लाख खर्च गरी ४५ दशमलव ८८ प्रतिशत प्रगति हासिल गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रू ५० अर्ब ७० करोड २९ लाखको वार्षिक बजेट ल्याएकामा रू २१ अर्ब ७८ करोड २७ लाख खर्च गरेको छ । जुन वार्षिक विनियोजनको ४२ दशमलव ९६ प्रतिशत हुन आउँछ ।

त्यस्तै, गृह मन्त्रालयले चालु आवका लागि रू दुई खर्ब ११ अर्ब ७५ करोड ८२ लाख बराबरको बजेटमध्ये पुस मसान्तसम्म रू ८९ अर्ब १७ करोड ९९ लाख खर्च गरी ४२ दशमलव ११ प्रतिशत लक्ष्य हासिल गरेको छ ।

राष्ट्रिय योजना आयोगले पाएको रू १७ करोड आठ लाखको बजेटमध्ये रू छ करोड ९८ लाख खर्च गर्दै ४० दशमलव ८७ प्रतिशत खर्च दर हासिल गरेको छ । यी निकाय अर्धवार्षिक समीक्षा अवधिसम्ममा ४० प्रतिशतभन्दा माथि खर्च गर्ने निकायमा परेका छन् ।

त्यस्तै, ३० देखि ४० प्रतिशत खर्च गर्ने मन्त्रालयमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले रू सात अर्ब ४१ करोड ४१ लाखको वार्षिक बजेट ल्याएकामा रू दुई अर्ब ७३ करोड ६९ लाख खर्च गरी वार्षिक लक्ष्यको ३६ दशमलव ९१ प्रतिशत खर्च गरेको छ ।

अर्थ मन्त्रालयले रू ३९ अर्ब ५० करोड ६७ लाखको बजेट पाएकामा ३२ दशमलव ९८ प्रतिशत अर्थात् रू एक अर्ब ८० करोड २३ लाख खर्च गरेको छ । त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रू ५६ अर्ब ३३ करोड ३५ लाखको वार्षिक विनियोजन गरेकामा पुस मसान्तसम्ममा रू १८ अर्ब ६३ करोड ७५ लाख मात्रै खर्च गर्न सकेको छ । यो वार्षिक विनियोजनको ३३ दशमलव ०८ प्रतिशत बराबर हो ।

चालु आवका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रू सात अर्ब ८९ करोड १९ लाख बराबरको बजेट ल्याएकामा हालसम्म रू दुई अर्ब ५४ करोड खर्च गरी ३२ दशमलव १९ प्रतिशत प्रगति हासिल गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु आवको बजेट रू पाँच अर्ब ४६ करोड ५६ लाख रहेकामा पुस मसान्तसम्ममा रू एक अर्ब ८० करोड २३ लाख अर्थात् ३२ दशमलव ९८ प्रतिशत खर्च गरेको छ ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले रू ५३ करोड ९४ लाखको वार्षिक बजेटमध्ये रू १६ करोड ८४ लाख खर्च गरेको छ । जुन वार्षिक विनियोजनको ३१ दशमलव २३ प्रतिशत हुन आउँछ ।

वन तथा वातावरण मन्त्रालयले पाएको रू १२ अर्ब १८ करोड ३२ लाख बजेटमध्ये पुस मसान्तसम्ममा रू तीन अर्ब ५९ करोड ८८ लाख खर्च गरी २९ दशमलव ५४ प्रतिशत प्रगति हासिल गरेको छ ।

ठूलो बजेट भएका तर खर्च अत्यन्त न्यून रहेका मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अगाडि देखिन्छ । चालु आवमा यो मन्त्रालयको कूल बजेट रू एक खर्ब ५३ अर्ब ७८ करोड ६८ लाख रहेकामा पुस मसान्तसम्म केबल रू २७ अर्ब ८७ करोड २८ लाख मात्र खर्च भएको छ । यो मन्त्रालयको खर्च दर वार्षिक विनियोजनको १८ दशमलव १२ प्रतिशत मात्रै हुन आउँछ ।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रू ४२ अर्ब ७७ करोड १५ लाख बराबरको वार्षिक बजेट ल्याएकामा हालसम्म रू सात अर्ब आठ करोड ३२ लाख खर्च गरेको छ । यो मन्त्रालयको पुस मसान्तसम्मको खर्च प्रगति वार्षिक विनियोजनको १६ दशमलव ५६ प्रतिशत बराबर मात्रै हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाएको रू एक अर्ब ६३ करोड ७१ लाख बराबरको वार्षिक बजेटमध्ये रू २५ करोड ४८ लाख बराबर मात्रै खर्च भएको छ । जुन वार्षिक विनियोजनको १५ दशमलव ५६ प्रतिशत हुन आउँछ ।

