`

भारतद्वारा अमेरिका २९ रनले पराजित

काठमाडौं । आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात गरेको छ । शनिबार राति सम्पन्न खेलमा भारतले अमेरिकालाई २९ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।

एक सय ६२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै मात्र एक सय ३२ रन बनायो। उसका लागि सुभम् रजानेले ३७, सञ्जय कृष्णमुर्तिले ३७ रन बनाए । यस्तै मिलिण्द कुमारले ३४ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।भारतका लागि मोहमद सिराजले तीन विकेट हात पारे । अर्शदीप सिंह र अक्षर पटेलको नाममा दुई दुई विकेट रह्यो ।

त्यसअघि वानखेडे क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।भारतीय टोलीका कप्तान सुर्यकुमार यादवले विस्फोटक ब्याटिङ गर्दै शानदार अर्धशतक प्रहार गरे । ४९ बलको सामना गरेका यादवले १० चौका र ४ छक्कासहित ८४ रन बनाए । इशान पाण्डेले २० रन बनाए भने तिलक बर्माले २५ रनको योगदान दिए । अभिषेक शर्मा शून्य रनमा आउट भए । अक्षर पटेलले १४ रन बनाए ।

बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपिभी खोप लगाइँदै

बैतडी। पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप जिल्लाका दुई हजार ४५३ जना किशोरीलाई लगाइने भएको छ ।स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टका अनुसार उक्त खोप अभियान यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म जिल्लाभरि सञ्चालन हुँदैछ ।

जिल्लाभरिका १० वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० वर्षका किशोरी र गत वर्षको अभियानमा छुटेका किशोरीलाई खोप दिइने उहाँले बताउनुभयो ।

गत वर्ष अभियानका रूपमा किशोरीहरूलाई एचपिभी खोप दिइएको थियो भने यो वर्ष नियमित खोपमा समावेश गरिएको खोप हो । बैतडीमा यो वर्ष कक्षा ६ मा अध्ययनरत दुई हजार ३८६, गत वर्षको अभियानमा छुटेका ६१ जना र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका छ किशोरी गरेर दुई हजार ४५३ जनालाई खोप दिइने जनाएको छ ।

गत वर्ष कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरी गरेर १० हजार ३१० जनालाई एचपिभी खोप दिइएको थियो । यो वर्ष किशोरीहरूलाई एचपिभी खोप दिनका लागि स्थानीय तहहरूले आफ्नो पालिकामा तयारी भइरहेको र प्रत्येक विद्यालयलाई खोप केन्द्र तोकिएको छ ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप पूर्ण सुरक्षित रहेकाले निर्धक्क रूपमा लगाउनुपर्ने जिल्ला अस्पतालका निमित्त प्रमुख डा पविन उपाध्यायले बताउनुभयो । नेपालमा पाठेघरको मुखको क्यान्सरबाट बर्सेनि महिलाहरूले ज्यान गुमाउनुपर्ने बाध्यता रहेकाले त्यो रोग लाग्नै नदिन खोप लगाउनु अनिवार्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११४ रुपैयाँ १६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८६ पैसा र बिक्रीदर २० रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८७ पैसा र बिक्रीदर नौ रुपैयाँ ९१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६ रुपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८६ पैसा र बिक्रीदर २२ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ०२ र बिक्रीदर ३७७ रुपैयाँ ५८ पैसा रहेको छ।

यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना

मुस्ताङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ ।जोमसोमस्थित इन्द्रबक्स गणका अनुसार नेपाल–चीन सिमानासँग जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित थुर्लङफाँट र तल्लो मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित इन्द्र बक्स गणमा बुधबारदेखि निर्वाचन सुरक्षा बेस स्थापना भएको जनाएको छ ।

सरकारले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, भयरहित शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल बनाउन देशभर सेना परिचालन गर्ने निर्णय भएअनुसार मुस्ताङमा पनि निर्वाचन सुरक्षा बेस स्थापना गरिएको जोमसोमस्थित इन्द्र बक्स गणले जनाएको छ ।

निर्वाचन सुरक्षाका लागि स्थापना गरिएको सेनाको सुरक्षा बेस क्याम्पबाट मुस्ताङमा २४ घण्टामा दुईपटक सेनाले गस्ती गर्न थालेको छ । यहाँ सेनाले निर्वाचन सुरक्षाको वातावरणलाई कायम राख्न हतियारसहित सेनाको टोलीले मुख्य बजार तथा ग्रामीण क्षेत्रमा गस्ती गर्न थालेको हो । सेनाले दिन र रातको समयमा निन्तर निर्वाचन सुरक्षा गस्ती गर्न थालेका हुन् ।

इन्द्रबक्स गणका अनुसार माथिल्लो मुस्ताङ क्षेत्रमा लोमान्थाङस्थित थुर्लङ फाँटमा रहेको निर्वाचन सुरक्षा बेसले र तल्लो क्षेत्रमा इन्द्रबक्स गणस्थित निर्वाचन क्षेत्रले सुरक्षा गस्ती गर्नेगरी कार्यक्षेत्र विभाजन गरिएको छ । योसँगै निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न माथिल्लो मुस्ताङस्थित सैनिक निर्वाचन सुरक्षा बेसले निरन्तर गस्ती गर्न थालेको जनाइएको छ ।

त्यसैगरी, सशस्त्र प्रहरी बल नेपालले पनि माथिल्लो मुस्ताङको चराङमा सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेस स्थापना गरिसकेको छ । त्यहाँ एक जना सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा २४ जना सशस्त्र र बाँकी ११ जना निर्वाचन प्रहरी खटाउनेगरी ३५ जना सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा टोली तैनाथ गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले २३५ जना र २६६ जना निर्वाचन प्रहरी परिचालन गर्ने जनाएको छ । प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार जिल्लाभित्र र जिल्ला बाहिरबाट यहाँ छनोट भएका निर्वाचन प्रहरीको २८ माघसम्म अनुशिक्षण तालिम सञ्चालन हुने र त्यसपछि जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका प्रहरी युनिटमा खटाइने जानकारी दिनुभयो । खटिएका प्रहरी सुरक्षाकर्मीले मतदान केन्द्र तथा मतदानस्थलको सुरक्षा तथा नियमित गस्ती गर्ने कार्यलाई तीव्रता दिने जनाएको छ ।

आसन्न निर्वाचनका लागि मुस्ताङका पाँच स्थानीय तहमा गरी ३९ मतदान केन्द्र कायम छन् । पछिल्लो मतदाता नामावली अद्यावधिक हुँदा ११ हजार ३२८ जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुस्ताङमा आठ राजनीतिक दलले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

विश्वकपमा आज नेपाल इंग्ल्यान्डसँग भिड्दै

काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आइतबार नेपालले विश्व विजेता इंग्ल्यान्डको सामना गर्न लागेको हो । यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३ः१५ बजे सुरु हुँदैछ । विश्वकपमा नेपालका सबै खेल मुम्बईको वानखडे रंगशालामा हुँदैछन् ।

नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको थियो । नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लगायो । सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरी विश्व क्रिकेटमा आफूलाई केन्द्रित बनाएको छ । दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो ।

यसअघि दुईपटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन । नेपाल लगातार रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ । सोमपाल कामी तीनपटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

नेपालले आज इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्न लागेको हो । नेपाल विश्वकपमा समूह ‘सी’ मा छ । यो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन् । बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी रेङ्किङका आधारमा स्कटल्यान्डले अवसर पाएको हो ।

विश्वकपमा नेपाली टिमबाट रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम छन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक इंग्ल्यान्डविरुद्ध टी–२० आई खेल्न लागेकाले यो खेल ऐतिहासिक बन्नेछ ।

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा बादल

 

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भागका केही स्थानमा हुस्सु/कुहिरो रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने अन्य भागको मौसम सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति तराई भूभागका केही स्थानहरूमा बादल लाग्ने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने छ र बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

काठमाडौं, माघ २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

यस वर्षको महाशिवरात्रि पर्वको तयारीका लागि गठन गरिएको समिति काठमाडौँ महानगरपालिका, वडा नं ८ कार्यालयलगायत सरोकार भएका निकायका प्रतिनिधिलाई पनि सदस्य राखिएको छ । समिति पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वको तयारीका लागि काम गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति बनाएर पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीका लागि काम भइरहेको कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले जानकारी दिए । मूल समारोह समितिअन्तर्गत सुरक्षा उपसमितिको बैठक शुक्रबार बसेको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको सुरक्षा उपसमितिको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूको पनि उपस्थिति थियो । बैठकमा महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था मिलाउनेबारेमा छलफल भएको उनले सुनाए।

निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

काठमाडौँ । सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनीयता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ ।

निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य नगर्न/नगराउन अनुरोध गरेको हो ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम आचारसंहिता उल्लङ्घनको कार्य गरेको पाइएकाले त्यस्ता कार्यहरू नगर्न/नगराउन अनुरोध गर्दै त्यस्ता कार्य नरोकिए प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने उल्लेख गरेको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइने व्यवस्था छ । त्यसमा जुलुस, आमसभा वा कोणसभा गर्न, सञ्चारमाध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न, निर्वाचन प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्न पाइने व्यवस्था छ ।

आचारसंहिताको यो व्यवस्था पूर्ण पालना गर्नका लागि पटकपटक छलफल, अन्तर्क्रिया र सूचना प्रकाशन गरी जानकारी गराइसकिएको भए तापनि कतिपय राजनीतिक दल, तिनका प्रतिनिधि र उम्मेदवारले उक्त व्यवस्थाको उल्लङ्घन गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्धारित समय अगावै कोणसभा गर्ने, प्रचारप्रसार गर्ने, प्रचारप्रसार सामग्री प्रकाशन तथा प्रसारण गर्ने र घरदैलो कार्यक्रम गरी मतदातालाई प्रभाव पार्ने काम गरिरहेको भन्ने जानकारी प्राप्त भएकाले त्यस्तो कार्य नगर्न/नगराउन निर्वाचन कार्यालयले ध्यानाकर्षण गराएको छ ।

