`

आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदै

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदैछन् । आज मंगलबार समूह ‘ए’का दुई र समूह ‘डी’ अन्र्तगत एक गरेर तीन खेल हुन लागेका हुन् ।पहिलो खेलमा बिहान सवा ११ बजे नेदरल्यान्डस र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा समुह डी अन्र्तगत रहेका न्यूजील्यान्ड र युएई बिच अपराह्न ३ः१५ बजे भारतको चेन्नाईमा प्रतिस्पर्धा हुनेछ ।

न्युजिल्यान्ड पहिलो खेलमा विजयी भएको टिम हो भने यूएई पहिलो खेल खेल्दैछ । न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको थियो ।

मंगलबारको अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दैछन् । यो खेल साँझ सवा ७ बजे शुरू हुनेछ । प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको अमेरिका र पाकिस्तान दुवै जित्नुपर्ने दबाबमा छन् ।

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) २० रुपैयाँ, गोलभेँडा सानो (टनेल) ३० रुपैयाँ र गोलभेँडा सानो (तराई) ३० रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो २६ रुपैयाँ, आलु रातो (भारतीय) २४ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३६ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) ४० रुपैयाँ, बन्दा (लोकल) ४२ रुपैयाँ, बन्दा (नरिवल) ३० रुपैयाँ, काउली (स्थानीय) २० रुपैयाँ, काउली (तराई) २२ रुपैयाँ, रातो मूला २५ रुपैयाँ, सेतो मूला (लोकल) १० रुपैयाँ, सेतो मूला (हाइब्रिड) १६ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ र भन्टा डल्लो ५० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (लोकल) १३० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) १०० रुपैयाँ, घिउ सिमी (राजमा) १२० रुपैयाँ, टाटे सिमी ६५ रुपैयाँ, तितो करेला १७० रुपैयाँ, लौका ५५ रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ, हरियो फर्सी (लाम्चो) १५ रुपैयाँ, हरियो फर्सी (डल्लो) २० रुपैयाँ, सलगम ४५ रुपैयाँ, भिन्डी ११० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ र पिँडालु ५५ रुपैयाँ तोकिएको छ ।

समितिले रायोसाग प्रतिकिलो १० रुपैयाँ, पालुङ्गो साग ३० रुपैयाँ, चमसुर ३० रुपैयाँ, मेथीको साग ४० रुपैयाँ र हरियो प्याज ४० रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, बकूला प्रतिकिलो ५० रुपैयाँ, तरुल ६० रुपैयाँ, च्याउ (कन्य) ७० रुपैयाँ, च्याउ (डल्ले) ३०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, ब्रोकाउली ४० रुपैयाँ, चुकुन्दर ६० रुपैयाँ, जिरीको साग ५० रुपैयाँ, सेलरी १४० रुपैयाँ, पार्सले ३५० रुपैयाँ, सौफको साग ४० रुपैयाँ, पुदिना ३०० रुपैयाँ र गुन्द्रुक २८० रुपैयाँ तोकिएको छ ।

यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) २८० रुपैयाँ, केरा (दर्जन) १७० रुपैयाँ, अनार ३०० रुपैयाँ, अंगुर (हरियो) २०० रुपैयाँ, अंगुर (कालो) ३५० रुपैयाँ, सुन्तला (नेपाली) १४० रुपैयाँ, तरबुजा (हरियो) ८० रुपैयाँ, मौसम १०० रुपैयाँ, जुनार १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) १२० रुपैयाँ, काँक्रो (हाइब्रिड) ८० रुपैयाँ, निबुवा ५५ रुपैयाँ, नास्पाती (चाइनिज) २२० रुपैयाँ, मेवा (नेपाली) ६० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसुलु) ४५० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ र अमला ९० रुपैयाँ निर्धारण गरिएको छ ।

राजनीतिसँगै व्यावसायिक उखुखेतीमा जमेका जनप्रतिनिधि

कैलाली। टीकापुर नगरपालिका–८ का धनसिंह साउद कृषि क्षेत्रमा सम्भावना देखेका किसान हुनुहुन्छ ।राजनीतिसँगै कृषिबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बन्नुभएका उहाँ बर्सेनि ६५ बिघाभन्दा बढी क्षेत्रफलमा खेती गर्नुहुन्छ । साउदले धानखेतीमात्र ३० देखि ३५ बिघामा गर्दै आउनुभएको छ ।

याम अनुसारको उत्पादनका साथै उन्नत बीउ उत्पादनलाई जोड दिँदै आउनुभएका उहाँले पछिल्लो समयमा उखुखेतीलाई प्राथमिकता दिन थाल्नुभएको छ ।

गत वर्ष उहाँले झन्डै ४५ बिघा उखुखेती गरेको जानकारी दिनुभयो । यस वर्ष थप आठ बिघा उखुखेती विस्तार गर्ने तयारी उहाँले गर्नुभएको छ । बर्दियाको राजापुर नगरपालिकामा स्थापना भएको राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजले किसानले उत्पादन गरेको उखु सहजै खरिद गर्न थालेपछि अन्य खेतीभन्दा उखुलाई प्राथमिकता दिएको साउद बताउनुहुन्छ ।

“एकपटकको लागानीले पछिसम्म फाइदा लिन सकिन्छ भने बजार खोज्नुपर्ने स्थिति छैन”, उहाँले भन्नुभयो, “मूल्य पनि राम्रो पाइने भएपछि अन्य बालीभन्दा उखुलाई बढी प्राथमिकता दिइएको छ ।” चिनी उद्योगले किसानको उखु प्रतिक्विन्टल रु ६९० मा खरिद गर्दै आएको छ । रु ६२० किसानले उद्योगबाट पाउँछन् भने प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले उखु किसानलाई अनुदान दिँदै आएको छ । उसो त साउदले यस वर्ष सात बिघा आलुखेती पनि गर्नुभएको छ ।

वडा नं ८ कै वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला उखुखेतीमा लामो समयदेखि लाग्नुभएको छ । दुई कार्यकाल वडाध्यक्षको जिम्मेवारीमा रहनुभएका उहाँ निर्वाचित पूर्व कृषि क्षेत्रमै आबद्ध हुनुहुन्थ्यो । कृषिसँगै राजनीति गर्दै आउनुभएका वडाध्यक्ष ठकुल्ला केही वर्ष पहिले गाउँमा गुदमिल सञ्चालन गर्दै आउनुभएको थियो । अहिले गुदमिल भने छैन । गत वर्षबाट उहाँले पनि पुनः उखुखेती विस्तार गर्नुभएको छ । सात बिघामा विस्तार गरिएको उखुखेती यस वर्ष थप विस्तार गर्ने योजनामा वडाध्यक्ष ठकुल्ला हुनुहुन्छ ।

“आम्दानी राम्रो भएपछि ममात्र नभई किसान उखुखेतीमा लाग्न थालेका छन् । मैले पनि विस्तार गर्दै लगेको छु”, उहाँ भन्नुहुन्छ, “बजारको सहजता र थोरै लगानीबाट राम्रो आम्दानी उखुखेतीले दिन थालेको छ ।”

राजनीति गरेर समाजसेवा भनेर मात्रै आर्थिक समृद्धि हासिल गर्न नसकिने भन्दै वडाध्यक्ष ठकुल्लाले उत्पादनलाई प्राथमिकतामा राखेर समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । “मैले समयको व्यवस्थापन गर्दै कृषिलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको छु । सिजनमा राम्रो आलु उत्पादन हुन्छ । मकै, धान, गहुँलगायतका बाली पनि लगाउँदै आएका छौँ । तर, पछिल्लो समय यस क्षेत्रमा उखुखेती लोकप्रिय बन्दै गएको छ ।” किसानले एक बिघामा ६०० क्विन्टलभन्दा बढी उखु उत्पादन गर्दै आएका छन् ।

टीकापुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने पनि लामो समयदेखि कृषि र व्यापारमा आबद्ध हुनुहुन्छ । उहाँ बर्सेनि ९–१० बिघा खेती लगाउनुहुन्छ भने २०५३ सालदेखि व्यापार गर्दै आउनुभएको छ । कृषि, व्यापारसहित राजनीतिमा आबद्ध न्यौपाने पनि राजनीतिले सन्तुष्टिमात्र मिल्ने बताउनुहुन्छ । “पैसा कमाउनका लागि व्यवसाय गर्नैपर्छ । व्यवसाय र राजनीतिलाई सँगसँगै लैजाँदा कुनै कुराको लोभ हुँदैन”, उहाँ भन्नुहुन्छ, “आज राजनीतिमा भन्दा खेतमा काम गर्दा सन्तुष्टि मिल्छ । हामीले काम गरेको देखेर गाउँका युवाहरूमा काम गर्नुपर्छ भन्ने मानसिकता बढेको छ ।”

न्यौपानेले अन्य खेतीसँगै उखुखेतीलाई विस्तार गर्दै लग्नुभएको छ । दुई बिघाबाट उखुखेती सुरु गर्दै आउनुभएका वडाध्यक्ष न्यौपाने यस वर्ष पुनः एक बिघा विस्तार गर्ने योजनामा हुनुहुन्छ । केही समय केराखेतीमा आकर्षित किसान पछिल्लो समय उखुखेतीमा आकर्षित हुँदै गएका छन् । लगानी सुरक्षित भएपछि किसानले उखुखेतीलाई प्राथमिकता दिन थालेको स्थानीय कृषक सुन्दर चौधरी बताउनुहुन्छ ।

राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजले उद्योगको क्षमताअनुसार वार्षिक ३० देखि ३५ लाख क्विन्टल उखु आवश्यक पर्ने उद्योगका प्रशासनशाखाका प्रमुख इन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगको पहुँचमा अहिलेसम्म छ–सात सय क्विन्टल उखुमात्र रहेको छ ।

पुस २२ गतेबाट चिनी उत्पादन सुरु गरेको उद्योग उखुको आपूर्ति पर्याप्त नहुँदा नियमित सञ्चालनमा ल्याउन नसकिएको प्रशासन प्रमुख ढकाल बताउनुहुन्छ । रु दुई अर्ब लागतमा निर्माण भएको उद्योगको वार्षिक ३५ हजार ५०० मेट्रिक टन चिनी उत्पादन गर्ने क्षमता रहेको छ ।

उहाँले उखुखेती विस्तारको काममा उद्योगले समेत काम गर्दै आएको बताउनुभयो । टीकापुर नगरपालिकालगायत क्षेत्रमा उद्योगले जग्गा भाडामा लिएर उत्पादन सुरु गरिरहेको बताउँदै ढकालले बर्सेनि सात हजार बिघामा उखुखेती आवश्यक पर्ने जानकारी दिनुभएको छ ।

“किसानलाई खेती विस्तारमा कम्पनीले काम गरिरहेको छ । अर्कातिर आफैँ पनि खेती विस्तार गर्दै आएको छ”, उहाँ भन्नुहुन्छ, “कामदार अभाव, यातायातको सहज पहुँचलगायतका समस्या छन् ।”

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ। लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स÷प्लाज्मा) बनाउन थालिएको छ ।धवलागिरि प्रादेशिक अस्पतालअघि रहेको रक्त सञ्चार केन्द्रमा सेतो रगत निर्माण गर्ने उपकरणको अभावमा अन्य केही उपकरणसमेत प्रयोगविहीन भएका थिए भने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता थियो ।

लामो समयको प्रयास र करोड खर्च गरेर प्रयोगशाला स्थापना गरिएको छ भने आइतबारदेखि प्रयोगशालाले सेतो रगत उत्पादन गर्न थालेको छ । नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले लामो समयको प्रयास र विभिन्न निकायको सहयोगमा झण्डै एक करोड रुपैयाँ खर्चेर सुविधासम्पन्न प्रयोगशाला स्थापना गरिएको छ ।

उहाँका अनुसार प्रयोगशालामा तालिमप्राप्त प्रयोगशाला प्राविधिकको समेत व्यवस्था मिलाइएको छ । जटिल प्रकारका बिरामीलाई आवश्यक पर्ने प्लेटलेट्स÷प्लाज्मा बागलुङमै बनाउन थालेपछि धवलागिरि प्रादेशिक अस्पतालबाट रेफर हुने जटिल प्रकारका बिरामीको सङ्ख्या घट्ने अपेक्षा छ ।

