`

मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।

आज राती भने तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

म्याग्दीमा ३१ करोड ६० लाखको सुन्तला उत्पादन

म्याग्दी, २६ माघ : यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब पाँच मेट्रिक्टनका दरले चार हजार ५१५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय, म्याग्दीले जनाएको छ ।

जिल्लाका विभिन्न ठाउँका बगँैचामा बाली कटानी गरेर सुन्तला उत्पादनको तथ्याङ्क सङ्कलन गरिएको कार्यालयका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो । “४३० हेक्टर जमिनको बगैँचामा सुन्तला उत्पादन भएको छ,” उहाँले भन्नुभयो “किसानले सरदर प्रतिकिलो रु ७० का दरले रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन् ।”

म्याग्दीको ८३५ हेक्टर क्षेत्रफलमा सुन्तलाको बगँैचा रहेको छ । गतवर्ष ४२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११ दशमलव २५ मेट्रिक टनका दरले चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष रु ३४ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो ।

गत वर्षको तुलनामा पाँच दशमलव ५६ प्रतिशतले उत्पादन घटेको हो । यस वर्ष विभिन्न रोगकीराको सङ्क्रमण नभए पनि बोटमा दाना पातलो लागेकाले उत्पादन घटेको कार्यालय प्रमुख बाँस्तोलाले बताउनुभयो । “यस वर्ष मौसमले साथ दिएको हो । रोगकीरा नदेखिएको र विपद्ले क्षति नगरे पनि यसपालि दाना कम लागेको छ”, बाँस्तोलाले भन्नुभयो, “एक वर्ष अत्यधिक फल्ने र अर्को वर्ष कम दाना लाग्ने सुन्तलाखेतीको प्राकृतिक विशेषताका कारण उत्पादनमा असर परेको हो ।”

सुन्तलाखेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको हो । गतवर्ष प्रतिकिलो रु ६५ का दरले सुन्तला बेचेका किसानले यस वर्ष प्रतिकिलो रु पाँच बढी मूल्यमा बिक्री गरेका छन् । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका छन् ।

जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनगायत बजारमा सुन्तला बिक्री भएको मङ्गला गाउँपालिका–३ भोर्लेनीका किसान ओम गिरीले बताउनुभयो । गिरीले आफ्नो बगँैचाबाट यस वर्ष रु ११ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको बताउनुभयो ।

यातायात सुविधा भएकाले व्यापारी सुन्तला खरिद गर्न गाडी लिएर बगैँचामै आउने गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, साना सिँचाइ र बजारीकरणमा सहयोग गर्दै आएका छन् ।

राजेन्द्र राईस मिललाई जरिवाना, स्वस्तिक नेपाल ट्रेडिङलाई तीन दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौँ, २६ माघ : नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५० हजार ५०० बराबरको जरिवाना गरेको छ ।स्थलगत अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले राजेन्द्र राईस मिललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कारवाही गरेको हो ।

यस्तै, स्वस्तिक नेपाल टे«डिङ प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले आइतबार कूल काठमाडौँ, ललितपुरका विभिन्न २१ फर्ममा अनुगमन गरेको थियो ।

स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको सहकार्यमा विभागले स्थलगत अनुमगन गरेको हो । विभागले गरेको कूल फर्ममध्ये २० वटालाई भने सुधारात्मक निर्देशन दिएको छ ।

भारत मेघालयस्थित कोइलाखानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता, शव ल्याउन समस्या

खोटाङ। भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा यहाँका तीन युवकले अकालमा ज्यान गुमाएका छन् भने अझै एक जना बेपत्ता भएका छन् । सो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका जनाइएको छ ।

मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइलाखानीमा यही माघ २२ गते विस्फोट हुँदा यहाँको बरापोखरी गाउँपालिका–१ बरापोखरी सालघारीस्थित भञ्ज्याङका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो ।

कामदार कोइलाखानीभित्र काम गर्दैगर्दा भएको विष्फोटमा पर्नुभएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित जोरकाफलका ५० वर्षीय रत्न राई बेपत्ता हुनुभएको जानकारी आएको छ । विस्फोटपछि बेपत्ता हुनुभएका राईको कोइलाखानीभित्रै जलेर ज्यान गएको हुन सक्ने जनाइएको छ ।

मेघालयमासँगै बसेर काम गर्दै आउनुभएका भोजपुरका आफन्तका अनुसार रत्न कोइलाखानीभित्र पसेको समयमा विस्फोट भएको खबर आएको दुर्छिमका युवा नेता नेत्रविक्रम राउतले बताउनुभएको छ । विष्फोटपछि उद्धार गर्नेक्रममा कोइलाखानीभित्र भेटिएका शव आगोले डढेर नचिनिने अवस्थामा रहेकोसँगै बस्दै आएका आफन्तले परिवारलाई जानकारी गराएका छन् ।

विष्फोटमा बेपत्ता रत्नको नागरिकता, डायरी र मोबाइल कोठामै भेटिएको जनाइएको छ । कोइलाखानीमा बेपत्ता रत्न रोजगारीका सिलसिलामा गत असोज–९ गते मेघालय जानुभएको आफन्तले जनाएका छन् । विष्फोटमा गम्भीर घाइते हुनुभएका नरबहादुरको उपचारको क्रममा यही माघ२३ गते मृत्यु भएको जानकारी प्राप्त भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

घटना भएकै दिन ज्यान गुमाउनुभएका पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ भएको स्थानीयवासी इन्द्र लिमेल मगरले जानकारी दिनुभएको छ । विस्फोटमा पर्नुभएका बरापोखरी गाउँपालिका–१ सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङ्गी मगर, भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ४० वर्षीय ललित लुङ्गेली मगर गम्भीर घाइते छन् । उनीहरुको मेघालयकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको सँगै काम गर्दै आउनुभएका राहपोखरीस्थित वालम्पाका ताराबल मगरले बताउनुभयो ।

विष्फोटपछि ताराबलले नै फोनमार्फत घटनाको बारेमा जानकारी गराउनुभएको मृतकका आफन्तले बताएका छन् । विष्फोटमा ज्यान गुमाएका खोटाङ्गे युवाको शव मेघालयबाट नेपालमा ल्याउनका लागि परिवारका सदस्यलाई कठिनाइ भएको छ ।

विष्फोटमा आफन्तको ज्यान गएको जानकारी प्राप्त भएपछि घरबाट तीन दिन लगाएर भारतको मेघालय पुगेको मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिनुभएको छ । शव स्वदेश ल्याउन तथा गम्भीर घाइतेको उपचारका लागि सहयोग सङ्कलन अभियान सुरुआत गरिएको स्थानीयवासी प्रकाश बञ्जराले जानकारी दिनुभएको छ ।

पर्सामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिए

पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन पर्सामा दुई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको जानकारी दिनुभयो ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृतमा पर्साका सहायक प्रजिअ विनोदकुमार पोखरेल र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीलाई तोकिएको छ । कार्यालयले निर्वाचन आयोगको गत माघ १० गतेको पत्राचारअनुसार निर्वाचन ऐन, २०७३ को दफा २ को खण्ड (ख) एवं निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम जिम्मेवारी दिएको जनाएको छ ।

पर्साका सहायक प्रजिअ कार्कीले कोही कसैले निर्वाचन आचारसंहिता विपरीतकार्य गरे÷गराएमा निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची–४ बमोजिमको ढाँचामा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी गर्नसमेत आह्वान गर्नुभयो ।

यसैबीच पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा चारवटै सुरक्षा निकाय र निर्वाचन कार्यालयको प्रमुखको उपस्थितिमा पर्साको मतदानस्थलको निरीक्षण गर्नुभएको छ । आज यहाँको धोविनी गाउँपालिकाअन्तर्गतको पाँच वटा वडामा रहेका सात मतदानस्थलको निरीक्षण गरिएको हो ।

२५ वर्षमा २६ लाख पर्यटकले अन्नपूर्ण क्षेत्र घुमे

गण्डकी। पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार चार विदेशी पर्यटक भित्रिएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१ मा ६५ हजार ३१३ पर्यटक आएकामा सन् २०२५ मा हालसम्मकै बढी दुई लाख ९९ हजार ८३१ पर्यटक भित्रिएका छन् । उक्त अवधिमा सबैभन्दा कम सन् २०२१ मा जम्मा १६ हजार १०५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेको ‘एक्याप’को आँकडाले देखाएको छ ।

कोभिड–१९ महामारी कारण त्यस वर्ष पर्यटक आगमनमा भारी गिरावट आएको थियो । सन् २००१ देखि सन् २०१० सम्म वार्षिक एक लाखभन्दा कम सङ्ख्यामा पर्यटक आएकामा सन् २०११ को नेपाल भ्रमण वर्षमा भने पर्यटक एक लाख नाघेका थिए । उक्त वर्ष एक लाख एक हजार ९०८ पर्यटक यस क्षेत्रमा भित्रिएका थिए ।

त्यसपछि सन् २०१५ मा गएको गोरखा भूकम्पका कारण पनि पर्यटक आगमन घटेर ७८ हजार ९३० पुगेको थियो । त्यसयता वर्सेनि बढ्दै आएको पर्यटक सङ्ख्या सन् २०२० र सन् २०२१ को कोरोना महामारीका बेला घट्न पुगेको थियो ।

सन् २०२२ पछि भने पुनः पर्यटक सङ्ख्या बढेको देखिन्छ । सन् २०२२ मा एक लाख २९ हजार ७२३, सन् २०२३ मा एक लाख ९१ हजार ५५८, सन् २०२४ मा दुई लाख ४४ हजार ३९ र गत वर्ष अर्थात सन् २०२५ मा दुई लाख ९९ हजार ८३१ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् ।

गत वर्ष आएका पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ७७ हजार ६२८ र अन्य मुलुकका एक लाख २२ हजार २०३ रहेका ‘एक्याप’का प्रमुख डा रबिन कडरियाले जानकारी दिनुभयो । सन् २०२५ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको उहाँले बताउनुभयो । “पर्यटक आगमन बर्सेनि बढ्दो छ, पदयात्रामा रमाउनेदेखि धार्मिक पर्यटकसम्म यस क्षेत्रमा आउने गरेका छन्”, उहाँले भन्नुभयो ।

अन्नपूर्ण चक्रिय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा वर्षेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् ।

मकवानपुरमा १५ जनाले बुझाए इजाजत प्राप्त हतियार

बागमती। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुरमा १५ जनाले निजी प्रयोजनका लागि राखिएका हतियार बुझाएका छन् ।

प्रतिनिधिसभा निर्वाचनलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले निजी प्रयोजनका लागि राखिएको इजाजत प्राप्त हतियार बुझाउन गरिएको सार्वजनिक सूचनाका आधारमा १५ जनाले हतियार बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयबाट जिल्लाभरीका ६० जनाले हतियार राख्ने इजाजत लिएकामा हालसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालमा उक्त सङ्ख्यामा हतियार बुझाएको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । उहाँका अनुसार इजाजत लिएका हतियार बुझाउने क्रम अझै जारी छ ।

स्थानीय प्रशासनले सार्वजनिक सूचना जारी गर्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले हतियारधनीसँग भएका इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको छ । सूचनाको अवज्ञा गरी हातहतियार नबुझाएमा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यवस्था रहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । हतियार बुझाउँदा दिइएको निस्साको आधारमा आगामी चैत २० गतेपछि ती हतियार सम्बन्धित हतियारधनीलाई फिर्ता गरिने उहाँको भनाइ छ ।