कोही कसैबाट आचारसंहिताको उल्लङ्घन गरी कुनै पनि तरिकाले प्रचारप्रसार गरेको प्रमाण प्राप्त भएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाइने निर्वाचन कार्यालयले सूचित गरेको छ ।

आचारसंहिता अनुगमन अधिकृतहरू मुक्तिराम रिजाल, शिवराम भट्टराई, रोमाकान्त काफ्ले, मुनकुमार केसी, सुनिता सुवेदी र रुक्मागत अर्यालले संयुक्त रूपमा निर्वाचन आचारसंहिताको सम्पूर्ण पक्षका बारेमा ध्यानाकर्षण गराएका छन् ।

सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर्न प्राधिकरणका कर्मचारीलाई निर्देशन

काठमाडौं, माघ २५ । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ ।

प्राधिकरणमा कार्यरत कर्मचारीले प्राधिकरण कर्मचारी सेवा, शर्त, नियमावलीमा भएको आचरणसम्बन्धी व्यवस्थाको पालना सबै कर्मचारीको दायित्व भएको स्मरण गराएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा तथ्य प्रमाणित नभएका काल्पनिक, समाज र कार्यालयको प्रतिष्ठामा आँच पुग्ने गरी सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक प्रभाव बढाउने खालका पोष्ट र प्रतिक्रिया एवम् कार्यालयका पत्रहरु समेत राख्ने प्रवृत्ति बढेकामा प्राधिकरणले आपत्ति जनाएको छ ।

प्राधिकरणका कार्यरत कर्मचारीमा त्यस प्रकारको प्रवृत्ति निरुत्साहित गरी सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, व्यवस्थि र रचनात्मक बनाउन सबै पक्षको सकारात्मक भूमिका आवश्यक रहेका प्राधिकरणका सह निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिए।

प्राधिकरण कर्मचारी सेवा, शर्त नियमावली २०७५ मा व्यवस्था भए बमोजिमको आचरणको उल्लघंन हुने गरी सामाजिक सञ्जालमा कार्यालयको पत्र तथा अन्य अनावश्यक पोष्टहरु नराख्न सूचित गरिएको छ ।

अनावश्यक पोष्ट राखेमा वा प्रतिक्रिया दिएमा त्यस्ता कर्मचारीको विवरण संकलन गरी विनियममा भएको व्यवस्था बमोजिम विभागिय कारवाही समेत हुने सूचनामा स्पष्ट पारिएको छ ।

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार आफ्नो पार्टी क्रियाशील रहेको बताउनुभएको छ ।नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक तथा निर्वाचन परिचालन समिति घोषणा सभा’मा उहाँले जेनजीका भावना सम्बोधन हुनुपर्छ भन्ने कांग्रेसमा कुनै द्विविधा नभएको बताउनुभयो ।

महामन्त्री पौडेलले पार्टीको हालै सम्पन्न दोस्रो विशेष महाधिवेशनले कांग्रेसलाई सुदृढ बनाउनका साथै निर्वाचनमा होमिन सहज भएको बताउनुभयो । उहाँले कांग्रेसको नेतृत्वमा देशमा विकास–निर्माणका गतिविधि बढाउनुपर्छ भन्नुभयो ।

त्यस अवसरमा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य दिलबहादुर घर्ती र पूर्वसहायकमन्त्री रामचन्द्र अधिकारीलाई सम्मान गरिएको थियो ।

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी। गुल्मीका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन् । जिल्ला सुरक्षा समितिले १४५ मतदानस्थलमध्ये ४८ अतिसंवेदनशील, ५७ संवेदनशील र ४० मतदानस्थललाई सामान्य गरी तीन भागमा वर्गीकरण गरेको छ ।

भौगोलिक कठिनाइ, विगतका निर्वाचनमा भएका गतिविधि, सञ्चार सम्पर्क, यातायातको पहुँच, आपराधिक गतिविधि, दलहरूबीचको प्रतिस्पर्धा, सुरक्षा संवेदनशीलतालगायत विषय र अवस्थाको अध्ययन गरी सोही आधारमा उक्त मतदानस्थलको वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो ।

जिल्ला सुरक्षा समिति र निर्वाचन कार्यालयले अतिसंवेदनशील भनिएका उक्त मतदानस्थलको निरीक्षण तथा अवलोकनसमेत गरिसकेको छ । समितिद्वारा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित ढङ्गबाट सम्पन्न गर्नका लागि केन्द्रीय सुरक्षा समितिको निर्देशन अनुसार जिल्लामा दु्रत गतिमा काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

मुसिकोट नगपालिका–४ मा रहेको मुसिकोट माविबाट जनता आधारभूत विद्यालय आरुपाटामा आंशिक रूपमा ५१६ जना मतदातालाई सार्नका लागि समितिले गरेको सिफारिस आयोगबाट स्वीकृत भएको समितिका अध्यक्ष गैह्रेले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस पटकको निर्वाचनका लागि जिल्लामा तीन वटा मतदानस्थल थप गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मतदानस्थल पुनरावोलकन समितिको सिफारिसमा निर्वाचन आयोगद्वारा उक्त मतदानस्थल थप गरिएको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिनुभयो ।

नयाँ थप गरिएका मतदानस्थलमा सत्यवती गाउँपालिका‐६ को वडा कार्यालय, मुसिकोट‐१ स्थित सेवा केन्द्र सिम्ले र गुल्मीदरबार गाउँपालिका‐१ स्थित बलिथुम नरहरि कँडेल माध्यमिक विद्यालय रहेका छन् । जिल्लामा कारागारका कैदी र कर्मचारीका लागि कारागार कार्यालय र रुद्ववेणी वृद्धाश्रममा रहेका वृद्धवृद्धाका लागि सोही वृद्धाश्रममा मतदान केन्द्र राख्नसमेत आयोगमा सिफारिस गरिएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा हाल एक लाख १५ हजार २१० महिला, एक लाख १४ हजार ३३७ पुरुष र अन्य दुई जना मतदाता छन । जिल्लामा हाल १४५ मतदानस्थल र २८४ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी ऋषिराम घिमिरेले जानकारी दिनुभयो ।

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, २४ माघः इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर आज साँझ पाँच रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत पुुस १९ गते उदयपुर जिल्लाको बागापती आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।

परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको छः उपसभापति वाग्ले

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णीम वाग्लेले परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको बताउनुभएको छ ।

रास्वपा तनहुँ–काठमाडौँ सम्पर्क विभागद्वारा आज यहाँ आयोजित ‘बृहत् एवं जेनजी भेला’ मा उहाँले रास्वपाले परिवर्तनको मुद्दालाई अगाडि बढाएर युवा सहधागिता बढाएको बताउनुभयो ।

आगामी फागुन २१ गते हुने निर्वाचन पुस्तान्तरणको निर्वाचन भएको उपसभापति वाग्लेको भनाइ छ । लोकतन्त्रमा प्रष्ट बहुमत आवश्यक पर्नेमा जोड दिँदै उहाँले पार्टीलाई बहुमतका साथ विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो ।

हाल देशभरका ७७ जिल्ला तथा ५५० पालिकासहित ३८ देशमा रास्वपाको सङ्गठन विस्तार भइसकेको उपसभापति वाग्लेले जानकारी दिनभधयो । उहाँका अनुसार हाल रास्वपाको देशभर तीन लाख सक्रिय सदस्य छन् । पार्टीले सुशासन, भ्रष्टाचार विरोधी अभियान, सडक, हवाई सञ्जाल, इन्टरनेट सेवा र ऊर्जालाई प्राथमिकता दिएको उहाँले उल्लेख गर्नुभयो ।

सुनिल थापाले नेपाली चलचित्र क्षेत्रमा पुर्‍याउनुभएको योगदान अवस्मरणीय छ – प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाली चलचित्र क्षेत्रका मूर्धन्य व्यक्तित्व सुनिल थापाको निधनले आफूलाई दुखी बनाएको बताउनुभएको छ ।

आज उहाँले शोक सन्देश जारी गर्दै थापाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुका साथै शोकाकुल परिवारजन तथा शुभेच्छुकमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

संयोजक दाहालले अभिनेता थापाले नेपाली चलचित्र क्षेत्रमा पुर्‍याउनुभएको योगदान हामी सबैका लागि स्मरणीय रहने बताउनुभयो । उहाँले भन्नुभएको छ, “नेपाली चलचित्र क्षेत्रका मूर्धन्य व्यक्तित्व थापा हामीबाट सधैँका लागि बिदा हुनुभएको खबरले अत्यन्त दुःखी बनाएको छ ।

उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजन तथा शुभेच्छुकमा गहिरो समवेदना व्यक्त गर्दछु । उहाँले नेपाली चलचित्र क्षेत्रमा पुर्‍याउनुभएको योगदान हामी सबैका लागि चिरस्मरणीय रहनेछन् ।”

अभिनेता थापाको हृदयघातबाट ६८ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन

जनकपुरधाम। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष तथा धाँधलीरहित बनाउनका लागि निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सरोकार भएका सबैलाई निर्देशन दिनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषाद्वारा आज जनकपुरधाममा आयोजित निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले निर्वाचन आचारसंहिताको पालना नगर्नेलाई कानुनबमोजिम कारबाही गरिने जानकारी दिनुभयो ।

जिल्लाअन्तर्गतका विभिन्न राजनीतिक दलका नेता, उम्मेदवार, कार्यालय प्रमुख तथा सञ्चारकर्मीको सहभागिता रहेको सो बैठकमा प्रमुख जिल्ला अधिकारी लुइँटेलले निर्वाचनका लागि शान्तिपूर्ण रूपमा वातावरण निर्माण भएकाले निर्वाचन निष्पक्ष हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचनलाई शान्तिपूर्ण तथा संयमित गराउनका लागि शान्तिसुरक्षाको पूर्ण व्यवस्था गरिएको बताउनुभयो

निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना खटिएको उल्लेख गर्दै प्रजिअ लुइँटेलले मतदान केन्द्रको पूर्ण सुरक्षाको व्यवस्था गरिएको जानकारी दिनुभयो । आवश्यक परेको खण्डमा प्रत्येक मतदान केन्द्रमा पाँचदेखि सात मिनेटमा थप सुरक्षा निकाय पुग्ने उहाँको भनाइ छ ।

सोही अवसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकृत सुभाषबाबु पुरीले निर्वाचनको सम्पूर्ण वातावरण तयार भइसकेको उल्लेख गर्दै निष्पक्ष निर्वाचन तथा सुशासन कायम गर्नका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न÷गराउन सबैलाई आग्रह गर्नुभयो । उहाँले कुनै पनि राजनीतिक दल तथा उम्मेदवारले सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह नगर्न आग्रह गर्नुभयो ।

निर्वाचन आचारसंहिताको नियमित अनुगमन भइरहेको जनाउँदै पुरीले आचारसंहिता विपरीत कार्य गर्नेलाई कानुनबमोजिम कारबाही गरिने उल्लेख गर्नुभयो ।

धनुषामा प्रतिनिधिसभा सदस्य पदका लागि चार निर्वाचन क्षेत्र रहेका छन् । जसअन्तर्गत जिल्लामा ६४५ मतदान केन्द्र र ३२२ मतदानस्थल ताकिएको छ । एक सय ९४ वटा अतिसंवेदनशील मतदानस्थल छन् ।

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौँ। सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरिसकेको जानकारी दिनुभयो ।

उहाँले अहिले सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले त्यसलाई रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अध्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने पनि जानकारी दिनुभयो । उहाँले निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या÷भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानीमा पनि टोलीले काम गरिरहेको उहाँको भनाइ छ ।

निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको जनाउँदै प्रवक्ता काफ्लेले निर्वाचन प्रहरीको बिमाका साथै सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी उचित प्रबन्ध मिलाउने तयारी भइरहेको बताउनुभयो ।

उहाँले गृह मन्त्रालयले सबै सुरक्षा संयन्त्र र प्रशासनिक निकायलाई निर्वाचनको सुरक्षामा कुनै कमीकमजोरी नगर्न र चुस्त व्यवस्थापनमा लाग्न निर्देशन दिइसकेको बताउनुभयो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ बमोजिम जिम्मेवार निकायले सम्पादन गरिरहेका कार्य, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाबारे समीक्षा गरेर प्रभावकारी व्यवस्था गर्न आवश्यक निर्देशन दिनुभएको पनि प्रवक्ता काफ्लेले बताउनुभयो ।

मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगमा ध्यान दिन अनुरोध गर्दै मित्थ्या र भ्रमपूर्ण र कसैलाई लाञ्छना लगाउने जस्ता सूचना नराख्न अनुरोध गर्दै त्यस्ता गतिविधि गरेमा कारबाही हुने जानकारी गराएको छ ।

अमेरिकासँग अर्को वार्ता छिट्टै हुने: इरान

फैजाबाद। इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार वार्ताका लागि तेहरानको अडान दोहोर्याउनुभएको छ। उहाँले अमेरिकासँग वार्ताको ढोका खुल्ला राखेको र चाँडै सुरु हुने आशा व्यक्त गर्नुभएको छ।

इरानले अन्य कुनै पनि परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी पनि दिनुभएको छ। अल जजिरा नेटवर्कसँगको अन्तर्वार्ताका क्रममा उहाँको आधिकारिक टेलिग्राम च्यानलमा प्रकाशित अंशका अनुसार अराघचीले शुक्रबारको ओमानमा भएको वार्तामा इरानको क्षेप्यास्त्र कार्यक्रमबारे कुनै अवस्थामा पनि सम्झौता गर्न नसकिने बताउनुभएको छ।

उहाँले अमेरिकाले इरानी भूमिमा आक्रमण गरेमा तेहरानले उक्त क्षेत्रमा रहेका अमेरिकी आधार शिविरलाई निशाना बनाउने चेतावनी दिनुभएको छ । अराघचीले मस्कटमा अप्रत्यक्ष वार्ता भए पनि ‘अमेरिकी प्रतिनिधिमण्डलसँग पनि भेट भएको बताउनुभएको छ।

वार्ता ‘राम्रो सुरुवात’ भएको तर विश्वास निर्माण गर्न समय लाग्ने उहाँले बताउनुभयो । उहाँले ‘छिट्टै’ पुनः वार्ता सुरु हुने बताउनुभयो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रबार वार्तालाई ‘धेरै सकारात्मक’ वातावरणको संज्ञा दिनुभएको थियो । उहाँले अर्को हप्ता फेरि अर्को चरणको वार्ता हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

इद्यपि, उहाँले शनिबारदेखि लागू हुने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै इरानसँग अझै पनि व्यापार गरिरहेका देशहरूमा अतिरिक्त ‘कर लगाउने’ बताउनुभएको छ।

अमेरिकाले इरानको तेल निर्यातमा अंकुश लगाउने उद्देश्यका साथ कैयौँ पानीजहाज र जहाजमाथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

विश्व व्यापार सङ्गठनको तथ्याङ्क अनुसार इरानको व्यापारको एक चौथाइभन्दा बढी कारोबार चीनसँग छ, जसमा सन् २०२४ मा १८ अर्ब अमेरिकी डलरको आयात र १४.५ अर्ब डलर निर्यात समावेश छ।

अराघचीले अल जजिरासँग भन्नुभयो, “आणविक संवर्धन इरानको अपरिहार्य अधिकार हो र यसलाई निरन्तरता दिनुपर्छ।”उहाँले भन्नुभयो, “हामी संवर्धनका लागि आश्वस्त पार्ने सम्झौता गर्न तयार छाँैं ।”

“इरानको परमाणु मुद्दा वार्ताबाट मात्र समाधान हुनेछ,” उहाँले थप्नुभयो।उहाँले इरानको क्षेप्यास्त्र कार्यक्रमबारे ’कहिल्यै सम्झौता नगरिएको’ पनि बताउनुभयो । उहाँले भन्नुभयो क्षेप्यास्त्र कार्यक्रम ‘देशको सार्वभौम रक्षा’ सँग सम्बन्धित छ।

वासिङ्टनले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम र यस क्षेत्रका लडाकू समूहहरूलाई समर्थन गर्ने मुद्दाहरूलाई सम्बोधन गर्न खोजेको छ, जुन मुद्दाहरू इजरायलले वार्तामा समावेश गर्न जोड दिएको छ।तेहरानले आणविक मुद्दाभन्दा बाहिर वार्ताको दायरा विस्तार गर्न बारम्बार अस्वीकार गर्दै आएको छ।

निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न निर्देशन

जनकपुरधाम। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष तथा धाँधलीरहित बनाउनका लागि निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सरोकार भएका सबैलाई निर्देशन दिनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषाद्वारा आज जनकपुरधाममा आयोजित निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले निर्वाचन आचारसंहिताको पालना नगर्नेलाई कानुनबमोजिम कारबाही गरिने जानकारी दिनुभयो ।

जिल्लाअन्तर्गतका विभिन्न राजनीतिक दलका नेता, उम्मेदवार, कार्यालय प्रमुख तथा सञ्चारकर्मीको सहभागिता रहेको सो बैठकमा प्रमुख जिल्ला अधिकारी लुइँटेलले निर्वाचनका लागि शान्तिपूर्ण रूपमा वातावरण निर्माण भएकाले निर्वाचन निष्पक्ष हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचनलाई शान्तिपूर्ण तथा संयमित गराउनका लागि शान्तिसुरक्षाको पूर्ण व्यवस्था गरिएको बताउनुभयो ।

निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना खटिएको उल्लेख गर्दै प्रजिअ लुइँटेलले मतदान केन्द्रको पूर्ण सुरक्षाको व्यवस्था गरिएको जानकारी दिनुभयो । आवश्यक परेको खण्डमा प्रत्येक मतदान केन्द्रमा पाँचदेखि सात मिनेटमा थप सुरक्षा निकाय पुग्ने उहाँको भनाइ छ ।

सोही अवसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकृत सुभाषबाबु पुरीले निर्वाचनको सम्पूर्ण वातावरण तयार भइसकेको उल्लेख गर्दै निष्पक्ष निर्वाचन तथा सुशासन कायम गर्नका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न÷गराउन सबैलाई आग्रह गर्नुभयो । उहाँले कुनै पनि राजनीतिक दल तथा उम्मेदवारले सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह नगर्न आग्रह गर्नुभयो ।

निर्वाचन आचारसंहिताको नियमित अनुगमन भइरहेको जनाउँदै पुरीले आचारसंहिता विपरीत कार्य गर्नेलाई कानुनबमोजिम कारबाही गरिने उल्लेख गर्नुभयो ।

धनुषामा प्रतिनिधिसभा सदस्य पदका लागि चार निर्वाचन क्षेत्र रहेका छन् । जसअन्तर्गत जिल्लामा ६४५ मतदान केन्द्र र ३२२ मतदानस्थल ताकिएको छ । एक सय ९४ वटा अतिसंवेदनशील मतदानस्थल छन् ।

नाइजेरियाको बेन्यु राज्यमा आक्रमण, ३० जनाको मृत्यु

नाइजेरिया। नाइजेरियाको मध्य राज्य बेन्युका दुई शहरहरूमा केही दिनको अन्तरालमा भएका दुई आक्रमणमा ३० जनाको मृत्यु भएको जनाइएको छ ।यस क्षेत्रमा लामो समय देखि अन्तर–साम्प्रदायिक झडप हुने सम्भावना रहेको स्रोतहरूलाई यदृत गर्दै एएफपीले जनाएको छ ।क्वान्डे क्षेत्रको अन्वासे गाउँमा शुक्रबार दिउँसो सशस्त्र डाकुहरूले कम्तीमा १३ जना व्यापारीको हत्या गरेको स्थानीय सरकारी अधिकारी इबी एन्ड्र्यूलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

