`

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके। बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा प्रवाहलाई सहज बनाएको छ ।कानुनको अभावमा सेवा प्रवाह गर्दा भोग्नुपरेका अप्ठेरा, समस्या तथा विषयको गम्भीरतालाई मध्यनजर गर्दै स्थानीय सरकारबाट हुने कार्य सम्पादन सहजताका लागि खजुराले कानुन निर्माण गरिरहेको गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताउनुभयो ।

उहाँका अनुसार, गाउँपालिकाबाट प्रवाह हुने सेवा, सुविधा तथा योजनाको समयमै सम्पादन तथा पूर्णता दिन प्रदेश तथा केन्द्रीय कानुनको भरमा काम गर्दा भोग्नुपरेको जटिलतालाई मध्यनजर गर्दै आफ्नै कानुन निर्माणकार्य सम्पादन गर्नुको विकल्प नरहेकाले कानुन निर्माणलाई प्राथमिकता दिइएको हो ।

“विषयगत क्षेत्रका कानुन बनेसँगै कार्यसम्पादनमा सहजता आएको छ”, अध्यक्ष विकले भन्नुभयोे, “नियमावली, कार्यविधि, निर्देशिका तथा मापदण्ड निर्माण गर्दा गाउँपालिकामा रहेका विषयगत समिति र सरोकारवालासँग व्यापक छलफल गरी अन्तिम रूप दिने गरेका छौँ ।”

विषयगत समितिले आ–आफ्नो क्षेत्राधिकारभित्रका विषयमा छलफल गरी कानुन निर्माणमा सघाउने गर्दछन् । कानुन निर्माण पहिलो अनुभव भएकाले सुरुमा काम गर्न गाहो भएको उहाँको भनाइ छ । उहाँले बाँकी कानुन प्राथमिकताका आधारमा निर्माण गर्दै जाने बताउनुभयो ।

संविधानले स्थानीय तहलाई दिएको अधिकार क्षेत्र अन्तर्गत नगरपालिका र गाउँपालिकाले २८ वटा ऐन बनाउनुपर्ने हुन्छ । स्थानीय सरकार कार्य सञ्चालन ऐन २०७४ अनुसार ऐनको मस्यौदा गाउँ÷नगरसभाबाट पारित गरेपछि यसले कानुनी वैद्यता पाउने खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्ल बताउनुहुन्छ । प्रदेश र सङ्घीय सरकारले केही अत्यावश्यक कानुन निर्माणमा ढिलाइ गर्दा त्यसको असर स्थानीय तहमा पनि परेको उहाँको बुझाइ छ ।

गाउँपालिकाले हालसम्म १४ वटा ऐन, दुई वटा नियमावली, चार वटा नीति÷निर्देशिका, सात वटा कार्यविधि र एक वटा विधेयक गरी २८ वटा कानुन निर्माण गरिसकेको छ । थप आवश्यकतालाई मध्यनजर गर्दै केही कानुनको मस्यौदा तयार गरेको र केहीको तयारी गरिरहेको न्यायीक समितिकी संयोजक रहनुभएकी उपाध्यक्ष मल्ल बताउनुहुन्छ ।

गाउँपालिकाको आठ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी ती केन्द्रबाट समुदायमा हुने गरेका विवाद समाधान र मेलमिलाप गराउने गरेको उपाध्यक्ष मल्लको भनाइ छ । उहाँका अनुसार मेलमिलाप केन्द्रमा विशेषगरी लेनदेन घरेलु हिंसालगायतका निवेदन आउने गरेका छन् । यस्ता निवेदनउपर सम्बन्धित वडाको मेलमिलाप केन्द्रबाट समाधान खोजिन्छ । त्यहाँ समाधान हुन नसकेका मेलमिलाप तथा विवाद पालिका तहको न्यायीक समितिमा आउने गर्छन् ।

खजुरा गाउँपालिका–६ का वडाध्यक्ष फारुक शेखले कानुन अभावमा अब गाउँपालिकाले प्रशासनीकलगायतका झमेला ब्यहोर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । गाउँपालिकाले आवश्यक पर्ने कानुन निर्माण गरेसँगै स्थानीय सरकारका जनप्रतिनिधि र प्रशासनको जिम्मेवारी र उत्तरदायित्व स्पष्ट भएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११४ रुपैयाँ १६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८६ पैसा र बिक्रीदर २० रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६ रुपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८६ पैसा र बिक्रीदर २२ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ६५ पैसा , बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५६ पैसा , ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ०२ र बिक्रीदर ३७७ रुपैयाँ ५८ पैसा रहेको छ ।

यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

सडकका खाल्डाखुल्डी पुर्न धमाधम रेडिमिक्स तयार गर्दै सडक डिभिजन

चितवन। जिल्लाका मुख्य सडकमा हुने स–साना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत् अवस्थामा ल्याई आवागमन सहज बनाउन सडक डिभिजन कार्यालय भरतपुरले धमाधम रेडिमेड प्रिमिक्स (रेडिमिक्स) बनाएको छ ।

सामान्य सिमेन्टको बोरामा प्याकिङ गरी राखिने उक्त प्रिमिक्सको आयु कम्तीमा छ महिनासम्म रहने सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक पोटहोलको मर्मत नियमित रूपमा हुने हो । कार्यालयअन्तर्गतका सडकको नियमित मर्मतका लागि कार्यालय मै रेडिमेड प्रिमिक्स निर्माण गरी प्रयोग गरिरहेका छौँ ।”

प्रिमिक्स तयार गर्न बिटुमिन (एमसी–एटर्नेट) प्रयोग गरिन्छ । स्टोन चिप्सलाई करिब ८० डिग्री सेल्सियस तापक्रममा मिक्सिङ गरी चिसिएपछि बोरामा प्याक गरेर भण्डारण गरिन्छ । आवश्यकता परेको बेला सोही सामग्री प्रयोग गरेर तत्काल मर्मत गर्न सकिने उहाँको भनाइ छ ।

कम खर्च र कम जनशक्तिमा तयार गर्न सकिने यो प्रविधि आपत्कालीन अवस्थामा विशेष उपयोगी हुने उहाँले बताउनुभयो । “सडक विभागमा पहिलो पटक पाइलट प्रोजेक्टका रूपमा विसं २०७६ सालमै रेडिमेड प्रिमिक्स निर्माण सुरु गरेका हौँ,” उहाँले भन्नुभयो । “यो तयारी अवस्थामा रहने भएकाले सडकमा पोटहोल देखिए तुरुन्तै मर्मत गर्न सकिन्छ र थप पोटहोल बढ्न पाउँदैन ।” अन्य प्रविधिको तुलनामा यो किफायती र टिकाउसमेत भएको कार्यालयको दाबी छ । हाल करिब एक हजार ५०० बोरा प्रिमिक्स तयारी भइरहेको र आवश्यकताअनुसार परिमाण बढाइने उहाँले जानकारी दिनुभयो ।

कार्यालयको लक्ष्य खाल्डाखुल्डी मुक्त सडक बनाउनु रहेको भन्दै उहाँले जिल्लाको नारायणगढ–मुग्लिन, नारायणगढ–लोथर, भरतपुर–माडी तथा भरतपुर–मेघौली सडक खण्डमा नियमित मर्मत भइरहेको जानकारी दिनुभयो ।

यहाँका सडक भारी सवारीसाधनको चाप, डिजाइन लोडभन्दा बढी भार र वर्षायाममा पानीको बहावले क्षति हुने गरेको उहाँले बताउनुभयो । हिउँदभन्दा वर्षामा सडक बढी बिग्रने भएकाले रेडिमेड प्रिमिक्सको आवश्यकता पनि त्यति नै बढी पर्ने उहाँको भनाइ छ ।

आजको मौसम : हिमाली भू–भागका केही स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ। रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु ३१ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ घर भई हाल काठमाडौँ महानगरपालिका–८ बस्ने ४३ वर्षीया उपासना भण्डारी तथा कैलालीको टीकापुर नगरपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–११ बस्ने २३ वर्षीय युवराज कुँवर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।

पक्राउ परेकामध्ये भण्डारीले क्रोएशिया पठाउने भन्दै रु १२ लाख तथा कुँवरले ग्रीस पठाउने भन्दै रु १९ लाख रकम लिइ फरार रहेको उजुरीका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।

उनीहरुलाई काठमाडौँ महानगरपालिका–३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए।

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन

बेल्जियम। इयूले चिनियाँ स्वामित्वको टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’ लाग्ने खालका डिजाइन परिवर्तन गर्न वा इयूको डिजिटल सामग्री नियमहरू अन्तर्गत भारी जरिवानाको जोखिम लिन तयार रहन शुक्रबार निर्देशन दिएको छ।

दुई वर्ष अघि खोलिएको अनुसन्धानको प्रारम्भिक निष्कर्षमा युरोपेली आयोगले टिकटकले विशेष गरी नाबालिग र कमजोर वयस्कहरूमा एपको नकारात्मक प्रभावलाई सम्बोधन गर्न प्रभावकारी कदम नचालेको बताएको छ।

लत लाग्ने खालका अत्यधिक सामग्री प्रयोगका लागि सार्वजनिक गर्ने, स्वचालितरूपमा प्रशारण हुने, प्रचारात्मक सूचना र अत्यधिक व्यक्तिगत सिफारिस प्रणालीजस्ता सुविधाहरूले चिन्ता निम्त्याएको उल्लेख गर्दै आयोगका प्रवक्ता थोमस रेग्नियरले भन्नुभयो, “टिकटकको लत लाग्ने डिजाइन डिजिटल सेवा ऐनको उल्लङ्घन हो।”

“यी सुविधाहरूले विशेष गरी हाम्रा बच्चाहरूको लागि अनुप्रयोगको बाध्यकारी प्रयोगलाई निम्त्याउँछ, र यसले उनीहरूको मानसिक स्वास्थ्य र कल्याणको लागि ठूलो जोखिम निम्त्याउँछ,” रेग्नियरले भन्नुभयो ।उहाँले थप्नुभयो, “टिकटकले अपनाएका उपायहरू पर्याप्त छैनन्।”

टिकटकका प्रवक्ताले एक विज्ञप्तिमा भन्नुभएको छ, “टिकटकले आयोगको निष्कर्षलाई अस्वीकार गरेको छ र यसले हाम्रो प्लेटफर्मको बारेमा स्पष्ट रूपमा गलत र पूर्ण रूपमा गुणस्तरहीन चित्रण प्रस्तुत गर्दछ।”“हामी यी निष्कर्षहरूलाई चुनौती दिन आवश्यक सबै कदमहरू चाल्नेछौँ,“ उहाँले भन्नुभयो ।

तथ्याङ्क संरचना र ‘अल्गोरिदम’ विशाल प्रविधि कम्पनीको ज्यादतीलाई रोक्न हालैका वर्षहरूमा इयूले अपनाएको बलियो कानुनी शस्त्रागारको हिस्सा हो र अधिकारीहरूले अहिलेसम्म टिकटकले ब्लकको डिजिटल नियामकहरूसँग सहयोग गरिरहेको बताएका थिए।

उहाँले भन्नुभयो, “टिकटकले अब ईयूको निष्कर्षमा पहुँच पाउनेछ ताकि दाबीहरूको बिरूद्ध आफूलाई बचाउन सकियोस्।”

भारतले नेपाललाई गर्दै आएको प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण : पूर्वराष्ट्रपति डा यादव

