`

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल भएको छ ।

शुक्रबारदेखि यहाँ सुरु भएको तीनदिने भेलामा शीर्ष नेताहरू विमलेन्द्र निधिले राजनीतिक, डा प्रकाशशरण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानुन तथा विधान र उमाकान्त चौधरीले साङ्गठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

नेता निधिले आज आफ्नो प्रतिवेदन पेस गर्दै भेलालाई विधानअनुसार बनाउन सम्मेलनमा परिणत गर्नका लागि प्रस्ताव गर्नुभएको थियो । प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार सबै प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफल भएको थियो । प्रदेशगत धारणा र प्रस्तुति जारी रहेकाले बाँकी भोलिको सम्मेलनमा छलफल हुने र भोलि नै समापन हुने तालिका रहेको छ ।

पार्टीका पूर्वमहामन्त्री एवं भेलाका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा भएको भेलाको शुक्रबार निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । पूर्वप्रधानमन्त्री देउवा स्वास्थ्य उपचार सकेर पाँच महिनापछि बिहीबार मात्रै स्वदेश फर्कनुभएको थियो ।

कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्ममा भएको विशेष महाधिवेशनले तत्कालीन महामन्त्री गगनकुमार थापालाई सभापतिमा चयन गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । विशेष महाधिवेशनमा सहभागी नभएको तत्कालीन संस्थापन पक्षले विशेष महाधिवेशन अवैध भन्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो ।

आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई मान्यता दिएपछि असन्तुष्ट पक्ष सर्वाेच्च अदालत पुगेको थियो । सर्वाेच्च अदालतले पनि आयोगको निर्णयलाई नै मान्यता दिएको थियो ।

त्यसपछि भने असन्तुष्ट पक्षले पुनरावलोकनका लागि दिएको आधिकारिताको निवेदनमाथि पुनःसुनुवाइ गर्दै सर्वाेच्च अदालतको पूर्ण इजलासले यही साउन २१ गते निस्सा दिएको छ ।

केपी शर्मा ओलीले भने – छानबिनका नाममा दुःख दिने काम भयो

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई संकेत गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनका नाममा राजनीतिक प्रतिशोध साध्न खोजिएको आरोप लगाएका छन् । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले आफूहरूलाई लक्षित गरी कानुनको दुरुपयोग हुनसक्ने दाबी समेत गरे ।

उनले भने, ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन गर्न त्यो रोक्नको लागि कथित आयोग बनायो । कस–कसलाई मुद्दा लगाउनुपर्ने त्यो लगाउने, यसले के भन्यो भने उनीहरूलाई मुद्दा नलाग्ने । कानुन नै कस्तो भने उनीहरूलाई मुद्दा नलाग्ने, न्यायाधीशलाई मुद्दा नलाग्ने, सेनालाई मुद्दा नलाग्ने, उनीहरूको नातागोताका लागि पनि मुद्दा नलाग्ने।’

ओलीले आफूलाई समेत सामान्य विषयमा छानबिनको नाममा दुःख दिन सक्ने अवस्था सिर्जना गरिएको टिप्पणी गरे ।

आदिवासी जनजातिको हकअधिकार संरक्षणसँगै राष्ट्रिय एकता र समृद्धिका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।

उनले आदिवासी जनजातिको विकास, उत्थान तथा हकअधिकारको संरक्षण र आवश्यक अधिकार प्राप्तिका लागि काम गर्नुपर्ने बताए ।

उनले भने, ‘आदिवासी जनजातिहरुको सर्वोपरि, सर्वमुखी विकास, उत्थान, हकअधिकारहरुको सुरक्षा र आवश्यक अधिकारहरुको प्राप्ति हुनैपर्छ । त्यसका निम्ति पनि काम गर्नुपर्ने छ । सँगसँगै राष्ट्रिय एकता कसरी कायम गर्ने ? हामी सबैलाई थाहा छ, हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक लगायत विभिन्न भौगोलिक, वनस्पतीय, जैविक र सामाजिक विविधताले भरिएको देश हो।’

खाना पकाउने ग्यास सहज बनाउन काठमाडौंका ७ स्थानबाट बिक्री हुने

काठमाडौंमा एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले आइतबार राजधानीका सात स्थानबाट उपभोक्तालाई सिधै ग्यास सिलिन्डर बिक्री गर्ने भएको छ।

बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा निगमले प्रत्यक्ष बिक्रीको व्यवस्था गरेको हो।

निगमका अनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सकिनेछ। ग्यास लिन जाने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।

ग्यास बिक्री हुने स्थान र ब्रान्डहरू यसप्रकार छन् :

टेकुस्थित नेपाल आयल निगम परिसर — नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सगर
पशु सेवा शाखा, चपली–बुढानीलकण्ठ — नेपाल, एचपी र भानु
राधास्वामी, कीर्तिपुर परिसर — नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया
नयाँ बजार जुडे हल परिसर — नेपाल, एचपी र ओम
तारकेश्वर नगरपालिका परिसर — नेपाल र एचपी
चन्द्रागिरि नगरपालिका कार्यालय — लोकप्रिय, नेपाल, एचपी र श्रीमाया
राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी — नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम र एटीसी

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ – उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ ।

उक्त बारको प्रमुख निर्वाचन अधिकृत शान्तिराम खतिवडाका अनुसार मतदान सम्पन्न भएको छ । कूल एक हजार ५३३ मत खसेको छ । सो बारमा दुई हजार ३६६ जना मतदाता रहेका थिए । विद्युतीय माध्यमबाट भएको मतदानको परिणाम आजै आउने जनाइएको छ ।

बारमा नौ पदाधिकारीसहित १९ कार्यसमिति नयाँ कार्यसमिति चयन हुनेछ । आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदान तय भए पनि बीचमा सामान्य विवाद आएपछि आधा घण्टा थप गरिएको थियो ।

उक्त निर्वाचनमा बृहत प्रगतिशील तथा पेशागत समूह, डेमोक्रेटिक लयर्स एशोसिएशन र स्वतन्त्र कानुन व्यवसायी मञ्च गरी तीन समूहबीच प्रतिस्पर्धा भएको छ ।

बृहत प्रगतिशिल तथा पेशागत समूहतर्फबाट अध्यक्ष सेवन्तराज निरौला, डेमोक्रेटिक लयर्स एशोसिएशनका तर्फबाट अध्यक्षमा देवीप्रसाद रिजाल र स्वतन्त्र कानुन व्यवसायी मञ्चका तर्फबाट भेषराज पोख्ररेलले नेतृत्व गर्नुभएको छ ।

केयुका संस्थापक उपकुलपति शर्मालाई अभिनन्दन

काठमाडौँ – काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा डा सुरेशराज शर्मालाई अभिनन्दन गरिएको छ ।

निस्ट फाउण्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले उहाँलाई अभिनन्दन गर्नुभयो । शर्माले झण्डै दुई दशक उपकुलपति भएर विश्वविद्यालयको प्राज्ञिक उन्नयनको नेतृत्व गर्नुभएको थियो ।

नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत पूर्वउपकुलपति शर्मालाई अभिनन्दन गरिएको फाउण्डेसनले जनाएको छ । कार्यक्रममा पूर्वअध्यक्ष रेग्मीले सरल जीवन र उच्च विचारका धनी डा शर्मा नेपालको प्राज्ञिक क्षेत्रको निष्ठावान् अनुकरणीय व्यक्तित्व हुनुभएको बताउनुभयो ।

“विनयशीलता उहाँको विशेष गुण रह्यो, उहाँ विद्धान र उदाहरणीय शिक्षासेवी हुनुभयो । विशेषतः विश्वस्तरीय काठमाडौँ विश्वविद्यालय स्थापना र प्रवर्द्धन गरी गुणस्तरीय उच्च शिक्षाको विकासमा विशिष्ट योगदान दिनुभयो, यो नै उहाँको शैक्षिक जीवनको महत्वपूर्ण पहिचान बन्न पुग्यो”, रेग्मीले भन्नुभयो ।

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैंध मालवस्तु ओसार/पोसार गरेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले आज आठ वटा मालबाहक कन्टेनर नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले सदरमुकाम जोमसोमसहित जोमसोम/कोरला सडकको विभिन्न स्थानबाट कोरला नाकाबाट शङ्कास्पद रूपमा मालवस्तु ओसारपोसार गरेको भन्ने गोप्य सूचनाका आधारमा उक्त कन्टेनरहरू नियन्त्रणमा लिएको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलग/अलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । कोरलादेखि मालवस्तु लोड गरी भन्सार कार्यालयतर्फ झर्दै गरेका मालबाहक कन्टेनरहरूको कागजपत्र तथा सोधपुछ गर्ने क्रममा उक्त कन्टेनरहरू भन्सार यार्डमा जाँच नगरी सिधैँ सिल लगाइ ल्याइएको प्रहरीको विवरणमा उल्लेख गरिएको छ ।

प्रहरी निरीक्षक बस्यालका अनुसार मनसुनका कारण विपद् जोखिम न्यूनीकरणको लागि कोरला सडकमा रातिको समयमा सवारीसाधन चलाउन निषेध गरिएको अवस्थामा नियम विपरीत शङ्कास्पद तबरले नियम विपरीत हुने गरी लुकाइछिपाइ चलाउँदै आउँदै गरेको पाइएकाले उक्त कन्टेनरहरू नियन्त्रणमा लिनुपरेको जनाइएको छ ।

कोरला नाकादेखि भन्सार यार्डमा जाँच नगरी सिधैँ सिल लगाएर मालवस्तु लिएर जोमसोमतर्फ आउँदै गरेको बा प्र ०१-००५ ख २२४५, बा प्र ०१-००६ ख ६२७३, ना ३ ख ७१६०, ना ६ ख ४७४१, को १ ख ५६९६, बा प्र ०१-००६ ख २२४८, ना ६ ख २०२२ र बा प्र ०१-००६ ख ६६११ नम्बरको मालबाहक कन्टेनर जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार नियन्त्रणमा लिएका मालवस्तुबाहक कन्टेनरहरू अवैध मालवस्तुहरू हुनसक्ने बलियो शङ्का देखिएकाले उक्त कन्टेनरहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि मुस्ताङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षा टोलीले राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइसकेको जनाइएको छ ।

नेपाल–चीन उत्तरी कोरला नाका गतवर्षको भदौ ३१ गते पूर्णरूपमा सञ्चालनमा आएयता पटकपटक अवैध रूपमा ओसारपोसार गर्ने मालबाहक कन्टेनरहरूलाई नियन्त्रणमा लिएर कारबाही चलाइ सकिएको छ । सीमा नाका कोरला नाकाबाट पटकपटक हुने अवैध सामान बरामदले राजस्व छली गर्ने गिरोहहरू सक्रिय हुन थालेको आकलन गरिएको छ ।

आव २०८२/८३ को पुस ९ गते कोरला नाकाबाट भित्रिएका दुई करोड २४ लाख मूल्य बराबरको अवैध विद्युतीय चुरोट भेप बरामद गरिएको थियो । आव २०८२/८३ को जेठ २ गते पनि कोरला नाकाबाट शङ्कास्पद रूपमा लुकाइछिपाइ भन्सार ल्याएका २० हजार थान विद्युतीय चुरोट भेप सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो ।

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौँ। नेपाल एशोसिशयन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षमा भरतजङ्ग पाण्डे निर्वाचित हुनुभएको छ ।

नाट्टाको ५९औँ वार्षिक साधारणसभाबाट उहाँ निर्वाचित हुनुभएको हो । वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्ष सविता केसी भट्टराई, महासचिव राजकुमार देवकोटा, सचिव रमेश पराजुली, कोषाध्यक्ष दिकी शेर्पा र सहकोषाध्यक्ष जीवन कोइराला निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, सदस्यमा स्मारिका थापा, नवीन गुरुङ, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र विभाष पौडेल निर्वाचित हुनुभएको छ ।

उक्त साधारणसभाको प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभएको थियो ।

गुणस्तरीय खानीदेखि ‘गैँडा छाप’ ब्रान्डसम्म, तर उदयपुर सिमेन्ट किन धराशायी बन्दैछ?

काठमाडौँ । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना । बजारमा स्थापित ‘गैँडा छाप’ ब्रान्ड । सबै हुँदाहुँदै यतिबेला उदयपुर सिमेन्ट उद्योग सङ्कटमा छ ।

गाइघाट बजारको विकासमा महत्त्वपूर्ण योगदान दिएको उद्योगभित्रको भ्रष्टाचार, व्यवस्थापकीय कमजोरी, राजनीतिक हस्तक्षेप र व्यक्तिगत तथा समूहगत स्वार्थका कारण उद्योग क्रमशः धराशायी बन्दै गएको छ । यसको पछिल्लो उदाहरण हो, बोरा अभावमा ६ महिनादेखि थन्किएको सिमेन्ट ।

उत्पादन भइ गोदाममा थन्किएको सिमेन्ट बोरा अभावमा बजारसम्म नपुग्नुको अर्थ हो, कमजोर व्यवस्थापन र नेतृत्वको अदूरदर्शी सोच । निजी कम्पनीहरूले धमाधम सिमेन्ट उत्पादन र बिक्री गरिरहेको अवस्थामा बोरा अभावमा सिमेन्ट थन्काउनुपर्ने बाध्यात्मक अवस्था आउनुले पनि उद्योग कुन अवस्थामा छ भन्ने बुझ्न कठिन छैन ।

उद्योगका प्रशासन प्रमुख गम्भीरजङ्ग खत्रीका अनुसार १० लाख बोरा आपूर्ति गर्ने जिम्मा पाएको चितवनस्थित आशीर्वाद पोली प्याक्सले छ महिना अघिसम्म करिब पाँच लाख २७ हजार बोरा आपूर्ति गरिसकेको थियो ।

र गत चैतमा कम्पनीले इन्धनको मूल्य वृद्धि भएको आफूले पहिलेको बाँकी रकम भुक्तानी नपाएकोलगायत कारण देखाउँदै रकम भुक्तानी नभएसम्म बोरा दिन नसक्ने स्पष्ट पार्‍यो ।

“तत्कालीन समयमा कम्पनीलाई उद्योगले रु २७ लाख भुक्तानी गर्न बाँकी थियो, हामीले पैसा दिनसक्ने अवस्था थिएन, त्यसैले बोरा आपूर्ती रोकिएको थियो, तर पछि उहाँलाई अनुरोध गरेपछि ५३ हजार १८७ बोरा आपूर्ती भयो”, उनले भने । पछिल्लो पटक बोरा आपूर्ति भएपछि रु नौ लाखभन्दा बढी भुक्तानी भइसकेको छ भने अब पुरानो र नयाँ गरी करिब रु ३६ लाख भुक्तानी बाँकी छ ।

