`

सिरहाको गोलबजारमा कांग्रेस सभापति थापाको भव्य स्वागत

सिरहा, गोलबजार । नेपाली कांग्रेसका सभापति गगन थापा आज सिरहाको गोलबजार आइपुग्दा कार्यकर्ताले भव्य स्वागत गरेका छन् । पार्टीका स्थानीय नेता तथा समर्थकहरूको उल्लेख्य उपस्थितिमा आयोजित कार्यक्रम उत्साहपूर्ण बनेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले लोकतन्त्रको सुदृढीकरण, सुशासन र युवामुखी विकासका एजेन्डालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले देशलाई समृद्ध बनाउने अभियानमा सबैलाई एकजुट हुन आह्वान गर्दै कांग्रेस जनताको अधिकार र विकासका पक्षमा दृढतापूर्वक उभिने बताए ।

गोलबजारमा आयोजित उक्त कार्यक्रममा जिल्लाभरबाट आएका नेता–कार्यकर्ता तथा सर्वसाधारणको बाक्लो सहभागिता रहेको थियो। सभापति थापाको उपस्थितिले कार्यकर्तामा नयाँ उत्साह थपिएको स्थानीय नेताहरूले बताए ।

रुकुमपूर्वबाट तुलसीपुर जाँदै गरेको जिप दुर्घटना : चालकको मृत्यु, तीन जना घाइते

दाङ। रुकुमपूर्वबाट तुलसीपुरतर्फ आइरहेको ग१ज ५६६१ नम्बरको जिप आज बिहान राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

कपुरकोटस्थित प्रहरी चौकीका अनुसार रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ का ३४ वर्षीय जिपचालक विजय विकको घटनास्थलमै मृत्यु भएको हो ।अन्य तीन जना घाइतेलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पठाइएको छ । घाइतेमध्ये एक बालक र दुई महिला छन् ।

आजदेखि फिल्डमा खटिँदै डेढ लाख निर्वाचन प्रहरी

काठमाडौं । आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि फिल्डमा खटिने भएका छन् । भर्ना तथा छनोटपछि १० दिने तालिम पूरा गरेका एक लाख ४९ हजार ‘निर्वाचन प्रहरी’ अर्थात् म्यादी प्रहरी अब नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोलीसँगै खटिन लागेका हुन् ।

नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० र सशस्त्रले १५ हजार १ सय १० निर्वाचन प्रहरीलाई गएको माघ १८ मा नियुक्तिपत्र दिएको थियो ।
प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न बनाउन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार यसअघि गएको २१ गतेदेखि नेपाली सेना परिचालन भैसकेको छ ।

नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको जिम्मेवारी सम्हाल्नेछ ।

फागुन १ देखि राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता

नवलपरासी, २८ माघ । आगामी फागुन १ देखि ५ गतेसम्म गैँडाकोट–९ स्थित नवजागरण खेलमैदानमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा सातवटा प्रदेशबाट सात टिम तथा आयोजक नवजागरण ग्रामीण विकास केन्द्रको मेयर्स ११ गरी आठ टिम सहभागी हुने प्रतियोगिताका संयोजक रामचन्द्र सापकोटाले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतियोगितामा विजयी हुने टोलीलाई रु तीन लाख, उपविजेताले रु दुई लाख, म्यान अफ द सिरिजलाई रु २५ हजार, उत्कृष्ट ब्याट्सम्यान , बलर, फिल्डर तथा किपराई जनही रु १५ हजार पुरस्कार प्रदान गरिने छ ।

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौं, २८ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ५५, बन्दा (तराई) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु २५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ४५, काउली तराई प्रतिकिलो रु ३०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १६, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ६५, घिउ सिमी (लोकल) प्रतिकिलो रु १४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ११०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु ७५, तिते करेला प्रतिकिलो रु १७०, लौका प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ७० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ३५, चमसुर प्रतिकिलो रु ३०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु २२०, रातो बन्दा प्रतिकिलो रु ९०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ४० पुदिना प्रतिकिलो रु ३५०, गान्टे मुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ ।
स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु १८०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १८०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १४५, काँक्रो (लोकल) प्रतिकिलो रु १६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ८०, रुख कटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १३०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५५०, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १४०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ५५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ७०, हरियो धनियाँ प्रतिकिलो रु ५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

काठमाडौँ। खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गर्ने भएको छ ।

पछिल्ला दिनमा खाना पकाउने ग्यास वितरणमा समस्या देखिएपछि उपभोक्ताले सास्ती बेहोर्नु परेको छ । विभागले नेपाल आयल निगमलाई ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक कार्य गर्न आग्रह गरेको छ । विभागले ठूला ग्यासको उत्पादन कम्पनीलाई पनि आवश्यक निर्देशन दिएको छ ।

काठमाडौँ उपत्यकाका उपलब्ध ग्यास बोटलिङ उद्योगको अनुमगनको क्रममा उपभोक्ताको माग अनुसारको उत्पादन र वितरण बढाउन निर्देशन दिएको छ ।
उद्योगहरुलाई पूर्ण क्षमतामा ग्यास आपूर्ति गरी उत्पादन क्षमता बढाउनै पर्ने विभागको निर्देशन दिएको छ । एलपी ग्यासको वितरण गर्ने डिलर, रिटेलर र सप्लायर्स कम्पनीले उपभोक्ताको मागको प्रभावकारी रेकर्ड राखी ग्याँसको अनावश्यक सञ्चय नहुने गरी समन्यायिक वितरण गर्नुपर्नेछ ।

यस्तै, उपभोक्ता र व्यावसायिक प्रतिष्ठानले अनावश्यक सञ्चय नगरी आफूलाई आवश्यक परिमाणमा मात्र खरिद गरी सहयोग गर्न विभागले आग्रह गरेको छ ।

विभागले बजारमा ग्यासको उपलब्धता, भण्डारण एवम् वितरणको सन्दर्भमा उद्योग स्तरमा, ठूला सप्लायर्स र साना डिलर स्तरमा समेत सोको आपूर्ति श्रृखलाको अवस्थाको समेत अनुमगन एवम् विश्लेषण गरेको स्पष्ट पारेको छ ।

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौँ: सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो ।

चालु आवको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरिएको थियो । तर धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता र घरजग्गा कारोबारमा आएको गिरावटलगायत कारणले आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा खुम्चिने गरी अर्धवार्षिक समीक्षामा नयाँ प्रक्षेपण सार्वजनिक गरिएको हो । गत आवमा भने कुल गार्हस्थ्य उत्पादनको वृद्धि दर ४.६ प्रतिशत रहेको अनुमान छ ।

बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार चालु आवको प्रथम त्रैमासिक अवधिमा कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा तीन प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान छ । गत आवको सोही अवधिमा कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा यस्तो वृद्धि २.९ प्रतिशत रहेको संशोधित अनुमान छ ।

चालु आवको पहिलो त्रैमासमा कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धि गत आवको सोही अवधिको तुलनामा १.३६ प्रतिशतले विस्तार हुने अनुमान छ । विशेषतः धानको उत्पादन घट्ने र पशुपन्छी, तरकारी बाली तथा फलफूल उत्पादनमा वृद्धि हुने अनुमानको आधारमा कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर तुलनात्मक रूपमा न्यून रहने अनुमान गरिएको छ । चालु आवमा मकै, कोदो, फापरलगायत खाद्यान्न बालीको उत्पादन भने बढ्ने अनुमान छ । गत आवमा धान, गहुँ, मकैलगायत खाद्यान्न बालीको उत्पादन २.६७ प्रतिशत र नगदेबालीको उत्पादन २.०१ प्रतिशतले बढेको अनुमान छ ।

चालु आवको पहिलो त्रैमासमा उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि गत आवको सोही अवधिको तुलनामा ५.४४ प्रतिशतले विस्तार हुने अनुमान छ । चालु आवमा ऊर्जा र निर्माण क्षेत्रका क्रियाकलापमा विस्तार हुँदा सोको सकरात्मक प्रभाव समग्र उद्योग क्षेत्रमा पर्ने अनुमान छ । चालु आवको पहिलो त्रैमासमा उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धि १.५२ प्रतिशतले विस्तार हुने अनुमान छ ।

यही अवधिमा सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि गत आवको सोही अवधिको तुलनामा ३.०३ प्रतिशतले विस्तार हुने अनुमान छ । चालु आवमा थोक तथा खुद्रा व्यापार, वित्तीय मध्यस्थता, सामान्य प्रशासन तथा रक्षा, पर्यटकीय गतिविधि र व्यक्तिगत सेवाका क्रियाकलापमा विस्तार हुँदा समग्र सेवा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अनुमान छ ।

बजेट मध्यावधि समीक्षा प्रतिवेदनअनुसार चालु आवको प्रथम छ महिनाको औसत मुद्रास्फीति १.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.९७ प्रतिशत थियो ।

बालेन साह आज सर्लाही जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह आज बिहान सर्लाही जाँदै छन् । सर्लाही भ्रमणमा   नेता साहले जिल्लाका विभिन्न स्थान हुँदै यात्रा गर्ने कार्यक्रम तय भएको छ । पार्टीका जिल्ला नेताहरुका अनुसार उनी लालबन्दी, हरिवन, बरथवा हुँदै रौतहट प्रवेश गर्ने छन् ।

त्यस्तै, सर्लाही – ४ मा साहले हुलाकी सडकखण्ड हुँदै गडहिया चौक, छतौना, खैर्वा बजार, –बहुअर्वा, बैरिया, सिसौट बजार हुँदै मानपुर, पिपराभिता, हजरिया हुँदै बरहथवा बजारतर्फ लाग्ने जनाइएको छ । भ्रमणका क्रममा उनले स्थानीय समस्या, विकास र समसामयिक राजनीतिक विषयमा अवलोकन तथा भेटघाट गर्ने अनुमान गरिएको छ ।

मुस्ताङमा ३९ मतदान केन्द्र, समर मतदानस्थलमा मतदाता ३६ मात्रै

मुस्ताङ, २८ माघ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कुल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन्। यहाँको पाँच स्थानीय तहका ३९ मतदान केन्द्र तथा मतदानस्थलमध्ये सबैभन्दा कम मतदाता वारागुङ मुक्तिक्षेत्र–३ समरस्थित समर आधारभूत विद्यालय मतदान केन्द्रमा छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँको मतदानस्थलमा जम्मा ३६ जना मात्रै मतदाता छन् । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्ला मुस्ताङमा समरस्थित समर आधारभूत मतदान स्थलपछि वारागुङ मुक्तिक्षेत्र–५ साङ्तास्थित हिमाली आधारभूत मतदान केन्द्रमा ३९ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए।

साथै जिल्लामा सबैभन्दा बढी मतदाता घरपझोङ गाउँपालिका–४ जोमसोमको जनहित मतदान केन्द्रमा छन्। उक्त केन्द्रमा ६८९ जना मतदाता छन्। २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि मतदाता नामावली अद्यावधिक हुँदा मुस्ताङमा कुल ११ हजार ३२८ जना मतदाता कायम भएका छन्।

घरपझोङ गाउँपालिकामा ६ वटा, थासाङ गाउँपालिकामा आठ वटा, लोघेकर दामोदरकुण्डमा १० वटा, वारागुङ मुक्तिक्षेत्रमा ९ वटा र लोमान्थाङ गाउँपालिकामा छ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन्। मुस्ताङको घरपझोङमा कुल दुई हजार ४९२ मतदाता छन् भने जनहित मतदान केन्द्रमा ६८९ जना र सबैभन्दा कम मतदाता छैरो आधारभूत विद्यालयमा ८१ जना मतदाता छन्।

थासाङ गाउँपालिकामा दुई हजार ९०७ जना मतदाता छन्। यसमध्ये सबैभन्दा बढी जनआदर्श अमरसिंह माध्यमिक विद्यालय कोवाङमा ६५३ जना र सौरु आधारभूत विद्यालय सौरुमा सबैभन्दा ६५ मतदाता छन्।

माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एक हजार ५४२ जना मतदाता छन्। यसमध्ये लोघेकर–१ चराङस्थित चराङ आधारभूत विद्यालयमा सबैभन्दा बढी ३१९ र ढि आधारभूत विद्यालय मतदान केन्द्रमा ७० जना मतदाता छन्।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा दुई हजार ३७६ जना मतदाता छन्। यसमध्ये जनशान्ति माध्यमिक विद्यालय कागबेनीमा ५२० जना र सबैभन्दा कम समर आधारभूतमा ३६ जना मतदाता छन्। माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा दुई हजार ११ जना मतदाता छन्। यसमध्ये सबैभन्दा बढी राष्ट्रिय आधारभूत विद्यालयमा ६२० जना र सबैभन्दा कम दिव्यज्ञान आधारभूत चुमजुङमा १३६ जना मतदाता छन्।

निर्वाचन आयोगले बदर मत संख्या घटाउन मतदाता शिक्षा कार्यक्रम अघि बढाएको छ। जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले यहाँका पाँच पालिकाले सिफारिस गरेका मतदाता शिक्षा प्रदान गर्ने व्यक्तिलाई प्रशिक्षक तालिम बुधबारदेखि सुरु हुने जानकारी दिए।

उनले जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहले सिफारिस गरेको व्यक्तिलाई मतदाता शिक्षा प्रशिक्षण गराइएपछि यहाँका २५ वटै वडाहरुमा मतदाता शिक्षा कार्यक्रमलाई अघि बढाइने उल्लेख गरे।

चित्रबहादुर केसीको क्षेत्रमा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

बागलुङ, २८ माघ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी यसअघि निर्वाचित भएको यस क्षेत्र नेकपा (एमाले) र नेपाली कांग्रेसको उत्तिकै सङ्गठन भएको क्षेत्रको रूपमा चिनिन्छ ।

बागलुङ सदरमुकामसमेत रहेको यस क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११ दलका ११ उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये दोहोरिइरहने उम्मेदवार हुन् एमालेका हीराबहादुर केसी ।

तेस्रो पटक प्रयासमा संसद् भवन छिर्ने योजनामा रहेका केसी यस पटक अनुमोदित हुने आशामा छन् । तर केसीलाई पुरानै दलका नयाँ उम्मेदवार र नयाँ दलका युवा उम्मेदवारले चुनौती दिने निश्चित छ । यस निर्वाचन क्षेत्रमा आफ्नो विरासत जोगाउने योजनामा रहेको एमालेलाई कांग्रेस, जनमोर्चा र रास्वपालगायतका नयाँ उम्मेदवार चुनौतीका रूपमा आएका छन् ।