विशेषज्ञ सेवा प्रदान तथा जटिल प्रकारका रोगको उपचारका लागि सेतो रगत आवश्यक पर्ने अस्पतालका प्रमुख डा किरण तिवारीले जानकारी दिनुभयो । रक्त सञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स÷प्लाज्मा) नपाइँदा अस्पतालले जटिल प्रकारका समस्या देखिएर सेतो रगत चाहिने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता आइतबारदेखि हटेको उहाँले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले बागलुङस्थित रक्तसञ्चार केन्द्रलाई दुई वर्षअघि दिएको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रिफ्युज) प्रयोगमा आएको छ भने प्रदेश सरकारको रु १५ लाख र बागलुङ नगरपालिकाको रु पाँच लाख, जैमिनी नगरपालिकाको रु तीन लाख, गलकोट नगरपालिकाको रु दुई लाख र बरेङ गाउँपालिकाको रु एक लाख ५० हजार गरी रु २६ लाख ५० हजार लागतमा अन्य उपकरण खरिद गरिएको थियो ।

उपकरण आए पनि प्रयोगशालाको पूर्वाधार निर्माण गर्न नसक्दा रोकिएको काममा बागलुङ समाज जापानले रु १३ लाख ५० हजार सहयोग गरेपछि सुरु भएको थियो । रक्तसञ्चार केन्द्रको भवनमा उपकरण र अन्य सहयोग गरी झण्डै रु एक करोड लागतमा सेतो रगत उत्पादन थालिएको केन्द्रका प्रमुख गुरुदत्त शर्माले बताउनुभयो ।

विशेषगरी डेङ्गीको सङ्क्रमण भई सेतो रगतको मात्रा घटेका, सर्पदंश, शल्यक्रिया, अत्यधिक रक्तश्राव भएका बिरामीलाई समेत सेतो रगत आवश्यक पर्ने धवलागिरि अस्पतालका प्रमुख डा तिवारीले जानकारी दिनुभयो ।

उहाँले सेतो रगतकै कारण उपचार सम्भव हुने बिरामीलाई समेत पोखरा, काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य भएको बताउनभुयो । बिरामीको अवस्था हेरेर ३० हजारभन्दा तल प्लेटलेट्स भएमा सेतो रगतको आवश्यकता हुने गर्दछ ।

उड्ययन सम्बन्धित प्रतिबन्ध हटेमा रुस अमेरिकासँग सिधा उडान सुरु गर्न तयार

मस्को, २६ माघ – रुसले रुसी एयरलाइन्समाथिको प्रतिबन्ध फुकुवा गर्ने शर्तमा अमेरिकासँगको प्रत्यक्ष हवाई सेवा पुनः सुरु गर्न तयार भएको रूसी सङ्घीय हवाई यातायात निकायले सोमबार जनाएको छ। रुसी सङ्घीय हवाई यातायात निकायका प्रमुख दिमित्री याद्रोभले रुस–२४ टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा भन्नुभयो, “रुस सामान्यतया दुई देशबीच सिधा उडान पुनः सुरु गर्न तयार छ ।”

उहाँले भन्नुभयो, “प्रत्यक्ष उडानहरूको पुनः सञ्चालन रूसी वाहकहरूमा लगाइएको सीमितताहरू हटाएपछि आउनेछ, र संयुक्त राज्य अमेरिका आउने रूसी विमानहरू हिरासतजस्ता जोखिमहरूबाट मुक्त हुनेछन् ।”

सन् २०२२ मा रूस–युक्रेन द्वन्द्व सुरु भएपछि संयुक्त राज्य अमेरिकाले मस्कोको बिरूद्ध प्रतिबन्धहरूको श्रृङ्खलाको एक भागको रूपमा रूसी विमानहरूको लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो । त्यसको जवाफमा रुसले अमेरिकामाथि पनि यस्तै प्रतिबन्ध लगाएको थियो ।

प्रहरीको दुईदिने रणनीतिक सम्मेलन सम्पन्न

काठमाडौँ। प्रहरी प्रधान कार्यालयको आयोजनामा नेपाल प्रहरीको दुईदिने ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२’ सम्पन्न भएको छ ।प्रहरी व्यवस्थापन र परिचालनः विद्यमान चुनौती र भावी कार्यदिशालाई कसरी अगाडि बढाउने भन्ने विषयमा आइतबारदेखि सुरु भएको रणनीतिक सम्मेलन सोमबार सम्पन्न भएको हो ।

दुईदिने सम्मेलनमा नेपाल प्रहरीको सञ्चालन, सुपरीवेक्षण र समन्वय, अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिदृश्यमा सुरक्षा चुनौती र प्रहरी रणनीति, अपराधका पारम्परिक र नवीनतम प्रवृत्तिहरू, विरोध प्रदर्शन व्यवस्थापन, विश्वास, सहकार्य र सुधारः नेपाल प्रहरी र नागरिक सम्बन्धको रूपान्तरणको विषयमा गहन छलफल भएको थियो ।

यस्तै, नेपाल प्रहरीमा मानवस्रोत व्यवस्थापन, नेपाल प्रहरीमा सूचना प्रविधि, सञ्चार र कृत्रिम बुद्धिमत्ता, विपद् व्यवस्थापनमा प्रथम उद्धारका रूपमा नेपाल प्रहरी, सडक सुरक्षा प्रवद्र्धनमा प्रहरी भूमिकालगायत विषयमा सहभागी र विषय विज्ञबीच बृहत् रूपमा छलफल एवं अन्तरक्रिया भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त सम्मेलनमा नेपाल प्रहरीको कार्य समीक्षा र यसका रणनीति निर्धारणका प्रक्रियामा बौद्धिक वृत्त, नागरिक तहको सहभागिता र अपनत्व विकास गर्नु, विद्यमान परिवेशमा आन्तरिक र बाह्य चुनौतीको समग्र मूल्याङ्कन गर्नु, नेपाल प्रहरीको दीर्घकालीन दृष्टि, रणनीतिक लक्ष्य र कार्यान्वयनयोग्य कार्ययोजनाका लागि सम्मेलनबाट सुझाव र मार्गदर्शन प्राप्त गरिएको थियो ।

यसैगरी, विद्यमान सङ्गठन सञ्चालनको अवस्था र सुधारका उपाय समीक्षा गर्दै प्रभावकारिता र कार्यकुशलता अभिवृद्धिका उपाय पहिचान गर्नु एवं नेपाल प्रहरीप्रतिको दृष्टिकोण र जनअपेक्षाका सन्दर्भमा सेवा प्रवाहका प्रमुख क्षेत्रमा सुधारका उपाय पहिचान गरिएको थियो ।

सम्मेलनको समापनसत्रमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्मेलनमा सहभागीको व्यावसायिक एवं व्यावहारिक ज्ञान, दक्षता र अनुभवका साथै दृष्टिकोण तथा सुझावबाट नेपाल प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण पृष्ठपोषण मिलेको उल्लेख गर्नुभयो ।

उहाँले प्रविधिका माध्यमबाट सिर्जित अपराधका साथै अपराध अनुसन्धानमा देखापरेका नवीनतम चुनौती समाधान गर्न नेपाल प्रहरी निरन्तर लागिरहेको र यस्ता अपराध नियन्त्रण गर्न नागरिकको रचनात्मक सहयोगको निरन्तर आवश्यकता रहेको बताउनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा छलफल गरिएका विषयवस्तु र प्राप्त सुझाव आगामी दिनमा नेपाल प्रहरीका लागि नीति, रणनीति र कार्यदिशा निर्धारणका साथै क्षमता अभिवृद्धि, प्रशिक्षण एवं वृत्तिविकासमा मार्गदर्शक हुने बताउनुभयो ।

सम्मेलनले नेपाल प्रहरीलाई अझ व्यावसायिक, उत्तरदायी र नागरिकमैत्री बन्न प्रेरणा दिएको तथा नेपाल प्रहरीको संस्थागत क्षमता अभिवृद्धि, सेवा प्रवाहको गुणस्तरमा सुधार र नागरिकको प्रहरीप्रतिको विश्वासमा वृद्धि गर्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । यसैबीच सोमबार प्रहरी प्रधान कार्यालयमा अपराध अनुसन्धान र शान्तिसुरक्षामा सञ्चारमाध्यमको भूमिका विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले समाजमा शान्ति सुव्यवस्था कायम राखी अपराध रोकथाम र अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको भए पनि सञ्चारमाध्यम लोकतन्त्रका मेरूदण्ड, सूचनाका संवाहक, राष्ट्रिय सुरक्षा र राज्य तथा नागरिकबीचको सन्देश वाहकका रूपमा स्थापित संस्था भएको बताउनुभयो । उहाँले कुनै पनि घटनाक्रमबारे सर्वसाधारणको पहिलो धारणा सञ्चारमाध्यममार्फत निर्माण हुनेहुँदा सम्प्रेषण हुने प्रत्येक सूचना सत्यतथ्य, सन्तुलित र जिम्मेवारीमा आधारित हुनु जरूरी रहेको बताउनुभयो ।

उहाँले सूचना प्रविधिको विकाससँगै आजको डिजिटल युगमा सबभन्दा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मिस इन्फर्मेसन हुने, विचार फरक भएर डिस इन्फर्मेसन हुने, डिप फेक र एआईको दुरूपयोग तथा डिजिटल म्यानिपुलेसनबाट सिर्जित झुटो सामग्रीले बढावा पाइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले सञ्चारमाध्यम र प्रहरीले आपसी सम्मान, निष्पक्षता, व्यावसायिकता, संस्थागत मर्यादा र आचारसंहितालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले सञ्चारमाध्यमसँग भएको अन्तरक्रियाबाट अपराध अनुसन्धान तथा शान्तिसुरक्षा र सञ्चारमाध्यमबीचको सम्बन्ध अझ मजबुत, जिम्मेवार र परिणाममुखी बन्ने विश्वास व्यक्त गर्नुभयो

कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

कञ्चनपुर। आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी प्रचारप्रसार बढ्दै गएको छ ।लामो समयदेखि चुनावी मैदानमा देखिँदै आएका पुराना अनुहारलाई यसपटक नयाँ उम्मेदवारले चुनौती दिने भएका छन् । अहिले उम्मेदवारले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादमा जोड दिएका छन । पुराना उम्मेदवारले अघिल्लो कार्यकालका उपलब्धिलाई आधार बनाइरहँदा नयाँ उम्मेदवारले परिवर्तन र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पूर्वमन्त्री तारा लामा तामाङ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट पूर्वमन्त्री बीना मगर चुनावी मैदानमा छन् । यस क्षेत्रमा नेपाली कांग्रेसले विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता गोपीप्रसाद उपाध्यायलाई मैदानमा उतारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट जनक धामी उम्मेदवार बनेका छन् । उपाध्याय र धामी पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

यो क्षेत्रमा २०४८ सालको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेस, २०५१ मा एमाले, २०५६ को निर्वाचनमा कांग्रेस, २०६४ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी), २०७० मा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । विगतको परिणामलाई हेर्दा २०४८, २०५६ र २०७० गरी तीन पटक नेपाली कांग्रेसले निर्वाचन जितेको छ । विसं २०६४ र २०७४ मा नेकपा माओवादी केन्द्र रतथा २०५१ र २०७९ को निर्वाचनमा एमाले विजयी भएको थियो ।

विकास र सुशासन मुख्य एजेन्डा

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का उम्मेदवारले विकास र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन् । यस क्षेत्रमा दलहरुलाई पुरानो खास जोगाउनुपर्ने चुनौती छ । यसपटक पुराना अनुहारलाई युवा उम्मेदवारले चुनौती दिने देखिन्छ । यस क्षेत्रको चुनावी इतिहास हेर्दा नेपाली कांग्रेसले तीन पटक, माओवादी केन्द्र र एमालेले दुई÷दुई पटक निर्वाचन जितेको छ ।

नेपाली कांग्रेस क्षेत्र नं १ का कार्यवाहक क्षेत्रीय सभापति चेतन राईले पार्टी पुरानो विरासत फर्काउने गरी निर्वाचनमा होमिएको बताउँछन् । “गत भदौमा भएको जेनजी आन्दोलनपछि युवा आउनुपर्छ भन्ने मत बलियो भएकाले पार्टीले पनि यसपटक युवालाई उम्मेदवार बनाएका छौँ”, उहाँले भन्नुभयोे, “हाम्रो उम्मेदवार जनतामाझ लोकप्रिय छन् मतदाताबाट पनि सकारात्मक प्रतिक्रिया पाएका छौँ ।”

