ज्ञानेन्द्र शाहीको सरकारमाथि व्यंग्य – ‘ग्यास लुकाउन पहिले सिलिन्डर हुनुपर्यो नि !’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले ग्यास लिन नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको सरकारको निर्णयप्रति व्यंग्य गरेका छन् ।
सरकारले ग्यास लुकाएर अभाव सिर्जना भएको दाबी गरेको प्रसंग उल्लेख गर्दै शाहीले नागरिकले ग्यास कहाँ लुकाए भन्दै प्रश्न गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले व्यंग्यात्मक शैलीमा लेखेका छन्, ‘ग्यास लिन नागरिकता र राष्ट्रिय परिचयपत्र किन अनिवार्य गरेको भनेर सोध्दा सरकार भन्छ— नागरिकहरूले ग्यास लुकाए।’
उनले सरकारलाई प्रश्न गर्दै नागरिकले ग्यास पानीको गाग्रो, ड्रम, ट्याङ्की, भकारी वा जमिनमुनि खाल्डो खनेर लुकाएको हो भन्दै व्यंग्य गरेका छन् ।
शाहीले ग्यास लुकाउन नागरिकसँग पहिले सिलिन्डर हुनुपर्ने भन्दै बजारमा सिलिन्डर नै अभाव रहेको दाबी गरेका छन् ।
‘ग्यास लुकाउनका लागि त नागरिकसँग पहिले सिलिन्डर हुनुपर्यो नि ! सिलिन्डरहरू त सबै लाइनमा छन्,’ उनले लेखेका छन् ।