उहाँले आक्रमणकारीहरूले बजारमा आक्रमण गरेर मानिसहरू माथि अनियमित रूपमा गोली हानेको बताउनु भएको छ । आक्रमणले व्यापारी र बासिन्दाहरूलाई आघातमा पार्नुका साथै सम्पत्ति नष्ट भएको जनाइएको छ ।

बासिन्दा र स्थानीय मिडियाका अनुसार मङ्गलबार सशस्त्र व्यक्तिहरूले नजिकैको म्बाइक्योरको बजारमा आक्रमण गर्दा एकजना प्रहरी अधिकारीसहित १७ जनाको मृत्यु भएको थियो ।

यस क्षेत्रमा पछिल्लो समयमा मुस्लिम जातीय मानिसहरू र मुख्यतया इसाई किसानहरू बिच भूमि र स्रोतहरूको नियन्त्रणलाई लिएर हिंसा बढेको जनाइएको छ ।

हिसांत्कम गतिविधि साम्प्रदायिक झडपका रूपमा प्रस्तुत भए तापनि, जलवायु परिवर्तन, हतियारहरूको प्रसार र नाइजेरियाली राज्यबाट दिगो प्रतिक्रियाको अभावले बढेको जटिल क्रियाकलापताबाट अशान्ति उत्पन्न भएको जनाइएको छ ।

धनुषामा ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम। धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर रोगका विरुद्ध एचपिभी खोप लगाइएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा आज जनकपुरधाममा आयोजित एचपिभी खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रममा कार्यालय प्रमुख उमेश यादवले निःशुल्क रुपमा दिइने सो खोप जनकपुरसहित धनुषामा १६ हजार ९०० किशोरीलाई लगाइएको बताउनुभयो ।

सो खोप १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई लगाइएको उल्लेख गर्दै उहाँले सो खोप शतप्रतिशत किशोरीलाई दिने सरकारको लक्ष्य रहेकाले आइतबारदेखि कक्षा ६ का किशोरीलाई खोप दिने तयारी भइरहेको छ भन्नुभयो ।

खोपका सम्बन्धमा जानकारी दिनका लागि विद्यालयका शिक्षकहरुलाई समेत अभिमुखीकरण गरिएको प्रमुख यादवले बताउनुभयो । नेपालमा बर्सेनि दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको उहाँद्वारा प्रस्तुत विवरणमा उल्लेख छ । पटक–पटक भएर २० वर्षसम्म सङ्क्रमण रही रह्यो भने क्यान्सर रोग लाग्ने सम्भावना अत्यधिक रहेको छ ।

सो कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले क्यान्सर रोगविरुद्धको खोप लगाउने कार्यमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै मदरशाका किशोरीहरुलाई समेत उक्त खोप लगाउन चेतना जागृत गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सोही अवसरमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले यो खोप अभियान कार्य अत्यन्त महत्वपूर्ण रहेकाले विद्यालय बाहिरका किशोरीहरुलाई समेटेर शतप्रतिशतलाई खोप लगाउनुपर्ने सुझाव दिनुभयो ।

सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित

काठमाडौँ। जाइका अलमनाइ एसोसिएसन फोरम अफ सार्क कन्ट्रिजको अध्यक्षमा नेपाल जाइका अलमनाइ एसोसिएसन (जान) का अध्यक्ष डा रामचन्द्र भुसाल निर्वाचित हुनुभएको छ ।श्रीलङ्काको राजधानी कोलम्बोमा भएको तीन दिने ‘दक्षिण एसियाको सामाजिक तथा आर्थिक विकासमा जापानको योगदान’ विषयक अन्तरराष्ट्रिय गोष्ठीपश्चात आज भएको निर्वाचनमा डा भुसाल सो संस्थाको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

डा भुसाल नेपाल जाइका अलमनाई एसोसिएसन (जान) का वर्तमान अध्यक्ष हुनुहुन्छ । सन् २०१७ देखि हालसम्म उहाँ सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको महासचिव हुनुहुन्थ्यो । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रका जाइका अलमनाइहरुको सहभागिता रहेको उक्त सम्मेलनमा जानका अध्यक्ष डा भुसाल र उपाध्यक्ष डा किरण रुपाखेतीले नेपालको तर्फबाट कार्यक्रम प्रस्तुत गर्नुभएको जानका महासचिव शान्तिलक्ष्मी शाक्यले राससलाई जानकारी दिनुभयो ।

सो कार्यक्रममा नेपालका तर्फबाट डा भुसालको नेतृत्वमा छ सदस्यीय टोलीले सहभागिता जनाएको थियो । कार्यक्रममा श्रीलङ्काका लागि जापानी राजदूत आकिको इसोमाताले सार्क क्षेत्रको छाता सङ्गठनका रूपमा रहेको सो संस्थाले जापान र सार्क क्षेत्रका देशहरू बीचको सुमधुरसम्बन्ध कायम राख्दै सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभएको महासचिव शाक्यले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष भुसालले जापानले सार्क क्षेत्रमा निस्वार्थ, भरपर्दो र दिगो रुपमा सहयोग गर्दै आएको र जापानबाट इमान्दारिता, जिम्मेवारीको जवाफदेहिता, अनुशासन, समयनिष्ठता र मेहनत सिक्नुपर्ने बताउनुभयो । कार्यक्रममा सार्क क्षेत्रका जाइका अलमनाइहरूबाट भए गरेका गतिविधिको बारेमा प्रस्तुति भएको थियो ।सार्क क्षेत्रका जाइका अलमनाइहरूको छाता सङ्गठनका रुपमा सो संस्थाको स्थापना सन् २००८ मा भएको थियो । यसको सचिवालय सन् २०१७ देखि काठमाडौँमा रहेको छ ।

काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँः सभापति थापा (भिडियो)

काठमाडौँ। सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँलाई मधेस बुझाउन सर्लाहीबाट उम्मेदवारी दिएको बताउनुभएको छ ।

गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै विभिन्न व्यापार, व्यवसाय तथा पेसामा संलग्न रहनुभएका सर्लाही क्षेत्र नं ४ का मतदातासँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा सभापति थापाले मधेस र काठमाडौँलाई जोड्न आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेरो परिवार पहाडबाट काठमाडौँ आउनुभयो, मैले आमाबाट पहाड बुझेँ । म काठमाडौँमा हुर्किएकाले सहर बुझेँ । अहिले पार्टी सभापति भएसँगै कांग्रेसलाई हुर्काउने र बढाउने मधेसलाई नबुझी राष्ट्रिय नेतृत्व गर्न सकिँदैन भन्ने लागेर मधेस आएको हुँ । म जस्तै काठमाडौँले मधेसलाई सतही रूपमा चिनेको छ, म आगामी पाँच वर्षमा काठमाडौँलाई मधेसको महत्व बुझाउने छु ।” आगामी पाँच वर्षमा मधेसको समग्र विकासमा योजनाबद्ध काम गरेर आमनागरिकको दैनिकीमा परिवर्तन ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

“सर्लाही–४ मा मेरो शिक्षा, स्वास्थ्य, प्रविधि, कृषिलगायत टोलीले अध्ययन गरेर त्यहाँ गर्नुपर्ने कार्यका बारेमा सुझाव दिनुभएको छ, आगामी पाँच वर्षमा त्यहाँ आवश्यकताका आधारमा काम गर्नेछु । जसरी अहिले मलाई काठमाडौँ–४ का बासिन्दाले यहीँ चुनाव लड्नुस् भनेर आग्रह गर्नुभएको थियो, आगामी पाँच वर्षमा सर्लाही–४ का बासिन्दाले पनि त्यस्तै आग्रह गर्ने गरी काम गर्नेछु”, सभापति थापाले भन्नुभयो ।उहाँले आफ्नो ज्ञान र नेटवर्कको प्रयोग गरेर शिक्षा, स्वास्थ्य र उद्यमशीलताका विषयमा काम गर्ने भएकाले विस्तारै समस्या कम हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै

सुरुङ्गा (झापा), माघ २४-हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई नदीमा पुल निर्माण थालिएको १४ वर्ष भइसकेको छ तर त्यो अझै पूरा भएको छैन ।‘डिजाइन एण्ड बिल्ड’ ढाँचामा करसहित रु ३४ करोड नौ लाखको लागतमा थालिएको ७२३ मिटर लामो पुलको निर्माण प्रगति भने ५६ प्रतिशत मात्र छ ।

निर्माण कम्पनीको ढिलासुस्तीबाट आजित भएको सडक विभागले ठेक्का रद्द गरेपछि अब पुल कहिले पूरा हुन्छ भन्ने अनिश्चितता बढेको छ ।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्याशी भएकाहरूसँग यस क्षेत्रका मतदाताको एउटै प्रश्न छः कन्काई पुल कहिले बन्छ रु

नेपाली कांग्रेस झापाका सभापतिसमेत रहनुभएका प्रतिनिधिसभा सदस्यका उम्मेदवार देउकुमार थेवे लिम्बूले भन्नुभयो, “हामी प्रतिनिधिसभा सदस्यका उम्मेदवारले मतदाता भेट्न पुग्नासाथ आफ्ना एजेन्डा सुनाउनुपूर्व नै स्थानीयले पुल निर्माणको विषय उठाउने गरेका छन् । विकासको दृष्टिकोणले पछि परेको झापा–४ को विकास एजेन्डा नै हाम्रो पहिलो प्राथमिकता हो ।”