“यसअघि पनि चुनाव हारेर विचलित भइन, तेस्रो पटक चुनाव लड्दै छु, दोस्रो संविधानसभा, प्रदेशसभाको निर्वाचनमा पराजित भएर तर जनताबाट टाढा रहिन, अहिलेको प्रतिनिधिसभामा उम्मेदवार भएर गाउँ पुगेको छु, धेरैले यस पटक अनुमोदन गछौँ भन्नुभएको छ”, केसीले भने । विद्यार्थी सङ्गठनको जिल्ला, अञ्चल हुँदै केन्द्रीय कोषाध्यक्ष, युवा संघको केन्द्रीय उपाध्यक्ष, पार्टीको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्ष भएका एमालेका केसी विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका हरिबहादुर खड्कासँग र विसं २०७९ को गण्डकी प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसकै दीपेन्द्रबहादुर थापा मगरसँग एक हजार ४८० मतान्तरले पराजित भएका थिए ।

यस क्षेत्रमा अन्य दलले एक्ला एक्लै चुनावी मैदानमा उत्रेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले भने गठबन्धन गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राजमोका उम्मेदवार कृष्ण अधिकारीलाई सघाएको छ भने क्षेत्र नम्बर दुईमा नेकपाका ज्ञामनाथ गैरेलाई राजमोले सघाएको छ ।

क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका भीमबहादुर श्रीस छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशील खड्का र राजमोका कृष्ण अधिकारी छन् । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको मूल राजनीतिमा आएका कांग्रेस नेता श्रीससमेत लोकप्रिय नेताको रूपमा परिचित छन् । श्रीस २०६२ सालमा त्रिभुवन विश्वविद्यालय काठमाडौँका स्ववियू सभापति भएका थिए ।

राष्ट्रिय जनमोर्चाको आधार इलाकाका रहेको बागलुङ क्षेत्र नम्बर एक बाट यस अघि चित्रबहादुर केसी सांसद थिए । केसीको विरासत धान्न राजमोका पूर्वकेन्द्रीय सचिव कृष्ण अधिकारीलाई नेकपाले सघाएको छ । उम्मेदवार अधिकारी नेकपा मसाल र त्यसको मोर्चा सङ्गठन राष्ट्रिय जनमोर्चाको विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक गतिविधिमा सक्रिय छन् । २०३८ सालमा अखिल छैठौँबाट राजनीति सुरु गरेका अधिकारी चित्रबहादुर केसीको निजी सचिव भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवा उद्यमी सुशील खड्का चुनावी मैदानमा छन् । उनले परिवर्तनका लागि नयाँलाई भोट दिन आग्रह गर्दै आएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले बागलुङ क्षेत्र नं. १ मा कल्याण विक्रम आचार्य प्रतिस्पर्धामा युवा उम्मेदवारका रूपमा आएका छन् । साथै नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, मङ्गोल नेशनल अर्गनाइजेशनका गुमाकुमारी बुढा रानामगर, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेशनल रिपब्लिक नेपालका सहविर थापा, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिस्ट पार्टी (माओबादी) का टेकबहादुर केसी चुनावी मैदानमा छन् ।

राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्दै प्रधानमन्त्री सुशीला कार्की

काठमाडौँ, २८ माघ -सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्नुहुने भएको छ ।

सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारितसमेत गर्नको लागि सभासमक्ष प्रस्तुत गर्नुहुने छ ।

यसैगरी, आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनुहुनेछ ।

बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ पेस गर्नुहुने कार्यसूची छ ।

त्यसैगरी, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन व्यवस्थापन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको बताएको छ । साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको छ ।

मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सुे रहने सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भागमा साधारणतया बदली हुनेछ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहनेछ भने बाँकी भागको मौसम मुख्यतया सफा रहने छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनुका साथै तत्काल वर्षाको सम्भावना नरहेकाले तराई र उपत्यकाहरूमा वायु प्रदूषण पनि कायमै रहने देखिएको बताएको छ । प्रतिकूल मौसममा सुरक्षित रहन महाशाखाले सर्वसाधारण तथा सरोकारभएका सबैलाई अनुरोध गरेको छ ।

११ वर्षको पर्खाइपछि सुवासलाई आमाको नामबाट नागरिकता

म्याग्दी, २८ माघ । बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले ११ वर्षको प्रतिक्षापछि नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मङ्गलबार प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले २७ वर्षीय घिमिरेलाई नागरिकता प्रदान गरेका हुन्।

बुवाको पहिचान नभएका कारण घिमिरेले नागरिकता प्राप्त गर्न सकेका थिएनन् । १६ वर्षको उमेर हुँदादेखि गरेको प्रयास आज आएर सफल भएकोमा घिमिरेले खुसी व्यक्त गरे ।

सुवासलाई उनकी आमा कमला घिमिरेको नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए। नागरिकताका लागि सुवासले तीन वर्षअघि सबै प्रक्रिया पूरा गरेर आवेदन दिएका थिए ।

नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन २०८२ तथा नियमावलीको चौथो संशोधन, २०८२ अनुसार सुवासलाई नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

नागरिकता प्राप्त भएपछि बल्ल नागरिक भएको महसुस भएको सुवासले प्रतिक्रिया दिए । शारीरिक रुपमा अपाङ्गतासमेत भएका सुवास नागरिकता नहुँदा सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित रहेका थिए ।

रोजगारीको अवसर र बैंक खाता सञ्चालन गर्न नपाउँदा सुवासको दैनिकी असहज भएको थियो । सुवास र उनकी आमा कमला आफन्तको घरमा आश्रय लिएर बसेका छन् । सुवास कमलाका कान्छा छोरा हुन् । हाल भारतमा कार्यरत कमलाका जेठा र माइला छोराले भने नागरिकता बनाएका छन् । साइला छोराले भने अझै नागरिकता पाएका छैनन् ।

नेपाल नागरिकता (चौथो संसोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो । यसअघि बेनीका मिर खान, यास्मीन बेगम र मालिका गाउँपालिका–५ देवीस्थानकी सीमा पुनलाई आमाको नामबाट नागरिकता प्रदान गरिएको थियो ।

थप केही सेवाग्राहीहरुले आमाको नामबाट नागरिकता प्राप्त गर्नका लागि आवेदन पेस गरेका छन् । प्राप्त भएको आवेदनको छानबिन र आवश्यक प्रक्रिया पूरा गरेर नागरिकता प्रदान गरिने सहायक प्रजिअ आचार्यले बताए ।

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं, माघ २८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ १६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३० पैसा र बिक्रीदर १०२ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ २३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ ०१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९० पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २० पैसा र बिक्रीदर १६ रुपैयाँ २७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ०४ पैसा र बिक्रीदर २३ रुपैयाँ १४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५० पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रुपैयाँ ६९ र बिक्रीदर ३७७ रुपैयाँ २५ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

निर्वाचन आउन २२ दिन बाँकी : फागुन ३ देखि ६७४३ वटा वडामा मतदाता शिक्षा सञ्चालन

काठमाडौं, माघ २८ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

देशभरका ७५३ वटै स्थानीय तहका छ हजार ७४३ वटा वडामा नै एक/एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।

स्वयंसेवकले मतदाताको घर, बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगले विगतदेखि नै सबै स्थानीय तहमा एक÷एक जना सम्पर्क व्यक्ति तोक्ने गरेको थियो ।

सोही सम्पर्क व्यक्तिलाई नै मतदाता शिक्षा कार्यक्रमको अनुमगनकर्ताका रुपमा तोकेको थियो । मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने आयोगको विश्वास छ ।

आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि सातै प्रदेश सरकार, ७५३ वटै स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगतलगायत सम्पूर्ण सरोरकारवाला सबैलाई आयोगले अनुरोध गरेको छ ।

आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका बारेमा जानकारी दिने लक्ष्यका साथ मतदाता शिक्षा कार्यक्रम अगाडि बढाउन लागेको हो ।

मानव–बाघ सहअस्तित्व प्रवर्द्धन गर्न सम्झौतामा हस्ताक्षर, द्वन्द्व कम हुने अपेक्षा

काठमाडौँ । वन तथा वातावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालबिच नयाँ ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटी–८ (जिइएफ–८) द्वारा वित्तपोषित ‘नेपालमा मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन’ परियोजना कार्यान्वयनका लागि सम्झौतामा हस्ताक्षर भएको छ ।

वनमन्त्री माधवप्रसाद चौलागाईंको उपस्थितिमा आज हस्ताक्षर भएको कूल ४४ लाख ९८ हजार ३१८ अमेरिकी डलर लागतको यो परियोजना पाँच वर्षसम्म वन मन्त्रालयद्वारा कार्यान्वयन गरिने छ । जसमा डब्लुडब्लुएफले जिइएफ एजेन्सी तथा साझेदारको भूमिका निर्वाह गर्ने मन्त्रालयले जनाएको छ । यो सम्झौता २५ जनवरी २०२६ मा अर्थ मन्त्रालयका सहसचिव डा धनीराम शर्मा र डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङबिच सम्पन्न भएको वित्तीय सम्झौताको निरन्तरता हो ।

हस्ताक्षर सम्झौताले नेपालका बाघ बासस्थान क्षेत्र भएका निकुञ्ज र मध्यवर्ती क्षेत्रहरूमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्वलाई सम्बोधन गर्दै मानिस र बाघबीच सहअस्तित्व प्रवद्र्धन गर्ने प्रयासमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको अपेक्षा गरिएको छ । परियोजनाले चार एकीकृत घटकमार्फत वासस्थान व्यवस्थापन सुदृढीकरण, वैकल्पिक जीविकोपार्जन प्रवर्द्धन, र ज्ञानमा आधारित व्यवस्थापन प्रणाली सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने सम्झौतामा उल्लेख छ ।

मानव–वन्यजन्तु सहअस्तित्वका नमुना विकास गर्ने लक्ष्य

सो अवसरमा डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. गुरुङले यस पहलमार्फत समुदाय–नेतृत्वमा परिवर्तनलाई प्रोत्साहन गर्दै दिगो मानव–वन्यजन्तु सहअस्तित्वका नमुनाहरू विकास गर्ने लक्ष्य राखेको बताए। यसलाई एसियाका अन्य बाघ पाइने मुलुकहरूमा विस्तार तथा पुनरावृत्ति गर्न सकिने उनले जानकारी गराए।

“यो परियोजना मानिस र बाघबीच सहअस्तित्वको साझा दृष्टिकोणको प्रतिविम्ब हो । बढ्दो मानव–वन्यजन्तु द्वन्द्वलाई सम्बोधन गर्न वन मन्त्रालय र नेपाल सरकारसँग साझेदारी गर्न पाउँदा डब्लुडब्लुएफ नेपाल गर्व गर्दछ,” उनले भने ।

नेपालले लामो समयदेखि मानिस–केन्द्रित संरक्षण, वासस्थान व्यवस्थापन, तथा वन्यजन्तु चोरी सिकार र अवैध व्यापार नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गर्दै बाघको सङ्ख्यामा उल्लेखनीय वृद्धि हासिल गरेको छ । मानव–वन्यजन्तु अन्तरक्रिया बढ्दै गइरहेको सन्दर्भमा, यस परियोजनाले विकास र संरक्षणबीच सन्तुलन कायम गर्न सहकार्यात्मक तथा नवप्रवर्तनात्मक उपायहरूलाई प्रवर्द्धन गर्नेछ ।

नेपाल सरकारको तर्फबाट वन मन्त्रालयको योजना, अनुगमन तथा समन्वय महाशाखाका प्रमुख डा राजेन्द्र केसीले यस परियोजना सम्झौताको हस्ताक्षरले दिगो विकासप्रति नेपाल सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको बताए । “सहअस्तित्वमा लगानी गर्नु जैविक विविधताको संरक्षण मात्र नभई स्थानीय समुदायको सहनशीलता र समृद्धिलाई समेत सुदृढ बनाउने कार्य हो”, उनले भने, “ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटी, अर्थ मन्त्रालय र डब्लुडब्लुएफप्रति निरन्तर सहयोग र साझेदारीका लागि हामी आभार व्यक्त गर्दछौँ ।”

बाघको सङ्ख्या वृद्धिसँगै व्यवस्थापनमा चुनौती

पछिल्लो समय नेपालमा बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् । त्यस्तै कतिपय अवस्थामा बाघको चोरीसिकारी हुने, स्थानीय जनताको आक्रोशको निशानामा पर्ने र ठूला तथा लामा पूर्वाधारमा वारपार गर्ने क्रममा बाघ मर्नेक्रम पनि बढेको छ ।

वर्तमान अवस्थामा नेपालमा बाघको सङ्ख्याको आवश्यकताका बारेमा समेत बहस सुरु भएको छ । साथै वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको सङ्ख्या बढी भएको तर्क गरेका छन् भने कतिपयले बाघको सङ्ख्याको ‘धान्ने क्षमता’ (क्यारिङ क्यापासिटी) र आहारा तथा बासस्थानको गुणस्तरका बारेमा समेत गहिरो अध्ययन हुनुपर्ने आवाज उठेको छ ।

पाटेबाघ नेपालसहित विश्वका १३ देशमा पाइन्छन् । यी मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । नेपालबाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यान्मा, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड र लाओसमा पाटेबाघ पाइन्छन् ।

उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । हाल नेपालमा बाघको सङ्ख्या बढेर त्यसको झण्डै तेब्बर पुगेको छ । सन् २०२२ को गणनाअनुसार नेपालमा ३५५ बाघ रहेका छन् । अहिले सन् २०२६ का लागि मुलुकभर एकसाथ बाघ गणना कार्य भइरहेको उहाँले बताउनुभयो ।

सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ रहेका छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिए।

नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै हरेक चार वर्षमा राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा बाघको सङ्ख्या बढेर २३५ पुगेको थियो ।

समस्याग्रस्त बाघको सङ्ख्या बढ्दो

बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढ्दो छ । खासगरी मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ ।

हाल मुलुकभर यस्ता समस्याग्रस्त बाघको सङ्ख्या १८ वटा छ । तीमध्ये ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पाँच, चितवन राष्ट्रिय निकुञ्जमा छ, बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच, बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा एकएक बाघ खोरमा राखिएका छन् । यस्ता बाघको दैनिक आहारा, हेरचाह, उपचार र अन्य व्यवस्थापनमा बर्सेनि सरकारको ठूलो रकम खर्च हुँदै आएको छ ।

