`

तत्कालीन सरकार र जेनजी समूहबिचको सहमति सबैले स्वीकार गर्नुपर्छ : कानुनमन्त्री

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्कालीन सरकार र जेनजी समूहबिच भएका राजनीतिक सहमतिहरू सबैले स्वीकार गर्नुपर्ने बताएकी छन्।

प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा मन्त्री गौतमले जेनजी आन्दोलनपछि २०८२ मङ्सिर २५ गते जेनजी र नेपाल सरकारबिच सहमति भए बमोजिम सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलनका रूपमा स्वीकार गरेको स्पष्ट पारिन्। उनले सरकार र आन्दोलनकारीबिचको यो ऐतिहासिक एवं राजनीतिक दस्तावेजलाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिइन्।

राज्यबिचको सम्झौता अमान्य भए समाजमा फेरि अशान्ति र द्वन्द्व सिर्जना हुन सक्ने भन्दै मन्त्री गौतमले समाजमा शान्ति स्थापना गराउनु सबैको दायित्व भएको जिकिर गरिन्। शान्तिपूर्ण समाज निर्माणमा सबैको एकरूपता आवश्यक रहेकाले सहकार्य र समन्वयबाट शान्त र समृद्ध समाज निर्माणमा हातेमालो गर्नुपर्ने धारणा उनले राखिन्।

मन्त्री गौतमले भनिन्, ‘ठूलो राजनीतिक परिवर्तन र सामाजिक द्वन्द्वपछि भएका राजनीतिक सहमति दुई पक्षको कानुनी सम्झौता हो।’ देशलाई शान्तिपूर्ण बाटोमा फर्काउनका लागि तत्कालीन सरकारले गरेको सहमति सबैले अङ्गीकार गर्नुपर्ने बताउँदै जेनजी आन्दोलनलाई जनआन्दोलन भनेर तत्कालीन सरकारले स्वीकार गरेको अवस्था उनले स्मरण गराइन्।

बैठकमा मन्त्री गौतमले कैदीबन्दीहरूलाई उत्पादनमूलक कार्यमा लगाउनुपर्ने बताउँदै कारागार व्यवस्थापनको समग्र सुधारका लागि गठित अध्ययन समितिको प्रतिवेदनका आधारमा कारागार व्यवस्थापन सुधार गरिने उल्लेख गरिन्। प्रतिवेदनमा आएका सुझावका आधारमा कानुन सुधार गर्दै कार्यान्वयनलाई चुस्त बनाउने अभ्यासमा मन्त्रालय लागेको जानकारी उनले दिइन्। उनले गृह मन्त्रालयसँग समन्वय गरेर समयअनुकूलको परिस्कृत कारागार ऐन, २०७९ लाई संशोधन गर्न लागिएको समेत बताइन्।

कारागार व्यवस्थापन विभागको गत असार ११ गतेसम्मको तथ्याङ्क अनुसार १८ देखि ५९ वर्ष उमेर समूहका कैदीबन्दी २६ हजार २९ जना छन्। यस अनुसार राज्यलाई प्रत्येक वर्ष प्रतिकैदी रु एक लाख ३५ हजार खर्च लाग्छ। मन्त्री गौतमका अनुसार एक वर्षमा २६ हजार २९ जना कैदी पाल्न राज्यले रु तीन अर्ब ५१ करोड ३९ लाख १५ हजार खर्च गर्नुपर्ने अवस्था छ।

मन्त्री गौतमले कैदीलाई पाल्न राज्यले खर्च गर्नुभन्दा पनि अपराध कम गर्न, कैदीबन्दीको सक्रिय जीवनमा सहयोग गर्न, उत्पादन र सिर्जनामा जोड्ने जस्ता नीति निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइन्। कैदीबन्दीलाई समाज सुधारमा योगदान पुर्‍याउने वातावरण सिर्जना गर्न आवश्यक रहेकामा जोड दिँदै उनले यसका लागि उपयुक्त कानुन र नीति ल्याउनुपर्ने बताइन्।

बन्दीपुरका मानकाजी कसरी बने ५० लाख मूल्यको निजी वनका मालिक?

तनहुँ । तीन दशकअघि तनहुँको बन्दीपुर गाउँपालिका–१ का मानकाजी श्रेष्ठका लागि काठ नै जीविकोपार्जनको मुख्य आधार थियो। काठको व्यापार र उद्योगबाट परिवारको गुजारा चलिरहेको थियो। सुरुसुरुमा उद्योगका लागि चाहिने कच्चा पदार्थ अर्थात् काठ सहजै पाइन्थ्यो। त्यसैले एकदिन काठकै अभावमा आफ्नो उद्योग बन्द गर्नुपर्ने अवस्था आउला भन्ने उनले कल्पनासमेत गरेका थिएनन्। तर समय सधैँ एउटै रहेन। काठ पाउन जङ्गल चहार्नुपर्ने अवस्था आयो र बजारमा पनि आवश्यक परिमाणमा काठ पाउन कठिन हुन थाल्यो।

अन्ततः कच्चा पदार्थको अभावमा उनको काष्ठ उद्योग बन्द हुने अवस्थामा पुग्यो। उद्योग बन्द हुने पीडाले उनलाई निराश मात्र बनाएन, आफ्नै तरिकाले समस्या समाधान गर्ने अठोट पनि जन्मायो। श्रेष्ठ भन्छन्, ‘काठ नै नपाएर उद्योग बन्द गर्नुपर्ने अवस्था अरूलाई नआओस् भन्ने लाग्यो। त्यसपछि आफैँ रुख रोप्छु, आफ्नै वन बनाउँछु भन्ने सोच आयो।’ त्यही सोचले उनलाई व्यवसायीबाट वन उद्यमीतर्फ डोहोर्‍यायो।

कृषि उत्पादनका लागि उर्वर मानिएको आफ्नो १२ रोपनी जग्गामा मानकाजीले सालका बिरुवा रोप्न थाले। खेतीयोग्य जमिनमा रुख रोप्न थालेपछि कतिपयले उनको निर्णयको आलोचनासमेत गरे। कृषि उब्जनी हुने जग्गा किन वन बनाउन लागेको भन्दै प्रश्न उठे पनि मानकाजी आफ्नो निर्णयबाट पछि हटेनन्। बुबाको साथ र आफ्नै इच्छाशक्तिले उनलाई अघि बढायो। वर्षौंअघि रोपिएका ती साना बिरुवा अहिले ठूला रुख बनिसकेका छन्।

बिहानको समय आफ्नै हातले हुर्काएको वनमा बिताउँदा मानकाजीलाई आज पनि उत्तिकै आनन्द लाग्छ। श्रेष्ठ भन्छन्, ‘बिरुवा रोप्ने पहिल्यैदेखिको मेरो रुचि र काठ उद्योगमा कच्चा पदार्थ नपाउँदाको पीडाले मलाई वन आफैँ बनाउनुपर्छ भन्ने लाग्यो।’ उनले थपे, ‘त्यसपछि निजी वनमा सालका रुख लगाउन सुरु गरेको हुँ, अहिले त एभोकाडो र कागती पनि लगाएको छु।’ अहिले हरेक बिहान आफैँले बनाएका वनको हरियाली हेर्दै स्वच्छ हावाबाट श्वास फेर्दै चिरबिरचिरबिर चराचुरुङ्गीको आवाजमा हराउँदा उनलाई अझै बढी आनन्द आउने गरेको छ।

केही वर्षअघि लगाइएका बिरुवा अहिले रुख बनिसकेका छन्। त्यसपछि अहिले थप ३० रोपनी जग्गामा एभोकाडो र कागतीका बोट लगाइएको छ। मानकाजीका लागि हरित अर्थतन्त्र उत्पादनको स्रोत बनेको छ, उनको निजी वन। त्यसबेला उनलाई आजजस्तो वनबाट आम्दानी लिन सकिन्छ भन्ने लागेको थिएन तर सानैदेखि बिरुवा लगाउने, हरियालीमा गएर बस्न र खेल्न मन पराउने उनको स्वभाव थियो। त्यही प्रकृतिको मोहले उनलाई वन उद्यमी बनायो।

पहिला पहिला वनलाई घाँसदाउरा लिन सहज हुन्छ भनेर लगाउने गरिन्थ्यो। वन जीविकोपार्जनमुखी थियो भने अब व्यवसायीमुखी बन्दै जान थालेको छ। मानकाजी भन्छन्, ‘अहिले त म काठमाडौँमा छु, तर मलाई कहिले घर पुगेर आफ्नो वन वरपर घुमौँ जस्तो भइसक्यो।’ उनले थपे, ‘वरपर घुम्दा पनि एकदमै रमाइलो लाग्छ।’

रुखको सङ्ख्या यकीन गर्न उनलाई नै गाह्रो छ। श्रेष्ठका अनुसार अहिले वनमा रहेका रुखको मूल्य मात्रै हेर्दा लाखौँ रुपैयाँ बराबरको सम्पत्ति तयार भएको छ। श्रेष्ठ भन्छन्, ‘रुखहरू त थुप्रै छन्, गनेर साध्य नै छैन।’ उनले अगाडि भने, ‘अहिले राम्रोसँग काटेर बेच्न पाउने व्यवस्था भयो भने आधा करोड मूल्य बराबरका रुख बेच्न मिल्ने अवस्थामा छन्।’ एउटा रुख काट्दा त्यसको ठाउँमा नयाँ रुख हुर्काउने र वनलाई निरन्तर उत्पादनशील बनाइराख्ने उनको सोच छ। उनले सोधे, ‘यदि १० वटा रुख काटियो भने २० वटा त हुर्काउनुपर्‍यो नी !’

बुबाको प्रभावले बनायो वन उद्यमी
उनका बुबाको पालादेखि नै घर वरिपरि विभिन्न प्रजातिका रुखबिरुवा रोप्ने गरिएको थियो। त्यसैको प्रभाव आफूमा पनि परेको श्रेष्ठको भनाइ छ। उनी भन्छन्, ‘घर वरिपरि पनि रुखबिरुवा रोप्न असाध्यै मन लाग्थ्यो, बुबाहरूको पालादेखि नै रुखबिरुवा रोपिराख्नुहुन्थ्यो।’ पछि उनी आफैँ काष्ठ उद्योगमा जोडिए। उनका अनुसार २०४६/४७ सालतिरै काष्ठ उद्योग सञ्चालनमा थियो।

उद्योगका लागि काठ आवश्यक पर्न थालेपछि जङ्गल खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्न आफैँ बिरूवा रोप्न अग्रसर भएका हुन् मानकाजी। काठको आवश्यकता र वनसँगको आफ्नो रुचि जोडिँदै गएपछि श्रेष्ठले आफ्नै जग्गामा रुख हुर्काउने योजनालाई बुबाले साथ दिए। आफ्नै जग्गामा सुरूमा साल र सिसौलगायतका रुख रोप्न थालिएको हो।

सालको वनमा लाखौँको सम्भावना
श्रेष्ठको निजी वनमा प्रायः सालका रुख छन्। उनले लामो समयदेखि सालका रुख संरक्षण गर्दै आएका छन्। वनमा रहेका सालका रुख हुर्किसकेका छन् भने झरेका सालका पात पनि ठूलो परिमाणमा छन्। श्रेष्ठको वन उद्यमबाट आर्थिकोपार्जनको सपना काठमा मात्र सीमित छैन। सालको पातबाट दुनाटपरी उत्पादन गर्ने योजना पनि उनको छ।

सालको पातलाई सामान्यतया वनमा झरेर कुहिने वस्तुका रूपमा हेर्ने गरिए पनि उनले त्यसलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिने सम्भावना देखेका छन्। दुनाटपरी उत्पादनका लागि आवश्यक मेसिन, लागत र बजारबारे अध्ययन गरेर स्थानीयलाई रोजगारी दिने उनको योजना छ। उनी भन्छन्, ‘सालका पातबाट दुनाटपरी बनाउने र स्थानीयलाई रोजगारी दिने मेरो इच्छा छ।’

वनमा उत्पादन हुने हरेक वस्तुलाई आर्थिक मूल्यमा रूपान्तरण गर्ने श्रेष्ठको योजना प्रशंसनीय छ। सालको रुखबाट काठसँगै पात अर्को उत्पादन बन्न सक्छ भने फलफूलले थप आम्दानी दिन सक्छ। यसरी एउटै वन स्रोतबाट विभिन्न प्रकारका आर्थिक गतिविधि सिर्जना गर्न सकिने उनको सोच छ। वन हुर्काउन वर्षौं लाग्छ। बिरुवा रोपेको केही समयमै आम्दानी आउँदैन। संरक्षण, गोडमेल, व्यवस्थापन र लामो प्रतीक्षापछि मात्रै रुखले आर्थिक मूल्य प्राप्त गर्छ। श्रेष्ठ निजी वनलाई दीर्घकालीन लगानीका रूपमा बुझ्नुपर्ने बताउँछन्।

उनी भन्छन्, ‘रुख हुर्काउनेलाई प्रोत्साहन चाहिन्छ, र काटेर बजारमा बेच्न सहज रूपमा जहिले जतिबेला पनि आउने कानुन व्यवस्था भएमा अझै उत्साह बढ्छ।’ उनले थपे, ‘आफैँले रोपेको बिरुवा आफैँले काट्न पाइएन भने त उत्साह पनि हुँदैन नी।’

श्रेष्ठको गुनासो भने निजी वनको उत्पादन बजारसम्म लैजाने क्रममा देखिने प्रक्रियागत झन्झटिलोपनमा छ। उनका अनुसार निजी वनसम्बन्धी कानुनी व्यवस्था भए पनि व्यवहारमा रुख कटान तथा उपयोगका क्रममा विभिन्न प्रक्रिया र अवरोधले निजी वनधनीलाई निरुत्साहित बनाउने गरेको छ। उनी भन्छन्, ‘निजी वनमा राम्रो सम्भावना छ, तर सरकारी सम्बन्धित निकायबाट अझै सहज वातावरण बन्नुपर्छ।’