आशीर्वाद पोली प्याक्सका सेयर सदस्य तथा बजार प्रमुख अनिल भण्डारी भने भुक्तानीको विषयमा फरक तर्क राख्छन् । उनका अनुसार उद्योगसँग करिब पाँच वर्षअघि दुई वर्षमा १० लाख बोरा आपूर्ती गर्ने गरी सम्झौता भएको थियो । तर उद्योगले माग नगरेपछि अहिलेसम्म पाँच लाख ८० हजार हाराहारीमा बोरा आपूर्ती गरिएको छ । उनका अनुसार कम्पनीले हालै रु पाँच लाख मात्रै भुक्तानी गरेको थियो भने अब करिब रु ४२ लाख लिन बाँकी छ ।

महङ्गोमा कोइला खरिद

उद्योगले महङ्गो मूल्यमा कोइला खरिद गरेको विषयमा चर्को आलोचना हुँदै आएको छ । निजी क्षेत्रका उद्योगहरूले औसतमा प्रतिटन रु १९ हजारदेखि २० हजारमा कोइला खरिद गरिरहेकामा उद्योगले औसतमा रु २५ हजारदेखि रु ३० हजारमा कोइला खरिद गरिरहेको छ ।

उदाहरणका लागि उद्योगले २०८० कात्तिक १४ गते र सोही वर्षको मङ्सिर २ गते र प्रतिटन रु २७ हजार ६६६ मा कोइला खरिद गरेको थियो भने सोही वर्षको असार ३१ गते प्रतिटन रु २३ हजार ८३८ मा कोइला खरिद गरेको थियो । यसरी उद्योगले औसतमा कोइलामा प्रतिटन रु पाँच हजारदेखि रु १० हजारसम्म घाटा भइरहेको छ । उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्दा वार्षिक ५० हजार टन कोइला आवश्यक पर्छ । भन्सार विभागका अनुसार उद्योगले महङ्गो मूल्यमा कोइला खरिद गरिरहेको समयमा भने प्रतिटन रु १३ हजारमा कोइला आयात भइरहेको थियो । आयात भएको कोइलालाई उद्योगले करिब दोब्बर मूल्यमा खरिद गरिरहेको देखिन्छ ।

त्यति मात्रै होइन, कोइलाको गुणस्तरमा पनि प्रश्न उठेको थियो । उद्योगका लागि आवश्यक कोइलाको मापदण्डमा पनि प्रश्न उठ्ने गरेको छ । उद्योगमा प्रयोग गर्न मिल्ने कोइलाको जिसिभी मापदण्ड र ‘मोस्चराइज’ को मापदण्डमा पनि चलखेल हुने गरेको अध्ययनका क्रममा पाइएको जनाइएको छ ।

किलसेल मेसिनमा गडबडी

उद्योगमा दुई वर्ष अघि ६० मिटर लम्बाइको किलसेलमध्ये २०.८ मिटरको किलसेल खरिद गरी ल्याउने क्रममा दुर्घटनामा पर्‍यो । जसका कारण रु पाँच करोडभन्दा बढी लागतको क्षति पुग्यो । हाल तीन वटा टुक्रा भएको किलसेल अलपत्र अवस्थामा छ । क्षतिग्रस्त भएपछि त्यसको मर्मत पनि गरिएको छैन भने अहिले बेवारिसे अवस्थामा राखिएको छ ।

यसअघि पनि ५.८ मिटर लम्बाइको किलसेल खरिद गर्दा करिब रु ६ करोड खर्च भएको थियो, पछि सोभन्दा कम मूल्यमा २०.८ मिटरको किलसेल खरिद गरी ल्याउने क्रममा भएको दुर्घटनालाई अस्वभाविक रूपमा हेरिएको छ । यसले उद्योग सञ्चालनमा ठूलो क्षति पुगेको छ ।

अख्तियारमा मुद्दाको चाङ

भ्रष्टाचार र कमजोर व्यवस्थापनमा फसेको उद्योगसम्बन्धी अहिले छ वटा मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । जसमध्ये दुई वटाको हकमा मुद्दा दायर भइसकेको छ भने चार वटाको अध्ययन भइरहेको छ ।

जसमा उद्योगका महाप्रबन्धक समेतले मिलेमतोमा टेण्डर नं. ४४–७ न्यू आयन सप्लायर्स सिद्धार्थनगर रूपन्देहीलाई १० प्रतिशत मौज्दुरमा छुट दिई अनियमितता गरेको भन्ने मुद्दामा अनुसन्धान भइरहेको छ भने तत्कालीन महाप्रबन्धक सुरेन्द्र पौडेल समेतले मिलेमतो गरी विभिन्न अनियमितता गरी उद्योगलाई धरासायी बनाएको उजुरीमा पनि अनुसन्धान भइरहेको छ ।

आयोगका अनुसार तत्कालीन महाप्रबन्धक समेत उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा टेण्डर नं. ३१–१/०७४/०७५ मा सम्झौतामा तोकिएभन्दा बढी रकम भुक्तानी गरिएको भन्ने समेतमा पनि अनुसन्धान भइरहेको जारी छ । साथै कारखानाका तत्कालीन महाप्रबन्धक समेतले मिलेमतोमा अघिल्ला आवमा खरिद भएका कोइला रिजेक्ट भनी पुनः बिक्री वितरण गरेको भन्ने समेतमा आयोगले अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी आव २०६४/६५ देखि २०७७ पुस मसान्तसम्म सिमेन्ट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, चुनढुङ्गा, क्लिङ्करको खपत बढी उत्पादन कम रहेको मुद्दा र तत्कालीन महाप्रबन्धक समेतले आवश्यकता औचित्यता नभएको प्राविधिक दृष्टिले रीतपूर्वक माग नभएको अवस्थामा खरिद ऐन, विपरीत पेसी भुक्तानी गरेको भन्ने उजुरीमा भने मुद्दा दायर भइसकेको छ ।

पुरानो प्रविधि

उद्योग धराशायी हुनुमा पुरानो प्रविधि र मेसिनरी प्रमुख कारण देखिन्छ । खानी उत्खननदेखि कारखाना सञ्चालनसम्म पुरानै प्रविधिमा निर्भर रहँदा रोप–वे, कोल मिल, नियन्त्रण प्रणालीलगायतका उपकरण समयअनुसार अपग्रेड हुन सकेका छैनन् ।

आधुनिक प्रविधि नअपनाउँदा उत्पादन लागतसमेत बढेको छ । त्यस्तै, खानी उत्खननको लागत उच्च छ । अझै पुरानो ब्लास्टिङ प्रणालीबाट चुनढुङ्गा निकाल्दा विस्फोटक पदार्थ, सुरक्षा तथा सेना परिचालनका कारण उत्खनन खर्चिलो बनेको छ । आधुनिक उत्खनन प्रविधि अपनाउन नसक्दा ठूलो र गुणस्तरीय खानी हुँदाहुँदै पनि त्यसको लाभ लिन सकिएको छैन ।

त्यसैगरी कम उत्पादकत्व पनि उद्योगको अर्को समस्या हो । कारखानाका धेरै उपकरण बढी उत्पादन क्षमताका लागि डिजाइन गरिएका भए पनि वास्तविक उत्पादन त्यसभन्दा कम छ । सामान्य मर्मतसम्भार तथा प्रणाली सुधारबाट उत्पादन बढाउन सकिने अवस्था हुँदाहुँदै त्यसतर्फ पर्याप्त काम हुन सकेको छैन ।

कमजोर व्यवस्थापन र जवाफदेहिताका कारण पनि उद्योगले गति लिन सकेको छैन । उद्योगको नियमित अनुगमन कमजोर हुनु, नेतृत्व परिवर्तन भइरहनु तर दीर्घकालीन योजना कार्यान्वयन नहुनु तथा उद्योगको अवस्थाबारे जिम्मेवार निकायबाट पर्याप्त निगरानी र रिपोर्टिङ नहुनु समस्या बनेको छ ।

उद्योगमा राजनीतिक हस्तक्षेप र युनियनबाजीले पनि व्यवस्थापनमा असर पारेको स्रोतको दाबी छ । काम नगर्ने प्रवृत्ति र आन्तरिक दाउपेचले उत्पादनमा असर पुर्‍याएको बताइएको छ । त्यस्तै, जनशक्ति व्यवस्थापनको समस्या पनि छ ।

आवश्यकताभन्दा बढी जनशक्ति र उच्च कर्मचारी लागत रहेको, दक्ष तथा अनुभवी प्राविधिक कर्मचारी अवकाश हुँदै जाने तर प्रशासनिक प्रकृतिको जनशक्ति बढी रहने अवस्था रहेको उल्लेख छ । दक्ष जनशक्तिलाई सीपअनुसार परिचालन गर्न नसक्दा पनि उत्पादकत्वमा असर परेको जानकार बताउँछन् ।

साथै, ऊर्जा लागत पनि पर्याप्त रूपमा नियन्त्रण हुन सकेको छैन । पुराना प्रणाली र ठूला मोटरका कारण विद्युत् खपत उच्च रहेको र ऊर्जा अडिट तथा प्रणाली सुधारमार्फत घटाउन सकिने खर्चमा पनि पर्याप्त ध्यान नदिइएको देखिन्छ ।

त्यसैगरी व्यावसायिक बजार रणनीतिको अभावले पनि उद्योगलाई कमजोर बनाएको छ । उच्च गुणस्तरको चुनढुंगा र क्लिङ्कर हुँदाहुँदै क्लिङ्कर बिक्री, ब्लक सिमेन्ट तथा पिपिसी जस्ता सम्भावित बजारको पर्याप्त उपयोग हुन सकेको छैन ।

खानी हत्याउने प्रयास

उदयपुर सिमेन्ट उद्योगको सबैभन्दा ठूलो शक्तिका रूपमा यसको खानीलाई लिइन्छ । जिल्लाको उत्तरी भेगमा पर्ने सुकौरा (सिन्धुवा) मा अवस्थित यो खानी उद्योग स्थल त्रियुगा नगरपालिका–६, जलजलेबाट करिब २७ किलोमिटर उत्तरमा पर्छ ।

जापान सरकारले गरेको अध्ययनअनुसार खानीमा करिब सात करोड ३५ लाख मेट्रिक टन चुनढुंगा उत्पादनयोग्य क्षमता छ । जसमध्ये हालसम्म ४० लाख मेट्रिक टन मात्रै उत्खनन् गरिएको छ । अहिले अर्थात् ठूलो हिस्सा अझै उपयोग हुन बाँकी छ ।

यो खानी किन पनि महत्त्वपूर्ण छ भने यसमा पाइने चुनढुङ्गा नेपालमै सबैभन्दा राम्रो भएको जानकारहरू दाबी गर्छन् । यस चुनढुङ्गामा एमजीओ औसत १.५ प्रतिशत छ । एमजिओ जति कम भयो त्यति सिमेन्टका लागि राम्रो मानिन्छ । जबकी सिमेन्टमा प्रयोग हुने एमजीओ ५ प्रतिशतसम्मलाई स्वीकार गरिन्छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक कुमारी ज्योति जोशीका अनुसार नेपालमा रहेका सिमेन्टका गुणस्तरमा ओपिसी (३३ ग्रेड), ओपिसी ४३ र ५३ ग्रेडका लागि अधिकतम पाँच प्रतिशत एमजिओ निर्धारण गरिएको छ भने पिपिसी सिमेन्टका लागि ६ प्रतिशत एमजिओको मापदण्ड निर्धारण गरिएको छ ।

नेपालमा सञ्चालित अधिकांश सिमेन्ट कम्पनीलाई यो मापदण्ड पूरा धौधौ भइरहेको छ । खानीमा पाइने चुनढुङ्गामा क्याल्सियम अक्साइड ५२ प्रतिशतभन्दा बढी छ । जबकी नेपाल अन्य खानीमा औसतमा ४४–४८ प्रतिशतको हाराहारीमा क्याल्सियम अक्साइड भएको चुनढुङ्गा पाइन्छ ।

गुणस्तरीय चुनढुङ्गा भएकाले सिमेन्ट उत्पादनका लागि ८२ प्रतिशत मात्रै चुनढुङ्गा भए पुग्छ । अन्य खानीमा पाइने चुनढुङ्गाको हकमा ९० प्रतिशतसम्म प्रयोग गर्नुपर्ने अवस्था छ । उद्योगले सिमेन्ट उत्पादनमा तीन प्रतिशत सिलिका स्यान्ड, रातो माटो १३ प्रतिशत र दुई प्रतिशत आइरन प्रयोग गर्छ । अहिले उद्योगले आइरनबाहेक अन्य कच्चा पदार्थ आयात गर्नुपर्दैन ।

गुणस्तरीय चुनढुङ्गा पाइने यही खानीको लाइसेन्स खानी तथा भूगर्भ विभागले २०८१ असोजमा खारेज गरिदियो । सरकारी उद्योगले रु ७४ लाख राजस्व नबुझाएको कारण विभागले देखायो । यसका पछाडि विभिन्न स्वार्थ समूह लागेको जानकार बताउँछन् ।

उक्त उद्योगबारे अध्ययन गरिरहेका एक जानकारका अनुसार सकेसम्म खानीको लाइसेन्स आफूले लिने नभए उक्त खानीबाट उत्खनन गरिएका चुनढुङ्गा भए पनि लिने प्रयास पटक पटक भएका छन् । सोही कारण पटक पटक बन्द हुने, समयमै आपूर्ती नहुने समस्या आएको हो ।

तर वर्तमान सरकार गठन भएपछि १०० दिनभित्रै विभागलाई बुझाउनुपर्ने राजस्व दाखिला गरी लाइसेन्स नवीकरण भइसकेको छ । यसबाट खानीको स्वामित्व अन्य कम्पनीलाई दिने चलखेलमा ब्रेक लाग्यो । वर्तमान सरकारले अब उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धकको नियुक्त गरी उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरिरहेको छ । हाल उद्योगको उत्पादन क्षमता दैनिक ८०० मेट्रिक टन रहेको छ ।

स्वास्थ्य बीमा बोर्डको नयाँ व्यवस्था : आबद्धता र नवीकरण अनलाइनबाट

काठमाडौं। स्वास्थ्य बीमा बोर्डले अनलाइनबाट बीमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु गरेको छ ।बीमा कार्यक्रममा नयाँ आबद्धता, बिमालेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने (केवाइसी अपडेट) लगायत सबै काम अनलाइनामार्फत गर्न सकिने छ ।