काठमाडौँ। पूर्वराष्ट्रपति डा रामवरण यादवले भारतले नेपाललाई गर्दै आएको प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।भारतीय दूतावासले आज आयोजना गरेको ‘६१औँ भारतीय प्राविधिक तथा आर्थिक सहयोग दिवस’मा उहाँले नेपालको विकासमा भारतको योगदानको स्मरण गर्दै प्राविधिक तथा आर्थिक विकासमा पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको हो ।

“नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक रूपमा एतिहासिक सम्बन्ध रहेको छ”, पूर्वराष्ट्रपति डा यादवले भन्नुभयो, “स्वास्थ, भौतिक पूर्वाधारदेखि शिक्षा र प्राविधिक क्षेत्रमा पुर्याएको योगदान महत्त्वपूर्ण छ ।” नेपाल विकासमा उल्लेखनीय सहयोग गर्दै आएको भारत सरकारले आगामी दिनमा पनि सहकार्य प्रभावकारी रहने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि भारतीय राजदूत नभीन श्रीवास्तवले नेपालका विभिन्न क्षेत्रका सरकारी कर्मचारी, प्रहरी, नेपाली सेना, पत्रकारलागयतका ३५ हजारभन्दा धेरै मानिसले तालिम लिएको जानकारी दिनुभयो । सो अवसर तालिमको अनुभव साटासाट गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियोे ।

विचार र सिद्धान्तका आधारमा नेकपा नै नयाँ पार्टी हो : संयोजक दाहाल

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले विचार र सिद्धान्तका आधारमा नेकपा नै नयाँ पार्टी भएको दाबी गर्नुभएको छ ।नेपाली कम्युनिष्ट पार्टी सल्यान सम्पर्क समितिले आज यहाँ आयोजना गरेको निर्वाचन परामर्श कार्यक्रममा उहाँले नयाँ र पुरानाको निधो विचार, एजेन्डा र सङ्घर्षले गर्ने बताउनुभयो ।

“गणतन्त्रभन्दा नयाँ विचार कसैले ल्याएको छ ? आजको सबैभन्दा नयाँ विचार गणतन्त्र हो । त्यसको नेतृत्व नेकपाले गरेको हो । महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम र उत्पीडित वर्ग र समुदायलाई पहिचान र अधिकार दिनेभन्दा नयाँ नारा कसैले ल्याएको छ ?”, संयोजक दाहालले भन्नुभयो ।

संयोजक दाहालले नयाँ दल भन्नेले जनतासामु पार्टीको दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले नयाँ आन्दोलन र मुद्दाको नेतृत्व गर्ने पार्टीलाई पुरानो भनेर लगाइएको आरोप नै गलत भएको बताउनुभयो ।

नेकपाका नेता प्रकाश ज्वालाले भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम, रोजगारी सृजना र समृद्धिमार्फत समाजवादको यात्रातर्फ आफ्नो पार्टी अघि बढिरहेको बताउनुभयो । नेकपा सल्यान निर्वाचन क्षेत्र नं १ का उम्मेदवार रमेश मल्लले जनता र पार्टीको शिर निहुरिन नदिने गरी आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गोरखाको लाप्राकवासीले धुमधामले गरे ‘मकै विवाह’

गोरखा। जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा लगन जुराएर शुक्रबार प्रमुख बाली मकैको धुमधामले विवाह सम्पन्न गरेका छन् ।

बिहे नगरी मकै रोप्नुहुन्न भन्ने धार्मिक, सांस्कृतिक मान्यताअनुसार लाप्राकीले शुक्रबार मकै बिहे गरेका हुन् । “मकैको बिहे गरेपछि अब बल्ल बारीमा रोप्ने काम सुरु हुन्छ”, स्थानीय मार्सिङ गुरुङले भन्नुभयो, “यसपालि माघ शुक्ल पूर्णिमामा गाउँमा सिमेभुमे पूजा भयो । त्यसलगत्तै लगन छोपेर आज मकैको बिहे गरेका हौैँ ।”

उहाँका अनुसार आज लाप्राकका गाउँले नै उर्लिएर धुमधामका साथ विवाह सम्पन्न गरेका हुन् । गाउँले सबै मकैको जन्ती गए, मकैको भोज भतेर खाए, नाचगान गरे । उत्तरी गोरखाको धार्चे गाउँपालिकाभित्रका लाप्राक, गुम्दा, सिङ्ला, उहिया, खोर्ला, लप्सीबोट, यमगाउँ, खानीगाउँ, लापुलगायत गाउँमा परापूर्वकालदेखि मकै विवाह गर्ने चलन छ । अरु गाउँमा अनुकूलको लगन पारेर मकै बिहे सम्पन्न गर्दैछन् ।

प्रकृति पूजक यहाँका बोन धर्माटलम्बीहरू मकैको बिहे गरेपछि मात्र मुख्य बालीको रूपमा रहेको मकैखेती लगाउन सुरु गर्छन् । मकैको उब्जनी राम्रो होओस्, असिना पानीले नष्ट नगरोस्, रोग नफैलियोस् भनेर यहाँ मकैको बिहे गर्ने गरेको अर्का स्थानीय राम गुरुङ बताउनुहुन्छ ।

ज्योतिषीले निकालेको साइतअनुसार विवाहको अघिल्लो दिन केही घोगा मकै जमिनमा गाडेर राखिन्छ । विवाहका दिन बिहानैदेखि गाउँभरिका मानिस लाप्राकको ठूलो आँगनमा जम्मा हुन्छन् ।

अनि सिङ्गारेर एकजना बालकलाई डोलीमा राखेर ढ्याङ्ग्रो, मादल र झ्यालीलगायत बाजागाजासहित जन्ती जाने गर्छन् । ठूलो आँगनबाट मनिडाँडा हुँदै केहीपर जङ्गलमा बेहुली घरका रूपमा बनाएको अर्काको सानो झुप्रोमा कन्या राखेको ठाउँमा जन्ती पुग्छ ।

जन्तीले ती कन्यालाई लिएर पुनः बाजागाजासहित लाप्राक गाउँको परिक्रमा गर्छन् । जन्ती जाँदा आफ्नो घरबाट लगेको एक–एक घोगा मकै एकै ठाउँमा थुप्रो लगाइन्छ । त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ । यही मकैलाई अरु बीउमा मिसाएर गाउँका सबै किसानले बारीमा मकै रोपिने लाप्राकका बिसबहादुर गुरुङ बताउनुहुन्छ ।

बेलुका फेरि ठूलोआँगनमा पुगी नाचगान गरी भुटेको मकैको भोज खाएपछि साँझ घाटु नाचसँगै मकै बिहे समापन हुने गुरुङले बताउनुभयो । “यो पुरानो परम्परा हो, यसरी मकैको बिहे गरेपछि बल्ल मकै लगाउन सुरु हुन्छ ।

बिहे नगरी मकै लगाउँदा अशुभ हुन्छ भन्ने मान्यता छ”, स्थानीय मार्सिङ गुरुङले भन्नुभयो । लाप्राकवासीले हरेक वर्ष माघको अन्तिम तथा फागुन महिनाको पहिलो हप्ताभित्र मकैको विवाह सम्पन्न गर्ने गरेको उहाँले बताउनुभयो । धार्चे गाउँपालिकाले मकै बिहेलाई प्रवर्द्धन गर्न वृत्तचित्र बनाएको छ । रासस

उज्यालो नेपाल पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : कुलमान घिसिङ

महोत्तरी । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण रहेको बताएका छन् ।उज्यालो नेपाल पार्टीले शुक्रबार महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित महेन्द्र चोकमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेश प्रदेशलाई उज्यालोमय बनाउन आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

अध्यक्ष घिसिङले देशको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार रहेको र आफ्नो पार्टीको मुख्य एजेन्डा नै मधेस तथा समग्र देशबाट भ्रष्टाचार अन्त्य गर्नु रहेको उल्लेख गरे । उनले मधेसमा सामाजिक, वर्गीय जस्ता अनेकौ विभेद कायम रहेकाले प्रदेश पछाडि परेको हुँदा ती विभेदलाई अन्त्य गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।

निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त

काठमाडौँ, २३ माघ : केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ३४ उजुरी प्राप्त भएको र सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा २४ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

जिल्लास्तरमा उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरु क्रियाशील रहेको उहाँले बताउनुभयो ।

जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक÷कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । छोटो समयमै सबै जिल्लामा सरोकारवालाहरूलाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिवद्धता गराउने कार्य भइरहेको आयोगले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक प्रतिनिधिसभा सदस्य निर्वाचन समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । उक्त बन्दसूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्हमा तीन हजार १३५ उम्मेदवार कायम भएका छन् । जसमा एक हजार ७७२ महिला र एक हजार ३६३ पुरूष उम्मेदवार रहेको आयोगले जनाएको छ ।

सङ्गठनका प्राथमिकताहरू गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्छ : महानिरीक्षक कार्की

काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको उपस्थितिमा वार्षिक कार्यसम्पादन सम्झौता २०८२/८३ को अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम आज प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले साङ्गठनिक हित र संस्थागत विकासका निमित्त सङ्गठनका प्राथमिकताहरू पहिचान गरी कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो ।

वार्षिक लक्ष्य हासिल गर्न आगामी दिनमा कार्यसम्पादन सम्झौताको कार्यान्वयनमा थप व्यावसायिकता प्रदर्शन गर्दै कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापनलगायतका प्रहरी कार्यलाई थप चुस्त र व्यवस्थित बनाउँदै प्रभावकारी प्रहरी परिचालनमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।

ट्राफिक व्यवस्थापन एवं सवारी दुर्घटना न्यूनीकरणमा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्नुपर्ने उल्लेख गर्दै उहाँले फरार अभियुक्त पक्राउ, आर्थिक तथा वित्तीय अपराध, राजस्व चुहावट नियन्त्रण एवं आपराधिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउनसमेत प्रहरी थप सक्रिय हुनुपर्ने बताउनुभयो ।

उक्त समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेन्द्रप्रसाद भट्टले नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतका पाँचवटै विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पताल, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सातवटै प्रदेश प्रहरी कार्यालयको समग्र कार्यसम्पादन सम्झौताको अर्धवार्षिक प्रगति समीक्षासम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो ।

प्रस्तुतिकरणमा कार्यसम्पादन सम्झौता २०८२/८३ को अर्धवार्षिक अवधिका प्रमुख उपलब्धि, कार्यसम्पदान सम्झौता कार्यान्वयनका चुनौती, प्रगति प्रतिवेदनमा देखिएका समस्या र कार्यसम्पदान सम्झौता कार्यान्वयनमा सुधारका क्षेत्रलगायत विषयवस्तुहरू समेटिएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, प्रहरी वरिष्ठ अधिकृतलगायतको उपस्थिति रहनुका साथै सातवटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

फागुन २१ चुनाव : नेपाल–भारत नाकामा ४८ घण्टाअगावै बन्द गरिने

काठमाडौँ, २३ माघ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल–भारत सीमानाका ४८ घण्टाअगावै बन्द गरिने भएको छ । मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बलबीचको १६औँ डिआइजीस्तरीय समन्वय बैठकले सो निर्णय गरेको सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

बैठकमा सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रणलगायत विषयमा छलफल भएको थियो ।

समन्वय बैठकमा सीमास्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सीमाक्षेत्रका सम्भावित नाकाहरू पहिचान गरी त्यसबाट हुनसक्ने खतरा मूल्याङ्कन गर्ने, शरणार्थी र आप्रवासीहरूको गतिविधिउपर निगरानी राख्ने, विभिन्न तह बनाई नियमित चेकजाँच गर्न दुवै पक्षबीच सहमति भएको छ ।