यस्तै निर्वाचनमा खटिने निर्वाचन प्रहरी भर्नाको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार निर्वाचन प्रहरी भर्नाका लागि छनौट भएकालाई तालिम दिने काम भइरहेको छ । मकवानपुरमा एक हजार ९२३ निर्वाचन प्रहरी परिचालन गरिने योजना रहेको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरका १६७ मतदानस्थलमध्ये १९ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी जिल्लाको विभिन्न ६ स्थानीय तहमा रहेका १९ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । जिल्लाको ६० मतदानस्थललाई संवेदनशील र ८८ वटालाई समान्य सूचीमा राखिएको उहाँको भनाइ छ । अतिसंवेदनशील सूचीमा रहेका १९ मतदानस्थलमा २६ मतदान केन्द्र छन् । उहाँका अनुसार बकैयाँ गाउँपालिको पाँच, राक्सिराङ्ग गाउँपालिकाका ६, बागमती गाउँपालिकाको पाँच तथा भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका र कैलाश गाउँपालिकाका एक एक मतदानस्थल अतिसंवेदनशील सूचीमा छन् ।

मकवानपुरमा मतदाता सङ्ख्या बढ्ेपछि यसवर्ष सात मतदान केन्द्र थप गरिएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरीप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार मकवानपुरमा यसपटक १६७ मतदानस्थलमा ३७४ मतदान केन्द्र कायम गरिएको छ । प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरको क्षेत्र नम्बर १ मा ६२ मतदानस्थल र १७८ मतदान केन्द्र छन् भने क्षेत्र नम्बर २ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र तोकिएका छन् ।

मकवानपुरको क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ मतदाता छन् भने क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८९९ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । मकवानपुरमा एक लाख ६१ हजार ९५३ पुरुष, एक लाख ५३ हजार ३७६ महिला र अन्य ५ गरी कुल तीन लाख १५ हजार ३३४ मतदाता छन् ।

रुद्रवेणी–वामीटक्सार सडक आजदेखि अवरुद्ध हुने

गुल्मी । गुल्मीको रिडी‐रुद्रवेणी–वामीटक्सार–सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ ।

उक्त सडकखण्ड अन्तर्गत सत्यबती गाउँपालिकास्थित सिस्ने भिर क्षेत्रमा आजदेखि सडक स्तरोन्नतिको काम सुरु हुने भएको कारण केही समयका लागि सवारी आवागमन बन्द हुने भएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले राष्ट्रिय राजमार्ग अन्तर्गत अति संवेदनशील र साँघुरो स्थान सिस्ने भिरमा सडक चौडा गर्ने प्रयोजनका लागि कटिङ्ग गर्नुपर्ने जनाउँदै माघ २६ गतेदेखि फागुन १५ गतेसम्म उक्त सडक आंशिक रुपमा अवरुद्ध हुने भएको हो । उक्त काममा सहजीकरणका लागि सडक डिभिजन कार्यालयले जिल्ला प्रशासन कार्यालय गुल्मीलाई समन्वयका लागि पत्राचार अनुरोध गरको छ ।

उक्त अवधिमा दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म, बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ ।

त्यसैगरी सवारी आवागमन खुला हुने समय प्रत्येक दिन बिहान ९ देखि १० बजे, दिउँसो २ देखि ३ बजे र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमन खुला रहने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

सवारी साधनका लागि वैकल्पिक मार्गका रूपमा बिहान र दिउँसोको समयमा सोता–तल्लोफाँट–रुपाकोट–दोकुवा–सलाघारी–चोरकाटे तथा साँझदेखि बिहानसम्म मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न सकिने जनाइएको छ ।

उक्त कार्यमा जिल्ला प्रशासन कार्यालय गुल्मीले मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकालाई आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गरिदिनसमेत अनुरोध गरेको छ । प्रशासनले सडक स्तरोन्नति कार्यलाई सफल बनाउन स्थानीय तह, सरोकारवाला निकाय र सर्वसाधारणको सहयोग अपेक्षा गरेको छ ।

कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद

मुस्ताङ। माथिल्लो मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद गरिएको छ ।

लोमान्थाङ–४ छोसेरस्थित न्हेचुमा रहेको मुस्ताङ भन्सार कार्यालय, सशस्त्र प्रहरी बल नेपाल (बिओपी) र ईलाका प्रहरी कार्यालय छोसेरको संयुक्त गस्ती टोलीले रु एक लाख १७ हजार बराबरको अवैध सामान बरामद गरेको हो ।

लोमान्थाङस्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका नायब सुब्बा भोजराज अधिकारी नेतृत्वको टोलीले अवैध सामान बरामद गरेको हो

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार कोरला नाकाबाट बरामद गरिएको अवैध सामान न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

यसअघि गत पुस २७ गते कोरला नाकामा रोकिराखिएको मालबाहक कन्टेनर खानतलासी गर्दा रु दुई करोड २४ लाख बराबरको अवैध विद्युतीय चुरोट भेप बरामद गरिएको थियो । सो अवैध सामान मुस्ताङ भन्सार कार्यालयको जिम्मा लगाइएको थियो ।

यसैगरी २०८१ पुस २० गते कोरला नाका हुँदै लुकाइछिपाई जोमसोमतर्फ ल्याउँदै गरेको रु ६ करोड ८१ लाखको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरिएको थियो ।

हिउँदयाममा कोरला नाकाबाट अवैध रूपमा चारी÷शिकारी र अवैध क्रियाकलाप हुनसक्ने भएकाले सीमावर्ती क्षेत्रका सुरक्षाकर्मीले निरन्तर सीमा गस्ती गर्ने गरेका छन् ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०६ रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २१ पैसा र बिक्रीदर नौ रुपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८६ पैसा र बिक्रीदर २० रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९० पैसा र बिक्रीदर २२ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ०२ र बिक्रीदर ३७७ रुपैयाँ ५८ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

निर्वाचन २४ दिन बाँकी: आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ ।

मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसङ्केतका लागि प्रशिक्षित गर्ने उद्देश्यले निर्वाचन आयोगले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषण गरिरहेको छ । मतदातालाई सही र वास्तविक सूचना प्रदान गर्ने तथा मत बदर हुने अवस्थालाई कम गर्न शिक्षा कार्यक्रम अगाडि बढाइएको आयोगले जनाएको छ ।

डिजिटल प्लेटफर्ममा भइरहेको सचेतनालाई आयोगले वडास्तरमा पुर्‍याउने लक्ष्यसहित यही माघ १९ गतेदेखि मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गरिरहेको छ । स्वीकृत कार्यक्रम अनुसार प्रत्येक स्थानीय तहका हरेक वडामा एक/एक स्वयंसेवक परिचालन हुनेछन् । सम्बन्धित निर्वाचन कार्यालयबाट छनोट प्रक्रियाअघि बढाउने गरी स्थानीयस्तरमा कार्यरत बाल विकास सहजकर्ता वा मातृ शिशु कार्यकर्ता वा स्थानीय स्वास्थ्य स्वयंसेविका वा सामुदायिक अध्ययन केन्द्रका परिचालकमध्येबाट स्वयंसेवक छनोट गर्ने विधि तय गरिएको छ ।

मतदाता शिक्षा सामग्री उत्पादन र प्रभावकारी परिचालनका लागि सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यम तथा विभिन्न क्षेत्रका नियामक निकायसँग पनि सम्झौता सम्पन्न भएको छ । राष्ट्रिय समाचार समिति ९रासस०, सार्वजनिक सेवा प्रसारण नेपाल, गोरखापत्र संस्थान, विज्ञापन बोर्ड र सञ्चारमाध्यमको नियामक निकाय प्रेस काउन्सिल नेपालसँग आयोगले यसअघि नै सहमति गरिसकेको छ ।

प्रभावकारी मतदाता शिक्षाले मतदातालाई मतदान प्रक्रिया, मतसङ्केत र मिथ्या सूचना पहिचान गर्ने क्षमता अभिवृद्धि हुने तथा स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय निर्वाचन सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आयोगले विश्वास लिएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तय भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ सदस्य र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।

यस्ता छन् कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय

कर्णाली। कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले तीनवटा निर्णय गरेको छ ।

बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेख (अधुरो भवन निर्माण) आयोजनामा विनियोजित रु ६० लाख कार्यान्वयनका लागि इलाका प्रहरी कार्यालय, राकम कर्णाली दैलेखलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने र कर्णाली प्रदेश वन (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बुढासुब्बा गोल्डकप : नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा

धरान (सुनसरी) – चर्च ब्वाइज युनाइटेड काठमाडौँ २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यहाँको धरानस्थित रङ्गशालामा आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । चर्च ब्वाइजका खेलाडी रिचार्ड विल्सनले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि अन्तिम समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि सोही गोल नै निर्णायक बन्यो ।

आजको खेलमा चर्च ब्वाइजका खेलाडी रिचार्ड विल्सन ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो । उहाँलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको अध्यक्ष प्रताप तामाङले बताउनुभयो ।

सोमबार आयोजक धरान फुटबल क्बल र लालीगुराँस एफसी पोखराबीच प्रतिस्पर्धा हुने जनाइएको छ । यही माघ २२ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी फागुन २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा विजेताले नगद रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरी प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५÷२५ हजार र सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

झुट्ठा उद्दार प्रकरण: सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तर्राष्ट्रिय अस्पतालका सञ्चालक डा गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले नेपालको हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्वतारोहणका क्रममा विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बिमा रकम ठगी गरेको अभियोगमा आज तिमिल्सिनालाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले माउन्टेन रेस्क्यू सर्भिस, एभरेष्ट एक्सपेरियन्स एण्ड असिस्टेन्स र नेपाल चार्टर सर्भिससँगको मिलेमतोमा अस्पतालले नक्कली कागजात तयार पारी बिमा ठगी गरेको आरोपमा निजलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उक्त प्रकरणमा यसअघि तीन कम्पनीका छ जना पक्राउ परिसकेका छन् । उक्त प्रकरणले अन्तरराष्ट्रियस्तरमा नेपालको पर्यटन क्षेत्रलाई गम्भीर क्षति पु¥याएको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका डा तिमिल्सिनाविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा ५१ (राष्ट्रहित प्रतिकूल काम गर्न नहुने) र अन्य किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

असमानता अन्त्यका लागि हाम्रो पार्टी सरकारमा पुग्नुपर्छ – सभापति लामिछाने

नवलपरासी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा विद्यमान असमानता, विभेद र अन्यायको अन्त्य गर्न आफ्नो पार्टी सरकारमा पुग्नुपर्ने बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा कार्यकर्तासँग उहाँले राजनीतिक पहुँच, नातावाद र सिफारिसका आधारमा राज्यले नागरिकबीच भेदभाव गर्न नहुने बताउनुभयो । “राजनीतिक पहुँच र रगतको आधारमा होइन, समानता र न्यायको आधारमा राज्य सञ्चालन हुनुपर्छ”, सभापति लामिछानेले भन्नुभयो ।

उहाँले भूमिहीन समस्या दशकौँदेखि जटिल बन्दै गएको उल्लेख गर्दै हालसम्म कुनै पनि राजनीतिक दलले यसको स्थायी समाधान दिन नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले सभापति लामिछानेले रास्वपाले विज्ञ, प्राविधिक तथा सरोकार भएकाहरू सम्मिलित टोली गठन गरी भूमिहीन समस्याको निष्पक्ष र दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता जनाउनुभयो ।

कोशी प्रदेशसभा बैठकमा आज के के भयो ?