श्रेष्ठ निजी वनमा लामो समय श्रम र लगानी गरेका व्यक्तिलाई प्रोत्साहन गर्नुपर्ने पक्षमा छन्। निजी वनबाट उत्पादन हुने काठ तथा अन्य वन पैदावारलाई व्यवस्थित रूपमा बजारमा लैजान सकिएमा यसले आयात घटाउन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने उनको विश्वास छ।

नेपालमा ठूलो मात्रामा वन स्रोत रहे पनि त्यसको उपयोगबाट पर्याप्त आर्थिक लाभ लिन नसकिएको मानकाजी बताउँछन्। उनी भन्छन्, ‘वनपैदावार निजी वनमा छन्, सामुदायिक वनमा छन्, कबुलियती वनमा छन्, तर व्यवस्थापनसम्बन्धी राम्रो नीति नहुँदा धेरै वन पैदावार कुहिएर जाने अवस्था छ।’

बाँदरबाट जोगाउन एभोकाडो
वनसँगै मानकाजीले विभिन्न फलफूलका बिरुवा लगाउने योजना बनाए। तर पछिल्लो समय बाँदरले हैरानी बनायो। घरघर आएर तरकारी, फलफूल तथा अन्य कृषि बालीमा हानि गर्न थाल्यो। बाँदरको समस्याबाट जोगाउन उनले एभोकाडो रोप्ने योजना बनाए। श्रेष्ठ भन्छन्, ‘अन्य फलफूल खेती गरौँ भने बाँदरबाट जोगाउनै नसकिने। एभोकाडो चाहिँ बाँदरले नखाने रहेछ, विस्तारै हामीले बाँदरले नखाने खेतीको विकल्प खोज्नुपर्ने बेला आएको छ।’

राजकाँडा–डुडेझारीमा प्याराग्लाइडिङको सम्भावना, आकाशबाट खुल्दै पर्यटनको नयाँ बाटो

कैलाली । बिहानको पहिलो घाम चुरेका डाँडामाथि फैलिएको छ। तल कर्णाली नदीको नीलो घुम्ती, छेवैमा बर्दियाको घना जङ्गल र टाढासम्म देखिने कैलालीको समथर भूभाग। पाइलटले हावाको दिशा नियाल्दै प्याराग्लाइडरको ‘क्यानोपी’ फुकाउँछ।

केही सेकेन्डमै उनी जमिनबाट छुट्टिएर आकाशतिर उक्लिन्छन्। तलका गाउँहरू साना बिन्दुमा बदलिन्छन् र कर्णाली नदी चाँदीको धर्सो झैँ देखिन्छ। नदीले बनाएका टापु, चुरेका हरिया डाँडा, थारू बस्ती र तराईका फाँट आँखैअगाडि फैलिन्छन्।

यो दृश्य हाल कल्पनामा मात्र सीमित छ तर कैलालीको राजकाँडा–डुडेझारी क्षेत्रमा गरिएको पूर्वसम्भाव्यता अध्ययनले यही कल्पनालाई व्यावहारिक सम्भावनाका रूपमा अघि सारेको छ। सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरेको उक्त अध्ययनले यहाँ प्याराग्लाइडिङ सञ्चालनका लागि भौगोलिक, प्राविधिक, मौसम, वातावरणीय तथा पर्यटनका आधार रहेको निष्कर्ष निकाल्दै सम्भावित उडान र अवतरण क्षेत्रसमेत पहिचान गरेको छ।

अध्ययनले प्याराग्लाइडिङलाई एउटा साहसिक खेलका रूपमा मात्र नभई निर्माणाधीन जाल्पादेवी केबुलकार, कर्णाली नदी, चिसापानी, टीकापुर पार्क, थारू संस्कृति, होमस्टे र बर्दिया राष्ट्रिय निकुञ्जलगायत गन्तव्यसँग जोड्न सके कर्णालीवारी नयाँ पर्यटन ‘सर्किट’ निर्माण गर्न सकिने सम्भावना औँल्याएको छ।

अध्ययनले देखाएको आकाश
प्याराग्लाइडिङका लागि आकाश मात्र पर्याप्त हुँदैन। भूगोल, हावाको अवस्था, उडान दूरी, ‘टेकअफ–ल्यान्डिङ’ क्षेत्र र सुरक्षा सबैको संयोजन आवश्यक हुन्छ। यही आधारमा गरिएको अध्ययनले कैलालीको राजकाँडा–डुडेझारी क्षेत्रलाई सम्भावनायुक्त देखाएको हो।

अध्ययन प्रतिवेदन अनुसार मोहन्याल गाउँपालिका–७ स्थित राजकाँडाको मालिका/जाल्पादेवी मन्दिर आसपासको भिरालो क्षेत्र वा हात्तीढुङ्गालाई सम्भावित उडान क्षेत्रका रूपमा पहिचान गरिएको छ। चुरे पहाडको टाकुरामा रहेको यो क्षेत्रमा लम्की बजारबाट कच्ची मोटरबाटो तथा चिसापानीबाट पैदलमार्ग हुँदै पुग्न सकिन्छ। हाल चिसापानीबाट यस क्षेत्रमा पुग्ने जाल्पादेवी केबुलकार निर्माणाधीन छ।

अवतरणका लागि लम्कीचुहा नगरपालिका–३ को डुडेझारी क्षेत्र प्रस्ताव गरिएको छ। खुला भूभाग र उडान क्षेत्रसँगको भौगोलिक अवस्थाले यहाँ प्याराग्लाइडिङका लागि आवश्यक आधार रहेको अध्ययनको निष्कर्ष छ। चुरे पर्वत र कर्णाली नदी उपत्यकाको भौगोलिक संरचनाका कारण ‘भ्याली विन्ड’, ‘रिज लिफ्ट’ र ‘थर्मल एक्टिभिटी’ जस्ता हावाका अवस्था सिर्जना हुन सक्ने देखिएको छ। तर ‘टर्बुलेन्स’, ‘रोटर इफेक्ट’ र ‘विन्ड सियर’को जोखिम रहेकाले विभिन्न मौसममा परीक्षण उडान र थप प्राविधिक अध्ययन आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ।

अध्ययन टोली प्रमुख प्राडा प्रेम शर्मा सम्भाव्यता देखिनु र व्यावसायिक उडान सुरु हुनुबिच अझै महत्त्वपूर्ण चरण बाँकी रहेको बताउँछन्। उनी भन्छन्, ‘अध्ययनले सम्भावनाको आधार देखाएको छ।’ उनले थपे, ‘व्यावसायिक रूपमा काम अगाडि बढेमा यहाँको सम्भावना अवसरमा बदलिन सक्छ।’

सम्भावना केवल उडानको होइन
नेपालको पर्यटनमा हिमाल, पदयात्रा, जलयात्रा, धार्मिक तथा प्राकृतिक गन्तव्यले प्रमुख स्थान ओगटेका छन्। पोखरा क्षेत्रले प्याराग्लाइडिङलाई पर्यटनको महत्त्वपूर्ण आधार बनाइसकेको छ तर पश्चिम नेपालका धेरै प्राकृतिक सम्भावना अझै चर्चामै सीमित छन्।

सुदूरपश्चिममा कर्णाली र महाकालीजस्ता नदी, चुरेका वन, जैविक विविधता, धार्मिक तथा सांस्कृतिक सम्पदा प्रशस्त छन्। यी सबैलाई जोडेर पर्यटकको बसाइँ लम्ब्याउने साहसिक गतिविधि सञ्चालन हुन सकेका छैनन्। यही अभावबिच राजकाँडा–डुडेझारीको प्याराग्लाइडिङले नयाँ सम्भावना देखाएको अध्ययन कम्पनी सिके रिसर्च एण्ड ग्रिनरी प्रमोशन प्रालिका कार्यकारी निर्देशक छिन्दुम भोटेले बताए।

प्याराग्लाइडिङ पाइलट तथा ‘इन्स्ट्रक्टर’ रामप्रसाद राईका अनुसार यहाँको प्राकृतिक दृश्य आफैँमा पर्यटन उत्पादन बन्न सक्ने आधार हो। राई भन्छन्, ‘माथिबाट हेर्दा कर्णालीको बनोट सप्तकोशी जस्तै छ, नदीले बनाएको दृश्य र डाँडावरिपरिको दृश्य निकै मनमोहक छ।’ उनले थपे, ‘त्यसलाई चिन्न सक्नुपर्छ र व्यावसायिक योजना अगाडि सार्नुपर्छ, जसले स्थानीय अर्थतन्त्रलाई एउटा महत्त्वपूर्ण आकार दिन सक्छ।’

प्याराग्लाइडिङको वास्तविक सम्भावना उडानपछि सुरु हुने आर्थिक गतिविधिमा देखिन्छ। पाइलट, प्रशिक्षक, गाइड र ग्राउन्ड स्टाफ प्रत्यक्ष रोजगारीका क्षेत्र हुन्। होटल, होमस्टे, यातायात, रेस्टुरेन्ट, फोटोग्राफी, हस्तकला, कृषि तथा स्थानीय उत्पादनको बजार विस्तार भने अप्रत्यक्ष लाभका क्षेत्र हुन्। राई भन्छन्, ‘चिसापानी पर्यटनको केन्द्र बन्ने सम्भावना देख्छु।’ उनले अगाडि थपे, ‘यसले आन्तरिक पर्यटक मात्रै होइन, छिमेकी भारतबाट पनि साहसिक पर्यटकलाई आकर्षित गर्न सक्छ।’ उनले स्पष्ट पारे, ‘एउटा नीति तथा योजना बनाएर काम गरेमा यहाँको आकाशले रोजगारी सिर्जना र अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रो निष्कर्ष हो।’

मोहन्याल गाउँपालिका–७ का वडाध्यक्ष नवराज कठायत व्यावसायिक प्याराग्लाइडिङ सञ्चालन भए स्थानीयस्तरमा रोजगारी र आम्दानीको नयाँ आधार बन्न सक्ने बताउँछन्। उनी भन्छन्, ‘समुदायको सहभागितामा यस योजनालाई अघि बढाउन सके मोहन्याललगायत यस क्षेत्रको सामाजिक–आर्थिक रूपान्तरणमा टेवा पुग्ने हाम्रो विश्वास छ।’

लम्कीचुहा नगरपालिका–३ का अध्यक्ष लबबहादुर शाही पनि प्याराग्लाइडिङलाई जल पर्यटन, केबुलकार र राष्ट्रिय निकुञ्जको सफारीसँग जोडेर समग्र पर्यटन विकासका रूपमा अघि बढाउनुपर्ने बताउँछन्। शाही भन्छन्, ‘सम्भावनाको कुरा मात्रै गरेर हुँदैन, प्रदेश सरकारले त्यसको सार्थकताका लागि बाँकी काम अघि बढाउनुपर्छ।’ उनले प्रतिबद्धता जनाए, ‘त्यसमा स्थानीयस्तरमा सहयोग गर्न हामी तयार छौँ।’

उडान एउटा, गन्तव्य धेरै
राजकाँडा–डुडेझारीको प्याराग्लाइडिङको ठूलो सम्भावना यसलाई छुट्टै गतिविधिका रूपमा नभई वरपरका गन्तव्य जोड्ने पर्यटन उत्पादनका रूपमा विकास गर्नुमा देखिन्छ। राजकाँडाबाट उडान गर्दा कर्णाली नदी, चिसापानी, चुरेका वन, तराईका फाँट र बस्तीको दृश्यावलोकन गर्न सकिन्छ। त्यसमा जाल्पादेवी मन्दिर र केबुलकार, चिसापानीको र्‍याफ्टिङ, कायाकिङ तथा अन्य जल पर्यटन, टीकापुर पार्क, थारू संस्कृति, होमस्टे र स्थानीय परिकार जोड्न सकिन्छ।

पश्चिमतर्फ घोडाघोडी ताल र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म पर्यटन सञ्जाल विस्तार गर्न सकिने सम्भावना रहेको अध्ययन टोली प्रमुख प्राडा शर्मा बताउँछन्। उनी भन्छन्, ‘कर्णाली पुल, कर्णाली नदी, बर्दिया राष्ट्रिय निकुञ्ज, मोहना नदीका डल्फिन, थारू संस्कृति, टीकापुर पार्क, स्थानीय परिकारदेखि शुक्लाफाँटाको बाह्रसिङ्गेसम्मलाई जोडेर पर्यटकीय सञ्जाल विस्तार गर्न सकिन्छ।’

यसरी एउटा प्याराग्लाइडिङ उडान बहुदिने पर्यटन ‘प्याकेज’मा बदलिन सक्छ। पर्यटक उडेर फर्किने मात्र होइन, केबुलकार चढ्ने, मन्दिर जाने, नदीमा रमाउने, होमस्टेमा बस्ने, स्थानीय खाना खाने र स्थानीय उत्पादन खरिद गर्ने अवस्थामा पुग्न सक्छ। यसले पर्यटकको बसाइँसँगै स्थानीय बजारमा हुने खर्च पनि बढाउन सक्छ। लम्कीचुहा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपककुमार तिमिल्सिना पर्यटकको बसाइँ र स्थानीय बजार विस्तार हुने भएकाले यस क्षेत्रमा निजी लगानी बढाउनुपर्ने बताउँछन्।