विभिन्न पार्टीमा भएका राम्रा मान्छेहरू एकीकृत हुन आवश्यक : प्रभु साह

रौतहट। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विभिन्न पार्टीमा रहेका राम्रा मान्छेहरु एकजुट हुन आवश्यक रहेको बताएका छन् ।हरेक पार्टीमा राम्रा र नराम्रा मान्छेहरु रहेको बताउदै उनले भ्रष्टाचारी, लुटेराहरुलाई कारवाही गर्नका लागि राम्रा मान्छेहरु एकीकृत हुन आवश्यक रहेको उनले बताए ।

रौतहटको गुजरा नगरपालिका–८ जुगौलियामा आज चुनावी छलफल एवं भेटघाटका क्रममा विभिन्न पार्टी परित्याग गरेकालाई आजपामा प्रवेश गराउदै उनले यस्तो बताएका हुन् ।

रौतहट–३ का उम्मेदवार समेत रहेका आजपा अध्यक्ष साहले भने, ‘सबैतिर राम्रा र नराम्रा मान्छेहरु छन् । हरेक पार्टीमा राम्रा र नराम्रा मान्छेहरु छन् ।

भ्रष्टाचारी, लुटेरालाई कारवाही गर्न, समाज परिवर्तन गर्न, विकासका काम अगाडी बढाउनका लागि राम्रा मान्छेहरु एकजुट हुन आवश्यक छ । हामी एकीकृत हुँदै भ्रष्ट, दलाल, लुटेरालाई बहिष्कार गर्नु नै आजको आवश्यक्ता हो ।’

राम्रा मान्छेहरु एकठाउँमा नआएसम्म समाज परिवर्तन गर्न नसकिने बताउदै उनले जिल्लाको विकास, समृद्धि, जनताको चाहना अनुसारको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायतको विकासका लागि सबै पार्टीमा भएका राम्रा मान्छेहरु आजपामा गोलबद्ध हुन साहले आग्रह गरे ।

‘यो निर्वाचन असली र नक्कलीबीचको लडाई पनि हो । यो निर्वाचन जेनजी आन्दोलनका हत्यारा, हाइज्याकर, भ्रष्टचारी बिरुद्धको लडाई हो । त्यसैले राम्रा मान्छे एकीकृत हुँदै समाजविरोध, मुलुक विरोधलाई यो निर्वाचनमा हामीले परास्त गर्नैपर्ने हुन्छ,’ आजपा अध्यक्ष साहले भने ।

जुगौलियाको भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै दर्जनौ व्यक्तिहरु आजपामा प्रवेश गरेको आजपा सचिवालय सदस्य एवं समानुपातिक तर्फका उम्मेदवार लालबाबु मन्सुरीले जनाएका छन् ।

ग्यानु सिंह, सुधिर सिंह, रामएकबाल साह, शेख नुरसैद, शेख जमिलअख्तर लगायतका दर्जनौं व्यक्तिहरुलाई आजपा अध्यक्ष साहले पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका छन् ।

नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले पाकिस्तानमा आयोजित नवौँ पाकिस्तान आर्मी स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जितेको छ ।यही माघ २२ गतेदेखि २४ गतेसम्म पाकिस्तानको पञ्जाव प्रान्तको खरियाँस्थित ‘नेशनल काउन्टर टुरिजम सेन्टर’मा आयोजित प्रतियोगितामा सर्वोत्कष्ट अङ्कसहित स्वर्ण पदक जितेको नेपाली सेनाले जनाएको छ ।

प्रतियोगितामा पाकिस्तानसहित १७ राष्ट्रका ३८ सैनिक टोली सहभागी थिए । अभ्यासमा टोलीहरुको शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान, रण कौशललगायतका क्षमताको परीक्षण गरिएको थियो । सन् २०१६ देखि वार्षिक रुपमा सञ्चालन हुँदै आएको अन्तरराष्ट्रिय स्तरको उक्त प्रतियोगितामा नेपाली सेनाले यसअघि सन् २०२२ र सन् २०२५ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो ।

गण्डकीका ९९ दशमलव पाँच प्रतिशत घरमा विद्युत् सेवा

पाेखरा । गण्डकी प्रदेशका ९९ दशमलव पाँच प्रतिशत घरमा विद्युत् सेवाको पहुँच पुगेको पाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को प्रतिवेदनअनुसार अन्य प्रदेशको तुलनामा गण्डकीमा सबैभन्दा बढी घरमा विद्युत् सेवा पुगेको देखिएको हो । उक्त सर्वेक्षणको नतिजाअनुसार सबैभन्दा कम कर्णाली प्रदेशमा ८० दशमलव आठ प्रतिशत घरमा विद्युत् सेवा पुगेको छ ।

राष्ट्रिय रूपमा भने ९६ दशमलव सात प्रतिशत घरमा विद्युत् सेवाको स्रोतमा निरन्तर पहुँच रहेको उक्त सर्वेक्षणको नतिजाले देखाएको छ । नेपाल बहुसूचक सर्वेक्षणको नतिजाले गण्डकी प्रदेशका सबै घरमा विद्युत् सेवा पुर्‍याएर ‘उज्यालो गण्डकी’ घोषणा गर्ने प्रदेश सरकारको लक्ष्य चाँडै पूरा हुने देखिएको छ ।

प्रदेश स्थापनापछि विसं २०७४ मा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्र सबै घरमा विद्युत् सेवा पु¥याउने निर्णय गरे पनि अझै केही घरमा विद्युत् सेवा नपुगेका कारण ‘उज्यालो गण्डकी’ घोषणा पछाडि धकेलिँदै आएको छ ।

प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको ऊर्जा शाखा प्रमुख इञ्जिनियर जीवन श्रेष्ठका अनुसार नवलपुरका करिब ३५० घरमा विद्युत् सेवा विस्तार हुन अझै बाँकी छ । नेपाल विद्युत् प्राधिकरणले नवलपुरमा ठेक्कामार्फत विद्युत् विस्तारको काम गरिरहको उनले बताए।

प्रदेश सरकारले सोधभर्नाबापतको रकम प्राधिकरणलाई समयमा भुक्तानी गर्न नसक्दा पनि काम प्रभावित भएको इञ्जिनियर श्रेष्ठले जानकारी दिए।

प्रदेश सरकारले नीति, कार्यक्रम र बजेटमासमेत बर्सेनि ‘उज्यालो गण्डकी’ घोषणको योजना समेट्दै आएको छ । “चालु आवमा विद्युत् विस्तारका लागि प्रदेश सरकारले रु १३ करोड बजेट छुट्टाएको छ । मन्त्रालयले गत वर्ष विद्युत् प्राधिकरण र स्थानीत तहसँगको समन्वयमा बिजुली नपुगेका घरधुरीको खोजी र पहिचान गरिसकेकाले सोहीअनुसार काम भइरहेको छ”, इञ्जिनियर श्रेष्ठले भने ।

सरकारी संयन्त्रबाट पहिचान हुन नसकेका अवस्थामा बिजुली नपुगेका घरलाई स्वघोषणा गरेर आउनसमेत मन्त्रालयले सार्वजनिक रूपमा सूचित गरेको थियो । प्रदेशका २८ वटा स्थानीय तहका एक हजार ३१७ घरमा बिजुली नपुगेको तथ्याङ्क छ ।

प्राधिकरणका १३ वटा वितरण केन्द्रमार्फत प्रदेशका ११ वटै जिल्लामा विद्युतीकरण गरिएको छ । लघजलविद्युत् पनि नभएका ठाउँमा घरेलु सौर्य ऊर्जा जडानका लागि प्रदेश सरकारले अनुदानको व्यवस्थासमेत गरेको छ । मन्त्रालयका अनुसार गण्डकी प्रदेशको विद्युतीकरणमा राष्ट्रिय प्रसारण लाइनको योगदान ९५ दशमलव ६८ प्रतिशत छ भने बाँकी लघुजलविद्युत्, नवीकरणीय ऊर्जा आदिको छ ।

राष्ट्रिय प्रसारण लाइनमा नजोडिएका मुस्ताङ, मनाङ, म्याग्दी, बागलुङ र गोरखाका आठ स्थानीय तहका एक हजार ५९६ घरमा प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा घरेलु सौर्य ऊर्र्जा प्रविधि जडान गरिएको छ । संस्थागत सौर्य ऊर्जा जडान कार्यक्रमबाट विभिन्न जिल्लामा गरी कुल १९२ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको जनाइएको छ । प्रदेशमा रहेका ९० वटा लघुजलविद्युत् आयोजनाबाट तीन हजार २९५ किलोवाट बिजुली उत्पादन भइरहेको छ, जसबाट १५ हजार ४४० घरधुरीमा बिजुली पुगेको छ ।

सवारी दुर्घटनामा परी उपप्रमुख दरैसहित चार घाइते

तनहुँ, २७ माघ : पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी–२ दुलेगौँडामा आज सवारी दुर्घटनामा परी व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैसहित चार जना घाइते भएका छन् ।

जिल्लाको दुलेगौँडाबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०६४ प ०७८३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको ग१ज ४६६७ नम्बरको ट्याक्सी एकापसमा ठक्कर खाएपछि ट्याक्सी अर्को सामान बोक्ने भ्यानमा ठक्किएको थियो ।

पोखराबाट दुलेगौँडातर्फ आउँदै गरेको ध१ज ६२४ नंको भ्यानमा ठोक्किएपछि ट्याक्सीमा सवार उपप्रमुख दरै, उहाँका छोरा २७ वर्षीय हेमन्त दरै, ट्याक्सी चालक कास्की पोखरा महानगरपालिका–५ मालेपाटनका ३८ वर्षीय सन्देश गोले र पोखरा महानगरपालिका–१४ चाउथेका १८ वर्षीय मोटरसाइकल चालक समेशकुमार थापा रहेका छन् ।

गोलेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र अन्य तीन जनाको आविस्कार अस्पताल पोखरामा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

महाशिवरात्रि पर्व २०८२ लाई सभ्य र भव्य बनाउन गुठी संस्थानको तयारी

कीर्तिपुर (काठमाडौँ), २७ माघ : गुठी संस्थानले यस वर्षको महाशिवरात्रि पर्व परम्पराअनुसार पाँच दिनसम्म मनाउन अन्तिम तयारी भइरहेको छ । संस्थानद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जनक पोखरेलले संस्थानले पशुपतिनाथको मन्दिर तथा देशका विभिन्न शिवालय नजिक रहेका अखडा (साधुसन्तको थलो)मा आगामी फागुन १ देखि ५ गतेसम्म भोजन, धुनी जगाउने दाउरा र दक्षिणाको व्यवस्थापन गर्ने बताउनुभयो ।

महाशिवरात्रि पर्वमा पशुपति क्षेत्रभित्रका विभिन्न मठ, मन्दिर तथा अखडाहरूमा गुठी संस्थान, शाखा कार्यालय पशुपति र थापाथलीका विभिन्न अखडामा संस्थानको काठमाडौँ शाखाले प्रबन्ध मिलाउने उहाँले जानकारी दिनुभयो ।

“संस्थानको मुख्य काम परम्पराबमोजिम महाशिवरात्रि पर्वमा आउने साधुसन्तको सेवा गर्नु हो । जसमा साधुसन्तका लागि धुनी जगाउन आवश्यक पर्ने दाउरा र परम्पराबमोजिमको भोजन उपलब्ध गराउने तथा दक्षिणासहित बिदाइ गर्नुपर्ने हुन्छ, त्यसैको तयारी गरिरहेका छौँ”, प्रवक्ता पोखरेलले भन्नुभयो ।

कार्यक्रमअनुसार फागुन १ गते राष्ट्रप्रमुखका तर्फबाट साधुसन्तलाई अर्पण गरिने सामग्री सङ्कल्प गर्न राष्ट्रपति कार्यालय लगिनेछ । ती सामग्रीमा राडी, च्यादर, बख्खु, चमर, कमण्डलु, घण्टी, लोटा, पीताम्वरी, रुद्राक्ष माला, बासमती चामल, मासको दाल, अप घ्यू, बेसार, जिरा, नुन, आलु, पालुङ्गो साग, दही, फलफूल, माला, सिदामा राख्ने सिक्का पैसा गरी जम्मा २१ प्रकारका सामग्री हुनेछन् ।

फागुन २ गते मन्दिर परिसरमा उपस्थित साधुसन्तका लागि संस्थानले अन्नपूर्ण आश्रममार्फत भोजनको व्यवस्था गर्नेछ । साथै राजधानीमा साधुसन्त रहने अन्य अखडा, राममन्दिर, भष्मेश्वर अखडा, निर्मल अखडा, मृगस्थली गोरखनाथ अखडा, वनकाली अखडा तथा थापाथली क्षेत्रका वैरागी, उदासी, सन्यासी र गोरखनाथ अखडाहरुमा उपस्थित साधुसन्तलाई संस्थानले तोकेकोबमोजिम दाउरा तथा भोजनको व्यवस्था गरिनेछ ।

फागुन ३ गते पर्वको मुख्य दिन संस्थानले पञ्चामृतसहित पूजा सामग्री पशुपतिनाथको मन्दिरमा अर्पण गर्ने र बेलुका पशुपतिनाथ मन्दिर वरिपरि बत्ती बाल्ने जानकारी पनि कार्यक्रममा दिइयो । सोही दिन पशुपति मन्दिर परिसरमा उपस्थित साधुसन्तलाई दही, फलफूल तथा धुनी बाल्नको लागि दाउरा उपलब्ध गराइनेछ ।

शिवरात्रिको भोलिपल्ट फागुन ४ मा मन्दिर परिसर तथा अन्य अखडाहरूमा साधुसन्तलाई भोजन तथा धुनी ताप्नको लागि दाउराको व्यवस्था गरिने र फागुन ५ गते बिहान साधुसन्तलाई भोजन गराई तोकिएको दरअनुसार दक्षिणासहित बिदाइ गर्ने कार्यक्रम राखिएको पोखरेलले जानकारी दिनुभयो ।

संस्थानले यस वर्ष पर्व सञ्चालनका लागि रु ३२ लाख र दाउरा खरिदका लागि रु आठ लाख व्यवस्था गरेको जानकारी दिइयो । गत वर्षको शिवरात्रिमा ५० हजार केजी दाउरा खर्च भएकाले सोही अनुपातमा यस वर्ष पनि व्यवस्था गरिएको प्रवक्ता पोखरेले बताउनुभयो । संस्थानका प्रशासक शैलेशराज कुँवरले गत वर्षको अनुभवका आधारमा यस वर्ष शिवरात्रिमा साधुसन्तहरुको व्यवस्थापन थप चुस्त बनाइने बताउनुभयो ।