बोर्डका प्रवक्ता डा पवनकुमार शाहले यसअघि बिमा कार्यक्रममा दर्ता सहयोगीमार्फत सर्वसाधरण बिमा आबद्ध हुने गरेकामा शुक्रबारदेखि सुरु गरिएको सेवामार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिए ।

“हामीले बिमामा आबद्ध हुनका लागि अनलाइनामार्फत आफैँले फारम भर्न मिल्ने प्रणाली सुरु गरिसकेका छौँ”, उनले भने, “अबदेखि दर्ता सहयोगीविना बिमा आबद्धता, नवीकरणलगायत सबै काम हुन्छन् ।”

‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बिमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३’ बमोजिम अनलाइनमार्फत बीमा आबद्धता र नवीकरण गर्न सुरु गरिएको प्रवक्ता शाहले बताए । उनका अनुसार यसका लागि ‘इसेवा’, ‘खल्ती’ र ‘कनेक्ट आइपिएस’ मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

उक्त प्रणालीमार्फत व्यक्ति स्वयंले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमालेख नवीकरण गर्न सक्नेछन् । अहिले बीमामा ५९ लाख ७० हजार ४०३ जना आबद्ध भएका प्रवक्ता शाहले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानको आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवा उपलब्ध गराइन्छ ।

थप प्रतिसदस्य रु ७०० का दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ । यस्तै आठ प्रकारका कडा रोगमा एक लाख बराबरको थप सेवा प्रदान गरिने स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख मौज्दात

मुस्ताङ । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ ।गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका पाँचवटा बैंक खातामा रु ११ करोड ७६ लाख ३३ हजार मौज्दात रहेको छ ।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार कृषि विकास बैंकमा रु सात करोड १६ लाख ३२ हजार, सांग्रिला बैंकमा रु तीन करोड ९२ लाख ९५ हजार, प्रभु बैंकमा रु ५५ लाख ६४ हजार, नेपाल बैंकमा रु ११ लाख २३ हजार र माछापुच्छे बैंकमा रु १७ हजार ५०० मौज्दात छ ।

सञ्चारमन्त्री डा.तिमिल्सिनाबाट पहिरोसहित जोखिम बस्तीको अवलोकन

त्रिशूली । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले आज नुवाकोटको विभिन्न स्थानमा रहेका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गरेका छन् । अवलोकनपश्चात् पहिरोका कारण जोखिममा परेका बस्तीको तत्कालै आवश्यक संरक्षण एवं स्थान्तरण, अवरुद्ध बनेका सडक, खानेपानी, विद्युत् सेवा सञ्चालन हुने प्रबन्ध मिलाउन मातहतका निकायलाई सञ्चारमन्त्री डा.तिमिल्सिनाले निर्देशन दिए ।

उनले सूर्यगढी गाउँपालिका–१ स्थित सेमराङभिरमा गएको पहिरो र त्यसबाट जोखिममा परेका बस्तीको जानकारी लिएपश्चात् वडा नं २ स्थित फटपुर र पहरेथोकमा गएको पहिरोको अवलोकनसहित यसका कारण जोखिममा परेका बस्ती, अवरुद्ध भएको सडक आवागमन, विद्युत् सेवा, ड्वाचे खानेपानी योजनाको पाइपलाइनमा पुगेको क्षतिको अवलोकन–निरीक्षण गरे ।

यसैगरी, वडा नं २ स्थित रातमाटे र राम्चेमा सडक माथिबाट खसेको पहिरो तथा देविथानमा सडक तलबाट बगेको पहिरो र त्यसका कारण सडकसहित खानेपानी पाइपमा पुगेको क्षतिको पनि स्थलगत निरीक्षण गरिएको छ ।

पहिरोका कारण पुगेको क्षतिको स्थलगत अवलोकन, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय प्रभावित बासिन्दासँगको अन्तरक्रियामा सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्राविधिक अध्ययनका आधारमा आवश्यक कदम तत्कालै अघि बढाइने प्रतिबद्धता जनाए ।

“वडा र पालिकाको कार्यालयसहित विपद्सम्बन्धी अध्ययन र अवस्था बुझ्ने निकायबाट प्राप्त हुने सुझावका आधारमा गर्नुपर्ने निर्णय तत्कालै कार्यान्वयन गराउन सङ्घीय सरकार तयारी अवस्थामा छ”, उनले भने, “बस्तीलाई सुरक्षित बनाउन र त्यो सम्भव नभए जोखिममा परेका परिवारलाई तत्कालै स्थान्तरण गर्नेछौँ ।”

सूर्यगढी गाउँपालिकाको वडा नं १ र २ मा बगेको पहिरोका तीन पालिकामा वितरण हुँदै आएको ड्वाचे खानेपानी र विद्युत् प्रसारण लाइनमा पुगेको क्षति सञ्चालनमा चुनौती रहेको छ । सडकको आवागमनमा पुगेको अवरोध हटाई आवश्यकताअनुसार वैकल्पिक व्यवस्थाको प्रबन्ध मिलाउन मातहतका निकायलाई मन्त्री डा.तिमिल्सिनाले निर्देशन दिए ।

पहिरो र जोखिम बस्तीको अवलोकनका लागि जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, सडक डिभिजन नुवाकोट, पूर्वाधार विकास कार्यालयलगायत निकायका प्राविधिकसमेत संलग्न रहेका थिए ।

सञ्चारमन्त्री डा.तिमिल्सिनाले नुवाकोटको सूर्यगढीसहित यहाँको दुप्चेश्वर, तादी, पञ्चकन्या, शिवपुरीलगायतका पालिकामा गएका पहिरो र त्यसले पुर्‍याएको क्षति, पहिरोले जोखिम बनाएका बस्तीसहित विकासका पूर्वाधारमा पुगेका क्षतिको स्थलगत निरीक्षण, अवलोकनपश्चात् आवश्यक कार्य तत्कालै अघि बढाउन सङ्घीय सरकारको नेतृत्वमा सरोकारवाला सबै निकायलाई साथ लिएर अघि बढ्ने बताएका छन् ।

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा। बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ ।

यही साउन २९ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकले गाभिएका मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्मका लागि प्रदेश सचिवलाई क्षेत्रगत जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी महेश भट्टराईलाई दिइएको छ ।

 

त्यसैगरी उद्योग, वाणिज्य, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत जीवलाल भुसाललाई उद्योग तथा वाणिज्य क्षेत्र, अनिता निरौलालाई श्रम तथा यातायात क्षेत्र र दीपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटन क्षेत्रको जिम्मेवारी तोकिएको छ ।

स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत गीताकुमारी होमेगाईंलाई युवा तथा खेलकुद क्षेत्र, डा सुमित्रा गौतमलाई स्वास्थ्य क्षेत्र र खुबिराम अधिकारीलाई सामाजिक क्षेत्रको जिम्मेवारी दिइएको छ ।

कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत डा केदार बराललाई वन तथा वातावरण क्षेत्र र सुधिर श्रेष्ठलाई कृषि तथा पशुपन्छी क्षेत्रको जिम्मेवारी तोकिएको प्रवक्ता तामाङले जानकारी दिनुभयो ।

उक्त जिम्मेवारी गाभिएका मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्म कायम रहने प्रवक्ता तामाङले बताउनुभयो ।

भारतको ८०औँ स्वतन्त्रता दिवस, लालकिल्लाबाट मोदीको सम्बोधन

काठमाडौं । भारतले आज ८०औँ स्वतन्त्रता दिवस मनाउँदैछ । सन् १९४७ अगस्ट १५ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएको अबसरमा भारतले यस वर्षको स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमसहित मनाउन लागेको हो ।स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले स्वतन्त्रता संग्राममा योगदान दिएका सेनानीहरूको बलिदानको स्मरण गर्दै देशवासीलाई शुभकामना दिएका छन् ।

प्रधानमन्त्री मोदीले शनिबार दिल्लीस्थित ऐतिहासिक लालकिल्लाबाट राष्ट्रिय झण्डा फहराउने र देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम छ । लालकिल्लाबाट मोदीले लगातार १३औँ पटक स्वतन्त्रता दिवसको सम्बोधन गर्न लागेका हुन् ।

यस वर्षको स्वतन्त्रता दिवस समारोहमा राष्ट्रिय गीत ‘वन्दे मातरम्’को १५०औँ वर्षगाँठलाई विशेष महत्व दिइएको छ । समारोहमा पहिलोपटक लालकिल्लाबाट ‘वन्दे मातरम्’ सामूहिक रूपमा प्रस्तुत गरिनेछ । साथै ‘विकसित भारत–२०४७’ निर्माणमा युवाशक्तिको भूमिकालाई समेत प्रमुखताका साथ प्रस्तुत गरिनेछ ।

समारोहमा भारतीय सेना, नौसेना, वायुसेना र दिल्ली प्रहरीका सुरक्षाकर्मीले गार्ड अफ अनर प्रस्तुत गर्नेछन् । झण्डोत्तोलनका क्रममा २१ तोपको सलामी दिइने कार्यक्रम छ ।समारोहमा सेना, नौसेना र वायुसेनाका करिब २ हजार ५ सय छात्रछात्रा तथा ‘माइ भारत’का स्वयंसेवक सहभागी हुनेछन् । उनीहरूले ज्ञानपथमा बसेर ‘वन्दे मातरम्’ शब्दको आकृति बनाउनेछन् ।

यस अवसरमा विभिन्न क्षेत्रका करिब ५ हजार विशेष अतिथिलाई समेत निमन्त्रणा गरिएको छ । महिला उद्यमी, सरसफाइ कर्मचारी, सडक व्यापारी, युवा नवप्रवर्तक, वैज्ञानिक, स्टार्टअप संस्थापक, कलाकार, किसान, विद्यार्थी तथा सरकारी योजनाका लाभग्राही समारोहमा सहभागी हुनेछन् ।

वर्षाको कहरः बीपी राजमार्गसहित विभिन्न सडकखण्ड अवरुद्ध

काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।प्रहरी प्रधानकार्यालयले आज बिहान ६ः३० बजेसम्मको बाढीपहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको जनाएको छ ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ ६ः०० बजेदेखि बिहान४ः०० बजेसम्म सबै सवारीसाधनको आवागमन रोक लगाइएको छ । उक्त सडकखण्डमा बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन् ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमन रोक लगाइएको छ ।इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा यो सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र सोही पालिकाको धौलापहिरामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।रोल्पाको थबाङ गाउँपालिका–२ लाप्लेभिर र दबाङमा पनि भू्स्खलनका कारण ले घोराही–थबाङ सहिद मार्ग पनि दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय भइरहेको जनाइएको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३७, आलु सेतो प्रतिकिलो रु ३५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६४ रहेको छ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, काउली स्थानीय प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ३०, रातो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ९०, मकै बोडी प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ६०, परवर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, भिन्डी प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु १०० र स्कुस प्रतिकिलो रु ६० कायम भएको छ।

रायोसाग प्रतिकिलो रु १३०, पालुङ्गो प्रतिकिलो रु २५०, तोरीको साग प्रतिकिलो रु १००, प्याज (हरियो) रु २००, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकिलो रु ३३० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ।

कुरिलो प्रतिकिलो रु ५००, निउरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु १६०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ५००, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु १५००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमूला प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ४००, आँप (मालदह) प्रतिकिलो रु २८०, आँप (चोसा) प्रतिकिलो रु २५०, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५ काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु ६०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २००, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ६०, अमला प्रतिकिलो रु २८०, एभोकाडो प्रतिकिलो रु ५००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ।

ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ५००, अदुवा प्रतिकिलो रु २३०, खुर्सानी सुकेको प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ५०, लसुन हरियो प्रतिकिलो रु १८०, हरियो धनियाँ प्रतिकिलो रु २५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३३० र ताजा माछा (छडी) प्रतिकिलो रु ३३० निर्धारण भएको छ।

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बदली रहेको छ।

मधेस प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई भागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति देशका हिमाली र पहाडी भागमा साधारणतया बदली तथा तराई भागमा आंशिक बदली रहनेछ। हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

राति बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले महाशाखाबाट जारी हुने पछिल्ला सूचना तथा पूर्वानुमानअनुसार अद्यावधिक रहन अनुरोध गरिएको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१ रुपैयाँ ९७ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५० पैसा र बिक्रीदर ४१ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७२ पैसा र बिक्रीदर १० रुपैयाँ ७६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६ रुपैयाँ ०१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५३ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ०० पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ २४ पैसा बिक्रीदर ४०५ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ४१ पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

महोत्तरी । मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।

मिथिलाञ्चलमा मौनापञ्चमी भनिने साउन कृष्ण पञ्चमीका दिन मिथिलानीले सुरु गरेका यो पर्व आज १३ औँ दिन समापन गर्न लागेका हुन् । साउन कृष्ण पञ्चमीका दिन सुरु गरिने यो पर्व साउन शुक्ल त्रितीया तिथिका दिन समापन गर्ने मैथिल परम्परा छ ।

पतिपत्नीबीच प्रगाढ प्रेम सम्बन्धको कामनाका साथ नवविवाहिता मिथिलानीले यो पर्व विवाह भएको वर्षमा मनाउने चलन छ । पतिले पठाइदिने पूजा सरदाम (सामग्री)बाट यो पर्व मिथिलानीले माइतीघरमा मनाउँछन् । पतिले पठाइदिने सामग्रीमा पर्वअवधिको खाद्य सामग्री, नयाँ वस्त्र परिधान र आभूषण हुने गर्छ ।

मिथिलामा नवविवाहिता वधुले साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल द्वितीयासम्म व्रत विधानमा रही १२ औँ दिनको राति देब्रे घुँडामा ‘टेमी’ (कपासको कातेको बत्ती बालेर त्यसको लप्कोले घुँडा डाम्ने चलन) लिएर भोलिपल्ट तृतीयाका दिन पर्व सम्पन्न गर्ने परम्परा छ । यसअनुसार शुक्रबार राति बर्तालुले ‘टेमी’ लिएका छन् । ‘टेमी’ दिइएको ठाउँमा फोका उठे पति पत्नीबीच प्रेमसम्बन्ध अत्यन्त गाढा हुने विश्वास रहेको भङ्गाहा–३ की यस वर्षकी बर्तालु रञ्जु कर्ण बताउछिन् ।