विसं २०७९ मा यही क्षेत्रबाट निर्वाचित एमालेकी तामाङले निर्वाचनमा सफलता प्राप्त गर्नेगरी रणनीतिका साथ मैदानमा उत्रिएको बताउनुभयो । उहाँले आफू प्रदेश सरकारमा मन्त्री हुँदा र प्रतिनिधिसभा सदस्य निर्वाचित हँुदा गरेका वकासका कामका कारण पनि यसपटक जित्ने दाबी गर्नुभयो ।

नेकपाबाट उम्मेदवार बन्नुभएकी पूर्वमन्त्री मगर पनि विजयी हुने रणनीतिमा हुनुशुन्छ । उहाँले यस क्षेत्रको विकासका लागि आफू निरन्तर लागि रहेको बताउँदै यसपटक पनि आफू निर्वाचित भए विगतका अधुरा काम पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

रास्वपाका उम्मेदवार धामी पनि जनतामाझ लोकप्रिय छवि बनाएका व्यक्ति हुन् । उहाँले आफू जनताको सेवक भएर काम गर्ने बताउँदै यसपटक मत परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलाडाँडी र लालझाडी गाउँपालिका पर्छन् । यस क्षेत्रमा एक लाख एक हजार ७२४ मतदाता छन् ।

इण्डो-नेपाल टी-२० च्यासिम्पयनसीपः लखनउ र डडेल्धुरा सेमिफाइनलमा

झापा। भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा जारी कोशी–पाथीभरा इण्डो-नेपाल टी-२० च्यासिम्पयनसीपको सेमिफाइनल समीकरण पूरा भएको छ ।समूह बीअन्तर्गत सोमबार भएका दुई खेलमा भारतको लखनउ र नेपालको डडेल्धुराले जितका साथ आफ्नो एक खेलअगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

सोमबार भएको पहिलो खेल पोखरा र डडेल्धुराबीच भएको थियो । खेलमा पहिलो ब्याटिङ गरेको पोखराले १७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ८५ रन बनाएको थियो । पोखरालाई सस्तैमा समेट्न डडेल्धुराका अय्यर र युवराज खत्रीले समान दुई/दुई विकेट लिए । ब्याटिङमा पोखराका तर्फबाट दीपकप्रसाद डुम्रेले सर्वाधिक ३० रनको योगदान दिए ।

जवाफमा डडेल्धुराले उत्कृष्ट ब्याटिङको प्रदर्शन गर्दै तीन विकेट क्षतिमा १० दशमलव तीन ओभरमा लक्ष्य हासिल गरेको थियो । त्यसका लागि डडेल्धुराका सन्नी विकले आक्रामक ब्याटिङ गर्दैै २४ बलमा ४८ रनको विष्फोटक पारी खेले । उनले तीन छक्का र पाँच चौका प्रहार गरे । बलिङमा पोखराका तर्फबाट सुवास भण्डारी, कृष्ण पौडेल र उद्धव दाहालले समान एक÷एक विकेट लिए ।

दोस्रो खेलमा पहिलो ब्याटिङ गर्दै लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४६ रन बनायो । जवाफमा सिक्किमले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।

ब्याटिङमा लखनउका तर्फबाट रमन कदयानले सर्वाधिक ४८ रन बनाए भने सिक्किमका तर्फबाट रुसभ राथोडले सर्वाधिक २८ रन बनाए । बलिङमा सिक्किमका तर्फबाट अक्षय सैनले चार ओभरमा १४ रन मात्र खर्चिएर दुई विकेट लिए भने लखनउका तर्फबाट चार जना बलरले समान दुई/दुई विकेट लिए ।

आज दुई खेल हुनेछन् । आयोजक भद्रपुर क्रिकेट क्लबका संयोजक गौरव सुब्बाका अनुसार दुई खेलसँगै समूह चरणका सबै खेल पूरा हुनेछन् । टी-२० क्रिकेटको विश्वकप चलिरहेको अवस्थामा पनि प्रतियोगितामा दर्शकको उत्साह र उल्लेख्य सहभागितामा सञ्चालन भइरहेका आयोजकले जनाएको छ ।

दाङ-३ का अतिसंवेदनशील मतदानस्थलको अनुगमन

दाङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला सुरक्षा समितिले सोमबार पश्चिम दाङका अतिसंवेदनशील दुईसहित चार वटा मतदानस्थलको स्थलगत अवलोकन तथा अनुगमन गरेको छ ।

जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालयको नेतृत्वमा गएको टोलीले अतिसंवेदनशील तुलसीपुर उपमहानगरपालिका–३ को मावि प्रतापकोट, शान्तिनगर गाउँपालिका–१ राप्ती मावि पेदीखोला, तुलसीपुर उपमहानगरपालिका–९ स्थित मावि दोघरे र शान्तिनगर गाउँपालिकाको बिपी मावि बयालेमा रहेको मतदानस्थलको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा टोलीले मतदानस्थलको भौगोलिक अवस्था, सुरक्षाको जोखिम, यातायात, सञ्चार, खानेपानीलगायत विषयमा जानकारी लिएको छ । केही दिनअघि सुरक्षा समितिले अतिसंवेदशीलको सूचीमा रहेका बबई गाउँपालिका–१ मा पर्ने सरस्वती मावि गङ्गटे, जनता मावि ज्युला र जनकल्याण आधारभूत विद्यालय भाङबारीको पनि अनुगमन गरिसकेको छ ।

अनुगमन टोलीमा नेपाली सेनाका प्रमुख सेनानी सन्तोष थापा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक दीपक श्रेष्ठ, सशस्त्र प्रहरी दाङका प्रहरी उपरीक्षक यदुकुमार कार्की, राष्ट्रिय अनुसन्धान कार्यालय दाङका प्रमुख ओम खड्का, सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारी, दाङ निर्वाचन क्षेत्र नं ३ का अधिकृत चन्द्रबहादुर सिञ्जालीलगायत सहभागिता थियो ।

निर्वाचन अधिकृत सिञ्जालीका अनुसार निर्वाचन क्षेत्र नं ३ मा ५६ मतदानस्थल र १६९ वटा मतदान केन्द्र छन् । तीमध्ये पाँच वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ ।

बैतडीमा ३३ मतदानस्थल अतिसंवेदनशील, सुरक्षा समितिको कडा निगरानी

बैतडी, २७ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै बैतडीमा मतदानस्थलको निरीक्षण कार्यलाई तीव्रता दिइएको छ ।जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील मतदानस्थललाई प्राथमिकतामा राखेर अनुगमन तथा निरीक्षणको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो । सुरक्षाको दृष्टिकोणले बैतडीका १२९ मतदानस्थलमध्ये ३३ वटा अतिसंवेदनशीलको सूचीमा रहेका छन् ।

यस्तै, २८ वटा मतदानस्थल संवेदनशील र ६८ वटा मतदानस्थल सामान्य सूचीमा छन् । जिल्लामा अतिसंवेदनशील सूचीमा रहेका सबै मतदानस्थलको निरीक्षण गर्ने योजना रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

निरीक्षणका क्रममा मतदानस्थलको अवस्था, सुरक्षा व्यवस्था र भौतिक पूर्वाधारको अवलोकन गर्नुका साथै स्थानीय जनप्रतिनिधि, नागरिक अगुवालगायतसँग छलफल गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।

निर्वाचनका बेला खटिने कर्मचारीको आवास सुविधा, विद्युत्, खानेपानीलगायत आधारभूत कुराको उपलब्धतासम्बन्धी अवस्थाको पनि निरीक्षण भइरहेको छ । कतिपय मतदानस्थल तथा केन्द्रमा सिसीटिभी क्यामेराको व्यवस्था आवश्यक देखिएकाले त्यसको व्यवस्थापनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

यहाँ १२९ मतदानस्थलमा २१४ मतदान केन्द्र रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीका अनुसार एक लाख ५६ हजार ३७२ जना मतदाता छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ ११ जना चुनावी मैदानमा रहनुभएको छ ।

आजको मौसम पूर्वानुमान : तराई भू-भाग, उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने

काठमाडौँ, २७ माघ : हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । देशका उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति तराई भूभागका केही स्थानमा तुँवालो रहनेछ । देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागको मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

तराई भू-भागका केही स्थानमा मध्याह्नसम्म कुहिरोको सम्भावना रहेको तथा तत्काल वर्षा हुने सम्भावना नरहेकाले तराई भूभाग र उपत्यकामा वायु प्रदूषण पनि रहिरहने भएकाले प्रदूषणबाट सुरक्षित रहन सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई महाशाखाले अनुरोध गरेको छ ।

नेपाल-कतारबीच आर्थिक विकास, पर्यटन र लगानी सहकार्यबारे छलफल

काठमाडौं, माघ २७ । नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजको प्रतिनिधिमण्डलसँग नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा आपसी सहयोग विस्तारका विषयमा छलफल भएको छ ।

सोमबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनीलकुमार सिन्हा तथा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसँग नेपालका लागि कतारका राजदूत मिसाल बीन मोहम्मद अलिअल अन्सारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एम ए अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिबीच छुट्टाछुट्टै भेटवार्ता भएको हो ।

पर्यटन मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–कतार आर्थिक विकास, पर्यटन प्रवर्द्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो । विशेषगरी नेपाल र कतारबीच सिधा हवाई उडानको सङ्ख्या बढाउने, नयाँ गन्तव्य थप गर्ने तथा नेपाल वायुसेवा निगम र कतार एयरवेजबीच सहकार्यका सम्भावनाबारे छलफल केन्द्रित थियो ।

सो अवसरमा मन्त्री सिन्हाले नेपालमा पर्यटन, लगानी र व्यापार विस्तारका लागि सरकारले नीतिगत सुधार र सहजीकरणमा जोड दिइरहेको जानकारी दिए । उनले पोखरा अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि अन्तरराष्ट्रिय एयरलाइन्सको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै कतार एयरवेजको भूमिकालाई महत्वपूर्ण हुने बताए ।

“अन्य क्षेत्रका अतिरिक्त नेपालको पर्यटनका क्षेत्रमा कतारसँग धेरै सहकार्य गर्न सकिन्छ । नेपाल सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत सुधार गर्दै आएको छ । कतारी लगानीकर्तालाई नेपालमा लगानीको वातावरण निर्माण गर्न तथा ‘कनेक्टिभिटी’ बढाउन आवश्यक सहजीकरण गर्न नेपाल सरकार तयार छ”, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले नेपाल–कतारबीच पर्यटन, लगानी, उड्डयन, होटल तथा पूर्वाधार क्षेत्रमा विस्तारको बृहत् सम्भावना भएको बताए । उनले कतारी लगानीकर्ताका लागि नेपालमा जलविद्युत्, पर्यटन, तथा सेवा क्षेत्रमा आकर्षक सम्भावना रहेको बताए ।

कतार चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजका बोर्ड सदस्य अलोबैदलीले नेपालसँग दीर्घकालीन आर्थिक सहकार्यमा कतार निजी क्षेत्रको चासो रहेको उल्लेख गर्दै उड्डयन र पर्यटन सहकार्यले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

यस्तै, परराष्ट्र मन्त्रालयमा भएको छलफलमा पनि लगानीका लागि नीतिगत सहजीकरण, द्विपक्षीय लगानी प्रवद्र्धन, नेपालमा कतारी लगानीका सम्भावना, पर्यटन विकास तथा भावी आर्थिक सहकार्यका विषयमा छलफल भएको थियो ।

सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव राईले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य बन्दै गएको उल्लेख गर्दै ऊर्जा, पर्यटन, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा लगानीका पर्याप्त सम्भावना रहेको बताए ।

उनले सन् २०२४ अप्रिलमा कतारका अमीर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमण ऐतिहासिक भएको स्मरण गर्दै त्यस भ्रमण पछि नेपाल र कतारबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बन्दै भएको धारणा राखे ।

नेपालका लागि कतारका राजदूत अन्सारीले नेपाल–कतारबीचको सम्बन्ध मित्रतापूर्ण र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै आर्थिक तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्न कतार इच्छुक रहेको बताए । उनले कतारी लगानीको सहजीकरणका लागि दूतावास तयार रहेकोसमेत बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका ढकालले निजी क्षेत्रमार्फत आर्थिक कूटनीति सुदृढ गर्नुपर्नेमा जोड दिँदै कतारी लगानीकर्ताका लागि नेपालमा उद्योग, पर्यटन, होटल, जलविद्युत् र सेवा क्षेत्रमा राम्रो अवसर रहेको बताए । अध्यक्ष ढकालले भने, “सरकार र निजी क्षेत्रबीच बृहत् सहकार्य भएमा वैदेशिक लगानी अझ प्रभावकारी रूपमा भित्र्याउन सकिन्छ ।”

कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका बोर्ड सदस्य अलोबैदलीले नेपालमा लगानी वातावरण, कानुनी संरचना र निजी क्षेत्रको भूमिकाबारे जानकारी लिएको बताउँदै कतारी लगानीकर्ता सम्भावित परियोजना पहिचान गरी सहकार्य अगाडि बढाउने इच्छुक रहेको धारणा राखे ।

उनले भने, “कतारी व्यवसायी नेपालमा दीर्घकालीन लगानी गर्न इच्छुक छन् । आपसी विश्वास र नीतिगत स्पष्टता कायम राख्दै जिटु जी तथा बिटुबी सहकार्यलाई अगाडि बढाउन सकिन्छ ।”

प्रतिनिधिमण्डलले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग पनि भेट गरेको छ भने आज अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलसँग भेट गर्ने कार्यक्रम छ ।

कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिको एक प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिबीच गठन गरिएको संयुक्त व्यवसाय परिषद् (जेबिसी)सम्बन्धी छलफलका लागि आइतबार काठमाडौँ आइपुगेको हो ।

प्रतिनिधिमण्डलले संयुक्त व्यवसाय परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, व्यावसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवर्द्धन गर्ने संरक्षित मञ्चका रूपमा स्थापना गरिएको संस्था हो । जेबिसीको बैठक यही माघ २६ र २७ गते (फेब्रुअरी ९ र १० तारिख) काठमाडौँमा बस्नेछ ।

ताप्लेजुङको कञ्चनजङ्गा आसपासत्रमा भूकम्पको धक्का महसुस

काठमाडौँ, २७ माघ : ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प गएको स्थान नेपाल-भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ ।

खाना पकाउने ग्यासको कृत्रिम अभाव, नाम मात्रको अनुगमन गर्दै विभाग

काठमाडौं, माघ २७ । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुमगन तथा निरीक्षणलाई तीव्रता दिएको छ ।

विभागले उपभोक्तालाई अतिआवश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म एवं प्रतिष्ठानमा निरन्तर रुपमा अन्य सक्षम निकायको सहयोग लिइ संयुक्तः बजार अनुमगन अगाडि बढाइएको उल्लेख गरेको छ ।

सहज रूपमा उपभोक्तालाई राहत दिन, उपभोग्य वस्तुको कृत्रिम अभाव गराउनेलाई कारबाहीको दायरामा ल्याउन विभागले प्रभावकारी रुपमा अनुमगन गरिरहेको उल्लेख गरेको छ । पछिल्ला दिनमा विशेष गरी खाना पकाउने ग्यासको अभाव देखाएर उपभोक्तालाई दुःख दिने काम भइरहको छ । कानुनविपरीतका काम गर्नेलाई विभागले कारबाहीको दायरामा ल्याइएको उल्लेख गरेको छ ।

विभागले प्रचलित कानुनविपरीतका कुनै पनि क्रियाकलाप भएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने स्मरण गराएको छ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको सहज आपूर्ति भएको दाबी गरिरहेको भए पनि उपभोक्ताले सहज रूपमा पाउन नसकेको गुनासो गरेका छन् । अत्यधिक गुनासो बढेपछि विभागले आवश्यक सक्रियता देखाएको हो ।

४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौं, माघ २७ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ ।

सोमबारसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । आयोगका अनुसार हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथरको मतपत्र छपाइ सम्पन्न भएको छ ।

यस्तै इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम(नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङको पनि मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया गरी ४४ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र छपाइ सम्पन्न भएका विभिन्न जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि भइसकेको उहाँले बताउनुभयो । हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ भइसकेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको हो ।

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, माघ २७ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

युरोपियन यूरो एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९८ रुपैयाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २० पैसा र बिक्रीदर १०६ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ १४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ दुई पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८८ पैसा र बिक्रीदर नौ रुपैयाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ११ पैसा र बिक्रीदर १६ रुपैयाँ १८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ०२ पैसा र बिक्रीदर २३ रुपैयाँ ११ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८५ रुपैयाँ ९९ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ४४ र बिक्रीदर ३७८ रुपैयाँ रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

मासु खानेक्रममा हड्डी अड्किएर एक महिलाको मृत्यु

त्रिशूली (नुवाकोट), २६ माघ : भोजमा मासु खानेक्रममा हड्डी अड्कँदा जिल्लाको तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा एक महिलाको निधन भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले ४१ वर्षीया गङ्गामाया तामाङको घाँटीमा हड्डी अड्किएपछि उपचारको क्रममा आज त्रिशूली अस्पचालमा निधन भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ल्होसार पर्व मनाउन आफन्तको घरमा पाहुना गएकी तामाङले शनिबार भोजमा खानासँगै कुखुराको मासुसँग खाने क्रममा घाटीमा हड्डी अड्किएको थियो । घटनालगत्तै उपचारका लागि अस्पताल पु¥याएपछि उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लामाले बताउनुभयो । हाल काठमाडौँको स्वयम्भूमा बस्दै आउनुभएकी तामाङ ल्होसार पर्व मनाउनको लागि यही शुक्रबार मात्रै तारकेश्वर–५ गोस्र्याङस्थित दिदीको घरमा आउनुभएको थियो ।

बुढासुब्बा गोल्डकप : आयोजक धरानलाई हराउँदै लालीगुराँस फुटबल क्लब सेमिफाइनलमा

धरान (सुनसरी), २६ माघ : धरानमा जारी २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा लालीगुराँस फुटबल क्लब, पोखरा सेमिफाइनलमा प्रवेश गरेको छ ।आज धरान रङ्गशालामा सम्पन्न खेलमा लालीगुराँस फुटबल क्लबले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलमा अतिरिक्त १५ मिनेट समय थप गरिएको थियो । अतिरिक्त समयमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

लालीगुराँसका राम थापा, टिकराज गुरुङ, सुदीप गुरुङ, अब्दुल युसुफ र आशिष गुरुङले गोल गर्न सफल भए । धरान फुटबल क्लबका विवेक राई, सविन राई, प्रज्ज्वल थापा र नगेन राईले गोल गरे भने दोर्जे तामाङको प्रहार लालीगुरासका गोलरक्षक कुम्भ देउवाले रोके ।

आजको खेलमा लालीगुराँसका खेलाडी कुम्भ देउवाले ‘म्यानअफ द म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे । प्रतियोगिताअन्तर्गत मङ्गलबार झापा–११, झापा र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने अध्यक्ष प्रताप तामाङले जानकारी दिए । दश टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी प्रत्येक खेलको ‘म्यानअफ द म्याच’लाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५ हजार र सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिने छ ।

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ। नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा विक्रीवितरण नियमित भइरहेकाले अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।निगमले आज विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक मात्रै ग्यासको खरिद गर्न तथा अनावश्यक सञ्जिती नगर्न आग्रह गरेको हो ।

आसन्न आमनिर्वाचनलाई मध्यनजर गर्दै ग्यासको बढीभन्दा बढी आयात गर्न फ्रेबुअरी महिनाको निर्धारित कोटामा दुई हजार मेट्रिक टन थप गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । हाल दैनिक औसत ११० बुलेट ग्यास नियमित रूपमा आयात भइरहेको उहाँले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने करिब २३ मध्ये केही ग्यास उद्योगले दैनिक करिब ४० हजार सिलिण्डर बजारमा उपलब्ध गराइरहेका निगमले जनाएको छ ।

प्रधानमन्त्रीलाई कानुन आयोगको जानकारी

काठमाडौँ, २६ माघः नेपाल कानुन आयोगले संविधान पुनरावलोकनका लागि भइरहेको अध्ययनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ ।आयोगका उपाध्यक्ष लक्ष्मीप्रसाद मैनाली र सचिव इन्दिरा दाहाल (भट्टराई)सहितको टोलीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीलाई भेटेर आयोगले संविधान पुनरावलोकनका विषयमा गरिरहेको अध्ययनबारे जानकारी गराएको हो ।

नेपालको संविधानमा हरेक १० वर्षमा पुनरावलोकन गरिने व्यवस्थाबमोजिम आयोगले त्यससम्बन्धी अध्ययन थालेको सचिव दाहालले जानकारी दिनुभयो । यसका लागि उपाध्यक्ष मैनालीको नेतृत्वमा अध्ययन समिति पनि गठन गरिएको थियो । आयोगको टोलीले प्रधानमन्त्री कार्कीसमक्ष कानुनी शब्दकोश पुस्तक पनि अर्पण गरेको थियो ।

विसं २००९ को बुच कमिसनको सिफारिसअनुसार २०१० सालमा स्थापना भएको यो संस्था नेपालका पुराना सार्वजनिक निकायमा पर्छ । कानुनको तर्जुमा, संहिताकरण तथा प्रचलित कानुनको संशोधन, एकीकरण र पुनरवलोकन गर्न तथा कानुन र न्यायसम्बन्धी विषयमा अध्ययन र अनुसन्धान गर्ने काम आयोगले गर्दछ ।

विश्व बजार उकालो, जापानको निक्केईमा ऐतिहासिक उछाल

काठमाडाैँ । जापानी प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ दलले संसदीय चुनावमा दुई तिहाई बहुमत हासिल गरेपछि विश्व सेयर बजारहरू उकालो लागेका छन् र टोकियोको निक्केई २२५ सूचकाङ्क सोमबार करिब पाँच प्रतिशतले बढ्दै ऐतिहासिक स्तरमा पुगेको छ ।

युरोपको प्रारम्भिक कारोबारमा जर्मनीको डिएएक्स ०.६ प्रतिशतले बढेर २४,८६४.५९ मा पुगेको छ भने फ्रान्सको सीएसी ४० ०.२ प्रतिशतले बढेर ८,२८८.०६ मा पुगेको छ । बेलायतको एफटीएसई १०० पनि ०.३ प्रतिशतले बढेर १०,३९९.६१ मा पुगेको छ ।

अमेरिकी सेयर बजारले शुक्रबार बलियो पुनरागमन गरेपछि सोमबारका लागि अमेरिकी फ्युचर्स पनि माथि देखिएका छन् । एस एन्ड पी ५०० का फ्युचर्स ०.१ प्रतिशतले बढेका छन् भने डाउ जोन्स औद्योगिक औसतका फ्युचर्स ०.२ प्रतिशतले उकालो लागेका छन् ।

शुक्रबार एस एन्ड पी ५०० करिब दुई प्रतिशतले बढ्दै मेयता सबैभन्दा राम्रो दिन देखिएको थियो । डाउ २.५ प्रतिशतले बढेर पहिलो पटक ५०,००० को मनोवैज्ञानिक स्तर पार गरेको थियो भने नास्डाक कम्पोजिट २.२ प्रतिशतले उकालो लागेको थियो ।

टोकियोमा निक्केई २२५ ३.९ प्रतिशतले बढेर बन्द भएको छ र यसअघि सूचकाङ्कले ५७,३३७.०७ को नयाँ इन्ट्राडे रेकर्ड पनि बनाएको थियो । अमेरिकी डलर जापानी येनको तुलनामा केही कमजोर हुँदै १५६.७१ येनमा कारोबार भएको छ ।

चुनावी जितले प्रधानमन्त्री ताकाइचीलाई बजारमैत्री नीतिहरू अघि बढाउन बलियो जनादेश दिएको विश्लेषकहरूले बताएका छन् । जापानी सार्वजनिक प्रसारक एनएचकेको मतगणनाको नतिजाअनुसार लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले तल्लो सदनका ४६५ सिटमध्ये ३१६ सिट जितेको छ । यो सन् १९५५ मा पार्टी स्थापना भएयताकै सबैभन्दा ठूलो सफलता हो ।

एस्ट्रिस एडभाइजरी जापानका प्रबन्ध निर्देशक नील न्युम्यानले कमजोर सरकारबाट बलियो बहुमतको सरकार बनेकाले अब नीतिगत निर्णय अघि बढाउन सजिलो भएको बताए । तल्लो सदन फेब्रुअरीको मध्यतिर पुनः बस्ने भएपछि बढ्दो जीवनयापन लागत र सुस्त ज्याला सम्बोधन गर्न बजेटसम्बन्धी काम पहिलो प्राथमिकतामा पर्ने अपेक्षा गरिएको छ ।

एसपीआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले चुनावी नतिजाले राजनीतिक अनिश्चितता हटाएकाले बजारले सहज प्रतिक्रिया दिएको टिप्पणी गरे ।