संस्थानले महाशिवरात्रि पर्व, इन्द्रजात्रा, बिस्केट जात्रा, रातो तथा सेतो मच्छिन्द्रनाथको जात्रा, हाँडीगाउँ चोक्टेनारायणको जात्रा, जनकपुरको रामसीताको विवाह महोत्सव, रामनवमी महोत्सव, गोरखाको मनकामना पर्वलगायत राजगुठीका विभिन्न पर्वपूजा, जात्राहरू साविक परम्पराबमोजिम सञ्चालन गर्दै आएको छ ।

लिबियामा हेलिकोप्टर दुर्घटना, पाँचको मृत्यु

लिबिया। पूर्वी लिबियाको कुफ़्रा क्षेत्रमा रहेको अल‑सर्रा एयर बेस नजिकै एक हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
दुर्घटनामा हेलिकोप्टरमा सवार सैनिक र स्वास्थ्यकर्मीहरूको मृत्यु भएको पुष्टि गरिएको छ। यस हेलिकोप्टरले मरुभूमिमा भएको सडक दुर्घटनामा घाइते सैनिकलाई मेडिकल इभाकुएशन (उद्धार) गर्ने क्रममा दुर्घटना भएको हो।

स्थानीय मिडियाका रिपोर्ट अनुसार हेलिकोप्टरमा पाँच जनाको मृत्यु भएको छ, जसमा स्वास्थ्यकर्मी र चालक दलका सदस्यहरू पनि समावेश छन्। दुई जना विदेशी नागरिक पनि सवार थिए भन्ने खबर बाहिरिएको छ, तर अधिकारीहरूले यसको औपचारिक पुष्टि गरेका छैनन्। घाइते सैनिकलाई उद्धार गर्न प्रयास भइरहेको थियो।
दुर्घटनाको ठ्याक्कै कारण अहिलेसम्म खुलाइएको छैन। अनुसन्धान जारी रहेको जानकारी स्थानीय अधिकारीहरूले दिएका छन्।

हेलिकोप्टर दुर्घटना भएको क्षेत्र राजनीतिक रूपमा विभाजित छ। पूर्वी लिबियामा जनरल खालिफा हाफ्टर नेतृत्वको प्रशासन छ भने पश्चिममा संयुक्त राष्ट्रले समर्थन गरेको सरकारको नियन्त्रण छ। यसले दुर्घटनामा हुने प्रतिक्रिया र राहत कार्यमा पनि जटिलता ल्याएको छ।
लिबिया २०११ को अरब स्प्रिंग विद्रोह पछि राजनीतिक अस्थिरता, सुरक्षा चुनौती र प्रशासनिक विभाजनको सामना गर्दै आएको छ। देशको पूर्व र पश्चिमबीचको विभाजन, सुरक्षा कमजोरी र दूरदराजको मरुभूमि क्षेत्रमा सञ्चालन भइरहेका उद्धार मिसनहरूलाई जोखिमपूर्ण बनाउँछ। यस दुर्घटनाले लिबियामा हेलिकोप्टर सुरक्षा र मेडिकल इभाकुएशन व्यवस्थापनमा सुधारको आवश्यकता भएको देखाएको छ।

स्थानीय मिडिया र अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले यस घटनालाई गम्भीर मानव क्षति र सुरक्षा चुनौतीको रूपमा रिपोर्ट गरेका छन्। हालसम्म, सरकारले पीडित परिवारलाई राहत उपलब्ध गराउने प्रयास गरिरहेको छ। (रासस/सिन्ह्वा)

जापानमा भारी हिमपात, ४६ जनाको मृ त्यु, ५५८ जना घाइते

ओमोरी(जापान), २७माघ -जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६ जनाको मृत्यु हुनुका साथै ५५८ जना घाइते भएको फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीको ताजा तथ्याङ्कले मङ्गलबार देखाएको छ ।

जनवरीको अन्त्यदेखि जारी हिमपातले उत्तरी समुदायहरूलाई चरम दोहन गर्नुका साथै ट्राफिक जन्य समस्या निम्त्याएको जनाइएको छ । प्रहरी र स्थानीय अधिकारीहरूका अनुसार बासिन्दाहरू हिउँ सफा गर्ने प्रयासमा घातक दुर्घटनामा परेका छन् । जापान मौसम विज्ञान एजेन्सीका अनुसार उत्तरी क्षेत्रीय केन्द्र आओमोरीका बासिन्दाहरूले भारी हिमपात (चार फिटभन्दा बढी) को सामना गर्नु परेको छ ।

नेकपाको चुनावी घोषणापत्रः महत्त्वाकाङ्क्षी योजना कार्यान्वयन र जनजीविकाका सबाल सम्बोधनको प्रतिबद्धता

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।पार्टी मुख्यालय पेरिसडाँडामा आज अपराह्न पत्रकार सम्मेलनमार्फत संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभयो ।

प्रतिबद्धतापत्रमा केही महत्वाकाङ्क्षी योजनासमेत सार्वजनिक गरिएका छन् । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा पाँच वर्षभित्र रणनीतिक योजना कार्यान्वयन गरेर विशेष उपलब्धि हासिल गरिने विषय उल्लेख छ ।

आर्थिक सुधारको नयाँ चरणः समाजवाद उन्मुख अर्थतन्त्रको आधार निर्माण

प्रतिबद्धतापत्रमा आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड दिइएको छ । आयात–व्यापार तथा उपभोगमुखी अर्थतन्त्रबाट उत्पादनमुखी, आत्मनिर्भर तथा समावेशी मोडलमा ‘सिफ्ट’ गर्ने विषयलाई प्रतिबद्धता पत्रमा समेटिएको छ ।

‘नयाँ चरणको आर्थिक सुधार’ र सामाजिक न्यायसहितको समृद्धिलाई विशेष जोड दिएर पार्टीले स्वाधिन र समृद्ध नेपाल निर्माणको मार्गचित्र तयार गर्ने गर्ने अग्रसरता लिएको छ । राजनीतिक स्थायित्व, सुशासन र परिणाममुखी प्रशासनका लागि विशेष पहल गर्ने प्रतिबद्धता पत्रमा व्यक्त गरिएको छ । सार्वजनिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा तीनखम्बे आर्थिक नीति अवलम्बन गरिनेछ ।

नेपालको अर्थतन्त्र गहिरो संरचनागत सङ्कटमा फसेको उल्लेख गर्दै विगतका दशकहरूमा अपनाइएका नवउदारवादी नीतिहरूले प्रारम्भिक रूपमा केही उत्पादन र रोजगारी सिर्जना गरे पनि दीर्घकालमा अर्थतन्त्रलाई आयात–निर्भर, गैर–उत्पादनमुखी तथा असमानतापूर्ण बनाएको उल्लेख गरिएको छ ।

“व्यापार घाटा बढ्दो छ, राष्ट्रिय बजेट अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ, सिण्डिकेट तथा मिलेमतो संस्थागत छन्, र गरिबी तथा आर्थिक असमानता कायमै छन् । सहकारी तथा गैरसरकारी क्षेत्रमा नियमन अभावले विकृति र दुरूपयोग बढेको छ,” प्रतिबद्धता पत्रमा भनिएको छ ।

संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरे पनि पुरानो नीतिगत ढाँचाले मौलिक हकहरूको कार्यान्वयनमा बाधा पु¥याएको नेकपाको निष्कर्ष छ । बदलिँदो राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिवेशमा पुरानो मोडल व्यावहारिक र औँचित्यपूर्ण नभएको भन्दै पार्टीले उत्पादन वृद्धि, रोजगारी सिर्जना, वित्तीय समावेशीता तथा आत्मनिर्भरतामार्फत सामाजिक न्यायसहितको आर्थिक समृद्धिको नयाँ चरण प्रस्ताव गरेको छ ।

गरिबी १० प्रतिशतमा सीमित

प्रतिबद्धतापत्रमा आगामी ५ वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ । सो अवधिमा बहुआयामिक गरिबीको दर २०.१५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झार्ने लक्ष्य प्रस्तुत गरिएको छ ।

प्राकृतिक स्रोतहरूको विवेकशील, दिगो र उत्पादनमुखी उपयोग, स्वदेशी र वैदेशिक लगानीमा वृद्धि, सामूहिकता र सहकारितामा आधारित उत्पादन प्रणालीको विकास र विस्तार, स्रोतसाधनको दक्षतापूर्ण विनियोजन, खर्च क्षमतामा उल्लेख्य वृद्धि, उत्पादन तथा रोजगारी वृद्धि, समावेशी विकास र वैकल्पिक वित्त परिचालनमार्फत आगामी पाँच वर्षभित्र (दोहोरो अङ्कको) १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गरिने उल्लेख छ ।

प्रतिवर्ष एक लाख ५० हजार अतिरिक्त रोजगारी थप गरी वार्षिक पाँच लाख रोजगारी सुनिश्चित गरिने, विदेशमा रहेका जनशक्तिको ज्ञान, सीप, अनुभव र पुँजीलाई रोजगारी–स्वरोजगारी तथा लगानीका लागि अनुकूल वातावरण बनाउन रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गरी कम्तीमा एक लाख रिटर्नीलाई उद्यमी बनाइने प्रतिबद्धतापत्रमा समेटिएको छ ।

आर्थिक मोडल परिवर्तनमा विशेष जोड

प्रतिबद्धता पत्रले अर्थतन्त्रको मोडललाई आयात–निर्भर तथा उपभोगमुखीबाट उत्पादनमुखी, निर्यात प्रवद्र्धन तथा आत्मनिर्भर मोडलमा सिफ्ट गर्ने विषयलाई विशेष जोड दिएको छ । अर्थतन्त्रको मोडललाई आयात–निर्भर तथा उपभोगमुखीबाट उत्पादनमुखी, निर्यात प्रवद्र्धन तथा आत्मनिर्भर मोडलमा सिफ्ट गर्ने प्रतिबद्धता गरिएको छ ।

आर्थिक सुधारको नयाँ चरणलाई समाजवादका आधार निर्माणको रूपमा प्रस्तुत गर्दै यसले नेपाललाई आत्मनिर्भर तथा समृद्ध बनाउने दाबी गरिएको छ ।

परिणाममुखी सार्वजनिक प्रशासन

विद्यमान प्रक्रियामुखी तथा तदर्थवादी सार्वजनिक प्रशासनलाई जनउत्तरदायी, तटस्थ, पारदर्शी, प्रविधिमैत्री, परिणाममुखी तथा भ्रष्टाचारमुक्त बनाउन गरी विकास गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

संविधानको मर्मअनुरूप सङ्घीयता कार्यान्वयन गर्न सङ्घीय निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न संसद्को पहिलो अधिवेशनबाट सङ्कल्प प्रस्ताव पेस गरिनेछ । कार्यसम्पादन सम्झौतामा आधारित स्पष्ट तथा पारदर्शी मूल्याङ्कन प्रणाली लागू गरिनेछ ।

आगामी दशक कृषि लगानी दशक

आगामी दशकलाई ‘कृषि लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी तथा दातृ निकायको सहभागितामा लगानी वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । दुई वर्षभित्रमा धान, गहुँ, तरकारी, फलफूल, दूध, मासु, माछामा पूर्ण आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिइएको छ ।

आगामी एक वर्षभित्र सबै किसानलाई किसान परिचयपत्र वितवरण गर्ने लक्ष्य प्रतिबद्धतापत्रमा उल्लेख छ । त्यसैगरी एकीकृत कृषि ऐन बनाएर एक वर्षभित्र किसान अधिकार सुनिश्चित गरिने छ ।

पाँच वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन

आगामी पाँच वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । सो अवधिमा राष्ट्रिय प्रणालीको क्षमता १५ हजार मेगावाट पु¥याइने छ । दीर्घकालीन लक्ष्यअन्तर्गत शतप्रतिशत हरित ऊर्जा उपयोग गर्ने देश घोषणा गर्ने लक्ष्य लिएको छ ।

हरित जलवायु कोषको उपयोग

सन् २०४५ सम्म शून्य कार्वन उत्सर्जन (नेट जिरो इमिसन)को लक्ष्य लिइएको छ । प्रतिबद्धता पत्रमा हरित जलवायु कोष तथा हानीनोक्सानी क्षतिपूर्तिको अधिकतम उपयोग गर्ने लक्ष्य राखिएको छ ।

त्यसैगरी आधुनिक प्रविधिमा आधारित विपद् व्यवस्थापन पूर्व सूचना प्रणालीको विकास गरेर जनताको जिउधनको सुरक्षा गर्ने नीति लिइएको छ । वन क्षेत्रको अवैध अतिक्रमण तथा दोहन रोक्नुको साथै रुख कटान, आगलागी र बाढीपहिरोको कारण खाली हुन गएको क्षेत्रमा नयाँ गुणस्तरीय जातको वृक्षारोपण गरी वन संरक्षण गरिने प्रतिबद्धतामा उल्लेख छ ।

स्वास्थ्य बिमालाई शत प्रतिशत पुर्‍याइने

स्वास्थ्य बिमा अनिवार्य तथा प्रगतिशील स्वास्थ्य बिमालाई स्वास्थ्य सुरक्षा प्रणालीको मुख्य आधार बनाएर स्वास्थ्य बिमाको आबद्धतालाई सबैलाई अनिवार्य गर्ने लक्ष्य लिइएको छ । हाल करिब ३० प्रतिशतमा सीमित रहेको स्वास्थ्य बिमालाई आगामी विसं २०८८ सम्म शत प्रतिशत पुर्‍याइने लक्ष्य राखिएको छ ।

गरिबीको रेखामुनि रहेका नागरिकमध्ये हाल करिब १० प्रतिशत मात्रै बिमामा समेटिएको अवस्थालाई विसं २०८८ सम्म शत प्रतिशत पुर्‍याइनेछ । गरिब, अशक्त, दीर्घरोगी र ज्येष्ठ नागरिकको बिमा प्रिमियम राज्यले बेहोर्ने व्यवस्थालाई परिणाममुखी, तथ्याङ्किक र पारदर्शी बनाइनेछ ।

प्रतिबद्धता पत्रअनुसार स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय, जनमुखी, समावेशी तथा दिगो बनाई स्वस्थ तथा समुन्नत नेपाल निर्माण गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