झापा गाउँपालिका–१ सितुमारीका छवि पौडेल भन्नुहुन्छ, “अब मत माग्न आउने उम्मेदवारले विगतमा सुनाएजस्तो आश्वासनमा हामी अल्मिलिदैनौँ ।”झापा–४ मा एक लाख ३० हजार ७१२ मतदाता छन् । यस निर्वाचन क्षेत्रमा १६ जना उम्मेदवारले चुनावी मैदानमा रहेका छन्, जसमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य वैकल्पिक दलका उम्मेदवार रहेका छन् ।

विसं २०४८ को पहिलो आम निर्वाचनदेखि झापा–४ राजनीतिक रूपमा मुख्य रूपमा कांग्रेस र एमालेबीचको प्रतिस्पर्धाको केन्द्रमा रहँदै आएको छ । विगतका निर्वाचन परिणामले देखाउँछ कि परम्परागत दुई दल अझै बलिया छन्, तर नयाँ राजनीतिक शक्ति र वैकल्पिक धारप्रति मतदाताको आकर्षण बढ्दै गएको छ ।

विसं २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेको वर्चस्व कायम रह्यो, तर राष्ट्रिय स्वतन्त्र पार्टी र वैकल्पिक दलहरूको प्रभावले पुराना र नयाँ शक्तिबीचको चुनावी समीकरणलाई रोचक बनाएको छ ।फागुन २१ पछि मात्र झापा–४ मा परम्परागत राजनीतिक शक्ति कायम रहनेछ वा नयाँ राजनीतिक धारको उदय हुनेछ भन्ने टुङ्गो लाग्ने छ ।

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ

काठमाडौँ, माघ २४-विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथ विराजमान पवित्र पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप सफाइ गरिएको छ ।वाग्मती सफाइ महाअभियानको ६६५औँ हप्तामा महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रको सूर्यघाट, आर्यघाट, राममन्दिर क्षेत्रमा सफाइ गरिएको हो ।

सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । सफाइबाट उठेको नकुहिने फोहर काठमाडौँ महानगरपालिकाको गाडीबाट व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । भष्मेश्वरघाटबाट ड्यामसम्मको वाग्मती किनारमा बढी फोहर देखिएकाले अधिकार सम्पन्न वाग्मती समितिले नै डोजर लगाएर सफाइ गर्ने सहमति भएको छ ।

आजको सफाइमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख मचाकाजी महर्जनलगायत अभियानकर्मीको सक्रिय सहभागिता रहेको थियो । अर्को हप्ता शनिबार पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेतको सहभागितामा पशुपति क्षेत्रमै सफाइ गरिने छ ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार निरन्तर चलिरहेको छ । भूकम्प, नाकाबन्दी, कोरोनाजस्ता प्रतिकूल अवस्थामा पनि वाग्मती सफाइ महाअभियान रोकिएन । चाडपर्व, जाडो, झरीजस्ता समयमा पनि प्रत्येक हप्ता शनिबार बिहान अभियानकर्मी वाग्मती नदीमा जम्मा भएर सफाइ गर्ने गरेका छन् । देशका लागि हप्तामा दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ अभियानकर्मीहरु वाग्मती नदी किनारमा प्रत्येक हप्ता जम्मा भएर सफाइ गर्ने गरेका छन् ।

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौँ, माघ २४ –प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताउनुभएको छ ।अभिनेता थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगत्ले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उहाँका खलनायक र सहनायकका उम्दा भूमिका करोडौँका मन जित्न सफल भएका बताउनुभएको छ ।

प्रधानमन्त्री कार्कीले शोक सन्देश जारी गर्दै कलाकार थापाका हरेक चरित्र हामी दर्शकका स्मृतिमा सदैव जीवित रहने बताउनुभएको छ । सन्देशमा उहाँले “चार दशकभन्दा बढी समयको उहाँको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहनेछ”, भन्नुभएको छ ।

प्रधानमन्त्रीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।अभिनेता थापाको हृदयघातबाट ६८ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल

त्रिशूली (नुवाकोट), २४ माघ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरिएको बताएका छन् ।निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयनबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भयरहित वातावरणमा चुनाव गराउन सुरक्षाको सुदृढ प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

“वर्तमान सरकारको प्रमुख दायित्व चुनाव गराउनु भएकाले हाम्रो ध्यान शान्तिपूर्ण वातावरणमा त्यो सम्पन्न गर्नेमा नै केन्द्रित छ । मतदातालाई निर्भीक भएर मतदानमा सहभागी हुन अनुरोध छ”, देशभर निर्वाचनको वातावरण बनेको बताउँदै गृहमन्त्रीले भने ।

मौसम पूर्वानुमान गर्ने निकाय र विज्ञहरुबाट फागुन २१ मा मौसम अनुकूल हुने जानकारी प्राप्त भएको पनि उनले बताए ।

बेनी–जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु

म्याग्दी। चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना निर्माण थालिएको छ ।

बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले रु २५ करोडको लागतमा सडकमा खस्ने पहिरो र नदी कटान रोकथाम गर्न योजना निर्माण थालेको हो । पहिरो र कटानका कारण सडकमा नियमित यातायात सञ्चालनमा समस्या हुुने गरेको छ । ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले चालुु आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्यसहित परिचालित भएका योजना कार्यालयका सवइञ्जिनियर बहादुर शाहले बताउनुभयो ।

उहाँका अनुसार रघुगङ्गा गाउँपालिका–२ तल्लो र माथिल्लो बैसरी, नागढुङ्गा, गुइठेभिर, खामभित्ता, लाटोखोला, रूपसे, सेतोखोला र लार्जुङ खण्डमा पहिरो तथा कटान रोकथाम योजना सञ्चालन भएको हो । ‘रक एङ्करिङ’, ‘पलम पर्खाल’, ‘बायो इञ्जिनियरिङ’, ‘थिडिमेस’ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गर्न लागिएको शाहले बताउनुभयो । अन्नपूूर्ण गाउँपालिका–३ दानाको खामभित्ता क्षेत्रको ३०० मिटर क्षेत्रमा पहिरो रोकथामका लागि रु सात करोडमा वाम्ती÷कोण्डा÷टिस्ता जेभीले ठेक्का पाएको छ ।

अन्नपूूर्ण–३ कै गुइठेभिरमा ३०० मिटर दुरीको सडकको पहिरो रोकथामका लागि जिएसपिएल÷वुद्धीसरा जेभीले रु नौ करोडमा ठेक्का सम्झौता गरेको छ । लाटोखोला, रूपसे, नागढुङ्गा, सेतोखोला खण्डको पहिरो रोकथामका लागि गजेन्द्र निर्माण सेवाले रु सात करोडमा ठेक्का पाएको छ ।

रूपसे खण्डमा १६० मिटर दुरीमा ढलान सकिएको छ । लाटोखोलामा ‘रक एङ्करिङ’ गरेर पहिरो रोकथाम र फराकिलो पार्ने काम अन्तिम चरणमा पुगेको छ । तल्लो र माथिल्लो बैसरीको पहिरो रोकथाम गर्न जिएसआई÷हुटैराज जेभीले रु दुई करोडको ठेक्का लिएको छ । सडक मुनीको पहाडमा ‘ड्रिलिङ’ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो । ‘रक एङ्करिङ’ गर्न फलामको रड राख्ने प्वाल (होल) बनाइएको छ ।

‘रक एङ्करिङ’ गर्नुपर्ने ठाउँको तीन दशमलव पाँच मिटर फराकिलो सडकमा हाल एकतर्फी मात्र सवारीसाधन चल्ने गर्छन् । यसलाई दुईतर्फी सवारीसाधन चल्ने बनाउन सातदेखि आठ मिटर फराकिलो बनाइएको हो । नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाउन लागिएको छ ।

अन्नपूूर्ण गाउँपालिका–३ दानाका वडाध्यक्ष रमेश पुर्जाले पहिरो रोकथाम भएपछि सडकमा सवारीसाधन आवतजावत सहज र जोखिममा परेका बस्ती तथा सार्वजनिक संरचनाको संरक्षण हुुने अपेक्षा गरिएको बताउनुभयो ।

वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार सुनिल थापाको निधन भएको छ । उनको आज हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।

हास्य कलाकार केदार धिमिरेले सामाजिक सञ्जालमार्फत दुख ब्यक्त गर्दै लेख्छन् – वरिष्ठ कलाकार सुनिल थापा दाइको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ। नेपाली चलचित्र उद्योगले आज अर्को एक महान् व्यक्तित्व र बलियो धरोहर गुमाएको छ। कला क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ। भावपूर्ण श्रद्धाञ्जली दाइ, वैकुण्ठ वास होस्!

बालेन शाहले भने – फुटबलको वास्तविक क्रेज काठमाडौं बाहिर भयो, फुटबलको संरचना पुनर्विचार गर्नुपर्छ

काठमाडौं – प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन शाहले फुटबलको वास्तविक क्रेज काठमाडौं बाहिर रहेको बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले फुटबलको वास्तविक क्रेज काठमाडौं बाहिर रहेको भन्दै नेपाली फुटबलको संरचना पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

उनले काठमाडौंमा जारी राष्ट्रिय फुटबल लिगमा दर्शकको उपस्थिति न्यून हुने गरेको र मौसफलमा हुने गोल्डकपहरुमा दर्शकले टिकट समेत नपाउने अवस्था रहेको बताएका छन् ।

उनले लेखेका छन्:

फुटबलको राष्ट्रिय लिग काठमाडौंमा चलिरहेको छ । दर्शकको उपस्थिती २–३ सय पनि देखिदैन । दुख लाग्छ, नेपालको लोकप्रिय खेलमा दर्शक छैनन् भनेर । धेरैलाई लागेको छ, अब नेपालमा फुटबल सकियो । उता मोफसलमा फुटबलको छुट्टै क्रेज छ । मोफसलका गोल्डकपहरुमा हजारौं दर्शक दैनिक फुटबल हेर्न आउँछन् । फाइनल खेल हेर्ने दर्शकले टिकट नै नपाउने अवस्था छ । काठमाडौंमा हुने लिगमा अधिकांश खेलाडी मोफसलले उत्पादन गर्छ । तर देशको मेरुदण्ड मानिने लिग संरचनामा मोफसलका क्लबहरुको उपस्थिती सिमित छ । पछिल्ला वर्षमा एकाध क्लब डिभिजन फुटबल भित्र छिरेका छन् । तर केन्द्रिकृत फुुटबल संरचनाले काठमाडौं बाहिरका क्लबलाई टिक्न गाह्रो छ । अब फुटबलको यस्तो नीति बनोस्, जसले फुटबललाई बिकेन्द्रिकरण गरोस् र खेलमा व्यवसायीकता भरोस् । फुटबल काठमाडौंमा केही क्लबबीच मात्र सिमित नरहोस् । फुटबल खेल्न कुनै क्लब र खेलाडी काठमाडौं मात्र आउन नपरोस् । काठमाडौंका क्लब, खेलाडीलाई मोफसलका टिमहरुले निम्ता देओस् । पूर्वमा झापा ११ क्लब उत्रदै गर्दा मैदान धनगढीका दर्शकहरुले भरियोस् । पश्चिमको धनगढी रंगशालमा मछिन्द्र, थ्रीस्टार क्लबहरुको झण्डाले रंगियोस् । फुटबल नभएर कुुनै खेलाडी बिदेशिन नपरोस् ।

मकवानपुर १ मा पुराना अनुभवी र नयाँ पुस्ताका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा

बागमती। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुर क्षेत्र नम्बर १ मा चुनावी माहोल तीव्र बन्दै गएको छ ।

पटकपटक चुनावी प्रतिस्पर्धा गरेका पुरानो अनुभवी नेतासँगै नयाँ युवा पुस्ताका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यस क्षेत्रको चुनावी माहोल रोचक बनेको छ । यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १३ र स्वतन्त्र १० गरी २३ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्यय (डिना), नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टीबाट विजय गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश गौतम, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती, श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ महर्जन, उज्यालो नेपाल पार्टीबाट सुरेन्द्र लामा चुनावी मैदान छन् ।

नेपाल मजदुर किसान पार्टीबाट रञ्जना सुवाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट महेश नेपाली, जनता समाजवादी पार्टी नेपालबाट रूपक लामा, जनता समाजवादी पार्टीबाट दीपक सिंतान र मङ्गोल नेशनल अर्गनाइजेशनबाट युवराज लामा चुनावी प्रतिस्पर्धामा छन् । स्वतन्त्र रूपमा राकेशकुमार शर्मा, अमिक परियार, राजाराम बोगटी, मठु पुलामीमगर, अमर दङ्गाल, टीकाप्रसाद चौलागाईं, सुशीला सुवेदी, ज्ञान सागर लामा र राजकुमार खड्का चुनावी प्रतिस्पर्धामा छन् ।

यीमध्ये केही पुराना र लामो राजनीतिक अनुभव भएका पाका उम्मेदरवार छन् भने केही नयाँ युवा उमेरका उम्मेदवार छन् । उम्मेदवारहरूमध्ये कांग्रेसका उपाध्याय र राप्रपाका सिंह पाँचौँ पटक चुनावी प्रतिस्पर्धामा उत्रेका हुन् । मकवानपुर क्षेत्र नम्बर १ मा पर्ने हेटौँडा उपमहानगरपालिकाको नगरप्रमुख पदका लागि २०७४ र २०७९ को निर्वाचनमा प्रतिस्पर्धा गरेका राप्रपाका सिंह अघिल्लो २०७९ को निर्वाचनमा यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । कांग्रेसका उपाध्याय प्रतिनिधिसभा भने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएपनि हालसम्म सफल हुन सक्नुभएको छैन ।

एमालेका राना, नेकपाका विजय गौतम र रास्वपाका प्रकाश गौतम पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका हुन् । तत्कालीन जिल्ला विकास समिति मकवानपुरका सभापति भइसक्नुभएका एमालेका राना पाका उमेरका अनुभवी नेताको रूपमा चिनिनुुहुन्छ । उम्मेदवारी दर्ता गराएसँगै यति बेला उम्मेदवारहरू आफ्ना एजेण्डा बोकेर मतदाताको घरदैलोमा पुग्न थालेका छन् । यो क्षेत्रमा हेटौँडा उपमहानगरपालिकाको १५ वटा वडा, मकवानपुरगढी गाउँपालिका चार वटा वडा, बागमती गाउँपालिका र बकैया गाउँपालिका पर्छन् ।

मकवानपुर क्षेत्र नम्बर १ मा ७९ हजार ६२१ पुरुष र ७८ हजार ८१० महिला गरी एक लाख ५८ हजार ४३५ मतदाता छन् । यस क्षेत्रमा ग्रामीण भेगभन्दा सहरी क्षेत्र बढी पर्छन् । पार्टीको सङ्गठित मत कम भए पनि अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका सिंह निर्वाचित हुनुभएको थियो । अघिल्लो विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका सिंहले २७ हजार ८१६ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका उपाध्यायले २५ हजार ४३४ मत प्राप्त गर्नुभएको थियो भने एमालेको सूर्य चुनाव चिह्नबाट चुनाव लड्नुभएका तत्कालीन राप्रपा नेपालका कमल थापाले २५ हजार ४२० मत प्राप्त गर्नुभएको थियो ।

गत २०७४ र २०७९ को निर्वाचनमा सो क्षेत्रमा गठबन्धन गरेका कारण तत्कालीन नेकपा (माओवादी केन्द्र) को आफ्नो उम्मेदवार थिएनन् । तर पहिलो संविधानसभा निर्वाचनमा सो क्षेत्रबाट तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रेमबहादुर पुलामी (छिन्तु) र दोस्रो संविधानसभामा नेकपा (माओवादी केन्द्र) का प्रल्हाद लामिछानेले जित्नुभएको थियो । त्यसयता माओवादीले प्रतिनिधिसभामा यो क्षेत्रबाट जित्न सकेको छैन ।

कम्युनिष्ट पार्टीको गढ मानिने मकवानपुर क्षेत्र नम्बर १ मा पहिलो पटक अघिल्लो २०७९ को निर्वाचनमा गैरकम्युनिष्टले जितेको इतिहास छ । कांग्रेसले यो क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी हुन सकेको छैन । यसपटक फरक परिस्थिति र समयमा प्रतिनिधिसभा निर्वाचन हुन लागेकाले चुनाव आफूले जित्ने उम्मेदवारहरूले दाबी गर्दै आएका छन् ।

राप्रपाका उम्मेदवार सिंहले आफू तीन वर्षको छोटो कार्यकालमा हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक विस्तार तथा दुवै साइडमा नाला निर्माणका साथै जिल्लाका शैक्षिक विकाका लागि थुप्रै योजना अघि बढाएकोले ती अधुरा योजनालाई पूरा गर्न मतदाताले यस पटक आफूलाई विजयी बनाउने दाबी गर्नुहुन्छ । ‘‘म जितेर गएपछि हेटौँडामा क्षेत्रको विकासका लागि थुप्रै योजना ल्याए, ती योजना सञ्चालनमा छ”, सिंहले भन्नुभयो, ‘‘ती अधुरा योजना पूरा गर्न फेरि जनताले जिताउने छ, भन्नेमा म विश्वस्त छु ।” जितेर गएपछि यहाँको विकास र मतदाताकै बीचमा रहेर काम गरेकाले आफू जित्ने ढुक्क रहेको उहाँको भनाइ छ । आफ्नो एजेण्डा हिन्दू राज्य र सनातन धर्मको संरक्षण रहेको उहाँ बताउनुहुन्छ ।

नेपाली कांग्रेसका उम्मेदवार उपाध्यायले आफू यसै क्षेत्रमा जन्मेको र निरन्तर यहाँको जनतासँग बसेर राजनीति र सामाजिक कार्य गर्दै आएकाले जित्ने दाबी गर्नुहुन्छ । ‘‘म पटक चुनाव हारे पनि निरन्तर यहाँका जनताको बीचमा रहेर दुःख र सुखमा काम गरेकी छु”, उपाध्यायले भन्नुभयो, ‘‘आफू नजिते पनि जनताका लागि काम गरेकी छु, अझ अधुरा रहेका कतिपय काम पूरा गर्नका लागि आफूलाई मतदाताले जिताउने छ ।”

विगतको निर्वाचनभन्दा यसपटक पार्टीको आन्तरिक समस्या हल भई पार्टीका नेता कार्यकर्ताहरू एकताबद्ध भएर अघि बढेकाले चुनाव जित्ने बलियो आधार बनेको उहाँको कथन छ । हेटौँडा औद्योगिक क्षेत्रको अवस्थामा सुधार गर्दै हेटौँडालाई औद्योगिक हबको रूपमा विकास गर्ने आफ्नो प्रमुख एजेण्डा भएको उपाध्याय बताउनुहुन्छ । आफू तत्कालीन जिल्ला विकास समिति मकवानपुरको सभापति भएका बेला जिल्लालाई समृद्ध बनाउन उद्योग र यातायातको क्षेत्रमा काम गरेकाले मतदाता विश्वास गरी मत दिने दाबी गर्नुहुन्छ ।

‘‘म जिल्ला विकासको सभापति हुँदा मैले इमान्दारितापूर्वक गरेको काम यहाँका जनताले देखेका छन्, त्यसैले यस पटक मतदाताले मलाई भोट दिन्छ”, नेकपा (एमाले) का उम्मेदवार राना भन्नुहुन्छ, ‘‘पार्टीको मजबुत सङ्गठन, अघिल्लो निर्वाचनमा पार्टीको मत परिणामबाट म चुनाव जित्छु ।” मुलुकको स्वाधिनता, भौगोलिक अखण्डता र लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्ने उहाँको भनाइ छ । यो क्षेत्रमा पार्टीको सङ्गठित आधार बलियो भएको र अहिलेको अवस्थामा मतदाताले नयाँ अनुहार, युवा अनुहार खोजिरहेकोले यसपटक आफूले जित्ने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतम बताउनुहुन्छ ।