एसियाका अन्य बजारहरू पनि मजबुत देखिएका छन् । दक्षिण कोरियाको कोस्पी ४.१ प्रतिशतले बढेर ५,२९८.०४ मा पुगेको छ । हङकङको ह्याङ सेङ १.८ प्रतिशतले उकालो लागेर २७,०२७.१६ मा पुगेको छ भने साङ्घाई कम्पोजिट १.४ प्रतिशतले बढेर ४,१२३.०९ मा पुगेको छ । ताइवानको टाइक्स दुई प्रतिशतले बढेको छ र अस्ट्रेलियाको एस एन्ड पी÷एएसएक्स २०० १.९ प्रतिशतले उकालो लागेर ८,८७०.१० मा पुगेको छ ।

वाल स्ट्रिटको पछिल्लो र्‍यालीमा चिप उत्पादक कम्पनीहरूको ठूलो योगदान देखिएको छ । एनभिडिया ७.८ प्रतिशतले बढेको छ भने ब्रोडकम ७.१ प्रतिशतले उकालो लागेको छ । यद्यपि, ठूला प्रविधि कम्पनीहरूको खर्च र एआई प्रविधिबाट सफ्टवेयर कम्पनीहरू प्रभावित हुनसक्ने चिन्ताले एस एन्ड पी ५०० अझै केही हप्ताको आधारमा दबाबमै रहेको विश्लेषण गरिएको छ ।

अन्य कारोबारमा बिटक्वाइन एक प्रतिशतले बढेर ७०,००० डलरभन्दा तल कारोबार भएको छ । धातु बजार केही शान्त देखिँदा सुन १.४ प्रतिशतले बढेर ५,०४८.९० डलर प्रतिऔंस पुगेको छ भने चाँदी ६.२ प्रतिशतले उकालो लागेर ८१.६४ डलर पुगेको छ ।

तेल बजारमा भने मूल्य घटेको छ । अमेरिकी कच्चा तेल ६० सेन्टले घटेर ६२.९५ डलर प्रतिब्यारेलमा झरेको छ भने ब्रेन्ट क्रुड पनि ६० सेन्टले घटेर ६७.४५ डलर प्रतिव्यारेलमा पुगेको छ । युरो डलरको तुलनामा बलियो हुँदै १.१८६६ डलरमा कारोबार भएको छ ।

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा सुरक्षा कार्यक्रम बन्द भएका कारण भेरी अस्पतालमा प्रसूतिका बिरामीको चाप बढेको विषयलाई गम्भीरताका साथ लिएको बताउनुभएको छ ।

भेरी अस्पताल नेपालगन्जको निरीक्षणपछि आज यहाँ आयोजित कार्यक्रममा मन्त्री डा शर्माले शय्या अभाव भएर बिरामीलाई उपचार दिन समस्या भएको चिकित्सकहरुको गुनासोपछि अस्पतालमा शयया वृद्धि गर्नुपर्ने विषयमा कुनै दुविधा नरहेको उल्लेख गर्नुभयो ।मन्त्री डा शर्माले भन्नुभयो, “देशको वर्तमान आर्थिक अवस्थाका कारण नयाँ संरचना निर्माणमा केही चुनौती रहे पनि समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने छ ।”

मन्त्री डा शर्माले कार्डियोलोजी विभागका लागि आवश्यक उपकरण उपलब्ध गराउने विषयमा समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अस्पतालबाट प्रदान हुँदै आएको डायलासिस सेवा विस्तारका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने उहाँको भनाइ थियो ।

सिटी स्क्यान मेसिन अभावका कारण सेवा प्रभावित भएको चिकित्सकको गुनासोप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री डा शर्माले उक्त उपकरण अत्यावश्यक रहेको र यसको व्यवस्थापनका लागि पहल गरिने विश्वास दिलाउनुभयो ।

त्यसअघि मन्त्री डा शर्माले अस्पतालका विभिन्न वार्ड, इमर्जेन्सीलगायतका विभागहरूको निरीक्षण गर्नुभएको थियो । निरीक्षणका क्रममा उहाँले अस्पतालको सेवा प्रवाहबारे जानकारी लिनुभएको थियो । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले अस्पतालको सेवा प्रवाह, समस्या तथा चुनौतीबारे प्रस्तुति दिँदै प्रसूति गृहको डिपीआर निर्माण भएकाले त्यसलाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।री अस्पतालको निरीक्षण अघि मन्त्री डा शर्माले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, नेपालगन्जको सञ्जीवनी शिक्षण अस्पतालको निरीक्षण गर्नुभएको थियो ।

प्रधानमन्त्री कार्कीसमक्ष याहियाले पेस गरिन् ओहदाको प्रमाणपत्र

काठमाडौँ। नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक (रेजिडेन्ट कोअर्डिनेटर) लिला पिटर्स याहियाले आज प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

नवनियुक्त संयोजक याहियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री कार्कीलाई भेटी आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभएको हो। राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस बाट नियुक्त भएपछि नेपाल सरकारको स्वीकृतिमा याहियाले औपचारिक रूपमा नेपालमा आफ्नो कार्यकाल सुरु गर्नुभएको हो ।

प्रधानमन्त्री कार्कीले नवनियुक्त संयोजक याहियालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो । साथै उहाँले सुन्दर देश नेपालको बसाइँ सुखद रहने विश्वास पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री कार्कीले भेटका अवसरमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि परिस्थितिलाई सामान्यीकरण गर्दै देशलाई शान्ति तथा लोकतन्त्रको बाटो हिँडाउन आफ्नो नेतृत्वको सरकार लागिपरेको जानकारी पनि दिनुभयो । यस क्रममा संयुक्त राष्ट्र सङ्घलगायत अन्तरराष्ट्रिय समुदायबाट प्राप्त साथ, सहयोग र विश्वासका लागि उहाँले धन्यवाद पनि ज्ञापन गर्नुभयो ।

यो सरकारको मुख्य कार्यादेशमध्ये निर्वाचन सम्पन्न हुने चरणमा पुगेको तथा भदौ २३ र २४ का घटनाको जाँचबुझ आयोगले पनि आफ्नो काम अन्तिम चरणमा पु¥याएको जानकारी पनि प्रधानमन्त्री कार्कीले दिनुभयो ।

“हामी निकै असहज अवस्थामा आएका थियौँ । शान्ति सुव्यवस्था र कानुनको शासन बहालीका निम्ति पहिलो काम ग¥यौँ । छोटो समयमै हामीले शान्ति बहाल गर्न सफल भयौँ । थप द्वन्द्व चर्किन नदिन निकै सतर्कताका साथ अघि बढ्यौँ ।

त्यसपछि हामीले शान्तिपूर्ण र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न होस् भनेर सम्पूर्ण शक्तिका साथ काम गरिरहेका छौँ । अब निर्वाचन पनि सम्पन्न हुने चरणमा छ”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “संयुक्त राष्ट्र सङ्घलगायत अन्तरराष्ट्रिय समुदायबाट प्राप्त साथ, सहयोग र विश्वासका लागि धन्यवाद छ ।”

प्रधानमन्त्री कार्कीले राष्ट्र सङ्घीय निकायहरुमार्फत नेपालको विकास र मानवीय सहायताका लागि प्राप्त सहयोग तथा साझेदारीका लागि पनि सराहना गर्नुभयो । राष्ट्र सङ्घले आगामी दिनमा नेपालको प्राथमिकता र आवश्यकतामा आधारित आफ्ना कार्यक्रम सञ्चालन तथा सरकारसँग साझेदारी गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नवनियुक्त संयोजक याहियाले विषम् परिस्थितिमा प्रधानमन्त्री बन्नुभएकी कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुन गइरहेकामा बधाई दिँदै यस प्रक्रियामा पूर्ण सफलता मिल्ने भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

“देशका लागि यो महत्त्वपूर्ण समयमा नेपालमा संयुक्त राष्ट्र सङ्घको टोलीको नेतृत्व गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो । युवाका लागि रोजगारी सिर्जना, शान्ति, समावेशिता तथा जलवायुजस्ता राष्ट्रिय प्राथमिकतामा सहयोग गर्न संयुक्त राष्ट्र सङ्घ पूर्ण रूपमा प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा  

मोरङ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने बताउनुभएको छ ।कांग्रेस कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तक्र्रियामा उहाँले आगामी निर्वाचनमार्फत जनादेश लिएर नागरिकको भावनाअनुसार शासन व्यवस्थालाई बलियो र जवाफदेही बनाउनुपर्नेमा जोड दिनुभयो ।

सभापति थापाले कुशासन अन्त्य, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन भएको समुन्नत नेपाल निर्माण, सबैसँग समान व्यवहार, युवालाई अवसर प्राप्त हुने भरोसा दिलाउने गरेर जनतामाझ जान आग्रह गर्नुभयो ।

“हामीले बदलिएको कांग्रेसमार्फत कुशासनको अन्त्य गर्दै विधिको शासन स्थापित गर्ने स्पष्ट योजना बनाएका छौँ । नागरिक र विशेष गरी युवा पुस्ताको भावनाअनुसार अगाडि बढ्छौँ”, सभापति थापाले भन्नुभयो,“ त्यसका लागि जवाफदेही शासन, राज्यका निकायलाई थप प्रभावकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत, महान्यायधिवक्ताको कार्यालयमा सुधार गरी नागरिकलाई सहज सेवा प्रदान गर्ने अवस्था बनाउँछौँ ।”

कांग्रेसले देशलाई अर्को द्वन्द्वमा पर्न नदिने गरी हालको अवस्थालाई सम्हाल्दै र सुधारको जग बसाल्ने भन्दै उहाँले दलित, मुस्लिम, अल्पसङ्ख्यक, मधेसी, महिलाका हक अधिकार सुनिश्चित र धर्म, संस्कृतिको संरक्षण गर्ने बताउनुभयो ।

महामन्त्री गुरुराज घिमिरेले पार्टी पुनर्गठनपश्चात् सबै एकताबद्ध भएर चुनावमा होमिएको र अब परिणामका लागि विवाद ढङ्गले अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको नेतृत्व बदलिएको छ । योसँग देशका समस्या, जेनजी आन्दोलनका मुद्दाप्रतिको स्पष्ट बुझाइसहित अगाडि बढेका छौँ । अब देश बदल्ने छौँ । नेपालीलाई सम्मानित र आत्मनिर्भर बनाउन केन्द्रित हुनेछौँ ।”

नेता डा शेखर कोइरालाले लोकतन्त्रप्रति प्रतिबद्ध रहँदै पार्टीले सम्पूर्ण नेपाली जनताको सुखद भविष्य निर्माणका इमान्दार प्रयत्न गर्ने बताउनुभयो । उहाँले जेनजी आन्दोलनका मुख्य एजेण्डा सुशासन, भ्रष्टचारको अन्त्य र समृद्धि कायम गर्न पार्टीले सबैलाई साथमा लिएर काम गर्न बताउनुभयो ।

पार्टी सहमहामन्त्री डा डिला संग्रौला, कोशी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका प्रतिनिधिसभा निर्वाच क्षेत्रमा उम्मेदवार रहनुभएका सरिता प्रसाई, ज्ञानेन्द्र कार्की, भिष्मराज आङदेम्बे, विजयकुमार गच्छदारलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

न्यूनतम दररेटमा दाबी गर्न अस्पताललाई स्वास्थ्य बिमा बोर्डको निर्देशन

काठमाडौँ। स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था (अस्पताल)लाई न्यूनतम दररेटमा दाबी गर्न निर्देशन दिएको छ ।बोर्डले दाबीलाई एकरुपता गर्न, वित्तीय सन्तुलन कायम गर्न र अनावश्यक दाबी कम गर्नका लागि स्वास्थ्य संस्थालाई न्यूनतम दररेटमा दाबी गर्न निर्देशन दिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभयो ।

बोर्डले आजै स्वास्थ्य संस्थालाई परिपत्र गर्दै औषधिलगायतका सेवासुविधा गरेबापत दाबी जुन दररेठ न्यून छ सोही दररेट मात्र दाबी गर्न निर्देशन दिएको हो ।“बिमा बोर्डभन्दा अस्पतालको दररेट न्यून छ भने त्यही अस्पतालकै दररेटमा दाबी गर्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “यदि बोर्डको भन्दा अस्पतालको दररेट बढी छ भने बोर्डकै दररेटमा दाबी गर्न भनिएको छ ।”