पछिल्ला केही वर्षयता भने नयाँ पुस्ताका मिथिलानीले ‘टेमी’ लिन बलेको बत्तीको लप्काले डाम्नुको सट्टा शीतल चन्दनको लेप लगाउन थालेका छन् । घुँडा डाम्नुसँग गाढा प्रणयसम्बन्धको कुनै सम्बन्ध नरहेको बताउँदै नयाँ पुस्ताका मिथिलानीले पर्वको महत्तालाई निरन्तरता दिँदै चन्दन लेप गर्न थालेका हुन् । ‘टेमी’लाई परिष्कृत गरिएको नयाँ चलन उपयुक्त रहेको शिक्षण पेसामा रहनुभएकी गौशाला–१२ की सुनिता महतोको भनाइ छ । ‘टेमी’ विधि घर परिवारका सबैभन्दा श्रेष्ठ महिलाका हातबाट गराइने चलन छ ।

पर्व अवधिभरि भगवान् शङ्कर, देवी गौरी (पार्वती) र विषहरा (नाग देवता)को आराधना गरिन्छ । पर्वमा बस्तीभरिकै नवविवाहित जम्मा भएर हासपरिहास र सामूहिक गायनमा रमाउँछन् । यो पर्वमा बर्तालु र उनका सखीको वस्त्र परिधानको सजधज, सामूहिक प्रणयगान र ‘फूललोढी’ (फूल खोज्ने) विधिले सबैको ध्यान खिच्ने गरेको छ । शिव, पार्वती (गौरी) र विषहराको आराधना गरिने यो पर्वमा भोलिपल्टको पूजाअर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामूहिकरूपमा फूल खोज्न निस्कने विधिलाई ‘फूललोढी’ भन्ने गरिएको छ । पर्वमा भगवान् शङ्कर र देवी गौरीलाई बासी फूल चढाउने चलन छ । पर्व समापन भएपछि बर्तालुले पर्व अवधिभरि दिनहुँ पूजा गरिएका बेलपत्र र फूल सङ्ग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गर्छन् ।

यो पर्वको मुख्य अभीष्ट नै पतिपत्नीबीच सुमधुर प्रेमसम्बन्ध हुँदा यसले मैथिल संस्कृति र पारिवारिक सद्भाव वृद्धिमा सघाउ पुर्याएको मैथिल लोक संस्कृतिका जानकार मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउछन् ।

वर्षायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ । वनको पन्छी मयूर पनि यसै मौसममा प्रणय सम्बन्धमा लीन हुन्छन् । यस्तो बेला नवविवाहिता जोडीबीच रतिरागदेखि भावनात्मक रूपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको उपप्राध्यापक झाको भनाइ छ ।

पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब साझा भइसकेको छ । फरक भाषा , संस्कृति र परम्पराका समुदायको छ्यासमिस बसोबासले एकअर्काका चाडवाड अप्नाउने चलन बढ्दो छ । यसैले पछिल्ला वर्षहरुमा मधुश्रावणी मिथिलाको साझा पर्व बन्दै गएको जलेश्वर–५ चौरियाकी बासिन्दा माध्यमिक विद्यालयका सामाजिक शिक्षक नायडु तिवारी बताउछन् ।

पर्वमा शिव, पार्वती (मधुश्रावणी व्रत विधानमा पार्वतीलाई गौरी नाम दिइएको छ) र विषहराको दैनिक पूजाआराधना गरेपछि बर्तालुलाई घरकी ज्येष्ठ महिलाले मधुश्रावणी कथा सुनाउँछन् । यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरि, विहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीको कथा हुने गर्छन् । पर्वमा आफ्नो स्खलित भएको वीर्य भगवान् शङ्करले पातमा राखेका र त्यही वीर्यबाट पाँच नाग कन्याको जन्म भएको कथा प्रचलित छ । कुनै तलाउमा जलक्रिडाका बेला जन्मेका यी छोरी भेट्न शिव जाने गरेको र यो वृत्तान्त थाहा नपाएकी पार्वतीलाई पतिप्रति शङ्का बढेपछि पिछा गरेकी कथा छ । एकदिन छोरीहरुसँग खेलिरहेका पतिलाई देखेपछि क्रोधित भएकी पार्वतीलाई शिवले सबै कुरा बताएपछि क्रोध शान्त भएको प्रसङ्ग छ । पार्वतीलाई खुसी तुल्याएपछि शिवले साउन महिनामा यी नागिनीको पूजा गर्नेलाई सर्पको भय नहुने वरदान दिएबाट मधुश्रावणी पर्वमा विषहराको पूजा विधान सुरु भएको लौकिक जनविश्वास छ । देवी गौरी दाम्पत्य जीवन सुखद बनाउने र सबै मनोकामना पूरा गर्ने मानिएको हुँदा नवविवाहिताले यसै अभिष्टका लागि यो व्रत सुरु गरेका मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाको भनाइ छ ।

प्राचीन वैदिक ग्रन्थ शिव पुराणमा कुष्ठरोग भएका आफ्ना पतिलाई ठिक गराउन मधुश्रावणी नाउँकी नवविवाहितालाई शिवले यो व्रत गर्न लगाएको प्रसङ्ग छ । शिवको आज्ञाअनुसार मधुश्रावणीका पति ठीक भएपछि पति कल्याण र आपसी सम्बन्ध प्रगाढताको कामना राखिने यो पर्व परम्परा चलेको विश्वास गरिन्छ ।

बर्तालुले साउन कृष्ण चौथी (चतुर्थी) का दिन पवित्र स्नान गरेर चोखोनितो बनेपछि व्रत सङ्कल्प गर्दछन् । व्रत अवधिभरि मन पवित्र बनाएर सात्विक भोजन गर्नु पर्ने विधान छ । सधैँ दिउँसोपछि सूर्यास्त हुनपूर्व सखीसहेलीका साथ हाँस्दै, खिल्लिँदै र प्रणयभावका गीत गाउँदै ‘फूललोढी’मा निस्कनु र सङ्कलन गरिएका बेलपत्र र विभिन्न जातका फूल राति बासी राखेर भोलिपल्ट त्यसैले शिव, पार्वती र विषहराको पूजा आराधना गरेर कथा श्रवण गर्नु बर्तालुको पर्वअवधिको दैनिकी हुन्छ ।

पर्वमा अटल सौभाग्यकी देवी मानिने गौरीको पूजाआराधनाका लागि छुट्टै नैवेद्य बनाउने चलन पनि छ । माइतीघरको आँगन वा अन्य सुरक्षित ठाउँमा बनाइएको खास मण्डप (अरिपन) मा बसेर त्यहीँ देवता स्थापित गरेर बर्तालुले यो पर्व मनाउँछन् । विवाहपछि माइत पुग्दा सखीसहेलीसँग हुने भेट र पर्व अवधिभरि सामूहिक गान र आपसी हासपरिहास हुने हुँदा नवविवाहिता मिथिलानीलाई यो पर्वको पर्खाइ हुने पाका मिथिलानी बताउँछन् ।

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड रुपैयाँ खर्च

मुस्ताङ। चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको छ ।

कालिगण्डकी करिडोर कोरला सडक योजनाले सुरुआती आव २०७३/०७४ देखि आव २०८२/०८३ सम्मको अवधिमा उक्त बजेट खर्च भएको जनाएको छ ।

कोरला सडकका योजना प्रमुख तेजस्वी शर्माका अनुसार गतवर्षसम्म कोरला सडक योजनाको साविक लागत अनुमान दश अर्ब ५६ करोड रहेकोमा आठ अर्ब ९६ करोड बजेट खर्च भएको उल्लेख गरेको छ । योजनाको पछिल्लो संशोधित लागत अनुमान १५ अर्ब पु¥याइएको । उहाँले पछिल्लो संशोधित लागत अनुमानअनुसार (बेनी–जोमसोम–कोरला) सडक योजनाको समग्र भौतिक प्रगती ६५ प्रतिशत र वित्तिय प्रगति ६० प्रतिशत पुगेको छ ।

उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको निर्माणधीन कोरला सडक योजनाको पछिल्लो संशोधित सम्पन्न अवधी आव २०८८/०८९ सम्म कायम गरिएको छ । सुरुआती बेनी÷जोमसोम ७४ किमी चारखण्ड अस्फाल्ड कालोपत्र र जोमसोम–कोरला ११९ किमी सातखण्ड ग्राभेल सडकबाट सुरुआत गरिएकोमा हालसम्म सडक तथा पुल पुलेसा गरी दर्जनौँ योजना थपिएका छन् ।

पर्वतको मालढुङ्गादेखि नेपाल–चीन उत्तरी कोरलानाकासम्मको २०२ किमी सडक कालोपत्र तथा स्तरोन्नति गनुपर्ने दायित्व योजनाको रहेको छ । योजना प्रमुख शर्माका अनुसार मालढुङ्गादेखि कोरलासम्म २०२ किमी सडक कालोपत्र गर्नुपर्ने लक्ष्य रहेकोमा गतवर्षको असार महिनासम्म ९० किमी दूरीमा कालोपत्र सम्पन्न भइसकेको छ । कालिगण्डकी करिडोर अन्तर्गत मुस्ताङको छुसाङ्देखि घमीसम्मको ५० किमी सडकको थप स्तरोन्नति गरी सडक कालोपत्र गर्न दुई अर्ब बढीको ठेक्का आह्वान भइसकेको प्रमुख शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आवमा बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको सिरुबारी सडकखण्डको पहिरोग्रष्त क्षेत्रमा ५०० मिटर कालोपत्रको ठेक्का खुलाइनेछ । म्याग्दीको राहुघाट हाइड्रो पावर भएको स्थानको सडकमा ३०० मिटर दुरीमा जलविद्युत कम्पनीले नै कालोपत्र गर्ने पूर्वसहमति भइसकेको छ ।

म्याग्दी र मुस्ताङको सीमाक्षेत्र थासाङ–४ घाँसा तलको खहरे खोला सडकमा करिव ५०० मिटर दुरीको सडकमा कालिगण्डकी गर्ज हाइड्रो पावर कम्पनीलेनै कालोपत्र गर्नेछ । योसँगै म्याग्दीको महभीर र भीरकाँटे सडक बाहेक

पर्वतको मालढुङ्गादेखि बेनी सडकमा करिव ७०० मिटर दूरीमा सडक कालोपत्र गर्न बाँकी रहेको योजना प्रमुख शर्माको भनाइ छ । म्याग्दीको महभीर र भीरकाँटेमा चट्टान फोरेर सडक चौडा गरी फराकिलो बनाउनेकार्य भएकोमा हाललाई उक्तकार्य स्थगित गरिएको छ । त्यहाँ कालिगण्डकी नदीबाट ग्याविक प्रोटेक्सन गरी सडक चौडा गराउन सुरु गरिएको प्रमुख शर्माले जानकारी दिनुभयो ।

यसैगरी कोरला सडक योजना अन्तर्गत पर्वतको मालढुङ्गादेखि कोरलानाकासम्म २६ पक्की मोटरेबल पुल निर्माण गर्ने लक्ष्य राखिएकामा आव २०८२÷०८३ सम्म १८ पक्की पुल निर्माणको काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार कोरला सडकमा चार पक्की पुल निर्माणधीन अवस्थामा रहेको र बाँकी आवश्यक चार पुल निर्माणको लागि बजेट विनियोजन हुन बाँकी रहेको छ ।

कोरला सडक योजनाका अनुसार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ स्थित ताङ्वे खोला र वारागुङ मुक्तिक्षेत्र–४ स्थित कागबेनी खोलामा पुल निर्माण गर्नुपर्नेछ । यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोला र म्याग्दीको तातोपानीस्थित भुरुङ खोलामा पुल निर्माण गर्नुपर्नेछ । पर्वत –म्याग्दी जोड्ने बेनीस्थित कालिगण्डकी नदीमा पुल निर्माण गर्न बाँकी छ ।

यसैगरी हाल कामचलाउको रुपमा रहेको पर्वतको मिलनचोक, लप्सी खोला, दमुवा खोलालगायतमा पुल निर्माणको आवश्यकता देखिन्छ ।

राष्ट्रिय गौरवको कोरला सडक अन्तर्गत बेनी–जोमसोम सडकको म्याग्दी खण्डको तीन स्थानमा पहिरो रोकथाम भइरहेको छ, म्याग्दीको गुइठेभीर, खामभित्ता र बैसरीमा पहिरो रोकथामकार्य भइरहेको योजना प्रमुख शर्माले बताउनुभयो ।

कोरला सडक योजनाका अनुसार चालु आवमा पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्मको सडक अन्तर्गत जुके खोला, केराबारी र लाटी खोलामा गरी तीन स्थानमा पहिरो रोकथामका योजना अघि बढाइने भएको छ ।

यसैगरी बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको सिरुबारी, महभीर, नौनीबगर र सुकेबगरमा गरी चार स्थानमा थप पहिरो थोकथामका योजना थपिने जनाइएको छ ।

बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ। दश वटा बैंकिङ कसुर तथा दुई वटा चेक अनादर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

ललितपुर महानगरपालिका-१० बालकुमारी बस्ने सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका-६ घर भएका ३३ वर्षीय गणेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँको फैसलाले उक्त मुद्दाहरूमा रु एक करोड ५८ लाख ५४ हजार ६३० जरिवाना र १६ दिन कैद सजाय ठहर भई फरार रहेका निजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर-१० बालकुमारीबाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

निजलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेस गरिएको प्रहरीले जनाएको छ ।

फेरिँदै छ सम्बन्ध विच्छेदको उद्देश्य र कारण

म्याग्दी । जिल्लामा सम्बन्ध विच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ । पारिवारिक बेमेलभन्दा पनि ‘डिपेन्डेन्ट भिसा’मा विदेश जाने उद्देश्यले सम्बन्ध विच्छेद गर्ने चलन बढेको हो ।

अदालतमा गत आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका ५९१ मध्य ३४५ अथवा ५८ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका छन् । जिल्ला अदालतका श्रेष्तेदार जगतबहादुर भण्डारीले गत आर्थिक वर्षमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दा मध्ये २८५ मुद्दा फर्स्यौट र ६० चालु आर्थिक वर्षमा जिम्मेवारी सरेको बताए ।

“आर्थिक वर्ष २०७९/०८० देखि २०८२/०८३ मा वार्षिक ३०० को हाराहारीमा सम्बद्ध विच्छेदका मुद्दा दर्ता भएका देखिन्छन्,” उनले भने “अधिकांश महिला सम्पत्ति वा अंश नलिई, केवल छोराछोरीको संरक्षण आफूले गर्ने सर्तमा मात्रै सम्बन्ध विच्छेद गर्न तयार भएको देखिन्छ ।”