त्यस्तै, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रू सात अर्ब ५४ करोड दुई लाख बराबरको वार्षिक बजेट ल्याएकामा पुस मसान्तसम्ममा रू एक अर्ब १० करोड २५ लाख खर्च गर्दै १४ दशमलव ६२ प्रतिशत प्रगति हासिल गरेको छ ।

चालु आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयले कूल विनियोजन रू पाँच अर्ब ७२ करोड २९ लाख बराबर थियो । जसमध्ये रू ७६ करोड ५१ लाख खर्च भई वार्षिक लक्ष्यको तुलनामा १३ दशमलव ३७ प्रतिशत खर्च भएको छ ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रू सात अर्ब ६७ करोड २२ लाख बराबरको बजेट ल्याएकामा १३ दशमलव २८ प्रतिशत अर्थात् रू एक अर्ब एक करोड ९१ लाख खर्च भएको छ ।

खानेपानी मन्त्रालयले पाएको रू २० अर्ब ७२ करोड ९८ लाख बराबरको बजेटमध्ये पुस मसान्तसम्ममा रू दुई अर्ब ४७ करोड ७८ लाख अर्थात् वार्षिक विनियोजनको ११ दशमलव ९५ प्रतिशत खर्च भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रू आठ अर्ब ९५ करोड १९ लाख बराबरको बजेट पाएकामा हालसम्म रू ७५ करोड ९६ लाख बराबर मात्र खर्च गर्दै आठ दशमलव ४८ प्रतिशत प्रगति हासिल गरेको छ ।

सबैभन्दा न्यून खर्च गर्ने मन्त्रालय सहरी विकास मन्त्रालय बनेको छ । चालु आवका लागि यो मन्त्रालयको कूल बजेट रू ९१ अर्ब ३५ करोड चार लाख रहेकामा पुस मसान्तसम्म केबल रू पाँच अर्ब ७६ करोड ६७ लाख बराबर मात्रै खर्च भएको छ । जुन वार्षिक विनियोजनको ६ दशमलव ३१ प्रतिशत मात्र हुन आउँछ ।

त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले रू एक अर्ब ५३ करोड २८ लाख बराबरको वार्षिक बजेट पाएर अर्धवार्षिक समीक्षा अवधिसम्ममा रू ३१ करोड ३९ लाख खर्च गर्दै २० दशमलव ४८ प्रतिशत प्रगति हासिल गरेको छ ।

विशेषगरी ठूलो बजेट भएका भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जा, खानेपानी र उद्योग मन्त्रालयमा खर्च दर अत्यन्त न्यून हुनु विकास आयोजनामा ढिलाइ, ठेक्का प्रक्रिया, प्रशासनिक जटिलता र कार्यान्वयन क्षमतामा समस्या रहेको देखिन्छ । खर्चको यही गति कायम रह्यो भने वर्षको अन्त्यतिर हतारमा खर्च गर्ने प्रवृत्ति बढ्ने र त्यसले गुणस्तरमा असर पर्ने जोखिम पनि उत्तिकै छ ।

बेनीदेखि ढोरपाटन हुँदै रुकुम जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने दाहालको प्रतिबद्धता

म्याग्दी। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले म्याग्दीको बेनीदेखि ढोरपाटन हुँदै रुकुम जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी आज आयोजना गरेको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन छ वर्षअघि हिमाली जिल्लामा सूचीकृत म्याग्दीमा हिमाली जिल्लाअनुसारको सेवासुविधा कार्यान्वयनमा पनि ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

“बेनीदेखि दरबाङ–ताकम–मुना–जलजला–ढोरपाटन हुँदै रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ६५–७० किलोमिटर छोटो पर्ने भएकाले पूर्वी रुकुमको उम्मेदवार भएको नाताले पनि यसमा मेरो प्राथमिकता हुनेछ”, उहाँले भन्नुभयो, “छ वर्षअघि हिमाली जिल्लामा सूचीकृत भएको म्याग्दीमा हिमाली जिल्लाको मापदण्ड लागू गराउन मेरो पहल रहने विश्वास दिलाउन चाहान्छु ।”

असहज परिस्थितिमा नेपालमा निर्वाचन हुन लागेको बताउँदै दाहालले आसन्न निर्वाचनलाई सामान्य नसोच्न कार्यकर्तालाई आग्रह गर्नुभयो । राजनीतिक स्थिायित्व, सुशासन, सामाजिक न्याय, विकास र रोजगारीको मुद्दालाई नेकपाले प्राथमिकता दिएको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले यसपाली चुनावअघि कुनै पनि राजनीतिक दलहरूसँग तालमेल र सहकार्य नहुनेमा स्पष्ट रहन आग्रह गर्नुभयो ।