बोर्डले अस्पताललाई मेडिकल, सर्जिकल प्रकार, सर्जिकल तथा मेडिकल प्याकेज, प्रयोगशाला, फिजियोथेरापी, रेडियोलोजी र श्ययालगायतको शुल्कमा न्यून दररेट दाबी गर्न निर्देशन दिएको हो ।न्यून दररेट दाबीसम्बन्धी व्यवस्था आगामी फागुन १ गतेदेखि कार्यान्वयन गरिने सूचना अधिकारी मल्लले बताउनुभयो । यसअघि बोर्डले सेवाग्राहीलाई अनावश्यक परीक्षण नगराउनसमेत अपिल गरिसकेको छ ।

राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य

काठमाडौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्न लागेको ‘राष्ट्रिय आर्थिक गणना–२०८२’ लाई सफल र उपलब्धिमूलक बनाउने अभियानमा नेपाल उद्योग परिसङ्घ सरिक हुने भएको छ ।राष्ट्रिय आर्थिक गणना सञ्चालन तथा सहकार्य गर्ने सन्दर्भमा आज यहाँ आयोजित अन्तक्र्रियामा परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अभियानलाई सफल तुल्याउन सम्पूर्ण उद्योगी व्यवसायीका तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले आगामी वैशाख २ गतेदेखि असार ८ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाको सन्दर्भमा तयारीका कामहरू भइरहेको बताउनुभयो । उहाँले आगामी चैत १ गतेदेखि ७७ जिल्लामा ८४ वटा कार्यालय स्थापना गरी स्थलगत रूपमा काम सुरू हुने जानकारी दिँदै उहाँले उक्त गणनाका क्रममा तीन हजार ९०० गणक र ५०० सुपरीवेक्षक प्रत्यक्ष सहभागी हुने बताउनुभयो ।

तथ्याङ्क कार्यालयले मुलुकको समग्र आर्थिक परिदृष्यलाई झल्काउने आर्थिक गणनालाई सार्थक र परिणाममुखी तुल्याउन परिसङ्घसहित व्यावसायिक सङ्घसंस्थाका तर्फबाट आवश्यक सहयोगको अपेक्षा गरेको छ ।

तथ्याङ्क अधिकृत दीनानाथ लम्सालले अनौपचारिक अर्थतन्त्रअन्तर्गत नियमानुसार दर्ता नभइ सञ्चालनमा रहेका व्यवसायलाई समेत गणनाको दायरामा ल्याई अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउने उद्देश्य रहेको बताउनुभयो ।

यसअघि २०७५ सालमा पहिलो आर्थिक गणना भएको थियो । परिसङ्घका कार्यकारी महानिर्देशक डा घनश्याम पाण्डेको अध्यक्षतामा सम्पन्न अन्तक्र्रियामा उद्योगी व्यवसायीको उल्लेख्य सहभागिता रहेको थियो ।यसैबीच सरकारले राष्ट्रिय आर्थिक गणना–२०८२ को तथ्याङ्क सङ्कलन गर्ने आदेश–२०८२ स्वीकृत गर्ने निर्णय आजै सार्वजनिक गरिएको छ ।

सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा

सिरहा। सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ ।जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट गरी कारागारबाट बाहिर निकालेका थिए । गोप्य सूचनाका आधारमा आज सुरक्षा समितिले कारागारभित्र खानतलासी गर्दा हतियार फेला परेको हो ।

घटनामा संलग्न रहेको आरोपमा नाइके यादवसहित १३ जनालाई कारागारबाट झिकेर प्रहरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले उनीहरूलाई कारागारबाट झिकेर हिरासतमा राखेका छौँ, उनीहरूलाई अन्यत्र कारागारमा पठाउने तयारी भइरहेको छ ।”

नाइके यादव पक्राउ परेपछि कारागारभित्र रहेका निजका समर्थकहरूले नाराबाजी गर्दै आगजनी र तोडफोडसमेत गरेका छन् । सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन थप सतर्कता अपनाइएको प्रशासनले जनाएको छ ।

एक सय ५० जनाको क्षमता रहेको कारागारमा हाल ४३७ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएकै कारण यसअघि गत साउनमा पनि कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका थिए ।

कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न उपभापति शर्माको आग्रह

चितवन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । कांग्रेस चितवनले साेमबार आयोजना गरेको कार्यक्रममा उनले आफ्नो कुरा प्रष्ट रूपमा राख्न अरुलाई कुनै पनि हिसाबले लाञ्छित नगर्न आग्रह गरे।

उपसभापति शर्माले भने, “हामीले कसैलाई गाली नगरौँ । आफ्ना कुरा जनतालाई बुझाऔँ, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागाैँ । हाम्रो इतिहास र सभ्यताको ख्याल गर्दै चुनावमा लागौँ ।”

उनले पार्टीभित्र भएको विशेष महाधिवेशनले मैलो पखालेको भन्दै देश बदल्ने सङ्कल्पसहित गुटरहित मानसिकता चुनावमा होमिएको सन्देश दिन पनि निर्देशन दिए । “पार्टीले फागुन २१ लक्षित गर्दै २१ दिने अभियान सञ्चालन गर्न लागेको छ ।

अभियानका क्रममा जिल्ला, प्रदेश र केन्द्रले खटाएका नेताबाहेक अन्य नेताहरू आफ्नै वडामा २१ दिन खटिन स्पष्ट निर्देशन छ”, उपसभापति शर्माले भने,“अभियानका क्रममा आफ्नो वडामा सक्रिय भएर काम गरौँ । आफ्नो वडा छाडेर अर्काको वडामा जानु आवश्यक छैन । आफ्नै क्षेत्रमा पार्टी र देश बदल्न कांग्रेसले लिएको नीति घरघरमा पुर्‍याऔँ ।”

कार्यक्रममा केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठले पार्टीले हाल देशभर ७५ प्रतिशत हाराहारी युवा र नयाँ उम्मेदवार लिएर चुनावमा गएको उल्लेख सबैलाई जिताउने गरी खट्न आग्रह गरे ।

सिङलिङलाई हराउँदै झापा–११ सेमिफाइनलमा

झापा। आयोजक झापा–११ बिर्तामोडमा जारी सातौँ झापा गोल्डकप फुटबल प्रतियोगितामा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।आज सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा झापा–११ ले सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो । टाइब्रेकरमा झापाका रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र बिवेक मगरले गोल गरे ।

सिङलिङका तर्फबाट सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङले गोल गरे । सिङलिङका सुजन सुब्बाको प्रहार झापाका गोलकिपर विवेक मगरले बचाउ गरे । यस्तै दीपेश क्षेत्रीको प्रहार पोष्टबाट बाहिरिएको थियो ।

त्यसअघि खेल अवधिभर झापा–११ ले सिङलिङमाथि निरन्तर दबाब बनाएको थियो । झापा–११ का प्रहार गोलमा परिणत हुन सकेनन् । खेलको २८औँ मिनेटदेखि झापाले आक्रामक खेल प्रस्तुत गर्न थालेको थियो । विदेशी खेलाडी ओलावाले अफिजको शक्तिशाली प्रहार सिङलिङका गोलकिपर विल्सन शेर्पाले रोक्दै टोलीलाई सङ्कटबाट जोगाएका थिए ।

सिङलिङले खेलको ५९औँ मिनेटमा कप्तान उत्तम राईमार्फत उत्कृष्ट अवसर सिर्जना गरे पनि झापा–११ का गोलकिपरले त्यसलाई रोक्न सफल भए । खेलको ‘प्लेयर अफ दी म्याच’ झापा–११ का गोलकिपर बिवेक मगर घोषित भए । उनले रु २५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत मङ्गलबार दोस्रो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र लालिगुँरास एशोसिएसन पोखराबीच हुने छ । झापा गोल्डकपको विजेताले रु १५ लाख तथा उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ । साथै विधागततर्फ उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही रु ३५ हजार पुरस्कार प्रदान गरिने झापा गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकः जाँचबुझ आयोगको समयावधि २५ दिन थप

काठमाडौँ। सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको समयावधि थप गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त आयोगको म्याद २५ दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।

बैठकले राष्ट्रिय आर्थिक गणना–२०८२ को तथ्याङ्क सङ्कलन गर्ने आदेश २०८२ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले नेपाल सरकारको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिनुभयो ।

एसियाली खेलकुदको तयारीमा कुनै कमी हुन नदिन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने उद्देश्यका साथ सञ्चालित प्रशिक्षणलाई निरन्तरता दिन निर्देशन दिएक छन् ।

प्रधानमन्त्री कार्कीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता, राष्ट्रिय टोली तयारी निर्देशक ओलम्पियन दीपक विष्ट, उपनिर्देशक दीपक श्रेष्ठसहितको टोलीसँगको भेटमा यस्तो निर्देशन दिएकी हुन् ।

आगामी असोजमा जापानमा हुने एसियाली खेलकुदको तयारीमा कुनै कमी हुन नदिन आवश्यक बजेट र अन्य बन्दोबस्त मिलाउन पनि प्रधानमन्त्री कार्कीले सदस्यसचिव मेहतालाई निर्देशन दिइन् ।

राखेपले एसियाली खेलकुदमा पदकलाई लक्षित गरी दुई वर्षदेखि १० खेलका ११ टिमलाई विशेष प्रशिक्षण दिँदै आएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेटले यही माघ महिनासम्म कार्यक्रम सञ्चालन हुने भएपछि बाँकी रकम व्यवस्थापनका लागि रकमको व्यवस्था गरिदिन निर्देशक विष्टले अनुरोध गरेका थिए ।

युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग पनि आवश्यक समन्वय गरिरहेको बताइन् । प्रधानमन्त्री कार्कीले राम्रो तयारी गरी लक्ष्य पूरा गर्न भन्दै फागुन २१ को निर्वाचनलगत्तै विशेष प्रशिक्षण जारी राख्न पनि निर्देशन दिएकी छन् ।

यस्तो छ बागलुङ–१ को चुनावी गणित

गण्डकी, २६ माघः यसपालिको चुनावमा बागलुङ–१ को चर्चा र चासो तुलनात्मक रूपमा कम छ जति विसं २०७९ को चुनावमा थियो । नेपाली राजनीतिमा बेग्लै छवि बनाउनुभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष वयोवृद्ध चित्रबहादुर केसी अघिल्लो चुनावमा उम्मेदवार हुनुहुन्थ्यो ।

नेकपा (एमाले)का उम्मेदवार छोरा पुस्ताका सूर्यप्रसाद पाठकसँग केसी आमनेसामने हुँदा यस क्षेत्रले धेरैको ध्यान खिचेको थियो ।उक्त चुनावमा पाठकलाई पराजित गर्दै केसीले आफ्नो संसदीय विरासतलाई कायम राख्न सफल हुनुभएको थियो । अहिलेको चुनावमा भने दुवै उम्मेदवार प्रतिस्पर्धाबाट बाहिर हुनुहुन्छ । केसीलाई राष्ट्रिय जनमोर्चाले समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । नेकपा (एमाले)बाट हिराबहादुर केसी चुनावी मैदानमा हुनुहुन्छ ।

विसं २०७९ को चुनावमा पाँचदलीय गठबन्धनमा सामेल भई राष्ट्रिय जनमोर्चाका केसीलाई जिताउन भूमिका खेलेको नेपाली कांग्रेस पनि अहिले एक्लै चुनावमा होमिएको छ । कांग्रेसबाट भीम श्रीस चुनावी मैदानमा हुनुहुन्छ । अघिल्लो चुनावमा एउटै गठबन्धनमा रहेका नेपाली कम्युनिष्ट पार्टी र राजमोले अहिले पनि चुनावी सहकार्यलाई दोहो¥याएका छन् ।

बागलुङ–१ मा दुवै दलको साझा उम्मेदवारका रूपमा राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी र बागलुङ–२ मा नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरे ‘अनिल’ चुनावी प्रतिस्पर्धामा होमिनुभएको छ । हिजो एउटै चुनावी मोर्चामा रहेका दलहरू अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा छन् ।

गत चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक्लै चुनावी मैदानमा उत्रेको छ । रास्वपाबाट बागलुङ–१ मा सुशील खड्का उम्मेदवार हुनुहुन्छ । बागलुङ–१ मा यिनै चार उम्मेदवारबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । सम्बन्धित दल र उम्मेदवारले आ–आफ्नै जितको दाबी गरे पनि विगतको चुनावी गणित हेर्दा जुनसुकै दललाई पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्न सहज देखिन्न ।