बैठकमा आपराधिक तत्वहरूबाट हुनसक्ने घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने, सीमाक्षेत्रमा मादक पदार्थ विक्री वितरण र सेवनमा पूर्णतः बन्देज गर्नेलगायत विषयहरूमा समेत छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले सीमा केवल दुई देशबीचको रेखा नभई मित्रताको प्रतीक भएको उल्लेख गर्नुभयो ।

समकक्षी भारतीय सशस्त्र सीमा बलका डिआइजी सरोजकुमार ठाकुरले नेपाल–भारत सीमाक्षेत्रलाई आगामी दिनमा अझ मजबुत र बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठकमा सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापा तथा भारतीय एसएसबीको तर्फबाट डिआइजी सरोजकुमार थाकुर, मन्जिीत सिंह, सुरेश सुब्रमनिम, राजेस टिक्कु र मनिष कुमारको समेत उपस्थिति थियो ।—

लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट चार जना पक्राउ

कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतका २१ वर्षीय अर्जुनकुमार प्रजापति, वडा नं ७ का २२ वर्षीया ललितासिंह ठकुरी, नरहरिनाथ गाउँपालिका–९ कालीकोटका १८ वर्षीय रमेश रावल र ठाकुरबाबा नगरपालिका–७ बर्दियाका २२ वर्षीया अर्जुन बुढा रहेका छन् ।

पक्राउ परेका आरोपितहरूको साथबाट एक ग्राम ५६० मिलीग्राम लागुऔषध नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक बुढ्थापाले बताए।उहाँले भन्नुभयो, “स्थानीयले वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाामा प्रहरीले चलाएको विशेष अप्रेसनका क्रममा उनीहरूलाई शङ्कास्पद अवस्थामा फेला पारिएको थियो ।

खानतलासी गर्दा लागुऔषध नै भेटियो ।” उनीहरूका साथबाट नाइट्राजेपाम ३१ ट्याब्लेट फेलापरेको बताउँदै प्रहरीले पक्राउ परेकाहरूको आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।

त्यसैगरी, जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त नौगाड गाउँपालिका–२ का २७ वर्षीय भूपेन्द्रसिंह ठगुन्नालाई काठमाडौँ जिल्ला वडा एरियामा लुकीछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरी सुर्खेत प्रहरीमा ल्याई उक्त मुद्दामा ठगुन्नालाई अनुसन्धान थालिएको जनाइएको छ ।

महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ ट्रेलर सार्वजनिक

काठमाडौँ । महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ ट्रेलर सार्वजनिक गरिएको छ । आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने उक्त फिल्मको ट्रेलर आज काठमाडौँ नयाँ बानेश्वरस्थित वान सिनेमामा आयोजित एक कार्यक्रममा महानायक हमाल, फिल्मका निर्देशक तथा अभिनेता श्याम क्षेत्रीले संयुक्त रुपमा सार्वजनिक गरे । उक्त कार्यक्रममा नेपाली फिल्मसँग जोडिएको सङ्घ संस्थाहरू चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, निर्माता सङ्घका अध्यक्ष उदय सुब्बाले निर्देशक क्षेत्रीलाई फिल्मनगरीमा स्वागत गरेका थिए ।

महानायक हमालले फिल्ममा जोडिनुको कारण विषयवस्तु र त्यसले दिने संदेश रहेको बताए । उनले भने, ‘ नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको उक्त फिल्मलाई श्याम क्षेत्रीसँगै राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका छन् । प्रवासीहरूको सुख दुःख, आरोह अवरोह र चुनौतीहरूलाई मुख्य विषयवस्तु बनाएर फिल्म तयार गरिएको निर्देशक मध्येका एक श्याम क्षेत्रीले बताए । उनले भने, ‘प्रवासमा पुग्ने जो कोहिले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउनु हुनेछ । हामीले भौतिक रुपमा देखिने दुःखका धेरै चर्चा गर्छौँ तर मानसिक रुपमा भोहिरहेको यातनालाई वे–वास्ता गर्ने गरेका छौँ । त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यलाई फिल्ममा देखाएका छौँ ।’

उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने बताए । फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।

‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्यसमेत रहेको उक्त फिल्ममा अभिनेता हमाल र अभिनेत्री लामिछाने विषयवस्तुकै कारण जोडिएका हुन् । अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायाङ्कन गरिएको उक्त फिल्मलाई श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको छ । ‘डाईङ क्यान्डल’, ‘चक्कर’, ‘जय श्री दाम’, ‘केटीएम कक्टेल’, ‘सरिता’ फिल्म निर्माण गरेका छायाँकार रविन आचार्यले यस फिल्मलाई निर्माण गरेका हुन् ।निर्माता आचार्यले अभिनेता हमाल फिल्मसँग जोडिनुलाई विषयवस्तुकै आकर्षणका रुपमा प्रस्ट्याए ।

‘यसको विषयले एउटा सचेतना पनि दिन्छ, यो प्रवासी जीवनको उज्यालो र अध्यारोसँग जोडिएको कथा हो । हामीले निकै कम चर्चा गर्ने मानसिक स्वास्थ्यको समस्या र त्यसपछिको सुन्दर जीवनले प्रेरणा दिन्छ भन्ने हामीलाई लागेको छ । यो प्रवासमा रहेका आफ्नो परिवारको बारेमा बुझ्न पनि हेर्नु पर्ने एउटा फिल्म बनेको छ’, निर्माता आचार्यले भने ।

फिल्मको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् ।यसमा अमृत बिसुवाले छायाङ्कन, राम अधिकारीले सम्पादन, सुवास सिन्चुरीले पाश्र्व सङ्गीत, देवी खतिवडाले शृङ्गार, राज शङ्कर र प्रतिक सार्कीले ध्वनी मुद्रण, नवीन कार्कीले सङ्गीत सिर्जना, मुख्य सहायक निर्देशन लक्ष्मण अधिकारीले गरेका छन् भने प्रमोद खरेल र प्रताप दास जस्ता गायकले स्वर दिएका छन् । फागुन १५ देखि देशव्यापी प्रदर्शन हुने उक्त फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि आचारसंहिता पालना गर्ने प्रतिबद्धता

कञ्चनपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न कञ्चनपुरका राजनीतिक दल, उम्मेदवारलगायत सरोकारवालाले आचारसंहिता अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

झलारीमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ कार्यालयले आयोजना गरेको निर्वाचन आचारसंहिता २०८२ को कार्यान्वय र पालनासम्बन्धी अन्तक्र्रियाका सहभागी सबै पक्षले स्वच्छ निर्वाचन लोकतन्त्रको आधार भएकाले यसको सफलताका लागि सहकार्य अपरिहार्य रहेकामा एकमत जनाएका हुन् ।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले निर्वाचन हुने विषयमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो । निर्वाचनका लागि आवश्यक पूर्वतयारीका सबै काम पूरा भइसकेको जानकारी दिँदै उहाँले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सुरक्षा निकायका तीनै अङ्ग परिचालन भइसकेको बताउनुभयो ।

“सुरक्षाको विषयमा चिन्ता गर्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “कुनै पनि घटना घट्दै गरेको जानकारी प्राप्त भएमा तत्काल सुरक्षा निकाय परिचालन गर्ने व्यवस्था गरिएको छ ।”

जिल्लाका मुख्य निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले निर्वाचनको विकल्प निर्वाचन नै भएकाले सबै पक्षको सहकार्यमा स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो ।

सभ्य समाज निर्माणका लागि सामाजिक शिष्टाचार जोगाउन आचारसंहिता पालना अनिवार्य रहेको उहाँको भनाइ थियो । हालसम्म निर्वाचन कार्यालयमा गम्भीर प्रकृतिका आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी नआएको जनाउँदै उहाँले कतै उल्लङ्घन भएमा उजुरी दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले सरकारी सवारीसाधनको दुरुपयोग रोक्नुपर्ने, उम्मेदवार तथा जनप्रतिनिधिको सुरक्षाको सुनिश्चित गर्नुपर्ने, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्नुपर्ने र मतदाताले स्वविवेकले मतदान गर्न पाउने वातावरण कायम गर्नुपर्ने माग गरेका थिए ।

नेपाली समाजलाई गाँस्न सक्ने नेतृत्व नेपाली कांग्रेससँग छ – उपसभापति शर्मा

ललितपुर। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हरेक कालखण्डमा कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको बताउनुभएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा आज यहाँ आयोजित निर्वाचन विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले देशमा उत्पन्न विषम परिस्थितिका कारण दुई वर्षअगावै निर्वाचन हुन गइरहेकाले देशको हितमा समन्वय र सहकार्य गर्ने काम नेपाली कांग्रेसले गर्न सक्ने बताउनुभयो ।

“समाजलाई गाँस्न सक्ने समावेशी राजनीति बिपी कोइरालाले गर्नुभएको थियोे, गिरिजाप्रसाद कोइरालाले द्वन्द्वको निवारण गर्दै माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुभएको थियोे,” उहाँले भन्नुभयो, “कांग्रेस जिम्मेवार राजनीतिक दल भएकाले विगतमा भएको कमजोरी सुधार गर्दै गालीको राजनीति बन्द गरी बदलिएको परिवेशअनुसार समृद्धि र समुन्नतिको लक्ष्यमा अगाडि बढ्ने छ ।”

उहाँले जेनजी आन्दोलनको अपेक्षालाई सम्बोधन गर्दै मानिस–मानिसबीचको विश्वास कायम गर्न र देशको परिस्थितिलाई मूल्याङ्कन गर्दै नेपाली समाजलाई गाँस्न सक्ने नेतृत्व नेपाली कांग्रेससँग भएको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका अग्रज नेता एवं केन्द्रीय सदस्य ओमकारप्रसाद श्रेष्ठले आफूले ७० वर्ष योगदान गरेको नेपाली कांग्रेसले समयको मागअनुसार आवाजलाई सम्बोधन गर्ने बताउँदै आठ लाखभन्दा बढीको सङ्ख्यामा रहेका क्रियाशील सदस्यहरुले नेपाली कांग्रेसको नीतिअनुसार देशलाई अगाडि बढाउन आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं १ का उम्मेदवार उदयशम्शेर राणाले जेनजी आन्दोलनले नेपालीहरूको सोचाइमा परिवर्तन ल्याएकाले त्यही सोचअनुसार नेपाली कांग्रेस पनि बदलिएको बताउनुभयो । अब देशको आर्थिक, सामाजिक रुपान्तरण, आमनागरिकको जनजीविकामा सुधार ल्याउँदै आर्थिक समृद्धि हासिल गर्न, सुशासन कायम गर्न पार्टीले बहुमत हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट क्षेत्र नं २ का उम्मेदवार प्रेमकृष्ण महर्जनले नेपाली कांग्रेसको नेतृत्व र कार्यशैली बदलिएको बताउँदै देशको परिवर्तनका लागि जिम्मेवारीबोध गर्दै एकताबद्ध भएर २०४८, २०५६ र २०७० सालमा जस्तै बहुमत हासिल गर्न क्रियाशील भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड’ सङ्गीतकार बासकोटालाई

काठमाडौँ – विन्ध्यवासिनी फाउण्डेसनले ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड’ सङ्गीतकार शम्भूजीत बासकोटालाई प्रदान गर्ने भएको छ । उहाँलाई उक्त अवार्डसहित नगद रु एक लाख र सम्मानपत्र प्रदान गरिने छ ।