‘‘सुशासन, समृद्धि नै मेरो एजेण्डा हो, जेनजी आन्दोलनले उठाएको एजेण्डा पनि यही नै हो”, विजय गौतमले भन्नुभयो, ‘‘अहिले सुशासन, समृद्धि, जनमुखी नीति र स्थानीय विकासका ऐजण्डा बोकेर मतदाताहरूको बीचमा पुगिरहेको छु, मतदाता आकर्षण बढेको छ, त्यसैले मत जित्छु ।” विगतमा आफ्नो पार्टीले यो क्षेत्रबाट जितेर राम्रो काम गरेकाले आफ्नो पार्टीप्रति मतदाताको भरोसा बढेको उहाँको जिकिर छ ।

उम्मेदवारहरूले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिहँदा मतदाताहरू भने कृषि र उद्योगमा लगानीको वातावरण बनाउँदै रोजगारीको सृजना गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

निर्वाचन मतदान गर्ने प्रक्रिया मात्र होइन, जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम होः आयुक्त डा तुलाधर

काठमाडौँ। निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वासनीय हुनु आवश्यक रहेको बताउनुभएको छ ।

निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा उहाँले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र तुल्याउन निर्वाचन प्रक्रियाको पर्यवेक्षणको भूमिका अत्यन्त महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो । आयुक्त तुलाधरले भन्नुभयो, “निर्वाचन केवल मतदान गर्ने प्रक्रिया मात्र होइन, यो जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम हो ।”

उहाँले आममतदाताको विश्वास कायम राख, कानुनी व्यवस्था र आचारसंहिताको पालना सुनिधित गर्न तथा निर्वाचन व्यवस्थापनलाई थप सुधारोन्मुख बनाउन निष्पक्ष, वस्तुनिष्ठ र जिम्मेवार पर्यवेक्षणले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको बताउनुभयो ।

आयुक्त तुलाधरले भन्नुभयो, “निर्वाचन पर्यवेक्षण कार्यमा निर्वाचनसम्बन्धी प्रचलित कानुन, नियम, निर्देशिका तथा निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना हुनु आवश्यक छ । पर्यवेक्षकहरू कुनै पनि राजनीतिक दल, उम्मेदवार वा सरोकारवाला पक्षको प्रभाव, आग्रह वा दबाबमा नपरी निष्पक्ष रूपमा आफ्नो कर्तव्यमा संलग्न हुनुपर्दछ ।”

पर्यवेक्षण कार्यमा संलग्न रहँदा तटस्थता, निष्पक्षता र व्यावसायिक आचरण अत्यावश्यक रहेको बताउँदै उहाँले व्यक्तिगत धारणा, पूर्वाग्रह वा अनुमानका आधारमा निष्कर्ष निकाल्ने कार्य नगरी तथ्यमा आधारित पर्यवेक्षण र अवलोकनमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “पर्यवेक्षणका क्रममा मतदान प्रक्रिया, मतगणना वा निर्वाचन व्यवस्थापनमा संलग्न कर्मचारीको नियमित कार्यमा कुनै किसिमको अवरोध, हस्तक्षेप वा प्रभाव पर्ने गतिविधि तथा कुनै पनि पक्षपातपूर्ण व्यवहार गर्न पाइने छैन । प्रचलित निर्वाचन कानुन र आचारसंहिताको उल्लङ्घनतर्फ सचेत रहनु जरूरी छ ।”

आयुक्त डा तुलाधरले निर्वाचन प्रक्रियालाई अझ पारदर्शी, विश्वासयोग्य र जनउत्तरदायी बनाउन सबैले उच्च नैतिकता, व्यावसायिकता र जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह सुझाव दिनुभयो ।

‘गाउँमै बस्ने वातावरण बनाइदिने नेतालाई भोट’

बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारलाई मतादाता रिझाउन भ्याइनभ्याइ छ । बिहानैदेखि साँझसम्म मतदाताका घरदैलो र बारीमै पुगेर उम्मेदवारले मत मागी रहेका छन् । पटकपटक आश्वासन मात्रै पाएका मतदाताले यसपाली एजेण्डा र प्रतिबद्धता खोज्न थालेका छन् ।

काठेखोला गाउँपालिका–६ का कृष्णप्रसाद सापकोटाले किसानको उत्पादनलाई बजारीकरणको प्रबन्ध मिलाउन सक्ने नेतालाई भोट दिने बताए । हरेक वर्ष दशौँ लाखको तरकारी र फलफूल उत्पादन गर्न भए पनि बजारको अभावमा उचित मूल्य पाउन नसकेको उनको गुनासो छ । आफू विसं २०४८ देखि निरन्तर मतदानमा सहभागी हुँदै आएको सुनाउँदै अहिलेसम्म किसानका माग पूरा गर्ने नेता पाउन नसकेको कँडेलले बताए ।

कँडेलले भने, “पहिले–पहिले घरको काम छोडेर नेतालाई जिताउनुपर्छ भनेर हिँडियो, उनीहरूले चुनाव जितेर सांसद मन्त्री भए, हाम्रो समस्या जहाँको त्यही रहे, अहिले त किसानका काम गर्नु भन्नेलाई मात्रै मत दिने हो, पहिलेको जस्तो झुटा कुरा पत्याएर पछि हिड्न छोडियो, हाम्रा समस्या धेरै छन्, समयमा बीउ, मल पाइँदैन, उत्पादन गरेको वस्तुले मूल्य पाउँदैनन् ।”

आजदेखि आइसिसी टी-२० विश्वकप क्रिकेट सुरू हुँदै, नेपालको खेल कहिले ?

काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेट भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आजदेखि सुरू हुँदैछ। भारत र श्रीलंका आयोजक रहको विश्वकपको पहिलो खेल बेलुकी नेपाली समयअनुसार सवा ७ बजे हुँनेछ ।

पहिलो खेलमा भारत र अमेरिका बिच प्रतिस्पर्धा हुनेछ । विश्वकपको दसौँ संस्करणमा २० टिम सहभागी छन् । फागुन २४ गते विश्वकपको फाईलन खेल हुनेछ ।नेपालले पहिलो खेल इंग्ल्यान्डसँग माघ २५ खेल्नेछ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ५५, बन्दा (लोकल) प्रतिकिलो रु ६०, बन्दा (तराई) प्रतिकिलो रु ४०, बन्दा (नरिबल) प्रतिकिलो रु ४५, काउली स्थानीय प्रतिकिलो रु ४५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ४५, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १८, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २४, भन्टा लाम्चो प्रतिकिलो रु ५५ र भन्टा डल्लो प्रतिकिलो रु ६५ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु २००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १६०, तिते करेला प्रतिकिलो रु २२०, लौका प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ७० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ३५, पालुङ्गो प्रतिकेजी रु ५०, चमसुर प्रतिकिलो रु ५०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ६०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ८०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ३४०, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु २२०, रातो बन्दा प्रतिकिलो रु १२०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २२०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ८० पुदिना प्रतिकिलो रु ३५०, गान्टे मुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३५० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १८०, कागती प्रतिकिलो रु १३०, अनार प्रतिकिलो रु ३२०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ४५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १८०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १२०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १००, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५५०, किबी प्रतिकिलो रु २५० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १३०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १३०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ५५०, भेडे खुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ, नत्र कारबाहीमा परिएला

काठमाडौँ । अहिले युवा पुस्ता सामाजिक सञ्जाल प्रयोगमा सक्रिय छन् । अझ निर्वाचनको पूर्वसन्ध्यामा अझै बढी सक्रिय भइरहेका छन् ।

यस्तो संवेदनशिल समयमा क्षणिक आवेगमा आएर तपाईं अरुलाई गाली गरेका तथा मित्थ्या सूचना सेअर गर्न तथा पोष्ट गर्न सक्रिय त हुनुभएको छैन वा जानी नजानी कसैको व्यक्तिगत चरित्रहत्या गरिरहनुभएको पो छ कि ? सावधान ! यस्ता सूचना सामाजिक सञ्जालमा राख्नुभयो भने तपाईँ कारबाहीमा पर्न सक्नुहुन्छ ।

नेपाल प्रहरीले अहिले सामाजिक सञ्जालको उच्च निगरानी गरिरहेको र यस्ता सूचनाहरू सार्वजनिक गरिएमा कारबाही हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनका अनुसार यसरी सामाजिक सञ्जालको दुरूपयोग सम्बन्धमा टोली नै बनाएर अनुगमन गरिएको छ । यसका साथै प्रहरीको साइबर ब्यूरोले समेत सुक्ष्म अनुगमन गरिरहेको उनले बताए ।

उनले सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यमहरूको प्रयोगद्वारा गलत सूचना र भ्रम फैलाउने, जातीय, धार्मिक, सामाजिक र साम्प्रदायिक सदभाव बिगार्ने, अरुको चरित्रहत्या गर्ने तथा शान्ति सुरक्षामा असर पार्ने सामग्री बनाउने र सेअर गर्नु अपराध भएको पनि बताए ।

प्रहरीले कुनै पनि घटना, कसैको अभिव्यक्ति, तस्बिर वा भिडियोलाई झुट्टो, गलत वा भ्रमपूर्ण रूपमा काँटछाँट गरेर अफवाह फैलाउने उद्देश्यका साथ प्रयोग नगर्न र त्यस्ता सामग्रीलाई प्रोत्साहन गर्न लाइक, सेअर वा कमेन्ट नगर्न पनि सबैलाई अनुरोध गरेको छ ।

कानुनविपरीतका सामग्री उत्पादन, प्रचार वा समर्थन गर्नु पनि अपराध भएको जानकारी गराउँदै उनले अनलाइनमा देखिएका कुनै पनि पोस्टहरू सेअर गर्नुअघि त्यो सही र सत्य भए नभएको बुझ्ने प्रयास गर्न सबैमा अनुरोध गरेका छन् ।