स्वतन्त्र नेपाल, सन्तुलित कूटनीति

नेपालको असंलग्न परराष्ट्र नीतिलाई थप सुदृढ गर्दै राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सर्वोच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिबद्धता पत्रमा छिमेकी देशहरूसँगको सम्बन्धलाई प्राथमिकता दिई पारस्परिक सम्मान, विश्वास र लाभमा आधारित सन्तुलित सम्बन्ध विकास गर्ने लक्ष्य राखिएको छ ।

लिपुलेक, लिम्पियाधुरा, कालापानी जस्ता सीमा विवादहरू कूटनीतिक वार्ता र अन्तर्राष्ट्रिय कानुनका आधारमा समाधान गर्ने, सीमा व्यवस्थापन र नियमनलाई आधुनिक र प्रभावकारी बनाउने उल्लेख गर्दै प्रतिबद्धता पत्रमा भनिएको छ – संयुक्त राष्ट्रसङ्घ, सार्क, बिमस्टेकलगायत बहुपक्षीय मञ्चहरूमा नेपालको सक्रिय र सशक्त उपस्थिति कायम राखिने छ ।

असमान सन्धि–सम्झौताको पुनरावलोकन गरी पारस्परिक लाभमा आधारित नयाँ सम्झौताहरू गर्ने र आर्थिक कूटनीतिलाई प्राथमिकता दिई वैदेशिक लगानी, निर्यात प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन र रोजगारीका अवसर बढाउने नीति प्रतिबद्धता पत्रमा उल्लेख छ ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सूचना प्रविधिको अधिकतम प्रयोग

सूचना प्रविधिका लाभहरू समानरूपमा नागरिक तहसम्म पुर्‍याउन राज्यको सक्रिय भूमिका सुनिश्चित गरिने प्रतिबता व्यक्त गरिएको छ ।सुरक्षित, जिम्मेवार र समावेशी प्रयोगबाट डिजिटल डिभाइड हटाई नागरिक सशक्तीकरण गर्ने लक्ष्य लिइएको छ ।

प्रतिबद्धता पत्रमा विज्ञान तथा प्रविधि र नवप्रवर्तनलाई देशको समग्र रूपान्तरणको प्रमुख आधार बनाइने उल्लेख छ । यस क्षेत्रको विकास गरी रोजगारी सिर्जना, प्रतिस्पर्धात्मकता विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

त्यस अवसरमा प्रतिबद्धतापत्र मस्यौदा समितिका सदस्य प्रमेश हमालले पार्टीले आत्मसात गरेको दृष्टिकोणका आधारमा प्रतिबद्धतापत्रका विषयवस्तु तय गरिएको बताउनुभयो । नेकपाले प्रतिबद्धता लेखनका लागि नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सदस्यीय समिति गठन गरेको थियो ।

प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेत्री रञ्जिता श्रेष्ठ, नेताहरू वामदेव गौतम, अग्निप्रसाद सापकोटा, फम्फा भुसाल, डा वेदुराम भुसाललगायत सहभागी हुनुहुन्थ्यो । विभिन्न २६ वटा वाम घटक मिलेर नेकपा गठन भएको हो ।

परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता

माघ २७, काठमाडौँ : कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलीको नेतृत्वमा आएको कतारी प्रतिनिधिमण्डले आज अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटवार्ता गरेको छ ।

भेटवार्तामा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थिति रहेको थियो । भेटका क्रममा नेपाल–कतार द्विपक्षीय लगानी प्रवर्द्धन, व्यापार विस्तार, सरकार–सरकार तथा निजी क्षेत्र–निजी क्षेत्र सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो ।

छलफलका क्रममा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा संरचनागत सुधारहरू अघि बढाइएको बताउनुभयो । उहाँले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणमार्फत आर्थिक वृद्धिलाई गति दिन सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले नेपालको ऊर्जा, खनिज, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधी लगायतका विविध क्षेत्रमा कतारी लगानीको सम्भावना रहेकोमा जोड दिनुभयो ।

त्यस्तै, परराष्ट्रमन्त्री बालामन्द शर्माले नेपालले विदेशी लगानीकर्ताका लागि नीतिगत सुधार र कूटनीतिक सहजीकरणलाई प्राथमिकतामा राखेको बताउँदै कतारी लगानीकर्तालाई ऊर्जा, पर्यटन, पूर्वाधार र सूचना प्रविधिजस्ता क्षेत्रमा लगानीका प्रशस्त अवसर रहेको उल्लेख गर्नुभयो ।

कतारका लागि नेपालका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीले कतारी निजी क्षेत्र नेपालमा लगानी गर्न इच्छुक रहेको बताउँदै स्थिर नीति, सहज बैंकिङ प्रणाली र लगानी सुरक्षाले लगानी प्रवाह अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा निजी क्षेत्र नेतृत्वको विकास मोडेललाई प्रवर्द्धन गर्न महासङ्घले सक्रिय भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो । उहाँले कतारी लगानीकर्तालाई नेपालमा दीर्घकालीन साझेदारीका लागि आह्वान गर्दै ऊर्जा, पर्यटन, जलविद्युत्, होटल, कृषि प्रशोधन र पूर्वाधार क्षेत्रमा संयुक्त लगानीको ठूलो सम्भावना रहेको बताउनुभयो ।

कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलीले नेपालमा लगानीको वातावरणबारे सकारात्मक धारणा राख्दै दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष सहकार्य र व्यवसायिक आदान–प्रदान विस्तार गर्न इच्छुक रहेको बताउनुभयो ।

भेटवार्ताले नेपाल–कतार आर्थिक सम्बन्धलाई नयाँ उचाइमा लैजान र भविष्यमा ठोस लगानी सहकार्यका आधार तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रतिनिधि मण्डलले आजै गभर्नर प्राडा विश्वनाथ पौडेलसङ पनि भेट गरेको थियो । कतारी प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल भ्रमणमा आएको हो ।

कांग्रेसले सबैलाई समेटेर देश सम्हाल्छ : सभापति थापा

सिरहा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र समुदायलाई समेटेर देश सम्हाल्ने जिम्मेवारी कांग्रेसले पूरा गर्ने बताउनुभएको छ ।आज सिरहाको लहानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा मुलुकलाई सही दिशा दिन कांग्रेसजस्तो जिम्मेवार शक्तिको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

सम्बोधनका क्रममा उहाँले कांग्रेस केवल राजनीतिक दल मात्र नभइ सङ्कटको सारथी भएको दाबी गर्नुभयो । “हामी नयाँ सोच र सङ्कल्पका साथ आएका छौँ,” सभापति थापाले भन्नुभयो, “कुनै उत्तेजना, झगडा वा घृणा नफैलाई सबैलाई मिलाएर लैजाने र देश सुधार्ने सामथ्र्य कांग्रेससँग मात्र छ ।” त्यसकारण आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गर्नसमेत उहाँले आह्वान गर्नुभयो ।

बिपी कोइरालाको मेलमिलाप नीति र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेसले खेलेको भूमिका स्मरण गर्दै उहाँले भन्नुभयो, “२०३३ सालमा बिपीले ज्यानको बाजी लगाएर देश जोगाउन खोज्नु वा सशस्त्र युद्धमा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु कांग्रेसको राष्ट्रिय चरित्र थियो । आज फेरि देशलाई त्यस्तै सम्हाल्ने शक्तिको खाँचो छ ।” उहाँले कांग्रेसले कहिल्यै प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पार्नुभयो ।

नागरिकमा राज्यका संस्थाप्रति चरम अविश्वास रहेको स्वीकार गर्दै महामन्त्री थापाले अबको मुख्य एजेन्डा भ्रष्टाचार अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । “नागरिक रिसाएका छन् किनकि उनीहरूले हरेक समस्याको जडमा भ्रष्टाचार देखेका छन्,” उहाँले भन्नुभयो, “नेताको सफा नियत र ठीक नीति भयो भने नेपालबाट भ्रष्टाचार हट्छ र मुलुक अगाडि बढ्छ । त्यसैले आफ्नो बारेमा नसोची नागरिकहरूले के भन्न खोजिरहेका छन्, भन्ने बुझ्ने प्रयास गरौँ । अनि जनतामा आशा जगाउन सकिन्छ ।”

उहाँले जनताको आक्रोशलाई राजनीतिक फाइदाका लागि प्रयोग गर्दै ‘आगोमा घिउ थप्ने’ प्रवृत्तिबाट जोगिनुपर्ने बताउनुभयो । सबैखाले अतिवादबाट मुक्त भएर नागरिकका समस्या बुझ्न र समाधान गर्न कांग्रेस प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । यसअघि सभापति थापाले लहानचोकमा रहेको मधेस आन्दोलनका प्रथम सहिद रमेश महतो लगायतको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो ।

सुशासन र भ्रष्टाचार नियन्त्रणमा अबको प्राथमिकता

धरान (सुनसरी) नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।

आज सुनसरी निर्वाचन क्षेत्र नं २ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उहाँले बद्लिएको कांग्रेसले जनतासामु गरेका प्रतिबद्धता कार्यान्वयन गर्दै सुशासन स्थापनामा आधारसहित अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

सभापति थापाले कांग्रेसप्रति जनताले व्यक्त गरेको विश्वासलाई निर्वाचनमार्फत मतमा रूपान्तरण गर्न कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो । उहाँले नेपाली कांग्रेस परिवर्तनको मार्गमा अघि बढिरहेको उल्लेख गर्दै कांग्रेसले विगतमा व्यक्त गरेका प्रतिबद्धता पूरा भए नभएको विषय जनतामाझ स्पष्ट रूपमा राख्नसमेत आग्रह गर्नुभयो ।

निर्वाचन आचारसंहिताका कारण विस्तृत धारणा राख्न कठिनाइ रहेको बताउँदै सभापति थापाले पार्टीलाई अझ जिम्मेवार र परिणाममुखी बनाउन आवश्यक रहेको बताउनुभयो ।

जातीय विभेद गर्नेलाई ‘नो भोट’ अभियान

काठमाडौँ। दलित अधिकारकर्मीहरूले जातीय विभेद गर्ने उम्मेदवार वा कुनै पनि दललाई आसन्न निर्वाचनमा ‘नो भोट’ अभियान सुरु गर्ने भएका छन् ।दलितमैत्री निर्वाचन राष्ट्रिय अभियानअन्तर्गत आज पत्रकार सम्मेलन गरेर दलित अधिकारकर्मीहरूले यस्तो जानकारी गराएका हुन् ।

दलित गैरसरकारी संस्था महासङ्घ (डिएनएफ) ले गरेको पत्रकार सम्मेलनमा आगामी निर्वाचनलाई दलितमैत्री बनाउनका लागि दलित नागरिक सङ्घ सङ्गठन, पत्रकार, बुद्धिजीवी, अधिकारकर्मी र दलित अभियन्ताहरूले दलितमैत्री निर्वाचन राष्ट्रिय अभियान सुरुआत गरेको जानकारी दिएको छ ।

अभियानका तर्फबाट सबै राजनीतिक दललाई घोषणापत्रमा समावेश गरिनुपर्ने दलित सवालबारे सुझावसमेत हस्तान्तरण गरिएको डिएनएफका अध्यक्ष जेवी विश्वकर्माले जानकारी दिनुभयो । उहाँले दलितले मतदान गर्न पाउने नैसर्गिक अधिकारलाई प्रोत्साहन गर्ने र विभेद गरिरहेका कुनै पनि राजनीतिक दल वा उम्मेदवारलाई भने मानवताका आधारमा समेत ‘नो भोट’ अर्थात् मतदानमा बहिस्कार गर्ने बताउनुभयो ।

“समाजमा जसले विभेद गरेको छ त्यस्तो अमानवीय आचरण बोकेको व्यक्ति वा दललाई कसरी भोट हाल्ने ?”, अध्यक्ष विश्वकर्माले प्रश्न गर्दै भन्नुभयो, “यस्ता खराब संस्कार बोकेका व्यक्तिविरुद्ध नो भोट अभियान थाल्ने र सही नेतृत्व चयन गर्ने अभियान सुरु गरेका छौँ ।”

नेपाल मतदाता अधिकार मञ्चका अध्यक्ष भक्त विश्वकर्माले दलित तथा सीमान्तकृत समुदायका मतदातालाई यतिबेला कसलाई र कसरी भोट दिने भन्ने शिक्षाको जरुरी रहेकाले अभियानमार्फत देशभर पुग्नुपर्ने बताउनुभयो ।

अधिकारकर्मी कमला हेमचुरीले प्रतिनिधिसभाको निर्वाचनमा सीमान्तकृत समुदायका मुद्दा जुन पार्टी वा उम्मेदवारले बढी उठान गरेको छ उसैलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । दलित समुदायको समानताको पक्षमा हुनेछ भन्ने सन्देश पु¥याउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

डिएनएफका उपाध्यक्ष सुशील विकले दलितका मुद्दालाई प्राथमिकतामा राख्न अभियानले लामो समयदेखि राजनीतिक दल र उम्मेवारसँग छलफल गर्दै आएको बताउनुभयो । घोषणापत्रमा दलितका मुद्दा उठे पनि कार्यान्वयनसम्म पुग्दा फितलो हुने परिपाटीविरुद्ध अभियान निरन्तर जारी राख्ने उहाँले प्रष्ट पार्नुभयो ।

“दलित समुदाय सधैँ भोट बंैकका रूपमा मात्रै प्रयोग भएका छन्, समस्या ज्यूँका त्यूँ छन्”, उपाध्यक्ष विकले भन्नुभयो, “अब विभेद गर्नेलाई बहिस्कार गर्ने र समाज रूपान्तरणका नीति ल्याउनेलाई जिताउने अभियानमा लाग्छाँै ।”

अभियानले तयार पारेको घोषणापत्रमा दलितमैत्री निर्वाचन हुनुपर्नेमा जोड दिएको छ । यस्तै, निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी न्यूनतम १४ प्रतिशत प्रतिनिधित्वको सुनिश्चिता, घोषणापत्रमा दलित सवाल समावेश, विभेद गर्ने पार्टी, नेता र उम्मेदवार केन्द्रित ‘विभेद, नो भोट’ को अवधारणा राख्ने उल्लेख छ ।