केबुलकारसँगै नयाँ पर्यटन उत्पादन
राजकाँडा–डुडेझारीको प्याराग्लाइडिङ सम्भावनालाई निर्माणाधीन जाल्पादेवी केबुलकारले थप अर्थपूर्ण बनाएको छ। केबुलकार र प्याराग्लाइडिङ एउटै पर्यटन उत्पादनका दुई फरक अनुभव बन्न सक्छन्—एउटाले पर्यटकलाई पहाडको टाकुरासम्म पुर्‍याउने र अर्कोले त्यही उचाइबाट आकाशको यात्रा गराउने। जाल्पादेवी केबुलकार प्रालिका अध्यक्ष चन्द्रराज ढकाल सरकारले प्राविधिक तथा नीतिगत आधार तयार गरे निजी क्षेत्र सहकार्यका लागि तयार रहेको बताउँछन्। ढकाल भन्छन्, ‘सरकारले नीति बनाउने, निजी क्षेत्रले लगानी गर्ने र स्थानीय समुदायले अपनत्व लिने अवस्था बनेमा सम्भावनालाई अवसरमा बदल्न सकिन्छ।’ उनले थपे, ‘अहिले त्यहाँ जाने आधार तयार गर्न हामी केबुलकार निर्माणको अन्तिम चरणमा छौँ, त्यसपछि तीनै पक्ष मिलेर सम्भावित थप क्रियाकलाप गर्न सकिन्छ।’

कार्यकारी निर्देशक भोटे पनि केबुलकारसँग सहकार्य गरेर व्यावसायिक उडानका लागि काम हुन सके थोरै लगानीमा छिट्टै लाभ लिने अवस्था बन्ने बताउँछन्। भोटे भन्छन्, ‘प्रदेश सरकारले नीतिगत, प्राविधिक र कानुनी आधार तयार गरिदिएमा हाल सञ्चालनमा रहेको केबुलकारसँगै सहकार्य गरेर छिटो काम हुन सक्छ।’ उनले अगाडि भने, ‘त्यसले केबुलकार चढेर गएको मान्छे, प्याराग्लाइडिङ चढेर फर्किने, जङ्गल सफारी, कर्णालीमा र्‍याफ्टिङ गरेर एउटै यात्रामा मनोरञ्जन लिने अवसर छ, त्यसको उपयोग गर्न सक्नुपर्छ।’

अब कार्यान्वयनको पालो
सम्भाव्यता अध्ययनले आकाश देखाएको छ। निजी क्षेत्रले लगानीको इच्छा देखाएको छ। स्थानीय तहले रोजगारी र पर्यटन विकासको सम्भावना देखेका छन्। निर्माणाधीन केबुलकारले पूर्वाधारको अर्को आधार थप्दैछ, तर यी सबै सम्भावनालाई व्यावसायिक पर्यटनमा बदल्न अब कार्यान्वयनको चरण सुरु गर्नुपर्नेछ। प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख डबलबहादुर बोहराका अनुसार व्यावसायिक उडानअघि पूर्वाधार, सुरक्षा प्रणाली, मौसमसम्बन्धी थप तथ्याङ्क, परीक्षण उडान, दक्ष पाइलट, हवाई क्षेत्रसम्बन्धी स्वीकृति र आपत्कालीन व्यवस्थापन सुनिश्चित गर्नुपर्नेछ।

विस्तृत लागत–लाभ विश्लेषण र वित्तीय प्रक्षेपणसहित थप अध्ययन पनि आवश्यक रहेको उनको भनाइ छ। बोहरा भन्छन्, ‘सुरक्षित उडानका लागि स्पष्ट नीति, टेकअफ–ल्यान्डिङ क्षेत्र व्यवस्थापन, आपत्कालीन उद्धार प्रणाली, बीमा, हवाई क्षेत्रसम्बन्धी स्वीकृति र दक्ष जनशक्ति आवश्यक छ।’ उनले थपे, ‘निजी क्षेत्रसँग साझेदारीको स्पष्ट ढाँचा र स्थानीय समुदायको क्षमता विकास पनि उत्तिकै महत्त्वपूर्ण छ, त्यसमा थप काम गर्छौँ।’

उद्योग वाणिज्य सङ्घका अध्यक्ष तिमिल्सिना स्थानीय समुदायको जीवन र सुदूरपश्चिमको पर्यटन अर्थतन्त्रमा योगदान पुग्ने गरी निजी क्षेत्र र सरकारले आवश्यक सहकार्य गरी चाँडै पूर्वाधार निर्माण र लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउँछन्। तिमिल्सिना भन्छन्, ‘पर्यटक आएर मात्र अर्थतन्त्र बन्दैन।’ उनले थपे, ‘पर्यटकले गर्ने खर्च स्थानीय होटल, होमस्टे, यातायात, खाना, गाइड, हस्तकला र कृषि उत्पादन हुँदै समुदायभित्र कति समय र कति तहसम्म घुम्छ भन्ने कुराले वास्तविक लाभ निर्धारण गर्छ, त्यसको तयारीका लागि पनि सहकार्य आवश्यक छ।’

सुदूरपश्चिम लामो समयदेखि प्राकृतिक सम्भावना भएर पनि पर्यटनको मूल प्रवाहबाट टाढा रहँदै आएको छ। राजकाँडा–डुडेझारीको अध्ययनले भने कर्णालीको किनारदेखि चुरेको टाकुरासम्म पर्यटनको नयाँ सम्भावनालाई आकाशसँग जोडेको छ। अब सरकार, निजी क्षेत्र र समुदाय एउटै दिशामा अघि बढ्न सके सुदूरपश्चिमको आकाशमा उड्ने प्याराग्लाइडर केवल साहसिक पर्यटनको साधनमा सीमित हुनेछैन। त्यो स्थानीय रोजगारी, लगानी, बजार र पर्यटन सर्किट जोड्ने नयाँ पर्यटन अर्थतन्त्रको उडान बन्न सक्छ।

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौँ । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकसम्म रु चार अर्ब ५५ करोड ६८ लाख खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद मुनाफा ६०.६८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद मुनाफा रु दुई अर्ब ८३ करोड ६० लाख थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार कर्जा लगानी र आम्दानीमा भएको उत्साहजनक वृद्धि तथा सम्भावित जोखिमका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज घटेका कारण खुद मुनाफा बढेको हो ।

आर्थिक वर्ष २०८२/८३ मा बैंकको खुद ब्याज आम्दानी रु ११ अर्ब ९६ करोड ६१ लाख पुगेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १७.८५ प्रतिशतले बढी हो । त्यसैगरी बैंकको कूल सञ्चालन आम्दानी रु १३ अर्ब १८ करोड ५५ लाखबाट १४.१९ प्रतिशतले बढेर रु १५ अर्ब पाँच करोड ६६ लाख पुगेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिए ।

बैंकको खुद सञ्चालन नाफा (करअघिको) रु तीन अर्ब ९४ करोड २० लाखबाट ६४.२६ प्रतिशतले बढेर रु छ अर्ब ४७ करोड ५३ लाख पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा वितरणयोग्य मुनाफा नरहेकोमा आर्थिक वर्ष २०८२/८३ मा रु एक अर्ब सात करोड ६९ लाख वितरणयोग्य मुनाफा रहेको छ ।

गत असार मसान्तसम्म बैंकको कूल समग्र आम्दानी रु तीन अर्ब ९० करोड ८९ लाख रहेको छ । प्रमुख कार्यकारी अधिकृत खनालका अनुसार सोही अवधिमा बैंकको कूल निक्षेप रु छ खर्ब ८६ अर्ब १३ करोड तथा खुद कर्जा तथा सापट रु तीन खर्ब ४० अर्ब ३३ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेप ३७.११ प्रतिशत र कर्जा तथा सापट १२.५० प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय वाणिज्य बैंकको २०८३ असार मसान्तसम्म पुँजी कोष अनुपात ११.४० प्रतिशत, कर्जा तथा निक्षेप अनुपात ५०.८७ प्रतिशत र असारको आधारदर ४.२० प्रतिशत रहेको छ । बैंकको त्रैमासिक औसत आधार दर ४.२२ प्रतिशत रहेको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात (NPA) ३.९५ प्रतिशत, ब्याजदर अन्तर (Spread Rate) ३.३७ प्रतिशत, कोषको लागत दर (Cost of Fund) २.९६ प्रतिशत तथा प्रतिसेयर आम्दानी रु २९.१४ रहेको छ ।

हाल उक्त बैंकले देशका सातै प्रदेशका ७७ वटै जिल्लाबाट वित्तीय सेवा प्रवाह गरिरहेको छ । ग्रामीणदेखि सहरी क्षेत्रसम्म फैलिएको बैंकका ३१६ वटा शाखा कार्यालय, ३३५ वटा एटिएम तथा एक लाख ४८ हजार क्यूआर मर्चेन्ट सञ्चालनमा रहेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिए ।

उनका अनुसार बैंकले २० लाख ६२ हजार मोबाइल बैंकिङ प्रयोगकर्तासहित कूल ४८ लाख ७० हजार ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । समयसापेक्ष ग्राहकको माग बमोजिम परिष्कृत सेवा दिइरहेको बैंक सबैभन्दा बढी सरकारी कारोबार गर्ने र सबैभन्दा बढी क्यूआर मर्चेन्ट कारोबार गर्ने बैंकका रूपमा राष्ट्रियस्तरमा पुरस्कृतसमेत भइसकेको छ ।

‘हामी काम गर्नकै लागि आएका हौँ, पूर्वाधारका समस्या समाधान गर्छौँ’ : मन्त्री लम्साल

कैलाली । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।सुदूरपश्चिम प्रदेशमा पूर्वाधार निर्माणको अवस्थाबारे अनुगमनका लागि यहाँ आएका उनले शुक्रबार धनगढीमा नेता तथा कार्यकर्तामाझ पालीका केन्द्रसम्म पक्की र जिल्ला केन्द्रसम्म दुईलेन सडक बनाउने गरी बजेटको व्यवस्था गरिएको जानकारी दिए। त्यसका लागि सुदूरपश्चिममा ३१४ किलोमिटर सडक निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिएको उनले बताए।

यस्तै, सघन सहरी कार्यक्रमअन्तर्गत सहरी सडक निर्माण तथा मर्मतमा पर्याप्त बजेट रहेको र तीन वर्षमा तीन हजार पुल निर्माण गर्ने कार्यक्रमअन्तर्गत सुदूरपश्चिममा पनि विभिन्न योजना कार्यान्वयन गरिने उनले उल्लेख गरे। मन्त्री लम्सालले सुदूरपश्चिममा अत्यावश्यक पूर्वाधार निर्माणका योजना ल्याएर आफूकहाँ आउन आग्रहसमेत गरे।

“मेरो नेतृत्वमा रहेको मन्त्रालय मात्रै होइन सुदूरपश्चिमको विकासका लागि अरु मन्त्रालयअन्तर्गत रहेका योजना कार्यान्वयनका लागिसमेत सहजीकरण गर्न तयार छु । हामी काम गर्नकै लागि आएका छौँ, अत्यावश्यक पूर्वाधरलगायत अन्य क्षेत्रमा देखिएका समस्या समाधान गर्छौँ”, मन्त्री लम्सालले भने।

मन्त्री लम्सालले पाँच दिनसम्म सुदूरपश्चिमका सबै जिल्ला तथा क्षेत्रमा रहेका विभिन्न पूर्वाधारको अनुगमन, स्थानीय समस्या पहिचान र समाधानको पहलबारे जानकारी लिने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ।

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले सडक अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले आज बिहान ९ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने विपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीलाई मध्यनजर गर्दै राति १८ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सम्पूर्ण सवारीसाधनको आवतजावत रोक लगाइएको छ । बिहान ४ः०० बजेदेखि बेलुका १८ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुने जनाइएको छ ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति सवारीसाधनको आवतजावत रोकिएको छ । उक्त सडकमा बेलुका १७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलो भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक भने सञ्चालनमा छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलोमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इकुमा ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ । सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेशी जाने कच्ची सडक त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोले अवरुद्ध भएको छ ।

बाजुरा पहिरो अपडेटः बेपत्ता र घाइतेको पहिचान खुल्यो

बाजुरा – बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका र घाइतेको पहिचान खुलेको छ ।

बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापा रहेकी छिन् । पहिरोमा परेर स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार थापाको बायाँ खट्टा र शरीरमा तथा रावलको टाउको, खुट्टा र शरीरमा चोट छ । घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको उनले बताए ।

अविरल वर्षापछि पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रुपमा क्षति भएको छ । पहिरोले पुरिएर थापाकी छोरी प्रतीक्षा बेपत्ता छिन् ।

उनको खोजी गर्न प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली खटिएको । खोजी कार्य तथा उद्धारमा सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय समेत खटिएका छन् ।

सरकारको कार्यशैलीप्रति अमरेश सिंहको असन्तुष्टि – ‘राज्यका संस्थालाई कमजोर बनाएर कसरी समृद्धि आउँछ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद डा. अमरेशकुमार सिंहले देशभरका सार्वजनिक संस्था तथा सरकारी निकायमाथि हस्तक्षेप भइरहेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सिंहले सेना, प्रहरी र कर्मचारीको मनोबल गिराउने काम भइरहेको दाबी गरेका हुन्। उनले सांसदहरूका पछिल्ला अभिव्यक्तिले संसद्कै गरिमामाथि प्रश्न उठ्ने अवस्था आएको पनि टिप्पणी गरेका छन्।

सिंहले व्यापारिक क्षेत्रमाथि भइरहेको धरपकडका कारण व्यवसायीहरू त्रसित बनेको बताएका छन्। त्यस्तै नेपालको परराष्ट्र नीतिप्रति समेत अन्तर्राष्ट्रिय स्तरमा विश्वासको संकट अर्थात् ‘ट्रस्ट डेफिसिट’ देखिएको उनको दाबी छ।

उनले लेखेका छन्, ‘देशैभरका सार्वजनिक संस्था, सरकारी निकायमाथि हस्तक्षेप, सेना, प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको छ। सांसदहरूको वक्तव्य यस्तो कि सम्मानित संसद्कै बेइज्जती भइरहेको छ।’

उनले लेखेका छन् -देशैभरको सार्वजनिक संस्था ,सरकारी निकाय माथी हस्तक्षेप,सेना प्रहरी र कर्मचारीको हुर्मत लिने काम भैरहेको छ।सांसदहरु को बक्तब्य यस्तो कि समानित संसदकै बेइज्जती भैरहेको छ। ब्यापारी हरु को धडपकड ले ब्यापारीहरु त्रसित छन। परराष्ट्र नीति त झन्न यस्तोकि कसैले बिश्वास गरिरहेको छैन (Trust deficit )। के समृद्धि र सुशासनको रोडम्याप यहि हो? कि राज्यलाई अझै पछाडी धकेल्ने काम भैरहेको छ? सोच्ने बेला भएको छैन?