एक्लाएक्लै चुनावमा होमिएका कांग्रेस, एमाले र रास्वपाले आफ्नै बलबुतामा चुनाव जित्ने दाबी गरिरहेका छन्भने नेकपा र जनमोर्चा गठबन्धनको आडमा जित निकाल्ने दाउमा छन् । कांग्रेससहितको पाँच दलीय गठबन्धनबाट अघिल्लो चुनावमा आफ्ना उम्मेदवारलाई विजयी बनाएको राष्ट्रिय जनमोर्चालाई यसपटक नेपाली कम्युनिष्ट पार्टीको मात्र साथ छ । उक्त चुनावमा जनमोर्चाका उम्मेदवार केसीले २१ हजार ४५१ मत ल्याएर विजयी हुनुभएको थियो ।

एक्लै चुनाव लड्दा पनि जम्मा दुई हजार ६२६ को मतान्तरले एमाले उम्मेदवार पाठक पराजित हुनुभएको थियो । पाठकको १८ हजार ८२५ मत आएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेलले नौ हजार १८१ मत ल्याउनुभएको थियो ।

समानुपातिकतर्फ भने कांग्रेसले सबैभन्दा धेरै १६ हजार ४९३ मत ल्याएको थियो । एमालेले १५ हजार ४२८, रास्वपाले सात हजार ८७७, जनमोर्चाले चार हजार ९८६, नेकपा (तत्कालीन नेकपा माओवादी केन्द्र)ले दुई हजार ८५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार २९ र अन्य साना दलले एक हजार १३३ मत ल्याएका थिए ।

विसं २०७९ को चुनावका समानुपातिक मत परिणाम हेर्दा कांग्रेस र एमालेको मतान्तर झन्डै एक हजार देखिन्छ । यी दुवै दलको भन्दा झन्डै आधा मत रास्वपाले पाएको थियो । जनमोर्चा र नेकपाको मत त्योभन्दा पनि कम छ । विगतका चुनावको समानुपातिक मत सङ्ख्यालाई हेरेर ढुक्क हुने अवस्थामा दलहरू छैनन् । पछिल्लो समय मतदातामा मत बदल्ने प्रवृत्ति बढेका कारण हिजो निश्चित राजनीतिक दलका प्रभाव क्षेत्र भनिएका ठाउँमा मत परिणाम भिन्न आउन सक्ने आकलन स्वयं दलहरूले नै गरेका छन् ।

यस क्षेत्रको उम्मेदवारमा अहिले अधिकांश नयाँ अनुहार छन् । कांग्रेस उम्मेदवार भीम श्रीस विद्यार्थी राजनीतिबाट उदाएका नेता हुनुहुन्छ । विसं २०६२ मा त्रिभुवन विश्वविद्यालमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुनुभएका उहाँ कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ जैमिनी नगरपालिका–१० राङखानीका बासिन्दा हुनुहुन्छ । एमालेका हिराबहादुर केसी यस क्षेत्रबाट तेस्रोपटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँ विसं २०७० को दोस्रो संविधानसभा सदस्य चुनावमा नेपाली कांग्रेसका हरिबहादुर खड्कासँग पराजित हुनुभएको थियो ।

विसं २०७९ को प्रदेशसभा सदस्य चुनावमा बागलुङ–१ (क) मा कांग्रेसका दीपेन्द्रबहादुर थापासँग पराजित हुनुभएको थियो । काठेखोला गाउँपालिका–३ धम्जा निवासी केसी एमाले, बागलुङको अध्यक्ष हुनुहुन्छ । ससंदीय यात्रा तय गर्ने उहाँको तेस्रोपटकको प्रयास कत्तिको सफल हुने हो त्यो हेर्न बाँकी छ ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवार कृष्ण अधिकारी पनि पहिलोपटक संसदीय चुनाव सामना गर्दै हुनुहुन्छ । विद्यार्थी राजनीति हुँदै पार्टीमा सक्रिय रहँदै आउनुभएका उहाँ बागलुङ नगरपालिका–१२ अमलाचौर निवासी हुनुहुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर तथा युवा उद्यमी सुशील खड्का चुनावी मैदानमा हुनुहुन्छ । बागलुङ नगरपालिका–३ गुठी निवासी उहाँ बागलुङको राजनीतिमा नयाँ अनुहार हुनुहुन्छ । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्याणविक्रम आचार्य, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, मङ्गोल नेसनल अर्गनाइजेसनका गुमाकुमारी बुढा राना मगर, नेसनल रिपब्लिक नेपालका सहवीर थापा, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिष्ट पार्टी माओवादीका टेकबहादुर केसी चुनावी मैदानमा हुनुहुन्छ ।

जितहारका शृङ्खलाहरूबाट गुज्रिरहेका दलहरू अर्को चुनावी परीक्षामा सामेल हुन अब २० दिन मात्र बाँकी छ । चुनाव नजिकिँदै जाँदा अनेक चर्चा र अड्कलबाजी हुन थालेका छन् । चुनावी परिणाममा कहिले नेपाली कांग्रेस त कहिले वाम दल हाबी हुने बागलुङ–१ को प्रतिस्पर्धामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी पनि थपिएको छ ।

विसं २०७० को दोस्रो संविधानसभा सदस्य चुनावमा नेपाली कांग्रेसले जिल्ला सबै क्षेत्रमा जित हासिल गरेको थियो । विसं २०७४ को चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी र विसं २०७९ को चुनावमा कांग्रेससहितको गठबन्धनले विजयी बनेको थियो । बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका समेटिएको यस क्षेत्रमा ३७ वडा रहेका छन् । ९८ हजार ४६ मतदाता रहेको यस क्षेत्रमा ४८ मतदास्थल रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचनःसुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा जनशक्ति विवरण सङ्कलन धमाधम

महेन्द्रनगर। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा कर्मचारी (जनशक्ति) परिचालनको गृहकार्य थालिएको छ ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकृत दिलीप भाटले यहाँ मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जनशक्ति विवरण बुझाउन थालिएको जानकारी दिनुभयो । “हामीले कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई कर्मचारी विवरण बुझाएका छौँ”, सूचना अधिकृत भाटले भन्नुभयो, “अन्यत्र पनि विवरण सङ्कलन कार्य अन्तिमतिर पुगेको छ ।”

नौ मुख्य निर्वाचन अधिकृत र सात निर्वाचन अधिकृतको कार्यालय रहेको सुदूरपश्चिममा निर्वाचन सुरक्षाका लागि तयारी पूरा भइसकेको छ । यहाँ सात हजारभन्दा बढी नेपाल प्रहरी, पाँच हजारभन्दा बढी सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी परिचालित हुनेछन् । भने सशस्त्र प्रहरी बलले १६ वटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा निर्वाचन बेशसमेत सञ्चालनमा ल्याएको छ ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले पनि निर्वाचनका लागि खटिने जनशक्तिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । “विवरण सङ्कलन अन्तिम चरणमा छ”, निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख हरिचन्द्र जोशीले भन्नुभयो, “मङ्गलबारसम्म विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जनशक्ति विवरण बुझाउने छौँ ।” कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा स्वतन्त्रसहित ५५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई पदमा यथावत् राख्ने निर्णय

काठमाडौँ। निर्वाचन आयोगले गुठी संस्थानलाई श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका औतारी धर्मगुरु श्री भूपतिबज्र लामालाई साविककै पदमा बहाल गरी सोको जानकारी माघ २७ गते कार्यालय समयभित्र गराउन निर्णयअनुसार पत्राचार गरेको छ ।

आयोगको आइतबारको निर्णयअनुसार यस्तो पत्राचार गरिएको कानुन अधिकृत मोहनराज जोशीले राससलाई जानकारी दिनुभयो । संस्थानले माघ ९ गते श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामा भूपतिबज्र लामालाई पदबाट हटाउने निर्णय गरेको थियो । संस्थानले निर्वाचन आचारसंहिता लागू भएकै दिन माघ ४ गते नै प्रमुख लामा भूपतिबज्र लामासँग स्पष्टीकरण सोधेको थियो ।

संस्थानको निर्णयविरुद्ध लामाले गत माघ १३ गते आयोगमा निर्वाचन आचारसंहिताविपरीत हटाइएको भनी उजुरी गर्नुभएको थियो । आयोगले संस्थानसँग स्पष्टीकरण माग गरेकामा चित्तबुझ्दो नभएपछि लामालाई साविककै पदमा बहाल गराउन संस्थानलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

संस्थानले धर्मगुरु रिन्पोछेको रुपमा कार्यरत चिनियाँ लामालाई पदबाट हटाई लामा नियुक्तिसम्बन्धी कार्यविधि, २०७८ को दफा २ बमोजिमको प्रक्रिया अघि बढाउने निर्णय पुस २३ गते गठन गरेको बौद्ध तथा मेलम्ची घ्याङ गुठीको जग्गा खोजवीनसम्बन्धी उपसमितिको प्रतिवेदनमा आधारित भई गरेको नदेखिएको आयोगको पत्रमा उल्लेख छ ।

संस्थानको माघ ९ गतेको निर्णय तथ्यपरक, न्यायसँगत एवं निर्वाचनको स्वच्छता र निष्पक्षताको सिद्धान्तसमेतको अनुकूल नदेखिएकाले लामालाई साविककै पदमा बहाल गर्ने गरी आयोगले निर्णय गरेको हो ।

संस्थानका सूचना अधिकारी जनक पोखरेलले पनि आइतबार नै आयोगको पत्र प्राप्त भएको स्वीकार गर्दै बौद्ध तथा मेलम्ची घ्याङ गुठीका लामालाई पदमा पूर्ववत् यथावत् राख्न भनेको बताउनुभयो ।

उपराष्ट्रपति यादवसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार शिष्टाचार भेट गर्नुभएको छ भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, संस्कृति तथा पर्यटन क्षेत्र र जनस्तरको सम्बन्धलगायत विविध विषयमा छलफल भएको थियो ।

उपराष्ट्रपति यादवले नेपाल र जापानबीच इतिहास र संस्कृतिमा आधारित लामो सम्बन्ध रहिआएको बताउनुभयो । ‘सन् १९५६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सहयोग, निकटता र गहिरो मित्रताका साथ सम्बन्ध अघि बढिरहेको छ ’ उहाँले भन्नुभयो, ‘ दुई मुलुकबीच उच्चस्तरीय भ्रमण आदानप्रदानले सम्बन्धलाई थप मजबुत तुल्याएको छ ।’

उहाँले नेपालले सदैव जापानसँगको सम्बन्ध र सहयोगलाई उच्च महत्व दिँदै आएको उल्लेख गर्दै यस वर्ष मनाइँदै गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव, द्विपक्षीय सम्बन्धको एक महत्वपूर्ण कोशेढुङ्गा भएको बताउनुभयो ।

‘ नेपालका लागि जापान एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहिआएको छ’, उहाँले भन्नुभयो, ‘ सन् १९५४ देखि जापानले नेपाललाई द्विपक्षीय अनुदान, ऋण,बहुपक्षीय सहायता तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ ।’

जापानबाट सहयोगका प्रमुख क्षेत्रहरूमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण तथा संस्कृति रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपालले औद्योगिक विकास, कृषि, जलविद्युत, पूर्वाधार विकास लगायत क्षेत्रमा जापानको अनुभव, सीप र प्रविधिबाट लाभान्वित हुने अपेक्षा राखेको बताउनुभयो ।

‘नेपाल २०२६ मा अतिकम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नति हुँदै गर्दा जापानबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु’, उहाँले भन्नुभयो, ‘द्विपक्षीय व्यापार विस्तार र लगानी आकर्षणमा ठूलो सम्भावना छ । नेपालले कानुनी तथा संस्थागत सुधारमार्फत जापानी लगानीकर्ताको हित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । ’

जापानले सन् २०१६ देखि जापान विकास छात्रवृत्ति कार्यक्रममार्फत नेपालका सरकारी अधिकारीहरूलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएकोमा खुशी व्यक्त गर्दै गौतम बुद्धको शिक्षाबाट प्रेरित सामाजिक–सांस्कृतिक सम्बन्ध नेपाल र जापानबीच गहिरो रूपमा विद्यमान रहेको बताउनुभयो।

‘बुद्ध जन्मस्थल लुम्बिनीले दुई मुलुकबीच बलियो पुलको काम गरेको छ, जसको विकासमा जापानको सहयोगप्रति नेपाल हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘वर्षेनी हजारौं जापानी पर्यटक नेपाल भ्रमण गर्ने गरेका छन्, र भविष्यमा यो संख्या अझ बढ्ने विश्वास व्यक्त गर्दछु । ’