गत आवमा दर्ता भएका कुल २९८ सम्बन्ध विच्छेदका नयाँ मुद्दामध्ये महिलाबाट २५९ र पुरुषबाट मात्र ३९ थान मुद्दा परेका थिए । अदालतको अभिलेख अनुसार आव ०७८/७९ मा २८० थान, आव ०७९/८० मा ३०३, आव ०८०/८१ मा ३०० र आव ०८१/८२ मा ३१४ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका श्रेष्तेदार भण्डारीले बताए ।

फेरिँएको उद्देश्य र कारण

म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले वैदेशिक रोजगारका लागि कागजात बनाउने उद्देश्यले अदालतमा विवाह र सम्बन्ध विच्छेद गर्ने धेरै हुने गरेका बताए ।

“पारिवारिक बेमेल भएर एकअर्कासँगै बस्न नसक्ने भएर भन्दा पनि ‘डिपेन्डेन्ट भिसा’मा विदेश जाने उद्देश्यले सम्बन्ध विच्छेद गराउने र वैदेशिक रोजगारको प्रयास सफल र असफल भएमा अदालतमै विवाह गरेर पुनर्मिलन हुने गरेको हामीले गरेको अध्ययनबाट देखिएको छ ।”

युवा र बयस्क उमेर समूहका मानिस विद्यालय र क्याम्पस पढ्ने उमेर समूहका बालबालिका तथा किशोर किशोरीलाई घर तथा माइतीका वृद्ध बुवा, आमाको जिम्मा लगाएर ‘डिपेन्डेन्ट’ भिसामा विदेश जाने चलनले सामाजिक र सांस्कृतिक क्षेत्रमा प्रभाव देखिन थालेका क्याम्पस उनको भनाइ छ ।

अस्टे«लीया, जापान, पोर्चुगल, क्यानडालगायत देशमा गएकासँग विवाह गर्ने र वैदेशिक रोजगारको उद्देश्य सकिएपछि सम्बन्ध विच्छेद गर्ने धेरै देखिएका छन् । गत वर्ष अदालतमा ४४ जोडीले विवाह गरेका छन् ।

बेलायत सरकारले पछिल्लो समय गोर्खा सैनिकका परिवारका सदस्यको आवासीय भिसासम्बन्धी नियम परिवर्तन गरेपछि सम्बन्ध विच्छेद गर्न आउनेको सङ्ख्या कम हुनुले पनि वैदेशिक रोजगार र सम्बन्ध विच्छेदको सम्बन्ध पुष्टि गरेको जिल्ला न्यायाधीश सुर्यबहादुर थापाले बताए ।

“महिला कुनै करकाप, दबाब, प्रभाव वा झुक्यानमा परेर अंश दाबी नगरी मञ्जुर भएका हुन् कि भन्नेमा अदालत गम्भीर र संवेदनशिल छ,” उनले भने “उनीहरूको अधिकार र सुरक्षा सुनिश्चित गर्न अंश/सम्पत्तिमा दाबी नगर्ने महिलाका माइती पक्षका बाबा, आमा, दाजुभाइ, मामा वा भरपर्दा आफन्तलाई अनिवार्य रोहवरमा राख्ने गरिएको छ । यसले महिलामाथि हुन सक्ने सम्भावित अन्याय रोक्न सघाएको छ ।”

फैसला कार्यान्वयन चुनौतीपूर्ण

अदालतका फैसला कार्यान्वयन गर्नु पछिल्लो समय मुख्य चुनौती बनेको छ । आर्थिक वर्ष २०८१/०८२ बाट जिम्मेवारी सरेर आएका १३६ र नयाँ दर्ता भएका ४५५ मध्य ३९२ अथवा ६६ दशमलव ३२ प्रतिशत मुद्दा फर्स्यौट भएको छ । २०४ वटा मिलापत्र र १८८ वटाको फैसला गरिएको हो ।

अदालतले विभिन्न समयमा गरेका फैसलामा दोषी ठहर गरेकाबाट रु तीन करोड ७२ लाख ४२ हजार ४९९ जरिवाना र ५४६ वर्ष आठ महिना १२ दिन कैद सजाय असुल उपर गर्न बाँकी रहेको तहसिलदार कृति थापाले बताउनुभयो । गत आर्थिक वर्षमा रु ७६ लाख ९० हजार ६३३ जरिवाना र ३८७ वर्ष पाँच महिना २० दिन कैद सजाय असुल उपर भएको थियो ।

गत वर्ष फैसला कार्यान्वयनका लागि ८९ वटा निवेदन परेकामा ६६ वटाको फर्स्यौट भएको छ । यसैगरी विभिन्न मुद्दासँग सम्बन्धित ३६ जना व्यक्ति थुनामा पठाइएको छ । कैद वा जरिवाना ठहर भएका व्यक्तिलाई कानुनी दायरामा ल्याउन र जरिवाना असुल गर्न प्रहरी, अदालत र स्थानीय तहसम्म लगत न्यायाधीश थापाले बताए । त्यस्ता व्यक्ति सरकारी सेवा, सिफारिस वा कागजात बनाउन आउँदा सेवा रोक्न र असुलीमा सहयोग गर्न पत्राचार गरिए गरिएको उनले बताए ।

पन्ध्र जनामा औलो रोगको सङ्क्रमण

चितवन । गत आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १५ जनामा औलो (मलेरीया)को समस्या देखिएको छ । तीन हजार ४१५ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो ।

जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ । रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा आठ हजार ४०५ जनाको नमुना परीक्षण गर्दा ११ जनामा औलो रोग देखिएको थियो । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा आठ हजार ८६० जनाको परीक्षण गर्दा १० जनामा सङ्क्रमण देखिएको केसीले जानकारी दिए।

नेपालमा मुख्य गरी दुई प्रजातिका औलोका परजीवी पाइने गर्दछ । प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिपारम रहेका छन् । नेपालमा तीमध्ये भाइभेक्स जातको परजीवी बढी देखिने गर्दछ । फाल्सिपारम जातको परजीवी औलो रोगका सङ्क्रमितमध्ये १५ देखि २० प्रतिशतमा देखिने गर्दछ । जसले मानिसको स्नायु प्रणालीमा प्रभाव पार्ने उनले बताए ।

भाइभेक्स परजीवी ७० देखि ८० प्रतिशत देखिने गरेको छ । विदेशबाट आउने नेपालीमा फाल्सिपारम परजीवी भेटिने गरेको उहाँले बताउनुभयो । औलो सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ । घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने ठाउँलाई पुर्ने, सुत्दा झुलभित्र सुत्नेजस्ता कार्य गर्नु आवश्यक रहेको उनले बताए ।

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज । केमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घट्दै गएको देखिएको छ । जिल्लामा पनि साइबर अपराधसम्बन्धी उजुरी लिने र मुद्दा दर्ता गर्ने व्यवस्था गरेसँगै साइबर उपराध सम्बन्धी उजुरी घट्दै र साइबर उपराध सम्बन्धी मुद्दा बढदै जान थालेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

आर्थिक वर्षको २०८१र०८२ मा ३०९ साइबर अपराधसम्बन्धी उजुरी परेकामा अहिले ती उजुरी घटेर १३१ पुगेको छ । परेका उजुरीमध्ये मेलमिलाप भएको पनि प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले अहिलेसम्म साइबर उपराधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भएका कारण पनि उजुरी कम हुँदै गएको जानकारी दिए । परेका उजुरीमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका थिए ।

विद्युतीय अपराधसँग सम्बन्धीत बाँकेमा परेका पाँच मुद्दामध्ये दुई घटनाको मुद्दा आर्थिक वर्ष २०८१ र०८२ को र तीन मुद्दा आर्थिक वर्ष २०८२ र०८३ को रहेको प्रहरीले जनाएको छ । सो मुद्दामा दुई जना पक्राउ परेर धरौटीमा रिहा भएका छन् भने तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ । यी मुद्दा एउटा इलाका प्रहरी कार्यालय, कोहलपुरमा र चार मुद्दा जिल्ला प्रहरी कार्यालय, बाँकेमा दर्ता भएको थियो ।

प्रहरीका अनुसार आव २०७९/ ८० मा १०६, आव २०७८/७९ मा ५८ उजुरी साइबर अपराधसम्बन्धी परेका थिए । विदेशबाट पनि साइबर कानुन उल्लङ्घन गरेको पाइएको छ । प्रहरीका अनुसार साइबर कानुन उल्लङ्घन फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालबाट हुने गरेको छ । साइबर अपराधमा सङ्लग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही हुने गरेको छ ।

स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी

सन् २०१८ पछि विश्वभरका स्वास्थ्य सेवामाथि १० हजारभन्दा बढी आक्रमण भएको दावी गरेको छ । अन्तरराष्ट्रिय यस संस्थामा दर्ता भएका तर कसैलाई पनि न्यायको कठघरामा नउभ्याइएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले शुक्रबार चिन्ता व्यक्त गरेको हो ।

यी आक्रमणहरू २९ देश र क्षेत्रहरूमा रिपोर्ट गरिएका छन्, जसका कारण करिब पाँच हजार ७०० जनाको मृत्यु र आठ हजार ५०० जना घाइते भएका डब्ल्यूएचओले जनाएको छ।

डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले स्वास्थ्य सेवा कहिल्यै लक्ष्य बन्नु नहुने भन्दै विश्व समुदायमाथि बारम्बार जानकारी गराउदै आउनुभएको छ।

डब्ल्यूएचओले स्वास्थ्य सेवामाथिका आक्रमणहरूको पुष्टि र अभिलेख राख्छ तर दोषारोपण गर्दैन किनकि यो अनुसन्धान गर्ने निकाय होइन।

डब्ल्यूएचओको मानवीय तथा विपद् व्यवस्थापन एकाइका निर्देशक अलताफ मुसानीले जेनेभामा सञ्चारमाध्यमलाई जानकारी दिँद यी तथ्याङ्क प्रस्तुत गर्दै भन्नुभयो, “जवाफदेहिता राष्ट्रिय स्तरमा मात्रै हुनुपर्छ भन्ने छैन।”

“स्वास्थ्य सुविधाहरू र समग्र स्वास्थ्य प्रणाली अन्तर्राष्ट्रिय मानवीय तथा अधिकार कानुनको संरक्षणमा पर्छन् र केही जेनेभा महासन्धिहरूद्वारा सुरक्षित छन्,” उहाँले भन्नुभयो ।

“मैले उल्लेख गरेका १० हजारभन्दा बढी प्रमाणित घटनाहरूमध्ये एउटै पनि जवाफदेहिता प्रणालीमा प्रवेश गरेको छैन।”

“यस वर्ष मात्रै संयुक्त राष्ट्रसङ्घको स्वास्थ्यमामिला हेर्ने यस निकायले ९१४ वटा आक्रमण दर्ता गरेको छ, जसबाट ९११ जनाको मृत्यु र एक हजार ४८६ जना घाइते भएका छन्,” मुसानीले भन्नुभयो ।
युक्रेन, लेबनान र प्यालेस्टिनी क्षेत्रहरूले सन् २०२६ मा अधिकांश घटनाहरूको हिस्सा ओगटेका छन् ।

अन्य घटनाहरू म्यानमार, इरान, सुडान, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, दक्षिण सुडान, रुस, सिरिया र नाइजेरियाबाट रिपोर्ट गरिएका छन्।

मुसानीले भन्नुभयो, “यस वर्ष सबैभन्दा बढी रिपोर्ट गरिएको आक्रमणको प्रकार भारी हतियार प्रयोग गरी गरिएका आक्रमणहरू हुन्, त्यसपछि स्वास्थ्य सेवामा अवरोध र मनोवैज्ञानिक हिंसा आउँछन्।”

उहाँका अनुसार स्वास्थ्यकर्मी र बिरामीहरूको अपहरण, गिरफ्तारी वा थुनासम्बन्धी ४४ वटा घटना रिपोर्ट भएका छन्, जसबाट १४८ जना प्रभावित भएका छन्।

– आक्रमणको दीर्घकालीन प्रभाव –

“जब कुनै अस्पतालमा आक्रमण हुन्छ, त्यसको प्रभाव त्यो दिन अस्पतालभित्र रहेका व्यक्तिहरूमा मात्रै सीमित हुँदैन,” मुसानीले भन्नुभयो ।

उहाँले भन्नुभयो, “यो भोलि उपचार पाउन नसक्ने बिरामी, अर्को स्थानमा जान नसक्ने एम्बुलेन्स, काममा फर्कन नसक्ने स्वास्थ्यकर्मी वा अन्य सुविधाहरूसम्म पुग्न नसक्ने औषधि आपूर्तिमा पनि पर्छ।”

“गाजा क्षेत्रका सबै ३६ वटा अस्पताल सन् २०२५ को अन्त्यसम्म क्षतिग्रस्त भएका थिए,” उहाँले भन्नुभयो ।

सन् २०२२ मा युक्रेनमा रुसको पूर्ण स्तरको आक्रमण सुरु भएयता डब्ल्यूएचओले तीन हजारभन्दा बढी आक्रमण प्रमाणित गरेको छ । गत हप्ता दिनिप्रोस्थित डब्ल्यूएचओको गोदाममाथि आक्रमण भई गोदाममा क्षति भएको थियो।

“हामी युक्रेनमा आक्रमणको सङ्ख्यामा उल्लेखनीय वृद्धि देखिरहेका र प्रमाणित गरिरहेका छौँ”, मुसानीले भन्नुभयो, “यसले स्वास्थ्य सुविधाहरूमा आपूर्ति पु¥याउने हाम्रो क्षमतालाई स्पष्ट रूपमा असर गरिरहेको छ।”

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मे महिनामा घातक इबोला प्रकोप घोषणा भएयता स्वास्थ्य सेवामाथि १२ वटा आक्रमण प्रमाणित भएका छन्।

“यी घटनाहरूले निगरानी, घटनाको अनुसन्धान, सम्पर्क खोज, उपचार र समुदायसँगको संलग्नतालाई बाधा पु¥याएका छन्, जसले आक्रमणले स्वास्थ्य सेवा मात्रै होइन, प्रकोप पत्ता लगाउने र नियन्त्रण गर्ने क्षमतालाई पनि कमजोर बनाउन सक्ने देखाउँछ,” मुसानीले भन्नुभयो ।

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको छ । बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड र बेनी-दरवाङ सडकमा आज साँझ ५ः०० बजेदेखि शनिबार बिहान ७ः०० बजेसम्मका लागि यातायात सञ्चालन बन्द गरिएको कार्यालयले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौँबाट प्राप्त मौसम पूर्वानुमानसम्बन्धी सूचनाअनुसार म्याग्दीमा आज राति भारी वर्षाको सम्भावना भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो ।