यसैगरी, हरेक पार्टी र उम्मेदवारलाई दलित समुदायले उठाएका सवाल आत्मसात् गर्न र व्यवहारमा उतार्ने वातावरण तयार गर्न र विभेदमा आरोपित व्यक्तिलाई उम्मेदवार नबनाउने सुनिश्चितता, दलित समुदायलाई कुनै पनि किसिमको डर, त्रास नदेखाइ, प्रलोभनमा नपारी स्वतन्त्र रूपमा मतदान गर्ने वातावरणको सुनिश्चिता र निर्वाचनपश्चात घोषणापत्रको कार्यान्वयन भएमात्र निर्वाचनलाई दलितमैत्री भएको मानिने अभियानले प्रष्ट पारेको छ ।

राज्यका सबै अङ्गमा समानुपातिक समावेशी सिद्धान्त लागू गर्नुपर्ने, संविधानमा उल्लेखित दलित अधिकारको कार्यान्वयमा जोड दिने, जातीय विभेद र छुवाछूत व्यवहारमै अन्त्य गर्ने राष्ट्रिय रणनीति तयार गरी पर्याप्त स्रोतसाधनको व्यवस्था गर्ने, छुवाछूतसम्बन्धी ऐन संशोधन गरी सजाय बढाउने, ‘डिजिटल डिस्क्रिमिनेसन’ र असमानताको अन्त्य गर्ने, एकीकृत दलित विकास ऐनको निर्माण गर्नुपर्नेलगायत माग राखिएका छन् ।

बजेट अर्धवार्षिक समीक्षाः प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ। चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि प्रदेश सरकारहरूको खर्च अवस्था निराशाजनक देखिएको छ ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको ‘आव २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’अनुसार प्रदेशहरूको खर्च निकै कमजोर देखिएको हो ।

चालु आवका लागि सातवटै प्रदेशको कुल बजेट रु दुई खर्ब ८७ अर्ब ७० करोड ३३ लाख रहेकामा पुस मसान्तसम्ममा १४ दशमलव १६ प्रतिशत मात्र खर्च भएको देखिएको छ ।

प्रतिवेदनअनुसार प्रदेशहरूको चालुतर्फ २१ दशमलव ४३ प्रतिशत र पुँजीगततर्फ नौ दशमलव ३३ प्रतिशत मात्रै खर्च भएको छ । प्रदेशमा वित्तीय व्यवस्थातर्फ विनियोजन भएको रु ९७ करोड ५० लाखमध्ये पुससम्ममा शून्य खर्च देखिएको प्रतिवेदनमा उल्लेख छ ।

मधेस प्रदेशमा पुँजीगत खर्च सबैभन्दा न्यून तीन दशमलव ३६ प्रतिशत मात्रै देखिएको छ भने लुम्बिनी प्रदेशमा सबैभन्दा बढी १८ दशमलव ०४ प्रतिशत पुँजीगत खर्च भएको छ । विशेषगरी विकास र संरचनागत रूपान्तरणसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्चको अवस्था कमजोर देखिनुले प्रदेशहरूको बजेट कार्यान्वयन क्षमतामाथि समेत प्रश्न उब्जाएको छ ।

प्रदेशगत रूपमा बागमती प्रदेश खर्चका हिसाबले तुलनात्मक रूपमा अगाडि देखिएको छ । बागमतीले यस वर्ष रु ६७ अर्ब ४७ करोड ७३ लाख बराबरको बजेट ल्याएकामा पुस मसान्तसम्म कुल बजेटको १४ दशमलव २० प्रतिशत खर्च गरेको छ । यो प्रदेशको चालुगततर्फ २२ दशमलव ४८ र पुँजीगततर्फ आठ दशमलव ९९ प्रतिशत खर्च भएको देखिन्छ ।

सबैभन्दा कमजोर प्रदर्शन मधेस प्रदेशको देखिएको छ । मधेसले कुल बजेटको सात दशमलव ७१ प्रतिशत मात्र खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि रु ४६ अर्ब ९८ करोड ३४ लाखको बजेट ल्याएको यो प्रदेशले पुस मसान्तसम्ममा रु तीन अर्ब ६२ करोड ३६ लाख बराबर मात्रै खर्च गर्न सकिएको देखिएको हो । यो अवधिसम्मको मधेसको चालुगत खर्च १५ दशमलव ५८ र पुँजीगत खर्च तीन दशमलव ३६ प्रतिशत रहेको छ ।

कोशी प्रदेशले कुल बजेटको १६ दशमलव ८४ प्रतिशत खर्च गरेको छ । कोशीको चालुगत खर्च २३ दशमलव २३ प्रतिशत, पुँजीगत खर्च नौ दशमलव ९६ प्रतिशत र वित्तीय व्यवस्थातर्फको खर्च शून्य छ । वित्तीय व्यवस्था शीर्षकमा यस प्रदेशले चालु आवका लागि रु १० करोड विनियोजन गरेकामा हालसम्म कुनै पनि रकम खर्च गर्न सकेको देखिँदैन ।

गण्डकी र लुम्बिनी प्रदेशको अवस्था पनि खासै उत्साहजनक छैन । गण्डकीले कूल वार्षिक बजेटको १६ दशमलव ६८ प्रतिशत र लुम्बिनीले २० दशमलव ४५ प्रतिशत खर्च गरेका छन् । दुवै प्रदेशमा पुँजीगत खर्च क्रमशः १४ दशमलव १३ र १८ दशमलव ०४ प्रतिशत रहेको छ ।

विकासको दृष्टिले पछाडि पारिएका क्षेत्रका रूपमा लिइने कर्णाली र सुदूरपश्चिम प्रदेशको पुस मसान्तसम्मको खर्च क्षमता कमजोर देखिएको छ । चालु आवका लागि कुल रु ३२ अर्ब ९९ करोड ६७ लाख बराबरको बजेट ल्याएकामा हालसम्म रु चार अर्ब ५३ करोड ३४ लाख अर्थात् वार्षिक विनियोजनको १३ दशमलव ७४ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।

कर्णालीको चालुगत २३ दशमलव ८३, पुँजीगत सात दशमलव ९० प्रतिशत र वित्तीय व्यवस्थातर्फको खर्च शून्यमा खुम्चिएको छ । वित्तीय व्यवस्था शीर्षकमा उक्त प्रदेशले चालु आवका लागि रु ६१ करोड ५० लाख विनियोजन गरेकामा हालसम्म कुनै पनि रकम खर्च भएको देखिँदैन ।

सुदूरपश्चिमको खर्च १० दशमलव ९४ प्रतिशत छ । चालु आवका लागि कुल रु ३३ अर्ब ४७ करोड ६० लाखको बजेट ल्याएको उक्त प्रदेशले पुस मसान्तसम्म रु तीन अर्ब ६६ करोड २१ लाख बराबर मात्रै खर्च गर्न सकेको देखिएको हो । सुदूरपश्चिमको चालुगत खर्च प्रगति १९ दशमलव ४७ र पुँजीगत खर्च प्रगति पाँच दशमलव ०८ प्रतिशत छ ।

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी आयोग र निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन

काठमाडौँ। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगको आजको निर्णयअनुसार यस्तो निर्देशन दिइएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम फागुन ३ गतेभित्र घोषणापत्र बुझाउनुपर्ने आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको उहाँले बताउनुभयो ।

संविधान पुनरावलोकन र परिमार्जन गर्न प्रतिबद्ध छौँः संयोजक दाहाल

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवयुवा पुस्ताको मर्म र भावनाअनुसार राजनीतिक स्थिरताका लागि संविधान संशोधन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर पार्टीको तर्फबाट ‘सङ्क्षिप्त घोषणापत्र’ सार्वजनिक गर्दै उहाँले शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायत विषयलाई पुनरावलोकन र परिमार्जन गरिने बताउनुभयो ।

“संविधान जारी भएको १० वर्ष पूरा भएको छ । संविधानले पनि १० वर्षमा पुनरावलोकन र परिमार्जन गर्ने भनिएको छ । प्रतिबद्धतापत्रमा त्यस विषयलाई महत्त्वका साथ उठाएको छौँ”, संयोजक दाहालले भन्नुभयो, “यसैगरी सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शीतालाई उच्च प्राथमिकता राखिएको छ ।”

उहाँले सामाजिक विभेद र असमानता अन्त्य गर्ने कुरामा पनि आफूहरू प्रष्ट योजनाका साथ अगाडि बढ्ने बताउनुभयो । “आत्मनिर्भर र स्वाधिन अर्थतन्त्र, वातावरण संरक्षण, विपद् व्यवस्थापन, नेपाली विशेषताको समाजवादको आधार निर्माण गर्ने, राष्ट्रिय हित र परराष्ट्र सम्बन्धलाई बलियो बनाउने विषयलाई पनि प्रतिबद्धतामा उच्च प्राथमिकता दिइएको छ”, संयोजक दाहालले भन्नुभयो ।

प्रतिबद्धतापत्रमा आगामी पाँच वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ । बहुआयामिक गरिबीको दर १० प्रतिशतमा सीमित गर्ने, प्रतिवर्ष एक लाख ५० हजार रोजगारी सिर्जना, पाँच लाख नियमित रोजगारी सुनिश्चित, विदेशबाट फर्केका एक लाख जनालाई उद्यमी बनाउने योजना प्रतिबद्धतापत्रमा समेटिएको छ ।

यस्तै, धान, दूध, मासु, तरकारीलगायत कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुने, आगामी दशकलाई कृषि लगानी दशक घोषणा, सबै किसानलाई एक वर्षभित्र किसान परिचयपत्र वितरण गर्नेलगायत कार्यक्रम पनि समावेश गरिएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन : फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने

काठमाडौँ। देशभरका छ हजार ७४३ वडामा आगामी फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा देशभरका सबै वडामा एक/एकजना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी कार्यक्रम सञ्चालन गर्न लागिएको उल्लेख छ ।

स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने छन् ।

आयोगले विगतदेखि सबै स्थानीय तहमा एक/एकजना सम्पर्क व्यक्ति तोक्ने गरेको थियो । आसन्न निर्वाचनमा पनि तिनै सम्पर्क व्यक्तिलाई निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताको रूपमा तोकेको आयोगले जनाएको छ ।

मतदाता शिक्षा अनुगमनकर्ता र स्वयंसेवकका लागि जिल्लास्तरीय तथा स्थानीय तहस्तरीय तालिम तथा अभिमुखीकरण कार्यक्रम माघ महिनाको अन्तिमसम्म भइसक्ने गरी काम भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो । आयोगका आधिकारिक सामाजिक सञ्जालका पेजबाट समेत निर्वाचनसम्बन्धी आवश्यक सामग्री प्रचारप्रसार भइरहेको छ ।

आमसञ्चार माध्यममार्फत् पनि मतदाता शिक्षा र निर्वाचन प्रचारप्रसार कार्यक्रमलाई व्यापक र प्रभावकारी बनाइने उल्लेख गरिएको छ । यस कार्यक्रमबाट मतदाताले मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्त्व, निर्वाचन आचारसंहिता तथा गलत एवम् भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी प्राप्त गर्ने विश्वास गरिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदातालाई निर्वाचन आचारसंहितासँगै मतदान प्रक्रियाबारे सही रूपमा जानकारी प्रदान गर्ने उद्देश्यले निर्वाचन आयोगले निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम मतदाता शिक्षा विशेष कार्यक्रम २०८२ स्वीकृत गरेको हो ।

निर्वाचनमा आम नागरिकलाई निर्वाचन प्रक्रिया, मताधिकारको प्रयोग तथा मतदान विधिबारे समयमै जानकारी दिने उद्देश्यले यही माघ १९ गते मतदाता शिक्षा विशेष कार्यक्रम २०८२ स्वीकृत भएको हो । सोही बमोजिम आयोगले काम गरिरहेको आयोगका सहसचिव एवम् प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

नेपालको संविधान, निर्वाचनसम्बन्धी प्रचलित कानुन, मतदाता शिक्षा नीति, निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ को दफा १७ बमोजिम निर्वाचन आयोगले मतदाता शिक्षा तथा निर्वाचन प्रचारप्रसार गर्ने उद्देश्यले मतदाता शिक्षा विशेष कार्यक्रम तयार गरी स्वीकृत गरेको उहाँले बताउनुभयो ।

आम नागरिकलाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्नु, मतदानको कार्यमा आम मतदाताको सहभागिता अभिवृद्धि गरी बदर मतको सङ््ख्या न्यूनीकरण गर्नु मतदाता शिक्षा कार्यक्रमको प्रमुख उद्देश्य रहेको पनि प्रवक्ता भट्टराईले बताउनुभयो ।मतदाता शिक्षाका लागि आमसञ्चार माध्यम, सामाजिक सञ्जाल र स्वयम्सेवक परिचालन गरिने जनाइएको छ ।

अस्वभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्व तयारी बिनाका आयोजनाका कारण खर्च अनुमान घट्योः अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२÷८३ को बजेट ल्याउँदा नै आय व्ययको अनुमान अस्वभाविक रुपमा बढाएर राखिएका कारण अर्धवार्षिक समीक्षामार्फत् त्यसलाई घटाउनुपरेको बताउनुभएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच आर्थिक वर्ष २०८२÷८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री खनालले पूर्व तयारी नै नसकिएका आयोजना बजेटमा राखिएका कारण पनि खर्चको अनुमान घटाउनु परेको बताउनुभयो ।

त्यस्तै, सङ्घीय सञ्चित कोषमा ठूलो चाप पर्दै गएको उहाँको भनाइ थियो । बजेटको अर्धवार्षिक समीक्षमार्फत् सरकारले चालु आर्थिक वर्षको आयव्यय दुवै अनुमान घटाएको छ ।

यसवर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याइएकामा त्यसमध्ये ८५ दशमलव ९६ प्रतिशत अर्थात् १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख मात्रै खर्च हुने बताएको हो ।

अर्थमन्त्री खनालले सरकारको सञ्चित कोषमा चाप पर्दै गएको बताउनुभयो । अहिले सङ्घीय सञ्चित कोष एक खर्ब ३० अर्ब घाटामा रहेका कारण बजेटको प्राथमिकता निर्धारण गर्नुपरेको उहाँले बताउनुभयो ।

त्यस्तै, पूर्व तयारी नसकिएका तर बजेटमा परेका एक खर्ब १९ अर्ब बराबरका आयोजना स्थगित गरिएको अर्थमन्त्री खनालको भनाइ थियो ।

त्यस्ता आयोजनाको पूर्व तयारी सकेर ठेक्का लगाउन सक्ने अवस्था भएमा बजेट रोक्का फुकुवा गरिने उहाँले बताउनुभयो । रोक्का रहेका आयोजनामध्ये ४२ अर्ब लागत बराबरका आयोजनाको बजेट फुकुवा भइसकेका छन् ।