“विभिन्न प्रशङ्गमा प्रतिस्पर्धी दलका नेतासँग भएको भेटघाटलाई लिएर पार्टी पङ्क्तिमा तरङ्ग र अन्योलता सिर्जना नहोस्”, उहाँले भन्नुभयो, “यसपालीको चुनावमा हाम्रो आफ्नै तागतमा लडेर सकारात्मक परिणाम निकाल्न मेहनत गरिरहेका छौँ ।” देशलाई सही नेतृत्व गरेर राजनीतिक निकास दिने, स्थिरता र जनचाहनाअनुसार सुशासन तथा विकासमा जोड दिने दाहालले बताउनुभयो ।

असल राजनीतिक संस्कार प्रदर्शन गर्दै सबैलाई समदूरी तथा सन्तुलनमा राखेर अगाडि बढ्ने नेकपाको नीति रहेको बताउँदै आसन्न चुनावमा ठूलासभा र औपचारिक कार्यक्रममाभन्दा बढी मतदातासँग भेटघाट र सामाजिक सञ्जालको प्रयोगमा जोड दिने दाहालले बताउनुभयो ।

म्याग्दीमा नेकपाबाट प्रतिनिधिसभा सदस्यका उमेद्वार अर्जुन थापाले भौतिक पूर्वाधारको जगमा म्याग्दीलाई कृषि, पर्यटन र जलविद्युत् क्षेत्रको सम्भावनामार्फत विकसित र समृद्ध बनाउने योजना रहेको बताउनुभयो ।

“केन्द्रीय राजनीतिमा म्याग्दीको पहुँच बढाउने, नीति, नियम, बजेट र योजनामा म्याग्देलीको भावना, माग र आवश्यकतालाई सम्बोधन गराउन म उम्मेदवार बनेर आएको छ”, उहाँले भन्नुभयो, “पूर्वाधार, जलविद्युत्, पर्यटन र कृषिमार्फत म्याग्दीलाई समृद्ध र विकसित बनाउने हाम्रो योजना छ ।”

नेकपाका नेता गोविन्द पौडेलले म्याग्दीका छवटै स्थानीय तह र ४५ वटै वडा तहमा घरदैलो गरेर चुनाव प्रचारमा जुटेको जानकारी दिनुभयो । उहाँले म्याग्दीका विकासका मुद्दामा संयोजक दाहालको ध्यानाकर्षण गराउनुभएको थियो ।

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी। लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी चार हजार ४२८ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन् ।

आयोगको ३५औँ स्थापना दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयद्वारा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख विनिता भट्टराइले सार्वजनिक गर्नुभएको तथ्याङ्कअनुसार बुटवल कार्यालयमा गत आवमा कूल उजुरी १८५३ रहेकामा १६०९ उजुरी (८६.३६ प्रतिशत) फछ्र्यौट गरिएको छ ।

यस्तै, चालु आर्थिक वर्षको पुस मसान्तसम्म कूल उजुरी एक हजार १८८ रहेकामा ५४५ उजुरी फछ्र्यौट गरिएको र बुटवल कार्यालयबाट विस्तृत अनुसन्धानमा रहेको कूल उजुरी सङ्ख्या १०४ मध्ये ३७ वटा उजुरी फछ्र्यौट भएको कार्यालय प्रमुख भट्टराइले जानकारी दिनुभयो ।

उक्त अवधिमा देशभरीबाट आयोग र आयोगअन्तर्गतका कार्यालयमा जम्मा ३७ हजार २६ उजुरी प्राप्त भएको तथ्याङ्क रहेको छ । कूल उजुरीमध्ये आधाभन्दा बढी स्थानीय तहसँग सम्बन्धित झण्डै ५४ प्रतिशत, सङ्घीय सरकारका निकायको ३३ दशमलव ६९ प्रतिशत र प्रदेश सरकारका निकायहरुको १२ दशमलव ४७ प्रतिशत उजुरी रहेको अख्तियारको तथ्याङ्कमा उल्लेख छ ।

आयोगमा दर्ता भएका उजुरी अधिकांश भूमि तथा वन, कृषि÷पशु क्षेत्रको अनुदान कार्यक्रम, प्राकृतिक स्रोतसाधनको उपयोग, आयोजना निर्माण तथा खरिद, उपभोक्ता समितिको काम, शिक्षा क्षेत्रमा निर्माण र खरिद, स्वास्थ्य क्षेत्रमा औषधि तथा उपकरण खरिदसँग सम्बन्धित उजुरीहरु धेरै पर्ने गरेको प्रमुख भट्टराइले जानकारी दिनुभयो ।