मोरङ। कोशी प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठक आज विराटनगरस्थित वीरेन्द्र सभागृहमा सञ्चालन भयो ।

सभामा सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशका प्रदेश प्रदेश प्रमख परशुराम खापुङबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र एवं प्रदेश मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा वाचन गरेर सदनलाई जानकारी दिनुभयो ।

यसैगरी उहाँले प्रदेशसभाको सदस्यको स्थान रिक्त सम्बन्धमा जानकारी गराउनुभयो । यस्तै, निर्वाचन आयोग नेपालबाट पार्टी एकीकरण सम्बन्धमा प्राप्त पत्र वाचन गर्नुभयो ।
सभामा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबै दल लाग्नुपर्ने बताउनुभयो । उहाँले मुलुकलाई समृद्धि, सुशासन, भ्रष्टाचारको अन्त्यका लागि दलहरूबीच एकताको विकल्प नरहेको धारणा राख्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता प्रेमराज थाङसुहाङले कोशी प्रदेश राष्ट्रियसभाको निर्वाचनको मतदानका दिन आफू प्रदेश बाहिर भए पनि आफ्नो मत खसेको जानकारी सञ्चारमाध्यमबाट प्राप्त भएकामा आपत्ति जनाउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टी, संसदीय दलका नेता इन्द्रबहादुर आङवोले सुशासन कायम राख्न भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा (एमाले) संसदीय दलका उपनेता तीलकुमार मेयाङवोले मुलुकमा लोकतन्त्रलाई सुदृढ गर्न दलहरूबीच एकताबद्ध हुनु जरुरी रहेको धारणा राख्नुभयो ।

प्रदेशसभाको अर्को बैठक माघ २६ गते दिनको १ः०० बजे बस्नेछ ।

प्रतिनिधिसभा निर्वाचन : आयोगले ९ प्रकारका सामग्री पठाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ९ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोगले ९ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गर्ने गरी तयारी गरेको सहायक प्रवक्ता प्रकाश न्यौपानेले राससलाई जानकारी दिए ।

आयोगबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम र मतदान केन्द्रका लागि सुरक्षणशील, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप र मतपेटिका स्टीकर रहेका उनले उल्लेख गरे ।

यसैगरी जिल्लामा व्यवस्थापन गरिने निर्वाचन सामग्रीमा सिलिङ बक्स, अनुसूची फारम, पुसपिन, डायरी (पोल बुकको काम गर्ने), मार्कर पेन, स्केल, स्टापलर मेसिन, स्टाप्लर पिन, स्कीसर्स, ग्लुस्टिक, सोसर (काउन्टिङ डम्पर), पञ्चिङ मेसिन, परिचयपत्र होल्डर, भित्री र बाहिरी कार्ड, पुरुष र महिला कार्ड, मतदाता क्रमसङ्ख्या, मतदान केन्द्र कार्ड, प्लास्टिक झोला, बोरा, सुतली र प्याकिङ टेप रहेका छन् ।

Laxmi sunrise bank
त्यस्तै नेपाली कागजको खाम (१० बाइ १५ इन्च), नेपाली खाम कपडा भएको (निबिदा मतपत्र राख्ने), सेतो कागज (ए४) ३० पाना, रेकर्ड फाइल (फित्तासहित), धागो, सियो, खाप्सियो, फलाटिन कपडा, सलाइ, कोरा कपडा (दुई मिटरको टुक्रा), जेल पेन कालो र रातो एवं चार वटाको मैनबत्ती प्याकेट पनि जिल्लामै व्यवस्थापन गरिने निर्वाचन सामग्रीका रुपमा सूचीकृत गरिएको आयोगले जनाएको छ ।

काठमाडौँ–७ का उम्मेदवारको प्राथमिकताः स्थानीयका माग र मुद्दा सम्बोधन

काठमाडौँ । सुगमताका हिसाबले राजधानीको सहरी क्षेत्र रहेर पनि न्यूनतम आधारभूत खानेपानी, ढल निकास, डुबान र गुठीसम्बन्धी समस्या झेलिरहेको काठमाडौँ निवार्चन क्षेत्र नं ७ का उम्मेदवारले मतदाताका यिनै माग र मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी गरिरहेका राजनीतिक दल र उम्मेदवारहरु मतदातासँगको भेटघाटमा स्थानीयले उठाएका आधारभूत आवश्यकता र पूर्वाधार निर्माणसम्बन्धी समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न पहल गर्ने आश्वासन दिइरहेका छन् ।

यस निर्वाचन क्षेत्रबाट विसं २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली विजय भएका थिए । उनी आठ हजार ७४३ मतले विजयी भएका थिए। उनका निकटम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का श्यामकुमार घिमिरेले छ हजार ८०० मत ल्याएका थिए। सोही क्षेत्रबाट पराजुलीले पुनः उम्मेदवारी दिएका छन् ।

आगामी निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ७ बाट प्रत्यक्षतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रकाश श्रेष्ठ, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं, नेपाली कम्युनिष्ट पार्टीका वसन्तप्रसाद मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालकुमार लामा, जनता समाजवादी पार्र्टी नेपालका बाबुराम लामा, राष्ट्रिय जनमोर्चाका दीर्घकुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का गुणबहादुर बञ्जारा क्षेत्री, नेपाल मजदुर किसान पार्टीकी गणेश माया डङ्गोल चुनावी दौडमा छन् ।

यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका अमिनरत्न ताम्राकार, राष्ट्रिय एकता दलका विनोदकुमार गुरुङ, जय मातृभूमि पार्टीका वैकुण्ठ फुयाँल, श्रम संस्कृति पार्टीका मणिराम बहादुर प्रधान, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) दीपक मानन्धर, उज्यालो नेपाल पार्टीकी विमला लामा, राष्ट्रिय मुक्ति पार्टी नेपाल(एकल चुनाव चिह्न)का दिपीन पन्त र आमजनता पार्टी (एकल चुनाव चिह्न) प्रदीप भट्टराई चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी, स्वतन्त्रतर्फ १० जनाको उम्मेदवार चुनावी मैदानमा छन् । सविता गमाल, सुजिता श्रेष्ठ, अञ्जला बज्राचार्य, पुष्प बानियाँ, शर्मिला फुयाँल, सुमन पुतुवार÷महर्जन, अमन श्रेष्ठ, बुद्धिप्रसाद रेग्मी, भरत पौडेल र प्रकाश कुँवर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका, तारकेश्वर र नागार्जुन नगरपालिकाका १० वटा वडा पर्छन् । महानगरका १६, १७, १८, २५ वडाका बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, म्हैपि, धोबीचौर, ठहिटी, भुरुञ्खेल, ढल्को, नरदेवी, न्हयौखा, मछिन्द्रटोल तथा तारकेश्वर नगरपालिकाका–३, ४, ५ का तीनपिपले, गोलढुङ्गा, लोलाङ र नागार्जुन नगरपालिकाका– १, २, ३ का रानीवन, ठूलोभ¥याङ, गैरीगाउँ यस क्षेत्रमा पर्छन् ।

यस क्षेत्रमा ७८ वटा मतदान केन्द्र रहेका छन् भने मतदाता सङ्ख्या ६७ हजार ४११ छ । काठमाडौँ क्षेत्र ७ की निर्वाचन अधिकृत सविता शर्माले निर्वाचन आचारसंहितासम्बन्धी छलफल गरिरहेको जानकारी गराउँदै निर्वाचन प्रचारप्रसार व्यवस्थित तुल्याउन सर्वपक्षीय र सर्वदलीय छलफल आयोजना गरिएको बताए । उनका अनुसार यस क्षेत्रबाट २७ जना उम्मेदवारमा १० जना स्वतन्त्र रहेका छन् भने साथै पाँच जना महिला उम्मेदवार छन् ।

उज्यालो नेपाल पार्टीबाट प्रत्यक्षतर्फका उम्मेदवार विमला लामाले जनताको काम गर्ने उद्देश्यले उम्मेदवारी दिएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, बेरोजगारी अन्त्य, पर्यटन प्रवद्र्धन र भ्रष्टाचारमुक्त देश बनाउने आफ्नो प्रमुख एजेन्डा रहेको बताए । महिला उद्यमीसमेत रहेकी लामाले भनिन्, “महिलाले प्रत्यक्षतर्फ उम्मेदवारी दिने आँट गर्दैनन् । अवसर पनि दिँइदैन । अध्याँरो राजनीतिलाई उज्यालो बनाउनेतर्फ लाग्नुस् भनेर मतदाताले हौसला दिनुभएको छ ।”

रास्वपाका उम्मेदवार पराजुलीले मतदाताले भविष्यको बाटो कोर्न, सुशासन कायम गर्न, नीतिनियम बनाउनमा ध्यान केन्द्रित गर्न सुझाव दिएको बताए । उनले जनताहरुले राजनीतिक स्थायित्व चाहेको बताउँदै जनताका आशा र विश्वासलाई यथार्थमा परिवर्तन गर्न आसन्न चुनाव पर्खिरहेको प्रतिक्रिया दिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रकाश श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई सांस्कृतिक नगरीका रुपमा अघि बढाउन सम्पदा संरक्षण र पुनःनिर्माणको एजेन्डालाई निरन्तरता दिने बताए । उनले जनतासँगको समन्वय र सहकार्यमा स्थानीय आवश्यकता खानेपानी, ढल निकास, डुबान क्षेत्र, सांस्कृतिक सम्पदा, बाजागाजा संरक्षणलगायत प्राथमिकतामा राखेको बताए ।

यसअघि बागमती प्रदेशसभा सदस्यसमेत रहिसकेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार वसन्तप्रसाद मानन्धरले विकाससँग जोडेर कानुन निर्माणमा ध्यान दिने जनतासामु प्रतिबद्धता गरेको बताए । उनले पहिला पनि जनप्रतिनिधिका रुपमा काम गरिसकेका हुनाले जनताले विश्वास गरेको र मत आफ्नो पक्षमा हुने विश्वास व्यक्त गरे ।

आगामी हुने निर्वाचनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ ६५ राजनीतिक दलले ६१ निर्वाचन चिह्नमा प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यस्तै सामानुपातिक निर्वाचन प्रणालीतर्फ ६३ राजनीतिक दलले ५७ निर्वाचन चिन्हमा चुनाव लड्दैछन् ।

यसपटकको निर्वाचनका लागि मुलुकभर ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कुल करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन् ।

एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम

काठमाडौंँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले पाठेघरको मुखको क्यान्सर सुरुको अवस्थामा पहिचान गर्न सके उपचार गरेर निको हुने बताएकी छिन् ।

आजदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानको भिडियो सन्देशमार्फत सफलताको शुभकामना दिँदै उनले खोप सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन सबैलाई अनुरोध गरिन् । उनले ३० वर्ष भन्दामाथि सबै महिलाले नियमित रूपमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउनसमेत अनुरोध गरिन् ।

“पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी भाइरसको सङ्क्रमण हो । उक्त भाइरसविरुद्धको खोपबाट यो रोग रोकथाम गर्न सकिन्छ”, मन्त्री डा गौतमले भनिन् । पाठेघरको मुखको क्यान्सरलाई नेपालमा निवारण गर्ने उद्देश्यले गत वर्षदेखि एचपिभी खोपलाई नियमित अभियानअन्तर्गत सञ्चालन गर्दै आइएको उनले बताइन् ।

सरकारले आजदेखि आगामी फागुन १५ सम्म देशव्यापी रूपमा पाठेघरको मुखको क्यान्सरविरुद्ध कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाउन थालेको छ । यस्तै गत वर्षको खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरी पनि खोप लगाइने छ ।

मन्त्री गौतमले खोप सुरक्षित र महिलाको जीवन रक्षा गर्ने भएकाले सबैले लगाउनुपर्नेमा जोड दिइन् । उनले आफ्ना बालिकालाई खोप लगाउन अभिभावकले पनि प्रोत्साहन गर्नुपर्ने धारणा राखिन् । नेपालमा हरेक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ भने चार जनाको ज्यान जाने गरेको छ ।

यस्तो छ जुम्लाको चुनावी गणित

जुम्ला । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै जुम्लामा चुनावी गतिविधि गर्माएको छ । उम्मेदवारहरु जुम्लामा प्रवेश गरेदेखि स्थानीय पनि चुनावी माहोलमा होमिएका छन् । नयाँदेखि पुराना दलसम्मका अथवा राजनीतिमा खारिएकादेखि भर्खर उदाएकाहरूबीच चुनावी भिडन्त हुन लागेकाले चासो बढेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ एक स्वतन्त्रसहित नौ वटा विभिन्न राजनीतिकदलका उम्मेदवार चुनावी प्रतिस्पर्धीमा रहेका छन् ।