उहाँले जापानमा करिब तीन लाख नेपाली समुदायको उपस्थिति द्विपक्षीय सम्बन्धको एक उल्लेखनीय पक्ष भएको उल्लेख गर्दै नेपालले जापान सरकारको सद्भावना र समझदारीप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।

जापानका सम्राटको शुभजन्मोत्सवको अवसरमा काठमाडौंस्थित जापानी राजदूतावासद्वारा आयोजना गरिन लागेको स्वागत समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा गरिएकोमा उपराष्ट्रपति यादवले धन्यवाद व्यक्त गर्दै सहर्ष सहभागी हुने बताउनुभयो ।

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौँ, २६ माघः राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ ।राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले राख्नुभएको ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा उहाँले पर्यटनलाई विविधिकरण र प्रवर्द्धन गर्नका लागि विधेयक ल्याइएको बताउनुभएको थियो ।

यसैगरी बैठकले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पारित गरेको छ । नेपाली कांग्रेसबाट २०५४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित हुनुभएका संयोकको यही माघ १९ गते ९० वर्षको उमेरमा निधन भएको थियो ।राष्ट्रियसभाको अर्काे बैठक यही माघ २८ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

राप्ती तटीय क्षेत्रका स्थानीयद्वारा डुवान–कटान समस्या सुल्झाउन अनुनय

बाँके। बाँकेको राप्ती तटीय क्षेत्रका स्थानीयले बस्ती डुबान र कटानको समस्या दीर्घकालीन रुपमा समाधान गर्न माग गरेका छन् ।प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राप्ती नदी प्रभावित क्षेत्रका स्थानीयले डुबान र कटानको समस्या सुल्झाउन सक्ने उम्मेदवारलाई मतदान गर्ने जनाएका छन् । ती बासिन्दाले डुबान र कटानको बर्सेनी समस्या झेल्दै आएका छन् ।

उनीहरुले निर्वाचनमा मत माग्न आउने राजनीतिक दलका नेता तथा उमेदवारलाई जमिन कटान र बस्ती डुबानमा पर्ने समस्याको दिगो समाधानका लागि तटबन्धको व्यवस्था गरिदिन अनुनय गरेका छन् ।

“बर्सेनि हुने डुबान र कटानको समस्या समाधानका लागि काम गर्न सक्नेलाई मात्रै हामीले भोट दिने विचार गरेका छौँ”, राप्तीसोनारी गाउँपालिका–७ नयाँबस्तीका शङ्कर यादवले भन्नुभयो,“ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले वर्षातको समयमा राम्ररी निदाउन पनि सकिन्न, त्यसैले यो पटक आश्वासन मात्रै होइने उम्मेदवारले नदी नियन्त्रणको ठोस् योजना ल्याउन जरुरी छ ।”

उहाँले अहिले चुनावका बेला घरघरमा आएर भोट मागे पनि चुनाव जितेपछि गाउँपालिका अध्यक्ष र सांसद फर्केर गाउँ नजाने गरेको गुनासो गर्नुभयो ।

बाँकेको नेपाल–भारत सीमा क्षेत्र नजिक भारतले अन्तरराष्ट्रिय नियमविपरीत बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दा बर्सेनि बाढी र डुबानको पीडा झेल्दै आएका छन् ।

राप्ती नदी तटीय क्षेत्रमा पर्ने बाँके निर्वाचन क्षेत्र नं १ को राप्तीसोनारी र नरैनापुर गाउँपालिका र निर्वाचन क्षेत्र नं २ मा पर्ने डुडुवा गाउँपालिकाका मतदाताले खेतीयोग्य जमिन कटान र डुवानको समस्यालाई चुनावी मुद्दा बनाउन माग गर्दै आएका छन् ।

डुडुवा गाउँपालिका–१ होलियाका राजकुमार शुक्लाले आफूहरू राप्ती नदीबाट हुने डुबान र कटानबाट धेरै पीडित भए पनि अहिलेसम्म सरोकारवाला निकायले समस्याको समाधानार्थ कुनै पहल नगरेको गुनासो गर्नुभयो । राप्ती नदीले तल्लोतटीय क्षेत्रका बासिन्दालाई बर्सोनि त्रासमा राख्दै आएको छ ।

राप्तीसोनारी गाउँपालिका–७ झगडिया गाउँका अगुवा दीपेन्द्र पाण्डेले बाढीले जमिन कटान गर्दै आएकोे बताउनुभयो । “नदी नियन्त्रण गर्ने तटबन्ध नभएका कारण बाढी आउनासाथ बस्तीमा पस्ने खतरा बढेको छ”,उहाँले भन्नुभयो,“त्यसैले निर्वाचनमा कस्ले जित्छ हार्छ भन्दा पनि नदी रोकथामको लागि तटबन्धको काम हुन्छ हुँदैन भन्ने हामीलाई चिन्ता र चासो छ ।”

राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरका स्थानीय अगुवा लालबहादुर थापाले यो निर्वाचनमा बाढीपीडितको समस्या समाधान र जनताको पक्षमा काम गर्ने व्यक्तिलाई मतदान गर्ने बताउनुभयो ।

“अन्य पूर्वाधार विकास गर्दै गरौँला तर बस्ती डुवान र कटानबाट जोगाउन अबको जनप्रतिनिधि गम्भीर बन्नैपर्छ” थापाले भन्नुभयो,“डुवान र कटानको सममस्या सुल्झाउने प्रतिबद्धता जनाउनेलाई मात्रै भोट दिने हो ।”

राप्ती नदीको आसपासका स्थानीयले हरेक निर्वाचनमा भोट माग्न आउने उम्मेदवारले नदी नियन्त्रणको लागि काम गर्ने आश्वासन दिए पनि काम नहुँदा वर्षायाममा नदीमा आउने बाढीले जग्गा कटान हुने र डुवानको समस्या भोग्ने नियमित जस्तै बनेको राप्तीसोनारी गाउँपालिका–६,जरैयाका स्थानीय भक्तिराम पाण्डेले बताउनुभयो ।

बाँकेमा राप्ती नदीले गर्दै आएको कटान नियन्त्रणको लागि तय भएको पश्चिम राप्ती नदी नियन्त्रण आयोजना सुरू नहुँदा कटान तथा डुवानको जोखिम कायमै रहेको छ ।

मधेसका गृहमन्त्री महतोले गरे गृहमन्त्री अर्यालसँग भेट, के के भए कुराकानी ?

सर्लाही । नेपाल सरकारका गृहमन्त्री ओम प्रकाश अर्याल र मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोबीच  भेटवार्ता भएको छ ।उनीहरुबीच आइतबार भेटवार्ता भएको हो ।

भेटमा आगामी निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था, सवारी साधनको व्यवस्थापन र सुरक्षा तयारीबारे छलफल गरिएको मधेसका गृहमन्त्री फकिरा महतोको सचिवालयले जनाएको छ ।

साथै, मधेस प्रदेशको महान पर्व होलीलाई शान्तिपूर्ण र उत्साहपूर्वक मनाउने विषयमा पनि छलफल भएको थियो। त्यसैगरी, प्रहरी समायोजन सम्बन्धी विषयमा पनि छलफल भएको छ । मन्त्रीहरूले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै आपसी समन्वयलाई बलियो बनाउने सहमति गरेका छन् ।

साथै, गृहमन्त्री महतोले आजै परराष्ट्रमन्त्री बालानन्द शर्मासँग पनि भेटवार्ता गरेका छन। सुरक्षा, निर्वाचन र सामाजिक सद्भावलाई केन्द्रमा राखेर भएको उक्त भेटवार्ता सकारात्मक वातावरणमा सम्पन्न भएको बताइएको छ ।

काभ्रेमा छैनन् दलित उम्मेदवार

काभ्रेपलाञ्चोक। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा यहाँको क्षेत्र नं १ मा राजनितिक दलका र स्वतन्त्र नयाँ उम्मेदबारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

यो क्षेत्रमा १५ दल र तीन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यस निर्वाचन क्षेत्रमा विशेषगरी ठूला दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ ।

यस क्षेत्रमा एमालेका अमित लामा, कांग्रेसका गुणराज मोक्तान, रास्वपाबाट मधुकुमार चौलागाईं र नेकपाका दिननाथ गौतमले उम्मेदवारी दिनुभएको जिल्लास्थित मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा गत प्रतिनिधिसभा निर्वाचन–२०७९ मा तत्कालीन माओवादी केन्द्रका सूर्यमान दोङ एमालेका केन्द्रीय सदस्य रेशम लामालाई तीन हजार ९६४ मतले पछिपार्दै ३४ हजार ४१२ मत प्राप्त गरी विजयी हुनुभएको थियो ।

एमालेका उम्मेदवार लामा पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ, भने कांग्रेसका उम्मेदवार मोक्तान पार्टीको जिल्ला सचिव हुनुहुन्छ । यस्तै रास्वपाका चौलागाइँ कानुन व्यवसायी तथा नेकपाका उम्मेदवार गौतम चौंँरीदेउराली गाउँपालिकाको पूर्व अध्यक्ष हुनुहुन्छ ।

ठूला दलका यी उम्मेदवार पनि प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ अनुहार हुन् । यस क्षेत्रमा ‘अन्य’ समूहबाट एकजना प्रतिस्पर्धामा उत्रिएका छन् ।

गत प्रतिनिधिसभा निर्वाचन–२०७९ मा यहाँको क्षेत्र नं १ मा समानुपातिकतर्फ एमाले २४ हजार ७९, कांग्रेस २१ हजार ७५५, तत्कालीन माओवादी केन्द्र १७ हजार ३३५, रास्वपा नौ हजार ७९४, राप्रपा दुई हजार ४२९ र तत्कालीन एकीकृत समाजवादीले एक हजार ९५५ मत प्राप्त गरेका थिए ।

आसन्न निर्वाचनमा काभेको दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका ४२ उम्मेदवारकै उम्मेदवारी कायम भएको छ । क्षेत्र नं १ मा १८ र क्षेत्र नं २ मा २४ ले उम्मेदवारी दर्ता गरेका हुन् ।

यसपटक पनि दलित उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा छैनन् । यस्तै जनजाति तर्फबाट २५ जना उम्मेदवारी परेको जनाइएको छ ।

यस्तै निर्वाचन क्षेत्र नं २ मा भने १६ दल, आठ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको छ । काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता छन् । यसमध्ये एक लाख ६७ हजार ४९९ पुरुष र ५९ हजार ११० महिला र दुई जना अन्य रहेका हुन् ।

कार्यालयका अनुसार क्षेत्र नं १ मा एक लाख ६१ हजार १०० र क्षेत्र नं २ मा एक लाख ६५ हजार ५११ मतदाता कायम छन् ।

झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन

झापा। झापामा सवारी दुर्घटनाक्रम बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् ।

यही माघ १ गतेदेखि माघ २५ गतेभित्रका अवधिमा दुर्घटनामा ती व्यक्तिले ज्यान गुमाएका हुन्। अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा आइतबार भएको ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।

बिरिङ खोलाबाट बालुवा लोड गरी अगाडि बढ्ने क्रममा प्र १–०१–००१त ९०१० नं को ट्याक्टरको डालामा सवार सोही ट्याक्टरका सहचालक अर्जुनधारा–३ निवासी हर्क श्रेष्ठका १६ वर्षीय छोरा सरोज श्रेष्ठ ट्याक्टरबाट खस्दा पछाडिको चक्काले किचेको थियो ।

यसैबीच, तीन दिनअघि स्कुटीको ठक्करबाट घाइते भएका अर्जुनधारा–३ निवासी ४५ वर्षीय राजन बाँस्कोटाको उपचारका क्रममा आइतबार नै मृत्यु भएको छ ।बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत बाँस्कोटाको आइतबार मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।

माघ २१ गते बिहान अर्जुनधारा–३ गरुवा चोकस्थित बिर्तामोड–खुदुनाबारी सडकखण्डमा बिर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र१–०१–०१८ प १६७ नं को स्कुटीले बाटो काट्दै गरेका पैदलयात्री बाँस्कोटालाई ठक्कर दिएको थियो।

स्कुटी चालक इलाम माई नगरपालिका–३ निवासी ३५ वर्षीया अमृता राई र स्कुटी प्रहरी नियन्त्रणमा रहेका छन् । यसअघि माघ २१ गते दमकमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको थियो।माघ १ गते एकैदिन तीनजनाको ज्यान गएको थियो, भने त्यसयता जिल्लामा प्रायः दिनहुँजसो सवारी दुर्घटनाबाट मानवीय क्षति भइरहेको छ ।