फाउन्डेसनको सल्लाहकार समितिको बैठकले ‘विन्ध्यवासिनी सङ्गीत साधना सम्मान’ गीतकार विजय शिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष लीना शर्मा रेग्मीले जानकारी दिनुभयो । उहाँलाई उक्त सम्मानसहित रु ५० हजार प्रदान गरिने छ । त्यसैगरी, ‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान’ पत्रकार पवन आचार्यलाई प्रदान गरिने भएको छ । सम्मानसहित उहाँलाई रु २५ हजार प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले ‘प्रेमध्वज सङ्गीत रत्न सम्मान’ युवा गायिका रचना रिमाललाई प्रदान गर्ने निर्णय गरेको छ । विन्ध्यवासिनी फाउण्डेसनका सल्लाहकार तथा नेपाली सङ्गीत क्षेत्रका शिखर पुरूष स्वर्गीय प्रेमध्वज प्रधानको नाममा रहेको उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

त्यसैगरी, ‘झलकमान लोक–सङ्गीत सम्मान लोकदोहोरी गायक पशुपति शर्मालाई प्रदान गरिने भएको छ । उहाँलाई रु २५ नगदसहित सम्मानपत्र प्रदान गरिने छ । फाउन्डेसनले यस वर्षदेखि अवार्डको विधा घटाएर पब्लिक च्वाइससमेत गरी ११ विधामा अवार्डबाट सम्मान गर्ने जनाएको छ । साथै हरेक विजेतालाई ट्रफीसहित रु पाँच हजार प्रदान गरिने अध्यक्ष रेग्मीले बताउनुभयो ।

विन्ध्यवासिनी म्युजिक अवार्डको १६औँ संस्करण आगामी चैत २७ गते राष्ट्रिय नाचघर जमलमा आयोजना गर्ने निर्णय गरिएको फाउन्डेसनले जनाएको छ ।

हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने १८१ वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकलाई कारबाही सिफारिस

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने १८१ वटा कन्टेन्ट उत्पादक÷सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइवर ब्यूरोमा पठाएको छ ।

आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा सात वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै, ४० वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र ४७ वटालाई निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कारबाहीका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ ।

निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या÷भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाइ पूर्ण रूपमा क्रियाशील रहेको पनि उहाँले सुनाउनुभयो ।

मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत

आम मतदातालाई निर्वाचनका विविध पक्षको जानकारीका साथै मताधिकारबारे सचेत गराउने तथा सही मतसङ्केतका लागि प्रशिक्षित गर्ने उद्देश्यले आयोगले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषण गरिरहेको छ । डिजिटल प्लेटफर्ममा भइरहेको सचेतनालाई आयोगले वडास्तरमा पुर्याउने लक्ष्यसहित यही माघ १९ गते मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रमअनुसार प्रत्येक स्थानीय तहका हरेक वडामा एक–एक जना स्वयंसेवक परिचालन हुनेछन् ।

सम्बन्धित निर्वाचन कार्यालयबाट छनोट प्रक्रिया अघि बढाउने गरी स्थानीयस्तरमा कार्यरत बाल विकास सहजकर्ता वा मातृशिशु कार्यकर्ता वा स्थानीय स्वास्थ्य स्वयंसेविका वा सामुदायिक अध्ययन केन्द्रका परिचालकमध्येबाट एक जना स्वयंसेवक छनोट हुनेछन् ।

मतदाता शिक्षा सामग्री उत्पादन र प्रभावकारी परिचालनका लागि सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यम तथा विभिन्न क्षेत्रका नियामक निकायसँग पनि यसै हप्ता सम्झौता भएको छ । राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक सेवा प्रसारण नेपाल, गोरखापत्र संस्थान, विज्ञापन बोर्ड र सञ्चारमाध्यमको नियामक निकाय प्रेस काउन्सिल नेपालसँग पनि सहकार्यको सहमति भएको आयोगले जनाएको छ ।

प्रभावकारी मतदाता शिक्षाले मतदातालाई मतदान प्रक्रिया, मतसङ्केत र मिथ्या सूचना पहिचान गर्ने क्षमता अभिवृद्धि हुने तथा स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय निर्वाचन सुनिश्चित गर्नसमेत महत्त्वपूर्ण भूमिका खेल्ने आयोगले विश्वास लिएको पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।

डिजिटल प्लेटफर्मसँग सहकार्य

प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वच्छता प्रवर्द्धनका लागि आयोग र टिकटकबीच बुधबार समझदारीपत्र आदानप्रदान भएको छ । आयोगका सहसचिव नारायणप्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले एक कार्यक्रमबीच आदानप्रदान गर्नुभएको थियो ।

समझदारीपत्रअनुसार टिकटकले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वच्छता प्रवर्द्धन तथा आयोगको क्षमता अभिवृद्धिमा निःशुल्क सहकार्य गर्नेछ ।

सहकार्यले निर्वाचनसम्बन्धी सही, भरपर्दो र समयमै सूचना सर्वसाधारणको पहुँचमा पुर्याउने तथा निर्वाचनलाई असर पार्न सक्ने भ्रामक सूचना तथा हानिकारक सामग्रीको नियन्त्रणका लागि आयोगबाट भइरहेको प्रयासमा योगदान पुग्ने आयोगको विश्वास छ । आयोगले अन्य सामाजिक सञ्जालका कम्पनीहरूसँग पनि सहकार्यका लागि निरन्तर संवाद गरिरहेको जनाएको छ ।

निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा आज गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन ‘हाइअलर्ट’मा रही काम गर्न मन्त्रालय मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

बैठकले निर्वाचन तयारी सम्बन्धमा विगतका बैठकले गरेको निर्णय कार्यान्वयनको अवस्थाको समीक्षा गरी निर्वाचन नजिकिँदै गर्दा आउन सक्ने थप सुरक्षा चुनौतीहरूलाई चिर्न अवलम्बन गरिनुपर्ने रणनीतिबारे समेत मार्गनिर्देश तय गरेको छ ।

गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिव तथा चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई लक्षित गरी कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समीक्षा गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए ।

बैठकले सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने, निर्वाचनविरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने, निर्वाचनमा ड्रोनको प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।

यस्तै, निर्वाचनमा खटिएका सुरक्षाकर्मी र निर्वाचन प्रहरीको बिमा गर्ने, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी आवश्यक व्यवस्था गर्ने, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्यारभ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्नेलगायतका निर्णय गरेको प्रवक्ता काफ्लेले जानकारी दिए ।

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छः अध्यक्ष ओली

सुरुङ्गा (झापा) – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई स्वाभाविक र सकारात्मक रूपमा लिनुपर्ने बताउनुभएको छ ।

गृहजिल्ला झापा आगमनका क्रममा अध्यक्ष ओलीले आज चन्द्रगढी विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सिक्ने चाहना र राजनीतिक सक्रियताको आकाङ्क्षा राख्ने युवा पुस्तालाई निरुत्साहित गर्नु गलत हुने धारणा राख्नुभयो । नयाँ पुस्ताले ‘सिक्छु, राजनीतिमा लाग्छु’ भन्नु गलत नभएको स्पष्ट पार्दै उहाँले राजनीतिमा पुस्तान्तरण आवश्यक रहेको बताउनुभयो ।

“अनुभव र ऊर्जाको संयोजनले मात्रै राजनीतिक संस्कार सुदृढ हुनसक्छ”, उहाँले भन्नुभयो । झापा क्षेत्र नं ५ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका अध्यक्ष ओली आज हवाईमार्ग हुँदै यहाँ आइपुग्नुभएको हो ।

राजनीतिक प्रतिस्पर्धा स्वागतयोग्य भएको उल्लेख गर्दै उहाँले आफूसँग प्रतिस्पर्धा गर्न कोही अगाडि आउँछ भने त्यसलाई सधैँ खुलेर स्वीकार गर्ने बताउनुभयो । लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा र युवाको सक्रिय सहभागिताले राजनीति अझ परिपक्व हुने अध्यक्ष ओलीले विश्वास व्यक्त गर्नुभयो ।

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टि–२० विश्वकप खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेको छ ।

श्रीलङ्का क्रिकेटका प्रमुख कार्यकारी अधिकृत एस्ले डि सिल्भाले शुक्रबार प्राप्त रिपोर्टका आधारमा पाकिस्तानलाई निर्णय पुनः सोच्न अनुरोध गरिएको जानकारी दिए । उनका अनुसार बहिष्कार अगाडि बढेमा यसले विभिन्न पक्षलाई असर पार्नेछ, किनकि फेब्रुअरी १५ मा हुने खेलका लागि सुरक्षा व्यवस्था, होटल बुकिङ र टिकट बिक्रीसहित सम्पूर्ण अन्तिम तयारी पूरा भइसकेको छ ।

डि सिल्भाले श्रीलङ्का क्रिकेटले पाकिस्तान क्रिकेट बोर्डका आफ्ना समकक्षीहरूलाई दुई देशबीचको लामो र बलियो क्रिकेट सम्बन्धको आधारमा पत्र पठाएको बताए । यद्यपि, उनले उक्त पत्रको विस्तृत विवरण सार्वजनिक गर्न चाहेनन् ।

श्रीलङ्का सन् २००९ मा लाहोरमा श्रीलङ्का टोलीमाथि भएको आतङ्कवादी आक्रमणपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट अलग परेको पाकिस्तान भ्रमण गर्ने पहिलो राष्ट्रिय टोली बनेको थियो । सो आक्रमणपछि पाकिस्तानमा लामो समयसम्म अन्तर्राष्ट्रिय क्रिकेट स्थगित भएको थियो ।

यसपालि श्रीलङ्का र भारतले सह–आयोजना गरिरहेको टि–२० विश्वकप पाकिस्तान सरकारको निर्णयका कारण विवादमा परेको छ । पाकिस्तान सरकारले यस हप्ताको सुरुमा आफ्नो टोली भारतसँग खेल्न मैदान नउत्रने घोषणा गरेपछि बहिष्कारको स्थिति उत्पन्न भएको हो ।

पछि पाकिस्तान सरकारले यो निर्णय बङ्गलादेशसँगको एकताका रूपमा लिइएको स्पष्ट गरेको छ । सुरक्षा चिन्ताको कारण देखाउँदै आफ्ना खेलहरू भारतबाट श्रीलङ्कामा सार्न माग गरेपछि बङ्गलादेश टोलीलाई प्रतियोगिताबाट हटाइएको थियो र त्यसको सट्टा स्कटल्यान्डलाई सहभागी गराइएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले स्वतन्त्र मूल्याङ्कनपछि भारतमा बङ्गलादेश टोलीका लागि कुनै सुरक्षा जोखिम नभेटिएको र खेल स्थानान्तरणको माग ढिलो भएको जनाएको छ ।

हालैका प्रतियोगिताहरूमा भारत र पाकिस्तानलाई तटस्थ स्थलमा खेल्न अनुमति दिइएको उदाहरण प्रस्तुत गर्दै पाकिस्तानले आइसिसीको निर्णय असङ्गत भएको आरोप लगाएको छ ।

भारत र पाकिस्तानबीच दशकौँदेखि सैन्य र कूटनीतिक तनाव रहँदै आएको छ, जसको असर क्रिकेटमा पनि देखिँदै आएको छ । क्रिकेट दुवै देशमा करोडौँ मानिसले अत्यन्त चासोका साथ पछ्याउने खेल हो ।