प्रमुख भट्टराईले आयोगले उपचारात्मक रणनीतिअन्तर्गत प्रारम्भिक छानबिन कार्य गर्ने, विस्तृत अनुसन्धान गर्ने तथा प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत विद्यालयस्तरीय सामुदायिक शिक्षा सञ्चालन गर्ने, स्थानीय तहस्तरीय, जिल्लास्तरीय र प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आइरहेका साथै नागरिक सहकार्यका रुपमा भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्थाहरुसँग सहकार्य र साझेदारीसमेत गर्दै आएको जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले वर्तमान संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा प्राप्तिका लागि भ्रष्टाचार नियन्त्रण गर्नु अपरिहार्य रहेको बताउनुभयो । उहाँले सुशासन कायम गरी सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थालाई समुन्नत बनाउनु मुख्य ध्येय रहेको भन्दै भ्रष्टाचार नियन्त्रण गर्ने मुलुकको सर्वाधिक महत्वको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान र अभियोजनमा देखापरेका समस्या तथा चुनौतीलाई समाधान गर्दै वैज्ञानिक अनुसन्धान प्रणालीको विकास गरी वास्तविक, निष्पक्ष र वस्तुनिष्ठ अभियोजनमार्फत भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सङ्घ, प्रदेश र स्थानीय तहसम्म फैलिएका भ्रष्टाचारका मुद्दामा निष्पक्ष र निडर रुपमा काम गर्दै आएको भन्दै हुँदा सो कार्यको उच्च प्रशंसासमेत गर्नुभयो ।

त्यस अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राज्यका सबै अङ्गहरूले आआफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले अख्तियारलाई देखाएर हुनैपर्ने कामहरू पनि पन्छ्याउने प्रयास भइरहेको र त्यसको मार प्रदेश सरकार परिरहेको बताउनुभयो । उहाँले आयोगले पठाएको २१ बुँदे निर्देशनका कारण कतिपय गर्नैपर्ने काममा बाधा उत्पन्न भएको भन्दै आयोगको ध्यानाकर्षण गराउनुभयो ।

लुम्बिनी प्रदेशसभाका सभामुख तुलबहादुर घर्ती, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलगायतले स्थानीय तह र प्रदेश सरकारलाई आवश्यकपर्ने कानुन बन्न नसक्दा जनताका आधारभूत समस्या समाधानका लागि पनि काम गर्न कानुनी झमेला बेहोर्नु परेको बताउनुभयो ।

‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

रौतहट। आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी जिल्लाको सीमा नाकामा कडाइ गरिएको छ ।
स्थानीय बासिन्दाका अनुसार निर्वाचनको मिति नजिकिएसँगै सीमापारीस्थित भारतीय भूमिबाट गैरकानुनी रुपमा रौतहटतर्फ भित्रिनसक्ने हातहतियार, गोली, बारुद, पटका, लागुपदार्थजस्ता अवैध वस्तुको कारोबार न्यूनीकरण तथा नियन्त्रणका लागि जिल्लास्थ्ति प्रहरी संयन्त्र अझ सशक्त र चलायमान भएसँगै चारी, तस्करीमा संलग्न गिरोह निष्क्रिय भएको अवस्था छ ।

विशेषगरी आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनका क्रममा जिल्लामा शान्ति सुव्यवस्था अमनचयन कामय गरी आफूले रोजेका उम्मेदवारलाई मत दिन पाउने जनताको अधिकार सुनिश्चित गर्ने, गराउने प्रयोजनसहित अन्य सुरक्षा संयन्त्रसँगको समेत सहयोग र सहकार्यसहित प्रहरी संयन्त्र अझ जागरुक र गतिशील हुँदा कर छली अनधिकृत रुपमा भित्रिएका समान बरामद हुनेक्रम पछल्लो समयमा बढेको रौतहट प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

यसैगरी, इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख तथा प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहले निर्वाचनलाई लक्षित गरी सीमानाका क्षेत्रको सुरक्षा व्यवस्था कडाइ गरेसँगै कर छली तथा अवैध कारोबार धन्धा करिब नियन्त्रणमा आएको, चोरबाटो हुँदै गैरकानुनी कारोबारमा संलग्न व्यक्तिको हकमा समानसहित पक्राउ दर वृद्धि भएको, चोरीतस्करीमा संलग्न गिरोह निष्क्रिय हुँदा समाजमा शान्तिसुरक्षाको प्रत्याभूति भएको बताउनुभयो ।

यसैबीच, इलाका प्रहरी कार्यालय सिम्रौनगढले पछिल्लो तीन महिनामा कैद सजाय तोकिएका चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको, १८ वटा मुद्दा दायर गरेको, करिब ८० केजी गाँजासहित चार जनालाई पक्राउ गरेको र ४६ हजार थान लागुऔषध हाइड्रोक्लोराइड बरामद गर्न सफल भएको जनाएको छ ।

मेक्सिकामा जब्त हतियार मध्ये ७७ प्रतिशत अमेरिकाबाटै आएको खुलासा

मेक्सिको सिटी, माघ २८ गते । मेक्सिकोले विगत केही वर्षमा करिब १८ हजार अवैध हतियार जब्त गरेको छ, जस मध्ये ७७ प्रतिशत हतियार अमेरिकाबाटै आएका मेक्सिकोका रक्षा सचिव रिकार्डो ट्रेभिल्ला ट्रेजोले मंगलवार जानकारी दिनु भएको छ ।