मोदी खोलामा बाढी, अन्नपूर्ण मन्दिरमा पुजारीसहित तीन जना जोखिममा

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाईजुङस्थित मोदी खोलामा आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बस्दै आएका तीन जना जोखिममा परेका छन् ।

गए राति परेको अविरल वर्षाका कारण मोदी खोलामा पानीको बहाव बढेपछि खोलाको बीचमा ढिस्कोमा रहेको मन्दिरमा रहेका पुजारीसहित तीन जना खोलाको बीचमा फसेका हुन् । उनीहरूको नामथर र ठेगाना भने खुल्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले बताए ।

“मन्दिरको दुवैतर्फको मेटलको दुई वटा पुल बगाएपछि मन्दिरमा बसेका तीन जना फसेको खबरपछि उद्धारको तयारी भइरहेको छ, सशस्त्र प्रहरी बल उद्धार सामग्रीसहित अहिले घटनास्थलमा पुगिसकेको छ”, सहायक प्रजिअ बरालले भने । उनका अनुसार घटनाको जानकारी पाएपछि गए राति १ः२७ बजे प्र्रहरीचौकी नयाँपुलबाट प्रहरी सहायक निरीक्षक रमेश अधिकारीको नेतृत्वमा चार जनाको टोली उद्धारका लागि खटिएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नं २४ गण कालिका कास्कीबाट प्रहरी नायब निरीक्षक शरणबहादुर खड्काको नेतृत्वमा १३ जनाको विपद् व्यवस्थापन टोली पनि घटनास्थलतर्फ परिचालन गरिएको छ ।

निरन्तर वर्षा भइरहेकाले पानीको बहाव थप बढेमा मन्दिरसहित खोलाको बीचमा रहेको ढिस्को बगाउन सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ ।

यसैगरी मोदी खोलाको बाढीले अन्नपूर्ण–८ स्थित विरेठाँटी नजिक बाटो कटान गर्दा नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको सहायक प्रजिअ बरालले जानकारी दिए ।

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध

बागलुङ। बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग आज बिहानैदेखि अवरूद्ध भएका छन्। कालीगण्डकी करिडोर बागलुङ खण्ड र मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएका हुन्।

गए रातिदेखि परेको अविरल वर्षाका कारण बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खस्दा बिहानैदेखि सडक अवरूद्ध भएको छ।

यस्तै मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बुर्तिवाङ–निसीखोला खण्डको निसीखोला गाउँपालिका–४ कानाबजार नजिक ठाडाखोलामा बाढी आउँदा मध्यपहाडी लोकमार्ग अवरूद्ध बनेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो।

दुवै राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना तथा कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको सूचना अधिकारी त्वातीले जानकारी दिनुभयो। सडक अवरूद्ध भएपछि यात्रु बाटोमै अलपत्र परेका छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाईजुङस्थित मोदी खोलामा आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बस्दै आएका तीन जना जोखिममा परेका छन् ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३७, आलु सेतो प्रतिकिलो रु ३५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६४ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, बन्दा (तराई) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु १००, मकै बोडी प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ६०, परवर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, भिन्डी प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु १०० र स्कुस प्रतिकिलो रु ६० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु १३०, पालुङ्गो प्रतिकिलो रु २५०, तोरीको साग प्रतिकिलो रु १००, प्याज (हरियो) रु २००, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३३० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निउरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु १६०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ५००, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु १५००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमूला प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ४००, आँप (मालदह) प्रतिकिलो रु २८०, आँप (चोसा) प्रतिकिलो रु २५०, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५ काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु ६०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २००, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ६०, अमला प्रतिकिलो रु २८०, एभोकाडो प्रतिकिलो रु ५००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ५००, अदुवा प्रतिकिलो रु २३०, खुर्सानी सुकेको प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु १८०, हरियो धनियाँ प्रतिकिलो रु ३००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३३० र ताजा माछा (छडी) प्रतिकिलो रु ३३० निर्धारण भएको छ ।

धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

सुनसरी। धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजारबराबरको बजेट पारित गरेको छ ।

बिहीबार सम्पन्न १९औँ नगरसभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो ।

धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले प्रस्तुत गर्नुभएको बजेटमा नगर कार्यपालिकातर्फ रु दुई अर्ब ४७ करोड ४८ लाख ३३ हजार र २० वटा वडा कार्यालयतर्फ रु २८ करोड ७० लाख ९४ हजार विनियोजन गरिएको छ ।

आन्तरिक राजस्वबाट रु एक अर्ब ४० करोड ९४ लाख ८८ हजार, सङ्घीय अनुदानबाट रु ८६ करोड १९ लाख, प्रदेश सरकार अनुदानबाट रु नौ करोड १६ लाख ४८ हजार, राजस्व बाँडफाँटबाट रु ३२ करोड ८८ लाख ९१ हजार, सडक बोर्डबाट रु एक करोड र गत वर्षको मौज्दातबाट रु सात करोड प्राप्त हुने अनुमान गरिएको कार्यवाहक नगरप्रमुख बेघाले बताउनुभयो ।

बजेटमा सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ रु ९९ करोड ५० लाख विनियोजन गरिएको छ । त्यसमध्ये खाल्डाखुल्डीमुक्त नगर कार्यक्रममा रु चार करोड, धरानको भानुचोक सौन्दर्यीकरण, स्थायी स्टेज निर्माणमा रु एक करोड र सभागृह निर्माणको लागि रु दुई करोड विनियोजन गरिएको छ ।

यस्तै, स्वास्थ्यतर्फ रु १२ करोड ४५ लाख, सशर्त अनुदानबाट रु नौ करोड ३३ लाख, धरान अस्पताल सञ्चालनका लागि रु दुई करोड र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने कार्यक्रमका लागि रु ५० लाख छुट्याइएको छ ।

शिक्षा, युवा तथा खेलकुदतर्फ रु ४९ करोड ८६ लाख ८२ हजार विनियोजन गरिएको छ । सङ्घ तथा प्रदेश सरकारको सशर्त अनुदानसहितको सो बजेटबाट शैक्षिक तथा खेलकुद कार्यक्रम सञ्चालन गरिने साथै एउटा सामुदायिक विद्यालयलाई स्कुल बस उपलब्ध गराउने कार्यक्रम बजेटमा समेटिएको छ ।

त्यसैगरी, सामाजिक विकासमा आन्तरिक स्रोतबाट रु १० करोड विनियोजन गरिएको छ । सुकुमवासी व्यवस्थापनमा रु ५० लाख, सिटी सफारी तथा ट्याम्पो चालकको दुर्घटना सहयोग कोष रु २० लाख, सडक मानव व्यवस्थापन, खेलकुद, बाँदर नियन्त्रणमा रु १० लाख, विपन्न परिवारका सदस्यको दाहसंस्कार साझेदारीका लागि रु १० लाख, लैङ्गिक समानता र समावेशीकरण कार्यक्रममा रु एक करोड पाँच लाख विनियोजन गरिएको छ ।

आर्थिक विकासमा रु छ करोड ८० लाख विनियोजन गरिएको छ । जसमध्ये सङ्कटग्रस्त सहकारी व्यवस्थापनका लागि रु पाँच करोड छुट्याइएको छ । वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ रु तीन करोड ९५ लाख ७५ हजार विनियोजन गरिएको छ । विपद् व्यवस्थापन कोषका लागि रु दुई करोड छुट्याइएको छ । बजेटमा कानुन तथा न्याय सम्पादनतर्फ आन्तरिक स्रोतबाट रु २० लाख विनियोजन भएको छ ।

यस्तै, धरानको खानेपानी चतरा कोशी नदीबाट पानी आपूर्ति गर्ने नेपाल सरकारको योजनामा साझेदारीका लागि रु तीन करोड ११ लाख आन्तरिक स्रोतबाट विनियोजन गरिएको कार्यवाहक नगरप्रमुख बेघाले बताउनुभयो ।

मेचीनगरले थाल्यो ‘शून्य बेरुजु’ अभियान

झापा। मेचीनगर नगरपालिकाले ‘शून्य बेरुजु’ अभियान सुरु गरेको छ । लामो अवधिदेखि फछ्रर्योट नभएको बेरुजु रकम बढेपछि अभियान नै सञ्चालन गर्नुपरेको नगरपालिकाले जनाएको छ ।

विसं २०५३ मा मेचीनगर नगरपालिकाको स्थापना भएको हो । त्यसभन्दा अघि अस्तित्वमा रहेका गाउँ विकास समितिकै पालादेखिको आर्थिक बेरुजु रकम फछ्रर्योट हुन बाँकी रहेको छ ।

‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७’ को नियम ८९ र ९० बमोजिम बेरुजु रकम दाखिला वा फछ्रर्योट गर्न सम्बन्धित सबैलाई सार्वजनिक सूचना प्रकाशित गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताउनुभयो ।

दोस्रो चरणमा निर्माण तथा उद्योगी व्यवसायीको बेरुजु फछ्रर्योटका लागि सहजीकरण गरिदिन उनीहरु आबद्ध सङ्घ–सङ्गठनलाई आग्रह गर्ने र तेस्रो चरणमा बेरुजु भएका व्यक्तिको विवरण सार्वजनिक गर्ने कार्ययोजना बनाइएको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०८१÷८२ को महालेखा परीक्षकको वार्षिक प्रतिवेदनअनुसार मेचीनगर नगरपालिकाको वार्षिक बेरुजु रकम रु १४ करोड ९९ लाख ४३० छ । आव २०८१÷८२ भन्दा अगाडिको अद्यावधिक बेरुजु रु ८१ करोड ३० लाख ४१ हजार ४८७ रहेको छ । यसप्रकार हालसम्ममा मेचीनगर नगरपालिकाको कुल बेरुजु रकम रु ९६ करोड २९ लाख ९६ हजार ९१७ पुगेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

“बेरुजुलाई शून्यमा झार्ने हाम्रो अभियान हो”, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भन्नुभयो, “निर्माण व्यवसायी, जनप्रतिनिधि, व्यवसायी र अन्य सम्बन्धित व्यक्तिले बेरुजु फछ्रर्योट गरेर सहयोग गर्ने हामीलाई विश्वास छ । फछ्रर्योटका लागि हामी उहाँहरूलाई पत्राचार गरेर पर्याप्त समय पनि दिन्छौँ ।”

अभियान सञ्चालन गरेपछि वर्षौँदेखि बेरुजु दाखिला वा फछ्रर्योट नगरेका सरोकारवाला सम्पर्कमा आउन थालेको र कतिपयले पुरानो रकम फछ्रर्योट गरेको उहाँले जानकारी दिनुभयो ।

लगातारको वर्षापछि बाजुरामा पहिरो, घर पुरिँदा एक जना बेपत्ता र दुई जना घाइते

अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई घाइते भएका छन्।

गए रातिदेखिको अविरल वर्षापछि स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार पहिरोले घर पुरिँदा दुई जना घाइते भएका छन्।

त्रिवेणी नगरपालिका–९ का वडाध्यक्ष नन्दा थापाका अनुसार लगातारको वर्षाका कारण घाइतेको उद्धार गर्न तथा बेपत्ता भएका व्यक्तिको खोजी गर्न कठिनाइ भइरहेको बताए। उक्त घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा १७ जनाको टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ गएको छ।

‘भुरुरु आउँथे बाई चरी भए त’मा अनिल र गीताको ठुम्का

काठमाडौँ । पुराना गायिका राधा हमाल बानियाँले तीज पर्वलाई लक्षित गर्दै ‘भुरुरु आउँथे बाई चरी भए त’ सार्वजनिक गरेका छन् । खुमन अधिकारीको भाका र निशान बानियाँको शब्दमा तयार भएको गीतमा राधा हमाल बानियाँ र खुमन अधिकारीको स्वर रेकर्ड छ ।

निशान बानियाँको निर्देशनमा निर्माण भएको भिडियोमा अनिल पौडेल र गीता ढुङ्गाना लिड रोलमा देखिएका छन् । भिडियोमा आदर्श बानियाँ, सनश्रीना पौडेल, ऐश्वर्य बानियाँ र प्रिता वाइबा तामाङ पनि फिचर्ड छन् ।
तिजमा महिला दिदीबहिनी छमछमी नाच्न मिल्ने गीतमा राजाराम सिम्खडाको कोरियोग्राफी, दिनसन शाहको सम्पादन र कलर ग्रेडिङ छ । महेश महराले छायाङ्कन गरेको भिडियो राधा हमाल बानियाँको अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको छ ।

३ लाख बढी पटक हेरिएको तीज गीतको भिडियोमा सकारात्मक प्रतिक्रिया पाएको छ । गीतका गायिका तथा प्रस्तुतकर्ता राधा हमाल बानियाँले मौलिकताको जगमा बनेको गीत भएकाले श्रोता दर्शकको उत्साहजनक साथ पाउने अपेक्षा लिएको बताइन् ।

नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार

काठमाडौँ । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।उनले नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक साझेदारी, सहकार्य, समानता र एकअर्काका भावना र संवेदनशीलताप्रतिको सम्मानमा आधारित रहेको बताए ।

नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव समारोह तथा २०२६ नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिताको पुरस्कार वितरण समारोहका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा बोल्दै परराष्ट्रसचिव राईले यो वार्षिकोत्सव ‘हाम्रो कूटनीतिक पात्रोको एउटा सिलसिलामात्र नभई चिरस्थायी सम्बन्धको प्रमाण हो’ भने ।सात दशकको अवधिमा द्विपक्षीय सम्बन्ध, परम्परागत सम्बन्ध र सांस्कृतिक आदानप्रदानबाट साझा समृद्धिका लागि बृहत् साझेदारीसम्म विस्तार भएको परराष्ट्रसचिव राईले उल्लेख गरे ।

उनका अनुसार उच्चस्तरीय भ्रमणलगायत विभिन्न तहका आदानप्रदानले नेपाल–चीन सम्बन्धका सबै पक्षमा गतिशीलता र जीवन्तता भर्दै मित्रता बढाएका छन् । द्विपक्षीय सम्बन्धका साथै नेपाल र चीनले नियममा आधारित विश्वव्यापी व्यवस्थाका लागि बहुपक्षीयताप्रति दृढ प्रतिबद्धता जनाएको र साझा हितका विषयमा विभिन्न बहुपक्षीय मञ्चमा सहकार्य गर्दै आएको उनले उल्लेख गरे ।

एक असल मित्र र नजिकको छिमेकीका रूपमा चीनले हासिल गरेको अद्भूत आर्थिक विकासप्रति नेपालले गौरव गरेको र त्यसबाट सिक्न तथा फस्टाउँदो चिनियाँ अर्थतन्त्रसँग नेपालको आर्थिक सहकार्य पनि गहिरो बनाउन चाहेको उनले स्पष्ट पारे ।

विगत सात दशकमा नेपाल र चीनबीच व्यापार, लगानी, पूर्वाधार विकास, पर्यटन, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धमा व्यापक विस्तार भएको छ भन्दै सचिव राईले ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क सञ्जाल र यसको शीघ्र कार्यान्वयनलाई नेपालले महत्व दिने बताए ।

सो अवसरमा चिनियाँ राजदूत चाङ माओमिङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि हालसम्म अन्तरराष्ट्रिय परिदृश्य जतिसुकै परिवर्तन भए पनि एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएको र सुखदुःखमा सँगसँगै उभिने असल छिमेकी, असल मित्र र असल साझेदार भएको धारणा राखे ।

नेपालमा नयाँ सरकार गठन भएदेखि नेपाल–चीनबीचको राजनीतिक पारस्परिक विश्वास गहन हुँदै गएको र उच्चस्तरीय ‘बेल्ट एन्ड रोड सहकार्य’ ठोस परिणामसहित अगाडि बढिरहेको चिनियाँ राजदूतको भनाइ छ ।

व्यापार तथा अर्थतन्त्र, पूर्वाधार, सम्पर्क–सञ्जाल, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलगायतका क्षेत्रमा नयाँ प्रगति हासिल भएको भन्दै राजदूत माओमिङले ठूलो सङ्ख्यामा चिनियाँ पर्यटक नेपालको अनुपम सुन्दरता हेर्न आइरहेको बताए । दुई देशका जनताबीचको यी सामान्य तर न्यानो आदानप्रदान नै आजको नेपाल–चीन सम्बन्धको वास्तविक जग भएको राजदूत माओमिङको कथन थियो ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपालको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई ‘विकास र समृद्धिका लागि दीर्घकालीन रणनीतिक साझेदारी’को स्तरमा पुर्याएको राजदूत माओमिङले स्मरण गरे ।

राजदूत माओमिङले चीनले सधैँ शान्तिपूर्ण विकासको बाटो अवलम्बन गर्दै आएको तथा सबै देश उनीहरूको आकार, शक्ति वा जेसुकै आर्थिक अवस्थाजस्तो भए पनि एकअर्कालाई सम्मान, समान व्यवहार गर्नुपर्छ र शान्तिपूर्वक सहअस्तित्वमा रहनुपर्छ भन्ने मान्यता राख्दै आएको विचार व्यक्त गरे।

उनले चीन नेपालसँग पारस्परिक सम्मान र पारस्परिक लाभमा आधारित भई दुई देशबीचको सम्बन्धलाई अझ अगाडि बढाउन, दुवै देशबीच भएका महत्त्वपूर्ण समझदारी कार्यान्वयन गर्न र नेपाल–चीनबीच साझा भविष्यको समुदाय निर्माणलाई अगाडि बढाउन तयार रहेको जानकारी गराए ।

राजदूत माओमिङले डिजिटल युगमा छोटा श्रव्यदृश्य सामग्रीले भाषा, दूरी र संस्कृतिका सीमाभन्दा माथि उठेर विषयवस्तुलाई केही सेकेन्डमै व्यापक दर्शकसमक्ष पुर्याउन सक्ने भन्दै खुसी व्यक्त गरे ।

यस वर्षको नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगितामा ठूलो सङ्ख्यामा भिडियोहरू प्राप्त भएका र प्रतिस्पर्धीहरूले नेपाल–चीन सम्बन्धका विविध आयाम र दुई देशका सुन्दर दृश्य समेटेकामा प्रशंसा गरे ।

श्रव्यदृश्य सामग्रीमा भावना र आत्मियता जोडिएको भन्दै उनले नेपाल–चीन सम्बन्ध केवल कूटनीतिक कागजातमा लेखिएको राजनीतिक सहमतिमात्र नभई दुई देशका जनताबीचको व्यापक सहकार्य, आदानप्रदान र भ्रमणमा पनि जीवित रहेको बताए ।

कार्यक्रममा नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगितामा विजयी प्रतिस्पर्धीलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । प्रतियोगितामा दिपेश स्याङ्दानले प्रथम पुरस्कार पुरस्कारसँगै रु ५० हजार प्राप्त गरेका थिए । सो अवसरमा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिज्ञ, व्यवसायी तथा अन्य क्षेत्रका व्यक्तिको उपस्थिति थियो ।

कांग्रेस इतर समूहको तीन दिने राष्ट्रिय भेला आजदेखि, देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेको छ।

सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान साढे ११ बजे सुरु हुने भेलालाई कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

भेलामा देशभरबाट करिब ५ हजार नेता–कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ।

भेलाको बन्दसत्र भने साउन ३० र ३१ गते सञ्चालन हुनेछ। बन्दसत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

रोल्पामा आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लागेर एक जनाको मृत्यु

रोल्पा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ ।चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बिहीबार राति खत्री आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको हो ।

स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै,देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार

मुस्ताङ । आगामी भदौमा आयोजना हुने जलवायु सम्मेलनका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ ।सम्मेलन भदौ ३० र ३१ गते मुस्ताङको सदरमुकाम जोमसोममा आयोजना हुने गाउँपालिकाले जनाएको छ । जलवायु परिवर्तनका कारण उत्पन्न समस्या, चुनौती तथा जलवायु अनुकूलनका विषयमा साझा धारणा बनाउन सम्मेलन आयोजना गर्न लागिएको हो ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले गाउँपालिकाले पहिलोपटक ऐतिहासिक रूपमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए ।

सङ्घीय मामिला मन्त्रालयको समन्वयमा सबै स्थानीय तहलाई सम्मेलनमा सहभागी हुन पत्राचार गरिएको उनले बताए । सम्मेलनमा हिमाल, पहाड र तराईमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल गरिनेछ । साथै जलवायु परिवर्तनको असर न्यूनीकरण र सामना गर्न सामूहिक प्रतिबद्धता जनाउँदै घरपझोङ घोषणापत्र २०८३ जारी गरिनेछ ।
सम्मेलनका लागि छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४५९ गाउँपालिकालाई एकैसाथ लिखित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।

सम्मेलनमा जलवायु परिवर्तनका कारण स्थानीय तहमा देखिएका समस्या, विपद् तथा प्रभाव पहिचान गर्दै त्यसको न्यूनीकरणका उपाय र रणनीतिबारे छलफल हुनेछ । कालीगण्डकी नदी किनार, मुक्तिनाथ क्षेत्र र नीलगिरि हिमालको काखमा बसेर बृहत् छलफल गरी हिमाली जिल्लाका तर्फबाट जलवायु घोषणापत्र जारी गर्ने तयारी गरिएको छ ।

सम्मेलनबाट जारी हुने साझा घोषणापत्रमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायु परिवर्तनका असरविरुद्ध स्थानीय तहको साझा आवाज बुलन्द गर्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ ।

सम्मेलनमा जलवायु परिवर्तनका असरसम्बन्धी फोटो प्रदर्शनीसमेत आयोजना गरिनेछ । त्यसका लागि सबै स्थानीय तहलाई भदौ १५ गतेभित्र जलवायु परिवर्तनका असर झल्कने तस्बिर पठाउन अनुरोध गरिएको छ । स्थानीय तहका धारणा तथा घोषणापत्रमा समेट्नुपर्ने विषयसमेत उल्लेख गरी सोही मितिभित्र मस्यौदा पठाउन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए।

गाउँपालिकासँग भगिनी सम्बन्ध जोडिएका स्थानीय तह तथा मुस्ताङका अन्य स्थानीय तहको सहयोगमा सम्मेलनको तयारी भइरहेको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमपहिरो, हिमताल फुट्ने, बाढीपहिरो र नदी कटानजस्ता प्राकृतिक विपद् बढिरहेका छन् । कृषि, पशुपालन, धर्म/संस्कृति तथा जैविक विविधतामा समेत जलवायु परिवर्तनको ठूलो असर परेको छ ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा असमान हिमपात हुने, खानेपानीका मुहान सुक्दै जाने, चरन क्षेत्र घट्दै जाने तथा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्ने समस्या देखिएको छ । यसले पशुपालन व्यवसायसमेत प्रभावित हुन थालेको छ ।

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा । यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्दै गएको छ । स्याङ्जाको गल्याङ नगरपालिका-१० छहरामा अवस्थित सिद्ध गुफाको धार्मिक एवं ऐतिहासिक महत्व हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।

धेरै वर्ष पहिले गाईगोरु हेर्न आएका गोठालाहरूले गुफा देखेपछि सिद्धको शक्तिका रूपमा यस ठाउँलाई सिद्धको थान मानी पूजाआजा गर्न थालिएको गल्याङ-१० सिद्ध गुफा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ९० वर्षीय पिताम्बर खनालले बताए ।

“गाईगोरु चराउन आएका गोठालाले पहाडको भित्रपट्टि रहेको गुफा पत्ता लगाएका थिए । उक्त गुफाभित्र अहिले पनि गाईका थुन, शङ्ख, मादल, मौलोलगायत विभिन्न आकृति स्पष्टसँग देख्न सकिन्छ”, उनले भने, “गुफाको बाहिरबाट छहरा झरिरहेको छ भने भित्रपट्टि विभिन्न आकृति छन् । यहाँ सिद्धको शक्ति रहेको धार्मिक मान्यतापश्चात् यस ठाउँमा शिव मन्दिर बनाएका छौँ ।”

सुरुमा स्थानीयले खरले छाएर सामान्य खालको मन्दिर बनाएर पूजाआजा गर्दै आएका थिए । विसं २०५६ मा स्थानीयको अगुवाइमा मन्दिरलाई व्यवस्थित बनाउनका लागि देउसीभैँलो खेलेर रकम सङ्कलन गरी हालको मन्दिर निर्माण गरिएको अध्यक्ष खनालले बताए । “पुरानो मन्दिरलाई संरक्षण र व्यवस्थित गर्न स्थानीयले देउसीभैँलो खेलेर रकम सङ्कलन गर्यौं”, उनले भने, “टाढाटाढा गएर रकम सङ्कलन गरी मन्दिर निर्माण गरेका हौँ ।”

सिद्ध गुफा मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्व हुँदाहुँदै पनि समय अनुसार प्रचारप्रसार गर्न नसक्दा धार्मिक पर्यटकलाई मन्दिरसम्म पुर्‍याउन सकिएको छैन । मन्दिरमा विवाह, व्रतबन्ध, ग्रहशान्ति, सत्यनारायण पूजा, भजनकीर्तन हुने गरे पनि पछिल्लो समय गाउँघरमा युवापुस्ता नहुँदा पहिलाको जस्तो गतिविधि नहुने समितिका अध्यक्ष खनालले बताए । यहाँको धार्मिक महत्वकाबारेमा बुझाउन नसक्दा पनि धार्मिक पर्यटक आउनेक्रम बढ्न नसकेको उनले दाबी गरे ।

मन्दिरसम्म पुग्नका लागि रु दुई लाखको लागतमा पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार, वडा कार्यालय र स्थानीयको लागत साझेदारीमा गुफा परिसरमा पौवा निर्माण गरिएको वडाध्यक्ष मुक्तिप्रसाद खनालले जानकारी दिए । “यस ठाउँको धार्मिक महत्व हुँदाहुँदै पनि हामीले प्रचारप्रसार गर्न सकिरहेका छैनौँ”, उनले भने, “यहाँको धार्मिक महत्वका बारेमा प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउन सकेमा यहाँ रोजगारी सिर्जना हुनुका साथै पर्यटकीय गतिविधि चलायमान हुनेछन् ।”

पहाडको भिरालो परेको खोँचमा एकान्त स्थानमा उक्त गुफा अवस्थित छ । प्राकृतिक छटाले सजिएको गुफामा पुगेपछि जोकोहीको पनि मन आनन्दित हुन्छ । यसको प्रचारप्रसार गर्न सकेको खण्डमा धार्मिकसँगै पर्यटकीय दृष्टिले पनि महत्व बढेर जाने स्थानीय बताउँछन् ।

यस्तो छ आजका लागि तोकिएकाे विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५० पैसा र बिक्रीदर ४१ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७२ पैसा र बिक्रीदर १० रुपैयाँ ७६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६ रुपैयाँ ०१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४९८ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ २४ पैसा बिक्रीदर ४०५ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ४१ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