यसैबीच, सन् २०२२ मा गम्भीर आर्थिक सङ्कट भोगेको श्रीलङ्का हाल अन्तर्राष्ट्रिय मुद्राकोषको पुनःउत्थान कार्यक्रमअन्तर्गत अघि बढिरहेको छ । पर्यटन श्रीलङ्काको प्रमुख आर्थिक आधार भएकाले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगितालाई आर्थिक रूपमा पनि महत्त्वपूर्ण मानिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ

काठमाडौँ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको साप्ताहिक पत्रकार सम्मेलनमा आज दिइएको जानकारीअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने जम्मा दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने छ । छपाइ भएको मतपत्रको सात हजार १३४ बाकस प्याकिङ भइसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बू, खोटाङ, धनकुटा, बागलुङ र गुल्मी गरी जम्मा ३२ जिल्लाको छपाइ तथा प्याकिङ्ग सम्पन्न भइसकेको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लाहरुमा पठाइ सकिएको आयोगले जनाएको छ ।

गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वतयारीअन्तर्गत डिजिटल प्लेटफर्म टिकटकसँग सहकार्यका लागि हस्ताक्षर सम्पन्न गरेको छ । आयोगले मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरी प्रदेशस्तरमा अभिमुखीकरण कार्यक्रमसहित प्रत्येक वडास्तरमा स्वयंसेवक खटाउने तयारी गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरिएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ जारी छ । अनुगमनमा निरन्तरता दिँदै केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरुलाई सक्रिय पारिएको आयोगले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जभित्रको हुलाकी सडक ‘धुलोरहित’ बनाइँदै, मोज्याक टायल लगाउने काम थालियो

चितवन। विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाउने काम थालिएको छ । माडी नगरपालिकाको बजेटमा उपभोक्ता समितिमार्फत काम सुरु गरिएको हो ।

वनकट्टा चेकपोष्ट नजिक इन्टरब्लक बिछ्याउने काम उपभोक्ता समितिमार्फत मोज्याक (इन्टरब्लक)को काम सुरु गरिएको हो । उपभोक्ता समितिका अध्यक्ष विकास ढकालका अनुसार लागत अनुमानमा ३४ मिटर क्षेत्रमा मोज्याक लगाउने भनिएको भए पनि ४२ मिटर सडकमा मोज्याक लगाउन लागिएको छ । सात मिटर चौडाइ सडकमा मोज्याक बिछ्याउन लागिएको हो । नगरपालिकाले रु १० लाख विनियोजन गरेर उपभोक्ता समितिमार्फत पहिलो चरणमा परीक्षणका रुपमा काम सुरु गरेको हो ।

सडकको एकातर्फ कर्भस्टोन लगाइएको छ । अर्कोतर्फको काम शनिबारसम्ममा सम्पन्न गरेर एक साताभित्र मोज्याक टायल बिछ्याउने काम सम्पन्न गरिने उनले जानकारी दिए । नगर प्रमुख तारा काजीकुमारी महतोका अनुसार कालोपत्र गर्न नमिलेपछि सडकलाई धुलोरहित बनाउन मोज्याक टायल लगाउन लागिएको हो ।

यसका लागि वन मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई आवश्यक सहजीकरण गरिदिन पत्राचार गरिसकेको छ । विभागले चितवन राष्ट्रिय निकुञ्जलाई सडकमा मोज्याक टायल लगाउनका लागि आवश्यक सहजीकरण गर्न पत्राचार गरेको छ ।

प्रमुख महतोले चालु आर्थिक वर्षमा नगरपालिकाले मोज्याक टायलका लागि रु पाँच करोड ५० लाख विनियोजन गरेको छ । परीक्षणका रुपमा उपभोक्ता समिति बनाएर थोरै ठाउँमा काम गरेपछि प्रभावकारिताका आधारमा थप क्षेत्रमा काम गरिने उनले बताइन् ।

कसराको राप्ती पुलबाट रिउखोलासम्म करिब नौ किलोमिटर सडक निकुञ्जभित्र पर्दछ । त्यसमध्ये राजपत्रमा प्रकाशित भएको सुविधा प्राप्त बाटो भनी उल्लेख गरेको रिउ खोलादेखि ध्रुव पोष्टसम्मको सडकलाई पहिलो प्राथमिकता राखिएको छ । करिब पाँच किलोमिटर सडक रहेको सुविधा प्राप्त बाटोको काम सुरुमा गरिने प्रमुख महतोले जानकारी दिइन्।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार विभागले मन्त्रालयमा भएको सहमतिअनुसार सडकमा मोज्याक टायल लगाउनका लागि आवश्यक सहजीकरण गरिदिन पत्र पठाएको छ । उनले भनिन्, “काम माडी नगरपालिकाले गर्दैछ, आवश्यक सहजीकरण हामीले गर्छौं ।”

माडीका नागरिकले पटकपटक सो सडकलाई धुलोरहित बनाउन माग गर्दै आएका थिए । जेनजी आन्दोलनका क्रममा माडीमा कुनै सरकारी वा निजी सम्पत्तिमाथि आक्रमण नगर्ने तर निकुञ्जभित्रको सडक निर्माण गर्ने सहमति भएको थियो । सोहीअनुसार माडीका आन्दोलनकारीले सो क्षेत्रमा कुनै पनि संरचनामाथि आक्रमण गरेका थिएनन् ।

त्यसलगत्तै माडीका जनप्रतिनिधि, आन्दोलनकारी, राजनीतिक दललगायत सरोकारवालाहरुले वन तथा वातावरण मन्त्रालयमा पुगेर सडकमा कालोपत्र नगर्ने तर मोज्याक वा ढुङ्गा लगाएर धुलोरहित बनाउने सहमति गरेका थिए । माडी जान चितवन राष्ट्रिय निकुञ्ज हुँदै पुग्नुपर्ने हुन्छ । माडी क्षेत्रलाई सबैतिर जङ्गलले घेरेको छ । उर्भर भएर पनि सो क्षेत्रका बासिन्दा वन्यजन्तुबाट प्रभावित छन् । सदरमुकाम भरतपुर आवतजावत गर्ने यो मात्रै सडक हो ।

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नती कार्यलाई तीव्रता दिइएको छ । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तार कार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नति कार्यलाई तीव्रता दिइएको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सी–एन ए–वान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार पहिलो चरणमा आगामी चैतसम्ममा फराकिलो स्थानमा कालोपत्र सक्ने र बाँकी अन्य काम क्रमशः गर्दै निर्धारित समयमा सकिने कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

विभिन्न स्थानमा कटिङको कामबाट पुनःविस्तार कार्यलाई तीव्रता दिइएको उनको भनाइ छ । “आउँदो चैतभित्र कालोपत्रको काम सम्पन्न गर्नेगरी हाल साना संरचना तथा टेवा पर्खाल निर्माणका काम भइरहेका छन्”, योगेशले भने ।

उनले चिसो मौसमका कारण सडकमा सतह (सर्फेस)को काम नभएको र चिसो कम हुने बित्तिकै सतहको काम गरेर चैतभित्र कालोपत्रको कामसक्ने योजना रहेको बताए । कालोपत्रको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी सानातिना काम गरिने छ । उक्त सडकखण्ड सात मिटर चौडाइको बन्ने जनाइएको छ । सडकमा रहेको पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोग गरिने छ ।

यसैबिच निर्माण कार्यमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ । कार्यालयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो । चार किलोमिटर दूरीको उक्त सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमै सक्नेमा आशावादी भएको योगेशले बताए ।

जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो ।

सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत साल फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो । सडक विस्तारको काम गौरी–पार्वतीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो ।

यसअघि धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम मात्रै भएको थियो भने जिपलाइन स्थानदेखि तल खावासम्मको करिव सडकमात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको थियो ।

निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि ठेकेदार कम्पनीले २५ प्रतिशतसमेत निर्माणको काम सकेको थिएन । अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायतका जिल्लातर्फ जाने मुख्य सडकका रुपमा समेत रहेको उक्त राजमार्ग समयमै नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य भएका छन् ।

उक्त सडकमा गुड्ने मालवाहक सवारीसाधनको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले योजना जनाएको छ । सडक निर्माणको काम समयमा नसकिँदा पुनर्निर्माणका लागि भत्काइएको सडकमा दुर्घटना हुँदा सयौँ यात्री घाइते भइसकेका छन् ।

गाउँ नजिक वन : मानव–वन्यजन्तु द्वन्द्व बढ्दै

नवलपुर । यही माघ २१ गते बुधबार बिहान घरको आँगनमा खेलिरहेका तीन वर्षका एक जना बालकलाई गैँडाले आक्रमण गर्‍यो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ स्थित ब्रम्हस्थानका शिवान्स रेग्मीलाई गैँडाले सिङ (खाग)ले उचालेर फालिदिँदा उनको टाउकामा चोट लागेको थियो ।

माघ २० गते मङ्गलबार दिउँसो १२ः ०० बजेको समयमा ब्रम्हस्थानको छिमेकी गाउँ कावासोती नगरपालिका–१७ अमलटारीमा घाँस काट्दै गरेका युवालाई गैँडाले आक्रमण गर्‍ यो । घर नजिकै बारीमा घाँस काट्न गएका ४० वर्षीय हेमबहादुर कुमाललाई गैँडाले आक्रमण गर्दा उनको शरीरमा भित्री चोट लागेको चिकित्सकले बताएका छन् ।

गैँडाको आक्रमणबाट घाइते भएका दुवै जनाको कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाउँ नजिकै रहेका चितवन राष्ट्रिय निकुञ्ज तथा अमलटारी मध्यवर्ती सामुदायिक वनबाट गाउँमा पस्ने जङ्गली जनावरका कारण मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जानुका साथै नागरिकमा त्रास पैदा भएको छ । पछिल्लो समय यहाँ दैनिकजसो गैँडाले स्थानीयमाथि आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रासमा बस्न बाध्य भएका छन् ।

“दिउँसो पनि घर बाहिर बस्ने अवस्था छैन”, स्थानीय रामबहादुर बोटेले गुनासो गर्दै भने, “कतिबेला कताबाट गैँडा वा अन्य जनावर आएर आक्रमण गर्छन् भन्ने त्रासमा बस्न बाध्य भएका छौँ ।” गाउँमा केही दिनदेखि तीन वटा गैँडा पसेका जनाउँदै आफूहरूलाई दैनिक काममा निस्कनसमेत डर भएको उनले बताए ।

“रातिको समयमा हामी घरबाट बाहिर निस्कने अवस्था पहिला पनि हुँदैनथ्यो”, बोटेले भने, “झन् अहिले दिनमा पनि कतै पछाडिबाट गैँडा आएर हान्छ कि भन्दै डराएर घर बाहिर काममा निस्कन सकिरहेका छैनौँ ।” गाउँ पसेका गैँडामध्ये एउटाको साथमा बच्चासमेत रहेको भन्दै उहाँले बच्चासँगको गैँडा बढी आक्रामक हुने जानकारी दिए ।

नदीमा माछा मारेर बिक्रीबाट आउने रकमले जीविकोपार्जन गर्दै आएको उल्लेख गर्दै उनले यस क्षेत्रका बासिन्दा सधैँ जङ्गली जनावरको त्रासमा बाँच्नु परेको गुनासो गरे । स्थानीय राधिका रेग्मीले दिनहुँ घर अगाडिबाट गैँडा हिँड्दा बाहिर निस्कने सक्ने अवस्था नरहेको बताइन् ।