त्यस्तै, अपेक्षित रुपमा बजेट खर्च हुन नसक्नुमा पछिल्ला राजनीतिक घटनाक्रम पनि जिम्मेवार रहेको अर्थमन्त्री खनालले बताउनुभयो ।“जेनजी आन्दोलनपछिको सङ्क्रमणकालमा सरकारको ध्यान सुरक्षाको प्रत्याभूति र राजनीतिक दलहरुसँग छलफलमा व्यतित् भयो । यसकारण पनि विभिन्न मन्त्रालयहरुले अपेक्षित रुपमा खर्च गर्न सकेनन्”, उहाँले भन्नुभयो ।

त्यस्तै, वनसम्बन्धी कानुनका कारण सिर्जित अवरोधका कारण विकास आयोजनाको काममा ढिलाइ हुने गरेको अर्थमन्त्री खनालले बताउनुभयो ।

चालु आर्थिक वर्षको बजेटमा स्रोतको चापका कारण स्वास्थ्य बिमाको दायित्व सरकारले चुक्ता गर्न नसकेको पनि उहाँले स्पष्ट पार्नुभयो । “यही बजेटभित्र रहेर स्वास्थ्य बिमामा दायित्व व्यहोर्न सक्ने अवस्था छैन । भैपरी शीर्षकका बजेट निर्वाचनका लागि छुट्टाउनु पर्दा स्वास्थ बिमाको दायित्व भुक्तानीका लागि समस्या भएको छ”, अर्थमन्त्री खनालले भन्नुभयो ।

अहिले करिब सात अर्ब बराबरको दायित्व भुक्तानी बाँकी रहेको भन्ने अनौपचारिक आँकडा आए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै यकिन कति हो, भन्ने स्पष्ट पार्न नसकेको उहाँले बताउनुभयो ।

त्यस्तै, निर्वाचनका लागि स्रोतसाधन कमजोर भएकै कारण सुरक्षामा कुनै कमजोरी देखिन नहुनेसमेत अर्थमन्त्री खनालले बताउनुभयो । आगामी निर्वाचन प्रयोजनका लागि करिब २० अर्ब बराबर छुट्याइसकेको अर्थ मन्त्रालयले जनाएको छ ।

सोही कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाश श्रेष्ठले तीन करोडभन्दा कम लागतका आयोजनालाई परियोजना बैंकमा नराखिएको स्पष्ट पार्नुहुँदै पूर्व तयारी नसकिएका र तत्काल कार्यान्वयन गर्न नसकिने तथा कम लागतका आयोजनाको बजेट रोक्का राख्नुपर्ने अवस्था आएको बताउनुभयो ।

त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेको उल्लेख गर्दै अब यसबाट पछि हड्न नहुने स्पष्ट पार्नुभयो ।

अर्थसचिव घनश्याम उपाध्यायले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले सुशासन प्रतिको नागरिक चाहना, भष्ट्राचार नियन्त्रण र सेवा प्रवाहमा सुधारको भावना उजागर गरेको उल्लेख गर्नुहुँदै प्रदर्शनीका क्रममा अत्यधिक भौतिक क्षति व्यहोरेको बताउनुभयो ।

यद्यपि, आन्दोलनबाट सरकारको आम्दानी तथा खर्च प्रणाली अवरुद्ध नभएको र निरन्तर सञ्चालनमा रहेको उहाँले बताउनुभयो।आन्दोलनपछि सरकार गठनको सात दिनभित्रमा विजनेस् रिकभरी प्लान बनाएको, निजी क्षेत्रको मनोबल बढाउन प्रयत्न गरेकोलगायतका विषय उहाँले राख्नुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख सुमन दाहालले बजेट कार्यान्वयनलाई सकारात्मक लयमा फर्काउन सकेको बताउनुभयो ।चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा वार्षिक लक्षको ३५ दशमलव १४ प्रतिशत खर्च भएको बताउनुभयो ।

एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

काठमाडौं । थाइल्यान्डमा हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ।मंगलबार आयोजित एक विशेष कार्यक्रमका बीच नेपाल क्रिकेट संघ (क्यान)ले टोलीलाई बिदाइ गरेको हो ।

कप्तान इन्दु बर्मा चोटका कारण कम्तीमा ८ साताका लागि मैदानबाहिर रहने भएपछि यस पटक टिमको कप्तानी पूजा महतोले गर्ने भएकी छिन्।
यस अघि उपकप्तान रहेकी पूजाको कप्तानीमा नेपालको १५ सदस्यीय टोली पनि घोषणा गरिएको छ।

पूजाले पहिलोपटक सिनियर टोलीको कप्तानी गर्न लागेकी हुन् ।राइजिङ स्टार्स महिला एसिया कपमा नेपाल समूह ’ए’ मा भारत ’ए’, पाकिस्तान ’ए’ र यूएईसँग परेको छ ।फेब्रुअरी १३ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तान ’ए’ सँग खेल्नेछ ।

अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक

काठमाडौँ।अर्थ मन्त्रालयले आज ‘आर्थिक वर्ष २०८२÷८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ सार्वजनिक गरेको छ ।प्रतिवेदनअनुसार चालु आर्थिक वर्षका लागि विनियोजित कूल बजेटको करिब एक तिहाइ मात्र खर्च भएको छ, भने पुँजीगत खर्च सन्तोषजनक हुन नसकेको देखिएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु आवका लागि कूल १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएकामा पुस मसान्तसम्म ६ खर्ब ९० अर्ब २१ करोड ७८ लाख खर्च भएको छ । जुन कूल बजेटको ३५ दशमलव १४ प्रतिशत हो ।

खर्चको संरचना हेर्दा विनियोजित रकममध्ये चालु खर्च (वित्तीय हस्तान्तरणसहित) ४१ दशमलव २५ प्रतिशत, पुँजीगत खर्च १२ दशमलव १२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४० दशमलव ९५ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ ।

समीक्षा अवधिको समग्र खर्च गत आवको सोही अवधिको तुलनामा तीन दशमलव ३९ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि, पुँजीगत खर्च न्यून रहनुका कारणका रूपमा आयोजनाको पूर्वतयारीको अभाव, जग्गा प्राप्ति तथा वन क्षेत्रको उपयोगमा देखिएका जटिलता, साथै गत भदौ २३ र २४ गते भएका आन्दोलनका कारण भौतिक संरचनामा पुगेको क्षतिलाई औंल्याइएको छ ।

बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार पूर्वतयारी नभएका र अनुत्पादक साना आयोजनामा विनियोजित एक खर्ब १९ अर्ब ५३ करोड ६५ लाख बजेट मन्त्रिपरिषद्को निर्णयअनुसार स्थगन गरिएको छ ।

स्थगन गरिएका आयोजनामध्ये खरिद प्रक्रिया सुरु भइसकेका र विषयगत मन्त्रालयबाट औचित्य पुष्ट्याइसहित फुकुवाका लागि अनुरोध भएका आधारमा ४२ अर्ब २८ करोड ३४ लाख भने फुकुवा गरिएको मन्त्रालयले जनाएको छ ।

राजस्व परिचालनतर्फ चालु आवमा कूल १४ खर्ब ८० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जसमा सङ्घीय सरकारको हिस्सा १३ खर्ब १५ अर्ब रहने अनुमान गरिएको छ । प्रतिवेदनमा बजेट कार्यान्वयन र स्रोत व्यवस्थापन सुधारका लक्ष्य र नीतिहरू पनि सार्वजनिक गरिएका छन् ।

समीक्षा अवधिमा देखिएका संरचनागत र प्रणालीगत समस्या समाधान गर्दै बाँकी अवधिमा राजस्व परिचालन सुदृढ गर्ने र लगानीलाई प्रतिफलयुक्त क्षेत्रमा केन्द्रित गर्ने मुख्य लक्ष्य राखिएको छ ।

सार्वजनिक खर्चलाई मितव्ययी बनाउन २०७८ सालको मापदण्डलाई परिमार्जन गरी प्रभावकारी रूपमा लागू गर्ने र विनियोजित सीमाभित्र मात्र खर्च गर्ने नीति लिइएको छ ।

मन्त्रालयका अनुसार बजेट खर्च बढाउन सङ्घ, प्रदेश र स्थानीय तहको कार्य जिम्मेवारीअनुसार सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी विद्यमान संरचना र दरबन्दीको पुनरावलोकन गरिनेछ ।अनिवार्य प्रतिनिधित्व गर्नुपर्ने अवस्थाबाहेक सरकारी स्रोतबाट गरिने वैदेशिक भ्रमणलाई निरुत्साहित गरिने नीति पनि लिइएको छ ।

त्यसैगरी सरकारी कार्यालय, नियामक निकाय र सार्वजनिक संस्थानहरूमा थप व्ययभार पर्ने गरी नयाँ सङ्गठन संरचना र दरबन्दी सिर्जना नगरिने जनाइएको छ ।

परामर्श सेवामा नियन्त्रण गर्दै ठूला आयोजनाबाहेक अन्य आयोजनामा सुपरीवेक्षण परामर्शदाता नियुक्त नगर्ने र नीति वा कानुनको मस्यौदा तयार गर्न बाह्य परामर्श सेवा नलिने व्यवस्था गरिने जनाइएको छ ।

त्यस्तै, राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनामा स्रोतको अभाव हुन नदिने तथा ती आयोजनाको बजेट अन्यत्र रकमान्तर नगर्ने सुनिश्चितता गरिएको छ ।

बहुवर्षीय आयोजनाको हकमा स्रोत सहमतिसम्बन्धी मापदण्ड, २०८२ को पूर्ण पालना गरिने र मध्यमकालीन खर्च संरचनाका आधारमा मात्र स्रोत सहमति माग गर्ने व्यवस्था मिलाइने अर्थ मन्त्रालयले जनाएको छ ।

फागुन मसान्तसम्म खर्च नभएको वा बाँकी अवधिमा खर्च हुन नसक्ने बजेटलाई २०८२ चैत १५ गतेभित्र अनिवार्य रूपमा समर्पण गर्नुपर्ने व्यवस्थालाई पनि कडाइका साथ पालना गरिने जनाइएको छ ।

पारिश्रमिक, भत्ता, रासन, बिजुली, सञ्चार र घरभाडाजस्ता अनिवार्य दायित्वको भुक्तानी चालु वर्षमै फछ्र्योट गरी आगामी वर्षमा दायित्व नसर्ने गरी व्यवस्थापन गर्ने, अर्थ मन्त्रालयको पूर्वसहमति बिना कुनै पनि निकायले थप आर्थिक दायित्व सिर्जना गर्न नपाउने व्यवस्था कडाइका साथ लागू गरिने पनि अर्धवार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक सहायतामा सञ्चालित आयोजनाको सोधभर्ना समयमै प्राप्त गर्न आवश्यक सहजीकरण र अनुगमन गर्ने, विकास सहायतालाई राष्ट्रिय आवश्यकता र उच्च प्रतिफलयुक्त रणनीतिक आयोजनामा मात्र परिचालन गर्ने नीति लिइनेजस्ता विषयमा प्रतिवेदनमा राखिएका छन् ।

नयाँ वैदेशिक सहायता आयोजनामा ‘प्रोजेक्ट रेडिनेस फिल्टर’ प्रभावकारी रूपमा लागू गरी तयारी पूरा भएका आयोजना मात्र छनोट गरिने जनाइएको छ ।त्यस्तै, राजस्व प्रणालीलाई प्रविधिमैत्री, पारदर्शी र करदातामैत्री बनाउँदै स्वेच्छिक कर परिपालना अभिवृद्धि गर्ने योजना अघि सारिएको छ ।

सीमानाकामा भन्सार प्रशासन र सुरक्षा निकायबीच समन्वय गरी राजस्व चुहावट नियन्त्रणका लागि बहु–निकायगत एकीकृत प्रयास गरिने जनाइएको छ । त्यस्तै, करयोग्य अनौपचारिक आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा ल्याउने र डिजिटल कारोबारलाई करको दायरामा समेट्दै कराधार विस्तार गरिने उल्लेख छ ।

त्यसैगरी, कर बक्यौता असुली र बेरुजु फछ्र्योट कार्यलाई कार्ययोजना बनाएर तीव्रता दिइने प्रतिवेदनमा उल्लेख छ । गैरकर राजस्वको दायरा विस्तार गर्दै विद्यमान दरहरू समयसापेक्ष बनाइने र सरकारी लगानीका निकायबाट प्राप्त हुने लाभांश समयमै सङ्कलन गरिने व्यवस्था मिलाइने छ ।

गैर–बजेटरी रूपमा विभिन्न कोषमा रहेको सरकारी रकम सङ्घीय सञ्चित कोषमा दाखिला गराउने प्रक्रिया अघि बढाइने प्रतिवेदनमा उल्लेख छ ।

म राजनीतिमा आउँदिन कलाकारिता क्षेत्रमै रमाउँछु : अभिनेता उप्रेती

काठमाडौँ, माघ २७ –अभिनेता निखिल उप्रेतीले आफू राजनीतिमा नगई कलाकार भएर भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आज यहाँस्थित बङ्गलामुखी मन्दिरमा चलचित्र ‘कस्तुरी’ को निर्माण घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको जिज्ञासालाई सम्बोधन गर्दै अभिनेता उप्रेतीले विभिन्न पेसा र व्यवसायमा अब्बल व्यक्तिको भूमिका सोही क्षेत्रमा हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय विधागत रुपमा अब्बल देखिएका मानिसलाई राजनीतिज्ञ हुनुपर्छ, मन्त्री हुनुपर्छ भन्ने पनि गरिन्छ, त्यो नै गलत हो । हामी जहाँ छौँ, त्यहीँ रहेर देश विकासमा योगदान दिनुपर्छ । मलाई दर्शकले कलाकारका रुपमा रुचाउनुभएको छ, त्यसैले म कलाकारिता क्षेत्रमै रमाउँछु ।”

प्रत्यक्ष रुपमा आफू संलग्न नभए पनि मुलुकको राजनीतिका बारेमा हरेक नागरिकले बुझ्नुपर्ने धारणा व्यक्त गर्दै अभिनेता उप्रेतीले भन्नुभयो, “हाम्रो भविष्य एवम् देश विकासका लागि भए पनि राजनीति बुझ्न ज्ररुरी छ । जनताले राम्रोसँग राजनीति नबुझ्ने हो भने नीतिनिर्माण तहमा असल व्यक्तिको प्रतिनिधित्व हुन सक्दैन । निर्वाचनको मिति नजिकिँदैछ, मुलुकको समग्र विकासका सन्दर्भमा उम्मेदवारसँग प्रश्न गरी उपयुक्त व्यक्ति चयन गर्ने दायित्व सचेत मतदाताको हो ।”