यस क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही, नेपाली कांग्रेसका दीपबहादुर शाही, नेकपा (एमाले)का शान्तिलाल महत, राष्ट्रिय स्वतन्त्र पार्टीका विनिता कठायत र प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल, नेपाल मजदुर किसान पार्टीका विर्षबहादुर रावत, नेपाल जनता पार्टीका रनिल विक्रम शाही, नेकपा (माओवादी) बाट बिर्खबहादुर शाही र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावल उम्मेदवार छन् ।

उम्मेदवारहरू आफ्नो एजेन्डासहित मतदाताको घरदैलोमा पुगेपछि सुनसान हुने गाउँबस्तीदेखि सदरमुकाम खलङ्गा बजारका सार्वजनिकस्थल र चिया पसलमा चुनावी बहस तीव्र हुने थालेको छ । विसं २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही विजयी भएको थियो ।

सामान्यतया जुम्लाका मतदाताहरूले स्वविवेकका आधारमा प्रत्येक निर्वाचनमा मत परिवर्तन गरिरहेको पनि पाइन्छ । यहाँका कतिपय निर्वाचन क्षेत्रमा चुनावैपिच्छे फरक दल र उम्मेदवारलाई निर्वाचित गराउने गरेका छन् ।

यस्तो छ चुनावी गणित

जुम्लामा २०६४ को संविधानसभाको निर्वाचनमा नेकपा (माओवादी)बाट नरेश भण्डारी अत्यधिक मतले विजयी भएको थियो । विसं २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका ललितजङ्ग शाही विजयी भएको थियो । विसं २०७४ मा भएको निर्वाचनमा माओवादी र एमालेलगायत अरु पार्टीसँग गठबन्धन हुँदा माओवादीबाट पुनःगजेन्द्र महत विजयी भएका थिए ।

विसं २०७९ को निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)सहितका दलको गठबन्धन भएको थियो । तत्कालीन समयमा राप्रपाका शाहीले २२ हजार ८१९ मत ल्याएको थियो ।

समानुपातिकतर्फको मत परिमाण

विसं २०७९ को आमनिर्वाचनमा सामानुपातिकतर्फको सबैभन्दा बढी नेकपा एमाले १० हजार ५४८ मत ल्याएको छ । कांग्रेसले १० हजार ४७३ मत ल्याउँदा माओवादी (नेकपा) ले आठ हजार ९६० र राप्रपाले पाँच हजार ७९६ मत लिएको छ । विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा आठ वटा स्थानीय तहमध्ये छ वटामा कांग्रेस र दुई वटामा माओवादीले जितेको थियो ।

निर्वाचनका लागि जिल्लामा कूल जम्मा मतदाता सङ्ख्या ७१ हजार ७३९ जना छन् । जसमा महिला ३४ हजार २८० जना र पुरुष ३७ हजार ४५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए । एक नगरपालिकासहित सात गाउँपालिका रहेको जिल्लामा ८५ मतदानस्थल र ११० मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

निर्वाचन नजिकिँदै जाँदा जुम्लामा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ । ठूला दलदेखि साना दल र स्वतन्त्र उम्मेदवारसम्म मत माग्न घरदैलोमा सक्रिय बनेका छन् । मतदाताको समर्थन जुटाउन घरदैलो, आन्तरिक छलफल, भेला तथा समन्वय बैठकहरू तीव्र रूपमा सञ्चालन भइरहेका छन् ।

यस्तै, नेकपा एमालेले आफ्नो उम्मेदवारलाई जिताउन सङ्गठनात्मक गतिविधि तीव्र पारेको छ । वडास्तरदेखि टोलस्तरसम्म छलफल, भेला र बैठकहरू भइरहेका छन् । पार्टीले निर्वाचन परिचालन कमिटी गठन गरी प्रचारप्रसारलाई तीव्र बनाएको नेकपा एमाले जुम्लाले जनाएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पनि निर्वाचन लक्षित गतिविधि बढाउँदै लगेको छ । मतदाता भेटघाट, पार्टीको आन्तरिक भेला, जनवर्गीय सङ्गठनका बैठक तथा प्रशिक्षण कार्यक्रमलगायत गतिविधि गरेको छ । निर्वाचनका लागि एक हजार ९९९ जना निर्वाचन परिचालन समिति गठन गरिएको निर्वाचन परिचालन समितिका संयोजक तथा नेकपाका केन्द्रीय सदस्य गोमा गौतमले बताए ।

३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

आजसम्म एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत र बर्दघाट सुस्ता पश्चिम नवलपरासी गरी ३७ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो । यी जिल्लाको मतपत्र प्याकिङ पनि भइसकेको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ्ग तथा रुजुसमेत गरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ ।

अण्डाको मूल्यमा भारी गिरावट

चितवन। अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाइएको जनाएको छ । नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो ।

अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७५ र मिडियम रु ३३५ कायम गरिएको छ । यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट रु ४३५ र मिडियम रु ४०५ रहेको थियो । माघ ११ गते ठूलो अण्डा रु ४९५ र मिडियम रु ४७५ पुगेको थियो ।

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा रु ५६५ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको रु ५५० थियो । सङ्घका अध्यक्ष पोखरेलका अनुसार भारतीय सेतो अण्डा धेरै भित्रिएको र उत्पादन बढेका कारण यहाँको अण्डाले बजार र मूल्य पाउन नसकेको हो । भारतीय अण्डा रोक्न सङ्घले सरकारी निकायसँग निरन्तर रूपमा माग गरिरहेको उहाँले जानकारी दिनुभयो ।

अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यस आधारमा लागत मूल्य प्रतिक्रेट पाँच सय ७४ रुपैयाँ छ पैसा पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका बनेका छन् ।

सङ्घले देशभरका फर्मबाट मूल्य लिएर चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य जारी गर्ने गर्दछ ।

तीन तहका सरकारले समन्वय र सहकार्य आधारमा कार्य गर्नुपर्छः मुख्यमन्त्री कार्की

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान व्यवस्था गरेअनुसार तीन तहका सरकारले समन्वय सहकार्य र सहअस्तित्वका आधारमा काम गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगरमा आज आयोजित प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले स्थानीय तह र प्रदेशबाट ९९ प्रतिशत काम सकेर सङ्घीय सरकारमा पठाउँदा पनि कतिपय विषय अगाडि नबढेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “समन्वय सहकार्य र सहअस्तित्वको आधारमा तीनै तहका सरकार सञ्चालन हुने संविधानले व्यवस्था गरे पनि सोअनुसार भइरहेको छैन । यसले प्रदेश सरकारले राम्रोसँग काम गर्न सकेको छैन ।”

मुख्यमन्त्री कार्कीले प्रदेशमा देखिएका समस्या प्रदेशमै समस्या समाधान गर्नुपर्ने र सङ्घको समन्वयमा गर्नुपर्ने काम सङ्घसँगको सहकार्यमा गर्नपर्नेमा जोड दिनुभयो ।

बैठकमा कोशी प्रदेशको सार्वजनिक खर्च मापदण्ड र मितव्ययिता निर्देशिकाले काम गर्न अप्ठ्यारो भएको विषयमा पनि छलफल भएको थियो ।

राजस्व सङ्कलन र राजस्व दायरालाई बढाउने, कानुन, कार्यविधि निर्माण गर्ने, समपूरक बजेटबाट आउने आयोजनालाई व्यवस्थित रूपले सञ्चालन गर्नुपर्ने र बेरुजु घटाउनेलगायत विषयमा पनि छलफल भएको प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जानकारी दिनुभयो ।

बहुवर्षीय आयोजनाहरूको दायित्व र यसले भविष्यमा पार्ने विषयका साथै सानासाना आयोजना कार्यान्वयनमा देखापरेका समस्या, प्रदेश सरकार मातहत रहेको यातायातको अधिकार खुम्च्याउने र कृषि आयकरलगायत प्रदेशका क्षेत्राधिकारमा केन्द्र सरकारले ध्यान नदिएको विषयमा भए पनि कुरा भएको उहाँले बताउनुभयो ।

बैठकले हाल देखिएका समस्यालाई फागुनभित्रै समाधान गर्ने गरी अगाडि बढाउन आवश्यक तयारी गर्ने निर्णय गरेको छ । बैठकका विषयलाई सङ्घ सरकारसँग समन्वय गर्ने र प्रदेशले गर्नुपर्ने काम पनि तत्कालै गर्ने निर्णग गरिएको प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

हाजिरी जमानीमा छुटे मेडिकल व्यवसायी दुर्गा प्रसाईं

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको आदेशअनुसार आज प्रसाईं हाजिरी जमानीमा रिहा भएको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

शुक्रबार काठमाडौँबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला प्रहरीले प्रसाईंलाई दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो ।

इरानले अमेरिकी वार्तामा कडा अडान दोहोर्‍यायो

दुबई। इरानका शीर्ष कूटनीतिज्ञले आइतबार तेहरानको शक्ति ‘महान शक्तिहरूलाई होइन भन्न सक्ने क्षमता’ बाट आएको दाबी गर्दै अमेरिकी वार्ताप्रति कडा अडान प्रस्तुत गरेका छन् । आफ्नो आणविक कार्यक्रमलाई लिएर संयुक्त राज्य अमेरिकासँग संवाद भइरहेका बेला र देशभित्र विरोध चर्किएको पृष्ठभूमिमा उक्त टिप्पणी आएको हो ।

तेहरानमा आयोजित शिखर सम्मेलनमा कूटनीतिज्ञहरूसँग बोल्दै विदेशमन्त्री अब्बास अराघचीले इरान युरेनियम संवर्धन गर्न सक्षम हुनैपर्ने अडानमा कायम रहने सङ्केत दिए । यही विषय १२ दिनसम्म चलेको इरान–इजरायल युद्ध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तीव्र विवादको केन्द्रमा रहेको थियो ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले शुक्रबार ओमानमा अमेरिकी पक्षसँग भएको वार्तालाई ‘एक कदम अगाडि’ भएको बताएको भए पनि अराघचीका भनाइले आगामी वार्ता सजिलो नहुने सङ्केत गरेको छ । यसबीच संयुक्त राज्य अमेरिकाले विमान वाहक युएसएस अब्राहम लिङ्कन, युद्धपोत र लडाकू विमानहरू मध्यपूर्वमा तैनाथ गरेको छ, जसलाई ट्रम्प प्रशासनले दबाबको माध्यमका रूपमा लिएको छ ।

अराघचीले इस्लामिक गणतन्त्रको शक्ति बदमाशी, प्रभुत्व र बाह्य दबाबविरुद्ध उभिन सक्ने क्षमतामा रहेको बताए । उनले ‘आणविक बम’ शब्दलाई प्रतीकात्मक रूपमा प्रयोग गर्दै इरान कुनै बम बनाउन नलागेको तर शक्तिहरूलाई अस्वीकार गर्न सक्ने क्षमताकै कारण डर पैदा भएको दाबी गरे ।

इरानले लामो समयदेखि आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको बताउँदै आएको छ । तर पश्चिमी देशहरू र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार सन् २००३ सम्म इरानसँग बम विकाससम्बन्धी सङ्गठित सैन्य कार्यक्रम थियो । इरानले ६० प्रतिशतसम्म युरेनियम संवर्धन गरिरहेको छ, जुन हतियारस्तरभन्दा केही कम हो ।

राष्ट्रपति पेजेस्कियानले सामाजिक सञ्जालमा वार्तालाई क्षेत्रीय मित्र राष्ट्रहरूको मध्यस्थतामा भएको प्रगति भन्दै शान्तिपूर्ण समाधानका लागि संवाद नै इरानको रणनीति रहेको उल्लेख गरे । तर उनले इरानी राष्ट्रले बलको भाषा स्वीकार नगर्ने स्पष्ट गरे ।

दोस्रो चरणको वार्ता कहिले र कहाँ हुने भन्ने अझै स्पष्ट छैन । वार्ताकै समयमा अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख ब्राड कुपर ओमानमा उपस्थित हुनु अमेरिकी सैन्य दबाबको सङ्केतका रूपमा हेरिएको छ ।

अराघचीले विगतका वार्ताका क्रममा पनि अमेरिकी आक्रमण भएको अनुभव स्मरण गर्दै यदि वार्तामा एक कदम पछि हटे स्थिति कहाँ पुग्छ भन्ने अनिश्चित रहेको चेतावनी दिए। रासस

सामाजिक सद्भाव र सहअस्तित्व प्रवर्द्धनमा गृहमन्त्रीको जोड

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले समृद्ध नेपाल निर्माणमा सामाजिक सद्भाव र सहअस्तित्वको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा काठमाडौँको राष्ट्रियसभागृहमा आयोजित प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी जनजाति ज्ञान सम्मेलनमा उनले सरकार संविधानको मर्मअनुरुप समावेशी सिद्धान्त कार्यान्वयन गराउन कटिबद्ध रहेको बताए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री अर्यालले नेपालको संविधानले परिकल्पना गरेको समावेशी भावलाई वास्तविक अर्थमा सरकारले लागू गर्दै आएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिने उल्लेख गरे ।

नेपालको संविधानले आदिवासी जनजातिको अधिकार सुनिश्चित गरेको बताउँदै उनले सबै समुदायको अधिकार संरक्षण गर्ने दायित्व सरकारले निभाउँदै आएको प्रष्ट पारे ।

“राज्यको नीतिनिर्माण तहमा सबै समुदायको सहभागिता वृद्धि गर्न सरकार निरन्तर अग्रसर छ”, गृहमन्त्रीले भने, “समानुपाति समावेशी सिद्धान्त संविधानको मूल मर्म हो । यसलाई बचाउनु सबैको कर्तव्य हो ।”

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विकास र समृद्धिको काम गर्दा सरकारले आदिवासी जनजातिको सांस्कृतिक, भाषिक, भौतिक ज्ञानको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।

प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले आदिवासी जनजातिको पुख्र्यौली ज्ञान, सीपको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने सम्मेलन आयोजना गरिएको जानकारी दिए । तीनदिने सम्मेलनमा आदिवासी जनजातिका परम्परागत ज्ञानमाथि छलफल हुनुका साथै छलफलबाट निस्किएको निष्कर्षले राज्यको नीतिनिर्माण तथा रुपान्तरण गर्न सहयोगी भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे । महोत्सव यही माघ २७ गतेसम्म सञ्चालन हुनेछ ।

त्यसैगरी, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले राज्यले आदिवासी जनजातिको परम्परागत संस्कृति र ज्ञानलाई पुस्तान्तरण गर्दै प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । “हाम्रा कला र संस्कृति लोप हुँदैछन्, विकासका नाममा आदिवासीको मर्म मार्न पाइँदैन । सबैको कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु राज्यको दायित्व हो”, उनले भने ।

कलाकर्मीको नजरमा अभिनेता ‘राते काइँला’

काठमाडौँ। कलाकर्मीहरूले ‘राते काइँला’ नामले परिचित अभिनेता सुनील थापाको निधनले समग्र कलाकारिता जगतमा अपुरणीय क्षति पुगेको बताएका छन् ।

शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा पु¥याइएका ६८ वर्षीय थापाको दुःखद् निधन भएको थियो ।

प्रारम्भिक जाँच गरेपछि अस्पतालले उनलाई शनिबार बिहान ७ बजेर ४४ मिनेटमा निधन भएको घोषणा गरेको थियो । नेपालीसँगै भारतीय चलचित्रमा प्रसिद्ध नाम बनेका अभिनेता थापाको निधन चलचित्रकर्मी स्तब्ध भएका छन् । पछिल्लो समय थापाले नेपाली चलचित्र ‘राम नाम सत्य’ को छायाङ्कन गरिरहेका थिए ।

उक्त चलचित्रमा खलपात्रको भूमिकामा निर्वाह गरिरहेका थापाको आज छायाङ्कनको अन्तिम दिन शनिबार रहेको उक्त चलचित्रका निर्देशक माइकल चन्दले जानकारी दिए ।

उनले भने, “शुक्रबार राति १० बजेसम्म अभिनेता थापा छायाङ्कनमै हुनुहुन्थ्यो । हामीले उहाँको सम्पूर्ण काम शुक्रबार राति नै सकाउने तयारी गरेका थियौँ तर उहाँले नै शनिबार बिहान गरौँ भनेपछि सारेका थियौँ । पछिल्लो समय झण्डै चार हप्तादेखि उहाँले चलचित्रमा काम गरिरहनुभएको थियो ।”

निर्देशक चन्दका अनुसार खलपात्रको भूमिका निर्वाह गरिरहेका थापाको अन्त्येष्टिकै दृश्य शनिबार छायाङ्कन गर्ने तयारी भएको थियो । उनले निर्वाह गरेको खलपात्रलाई चलचित्रका अभिनेता विराज भट्टले ‘राम नाम सत्य’ को छायाङ्कन गर्ने दृश्य थियो ।

निर्देशक चन्दले भावविह्वल हुँदै भने, “चलचित्रमा उहाँलाई जलाउने दृश्य खिच्नु थियो । हामीले केही दिनदेखि द्वन्द्वका दृश्य छायाङ्कन गरिरहेका थियौँँ, सोही कारण एकहप्तादेखि निरन्तर छायाङ्कनमा संलग्न थियौँ । उहाँले शनिबार बिहान ६ बजेदेखि १० बजेसम्म छायाङ्कन गरेर एउटा पारिवारिक समारोहमा सहभागी हुनुपर्ने कुरा बताउनुभएको थियो । शुक्रबार बेलुका नियमित रुपमा छुटिएका थियौँ, त्यो नै अन्तिम भेट भयो ।”

उनीसँगै चलचित्रमा अभिनय गरिरहेएका अभिनेता प्रशान्त ताम्राकारले अभिनेता थापाको निधनलाई पत्याउन गाह्रो भइरहेको बताए ।

“शनिबार बिहान हामी अभिनेता थापालाई छायाङ्कनका लागि कुरिरहेका थियौँ, अचानक उहाँ नरहेको खबर आयो । मैले चलचित्र ‘राम नाम सत्य’ मा पहिलो दृश्य उहाँसँगै दिएँ, हिजो बेलुकी अन्तिम दृश्य पनि उहाँसँगै भयो । उहाँले मलाई छायाङ्कन अवधिभर प्रोत्साहन गरिरहनुभयो, आफ्नो अनुभवले हामीलाई मार्गनिर्देश गर्नुहुन्थ्यो”, अभिनेता ताम्राकारले भने ।

अभिनेता भुवन केसीले चलचित्र क्षेत्रले देशकै अब्बल कलाकार गुमाएको प्रतिक्रिया दिए । नेपालीसँगै भारतीय चलचित्रमा स्थापित भएका अभिनेता थापा आफ्नो एक असल मित्र रहेको उनले बताए ।

“अभिनेता थापा मेरा लागि कलाकारभन्दा पनि असल मित्र हुनुहुन्थ्यो । चलचित्र ‘चिनो’ मा पहिलोपटक काम गरेयता हामीले थुप्रै चलचित्रको सेटमा कैयौँ अन्तरङ्ग क्षण बिताएका थियौँ । मैले निर्माण गरेका चलचित्रहरु ‘सपना’ देखि ‘क्याप्टेन’ सम्म हामीले सहकार्य गरेका छौँ । उहाँ र म अर्कालाई भेट्दा सधैँ के छ दोस्त भनेर सोध्थ्यौँ । उहाँको बिदाइले हामीलाई अपुरणीय क्षति पुगेको छ”, अभिनेता केसीले भने ।

अभिनेता राजेश हमालले अभिनेता थापालाई एक अद्भूत क्षमता भएका सहकर्मीका रुपमा स्मरण गरिरहने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत अभिनेता थापाले कलाकारितामा देखिएको रिक्तता कहिल्यै भरिन नसक्ने उल्लेख गरेका छन् ।

“नेपाली चलचित्रको इतिहासमा तपाईं एउटा महत्वपूर्ण मोड हुनुहुन्छ । मेरो चलचित्र यात्रा तपााईंप्रति समर्पित गर्दछु । तपाइको अभाव सधैँ महसुस हुनेछ”, अभिनेता हमालले उल्लेख गरेका छन् ।

नेपाली चलचित्र ‘चिनो’मार्फत अभिनेता थापालाई नेपाली चलचित्रमा स्थापित गराएका निर्देशक तुलसी घिमिरेले पात्रलाई जीवन्त बनाउन सक्नु नै उनको खुबी रहेको बताए ।

“अभिनेता थापाले आफ्नो कामलाई सधैँ गम्भीरतापूर्वक लिएर सम्पन्न गर्न मेहनत गर्नुभयो । पछिल्लो समय मैले चलचित्र ‘पहाड’ मा उहाँसँग काम गरेँ, उहाँका मेहनत भाव देखेर म खुसी थिएँ । हामीले उहाँको दृश्यलाई समावेश गरेर प्रचार गर्न श्रव्यदृश्य (टिजर) तयार गरेका थियौँ, त्यही देखाउने सल्लाह हुँदै थियो, अचानक दुःखद् खबर सुनेँ । उहाँको अनुपस्थिति हामी चलचित्रकर्मीलाई महसुस हुनेछ”, निर्देशक घिमिरेले भने ।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाका अनुसार अभिनेता थापाको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि १ बजेर ३० मिनेटसम्म चाबहिलस्थित चलचित्र विकास बोर्डको प्राङ्गणमा राखेर पशुपति आर्यघाटमा लगी उनको अन्त्येष्टि सम्पन्न भएको छ ।

अभिनेता थापाको जन्म २०१७ जेठ ६ गते दाङमा भएको थियो । कलाकारिता गर्नुअघि उनले मुम्बईमा मोडलिङ, फुटबल खेल तथा फोटो पत्रकारिताजस्ता क्षेत्रमा काम गरे । भारतीय चलचित्र ‘एक दुजे के लिये’ बाट कलाकारिताको सुरुआत गरेका थापाले नेपाली चलचित्र ‘मसाल’ मार्फत नेपालमा अभिनय यात्रा प्रारम्भ गरे ।

करिब ३०० भन्दाबढी चलचित्रमा अभिनय गरेका थापाले नेपाली, हिन्दी र भोजपुरी भाषाका चलचित्रमा काम गरेका छन् । पछिल्लो समय ‘द फ्यामिली म्यान’ नामक भारतीय वेब शृङ्खलाले उनलाई चर्चामा ल्याएको थियो । नेपाली चलचित्रले एक अनुभवी कलाकार र अमूल्य सांस्कृतिक धरोहर गुमाएको कलाकार, चलचित्रकर्मी तथा शुभेच्छुकहरूले बताएका छन् ।

उनलाई कलाकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिइरहेका छन् । भारतीय कलाकार प्रियङ्का चोपडा जोनस, मनोज बाज्पायीलगायतले पनि सामाजिक सञ्जालमार्फत अभिनेता थापाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेतासरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत विशेष रूपमा लोकप्रिय थिए । उनको एक श्रीमती, एक छोरा र एक छोरी छन् ।

मतदाताको मन जित्ने प्रयासमा म्याग्दीका उम्मेदवार: रोजगारी र प्रविधिका विषय चर्चामा

गलेश्वर (म्याग्दी) । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा हिमाली जिल्ला म्याग्दीमा चुनावी सरगर्मी बढ्दै गएको देखिन्छ ।

बिहानीपख डम्म कुहिरोले ढाकिने गाउँबस्ती दिन छिप्पिँदै जाँदा विस्तारै खुल्दै गएर सफा देखिन थालेसँगै यहाँको चुनावी सरगर्मी पनि तापिलो र रापिलो बन्दै गएको छ । जनभेटघाटका लागि गाउँबस्तीमा पुगेका उम्मेदवारहरुले मतदातालाई रिझाउन अनेकौँ प्रकारका तिगडम र हतकण्डा अपनाइरहेका छन् ।

निर्वाचन प्रचारप्रसारका क्रममा मतदातालाई ढोग्ने, वृद्धवृद्धाबाट आशीर्वाद लिने, अङ्गालो हाल्ने, हात समातेर पाँचसात पाइलासँगै हिँड्ने, दुःखसुखका बारेमा सोेधपुछ गर्ने, छोराछोरी र परिवारको हालखबर लिनेजस्ता आत्मीय भाव झल्किने व्यवहार प्रदर्शन गरेर जनताजनार्दनको मन जित्ने प्रयास गरिरहेका छन् । यस्तो लाग्छ चुनाव जितेर गएपछि वा चुनावबाहेकको अरु समयमा यस्तै आत्मीयतापूर्ण व्यवहार जनताप्रति भइदिने हो भने जनतालाई किन दुःख हुँदो हो, नेता र राजनीतिप्रति किन वितृष्णा पैदा हुँदो हो ।

उम्मेदवारहरुले देखाएको व्यवहार मौसमी हो भन्ने मतदाताले राम्रोसँग बुझेका छन् । मतदाता उम्मेदवारलाई पेचिला प्रश्न गरिरहेका छन् । सचेत मतदाताले उम्मेदवारलाई राष्ट्रिय, अन्तरराष्ट्रिय राजनीति र परिवेशका मुद्दादेखि जेनजी आन्दोलनपछि उत्पन्न नेपालको अवस्था र यसको निकासका लागि राजनीतिक दल र चुनाव जितेपछि उम्मेदवारको भूमिकाका बारेमा प्रश्न गरिरहेका हुन्छन् । सामान्य मतदाता भने विशेषगरी पुराना रानीतिक पार्टीका उम्मेदवारलाई अहिलेसम्म के ग¥र्यौं भनेर आफूले विगतका निर्वाचनमा दिएका मतको हिसाबकिताब मागिरहेका हुन्छन् । तिनै मतदाताहरुसँग नयाँ उम्मेदवार पुग्दा उनीहरुको प्रश्न हुन्छ, “एक्लै के गर्न सकौला, के गर्छौ तिमीले जितेर भन्ने जस्ता ।”

घरदैलो अभियानअन्तर्गत भोट माग्दै गाउँगाउँमा पुगेका उम्मेदवारलाई ठूलाठूला आश्वासन होइन जनताका आधारभूत समस्यामा केन्द्रित हुन मतदाताले आग्रह गरेका छन् । एउटामात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा उम्मेदवार बिहानदेखि राति अबेरसम्म टोलटोलमा गई चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् ।

विशेषगरी घरदैलो कार्यक्रमलाई उम्मेदवारले तीव्रता दिएका छन् । जसरी भए पनि नतिजा आफ्नो पक्षमा पार्ने प्रतिस्पर्धामा उत्रिएका उम्मेदवार भ्याइनभ्याइ दौडधूप गरिरहेका छन् । तर मतदाताहरुले भने रोजगारी, बाटोघाटो तथा पुल निर्माण, पर्यटन तथा कृषि क्षेत्रको विकासलगायत विकास निर्माणका कामलाई प्राथमिकतामा राख्नेका पक्षमा मतदान गर्नुपर्ने बताउँदै आएको देखिन्छ ।

आश्वासन प्रतिभन्दा पनि उम्मेदवारको कार्यशैली, क्षमता तथा इमान्दारीजस्ता पक्षलाई विचार गरेर मतदाता गरिने उनीहरुको भनाइ छ । जनताले भोग्नुपरेका वास्तविक समस्यालाई जसले सम्बोधन गर्छ उसैलाई अवसर दिनुपर्ने भन्दै यहाँका मतदाताहरुले गाउँगाउँमा सामूहिक छलफल समेत गर्न थालेका छन् ।

अहिले म्याग्दी अलि बढी चर्चामा छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र रुपमा उम्मेदवार बनेका डा महावीर पुनका कारण विगतका निर्वाचनभन्दा यसपटकको निर्वाचनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा निकै महत्वका साथ हेरिएको छ ।

“अब उही पुरानै पाराको आश्वासन र लोकाचारका कुरामा भोट दिइँदैन, जसले हाम्रा आधारभूत समस्या समाधान गर्ने प्रतिज्ञा गर्दछ उसैलाई यसपटकको निर्वाचनमा भोट हालिन्छ”, बेनी नगरपालिका–२ का मतदाता पूर्णबहादुर खत्रीले भने ।

एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका गरी १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । नेकपा (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट अर्जुनबहादुर थापा उम्मेदवार रहेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट युवराज रोका, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट डम्बरबहादुर सुवेदी चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै, राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विक, श्रम संस्कृति पार्टीबाट विनोद राना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे, मङ्गल नेसनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी, नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा र स्वतन्त्रबाट महावीर पुन चुनावी प्रतिस्पर्धामा छन् ।

स्वतन्त्र विश्लेषकले यसपटकको निर्वाचनमा म्याग्दीमा कांग्रेस, एमाले, नेकपा र स्वतन्त्र उम्मेदवार महावीर पुनबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरेका छन् ।

यसअघि २०७९ सालको प्र्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) ले २४ हजार २१ मत प्राप्त गरेका थिए भने निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत प्राप्त गरेका थिए ।

जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका बीच हुन गइरहेको आसन्न निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पाटीलाई स्वतन्त्र उम्मेदवार डा पुन चुनौतीका रुपमा रहेको देखिन्छ । यसपटक प्रतिस्पर्धा थप चुनौतीपूर्ण हुने आकलन गरिएको छ । यहाँका मतदाताले प्रत्येक निर्वाचनमा स्वविवेकका आधारमा फरकफरक दललाई अवसर दिँदै आएको देखिन्छ ।

“अहिले साविकका राजनीतिक दलबाट मात्र उम्मेदवार छैनन्, नयाँ दल र स्वतन्त्रबाट उम्मेदवार छन्”, मङ्गला गाउँपालिका–४ का टेकनाथ सापकोटाले भने, “अघिल्ला निर्वाचनमा जनतासँग पुराना दलको विकल्प थिएन, तर यसपटक भने जनतासँग विकल्प छ, त्यसैले जसले आधारभूत समस्या समाधानका लागि विश्वास दिलाउँछ उसैलाई मत दिइन्छ ।”

जनताको यही मनोभावलाई बुझेर होला उम्मेदवारले पनि मतदाता भेटघाटका क्रममा स्थानीय समस्यालाई नै केन्द्रमा राखेर समाधान गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।

एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको म्याग्दीमा निर्वाचनका लागि कूल ८६ हजार ३९७ मतदाताले मतदान गर्न पाउनेछन् । सोमध्ये अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।

यसपटक म्याग्देली जनता राष्ट्रिय राजनीतिमा जिल्लाको भूमिका स्थापित गर्नसक्ने र जनताका आधारभूत समस्यालाई सम्बोधन गर्नसक्ने उम्मेदवारलाई जिताउने मनस्थितिका साथ भेटघाटमा आउने सबैलाई नचिढ्याउने पक्षमा रहेको देखिन्छ ।

गुल्मी– २ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, एमालेका गोकर्णसँग को-को भीड्दैछन् ?

तम्घास । गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना उम्मेदवारलाई नयाँले चुनौती दिने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गोकर्ण विष्ट र विभिन्न राजनीतिक दलका नयाँ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएकाले यहाँ निर्वाचन रोचक हुने भएको हो । गुल्मी–२ मा एमाले नेता विष्ट पाँचौँ जितको खोजीमा छन् भने उनीसँग स्पर्धा गर्ने सबै नयाँ अनुहार छन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसबाट भुवनप्रसाद श्रेष्ठ प्रतिष्ठाको राजनीति गर्ने नेताका रुपमा चिनिन्छन् । नेपाली कम्युनिष्ट पार्टीबाट श्रीराम महत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गोविन्द पन्थी प्रत्याशी छन् ।

पुराना उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासका लागि विगतमा गरेका गतिविधिलाई मतदाताले समीक्षा गरेका छन् भने नयाँ उम्मेदवारहरुको योगदान पनि सामाजिक सुधार एवं विकासप्रति निरन्तर सक्रिय रहेकाले मतदाताले कसलाई रोज्छन् भन्न कठिन छ ।

पोर्चुगलमा राष्ट्रपतीय चुनावको दोस्रो चरण

लिस्बन । पोर्चुगलमा आइतबार राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणअन्तर्गत मतदान प्रक्रिया सुरु भएको छ । यो निर्वाचन रन–अफ चरणमा प्रवेश गरेको हो ।

निर्वाचनमा अति–दक्षिणपन्थी उम्मेद्वार र समाजवादी उम्मेद्वारबीच प्रतिस्पर्धा भइरहेको छ । यही समयमा देश भने हालैका घातक आँधीबेहरीका कारण गम्भीर रूपमा प्रभावित बनेको छ ।

स्पष्ट भनाइका लागि चिनिने अति–दक्षिणपन्थी नेता आन्द्रे भेन्टुरालाई समाजवादी उम्मेद्वार एन्टोनियो जोस सेगुरोले पराजित गर्ने सम्भावना प्रबल देखिएको छ । अति–दक्षिणपन्थी उम्मेद्वारको हार लगभग निश्चित देखिए पनि उहाँले कति प्रतिशत मत प्राप्त गर्नुहुन्छ भन्ने तथ्यलाई वर्षको सुरुदेखि एट्लान्टिक क्षेत्रमा आएको भीषण आँधीहरूको पछिल्लो प्रभावजस्तै महत्त्वपूर्ण सूचकका रूपमा नजिकबाट हेरिनेछ ।

देशभरका मतदान केन्द्रहरू बिहान ८ः०० बजे (०८०० जिएमटी) खुलेका छन् । स्वदेश तथा विदेशमा रहेका गरी करिब एक करोड १० लाख मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । पहिलो एक्जिट पोलको नतिजा साँझ ८ः०० बजेतिर सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

शनिबारदेखि आइतबारसम्म रातभर मौसममा क्रमशः सुधार देखिए पनि सबैभन्दा बढी प्रभावित कम्तीमा १४ वटा निर्वाचन क्षेत्रमा भने करिब ३२ हजार मतदाताका लागि मतदान प्रक्रिया एक सातासम्म स्थगित गरिएको छ ।

यस आँधीबेहरीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । यसले व्यापक बाढी निम्त्याउनुका साथै अनुमानित चार अर्ब यूरो, अर्थात् करिब चार अर्ब ७० करोड अमेरिकी डलर बराबरको आर्थिक क्षति पुर्‍याएको छ ।

यद्यपि, सम्पूर्ण मतदान प्रक्रिया नै स्थगित गर्नुपर्ने भेन्टुराको आग्रहलाई सम्बन्धित निकायले अस्वीकार गरेको छ । भेन्टुरा हाल ६३ वर्षीय सेगुरोभन्दा पछि देखिनुभएको छ । सेगुरोलाई एक अनुभवी र कुशल राजनीतिक व्यक्तित्वका रूपमा लिइन्छ । बुधबार सार्वजनिक गरिएको एक जनमत सर्वेक्षणअनुसार समाजवादी उम्मेद्वार सेगुरोले ६७ प्रतिशत समर्थन प्राप्त गर्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले हालको आँधीबेहरीले देशमा ‘विनाशकारी सङ्कट’ सिर्जना गरेको स्वीकार गर्दै त्यसका बाबजुद पनि मतदान प्रक्रिया सुरक्षित रूपमा सम्पन्न गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