प्रेस सम्मेलनमा राष्ट्रपति क्लाउडिया शैनबाउमले यी हतियार कसरी संगठित अपराध समूहको हातमा पुगे भन्ने विषयमा गहिरो अनुसन्धान आवश्यक रहेकोमा जोड दिनु भयो । उहाँले ड्रग तस्करी र सिमापार हतियार तस्करीलाई मेक्सिकोका प्रमुख चुनौतीका रूपमा उल्लेख गर्नुभयो ।

उहाँहरूले अपराधिक गिरोहलाई कमजोर पार्न र सुरक्षा चुनौती सामना गर्न संयुक्त प्रयास र अन्तर्राष्ट्रिय सहयोग अनिवार्य रहेको पनि बताउनु भयो । विशेष रूपमा, अमेरिकासँगको सशस्त्र र सुरक्षा समन्वयलाई अझ सुदृढ बनाउनु आवश्यक रहेकोमा जोड दिइएको छ ।

यसले अमेरिका र मेक्सिकोबिच सीमा पार हतियारको समस्यालाई फेरि ध्यानाकर्षण गराएको छ, जहाँ अवैध हतियार प्रायः सिमापार भएर गिरोह र तस्करी नेटवर्कमा पुग्ने गरेको देखिन्छ ।

आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको होः अर्थमन्त्री खनाल

काठमाडौँ, माघ २८ –अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विकास निर्माण आयोजना स्थगन गरिएको विषयमा स्पष्ट पार्दै तयारी नै नभएका तथा समष्टिगत रूपमा तत्काल आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद भुवनबहादुर सुनुवारको प्रश्नको जवाफ दिँदै उहाँले बजेटीय दबाब र प्राथमिकता पुनसंरचनाका कारण यस्तो निर्णय गर्नुपरेको स्पष्ट पाुर्नभयो ।

उहाँले आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, सार्वजनिक सेवा पुनःसञ्चालन, राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोतको व्यवस्थापन, चालु तथा महत्वपूर्ण आयोजनामा कम विनियोजनका कारण सिर्जित दायित्व भुक्तानी, आर्थिक पुनरुत्थान तथा घाइते र सहिद परिवारलाई राहत उपलब्ध गराउने दायित्वले बजेटमा चाप परेको सभालाई जानकारी दिनुभयो ।

मन्त्री खनालले डिजाइन, स्टिमेट तथा टेन्डर प्रक्रियामा गइसकेका वा उपभोक्ता समितिसँग सम्झौता भई क्रमागत रूपमा अघि बढिरहेका आयोजना सम्बन्धित मन्त्रालयबाट पुष्टि गरी क्रमश फुकुवा गर्दै लगिएको र धेरै आयोजनाको रकम फुकुवा भइसकेको जानकारी समेत दिनुभयो ।
मन्त्रिपरिषद्को २०८२ असोज ५ को निर्णयअनुसार तयारी नभएका, खरिद प्रक्रियामा नपुगेका र तत्काल प्रतिफल नदिने आयोजना मात्र स्थगन गर्ने निर्णय गरेको थियो ।

दलित अधिकारसम्बन्धी विधेयक एक महिनाभित्र मन्त्रिपरिषद्मा लैजाने तयारी
संविधानको धारा ४० बमोजिम दलित समुदायको हक कार्यान्वयन गर्न दलितको हक, अधिकार तथा विकाससम्बन्धी विधेयकको मस्यौदा निर्माण प्रक्रिया तीव्र पारिएको मन्त्री खनालले बताउनुभयो ।

२०८२ पुस २८ गते मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको उक्त विधेयक आगामी अधिवेशनमा सङ्घीय संसद्मा पेस गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । नेपाल कानुन आयोगसँग प्रारम्भिक मौखिक परामर्शपछि आज औपचारिक पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री खनालले आगामी २१ दिनभित्र मस्यौदा तयारी, सार्वजनिक परामर्श (करिब सात दिन) तथा आवश्यक प्रक्रिया पूरा गरी एक महिनाभित्र मन्त्रिपरिषद्सम्म पुर्‍याउने तयारी रहेको बताउनुभयो । उहाँले यो अत्यन्त महत्वपूर्ण विधेयक भएको उल्लेख गर्दै सरकारको कार्यअवधि रहँदै यसलाई निष्कर्षमा पु¥याउने लक्ष्य लिएको भनाइ राख्नुभयो ।

आफ्नै खुट्टामा उभिएर जनताको विश्वास जिती संसद्मा ठूलो पार्टी बन्न चाहन्छौँ : संयोजक दाहाल