“घरमा सानासाना केटाकेटी छन्, घर बाहिर खेलेका बेला कतैबाट गैँडा निस्केर हान्ने पो हो कि भन्ने पीर मनमा सधैँ रहन्छ”, उनले भनिन्, “मेरी सासु आमालाई गैँडाले दुई वर्ष अगाडि र त्यसभन्दा अघिल्लो वर्ष पनि गरी दुईपटकसम्म हानेर घाइते बनाएको थियो । उपचारपछि उहाँ ठीक हुनुभयो तर गैँडाको डर पहिलेको जस्तै छ ।”

आमा नारायणी नदीमा स्नान गर्न जाने बेला बाटोमा एकपटक र अर्को पटक घर पछाडि बारीमा घाँस काट्न गएको बेला गैँडाले आक्रमण गरेको रेग्मीले स्मरण गरिन् । ब्रम्हस्थानमा मात्रै विभिन्न समयमा गैँडाको आक्रमणमा परी घाइते भएकाको सङ्ख्या १० भन्दा बढी रहेको स्थानीय फणिन्द्रादेवी पौडेलले जानकारी दिइन् ।

“घर नजिकैबाट नारायणी गङ्गा बगेकी छिन् । बिहान गङ्गामा स्नान गर्न जाँदा पनि गैँडाले हान्ने डरले हिजोआज जानै छोडेका छौँ”, उनले भनिन्, “छोराहरू विदेश छन्, घर बाहिर निस्किएको बेला गैँडाले हान्यो भने पनि गुहार (उद्धार) नपाई मरिन्छ की भन्ने डरमा बस्नु परेको छ ।”

यस क्षेत्रका बासिन्दा सधैँभरी निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट आउने वन्यजन्तुको त्रासमा बस्नुपरेको पौडेलले गुनासो गरिन् । “जङ्गलबाट निस्कने जनावरले कहिले अन्नबाली खाइदिन्छ, कहिले गाउँमा खेल्दै गरेका केटाकेटी, काम गर्दै गरेका तथा गङ्गामा स्नान गर्न गएका नागरिकलाई हानेर घाइते बनाउने गरेका छन्”, उनले भनिन्, “जङ्गली जनावरले घाइते बनाएको मानिसलाई निकुञ्जले उपचार खर्चको व्यवस्था गरे पनि अन्नबालीमा क्षति पुर्याउँदा पीडित किसानले राहत पाउन सकेका छैनन् ।”

जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेका मध्यविन्दु, कावासोती, देवचुली र गैँडाकोट नगरपालिकाका अधिकांश क्षेत्रमा वन्यजन्तुको त्रास सधैँ रहने गरेको छ । यस क्षेत्रमा गैँडासहित बँदेल, हरिणलगायत जङ्गली जनावरका कारण मानव–वन्यजन्तु द्वन्द्वसमेत बढ्दै गएको छ ।

अमेरिका–रुसबीच सैन्य संवाद पुनः सुरु

किएभ । युक्रेन युद्ध अन्त्यको प्रयाससँगै अमेरिका र रुसले चार वर्षभन्दा बढी समयपछि उच्च–स्तरीय सैन्य संवाद पुनः स्थापना गर्न सहमति जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः कार्यभारमा फर्किएपछि दुई देशबीच देखिएको सम्बन्ध सुधारको यो अर्को सङ्केत मानिएको छ ।

फेब्रुअरी २०२२ मा युक्रेनमा रुसी पूर्णस्तरको आक्रमण हुनुअघि बढ्दो तनावका कारण सन् २०२१ को अन्त्यतिर मस्को र वासिङ्टनबीच उच्च–स्तरीय सैन्य सञ्चार रोकिएको थियो । ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी अभियान चलाउँदा युद्ध तत्काल अन्त्य गर्ने वाचा गरेको थियो । उनका केही शान्ति प्रस्तावहरूले क्रेमलिनलाई अनुकूल देखिएको भन्दै आलोचना पनि भएको छ, जसमा युक्रेनले रुसलाई केही भूभाग सुम्पिनुपर्ने धारणा समावेश छन् ।

पुनःस्थापित सैन्य सञ्चार च्यानलले दुवै पक्ष स्थायी शान्तितर्फ काम गरिरहेका बेला नियमित सैन्य–सैन्य सम्पर्क सुनिश्चित गर्ने अमेरिकी युरोपेली कमान्डले जनाएको छ । संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा वरिष्ठ अमेरिकी र रुसी सैन्य अधिकारीहरूबीच भएको बैठकपछि यो सहमति बनेको हो ।

युरोपमा अमेरिकी र नाटो दुवै सेनाका कमान्डर रहनुभएका अमेरिकी जनरल एलेक्सस ग्रिन्केविच अबु धाबीमा रहेको थियो । त्यहाँ अमेरिकी, रुसी र युक्रेनी अधिकारीहरूबीच युद्ध अन्त्यसम्बन्धी वार्ता दोस्रो दिनमा प्रवेश गरेको थियो ।

यसैबीच, रुसले युक्रेनको पावर ग्रिडमाथि आक्रमण तीव्र बनाएको छ । युक्रेनका अनुसार यसले नागरिक मनोबल कमजोर पार्ने उद्देश्य बोकेको छ । करिब एक हजार किलोमिटर लामो पूर्वी र दक्षिणी मोर्चामा लडाइँ जारी नै छ ।

सैन्य हटलाइन पुनः सुरु हुनु युद्धपछि बढेको तनाव कम गर्ने र अमेरिकी तथा रुसी सेनाबीच आकस्मिक टकराव रोक्ने प्रयासका रूपमा हेरिएको छ । मार्च २०२३ मा कृष्ण सागरमाथि अमेरिकी एमक्यू–९ ड्रोन र रुसी लडाकू विमानबीच भएको घटनाले यस्तो जोखिम उजागर गरेको थियो । रुसले उक्त ड्रोन खसालिएको आरोप अस्वीकार गर्दै नो–फ्लाई जोन उल्लङ्घनको प्रतिक्रिया मात्र भएको दाबी गरेको थियो ।

नाटो सदस्य राष्ट्रहरूले सहयोगी हवाई क्षेत्रमा रुसी गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । गत सेप्टेम्बरमा रुसी ड्रोनहरू पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गरेपछि नाटो विमानहरू परिचालन गरिएको थियो । त्यसपछि एस्टोनियाको हवाई क्षेत्रबाट पनि रुसी लडाकू विमानहरू हटाइएको थियो ।

युक्रेन र रुसबीचको वार्तापछि कैदी आदानप्रदान पनि भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार १५७ रुसी सैनिक र तीन नागरिक फिर्ता ल्याइएका छन् । युक्रेनी अधिकारीहरूले १५० सैनिक र सात नागरिक रुसी कैदबाट फर्किएको जानकारी दिएका छन् । रिहा गरिएका रुसी सैनिकहरू हाल बेलारुसमा चिकित्सकीय सहयोग लिइरहेका छन् ।

युक्रेनी मानव अधिकार आयुक्त दमित्रो लुबिनेट्सले फर्किएका धेरै सैनिकहरू कठिन मनोवैज्ञानिक अवस्थामा रहेको र केही गम्भीर रूपमा कुपोषित देखिएको बताए ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसको आक्रमणपछि करिब ५५ हजार युक्रेनी सैनिकको मृत्यु भएको बताएको छ । उनका अनुसार अझै धेरै व्यक्ति बेपत्ता मानिएका छन् । युद्धपछिको कुनै पनि सम्भावित रुसी आक्रमण रोक्न अमेरिका र युरोपबाट सुरक्षा ग्यारेन्टी आवश्यक रहेको उनले दोहोर्‍याएको छ ।

मानव अधिकार समूहहरूका अनुसार गत वर्ष युक्रेनी नागरिक हताहत २०२४ को तुलनामा ३१ प्रतिशतले बढेको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार युद्ध सुरु भएदेखि करिब १५ हजार नागरिक मारिएका छन् र ४० हजारभन्दा बढी घाइते भएका छन् ।

अन्य घटनाक्रममा, युक्रेनले रुसी सेनाले फ्रन्ट लाइनमा स्टारलिङ्क इन्टरनेट टर्मिनल प्रयोग गर्न नसक्ने अवस्था आएको दाबी गरेको छ । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले किएभ भ्रमणका क्रममा गोला–बारुदको संयुक्त उत्पादन र ऊर्जा सहकार्य विस्तारमा सहमति भएको जानकारी दिएको छ ।

युक्रेनी वायु सेनाका अनुसार रुसले रातभर १८३ ड्रोन र दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । रुसले भने आफ्नो हवाई रक्षाले विभिन्न क्षेत्रमा ९५ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।

समाचारका विषयमा अनुगमन भइरहेको छ, आचारसंहिता कडाइकासाथ लागू गर्छौँ – रामप्रसाद भण्डारी

भक्तपुर । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा समाचार बनाउँदा कुनै एउटाको पक्ष वा विपक्ष नरही निष्पक्ष समाचार सम्प्रेषण गरिदिन सञ्चार माध्यमलाई आग्रह गरेका छन्।

उनले जनक शिक्षा सामग्री केन्द्र लिमिडेड सानोठिमीमा सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमाध्यम एकतर्फी र एकपक्षीय ढङ्गले अर्को उम्मेदवारलाई प्रभाव पर्ने गरी समाचार वा विचार व्यक्त नगर्न र निष्पक्ष सामग्री बनाइदिन आग्रह गरेका हुन्।

देशभर निर्वाचनमय वातावरण बनिरहेको अवस्थामा निर्वाचनको अन्तिम अन्तिम चरणमा आइरहँदा समाचारलाई भन्दा आफ्ना विचारलाई सम्प्रेषण गर्दा पनि पक्ष वा विपक्ष नगरिदिन उनले आग्रह गरे।

उले भने,“सञ्चार माध्यममा तपाईंहरुले विचारलाई सम्प्रेषण गर्दा सबैको आ–आफ्नो मौलिकता र विचार छ, तर त्यो विचार व्यक्त गर्दा कुनै दल वा व्यक्ति वा कुनै उम्मेदवारको पक्ष र विपक्षमा गर्न पाइदैन, त्यसैले समाचार सत्यतथ्यमा आधारित रहेर मात्रै सम्प्रेषण गरिदिन आग्रह गर्दछु।”

आचारसंहिता उल्लङ्घनमा परेका उजुरीमाथि छानबिन र कारबाही अगाडि बढाएको भन्दै उनले अचारसंहिता लागू भए वा भएन, त्यसको परिपालन भयो भएन, त्यसको पनि विभिन्न तह र तप्काबाट अनुगमन भइरहेको बताए ।

आयोगले आचारसंहिता उलङ्घनको अनुगमन पनि गरिरहेको उल्लेख गर्दै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको बताए ।

जनताले निःशुल्क रुपमा विद्युत बाल्न सक्ने अवस्था बनाउन सकिन्छ – अध्यक्ष घिसिङ

राजविराज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समृद्ध नेपाल बनाउनका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्ने बताएका छन् । आज यहाँ राजविराजमा उज्यालो नेपाल पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आर्थिक समृद्धिका लागि विद्युत्मा आत्मनिर्भर र कृषि क्षेत्रको विकास गर्न जरुरी रहेको बताए ।

ऊर्जा क्षेत्रमा आफूले अघि सारेका पहल र सुधारहरूले नेपालका लागि कार्यान्वयनयोग्य नमुना प्रस्तुत गरेको घिसिङको भनाइ थियो । उनले आफ्नो अनुभवलाई मुलुकको समग्र आर्थिक रूपान्तरणमा उपयोग गर्न सकिने उल्लेख गर्दै १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गरेर विद्युत्बाट आम्दानी गर्न सकिने बताए ।