चलचित्र ‘कस्तुरी’ को छायाङ्कन आजदेखि काठमाडौँ उपत्यकाबाट सुरु गरिएको छ । निर्देशक ऋत बोहोराको निर्देशनमा तयार हुने उक्त चलचित्रमा अभिनेता उप्रेतीसँगै वर्षा शिवाकोटी, शेखर चापागाईं, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बम्जन, मीरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतमलगायत कलाकारले अभिनय गर्नुहुनेछ ।

प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार

खलङ्गा (दार्चुला), २७ माघ । दार्चुलामा जनपद प्रहरीका हवल्दारको हत्या घटनामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।प्रहरी हवल्दार योगेन्द्रबहादुर घर्तीको हत्या अभियोगमा महाकाली नगरपालिका–४ की २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गौरव महतले जानकारी दिए । पक्राउ परेकी दिपिका महाकाली–४ मा सञ्चालित ‘अस्मिता बियर बार’का सञ्चालक आशिक पालकी कान्छी श्रीमती भएको उनले बताए । मृतक प्रहरी हवल्दार घर्ती पनि महाकाली नगरपालिका–४ कै बासिन्दा हुन् ।

प्रहरी नायव उपरीक्षक महतका अनुसार घटनामा संलग्न रहेका आशङ्का गरिएका ‘अस्मिता बियर बार’का सञ्चालक आशिक, उनकी जेठी श्रीमती लक्ष्मी बडू, आशिकका भाइ मनिस पाल र राजेन्द्र डँडाल फरार रहेका छन् ।

घटनापछि फरार रहेका व्यक्तिहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार घर्ती सोमबार राति मृत फेला परेका थिए ।

सरकारले चालु आर्थिक वर्षको आय–व्ययको अनुमान घटायो

काठमाडौँ, माघ २७ गते ।चालू आर्थिक वर्ष २०८२र८३ को बजेटको अर्धवार्षिक समीक्षामार्फत सरकारको आय र व्ययको अनुमान घटाइएको छ ।अर्थ मन्त्रालयले आज चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै आम्दानी र खर्च दुवैको अनुमान घटाएको हो ।

चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड बराबर बजेट विनियोजन गरेको थियो । जसमध्ये चालुगततर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड ८० लाख र वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख बराबर सुरुआती विनियोजन रहेको थियो ।

संशोधित अनुमान अनुसार यस वर्ष चालु खर्च ११ खर्ब २५ अर्ब ९७ करोड ९४ लाख, पुँजीगत खर्च दुई खर्ब ४३ अर्ब ३० करोड ३४ लाख र वित्तीय व्यवस्था तीन खर्ब १९ अर्ब चार करोड ३९ लाख बराबर मात्रै खर्च हुने देखिएको छ ।

कुल बजेट खर्च १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख खर्च हुने संशोधित अनुमान छ ।यो रकम सुरु विनियोजनको ८५ दशमलव ९६ प्रतिशत हो ।

अर्थात् सुरुआती विनियोजनको तुलनामा कुल संशोधित बजेट खर्च १४ दशमलव ०६ प्रतिशत विन्दुले घट्ने देखिएको छ ।चालु आर्थिक वर्ष २०८२ र ०८३ मा कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोडमध्ये १४ खर्ब ८० अर्ब राजस्व स्रोत परिचालन हुने अनुमान रहेको छ ।

उक्त कुल अनुमानित राजस्वमध्ये सङ्घीय सरकारको बजेट प्रयोजनका लागि १३ खर्ब १५ अर्ब प्रयोग हुने र बाँकी एक खर्ब ६५ अर्ब राजस्व बाँडफाँटको माध्यमबाट प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने अनुमान छ ।

यसअनुसार सङ्घीय सरकारको कुल बजेटमा राजस्वको योगदान करिब ६७ दशमलव ४९ प्रतिशत रहने अनुमान छ ।चालु आर्थिक वर्ष २०८२ र ८३ को राजस्व प्राप्तिको अनुमानमा कर राजस्वको अंश १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख अर्थात् ८९ दशमलव ५७ प्रतिशत र अन्य राजस्व (गैरकर) को अंश एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख अर्थात् १० दशमलव ४३ प्रतिशत रहेको छ ।

यसमा प्रत्यक्ष कर चार खर्ब सात अर्ब दुई करोड ९२ लाख र अप्रत्यक्ष कर नौ खर्ब १८ अर्ब ५५ करोड ४५ लाख रहेको छ ।यस हिसाबले हेर्दा जम्मा कर राजस्वमा प्रत्यक्ष करको हिस्सा ३० दशमलव ७० प्रतिशत र अप्रत्यक्ष करको हिस्सा ६९ दशमलव ३० प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र उपभोक्ता मुद्रास्फीतिलाई साढे पाँच प्रतिशतमा सीमित राख्ने लक्ष्यका साथ बजेटको संशोधित अनुमान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् सिर्जना भएको असामान्य परिस्थिति, आयोजनाको पुनः प्राथमिकीकरण र खर्च कटौती गर्ने मन्त्रिपरिषद्को निर्णयलाई संशोधित अनुमानको आधार मानिएको छ ।

त्यस्तै, आगामी प्रतिनिधि सभाको निर्वाचन खर्च, सामाजिक सुरक्षा, कर्मचारीको महँगी भत्ता र आन्दोलनका घाइते तथा मृतकका परिवारलाई दिनुपर्ने राहतका कारण चालु खर्चमा चाप बढेको प्रतिवेदनमा उल्लेख छ ।

“आयोजनाको पूर्वतयारीको अभाव, जग्गा प्राप्ति र वन क्षेत्रको प्रयोगमा जटिलता र निर्माण व्यवसायीलाई भुक्तानीमा भएको ढिलाइले गर्दा पुँजीगत खर्चको गुणस्तर अपेक्षाकृत सुधार हुन सकेको छैन”, प्रतिवेदनमा भनिएको छ ।

आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, निर्माणाधीन रणनीतिक आयोजनाको भुक्तानी र अनिवार्य दायित्व (तलब, भत्ता, पेन्सन) लाई खर्चको मुख्य प्राथमिकतामा राखिएको जनाइएको छ ।

पूर्वतयारी नभएका, टुक्रे आयोजना र प्रतिफल सुनिश्चित नभएका अनुत्पादक कार्यक्रमहरूको बजेट रोक्का गरी प्राथमिकता प्राप्त आयोजनामा रकमान्तर गर्ने नीति लिइएको पनि अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बैठक भत्ता उपलब्ध नगराउने, बाह्य परामर्श सेवा नलिने, वैदेशिक भ्रमण नियन्त्रण गर्ने र नयाँ दरबन्दी सिर्जना नगर्ने जस्ता उपायहरूद्वारा चालु खर्च नियन्त्रण गर्ने लक्ष्य राखिएको उल्लेख छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षा निकाय र निर्वाचन आयोगलाई आवश्यक पर्ने बजेटको स्रोत सहमति र व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको छ ।

वैदेशिक सहायता प्राप्तिमा देखिएको न्यूनता र राजस्व सङ्कलनको चापलाई मध्यनजर गर्दै आन्तरिक स्रोत (राजस्व र आन्तरिक ऋण) को अधिकतम उपयोग गरी बजेट सन्तुलन कायम गर्न खोजिएको पनि अर्थ मन्त्रालयले जनाएको छ ।

बजेट प्रणालीलाई नतिजामुखी बनाउन आयोजना बैँकको कार्यान्वयन, डिजिटल भुक्तानी प्रणालीको विस्तार र सार्वजनिक खरिद कानुनमा समसामयिक सुधार गरिने जनाइएको छ ।

प्रतिनिधिसभा निर्वाचनः सुनसरी–१ मा २६ जना मैदानमा

धरान (सुनसरी), २७ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ मा २६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । यहाँ राजनीतिक दलका १९ र स्वतन्त्रतर्फ सात जना प्रत्याशी छन् ।

पुराना दल नेपाल कम्युनिष्ट (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टीसहित स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।

यस क्षेत्रमा ३१ देखि ६८ वर्षसम्मका उम्मेदवार मैदानमा छन् । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ३१ वर्षीय राजकुमार लिम्बु कान्छा उम्मेदवार हुन् भने राष्ट्रिय साझा पार्टीका ६८ वर्षीय भुपी राई ज्येष्ठ हुन् ।

धरान उपमहानगरपालिकाका पूर्वप्रमुख श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट सूर्य भट्टराई उम्मेदवार छन् । नेपाली कांग्रेसबाट सुजेन्द्र तामाङ, नेकपा एमालेबाट टिकाराम लिम्बू उम्मेदवार छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरिन तामाङ, नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठ, मङ्गोल नेशनल अर्गनाइजेसनका राजेन्द्र गुरुङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजकुमार लिम्बू, नेपाली जनश्रमदान संस्कृति पार्टीबाट राजकुमार राई, संयुक्त नागरिक पार्टीका नरेश विक, उज्यालो नेपाल पार्टीका डम्बर लावती, नेकपा संयुक्त पार्टीबाट श्यामनारायण राजधामी, नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर लिम्बू, आम जनता पार्टीबाट रायबहादुर विष्ट, जनता समाजवादी पार्टी नेपालबाट सञ्जय राई, जनता समाजवादी पार्टीबाट नगेन्द्रबहादुर लिम्बू र मितेरी पार्टी नेपालबाट रक्षकुमार राई प्रतिस्पर्धामा छन् ।

त्यसैगरी, स्वतन्त्र उम्मेदवारमा देउमान लिम्बू, सञ्जयकुमार राई, ओमकृष्ण उदास, शेषप्रसाद रेग्मी, सुवास विश्वकर्मा, अजय विश्वकर्मा, चेतबहादुर राई र जीवनकला राई छन् ।
यो क्षेत्रमा एक लाख ५० हजार ३९३ जना मतदाता छन्भने ४१ मतदानस्थल र १६१ मतदान केन्द्र कायम गरिएका जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

 नवलपरासीमा तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

नवलपरासी, माघ २७ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि तीन हजार ५९५ बालिकालाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईँका अनुसार आगामी फागुन १ गतेदेखि १३ गतेसम्म अभियानका रूपमा सञ्चालन हुने कार्यक्रमबाट जिल्लाभरका तीन हजार ५९५ जना छात्रा लाभान्वित हुनेछन् । अभियान सामुदायिक तथा संस्थागत गरी १७४ विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रालाई लक्षित गरिएको उनले जानकारी दिए ।

“जिल्लाका आठवटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन हुनेछ”, उनले भने, “सबैभन्दा बढी कावासोती नगरपालिकामा ८१० जना छात्रालाई खोप लगाइनेछ भने गैँडाकोट नगरपालिकामा ७३०, देवचुली नगरपालिकामा ६३५, मध्यविन्दु नगरपालिकामा ५५२, विनयी त्रिवेणी गाउँपालिकामा ३८४, हुप्सेकोट गाउँपालिकामा २७१, बुलिङटार गाउँपालिकामा १११ र बौदीकाली गाउँपालिकामा १०२ जना छात्रा लक्षित छन् ।”

खोप अभियान सञ्चालनका लागि जिल्लामा २४९ खोप केन्द्र तोकिएका छन् । अभियानमा ३३९ स्वास्थ्यकर्मी र त्यत्तिकै सङ्ख्यामा स्वयंसेवक परिचालन गरिने प्रमुख चापागाईंले जानकारी दिए। खोपका लागि आवश्यक सिरिञ्ज, सेफ्टी बक्स, भ्याक्सिन क्यारियरलगायत सामग्रीको व्यवस्थापनसमेत पूरा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

“एचपिभी भाइरस सङ्क्रमणकै कारण महिलामा पाठेघरको मुखको क्यान्सर हुने भएकाले बाल्यावस्थामै खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेख्य रूपमा घट्ने विश्वास लिइएको छ”, उनले भने, “खोप पूर्ण रूपमा निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको छ ।”

प्रदेश जनस्वास्थ्य कार्यालयले लक्षित सबै छात्रालाई खोप अभियानमा सहभागी गराउन विद्यालय, अभिभावक तथा स्थानीय तहलाई सहकार्य गर्न आग्रह गरेको छ । नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । हरेक वर्ष एक हजार ३१३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा रहेको छ ।

महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको विज्ञहरू बताउँछन् । पाठेघरको मुखको क्यान्सर न्यूनीकरणतर्फ महत्त्वपूर्ण कदमका रूपमा हेरिएको यस अभियानले दीर्घकालीन रूपमा महिलाको स्वास्थ्य सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

मतदानस्थालको निरीक्षणसँगै सुरक्षाको व्यवस्थालाई बलियो बनाइँदै

चितवन। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई ख्याल गर्दै सशस्त्र प्रहरी बल नेपालले जिल्लाका तीन निर्वाचन क्षेत्रमा निर्वाचन सुरक्षा ‘बेस’ स्थापना गरी सुरक्षा दिन सुरुआत गरेको छ ।

तीन निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय लक्षित गर्दै सुरक्षा बेस स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार निर्वाचन प्रयोजनका लागि बेस स्थापना गरिएको हो । उहाँले भन्नुभयो, “निर्वाचनको समयमा हुनसक्ने घटनालाई मध्यनजर गर्दै बेस स्थापना गरिएको हो ।”

सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । क्षेत्र नं १ को खैरहनीमा, क्षेत्र नं २ को भरतपुर–१० मा र क्षेत्र नं ३ को रामपुरमा बेस स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

निर्वाचनको प्रयोजन सकिएसँगै बेसहरू हट्ने छन् । यससँगै जिल्लाको दुई स्थानमा नेपाली सेनाले सुरक्षा दिन थालनी गरेको छ । भरतपुर विमानस्थल र कारागार कार्यालयमा सेनाले सुरक्षा दिन थालेको उहाँले बताउनुभयो ।

जिल्लाको सुरक्षालाई मध्यनजर गर्दै अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको संयुक्त गस्तीसमेत सुरु गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले हामीले मतदानस्थालको निरीक्षणसँगै सुरक्षाको व्यवस्थालाई बलियो वनाउँदै लगेका छौँ ।”