कास्की, माघ २८-नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन हने भएकाले निर्वाचन प्रक्रियामा जुट्न निर्देशन दिनुभएको छ ।

पोखरामा आज आयोजित पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक दाहालले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सुनिश्चित भएकाले प्रचारप्रसार अभियानमा सक्रिय हुन काममा जुट्न निर्देशन दिनुभएको हो ।

निर्वाचन हुँदैन की भन्ने द्विविधाबाट मुक्त भई अबको तीन हप्ता पार्टीलाई दिन अनुरोध गर्दै उहाँले भन्नुभयो, “जेनजी आन्दोलनपछि मुलुकमा विकसित असाधारण परिस्थितिमा हुनलागेको निर्वाचनको परिणाम नेकपाको पक्षमा ल्याउन देशभरका नेता, कार्यकता तथा शुभेच्छुक आआफ्नो ठाउँबाट खटिन आवश्यक छ, आजैदेखि सक्रिय भई आफ्ना उम्मेदवारलाई जिताउन अघि बढ्नुहोस् ।”

“निर्वाचनको अन्तिम अवस्थामा अन्य पार्टीसँग चुनावी तालमेल गरी नेकपाले उम्मेदवारी निष्कृय गराउने हल्ला फैलाउन सक्नेतर्फ सचेत गरउँदै अहिलेको निर्वाचनमा कुनै पनि किसिमको समिकरण वा तालमेल गर्ने पक्षमा छैनौँ, आफ्नै खुट्टामा उभिएर आमजनताको विश्वास जिती संसद्मा ठूलो पार्टी बन्न चाहन्छौँ”, संयोजक दाहालले भन्नुभयो ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ लाई आयोगले सोध्यो स्पष्टीकरण, ३० जवाफ

काठमाडौँ, २८ माघः केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकोमा ३० वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेद्वार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको हो । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत् स्पष्टीकरणलगायत कारबाहीका लागि लेखी पठाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले राससलाई जानकारी दिनुभयो ।

जिल्लास्तरमा निर्वाचन आचारसंहिना उल्लङ्घनविरुद्धका उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको छ । निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारवाहीको प्रक्रिया अघि बढाइरहेको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेको उहाँले बताउनुभयो ।

जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक÷कोप नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।

छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिवद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ । जिल्लास्तरमा आएका उजुरीका सम्बन्धमा जिल्लाबाटै स्पष्टीकरण सोधी जवाफ माग गरेर दोषी देखिएकालाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको पनि जनाइएको छ ।

सङ्खुवासभामा निर्वाचन चहलपहल बढ्दो : प्रजिअ थपलियाद्वारा मतदानस्थल र मतदान केन्द्रको अनुगमन जारी

किमाथाङ्का (सङ्खुवासभा), २८ माघ । सङ्खुवासभामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्रको अनुगमनलाई तीव्र बनाइएको छ ।

यसक्रममा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया सहित मुख्य निर्वाचन अधिकृत तथा जिल्ला सुरक्षा समितिका अन्य पदाधिकारीले मतदानस्थल र मतदान केन्द्रको अनुगमनलाई जारी राखेका छन् । यसक्रमा टोलीले मतदान केन्द्रको भौतिक अवस्था, सुरक्षा चुनौतीदेखि मतपेटीका व्यवस्थापन र मतदाताको सुरक्षालगायतका विषयमा जानकारी लिएको छ ।

निर्वाचनको समय नजिकिँदै जाँदा गाउँमा चुनावी उत्साह एवं चहलपहल बढिरहेको छ । विभिन्न कारणले गाउँबाहिर रहेकाहरु घर फर्कन थालेका छन् । उम्मेदवारहरु चुनावी ‘एजेण्डा’ लिएर मतदाताको घरदैलोमा पुगेका छन् ।

यही अवस्थामा जिल्ला सुरक्षा समिति प्रत्येक मतदान केन्द्र र मतदानस्थलको अनुगमन गरेर जोखिमको विश्लेषण गरिरहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये आठ स्थानीय तहअन्तर्गत मतदानस्थल तथा मतदान केन्द्रको अनुगमन सकिएको प्रमुख जिल्ला अधिकारी थपलियाले जानकारी दिए ।

मादी र धर्मदवी नगरपालिकाबाहेक अन्य अधिकांश मतदानस्थल तथा मतदान केन्द्रको अनुगमन सकिएको उहाँले बताउनुभयो । भौगोलिक विकटता, यातायातको असुविधा, सञ्चार, खानेपानी, बिजुलीसहितका आधारभूत विषयहरूको व्यवस्थापनका लागि समन्वयसमेत गरिएको छ । प्रमुख जिल्ला अधिकारी थपलियाले भने, “निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष र भयरहित बनाउन उच्च प्राथमिकताका साथ काम गरिरहेका छौँ । ”

जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र छन् । जिल्लामा अति संवेदनशीलता आठ , संवेदनशील ८२ र सामान्य १९ छन् । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको छ । अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थललाई हेरेर सुरक्षा रणनीति बनाइएको छ ।

एकीकृत जिल्ला सुरक्षा २०८२ बमोजिम कायम गरिएका मतदानस्थल र मतदान केन्द्रको सुरक्षाका लागि जिल्लाका तीनवटै सुरक्षा निकायको एकीकृत योजनालाई कार्यान्वयन गरिइएको छ ।

मतदानस्थल अनुगमनमा क्रममा प्रमुख जिल्ला अधिकारी थपलिया सहित मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजकुमार कोइराला, आचारसंहिता अनुगमन अधिकृत चिरञ्जीवी अधिकारी, प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली, सशस्त्र प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल, इन्द्र दल गुल्मका सहसेनानी बाबुकाजी बस्नेत, राष्ट्रिय अनुसन्धानका प्रमुख रामअचल साहलगायतको सहभागिता थियो ।

एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ६२ हजार १७२ पुरुष र ५७ हजार ४५८ महिलासहित एक लाख १९ हजार ६३० मतदाता छन् । निर्वाचनका लागि जिल्लामा तीन महिलासहित १६ चुनावी मैदानमा छन् । जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा उत्रिएका छन् ।

इन्डेक्स एक्सचेन्जले उत्कृष्टताको ५० वर्ष मनायो

इन्डेक्स एक्सचेन्जले युएईमा सेवा प्रदान गरेको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण जयन्ती मनाएको छ। विश्वास, समुदायसँगको सम्बन्ध र देशको विविध प्रवासी समुदायसँगको साझा प्रगतिमा आधारित यस यात्रालाई कम्पनीले गर्वका साथ स्मरण गरेको छ।

स्वर्ण जयन्ती उत्सवअन्तर्गत इन्डेक्स एक्सचेन्जले “शान – ए – रमजान सिजन ५” को सुरुवात गर्नुका साथै आफ्नो नयाँ XFi मोबाइल एप पनि सार्वजनिक गरेको छ। यस पहल मार्फत परम्परा, कृतज्ञता र डिजिटल नवप्रवर्तनलाई एकसाथ प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

पाँच दशकदेखि इन्डेक्स एक्सचेन्ज केवल वित्तीय सेवा प्रदायक मात्र नभई लाखौँ प्रवासीहरूको दैनिक जीवनमा विश्वासिलो साझेदारको रूपमा स्थापित हुँदै आएको छ। परिवारलाई स्वदेशमा रहेका आफन्तलाई सहयोग गर्न सहज बनाउनेदेखि लिएर युएईमा नयाँ जीवन सुरु गर्न सहयोग पुर्‍याउँदै, कम्पनीले सेवा गर्ने समुदायसँगै आफ्नो विकास गरेको छ।

दृढ मूल्य, जिम्मेवार अभ्यास र बहुसांस्कृतिक आवश्यकता प्रतिको गहिरो बुझाइका आधारमा इन्डेक्स एक्सचेन्जले पुस्तौँपुस्तासम्म विश्वास आर्जन गरेको छ, जुन युएईको खुलापन, विकास र अवसरको यात्रासँग मेल खान्छ।

यस अवसरमा इन्डेक्स एक्सचेन्जका अध्यक्ष हमद जस्सिम अल दरविशले ५० वर्षको यात्राले पुस्तौँपुस्तासम्म निर्माण भएको विश्वास र सम्बन्धलाई प्रतिबिम्बित गर्ने उल्लेख गर्नुभयो। युएईसँगै अघि बढ्दै इमानदारी र नवप्रवर्तनका साथ समुदायको सेवा गर्ने प्रतिबद्धता कायमै रहेको उहाँले बताउनुभयो।

पवित्र रमजान महिनासँगै “शान – ए – रमजान सिजन ५” इन्डेक्स एक्सचेन्ज र यसको ग्राहकहरूका लागि वार्षिक परम्पराको रूपमा स्थापित भएको छ। पाँचौँ सिजनमा प्रवेश गरेको यस वर्षको अभियान कम्पनीको ५०औँ वार्षिकोत्सव सँग जुधेकाले विशेष महत्व बोकेको छ।

रमजानको भावनामा आधारित “शान – ए – रमजान सिजन ५” कृतज्ञताको उत्सव हो, जसले ग्राहकहरूको निष्ठालाई सम्मान गर्दै इन्डेक्स एक्सचेन्जको सामुदायिक पहिचानलाई अझ सुदृढ बनाउने उद्देश्य राखेको छ। यसले उदारता, करुणा र एकताको मूल्यलाई प्रतिबिम्बित गर्दछ।