“देश आत्मनिरर्भर बन्ने र नेपाली जनताले पनि निःशुल्क रुपमा विद्युत बाल्न सक्ने अवस्था बनाउन सकिन्छ । कृषि, खानेपानी, रोजगारी तथा ऊर्जा जस्ता आधारभूत क्षेत्रमा आत्मनिर्भरता हासिल नगरी दिगो विकास सम्भव हुँदैन, यसमा हाम्रो पार्टी प्रष्ट छ”, अध्यक्ष घिसिङले भने ।

जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको उल्लेख गर्दै उहाँले सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा कडा नियमन गर्न चिकित्सक सङ्घको माग

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दञ्तमञ्जनसहित मुख तथा दन्त सरसफाइका सामग्री र विभिन्न सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक सिसा (लिड) को मात्रा पाइएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सेफेड) ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले गम्भीर तथ्य देखाएको भन्दै सङ्घले बालबालिकासहित आमनागरिकको स्वास्थ्यमा गम्भीर असर पुर्याउने यस्ता सामग्रीको गुणस्तर मापन गरी कडा निगमन गर्न नेपाल सरकारसँग माग गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै सङ्घले देशका विभिन्न सहरका पसलबाट सङ्कलन गरिएका नमूनाको परीक्षण गर्दा ३१ प्रतिशत नमूनामा अन्तरराष्ट्रिय रूपमा स्वीकृत मापदण्डभन्दा बढी सिसा भेटिएको तथ्य सार्वजनिक हुनु गम्भीर विषय भएको जनाएको छ ।

विशेषगरी दैनिक प्रयोग हुने दञ्तमञ्जनका ४५ प्रतिशत नमूना र बालबालिकाका लागि बजारमा उपलब्ध केही सामग्रीमा समेत सिसा भेटिएको जनाइएको छ । बालबालिकामा सिसाको असरले बौद्धिक विकासमा अवरोध, सिकाइमा कठिनाइ, व्यवहारिक समस्या देखिनुका साथै दीर्घकालीन रूपमा दृष्टि, श्रवण र स्नायु प्रणालीमा गम्भीर नकारात्मक प्रभाव पार्ने वैज्ञानिक प्रमाणहरू रहेको सङ्घले उल्लेख गरेको छ ।

पत्रकारले देश र जनताका पक्षमा निर्भिकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनुपर्छ : अध्यक्ष बिजुक्छेँ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले पत्रकारले देश र जनताका पक्षमा उभिएर निर्भिकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनुपर्ने बताएका छन् ।

आज भक्तपुरमा रफत सञ्चार क्लबको १६औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले भन्नुभयो, “पत्रकारले देश र जनताको पक्षमा बोल्न र लेख्न हिच्किचाउन हुँदैन, देश र जनताको पक्षमा उभिएर निर्भिकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनुपर्छ । पत्रकार कुनै न कुनै राजनीतिक दलमा आबद्ध हुन्छन् तर समाचार निष्पक्ष हुनुपर्छ, दल देखिनु हुँदैन ।”

अध्यक्ष बिजुक्छेँले आफूले राजनीतिक जीवन सुरु गर्दाका बेलामा आफूले समीक्षा साप्ताहिकमा आर्थिक विषयमा समाचार लेख्दा सम्पादक मदनमणि दीक्षितले दिएको प्रेरणास्पद क्षण स्मरण गर्नुभयो । पत्रकारहरूले संसारका सामाजिक, आर्थिक र राजनीतिक क्रान्तिका विषयमा उजागर गर्ने गरेको स्मरण गर्दै अध्यक्ष बिजुक्छेँले आफू पत्रकारिता क्षेत्रमा रहँदा राजनीतिक दलको गतिविधि रिर्पोटिङ गर्न जाँदा तत्कालीन समयमा प्रहरीको लाठी प्रहार सहनुपरेको बताए । “पत्रकारले इमान्दार भएर आफ्नो कर्तव्य पूरा गरेमा समाजलाई सुदृढ गर्न सकिन्छ”, उनले भने।

अध्यक्ष बिजुक्छेँले पत्रकारहरूले नै रुसी क्रान्ति, दोस्रो विश्वयुद्धमा खसालिएको आणविक बमको असरको यथार्थ स्थितिको प्रकाश पारेर संसारलाई जानकारी गराएको उल्लेख गरे।

कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले शिक्षा र स्वास्थ्य क्षेत्रको समस्याको पहिचान र त्यसको निदानका लागि पत्रकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले भक्तपुर जिल्लाका समग्र गतिविधि अन्य क्षेत्रमा प्रचारप्रसार गर्न रफत रञ्चार कलबको योगदान अग्रणी रहेको चर्चा गरे ।

उनले भने, “अहिले निर्वाचनका समय छ, पत्रकारहरूले आज मतदाता र उम्मेदवारहरूका बीचमा एउटा सेतुका रूपमा काम गर्न सके निष्पक्ष पत्रकारिताको कडी स्थापना हुन्छ ।”कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले रफत सञ्चार क्लबले जनताका हक र अधिकार स्थापना गर्नेमा अगाडि बढ्नुपर्नेमा जोड दिए।

फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ता नहुनुले भयरहित निर्वाचन हुनेमा सांसदको आशङ्का

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ता नहुनुले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा आशङ्का व्यक्त गरेका छन् ।

सभाको आजको बैठकको विशेष समयमा सांसद जयन्तीदेवी राईले भ्रष्टाचारको अन्त्य, सुशासन कायम र सेवा प्रवाहलाई सहज बनाउनेजस्ता विषय सम्बोधन नहुँदा जेनजी आन्दोलन भएको बताइन् । “ती विषयहरू पुराना राजनीतिक दलहरूलेसमेत सदनमा उठाउँदै आएका थिए, जेनजी आन्दोलनकै आधारमा पुराना दलहरूको औँचित्यमाथि प्रश्न उठाउने वा उनीहरू अप्रासङ्गिक भइसकेका हुन् भन्ने गलत भाष्य निर्माण गर्न हुँदैन”, उनले भनिन्।

सांसद राईले फरार कैदी र प्रहरीबाट लुटिएका हतियार नियन्त्रणमा नआउनुजस्ता अवस्थाले भयरहित वातावरणमा निष्पक्ष निर्वाचन हुनसक्ने विषयमा गम्भीर आशङ्का उत्पन्न भएको बताइन् ।

सांसद रुक्मिणी कोइरालाले पनि जेनजी युवाको मागहरु जायज भए पनि आन्दोलनमा भएको घुसपैठका कारण विद्यालय पोसाकमा सरकारलाई खबरदारी गएका बालबालिका र सुरक्षाकर्मीको ज्यान जाने घटना भएको बताइन् ।

सांसद कोइरालाले आगामी फागुन २१ मा भयरहित वाताववरणमा चुनाव हुदैन कि भनेर जनता आत्तिएको र शान्तिपूर्ण चुनाव हुनेमा आशङ्का देखिएको बताए । “अझै पनि कैदीहरु फरार छन्, हातहतियार पनि लुटिएको अवस्थामा शान्तिपूर्ण निर्वाचन हुन्छ भन्नेमा विश्वस्त हुने ठाउँ देखिँदैन”, उनले भनिन् ।

सांसद मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका तर्फबाट भूकम्प प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम र सल्यानमा पुनःस्थापनामा देखिएका समस्या समाधानका लागि प्रतिवेदन पेस गरेपनि त्यसको कार्यान्वयन नभएको बताए ।

“अहिले पनि जनताहरु टहरामुनि बास बस्नुपर्ने, कष्टपूर्ण जीवनयापन गर्न बाध्य रहेका छन्, पुनःनिर्माण र पुनःस्थापनमा किन ढिलाइ भइरहेको छ ? यसमा बारम्बर छलफल गर्दा पनि चिन्ता, चासो र पदलकदमी छैन ?” उनले प्रश्न गरे । सांसद् शर्माले महाकाली करिडोर, मध्यपहाडी लोकमार्गलगायत रणनीतिक विकासका आयोजनाका काम सम्पन्न गर्न सरकारले ढिलाइ गरिरहेको आरोप लगाए ।

सांसद आनन्दप्रसाद ढुङ्गानाले जेनजी आन्दोलनमा उठेका माग जायज भए पनि आन्दोलनको नाममा देशलाई विघटनमा पुर्‍याउने काम भएको बताए । मुलुकलाई अनिश्चयको भूमरीबाट अघि बढाउन निर्वाचनको विकल्प नभएको उल्लेख गर्दै उनले भने, “कतै न कतै निर्वाचन बिथोल्ने कोसिस भइरहेको छ । यसतर्फ सबै पक्ष सतर्क हुनुपर्छ ।”

सांसद गङ्गाकुमारी बेलबासेले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनलाई राजनीतिक दलहरुले चुनावी घोषणापत्रमा उच्च प्राथमिकता दिनुपर्ने बताइन् । गरिबी अन्त्य, रोजगारी सिर्जना, सर्वसुलभ स्वास्थ्य र शिक्षालगायत आधारभूत आवश्यकता सम्बोधन गर्ने विषय दलका घोषणापत्रमा समेटिनुपर्नेमा उनको जोड थियो ।

“धनी गरिबको खाडल कसरी सच्याउन सकिन्छ ? विद्यालय शिक्षा र बोर्डिङको शिक्षा कसरी सच्याउन सकिन्छ ? स्वास्थ्य सुरक्षा कसरी व्यवस्था गर्न सकिन्छ ? सर्वसधारण परिवारलाई कसरी गुणस्तरीय स्वास्थ्य दिन सकिन्छ ?”, बेलबासेले भनिन्, “महँगी, कालोबजारी र सिण्डिकेटलाई कसरी तोड्न सकिन्छ ? आम जनतालाई कसरी रोजगारी दिन सकिन्छ भनेर दलहरुले घोषणापत्रमा राख्नुपर्छ । यो आजको आवश्यकता हो ।”

चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन सुझाव

काठमाडौँ । जेरियाट्रिक सोसाइटी अफ नेपालले राजनीतिक दल र स्वतन्त्र उम्मदेवारलाई आफ्ना चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन आह्वान गरेको छ । सोसाइटीले विज्ञप्ति जारी गरी चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकसँग सम्बन्धित स्वास्थ्य, सामाजिक अधिकार, संरक्षण र सशक्तीकरणसम्बन्धी १४ वटा विषय अनिवार्य रूपमा समावेश गर्न माग गरेको हो ।

जनगणना, २०७८ अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकको संख्या १०।२१ प्रतिशत अर्थात् करिब ३० लाखभन्दा बढी रहेको छ । सोसाइटीका अध्यक्ष डा उमेश बोगटीले देशको विकास, लोकतन्त्र र सामाजिक रूपान्तरणमा दीर्घकालीन योगदान दिएका ज्येष्ठ नागरिकको सम्मानजनक जीवन, स्वास्थ्य, सुरक्षा र सक्रिय सहभागिता सुनिश्चित गर्नु राज्यको दायित्व मात्र नभई राजनीतिक प्रतिबद्धताको मापन सूचकसमेत भएको बताए ।

विद्यमान ऐन, नीति र रणनीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा ज्येष्ठ नागरिकको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको सोसाइटीले जनाएको छ ।