“स्तरोन्नतिको क्रममा रहेका बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा पहिरो खस्ने, नदीले कटान गर्ने समस्या छ । रातिको समयमा यातायात सञ्चालन गर्दा दुर्घटनाको जोखिम हुने भएकाले सतर्कता अपनाइएको हो”, प्रजिअ आचार्यले भन्नुभयो ।

बेनी-जोमसोम सडक म्याग्दीको सदरमुकाम बेनीदेखि उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने एकमात्र स्थलमार्ग हो । बेनी-दरवाङ सडकले धवलागिरी, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ ।

नेशनल इन्जिनियर्स एसोसिएसन नेपालको केन्द्रमा नै वर्चश्व जमाउनुपर्ने बेला आयो : इञ्जिनियर गौरी पण्डित

काठमाडौँ । नेपाल इन्जिनियर्स एसोसिएसन मधेश प्रदेशका सभापति इञ्जिनियर गौरी पण्डितले देशभरका स्वतन्त्र इञ्जिनियरलाई संगठित गर्दै संगठनलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए । उनले इञ्जिनियरहरूको पेसागत हक, अधिकार र क्षमता अभिवृद्धिका लागि नेशनल इन्जिनियरर्स एसोसिएसनलाई केन्द्र, प्रदेश तथा जिल्ला तहसम्म प्रभावकारी रूपमा विस्तार गर्नुपर्ने बताए । आगामी दिनमा इञ्जिनियरिङ क्षेत्रको नेतृत्वमा संगठनको प्रभावकारी उपस्थिति आवश्यक रहेको भन्दै पण्डितले केन्द्रमा समेत संगठनको बलियो उपस्थिति कायम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेश्नल इन्जिनियर्स एसोसिएसन नेपालका केन्द्रिय महासचिव तपेश्वर यादवले इञ्जिनियरिङ पेसालाई मर्यादित, जिम्मेवार र प्रभावकारी बनाउन पेसागत दक्षता तथा गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । काठमाडौँमा आयोजित एक अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै यादवले इञ्जिनियरिङ पेसालाई राजनीतिक गतिविधिको थलो बनाउन नहुने धारणा राखे । उनले इञ्जिनियरहरू पेसागत रूपमा उत्तरदायी हुँदै आफ्नो क्षमता विकासमा निरन्तर लाग्नुपर्नेमा जोड दिए । यादवले वर्तमान प्रतिस्पर्धात्मक बजारमा केवल शैक्षिक प्रमाणपत्रले मात्र पर्याप्त नहुने भन्दै इञ्जिनियरहरूले व्यवहारिक ज्ञान, सीप र गुणस्तरीय काममा ध्यान दिनुपर्ने बताए । उनका अनुसार गहिरो अध्ययन र निरन्तर सिकाइले मात्रै इञ्जिनियरिङ क्षेत्रमा दीर्घकालीन सफलता हासिल गर्न सकिन्छ ।

कार्यक्रममा सहभागी इञ्जिनियरहरूले संगठनलाई केन्द्र, प्रदेश र जिल्ला तहसम्म विस्तार गर्दै इञ्जिनियरका पेसागत समस्या तथा आवाज सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउनुपर्ने बताएका थिए । अन्तरक्रियाका सहभागीहरूले इञ्जिनियरहरूबीच एकता, सहकार्य र पेसागत अधिकारका लागि साझा अभियान अघि बढाउनुपर्ने निष्कर्ष निकालेका छन् । साथै, बदलिँदो प्राविधिक तथा व्यावसायिक वातावरणअनुसार इञ्जिनियरहरूको क्षमता अभिवृद्धि गर्दै संगठनलाई थप सुदृढ र एकताबद्ध बनाउनुपर्नेमा जोड दिइएको छ।

अगस्टमा इराकको दैनिक तेल निर्यात युद्ध सुरु भएयता उच्च

संयुक्त राज्य अमेरिका र इजरायलले संयुक्तरूपमा गरेको इरान युद्ध र इरानले हर्मुज जलमार्ग बन्द गरेपछि यसका कारण मध्यपूर्वमा देखिएको तनावबीच अगस्ट महिनाको सुरुवातदेखि इराकको औसत दैनिक तेल निर्यात युद्ध सुरु भएयता सबैभन्दा उच्च रहेको इराकको पेट्रोलियम पदार्थ (तेल) मन्त्रालयले शुक्रबार बताएको छ ।

इराकी तेल मन्त्री बस्सेम मोहम्मद खुदैरले शुक्रबार पत्रकार सम्मेलनमा भन्नुभयो, “महिनाको सुरुवातदेखि निर्यात दैनिक २० लाख ब्यारेलको दरमा पुगेको छ । यसबाट अगस्टमा कूल दुई करोड ६० लाख ब्यारेल इन्धन निर्यात भएको छ ।”

उहाँले भन्नुभयो, “यो दैनिक दर ‘सङ्कट सुरु भएयता पहिलोपटक’ उच्चतम हासिल भएको हो। फेब्रुअरी २८ मा अमेरिकी–इजरायली हमलापछि इरानले विश्वव्यापी तेल र ग्यास व्यापारका लागि महत्त्वपूर्ण जलमार्ग बन्द गरेर जवाफी कारबाही गरेपछि सङ्कट सुरु भएको थियो।

युद्धअघि इराकले दैनिक करिब ४० लाख ब्यारेल उत्पादन गथ्र्यो र मासिक औसत १० लाख ५० हजार ब्यारेल निर्यात गथ्र्यो, जसमध्ये अधिकांश बसरा तेल टर्मिनलबाट होर्मुजमार्फत बाहिर जान्थ्यो।

इराकको तेल बिक्री सङ्गठन (सोमो) का प्रमुख अली निजारले गत हप्ता राष्ट्रिय टिभीसँगको अन्तर्वार्तामा भन्नुभएको थियो, “इराकले जुलाईमा हर्मुजमार्फत ‘तीन लाख ५५ हजार देखि तीन लाख ७० हजार ब्यारेल’ निर्यात गरेको थियो।

अर्को ७० लाख ब्यारेल टर्कीको सेहान बन्दरगाहसम्म पुग्ने पाइपलाइनमार्फत निर्यात भएको थियो।

सोमोको तथ्याङ्कअनुसार, इराकले मे र जुन महिनामा विभिन्न मार्गहरूबाट जम्मा तीन करोड २० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको थियो, जसमध्ये दक्षिणी बन्दरगाहबाट दुई करोड ब्यारेलभन्दा बढी निर्यात भएको थियो ।

ओपेकको संस्थापक सदस्य इराकले भण्डारहरू भरिएका कारण युद्धका बेला धेरैजसो तेल प्रशोधन केन्द्रहरूमा उत्पादन रोक्न बाध्य भएको थियो ।

जलमार्ग अवरुद्ध भएकाले उसले सिरिया हुँदै ट्याङ्करमार्फत र टर्की जाने पाइपलाइनमार्फत कच्चा तेल निर्यात गर्न थालेको थियो ।

शान्ति श्री र गोविन्द पौडेलले ल्याए तीजको रमाइलो कोसेली ‘मेरी माया नाचिदेउ छम छम’

काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रिय गायक गोबिन्द पौडेल र चर्चित गायिका शान्ति श्री परियारको सुमधुर आवाजमा नयाँ तीज गीत ‘मेरी माया नाचिदेउ छम छम’ सार्वजनिक भएको छ। तीज पर्वलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतमा प्रेमी–प्रेमिकाबीचको प्रेम, माया र सम्बन्धलाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ। गीतमा गोबिन्द पौडेलकै लय तथा शब्द रहेको छ भने मिक्सटेप इन्टरटेण्डमेन्टले गीतलाई बजारमा ल्याएको हो।

पछिल्लो समय भारतमा रहेर आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिइरहेका गायक पौडेलले प्रवासमा रहे पनि नेपाली लोकदोहोरीप्रतिको आफ्नो लगावलाई कायमै राखेका छन्। भारतमा रहेर विभिन्न सांगीतिक गतिविधि तथा दोहोरी प्रस्तुतिमा सक्रिय हुँदै आएका पौडेलले नयाँ–नयाँ सिर्जनामार्फत नेपाली दर्शक–श्रोतामाझ आफ्नो उपस्थिति निरन्तर बलियो बनाइरहेका छन्।

‘मेरी माया नाचिदेउ छम छम’मा पौडेलसँगै लोकप्रिय गायिका शान्ति श्री परियारको आवाजले गीतलाई थप आकर्षक बनाएको छ। तीजको मौलिक वातावरण, प्रेमिल भाव र नाच्न मन लाग्ने लयलाई समेटिएको गीतले तीजको सांगीतिक माहोललाई थप रमाइलो बनाउने अपेक्षा गरिएको छ।गीतको भिडियोमा स्वयता विश्वकर्मा र सुरेश कोहलीले अभिनय गरेका छन्। प्रेमी–प्रेमिकाबीचको सम्बन्ध र भावनालाई भिडियोमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ। गीतका निर्माता देव र विकास रहेका छन्।

नेपालबाट टाढा रहेर पनि नेपाली गीत–संगीत र विशेषगरी लोकदोहोरीलाई निरन्तरता दिइरहेका गोबिन्द पौडेलको यो नयाँ सिर्जनाले प्रवासमा रहेका नेपालीदेखि स्वदेशमा रहेका लोकदोहोरीप्रेमी दर्शक–श्रोतासम्मलाई जोड्ने विश्वास गरिएको छ।तीजको रमझममा नाच्न र रमाउन चाहने दर्शक–श्रोताका लागि ‘मेरी माया नाचिदेउ छम छम’ अहिलेको नयाँ सांगीतिक रोजाइ बन्न सक्ने देखिन्छ।

धुलिखेल अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन हुने

काभ्रेपलाञ्चोक – जिल्लाको धुलिखेल सामुदायिक अस्पतालले आगामी भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बहिरङ्ग (ओपिडी) सेवा पुनः सञ्चालन गर्ने भएको छ । ओपिडीबाहेकका अन्य सेवा भने तत्काल बिमाअन्तर्गत सञ्चालन नहुने अस्पताल प्रशासनले जनाएको छ ।

धुलिखेल अस्पतालले सङ्घीय सरकारको स्वास्थ्य बिमा बोर्डबाट निर्धारित स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गर्दै आएको थियो । तर, बोर्डबाट सेवा प्रदान गरेवापत पाउनुपर्ने भुक्तानी लामो समयदेखि प्राप्त नभएपछि अस्पतालले गत असार १५ गतेदेखि स्वास्थ्य बिमा सेवा पूर्णरूपमा स्थगित गरेको थियो ।

अस्पतालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य बिमा बोर्डबाट प्राप्त हुनुपर्ने रकममध्ये रु आठ करोड भुक्तानी प्राप्त भएको जनाउँदै आगामी भदौ १ गतेदेखि ओपिडी सेवा पुनःसञ्चालन गर्न लागेको उल्लेख गरेको छ ।

अस्पतालका अनुसार स्वास्थ्य बिमा बोर्डबाट करिब रु १७ देखि २० करोड भुक्तानी प्राप्त गर्न बाँकी रहेको धुलिखेल अस्पतालका स्वास्थ्य बिमा कार्यक्रमका स्रोतव्यक्ति प्रा डा बलराम मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी बक्यौता रकम आगामी भदौ मसान्तसम्म भुक्तानी हुने आश्वासन प्राप्त भएको छ ।

स्वास्थ्य बिमा सेवा लिन आउने सेवाग्राहीले यसअघि जस्तै आफू आबद्ध भएको साबिकको प्रथम सेवा बिन्दुबाट जारी गरिएको प्रेषण (रिफरल) पूर्जी अनिवार्य रूपमा ल्याउनुपर्नेछ । ओपिडीअन्तर्गतको स्वास्थ्य बिमा सेवा आइतबार तथा सार्वजनिक बिदाका दिन सञ्चालन नहुने अस्पतालले जनाएको छ ।

बोर्डबाट अस्पतालले पाउनुपर्ने रकम नियमित रूपमा भुक्तानी भएमा सेवा सञ्चालनमा सहजता आउने स्रोतव्यक्ति प्रा डा मल्लले बताउनुभयो । लामो समयदेखि रोकिएको स्वास्थ्य बिमा सेवा पुनःसञ्चालन भएपछि बिरामीको स्वास्थ्य सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ ।

यसैबीच स्वास्थ्य बिमामार्फत ओपिडी सेवा लिन आउने बिरामीका लागि रु २५ हजारसम्मको अधिकतम सीमा रहेको उहाँले जानकारी दिनुभयो । उक्त सीमाभित्र रहेर मात्र उपचार सेवा लिन अस्पतालले सेवाग्राहीलाई अनुरोध गरेको छ ।

स्रोतव्यक्ति प्रा डा मल्लका अनुसार हाल दैनिक एक हजार २०० बिरामीलाई सेवा दिँदै आएको अस्पतालले स्वास्थ्य बिमाका सेवाग्राही थपिएपछि दैनिक एक हजार ५०० भन्दा बढी बिरामीलाई सेवा दिन सकिने गरी तयारी गरिरहेको छ । अन्य सेवा सञ्चालनका लागि बोर्डसँग बिमा दाबी भुक्तानीका विषयमा छलफल भइरहेकाले सोपश्चात टुङ्गो लाग्ने उहाँले बताउनुभयो ।

मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

कास्की – गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि बिरेठाँटी-घान्द्रुक बीचको सम्बन्ध टुटेको छ । अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा अविरल वर्षापछि आएको बाढीले सडकमा क्षति पुर्‍याउनुका साथै एउटा कच्ची घर बगाएको छ ।

बाढीका कारण बिरेठाँटी-घान्द्रुक पक्की सडकखण्डसहित चिमुङ, स्याउलीबजार र स्याउलीबजारबाट सार्दीखोला जाने सडकमा कटान भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीका कारण बिरेठाँटी बजारका सडक पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अन्नपूर्ण-७, ८, ९, १० र ११ का सडक पनि अवरुद्ध भएका छन् ।

“प्राकृतिक विपद्का कारण केही दिनअघि पनि भौतिक क्षति पुगेकामा हिजो राति पुनः मोदीको बाढीले तटीय क्षेत्रमा सडक, पुललगायत संरचना बगाएको छ । घान्द्रुकको पोखरासँगको सम्पर्क टुट्दा पर्यटकमा समेत असर पुगेको छ”, अध्यक्ष केसीले भन्नुभयो । उहाँका अनुसार मोदी खोलामा आएको बाढीले बिरेठाँटीका ४४ वर्षीय विजय गुरुङको ढुङ्गामाटोले बनेको कच्ची घर पूर्ण रूपमा बगाएको छ ।