ग्यासको अनावश्यक मौज्दात नराख्न आयल निगमको आग्रह

काठमाडौँ। नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ ।

निगमले २०८३ साल असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामको भरी सिलिन्डर बिक्रीवितरण भइरहेको जनाएको छ । साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्रीवितरण भइरहेको भए पनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज रूपमा ग्यास नपाएको गुनासो आएको निगमले जनाएको छ ।

निगमको द्रुत प्रतिक्रिया डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको बजार अनुगमनका क्रममा केही होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको थियो ।

त्यसरी अनावश्यक रूपमा ग्यास सिलिन्डर मौज्दात नराख्न र राखिएको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्रीवितरण गर्न निगमले आग्रह गरेको छ ।

निगमले आफ्नो आग्रहविपरीत कतै ग्यास सिलिन्डर अनावश्यक रूपमा मौज्दात राखेको भेटिएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) – चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र छ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका स्थानीय दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । कालिका नगरपालिकामा एक महिला र इच्छाकामना गाउँपालिकामा एक पुरुषमा डेङ्गु सङ्क्रमण देखिएको हो ।

त्यसैगरी जिल्लाका स्थानीय छ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिकाका एक पुरुष र चार महिलासहित पाँच तथा रत्ननगर नगरपालिकाका एक पुरुषमा स्क्रब टाइफस सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ ।

अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका दुई जनामा डेङ्गु र २८ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । यससँगै यो महिनाभर चितवनमा अभिलेख भएका डेङ्गु सङ्क्रमितको सङ्ख्या चार र स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ३४ पुगेको छ ।

जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हालसम्म डेङ्गुको १७८ र स्क्रब टाइफसको २११ जनाको परीक्षण गरिएको छ । दुवै रोगका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो । केसीले पर्षात्मा डेङ्गुको सङ्क्रमण बढ्न सक्ने भएकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताउनुभयो । जिल्लाका स्थानीय तहसँगको समन्वयमा अभियान थालिएको हो ।

 

इच्छाकामना गाउँपालिकाबाट अभियान सुरु गरिएको जानकारी दिँदै उहाँले अन्य पालिकामा पनि अभियानसँगै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जनप्रतिनिधिलगायतको टोली अभियानमा सहभागी भएका छन् । उनीहरूले डेङ्गुबारे सचेतना फैलाउने तथा लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने काममा जुटेको उहाँले बताउनुभयो ।

यो समय डेङ्गुको मुख्य सिजन भएकाले सङ्क्रमणबाट जोगिन लामखुट्टेले फुल पार्न सक्ने स्थानमा पानी जम्न नदिन केसीले आग्रह गर्नुभयो । घरआँगन तथा वरपरका झाडी, टायर, गमलालगायत पानी जम्न सक्ने स्थानमा नियमित निगरानी गरी सफा राख्नुपर्ने उहाँको भनाइ छ ।

स्क्रब टाइफस पनि यही समयमा बढी सक्रिय हुने भएकाले घरवरपर झाडी नराख्ने, सरसफाइ गर्ने तथा घाँस काट्न, खेतबारी वा जङ्गलमा जाँदा सावधानी अपनाउन उहाँले सुझाव दिनुभयो । झाडी तथा घाँस काट्न जाँदा शरीर ढाक्ने कपडा लगाउने र किर्नाको टोकाइबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्ने भेक्टर कन्ट्रोल निरीक्षक केसीले बताउनुभयो ।

वर्षायामसँगै डेङ्गु र स्क्रब टाइफसको जोखिम बढ्ने भएकाले ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा शरीरमा बिमिरा देखिएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन उहाँले आग्रह गर्नुभयो ।

यस्तो छ विवरण

गत आर्थिक वर्ष २०८२/८३ मा भने चितवनमा डेङ्गु र स्क्रब टाइफसका सङ्क्रमित उल्लेख्य सङ्ख्यामा भेटिएका थिए । कार्यालयको तथ्याङ्कअनुसार आवको अन्त्यसम्म चितवनका २१६ जनामा डेङ्गु र ६२१ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको थियो । अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामीसमेत जोड्दा डेङ्गुका २७४ र स्क्रब टाइफसका ८९३ सङ्क्रमित अभिलेखमा रहेका थिए ।

स्थानीय तहअनुसार गत आवमा सबैभन्दा बढी सङ्क्रमित रत्ननगर नगरपालिकामा ८७, भरतपुर महानगरपालिकामा ५६ र खैरहनी नगरपालिकामा ३५ जना रहेका थिए । स्क्रब टाइफसका सङ्क्रमित पनि रत्ननगर नगरपालिकामा सबैभन्दा बढी २४६, खैरहनी नगरपालिकामा ११७ र भरतपुर महानगरपालिकामा ९० जना रहेका थिए ।

गत आवमा डेङ्गु १० हजार ५२३ जना र स्क्रब टाइफसको ११ हजार ४१९ जनाको परीक्षण गरिएको थियो । उक्त अवधिमा पनि डेङ्गु र स्क्रब टाइफसका कारण चितवनमा कुनै मृत्यु नभएको कार्यालयले जनाएको छ ।

अदालतबाट एक करोड ५८ लाख जरिबाना ठहर भएका एक जना पक्राउ

काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा रु एक करोड ५८ लाख ५४ हजार ६३० जरिबाना ठहर भई फरार रहेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बैङ्किङ कसुर मुद्दामा फरार सिन्धुपाल्चोक घर भई ललितपुरको बालकुमारी बस्ने ३३ वर्षीय गणेश भण्डारीलाई बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीलाई उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतले विभिन्न १० वटा बैङ्किङ कसुरका मुद्दा र दुई वटा चेक अनादर मुद्दामा दोषी ठहर गरेको आरोपमा पक्राउ गरिएको हो।

अदालतले भण्डारीलाई १६ दिन कैद र कुल रु एक करोड ५८ लाख ५४ हजार जरिबानाको फैसला सुनाएको थियो । पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा उपस्थित गराइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज पेस गर्नुभएको राजीनामा स्वीकृत गर्दै उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले आज एक विज्ञप्तिमार्फत मुख्यमन्त्री शाहले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिनुभएको राजीनामा आजैदेखि लागू हुने गरी स्वीकृत भएको जनाउँदै नयाँ सरकारका लागि दाबी पेस गर्न आह्वान गरिएको बताउनुभयो ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि शुक्रबार बिहान ११ः०० भित्र दाबी पेस गर्न आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता साझेदारीको सहमतिअनुसार दाबी पेस गर्ने तयारी गरिएको छ । प्रदेशसभामा ठूलो दलको हैसियतमा नेकपाले सरकारको नेतृत्व गर्ने यसअघि दुई पार्टीबीच सहमति भइसकेको छ ।

प्रदेश सरकार गठनका लागि २७ मत आवश्यक पर्नेमा ५३ सदस्यीय प्रदेशसभामा नेकपाका २२ र एमालेका ११ सदस्य छन् । प्रदेशसभामा नेपाली कांग्रेसबाट १८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक जना प्रदेशसभा सदस्य रहेका छन् ।

पर्यटनमन्त्री पौडेलद्वारा दिवङ्गत आरोहीप्रति श्रद्धाञ्जली

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलले पाकिस्तानको ‘ब्रोड पिक’ मा हिमपहिरोमा परी ज्यान गुमाउनुभएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

गत साउन १४ गते हिमपहिरोमा परी ज्यान गुमाउनुभएका आरोही किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको पार्थिव शरिरमा आज माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । उहाँले आरोहीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिव राजेन्द्र लामाले राससलाई जानकारी दिनुभयो ।

यही साउन २६ गते पाकिस्तानबाट नेपाल ल्याइएको शवमध्ये दोलखाका ग्यालु शेर्पा र सङ्खुवासभाका निमा शेर्पाको शव बौद्धस्थित शेर्पा गुम्बामा र दोलखाको रोल्वालिङका किली पेम्बा शेर्पाको शव आफ्नै घरमा राखेर बौद्ध परम्पराअनुसार पुजा गरिएको छ ।

ग्यालु शेर्पा र निमा शेर्पाको आजै अन्त्येष्टि गरिएको छ भने किली पेम्बा शेर्पाको शुक्रबार अन्त्येष्टि गरिने महासचिव लामाले बताउनुभयो । हिमपहिरोमा ज्यान गुमाउनुभएका गोरखाका पुरबहादुर गुरुङ ‘युक्ता’को भने साउन २१ गते नै अन्त्येष्टि गरिएको थियो ।

सोही हिमपहिरोमा ज्यान गुमाउनुभएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ को शव भने बेलायत लगिएको छ । उहाँको परिवार बेलायतमै रहेकाले शव बेलायत लगिएको हो । दुर्घटनास्थलबाट अझै एक नेपाली आरोहीको शव ल्याउन बाँकी रहेको छ । उक्त दुर्घटनामा ६ नेपालीसहित १० आरोहीले ज्यान गुमाएका थिए ।

रिटर्नीका लागि नयाँ कानुन आवश्यक भए बनाउनुपर्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशबाट फर्किएका नेपालीको सीप, अनुभव, पुँजी र प्रविधिलाई राष्ट्र निर्माणमा उपयोग गर्न राज्यले रिटर्नीमैत्री नीति तथा कानुन निर्माण गर्नुपर्ने बताएका छन् ।

‘रिटर्नीमैत्री नीति र पुनः एकीकरण : सदनको भूमिका र राज्यको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले विदेशमा हासिल गरेको सीप, ज्ञान र अनुभवलाई नेपालमा उद्यमशीलतामा प्रयोग गर्ने वातावरण राज्यले बनाउनुपर्ने बताए । रिटर्नीका अपेक्षालाई नीति तथा कानुनमार्फत सम्बोधन गर्नु सकारात्मक भएको उल्लेख गर्दै उनले राष्ट्रिय नीति स्पष्ट र प्रभावकारी हुनुपर्ने तथा त्यसको कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले विदेशबाट फर्किएका नेपालीले विदेशमा हासिल गरेको सीप, अनुभव, ज्ञान र पुँजीलाई नेपालमा उद्यमशीलताका क्षेत्रमा प्रयोग गर्न सक्ने वातावरण बनाउनुपर्ने बताए । त्यसका लागि रिटर्नीमैत्री नीति र आवश्यक कानुन निर्माण गर्न जरुरी रहेको उनको भनाइ थियो ।

पोखरेलले रिटर्नीसम्बन्धी विद्यमान कानुनमा सुधार आवश्यक भए त्यसबारे छलफल गरी आवश्यकताअनुसार नयाँ कानुन निर्माण गर्नुपर्ने बताए । पुँजी परिचालन, प्रविधि भित्र्याउने तथा त्यसको प्रभावकारी उपयोग गर्ने विषयमा समेत गहन विमर्श आवश्यक रहेको उनले उल्लेख गरे ।

देउवा संस्थापन वा इतर समूहका नेता मात्र नभई पार्टीका सबैको साझा नेता हुन् – चालिसे

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टीलाई थप एकताबद्ध बनाउन उनको अभिभावकीय भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता चालिसेले देउवा संस्थापन वा इतर समूहका नेता मात्र नभई पार्टीका सबैको साझा नेता भएको बताए ।

उनले लामो समय उपचारका क्रममा विदेशमा रहेका देउवा स्वास्थ्यलाभ गरी स्वदेश फर्किएकोमा खुसी व्यक्त गर्दै पार्टीको तर्फबाट स्वागत गरे । कांग्रेसको गरिमामय इतिहास निर्माणमा देउवाले पुर्याएको योगदान, त्याग, संघर्ष र अनुभवको पार्टीले उच्च मूल्यांकन गरेको उल्लेख गर्दै चालिसेले आगामी दिनमा उहाँले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

‘उहाँ संस्थापन इतरभित्र होइन, सबैको साझा नेता हो,’ चालिसेले भने, ‘उहाँको अनुभवले आगामी दिनमा पार्टीलाई अभिभावकीय भूमिका प्रदान गर्नेछ ।’

रासायनिक मलको प्रयोग घटाउँदै जैविक मलतर्फ जानुपर्नेमा जोड

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले रासायनिक मलको प्रयोग क्रमशः घटाउँदै जैविक तथा प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने बताएका छन्।

समितिको बिहीबारकाे बैठकमा जैविक तथा प्राङ्गारिक मल, माटोको अवस्था र दिगो कृषि विकासबारे छलफल गर्दै सभापति चौधरीले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घटाउने भएकाले जैविक मल प्रवर्द्धनका लागि नीतिगत प्राथमिकता आवश्यक रहेको बताए। उनले आगामी बैठकमा जैविक तथा प्राङ्गारिक मल उत्पादक उद्योगसँग उत्पादन, लागत र प्रतिस्पर्धी क्षमताबारे छलफल गरिने जानकारी दिए।

बैठकमा नेपालमा ३३ प्रतिशत कृषियोग्य जमिन बाँझो रहेको, भू–क्षयका कारण ४५ प्रतिशतभन्दा बढी कृषि क्षेत्रको उत्पादकत्व र गुणस्तरमा ह्रास आएको तथा तराईका ९० प्रतिशतभन्दा बढी भूभागमा प्राङ्गारिक कार्बन न्यून रहेको विवरण प्रस्तुत गरिएको थियो। पछिल्लो ११ वर्षमा अनुदानमा वितरण हुने रासायनिक मलको मात्रा ८० प्रतिशतले बढेको बताइएको छ।

उत्पादन लागत वृद्धि, किसानले मूल्य निर्धारण गर्न नसक्नु र बजार अनियन्त्रित हुनुका साथै महिला श्रमशक्ति, युवा रोजगारी, साना तथा टुक्रे खेती र स्वस्थ खाद्यमा पहुँचबारे पनि छलफल भएको थियो । बैठकमा रासायनिक मलका लागि रु ३२ अर्ब ४६ करोड अनुदान छुट्याइए पनि जैविकखेती प्रवर्द्धनका लागि स्थानीय तहलाई रु ३६ करोड मात्र सशर्त अनुदान दिइएको भन्दै अनुदान नीति पुनरावलोकन गर्नुपर्ने धारणा राखिएको थियो।