सोसाइटीले दलको संगठनमा ज्येष्ठ नागरिक विभाग स्थापना, ज्येष्ठ नागरिक ऐनको पूर्ण कार्यान्वयन, ज्येष्ठ नागरिकमैत्री भौतिक पूर्वाधार र यातायात, निःशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा, जेरियाट्रिक वार्ड स्थापना, सामाजिक सुरक्षा भत्ताको प्रभावकारी वितरण, दिवा सेवा केन्द्र, ज्येष्ठ नागरिक पार्क, ग्राम र आरोग्य आश्रम निर्माण, स्वारोजगारका लागि सहुलियतपूर्ण ऋण तथा सीप र अनुभवलाई उत्पादनसँग जोड्ने व्यवस्था घोषणापत्रमा समेट्न माग गरेको छ ।

‘पारिस्थितिक प्रणाली जोगाउन नेपालको संरक्षणमुखी नीति सफल’ – मन्त्री चौलागाई

काठमाडौँ । वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईले नेपालले अवलम्बन गरेको संरक्षणमुखी नीतिले दीर्घकालीनरुपमा पारिस्थितिक प्रणालीलाई जोगाइ राख्न सफल भएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले संरक्षण नीतिका कारण विकासका आकाङ्क्षा पछाडि धकेलिरहेको भन्ने ‘भाष्य’ गलत भएको बताए ।

“यथार्थमा त्यस्तो होइन, नीतिलाई सुधार गर्दै गएका अवस्थामा निकास निस्कन्छ, केही विषय अतिरञ्जित भएर आउने गरेका छन्”, मन्त्री चौलागाईले भने, “नीतिगत निर्णयका क्रममा आउन सक्ने जटिलटालाई वन नियमावली संशोधनका क्रममा सहज गरिएको छ ।” उनले विकास र संरक्षणको सुन्तुलनका लागि संसदीय समितिको प्रतिवेदनले औँल्याएका विषय सरकारका लागि महत्वपूर्ण रहेको बताए ।

त्यसअघि सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको थियो ।

प्रतिवेदन प्रस्तुत गर्दै सभापति शर्माले विकास र संरक्षणबीच देखिँदै आएको विरोधाभास चिर्ने उद्देश्यका साथ अध्ययन गरिएको बताए । उनका अनुसार विकास र संरक्षणलाई एक–अर्काको विकल्पका रूपमा नभई कसरी सँगसँगै अघि बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर प्रतिवेदन तयार पारिएको छ ।

उक्त अध्ययनका क्रममा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रचलित कानून, अदालतका फैसलाहरू, विज्ञ तथा जानकारसँग भएका छलफल, सरोकारवाला निकायका सुझाव तथा स्थलगत अवलोकनलाई आधार बनाइएको सभापति शर्माले जानकारी दिए । संरक्षणलाई केन्द्रमा राख्दै विकासका गतिविधि अघि बढाउनुपर्ने निष्कर्षसहित प्रतिवेदन तयार पारिएको उनको भनाइ छ ।
सभापति शर्माले मानव, वन्यजन्तु तथा पर्यावरणसँग जोडिएका सबै पक्षको हित सुनिश्चित हुने गरी संरक्षणसहितको विकास आवश्यक रहेको उल्लेख गरे । उनले राष्ट्रिय निकुञ्ज, वन र वन्यजन्तुको उचित व्यवस्थापनमार्फत पर्यापर्यटन प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सकिने सम्भावनातर्फ पनि ध्यानाकर्षण गराए । साथै, मध्यवर्ती क्षेत्रका स्थानीय समुदायले निकुञ्जबाट प्रत्यक्ष लाभ लिन सक्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सांसदहरू मदनकुमारी शाह, डा। अञ्जान शाक्य, विष्णुकुमारी सापकोटा, सुमित्रा बिसी, डा बेदुराम भुसाल, नारायणदत्त मिश्र, सुरेशकुमार आले मगर, सोनाम गेल्जेन शेर्पा, जयन्तीदेवी राई, गङ्गाकुमारी बेलबासे, रुक्मिणी कोइराला, भुवनबहादुर सुनार, राजेन्द्र लक्ष्मी गैरे, नरबहादुर विष्ट, श्रीकृष्णप्रसाद अधिकारीलगायतले प्रतिवेदन कार्यान्वयनमा विशेष जोड दिए ।
उनीहरूले प्रतिवेदनलाई कागजमै सीमित नराखी नीतिगत, कानूनी तथा संरचनागत प्रबन्धमार्फत प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे । सांसदहरूले अन्तरमन्त्रालय समन्वय र संघ, प्रदेश तथा स्थानीय तहबीचको सहकार्यलाई मजबुत बनाएर प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्नेमा समेत जोड दिए ।

जापानमा विश्वकै ठूलो आणविक संयन्त्र पुनः सुरु हुने

टोकियो, २३ माघ । जापानले विश्वको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्र अर्को हप्ता पुनः सञ्चालनमा ल्याउने भएको छ । सन् २०११ को फुकुसिमा आणविक प्रकोपपछि पहिलो पटक पुनः सुरु गर्ने प्रयास अलार्मसँग सम्बन्धित गडबडीका कारण अस्थायी रूपमा निलम्बन गर्नुपरेको थियो ।

टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) द्वारा सञ्चालित काशीवाजाकी–कारिवा आणविक संयन्त्रका प्रमुख ताकेयुकी इनागाकीले शुक्रबार पत्रकार सम्मेलनमा फेब्रुअरी ९ मा रिएक्टर सुरु गर्ने योजना रहेको जानकारी दिए ।

टेप्कोले जनवरी २१ मा रिएक्टर पुनः सञ्चालनमा ल्याएको थियो । तर अनुगमन प्रणालीबाट अलार्म बजेसँगै भोलिपल्ट रिएक्टर बन्द गरिएको थियो ।

इनागाकीका अनुसार कन्फिगरेसनमा भएको त्रुटिका कारण अलार्मले एउटा केबलमा विद्युतीय प्रवाहमा सानो परिवर्तन देखाएको थियो । ती परिवर्तनहरू अझै पनि सुरक्षित दायरा भित्र नै रहेकाले सुरक्षा जोखिम नभएको उनले स्पष्ट पारे ।

रिएक्टर सञ्चालन गर्न सुरक्षित रहेको निष्कर्षपछि कम्पनीले अब अलार्मको सेटिङ परिवर्तन गरेको इनागाकीले बताए । उनका अनुसार अर्को चरणमा व्यापक निरीक्षण गरिनेछ र मार्च १८ मा वा त्यसपछि व्यावसायिक सञ्चालन सुरु गर्ने लक्ष्य राखिएको छ ।

काशीवाजाकी–कारिवा संयन्त्र सम्भावित उत्पादन क्षमताका आधारमा विश्वकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र मानिन्छ । यद्यपि, यसका सात रिएक्टरमध्ये हाल एउटा मात्र रिएक्टर पुनः सुरु गरिँदैछ ।

सन् २०११ मा आएको शक्तिशाली भूकम्प र सुनामीका कारण फुकुसिमा आणविक संयन्त्रका तीन रिएक्टर पग्लिएपछि जापानले अधिकांश आणविक ऊर्जा केन्द्रहरू बन्द गरेको थियो । त्यसयता काशीवाजाकी–कारिवा पनि लामो समयदेखि बन्द अवस्थामा थियो ।

ऊर्जा स्रोतमा सीमितता भएको जापानले जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने, सन् २०५० सम्म कार्बन तटस्थता हासिल गर्ने र कृत्रिम बौद्धिकता (एआई) को विस्तारसँगै बढ्दो ऊर्जा माग पूरा गर्ने लक्ष्यसहित आणविक ऊर्जालाई पुनर्जीवित गर्न चाहेको छ ।

काशीवाजाकी–कारिवा सन् २०११ पछि टेप्कोद्वारा सञ्चालनमा ल्याइने पहिलो आणविक एकाइ हो । टेप्कोले फुकुसिमा दाइची संयन्त्र पनि सञ्चालन गरेको थियो, जुन हाल चरणबद्ध रूपमा बन्द गर्ने प्रक्रियामा छ ।

संयन्त्र वरपरको क्षेत्रमा जनमत भने गहिरो रूपमा विभाजित देखिन्छ । निगाता प्रान्तले सेप्टेम्बरमा गरेको सर्वेक्षणअनुसार करिब ६० प्रतिशत बासिन्दाले पुनः सञ्चालनको विरोध गरेका छन् भने ३७ प्रतिशतले समर्थन जनाएका छन् ।

जनवरीमा पुनः सुरुको विरोध गर्ने सात समूहले करिब ४० हजारको हस्ताक्षर सङ्कलन गरी टेप्को र जापानको आणविक नियमन प्राधिकरणसमक्ष निवेदन पेस गरेका थिए । उनीहरूले संयन्त्र सक्रिय भूकम्पीय फल्ट जोनमा अवस्थित रहेको र सन् २००७ मा शक्तिशाली भूकम्पको प्रभावमा परेको तथ्य औँल्याउँदै सुरक्षा चिन्ता व्यक्त गरेका थिए ।

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।बैठक बिहान ११ बजे सिंहदरबारस्थित समिति सभाकक्षमा बस्ने छ ।

बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर दफावार छलफल हुने कार्यसूची रहेको छ ।

आन्तरिक राजस्व कार्यालय हेटौँडाद्वारा ८० करोड आठ लाख राजस्व सङ्कलन

बागमती। हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ।

चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा रु आठ करोड ८६ लाख १० हजारले बढी हो

यसैगरी चालु आवको पहिलो छ महिनामा अन्तशुल्कतर्फ रु एक अर्ब ८८ कारेड ६४ लाख ८७ हजार, आयकरतर्फ रु ५९ करोड ३२ लाख ७१ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ४६ करोड ७१ लाख ३० हजार, स्वास्थ्य जोखिम करतर्फ रु २७ करोड ७३ लाख दुई हजार, ब्याजकरतर्फ रु तीन करोड ६९ लाख ४७ हजार र बहालकरतर्फ रु ८१ लाख २६ हजार राजस्व सङ्कलन उक्त कार्यालयले जनाएको छ ।

गत आवको सोही अवधिमा रु तीन अर्ब १९ करोड छ लाख २२ हजार राजस्व सङ्कलन भएको थियो ।

उक्त कार्यालयमा आयकरतर्फ ३३ हजार ५९६, मूल्य अभिवृद्धितर्फ पाँच हजार ८४९, अन्तशुल्कतर्फ एक हजार ५९८, विथहोल्डतर्फ ७११ र व्यक्तिगततर्फका ८१ हजार ८१२ करदाता सूचीकृत छन् ।

कर दाखिला गर्न आनाकानी गर्ने करदाताहरुको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायत अभियान सञ्चालन गरी रु १० करोड बक्यौता असुली भएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले बताउनुभयो ।

चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति

सङ्खुवासभा। चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१ याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको हो ।

आगलागीबाट मानवीय क्षति भएको छैन । प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियोे ।

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज (शुक्रबार)राष्ट्रिय सभाको बैठक बस्दैछ।बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने र नयाँ विधेयकहरूमाथि छलफल गर्ने तयारी गरिएको छ।

बैठकको सुरुमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्याहरूको अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी, आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ’सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन्।
साथै, उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको हैसियतमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ’राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्नेछिन्।

झापामा ‘सिरिन्ज’ प्रहारबाट एक जनाको मृत्यु, सिरहाका २६ वर्षीय सिंह पक्राउ

बिर्तामोड। भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिहरूको आक्रमणमा पर्नुभएको हो । आक्रमणबाट गम्भीर घाइते हुनुभएका उहाँको अस्पताल पु¥याउने क्रममा बाटोमा मृत्यु भएको हो ।

आक्रमणमा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो । सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे जानकारी भइनसकको उहाँले बताउनुभयो ।