यसैगरी स्थानीय ४० वर्षीया माया पाइजाको टिनले छाएको कच्ची टहरा पनि बाढीको उच्च जोखिममा परेको अध्यक्ष केसीले जानकारी दिनुभयो । जोखिम बढेपछि पाइजासहित चार सदस्यीय परिवारलाई स्थानीय छिमेकीको घरमा सारिएको गाउँपालिकाले जनाएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।

त्यसैगरी, अन्नपूर्ण गाउँपालिका-१० स्याउलीबजारमा रहेको स्याउलीबजार र वडा नं ७ हवाली जोड्ने फलामे पैदल झोलुङ्गे पुलको स्याउलीबजारतर्फको भाग बाढीले बगाउँदा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

स्याउलीबजारमा मनप्रसाद गुरुङको ढुङ्गा-माटोबाट निर्मित दुईतले कच्ची घरमा सञ्चालन हुँदै आएको स्याउलीबजार गेस्टहाउसमा बाढी पस्दा भौतिक संरचना तथा होटलका विभिन्न सामान बगाएको बताउँदै घरसमेत पूर्ण रूपमा जोखिममा परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिका-११ छुम्रुङबेदीस्थित घान्द्रुक जलविद्युत् आयोजनामा छुम्रुङ खोलामा आएको बाढीका कारण कामदार बस्ने कोठा, शौचालय, भान्साकोठा तथा जलविद्युत् आयोजनाका विभिन्न सामग्रीमा क्षति पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार अन्नपूर्ण-५ हाइजुङस्थित माता अन्नपूर्ण मन्दिरमा फसेका तीन जनाको भने बिहान सकुशल उद्धार गरिएको थियो ।

बाढीले मन्दिरमा आवतजावत गर्न प्रयोग हुँदै आएका कास्की र पर्वततर्फका दुईवटा ‘मेटल पुल’ बगाउनुका साथै मन्दिरको केही भागमा क्षति पुर्‍याएको छ । बाढीले नयाँ पुल क्षेत्रमा रहेको विद्युत्का खम्बासमेत बगाएको छ भने सडक तथा विद्युत् पूर्वाधारमा क्षति पुगेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ ।

मोदी खोलाले ठाउँठाउँमा क्षति गरेपछि प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानसहित जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत अनुगमन गरेको थियो । त्यसैगरी, मादी गाउँपालिका-१ हुँगीमा मादीको नदीको बाढीले निर्माणाधीन अपरमादी जिरो हाइड्रोपावरको एउटा टिपर बगाएको बताउँदै निर्माणाधीन संरचनामा समेत क्षति पुगेको सहायक सहायक प्रजिअ बरालले जानकारी दिनुभयो ।

जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्न : गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ताको प्रक्रिया गम्भीरतापूर्वक अघि बढाइने बताएका छन्। उनले निर्दोषलाई पूर्वाग्रह वा प्रतिशोधका आधारमा मुद्दामा पार्न नहुने भन्दै जघन्य अपराधका मुद्दामा कसैलाई पनि छुट नहुने स्पष्ट पारे।

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा उनले सरकार वादी भई चलाइएका फौजदारी मुद्दा फिर्ता लिनेसम्बन्धी निर्देशिका, २०६६ को दफा ८ अनुसार मुद्दा फिर्ताबारे अध्ययन गर्न समिति गठन गरिएको जानकारी दिए।

“समितिले संवेदनशील भएर अनुसन्धान गरिरहेको छ, अब धेरै हुँदैन”, गृहमन्त्री गुरुङले भने । उनले प्रक्रिया ढिलो हुनुका कारण निर्दोष व्यक्ति अन्यायमा नपरोस् र कसैले शक्ति दुरुपयोग गरी प्रतिशोध लिन नपाओस् भन्ने विषयमा गम्भीरता अपाएको सुनाए।

गृहमन्त्री गुरुङले समितिले दिएको सुझाव र प्रतिवेदनका आधारमा सम्बन्धित ऐन संशोधनलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताए। ऐनलाई समयसापेक्ष बनाउन आवश्यक रहेको उनको भनाइ छ।

गृहमन्त्री गुरुङले कारागारको क्षमता र कैदीबन्दीको सङ्ख्याबीच ठूलो अन्तर रहेको उल्लेख गरे । हाल करिब २८ हजार कैदीबन्दी रहेकामा कारागारको क्षमता करिब १९ हजार मात्रै रहेको भन्दै भौतिक पूर्वाधार विकासका लागि विभिन्न कारागारको अवस्था अध्ययन एवं आवश्यक बजेट व्यवस्था गरिने समितिलाई जानकारी दिए।

कारागारमा नाइके, भाइ नाइके र चौकीदार नियुक्तिको अभ्यासलाई पारदर्शी बनाइने बताउँदै मन्त्री गुरुङले केही समयका लागि चौकीदार नियुक्ति रोकिएको पनि बताए। उनका अनुसार व्यक्तिबीच प्रतिस्पर्धात्मक तथा पारदर्शी प्रक्रियाबाट छनोट गर्ने व्यवस्था गरिने प्रष्ट पारे ।

मन्त्री गुरुङले आर्थिक रूपमा कमजोर कैदीबन्दीलाई वैतनी वकिलमार्फत निःशुल्क कानुनी सहायता उपलब्ध गराइरहेको र कैदीकट्टासम्बन्धी नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिएको जानकारी दिए। कारागारको भौतिक संरचना सुधार प्राथमिकतामा राख्दै यसका लागि बजेट विनियोजन पनि गरिएको उनले सुनाए।

‘कांग्रेसमा विवाद हुँदा मुलुकको लोकतन्त्र र राष्ट्रियतामै असर पर्छ’भन्दै बोले देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र विवाद हुँदा मुलुकको लोकतन्त्र र राष्ट्रियतामै असर पर्ने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टीमा देखिएको असहमति र विवादलाई बृहत् एकतामा बदल्नुपर्ने बताए ।

मुलुकको राजनीतिक अवस्था संवेदनशील रहेको भन्दै उनले राष्ट्रिय हित, लोकतन्त्र र राष्ट्रियताको संरक्षणका लागि कांग्रेस एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।

देउवाले समाजमा देखिएको निराशालाई आशामा बदल्ने जिम्मेवारी कांग्रेसको भएको बताए। पार्टीभित्रको विवादले कांग्रेस मात्र नभई मुलुकको लोकतान्त्रिक व्यवस्था र राष्ट्रियतामासमेत असर पार्न सक्ने उनको भनाइ थियो।

देउवाले विगतमा कांग्रेसभित्र चरम विवाद र असहमति देखिए पनि सहमति, सहकार्य र मेलमिलापबाट समाधान निकालिएको स्मरण गर्दै अहिलेको विवाद पनि त्यही आधारमा टुंग्याउनुपर्ने बताए।

उनले पार्टी एकताको प्रक्रियामा कुनै एक व्यक्ति वा समूहलाई केन्द्रमा राख्न नहुने स्पष्ट गर्दै सबै नेता तथा कार्यकर्ताको भावना र योगदानको सम्मान गर्न आग्रह गरे। पार्टीभित्र देखिएका असहमतिलाई सबैको न्याय र भावनाको कदर हुने गरी बृहत् एकतामा बदल्नुपर्ने उनको जोड थियो।

ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन। खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका ग्यास उद्योगबाट भरी सिलिण्डर ल्याइर एकै ठाउँबाट बिक्री गरिरहेको छ ।

यसअघि जिल्लालाई पाँच क्षेत्रमा विभाजन गरेर भूगोलअनुसार व्यवसायीलाई बिक्री गर्न लगाएको प्रशासनले आज भरतपुर महानगरपालिका-९ मा रहेको केन्द्रीय बस ट्रमिनलबाट जिल्लाका तीन उद्योग र गैँडाकोटको एउटा उद्योगलाई ग्यास बिक्री गर्न लगाएको हो ।

दिउँसो १ः०० बजेदेखि जिल्लाका बाबा, साईबाबा, नेपाल ग्यास र नवलपुरको जानकी ग्यास उद्योगले सिधैँ उपभोक्तालाई भरी सिलिण्डर वितरण गरिरहेका छन् ।

सो क्रममा चार उद्योगले तीन हजार सिलिण्डर बिक्री गरिएको जनाएका हुन्। ग्यासको अभावसम्बन्धी स्थानीय प्रशासनको टोलफ्रि नम्बरमा आएका गुनासो सम्बोधन गर्दै एक हजारभन्दा बढी उपभोक्ताको घरमा ग्यास पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले ग्यास उद्योग, डिलरलगायतमा अनुगमन गर्दा पनि उपभोक्ताकोमा ग्यास नपुगेपछि उद्योगीमार्फत उपभोक्ताको घरमा पुर्याउन लागिएको उहाँले बताउनुभयो ।

यसरी वितरण गर्दा पनि ग्यास पाउन नसकेका उपभोक्तालाई बसपार्कबाट वितरण गरिएको प्रजिअ अर्यालले जानकारी दिनुभयो ।

यसअघि वितरण गरिएका आधा शिलिण्डर सकिएसँगै एकैपटक माग बढेको हुनसक्ने उहाँले बताउनुभयो। पछि पुनः ग्यास अभाव हुन्छ भन्ने लागेर पनि उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर भण्डारण गर्नाले अहिले ग्यासको समस्या देखिएको उहाँको भनाइ छ ।

सिरुबारी पहिरोः बेनी–जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी। रघुगङ्गा गाउँपालिका–२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरको बेनी(जोमसोम(कोरला सडकको मुख्य चुनौती बनेको छ । उत्तरी म्याग्दीका रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी(जोमसोम चीन र भारतलाई जोड्ने सडक पनि हो ।

कालीगण्डकी नदीको तिरबाट भगवतीको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो जाने जोखिम बढेपछि बीचमा पर्ने सडकमा यातायात सञ्चालन गर्न जोखिम बन्दै गएको स्थानीय बताउछन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले सिरुबारी पहिरोले बर्खायाममा बेनी(जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या हुँदै आएको बताउनुभयो ।

“सामान्य वर्षा हुने बित्तिकै पहिरो खसेर सडक अवरुद्ध हुनुका साथै साँघुरो र हिलाम्मे हुँदा जोखिम मोलेर सवारीसाधन वारपार गराउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “सवारीसाधन गुडिरहेको र यात्रु हिडिरहेको अवस्थामा माथिबाट ढुङ्गा खस्ने, चोटपटक लाग्ने, क्षति पुग्ने गरेकाले सावधानी अपनाएर यातायात सञ्चालन गर्नुपर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ ।”

अध्यक्ष पुनले सिरुबारी पहिरो नियन्त्रण र यातायात व्यवस्थापनका लागि दुई वटा विकल्प अघि सारिएको बताउनुभयो । सिरुबारीबाट अन्नपूर्ण गाउँपालिकातर्फ दुई वटा बेलिब्रिज जडान गरेर अस्थायी रूपमा यातायात सञ्चालन गर्न सकिने बताउँदै उहाँले दीर्घकालीन समाधानका लागि पहिरो नियन्त्रणको आयोजना सञ्चालन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

“सडकको तल कालीगण्डकी नदी छ भने करिब ८०० मिटरमाथि २०० मिटर चौडाइका पहिरो छन् । पाखो पहिरोमा परिणत भएको छ । माझखर्कको बस्तीमा पनि जोखिम बढाएको छ । कोरला नाका हुँदै आवतजावत गर्ने मालबाहक कन्टेनरले पनि यही सडक प्रयोग गर्छन्”, अध्यक्ष पुनले भन्नुभयो ।

मुस्ताङ जानेआउने यात्रुबाहक बस र अन्य सवारीसाधनको सिरुबारी पहिरो क्षेत्रमा जाम हुँदा आवागमनमा थप सास्ती हुने गरेको उहाँको भनाइ छ । गाडी फस्ने र साँघुरो भएकाले जाम हुने समस्या छ । साँघुरो भएकाले पहिरो क्षेत्रमा दुईतर्फी यातायातका साधन सञ्चालन गर्न सकिँदैन । उहाँका अनुसार वर्खायाम सुरु भएयता यस वर्ष बेनी(जोमसोम सडकअन्तर्गत सबैभन्दा बढी सिरुबारीमा अवरुद्ध भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका प्रमुख तेजस्वी शर्माले पहिरो नजिकै डोजर र लोडर तयारी अवस्थामा राखेको जानकारी दिनुभयो । पछिल्ला तीन वर्षका वर्खायामभरि पहिरो पन्छाउँदै यातायात सञ्चालन गर्दै आइएको जनाउँदै उहाँले दुई हप्ताअघि सिरुबारीमा खसेको पहिरोले सडक विभागको एउटा डोजरमा क्षति पुगेको बताउनुभयो ।

आयोजना कार्यालयले गत हिउँदा सिरुबारी पहिरोको अस्थायी रोकथामका लागि ‘बेन्चिङ’ ९भीररसडक निर्माण गर्दा पहिरो नजाओस् र डिल नभासियोस् भनेर माटोलाई सिँढी आकारमा काट्ने० विधि अपनाएको थियो । यसपालि ‘बेन्चिङ’ गरेकोभन्दा फरक ठाउँ खोल्सा क्षेत्रमा पहिरो गएको छ । असार अन्तिम साता मुस्ताङबाट फर्कने क्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सिरुबारी पहिरो अवलोकन गर्दै चालु आर्थिक वर्षभित्र रोकथामको काम सुरु गर्न बजेटको व्यवस्थापन गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

यही साउन २ गते गृह जिल्ला आउनुभएका विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले पनि अन्तरदेशीय व्यापारिक मार्गमा पर्ने सिरुबारी पहिरोको दीर्घकालीन समाधानका लागि सरकारले काम अघि बढाइसकेको बताउनुभयो ।

आयोजना प्रमुख शर्माले भूगर्वविद्हरूको टोलीबाट पहिरोको अनुसन्धान गरी रोकथामको आयोजना सञ्चालन गरिने बताउनुभयो । गलेश्वर, चमेरे, महभिर, भीरकाटे, बैसरी, गुइठेभिर, लामभिक्ता, लाटाखोला क्षेत्रमा पहिरो रोकथाम तथा रुप्से क्षेत्रको पहिरो प्रभावित क्षेत्रमा सडक ढलान गर्ने गत आर्थिक वर्षमा सम्झौता भएका आयोजनाको निर्माण बर्खायाममा पनि निरन्तरता दिइएको बेनी(जोमसोम(कोरला सडक आयोजनाका सूचना अधिकारी जेमकुमार बैठाले जानकारी दिनुभयो ।

निर्णय सच्याउन बारको माग

काठमाडौँ। नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र तोक आदेशद्वारा विचाराधीन मुद्दा तोक्ने निर्णय सच्याउन माग गरेको छ ।

बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा संवैधानिक इजलासको छनोटपूर्ण गठन र तोक आदेशद्वारा विचाराधीन मुद्दा तोक्ने निर्णय तत्काल सच्याउन माग गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, “खुला इजलाससमक्ष विचाराधीन मुद्दा पेसीका दिन बहस, छलफलद्वारा कुन इजलासमा पठाउने वा नपठाउने भन्ने विषय टुङ्गो लगाउने परम्परा र अभ्यास रहिआएकामा टिप्पणी आदेशको माध्यमबाट राष्ट्रिय महत्त्वको मुद्दा संवैधानिक इजलासमा सार्नु संवैधानिक मूल्यमान्यता अनुसार छैन ।”

बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ घाइते

रौतहट। बोलबम यात्राका क्रममा भारतको झारखण्डस्थित बाबाधामतर्फ गएका रौतहट गरुडाका तीर्थयात्री सवार बस आज बिहान दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

झारखण्डको सतगावाँ क्षेत्रमा ट्रकसँग ठोक्किएर बसमा सवार तीर्थयात्री गरुडा नगरपालिका–६ का ६० वर्षीय नवलकिशोर जयसवाल र निजकी श्रीमती सुन्दरबाला देवी तथा १२ वर्षीय शिवम महतोको मृत्यु भएको हो ।

गरुडा नगरपालिका–६ का वडाध्यक्ष रामबाबु चौधरीले बस दुर्घटनामा परी आफ्ना गाउँका तीन जना तीर्थयात्रीको मृत्यु भएको र १५ जना जति घाइते भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बसमा करिब ४५ जना नेपाली तीर्थयात्री रहेको र घाइतेहरूको झारखण्डअन्तर्गत सतगावाँस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी मृत्यु तथा घाइते हुने अधिकांश तीर्थयात्री गरुडा–६ पोठियाहीका बासिन्दा रहेका छन् । बस दुर्घटनामा परेको जानकारी पाउनासाथ मृतक तथा घाइतेका आफन्तजन घटनास्थलतर्फ गएको र गरुडा–६ स्थित पोठियाही गाउँ अहिले शोकमा डुबेको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

सोही घटनाका विषयमा जानकारी दिनुहुँदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले पाँच दिनअघि बाबाधाम प्रस्थान गरेका धार्मिक तीर्थयात्री सवार बस आज बिहान झारखण्डको सतगावाँ क्षेत्रमा ट्रकसँग ठोक्किदा तीन जनाको मृत्यु र १२ जना घाइते भएको बताउनुभयो ।

उहाँले मृतकको शव नेपाल ल्याउन र घाइते तीर्थयात्रीको उपचारको व्यवस्था मिलाउन झारखण्डस्थित प्रहरी संयन्त्रसँग पहल गरिएको र आवश्यक देखिए घटनास्थलतर्फ जाने तयारीसमेत भइरहेको जानकारी दिनुभयो ।

यसैबीच स्थानीयवासीको तर्फबाट निधन भएकाको शव नपाल ल्याउन र घाइतेहरूको राम्रोसँग उपचार व्यवस्था मिलाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गरिएको छ ।

रौतहटमा पछिल्ला वर्षहरूमा पहेँलो वस्त्र पहिरेर बोलबम भन्दै बाबाधाम तीर्थयात्रा जानेक्रम बढेको छ ।

वन विज्ञानलाई विकासको आयामका रूपमा लिन उपकुलपति थापाको जोड

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले वन विज्ञानलाई विकासको आयामका रूपमा लिनुपर्नेमा बताउनुभएको छ ।

विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थानको ५४औँ वार्षिकोत्वसका अवसरमा आज कीर्तिपुरमा आयोजित ‘भविष्यका लागि वन’ सम्मेलनको उद्घाटन सत्रमा उपकुलपति थापाले वन क्षेत्रका विज्ञका साथै आम समुदायले वन संरक्षणमा उत्तिकै योगदान गर्दै आएको र यस क्षेत्रमा अझै धेरै काम गरिनुपर्नेमा जोड दिनुभयो ।

“वन हाम्रो इतिहासमात्र होइन, भविष्य पनि हो । वर्तमान र भविष्यको पुस्ताका लागि हाम्रा दायित्व छन् । अहिले हामीले वन संरक्षणका लागि अहिले कुनै योगदान गर्न सकेमा त्यो भावी पुस्ताका लागि त्यो देन हुनेछ”, उपकुलपति डा थापाले भन्नुभयो, “मैले काठमाडौँ विश्वविद्यालयमा रहँदा ‘जिओम्याटिक इन्जिनियरिङ’को पाठ्यक्रम लागू गराएको थिएँ ।

त्रिविको वन विज्ञान अध्ययन संस्थानका योजनालाई अगाडि बढाउन विश्वविद्यालय प्रशासनले गर्नुपर्ने काममा हामी लाग्ने नै छौँ ।” संस्थानका प्रमुख डा ठाकुर सिलवालले अध्ययन संस्थान वन क्षेत्रको तालिम केन्द्रका रूपमा पनि रहेको बताउँदै यसले वन क्षेत्रको संरक्षण र आर्थिक विकासमा योगदान दिँदै आएको बताउनुभयो ।

उहाँका अनुसार सम्मेलनबाट प्राप्त सुझावका आधारमा वन संरक्षण र दिगो विकासका आयामलाई मार्गदर्शन मिल्ने जनाउनुभयो ।

सम्मेलनमा विश्वविद्यालयका डिनहरू, प्राध्यकपक, वन क्षेत्रका विज्ञ र संरक्षणकर्ताबीच विषयगत छलफल हुनेछ ।

‘निरंकुशता स्वीकार गर्दैनौँ, कांग्रेस एकढिक्का हुनुपर्छ’ – शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक गम्भीर संकटमा रहेको दाबी गर्दै राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकढिक्का हुनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले अहिले देशको अस्तित्व र राष्ट्रियता नै जोखिममा परेको बताए। वर्तमान संकट किन र कसरी उत्पन्न भयो भन्नेबारे गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ छ।

‘अहिले देशको अवस्था अत्यन्त संकटग्रस्त अवस्थामा छ । देशको अस्तित्व खतरामा छ । देशको राष्ट्रियता खतरामा छ । यो किन भइरहेको छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ।’

कोइरालाले कांग्रेसले विगतदेखि नै सबै पक्षलाई समेटेर अघि बढ्दै आएको उल्लेख गर्दै कुनै पनि प्रकारको निरंकुशता स्वीकार नगर्ने स्पष्ट पारे।

उनले पार्टीभित्र विभाजित मानसिकता देखिए पनि कांग्रेसलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको बताए। देशको हितका लागि कांग्रेस एकढिक्का हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।

उनले भने, ‘नेपाली कांग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेको छ । मलाई विश्वास छ, नेपाली कांग्रेस एकढिक्का हुन जरुरी छ र हुन्छ भन्ने कुरामा पनि म विश्वस्त छु । देशका निम्ति एकढिक्का हुन जरुरी छ।’
उनले कांग्रेसले अन्य राजनीतिक दल तथा देशका विभिन्न शक्तिसँग मिलेर राष्ट्रियतालाई मजबुत बनाउन सके कांग्रेसको मात्र नभई देशकै भविष्य उज्ज्वल हुने बताए ।

खगेन्द्र सुनारको बचाउ गर्दै आशिका – ‘भ्रष्टाचारबारे प्रश्न गर्न पनि अनुमति चाहिने हो?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले भ्रष्टाचारको विषयमा प्रश्न उठाउने सांसदको भाषा र शैलीभन्दा उठाइएको विषयमा केन्द्रित हुन आग्रह गरेकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै तामाङले सांसद खगेन्द्र सुनुवारले संसदीय समितिमा करोडौँ रुपैयाँको भ्रष्टाचारको विषय उठेपछि त्यसबारे प्रश्न गरेको बताएकी छन्।

उनले लेखेकी छन्, ‘भ्रष्टाचारको विषयमा प्रश्न गर्न पनि पर्मिसन चाहिने हो? माननीय खगेन्द्र सुनुवारज्यूले संसदीय समितिमा करोडौँको भ्रष्टाचारको विषय उठेपछि यो के हो? कसरी भयो? भनेर प्रश्न गर्नुभएको हो। That’s it!’

लोकतन्त्रमा प्रश्न गर्न, जवाफ माग्न र छानबिनको माग गर्न पाइने उल्लेख गर्दै तामाङले प्रत्यक्ष निर्वाचित सांसदले करोडौँ रुपैयाँ सार्वजनिक रकमको हिसाब माग्न नपाउने हो भने कसले माग्ने भन्ने प्रश्न गरेकी छन्।

‘भ्रष्टाचारको विषयमा “ज्यू ज्यू” लगाएर मात्रै प्रश्न गर्नुपर्ने हो?’ भन्दै उनले सांसदले कुन शैली वा शब्द प्रयोग गरे भन्ने बहसमा विषयलाई मोड्न नहुने बताएकी छन्।

तामाङले सामाजिक सञ्जालमा लेखेकी छिन् –
भ्रष्टाचारको विषयमा प्रश्न गर्न पनि permission चाहिने हो ?? माननीय खगेन्द्र सुनुवारज्यूले संसदीय समितिमा करोडौंको भ्रष्टाचारको विषय उठेपछि यो के हो ? कसरी भयो ? भनेर प्रश्न गर्नुभएको हो That’s it ! लोकतन्त्रमा Question गर्न पाइन्छ, जवाफ माग्न पाइन्छ, छानबिनको माग गर्न पाइन्छ ! झन् जनताबाट direct elected सांसदले करोडौंको public money को हिसाब सोध्न नपाउने हो भने कसले सोध्ने ?? भ्रष्टाचारको विषयमा “ज्यू ज्यू” लगाएर मात्रै प्रश्न गर्नुपर्ने हो ??
उहाँले कुन tone मा बोल्नुभयो, कुन शब्द प्रयोग गर्नुभयो भनेर debate अर्कोतिर नलैजानुस् ! Main issue भ्रष्टाचार हो ! करोडौंको भ्रष्टाचार भएको हो कि होइन ?? उजुरी परेको हो कि होइन ?? छानबिन भयो कि भएन ?? Just answer the question ! Question गर्ने सांसदको भाषा खोज्ने होइन, करोडौंको हिसाब खोज्ने हो !! चर्काचर्की कुन संसदीय बैठक मा हुँदैन , हामी ले अरु देशको संसदीय अभ्यास नदेखेको हो र? अमेरिका, जर्मनी, बेलायत लगायत देशहरु संसदहरूले निर्भिक बुलन्द भएर आवाज उठाउने गर्छन् , हाम्रो देशमा चाहिँ अलि ठूलो स्वरले बोल्ने बित्तिकै सोमत नभएको सांसद रे

लोकतन्त्र सुद‌ृढ बनाउन कांग्रेस एकजुट हुनुपर्नेमा जोड

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले लोकतन्त्र सुदृढिकरणका लागि कांग्रेस एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

कांग्रेसको संस्थापन पक्षइतरको आजदेखि सुरु भएको राष्ट्रिय भेलाको उद्घाट्न समारोहलाई सम्बोधन गर्दै उनीहरूले मुलुकमा सङ्कट र राष्ट्रियतामा चुनौती देखिएको अवस्थामा त्यसको समाधानका लागि पनि कांग्रेस एक ढिक्का हुनुपर्ने उल्लेख गरे।

समारोहमा पूर्व सहमहामन्त्री डा. प्रकाशशरण महतले मुलुकमा जेनजी आन्दोलनको घट्नाजस्तै कांग्रेसमा नियमित महाधिवेशनको सट्टामा विशेष महाधिवेशन भएको बताउँदै यसको निर्वाचनको परिणाम अनपेक्षित आएको उल्लेख गर्नुभयो । साथै उहाँले असमान्य अवस्थामा मात्र सर्वाेच्च अदालतमा पुनरावलोकन हुने गरेको उल्लेख गर्दै सर्वाेच्चबाट सिंगो पार्टीलाई न्याय हुने अपेक्षा व्यक्त गरे।

पार्टीका नेता एवं पूर्वमन्त्री एनपी साउदले नियमित १५औँ महाधिवेशन तोकिएको अवस्थामा कुनै व्यक्तिको महत्वाकांक्षाका कारण हतारमा विशेष महाधिवेशन गर्नुपर्दा पार्टी समस्यामा परेको बताए। पूर्व सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले सिनियर नेताहरूको योगदान र संघर्षलाई कदर गर्न नसके पार्टी अगाडि बढ्न नसक्ने उल्लेख गरिन्।

पूर्व गृहमन्त्री एवं पार्टीका नेता रमेश लेखकले १५औँ महाधिवेशन प्रक्रिया सुरु भइसकेको अवस्थामा आत्तिएर समयभन्दा छिटो विशेष महाधिवेशन गरिएकाले पार्टीमा समस्या आएको बताए।

कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले आफूहरू बिपीका अनुयाई भएको र बिपीको सिद्धान्तमा कसैसँग सम्झौता नहुने धारणा व्यक्त गरे।

पूर्वसञ्चार मन्त्री मोहन बस्नेतले पार्टीलाई सबल र सक्षम बनाउन परिपक्व नेताहरूको सुझाव र सल्लाहलाई आत्मसाथ गर्नुपर्ने बताए। समारोहमा नेताहरू पूर्णमान तामाङ, उमाकान्त चौधरी, भीमसेनदास प्रधान, दुर्लभ थापा, राजेश यादव, मेखराज श्रेष्ठ, गेहेन्द्र गिरि, शिवप्रसाद हुमागाईं, उमा भट्टराई, गुरु बराल, सिता राना, पदमनारायण चौधरी, दीपक खड्का, सरिता प्रसाईं, रेवती भुसाल, राजु श्रेष्ठ, गणेश तिमिल्सिना, जगत बरामलगायतले कांग्रेस एक ढिक्का बनाउनका लागि अब सबै सहभागी हुने गरी पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने धारणा व्यक्त गरे।

कांग्रेसको संस्थापन इतर पक्षको तीनदिने राष्ट्रिय भेला आजदेखि सुरु भएको हो । काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा भएको भेला सयौँ नेताकर्ताको उपस्थिति छ । प्रचारप्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माका अनुसार आजदेखि सुरु भएको भेलाको शनिबार र आइतबार बन्द सत्र चल्नेछ।