माटो विज्ञहरुले प्रस्तुतीकरण गरेको बैठकमा समिति सदस्यहरुले जैविक रूपान्तरण र माटो सुधारका लागि नीतिगत स्पष्टतालाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । बैठकमा माटो वैज्ञानिक एवं कृषि विज्ञहरु डा रोशनबाबु ओझा, जगन्नाथ काफ्ले, मदन पौडेल र सन्देश सुवेदीले प्रस्तुतीकरण गरेका थिए।

रोल्पा पहिरोमा परी बेपत्ता भएकाको खोजी तीव्र पार्न मुख्यमन्त्रीको अपिल

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पाको थबाङ गाउँपालिका(५, कोटलबारा क्षेत्रमा पहिरोमा परी सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्

अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु भएका तथा बेपत्ता भएका नागरिकको खोज तथा उद्धार कार्य प्रभावकारी गर्न उहाँले सरोकार भएका निकायलाई अनुरोध गरे ।

उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी, स्थानीय प्रशासन, जनप्रतिनिधि, स्थानीय समुदाय तथा स्वयंसेवकलाई एकजुट भएर परिचालन गर्न आग्रह गरेका हुन्  । उनले घटनास्थलमा तीनवटै सुरक्षा निकाय परिचालन भई खोज तथा उद्धार गरिरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखहरू घटनास्थलमा पुगेर समन्वय गरिरहेको उल्लेख गरे ।

उनले सम्पर्कविहीन नागरिकको जीवनरक्षा अहिलेको पहिलो प्राथमिकता भएकाले खोजी कार्यमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्। खोज तथा उद्धारका लागि आवश्यक उपकरण, जनशक्ति तथा स्रोतसाधनको तत्काल व्यवस्थापन गर्न प्रदेश सरकारका सम्बन्धित निकायलाई परिचालन गरिएको मुख्यमन्त्री आचार्यले बताएका छन् ।

उद्धारमा खटिने जनशक्तिले सम्भावित थप पहिरो तथा अन्य जोखिमलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा सावधानी अपनाउनसमेत उनले आग्रह गरेका छन् ।पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री आचार्यले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित स्वास्थ्य संस्थालाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको उनले बताएका छन् ।

पहिरोबाट प्रभावित परिवारको तत्काल उद्धार, राहत तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न स्थानीय तह, जिल्ला प्रशासन र सुरक्षा निकायलाई समन्वय र सहकार्य गर्न मुख्यमन्त्री आचार्यले आग्रह गरेका छन् ।

मधेस प्रदेशमा रगतको अभाव

जनकपुरधाम। रक्तदान गरेपछि कमजोर भइन्छ भन्ने नकारात्मक सोचका कारण मधेस प्रदेशमा रगतको अभाव देखिन थालेको छ ।

मधेस प्रदेशमा रगतको अभाव देखिएपछि आज जनकपुरधाममा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी जनकपुरधाम, उपमहानगरपालिका वडा नं १७ ले आज रक्तसञ्चार केन्द्रको समन्वयमा खुला रक्तदान कार्यक्रमको आयोजन गरेको हो ।

अन्तरराष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजना गरिएको उक्त खुला रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गर्नुभएको छ । रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
रास्वपा मधेस प्रदेश सङ्गठन विभाग उपप्रमुख अम्बुप्रसाद साहले सङ्कलन भएको रगत मधेस प्रदेश रक्तसञ्चार केन्द्रमा बुझाइने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष पङ्कज महतोले एक सातादेखि रक्तसञ्चार केन्द्रमा रगतको अभाव देखिएको जानकारी दिनुभयो ।

“रक्तसञ्चार केन्द्रमा एक÷दुई पोका मात्र रगत छ, तर दैनिक ४०/५० जना बिरामी रगतका लागि आउने गरेका छन्”, अध्यक्ष महतोले भन्नुभयो, “बिरामीहरु जसरी पनि दिनुप¥यो भन्दै आउँछन्, तर रगत नभएपछि समस्या भइरहेको छ ।”

रक्तदाताको अभाव भएपछि मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामअन्तर्गतको प्रदेश रक्तसञ्चार केन्दमा पनि रगतको अभाव हुन थालेको छ ।

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका निर्देशक डा नागेन्द्र यादवका अनुसार प्रदेश रक्तसञ्चारमा हाल जम्मा ३० पोका रगत रहेको बताउनुभयो ।

देश बनाउन सबैले सहकार्य गर्नु जरुरी छः अर्थमन्त्री वाग्ले

तनहुँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक आग्रहपूर्वाग्रह त्यागेर सबैपक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

जिल्ला समन्वय समिति तनहुँले आज दमौलीमा आयोजना गरेको वार्षिक प्रगति समीक्षा कार्यक्रममा उहाँले देशलाई नयाँ उचाइमा पुर्‍याउने स्पष्ट योजनासहित वर्तमान सरकार अघि बढिरहेको बताउँदै सबैले आपसी सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री वाग्लेले सरकार सुशासन र सुधारलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताउनुभयो । उहाँले सरकारको पहिलो वर्षलाई सुधारको वर्ष, दोस्रोलाई सुशासनको वर्षका रूपमा लिइएको जनाउँदै तेस्रो र चौथो वर्षमा त्यसको नतिजा देखिने गरी योजनाबद्ध रूपमा काम भइरहेको उल्लेख गर्नुभयो । “यो जनताले आशा गरेको सरकार हो । देश बनाउन सबै मिलेर अघि बढौँ । गलत सोच त्यागौँ, देशलाई उचाइमा सहकार्य र समन्वय गरौँ”, उहाँले भन्नुभयो ।

मुलुकलाई समृद्ध बनाउने स्पष्ट योजना लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा आएको उल्लेख गर्दै वाग्लेले जनताको अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुशासनको जगमा टेकेर सबै मन्त्रालयमा दैनिक रूपमा सुधारका काम भइरहेका छन् । कतिपय ठाउँमा गलत भए तत्कालै सुधार गरेर अगाडि बढिरहेका छौँ ।”

अर्थमन्त्री डा वाग्लेले सुशासनबिना मुलुकको आर्थिक तथा सामाजिक विकास सम्भव नहुने भन्दै सरकारी संयन्त्रलाई प्रभावकारी र जवाफदेही बनाउन आवश्यक रहेको बताउनुभयो । सरकारले सुशासन कायम गर्ने विषयमा कुनै सम्झौता नगर्ने उहाँको भनाइ छ ।

अर्थमन्त्री डा वाग्लेले पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताउँदै ऊर्जामा त्यसको सफल उदाहरण देखिसकिएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री डा वाग्लेले धान्न सक्नेगरी स्वास्थ्य बिमाको ढाँचा जाने गरी सरकारले काम अगाडि बढाएको उल्लेख गर्दै निम्न वर्गलाई लक्षित गरी विगतका सरकारले ल्याएका सकारात्मक कामलाई यस वर्ष यथावत राखिएको जानकारी दिनुभयो ।

कार्यक्रममा तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले विकास निर्माणलाई गति दिन पूर्वाधार अदालतको प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, जितप्रकाश आले, अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले पूर्वाधार विकास, पर्यटन प्रवर्द्धनलगायत विषयमा सहकार्य र समन्वयको आवश्यकता औँल्याउनुभयो ।

शुक्रबारसम्म सञ्चालन हुने समिक्षा कार्यक्रममा जिल्लास्थित स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयका आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएका काम र समस्याबारे छलफल गरिने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो । बताउनुभयो ।

यसैबीच, अर्थमन्त्री डा वाग्लेले बन्दीपुरमा सञ्चालित जीप सफारीले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभएको छ । बन्दीपुरस्थित टुँडिखेलबाट बन्दीपुर गाउँपालिकाको कार्यालयसम्म आज जीपमा सवारी गर्दै उहाँले ग्रामीण क्षेत्रमा जीप सफारीबाट पर्यटक आकर्षित गर्न सकिने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालका थुप्रै पहाडी थुम्कामा यस्ता जीप सफारीबाट पर्यटन प्रवर्द्धन गर्दै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिन्छ ।” जीप सफारी सञ्चालनका लागि खरिद गरिने सवारीमा भन्सार शुल्क सस्तो बनाउन पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

बन्दीपुर भिलेज सफारीका सञ्चालक वसन्त पौडेलले जीप सफारीका लागि खरिद गरिने सवारीमा भन्सार शुल्क छुट दिन आग्रह गर्नुभएको थियो । बन्दीपुर हुँदै मिनीग्रेटवाल, तीनधारा, सहिद स्मारक, धरमपानी, रुम्सी घरबासलगायत ठाउँमा जीप सफारीमार्फत पर्यटकले भ्रमण गर्दै आएका छन् ।

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक समझदारी

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उद्यमशीलता विकास, नवप्रवर्तन प्रवर्द्धन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

पाँचवर्षे समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा बागमती विश्वविद्यालयका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले हस्ताक्षर गर्नुभएको हो ।

समक्षदारी पत्रमा दुवै संस्थाले शैक्षिक क्षेत्र, उद्योग, स्टार्टअप, लगानी समुदाय तथा नीतिनिर्माताबीच समन्वयात्मक वातावरण निर्माण गर्दै उद्यमशीलता, व्यावसायिक विकास, नवप्रवर्तन क्षमता अभिवृद्धि तथा संस्थागत उत्कृष्टताका क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सले आफ्ना सदस्य तथा सरोकारवालाको तालिम आवश्यकता पहिचान गर्ने, संयुक्त कार्यक्रममा सहभागिता बढाउने, व्यावसायिक वातावरणसँग सम्बन्धित कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने तथा बागमती विश्वविद्यालयका विद्यार्थीका लागि इन्टर्नसिप तथा रोजगारी सहयोग केन्द्र स्थापना गर्न सहयोग गर्नेछ ।

त्यसैगरी, बागमती विश्वविद्यालयले शैक्षिक विशेषज्ञता उपलब्ध गराउने, तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, स्टार्टअप तथा नवप्रवर्तनका लागि परामर्श र मार्गदर्शन प्रदान गर्ने, उद्योग शिक्षा सहकार्यमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा सेमिनार, नीति संवाद र सम्मेलन आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आवश्यकताअनुरूप विश्वविद्यालयले परम्परागत शिक्षा प्रणालीभन्दा बाहिर निस्किएर उद्यमशीलता र नवप्रवर्तनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

बागमती विश्वविद्यालयका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले विश्वविद्यालयले शिक्षा र उद्योगबीचको सम्बन्धलाई व्यावहारिक रूपमा जोड्ने अवधारणाअनुसार अघि बढिरहेको बताउनुभयो । समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म लागू रहनेछ ।

दशौँ राष्ट्रिय खेलकुदको मिति तय, मङ्सिर १६ देखि सुर्खेतमा

काठमाडौँ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म सुर्खेतमा हुने भएको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आज बसेको १२५औँ बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

राखेपका अध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको परिषद्को बोर्ड बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता आगामी पुस १५ गतेदेखि सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।

यस्तै, २०औँ एशियाली खेलकुदमा सहभागी हुने खेलाडी तथा अफिसियलको नामावली अनुमोदन गरेको छ । बैठकमा मन्त्री पोखरेलले दशौँ राष्ट्रिय खेलकुद सफल बनाउन सम्पूर्ण पक्ष एकताबद्ध भई लाग्न अनुरोध गर्नुभएको छ ।

बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठलगायत प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवसहित परिषद्का बोर्ड सदस्यहरुको उपस्थिति थियो । बैठकमा राखेपका सदस्य–सचिव रामचरित्र मेहताले विषय वस्तु प्रस्तुत गर्नुभएको थियो ।

फ्रान्स-स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित

लेज-क्याप-फेरेट। फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण एक लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । तीव्र हावा र लामो खडेरीका कारण डढेलो तीव्ररूपमा फैलिँदा दुवै देशले युरोपेली सङ्घ (इयू)सँग सहयोग मागेका छन् ।

फ्रान्सको दक्षिणपश्चिमी बोर्डो क्षेत्र र स्पेनको राजधानी म्याड्रिड आसपासका क्षेत्रमा डढेलोले व्यापक क्षति पुर्याएको छ । फ्रान्समा करिब एक लाख ४१ हजार तथा म्याड्रिड क्षेत्रमा करिब २५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीले जनाएका छन् । विस्थापित मध्ये एक हजार २०० भन्दा बढी वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्ति रहेका छन् ।

बोर्डोको दक्षिणस्थित पर्यटकीय क्याप फेरेट प्रायद्वीपबाट मात्र करिब ४४ हजार मानिसलाई उद्धार गरिएको छ । आगोका कारण त्यहाँ ५० भन्दा बढी घर नष्ट भएका छन् । डुङ्गा र सवारी साधनमार्फत् स्थानीय बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा पुर्याइएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले डढेलो नियन्त्रणका लागि युरोपेली सङ्घसँग सहयोग माग्दै सेनालाई परिचालन गर्न निर्देशन दिनुभएको छ । फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले यो देशले अहिलेसम्मकै सबैभन्दा भीषण डढेलोको सामना गरिरहेको बताउनुभयो । स्पेनमा म्याड्रिड क्षेत्रीय आपतकालीन व्यवस्थापन प्रमुख कार्लोस नोभिलोले राजधानी आसपासको डढेलो अग्निनियन्त्रकको नियन्त्रण क्षमताभन्दा बाहिर पुगेको बताउनुभएको छ ।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम तय गरिएको छ । फ्रान्सले डढेलो नियन्त्रणका लागि करिब एक हजार सैनिक परिचालन गरेको छ । साथै, धुवाँबाट प्रभावित क्षेत्रका बासिन्दा र उद्धारकर्मीका लागि १५ लाख वटा एफएफपी-२ मास्क वितरण गरिने जनाइएको छ ।