प्रहरीले सार्वजनिक आह्वान गर्दै भनेको छ, “सुरक्षित, सभ्य र सकारात्मक डिजिटल वातावरण निर्माण गर्न हामी सबैको भूमिका महत्त्वपूर्ण छ । जिम्मेवार नागरिक बनौँ, समाजमा शान्ति तथा सदभाव कायम राख्न सबैले सहयोग गरौँ ।”

पशुपतिमा ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’

काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ शुक्रबारदेखि सुरु भएको छ ।

तन्त्रको साधनास्थली र आध्यात्मिक ऊर्जा केन्द्रको रूपमा नेपाललाई विश्वमा चिनाएर धार्मिक पर्यटन प्रवर्द्धन गराउन वनकालीस्थित श्रीपशुपतिनाथ मन्दिर परिसरको नेपाल वेद विद्याश्रममा आजदेखि आगामी फागुन ४ गतेसम्म महायज्ञ जारी रहने छ ।

महायज्ञ आगम परम्परामा आधारित श्रीविद्या उपासना पद्धतिको उच्चतम अनुष्ठानका रूपमा सुरु गरिएको डा रुद्रानन्द ब्रह्मचारी बताए । जहाँ देवी ललिता महात्रिपुरसुन्दरीको एक करोड पटक अर्चना, जप र हवन गरिने उनले जानकारी दिए ।

निर्वाचन २६ दिन बाँकी: ३४ उम्मेदवारले बुझाए आयोगलाई स्पष्टीकरण

काठमाडौँ । आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन् । आयोगले ३४ जनालाई स्पष्टीकरण सोधेको थियो । त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैनन् ।

आयोगले कूल ३४ राजनीतिक दल र सम्बद्ध उम्मेदवारलाई स्पष्टीकरण सोधेकामध्ये २४ जनाले बुझाए पनि अन्यले जवाफ नआएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगले आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीको प्रक्रिया अघि बढाइरहेको छ ।

आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेका छन्

जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाइ कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषय हेर्ने अख्तियारी छ ।

जिल्लामा प्रमुख कोष नियन्त्रक र कोप नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ ।

जिल्लास्तरमा प्राप्त भएका आचारसंहिता उल्लङ्घनका सम्बन्धमा प्राप्त भएका उजुरीलाई आवश्यक कारबाही गरिएको आयोगले जनाएको छ ।

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके। बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा प्रवाहलाई सहज बनाएको छ ।कानुनको अभावमा सेवा प्रवाह गर्दा भोग्नुपरेका अप्ठेरा, समस्या तथा विषयको गम्भीरतालाई मध्यनजर गर्दै स्थानीय सरकारबाट हुने कार्य सम्पादन सहजताका लागि खजुराले कानुन निर्माण गरिरहेको गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताउनुभयो ।

उहाँका अनुसार, गाउँपालिकाबाट प्रवाह हुने सेवा, सुविधा तथा योजनाको समयमै सम्पादन तथा पूर्णता दिन प्रदेश तथा केन्द्रीय कानुनको भरमा काम गर्दा भोग्नुपरेको जटिलतालाई मध्यनजर गर्दै आफ्नै कानुन निर्माणकार्य सम्पादन गर्नुको विकल्प नरहेकाले कानुन निर्माणलाई प्राथमिकता दिइएको हो ।

“विषयगत क्षेत्रका कानुन बनेसँगै कार्यसम्पादनमा सहजता आएको छ”, अध्यक्ष विकले भन्नुभयोे, “नियमावली, कार्यविधि, निर्देशिका तथा मापदण्ड निर्माण गर्दा गाउँपालिकामा रहेका विषयगत समिति र सरोकारवालासँग व्यापक छलफल गरी अन्तिम रूप दिने गरेका छौँ ।”

विषयगत समितिले आ–आफ्नो क्षेत्राधिकारभित्रका विषयमा छलफल गरी कानुन निर्माणमा सघाउने गर्दछन् । कानुन निर्माण पहिलो अनुभव भएकाले सुरुमा काम गर्न गाहो भएको उहाँको भनाइ छ । उहाँले बाँकी कानुन प्राथमिकताका आधारमा निर्माण गर्दै जाने बताउनुभयो ।

संविधानले स्थानीय तहलाई दिएको अधिकार क्षेत्र अन्तर्गत नगरपालिका र गाउँपालिकाले २८ वटा ऐन बनाउनुपर्ने हुन्छ । स्थानीय सरकार कार्य सञ्चालन ऐन २०७४ अनुसार ऐनको मस्यौदा गाउँ÷नगरसभाबाट पारित गरेपछि यसले कानुनी वैद्यता पाउने खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्ल बताउनुहुन्छ । प्रदेश र सङ्घीय सरकारले केही अत्यावश्यक कानुन निर्माणमा ढिलाइ गर्दा त्यसको असर स्थानीय तहमा पनि परेको उहाँको बुझाइ छ ।

गाउँपालिकाले हालसम्म १४ वटा ऐन, दुई वटा नियमावली, चार वटा नीति÷निर्देशिका, सात वटा कार्यविधि र एक वटा विधेयक गरी २८ वटा कानुन निर्माण गरिसकेको छ । थप आवश्यकतालाई मध्यनजर गर्दै केही कानुनको मस्यौदा तयार गरेको र केहीको तयारी गरिरहेको न्यायीक समितिकी संयोजक रहनुभएकी उपाध्यक्ष मल्ल बताउनुहुन्छ ।

गाउँपालिकाको आठ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी ती केन्द्रबाट समुदायमा हुने गरेका विवाद समाधान र मेलमिलाप गराउने गरेको उपाध्यक्ष मल्लको भनाइ छ । उहाँका अनुसार मेलमिलाप केन्द्रमा विशेषगरी लेनदेन घरेलु हिंसालगायतका निवेदन आउने गरेका छन् । यस्ता निवेदनउपर सम्बन्धित वडाको मेलमिलाप केन्द्रबाट समाधान खोजिन्छ । त्यहाँ समाधान हुन नसकेका मेलमिलाप तथा विवाद पालिका तहको न्यायीक समितिमा आउने गर्छन् ।

खजुरा गाउँपालिका–६ का वडाध्यक्ष फारुक शेखले कानुन अभावमा अब गाउँपालिकाले प्रशासनीकलगायतका झमेला ब्यहोर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । गाउँपालिकाले आवश्यक पर्ने कानुन निर्माण गरेसँगै स्थानीय सरकारका जनप्रतिनिधि र प्रशासनको जिम्मेवारी र उत्तरदायित्व स्पष्ट भएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११४ रुपैयाँ १६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८६ पैसा र बिक्रीदर २० रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६ रुपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८६ पैसा र बिक्रीदर २२ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ६५ पैसा , बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५६ पैसा , ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ०२ र बिक्रीदर ३७७ रुपैयाँ ५८ पैसा रहेको छ ।

यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

सडकका खाल्डाखुल्डी पुर्न धमाधम रेडिमिक्स तयार गर्दै सडक डिभिजन

चितवन। जिल्लाका मुख्य सडकमा हुने स–साना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत् अवस्थामा ल्याई आवागमन सहज बनाउन सडक डिभिजन कार्यालय भरतपुरले धमाधम रेडिमेड प्रिमिक्स (रेडिमिक्स) बनाएको छ ।

सामान्य सिमेन्टको बोरामा प्याकिङ गरी राखिने उक्त प्रिमिक्सको आयु कम्तीमा छ महिनासम्म रहने सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक पोटहोलको मर्मत नियमित रूपमा हुने हो । कार्यालयअन्तर्गतका सडकको नियमित मर्मतका लागि कार्यालय मै रेडिमेड प्रिमिक्स निर्माण गरी प्रयोग गरिरहेका छौँ ।”

प्रिमिक्स तयार गर्न बिटुमिन (एमसी–एटर्नेट) प्रयोग गरिन्छ । स्टोन चिप्सलाई करिब ८० डिग्री सेल्सियस तापक्रममा मिक्सिङ गरी चिसिएपछि बोरामा प्याक गरेर भण्डारण गरिन्छ । आवश्यकता परेको बेला सोही सामग्री प्रयोग गरेर तत्काल मर्मत गर्न सकिने उहाँको भनाइ छ ।

कम खर्च र कम जनशक्तिमा तयार गर्न सकिने यो प्रविधि आपत्कालीन अवस्थामा विशेष उपयोगी हुने उहाँले बताउनुभयो । “सडक विभागमा पहिलो पटक पाइलट प्रोजेक्टका रूपमा विसं २०७६ सालमै रेडिमेड प्रिमिक्स निर्माण सुरु गरेका हौँ,” उहाँले भन्नुभयो । “यो तयारी अवस्थामा रहने भएकाले सडकमा पोटहोल देखिए तुरुन्तै मर्मत गर्न सकिन्छ र थप पोटहोल बढ्न पाउँदैन ।” अन्य प्रविधिको तुलनामा यो किफायती र टिकाउसमेत भएको कार्यालयको दाबी छ । हाल करिब एक हजार ५०० बोरा प्रिमिक्स तयारी भइरहेको र आवश्यकताअनुसार परिमाण बढाइने उहाँले जानकारी दिनुभयो ।

कार्यालयको लक्ष्य खाल्डाखुल्डी मुक्त सडक बनाउनु रहेको भन्दै उहाँले जिल्लाको नारायणगढ–मुग्लिन, नारायणगढ–लोथर, भरतपुर–माडी तथा भरतपुर–मेघौली सडक खण्डमा नियमित मर्मत भइरहेको जानकारी दिनुभयो ।

यहाँका सडक भारी सवारीसाधनको चाप, डिजाइन लोडभन्दा बढी भार र वर्षायाममा पानीको बहावले क्षति हुने गरेको उहाँले बताउनुभयो । हिउँदभन्दा वर्षामा सडक बढी बिग्रने भएकाले रेडिमेड प्रिमिक्सको आवश्यकता पनि त्यति नै बढी पर्ने उहाँको भनाइ छ ।