इन्डेक्स एक्सचेन्जका प्रमुख सञ्चालन अधिकृत सैयद अब्दुस सलामले ५० वर्षको उपलब्धिलाई सबैका लागि अर्थपूर्ण भएको बताउँदै, ग्राहकहरूको विश्वास, कर्मचारीहरूको समर्पण र युएईको सहयोगी वातावरणका कारण यो यात्रा सम्भव भएको उल्लेख गर्नुभयो। “शान – ए – रमजान सिजन ५” मार्फत कृतज्ञता व्यक्त गरिएको र XFi मोबाइल एपमार्फत ग्राहकहरूलाई सजिलो, सुरक्षित र सुविधाजनक सेवा उपलब्ध गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो।

प्रमुख व्यवसाय अधिकृत मिर के रसूलले ५० वर्षदेखि ब्रान्डलाई विश्वास, मानिस र नवप्रवर्तनमा आधारित रूपमा निर्माण गरिएको उल्लेख गर्नुभयो। “शान – ए – रमजान सिजन ५” र XFi मोबाइल एपको सुरुवातले सरल, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता र ‘आगामी ५० बर्ष को लागि तैयार” भन्ने नारालाई प्रतिबिम्बित गर्ने उहाँले बताउनुभयो।

ग्राहकहरूको अपेक्षा परिवर्तन हुँदै जाँदा इन्डेक्स एक्सचेन्ज नवप्रवर्तनमा केन्द्रित रहेको छ। XFi मोबाइल एपले दैनिक कारोबारलाई छिटो, सहज र सुविधाजनक बनाउने उद्देश्य राख्दै दशकौँ देखि कायम रहेको सुरक्षा र विश्वसनीयतालाई निरन्तरता दिने जनाएको छ।

पाँच दशकको यात्रापछि इन्डेक्स एक्सचेन्ज अब आत्मविश्वास र स्पष्ट उद्देश्यका साथ नयाँ अध्यायतर्फ प्रवेश गरेको छ। दीर्घकालीन विश्वास, प्रविधिगत सुदृढता र युएईको भविष्यबाट प्रेरित हुँदै, कम्पनीले आगामी पुस्तासम्म सेवा दिने प्रतिबद्धता दोहोर्‍याएको छ।

स्वर्ण जयन्तीको अवसरमा इन्डेक्स एक्सचेन्जले विगत ५० वर्षझैँ भविष्यमा पनि आफ्ना ग्राहकहरूको साथमा निरन्तर उभिरहने प्रतिज्ञा पुनः पुष्टि गरेको छ।

पूर्वाधार विकास र सुरक्षा बाँके–२ का सीमावासीका माग

बाँके। प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सीमावर्ती क्षेत्रका मतदाताले विगतका हरेक निर्वाचनमा आश्वासन पाएको तर ती पूरा नभएको जनाउँदै पूर्वाधार विकास र शान्तिसुरक्षा सुदृढ हुनुपर्ने माग गरेका छन् ।

सीमावर्ती क्षेत्र हिरमिनिया, होलिया, पिप्रहवा र जमुनाहका मतदाताले पूर्वाधार विकासलाई उम्मेदवारसँग आश्वासन होइन वाचा पूरा गर्नेलाई मात्र भोट दिने बताउन बताउन थालेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१५ पिप्रहवाका कैलाश यादव भारतले सीमावर्ती क्षेत्रमा बाँधजस्तो सडक बनाएर नेपाली भू–भाग डुवानमा पर्ने गरेको हुँदा नेपाली भूमिमा पनि सडक निर्माण गर्नुपर्ने माग गर्नुहुन्छ । पिप्रहवाका सबैको यही माग भएका दोहो¥याउँदै उहाँ चोरी–डकैती हुन नदिन आफूहरूले सुदृढ सुरक्षा व्यवस्थाका निम्ति अनुरोध गर्दै आएको बताउनुभयो ।

बाँकेको तीनवटै निर्वाचन क्षेत्रको भूभाग भारतसँग जोडिएको छ । पैसट्ठी किलोमिटर क्षेत्र नेपाल–भारत सीमासँग जोडिएको छ। भारतको बहराईच जिल्लासँग जोडिएको यो क्षेत्रका बासिन्दाले अहिलेको चुनावमा घरदैलोमा आउने उम्मेदवारलाई सडक विकास, खानेपानी र डुबान समस्या समाधानको माग गरेका छन् ।

बाँके क्षेत्र नं २ मा नेकपा (एमाले)बाट इस्तियाक राई, नेपाली कांग्रेसका उम्मेदवार सुधांशु कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ऋषिराज देवकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेक श्रेष्ठ तथा नेपाली कम्युनिस्ट पार्टीबाट दीपेन्द्र विष्टसहित २० जना उम्मेदवारसँग मतदाताले पूर्वाधार विकास र सुरक्षालाई प्राथमिकताका साथ उठाएका छन् ।