क्याप फेरेट क्षेत्रमा आगो नियन्त्रणमा खटिएका करिब एक हजार अग्निनियन्त्रक मध्ये ४० जना घाइते भएका छन् । यसै साता फ्रान्स र इटालीमा डढेलो नियन्त्रणका क्रममा तीन अग्निनियन्त्रकको मृत्यु भएको अधिकारीले बताएका छन् । युरोपेली आयोगले सहयोग स्वरूप फ्रान्सका लागि तीन र स्पेनका लागि चार वटा पानी बोक्ने अग्नि नियन्त्रण विमान परिचालन गरेको जनाएको छ ।

अधिकारीका अनुसार फ्रान्समा हालसम्म १३ हजार ५०० हेक्टरभन्दा बढी र म्याड्रिड क्षेत्रमा करिब छ हजार हेक्टर वन तथा जमिन डढेलोले नष्ट गरिसकेको छ । ग्वाडालाजारा क्षेत्रमा फैलिएको अर्को डढेलोले ३२ हजार हेक्टरभन्दा बढी क्षेत्र जलेको छ । वैज्ञानिकले मानव गतिविधिका कारण भएको जलवायु परिवर्तनले खडेरी र अत्यधिक गर्मी बढाएकाले युरोपमा डढेलोको जोखिम झन् तीव्र बन्दै गएको बताएका छन् ।

दलित समुदायको मौलिक हक कार्यान्वयन गर्न विधेयक ल्याउँदै सरकार

काठमाडौं । सरकारले दलित समुदायको हक, अधिकार तथा विकाससम्बन्धी विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिएकी हुन्।

बिहीबार राष्ट्रिय सभा बैठकमा सांसद भूपेन्द्रबहादुर सुनारले दलित समुदायको हक, अधिकार तथा विकाससम्बन्धी सदनबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनको अवस्था र सरकारले गरिरहेको कामबारे प्रश्न गरेका थिए।

जवाफमा मन्त्री गौतमले संविधानको धारा ४० मा व्यवस्था गरिएको दलित समुदायको मौलिक हक कार्यान्वयन गर्न कानुन आयोगले ‘दलितको हक, अधिकार तथा विकाससम्बन्धी विधेयक’ तर्जुमा गरेको जानकारी दिइन्।

उनका अनुसार विधेयकको मस्यौदा महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा प्राप्त भइसकेको छ। विधायन ऐन, २०८१ अनुसार प्रक्रिया अघि बढाउन विज्ञसहितको समिति गठन गरिएको पनि उनले बताइन्।

‘अहिले विधेयकको अन्तिम तयारी भइसकेको छ। के–के सुधार गर्नुपर्छ भन्ने विषयमा सरकारकै मातहतमा मस्यौदा तयार भइरहेको छ,’ मन्त्री गौतमले भनिन्।

विधेयकलाई थप सुधारमुखी बनाउन सांसदहरूबाट प्राप्त सुझाव समेट्न सरकार तयार रहेको उनले बताइन्।

कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्योः मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारलाई नेपाली कांग्रेसले पु¥याएको योगदान र सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा आज स्वीकृत गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको विकास, समृद्धि र सुशासनका लागि कांग्रेसले अहिलेसम्म गरेको सहकार्य महत्वपूर्ण रहेको बताउनुभएको हो । उहाँले कांग्रेससँगको सहकार्य सुमधुर र अत्यन्तै सकारात्मक एवं रचनात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि प्रदेशको विकास तथा समृद्धिका लागि नेपाली कांग्रेसबाट निरन्तर सहयोग र सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि कांग्रेससँग आगामी दिनमा पनि हातेमालो गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच, नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरू मुख्यमन्त्री कार्कीले आफैँसँग राख्नुभएको छ । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका एक राज्यमन्त्रीसहित पाँच जनाको सहभागिता रहेको थियो । मन्त्रिमण्डल चाँडै पुनर्गठन हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकरी दिनुभयो ।

मुख्यमन्त्री शाहले गरे राजीनामाको घोषणा, अब नयाँ सरकार गठनको बाटो खुल्यो

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने घोषणा गरेका छन्। बिहीबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिने घोषणा गरेका हुन्।

राजीनामा घोषणा गर्नुअघि प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री शाहले ‘राजनीतिक बेइमानी’का कारण वर्तमान सरकार अल्पमतमा परेको आरोप लगाए। उनले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरेको दाबी गर्दै प्रदेश गौरवका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए।

मुख्यमन्त्री शाहले राजीनामा दिएसँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

केन्द्रमा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेबीच भएको सहमतिअनुसार सुदूरपश्चिममा नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताइएको छ।

महाकाली करिडोरः डेढ दशकमा ६ किलोमिटर कालोपत्र

कञ्चनपुर । सरकारले कञ्चनपुरको बह्मदेवदेखि नेपाल–चीन सिमाना तिंकरसम्म जोड्ने ध्येयकासाथ डेढ दशकअघि सुरु गरेको महाकाली करिडोर निर्माणमा अपेक्षित प्रगति हुन नसकेको पाइएको छ ।

तिंकर क्षेत्रमा सडक यातायातको पहुँच विस्तार गरी नेपाल–भारत–चीनबीच त्रिदेशीय व्यापारीक करिडोर निर्माण गर्ने लक्ष्यका साथ २०६६ सालबाट सुरु गरिएको करिडोरको कूल लम्बाइ ४१३ किलोमिटर छ ।

महाकाली करिडोर सडक योजना कार्यालय दार्चुलाले कञ्चनपुरको बह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म ३३४ किलोमिटर सडक निर्माण गरिरहेको छ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको तुसारपानीदेखि तिंकरसम्मको ७९ किलोमिटर क्षेत्रको सडकको हालसम्म १६ किलोमिटर मात्रै ट्रयाक खुलेको छ ।

योजना कार्यालय दार्चुलाका सूचना अधिकारी दिनेश रैखोलाले कार्यालयले निर्माण गरिरहेको ३३४ किलोमिटर सडकमध्ये ४६ दशमलव तीन किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको जानकारी दिए ।

उनका अनुसार करिडोरको डडेल्धुरामा पर्ने ५८ किलोमिटर सडकमध्ये ३२ किलोमिटर मात्रै ट्रयाक खुलेको छ भने २६ किलोमिटर ट्रयाक खुल्न बाँकी छ । पाँच दशमलव एक किलोमिटर सडक कालोपत्र गरिएको छ । उक्त सडकको १४४ किलोमिटरमध्ये दुई दशमलव पाँच किलोमिटर ट्रयाक खुल्न बाँकी छ ।

दार्चुलामा पर्ने १२१ किलोमिटरमध्ये १७ दशमलव आठ किलोमिटर ट्रयाक खुल्न बाँकी छ । करिडोरको हालसम्म छ दशमलव चार किलोमिटर सडक मात्रै कालोपत्रे गरिएको उनले जानकारी दिए ।

सुदुरपश्चिम प्रदेशक कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सीमासम्म निर्माण हुने उक्त सडक योजनाबाट त्यस क्षेत्रमा आवतजावत गर्ने धेरै जनता लाभान्वित हुने योजना कार्यालयले जनाएको छ ।

त्रिदेशीय नाका भएका कारण व्यापारिक महत्व धेरै नै रहेको र धार्मिक हिसाबले कैलाश मानसरोवर भ्रमणको लागि छोटो बाटोको रुपमा प्रयोग हुने योजनाको प्रमुख विशेषता रहेको छ ।

करिडोरअन्तर्गत २८८ किलोमिटर कालोपत्रे हुन बाँकी रहेको त्यस सडक खण्डमा बनाइनुपर्ने ३४ वटा पुलमध्ये ३३ वटा पनि निर्माण हुन बाँकी छ ।

करिडोरको कूल ३३४ किलोमिटर सडकमा बाह्रै महिना यातायात निर्वाध रुपमा चल्ने बनाउने करिब रु १८ अर्ब १६ करोड बजेट आवश्यक पर्ने महाकाली करिडोर सडक योजना कार्यालयका इन्जिनियर रैखोलाले बताउनुभयो । त्यस योजनामा हालसम्म रु चार अर्ब २२ करोड रकम खर्च भइसकेको छ ।

चालु आर्थिक वर्षमा योजनाका लागि रु ३७ करोड ९७ लाख बजेट विनियोजन भएको छ । “योजनाको एक अर्ब ३९ करोड ८४ लाख ठेक्काको दायित्व छ ।” इन्जिनियर रैखोलाले भने, “मूल्यवृद्धिका कारण तीन÷चार महिनायता काम प्रभावित भएको छ ।”

भौगोलिक हिसाबले दुर्गम तथा कडा चट्टानी भू–भाग बढी रहेकाले विष्फोटक पदार्थ प्रयोग गरी सडक निर्माण गर्नुपर्ने र विष्फोटक पदार्थको उपलब्धता सहज नहुँदा करिडोर निर्माणमा चुनौती थपिएको योजना कार्यालयले जनाएको छ ।

त्यस सडक क्षेत्रमा पर्ने रुखको व्यवस्थापन र योजनाका लागि आवश्यक विनियोजन नहुँदा अपेक्षाअनुसार सडक निर्माण अघि बढ्न नसकेको आयोजना पदाधिकारीको भनाइ छ ।

आयोजनाअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५६, बैतडीमा १४४ र दार्चुलामा १२० किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ ।

युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार

काठमाडौँ। नेपालको परराष्ट्र नीतिलाई अनुसन्धानमा आधारित, समसामयिक तथा युवा पुस्ताको ज्ञान, सीप र विशेषज्ञतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप तथा इन्टर्नसीप कार्यक्रम–२०२६’ सम्पन्न भएको छ।

परराष्ट्र मन्त्रालयको पहलमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए)ले सञ्चालन गरेको आठ साताको कार्यक्रममा नेपालभित्र तथा विदेशमा रहेका युवा नेपाली पेसाकर्मी, अनुसन्धानकर्ता तथा विद्यार्थीलाई नेपालको परराष्ट्र नीतिसँग सम्बन्धित प्राथमिकताका विषयमा प्रत्यक्ष अनुसन्धान गर्ने अवसर प्रदान गरिएको थियो। असारदेखि सञ्चालन भएको कार्यक्रममा नीति तथा अनुसन्धानका क्षेत्रमा रुचि राख्ने १० जना फेलो र १० जना इन्टर्न सहभागी थिए । कार्यक्रम स्वेच्छिक आधारमा सञ्चालन गरिएको थियो।

समर फेलोसिपमा नेपालको रक्षा कूटनीतिमाथि अध्ययन तथा अनुसन्धान गर्नुभएकी डा हिन्दू संस्कृतिका कार्कीले परराष्ट्र मन्त्रालयले आयोजना गरेको समर फेलोसिप कार्यक्रम आफ्ना लागि महत्त्वपूर्ण अवसर भएको बताए।

उनले भने, “यो फेलोसिपको अवधिमा हामीले सरकारसँग नजिक रहेर काम गर्ने अवसर पायौँ र विभिन्न निकायसँग सहकार्य पनि गर्‍यौँ। साथै, यसले आफ्नो क्षमता अभिवृद्धिका लागि महत्त्वपूर्ण योगदान दिएको छ । यसबाट विदेश मामिलामा देशलाई पनि टेवा पुग्ने देखिन्छ”, डा. कार्कीले चीनको साङ्घाइस्थित फुदान विश्वविद्यालयबाट अन्तरराष्ट्रिय राजनीतिमा विद्यावारिधि (पिएचडी) गरेका छन्।

परराष्ट्र नीतिमा युवाको ज्ञान र विशेषज्ञता जोड्ने प्रयास

नेपालको परराष्ट्र नीति दीर्घकालीन राष्ट्रिय हितमा आधारित रहेको छ । मन्त्रालयले बदलिँदो अन्तरराष्ट्रिय परिवेशमा नेपालको कूटनीतिक संलग्नताको गुणस्तर र पहुँचलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै आएको छ। आर्थिक कूटनीति, लगानी प्रवर्द्धन, व्यापार विस्तार तथा द्विपक्षीय र बहुपक्षीय सम्बन्ध सुदृढीकरणलाई नेपालको विकाससँग जोडेर अघि बढाउन अनुसन्धान र नयाँ ज्ञानको भूमिका महत्त्वपूर्ण हुने मन्त्रालयले जनाएको छ।

नेपाल अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने प्रक्रियामा रहेकाले आगामी दिनमा अन्तरराष्ट्रिय व्यापार, सहुलियतपूर्ण वित्तीय पहुँच तथा विकास साझेदारीका स्वरूपमा परिवर्तन आउने अपेक्षा गरिएको छ। यस्तो सङ्क्रमणलाई व्यवस्थापन गर्न नेपालको परराष्ट्र नीति र कूटनीतिक संयन्त्रलाई थप सक्षम बनाउनुपर्ने अवस्थामा युवा अनुसन्धानकर्ता र पेसाकर्मीको ज्ञानलाई नीतिगत तहसँग जोड्ने प्रयासका रूपमा समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम अघि सारिएको हो।

परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा अध्ययन तथा पेसागत क्षेत्रमा सक्रिय नेपाली युवासँग रहेको ज्ञान, सीप, अनुभव र अन्तरराष्ट्रिय सञ्जाललाई नेपालको राष्ट्रिय हितमा उपयोग गर्न सकिने सम्भावनालाई कार्यक्रमको आधार बनाइएको बताए।

मन्त्रालयले युवा नेपाली पेसाकर्मी तथा अनुसन्धानकर्तासँग संरचित साझेदारी निर्माण गर्ने नीति लिएको उनकाे भनाइ थियो । कार्यक्रममार्फत सहभागी युवाले मन्त्रालयका प्राथमिकताका क्षेत्रमा भइरहेको नीतिगत कामलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए।