`

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन सांसदको माग

काठमाडौँ । राष्ट्रियसभाका सांसहरूले सुरसरीलगायत क्षेत्रमा केही समय अघि भएका साम्प्रदायिक हिंसाका घटनाका दोषीउपर कारबाही गरी मुलुकभर शान्ति, सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरूले शान्ति सुरक्षाका साथै दैनिक जीवनका आवश्यकता बस्तुको सहज परिपूर्ति गर्न माग गरे ।

बैठकमा नेपाली कांग्रेसका सांसद विष्णुकुमारी सापकोटाले नेपाली जनता खाना पकाउने ग्यास, महँगीको मारका परिरहेका प्रति सरकारको ध्यानाकर्षण गराउँदै मौलिक हकभित्र नै व्यवस्था भएको खाद्य, स्वास्थ्य शिक्षाको अधिकार सुनिश्चित गर्न माग गरिन् । उनले सामाजिक सञ्जालबाट एक अर्कालाई गालीगलौज गर्नेक्रम बढ्दै जानुप्रति चिन्ता व्यक्त गर्दै पवित्र भूमि नेपालमा त्यस्तो असहिष्णुता सैह्य नहुने बताइन् ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद रेणु चन्दले साम्प्रदायिक घटनाका नाममा मधेसमा भएको घटनाको दोषीउपर तत्काल कारबाही गरी उक्त क्षेत्रमा शान्ति, सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले पुराना राजनीतिक दलले ३५ वर्षमा केही गरेन भन्ने भाष्यमा यथार्थ नभएको भन्दै यस अवधिमा आर्थिक, शैक्षिक, विकासका धेरै काम भएको अध्ययन गरेर हेर्न आग्रह गरिन् ।

नेकपा (एमाले) सांसद मीना सिंह रखालले सरकारले सार्वजनिक गरेको सय कार्यसूचीमा नागरिकको जीवनमा प्रत्यक्ष सुधार ल्याउने लक्ष्य राखेको भए पनि सुकुमवासीको व्यवस्थापन प्रभावकारी हुन नसक्दा नागरिक थप पीडामा परेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले सरकारको कार्यसम्पादन फाइल र तथ्याङ्कले नभई नागरिकको जीवनस्तर सुधार, आधारभूत आवश्यकता सहज बनाउन जरुरी भएको बताइन् ।

जनता समाजवादी पार्टी नेपालका सांसद पूजा चौधरीले स्वास्थ्य सेवा मौलिक हकमै सुनिश्चित भए पनि अहिले पनि नेपालीहरूले उपचार गराउन घरबारी नै बेच्नुपर्ने अवस्था भएको रहेको बताउँदै कतिपय अवस्था उपचार नै गराउन नसकेको अवस्थाप्रति सरकारको ध्यानकर्षण गराइन् । उनले हाल सरकारी अस्पलतमा गर्भवती र सुत्केरीलाई चाहिने आइरन चक्कीको कमी भएको, रेविजविरुद्धको खोप, सर्पदंशको उपचार हुन नसकेकोप्रति दुःख व्यक्त गरिन् ।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले देशमा महँगी चुलिँदै जाँदा जनता मारमा परेको अवस्थामा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीप्रति कारबाही गर्न सरकारसँग माग गरे । उनले तराईबाट धार्मिक दङ्गा भड्काउने खालको घटना भएकोप्रति सरकार सचेत भई आगामी दिनमा त्यस्ता कार्य हुनसक्नेतर्फ सचेत हुनुपर्ने माग गरे ।

कांग्रेसका वासुदेव घिमिरले सुकुमवासीको समस्या समाधान हुन नसकेको कृर्षकलाई समयमै मल र बीउ उपलब्ध हुन नसकेको, न्यायापालिका र व्यवस्थापिका, निजामती कर्मचारीलाई व्यवस्थित बनाउन नसकेको आरोप लगाए । उनले नेपाल सरकारको पूर्ण स्वामित्वमा आँखा अस्पताल कुनै पनि नखोलेको भन्दै अहिले दृष्टिविहीनको सङ्ख्या ०.२८ प्रतिशत पुगिसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले काठमाडौँ बाहिर देशका अन्य क्षेत्रहरूमा पनि आँखा अस्पतालहरू स्थापना गर्नुपर्नेमा जोड दिए ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले जातीय छुवाछुत अन्त्यको माग गर्दै ८० दिनदेखि माइतीघरमा आन्दोलनरक्त व्यक्तिहरूलाई सरकारलाई तत्काल वार्तामा बोलाएर समस्याको समाधान गर्न आग्रह गरे ।

नेकपा (एमाले) सांसद रुक्मिणि कोइरालाले अहिले नागरिकले दैनिक जीवनका उपभोग्य वस्तुको अभावमा पीडा पाइरहेको र रोजगारी तथा अध्ययनका लागि विदेश जाने युवाको सङ्ख्या अझै बढ्दै गएकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । उनले हाल मुलुकभरका विभिन्न बालसुधार केन्द्रमा धेरै समस्या देखिएकाले सरकारलाई त्यसप्रति ध्यान दिन आग्रह गरिन् ।

राष्ट्रियसभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले राखेकाे उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो ।

प्रस्ताव पेस गर्दै मन्त्री पौडेलले प्राकृतिक वा अन्य प्राविधिक कारणले उडान ढिलाइ भएमा दायित्व सिर्जना नहुने व्यवस्था विधेयकमा रहेको बताए । उनले युरोपको आकाशमा नेपाली विमानलाई उडान सुरक्षाको सूचीमा राखेको अवस्थामा सो सम्बन्धमा फुकुवाका लागि काम भइरहेको जनाउँदै अबको ६ महिनाभित्र कामको नतिजा देखिने बताए ।

यसअघि उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरू सोनाम गेल्जेन शेर्पा, गीता देवकोटा, प्रेमप्रसाद दङ्गाल, पदमबहादुर परियार, सम्झना देवकोटा, भुवनबहादुर सुनार, युवराज शर्मा, रुक्मिणी कोइराला, नारायणदत्त मिश्रले आ-आफ्ना धारणा राखेका थिए । राष्ट्रियसभाको अर्काे बैठक आगामी भदौ १ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३७, आलु सेतो प्रतिकिलो रु ३५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५८ रहेको छ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, बन्दा (तराई) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु १००, मकै बोडी प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ६०, परवर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, भिन्डी प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु १०० र स्कुस प्रतिकिलो रु ६० कायम भएको छ।

रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो प्रतिकिलो रु २५०, तोरीको साग प्रतिकिलो रु १००, प्याज (हरियो) रु २००, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकिलो रु ३३० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ।

कुरिलो प्रतिकिलो रु ५००, ब्रोकाउली प्रतिकिलो रु १५०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ५००, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु १५००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमूला प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ४००, आँप (मालदह) प्रतिकिलो रु २८०, आँप (चोसा) प्रतिकिलो रु २५०, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १२५ काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु ६०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २००, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ६०, अमला प्रतिकिलो रु २८०, एभोकाडो प्रतिकिलो रु ५००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ।

ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ५००, अदुवा प्रतिकिलो रु २३०, खुर्सानी सुकेको प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु १८०, हरियो धनियाँ प्रतिकिलो रु ३००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३३० र ताजा माछा (छडी) प्रतिकिलो रु ३३० निर्धारण भएको छ।

खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली

चितवन । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट रु एक करोड ५५ लाख तीन हजार ६८५ बक्यौता रकम असुली गरेको छ ।

पाँच हजारभन्दा माथि बक्यौता भएका र छ महिनाभन्दा माथिको पानीको महसुल नबुझाएका ती ग्राहकबाट सो रकम बक्यौता असुली गरिएको हो ।

कार्यालयका प्रमुख सञ्जय बरालका अनुसार गत फागुनदेखि बक्यौता असुलीको काम सुरु गरिएको हो । फागुनदेखि असार मसान्तसम्ममा सो बक्यौता असुली भएको उहाँले जानकारी दिनुभयो । कार्यालयले अझै ५०० ग्राहकबाट रु २० लाख बक्यौता असुल गर्न बाँकी रहेको छ । ती लामो समयदेखि महसुल नबुझाएका ग्राहकहरु हुन् ।

बक्यौता नबुझाउने ग्राहकलाई पत्राचार गर्ने, घरदैलो गर्ने, पानीको लाइन काट्ने, एसएमएस गर्ने, ताकेता लगाउनेजस्ता काम भइरहेको उहाँले बताउनुभयो । कार्यालयले बक्यौता असुलीका लागि टोलीनै गठन गरेर काम गरीरहेको छ । गत वर्ष रु १६ करोड ५९ लाख ४२ हजार १०० महसुल बिलिङ गरेकोमा रु १६ करोड ९९ लाख ७२ हजार ४४० सङ्कलन भएको थियो । यो लक्ष्यको दुई दशमलव ५७ प्रतिशतले बढी हो ।

यस्तै भरतपुर महानगरपालिकाले दिँदै आएको सात युनिट पानीमा अनुदानसमेत भुक्तानी गरेको छैन । मङ्सिर महिनादेखिको भुक्तानी नपाएको कार्यालयले जनाएको छ । आठ महिनाको बक्यौता रु एक करोडभन्दा बढी रहेको उहाँले जानकारी दिनुभयो ।

महानगरवासीलाई बोर्ड र विभिन्न उपभोक्ता समितिबाट सञ्चालित खानेपानी आयोजनाको रकमसमेत भुक्तानी हुन नसक्दा ती आयोजनामा समस्या भएको छ ।

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन। चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसंग जोड्नुपर्नेमा जोड दिएका छन् ।

अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनद्वारा आयोजित कार्यक्रममा ‘मेरो पुस्ताको राजनीति कस्तो हुनुपर्छ ?’ विषयमा युवाबीच वक्तृत्वकला, ‘कृषि उद्यमशीलता र युवा समृद्ध नेपालको आधार’ विषयमा विचार–विमर्श तथा सांसदसँग युवा संवाद कार्यक्रका सहभागिको सो उद्यमशीलता विनाको राजनीतिले समृद्धि नआउने सुझाव थियो ।

वक्तृत्वकलामा सहभागिता १० युवाले अब भाषणमा सीमित राजनीति नभई परिणाममुखी, प्रविधिमैत्री र उद्यमशील राजनीतिक संस्कार खोजेको धारणा व्यक्त गर्नुभयो ।

राजनीति जनताको सेवा गर्ने माध्यम बन्नुपर्ने जनाउँदै उहाँहरुले राजनीतिमा युवा सहभागिता मात्रै नभई नीति निर्माण र कार्यान्वयनमा समेत युवाको अर्थपूर्ण भूमिका सुनिश्चित गर्नुपर्ने बताउनुभयो । प्रविधिमैत्री सेवा, चुस्त प्रशासन, पारदर्शिता र जवाफदेहितालाई अहिलेको आवश्यकता भएको भन्दै राजनीति फोहोरी खेल नभई जनताको माया र विश्वास प्राप्त गर्ने माध्यम बन्नुपर्ने उहाँहरुको भनाइ थियो । ‘जेनजी’ पुस्ताले चाहेको परिवर्तन पनि प्रविधि, उद्यमशीलता र अवसरसँग जोडिएको उहाँहरुले बताउनुभयो ।

राजनीतिमा सहभागिता मात्रै खोजेर नपुग्ने भन्दै नीति तथा नियम निर्माणमा समेत आफ्नो भूमिका स्थापित गर्नुपर्ने, राजनीतिमा पारदर्शिता, जवाफदेहिता, समावेशिता र सशक्तीकरणलाई प्राथमिकता दिनुपर्ने, प्रविधिको पहुँच सबै नागरिकसम्म पु¥याउनुपर्ने, आगामी पुस्तालाई सहयोग पुग्ने नीति बनाउनुपर्ने तथा सरकारलाई पूर्णरुपमा डिजिटल र पारदर्शी बनाउनुपर्ने, शिक्षा जीवनका समस्या समाधान गर्न सक्ने खालको हुनुपर्ने, अनुसन्धानमा लगानी बढाउनुपर्ने तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने युवाहरुको माग थियो ।

रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्दै ‘रेमिट्यान्स’मा मात्रै निर्भर नभई स्वदेशमै उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने सहभागी युवाहरुले धारणा राख्नुएको थियो । दश जना युवा सहभागिता रहेको वक्तृत्वकला प्रतियोगितामा अमृत ढकाल प्रथम, निरिता पौडेल द्धितीय र आयुस्मा श्रेष्ठ तृतीय हुनुभएको थियो ।

पत्रकार विवेक पोखरेलले कृषिविज्ञ डा भानेश्वर पोखरेल, भवानी डेरीका सञ्चालक सुवास पौडेल तथा चितवनमा सयपत्रीलगायत फूलको बगैँचाबाट सफल व्यवसाय सञ्चालन गर्दै आउनुभएकी सुजाता देवकोटासँग कृषि उद्यमशीलताका विषयमा विचार–विमर्श गर्नुभएको थियो ।

उहाँहरुले कृषिलाई सम्मानित व्यवसायका रुपमा विकास गर्न, आधुनिक प्रविधि, अनुसन्धान र बजार व्यवस्थापनमा लगानी बढाउन तथा युवा र शिक्षित जनशक्तिलाई कृषि उद्यमशीलतामा जोडेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।

चितवन क्षेत्र नं १ का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकालले युवाले काम गर्दै जाँदा भएका त्रुटि सच्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले गल्ती गर्न हुँदैन भन्नेभन्दा पनि गल्तीबाट सिकेर आफ्नो लगनशीलताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । काम गर्नेहरुलाई सिर्जनात्मक खबरदारी आवश्यक रहेको जनाउँदै उहाँले खबरदारी, कार्यसम्पादन र भाषण फरक विषय भएको उल्लेख गर्नुभयो । राजनीतिक नेतृत्वले भाषणभन्दा काम र नतिजामा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद प्रभा ढकालले स्थानीय तहलाई जवाफदेही बनाउन आवश्यक छ भन्नुभयो । सांसदहरु नीति तथा नियम निर्माणका काममा केन्द्रित हुने गरेको र आवश्यकताअनुसार सम्बन्धित विषयमा भूमिका निर्वाह गर्दै आएको उहाँको भनाइ थियो ।

रास्वपा चितवनका जिल्ला सभापति इन्जिनियर मिनिमाधव खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा रास्वपा केन्द्रीय सदस्य सविना विक, आकाक्षा पोखरेल र पवित्रा थापा, जिल्ला सचिव तेजेन्द्रप्रसाद पौडेल, उपसभापति निर्मला गिरी, जिल्ला सहसचिव कुशल पाठक, केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश सदस्य, क्षेत्रीय सभापति, जिल्ला कार्यसमिति तथा पालिका र वडा प्रतिनिधिलगायतको सहभागिता थियो ।

किशोर श्रेष्ठ पक्राउको भोलिपल्टै जनआस्था कार्यालयमा प्रहरीको छापा, बिहानै खानतलासी

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेपछि प्रहरीले सानेपास्थित जनआस्था कार्यालयमा खानतलासी गरेको छ।

प्रहरीको टोली बिहीबार बिहान करिब ७ बजे जनआस्था कार्यालय पुगेको थियो। कार्यालयमा प्रवेश गरेको प्रहरीले विभिन्न कागजपत्र, कम्प्युटर तथा अन्य विद्युतीय उपकरणको जाँच गरेको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार अनुसन्धानका क्रममा कम्प्युटर तथा अन्य विद्युतीय उपकरण जाँच गर्नुपर्ने भएकाले कार्यालयमा खानतलासी गरिएको हो। प्रहरी टोलीका केही सदस्य कार्यालयभित्र प्रवेश गरेका थिए भने अन्य प्रहरी बाहिर खटिएका थिए।

प्रहरीले कार्यालयमा रहेका विभिन्न इलेक्ट्रोनिक डिभाइस तथा कागजपत्रसमेत संकलन गरेको जनाइएको छ। श्रेष्ठमाथिको अनुसन्धानका क्रममा आवश्यक प्रमाण तथा सामग्री संकलन गर्न खानतलासी गरिएको प्रहरीको भनाइ छ।

रोल्पामा पहिरोले घर / गोठ पुरिँदा दुईको मृत्यु, दुई जना घाइते

रोल्पा। अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ –५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६०वर्षीय कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर रहेको छन् ।

कार्यालयले दिएको जानकारी अनुसार यही साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घर सहित गोठ पुरिएरका थिए । गए राति घटनास्थलमा प्रहरी टोली पुगेको थिए ।

प्रहरी र स्थानीयवासीको सहयोगमा घाइते उद्धार गरी उपचारार्थ स्वास्थ्य सस्थामा पठाइएको र दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ । घटनाको थप विवरण आउन वाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार पहिराबाट छ घर ÷गोठ क्षति पुगेको छ ।

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेका थिए हितमान छन्त्याल । हातमा थियो नागरिकता र सामाजिक सुरक्षा भत्ताको परिचयपत्र ।

कर्मचारीले नजिक आउन इसारा गरेपछि उनी ह्विलचियरमै बिस्तारै बोलाइएको स्थानमा गए । आफ्नो विवरण जाँच गराए, कागजात रुजु भयो र केहीबेरमै काम सकियो । काम पूरा भएपछि उनको अनुहारमा देखिएको खुसीले लामो यात्राको झन्झटबाट मुक्ति पाएको अनुभूति गराएको थियो ।

म्याग्दीको धवलागिरि गाउँपालिका–५ स्थायी घर भएका छन्त्याल हाल पोखरा–१६, दीपमा बस्दै आएका छन् । उनले विसं २०५६ देखि शारीरिक अशक्तताका आधारमा सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।

प्रत्येक आर्थिक वर्षको सुरुआतमा सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरण गर्नुपर्ने भएकाले उनी बुधबार बिहान पोखराको नदीपुरस्थित छन्त्याल समाजको भवनमा पुगेका थिए ।

यसपटक भने उनलाई आफ्नो गाउँ फर्किनु परेन । धवलागिरि गाउँपालिकाले पोखरामै आएर सामाजिक सुरक्षा भत्ता नवीकरणलगायतका सेवा उपलब्ध गराएपछि छन्त्यालजस्ता धेरै सेवाग्राहीका लागि गाउँसम्म पुग्नुपर्ने बाध्यता हटेको हो ।

“बर्खाको समय, बाटो पनि अप्ठ्यारो । आउन जान खर्च पनि बढी लाग्ने, दुःख हुने गर्थ्यो तर अहिले पोखरामै बसेर आफ्नो काम पूरा गर्न पाइयो । अत्यन्त खुसी छु,” छन्त्यालले भने ।

गाउँपालिकाको सेवा बसोबास भएको सहरमा पाएपछि अन्य सेवाग्राही पनि उत्साहित देखिन्थे । पोखरा–१९ लामाचौरमा बस्दै आउनुभएकी सुनकुमारी विकले ससुराको सामाजिक सुरक्षा भत्ता नवीकरण पोखरामै एकै दिनमा गर्न पाउँदा समय र खर्च दुवै बचत भएको बताए । “गाउँ जान धेरै समय लाग्थ्यो । यहीँबाटै बनाउन पायौँ, खुसी छौँ,” उनले भने ।

धवलागिरि गाउँपालिकाले पोखरामा अस्थायी रूपमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गरी सेवा शिविर सञ्चालन गरेको हो । सुरुमा एक दिनका लागि आयोजना गरिएको शिविरमा सेवाग्राहीको चाप बढेपछि गाउँपालिकाले सेवा प्रवाहको समय थपेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार पोखरामा अस्थायी रूपमा बसोबास गर्दै आएका पालिकावासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । शिविरमार्फत सामाजिक सुरक्षा भत्ता नवीकरणदेखि पञ्जीकरण सेवा प्रदान गरिएको छ ।

सामाजिक सुरक्षा भत्ताका लागि गाउँपालिकामा नाम दर्ता भएका तर हाल पोखरा तथा आसपासका क्षेत्रमा बसोबास गरिरहेका ज्येष्ठ नागरिक, अशक्त तथा बिरामी लाभग्राहीलाई विशेष गरी बर्खाको समयमा गाउँसम्म पुगेर सेवा लिन कठिन भएकाले जनप्रतिनिधि र कर्मचारी सहर झरेर सेवा दिन थालेको अध्यक्ष पुनले बताए ।

“धवलागिरि गाउँपालिका स्थायी घर भएर हाल पोखरामा बसोबास गरिरहेका र बसाइसराइ नगर्नुभएका नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौँ । सामाजिक सुरक्षा भत्ता नवीकरणसँगै वडामा हुने पञ्जीकरणका काम शिविरबाट प्रदान गरेका छौँ,” गाउँपालिका अध्यक्ष पुनले भने ।

गाउँपालिकाबाट प्रदान हुने सेवा तथा सुविधाबाट कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्य रहेको उनको भनाइ छ । आवश्यकताअनुसार गाउँपालिकाले कतिपय सेवाग्राहीको घर तथा अस्पतालमै पुगेर सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए ।

गाउँपालिकाका अनुसार पोखरामा दुई दिनसम्म सञ्चालन हुने शिविरबाट २५० भन्दा बढी सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ । गाउँमा रहेको स्थानीय सरकारको सेवा लिन गाउँ नै पुग्नुपर्ने बाध्यताबिच सहरमै सेवा पाएपछि धवलागिरि स्थायी घर भई पोखरामा बस्दै आएकालाई शिविरले थप सहज बनाएको वडा नं ७ का वडाध्यक्ष अशोक खत्री बताउँछन् ।

विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्ता भएका व्यक्ति, अशक्त तथा बिरामीका लागि बर्खाको कठिन यात्राबाट जोगाउँदै नजिकैबाट सरकारी सेवा उपलब्ध गराउन सफल भएको खत्रीले बताउनुभयो । “गाउँपालिकाले यसरी सहरमा आएर सेवा दिन थालेपछि पोखरा तथा काठमाडौँमा बसाइसराइ गरेर जाने क्रम घटेको छ । गाउँमा बस्ने मानिस घटे पनि बसाइसराइ रोकिएको छ,” खत्रीले भने ।

पोखरामा सेवा दिनका लागि धवलागिरिका सात वटै वडाका वडाध्यक्ष, वडा सचिव, जनप्रतिनिधिहरू तथा कर्मचारी आएका छन् । म्यादीका स्थानीय तहले सुरु गरेको यो अभियान उदाहरणीय रहेको भन्दै प्रशंसा भएको छ ।

किशोर श्रेष्ठको पक्राउप्रति शंकर पोखरेलको आपत्ति, ‘तत्काल रिहा गरियोस्’

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले समाचारको स्रोत वा विषयवस्तुप्रति असहमति भए खण्डन गर्ने, प्रेस काउन्सिलमा जाने वा कानुनी उपचार खोज्ने बाटो खुला रहेको बताएका छन्।

तर, समाचार लेखेकै वा प्रकाशित गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु गैरकानुनी र प्रेस स्वतन्त्रताविरोधी कदम भएको उनको दाबी छ।

पोखरेलले भनेका छन्, ‘कहिलेकाहीँ समाचारका स्रोत वा विषयवस्तुमा असहमति हुन सक्छ; त्यसका लागि खण्डन गर्ने, प्रेस काउन्सिल जाने वा कानुनी उपचार खोज्ने बाटो खुला रहन्छ।’

किशोर श्रेष्ठ निडर र साहसिक पत्रकारिताका लागि परिचित रहेको उल्लेख गर्दै उनले अग्रज पत्रकारको आवाज दबाउँदा धेरै सत्य र रहस्य सधैँका लागि हराउने जोखिम रहेको बताएका छन्।

श्रेष्ठमाथिको गिरफ्तारीलाई ‘गैरन्यायिक र प्रतिशोधपूर्ण’ भन्दै पोखरेलले त्यसको कडा विरोध गरेका छन्।

उनले श्रेष्ठलाई अविलम्ब रिहा गर्न माग गरेका छन्।

थाइल्याण्डबाट आज नेपाल फर्किँदै शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदै छन् ।देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत आज (बिहीबार) मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् ।

देउवालाई स्वागत गर्न पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूको ठूलो टोली विमानस्थल पुग्ने तयारी रहेको छ ।

देउवा स्वास्थ्य उपचारका लागि गत फागुन १३ गते सिंगापुर गएका थिए । त्यहाँको उपचारपछि चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका थिए । उनी थाइल्याण्ड हुँदै नेपाल फर्कन लागेका हुन् ।

किशोर श्रेष्ठको पक्राउप्रति प्रचण्डको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रचण्डले समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई श्रेष्ठलाई राज्यले पक्राउ गर्नु लोकतन्त्रको उपहास भएको बताएका हुन्।

‘नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो,’ प्रचण्डले लेखेका छन्।

उनले श्रेष्ठलाई तत्काल रिहा गर्न माग समेत गरेका छन्।

आजको मौसमा : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको केही तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने छ । मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

मधेश प्रदेश साथै कोशी, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकरदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका केहि स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मधेश प्रदेश साथै कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बनी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको एकरदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

किन पक्राउ परे जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ ?

काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । जनआस्था साप्ताहिकका प्रधान सम्पादकरहेका श्रेष्ठलाई बुधबार ललितपुरको बागडोलबाट प्रहरीले पक्राउ गरेको हो । एक युवतीले दिएको जाहेरीका आधारमा श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

ती युवतीले श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयता ऐनअन्तर्गत कसुर गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन्।

गत साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ का सांसद अमरकान्त चौधरीसँग सम्बन्धित समाचार सामग्री प्रकाशित भएको थियो। उक्त सामग्रीमा आफ्नो नाम जोडिएको भन्दै समाचारमा उल्लेखित युवतीले प्रहरीसमक्ष जाहेरी दिएकी थिइन्।

जाहेरीपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदै श्रेष्ठलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

प्रहरीले श्रेष्ठमाथि लागेको आरोपबारे अनुसन्धानबाट थप तथ्य खुल्ने जनाएको छ। पक्राउ परेका श्रेष्ठमाथि लागेको आरोप भने कानुनी प्रक्रियाबाट पुष्टि हुन बाँकी रहेको छ।

१० सहकारीका १९७ बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौँ । विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार सम्बन्धित सहकारी संस्थाका बचतकर्ताको प्रक्रिया पूरा गरी रोकिएको बचत रकम फिर्ता गरिएको हो । प्राधिकरणका अनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ बचतकर्ताले रकम फिर्ता पाएका छन् । बाँकी नौ सहकारी संस्थाका २३ बचतकर्तालाई विभिन्न परिमाणमा बचत रकम फिर्ता गरिएको प्राधिकरणले जनाएको छ ।

बचत रकम फिर्ता गरिएका सहकारीमा सङ्कल्प बचत तथा ऋण, वीर विनायक बचत तथा ऋण, समदर्शी उपभोक्ता, पूर्वोदय बचत तथा ऋण, अर्थ बहुउद्देश्यीय, श्वेत भैरव बचत तथा ऋण, सिर्जनशील बचत तथा ऋण, ब्रिटिस गोर्खा बचत तथा ऋण, गेनबेल बचत तथा ऋण र शोभा भगवती बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

प्राधिकरणले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ ।

प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच बोरा प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिँजा गाउँपालिका–५, जुम्ला घर भई हाल सुर्खेत बस्ने चन्द्राकली बुढा रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको एउटा बसलाई स्थानीय सुब्बाकुना चेकपोस्टमा जाँच गर्ने क्रममा बसमा रातो जङ्गली च्याउ फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार बसको डिक्कीमा लुकाईछिपाई राखिएको अवस्थामा पाँच बोरा रातो जङ्गली च्याउ फेला परेको थियो ।

च्याउको तौल ७४ केजी रहेको प्रहरी नायब उपरीक्षक बोहोराले जानकारी दिए । पक्राउ परेकी बुढामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

कैलाली । प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीको शौचालयमा एक वर्षसम्म ताल्चा लाग्यो । भुइँतलाकै शौचालय बन्द भएपछि हिँड्डुल गर्न कठिनाइ भएका बिरामी पनि भर्याङ उक्लिएर माथिल्लो तलामा पुग्न बाध्य भए ।

पुँजीगत खर्च मात्रै रु पाँच लाख भएको चिकित्सालयले न समयमै शौचालय मर्मत गर्न सक्यो, न त जडान भइसकेको लिफ्ट सञ्चालनमा ल्याएर बिरामीलाई सेवा दिन ।

आफ्ना अन्य चिकित्सा सेवामा खर्च कटौती गरेर एक वर्षपछि अस्पताल व्यवस्थापनले आन्तरिक स्रोतबाट शौचालयको समस्या त समाधान गर्‍यो तर लिफ्ट अझै सञ्चालनमा आउन सकेको छैन ।

“यसरी अस्पतालमा बिरामीको सहजताका लागि बनाइएका पूर्वाधार छन् तर तिनको उपयोग गर्न आर्थिक अभाव छ । प्रदेश सरकारले छुट्याएको रु पाँच लाख पुँजीगत रकमले केही महिनाको सामान्य मर्मत खर्च पनि पुग्दैन । एउटा शौचालय मर्मतलगायतका कामका लागि रु २० लाख जोहो गर्न एक वर्ष कुर्नुपर्‍यो,” व्यवस्थापन समिति अध्यक्ष कर्णबहादुर बलायरले भने ।

यो समस्या प्रादेशिक आयुर्वेद चिकित्सालयको एउटा शौचालय वा लिफ्टको मात्र होइन । करोडौँ रुपैयाँ लगानी गरेर निर्माण गरिएको ५० शय्याको अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्नु अर्को समस्या छ ।

त्यसका लागि न स्थायी दरबन्दी छ, न त सेवा सुधारका लागि अस्थायी विशेषज्ञ चिकित्सक ।

धनगढी–१३ राजपुरमा रहेको चिकित्सालय हालसम्म तत्कालीन सेती अञ्चल आयुर्वेद चिकित्सालय मर्ज भएर प्राप्त स्थायी दरबन्दीको भरमा सञ्चालन भइरहेको छ । कुल ५० शय्याको अस्पतालका लागि आवश्यक नयाँ सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण स्वीकृत नहुँदा आवश्यक जनशक्ति थपिन सकेको छैन । एमडी तहका विशेषज्ञ चिकित्सक एक जना मात्रै छन् ।

“भौतिक संरचना ५० शय्याको भए पनि हाल बढीमा ३० शय्यासम्म सेवा दिन सकिने अवस्था छ । पर्याप्त जनशक्ति र स्रोतसाधन नहुँदा अस्पतालले आफ्नो संरचनाको पूर्ण क्षमता उपयोग गर्न सकेको छैन,” निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ओमप्रकाश कलौनीले भने, “अस्पतालको समस्या यतिमै सीमित छैन । सामान्य मर्मतसम्भारका लागि समेत पर्याप्त बजेट नहुँदा सेवा प्रभावित हुने गरेको छ ।”

विसं २०७६ मा यो चिकित्सालय प्रदेश मातहतमा आएको थियो । ५० शय्यामा सञ्चालन गर्ने गरी केन्द्रीय सरकारले धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बनाइदिएको संरचना २०७८ चैतमा व्यवस्थापन समितिलाई हस्तान्तरण गरियो ।

तीनतले भवनमा हाल करिब ३० शय्या सञ्चालन गर्न सकिन्छ, तर स्थायी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण नहुँदा पर्याप्त जनशक्ति छैनन् ।

तत्कालीन सेती अञ्चल आयुर्वेद चिकित्सालय ‘मर्ज’ हुँदा आएका छ जना स्थायी र करारका २७ जना जनशक्तिले सेवा दिनुपरेको छ । त्यसमा पनि उच्च तहका विशेषज्ञ चिकित्सक एक जना मात्र छन् ।

अस्पतालमा लिफ्ट जडान हुनु अशक्त, ज्येष्ठ नागरिक तथा हिँड्डुल गर्न कठिनाइ भएका बिरामीका लागि महत्त्वपूर्ण सुविधा हो तर निर्माण सम्पन्न भएर पनि ठेकेदारले हस्तान्तरण नगर्दा सञ्चालनमा आउन सकेको छैन ।

भवन हस्तान्तरण भएको करिब पाँच वर्षसम्म पनि लिफ्ट सञ्चालन हुन सकेको छैन । व्यवस्थापन समिति अध्यक्ष बलायरले हाल अन्तिम समयसीमा तोकेर ठेकेदारलाई भुक्तानी समस्या समाधान गर्न भनिएको र अबको एक/डेढ हप्तामा त्यसको सुनुवाइ नभए कानुनी प्रक्रियामा जाने निष्कर्षमा पुगिएको बताए ।

स्वास्थ्य संस्थाका लागि शौचालय, लिफ्ट र मर्मतसम्भार विलासिताका पूर्वाधार होइनन् । बिरामीको उपचारमा सहज पहुँचका आधारभूत पूर्वाधार हुन् तर यिनै सामान्य आवश्यकताका लागि अस्पतालले बजेट अभाव झेलिरहँदा सेवा प्रवाहमा पनि समस्या भइरहेको निमित्त मेसु डा कलौनीले बताए ।

आकर्षण बढ्दो

चिकित्सालयमा बहिरङ्ग, अन्तरङ्ग, शल्य चिकित्सा, पञ्चकर्म, प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसिजी र योग सेवा उपलब्ध छन् । सेवा विस्तारसँगै यहाँ हरेक आर्थिक वर्षमा निरन्तर सेवाग्राहीको सङ्ख्या बढ्दै गएको छ ।

तथ्याङ्कमा आव २०८१/८२ को तुलनामा २०८२/८३ मा कुल सेवा लिने सेवाग्राहीको सङ्ख्या ३५ प्रतिशतले वृद्धि भएको थियो । आव २०८१/८२ मा ३५ हजार ६८१ जनाले सेवा लिएकामा गत वर्ष उक्त सङ्ख्या बढेर ४८ हजार १६५ पुगेको छ ।

नयाँ सेवाग्राहीको सङ्ख्या मात्रै ४१ दशमलव चार प्रतिशतले बढेर २८ हजार १८३ बाट ३९ हजार ८५६ पुगेको चिकित्सालयले जनाएको छ । ‘फलोअप’मा आउने सेवाग्राही पनि १० दशमलव आठ प्रतिशतले बढेको सूचना अधिकारी सुरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

चिकित्सालयमा उपचार सेवाको विस्तारसँगै सेवाग्राहीको आकर्षण बढेको देखिन्छ । गत वर्ष फिजियोथेरापी, स्वर्णविन्दु प्राशन, जालौका चिकित्सा, अग्निकर्म, बस्तीकर्मलगायत नयाँ सेवा विस्तार भएका थिए ।

उपचारका विभिन्न सेवामध्ये स्वर्णविन्दु प्राशन सेवा लिनेको सङ्ख्या ३८६ बाट बढेर छ हजार ६१८ पुगेको छ, जुन एक हजार ६१४ दशमलव पाँच प्रतिशत वृद्धि हो । अग्निकर्म सेवा लिनेको सङ्ख्या पनि छ जनाबाट बढेर २४४ पुगेको छ । मात्राबस्ती सेवा ९४ बाट एक हजार १६८ पुगेको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी, होमियोप्याथी सेवा लिने सेवाग्राही ६५७ बाट बढेर दुई हजार १०१ पुगेका छन् । प्रयोगशाला सेवा तीन हजार ३८४ बाट चार हजार ४९५, कटिबस्ती एक हजार ८६३ बाट चार हजार ७७४, जानुबस्ती ८७२ बाट एक हजार ९९८ र एकाङ्ग स्वेदन तीन हजार १३१ बाट आठ हजार २५१ पुगेको छ ।

आयुर्वेद उपचारमा प्रयोग हुने निःशुल्क औषधि वितरणसमेत बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा १८ हजार ३७० जनालाई औषधि वितरण गरिएकामा २०८२/८३ मा २१ हजार ९११ जनाले निःशुल्क औषधि पाएका छन्, जुन १९ दशमलव तीन प्रतिशत वृद्धि हो ।

उपचार सेवा मात्रै नभई चिकित्सालयले आयुर्वेद औषधि उत्पादनमा समेत आफ्नो क्षमता विस्तार गरेको छ । गत आवमा ३२ प्रकारका औषधीय जडीबुटी प्रयोग गरी ११ प्रकारका आयुर्वेद औषधि उत्पादन गरिएको छ । उत्पादित औषधिको अनुमानित बजार मूल्य रु एक करोडभन्दा बढी रहेको निमित्त मेसु डा कलौनीले जानकारी दिए ।

गुणस्तरीय औषधिको उपलब्धता सुनिश्चित गर्न चिकित्सालयले सिंहदरबार वैद्यखानासँग ‘गभर्मेन्ट टू गभर्मेन्ट’ प्रक्रियामार्फत रु ७६ लाख चार हजार ४६१ बराबरको आयुर्वेद औषधि खरिदसमेत गरेको छ ।

चिकित्सालयका अनुसार सेवा विस्तार, नयाँ उपचार विधिको सुरुआत र निःशुल्क औषधि उपलब्धताले आयुर्वेद उपचारप्रति सेवाग्राहीको आकर्षण बढाउन योगदान पुगेको छ ।

प्राथमिकता दिनुपर्नेमा जोड

सुदूरपश्चिम प्रदेशको पञ्चवर्षीय योजनाले प्रदेशअन्तर्गतका आयुर्वेद चिकित्सालय, औषधालय तथा आयुर्वेद स्वास्थ्य केन्द्रलाई सुदृढ गर्दै प्रत्येक स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य नीति, २०७८ ले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई विस्तार गर्ने र प्रदेश आयुर्वेद औषधालयलाई प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने नीति लिएको छ ।

सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान ऐन, २०७६ ले प्रदेशमा एउटा छुट्टै आयुर्वेद चिकित्सालय प्रतिष्ठान बनाएर अध्ययन, अध्यापन र अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन र गुणस्तरीय सेवा दिने भनेको छ ।

त्यसका लागि यही चिकित्सालयलाई विकास गर्ने पूर्वाधार र आधारभूत संरचना तयार छ तर प्रदेश सरकारको प्राथमिकतामा नपर्दा हालकै क्षेत्राधिकार अनुसारको सेवा उपयोग गर्न नसकिएको चिकित्सालय व्यवस्थापन समितिका सदस्य शिवनारायण रानाको गुनासो छ ।

“पचास शय्याको अस्पताल, प्रयोगशाला, पञ्चकर्मलगायत सेवा विस्तारको सम्भावना भएको संस्थाको पुँजीगत खर्च रु पाँच लाखमा सीमित हुनु स्वास्थ्य पूर्वाधारप्रति सरकारी उदासीनतालाई प्रस्ट पार्छ,” उनी भन्छन् ।

व्यवस्थापन समिति सदस्य रानाले कैलाली जिल्लाका नागरिकलाई प्रत्यक्ष र समग्र सुदूरपश्चिमका नागरिकलाई ‘रेफरल’ चिकित्सालय अन्य जिल्लास्तरका संरचना जति पनि प्राथमिकतामा नपरेको बताए ।

“अस्पतालमा सेवा लिन आउने नागरिकको सङ्ख्या निरन्तर बढिरहेको छ । आयुर्वेद उपचारप्रति नागरिकको आकर्षण बढिरहेका बेला प्रदेश सरकारको लगानी र प्राथमिकता भने त्यसअनुसार बढ्न सकेको छैन । यसले पूर्वाधार विकास, सेवा विस्तार र स्तरोन्नतिमा समस्या भइरहेको छ,” उनले भने ।

चिकित्सालयलाई ५० शय्याको पूर्ण क्षमतामा सञ्चालन गर्न सके आयुर्वेद उपचारका साथै पञ्चकर्म, पुनस्र्थापना उपचार, क्षारसूत्र, जीवनशैलीजन्य रोग व्यवस्थापनलगायत सेवा विस्तार गर्न सकिने अस्पताल प्रशासनले जनाएको छ ।

त्यसका लागि सबैभन्दा पहिले नयाँ सङ्गठन संरचना स्वीकृत गरी आवश्यक जनशक्ति व्यवस्थापन, नियमित सञ्चालन तथा मर्मतका लागि पर्याप्त बजेट र निर्माण सम्पन्न भइसकेका संरचनाको उपयोग सुनिश्चित गर्नुपर्ने सूचना अधिकारी शाहीको जोड छ ।

चिकित्सालय प्रशासनका अनुसार ५० शय्याको पूर्ण क्षमतामा सेवा सञ्चालनका लागि तत्काल सङ्गठन तथा व्यवस्थापन संरचना स्वीकृत गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ ।

यस्तै, नियमित सञ्चालन तथा मर्मतका लागि पर्याप्त बजेट र निर्माण सम्पन्न भइसकेका संरचनाको उपयोग सुनिश्चित गर्नुपर्ने देखिन्छ । त्यसो हुन सके मात्रै तयार भइसकेको ५० शय्याको भौतिक संरचना नागरिकको स्वास्थ्य सेवामा पूर्ण रूपमा उपयोग हुन सक्ने विश्वास गरिएको छ ।

संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको ‘फलाम ढुङ्गा’ संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ । प्राकृतिक विशेषतासँगै ऐतिहासिक महत्त्व बोकेको यस क्षेत्रको संरक्षण र प्रवर्द्धन हुन नसक्दा पर्यटकीय सम्भावना भएर पनि अघि बढ्न सकेको छैन ।

फलामसँग मिल्दोजुल्दो देखिने ढुङ्गा रहेकाले स्थानीयस्तरमा यस क्षेत्रलाई ‘फलाम ढुङ्गा’ नामले चिनिँदै आएको छ । ढुङ्गामा फलाममा जस्तै खिया देखिने भएकाले यसको नाम फलाम ढुङ्गा रहन गएको स्थानीयको भनाइ छ । ढुङ्गासँगै रहेको प्राकृतिक पोखरी यहाँको अर्को आकर्षण हो । संरक्षण र व्यवस्थापनको अभावमा पोखरी पुरिँदै गएपछि यसको मौलिक स्वरूप हराउँदै जान थालेको छ ।

स्थानीयका अनुसार फलाम ढुङ्गा र पोखरी यस क्षेत्रको पहिचानसँग जोडिएका महत्त्वपूर्ण सम्पदा हुन् । प्राकृतिक सौन्दर्यसँगै ऐतिहासिक महत्त्व बोकेको यस क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटक आकर्षित गर्न सकिने स्थानीय शिवराज राईले बताए ।

“फलाम ढुङ्गा र पोखरीलाई व्यवस्थित रूपमा संरक्षण गरेर पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सके यो क्षेत्र राम्रो पर्यटकीय गन्तव्य बन्न सक्छ”, उनले भने ।

फलाम ढुङ्गा र पोखरीको संरक्षण तथा पर्यटकीय विकासका लागि हतुवागढी गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए ।

यो क्षेत्रको विकासका लागि डिपिआर तयार गरेर प्रदेश योजना आयोगमा पठाएर बजेट माग गरिरहेको भए पनि बजेट प्राप्त हुन नसकेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राई जानकारी दिनुभयो । निकै ठूलो रकम आवश्यक पर्ने भएकाले गाउँपालिकाले माथिल्लो निकायमा बजेटका लागि पहल गरिरहेको उनको भनाइ छ ।

“यो हाम्रो क्षेत्रको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र हो,” अध्यक्ष राईले भन्नुभयो, “यसको विकासका लागि माथिल्लो निकायमा पटक–पटक बजेट माग गरिरहेका छौँ । हालसम्म बजेट प्राप्त हुन सकेको छैन । गाउँपालिकाले यसलाई संरक्षण गरेर लैजाने लक्ष्यले लिएको छ ।”

स्थानीय तहले संरक्षणको योजना कार्यान्वयन गर्दै पोखरी पुनः स्थापना, फलाम ढुङ्गाको संरक्षण तथा पर्यटकलाई आवश्यक पर्ने पूर्वाधार निर्माणमा ध्यान दिन सके यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ ।

हतुवागढी गाउँपालिका–४ खैराङका वडाध्यक्ष चन्द्रबहादुर विष्टले फलाम ढुङ्गा तथा पोखरीको संरक्षणका लागि डिपिआर तयार भए पनि आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा काम अघि बढाउन समस्या भएको बताए ।

“हामीले यो क्षेत्रको विकासमा आवश्यक पहल गरिरहेका छौँ,” वडाध्यक्ष विष्टले भने, “बजेट अभावमा यो क्षेत्रको उचित विकास गर्न सकिएको छैन ।”

ढुङ्गा तथा पोखरीको संरक्षणसँगै यहाँ पर्यटकलाई लक्षित गरी विश्रामस्थल, खानेपानी, शौचालय, सूचना बोर्डलगायतका आधारभूत पूर्वाधार निर्माण आवश्यक रहेको स्थानीय जानकारहरूको भनाइ छ । संरक्षण र प्रवर्द्धनको अभावमा ओझेलमा परेको फलाम ढुङ्गालाई व्यवस्थित गर्न सके हतुवागढीको पर्यटन विकासमा समेत थप टेवा पुग्ने स्थानीयवासीले बताएका छन् ।

‘आईफोन किन बुझाएको पैसा ठगले खाइदियो’

म्याग्दी । आफन्तले ‘म्यासेन्जर’मार्फत अप्ठ्यारोमा परेकाले रु ५० हजार पठाइदिन भनेको देख्नेबित्तिकै बेनीका राजेन्द्र मगर (नाम परिवर्तन)ले क्युआरमा मागेअनुसारको रकम पठाइदिए । “क्युआरमा रकम पठाएपछि आफन्तलाई फोन गरेर जिज्ञासा राख्दा फेसबुक ह्याक गरेर अर्कैले पैसा मागेको थाहा भयो,” उनले भने, “सामाजिक सञ्जालमा आएको सन्देशको पुष्टि नगरी हतारमा पठाएको पैसा गुम्यो ।”

अन्नपूर्ण गाउँपालिकाका सन्देश रोका (नाम परिवर्तन)ले सामाजिक सञ्जालमा देखेको भरमा ‘आइफोन’ किन्नका लागि भनेर रु दुई लाख ‘क्युआर’ पठाइदिए । “पैसा पठाएपछि विज्ञापनमा भएको सम्पर्क नम्बर स्विच अफ भयो, ‘पेजनै डिएक्टीभ गरिदियो’,” उनले भने, “भएको पैसा पनि गयो, आइफोन प्रयोग गर्ने मेरो सपनालाई ठगले चकनाचुर बनाइदियो ।”

बेनी बजारकै सीता कार्की (नाम) परिवर्तनले रु छ सय मूल्य पर्ने कपडा अनलाइन माध्यमबाट खरिद गरे । “हेर्दा राम्रो र आकर्षक देखेपछि ‘अर्डर’ गर्दा पठाएको पैसा आएन भनेर फोन गरेपछि मैले उसले मागेअनुसारको नम्बर र विवरण दिए,” उनले भने, “बोल्दाबोल्दै मेरो फोन बन्द भयो, खातामा भएको रु तीन लाख सबै रित्ताइदिएछ ।”

ठगिएको रकम फिर्ता माग गरेर बेनीका सीता, राजेन्द्र र अन्नपूर्णका सन्देशले जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्ष २०८२/०८३ को विभिन्न मितिमा उजुरी गरे पनि रकम फिर्ता पाउन सकेनन् । अनलाइन माध्यमबाट हुने ठगी अपराधको नयाँ रूपमा देखा परेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सीनाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा कार्यालयमा अनलाइन माध्यमबाट ठगीमा परेका ८४ र ‘फेक आइडी’ बनाएर ठगी भएकासम्बन्धी २१ वटा उजुरी परेका छन् । उजुरीकर्ताले रु ८४ लाख ३५ हजार पाँच सय १० ठगी भएको उजुरी परेकोमा रु १२ लाख ३५ हजार सात सय २० मात्र फिर्ता गराउन सकिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।

“गत आर्थिक वर्षअघि अनलाइन ठगीको छुट्टै अभिलेख राख्ने गरेका थिएनौँ, उजुरीको सङ्ख्या बढ्दै गएपछि सूचना प्रविधि शाखानै बनाएर अनुसन्धान गर्न थालिएको छ,” उनले भने, “अनलाइन ठगीसम्बन्धी गत वर्ष दुई वटा उजुरीको मात्रै अनुसन्धान गरी संलग्नलाई पहिचान तथा पक्राउ गरी मुद्दा चलाएका छौँ ।” चालु आर्थिक वर्षको चार हप्ताको अवधिमा परेका सात वटा उजुरीकर्ताले रु पाँच लाख १२ हजार एक सय ६० अनलाइन माध्यमबाट ठगिएको जानकारी गराएका छन् ।

सामान किनबेचका क्रममा भएको ठगीका उजुरी धेरै

गत वर्षका अधिकांश अनलाइन ठगीसम्बन्धी परेका उजुरीमध्ये ६० वटा उजुरीकर्ताले सामान किन्ने क्रममा ठगी भएको जनाएका छन् । ‘अनलाइन सपिङ’, विदेश पठाइदिने प्रलोभन, चिट्ठा, खेल र विदेशबाट पार्सल (सामान) पठाइदिन्छु भनेर ठगी भएका उजुरी आधाभन्दा बढी रहेका प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । एक जना व्यक्तिले अनलाइन ठगीमा परेर न्यूनतम रु एक हजारदेखि अधिकतम रु सात लाख ४८ हजारसम्म गुमाएका छन् ।

अनलाइन ठगीले प्रहरी कार्यालयमा फाइलको चाङ बढाएको छ । प्रहरीका अनुसार अनलाइन ठगी बढ्दो छ । कसैलाई सस्तो सामानको प्रलोभन देखाइन्छ, कसैको ‘फेसबुक’ ह्याक गरेर आफन्तसँग पैसा मागिन्छ, कसैलाई अन्तरराष्ट्रिय ‘लट्री, गिफ्ट’, ऋण वा ‘अनलाइन गेमिङ’ र ‘बेटिङ एप’मा विभिन्न प्रलोभनमा पारेर फसाउने गरेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।

यसमा मुख्य लक्षित समूह १८–३५ वर्षका युवा हुन्, जसले सामाजिक सञ्जालमा बढी समय बिताउँछन् र छिटो फाइदा हुने लोभमा पर्छन् । ठगिनेमा पुरुषको तुलनामा महिला बढी रहेका छन् ।

अनलाइन ठगीबाट कसरी बच्ने ?

नेपाल बैंक लिमिटेड बेनी शाखाका सहायक प्रबन्धक समेत रहेका म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक विकास आचार्यले प्रविधिको प्रयोग गर्न नजान्ने र प्रलोभनमा पार्न सकिने लक्षित समुदायलाई पहिचान गरेर ठगी गरेको देखिने बताए । “प्रविधिको आफैँमा दोष छैन, यसको दुरुपयोग गर्नेको चलाखी र लोभमा पर्ने युवाको मानसिकता मुख्य कारण हो,” उनले भने, “समुदायस्तरसम्म अनलाइन ठगीबाट बच्नका लागि सचेतना फैलाउन आवश्यक छ ।”

प्रहरीले अनलाइन अपराध न्यूनीकरणका लागि विद्यालय, क्याम्पस र टोलस्तरमा साइबर सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । अज्ञात लिङ्क नखोल्ने, आधिकारिक वेबसाइट वा कम्पनीसँग मात्र कारोबार गर्ने, रकम पठाउनुअघि प्रमाण खोज्ने र व्यक्तिगत विवरण बाँड्दा सावधानी अपनाउने हो भने अनलाइन ठगीबाट जोगिन सकिने प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ ले सो प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । त्यस्तै, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्दैछ ।

बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ । बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘ अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ मा परेको संशोधनहरूमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ ।

बिहान ११ बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा’ छलफल हुँदैछ ।

पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्दैछ । बैठकमा खानेपानी आपूर्ति कार्य योजनाको प्रतिवेदनमाथि छलफल गरिँदैछ । बिहान ११ बजेका लागि तय भएको महिला तथा सामाजिक विकास समितिको बैठकमा ‘राष्ट्रिय दलित आयोगको काम कारबाही तथा प्रगति’ सम्बन्धमा छलफल हुने कार्यक्रम छ ।

काठमाडौँ महानगरले १२ सामुदायिक विद्यालयको पूर्वाधार विकास गर्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १२ वटा सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । त्यसका लागि रु ६२ करोड २८ लाख बराबर खर्च गरिने छ ।

विद्यालयको भौतिक अवस्थालाई प्रचलित मापदण्डअनुसार सुधार गर्न विद्यार्थी सङ्ख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम तथा पूर्वाधारको आवश्यकताका आधारमा बजेट उपलब्ध गराइने कामपा शिक्षा विभागले जनाएको छ ।

सहरी योजना आयोगले गरेको अध्ययनका आधारमा विद्यालयको पूर्वाधार निर्माणका लागि आवश्यक खरिद प्रक्रिया अघि बढाइएको कामपा शिक्षा विभाग प्रमुख नवराज ढकालले जानकारी दिए ।

ढकालका अनुसार प्रत्येक विद्यालयको जिपिएस लोकेसन, विद्यार्थी र जग्गाको अनुपात तथा बाढीजस्ता प्राकृतिक जोखिमको अवस्था पनि अध्ययन गरेपछि मात्र लगानीको प्रस्ताव अघि सारिएको हो ।

“सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी र समयको मागअनुसार बनाउन हामीले लगानी बढाएका छौँ,” कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भनिन्, “बालमैत्री सिकाइ, प्रविधिमा आधारित कक्षाकोठा, वातावरणीय सुधार र सजावट तथा प्रयोगात्मक अभ्यासका अवसरजस्ता सुविधा समान रूपमा उपलब्ध गराउने हाम्रो योजना छ ।”

शिक्षा विभागका महाशाखा प्रमुख सुशील सुवेदीले विद्यालयको खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

शिक्षा विभागले वडा नं १४ मा रहेको जनविकास माध्यमिक विद्यालय र वडा नं २८ मा रहेको पद्मोदय माध्यमिक विद्यालयको भवन निर्माणको प्रक्रिया अघि बढाएको छ ।

त्यसका लागि क्रमशः रु पाँच करोड ६७ लाख ६८ हजार ८६२ र रु १५ करोड ३५ लाख ७४ हजार बजेट विनियोजन गरिएको छ ।

सार्वजनिक निर्माण विभागमार्फत छ वटा विद्यालयको पूर्वाधार निर्माणका लागि खरिद प्रक्रिया अघि बढाइएको छ ।

त्यसअन्तर्गत वडा नं २४ मा रहेको श्री कान्ति ईश्वरी राज्यलक्ष्मी आधारभूत विद्यालयका लागि रु पाँच करोड ५७ लाख ४९ हजार बराबरको बजेट उपलब्ध गराइनेछ ।

त्यस्तै, वडा नं २६ मा रहेको शान्ति विद्या गृह माध्यमिक विद्यालयको भवन निर्माणका लागि रु आठ करोड ५७ लाख ४२ हजार बजेट उपलब्ध हुने छ । वडा नं २९ को अटिजम स्कुलका लागि रु १० करोड ९१ लाख ७९ हजार विनियोजन गरिएको छ ।

रु एक करोड ८३ लाख २९ हजार बराबरको लागतमा दरबार हाई स्कुलको बहुउद्देश्यीय सभा कक्ष निर्माण गरिने छ । रु ८४ लाख १२ हजारको लागतमा महेन्द्र मावि बौद्धको मर्मत सम्भार गरिनेछ ।

रु नौ करोड ६२ लाख ५४ हजारको लागतमा कन्या माध्यमिक विद्यालयको छात्रावास तथा कक्षाकोठा निर्माणका लागि खरिद प्रक्रिया सुरु भइसकेको विभागले जनाएको छ ।

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा , युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ ६७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७५ पैसा र बिक्रीदर १० रुपैयाँ ८० पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६ रुपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४९ पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९ रुपैयाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ७९ पैसा बिक्रीदर ४०५ रुपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ९७ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छः अर्थमन्त्री

तनहुँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य नयाँ ठेक्काबाट हुने बताएका छन्।

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा बुधबार आयोजित भेटघाट कार्यक्रममा उनले घुमाउने पुल निर्माणको ठेक्का तोडिसकिएकाले अब नयाँ ठेक्कामार्फत पुलको काम निर्माण हुने उल्लेख गरे।

विगतमा सांसद हुँदा आँबुखैरेनी गाउँपालिका र भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुलका बारेमा आफूले धेरै चासो राखेको स्मरण गर्दै अर्थमन्त्री वाग्लेले संसद्मा पनि त्यसबारेमा पटक–पटक बोलेको बताए। कहिले बाढी आएर पुलमा क्षति पुर्‍याएको, कहिले डिजाइन परिवर्तन गर भनेर दबाब दिने जस्ता कारणबाट पुल निर्माणमा ढिलाइ भएको उल्लेख गर्दै उहाँले उक्त पुलको ठेक्का तोड्ने काम भएकाले अब नयाँ ठेक्कामार्फत पुल निर्माण हुने बताए।

पूर्वाधार विकासमन्त्रीलाई भेटेरै घुमाउने पुल जसरी पनि सुरु गर्नु भनेर भनिसकेको बताउँदै अर्थमन्त्री वाग्लेले भने, “खरिद ऐन नै संशोधन गरी विकास निर्माणलाई गुणस्तरीय बनाउन प्रयास गरेका छौँ ।”

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाको समग्र विकासका लागि अत्यावश्यक बजेट विनियोजनका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराए। त्यसक्रममा उनले पूर्वाधार निर्माण, सडक सञ्जाल विस्तार तथा पर्यटन क्षेत्रको प्रवद्र्धनलगायत स्थानीय तहका प्राथमिकतामा विषयमा ध्यानाकर्षण गराए।

शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिने बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिने बताएका हुन्।

राष्ट्रपति पौडेलले भने, “युवा भोलिको मात्र होइन आजकै साझेदार, सर्जक र परिवर्तनकर्ता हुनुहुन्छ । यो कुरा तपाईंहरूले व्यवहारबाटै प्रमाणित गरिसक्नुभएको छ । हामीले युवालाई ‘देशको भविष्य’ भनेर मात्रै पुग्दैन । आजको अर्थतन्त्र, राजनीति, प्रविधि, संस्कृति, अनुसन्धान र सार्वजनिक बहसमा युवाको उपस्थिति अहिले नै आवश्यक छ भन्ने म ठान्दछु । नयाँ पुस्तासँग ऊर्जा छ, प्रविधि छ, संसारसँग प्रत्यक्ष सम्पर्क छ । तर त्योभन्दा महत्त्वपूर्ण कुरा–प्रश्न गर्ने साहस छ ।”

राष्ट्रपति पौडेलले राष्ट्र निर्माणको लागि पुर्खाको गौरवपूर्ण इतिहासको सम्मान गर्दै अनुभवहरूबाट सिकेर अघि बढ्ने युवा चाहिएको बताए। उनले भने, “अर्थतन्त्रलाई नयाँ विचार दिने युवा, विज्ञानलाई जिज्ञासु युवा चाहिने स्पष्ट पार्नुभयो । समाजलाई विभेद स्वीकार नगर्ने युवा चाहिन्छ।”

राष्ट्रपति पौडेलले प्रविधि प्रयोग गर्न तर विवेकलाई प्रविधिको जिम्मा नछोड्न युवालाई आग्रह गरे। उनले भने, “विश्वसँग प्रतिस्पर्धा गर्नुहोस्, तर आफ्नो समाजसँगको सम्बन्ध कहिल्यै नतोड्नुहोस् । देशलाई तपाईंहरूको प्रतिभा मात्र होइन, तपाईंहरूको इमान्दारी पनि चाहिएको छ।”

देशका गाउँ, सहर, विश्वविद्यालय, प्रयोगशाला, स्टार्टअप, खेत, अस्पताल, खेलमैदान, स्टुडियो र विदेशका विभिन्न कुनामा हजारौँ नेपाली युवा चुपचाप काम गरिरहेको उनले उल्लेख गरे।

राष्ट्रपति पौडेलले पछिल्ला वर्षमा नेपालको सामाजिक र राजनीतिक बहसमा युवापुस्ताको आवाज अझ स्पष्ट र प्रभावशाली रूपमा सुनिन थालेको भन्दै यो उपस्थितिलाई पुस्तान्तरणका रूपममा मात्रै नभई विचार र कार्यशैलीको नवीकरणका रूपमा पनि विकास गर्न सक्नुपर्ने बताए ।

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

नैरोबी। चिनियाँ अटो निर्माता चेरीले दक्षिण अफ्रिकामा निसानको पूर्वकारखाना खरिद गरेपछि अफ्रिकामा विद्युतीय सवारी साधन (इभी) उत्पादनतर्फ चिनियाँ कम्पनीको चासो बढेको देखिएको छ ।

चीनमा सवारी साधनको आन्तरिक माग सुस्त हुनुका साथै युरोप र उत्तर अमेरिकामा व्यापारिक अवरोध बढिरहेका बेला चिनियाँ अटोमेकरले अफ्रिकालाई नयाँ बजारका रूपमा हेर्न थालेका हुन् । विश्लेषकका अनुसार स्थानीय उत्पादनले रोजगारी सिर्जना, आपूर्ति शृङ्खलाको विकास र विद्युतीय सवारीको प्रयोग विस्तारमा योगदान पुर्याउन सक्छ ।

यद्यपि कमजोर पूर्वाधार र नीतिगत अनिश्चितता प्रमुख चुनौतीका रूपमा रहेका छन् । जुलाईमा चीनको सबैभन्दा ठूलो अटो निर्यात कर्ता चेरीले दक्षिण अफ्रिकाको प्रिटोरिया नजिकै रहेको निसानको पूर्वरोस्लिन कारखाना खरिद गरेको थियो । चेरीले उक्त कारखानामा आफ्नो जेटोर ब्रान्डअन्तर्गत प्लग–इन हाइब्रिड तथा ब्याट्रीबाट चल्ने विद्युतीय सवारी उत्पादन गर्ने योजना बनाएको छ ।

यो कदम अफ्रिकी उपभोक्ताको नजिकै सवारी उत्पादन गर्ने चिनियाँ कम्पनीको बढ्दो रणनीतिको हिस्सा हो । यसअघि बेइजिङ अटोमोटिभ ग्रुप (बीएआइसी)ले दक्षिण अफ्रिकाको ग्केबेरामा उत्पादन तथा एसेम्बली सुविधा सञ्चालन गर्दै आएको छ भने ग्रेट वाल मोटरले पनि स्थानीय एसेम्बली र पार्टपुर्जा आपूर्ति गर्दै आएको छ ।

दिगो यातायात प्रवद्र्धन गर्ने दक्षिण अफ्रिकी संस्था ‘द इलेक्ट्रिक मिसन’का कार्यकारी निर्देशक हितेन परमारले अफ्रिका अटोमोबाइल बजारका लागि नयाँ सम्भावनायुक्त क्षेत्र बन्दै गएको बताउनुभयो । विश्लेषकका अनुसार दक्षिण अफ्रिका, मोरक्को, केन्या, इथियोपिया र घाना चिनियाँ इभी लगानीका लागि बढी सम्भावना भएका देश हुन् ।

औद्योगिक क्षमता, अनुकूल सरकारी नीति र विस्तार भइरहेको विद्युत पूर्वाधारका कारण यी मुलुकले लगानी आकर्षित गर्न सक्ने उनीहरूको भनाइ छ । मोरक्कोले युरोपेली बजारको निकटताबाट लाभ लिन सक्छ भने जिम्बाब्वेको ठूलो लिथियम भण्डारले ब्याट्री आपूर्ति शृङ्खलालाई सहयोग पुर्याउन सक्छ ।

स्थानीय उत्पादन बढेमा आयात शुल्क घट्नुका साथै चार्जिङ पूर्वाधार, पार्टपुर्जा उत्पादन र ब्याट्री उद्योगमा लगानी बढ्न सक्ने विश्लेषकको भनाइ छ । मोरक्कोमा अफ्रिकाकै पहिलो ठूलो क्षमताको ब्याट्री कारखाना निर्माण गर्ने योजना अघि बढाइएको छ । तीव्र शहरीकरण, बढ्दो आम्दानी र चिनियाँ ब्रान्डका तुलनात्मक रूपमा सस्ता सवारी साधनका कारण अफ्रिकामा चिनियाँ अटोमेकरको बजार विस्तार भइरहेको छ ।

यसअघि युरोपेली, जापानी र अमेरिकी कम्पनीको वर्चस्व रहेको अफ्रिकी बजारमा चिनियाँ ब्रान्डले आफ्नो उपस्थिति बढाइरहेका छन् । ‘जिरो कार्बन एनालिटिक्स’का ऊर्जा रूपान्तरण अनुसन्धान विश्लेषक निक हेडलीले अफ्रिकाको बढ्दो जनसङ्ख्या र विस्तार हुँदै गएको मध्यम वर्गले किफायती विद्युतीय सवारीका लागि ठूलो बजार सिर्जना गर्ने बताउनुभयो । स्थानीयरूपमा विद्युतीय सवारीको प्रयोग बढाउँदा आयातित इन्धनमाथिको निर्भरता घटाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

‘क्रसबाउन्डरी इनर्जी’का प्रबन्ध निर्देशक टोम्बो बान्डाका अनुसार चिनियाँ कारखानाले आन्तरिक बजारको मागभन्दा बढी सवारी उत्पादन गरिरहेका छन् भने निर्यातमा पनि विभिन्न अवरोध बढिरहेका छन् । त्यसैले अफ्रिकामै उत्पादन केन्द्र स्थापना गर्नु चिनियाँ कम्पनीका लागि दीर्घकालीन लगानीको विकल्प बन्न सक्ने उहाँले बताउनुभयो ।

सरकारी नीतिले ईभी उत्पादनलाई प्रोत्साहन

अफ्रिकी मुलुकले ऊर्जा सुरक्षा र इन्धन आयात घटाउने उद्देश्यले यातायातसम्बन्धी नीति परिवर्तन गर्न थालेका छन् । अफ्रिकी सङ्घले अपनाएको ‘हरित खनिज रणनीति’ले महत्वपूर्ण खनिजको स्थानीय प्रशोधनलाई प्राथमिकता दिएको छ, जसबाट विद्युतीय सवारीको ब्याट्री उत्पादनका लागि आवश्यक कच्चा पदार्थ उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

इथियोपियाले जीवाश्म इन्धनबाट चल्ने सवारी साधनको आयातमा प्रतिबन्ध लगाउँदै स्वदेशमै एसेम्बल गरिएका विद्युतीय सवारीमा कम आयात शुल्क लगाएर स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको छ । दक्षिण अफ्रिकाले भने विद्युतीय तथा हाइड्रोजनबाट चल्ने सवारी उत्पादनमा लगानी आकर्षित गर्न भन्सार छुट, उत्पादनमा आधारित कर सहुलियत, प्रत्यक्ष नगद लगानी र कर छुटलगायतका प्रोत्साहन उपलब्ध गराउँदै आएको छ ।

परमारका अनुसार चिनियाँ तथा अन्य एसियाली अटोमेकरको रणनीतिमा उल्लेखनीय परिवर्तन आएको छ । उनीहरू सवारी आयातमा मात्र निर्भर नरही स्थानीय एसेम्बली र उत्पादनतर्फ अघि बढिरहेका छन् । बान्डाले अफ्रिका अब आयातित सवारी साधनको बजारमा मात्र सीमित नरही उत्पादन केन्द्रका रूपमा विकास हुने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार अफ्रिकी बजारमा दीर्घकालीन पहुँच चाहने कम्पनीले स्थानीयस्तरमै उत्पादन र मूल्य अभिवृद्धि गर्नुपर्नेछ ।

दक्षिण अफ्रिका अग्रस्थानमा

दक्षिण अफ्रिकासँग स्थापित सवारी उत्पादन उद्योग, दक्ष जनशक्ति र निर्यात बजार भएकाले विद्युतीय सवारी उत्पादन विस्तारका लागि ऊ अग्रस्थानमा रहेको बान्डाको भनाइ छ । रोस्लिन जस्ता विद्यमान कारखानालाई नयाँ प्रविधिअनुसार परिमार्जन गर्न सकिने भएकाले नयाँ कारखाना निर्माणभन्दा कम समय र लगानीमा उत्पादन सुरु गर्न सकिने उहाँले बताउनुभयो ।

यद्यपि, पेट्रोल तथा डिजेलबाट चल्ने सवारी उत्पादनका लागि बनाइएका कारखानालाई विद्युतीय सवारी उत्पादनमा रूपान्तरण गर्नु जटिल हुने उहाँले बताउनुभयो । लगानी आकर्षित गर्न कर, भन्सार तथा औद्योगिक नीतिमा दीर्घकालीन स्थिरता आवश्यक पर्ने उहाँको भनाइ छ । भरपर्दो विद्युत आपूर्ति र पर्याप्त चार्जिङ पूर्वाधारबिना विद्युतीय सवारीको विस्तार कठिन हुने बान्डाले बताउनुभयो । उहाँका अनुसार ईभी उत्पादन र प्रयोग विस्तारका लागि स्वच्छ, भरपर्दो तथा किफायती विद्युत र पर्याप्त चार्जिङ संरचना आवश्यक छ ।

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालयको समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम–२०२६ को ‘रिसर्च डिसिमिनेसन एन्ड क्लोजिङ’ कार्यक्रममा आज परराष्ट्रमन्त्री खनालले नेपालको परराष्ट्र नीति सुदृढ बनाउन अनुसन्धान, प्रमाणमा आधारित विश्लेषण र सूचित सार्वजनिक बहसको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले युवा अनुसन्धानकर्तालाई बदलिँदो अन्तरराष्ट्रिय घटनाक्रमको अध्ययन गर्दै नेपालको कूटनीतिक अभ्यास तथा नीति निर्माणमा योगदान गर्न आग्रह गर्नुभयो ।

राजनीतिमा आउनुअघि आफूले विद्यालय तहको सार्वजनिक शिक्षाको क्षेत्रमा समेत काम गरेको मन्त्री खनालले बताउनुभयो । उहाँले नेपाली युवाले ज्ञान उत्पादन गर्ने र त्यसबाट नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अन्तरराष्ट्रिय युवा दिवसको शुभकामना दिँदै उहाँले सरकार युवासँग सहकार्य गरेर अघि बढिरहेको बताउनुभयो ।

“म परराष्ट्र मन्त्रालयमा आएपछि युवाहरूसँग सहकार्य गर्नका लागि यो कार्यक्रम ल्याइएको हो,” मन्त्री खनालले भन्नुभयो । समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रमले जलवायु परिवर्तन, श्रम आप्रवासन, कृत्रिम बौद्धिकता (एआई), प्रविधिलगायत विभिन्न क्षेत्रलाई समेटेको उहाँले जानकारी दिनुभयो ।

सरकारमा सहभागी भएको चार साताभित्रै कार्यक्रम अघि बढाइएको उल्लेख गर्दै मन्त्री खनालले आठ सातासम्म सञ्चालन भएको कार्यक्रम फलदायी भएको बताउनुभयो । उहाँका अनुसार कार्यक्रममार्फत देशभित्र र विदेशमा रहेका युवासँग परराष्ट्र मन्त्रालय तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रत्यक्ष रूपमा सहकार्य गर्न सफल भएको छ । “यो कार्यक्रममार्फत देशभित्र र बाहिर रहेका युवाहरूसँग परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सिधै काम गर्न सफल भएको छ,” उहाँले भन्नुभयो । परराष्ट्र मन्त्रालयले दुई देश वा संस्थाबीचको सम्बन्ध विस्तारमा मात्र सीमित नभई देशभित्रका विषयमा समेत सुधार ल्याउन चाहेको मन्त्री खनालले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) की कार्यकारी निर्देशक रोजिना ताम्राकारले कार्यक्रमले युवा अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई कूटनीति र परराष्ट्र नीतिको व्यावहारिक अनुभव प्रदान गर्नुका साथै शैक्षिक अनुसन्धान तथा नीतिगत अभ्यासबीच सम्बन्ध स्थापित गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले अनुसन्धानबाट प्राप्त निष्कर्षलाई उपयोगी र कार्यान्वयनयोग्य नीतिगत स्रोतका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

जुन महिनाको मध्यदेखि अगस्टको मध्यसम्म सञ्चालन भएको आठहप्ते स्वेच्छिक नीति अनुसन्धान कार्यक्रममा १० जना फेलो र १० जना इन्टर्न सहभागी थिए । कार्यक्रममा सहभागीहरूले रणनीतिक मामिला तथा सार्वजनिक अन्तरराष्ट्रिय कानुन, विकास तथा वित्त, प्रविधि, स्वच्छ ऊर्जा र नेपाली डायस्पोरालगायत पाँच विषयगत क्षेत्रमा नीतिमुखी अनुसन्धान गरेका थिए ।

समापन कार्यक्रममा फेलो तथा इन्टर्नहरूले नेपालको परराष्ट्र नीति, कूटनीति र अन्तरराष्ट्रिय सम्बन्धसँग सम्बन्धित आफ्ना अनुसन्धानका निष्कर्ष तथा सुझाव प्रस्तुत गरेका थिए । त्यसपछि कूटनीतिज्ञ, सरकारी अधिकारी, प्राज्ञ, अनुसन्धानकर्ता तथा अन्य सरोकारवालाबीच छलफल भएको थियो । कार्यक्रममा विभिन्न अनुसन्धान तथा शैक्षिक संस्था, विकास साझेदार तथा परराष्ट्र मन्त्रालयका अधिकारीसहित १०० भन्दा बढीको सहभागिता रहेको थियो । परराष्ट्र मन्त्रालयको पहलमा सुरु भएको समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम–२०२६ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए)ले आयोजना गरेको हो ।

प्राकृतिक वनस्पति घट्दा ब्राजिलमा एल निनोको प्रभाव बढ्ने जोखिम

रियो डे जेनेरो। ब्राजिलले पछिल्ला चार दशकमा फ्रान्सको क्षेत्रफलभन्दा दोब्बरबढी प्राकृतिक वनस्पति गुमाएको छ ।

प्राकृतिक वनस्पति घट्दा एल निनोका कारण हुने खडेरी, बाढी र डढेलोजस्ता चरम मौसमी घटनाको प्रभाव बढ्न सक्ने बुधबार सार्वजनिक अध्ययनले देखाएको छ ।

जुनमा पुष्टि भएको एल निनो वर्षको अन्त्यतिर थप तीव्र हुने अनुमान गरिएको छ । यसका कारण ब्राजिलका विभिन्न क्षेत्रमा चरम मौसमको जोखिम बढ्ने अपेक्षा गरिएको छ ।

वातावरणीय अनुगमन संस्था म्यापबायोमासले आफ्नो वार्षिक भूमि उपयोगसम्बन्धी अध्ययनमा चार दशकअघि ब्राजिलको कुल भू–भागको ७९ प्रतिशत हिस्सा प्राकृतिक वनस्पतिले ढाकेकोमा अहिले यो घटेर ६५ प्रतिशतमा सीमित भएको जनाएको छ ।

प्राकृतिक वनस्पति विनाशको सबैभन्दा ठूलो प्रभाव अमेजन वर्षावन र जैविक विविधताका लागि महत्वपूर्ण सेराडो सवानामा परेको छ । वन तथा अन्य प्राकृतिक क्षेत्रको ठूलो हिस्सा कृषि र पशुपालनका लागि प्रयोग गरिएको छ ।

अध्ययनअनुसार सन् १९८५ मा ब्राजिलको कुल भू–भागको १८ प्रतिशत हिस्सा कृषि तथा पशुपालनमा प्रयोग भएकामा अहिले यो बढेर ३२ प्रतिशत पुगेको छ ।

म्यापबायोमासको अध्ययनले एल निनोका समयमा प्राकृतिक वनस्पति हटाएर कृषि तथा पशुपालनमा प्रयोग गरिएका क्षेत्रमा मौसमी चरम घटनाको प्रभाव बढी देखिएको जनाएको छ ।

म्यापबायोमासका महासंयोजक टासो अजेभेडोले सन् २०२३–२०२४ को एल निनोका क्रममा अमेजनमा वन फँडानी गरिएका क्षेत्रमा प्राकृतिक वन क्षेत्रको तुलनामा वर्षाको कमी बढी देखिएको बताउनुभयो ।

यसैबीच, ब्राजिलको दक्षिणी घाँसे मैदानमा प्राकृतिक वनस्पति हटाएर कृषि क्षेत्रमा परिणत गरिएका स्थानमा प्राकृतिक वनस्पति रहेको क्षेत्रको तुलनामा बढी वर्षा भएको पाइएको छ ।

दक्षिणी राज्य रियो ग्रान्डे डो सुलले सन् २०२४ मा ठूलो बाढीको सामना गरेको थियो । उक्त बाढीमा करिब २०० जनाको मृत्यु भएको थियो ।

“भूमि उपयोगको ढाँचाले एल निनो आफैँलाई परिवर्तन गर्दैन, तर यसले त्यसको प्रभावलाई परिवर्तन गर्न सक्छ,” अजेभेडोले भन्नुभयो ।

उहाँका अनुसार भूमि उपयोगसम्बन्धी निर्णयले जलवायुजन्य जोखिमको स्तर तथा देशका विभिन्न क्षेत्रमा यस्ता घटनाको प्रभावको तीव्रता निर्धारण गर्न सक्छ ।

अध्ययनले कृषि क्षेत्रमा एल निनोको प्रभाव किन बढी देखिन्छ भन्ने विषयमा स्पष्ट निष्कर्ष नदिए पनि अमेजनमा वन विनाशले वाष्पीकरण र स्थानीय वायुमण्डलमा आद्र्रता घटाउने, तापक्रम बढाउने तथा वर्षा कम गर्ने सम्भावना रहेको अजेभेडोले बताउनुभयो ।

गत महिना ब्राजिल सरकारले यस वर्ष ‘अत्यन्त शक्तिशाली एल निनो’को सम्भावना रहेको चेतावनी दिएको थियो । प्रशान्त महासागरको समुद्री सतहको तापक्रम औसतभन्दा करिब दुई डिग्री सेल्सियससम्म बढी हुन सक्ने अनुमान गरिएको छ ।

समुद्री सतहको तापक्रममा हुने यस्तो वृद्धि विश्वका विभिन्न क्षेत्रमा मौसमको ढाँचामा उल्लेखनीय परिवर्तन ल्याउन सक्ने विज्ञले बताएका छन् ।

ब्राजिलियन कृषि तथा पशुधन महासङ्घ (सीएनए)ले पनि शक्तिशाली एल निनोका कारण कफी, सोयाबिन र उखुजस्ता प्रमुख कृषि बाली प्रभावित हुन सक्ने चेतावनी दिएको छ ।

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

राँझा (बाँके) – भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले बजार पाउन थालेको छ ।

भारतबाट आयात गरिएको सागसब्जीसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्थामा आयातमा कडाइ गरिएका कारण स्थानीय किसानले सन्तोषजनक मूल्य पाउन थालेका छन् ।

भारतीय सागसब्जी आयात रोकिएपछि अहिले बिहानीपख नेपालगञ्जको धम्बोझीस्थित सुर्खेतरोडमा बाँके र बर्दिया जिल्लाका किसानले बिक्री गर्ने सागसब्जी किनमेलको लागि उपभोक्ताको भीड लाग्ने गरेको छ ।

भारतबाट आउने सागसब्जीलाई भन्सारमा कडाइ गरेपछि नेपालगञ्जमा बाँकेका किसानले उत्पादन गरेको सागसब्जीले बजार पाएको नेपालगञ्जस्थित रानीतलाउ कृषिउपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताउनुभयो ।

नेपालगञ्जको रानीतलाउ सागसब्जी बजारमा अहिले बाँके जिल्लामै उत्पादन भएको सागसब्जी आउने गरेको छ । भारतबाट बिक्रीका लागि ल्याउने सागसब्जी भन्सार गर्नुपर्ने प्रावधानले स्वदेशी कृषिउपजले बजार पाएको छ ।

भारतबाट भन्सार गरेर सागसब्जी ल्याउँदा महङ्गो हुने भएकाले व्यवसायीले भारतीय सागसब्जी आयात कम गरेका छन् । नेपालगञ्जको तरकारी बजारमा अहिले बाँकेको डुडुवा गाउँपालिका–६ स्थित हिरमिनिया, नेपालगञ्ज–१४ बालेगाउँ, जानकी गाउँपालिकाको ढोडेगाउँ, खजुरा गाउँपालिकाका किसानले कृषिउपज बिक्री वितरण गर्ने गरेका छन् ।

सल्यान, सुर्खेत र बर्दियाबाट पनि थोक दरमा तरकारी बजारमा कृषिउपज आउने गरेको अध्यक्ष थापा क्षेत्रीले बताउनुभयो । नेपालगञ्जको सागसब्जी बजार बाँकेका किसानले व्यावसायिक रुपमा उत्पादन गरेको फूलगोभी, बन्दागोभी, लौका, फर्सी काँक्रा, बोडी, गोलभेँडा, खुर्सानीलगायतका कृषिउपजले धानेको छ ।

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष, ७२ प्रतिशत उजुरी फर्छ्योट

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८२÷८३ मा ७२ प्रतिशत उजुरी फर्छ्योट गरेको छ ।

स्थापनाको २५औँ वर्ष प्रवेशका अवसरमा केन्द्रले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको वार्षिक प्रतिवेदनमा आव २०८२÷८३ मा प्राप्त दुई हजार १३७ उजुरी र आव २०८१-८२ बाट सरी आएका ४२९ वटा उजुरी गरी कुल दुई हजार ५६६ उजुरीमध्ये एक हजार ८५४ वटा उजुरी फर्छ्योट भएको जनाएको छ ।

विसं २०५९ साल साउन २७ गते प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहने गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३७ बमोजिम केन्द्र स्थापना भएको थियो । केन्द्रले भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण तथा भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले भ्रष्टाचार तथा अनियमिततासम्बन्धी प्राप्त सूचनाको छानबिन तथा उजुरी फर्छ्योट प्राथमिकताका गर्दै आएको छ ।

साथै सार्वजनिक जवाफदेहिताको पदमा रहेका व्यक्तिले आफू तथा आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण तोकिएको समयभित्र पेस गर्नुपर्ने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनलाई पनि केन्द्रले प्राथमिकता दिँदै आएको छ । आर्थिक वर्ष २०८१÷८२ मा सात लाख ६७ हजार ३३ जनाले सम्पत्ति विवरण पेस गरेको तथा पाँच हजार २६५ जनाले सम्पत्ति विवरण पेस पाइएको केन्द्रले जनाएको छ ।

 

विगतका आर्थिक वर्ष तथा उपलब्ध तथ्याङ्कको विश्लेषण गर्दा सम्पत्ति विवरण पेस गर्नेको सङ्ख्यामा क्रमिक वृद्धि हुँदै आएको केन्द्रले जनाएको छ । सार्वजनिक पद धारण गरेका सबै पदाधिकारी तथा कर्मचारीलाई तोकिएको समयभित्र सम्पत्ति विवरण पेस गर्ने कानुनी दायित्वबारे सचेत गराउँदै केन्द्रले यस कार्यलाई अझ प्रभावकारी बनाउँदै लगेको छ । केन्द्रले सचेतनामुलक स्टिकरको सार्वजनिककरण र सार्वजनिक सेवा सन्तुष्टि मापनको फारमको क्यूआर कोड सञ्चालनमा समेत ल्याएको जनाएको छ ।

केन्द्रले दैनिक रूपमा आचारसंहिताको पालना, फाइल ट्रयाकिङ, सवारीसाधन प्रयोगको अवस्था, विचौलियाको नियन्त्रण तथा सेवा प्रवाहको अवस्थालगायत विषयमा अनुगमन, छड्के तथा निगरानी गर्दै आएको जनाएको छ । यस क्रममा विमानस्थल प्रवेश पास, काठमाडौँ उपत्यकाका नदी किनारको जग्गा अतिक्रमणका सम्बन्धमा उपत्यकाका भित्रका नापी कार्यालय, र नापी कार्यालय काभ्रेपलाञ्चोकबाट नक्सा तथा सम्बद्ध कागजात माग गरी सम्बन्धित निकायमा पठाइएको केन्द्रले जनाएको छ ।

साथै झापादेखि कञ्चनपुरसम्मका अधिकांश कार्यालयबाट गरिएका कामकारबाही तथा सेवा प्रवाहको विशेष सुक्ष्म निगरानी र छड्के गरी निर्देशन दिनुका साथै सम्बन्धित पदाधिकारी र कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित अख्तियारवालासमक्ष लेखी पठाइएको प्रतिवेदनमा उल्लेख छ ।

केन्द्रका अनुसार आव २०८२÷८३ मा कुल एक हजार ५७७ कार्यालयको अनुगमन, छड्के तथा निगरानी गरिएको थियो । जसमा समय पालना नगर्ने नौ हजार ६९७ तथा तोकिएको पोसाक नलगाउने एक हजार ४०४ जना गरी ११ हजार १०१ जनालाई कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको छ ।

केन्द्रका अनुसार समीक्षा अवधिमा प्राविधिक परीक्षणको आवश्यकता तथा महत्त्वबारे प्राविधिक जनशक्तिमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले विराटनगर, जनकपुरधाम, धुलिखेल, पोखरा, भैरहवा, वीरेन्द्रनगर र धनगढीमा ८२८ जना इन्जिनियरको सहभागितामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । परीक्षणका क्रममा पहिचान भएका कैफियत तथा अपरिपालनाका विषयमा सुधारका लागि सम्बन्धित निकायमा ‘नन–कन्फर्मेसन रिपोर्ट (एनसीआर)सहित लेखी पठाइएको छ ।

केन्द्रले नियमित अनुगमन गरेका १८४ आयोजना तथा प्राविधिक परीक्षण गरिएका छ आयोजनाको कार्यान्वयनका क्रममा देखिएका कमी–कमजोरी तथा जोखिम पहिचान गरी समयमै सुधार गर्न सहयोग पुगेको जनाएको छ । साथै आयोजनाको व्यवस्थापनमा पारदर्शिता, गुणस्तर, जवाफदेहिता तथा प्रभावकारिता अभिवृद्धि हुने विश्वास केन्द्रले लिएको छ ।

भ्रष्टाचारजन्य क्रियाकलापको रोकथाम तथा नियन्त्रणका लागि जनस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्लास्तरमा भ्रष्टाचारविरुद्धका सचेतनामूलक तथा स्थानीय तहका पदाधिकारी एवं कर्मचारीका लागि सदाचार शिक्षासम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरिएको केन्द्रले जनाएको छ । यस्ता कार्यक्रम मार्फत सार्वजनिक पदाधिकारी तथा कर्मचारीमा नैतिकता, सदाचार, जवाफदेहिता र भ्रष्टाचार रोकथाम तथा सुशासन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सेती पुल निर्माणले गति लियो

गण्डकी। पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ ।

विसं २०७९ साउनमा ठेक्का सम्झौता भएको उक्त पुल निर्माणमा सुरुमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको हो ।

गत जेठमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणाधानीन पुलेका निरीक्षण गरी निर्धारित समयमै काम सक्न आयोजना कार्यालय र निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो ।

पुल निर्माणका लागि पछिल्लोपटक थपिएको म्याद आगामी फागनुसम्म रहेको आयोजना कार्यालयले जनाएको छ । अहिले पुलको ‘डाउनस्ट्रिम’ तर्फ टावर निर्माण र पाइप राख्ने काम भइरहेको आयोजनाको पश्चिम खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले बताउनुभयो । “बिहीबारदेखि स्ल्याब ढलानको काम सुरु हुन्छ”, उहाँले भन्नुभयो, “पुलमा रहेका चारवटै टावरमा पनि ७५ प्रतिशत काम सकिएको छ ।”

थपिएको म्यादभित्रै काम सक्ने गरी निर्माण कम्पनीलाई सहजीकरण गरिएको प्रमुख इन्जिनियर कुँवरले बताउनुभयो । ‘डाउनस्ट्रिम’तर्फको ढलानपछि ‘अपस्ट्रिम’मा टावर निर्माण र पाइप जडानको काम सुरु हुने उहाँको भनाइ छ । भ्याटबाहेक रु. ९४ करोडको ठेक्कामा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको हो । यसअघि मापदण्डभित्रका संरचना समयमा नहटाउँदा पुल निर्माणको काम पनि सुस्त भएको थियो । पुलका लागि चाहिने केबललगायतका सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले पनि काममा ढिलाइ हुँदै आएको थियो ।

‘केबल–स्टेड’ प्रविधिको उक्त पुल एसियाली विकास बैङ्कको ऋण सहयोगमा सडक विभागमार्फत निर्माण भइरहेको हो । छ लेनको उक्त सडकमा अहिले रहेको चाइना पुलको तल र माथि गरि आकर्षक बनावटका दुईवटा ‘सिग्नेचर’ पुल बन्ने प्रमुख इन्जिनियर कुँवरले बताउनुभयो । पुरानो प्रविधिको भन्दा अहिले बनाउन लागि पुल डिजाइनका हिसाबले आकर्षक रहेको जनाइएको छ । ‘सिग्नेचर’ पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण पनि बढ्नेछ ।

एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग भएको प्रमुख इन्जिनियर कुँवरले बताउनुभयो । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो । पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत पोखराको सेती र तनहुँको मादी नदीमा सिग्नेचर पुल निर्माणाधीन अवस्थामा छन् ।

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका खोप कार्यक्रममा व्यापक परिवर्तन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास दशकौँदेखिको वैज्ञानिक प्रमाणविपरीत रहेको जनाएको छ ।

राष्ट्रपति ट्रम्पले सोमबार विद्यालयमा अनिवार्य गरिएका खोपसम्बन्धी नियमको पुनरावलोकन गर्न आदेश दिनुभएको थियो । उहाँले दादुरा, मम्प्स र रुबेला (एमएमआर) विरुद्धको संयुक्त खोपलाई तीन छुट्टाछुट्टै मात्रामा दिनुपर्ने मागसमेत दोहोर्याउनुभएको थियो ।

अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियरले लामो समयदेखि एमएमआर खोप र अटिजमबीच सम्बन्ध रहेको दाबी गर्दै आउनुभएको छ । वैज्ञानिक अनुसन्धानले भने खोप र अटिजमबीच कुनै सम्बन्ध रहेको पुष्टि गरेको छैन ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले एमएमआरलगायत खोप सुरक्षित रहेको र त्यसले अटिजम नगराउने वैज्ञानिक प्रमाण स्पष्ट रहेको बताउनुभयो ।

“खोपसम्बन्धी नीति राजनीतिक प्रभावबाट नभई उपलब्ध उत्कृष्ट वैज्ञानिक प्रमाणको गहन, स्वतन्त्र र पारदर्शी समीक्षामा आधारित हुनुपर्छ,” उहाँले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्नुभएको छ ।

अमेरिकी खोप नीतिमा हालै गरिएका परिवर्तन दशकौँदेखिको प्रमाणसँग मेल नखाएकोमा डब्ल्यूएचओ चिन्तित रहेको उहाँले बताउनुभयो । उक्त प्रमाणले बालबालिका कुन समयमा विभिन्न रोगको बढी जोखिममा हुन्छन् भन्ने देखाउने उहाँको भनाइ छ ।

टेड्रोसका अनुसार बालबालिकालाई खोपबाट बलियो सुरक्षा प्रदान गर्न आवश्यक मात्रा र एकैपटक दिन मिल्ने खोपबारे वैज्ञानिक प्रमाणलाई ध्यान दिनुपर्छ । विश्वभरबाट नयाँ तथ्याङ्क प्राप्त हुँदै गएसँगै खोपसम्बन्धी प्रमाणको निरन्तर समीक्षा गरिने उहाँले बताउनुभयो ।

खोप दिन अनावश्यक ढिलाइ गर्ने वा विभिन्न खोपको मात्रा छुट्टाछुट्टै दिने कार्यले खोपलाई सुरक्षित नबनाउने भन्दै उहाँले यसबाट बालबालिका रोगको जोखिममा पर्न सक्ने चेतावनी दिनुभयो ।

केनेडीले दशकौँदेखि प्रयोग हुँदै आएका खोपसहित विभिन्न खोपको व्यापक समीक्षा अघि बढाउनुभएको छ । उहाँले बालबालिकाको खोप तालिकामा परिवर्तन गर्नुका साथै नयाँ खोप विकासका लागि दिइने बजेटमा कटौती गर्नुभएको छ । यी कदमको अमेरिकी तथा अन्तरराष्ट्रिय चिकित्सा र वैज्ञानिक समुदायले आलोचना गरेको छ ।

यस वर्षको सुरुमा अमेरिकी अदालतले केनेडीले अघि बढाएका केही खोप नीतिसम्बन्धी परिवर्तन रोकिदिएको थियो ।

निजी क्षेत्रलाई निरुत्साहित र त्रसित बनाए अर्थतन्त्रमा गम्भीर असर पर्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले निजी क्षेत्रलाई नियन्त्रण र शंकाको दृष्टिले हेर्ने सरकारी नीतिले मुलुकको अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने भन्दै व्यावसायिक वातावरण सुधार गर्न सरकारसँग माग गरेको छ।

सभापति गगनकुमार थापाको सभापतित्वमा जारी केन्द्रीय कार्यसमिति बैठकले निजी क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्ड भन्दै सरकारले संरक्षण, प्रोत्साहन र सहजीकरणको नीति लिनुपर्ने निर्णय गरेको हो।

कांग्रेसका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा निजी क्षेत्रको योगदान ८१.५५ प्रतिशत, पूँजी निर्माणमा ७६.९ प्रतिशत, राजस्वमा ८० प्रतिशतभन्दा बढी र रोजगारीमा करिब ८६ प्रतिशत रहेको छ। करिब ५५ लाख नागरिक निजी क्षेत्रमा आत्मनिर्भर रहेको तथा साना, घरेलु तथा मझौला उद्योगले मात्रै ४५ लाखभन्दा बढी रोजगारी सिर्जना गरेको कांग्रेसको दाबी छ।

सरकार गठनपछि अर्थतन्त्र सुधारका लागि चालिने सकारात्मक कदममा सहयोग गर्ने प्रतिबद्धता जनाए पनि पछिल्लो समय निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण नियन्त्रणमुखी बनेको कांग्रेसको आरोप छ।

कांग्रेस प्रवक्ता देवराज चालीसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रलाई निरुत्साहित र त्रसित बनाएर मुलुकको समृद्धि सम्भव छैन। सरकार निजी क्षेत्रलाई नियन्त्रण र शंकाको नजरले हेर्ने दृष्टिकोण छाडेर संरक्षण, प्रोत्साहन र सहजीकरणको नीति लिनुपर्छ।’

एनआरएनएको १५ बुँदे सङ्कल्पसहित ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली डायस्पोराको अधिकार, नेपालको आर्थिक विकासमा लगानी र ज्ञान सीप परिचालन, सुरक्षित आप्रवासन, श्रमिक अधिकार, महिला तथा युवा सहभागिता र संस्थागत एकतासहितका विषयलाई प्राथमिकतामा राख्दै १५ बुँदे ‘डब्लिन घोषणापत्र २०२६’ जारी गर्दै समापन भएको छ ।

‘पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता’ मूल नाराका साथ आयरल्याण्डको राजधानी डब्लिनमा यही साउन २५ र २६ गते सम्पन्न उक्त सम्मेलनले नेपाल र नेपाली डायस्पोराबीचको सम्बन्धलाई थप सुदृढ, परिणाममुखी र दीर्घकालीन बनाउने लक्ष्यसहित विभिन्न महत्वपूर्ण विषयमा सङ्कल्प गरेको छ ।

तीसभन्दा बढी देशबाट १५० भन्दा बढी सहभागी प्रत्यक्ष रूपमा तथा भर्चुअल माध्यमसमेतबाट सयौँको सहभागिता रहेको सो सम्मेलनमा गैरआवासीय नेपाली नागरिकता तथा कल्याण, युरोपेली लगानी, आर्थिक तथा श्रम कूटनीति, क्षेत्रीय चुनौती र अवसर, महिला तथा युवा सहभागिता, दोस्रो पुस्ताको संलग्नता, डायस्पोराको ज्ञान तथा नवप्रवर्तन, एनआरएनएको रिब्रान्डिङलगायत विषयमा गहन छलफल भएको एनआरएनएले जनाएको छ ।

सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले नेपाली उत्पादन, पर्यटन, संस्कृति र कलालाई अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न तथा नेपाली उत्पादनको बजार विस्तार, बजारीकरण र ब्रान्डिङमा डायस्पोराको सञ्जाल, व्यावसायिक पहुँच र अनुभवलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । सम्मेलनलाई नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल तथा एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले समेत भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको थियो ।

सम्मेलनमा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम, आप्रवासन तथा डायस्पोरा समन्वय महाशाखाका उपसचिव कृष्णकुमार सुवेदी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, निजी क्षेत्र, एनआरएनए आइसिसी तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी एवं प्रतिनिधि, उद्यमी, विज्ञ, महिला तथा युवा नेतृत्व, दोस्रो पुस्ताका गैरआवासीय नेपाली र विभिन्न नेपाली समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

दीपक भट्ट र शुलभ अग्रवाललाई फेरि पुर्पक्षका लागि थुनामा पठाइयो, विष्णु पौडेललाई साधारण तारेख

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो अभियोगमा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले मंगलबार दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

यसअघि नै सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दामा थुनामा रहेका भट्ट र अग्रवाललाई दोस्रो मुद्दाको सिलसिलामा अदालतमा उपस्थित गराइएको थियो। सुनुवाइपछि अदालतले उनीहरूलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

सोही मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई भने साधारण तारेखमा छाड्ने आदेश भएको छ।

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौँ – बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको प्रभावकारी कार्यान्वयन र समसामयिक सुधारमा सरोकारवालाले जोड दिनुभएको छ ।

नेपाल कानुन समाज र संविधान निगरानी समूहले आज संयुक्त रुपमा आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा उहाँहरुले नेपालको विशिष्ट भूराजनीतिक अवस्थिति, आर्थिक सबलता र छिमेकी राष्ट्रको बढ्दो सामरिक प्रभावकाबीच परराष्ट्र नीतिलाई थप सन्तुलित र परिणाममुखी बनाउनुपर्ने औँल्याउनुभयो ।

नेपालको संविधानले निर्दिष्ट गरेबमोजिम देशको भौगोलिक अवस्थिति, आर्थिक सामाजिक तथा सांस्कृतिक परिवेशका आधारमा नेपालले सदा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै आएको उहाँहरुको भनाइ थियो ।

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदासले असंलग्नता नै नेपालको परराष्ट्र नीतिको मुख्य आधार भएकाले छिमेकीसँग सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले आन्तरिक एकता सुदृढ गर्दै परराष्ट्र मामलामा स्वतन्त्र निर्णय गर्ने क्षमता विकास गर्नुपर्ने धारणा राख्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता डा राजन भट्टराईले नेपालले आफ्नो राष्ट्रिय हितका आधारमा छिमेकीसँग सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वमुख्यसचिव शङ्करदास बैरागीले ‘नेपालको परराष्ट्र नीतिः चुनौती, अभ्यास र आगामी मार्गदर्शन’ विषयमा कार्यपत्र प्रस्ततु गर्दै परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिलाई एकापसमा परिपूरक हुने गरी एकीकृत ढाँचामा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

अर्का पूर्वमुख्यसचिव लीलामणि पौड्यालले अन्तरराष्ट्रिय जगतसँगको सम्बन्धलाई सन्तुलित र राष्ट्रहितको पक्षमा कायम गर्दै मुलुकको आर्थिक विकास र समृद्धिलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । पूर्वमुख्यसचिव एकनारायण अर्यालले राष्ट्रको महत्वपूर्ण विषय भएकाले व्यक्ति र दल विशेषका आधारमा नभई परराष्ट्र नीतिका विषयमा छलफल गर्न विशिष्ट खालको संरचना आवश्यक भएको बताउनुभयो ।

पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले देशको परराष्ट्र नीति दल विशेषको नभई अन्तरराष्ट्रिय सम्बन्धका आधारमा स्वतन्त्र र सन्तुलित बनाइनुपर्ने बताउनुभयो ।

‘एलपिजीको अधिक खपत हुने क्षेत्रमा संयुक्त अनुगमन गर्नुपर्‍यो’ – मन्त्री गौरी कुमारी

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले एलपिजी ग्यास धेरै खपत गर्ने उद्योग एवं तारे होटलको अनुगमन गर्न आग्रह गर्नुभएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आज सिंहदरबारमा आयोजना गरेको ‘अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापनबारे सरोकारवाला निकायसँगको छलफल’मा उहाँले खाना पकाउने ग्यासको अधिक भण्डारणका विषयमा संयुक्त अनुगमन गर्न आग्रह गर्नुभयो ।

संसदीय समिति, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र उपभोक्ता अधिकारकर्मीहरूको संयुक्त अनुगमन टोलीले अनुगमन गरेर वास्तविकता पत्ता लगाउने र समस्याको समाधान गर्नुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो । सांसद तथा सरोकारवाला निकायले उठाएको जिज्ञासाको उत्तर दिँदै उहाँले अनुगमनबाट देखिएको कैफियतमा कारबाही गर्न मन्त्रालय तयार बताउनुभयो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पाँचतारे होटलहरूले अत्यधिक मात्रामा ग्यास स्टक राखेकाले सर्वसाधारणले ग्यासको हाहाकार भोग्नुपरेको गुनासो गर्नुभयो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले अहिले देखिएको ग्यास तथा खाद्य आपूर्तिमा देखिएको समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर समस्याको समाधान गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले पेट्रोलियम पदार्थसम्बन्धी ऐन र कालोबजारीविरुद्धको ऐन ल्याउनको लागि आवश्यक तयारीमा जुट्नका लागि निर्देशन दिनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले मन्त्रालयले आफ्नो क्षमता र सामथ्र्यले भ्याएसम्म स्पष्ट योजना बनाएर अघि बढ्न खोजेको स्पष्ट पार्नुभयो । उहाँले मन्त्रालय र मातहतको निकायसँग सीमित स्रोतसाधनको बाबजुत पनि अधिकतम बजार अनुगमन गर्ने प्रयास गर्दै आइरहेको बताउनुभयो ।

राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

सिरहा – पाँच वर्षअघि सङ्घीय सरकारको ७० प्रतिशत र लहान नगरपालिकाको ३० प्रतिशत लागतमा निर्माण सुरु भएको लहान–१७ स्थित देवीदह पर्यटकीय आयोजना अहिले अलपत्र अवस्थामा छ । बीस बिघा क्षेत्रफलमा फैलिएको धार्मिक तथा पर्यटकीय क्षेत्रको सौन्दर्यकरणका लागि आर्थिक वर्ष २०७७/७८ मा रु छ करोड ९३ लाख बजेट स्वीकृत भएको थियो । निर्माण कम्पनी ‘विकास एण्ड बस्नेत कन्स्ट्रक्सन प्रालि’सँग सम्झौता भई करिब २० प्रतिशत काम सकिए पनि त्यसपछि आयोजना अघि बढ्न सकेको छैन । विगत चार वर्षदेखि निर्माणको काम रोकिएको छ ।

लहान बजारदेखि देवीदहसम्म पुग्ने नौ किलोमिटर सडक ग्राभेल भइसकेको थियो भने पोखरी परिसरमा बन्ने अन्य संरचनाको तयारीसमेत अघि बढेको थियो । चारैतिर घेराबार, इन्टरलक, बोटिङ, स्वीमिङ पुललगायतका संरचना बनाएर यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने महत्वाकाङ्क्षी योजना अघि सारिएको थियो । देवीदह वन उपभोक्ता समितिका अध्यक्ष कपलेश्वर यादव भन्नुहुन्छ, “त्यतिबेला पोखरीलाई व्यवस्थित गरेर पर्यटकीय गन्तव्य बनाउने योजना निकै उत्साहका साथ अघि बढेको थियो । सडक निर्माणदेखि पोखरी परिसरमा विभिन्न संरचना बनाउने तयारीसम्म काम अगाडि बढिसकेको थियो । आयोजना पूरा भएको भए देवीदहको स्वरूप नै फेरिन सक्थ्यो ।” तर अहिले पोखरी वरिपरि निर्माण हुन थालेका संरचनाका अवशेष मात्रै देखिन्छन् ।

विसं २०७९ को स्थानीय तह निर्वाचनपछि परिस्थिति फेरियो । लहान–१७ का वडाध्यक्ष प्रथमलाल चौधरीका अनुसार, नयाँ नेतृत्व आएपछि पूर्वनगरप्रमुख मुनि साहको पालामा सुरु भएका आयोजनाहरूको सूची तयार गरी नवीकरण र बजेट निकासा रोकियो ।

सङ्घीय सरकारको करिब रु ८० लाख खर्च भइसकेपछि आयोजनाको बाँकी काम रोकियो । नगरपालिकाले आफ्नो हिस्सामा रहेको ३० प्रतिशत बजेट व्यवस्थापन नगर्दा र भुक्तानी नदिँदा अन्ततः निर्माण कम्पनीले काम अलपत्र छाडेर हिँड्न बाध्य भएको वडाध्यक्ष चौधरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले पटक–पटक यो आयोजना निरन्तरता दिन आग्रह गर्यौं । तर बजेट व्यवस्थापन भएन । अन्ततः निर्माण कम्पनी अधुरै काम छाडेर हिँड्न बाध्य भयो ।”

तर अहिलेका नगरप्रमुख महेशप्रसाद चौधरी भने योजनाहरू राजनीतिक पूर्वाग्रहका कारण नभई वित्तीय जटिलताका कारण रोकिएको बताउनुहुन्छ । “हामी विकासविरोधी होइनौँ, न त पूर्वाग्रह राखेर काम रोक्ने पक्षमा छौँ । विगतको नेतृत्वले प्रक्रियागत वैधता, प्राविधिक तयारी र बजेटको स्रोत सुनिश्चितता नै नगरी केवल लोकप्रिय बन्ने हतारोमा ठूला योजनाहरू अघि बढाएको देखिन्छ,” नगरप्रमुख चौधरीले स्पष्ट पार्नुभयो, “स्रोत नखुलेका र हतारमा ठेक्का लगाइएका आयोजनाले गर्दा पालिकामा गम्भीर वित्तीय जटिलता पैदा हुने भएकाले कतिपय आयोजना रोकिएका हुन् । म निर्वाचित भएर आइसकेपछि कतिपय पुराना आयोजनाहरूको प्राविधिक मूल्याङ्कन, कानुनी प्रक्रिया र स्रोत व्यवस्थापनको अवस्था हेरेर पारदर्शी रूपमा अगाडि बढाइएको छ ।”

सिरहाका अन्य नगरपालिकाहरूमा पनि बहुवर्षीय आयोजनाहरू राजनीतिक खिचातानी, नयाँ नेतृत्वको बेवास्ता र बजेटको स्रोत सुनिश्चितताबिना सुरु गरिएका आयोजनाहरू अहिले बिचमै रोकिएका छन् ।

धनगढीमाई नगरपालिकामा तत्कालीन नगरप्रमुख हरिनारायण चौधरीको कार्यकालमा २०७५ सालमा रु १७ करोड लागतमा १५ श्ययाको नगर अस्पतालको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरी निर्माण सुरु गरिएको थियो । दुई वर्षमा सक्नुपर्ने यो आयोजना नयाँ नेतृत्वमा शिवशङ्कर महतो आएपछि भुक्तानी रोकिएर अधुरै छ, जसका कारण स्थानीयवासी पुरानो जीर्ण स्वास्थ्यचौकीबाटै सेवा लिन बाध्य छन् । यसका साथै जनता मावि बेतहा, जनता मावि पूर्वहनुमाननगर, जनता मावि तीनकोनी प्राविधिक विद्यालय र मदन भण्डारी माविका निर्माणाधीन भवनहरू पनि बजेट अभावमा रोकिएका छन् ।

धनगढीमाई–१० मा २०७५ सालमा भारतीय दूतावासको सहयोगमा निर्माण गरिएको देशकै एकमात्र स्थानीय तहद्वारा सञ्चालित प्राकृतिक अस्पताल पनि सञ्चालनको अन्तिम तयारीमा पुगेर बन्द हुने अवस्थामा छ । पूर्व नगरप्रमुख हरिनारायण चौधरी भन्नुहुन्छ, “माटो, पानी, बाफ र मालिसबाट उपचार गरिने यो अस्पताल पछिल्लो नेतृत्वको चरम बेवास्ताका कारण बन्द हुन पुगेको हो ।” नयाँ नेतृत्वले पुरानो आयोजनाको दायित्व स्वीकार नगर्दा स्थानीय आयोजना लथालिङ्ग भएको उहाँको भनाइ छ ।

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा नेपाली सेनाको हेलिकप्टर निःशुल्क व्यवस्था गरी दुवै जनालाई समयमै सुविधासम्पन्न स्वास्थ्य संस्थामा पुर्‍याइएको हो ।

प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरका अनुसार थुलुङ दूधकोशी गाउँपालिका–७ की ३८ वर्षीया शारदा बस्नेतलाई प्रसूति जटिलता देखिएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित थापाथली प्रसूति गृह लगिएको हो । बस्नेत गत सोमबार जिल्ला अस्पताल फाप्लुमा भर्ना हुनुभएको थियो । उहाँले बुधबार बिहान ७ः०० बजे बच्चा जन्माउनु भए पनि स्वास्थ्यमा जटिलता देखिएपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पताल पठाइएको हो ।

“प्रसूति जटिलता देखिएपछि जिल्ला अस्पताल फाप्लुबाट थप उपचारका लागि आमा र शिशु दुवैलाई काठमाडौँ रिफर गरिएको थियो । तत्काल उद्धार आवश्यक देखिएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टर निःशुल्क व्यवस्था गरी उहाँलाई थापाथली प्रसूति गृह पठाइएको हो,” प्रमुख जिल्ला अधिकारी थापामगरले भन्नुभयो ।

त्यसैगरी यही साउन २६ गते राति आत्महत्याको प्रयास गरेका २९ वर्षीय एक पुरुषलाई समेत जिल्ला अस्पताल फाप्लुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ । उनलाई पनि सोही हेलिकप्टरमार्फत काठमाडौँस्थित ट्रमा सेन्टर लगिएको प्रमुख जिल्ला अधिकारी थापामगरले जानकारी दिनुभयो ।

“दुवै जनालाई समयमै उपचार सम्भव हुने स्वास्थ्य संस्थामा पुर्‍याउन सकियो । दुर्गम जिल्लामा गम्भीर स्वास्थ्य समस्या भएका नागरिकको उपचारमा ढिलाइ नहोस् भन्ने उद्देश्यले सम्बन्धित निकायसँग तत्काल समन्वय गरी हवाई उद्धारको व्यवस्था मिलाइएको हो,” उहाँले भन्नुभयो ।

प्रहरी खरिद प्रक्रियामा अनियमितताको आरोप, आईजीपीलाई जिम्मेवारीबाट हटाएर निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले गत फागुन २१ गते सम्पन्न निर्वाचनका लागि नेपाल प्रहरीले गरेको पोसाक खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्।

बुधबार बसेको संघीय संसद्को सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) माथि नै प्रश्न उठिसकेको अवस्थामा उनलाई जिम्मेवारीमै राखेर निष्पक्ष छानबिन हुन नसक्ने दाबी गरे।

उनले आरोपित व्यक्तिहरूलाई जिम्मेवारीबाट अलग राखेर तत्काल छानबिन अघि बढाउनुपर्ने माग गरे। तत्कालीन गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षकलाई जिम्मेवारीबाट हटाएर निष्पक्ष अनुसन्धान गर्नुपर्ने उनको भनाइ थियो।

‘तत्काल छानबिन समिति गठन हुनुप¥यो। त्यो समिति बन्दै गर्दा आरोपित मानिसहरूलाई त्यो जिम्मेवारीमा बस्ने अधिकार हुँदैन। जिम्मेवारीबाट बाहिर राख्नुपर्छ र निष्पक्ष ढङ्गले छानबिन गरिनुपर्छ,’ सुनारले भने।

उनले प्रहरीको बर्दीमै बसेर आफूमाथि लागेको आरोपको छानबिन गर्न नमिल्ने भन्दै विषयलाई फौजदारी अभियोगअन्तर्गत अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए।

‘बर्दी लाएर छानबिन हुँदैन। बर्दी लाएर बसेर “ल, मलाई छानबिन गर” भन्न पाइँदैन। जसरी अरूमाथि प्रहरीले छानबिन गर्छ, त्यसरी नै यो मुद्दामा पनि गर्नुपर्छ,’ उनले भने।

अमेरिका– इरान संवादलाई सहज बनाउन निरन्तर प्रयासरत पाकिस्तान

काठमाडाैँ । पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउन र इस्लामाबाद समझदारी ज्ञापनपत्र (एमओयू) लाई अगाडि बढाउन मद्दत गर्न निरन्तर प्रयास गरिरहेको जनाएको छ।

पत्रकारहरुसँगको साप्ताहिक साक्षतकारमा बोल्दै पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले पाकिस्तान वार्ता र कूटनीतिका माध्यमबाट सङ्कट समाधान गर्न सहयोग गर्ने निरन्तर प्रयासरत रहेको बताएका हुन्।

पाकिस्तान शान्तिका लागि आशावादी रहेको बताउँदै उहाँले तनाव बढेपछि पनि अमेरिका र इरानले वार्ता गरिरहेको बताए।

अन्द्राबीले जारी चुनौतीहरूको बाबजुद इस्लामाबादले शान्ति प्रवद्र्धन गर्ने प्रयासहरू जारी राख्ने कुरामा जोड दिँदै पाकिस्तान बढ्दो तनावबाट निरुत्साहित नभएको र स्थितिमा सुधार हुँदा आशावादी रहेको बताए।

बाँकी चुनौतीहरूको समाधान गर्ने उद्देश्यले रचनात्मक वार्ताको निरन्तरता सुनिश्चित गर्न पाकिस्तानले प्रत्यक्ष र अप्रत्यक्ष माध्यमबाट विरोध गर्नेहरुको प्रयासलाई प्रतिरोध जारी राख्ने प्रवक्ता अन्द्राबीले बताए।

पाकिस्तानका आन्तरिक मन्त्री मोहसिन नकवी हाल इरानको भ्रमणमा हुनुहन्छ जहाँ उहाँले इरानी नेतृत्वसँग शान्ति प्रयास र द्विपक्षीय सम्बन्धबारे छलफल गरिरहको जनाइएको छ।

लिबियामा द्वन्द्व अन्त्य गरी हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान

काठमाडाैँ । संयुक्त राष्ट्र सहायता मिसन (युएनएसएमआईएल) ले लिबियाको पश्चिमी सहर जावियामा भएको झडपलाई तत्काल रोक्न र हिंसाका लागि जिम्मेवार व्यक्तिहरूले जवाफदेहीता अपनाउन आह्वान गरेको छ ।

एक विज्ञप्तिमा मिसनले जावियामा चलिरहेको झडप र सोर्मन सहरमा लडाइँको निन्दा गर्दै सम्बन्धित सबै पक्षहरूलाई शत्रुता अन्त्य गर्न र तनाव बढाउन सक्ने कुनै पनि उत्तेजक कार्यहरूबाट टाढा रहन आग्रह गरेको छ ।

विज्ञप्तिमा उक्त झडपले सर्वसाधारणलाई जोखिममा पारेको उल्लेख गर्दै लडाइँको क्रममा निर्दोश नागरिकको मृत्यु भएको र कयौँ घाइते भएको जनाइएको छ । साथै निजी तथा सार्वजनिक सम्पत्ति लगायत महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको जनाइएको छ ।

मिसनले सार्वजनिक सुरक्षामा चिन्ता व्यक्त गर्दै सोरमानमा भएको झडपले धेरै कैदीहरू भाग्न सक्ने अवस्था पनि निम्त्यायो उल्लेख गरेको छ । मिसनले सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानून र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको पालना गर्न आग्रह गर्दै मानव वसोवास भएका क्षेत्रहरूमा वा नजिकै हतियारको प्रयोग अस्वीकार्य भएको कुरामा जोड दिएको छ ।

यसले लिबियाका अधिकारीहरूलाई मानव वसोवास भएका क्षेत्रहरूबाट हतियारहरू फिर्ता लिन, सहमती गर्ने प्रयासहरूलाई समर्थन गर्न, थप हिंसा रोक्न, र नागरिकका र महत्त्वपूर्ण पूर्वाधारको रक्षा गर्न एक समन्वित संयन्त्र स्थापना गर्न पनि आह्वान गरेको छ ।