यसअघि, पाँच वर्षअघि सम्पन्न भएको राष्ट्रपतीय निर्वाचन पनि कोरोनाभाइरस महामारीका कठिन परिस्थितिका बीच अघि बढाइएको थियो । पदबाट बिदा हुँदै गरेका राष्ट्रपति मार्सेलो रेबेलो डे सौसाले शुक्रबार भेन्टुरासँगको भेटमा उक्त अनुभवको स्मरण गराउनुभएको थियो ।

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको छ ।

कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले बिधानअनुसार केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिको सदस्यमा केन्द्रीय सदस्य धना खतिवडा र केन्द्रीय सदस्य सुवासकुमार पोखरेल रहनुभएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

बैठकमा महामन्त्री गुरुराज घिमिरेले बैठकका लागि निर्धारित प्रस्तावहरू पेस गर्नुभएको थियो । बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका ०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका ०८२’ लाई परिमार्जनसहित पारित गरेको छ ।

बैठकमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा डिला सङ्ग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा, योगेन्द्र चौधरी र प्रवक्ता देवराज चालिसेले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

बालेनले दिए इंग्ल्यान्डविरुद्ध खेल्दै गरेको नेपाली क्रिकेट टिमलाई शुभकामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आजदेखि आईसीसी टी– २० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितको शुभकामना दिएका छन् ।

बालेनले सामाजिक सञ्जालमा नेपालले पहिलोपटक सन् २०१४ मा खेलेको विश्वकपको स्मरण गराउँदै त्यसबेलाका क्रिकेटर ज्ञानेन्द्र मल्लको तारिफसहित टोलीलाई जितको शुभकामना दिएका हुन् ।

‘क्रिकेटको माध्यमबाट विश्वमाझ नेपाल र नेपालीलाई चिनाएको छ । क्रिकेटको आगामी लक्ष्य, कता जाने, कता लग्ने भन्ने कुराको जिम्मेवारी हामीले क्रिकेटकै पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई दिएका छौँ । उहाँकै अनुभव र भिजनअनुसार अब नेपालको क्रिकेट अगाडि बढ्नेछ । उहाँले मैदानमा देखाउनुभएको खेल अनुशासन र क्षमतालाई क्रिकेट र समग्र खेलकुद विकासमा सदुपयोग गरिनेछ’, बालेनले लेखेका छन् ।

यसैगरी सिंगो देश नेपाली राष्ट्रिय क्रिकेट टोलीको साथमा रहेको समेत उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । आजदेखि नेपालले तेस्रो पटक विश्वकप खेल्दैछ ।

प्रधानमन्त्री कार्कीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मुम्बईको वानखेडे स्टेडियममा आईसीसी टी–२० विश्वकप अन्तर्गत महत्वपूर्ण खेल खेल्दैछ । उक्त अवसरमा प्रधानमन्त्री शुसीला कार्कीले राष्ट्रिय टोलीलाई शुभकामना व्यक्त गरेकी छन् ।

प्रधानमन्त्रीले आज वानखेडे स्टेडियममा नेपालको राष्ट्रिय धुन गुन्जिने र त्यो स्वर विश्वभर फैलिने उल्लेख गर्दै कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेकी हुन् ।

तेस्रोपटक आईसीसी टी–२० विश्वकपमा सहभागिता जनाइरहेको नेपालले यसअघि देखाएका ऐतिहासिक प्रदर्शन र सफलताले टोलीको मनोबल उच्च रहेको प्रधानमन्त्रीको भनाइ छ । साथै, विश्वभर फैलिएका नेपाली प्रशंसकहरूको साथ टोलीका लागि ठूलो प्रेरणा भएको उल्लेख गरेकी छन् ।

आज इंग्ल्यान्डसँग हुन गइरहेको ऐतिहासिक खेलअघि प्रधानमन्त्रीले सम्पूर्ण राष्ट्रको तर्फबाट नेपाली टोलीलाई हार्दिक शुभकामना व्यक्त गर्दै विजयको कामना गरेकी छन् ।

दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप : उर्लाबारी भेट्रान्स प्रथम

मोरङ। दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि उर्लाबारी भेट्रान्सले हात पारेको छ ।सतिसाले भेट्रान्सलाई २–० गोलअन्तरले हराउँदै उर्लाबारी भेट्रान्सले उपाधि चुमेको हो । विजयी उर्लाबारी भेट्रान्सले उपाधिका साथ नगद रु एक लाख ११ हजार १११ प्राप्त गर्यो भने उपविजेता सतिसाले भेट्रान्सले उपाधिसहित रु ५५ हजार ५५५ प्राप्त गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा उर्लाबारीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४२औँ मिनेटमा उर्लाबारीका लागि विकास राईले पहिलो गोल गरे । मित्त बस्नेत खेलको ७२ औँ मिनेट गोल गर्दै अग्रता दोब्बर पारे । खेलको म्यान अफ दी म्याच उर्लाबारी भेट्रान्सका पहिलो गोलकर्ता विकास राई, गोल्डेन ग्लोप्स गोलरक्षक विनोद गौतम घोषित हुँदै नगद रु पाँच–पाँच हजार प्राप्त गरे । सतिसाले भेट्रान्सका निरु लिम्बूले गोल्डेन बलसहित नगद रु पाँच हजार र जीवन लिम्बूले गोल्डेन बुटसहित नगद रु सात हजार ५०० प्राप्त गरे ।

पथरी शनिश्चरे भेट्रान्सले आयोजना गरेको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका आठ टिमको सहभागिता थियो । यही माघ १७ देखि २४ गतेसम्म सञ्चालन भएको प्रतियोगिता प्रस्तावित पथरी रङ्गशालामा सञ्चालन भएको थियो ।पथरी शनिश्चरे नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको पहिलो पुरस्कार मेचिकाली रेस्टुरेन्ट मलेसिया र दोस्रो पुरस्कार सञ्जीव लिङ्देनले प्रदान गर्नुभएको थियो ।

ओलीले भने – नेपाल अब क्रिकेटको ‘राइजिङ पावर’ हो, यो टोलीले देशको शिर उच्च राख्नेछ

काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटमा आज इंग्ल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दै गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना व्यक्त गरेका छन् ।

नेपाल अब क्रिकेटको ‘राइजिङ पावर’ रहेको दाबी गर्दै उनले नेपाली खेलाडीलाई भिडियो र स्टाटसमार्फत शुभकामना दिँएका हुन् । उनले भने टी – २० विश्वकपमा सहभागी हुन लागेका प्रिय नेपाली खेलाडीहरूलाई शुभकामना । तपाईहरुको प्रदर्शनले विश्वले देख्ने छ कि – नेपाल अब क्रिकेटको ‘राइजिङ पावर’ हो। प्रिय क्याप्टेन रोहित पौडेल नेतृत्वको टोलीले देशको शिर उच्च राख्नेछ । जय नेपाल ! जय नेपाली क्रिकेट !

pgले नेपालको खेलले विश्वले क्रिकेट जगतमा नेपाल एउटा उदयमान नक्षत्र रहेको देखाउने बताएका हुन्। pgले रोहित पौडेल नेतृत्वको नेपाली टोलीले देशको शिर उच्च राख्ने विश्वास व्यक्त गरे।

उनले भनेका छन्,‘अहिले मुम्बईमा टी २० विश्वकप खेल्न गएका हाम्रा नेपाली खेलाडीहरूलाई सम्झेर म अलिकति भावुक पनि भएको छु, हाम्रा लागि क्रिकेट एउटा खेल मात्रै होइन, हाम्रो प्रगतिको पहिचान पनि हो र स्वाभिमान पनि हो। त्यतिबेला खेलाडीहरूसँग गरेका कुराहरू, उहाँहरूसँग भएका छलफल, अन्तरक्रिया, मेरो मानसपटलमा अहिले पनि घुमिरहेका छन्। खेलाडी हरुको मेहनत र पसिनाका लागि हामी रंगशाला जस्तै पूर्वाधार निर्माण गरेर तिर्नुपर्छ, सहयोग पुर्‍याउनुपर्छ।’

प्रचण्डले दिए इंग्ल्यान्डविरुद्ध खेल्दै गरेको नेपाली क्रिकेट टिमलाई शुभकामना

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटमा आज इंग्ल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दै गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना व्यक्त गरेका छन् ।

प्रचण्डले अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै पहिचान बनाइसकेको नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा विश्वभर फहराउनेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन् ।

उनले खेलाडीहरूको अथक परिश्रम, एकताबद्ध टिम स्पिरिट र मातृभूमिप्रतिको गहिरो समर्पणले सम्पूर्ण नेपालीलाई गर्व अनुभूति गराएको उल्लेख गरे । उनले हरेक बल, हरेक रन र हरेक विकेटमा सम्पूर्ण नेपाल नेपाली टिमसँगै रहेको भन्दै खेलमा विजयको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

म्याग्दी, माघ २५ –जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडकको भुतादैला–तोरीपानी खण्ड स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ ।

म्याग्दीको रणनीतिक महत्वको यस सडकको स्तरोन्नति भएको क्षेत्र बेनी नगरपालिका–९ साविक घतान गाविसको भूगोलमा पर्छ । पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी–पाखापानी सडक योजनाअन्तर्गत बेनी नगरपालिका–९ भुतादैलादेखि नेप्टेचौर हुदै तोरीपानी खण्ड स्तरोन्नतिको काम लक्ष्यभन्दा पाँच महिनाअघि नै सम्पन्न भएको हो ।

यो सडक योजना निर्माणका लागि २०८१ साल जेठ २० मा पूर्वाधार विकास कार्यालय र मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रालि नुवाकोटले रु ११ करोड ७६ लाख १२ हजार ५४१ मा ठेक्का सम्झौता गरेको थियो । आगामी २०८३ जेठ २० गतेसम्मको म्याद रहेको योजना निर्माणकार्य माघको तेस्रो साता सकिएको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कालोपत्र भएको सडकमा रङरोगन र सङ्केतचिह्न तथा साइडबार लगाउने काम पनि सकिएको छ, बजेट अभावको असहज अवस्थाका बाबजुद पनि पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना सम्पन्न गरिएको हो ।”

निर्माण व्यवसायी कार्कीले काम सम्पन्न गरे पनि सरकारले विनियोजन गरेको बजेट सकिएकाले पूरै बिलको भुक्तानी नपाएको गुनासो गर्नुभयो । कार्यालयका अनुसार यो योजनाका लागि रु एक करोड ५० लाख बजेट अपुग भएको छ ।

चार किलोमिटर दूरीमा स्तरोन्नति

भुतादैलादेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्म एक किलोमिटर ९०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र भएको छ । नेप्टेचौरदेखि तोरीपानीस्थित गलेश्वर मावि परिसरको थप दुई किलोमिटर दूरीमा सडक फराकिलो, ग्रेड, घुम्ती सुधार र अप्ठ्यारो ठाउँमा ढलान भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले बताउनुभयो । पाँच सय ५० मिटर दूरीमा ढलान र दुई किलोमिटर ५०० मिटर दूरीमा ग्राभेल भएको छ । यसअघि ३।५ मिटर चौडा सडकलाई कम्तीमा सात मिटर फराकिलो बनाइएको छ ।

म्याग्दी १९१० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले निर्माण व्यवसायीको इच्छाशक्ति, सम्बद्ध कार्यालयको समन्वय, जनप्रतिनिधि तहबाट सहजीकरण र समुदायस्तरमा साथ पाउने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश बेनी–पाखापानी योजनामा लक्ष्यअघि नै भएको कामले दिएको बताउनुभयो ।

“धेरै आयोजना समयमै सम्पन्न नहुँदा अलपत्र पर्ने, लागत बढ्ने र जनताले लाभ लिन नसकेको अवस्थामा लक्ष्यअघि नै योजना सम्पन्न हुनु हाम्रा लागि सकारात्मक विषय हो”, उहाँले भन्नुभयो, “जिल्लामा भित्रिएका योजनालाई निर्धारित समयमा गुणस्तरीय रूपमा सम्पन्न हुने वातावरण बनाएका छौँ ।”

बेनी नगरपालिकाको ९, १०, रघुगङ्गा गाउँपालिकाको ५, ६ र ८ नं वडालाई बेनीबजारसँग जोड्ने बेनी–पाखापानी सडकलाई म्याग्दीको प्राथमिकताप्राप्त आयोजना घोषणा गरिएको छ । विसं २०५६ मा तत्कालीन जिल्ला विकास समितिले मार्ग खोलेको यो सडक २७ वर्षपछि स्तरोन्नति हुँदा स्थानीयवासीमा खुसीयाली छाएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताउनुभयो । निर्माणकार्यको नागरिक तहबाट निगरानी र स्थानीय समस्यालाई समाधानका लागि सहजीकरण गर्न सरोकार समिति बनाइएको उहाँले बताउनुभयो । सङ्घीयता कार्यान्वयन हुनुअघि तत्कालीन जिल्ला विकास समितिअन्तर्गतको ‘ड्रिलीप’ परियोजनामार्फत सञ्चालित योजनाले पूर्णता पाउन सकेको थिएन ।

यात्राअवधि छोटियो

यात्राअवधि छोटिएको, झन्झट र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको नेप्टेचौरका बासिन्दा क्षेत्रबहादुर चोखालले बताउनुभयो । सफा सडकमा सहज रूपमा यात्रा गर्न पाउँदा खुसी लागेको उहाँले अनुभव सुनाउनुभयो । यसअघि तोरीपानीदेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकामा स्तरोन्नतिपछि २० मिनेटमै पुग्न सकिने भएको नेप्टेचौरका नरबहादुर चोखालले बताउनुभयो । बेनीदेखि तोरीपानीसम्म अटोरिक्सा चल्न थालेको छ ।

सार्वजनिक यातायातको भाडादर समायोजन गर्न र तोरीपानीदेखि पात्लेखेत, झिँ, पाखापानीतर्फको सडक स्तरोन्नतिका लागि थप योजना र बजेटको व्यवस्था गर्न स्थानीयवासीले माग गरेका छन् । बेनीदेखि किराखोरसम्म करिब पाँच किलोमिटर सडक बेनी नगरपालिका र प्रदेश सरकारले यसअघि नै कालोपत्र र ढलान गरेका छन् ।

तोरीपानीदेखि पात्लेखेत र झिँ हुँदै पाखापानीतर्फ पनि स्तरोन्नतिका लागि थप बजेट व्यवस्थाका लागि प्रदेश सरकारमा पहल गरिएको प्रदेशसभा सदस्य भण्डारीले बताउनुभयो । थप बजेट व्यवस्थापनका लागि कार्यालयमार्फत प्रदेश सरकारसँग पहल गरिएको उहाँले बताउनुभयो ।

बेनी–पाखापानी–ठाडाखानी–मल्कवाङ–मराङ–बिम–दरवाङ–बेनी जोड्ने राहुघाट–म्याग्दी चक्रपथ सडक योजनाअनुसार यस वर्ष बिम–मराङ– मल्कवाङ खण्डमा स्तरोन्नतिका लागि प्रदेश सरकारबाट रु पाँच करोडको बहुवर्षीय ठेक्का आह्वानको तयारी भएको छ ।

उत्कृष्ट परिवार योजना सेवा प्रदान गर्ने नरेठाँटी स्वास्थ्यचौकी गण्डकी प्रदेशकै प्रथम

बागलुङ। गण्डकी प्रदेशमा नै सर्वाधिक अङ्क प्राप्त गरी बागलुङको गलकोटस्थित नरेठाटी स्वास्थ्यचौकी उत्कृष्ट बनेको छ।न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कनका आधारमा उक्त स्वास्थ्यचौकी उत्कृष्ट भएको हो । नरेठाँटी स्वास्थ्यचौकीको न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कनमा ९८ प्रतिशत अङ्क प्राप्त गरेरे उत्कृष्ट बनेको हो ।

मूल्याङ्कनमा नरेठाँटी स्वास्थ्यचौकीले विभिन्न स्वास्थ्य सूचकका आधारमा सो अङ्क प्राप्त गर्न सफल भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

गत वर्ष पनि नरेठाँटी स्वास्थ्यचौकीले गण्डकी प्रदेशमै ९६ प्रतिशत अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको थियो । यस वर्ष हालसम्म सम्पन्न भएका मूल्याङ्कनमा ९८ प्रतिशत अङ्कसहित नरेठाँटी स्वास्थ्यचौकी प्रदेशकै पहिलो स्थानमा रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो ।

स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूको मेहनत र लगावका कारण प्रदेशमै उत्कृष्ट बनेको घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार भौतिक पूर्वाधारजस्तै भवनको अवस्था, पानी–बिजुली, शौचालय, प्रतीक्षालय, सेवा कक्ष, अपाङ्गमैत्री पहुँच, फोहर व्यवस्थापन, कर्मचारी, तालिम र त्यसले दिने सेवा प्रवाहको अवस्थाका आधारमा मूल्याङ्कन हुँदै आएको छ ।

फोहर व्यवस्थापनमा मानव संशाधन, स्वीकृत दरबन्दीअनुसार कर्मचारी, उपस्थिति, तालिमप्राप्त जनशक्ति, जिम्मेवारी बाँडफाँट, ओपिडी, मातृशिशु सेवा, खोप, परिवार योजना, पोषण, क्षयरोग÷कुष्ठरोग सेवा, आकस्मिक प्राथमिक उपचार, औषधि तथा उपकरण, आवश्यक औषधिको उपलब्धतालगायतले नरेठाँटी उत्कृष्ट रहेको गलकोट–२ का वडाध्यक्ष हेमन्त भण्डारीले जानकारी दिनुभयो ।

बैतडीमा ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी, २५ माघ । बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२–००१ज ०६२४ नम्बरको सो सवारी साधन सिल्लेगडा–बडिया सडकखण्डको घोडेधारनजिक गए राति दुर्घटनामा परेको हो ।

सो सवारी साधनका चालक दोगडाकेदार–५ का गम्भीर घाइते भएका मदन ठगुन्नाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूले जानकारी दिए ।

सो सवारीसाधनमा चालकमात्र सवार रहेका थिए । दुर्घटनाग्रस्त सो गाडी सडकबाट २५० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

१३ वर्ष लगाएर बनाएको सुनकोशीकोको पुल बाढीले बगायो, सञ्चालनमा आयो अस्थायी बेलिब्रिज

खोटाङ, २५ माघ । जिल्लाको दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोशी नदीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज शनिबार सञ्चालनमा ल्याइएको छ ।

गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालिले जडानको जिम्मा लिएको अस्थायी बेलिब्रिज आगामी २०८३ साल जेठ पहिलो सातासम्म सञ्चालन गर्ने सहमति गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको ५७ लाख लगानीमा जडान गरिएको बेलिब्रिजको लम्बाइ ५१.८१ मिटर लामो छ ।

बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले एक करोड ८७ लाखमा खरिद गरेर पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरेपछि निर्माण कम्पनीलाई प्रदान गरिएको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिए। लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा ढिलै भए पनि बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडान भएपछि हर्षित भएका छन् ।

मोटरेबल पक्की पुलसमेत निर्माण भइरहेको बङ्शिलाघाटमा बेलिब्रिज जडानका लागि खोटाङका बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिले सङ्घीय सरकारसँग माग गरेका थिए । खोटाङ र उदयपुर जोड्नेगरी कच्ची सडक निर्माण गरेर यातायात सञ्चालन गरिँदै आएको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानका लागि सङ्घीय सरकारले बजेट उपलब्ध नगराएपछि प्रदेश सरकारको लगानीमा जडान गरेर सञ्चालन गरिएको बराहपोखरी गाउँपालिका प्रमुख सालिकराम बञ्जराले जानकारी दिए ।

दक्षिणी क्षेत्रमा पर्ने तीनवटा स्थानीय तहका नागरिकलाई पूर्वी तराईका विभिन्न जिल्लासँग सिधा यातायात सेवामा जोड्नका लागि सुनकोशीको धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले समेत पछिल्लो समय गति लिएको छ । ठेकेदारको लापरवाहीले लामो समयसम्म अलपत्र परेको धाप्लाङघाटको मोटरेबल पुल निर्माणको कामले केही समयअघिबाट गति लिएसँगै नागरिकमा आशा जगाएको छ ।

धाप्लाङघाट पुल निर्माण ४३ प्रतिशत सकिएको सडक विभाग पुल सेक्टर धरानका इन्जिनियर नवीन साहले जानकारी दिए । उनका अनुसार धाप्लाङघाटमा वेल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको थियो । त्यो सम्भव नभएपछि गत वर्ष डिजाइन परिवर्तन गरेर पाइल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको छ । स्ल्याब ढलानका लागि पानी सुकाउने काम भइरहेको छ । पानी चाँडै सुकाउन सके यो वर्ष थप दुईवटा स्ल्याब ढलान सकिन्छ ।

सङ्घीय सरकारको २१ करोड ६५ लाख लगानीमा धाप्लाङघाटमा २०० मिटर लामो मोटरेबल पक्की पुल निर्माणका लागि २०७३ साल असार ३० गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । करिब नौ वर्षदेखि निर्माणधीन अवस्थामा रहेको धाप्लाङघाटको मोटरेबल पक्की पुल अलपत्र हुँदा दक्षिणी क्षेत्रका नागरिक निरास थिए ।

पछिल्लोपटक थपिएको म्यादअनुसार २०८४ साल जेठ १९ गतेसम्ममा धाप्लाङघाटको पुल निर्माण सम्पन्न गर्नुपर्छ । विसं २०८३ चैतभित्रमा धाप्लाङघाटबाट सवारीसाधन वारपार गराउनेगरी निर्माणको कामलाई तीव्रता दिइएको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सन प्रालिले जनाएको छ ।

सुनकोशीकै फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज यसअघि नै सञ्चालनमा ल्याइएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याइएको हो ।

फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै घुर्मी–कटारी हुँदै घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने बाध्यता हटेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए। निर्माण कम्पनी एमएएस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि कटारी–३ उदयपुरले मूल्य अभिवृद्धि करसहित ९६ लाख ७७ हजार ९३७ मा ठेक्का सम्झौता गरेर बेलिब्रिज जडान गरेको हो ।

गत वर्ष असोज १२ गतेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको भीषण बाढीले फोक्सिन्टारको १२० मिटर लामो मोटरेबल पक्की पुल बगाएको थियो । फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि दिक्तेल–गाईघाट सिधा यातायात पूर्ण रूपमा विच्छेद भएको थियो ।

करिब १३ वर्ष लगाएर निर्माण भएको आर्क डिजाइनको पुल बाढीले बगाएपछि गत वर्षको पुसमा जडान गरिएको बेलिब्रिज वर्षायाम सुरु भएसँगै निकालिएको थियो । बेलिब्रिज निकालिएसँगै यातायात सेवा विच्छेद भएपछि पूर्वी तराई आवतजावत गर्ने यात्री झोलुङ्गे पुलमार्फत गन्तव्यमा पुग्ने गरेका थिए ।